`

बालेन–रवि वार्ता चलिरहँदा अमरेशसिंह पनि पुगे ज्वागल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच अहिले वार्ता चलिरहँदा विघटित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि पुगेका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा अहिले वार्ता जारी छ । यसैबीच सिंह पनि वार्तास्थल पुगेका हुन् । अहिले रवि र बालेनबीच वान टू वान वार्ता चलिरहेको छ । त्यहाँ जेनजी प्रतिनिधि सुदन गुरुङ लगायत पनि उपस्थित छन् ।

बालेन–कुलमान ‘प्याकेज’ संवाद, नयाँ शक्ति निर्माणको दौड तीब्र

काठमाडौं । नयाँ राजनीतिक शक्ति निर्माणको गृहकार्यमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङबीच गम्भिर छलफल भएको छ । बिहीबार बिहान भएको ‘वान टु वान’ भेटमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर सहकार्य, पावर शेयरिङ र एउटै राजनीतिक प्लेटफर्मबाट अघि बढ्ने विकल्पबारे कुराकानी भएको स्रोतले जनाएको छ ।

छलफलमा नयाँ पार्टी दर्ता गर्नुअघि विद्यमान राजनीतिक संरचनालाई नै सुदृढ गर्दै अघि बढ्ने विषय उठेको बताइएको छ । निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टीलाई अगाडि सार्नेबारे पनि सहमति खोजिएको दाबी छ । कुलमानको उपस्थितिमा उज्यालो पार्टीको कार्यालय उद्घाटन हुनुअघि नै यो भेटवार्ता भएको थियो ।

फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दुवै नेताले समानान्तर रूपमा संवाद तीव्र पारेका छन् । बालेन आगामी चुनावमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एजेन्डामा देखिएका छन् भने कुलमानले पनि आफूलाई प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गरिरहेका छन् । यद्यपि बिहीबारको भेटबाट ठोस निष्कर्ष भने ननिस्किएको स्रोतको भनाइ छ । ‘संवाद चलिरहेको छ, प्याकेजमै सहमति खोज्ने प्रयास भइरहेको छ’, कुलमान निकट स्रोतले जनाएको छ ।

यसैबीच बालेनले विभिन्न दल र क्षेत्रका प्रभावशाली व्यक्तिसँग भेटघाटलाई तीव्र बनाएका छन् । उनले चिकित्सक डा. भगवान कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सीके राउतसँग छलफल गरिसकेका छन् । साथै महानगरका सल्लाहकार सुनिल लम्सालसहित पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्व उपाध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, रक्षा बम, केपी खनालसँग पनि भेटवार्ता भएको बताइएको छ ।

कलाक्षेत्र र मिडियाबाट निश्चल बस्नेत, सम्भव सिरोहिया, सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमलासँग पनि बालेनको छुट्टाछुट्टै संवाद भएको छ । आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट हुने तयारी छ । यसअघि सोमबार राति बालेन–रविबीच छलफल भइसकेको थियो ।
कुलमानसँगको पछिल्लो भेटपछि रविसँग संवाद अघि बढाइनु राजनीतिक ‘प्याकेज’ निर्माणतर्फको संकेतका रूपमा हेरिएको छ । मंसिर १४ गते पनि बालेन–कुलमान भेट भइसकेको पृष्ठभूमिमा अहिलेको संवादले नयाँ गठबन्धन वा एउटै राजनीतिक शक्तिको सम्भावनालाई थप चर्काएको छ ।

सरकारले चुनावी वातावरण बनाए एमालेले बहुमत ल्याउँछ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको बताएका छन् । पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भन्ने एमालेको चाहना रहेको उनको भनाइ छ । उनले सरकारले वातावरण बनाए निर्वाचनमा बहुमतसहित निर्वाचन जित्ने दाबी पनि गरे ।

उनले भने, ‘हामी जस्तो परिस्थिति आउँछ त्यसरी नै जाने हो । यदि निर्वाचनको वतवरण बनाउँछ सरकारले हामी निर्वाचनमा सहभागि हुन्छौं, बहुमत ल्याउँछौँ, चुनाव जित्छौँ । हामी त स्वतन्त्र, निष्पक्ष र धाँदलीरहित चुनाव होस् भन्ने पर्खिरहेका छौँ । तर यो सरकारमा त्यो जिम्मेवारीबोध देखिँदैन ।’ उनले एमाले परिस्थितिअनुसार अगाडि बढ्ने भन्दै निर्वाचनको वातावरण बनाउन सरकारले चासो नदेखाएको टिप्पणी समेत गरे ।

 

निर्वाचनको सम्भावना छैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्। पार्टीको ११औँ महाधिवेशन सफल बनाउन भूमिका खेलेका स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले निर्वाचनका लागि अनुकूल वातावरण नबनेको बताए । अध्यक्ष ओलीले सरकारको गतिविधिले समाजमा भय र त्रासको वातावरण सिर्जना भएको आरोप लगाए । उनका अनुसार नेताहरूमाथि प्रतिबन्ध लगाउने, अखबारबाजी गर्ने, सामाजिक सञ्जालमार्फत दुस्प्रचार गर्ने तथा मिडिया ट्रायल जस्ता कार्यहरू निरन्तर भइरहेका छन्, जसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले एमाले निर्वाचनविरोधी नभई प्रतिगमनविरोधी भएको धारणा स्पष्ट रूपमा राखिएको जानकारी दिए । उनले असंवैधानिक ढंगले सरकार गठन भएको आरोप लगाउँदै सकेसम्म छिटो संसद्को पुनःस्थापना आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष ओलीले विघटित संसद् पुनःस्थापनाको मागमा एमाले अडिग रहेको बताउँदै अदालतले गर्ने निर्णयको कार्यान्वयन सबैले स्वीकार गर्नुपर्ने सहमति भएको पनि उल्लेख गरे । ‘हामीले चुनाव हुनु हुँदैन भनेका छैनौँ, प्रतिगमन हुनु हुँदैन भनेका हौं’, उनले भने ।

उनले पछिल्लो समय ‘जेन–जी’ को नाममा केही व्यक्तिहरूले समाजमा अराजकता फैलाउने र भय सिर्जना गर्ने गतिविधि गरिरहेको टिप्पणी पनि गरे । नव युवाहरूको नाम बेचेर केही ‘छट्टु टाठाबाठा’ हरूले आफ्नो स्वार्थ पूरा गरिरहेको उनको आरोप थियो । अध्यक्ष ओलीका अनुसार वर्तमान अवस्थामा न त निर्वाचनको वातावरण बनेको छ, न त बन्ने कुनै लक्षण देखिएको छ । त्यसैले तत्काल निर्वाचनको सम्भावना नरहेको उनको निष्कर्ष थियो ।

 

 

रवि र बालेन भित्र वार्तामा, बाहिर सुदन भन्छन्–नमिलेसम्म चुकुल खोल्दैनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ललितपुरको कुपण्डोलमा निर्णायक छलफल चलिरहेको छ । बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई नेता एक्ला–एक्लै वार्तामा जुटेका हुन् । छलफलका क्रममा बाहिर भने जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङ उपस्थित छन् । उनले ठट्यौली शैलीमा ‘नमिलेसम्म गेट नखोल्ने’ भन्दै ढोकामा चुकुल लगाएर बसिरहेको बताएका छन् ।

‘जबसम्म सहमति हुँदैन, तबसम्म बाहिर निस्कन पाइँदैन’, गुरुङको भनाइ छ। यसअघि पनि रवि र बालेनबीच कमलपोखरीमा करिब ६ घण्टा लामो भेटवार्ता भएको थियो । तर त्यस भेटमा रविका तर्फबाट ठोस राजनीतिक प्रस्ताव नआएको भन्दै बालेन असन्तुष्ट थिए र अन्य नेताहरूसँग विकल्पबारे छलफल अघि बढाएका थिए । बालेनले लौरो चुनाव चिन्ह भएको ‘देश विकास पार्टी’ मार्फत राजनीति अघि बढाउने गृहकार्य समेत गरिरहेका छन् ।

तर त्यसअघि रवि लामिछानेसँगको सहकार्य टुंग्याउने चाहना बालेनको रहेको निकट स्रोत बताउँछन् । बालेन आगामी निर्वाचनमा संसदीय दलको नेता र प्रधानमन्त्री सुनिश्चित हुने स्पष्ट खाका चाहन्छन् । आजको छलफलले दुई नेता मिलेर अघि बढ्ने वा आ–आफ्नो बाटो रोज्ने भन्ने टुंगो लाग्ने अपेक्षा गरिएको छ । भित्र राजनीतिक समिकरणको गहिरो संवाद चलिरहँदा बाहिर सुदन गुरुङको ठट्यौली ‘गेट राजनीति’ ले कुपण्डोलको माहोल थप रोचक बनेको छ।

 

जेनजी एकजुट गर्ने जिम्मा रक्षालाई, बालेनसँग खोजिन् सैद्धान्तिक सहकार्यको आधार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी (जेनेरेसन जेड) प्रतिनिधिहरूलाई एक ठाउँमा ल्याउने जिम्मेवारी जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक शक्तिहरूलाई संगठित गर्ने उद्देश्यसहित यो जिम्मेवारी दिइएको हो ।

बुधबार ललितपुरको कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा बालेन र रक्षा बमबीच करिब तीन घण्टा लामो राजनीतिक संवाद भएको थियो । उक्त छलफलमा बालेनको सचिवालयका सदस्यहरू समेत सहभागी थिए । छलफलमा जेनजी प्रतिनिधित्व, वैकल्पिक राजनीतिक शक्तिको सम्भावना र भावी सहकार्यका आधारबारे गहन कुराकानी भएको जनाइएको छ ।

बालेनले देश विकासका लागि नयाँ राजनीतिक संरचना आवश्यक रहेको उल्लेख गर्दै जेनजी प्रतिनिधिलाई पनि ‘देश विकास पार्टी’ मार्फत समावेश गर्न चाहेको संकेत गरेका छन् । यही सन्दर्भमा जेनजीका विभिन्न समूह, सहिद परिवार तथा युवा अभियन्ताहरूसँग संवाद गरी वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न रक्षा बमलाई संयोजनको भूमिका दिइएको हो ।

छलफलका क्रममा रक्षा बमले सहकार्यका लागि सैद्धान्तिक स्पष्टता खोजेकी थिइन् । उनले संविधान, संघीयता, लोकतन्त्र र प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता विषयमा प्रश्न उठाएकी थिइन् । बालेनले संविधान र संघीयता आवश्यक रहेको र समस्या कार्यान्वयनमा देखिएको धारणा राखेका थिए । यी जवाफपछि आफू सहकार्यप्रति विश्वस्त भएको रक्षा बमले बताइन् ।

दुवै पक्षबीच ‘इमानदारिता र निःस्वार्थ देशसेवा’ लाई साझा धरातलको रूपमा पहिचान गरिएको छ । वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिन सक्ने सम्भावनाबारे सकारात्मक छलफल भएको र जेनजीलाई संगठित गर्न रक्षा बमले सक्रिय भूमिका खेल्ने सहमति बनेको छ । बालेनले रक्षा बमलाई निर्वाचनमा प्रत्यक्ष वा समानुपातिकमध्ये कुनै एक विकल्प रोज्न पनि अनुरोध गरेका छन् । यद्यपि यस विषयमा अन्तिम निर्णय भइनसकेको बताइएको छ । प्रतिनिधिसभा निर्वाचनको बन्दसूची बुझाउने समय नजिकिँदै जाँदा बालेन पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवादमा जुटिरहेका छन् ।

 

 

