`

त्रिशूली हाइड्रोको टनेलमा थप ६ शव फेला

रसुवा । भोटेकोशी बाढीपछि क्षतिग्रस्त त्रिशूली हाइड्रो परियोजना–१ को टनेलमा थप ६ शव फेला परेका छन्।

नेपाली सेनाको संयुक्त उद्धार टोलीले अडिट–३ टनेलमा ती शव फेला पारेको हो।

सेनाका अनुसार ढलानका लागि बुनिएको डन्डीको जालीभित्र शवहरू अल्झिएको अवस्थामा भेटिएका थिए। ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरेर शव बाहिर निकालिएको सेनाले जनाएको छ।

टनेलभित्र हिलोले पुरिएको अवस्थामा थप शवजस्तो आकृति पनि देखिएको छ। त्यस क्षेत्रमा खोजी कार्य जारी रहेको जङ्गी अड्डाले जनाएको छ।

भोटेकोशी बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा परियोजनामा ठूलो क्षति पुगेको थियो। उद्धार टोलीले जोखिम मोलेर टनेलभित्र खोजी गरिरहेको छ।

चितवन कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ।

जिल्लाका ९८ वटै वडामा अधिवेशन हुनेछ। त्यसमा २७ हजार ५ सय क्रियाशील सदस्य सहभागी हुने कांग्रेस चितवनले जनाएको छ।

कांग्रेस चितवनले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारीबारे जानकारी दिएको हो।

सभापति राजेश्वर खनालका अनुसार सम्बन्धित वडाको अनुकूलताअनुसार असोज ३ वा ४ गते अधिवेशन हुनेछ। वडा अधिवेशनमा युवा र महिलाको सहभागिता सुनिश्चित गरिने उनले बताए।

भूगोल, जातीय समुदाय र फरक क्षमता भएका व्यक्तिको समावेशी सहभागितालाई पनि प्राथमिकता दिइएको खनालले बताए।

वडा अधिवेशनबाट चितवनमा ३ हजार १ सय क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्।

उनीहरूले पालिका कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमिति चयन प्रक्रियामा सहभागिता जनाउनेछन्। प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि पनि उनीहरूबाटै चयन हुनेछन्।

त्यसैगरी महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र जिल्ला कार्यसमिति चयन प्रक्रियामा पनि क्षेत्रीय प्रतिनिधिको भूमिका रहनेछ।

कांग्रेस चितवनका अनुसार असोज ७ गते पालिका अधिवेशन हुनेछ। असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ।

यससँगै चितवनमा १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहदेखि नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ।

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट ती महिलाले कुकुरलाई धकेली सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला जयपृथ्वी नगरपालिका–३ पडेस गाउँ बस्ने ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले रोकायालाई भदौ ९ गते बेलुकी पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

बैठकमा सरकारका नियमित कामकारबाहीसँगै समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ।

धोकाधडीको शिकारमा देउवा, एक महिनामै एक्लिए

काठमाडौं। कांग्रेस थापा गगन थापाले केही दिन अघि एउटा सार्वजनिक कार्यक्रमबाट निवर्तमान सभापति शेरबहादुर देउवालाई भनेका थिए, ‘दाई तपाईंलाई ढाँटे। ढाँटे दाई ढाँटे।’

२८ साउनमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भव्य स्वागत भयो। देउवालाई स्वागत गर्न कांग्रेसका नेतादेखि हजारौँ समर्थकसम्म विमानस्थल पुगेका थिए। पूर्णबहादुर खड्का, शशांक कोइराला, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडालगायतका नेताहरू नै विमानस्थलमा उपस्थित भएर देउवालाई स्वागत गरेका थिए।

विमानस्थलमा देखिएको उक्त दृश्यले कांग्रेसभित्र देउवाको प्रभाव अझै बलियो रहेको सन्देश दिएको थियो। लामो समयदेखि पार्टीको नेतृत्वमा रहेका देउवा पनि समर्थक र नेताहरूको बाक्लो उपस्थितिबाट उत्साहित देखिन्थे। तर, स्वदेश फर्किएको एक महिना नपुग्दै कांग्रेसको आन्तरिक शक्ति समीकरणमा ठूलो परिवर्तन आएको छ। देउवालाई विमानस्थलमा स्वागत गर्न पुगेका अधिकांश प्रभावशाली नेताहरू अहिले सभापति गगन थापाको कित्तामा पुगेका छन्।

कांग्रेसभित्रको शक्ति संघर्ष चर्किंदै जाँदा पार्टी अहिले तीन फरक धारमा विभाजित देखिएको छ। अधिकांश नेताहरू सभापति गगन थापाको नेतृत्वमा रहेको संस्थापन पक्षमा खुलेका छन् भने केही नेताहरू अझै देउवा र शेखर कोइरालाको पक्षमा रहेका छन्। यसले पार्टीभित्रको आगामी महाधिवेशनलाई थप पेचिलो बनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विवाद झन् चर्किएको हो। गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसको काउन्टरमा देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। शेखर कोइराला भने तत्काल दुवै प्रक्रियामा सहभागी नहुने पक्षमा देखिएका छन्।

छुट्टै महाधिवेशनको तयारीमा रहेका देउवाका लागि भने आफ्नै समूहका प्रभावशाली नेताहरू गगनको पक्षमा खुलेपछि चुनौती थपिएको छ। डिना उपाध्याय, किशोरसिंह राठोर, श्याम घिमिरे, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर, जीवनबहादुर शाही, सुशीला थिङ र गोविन्द भट्टराईलगायत नेता शुक्रबार सानेपा पुगेर गगन नेतृत्वको पक्षमा उभिएका छन्। उनीहरू असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुने तयारीमा छन्।

देउवाले भने आफ्नै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्दै आएका छन्। सहमति बेगर विशेष महाधिवेशन गर्दा कांग्रेस कमजोर र विभाजित हुनसक्ने चेतावनी पनि उनले दिँदै आएका छन्।

पूर्णबहादुर खड्का र डा. शेखर कोइराला भने अझै स्पष्ट रूपमा कुनै पक्षमा खुलेका छैनन्। खड्कानिकट अधिकांश नेता गगनको पक्षमा पुगिसकेका छन् भने शेखरले पार्टी एकताका लागि मध्यमार्गी भूमिका खेल्ने बताउँदै आएका छन्।

यसरी २८ साउनमा विमानस्थलमा देखिएको देउवाको बलियो साथ एक महिनामै बदलिएको छ। एकपछि अर्को प्रभावशाली नेता गगनको पक्षमा खुलेपछि देउवाको छुट्टै महाधिवेशनको तयारी र कांग्रेसभित्रको आगामी शक्ति समीकरण थप रोचक बनेको छ।

चिनियाँ भिक्षुको यात्रा पुस्तक विमोचन

काठमाडौं। चिनियाँ भिक्षुको नेपाल यात्रासम्बन्धी पुस्तक ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली संस्करण सार्वजनिक गरिएको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यतामा पुस्तकको नेपाली संस्करण सार्वजनिक गरिएको हो।

 

त्रिशूलीको कटानले तारुकाघाटमा त्रास [तस्वीरहरू]

काठमाडौं । भोटेकोशीको बाढीपछि त्रिशूली नदीमा बहाव बढेको छ। नुवाकोटको तारकेश्वर गाउँपालिकाका तारुकाघाट र दर्शनटारमा नदी कटान तीव्र बनेको छ।

कटानले दर्जनौँ घर जोखिममा परेका छन्। केही घर आंशिक रूपमा बगिसकेका छन्।

नदीले बस्ती र खेतबारीतर्फ धमाधम जमिन काटिरहेको छ। बहाव बढेसँगै कटान थप फैलिँदै गएको स्थानीयले बताएका छन्।

धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाट पुग्ने सडक आसपास पनि कटानको असर देखिएको छ। नदी किनारका घर, खेतबारी र अन्य संरचना जोखिममा छन्।

बाढीपछि नदीमा ढुंगा, बालुवा र माटो थुप्रिएको छ। त्यसले कतिपय ठाउँमा नदीको धारसमेत परिवर्तन गरेको छ। स्थानीयका अनुसार यसले कटानको जोखिम झनै बढाएको छ।

कटान रोक्न तत्काल तटबन्ध निर्माण गर्नुपर्ने स्थानीयको माग छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न पनि उनीहरूले आग्रह गरेका छन्।

दीर्घकालीन रूपमा नदी नियन्त्रणको योजना बनाउनुपर्ने स्थानीयको भनाइ छ। प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी जोखिममा रहेका बस्ती पहिचान गर्नुपर्ने अवस्था छ।

भोटेकोशी बाढीपछि त्रिशूली आसपासको क्षतिको यकिन विवरणसमेत संकलन गर्नुपर्ने देखिएको छ। स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित निकायले तत्काल सुरक्षा उपाय अघि बढाउनुपर्ने माग भइरहेको छ।

 

युद्ध र विनाशको चपेटामा गाजाको पत्रकारिता

काठमाडौं । सन् २०२३ अक्टोबरदेखि युद्ध र विनाशको चपेटामा परेको गाजामा पत्रकारिता आफैं एउटा जोखिमपूर्ण संघर्ष बनेको छ।

समाचार संकलन र रिपोर्टिङ गर्ने क्रममा धेरै पत्रकारले ज्यान गुमाएका छन्, घाइते भएका छन् र आफ्नै परिवार तथा घरबार गुमाएर पनि कामलाई निरन्तरता दिइरहेका छन्।

४० वर्षीया पत्रकार निसरिन थाबेत यसको एउटा उदाहरण हुन्। सन् २०२४ जुलाईमा इजरायली हवाई आक्रमणमा उनका पति हैदर अल–मसदर मारिए। राजनीतिक तथा सञ्चार मामिलाका लेखक तथा अनुसन्धानकर्ता मसदर मध्य गाजास्थित एक अस्पताल परिसरमा पत्रकारहरू बसेको पालमा भएको आक्रमणमा मारिएका थिए।

पति गुमाएपछि पनि थाबेत आफ्ना दुई सन्तानसहित युद्धको सामना गर्दै पत्रकारितामा सक्रिय छिन्। उनका लागि अहिले पत्रकारिता र मातृत्व दुवै जिम्मेवारी एकसाथ सम्हाल्नु ठूलो चुनौती बनेको छ।

युद्ध र पटक–पटकको विस्थापनले दैनिक जीवन नै अस्तव्यस्त बनेको थाबेतले बताएकी छन्। उनका बालबालिकाको सुरक्षा, बसोबास र काम सबै कुरा एकैपटक व्यवस्थापन गर्नुपर्ने अवस्था छ। यातायात र सञ्चार सेवाको अभावले समाचार संकलन र रिपोर्टिङसमेत कठिन बनेको उनको भनाइ छ।

हाल पालमा बस्दै आएकी उनी आफू र छोराछोरीलाई जुनसुकै बेला अर्को सुरक्षित स्थानमा सार्नुपर्ने हुन सक्ने भएकाले आवश्यक सामान सधैं तयार राख्छिन्। पटक–पटक विस्थापित हुनुपर्दा आफूहरूले चाहेजसरी घटनाको रिपोर्टिङ र अभिलेखीकरण गर्न नसकेको उनको गुनासो छ।

महत्त्वपूर्ण घटनाहरू प्रत्यक्ष देख्दा त्यसलाई अभिलेख गर्न चाहना भए पनि निरन्तरको विस्थापन र सुरक्षाको जोखिमका कारण धेरै घटना छुट्ने गरेको उनले बताएकी छन्।

युद्धका कारण धेरै अन्तर्राष्ट्रिय पत्रकार गाजाबाट बाहिरिएपछि त्यहाँको अवस्थाको प्रत्यक्ष रिपोर्टिङ गर्ने जिम्मेवारी स्थानीय पत्रकारहरूमाथि थपिएको छ। आफ्नै ज्यान जोखिममा रहे पनि गाजाको वास्तविक अवस्था विश्वसामु पुर्‍याउनु आफ्नो जिम्मेवारी भएको थाबेतको भनाइ छ।

३२ वर्षीय आमेर सुल्तान सन् २०१४ देखि फोटो पत्रकारका रूपमा काम गर्दै आएका छन्। विशेषगरी रातको समयमा हुने र कम कभरेज पाउने घटनाहरूलाई दस्तावेज गर्ने प्रयास गर्ने उनी बताउँछन्।

तर युद्धले उनको आफ्नै परिवार पनि तहसनहस बनाएको छ। सन् २०२३ अक्टोबर ७ मा जबालिया शरणार्थी शिविरस्थित घरबाट गाजा सिटीमा भइरहेको घटनाक्रमको रिपोर्टिङ गर्न निस्किएका सुल्तान पछि दक्षिणतर्फ विस्थापित हुनुपर्‍यो।

उनका परिवारका सदस्य भने उत्तरमै थिए। परिवारसँग पुनर्मिलन हुने उनको आशा सन् २०२५ जनवरी १६ मा टुट्यो। त्यस दिन उनले आफ्नी आमासहित परिवारका १३ जना सदस्य आफ्नै घरभित्र मारिएको खबर पाए।

आफू पनि युद्धबाट प्रत्यक्ष प्रभावित भए पनि पत्रकारितालाई निरन्तरता दिइरहेका सुल्तानले प्यालेस्टिनी जनतामाथिको हिंसा रोक्न र युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

गाजास्थित प्यालेस्टिनी पत्रकार संघका उपप्रमुख तहसिन अल–अस्तलका अनुसार थाबेत र सुल्तानजस्ता १ हजार ५ सयभन्दा बढी प्यालेस्टिनी पत्रकार युद्धबाट प्रत्यक्ष प्रभावित भएका छन्।

उनका अनुसार युद्धका क्रममा २५० भन्दा बढी पत्रकार मारिएका छन् भने दर्जनौँ घाइते भएका छन्। कतिपय पत्रकार पटक–पटक घाइते भएका छन्।

युद्धले सञ्चार संरचनामाथि पनि ठूलो असर पारेको अल–अस्तलको भनाइ छ। उनका अनुसार १५० भन्दा बढी स्थानीय, अरब तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका कार्यालय र उत्पादन केन्द्रहरू नष्ट वा क्षतिग्रस्त भएका छन्।

गाजाका पत्रकारका लागि पत्रकारिता अहिले समाचार संकलन वा पेशागत जिम्मेवारीमा मात्र सीमित छैन। उनीहरूले आफ्नै परिवार, घर, छिमेक र समुदायमाथि भइरहेको विनाशलाई अभिलेख गर्ने प्रयास पनि गरिरहेका छन्।

आफैं युद्धका पीडित बनेर पनि उनीहरू क्यामेरा र कलममार्फत गाजाको कथा संसारसामु पुर्‍याइरहेका छन्।

ड्युटीमै डाक्टर कुटिएपछि…

काठमाडौं । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरका चिकित्सक डा. सरोज साहमाथि कार्यस्थलमै सांघातिक आक्रमण भएको छ।

घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको हो।

बिहीबार ड्युटीमा रहेका बेला डा. साहमाथि बिरामीका आफन्तसहितको समूहले आक्रमण गरेको संघले जनाएको छ।

संघका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीमाथि यस्ता घटना दोहोरिरहेका छन्। यसले स्वास्थ्यकर्मीको सुरक्षा र आत्मसम्मानमा असर पारेको संघको भनाइ छ।

घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न संघले माग गरेको छ। दोषीमाथि कानुनी कारबाही गर्न पनि संघले आग्रह गरेको छ।

‘समग्र स्वास्थ्य क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो अमानवीय घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानूनको दायरामा ल्याउनुपर्छ,’ संघले भनेको छ।

अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले विज्ञप्ति जारी गरेका हुन्।

संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को पहिलो संशोधन, २०७९ अनुसार कारबाही गर्न माग गरेको छ।

स्वास्थ्य संस्थामा सुरक्षित वातावरण सुनिश्चित गर्न पनि संघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

ऋण असुलीबाट ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ। 

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ।

 

बजेटविहीन सुदूरपश्चिम, तलबभत्ता ठप्प,कहाँ मिलेन कुरो?

