`

लाखौं ठगी गरेर बेपत्ता भएका दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ४५ वर्षीय गंगाबहादुर कटुवाल र सर्लाहीको हरिवन नगरपालिका–२ घर भई काठमाडौं बस्ने ३८ वर्षीय हेमबहादुर बोम्जन रहेका छन्।

पक्राउ परेकामध्ये कटुवालले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

त्यस्तै, बोम्जनले पनि जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

ठगी गरेर बेपत्ता भएका कटुवाललाई प्रहरीले काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो। त्यस्तै, बोम्जनलाई काठमाडौं महानगरपालिका–२८ बाट पक्राउ गरिएको जनाइएको छ।

प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ।

सञ्चार सेवा कमसल : ‘हेलो, हेलो आवाज आइराख्या छ?’

काठमाडौं । मकवानपुरका ग्रामीण क्षेत्रमा गुणस्तरीय टेलिफोन सेवा उपलब्ध नभएको विषय प्रतिनिधिसभामा उठेको छ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ का सांसद प्रशान्त उप्रेतीले थाहा, कैलाश, राक्सिराङ, मनहरी र भीमफेदीलगायतका क्षेत्रमा नागरिकले भरपर्दो टेलिफोन सेवा नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फोन गर्दा पटक-पटक ‘हेलो, हेलो’ भन्दै आवाज आए-नआएको सोध्नुपर्ने अवस्था रहेको बताए।

‘हेलो, हेलो । आवाज आइराख्या छ ?’ भनेर हरेकपटक सोध्नुपर्ने अवस्था मकवानपुरका नागरिकले भोगिरहेका छन्,’ उनले भने।

सांसद उप्रेतीले विश्वका मुलुकहरू फाइभजी हुँदै सिक्सजी प्रविधिको परीक्षणमा लागिरहेका बेला नेपालका कतिपय नागरिक भने सामान्य टेलिफोन सेवासमेत सहज रूपमा प्रयोग गर्न नपाउने अवस्थामा रहेको बताए।

उनले प्रविधिको तीव्र विकास, कृत्रिम बौद्धिकता (एआई) को सम्भावना तथा त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीबारे विश्वभर बहस भइरहेका बेला नेपालमा भने आधारभूत सञ्चार सेवाकै समस्या रहनु दुःखद भएको बताए।

विशेषगरी ग्रामीण क्षेत्रमा रहेका नागरिकलाई विदेशमा रहेका आफन्तसँग समेत सहज रूपमा कुराकानी गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।

उप्रेतीले मकवानपुरका ती क्षेत्रमा टेलिफोन तथा सञ्चार सेवा सुधारका लागि तत्काल पहल गर्न सूचना तथा सञ्चार मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

उनले सञ्चार सेवा अब विलासिताको विषय नभई नागरिकको आधारभूत आवश्यकता बनिसकेकाले दुर्गम तथा ग्रामीण क्षेत्रलाई पनि गुणस्तरीय दूरसञ्चार सेवासँग जोड्न सरकार गम्भीर हुनुपर्ने बताए।

नयाँ कार्यायोजनासँगै नेप्से लाग्यो उकालो

काठमाडौं। सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा सकारात्मक परिवर्तन ल्याएको छ।

मंगलवार बजार परिसूचक नेप्से ४८.५७ अंक (१.८७ प्रतिशत) बढेको छ ।

बजार वृद्धिपछि नेप्से परिसूचक २६३३ अंकमा कायम रहेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेसहित बजार सुधारको कार्यायोजना सार्वजनिक गरेका हुन् ।

 कार्ययोजना लागु भएसँगै लगानिकर्तामा हौसला बढेको छ ।

कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज ८ अर्ब २९ करोडको कारोबार भएको छ । सोमवार ४ अर्ब ६८ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम २ महिना यताकै सबैभन्दा उच्च हो ।

मंगलवार सबै समूहगत सूचक बढेको छ । बैंकिङ १.९०, विकास बैंक १.७६, फाइनान्स २.२३, होटल तथा पर्यटन १.४२, जलविद्युत् १.८४, लगानी २.५२, जीवन बीमा २.५९, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स १.७५, निर्जीवन बीमा २.८२, अन्य २.१२ र व्यापार ०.९२ प्रतिशत बढेको छ ।

आज २६५ कम्पनीको मूल्य बढेको छ । १२ कम्पनी घाटामा छ भने एउटा स्थिर रहेको छ । धौलागिरि लघुवित्तको १४.९६, सिन्धु विकास बैंकको ११.०३, मल्टिपर्पस फाइनान्सको ९.७३, जानाकी फाइनान्सको ८.०६, मिडसोलु हाइड्रोपावरको ६.६७ प्रतिशत मूल्य बढेको छ ।

त्यस्तै, बोटलर्स नेपाल बालाजुको २.९७, रिलायन्स स्पिनिङ मिल्सको १.९४, सर्वोत्तम पेन्टसको १.६६ प्रतिशत मूल्य घट्यो। 

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा लक्ष्मी सनराइज बैंक अगाडि रहेको छ।

अमरेशको दौडाहाले तात्यो मधेश,रवि-बालेन सशंकित

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले पार्टी र सरकारको नेतृत्वमाथि खुलेर असन्तुष्टि जनाएपछि उनको मधेश केन्द्रित राजनीतिक सक्रियता बढेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङसहित पार्टी नेतृत्वको कार्यशैलीमाथि संसद्मै प्रश्न उठाउँदै आएका सिंहले छठपछि मधेशमा पदयात्रा गर्ने घोषणा गरेका छन्। त्यसको पूर्वतयारीका रूपमा उनी पछिल्ला दिनमा मधेशका विभिन्न जिल्लामा पुगेर राजनीतिक भेटघाट र अन्तरसंवाद गरिरहेका छन्।

सिंहले रुपन्देही र कपिलवस्तु पुगेर विभिन्न दलसँग आबद्ध तथा प्रभावशाली नेताहरूसँग भेट गरेका छन्। उनले ती भेटघाटलाई आफ्नो आगामी पदयात्राको तयारीका रूपमा प्रस्तुत गरेका छन्।

‘छठपछि हुने मेरो पदयात्राको पूर्वतयारीका लागि आज कपिलवस्तु र भैरहवामा भेटघाट तथा अन्तरक्रिया, आज र भोलि भैरहवा र कपिलवस्तुमा हुनेछु,’ सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।

कपिलवस्तुमा सिंहले कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा भारतका पूर्वराजदूत दीपकुमार उपाध्याय, कांग्रेस नेता अभिषेकप्रताप शाह, नेकपाका नेता बृजेश गुप्ता, दानबहादुर चौधरी, ईश्वरदयाल मिश्र, मिर्जारसिद बेगलगायतसँग भेटघाट गरेका छन्।

पूर्वराजदूत उपाध्यायले सिंहसँग जिल्लामा भेट भएको र उनको प्रस्तावित मधेश पदयात्राबारे छलफल भएको बताए।

कांग्रेस नेता तथा कपिलवस्तु–३ का सांसद अभिषेकप्रताप शाहले पनि सिंहसँग आफ्नै निवासमा भेट भएको र समसामयिक विषयमा कुराकानी भएको बताएका छन्।

रुपन्देहीमा पनि सिंहले रास्वपाका नेता, सांसद तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका छन्। रुपन्देही–५ का सांसद तौफिफ खानसँग भेट गर्नुका साथै बुटवलमा आयोजित अन्तरसंवादमा समेत उनी सहभागी भएका थिए।

रास्वपा रुपन्देहीका सचिव ज्ञानेन्द्र पाण्डेका अनुसार सिंह केही दिनयता रुपन्देही र कपिलवस्तुका विभिन्न स्थानमा भेटघाट गरेर काठमाडौं फर्किएका छन्।

सिंहले पछिल्लो समय सरकार र आफ्नै पार्टीको कार्यशैलीमाथि लगातार प्रश्न उठाउँदै आएका छन्। उनले रास्वपा संसदीय दलको बैठकमै मधेशमा ठूलो असन्तुष्टि रहेको र छठपछि मधेशमा पुग्दा पार्टीका सांसदहरूले जनताको आक्रोश सामना गर्नुपर्ने चेतावनी दिएका थिए।

उनको यही अभिव्यक्तिपछि अहिलेको मधेश दौडाहालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

तर सिंहको सक्रियतालाई लिएर सामाजिक सञ्जालमा भने समर्थनभन्दा आलोचनाका आवाज बढी देखिएका छन्। पार्टीका केही शुभेच्छुकले सरकार र पार्टीलाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन आग्रह गरेका छन् भने केहीले उनको गतिविधिलाई व्यक्तिगत राजनीतिक महत्वाकांक्षासँग जोडेर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा सिंहलाई पार्टीभित्रैबाट असहयोग गरिरहेको आरोप लगाउनेदेखि सरकारलाई खबरदारी गर्नु सकारात्मक भए पनि स्थिरता खलबल्याउने गतिविधि नगर्न आग्रह गर्नेसम्मका टिप्पणी छन्।

सिंहले सरकार र पार्टी नेतृत्वमाथि आलोचना गरेपछि आचार्य श्रीनिवासले पनि उनको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन्। उनले सिंहमाथि रास्वपालाई कमजोर बनाउने र विभाजनतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाएका छन्।

यस्तै, जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक यादवले सिंहको लुम्बिनी तथा सुदूरपश्चिम क्षेत्रमा बढ्दो राजनीतिक सक्रियतामाथि प्रश्न उठाएका छन्।

उनले सिंहको सक्रियता जनसेवाका लागि हो वा व्यक्तिगत राजनीतिक विस्तारका लागि भन्ने प्रश्न गर्दै राजनीतिक पारदर्शिता र जवाफदेहिताको आवश्यकता औंल्याएका छन्।

यादवले सिंहको विगतको राजनीतिक भूमिकालाई लिएर विभिन्न किसिमका आरोप सार्वजनिक बहसमा आउने गरेको उल्लेख गर्दै प्रमाणबिना कसैलाई विदेशी एजेन्ट भन्न नहुने, तर त्यस्ता प्रश्न उठेपछि राजनीतिक रूपमा स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

सिंहको मधेश पदयात्रालाई कतिपयले रास्वपाभित्रै नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावनासँग जोडेर हेर्न थालेका छन्। मधेशमा अन्य दलका असन्तुष्ट तथा प्रभावशाली नेतासँग सिंहले गरिरहेको भेटघाटले पनि यस्तो आशंकालाई थप बल दिएको छ।

तर सिंहको वास्तविक राजनीतिक उद्देश्य भने पदयात्रा सुरु भएपछि मात्रै थप स्पष्ट हुने देखिन्छ।

सिंहले मधेशमा असन्तुष्टि बढेको दाबी गर्दै आएका छन्। छठपछि मधेशमा रास्वपाका सांसदले जनताको आक्रोश सामना गर्नुपर्ने उनको चेतावनीले उनको आगामी अभियानलाई अझ चासोको विषय बनाएको छ।

राजेन्द्र लिङ्देनको ‘हैकमवादी शैली’विरुद्ध सांसद-मन्त्रीकाे विद्रोह !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति बागमती प्रदेशका मन्त्री तथा सांसदहरूले कडा असन्तुष्टि जनाएका छन् । अध्यक्ष लिङ्देनले पार्टीभित्र ‘हैकमवादी’ र ‘निरंकुश’ शैली अपनाएको भन्दै उनीहरूले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहित प्रदेशका मन्त्री तथा सांसदहरूले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष लिङ्देनलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । उनीहरूले बुझाउने ज्ञापनपत्र दबाबपत्रकै रूपमा रहेको बताएका छन् ।

दलका नेता उद्धव थापाले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा आफूहरू एकजुट भएको बताए ।

‘अध्यक्ष लिङ्देनको जुन केन्द्रित सोच देखियो, जुन निरंकुश शैली देखियो, यो हामीलाई सह्य छैन,’ थापाले भने, ‘अध्यक्षको यस्तो शैलीको हामी सशक्त प्रतिवाद गर्छौं ।’

बागमती प्रदेशका स्वास्थ्यमन्त्री गिरबहादुर तामाङले पनि अध्यक्ष लिङ्देनको शैली गलत भएको बताएका छन् । उनले पार्टीभित्रको समस्या नसच्याए राप्रपाको एकतामाथि नै प्रश्न उठ्ने चेतावनी दिए ।

‘अध्यक्षज्यू, जे गर्दै हुनुहुन्छ र उहाँले हामीलाई जसरी कारबाही गर्ने प्रयास गर्नुभयो, त्यो ठीक थिएन,’ तामाङले भने, ‘यसको हामी सशक्त विरोध गर्छौं ।’

बागमती प्रदेशमा यही भदौ पहिलो साता एमाले सांसद किरण थापा मगर मुख्यमन्त्री बनेपछि राप्रपाभित्र विवाद चर्किएको हो । नेपाली कम्युनिस्ट पार्टीसँग देशभरका प्रदेशमा सत्ता गठबन्धन भए पनि बागमतीमा दुई दलको बहुमत पुगेन । त्यसपछि राप्रपा संसदीय दलका नेता उद्धव थापा, गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिले मुख्यमन्त्री थापा मगरलाई समर्थन गरेका थिए ।

उनीहरूको समर्थनकै कारण प्रदेश मध्यावधि निर्वाचनमा जानबाट जोगिएको उनीहरूको दाबी छ । तर, राप्रपा अध्यक्ष लिङ्देनले भने पार्टीको निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै थापासहित तामाङ, विष्ट र प्रजापतिमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए ।

लिङ्देनले उनीहरूलाई कारबाही गर्दै पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्राचार गरेका थिए । तर, राप्रपाका महामन्त्रीसमेत रहेका बागमती प्रदेश सभामुख भुवन पाठकले राजीनामा दिइसकेको अवस्था र उपसभामुख रहेकी एमालेकी अप्सरा चापागाईंले लिङ्देनको सिफारिसअनुसार कारबाही नगरेपछि अध्यक्षको प्रयास तत्काल सफल हुन सकेन ।

यसबीच मुख्यमन्त्री थापा मगरले राप्रपा संसदीय दलका नेता उद्धव थापाबाहेक बाँकी तीन जनालाई प्रदेश सरकारमा मन्त्री बनाएपछि विवाद थप चर्किएको हो ।

राप्रपा अध्यक्ष लिङ्देन भने पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको विषयलाई लिएर थप आक्रोशित बनेका छन् । प्रदेशका नेता तथा मन्त्रीहरूले भने अध्यक्षको कारबाही शैली र पार्टी सञ्चालनको तौरतरिकामाथि नै प्रश्न उठाउँदै प्रतिवाद गर्ने तयारी गरेका छन् ।