बालेनसँगको भेटबारे के भन्छन् ज्ञानेन्द्र शाही ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीबीच भएको भेटवार्ताले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ । बुधबार साँझ बालेनका सल्लाहकार कुमार बेनको कुपण्डोलस्थित निवासमा भएको यो भेटलाई आगामी निर्वाचन र नयाँ राजनीतिक ध्रुवीकरणसँग जोडेर हेरिएको छ ।

भेटपछि प्रतिक्रिया दिँदै राप्रपा प्रवक्ता शाहीले मेयर बालेनले युवाशक्ति एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव राखेको जानकारी दिए । उनका अनुसार बालेनको सन्देश स्पष्ट थियो–हिजो सँगै संघर्ष गरिएको हो, आज पनि सँगै काम गर्न सकिन्छ र जहाँ–जहाँ भए पनि युवाहरू एकजुट हुनुपर्छ । यो भेटलाई सामान्य शिष्टाचारभन्दा पनि गहिरो राजनीतिक संवादको रूपमा लिइएको छ । निर्वाचन नजिकिँदै जाँदा बालेनले आफ्नै नेतृत्वमा वैकल्पिक राजनीतिक शक्तिलाई संगठित गर्ने तयारी तीव्र बनाएका छन् । यही क्रममा विभिन्न दलका नेता, अभियन्ता, बुद्धिजीवी र सार्वजनिक व्यक्तित्वहरूसँग निरन्तर छलफल भइरहेको स्रोतहरू बताउँछन् ।

बुधबार रातिसम्म चलेको छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, चिकित्सक डा. भगवान् कोइराला, राप्रपाका ज्ञानेन्द्र शाही, युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया र सञ्चारकर्मी सुरजसिंह ठकुरीलगायतको सहभागिता रहेको थियो । छलफलका क्रममा मेयर बालेनले यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’ र त्यसको चुनाव चिन्ह ‘लौरो’ प्रयोग गरेर संगठित रूपमा अघि बढ्ने योजना सुनाएको स्रोतको दाबी छ । यसले बालेन अब केवल स्थानीय तहका प्रशासकमा सीमित नरही राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा आउन खोजिरहेका छन् भन्ने संकेत गरेको छ ।

यसअघि सोमबार राति कमलपोखरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र मेयर बालेनबीच पनि लामो छलफल भएको थियो । उक्त छलफलमा सरकार र पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा समेत अनौपचारिक प्रस्तावहरू उठेका थिए । स्रोतका अनुसार हालको चरणमा सरकारको नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले सम्हाल्ने, तथा अर्को निर्वाचनपछि सरकारको नेतृत्व रविले गर्ने र बालेनले सहयोगी भूमिका खेल्ने जस्ता विषयमा पनि विचार–विमर्श भएको थियो ।

ज्ञानेन्द्र शाही २०७९ सालको निर्वाचनमा जुम्लाबाट निर्वाचित सांसद हुन् । उनले संसदमा बालेनको कार्यशैलीको खुलेर प्रशंसा गर्दै काम गर्न दिनुपर्ने धारणा राख्दै आएका छन् । आसन्न निर्वाचनमा शाहीलाई विभिन्न स्थानबाट उम्मेदवार बन्न प्रस्ताव आएको बताइन्छ, जसले उनी पनि नयाँ राजनीतिक समीकरणको केन्द्रमा रहेको देखाउँछ । बालेन अहिले पनि विभिन्न व्यक्तिहरूसँग निरन्तर छलफलमा जुटिरहेका छन् । यी भेटघाट र संवादहरूले नेपाली राजनीतिमा परम्परागत दलभन्दा बाहिर उभिएको, युवा केन्द्रित र वैकल्पिक शक्तिको सम्भावना बलियो बन्दै गएको संकेत गरेका छन् । आगामी दिनमा यी छलफलहरू ठोस राजनीतिक संरचनामा रूपान्तरण हुन्छन् कि हुँदैनन् भन्ने चासो सर्वत्र बढिरहेको छ ।

 

 

 

 

ओलीको कटाक्ष : देशका चर्चित भनिएका व्यक्ति नशामा भेटिन्छन्

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिने टिप्पणी गरेका छन् । महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका युवाहरूमा कुनै दुव्र्यसनी नरहेको दाबी गरे । उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन् । हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुव्र्यसनी देखिएन, मेरो भनाइ मन नपरेर, इख मानेर दुव्र्यसनीमा भएकाहरूले पनि छाड्नु भयो भने म धेरै खुशी हुन्थे ।’

उनले महाधिवेशनमा खटिएका कुनै स्वयंसेवकको छेउमा पुग्दा खैनी समेत गनाएको नभेटिएको जिकिर गरे । ‘यस पटक महाधिवेशनमा कसैको छेउमा पनि पुग्दा पनि खैनी गन्हाएको भेटिएन । खैनी भनेको कस्तो चिज छ भने ओठमा एउटा कुनामा च्यापेको छ भने पनि पर–पर गन्हाउँछ थाह भइहाल्छ । खटिएका कोही पनि कुनै पनि लागुपदार्थ, केही तरल पदार्थ प्रयोग गरेर बसेको पाइनँ,’ उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन् । हाम्रा युवाहरू कुनै दुर्व्यसनमा हुनु हुन्न । मेरो भनाइ मन नपरेर दुर्व्यसन छोड्नु भए म खुशी हुन्छु ।’

 

 

 

 

बालेन र कांग्रेस नेता शर्माबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माबीच भएको भेटवार्ताले राजनीतिक वृत्तमा चासो बढाएको छ । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा भएको उक्त भेटमा संसद् पुनः स्थापनाको सम्भावना र त्यसका राजनीतिक प्रभावबारे छलफल केन्द्रित रहेको डा. शर्माले बताएका छन् ।

भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै डा. शर्माले संसद् पुनःस्थापना भए के–के परिणाम आउन सक्छन् र त्यसले मुलुकको राजनीतिक दिशामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा संवाद भएको बताए । उनका अनुसार छलफल तथ्य र सम्भावनामा आधारित थियो, कुनै ठोस निष्कर्ष वा निर्णयमा भने नपुगेको संकेत उनले दिए ।

अन्य राजनीतिक दल वा समूहसँग बालेन शाहले गरिरहेको सम्भावित छलफलका विषयमा आफूलाई जानकारी नभएको भन्दै डा. शर्माले भने, ‘अरूसँग के भइरहेको छ, त्यो मलाई थाहा हुने कुरा भएन ।’ यसले भेटलाई दुई व्यक्तिबीचको विचार–विमर्शको रूपमा सीमित राखिएको बुझाइ दिन्छ ।
राजनीतिक भविष्यबारे सोधिएको प्रश्नमा डा. शर्माले आफू नेपाली कांग्रेसमै रहने स्पष्ट पारे । कांग्रेस छोड्ने अड्कलबाजीलाई खारेज गर्दै उनले ५–१० वर्षपछि पार्टी नेतृत्वको आकांक्षा व्यक्त गरे ।

‘हामी कांग्रेसमै बसेर ५-१० वर्षपछि सभापति हुने मान्छे हौं’, उनले भने, ‘कहाँ छोड्छौं र ?’ यो भेटलाई लिएर विभिन्न कोणबाट व्याख्या भइरहेका बेला दुवै पक्षले औपचारिक राजनीतिक सहकार्यको घोषणा नगरे पनि, वर्तमान राजनीतिक तरलतामा यस्ता संवादहरूले बहसलाई थप गतिशील बनाउने देखिन्छ । संसद् पुनः स्थापना जस्ता संवेदनशील विषयमा विचार आदान–प्रदान हुनु लोकतान्त्रिक अभ्यासकै अंश भएको टिप्पणी पनि हुन थालेको छ ।

 

 

रास्वपाको समानुपातिक आकांक्षी डा. घिमिरे, स्वास्थ्य क्षेत्रको अनुभवलाई नीतिनिर्माणमा लैजाने प्रयास

काठमाडौं । चिकित्सा, युवा आन्दोलन र सुधारमुखी राजनीतिमा सक्रिय व्यक्तित्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा वरिष्ठ छाला तथा कपाल प्रत्यारोपण रोग विशेषज्ञ डा. रुपक घिमिरे समावेश भएका छन्। डा. घिमिरे हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ-काठमाडौं सम्पर्क समितिका संयोजक हुन्।

काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस र एमडी डर्माटोलोजी गरेका डा. घिमिरेले भारत तथा दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन्। काठमाडौँ मेडिकल कलेजमा सहायक प्राध्यापकका रूपमा काम गरेका उनले त्यसपछि उनले दरबारमार्गस्थित ‘आवरण स्किन क्लिनिक’ सञ्चालन गर्दै आएका छन् । यहाँ उनले स्वदेशी मात्र नभई ३० भन्दा बढी मुलुकमा रहेका नेपालीले समेत सेवा लिइरहेका छन्।

स्वास्थ्य क्षेत्रका बेथितिविरूद्ध कडा अडान लिने चिकित्सक राजनीतिमा

डा. घिमिरे नेपाल मेडिकल काउन्सिलका निवर्तमान सदस्य पनि हुने । काउन्सिल सदस्याका रुपमा नेपालको स्वास्थ्य क्षेत्रका विकृतिविरुद्ध खरो रुपमा उभिने चिकित्स्कका रुपमा उनी परिचित छन् । काउन्सिलको सदस्यका रुपमा र एक चिकित्सकका रुपमा उनले नेपालको स्वास्थ्य क्षेत्रमा देखिकएका विकृति विरूद्ध निरन्तर प्रहार गर्दै आएका आएका छन् ।

यसका साथै,  उनले नेपालको स्वास्थ्य सेवालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए। स्वास्थ्य सेवा पारदर्शी, जवाफदेही र प्रविधिमैत्री हुनुपर्ने धारणा राख्दै आएका डा. घिमिरे यही अनुभवलाई नीति निर्माण तहमा लैजाने उद्देश्यसहित राजनीतिमा सक्रिय भएको बताउँछन्। रास्वपाबाट समानुपातिक उम्मेदवारको आकांक्षीका रूपमा उनको नाम अगाडि आएको छ।

राजनीतिमा युवा सहभागिताको वकालत

उनी जेनजी आन्दोलनमा सक्रिय रहेको ‘हामी नेपाल’ का संस्थापक उपसभापति समेत हुन् । उनले पुरुषोत्तम यादवलगायत विभिन्न अभियन्तालाई जोड्दै युवामाझ वैकल्पिक राजनीतिक सोच बिस्तार गर्न पहल गरेका थिए।

स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका डा. घिमिरे युवासँग राम्रो पहुँच राख्ने नेताको रूपमा परिचित छन्। यही पृष्ठभूमिका कारण उनलाई सुधारमुखी राजनीतिमा सम्भावनायुक्त पात्रका रूपमा हेरिन थालिएको छ।

चिकित्सकदेखि कलाकार हुँदै राजनीतिसम्म

डा. घिमिरे चिकित्सक मात्रै नभएर मिस्टर नेपाल २०११ का बिजेता समेत हुन्। सन् २०१५ मा नेपाली चलचित्र चकलेटका नायकको भूमिका निर्वाह गरेका उनले दर्जनभन्दा बढी टेलिभिजन विज्ञापनमा पनि अभिनय गरिसकेका छन्।

कलात्मक पहिचान, अन्तर्राष्ट्रिय चिकित्सा अनुभव र नीतिगत सुधारको अभ्यासलाई एकै ठाउँमा जोड्दै आएका डा. घिमिरेलाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनिन्छ। यही पृष्ठभूमिले उनलाई रास्वपाको आकांक्षी सूचीमा फरक पहिचान दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेद्वार छनोटका लागि पुष १२ गते शनिबारदेखि पौष १३ गते आइतबार साँझसम्म RSP Mobile App मार्फत आन्तरिक मतदान प्रक्रिया सञ्चालन गर्दैछ। स्वास्थ्य क्षेत्रका अनुभवी चिकित्सक, नीति सुधारक तथा जेन–जी आन्दोलनका सक्रिय अभियन्ता डा. घिमिरेलाई आफ्नो अनुभव र ज्ञानलाई नीति निर्माणमा लैजानका लागि समर्थनका लागि पार्टीपंक्तिसमक्ष आह्वान गरेका छन् । पार्टीभित्र योग्य, सक्षम र इमानदार नेतृत्व चयनका लागि डिजिटल माध्यमबाट सहभागिता जनाउन उनले अनुरोध गरेका हुन् ।