काठमाडौं। चालु आर्थिक वर्ष सुरु भएको ६२ दिन बितिसक्यो। नयाँ सरकार गठन भएको पनि एक महिना पुग्न लाग्यो। तर सुदूरपश्चिम प्रदेशमा भने बजेट अझै अलपत्र छ। बजेट पारित नहुँदा प्रदेश सरकारसँग नियमित खर्च गर्ने कानुनी आधारसमेत छैन।

यसको प्रत्यक्ष असर कर्मचारीको तलब-भत्तादेखि विकास निर्माणका कामसम्म परेको छ। साउनदेखि कर्मचारीले तलब पाएका छैनन् भने प्रदेश सरकारका कार्यालयको प्रशासनिक खर्चसमेत उधारोमा चलाउनुपर्ने अवस्था बनेको छ।

बजेट कहिले आउँछ भन्ने प्रश्नको स्पष्ट जवाफ सरकारसँग पनि छैन। बजेट निर्माणबारे जिम्मेवार निकायसँग पटकपटक जानकारी माग्दा ‘जानकारी छैन’ भन्ने ओठे जवाफ पाउने गरिएको छ। सरकारकै प्रवक्ताले समेत तत्काल बजेट आउने मिति तोक्न सकेका छैनन्।

सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार भदौ मसान्तभित्रै बजेट ल्याउन सम्भव नहुने देखिएको छ। बजेट निर्माणमा लगातार सार्वजनिक बिदा परेकाले समय लागेको उनको भनाइ छ। यद्यपि बजेटका अधिकांश काम सम्पन्न भइसकेको र अब फास्ट ट्र्याकबाट प्रदेशसभामा पेस गर्ने तयारी भइरहेको उनले बताएका छन्।

साउन २९ गते नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए। नयाँ सरकार गठनसँगै यसअघि प्रस्तुत बजेटलाई पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखन गरेर ल्याउने निर्णय भयो। तर सरकार बनेको एक महिना बितिसक्दा पनि बजेटले पूर्णता नपाउँदा सरकारको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।

बजेट पुनर्लेखनअघि प्रदेश नीति तथा योजना आयोगलाई पूर्णता दिने, सत्ता साझेदार दुई दलबीच सहमति कायम गर्ने र सरकारका प्राथमिकता तय गर्ने काम गरिएको प्रदेश सरकारको दाबी छ। मन्त्रिपरिषद्ले पनि बजेट पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखनको जिम्मेवारी आर्थिक मामिला मन्त्रालयलाई दिएको छ।

सबै प्रक्रिया चलिरहँदा पनि प्रदेश सरकार भने खर्चविहीन अवस्थामा पुगेको छ। बजेट नभएकै कारण विकास आयोजनाको भुक्तानीदेखि नियमित प्रशासनिक खर्चसम्म प्रभावित भएका छन्।

यद्यपि प्रदेशको राजस्व संकलन भने रोकिएको छैन। कानुनी व्यवस्थाअनुसार राजस्व उठिरहेको छ। तर संकलित रकमलाई नियमित बजेटअन्तर्गत विकास निर्माणमा खर्च गर्ने कानुनी आधार नहुँदा प्रदेशको विकास गतिविधि प्रभावित भएको छ।

सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर उक्त बजेट पारित हुन सकेन। सरकार परिवर्तनसँगै बजेट पुनरावलोकन तथा पुनर्लेखन गर्ने निर्णय भएपछि पुरानो बजेट कार्यान्वयनमा जान सकेन।

अहिले प्रश्न बजेट कति ठूलो वा सानो भन्नेभन्दा पनि सरकार बनेको एक महिना बितिसक्दा पनि बजेट किन आएन ? कर्मचारीको तलब कहिले आउँछ ? विकास आयोजना कहिले चल्छन् ? र यो ढिलाइको जिम्मेवारी कसले लिन्छ ? भन्नेमा केन्द्रित भएको छ।

सरकारले सकेसम्म छिटो बजेट प्रदेशसभामा पेस गर्ने बताइरहेको छ। तर प्रदेश बजेटविहीन बनेको ६२ दिन पुगिसक्दा पनि निश्चित मिति सार्वजनिक हुन नसक्नु र जवाफदेहिता हुन आलटाल गर्नुले सुदुर सुदूरपश्चिममा के खिचडी पाक्दै छ भन्नेमा सबैको अर्जुनदृष्टि सोझिएको छ।  साथै,सरकारको उत्तरदायित्वमाथि समेत प्रश्न उठको छ।

रसुवा-नुवाकोट बाढी : नुवाकोटको पछिल्लो अवस्था कस्तो छ?

काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति भयो। बाढीले हजारौँ नागरिक प्रभावित बने। कैयौँको ज्यान गयो। कैयौँ सम्पर्कविहीन छन्। हजारौँ नागरिक बाढीका कारण विस्थापित हुनुपर्यो। हराएका नागरिकको खोजी तथा उद्धार कार्य जारी छ। बाढीका कारण सडक, पुल, सरकारी कार्यालयलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ।

बाढीपछि अवरुद्ध सडक तथा यातायात सञ्चालनमा ल्याउने, प्रभावित नागरिकलाई राहत तथा आवासको व्यवस्था गर्ने र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। विस्थापित नागरिकलाई तत्काल अस्थायी आवासमा स्थानान्तरण गरी दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनःस्थापना गर्ने तयारीसमेत भइरहेको प्रशासनले जनाएको छ।

यही सन्दर्भमा बाढीबाट भएको क्षति, उद्धार तथा राहत, सडक तथा यातायातको अवस्था र विस्थापित नागरिकको पुनःस्थापनाका विषयमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ नेपालवान एचडीका लागि चिना श्रेष्ठले रेग्मीसँग गरेको कुराकानीको संक्षिप्त तथा सम्पादित अंश:

 

बाढीका कारण नुवाकोटमा कति क्षति पुगेको छ? पछिल्लो विवरण के छ?

क्षतिको आधिकारिक विवरण संकलन गर्ने काम प्राविधिक टोलीबाट भइरहेको छ। प्रारम्भिक रूपमा रसुवा र नुवाकोटका गरी करिब ४ हजार जनालाई उद्धार गरेर ल्याइएको छ। त्यस्तै, करिब २६ सय जनाको बेपत्ता भएको विवरण प्राप्त भएको छ। तर, यो संख्या यकिन गर्न वडा तहबाट घर–घरमा पुगेर सोधपुछ तथा विवरण संकलन गर्ने काम भइरहेको छ।

त्यसैगरी, रसुवा र नुवाकोटका गरी करिब २ सय शव संकलन गरेर राखिएको छ। तीमध्ये करिब ३४–३५ जनाको सनाखत भएको छ भने बाँकी शवको सनाखत हुन बाँकी छ।

बाढीका कारण करिब ८ वटा कार्यालय, १७ वटा पुल र १८ वटा झोलुंगे पुलमा क्षति पुगेको प्रारम्भिक विवरण छ। अन्य संरचना तथा सवारीसाधनमा समेत क्षति पुगेको छ। विस्तृत विवरण भने ड्यामेज एसेसमेन्ट टोलीले मूल्यांकन गरेपछि मात्रै यकिन हुनेछ।

बाढीका कारण अवरुद्ध सडक तथा यातायात सञ्चालनमा ल्याउन अहिले के काम भइरहेको छ?

अहिले सडक तथा यातायात सञ्चालनमा ल्याउने काम तीव्र रूपमा भइरहेको छ। काठमाडौंबाट नुवाकोटको विदुरसम्मको सडक सम्पर्क कायम गर्न काम भइरहेको छ।

त्यसपछि नुवाकोट र रसुवाको सीमा क्षेत्र देब्रेवतीमा करिब ७ सय मिटर सडकको ट्र्याक खोल्न बाँकी छ। ट्र्याक खुलेपछि त्यहाँ पनि बेलीब्रिज राख्ने तयारी भइरहेको छ।

जिल्लाका विभिन्न स्थानमा वैकल्पिक सडक, टनेल, जिपलाइन तथा अन्य माध्यमको प्रयोग गरेर आवतजावत सहज बनाउने प्रयास भइरहेको छ। नेपाली सेना, सुरक्षाकर्मी, प्रदेश सरकार, स्थानीय तहलगायतका निकायले संयुक्त रूपमा सडक तथा पुल सञ्चालनमा ल्याउने काम गरिरहेका छन्।

रसुवातर्फको सडक सम्पर्कको अवस्था कस्तो छ?

रसुवातर्फको भूगोल केही कठिन भएकाले त्यहाँ आवतजावत अझै सहज हुन सकेको छैन। अहिले फोरह्वील भएका साना सवारीसाधन मात्र सञ्चालन गर्न सकिने अवस्था छ। ठूलो सवारीसाधन सञ्चालनका लागि सडक पूर्ण रूपमा सहज भइसकेको छैन।

भित्री सडक प्रयोग गरेर जानुपर्ने भएकाले समय पनि बढी लाग्ने र बाटो कच्ची तथा अप्ठ्यारो हुने अवस्था छ। तर, सडक कनेक्टिभिटी विस्तार गर्न उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरेर काम भइरहेको छ।

घर जोखिममा परेका तथा विस्थापित नागरिकको व्यवस्थापन कसरी भइरहेको छ?

अहिले जोखिममा परेका तथा विस्थापित नागरिकलाई होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले आफ्नै व्यवस्थापनमा बस्न चाहने परिवारका लागि समेत आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ।

जो होल्डिङ सेन्टरमा बस्न चाहनुहुन्न, उहाँहरूलाई आफ्नो तरिकाले बस्ने व्यवस्था गर्न सक्ने अवस्था बनाइएको छ। त्यस्तै, होल्डिङ सेन्टरमै रहेका नागरिकलाई तत्काल अस्थायी बसोबासमा लैजाने र त्यसपछि स्थायी रूपमा सुरक्षित स्थानमा पुनःस्थापना गर्ने तयारी भइरहेको छ।

स्थायी बसोबासका लागि स्थानीय तहले उपलब्ध गराएको जग्गाको अध्ययन तथा जोखिम मूल्यांकन गर्ने काम भइरहेको छ। सुरक्षित स्थान पहिचान भएपछि दीर्घकालीन पुनःस्थापनाको काम अघि बढाइनेछ।

विस्थापित नागरिकका लागि खाना, राहत तथा स्वास्थ्य सेवाको अवस्था कस्तो छ?

नुवाकोटमा राहतको समस्या छैन। प्रभावित नागरिकलाई खाना, औषधि, कपडा लगायतका आधारभूत सामग्री उपलब्ध गराइएको छ। होल्डिङ सेन्टरमा स्वास्थ्य टोली परिचालन गरिएको छ। स्वास्थ्य परीक्षण, सरसफाइ, खोप तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको छ।

रसुवातर्फ भने भौगोलिक विकटता र सडक तथा पुलको कनेक्टिभिटीमा समस्या भएकाले राहत घर–घरमा पुर्‍याउन केही कठिनाइ हुन सक्ने अवस्था छ।

विस्थापित नागरिकलाई कहिलेसम्म होल्डिङ सेन्टरमा राख्ने योजना छ?

लामो समयसम्म होल्डिङ सेन्टरमा राख्नु उचित हुँदैन। त्यसैले जतिसक्दो छिटो अस्थायी आवासमा लैजाने गरी काम भइरहेको छ। अस्थायी आवासको व्यवस्था भएपछि नागरिकलाई अझ सहज हुनेछ।

त्यसपछि सुरक्षित स्थान पहिचान गरी स्थायी बसोबासको व्यवस्था गर्ने योजना छ। यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आवश्यक छलफल तथा प्रक्रिया अघि बढाइएको छ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण कहिलेसम्म आउँछ?

क्षतिको विस्तृत विवरण संकलन गर्ने काम अहिले भइरहेको छ। ड्यामेज एसेसमेन्ट टोलीले भौतिक संरचना तथा अन्य क्षेत्रमा भएको क्षतिको मूल्यांकन गरिरहेको छ। प्राविधिक मूल्यांकनपछि मात्रै आधिकारिक तथा विस्तृत विवरण सार्वजनिक गर्न सकिनेछ।

सडक, पुल तथा प्रभावित नागरिकको पुनःस्थापनाका लागि प्रशासनको प्राथमिकता के हो?

अहिले सडक तथा यातायात सञ्चालनमा ल्याउने, पुल तथा झोलुंगे पुल निर्माण गर्ने र प्रभावित नागरिकलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था गर्ने काम प्राथमिकतामा छ।

उपलब्ध स्रोतसाधन तथा जनशक्ति परिचालन गरेर सडक कनेक्टिभिटी विस्तार र प्रभावित नागरिकको व्यवस्थापनमा काम भइरहेको छ। तत्काल राहत र उद्धारसँगै अब अस्थायी तथा स्थायी पुनःस्थापनालाई समेत अघि बढाउने गरी प्रशासनले काम गरिरहेको छ।

 

प्रश्न गर्नेहरुलाई प्रश्नै प्रश्न!

काठमाडाैं। ‘देशको रक्षा गर्ने जति सबै चुतिया छन्, नेता जति सबै चोर देश लुटी खाछन्, आमाको सारीमा कट्टु सोची मुतिराछन्, नाङ्ग्रेस, नेमाले-नाओवादी-सबै मिली देश बाँडी खाऊँ हामी।’ सम्झिनुहुन्छ- कुरा यै होइन त? थोरै राइमिङ नमिलेको हुन सक्छ- त्यो त्यस्तै हो।

अनि यसमा रास्वपा चाहिँ छुटेको छ है। किनकि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले यो र्‍याप लेख्ने बेला रास्वपा जन्मेकै थिएन। नत्र रास्वपा पनि लेख्थे कि? हुन त नलेख्न पनि सक्थे। किनकि उनी त्यही दलबाट प्रधानमन्त्री छन्। कि उनलाई यो र्‍याप लेख्ने बेला थाहा थियो- यो देशमा रास्वपा जन्मिन्छ र म प्रधानमन्त्री हुन्छु भन्ने कुरा? हुन त उनको ‘फु… रास्वपा’ वाला स्टाटस पनि छ।

सम्झिनुहुन्छ- रास्वपा सभापति रवि लामिछानेले टेलिभिजनबाट राजनीतिक पार्टीका नेताहरूलाई खेद्नु खेद्थे। कतिसम्म भने उनले टुँडिखेलमा राखेर नेताहरूको नाकको डाँडी भाँचिदिने धम्की दिन्थे। एकछिन, एकछिन, उनले न कसैलाई खेदेका हुन्, न कसैलाई धम्की दिएका हुन्। उनले त विशुद्ध पत्रकारिता गरेका हुन्।

अब कतिपयले त अहिले पनि सोच्छन्, कतै आन्दोलन भयो भने म पानी बाँड्न जान्छु। पानी बाँड्न जाँदा गृहमन्त्री भइँदो रहेछ।

हिजो अरूलाई प्रश्न सोधेर र गाली गरेर चर्चामा आएका यही पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू आज आफैंलाई प्रश्न सोधिँदा भने भाग्ने गरेका छन्। सायद उनीहरूलाई थाहा भएको पो हो कि- यो सरकार चलाउने काम त र्‍यापमा गाली गरेजस्तै र टेलिभिजनबाट धम्की दिएजति सजिलो रहेनछ। अँ, सरकार चलाउन नसकेर, जनताका प्रश्न थेग्न नसकेर, गाली गर्न नपाएर उनीहरूलाई पर्नु पीर परेको पनि हुनुपर्छ।

जनताले सोधिरहेका छन्- सरकारी डोजर आतंकबाट विस्थापित सुकुम्बासी नागरिकको व्यवस्थापन भयो? अँ, त्यो गृहमन्त्रीको एउटा काण्ड आएको थियो नि! सेयर खरिद-बिक्री प्रकरण। त्यो प्रकरणको छानबिन प्रतिवेदन कहिले सार्वजनिक हुन्छ? कि त्यो प्रतिवेदन सुशासनले खायो?

