`

आरआरका २८९ विद्यार्थीको आन्तरिक मूल्यांकन अंक गायब

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा बीए चौथो वर्ष अध्ययनरत विद्यार्थीको नतिजामा एउटै विषयको आन्तरिक मूल्यांकन अंक नदेखिएपछि छानबिन र नतिजा सच्याउन माग गरिएको छ।

विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक नतिजा पोर्टलमा रोल नम्बर ६००४००००१ देखि ६००४०१००० सम्म परीक्षण गर्दा २८९ अभिलेखमा एनपीएस ४०४ ‘नेपाल अध्ययन’ विषयको लिखित परीक्षाको अंक देखिए पनि ३० पूर्णाङ्कको आन्तरिक मूल्यांकनमा ‘अनुपस्थित’ उल्लेख भएको दाबी गरेका छन्।

विद्यार्थीहरूले यो समस्या आफूहरू व्यक्तिगत रूपमा अनुपस्थित भएको भन्दा आन्तरिक अंक बुझाउने, प्रविष्ट गर्ने वा प्रणालीमा राख्ने क्रममा भएको त्रुटि हुनसक्ने बताएका छन्।

उनीहरूले क्याम्पस र त्रिवि परीक्षा नियन्त्रण कार्यालयसँग सम्बन्धित अभिलेख जाँच गरी वास्तविक आन्तरिक अंक समावेश गर्न र नतिजा सच्याउन माग गरेका छन्।

साथै शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत समस्या समाधानमा सहजीकरण गर्नुपर्ने उनीहरूको माग छ।

आन्तरिक अंक छुटेका कारण शैक्षिक भविष्य प्रभावित हुनसक्ने भन्दै विद्यार्थीहरूले तत्काल छानबिन गरी आधिकारिक सूचना सार्वजनिक गर्न आग्रह गरेका छन्।

राप्रपाका ७२ जिल्लामा नेतृत्व टुंगियो [सूचीसहित]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनको तयारीमा जुटिरहेका बेला जिल्ला अधिवेशनलाई तीव्रता दिएको छ। पार्टीका अनुसार अहिलेसम्म ७२ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सक्ने लक्ष्य राखिएको थियो। अब पाँच जिल्लामा मात्रै अधिवेशन गर्न बाँकी छ।

कोशी प्रदेशको एक, बागमती प्रदेशका तीन र कर्णाली प्रदेशको एक जिल्लामा अधिवेशन हुन बाँकी रहेको श्रेष्ठले जानकारी दिएका छन्। बागमतीका बाढी प्रभावित नुवाकोट, रसुवा र धादिङमा अधिवेशन गर्न नसकिएको पार्टीले जनाएको छ।

जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्षहरूले अब महाधिवेशनको तयारीमा जिल्लास्तरीय संगठन परिचालन गर्नेछन्। ७२ जिल्लाबाट निर्वाचित अध्यक्षहरूको सूची यस्तो छ :

गण्डकी र लुम्बिनी

१. कास्की : नारायण गुरुङ
२. नवलपुर : विष्णुप्रसाद अधिकारी
३. गोरखा : रमेशरमण खनाल
४. लमजुङ : क्या. केविन्द्र जंग गुरुङ
५. स्याङ्जा : ऋषिराम लामिछाने
६. बागलुङ : विष्णुप्रसाद सापकोटा
७. तनहुँ : इमबहादुर केसी (केदार)
८. पर्वत : शेरबहादुर उचाई ठकुरी
९. म्याग्दी : वीरबहादुर थापा क्षेत्री
१०. मुस्ताङ : जेम्स हिराचन
११. मनाङ : वाङगेल गुरुङ
१२. रुपन्देही : सागर प्रताप राणा
१३. रोल्पा : अम्मरबहादुर थापा
१४. दाङ : प्रेम शाह
१५. नवलपरासी पश्चिम : रामभवन यादव
१६. बर्दिया : हेमन्त प्रकाश गिरी
१७. गुल्मी : त्रिविक्रम चन्द
१८. कपिलवस्तु : नारायणबहादुर सिंह
१९. पाल्पा : डुलबहादुर कुँवर
२०. प्युठान : चुमानसिंह बस्नेत
२१. रुकुम पूर्व : अमरबहादुर शाही
२२. बाँके : अरुण प्रताप सिंह
२३. अर्घाखाँची : नारायणप्रसाद खनाल

कोशी प्रदेश

२४. झापा : केशवप्रसाद ओझा
२५. मोरङ : मनोज वस्नेत
२६. इलाम : ताराप्रसाद नेपाल
२७. ताप्लेजुङ : अमृतकुमार सावदेन
२८. खोटाङ : ललित राई
२९. ओखलढुंगा : पदमकुमारी गुरुङ
३०. उदयपुर : ध्रुव रायमाझी
३१. संखुवासभा : दिपेन्द्र भण्डारी
३२. सोलुखुम्बु : राजेन्द्र बस्नेत
३३. तेह्रथुम : टंकप्रसाद अधिकारी
३४. भोजपुर : जनक नेपाल
३५. सुनसरी : दिनेशकुमार बस्नेत
३६. पाँचथर : कमलबहादुर चेम्जोङ

बागमती प्रदेश

३७. सिन्धुपाल्चोक : निलध्वज थापा
३८. काभ्रेपलाञ्चोक : सहदेव भण्डारी
३९. भक्तपुर : अर्जुन कार्की
४०. चितवन : चेतनाथ वाग्ले
४१. रामेछाप : भरत वाईवा
४२. दोलखा : गंगाबहादुर बस्नेत
४३. काठमाडौं : दिपक केसी
४४. ललितपुर : सबिन खड्का
४५. सिन्धुली : भिष्मराज श्रेष्ठ
४६. मकवानपुर : ऋषिलाल श्रेष्ठ

कर्णाली प्रदेश

४७. हुम्ला : बिकास महत
४८. दैलेख : सुरत केसी
४९. सल्यान : प्रदिप थापा
५०. मुगु : बिरचन्द बुढा
५१. रुकुम पश्चिम : खम्बु खत्री
५२. कालिकोट : मदन रोकाया
५३. डोल्पा : ईन्द्र रोकाया
५४. जाजरकोट : दिपक खनाल
५५. सुर्खेत : छत्रपति थापा

सुदूरपश्चिम प्रदेश

५६. डोटी : खडकप्रसाद अग्रवाल
५७. बैतडी : इन्द्र देव शरण भट्ट
५८. डडेल्धुरा : राजेन्द्र भण्डारी
५९. बझाङ : विश्वप्रकाश जेठारा
६०. कैलाली : एकेन्द्रबहादुर मल्ल
६१. कञ्चनपुर : केशव खत्री
६२. दार्चुला : प्रकाश दयाली
६३. बाजुरा : जितबहादुर शाही
६४. अछाम : मिनबहादुर शाही

मधेस प्रदेश

६५. पर्सा : विना जयसवाल कुर्मी
६६. सर्लाही : बिजय यादव
६७. सिराहा : शम्भुप्रसाद यादव
६८. सप्तरी : उम्देश्वरप्रसाद साह
६९. बारा : विनोद भारती
७०. महोत्तरी : राजेश्वर राय यादव
७१. धनुषा : रामचन्द्र यादव
७२. रौतहट : विक्रान्त नेपाल

अब बाँकी पाँच जिल्लाको अधिवेशन सम्पन्न भएपछि राप्रपाको जिल्ला तहको अधिवेशन प्रक्रिया पूरा हुनेछ। त्यसपछि पार्टी महाधिवेशनको तयारीलाई थप तीव्रता दिने तयारीमा छ।

बसपार्कमा विश्वकर्मा पूजा [तस्वीरहरू]

काठमाडौं । विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चालक तथा बस धनीहरूले आ–आफ्ना सवारीसाधनको पूजा गरेका छन् ।
सवारीसाधन, मेसिन तथा औजारका देवताका रूपमा विश्वकर्मालाई पूजा गर्ने परम्पराअनुसार चालक तथा व्यवसायीहरूले बिहानै बस सफा गरी फूलमाला, अक्षता, टीका तथा प्रसाद चढाएर पूजा गरेका हुन् ।
सवारीसाधन सुरक्षित रहोस्, यात्रामा कुनै दुर्घटना नहोस् र व्यवसायमा सफलता मिलोस् भन्ने कामनासहित पूजा गरिएको छ ।
विश्वकर्मा पूजाका कारण नयाँ बसपार्क क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको थियो । विभिन्न वर्कसप, ग्यारेज तथा यातायात क्षेत्रमा समेत विशेष पूजा तथा धार्मिक विधि सम्पन्न गरिएको छ ।
नेपालमा विश्वकर्मा पूजा विशेषगरी यातायात, उद्योग, कलकारखाना तथा प्राविधिक क्षेत्रमा संलग्न व्यक्तिहरूले श्रद्धापूर्वक मनाउने गर्दछन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले धितोपत्र बजारमा सूचीकृत निकायको शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक व्यक्तिका हकमा धितोपत्र विनियम बजारमा शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्ने अग्रिम कर घटाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करको दर घटाइएको जानकारी दिए।

नयाँ व्यवस्थाअनुसार धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हित निसर्गबाट प्राप्त लाभमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा यसअघि ७.५ प्रतिशत अग्रिम कर लाग्दै आएकोमा अब ३.५ प्रतिशत मात्र लाग्नेछ।

त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्दै आएको १० प्रतिशत अग्रिम करलाई घटाएर ५ प्रतिशत कायम गरिएको छ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय भएको छ।

प्रशासन सेवातर्फका सहसचिव कालीप्रसाद पराजुलीलाई पनि राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बिमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिई प्रक्रिया अगाडि बढाउनेसम्बन्धी आदेश जारी गर्ने निर्णयसमेत बैठकले गरेको छ।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत ‘सक्रिय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

रसुवाका सहायक सीडीयो भन्छन् – उपलब्ध सबै साधन तथा स्रोत परिचालन गरेका छौँ

गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लालाई प्रभावित बनायो। बाढीमा परी कैयौँ मानिस बेपत्ता छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ। बाढीका कारण रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ।

यो वार्ता तयार गर्दासम्म १ हजार ४ सय ३ जनाको शव फेला परेको छ। रसुवामा १ सय ९३, नुवाकोटमा २ सय २, धादिङमा ७२, चितवनमा ३ सय ६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ। साथै, काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ।

बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या ५ हजार १ सय ३०, उद्धार गरिएकाको सङ्ख्या १३ हजार ७ सय ३७ र घाइते हुनेको सङ्ख्या ९ हजार ३ सय ५८ पुगेको छ। देशका विभिन्न क्षेत्रबाट २१ हजार २२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

फेला परेका शवको डीएनए नमुना सङ्कलन गरी हालसम्म १ हजार २ सय ३५ वटा शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय गरी कुल ३ हजार १ सय ९० वटा डीएनए नमुना सङ्कलन गरिएको छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ८४ जना व्यक्तिलाई राखिएको छ।

यही सन्दर्भमा खोजी, राहत तथा उद्धार साथै क्षति र पुनःस्थापनाको योजनाबारे रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीसँग कुराकानी गरेका छौँ। नेपालवान एचडीका लागि शुभेच्छा खड्काले अधिकारीसँग गरेको अन्तर्वार्ताको संक्षिप्त तथा सम्पादित अंश :

भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारकार्य कसरी भइरहेको छ?

राहत वितरणको काम पहिलो चरणमा लगभग सबै ठाउँमा सम्पन्न गरिसकेका छौँ। उद्धारका लागि सुरुङ (टनेल) क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा विभिन्न सुरक्षा निकायको समन्वयमा उद्धार कार्य जारी छ। अधिकांश क्षेत्रमा उद्धारको काम सम्पन्न भइसकेको छ। टनेल क्षेत्रबाहेक अन्य सबै क्षेत्रमा उद्धारको काम निकै हदसम्म सकिएको छ।

अब हामी विपद् प्रतिकार्यको पहिलो चरण पूरा गरेर दोस्रो चरणमा प्रवेश गरेका छौँ। अब विस्थापितलाई पुनःस्थापना गर्ने र पुनर्निर्माणका काममा केन्द्रित भइरहेका छौँ।

प्रभावकारी भइरहेको छ?

भइरहेको छ। कतैबाट गुनासो आयो भने तत्कालै प्रतिक्रिया दिने गरेका छौँ। ठूलो विपद्का कारण सबै क्षेत्र पूर्ण रूपमा सामान्य अवस्थामा आइसकेका छैनन्। तर राज्यको उपस्थिति हुनुपर्ने गरी सबै ठाउँमा पुगिसकेको अवस्था छ।

बाढीपछि विद्युत,सञ्चारलगायतका पूर्वाधारको अवस्था कस्तो छ ?

सञ्चारको नेटवर्क अहिले रसुवा जिल्लाभर पुनः सञ्चालनमा आइसकेको छ। विद्युत् सेवा पुनःस्थापना गर्ने क्रममा उत्तरगया गाउँपालिकाको वडा नम्बर १ तथा गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ र ३ बाहेक अन्य सबै क्षेत्रमा विद्युत् सेवा पनि पुनःस्थापना गरिसकेका छौँ।

विवरण नियमित अद्यावधिक भइरहेको छ?

विवरण हामीले दैनिकजसो जिल्ला प्रशासन कार्यालय, रसुवाको वेबसाइट र फेसबुक पेजमा सार्वजनिक गर्ने गरेका छौँ। त्यहाँ हेर्न सकिन्छ। 

बाढीबाट कति क्षति भएको छ ?

त्यसको विस्तृत विवरण आउन बाँकी छ। हामीले हिजो मात्रै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट ‘क्षतिको विवरण संकलन समिति’ गठन गरेका छौँ। उक्त समितिले आफ्नो कार्यक्षेत्रअनुसार काम गरेर प्रमाणीकरण गरेपछि क्षतिको यकिन विवरण आउनेछ।

बाढीबाट प्रभावित विद्यार्थी अवस्था कस्तो छ ?

केहीबाहेक लगभग सबै ठाउँका विद्यालय सञ्चालनमा आइसकेका छन्। रसुवामा दुई–तीनवटा विद्यालयका भवनमा अझै समस्या छ। ती विद्यालयलाई उपयुक्त स्थानमा स्थानान्तरण गरेर नियमित रूपमा सञ्चालन गर्ने तयारीमा छौँ।

त्यसैगरी जनस्वास्थ्य तथा स्थानीय तहका स्वास्थ्य शाखासँगको समन्वयमा मनोसामाजिक परामर्श पनि दिइरहेका छौँ। विद्यार्थी तथा प्रभावित व्यक्तिलाई मानसिक रूपमा पनि पूर्ववत् अवस्थामा फर्काउने गरी काम भइरहेको छ।

बाढीपछि सम्भावित जोखिमको व्यवस्थापन कसरी भइरहेको छ?

त्यसका लागि पनि हामीले योजना बनाएका छौँ। अहिले राहत र उद्धारमा बढी केन्द्रित भएकाले अन्य काममा पर्याप्त ध्यान दिन भ्याएका छैनौँ। अब राहत तथा उद्धारको पहिलो चरणको काम सम्पन्न भइसकेकाले हामी आन्तरिक रूपमा थप काममा केन्द्रित हुँदैछौँ।

विस्थापितहरूको हकमा पुनःस्थापना र पुनर्निर्माणको योजना कसरी

पुनःस्थापना र पुनर्निर्माणको योजना विपद् प्राधिकरणको मार्गनिर्देशनअनुसार अघि बढाइनेछ। जिल्लामा जग्गा प्राप्ति समिति छ। उक्त समितिमार्फत जग्गा पहिचानको प्रक्रिया अगाडि बढाइसकेका छौँ। जग्गा पहिचान भइसकेपछि केन्द्रीय समितिबाट निर्णय हुनेछ र त्यसपछि पुनःस्थापना तथा पुनर्निर्माणका बाँकी काम अगाडि बढाइनेछ।

तीनै तहका सरकारबीचको समन्वय कस्तो छ ?

तीनै तहका सरकारबीच समन्वय भइरहेको छ। राज्यसँग उपलब्ध सबै साधन तथा स्रोत परिचालन गरेर विपद् प्रतिकार्यमा लागिरहेका छौँ। कार्ययोजना बनाएर, कार्ययोजनाअनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारका विषयगत टोलीसँग समन्वय गरेर काम गरिरहेका छौँ।

यूएन महासभामा जलवायुसँगै लिपुलेक मुद्दा उठाउन बालेनमाथि दबाब

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाने तयारी भइरहेका बेला नेपालले जलवायु संकटसँगै लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा तथा सार्वभौमिकताको विषय पनि अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवाज उठेको छ ।

प्रधानमन्त्री शाहको आगामी भ्रमणका क्रममा रसुवा-भोटेकोशी बाढीबाट नेपालले भोगेको क्षति, जलवायु परिवर्तनको असर र त्यसबाट हिमाली तथा पहाडी क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी भइरहेका बेला नेपालको सीमा विवादलाई समेत संयुक्त राष्ट्रसंघको मञ्चमा उठाउनुपर्ने माग गरिएको हो ।

नेपालले पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र विपद्बाट भएको क्षतिको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउँदै आएको छ । रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधन तथा पूर्वाधारमा क्षति पुर्‍याएको भन्दै नेपालले जलवायु न्याय, क्षतिपूर्ति तथा अन्तर्राष्ट्रिय सहयोगको विषय उठाउनुपर्ने बहस भइरहेको छ ।

यही सन्दर्भमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयलाई पनि नेपालको राष्ट्रिय हितसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने आवाज उठेको हो ।

लिपुलेकसम्बन्धी नेपालको दाबीका आधारमा सुगौली सन्धि, पुराना प्रशासनिक दस्तावेज, जनगणनाका विवरण, कर तथा राजस्वसम्बन्धी रसिदलगायत प्रमाण रहेको दाबी गरिएको छ।

नेपालको संसद्ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक नक्सालाई सर्वसम्मत रूपमा संवैधानिक मान्यता दिएको तथ्यसमेत यस सन्दर्भमा जोडिएको छ ।

नेपालले २०२० मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यसपछि संविधानको अनुसूचीमा रहेको नेपालको नक्सासमेत संशोधन गरिएको थियो ।

तर उक्त नक्सा र सीमा दाबीका प्रमाणहरू संयुक्त राष्ट्रसंघको मुख्यालयमा औपचारिक रूपमा दर्ता गराउने प्रक्रिया किन अघि बढेन भन्ने प्रश्नसमेत उठाइएको छ ।

स्रोतका अनुसार, नेपालको सीमा विवादलाई संयुक्त राष्ट्रसंघमा औपचारिक रूपमा उठाउने विषयमा सरकारको स्पष्ट रणनीति आवश्यक रहेको भन्दै प्रधानमन्त्री शाहमाथि दबाब बढेको हो । यद्यपि, नेपालको नक्सा संयुक्त राष्ट्रसंघमा ‘दर्ता गर्नै नदिइएको’ वा कुनै विदेशी शक्तिको दबाबका कारण प्रक्रिया रोकिएको भन्ने दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन ।

भारत र चीनबीच सन् २०१५ मा लिपुलेकलाई व्यापारिक मार्गका रूपमा विकास गर्ने सहमति भएपछि नेपालले त्यसप्रति औपचारिक आपत्ति जनाएको थियो ।