राप्रपा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा रहेको पार्टी हो । तर, अध्यक्ष लिङ्देन स्वयं ३ माघ २०७९ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री बनेका थिए । गणतन्त्रात्मक व्यवस्थाको सरकारमा करिब ४० दिन मन्त्री बनेका लिङ्देनमाथि अहिले प्रदेशका नेताहरूले समेत उनको विगतको राजनीतिक व्यवहार र अहिलेको कार्यशैलीबीचको विरोधाभासबारे प्रश्न उठाउन थालेका छन् ।

जोखिममा रहेका बस्ती तुरुन्त सार्न सांसद ठगुन्नाको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अविलम्ब विज्ञ टोली पठाई आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।

उनले दार्चुलाको व्यास गाउँपालिका–४ स्थित मडगाउँ बस्तीमाथिबाट जमिन भासिँदा तीन दर्जन घर क्षतिग्रस्त भएको र स्थानीयवासी विस्थापित भएको बताए।

विस्थापित नागरिकलाई तत्काल अस्थायी बसोबास र राहतको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।

यसैगरी, भदौ २८ गते नौगाड गाउँपालिका–४ स्थित सिफ्टी गैरा बस्तीमाथिबाट पहिरो खसेपछि उक्त बस्ती जोखिममा रहेको भन्दै बस्ती संरक्षणका लागि आवश्यक व्यवस्थापन गर्न उनले आग्रह गरे।

त्यस्तै, उनले दैवी प्रकोपका घटनामा तत्काल राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय दैवी प्रकोप उद्धार समितिमार्फत थप बजेट जिल्ला दैवी प्रकोप उद्धार समितिलाई उपलब्ध गराउन पनि माग गरे।

रवि, बालेन, सुधन र सागरले जवाफ दिनैपर्छ

काठमाडौं। नेपालको राजनीति कहाँबाट चलिरहेको छ? नेपाली जनताको मतबाट कि बाह्य शक्तिले तयार पारेको राजनीतिक डिजाइनबाट? यो प्रश्न अहिले सामान्य राजनीतिक बहसको विषय मात्र रहेन। अमेरिकी सहयोगमा सञ्चालित भनिएको कार्यक्रमका ‘लिक’ दस्तावेजमा रवि लामिछाने, बालेन्द्र शाह, सुधन गुरुङ र सागर ढकालको नाम ‘क्याटालिटिक सिभिक लिडरर्स’ का रूपमा उल्लेख भएको दाबी सार्वजनिक भएपछि यो प्रश्न झन् गम्भीर बनेको छ।

द ग्रे जोनले सार्वजनिक गरेको दस्तावेजसहितकाे समाचार अनुसार नेपालमा सन् २०१७ देखि २०२२ सम्म सञ्चालित ‘नीति संवाद’ परियोजनाका लागि अमेरिकी सरकारबाट करिब २० मिलियन डलर सहयोग भएको थियो। उक्त परियोजनामा आईआरआई, आईएफईएस र एनडीआईजस्ता संस्थाहरू संलग्न थिए। त्यही कार्यक्रमका कागजातमा रवि, बालेन, सागर र सुधनको नाम सम्भावित प्रभावशाली नागरिक नेतृत्वका रूपमा उल्लेख भएको दाबी गरिएको छ।

अब प्रश्न उठ्छ-उनीहरूको नाम त्यहाँ कसरी मुछियाे ?

के उनीहरूलाई अमेरिकी संस्थाले पहिल्यै पहिचान गरेको थियो? के उनीहरूसँग कुनै कार्यक्रम, तालिम वा नेटवर्किङ भएको थियो? उनीहरूले कुनै स्रोत वा सहयोग पाएका थिए? यदि पाएका थिए भने कस्तो सहयोग? त्यसको उद्देश्य के थियो?

दस्तावेजमा युवा नेतृत्व विकास, सामाजिक सञ्जाल, जनसम्पर्क, सार्वजनिक वक्तृत्व र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्ने योजना उल्लेख छ। नयाँ पुस्ताका सम्भावित राजनीतिक नेतृत्वलाई तयार पार्ने उद्देश्यसहित ‘जेनेरेसन नेक्स्ट पार्लियमेन्टरी फाेरम’ जस्ता कार्यक्रमको समेत चर्चा गरिएको छ।

यो सामान्य नागरिक शिक्षा कार्यक्रम मात्रै थियो भने त्यसको सम्पूर्ण विवरण सार्वजनिक गर्न किन समस्या?
नेपालमा नयाँ राजनीतिक शक्ति रास्वपा उदाउँदै गर्दा त्यसको पछाडि जनताको असन्तुष्टि थियो। पुराना दलप्रतिको वितृष्णा थियो। तर त्यसै समयमा विदेशी संस्थाहरूले सम्भावित नयाँ नेतृत्व पहिचान गरेर कार्यक्रम सञ्चालन गरिरहेका थिए भने त्यसलाई संयोग मात्र भनेर कसरी टार्ने?

रवि लामिछाने आज राष्ट्रिय राजनीतिका प्रमुख पात्र हुन्। बालेन्द्र शाह प्रधानमन्त्रीको कुर्सीमा छन्। सुधन गुरुङ सरकारको गृह मन्त्रालय सम्हालिरहेका छन्। सागर ढकाल नयाँ पुस्ताको राजनीतिक अनुहारका रूपमा स्थापित छन्। चारै जनाको नाम एउटै विदेशी सहयोगसम्बन्धी दस्तावेजमा आउनु आफैंमा अनुसन्धानयोग्य विषय हो।

तर दस्तावेजमा नाम आउनु मात्रै उनीहरू विदेशी एजेन्ट थिए वा अमेरिकी पैसाले नेपाल ध्वस्त पारे भन्ने प्रमाण होइन। त्यसको प्रमाण छुट्टै चाहिन्छ। तर प्रश्न उठाउनका लागि भने पर्याप्त आधार अवश्य दिन्छ।
किनभने दस्तावेजमा विदेशी संस्थाहरूले नेपाली नागरिकको सोच, व्यवहार र राजनीतिक प्राथमिकता बुझ्न सर्वेक्षण तथा अनुसन्धान गर्ने योजना बनाएको पनि उल्लेख छ। विभिन्न सामाजिक समूह, महिला, जनजाति, दलितलगायत समुदायमा पहुँच विस्तार गर्ने कार्यक्रमसमेत उल्लेख गरिएको छ।

अब रवि, बालेन, सुधन र सागरले भन्नुपर्छ-त्यो परियोजनासँग उनीहरूको सम्बन्ध थियो कि थिएन?

थियो भने कस्तो थियो?

कुनै प्रशिक्षण लिएका थिए कि थिएनन्?

कुनै आर्थिक, प्राविधिक वा संस्थागत सहयोग पाएका थिए कि थिएनन्?

पाएका थिए भने त्यसको विवरण सार्वजनिक गर्न तयार छन् कि छैनन्?

राजनीतिमा पारदर्शिता खोज्नेहरूबाट आफ्नै विगतबारे पारदर्शिता माग्दा त्यसलाई विदेशी षड्यन्त्र भनेर पन्छाउन मिल्दैन।

आज नेपालमा शासन गर्नेहरूको निर्णय, उनीहरूको नेटवर्क र उनीहरूको राजनीतिक उदयबारे प्रश्न उठ्दा जवाफ दिने जिम्मेवारी पनि उनीहरूकै हो। देशको सार्वभौम निर्णय प्रक्रियामा विदेशी प्रभाव छैन भने डराउनुपर्ने कारण छैन। बरु कागजात सार्वजनिक गरौँ, सम्बन्ध स्पष्ट गरौँ र तथ्यबाट बहस टुंग्याऔँ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नियमित गर्न सभामुखको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित सञ्चालन गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा आङ्देम्बेले प्रतिनिधिसभा नियमावलीले व्यवस्था गरेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नियमित हुनुपर्ने बताएका हुन् ।

भेटपछि आङ्देम्बेले नियमावलीले नै व्यवस्था गरेको कार्यक्रम प्रभावित भएको भन्दै यसलाई नियमित सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराएको बताए । ‘प्रतिनिधिसभा नियमावलीले नै व्यवस्था गरेको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम प्रभावित भएको छ । यो नियमित सञ्चालन हुनुपर्छ भनेको छु । सभामुख सकारात्मक हुनुभयो,’ उनले भने ।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ को नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रश्न सोध्नका लागि छुट्याउनुपर्ने हुन्छ ।

बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि निर्धारण गर्नुपर्ने व्यवस्था छ । प्रश्न सोध्न इच्छुक सांसदले बैठक प्रारम्भ हुनुभन्दा तीन दिनअघि सभामुखलाई लिखित जानकारी गराउनुपर्ने हुन्छ । निर्धारित समयमा प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिने व्यवस्था छ ।

तर, प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री बनेपछि अहिलेसम्म एकपटक मात्रै प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाएका छन् । बालेन प्रधानमन्त्री बनेयता अहिलेसम्म करिब ६ पटक यस्तो कार्यक्रम सञ्चालन हुनुपर्ने भए पनि नियमित हुन नसकेको भन्दै विपक्षी दलले प्रश्न उठाएको हो ।

गत १७ जेठमा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेन सहभागी भएका थिए । त्यस क्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि भारतको जग्गा विभिन्न ठाउँमा मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर त्यतिबेला संसद्मा विवादसमेत भएको थियो ।

यसैगरी आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संसदीय विशेष समिति गठन गर्न पनि सभामुखको ध्यानाकर्षण गराएका छन् ।

रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा बाढीपछिको अवस्थाबारे अध्ययन गरी सरकारलाई आवश्यक निर्देशन दिन उच्चस्तरीय संसदीय विशेष समिति गठन गर्ने बताएको स्मरण गराउँदै आङ्देम्बेले समिति गठनको प्रक्रिया छिटो अघि बढाउन माग गरेका हुन् ।

यसअघि पनि उनले सभामुखसँग भेट गरी विशेष समिति गठनका लागि ध्यानाकर्षण गराएका थिए । तर, समिति गठनको प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ ।

भेटमा आङ्देम्बेले प्रधानमन्त्री बालेनलाई संयुक्त राष्ट्रसंघको महासभामा नेपालको जलवायु न्यायको विषय प्रभावकारी रूपमा उठाउन आवश्यक रहेको पनि बताएका छन् ।

विपत्तिको बेला ‘म एक्लै काफी छु’ भन्ने घमण्ड नगर्नुस् : एमाले

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले विपत्तिको समयमा सरकार एक्लैले सबै काम गर्न सक्छु भन्ने मानसिकता नराख्न आग्रह गरेको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले बाढीपछिको उद्धार, राहत तथा व्यवस्थापनमा सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताइन्।

उनले विपत्तिपछि सरकारले तत्काल सार्वजनिक आह्वान गर्दै स्वदेश तथा विदेशबाट सहयोग जुटाउनुपर्ने भए पनि त्यसमा चुकेको आरोप लगाइन्। विद्यालय तथा क्याम्पसमा रहेका इन्जिनियर र अन्य विज्ञलाई परिचालन गर्नेतर्फ पनि सरकारले पर्याप्त ध्यान नदिएको उनको भनाइ थियो।

अर्यालले विपद्का अनुभवबाट पाठ सिक्दै सरकारले तत्काल सर्वदलीय बैठक बोलाएर छलफल गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताइन्।

‘विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्,’ प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन।’

सरकारले केही काम गरे पनि अझ धेरै गर्न सकिने अवस्था रहेको भन्दै उनले आगामी दिनमा सबै पक्षसँग सहकार्य गरेर विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गरिन्।

‘कन्चटमा पेस्तोल तेर्स्याएकोबारे सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले रास्वपा सांसद अमरेशकुमार सिंहले लगाएको गम्भीर आरोपबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले सत्ता पक्षकै सांसद सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक (डीजी) लाई बोलाएर कन्चटमा पेस्तोल तेर्स्याएको आरोप लगाएको भन्दै त्यसबारे सरकारको धारणा सार्वजनिक हुनुपर्ने बताए।

यादवले सिंहको अभिव्यक्तिलाई सामान्य रूपमा लिन नहुने भन्दै लोकतान्त्रिक व्यवस्थामा धम्की र भयको वातावरण स्वीकार्य नहुने बताए।

‘सत्ता पक्षकै सांसदबाट आएको वक्तव्यबारे ध्यानाकर्षण गराउन चाहन्छु। कहीँ सुन्नमा आएको छ, कन्चटमै पेस्तोल राखेर थर्काउने कुरा आएको छ। कहीँ कुरा आएको छ, प्रश्न गर्दाखेरि धम्की आउँदो रहेछ,’ उनले भने, ‘यो कुरा असाध्यै अलोकतान्त्रिक कुरा हो। यसमा सरकारको के जवाफ छ, हामी सुन्न आतुर छौँ।’

सांसद यादवले लोकतन्त्रमा राजनीतिक असहमति र प्रश्न उठाउने अधिकार सुरक्षित हुनुपर्ने बताए। कुनै पनि व्यक्तिलाई प्रश्न गरेकै आधारमा धम्की दिने वा त्रासमा पार्ने काम भए त्यसबारे राज्यले गम्भीर भएर जवाफ दिनुपर्ने उनको भनाइ थियो।

उनले लोकतान्त्रिक शासन व्यवस्थामा हिंसा, धम्की र भयको कुनै स्थान नरहेको समेत स्पष्ट पारे।

खुर्पा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

नवलपरासी। विनयी त्रिवेणी गाउँपालिका-३ चिसापानीमा खुर्पा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

प्रहरीका अनुसार स्थानीय करिब ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि प्रहरीले अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा खटाएको थियो। प्रहरीले घटनामा संलग्न श्रीमानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न रास्वपा सांसदको माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपत् राहत कोष’ राख्न माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै खरेलले विपत्लाई ‘दैवी’ भनेर परिभाषित गर्ने पुरानो कानुनी व्यवस्था नै परिवर्तन भइसकेकाले कोषको नाम पनि समयअनुकूल बनाउनुपर्ने बताए।

उनका अनुसार २०७४ सालमा जारी भएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र त्यसपछिको नियमावलीले विपत् व्यवस्थापनको नयाँ कानुनी आधार तय गरिसकेको छ।