पाँच सय र हजारको नोट बन्द गर्नुपर्छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले देशमा बढ्दो भ्रष्टाचार र कालोधन नियन्त्रणका लागि कडा तथा असाधारण कदम चाल्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा उनले उच्च मूल्यका नोट खारेज गर्ने, नयाँ दरका नोट प्रचलनमा ल्याउने र भ्रष्टाचारविरुद्ध विशेष संयन्त्र बनाउने प्रस्ताव अघि सारेका हुन् ।

महासचिव चन्दका अनुसार कालो धनलाई नियन्त्रण गर्दै त्यसलाई जनताको बीचमा स्वीकार्य बनाउने उपायका रूपमा ५ सय र १ हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाउनु पर्छ । ती नोट खारेज गरेर २ सय, ४ सय र आवश्यक परे २ हजार रुपैयाँसम्मका नयाँ नोट प्रचलनमा ल्याउन सकिने उनको भनाइ छ । यसो गर्दा अवैध रूपमा जम्मा गरिएको धन बाहिर ल्याउन बाध्य पारिने र कालोधनको प्रभाव घट्ने दाबी उनले गरे । भ्रष्टाचार नियन्त्रणका लागि उनले उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्नेमा विशेष जोड दिए । सो आयोगले निष्पक्ष रूपमा अनुसन्धान गरी विशेष उच्चस्तरीय न्यायालयमार्फत फैसला गर्ने व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ । त्यस्तो न्यायालयको फैसलालाई सर्वोच्च अदालतमा पुनरावेदन गर्न नपाइने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ, ताकि निर्णय प्रभावकारी र अन्तिम बनोस् ।

उनले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र गम्भीर प्रकृतिका अपराधमा हदैसम्मको जन्मकैदको सजाय दिन सकिने कानुनी व्यवस्था आवश्यक रहेको पनि बताए । यसले भ्रष्टाचारविरुद्ध कडा सन्देश जाने उनको विश्वास छ । महासचिव चन्दले पार्टीले अघि सारेका मागहरू पूरा नभए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनका अनुसार आन्दोलन हिंसात्मक नहुने र जनतामाझ आफ्ना एजेण्डा स्थापित गर्ने उद्देश्यले अघि बढाइने छ ।

वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले अहिलेको सरकारले निष्पक्ष र प्रभावकारी रूपमा निर्वाचन गराउन नसक्ने ठोकुवा गरे । प्रहरी र कर्मचारीतन्त्रको मनोबल कमजोर भएको अवस्थालाई औंल्याउँदै उनले सर्वपक्षीय सरकार गठन गर्नु आजको आवश्यकता भएको धारणा राखे ।
कम्युनिष्ट शक्तिहरूको एकताका विषयमा बोल्दै उनले दीर्घकालीन रूपमा एकताको आवश्यकता स्वीकार गरे पनि तत्काल त्यसको सम्भावना नरहेको बताए । केही साझा एजेण्डा सबै दलसँग मिल्ने उल्लेख गर्दै उनले सर्वपक्षीय सरकारको अवधारणा एमालेसँग मिल्न गएको आरोपलाई स्वाभाविक भएको बताए । महासचिव चन्दका यी प्रस्तावहरूले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ भने नोटबन्दी र भ्रष्टाचारविरुद्धको कडा व्यवस्थाबारे विभिन्न प्रतिक्रिया आउने संकेत देखिएको छ ।

रवि र बालेनबीच ‘वान टु वान’ वार्ता जारी

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहस चर्किरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच ‘वान टु वान’ संवादको दोस्रो चरण सुरु भएको छ । कुपण्डोलस्थित बालेन समूहका सहयोगी कुमार बेनको निवासमा जारी वार्तालाई अघिल्लो लामो छलफलको निरन्तरताका रूपमा हेरिएको छ ।

यसअघि मंगलबार राति दुवै नेताबीच करिब छ घण्टा लामो भेटवार्ता भएको थियो । सोही छलफललाई अघि बढाउँदै आज फेरि बसेको बैठकमा आगामी निर्वाचनमा सम्भावित सहकार्य, राजनीतिक मोर्चाबन्दी र नेतृत्वको ढाँचाबारे केन्द्रित बहस भइरहेको बताइएको छ । वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र बालेनका सहयोगी कुमार बेन सहभागी छन् । यद्यपि, रविका साथ पुगेका अन्य नेताहरू भने बैठक कक्ष बाहिरै रहेका छन् । राजनीतिक वृत्तका अनुसार छलफललाई ‘कोर टिम’ मा सीमित राखेर ठोस समझदारी खोज्ने प्रयास भइरहेको छ । यसअघि सोही स्थानमा कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्मासँग पनि बालेनले छलफल गरेका थिए । शर्माले बाहिरिँदा प्रतिनिधिसभा पुनःस्थापना भएपछिको राजनीतिक परिदृश्यबारे कुराकानी भएको बताएका थिए । त्यसपछि रवि लामिछाने सोही निवासमा पुगेर बालेनसँग वार्ता थालेका हुन् ।

छलफलको क्रममा नेतृत्व मोडेल पनि मुख्य एजेन्डा बनेको स्रोतहरूको दाबी छ । अघिल्लो भेटमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व रविले गर्ने, अर्को निर्वाचनपछि भने सरकारको नेतृत्व रविले सम्हाल्ने र बालेनले सघाउने प्रस्तावमाथि विचार–विमर्श भएको समाचार बाहिरिएको थियो । आजको बैठकमा पनि यिनै सेरोफेरोमा केन्द्रित रहेर सहमतिको आधार खोजिँदैछ । उता, वैकल्पिक अभियानमा सक्रिय अन्य व्यक्तित्वहरू पनि कुपण्डोल पुगेका छन् । सागर ढकाल र ‘हामी नेपाल’ नामक एनजीओका अध्यक्ष सुदन गुरुङको उपस्थितिले संवादको घेरो फराकिलो बन्न सक्ने संकेत गरेको छ । बालेनले आज बिहान ऊर्जामन्त्री कुलमान घिसिङसहितका व्यक्तिसँग पनि छलफल गरेका थिए । रवि–बालेन संवादले आगामी दिनमा नयाँ राजनीतिक समीकरण जन्माउने हो वा रणनीतिक समझदारीमै सीमित रहने हो भन्ने प्रश्न खुला छ । तर, निरन्तर बैठक र बहुआयामिक छलफलले वैकल्पिक राजनीतिक धारलाई औपचारिक दिशातर्फ धकेल्ने संकेत भने स्पष्ट देखिएको छ ।

 

सुनसरी–४ बाट प्रचण्डको नाम सिफारिस

मोरङ । आउँदो फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि सुनसरी क्षेत्र नम्बर–४ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस भएको छ । बुधबारको बैठकले प्रचण्डको नाम सिफारिस गरेको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिएका छन् । सो निर्वाचन क्षेत्रबाट प्रचण्डसहित महफुज आलम अन्सारी, परशुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कटवालको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको अधिकारीले बताए ।

यो क्षेत्रबाट पछिल्लो २ चुनावमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की लगातार विजयी भएका छन् । यस पटक पनि कांग्रेसबाट कार्कीसहितकै नाम सिफारिस गरिएको छ । यस्तै नेकपाले समानुपातिकतर्फ योगेन्द्र प्रसाद मण्डल (पप्पु) ,धर्मलाल उराँव, दिल महमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनलाई सिफारिस गरेको छ । यस्तै मोरङ ४ बाट नेकपाले अमनलाल मोदीको एकल नाम सिफारिस गरेको छ । उनी यसअघि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । मोरङ ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस गरिएको छ । ७९ को निर्वाचनमा मण्डल यहाँ पराजित भएका थिए । मोरङका ६ वटा क्षेत्रबाट ८० जनाको नाम सिफारिस गरिएको छ ।

साढे चार किलो कोकिन पेटमा बोकेर लाओसदेखि काठमाडौंसम्म यात्रा

काठमाडौं । प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा सिनामंगल नजिकबाट पक्राउ गरी उनीहरूलाई सार्वजनिक गरिएको छ । थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतका २१ वर्षीय मुर्सालेन हुसेनलाई पक्राउ गरेको ब्युरोका सहप्रवक्ता डीएसपी जीवन निरौलाले जानकारी दिए । उनीहरूले नेपालमा बसेर कोकिनको कारोबार गर्ने अनुसन्धानबाट खुलेको निरौलाले बताए।

प्रवक्ता निरौलाले लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी कामासँग ५५० ग्राम र लाओसबाट सिङ्गापुर हुँदै काठमाडौँ आएका भारतका जेभियर र नेपालमा कोकिन लिन आएका भारतका अर्का नागरिक मुर्सालेनसँग तीन किलो ७५० ग्राम कोकिन बरामद गरिएको उल्लेख गरे । थाइल्याण्ड नागरिक कामाले १२ वटा प्लाष्टिकमा क्याप्सुलभित्र र भारतीय नागरिकले जेभियरले सुटकेसभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले कोकिन बरामद गरेको उनले बताए । प्रहरीले पक्राउ जरेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाहीका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।

विप्लवको चेतावनी : सर्वपक्षीय सरकार गठन नभए जेनजीलाई लिएर सडक आन्दोलनमा जान्छौं

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक दल र आन्दोलनरत जेनजी समूहलाई समेटेर सर्वपक्षीय सरकार गठन नभए सडक आन्दोलन थाल्ने चेतावनी दिएका छन् । सर्वपक्षीय सरकार गठनको माग निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको ब्यारेकबाट निस्कनु भन्दा अगावै आफूहरूले उठाएको समेत उनले बताएका छन् । नेकपा माओवादीको चौंथो केन्द्रीय कमिटी बैठकको उद्घाटन मन्तव्यमा बिहीबार विप्लवले सर्वपक्षीय सरकार गठन नभइ चुनाव हुन नसक्ने बताएका हुन् ।

‘भदौ २३–२४ को घटनालगत्तै हामीले सर्वपक्षीय सरकार हुनुपर्छ, सकेसम्म राजनीतिक नेतृत्व आन्दोलनरत, विद्रोही शक्तिलाई स्वीकार हुनेगरी गठन गर्नुपर्छ भन्ने हाम्रो प्रस्ताव हो’ विप्लवले भने, ‘हाम्रो माग पूरा भएन भने जेनजी समूहलाई साथमा लिएर सडक आन्दोलनमा जान्छौं ।’ सर्वपक्षीय सरकार गठनको विषयलाई लिएर आफूहरूले एमाले अध्यक्ष ओली मात्र नभइ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेको उनले बताए ।

‘सर्वपक्षीय सरकारको कुरा हामीले शुरूमै ल्याएको हो । एमालेसँग मात्र छलफल गरेर निष्कर्ष निकालेको होइन, सबै दलसँग सहमति हुनुपर्छ’, उनले भने, ‘राष्ट्रवादको विषयमा सेना, देशभक्तसँग पनि कुरा मिल्छ ।’ विप्लवले सर्वपक्षीय सरकारको नेतृत्वका लागि पहिलो हकदार राजनीतिक दल भएपनि सबैलाई स्वीकार्य हुने साझा व्यक्ति खोज्न तयार रहेको बताए । त्यसरी बन्ने सरकारले चुनाव अघि नै भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग गठन लगायत केही प्रतिबद्धता गर्नुपर्ने उनले बताए ।

