`

इन्द्रजात्राका लागि रंगाइदै वसन्तपुर [तस्बिरहरु]

काठमाडौं। आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन तथा हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा रहेका झल्लर फेर्ने तयारी अघि बढाइएको छ। इन्द्रजात्राका अवसरमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको हनुमानढोका दरबार क्षेत्रलाई थप व्यवस्थित, आकर्षक र उत्सवमैत्री बनाउने उद्देश्यले मर्मत तथा सजावटका कामलाई तीव्रता दिन लागिएको हो।

इन्द्रजात्रा काठमाडौँ उपत्यकाको प्रमुख ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाइँदै आएको छ। जात्राका विभिन्न कार्यक्रम हनुमानढोका दरबार क्षेत्र र आसपासका स्थानमा हुने भएकाले जात्रा सुरु हुनुअघि नै सम्पदा क्षेत्रको सरसफाइ, मर्मतसम्भार र सजावटको काम गर्ने तयारी गरिएको हो।

कार्यक्रमअन्तर्गत वसन्तपुरस्थित गद्दी बैठकको बाहिरी स्वरूपमा नयाँ रंग लगाइनेछ। लामो समयदेखि रंगरोगन आवश्यक देखिएको गद्दी बैठकलाई जात्राका क्रममा आउने सर्वसाधारण, भक्तजन तथा स्वदेशी–विदेशी पर्यटकका लागि थप आकर्षक बनाउने गरी काम अघि बढाइनेछ। रंगरोगनका क्रममा ऐतिहासिक संरचनाको मौलिक स्वरूप र वास्तुकलामा असर नपर्ने गरी आवश्यक मर्मत तथा संरक्षणका कामसमेत गरिने तयारी छ।

त्यस्तै, हनुमानढोका दरबार क्षेत्रका विभिन्न मन्दिरमा प्रयोग हुँदै आएका पुराना झल्लर हटाएर नयाँ झल्लर राखिनेछ। इन्द्रजात्राका क्रममा मन्दिर तथा आसपासका सम्पदा क्षेत्रमा गरिने सजावटले जात्राको धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप आकर्षक बनाउने भएकाले झल्लर फेर्ने कामलाई पनि प्राथमिकतामा राखिएको हो।

इन्द्रजात्राका बेला वसन्तपुर क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण तथा भक्तजनको भीड लाग्ने गर्दछ। कुमारी रथयात्रा, लाखे नाचलगायत विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि हुने भएकाले यस क्षेत्रको व्यवस्थापनलाई विशेष महत्व दिइन्छ। त्यसैलाई ध्यानमा राखेर जात्रा सुरु हुनुअघि नै आवश्यक पूर्वतयारी पूरा गर्ने लक्ष्य राखिएको छ।

हनुमानढोका दरबार क्षेत्र नेपालको महत्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदामध्ये एक हो। यहाँ रहेका दरबार, मन्दिर, बहाल तथा अन्य पुरातात्त्विक संरचनाले काठमाडौँको प्राचीन संस्कृति र सभ्यताको प्रतिनिधित्व गर्दै आएका छन्। इन्द्रजात्राजस्तो ठूलो सांस्कृतिक पर्वका समयमा यी सम्पदामा हुने सजावटले पर्वको रौनक बढाउनुका साथै ऐतिहासिक क्षेत्रको सौन्दर्यसमेत थप उजागर गर्ने अपेक्षा गरिएको छ।

इन्द्रजात्रा नजिकिँदै जाँदा वसन्तपुर तथा हनुमानढोका क्षेत्रमा सरसफाइ, मर्मत, रंगरोगन र सजावटका अन्य कामलाई पनि क्रमशः अघि बढाउने तयारी छ। जात्राका क्रममा सम्पदा क्षेत्रको मौलिकता जोगाउँदै आवश्यक सजावट र व्यवस्थापन गर्ने गरी तयारी भइरहेको जनाइएको छ।

 

एआईको दुरुपयोग मानव अस्तित्वमै खतरा हुन सक्ने चेतावनी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै यसको सम्भावित जोखिमबारे बहस पनि चर्किँदै गएको छ। एआई भविष्यमा मानव नियन्त्रणभन्दा बाहिर गएर मानव अस्तित्वमै चुनौती बन्न सक्ने हो कि भन्ने प्रश्न उठिरहेका बेला बिजनेस इन्साइडरले चार प्रमुख एआई प्रणाली-च्याटजिपिटी, जेमिनी, क्लाउड र ग्रोक-लाई एआई कसरी मानव जातिको अन्त्यको कारण बन्न सक्छ भन्ने प्रश्न गरेको छ।

चारै एआई प्रणालीले हलिउड चलचित्रमा देखाइने ‘टर्मिनेटर’ शैलीमा एआईले स्वेच्छाले मानिसमाथि आक्रमण गर्ने सम्भावनालाई मुख्य जोखिमका रूपमा अस्वीकार गरेका छन्। उनीहरूका अनुसार एआईमा मानिसप्रति स्वाभाविक घृणा वा शत्रुता उत्पन्न हुन्छ भन्ने आधार छैन। तर एआईको गलत प्रयोग वा अत्यधिक शक्तिशाली प्रणालीलाई पर्याप्त नियन्त्रणमा राख्न नसकिएमा त्यसले गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी भने दिइएको छ।

जेमिनीका अनुसार एआई बढी सक्षम र बुद्धिमान हुँदैमा त्यसमा मानिसप्रति दुर्भावना उत्पन्न हुन्छ भन्ने हुँदैन। सैन्य तथा आणविक संरचनामा अझै मानवीय निगरानी र नियन्त्रण रहने भएकाले एआईले आफैं त्यस्ता संवेदनशील प्रणालीमाथि प्रत्यक्ष नियन्त्रण लिन सक्ने सम्भावना सीमित रहेको उसको विश्लेषण छ।

क्लाउड र ग्रोकले भने एआईको दुरुपयोगबाट जैविक सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्ने पक्षलाई औँल्याएका छन्। गैरजिम्मेवार व्यक्ति वा समूहले एआईको क्षमता प्रयोग गरेर जैविक हतियार विकास वा घातक रोगजनकको दुरुपयोग गर्न सक्ने जोखिम उनीहरूले देखाएका छन्। यस्तो दुरुपयोगले ठूलो स्वास्थ्य संकट निम्त्याउन सक्ने उनीहरूको चेतावनी छ।

च्याटजिपिटीले भने साइबर आक्रमणलाई प्रमुख सम्भावित जोखिमका रूपमा प्रस्तुत गरेको छ। एआईको दुरुपयोगमार्फत विद्युत् प्रणाली, बैंकिङ पूर्वाधार, सञ्चार सञ्जाल तथा अन्य महत्वपूर्ण डिजिटल संरचनामाथि व्यापक साइबर आक्रमण गर्न सकिने जोखिम औँल्याइएको छ। यस्ता प्रणालीमा ठूलो अवरोध उत्पन्न भएमा त्यसको प्रभाव एउटा देशमा मात्र सीमित नरही अन्तर्राष्ट्रिय संकटसम्म फैलिन सक्ने सम्भावना रहन्छ।

चारै प्रणालीका विश्लेषणलाई समेट्दा एआईबाट उत्पन्न हुने सबैभन्दा ठूलो जोखिम त्यसको आफ्नै ‘इच्छा’ वा मानिसप्रतिको शत्रुताभन्दा पनि यसको मानवीय दुरुपयोग र नियन्त्रण गुम्ने अवस्थासँग जोडिएको देखिन्छ।

विशेषगरी मानिसभन्दा धेरै सक्षम एआई प्रणाली विकास गर्दै जाँदा त्यसको निर्णय प्रक्रियालाई सुरक्षित राख्ने, गलत निर्देशनबाट जोगाउने र आवश्यक पर्दा नियन्त्रण वा बन्द गर्न सक्ने संयन्त्र निर्माण गर्नु चुनौतीपूर्ण बन्दै जानेछ। पर्याप्त सुरक्षा उपायबिना अत्यधिक शक्तिशाली एआई प्रणाली प्रयोगमा ल्याइएमा त्यसले अनपेक्षित परिणाम निम्त्याउन सक्ने चिन्ता विज्ञहरूले पनि व्यक्त गर्दै आएका छन्।

यस अर्थमा एआई आफैं मानव सभ्यता समाप्त गर्न चाहन्छ भन्नेभन्दा पनि मानिसले निर्माण गरेको शक्तिशाली प्रविधि गलत हातमा पुग्दा वा त्यसलाई नियन्त्रण गर्ने क्षमता कमजोर हुँदा जोखिम बढ्न सक्ने देखिन्छ। त्यसैले एआईको विकाससँगै सुरक्षा, मानवीय निगरानी, जिम्मेवार प्रयोग र प्रभावकारी नियमनलाई समान प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

एआईले स्वास्थ्य, शिक्षा, विज्ञान, अर्थतन्त्र र सञ्चारलगायत क्षेत्रमा ठूलो परिवर्तन ल्याउने सम्भावना बोकेको छ। तर यसको क्षमता जति तीव्र गतिमा विस्तार हुँदै जान्छ, त्यसको दुरुपयोग रोक्ने र मानव हितअनुकूल प्रयोग सुनिश्चित गर्ने चुनौती पनि त्यति नै महत्वपूर्ण बन्ने देखिन्छ।

भोटेकोशी बाढीले चार जिल्लाको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढी क्षति

काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्रै ५२ अर्ब १३ करोड ६५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको ‘भोटेकोशी हिमबाढी क्षति मूल्यांकन समिति’ले तयार पारेको प्रारम्भिक प्रतिवेदनले बाढीबाट होटल तथा रेस्टुरेन्ट, पर्यटकीय सवारीसाधन, पदमार्ग, सम्पदा, पर्यटन पूर्वाधार, राफ्टिङ तथा क्याम्पिङ साइटमा ठूलो क्षति पुगेको देखाएको हो।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य सहदेव धमलाको संयोजकत्वमा गठित समितिले बाढी प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको विवरण संकलन गरेको थियो।

प्रतिवेदनअनुसार भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका २०७ होटल तथा रेस्टुरेन्टमा मात्रै १९ अर्ब ५६ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। रेस्टुरेन्ट क्षेत्रमा थप १ अर्ब ३८ करोड तथा पर्यटन प्रयोजनका सवारीसाधनमा १ अर्ब ५१ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

त्यस्तै, पदमार्गमा ५ करोड, सम्पदा तथा पर्यटकीय संरचनामा १ अर्ब १२ करोड र राफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

बाढीको असर भौतिक संरचनामा मात्र सीमित नभई पर्यटन व्यवसायको आम्दानीमा समेत परेको छ। प्रभावित होटल तथा रेस्टुरेन्टबाट विदेशी पर्यटकमार्फत हुने आम्दानीमा मात्रै १४ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

त्यसैगरी, लाङटाङ क्षेत्रमा हुने व्यावसायिक कारोबारमा १ अर्ब २७ करोड तथा आन्तरिक पर्यटनबाट हुने आम्दानीमा १९ करोड ८७ लाख रुपैयाँ बराबरको असर परेको समितिले जनाएको छ।

बाढीबाट भोटेकोशी तथा त्रिशूली करिडोरका पर्यटकीय संरचना क्षतिग्रस्त भएपछि आगामी पर्यटकीय गतिविधिमा समेत असर पर्ने व्यवसायीहरूको चिन्ता छ। पर्यटकीय पूर्वाधार पुनर्निर्माण गर्न समय लाग्ने भएकाले प्रभावित क्षेत्रको पुनरुत्थानसँगै सुरक्षित वैकल्पिक गन्तव्यको प्रवर्द्धन गर्नुपर्ने उनीहरूको सुझाव छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले प्रभावित क्षेत्रमा पर्यटकीय गतिविधि पुनः सञ्चालनका लागि सुरक्षित वैकल्पिक मार्ग र गन्तव्य पहिचान गर्नुपर्ने बताए। उनका अनुसार विपद्पछि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको सुरक्षा अवस्थाबारे सकारात्मक सन्देश प्रवाह गर्नु पनि उत्तिकै आवश्यक छ।

तिब्बततर्फको नाकासमेत बाढीबाट प्रभावित भएकाले त्यसको असर नेपालका केही प्रमुख ट्रेकिङ रुटमा परेको पाण्डेको भनाइ छ। पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उनले बताए।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेले पुनरुत्थानका लागि बाह्य सहयोगको मात्रै प्रतीक्षा नगरी पर्यटन क्षेत्रका सबै सरोकारवाला एकजुट हुनुपर्ने बताए।

भोटेकोशी र त्रिशूली करिडोर नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणसँगै अन्य सुरक्षित गन्तव्यको प्रवर्द्धनलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

बाढीबाट पर्यटन क्षेत्रमा भएको क्षतिको प्रारम्भिक विवरणले पुनर्निर्माण र पुनरुत्थानका लागि ठूलो स्रोत आवश्यक पर्ने देखाएको छ। होटल तथा रेस्टुरेन्टदेखि पदमार्ग, सम्पदा र साहसिक पर्यटनका संरचनासम्म क्षति पुगेकाले पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण योजना आवश्यक देखिएको छ।

झापालीलाई भुसुक्कै बिर्सिए प्रधानमन्त्री बालेनले

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफूलाई प्रधानमन्त्री बनाउने झापाली मतदातालाई भुसुक्कै बिर्सिएको आरोप लाग्न थालेको छ ।

झापाली जनताले मत नदिएको भए बालेन सांसद हुने थिएनन् । सांसद नभएको भए संसद् पुग्ने थिएनन् । संसद् नपुगेको भए प्रधानमन्त्री बन्ने बाटो खुल्ने थिएन ।

त्यसैले बालेनको प्रधानमन्त्री पदसँग झापाली जनताको अभिमत जोडिएको छ ।

गत २१ फागुनको निर्वाचनमा झापा-५ का मतदाताले बालेनलाई ठूलो विश्वासका साथ मतदान गरे । देश बनाउने आशासहित मत दिए । अन्ततः बालेनले झापा-५ मा विजयको झण्डा फहराए ।

तर, चुनाव जितेपछि भने त्यही झापा बालेनको प्राथमिकताबाट हराएको देखिन्छ ।

चुनाव जितेपछि उनी झापा पुगेका छैनन् । आफूलाई जिताउने मतदातालाई भेटेका छैनन् । धन्यवाद दिनसमेत पुगेका छैनन् ।

जसले जिताए, उनीहरूलाई नै बिर्सिएपछि झापाली मतदातामा असन्तुष्टि बढ्न थालेको छ । उनीहरू अहिले प्रश्न गर्न थालेका छन्- चुनाव जितेर फर्किन नपर्ने हो ? जनताको मत लिएपछि जनतालाई सम्झिनु नपर्ने हो ?

