`

रवि–बालेन सहमतिपछि ‘आक्रामक’ हर्क : ‘फटाहाहरू’ ले विदेशीको इशारामा देश चलाउने रे !

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच ७ बुँदे सहमति सार्वजनिक भएपछि धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सामाजिक सञ्जालमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । आइतबार बिहानदेखि उनले लगातार फेसबुक स्टाटस, भिडियो लिङ्क र लाइभमार्फत नयाँ तथा वैकल्पिक भनिएका राजनीतिक शक्तिमाथि कडा टिप्पणी गरेका छन् ।

आइतबार बिहान ७ः२६ बजे पहिलो स्टाटस लेखेका साम्पाङले अपराह्न १२ः१२ बजेसम्म ५ घण्टाको अवधिमा ३७ वटा स्टाटस र सामग्री शेयर गरेका छन् । उनका अधिकांश अभिव्यक्तिहरू रवि–बालेन सहकार्य केन्द्रित छन् । साम्पाङले उक्त सहमतिलाई ‘विदेशीको इशारामा देश चलाउने प्रयास’ को संज्ञा दिँदै ती नेताहरूलाई ‘डलरे’ र ‘विदेशीद्वारा पालित–पोषित’ समेत भनेका छन् ।

उनले लेखेका छन्, ‘जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ । फटाहाहरू । सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे ।’ यस अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक बहस र प्रतिक्रिया जन्माएको छ । साम्पाङ पछिल्लो समय कांग्रेस, एमाले र माओवादी जस्ता पुराना दलहरूभन्दा पनि नयाँ दल र नेताप्रति बढी आक्रामक देखिएका छन् । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङदेखि रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन साहसम्मलाई उनले पटक–पटक विदेशी प्रभावमा चलेको आरोप लगाएका छन् । उनका अनुसार ‘मिडिया ट्रायल’ मार्फत प्रधानमन्त्री घोषणा गर्ने प्रवृत्ति खतरनाक छ र श्रम संस्कृति पार्टी विदेशी दलाली गर्ने शक्तिसँग सहकार्य नगर्ने अडानमा छ ।

यसैबीच, साम्पाङले आफ्नो पार्टीका नेता मित्र परियारलाई निष्काशन गर्नुको कारणबारे पनि स्पष्ट पारेका छन् । उनले कारबाहीका दुई कारण उल्लेख गर्दै आयोजक श्रमदातालाई अपमानजनक र दम्भी व्यवहार देखाएको तथा श्रमदातामाथि असभ्य भाषा प्रयोग गरेको बताएका छन् । आफ्नो कार्यशैलीको बचाउ गर्दै साम्पाङले ‘हर्कवाद’ र ‘श्रम संस्कृति’ को अवधारणालाई निरन्तर अघि सारेका छन् ।

ढुङ्गा बोकेको तस्बिर शेयर गर्दै उनले लेखेका छन्, ‘यो वाद, त्यो वाद भन्दै रात पार्नेहरूलाई देश विकासमा ढुङ्गा बोकाउने धोको छ । जय हर्कवाद ।’ उनको दाबी छ–आगामी निर्वाचनमा श्रम संस्कृतिले नै बहुमत ल्याउनेछ र अन्य शक्तिहरू केवल मिडियामै सीमित छन् । आइतबार उनले दुई पटक फेसबुक लाइभ समेत गरेका थिए । ती लाइभमा उनी भावनात्मक र केही तनावग्रस्त देखिएका थिए । सामाजिक सञ्जालमार्फत निरन्तर अभिव्यक्ति दिँदै आएका साम्पाङका यी गतिविधिले स्थानीय राजनीति मात्र होइन, राष्ट्रिय राजनीतिक बहसलाई समेत तताएको छ ।

ब्राजिलमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

एजेन्सी । ब्राजिलकाे उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध्ये दुई जना दुई र चार वर्षका बालबालिका रहेका छन् । दक्षिण बाहियाको मुकुरी नगर नजिकै रहेको सङ्घीय राजमार्गमा दुई सवारी साधन एकआपसमा आमनेसामने ठोक्किएका थिए । ठक्करपछि दुवै सवारी साधनमा आगलागी भएको जनाइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकहरूमध्ये एकले गलत तरिकाले अगाडि बढ्ने प्रयास गर्दा दुर्घटना भएको अनुमान गरिएको छ ।

राजमार्ग सञ्चालन गर्ने कम्पनीले दिएको जानकारीअनुसार घटनास्थलमै १० जनाको ज्यान गएको थियो भने एक जनाको उपचारका क्रममा स्वास्थ्य संस्थामा मृत्यु भएको हो । हालसम्म मृतकहरूको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

चीनले गर्यो ‘फेङ्ग्युन –४–०३’ उपग्रहको सफलतापूर्वक प्रक्षेपण

एजेन्सी । चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित  शिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

‘फेङ्ग्युन–४–०३’ नामक उपग्रहलाई’ लङ मार्च–३ बी’ रकेटमार्फत बिहान १२ बजेर ७ मिनेटमा (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उक्त उपग्रह निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ ।

‘फेङ्ग्युन–४–०३’ चीनले विकास गरेको मौसम अवलोकन उपग्रह हो, जसले मौसम पूर्वानुमान, जलवायु अनुगमन, प्राकृतिक प्रकोपको प्रारम्भिक चेतावनी तथा वातावरणीय अवलोकन जस्ता कार्यमा सहयोग पु¥याउँछ । यस उपग्रहमा उन्नत उपकरणहरू जडान गरिएका छन्, जसले बादल, वर्षा, आँधी, तापक्रम तथा वायुमण्डलीय गतिविधिको सूक्ष्म र निरन्तर निगरानी गर्न सक्षम बनाउँछ । यसबाट प्राप्त तथ्याङ्कले जनजीवन सुरक्षा, कृषि, उड्डयन, जलस्रोत व्यवस्थापन तथा आपतकालीन व्यवस्थापनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण ‘लङ मार्च’ रकेट शृङ्खलाको ६२१ औँ उडान रहेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् ।

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम

एजेन्सी।  थाइल्यान्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसोदेखि लागू भएको यस सम्झौताले दुवै पक्षलाई सैन्य गतिविधि रोक्न, हवाई क्षेत्र उल्लङ्घन नगर्न र तनाव कम गर्न आह्वान गरेको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार सम्झौता हुनुअघि शनिबार बिहानसम्म थाइल्यान्डले कम्बोडियाका केही स्थानमा हवाई आक्रमण गरेको थियो । नयाँ सम्झौताले ७२ घण्टाको युद्धविरामपछि थाइल्यान्डले जुलाईको लडाइँपछि नियन्त्रणमा लिएका १८ जना कम्बोडियाली सैनिकलाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ, जुन कम्बोडियाको प्रमुख माग रहँदै आएको थियो ।

सम्झौतामा हस्ताक्षर भएको केही घन्टामै थाइल्यान्डको विदेश मन्त्रालयले विरोध जनाउँदै एक थाई सैनिक कम्बोडियाली पक्षले बिछ्याएको मानवविरोधी बारुदी सुरुङमा परेर स्थायी रूपमा अशक्त भएको जनाएको छ ।

यो सम्झौतामा कम्बोडियाका रक्षामन्त्री टी सेइहा र थाइल्यान्डका रक्षामन्त्री नट्टाफोन नार्कफानितले सीमावर्ती चौकीमै हस्ताक्षर गर्नुभएको हो । तीन दिनसम्म चलेको तल्लो तहका सैनिक वार्तापछि यो सहमति सम्भव भएको हो । यसले जुलाईमा पाँच दिन चलेको लडाइँ अन्त्य गर्न गरिएको अघिल्लो युद्धविराम र त्यसपछि भएका सहमतिहरूप्रति प्रतिबद्धता दोहोर्‍याएको छ ।

जुलाईको युद्धविराम मलेसियाको मध्यस्थतामा भएको थियो, जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबले गति दिएको थियो । अक्टोबरमा मलेसियामै भएको क्षेत्रीय बैठकमा ती सहमतिहरूलाई औपचारिक रूप दिइएको थियो । तर त्यसपछि पनि दुवै देशबीच प्रचार युद्ध र सीमापार झडप जारी रहेर डिसेम्बरको सुरुमा पुनः ठूलो लडाइँमा परिणत भएको थियो ।

युद्धविरामको घोषणाको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्वागत गर्दै थाइल्यान्ड र कम्बोडियालाई यस र अघिल्ला शान्ति सम्झौताका सबै सर्त पालना गर्न आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसलाई ‘नागरिकको पीडा कम गर्ने र स्थायी शान्तितर्फको सकारात्मक कदम’ भन्नुभएको छ ।

चीनले पनि सम्झौताको स्वागत गर्दै युनान प्रान्तमा थाई र कम्बोडियाली विदेश मन्त्रीहरूसँग त्रिपक्षीय वार्ता गर्ने तयारी जनाएको छ । चीनले राजनीतिक विश्वास पुनर्निर्माण र क्षेत्रीय शान्तिका लागि रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

डिसेम्बर ७ देखि सुरु भएको लडाइँका कारण थाइल्यान्डतर्फ २६ सैनिक र एक सर्वसाधारणको ज्यान गएको छ भने ४४ सर्वसाधारण मारिएको थाइल्यान्डको दाबी छ । कम्बोडियाले ३० सर्वसाधारणको मृत्यु र ९० जना घाइते भएको जनाएको छ । सीमाको दुवैपट्टि लाखौँ नागरिक विस्थापित भएका छन् ।

रक्षामन्त्री टी सेइहाले युद्धविरामले विस्थापित नागरिकलाई घर फर्कन, खेतीपाती गर्न र बालबालिकालाई विद्यालय फर्कन बाटो खुल्ने बताउनुभयो । दुवै पक्षले एक–अर्कालाई लडाइँ सुरु गरेको आरोप लगाए पनि आत्मरक्षामा कदम चालिएको दाबी गरेका छन् ।

सम्झौताले बारुदी सुरुङसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि पालना गर्न, संयुक्त डिमाइनिङ अभियान सञ्चालन गर्न, गलत सूचना नफैलाउन र सीमाङ्कनसम्बन्धी प्रक्रिया पुनः सुरु गर्न आह्वान गरेको छ । साथै, सीमापार सङ्गठित अपराध र अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति पनि भएको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सम्झौताले नागरिकको हितलाई प्राथमिकतामा राख्ने साझा समझदारी झल्काएको बताउनुभयो । यद्यपि थाइल्यान्डले ७२ घण्टाको युद्धविरामलाई कम्बोडियाले साँच्चिकै हतियार र उक्साहट रोकेको छ कि छैन भन्ने परीक्षणको समयका रूपमा हेरिएको जनाएको छ ।

 

रवि र बालेन बसेर समानुपातिक उम्मेदवार टुंगो लगाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भावी प्रधानमन्त्री र दोस्रो वरीयताको नेता हुन सहमति गरेसँगै आसन्न निर्वाचनका लागि उम्मेदवारीमा उनले कति हिस्सा माग्छन् भन्ने चर्चा सुरू भएको छ । पार्टी तथा चुनावका लागि हुने उम्मेदवारीमा बालेन पक्षको कति प्रतिशत हिस्सेदारी हुनेबारे अहिले कुनै सहमति नभएको रास्वपाका नेता शिशिर खनाल बताउँछन् । फागुन २१ मा हुने प्रतिनिधिसभाका लागि निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउने म्याद भोलिसम्म मात्र बाँकी छ ।त्यसो भए, अब कसरी उनीहरूले उम्मेदवार छान्छन् त ?

