`

चुनावको समानान्तर तयारीमा बालेन र रास्वपा, समानुपातिक उम्मेद्वार छान्दै दुवै पक्ष

काठमाडौं। गत सोमबार रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेनद्र शाह (बालेन) बीच भेट भएपछि दुवै मिलेर जाने अपेक्षा गरिएको थियो। झन्डै ७ घण्टा लामो छलफलपछि उनीहरू एउटै गाडीमा निस्किएका थिए । यसअघि एक टेलिभिजन अन्तर्वार्तामा रास्वपा नेता शिशिर खनालले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउन सक्ने बताएका थिए । यसले, रास्वपा र टिम बालेनबीच सहमति भएजस्तो देखिएको थियो ।

मंगलबार चितवन पुगेका रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति भइनसकेको मात्रै बताएनन्, छलफल राजनीतिक चरणमै प्रवेश गरिनसकेको स्पष्ट पारे ।

फागुन २१मा हुने निर्वाचनका लागि समानुपातिक सूची बुझाउने दिन नजिकिँदै जाँदा यी दुईबीच कुरा नमिलेको स्पष्ट भएको छ । दुवै समूहले समानुपातिक उम्मेद्वारको सूची बनाउने समानान्तर तयारी गरिरहेका छन् ।

मेयर शाहले मंगलबारबाटै समानुपातिकतर्फका उम्मेद्वार छनोटको तयारी थालेका छन् । यसका साथै उनले विभिन्न दल, समूह र व्यक्तिहरूसँगको राजनीतिक संवाद समेत अघि बढाएका छन् ।

उनले मंगलबार बिहानैबाट ललितपुरमा रहेको सल्लाहकार कुमार बेनको घरमा भेटघाट गरिरहेका छन् । मंगलबार १० वटा भन्दा धेरै भेटघाट भएको उनका एक सहयोगीले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी देखि नागरिक उन्मुक्ति पार्टी हुँदै जेनजी फ्रन्टका नेताहरूसम्मलाई मंगलबार भेटेका थिए । बुधबार पनि यो भेटघाटको सिलसिला जारी रहने छ ।

भेटघाटसँगै उनीहरूले समानुपातिक सूची पनि तयार पारिरहेका छन् । सार्वजनिक ख्याति कमाएका वा कुनै न कुनै क्षेत्रबाट समाजमा सकारात्मक छवि बनाएका मानिसहरूलाई समेटेर समानुपातिक सूची बनाउने कसरत गरिरहेका छन्, जसमा जेनजी आन्दोलनका अगुवालाई पनि समेटेर लैजाने बताइएको छ । बुधबार दिन भरी मेयर शाहको समानुपातिक उम्मेद्वारका आकांक्षीसँग भेटघाटको कार्यक्रम तय गरिएको उनका एक सहयोगीले बताए ।

‘उहाँले सबै पक्षसँग भेटघाट र संवाद गर्न चाहनुभएको छ,’ ती सहयोगीले भने, ‘आज समानुपातिकका सम्भावित उम्मेद्वारसँग छलफल गर्ने योजना छ । केही सूची बनाएर हामीले नै बोलाएका पनि छौं । कोही आकांक्षी हुनुहुन्छ भने उहाँहरूले आफैं सम्पर्क गरेर आउनुभयो पनि हामी भेटेर कुरा गरिरहेका छौं ।’

रास्वपासँग कुरा नमिलेपछि लौरो चुनावचिन्ह भएको देशविकास पार्टीलाई अगाडि लैजानेगरी बालेनको समूह चुनावको तयारीमा लागेको हो ।

यस्तै, रास्वपाले पनि आजैबाट समानुपातिक उम्मेद्वारको सूची फाइनल गर्न औपचारिक तयारी सुरू गरेको छ । यसअघि नै आकांक्षीहरूबाट आवेदन लिएको रास्वपाले आवेदनमा आएका नामहरूबाट प्राथमिकताका आधारमा छनोट गर्ने छ ।

दुई पक्षले अलगअलग तयारी थालेपछि एउटै पार्टीबाट चुनावमा जाने सम्भावना करिब-करिब सकिएको छ । समानुपातिक सूची बुझाउने अन्तिम दिनसम्म पनि सहमति भएन भने रवि र बालेनका अलगअलग पार्टी चुनावमा सहभागी हुनेछन् ।

बालेनले रक्षा बम, उपार्जुन चाम्लिङ लगायतका जेनजी नेतालाई भित्र्याएर पार्टी बनाउने कसरत गरिरहेका छन् । यस्तै सिके राउत, रेशम चौधरी लगायतसँग सहकार्य गर्ने तयारी गरिरहेका छन् भने कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पनि सहकार्यका लागि सकारात्मक रहेको बताएका छन् । यस्तै राप्रपा नेता ज्ञानेन्द्र शाहीलाई पनि आफ्नो पार्टीमा भित्र्याउने तयारी गरिरहेका छन् ।

वैकल्पिक र नयाँ शक्तिहरूसँग सहकार्य गरेर रास्वपालाई एक्ल्याउने रणनीतिमा बालेन देखिन्छन् । यसले, रास्वपामाथि सहकार्यका लागि दबाव सिर्जना हुनेछ ।

