`

एकताका लागि रास्वपाको प्रस्ताव: बालेन प्रधामन्त्री, कुलमानलाई दोस्रो बरियता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल र बालेन शाह समूहबीच एकताका लागि रास्वपाले ठोस प्रस्ताव पेश गरेको छ । रास्वपाको प्रस्तावमा छलफल गरि सकेसम्म आजै निर्णयमा पुग्ने प्रयास भइरहेको बताइएको छ ।

बालेननिकट स्रोतले दिएको जानकारी अनुसार रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सार्न सहमत भएको छ ।

यस्तै, ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पार्टीमा दोस्रो बरियता दिन तयार भएको छ ।

यी विषय करिब टुंगिएकाले पार्टीको केन्द्रीय समिति, समानुपातिक र प्रत्यक्षतिरको बाँडफाँडमा सहमति जुटे आजै निष्कर्ष निस्किने बताएको छ ।

पार्टीमा बालेनको पद वा बरियता के हुने भन्नेमा छलफल भइरहेको बताइएको छ । रास्वपा स्रोतका अनुसार बालेनले पार्टीमा कुनै पद दाबी गरेका छैनन् । बिहीबारको भेटमा लामिछानेले बालेनसँग समानुपातिका ७०-३० प्रतिशत बाँडफाँड गर्ने प्रस्ताव गरेका थिए, यसमा कुलमान पनि थपिने भएपछि थप छलफल हुनेछ ।

सञ्चारमन्त्री खरेलले गरे गुण्डुमा ओलीसँग भेटवार्ता

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटवार्ता गरेका छन् । अहिले ओली निवास गुण्डुमा भेटघाट भइरहेको छ । चुनावी वातावरणका लागि खासगरी ठूला दल र नेतासँगको सम्बन्ध सुधारमा लागेको सरकारले पछिल्लो समय उच्चस्तरीय समिति नै बनाएर संवाद थालेको छ ।

भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ । यसअघि खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । खरेलको सचिवालयका अनुसार आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट्दै छ्न् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल थालेको हो ।

 

सञ्चारमन्त्रीलाई देउवाले भने–सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाओस्

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन हुने विश्वासिलो वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबार बिहान आफ्नो निवासमा पुगेका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले यस्तो सुझाव दिएका हुन् । सरकारले अहिलेसम्म पनि निर्वाचन हुने विश्वसनीय वातावरण नबनाएको भन्दै देउवाले निर्वाचनको वातावरण तत्काल बनाउन सरकारलाई आग्रह गरेका हुन् । सरकारका प्रवक्तासमेत रहेका खरेलले आज प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका हुन् । देउवालाई भेटेपछि मन्त्री खरेल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न गुण्डु पुग्ने छन् । सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ ।

पूर्व जर्नेल शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ

काठमाडौं । नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनको आजै शपथ ग्रहणको तयारी भइरहेको छ । प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्व जर्नेल हुन् । माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्र मात्र होइनन्, कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरेका थिए ।

आजै दिउँसो २ बजे उनलाई मन्त्री पदको शपथ खुवाउने कार्यक्रम रहेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ । शर्माको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्‌ १५ सदस्यीय बन्नेछ । अझै रक्षा र खानेपानी मन्त्रालय प्रधानमन्त्री कार्कीकै जिम्मेवारीमा छन् ।

 

 

 

आज–भोलिमै सहमति गर्ने तयारीसहित रवि–बालेनको टोली गृहकार्यमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच पछिल्ला दिनहरूमा तीव्र संवाद भइरहेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै धारमा ल्याउने उद्देश्यसहित दुवै नेताका सहकर्मीहरू सहमतिको खाका बनाउन व्यस्त छन् । स्रोतहरूका अनुसार आज वा भोलिसम्म सहकार्य वा एकतासम्बन्धी औपचारिक घोषणा हुने गरी गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने मिति नजिकिँदै गर्दा पुस १३ अगावै समझदारीमा पुग्नुपर्ने दबाब दुवै पक्षमा छ । यही कारण पुस ७ र पुस १० गते दुई चरणमा भएका छलफलमा रवि र बालेन सहमतिनजिक पुगेको रास्वपा निकट स्रोतको दाबी छ । ती भेटघाटमा चुनावी मोडालिटी, नेतृत्वको हैसियत, शक्ति बाँडफाँट र दीर्घकालीन राजनीतिक यात्राका विषयमा गम्भीर संवाद भएको बताइन्छ । छलफलमा सहभागी एक स्रोतका अनुसार आगामी चुनावमा नयाँ वैकल्पिक शक्तिहरू मिलेर जानुपर्नेमा दुवै नेताबीच मतभेद छैन । तर सहकार्य कुन ढाँचामा हुने, पार्टी एकता तत्काल गर्ने कि चुनावी तालमेलबाट अघि बढ्ने भन्ने विषय अझै अन्तिम टुंगोमा पुगिसकेको छैन । पावर सेयरिङ र नेतृत्वको क्रमबारे प्रारम्भिक सहमति बने पनि केही बुँदामा थप छलफल आवश्यक रहेको बताइन्छ ।

यसबीच उज्यालो नेपाल पार्टीका अवधारणाकार कुलमान घिसिङलाई समेत समेटेर फराकिलो वैकल्पिक मोर्चा बनाउने प्रस्तावमाथि पनि छलफल भइरहेको छ । बालेन र कुलमानबीच हालै छुट्टाछुट्टै भेटवार्ता भएका छन् । कुलमानलगायत विभिन्न सामाजिक–राजनीतिक व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउने पहलको अगुवाइ बालेनले लिएको बताइन्छ । बालेन काठमाडौं महानगरको नगरसभामा व्यस्त रहे पनि उनको टिमले निरन्तर छलफल र समन्वय गरिरहेको छ ।

रवि–बालेन संवादमा आन्दोलनमा सक्रिय जेनजी पुस्ताका प्रतिनिधिहरूलाई समेत समेटेर नयाँ वैकल्पिक राजनीतिक शक्ति घोषणा गर्ने सम्भावनाबारे पनि कुरा भइरहेको स्रोतहरू बताउँछन् । लामो समय मौन रहेका बालेनले पछिल्लो भेटघाटमा संसदीय राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने संकेत दिएको चर्चा छ । उनले पहिलो संसदीय निर्वाचन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापाबाट लड्न सक्ने संकेत निकटवर्तीसँग व्यक्त गरेको बताइन्छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेन राष्ट्रियस्तरमै चर्चित बनेका थिए । सोही वर्ष भएको संसदीय निर्वाचनमा पहिलो प्रयासमै चौथो शक्तिका रूपमा उदाएको रास्वपा अब आगामी चुनावमा वैकल्पिक शक्तिहरूलाई एउटै मोर्चामा उभ्याउने रणनीतिमा जुटेको छ । प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सक्रिय भइरहँदा वैकल्पिक भनिएका दलहरू भने त्यसले निकास नदिने ठहर गर्दै चुनावी तयारी तीव्र बनाइरहेका छन् । रवि र बालेनबीचको संवादलाई निष्कर्षमा पुर्‍याउन असीम शाह, आसिफ शाह र कुमार बेन सक्रिय छन् । उनीहरूले विस्तृत सहमतिको खाका तयार पारेर आज रातिसम्म अन्तिम निर्णयमा पुर्‍याउने प्रयास गरिरहेका छन् । स्रोतका अनुसार तत्काल पार्टी एकता वा औपचारिक सहकार्यको घोषणा हुन सक्ने सम्भावना बलियो छ ।

निकटस्थहरूले जनाएअनुसार सम्भावित एकीकृत संरचनामा रवि शीर्ष नेतृत्वमा रहने र बालेन दोस्रो वरियतामा रहने समझदारी बनिरहेको छ । साथै पहिलो चरणमै बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने पुरानो प्रतिबद्धतामा रवि कायम रहेको बताइन्छ । यही बुँदालाई आधारभूत सहमतिको मुख्य आधार मानिएको छ । यसअघि संवाद अपेक्षित गतिमा नबढेपछि बालेनले आफ्ना निकट सहयोगीहरूको सल्लाहमा वैकल्पिक रूपमा ‘देश विकास पार्टी’को ब्यानरमा अघि बढ्ने तयारी थालेका थिए । पुस ७ गते कमलपोखरीमा भएको छलफलका विषय सार्वजनिक रूपमा फरक ढंगले प्रस्तुत भएको भन्दै उनी असन्तुष्ट बनेका थिए । तर पछिल्ला भेटवार्तापछि दुवै पक्ष फेरि सहमतिको दिशातर्फ फर्किएको देखिन्छ ।

पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातबारे पनि छलफल भएको छ । रास्वपामा पहिले नै धेरै आकांक्षी रहेकाले समानुपातिक सूची ७०–३० को अनुपातमा बनाउने प्रस्ताव रविले राखेका थिए । त्यसमा लचिलो भएर संख्या तलमाथि गर्न सकिने विकल्प खुला राखिएको छ । बालेनले भने समानुपातिक संख्यामा खास चासो नदेखाएको बुझिएको छ र यसबारे सहकर्मीहरूलाई जिम्मा दिने संकेत गरेका छन् । रास्वपाको चुनाव चिह्न ‘घण्टी’ अन्तर्गत अघि बढ्न बालेनलाई ठूलो समस्या नभएको बुझिएको छ । पत्रकारहरूले चुनाव चिह्नबारे सोध्दा रविले ‘समयले बताउने’ प्रतिक्रिया दिए पनि अन्ततः सहमतिमा पुग्ने संकेत दिएका छन् ।

संवाद तिक्ततातर्फ मोडिन थालेपछि दुवै नेताका सहकर्मीहरूले अविलम्ब मिल्न दबाब दिएका थिए । कुलमान घिसिङसँग बालेनको छुट्टै छलफल, विभिन्न शक्ति र व्यक्तित्वलाई एउटै धागोमा बाँध्ने प्रयास र जेनजी पुस्ताको भावनालाई समेट्ने चाहनाले अहिलेको संवादलाई सकारात्मक मोडमा ल्याएको नेताहरू बताउँछन् । रास्वपा नेता असीम शाहका अनुसार छलफल सकारात्मक निष्कर्षतर्फ अघि बढिरहेको छ । उनका शब्दमा, नयाँ शक्तिहरूबीचको एकता जेनजी पुस्ताको समेत चाहना भएकाले त्यसलाई सम्मान गर्दै छिट्टै सकारात्मक सन्देश आउनेछ ।

 

लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायो : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्था बाहेक अरु कुनै नरहेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित वागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनले लघुवित्तले बिना धितोमा कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनकाअनुसार ३० को दशकमा लघुवित्तले मुलुकको गरिबीलाई घटाउन ठूलो भूमिका खेलेको छ ।

लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत दिएर उनीहरुलाई सक्षम बनाएको समेत श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठले लघुवित्तका कारण वित्तीय पहुँच बढेको बताउँदै राजनीति स्र्वथ पुरा गर्न लघुवित्तलाई बदनाम गरिएको समेत बताए । तर अहिले स्थिति सामान्यकरण भइसकेको उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा समस्याहरु छन् । नेपालमा समस्या नभएको ठाउँ नै छैन । यति धेरै समस्या छन् समस्या सुन्दा सुन्दै समस्या पुराण जस्तो छ र यति धेरै समस्याको हामीले नै समाधान गर्नुपर्छ । कसैले समाधान गरिँदैन । लघुवित्त संस्थामा पनि विगतमा तीब्र विस्तार भयो, त्यससँगै केही समस्या सिर्जना भए । अहिले अलि मत्थरसँगै सुदृढीकरण पनि भएको छ ।’

उनले भने, ‘त्यो अनुसार अझ नयाँ ढंगले अघि बढ्नुपर्ने स्थिति पनि छ । ३० वर्षअघि जुन अवस्था थियो, त्यो भन्दा धेरै अघि बढिसकेका छौं । समाज परिवर्तन भएको छ । बसाइसराइ तीव्र छ । गाउँबाट शहर हुँदै विदेशतिर बसाइसराइ छ । समाजमा धेरै परिर्वतन आएको छ गरिबी पनि घटेको छ । त्यसमा लघुवित्तको भूमिकालाई नकार्न मिल्दैन । लघुवित्तले गरिवी हटाउन राम्रो भूमिका खेलेको छ । तीन वर्ष अघिसम्म कुनै बेला १०० जना जम्मा हुँदा ५० जना गरिब थियौँ । अहिले नयाँ मापदण्ड अनुसार १०० मा २० जना जति गरिब छौं ।’