रास्वपाको समानुपातिक उम्मेदवारमा दलिततर्फ डा. रूपक घिमिरे आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. रूपक घिमिरे पनि समावेश भएका छन् । हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौँ सम्पर्क समितिका संयोजक डा. घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको दलिततर्फ आकांक्षी सूचीमा समेटिएका हुन् ।

काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस र एमडी (डर्माटोलोजी) अध्ययन गरेका उनले भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन् । नेपाल मेडिकल काउन्सिलका निवर्तमान निर्वाचित सदस्य डा. घिमिरे चिकित्सा क्षेत्रमा सुधारका पक्षधर व्यक्तित्वका रूपमा परिचित छन् । काउन्सिलमा रहँदा उनले मेडिकल मालप्र्याक्टिसविरुद्ध कडा अडान लिँदै सेवा प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने पहल गरेका थिए ।

युवामैत्री राजनीतिका पक्षधर डा. घिमिरे ‘हामी नेपाल’ संस्थाका संस्थापक उपसभापति समेत हुन् । स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका उनी जेनजी आन्दोलनका अगुवाका रूपमा चिनिन्छन् । मिस्टर नेपाल २०११ का विजेता तथा २०१५ मा प्रदर्शन भएको नेपाली चलचित्रको नायक समेत रहेका उनीसँग दर्जनभन्दा बढी टेलिभिजन विज्ञापनमा अभिनयको समेत अनुभव छ । रास्वपाले पुस १२ र १३ गते आरएसपी मोबाइल एपमार्फत आन्तरिक मतदान प्रक्रिया सञ्चालन गर्ने जनाएको छ ।

कांग्रेसको पार्टी कार्यालय यसरी हुँदैछ पुनर्निर्माण {तस्वीरहरु}

काठमाडौं । भदौं २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय पुनर्निर्माण धमाधम भईरहेको छ । प्रदर्शनकारीहरु गरेको आगजनीका कारण कार्यालयको सम्पूर्ण भाग जलेर नष्ट भएको थियो । अनुगमन टोलीका अनुसार भवन पुनर्निर्माणका लागि अनुमानित खर्च भवनको सवलीकरणको मात्रै १४ करोडको छ ।

डकुमेन्ट र मेसिनरीको ७ करोड बराबरको जलेको अनुमान छ, ९९ वटा एसी थिए । १५० वटा कम्प्युटर जस्ता सामान पनि जलेको थियो । भवन पुनर्निर्माणका लागि नेपाली कांग्रेसले क्रियाशील सदस्य, जिल्ला, प्रदेश, केन्द्रीय समितिका सदस्य तथा नेताहरूसँग पैसा उठाउने निर्णय गरेको छ ।

तस्वीर : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

चुनावको समानान्तर तयारीमा बालेन र रास्वपा, समानुपातिक उम्मेद्वार छान्दै दुवै पक्ष

काठमाडौं। गत सोमबार रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेनद्र शाह (बालेन) बीच भेट भएपछि दुवै मिलेर जाने अपेक्षा गरिएको थियो। झन्डै ७ घण्टा लामो छलफलपछि उनीहरू एउटै गाडीमा निस्किएका थिए । यसअघि एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउन सक्ने बताएका थिए । यसले, रास्वपा र टिम बालेनबीच सहमति भएजस्तो देखिएको थियो ।

मंगलबार चितवन पुगेका रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति भइनसकेको मात्रै बताएनन्, छलफल राजनीतिक चरणमै प्रवेश गरिनसकेको स्पष्ट पारे ।

फागुन २१मा हुने निर्वाचनका लागि समानुपातिक सूची बुझाउने दिन नजिकिँदै जाँदा यी दुईबीच कुरा नमिलेको स्पष्ट भएको छ । दुवै समूहले समानुपातिक उम्मेद्वारको सूची बनाउने समानान्तर तयारी गरिरहेका छन् ।

मेयर शाहले मंगलबारबाटै समानुपातिकतर्फका उम्मेद्वार छनोटको तयारी थालेका छन् । यसका साथै उनले विभिन्न दल, समूह र व्यक्तिहरूसँगको राजनीतिक संवाद समेत अघि बढाएका छन् ।

उनले मंगलबार बिहानैबाट ललितपुरमा रहेको सल्लाहकार कुमार बेनको घरमा भेटघाट गरिरहेका छन् । मंगलबार १० वटा भन्दा धेरै भेटघाट भएको उनका एक सहयोगीले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी देखि नागरिक उन्मुक्ति पार्टी हुँदै जेनजी फ्रन्टका नेताहरूसम्मलाई मंगलबार भेटेका थिए । बुधबार पनि यो भेटघाटको सिलसिला जारी रहने छ ।

भेटघाटसँगै उनीहरूले समानुपातिक सूची पनि तयार पारिरहेका छन् । सार्वजनिक ख्याति कमाएका वा कुनै न कुनै क्षेत्रबाट समाजमा सकारात्मक छवि बनाएका मानिसहरूलाई समेटेर समानुपातिक सूची बनाउने कसरत गरिरहेका छन्, जसमा जेनजी आन्दोलनका अगुवालाई पनि समेटेर लैजाने बताइएको छ । बुधबार दिन भरी मेयर शाहको समानुपातिक उम्मेद्वारका आकांक्षीसँग भेटघाटको कार्यक्रम तय गरिएको उनका एक सहयोगीले बताए ।

‘उहाँले सबै पक्षसँग भेटघाट र संवाद गर्न चाहनुभएको छ,’ ती सहयोगीले भने, ‘आज समानुपातिकका सम्भावित उम्मेद्वारसँग छलफल गर्ने योजना छ । केही सूची बनाएर हामीले नै बोलाएका पनि छौं । कोही आकांक्षी हुनुहुन्छ भने उहाँहरूले आफैं सम्पर्क गरेर आउनुभयो पनि हामी भेटेर कुरा गरिरहेका छौं ।’

रास्वपासँग कुरा नमिलेपछि लौरो चुनावचिन्ह भएको देशविकास पार्टीलाई अगाडि लैजानेगरी बालेनको समूह चुनावको तयारीमा लागेको हो ।

यस्तै, रास्वपाले पनि आजैबाट समानुपातिक उम्मेद्वारको सूची फाइनल गर्न औपचारिक तयारी सुरू गरेको छ । यसअघि नै आकांक्षीहरूबाट आवेदन लिएको रास्वपाले आवेदनमा आएका नामहरूबाट प्राथमिकताका आधारमा छनोट गर्ने छ ।

दुई पक्षले अलगअलग तयारी थालेपछि एउटै पार्टीबाट चुनावमा जाने सम्भावना करिब-करिब सकिएको छ । समानुपातिक सूची बुझाउने अन्तिम दिनसम्म पनि सहमति भएन भने रवि र बालेनका अलगअलग पार्टी चुनावमा सहभागी हुनेछन् ।

बालेनले रक्षा बम, उपार्जुन चाम्लिङ लगायतका जेनजी नेतालाई भित्र्याएर पार्टी बनाउने कसरत गरिरहेका छन् । यस्तै सिके राउत, रेशम चौधरी लगायतसँग सहकार्य गर्ने तयारी गरिरहेका छन् भने कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पनि सहकार्यका लागि सकारात्मक रहेको बताएका छन् । यस्तै राप्रपा नेता ज्ञानेन्द्र शाहीलाई पनि आफ्नो पार्टीमा भित्र्याउने तयारी गरिरहेका छन् ।

वैकल्पिक र नयाँ शक्तिहरूसँग सहकार्य गरेर रास्वपालाई एक्ल्याउने रणनीतिमा बालेन देखिन्छन् । यसले, रास्वपामाथि सहकार्यका लागि दबाव सिर्जना हुनेछ ।

मुद्दा छिटो किनारा लगाउन प्रक्रियागत चुनौतीहरू छन् : न्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले न्यायपालिकाले मुद्दाहरूलाई छिटो किनारा लगाउने प्रयास गरिरहेको बताएका छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । तर प्रक्रियागत कारणले गर्दा ढिलाइ हुने गरेको स्वीकार गरे । न्यायपालिकाको भूमिका, मुद्दाको प्रक्रिया र संघीय प्रणालीको प्रवद्र्धनबारे छलफल गर्दै उनले न्यायपालिकालाई संविधानको संरक्षकको रूपमा प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको जोड दिए।

न्यायाधीश श्रेष्ठकाअनुसार अदालतले मुद्दाको प्रकृति र उपलब्ध जानकारीलाई हेरेर प्राथमिकता दिने गर्छ । जसले गर्दा केही मुद्दा तीन महिनाभित्रै फैसला हुने गरेका छन् । हालैको तथ्यांकअनुसार कम्तीमा १५० मुद्दा तीन महिनाभित्र फैसला भएका छन् । तर सात वर्ष पुराना मुद्दाहरू पनि बाँकी छन् । यसको कारण प्रक्रियागत जटिलता र स्रोत साधनको कमी भएको उनले उल्लेख गरे । न्यायाधीश संख्या २५ बाट घटेर २१ भएको र मुद्दाको संख्या ९–१० हजारबाट बढेर २६–२७ हजार पुगेको अवस्थामा न्यायपालिकालाई दोष मात्र दिन नहुने उनको छ । संघीय प्रणालीमा अवशिष्ट अधिकार संघमा राखिएको नेपाली अभ्यासलाई अन्य देशहरूसँग तुलना गर्दै उनले न्यायपालिकाको भूमिकालाई संवैधानिक सर्वोच्चता र स्वतन्त्रताको संरक्षणमा केन्द्रित गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी एउटा अहिले जुन किसिमको प्रणालीमा छौँ । अघि श्रीमानले भन्दै हुनुहुन्थ्यो हामी संविधानवाद, संवैधानिक सर्वोच्चता र संवैधानिक स्वतन्त्रताको संरक्षकको रूपमा न्यायपालिका यो नेपालले मात्रै गरेको होइन । सबै ठाउँमा गरेको हो । अघि यहाँहरूले भन्दै हुनुहुन्थ्यो हामी संघीयता अपनाउने अवशिष्ट अधिकार संघमा राख्ने । अब त्यो त हाम्रो विषय भएन । धेरै ठाउँमा कतिपय अमेरिकामा अवशिष्ट अधिकार राज्य राज्यहरूमा छ । यहाँ अवशिष्ट अधिकार संघमा राखेको छ ।’

उनले भने, ‘विभिन्न देशका आफ्ना–आफ्ना अभ्यासहरू छन् । तथापि हाम्रो न्याय प्रणालीको, हाम्रो न्यायपालिकाको भूमिका भनेको अहिलेको संघीय प्रणालीलाई कसरी प्रवद्र्धन गर्ने ? यसलाई कसरी प्रभावकारी बनाउने र साथसाथै हामी संविधानकै संरक्षकको रूपमा कसरी भूमिका निर्वाह गर्ने भन्ने कुराहरूमा रहेको छ । यद्यपि यसमा रहेका कमी कमजोरीको बारेमा अघि प्रशस्त आइसकेको छ । २५ जना न्यायधीश थिए । जब संवैधानिक इजलासमा पाँच जना राख्ने ग¥यौं, अनि न्यायधीश संख्या घटाएर २१ बनाइदियौँ । हामी आफूलाई दिएको स्रोत, साधन क्षमता भित्र रहेर हामीले आफ्नो भुमिकालाई कसरी छ प्रभावकारी बनाउन सक्छौँ भन्ने कुरा सायद आज हामी सबैको गम्भीर सरोकार र चिन्ताको विषय हुनुपर्छ र त्यसप्रति न्यायपालिका पनि त्यसरी नै गम्भीर र चिन्तित रहेको छ ।’