मुद्दा छिटो किनारा लगाउन प्रक्रियागत चुनौतीहरू छन् : न्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले न्यायपालिकाले मुद्दाहरूलाई छिटो किनारा लगाउने प्रयास गरिरहेको बताएका छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । तर प्रक्रियागत कारणले गर्दा ढिलाइ हुने गरेको स्वीकार गरे । न्यायपालिकाको भूमिका, मुद्दाको प्रक्रिया र संघीय प्रणालीको प्रवद्र्धनबारे छलफल गर्दै उनले न्यायपालिकालाई संविधानको संरक्षकको रूपमा प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको जोड दिए।

न्यायाधीश श्रेष्ठकाअनुसार अदालतले मुद्दाको प्रकृति र उपलब्ध जानकारीलाई हेरेर प्राथमिकता दिने गर्छ । जसले गर्दा केही मुद्दा तीन महिनाभित्रै फैसला हुने गरेका छन् । हालैको तथ्यांकअनुसार कम्तीमा १५० मुद्दा तीन महिनाभित्र फैसला भएका छन् । तर सात वर्ष पुराना मुद्दाहरू पनि बाँकी छन् । यसको कारण प्रक्रियागत जटिलता र स्रोत साधनको कमी भएको उनले उल्लेख गरे । न्यायाधीश संख्या २५ बाट घटेर २१ भएको र मुद्दाको संख्या ९–१० हजारबाट बढेर २६–२७ हजार पुगेको अवस्थामा न्यायपालिकालाई दोष मात्र दिन नहुने उनको छ । संघीय प्रणालीमा अवशिष्ट अधिकार संघमा राखिएको नेपाली अभ्यासलाई अन्य देशहरूसँग तुलना गर्दै उनले न्यायपालिकाको भूमिकालाई संवैधानिक सर्वोच्चता र स्वतन्त्रताको संरक्षणमा केन्द्रित गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी एउटा अहिले जुन किसिमको प्रणालीमा छौँ । अघि श्रीमानले भन्दै हुनुहुन्थ्यो हामी संविधानवाद, संवैधानिक सर्वोच्चता र संवैधानिक स्वतन्त्रताको संरक्षकको रूपमा न्यायपालिका यो नेपालले मात्रै गरेको होइन । सबै ठाउँमा गरेको हो । अघि यहाँहरूले भन्दै हुनुहुन्थ्यो हामी संघीयता अपनाउने अवशिष्ट अधिकार संघमा राख्ने । अब त्यो त हाम्रो विषय भएन । धेरै ठाउँमा कतिपय अमेरिकामा अवशिष्ट अधिकार राज्य राज्यहरूमा छ । यहाँ अवशिष्ट अधिकार संघमा राखेको छ ।’

उनले भने, ‘विभिन्न देशका आफ्ना–आफ्ना अभ्यासहरू छन् । तथापि हाम्रो न्याय प्रणालीको, हाम्रो न्यायपालिकाको भूमिका भनेको अहिलेको संघीय प्रणालीलाई कसरी प्रवद्र्धन गर्ने ? यसलाई कसरी प्रभावकारी बनाउने र साथसाथै हामी संविधानकै संरक्षकको रूपमा कसरी भूमिका निर्वाह गर्ने भन्ने कुराहरूमा रहेको छ । यद्यपि यसमा रहेका कमी कमजोरीको बारेमा अघि प्रशस्त आइसकेको छ । २५ जना न्यायधीश थिए । जब संवैधानिक इजलासमा पाँच जना राख्ने ग¥यौं, अनि न्यायधीश संख्या घटाएर २१ बनाइदियौँ । हामी आफूलाई दिएको स्रोत, साधन क्षमता भित्र रहेर हामीले आफ्नो भुमिकालाई कसरी छ प्रभावकारी बनाउन सक्छौँ भन्ने कुरा सायद आज हामी सबैको गम्भीर सरोकार र चिन्ताको विषय हुनुपर्छ र त्यसप्रति न्यायपालिका पनि त्यसरी नै गम्भीर र चिन्तित रहेको छ ।’

उनले भने, ‘म यति कुरा यहाँहरूलाई भन्न चाहन्छु र अहिले जस्तो न्यायिक समितिको विषयमा म सानो जानकारी खाली हाम्रो जिल्ला न्यायधीश ज्यूहरूबाट अनुगमन निरीक्षणको विषय छ । यसमा पनि एकरूपता भएन भन्ने हिसाबले हाल सालै त्यसमा एउटा निर्देशिकाहरूको मस्यौदा भइराखेको छ। सायद निकट भविष्यमै यसलाई सरसातको फुलकोटबाट पारित गरेर एउटा निरीक्षणबाट जाँदाखेरी के हेर्ने र न्यायिक समितिहरूले कसरी गर्ने भन्ने विषयहरूमा एउटा निर्देशिकाहरू बनिराखेको विषय पनि म जानकारी गराउन चाहन्छु र त्यो निर्देशिका निर्माणका क्रममा धेरै ठाउँमा न्यायिक समितिका पदाधिकारी ज्यूहरूसँग उहाँहरूसँग बोल्यौँ, परामर्श उहाँहरूको सुझाव र त्यसमा बढी आधारित छ र त्यो कुरामा पनि म जानकारी गराउन चाहन्छु । अन्त्यमा फेरि पनि यो न्यायपालिका यो हामी यो कस्तो हुँदो रहेछ भने हामी एकदम गौरव साथ भन्ने गर्छौं ।’