अर्थमन्त्रीको बीवाईडी गाडी प्रकरणको छानबिन भयो त? कि कसैले कप्ल्याक्क खाइदियो? अहिले कसैले कुरै गर्दैनन्। अनि यसो सम्झेको।

नेपालले भारतको सीमा कहिले, कहाँ र कति मिचेको छ? कि प्रधानमन्त्रीले कुमाउँ, गढवाल र टिस्टा नदीसम्मको भूभाग नेपालको भन्न खोज्नुभएको हो?

हेर्नुस्, न अहिले त झन् प्रश्नै-प्रश्न! देशका युवाहरू अनलाइन मात्रै बसेर यस्तो भइसके कि उनीहरूलाई उनीहरूले होइन, एल्गोरिदमले चलाइरहेको छ। तर सरकारले भनेको ‘लाइन हैन, अन्ली अनलाइन’ खोइ कता पट्टि पो छ हौ? कि उतै घर्रातिर थन्किएको रास्वपाको वाचापत्रमा?

अनि ग्यास पाइरहनुभएको छ त? भात पकाउनुभयो? केमा? ग्यासमा कि इलेक्ट्रिकमा? कि भोकै हुनुहुन्छ? जे भए पनि बाल। अहिले देशमा रामराज्य छ। भोकै सुतोस् कि भोकै मरोस्। रामराज्यमा यस्तै हुन्छ।

लाइसेन्स, परिचयपत्र, पासपोर्ट तपाईंको घरमै आउन थाल्यो त? कि राहदानी विभाग, पञ्जीकरण विभाग र यातायात कार्यालयतिर लाइनमा बसेर यो भिडियो हेर्दै हुनुहुन्छ? होइन होला-देशमा १०० दिनमा देशलाई रामनगरी बनाउने सरकार छ। त्यस्तो त पक्कै होइन।

अस्पतालतिर के छ? कुपन हातमा छ? लाइनमै हुनुहुन्छ? कि प्रसव सुत्केरी व्यथाबाट गुज्रिएर सडकमै बच्चा जन्माउनुपरेको पीडादायी र कारुणिक दृश्य हेर्दै हुनुहुन्छ?

अनि तपाईंहरू विदेशमा हुनुहुन्छ? के छ त्यहाँको खबर? रास्वपा सभापति रवि लामिछाने तपाईं बसिरहेको सहरको गल्लीगल्लीमा स्टिकर टाँस्न त आउनुभएको छैन? आउनुभयो भने खबर गर्नुस् है।

तपाईंहरूले चिया त पक्कै खानुहुन्छ। कताको चिया खाइरहनुभएको छ? वारीको कि पारीको? चिया उद्योग बन्द त भएका छैनन् होला? कतै रोजगारी गुमाउनेमा तपाईं त पर्नुभएन नि? चिन्ता नलिनुस्, सरकारले अबको पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्दैछ।

सुनसरीमा दुई समुदायबीच धार्मिक दंगा भयो। चार जना कलिला युवाहरूले ज्यान गुमाए। सरकारले क्षतिपूर्ति दियो। सकियो। छानबिन प्रतिवेदनचाहिँ कता गयो? रोडहरू बिग्रेका छन्। बाढीपहिरो गइरहेको छ। जाम परिरहेको होला। प्रतिवेदन आउनमा ढिलाइ हुन सक्छ।

अन्तर्राष्ट्रिय सम्बन्ध राम्रै चलिरहेको होला। उता तलतिर भारतले ब्रिक्स सम्मेलन गर्‍यो। नेपाल पनि सार्कको अध्यक्ष हो क्यारे। तर बोलाइएन नेपाललाई। मास्तिर चीनसँग नि? दलाई लामाको जन्मदिन पहिलोचोटि नेपालमा मनाइयो। टीओबी त चर्चाको विषय नै भइहाल्यो। अमेरिकाका राजदूत मुस्ताङ गइरहेकै छन्। र पनि सम्बन्ध राम्रै होला।

भारतबाट बिजुली किन्ने रे? नेपालले बिजुली बेच्थ्यो हैन र? बेच्नुपर्ने हैन र? विज्ञ अर्थमन्त्रीले उत्पादनका योजना पनि ल्याएनन्। हुन त सरकार सुशासन ल्याउन लागिपरेको छ। व्यस्त छ।

अब यो देशमा जेन्जीहरूका दुःखका कुरा गरी साध्य छैन। २३ भदौमा त्यत्रो आन्दोलन गरे। सुशासन चाहिएको थियो। ७६ जनाको ज्यान गयो सुशासनका लागि। तर सुशासन? आउँदैछ- नारायणघाट-मुग्लिन सडकखण्डको बाटो भएर।

हिजो टेलिभिजनको पर्दा र गीतमा भाका हालेर नेताहरूलाई प्रश्नमाथि प्रश्न गर्ने अहिलेका सरकारवालाहरू भने प्रश्नबाट भागिरहेका छन्। उनीहरूले प्रश्नको उत्तर होइन, विषयान्तर रोज्छन्। प्रश्न सोध्नेलाई गाली गर्छन्, साइबर सेना लगाएर। पत्रकारलाई सुध्रिन आदेश दिन्छन्, आफ्नो भने भ्रष्टाचारको आरोप लागेको प्रतिवेदन खानासँग अचार बनाएजसरी खान्छन्। सञ्चारमाध्यमलाई धम्काउँछन् र भन्छन्, ‘पर्ख, लेख्लास्, बोल्लास्।’

महँगी नियन्त्रणमा सरकारले काम के गर्‍यो? कालोबजारी रोक्न के गरियो? विपद्पछिको राहत र पुनर्निर्माण कहाँ पुग्यो? भ्रष्टाचारविरुद्धको अनुसन्धानको अवस्था के छ? जीबी राई प्रकरण कहाँ पुग्यो? जेन्जी आन्दोलनसँग जोडिएका घटनामा न्यायिक प्रक्रिया कहाँ पुग्यो? विगतमा गरिएका राजनीतिक प्रतिबद्धता कति पूरा भए? यी यावत् प्रश्नको उत्तर नदिँदैमा प्रश्नहरू सकिँदैनन्।

महँगी, बजार अनुगमन, ग्यास अभाव, कालोबजारी, विपद्पछिको राहत र पुनर्निर्माण, भ्रष्टाचार अनुसन्धान तथा विगतमा गरिएका राजनीतिक प्रतिबद्धता पूरा भए-नभएको विषयमा संसद् र सार्वजनिक मञ्चबाट प्रश्न उठिरहेका छन्। तर सरकारसँग उत्तर छैन। उनीहरू भागिरहेका छन्। उनीहरू लखेटिइरहेका छन्- प्रश्नबाट।

सार्वजनिक पदमा बसेका व्यक्तिसँग प्रश्न गर्नु प्रत्येक नागरिकको अधिकार हो। त्यसको जवाफ दिने कि नदिने भन्ने निर्णय सम्बन्धित व्यक्तिको हुन सक्छ। तर जवाफ नदिँदैमा प्रश्नचाहिँ हराउँदैन। बरु प्रश्नहरू थपिँदै जान्छन्। अहिले पनि यो सरकारलाई त्यस्तै भएको छ। प्रश्नबाट भाग्दा-भाग्दा अब यस्तो लाग्छ- यिनीहरू प्रश्नबाट भाग्न पाउनेछैनन् र हराउनेछन्।

हिजो अरूलाई प्रश्न सोधेर राजनीतिक उचाइ बनाएका नेताहरू आज आफैं प्रश्नको केन्द्रमा छन्। तर फरक यति हो, हिजो प्रश्न सोध्ने पालो थियो, आज जवाफ दिने पालो। सार्वजनिक पदमा पुगेपछि प्रश्नबाट भागेर होइन, प्रश्नको सामना गरेर जवाफदेहिता देखाउनुपर्ने हुन्छ। प्रश्न नभए पनि प्रश्न जन्मिन्छ। पत्रकारले नसोधे जनताले सोध्छन्। सांसदले प्रश्न नगरे नि समयले प्रश्न गर्छ। र समयले सोधेको प्रश्नको जवाफ भने ‘उहाँलाई सोध्नुस्’ भनेर वा भागेर पन्छाउन सकिँदैन।

९ लाख घुससहित नापी अधिकृत रेस्टुरेन्टबाट पक्राउ

काठमाडौं । सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएर रेस्टुरेन्टमा बसेका नापी अधिकृत अख्तियारको फन्दामा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुखसमेत रहेका नापी अधिकृत डिल्लीबहादुर वलीलाई घुसको रकमसहित पक्राउ गरेको हो।

आयोगका अनुसार वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय मनमैजुमा पठाउने कामका लागि सेवाग्राहीसँग रकम माग गरेका थिए। काममा अनावश्यक ढिलाइ र झन्झट सिर्जना गर्दै घुस मागेको आरोप उनीमाथि छ।

अख्तियारको टोलीले वलीलाई काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट ९ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका वलीमाथि थप अनुसन्धानका लागि अख्तियारले विशेष अदालतबाट म्यादसमेत थप गराएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

नवजात ‘एक्सोप्लानेट’ फेला

काठमाडौं । खगोलविद्हरूले अहिलेसम्म पत्ता लागेको सबैभन्दा कम उमेरको एक्सोप्लानेट फेला पारेका छन्। 

रोचक पक्ष के छ भने करिब ४५० प्रकाशवर्ष टाढा रहेको यो ‘ ग्रह नयाँ अवलोकनबाट नभई वर्षौँ पुरानो अभिलेखीय तथ्यांक अध्ययन गर्ने क्रममा फेला परेको हो।

इलियस २–२४ बी नाम दिइएको यो ग्रहको द्रव्यमान (मास) बृहस्पति ग्रहको हाराहारीमा रहेको छ। आकारमा विशाल भए पनि यसको उमेर भने १० लाख वर्षभन्दा कम रहेको वैज्ञानिकहरूको अनुमान छ। यससँगै इलियस २–२४ बी अहिलेसम्म पत्ता लागेको सबैभन्दा कम उमेरको ग्रह बनेको छ।

यो ग्रह आफ्नो जन्म भएको तारालाई घेरेर रहेको ग्यास र धुलोको घुमिरहेको डिस्कभित्रै रहेको छ। त्यसैले ग्रह निर्माणको सुरुआती चरणमै रहेको यस्तो संसारको अध्ययनले ग्रह कसरी जन्मिन्छन् र प्रारम्भिक अवस्थामा कसरी विकसित हुन्छन् भन्ने बुझ्न वैज्ञानिकहरूलाई महत्वपूर्ण अवसर दिएको छ।

यसअघि सबैभन्दा कम उमेरका एक्सोप्लानेटका रूपमा चिनिएका चार ग्रहको उमेर ५० लाख वर्षभन्दा बढी थियो। चिलीस्थित इन्स्टिटुटो दे एस्तुदियोस आस्त्रोफिसिकोसका प्राध्यापक तथा अध्ययनका सहलेखक लुकास सिएजाका अनुसार यसअघिका सबैभन्दा कम उमेरका ग्रहको निर्माण प्रक्रिया नै विद्यमान ग्रह–निर्माण मोडलका लागि चुनौतीपूर्ण थियो।

इलियस २–२४ बीको खोजले ग्रह निर्माणसम्बन्धी वैज्ञानिक मोडलमा अझै केही महत्वपूर्ण प्रक्रिया छुटिरहेको संकेत गरेको सिएजाले बताएका छन्।

चिलीस्थित युनिभर्सिदाद डिएगो पोर्तालेसकी विद्यावारिधि अनुसन्धानकर्ता आन्द्रेआ बर्नार्डी नेतृत्वको टोलीले हवाईस्थित डब्ल्यू. एम. केक अब्जर्भेटरीबाट संकलन गरिएको पुरानो तथ्यांक अध्ययन गरेको थियो।

अनुसन्धानको केन्द्रमा इलियस २–२४ नामको तारा थियो। उक्त तारालाई ग्यास र धुलोबाट बनेको ठूलो डिस्कले घेरेको छ। यसअघि अटाकामा लार्ज मिलिमिटर/सबमिलिमिटर एरे (आल्मा) र युरोपियन सदर्न अब्जर्भेटरीको भेरी लार्ज टेलिस्कोप (भीएलटी) बाट गरिएको अवलोकनमा उक्त डिस्कमा एउटा खाली भाग देखिएको थियो।

वैज्ञानिकहरूले त्यही खाली भागभित्र कुनै ग्रह हुन सक्ने अनुमान गरेका थिए।

केक अब्जर्भेटरीको कोरोनाग्राफबाट प्राप्त अभिलेखीय तथ्यांकले अन्ततः उक्त अनुमानलाई पुष्टि गर्‍यो। कोरोनाग्राफले ताराबाट आउने अत्यधिक चम्किलो प्रकाशलाई रोक्ने भएकाले ताराको वरिपरि रहेका कमजोर प्रकाश भएका ग्रहलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सहयोग गर्छ।

अनुसन्धान टोलीले ग्रह निर्माण भइरहेको हुन सक्ने धुलो र ग्यासका डिस्कले घेरिएका सातवटा टाढाका तारासम्बन्धी कोरोनाग्राफ तथ्यांक अध्ययन गरेको थियो। उनीहरूको अनुमानअनुसार ग्रहले आफ्नो वरिपरि रहेको पदार्थ हटाउँदै जाँदा डिस्कमा खाली भाग बन्न सक्छ।

त्यही खाली भागमा इलियस २-२४ बी फेला परेको हो।

बर्नार्डीका अनुसार ग्रहहरू डिस्कभित्र रहेका पदार्थलाई हटाउँदै जाने भएकाले उनीहरू त्यस्ता खाली भागमा भेटिनुपर्ने अपेक्षा गरिएको थियो। इलियस २–२४ बी त्यही स्थानमा भेटिनुले उक्त अवधारणालाई थप बल दिएको छ।

वैज्ञानिकहरूका अनुसार यति कम उमेरको ग्रह भेटिनु ग्रह निर्माणको सुरुआती चरण अध्ययन गर्ने दुर्लभ अवसर हो।

सिएजाका अनुसार आकाशगंगामा निरन्तर नयाँ तारा र ग्रह निर्माण भइरहेका छन्। त्यसैले सिद्धान्ततः ग्रह विकासका विभिन्न चरणलाई अध्ययन गर्न सकिने भए पनि अहिलेका अधिकांश टेलिस्कोपले ग्रह निर्माणको प्रारम्भिक अवस्थालाई पर्याप्त रूपमा देख्न सकिरहेका छैनन्।

वैज्ञानिकहरू अहिले यस्ता नवजात ग्रहको अध्ययनमा धेरै हदसम्म सीमित अवस्थामा रहेको बताउँछन्।

भविष्यमा भने नयाँ पुस्ताका दूरबिनले यो अवस्था परिवर्तन गर्न सक्ने अपेक्षा गरिएको छ। विशेषगरी नासाको न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोपमा रहेको कोरोनाग्राफ उपकरणबाट एक्सोप्लानेटको प्रत्यक्ष अवलोकन अझ प्रभावकारी हुने वैज्ञानिकहरूको अपेक्षा छ।

यस उपकरणमार्फत एक्सोप्लानेट तथा तिनका वायुमण्डलको थप विस्तृत अध्ययन गर्न सकिने वैज्ञानिकहरूको अपेक्षा छ। 

बर्नार्डीका अनुसार इलियस २–२४ बी अहिले उपलब्ध दूरबिनले पत्ता लगाउन सक्ने क्षमताको सीमामा रहेको छ। नयाँ उपकरण प्रयोगमा आएपछि यस्ता नवजात ग्रह पत्ता लगाउन अझ सहज हुने  उनले बताएका छन्। 

उनि भन्छन्, ‘यो खोज कुनै एउटै दूरबिनको अवलोकनमा आधारित नभई विभिन्न दूरबिनबाट प्राप्त तथ्यांकलाई एकसाथ अध्ययन गरेपछि सम्भव भएको हो।’ 

[अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार गारिएको]

उजुरी नै उजुरीको चाङमाथि काठमाडौं महानगर

काठमाडौं । स्थानीय तहमा हुने अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीमा काठमाडौं महानगरपालिका सबैभन्दा अगाडि देखिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ मा काठमाडौं महानगरपालिकासँग सम्बन्धित ४४१ वटा उजुरी परेका छन्।