‘२०३९ सालमा बनेको दैवी प्रकोप उद्धार ऐनलाई विस्थापित गरेर आएपछि अब दैवी रहेन,’ खरेलले भने, ‘त्यसैले प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयलाई अनुरोध छ– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर अब प्रधानमन्त्री विपत् राहत कोष कायम गरियोस्।’

उनले अहिलेको अवस्थामा विपत्लाई दैवी शक्तिसँग जोडेर हेर्नुभन्दा जोखिम न्यूनीकरण, उद्धार, राहत र पुनर्स्थापनाको आधुनिक अवधारणाअनुसार राज्यको संरचना र शब्दावलीसमेत परिमार्जन गर्नुपर्ने बताए।

‘अब दैवी प्रकोपको जमाना रहेन,’ खरेलले भने।

आइतबारको बिदा हटाउन राप्रपा सांसद भाटको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आइतबार दिइँदै आएको सार्वजनिक बिदा हटाउन सरकारसँग माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै भाटले आइतबारको बिदाका कारण सार्वजनिक सेवा प्रवाह प्रभावित भएको दाबी गरे।

उनले आइतबारको बिदा सरकारी कर्मचारीदेखि विद्यालय र शिक्षा क्षेत्रसम्म कसैका लागि आवश्यक नरहेको बताए।

‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन। न सरकारी कर्मचारीलाई यो आवश्यक छ, न त विद्यालय वा शिक्षा क्षेत्रलाई नै,’ उनले भने।

भाटले आइतबारको बिदा हटाएर पुरानै कार्यतालिका लागू गर्नुपर्ने बताए। उनका अनुसार शुक्रबार आधा दिन र शनिबार पूर्ण बिदाको व्यवस्था पुनः कायम गरिनुपर्छ।

आइतबार सार्वजनिक बिदा हुँदा सर्वसाधारणले सरकारी सेवा लिन कठिनाइ भोग्नुपरेको भाटको भनाइ छ।

यसबाट प्रशासनिक कामसँगै विकास निर्माणका गतिविधिमा समेत ढिलाइ भइरहेको उनले बताए।

‘बिदाको व्यवस्थाले कसैलाई पनि फाइदा पुगेको छैन,’ भाटले भने, ‘जनभावनाको कदर गर्दै तत्काल यो व्यवस्था खारेज गरी पुरानै कार्यतालिका कार्यान्वयन गरियोस्।’

उनले सार्वजनिक सेवा प्रभावकारी बनाउन बिदाको वर्तमान प्रणालीमाथि पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।

‘आचार्य’को नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्माण तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘आचार्य’को नयाँ गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ।

चलचित्र प्रदर्शनको तयारीमा रहेका बेला निर्माण पक्षले गीत सार्वजनिक गर्दै प्रचार अभियानलाई समेत तीव्र बनाएको हो।

गीतमा गौराङ्ग शेखर शर्मा र ज्योत्सना जव्दाको स्वर रहेको छ। युग भुसालको शब्द तथा संगीत रहेको गीतको म्युजिक प्रोडक्सन, मिक्सिङ र मास्टरिङ रूप महन्तले गरेका छन्।

गीतको भिडियोमा निखिल उप्रेती र सजिना श्रेष्ठलाई प्रस्तुत गरिएको छ। भिडियोमा यी दुई कलाकारबीचको प्रेम तथा सम्बन्धलाई केन्द्रमा राखिएको छ। आकर्षक लोकेसन, नृत्य र कलाकारको प्रस्तुतिले गीतलाई मनोरञ्जनात्मक बनाउने प्रयास गरिएको छ।

गीतको कोरियोग्राफी किरण थापाले गरेका हुन् भने छायांकन सौरव लामाले गरेका छन्। सिनेमाटोग्राफीमा ईश्वर सिंकेमन र हिमाल श्रेष्ठ पनि जोडिएका छन्।

निखिल उप्रेती प्रोडक्सन प्रालिको प्रस्तुतिमा बनेको ‘आचार्य’ असोज ९ गते अर्थात् सेप्टेम्बर २५ देखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

चलचित्रमा निखिल उप्रेतीसँगै दीपकराज राना, प्रमोद अग्रहरी, रघुबाबु, रघु करुमाञ्ची, रोहित चौधरी, ध्रुव कोइराला, सजिना श्रेष्ठ, रञ्जित कोइराला, सरिता गवाली, अनुप तुलाधर, सुरेश कोहालीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा तथा लेखन निखिल उप्रेतीले गरेका हुन्। बन्देप्रसाद सम्पादक रहेको चलचित्रमा सौरव लामा, मन्नु बीके र नवराज कृष्ण थापाको छायांकन छ।

एक्सन निर्देशन शुक्रराज शाहको छ भने संगीत निर्देशन युग भुसालले गरेका छन्। कलरिस्ट राजेन्द्र मोक्तान र ब्याकग्राउन्ड म्युजिक स्कोर कालाचरणको रहेको छ।

चलचित्रमा किरण थापा र गम्भीर विष्टको कोरियोग्राफी तथा लुजा राज भण्डारी, समीर मियाँ, सत्यम राना र अनुपम शाहको भीएफएक्स सुपरभिजन रहेको निर्माण पक्षले जनाएको छ।

कृष्ण भट्टराई निर्माता र मिथिलेश तिवारी कार्यकारी निर्माता रहेको ‘आचार्य’को टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका छन्। अनुपम शाह एसोसिएट निर्देशकका रूपमा रहेका छन्।

नयाँ गीत सार्वजनिक भएसँगै प्रदर्शनको मिति नजिकिँदै गरेको ‘आचार्य’को प्रचार अभियानले पनि गति लिएको छ।

तीजको भोलिपल्ट श्रीमानबाटै श्रीमतीको हत्या, सांसद खनालले उठाए गम्भीर प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नवलपुरमा श्रीमानबाटै श्रीमतीको हत्या भएको घटनालाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै खनालले हरितालिका तीजको भोलिपल्ट विनयी त्रिवेणी गाउँपालिका–३ मा ४० वर्षीया उनीसरा विकको आफ्नै श्रीमानबाट हत्या भएको घटना सार्वजनिक भएको बताए।

घटनामा संलग्न आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी आफूले पाएको भन्दै उनले दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरे।

खनालले सोही पालिका र वडामा यसअघि पनि तीजकै आसपास श्रीमतीको हत्या भएको घटना भएको उल्लेख गर्दै एउटै प्रकृतिका घटना दोहोरिनुको कारण खोज्नुपर्ने बताए।

‘हत्याको शृङ्खला क्रमिक देखिएको छ भने मोडस अपरान्डी पनि उस्तै छ। यस्ता घटना किन बारम्बार दोहोरिरहेका छन् भनेर अध्ययन जरुरी छ,’ उनले भने।

उनका अनुसार विषय एउटा महिलाको हत्या र एउटा व्यक्तिलाई कारबाही गर्नेमा मात्र सीमित छैन। महिलाका लागि सुरक्षित समाज निर्माण गर्न राज्य र समाजले अहिलेसम्म गरेका प्रयास प्रभावकारी भए–नभएको समीक्षा गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

सांसद खनालले महिलामाथिको हिंसा रोक्न बालबालिकालाई सानै उमेरदेखि समानता र समानुभूतिको शिक्षा दिनुपर्नेमा जोड दिए।

सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा देखिने स्त्रीद्वेषी अभिव्यक्तिलाई सामान्य रूपमा लिने प्रवृत्तिले भविष्यमा अझ गम्भीर समस्या निम्त्याउन सक्ने उनले चेतावनी दिए।

‘एक बालक हुर्किएर पुरुष हुँदै गर्दा उसलाई समता र समानुभूतिको शिक्षामा जोड दिनु आवश्यक छ,’ खनालले भने, ‘सामाजिक सञ्जाल र सार्वजनिक छलफलमा आउने स्त्रीद्वेषी टिप्पणी तथा त्यसप्रतिको हाम्रो हलुका बुझाइले डरलाग्दो भविष्यको संकेत गरिरहेको छ।’

उनले महिलाले सुरक्षित महसुस गर्ने वातावरण बनाउन सरकार र समाज दुवैले तत्काल ठोस कदम चाल्नुपर्ने बताए।

‘हरेक तवरले महिलालाई सुरक्षित बन्ने वातावरण सिर्जना गर्न आवश्यक हरकदम अविलम्ब चाल्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

महिलाले भयमुक्त भएर आफ्नो जीवन बिताउन सक्ने अवस्था बनेपछि मात्रै तीजलगायतका पर्वको वास्तविक अर्थमा उत्सव मनाउन सकिने खनालको भनाइ थियो।

काभ्रेको नाला वनबाट काठमाडौं आइपुग्यो इन्द्रजात्राको लिङ्गो [तस्वीरहरू]

काठमाडौं । इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला वनबाट काठमाडौं ल्याइएको छ।

इन्द्रजात्राको मुख्य प्रतीकका रूपमा लिइने लिङ्गोलाई परम्परागत तथा धार्मिक विधिअनुसार पूजा गरी छनोट गरिएको रूखबाट तयार पारिन्छ। सोही रूख काटेर तयार गरिएको लिङ्गोलाई मंगलबार सडकमार्ग हुँदै तानेर काठमाडौं ल्याइएको हो।

नेपाल भाषामा लिङ्गोलाई ‘यःसिं’ भनिन्छ। नाला वनबाट ल्याइएको लिङ्गोलाई आवश्यक विधि पूरा गरेपछि हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअगाडि ठड्याउने परम्परा छ।

लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरेपछि इन्द्रजात्राको औपचारिक सुरुवात हुने धार्मिक मान्यता छ।

इन्द्रजात्राको लिङ्गोका लागि रूख छनोट गर्ने परम्परा पनि विशेष धार्मिक विधिसँग जोडिएको छ। नाला क्षेत्रमा वनयात्रा गरी पूजा गरेपछि निश्चित विधि पूरा गरेर लिङ्गोका लागि उपयुक्त रूख छनोट गर्ने चलन छ।

पुरानो परम्पराअनुसार विशेष पूजा गरिएको बोका जंगलमा छाड्दा उसले छोएको रूखलाई समेत लिङ्गोका लागि छनोट गर्ने गरिएको संस्कृतिसँग जोडिएका जानकारहरू बताउँछन्।

नाला वनबाट काठमाडौंसम्म लिङ्गो तानेर ल्याउने परम्परा आफैँमा इन्द्रजात्राको महत्वपूर्ण सांस्कृतिक पक्ष हो।

काभ्रेबाट भक्तपुर हुँदै भोटाहिटी, असन र इन्द्रचोक पार गरेर लिङ्गो हनुमानढोका पुर्‍याइन्छ। लिङ्गो ल्याउने क्रममा बाटोभरि सर्वसाधारणको भीड लाग्ने गर्छ।

काठमाडौंको सांस्कृतिक पहिचानसँग जोडिएको इन्द्रजात्रामा लिङ्गो ल्याउनेदेखि ठड्याउनेसम्मका हरेक प्रक्रिया धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न गरिन्छ।

 

जाजरकोटमा बाढी-पहिरोले निम्त्याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोटमा बाढी र पहिरोले निम्त्याएको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बुढाले लगातारको वर्षाका कारण जाजरकोटका विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक संकट गहिरिँदै गएको बताए।

उनका अनुसार नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड क्षेत्र अहिले जोखिमपूर्ण बनेको छ। भदौ २९ गते ताक्सुगाड खोलामा आएको बाढीले बारेकोट–४ का २६ वर्षीय रमेश सुनारलाई बगाएर बेपत्ता बनाएको उनले सदनलाई जानकारी गराए।

यसअघि पनि सोही खोलामा आएको बाढीले नलगाड–११ का रतनबहादुर दमाईलाई बगाएर बेपत्ता बनाएको उनले बताए।

बाढीका कारण दर्जनौँ घरमा क्षति पुगेको छ भने झोलुङ्गे पुल तथा अस्थायी कजवेहरू पनि बगेका छन्। भेरी करिडोरमा समेत ठूलो क्षति पुगेको सांसद बुढाले बताए।

रोली जिउलाको सिँचाइ नहरमा क्षति पुगेपछि किसानको धानबाली प्रभावित भएको उनको भनाइ छ।

तर भौतिक संरचनाको क्षतिभन्दा नागरिकको जीवन सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

‘पुल बगेपछि नागरिकहरू जोखिम मोलेर खोलाबाटै आउजाउ गर्न बाध्य छन्,’ बुढाले भने, ‘पक्की पुल निर्माणको ठेक्का लागेको वर्षौँ बितिसक्दा पनि काम सम्पन्न नहुनु नागरिकको जीवनसँग जोडिएको गम्भीर विषय हो।’

बाढी र पहिरोको जोखिम बढिरहेका बेला क्षतिग्रस्त पुल, सडक तथा अन्य पूर्वाधारको तत्काल मर्मत र पुनर्निर्माण गर्न सरकारसँग माग गर्दै उनले नागरिकको सुरक्षित आवागमन सुनिश्चित गर्न आग्रह गरेका छन्।

नेपालको जलवायु संकट विश्वमञ्चमा पुर्‍याउँदै बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति र जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताएका छन्।

मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’का लागि शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायुजन्य विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्य आवश्यक रहेको बताएका हुन्।

उनले आगामी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका उपायलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन्।

नेपालका हिमाली, पहाडी र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले विश्वव्यापी तापक्रम वृद्धिको प्रत्यक्ष असर नेपालका हिमाली क्षेत्रमा देखिन थालेको बताएका छन्।

उनका अनुसार हिमाल पग्लिने, हिमचट्टान टुक्रिने, हिमताल फुट्ने, हिमनदीको बहाव बढ्ने तथा पानीका मुहान सुक्दै जाने समस्या बढिरहेका छन्। मौसममा देखिन थालेको अप्रत्याशित परिवर्तनले हिमाली क्षेत्र मात्र नभई समग्र नेपाली जनजीवन प्रभावित भइरहेको उनले बताएका छन्।

जलवायु परिवर्तनको असर कृषि, जैविक विविधता र स्थानीय जनजीवनमा समेत पर्न थालेको भन्दै प्रधानमन्त्रीले जोखिम न्यूनीकरणलाई विकास योजनाकै महत्वपूर्ण हिस्सा बनाउनुपर्नेमा जोड दिएका छन्।

जलवायु परिवर्तनका कारण सिर्जित चुनौती सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको प्रधानमन्त्री शाहले बताएका छन्।

स्थानीय तहले भोगिरहेका जलवायुजन्य समस्या र जोखिमलाई नीतिगत तहमा जोड्दै दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ छ।