नेपालको परराष्ट्र मन्त्रालयले त्यसबेला जारी गरेको विज्ञप्तिमा नेपालको सहमतिबिना दुई छिमेकीबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएको भन्दै असहमति जनाएको थियो । नेपालले सीमा विवादलाई ऐतिहासिक तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राख्दै आएको छ ।

यसैबीच भारतले लिपुलेक हुँदै मानसरोवर जाने मार्ग सञ्चालन गर्ने विषयमा नेपालले पटक–पटक आपत्ति जनाउँदै आएको छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ भने भारतले त्यसलाई स्वीकार गरेको छैन । सीमा विवादमा दुई देशका फरक–फरक दाबी रहँदै आएका छन् ।

प्रधानमन्त्री शाहको अन्तर्राष्ट्रिय छविसँग जोडेर अमेरिकी अनलाइन प्रकाशन ‘द ग्रे जोन’ले हालै प्रकाशित गरेको एउटा रिपोर्टले समेत प्रश्न उठाएको छ ।

‘द ग्रे जोन’को रिपोर्टमा लिक भएका भनिएका कागजातलाई आधार बनाएर नेपालका केही नयाँ राजनीतिक नेतृत्वसँग अमेरिकी सरकारसम्बद्ध संस्थाहरूका कार्यक्रम र गतिविधिको सम्बन्ध रहेको दाबी गरिएको छ ।

उक्त रिपोर्टले प्रधानमन्त्री शाहसहित केही नेपाली राजनीतिक व्यक्तित्वको नाम अमेरिकी राजनीतिक तथा नागरिक समाजसम्बन्धी कार्यक्रमहरूसँग जोडेको छ । रिपोर्टमा अमेरिकी नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसी तथा त्यससँग सम्बन्धित संस्थाहरूको नेपालमा सञ्चालन भएका कार्यक्रमबारे पनि उल्लेख गरिएको छ ।

तर कुनै संस्था वा कार्यक्रमसँग सम्बन्धित हुनु मात्रै विदेशी सरकारको निर्देशनमा काम गरेको प्रमाण नहुने भएकाले ‘द ग्रे जोन’ले गरेको यस्तो व्याख्यालाई स्वतन्त्र रूपमा पुष्टि भएको तथ्यका रूपमा लिन सकिने अवस्था छैन ।

प्रधानमन्त्री शाहको न्युयोर्क भ्रमणका क्रममा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति र त्यसको अन्तर्राष्ट्रिय दायित्वसँगै नेपालको सीमा तथा सार्वभौमिकताको विषय पनि उठाउनुपर्ने माग उठेको छ ।

स्रोतका अनुसार, रसुवा-भोटेकोशी बाढीलाई जलवायु संकटसँग जोडेर अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालले क्षतिपूर्ति, जलवायु न्याय र सहयोगको विषय राख्नुपर्ने तथा त्यससँगै लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे नेपालको आधिकारिक धारणा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने आवाज उठेको हो ।

नेपालले लिपुलेकसहितका क्षेत्रमा आफ्नो सार्वभौमिक दाबी कायम राख्दै आएको भए पनि संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले यो विषयलाई कुन तहमा उठाउने भन्ने विषयमा सरकारबाट स्पष्ट सार्वजनिक कार्ययोजना आइसकेको छैन।

यसै कारण प्रधानमन्त्री शाहको संयुक्त राष्ट्रसंघ भ्रमणलाई जलवायु संकट र विपद्बाट भएको क्षतिको विषय प्रस्तुत गर्ने अवसरसँगै नेपालको सीमा तथा सार्वभौमिकताको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने अवसरका रूपमा प्रयोग गर्नुपर्ने बहस सुरु भएको छ ।

मेचेले प्रधानमन्त्रीलाई सोधिन्-बबिता अस्पतालको पेटीमा सुत्केरी हुँदा किन मौन ?

काठमाडौं । राष्ट्रिय सभाकी एमाले प्रमुख सचेतक रोश्नी मेचेले प्रधानमन्त्री बालेन्द्र शाहको विगतको अभिव्यक्ति र अहिले सप्तरीमा बबिता पासवानले अस्पतालको पेटीमा शिशु जन्माउनु परेको घटनालाई जोडेर आलोचना गरेकी छन् ।

आफ्नी सुत्केरी श्रीमती सवार गाडी ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबार जलाउने चेतावनी दिएका बालेन प्रधानमन्त्री बनेपछि अस्पतालको ढोकामा एउटी असहाय महिला पासवानले शिशु जन्माउनुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको मेचेको भनाइ छ ।

भदौ २५ गते सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालको ढोकाबाहिर सडकपेटीमा पासवानले शिशु जन्माएकी थिइन् । घटना सार्वजनिक भएपछि मेचेले सरकारको स्वास्थ्य सेवा र संवेदनशीलतामाथि प्रश्न उठाएकी हुन् ।

‘भदौ २५ गते बबिना पासवानले सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालको ढोका बाहिर सडकपेटीमा शिशुलाई जन्मदिएको घटना दर्दनाक र पीडादायी छ । एउटा दुरदराजको बिकट ठाउँबाट त सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरेर ल्याउने व्यवस्था भइरहँदा सुगम मानिने सप्तरीमा यस्तो नियती हुनु कसरी सम्भव भयो ?’ मेचेले प्रश्न गरेकी छन् ।

उनले प्रधानमन्त्री बालेनको अस्वाभाविक मौनताबारे पनि प्रश्न उठाइन् ।

‘कुनै समय पैसा नभएकै कारण कसैले स्वास्थ्य उपचारबाट बञ्चित हुनुपर्दैन भन्ने र ट्राफिक प्रहरीले गाडी रोक्दा सुत्केरी पत्नी चढेको भन्दै खुलेआम सिंहदरबार जलाउने धम्की दिने बालेन स्वयं प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । तर, आज आफ्नै एउटी असाहय महिला सडकमै सुत्केरी बन्नु पर्दा पूर्णता मौन हुनुहुन्छ । यो भन्दा लज्जास्पद कुरा के हुन सक्छ ?’ उनले भनेकी छन् ।

सरकारले ‘महिला पहिला’ भन्ने नारा अघि सारे पनि व्यवहारमा महिलाले आधारभूत स्वास्थ्य सेवा पाउन नसकेको मेचेको आरोप छ ।

मेचेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने दाबी गरे पनि सप्तरीको घटनाले सरकार पूर्णतः असफल भएको देखिएको बताइन् ।

चिलिमे हाइड्रोमा चार शव भेटियो 

रसुवा । भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोपावरमा खोजीका क्रममा एक शव फेला परेको छ। थप तीन शव निकाल्ने प्रयास भइरहेको छ।

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले जारी राखेको खोज तथा उद्धार अभियानका क्रममा पुरिएको संरचनाभित्र शव फेला परेको हो।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनास्थलमा अझै मानिसहरू पुरिएको हुनसक्ने आशंका छ।

उनले त्यहाँ थप जीवित वा मृत व्यक्ति फेला पर्न सक्ने सम्भावना रहेकाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको बताए।

बाढीपछि चिलिमे क्षेत्रमा ठूलो क्षति पुगेको थियो। उद्धार टोलीले पुरिएका संरचना र आसपासका क्षेत्रमा सम्भावित जीवित तथा मृतकको खोजी गरिरहेको छ।

 

‘राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो हुँदैन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले लामो समयदेखि विभिन्न मुलुकमा राजदूतको पद रिक्त रहनु सरकारको कार्यशैलीमाथि प्रश्न उठाउने विषय भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै न्यौपानेले महत्वपूर्ण कूटनीतिक नियोग लामो समय नेतृत्वविहीन राखेर नेपालको परराष्ट्र सम्बन्ध प्रभावकारी बनाउन नसकिने बताए।

‘राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो हुँदैन। सरकारले अहिलेसम्म नियुक्ति गर्न किन सकेन ? प्रक्रिया कहाँ रोकिएको छ र कसले रोकेको छ ?’ उनले प्रश्न गरे।

न्यौपानेले योग्यता, क्षमता र विज्ञता भएका नेपाली नागरिक पर्याप्त रहे पनि राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले आफूहरूले सरकारप्रति विश्वास गरेर साथ दिएको उल्लेख गर्दै जनताले अपेक्षा गरेअनुसार सुशासन र प्रभावकारी कार्यसम्पादन देखिनुपर्ने बताए।

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तयारीमा रहेको प्रसंग निकाल्दै न्यौपानेले अमेरिकामै नेपालको राजदूत नहुनुलाई कूटनीतिक दृष्टिले गम्भीर विषयका रूपमा उठाए।

‘प्रधानमन्त्री महासभामा सहभागी हुन अमेरिका जाँदै हुनुहुन्छ। तर त्यही देशमा नेपालको राजदूत छैन। रिक्त कूटनीतिक नियोगलाई नेतृत्वविहीन राख्नु हुँदैन,’ उनले भने।

उनले तत्काल राजदूत नियुक्त गरेर रिक्त रहेका नेपाली कूटनीतिक नियोगलाई पूर्ण नेतृत्व दिन सरकारसँग माग गरे।

न्यौपानेले नेपालको परराष्ट्र नीति कर्मचारी संयन्त्रको नियमित काममा मात्र सीमित नराखी राजनीतिक तहबाटै प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने बताए।

कूटनीतिक नियुक्ति र परराष्ट्र नीतिका विषयमा ढिलासुस्ती नगर्न उनले सरकारलाई आग्रह गरे।

‘द ग्रे जोन’को रिपोर्टले तर्सिएका रवि र स्वर्णिम तर्किए

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’मा प्रकाशित भनिएको एउटा रिपोर्टलाई लिएर नेपाली राजनीतिमा बहस चर्किरहेको छ। उक्त रिपोर्टमा रास्वपा सभापति रवि लामिछाने, वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’, अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङलगायतको नाम छ।

ग्रे जोनको रिपोर्टबारे बहस चर्किरहेका बेला रास्वपा सभापति लामिछानेले भने त्यसबारे आफू जानकार नरहेको बताएका छन्। उता, यही विषयमा अर्थमन्त्री स्वर्णिम वाग्ले भने पत्रकारको लगातार प्रश्नबाट पन्छिएका छन्।

बुधबार सर्वदलीय बैठकपछि पत्रकारहरूले लामिछानेलाई यही विषयमा प्रश्न गरेका थिए। तर, उनले रिपोर्टको विषयवस्तुमाथि प्रतिक्रिया दिनुको साटो पत्रकारसँगै त्यसको स्रोत र विश्वसनीयताबारे प्रश्न गरे।

पत्रकारले ‘ग्रे जोनको रिपोर्टलाई कसरी हेर्नुभएको छ ?’ भनेर सोध्दा लामिछानेले उल्टै भने, ‘तपाईंले कसरी हेर्नुभयो ? के रहेछ ? कुन पत्रिका रहेछ ? कहाँबाट निस्किँदो रहेछ ? हो र ?’

पत्रकारले रिपोर्ट सार्वजनिक भएको र सामाजिक सञ्जालभरि चर्चा भइरहेको बताए। त्यसपछि पनि लामिछानेले आफूले रिपोर्ट नपढेको दाबी गरे। ‘मैले त पढेको छैन। त्यस्तो काम नभएको पत्रिकाले लेखेको अन्टसन्ट कुरामा समय खेर फाल्ने हो र ? थैट !’ त्यसक्रममा लामिछानेले भने।

उनले सञ्चारमाध्यमले तथ्यमा आधारित सामग्री प्रकाशित गरे आफूले पढ्ने बताए। तर, आफूलाई आधारहीन लाग्ने सामग्रीमा समय खर्च गर्नु उचित नभएको उनको भनाइ थियो।

‘अण्टसण्ट लेख्नुभएन भने त पढ्छु। अण्टसण्ट भन्ने कुनै चिज आयो भने त्यसलाई पढेर त्यसमा समय खर्च गर्ने ? यत्रो देशको यत्रो क्यामेरा, यत्रो माइक, यत्रो पत्रकारको समय पनि त्यस्तो केही न केहीको समाचारमा खेर फाल्ने ?’ लामिछानेले भने।

‘द ग्रे जोन’को रिपोर्टबारे अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पनि पत्रकारहरूले प्रश्न गरेका थिए। तर, वाग्लेले भने रिपोर्टबारे कुनै प्रतिक्रिया दिएनन्।

बुधबार अर्थ मन्त्रालयबाट बाहिरिने क्रममा एक पत्रकारले प्रश्न गरेका थिए। तर, वाग्लेले प्रश्न सुनेर पनि केही बोलेनन्।

त्यसपछि अर्का पत्रकारले रिपोर्टमा गरिएको दाबी वास्तविक हो कि गलत भन्नेबारे स्पष्ट धारणा मागे। ‘यो रिपोर्टबारे तपाईं के भन्नुहुन्छ ? वास्तविकता हो कि शतप्रतिशत झूटो हो ?’ भनेर सोधिए पनि वाग्ले मौन नै रहे।

रिपोर्टबारे दुवै नेतासँग प्रश्न गरिए पनि उनीहरूको प्रतिक्रिया फरक देखिएको छ। लामिछानेले आफूले रिपोर्ट नपढेको बताएर त्यसको स्रोत, विश्वसनीयता र सामग्रीमाथि प्रश्न उठाए। अर्थमन्त्री वाग्लेले भने रिपोर्ट सही वा गलत भन्ने विषयमा समेत कुनै सार्वजनिक प्रतिक्रिया दिएनन्।

यसअघि पनि अमेरिकी सहयोग, अन्तर्राष्ट्रिय संस्था र नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँग जोडिएका विभिन्न दाबी सामाजिक सञ्जालमा बहसको विषय बन्दै आएका छन्। ‘द ग्रे जोन’को पछिल्लो रिपोर्टले पनि त्यही बहसलाई थप सतहमा ल्याएको छ।

तर, रिपोर्टमा गरिएका दाबीहरूको स्वतन्त्र पुष्टि वा खण्डनबारे सम्बन्धित पात्रहरूले उल्टै प्रश्न सोध्दा त्यसको बहस झन् शङ्कास्पद बन्न जाने देखिन्छ।

ग्रे जोन पत्रिकाको रिपोर्टबारे रवि लामिछानेले भने- ‘त्यस्तो कुरामा समय खेर फाल्ने हो र?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘ग्रे जोन’ पत्रिकामा प्रकाशित रिपोर्टबारे आफूले अध्ययन नगरेको बताएका छन्।

बुधबार सञ्चारकर्मीले उक्त रिपोर्टबारे धारणा माग्दा लामिछानेले आफूले समाचार नपढेको भन्दै त्यसको विश्वसनीयतामाथि प्रश्न उठाए।

‘तपाईंले कसरी हेर्नुभयो? के रहेछ? कुन पत्रिका रहेछ? कहाँबाट निस्किँदो रहेछ? हो र? मैले त पढेको छैन,’ उनले भने।

लामिछानेले आफूले उक्त पत्रिकामा प्रकाशित विषयलाई महत्व नदिएको संकेत गर्दै त्यस्तो सामग्रीमा समय खर्च गर्नु आवश्यक नरहेको बताए।

‘त्यस्तो काम नभएको पत्रिकाले लेखेको अन्टसन्ट कुरामा समय खेर फाल्ने हो र? थैट!’ उनले भने।

 

 

सरकारले धम्की दिने होइन, जिम्मेवार बन्‍ने हाे : कांग्रेस [पूर्णपाठ]

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निष्कल राईले भोटेकोशी-त्रिशूली बाढीको उद्धार, राहत तथा पुनःस्थापनादेखि सरकारको कार्यशैली, सुशासन, मानव अधिकार र आर्थिक रूपान्तरणसम्मका विषयमा सरकारसँग प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले विपद्का बेला राज्य कहाँ हुन्छ र पीडित नागरिकले राज्य उपस्थित भएको अनुभूति कहिले गर्ने भन्ने प्रश्न उठाए। उनले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत त्रिशूली नदी प्रणालीका विभिन्न बस्ती तथा पूर्वाधार प्रभावित भएको उल्लेख गर्दै यसले नेपालको विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, उद्धार क्षमता र अन्तरनिकाय समन्वयको समेत परीक्षण गरेको बताए।

‘यी सबै बहुपक्षीय अनुभव र सुझावले मेरो मनमा दुईवटा गम्भीर प्रश्न उब्जाएको छ– विपद्को समयमा राज्य कहाँ हुन्छ ? र राज्य उपस्थित भएको अनुभूति पीडित नागरिकले कहिले गर्ने ?’ उनले भने।

राईले विपद्को प्रारम्भिक चरणमा प्रधानमन्त्रीको प्रभावकारी अग्रसरता र उद्धार तथा राहत व्यवस्थापनमा पर्याप्त हस्तक्षेप नदेखिएको बताए। विपत्तिको सुरुवाती दिनमा सरकारको आलोचना गर्न आफूहरू इच्छुक नभएको भन्दै उनले नागरिकको दुःखमा सत्ता पक्ष र प्रतिपक्ष नहुने बताए। कांग्रेसले सुरुदेखि नै सरकारलाई सहयोग र समन्वय गरेको उनको भनाइ थियो।

उनले उद्धारपछि अब पुनःस्थापना मुख्य चुनौती रहेको बताए। ‘प्रभावितको हातमा राहतको एउटा प्याकेज दिएर मात्र राज्यको दायित्व पूरा हुँदैन,’ उनले भने, ‘पीडितलाई सुरक्षित ठाउँमा बसाल्ने, आवासको व्यवस्था गर्ने, जीविकोपार्जन पुनःस्थापित गर्ने, सडक–पुल–विद्युत्–खानेपानी पुनर्निर्माण गर्ने र मनोसामाजिक पुनःस्थापना गर्ने स्पष्ट योजना चाहिन्छ।’

राईले सरकारले पीडित नागरिकले कहिले र कहाँ बास पाउने तथा कति समयपछि आफ्नै घरमा फर्कन सक्ने भन्नेबारे स्पष्ट योजना सार्वजनिक गर्नुपर्ने बताए। साथै स्वच्छ खानेपानी, सरसफाइ, खाद्य संकट, संक्रामक रोग तथा प्रभावितको मानसिक स्वास्थ्यमा समेत विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

विपद् आउनुअघि पूर्वसूचना प्रणाली, जोखिम पहिचान, स्थानीय तहसँगको पूर्वतयारी र नदी प्रणालीको निगरानीबारे पनि उनले सरकारसँग जवाफ मागे। बाह्य स्रोत, साधन तथा प्रविधिबाट उद्धारका लागि गरिएको सहयोगसमेत किन अस्वीकार गरियो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

राईले विपद् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अपरिहार्य रहेको बताए। प्रभावित क्षेत्रमा यातायात सञ्चालनलाई प्राथमिकता दिनुपर्ने र जोखिमयुक्त क्षेत्रमा पुनःबस्ती बसाउँदा सुरक्षित स्थानसँगै रोजगारी, शिक्षा, स्वास्थ्य तथा स्थानीय संस्कृतिलाई ध्यान दिनुपर्ने उनले बताए।

उनले विपद् व्यवस्थापन र पुनःस्थापनाको निगरानीका लागि सर्वदलीय संसदीय उच्चस्तरीय समिति गठनमा भइरहेको ढिलाइबारे पनि प्रश्न गरे। ‘यदि सरकारसँग केही लुकाउनुपर्ने केही छैन भने संसदीय निगरानीबाट किन भाग्ने ? संसद् सरकारको विपक्षी संस्था मात्र होइन, राज्यको सर्वोच्च लोकतान्त्रिक जवाफदेहिताको मञ्च हो,’ उनले भने।