बालेन प्रधानमन्त्री बनेकोमा झापाली खुसी हुनुपर्ने हो । तर, आफ्नै मतबाट जितेको नेता प्रधानमन्त्री बने पनि भेट्न नपाउँदा उनीहरूमा हर्ष न विस्मात्को अवस्था देखिन थालेको छ ।

जनताको मतले सत्तामा पुगेपछि त्यही जनतालाई बिर्सनु कस्तो राजनीति हो ?

झापालीको मतले बनाएको प्रधानमन्त्रीले झापालीलाई नै भुसुक्कै बिर्सिएपछि अब उनीहरूले दिएको मतको मूल्य खोज्न थालेका छन् ।

रास्वपाकै कार्यकर्ताबाट किन लखेटिए शिक्षामन्त्री पोखरेल?

काठमाडौं। सरकारप्रति बढ्दो असन्तुष्टि र जनप्रतिनिधिप्रतिको आक्रोशका घटनाहरू सार्वजनिक भइरहेका बेला सिरहामा शिक्षामन्त्री सस्मित पोखरेलमाथि विरोध र नाराबाजी भएको घटना चर्चामा छ। शनिबार सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी भएका मन्त्री पोखरेललाई विरोधपछि सुरक्षाकर्मीको घेरामा कार्यक्रमस्थलबाट बाहिरिनुपरेको थियो।

पाठ्यक्रम निर्माणका लागि सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा मन्त्री पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमस्थलमा पुगेपछि उनलाई मन्तव्यका लागि माइक दिइएको थियो। तर, कार्यक्रमको मूल उद्देश्यअनुसार सहभागीहरूको सुझाव सुन्नुपर्ने समयमा मन्त्रीलाई सुरुमै बोल्न माइक दिइएको विषयले पनि असन्तुष्टि बढाएको बताइएको छ।

कार्यक्रममा सहभागी केही व्यक्तिले पाठ्यक्रमसम्बन्धी आफ्ना धारणा र सुझाव राख्ने अपेक्षा गरेका थिए। तर, सुझाव संकलनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिलाई सुरुमै बोल्न माइक दिइएपछि वातावरण तनावपूर्ण बन्दै गएको बताइएको छ। यहीबीच रास्वपाको औरही गाउँपालिका सभापति सन्तोष यादवको भिडियो खिचिरहेको मोबाइल फोन मन्त्रीका सुरक्षाकर्मीले खोसेपछि विवाद थप चर्किएको थियो।

मोबाइल खोसिएको विषयलाई लिएर उपस्थित केही व्यक्तिले आपत्ति जनाएपछि कार्यक्रमस्थलको वातावरण थप असहज बनेको थियो। विवाद बढ्दै गएपछि मन्त्री पोखरेलविरुद्ध होहल्ला र नाराबाजीसमेत भएको बताइएको छ।

स्थिति असहज बनेपछि मन्त्री पोखरेलले आफ्नो मन्तव्य छोट्याएका थिए। त्यसपछि सुरक्षाकर्मीको घेरामा उनलाई कार्यक्रमस्थलबाट बाहिर लगिएको थियो। मन्त्रीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लैजाँदै गरेको दृश्य सामाजिक सञ्जालमा समेत सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको हो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य शिव यादव, पुरुषोत्तम यादव, जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो, गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा अन्य सरोकारवालाको सहभागिता थियो। पाठ्यक्रम निर्माणका लागि स्थानीय तह, शिक्षक तथा सरोकारवालाबाट सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।

घटनालाई लिएर राजनीतिक वृत्तमा भने फरक-फरक प्रतिक्रिया देखिएका छन्। सरकारका मन्त्री सहभागी कार्यक्रममा नै विरोध र नाराबाजी हुनु तथा मन्त्रीलाई सुरक्षाकर्मीको घेरामा बाहिरिनुपर्ने अवस्था आउनुलाई सरकारप्रतिको जनअसन्तुष्टिको संकेतका रूपमा व्याख्या गर्न थालिएको छ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको स्थानीय नेतृत्वसँग जोडिएका व्यक्तिसमेत घटनामा प्रत्यक्ष रूपमा विवादमा आएपछि यो विषय थप राजनीतिक बनेको छ। मोबाइल फोन खोसिएको घटनाबाट सुरु भएको विवाद अन्ततः मन्त्रीविरुद्ध नाराबाजी र कार्यक्रम छाड्नुपर्ने अवस्थासम्म पुगेको हो।

सरकारका मन्त्रीहरू सार्वजनिक कार्यक्रममा पुग्दा स्थानीय तहमा उनीहरूको काम, निर्णय र कार्यशैलीबारे प्रश्न उठ्ने क्रम बढिरहेको अवस्थामा सिरहाको घटनाले सरकार र जनस्तरबीचको सम्बन्धबारे पनि प्रश्न उठाएको छ। जनताबाट ठूलो अपेक्षा र समर्थनसहित आएको सरकारका मन्त्रीले आफ्नै दलसँग आबद्ध स्थानीय कार्यकर्ताबाट समेत विरोधको सामना गर्नुपर्ने अवस्था आउनु राजनीतिक रूपमा गम्भीर संकेत भएको विश्लेषण हुन थालेको छ।

बालेन शाह नेतृत्वको सरकार गठन हुँदा परिवर्तन, सुशासन र नयाँ राजनीतिक संस्कारको अपेक्षा गरिएको थियो। विशेषगरी पुराना राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टिबाट बनेको नयाँ राजनीतिक शक्तिले जनताको दैनिक समस्या समाधानमा फरक ढंगले काम गर्ने अपेक्षा गरिएको थियो। तर सरकार सञ्चालनका क्रममा देखिएका विवाद, निर्णयमाथि उठेका प्रश्न र विभिन्न क्षेत्रमा देखिएको असन्तुष्टिले सरकारमाथिको दबाब बढाउँदै लगेको छ।

सिरहाको घटना यही व्यापक राजनीतिक असन्तुष्टिको एउटा स्थानीय अभिव्यक्ति हो वा कार्यक्रममा भएको तत्कालीन विवादको परिणाम मात्रै हो भन्ने विषय भने स्पष्ट रूपमा छुट्याउन आवश्यक छ। एउटा घटनालाई आधार बनाएर सम्पूर्ण जनमत सरकारविरुद्ध गएको निष्कर्ष निकाल्न नमिले पनि मन्त्री सहभागी सार्वजनिक कार्यक्रममा विरोध हुनु भने सरकारका लागि गम्भीर राजनीतिक सन्देशका रूपमा लिन सकिन्छ।

अर्कोतर्फ, कार्यक्रमको उद्देश्य नै सरोकारवालाबाट सुझाव संकलन गर्नु भए पनि सहभागीको धारणा सुन्नेभन्दा मन्त्रीको मन्तव्यलाई प्राथमिकता दिइएको भन्ने असन्तुष्टिले सरकारको कार्यशैलीप्रति स्थानीय तहमा कस्तो अपेक्षा छ भन्ने पनि देखाउँछ। जनतासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रममा उनीहरूको कुरा सुन्ने वातावरण बनाउन नसक्दा सामान्य विषयसमेत राजनीतिक विवादमा परिणत हुन सक्ने जोखिम देखिएको छ।

यस घटनाले सरकारका मन्त्रीहरूका लागि सार्वजनिक संवाद र जनसम्पर्कको शैलीमाथि पनि प्रश्न उठाएको छ। सरकारप्रति असन्तुष्टि बढिरहेको अवस्थामा मन्त्रीहरूले कार्यक्रमस्थलमा सुरक्षा घेराभित्र मात्र रहनेभन्दा स्थानीय सरोकार, गुनासा र आलोचनालाई प्रत्यक्ष सुन्ने वातावरण बनाउनुपर्ने आवश्यकता देखिन्छ।

सरकारले सुरुदेखि प्रभावकारी व्यवस्थापन गर्न नसक्दा धेरैको ज्यान गयो : घिसिङ [भिडिओ]

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढीपहिरोजस्तो विपद्का बेला सरकारले सुरुदेखि नै प्रभावकारी व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन्।

उनले विपद् सुरु भएलगत्तै उद्धार तथा व्यवस्थापनमा आवश्यक तयारी गर्न सरकार चुकेको भन्दै त्यसको जिम्मेवारी सरकारले स्वीकार गर्नुपर्ने बताए।

‘सरकारले जुन किसिमको व्यवस्थापन सुरुमै गर्नुपर्थ्यो, त्यो गर्न सकेन। सुरुमै गर्नलाई उहाँहरू चुक्नुभएको छ। त्यसलाई सरकारले स्वीकार गर्नुपर्दछ,’ घिसिङले भने, ‘सुरुदेखि नै यसरी व्यवस्थापन गर्न सकेको भए अझै धेरै मानिसहरू बचाउन सकिन्थ्यो।’

उनले विपद् व्यवस्थापनमा भएको कमजोरीको समीक्षा गर्दै आगामी दिनमा राज्यको तयारी र उद्धार संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।

घिसिङले पछिल्लो राजनीतिक परिस्थितिप्रति टिप्पणी गर्दै कुनै एक दलले पाएको दुई तिहाइ जनमत सधैं कायम नरहने दाबी गरे। जनताले समेत वर्तमान राजनीतिक अवस्थाबाट बाहिर निस्कनुपर्ने आवश्यकता महसुस गरिसकेको उनको भनाइ छ।

‘एउटा पार्टीलाई दुई तिहाइको मत दियो, अब त्यो धेरै रहनेवाला छैन। यो धेरै रहँदैन भन्ने आम जनताले पनि बुझिसकेका छन्,’ उनले भने।

उनले देशलाई वर्तमान अवस्थाबाट बाहिर निकाल्न नयाँ राजनीतिक विकल्प आवश्यक रहेको बताए। उज्यालो नेपाल पार्टीले मुलुकको समग्र विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको दाबी छ।

‘यो अवस्थाबाट हामी उम्किनुपर्छ। उज्यालो नेपाल पार्टी सम्पूर्ण देशलाई समृद्ध बनाउने हिसाबले अगाडि बढ्छ,’ घिसिङले भने।

एकता कि विभाजन : कांग्रेसको यो ‘मोड’

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको विवाद निर्णायक मोडमा पुगेको छ। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी अघि बढाइरहेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले त्यसलाई चुनौती दिँदै छुट्टै प्रक्रिया अघि बढाएको छ। यहीबीच पार्टी विभाजनको सम्भावित जोखिम रोक्न विभिन्न नेताहरूले संवाद र सहमतिका लागि दबाब पनि बढाइरहेकाका छन्।

देउवा पक्षले शनिबार १५औँ महाधिवेशनको तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा बनेको तयारी समितिले जिल्ला, प्रदेश, क्षेत्र, पालिका र वडा तहका अधिवेशनको तयारी अघि बढाउन प्रतिनिधि पठाएको हो। देउवा पक्षले आफ्नो कदमलाई १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको वैधानिक निरन्तरताका रूपमा व्याख्या गरेको छ।

यसअघि देउवा पक्षले असोज १५ गते वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म छुट्टै १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको थियो। संस्थापन पक्षले भने असोज ३ र ४ गते वडा अधिवेशनसहित असोज १६-१९ गते केन्द्रीय महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएको छ। कांग्रेसको आधिकारिक कार्यतालिकामा पनि अहिले केन्द्रीय महाधिवेशन असोज १६-१९ मै तोकिएको छ।

दुईवटा महाधिवेशनको तयारी अघि बढेपछि कांग्रेसको विवाद केवल नेतृत्वको प्रतिस्पर्धामा सीमित नरही पार्टीको वैधानिकता र संरचनामाथिको प्रश्न बन्न पुगेको छ। यसको मूल विवाद विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने कि १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको संरचनालाई निरन्तरता दिने भन्ने विषयसँग जोडिएको छ।

यसैबीच पार्टीलाई समानान्तर महाधिवेशनबाट जोगाउन नेता डा. शेखर कोइरालाले सक्रियता बढाएका छन्। सभापति थापासहित पूर्वसभापति देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भएका छलफलले सहमतिको सम्भावना अझै समाप्त नभएको संकेत गरेको छ। कोइरालाले देउवालाई बाहिर राखेर गरिने एकताको अर्थ नहुने धारणा राख्दै सम्मानजनक ‘ग्रेसफुल एक्जिट’को बाटो खोज्नुपर्ने बताएका छन्।

संस्थापन पक्ष पनि पछिल्लो समय केही विषयमा लचिलो देखिएको छ। तीन महिनाअघि कोइरालाले अघि सारेको पाँचबुँदे प्रस्तावलाई स्वीकार गरेर एकताको आधार तयार गर्न संस्थापन पक्ष तयार देखिएको छ। प्रस्तावमा क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनपछि नवीकरण भएका सदस्यतालाई आधार मान्ने, पुरानो र नयाँ केन्द्रीय कार्यसमितिबीच समायोजन गर्ने तथा निर्वाचन, सदस्यता छानबिन, अनुशासन र विधान संशोधनलगायत समिति सहमतिका आधारमा गठन गर्ने विषय छन्।

यही प्रयासस्वरूप संस्थापन पक्षले तल्लो तहका अधिवेशनको कार्यतालिकासमेत संशोधन गरिसकेको छ। केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर वडा, गाउँ-नगर र क्षेत्रीय अधिवेशनको तालिका केही पछाडि सारिएको छ। बाढीपहिरो प्रभावित जिल्लाको अवस्था र पार्टीभित्रको विवाद दुवैलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको कांग्रेस नेताहरूले बताएका छन्।

पार्टी एकताको दबाबलाई अझ बलियो बनाउँदै दुई दर्जनभन्दा बढी नेताले दुवै पक्षलाई महाधिवेशनको कार्यतालिका स्थगन गरी निर्णायक वार्तामा बस्न आग्रह गरेका छन्। उनीहरूले अहिले कांग्रेस विभाजित भए त्यसको असर पार्टीमा मात्र नभई मुलुकको राजनीतिक स्थिरतामै पर्ने भन्दै संवाद, सहमति र सहकार्यबाट समाधान खोज्न अपिल गरेका छन्।

एकातिर देउवा पक्षले अघि बढाएको समानान्तर महाधिवेशनको तयारी र अर्कोतिर शेखर कोइराला, पूर्णबहादुर खड्का तथा सभापति गगन थापाबीच सहमति खोज्ने प्रयास। अदालतमा विचाराधीन विवादसमेत कांग्रेसको आन्तरिक शक्ति संघर्षसँग जोडिएकाले तत्काल सहमति बन्ने वा विवाद थप गहिरिने भन्ने कुरा आगामी संवादमा निर्भर देखिन्छ। देउवा पक्ष भने सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म महाधिवेशनसम्बन्धी विवाद समाधान नहुने अडानमा छ।