उनले भने, ‘म यति कुरा यहाँहरूलाई भन्न चाहन्छु र अहिले जस्तो न्यायिक समितिको विषयमा म सानो जानकारी खाली हाम्रो जिल्ला न्यायधीश ज्यूहरूबाट अनुगमन निरीक्षणको विषय छ । यसमा पनि एकरूपता भएन भन्ने हिसाबले हाल सालै त्यसमा एउटा निर्देशिकाहरूको मस्यौदा भइराखेको छ। सायद निकट भविष्यमै यसलाई सरसातको फुलकोटबाट पारित गरेर एउटा निरीक्षणबाट जाँदाखेरी के हेर्ने र न्यायिक समितिहरूले कसरी गर्ने भन्ने विषयहरूमा एउटा निर्देशिकाहरू बनिराखेको विषय पनि म जानकारी गराउन चाहन्छु र त्यो निर्देशिका निर्माणका क्रममा धेरै ठाउँमा न्यायिक समितिका पदाधिकारी ज्यूहरूसँग उहाँहरूसँग बोल्यौँ, परामर्श उहाँहरूको सुझाव र त्यसमा बढी आधारित छ र त्यो कुरामा पनि म जानकारी गराउन चाहन्छु । अन्त्यमा फेरि पनि यो न्यायपालिका यो हामी यो कस्तो हुँदो रहेछ भने हामी एकदम गौरव साथ भन्ने गर्छौं ।’

न्यायिक समितिहरूको अनुगमन र निरीक्षणमा एकरूपता ल्याउन हालै निर्देशिकाको मस्यौदा तयार भइरहेको जानकारी दिँदै श्रेष्ठले यसमा न्यायिक समितिका पदाधिकारीहरूको सुझाव समावेश गरिएको उल्लेख गरे । यो निर्देशिका चाँडै सर्वोच्च अदालतको पूर्ण बैठकबाट पारित हुने अपेक्षा गरे । न्यायपालिकाका कमी कमजोरीहरू स्वीकार गर्दै उनले यसलाई प्रभावकारी बनाउन सबै पक्षको गम्भीर सरोकार आवश्यक रहेको बताए ।

नेपालको न्यायपालिका विकास विरोधी छैन : न्यायाधीश ढुंगाना

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले नेपालको न्यायपालिका विकास विरोधी नभएको स्पष्ट पारेका छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समय समयमा अदालत विकास विरोधी भयो कि भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उनले न्यायालयले विकास निर्माणसम्बन्धी मुद्दामा विषेश ध्यान दिने गरेको जिकिर गरे ।

उनले स्थानीय तह तथा प्रदेश सरकारमा सञ्चालित विकास निर्माणसम्बन्धी मुद्दाहरुलाई फास्ट ट्रयाकमा अघि बढाउने गरेको बताउँदै बढीमा एक वर्षभित्र अन्तरिम आदेश दिने गरेको बताए । यस्ता मुद्दामा अदालतले विपक्षी निकायहरूको भनाइ नसुनी कुनै पनि अन्तरिम आदेश दिने नगरेको उनको भनाइ छ । उनले स्थानीय तह र प्रदेश तथा स्थानीय तहबीच देखिने राजनीतिक सहकार्य र समन्वयसम्बन्धी समस्या आपसी समझदारीमै टुंग्याउनुपर्ने बताए ।

उनले भने, ‘अदालत कतै विकास विरोधी त भएन भन्ने प्रश्न संसदीय समितिमा उठेको थियो । त्यसपछि अदालतले निकै ध्यान दिएको छ । यस्ता मुद्दाहरु अहिले ६ महिनादेखि १ वर्षसम्म सुनुवाई गर्ने गरेका छौँ । सर्वोच्च अदालतमा पनि हामी हरेक दिन विशेष कोर्टमार्फत यस्ता काम कारबाही गरिरहेका छौं । हामीले विपक्षी निकायहरुको कुरा नसुनिकन हामी कुनै पनि अन्तरिम आदेश दिने गरेका छैनौँ । स्थानीय तह विपक्षी भएका निवेदनमा कानूनी प्रतिरक्षा कमजोर भएको मैले महसुस गरेको छु ।’ उनले स्थानीय तहमा गठित न्यायिक समिति अदालतका लागि महत्वपूर्ण सरोकारको विषय भएको भन्दै आवश्यक सहकार्य गरेर अघि बढ्न न्यायपालिका तयार रहेको पनि बताए ।

 

करमा आधारित विकासले जनतामा असहजता बढायो : वरिष्ठ न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले अदालतले विकास रोकेको नभई दिगो र वातावरणमैत्री विकासलाई प्रोत्साहन गर्दै आएको बताएकी छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संविधानअनुसार विकाससँगै वातावरण संरक्षण अनिवार्य रहेको स्पष्ट पारिन् ।

वातावरणीय सन्तुलनमा असर पार्ने किसिमको विकासका पक्षमा अदालत उभिन नसक्ने उनको भनाइ छ । उनले स्थानीय तह र प्रदेश सरकारले विकास निर्माणका कामहरु गर्दा पर्यावरणमा पर्नसक्ने असरहरुको बारेमा गम्भीर हुन जरुरी रहेको बताइन् । उनले स्थानीय तहले अत्यधिक कर लिने गरेको विषयमा अदालतमा धेरै निवेदन आउने गरेको उल्लेख गर्दै उनले करमा आधारित विकासले जनतामा असहजता सिर्जना गरेको बताइन् ।

उनले करमा आधारिक मोडेलको विकासमा जाने कि आफूसँग उपलब्ध स्रोतको उपयोग गरेर विकासका कामहरु अगाडि बढाउने ? भन्दै स्थानीय तहहरुलाई प्रश्न गरिन् । उनले जेनजी आन्दोलनको क्रममा भएको आगलागीका कारण सर्वोच्च अदालतमा संवैधानिक इजलासलाई प्रभावकारीता तरिकाले बढाउन समस्या भइरहेको पनि बताइन्।

उनले भनिन्, ‘संविधानले विकास र पर्यावरणलाई संरक्षण गर्नुपर्ने भनेको छ । अदालतले विकास रोकेको छैन । अदालतले पर्यावरणीय सन्तुलन राख्ने अदालतलाई हेर्नुपर्छ । यदि त्यस्तो असरहरु पर्छ भने त्यसमा हामीले गम्भीर हुनुपर्छ । वातावरणमैत्री विकासले नहुँदा हुने विकासेल गम्भीर असरहरु पार्छ जुन हामी सुधार गर्नै सक्दैनौँ । जहाँ यस्तो असर पर्दैन त्यस्तो विकसलाई स्थानीय तहले लैजान सक्छ ।’

उनले भनिन्, ‘तर वातावरणलाई नै हार्म गर्ने विकासको पक्षमा अदालत उभिन सक्दैन । हामी हरेक किसिमका विकासलाई रोकेका छैनौँ । तर दीगो विकासलाई प्रोत्साहन गर्नु अदालतको दायित्व हो । अहिले स्थानीय तहले कर धेरै लिएका निवेदनहरु धेरै आइरहेको छ । तपाईहरु खाली करमा आधारित विकासमा लागिरहनु भएको छ । तपाईहरुले करमा आधारित विकासमा जाने कि आफ्नो स्रोतको आधारमा विकास निर्माणमा जाने ? यसले जनतामा समेत असहजताको अनुभूति भएको अवस्था छ । संघीय कानूनलाई समेत हेरेर स्थानीय तहले कानून निर्माणमा पनि जानुपर्‍यो । संविधानको कुनै एउटा धारा मात्र हेरेर नजानुहोस् भन्ने मेरो आग्रह छ ।’ उनले जेन–जी विद्रोपछि उत्पन्न समस्याका बाबजुद न्यायपालिका प्रभावकारी ढंगले अगाडि बढ्न प्रयत्नरत रहेको बताइन् ।

 

कर्नाटकमा बस र लरी ठोक्किँदा ११ जनाको मृत्यु

काठमाडौँ । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी (इन्धन बोकेको ट्रक) ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो । दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ । ठक्करपछि बसमा आगो लागेको थियो । बसमा ३२ यात्रु सवार थिए । हालसम्म ११ शवको पहिचान भएको र सबै घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । दुर्घटनापछि बस पूर्ण रूपमा क्षति भएको छ ।

राष्ट्रिय राजमार्ग ४८ मा रहेको गोर्लाथु गाउँ नजिकै दुर्घटना भएको सञ्चारमाध्यम द स्टेट्मेन्ट्सले लेखेको छ । समाचार अनुसार ट्रक सडकको डिभाइडरमा ठोक्किएर उफ्रिएको थियो र आउँदै गरेको बसमा ठोक्कियो । ठोक्किँदा आगो लाग्यो र धेरै यात्रुहरू जिउँदै जले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । एक्समा पोस्ट जारी गर्दै प्रधानमन्त्री कार्यालयले ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँको अनुग्रह राहत घोषणा गरेको छ भने घाइतेहरूलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्रधानमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

रवि लामिछानेलाई चुनावी तालमेलको प्रस्ताव गरिएको छैन : प्रचण्ड सचिवालय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चुनावी तालमेलको प्रस्ताव गरिएको भन्ने समाचारको औपचारिक रूपमा खण्डन गरेको छ । बिहीबार केही अनलाइन सञ्चारमाध्यममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपाका सभापति रवि लामिछानेसँग चुनावी गठबन्धनको प्रस्ताव राखेको भन्दै समाचार प्रकाशित भएको थियो । उक्त समाचार पूर्णतः असत्य र भ्रामक रहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको हो ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले सो समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भने, ‘चुनावी सहकार्यका सन्दर्भमा पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले रास्वपासँग कुनै किसिमको कुराकानी गर्नु भएको छैन ।’ सचिवालयले सम्बन्धित पक्षसँगको आधिकारिक पुष्टिबिनै एकपक्षीय ढंगले प्रवाह गरिएका यस्ता ‘झुटा’ समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

क्रिकेट खेलाडी मिनष थापाको दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । २७ वर्षीय थापाको आज बिहान भएको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी विराटनगर बासिन्दा हुन् । विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश चोक जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

बिहान करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका निम्ति कोशी अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एसपी कवित कटवालले जानकारी दिए । उनी कोशी प्रदेशबाट क्रिकेट खेल्दै आएका थिए । उनी ब्याट्सम्यानका रूपमा चिनिन्थे।

रवि–बालेन भेटपछि झन बढेको हो दूरी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग प्रधानमन्त्रीको उम्मेदवारी र शक्ति बाँडफाँटमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नै राजनीतिक बाटो रोज्ने संकेत गरेका छन् । निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’ लाई अगाडि बढाउने तयारीमा उनी खुलेर लागेका छन् ।

सोमबार राति रवि र बालेनबीच करिब छ घण्टा लामो छलफल भए पनि ठोस सहमति बनेन । बालेन पक्षका अनुसार रविले पार्टी संरचना र नेतृत्वमा सम्मानजनक भूमिका नदिने, बरु साधारण सदस्यका रूपमा आउन सुझाव दिएको भन्दै असन्तुष्टि बढेको हो । त्यसमाथि चितवन पुगेका रविले बाहिर दिएको अभिव्यक्तिले ‘भित्र एक, बाहिर अर्को’ व्यवहार देखिएको ठहर बालेनले गरेका छन् ।

बालेनको स्पष्ट अडान छ–आउँदो निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सुनिश्चितता भए मात्र सहकार्य सम्भव छ । यही बटमलाइन स्वीकार नहुने देखिएपछि उनले ‘देश विकास पार्टी’ लाई सक्रिय रूपमा अघि बढाउने निष्कर्ष निकालेका हुन् । लौरो चुनाव चिह्नबाट काठमाडौँ महानगर जितेका बालेनले सोही चिह्न रहेको पार्टी अब आफ्नो राजनीतिक प्लेटफर्म हुने बताएका छन् ।