न्यायिक समितिहरूको अनुगमन र निरीक्षणमा एकरूपता ल्याउन हालै निर्देशिकाको मस्यौदा तयार भइरहेको जानकारी दिँदै श्रेष्ठले यसमा न्यायिक समितिका पदाधिकारीहरूको सुझाव समावेश गरिएको उल्लेख गरे । यो निर्देशिका चाँडै सर्वोच्च अदालतको पूर्ण बैठकबाट पारित हुने अपेक्षा गरे । न्यायपालिकाका कमी कमजोरीहरू स्वीकार गर्दै उनले यसलाई प्रभावकारी बनाउन सबै पक्षको गम्भीर सरोकार आवश्यक रहेको बताए ।

नेपालको न्यायपालिका विकास विरोधी छैन : न्यायाधीश ढुंगाना

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले नेपालको न्यायपालिका विकास विरोधी नभएको स्पष्ट पारेका छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समय समयमा अदालत विकास विरोधी भयो कि भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उनले न्यायालयले विकास निर्माणसम्बन्धी मुद्दामा विषेश ध्यान दिने गरेको जिकिर गरे ।

उनले स्थानीय तह तथा प्रदेश सरकारमा सञ्चालित विकास निर्माणसम्बन्धी मुद्दाहरुलाई फास्ट ट्रयाकमा अघि बढाउने गरेको बताउँदै बढीमा एक वर्षभित्र अन्तरिम आदेश दिने गरेको बताए । यस्ता मुद्दामा अदालतले विपक्षी निकायहरूको भनाइ नसुनी कुनै पनि अन्तरिम आदेश दिने नगरेको उनको भनाइ छ । उनले स्थानीय तह र प्रदेश तथा स्थानीय तहबीच देखिने राजनीतिक सहकार्य र समन्वयसम्बन्धी समस्या आपसी समझदारीमै टुंग्याउनुपर्ने बताए ।

उनले भने, ‘अदालत कतै विकास विरोधी त भएन भन्ने प्रश्न संसदीय समितिमा उठेको थियो । त्यसपछि अदालतले निकै ध्यान दिएको छ । यस्ता मुद्दाहरु अहिले ६ महिनादेखि १ वर्षसम्म सुनुवाई गर्ने गरेका छौँ । सर्वोच्च अदालतमा पनि हामी हरेक दिन विशेष कोर्टमार्फत यस्ता काम कारबाही गरिरहेका छौं । हामीले विपक्षी निकायहरुको कुरा नसुनिकन हामी कुनै पनि अन्तरिम आदेश दिने गरेका छैनौँ । स्थानीय तह विपक्षी भएका निवेदनमा कानूनी प्रतिरक्षा कमजोर भएको मैले महसुस गरेको छु ।’ उनले स्थानीय तहमा गठित न्यायिक समिति अदालतका लागि महत्वपूर्ण सरोकारको विषय भएको भन्दै आवश्यक सहकार्य गरेर अघि बढ्न न्यायपालिका तयार रहेको पनि बताए ।

 

करमा आधारित विकासले जनतामा असहजता बढायो : वरिष्ठ न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले अदालतले विकास रोकेको नभई दिगो र वातावरणमैत्री विकासलाई प्रोत्साहन गर्दै आएको बताएकी छन् । संघीय इकाईहरुको विधायकी अधिकारसम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संविधानअनुसार विकाससँगै वातावरण संरक्षण अनिवार्य रहेको स्पष्ट पारिन् ।

वातावरणीय सन्तुलनमा असर पार्ने किसिमको विकासका पक्षमा अदालत उभिन नसक्ने उनको भनाइ छ । उनले स्थानीय तह र प्रदेश सरकारले विकास निर्माणका कामहरु गर्दा पर्यावरणमा पर्नसक्ने असरहरुको बारेमा गम्भीर हुन जरुरी रहेको बताइन् । उनले स्थानीय तहले अत्यधिक कर लिने गरेको विषयमा अदालतमा धेरै निवेदन आउने गरेको उल्लेख गर्दै उनले करमा आधारित विकासले जनतामा असहजता सिर्जना गरेको बताइन् ।

उनले करमा आधारिक मोडेलको विकासमा जाने कि आफूसँग उपलब्ध स्रोतको उपयोग गरेर विकासका कामहरु अगाडि बढाउने ? भन्दै स्थानीय तहहरुलाई प्रश्न गरिन् । उनले जेनजी आन्दोलनको क्रममा भएको आगलागीका कारण सर्वोच्च अदालतमा संवैधानिक इजलासलाई प्रभावकारीता तरिकाले बढाउन समस्या भइरहेको पनि बताइन्।