बाढीपछि आपूर्ति प्रणालीमा परेको दबाब र बढ्दो महँगीप्रति पनि राईले सरकारको ध्यानाकर्षण गराए। ग्यास तथा दैनिक उपभोग्य वस्तुको मूल्य, कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि सरकारले तत्काल योजना ल्याउनुपर्ने उनको भनाइ थियो।

सरकारको राजनीतिक कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले सत्तामा बसेर नागरिकलाई डर देखाउने, आलोचकलाई शत्रु ठान्ने र सञ्चारकर्मीलाई धम्की दिने प्रवृत्ति लोकतान्त्रिक संस्कार नभएको बताए। ‘सरकार बलियो हुनुपर्छ । तर सरकारको शक्ति धम्कीमा होइन, जनताको विश्वासमा देखिनुपर्छ,’ उनले भने।

राईले नयाँ पुस्ताको राजनीति नयाँ अनुहारमा मात्र सीमित नभई नयाँ संस्कार, उत्तरदायित्व, जिम्मेवारी र नैतिकतामा देखिनुपर्ने बताए। साथै गृह प्रशासन कानून र प्रक्रियाअनुसार चलेको छ कि व्यक्तिगत प्रभावका आधारमा भन्ने प्रश्न पनि उनले उठाए।

जेनजी आन्दोलनपछिका मानव अधिकार उल्लङ्घन, आगजनी, तोडफोड, हिंसात्मक घटना तथा फरार कैदीबन्दीको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनबारे समेत उनले सरकारको धारणा मागे।

‘निर्दोषलाई न्याय दिनुपर्छ । दोषीलाई कानूनअनुसार कारबाही गर्नुपर्छ,’ उनले भने, ‘न्याय न राज्यको पक्षमा हुन्छ, न सरकारको, न प्रतिपक्षको पक्षमा । न्याय सधैं नागरिकको पक्षमा हुन्छ।’

कानून निर्माणमा राष्ट्रिय सभामा आफ्नो दलका प्रतिनिधि नभएको विषयमा कानूनमन्त्रीले गरेको टिप्पणीप्रति पनि राईले प्रश्न उठाए। कानून निर्माण दलगत साथीभाइका आधारमा नभई राष्ट्रिय आवश्यकताका आधारमा हुनुपर्ने उनको भनाइ थियो। सरकारले आगामी आर्थिक वर्षमा १६६ वटा कानून निर्माण गर्ने सूची संसद्लाई बुझाएको उल्लेख गर्दै उनले त्यसका लागि सरकार, प्रतिपक्ष र संसदीय समितिबीच संवाद र सहकार्य आवश्यक रहेको बताए।

आर्थिक रूपान्तरणका लागि लगानीकर्ताको विश्वास, स्थिर नीति, रोजगारी, उद्यमशीलता र कानूनको शासन आवश्यक रहेको राईले बताए। लाखौं युवालाई रोजगारीका लागि विदेश पठाएर मात्र आर्थिक रूपान्तरण सम्भव नहुने भन्दै उनले युवालाई स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने ठोस योजना माग गरे।

विपद् राहतमा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिँदै उनले सहयोगस्वरूप आएको प्रत्येक रुपैयाँ कहाँ खर्च भयो, कसले प्राप्त गर्‍यो र कसले पाएन भन्ने विवरण सार्वजनिक हुनुपर्ने बताए।

राईले सरकार राष्ट्रहितमा राम्रो काम गरे कांग्रेसले समर्थन गर्ने र गलत बाटोमा गए प्रश्न तथा खबरदारी गर्ने बताए। ‘सरकार जनताको पक्षमा उभिन्छ भने काँध थाप्छ । सरकार नागरिकको अधिकार हननमा उत्रन्छ भने प्रतिकारमा उभिन्छ,’ उनले भने।

उनले राजनीति सत्ताको साधनभन्दा नागरिक सेवाको माध्यम बन्नुपर्नेमा जोड दिँदै परिवर्तनको अर्थ पुरानो ठाउँमा नयाँ व्यक्ति राख्नु मात्र नभई राजनीतिक संस्कार, शासन शैली र नागरिकसँग राज्यको सम्बन्ध परिवर्तन गर्नु रहेको बताए।

पुर्णपाठ:

सभामुख महोदय,

समय उपलब्ध गराउनु भएकोमा धन्यवाद । आज म यस सम्मानित सदनमा नेपालको समसामयिक राजनीतिक अवस्था, प्राकृतिक विपत्तिमा सरकारको कार्यशैलीसाथै मुलुकको आर्थिक र राजनीतिक भविष्यका विषयमा केही धारणा र केही प्रश्नहरू राख्न चाहन्छु ।

म केही दिनदेखि भोटेकोशी त्रिशुली नदी प्रणालीमा आएको विनासकारी विपत्तिको अवस्थालाई निकै सूक्ष्म ढंगले नियालिरहेको छु । पीडित नागरिकका गुनासा, स्थानीय जनप्रतिनिधिका कुरा र विज्ञहरूका सुझाव सुनिरहेको छु । सञ्चारकर्मी साथीहरूले दिएका सूचनाको समीक्षा र नागरिक समाजका सुझावहरू मनन गरिरहेको छु ।

यी सबै बहुपक्षीय अनुभव र सुझावले मेरो मनमा दुईवटा गम्भीर प्रश्न उब्जाएको छ । १) विपद्को समयमा राज्य कहाँ हुन्छ ? र अर्को प्रश्न, २) राज्य उपस्थित भएको अनुभूति पीडित नागरिकले कहिले गर्ने ? यो इतिहासकै एउटा प्रलयकारी विपत्तीको समयमा प्रधानमन्त्रीज्यूले उच्च अग्रसरता लिनु होला भन्ने लागेको थियो। यसको प्रारम्भिक दिनमा न संसदमा उहाँको उपस्थिति नै देखियो न प्रलयकारी बिपद् सम्बन्धमा संसदमा ब्यक्त चासो सुन्ने धैर्यता नै देखियो। प्रारम्भमा नै उद्वार, राहत र बितरणमा देखिएको अस्तब्यस्ततालाई निगरानी गर्दै ब्यवस्थित गर्ने प्रभावकारी हस्तक्षेप नै देखियो। न त सरकारका योजनामा वहाँको प्रभावकारी हस्तक्षेप नै । यो कठिन समयमा वहाँले प्रभावकारी हस्तक्षेप र यो प्रलयमा प्रभावित नागरिकहरूलाई सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्थ्यो भन्ने लागेको थियो। 

भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा मात्र होइन, नुवाकोट, धादिङ, गोरखा हुँदै त्रिशूली नदी प्रणालीका धेरै बस्ती र पूर्वाधारलाई प्रभावित बनायो । सरकारकै आधिकारिक विवरणले पनि अझै खोज, उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता स्वीकार गरेको छ । 

यो एउटा प्राकृतिक घटना मात्रै होइन । यसले हाम्रो विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, उद्धार क्षमता, अन्तरनिकाय समन्वय, पूर्वाधारको सुरक्षा र पुनःस्थापनामा राज्यको क्षमता र शासकीय नेतृत्वलाई समेत परीक्षण गरेको घटना हो । 

सभामुख महोदय,

विपत्तिको शुरुवाती दिनमा सरकारको आलोचना गर्न हामीलाई पनि मन लागेन । किनकि हामीले एउटा कुरा स्पष्ट रूपमा बुझेका छौं । नागरिकको दुःखमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन । त्यसैले नेपाली कांग्रेसले पहिलो दिनदेखि नै सरकारलाई साथ दिएको हो । सरकारसँग समन्वय गरेको हो । पीडित नागरिकसम्म पुगेको हो । सुरक्षा निकायको उद्धार प्रयासको सम्मान गरेको हो । तर हामीले सरकारसँग काँधमा काँध मिलायौं भन्दैमा सरकारले पीडित नागरिकको उद्धार राहत र पुनर्स्थापनाको जिम्मेवारी आफ्नो काँधमा बोक्नु पर्दैन भन्ने होइन । 

हामीले सोचेका थियौं । प्रतिपक्षले काँध थापेपछि सरकार पीडितका आँशु पुछ्न अझ जिम्मेवार भएर अघि बढ्छ । तर कतिपय अवस्थामा त सरकार आफैं पीडितको काँधमा चढेर विपपत्तिको तमासा हेर्न खोजिरहेको अनुभुति भयो। यो अत्यन्त गम्भीर राजनीतिक र मानवीय प्रश्न हो । 

सभामुख महोदय,

विपद्पछि प्रयोग गरिएको साधन र पछि गरिएको उद्वार ब्यवस्थापनमा मात्र राज्यको क्षमतालाई हेर्न मिल्दैन । यसका बावजुद हामीले सोध्नुपर्छ ।

विपद् आउनुअघि पूर्वसूचना प्रणाली कहाँ थियो ? जोखिम पहिचान कहाँ थियो ? स्थानीय तहसँगको पूर्वतयारी कहाँ थियो ? नदी प्रणालीको निगरानी कहाँ थियो ? उच्च जोखिममा रहेका बस्तीको पूर्व व्यवस्थापन कहाँ थियो ? आज जलवायु परिवर्तनले विपद्को स्वरूप बदलिरहेको छ । हिजो सय वर्षमा आउने भनिएको विपद् आज केही वर्षमै दोहोरिन सक्छ । त्यसैले अब सरकारको जिम्मेवारी ‘विपद् आएपछि के गर्ने ?’ भन्ने मात्र होइन, ‘विपद् आउनुअघि के गरियो ?’ भन्ने प्रश्नको उत्तर दिनु हो । तर अब हामी सबै एउटै विषयमा केन्द्रीत हुनुछ । उद्धार र राहतपछि अब सबैभन्दा ठूलो प्रश्न पुनःस्थापनाको हो । 

उद्धारको व्यवस्थापनमा पनि राज्यका तर्फबाट अनेक व्यवधान आए। त्यसले हामीलाई आश्चर्यमा पार्‍यो। आफू क्षमतामा नभएको स्रोत साधन र प्रविधिको विषय र प्रभावित क्षेत्रमा प्रस्ताव गरिएको सहायता समेत किन अस्विकार गरिएको थियो ? उद्धारका लागि यो भन्दा पर राज्यको त क्या कुरा विश्वमै कुनै प्रविधि छैन समेत भनेको सुन्नमा आयो। राज्यले यसरी हात छाड्ने काम गर्न हुन्थ्यो कि हुन्नथ्यो ?

घर बग्यो । जग्गा कटान भयो । सडक र पुल भत्किए । विद्यालय र स्वास्थ्य संस्था प्रभावित भए । व्यवसाय बन्द भए । विद्युत् आयोजनामा क्षति भयो । दैनिक रोजगारी गुम्यो । यस्तो अवस्थामा प्रभावितको हातमा राहतको एउटा प्याकेज दिएर मात्र राज्यको दायित्व पूरा हुँदैन ।

राज्य हुनुको अनुभुति ती नागरिकलाई हुँदैन। पीडितलाई सुरक्षित ठाउँमा बसाल्ने, आवासको व्यवस्था गर्ने, जिविकोपार्जन पुनःस्थापित गर्ने, सडक–पुत–विद्युत्–खानेपानी पुनर्निर्माण गर्ने र मनोसामाजिक पुनःस्थापना गर्ने स्पष्ट योजना चाहिन्छ । 

सरकारसँग म सोध्न चाहन्छु । पीडित नागरिक अब कहिले कहाँ बास पाउँछन् अनी कती लामो समयपछि तिनको आफ्नै घर हुनेछरु त्यो समयसम्म ती नागरिकलाई कहाँ र कसरी पुनःस्थापना गरिन्छ ?

हामीसँग पिडामा परेका नागरिकको जिम्मेवारी छ । सरकारलाई म अझै पनि जिम्मेवार हुन र सचेतना र संवेदनाका साथ पुनःस्थापना र पुनर्निर्माणमा जुट्न अनुरोध गर्न चाहान्छु । 

स्वच्छ खानेपानी र सरसफाइको अभाव, संक्रामक रोग, खाद्य संकट र सबैभन्दा महत्वपूर्ण विषय प्रभावित सबैको मानसिक स्वास्थ्यको नाजुक अवस्था तर्फ सम्बेदरशिल बन्नु पर्दछ। जसले आफ्ना परिवारका सदस्य गुमायो, आफ्नो घर गुमायो, आफ्नै आँखा अगाडि सम्पत्ति बगिरहेको देख्यो । उसको पीडा केवल आर्थिक होइन ।

त्यसैले स्वास्थ्य मन्त्रालय, स्थानीय तह र सम्बन्धित निकायले तत्काल मनोसामाजिक परामर्श, स्वास्थ्य शिविर, सरसफाइ, सुरक्षित खानेपानी र रोग नियन्त्रणको एकीकृत योजना बनाउनुपर्छ र यसको सञ्चालन तथा व्यवस्थापनमा कुनै कसर नरहने गरी राज्यको अधिकतम् क्षमतामा परिचालित हुनुपर्छ। 

रसुवाको बाढीमा घर गुमाएका नागरिकले, आफन्त गुमाएका परिवारले, रोजगारी गुमाएका युवाले, महँगीले थिचिएका परिवारले, न्याय खोजिरहेका नागरिकले र भविष्य खोजिरहेको नयाँ पुस्ताले सरकारसँग भाषण होइन । परिणाम खोजेको छ । सरकारसँग आश्वासन होइन, उत्तरदायित्व खोजेको छ । सरकारसँग शक्ति होइन, सुशासन खोजेको छ । त्यसैले म सरकारलाई आग्रह गर्छु । अहंकार होइन, संवाद गर्नुहोस । धम्की होइन, जिम्मेवार बन्नुहोस । प्रचार होइन, परिणाम दिनुहोस् । सत्ता होइन, नागरिकलाई केन्द्रमा राख्नुहोस् । पछिल्ला दिनहरूमा प्रधानमन्त्रीज्यूले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग संवाद प्रारम्भ गर्नुभएको र पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको विषयले यसको व्यवस्थापन प्रभावकारी हुने आशा पलाएको छ।

विपद व्यवस्थापन सम्बन्धमा प्रारम्भमै तिनै तहका सरकारबीच समन्वय गरेर अगाडि बढेको भए यति धेरै आक्रोस र क्षति ब्यहोर्न पर्दैन थियो। खैर ढिलै भए पनि तिनै तहका सरकारबिचको समन्वय अपरिहार्य छ भन्ने विषयले संघीयताको मर्म अनुरूप काम भएको देखिएको छ। त्यस क्षेत्रमा यातायात सञ्चालन शिघ्र हुनसके प्रभावितहरूसम्मको राज्यको पहुँच सुनिश्चित हुने विषय र प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने देखिएकोले सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी गरेको विषय बाहिर आएकोबाट यसको उचित व्यवस्थापनकालागि सोच बनेको विषय प्रशंसनीय छ। 

यस्तै बस्ती बसाउँदा प्रभावित मानिसहरुको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै, वैज्ञानिक बस्ती व्यवस्थापन गर्ने अवधारणा जुन बाहिर आएको छ त्यो सह्राहनीय छ। 

सरकार बदलिन सक्छ, सत्ता बदलिन सक्छ, नेतृत्व बदलिन सक्छ । तर, राष्ट्र र नागरिकप्रतिको हाम्रो जिम्मेवारी किमार्थ बदलिनु हुँदैन । त्यसैले म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु । सर्वदलीय संसदीय उच्चस्तरीय समिति गठन गर्ने भन्ने सत्तारूढ दलका सभापतिले केही दिन पहिले संसदमा गर्नुभएको सम्बोधन उपर सरकारको गृहकार्य के छ ? यदि सरकार यो प्रलय र यसबाट उत्पन्न परिस्थितिलाई उच्च समन्वय र पारदर्शी प्रक्रियाबाट समाधान गर्न चाहान्छ भने समिति गठन गर्न किन ढिलाई भइरहेको छ ? यदि सरकारसँग केही लुकाउनुपर्ने केही छैन भने संसदीय निगरानीबाट किन भाग्ने ? संसद् सरकारको विपक्षी संस्था मात्र होइन, राज्यको सर्वोच्च लोकतान्त्रिक जवाफदेहिताको मञ्च हो ।

त्यसैले सभामुख महोदयले आवश्यक प्रक्रिया अघि बढाउनुहोस् भन्ने हाम्रो माग छ । सभामुख महोदय, बाढीले सडक अवरुद्ध गर्‍यो । आपूर्ति प्रणालीमा दबाब पर्यो । आपूर्तिमन्त्रीले राजिनामा दिनुभयो । नयाँ मन्त्रीले पदभार ग्रहण गर्नुभयो । तर प्रश्न आपूर्ति प्रणालीमा मात्र होइन । नागरिकले ग्यास सहज पाइरहेका छन्रु छन् भने कति मूल्यमा पाइरहेको छन ? आपूर्ति प्रणालीमा आएको कठिनाईले दैनिक उपभोग्य वस्तुको मूल्य कहाँ पुग्यो ?