आयोगमा सबैभन्दा धेरै उजुरी परेका १० स्थानीय तहको विवरण विश्लेषण गर्दा काठमाडौं महानगरसँग सम्बन्धित उजुरीको संख्या अन्य स्थानीय तहको तुलनामा बढी देखिएको हो।

काठमाडौं महानगरपछि पोखरा महानगरपालिका उजुरीको संख्याका आधारमा दोस्रो स्थानमा छ। त्यसपछि धनुषाको विदेह नगरपालिका, पर्साको छिपहरमाई गाउँपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका र सिरहाको सिरहा नगरपालिका रहेका छन्।

त्यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिका, सुवर्ण गाउँपालिका, पर्साको वीरगञ्ज महानगरपालिका र बाराको पचरौता नगरपालिका पनि धेरै उजुरी परेका स्थानीय तहको सूचीमा छन्।

आयोगका प्रवक्ता तथा सहसचिव सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आयोगमा परेका उजुरीको विश्लेषणबाट स्थानीय तहसम्बन्धी उजुरीमा यस्तो अवस्था देखिएको हो।

आयोगमा परेको उजुरी आफैंमा भ्रष्टाचार प्रमाणित भएको अर्थ नलाग्ने भएकाले सम्बन्धित उजुरीमाथि छानबिन र अनुसन्धानपछि मात्रै आरोप पुष्टि वा खारेज हुने आयोगको प्रक्रियाअनुसार बुझ्नुपर्ने हुन्छ।

हुण्डी कारोबारी पक्राउ

काठमाडौं। अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

 धनुषा शहिदनगर नगरपालिका-४ घर भएका २४ वर्षीय अजय कुमार मुखिया पक्राउ परेका हुन्।

मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यवसायीक बैङ्क खाताहरू प्रयोग गरि हालसम्म एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १ सय ४४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको खुलेको छ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

ईभी माइक्रो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

स्याङ्जा । वालिङ नगरपालिका–६ पाडेटारीमा ईभी माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।

बिहीबार दिउँसो मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका–५ का ३२ वर्षीय सुरज अधिकारी गम्भीर घाइते भएका छन्। उनको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २३ वर्षीय सरोज विकको टाउको र बायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते दुवैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी रमेशदत्त अवस्थीले जानकारी दिए।

माइक्रो चालक र दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

किताब पढ्नेलाई पैसा दिँदै सिंगापुर सरकार

काठमाडौं । मोबाइल र इन्टरनेटमा अनावश्यक समय बिताउने बानी घटाउन सिंगापुर सरकारले नागरिकलाई किताब पढेबापत पैसा दिने योजना ल्याएको छ।

सरकारले यसै महिनाबाट सुरु गरेको योजनामा नागरिकले दैनिक कम्तीमा १५ मिनेट पुस्तक पढेपछि अंक अर्थात् भर्चुअल सिक्का पाउनेछन्। जम्मा भएको सिक्का निश्चित सीमामा पुगेपछि त्यसलाई नगदमा रूपान्तरण गर्न सकिनेछ।

योजनाअनुसार १५ मिनेट वा त्यसभन्दा बढी समय पुस्तक पढेको प्रत्येक अध्ययन सत्रमा २० भर्चुअल सिक्का दिइनेछ। एक दिनमा भने एउटा मात्र अध्ययन सत्र दर्ता गर्न पाइनेछ।

एक हजार सिक्का जम्मा भएपछि एक सिंगापुर डलर प्राप्त हुनेछ। अर्थात् एक डलर कमाउन ५० दिनसम्म दैनिक १५ मिनेट पुस्तक पढेको विवरण दर्ता गर्नुपर्नेछ।

सिंगापुरको नेसनल लाइब्रेरी बोर्डले यो योजनामार्फत नागरिकमा नियमित पठन संस्कार विकास गर्नुका साथै एकाग्रता, तार्किक सोच र कल्पनाशीलता बढाउने लक्ष्य राखेको जनाएको छ।

बोर्डकी प्रमुख मेलिसा तामका अनुसार ठूलो लक्ष्यभन्दा साना र निरन्तर अभ्यासबाट पठन संस्कृतिको विकास गर्न सकिन्छ।

उनले दैनिक १५ मिनेट पढ्ने बानीलाई सहज लक्ष्यका रूपमा अघि सारिएको बताउँदै यात्रा गर्दा, सुत्नुअघि वा खाना खाने समयमा समेत पुस्तक पढ्न सकिने बताएकी छन्।

सरकारले नागरिकको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन आर्थिक प्रोत्साहन प्रयोग गरेको यो पहिलोपटक भने होइन। यसअघि स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमअन्तर्गत नियमित हिँड्ने बानी विकास गर्न दैनिक पाइला पूरा गरेबापत पुरस्कार तथा सुपरमार्केट भौचर दिने कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।

नयाँ पठन अभियानलाई पनि यस्तै ‘ग्यामिफिकेसन’ अर्थात् खेलजस्तो प्रोत्साहन प्रणालीमा आधारित बनाइएको छ, जसमा नियमित पुस्तक पढ्ने बानीलाई अंक र पुरस्कारसँग जोडिएक

देउवा पक्षका ५१ नेता फर्किए, सानेपाबाट गगनले दिए यस्तो सन्देश

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि चर्किएको आन्तरिक विवाद तत्कालका लागि समायोजनतर्फ मोडिएको छ ।

विशेष महाधिवेशनपछि छुट्टाछुट्टै गतिविधि गर्दै आएका पूर्वसभापति शेरबहादुर देउवा पक्षका प्रभावशाली नेताहरू बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा फर्किएका छन् ।

सभापति गगनकुमार थापाले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा देउवा पक्षनिकट ५१ जना निवर्तमान केन्द्रीय सदस्य सहभागी भएका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णयसँगै उनीहरूलाई बैठकमा सहभागी गराइएको हो ।

दिउँसो २ बजे बोलाइएको बैठकमा पूर्वसभापति देउवा पक्षका प्रभावशाली नेताहरूको उपस्थितिलाई कांग्रेसभित्रको विभाजन कम गर्ने प्रयासका रूपमा हेरिएको छ । यसअघि देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी अघि बढाउँदै आएको थियो । तर पूर्णबहादुर खड्कालगायतका नेताहरू गगन नेतृत्वको कार्यसमितिमा समायोजन हुने भएपछि देउवा पक्षभित्रै मतभेद देखिएको थियो ।

देउवा पक्षबाट गगन नेतृत्वको कार्यसमितिमा समाहित हुने नेताहरूमा डिना उपाध्याय, श्याम घिमिरे, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर, जीवनबहादुर शाही, सुशीला थिङ र गोविन्द भट्टराईलगायत छन् ।

बैठकमा सभापति थापाले पार्टीभित्र भएका तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन नेताहरूलाई आग्रह गरेका छन् । उनले कांग्रेसलाई ‘दाइभाइको पार्टी’ र एउटै परिवारको रूपमा चित्रण गर्दै परिवारभित्र कहिलेकाहीँ ठेस लाग्नु स्वाभाविक भएको बताए ।

‘मैले कहिलेकाहीँ बोल्दै गर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला । हामी कहिले पनि त्यो कुरालाई व्यक्तिगत रूपमा लिएका छैनौँ,’ थापाले भने ।

उनले आफूबाट पनि कमजोरी भएको हुन सक्ने र अरू नेताबाट पनि त्यस्तो भएको हुन सक्ने भन्दै त्यसलाई सामान्य रूपमा लिएर संवादबाट अघि बढ्नुपर्ने बताए ।

‘हाम्रो पार्टी दाइभाइवाला पार्टी हो । हाम्रो पार्टी परिवार हो । एउटै परिवार हो । परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ,’ थापाले भने, ‘मबाट पनि भयो होला, अरू साथीहरूबाट पनि भए होलान् । यी सामान्य कुरा हुन् । यसलाई सौहार्द बनाउँदै छलफल गर्दै लैजाने कुरा हो ।’

थापाले पूर्वसभापति शेरबहादुर देउवालाई समेत महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । उनले असोज ३ र ४ गतेबाट वडा अधिवेशन सुरु हुने उल्लेख गर्दै देउवा आफैँ आएर वडा अधिवेशनको उद्घाटन गरिदिए आफूहरूका लागि सम्मानको विषय हुने बताए ।

कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन, त्यसपछि पालिका तथा निर्वाचन क्षेत्रीय अधिवेशन गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ ।

यसअघि देउवा पक्षले भने असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी अघि बढाएको थियो ।

‘द ग्रे जोन’को रिपोर्टले तातेको संसद्

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’मा प्रकाशित रिपोर्ट र सार्वजनिक भएका केही कागजातलाई लिएर प्रतिनिधिसभाको बिहीबारको बैठकमा चर्को बहस भएको छ। रिपोर्टमा नेपालका पछिल्ला राजनीतिक घटनाक्रम, नेतृत्व विकास तथा केही राजनीतिक नेताहरूको उदयसँग विदेशी सहयोगमा सञ्चालित संस्था जोडिएको दाबी गरिएको विषय संसद्मा प्रवेश गरेपछि सांसदहरू विभाजित देखिएका हुन्।

नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित केही नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनी सार्वजनिक भएको रिपोर्टबारे सरकारले जवाफ दिनुपर्ने माग गरे।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले ‘द ग्रे जोन’ले सार्वजनिक गरेका विषय गम्भीर भएकाले सरकार र रिपोर्टमा नाम जोडिएका व्यक्तिहरूले स्पष्ट पार्नुपर्ने बताए।

उनले गत वर्ष भदौ २३ र २४ गतेको घटनासँग समेत यो विषय जोडेर प्रश्न उठाए। सिंहदरबारसहित सरकारी, निजी, व्यावसायिक तथा राजनीतिक दलका कार्यालयमा भएको आगजनीमा तालिमप्राप्त समूहको संलग्नता र रासायनिक पदार्थ प्रयोग भएको विषय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको उल्लेख गर्दै उनले ती घटनाबारे पनि स्पष्ट अनुसन्धान आवश्यक रहेको बताए।

‘द ग्रे जोन’ले प्रधानमन्त्री शाहसहित रास्वपाका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गरेको भन्दै पोखरेलले संसद्मा यसको जवाफ मागे।

‘प्रश्नबाट कोही पनि भाग्न पाउँदैनन्, सरकार र नाम जोडिएकाहरूले जवाफ दिनुपर्छ,’ उनको भनाइ थियो।

तर श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले विदेशी सहयोगमा सञ्चालित कार्यक्रमबारे प्रश्न उठाउनु स्वाभाविक भए पनि कुनै व्यक्तिको नाम कागजातमा उल्लेख हुँदैमा त्यसलाई विदेशी हस्तक्षेपको प्रमाण मान्न नसकिने बताए।

राईले नेपालमा विदेशी सरकार वा संस्थाको सहयोगमा सञ्चालित राजनीतिक, नेतृत्व विकास तथा युवा परिचालनसम्बन्धी कार्यक्रमको सम्पूर्ण विवरण सार्वजनिक गर्न सरकारसँग माग गरे।

उनले त्यस्ता कार्यक्रमको बजेट, उद्देश्य, लाभग्राही, तालिम तथा आर्थिक सहयोग प्राप्त गर्ने संस्था वा व्यक्तिको विवरण संसद्मा पेस गर्न माग गर्दै विदेशी सहयोग निर्वाचन, राजनीतिक दलको नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रयोग भएको हो वा होइन भन्नेबारे स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने बताए।

राईले ‘द ग्रे जोन’को रिपोर्टलाई लिएर सामाजिक सञ्जालमा भइरहेको बहसप्रति पनि आपत्ति जनाए। उनले जेनजी आन्दोलनलाई कुनै दल वा व्यक्ति विशेषसँग मात्र जोडेर हेर्न नहुने बताए।

‘जेनजी आन्दोलन वास्तवमा एउटा उमेर समूहले गरेको हो, त्यसलाई कुनै पार्टी वा व्यक्ति विशेषसँग जोडेर हेर्न मिल्दैन,’ उनले भने।

उनका अनुसार नेपालको राजनीतिक भविष्य नेपाली जनताको मत, संविधान र राष्ट्रिय स्वार्थबाट निर्देशित हुनुपर्छ। मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध आवश्यक भए पनि नेपालको राजनीतिक भविष्य निर्धारण गर्ने अधिकार नेपाली जनतामै रहेको उनको भनाइ थियो।

उता रास्वपाका सांसद सोम शर्माले ‘द ग्रे जोन’को रिपोर्टलाई आधार बनाएर जेनजी आन्दोलनलाई विदेशी योजनासँग जोड्ने प्रयास भएको भन्दै आपत्ति जनाए।

उनले भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका हजारौँ युवाको आन्दोलनलाई विदेशी डलरसँग जोडेर हेर्न नहुने बताए।

‘के युवाको आक्रोश र नेपाली नागरिकले चुनावमा हालेको मत कुनै विदेशी डलरले किनेको हो ? के भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिएका ती हजारौँ युवालाई कसैले डलर बाँडेको थियो ?’ भन्दै शर्माले प्रश्न गरे।

उनले नेपाली नागरिकको राजनीतिक चेतना र आन्दोलनलाई ‘विदेशी फन्डेड’को रूपमा व्याख्या नगर्न चेतावनी दिए।

यसरी एउटै रिपोर्टलाई आधार बनाएर संसद्मा दुई फरक प्रश्न उठेका छन्,एकातर्फ विदेशी सहयोगमा सञ्चालित कार्यक्रमले नेपालको राजनीति र नेतृत्व निर्माणमा कस्तो भूमिका खेले भन्ने विषयमा सरकारसँग विवरण र छानबिनको माग गरिएको छ भने अर्कोतर्फ कुनै आन्दोलन वा राजनीतिक उदयलाई विदेशी प्रभावसँग जोड्नुअघि ठोस प्रमाण आवश्यक रहेको सांसदहरूको भनाइ छ।

बहससँगै अब सरकारसँग विदेशी सहयोगमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमको विवरण, त्यसको कानुनी आधार, लाभग्राही र राजनीतिक गतिविधिसँगको सम्बन्धबारे संसद्मा कस्तो जवाफ आउँछ भन्ने विषय चासोको बनेको छ।

भोटेकोशीपछि आर्थिक पुनर्जागरणको संकल्प प्रस्ताव माग

काठमाडौं । भोटेकोशी बाढीले क्षतिग्रस्त अर्थतन्त्रलाई पुनर्जीवन दिन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले प्रतिनिधिसभाबाट ‘आर्थिक पुनर्जागरण तथा पुनर्निर्माणको संकल्प प्रस्ताव’ पारित गर्न माग गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणसँगै अर्थतन्त्रलाई चलायमान बनाउने विशेष कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग आग्रह गरिन्।

उनले क्षतिग्रस्त आयोजना पुनर्निर्माण, बिमा दाबीको शीघ्र फर्छ्योट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण र नीतिगत सहजीकरणसहितको विशेष आर्थिक राहत प्याकेज ल्याउनुपर्ने बताइन्।

भोटेकोशी बाढीका कारण रणनीतिक सडक तथा उत्तरी नाका अवरुद्ध हुँदा आपूर्ति शृङ्खलामा समेत असर परेको उल्लेख गर्दै अधिकारीले सडक पूर्वाधारका अवरोध तत्काल हटाउनुपर्ने बताइन्।

आवश्यक परे चौबीसै घण्टा तीन सिफ्टमा काम गरेर भए पनि सडक तथा पूर्वाधार सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ।

नीतिगत, कानुनी र प्रशासनिक झन्झट हटाउन तत्काल निर्णय गर्न सक्ने अधिकारसम्पन्न ‘फास्ट ट्र्याक’ संयन्त्र गठन गर्नुपर्ने उनले बताइन्।

अधिकारीले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘कुलदेवता’ भन्दै स्वदेशी उद्यमी र व्यवसायीको मनोबल बढाउनुपर्ने बताइन्।

‘जबसम्म आफ्नै देशका व्यवसायी ढुक्क हुँदैनन्, तबसम्म न आन्तरिक अर्थतन्त्र चलायमान हुन्छ, न पुँजी बजार चल्छ, न विदेशी लगानी नै आउँछ,’ उनले भनिन्।