उनले भनिन्, ‘संविधानले विकास र पर्यावरणलाई संरक्षण गर्नुपर्ने भनेको छ । अदालतले विकास रोकेको छैन । अदालतले पर्यावरणीय सन्तुलन राख्ने अदालतलाई हेर्नुपर्छ । यदि त्यस्तो असरहरु पर्छ भने त्यसमा हामीले गम्भीर हुनुपर्छ । वातावरणमैत्री विकासले नहुँदा हुने विकासेल गम्भीर असरहरु पार्छ जुन हामी सुधार गर्नै सक्दैनौँ । जहाँ यस्तो असर पर्दैन त्यस्तो विकसलाई स्थानीय तहले लैजान सक्छ ।’

उनले भनिन्, ‘तर वातावरणलाई नै हार्म गर्ने विकासको पक्षमा अदालत उभिन सक्दैन । हामी हरेक किसिमका विकासलाई रोकेका छैनौँ । तर दीगो विकासलाई प्रोत्साहन गर्नु अदालतको दायित्व हो । अहिले स्थानीय तहले कर धेरै लिएका निवेदनहरु धेरै आइरहेको छ । तपाईहरु खाली करमा आधारित विकासमा लागिरहनु भएको छ । तपाईहरुले करमा आधारित विकासमा जाने कि आफ्नो स्रोतको आधारमा विकास निर्माणमा जाने ? यसले जनतामा समेत असहजताको अनुभूति भएको अवस्था छ । संघीय कानूनलाई समेत हेरेर स्थानीय तहले कानून निर्माणमा पनि जानुपर्‍यो । संविधानको कुनै एउटा धारा मात्र हेरेर नजानुहोस् भन्ने मेरो आग्रह छ ।’ उनले जेन–जी विद्रोपछि उत्पन्न समस्याका बाबजुद न्यायपालिका प्रभावकारी ढंगले अगाडि बढ्न प्रयत्नरत रहेको बताइन् ।

 

कर्नाटकमा बस र लरी ठोक्किँदा ११ जनाको मृत्यु

काठमाडौँ । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी (इन्धन बोकेको ट्रक) ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो । दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ । ठक्करपछि बसमा आगो लागेको थियो । बसमा ३२ यात्रु सवार थिए । हालसम्म ११ शवको पहिचान भएको र सबै घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । दुर्घटनापछि बस पूर्ण रूपमा क्षति भएको छ ।

राष्ट्रिय राजमार्ग ४८ मा रहेको गोर्लाथु गाउँ नजिकै दुर्घटना भएको सञ्चारमाध्यम द स्टेट्मेन्ट्सले लेखेको छ । समाचार अनुसार ट्रक सडकको डिभाइडरमा ठोक्किएर उफ्रिएको थियो र आउँदै गरेको बसमा ठोक्कियो । ठोक्किँदा आगो लाग्यो र धेरै यात्रुहरू जिउँदै जले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । एक्समा पोस्ट जारी गर्दै प्रधानमन्त्री कार्यालयले ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँको अनुग्रह राहत घोषणा गरेको छ भने घाइतेहरूलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ । प्रधानमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

रवि लामिछानेलाई चुनावी तालमेलको प्रस्ताव गरिएको छैन : प्रचण्ड सचिवालय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग चुनावी तालमेलको प्रस्ताव गरिएको भन्ने समाचारको औपचारिक रूपमा खण्डन गरेको छ । बिहीबार केही अनलाइन सञ्चारमाध्यममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपाका सभापति रवि लामिछानेसँग चुनावी गठबन्धनको प्रस्ताव राखेको भन्दै समाचार प्रकाशित भएको थियो । उक्त समाचार पूर्णतः असत्य र भ्रामक रहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको हो ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले सो समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भने, ‘चुनावी सहकार्यका सन्दर्भमा पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले रास्वपासँग कुनै किसिमको कुराकानी गर्नु भएको छैन ।’ सचिवालयले सम्बन्धित पक्षसँगको आधिकारिक पुष्टिबिनै एकपक्षीय ढंगले प्रवाह गरिएका यस्ता ‘झुटा’ समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

क्रिकेट खेलाडी मिनष थापाको दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । २७ वर्षीय थापाको आज बिहान भएको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी विराटनगर बासिन्दा हुन् । विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश चोक जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

बिहान करिब पौने १ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका निम्ति कोशी अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एसपी कवित कटवालले जानकारी दिए । उनी कोशी प्रदेशबाट क्रिकेट खेल्दै आएका थिए । उनी ब्याट्सम्यानका रूपमा चिनिन्थे।

रवि–बालेन भेटपछि झन बढेको हो दूरी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग प्रधानमन्त्रीको उम्मेदवारी र शक्ति बाँडफाँटमा सहमति नजुटेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नै राजनीतिक बाटो रोज्ने संकेत गरेका छन् । निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’ लाई अगाडि बढाउने तयारीमा उनी खुलेर लागेका छन् ।