यसै सन्दर्भमा बालेनले पछिल्ला दिनहरूमा राजनीतिक भेटघाट तीव्र पारेका छन् । कांग्रेस नेता चन्द्र भण्डारीदेखि राप्रपाका ज्ञानेन्द्र शाही, नाउपाका रेशम चौधरी, जनमत पार्टीका सीके राउत, चिकित्सक भगवान कोइराला, जेनजी अभियानका प्रतिनिधि तथा कलाकार निश्चल बस्नेतसम्मसँग उनले छलफल गरेका छन् । भेटघाटको केन्द्र ललितपुरस्थित आफ्ना निकट सहयोगीको निवास बनाइएको छ ।

बालेनले छलफलमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीप्रति आफ्नो धारणा पनि स्पष्ट पारेका छन् । संविधानभित्रै रहेर सामान्य संशोधन सम्भव भए पनि एक व्यक्तिमा अत्यधिक शक्ति केन्द्रित हुने व्यवस्थाले देशको भूराजनीति र सुशासनलाई जोखिममा पार्ने निष्कर्षमा आफू पुगेको उनले बताएका छन् । उनका अनुसार अबको बहस सुशासन र विकासमा केन्द्रित हुनुपर्छ ।

देश विकास पार्टीका नेताहरूले बालेनलाई नेतृत्व दिन खुला रहेको बताएका छन् । पार्टीभित्र अध्यक्षदेखि जुनसुकै जिम्मेवारी दिन सकिने भन्दै छलफल भइरहेको छ। समानुपातिक उम्मेदवारको सूची तयारी समेत सुरु भइसकेको बालेन निकट स्रोतको भनाइ छ । यद्यपि बालेनले रास्वपासँगको ढोका पूर्ण रूपमा बन्द गरेका छैनन् । ‘आफ्नो तयारी गरौँ, तर सम्भावना खुला राखौं” भन्ने रणनीतिमा उनी छन् । तर सम्मानजनक प्रस्ताव नआए ‘देश विकास पार्टी’ नै उनको मुख्य राजनीतिक सवारी बन्ने संकेत स्पष्ट देखिएको छ ।

सिरहामा बालिका हत्या : तीन सातासम्म भएन दोषीको पहिचान

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि  प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ ।
गत मंसिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो । घटनापछि हालसम्म मुख्य अभियुक्त पत्ता नलाग्दा पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।
मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताइन् । उनले भनिन्, ‘छोरी गुमाएको पीडा त छँदैछ, तर दोषी नसमातिँदा झन् ठूलो अन्याय भएको महसुस भइरहेको छ । पहुँच भएकाहरूको कुरा तुरुन्तै सुनिन्छ, हामी जस्ताको आवाज कसैले सुन्दैन ।’
स्थानीयका अनुसार बालिकाको शव अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । यस विषयमा कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरीको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै भने, ‘तीन साता बितिसक्दा दोषीको पहिचान नहुनु गम्भीर विषय हो । दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउनु पर्छ ।’
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले अनुसन्धान जारी रहेको बताए । यस विषयमा उनले प्रष्ट पार्दै भने, ‘घटनाको प्रकृति गम्भीर भएकाले विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । प्रमाणका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयासमा छौँ ।’ दोषी पक्राउको माग गर्दै स्थानीयले आन्दोलन समेत गरेका थिए ।

भेडापालक किसानलाई निसीखोला गाउँपालिकाको अनुदान

ढोरपाटन (बागलुङ), १० पुसः बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ । परम्परागत रुपमा भेडापालन गर्दै आएका किसानलाई गाउँपालिकाले आधुनिक खोर व्यवस्थापनसहित अनुदान उपलब्ध गराउन थालेको हो । उच्च पहाडी क्षेत्रमा पालन गर्दै आएका भेडाको बजारीकरण र औषधि उपचारका लागि पनि पालिकाले सहयोग गर्न लागेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ र ६ का सयौँ किसान भेडापालनमा आबद्ध छन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बस्ने किसानले अव्यवस्थित रुपमा भेडापालन गर्दै आएको हुँदा व्यवस्थित गराउन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले बताउनुभयो । यस वर्ष गाउँपालिकाले भेडाका लागि खोप, खानेपानी व्यवस्थापन औषधिसहित सोलार बत्ती र गोठ निर्माणका सामग्री उपलब्ध गराउने उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले रु एक करोड १२ लाख बजेट विनियोजन गरेर भेडापालक किसानका लागि काम गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत पुन मगरले बताउनुभयो । पालिकाले परम्परागतसँगै नयाँ प्रविधिसँग किसानलाई जोड्ने गरी काम गर्न थालेको उहाँको भनाइ छ । पालिकाले किसानलाई अनुदानका लागि प्रस्ताव आह्वान गरिसकेको पुन मगरले बताउनुभयो ।

“निसीखोलामा धेरै किसान भेडापालनमा आबद्ध हुनुहुन्छ, उहाँहरु वर्षभरि धेरै ठाउँमा पुगेर भेडा पाल्नुहुन्छ, उहाँहरुका अनगिन्ती समस्या छन्, ती समस्याहरुलाई पालिकाले सम्बोधन गर्नुपर्छ भनेर यसपालि भेडासहित किसानको औषधि उपाचार, खोर निर्माण लगायतका काम गर्दैछौँ”, उहाँले भन्नुभयो, “घुम्ती चरनका लागि किसानहरु धेरै ठाउँमा पुग्दा गोठ सार्दा समस्या हुने गरेको छ र खानेपानीको पनि अभाव हुने हुँदा त्यसको व्यवस्थापन गर्ने योजना छ, बजारीकरणका लागि पनि गाउँपालिकाले पहलकदमी चाल्ने छ ।”

किसानले समूह र व्यक्तिगत फर्मबाट प्रस्ताव पेस गर्न सक्ने छन् । निसीखोला गाउँपालिका–६ का भेडापालक किसान थमबहादुर घर्ती मगरले पालिकाबाट खोप र औषधि पाए भेडालाई रोगबाट बचाउन सकिने बताउनुभयो । हरेक वर्ष विभिन्न रोगबाट भेडा मर्दा लाखौँको क्षति बेहोर्दै आएको उहाँको भनाइ छ । अहिलेसम्म पालिकाबाट कुनै पनि सेवा नपाएको घर्ती मगरको गुनासो छ ।

उहाँले भन्नुभयो, “गाउँपालिकाले गोठ बनाइदिन्छ, औषधि र खोप पनि दिन्छ भन्ने सुनेको छु, यसपालि त हामीहरुले पनि पाउँछौँ कि, बर्खाको चार÷पाँच महिना लेकमा बस्दा धेरै समस्या हुने गरेको छ, अँध्यारोमा बस्नुपर्छ, गोठ पनि गतिलो हुँदैन, त्यसका लागि राम्रो त्रिपाल, सोलार बत्ती दिए धेरै सहज हुन्थ्यो, दिन्छन् भन्ने आश त लागेको छ ।”

अर्का किसान नरेन्द्र बुढा मगरले पालिकाले लेकको विभिन्न स्थानमा व्यवस्थित घुम्ती गोठ बनाइदिए सहज हुने बताउनुभयो । बर्खामा रोल्पा, रुकुम र बागलुङको सीमा क्षेत्रमा बस्दा निकै जाडो हुने भन्दै चिसोका कारण भेडाहरु मर्ने गरेको उहाँको भनाइ छ ।

तनहुँमा ५९ हजार कुखुराको बिमा

दमौली (तनहुँ), १० पुसः तनहुँमा ७१ हजारभन्दा बढी पशुको बिमा गरिएको छ । जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरु पशु बिमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी कुखुराको बिमा ५९ हजार ९५९ कुखुराको गरिएको छ ।

त्यस्तै एक हजार ७४२ गाई, ७४० भैँसी, एक हजार ५८१ बाख्रा, ६९६ बङ्गुर, छ हजार ५०० माछाको बिमा गरिएको छ । बिमा गरिएको पशुको मूल्य रु २९ करोड ७५ लाख ४० हजार रहेको छ । त्यसमध्ये गाइको रु १५ करोड ६७ लाख ८० हजार, भँैसीको रु छ करोड ६६ लाख, बाख्राको रु एक करोड ५८ लाख दश हजार, बङ्गुरको रु एक करोड ७४ लाख, कुखुराको रु चार करोड ४३ लाख छ हजार, माछाको रु ५१ लाख चार हजार मूल्य रहेको छ ।

बिमा गरिएकोमध्ये गाईमा रु १५ लाख ६७ हजार कृषकले बेहोरेका छन् । यस्तै भैँसीमा रु छ लाख ६६ हजार, बाख्रामा रु एक लाख ५८ हजार, बङ्गुरमा रु एक लाख ७४ हजार, कुखुरामा रु तीन लाख ४४ हजार, माछामा रु आठ हजार कृषकले बेहोरेका छन् ।

तनहुँमा ४९ हजार ७४२ गाई, ५३ हजार ३८३ भँैसी, तीन लाख ८८ हजार १७६ बाख्रा, ७२३ भेडा, सुँगुर बुङ्गुर ४६ हजार ८१३, कुखुरा नौ लाख ९८ हजार ९३६, हाँसको सङ्ख्या ११ हजार ९८७ रहेको कार्यालयले जननाएको छ । दुधालु गाइको सङ्ख्या १३ हजार ९४२, दुधालु भैँसीको सङ्ख्या २१ हजार ५०३ रहेको छ ।

मुगुमा भाइरल ज्वरोको प्रकोपबाट एक वडाका पाँचको मृत्यु, विशेषज्ञ टोली पठाउन माग

मुगु । मुगुमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट १७ दिनमै एकै वडाका पाँच जनाको ज्यान गएको छ । राराछायाँनाथ–१२ बामगाउँका पाँच जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये शिशु र साना बालबालिका छन् । अस्पतालमा बिरामीको चापले स्थिति नियन्त्रण बाहिर गएको भन्दै युवाहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमसमक्ष २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् ।

स्थानीय युवा आशिष देवकोटाका अनुसार मुगु जिल्ला अस्पतालको कमजोर अवस्था र दिनानु दिन बढ्दो बिरामीको चापले स्थिति नियन्त्रण बाहिर जाने अवस्था छ । मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जासम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन् । तर अस्पतालमा जम्मा ५० शैंया छन् । लामो समयदेखि एक्स–रे मेशिन बिग्रिएको छ । आवश्यक औषधि र मेडिकल उपकरणको अभाव छ । अक्सिजन प्लान्ट समेत सञ्चालनमा छैन ।

‘गम्भीर अवस्थाका बिरामीको उपचारमा ठूलो समस्या छ’, देवकोटाले भने । युवाहरूले मन्त्रीलाई बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउन, बिग्रिएको अक्सिजन प्लान्ट र एक्स–रे मेशिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न माग गरिएको छ । हालको ५० शैंया क्षमतालाई आपतकालीन रूपमा आईसीयू सेवासहित कम्तीमा १०० शैंयामा विस्तार गर्नुपर्ने माग गरिएको छ ।

२०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला÷हैजाको महामारीको स्मरण गराउँदै युवाहरुले समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने मन्त्रीसमक्ष माग गरेका छन् । ‘कर्णालीले सधैँ सहेर बाँच्न सिकेको छ, तर सहनशीलताको पनि सीमा हुन्छ,’ उनीहरूले भनेका छन् ।
मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य स्वास्थ्य समस्या नभई राज्यको संवेदनशीलता र जवाफदेहिताको परीक्षा बनेको भन्दै ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न स्थानीयले सरकारसँग जोडदार माग गरेका छन् ।