उपाध्यक्ष श्रेष्ठले भने, ‘पुरानैलाई आधार मान्ने हो भने पनि अहिले हामी ४ प्रतिशतको गरिबीमा झरेका छौं । अहिले हामीलाई मोबाइल फोन भएन भने गरिब हुने स्थिति छ । हिजो मोबाइल फोन चाहिँदैन्थ्यो । अहिलेका हाम्रा आवश्यकताहरु विस्तारै परिवर्तन भएका छन् । सूचना प्रविधिको विकासले सहयोग गरेको छ । उपभोग गर्ने शैली पनि बढाएको छ । हामी दक्षिण एशियामा गरिबीको सुधार गर्ने देशमा पछौँ । हाम्रो मानव विकास सूचांकमा पनि सुधार भएको छ । त्यति हुँदाहुँदै पनि हामी सन्तोष छैनौँ । राजनीतिक अस्थीरताले हामीलाई धेरै गाँजेको अवस्था छ । लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत बढेको छ । वित्तीय पहुँच बढेको छ । बिना धितो ऋण दिने कुनै संस्था छ भने लुघवित्त संस्था हो । अरु संस्थाले कमै दिन्छन् । बिचमा केही विकृति विसँगती आए । अहिले केही राजनीति उद्देश्यले केही भड्काउन गर्ने काम पनि भएको छ । लघुवित्तका सदस्यहरु चनाखो हुनुपर्छ ।’
उनले हरेक क्षेत्रमा समस्या रहेकाले सम्बोधन गर्ने काम राज्यको भएकाले समाधान गर्दै जाने समेत प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनकाअनुसार महिला सशक्तिकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ ।

ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भुमिका खेलेको बताउँदै लघुवित्तमा रहेका समस्याहरु हल गर्दै जानुपर्नेमा जोड दिनुभयो । यादवले भन्नुभयो–‘लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्वपूर्ण भुमिका खेलेको छ । महिला सशक्तिकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ । ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भूमिका खेलेको छ । जो व्यक्तिसँग धितो दिने क्षमता छैन, अन्य बैंकबाट सेवा लिने अवस्था नभएकालाई वित्तीय, गैर वित्तीय सेवा लघुवित्तले दिएको छ ।’ लघुवित्तलाई परेका समस्यालाई राज्यले गम्भीर रुपमा हेर्नुपर्नेमा उहाँको जोड थियो ।

यस्तो छ रास्वपाको समानुपातिकतर्फका आकांक्षीको अन्तिम सूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन । सूचीमा नाम समावेश नगरिएकाहरूलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने रास्वपाले जनाएको छ।

हेर्नुस् सूची

 

आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।

गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन रु दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा कारोबार भएको थियो । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इजिप्टमा भवन भत्किँदा ८ जनाको मृत्यु

काठमाडौं । इजिप्टको कायरो दक्षिणमा पर्ने गिजा प्रान्तमा एक पाँचतले आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या आठ पुगेको इजिप्टको सरकारी समाचार वेबसाइट अहराम अनलाइनले जनाएको छ । भग्नावशेष हटाउने कार्यपछि उद्धार टोलीले अन्तिम बेपत्ता व्यक्तिको शव फेला पारेको छ ।

गिजाको घना बस्ती भएको इलाका इम्बाबामा उक्त भवन भत्किएको थियो । जसका कारण आसपासका अन्य भवनहरूमा पनि क्षति पुगेको थियो । जसलाई सुरक्षा मूल्याङ्कनको प्रतिक्षामा सावधानीका रूपमा खाली गरिएको छ ।

गिजा प्रान्तको आधिकारिक फेसबुक पेजमा जारी गरिएको एक विज्ञप्तिमा अधिकारीहरूले भवन रहेको सडक साँघुरो भएका कारण भारी मेसिनरी प्रयोग गर्न नसकिएकाले भग्नावशेष हटाउने काम हातैले गरिएको बताएका छन् । भवन भत्किनुको कारण पत्ता लगाउन एक विशेषज्ञ इन्जिनियरिङ समितिलाई खटाइएको छ । जसले भवनमा अनुमति बिना कुनै परिवर्तन गरिएको थियो वा निर्माण नियमहरूको उल्लंघन भएको थियो भन्ने विषयमा अनुसन्धान गर्नेछ ।

चीनको उच्च–गतिको रेल नेटवर्क ५० हजार किलोमिटर नाघ्यो

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो उच्च–गतिको रेल सञ्जाल भएको चीनले नयाँ रेल लाइनको शुरुवातसँगै ५० हजार किलोमिटरको कुल सञ्चालन माइलेज पार गरेको छ । नयाँ उच्च–गतिको रेल लाइनको प्रक्षेपणसँगै चीनको कुल सञ्चालन माइलेज ५० हजार किलोमिटरभन्दा माथि पुगेको हो ।यससँगै चीनले विश्वको सबैभन्दा ठूलो उच्च–गतिको रेल सञ्जालको रूपमा आफ्नो स्थान अझ सुदृढ बनाएको छ । शुक्रवार बिहान उत्तरपश्चिमी चीनको शान्सी प्रान्तको एक पवित्र क्रान्तिकारी केन्द्र यानआनबाट प्रान्तीय राजधानी सियानका लागि फक्सिङ बुलेट ट्रेन प्रस्थान गर्‍यो ।

यस प्रस्थानले नयाँ मार्गको उद्घाटन मात्र गरेन बरु राष्ट्रिय यातायात पूर्वाधारको विकासमा एक महत्वपूर्ण कोसेढुङ्गा पनि थपेको छ । फक्सिङ बुलेट ट्रेन चीनको स्वदेशी प्रविधिमा आधारित छ र यसले तिब्र गतिको साथसाथै यात्रुहरूलाई आरामदायी यात्रा प्रदान गर्दछ । ५० हजार किलोमिटरको यो उपलब्धिले चीनका विभिन्न शहरहरू बीचको दूरी घटाउन र आर्थिक गतिविधिहरूलाई गति दिन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

भारतको कर्नाटकमा बस र ट्रक ठोक्किँदा नौं जनाको मृत्यु

काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा निजी स्लिपर बस र ट्रक एकआपसमा ठोक्किँदा नौ जनाको मृत्यु भएको छ । अन्य धेरै यात्रीहरू घाइते भएका छन् । दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिव २०३ किलोमिटर उत्तर–पश्चिममा पर्ने चित्रदुर्गा जिल्लाको हिरियुर क्षेत्रस्थित गोरलाथु गाउँको राजमार्गमा बिहीवार भएको थियो । प्रहरीकाअनुसार विपरित दिशाबाट आउँदै गरेको ट्रकले सडकको डिभाइडर नाघेर बसलाई ठक्कर दिएको थियो ।

ठक्कर लगत्तै बसमा भीषण आगो लागेको र केही बेरमै आगोको लप्काले पूरै बसलाई आफ्नो चपेटामा लिएको थियो । बसमा चालक र सहचालकसहित कुल ३२ जना सवार रहेको रिपोर्टमा उल्लेख छ । भारतमा प्रायः सडकको जीर्ण अवस्था, ओभरलोडिङ र चालकको लापरवाहीका कारण यस्ता घातक सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।

उपमेयर डंगोलकाे नाममा ‘फेक अकाउण्ट’, क्यूआर पठाएर पैसा मागिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्वीर दुरुपयोग गर्दै नक्कली ह्वाट्सएप खाता (फेक अकाउण्ट) बनाएर ठगी गरेको खुलेको छ । डंगोलले सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त खाता र नम्बर आफ्नो नभएको स्पष्ट पार्दै सर्वसाधारणलाई सचेत गराएकी छन् । उनका अनुसार स्क्यामरले आफूलाई अप्ठ्यारो परेको भन्दै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको छ ।

उनले यसबारे नेपाल प्रहरी र सम्बन्धित दूरसञ्चार निकायलाई जानकारी गराइसकेको र कानुनी प्रक्रिया अघि बढाइसकेको बताइन् । साथै, कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न र यस्ता सन्देशमा प्रतिक्रिया नदिन अनुरोध गरेकी छन् । डंगोलले लेखेकी छन्, ‘मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो म होइन र यो मेरो नम्बर पनि होइन। कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र प्रतिक्रिया नदिनुहोस् ।’

 

हर्क साम्पाङले कारवाही गरेका परियार नेकपामा प्रवेश

काठमाडौं । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरेका छन् । बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।

परियारलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उनीजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउनु खुशीको कुरा भएको बताएका छन् । डा. परियारले पनि जनयुद्ध र त्यसपछि गणतन्त्र स्थापनामा प्रचण्डले गरेको योगदानबाट आफू प्रभावित भएको बताएका छन् । उनले अब दलित मुक्ति आन्दोलनमा नयाँ उचाइमा पु¥याउन योगदान गर्ने बताए । उनलाई तत्काल केन्द्रीय सदस्य र बाँकी जिम्मेवारी थप छलफलपछि दिइने तयारी रहेको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।

देउवालाई भेट्न महाराजगञ्ज पुगे सञ्चारमन्त्री खरेल, आजै ओली र प्रचण्डलाई भेट्दै

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन् । सरकारका प्रवक्ता समेत रहेका खरेलले आज एकै दिन प्रमुख तीन दलका अध्यक्ष एवं सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उनको सचिवालयका अनुसार मन्त्री खरेल सुरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न उनकै निवास महाराजगञ्ज पुगेका हुन् ।

देउवालाई भेटेपछि मन्त्री खरेल बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनकै निजी निवास गुण्डु पुग्ने छन् । अनि अन्त्यमा सञ्चारमन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास पुग्ने कार्यक्रम रहेको मन्त्री खरेलको सचिवालयले जानकारी दिएको छ । यसबीच सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण तयार पार्न सरोकारवाला पक्षसँग समन्वय र संवादलाई तीव्रता दिएको छ । साथै यसबीच सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका राजनीतिक दलका कार्यालयको अनुगमन पनि गरेको छ ।

मेयरबाट प्रधानमन्त्रीको बाटो बनाउँदै बालेन, पार्टी कार्यालय नै खोलेर सक्रिय

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले औपचारिक रूपमा दलीय राजनीतिमा प्रवेशको घोषणा गर्दै नयाँ राजनीतिक शक्ति निर्माणको तयारी तीव्र पारेका छन् । रास्वपा, उज्यालो नेपाललगायत दलसँग सहकार्यको प्रयास चलिरहेकै बेला बालेनले वैकल्पिक योजना स्वरूप आफ्नै पार्टी सञ्चालन गर्ने निष्कर्षसहित पार्टी कार्यालय समेत स्थापना गरिसकेका छन् ।

ललितपुरको ज्वागलमा ‘देश विकास पार्टी’ नामक दलको कार्यालय खोलिएको छ । निर्वाचन आयोगमा दर्ता भइसकेको यस पार्टीको चुनाव चिह्न ‘लौरो’ नै छ, जुन चिह्नबाट बालेन २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँका मेयर निर्वाचित भएका थिए । पार्टीकी अध्यक्ष सन्ध्या खनाल छिन् । बालेन निकट स्रोतका अनुसार उज्यालो नेपाल र रास्वपासँगको वार्ता निर्णायक मोडमा नपुगे स्वतन्त्र रूपमा अघि बढ्ने तयारी पहिल्यै गरिएको थियो ।

यही सन्दर्भमा बिहीबार बालेनले बिहानदेखि साँझसम्म ‘म्याराथन मिटिङ’ गर्दै विभिन्न राजनीतिक दलका नेता, जेन–जी प्रतिनिधि र पूर्व विवेकशील साझाका नेताहरूसँग लगातार छलफल गरे । कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवास र ज्वागल क्षेत्र केन्द्र बनाएर भएको भेटवार्ताले बालेन अब संसदीय राजनीतिमा सक्रिय हुने स्पष्ट सन्देश दिएको छ ।