नेपालले जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रिय सहयोग र सहकार्य खोज्ने मात्र नभई आफ्ना वास्तविक समस्या र क्षतिको तथ्यसहित विश्वमञ्चमा बलियो रूपमा प्रस्तुत गर्नुपर्नेमा पनि प्रधानमन्त्रीले जोड दिएका छन्।

कोठा खोज्ने कार्यालयले विभेद गरेको भन्दै सांसद विकले संसदमा सुनाइन् संवाद

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले कोठा खोजिदिने कार्यालयबाटै जातीय विभेद भएको भन्दै प्रतिनिधिसभामा प्रश्न उठाएकी छन्।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद विकले केही समयदेखि माइतीघर मण्डलामा ‘सरकार कोठा खै ?’ भन्दै अनशन बसेकी दीपा नेपालीको प्रसंगसमेत उठाइन्।

उनले दलित समुदायमाथि हुने छुवाछुत र विभेदविरुद्ध संघर्ष भइरहे पनि विभेदका स्वरूप नयाँ-नयाँ ढंगबाट देखिन थालेको बताइन्।

विकले हालै एउटा निजी कोठा खोजिदिने कार्यालयले गरेको विभेदबारे आफूले जानकारी पाएको बताउँदै त्यससँग सम्बन्धित संवादको अडियो संसदमा सुनाउन खोजेकी थिइन्। उनले माइकमार्फत अडियो बजाए पनि त्यसमा भएको कुराकानी स्पष्ट सुनिन सकेन।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अडियो तथा भिडियो नबजाई घटनाबारे आफ्नै शब्दमा जानकारी गराउन सांसद विकलाई आग्रह गरे।

सांसद विकले विभेदका यस्ता घटनाले पीडितको पीडा थप बढाउने भन्दै दोषीमाथि सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरिन्। जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराइन्।

बाढीपीडितको अस्थायी बासका लागि विदुरले प्रस्ताव गर्‍यो ८ स्थान

काठमाडौं । बाढीबाट घरबारविहीन भएका नागरिकलाई तत्काल अस्थायी बासस्थानमा राख्न विदुर नगरपालिकाले आठ स्थान प्रस्ताव गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)सँग सोमबार भएको छलफलमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणसम्बन्धी विस्तृत कार्ययोजना प्रस्तुत गरेका हुन्।

मेयर श्रेष्ठको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नगरपालिकाको प्रस्ताव स्वीकार गर्दै संघीय सरकारले त्यसैअनुसार पुनर्स्थापना रणनीति अघि बढाउने बताएका छन्।

नगरपालिकाले विदुर-१० अन्तर्गत वेत्रावती क्षेत्रका प्रभावितका लागि सुहाँरा डाँडा, विदुर–७ का तुप्चे, सोले, अक्करे र छिपीटार क्षेत्रका लागि भित्रिनीटार तथा नेपाल विद्युत् प्राधिकरणको जग्गा प्रस्ताव गरेको छ।

त्यस्तै, विदुर-१० को भैसे क्षेत्रका लागि कान्नले आसपास, एक नम्बर पुल क्षेत्रका लागि गर्खुटार वडा कार्यालय क्षेत्र र विदुर–९ का सिलटट्याङ्की तथा बिजुरा क्षेत्रका लागि राहुलटारमा अस्थायी बासस्थान बनाउने प्रस्ताव गरिएको छ।

विदुर-१ अन्तर्गत त्रिशूली–ढुंगे क्षेत्रका प्रभावितका लागि कोलनीस्थित नेपाल विद्युत् प्राधिकरणको जग्गा र विदुर–४ को सिमचौर बस्तीका लागि विदुर–२ को धापखेत क्षेत्र प्रस्ताव गरिएको छ।

विदुर–५ देविघाटका प्रभावितलाई भने चन्द्रज्योति माध्यमिक विद्यालय र आयुर्वेद भवनमा अस्थायी रूपमा व्यवस्थापन गर्ने योजना नगरपालिकाले अघि सारेको छ।

नगरपालिकाका अनुसार आँगपुटार, गर्खुटार मिलनचौतारा, गुम्बाडाँडा, बान्द्रे, बट्टार र हसिनटार क्षेत्रमा तत्काल नदी कटान नियन्त्रणको काम आवश्यक देखिएको छ।

नगरपालिकाले तत्कालको अस्थायी बसोबाससँगै दीर्घकालीन पुनर्वासको योजनासमेत प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको छ।

हरेक वडामा सुरक्षित पुनर्वासको व्यवस्था गर्ने र ‘एक वडा, एक पुनर्वास स्मार्ट सिटी’को अवधारणा अघि बढाउने प्रस्ताव नगरपालिकाको छ।

बाढी प्रभावित नदीको बहाव क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गरी जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जग्गा सट्टापट्टासम्बन्धी कानुनी व्यवस्था गर्न पनि संघीय सरकारसँग माग गरिएको छ।

यसका लागि कित्ता नम्बर ६०३ अन्तर्गतको करिब १ हजार १५८ रोपनी वन क्षेत्रको जग्गालाई उपयोग गर्न सकिने प्रस्ताव गरिएको छ। अन्य वडाका प्रभावितलाई समेत आवश्यक जग्गा व्यवस्थापन गरी वडास्तरमै सुरक्षित पुनर्वास तथा स्मार्ट सिटी विकास गर्ने नगरपालिकाको योजना छ।

नगरपालिकाका अनुसार बाढीका कारण विदुरमा ३ हजार २ सय नागरिकको उद्धार गरिएको छ। बाढीमा ३ सय ९७ जनाको मृत्यु तथा बेपत्ता भएको विवरण नगरपालिकाले दिएको छ।

बाढीबाट करिब १ हजार ७ सय ५० घरमा क्षति पुगेको छ भने १ हजार १ सय ६० हेक्टर जमिन प्रभावित भएको छ।

उद्योग क्षेत्रमा मात्रै करिब ३ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाको प्रारम्भिक अनुमान छ।

बाढी प्रभावितलाई तत्काल व्यवस्थापन गर्न विदुर नगरपालिकाले २० वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

‘विपक्षीलाई तर्साउने,धम्काउने?’

काठमाडौं । नेकपाका सांसद रमेश कुमार मल्लले रसुवा बाढीपछि बेपत्ता नागरिकको खोजी, डीएनए परीक्षण, राहत तथा पुनर्स्थापनाको कामबारे सरकारसँग जवाफ मागेका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै मल्लले बाढीपीडित परिवार अझै आफन्तको अवस्था थाहा पाउने प्रतीक्षामा रहेको भन्दै खोज तथा उद्धारलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराए।

उनले जलविद्युत् आयोजनाका सुरुङमध्ये कति ठाउँमा खोजी तथा उद्धार सम्पन्न भयो र कति ठाउँमा अझै जारी छ भन्ने जानकारी मागे। माथिल्लो त्रिशूली–२१६ मा भइरहेको खोजीको पछिल्लो अवस्थाबारे पनि उनले सरकारसँग स्पष्ट जवाफ मागेका छन्।

बेपत्ता आफन्तको अन्तिम संस्कार गर्नसमेत धेरै परिवार डीएनए परीक्षणको रिपोर्ट कुरेर बसेको भन्दै मल्लले परीक्षण कहिलेसम्म सकिन्छ र परिवारले आधिकारिक पहिचानको जानकारी कहिले पाउँछन् भन्ने प्रश्न गरे।

सुरक्षाकर्मीका लागि राहत घोषणा भएजस्तै बाढीमा ज्यान गुमाएका तथा बेपत्ता नागरिकका परिवारका लागि पनि राहत र पुनर्स्थापनाको प्याकेज तत्काल घोषणा गर्नुपर्ने उनको माग छ।

मल्लले बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन तत्काल सुरु गर्नुपर्ने बताए। बालबालिकाका लागि मनोपरामर्श तथा किशोरी सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

एसईई दिने विद्यार्थीका लागि प्रभावित क्षेत्रमा विशेष प्याकेजसहित कक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै उनले अभिभावकविहीन बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारी सरकारले लिने एकरूप नीति बनाउनुपर्ने बताए।

‘प्रभावित क्षेत्रमात्र होइन, देशैभरिका यस्ता बालबालिकाको अवस्थालाई सरकारले ध्यान दिनुपर्छ,’ उनले भने।

बाढीले बगाएका सडक, पुल र झोलुङ्गे पुलको पुनर्निर्माणमा पनि समयसीमा तोकेर काम अघि बढाउनुपर्ने उनको माग छ। तुइनको विकल्पमा सुरक्षित झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण, घरबारविहीन परिवारको आवास र दीर्घकालीन पुनर्स्थापनाको योजना तत्काल सार्वजनिक गर्न पनि उनले सरकारसँग माग गरेका छन्।

मल्लले सल्यानमा पछिल्लो समय भएका दुर्घटनाप्रति समेत सरकारको ध्यानाकर्षण गराए।

गत शनिबार त्रिवेणी गाउँपालिका–५ सिम्कामा भएको जिप दुर्घटनामा ८ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय बिपना बुढाथोकी र ५० वर्षीय दिल्लीबहादुर वलीको मृत्यु भएको उनले बताए।

सोही दिन त्रिवेणी–३ टाट टोटकेमा तीज मनाउन दाङबाट सल्यान आउँदै गरेकी जीता केसीको सल मोटरसाइकलको चेनमा बेरिँदा मृत्यु भएको उनले बताए।

मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मल्लले घाइतेको उपचार, दुर्घटनाको छानबिन, यात्रु बिमा, पीडित परिवारलाई राहत तथा श्रमिकको सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन गर्न माग गरे।

उनले दशैं–तिहारजस्ता चाडपर्वअघि राजमार्गदेखि स्थानीय सडकसम्म जोखिम पहिचान गरी तत्काल मर्मत–सम्भार गर्नुपर्ने बताए। चालकको नियमित स्वास्थ्य परीक्षण, सवारी साधनको अनिवार्य प्राविधिक जाँच, सडक पूर्वाधार सुधार र जनचेतना अभिवृद्धिमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।

मल्लले रोजगारीका लागि फिजी पुगेका सल्यान छत्रेश्वरी–५ का दुर्गालाल पुनको मृत्युको विषय पनि संसद्मा उठाए।

दलालको प्रलोभनमा परेर रोजगारीका लागि फिजी पुगेका पुन गम्भीर बिरामी भएपछि परिवारले एक महिनादेखि उनलाई नेपाल ल्याउन सरकारसँग आग्रह गर्दै आएको तर अहिले उनको मृत्यु भइसकेको उनले बताए।

अब उनको शव नेपाल ल्याउन, घटनामा दोषी देखिएकामाथि कारबाही गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

मल्लले आफ्नो सम्बोधनको अन्त्यमा सरकारका केही शक्तिशाली मन्त्रीको कार्यशैलीप्रति समेत प्रश्न उठाउँदै, विपक्षी र सरोकारवालालाई तर्साउने तथा धम्काउने प्रवृत्ति अन्त्य गर्नुपर्ने संकेत गरेका थिए।

सुरज सिंह ठकुरीले आईसीयूमै अन्तर्वार्ता लिएको विषय संसदमा

काठमाडौँ । पत्रकार सुरज सिंह ठकुरीले रसुवा बाढीपछि उद्धार गरिएका सञ्जय शाह र कबिर महर्जनको आईसीयूमै अन्तर्वार्ता लिएको विषय प्रतिनिधिसभामा उठेको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्य सुरक्षा र गोपनीयताबारे प्रश्न उठाएकी हुन्।

उनले आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिन मिल्ने वा नमिल्ने तथा त्यस्ता बिरामीको स्वास्थ्य सुरक्षालाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराइन्।

रसुवा बाढीपछि सुरुङबाट उद्धार गरिएका सञ्जय शाह र कबिर महर्जनको आईसीयूमै अन्तर्वार्ता लिइएको दृश्य सार्वजनिक भएपछि त्यस विषयमा सामाजिक सञ्जालमा समेत बहस भइरहेको छ।

 

इरानसँगको युद्धले अमेरिकाको हतियार भण्डार रित्तिँदै

काठमाडौं। इरानविरुद्धको सैन्य अभियानले अमेरिकाको रणनीतिक हतियार भण्डारमा दबाब बढाएको छ।

ठूलो परिमाणमा क्षेप्यास्त्र तथा अन्य हतियार प्रयोग भएपछि भण्डार घट्नुका साथै पुनःआपूर्तिमा औद्योगिक अवरोध देखिन थालेको अमेरिकी रक्षा विभागका महानिरीक्षकले बताएका छन्।

अमेरिकी कङ्ग्रेसमा बुझाइएको प्रतिवेदनअनुसार ‘अपरेसन एपिक फ्युरी’ अन्तर्गत फेब्रुअरी २८ देखि जुन ३० सम्मको सैन्य अभियानको अनुमानित लागत ३३ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ। त्यसमध्ये २२ अर्ब ३० करोड डलर खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ।

युद्धमा ठूलो मात्रामा हतियार प्रयोग भएपछि अमेरिकी रणनीतिक भण्डारमा कमी आएको प्रतिवेदनले औँल्याएको छ।

यसअघि सार्वजनिक विवरणअनुसार अमेरिकी सेनाले थाड हवाई प्रतिरक्षा प्रणालीमा प्रयोग हुने करिब ८० प्रतिशत अवरोधक क्षेप्यास्त्र प्रयोग गरिसकेको छ। लामो दूरीका क्षेप्यास्त्र तथा हवाई प्रतिरक्षा प्रणालीका अन्य अवरोधक क्षेप्यास्त्रको अभावले अमेरिकी सैन्य रणनीतिमै असर पर्न थालेको बताइएको छ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अभियान सुरु भएको पहिलो २४ घण्टामै अमेरिकी सेनाले एक हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको थियो। लगातारको सैन्य कारबाहीले ठूलो मात्रामा मिसाइल, ड्रोन तथा अन्य सैन्य सामग्री खपत भएको हो।

युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गरेका सैन्य उपकरणमा समेत ठूलो क्षति पुगेको छ।

प्रतिवेदनअनुसार चार वटा एफ–१५ लडाकु विमान र ३० वटा एमक्यू–९ रिपर ड्रोन नष्ट भएका छन्। त्यस्तै एउटा एफ–३५ लडाकु विमान र सात वटा केसी–१३५ ट्याङ्कर विमान क्षतिग्रस्त भएका छन्।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकी हतियार भण्डारमा कमी आएको दाबी अस्वीकार गरेका छन्। उनले अमेरिकासँग ‘लगभग असीमित’ गोला–बारुद रहेको दाबी गर्दै अमेरिकी इतिहासमै सबैभन्दा उत्कृष्ट र ठूलो परिमाणमा हतियार उत्पादन भइरहेको बताएका छन्।