अहिले कांग्रेसका लागि १५औँ महाधिवेशन कहिले गर्ने भन्ने होइन, कुन संरचना र कुन सहमतिका आधारमा एउटै महाधिवेशन गर्ने भन्ने बनेको छ। यही कारण शेखर पक्षको पाँचबुँदे प्रस्ताव, देउवाको सम्मानजनक बिदाइ र गगन थापाको समायोजनमा देखिएको लचकता कांग्रेस एकता जोगाउने अन्तिम राजनीतिक सूत्र बन्न सक्छ कि सक्दैन भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

भारत-चीन सम्बन्धबाट नेपालले रणनीतिक लाभ लिनुपर्छ : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच पछिल्लो समय देखिएको संवाद र सहकार्यलाई नेपालले आफ्नो राष्ट्रिय हितमा उपयोग गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न ब्रिक्स शिखर सम्मेलन तथा त्यस क्रममा भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भएको भेटवार्तालाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेका हुन्।

उनले दुई छिमेकीबीचको दूरी र प्रतिस्पर्धालाई आफ्नो तत्कालीन राजनीतिक स्वार्थ पूरा गर्न प्रयोग गर्ने पुरानो प्रवृत्तिबाट नेपाल मुक्त हुनुपर्ने बताएका छन्। उनका अनुसार भारत र चीनबीचको सम्बन्धमा आउने परिवर्तनलाई नेपालले अवसरका रूपमा उपयोग गर्न सक्नुपर्छ।

भट्टराईले विगतमा नेपालका शासकहरूले भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक राजनीतिक लाभ लिन खोज्दा मुलुक दीर्घकालीन रूपमा अल्पविकास र परनिर्भरताको चक्रमा फसेको टिप्पणी गरेका छन्।

नेपालजस्तो विकासोन्मुख मुलुकले बदलिँदो क्षेत्रीय शक्ति सन्तुलनलाई गम्भीरतापूर्वक अध्ययन गरी दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ छ। उनले छिमेकी मुलुकहरूबीच विकसित हुँदै गरेको नयाँ समीकरणबाट अधिकतम आर्थिक तथा रणनीतिक लाभ लिन स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

भारतको अगुवाइमा ब्रिक्स सम्मेलनबाट जारी घोषणापत्र तथा चीन–भारत सम्बन्धलाई दीर्घकालीन र रणनीतिक ढंगले अघि बढाउने प्रतिबद्धतालाई पनि उनले सकारात्मक संकेतका रूपमा लिएका छन्।

भट्टराईले भारत र चीनबीच प्रतिस्पर्धासँगै सहकार्यको सम्भावना बढ्दै गए त्यसबाट नेपालले फाइदा लिन सक्ने बताएका छन्। त्यसका लागि प्रभावकारी कूटनीतिक पहलमार्फत नेपाललाई दुई ठूला छिमेकीबीचको ‘गतिशील सेतु’का रूपमा विकास गर्नुपर्ने उनको धारणा छ।

नेपाललाई क्षेत्रीय शान्ति र सहकार्यको केन्द्रका रूपमा स्थापित गर्न दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै उनले यस दिशामा तत्कालै योजनाबद्ध पहल सुरु गर्न वर्तमान नेतृत्वलाई आग्रह गरेका छन्।

उनका अनुसार भारत र चीनबीचको सम्बन्धमा आउने सकारात्मक परिवर्तनलाई नेपालले केवल राजनीतिक दृष्टिले नभई आर्थिक विकास, पूर्वाधार, व्यापार, पर्यटन र क्षेत्रीय कनेक्टिभिटीलगायतका क्षेत्रमा अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्छ।

भट्टराईले बदलिँदो भूराजनीतिक परिस्थितिमा नेपाल कुनै पनि पक्षको प्रतिस्पर्धाको मैदान बन्नुभन्दा दुवै छिमेकीसँग पारस्परिक हित र राष्ट्रिय स्वार्थका आधारमा सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

अस्करका लागि नेपालको प्रतिनिधित्व गर्दै ‘तिनीहरू’

काठमाडौं । सन् २०२७ मा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्स (अस्कर) को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ले गर्ने भएको छ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले प्रतिस्पर्धाका लागि प्राप्त दुई नेपाली चलचित्रमध्ये ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’लाई अस्करमा नेपालको आधिकारिक प्रतिनिधिका रूपमा सिफारिस गरेको हो।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले आइतबार जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधाका लागि ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ले आवेदन दिएका थिए।

समितिले दुवै चलचित्रको प्राविधिक गुणस्तर, कथावस्तुको प्रस्तुति, पात्रको भावनात्मक पक्ष तथा चलचित्रको कलात्मक शिल्पको अध्ययन गरेको थियो। एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले तोकेको मापदण्डलाई आधार बनाएर गरिएको मूल्यांकनपछि ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट भएको समितिले जनाएको छ।

समितिमा अध्यक्ष शर्मासहित लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, जीवन कुमार पराजुली र बिकेश सुवेदी सदस्य रहेका छन्।

छनोटसँगै ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालबाट अस्करको प्रतिस्पर्धामा सहभागिता जनाउनेछ।

ब्रिक्स : भारतका लागि रणनीतिक चुनौती र लाभको मञ्‍च

नयाँदिल्ली।  भारतले चौथोपटक ब्रिक्स शिखर सम्मेलनको आयोजना गर्दै गर्दा यसपटकको सम्मेलन उसको कूटनीतिक क्षमताको महत्वपूर्ण परीक्षा बन्ने देखिएको छ। ब्रिक्सको अध्यक्षता सम्हालेको करिब दुई महिनामै अमेरिका र इजरायलले ब्रिक्स सदस्य इरानमाथि सैन्य हमला गरेपछि समूहभित्रको जटिलता थप बढेको थियो।

इरानले पनि जवाफी कारबाहीका क्रममा ब्रिक्सकै सदस्य संयुक्त अरब इमिरेट्स (यूएई) र साउदी अरबमाथि हमला गरेपछि भारतसामु यी तीनै देशलाई एउटै मञ्चमा सहमत गराउने चुनौती थपिएको थियो।

यसअघि भारतको आयोजनामा भएको ब्रिक्स विदेशमन्त्रीस्तरीय बैठक संयुक्त वक्तव्य जारी नगरी टुंगिएको थियो। मध्यपूर्व संकटलगायत संवेदनशील अन्तर्राष्ट्रिय विषयमा सदस्य राष्ट्रबीच साझा धारणा बन्न नसक्दा भारतको कूटनीतिक भूमिकामाथि प्रश्न उठेको थियो। 

ब्रिक्सको विस्तारसँगै समूहभित्र आर्थिक, राजनीतिक र रणनीतिक हितमा ठूलो विविधता आएको छ। भारत र चीनबीचको पुरानो मतभेदसँगै अहिले समूहमा एक-अर्कासँग प्रत्यक्ष सैन्य द्वन्द्वमा रहेका देशसमेत छन्। यस्तो अवस्थामा सहमति निर्माण गर्नु भारतका लागि निकै चुनौतीपूर्ण देखिन्छ।

भारत एकातिर ब्रिक्सलाई बलियो र प्रभावकारी बहुपक्षीय मञ्च बनाउन चाहन्छ भने अर्कोतिर यसलाई चीनको रणनीतिक प्रभाव विस्तार गर्ने माध्यम बन्न दिन चाहँदैन। त्यसैले भारतले आफूलाई विभिन्न धारबीच ‘सेतु’को भूमिकामा उभ्याउनुपर्ने अवस्था छ।

भारतको प्राथमिकता ब्रिक्सलाई पश्चिमविरोधी गठबन्धन बनाउनु नभई बहुध्रुवीय विश्वव्यवस्थाका लागि प्रभावकारी मञ्चका रूपमा विकास गर्नु रहेको देखिन्छ। साथै, अमेरिका र पश्चिमी मुलुकसँगको सम्बन्धलाई कायम राख्दै रूस, चीनलगायत ब्रिक्स सदस्यसँग पनि रणनीतिक सम्बन्ध सन्तुलित राख्नु भारतको मुख्य चुनौती हो।

ब्रिक्समा अहिले ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, इन्डोनेसिया र यूएईसहित १० देश सहभागी छन्। साउदी अरबको औपचारिक सदस्यताको अवस्थाबारे भने अझै स्पष्टता छैन।

विश्वव्यापी आपूर्ति शृंखला, ऊर्जा तथा खाद्य सुरक्षादेखि जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता, रोजगारी र मध्यपूर्व तथा युक्रेन युद्धका प्रभावसम्मका विषय सम्मेलनका छलफलका प्रमुख एजेन्डा बनेका छन्। 

सितल बजारमा सेनाको ब्लास्टिङ [तस्बिरहरु]

धादिङ। रसुवा बाढीपछि त्रिशूली नदीले सडक कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको सितल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङमार्फत सडक खोल्ने काम अघि बढाएको छ।

सडक भासिएको स्थानमा तत्काल पर्खाल निर्माण गरी सडक सञ्चालन गर्न कठिन भएपछि नेपाली सेनाको मध्य पृतनाअन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरिएको हो। क्षतिग्रस्त सडकको भाग हटाएर नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले ब्लास्टिङको काम गरिरहेको छ।

भदौ १० गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीपछि त्रिशूली नदीमा आएको तीव्र बहावले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो। त्यस क्रममा सितल बजारसँगै धादिङको कृष्णभीर र परेवा भीरलगायतका क्षेत्रमा सडक भासिएपछि काठमाडौं–चितवन तथा काठमाडौं–पोखरा आवागमन प्रभावित भएको छ।

सितल बजार क्षेत्रमा नदीतर्फको सडकको ठूलो भाग कटानमा परेर भासिएकाले सामान्य मर्मतबाट तत्काल सडक सञ्चालन गर्न कठिन देखिएपछि ब्लास्टिङमार्फत नयाँ सडक संरचना तयार गर्न लागिएको हो।

सडक खुलाउन नेपाली सेना, सडक विभाग तथा निर्माणसम्बद्ध प्राविधिक टोलीबीच समन्वय भइरहेको छ। ब्लास्टिङपछि सडकको सतह व्यवस्थापन, आवश्यक संरचना निर्माण र यातायात सञ्चालनका लागि थप काम गरिने जनाइएको छ।

बाढीका कारण त्रिशूली नदी आसपासका सडकमा कटान, पहिरो र भासिने समस्या देखिएपछि विभिन्न स्थानमा डोजर तथा निर्माण उपकरण परिचालन गरी अस्थायी तथा वैकल्पिक मार्ग निर्माणको कामसमेत भइरहेको छ।

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित हुनुका साथै दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर परेको छ। राजमार्गलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन क्षतिग्रस्त स्थानमा तत्कालीन मर्मतसँगै दीर्घकालीन पुनर्निर्माण आवश्यक देखिएको छ।

कांग्रेसमा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने नेताहरूको जोड

काठमाडौं । नेपाली कांग्रेसका दुई दर्जन नेताले १५औँ महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका स्थगन गरी संस्थापन र संस्थापनइतर समूहबीच निर्णायक वार्ता गर्न आग्रह गरेका छन्। पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका नेताहरूले शुक्रबार संयुक्त अपिल जारी गर्दै पार्टीलाई एकढिक्का बनाउन संवाद, सहमति र सहकार्यमा जोड दिएका हुन्।

नेताहरूले देश संवेदनशील परिस्थितिबाट गुज्रिरहेको भन्दै कांग्रेसभित्रको विवाद तत्काल समाधान गरी राष्ट्रिय चुनौती सामना गर्न सक्ने सबल र एकताबद्ध पार्टी निर्माण गर्नुपर्ने बताएका छन्। उनीहरूले दुवै समूहले महाधिवेशनको कार्यतालिका केही समय स्थगन गरेर एकताका लागि निर्णायक संवाद सुरु गर्नुपर्ने धारणा राखेका छन्।

नेताहरूमध्येका एक कांग्रेस नेता रामहरि खतिवडाले कांग्रेस कमजोर हुँदा त्यसको असर मुलुकमै पर्ने भएकाले पार्टीलाई विभाजन वा समानान्तर महाधिवेशनतर्फ लैजान नहुने बताए। उनका अनुसार अहिले कांग्रेसभित्र दुई पक्षका छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक भएकाले त्यसलाई केही समय सारेर भए पनि सहमतिको प्रयास गर्न आवश्यक छ।

‘सबैभन्दा महत्वपूर्ण कुरा अहिलेको देश, परिस्थिति, कानुनी राज्य र संविधानलाई विचार गर्दा कांग्रेस कमजोर हुँदाखेरि देश धेरै कमजोर हुने भयो। हामी विशेष महाधिवेशनबाट एउटा अवस्थामा पुग्यौं। केही साथीहरू अझै समेटिएका छैनन् भन्ने हामीलाई लागेको हो,’ खतिवडाले भने।

उनले कांग्रेसलाई एकीकृत नबनाइकन देशका वर्तमान समस्या समाधान गर्ने राजनीतिक शक्ति बलियो नहुने बताए। पार्टीभित्रको विवाद समाधानका लागि दुवै पक्षले वार्ता र सहमतिबाट अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘दुई पक्षको छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका आएको अवस्था छ। एउटा अलि पछि गर्ने, एउटा अब लगत्तै महाधिवेशन गर्ने ‘क्यालेन्डर’ कांग्रेसभित्र आयो। हामी शेरबहादुर देउवाको पनि ‘ग्रेसफुल एक्जिट’ होस् भन्ने चाहन्छौं,’ उनले भने, ‘अबको राजनीतिमा नयाँ पुस्तालाई अगाडि लिएर हिँड्दा नै फाइदा हुन्छ भन्ने हामीले महसुस गरेका छौं।’

खतिवडाले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउँदै पुरानो पुस्तालाई सम्मान गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए। उनले आफ्नो पहल कुनै समूह वा नेताको पक्ष-विपक्षमा नभएको स्पष्ट पारे।

‘सरसर्ती हेर्दा पनि कांग्रेसमा अबको विकल्प नयाँ पुस्ता नै हो। वर्तमान अवस्था हेर्दा नयाँ पुस्ताले नेतृत्व प्रदान गरेर अघि बढ्नुपर्छ। त्यसैले पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तालाई आकर्षित गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने।

उनका अनुसार अपिल जारी गर्ने नेताहरूले पार्टी सभापति गगन थापा, पूर्वसभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र पूर्णबहादुर खड्कासँग छलफल गरेका छन्। सबै पक्षलाई समेटेर अघि बढ्न सके त्यसले पार्टीभित्र सकारात्मक वातावरण निर्माण गर्ने उनीहरूको निष्कर्ष छ।

विपदलाई बालेन सरकारको अनदेखा : आहुती

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव विश्वभक्त दुलाल आहुतिले विपद् आउनुभन्दा पहिले गर्नुपर्ने तयारीमा राज्यले अनदेखा गरेको आरोप लगाएका छन् ।