बाढीलाई बहाना बनाएर बजारमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई सरकारले नियन्त्रण गर्न सक्छ कि सक्दैन ? आज एउटा सामान्य नागरिकको घर चलाउन कठिन भइरहेको छ । प्रश्न गर्न चाहान्छु – महँगी नियन्त्रणको सरकारको तत्कालीन योजना के हो ? के बाढीमा उद्धारमा जस्तै जे मन लाग्छ त्यही गर्न भनेर छोडिदिनु भएको हो । नजिकै चाडपर्वहरु पनि छन्। आकासिएको महँगीको यो मारबाट समस्त मुलुकबासी नै प्रभावित भइरहेका छन्। बजार व्यवस्थापन र महँगी नियन्त्रणमा सरकार खरो उत्रियोस्। यसमा काम गर्ने संसदीय समिति पनि सक्रिय होस्। 

सभामुख महोदय,

सत्ताले धम्कीको भाषा बोल्न मिल्छ ? लोकतन्त्रमा सरकार बलियो हुनुपर्छ । तर, सरकारको शक्ति धम्कीमा होइन, जनताको विश्वासमा देखिनुपर्छ । सत्तामा बसेर नागरिकलाई डर देखाउने, आलोचकलाई शत्रु ठान्ने, प्रतिपक्षलाई बाधक देखाउने र सञ्चारकर्मीलाइ धम्की दिने, प्रश्न उठाउनेलाई राजनीतिक दुस्मन ठान्ने प्रवृत्ति लोकतन्त्र होइन । 

सरकारसँग संख्यामा बहुमत छ । शक्ति छ। तर बहुमत मात्रैले नैतिकता र नागरिकको विश्वास आर्जन गर्न सक्दैन । हामीले नयाँ पुस्ताको राजनीति भनेर गर्व गरिरहेका छौँ । तर, नयाँ पुस्ताको राजनीति भनेको नयाँ अनुहार मात्र होइन । नयाँ संस्कार पनि हो । उत्तरदायित्व र जिम्मेवारी पनि हो । नैतिकता पनि हो । 

तपाईहरुको पुस्ताले सायदै अनुभव गर्नु भएको छैन । सशस्त्र द्वन्द, शान्ति प्रकृया र संविधान निर्माणको त्यो राजनीतिक संक्रमणकालीन अवस्था । ३५ वर्षको राजनीतिलाई निकै लल्कारेर प्रश्न गर्नु हुन्छ तपाईहरु तर ३५ वर्षे राजनीतिको जगले नै तपाईहरु सबैलाई र सबै फरक विचारलाई स्वतन्त्रता र भयरहित भएर अगाडि आउने अवस्था र हक स्थापित गरेको विषयलाई बिर्सिन मिल्दैन।

म मान्दछु- केही बेथिति र भ्रष्टाचारका कारणले सामाजिक, राजनीतिक र आर्थिक सबै सुचकहरु समानान्तर रुपमा विकास हुन सकेनन् । सरकारको शासकीय सुधारका कार्यक्रमबाट प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि काम गर्ने भनिएको थियो। आज त्यसको ६ महिना पूरा हुन लाग्यो। 

तर यो सरकार नेपाली अर्थ सामाजिक संरचनाको पिँधमा रहेका आम नेपाली नागरिकले आफ्नै संवैधानिक हक अन्तरगत सुनिश्चित मानवीय सेवाप्रति कत्ति पनि संवेदनशील देखिएन।

राजबिराजमा बबिता पासवानले भोग्नुपरेको नियति हाम्रो राज्य सार्वजनिक सेवाको निम्न गुणवत्ता र कमजोर वर्गका नागरिक प्रति जिम्मेवार छँदै छैन भन्ने पुष्टि गर्न पर्याप्त छ।

आमा सुरक्षा कार्यक्रमको कार्यान्वयनमा देखिएको चरम लापरवाही, राष्ट्रसेवकको अमानवीय व्यवहार र राज्यको लाचारी एकातिर राख्दै यस घटनामा संसदमा पर्याप्त संवाद र सरकारलाई निर्देश गर्ने कार्यमा देखिएको मौनताले मलाई आफैंप्रति लज्जा अनुभूति भइरहेछ। प्रधानमन्त्रीज्यूले आफ्ना चुनावी भाषणमा पैसा नभएर उपचारबाट कोहि पनि बञ्चित हुनुनपर्ने भन्नुभएको जस्तो लाग्छ। वहाँलाई यो घटना कस्तो लागिरहेछ भनेर सोध्न मन लागेको छ।

सभामुख महोदय,

एक वर्षअघि राजनीतिलाई गाली गर्ने, ‘यो कस्तो राजनीति हो ?’ भन्ने, राजनीतिलाई थुक्ने अभिव्यक्ति दिनेहरू आज । “हामी राजनीति सिकाउन आएका हौं, सिक्न आएका होइनौं” भन्ने अवस्थामा पुगेका छन् ।

राजनीति सिकाउने अधिकार सबैलाई छ । तर, राजनीति सिकाउने पहिलो पाठ होः कम्तिमा नागरिकका पीडामा संवेदनशील हुनु । संसद्को मर्यादा बुझ्नु । संस्थाको सम्मान गर्नु । आफ्नो कमजोरी स्वीकार्नु । गल्ती हुँदा सच्याउनु । राजनीति फगत कुनै सामाजिक सञ्जालको स्टाटस होइन । राजनीति राज्य सञ्चालनको जिम्मेवारी हो । 

गृह मन्त्रालय राज्यको सबैभन्दा संवेदनशील मन्त्रालयमध्ये एक हो । गृह मन्त्रालयको काम कानूनको शासन कायम गर्नु हो । शान्ति सुरक्षा कायम गर्नु हो । नागरिकलाई राज्यको तर्फबाट सुरक्षित महसुस गराउनु हो । तर, पछिल्ला घटनाक्रम हेर्दा गम्भीर प्रश्न उठ्छः गृह प्रशासन कानून र प्रक्रिया सम्मत चलिरहेको छ कि कसैको व्यक्तिगत प्रभावका र लहडका आधारमा चलिरहेको छ ? बाहिर सुनिन्छ निश्चित समूह र व्यक्तिले गृह प्रशासन चलाइरहेका छन्। राज्यले नचिन्ने, म त्यस किसिमका समूह र व्यक्तिको नाम उच्चारण गर्न चाहान्न । 

जेनजी शहिदको स्मृतिमा आयोजित कार्यक्रममा कुनै एक धर्म या सम्प्रदायलाई मात्र प्रतिनिधित्व गर्ने विवादित पुरोहितहरूलाई अग्रपङ्गतिमा संगै राखेर सरकारले दिन खोजेको सन्देश क्या हो ? के संविधानले देखाएको बाटो यस्तै हो ? अनि त्यो कार्यक्रममा नागरिक र संस्थाहरूप्रति धम्कीपूर्ण भाषा बोल्ने साहस कहाँबाट प्राप्त भयो ।

यो अपार जनमत नागरिकको अधिकतम् हित, कल्याण र समुन्नतिका लागि काम गर्न प्राप्त भएको हो । त्यसैले जनमतप्रति अनादर गर्ने हक कसैलाई पनि छैन। 

रसुवा बाढीबाट उद्धारमा गरिएका सस्ता हर्कत होस् । सुनसरीको घटना होस् । जेनजी आन्दोलनपछिका घटना हुन् । फरार कैदीबन्दीको विषय होस् वा कानून कार्यान्वयनको प्रश्न । सरकारले स्पष्ट जवाफ दिनुपर्छ । कानून सबैका लागि समान हुनुपर्छ । सत्तामा भएको व्यक्ति र सडकमा भएको नागरिकका लागि फरक कानून हुनु हुँदैन । 

सभामुख महोदय,

कानून, न्याय तथा संसदीय मामिलामन्त्रीज्यूले राष्ट्रिय सभामा कानून निर्माणमा आफ्ना साथीहरू नभएका कारण कठिनाई भएको आशयको टिप्पणी गर्नुभएको विषय पनि सार्वजनिक भएको छ ।

यद्यपी वहाँले यो भनाईबाट चोट पुगेको भए माफी माग्छु पनि भनिसक्नुभएको छ । म मन्त्रीज्यूलाई सोध्न चाहन्छु । कानून निर्माण दलको साथीभाइ प्रतिनिधि या सदस्यको आधारमा हुन्छ कि राष्ट्रिय आवश्यकताका आधारमा ? फेरि संसद् भनेको तपॅाई र मेरो वा कसैको साथीहरू जमघट भएर गफ चुट्ने क्लब होइन ।

आजका मितिसम्म यहाँको दलको प्रतिनिधि नभएको कारण राष्ट्रिय सभामा कुन विधेयक रोकिएको छ ? कृपया स्पष्ट पार्न अनुरोध छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा संविधानले निर्माण गरेका सार्वभौम विधायिकी संस्था हुन् ।

सरकारले आफ्नो असक्षमता संसद्को संरचनामाथि दोष थोपरेर ढाक्न खोज्नु हुँदैन । आवश्यक कानून बनाउन प्रतिपक्षसँग सघन संवाद गरौं । राष्ट्रिय सभासँग समन्वय गरौं । संसदीय समितिलाई प्रभावकारी बनाऔं । यही हो लोकतान्त्रिक संस्कार । सरकारले आगामी आर्थिक वर्षमा १६६ वटा कानून निर्माण गर्ने भनि सूची संसद्लाई बुझाएको छ । यति ठूलो विधायिकी कार्यभारलाई राजनीतिक संवाद र संसदीय सहमतिबिना कसरी प्रभावकारी बनाउने ? त्यस तर्फ संवाद र सहकार्य गरौं ।

सभामुख महोदय,

हामीले स्वीकार गरिसकेका छौं । जेनजी विद्रोहले नेपालको राजनीतिमा एउटा पाराडाइम सिफ्ट गरेको छ । त्यो आवाजलाई केवल सडकको घटना भनेर बुझ्नु गलत हुन्छ । त्यो आवाज भ्रष्टाचार, बेथिति, अवसरको असमानता, राजनीतिक अहंकार, र भविष्यप्रतिको निराशाविरुद्ध थियो । 

तर त्यसपछिका भदौ २३ र २४ का घटनामा भएका मानव अधिकार उल्लङ्घन र त्यसपछिका आगजनी, तोडफोड हिंसात्मक तथा आपराधिक घटनाको सत्य, न्याय र जवाफदेहिता अब टार्न मिल्दैन । राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरी सरकारलाई सिफारिस समेत गरिसकेको छ । 

सभामुखमार्फत म सरकारलाई प्रश्न गर्न चाहान्छुः यो सरकार त्यो प्रतिवेदन कार्यान्वयन गर्न उत्सुक छ कि छैन ? यो सरकारले त्यो प्रतिवेदनको कार्यान्वयन गर्छ कि गर्दैन ? निर्दोषलाई न्याय दिनुपर्छ । दोषीलाई कानूनअनुसार कारबाही गर्नुपर्छ ।

राज्यबाट अधिकार उल्लङ्घन भएको भए राज्यका जिम्मेवार व्यक्तिले जवाफ दिनुपर्छ । आपराधिक गतिविधिमा संलग्न भएको भए राजनीतिक आवरणमा कसैलाई संरक्षण दिनु हुँदैन । न्याय न राज्यको पक्षमा हुन्छ, न सरकारको, न प्रतिपक्षको पक्षमा । न्याय सँधै नागरिकको पक्षमा हुन्छ । 

जेनजी घटनापछि कारागार तथा हिरासतबाट फरार भएका कैदीबन्दीको विषय केवल गृह प्रशासनको विषय होइन । यो नागरिक सुरक्षासँग जोडिएको विषय हो । समाजमा अपराधको जोखिम बढेको छ कि छैन ? फरार व्यक्तिको पहिचान र खोजी कहाँ पुगेको छ ? कानूनी शासनप्रति नागरिकको विश्वास कसरी कायम गर्ने ? सरकारले सदनलाई स्पष्ट जानकारी दिनुपर्छ ।

किनकि, राज्यको पहिलो दायित्व नागरिकलाई सुरक्षित राख्नु हो । र राज्यको यो दायित्व निर्वाह गर्ने संवैधानिक जिम्मेवारी प्राप्त व्यक्ति नागरिकहरू प्रति सार्वजनिक रूपमा धम्किको भाषा किन बोल्नुहुन्छ ? राजकीय ओहोदा प्राप्त व्यक्ति उच्च नैतिक र मर्यादित हुनुपर्छ। 

सभामुख महोदय,

हामीले विपद्को घडीमा एउटा राम्रो अवसर पनि पाएका छौं । नेपालको जलवायु संकट र हिमाली क्षेत्रमा परेको असरलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाए छौं र उठाउने छौं। जलवायु न्यायको विषयमा सरकार र प्रतिपक्षबीच एउटै आवाज बनाउने प्रयास गरेका छौं । यो राम्रो हो ।

तर एउटा कुरा सम्झनुपर्छ । प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जाने तयारीमा हुनुहुन्छ भन्ने जानकारी पाएका छौं । अहिलेसम्म संसद र प्रतिपक्षी दललाई आधिकारिक जानकारी भने छैन । तर, प्रधानमन्त्रीज्यूले आफ्नो सचिवालयको मात्र होइन राजनीतिक दल, सरोकारवाला निकाय, अनुसान्धान विज्ञहरु, पिडितको आवाज पनि सुनेर वैज्ञानिक प्रमाण र तथ्यपूर्वक उपस्थिति जनाउनुहोस् ।

अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो प्रधानमन्त्रीको उपस्थिति ओजपूर्ण र प्रस्तुति प्रशंसनीय होस्। अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय माग्ने नेपालले आफ्नै नागरिकलाई विपद्पछि न्याय दिन सकेन भने हाम्रो नैतिक शक्ति कमजोर हुन्छ । यी विषयसँगै अझ गम्भीर प्रश्नहरू पनि छन् । यदि नेपालमा कानूनको शासन कमजोर भयो । दण्डहीनता बढ्यो ।

मानव अधिकार उल्लङ्घनका घटना टुंगिएनन् । राजनीतिक संक्रमणका विषय बाँकी रहे । जेनजी आन्दोलनका प्रश्न अनुत्तरित रहे । त्यसको अन्तर्राष्ट्रिय मूल्याङ्कन कस्तो होला ?

नेपालको लोकतान्त्रिक छवि कस्तो होला ? विदेशी लगानीकर्ताले नेपाललाई कसरी हेर्लान् ? यी प्रश्नहरूको सामाना गर्न सरकार आफेनो तयारी कसरी गरिरहेको छ। सभामुख महोदय, हामीले भनिरहेका छौं ।

अब नेपालको मुख्य ध्येय आर्थिक रूपान्तरण हो । ठीक हो । तर आर्थिक रूपान्तरण भाषणले हुँदैन । लगानीकर्तालाई विश्वास चाहिन्छ । व्यवसायीलाई स्थिर नीति चाहिन्छ । युवालाई रोजगारी चाहिन्छ । उद्योगलाई पूर्वानुमानयोग्य वातावरण चाहिन्छ । कानूनको शासन चाहिन्छ । शान्ति र सुरक्षा चाहिन्छ ।

आज सरकारको कार्यशैलीले यी सूचकहरू कसरी सुधार गर्छ ? निजी क्षेत्र निर्वाध रूपमा लगानी गर्न कसरी अघि बढ्छ ? युवाले देशमा आफ्नो भविष्य कसरी देख्छ ? हामीले लाखौं युवालाई कामकालागि विदेश पठाएर मुलुकको आर्थिक रूपान्तरण कहिल्यै गर्न सक्दैनौं। विप्रेषणले परिवार धान्न सक्छ । तर राष्ट्र निर्माणकालागि लगानी, उद्यम, रोजगारी र उत्पादन चाहिन्छ । 

त्यसैले सरकारसँग प्रश्न छ । युवालाई देशमै काम दिने रोजगारी सिर्जनाका ठोस योजनाहरू कहाँ छन् ? कृषिमा आधुनिकिकरण र सुरक्षित रोजगारी कसरी सिर्जना गरिंदैछ ? उद्योगमा नयाँ अवसर कहाँ छ ? स्टार्टअप र उद्यमशीलतामा सहजीकरण कहाँ छ ? सीप र बजारबीचको सम्बन्ध कहाँ छ ? सरकारले युवालाई केवल सामाजिक सञ्जालका स्टाटस् र भाषणले देशमा रोक्न सक्दैन । युवालाई अवसर दिनुपर्छ । के त्यस दिशातर्फ सरकारका योजना अगाडी बढेका छन्रु ।

सभामुख महोदय,

विपद्को समयमा नागरिकले राज्यप्रति सबैभन्दा बढी विश्वास गर्छ । त्यसैले राहतमा राजनीति हुनु हुँदैन । राहत वितरणमा पक्षपात हुनु हुँदैन । क्षति मूल्याङ्कनमा हेरफेर हुनु हुँदैन । पुनर्निर्माणमा भ्रष्टाचार हुनु हुँदैन । हामी माग गर्दछौँ ।

विपद् राहतमा आएको प्रत्येक रुपैयाँको सार्वजनिक लेखाजोखा होस् । कसले कति सहयोग गर्‍यो ? कहाँ खर्च भयो ? कसले पायो ? कसले पाएन ? सबै नागरिकले हेर्न सक्ने गरी पारदर्शी प्रणाली बनोस् । जनताहरुले आशंका ब्यक्त गरिरहेका छन् । यति धेरै जटिल घटना एकपछि अर्को आइरहेका छन् ।

जेनजी आन्दोलन, भदौ २३ र २४ का घटना, मानव अधिकार आयोगको प्रतिवेदन, राज्य संयन्त्रको भूमिका, फरार कैदीबन्दीको कारण उत्पन्न असुरक्षा, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति, विपद् व्यवस्थापन, पुनर्निर्माण र पुनःस्थापना ‘ यी सबै विषयमा राजनीतिक आरोप प्रत्यारोप गरेर मात्र समाधान हुँदैन । 

सभामुख महोदय,

अन्त्यमा, नेपाली कांग्रेसको स्पष्ट दृष्टिकोण छ । नेपाली कांग्रेसको राजनीति सत्ता प्राप्तिका लागि मात्र होइन । नागरिक र राष्ट्रलाई केन्द्रमा राखेर गरिने राजनीति हो । हामी Nation first for Democracy को अवधारणामा विश्वास गर्छौं। हामी प्रतिपक्षमा छौं ।

सरकारले राष्ट्रहितमा राम्रो काम गर्छ भने नेपाली कांग्रेसले समर्थन गर्छ । सरकार गलत बाटोमा जान्छ भने प्रश्न र खबरदारी गर्छ । सरकार जनताको पक्षमा उभिन्छ भने काँध थाप्छ । सरकार नागरिकको अधिकार हननमा उत्रन्छ भने प्रतिकारमा उभिन्छ। यो हाम्रो संसदीय संस्कार हो । 

राजनीति लामो रेसको दौड हो । त्यसमा, निरन्तरता चाहिन्छ । धैर्यता चाहिन्छ । संवाद चाहिन्छ । राजनीतिक संस्कार चाहिन्छ । र सबैभन्दा महत्वपूर्ण आफूलाई समयअनुसार परिष्कृत गर्ने क्षमता चाहिन्छ ।

नयाँ पुस्ताले हामीसँग परिवर्तन मागेको छ । हामीले त्यो परिवर्तनलाई रोक्ने होइन, संस्थागत गर्ने हो । तर परिवर्तनको अर्थ पुरानो ठाउँमा नयाँ व्यक्ति राख्नु मात्र होइन । पुरानो राजनीतिक संस्कार बदल्नु हो । राजनीतिक अहंकार बदल्नु हो । दण्डहीनता बदल्नु हो । शासनको शैली बदल्नु हो । नागरिकसँग राज्यको सम्बन्ध बदल्नु हो । र अन्ततमा, राजनीतिलाई सत्ताको साधनबाट नागरिक सेवाको माध्यम बनाउनु हो ।

धन्यवाद । जय नेपाल ।’

संसदीय समितिको प्रतिवेदन प्रधानमन्त्रीले बेवास्ता गर्ने अवस्था नबनोस्: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी बाढीपछि उत्पन्न परिस्थितिबारे अध्ययन र काम गर्न बन्न लागेको संसदीय समितिको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपद् व्यवस्थापनका विषयमा संसद्ले बनाउने समितिलाई प्रभावकारी ढंगले काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए। समितिले दिएको प्रतिवेदनलाई सरकारले बेवास्ता गर्ने अवस्था आउन नहुने उनको भनाइ थियो।

थापाले प्रधानमन्त्री बालेन शाहले संसद् र संसदीय समितिको भूमिका तथा मर्यादालाई सम्मान गर्दै सरकार र संसद्बीच आवश्यक समन्वय कायम गर्नुपर्ने बताए।

‘सम्माननीय प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसद्लाई पूर्ण रूपमा बेवास्ता गर्ने, प्रमुख प्रतिपक्ष दलको नेताले बोलाएको बेलामा उहाँको उपस्थिति छ भन्ने लाग्दैन,’ उनले भने।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन संसदीय समितिलाई जिम्मेवारी दिने तयारी भइरहेको उल्लेख गर्दै थापाले समितिले तयार पार्ने प्रतिवेदन सरकारका लागि महत्वपूर्ण आधार बन्नुपर्ने बताए।

‘यत्रो संसदीय समिति हामीले बनाउने भनेका छौं, यत्रो जिम्मेवारी दिएका छौं । तर प्रधानमन्त्रीजीले नै संसदीय समितिको मान र मर्यादा राख्नुभएन, यसरी नै बेवास्ता गरिराख्नुभयो भने त्यो बेलामा के गर्ने हो त ?’ उनले प्रश्न गरे।

रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आयोजना गरेकोमा आफूहरूले धन्यवाद दिएको थापाले बताए। सरकार र प्रधानमन्त्री आफ्नै दलका भएकाले संसदीय समिति तथा संसद्को भूमिकालाई सम्मान गर्ने विषयमा रास्वपाले समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।

थापाले कांग्रेसले सरकारलाई कुनै सर्त नराखी सहयोग गरिरहेको दाबी गर्दै विपद् व्यवस्थापनका लागि गठन हुने संसदीय समितिमा बसेर काम गर्न आफूहरू तयार रहेको बताए। उनका अनुसार समितिले प्रतिवेदन तयार गरेपछि त्यसलाई सरकारले ग्रहण गरी आवश्यक निर्णय र कार्यान्वयन अघि बढाउनुपर्छ।

‘हामी त अनकन्डिसन सरकारलाई सपोर्ट गरिरहेका छौं । संसदीय समितिमा बसेर काम पनि गर्छौं । समितिले रिपोर्ट पनि तयार गर्ला,’ उनले भने, ‘तर त्यो रिपोर्ट बुझ्ने, ग्रहण गर्ने वा त्यसको आधारमा काम गर्ने कुरामा प्रधानमन्त्रीले सामान्य छलफलमा पनि रुचि नराख्ने अवस्था नहोस्।’

समिति गठन गर्नुअघि नै त्यसको कार्यक्षेत्र, जिम्मेवारी र कामको दायराबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्नेमा पनि थापाले जोड दिए। विगतमा संसदीय समिति गठन गर्दा सरकार प्रमुखसँग संवाद र समन्वय गर्ने अभ्यास रहेको उल्लेख गर्दै उनले यसपटक पनि सोहीअनुसार अघि बढ्नुपर्ने बताए।

सरकार र संसद्बीच समन्वय नहुँदा समितिको उद्देश्य नै कमजोर हुन सक्ने उनको भनाइ थियो। ‘एकातिर हामी बैठक गरेर संसदीय समिति बनाउने, अर्कोतिर भोलि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गर्ने अवस्था नबनोस्,’ थापाले भने।

उनले आफ्नो भनाइ सरकारसँग टकराव बढाउने उद्देश्यले नभई समयमै समन्वयका लागि राखिएको स्पष्ट पारे। विपद्को अवस्थामा सरकार, संसद् र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको भन्दै उनले प्रधानमन्त्रीले संसदीय समितिको कामलाई अपनत्व दिनुपर्ने बताए।

रवि लामिछानेले भने- प्रधानमन्त्री बालेन संवेदनशील भएर काम गरिरहेका छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री बालेन शाहले संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन्।

बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री शाहले बैठकलाई बेवास्ता गरेको भन्ने आरोप अस्वीकार गरे। उनले प्रधानमन्त्री प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि तथा पीडितहरूसँग निरन्तर सम्पर्क र छलफलमा रहेको बताए।

‘यतिको संवेदनशील अवस्थामा प्रधानमन्त्रीले बैठकको बेवास्ता गर्नुभएको हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले भने, ‘बिल्कुल होइन। स्थानीय तहका राजनीतिज्ञसमेत कुरा गरिरहनुभएको छ। प्रधानमन्त्री निरन्तर छलफलमा हुनुहुन्छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिनुभएको छ। यो उहाँको संवेदनशीलताको ठूलो उदाहरण हो।’

लामिछानेले सरकार र पार्टीले आ-आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको पनि बताए। उनका अनुसार पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने गरी कामको स्पष्ट बाँडफाँट गरिएको छ।

‘अहिले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेर्ने स्पष्ट कुरा छ। त्यसको डुप्लिकेसन आवश्यक छैन,’ उनले भने।

प्रधानमन्त्री शाहले स्थानीय तहका वडाध्यक्षदेखि पालिकाका जनप्रतिनिधिसम्मसँग प्रत्यक्ष संवाद गरिरहेको लामिछानेको दाबी छ। उनले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग घन्टौंसम्म कुराकानी गरिरहेको बताए।

लामिछानेले प्रधानमन्त्रीको बाढी व्यवस्थापनसम्बन्धी भूमिकामाथि प्रश्न उठाइरहने विषयलाई समेत टिप्पणी गर्दै भने, ‘स्थानीय तहको वडाध्यक्षसँग फोनमा कुरा हुने, त्यहाँका पालिकाका जनप्रतिनिधिसँग घन्टौं कुरा गर्ने काम गरिरहनुभएको छ। यो प्रश्न कार्यकालभरि नै तपाईंहरू गरिरहनुहुन्छ, यसलाई डम्प हानिदिए हुन्छ।’

‘स्वास्थ्य बिमा प्रभावहीन हुँदा अस्पतालको गेटमै सुत्केरी हुनुपर्ने अवस्था आयो’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसक्दा सर्वसाधारणले उपचारका लागि अस्पतालमा लामो समय लाइन बस्नुपर्ने र आर्थिक अभावका कारण थप समस्या झेल्नुपरेको बताएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले बबिता पासवानको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै गरिब तथा विपन्न नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन नसकेको विषय उठाइन्।

उनले संविधानको धारा ३८ ले प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरेको तथा सुरक्षित मातृत्व ऐन, २०७५ ले आकस्मिक प्रसूति सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको स्मरण गराइन्। तर कानुनमा व्यवस्था भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो।

‘स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नहुँदा सर्वसाधारणले उपचारका लागि लामो समय लाइन बस्नुपरेको छ। आर्थिक अभावमा अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु निकै दुःखद् र लज्जाजनक विषय हो,’ शर्माले भनिन्।

उनले सात सय रुपैयाँसम्मको रकम जुटाउन नसक्दा अस्पतालको ढोकामै सुत्केरी हुनुपर्ने अवस्था आउनु राज्यको स्वास्थ्य सेवा प्रणालीमाथिको गम्भीर प्रश्न भएको बताइन्।

‘संविधानले दिएको प्रजनन स्वास्थ्यको अधिकार र सुरक्षित मातृत्वसम्बन्धी कानुनी व्यवस्था के देखाउनका लागि मात्र हो ? गरिब नागरिकले उपचार र प्रसूतिका लागि सडक वा अस्पतालको गेट रोज्नुपर्ने अवस्था कहिलेसम्म ?’ उनले प्रश्न गरिन्।

शर्माले विपन्न नागरिकलाई आर्थिक अवस्थाकै कारण उपचारबाट वञ्चित हुन नदिने गरी स्वास्थ्य बिमा र सरकारी स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद शर्माले नेपालको परराष्ट्र नीति र कूटनीतिक भूमिकामाथि पनि प्रश्न उठाएकी छन्।

छिमेकी मुलुकको निमन्त्रणामा समेत नेपाल सहभागी हुन नसकेको भन्दै उनले सरकारसँग जवाफ मागिन्। विशेषगरी ब्रिक्ससँग सम्बन्धित निम्तोमा नेपालको सहभागिता नहुनुको कारण स्पष्ट पार्न उनले माग गरिन्।

‘छिमेक नै भएको ब्रिक्सको निम्तोबाट नेपाल किन चुक्यो ? के यो सरकारको परराष्ट्र नीति र कूटनीतिक असफलता होइन ?’ शर्माले प्रश्न गरिन्।

उनले सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएर त्रिदेशीय साझेदारी र विकासका विषयमा छलफल गरेको प्रसंगसमेत स्मरण गराइन्।

अहिले शक्तिशाली भनिएको सरकारको कूटनीतिक उपस्थिति त्यस्ता मञ्चमा किन कमजोर देखिएको हो भन्ने प्रश्न गर्दै शर्माले नेपालको परराष्ट्र नीतिबारे स्पष्ट जवाफ दिन सरकारको ध्यानाकर्षण गराइन्।

‘सरकारी कागजमै अलमल: नवलपुर कि नवलपरासी?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले नवलपरासीको जिल्ला नाममा देखिएको संवैधानिक र व्यवहारिक असमानता हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै खनालले संविधानमा जिल्ला विभाजन भएको लामो समय बितिसक्दा पनि नाम प्रयोगमा एकरूपता नआएको बताए। उनका अनुसार संविधानको अनुसूचीमा ‘नवलपरासी बर्दघाट सुस्ता पूर्व’ र ‘नवलपरासी बर्दघाट सुस्ता पश्चिम’ उल्लेख भए पनि व्यवहारमा पूर्वी जिल्लालाई ‘नवलपुर’ भनेर चिन्ने गरिएको छ।

जिल्ला अदालतलगायत सरकारी निकायका कागजातमा समेत ‘नवलपुर’ नाम प्रयोग भइरहेको भन्दै उनले संवैधानिक व्यवस्था र व्यवहारबीचको यो फरक अन्त्य गर्नुपर्ने बताए।

संविधान संशोधनको बहस चलिरहेका बेला जिल्लाको नामलाई पनि स्पष्ट र आधिकारिक बनाउनुपर्ने खनालको भनाइ छ।

‘संविधान संशोधनको बहस चलिरहेको अवस्थामा जिल्लाको नामलाई आधिकारिकता दिने र सरकारी अभिलेखमा एकरूपता कायम गर्ने विषयमा सरकारले पहल गर्नुपर्छ,’ उनले भने।

खनालले नयाँ जिल्ला संरचनासँगै सदरमुकाम र भौतिक पूर्वाधार निर्माणलाई पनि व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।

उनका अनुसार करिब १८० बिघा क्षेत्रफलमा नयाँ जिल्ला सदरमुकाम निर्माणको काम भइरहेको छ। त्यस क्षेत्रका विहार, मन्दिरलगायत संरचनालाई समेत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा समेट्नुपर्ने उनले बताए।

कावासोतीदेखि हौसरा जोड्ने सडकलाई पनि डीपीआरमा समावेश गरी निर्माण अघि बढाउन उनले सरकारसँग आग्रह गरे।

नयाँ जिल्ला संरचनालाई स्पष्ट नाम, व्यवस्थित पूर्वाधार र प्रभावकारी प्रशासनिक व्यवस्थासहित अघि बढाउन सके नागरिकलाई सेवा लिन सहज हुने खनालको भनाइ थियो।

महासभामा जलवायु मुद्दा उठाउँदा क्षतिपूर्तिभन्दा तथ्य र तथ्यांकमा जोड दिन सांसद रेग्मीको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनञ्जय रेग्मीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा बलियो तथ्य र वैज्ञानिक प्रमाणसहित उठाउनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रेग्मीले प्रधानमन्त्रीको आसन्न महासभा भ्रमणलाई नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। उनका अनुसार नेपालले क्षतिपूर्ति माग्ने शैलीमा मात्र सीमित नभई प्रमाण र तथ्यांकका आधारमा अन्तर्राष्ट्रिय बहसलाई नेतृत्व गर्ने गरी आफ्नो धारणा प्रस्तुत गर्नुपर्छ।

उनले जलवायु परिवर्तनका कारण नेपालका हिमताल र हिमनदीमा परेको प्रभावबारे पर्याप्त वैज्ञानिक प्रमाण रहेको बताए। हिन्दुकुश हिमालय क्षेत्रमा तापक्रम बढ्दै गएको र हिमाली क्षेत्रमा हिउँ पग्लने क्रम तीव्र बनेको विषय विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान तथा ‘पियर–रिभ्युड’ अध्ययनले समेत देखाएको उनको भनाइ थियो।

रेग्मीले नेपालका विश्वविद्यालय, अनुसन्धान संस्था तथा इसिमोडलगायतका निकायमा उपलब्ध वैज्ञानिक तथ्यांकलाई एकीकृत गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार विभिन्न निकायमा छरिएर रहेका अनुसन्धान र तथ्यांकलाई एउटै राष्ट्रिय आधार बनाएर संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सके नेपालले जलवायु परिवर्तनको असरबारे थप प्रभावकारी ढंगले विश्व समुदायको ध्यान तान्न सक्छ।

उनले सरकारलाई जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथ्यांक र अनुसन्धानलाई एकीकृत गर्दै स्पष्ट र प्रमाणमा आधारित धारणा निर्माण गर्न आग्रह गरे।

सर्वदलीय संयन्त्र गठन गर्न सात दिनको म्याद

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत, पुनर्निर्माण र विपद् व्यवस्थापनका काममा सहजीकरण गर्न सर्वदलीय संयन्त्र गठन हुने भएको छ।

बुधबार बसेको सर्वदलीय बैठकले सात दिनभित्र संयन्त्र गठन गर्ने गरी समयसीमा तोकेर छलफल अघि बढाएको हो। बैठकपछि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले एक साताभित्र सर्वदलीय संयन्त्र बनाउने विषयमा सहमति जुटेको जानकारी दिए।

उनका अनुसार विपद्बारे छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा समेत छलफल भएको छ। त्यस्तै, विपद् तथा अन्य राष्ट्रिय संकटमा लागू हुने ‘सनसेट ल’ को अवधारणाबारे पनि बैठकमा कुरा उठेको शाहीले बताए।

भदौ १० गते भोटेकोशीमा ठूलो बाढी आएपछि रास्वपा सभापति रवि लामिछानेले भोलिपल्टै सर्वदलीय बैठक बोलाएर उद्धार, राहत र पुनर्स्थापनाका लागि साझा संयन्त्र बनाउन प्रस्ताव गरेका थिए।

त्यस बैठकमा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका नेताहरू सहभागी थिए।

लामिछानेले सरकारलाई निर्णय र कार्यान्वयनमा सहयोग पुग्ने गरी सर्वदलीय, सर्वपक्षीय वा संसदीय संयन्त्र बनाउनुपर्ने प्रस्ताव राखेका थिए। त्यसपछि जारी १० बुँदे संकल्पमा पनि विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीति सुधार तथा सरकारी कामको अनुगमनका लागि संसदीय समिति गठन गर्ने विषय समेटिएको थियो।

संकल्पमा प्रस्तावित संयन्त्रलाई तत्कालको संकट व्यवस्थापनमा मात्र सीमित नराखी विपद्पूर्व तयारी, दिगो विकास र नीतिगत सुधारमा समेत प्रयोग गर्ने उल्लेख थियो।

भदौ १६ गते बसेको सर्वदलीय बैठकले पनि संयन्त्र गठन गर्ने विषयमा सहमति जनाएको थियो। तर त्यसपछि यसको औपचारिक गठन हुन सकेन।

बुधबारको बैठकले भने पहिलोपटक गठनको समयसीमा नै तोकेको हो। अब सात दिनभित्र संयन्त्रको संरचना, जिम्मेवारी र कार्यक्षेत्र टुंग्याएर गठन गर्ने तयारी छ।

विपद्पछिको पुनर्निर्माणसँगै भविष्यमा यस्ता संकट आउँदा राज्यका निकायबीच समन्वय, पूर्वतयारी र नीतिगत सुधारमा पनि संयन्त्रले भूमिका खेल्ने विषयमा छलफल भएको छ।

दुई सातामा दुई पटक लाग्यो सर्वोच्चमा आगो

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। अदालतको निर्माणाधीन भवनअन्तर्गत मुद्दा फाँटमा रहेको मल्टिप्लगमा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रारम्भिक जानकारी दिइएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार बन्द कोठाभित्र आगलागी भएको हो। आगो ठूलो रूपमा फैलिन नपाउँदै प्रहरी र दमकलको टोली पुगेर नियन्त्रणमा लिएको उनले बताए।

‘मुद्दा फाँटको मल्टिप्लगमा विद्युत् सर्ट भएर आगलागी भएको छ। बन्द कोठाभित्र आगो लागेको हो। ठूलो क्षति भएको होइन,’ प्रवक्ता कोइरालाले भने।

आगलागीबाट एउटा टेबल र तीनवटा कम्प्युटर जलेका छन्। मुद्दाका मिसिल तथा अन्य महत्वपूर्ण अभिलेखमा भने क्षति नभएको अदालतले जनाएको छ।

सर्वोच्च अदालतमा यसअघि १७ भदौमा पनि आगलागी भएको थियो। त्यसबेला अभिलेख शाखामा आगलागी हुँदा महत्वपूर्ण कागजात र संरचनामा क्षति पुगेको थियो।

उक्त घटनाको छानबिन भइरहेकै बेला फेरि अर्को आगलागी भएको हो। लगातार आगलागीका घटना भएपछि अदालत परिसरको विद्युत् प्रणाली र सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ।

सर्वोच्च अदालत यसअघि जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट समेत प्रभावित भएको थियो। आन्दोलनका क्रममा अदालतमा आगजनी र तोडफोड हुँदा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।

त्यसपछि अदालतको सुरक्षा, अभिलेख संरक्षण र भौतिक संरचनाको पुनःव्यवस्थापनको विषय चर्चामा आएको थियो। १७ भदौको आगलागीपछि त्यसको कारणबारे छानबिन भइरहेकै अवस्थामा फेरि विद्युत् सर्टबाट आगलागी भएको घटनाले सुरक्षा सतर्कतामाथि थप प्रश्न उठाएको छ।

यसपटक भने आगो समयमै नियन्त्रणमा लिइएकाले मुद्दाका मिसिल तथा महत्वपूर्ण अभिलेख जोगिएको अदालतले जनाएको छ।

सिंहदरबारमै ठोक्कियो यूएनडीपी र रास्वपा सांसदको गाडी

काठमाडौं । देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बुधबार दुई गाडी ठोक्किएका छन्।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअगाडि संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले रास्वपा सांसद नितिमा कार्की भण्डारीको गाडीमा ठक्कर दिएको हो।

यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीको ठक्करबाट सांसद भण्डारीको वाग्मती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीमा क्षति पुगेको छ।

सिंहदरबारजस्तो उच्च सुरक्षा क्षेत्रभित्रै भएको दुर्घटनापछि घटनाबारे सोधपुछ सुरु गरिएको छ। ट्राफिक प्रहरीका एसपी नरेश सुवेदीले दुर्घटनाबारे आवश्यक विवरण लिने काम भइरहेको जानकारी दिएका छन्।

दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

‘बिकेको’ आरोप प्रमाणित गर्न राप्रपा बागमतीको लिङ्देनलाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । आफ्नै सांसदलाई ‘बिकेको’ आरोप लगाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि पार्टीकै बागमती प्रदेश समितिले प्रश्न उठाएको छ।

बागमती प्रदेश कार्य समितिका अध्यक्ष विक्रमबहादुर थापाले लिङ्देनलाई पत्र पठाउँदै प्रदेशका सांसदलाई लगाइएको आरोप २४ घण्टाभित्र प्रमाणित गर्न वा अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेका छन्।

लिङ्देनले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने पार्टीका निर्वाचित सांसदलाई लक्षित गर्दै ‘भेडा बाख्राजस्तै बिके’ र ‘अर्काको ओछ्यान तताउन गए’ जस्ता अभिव्यक्ति दिएको भन्दै प्रदेश समितिले आपत्ति जनाएको हो।

प्रदेश समितिले ‘को बिक्यो?’, ‘कति रकममा बिक्यो?’, ‘कसले किन्यो?’, ‘कहिले, कहाँ र कसरी लेनदेन भयो?’ भन्दै आरोपको आधार सार्वजनिक गर्न चुनौती दिएको छ।