दुवै जना बसेर समानुपातिकका लागि सूची तयार गर्ने उनले बताएका छन् । ‘आफ्नो आफ्नो सूची बनाउनु हुन्छ । दुवै जना बसेर आफ्ना आफ्ना सूचीमा छलफल गर्नु हुन्छ । दुवैको सहमतिमा सूची तयार हुन्छ,’ उनले भने,‘अहिले यो विषय खुला राखिएको पनि त्यही भएर हो ।’ प्रत्यक्ष निर्वाचनका लागि भने रास्वपाले पार्टीभित्र चुनाव गराएर उम्मेदवार चयन गर्छ । त्यसका लागि बालेन पक्षका उम्मेदवारहरूले पनि प्रतिस्पर्धामा भाग लिनुपर्ने हुन्छ । शनिबार राति भएको सम्झौतामा एकता पश्चात् योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर अनुभवी विज्ञहरूलाई समावेश गर्दै संगठनात्मक संरचना थप गर्ने अनि निर्वाचन आयोगमा दस्तावेज अद्यावधिक गर्ने उल्लेख छ ।

 

‘सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन्’

काठमाडौं । नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरुलाई चुनौति दिएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो चुनौति दिएका हुन् । उनले केही वर्षअघि मात्रै खुलेका जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीहरुको उदाहरण दिँदै १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौति दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुले जनताको अधिकार, विकास दिएको बताउँँदै सहकारी ठग र गँजेडीहरुले देश चलाउन नसक्ने टिप्पणी गरे ।

उनले भने, ‘यी नयाँ पार्टीहरु कुरा ठूला गर्छन्, चर्काचर्का कुरा गर्छन् । १० वर्ष पार्टी चलाएर देखाउन् । त्यसपछि कुरा गरौँला । ५ वर्ष चलाउन सकेका छैनन् । सबैले राजनीति गर्न पाउने अवस्था सिर्जना गर्न नै हामीले यति लामो संघर्ष गरेका हौँ ।’ उनले भने, ‘युक्रेनमा हिजो एउटा पपुलिस्ट कलाकारलाई राष्ट्रपति बनाउँदाको परिणाम आज जे भोगिरहेको छ, नेपालमा पनि यी गैरजिम्मेवार पार्टी, सहकारी ठग, दलाल, गँजेडीहरुले हामी ८० वर्ष लामो संघर्ष गरेको पार्टीले विकास, जनतालाई अधिकार दियौँ । भ्रष्टाचार नियन्त्रण मात्रै हामीले गर्न सकेका छैनौँ । भ्रष्टाचार नियन्त्रण अहिले पनि हुन सकेको छैन । भोलि आउने सरकारले पनि गर्न सक्दैन ।’ उनले पार्टीको १४ औं महाधिवेशनमा पराजय व्यहोरेकाहरुले चिच्याएर बोल्न जरुरी नरहेको बताए । उनले फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने चेतावनी समेत दिए ।

 

 

 

रवि–बालेन सहमतिलाई अनौठो मान्नु पर्दैन : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीचको मिलन कुनै अनौठो नभएको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए । उनले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताए । उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताए । राजनीतिमा सबैखाले चुनौति आउने भन्दै हरेक चुनौतिको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताए ।

उनले भने, ‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । कोको मिल्छन्, कोको जुट्छन्, कोको फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नु पर्दैन । राजनीतिमा सबै चुनौतिहरु हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौति हो । हरेक चुनौतिको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौति फेस गरेको कारणले अब अहिले आएर कोको मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’ उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताए ।

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् । सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका कारण निर्वाचन सुनिश्चित भएको बताए ।

उनले प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनको माहोल बनेको उल्लेख गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढेको सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गरे । सञ्चारमन्त्री खरेलले जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रमाथि प्रश्न उठिरहेको चर्चा गर्र्दै सकारात्मक सोचका साथ अझ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गरे ।

‘मिसावटविहीन’ राजनीति नै हाम्रो बाटो : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि राजनीतिक दलसँग एकता नगर्ने स्पष्ट घोषणा गरेका छन् । उनले श्रम संस्कृति पार्टीले मिसावटविहीन, स्वदेशी विचारमा आधारित र मौलिक राजनीतिको अभ्यास गर्ने दाबी गर्दै सत्तामुखी र प्रतिशोधको राजनीतिबाट टाढा रहने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा साम्पाङले पछिल्लो समय बढिरहेको चुनावी माहोल र विभिन्न राजनीतिक एकताको चर्चाप्रति प्रतिक्रिया जनाएका हुन् । उनले भने, ‘अहिले धेरै अड्कल–अन्दाज भइरहेका छन्–कसले कससँग मिल्छ भनेर । जसलाई जहाँ मिल्न मन छ, मिलून् । तर श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन ।’

उनका अनुसार श्रम संस्कृति पार्टीको राजनीति देशको माटो, ढुंगा र श्रमसँग जोडिएको छ । ‘हामी ढुंगाको, माटोको राजनीति गर्छौं । स्वदेशी विचार र मौलिकपन हाम्रो आधार हो’, उनले भने, ‘मिसावटको राजनीति हाम्रो चरित्र होइन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता सार्वजनिक भएको केही घण्टापछि आएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । साम्पाङले उक्त सन्दर्भ नखुलाए पनि ‘नयाँ भनिएका’ राजनीतिक शक्तिप्रति कडा टिप्पणी गरेका छन् ।

उनले श्रम संस्कृति बाहेकका अन्य सबै नयाँ भनिएका पार्टीहरू पनि पुराना जस्तै काम नलाग्ने दाबी गरे । ‘पुराना त काम नलाग्ने नै हुन् । श्रम संस्कृतिबाहेक अहिलेका नयाँ पनि उस्तै छन्’, साम्पाङले भने, ‘उनीहरूमा देश र जनताप्रतिको माया छैन । छ भने सत्ताको कुर्सीप्रतिको मोह छ र प्रतिशोध साँध्ने सोच छ ।’ साम्पाङले आफ्नो पार्टीलाई प्रतिशोधको राजनीतिसँग जोड्ने प्रयास भइरहेको आरोप पनि लगाए ।

उनका अनुसार विदेशी डलरबाट पालिएका र भ्रष्टाचारमार्फत अकुत सम्पत्ति थुपार्ने समूहहरूले श्रम संस्कृति पार्टी पनि अरू दलसँग मिल्छ भन्ने अफवाह फैलाइरहेका छन् । ‘हामी त्यस्तो राजनीतिमा विश्वास गर्दैनौं’, उनले स्पष्ट पारे । उनले पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई पनि एकता वा गठबन्धनको विषयमा भ्रममा नपर्न आग्रह गरे । ‘हामी कसैसँग मिल्छौं कि मिल्दैनौं भनेर अलमलिनु पर्दैन’, उनले भने, ‘जो–जो जहाँ मिल्छन्, मिलून् । श्रम संस्कृति पार्टी आफ्नो बाटोमा एक्लै हिँड्छ ।’ साम्पाङको यो अभिव्यक्तिले आगामी दिनमा श्रम संस्कृति पार्टीले आफूलाई वैकल्पिक मात्र होइन, फरक राजनीतिक धारको रूपमा स्थापित गर्न खोजिरहेको संकेत गर्छ । सत्ताको समीकरणभन्दा बाहिर रहेर ‘श्रम, स्वदेशीपन र मौलिकता’लाई केन्द्रमा राख्ने उनको दाबीले नेपाली राजनीतिमा छुट्टै बहस सिर्जना गरिरहेको छ ।

क्यासिनो वाल्डोका चिनियाँ मुख्य लगानीकर्ता पक्राउ

काठमाडौं । ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालन भइरहेको क्यासिनो वाल्डोमा योजनाबद्ध रूपमा ठगी गरिँदै आएको खुलासा भएपछि त्यसका मुख्य चिनियाँ लगानीकर्ता तथा सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लामो समयदेखि फरार रहेका ७५ वर्षीय CHAn\ MAn\ CHYING लाई परिसरको विशेष टोलीले काठमाडौंमै पक्राउ गरेको हो । उनी क्यासिनो वाल्डोका प्रमुख सञ्चालक भएको प्रहरीको दाबी छ ।

यसअघि प्रहरीले क्यासिनोमा इभेन्ट आयोजना गरेरै तास खेलमार्फत ग्राहकलाई ठगी गरिएको तथ्य सार्वजनिक गरेको थियो । अनुसन्धानका क्रममा तासमा चिप जडान गरिएको, खेलाडीको आँखामा विशेष प्रकारका लेन्स लगाइने र त्यसको सहायताले तासको दुवै पाटा देखिने व्यवस्था मिलाइएको खुलेको थियो । सोही प्रकरणमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डेलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार क्यासिनोका नेपाली सञ्चालक भनिएका विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश भने अझै फरार छन् । चिनियाँ लगानीकर्ताको पक्राउसँगै क्यासिनोको संरचनागत संलग्नता पनि थप प्रस्ट भएको प्रहरीले जनाएको छ । डिसेम्बर ११ देखि १४ तारिखसम्म भारत र नेपालका विभिन्न समूहको सहभागितामा क्यासिनोमा विशेष इभेन्ट आयोजना गरिएको थियो ।