शनिबार नेशनल प्रेस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले ‘हिमाली सुनामी’का कारण नेपालले भोग्नुपरेको प्राकृतिक विपदबारे चर्चा गर्दै सरकारको ध्यानाकर्षण समेत गराए।

उनले यो विषय सामान्य नभई आम बहसको विषयको रुपमा व्यवस्थित ढङ्गले उठाउनुपर्ने बताए । उनले भूगोलको बनावटअनुसार विकास र संरचनाको तालमेल नभएको बताए । उनले राज्य अप्ठ्यारो परेको बेला गाली गर्न तयार हुन्छ, मदत गर्न होइन भन्दै सरकारको आलोचना गरे ।

त्यस्तै, लगातार २०-२२ वर्षदेखि प्राकृतिक प्रकोपको घटना भइरहँदा राज्यले अनुमान गर्न नसकिने थियो भन्दा अनुमान गरिएको चाहिँ के थियो ? भन्दै प्रश्न गरे ।

उनले राज्यले तथ्यलाई तोडमोड गरेर राजनीतिक फाइदा लिन खोजेको भन्दै सरकारप्रति औला उठाएका छन् ।

प्रधानमन्त्री बालेनको टाउको दुखाई बन्दै क्रान्तिशिखा

काठमाडौं । प्रधानमन्त्री बालेन नेतृत्वको सरकारलाई बाहिरबाट विपक्षीले मात्र होइन, आफ्नै दलकी सचेतक क्रान्तिशिखा धितालले समेत लगातार खबरदारी गर्न थालेकी छन् ।

सरकारका गलत निर्णय र मन्त्रीका विवादास्पद गतिविधिमाथि खुलेर प्रश्न उठाउँदै आएकी धिताल पछिल्लो समय बालेन सरकारका लागि ‘टाउको दुखाइ’ बन्न थालेकी छन् ।

सत्तापक्षमै बसेर सरकारको गलत कामको प्रतिवाद गर्ने धितालको शैली रास्वपाभित्रै चर्चाको विषय बनेको छ । प्रधानमन्त्री बालेनले राम्रो काम गर्दा प्रशंसा गर्ने उनी गलत काम हुँदा भने कसैको दबाबमा चुप लाग्दिनन् ।

जनताको पक्षमा उभिएर आफ्नै सरकारलाई कठघरामा उभ्याउने उनको साहसले उनलाई फरक पहिचान दिएको छ ।

२३ भदौमा जेनजी शहीद स्मृति सभामा गृहमन्त्री सुधन गुरुङले धर्मगुरुको आवरणमा रहेका तर अपराधमा पटकपटक संलग्न भएका दुई व्यक्तिलाई सहभागी गराएको विषयमा धितालले आपत्ति जनाइन् ।

पुराना दललाई सुध्रिन उपदेश दिएको कार्यक्रममा विवादित व्यक्तिलाई सहभागी गराइएको भन्दै उनले प्रश्न उठाइन् ।

उनको प्रश्नमा गृहमन्त्री गुरुङ हप्कीदप्कीमा उत्रिए । तर, धिताल पछि हटिनन् । आफ्नै सरकारका शक्तिशाली मन्त्रीसँग समेत चर्को प्रतिवाद गरिन् ।

भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेन, गृहमन्त्री गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले स्थानीय तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे । धितालले भने सरकारकै दाबीमाथि प्रश्न उठाइन् ।

गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्षहरूसमेत बाढीमा बगेको अवस्थामा स्थानीय तहले कसरी केन्द्र सरकारसँग समन्वय गर्न सक्छ भन्दै उनले सरकारलाई सीधा प्रश्न गरिन् ।

बाढीमा पति गुमाएकी महिलामाथि केही अराजक समर्थकबाट भएको आपत्तिजनक व्यवहारको पनि धितालले कडा प्रतिवाद गरिन् । पीडित नागरिकमाथि गाली र धम्की दिने प्रवृत्तिविरुद्ध उनी खुलेर उभिइन् ।

यसरी हेर्दा धिताल सरकार ढाल्ने विपक्षी होइनन् । तर, सरकारका गलत काम ढाकछोप गर्ने सत्तापक्षीय नेतृ पनि होइनन् । उनी सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नेतृका रूपमा प्रस्तुत भइरहेकी छन् ।

यही कारण उनलाई अहिले ‘सत्तापक्षकी खरो प्रतिपक्षी’ भन्न थालिएको छ । आफ्नै सरकारलाई प्रश्न गर्ने धितालको शैलीले बालेन सरकारभित्र असहजता थपेको देखिन्छ । राजनीतिक वृत्तमा भने उनको स्पष्ट अडान र निर्भीकताको प्रशंसा हुन थालेको छ ।

संखुवासभामा तीन नाल भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ – संखुवासभाको मादी नगरपालिका–४ पुरानो गाउँबाट प्रहरीले तीन नाल भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मादी नगरपालिका–४ पुरानो गाउँका ४२ वर्षीय कुलबहादुर जिमी रहेका छन्। बिना इजाजतपत्र भरुवा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मंगलबारबाट खटिएको प्रहरी टोलीले जिमीको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखेको अवस्थामा तीन नाल भरुवा बन्दुक फेला परेपछि प्रहरीले बरामद गरेको जनाएको छ।

जिमीलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता : नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले आफ्नो भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने स्पष्ट प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’मा बोल्दै मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै छिमेकी मुलुकको सुरक्षा चासोविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने बताएका हुन् ।

विपद्का बेला चीनले उपलब्ध गराएको तत्कालीन आपत्कालीन सहायता तथा प्राविधिक सहयोगप्रति उनले आभार व्यक्त गरे । नेपाल र चीनबीच विपद् व्यवस्थापनमा सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

मन्त्री खनालले हिमताल विस्फोटलगायत प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि दुवै देशबीच रियल–टाइम स्याटेलाइट तथ्यांक आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, नेपाली चिया, कफी र जडीबुटीलाई चिनियाँ बजारमा सहज पहुँच दिलाउन नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न चीनसँग प्राविधिक सहकार्य आवश्यक रहेको उनले बताए ।

ऐतिहासिक नेपाल–चीन सम्बन्धको चर्चा गर्दै उनले भृकुटी तथा पुराना व्यापारिक मार्गको सम्बन्धलाई आधुनिक जनस्तरीय सम्पर्कसँग जोड्नुपर्ने धारणा राखे ।

विद्वान, विद्यार्थी, अनुसन्धानकर्ता र व्यापारीबीचको आवतजावत तथा सहकार्य बढाएर दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

घण्टी नै घन्टीबाट बनेको ‘महाघण्टी’

काठमाडौं। धनकुटास्थित निसान मन्दिर परिसरमा बनाइएको विशाल ‘महाघण्टी’ धार्मिक पर्यटक तथा आगन्तुकका लागि आकर्षणको केन्द्र बनेको छ ।

मन्दिर पुग्ने मात्र होइन, धनकुटा घुम्न आउने धेरैजसो पर्यटकसमेत महाघण्टीमा तस्बिर खिचेर फर्किने गरेका छन् ।

सानासाना घण्टीलाई एउटै संरचनामा जोडेर बनाइएको महाघण्टीमा ५०० भन्दा बढी घण्टी समेटिएका छन् । यसको तौल करिब १५० किलोभन्दा बढी रहेको निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेले जानकारी दिए ।

मन्दिर पुनर्निर्माणका क्रममा २०७७ सालमा महाघण्टी निर्माण गरिएको हो । मन्दिर परिसरमा रहेका साना घण्टीको संख्या बढ्दै गएपछि व्यवस्थापन चुनौती बनेको थियो । पुराना घण्टी हटाउँदा ऐतिहासिक महत्त्वका सामग्रीसमेत नष्ट हुने जोखिम देखिएपछि तिनलाई संरक्षण गर्ने उद्देश्यले महाघण्टी बनाइएको घिमिरेले बताए ।

उनका अनुसार महाघण्टीमा १९३१ सालभन्दा अघिदेखिका पुराना घण्टीसमेत समेटिएका छन् । यसले पुराना घण्टीको संरक्षणसँगै निसान मन्दिरको सौन्दर्य र छुट्टै पहिचानसमेत थपेको छ ।

पहिले घण्टी व्यवस्थापनका लागि सुरु गरिएको यो संरचना अहिले मन्दिरको प्रमुख आकर्षण बनेको छ । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको निसान मन्दिरमा पुग्ने आगन्तुकका लागि महाघण्टी तस्बिर खिच्ने लोकप्रिय गन्तव्य बनेको छ ।

धनकुटाको निसान मन्दिरको इतिहास पूर्व नेपालको प्रशासनिक तथा सैनिक इतिहाससँग जोडिएको छ । विसं १८४१ मा पूर्वी क्षेत्रको प्रशासनिक कार्यका लागि प्रसादसिंह बस्नेत धनकुटा आएपछि जङ्गी निसान स्थापना भएको इतिहास रहेको बताइन्छ ।

मन्दिरमा अहिले पनि नेपाली सेनाले दैनिक पूजाआजा गर्दै आएको छ । सेनाकै एक पुजारी मन्दिरमा रहने व्यवस्था छ ।

धार्मिक आस्था र ऐतिहासिक महत्त्व बोकेको निसान मन्दिरमा बनेको महाघण्टीले पुराना घण्टी जोगाउने कामसँगै मन्दिरको सौन्दर्य र पर्यटकीय आकर्षण पनि बढाएको छ ।

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन

जनकपुरधाम । मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन स्वास्थ्य निकायहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश मातहतका कार्यालयलाई पत्राचार गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा रहेका कर्मचारीलाई अन्य कार्यालयमा खटाउने वा हाजिर गराउने काम नगर्न भनेको हो ।

मन्त्रालयका अधिकृत सातौं वच्चे लाल साह तेलीले हस्ताक्षर गरेको पत्रमा २०८३ असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अन्यत्र कामकाजमा खटाउन रोक लगाइएको उल्लेख छ ।

प्रदेश मन्त्रिपरिषद्को २०८३ साउन २८ गतेको निर्णयअनुसार अस्थायी दरबन्दीसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ । सोही निर्णयका आधारमा मातहतका स्वास्थ्य निकायलाई निर्देशन दिइएको हो ।

निर्देशन प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालिम केन्द्र, प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय तथा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलगायत निकायमा पठाइएको छ ।

मन्त्रालयले अस्थायी दरबन्दीका कर्मचारीको कामकाज र हाजिरीमा एकरूपता कायम गर्न निर्देशन दिइएको जनाएको छ ।

मन्त्रालयका अनुसार उनीहरूलाई तत्काल अन्य कार्यालयमा पठाउनुको सट्टा सम्बन्धित कार्यालयमै हाजिर गराउनुपर्नेछ ।

जनताले भन्न थाले – ढुक्क होइन, थुक्क सरकार!

काठमाडौं। ग्यास नपाएर जनता महिनौँदेखि पीडामा छन्। बिहानदेखि बेलुकासम्म ग्यास पाउने आशामा लाइनमा बस्नुपरेको छ। लाइनमा बस्न पनि एक जना मान्छे छुट्याउनुपर्ने अवस्था छ।

तर प्रधानमन्त्री बालेन भन्छन्- ‘ढुक्क हुनुहोस्। देश बन्छ। ग्यास पाइन्छ।’

भोटेकोशीको बाढीले सयौँ नागरिक जलविद्युत आयोजनाका सुरुङमा फसे। उद्धार गर्नुपर्ने गृहमन्त्री सुधन गुरुङलाई सुरुङ खोस्रिन पठाइयो। सात दिनपछि हात उठाएर काठमाडौं फर्किए। अन्ततः प्रधानमन्त्री बालेनले पनि सुरुङबाट उद्धार गर्न नसक्ने बताए।

बाढीपछि ‘उद्धार गर्छु’, ‘ढुक्क हुनुहोस्’ भन्ने सरकारप्रति अहिले सुरुङमा फसेका नागरिकका आफन्त ढुक्क छैनन्। सरकारले सकुशल उद्धार गर्छ भन्ने विश्वास उनीहरूमा छैन।

शुक्रबार मात्रै त्रिशूली-१ बाट सातवटा शव निकालिए। जिउँदो उद्धारको आशा गरेका आफन्तले शव पाए।

चुनावअघि बालेन भन्थे- पैसा नभएर उपचार नपाउने अवस्था अन्त्य गर्छु। ‘ढुक्क हुनुहोस्’ भन्थे।

तर सप्तरीको राजविराजमा १४ सय रुपैयाँ नहुँदा एक महिलाले अस्पतालको पेटीमै सन्तान जन्माउनुपर्‍यो।

यता महँगीले जनताको ढाड सेकिएको छ। २२ सय रुपैयाँमा पाइने जिरा मसिनो चामल २७ सय पुगेको छ। ५८० रुपैयाँको एक क्रेट अण्डा ७०० पुगेको छ। खानेतेलको मूल्य पनि बढेको छ।

भुइँ तहका जनता महँगीले थिचिएका छन्। ग्यासका लागि लाइनमा छन्। उपचारका लागि पैसा खोजिरहेका छन्। आफन्त सुरुङबाट फर्किन्छन् कि फर्किँदैनन् भनेर दिनरात कुरिरहेका छन्।

तर प्रधानमन्त्री बालेन भने ‘ढुक्क हुनुहोस्’ भन्दै सिंहदरबारमा ढुक्कले बसेका छन्।

त्यसैले जनताले भन्न थालेका छन्- ढुक्क होइन, थुक्क सरकार!

‘देउवालाई म सभापति हुँ भन्न पनि लाज लाग्नुपर्ने’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्ष लचक हुन तयार रहेको बताएका छन् । तर पार्टी विधानको सर्वोच्चता र त्यसअनुसार भएका निर्णयलाई अस्वीकार गर्न नसकिने उनको तर्क छ ।

उनका अनुसार अब विवाद समाधानका नाममा संस्थागत रूपमा छुट्टाछुट्टै वार्ता गर्नेभन्दा व्यक्तिगत तहमा नेताहरूबीच संवाद गरेर महाधिवेशनको वातावरण सहज बनाउने प्रयास भइरहेको छ ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि महाधिवेशनको मिति तोकेर अघि बढ्ने अडान लिएको छ । यसअघि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले अघि सारेका केही माग सम्बोधन गर्न संस्थापन पक्ष तयार भए पनि देउवा पक्षको असहमति कायमै रहेको स्नेहीको भनाइ छ ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वकै कार्यसमितिबाट नयाँ महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ । संस्थापन पक्ष भने उक्त माग स्वीकार गर्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

केन्द्रीय समिति समायोजनलगायत विषयमा पनि लचकता अपनाउन सकिन्छ कि भन्ने प्रश्नमा स्नेहीले कांग्रेस दुईवटा पार्टी नभई एउटै पार्टी भएकाले आवश्यकता र औचित्यका आधारमा नेताहरूलाई समेटेर अघि बढ्न सकिने बताए ।

विशेष महाधिवेशनबाट बाहिर रहेका नेताहरूलाई समेट्न आवश्यक निर्णय गर्ने अधिकार सभापतिमा रहेको उनको भनाइ थियो ।

देउवालाई सभापति मानेर उनकै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने मागप्रति भने स्नेही आक्रामक देखिए । उनले सर्वोच्च अदालतका फैसलासहित निर्वाचन आयोग र पार्टी विधानले समेत देउवालाई वर्तमान सभापतिका रूपमा नचिनेको दाबी गरे ।

‘सर्वोच्च अदालतका दुईवटा फैसलाले पनि चिन्दैन । निर्वाचन आयोगले पनि चिन्दैन, पार्टीको विधानले पनि चिन्दैन,’ उनले भने, ‘म नै सभापति हुँ भन्ने कुरा त लाज पनि लजाउँछ नि !’