दिनको सुरुआत ऊर्जा क्षेत्रमा चर्चित नाम कुलमान घिसिङसँगको भेटबाट भयो । उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा आएका घिसिङ र बालेनबीच सहकार्य लगभग टुंगिएको बताइन्छ । पार्टी एकता वा उज्यालो नेपाललाई निष्क्रिय बनाएर घिसिङ देश विकास पार्टीमा समाहित हुने विकल्पमाथि छलफल भएको स्रोतको दाबी छ ।

त्यसपछि बालेनले कांग्रेस नेता सुनील शर्मा, रास्वपाका सभापति रवि लामिछाने, पूर्व सांसद अमरेशकुमार सिंह र रास्वपाका पूर्व सांसद शिशिर खनालसँग भेट गरे । विशेष गरी रवि लामिछानेसँगको भेटलाई चासोका साथ हेरिएको छ । यसअघि नै बालेनलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव आएको भनिए पनि बिहीबारको भेटवार्ता निष्कर्षविहीन रह्यो ।

राजनीतिक दलका नेतासँगै बालेनले जेन–जी अभियानका अगुवा व्यक्तिहरूसँग पनि लामो संवाद गरे । रक्षा बम, रोहनराज दंगाल, युजन राजभण्डारी, सुदन गुरुङलगायत युवाहरूलाई भेट्दै उनले ‘स्वच्छ छवि भएकाहरू अगाडि आउनु पर्छ’ भन्दै नयाँ राजनीतिक अध्याय सुरु भएको बताएका छन् । २५ वर्ष पूरा गरेका युवालाई निर्वाचनमा उम्मेदवार बनाउने र जिम्मेवारी बाँडफाँडबारे छलफल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

साँझतिर बालेनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँग भेटवार्ता गरे । भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने सुझाव दिए भने सुनारले बालेनले आफू राजनीतिमा आएको र सहयोग अपेक्षा गरेको जानकारी दिए । लगातारको भेटघाटमा बालेनले आफू एक्लै चुनाव लडेर परिवर्तन सम्भव नभएको भन्दै १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । समानुपातिक सूची बुझाउने समय नजिकिँदै गर्दा देश विकास पार्टीले करिब ११० क्षेत्रमा उम्मेदवार तय गर्ने तयारी गरिरहेको बताइन्छ ।

मेयरको भूमिकाबाट राष्ट्रिय राजनीतितर्फ उक्लने तयारीमा देखिएका बालेनले ‘सबै नयाँ शक्ति मिलेर चुनावमा जानुहोस्’ भन्ने आह्वान गरेका छन् । ज्वागलबाट सुरु भएको यो राजनीतिक अभ्यासले आगामी निर्वाचनमा कस्तो रूप लिन्छ, त्यो भने अबको केही साताले स्पष्ट पार्नेछ ।

कांग्रेसमा अब महाधिवेशन कि चुनाव ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशनको अन्योल झन गहिरो बनाएको छ । क्रियाशील सदस्यता टुंग्याउन नसक्दा महाधिवेशन तालिका हेरफेर हुनसक्ने चर्चा चलिरहेका बेला महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महाधिवेशनअघि नेतृत्व परिवर्तन नभए संसदीय निर्वाचन नलड्ने घोषणा गरेपछि पार्टीभित्र तरंग पैदा भएको छ ।

बैठकमा महामन्त्री शर्माले अबको १६ दिनमै क्रियाशील सदस्यताको काम टुंग्याएर वडा र क्षेत्रीय अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरे । महाधिवेशनको मिति केही दिन सार्न सकिने उनको संकेत थियो । तर प्रगति न्यून देखिँदा दुवै महामन्त्री आक्रामक रूपमा प्रस्तुत भए ।

गगन थापाले फागुन २१ को निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य भएको भन्दै त्यसो नभए आफू चुनाव नलड्ने स्पष्ट चेतावनी दिए । ‘नेतृत्व नफेरिए चुनावमा जान सकिन्न, अरू लड्नुस्, म लड्दिनँ,’ उनको भनाइ थियो । झापा–१ बाट एकल सिफारिस भएका विश्वप्रकाश शर्माले पनि चुनाव नलड्ने घोषणा दोहोर्‍याउँदै नयाँ र युवा उम्मेदवार अघि सार्नुपर्ने तर्क गरे ।

महामन्त्रीहरूको यस्तो अभिव्यक्तिपछि बैठकमा चर्को असन्तुष्टि देखियो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत आक्रोशित हुँदै महामन्त्रीहरूको अभिव्यक्तिले कांग्रेस कमजोर देखिएको आरोप लगाए । ‘नेतृत्व परिवर्तनले मात्र होइन, एकताले पार्टी बलियो हुन्छ,’ उनको भनाइ थियो ।

महाधिवेशनको तालिका सार्वजनिक भए पनि क्रियाशील सदस्यता र तल्ला तहका अधिवेशनमै अड्किएको कांग्रेसमा अब ‘महाधिवेशन कि चुनाव’ भन्ने बहस निर्णायक मोडमा पुगेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । दिउँसो १ः०० बजे बैठक पुनः बस्ने भएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबारदेखि सुरू बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले धारणा राखिसकेका छन् ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले क्रियाशील सदस्यता टुंग्याएर महाधिवेशनको प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको बताएका छन् । क्रियाशील सदस्यता टुंग्याउनु सबैभन्दा ठूलो चुनौती भएकाले वडादेखिको कार्यतालिका प्रभावित हुने उनको भनाइ छ । निर्णायक ‘क्याम्पेनर’ मानिने महामन्त्रीहरू नै चुनावबाट बाहिरिने चेतावनी दिएपछि कांग्रेस आगामी निर्वाचनमा कुन बाटो समात्छ भन्ने प्रश्न अझ गम्भीर बनेको छ ।

गैरहाजिर २० प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत २० जना प्रहरी कर्मचारी लामो समयदेखि कार्यालय सम्पर्कबाट बाहिर रहेको खुलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार तीमध्ये केही कर्मचारी असोज महिनादेखि र केही कात्तिक महिनादेखि कुनै जानकारी नदिई आफैं गैरहाजिर रहँदै आएका छन् ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको हो । सूचनामा उल्लेख भएअनुसार सम्बन्धित प्रहरी कर्मचारीको खोजतलास गरिएको, प्रहरी नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा गरिएको तथा सूचना टाँस गरिसक्दा पनि उनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक रूपमा सूचना जारी गर्नुपरेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर रहनुको स्पष्ट कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित नभए कडा कारबाही गरिनेछ । तोकिएको समयसीमाभित्र हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम १०९ को देहाय (ख) १ अनुसार उनीहरूलाई सेवाबाट हटाइने चेतावनी दिइएको छ ।

प्रहरी संगठनले अनुशासन, जिम्मेवारी र नियमित उपस्थितिलाई अत्यन्त महत्वपूर्ण मानेको उल्लेख गर्दै लामो समयसम्म बिना जानकारी गैरहाजिर रहनु संगठनात्मक मर्यादा र सेवाको दायित्वविपरीत हुने जनाएको छ । यस किसिमको कार्यले प्रहरी सेवाको विश्वसनीयता र कार्यक्षमतामा असर पर्ने भन्दै प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति सचेत रहन आग्रह गरेको छ । साथै, वैध कारणले उपस्थित हुन नसकेको अवस्थामा समयमै कार्यालयलाई जानकारी गराई कानुनी प्रक्रिया पूरा गर्नुपर्ने पनि सूचनामार्फत स्पष्ट पारिएको छ ।

वैकल्पिक एकतामा लौरो-घण्टी लुकामारी, कसको पल्ला कति भारी ?

बुधबार दिउँसोदेखि नेपालको राष्ट्रिय राजनीतिमा नयाँ शक्तिकेन्द्रमा भइरहेका गतिविधिले चर्चा पाइरहेको छ- ज्वागलस्थित काठमाडौंका मेयर बालेन शाहका सल्लाहकार कुमार व्यञ्जनकारको निवास । बुधबार दिउँसोदेखि बिहीबार अँध्यारो हुँदासम्म व्यञ्जकार निवासमा पाकिरहेको व्यञ्जनको दर्शक/पाठकलाई पस्किन पत्रकारहरू प्रतिक्षा गरिररहेका थिए । तर, दुई दिनको रिले भेटघाटलाई नजिकबाट नियालिरहेका सञ्चारकर्मीले समेत भित्र के पाकिरहेको छ भन्ने भेउ पाउन सकिरहेका छैनन् । मेयर शाहलाई भेटेर निस्किएका प्राय: कसैले पनि मिडियासामू के छलफल भयो भन्ने बताइरहेका छैनन् । व्यञ्जनकार निवास बाहिर सडकमा उभिएका पत्रकारहरूको जिज्ञासाको केन्द्र भने रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीचको वार्ताबाट के निष्कर्ष निस्किन्छ भन्ने थियो ।

भदौ २३ र २४मा भएको जेन्जी आन्दोलनले मेयर शाहलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याइपुर्‍यायो । आन्दोलनपछि कुनैबेला उनका सल्लाहकार रहेका ओम अर्याल गृहमन्त्री बने भने उनै अर्यालको चाहनाअनुसार पूर्वप्रधानन्यायाधीश शुसिला कार्की प्रधानमन्त्री बनिन् । त्यसैले, धेरैले यो सरकारको डिजाइन पर्दापछाडिबाट बालेन शाहले गरेको मानिरहेका छन् ।

यतिमात्रै होइन, शाहले फेसबुकमा स्टाटस लेखेर प्रतिनिधि सभा विघटनको माग गरे । त्यसैअनुसार प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटनको अडान लिइन्, जेनजी प्रतिनिधिले समेत उनलाई साथ दिएपछि राष्ट्रपति रामचन्द्र पौडेल राजनीतिक दलको समर्थन नहुँदानहुँदै पनि कार्कीको अडानमा सहमति जनाउन बाध्य भए । उनै शाहले सेनापतिसँग वार्ता गर्न तयार रहन उर्दी जारी गरेअनुसार जेनजी प्रतिनिधि जंगीअड्डामा वार्ता गर्न पुगे । त्यसैले पनि आन्दोलन र यसपछिको राजनीतिक घटनाक्रममा बालेन हाबी देखिन्छन् ।

जेनजी आन्दोलनबाट आर्जित शक्तिलाई उनी बागदरबार (जहाँ उनी काठमाडौंको मेयरका रुपमा पदासिन भएका थिए) बाट सिंहदरबार उक्लिने बाटो बनाउन चाहन्छन् । पुराना राजनैतिक दलहरूलाई चुनौति दिन वैकल्पिक र नयाँ शक्तिहरू मिलुन भन्ने समर्थकहरूको चाहना भए पनि यसपछि धरानका मेयर हर्क साङपाङ, ऊर्जा मन्त्री कुलमान घिसिङ र रास्वपाले अलग अलग बाटोमा यात्रा थाले ।

आन्दोलनपछिका दिनमा बालेन आफैं सक्रिय भएनन् । तर, उनले कुलमान घिसिङ र रास्वपा मिलेर गए आफ्नो समर्थन रहने सन्देश दिए । घिसिङले रास्वपाले आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार मान्ने र सभापति दिने हो भने मिलेर जान तयार भएको प्रतिक्रिया दिए । यसमा कुलमान कार्यवाहक उपसभापतिसम्म मान्न तयार भएका थिए । तर, रास्वपाले कुलमानलाई प्रधानमन्त्रीको उम्मेद्वार मान्नेबारे छलफल गर्न सकिने तर पार्टीको नेतृत्व दिन नसकिने अडान राख्यो । रास्वपाका कतिपय नेताहरूले ‘पार्टी कब्जा गर्न’ खोजेको भन्दै सार्वजनिक रुपमै कुलमानको आलोचना गरे ।