पुनर्निर्माणमा स्वदेशी स्रोत, साधन र उत्पादनलाई प्राथमिकता दिँदै रोजगारी सिर्जना र आर्थिक वृद्धिमा जोड दिनुपर्ने उनको भनाइ छ।

जलविद्युत् क्षेत्रको विकासलाई गति दिन विद्युत् खरिद सम्झौता (पीपीए), उत्पादन अनुमतिपत्र र वातावरणीय अध्ययनका प्रक्रिया सरलीकरण गर्नुपर्ने उनले बताइन्। जलविद्युत् आयोजना तथा नयाँ पूर्वाधारलाई भविष्यमा आउने जलवायुजन्य विपद् सामना गर्न सक्ने गरी निर्माण गर्नुपर्ने उनको सुझाव छ।

नेपालमा पटकपटक राजनीतिक व्यवस्था, संविधान, नेतृत्व र सरकार परिवर्तन भए पनि नागरिकको जीवनमा अपेक्षित आर्थिक परिवर्तन आउन नसकेको अधिकारीले बताइन्।

‘नेपालमा धेरै राजनीतिक परिवर्तन भए, व्यवस्था परिवर्तन भयो, संविधान परिवर्तन भए, नेतृत्व परिवर्तन भए, सरकारहरू परिवर्तन भए, तर अब नेपाली जनताको जीवनमा वास्तविक आर्थिक परिवर्तन कहिले आउँछ ?’ उनले प्रश्न गरिन्।

किसानले उत्पादनको उचित मूल्य, युवाले देशमै सम्मानजनक रोजगारी र उद्यमीले नेपालमै व्यवसाय विस्तार गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

‘भोको पेटलाई कुनै वादले लामो समयसम्म निर्देशित गर्न सक्दैन, बेरोजगार हातलाई सिद्धान्तले मात्रै सधैँ आश्वस्त पार्न सक्दैन र खाली खल्तीलाई राजनीतिक नाराले समृद्ध बनाउन सक्दैन,’ उनले भनिन्।

भोटेकोशी बाढीले शिथिल अर्थतन्त्रमा थप धक्का पुर्‍याएको उल्लेख गर्दै अधिकारीले विपद्लाई पुनर्निर्माणसँगै आर्थिक रूपान्तरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताइन्। उनले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका क्रममा तीन वर्षको आर्थिक वृद्धिदर औसत ७.७ प्रतिशत रहेको तथ्यसमेत सदनमा प्रस्तुत गरिन्।

लाखौँ युवा रोजगारीका लागि विदेशिन बाध्य भएको, किसानले उचित मूल्य नपाएको र उद्यमीले नीतिगत तथा प्रशासनिक झन्झट बेहोर्नुपरेको उल्लेख गर्दै उनले अब आर्थिक पुनरुत्थानलाई राजनीतिक प्राथमिकताको केन्द्रमा राख्नुपर्ने बताइन्।

‘के नेपालको नक्साबाट धादिङ हटेको हो ?’

काठमाडौं । भोटेकोशीको बाढीले धादिङको फुर्केखोलामा रहेको पुल बगाएको २३ दिन बितिसक्दा पनि अस्थायी बेलिब्रिज निर्माण हुन नसकेको भन्दै नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला)ले सरकारको चर्को आलोचना गरेकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै थपलियाले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले चरम ढिलाइ गरेको बताइन्। नागरिकको आवागमन र जीवनरक्षाजस्तो विषयमा समेत सरकार गम्भीर नदेखिएको उनको आरोप छ।

‘मैले बारम्बार यस सदनमार्फत ध्यानाकर्षण गराउँदा पनि सरकार कानमा तेल हालेर आँखामा पट्टी बाँधेर बसेको छ,’ उनले भनिन्, ‘के नेपालको नक्साबाट धादिङ जिल्ला हटेको हो ? धादिङका नागरिकहरूले आज आफैँलाई यो प्रश्न गर्न थालेका छन्।’

थपलियाले बाढीबाट प्रभावित धादिङ, रसुवा र नुवाकोटका व्यवसायी तथा सर्वसाधारणलाई राहत दिन बैंक ऋणको ब्याज र विद्युत् महसुल पुनर्स्थापना नभएसम्मका लागि मिनाहा गर्न सरकारसँग माग गरिन्।

कृष्णभीरको पहिरोको दीर्घकालीन समाधान खोज्न मलेखु–ताल्ती हुँदै भण्डारा जोड्ने चेपाङ मार्गलाई वैकल्पिक सडकका रूपमा विकास गर्नुपर्ने उनको सुझाव छ।

उनले अस्पतालबाहिर सडकमा बच्चा जन्माउन बाध्य भएको पछिल्लो घटनालाई समेत सदनमा उठाइन्। अस्पतालमा उपचार पाउनुअघि नै पैसा खोजिएको भन्दै उनले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग जवाफ मागिन्।

‘मधेसको छोरो प्रधानमन्त्री हुँदा मधेसकै छोरी–बुहारीको अवस्था यही हो ? अस्पतालले उपचारअघि पैसा खोज्ने कि उपचार ? यसको जवाफ म प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग चाहन्छु,’ उनले भनिन्।

थपलियाले नयाँ दलहरूले पुराना दललाई गाली गर्दैमा राजनीतिक संस्कार स्थापित नहुने बताइन्।

अरूलाई प्रश्न गर्दा सहज रूपमा लिने तर आफूलाई प्रश्न गरिँदा त्यसलाई प्रतिशोधका रूपमा बुझ्ने प्रवृत्तिमाथि उनले प्रश्न उठाइन्।

‘अरूलाई प्रश्न गर्दा बडो आनन्द मान्नुहुन्छ, तर तपाईंहरूलाई प्रश्न गर्दा प्रतिशोध ठान्नुहुन्छ ? यो कस्तो संस्कार हो ?’ उनले प्रश्न गरिन्।

मेलम्ची खानेपानी आयोजनाका प्रभावितका माग पूरा गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित तथा स्थानीय भेन्डर्सका माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाका सवारीसाधन तथा कर्मचारीलाई आयोजनास्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको जानकारी गराएका हुन्।

उनले आन्दोलनका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भई आयोजना सञ्चालनमा समस्या आउन सक्ने भन्दै सरकारलाई समयमै समस्या समाधान गर्न आग्रह गरे।

दुलालका अनुसार यसअघि मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित पीडित र स्थानीय भेन्डर्सले पानी पथान्तरण बन्द गरेपछि सरकारले विभिन्न सम्झौता गरेको थियो। तर ती सम्झौता अझै कार्यान्वयन हुन नसकेको उनले बताए।

बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई मुख्य माग बनाएको दुलालले बताए। स्थानीय भेन्डर्सले भने सरकारले आफूहरूलाई दिनुपर्ने भुक्तानीको माग राख्दै आएका छन्।

‘मेलम्ची खानेपानी आयोजनाका प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आज एउटा आन्दोलनको घोषणा गरेको छ। आजदेखि आयोजनाको कुनै पनि गाडी तथा कर्मचारीलाई आयोजनास्थलमा प्रवेश गर्न नदिने भनेर घोषणा गरेको छ,’ उनले भने।

दुलालले विगतमा पनि पीडित तथा स्थानीय भेन्डर्सका माग सम्बोधन गर्ने भन्दै सरकारले पटक–पटक सम्झौता गरेको उल्लेख गरे। पुनः पानी पथान्तरण बन्द गर्ने अवस्था आउन नदिन ती सम्झौता तत्काल कार्यान्वयन गर्न उनले सरकारसँग माग गरे।

उनले मेलम्चीदेखि हेलम्बुसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का तत्काल स्वीकृत गर्न माग गरे। त्यस्तै, मेलम्चीदेखि पाँचपोखरीसम्मको सडकका लागि पनि बहुवर्षीय ठेक्का प्रक्रिया अविलम्ब अघि बढाउन उनले आग्रह गरे।

‘मेलम्चीबाट हेलम्बुसम्मको बाटो बहुवर्षीय ठेक्का अविलम्ब स्वीकृत गरियोस्। मेलम्चीबाट पाँचपोखरीसम्मको बाटोको सन्दर्भमा समेत बहुवर्षीय ठेक्का अविलम्ब गराइयोस्। र विगतमा सरकारले पीडितसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गरियोस्,’ उनले भने।

दुलालले सरकार र प्रभावित पक्षबीच भएका सहमति कार्यान्वयन गरेर समस्या समाधान गर्नुपर्ने बताए।

माग सम्बोधन नभए पुनः पानी पथान्तरणमा अवरोध हुन सक्ने र त्यसबाट मेलम्ची खानेपानी आयोजना सञ्चालनमा समस्या आउन सक्ने भन्दै उनले राजधानीवासीले फेरि खानेपानी अभाव झेल्नुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराए।

एमाले सांसदको आक्रोश : ‘बालेन सरकारले जनतालाई भोक-भोकै मार्न खोजेको हो?’

काठमाडौं । बजारमा ग्यासको चरम अभाव भएपछि नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले सरकारमाथि कडा प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै बरालले ग्यास नपाउँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको भन्दै सरकार र सम्बन्धित निकाय बेखबरजस्तै बनेको आरोप लगाइन्। उनले जनताले भोगिरहेको समस्याको तत्काल समाधान खोज्न सरकारसँग माग गरिन्।

‘सरकारलाई जनताको अवस्थाबारे ध्यान छ कि छैन ? जनता भोकमरीमा पर्न थाले,’ उनले प्रश्न गरिन्, ‘के हिजोको सरकारले ग्यास च्याम्बरमा मान्छे हालेर मारेको थियो ? आजको सरकारले जनतालाई भोकै मारेर मार्न थालेको हो ?’

बरालले बजारमा ग्यास अभाव हुनुको कारण, मूल्यवृद्धिको औचित्य र खाना पकाउने आधारभूत साधन नपाएर नागरिकले भोग्नुपरेको अवस्थाबारे सरकारले जवाफ दिनुपर्ने बताइन्।

नैतिकताको कुरा गर्ने सरकारको व्यवहारमाथि प्रश्न उठाउँदै उनले विगतको सरकारको नैतिकता खोज्नेहरू अहिले किन मौन बसेको भन्दै प्रश्न गरिन्।

‘हिजोको सरकारको नैतिकता खोज्नेहरू आज किन चुप छन् ? नैतिकता भनेको जनता मर्नु हो ?’ उनले भनिन्।

बरालले सभामुख डोलप्रसाद अर्यालमार्फत सरकारलाई ग्यास अभावको कारण र समाधानबारे तत्काल सदनलाई जानकारी गराउन निर्देशन दिन आग्रह गरिन्।

‘जनताका समस्या किन समाधान हुँदैनन् ? ग्यासको समस्या किन छ ? यो कुराको तत्काल जानकारी पाउनुपर्छ,’ उनले भनिन्, ‘सम्मानित सदनमार्फत म सरकारलाई निर्देशन दिन माग गर्दछु।’

नागरिक दिनप्रतिदिन निराश र पीडित बन्दै गएको उल्लेख गर्दै बरालले प्रधानमन्त्री बालेन्द्र शाहलाई ग्याससहित अत्यावश्यक सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न गम्भीर भएर काम गर्न आग्रह गरिन्।

‘एयरपोर्टमा थन्कियो आधा नेपाललाई पुग्ने बाढीपीडितको राहत?’

काठमाडौं । बाढीपहिरोले घरबार र आफन्त गुमाएका नागरिक राहतको पर्खाइमा छन्, तर विदेशबाट उनीहरूका लागि आएको ठूलो परिमाणको राहत सामग्री भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमै थन्किएको भन्दै रास्वपा सांसद यज्ञमणि न्यौपानेले सरकारमाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै न्यौपानेले विपद्का बेला सहयोगस्वरूप आएको सामग्री समयमै प्रभावितसम्म नपुर्‍याइनु गम्भीर व्यवस्थापकीय कमजोरी भएको बताए।

उनले कोरोना महामारीका बेला विदेशबाट आएको २० कन्टेनर सामग्रीसमेत उपयोग हुन नसकी खेर गएको उदाहरण दिँदै अहिले पनि उस्तै अवस्था दोहोरिन लागेको बताए।

‘कोरोनाका बेलामा विदेशीले दिएको २० कन्टेनर सामान खेर गयो । अहिले पनि विदेशीहरूले दिएको आधा नेपाललाई एक वर्ष पुग्ने सामान थन्किएको छ,’ उनले भने।

विमानस्थलमा राहत सामग्री किन थन्किएको हो भन्नेबारे बुझ्दा सम्बन्धित क्षेत्रबाट माग नआएको जवाफ पाएको न्यौपानेले बताए।

उनले सरकारलाई वास्तविक आवश्यकता पहिचान गरेर राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पुर्‍याउन वा माग नभए अन्यत्र व्यवस्थापन गर्न सुझाव दिए।

‘माग छ कि छैन, सम्बन्धित क्षेत्रका नागरिकलाई बुझियोस्। माग छैन भने ती सामग्रीको व्यवस्थापन गरियोस्। आवश्यकता छ भने सम्बन्धित क्षेत्रमा पुर्‍याइयोस्,’ उनले भने।

विपद्का बेला सहयोगस्वरूप आएको सामग्री विमानस्थलमै अलपत्र पार्दा अन्तर्राष्ट्रिय सहयोगको समेत गलत सन्देश जाने उनको भनाइ छ।

न्यौपानेले सरकारका विभिन्न निकायबीच समन्वय गरेर राहत सामग्रीको तत्काल व्यवस्थापन गर्न आग्रह गरे।

‘एयरपोर्टमा सामान अलपत्र छ, तर नागरिकलाई मलमपट्टी गर्ने सामान छैन भन्ने समाचार सुन्न नपरोस्,’ उनले सरकारको ध्यानाकर्षण गराए।

रसुवाका विद्यालय खोल्न माग

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले बाढीपहिरोले तहसनहस बनेको रसुवाको शिक्षा क्षेत्र तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै हमालले हालै रसुवाका विभिन्न प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दा विद्यालय र विद्यार्थीको अवस्था निकै दयनीय पाएको बताइन्।

उनका अनुसार बाढीपहिरोका कारण धेरै विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। कतिपय स्थानीय तह र शिक्षकसमेत सम्पर्कविहीन हुँदा बालबालिकाको विद्यालयसम्मको पहुँच नै टुटेको उनले बताइन्।

हमालले विपद्का कारण विद्यालय बन्द भएको विषयलाई सामान्य रूपमा लिन नहुने बताइन्। लामो समयसम्म पढाइ रोकिने हो भने त्यसको असर बालबालिकाको सिकाइसँगै मानसिक अवस्थामासमेत पर्ने उनको भनाइ छ।

‘एउटा बच्चाको विद्यालय बन्द हुनु भनेको केवल दिनको कक्षा छुट्नु होइन, उसको सिकाइ प्रक्रिया र भविष्य दुवै प्रभावित हुनु हो,’ उनले भनिन्।

क्षतिग्रस्त विद्यालय कहिले पुनर्निर्माण हुन्छ र विद्यालय सञ्चालनमा नआएसम्म बालबालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था के हुन्छ भन्ने प्रश्नसमेत उनले सरकारसमक्ष उठाइन्।

हमालले विपद् व्यवस्थापनलाई उद्धार र राहतमा मात्र सीमित गर्न नहुने बताइन्। प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, खाद्यान्न तथा अन्य आधारभूत सेवा पुनःस्थापना गर्ने दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ।

बाढीपहिरोका कारण पर्यटन तथा होटल व्यवसायसमेत प्रभावित भएको उल्लेख गर्दै उनले सडक र विद्यालय सञ्चालनसँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

‘राज्यले सडक, विद्यालय र व्यवसाय सुचारु गर्ने वातावरण नबनाउने हो भने नागरिकहरू आर्थिक रूपमा नै संकटमा पर्छन्,’ हमालले भनिन्।

कर्णालीका अस्पतालमा डाक्टर छैनन्, बिरामी काठमाडौं र लुम्बिनी धाउन बाध्य

काठमाडौं । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुँदा बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै खड्काले कर्णालीको भौगोलिक विकटता, गरिबी र कमजोर यातायात सुविधाका कारण स्वास्थ्य सेवा झनै कठिन बनेको बताए।