स्नेहीले पछिल्लो अदालती फैसलाले कांग्रेस सभापति गगन थापालाई महाधिवेशन अघि बढाउने बाटो खुला गरेको दाबी गरे । देउवाले दायर गरेको रिट खारेज भएको तथा त्यसअघि संयुक्त इजलासबाट पनि त्यस्तै फैसला भएको उनको भनाइ थियो ।

पार्टी विधान र निर्वाचन आयोगजस्ता संवैधानिक निकायका निर्णयलाई अस्वीकार गरेर आफूलाई सभापति दाबी गर्न नमिल्ने जिकिर गर्दै उनले लोकतन्त्र र विधिको शासनका लागि लडेका नेताले नै विधि र संस्थागत निर्णय नमान्ने अवस्था विडम्बनापूर्ण भएको टिप्पणी गरे ।

प्रचण्डको जोड : राहतसँगै बाढीपीडितको स्थायी पुनर्निर्माण थालौँ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहत र अस्थायी व्यवस्थापनसँगै दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

शनिबार धादिङको गल्छी गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रचण्डले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै अब प्रभावितको पुनःस्थापनातर्फ केन्द्रित हुनुपर्ने बताए ।

उनले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त संरचनाको अस्थायी व्यवस्थापन र स्थायी पुनर्निर्माणको काम एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए ।

बाढीपछि नेकपाले सुरुदेखि नै उद्धार तथा राहतका काममा पहल गर्दै आएको प्रचण्डले बताए । विपद् आएलगत्तै प्रभावित क्षेत्रमा पार्टीका नेता–कार्यकर्तालाई परिचालन गर्न निर्देशन दिइएको र त्यसपछि बैठकमार्फत विपद्पछिको अवस्थाबारे समीक्षा गरिएको उनको भनाइ छ ।

विपद् व्यवस्थापनको अनुभव भएका पार्टी नेता गंगालाल तुलाधरको नेतृत्वमा कामको समन्वय गर्न समिति गठन गरिएको उनले जानकारी दिए । उक्त संयन्त्रमार्फत पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरिएको उनको भनाइ थियो ।

प्रचण्डले बाढी प्रभावित क्षेत्रमा नेकपाको युवा संगठन वाईसीएलले गरेको कामको समेत प्रशंसा गरे । युवाहरूले प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा समन्वयमा सक्रिय भूमिका खेलेको भन्दै उनले धन्यवाद दिए ।

जासुसीदेखि ठगीसम्म एआईको आतंक

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) को प्रयोग प्रविधि र अनुसन्धानमा मात्र सीमित नरही जासुसी, निगरानी तथा अन्य संवेदनशील गतिविधिमा समेत हुन थालेको पाइएको छ ।

एआई कम्पनी एन्थ्रोपिकका अनुसार चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, सरकारका आलोचक तथा विदेशमा रहेका विरोधीको निगरानी र सूचना संकलनका लागि एआई प्रयोग बढाइरहेका छन् ।

कम्पनीले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालन गरिएका राज्य प्रायोजित निगरानीका कैयौँ अभियान पहिचान गरी अवरुद्ध गरेको जनाएको छ । ती अभियानमा एआईको प्रयोगमार्फत लक्षित व्यक्तिको पहिचान, सामाजिक सञ्जाल निगरानी र गुप्तचर सूचना संकलनजस्ता गतिविधि गरिएको एन्थ्रोपिकको दाबी छ ।

कम्पनीका अनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसङ्ख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका आलोचकहरू त्यस्ता अभियानको निशानामा परेका थिए ।

एउटा घटनामा इरानी समूहले सामाजिक सञ्जालबाट मानिसको पहिचान पत्ता लगाउने प्रणाली विकास गर्न एआई प्रयोग गरेको एन्थ्रोपिकले जनाएको छ । त्यस्तै, मालीका राष्ट्रिय सुरक्षा अधिकारीका लागि काम गर्ने एक ठेकेदारले एन्थ्रोपिककै एआई मोडेल ‘क्लाउड’ प्रयोग गरी गुप्तचर सूचना संकलनमा सहयोग पुग्ने सफ्टवेयर विकास गरेको दाबी कम्पनीको छ ।

एन्थ्रोपिकका अनुसार एआईको दुरुपयोग निगरानीमा मात्र सीमित छैन । कम्पनीले हतियार डिजाइन, शङ्कास्पद जैविक अनुसन्धान र अनलाइन ठगीका गतिविधिमा समेत आफ्ना एआई प्रणाली प्रयोग गर्ने प्रयास रोकिएको जनाएको छ ।

कम्पनीले केही जैविक अनुसन्धानमा एआईको प्रयोग भएको दाबीसमेत गरेको छ । त्यस्ता अनुसन्धानमा चिकुनगुनिया, अत्यधिक रोगजनक बर्ड फ्लू, चेचक र मङ्कीपक्ससँग सम्बन्धित भाइरसका साथै विष तथा अन्य विषाक्त पदार्थसम्बन्धी विषय समावेश रहेको बताइएको छ ।

तर यस्ता अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको उद्देश्य अनिवार्य रूपमा हानिकारक नै थियो भन्ने पुष्टि नभएको एन्थ्रोपिकले जनाएको छ । त्यसैले अनुसन्धानमा संलग्न व्यक्तिको पहिचान सार्वजनिक नगरिएको कम्पनीको भनाइ छ ।

एन्थ्रोपिकले चिनियाँ एआई कम्पनी मुनसट र डिपसिकमाथि आफ्नो एआई प्रणालीको गोप्य प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना मोडेल सुधार गरेको आरोप लगाएको छ ।

कम्पनीका अनुसार मुनसटले करिब १० दिनको अवधिमा ५ हजार ३८० वटा कपटपूर्ण खातामार्फत करिब ३ लाख प्रयोगकर्ताका अनुरोध एन्थ्रोपिकको प्रणालीमा पठाएको थियो । ती अनुरोधबाट प्राप्त जानकारी आफ्ना एआई मोडेलको क्षमता सुधारमा प्रयोग गरिएको एन्थ्रोपिकको आरोप छ ।

एआई कम्पनीहरूबीच प्रविधिको विकासमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला यस्तो आरोपले एआईको सुरक्षित प्रयोग, डेटा संरक्षण र प्रविधिको दुरुपयोग नियन्त्रणको प्रश्नलाई थप गम्भीर बनाएको छ ।

एन्थ्रोपिकले पछिल्लो समय एआई प्रणालीलाई निगरानी, साइबर गतिविधि, जैविक अनुसन्धान र अन्य संवेदनशील क्षेत्रमा गलत ढंगले प्रयोग गर्ने प्रयास बढिरहेको दाबी गर्दै त्यस्ता गतिविधि पहिचान र रोकथामलाई प्राथमिकता दिइरहेको जनाएको छ ।

एआईको क्षमता विस्तारसँगै यसको गलत प्रयोगबाट उत्पन्न हुन सक्ने जोखिम पनि बढ्दै गएको भन्दै प्रविधि कम्पनी, सरकार र अन्तर्राष्ट्रिय समुदायबीच सुरक्षा मापदण्ड तथा निगरानी संयन्त्र बलियो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

बालेन सरकारमा मन्त्रीबाट धम्की, सांसदबाट हप्कीदप्की

काठमाडौं । देश बनाउने जिम्मेवारी बोकेका मन्त्री र सांसदबाटै धम्कीको भाषा बढ्न थालेको छ । सरकारका मन्त्रीदेखि सत्तारुढ दलका सांसदसम्मको अभिव्यक्ति हेर्दा प्रश्न उठ्छ– बालेन सरकार जनतालाई शासन गर्न खोज्दैछ कि दमन गर्न ?

ग्यास उद्योगीलाई ‘पाता कस्ने’ धम्की दिएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको मन्त्री पद नै खुस्कियो । हुन त रास्वपा सांसद अमरेशकुमार सिंहका अनुसार प्रधानमन्त्री बालेनले मन्त्री यादवलाई पक्राउ गर्न खोजेका थिए । त्यसका लागि घरमा प्रहरीसमेत पठाइएको उनको दाबी छ । तर, निहुँ चाहिँ ग्यास उद्योगीलाई पाता कस्ने धम्की दिनुलाई बनाइएको देखिन्छ ।

बालेन सरकारमा सबैभन्दा कडा धम्की दिने मन्त्रीमध्ये भौतिकमन्त्री सुनिल लम्साल पनि पर्छन् । उनले ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका थिए । बस्ती सार्नुपर्ने ठाउँमा ‘गाउँ नै सार्ने’ भनेपछि उनी हाँसोका पात्रसमेत बने । तर, ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति हाँसोको विषय मात्रै होइन । त्यो आपराधिक मानसिकताको संकेत दिने बोली हो ।

उसो त यस्तो भाषा सरकारमा नयाँ होइन ।

चुनावी प्रचारका क्रममा हालका प्रधानमन्त्री बालेनले पनि ठेकेदारलाई चेतावनी दिएका थिए । उनले भनेका थिए– ‘रुखमा बाँधेर हुन्छ कि, सडकमा लडाएर हुन्छ कि, खोरमा थुनेर हुन्छ कि सडक बन्नुपर्‍यो ।’

प्रधानमन्त्रीले नै यस्तो भाषा प्रयोग गरेपछि उनका मन्त्री र सांसदले पनि त्यही शैली पछ्याउनु अस्वाभाविक होइन ।

सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले हालै वडाध्यक्षहरूलाई थर्काइन् । हप्कीदप्की गरिन् । ललितपुरका मेयर चिरिबाबु महर्जनसँगसमेत उनी झोँक्किइन् ।

रास्वपाकै अर्का सांसद केपी खनालले चुनाव क्षेत्रमा आफूलाई प्रश्न सोध्ने जनतालाई जेलमा जाकिदिने चेतावनी दिए । त्यसअघि रास्वपाकै सांसद खगेन्द्र सुनारले प्रहरीका एसपीलाई सडकमा घिसार्ने बताएका थिए ।

लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन । सरकारको आलोचना गर्नु अपराध होइन । जनप्रतिनिधिलाई जवाफदेही बनाउन खोज्नु झन् अपराध होइन ।

तर, यहाँ प्रश्न सोध्नेलाई जेल हाल्ने धम्की दिइन्छ । ठेकेदारलाई खुट्टा भाँच्ने धम्की दिइन्छ । प्रहरी अधिकारीलाई सडकमा घिसार्ने चेतावनी दिइन्छ । उद्योगीलाई पाता कस्ने भाषा प्रयोग गरिन्छ ।

देश बनाउने हाँक दिने सरकारका मन्त्री र सांसदहरूबाटै धम्की र हप्कीको भाषा दोहोरिन थालेको छ । यसले गम्भीर प्रश्न जन्माएको छ- के बालेन सरकार जनतालाई दमन गर्न चाहन्छ ?

हिमाली विपदमा नेपाल-चीन मिलेर लड्नुपर्ने चिनियाँ राजदूतको भनाइ

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दो जलवायुजन्य जोखिम र प्राकृतिक विपद्सँग जुध्न नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप संवाद’मा बोल्दै राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले बाढी, पहिरो तथा अन्य विपद्को जोखिम दुवै देशको साझा चुनौती भएको बताए ।

जलवायु परिवर्तनका कारण सिर्जित जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने भन्दै उनले विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

हिमाली विपद्को जोखिम घटाउन जल तथा मौसमसम्बन्धी निगरानी प्रणालीलाई प्रभावकारी बनाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने, अत्याधुनिक प्रविधिको प्रयोग बढाउने र संयुक्त आपत्कालीन उद्धार अभ्यास सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

राजदूत झाङका अनुसार गत अगस्ट २६ मा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई २४ लाख अमेरिकी डलर नगद सहयोग गर्नुका साथै ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार डुंगालगायत सामग्री उपलब्ध गराएको थियो ।

विपद् व्यवस्थापनका लागि सुरुङ उद्धार, डीएनए पहिचान र फरेन्सिक पहिचानमा विशेषज्ञता भएका २४ जना विज्ञसमेत नेपाल पठाइएको उनले जानकारी दिए ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर आगामी दिनमा अझ गम्भीर बन्न सक्ने भन्दै उनले पूर्वतयारी, सूचना आदानप्रदान र उद्धार क्षमतालाई थप बलियो बनाउनुपर्ने बताए ।

हरित विकास, स्वच्छ ऊर्जा, वातावरण संरक्षण तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा समेत नेपाल र चीनबीच सहकार्य विस्तार गर्नुपर्ने राजदूत झाङको धारणा थियो ।

झलनाथको चेतावनी : नेपाल कसैको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो श्रृंखलामा बोल्दै खनालले नेपालले असंलग्न र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राखे ।

उनले नेपाल–चीन सीमापार रेलवे तथा ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई गति दिनुपर्ने बताए । बीआरआई फ्रेमवर्क अघि बढाउँदै चिनियाँ लगानी भित्र्याउन र चीनसँग सन्तुलित व्यापार सम्बन्ध विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए ।

चीनको विकास मोडल र सामाजिक स्थायित्वबाट नेपालले सिक्न सक्ने खनालको भनाइ थियो । विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनको जोखिम नेपालले बढी व्यहोर्नुपरेको उल्लेख गर्दै उनले जलवायु न्यायका लागि अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवाको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जलवायु परिवर्तनको असर कुनै एक देशले मात्र सामना गर्न नसक्ने भन्दै उनले हिमालय क्षेत्रको पारिस्थितिकीय प्रणाली संरक्षणमा नेपाल र चीनले सहकार्य गर्नुपर्ने बताए ।

राजदूत चाङले मौसम तथा जलविज्ञानसम्बन्धी पूर्वसूचना प्रणालीलाई बलियो बनाउने, संयुक्त आपत्कालीन अभ्यास गर्ने तथा विपद् न्यूनीकरणमा सहकार्य विस्तार गर्ने बताए ।