यो प्रकृयामा बालेनले कुलमानको पक्षमा रहेको संकेत दिएर उनको ‘नेगोसिएसन पावर’ बढाइदिने काम गरे । ऊज्यालो नेपालमा सक्रिय कुलमान नजिकका मानिसहरूले बालेनको भर पर्न नसकिने सुझाव दिए पनि कुलमान आफैं भने बालेनप्रति विश्वस्त देखिएका थिए । लामो समयको छलफलपछि कुलमान संरक्षक रहनेगरी ऊज्यालो नेपाल पार्टी खुल्यो र उनीहरू संगठन बिस्तारमा लागे । उनीहरू रास्वपासँग मिल्न नसकिने निष्कर्षमा पुगिसकेका थिए ।

कुलमानलाई आश्वासन दिए पनि बालेन आफैं कुलमानको पक्षमा खुलेनन्, न त ऊज्यालो नेपाललाई समर्थन रहेको सार्वजनिक अभिव्यक्ति नै दिए। जेनजी आन्दोनलपछि रास्वपा छोडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ कुलमानसँग निरन्तर संवादमा थिइन् । तर, उनले पनि ऊज्यालो नेपाल पार्टीको सदस्यता लिन अस्वीकार गरिन् । यसपछि कुलमानको पार्टीमा केन्द्रीय सदस्य बन्न तयार भएका जेनजी अलाइन्सका ६ केन्द्रीय सदस्यहरूले पनि आफ्नो नाम फिर्ता लिए । उनीहरूले नाम फिर्ता लिनुको एउटा महत्वपूर्ण कारण बालेन र सुमना त्यो पार्टीमा नहुनु थियो ।

उनले न खुलेर आफूले रास्वपाबाट राजनीति गर्ने बताए न ऊज्यालो नेपाल पार्टीलाई समर्थन गर्ने बताए । बरू, जेनजी अगुवाहरूलाई समेत पर्खाएर आफ्नो शक्ति बचाएर राखे । उनी राजनैतिक रूपमा सक्रिय भएनन् । मंसिर तेस्रो साता पिताको निधन भएपछि उनी दुई साता घरमै रहे । अहिले जेनजी समूह, कुलमान घिसिङ तथा उज्यालो नेपाल लगायतलाई बालेनले आफ्नो शक्तिको आधार बनाइरहेका छन् ।

पिताको निधनअघि रवि लामिछानेसँग बालेनले अप्रत्यक्ष रुपमा संवाद गरिरहेका थिए । उनका सल्लाहकार कुमार बेन लामिछाने भेट्न पटकपटक नख्खु कारागार पुगेका थिए । ती छलफलमा के-के भयो भन्ने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । अधिकांश भेटघाट गोप्य राखिएको थियो ।

वैकल्पिक र नयाँ शक्तिबीच एकताको कसरत चलिरहेकै बेला विवेकशील साझा र रास्वपाबीच एकता हुने समाचार बाहिरियो । तर, यो एकता भन्दा पनि विवेकशिल साझाका केही नेताको रास्वपा प्रवेश जस्तो भयो । अध्यक्ष समिक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र रञ्जु दर्शना लगायतका केही नेता रास्वपा प्रवेश गरे । उनीहरूलाई रास्वपाले केन्द्रीय समितिमा समेत स्थान नदिएर संघीय नेतृत्व मञ्च नामक संरचना बनाएर थन्क्याएको छ । विवेकशील पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे लगायतका नेताहरू भने यो एकतामा समावेश नभएपछि आधा पार्टी रास्वपा भन्दा बाहिरै रह्यो ।

रास्वपा-विवेकशील एकताको समाचारसँगै कुलमान घिसिङ र बालेन शाह सँगै बसेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भयो । यसमा कुलमानले रास्वपालाई आफू कमजोर नभएको सन्देश दिएको अर्थमा बुझियो । तर, यो तस्बिरले रास्वपासँग बालेनको ‘बार्गेनिङ पावर’ पनि बढाएको थियो । मंसिर तेस्रो साता बालेनका पिताको निधन भएपछि उनी दुई साता घरमै रहे । यो बीचमा कुनै उल्लेखनीय घटना नभए पनि नख्खुमा रवि लामिछाने भेट्नेको लर्को लागिरह्यो भने पत्रकार राजिव खत्री लगायत रास्वपामा प्रवेश गरे ।

पिताको निधनपछि बालेन महानगर फर्किएको केही दिनमा नै तुलसीपुर जिल्ला अदालतले रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दियो । यसपछि रास्वपाको सक्रियता र आत्मविश्वास दुवै बढ्यो । राजनैतिक सक्रियता बढाएका लामिछानेले आइतबार नै मेयर शाहसँग भेट गरे । यसपछि सोमबार लामिछाने र शाहबीच करिब सात घण्टा वार्ता भयो ।

आइतबार राती प्रसारित एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर जान सक्ने बताएका थिए । त्यसैले, सोमबारकै वार्ताबाट निष्कर्ष निस्किने वा निष्कर्षको नजिक पुग्ने अपेक्षा गरेका थिए ।

मंगलबार तारिख धाउन चितवन पुगेका लामिछानेले बालेनलाई रास्वपाको प्रधानमन्त्री उम्मेद्वार बनाउने विषयमा छलफल नै नभएको दाबी गरे । यता बालेनको समूहले मेयर लड्दा स्वतन्त्र उम्मेद्वारका रुपमा उनले पाएको लौरो चुनाव चिन्ह भएको देशविकास पार्टीलाई अघि बढाउने कसरत थाल्यो । बुधबारबाट उनले व्यञ्जनकार निवासबाट उनले रिले भेटघाट सुरू गरे ।

बुधबार दिउँसोबाट भएको छलफलमा जेनजी नेताका रुपमा देखा परेका सुदन गुरूङदेखि जेनजी फ्रन्ट नेपालकी संयोजक रक्षा बम लगायतसँग बालेनले संवाद गरेका थिए । यस्तै राप्रपाका प्रवक्ता रहेका ज्ञानेन्द्र शाही, नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, जनमत पार्टीका नेता सिके राउत र अमरेश कुमार सिंहसँग भेटघाट गरेका थिए ।

बिहाबार बिहान कुलमान घिसिङलाई भेटेर दोस्रो दिनको रिले भेटघाट थालेका शाहले यसपछि लामो समय रवि लामिछानेसँग बिताए । लामिछाने व्यञ्जनकार निवास पुगेलगत्तै उनको निवासबाहिर सञ्चारकर्मीको भीड लागेको थियो । तर, सधैं क्यामेरका अघि खुलेर बोल्ने लामिछानेले वार्तामा के भयो भन्ने बताएनन् । वार्ता कस्तो भयो भनेर पत्रकारले सोधेको जवाफमा ‘मेरो अनुहार देखिरहनु भएको छ नि?’ भनेर टारेका थिए । तर, उनको अनुहारमा उत्साह भन्दा पनि थकान देखिइरहेको थियो ।

लामिछाने निस्किनुअघि अमेरकुमार सिंह त्यहाँ पुगेका थिए भने लामिछाने निस्किएको केहीबेरमा रास्वपका अर्का नेता शिशिर खनाल बालेन भेट्न पुगेका थिए तर उनी करिब १५ मिनेटमा नै त्यहाँबाट निस्किएका थिए ।

साँझ पर्नेबेला पूर्वप्रधामन्त्री बाबुराम भट्टराई पनि बालेन भेट्न व्यञ्जनकार निवास पुगे । उनले पनि वैकल्पिक र नयाँ शक्तिहरू मिलेर जाने सुझाव दिएको बताएका छन् ।

यसपछि बालेनले केही समय जेनजी अगुवाहरूसँग बिताए । केहीबेरमा खगेन्द्र सुनारको प्रवेश भयो ।

बालेनसँग भेटेर निस्किएपछि सुनारले केहीबेर पत्रकारहरूसँग कुरा गरे पनि अरूले बालेनसँग के छलफल भयो भन्ने बताउन चाहेनन् । उनीहरू क्यामेरको भीड छिचोलेर निस्किन खोजिरहेका देखिन्थे ।

जेनजी अगुवाहरूसहितको देश विकास पार्टीलाई अगाडि बढाउने निर्णय र दुई दिनको रिले भेटघाट तथा विभिन्न व्यक्ति र समूहको समर्थनलाई रास्वपासँगको नेगोसिएसनको औजार बनाइरहेका छन् । बालेनको यो सक्रियता र शक्तिले लामिछानेमाथि दबाव थपिरहेका छन् ।

लामिछाने र बालेनबीच के-के कुरा भयो भन्ने बाहिर आएको छैन । अधिकांश समय ‘वान-टु-वान’ मिटिङ भएको र दुवै जनाले सार्वजनिक रूपमा केही नभनेको हुँदा उनीहरूबीच के-के सहमति भयो र के-के विषयमा विवाद छ भन्ने बाहिर आएको छैन ।

बालेन आफूलाई वैकल्पिक शक्तिहरूको तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि सार्न चाहन्छन् । रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगीमा मुद्धा चलिरहेको र सांसद भए पनि मुद्धाको फैसला नभएसम्म उनको पद निलम्बनमै रहने हुँदा उनी आफैं प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अघि सर्ने अवस्था छैन । यसलाई बालेनले अवसरका रुपमा हेरिरहेका छन् । आइतबार खनालले दिएको अभिव्यक्तिले पनि यसमा धेरै समस्या नरहेको संकेत गरेको छ ।

रास्वपा पक्षले बालेनसँग पार्टी नभएको र ठूलो टिम नभएको हुँदा समानुपातिक र प्रत्यक्षमा केही सिट छुट्याउने बित्तिकै बालेन ‘रास्वपा प्रवेश गर्ने’ अपेक्षा गरिरहेको थियो । तर, उनीहरूको अपेक्षा विपरित बालेन पक्षले बुधबारबाट नै समानुपातिक उम्मेद्वारहरूको सूची बनाइरहेको छ । सूचीमा सामाजिक प्रतिष्ठा आर्जन गरेका र समाजमा राम्रो छवि भएका मानिसहरूलाई समेटिएको छ ।

रास्वपासँग कुरा नमिले उनीहरूले एक सय १० जनाकै सूची निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिरहेका छन् । रास्वपाले पनि समानुपातिकका आकांक्षीहरूबाट उम्मेद्वार छनोटको प्रकृया सुरू गरेको छ । यसले दुई पक्षबीचको लेनदेनलाई अझ जटिल बनाएको छ ।

फागुन २१मा हुने भनिएको निर्वाचनमा जेनजी समूहहरूलाई समेत समेटेर वैकल्पिक शक्तिहरू नमिल्ने हो भने पुरानै राजनैतिक दलहरू हाबी हुने कुरा सबै नयाँ, वैकल्पिक र स्वतन्त्रहरूले बुझेका छन् । धरानका मेयर हर्क साङपाङ श्रम संस्कृति पार्टी खोलेर चुनावी अभियानमा होमिइसकेका छन् भने उनले कसैसँग गठबन्धन नगर्ने बताइरहेका छन् । उनी नयाँ तथा वैकल्पिकहरूको एकताको कुनै कसरतमा सामेल छैनन् ।

यता, रास्वपा, बालेन र कुलमानबीच सहमति हुन नसक्ने हो भने वैकल्पिक शक्तिहरूले एकआपसमा भोट काट्ने र पुराना दललाई सहयोग पुग्ने भन्दै समर्थकहरू चिन्तित भइरहेका छन् । यो चिन्ताले यी तीन पक्षबीच मिल्नै पर्ने दबाव छ । बालेनले प्रमुख जेनजी समूहहरूलाई आफ्नो पक्षमा लिइसकेका छन् भने निरन्तर भेटघाटबाट रास्वपामाथि दबाव सिर्जना गरिरहेका छन् ।

रास्वपालाई पुराना शक्तिहरू कमजोर र अझ अलोकप्रीय भएको वर्तमान अवस्थामा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास छ ।

यी दुई शक्तिहरूबीच कसरी लेनदेन मिलेर एक ठाउँमा उभिन्छन् त ? अहिले चासोका साथ यो प्रश्नले जवाफ खोजिरहेको छ ।

बिहीबार राती हुने भनिएको रवि-कुलमान-बालेन भेटले यो प्रश्नको जवाफ देला त ? व्यञ्जनकार निवासमा भएको दुई दिने रिले भेटले नेपाली राजनीतिमा नयाँ व्यञ्जन पकाउला त?