प्रहरी अनुसन्धानअनुसार महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेका थिए भने चिप जडित तास र विशेष लेन्स भारतबाट खरिद गरी ल्याइएको थियो । ठगीबाट प्राप्त रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र १० प्रतिशत मात्र खेलाडीले पाउने सहमति भएको तथ्य पनि खुलेको छ । प्रहरीले पक्राउ परेकाहरूको साथबाट नेपाली तथा भारतीय मुद्रा, म्याग्नेट जडित तास, सयौँ लेन्स, हवाई टिकटलगायत सामग्री बरामद गरेको छ। क्यासिनो वाल्डोले कानुनी मापदण्ड उल्लंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरी थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ । यो प्रकरणले क्यासिनो व्यवसायभित्रको नियमन, पारदर्शिता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) आइतबार २० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि १२ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष २५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

सबै वैकल्पिक शक्तिहरूसँग सम्मानजनक सहकार्य गर्न तयार छौं : कुलमान घिसिङ

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र महानगर प्रमुख बालेन शाहबीच सहकार्यको शुरुवात हुँदै गर्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक राजनीतिक शक्तिहरूबीचको ध्रुवीकरणमा जोड दिएका छन् । पोखरामा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले मुलुकको आवश्यकता र जनचाहना पूरा गर्न सबै वैकल्पिक शक्तिहरू एकै ठाउँमा उभिनु पर्ने बताएका छन्। वर्तमान सरकारका मन्त्री समेत रहेका घिसिङले पार्टी एकीकरण सम्भव नभए पनि ‘कार्यगत एकता’ गरेर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे ।

‘सही नेतृत्व र वैकल्पिक विचार बोकेका शक्तिहरू अब छरिएर होइन, एकताबद्ध भएर जानुपर्छ,’ घिसिङले भने, ‘सकेसम्म पार्टी एकीकरण गरौं, त्यो नसके कम्तीमा कार्यगत एकता गरेर भए पनि अगाडि बढौं । म सबै नयाँ र मूलधारका परिवर्तनकारी शक्तिलाई एक ठाउँमा आउन आह्वान गर्दछु ।’ जनताले पुराना शैलीको विकल्प खोजिरहेको उल्लेख गर्दै उनले भने, ‘आजको जनमत वैकल्पिक शक्तिहरू एक होउन् र देशलाई नयाँ नेतृत्व प्रदान गरुन् भन्ने पक्षमा छ । यो भावनालाई हामीले समयमै बुझ्न जरुरी छ ।’

रास्वपा सभापति लामिछाने र मेयर शाहबीच सात बुँदे सम्झौता सार्वजनिक भएकै दिन घिसिङको यो अभिव्यक्ति आउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । केही समयअघि बालेनसँग सहकार्यका लागि घिसिङले पनि छलफल अघि बढाएका थिए । तर, पछिल्लो समीकरणमा रवि र बालेन एक हुँदा कुलमान भने बाहिरै रहेका छन्। यद्यपि, घिसिङले आफूहरू एक्लिएको महसुस नगरेको संकेत गर्दै सम्मानजनक सहकार्यका लागि ढोका खुला रहेको प्रष्ट पारे ।

एकताको अपिल गर्दैगर्दा घिसिङले सहकार्यको शर्त पनि अघि सारेका छन् । उनले आफ्नो पार्टीको आत्मसम्मान र स्वाभिमानलाई दाउमा राखेर भने कुनै सम्झौता नहुने स्पष्ट पारे । ‘हामी सबैसँग सहकार्य गर्न तयार छौं, तर त्यो सम्मानजनक हुनुपर्छ । हाम्रो स्वाभिमान नमेटिने गरी हुने सहकार्यले मात्र नतिजा दिन्छ,’ उनले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै भने, ‘भित्रभित्रै धेरै गृहकार्य भइरहेको छ, केही दिनमै यसको ठोस नतिजा तपाईंहरूले देख्नु हुनेछ ।’

 

महेश बस्नेतको टिप्पणी : अब बालेनप्रतिको आकर्षण घट्छ

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय देखिएको राजनीतिक उतारचढावप्रति कडा टिप्पणी गर्दै संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्भावित सहकार्यलाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

बस्नेतका अनुसार नेपाली राजनीतिमा नयाँ अनुहारलाई बारम्बार ‘आशा’ का रूपमा प्रस्तुत गर्ने तर केही समयमै ती पात्रहरू ‘बासी’ बन्ने प्रवृत्ति दोहोरिँदै आएको छ । उनले गगन थापा, रवि लामिछाने हुँदै बालेन शाहसम्मको उदाहरण दिँदै लोकप्रियताको लहर दीर्घकालीन परिवर्तनको आधार बन्न नसकेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ । गगन आए, जबर्जस्त बासी बनाइए । काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए–तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ ।’

बस्नेतको भनाइमा बालेन शाहको लोकप्रियता उनको स्वतन्त्र छविसँग जोडिएको थियो । तर विवादित छवि भएका रवि लामिछाने नेतृत्वको दलसँग नजिकिँदै गएपछि त्यो आकर्षण तीव्र गतिमा घट्ने संकेत देखिन थालेको उनले बताएका छन् । ‘बालेनको लोकप्रियता स्वतन्त्र छविकै कारण थियो । रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिना साथ त्यो आकर्षण घट्नु स्वाभाविक हो’, उनले उल्लेख गरेका छन् ।

रास्वपाको राजनीतिप्रति पनि बस्नेतले तीखो टिप्पणी गरेका छन् । उनका अनुसार पुराना दललाई गाली गर्ने र सत्तामा पुग्ने बाहेक स्पष्ट नीति, दिशा र दीर्घकालीन भिजन नहुँदा जनतासँगको दूरी झन् बढ्दै जाने निश्चित छ । ‘काम गर्ने कालू, मकै खाने भालु’ को उखान प्रयोग गर्दै उनले व्यक्तिवादी स्वार्थमा आधारित राजनीति टिकाउ नहुने जिकिर गरेका छन् । बस्नेतले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध रूपमा मुठभेडमा परिणत गराइएको र त्यसक्रममा केही युवाले ज्यान गुमाउनुपरेको उल्लेख गरेका छन् । साथै, भदौ २४ गते राज्यका आधारस्तम्भ—सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत—माथि आक्रमण गरिएको भन्दै त्यसलाई लोकतन्त्रविरुद्धको गम्भीर चुनौतीका रूपमा चित्रण गरेका छन् ।

उनको दाबी छ कि यी घटनाहरू नेपाललाई अस्थिर बनाउने भूराजनीतिक षड्यन्त्रको प्रारम्भिक चरण हुन सक्छन् । ‘यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर चिन्ताको विषय हो’, उनले लेखेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै बस्नेतले मुख्य प्रश्न उठाएका छन्–राज्यका संरचना जलाउने अराजक राजनीति रोज्ने कि ती संरचना निर्माण गर्ने र भत्काउनेमाथि कारबाही गर्ने जिम्मेवार राजनीतिलाई साथ दिने ? उनका अनुसार अराजक धारको नेतृत्व बालेन–रविहरूले गरिरहेको देखिन्छ भने संरचना जोगाउने जिम्मेवारी पुराना दलकै काँधमा आएको छ । यद्यपि, उनले समस्या पुराना दलको अस्तित्व नभई तिनभित्रका विकृतिहरू भएको स्पष्ट पारेका छन् । ‘नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीतिक सुधार गर्नु नै आजको आवश्यकता हो’, बस्नेतको निष्कर्ष छ । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नत्र ‘नयाँ बोत्तलमा पुरानै रक्सी’ पिइरहँदा नेपाली जनता फेरि–फेरि उही भ्रमको सिकार भइरहने चेतावनी उनले दिएका छन् ।

 

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा विकास हुनुपर्छ : उपसभामुख राना

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध आपसी सम्मान र समझदारीमा आधारित रहेको बताउँदै यसलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिएकी छन् । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा वर्षभर आयोजित विविध कार्यक्रमहरूको समापनका सन्दर्भमा चिनियाँ दूतावासद्वारा आयोजित विशेष स्वागत समारोहमा उनले यस्तो धारणा राखेकी हुन् ।

समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले दुई देशबीचको सम्बन्ध सरकारीस्तरमा मात्र सीमित हुनु नहुने भन्दै जनस्तरमा पनि विस्तार हुनुपर्ने बताइन् । उनले व्यापार, लगानी र भौतिक पूर्वाधारका क्षेत्रमा दुवै देशबीच सघन सहकार्य हुनुपर्ने बताउँदै नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगको सराहना गरिन् । चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वका रूपमा लिने बताउँदै उनले शान्तिपूर्ण सह–अस्तित्वका पाँच सिद्धान्तले यो मित्रतालाई बलियो आधार प्रदान गरेको उल्लेख गरिन् । प्राकृतिक सीमाका रूपमा रहेका हिमालयहरू कहिल्यै पनि सम्बन्धमा वाधक नबनेको बरु निकटता, साझा भाग्य र शान्तिपूर्ण सहअस्तित्वको प्रतिक बनेको उनको भनाइ थियो ।

सोही अवसरमा नवनियुक्त चिनियाँ कार्यवाहक राजदूत चौ पानले नेपालको विकास साझेदारका रूपमा चीनले सक्दो सहयोग गर्दै आएको बताए । उनले आर्थिक, वाणिज्य, कृषि, गरिबी निवारण, पर्यटन तथा युवा विकासलगायतका क्षेत्रलाई केन्द्रमा राखेर चीनले सहायता परिचालन गरिरहेको जानकारी दिए । कार्यवाहक राजदूत चौले हालै चिनियाँ कम्युनिष्ट पार्टीले अनुमोदन गरेको १५ औँ पञ्चवर्षीय योजनामा नेपाललगायत छिमेकी मुलुकहरूको सामाजिक एवं आर्थिक विकासका कार्यक्रमहरू समावेश गरिएको जानकारी दिँदै दुवै देशका साझा चासो र लाभका लागि पारस्परिक साझेदारी अपरिहार्य रहेको बताए ।