पत्रमा राजनीतिक निर्णयप्रति असहमति राख्न पाइने भए पनि आफ्नै पार्टीका निर्वाचित जनप्रतिनिधिलाई गम्भीर आरोप लगाइसकेपछि त्यसको प्रमाण प्रस्तुत गर्ने जिम्मेवारी आरोप लगाउने पक्षकै हुने उल्लेख छ।

प्रदेश समितिले आरोप तथ्यमा आधारित भए २४ घण्टाभित्र प्रमाण सार्वजनिक गरी दोषी देखिएका व्यक्तिमाथि पार्टी विधानअनुसार कारबाही गर्न माग गरेको छ।

तर प्रमाण प्रस्तुत गर्न नसके उक्त अभिव्यक्ति तत्काल फिर्ता लिएर सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने उसको अडान छ।

प्रदेश समितिले पार्टीभित्र फरक मत राख्ने नेता तथा कार्यकर्तामाथि व्यक्तिगत लाञ्छना लगाउने प्रवृत्ति अन्त्य गर्नसमेत माग गरेको छ।

बागमती प्रदेश समितिले अध्यक्ष लिङ्देनको विगतका राजनीतिक निर्णयमाथि समेत प्रश्न उठाएको छ।

कोशी प्रदेशमा सभामुख पद कायम राख्ने निर्णय र गण्डकी प्रदेशमा नेपाली कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णयको उदाहरण दिँदै समितिले एउटै प्रकारका राजनीतिक निर्णयलाई फरक ढंगले व्याख्या गर्न नमिल्ने जनाएको छ।

‘आफूले गर्दा परिस्थितिजन्य राजनीतिक निर्णय, अर्काले गर्दा बिकेको’ भन्दै प्रदेश समितिले यस्तो व्यवहारले राजनीतिक नैतिकता र नेतृत्वमाथि प्रश्न उठाउने बताएको छ।

प्रदेश समितिले बागमतीका सांसदलाई लगाइएको आरोपको प्रमाण सार्वजनिक गर्न, प्रमाणित भए विधानअनुसार कारबाही गर्न, प्रमाण नभए अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक माफी माग्न र सांसदहरूमाथिको कारबाही फिर्ता लिन माग गरेको छ।

पत्रको अन्त्यमा प्रदेश समितिले स्पष्ट शब्दमा भनेको छ, ‘आरोप होइन, प्रमाण देखाऊ। प्रमाण छ भने दोषीमाथि कारबाही गर, प्रमाण छैन भने आरोप फिर्ता लिएर सार्वजनिक माफी माग।’

 

 

बालेनसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारमा भेटवार्ता गरेकी छन्।

शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्का बेला अमेरिकाले देखाएको ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे।

रसुवाको बाढीबाट नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको जानकारी दिँदै उनले जलवायु परिवर्तनका कारण यस्ता विपद् बढ्दै गएको बताए।

शाहले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण र त्यसबाट हुने क्षति सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाउनुपर्नेमा जोड दिए। साथै, नेपालको पर्यटन विकास र सम्भावित अमेरिकी लगानीका विषयमा पनि छलफल भएको उनको सचिवालयले जनाएको छ।

भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्।

उनले विपद्को यो कठिन समयमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउँदै राहत, पुनःस्थापना र पुनर्निर्माणमा आवश्यक सहयोग तथा सहकार्य गर्न अमेरिका तयार रहेको जानकारी गराइन्।

संसदमा सुरु भयो ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

काठमाडौं । संघीय संसद् सचिवालयले बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’ परियोजनाको परीक्षण सुरु गरेको छ।

सिंहदरबारमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा परियोजनाको उद्घाटन गरे।

डिजिटल पार्लियामेन्ट परियोजना समन्वय तथा सहजीकरण समितिले आयोजना गरेको कार्यक्रममा डिजिटल संसद्को अवधारणा, उद्देश्य र कार्यान्वयन प्रक्रियाबारे जानकारी दिइएको थियो।

संसद्का सूचना, सेवा, अभिलेख तथा गतिविधिलाई प्रविधिमैत्री र व्यवस्थित बनाउँदै संसदीय कामकारबाहीमा नागरिकको पहुँच सहज बनाउने उद्देश्यले परियोजना अघि बढाइएको संसद् सचिवालयले जनाएको छ। एकीकृत अभिलेखीकरण, सूचना प्रवाह र संसदीय गतिविधिको अनुगमनलाई डिजिटल प्रणालीमा जोड्ने तयारी गरिएको छ।

परियोजना कार्यान्वयनमा आएपछि सांसदको ई हाजिरी, व्यक्तिगत प्रोफाइल तथा बैठकसम्बन्धी विवरण डिजिटल माध्यमबाट व्यवस्थापन गरिनेछ। बायोमेट्रिक र एनएफसी प्रविधिको प्रयोगमार्फत सांसदको उपस्थिति, अनुपस्थिति र बिदाको विवरण अभिलेख गर्ने व्यवस्था मिलाइनेछ।

सांसदहरूका लागि छुट्टै मोबाइल एपसमेत तयार गरिएको छ। एपमार्फत सांसदले आफ्नो हाजिरीको अवस्था, व्यक्तिगत विवरण र बैठकसम्बन्धी सूचना मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारका अनुसार डिजिटल पार्लियामेन्टमा वेब पेज र त्यसमा आधारित एप्लिकेसन रहनेछ। प्रारम्भिक परीक्षणका क्रममा संसद् सचिवालयका निश्चित कर्मचारी र केही सांसदलाई मात्रै यसको पहुँच दिइएको छ।

सांसदहरूले सदनमा उठाएका प्रश्न तथा विषयलाई सम्बन्धित मन्त्रालय र सरोकारवालासम्म डिजिटल माध्यमबाट पुर्‍याउने व्यवस्था मिलाउने तयारी गरिएको छ। त्यसको सम्बोधन प्रक्रिया र अवस्थासमेत प्रविधिमार्फत अनुगमन गर्न सकिनेछ।

शून्य समयमा उठाइएका विषयको अभिलेख राख्ने तथा तिनको औचित्य पुष्टि गर्ने प्रक्रियालाई समेत डिजिटल प्रणालीसँग जोड्ने काम भइरहेको परियारले बताए।

उनका अनुसार संसद्को दैनिक सञ्चालन, सांसदका प्रस्तुति, प्रश्न, संसदीय प्रक्रिया, अभिलेख र इतिहासलाई व्यवस्थित गर्न पनि प्लेटफर्म उपयोगी हुनेछ।

हाल संसद्को वेबसाइटमा उपलब्ध सूचना तथा सांसदहरूले सदनमा व्यक्त गरेका धारणा मुख्यतः भिडियोमार्फत हेर्न सकिने व्यवस्था छ। अब यस्ता सामग्रीलाई लिखित रूपमा समेत व्यवस्थित गरी उपलब्ध गराउने तयारी गरिएको छ।

सरकारी तथा गैरसरकारी विधेयक दर्तादेखि पारित हुने चरणसम्मको प्रगति डिजिटल माध्यमबाट अनुगमन गर्न सकिने व्यवस्था पनि प्लेटफर्ममा समेट्ने तयारी छ। सदन र समितिका बैठकका कार्यसूची, छलफलका विषय तथा प्रतिवेदन नागरिकले सार्वजनिक पोर्टलमार्फत सहज रूपमा हेर्न सक्नेछन्।

यसबाट संसदीय सूचना र गतिविधिमा नागरिकको पहुँच थप सहज हुने सचिवालयको अपेक्षा छ।

संसदीय सूचना तथा अभिलेख सुरक्षित राख्न सरकारी एकीकृत डेटा व्यवस्थापन केन्द्र र मिररिङ केन्द्रमार्फत डेटा भण्डारण गरिनेछ। त्यसका लागि आवश्यक सुरक्षा प्रणाली प्रयोग गरिने सचिवालयले जनाएको छ।

डिजिटल प्रणालीले संसदीय सूचना र अभिलेखलाई व्यवस्थित बनाउनुका साथै कामकारबाहीलाई थप पारदर्शी र जवाफदेही बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

डिजिटल पार्लियामेन्ट अहिले परीक्षणकै चरणमा छ। प्रारम्भिक परीक्षणबाट प्राप्त अनुभव र सुझावका आधारमा प्लेटफर्मलाई थप विस्तार तथा प्रयोगमैत्री बनाउने तयारी गरिएको छ।

पहिलो चरणको परीक्षणपछि विज्ञहरूको सुझावसमेत लिएर प्रणालीलाई थप प्रभावकारी बनाइने परियारले बताए।

संसद् सचिवालयले परियोजनालाई प्रभावकारी बनाउन सांसद, पत्रकार तथा सर्वसाधारणबाट सुझाव र प्रतिक्रिया दिन आग्रह गरेको छ।



 

मक्कातर्फ हुथी ड्रोन आएको साउदीको दाबी, यमन तनाव चर्कियो

काठमाडौं । साउदी अरेबियाले इस्लामको पवित्र सहर मक्कातर्फ आएको भनिएको हुथी ड्रोन आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेपछि यमन युद्ध थप संवेदनशील मोडमा पुगेको छ।

साउदी नेतृत्वको यमनसम्बन्धी सैन्य गठबन्धनका अनुसार मंगलबार साँझ मक्काको दक्षिणतर्फ एउटा ड्रोनलाई रोकेर नष्ट गरिएको हो। गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले ड्रोन मक्काको प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै खसालिएको बताएका छन्।

अल मलिकीले मक्का र मदिनास्थित दुई पवित्र मस्जिद तथा तीर्थयात्रीको सुरक्षा साउदीका लागि ‘रेड लाइन’ भएको बताएका छन्। हुथीबाट यस्ता गतिविधि दोहोरिए आवश्यक तथा निवारक कदम चाल्न गठबन्धन पछि नहट्ने चेतावनी पनि उनले दिएका छन्।

साउदी पक्षले यो घटनालाई मक्कालाई लक्षित गरिएको हुथी आक्रमणको दोस्रो प्रयासका रूपमा व्याख्या गरेको छ। यसअघि सन् २०१७ मा पनि हुथीहरूले मक्कातर्फ क्षेप्यास्त्र प्रहार गरेको साउदी पक्षको दाबी थियो।

साउदीको आरोपलाई हुथीहरूले भने तत्काल अस्वीकार गरेका छन्।

हुथी पोलिटब्युरोका सदस्य हाजेम अल असदले मक्कालाई लक्षित गरिएको भन्ने साउदी दाबीलाई ‘पहिलेदेखि दोहोरिँदै आएको झूट’ भन्दै खारेज गरेका छन्। उनका अनुसार हुथीहरूले इस्लामका पवित्रस्थललाई निशाना बनाएको दाबी सत्य होइन।

घटनाको स्वतन्त्र पुष्टि नभएकाले ड्रोनको वास्तविक लक्ष्य के थियो भन्ने विषयमा दुई पक्षबीच फरक दाबी देखिएको छ। साउदी पक्षले ड्रोन मक्कातर्फ आएको बताएको छ भने हुथीहरूले त्यसलाई अस्वीकार गरेका छन्।

मक्कामा सुरक्षा सतर्कता बढाइएपछि साउदी अधिकारीहरूले विभिन्न क्षेत्रमा सम्भावित हवाई आक्रमणबारे चेतावनीसमेत जारी गरेका थिए। मक्का, जेद्दा र ताइफलगायत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको बताइएको छ।

मक्का घटनाको पृष्ठभूमिमा यमनमा पुनः चर्किएको हुथी र साउदी द्वन्द्व रहेको छ। सन् २०२२ देखि तुलनात्मक रूपमा शान्त रहेको यमनको युद्ध जुलाईयता पुनः तीव्र बनेपछि साउदी र हुथीबीच प्रत्यक्ष सैन्य तनाव बढेको हो।

हुथीहरूले साउदीविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्दै लाल सागरमा साउदी जहाजलाई लक्षित गर्ने चेतावनी दिएका छन्। पछिल्लो समय उनीहरूले यमनको लाल सागर तटमा आफ्नो प्रभाव विस्तार गर्दै रणनीतिक बाब अल मन्डब जलघाँटीमाथि समेत नियन्त्रण बढाएका छन्।

बाब अल मन्डब लाल सागरलाई अदनको खाडी र हिन्द महासागरसँग जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो। यस क्षेत्रमा अस्थिरता बढ्दा साउदी तेल निर्यातसँगै अन्तर्राष्ट्रिय व्यापारिक जहाजको आवागमनसमेत प्रभावित हुन सक्ने चिन्ता बढेको छ।

पछिल्लो समय हुथीहरूले मायुन टापुसहित बाब अल मन्डब क्षेत्रमा नियन्त्रण विस्तार गरेको विवरण सार्वजनिक भएको छ।

हुथी र साउदीबीचको तनाव धार्मिकस्थलको सुरक्षामा मात्रै सीमित छैन। हुथीहरूले साउदीको सैन्य संरचना तथा तेलसम्बन्धी पूर्वाधारलाई समेत लक्षित गर्दै आएका छन्।

पछिल्लो समय साउदी क्षेत्रमा भएका आक्रमणपछि त्यहाँ सुरक्षा सतर्कता बढाइएको छ। हुथीहरूले आफ्ना कारबाहीलाई साउदीले यमनमा गरेको हवाई आक्रमणको जवाफका रूपमा प्रस्तुत गर्दै आएका छन्।

उता साउदी पक्षले आफ्नो सार्वभौमिकता र सुरक्षामाथिको आक्रमण रोक्न आवश्यक सबै कदम चाल्ने बताउँदै आएको छ।

यसबीच हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदीले यमनमा गरेको हवाई कारबाहीबारे पनि दाबी गरेका छन्। हुथी पक्षले नागरिक संरचना प्रभावित भएको आरोप लगाएको छ। यस्ता दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन।

यमनमा द्वन्द्व पुनः चर्किएसँगै अमेरिकाले साउदी अरेबियासँगको सैन्य समन्वय पनि बढाएको छ।

अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेन्ट्रल कमान्डले साउदी सेनालाई गुप्तचर सूचना आदानप्रदान र सैन्य योजना निर्माणमा सहयोग गर्न विशेष कार्यदल परिचालन गरेको छ। अधिकारीले क्षेत्रीय चुनौती सामना गर्न साउदीसँगको सुरक्षा सहकार्य बलियो रहेको बताएका छन्।

यसले यमनको द्वन्द्वलाई दुई पक्षबीचको युद्धबाट बाहिर निकालेर क्षेत्रीय शक्ति प्रतिस्पर्धासँग जोड्ने जोखिम बढाएको छ। एकातर्फ साउदीले अमेरिकी सुरक्षा सहयोग पाइरहेको छ भने अर्कोतर्फ हुथीहरू इरानसँग नजिक रहेको समूहका रूपमा चिनिन्छन्।

लाल सागर र बाब अल मन्डबमा बढ्दो सैन्य गतिविधिले विश्वव्यापी समुद्री व्यापारमा समेत असर पर्न सक्ने चिन्ता छ। बाब अल मन्डब क्षेत्रबाट हुने आवागमन प्रभावित भए तेल तथा अन्य वस्तुको ढुवानी लामो वैकल्पिक मार्गतर्फ मोडिनुपर्ने अवस्था आउन सक्छ।

यही कारण साउदी युवराज मोहम्मद बिन सलमान र इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले बाब अल मन्डबसहित महत्वपूर्ण समुद्री मार्गमा आवागमनको स्वतन्त्रता र सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

कतारले पनि बाब अल मन्डब बन्द भए त्यसको असर क्षेत्रीय सीमाभन्दा बाहिर पुग्न सक्ने चेतावनी दिएको छ।

सैन्य तनावसँगै यमनमा मानवीय संकट पनि गहिरिँदै गएको छ। पछिल्लो द्वन्द्व पुनः चर्किएपछि ठूलो संख्यामा मानिस विस्थापित भएका छन्। इन्धन अभावका कारण द्वन्द्वबाट भागेर सुरक्षित स्थानतर्फ जान खोज्ने मानिसको आवागमनसमेत प्रभावित भएको विवरण सार्वजनिक भएको छ।

यमनमा लामो समयदेखि जारी राजनीतिक र सैन्य संकटका कारण नागरिकको जीवन, खाद्यान्न तथा इन्धन आपूर्ति, स्वास्थ्य सेवा र आवासमा दबाब कायम छ।

मक्कानजिकैको ड्रोन घटनाले भने यो द्वन्द्वलाई थप संवेदनशील बनाएको छ। साउदीका लागि मक्का विश्वभरका मुस्लिमका लागि प्रमुख धार्मिक केन्द्र भएकाले त्यहाँको हवाई सुरक्षासम्बन्धी कुनै पनि घटना क्षेत्रीय राजनीतिक र धार्मिक संवेदनशीलतासँग जोडिने अवस्था छ।

रास्वपा सरकारलाई प्रश्न : ‘फलामको चिउरा’

काठमाडौं । सत्तामा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफ्नै सरकारका कामकारबाहीबारे प्रश्न सुन्न गाह्रो पर्न थालेको चर्चा पार्टीभित्रै हुन थालेको छ ।

वैकल्पिक राजनीति र सुशासनको नारा दिएर उदाएको पार्टी रास्वपा अहिले आफैं सत्तामा छ । तर, सरकारमाथि प्रश्न उठाउनेहरूकै अभिव्यक्तिलाई लिएर विवाद बढ्न थालेपछि रास्वपाभित्र असहमतिको ठाउँ कति छ भन्ने प्रश्न उठेको छ ।

पछिल्लो विवादको केन्द्रमा छिन्, संसदीय दलकी सचेतक क्रान्तिशिखा धिताल।

भदौ २३ गते नयाँ बानेश्वरमा आयोजित जेनजी दिवससम्बन्धी कार्यक्रममा विवादित छविका धर्मगुरु आचार्य श्रीनिवास र विष्णु प्रपन्नाचार्य सहभागी भएको विषयमा धितालले प्रश्न उठाइन् । जेनजी आन्दोलनको स्मृति कार्यक्रममा विवादित व्यक्तिहरूलाई सहभागी गराउनु ठीक हो कि होइन भन्ने उनको प्रश्न थियो ।

त्यसैगरी उनले गृहमन्त्री सुधन गुरुङले प्रेस स्वतन्त्रताबारे प्रयोग गरेको भनिएको भाषाप्रति पनि आपत्ति जनाइन् ।

त्यसपछि गृहमन्त्री गुरुङ र धितालबीच ह्वाट्सएपमै सवाल-जवाफ भयो । जेनजी सांसदहरू रहेको समूहमा भएको कुराकानी बाहिरिएपछि रास्वपाभित्रको विवाद सार्वजनिक बहसको विषय बन्यो ।

गुरुङले जेनजी आन्दोलनमा आफ्नो भूमिकाको चर्चा गर्दै धितालको योगदानमाथि प्रश्न उठाएको बताइएको छ । धितालले पनि गृहमन्त्रीको भाषा र शैलीमाथि प्रतिवाद गरेकी थिइन् ।

विवाद यतिमै रोकिएन । धितालको अभिव्यक्तिप्रति जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले समेत आपत्ति जनाए । सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उनीहरूले जेनजी स्मृति कार्यक्रमलाई धितालको अभिव्यक्तिले अपमान गरेको बताएका थिए ।