समानुपातिक उम्मेदवार चयनका लागि खुल्ला छलफलमा रास्वपा 

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले  समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत समानुपातिक उम्मेदवारी छनोटका लागि ब्लु प्रिन्ट संवादको सुरुवात गरेको छ । गोंगबुको बिजी ब्याङ्क्वेटमा आज सुरु भएको उक्त संवादमा विभिन्न समुदाय, जातजाति,  भाषाभाषीको प्रतिनिधित्व गर्दै देशभरीबाट उल्लेख्य मात्रामा नेता तथा कार्यकर्ताको उपस्थिति छ।

यो प्रक्रियाका लागि रास्वपाले समावेशीता र समानताका आधारमा स्वदेश तथा प्रवासबाट आकांक्षीहरूको नाम मागेको छ ।  बिहीबार र शुक्रबार गरी दुई दिन छलफलपछि आकांक्षीहरूमध्येबाट प्रारम्भिक सूची तयार हुने छ । यो सूचीमा रहेका आकांक्षीहरूलाई पार्टी सदस्यहरूले मतदान गरी समानुपातिक तर्फका उम्मेदवार चयन गर्नेछन् । त्यसका लागि दुई दिनसम्म रास्वपाले सबै प्रारम्भिक उम्मेदवार बीच उनीहरुको योग्यता/क्षमता लागि सघन बहस तथा छलफल गर्ने जनाएको छ ।

हामीले प्रारम्भिक समानुपातिक प्रणाली तर्फका रास्वपाका चार जना आकांक्षीसँग प्रतिक्रिया लिएका छौं। यो ब्लु प्रिन्ट संवाद किन भन्ने प्रश्नमा उनीहरु सबैले यसले पार्टीको भिजनलाई प्रष्ट पार्ने र पार्टी अरु भन्दा किन फरक छ भन्ने कुरालाई पुष्टी गर्ने बताए ।

‘ब्लु प्रिन्ट संवादमार्फत रास्वपाले प्रविधिको उच्चतम प्रयोग गर्छ। यो कार्यक्रममार्फत हामी देशविदेशमा भएका सबै रास्वपाका सदस्यहरुले आन्तरिक मतदान प्रक्रियामा भाग लिनेछन।  यसले हाम्रो आन्तरिक लोकतन्त्र त मजबुत गर्ने नै छ साथै यो किसिमको कार्यक्रमले हाम्रो दिशालाई पनि निर्दिष्ट गर्छ’, एकजना आकांक्षीले बताए ।

दुई दिनसम्म चल्ने यो संवादबाट रास्वपाले ब्लु प्रिन्ट सहितको राजनैतिक नक्सा तयार गर्ने बताईएको छ ।  ‘नेपालीमा भन्दा ‘ब्लु प्रिन्ट’ भनेको राजनैतिक नक्सा हो,’ अर्का एक आकांक्षीले भने, ‘राजनैतिक नक्सा भनेको कस्तो भने ट्या भित्र कस्ता मान्छे छन्।  कस्तो भूगोलका मान्छे छन् । त्यहाँ कस्तो किसिमको पहिचान छ। यी सबै कुरा समेटेर हामी संवाद र छलफलबाट अगाडी बढ्छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले हरेक आमनिर्वाचनमा सहभागी आकांक्षी उम्मेदवारसँग छलफल गर्दै आएको छ।  यस अघि प्रतिनिधि सभा निर्वाचन २०७९ र प्रतिनिधि सभा उपनिर्वाचन २०८१ र ८२ का लागि पनि विभिन्न उम्मेदवारसँग संवाद र छलफल गर्दै खुल्ला प्रतिष्पर्धाबाट उम्मेदवार चयन गरेको थियो।

बालेनको दुई दिने म्याराथन भेटघाट,  कसरी अघि बढ्लान् संसदीय राजनीतिमा?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह यतिबेला उच्चस्तरीय राजनीतिक छलफलमा सक्रिय रूपमा जुटिरहेका छन्। ललितपुरको ज्वागलमा रहेको प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको निवासलाई केन्द्र बनाएर उनले बुधबार दिउँसोदेखि निरन्तर भेटघाट र संवाद गरिरहेका छन्। ती छलफलहरूमा जेनजी अगुवा, कलाकर्मी, राजनीतिकर्मी, पत्रकार, सामाजिक अभियन्ता तथा नयाँ पुस्ताका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।

बालेनले अहिलेसम्म पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि स्वतन्त्र सांसद अमरेश कुमार सिंह, अभियन्ता सागर ढकाल र खगेन्द्र सुनारसँग छलफल गरिसकेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व कुलमान घिसिङ, चर्चित पत्रकार ऋषि धमला, नेपाली कांग्रेसका नेता सुनिल शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही, जेन–जी फ्रन्टकी संयोजक रक्षा बम लगायतका ४० भन्दा बढी उच्च पदस्थ र प्रभावशाली व्यक्तिहरूसँग बालेनले विचारविमर्श गरिसकेको बालेन निकट स्रोतले जनाएको छ ।

यी छलफलहरूको मुख्य केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र जेन–जी पुस्ताको राजनीतिक भूमिकालाई राखिएको बताइएको छ । स्रोतका अनुसार, मुलुकको वर्तमान राजनीतिक अवस्था, वैकल्पिक राजनीतिक शक्तिहरूबीचको सहकार्य र नयाँ पुस्ताको अपेक्षालाई संस्थागत राजनीतिमा कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा गहिरो संवाद भइरहेको छ ।

विशेषगरी, रास्वपा सभापति रवि लामिछानेसँग बालेन शाहको भेटवार्ता निकै बाक्लो बनेको छ । पछिल्लो एक हप्ताको अवधिमा उनीहरूबीच तीन पटक भेटवार्ता भइसकेको छ। गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । उक्त छलफलबाट कुनै पनि निष्कर्ष ननिस्किएपछि बालेनले अरुसँगको छलफललाई पनि तीव्रता दिएका छन् ।  नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने बहस चलिरहेका बेला बालेनले रविलाई वार्तामा प्रमुख प्राथमिकतामा राखेको देखिन्छ । आजपनि ३ घण्टा चलेको बालेन-रवि वार्ताबाट कुनै निष्कर्ष ननिस्किएपछि पुन: छलफल गर्ने सर्तसहित लामिछाने ज्वागलबाट बाहिरिए।

भेटवार्ता सकेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै रवि लामिछानेले छलफल आशावादी रहेको बताएका छन् । “वार्ता कस्तो रह्यो?” भन्ने पत्रकारको प्रश्नमा उनले हाँस्दै “मेरो अनुहार जस्तै हसिलो” भएको  प्रतिक्रिया दिएका थिए। लामिछाने निस्किएको केहीबेरमा रास्वपा नेता शिशिर खनाल ज्वागल पुगेका थिए । आज राती कुलमान घिसिङसहितको तीनपक्षीय वार्ता गर्ने तयारी भएको छ।

बालेन निकट स्रोतका अनुसार रविसङ्ग सहकार्यको सम्भावना नबने कुलमान लगायतका अन्य शक्तिहरुलाई मिलाएर लैजाने मनस्थितिमा बालेन देखिन्छन्।  त्यो पनि नभए निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीबाट लौरो चुनाव लिएर आगामी चुनावमा जाने बालेनको तयारी छ।  यसैका लागि उनले सम्भव हुनेजति सबैसँग रिले छलफल चलाइरहेका छन्।

दुई दिनको म्याराथन छलफलबाट मेयर शाहले प्रमुख जेनजी समूहहरूसहित रेशम चौधरी, ज्ञानेन्द्र शाही तथा पूर्वविवेकशिलका केही नेताहरू आफ्नो पक्षमा रहेको सन्देश दिएका छन् । साथै, कुलमान घिसिङसँगको सहकार्यको सम्भावना पनि बलियो भएको सन्देश दिन उनी सफल भएका छन् । यो सन्देशले रास्वपासँगको छलफलमा उनको हात माथि हुँदै गएको देखिएको छ ।

मेयर बालेनले जेनजीहरूसँग गरे सहकार्यको आह्वान, एकता प्रक्रिया सुरु गर्न आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू अब पार्टी राजनीतिमा आएको जानकारी दिँदै जेनजी अगुवाहरूसँग सहकार्य र एकताको आग्रह गरेका छन् । बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा आयोजित छलफलमा मेयर शाहले जेनजी प्रतिनिधिहरूसँग संवाद गर्दै भने, ‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं । सबै जेनजीहरू एकजुट भएर आउनुस् ।’ जेनजी अगुवा युजनराज भण्डारीले यसै उद्धृत गर्दै जानकारी दिएका छन् ।

उक्त छलफलमा जेनजी अगुवा सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव लगायतका प्रतिनिधिहरू उपस्थित थिए । जेनजी अभियन्ता योगेन्द्र भण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए र एकता त्यहाँबाट सुरु हुने बताए । मेयर शाहले निरन्तर राजनीतिक संवाद जारी राखेका छन् । आजै उनले रास्वपा सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ र अन्य दलका नेतासँग भेटघाट गरे । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत बालेनसँगको भेटमा सहभागी भएका थिए ।

रवि लामिछाने र बालेनबीच भएको भेटमा सम्भावित एकता प्रक्रियाबारे विस्तृत छलफल भएको थियो । स्रोतका अनुसार, रविले पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात लगायत विषयमा लचकतापूर्वक प्रस्ताव राखेका थिए । विशेष गरी समानुपातिक उम्मेदवार सूची ७०–३० को अनुपातमा तयार पार्ने प्रस्ताव आए पनि सल्लाहपछि आवश्यक समायोजन गर्न सकिने व्यवस्था राखिएको थियो । बालेनको पहलले जेनजी र अन्य दलबीच राजनीतिक सहकार्य र एकताको दिशामा नयाँ पहल सुरु भएको देखिन्छ ।

गगनलाई महतले भने–जिम्मेवार भएर बोल्नू

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापालाई जिम्मेवार भएर बोल्न आग्रह गरेका छन् । आज (बिहीबार) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबारे सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा प्रवक्ता महतले सबैले जिम्मेवार हुनुपर्ने बताए ।महामन्त्री थापाले बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति शेरबहादुर देउवाले नाम मात्रैको कार्यवाहक सभापति दिएको आरोप लगाएका थिए ।

त्यसबारे सोधिएको प्रश्नको उत्तरमा प्रवक्ता महतले भने, ‘उहाँ (गगन थापा) त पार्टीको महामन्त्री । उहाँबाट देशभरका नेता कार्यकर्ताले जिम्मेवारीको अपेक्षा गर्छन् । त्यसैले यी विषयलाई हामी कसैले पनि अतिरञ्जित तरिकाबाट सार्वजनिक गर्नु हुँदैन ।’ महाधिवेशनलाई लिएर सभापति देउवालाई दोष दिएर पन्छिन नहुने महतको भनाइ थियो । ‘अहिले कसैलाई दोष दिने कुरा छैन । सभापतिले कार्यवाहक दिएर सम्पूर्ण जिम्मेवारी दिनु भएको छ । उहाँ (पूर्णबहादुर खड्का) ले मिटिङ सञ्चालन गरिराख्नु भएको छ ।’

त्यस्तै, जिल्ला तथा क्षेत्रका कांग्रेस नेता तथा कार्यकर्तालाई दोषारोपण नगर्न पनि महतले आग्रह गरेका छन् । जिल्लाबाट तदारुकताका साथ काम भइरहेको बताउँदै बरु केन्द्रबाटै कमिकमजोरी भएको उनको भनाइ थियो । ‘एक–अर्कालाई दोषारोपण गर्ने भन्दा पनि आफ्नो जिम्मेवारीको काम गर्नुपर्छ,’ महतले भने, ‘जिल्लाका साथीहरूलाई दोष दिनु हुँदैन । कतिपय यतैबाट कमिकमजोरी भएका छन् ।’ क्रियाशील सदस्यता वितरणका लागि केन्द्रबाट पठाइएका फारममा क्रम संख्या उल्लेख नभएको पाइएको थियो । जसले गर्दा क्रियाशील सदस्यता वितरणमा ढिलाइ भएको थियो । केन्द्रबाट महामन्त्रीले नै फारम पठाउने व्यवस्था छ ।