सोमबार राति रवि र बालेनबीच करिब छ घण्टा लामो छलफल भए पनि ठोस सहमति बनेन । बालेन पक्षका अनुसार रविले पार्टी संरचना र नेतृत्वमा सम्मानजनक भूमिका नदिने, बरु साधारण सदस्यका रूपमा आउन सुझाव दिएको भन्दै असन्तुष्टि बढेको हो । त्यसमाथि चितवन पुगेका रविले बाहिर दिएको अभिव्यक्तिले ‘भित्र एक, बाहिर अर्को’ व्यवहार देखिएको ठहर बालेनले गरेका छन् ।

बालेनको स्पष्ट अडान छ–आउँदो निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सुनिश्चितता भए मात्र सहकार्य सम्भव छ । यही बटमलाइन स्वीकार नहुने देखिएपछि उनले ‘देश विकास पार्टी’ लाई सक्रिय रूपमा अघि बढाउने निष्कर्ष निकालेका हुन् । लौरो चुनाव चिह्नबाट काठमाडौँ महानगर जितेका बालेनले सोही चिह्न रहेको पार्टी अब आफ्नो राजनीतिक प्लेटफर्म हुने बताएका छन् ।

यसै सन्दर्भमा बालेनले पछिल्ला दिनहरूमा राजनीतिक भेटघाट तीव्र पारेका छन् । कांग्रेस नेता चन्द्र भण्डारीदेखि राप्रपाका ज्ञानेन्द्र शाही, नाउपाका रेशम चौधरी, जनमत पार्टीका सीके राउत, चिकित्सक भगवान कोइराला, जेनजी अभियानका प्रतिनिधि तथा कलाकार निश्चल बस्नेतसम्मसँग उनले छलफल गरेका छन् । भेटघाटको केन्द्र ललितपुरस्थित आफ्ना निकट सहयोगीको निवास बनाइएको छ ।

बालेनले छलफलमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीप्रति आफ्नो धारणा पनि स्पष्ट पारेका छन् । संविधानभित्रै रहेर सामान्य संशोधन सम्भव भए पनि एक व्यक्तिमा अत्यधिक शक्ति केन्द्रित हुने व्यवस्थाले देशको भूराजनीति र सुशासनलाई जोखिममा पार्ने निष्कर्षमा आफू पुगेको उनले बताएका छन् । उनका अनुसार अबको बहस सुशासन र विकासमा केन्द्रित हुनुपर्छ ।

देश विकास पार्टीका नेताहरूले बालेनलाई नेतृत्व दिन खुला रहेको बताएका छन् । पार्टीभित्र अध्यक्षदेखि जुनसुकै जिम्मेवारी दिन सकिने भन्दै छलफल भइरहेको छ। समानुपातिक उम्मेदवारको सूची तयारी समेत सुरु भइसकेको बालेन निकट स्रोतको भनाइ छ । यद्यपि बालेनले रास्वपासँगको ढोका पूर्ण रूपमा बन्द गरेका छैनन् । ‘आफ्नो तयारी गरौँ, तर सम्भावना खुला राखौं” भन्ने रणनीतिमा उनी छन् । तर सम्मानजनक प्रस्ताव नआए ‘देश विकास पार्टी’ नै उनको मुख्य राजनीतिक सवारी बन्ने संकेत स्पष्ट देखिएको छ ।

सिरहामा बालिका हत्या : तीन सातासम्म भएन दोषीको पहिचान

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि  प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ ।
गत मंसिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो । घटनापछि हालसम्म मुख्य अभियुक्त पत्ता नलाग्दा पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।
मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताइन् । उनले भनिन्, ‘छोरी गुमाएको पीडा त छँदैछ, तर दोषी नसमातिँदा झन् ठूलो अन्याय भएको महसुस भइरहेको छ । पहुँच भएकाहरूको कुरा तुरुन्तै सुनिन्छ, हामी जस्ताको आवाज कसैले सुन्दैन ।’
स्थानीयका अनुसार बालिकाको शव अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । यस विषयमा कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरीको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै भने, ‘तीन साता बितिसक्दा दोषीको पहिचान नहुनु गम्भीर विषय हो । दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउनु पर्छ ।’
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले अनुसन्धान जारी रहेको बताए । यस विषयमा उनले प्रष्ट पार्दै भने, ‘घटनाको प्रकृति गम्भीर भएकाले विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । प्रमाणका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयासमा छौँ ।’ दोषी पक्राउको माग गर्दै स्थानीयले आन्दोलन समेत गरेका थिए ।

भेडापालक किसानलाई निसीखोला गाउँपालिकाको अनुदान

ढोरपाटन (बागलुङ), १० पुसः बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ । परम्परागत रुपमा भेडापालन गर्दै आएका किसानलाई गाउँपालिकाले आधुनिक खोर व्यवस्थापनसहित अनुदान उपलब्ध गराउन थालेको हो । उच्च पहाडी क्षेत्रमा पालन गर्दै आएका भेडाको बजारीकरण र औषधि उपचारका लागि पनि पालिकाले सहयोग गर्न लागेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ र ६ का सयौँ किसान भेडापालनमा आबद्ध छन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बस्ने किसानले अव्यवस्थित रुपमा भेडापालन गर्दै आएको हुँदा व्यवस्थित गराउन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले बताउनुभयो । यस वर्ष गाउँपालिकाले भेडाका लागि खोप, खानेपानी व्यवस्थापन औषधिसहित सोलार बत्ती र गोठ निर्माणका सामग्री उपलब्ध गराउने उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले रु एक करोड १२ लाख बजेट विनियोजन गरेर भेडापालक किसानका लागि काम गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत पुन मगरले बताउनुभयो । पालिकाले परम्परागतसँगै नयाँ प्रविधिसँग किसानलाई जोड्ने गरी काम गर्न थालेको उहाँको भनाइ छ । पालिकाले किसानलाई अनुदानका लागि प्रस्ताव आह्वान गरिसकेको पुन मगरले बताउनुभयो ।