उनका अनुसार कनेक्टिभिटी, व्यापार, लगानी, ऊर्जा, जलविद्युत्, कृषि, पर्यटन र डिजिटल विकासका क्षेत्रमा नेपाल–चीन व्यावहारिक सहकार्यलाई थप विस्तार गरिनेछ । विपद् वा अन्य बाह्य चुनौती आइपरे पनि चीन सधैँ नेपालको साथमा उभिने उनको भनाइ थियो ।

राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव शर्माले दिए राजीनामा

काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव कौशलेन्द्र शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

शर्माले शनिबार विज्ञप्ति जारी गर्दै पछिल्लो राजनीतिक परिस्थिति, युवा पुस्ताको अपेक्षा र पार्टीभित्रको अवस्थालाई आधार बनाउँदै पार्टीमा सम्हाल्दै आएका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

उनले आफ्नो राजनीतिक यात्रा अब नयाँ अभियान र फरक राजनीतिक शक्ति निर्माणतर्फ अघि बढिसकेको भन्दै पुरानै पार्टीको सहमहासचिव पदमा रहिरहन राजनीतिक र नैतिक रूपमा उचित नहुने बताएका छन् ।

जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक वातावरण बदलिएको र समाजले पुस्तान्तरणसँगै नयाँ नेतृत्व खोजिरहेको शर्माको भनाइ छ । पार्टीभित्र आफूले पटकपटक पुस्तान्तरण र युवा नेतृत्वको विषय उठाउँदै आए पनि त्यसअनुकूल वातावरण बन्न नसकेको उनले दाबी गरेका छन् ।

मधेसले पहिचानका सवालमा केही उपलब्धि हासिल गरे पनि अधिकार र पहिचानसँग जोडिएका धेरै विषय अझै अधुरै रहेको शर्माले बताएका छन् । युवालाई विदेश पठाउने अवस्थाको अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

मधेसलाई केन्द्रमा राखेर युवालाई राजनीतिमा जोड्ने नयाँ राजनीतिक अभियान आवश्यक रहेको उनको भनाइ छ ।

शर्मा निकट नेताहरूका अनुसार उनी ‘हुँकार मधेस’ नामक नयाँ संगठन निर्माण गरी त्यसलाई औपचारिक रूप दिने तयारीमा छन् ।

यही अभियानलाई अघि बढाउन उनले राष्ट्रिय मुक्ति पार्टीबाट अलग भएको बताइएको छ ।

जनताको सवाल भाषणमा होइन, परिणाममा देखिनुपर्छ : मेचे

काठमाडौं। नेकपा एमालेकी राष्ट्रियसभा सदस्य रोशनी मेचेले जनताले दिएको विश्वासलाई प्रतिनिधित्वमा मात्र सीमित नराखी आवाज, प्रश्न र जवाफदेहितामार्फत सार्थक बनाउनुपर्ने बताएकी छन् ।

मेचेले कुरा पदको नभई जिम्मेवारीको भएको बताउँदै जनताका सवाललाई संसदमा उठाउने, त्यसको जवाफ खोज्ने र कार्यान्वयनको अवस्थासमेत पछ्याउनुपर्नेमा जोड दिएकी हुन् ।

‘कुरा पदको होइन, जिम्मेवारीको हो,’ उनले भनेकी छन्, ‘जनताले दिएको विश्वासलाई केवल प्रतिनिधित्व गरेर होइन, आवाज, प्रश्न र जवाफदेहितामार्फत सार्थक बनाउनुपर्छ।’

राष्ट्रिय सभामा उठेका विषय भाषणमै सीमित हुन नहुने उनको भनाइ छ। उठाइएका विषयको जवाफ खोजिनुपर्ने, कार्यान्वयन पछ्याउनुपर्ने र त्यसको परिणाम जनतासम्म पुग्नुपर्ने उनले बताएकी छन् ।

‘राष्ट्रिय सभामा उठेको विषय केवल भाषणमै सीमित हुनु हुँदैन । त्यसको जवाफ खोजिनुपर्छ, कार्यान्वयन पछ्याउनुपर्छ र परिणाम जनतासम्म पुग्नुपर्छ,’ मेचेले भनेकी छन् ।

उनले देशको नेतृत्व गर्नु भनेको अगाडि उभिनु मात्रै नभएको पनि उल्लेख गरेकी छन् । नेतृत्वले जनताको आवाज सुन्ने, आवश्यक निर्णय कार्यान्वयन गर्ने र सही समयमा जिम्मेवारी लिन सक्नुपर्ने उनको भनाइ छ ।

‘देशको नेतृत्व लिनु भनेको अगाडि उभिनु मात्रै पनि होइन, जनताको आवाज सुन्ने, कार्यान्वयन गर्ने, सही समयमा जिम्मेवारी लिनु पनि हो,’ उनले भनेकी छन् ।

मेचेले सकारात्मक परिवर्तनका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै अहिले नेपालले सबैभन्दा प्राथमिकताका साथ समाधान गर्नुपर्ने विषयबारे नागरिकसँग सुझावसमेत मागेकी छन् ।

उनले सकारात्मक परिवर्तन सबैबाट सम्भव हुने उल्लेख गर्दै नागरिकका अमूल्य सुझाव दिन आग्रह गरेकी छन्।

ठेकेदारको लापरबाहीले पाँच वर्षदेखि अलपत्र आयुर्वेद भवन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीस्थित यवादीमा निर्माणाधीन खहरेधनुबाँसे आयुर्वेद औषधालयको भवन पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । भवन निर्माण अलपत्र परेपछि औषधालयले अहिले भाडाको घरबाट सीमित सेवा दिँदै आएको छ ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग भवन निर्माणको सम्झौता भएको थियो । १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी १ करोड ५८ लाख ८६ हजार १५५ रुपैयाँमा ठेक्का सम्झौता गरिए पनि पाँच वर्षसम्म भवनको करिब आधा काम मात्रै भएको छ ।

संघीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालका अनुसार तोकिएको अवधिमा निर्माण सम्पन्न नभएपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रियासमेत अघि बढाएको छ । भदौ मसान्तसम्म निर्माण कम्पनीले काममा गति नदिए ठेक्का रद्द गर्ने तयारी रहेको उनले बताए ।

‘निरन्तर काम गरेको भए यति लामो समय लाग्ने थिएन । अहिले पनि करिब आधा काम बाँकी छ,’ लम्सालले भने ।

निर्माण अघि बढाउन कार्यालयले पटकपटक पत्राचार गरे पनि अपेक्षित प्रगति हुन सकेको छैन । स्थानीयवासी र जनप्रतिनिधिले समेत भवन निर्माणलाई गति दिन आग्रह गर्दै आएका छन् ।

वालिङ–१ का वडाध्यक्ष पदमराज गुरुङले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण थालिएको भवन व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको बताए । समस्या भए स्थानीय तह र जनप्रतिनिधिले सहजीकरण गर्ने बताए पनि निर्माण कम्पनीले कामलाई प्राथमिकता नदिएको उनको भनाइ छ ।

भवन अभावको प्रत्यक्ष असर औषधालयको सेवामा परेको छ । कार्यालय प्रमुख हरिप्रसाद अर्यालका अनुसार हाल भाडाको घरबाट सामान्य स्वास्थ्य सेवा, औषधोपचार र परामर्श मात्रै सञ्चालन भइरहेको छ ।

आफ्नै भवन नहुँदा मेडिकल योगा, शिरोधारा र औषधि निर्माणलगायतका सेवा सञ्चालन गर्न नसकिएको औषधालयले जनाएको छ ।

स्याङ्जाका अन्य आयुर्वेद स्वास्थ्य संस्थाका भवन निर्माणको अवस्था पनि उस्तै छ ।

अर्जुनचौपारी गाउँपालिकाको आरुचौर आयुर्वेद औषधालय र आँधीखोला गाउँपालिकाको सेतीदोभान प्राथमिक स्वास्थ्य केन्द्रका भवनसमेत करिब पाँच वर्षदेखि अधुरै रहेको जनाइएको छ ।

डार्क इनर्जी समयसँगै बदलिँदैछ?

काठमाडौं। ब्रह्माण्डको विस्तारलाई तीव्र बनाइरहेको रहस्यमय शक्ति ‘डार्क इनर्जी’ समयसँगै परिवर्तन भइरहेको हुन सक्ने नयाँ संकेत वैज्ञानिकहरूले फेला पारेका छन्।

साथी ताराबाट अत्यधिक पदार्थ तानेर विस्फोट भएका झन्डै ३ हजार सेता बामन ताराबाट बनेका ‘टाइप १ए सुपरनोभा’को विस्तृत अध्ययनबाट डार्क इनर्जी स्थिर नभई समयसँगै परिवर्तन भइरहेको हुन सक्ने देखिएको हो।

नयाँ अध्ययनले सन् २०२४ मा ‘डार्क इनर्जी स्पेक्ट्रोस्कोपिक इन्स्ट्रुमेन्ट’ अर्थात् ‘डीईएसआई’ले सार्वजनिक गरेको निष्कर्षलाई समेत थप बल दिएको छ। डीईएसआईको अध्ययनले पनि डार्क इनर्जीको प्रभाव समयसँगै कमजोर हुँदै गएको हुन सक्ने संकेत गरेको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार नयाँ अध्ययन अहिलेसम्म तयार पारिएको टाइप १ए सुपरनोभाको सबैभन्दा व्यापक क्याटलगमध्ये एक हो। यसले ब्रह्माण्ड कसरी विकास हुँदै आएको छ र त्यसमा डार्क इनर्जीले कस्तो भूमिका खेलिरहेको छ भन्नेबारे अहिलेसम्मकै स्पष्ट तस्वीर प्रस्तुत गरेको छ।

युनिभर्सिटी अफ क्वीन्सल्यान्डका अनुसन्धानकर्ता रायन क्यामिलरीले तीन दशकका खगोलीय अवलोकनलाई एउटै सुसंगत फ्रेमवर्कमा पुनर्निर्माण गरिएको बताए।

उनका अनुसार अनुसन्धानकर्ताहरूले सुपरनोभाबाट प्राप्त तथ्यांकलाई बिग ब्याङपछि बाँकी रहेको प्रकाश र आकाशगंगाहरू अन्तरिक्षमा कसरी फैलिएका छन् भन्ने नक्सालगायत अन्य ब्रह्माण्डीय मापनसँग जोडेर अध्ययन गरेका हुन्।

‘हामीले तीन दशकका खगोलीय अवलोकनलाई एउटै सुसंगत फ्रेमवर्कमा पुनर्निर्माण गरेका छौँ। हाम्रो तथ्यांकलाई बिग ब्याङपछि बाँकी रहेको प्रकाश र अन्तरिक्षमा आकाशगंगाहरूको वितरणसम्बन्धी नक्सासँग जोड्यौँ,’ क्यामिलरीले भने।

उनका अनुसार यसबाट ब्रह्माण्डसम्बन्धी ‘स्ट्यान्डर्ड मोडल’ पुष्टि हुनुको सट्टा डार्क इनर्जी समयसँगै परिवर्तन हुन सक्ने सम्भावनालाई थप बल मिलेको छ।

डार्क इनर्जीबारे यस्तो निष्कर्षमा पुग्न वैज्ञानिकहरूले ‘टाइप १ए सुपरनोभा’लाई महत्वपूर्ण ‘स्ट्यान्डर्ड क्यान्डल’का रूपमा प्रयोग गरेका छन्।

ह्वाइट ड्वार्फ अर्थात् सेता बामन ताराहरू सूर्यजस्ता ताराले आफ्नो केन्द्रमा आणविक फ्युजनका लागि आवश्यक इन्धन समाप्त गरेपछि बाँकी रहने तारकीय अवशेष हुन्।

ताराको केन्द्रमा फ्युजन प्रक्रिया रोकिन थालेपछि बाहिरी दबाब कम हुन्छ र यसको केन्द्र आफ्नै गुरुत्वाकर्षणका कारण खुम्चिन थाल्छ। यस क्रममा बाहिरी तहहरू अन्तरिक्षमा फैलिन्छन् र अन्ततः केन्द्रमा ह्वाइट ड्वार्फ बाँकी रहन्छ।

तर सूर्यजस्ता धेरै ताराहरू एक्लै हुँदैनन्। ठूलो संख्यामा यस्ता तारा ‘बाइनरी’ प्रणालीमा अर्को तारासँग जोडिएका हुन्छन्।

यदि ह्वाइट ड्वार्फ र त्यसको ‘कम्प्यानियन स्टार’ अर्थात् साथी तारा पर्याप्त नजिक छन् भने ह्वाइट ड्वार्फले साथी ताराको बाहिरी तहबाट पदार्थ तान्न थाल्छ।

यसरी जम्मा भएको पदार्थका कारण ह्वाइट ड्वार्फको द्रव्यमान बढ्दै जान्छ। अन्ततः यसको द्रव्यमान ‘चन्द्रशेखर लिमिट’भन्दा माथि पुगेपछि शक्तिशाली विस्फोट हुन्छ। यही विस्फोटलाई टाइप १ए सुपरनोभा भनिन्छ।

टाइप १ए सुपरनोभाबाट निस्कने प्रकाशको चमक तुलनात्मक रूपमा एकरूप हुने भएकाले वैज्ञानिकहरूले यसलाई ‘स्ट्यान्डर्ड क्यान्डल’का रूपमा प्रयोग गर्छन्।

सुपरनोभाबाट पृथ्वीमा आइपुग्ने प्रकाशमा देखिने ‘रेडसिफ्ट’ मापन गरेर वैज्ञानिकहरूले उक्त विस्फोट कति टाढा भएको थियो भन्ने पत्ता लगाउँछन्। यसबाट ब्रह्माण्ड विभिन्न समयमा कति तीव्र गतिमा विस्तार भइरहेको थियो भन्ने अध्ययन गर्न सकिन्छ।

वैज्ञानिकहरूले नयाँ अनुसन्धानमा विगत तीन दशकमा विभिन्न टेलिस्कोपबाट संकलन गरिएका सुपरनोभाका तथ्यांकलाई पुनः विश्लेषण गरेका छन्।

अनुसन्धानकर्ताहरूका अनुसार पछिल्ला वर्षहरूमा सुपरनोभाको व्यवहारबारे वैज्ञानिक ज्ञान धेरै बढेकाले पुराना तथ्यांकलाई नयाँ बुझाइअनुसार अध्ययन गर्न सम्भव भएको हो।

विभिन्न टेलिस्कोपको क्षमता र अवलोकन विधिमा रहेको फरकलाई मिलाउनुका साथै अनुसन्धानमा अन्तरिक्षीय धुलो र आकाशगंगाको द्रव्यमानले सुपरनोभाबाट आउने प्रकाशमा पार्ने असरलाई समेत ध्यान दिइएको छ।