 

 

जेनजी अगुवासँग बालेनको छलफल, रक्षाको नेतृत्व

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज राजधानीमा जेनजी आन्दोलनका प्रमुख अगुवाहरूसँग छलफल गरेका छन् । भेटघाट ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भएको थियो । सूत्रका अनुसार, मेयर शाहले नयाँ र पुराना राजनीतिक नेतृत्वसँग सतत् संवाद गर्दै आएका छन् र यस भेटघाटमा आगामी रणनीति र राजनीतिक सहकार्यका विषयमा विचार–विमर्श भएको थियो । यस्तै, मेयर शाहले राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित अन्य दलका नेता र निवर्तमान सांसदहरूसँग पनि भेंटवार्ता गरेका छन् ।

भेटघाटका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि मेयरलाई समर्थन र राय दिन उपस्थित भएका थिए । राजनीतिक विश्लेषकहरूका अनुसार, बालेनको यो सक्रिय संवादले काठमाडौं र देशको राजनीतिक परिदृश्यमा नयाँ बहस र सम्भावनाहरू सिर्जना गर्ने संकेत दिन्छ । मेयर शाहले यसअघि पनि विभिन्न राजनीतिक समूहसँग नियमित छलफल गर्दै आएका छन् र स्थानीय सरकारको कामसँगै राष्ट्रिय राजनीतिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

बालेन–रवि आजै फेरि वार्ता, कुपण्डोल पुगे बाबुराम

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज फेरि भेटवार्ता हुने भएको छ । कुपण्डोलस्थित कुमार बेनको घरमा दिउँसो साढे दुई घण्टा लामो छलफल गरेका उनीहरू साँझ फेरि वार्तामा बस्ने तयारीमा छन् । गत सोमबार मध्यराती करिब ६ घण्टा लामो संवाद गरेको दुवै पक्षबीच अझै पूर्ण सहमति नजुटेको बताइएको छ । वार्तापछि सञ्चारकर्मीहरूले छलफलको परिणामबारे प्रश्न गर्दा रवि लामिछानेले ‘मेरो अनुहारले के बताइरहेको छ ?’ भनी प्रतिप्रश्न गरेका थिए ।

वार्ता अझै जारी रहेको र आवश्यक परेमा आफ्ना नेताहरूसँग छलफल गरी अन्तिम निर्णय गरिने स्रोतहरूले जनाएका छन् । त्यसैगरी, साँझ फेरि बालेनसँग भेटवार्ता गर्ने योजना रहेको पनि खुल्न आएको छ । बालेन शाहले पुराना पार्टीका असन्तुष्ट नेता, अभियन्ता, कलाकार र विभिन्न क्षेत्रमा भाइरल बनेका अनुहारहरूसँग वैकल्पिक शक्ति निर्माणमा सक्रियता देखाइरहेका छन् । हिजो उनी डा. भगवान कोइराला, पूर्वसचिव भीम उपाध्याय, राप्रपा नेता ज्ञानबहादुर शाहीसँग भेटघाटमा व्यस्त थिए ।

आज बिहान उज्यालो नेपालका नेता कुलमान घिसिङ, ३७ वर्षका जेनजी अगुवा सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा, पूर्व कांग्रेसी तथा विघटित प्रतिनिधिसभाका सांसद अमरेश कुमार सिंहलगायतसँग बालेनले भेटवार्ता गरेका छन् । त्यसै क्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि कुपण्डोल पुगेका छन् । उनी बालेनसँग छलफल गर्न त्यहाँ पुगेका हुन् । बालेनले यही घरमा यसअघि रास्वपा सभापति रवि लामिछानेसँग करिब ४ घण्टासम्म वार्ता गरेका थिए । राजनीतिक भेटघाटको यो शृङ्खला आगामी दिनमा नेपालको वैकल्पिक राजनीतिक शक्ति संरचनामा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ ।

 

फागुन २१ को निर्वाचन नयाँ शक्ति र नेतृत्व उदयको अवसर : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गतेको निर्वाचनलाई मात्र साधारण चुनावको रुपमा नलिइ, नयाँ शक्ति उदयको प्रारम्भिक बिन्दु बनाउनु पर्ने बताएका छन् । उज्यालो नेपाल पार्टीको नयाँ कार्यलय उद्घाटन गर्दै मन्त्री घिसिङले देशभरका युवापुस्ता, नयाँ राजनीतिक दल तथा नेतृत्वहरुलाई एकजुट भएर अघि बढ्न प्रेरित गरेका हुन् ।

उनले फागुन २१ को चुनाव ‘देशको नयाँ शक्ति, नयाँ नेतृत्वहरुको उदय’ का लागि महत्वपूर्ण अवसर भएको औंल्याए । उनले यदि चुनावमा फेरि पुराना शक्तिहरुको दबदबा रह्यो भने त्यसलाई ठूलो दुर्भाग्यको रुपमा लिने उल्लेख गरे। मन्त्री घिसिङले देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुले नयाँ नेतृत्व र शक्तिलाई एकजुट गर्दै समृद्धि, रोजगारी, सुशासन र सामाजिक न्यायतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले जेन–जी आन्दोलनको महत्वलाई पनि स्मरण गराउँदै भने, ‘जेनजी आन्दोलनले देशमा सुशासन, रोजगारी सिर्जना र समृद्धितर्फ अघि बढ्ने स्प्रिड देखाएको थियो । अब त्यसको निरन्तरता सुनिश्चित गर्नु आजको आवश्यकता हो ।’ मन्त्री घिसिङले नयाँ शक्ति र युवा नेतृत्वको एकताबद्ध प्रयास बिना देशले विकासको मार्गमा अघि बढ्न कठिन हुने चेतावनी समेत दिएका छन् ।

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका उनले भने कि छोटो समयमै पार्टीले देशभरमा नयाँ तरङ्ग सिर्जना गरेको छ र नयाँ शक्तिलाई एकजुट गर्ने नेतृत्वको भूमिकामा पार्टीले अगाडि बढ्नेछ । साथै, पार्टीले भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन् । मन्त्री घिसिङले देशको राजनीतिक परिप्रेक्ष्यमा नयाँ पुस्ता, युवा नेतृत्व र नयाँ राजनीतिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकतालाई जोड दिएर भने, ‘यस अभियानमार्फत मात्र देश समृद्ध, न्यायपूर्ण र सशक्त बन्न सक्छ ।’

 

 

नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो हो : शिक्षामन्त्री पुन

काठमाडौं । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो भएको बताएका छन् । बिहीवार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको मात्र नभइ विश्वको समृद्धिको साँचो भएको बताए । प्रयोगशाला र कार्यशालाहरुलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राख्न जरुरी रहेको बताए । विश्वविद्यालय अब केबल पढाउने शिक्षण संस्था मात्र भएर नपुग्ने भन्दै त्रिभुवन विश्वविद्यालयमा रहेका व्यवहारिक ज्ञान, विज्ञानका कुराहरु नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बनाउनु पर्ने बताए ।

उनले भने, ‘आधुनिक नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो हो । नेपालको मात्र होइन विश्वको समृद्धिको साँचो हो । त्यहाँका र हाम्रा युवाहरुको हातमा छ । जसले हाम्रो प्रयोगशाला र कार्यशालाहरुलाई अर्थतन्त्रसँग जोड्ने दृढ अर्जुनदृष्टि राखेका छन् । विश्वविद्यालय अब केबल पढाउने शिक्षण संस्था मात्र भएर पुग्दैन । त्रिभुवन विश्वविद्यालयमा हामीले देखेका छौँ, व्यवहारिक ज्ञान, विज्ञानका कुराहरु नवप्रवर्तनात्मक अनुसन्धानलाई आत्मसाथ गर्ने आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बन्नुपर्छ । दुर्भाग्यवश हाम्रो त्रिभुवन विश्वविद्यालयभित्र रहेको चार वटा अनुसन्धान केन्द्रहरु अपांग भएको स्थितिमा छ । यसलाई सकेसम्म अघि बढाउन प्रयत्न गर्नु पर्दछ ।’ मन्त्री पुनले अनुसन्धान केन्द्रहरु भविष्यमा आउनसक्ने समस्याको पहिचान गरी समाधान गर्नसक्ने थलो भएको बताए ।

मुलुक बंगलादेश नबनोस् : प्रधानमन्त्री कार्की

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन् । बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताउँदै अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गरिन् । राजनीतिक दल र जेनजीका समूहहरूले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको उनले बताइन् । उनले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गरिन् । आफूहरू अहिले धैर्यधारण गरेर सबै कुरा सहेर बसेको बताइन् ।

उनले भनिन् ‘हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । अहिले छोड, भोलि छोड भन्छ । जेनजीले पनि आजै छोड, भोलि छोड, पर्सी छोड भन्छ । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्‍यौं भन्ने भाष्य आउँछ । हामी त पेण्डुलम जस्तो भयौं ।’

उनले भनिन्, ‘त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्यधारण गरेर काम गर्दैछौँ । निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरूमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूहहरू हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नु हुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहिँ नहोस् ।’ प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरू रहेको बताइन् ।

 

 

क्रिस्मसको दिन कुलमानको कार्यालयमा काटियो रिबन (तस्वीरहरु)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा आज त्रिपुरेश्वरस्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ । यस अवसरमा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले रिबन काटेर नयाँ कार्यालय ‘उज्यालो घर’ को उद्घाटन गरे । उद्घाटन कार्यक्रम विशेष गरी क्रिस्चियन धर्मावलम्बीहरुको महान् चाड क्रिसमस डे का अवसरमा आयोजना गरिएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू डा. ताराप्रसाद जोशी, प्रा.डा. महेन्द्रसुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेक राजसिंह, डा. शंकर ढकाल, तेजनारायण यादव, रिमा विश्वकर्मा लगायतले सहभागिता जनाएका थिए ।

उद्घाटन समारोहले पार्टीको नयाँ अध्यायको सुरुवातको प्रतीकको रूपमा महत्वपूर्ण महत्व राख्दछ । ‘उज्यालो घर’ कार्यालयले पार्टीका गतिविधिहरूलाई केन्द्रित गर्ने, सदस्यहरूलाई प्रशिक्षण र नीति निर्माणका कार्यक्रम सञ्चालन गर्ने मुख्य स्थलको रूपमा काम गर्नेछ । कार्यक्रममा सहभागीहरूले पार्टीको भविष्य योजना, ऊर्जा र विकासका नीति, र समृद्ध नेपालको उद्देश्यलाई अझ सशक्त बनाउने योजना प्रस्तुत गरे ।

तस्वीर स्रोत : नेपाल फोटो लाइब्रेरी

 

दुई चरणमा निर्वाचन गर्न पूर्व प्रमुख निर्वाचन आयुक्त थपलियाको सुझाव

काठमाडौं । पूर्व निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी फागुन २१ गते एकै पटक निर्वाचन गर्न कठिन हुने भएकाले दुई चरणमा निर्वाचन गर्ने विकल्पमा विचार गर्न सुझाव दिएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘नेपालका हिमाली क्षेत्रमा फागुनको समयमा हिउँ पर्ने, घाम नलाग्ने र अत्यधिक चिसो हुने भएकाले निर्वाचन सहज रूपमा सम्पन्न गर्न सकिँदैन ।’

उनले निर्वाचन आयोग र सरकारलाई भने, निर्वाचन एकै पटक नभएमा फागुन २१ गते पहिलो चरण र कठिन हुने जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउन तयारी थाल्न सुझाव दिए । थपलियाले संसदीय व्यवस्थामा चुनाव सम्पन्न गर्न राजनीतिक दलहरूको तयारी पनि आवश्यक रहेको औंल्याए ।
पूर्व आयुक्तले मतदाताको पहुँच र समानुपातिक निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको विषयमा पनि ध्यानाकर्षण गराए । उनले भने, ‘प्रहरी र कर्मचारीहरूले त समानुपातिक मत हाल्न पाउँछन्, तर श्रमिक र मजदुरहरू आफ्नो मताधिकारबाट वञ्चित छन् । २०७९ सालको निर्वाचनमा करिव १३ लाख मजदुरले मतदान गर्न पाएका थिएनन् ।’