युद्धमा प्रयोग भएका हतियारको भण्डार घट्नु एउटा समस्या हो भने त्यसलाई तत्काल पुनःपूर्ति गर्नु अर्को चुनौती बनेको छ।

रक्षा विभागको प्रतिवेदनले हतियार उत्पादन र पुनःआपूर्ति प्रक्रियामा औद्योगिक अवरोध देखिएको उल्लेख गरेको छ। यसको अर्थ अमेरिकाले युद्धमा प्रयोग भएका रणनीतिक हतियारको भण्डार पुरानै अवस्थामा फर्काउन समय र ठूलो लगानी दुवै आवश्यक पर्ने देखिन्छ।

प्रतिवेदनअनुसार इरानी आक्रमणका कारण कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य आधारका सयौँ संरचनामा क्षति पुगेको छ।

ती संरचनाको पुनर्निर्माणमा लाग्ने खर्च भने अहिलेसम्म सार्वजनिक गरिएको ३३ अर्ब ४० करोड डलरको अनुमानमा समावेश गरिएको छैन।

यसले इरानविरुद्धको सैन्य अभियानको वास्तविक आर्थिक भार सार्वजनिक अनुमानभन्दा अझै ठूलो हुन सक्ने संकेत गरेको छ।

एकातिर युद्धमा प्रयोग भएको हतियारको भण्डार घटिरहेको छ भने अर्कोतिर सैन्य संरचना पुनर्निर्माण र हतियार पुनःआपूर्तिमा थप अर्बौं डलर खर्च गर्नुपर्ने अवस्था देखिएको छ।

लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं। देशका विभिन्न ठाउँबाट प्रहरीले अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौं, झापा, सुनसरी, रौतहट, पर्सा र बाँकेबाट ब्राउनसुगर, गाँजा लगायतका लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौंको सोह्रखुट्टेस्थित होटलबाट ३ किलो गाँजासहित म्यानमारकी २९ वर्षीया जिन जिन फ्योलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनी बसेको होटलको तलासी गर्दा उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो। साथै, थप अनुसन्धानको क्रममा ३० वर्षीय बरकतुल्लान र २५ वर्षीय युसुफ खानलाई समेत प्रहरीले पक्राउ गरेको छ।

त्यसैगरी, प्रहरीले झापाको नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६२ मिलिग्रामसहित बिर्तामोड नगरपालिका–३ बिर्ताबजार बस्ने २२ वर्षीय कुरबान शेखलाई पक्राउ गरेको छ।

साथै, सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मुसहरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१७ बस्ने २७ वर्षीय हेम राई र ४४ वर्षीय जयबहादुर खड्गी रहेका छन्।

रौतहटको चन्द्रपुर नगरपालिका–५ बाट लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेटसहित सोही नगरपालिका–१० बालचनपुर बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै, पर्साबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय २० मिलिग्रामसहित २० वर्षीय आजात अन्सारीसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले ग.८ प ७०४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

बाँकेको कोहलपुर नगरपालिका–१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ७ सय ८० मिलिग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ बस्ने १९ वर्षीय प्रिन्स शाहीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नेपालगन्जबाट काठमाडौंंतर्फ जाँदै गरेको भे.१ ख ४१६० नम्बरको बस जाँच गर्दा उक्त पदार्थ फेला पारी बसका सहचालक प्रिन्सलाई पक्राउ गरेको हो।

साथै, थप अनुसन्धानको क्रममा उक्त पदार्थ राप्ती सोनारी गाउँपालिका–१ बस्ने २८ वर्षीय लाहुराम थारूले दिएको भन्ने खुल्न आएपछि प्रहरीले लाहुरामसहित २ जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

उच्चमा तीन,जिल्लामा १५ न्यायाधीशको सरुवा

काठमाडौं । न्याय परिषद्ले उच्च तथा जिल्ला अदालतमा न्यायाधीश नियुक्ति र सरुवा गरेको छ।

परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेतको न्यायाधीशमा नियुक्त गरी पदस्थापन गरेको छ।

त्यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुर र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरको न्यायाधीशमा नियुक्त गरिएको छ।

परिषद्ले सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई कैलाली जिल्ला अदालतको न्यायाधीशमा समेत नियुक्त गरेको छ।

बैठकले १५ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ। सरुवा हुने न्यायाधीशहरूको नाम र नयाँ पदस्थापनबारे परिषद्ले विस्तृत विवरण सार्वजनिक गर्ने जनाइएको छ।

डिजिटल संसद्को अवधारणाबारे छलफल

काठमाडौं । प्रतिनिधिसभालाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल संसद्’को अवधारणा अघि बढाउन थालिएको छ। यसबारे मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ।

सिंहदरबारस्थित कार्यव्यवस्था हलमा भएको छलफलमा सांसदहरूले संसद्मा उठाएका विषयको अभिलेखदेखि त्यसको कार्यान्वयनसम्मलाई डिजिटल प्रणालीमा जोड्ने विषय उठेको हो।

सांसदहरूले शून्य, आकस्मिक र विशेष समयमा उठाउने प्रश्न तथा सरोकारलाई सम्बन्धित मन्त्रालय र सरकारी निकायसम्म डिजिटल माध्यमबाट पठाउने योजना अघि सारिएको छ।

त्यसपछि सरकारले ती विषयमा के निर्णय गर्‍यो, काम कहाँ पुग्यो र कहिले सम्बोधन भयो भन्ने विवरणसमेत प्रणालीबाटै हेर्न सकिने व्यवस्था गर्नेबारे छलफल भएको छ।

रास्वपाका सचेतक प्रकाशचन्द्र परियारका अनुसार बैठकमा डिजिटल संसद्को अवधारणामै केन्द्रित भएर छलफल भएको हो। उनका अनुसार यस विषयमा छलफल अझै जारी छ।

डिजिटल संसद् कार्यान्वयनमा आए सांसदले उठाएका विषय केवल संसद्को रेकर्डमा सीमित नरहने र त्यसको कार्यान्वयनको अवस्थासमेत ‘ट्र्याक’ गर्न सकिने अपेक्षा गरिएको छ।

सभामुखसँग प्रतिपक्षी दलका नेता आङदेम्बेको भेट

काठमाडौं। प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन् ।
सभामुखको कार्यकक्षमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबारे अध्ययन तथा आवश्यक छानबिनका लागि संसदीय समिति गठन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
यस्तै, प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको छ ।

११ दिनपछि सकुशल भेटिए १५ महिने बालक, अपहरण आरोपमा महिला पक्राउ

धनुषा । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक ११ दिनपछि सकुशल फेला परेका छन्। बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कमलेश महतोका छोरा सिधान्त महतो भदौ १८ गते अपराह्न करिब ४ः४० बजे घरको आँगनमा खेलिरहेका बेला अचानक हराएका थिए। बालक हराएपछि प्रहरी चौकी गिद्धाबाट टोली परिचालन गरी तत्काल खोजी सुरु गरिएको थियो।

बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी उपरीक्षक रुपेश खड्काको कमान्डमा ६० जनाको टोली परिचालन गरेको थियो। तालिमप्राप्त कुकुर प्रयोग गरेर घटनास्थल तथा आसपासका क्षेत्रमा समेत खोजी गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका डीएसपी ओमप्रकाश खनाल र मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङको नेतृत्वमा खटिएको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान टोलीले घटनाको प्राविधिक र सूचनामूलक अनुसन्धान अघि बढाएको थियो।

४१ वर्षीया महिलामाथि अपहरणको आरोप

अनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार शंकित महिलाले बालकलाई ठाउँ–ठाउँमा सार्दै नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाएर राख्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

बालकको खोजीलाई तीव्र पार्दै धनुषाका विभिन्न नाकामा चौबीसै घण्टा प्रहरी परिचालन गरिएको थियो। प्राविधिक अनुसन्धान र सम्भावित आवतजावतका स्थानमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीको घेराबन्दीपछि भदौ २९ गते दिउँसो करिब ३ः३५ बजे ती महिलाले बालकलाई उनको घरबाट करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेकी थिइन्।

प्रहरी टोलीले तत्काल बालकलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेको बालकलाई त्यसपछि अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

बालकलाई छाडेर भागेकी पासवानलाई प्रहरीले सोही दिन साँझ भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी महिलाविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बाढीले थिलथिलो पारेका बालमनमा भरोसा जगाउँदै सोनाम डोका

काठमाडौँ । बाढीले घर, विद्यालय, आफन्त र सुरक्षित भविष्यको भरोसा गुमाएका बालबालिकाका लागि राहत भनेको खाना र कपडा उपलब्ध गराउनु मात्रै होइन, डराएको मनमा फेरि सुरक्षाको अनुभूति जगाउनु पनि हो। यही आवश्यकता मध्यनजर गर्दै सामाजिक संस्था द स्मल वल्ड (टिएसडब्ल्यू)ले रसुवाका बाढी प्रभावित बालबालिकालाई लक्षित गरी मनोसामाजिक सहयोग तथा पोषण कार्यक्रम सञ्चालन गरिरहेको छ।

टिएसडब्ल्यूकी निर्देशक सोनाम डोका शेर्पाको पहलमा काठमाडौँको एलो गुम्बास्थित होल्डिङ सेन्टरमा रहेका करिब ६० जना बालबालिकालाई लक्षित गरी ट्रमा एसिस्मेन्ट तथा मनोसामाजिक सहयोगका गतिविधि सञ्चालन भइरहेका छन्।

बाढीका क्रममा बालबालिकाले भयावह दृश्य प्रत्यक्ष देख्नुपरेको थियो। कतिपयले बाढीको वेग, घर तथा संरचना बगाएको र आफन्त तथा परिचित व्यक्तिसँग सम्बन्धित पीडादायी घटना आफ्नै आँखाअगाडि देखेका छन्। यस्तो अनुभवले तत्काल शारीरिक क्षति नदेखिए पनि बालबालिकाको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने भएकाले संस्थाले राहतसँगै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको हो।

बालबालिकालाई ‘हामी सुरक्षित छौँ’ भन्ने अनुभूति गराउने र उनीहरूमा आशा जगाउने उद्देश्यले संस्थाले ‘सेन्स अफ सेफ्टी’ अर्थात् सुरक्षित भएको अनुभूति तथा ‘नर्मल फिलिङ’ अर्थात् सामान्य अवस्थामा फर्किएको महसुस गराउने गतिविधि सञ्चालन गरिरहेको जनाएको छ।

कार्यक्रमअन्तर्गत बालबालिकालाई आफ्ना अनुभव र भावना व्यक्त गर्न सहज वातावरण बनाउने, उनीहरूको व्यवहार तथा मानसिक अवस्थाको प्रारम्भिक मूल्याङ्कन गर्ने र विपद्पछिको त्रास कम गर्न सहयोग गर्ने गतिविधि भइरहेका छन्। यसका लागि आधा दर्जनभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ भने ट्रमा एसिस्मेन्टसम्बन्धी कामका लागि पनि आधा दर्जनभन्दा बढी व्यक्तिलाई तालिम दिइएको संस्थाले जनाएको छ।

सोनाम डोका शेर्पाको नेतृत्वमा भइरहेको पहल राहत वितरणमा मात्रै सीमित छैन। विपद्पछि बालबालिकाले सुरक्षित वातावरण पाऊन्, उनीहरूको दैनिक जीवन क्रमशः सामान्य बन्दै जाओस् र मानसिक आघात दीर्घकालीन समस्यामा परिणत नहोस् भन्ने उद्देश्यले मनोसामाजिक सहयोगलाई राहतकै अभिन्न हिस्सा बनाइएको छ।

होल्डिङ सेन्टरमा रहेका बालबालिकाको अर्को महत्वपूर्ण आवश्यकता पोषण हो। विस्थापनका कारण नियमित खानपानको व्यवस्था प्रभावित हुँदा बालबालिकाले आवश्यक पोषक तत्त्व नपाउने जोखिम हुन्छ। त्यसलाई ध्यानमा राख्दै टिएसडब्ल्यूले उनीहरूका लागि स्वस्थ तथा पोषिलो खानाको समेत व्यवस्था गरेको छ।

यसरी संस्थाले खाना, सुरक्षा र मानसिक स्वास्थ्यलाई एकैसाथ जोडेर बालबालिकालाई सहयोग गरिरहेको छ। कार्यक्रम अगस्टको अन्तिमतिरबाट सुरु गरिएको संस्थाले जनाएको छ।

रसुवा बाढीपछि बालबालिकाको अवस्था विशेष संवेदनशील बनेको छ। बाढी प्रभावित क्षेत्रका बालबालिकाले आफ्नै आँखाअगाडि घर, विद्यालय तथा अन्य संरचना बगेको देखेकाले उनीहरूमा मानसिक आघातको जोखिम रहेको युनिसेफले समेत जनाएको छ। बाढी प्रभावित बालबालिकामा रोग, कुपोषण, हिंसा तथा शोषणको जोखिम बढ्न सक्ने भएकाले उनीहरूलाई मनोसामाजिक परामर्श आवश्यक रहेको युनिसेफको भनाइ छ।

यही संवेदनशील अवस्थाबीच टिएसडब्ल्यूको हस्तक्षेपलाई तत्कालीन राहतसँगै बालबालिकाको पुनःस्थापना र आत्मविश्वास पुनर्निर्माणतर्फको प्रयासका रूपमा हेरिएको छ। विपद्मा तत्काल शरीर बचाउने प्रयास गरिए पनि त्यसपछि बालमनलाई सुरक्षित र बलियो बनाउने काम पनि उत्तिकै आवश्यक हुने जानकारहरू बताउँछन्।

रसुवा बाढीपीडितलाई द स्मल वल्डको सहयोग

द स्मल वल्डले रसुवामा बाढीबाट प्रभावित तीन सयभन्दा बढी परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा आवासका लागि आवश्यक सामग्री सहयोग गरेको छ। संस्थाले रसुवा तथा नुवाकोटको त्रिशूली, बेत्रावतीलगायतका प्रभावित क्षेत्रमा पुगेर परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराएको हो। सहयोगमा खाद्यान्न, लत्ताकपडा तथा बालबालिकाका लागि आवश्यक कपडालगायतका सामग्री छन्।