वि.सं. २०१२ साउन १९ गते (सन् १९५५ अगष्ट ३) औपचारिक रूपमा कुटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै यो वर्षभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका थिए । वर्षभरका कार्यक्रमहरूको समापनका रूपमा आयोजित यो विशेष समारोहमा नेपाल चाइना मिडिया फोरमद्वारा प्रकाशित पुस्तक, सञ्चारकर्मीका लागि चिनियाँ भाषा तालिम, चौथो सञ्चार सम्मेलन तथा विभिन्न सांस्कृतिक प्रदर्शनीहरूको चर्चा गरिएको थियो । समारोहमा चिनियाँ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

नयाँ जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका कार्यवाहक राजदूत चौ पानको निमन्त्रणामा आयोजित उक्त समारोहमा उपसभामुख, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, सरकारका विशिष्ट श्रेणीका अधिकारी, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रमा कार्यरत चिनियाँ नागरिकहरूको उपस्थिति थियो । नेपाल सङ्घीयता, समावेशी विकास र दिगो विकासको बाटोमा अघि बढिरहेको सन्दर्भमा चीनलाई एक मूल्यवान साझेदारका रूपमा लिइएको र सम्बन्ध सधैँ समस्यारहित र सदाबहार रहेको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका थिए ।

रवि–बालेन एकतापछि योगेश भट्टराई : बाह्य चुनौति बढ्दैछ, अब लुकेर हुनेवाला छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीचको एकताले चुनौति बढेको टिप्पणी गरेका छन् । रवि र बालेनबीच एकताको सहमति भएपछि सामाजिक सञ्जालमा उनले चुनौति बढेको टिप्पणी गरेका हुन् ।

‘बाह्य चुनौति बढिरहेको छ । जसको सामना गर्नै पर्छ, भागेर लुकेर हुनेवाला छैन,’ उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्तरिक एकता बलियो बनाऔं । राष्ट्र र जनताका एजेण्डा बोकौं । बिगतका कमजोरीप्रति आत्मालोचित होऔं । विनम्र बनौं । कार्यशैली सुधार गरौं ।’

भट्टराई एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली इतरको खेमाबाट उपमहासचिवमा विजयी भएका नेता हुन् । जेनजी आन्दोलनपछि उनले एमालेको अबको नेतृत्व केपी ओलीबाट हुन नसक्ने अभिव्यक्ति दिँदै आएका थिए । ओलीले आफ्ना कमी कमजोरीप्रति क्षमायाचना नगरेको भन्दै उनले ओलीको तीव्र आलोचना गर्दै आएका छन् ।

रवि–बालेन सम्झौतापछि कुलमानकाे पार्टीले भन्यो–जेनजी आन्दोलनको भावना समेटिएन

काठमाडौं । वैकल्पिक राजनीतिक धार निर्माणको बहुप्रतीक्षित प्रयास अन्ततः त्रिपक्षीय एकतामा रूपान्तरण हुन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ यो प्रक्रियाबाट अलग भएका छन् । उज्यालो नेपाल पार्टीले उक्त सहमतिले ‘जेनजी आन्दोलनको मूल भावना’ नसमेटेको भन्दै असहमति जनाएको छ ।

आइतबार बिहान रवि र बालेनले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै दुई पक्षीय एकताको औपचारिक घोषणा गरे । सहमतिअनुसार एकतापछिको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने समझदारी गरिएको छ । तर यही संरचनाले उज्यालो नेपाल पार्टीको पहिचान र भूमिकालाई ओझेलमा पार्ने निष्कर्षसहित कुलमान पछाडि हटेका हुन् ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा वार्तामा संलग्न जितराम लामाले सहमतिप्रति असन्तुष्टि जनाउँदै भने, ‘यो सम्झौता अपेक्षाकृत थिएन । त्यहाँ पदको भागबण्डा बाहेक भोलिको रोडम्याप, नीतिगत स्पष्टता र देशका समस्या समाधानका उपाय देखिँदैनन् । जेनजी आन्दोलनको भावना सम्पूर्ण रूपमा समेटिएको छैन ।’ उनका अनुसार पार्टीले अब आफ्नै ढंगले संगठन विस्तार गर्दै कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर जनतामा जाने निर्णय गरेको छ ।

एकताका लागि शनिबार राति बालुवाटारस्थित एक निजी निवासमा रवि, बालेन र कुलमानबीच लामो छलफल भएको थियो । सुरुमा बालेन र कुलमानबीच भइरहेको संवादमा रवि जोडिएपछि त्रिपक्षीय वार्ता अघि बढेको बताइन्छ । तर पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र शक्ति बाँडफाँडका विषयमा सहमति नजुट्दा कुरा टुंगिन सकेन । छलफलमा सबै संरचना र पहिचान रास्वपाकै रहने र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रस्ताव आएको थियो । यसले उज्यालो नेपाल पार्टीको अस्तित्व नै विलय हुने ठहरसहित कुलमानले अस्वीकार गरेका थिए ।

स्रोतहरूका अनुसार कुलमानले पार्टीको नाम र चुनाव चिह्न उज्यालो नेपाल पार्टीकै स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका थिए । अध्यक्ष वा प्रधानमन्त्री दुवै पद आवश्यक नरहेको भन्दै संरचनागत सम्मान र दीर्घकालीन राजनीतिक दिशामा जोड दिएका थिए । तर रवि र बालेन यसमा सहमत नभएपछि सहकार्य टुटेको हो ।

यसअघि पुस ४ गते जेलबाट रिहा भए लगत्तै रवि लामिछानेले २१ फागुनको निर्वाचनअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गर्दै बालेनसँग एकताका लागि पहल गरेका थिए । पुस ७ गते कमलपोखरीमा भएको पहिलो भेटमा रविले बालेनलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न प्रस्ताव गरेका थिए । चुनावपछि शक्ति बाँडफाँड मिलाउने आश्वासन दिइए पनि बालेनले सुरुदेखि नै स्पष्ट संरचना र भूमिकाको माग गरेका थिए ।

त्यसपछि बालेनले आफ्नै ‘देश विकास पार्टी’ अगाडि बढाउने तयारी थालेका थिए । उनले राजनीतिक–सामाजिक क्षेत्र, निजी क्षेत्र र युवा पुस्ताका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै वैकल्पिक शक्ति निर्माणको संकेत दिएका थिए । बालेन अलग बाटोमा अघि बढेको बुझाइपछि रविले पुनः संवाद थाले र पुस १० गतेको छलफलमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएको बताइन्छ । त्यसपछि दुवै पक्षका प्रतिनिधि रहेको कार्यदलले एकता सम्झौताको मस्यौदा तयार गर्न थालेको थियो ।

तर उज्यालो नेपाल पार्टीका प्रतिनिधिलाई कार्यदलमा समेटिन नसक्नु, रविले जेलबाट छुटेपछि कुलमानसँग प्रत्यक्ष संवाद नगर्नु र शक्ति बाँडफाँडमा लचकता नदेखिनुका कारण कुलमान असन्तुष्ट बने । शनिबार उज्यालो नेपाल पार्टीले एकताको नाममा आफ्नो अस्तित्व गुमाएर विलय नहुने औपचारिक निर्णय समेत गरिसकेको थियो ।

यद्यपि अन्तिम समयसम्म बालेनले कुलमानलाई मनाउने प्रयास जारी राखेका थिए । शनिबार बिहान र साँझ गरी दुई पटक भेटवार्ता भए पनि निर्णायक सहमति जुट्न सकेन । परिणामतः चर्चित त्रिपक्षीय वैकल्पिक राजनीतिक धार निर्माणको प्रयास दुई पक्षीय सहमतिमा सीमित रह्यो । अब रवि–बालेन एउटै प्लेटफर्मबाट अघि बढ्ने भएका छन् भने कुलमान घिसिङ आफ्नै दलसहित अलग राजनीतिक यात्रामा निस्कने संकेत स्पष्ट देखिएको छ ।

 

बालेन–रवि सहमतिबारे पोखरेलको टिप्पणी–षड्यन्त्रको दोस्रो चरणको तयारी शुरु

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको सन्दर्भमा भदौ २३ र २४ गते भएका घटनाका योजनाकार र मतियार क्रमशः सार्वजनिक हुन लागेको दाबी गरेका छन् । उनले ती घटनालाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेन जस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरणको रूपमा व्याख्या गर्दै अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी सुरु भएको आशंका व्यक्त गरेका छन् ।

सात बुँदे सहमति भएकै दिन बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरिएको र त्यस क्रममा केही युवाको ज्यान गएको आरोप लगाएका छन् । उनका अनुसार भदौ २४ गते त्यसैको आडमा मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गर्ने प्रयास भयो । यी सबै गतिविधि कुनै आकस्मिक घटना नभई संगठित विध्वंसको हिस्सा भएको उनको निष्कर्ष छ ।

पोखरेलले उक्त घटनाहरूको पृष्ठभूमिमा रहेको शक्तिको पहिचान अब बाहिरिँदै गएको उल्लेख गर्दै विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै जाने दाबी गरेका छन् । उनले नेपाललाई भूराजनीतिक द्वन्द्वमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति गम्भीर सतर्कता अपनाउनुपर्ने बताए । नयाँ राजनीतिक शक्तिहरू एकीकृत हुने प्रक्रियामा रहेको बेला पोखरेलले संविधान र लोकतन्त्रका पक्षधर पुराना शक्तिहरूबीच समेत एकताको आवश्यकता औंल्याएका छन् । उनले देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्नेमा जोड दिँदै नेपाल राष्ट्रलाई बाह्य भूराजनीतिक खेलको गोटी बन्नबाट जोगाउन सबै पक्षले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका छन् ।

 

रवि–बालेन सहकार्यबारे सरकारका प्रवक्ता खरेल : समृद्ध नेपालको गन्तव्य तय हुँदैछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको सात बुँदे सहमतिले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यसै सन्दर्भमा अन्तरिम चुनावी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यसलाई सकारात्मक र नूतन अध्यायको संज्ञा दिएका छन् ।