उनका अनुसार कर्णालीका प्रादेशिक अस्पतालमा मुटुरोग, युरोलोजी र न्युरोलोजीका विशेषज्ञ चिकित्सकको अभाव छ। क्याथल्याबको मेसिन जडान भएको दुई वर्ष बितिसक्दा पनि त्यसका लागि आवश्यक कार्डियोलोजिस्ट नहुँदा उपकरण प्रयोगविहीनजस्तै भएको उनको भनाइ छ।

‘क्याथल्याबको मेसिन जडान भएको दुई वर्ष भइसक्यो, तर त्यहाँ कार्डियोलोजिस्ट डाक्टर हुनुहुन्न । न युरोलोजिस्ट छन्, न त न्युरोलोजिस्ट नै,’ खड्काले भने।

सांसद खड्काले कर्णालीका अधिकांश बिरामीलाई विशेषज्ञ उपचारका लागि काठमाडौं वा लुम्बिनी प्रदेशका अस्पतालमा रिफर गर्नुपर्ने अवस्था रहेको बताए।

‘९९ प्रतिशत न्युरोका बिरामीलाई हेर्नुपर्ने डाक्टरको अभावमा समयमै उपचार पाउन सकेका छैनन्,’ उनले भने, ‘गरिब जनता महँगो खर्च गरेर उपचारका लागि बाहिर जान सक्ने अवस्थामा छैनन्।’

उनले प्रादेशिक अस्पतालमा रहेका डायलासिस मेसिनसमेत पटकपटक बिग्रिने गरेको भन्दै त्यसबाट मिर्गौला रोगी थप समस्यामा परेको बताए।

कर्णालीको भौगोलिक विकटता र आर्थिक अवस्थालाई ध्यानमा राखेर दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने खड्काको माग छ।

उनले आवश्यक विशेषज्ञ चिकित्सक, उपकरण र नियमित स्वास्थ्य सेवा उपलब्ध गराएर कर्णालीका नागरिकलाई सामान्य उपचारका लागि समेत प्रदेशबाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न सरकारसँग आग्रह गरे।

चिलिमेमा फसेका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो

काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् केन्द्रमा भोटेकोशी नदीमा आएको बाढीपछि फसेका पाँच कर्मचारीको शव पहिचान गरी आज परिवारजनलाई बुझाइएको छ।

चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदार श्यामबहादुर थापामगर, चौकीदार तिलकबहादुर थापामगर र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव फेला परेको हो।

बुधबार दिउँसो केन्द्रको सुरुङको बाहिरी भागबाट करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा उनीहरूको शव भेटिएको थियो। शव नेपाली सेनाको हेलिकप्टरबाट नुवाकोट लगिएपछि पहिचान गरी परिवारजनलाई हस्तान्तरण गरिएको महर्जनले बताए।

उद्धार कार्यका लागि नेपाली सेनाको बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत परिचालन गरिएको थियो।

महर्जनका अनुसार भोटेकोशी नदीको सतहबाट करिब २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म बाढी पुगेको थियो। बाढीका कारण सुरुङ पुरिनुका साथै ११ मेगावाट क्षमताका दुईवटा टर्बाइनसहित जलविद्युत् केन्द्रका सम्पूर्ण संरचनामा ठूलो क्षति पुगेको छ।

यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेको जानकारी दिएका छन्।

उनका अनुसार बाढीबाट भएको क्षतिको विवरण संकलन गर्न एक महिनाको समय दिएर २५ सदस्यीय समिति गठन गरिएको छ। समितिलाई आवश्यक कार्यादेशसमेत दिइएको छ।

बाढी प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन नदीमाथि तुइन तथा फड्के निर्माण गरिएको प्रशासनले जनाएको छ।

बाढीपछि हैजा तथा अन्य विपद्जन्य महामारी फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक औषधि र स्वास्थ्य जनशक्तिको व्यवस्था गरिएको पनि पाण्डेले बताए।

‘सर्च एन्ड रेस्क्यू लम्ब्याउँदा नागरिक प्यानिक हुन्छन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस तथा बेपत्ता यात्रुको खोजीलाई तीव्र बनाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले घटनास्थलबाट पीडित परिवारले आफूलाई निरन्तर फोन गरिरहेको बताए। आफन्तको शव घरभित्रै रहेको भन्दै खोजी र उत्खननका लागि परिवारले आग्रह गरिरहेको उनको भनाइ थियो।

‘मलाई त्रिशूलीबाट फोन आएको छ, परिवारका सदस्यहरूले हाम्रो परिवारको लास यही घरभित्र छ, उत्खनन गर्न पहल गरिदिनुपर्‍यो भनिरहनुभएको छ,’ श्रेष्ठले सदनमा भने।

उनले खोजी कार्य नदीको सतहमा मात्रै सीमित नगर्न सरकारको ध्यानाकर्षण गराए। नदी आसपासका मठमन्दिर, सार्वजनिक कार्यालय तथा अन्य सार्वजनिक भवनको क्षेत्रमा समेत आवश्यकताअनुसार खोजी र उत्खनन गर्नुपर्ने उनको भनाइ छ।

श्रेष्ठले लामो समयसम्म खोजी तथा उद्धार कार्य जारी रहँदा पीडित परिवारसँगै सर्वसाधारणमा समेत त्रास र अन्योल बढ्ने बताए।

‘सर्च एन्ड रेस्क्यूको काम जति लामो बनायो, त्यति नै नागरिकहरू प्यानिक हुन्छन्,’ उनले भने, ‘त्यसैले सबै संयन्त्र परिचालन गरेर भए पनि छिटो उद्धार कार्य सम्पन्न गर्नुपर्छ।’

उनले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गरी बेपत्ता यात्रुको खोजीलाई परिणाममुखी बनाउन सरकारसँग आग्रह गरे।

भोटेकोसी बाढीको छानबिन समिति गठनमै किचलो, दलहरूबीच सहमति जुटेन

काठमाडौं। भोटेकोसी बाढीसहित पछिल्ला विपद्का विषयमा अध्ययन गरी सुझाव दिन गठन गर्न लागिएको संसदीय विशेष समिति बन्नुअघि नै दलहरूबीच किचलो सुरु भएको छ।

बिहीबार बसेको संसदीय दलका पदाधिकारीहरूको बैठकमा समिति गठनको विषयमा सहमति जुट्न नसकेपछि विशेष समिति तत्काल घोषणा हुने अवस्था टरेको छ।

यसअघि बुधबार बसेको दलका शीर्ष नेताहरूको बैठकले संसदीय विशेष समिति गठन गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि बिहीबार दलका पदाधिकारीहरू छलफलमा बसेका थिए।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी समिति गठनका लागि तयार देखिए पनि विपक्षी दलहरूले समितिको सभापति कसलाई बनाउने भन्ने विषय पहिले नै स्पष्ट गर्नुपर्ने प्रस्ताव राखेका थिए।

कांग्रेस संसदीय दलका सचेतक निश्कल राईका अनुसार सभापतिको नाम टुंगिएपछि समितिमा कुन तह र हैसियतका सांसदलाई सदस्यका रूपमा पठाउने भन्ने निर्णय गर्न सहज हुने विपक्षी दलहरूको धारणा थियो।

तर, रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली उक्त प्रस्तावमा सहमत नभएको राईले बताएका छन्।

विपक्षी दलहरूले संसदीय विशेष समिति संयुक्त सदनको बनाउने अभ्यासअनुसार राष्ट्रियसभाबाट समेत प्रतिनिधित्व गराउनुपर्ने प्रस्ताव राखेका थिए।

समितिमा राष्ट्रियसभाबाट पनि सीमित संख्यामा सदस्य सहभागी गराउने प्रस्ताव गरिएको थियो। तर, उक्त प्रस्तावमा समेत रास्वपाका उपनेता पराजुली सहमत नभएको कांग्रेस सचेतक राईको भनाइ छ।

राईका अनुसार विपक्षी दलले बैठकमा दुई मुख्य प्रस्ताव राखेका थिए। पहिलो, समितिको सभापतिको नाम सत्तारूढ दलले स्पष्ट गर्नुपर्ने र दोस्रो, संयुक्त सदनको अभ्यासअनुसार राष्ट्रियसभालाई समेत समितिमा समेट्नुपर्ने।

दुवै प्रस्तावमा सहमति नजुटेपछि समिति गठन प्रक्रिया अन्योलमा परेको उनले बताए।

भोटेकोसी बाढीपछि विपद् व्यवस्थापन, पुनर्निर्माण, जलवायु परिवर्तन र भविष्यको जोखिम न्यूनीकरणलगायत विषयमा अध्ययन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा शीर्ष तहमा सहमति जुटेको थियो।

तर, निर्णय कार्यान्वयनका लागि बसेको संसदीय दलका पदाधिकारीहरूको बैठकमै समितिको नेतृत्व र सदस्य संरचनालाई लिएर विवाद भएपछि शीर्ष नेताबीच भएको सहमति तत्काल कार्यान्वयनमा आउन सकेन।

बैठकमा सहमति नजुटेपछि प्रतिनिधिसभाबाट तत्काल संसदीय विशेष समिति घोषणा हुने सम्भावना नरहेको विपक्षी दलका नेताहरूले बताएका छन्।

अब समिति गठनका लागि दलहरूबीच पुनः छलफल गर्नुपर्ने भएको छ।

भोटेकोसी बाढीबाट भएको क्षति, विपद् व्यवस्थापनमा देखिएका कमजोरी तथा आगामी दिनमा अपनाउनुपर्ने नीतिगत उपायबारे अध्ययन गर्ने भनिएको समिति गठनमै दलहरूबीच मतभेद देखिएको हो।

दशैंमा सरकारी खसीबोका नआउने

काठमाडौं । दशैंमा सरकारी सहुलियतको खसीबोका खोज्ने उपभोक्ताका लागि यसपटक निराशाजनक खबर आएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ।

हरेक वर्ष दशैंको समयमा बजार मूल्य नियन्त्रण र उपभोक्तालाई केही राहत दिने उद्देश्यले खसी, बोका तथा च्याङ्ग्रा खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्दै आएको कम्पनी यसपटक बजेट अभाव देखाउँदै उक्त कारोबारबाट बाहिरिएको हो।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार खसीबोका खरिदका लागि चालु आर्थिक वर्षमा बजेट नै छुट्याइएको छैन। बजेट नभएपछि खरिद प्रक्रिया अघि नबढाइएको उनले बताए।

‘अघिल्ला वर्षमा दशैंका लागि खाद्यले आफैं खसीबोका खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्दै आएको थियो। यस वर्ष भने बिक्री नगर्ने निर्णय भएको छ। यो शीर्षकमा बजेट नै विनियोजन भएको छैन,’ मिश्रले भने।

यससँगै दशैंको बजारमा सरकारी कम्पनीबाट सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री हुने परम्परा यस वर्ष रोकिने भएको छ।

खसीबोका बिक्री नगरे पनि खाद्य कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल भने सञ्चालन गरिरहेको छ।

कम्पनीले भदौ २८ गतेदेखि देशभर ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। ती पसलबाट चामल, दाल, तेल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तु बिक्री भइरहेको छ।

त्यस्तै, स्थानीय उत्पादनलाई समेत प्राथमिकता दिँदै चिनो, कागुनो, फापर, सिमीलगायत खाद्यवस्तु बिक्रीमा राखिएको कम्पनीले जनाएको छ।

सुपथ मूल्य पसलबाट बिक्री हुने दैनिक उपभोग्य वस्तुमा उपभोक्तालाई प्रतिकिलो वा प्रतिइकाइ पाँच रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको छ।

तर, दशैंको मुख्य उपभोग्य वस्तुमध्ये पर्ने खसीबोका र च्याङ्ग्रामा भने यसपटक सरकारी सहुलियत नपाइने भएको छ।

अस्पतालबाहिर सुत्केरी : स्वास्थ्यकर्मी र सुरक्षागार्डलाई कारबाही सिफारिस

राजविराज । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरबाहिर गर्भवती महिलाले शिशु जन्माएको घटनामा ड्युटीमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठेको छ।

छानबिन समितिले घटनामा संलग्न ड्युटीका कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित समितिले अस्पताल प्रशासनसँगै ड्युटीमा रहेका चिकित्सक, नर्स, प्यारामेडिक्स र सुरक्षागार्डबाट कमजोरी भएको निष्कर्ष निकालेको हो।

समितिले अस्पताल पुगेकी गर्भवतीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका लागि रोक्न, उनको अवस्था मूल्यांकन गर्न र आवश्यक परामर्श दिनुपर्नेमा त्यसो हुन नसकेको औंल्याएको छ। बिरामी अस्पतालबाट बाहिरिएपछि पनि लामो समयसम्म उनको अवस्थाबारे खोजी नगर्नु स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनको गम्भीर कमजोरी भएको समितिको निष्कर्ष छ।

घटनामा ड्युटीमा रहेका चिकित्सकको भूमिकालाई समेत समितिले छुट दिएको छैन। प्रसूति सेवाका लागि अस्पताल पुगेकी महिलाको स्वास्थ्य अवस्था पहिचान गरी तत्काल आवश्यक उपचार वा परामर्शको व्यवस्था गर्नु चिकित्सकीय जिम्मेवारी भए पनि त्यो जिम्मेवारी प्रभावकारी रूपमा पूरा नभएको समितिले जनाएको छ।

आर्थिक अवस्था कमजोर देखिए पनि गर्भवतीलाई उपचारको पहुँचबाट बाहिरिन नदिने, उपलब्ध सरकारी कार्यक्रमबारे जानकारी दिने र आवश्यक परे सामाजिक तथा संस्थागत सहयोग जुटाउनेतर्फ चिकित्सक तथा स्वास्थ्यकर्मीबाट पर्याप्त पहल नभएको समितिको निष्कर्ष छ।

२५ भदौमा प्रसूति सेवाका लागि अस्पताल पुगेकी बबिता पासवानले आवश्यक रकम नभएको भन्दै उपचार नपाइने ठानेर अस्पतालबाट बाहिरिएकी थिइन्। त्यसपछि अस्पताल परिसरबाहिर सडक पेटीमै उनले शिशुलाई जन्म दिएकी थिइन्।

घटनाको मूल प्रश्न आर्थिक अवस्था कमजोर भएकी गर्भवती अस्पताल पुगिसकेपछि पनि किन उपचारको सुनिश्चितता हुन सकेन भन्नेमा केन्द्रित भएको छ।

छानबिन समितिले आमा सुरक्षा कार्यक्रमबारे स्वास्थ्यकर्मीमै पर्याप्त जानकारी नरहेकोसमेत औंल्याएको छ। प्रसूति सेवामा कुन सेवा निःशुल्क हो र कुन परीक्षणमा शुल्क लाग्छ भन्ने विषयमा स्पष्टता नहुँदा विपन्न महिलाले उपचारबाट बाहिरिनुपर्ने अवस्था आएको हुन सक्ने समितिको निष्कर्ष छ।

समितिले अस्पतालका सुरक्षागार्डको भूमिकामाथि समेत प्रश्न उठाएको छ। अस्पताल परिसरमा उपचारका लागि आएकी गर्भवती बाहिरिएपछि उनको अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मी वा प्रशासनलाई जानकारी गराउने तथा आवश्यक समन्वय गर्ने काम प्रभावकारी रूपमा नभएको समितिले जनाएको छ।

चिकित्सकदेखि सुरक्षाकर्मीसम्मको समन्वय कमजोर हुँदा अस्पताल पुगेकी गर्भवती अस्पतालबाहिरै पुगेर शिशु जन्माउने अवस्थासम्म पुगेको समितिको निष्कर्ष छ।

समितिले आमा सुरक्षा कार्यक्रमअन्तर्गत उपलब्ध प्रसूति सेवा तथा आवश्यक प्रयोगशाला परीक्षणको दायरा स्पष्ट बनाउन स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको छ।

विशेषगरी आर्थिक रूपमा कमजोर गर्भवती महिलाले पैसाकै अभावमा उपचारबाट वञ्चित हुन नपाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने समितिको सुझाव छ।