बाढीका कारण घर तथा दैनिक जीवनका अत्यावश्यक सामग्री गुमाएका परिवारलाई लक्षित गर्दै विदुर नगरपालिकासँगको समन्वयमा तीन सयभन्दा बढी परिवारलाई बासका लागि आवश्यक एक–एक सेट सामग्री उपलब्ध गराउने तयारीसमेत गरिएको संस्थाले जनाएको छ।

विपद्का बेला राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावित परिवारसम्म सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले स्थानीय सरकारसँग समन्वय गरेर राहत कार्यक्रम सञ्चालन गरिएको संस्थाका संस्थापक अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो। संस्थाले प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी त्यसैअनुसार सामग्री वितरणलाई प्राथमिकता दिएको जनाएको छ।

टिएसडब्ल्यूले राहतका लागि अमेरिकामा रहेका विभिन्न संस्था तथा व्यक्तिबाट सहयोग संकलन गरेको हो। विदेशबाट प्राप्त सहयोग नेपालमा परिचालन गर्न समाज कल्याण परिषद्को स्वीकृति तथा स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर राहत कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।

बाढी तथा पहिरोजस्ता विपद्का कारण घर, खाद्यान्न, कपडा तथा दैनिक जीवनका आवश्यक सामग्री गुमाएका परिवारलाई तत्कालीन राहतसँगै पुनःस्थापनाका लागि आवश्यक सहयोगमा समेत संस्थाले जोड दिएको छ।

बालेन सरकारमा बेनको दबदबा

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयमा प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार)को भूमिका यतिबेला सत्तारूढ दलभित्रै प्रश्नको घेरामा परेको छ।

प्रधानमन्त्रीका नजिकका सहयोगीका रूपमा चिनिएका बेनको गतिविधिमाथि रास्वपाकै सांसदले संसद्मा प्रश्न उठाएपछि प्रधानमन्त्रीको सचिवालय कसरी चलिरहेको छ भन्ने बहस चर्किएको हो।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा रास्वपा सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाविरुद्ध रेड कर्नर नोटिस जारी गर्न दबाब दिएको आरोप लगाए।

सिंहले उक्त विषयमा बेनको भूमिका रहेको संकेत गर्दै उनको कथित दिल्ली भ्रमण र भारतीय सुरक्षा संयन्त्रसँगको सम्पर्कबारे समेत सरकारसँग जवाफ मागे।

उनको आरोप यतिमै रोकिएन। सिंहले अहिले सरकारको वास्तविक शक्ति केन्द्र सिंहदरबारभन्दा बाहिर सरेको दाबी गर्दै ललितपुरको ज्वागलतर्फ संकेत गरे। सल्लाहकारलाई अधिकार दिइए पनि त्यसको जवाफदेहिता कसले लिने भन्ने प्रश्न उठाउँदै उनले ‘उत्तरदायित्वबिनाको अधिकार’को अवस्था सिर्जना भएको बताए।

बेनमाथि संसद्मा प्रश्न उठेपछि जेनजी मुभमेन्ट नेपालले पनि अनुसन्धानको माग गरेको छ।

संगठनले बेनमाथि लागेका आरोप गम्भीर प्रकृतिका भएकाले पद र पहुँचकै आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने बताएको छ। आरोपमाथि निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उसको माग छ।

यससँगै प्रधानमन्त्रीको सचिवालयको कार्यशैलीबारे पुराना प्रश्न पनि फेरि सतहमा आएका छन्।

सरकारी अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालयका निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको आरोप लाग्दै आएको छ। अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री निवासमा बोलाएर छलफल गराएको तथा मालपोत कार्यालयमा छड्के अनुगमन गरेको विषयसमेत यसअघि चर्चामा आएका थिए।

प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारी कहाँसम्म हुन्छ भन्ने प्रश्न पनि अहिले बहसको विषय बनेको छ।

पूर्वप्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरेका एक नेताका अनुसार सल्लाहकारको काम प्रधानमन्त्रीलाई राजनीतिक तथा प्रशासनिक विषयमा सुझाव दिने र निर्णय प्रक्रियामा सहयोग गर्ने हो। तर, कार्यकारी अधिकार प्रयोग गर्ने वा प्रशासनिक संयन्त्रलाई प्रत्यक्ष चलाउने अधिकार सल्लाहकारलाई नहुने उनको भनाइ छ।

सल्लाहकारले प्रशासनिक निर्णयमा प्रत्यक्ष हस्तक्षेप गर्न थाले त्यसले सरकारभित्र अधिकारको दोहोरो केन्द्र निर्माण गर्ने र अन्ततः शासकीय अराजकता निम्त्याउन सक्ने ती सल्लाहकारको तर्क छ।

आफ्नै सांसदले संसद्मा गम्भीर आरोप लगाए पनि रास्वपाले भने बेनको विषयमा अहिलेसम्म औपचारिक छलफल गरेको छैन।

पार्टी प्रवक्ता जगदीश खरेलले सांसद र सञ्चारमाध्यमबाट आएका विषय आफूहरूले सुनेको भए पनि पार्टीमा यसबारे औपचारिक छलफल नभएको बताएका छन्।

यसले आरोपमाथि पार्टीको धारणा के हो भन्ने प्रश्न पनि उठेको छ। सत्तारूढ दलकै सांसदले आरोप लगाएपछि त्यसको सत्यतथ्यबारे छानबिन गर्ने कि आरोप लगाउने सांसदसँग स्पष्टीकरण माग्ने भन्ने विषयमा समेत पार्टीभित्र बहस हुन थालेको छ।

को हुन् कुमार बेन?

कुमार बेन ललितपुर महानगरपालिका-१० का पूर्वस्वतन्त्र वडाध्यक्ष नरसिंह व्यञ्जनकारका कान्छा छोरा हुन्। उनका पिता नरसिंह लामो समय स्वतन्त्र उम्मेदवारका रूपमा वडाध्यक्ष निर्वाचित भएका थिए।

बेन प्रधानमन्त्री शाहका पुराना सहकर्मी र राजनीतिक रणनीतिकारका रूपमा चिनिन्छन्। शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि नै बेन उनको राजनीतिक रणनीति र सामाजिक सञ्जाल परिचालनमा सक्रिय रहेको उनीनिकटहरूको दाबी छ।

काठमाडौं महानगरको निर्वाचनपछि शाहको राष्ट्रिय राजनीतिमा प्रवेश हुँदा पनि बेनले रणनीतिक भूमिकामा साथ दिएको बताइन्छ। शाह प्रधानमन्त्री बनेपछि उनलाई प्रमुख सल्लाहकार नियुक्त गरिएको हो।

त्यसयता प्रधानमन्त्रीको सचिवालयमा उनको प्रभाव बढेको चर्चा हुँदै आएको छ। परिवारका सदस्यहरूले समेत विभिन्न सरकारी तथा राजनीतिक जिम्मेवारी पाएको विषयमा प्रश्न उठ्दै आएको छ।

अब भने सत्तारूढ दलकै सांसदले संसद्को रोस्ट्रमबाट प्रश्न उठाएपछि विषय व्यक्तिगत आरोपमा मात्रै सीमित छैन। प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकारको वास्तविक भूमिका कति हो, उनले कुन हदसम्म निर्णय प्रक्रियामा पहुँच राख्छन् र त्यसको जवाफदेहिता कसले लिन्छ भन्ने प्रश्न सरकारतिरै सोझिएको छ।

पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ।

सरकारले पेट्रोल र हाई–स्पीड डिजेल दुवैको मूल्य वृद्धि गरेको हो।

पेट्रोलियम डिभिजनले जारी गरेको सूचनाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ बढाइएको छ।

नयाँ मूल्यअनुसार अब पाकिस्तानमा एक लिटर पेट्रोलका लागि ३८०.२४ रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, हाई–स्पीड डिजेलको मूल्य प्रतिलिटर ६.१० रुपैयाँले बढाइएको छ। मूल्यवृद्धिपछि डिजेलको भाउ प्रतिलिटर ४०९.४२ रुपैयाँ पुगेको छ।

सरकारले नयाँ मूल्य सेप्टेम्बर १५ देखि लागू गरेको जनाएको छ। पछिल्लो समय पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै आएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायातदेखि दैनिक उपभोग्य वस्तुको लागतसम्म प्रत्यक्ष असर पार्ने भएकाले महँगी थप बढ्ने चिन्ता समेत देखिएको

किस्पाङ गाउँपालिका अध्यक्ष तामाङविरुद्ध के-के छन् मुद्दा?

काठमाडौं। नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर र ठगीसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ ।

सोमबार प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)सँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिको छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिने क्रममा पक्राउ परेका तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयमा मुद्दा दर्ता रहेको पाइएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरले अनुसन्धान सकेर ३ करोड ४ लाख रुपैयाँ बिगोको बैंकिङ कसुर मुद्दाको मिसिल सरकारी वकिल कार्यालयमा पठाइसकेको छ । परिसरले नै १ करोड ३ लाख ३० हजार रुपैयाँ बिगोको अर्को बैंकिङ कसुर मुद्दाको अनुसन्धानसमेत पूरा गरी मिसिल बुझाइसकेको छ ।

त्यस्तै ४८ लाख र ९५ लाख रुपैयाँ बिगोका दुई छुट्टाछुट्टै बैंकिङ कसुरका मुद्दा पनि अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा पेश भइसकेका छन् ।

के-के मुद्दा छन् तामाङविरुद्ध ?

तामाङविरुद्ध काठमाडौं जिल्ला प्रहरी परिसरमा ३ करोड ४ लाख, १ करोड ३ लाख ३० हजार, ४८ लाख र ९५ लाख रुपैयाँ बिगोका गरी चारवटा बैंकिङ कसुरसम्बन्धी मुद्दा छन् ।

त्यस्तै, २ करोड ५६ लाख रुपैयाँ बिगोको ठगी कसुरसम्बन्धी मुद्दा पनि काठमाडौं परिसरबाट सरकारी वकिल कार्यालयमा पठाइसकिएको छ ।

प्रहरीका अनुसार भक्तपुरमा २ लाख रुपैयाँ, प्रहरी वृत्त जनसेवामा ७५ लाख रुपैयाँ, दरबारमार्ग वृत्तमा ५ लाख २५ हजार रुपैयाँ र लैनचौर वृत्तमा १९ लाख ८० हजार रुपैयाँ बिगोका बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता छन् ।

त्यस्तै महाराजगञ्ज प्रहरी वृत्तमा पनि बैंकिङ कसुरसम्बन्धी एउटा मुद्दा रहेको प्रहरीले जनाएको छ । महाराजगञ्जको मुद्दाको बिगो रकम भने प्रहरीले खुलाएको छैन ।

यसरी तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरसम्बन्धी मुद्दा र एउटा ठगी कसुरको मुद्दा गरी १० वटा मुद्दा रहेको प्रहरीले जनाएको छ ।

तामाङ सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा सहभागी भएका थिए । बैठक सकेर सिंहदरबारबाट बाहिरिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पुर्जी जारी भएका तामाङ प्रधानमन्त्रीसँगको छलफलमा सहभागी भएको विषय सार्वजनिक भएपछि उनलाई सिंहदरबारबाटै पक्राउ गरिएको हो।

एकता भएको वर्षदिन पुग्दा पनि अलपत्र नेपाली कम्युनिस्ट पार्टी

काठमाडौं। प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरू मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन गरे। करिब २ हजार ५ सय जना केन्द्रीय सदस्य राखेर बनाइएको उक्त पार्टीको एकता प्रक्रिया भने डामाडोल र भताभुङ्गजस्तै देखिएको छ। न एकता महाधिवेशनको प्रक्रिया अघि बढ्न सकेको छ, न त पार्टीका तल्ला कमिटीहरूको संरचना शुद्धीकरण र एकीकरण नै हुन सकेको छ।

कतिसम्म भने नेकपा बन्नुअघिसम्म कायम रहेका जनसंगठन तथा भ्रातृ संगठनहरू पनि आफ्नै–आफ्नै ढंगले सञ्चालित छन्। तत्कालीन एकीकृत समाजवादी नेतृत्वको अनेरास्ववियु, माओवादी निकट अखिल (क्रान्तिकारी), राष्ट्रिय युवा संघ नेपाल र वाईसीएल नेपाल आफ्नै ढंगले गतिविधि गरिरहेका छन्। मानौँ, यी राजनीतिक संगठनहरू अझै छुट्टाछुट्टै पार्टीका संगठन हुन्।

पार्टी घोषणा भएको करिब एक वर्ष पुग्न लाग्दा पनि एकताको वास्तविक प्रभाव संगठनभित्र देखिन सकेको छैन। केन्द्रमा नेताहरू एउटै पार्टीमा समेटिए पनि तल्लो तहसम्मको संगठनात्मक एकीकरण अझै पूरा हुन सकेको छैन। परिणामतः पार्टीको संगठन अहिले पनि विगतका घटकहरूको संरचना र गतिविधिबाट मुक्त हुन सकेको छैन।

हाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजकको भूमिकामा छन्। तर, उनीहरूबाहेक अन्य नेताहरूको औपचारिक जिम्मेवारी र वरीयताक्रम अझै स्पष्ट हुन सकेको छैन। यसले नेतृत्व व्यवस्थापनसँगै पार्टीभित्रको शक्ति सन्तुलनको प्रश्नलाई समेत जीवित राखेको छ।

पार्टी एकता भएको लामो समय बितिसक्दा पनि चुस्त र प्रभावकारी संगठन निर्माण हुन नसकेको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको छ। विशेषगरी २ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय कमिटी र ४५ सदस्यीय केन्द्रीय कार्यसंयोजन समितिलाई लिएर नेताहरूले प्रश्न उठाउन थालेका छन्।

एक वर्ष पुग्न लाग्दा पनि नेपाली कम्युनिस्ट पार्टीले सबैभन्दा पहिले संगठनात्मक एकताको परीक्षा पार गर्नुपर्ने देखिएको छ। केन्द्रमा एउटै पार्टीको घोषणा भए पनि प्रदेशदेखि जनवर्गीय संगठनसम्म पुरानै संरचना कायम रहनुले एकता कागजमा मात्र सीमित भएको आलोचना भइरहेको छ।

सूर्यविनायक मन्दिरमा गणेश चतुर्थीको अवसरमा श्रद्धालुको घुइँचो

काठमाडाैं । गणेश चतुर्थीको अवसरमा भक्तपुरको प्रसिद्ध सूर्यविनायक मन्दिरमा मंगलबार बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ। गणेश भगवानको पूजा तथा दर्शनका लागि भक्तपुरसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरू सूर्यविनायक पुगेका छन्।