त्यसैगरी ‘ग्राभिटेसनल लेन्सिङ’को प्रभाव पनि समेटिएको छ। ठूलो खगोलीय पिण्डको गुरुत्वाकर्षणका कारण त्यसको वरिपरिबाट गुज्रने प्रकाश मोडिनु तथा ठूलो देखिनुलाई ग्राभिटेसनल लेन्सिङ भनिन्छ।

यी सबै प्रभावलाई ध्यानमा राखेर सुपरनोभाको तथ्यांक पुनः विश्लेषण गर्दा डार्क इनर्जीको व्यवहारबारे नयाँ संकेत देखिएको वैज्ञानिकहरूको भनाइ छ।

नयाँ अनुसन्धानको महत्वपूर्ण पक्ष यसले सन् २०२४ मा डीईएसआईबाट प्राप्त निष्कर्षसँग समान प्रकृतिको संकेत देखाउनु हो।

डीईएसआईले प्रारम्भिक ब्रह्माण्डबाट बाँकी रहेका ध्वनि तरंगहरूको अध्ययनमार्फत डार्क इनर्जीको प्रभाव समयसँगै परिवर्तन भइरहेको हुन सक्ने संकेत गरेको थियो।

अहिले टाइप १ए सुपरनोभामा आधारित स्वतन्त्र अध्ययनले पनि ब्रह्माण्डको ‘स्ट्यान्डर्ड मोडल’बाट विचलन देखाएको छ।

अनुसन्धानकर्ता डेविसका अनुसार सन् २०२४ मा डार्क इनर्जी सर्भेबाट प्राप्त सुपरनोभाको तथ्यांकले पहिलोपटक डार्क इनर्जी समयसँगै परिवर्तन हुन सक्ने संकेत दिएको थियो।

त्यस्तै, डीईएसआईले पनि प्रारम्भिक ब्रह्माण्डको संरचनासम्बन्धी फरक प्रकारको मापनबाट यस्तै सम्भावना औँल्याएको थियो।

यसरी दुईवटा स्वतन्त्र वैज्ञानिक विधिबाट समान प्रकृतिका संकेत देखिनु महत्वपूर्ण मानिएको छ। यदि आगामी अध्ययनहरूले पनि यस्तै परिणाम पुष्टि गरे भने ब्रह्माण्डबारे वैज्ञानिकहरूको वर्तमान बुझाइमा ठूलो परिवर्तन आउन सक्नेछ।

डार्क इनर्जी आधुनिक ब्रह्माण्ड विज्ञानको सबैभन्दा ठूलो रहस्यमध्ये एक हो। वैज्ञानिकहरूका अनुसार यही शक्तिले ब्रह्माण्डको विस्तारलाई तीव्र बनाइरहेको छ।

तर डार्क इनर्जी वास्तवमा के हो र यसको प्रकृति कस्तो छ भन्ने अझै स्पष्ट छैन।

हालको ‘स्ट्यान्डर्ड मोडल’मा डार्क इनर्जीलाई स्थिर प्रकृतिको मानिन्छ। तर पछिल्ला अवलोकनले यो मान्यतालाई चुनौती दिने संकेत दिएका छन्।

यदि डार्क इनर्जी वास्तवमै समयसँगै परिवर्तन भइरहेको प्रमाणित भयो भने ब्रह्माण्ड कसरी विस्तार भइरहेको छ भन्ने हाम्रो बुझाइमा मात्र होइन, ब्रह्माण्डको भविष्यबारे गरिने अनुमानमा समेत ठूलो परिवर्तन आउन सक्छ।

डार्क इनर्जीको प्रकृति बुझ्नु ब्रह्माण्ड विज्ञानका लागि मात्र महत्वपूर्ण नभएको वैज्ञानिकहरूको भनाइ छ। यसले भौतिकशास्त्रको अर्को ठूलो रहस्य समाधान गर्ने दिशामा समेत सहयोग गर्न सक्छ।

‘क्वान्टम फिजिक्स’ले सूक्ष्म अर्थात् उपपरमाणविक तहमा पदार्थ र ऊर्जा कसरी व्यवहार गर्छ भन्ने व्याख्या गर्छ। त्यस्तै, आइन्स्टाइनको ‘जेनरल रिलेटिभिटी’ले गुरुत्वाकर्षण र ठूला खगोलीय संरचनाबारे व्याख्या गर्छ।

तर यी दुई सफल सिद्धान्तलाई एउटै ढाँचामा पूर्ण रूपमा जोड्न वैज्ञानिकहरू अझै सफल भएका छैनन्। यही कारण ‘क्वान्टम ग्राभिटी’को पूर्ण सिद्धान्त अझै बन्न सकेको छैन।

वैज्ञानिकहरूका अनुसार डार्क इनर्जीको वास्तविक प्रकृति पत्ता लगाउन सकिएमा गुरुत्वाकर्षण र क्वान्टम फिजिक्सलाई एकीकृत गर्ने दिशामा समेत महत्वपूर्ण सुराग मिल्न सक्छ।

हालको अध्ययनलाई अन्तिम निष्कर्षका रूपमा भने लिइएको छैन। वैज्ञानिकहरूले आगामी दिनमा थप सुपरनोभाको तथ्यांक जोडेर अध्ययनलाई अझ विस्तार गर्ने तयारी गरेका छन्।

यसका लागि ‘डार्क इनर्जी बेडरक अल-स्काई सुपरनोभा’ अर्थात् ‘डेबास’ कार्यक्रमबाट प्राप्त हुने तथ्यांक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। यो कार्यक्रमले डार्क इनर्जी सर्भेले पत्ता लगाएको भन्दा पनि धेरै स्थानीय सुपरनोभा पत्ता लगाइरहेको छ।

थप सुपरनोभाको अवलोकन र तथ्यांक जोडिँदै जाँदा डार्क इनर्जी स्थिर छ कि समयसँगै यसको प्रभाव परिवर्तन भइरहेको छ भन्ने प्रश्नको उत्तर अझ स्पष्ट हुने वैज्ञानिकहरूको विश्वास छ।

यदि आगामी अनुसन्धानले पनि अहिले देखिएको संकेतलाई पुष्टि गर्‍यो भने ब्रह्माण्डको विस्तारबारे अहिलेसम्म स्वीकार गरिएको ‘स्ट्यान्डर्ड मोडल’मा ठूलो संशोधन आवश्यक पर्न सक्छ।

त्यस अवस्थामा ब्रह्माण्डको भविष्य, यसको विस्तारको गति र डार्क इनर्जीको वास्तविक प्रकृतिबारे वैज्ञानिक खोजको नयाँ अध्याय सुरु हुनेछ।

बाढीपीडितलाई कलाकार संघको सवा पाँच लाख सहयोग

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावित परिवारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेको छ ।

संघका अध्यक्ष उत्तम केसीले सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको पनि उपस्थिति थियो ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम संकलन गरिएको संघले जनाएको छ ।

अध्यक्ष केसीले बाढी प्रभावित नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै चलचित्र क्षेत्रका विभागीय मन्त्रीकै उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बताए ।

संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले सामाजिक सेवाको उद्देश्यसहित स्थापना भएको कलाकार संघले विपद्का बेला आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए । कठिन समयमा सरकारसँग एकताबद्ध भएर प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम जुटाइएको उनको भनाइ छ ।

संघका अनुसार जेनजी सहिद दिवस तथा संघको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट संकलित रकम बाढीपीडितका लागि हस्तान्तरण गरिएको हो ।

मन्थलीमा गाडी दुर्घटना,२८ वर्षीय तामाङको मृत्यु

रामेछाप । मन्थली नगरपालिका–१ स्थित बिटारपार्क नजिकै भित्री सडकमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

शुक्रबार साँझ रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटा योद्धा गाडी अनियन्त्रित भएर सडकबाट करिब २५० मिटर तल सुकाजोर खोलामा खसेको थियो ।

दुर्घटनामा दोलखाको भीमेश्वर नगरपालिका–३ का २८ वर्षीय सन्जित तामाङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मन्थली अस्पताल पुर्‍याइएकोमा राति ९ः०३ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृतकका दाजु तथा गाडी चालक ३० वर्षीय प्रदीप लामा घाइते भएका छन् ।

उनको ढाडमा चोट लागेको र थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको रामेछापका प्रहरी प्रवक्ता कमल राउतले जानकारी दिए ।

पोखरा रंगशालामा सरसफाइ अभियान [तस्वीरहरू]

पोखरा। कास्की जिल्ला खेलकुद विकास समितिको ‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियानअन्तर्गत पोखरा रंगशालामा सरसफाइ गरिएको छ ।

शनिबार तमु धिं नेपालको अग्रसरतामा भएको सरसफाइ तथा गोडमेल कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता थियो ।

रंगशालालाई स्वच्छ र व्यवस्थित राख्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा हरेक साता पोखराका विभिन्न संघसंस्था सहभागी हुँदै आएका छन् ।

 

तस्बिर :  नेपाल फोटो लाइब्रेरी

सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

सुर्खेत । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ की अन्दाजी १८ वर्षीया विपना बुढाथोकी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीका अनुसार शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ००५ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब ८० मिटर तल खसेको थियो ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जनाएको छ ।

उद्धार तथा राहत कार्यमा सरकारद्वारा लापरबाहीको हद भयो : ओली [भिडियो]

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको गम्भीर लापरबाहीका कारण उद्धार तथा राहत कार्य प्रभावित भएको आरोप लगाएका छन्।

सरकारले संकटको समयमा वास्तविक स्वयंसेवकहरूलाई रोकेर निश्चित समूहलाई मात्रै हेलिकप्टर प्रयोग गर्न छुट दिएको भन्दै उनले कडा आपत्ति जनाएका हुन्।

अध्यक्ष ओलीले सुरुङमा फसेका मानिसहरूको उद्धारका लागि सरकार गम्भीर नभएको उल्लेख गर्दै भने, ‘११-१२ दिनपछि मान्छे आफैँ सुरुङबाट निस्किन्छ, न अरुलाई पस्न दिइन्छ न आफू गएर निकालिन्छ। यो गम्भीर विषय र सरकारको लापरबाहीको हद होइन?’

सरकारको आलोचना गर्ने समय नभएको भन्दै केही कमीकमजोरी औंल्याएका ओलीले ‘हामी नेपाल’ नामक संस्थाको भूमिकाप्रति शंका व्यक्त गरेका छन्।

राज्यले सबै हेलिकप्टर नियन्त्रणमा लिएर सो संस्थालाई मात्रै सपिङदेखि अन्य विभिन्न बहानामा हेलिकप्टरको दुरुपयोग गर्न दिएको उनको आरोप छ।

उनले प्रश्न गर्दै भने, ”हामी नेपाल’ भन्नेलाई हेलिकप्टरको सदुपयोग-दुरुपयोग गर्न दिने? ‘हामी नेपाल’ को हो, के हो? युनिफर्ममै गयो, अनि साँचिकैको स्वयंसेवामा लाग्नेहरूलाई चाहिँ उद्धारमा समेत जान नदिने?’ सरकार यस्ता संस्थाको नियन्त्रण वा मातहतमा चलेको जस्तो देखिएको उनको टिप्पणी छ।

सुरुको समयमा देशमा आएका विज्ञ टोलीलाई समेत सरकारले फर्काएको विषयमा सरकारले स्वीकार गरिसकेको स्मरण गराउँदै उनले यस प्रकारका क्रियाकलापले सरकारको कार्यशैली कमजोर देखाएको बताए।

सरकार आलोचनाभन्दा माथि नरहेको र संकटको बेला सरकारलाई आलोचना तथा सुझाव दिन पाइनुपर्ने स्पष्ट पार्दै उनले राज्यले विपद् व्यवस्थापन र उद्धार कार्यमा पक्षपात नगरी पारदर्शी ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्।

भग्नावशेष त्रिशुली किनार : अस्तव्यस्त छ जीवन, पुनः उठ्ने प्रयास र पर्खाइ

नुवाकोट। रसुवाको भोटेकोशी हुँदै गत भदौ १० गते त्रिशूलीमा आएको विनाशकारी बाढीले नदी किनारका बस्तीको स्वरूप नै बदलिदिएको छ । बाढी आएको १७ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा जनजीवन सामान्य बन्न सकेको छैन ।

कतिपय परिवारका सदस्य अझै सम्पर्कविहीन छन् । कसैले आफन्त गुमाएका छन् भने कतिपयको वर्षौँको कमाइले बनाएको घर, पसल र सम्पत्ति बाढीको भेलसँगै बगेको छ । घरबार गुमाएकाहरू कोही आफन्तको आश्रयमा छन्, कोही अस्थायी होल्डिङ सेन्टरमा ।

बाँचेकाहरू भने भग्नावशेषमा जीवन खोजिरहेका छन् । हिलो, ढुंगा र गेग्रानले पुरिएका घरभित्र पसेर बाँकी रहेका लत्ताकपडा, भाँडाकुँडा, कागजात र अन्य सामान निकाल्ने क्रम चलिरहेको छ ।

रसुवा, नुवाकोट र धादिङ हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीको असर गहिरो छ । मानवीय क्षतिसँगै घर, बजार, सडक, पुल, जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेकाले प्रभावित क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन लामो समय लाग्ने देखिएको छ ।

बाढीबाट नुवाकोटको देवीघाट, ढुंगे र त्रिशूली बजार विशेष रूपमा प्रभावित भएका छन् । कतिपय घर तथा संरचना लेदो र गेग्रानले पुरिएका छन् भने कतिपय संरचना बाढीले बगाएको छ ।

त्रिशूली बजारमा मात्रै करिब ६० घर बगेका छन् । दुईवटा पक्की पुलमा समेत क्षति पुगेको छ ।

अहिले स्थानीय आफ्नै घर तथा पसलको भग्नावशेष पन्छाउन व्यस्त छन् । कसैलाई पुरिएको घरभित्रबाट सामान निकाल्ने हतारो छ, कसैलाई वर्षौँदेखि चलाउँदै आएको व्यवसायका बाँकी सामग्री जोगाउने चिन्ता ।

देवीघाट र ढुंगे बजारमा डोजर, एक्साभेटर, ब्याकहो लोडर र टिपर प्रयोग गरेर सडक तथा बजार क्षेत्रमा थुप्रिएको लेदो र गेग्रान हटाउने काम भइरहेको छ । देवीघाटमा तीन एक्साभेटर, तीन ब्याकहो लोडर र तीन टिपर तथा ढुंगेमा तीन एक्साभेटर, दुई ब्याकहो लोडर र दुई टिपर परिचालन गरिएको छ ।

बाढीले बगाएको देवीघाटस्थित तादी खोलाको पुलको विकल्पमा नेपाली सेनाले एक्रो ब्रिज निर्माण गरेर सञ्चालनमा ल्याएको छ । अस्थायी पुल बनेपछि विदुर र बेलकोटगढी नगरपालिकाबीचको आवागमन सहज भएको छ ।