‘जेनजी’ आन्दोलनको जगमा गठित सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो सहकार्यलाई ‘नयाँ दिनको नयाँ सुरुवात’ भनेर टिप्पणी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ…।’

 

रास्वपामा बालेनलाई सभापति रवि पछिको वरीयता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिका मेयर बालेन शाह रवि लामिछाने पछिको वरियतामा रहने भएका छन् । आज (आइतबार) बिहान रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । उक्त सहमति अनुसार बालेन शाहलाई आगामी निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार र निर्वाचनपछि संसदीय दलको नेता बनाउने छ ।

तर सहमतिमा बालेन शाह रास्वपामा कुन जिम्मेवारीमा रहने भन्ने विषयमा केही उल्लेख छैन । बालेन निकट केपी खनालका अनुसार बालेनलाई रास्वपामा दोस्रो वरीयता दिने सहमति छ । ‘भावी प्रधानमन्त्रीको उम्मेद्वार र संसदीय दलको नेता हुने भएकाले उहाँ पार्टीमा दोस्रो वरीयतामा रहनु हुन्छ,’ बालेनका निकट केपी खनालले सुनाए, ‘मेयर बालेनले कुनै पदको कुरा वार्तामा गर्नु भएको छैन । उहाँले देशलाई निकास दिनुपर्छ भन्ने हिसाबले कुरा गर्नुभएको थियो । तर भावी प्रधानमन्त्रीको हिसाबले उहाँ सभापति रवि लामिछानेपछिको वरीयतामा रहनुहुन्छ ।’

सहमतिमा केन्द्रीय समितिमा बालेन पक्षका को को र कति जना सहभागी हुने भन्ने विषय उल्लेख गरिएको छैन । तर युवा अभियन्ता र अनुभवी विज्ञलाई समायोजन गर्ने भनिएको छ । ‘एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,’ सहमतिमा उल्लेख छ ।

रवि–बालेन सहमतिपछि हर्क साम्पाङको टिप्पणी : देश लिलाम गर्ने खेल सुरु भयो (भिडियो)

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच देखिएको पछिल्लो राजनीतिक समझदारीप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले उक्त सहकार्यलाई सत्ता–केन्द्रित र जनभावनाविपरीतको राजनीतिक गठजोडका रूपमा व्याख्या गरेका छन् ।

साम्पाङले भिडियो सन्देशमा रवि लामिछाने र बालेन शाहको नाम प्रत्यक्ष रूपमा नलिइए पनि संकेतात्मक भाषामा उनीहरूको राजनीतिक शैली, उद्देश्य र भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । उनले विशेष गरी काठमाडौं महानगरपालिकाका मेयरतर्फ इंगित गर्दै नयाँ पुस्ता अर्थात् ‘जेन–जी’ को भावना प्रयोग गरेर राजनीतिक लाभ लिन खोजिएको आरोप लगाए ।

उनका अनुसार युवाहरूलाई आन्दोलन र सडक संघर्षतर्फ धकेल्ने तर निर्णायक घडीमा नेतृत्वकर्ताहरू स्वयं अगाडि नआउने प्रवृत्ति खतरनाक छ । ‘युवाहरूलाई उक्साएर भिडन्ततर्फ पठाइन्छ, तर आफू भने सुरक्षित ठाउँमा बसेर तमासा हेरिन्छ’, साम्पाङले आक्रोशपूर्ण शैलीमा भनेका छन् । उनले यस्तो प्रवृत्तिले देशलाई थप अस्थिरतामा धकेल्ने चेतावनी पनि दिए ।

देश कठिन परिस्थितिमा परेका बेला नेतृत्वले जिम्मेवारीबाट पन्छिएर मौन बस्ने र अहिले चुनाव नजिकिँदै जाँदा नैतिकताको कुरा गर्दै जनतासामु पुग्न खोज्नु गलत भएको उनको भनाइ छ । सिंहदरबार जल्दा, देश संकटमा पर्दा टुलुटुलु हेरेर बस्नेहरूले कुन आधारमा जनताको विश्वास मागिरहेका छन् भन्ने प्रश्न उनले उठाए ।

रवि–बालेनबीचको सहकार्यलाई साम्पाङले विदेशी शक्तिको इसारामा भएको ‘सेटिङ’ भन्दै आलोचना गरेका छन् । उनका अनुसार यो गठबन्धन राष्ट्र निर्माणभन्दा पनि सत्ता र कुर्सी प्राप्तिको उद्देश्यले बनेको देखिन्छ । ‘देशलाई लिलाम गर्ने खेल सुरु भएको छ’, साम्पाङले भने, ‘विदेशी प्रभावलाई हामीले पहिल्यै महसुस गरिसकेका छौं, अब त्यसलाई संस्थागत गर्ने प्रयास भइरहेको छ ।’

उनले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सहकारी ठगी प्रकरण र एमसीसी सम्झौताका पक्षधरहरूसँगको नजिकियताप्रति पनि प्रश्न उठाएका छन् । सहकारी पीडितका मुद्दा र विवादास्पद सम्झौताका समर्थकहरूसँग मिलेर बनेको कुनै पनि सरकार जनताको वास्तविक समस्यामा केन्द्रित हुन नसक्ने साम्पाङको ठम्याइ छ । समग्रमा, हर्क साम्पाङको अभिव्यक्तिले नयाँ राजनीतिक शक्तिहरूबीच देखिएको सहकार्य र त्यसको उद्देश्यबारे सार्वजनिक बहसलाई थप चर्काउने संकेत गरेको छ । उनले आफू राष्ट्र, श्रम र स्वाभिमानको पक्षमा अडिग रहने र कुनै पनि किसिमको सत्ताकेन्द्रित सम्झौतासँग सम्झौता नगर्ने सन्देश दिएका छन् ।

 

मेयरको दौडमा रविका दाजु हरिशरण, स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । मध्यराति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सहमतिलाई ‘सकारात्मक संकेत’ भन्दै रविका दाजु तथा रेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौँको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

हरिशरण लामिछानेले सार्वजनिक वक्तव्यमार्फत दुई भाइबीच भएको राजनीतिक समझदारीप्रति सम्मान र खुशी व्यक्त गर्दै आफू काठमाडौँ महानगरको भावी मेयर पदको दौडमा उत्रिने प्रबल सम्भावना रहेको बताएका छन् । ‘दुई भाइको सम्झौताले देशको राजनीतिमा नयाँ सन्देश दिएको छ’, उनले उल्लेख गर्दै आफ्नो उम्मेदवारी स्वतन्त्र हुने स्पष्ट पारेका छन् ।

रेडियो नेपालबाट सेवानिवृत्त लामिछाने प्रसारण क्षेत्रका चर्चित र विवादास्पद पात्रका रूपमा चिनिन्छन् । विशेषगरी भदौमा भएको जेन्जी आन्दोलनका क्रममा उनले रेडियो नेपालको स्टुडियो प्रवेश गरी १५ मिनेटभन्दा बढी समय राष्ट्रिय प्रसारण नियन्त्रणमा लिएको घटनाले उनलाई व्यापक चर्चामा ल्याएको थियो ।

उनको उम्मेदवारी घोषणाले काठमाडौँको मेयर चुनाव थप रोचक बन्ने संकेत देखिएको छ । स्वतन्त्र उम्मेदवारको रूपमा लामिछानेको प्रवेशलाई केहीले वैकल्पिक राजनीतिक आवाजको रूपमा हेरेका छन् भने केहीले यसलाई प्रतीकात्मक र व्यंग्यात्मक राजनीतिक कदमका रूपमा टिप्पणी गरेका छन् । अब काठमाडौँको मेयर चुनावमा ‘लामिछाने’ थरको अर्को दाबीले मतदातामाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

 

हस्ताक्षरपछि रविले भने–सहमति नेताले खोजे जस्तो होइन, देशलाई चाहिए जस्तो हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक एकताको औपचारिक सहमति भएको छ । आइतबार बिहान दुबै नेताले सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेका हुन् ।

सहमति अनुसार एकता पछि कायम रहने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो घेराभित्र निलो घण्टी रहनेछ भने चुनाव चिह्न पनि ‘घण्टी’ नै हुनेछ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमतिपत्रमा उल्लेख छ ।

राजनीतिक संरचनाको विषयमा पनि स्पष्ट सहमति गरिएको छ । रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ । यसले आगामी निर्वाचनमा नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ।

सहमति पछि प्रतिक्रिया दिँदै रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफूहरूको कदम व्यक्ति केन्द्रित नभएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘सहमति भनेको नेताले खोजे जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’ उनको भनाइले यो एकता व्यक्तिगत महत्वाकांक्षाभन्दा देशको आवश्यकतालाई केन्द्रमा राखेर गरिएको दाबी गर्छ ।

रवि–बालेनबीचको यो सहमतिलाई नयाँ पुस्ताको राजनीति र वैकल्पिक शक्तिको प्रयासका रूपमा हेरिएको छ । विशेष गरी काठमाडौं महानगरका मेयरका रूपमा बालेनको सक्रियता र रास्वपाको उदयसँगै बनेको यो एकताले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

रवि–बालेन मिल्दा किन बाहिरिए कुलमान ?