“निसीखोलामा धेरै किसान भेडापालनमा आबद्ध हुनुहुन्छ, उहाँहरु वर्षभरि धेरै ठाउँमा पुगेर भेडा पाल्नुहुन्छ, उहाँहरुका अनगिन्ती समस्या छन्, ती समस्याहरुलाई पालिकाले सम्बोधन गर्नुपर्छ भनेर यसपालि भेडासहित किसानको औषधि उपाचार, खोर निर्माण लगायतका काम गर्दैछौँ”, उहाँले भन्नुभयो, “घुम्ती चरनका लागि किसानहरु धेरै ठाउँमा पुग्दा गोठ सार्दा समस्या हुने गरेको छ र खानेपानीको पनि अभाव हुने हुँदा त्यसको व्यवस्थापन गर्ने योजना छ, बजारीकरणका लागि पनि गाउँपालिकाले पहलकदमी चाल्ने छ ।”

किसानले समूह र व्यक्तिगत फर्मबाट प्रस्ताव पेस गर्न सक्ने छन् । निसीखोला गाउँपालिका–६ का भेडापालक किसान थमबहादुर घर्ती मगरले पालिकाबाट खोप र औषधि पाए भेडालाई रोगबाट बचाउन सकिने बताउनुभयो । हरेक वर्ष विभिन्न रोगबाट भेडा मर्दा लाखौँको क्षति बेहोर्दै आएको उहाँको भनाइ छ । अहिलेसम्म पालिकाबाट कुनै पनि सेवा नपाएको घर्ती मगरको गुनासो छ ।

उहाँले भन्नुभयो, “गाउँपालिकाले गोठ बनाइदिन्छ, औषधि र खोप पनि दिन्छ भन्ने सुनेको छु, यसपालि त हामीहरुले पनि पाउँछौँ कि, बर्खाको चार÷पाँच महिना लेकमा बस्दा धेरै समस्या हुने गरेको छ, अँध्यारोमा बस्नुपर्छ, गोठ पनि गतिलो हुँदैन, त्यसका लागि राम्रो त्रिपाल, सोलार बत्ती दिए धेरै सहज हुन्थ्यो, दिन्छन् भन्ने आश त लागेको छ ।”

अर्का किसान नरेन्द्र बुढा मगरले पालिकाले लेकको विभिन्न स्थानमा व्यवस्थित घुम्ती गोठ बनाइदिए सहज हुने बताउनुभयो । बर्खामा रोल्पा, रुकुम र बागलुङको सीमा क्षेत्रमा बस्दा निकै जाडो हुने भन्दै चिसोका कारण भेडाहरु मर्ने गरेको उहाँको भनाइ छ ।

तनहुँमा ५९ हजार कुखुराको बिमा

दमौली (तनहुँ), १० पुसः तनहुँमा ७१ हजारभन्दा बढी पशुको बिमा गरिएको छ । जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बिमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरु पशु बिमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी कुखुराको बिमा ५९ हजार ९५९ कुखुराको गरिएको छ ।

त्यस्तै एक हजार ७४२ गाई, ७४० भैँसी, एक हजार ५८१ बाख्रा, ६९६ बङ्गुर, छ हजार ५०० माछाको बिमा गरिएको छ । बिमा गरिएको पशुको मूल्य रु २९ करोड ७५ लाख ४० हजार रहेको छ । त्यसमध्ये गाइको रु १५ करोड ६७ लाख ८० हजार, भँैसीको रु छ करोड ६६ लाख, बाख्राको रु एक करोड ५८ लाख दश हजार, बङ्गुरको रु एक करोड ७४ लाख, कुखुराको रु चार करोड ४३ लाख छ हजार, माछाको रु ५१ लाख चार हजार मूल्य रहेको छ ।

बिमा गरिएकोमध्ये गाईमा रु १५ लाख ६७ हजार कृषकले बेहोरेका छन् । यस्तै भैँसीमा रु छ लाख ६६ हजार, बाख्रामा रु एक लाख ५८ हजार, बङ्गुरमा रु एक लाख ७४ हजार, कुखुरामा रु तीन लाख ४४ हजार, माछामा रु आठ हजार कृषकले बेहोरेका छन् ।

तनहुँमा ४९ हजार ७४२ गाई, ५३ हजार ३८३ भँैसी, तीन लाख ८८ हजार १७६ बाख्रा, ७२३ भेडा, सुँगुर बुङ्गुर ४६ हजार ८१३, कुखुरा नौ लाख ९८ हजार ९३६, हाँसको सङ्ख्या ११ हजार ९८७ रहेको कार्यालयले जननाएको छ । दुधालु गाइको सङ्ख्या १३ हजार ९४२, दुधालु भैँसीको सङ्ख्या २१ हजार ५०३ रहेको छ ।