समितिले २५ देखि २७ भदौसम्म स्थलगत अध्ययन गरेको थियो। घटनाबारे तयार पारिएको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइसकिएको छ।

प्रतिवेदनमा ड्युटीमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भूमिकामा देखिएको कमजोरीका आधारमा विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।

जुट उत्पादनको चटारो [फोटो-फिचर]

सुनसरी । सुनसरीका किसान यतिबेला जुट काट्ने, पानीमा गलाउने, केलाउने, सुकाउने र बजार पुर्‍याउने काममा व्यस्त छन्। पछिल्लो एक महिनादेखि जिल्लाका विभिन्न क्षेत्रमा किसानलाई जुट व्यवस्थापनको चटारो छ।

नगदे बालीका रूपमा खेती गरिने जुट काटेपछि करिब १५ दिनसम्म पानीमा डुबाएर राखिन्छ। पर्याप्त रूपमा गलेपछि पानीबाट निकालेर रेसा र सन्ठी छुट्याइन्छ। त्यसपछि जुटको रेसा सुकाएर बिक्रीका लागि तयार गरिन्छ।

जुटबाट निस्कने सन्ठी पनि किसानका लागि उपयोगी हुने गरेको छ। सन्ठी दाउराको विकल्पका रूपमा प्रयोग हुनुका साथै गुइँठा बनाउन तथा खेतबारीमा घेराबेरा लगाउनसमेत प्रयोग गरिन्छ।

भोक्राहा नरसिंह गाउँपालिका–२ का किसान रसिद मियाँ अहिले जुट केलाउने काममा व्यस्त छन्। उनले पाँच कट्ठा जमिनमा जुट खेती गरेका छन्।

‘जुट काटेर पानीमा १५ दिन डुबाएपछि केलाउन तयार हुन्छ। अहिले पाँच जना मजदुरलाई केलाउन दुई दिन लाग्यो,’ मियाँले भने।

सोही ठाउँका रञ्जीत मेहताले १० कट्ठा र चन्दन मेहताले १४ कट्ठामा जुट लगाएका छन्। जगदिश मेहताले पनि चार कट्ठा जमिनमा जुट खेती गरेका छन्। स्थानीय क्षेत्रमा पाँच कट्ठादेखि १०, १२ कट्ठासम्म जुट लगाउने किसानको संख्या उल्लेख्य छ।

जुट नगदे बाली भए पनि उत्पादन लागत कम नभएको किसानको भनाइ छ। रञ्जीत मेहताका अनुसार पाँच कट्ठा जमिनमा जुट लगाउँदा करिब ५० हजार रुपैयाँसम्म खर्च हुन्छ।

‘कामदारको समस्या पनि उस्तै छ। महँगो छ, खानासहित एक जना मजदुरलाई दिनको करिब १२ सय रुपैयाँ पर्छ,’ उनले भने।

किसानका अनुसार अहिले स्थानीय बजारमा ४० किलो जुट करिब ६ हजार रुपैयाँमा बिक्री भइरहेको छ। जुट केलाएर सुकाउन थालेपछि व्यापारीहरू किसानकै घरमा पुगेर खरिद गर्ने गरेका छन्।

यसले किसानलाई उत्पादन बजारसम्म लैजानुपर्ने झन्झट भने केही कम गरेको छ। तर मजदुरको ज्याला र उत्पादन लागत बढेकाले मूल्यमा आएको सुधारले मात्रै पर्याप्त प्रतिफल नदिने किसानको गुनासो छ।

सुनसरीमा जुट खेती हुने क्षेत्रफल र उत्पादन दुवै बढेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाउँछ।

कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा गत वर्ष १ हजार ३०८ हेक्टर क्षेत्रफलमा जुट खेती गरिएको थियो। त्यसबाट २ हजार १० मेट्रिक टन जुट उत्पादन भएको थियो।

यस वर्ष जुट खेतीको क्षेत्रफल बढेर १ हजार ३३४ हेक्टर पुगेको छ। उत्पादन पनि बढेर २ हजार ८१ मेट्रिक टन पुगेको केन्द्रले जनाएको छ।

भोक्राहा नरसिंहसँगै कोसी, हरिनगर, गढी, बर्जु र देवानगन्ज गाउँपालिका तथा दुहवी र इनरुवा नगरपालिकाका विभिन्न क्षेत्रमा जुट खेती बढी हुने गरेको छ।

पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा उत्पादन हुने जुटले स्थानीय उद्योगको माग धान्न अझै पर्याप्त छैन। स्थानीय उत्पादनले माग नपुगेपछि उद्योगहरूले भारत र बंगलादेशबाट समेत कच्चा जुट आयात गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीण श्रेष्ठका अनुसार किसानले अहिले केही वर्षअघिको तुलनामा जुटको राम्रो मूल्य पाउन थालेका छन्।

उनका अनुसार मूल्यमा सुधार कायम रहे किसानले खेतीको क्षेत्रफल विस्तार गर्न सक्नेछन्। त्यससँगै उत्पादन पनि बढ्ने भएकाले आगामी वर्षमा नेपालले जुट उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

नेपालमा जुट खेतीका लागि आवश्यक तातो र आर्द्र मौसम तथा पर्याप्त वर्षा तराई क्षेत्रमा सहज रूपमा पाइने भएकाले यसको सम्भावना अझै ठूलो छ।

किसानलाई उचित मूल्य, श्रम व्यवस्थापन र बजारको सुनिश्चितता गर्न सके जुट खेती विस्तार हुने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।

 

हिजो प्रश्न गर्नेहरू आज प्रश्नबाट भाग्दै

काठमाडौं । हिजो अरूलाई प्रश्न सोधेर चर्चामा आएका नेताहरू आज आफैंलाई प्रश्न सोधिँदा भाग्न थालेका छन्। सरकारका पछिल्ला केही घटनाले यस्तै प्रश्न जन्माएका छन्।

पूर्वसञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पत्रकारले ‘ग्रे जोन’ नामक प्रकाशनमा आएको भनिएको रिपोर्टबारे प्रश्न गरे। उक्त सामग्रीमा लामिछानेसहित प्रधानमन्त्री वालेन्द्र शाह(बालेन), सुधन गुरुङ र सागर ढकालको नाम जोडिएको दाबी छ।

पत्रकारले रिपोर्टबारे रविको धारणा सोधे।

रविले आफूले रिपोर्ट नपढेको बताए। ‘ग्रे जोन’ कहाँको हो, कहाँबाट प्रकाशित हुन्छ भन्नेबारे आफूलाई थाहा नभएको भन्दै सामाजिक सञ्जालमा आएका हरेक सामग्रीलाई पछ्याएर समय खेर फाल्न नहुने उनको भनाइ थियो।

हिजो टेलिभिजनको पर्दामा बसेर नेताहरूलाई प्रश्नमाथि प्रश्न गर्ने रवि आज आफैं प्रश्नको घेरामा पर्दा भने ‘मैले पढेको छैन’ भन्ने जवाफमा रोकिए।

त्यसपछि अर्को प्रश्न आयो, सत्तारूढ दलकै एक सांसदले सरकार सिंहदरबारबाट नभई ज्वागलबाट चलेको आरोप लगाएका छन्, के यो सत्य हो?

रविले भने, ‘त्यो कुरा उहाँलाई नै सोध्नुस्।’

उनका अनुसार सरकारका निर्णय सार्वजनिक भइरहेका छन्, मन्त्रिपरिषद्का निर्णय लुकाइएका छैनन् र पार्टीभित्र आन्तरिक लोकतन्त्र भएकाले नेताहरूले फरक फरक ढंगले आफ्ना धारणा राख्ने गरेका छन्।

तर प्रश्न भने उही रह्यो, सरकारबारे आफ्नै सांसदले गम्भीर प्रश्न उठाउँदा त्यसको राजनीतिक जवाफ कसले दिने?

रवि मात्र होइन, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पनि पत्रकारले ‘ग्रे जोन’को रिपोर्टबारे प्रश्न गरे।

रिपोर्टमा प्रधानमन्त्री, सांसद र मन्त्रीहरूको नाम जोडिएको भन्दै वास्तविकता के हो भनेर स्पष्ट पार्न आग्रह गरियो।

तर जवाफ आयो, ‘प्रवक्ताले बोल्नुहुन्छ।’

‘रिपोर्ट पढ्नुभयो?’ भन्ने प्रश्न पनि गरियो। त्यसको प्रत्यक्ष जवाफ नदिई मन्त्री अघि बढे।

सार्वजनिक पदमा बसेका व्यक्तिसँग प्रश्न गर्नु पत्रकारको काम हो। त्यसको जवाफ दिने कि नदिने भन्ने निर्णय सम्बन्धित व्यक्तिको हुन सक्छ। तर जवाफ नदिँदा प्रश्नचाहिँ हराउँदैन।

सरकारको कामकारबाहीबारे प्रश्न गर्नेहरू पत्रकार मात्र छैनन्। सत्तारूढ दलकै सांसदहरूले पनि सरकारसँग जवाफ मागिरहेका छन्।

महँगी, बजार अनुगमन, ग्यास अभाव, कालोबजारी, विपद्पछिको राहत र पुनर्निर्माण, भ्रष्टाचार अनुसन्धान तथा विगतमा गरिएका राजनीतिक प्रतिबद्धता पूरा भए नभएको विषयमा संसद् र सार्वजनिक मञ्चबाट प्रश्न उठिरहेका छन्।

सांसद रमेश प्रसाईंले आफ्नै सरकारको पालामा महँगी बढेको भन्दै प्याज, चिनी, चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिबारे सरकारको भूमिका खोजेका छन्।

त्यस्तै सांसद गणेश कार्कीले जीबी राईको अनुसन्धान र पक्राउ प्रक्रियाबारे प्रश्न उठाएका छन्। उनले अनुसन्धान अघि बढिरहेको र राई विदेशमा रहेको भए सुपुर्दगीसम्बन्धी कानुनी प्रक्रियाबाट अघि बढ्ने बताएका छन्।

यसले एउटा कुरा देखाउँछ, सरकारलाई प्रश्न गर्ने काम विपक्षीको मात्र होइन। सत्ता पक्षकै सांसदले पनि सरकारसँग जवाफ माग्न सक्छन्।

गृहमन्त्रीसँग सांसद तथा सञ्चारकर्मीले प्रश्न उठाउँदा पनि विवाद उत्पन्न भएका छन्।

सांसद क्रान्तिशिखाले सामाजिक सञ्जालमार्फत मन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएपछि भएको भनिएको संवादमा उनलाई ‘सुधार्नुस्’ भन्नेदेखि हप्काउने शैली अपनाइएको भन्दै आलोचना भयो।

सांसदको भनाइ भने आफू निर्वाचित जनप्रतिनिधि भएकाले सरकारका कामकारबाहीबारे प्रश्न उठाउन र वैचारिक असहमति राख्न पाउने अधिकार रहेको भन्ने छ।

लोकतन्त्रमा प्रश्नलाई व्यक्तिगत आक्रमणका रूपमा बुझ्ने कि सार्वजनिक जवाफदेहिताको हिस्साका रूपमा लिने भन्ने कुरा महत्वपूर्ण हुन्छ।

सरकारलाई प्रश्न गर्ने अधिकार पत्रकारको मात्र होइन। संसद्मा रहेका जनप्रतिनिधिको पनि उत्तिकै भूमिका हुन्छ।

सांसदले सरकारका नीति, निर्णय र कार्यान्वयनमाथि प्रश्न उठाउनु संसदीय अभ्यासकै हिस्सा हो। पत्रकारले सार्वजनिक पदधारीसँग प्रश्न गर्नु पनि नागरिकलाई सूचना उपलब्ध गराउने जिम्मेवारीसँग जोडिएको विषय हो।

जनता आफैं हरेकपटक मन्त्रीको ढोकामा पुगेर प्रश्न गर्न सक्दैनन्। त्यसैले सञ्चारमाध्यमले नागरिकका प्रश्न सार्वजनिक पदमा रहेका व्यक्तिसम्म पुर्‍याउने काम गर्छ।

त्यसैले पत्रकारले प्रश्न गर्दा त्यसलाई ‘विरोध’ वा ‘शत्रुता’का रूपमा मात्र बुझ्ने हो भने सार्वजनिक बहसको अर्थ नै साँघुरिन्छ।

सरकारसँग अहिले पनि प्रश्नको कमी छैन। ग्यासको अभाव किन लामो समयसम्म समाधान भएन? महँगी नियन्त्रणमा सरकारको काम के भयो? कालोबजारी रोक्न के गरियो? विपद्पछिको राहत र पुनर्निर्माण कहाँ पुग्यो?

भ्रष्टाचारविरुद्धको अनुसन्धानको अवस्था के छ? जीबी राई प्रकरण कहाँ पुग्यो? जनजी आन्दोलनसँग जोडिएका घटनामा न्यायिक प्रक्रिया कहाँ पुग्यो?

विगतमा गरिएका राजनीतिक प्रतिबद्धता कति पूरा भए? यी प्रश्नको उत्तर नदिँदै प्रश्नकर्ता बदलिँदैमा प्रश्न सकिँदैन।

रास्वपाका नेताहरूले सरकारमा सहभागी हुनुअघि छोटो समयमै प्रशासनिक सुधार र सुशासनका काम गर्ने प्रतिबद्धता जनाएका थिए।

‘सय दिन’मा थिति बसाल्ने र १३ वटा मन्त्रालयको जिम्मेवारी लिएर परिवर्तन देखाउने दाबीसमेत गरिएको थियो।

अब त्यही पुरानो दाबी र वर्तमान अवस्थाबीच तुलना हुन थालेको छ।

राजनीतिमा भाषण र प्रतिबद्धता गर्न सजिलो हुन्छ। तर सार्वजनिक पदमा पुगेपछि ती प्रतिबद्धताको हिसाब दिनुपर्ने हुन्छ। जनताले प्रश्न गर्ने अधिकार त्यसैकारण राख्छन्।

जवाफदेहिताको समस्या सरकारमा मात्रै छैन। आफ्ना नेता वा दलको हरेक निर्णयलाई सही ठान्ने प्रवृत्तिले पनि सार्वजनिक बहस कमजोर बनाउँछ।

आफूले समर्थन गरेको व्यक्ति गलत हुँदा पनि प्रश्न गर्न नसक्ने र प्रश्न गर्ने व्यक्तिलाई नै विरोधी ठान्ने प्रवृत्तिले अन्ततः नेताभन्दा समर्थकलाई नै बलियो बनाउँदैन।

सरकारलाई समर्थन गर्नु र सरकारसँग प्रश्न गर्नु एकअर्काका विरोधी कुरा होइनन्। बरु प्रश्न गर्न सक्ने समर्थक नै सरकारलाई गल्ती सच्याउने अवसर दिन्छन्।

हिजो अरूलाई प्रश्न सोधेर राजनीतिक उचाइ बनाएका नेताहरू आज आफैं प्रश्नको केन्द्रमा छन्। यो स्वाभाविक राजनीतिक चक्र हो।

तर फरक यति हो, हिजो प्रश्न सोध्ने पालो थियो, आज जवाफ दिने पालो। सार्वजनिक पदमा पुगेपछि प्रश्नबाट भागेर होइन, प्रश्नको सामना गरेर जवाफदेहिता देखाउनुपर्ने हुन्छ।

किनकि पत्रकारले प्रश्न नगरे पनि जनता प्रश्न गर्छन्। सांसदले प्रश्न नगरे पनि समयले प्रश्न गर्छ। र समयले सोधेको प्रश्नको जवाफ भने ‘उहाँलाई सोध्नुस्’ भनेर पन्छाउन सकिँदैन।

राजस्व बढ्यो, विकास खर्च सुस्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना अर्थात् साउन र भदौमा सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार भदौ मसान्तसम्म उठेको राजस्व वार्षिक लक्ष्यको ११.५९ प्रतिशत हो।

सरकारले चालु आर्थिक वर्षमा कुल १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। त्यसको तुलनामा पहिलो दुई महिनाको संकलन हेर्दा राजस्व परिचालनमा गत वर्षको भन्दा सुधार देखिएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा सरकारले १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। यस वर्ष सोही अवधिमा २५ अर्ब ६७ करोड रुपैयाँ बढी राजस्व उठेको हो।