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास अन्ततः त्रिपक्षीय एकतामा पुग्न सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ भने यो प्रक्रियाबाट अलग भएका छन् ।

रातभर चलेको छलफलपछि आइतबार बिहान रवि र बालेनले मात्रै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एकताको औपचारिक घोषणा गरेका छन् । सहमतिअनुसार एकतापछिको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने समझदारी भएको छ । यही सहमतिले रवि–बालेन–कुलमानलाई एउटै राजनीतिक शक्तिमा जोड्ने प्रयास असफल बनाएको हो ।

एकताका लागि शनिबार राति बालुवाटारस्थित एक निजी निवासमा रवि, बालेन र कुलमानबीच लामो छलफल भएको थियो । सुरुमा बालेन र कुलमानबीच वार्ता भइरहेको ठाउँमा रवि प्रवेश गरेपछि त्रिपक्षीय संवाद सुरु भएको स्रोतहरू बताउँछन् । तर पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र शक्ति बाँडफाँडको विषयमा सहमति नजुट्दा कुलमान अन्ततः पछि हटेका हुन् ।

छलफलका क्रममा सबै संरचना र पहिचान रास्वपाकै रहने, बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रस्ताव आएको थियो । तर यसले उज्यालो नेपाल पार्टीको अस्तित्व समाप्त हुने निष्कर्ष निकाल्दै कुलमान यसमा सहमत नभएको बताइन्छ । स्रोतका अनुसार कुलमानले पार्टीको नाम र चुनाव चिह्न आफ्नो दलको स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका थिए भने अध्यक्ष वा प्रधानमन्त्री दुवै पद आफूलाई आवश्यक नरहेको बताएका थिए । तर यो प्रस्तावमा रवि र बालेन सहमत नभएपछि सहकार्य टुटेको हो ।

यसअघि पुस ४ गते जेलबाट रिहा भए लगत्तै रवि लामिछानेले २१ फागुनको निर्वाचनअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै बालेनसँग एकताका लागि पहल गरेका थिए । पुस ७ गते कमलपोखरीस्थित रास्वपाका सांसद असीम शाहको निवासमा करिब छ घण्टा चलेको पहिलो भेटमा रविले बालेनलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न प्रस्ताव गरेका थिए । चुनावपछि सबै कुरा मिलाउने आश्वासन दिइए पनि बालेनले शक्ति बाँडफाँड स्पष्ट हुनुपर्ने अडान राखेका थिए ।

त्यसपछि पुस ८ गतेदेखि बालेनले आफ्नै ‘देश विकास पार्टी’ अगाडि बढाउने तयारी थालेका थिए । राजनीतिक–सामाजिक क्षेत्र, निजी क्षेत्र र युवा पुस्ताका प्रतिनिधिसँग उनले छुट्टाछुट्टै भेटवार्ता समेत गरेका थिए । बालेन छुट्टै शक्ति निर्माणतर्फ अघि बढेको संकेत पाएपछि रविले पुनः संवाद थालेका थिए। पुस १० गते भएको अर्को लामो छलफलमा रवि बालेनलाई आफूपछिको वरीयतामा राख्दै प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएका थिए । त्यसपछि दुवै पक्षका दुई–दुई सदस्य रहेको कार्यदलले एकता सम्झौताको मस्यौदा तयार गर्न थालेको थियो ।

तर कुलमानसँग भने रविले जेलबाट छुटेपछि प्रत्यक्ष छलफल नगरेको, एकताका लागि बनाइएको कार्यदलमा उज्यालो नेपाल पार्टीका प्रतिनिधि नराखिएको र शक्ति बाँडफाँडमा लचिलो नदेखिएको भन्दै कुलमान असन्तुष्ट बनेका थिए । शनिबार उज्यालो नेपाल पार्टीले एकताको नाममा आफ्नो अस्तित्व गुमाएर बिलय नहुने औपचारिक निर्णय पनि गरेको थियो ।

यद्यपि कुलमानलाई मनाउने प्रयास बालेनले अन्तिम समयसम्म जारी राखेका थिए । शनिबार बिहान र साँझ गरी दुई पटक भेटवार्ता भए पनि निर्णायक सहमति जुट्न सकेन । अन्ततः त्रिपक्षीय छलफल भएको पहिलो अवसरमै शक्ति बाँडफाँडको विषय नै बाधक बन्यो र कुलमान यो एकता प्रक्रियाबाट बाहिरिए । यससँगै वैकल्पिक राजनीतिक धार निर्माणको चर्चित प्रयास दुई पक्षीय सहमतिमा सीमित भएको छ भने कुलमान घिसिङ आफ्नै दलसहित अलग बाटोमा अघि बढ्ने संकेत स्पष्ट भएको छ ।

दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै, सभापति रवि, बालेन प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं । नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बृहत् एकताको सहमति भएको छ । लामो समयको छलफल र रातभर चलेको वार्तापछि दुवै पक्ष ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एउटै राजनीतिक धारमा उभिन सहमत भएका हुन् ।

सहमतिअनुसार एकतापछि पनि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ । पार्टीको झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृतिसहित कायम रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ नै हुनेछ । केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने व्यवस्था गरिएको छ । पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिनेछ।

सहमति पत्रमा नवयुवाहरूले भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध उठाएको आन्दोलनको भावना आत्मसात् गर्ने उल्लेख छ । आन्दोलनका क्रममा घाइते भएका तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि दुवै पक्षले व्यक्त गरेका छन् । साथै नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन हासिल गर्दै आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहितको मार्गचित्र इमानदारीपूर्वक कार्यान्वयन गर्ने सहमति भएको छ ।

एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ र फराकिलो बनाइने उल्लेख गरिएको छ । यस क्रममा युवा अभियन्ता, प्राविधिक विज्ञ तथा अनुभवी व्यक्तित्वहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर जिम्मेवारी दिइनेछ । लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा केन्द्रित भई अन्य परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबद्ध हुन आह्वान गर्ने निर्णय गरिएको छ ।
सहमति कार्यान्वयनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गरिने छ । नेतृत्व, सिद्धान्त र चुनाव चिन्ह ‘घण्टी’मा एकीकृत हुँदै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने लक्ष्य दुवै पक्षले अघि सारेका छन् ।

हस्ताक्षर कार्यक्रममा रास्वपाका तर्फबाट स्वर्णिम वाग्ले, डिपी अर्याल, शिशिर खनाल र असिम शाह सहभागी थिए भने बालेन पक्षबाट कुमार बेन, केपी खनाल, निश्चल बस्नेत, भुपदेव शाह र सुदिप ढकालको उपस्थिति रहेको थियो । यो एकताले आगामी निर्वाचन र समग्र नेपाली राजनीतिमा नयाँ बहस र सम्भावनाको ढोका खोलेको विश्लेषण हुन थालेको छ ।
यी हुन् सात बुँदे सहमति

रवि–बालेन हस्ताक्षरमा को–को थिए साक्षी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच गोप्य वार्तापछि सहमति भएको छ । अत्यन्तै सीमित व्यक्तिहरू मात्रै सहभागी भएको वार्तापछि आज बिहान करिब चार बजेतिर सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

हिजो रातिसम्म पनि वार्ता चलिरहेको विषयमा सञ्चारकर्मीलाई जानकारी नदिइएको र सहमति प्रक्रिया पूर्ण रूपमा गोप्य राखिएको बताइएको छ । हस्ताक्षर समारोहमा दुवै पक्षका करिब एक दर्जन व्यक्तिहरू उपस्थित थिए, जसलाई सम्झौताका प्रत्यक्ष साक्षीका रूपमा लिइएको छ ।

रास्वपाको तर्फबाट उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल र असिम साह वार्ता तथा हस्ताक्षर प्रक्रियामा सहभागी थिए । असिम साहका दाइ आसिफ साहको पनि उपस्थिति रहेको थियो । सहमतिमा उल्लेख भएअनुसार पार्टी सभापति रवि लामिछाने यथावत रहने र भावी प्रधानमन्त्रीको रूपमा बालेन साहलाई अघि सारिने समझदारी भएको जनाइएको छ ।

बालेनको पक्षबाट कुमार बेन, भुपदेव साह, सुदिप ढकाल, जेन–जी युवा अगुवा केपी खनाल तथा कलाकार निश्चल बस्नेतलगायत निकट व्यक्तिहरू उपस्थित थिए । हस्ताक्षरपछि रवि लामिछाने र बालेन साहले एकअर्कालाई अंगालो हाल्दै सहमतिको औपचारिक घोषणा गरेका थिए । त्यसपछि सहभागी सबैले सामूहिक तस्बिर खिचाएका थिए ।

सम्झौतापछि प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले यो सहमति नेताहरूको व्यक्तिगत चाहनाअनुसार नभई देशलाई आवश्यक पर्ने दिशामा केन्द्रित भएको बताएका छन् । लामो समयदेखि चल्दै आएको संवाद र प्रयासपछि भएको यो सहमतिलाई दुवै पक्षले ‘ब्रेकथ्रु’ को रूपमा लिएका छन् ।

देश जोगाउन निर्वाचनअघि नै राजा, दल र जेनजीबीच नयाँ समझदारी गरौं : राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवा पुस्ता लगायत सरोकारवालाहरू सबैले नयाँ समझदारी गर्न आग्रह गरेका छन् । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

उनले अहिलेको व्यवस्थाले देश माथि जान नसक्ने जिकिर गरे । उनले देश जोगाउने हो भने राजा, राजनीतिक दल र जेन–जी सहितको नयाँ समझदारी गर्नुपर्ने बताए। अहिलेकै व्यवस्थाबाट हुने निर्वाचनले भविष्यमा झनै ठुलो द्वन्द्व निम्त्याउने बताए । उनले अहिले देश गम्भीर दुर्घटनाको डिलमा रहेको बताए ।

अध्यक्ष लिङदेनले भने ‘यही गणतन्त्र, यही धर्मनिरपेक्षता, यही संघीयता, यही संविधान र यही संवैधानिक व्यवस्थाबाट यो देशलाई दुर्घटनामा जानबाट रोक्न सकिन्छ रु यही संविधान र यही व्यवस्थाअन्तर्गत हुने चुनावबाट भविष्यमा यो भन्दा पनि ठुलो द्वन्द्व हुनसक्ने सम्भावनाबाट रोक्न सकिन्छ ? नेपाली पन र नेपाली मन जीवित छ भने यो भ्रष्ट व्यवस्थाबाट देश उँभो लाग्दैन ।’

उनले भने, ‘देश बचाउने र बनाउने हो भने यो चुनावअघि नै राजा, राजनीतिक दल, नवयुवाहरूको पुस्ता र सबै सरोकारवालाहरूसँगबाट नयाँ समझदारी कायम गरेर कुनै पार्टी, कुनै शक्तिले हार्ने, जित्ने नभई कसैले नहार्ने र देशले जित्ने नयाँ समझदारी कायम गरौँ । आज देश गम्भीर दुर्घटनाको मुखमा पुगेको छ । भदौ २३ र २४ गतेको घटना हाम्रो आँखाले देखेका छौँ । काँग्रेस र कम्युनिस्टहरूले नाम नै फेरिसके । माओवादीले त आफ्नो नाम पनि भन्न नसक्ने भनेर नाम नै फेरिसक्यो । माओवादी भन्यो भने त फेला परिएला भनेर । यिनीहरूले देश चलायौँ भन्थे, हामीले देश चलाइरहेका छौँ भन्थे ।’ अध्यक्ष लिङदेनले नेपाली मन र नेपाली पन जीवित छ भने अहिलेकै प्रणालीबाट देश अघि बढ्न नसक्ने बताए ।