धितालले सरकारको कामकारबाहीमाथि प्रश्न उठाएको यो पहिलोपटक होइन ।

काठमाडौं उपत्यकाका नदी किनारका बस्तीमा उचित व्यवस्थापन नगरी डोजर चलाइएको विषयमा उनले यसअघि नै आपत्ति जनाएकी थिइन् । उनको अभिव्यक्तिप्रति प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालय असन्तुष्ट बनेपछि मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले उनलाई सचेत गराएको विषय पनि सार्वजनिक भएको थियो ।

त्यसैले अहिलेको विवादलाई धेरैले धितालको प्रश्न गर्ने शैलीसँग जोडेर हेरेका छन् । फरक यति हो, यसपटक उनको प्रश्न सिधै गृहमन्त्रीमाथि पुगेको छ ।

रास्वपाले विपक्षमा हुँदा सरकार र पुराना दललाई प्रश्न गर्नुलाई आफ्नो राजनीतिक अस्त्र बनाएको थियो । अहिले आफ्नै पार्टी सरकारमा छ । त्यसैले आफ्नै सरकारमाथि उठ्ने प्रश्नलाई नेतृत्वले कसरी लिन्छ भन्ने प्रसंग धिताल प्रकरणले फेरि सतहमा ल्याएको छ ।

रास्वपाभित्र पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको प्रभावलाई लिएर पनि बेलाबेला बहस हुने गरेको छ ।

को रविको नजिक, को बालेनको नजिक भन्ने चर्चा चलिरहेका बेला महामन्त्री विपिनकुमार आचार्यले भने पार्टीमा ‘रविको मान्छे’ वा ‘बालेनको मान्छे’ नभएको बताएका छन् ।

‘सबै रास्वपाका मान्छे हुन् । प्रश्न सबैले गर्न पाउँछन् । पार्टी हितमा खबरदारी गर्नुलाई विरोध गरेको अर्थमा बुझ्न हुँदैन,’ आचार्यको भनाइ छ ।

तर पार्टीभित्र प्रश्न उठाउनेहरूले सहज रूपमा आफ्नो कुरा राख्न पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न भने धिताल प्रकरणपछि फेरि उठेको छ ।

मुख्य सचेतक बुर्लाकोटीले पनि पार्टी नेतृत्व वा सरकारसँग गुनासा भए प्रश्न उठाउन पाइने बताएका छन् । तर आन्तरिक विषय सार्वजनिक गर्नु उचित नभएको उनको भनाइ छ ।

रास्वपाभित्रको मतभेद बैठक र संसद्मा मात्रै देखिँदैन । सामाजिक सञ्जालमा पनि पार्टी नेतृत्व वा सरकारमाथि प्रश्न गर्नेहरूमाथि समर्थक तथा शुभेच्छुकबाट चर्को प्रतिक्रिया आउने गरेको छ ।

भोटेकोशी–त्रिशूली बाढीमा सर्वस्व गुमाएका नागरिकमाथि सामाजिक सञ्जालबाट भएका अशोभनीय टिप्पणीप्रति सभापति लामिछानेले समेत आपत्ति जनाएका थिए ।

भदौ २४ गते संसद्मा बोल्दै उनले विपद्मा परेका नागरिकको आक्रोशलाई गलत ढंगले व्याख्या गर्ने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताएका थिए ।

रास्वपाको कुनै पनि तहका सदस्य वा पदाधिकारीले विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी गरे कारबाही गर्ने चेतावनीसमेत उनले दिएका थिए ।

अब पार्टीभित्र उठ्ने असहमतिका हकमा पनि त्यही संवेदनशीलता देखिन्छ कि देखिँदैन भन्ने प्रश्न हो ।

रास्वपाले आफूलाई प्रश्न गर्न सक्ने र पुरानो राजनीतिक संस्कार बदल्ने पार्टीका रूपमा अघि सारेको थियो । सत्तामा पुगेपछि भने आफ्नै सरकारमाथि उठेका प्रश्नको सामना गर्नुपर्ने अवस्था सरकारलाई फलामको चिउरा चापाउन झैँ कठिन भएको छ।

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ३ शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार सम्म १ हजार ४ सय ३ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार रसुवामा १ सय ९३ जना, नुवाकोटमा २ सय २ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय १ जनाको शव फेला परेको हो ।

साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ३५ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको प्रहरीले जानकारी गराएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ४ गरी कुल ३ हजार १ सय ९० वटा डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले बताए । साथै पहिचान नभएको १ हजार ३ सय ६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।

हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको प्रहरीले बताउको छ । साथै, विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ८४ जना व्यक्तिहरूलाई राखिएको प्रहरीको भनाइ छ ।

कुटपिटबाट ५० वर्षीय पुरुषको मृत्यु

बझाङ । बझाङमा कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्गाथली गाउँपालिका–५ झाक्रीका ५० वर्षीय झलक जप्रेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत भदौ २२ गते साँझ करिब ७ बजे सामान्य विवादका क्रममा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले झलकमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका झलकको धनगढीस्थित केयर अस्पतालमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा बुधवार चिकित्सकले झलकलाई मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरीले कुटपिटमा संलग्न लोकेन्द्रलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रविले बोलाएको सर्वदलीय बैठक सुरु [तस्वीरहरू]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरु भएको छ ।

बुधबार बिहान साढे ११ बजेपछि सुरु बैठकमा भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ ।

भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीपछि खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा राजनीतिक दलहरूबीच निरन्तर छलफल हुँदै आएको छ ।

भदौ ११ गते बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनलगायत विषय समेटेर १० बुँदे सङ्कल्प गरेको थियो । त्यसपछि भदौ १५ गते बसेको दोस्रो तहको सर्वदलीय बैठकले उक्त सङ्कल्प कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

आजको बैठकमा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, पुनर्स्थापना र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन राजनीतिक तहबाट कस्तो संयन्त्र बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव सहभागी छन् । त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेताहरू सहभागी छन् ।

बैठकले बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा राजनीतिक सहकार्यको संरचना बनाउने विषयमा ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।

माधव नेपालसहितको पतञ्जलि जग्गा भ्रष्टाचार मुद्दा अन्तिम चरणमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित प्रतिवादी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ ।

विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइराला रहेको इजलासमा मुद्दाको पेसी तोकिएको छ । यसअघि अदालतले मुद्दामा बहस नोट पेस गर्न आदेश दिएको थियो ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दीभन्दा बढी जग्गा खरिद तथा बिक्रीका लागि स्वीकृति दिइएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, त्यति नै रकम बराबर जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागदाबी गरेको छ । अख्तियारको अभियोगअनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारका लागि स्वीकृति दिलाउने निर्णय प्रक्रियामा भूमिका खेलेका थिए । यी विषयहरू भने अभियोगपत्रमा लगाइएका आरोप हुन् र अदालतबाट अन्तिम फैसला हुन बाँकी छ ।

अख्तियारका अनुसार तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गते पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको थियो ।

अभियोगपत्रमा तत्कालीन प्रधानमन्त्री नेपालले २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको दाबी गरिएको छ ।

अख्तियारले ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको दाबी गर्दै ९३ जनालाई प्रतिवादी बनाएको थियो । मुद्दामा विभिन्न सरकारी अधिकारी, पतञ्जलिसँग सम्बन्धित व्यक्ति तथा जग्गा कारोबारमा संलग्न अन्य व्यक्तिहरूलाई समेत प्रतिवादी बनाइएको छ ।

यसअघि अदालतको आदेशअनुसार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्का मन्त्री डा. मीनेन्द्र रिजालसहित आठ जनालाई बकपत्रका लागि उपस्थित गराइएको थियो । पूर्वमन्त्रीहरू मृगेन्द्रसिंह यादव, रकम चेम्जोङ, उमाकान्त चौधरी र महेन्द्रप्रसाद यादवलगायतलाई समेत बकपत्रका लागि बोलाइएको थियो । अख्तियारमा कागज गर्ने पदमराज भट्ट र जगन्नाथ पन्तलाई पनि उपस्थित हुन आदेश भएको थियो ।

मुद्दामा अख्तियारले तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का निर्णय, जग्गा कारोबारको प्रक्रिया र त्यससँग सम्बन्धित सरकारी कागजातलाई आधार बनाएको छ । अदालतले प्रतिवादी तथा सम्बन्धित पक्षका तर्फबाट प्रस्तुत भएका प्रमाण, बयान र बहसका आधारमा मुद्दाको टुंगो लगाउनेछ ।

पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएपछि यो प्रकरण नेपाली राजनीतिमा समेत चर्चामा आएको थियो ।

नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलो प्रकरण भएकोसमेत समाचारहरूमा उल्लेख गरिएको छ ।

एआईको शेयरमा पहिरो, विश्व बजारमा दबाब

काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर मूल्यमा आएको गिरावटसँगै मङ्गलबार विश्वका प्रमुख शेयर बजारमा दबाब देखिएको छ ।

युरोपका प्रमुख शेयर बजारमा प्रारम्भिक कारोबारमै गिरावट देखिएको छ । फ्रान्सको सिएसी ४०, जर्मनीको ड्याक्स र बेलायतको एफटिएसई १०० सूचकाङ्क करिब शून्य दशमलव ८ प्रतिशतले घटेका छन् । अमेरिकी बजारमा डाउ फ्युचर्स र एस एन्ड पी ५०० फ्युचर्स पनि क्रमशः शून्य दशमलव ७ र शून्य दशमलव ६ प्रतिशतले घटेका छन् ।

एसियाली बजारमा पनि समान दबाब देखिएको छ । जापानको निक्केई २२५ शून्य दशमलव १ प्रतिशतभन्दा कमले घटेर बन्द भएको छ । अस्ट्रेलियाको एस एन्ड पी/एएसएक्स २००, दक्षिण कोरियाको कोस्पी, हङकङको ह्याङ सेङ र चीनको साङ्घाई कम्पोजिट पनि ओरालो लागेका छन् ।

यद्यपि, एआई कम्पनी ओपनएआईमा ठूलो लगानी रहेको जापानको सफ्टबैङ्क ग्रुपको शेयर भने ७ दशमलव ५ प्रतिशतले बढेको छ ।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले कम्पनीले वाल स्ट्रिटमा शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताएपछि एआई क्षेत्रको बजारमा दबाब थपिएको हो । यसले सफ्टबैङ्कसहित ओपनएआईका प्रारम्भिक लगानीकर्ताले ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ ।

एआई प्रविधिप्रतिको अत्यधिक उत्साहका कारण यस क्षेत्रका कम्पनीको शेयर मूल्य अस्वाभाविक रूपमा बढेको हुनसक्ने चिन्ता पनि लगानीकर्ताबीच बढेको छ । एआई विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने बहससमेत तीव्र भएको छ ।

यसैबीच, एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई विकासमा जानाजानी र विश्वव्यापी रूपमा केही सुस्तता ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन् । अमेरिकी तथा चिनियाँ कम्पनीबीचको तीव्र प्रतिस्पर्धाका कारण एआई विकासको गति समन्वयात्मक रूपमा सुस्त हुने सम्भावना भने अझै अनिश्चित रहेको विश्लेषकहरूको भनाइ छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य भने बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य २ दशमलव १९ प्रतिशतले बढेर प्रतिब्यारेल १०३ दशमलव ६१ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य पनि २ दशमलव १३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ दशमलव ९३ डलर पुगेको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध कायम रहेकाले मूल्य बढेको बताइएको छ । साउदी अरबको महत्त्वपूर्ण तेल पाइपलाइन गत साता भएको आक्रमणपछि केही हप्तासम्म अधिकांश समय बन्द रहने अधिकारीहरूले बताएका छन् ।

यसैगरी, स्ट्रेट अफ होर्मुजमा इरानी आक्रमणका कारण तेल ट्याङ्करको आवागमन प्रभावित हुँदा विश्वव्यापी तेल आपूर्तिप्रति थप चिन्ता बढेको छ ।

मुद्रा बजारमा अमेरिकी डलर १५४ दशमलव ३० येनबाट बढेर १५४ दशमलव ९९ येन पुगेको छ । युरोको मूल्य भने १ दशमलव १५५७ डलरबाट घटेर १ दशमलव १५३३ डलरमा झरेको छ ।

नेपालमा ७१ प्रतिशतभन्दा बढी मृत्यु नसर्ने रोगबाट

काठमाडौं । विश्वभर हुने कुल मृत्युमध्ये करिब ७५ प्रतिशत मानिसको मृत्यु मुटुरोग, क्यान्सर, दम र मधुमेहजस्ता नसर्ने दीर्घरोगका कारण हुने गरेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागले ‘विश्व बिरामी सुरक्षा दिवस २०२६’ का अवसरमा बुधबार जारी गरेको विज्ञप्तिमा नसर्ने रोग विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण बन्दै गएको जनाएको छ ।

नेपालमा पनि नसर्ने रोगको अवस्था चिन्ताजनक रहेको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशतभन्दा बढी मृत्यु नसर्ने दीर्घरोगका कारण हुने गरेको छ ।

विभागका अनुसार ७० वर्ष उमेर नपुग्दै हुने अल्पायु मृत्युमध्ये ८२ प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका विकासोन्मुख देशमा हुने गरेको छ । बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मानसिक तनाव, अनियन्त्रित सहरीकरण र प्रदूषणका साथै सुर्तीजन्य पदार्थ तथा मदिराको अत्यधिक सेवनले नसर्ने रोगको जोखिम बढाइरहेको विभागले जनाएको छ ।

‘सुरक्षित उपचार र निरन्तर हेरचाह, नसर्ने रोग व्यवस्थापनको बलियो आधार’ भन्ने मूल नाराका साथ यस वर्षको बिरामी सुरक्षा दिवस मनाइएको हो । दिवसले उपचारका क्रममा हुने त्रुटि न्यूनीकरण गर्न सुरक्षित चिकित्सा प्रणाली, निरन्तर निगरानी तथा गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिएको छ ।

विभागले बिरामीको सुरक्षा अस्पतालको चारदिवारभित्र मात्र सीमित नराखी समुदायस्तरदेखि नै गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ । विशेषगरी दीर्घरोग भएका बिरामीलाई नियमित उपचार, औषधि तथा आवश्यक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्नुपर्नेमा विभागले जोड दिएको छ ।

यसैबीच, प्राकृतिक विपद्का कारण स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती देखिएको विभागले जनाएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोटलगायत जिल्लामा स्वास्थ्य पूर्वाधार तथा नियमित स्वास्थ्य सेवा प्रभावित भएको विभागको भनाइ छ ।

विपद्को अवस्थामा समेत दीर्घरोगीहरू नियमित औषधि र उपचार सेवाबाट वञ्चित हुन नदिन प्रभावकारी विपद् व्यवस्थापन योजना आवश्यक रहेको विभागले जनाएको छ । स्वास्थ्य संस्थालाई विपद्का समयमा पनि सेवा प्रवाह गर्न सक्षम बनाउनुका साथै जीवनरक्षक औषधिको निरन्तर उपलब्धता सुनिश्चित गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयले जोड दिएको छ ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले सुरक्षित र निरन्तर स्वास्थ्य सेवा पाउनु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै बिरामी सुरक्षा स्वास्थ्यकर्मी, समुदाय र तीनै तहका सरकारको साझा जिम्मेवारी भएको जनाएको छ ।

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीका रथ निर्माण तथा मर्मत तीव्र

काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ । इन्द्रजात्राका लागि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ निर्माण तथा मर्मतसम्भारको काम धमाधम भइरहेको छ ।
इन्द्रजात्राका मुख्य आकर्षणका रूपमा रहेका तीनवटै रथलाई जात्राका क्रममा विधिवत् रूपमा तान्न सकिने गरी आवश्यक तयारी अघि बढाइएको हो । काठका संरचना जाँच गर्ने, आवश्यक मर्मत तथा रंगरोगन गर्ने र रथलाई सजाउने काम भइरहेको छ ।
काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाइने इन्द्रजात्रामा जीवित देवी कुमारी, गणेश र भैरवका रथ तान्ने परम्परा रहेको छ । जात्राका क्रममा हनुमानढोका, वसन्तपुर तथा आसपासका क्षेत्रमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन् ।
इन्द्रजात्राको अवसरमा लाखे नाच, पुलुकिसी, विभिन्न देवीदेवताका नाच तथा परम्परागत बाजागाजासहितका सांस्कृतिक गतिविधि पनि हुने गर्छन् । जात्रामा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट श्रद्धालु तथा सर्वसाधारण सहभागी हुने भएकाले हनुमानढोका दरबार क्षेत्र आसपासमा विशेष चहलपहल हुने गर्दछ ।
जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित निकायले रथयात्रा हुने मार्ग, भीड व्यवस्थापन, सुरक्षा तथा आवश्यक पूर्वाधारको तयारीसमेत अघि बढाउने तयारी गरेको छ ।
इन्द्रजात्रा काठमाडौंको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक सम्पदासँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको तयारीमा स्थानीय समुदाय र गुठीहरूको समेत सक्रिय सहभागिता रहने गरेको छ ।

महाधिवेशनअघि प्रतिस्पर्धी हौँ, शत्रु होइनौँ : नेता जनकराज पाठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समिति सदस्य जनकराज पाठकले पार्टीको महाधिवेशनअघि हुने आन्तरिक प्रतिस्पर्धा स्वस्थ, मर्यादित र पूर्णतः प्रजातान्त्रिक हुनुपर्ने बताएका छन् ।

महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र फरक धार, समूह र नेतृत्वका पक्षमा देखिएको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गर्दै पाठकले प्रतिस्पर्धाका नाममा आरोप-प्रत्यारोप, अपमान, गुटगत कटुता तथा व्यक्तिगत चरित्रमाथिको प्रहार नगर्न आग्रह गरेका छन् ।

‘महाधिवेशनअघि हुने आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हो। तर त्यो प्रतिस्पर्धा स्वस्थ, मर्यादित र पूर्णतः प्रजातान्त्रिक हुनुपर्छ’, पाठकले बताए ।

उनका अनुसार एउटै पार्टीभित्र फरक धार, फरक समूह र फरक नेतृत्वको पक्षमा उभिनु लोकतान्त्रिक अधिकार हाे ।

यस्तो अधिकार सबैलाई हुने भन्दै उनले प्रतिस्पर्धालाई स्वस्थ बहस र विचारको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘एउटै पार्टीभित्र फरक धार, फरक समूह र फरक नेतृत्वको पक्षमा उभिनु लोकतान्त्रिक अधिकार र संगठनको जीवन्तताको प्रमाण हो । यसरी उभिन सबैलाई छुट हुन्छ,’ उनले भनेका छन् ।

तर प्रतिस्पर्धाका नाममा हुने व्यक्तिगत आक्षेप र कटुताले पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ ।

‘महाधिवेशनअघि हामी प्रतिस्पर्धी हौँ, शत्रु होइनौँ । आज मत फरक हुन सक्छ, तर भोलि एउटै झण्डामुनि एउटै अभियानका सहयात्री हुनुपर्छ, यो सत्य भुल्नु हुँदैन,’ पाठकले लेखेका छन् ।

महाधिवेशन नेतृत्व छनोट गर्ने अवसर भएको भन्दै उनले यसलाई सम्बन्ध तोड्ने माध्यम बनाउन नहुने बताएका छन् । उनका अनुसार प्रतिस्पर्धा संगठन भाड्न नभई अझ बलियो बनाउन केन्द्रित हुनुपर्छ ।

लाइक-भ्युजको होडमा आईसीयू नै प्रचारबाजीको केन्द्र, प्रमुख सचेतक मेचेकाे आपत्ति

काठमाडौं । राष्ट्रिय सभाकी एमाले प्रमुख सचेतक रोश्‍नी मेचेले वीरेन्द्र सैनिक अस्पतालको आईसीयू कक्षभित्रै बिरामीको अन्तर्वार्ता लिने र दिने कार्यप्रति आपत्ति जनाएकी छन् ।

उनले अस्पतालको आईसीयूजस्तो संवेदनशील स्थानमा पुगेर अन्तर्वार्ता लिनु चिकित्सा आचारसंहिता र सञ्चार मर्यादा दुवैको गम्भीर उल्लंघन भएको टिप्पणी गरेकी हुन् ।

मेचेले बिरामीको गोपनीयता, स्वास्थ्य सुरक्षा र न्यूनतम मानवीय संवेदनासमेतलाई बेवास्ता गरिएको भन्दै प्रश्न उठाएकी छन् ।

लाइक्स्, शेयर र भ्युजको होडबाजीमा अस्पतालजस्तो अत्यन्त संवेदनशील स्थललाई प्रचारवाजीको केन्द्र बनाउनु कुन हदसम्मको उचित हो ?’