मुगुमा भाइरल ज्वरोको प्रकोपबाट एक वडाका पाँचको मृत्यु, विशेषज्ञ टोली पठाउन माग

मुगु । मुगुमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट १७ दिनमै एकै वडाका पाँच जनाको ज्यान गएको छ । राराछायाँनाथ–१२ बामगाउँका पाँच जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये शिशु र साना बालबालिका छन् । अस्पतालमा बिरामीको चापले स्थिति नियन्त्रण बाहिर गएको भन्दै युवाहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमसमक्ष २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् ।

स्थानीय युवा आशिष देवकोटाका अनुसार मुगु जिल्ला अस्पतालको कमजोर अवस्था र दिनानु दिन बढ्दो बिरामीको चापले स्थिति नियन्त्रण बाहिर जाने अवस्था छ । मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जासम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन् । तर अस्पतालमा जम्मा ५० शैंया छन् । लामो समयदेखि एक्स–रे मेशिन बिग्रिएको छ । आवश्यक औषधि र मेडिकल उपकरणको अभाव छ । अक्सिजन प्लान्ट समेत सञ्चालनमा छैन ।

‘गम्भीर अवस्थाका बिरामीको उपचारमा ठूलो समस्या छ’, देवकोटाले भने । युवाहरूले मन्त्रीलाई बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउन, बिग्रिएको अक्सिजन प्लान्ट र एक्स–रे मेशिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न माग गरिएको छ । हालको ५० शैंया क्षमतालाई आपतकालीन रूपमा आईसीयू सेवासहित कम्तीमा १०० शैंयामा विस्तार गर्नुपर्ने माग गरिएको छ ।

२०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला÷हैजाको महामारीको स्मरण गराउँदै युवाहरुले समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने मन्त्रीसमक्ष माग गरेका छन् । ‘कर्णालीले सधैँ सहेर बाँच्न सिकेको छ, तर सहनशीलताको पनि सीमा हुन्छ,’ उनीहरूले भनेका छन् ।
मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य स्वास्थ्य समस्या नभई राज्यको संवेदनशीलता र जवाफदेहिताको परीक्षा बनेको भन्दै ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न स्थानीयले सरकारसँग जोडदार माग गरेका छन् ।

सञ्चारमन्त्री र सञ्चारकर्मी आमनेसामने (तस्बिरहरु)

नेसनल प्रेस क्लब नेपालले बुधबार आयोजना गरेको सञ्चारमन्त्रीसँग सञ्चारकर्मी कार्यक्रममा मन्त्री खरेल सञ्चारकर्मीहरुका प्रश्नले घेरिए । क्लको कार्यालय अनामनगरमा भएको अन्तरक्रियामा सञ्चारकर्म गरेरै मन्त्रालय तहमा पुगेका खरेलले विगतको आफ्नो अनुभव समेतलाई जोडेर पत्रकारका प्रश्नहरूको जवाफ दिए ।

उनले पत्रकारको सुरक्षा र हकहितका लागि आफूले गर्नसक्ने प्रयास गर्ने बताए । ‘पहिलो त तपाईंहरूले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ,’ मन्त्री खरेलले सञ्चारकर्मीहरूलाई भने, ‘तर, राज्य छ । राज्यले तपाईंहरूलाई सकेको सहयोग गर्छ । फेरि पनि अर्को पत्रकार सुरेश रजक बन्नु नपरोस्।’

कार्यक्रममा समाजिक सञ्जाल नियमन, सञ्चारकर्मीको हकहितका विषय, सरकारको १०० दिनको प्रगति, फागुन २१मा तोकिएको चुनावको तयारी तथा जेनजी आन्दोलनका बारेमा छलफल भएको थियो । सञ्चारमन्त्री खरेललाई नेसनल प्रेस क्लबकी अध्यक्ष मोनिका सिंहले स्वागत गरेकी थिइन् ।

दुई राप्रपाबीच एकताको सम्झौता, लिङ्देन र थापाले खुशी हुँदै मारे अँगालो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले आइतबार काठमाडौंको धुम्बाराहीस्थित राप्रपा कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण प्रक्रिया अघि बढाएका हुन्।

दुई वाक्य मात्र समेटिएको सहमतिपत्रमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने र त्यसको औपचारिक घोषणा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा गर्ने उल्लेख छ । सहमतिपत्रमा हस्ताक्षरपछि दुवै नेता खुशी हुँदै एक–अर्कालाई अंकमाल गरेका थिए ।

एकतापछि पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन रहने सहमति भएको छ भने कमल थापालाई पूर्व अध्यक्षको हैसियत प्रदान गरिनेछ । लामो समयदेखि विभाजित रहेको राप्रपाको दुई धार पुनः एक ठाउँमा आउनुलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ ।

२०७८ माघ २५ गते कमल थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । त्यसअघि मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा उनी अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । थापाले निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । तर, त्यसमा सहमति नजुटेपछि उनी अलग भएर राप्रपा नेपाल गठन गरेका थिए ।