 

चुनावमा जान वातावरण र सुरक्षाको व्यवस्था हुनुपर्‍यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा जान दलहरू तयार रहे पनि वातावरण नबनेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा शनिबार बालुवाटारमा भएको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनु पर्ने बताएका हुन् । ‘कांग्रेसलगायत सबै पार्टीहरू चुनावमा जान तयार छन्, तर वातावरण बनिसकेको छै, वातावरण बनाउनुपर्‍यो, सुरक्षाको व्यवस्था हुनुपर्‍यो,’ उनले भने ।

एमाले पनि चुनावमा जान तयार हो भन्ने सञ्चारकर्मीको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन्। सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने तयारी गरिरहेको छ ।

कुलमानले गरे रवि सभापति र बालेन प्रधानमन्त्री बनाउने प्रस्ताव अस्वीकार

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक दलहरूबीच एकता गरी गठन हुने प्रस्तावित पार्टीको सभापति रवि लामिछाने र आगामी निर्वाचनपछिको प्रधानमन्त्री काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बन्ने प्रस्ताव अस्वीकार गरेको छ ।

त्रिपुरेश्वरस्थित उज्यालो नेपालको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मेयर बालेनको तर्फबाट आएको प्रस्तावमाथि छलफल गर्दै उक्त प्रस्ताव स्वीकार्य नहुने निष्कर्ष निकालेको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार एकताका नाममा आएको प्रस्तावमा पार्टी संरक्षक कुलमान घिसिङको भूमिका तथा उज्यालो नेपालको हिस्सेदारीबारे कुनै ठोस खाका नआएको र आफ्नो पक्षको मात्र कुरा राखिएको भन्दै प्रस्ताव अस्वीकार गरिएको हो । यद्यपि, नयाँ राजनीतिक शक्तिहरूबीच एकताको प्रयास भने निरन्तर अघि बढाउने विषयमा बैठकमा सहमति बनेको छ । उज्यालो नेपालका केन्द्रीय सदस्य डा. अभिषेक सिंहले रास्वपा र मेयर बालेनसँग सहकार्यका विषयमा छलफल जारी रहने जानकारी दिएका छन् ।

रोल्पादेखि घुम्दै गोर्खा पुगेका ‘प्रचण्ड’ यसपालीको निर्वाचन कताबाट लड्दैछन् ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाबाट पनि प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । यस पटकको प्रतिनिधि सभा निर्वाचनका लागि प्रचण्ड सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा रहेका छन् । यसअघि सिन्धुलीबाट चुनाव लड्ने चर्चा चलेका प्रचण्ड गोर्खाबाट पनि प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारका रुपमा सिफारिस भएका थिए ।

प्रचण्डको राजनीतिक यात्रा दशकौं पुरानो छ । १० वर्षे शसस्त्र विद्रोहपछि २०६४ सालको संविधान सभा निर्वाचनबाट उनी चुनावी राजनीतिमा प्रवेश गरेका थिए । २०६४ को निर्वाचनमा उनले काठमाडौँ क्षेत्र नम्बर १० र रोल्पा क्षेत्र नम्बर २ बाट विजयी भई संसदमा स्थान बनाए । त्यसयता प्रचण्ड हरेक निर्वाचनमा फरक क्षेत्रबाट चुनाव लड्दै आएका छन् । दोस्रो संविधान सभा निर्वाचनमा उनी सिराहा क्षेत्र नम्बर पाँचबाट विजयी भए । त्यसपछि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट चुनाव जिते । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित बने ।

हाल सरकारले आगामी फागुन २१ का लागि प्रतिनिधि सभा निर्वाचन तोकेको छ । यसपटक पनि प्रचण्ड गोरखा छोडेर अर्को फरक निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । रोल्पा, काठमाडौं, सिराहा, चितवन र गोरखामा विजय हासिल गरेपछि प्रचण्ड यसपटक जन्मथलो कास्कीबाट चुनाव लड्ने चर्चा बढेको छ । तर प्रचण्ड लड्ने भनेको कास्की निर्वाचन क्षेत्र नम्बर-३ मा उनको पार्टीको जनमत कमजोर रहेको बताईन्छ । 

अहिलेसम्म गोरखा–२ बाट प्रचण्डको नाम सिफारिस भइसकेको छ । तर सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, महोत्तरी र रोल्पा लगायतका जिल्लाबाट पनि प्रचण्ड चुनावमा उठ्ने सम्भावना रहेको चर्चा भइरहेका छन् । यद्यपि, प्रचण्डले अहिलेसम्म कताबाट निर्वाचन लड्ने भन्ने करामा अन्तिम निर्णय गरेका छैनन् । उनले राजनीतिक रणनीति र क्षेत्रको चुनावी अवस्था अनुसार निर्णय गर्ने बताइएको छ । यसरी प्रचण्डको चुनावी यात्राले नेपालको प्रतिनिधि सभा निर्वाचनमा निकै रोचक मोड ल्याउने देखिन्छ ।

जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका–३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ । गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए ।

पुस १० गते अचानक बेहोश भएर लडेका मियाको उपचारको क्रममा भारतमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतकको शब सीमावर्ती भारतीय नाका गलगलिय हुँदै आज घर ल्याइएको छ । जबर्जस्ती करणी कसुरमा अदालतको फैसला बमोजिम मिया चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए ।

भ्रष्टाचारको मुद्दामा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १५ वर्षको जेल सजाय

एजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भए पछि १५ वर्षको जेल सजाय सुनाइएको छ । क्वालालम्पुर उच्च अदालतले शुक्रबार फैसला सुनाएको अल जजिराले जनाएको छ ।

नाजिबलाई राज्य लगानी कोष १– मलेसिया डेभलपमेन्ट बरहाद (१–एमडिबी) बाट अवैध रूपमा २.२ अर्ब मलेसियन रिङ्गिट (करिब ५४ करोड ३० लाख अमेरिकी डलर)आफ्नो व्यक्तिगत बैंक खातामा हस्तान्तरण गरेको अभियोगमा दोषी ठहर गरिएको जनाइएको छ । अदालतले उनलाई शक्तिको दुरुपयोग गरेको चार वटा आरोप र सम्पति शुद्धिकरणको २१ वटा अभियोगमा दोषी ठहर गरेको छ ।

फैसला सुनाउँदै न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले यो मुद्दा राजनीतिक रूपमा सञ्चालित भएको भन्दै नाजिबको बचाउलाई अस्वीकार गरेका छन् । 

उनले ‘अभियुक्त आफूमाथि लगाइएका आरोपहरूमा राजनीतिक रूपले प्रेरित भन्ने तर्कलाई निर्विवाद खारेज गर्दै अभियुक्तले १–एमडिबीमा आफ्नो शक्तिशाली पदको दुरुपयोग गरी कसुरदार ठहर भएको बताए।

नाजिबले प्रधानमन्त्री, अर्थमन्त्री र १–एमडिबीको सल्लाहकार बोर्डको अध्यक्षको रूपमा आफ्नो भूमिकाको दुरुपयोग गरी एक दशक भन्दा पहिले सार्वजनिक कोषलाई व्यक्तिगत लाभका लागि प्रयोग गरेको अल जजिराले जनाएको छ ।

१–एमडिबी काण्डसँग सम्बन्धित नाजिबको यो दोस्रो सजाय हो । यस अघि सन् २०२० मा कोषबाट करिब एक करोड अमेरिकी डलरको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरी  १२ वर्षको जेल सजाय सुनाइएको थियो भने पछि सजाय घटाएर छ वर्षमा झारेको थियो ।

गत वर्ष नाजिबले १–एमडिबी विवादमा आफ्नो भूमिकाका लागि मलेसियालीहरूसँग माफी मागेको समेत जनाइएको छ ।

देउवा, ओली र प्रचण्डले प्रधानमन्त्री कार्कीसँग गरे निर्वाचनमा जाने प्रतिबद्धता

काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् । आज (शनिबार) प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।

‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं । कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनु पर्छ,’ बैठकमा कांग्रेस सभापति देउवाले भने ।

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको रावलले बताए । त्यसका लागि सरकारले सुरक्षाको वातावरण मिलाउनु पर्ने देउवाको भनाइ छ । ‘सरकारले सुरक्षाको वातावरण मिलाउनु पर्छ,’ उनले भने ।

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे ।

मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन’, उनले भने, ‘देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।’ उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै मन्त्री घिसिङले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको बताए ।

उनले भने, ‘एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ ।’ कार्यक्रममा उनले राजनीतिक एकताको विषयमा आफ्नो धारणा स्पष्ट पारे । कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने भन्दै नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए । ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन’, उनले भने, ‘सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।’

जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट भएको हेर्न चाहेकाले जनताको इच्छा नयाँ राजनीतिक शक्तिहरू एक होऊन् भन्ने भएकाले नयाँ शक्तिहरुले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने उनको भनाइ छ । उनले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै घरमा बत्ती बाल्ने बित्तिकै ‘उज्यालो’ को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँ–गाउँसम्म पुर्‍याउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनु पर्छ’, उनले भने । मन्त्री घिसिङले जनतामाझ उज्यालो पार्टीप्रति विश्वास बढ्दै गएको उल्लेख गरे । ‘हामीसँग आम जनताको विश्वास छ’, उनले भने, ‘यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ ।’ कार्यक्रममा उज्यालो नेपाल पार्टीका विभिन्न नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बढ्दै निमोनियाका बिरामी : जाडोमा कसरी बच्ने ?