उनले नेपालभित्र रहेका सबै नेपालीले मतदान गर्न पाउनु पर्नेमा जोड दिंदै भने, ‘देश–विदेशका विषयमा बहस नगरी, जहाँ तपाईं हुनुहुन्छ, त्यहीँबाट भोट हाल्न पाउनु पर्छ । एकै चरणमा गर्न नसकिने भए, दोस्रो चरण अलिकति हिउँ नपर्ने अवस्थामा गरिनु पर्छ ।’ थपलियाले राजनैतिक दलहरूले प्रत्यक्ष निर्वाचनका उम्मेदवार दर्ता गर्दा समावेशीतामा ध्यान दिनुपर्ने र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए । उनले संविधानको धारा ८४ को ८ को आधारमा ‘संसदमा प्रत्येक दलमा कम्तिमा एकतिहाई महिला हुनुपर्ने’ भन्दै, समानुपातिक प्रणालीमार्फत मात्र होइन, प्रत्यक्षतर्फबाट पनि महिलालाई प्रतिनिधित्व दिनुपर्ने बताए ।

राजनैतिक गठबन्धन र उम्मेदवारको सदस्यताको विषयमा कानूनी स्पष्टता आवश्यक रहेको उनको भनाइ छ । थपलियाले डिजिटल प्रविधिको बढ्दो प्रयोग निर्वाचनमा चुनौती बन्न सक्ने र डिपफेक तथा मिथ्या सूचनाबाट समस्या उत्पन्न हुने भएकाले राज्यले यसलाई नियमन गर्नुपर्ने सुझाव दिए । उनले निष्पक्ष र स्वतन्त्र निर्वाचनलाई लोकतन्त्रको मुख्य आधार भएको बताउँदै भने, ‘निर्वाचन स्वच्छ र निष्पक्ष भएमा मात्र शासनमा शुद्धता आउँछ । गतिलो मान्छे आउँछ, गतिलो शासन हुन्छ । गतिलो दलले जित्छ, शासन गतिलो हुन्छ ।’ पूर्व आयुक्त थपलियाको सुझाव र चिन्ताले आगामी निर्वाचनको तयारीमा मौसम, भौगोलिक अवस्था, समावेशीताका पक्ष र डिजिटल चुनौतीहरूको महत्वलाई स्पष्ट पारेको छ ।

 

रेनु दाहाल चितवन–३ बाट सर्वसम्मत सिफारिस

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नम्बर–३ बाट आउँदो निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने सो पार्टीका नेता सन्तोष पनेरुले जानकारी दिएका छन् ।

भरतपुर महानगरपालिकाको एक बर्षे कार्यकाल बाँकी छँदै महानगर प्रमुख दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेकी छन् । सर्वसम्मत उम्मेदवार सिफारिस बैठकमा आफैं उपस्थित भएकी दाहालले महानगरपालिकामा झण्डै ९ वर्ष काम गरिसकेको अनुभव र जनताको अपार मायालाई सधै साथमा लिएर आगामी निर्वाचनमा लाग्ने बताइन् ।

उनले विगतमा काठमाडौंमा उम्मेदवार बनेर हार्न समेत तयार भएको परिस्थितिको समेत सामना गरिसकेको भन्दै चितवन क्षेत्र नं. ३ का जनताले आफूलाई विश्वास गर्ने बताइन् । चितवन निर्वाचन क्षेत्र नं. ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडाहरू पर्दछन् । २०७४ सालको निर्वाचनमा रेनुका पिता तथा तत्कालीन एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस निर्वाचन क्षेत्रबाट जित हात पारेका थिए ।

२०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता डा. भोजराज अधिकारी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसँग पराजित बनेका थिए । सो निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेर दिनेश कोइराला एमालेको सर्मथनमा ‘माछा’ चुनाव चिह्न लिएर निर्वाचन लडे पनि पराजित बनेका थिए ।

 

घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ–समयले बताउँला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच अढाइ घण्टासम्म चलेको वार्ता सकिएको छ । वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा भएको थियो । वार्ता सकिएपछि लामिछाने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिन तयार भएनन् । ‘वार्ता कस्तो भयो ?’ भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के बताउँछ ?’ अर्को प्रश्न, ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’ मा भने उनले जवाफ दिए, ‘बाँकी समयले बताउँला ।’

लामिछानेले थप भने, ‘जनताले चाहेको परिणामको लागि अलिकति प्रतीक्षा गर्नुस् ।’ सञ्चारकर्मीले थपे, ‘अनुहारमा त सधैं चमक छ नि’, भनेपछि उनले छोटोमा धन्यवाद व्यक्त गरे । वार्ताको विषयवस्तु र परिणामबारे अहिले स्पष्ट जानकारी नआएको भए पनि, लामिछानेको जवाफले संवाद सकारात्मक रहेको संकेत दिएको छ ।

बालेनसँग वार्ता सकेर बाहिरिए रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेटवार्ता गरी बाहिरिएका छन् । ललितपुरको ज्वागलस्थित मेयर साहका निकट सहयोगी कुमार बेनको निवासमा भएको उक्त छलफल करिब एक घण्टा चलेको बताइएको छ । छलफलपछि सञ्चारकर्मीहरूको घेरामा परेका लामिछानेले वार्ताबारे कुनै स्पष्ट प्रतिक्रिया दिन चाहेनन् । वार्ताको विषयवस्तुबारे सोधिएको प्रश्नमा उनले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के भन्छ ?’ लामिछानेको यो अभिव्यक्तिले भेटवार्ताको महत्व र भित्री सन्देशबारे थप चासो बढाएको छ।

यद्यपि, रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले भने भेटवार्ताको एजेण्डाबारे केही संकेत दिएका छन् । उनका अनुसार बालेन साह र रवि लामिछानेबीच आगामी दिनमा कसरी सहकार्य गर्ने, विशेषगरी चुनावी समन्वय र मिलेर अघि बढ्ने सम्भावनाबारे छलफल भएको थियो । राजनीतिक रूपमा स्वतन्त्र पहिचान बनाएका मेयर बालेन साह र नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाबीचको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुवै नेताले सार्वजनिक रूपमा मौनता अपनाए पनि, यो भेटले आगामी राजनीतिक समीकरणमा नयाँ संकेत दिन सक्ने आँकलन गरिएको छ । हालका लागि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक नभए पनि, बालेन–रवि संवादलाई आगामी राजनीतिक घटनाक्रमसँग जोडेर हेरिने निश्चित देखिन्छ ।

 

कुलपति व्यवस्था पुनरावलोकनतर्फ सरकार, विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने वर्तमान व्यवस्थालाई परिमार्जन गर्ने दिशामा सरकार गम्भीर परामर्श र गृहकार्यमा जुटेको स्पष्ट पारेकी छन् । उच्च शिक्षामा बढ्दो दलीय हस्तक्षेप र यसको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस्तो आवश्यकता बोध भएको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गरी प्राज्ञिक बहस र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् । शैक्षिक प्रशासनमा हुने अनावश्यक राजनीतिक हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर कमजोर बन्दै गएको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले ठूलो संरचना र विद्यार्थी संख्या मात्रले गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको शिक्षा सुनिश्चित नहुने उल्लेख गर्दै प्राध्यापक–विद्यार्थीको सन्तुलित अनुपात, गुणस्तरीय अध्यापन र उच्चस्तरीय अनुसन्धान तथा प्रकाशनमा जोड दिनुपर्ने बताइन् । यसका लागि प्राध्यापक, विद्यार्थी र विश्वविद्यालय व्यवस्थापन सबै पक्ष जिम्मेवार र सक्रिय हुनुपर्ने उनको धारणा थियो ।

उनले नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश जान बाध्य भइरहेको सन्दर्भ उल्लेख गर्दै देशभित्रै गुणस्तरीय शिक्षा उपलब्ध गराउन समयानुकूल, व्यावहारिक र नयाँ शैक्षिक कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन् । साथै, शिक्षामा सरकारी लगानी बढाउन पनि जरुरी रहेको बताउँदै विश्वविद्यालयलाई राजनीतिक अखडाभन्दा ज्ञान र बहसको थलो बनाउने सामूहिक प्रयास आवश्यक रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थाबारे पुनरावलोकन गर्दै वैकल्पिक र प्रभावकारी मोडेल खोज्ने विषयमा सरकार अघि बढिरहेको संकेत उनका अभिव्यक्तिले दिएको छ, जसले आगामी दिनमा नेपालको उच्च शिक्षा प्रणालीमा संरचनागत परिवर्तनको आधार तयार हुन सक्ने देखिन्छ।

बालेन–रवि वार्ता चलिरहँदा अमरेशसिंह पनि पुगे ज्वागल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच अहिले वार्ता चलिरहँदा विघटित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि पुगेका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा अहिले वार्ता जारी छ । यसैबीच सिंह पनि वार्तास्थल पुगेका हुन् । अहिले रवि र बालेनबीच वान टू वान वार्ता चलिरहेको छ । त्यहाँ जेनजी प्रतिनिधि सुदन गुरुङ लगायत पनि उपस्थित छन् ।

बालेन–कुलमान ‘प्याकेज’ संवाद, नयाँ शक्ति निर्माणको दौड तीब्र

काठमाडौं । नयाँ राजनीतिक शक्ति निर्माणको गृहकार्यमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङबीच गम्भिर छलफल भएको छ । बिहीबार बिहान भएको ‘वान टु वान’ भेटमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर सहकार्य, पावर शेयरिङ र एउटै राजनीतिक प्लेटफर्मबाट अघि बढ्ने विकल्पबारे कुराकानी भएको स्रोतले जनाएको छ ।

छलफलमा नयाँ पार्टी दर्ता गर्नुअघि विद्यमान राजनीतिक संरचनालाई नै सुदृढ गर्दै अघि बढ्ने विषय उठेको बताइएको छ । निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टीलाई अगाडि सार्नेबारे पनि सहमति खोजिएको दाबी छ । कुलमानको उपस्थितिमा उज्यालो पार्टीको कार्यालय उद्घाटन हुनुअघि नै यो भेटवार्ता भएको थियो ।

फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दुवै नेताले समानान्तर रूपमा संवाद तीव्र पारेका छन् । बालेन आगामी चुनावमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एजेन्डामा देखिएका छन् भने कुलमानले पनि आफूलाई प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गरिरहेका छन् । यद्यपि बिहीबारको भेटबाट ठोस निष्कर्ष भने ननिस्किएको स्रोतको भनाइ छ । ‘संवाद चलिरहेको छ, प्याकेजमै सहमति खोज्ने प्रयास भइरहेको छ’, कुलमान निकट स्रोतले जनाएको छ ।

यसैबीच बालेनले विभिन्न दल र क्षेत्रका प्रभावशाली व्यक्तिसँग भेटघाटलाई तीव्र बनाएका छन् । उनले चिकित्सक डा. भगवान कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सीके राउतसँग छलफल गरिसकेका छन् । साथै महानगरका सल्लाहकार सुनिल लम्सालसहित पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्व उपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, रक्षा बम, केपी खनालसँग पनि भेटवार्ता भएको बताइएको छ ।

कलाक्षेत्र र मिडियाबाट निश्चल बस्नेत, सम्भव सिरोहिया, सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमलासँग पनि बालेनको छुट्टाछुट्टै संवाद भएको छ । आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट हुने तयारी छ । यसअघि सोमबार राति बालेन–रविबीच छलफल भइसकेको थियो ।
कुलमानसँगको पछिल्लो भेटपछि रविसँग संवाद अघि बढाइनु राजनीतिक ‘प्याकेज’ निर्माणतर्फको संकेतका रूपमा हेरिएको छ । मंसिर १४ गते पनि बालेन–कुलमान भेट भइसकेको पृष्ठभूमिमा अहिलेको संवादले नयाँ गठबन्धन वा एउटै राजनीतिक शक्तिको सम्भावनालाई थप चर्काएको छ ।