सरकारले संकलन गरेको कुल राजस्वमा कर राजस्वको हिस्सा ठूलो छ। भदौ मसान्तसम्म १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ।

कर राजस्वतर्फ सरकारले चालु आर्थिक वर्षमा तय गरेको लक्ष्यको १२.२९ प्रतिशत रकम दुई महिनामै उठेको हो।

त्यस्तै, गैरकर राजस्वबाट १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ। यो वार्षिक गैरकर राजस्व लक्ष्यको ६.०९ प्रतिशत हो।

यसरी हेर्दा कुल राजस्व संकलनमा करबाट आएको रकमको हिस्सा अत्यधिक रहेको देखिन्छ। सरकारले आगामी महिनामा पनि राजस्व संकलनलाई बढाउँदै लैजाने लक्ष्य राखेको छ।

राजस्वबाहेक सरकारले पहिलो दुई महिनामा ५ अर्ब ५३ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ। त्यस्तै, अन्य शीर्षकबाट १ अर्ब ३७ करोड रुपैयाँ प्राप्त भएको छ।

यससँगै भदौ मसान्तसम्म सरकारको कुल प्राप्ति १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ पुगेको छ। यो वार्षिक लक्ष्यको ११.५८ प्रतिशत हो।

अर्थात् सरकारको आम्दानीलाई केवल राजस्वमा सीमित गरेर हेर्दा १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ भए पनि अनुदान र अन्य प्राप्तिसमेत जोड्दा कुल प्राप्ति १ खर्ब ९० अर्ब १० करोड पुगेको हो।

राजस्व संकलनमा सुधार देखिए पनि सरकारको खर्चको गति भने अपेक्षाकृत कमजोर देखिएको छ। भदौ मसान्तसम्म सरकारले कुल १ खर्ब ९९ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको छ।

चालु आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसको तुलनामा दुई महिनामा भएको खर्च कुल विनियोजनको ९.४१ प्रतिशत हो।

सरकारको कुल आम्दानी १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ हुँदा खर्च भने १ खर्ब ९९ अर्ब ८३ करोड पुगेको छ। यसरी पहिलो दुई महिनामै सरकारको खर्च आम्दानीभन्दा करिब ९ अर्ब ७३ करोड रुपैयाँ बढी देखिएको छ।

सरकारको खर्चमा सबैभन्दा चिन्ताजनक पक्ष पुँजीगत अर्थात् विकास खर्चको अवस्था देखिएको छ।

भदौ मसान्तसम्म सरकारले पुँजीगत खर्चतर्फ ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्र खर्च गरेको छ। यो पुँजीगत खर्चका लागि छुट्याइएको वार्षिक बजेटको १.७८ प्रतिशत मात्रै हो।

विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च पहिलो दुई महिनामा निकै कम हुनुका कारण आयोजना कार्यान्वयनको गति, ठेक्का प्रक्रिया तथा सरकारी खर्च प्रणालीमाथि फेरि प्रश्न उठ्ने अवस्था देखिएको छ।

पुँजीगत खर्चको तुलनामा चालु खर्चको गति भने निकै अगाडि छ। प्रशासनिक तथा नियमित प्रकृतिका काममा सरकारले भदौ मसान्तसम्म १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च गरिसकेको छ।

यो चालु खर्चतर्फ छुट्याइएको वार्षिक बजेटको ९.६ प्रतिशत हो। सरकारी कार्यालय सञ्चालन, कर्मचारीको तलबभत्ता तथा अन्य नियमित दायित्वमा हुने खर्चका कारण चालु खर्च तुलनात्मक रूपमा बढी भएको देखिन्छ।

त्यस्तै, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा दुई महिनामै ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो उक्त शीर्षकका लागि छुट्याइएको वार्षिक बजेटको १६.५९ प्रतिशत हो।

पहिलो दुई महिनाको सरकारी वित्तीय अवस्था हेर्दा राजस्व संकलनमा अघिल्लो वर्षको तुलनामा सुधार आएको देखिन्छ। तर आम्दानी बढ्दैमा सरकारी वित्तीय अवस्था सन्तुलित भएको मान्न सकिने अवस्था छैन।

सरकारले उठाएको राजस्वको ठूलो हिस्सा नियमित प्रशासनिक खर्च र ऋणको साँवा–ब्याज भुक्तानीमा जाने गरेको छ। विकास निर्माणका लागि महत्वपूर्ण मानिने पुँजीगत खर्च भने २ प्रतिशत पनि पुग्न सकेको छैन।

सरकारको पहिलो दुई महिनाको तथ्यांकले आम्दानीभन्दा खर्च बढी रहेको र खर्चको ठूलो हिस्सा चालु प्रकृति तथा ऋण भुक्तानीमा केन्द्रित रहेको देखाएको छ। आगामी महिनामा पुँजीगत खर्चको गति बढाउन नसके बजेट कार्यान्वयनको वार्षिक लक्ष्यसमेत प्रभावित हुन सक्ने देखिन्छ।

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

काठमाडाैं। असोज १ गते । काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। अब काठमाडौं उपत्यकाभित्रका नागरिकले संघीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव एपमार्फत दर्ता गर्न सक्नेछन्।

एपमार्फत दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ। गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत प्राप्त हुने सडक डिभिजन काठमाडौंले जनाएको छ।

हाल ‘सडक सुझाव एप’मार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गत रहेका करिब ४ सय ७२ किलोमिटर सडक सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत नागरिकलाई उपलब्ध गराइने सडक डिभिजन काठमाडौंले जनाएको छ।

सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारीसमेत अघि बढाइएको छ। आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई एपमा समावेश गरी सेवा विस्तार गर्ने र क्रमशः देशभर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बन्दै

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विपद् व्यवस्थापन, पुनर्निर्माण र जलवायु परिवर्तनका विषयमा अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति गठनको तयारी अघि बढेको छ।

समिति गठनको प्रारम्भिक खाका बनाउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतकबीच छलफल भइरहेको छ। संसदीय प्रतिनिधित्वका आधारमा समितिमा दलहरूको सहभागिता सुनिश्चित गर्ने तयारी छ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको सहमतिअनुसार संसदीय समिति गठनका लागि दलहरूबीच छलफल भइरहेको हो।

सर्वदलीय बैठकले विपद्पछिको राहत, पुनर्स्थापना र दीर्घकालीन विपद् व्यवस्थापनका लागि दुई छुट्टाछुट्टै संयन्त्र बनाउने सहमति गरेको थियो।

एउटा संसद् बाहिरका दलसमेत सहभागी हुने उच्चस्तरीय राजनीतिक संयन्त्र र अर्को संसद्भित्र प्रतिनिधित्व गर्ने दलहरू सम्मिलित संसदीय समिति बनाउने निर्णय भएको थियो।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व रास्वपा सभापति रवि लामिछानेले गरिरहेका छन्। संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनमत पार्टी र जसपा नेपाल सहभागी छन्।

राष्ट्रिय जनमोर्चालाई पनि संयन्त्रमा सहभागी हुन आग्रह गर्ने निर्णय भएको खरेलले जानकारी दिए।

खरेलका अनुसार उक्त संयन्त्रलाई विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन र दीर्घकालीन विकास निर्माणसँग सम्बन्धित विषयमा राजनीतिक तहबाट सहमति निर्माण गर्ने जिम्मेवारी दिइएको छ।

संसदीय विशेष समिति गठनका लागि सभामुखमार्फत संसद्मा औपचारिक पहल गर्ने तयारी छ।

खरेलका अनुसार एक साताभित्र समिति गठन गर्ने र संसद्मा दलहरूको सिट संख्याका आधारमा प्रतिनिधित्व गराउने विषयमा सहमति भएको छ।

उनले संसदीय समिति गठनका लागि सभामुखलाई आग्रह गर्ने र सर्वदलीय राजनीतिक संयन्त्रमार्फत संसद्समक्ष प्रस्ताव लैजाने निर्णय भएको बताए।

हाल संसद्मा रहेका दलहरूका संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतकबीच समितिको संरचना, नेतृत्व र प्रतिनिधित्वबारे छलफल भइरहेको छ।

नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पनि संसदीय विशेष समितिको नेतृत्वलगायत विषयमा छलफल भइरहेको बताएकी छन्।

रसुवाको भोटेकोशीमा भदौ १० गते विनाशकारी बाढी आएपछि त्यसको भोलिपल्टै रास्वपा सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्र गठनको प्रस्ताव अघि सारेका थिए।

उनले बोलाएको सर्वदलीय बैठकमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी भएका थिए।

बैठकमा उद्धार र राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सहयोग पुग्ने गरी सर्वदलीय, संसदीय वा सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव गरिएको थियो।

लामिछानेले त्यतिबेला भनेका थिए, ‘उद्धार, राहतदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं। जसले सरकारलाई निर्णय गर्न सहज होस्।’

सर्वदलीय बैठकले जारी गरेको १० बुँदे संकल्पमा विपद्पछिको पुनर्निर्माणसँगै जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा सुधार तथा सरकारी कामकारबाहीको अनुगमनका लागि संसदीय समिति गठन गर्ने विषय समेटिएको थियो।

संकल्पमा विपद्पछिको पुनर्निर्माण र जलवायु अनुकूलनसँगै राष्ट्रिय विपद् नीतिलाई समयअनुकूल सुधार गर्ने तथा सरकारलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्ने सहमति उल्लेख थियो।

प्रस्तावित संसदीय समिति तत्कालको बाढी र त्यसपछिको पुनर्निर्माणमा मात्र सीमित नराखी विपद्पूर्व तयारी, जलवायु परिवर्तनको असर, जोखिम न्यूनीकरण र दिगो विकाससँग जोडिएका नीतिगत विषयमा समेत काम गर्ने अवधारणा अघि सारिएको छ।

अब संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच समिति गठनको औपचारिक प्रक्रिया, नेतृत्व र सदस्य संख्यामा सहमति जुटाउनुपर्नेछ।

सहमति बनेमा एक साताभित्र संसदीय विशेष समिति गठन गर्ने तयारी छ।

मक्कातर्फ हुथीको ड्रोन?

काठमाडौं । साउदी अरबले यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल रहेको मक्कालाई लक्षित गरी ड्रोन आक्रमणको प्रयास गरेको आरोप लगाएको छ। साउदी नेतृत्वको सैन्य गठबन्धनले मक्कातर्फ आएको भनिएको ड्रोनलाई आकाशमै नष्ट गरिएको दाबी गरेको छ।

गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल–मालिकीका अनुसार ड्रोन मक्काको आकाशमा प्रवेश गर्नुअघि नै रोकिएको थियो। उनले घटनालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा व्याख्या गर्दै मक्का र मुस्लिम धर्मावलम्बीका पवित्र स्थलको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन्।

अल–मालिकीले यसअघि सन् २०१७ मा हुथी विद्रोहीले मक्कातर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको घटनाको स्मरण गर्दै पछिल्लो घटनालाई त्यसपछिको अर्को गम्भीर प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

साउदी पक्षले मक्कालाई लक्षित गरिएको दाबी गरे पनि हुथी विद्रोहीले भने उक्त आरोप अस्वीकार गरेका छन्। उनीहरूले मक्कातर्फ ड्रोन प्रहार गरेको दाबी गलत भएको बताएका छन्।

हुथीहरूले मध्य यमनको मारिब क्षेत्रमा साउदी नेतृत्वको गठबन्धनको एफ–१५ लडाकु विमान खसालेको दाबीसमेत गरेका छन्। तर, उक्त दाबी पुष्टि हुने प्रमाण सार्वजनिक गरिएको छैन। घटनाको स्वतन्त्र पुष्टि हुन नसकेको बताइएको छ।

मक्कालाई लक्षित गरी भएको भनिएको घटनाप्रति विभिन्न मुस्लिम राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूले प्रतिक्रिया जनाएका छन्।

पाकिस्तान, टर्कीलगायत मुलुक तथा ५७ भन्दा बढी मुस्लिम राष्ट्रको प्रतिनिधित्व गर्ने इस्लामिक सहयोग संगठन (ओआईसी)ले घटनाको निन्दा गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबसँग आफ्नो देश ‘अटल रूपमा काँधमा काँध मिलाएर’ उभिएको बताएका छन्।

तर, हुथीहरूको पछिल्लो गतिविधिको जवाफ दिन साउदी अरबले पाकिस्तान वा टर्कीसँग औपचारिक सैन्य सहयोग मागेको विषयमा भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन। साउदी अरब, पाकिस्तान र टर्कीबीच हालै भएको रक्षा सम्झौता पनि तत्कालै यस घटनासँग जोडेर कार्यान्वयनमा आएको देखिएको छैन।

यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव बढिरहेका बेला अमेरिकाले भने द्वन्द्वमा प्रत्यक्ष रूपमा प्रवेश गर्ने स्पष्ट संकेत दिएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरू अमेरिकासँग प्रत्यक्ष युद्ध गर्न नचाहेको बताएका छन्। उपराष्ट्रपति जे.डी. भान्सले भने वासिङ्टनले साउदी अरब र हुथी दुवै पक्षसँग सम्पर्क कायम राखेको बताएका छन्।

यसले पछिल्लो घटनापछि पनि अमेरिकाले क्षेत्रीय तनावलाई प्रत्यक्ष सैन्य टकरावमा विस्तार हुन नदिने प्रयास गरिरहेको संकेत गरेको छ।

यमनका हुथी विद्रोहीलाई इरानको समर्थन रहँदै आएको छ। त्यसैले हुथी र साउदीबीचको पछिल्लो तनावलाई साउदी अरब र इरानबीचको व्यापक क्षेत्रीय प्रतिस्पर्धासँग पनि जोडेर हेरिएको छ।

यसैबीच इरानी विदेशमन्त्री अब्बास अराघची चीन भ्रमणमा छन्। चीन इरानी तेलको प्रमुख खरिदकर्तामध्ये एक भएकाले उनको भ्रमणलाई मध्यपूर्वको पछिल्लो तनावका सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ।

भ्रमणका क्रममा मध्यपूर्वको सुरक्षा अवस्था, इरानसँग सम्बन्धित क्षेत्रीय तनाव तथा होर्मुज जलसन्धिबाट हुने तेल र अन्य सामानको अन्तर्राष्ट्रिय ढुवानीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

होर्मुज जलसन्धि विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग भएकाले त्यहाँ उत्पन्न हुने कुनै पनि सैन्य तनावले क्षेत्रीय सुरक्षासँगै अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा समेत असर पार्न सक्ने चिन्ता रहँदै आएको छ।

मक्कामाथि आक्रमणको प्रयास भएको साउदी दाबी र हुथीहरूको अस्वीकारबीच घटनाको वास्तविक प्रकृति तथा त्यसको उद्देश्यबारे थप स्वतन्त्र प्रमाण सार्वजनिक हुन बाँकी छ।

यद्यपि, पवित्र स्थलको सुरक्षालाई लिएर साउदी नेतृत्वले कडा प्रतिक्रिया दिने संकेत भने दिएको छ।

बालेनको नेतृत्वमा नेपाली टोली अर्को साता अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अर्को साता संयुक्त राज्य अमेरिका जाने भएको छ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको नेतृत्वमा आफू सहितको टोली महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने जानकारी दिएका हुन्।

‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दैछ’, मन्त्री खनालले भने।

महासभामा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व परिस्थितिसँग सम्बन्धित विषय उठाउने तयारी रहेको उनले बताए।

समितिको बैठकमा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागितासँगै जलवायु परिवर्तनका विषयमा पनि विज्ञहरूसँग छलफल भएको थियो।

छलफलमा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तलगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु परिवर्तनका मुद्दा प्रभावकारी रूपमा उठाउनुपर्नेमा बैठकमा जोड दिइएको थियो।

परराष्ट्रमन्त्री खनालले महासभामा नेपालको सहभागिता मुलुकका कूटनीतिक प्राथमिकता र अन्तर्राष्ट्रिय सरोकार प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर हुने बताए।