भोटेकोशी–त्रिशूली बाढीपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह र कविर महर्जनसँग युट्युबर सुरजसिंह ठकुरीले आईसीयू कक्षमै पुगेर अन्तर्वार्ता लिएका थिए । क्यामेरा, लाइट र माइकसहित आईसीयूभित्र प्रवेश गरेर दुई घण्टाभन्दा बढी समय ‘सुटिङ’ गरिएको पाइएकाे छ ।

अन्तर्वार्ताका लागि नेपाली सेनाकै तर्फबाट चाँजोपाँजो मिलाइएको विवरणसमेत सार्वजनिक भएपछि घटनामाथि थप प्रश्न उठेको छ । यद्यपि, घटनाबारे नेपाली सेनाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘बुझ्ने काम भइरहेकाे’ बताइरहेका छन् ।

भोटेकोशी बाढीपछि सुरुङमा फसेका मजदुर तथा प्राविधिकको उद्धारका लागि बालेन सरकारले १६ भदाैसम्म (सात दिन) नेपाली सेनालाई मात्रै परिचालन गरेकाे थियाे । तर सुरुङबाट उद्धार सम्भव नभएको भन्दै सेना र सरकारले हात उठाए । यस्ताे अवस्थामा ऊर्जा प्रवद्र्धक, विदेशी उद्धारकर्ता तथा नेपाल प्रहरी, सशस्र प्रहरी र सेना पिन मिलेर महर्जन र साहलाई सुरुङबाट उद्धार गरेर सकुशल बाहिर निकालेका थिए ।

यसपछि भने सेनाले आफ्नै प्रयासबाट मात्रै उद्धार सम्भव भएको सन्देश दिन सैनिक अस्पतालको आईसीयूमा उपचाररत उद्धार गरिएका व्यक्तिसँग अन्तर्वार्ता लिन चाँजोपाँजो मिलाएको आराेप लाग्दै आएकाे छ । यही घटनाप्रति मेचेले गम्भीर आपत्ति जनाएकी हुन् ।

यस विषयमा मंगलबार प्रतिनिधिसभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले पनि सेनाको भूमिकामाथि प्रश्न उठाएकी थिइन् । उनले घटनाको छानबिन गर्नुपर्ने माग गरेकी थिइन् ।

शशांकले तोके पाँचथरमा डेकेन्द्रकुमार तामाङलाई संयोजक

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षीय नेता डा. शशांक कोइरालाले पाँचथरमा डेकेन्द्रकुमार तामाङलाई संयोजक तोकेको छ । तामाङ पार्टीको जिल्ला सचिव हुन् ।

गत साउनको अन्तिम साता शेरबहादुर देउवा हङकङदेखि स्वदेश फर्किँदा स्वागत गर्न पुगेका तामाङ त्यसयता कोइराला खेमामा प्रष्टसँग खुलेका छन् ।

उनलाई पाँचथरका कतिपय नेताको राय सुझाव र केन्द्रीय प्रतिनिधि सूर्यकुमार दाहालको सिफारिसमा पाँचथर जिल्ला संयोजक तोकेको डा. कोइरालाले बताएका छन् ।

उनका अनुसार १५ असोजदेखि ४ मंसिरसम्ममा प्रदेश अधिवेशनहरू सम्पन्न गर्नुपर्ने छ । तिनै विभिन्न तहका अधिवेशन सम्पन्न गर्नेगरी तामाङलाई संयोजक तोकिएको कोइरालाले गरेको परिपत्रमा उल्लेख छ ।

डा. कोइरालाले कांग्रेसको स्थापित मूल्यमान्यताअनुसार संयोजक तामाङले संगठन विस्तार गर्ने विश्वास लिएको समेत बताए ।

दाहालको दल फेराइ : जता फाइदा, उतै दौडिने ‘नयाँ कांग्रेसी’

ओखलढुङ्गा। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा ओखलढुङ्गा कांग्रेसमा ‘नयाँ कांग्रेसी’को चर्चा चुलिएको छ।

विगतमा कांग्रेस छाडेर अन्य राजनीतिक दलमा आबद्ध भएका केही व्यक्तिहरू महाधिवेशन लक्षित गतिविधिमा सक्रिय हुन थालेपछि लामो समयदेखि पार्टीमा क्रियाशील कांग्रेस कार्यकर्ताबीच असन्तुष्टि देखिन थालेको हो।

कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिसमेत रहेका गोपी दाहाल त्यसपछि पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको र हालसम्म पनि उक्त पार्टीको सदस्यता नत्यागेको दाबी कांग्रेस वृत्तमा गरिएको छ।

तर पछिल्लो समय दाहाल कांग्रेसका गतिविधिमा सक्रिय देखिन थालेपछि उनको राजनीतिक भूमिकालाई लिएर कांग्रेसभित्रै प्रश्न उठ्न थालेको बताइन्छ।

केही कांग्रेस कार्यकर्ताले विगतमा पार्टी छाडेर अर्को दलमा आबद्ध भएका व्यक्ति महाधिवेशनको मुखमा पुनः कांग्रेसको सक्रिय राजनीतिमा देखिनुलाई अवसरवादी प्रवृत्तिका रूपमा व्याख्या गरेका छन्।

‘हिजो कांग्रेस छाडेर अर्को पार्टीको सदस्यता लिने, आज महाधिवेशनको मुखमा फेरि कांग्रेसको अब्बल नेता बन्ने ?’ भन्दै उनीहरूले प्रश्न उठाएका छन्।

कार्यकर्ताहरूले यस्तो प्रवृत्तिले वर्षौंदेखि पार्टीमा निरन्तर खटिएका नेता-कार्यकर्ताको योगदान र निष्ठालाई ओझेलमा पार्न सक्ने बताएका छन्।

महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र आउने-जाने राजनीतिक प्रवृत्ति र अवसरअनुसार दल परिवर्तन गर्ने संस्कारबारे बहस सुरु भएको छ।

कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय रहेका कार्यकर्ताको योगदानलाई प्राथमिकता दिने कि पछिल्लो समय सक्रिय भएकालाई पनि समान अवसर दिने भन्ने विषय अब महाधिवेशनको तयारीसँगै थप पेचिलो बन्ने देखिएको छ।

एसियाली खेलकुदको मुखैमा राखेपले हटायो दुई टिम मेनेजर

काठमाडौं । एसियाली खेलकुद प्रतियोगिता २०२६ नजिकिँदै गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई खेलका टिम मेनेजरको नाम अन्तिम समयमा हटाएको छ।

राखेपले उसुका टिम मेनेजर नवराज ढुंगाना र टेबल टेनिसका टिम मेनेजर कुबेरप्रकाश सिंहको नाम हटाएको हो। दुवै सम्बन्धित खेल संघका महासचिव हुन्।

ढुंगाना नेपाल उसु महासंघका महासचिव हुन् भने सिंह नेपाल टेबल टेनिस संघका महासचिव हुन्। उनीहरूको नाम हटाइएपछि नयाँ टिम मेनेजर कसलाई नियुक्त गरिएको हो भन्नेबारे भने राखेपले स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।

ढुंगानाका अनुसार राखेपकै मागअनुसार महासंघले उनको नाम टिम मेनेजरका रूपमा पठाएको थियो। एसियाली खेलकुदको तयारी तथा नेपाल ओलम्पिक कमिटीसँग सम्बन्धित विभिन्न काममा समेत आफू प्रत्यक्ष संलग्न रहेको अवस्थामा अन्तिम समयमा नाम हटाइएको उनले बताए।

टेबल टेनिस संघले भने आफ्ना महासचिव सिंहको नाम अन्तिम समयमा हटाइएकोप्रति औपचारिक आपत्ति जनाएको छ।

संघका अध्यक्ष विजेन्द्र हमालले जारी गरेको विज्ञप्तिमा राखेपले करिब सात महिनाअघि माग गरेअनुसार संघको बैठकबाट खेलाडी र प्रशिक्षकसँगै टिम मेनेजरका रूपमा सिंहको नाम पठाइएको उल्लेख छ।

त्यसपछि सिंहले नेपाल ओलम्पिक कमिटीले आयोजना गरेका एसियाली खेलकुदसम्बन्धी दुईवटा बैठकमा समेत टिम मेनेजरका रूपमा सहभागिता जनाइसकेको संघले जनाएको छ।

तर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका बेला उनको नाम हटाइएको भन्दै संघले असन्तुष्टि जनाएको हो।

संघका अनुसार जिम्मेवारीअनुसार काम गरिरहेका व्यक्तिको नाम अन्तिम अवस्थामा हटाउँदा सिंह निराश भएका छन्। यसले टेबल टेनिस खेलको संस्थागत विकासमा समेत नकारात्मक असर पर्न सक्ने संघको दाबी छ।

गृहमन्त्रीमाथिको ४५ पृष्ठे छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिनको ४५ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै केरुङले प्रतिवेदन सार्वजनिक नगरी गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरिएको भन्दै सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्न उठाए।

गुरुङको सम्पत्ति, सेयर लगानी तथा विवादित व्यवसायीसँगको सम्बन्धबारे प्रश्न उठेपछि सरकारले छानबिन समिति गठन गरेको थियो। स्वार्थको द्वन्द्व नहोस् र आफूमाथि निष्पक्ष छानबिन होस् भन्दै गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले गुरुङको सम्पत्ति, आम्दानीको स्रोत, ऋण, सेयर लगानी, बैंक मौज्दातलगायत विषयमा अध्ययन गरी ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो।

केरुङका अनुसार समितिले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रहसमेत गरेको थियो। जेठ २६ गते मन्त्रिपरिषद्ले प्रतिवेदन ग्रहण गरेपछि गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका थिए।

प्रतिवेदनकै आधारमा गुरुङलाई पुनः मन्त्री बनाइएको भए त्यसको आधार सार्वजनिक गर्नुपर्ने केरुङको भनाइ छ।

‘सम्पत्ति, सेयर लगानी र विवादित व्यवसायीसँगको सम्बन्धबारे प्रश्न उठेपछि कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नहोस् र आफूविरुद्ध निष्पक्ष छानबिन होस् भनेर गृहमन्त्रीले राजीनामा दिनुभएको थियो,’ उनले भने, ‘सार्वजनिक पदमा प्रश्न उठेपछि छानबिनका लागि मार्ग प्रशस्त गर्ने यो प्रकरणले राजनीतिक संस्कारको प्रारम्भ गर्ला भन्ने सभ्य समाजलाई लागेको थियो।’

उनले प्रतिवेदन सार्वजनिक नगरी त्यसकै आधारमा गृहमन्त्री पुनः नियुक्त गरिनु नागरिकले सरकारमाथि प्रश्न गर्ने ठाउँ बनेको बताए।

‘यदि त्यो ४५ पृष्ठको प्रतिवेदन फेरि देशको गृहमन्त्री बनाउन पर्याप्त आधार थियो भने संसद् र जनतालाई नदेखाई बिरालोले आँखा लुकाएजस्तै किन लुकाउनुपर्‍यो ?’ केरुङले प्रश्न गरे।

उनका अनुसार अहिले प्रश्न गृहमन्त्रीको व्यक्तिगत सम्पत्तिभन्दा पनि सरकारले छानबिन प्रक्रियालाई कसरी सार्वजनिक गर्छ भन्नेमा केन्द्रित भएको छ।

केरुङले प्रतिवेदनका आधारमा सरकारले गुरुङलाई पुनः जिम्मेवारी दिएको हो भने त्यसको निष्कर्ष र आधार जनताले थाहा पाउनुपर्ने बताए।

‘प्रतिवेदनअनुसार सरकारले उहाँमाथि सुनपानी छर्केर चोख्याएको देखिने, तर नागरिकले त्यो निष्कर्ष कुन प्रमाण, कुन बयान र कुन आधारमा आयो भनेर हेर्न नपाउने ? यो कस्तो पारदर्शिता र सुशासन हो ?’ उनले भने।

उनले छानबिन समितिले तयार पारेको प्रतिवेदन संसद् र जनतासामु सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरे।

‘यदि प्रतिवेदनले गृहमन्त्रीलाई निर्दोष ठहर गरेको हो भने त्यसको ठोस आधार, प्रमाण र बयान सार्वजनिक गरियोस्,’ केरुङले भने।

इतर पक्षको महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।

मंगलबार अपिल जारी गर्दै देउवाले पार्टीको विधि, विधान, पद्धति र परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन आयोजना गरिएको दाबी गरेका छन्। उनले उक्त विशेष महाधिवेशनबाट बनेको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन पार्टी पंक्तिलाई आग्रह गरेका हुन्।

विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले अदालतबाट अन्तिम फैसला आउनुअघि त्यससँग सम्बन्धित महाधिवेशन प्रक्रिया अघि बढाउनु कानुनी र संवैधानिक मान्यताविपरीत हुने बताएका छन्।

उनका अनुसार सर्वोच्च अदालतको पूर्ण इजलासले समेत पुनरावलोकनको निस्सा प्रदान गरिसकेको छ। यसले विशेष महाधिवेशनको वैधतामाथि गम्भीर संवैधानिक तथा कानुनी प्रश्न कायमै रहेको उनको भनाइ छ।

देउवाले पार्टीका अनुभवी नेतृत्वबाट निर्वाचन जित्न नसकिने निष्कर्षका आधारमा विशेष महाधिवेशन गरिएको भन्ने दाबी पनि गरेका छन्। पछिल्लो निर्वाचन परिणामले त्यस्तो दाबीलाई गलत प्रमाणित गरिसकेको उनको जिकिर छ।

बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिता र समर्थनबिना महाधिवेशन अघि बढाउनु पार्टीलाई कमजोर बनाउने प्रयास भएको देउवाले बताएका छन्। उनले अवैधानिक रूपमा भएको विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन सम्पूर्ण नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीको लोभ नरहेको पनि बताएका छन्। तर, देश र पार्टीले आफ्नो अनुभवको आवश्यकता महसुस गरेमा जीवनको अन्तिम समयसम्म जिम्मेवारी निर्वाह गर्न आफू तयार रहेको उनको भनाइ छ।

देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको देउवाले उल्लेख गरेका छन्।

पार्टीलाई कमजोर बनाउने गतिविधि भइरहँदा आफू मौन बस्न नसक्ने बताउँदै उनले कांग्रेसका नेता-कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकताबद्ध हुन आग्रह गरेका छन्।

उनले आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनलाई सफल बनाउन तयारीमा जुट्नसमेत सबैलाई आह्वान गरेका छन्।

खुश्बुको सरकारलाई प्रश्न -‘के यो न्यायोचित हो?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले तराई-मधेसमा बढ्दै गएको धार्मिक तनाव, महँगी, कालोबजारी र अवैध गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले धार्मिक द्वन्द्वका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा बजारमा भइरहेको मनपरी नियन्त्रण गर्न सरकारसँग माग गरिन्।

उनले केही समययता तराई–मधेसमा भएका धार्मिक द्वन्द्वका घटनाले मानवीय क्षति हुनुका साथै सामाजिक सद्भावमै प्रश्न उठाएको बताइन्।

‘धार्मिक द्वन्द्व र हिंसाले देशलाई कहाँ पुर्‍याउँछ ? सरकारले उक्त घटनाको प्रतिवेदन सार्वजनिक गरी दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्छ,’ उनले भनिन्।

ओलीले तराई–मधेसमा सनातन हिन्दु आस्था बोकेका युवाहरूलाई धरपकड गरिएको भन्दै त्यसप्रति समेत प्रश्न उठाइन्। राज्यले कुनै पनि समुदाय वा आस्थामाथि विभेद गर्न नहुने उनको भनाइ थियो।

‘के यो न्यायोचित हो ? यसले थप द्वन्द्व र टकरावको बीउ रोपेको छैन ?’ उनले प्रश्न गरिन्।

प्रमुख सचेतक ओलीले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै सरकारको बजार अनुगमनमाथि प्रश्न उठाइन्।

खसीको मासु, चामल, चिनी लगायतका अत्यावश्यक वस्तुको मूल्य आकासिँदा त्यसको प्रत्यक्ष मार न्यून आय भएका नागरिकमाथि परेको उनले बताइन्।

‘खसीको मासु, चामल, चिनी लगायतका अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ। यो महँगीले गरिब जनतालाई कसरी बाँच्ने भन्ने चिन्ता थपेको छ,’ उनले भनिन्।

उनले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र उपभोक्तालाई ठगी गर्ने व्यवसायीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरिन्। चाडपर्वको मौका छोपेर बजारमा मनपरी हुन नदिन प्रभावकारी अनुगमन आवश्यक रहेको उनको भनाइ थियो।

त्यस्तै, तराईका विभिन्न नाकाबाट भइरहेको गौ-तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रणमा समेत सरकार गम्भीर बन्नुपर्ने उनले बताइन्।

सांसद ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयबाट जारी भएको विज्ञप्तिको विषयलाई समेत प्रतिनिधिसभामा उठाइन्।

उक्त विज्ञप्तिले हिन्दु धर्म तथा परम्परामाथि प्रहार गरेको आरोप लगाउँदै उनले यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा थप असर पार्न सक्ने बताइन्।

‘के यो सरकारको अभिव्यक्ति र आचरणले नागरिकलाई आजित बनाएको छैन ? हिन्दु परम्परामाथि प्रहार गरेर के देशको हित हुन्छ ?’ उनले प्रश्न गरिन्।

उनले सरकारमा रहेका मन्त्री तथा राजनीतिक नेतृत्वबाट आउने अभिव्यक्तिमा संयमता आवश्यक रहेको बताउँदै सबै धर्म, संस्कृति र समुदायको सम्मान हुने वातावरण निर्माण गर्न सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।

‘सबै धर्म र संस्कृतिको सम्मान गर्दै देशको गौरव बचाउन सरकारले आफ्नो आँखा र कान खोल्नुपर्छ,’ ओलीले भनिन्।

उनले सरकारको पछिल्लो कार्यशैली तथा विभिन्न मन्त्रालयको कामकारबाहीप्रति समेत असन्तुष्टि जनाउँदै शान्ति-सुव्यवस्था कायम गर्न, धार्मिक सद्भाव जोगाउन र महँगी तथा कालोबजारी नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न सरकारलाई आग्रह गरिन्।