सञ्चारमन्त्री र सञ्चारकर्मी आमनेसामने (तस्बिरहरु)

नेसनल प्रेस क्लब नेपालले बुधबार आयोजना गरेको सञ्चारमन्त्रीसँग सञ्चारकर्मी कार्यक्रममा मन्त्री खरेल सञ्चारकर्मीहरुका प्रश्नले घेरिए । क्लको कार्यालय अनामनगरमा भएको अन्तरक्रियामा सञ्चारकर्म गरेरै मन्त्रालय तहमा पुगेका खरेलले विगतको आफ्नो अनुभव समेतलाई जोडेर पत्रकारका प्रश्नहरूको जवाफ दिए ।

उनले पत्रकारको सुरक्षा र हकहितका लागि आफूले गर्नसक्ने प्रयास गर्ने बताए । ‘पहिलो त तपाईंहरूले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ,’ मन्त्री खरेलले सञ्चारकर्मीहरूलाई भने, ‘तर, राज्य छ । राज्यले तपाईंहरूलाई सकेको सहयोग गर्छ । फेरि पनि अर्को पत्रकार सुरेश रजक बन्नु नपरोस्।’

कार्यक्रममा समाजिक सञ्जाल नियमन, सञ्चारकर्मीको हकहितका विषय, सरकारको १०० दिनको प्रगति, फागुन २१मा तोकिएको चुनावको तयारी तथा जेनजी आन्दोलनका बारेमा छलफल भएको थियो । सञ्चारमन्त्री खरेललाई नेसनल प्रेस क्लबकी अध्यक्ष मोनिका सिंहले स्वागत गरेकी थिइन् ।

दुई राप्रपाबीच एकताको सम्झौता, लिङ्देन र थापाले खुशी हुँदै मारे अँगालो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले आइतबार काठमाडौंको धुम्बाराहीस्थित राप्रपा कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण प्रक्रिया अघि बढाएका हुन्।

दुई वाक्य मात्र समेटिएको सहमतिपत्रमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने र त्यसको औपचारिक घोषणा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा गर्ने उल्लेख छ । सहमतिपत्रमा हस्ताक्षरपछि दुवै नेता खुशी हुँदै एक–अर्कालाई अंकमाल गरेका थिए ।

एकतापछि पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन रहने सहमति भएको छ भने कमल थापालाई पूर्व अध्यक्षको हैसियत प्रदान गरिनेछ । लामो समयदेखि विभाजित रहेको राप्रपाको दुई धार पुनः एक ठाउँमा आउनुलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ ।

२०७८ माघ २५ गते कमल थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । त्यसअघि मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा उनी अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । थापाले निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । तर, त्यसमा सहमति नजुटेपछि उनी अलग भएर राप्रपा नेपाल गठन गरेका थिए ।

करिब चार वर्षपछि दुई पार्टीबीच पुनः एकताको सहमति जुटेपछि राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा बोकेको राप्रपाको शक्ति एकीकृत हुने अपेक्षा गरिएको छ । पुस १६ गते हुने एकता घोषणासभालाई दुवै पक्षले भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेका छन् ।

सम्पत्ति विवरण बुझाएका छौं, नियमावलीका कारण सार्वजनिक गर्न मिलेन: सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार मन्त्री जगदिश खरेलले मन्त्रिपरिषदका सबै सदस्यले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाए पनि नियमावलीका कारण सार्वजनिक गर्न नसकिएको तर्क गरेका छन् । नेसनल प्रेस क्लब नेपालले अनामनगरमा आयोजना गरेको ‘संचारमन्त्रीसङ्ग संचारकर्मी’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री खरेलले उक्त दाबी गरेका हुन् ।

जेन-जी आन्दोलनको जगमा बनेको सरकारले सय दिनमा मात्रै ४० भन्दा बढी ठूला भ्रष्टाचारका मुद्दा अदालतमा लगेको दाबी गरेका छन् ।

‘ अहिलेको सरकार इतिहासकै शसक्त नगरिक सरकार हो । यो सरकार बनेको १०० दिनमा अहिलेसम्म ४० भन्दा बढी ठूला भ्रष्टा‍चारका मुद्दा अदालतमा पुगेका छन्,’ उनले भने ‘ वर्तमान सरकार सुशासनको लागि बनेको हो। हामी भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्द भएर लागेका छौ‌ं।’

कार्यक्रममा आगामी फागुन २१ मा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सरकारको तयारी, सरकार बनेपछिको सय दिनको समिक्षा, सामाजिक सञ्जाल नियमन र नेपालमा सञ्चार क्षेत्रमा रहेका चुनौती र अवसर लगायतका अरु विभिन्न समसामयिक विषयहरुमा अन्तरक्रिया भएको थियो ।

सामाजिक संजाल नियमन कि नियन्त्रण भन्ने विषयमा बोल्दै मन्त्री खरेलले अब नेपालमा कहिल्यै पनि सामाजिक संजाल बन्द नहुने बताए । ‘ सामाजिक संजाल नियन्त्रण होइन, सरकारले नियमन गर्छ’, उनले भने ‘ सरकारले सामाजिक सञ्जाल माथि कुनै पनि किसिमको हस्तक्षेप गर्नु हुँदैन । आइन्दा नेपालमा कहिल्यै पनि सामाजिक सञ्जाल बन्द गरिने छैन । सामाजिक सञ्जाल नियमन गर्दा आम जनताको सर्वोपरी हितलाई केन्द्रमा राखिनुपर्छ ।’

मन्त्री खरेलले सरकारले आफ्नो कार्यकालका सय दिनमा थुप्रै महत्वपूर्ण हासिल गरेको दाबी पनि गरेका छन् । ‘ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि देशमा उत्पन्न भएको डर, त्रासको अन्त्य गर्न अहिलेको सरकार सफल भएको छ। ‘, उनले भने ‘सय दिनको अवधीमा सबै राजनैतिक दललाई चुनावमा ल्याउने वातावरण बनाएको छ। अहिले तिव्र रुपमा चुनावको तयारी पनि भईरहेको छ। सबै सुरक्षा निकायहरुको गुमेको मनोबल बढाउन पनि हामी सफल भएका छौ।’

नेपालमा सञ्चार क्षेत्रमा रहेका चुनौती र अवसर भन्ने विषयमा बोल्दै मन्त्री खरेलले निष्पक्ष र निडर भएर काम गर्न कार्यक्रममा उपस्थित संचारकर्मीलाई सुझाव दिए । ‘ संचार माध्यमहरुले काम गर्दै गर्दा चारवटा कुरामा ध्यान दिनुपर्छ’, उनले भने ‘ कन्टेट, प्रिजेन्टेसन, टेक्नोलोजी, इक्विपमेन्ट र एक्सेस।’

अन्तरक्रिया कार्यक्रममा ३० भन्दा बढी सञ्चारमाध्यमबाट ५० भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता थियो ।

आयोगले बोलाउँदा बयान दिन नआए सरकारले वातावरण बनाइदिन्छ: सञ्चार मन्त्री खरेल

काठमाडौँ । सुचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले बयान दिन नआउने जो सुकैलाई बयानमा ल्याउन सरकारले आफ्नो अधिकार प्रयोग गर्ने बताएका छन् ।

‘पहिले विधि र प्रणाली नमान्दा पनि हुन्थ्यो होला,´ नेसनल प्रेस क्लबले अनामनगरमा गरेको अन्तरक्रियामा बोल्दै मन्त्री खरेलले भने,  `तर अहिलेको सरकार विधि र प्रणालीलाई संस्थागत गर्न बनेको हो । आयोगले आफ्नै ढंगले काम गरिरहेको छ । आयोगको काम पनि अन्तिम चरणमा छ।

बयान लिन बाँकी रहेका कोही पनि व्यक्ति बयान दिन नआएमा आयोग आफैं बयान लिन जाने र  त्यो प्रयासबाट पनि भएन भने सरकारले आफ्नो अधिकार क्षेत्रको प्रयोग गरेर बयानको लागि वातावरण बनाइदिने उनको भयान छ।

जेन-जी आन्दोलन पछि बनेको जाँचबुझ आयोगले पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकबाहेक सबै उच्च पदस्थ व्यक्तिहरुको बयान लिने कार्य सकेको छ। तर, नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीले भने बयान दिन नजाने बताइरहेका छन् ।

 

चुनावको लागि सबै पक्ष तयार छन् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार मन्त्री जगदीश खरेलले सरकार फागुन २१ मै चुनाव गराउन प्रतिबद्ध रहेको बताएका छन् । नेसनल प्रेस क्लब नेपालले अनामनगरमा आयोजना गरेको ‘सञ्चारमन्त्रीसँग सञ्चारकर्मी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खरेलले यस्तो बताएका हुन् ।

मन्त्री खरेलले चुनावको लागि सबै राजनैतिक दलहरु तयार रहेको पनि स्पष्ट पारे । ‘हामीले राजनैतिक दलका पार्टीहरुका कार्यालयमै गएर उहाहरुसँग कुराकानी गरेका छौ । उहाँहरु तयार हुनुहुन्छ ’, उनले भने, `चुनावका लागि तीनवटै सुरक्षा निकायले पनि तिव्र गतिमा काम गरिरहेका छन्।´

कार्यक्रममा सरकारको १०० दिनको समिक्षा, सामाजिक संजाल नियमन कि नियन्त्रण, चुनावको तयारी र सञ्चार माध्यमको भूमिका, नेपाल सञ्चार क्षेत्रका चुनौती र अवसर लगायतका विविध विषयमा अन्तर्क्रियाको थियो ।

लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेसभित्र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगमा उपस्थित भई बयान दिनुपर्ने विषयमा व्यापक छलफल भएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे अनुसन्धानका क्रममा लेखकलाई बयानका लागि बोलाएपछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकमा यो विषय उठाइएको हो ।

सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अधिकांश नेताहरूले लेखकले आयोगमा उपस्थित भएर बयान दिनु नै उपयुक्त हुने धारणा राखेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा आयोगले बयानका लागि बोलाएको विषयमा गम्भीर छलफल भएको थियो। ‘उहाँलाई बयानमा बोलाइएको विषयमा छलफल भयो । अधिकांश नेताहरूले बयानमा जाँदा राम्रो हुन्छ भनेर सुझाव दिनुभएको छ’, उनले पत्रकारहरूलाई बताए ।

केन्द्रीय समिति बैठकमा पनि यही विषय दोहोरिएको थियो । आयोगले औपचारिक रूपमा पत्र पठाएर लेखकलाई बयानका लागि बोलाइसकेको सन्दर्भमा पार्टीभित्र पारदर्शिता र संस्थागत जिम्मेवारी देखिनुपर्ने मत धेरै नेताहरूले व्यक्त गरेका थिए । नेताहरूले आयोगसँग सहकार्य गर्नुले पार्टी र नेताको विश्वसनीयता बढ्ने धारणा राखेका छन् । यद्यपि, कांग्रेसभित्रै केही फरक मत पनि देखिएको छ ।

स्रोतका अनुसार लेखक बयान दिन तयार रहेको मनस्थितिमा भए पनि पार्टी सभापति शेरबहादुर देउवाबाट नजान दबाब परेको दाबी केही नेताहरूले गरेका छन् । यसबारे पार्टीले औपचारिक रूपमा कुनै निर्णय सार्वजनिक नगरे पनि आन्तरिक छलफलले लेखकलाई बयानमा जान सकारात्मक सन्देश दिएको देखिन्छ । आयोगले भदौ २३ र २४ गते भएका घटनाको तथ्य र जिम्मेवारी पहिचान गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरूसँग बयान लिँदै आएको छ । यस्तो अवस्थामा तत्कालीन गृहमन्त्रीको उपस्थितिलाई महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेसभित्र बहुमत नेताहरूले कानून र प्रक्रियाप्रति सम्मान देखाउँदै आयोगसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