काठमाण्डाैँ । चिसो बढ्दै जाँदा नेपालमा निमोनियाका बिरामीको संख्या वर्षेनी बढ्ने गरेको देखिन्छ । चिसोबाट पर्याप्त रूपमा जोगिन नसक्नु, कमजोर प्रतिरक्षा प्रणाली, धुवाँ–धुलो र धूम्रपानजस्ता कारणले जाडोमा निमोनियाको जोखिम बढी हुन्छ । विशेषगरी धेरै चुरोट खाने व्यक्ति तथा धुलो–धुवाँयुक्त वातावरणमा काम गर्नेहरू निमोनियाकाे उच्च जोखिममा पर्छन् । यस्ता व्यक्तिहरूमा शरीरको ‘सेल्फ क्लियरेन्स मेकानिजम’ कमजोर हुने भएकाले फोक्सोमा पुगेका कीटाणु छिटो बाहिर निकाल्न सकिँदैन र निमोनियाले सजिलै आक्रमण गर्छ ।

निमोनिया फोक्सोमा हुने संक्रमण हो, जुन ब्याक्टेरिया, भाइरस वा फङ्गसका कारण हुन्छ । सामान्य रुघाखोकी, फ्लु वा अन्य श्वासप्रश्वाससम्बन्धी संक्रमणका कीटाणु साससँगै फोक्सोसम्म पुग्दा निमोनिया हुन सक्छ । संक्रमित व्यक्तिको खोकी वा हाछ्युँबाट निस्कने थोपाका माध्यमबाट पनि यो रोग सर्न सक्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका, वृद्धवृद्धा, कुपोषित व्यक्ति तथा दीर्घ रोगीहरूमा निमोनियाको जोखिम बढी हुन्छ । त्यस्तै, अत्यधिक चिसोमा बस्नु, प्रदूषित वातावरणमा धेरै समय बिताउनु, धूम्रपान गर्नु वा रुघाखोकीको समयमै उपचार नगर्नुले पनि निमाेनियाकाे संक्रमण गहिरिँदै फोक्सोसम्म पुग्न सक्छ ।

ज्वरो आउनु, लगातार खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु, छाती दुख्नु, थकान महसुस हुनु तथा कहिलेकाहीँ खकारमा रगत देखिनु निमोनियाका मुख्य लक्षण हुन् । 

जाडोमा निमोनिया बढी हुनुको मुख्य कारण हाम्रो स्वासनलीमा रहेका ससाना सिलिया हुन् । यी सिलियाले खकार र सिँगानको माध्यमबाट फोक्सोमा पुगेका जीवाणु बाहिर निकाल्ने काम गर्छन् । तर जाडो मौसममा चिसोका कारण यी सिलिया निष्क्रिय वा कम सक्रिय हुन्छन् । यसले फोक्सोमा कीटाणु जम्ने सम्भावना बढाउँछ र निमोनियाको जोखिम बढ्छ ।

जाडोमा निमोनियाबाट बच्न न्यानो कपडा लगाई चिसो हावा र पानीबाट जोगिनु निकै नै आवश्यक हुन्छ  । निमोनियाबाट बच्न हात साबुनपानीले बारम्बार धुने, खोकी वा हाछ्युँ गर्दा रुमाल वा टिस्यु प्रयोग गर्ने जस्ता सरसफाइका उपाय अपनाउनुपर्छ । फ्लु र निमोनियाका खोप विशेषगरी साना बच्चा, वृद्ध तथा दीर्घ रोगीहरूका लागि निकै उपयोगी हुन्छन् । सन्तुलित र पोषणयुक्त खाना खानु, प्रशस्त पानी पिउनु र पर्याप्त आराम लिनुले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ । 

निमोनियाको उपचार बिरामीको उमेर, स्वास्थ्य अवस्था र संक्रमणको अवस्थाअनुसार फरक–फरक हुन्छ । निमोनिया ब्याक्टेरियाका कारण भएको हो भने चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक औषधि प्रयोग गरिन्छ भने भाइरसका कारण भएको निमोनियामा प्रायः सहायक उपचार, आराम तथा आवश्यक परेमा एन्टिभाइरल औषधि दिइन्छ । त्यस्तै सास फेर्न गाह्रो भएमा अक्सिजन दिनुपर्छ र अवस्था गम्भीर भएमा अस्पतालमा भर्ना गरी निरन्तर निगरानी गरिन्छ । 

बालबालिका, वृद्धवृद्धा र दीर्घ रोग भएका व्यक्तिमा जटिलता बढ्न सक्ने भएकाले समयमै उपचार अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

चुनाव जित्नु छैन, प्रधानमन्त्री बाँडिसके : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव भएको छैन प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गरिसकेको भन्दै व्यङ्ग गरेका छन् । उनले झापा बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै यस्तो व्यङ्ग गरेका हुन् ।

उनको यस व्यङ्ग रास्वपा र काठमाडौँका मेयर बालेन शाहलाई लक्षित देखिन्छ । उनले भनेका छन् ‘चुनाव भएको छैन, जित्नु कहाँ छ कहाँ छ, प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गर्दै गर्नुभएको साथीहरूलाई सोध्न चाहन्छु, यी संविधान र संवैधानिक व्यवस्थाबाट देशलाई दुर्घटनाबाट रोक्न सकिन्छ ।’ उनले वर्तमान संविधान र संवैधानिक व्यवस्थाबाट देशलाई दुर्घटनाबाट रोक्न नसकिने बताएका छन् ।

देउवा, ओली र प्रचण्डलाई प्रधानमन्त्रीको आग्रह : निर्वाचन जसरी पनि सफल पारौं

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी छन्।प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग भएको छलफलमा उनले ती दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरिन् । उनले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिइन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार ‘यो निर्वाचन जसरी पनि सफल पारौँ । सबै यसमा सहभागी हुनुपर्छ । तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने सरकारले ठानेको छ । निर्वाचनको वातावरण बनिरहेको छ । यो स्वागतयोग्य छ’, तीन पूर्व प्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिन् ।

निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन सरकारले उपलब्ध गराएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीको मनोबल बढेको बताइन् । छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित थिए । प्रधानमन्त्रीलाई बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साथ दिएका थिए ।

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटारमा ओली

काठमाण्डाैँ । जेनजी आन्दोलनका कारण सत्ता गुमाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । सत्ता गुमाएपछि ओलीको बालुवाटार आगमनलाई समसामयिक राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । यसअघि आन्दोलन चर्किएको समयमा सुरक्षाका कारण तत्कालीन प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट बाहिरिएका थिए । त्यसयता बालुवाटार नआएका ओलीको आजको उपस्थितिलाई विशेष अर्थका साथ विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको तीन शीर्ष नेताबीचको छलफलमा सहभागी हुन ओली बालुवाटार पुगेका हुन् । उक्त छलफलको मुख्य एजेन्डा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन र त्यससँग सम्बन्धित राजनीतिक सहमति रहेको बताइएको छ ।

हाल सरकारले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न उच्चस्तरीय राजनीतिक छलफललाई तीव्र बनाउँदै लगेको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले प्रमुख दलहरूबीच सहमति जुटाउने प्रयासलाई प्राथमिकता दिएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको सक्रिय पहलमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेकी थिइन् । उक्त भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, निर्वाचनको वातावरण र दलहरूबीचको आपसी अविश्वासका विषयमा छलफल भएको थियो ।

शीतलनिवासको छलफलपछि पनि सरकारको सक्रियता निरन्तर देखिएको छ । त्यसको केही दिनपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेल प्रमुख तीन दलका शीर्ष नेताहरूलाई भेट्न उनीहरूकै निवासमा पुगेका थिए । यस भेटलाई सरकार र प्रमुख दलबीच संवादको सेतुका रूपमा लिइएको थियो ।

त्यसकै भोलिपल्ट आज प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेताहरूसँग बालुवाटारमा प्रत्यक्ष छलफल गरिरहेकी छन् । यस छलफलबाट निर्वाचनको मिति, प्रक्रियागत सहमति र राजनीतिक स्थायित्वका विषयमा ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको छ । राजनीतिक दलहरूबीच सहमति नजुटेमा निर्वाचन प्रभावित हुने चिन्ता बढिरहेका बेला यस्ता उच्चस्तरीय संवादलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

३ दलका शीर्ष नेतासँग छलफलमा प्रधानमन्त्री

काठमाडौँ ।  आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि वातावरण बनाउने सिलसिलामा प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल सुरु गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसँग संवाद थालेकी हुन् । प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीचको पछिल्लो तिक्तताका कारण उत्पन्न गतिरोध हटाउन गत पुस ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले पनि उनीहरुको भेटवार्ता गराउन सहजीकरण गरेका थिए । राष्ट्रपति पौडेलले आफ्नो रोहबरमा प्रधानमन्त्रीसहित देउवा, ओली र दाहाललाई सँगै राखेर जेन-जी आन्दोलनपछि विकास भएको सरकार र प्रमुख तीन दलबीचको  विकसित संवादहीनता तोडेका थिए । 

प्रमुख तीन दलका नेताहरूले सुरक्षास्थिति सुदृढ बनाउन, एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई लगाइएको स्थानहद फुकुवा गरेर चुनावी वातावरण बनाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

अर्घाखाँचीमा गोठभित्र भेटियो विष्फोटक पदार्थ

अर्घाखाँची।  प्रहरीको गस्ती टोलीले अर्घाखाँचीमा  खाली गोठभित्र लुकाई राखेको अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी दिवसबहादुर जीसीको कमाण्डमा खटिएको टोलीले शुक्रबार शीतगंगा नगरपालिका–११ बोक्सेस्थित गोठमा बिस्फाेटक पदार्थ फेला पारेको थियो ।

जंगलभित्र खाली रहेको उक्त गोठमा भरुवा बन्दुक दुई थान, ग्रिनेड १४ थान, डेटोनेटर १२ थान, प्लाष्टिकको पाइप र लञ्चर जस्तो देखिने पदार्थ तीन थान, प्रेसर कुकर बम एक थान, स्टिलको डलु बम एक थान, बिजुलीको तार चार बण्डल, बारुद पाँच सय ग्रामसहित अन्य बिष्फोटक सामग्री भेटिएको डीएसपी जीसीले बताए । बिस्फाेटक पदार्थलाई सेनाकाे टाेलीले डिस्पाेज गरेकाे उनले बताए ।

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको एक नेताले जानकारी दिए । सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले  समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ । त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती नेताले जानकारी दिए ।