गणेश चतुर्थीका अवसरमा मन्दिरमा विशेष पूजाआजा तथा नित्य पूजा सम्पन्न गरिएको छ। श्रद्धालुहरूले गणेश भगवानलाई फूल, अक्षता, दूबो, लड्डु तथा विभिन्न फलफूल अर्पण गरी पूजा तथा दर्शन गरेका छन्। मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको आवतजावत बढेपछि सुरक्षा तथा व्यवस्थापनका लागि स्वयंसेवक र सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।

हिन्दू धर्मावलम्बीहरूले गणेशलाई विघ्नहर्ता तथा शुभकार्यका देवताका रूपमा पूजा गर्ने भएकाले गणेश चतुर्थीलाई विशेष धार्मिक महत्वका साथ मनाउने गर्छन्। कुनै पनि शुभकार्य सुरु गर्नुअघि गणेशको पूजा गर्दा बाधा–अड्चन हट्ने र कार्य सफल हुने धार्मिक विश्वास छ।

गणेश चतुर्थीका दिन विशेषगरी दूबो, सिन्दूर, फूल, फलफूल र मिठाई चढाएर गणेशको पूजा गर्ने परम्परा छ। सूर्यविनायक मन्दिरमा वर्षभरि नै भक्तजनहरूको चहलपहल हुने भए पनि गणेश चतुर्थी, मंगलबार तथा अन्य विशेष धार्मिक पर्वका दिन दर्शनार्थीको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ।

यसैबीच, पर्वका कारण सूर्यविनायक क्षेत्र आसपासका सडक तथा बजारमा समेत चहलपहल बढेको छ। भक्तजनहरूको सहज आवागमन र मन्दिर दर्शनलाई व्यवस्थित बनाउन सम्बन्धित निकायले आवश्यक व्यवस्थापन गरेको छ।

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मत सुरु [तस्वीरहरू]

नुवाकोट। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले त्रिशूली नदी आसपासका दर्जनौँ झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि टुटेको वारिपारिको सम्बन्ध जोड्न सरकारले मर्मत तथा पुनर्निर्माणको काम अघि बढाएको छ ।

बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशूली नदीमाथि रहेका पुलमा क्षति पुर्‍याएपछि स्थानीयको दैनिक आवतजावत प्रभावित भएको थियो । पुल नहुँदा बजार, विद्यालय, स्वास्थ्य संस्था र अन्य अत्यावश्यक सेवाका लागि समेत स्थानीयले घुमाउरो तथा लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

नुवाकोटको केउरेनी बजार, तारुकाघाटलगायतका क्षेत्रमा पुल मर्मतको काम सुरु भइसकेको छ । पुल सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामग्री खरिददेखि कृषि उत्पादन बजारसम्म पुर्‍याउने कामसमेत प्रभावित भएको स्थानीय बताउँछन् ।

सरकारका अनुसार मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ झोलुङ्गे पुलमध्ये ५३ वटा बाढीबाट क्षतिग्रस्त भएका छन् । स्थलगत मूल्याङ्कनपछि तीमध्ये २० वटा मर्मत गरे पुग्ने र ३३ वटा भने पुनर्निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको जनाएको छ । मर्मत सुरु गरिएका महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको काम अघि बढिरहेको छ । यी पाँच पुल एक महिनाभित्र सञ्चालनमा ल्याउने सरकारी लक्ष्य छ ।

पुनर्निर्माण गर्नुपर्ने ३३ वटा पुलका लागि पनि भदौ १७ गते नै बोलपत्र आह्वान गरिएको सरकारले जनाएको छ । पुल पुनर्निर्माण भएपछि बाढीका कारण विच्छेद भएका ग्रामीण बस्ती र बजार क्षेत्रबीचको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।

भोटेकोशी र त्रिशूलीको बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो । कतिपय ठाउँमा सडक कटान तथा भासिएपछि यातायातसमेत प्रभावित बनेको छ ।

स्थानीयका लागि झोलुङ्गे पुल नदी वारपार गर्ने संरचना मात्रै होइन, बजार, विद्यालय, स्वास्थ्यचौकी र रोजगारीसँग जोड्ने जीवनरेखा पनि हो ।

त्यसैले क्षतिग्रस्त पुलको काम तोकिएको समयमै सम्पन्न गरी आवतजावत सहज बनाउन स्थानीयले माग गरेका छन् ।


 

सत्ताभित्रका प्रतिपक्ष!

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पछिल्लो समय आफ्नै सरकारका विरुद्धमा फायर खोलिरहेका छन्। सांसदहरूले सरकारको कार्यशैली, सरकारका मन्त्रीका अभिव्यक्ति लगायतका विषयमा निरन्तर रूपमा असन्तुष्टि व्यक्त गरिरहेका छन्।

२१ फागुनको निर्वाचनबाट बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको धेरै भएको छैन। तर, छोटो समयमै सरकार आफ्नै निर्णय र कार्यशैलीका कारण विवादमा पर्दै आएको छ। सरकारी निर्णयकै कारण जनस्तरमा असन्तुष्टि पनि दिनप्रतिदिन चुलिँदै गएको देखिन्छ।

रास्वपा पार्टीभित्रकै आन्तरिक शक्ति सन्तुलनका कारण पनि रास्वपाबाटै सरकारले गम्भीर किसिमका प्रश्नहरूको सामना गर्नुपरेको विश्लेषण पनि हुने गरेका छन्। गएको ७-१२ असारसम्म चितवनमा भएको रास्वपा प्रथम राष्ट्रिय महाधिवेशनबाट रास्वपाको शक्ति सन्तुलन झन् ध्रुवीकृत बन्यो। अहिले पार्टीभित्रै तीन खेमा रहेको चर्चा पनि हुने गरेका छन्।

रास्वपामा अहिले सभापति रवि लामिछाने नेतृत्वको संस्थापन खेमा, बालेन नेतृत्वको अर्को समूह, गृहमन्त्री सुधन गुरुङको छुट्टै कित्ता र अमरेश कुमार सिंह/मनिष झा लगायतको अर्को खेमा रहेको बताइन्छ। यी चार खेमामध्ये लामिछाने र सिंह खेमाले अहिले सार्वजनिक वृत्तबाट नै प्रश्न र कटाक्ष गर्ने गरेका छन्। यी खेमाका सांसदहरू विपिन कुमार आचार्य, प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, मनिष झा, अमरेश कुमार सिंह, पुरुषोत्तम यादव लगायतका सांसदहरू सरकारको चर्को आलोचना गर्दछन्।

सुकुम्बासी नागरिकमाथिको सरकारी अत्याचार, सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति, मधेश घटना, ग्यास, लाइसेन्स, अस्पतालका लागि नागरिकहरूले भोग्नुपरेको सास्ती, महँगी नियन्त्रण सरकारको आलोचना बढ्नुका प्रमुख कारणहरू हुन्। सरकारको आलोचना गर्ने रास्वपा सांसदहरू पनि यी नै विषयमा असन्तुष्ट देखिन्छन्।

रास्वपाकी सचेतक क्रान्तिशिखा धिताल पछिल्लो समय सरकारका निर्णय र मन्त्रीका गतिविधिमाथि निरन्तर प्रश्न उठाउँदै आएकी छन्। उनी त सदनमा मात्रै होइन, बाहिर पनि सरकारलाई सुझाउन र राजनीतिक चेतसहितको आलोचना गर्न छुटाउँदिनन्। सदन र बाहिर गरिएका आलोचनाको खुलेर जिम्मा लिने धिताल बताउँछिन्।

२३ भदौको जेनजी शहीद स्मृति सभामा गृहमन्त्री सुधन गुरुङले विवादित व्यक्तिहरूलाई सहभागी गराएको विषयमा समेत उनले सार्वजनिक रूपमा आपत्ति जनाइन्। गृहमन्त्री त्यसको प्रतिवादमा उत्रिए पनि धिताल आफ्नो अडानबाट पछि हटिनन्।

उक्त कार्यक्रमका सन्दर्भमा उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्, ‘मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्‍यो, जसले आफ्ना सन्तान गुमाएका छन् र जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन् ?’

यो उनको एक मात्रै अभिव्यक्ति हो। उनी यो सरकार निर्माण भएदेखि नै धरातलीय राजनीति गर्नुपर्नेमा सरकारलाई सुझाइरहेकी देखिन्छिन्।

भोटेकोशी बाढीपछि पनि उनले सरकारको दाबीमाथि प्रश्न उठाइन्। प्रधानमन्त्री, गृहमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीले स्थानीय तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरिरहेका बेला धितालले बाढीमा गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्षसमेत प्रभावित भएको अवस्थामा स्थानीय तहले केन्द्र सरकारसँग कसरी प्रभावकारी समन्वय गर्न सक्छ भन्ने प्रश्न गरिन्।

पीडित नागरिकमाथि सामाजिक सञ्जालमार्फत भएका गालीगलौज र धम्कीको समेत उनले विरोध गरिन्। यसले उनलाई सत्तापक्षमै बसेर सरकारलाई खबरदारी गर्ने सांसदका रूपमा स्थापित गराएको छ।

त्यसैगरी रास्वपा सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको बैठकमै सरकारविरुद्ध निकै कडा अभिव्यक्ति दिए। उनले सरकारको कार्यशैली, प्रहरी प्रशासनमाथिको हस्तक्षेप, मधेशप्रतिको व्यवहार, विपद् व्यवस्थापन, महँगी तथा जनजीविकाका सवालमा सरकारलाई कठघरामा उभ्याए।

सिंहले सरकारको केन्द्र सिंहदरबार नभई ज्वागल बनेको टिप्पणी गर्दै ‘हुकुमी शासन’को आरोप लगाए।

उनले बैठकमा भनेका थिए, ‘सरकारको केन्द्र सिंहदरबार बुझेको थिएँ, तर सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिरहेको छ।’

प्रधानमन्त्रीसँग संवैधानिक अधिकार हुँदाहुँदै पनि त्यसको प्रयोग गर्ने शैलीप्रति प्रश्न उठाउँदै उनले प्रधानमन्त्रीले मन्त्रीलाई बर्खास्त गर्न सक्ने तर मन्त्रीमार्फत पक्राउ गर्न लगाउने शैली संविधानले परिकल्पना नगरेको बताए।

‘प्रधानमन्त्रीका अधिकार सिस्टममा हुन्छ। जतिखेर पनि मन्त्रीलाई बर्खास्त गर्न सक्छन्। तर प्रधानमन्त्रीले मन्त्रीलाई पठाउँछन् अरेस्ट गर्न। सचिवालयले पठाउँछ,’ सिंहले भने, ‘म कुन देशको सांसद ? यो देशको सांसद ? गुण्डाशैलीमा शासन गर्नुपर्छ भन्ने उहाँको कोट अनकोट हो। यो संविधानले परिकल्पना गरेको छैन।’

सिंहले मधेशको प्रतिनिधित्व र राज्यको व्यवहारलाई पनि सरकारसँग जोडेर प्रश्न गरे। रास्वपाले संविधानको अक्षरशः पालना गर्ने दाबी गरे पनि मधेशी समुदायमाथि सुरुदेखि नै प्रहार भइरहेको उनको आरोप थियो।

‘रास्वपाको आधिकारिक तरिकाले भन्न चाहन्छु। हाम्रो पार्टी यो संविधानको अक्षरशः पालना गर्छ। हाम्रो पार्टी हिमाल, पहाड र तराईलाई समान रूपमा हेर्न चाहेको छ। तर मधेशीलाई प्रहार सुरुदेखि भइरहेको छ,’ सिंहले भने।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले पनि सरकारको पुनर्निर्माण क्षमतामाथि प्रश्न उठाएका छन्। निजी क्षेत्रले आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइसक्दा सिंहदरबार र गृह मन्त्रालय अझै अलपत्र अवस्थामा रहेको भन्दै उनले सरकारी संरचनाको पुनर्निर्माणमा ढिलाइप्रति असन्तुष्टि जनाए।

२४ भदौको घटनालाई विध्वंस भनेका उनले अहिलेको सरकारबाट रसुवा नुवाकोटका नागरिकले के आशा गर्ने भन्दै प्रश्न उठाए।

‘भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन्,’ महामन्त्री आचार्यले भने, ‘निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ। तर, जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देख्छु। यस्तोमा रसुवा-नुवाकोटका नागरिकले के आशा गर्ने?’