सरकारले चुनावी वातावरण बनाए एमालेले बहुमत ल्याउँछ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको बताएका छन् । पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भन्ने एमालेको चाहना रहेको उनको भनाइ छ । उनले सरकारले वातावरण बनाए निर्वाचनमा बहुमतसहित निर्वाचन जित्ने दाबी पनि गरे ।

उनले भने, ‘हामी जस्तो परिस्थिति आउँछ त्यसरी नै जाने हो । यदि निर्वाचनको वतवरण बनाउँछ सरकारले हामी निर्वाचनमा सहभागि हुन्छौं, बहुमत ल्याउँछौँ, चुनाव जित्छौँ । हामी त स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित चुनाव होस् भन्ने पर्खिरहेका छौँ । तर यो सरकारमा त्यो जिम्मेवारीबोध देखिँदैन ।’ उनले एमाले परिस्थितिअनुसार अगाडि बढ्ने भन्दै निर्वाचनको वातावरण बनाउन सरकारले चासो नदेखाएको टिप्पणी समेत गरे ।

 

निर्वाचनको सम्भावना छैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्। पार्टीको ११औँ महाधिवेशन सफल बनाउन भूमिका खेलेका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले निर्वाचनका लागि अनुकूल वातावरण नबनेको बताए । अध्यक्ष ओलीले सरकारको गतिविधिले समाजमा भय र त्रासको वातावरण सिर्जना भएको आरोप लगाए । उनका अनुसार नेताहरूमाथि प्रतिबन्ध लगाउने, अखबारबाजी गर्ने, सामाजिक सञ्जालमार्फत दुस्प्रचार गर्ने तथा मिडिया ट्रायल जस्ता कार्यहरू निरन्तर भइरहेका छन्, जसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले एमाले निर्वाचनविरोधी नभई प्रतिगमनविरोधी भएको धारणा स्पष्ट रूपमा राखिएको जानकारी दिए । उनले असंवैधानिक ढंगले सरकार गठन भएको आरोप लगाउँदै सकेसम्म छिटो संसद्को पुनःस्थापना आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष ओलीले विघटित संसद् पुनःस्थापनाको मागमा एमाले अडिग रहेको बताउँदै अदालतले गर्ने निर्णयको कार्यान्वयन सबैले स्वीकार गर्नुपर्ने सहमति भएको पनि उल्लेख गरे । ‘हामीले चुनाव हुनु हुँदैन भनेका छैनौँ, प्रतिगमन हुनु हुँदैन भनेका हौं’, उनले भने ।

उनले पछिल्लो समय ‘जेन–जी’ को नाममा केही व्यक्तिहरूले समाजमा अराजकता फैलाउने र भय सिर्जना गर्ने गतिविधि गरिरहेको टिप्पणी पनि गरे । नव युवाहरूको नाम बेचेर केही ‘छट्टु टाठाबाठा’ हरूले आफ्नो स्वार्थ पूरा गरिरहेको उनको आरोप थियो । अध्यक्ष ओलीका अनुसार वर्तमान अवस्थामा न त निर्वाचनको वातावरण बनेको छ, न त बन्ने कुनै लक्षण देखिएको छ । त्यसैले तत्काल निर्वाचनको सम्भावना नरहेको उनको निष्कर्ष थियो ।

 

 

रवि र बालेन भित्र वार्तामा, बाहिर सुदन भन्छन्–नमिलेसम्म चुकुल खोल्दैनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ललितपुरको कुपण्डोलमा निर्णायक छलफल चलिरहेको छ । बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई नेता एक्ला–एक्लै वार्तामा जुटेका हुन् । छलफलका क्रममा बाहिर भने जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङ उपस्थित छन् । उनले ठट्यौली शैलीमा ‘नमिलेसम्म गेट नखोल्ने’ भन्दै ढोकामा चुकुल लगाएर बसिरहेको बताएका छन् ।

‘जबसम्म सहमति हुँदैन, तबसम्म बाहिर निस्कन पाइँदैन’, गुरुङको भनाइ छ। यसअघि पनि रवि र बालेनबीच कमलपोखरीमा करिब ६ घण्टा लामो भेटवार्ता भएको थियो । तर त्यस भेटमा रविका तर्फबाट ठोस राजनीतिक प्रस्ताव नआएको भन्दै बालेन असन्तुष्ट थिए र अन्य नेताहरूसँग विकल्पबारे छलफल अघि बढाएका थिए । बालेनले लौरो चुनाव चिन्ह भएको ‘देश विकास पार्टी’ मार्फत राजनीति अघि बढाउने गृहकार्य समेत गरिरहेका छन् ।

तर त्यसअघि रवि लामिछानेसँगको सहकार्य टुंग्याउने चाहना बालेनको रहेको निकट स्रोत बताउँछन् । बालेन आगामी निर्वाचनमा संसदीय दलको नेता र प्रधानमन्त्री सुनिश्चित हुने स्पष्ट खाका चाहन्छन् । आजको छलफलले दुई नेता मिलेर अघि बढ्ने वा आ–आफ्नो बाटो रोज्ने भन्ने टुंगो लाग्ने अपेक्षा गरिएको छ । भित्र राजनीतिक समिकरणको गहिरो संवाद चलिरहँदा बाहिर सुदन गुरुङको ठट्यौली ‘गेट राजनीति’ ले कुपण्डोलको माहोल थप रोचक बनेको छ।

 

जेनजी एकजुट गर्ने जिम्मा रक्षालाई, बालेनसँग खोजिन् सैद्धान्तिक सहकार्यको आधार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी (जेनेरेसन जेड) प्रतिनिधिहरूलाई एक ठाउँमा ल्याउने जिम्मेवारी जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक शक्तिहरूलाई संगठित गर्ने उद्देश्यसहित यो जिम्मेवारी दिइएको हो ।

बुधबार ललितपुरको कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा बालेन र रक्षा बमबीच करिब तीन घण्टा लामो राजनीतिक संवाद भएको थियो । उक्त छलफलमा बालेनको सचिवालयका सदस्यहरू समेत सहभागी थिए । छलफलमा जेनजी प्रतिनिधित्व, वैकल्पिक राजनीतिक शक्तिको सम्भावना र भावी सहकार्यका आधारबारे गहन कुराकानी भएको जनाइएको छ ।

बालेनले देश विकासका लागि नयाँ राजनीतिक संरचना आवश्यक रहेको उल्लेख गर्दै जेनजी प्रतिनिधिलाई पनि ‘देश विकास पार्टी’ मार्फत समावेश गर्न चाहेको संकेत गरेका छन् । यही सन्दर्भमा जेनजीका विभिन्न समूह, सहिद परिवार तथा युवा अभियन्ताहरूसँग संवाद गरी वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न रक्षा बमलाई संयोजनको भूमिका दिइएको हो ।

छलफलका क्रममा रक्षा बमले सहकार्यका लागि सैद्धान्तिक स्पष्टता खोजेकी थिइन् । उनले संविधान, संघीयता, लोकतन्त्र र प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता विषयमा प्रश्न उठाएकी थिइन् । बालेनले संविधान र संघीयता आवश्यक रहेको र समस्या कार्यान्वयनमा देखिएको धारणा राखेका थिए । यी जवाफपछि आफू सहकार्यप्रति विश्वस्त भएको रक्षा बमले बताइन् ।

दुवै पक्षबीच ‘इमानदारिता र निःस्वार्थ देशसेवा’ लाई साझा धरातलको रूपमा पहिचान गरिएको छ । वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिन सक्ने सम्भावनाबारे सकारात्मक छलफल भएको र जेनजीलाई संगठित गर्न रक्षा बमले सक्रिय भूमिका खेल्ने सहमति बनेको छ । बालेनले रक्षा बमलाई निर्वाचनमा प्रत्यक्ष वा समानुपातिकमध्ये कुनै एक विकल्प रोज्न पनि अनुरोध गरेका छन् । यद्यपि यस विषयमा अन्तिम निर्णय भइनसकेको बताइएको छ । प्रतिनिधिसभा निर्वाचनको बन्दसूची बुझाउने समय नजिकिँदै जाँदा बालेन पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवादमा जुटिरहेका छन् ।

 

 

बालेनसँगको भेटबारे के भन्छन् ज्ञानेन्द्र शाही ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीबीच भएको भेटवार्ताले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ । बुधबार साँझ बालेनका सल्लाहकार कुमार बेनको कुपण्डोलस्थित निवासमा भएको यो भेटलाई आगामी निर्वाचन र नयाँ राजनीतिक ध्रुवीकरणसँग जोडेर हेरिएको छ ।

भेटपछि प्रतिक्रिया दिँदै राप्रपा प्रवक्ता शाहीले मेयर बालेनले युवाशक्ति एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव राखेको जानकारी दिए । उनका अनुसार बालेनको सन्देश स्पष्ट थियो–हिजो सँगै संघर्ष गरिएको हो, आज पनि सँगै काम गर्न सकिन्छ र जहाँ–जहाँ भए पनि युवाहरू एकजुट हुनुपर्छ । यो भेटलाई सामान्य शिष्टाचारभन्दा पनि गहिरो राजनीतिक संवादको रूपमा लिइएको छ । निर्वाचन नजिकिँदै जाँदा बालेनले आफ्नै नेतृत्वमा वैकल्पिक राजनीतिक शक्तिलाई संगठित गर्ने तयारी तीव्र बनाएका छन् । यही क्रममा विभिन्न दलका नेता, अभियन्ता, बुद्धिजीवी र सार्वजनिक व्यक्तित्वहरूसँग निरन्तर छलफल भइरहेको स्रोतहरू बताउँछन् ।

बुधबार रातिसम्म चलेको छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, चिकित्सक डा. भगवान् कोइराला, राप्रपाका ज्ञानेन्द्र शाही, युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया र सञ्चारकर्मी सुरजसिंह ठकुरीलगायतको सहभागिता रहेको थियो । छलफलका क्रममा मेयर बालेनले यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’ र त्यसको चुनाव चिन्ह ‘लौरो’ प्रयोग गरेर संगठित रूपमा अघि बढ्ने योजना सुनाएको स्रोतको दाबी छ । यसले बालेन अब केवल स्थानीय तहका प्रशासकमा सीमित नरही राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा आउन खोजिरहेका छन् भन्ने संकेत गरेको छ ।

यसअघि सोमबार राति कमलपोखरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र मेयर बालेनबीच पनि लामो छलफल भएको थियो । उक्त छलफलमा सरकार र पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा समेत अनौपचारिक प्रस्तावहरू उठेका थिए । स्रोतका अनुसार हालको चरणमा सरकारको नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले सम्हाल्ने, तथा अर्को निर्वाचनपछि सरकारको नेतृत्व रविले गर्ने र बालेनले सहयोगी भूमिका खेल्ने जस्ता विषयमा पनि विचार–विमर्श भएको थियो ।

ज्ञानेन्द्र शाही २०७९ सालको निर्वाचनमा जुम्लाबाट निर्वाचित सांसद हुन् । उनले संसदमा बालेनको कार्यशैलीको खुलेर प्रशंसा गर्दै काम गर्न दिनुपर्ने धारणा राख्दै आएका छन् । आसन्न निर्वाचनमा शाहीलाई विभिन्न स्थानबाट उम्मेदवार बन्न प्रस्ताव आएको बताइन्छ, जसले उनी पनि नयाँ राजनीतिक समीकरणको केन्द्रमा रहेको देखाउँछ । बालेन अहिले पनि विभिन्न व्यक्तिहरूसँग निरन्तर छलफलमा जुटिरहेका छन् । यी भेटघाट र संवादहरूले नेपाली राजनीतिमा परम्परागत दलभन्दा बाहिर उभिएको, युवा केन्द्रित र वैकल्पिक शक्तिको सम्भावना बलियो बन्दै गएको संकेत गरेका छन् । आगामी दिनमा यी छलफलहरू ठोस राजनीतिक संरचनामा रूपान्तरण हुन्छन् कि हुँदैनन् भन्ने चासो सर्वत्र बढिरहेको छ ।