 

 

विदेशमा बस्नेले नकारात्मकता फैलाउने मात्रै काम गरे : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरु भए पनि विदेश बस्नेहरुले नकरात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाएका छन् । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवद्र्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले नेपालमा लगानीको ठुलो सम्भावना रहेको भए पनि नेपालमा अब केही सम्भावना छैन भन्ने गलत भाष्य खडा गर्न खोजिएको बताए ।

नेपाल बाहिर बस्नेहरुले सामाजिक सञ्जालमा नकारात्मक भावना फैलाएको उनको भनाई छ । उनले नकरात्मकतालाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले आन्तरिक पुँजी परिचालन गरेर नेपालमा धेरै परियोजनाहरु सञ्चालन गर्न सकिने बताए । महासंघले आन्तरिक पुँजी परिचालन गर्नकै लागि १० अर्व रुपैयाँ बराबरको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेडको स्थापना गरेको पनि जानकारी दिए । कम्पनीले ईनोभेट तथा नयाँ स्टार्टअपहरुमा लगानी गर्ने बताए । अध्यक्ष ढकालले महिलाको सहभागिता बढाउन कानुन र नीतिगत सुधार गरेको पनि बताए ।

उनले भने, ‘नेपालमा धेरै सम्भावनाहरु हुँदाहुँदै हामी नकारात्मक हिसावको मात्रै प्रचार प्रसार गर्‍यौँ । नेपालमा केही सम्भावना छैन । नेपालमा केही भएको छैन भन्ने जुन भाष्य बनाइएको छ, त्यसलाई चिर्न आवश्यक छ । नेपालको आन्तरिक पुँजी परिचालन गरेर पनि केही सक्दैन भन्ने जुन एउटा खास गरेर सामाजिक सञ्जालमा नेपालभन्दा बाहिर बस्नेहरुले नेपालमा सम्भावना छैन भनेर नकारात्मक भाष्य खडा गरिएको छ ।’

उनले भने, ‘नेपालम उद्योग महासंघले निजी क्षेत्रको एडभोकेसी गर्ने, रोजगारी सिर्जना गर्ने संस्था भएकोले हामीले के क्याम्पेन गर्‍यौँ भने नेपालकै पुँजी परिचालन गरेर पनि धेरै ठूला आयोजना गर्न सकिन्छ है भन्ने एउटा म्यासेज दिनु थियो । यसका लागि निजी क्षेत्रका सबै व्यवसायीलाई समेटेर १० अरबको नेपाल डेभलपमेन्ट पव्लिक लिमिटेड भनेर कम्पनी सञ्चालन गर्‍यौँ र त्यो कम्पनीले स्टाटअप लगानीकर्ताहरुलाई ईक्विटीको खाँचो भएमा सहयोग गर्नेछ । यो १० अरको कम्पनी सञ्चालन गरेपछि १० अर्बलाई यदि ईक्विटी मान्ने हो भने करिब ४०(५० अरब बराबरको चाँही परियोजनाहरू हामी आन्तरिक पुँजी परिचालन गरेर गर्न सकिन्छ । विशेष गरी कोरोना महामारीपछि पर्यटन क्षेत्र आन्तरिक रूपमा उल्लेखनीय रूपमा बढेको छ ।’

एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा बुधवार उच्चस्तरीय नीतिगत संवाद आयोजना गरिएको हो । कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवद्र्धनका उपायहरूमाथि छलफल गरिएको छ । कार्यक्रममा होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित पर्यटन जस्ता सुक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय योगदान रहेको विषयमा छलफल भएको थियो ।

प्रदेशको समानुपातिक सूचीका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघको समानुपातिकमा उम्मेदवार हुन चाहेका १९ नेताहरूको नाम प्रदेशबाट हटाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए । यसबारे निर्वाचन आयोगलाई जानकारी गराउने पनि उनले बताएका छन् ।

१५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग
नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी कार्यसम्पदान समितिको बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेको बताए । उनकाअनुसार बैठकमा थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रिय महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । थापाले क्रियाशील सदस्यको काम समयमै नसकिने भएको भन्दै यस्तो प्रस्ताव बैठकमा राखेको प्रवक्ता महतले बताए । बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूचिको कार्य अगाडि बढाउनेबारेमा समेत कुरा राखेको बताए ।

उनले भने, ‘बैठकमा पार्टीको महाधिवशन र क्रियाशील सदस्यताको सम्बन्धमा महामन्त्री ज्यूले ब्रिफिङ गर्नुभयो । समग्रमा कार्यवाहक सभापतिले निर्वाचनका सम्बन्धमा समानुपातिक सूचि पेस गर्नुपर्ने कुरा, राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको सूचि तयार गर्नुपर्ने कुराहरु राख्नुभयो । यसमा अझै काम गर्ने विषय उहाँले राख्नुभयो । अनुशासन समितिका संयाजकले पनि अनुशासन समितिले गरेको कारबाही र समितिमा परेका निवेदनका विषयमा पनि कुरा राख्नुभयो । यसमा केही साथीहरु आज बोल्नु भयो ।’

उनले भने, ‘भोलि फेरि १ बजे कार्यसम्पादन समितिको बैठक बस्छ र महाधिवेशनको कार्यतालिका सम्बन्धमा र समानुपातिक उम्मेदवार र राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल अगाडि बढ्छ । प्रदेश सभाको बन्दसूचीमा रहेका साथिहरुले त्यहाँबाट आफ्नो नाम हटाएर अन्यत्रै जान चाहेका १९ जनाको सूचि बैठकले पास गरेको छ । यसबारे निर्वाचन आयोगलाई जानकारी दिने कुरा भएको छ । महामन्त्रीले वडा र क्षेत्रीय महाधिवेशन गरेर एकैचोटि केन्द्रको महाधिवेशन गर्ने कुरा राख्नु भयो । क्रियाशीलको काम समयमै नसकिने उहाँको भनाइ थियो । त्यसमा अन्य साथीहरुले कार्यतालिकालाई व्यवहारिक हुने किसिमले निर्णय गर्नुपर्ने कुरा राख्नु भयो ।’ कार्यसम्पादन समितिको अर्को बैठक बिहीवार दिउँसो १ बजे बस्ने समेत महतले जानकारी दिएका छन् ।

 

सरकार भेट्न सिंहदरबार जानु पर्थ्याे, अहिले आफै पार्टी कार्यालयमा आयो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताएको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् ।

उनले विगतमा सरकार खोज्दै सिंहदरबार जानुपर्ने अवस्थाको अन्त्य गर्दै अहिले सरकार नै राजनीतिक दलको कार्यालयमा पुग्नु सकारात्मक रहेको बताए । उनले यसले राजनीति र निर्वाचनका लागि वातावरण बनाउने बताए । उनले निर्वाचनको लागि माहोल बनाउने तयारी गरेकोमा सरकारको प्रशंसा गरे । उनले भने, ‘सत्ता पक्ष र सरकारलाई भेट्न सिंहदरबार जानु पर्दथ्यो । अहिले सरकारले पार्टी कार्यालयमा पुगेर राजनीति, सकारात्मक राजनीति र निर्वाचनको वातावरण बनाउन पहल गरिरहनुभएको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । निर्वाचनको लागि माहोल बनाउने काम सरकारले गर्दैछ ।’

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन बाहेक अर्को विकल्प नदेखेको बताए । उनले रास्वपाले एकमत भएर निर्वाचनमा जाने बताएको जानकारी दिए । सरकारले पनि निर्वाचनको तयारीका लागि आवश्यक काम गरिरहेको जानकारी गराउँदै फागुन २१ गतेको निर्वाचन नै अन्तरिम सरकारको अर्जुनदृष्टि रहेको बताए । सरकारको तयारी भन्दाअघि नै रास्वपा निर्वाचनमा होमिएको आभाष भएको जिकिर गरे । निर्वाचन नहुने हो की भन्ने शंका नगर्न पनि उनले आग्रह गरे । इतिहासमै सरकार राजनीतिक दलको कार्यालयमा गएको रेकर्ड नरहेको बताए ।

 

 

खड्का नाम मात्रका कार्यवाहक, शक्ति सबै देउवामै : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाम मात्रको कार्यवाहक दिएर कांग्रेस आफैंले चलाएको आरोप लगाएका छन् । थापाले कार्यतालिका संशोधन गरेर गतिका साथ अगाडि नबढे विशेष महाधिवेशनमा जानुको विकल्प नहुने बताएका छन् ।

बुधबार कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले नाम मात्रको कार्यवाहक दिएर सभापतिले शक्तिको अभ्यास गरिरहेको आरोप लगाएका हुन् । देउवाकै कारण महाधिवेशन प्रभावित भएको उनले बताए । ‘सभापतिजीले कार्यवाहक दिनुभयो, नाम मात्रको कार्यवाहक दिनुभयो । उहाँ यहाँको बैठकमा आउनु भएको छैन बाँकी रहेको शक्ति त्यहीबाट अभ्यास भइरहेको छ,’ थापाले भने । देउवाले असोज २८ गते पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका थिए । महामन्त्री थापाले महाधिवेशन नगरी कांग्रेस चुनावमा जान नसक्ने बताए ।

‘कार्यतालिका संशोधन गरेर गतिका साथ अधिवेशनमा जाने निर्णय भएन भने विशेष महाधिवेशनमा जानुको विकल्प छैन,’ थापाले भने, ‘अधिवेशन नगरी, नयाँ नेतृत्व नछानी पार्टी निर्वाचनमा जान हुँदैन । कांग्रेसप्रति चिन्ता भएका सबैले यो बुझ्नु पर्छ ।’ पुस २६ गतेदेखि गर्ने भनिएको महाधिवेशन समयमा नहुने देखिए पछि कांग्रेसले कार्यसम्पादन समितिमा छलफल शुरू गरेको हो । कांग्रेस कार्यसम्पादन समितिको बैठक बिहीबार पुनः बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

 

सरकार भङ्ग गर्न राष्ट्रपति पौडेललाई विप्लवको १० दिने अल्टिमेटम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले वर्तमान सरकारले जेनजी विद्रोहको भावना अनुरूप काम नगरेको भन्दै सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग नेकपा माओवादीले वर्तमान सरकारलाई भंगगरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुझाएको उक्त ज्ञापनपत्रमा कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गर्न १० दिने ‘अल्टिमेटम’ दिइएको छ । ‘जेनजी विद्रोहको भावनाअनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई गर्नुपर्छ। यदि जनताका भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेनजीका आवाजहरूलाई समयमै सुनिएन भने परिस्थिति फेरी पनि विस्फोटक बन्दैन भनेर भन्न सकिँदैन । तसर्थ परिस्थितिको यो गम्भीरतालाई मध्यनजर गर्दै हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट तत्काल निम्न मागहरू पूरा गरेर मात्र देशलाई सापेक्षिक शान्ति, स्थिरता र निर्वाचनतिर लैजान सकिन्छ भन्ने मान्यताकासाथ महामहिम राष्ट्रपति ज्यू सामु यो ज्ञापन पत्र पेस गरेका छौँ’, ज्ञापनपत्रमामा भनिएको छ । त्यति मात्र नभइ प्रत्यक्ष निर्वाचिन कार्यकारीको व्यवस्था, भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायलय गठन, साम्राज्यवादी साँस्कृतिक हस्तक्षेप बन्द गर्ने लगायतका मागहरु समेत अघि सारेका छन् । साथै आफ्ना मागहरु पूरा नभएमा सडक संघर्षमा जाने चेतावनी समेत दिइएको छ ।

हेर्नुस् विप्लवका मागहरू