यता अर्का सांसद मनिष झाले भने सरकारको नियतभन्दा कार्यशैलीमा कमजोरी रहेको टिप्पणी गरेका छन्। उनले सरकारको उद्देश्य र इमानदारीमाथि प्रश्न नगरे पनि राज्य सञ्चालनको ढंग सुधार्नुपर्ने बताए।

‘अहिलेको कुरामा इन्टिग्रिटीको प्रश्न छैन। इन्टिग्रिटीमा कुनै पनि शंका छैन। इन्टेन्सनमा पनि कुनै प्रश्न छैन,’ उनले भने, ‘तर कता-कता ढंग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ। र, त्यो स्वीकार्नुपर्छ।’

झाले राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई शासनको मूलमन्त्र बनाउनुपर्ने बताए। विकास र वृद्धिबीचको अन्तरदेखि मधेश, प्रवास र निजी क्षेत्रको भूमिकासम्म उनले सरकारलाई गम्भीर आत्मसमीक्षाको सन्देश दिए।

उनले मधेशमा देखिएको असन्तुष्टिलाई तत्कालीन घटनामा सीमित गरेर हेर्न नहुने चेतावनीसमेत दिए।

त्यसक्रममा उनले अगाडि थपे, ‘म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु। आगो निभेको हो, दाउरा निभ्या छैन। त्यसैले गर्दाखेरी त्यसमा सचेत भइराख्नुस्।’

प्रवासमा रहेका नेपालीको आर्थिक क्षमता र निजी क्षेत्रको आत्मविश्वासलाई राज्यले उपयोग गर्नुपर्ने उनको सुझाव थियो। निजी क्षेत्र प्रहरीदेखि डराउने अवस्था अन्त्य गरेर लगानीको वातावरण बनाउनुपर्ने उनले बताए।

‘निजी क्षेत्रलाई आत्मविश्वास दिनुस् न। भएको पैसा खर्च गर्न दिनुस्। बैंकमा भएको पैसा लगानी गर्न दिनुस्। यो वातावरण दिनुस्। यो आवश्यक छ,’ उनले भने।

रास्वपाभित्र देखिएको यस्तो आवाजलाई सरकारविरोधी विद्रोहका रूपमा मात्रै बुझ्नु पर्याप्त नहुन सक्छ। तर, सरकारका निर्णय र कार्यशैलीप्रति आफ्नै सांसदहरूले संसद् र सार्वजनिक वृत्तबाट प्रश्न उठाउनु सत्ता सञ्चालनका लागि गम्भीर र चुनौतीपूर्ण राजनीतिक संकेत भने हो।

सरकारलाई बाहिरबाट प्रतिपक्षले प्रश्न गर्नु लोकतन्त्रको सामान्य प्रक्रिया हो। तर, सत्तारूढ दलकै सांसदले सरकारलाई प्रश्न गर्न थालेपछि त्यो प्रश्न केवल विपक्षीको आलोचना रहँदैन, सत्ताभित्रकै असन्तुष्टिको अभिव्यक्ति बन्छ।

 

कप्तानीमा सन्दीपको दोस्रो ‘इनिङ’को शानदार सुरुवात

काठमाडौं। चार वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा फर्किएका सन्दीप लामिछानेले पुनरागमनलाई यादगार बनाएका छन्। उनको नेतृत्वमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसीसी एसिया कपमा स्थान सुरक्षित गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले गत महिना रोहित पौडेललाई कप्तानीबाट हटाएर लेग स्पिनर लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्व सुम्पिएको थियो। कप्तानीमा फर्किएपछि उनले पहिलो प्रतियोगितामै नेपाललाई उपाधि दिलाएका हुन्।

प्रतियोगितामा नेपालले पाँच खेल जित्दा एक खेलमा पराजय व्यहोरेको थियो। टोलीको सफल यात्रामा कप्तान सन्दीपको प्रदर्शन पनि निर्णायक रह्यो। उनले प्रतियोगिताभर १७ विकेट लिएर उत्कृष्ट खेलाडीको पुरस्कार जिते।

बहराइनविरुद्धको पहिलो खेलमै पाँच विकेट लिएका सन्दीपले मलेसियाविरुद्ध दुई, साउदी अरेबियाविरुद्ध तीन र हङकङविरुद्ध चार विकेट लिए। ओमानविरुद्धको सेमिफाइनलमा तीन विकेट लिएका उनले यूएईविरुद्धको फाइनलमा एक विकेट हात पारे।

यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। सोही खेलमा एक विकेट लिएसँगै सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमानसमेत बनाए। उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १५८ तथा टी–२० क्रिकेटमा १४२ विकेट लिएका छन्।

सन्दीपले आफ्नो व्यक्तिगत उपलब्धिभन्दा टोलीको सफलता ठूलो भएको बताएका छन्। उपाधि जितेपछि उनले भने, ‘टोलीलाई च्याम्पियन बनाउन योगदान दिन पाउँदा खुसी लागेको छ। तर, यो व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको सफलताका लागि हो। टोलीका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेकाले नै हामी च्याम्पियन बनेका छौँ।’

चार वर्षअघि पहिलोपटक नेपाली टोलीको कप्तानी सम्हालेका सन्दीपको पहिलो कार्यकाल भने अपेक्षाअनुसार सफल हुन सकेको थिएन। उनले कप्तानी गरेको १४ एकदिवसीय खेलमध्ये नेपालले चार खेल मात्र जितेको थियो। नौ खेलमा पराजित हुँदा एक खेल बराबरीमा सकिएको थियो।

सन् २०२२ मा कप्तान बनेका सन्दीपमाथि नाबालिगमाथि बलात्कारको अभियोग लागेपछि उनलाई कप्तानीबाट हटाउँदै निलम्बन गरिएको थियो। लामो कानुनी प्रक्रियापछि अदालतबाट सफाइ पाएपछि उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए। त्यसपछि छोटो समयमै उनले आफ्नो पुरानो लय समातेका छन्।

दोस्रोपटक कप्तानीको जिम्मेवारी पाउँदा भने सन्दीपले मैदानमा बलिङसँगै रणनीतिक नेतृत्वमा पनि प्रभाव देखाए। आवश्यक समयमा विकेट निकाल्दै उनले खेलको अवस्था आफ्नो टोलीको पक्षमा मोड्न योगदान दिए।

नेपाललाई एसीसी प्रिमियर कपबाट एसिया कपसम्म पुर्‍याउने उनी दोस्रो नेपाली कप्तान बनेका छन्। यसअघि रोहित पौडेलको नेतृत्वमा नेपालले सन् २०२३ को एसिया कप खेलेको थियो।

आठ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा अनेक उतारचढाव पार गरेका सन्दीपका लागि पछिल्लो उपलब्धि विशेष बनेको छ। करियर नै संकटमा पर्ने अवस्थामा पुगेका उनी कानुनी लडाइँपछि मैदानमा फर्किएर पुनः राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाउन सफल भएका छन्।

सन्दीपले एसीसी प्रिमियर कपको उपाधि रसुवा र नुवाकोटका बाढीपीडितलाई समर्पण गरेका छन्। विपद्को पीडामा रहेका नेपालीलाई टोलीको सफलताले केही भए पनि खुसी दिने उनको विश्वास छ।

‘देशलाई दुःख परेको बेला हामीले एसीसी प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा पुग्यौँ। यसले थोरै भए पनि नेपालीको मुहारमा खुसी ल्याएको छ। हामी गौरवान्वित छौँ,’ सन्दीपले भने।

सानो पिण्ड चारिक्लोको गोलाकार संरचना झन् रहस्यमय

काठमाडौं । अन्तरिक्षमा सानो आकारको एउटा खगोलीय पिण्डको गोलाकार संरचना वैज्ञानिकहरूले सोचेभन्दा धेरै रहस्यमय देखिएको छ। जेम्स वेब स्पेस टेलिस्कोपले गरेको अध्ययनपछि चारिक्लो नामको उक्त पिण्डबारे नयाँ तथ्य बाहिर आएको हो।

चारिक्लो शनि र अरुण ग्रहको बीचमा सूर्यको परिक्रमा गर्छ। पृथ्वी र सूर्यबीचको दूरीभन्दा करिब १७ गुणा टाढा रहेको चारिक्लोको चौडाइ करिब २५० किलोमिटर मात्र छ। आकारमा सानो भए पनि यसका दुईवटा बाक्ला गोलाकार संरचना छन्।

सौर्यमण्डलमा गोलाकार संरचना भन्नासाथ शनिको नाम आउँछ। तर शनि मात्र होइन, अरुण, वरुण र बृहस्पतिमा पनि यस्ता संरचना छन्। चारिक्लो र यसभन्दा पनि सानो खगोलीय पिण्ड काइरोनको अध्ययनले साना पिण्डमा समेत यस्तो संरचना बन्न सक्ने देखाएको छ।

चारिक्लोको गोलाकार संरचना पहिलोपटक सन् २०१३ मा पत्ता लागेको थियो। अहिले जेम्स वेब स्पेस टेलिस्कोपबाट गरिएको अध्ययनले भने त्यसलाई थप रहस्यमय बनाइदिएको छ।

स्पेनको इन्स्टिच्युट अफ एस्ट्रोफिजिक्स अफ अन्डालुसियाका अनुसन्धानकर्ताहरूले सन् २०२२ को अक्टोबरमा चारिक्लोको अध्ययन गरेका थिए। त्यसका लागि ‘स्टेलर अकल्टेसन’ प्रविधि प्रयोग गरिएको थियो। कुनै खगोलीय पिण्ड ताराको अगाडिबाट गुज्रिँदा ताराको प्रकाशमा आउने कमी मापन गर्ने विधिलाई स्टेलर अकल्टेसन भनिन्छ।

अनुसन्धान टोलीका प्रमुख पाब्लो सान्तोस–सान्जका अनुसार पछिल्लो एक दशकमा भएका अन्य अवलोकनसँग जेम्स वेबबाट प्राप्त तथ्यांक तुलना गर्दा चारिक्लोका दुई गोलाकार संरचनामा अनौठो परिवर्तन देखिएको छ।

भित्री गोलाकार संरचना पहिलेभन्दा धेरै अपारदर्शी भएको छ भने बाहिरी संरचना झन् पारदर्शी बनेको देखिएको छ।

वैज्ञानिकहरूका लागि यही परिवर्तन अहिले चासोको विषय बनेको छ। साना खगोलीय पिण्डका यस्ता संरचना तुलनात्मक रूपमा स्थिर हुन्छन् भन्ने यसअघिको बुझाइलाई नयाँ तथ्यले चुनौती दिएको छ।

वैज्ञानिकहरूका अनुसार अब चारिक्लोको गोलाकार संरचना कसरी बने, समयसँगै कसरी परिवर्तन भइरहेका छन् र तिनलाई स्थिर राख्ने शक्ति वा प्रक्रिया के हो भन्नेबारे पुनर्विचार गर्नुपर्ने भएको छ।

तर यसको कारण भने अहिलेसम्म पत्ता लागिसकेको छैन।

चारिक्लोको अध्ययन सौर्यमण्डलका साना पिण्ड र तिनका गोलाकार संरचना बुझ्न मात्र होइन, जेम्स वेब स्पेस टेलिस्कोपकै क्षमताका हिसाबले पनि महत्वपूर्ण मानिएको छ।

अवलोकनका लागि चारिक्लोको कक्ष, ताराको वास्तविक स्थान र जेम्स वेबको आफ्नै कक्षबारे अत्यन्तै सटीक जानकारी आवश्यक थियो।

यसमा युरोपियन स्पेस एजेन्सीको ‘गाइया’ अभियानबाट प्राप्त ताराको स्थानसम्बन्धी तथ्यांक प्रयोग गरिएको थियो। जेम्स वेब सूर्यबाट करिब १५ लाख किलोमिटर टाढा रहेको एल–२ ल्याग्रान्ज बिन्दु वरिपरि घुमिरहेको छ।

अध्ययनका क्रममा चारिक्लो जेम्स वेबको तुलनामा करिब २.५ किलोमिटर प्रतिसेकेन्डको गतिमा गुज्रिरहेको थियो। पृथ्वीका लागि यो निकै तीव्र गति भए पनि सौर्यमण्डलका अन्य तीव्र गतिका पिण्डको तुलनामा भने कम हो।

यही तुलनात्मक रूपमा कम गतिले चारिक्लोका गोलाकार संरचनालाई अहिलेसम्मकै सूक्ष्म विवरणमा अध्ययन गर्ने अवसर दिएको वैज्ञानिकहरूको भनाइ छ।

चारिक्लो निकै सानो र पृथ्वीबाट धेरै टाढा रहेकाले जेम्स वेबले समेत त्यसको प्रत्यक्ष तस्बिर खिच्न सक्दैन। त्यसैले वैज्ञानिकहरू अझै पनि स्टेलर अकल्टेसनकै माध्यमबाट चारिक्लो र त्यसका गोलाकार संरचनाको रहस्य खोतलिरहेका छन्। 

संघीय संसद् अधिवेशन अन्त्य गर्ने तयारी, असोज १५ पछि एक-दुई बैठक बस्ने

काठमाडौं । सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। असोज १५ गतेसम्मको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भइसकेको छ। त्यसपछि एक वा बढीमा दुई वटा बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताका अनुसार असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर अधिवेशन अवधिभर भएका गतिविधिबारे छलफल गर्ने तयारी छ। त्यसअघि असोज १५ गतेसम्मका लागि तय भएका कार्यसूचीअनुसार बैठकहरू सञ्चालन हुनेछन्।

‘असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर त्यसदिन अधिवेशनभर भएका गतिविधि सुनाउनेगरी छलफल भएको छ,’ ती नेताले भने, ‘असोज १५ पछि एक वा बढीमा दुई वटा बैठक बस्न सक्दछ।’

सरकारले अधिवेशन अन्त्यअघि प्रतिनिधिसभामा रहेका विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने तयारी गरेको छ। यसबीचमा नयाँ विधेयक आए पनि त्यसलाई समितिमा पठाएर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ।

त्यसपछि आगामी पुसमा अर्को अधिवेशन बोलाउने र अधिवेशन सुरु भएलगत्तै बाँकी विधेयकलाई अघि बढाउने सरकारको योजना रहेको नेताहरू बताउँछन्।

संघीय संसद्को चालू अधिवेशन २८ वैशाख २०८३ बाट सुरु भएको हो। यस अधिवेशनमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित कानुनहरू पारित भएका छन्। संसद् अधिवेशन नरहेका बेला ल्याइएका अध्यादेश पनि स्वीकृत भएका छन्। ती अध्यादेशले संशोधन गरेका विषय समेटेर ल्याइएका अध्यादेश प्रतिस्थापन विधेयकसमेत संसद्बाट पारित भएर ऐनमा रूपान्तरण भएका छन्।

चालू अधिवेशनमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुका साथै समसामयिक विषयमा सरकारका मन्त्रीहरूले संसद्मा सम्बोधन गरेका छन्। भने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकेको छैन।

प्रकाशित संसदीय क्यालेन्डरअनुसार भदौ ३० गते परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। सोही दिन एसियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स) को सदस्यता प्राप्त गर्ने प्रस्ताव अनुमोदन गर्ने तयारी छ।

भदौ ३१ गते बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। असोज १ गते संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल हुनेछ।

असोज ५ गते बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। असोज ६ गते नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।

त्यस्तै, असोज ७ गते भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ।

त्यसपछि असोज १३ गतेको बैठकमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

असोज १४ गते मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ र कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी छ।

असोज १५ गते नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ र भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने विषय सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।

एकताका लागि त वार्ता गर्नुपर्यो नि? वार्तै नगर्ने : शशांक कोइराला [भिडियाे]

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी एकताका लागि गगन थापा पक्षले वार्ता नगरेको आरोप लगाएका छन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकतामा पुग्न वार्ता र संवाद आवश्यक रहेको बताए। उनले कुन बिन्दुमा सहमति जुटाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने भए पनि वार्ताकै वातावरण नबनाइएको गुनासो गरे।

उनले भने, ‘एकताका लागि त वार्ता गर्नुपर्यो नि? वार्तै नगर्ने।’

कोइरालाले पार्टीभित्रको विवादलाई थप जटिल बनाउनेभन्दा संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए। पार्टीको एकता कायम राख्न दुवै पक्ष लचक भएर वार्तामा बस्नुपर्ने उनको भनाइ थियो।