नुवाकोटलाई धादिङ हुँदै रसुवागढीसँग जोड्ने महत्वपूर्ण मार्गमा पर्ने भएकाले पुल सञ्चालनमा आएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार सामग्री र दैनिक उपभोग्य वस्तु पुर्‍याउन पनि सहज हुने अपेक्षा गरिएको छ ।

बाढीले तटीय क्षेत्रमा रहेका दर्जनौँ पुल बगाएपछि धेरै बस्ती सडक सञ्जालबाट विच्छेद भएका थिए । अहिले विभिन्न ठाउँमा अस्थायी पुल, वैकल्पिक सडक र पैदलमार्ग निर्माण तथा मर्मतको काम अघि बढाइएको छ ।

बाढी गएको साढे दुई साता बितिसक्दा पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् । आफन्तहरू भने उनीहरू फर्किने आशा बोकेर पर्खिरहेका छन् ।

सुरक्षाकर्मी र प्राविधिक टोलीले नदी किनार, बाढीले पुरिएका संरचना, जलविद्युत् आयोजनाका सुरुङ तथा सम्भावित अन्य क्षेत्रमा खोजी जारी राखेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो उपलब्ध विवरणअनुसार १ हजार ३ सय ८५ शव फेला परेका छन् भने करिब ५ हजार १ सय ३० जना अझै सम्पर्कविहीन छन् । फेला परेका शवमध्ये अधिकांशको पहिचान हुन बाँकी छ । अहिलेसम्म १०४ शवको पहिचान गरी परिवारलाई बुझाइएको छ ।

बाढीबाट उद्धार गरिएकाको संख्या १३ हजार ६ सय ७६ पुगेको छ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोजी तथा उद्धारका लागि नेपाली सेनासँगै भारत, चीन, दक्षिण कोरिया, अष्ट्रेलिया, मलेसिया र संयुक्त अरब इमिरेट्सका उद्धार तथा प्राविधिक टोलीसमेत परिचालित छन् ।

अपर त्रिशूली–३ ए र अपर त्रिशूली–१ को सुरुङबाट तीन जनालाई जीवितै उद्धार गरिएपछि अन्य सम्भावित जीवितको खोजी पनि जारी राखिएको छ ।

सरकारले शव पहिचानका लागि डीएनए परीक्षण, अभिलेखीकरण र परिवारसँग समन्वयको काम अघि बढाएको छ । विस्थापितलाई अस्थायी आवास, खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य राहत उपलब्ध गराउने काम पनि जारी छ ।

तर अब प्रभावित क्षेत्रसामु उद्धार र राहतसँगै पुनःस्थापना र पुनःनिर्माणको चुनौती थपिएको छ । बगरमा परिणत भएका बजार, पुरिएका घर, भत्किएका सडक र बगेका पुल फेरि निर्माण गर्न दीर्घकालीन योजना र ठूलो स्रोत आवश्यक पर्ने देखिन्छ ।

स्थानीयका लागि अहिलेको प्राथमिकता भने एउटै छ—बस्ने सुरक्षित ठाउँ, चल्ने सडक, जोडिने पुल र फेरि सुरु गर्न सकिने जीवन । बाढीले खोसेको पुरानो जीवन फर्किन्छ कि नयाँ जीवन सुरु गर्नुपर्ने हुन्छ, त्रिशूली किनारका बासिन्दा यही अन्योलमा छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

ब्रिक्स सम्मेलनले दिल्लीमा सुरक्षा कडा, सिको होटल आसपास नो-फ्लाइ जोन

काठमाडौं । भारतको नयाँदिल्लीमा सुरु भएको १८औँ ब्रिक्स शिखर सम्मेलनलाई लक्षित गर्दै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङसहित सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी हुँदैछन् ।

सम्मेलनस्थल, पाहुना बस्ने होटल तथा उनीहरूको आवागमन हुने प्रमुख सडकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले विभिन्न स्थानमा अस्थायी जाँच चौकी स्थापना गर्नुका साथै सवारीसाधनको निगरानी र जाँचलाई तीव्र बनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँदिल्लीमा मात्रै करिब १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख सडकमा ट्राफिक व्यवस्थापन कडा पारिएको छ भने कतिपय क्षेत्रमा आवागमनसमेत नियन्त्रण गरिएको छ । स्थानीयवासीलाई सम्भव भएसम्म मेट्रो सेवा प्रयोग गर्न आग्रह गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा निगरानी बढाइएको छ । सी बस्ने होटल आसपासको आकाशमा अस्थायी रूपमा ‘नो–फ्लाइ जोन’ लागू गरिएको छ ।

ब्रिक्स सम्मेलनमा सहभागी हुन विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नयाँदिल्ली पुग्ने क्रम जारी छ । सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रमसमेत तय भएको छ । करिब सात वर्षपछि हुन लागेको सीको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ ।

सीको सुरक्षाका लागि होटल तथा आसपासका क्षेत्रमा विशेष सुरक्षा घेरा बनाइएको छ । सम्भावित रासायनिक, जैविक, रेडियोलोजिकल तथा आणविक जोखिमलाई समेत ध्यानमा राख्दै सम्बन्धित सुरक्षा टोली परिचालन गरिएको भारतीय सुरक्षा निकायले जनाएको छ ।

सम्मेलन अवधिभर कुनै अप्रिय घटना हुन नदिन सुरक्षा निगरानी, सवारी जाँच र संवेदनशील क्षेत्रमा आवागमन नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ।

सुरुङ उद्धारमा बालेन सरकार चुक्याे, त्रिशूली-१ मा सात शव फेला

काठमाडाैं । सुरुङमा फसेका नागरिकहरुकाे बेलैमा उद्धार गर्न बालेन सरकार चुकेपछि जलविद्युत आयाेजनाहरुबाट शव सङ्‍कलन भइरहेकाे छ ।

बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सात जनाको शव फेला परेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा त्यहाँ सात जनाको शव फेला परेको हाे ।

यही भदौ १० को बाढीपछि २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ मा धेरै मानिस सम्पर्कविहीन थिए ।

शुक्रबार नेपाली सेना र आयोनजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभपलमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको समूहले अडिट-१ को क्षेत्रमा अवलोकन गर्दा पूर्ण रुपमा डेब्रिज भरिएको पाइएको उद्धार कर्ताहरुले बताएका छन्।

यसैगरी, मैलुङ क्याम्प साइटमा मिनी स्काभेटरले उत्खनन कार्य सुरु गरिएको छ । अडिट-३ मा नेपाली सेना र अष्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीब्रता दिने कम्पनीले जनाएको छ।

बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। ती मध्ये हालसम्म ८ सय ७८ जनाको मात्रै उद्धार भएको छ।

भोटेकोशीको भेल, आँसु र बेपत्ता आफन्तको कथा गीतमा

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले दिएको पीडा समेटिएको गीत सार्वजनिक भएको छ। ‘भोटेकोशी रसुवाको बाढीले’ नामक तामाङ फापारे लयको गीत सार्वजनिक गरिएको हो।

गीतमा बाढीले पुर्‍याएको जनधनको क्षति समेटिएको छ। आफन्त गुमाएका परिवारको पीडा पनि प्रस्तुत गरिएको छ। बेपत्ता आफन्तको पर्खाइ र विस्थापनको कथा गीतमा छ।

भोटेकोशी बाढीबाट तामाङ समुदाय बढी प्रभावित भएको थियो। यही पीडालाई गीतमार्फत प्रस्तुत गरिएको हो।

सुमिना लो र खेम मोक्तानले गीतमा स्वर दिएका छन्। गीतका शब्द राजु मोक्तानले लेखेका हुन्। संगीत खेम मोक्तानको छ। एरेन्ज नोर्बु शेर्पाले गरेका छन्। मिक्सिङ दिपेश प्रधानले गरेका हुन्।

गीतमा टिमुरे बजारदेखि धुन्चेको हाटसम्मको विनाश चित्रण गरिएको छ। परिवारका सदस्य गुमाएका आमाको पीडा पनि समेटिएको छ। घरबारविहीन बनेका परिवारको दुःखलाई पनि गीतले बोकेको छ।

गीतमा नुवाकोट र धादिङमा भएको क्षतिको प्रसंग पनि छ। चीनतर्फबाट आएको भेलले भोटेकोशी क्षेत्रमा निम्त्याएको विपद्लाई स्थानीय जनताको पीडासँग जोडिएको छ।

विपद्का बेला सरकारको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। राहत र उद्धार प्रभावकारी नभएको गुनासो गीतमार्फत गरिएको छ।

गीतमा बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। विपद्को सामना सबै मिलेर गर्नुपर्ने सन्देश पनि दिइएको छ।

गीतको रेकर्डिङ अर्पण स्टुडियो, बौद्धमा गरिएको हो। ‘भोटेकोशी रसुवाको बाढीले’ को अफिसियल भिडियो खेन्चे क्रियसन एण्ड खेम मोक्तान युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो।

‘संघर्ष, आत्मविश्वास र भरोसाले मलाई जीवित राख्यो’

काठमाडाैं। रसुवा बाढीमा परेर सुरुङभित्र फसेपछि १० दिनपछि उद्धार गरिएका संजय शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। भोटेकोशी बाढीका कारण सुरुङभित्र फसेका शाहलाई लामो प्रयासपछि उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो।

अस्पतालबाट डिस्चार्ज भएपछि शाहले आफू पुनः सामान्य जीवनमा फर्किन पाउँदा खुसी लागेको बताएका छन्। सुरुङभित्र बिताएका कठिन दिन सम्झिँदै उनले संघर्ष, आत्मविश्वास र भरोसाले आफूलाई जीवित राखेको बताए।

शाहले भने, ‘भगवानको कृपाले गर्दा फेरि पनि आज यस्तो हेर्ने अवसर पाएँ। एकदम खुसी छु। संघर्ष, आत्मविश्वास र भरोसाले मलाई जीवित राख्यो। मैले महामन्त्र जप गरेर बसेँ।’

उनले आफूले सुरुङभित्र रहँदा भगवान्को भरोसा गर्दै महामन्त्र जप गरेर समय बिताएको बताएका छन्।

बाढीपछि सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा लामो समय लागेको थियो। शाह १० दिनसम्म सुरुङभित्र रहेर जीवितै उद्धार भएका थिए। उनको उद्धारलाई बाढीपछिको खोज तथा उद्धार अभियानका क्रममा महत्वपूर्ण सफलताका रूपमा लिइएको छ। 

अस्पतालबाट डिस्चार्ज भएपछि शाहले आफूलाई नयाँ जीवन पाएको अनुभूति भएको बताए।

कांग्रेसभित्र एकताका लागि नेताहरूको अपिल, क-कसले गरे हस्ताक्षर?

काठमाडौं। नेपाली कांग्रेसका विभिन्न नेताहरूले पार्टीभित्र देखिएको आन्तरिक विवाद तत्काल समाधान गरी एकता कायम गर्न नेतृत्वसमक्ष अपिल गरेका छन् ।

पार्टीको वर्तमान अवस्था र मुलुकमा देखिएको राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले पार्टीलाई विभाजनतर्फ लैजाने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन् ।

नेताहरूले जारी गरेको अपिलमा देश गम्भीर संकट र विपद्को अवस्थामा रहेको तथा राजनीतिक अवस्था तरल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख छ । सरकार विपद्को बेला पनि एक्लै ढङ्गले अघि बढिरहेको देखिएको भन्दै राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएको उनीहरूको निष्कर्ष छ ।

नेपालको राष्ट्रियता र भूराजनीतिक परिस्थिति थप पेचिलो बन्दै गएको भन्दै अपिलमा आन्तरिक राजनीतिक अस्थिरता र विभाजनले बाह्य शक्तिकेन्द्रहरूको प्रभाव बढ्ने जोखिम रहेको उल्लेख गरिएको छ । यस्तो अवस्थामा राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको संरक्षणका लागि प्रमुख राजनीतिक शक्तिहरू अझ जिम्मेवार र एकताबद्ध हुनुपर्ने उनीहरूको भनाइ छ ।

नेपाली कांग्रेस अहिले आफ्नै आन्तरिक कलहमा अल्झिएको र त्यसको असर कांग्रेस पार्टीमा मात्र सीमित नभई समग्र राष्ट्रिय राजनीतिलाई सही दिशा दिनसमेत कठिन बनिरहेको अपिलमा उल्लेख छ । यस्तो अवस्थामा कांग्रेसभित्रको विवादलाई थप चर्काउने वा पार्टीलाई झन् विभाजित बनाउनेतर्फ अघि बढ्नु राष्ट्र र लोकतन्त्रको हितमा नहुने नेताहरूले बताएका छन् ।

पार्टीको आगामी १५औँ महाधिवेशनको सन्दर्भमा समेत नेताहरूले विशेष चासो व्यक्त गरेका छन् । महाधिवेशनको संशोधन तथा वर्तमान पार्टी संरचनासँग सम्बन्धित विषयमा उत्पन्न विवाद समाधानका लागि शीर्ष नेतृत्व पंक्ति एक ठाउँमा बसेर गम्भीर छलफल गर्नुपर्ने उनीहरूको माग छ ।

अपिलमा भनिएको छ, ‘सबैले आफ्नो अहंकार, आग्रह र व्यक्तिगत स्वार्थ त्याग्दै पार्टीको बृहत् हितलाई केन्द्रमा राखेर हाल चलिरहेको विवादको तत्काल निकास खोज्न’ आवश्यक छ ।

त्यसका लागि कांग्रेसको शीर्ष नेतृत्व पंक्ति एक ठाउँमा बसेर गहन छलफल गरी साझा निष्कर्षमा पुग्नुपर्ने अपिलमा उल्लेख छ ।

नेताहरूले आगामी १५औँ महाधिवेशनमा कांग्रेसका सबै सदस्य सहभागी हुनसक्ने वातावरण निर्माण गर्दै पार्टीको सबल नेतृत्व चयन र स्पष्ट दिशा तय गर्न आवश्यक रहेको बताएका छन् । पार्टीको बृहत् एकताका लागि वर्तमान पार्टी संरचना भंग गर्नुपर्ने विषयमा भइरहेको विवादलाई तत्काल सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

अपिलमा वर्तमान पार्टी संरचना भंग गर्ने विषयमा देखिएको मतभेद समाधानका लागि महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीभित्र निर्णायक वार्ता प्रारम्भ गर्न विशेष आग्रह गरिएको छ ।

‘देश संकटमा रहेको यस संवेदनशील घडीमा नेपाली कांग्रेसभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एकढिक्का बनाएर राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली नेपाली कांग्रेस निर्माणमा जुट्न हार्दिक अपिल गर्दछौँ,’ अपिलमा भनिएको छ ।

अपिलमा कांग्रेसका विभिन्न नेताहरूले हस्ताक्षर गरेका छन् ।

क-कसले गरे हस्ताक्षर ?