करिब चार वर्षपछि दुई पार्टीबीच पुनः एकताको सहमति जुटेपछि राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा बोकेको राप्रपाको शक्ति एकीकृत हुने अपेक्षा गरिएको छ । पुस १६ गते हुने एकता घोषणासभालाई दुवै पक्षले भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेका छन् ।

सम्पत्ति विवरण बुझाएका छौं, नियमावलीका कारण सार्वजनिक गर्न मिलेन: सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार मन्त्री जगदिश खरेलले मन्त्रिपरिषदका सबै सदस्यले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाए पनि नियमावलीका कारण सार्वजनिक गर्न नसकिएको तर्क गरेका छन् । नेसनल प्रेस क्लब नेपालले अनामनगरमा आयोजना गरेको ‘संचारमन्त्रीसङ्ग संचारकर्मी’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री खरेलले उक्त दाबी गरेका हुन् ।

जेन-जी आन्दोलनको जगमा बनेको सरकारले सय दिनमा मात्रै ४० भन्दा बढी ठूला भ्रष्टाचारका मुद्दा अदालतमा लगेको दाबी गरेका छन् ।

‘ अहिलेको सरकार इतिहासकै शसक्त नगरिक सरकार हो । यो सरकार बनेको १०० दिनमा अहिलेसम्म ४० भन्दा बढी ठूला भ्रष्टा‍चारका मुद्दा अदालतमा पुगेका छन्,’ उनले भने ‘ वर्तमान सरकार सुशासनको लागि बनेको हो। हामी भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्द भएर लागेका छौ‌ं।’

कार्यक्रममा आगामी फागुन २१ मा हुने प्रतिनिधी सभा निर्वाचनका लागि सरकारको तयारी, सरकार बनेपछिको सय दिनको समिक्षा, सामाजिक सञ्जाल नियमन र नेपालमा सञ्चार क्षेत्रमा रहेका चुनौती र अवसर लगायतका अरु विभिन्न समसामयिक विषयहरुमा अन्तरक्रिया भएको थियो ।

सामाजिक संजाल नियमन कि नियन्त्रण भन्ने विषयमा बोल्दै मन्त्री खरेलले अब नेपालमा कहिल्यै पनि सामाजिक संजाल बन्द नहुने बताए । ‘ सामाजिक संजाल नियन्त्रण होइन, सरकारले नियमन गर्छ’, उनले भने ‘ सरकारले सामाजिक सञ्जाल माथि कुनै पनि किसिमको हस्तक्षेप गर्नु हुँदैन । आइन्दा नेपालमा कहिल्यै पनि सामाजिक सञ्जाल बन्द गरिने छैन । सामाजिक सञ्जाल नियमन गर्दा आम जनताको सर्वोपरी हितलाई केन्द्रमा राखिनुपर्छ ।’

मन्त्री खरेलले सरकारले आफ्नो कार्यकालका सय दिनमा थुप्रै महत्वपूर्ण हासिल गरेको दाबी पनि गरेका छन् । ‘ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि देशमा उत्पन्न भएको डर, त्रासको अन्त्य गर्न अहिलेको सरकार सफल भएको छ। ‘, उनले भने ‘सय दिनको अवधीमा सबै राजनैतिक दललाई चुनावमा ल्याउने वातावरण बनाएको छ। अहिले तिव्र रुपमा चुनावको तयारी पनि भईरहेको छ। सबै सुरक्षा निकायहरुको गुमेको मनोबल बढाउन पनि हामी सफल भएका छौ।’

नेपालमा सञ्चार क्षेत्रमा रहेका चुनौती र अवसर भन्ने विषयमा बोल्दै मन्त्री खरेलले निष्पक्ष र निडर भएर काम गर्न कार्यक्रममा उपस्थित संचारकर्मीलाई सुझाव दिए । ‘ संचार माध्यमहरुले काम गर्दै गर्दा चारवटा कुरामा ध्यान दिनुपर्छ’, उनले भने ‘ कन्टेट, प्रिजेन्टेसन, टेक्नोलोजी, इक्विपमेन्ट र एक्सेस।’

अन्तरक्रिया कार्यक्रममा ३० भन्दा बढी सञ्चारमाध्यमबाट ५० भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता थियो ।

आयोगले बोलाउँदा बयान दिन नआए सरकारले वातावरण बनाइदिन्छ: सञ्चार मन्त्री खरेल

काठमाडौँ । सुचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले बयान दिन नआउने जो सुकैलाई बयानमा ल्याउन सरकारले आफ्नो अधिकार प्रयोग गर्ने बताएका छन् ।

‘पहिले विधि र प्रणाली नमान्दा पनि हुन्थ्यो होला,´ नेसनल प्रेस क्लबले अनामनगरमा गरेको अन्तरक्रियामा बोल्दै मन्त्री खरेलले भने,  `तर अहिलेको सरकार विधि र प्रणालीलाई संस्थागत गर्न बनेको हो । आयोगले आफ्नै ढंगले काम गरिरहेको छ । आयोगको काम पनि अन्तिम चरणमा छ।

बयान लिन बाँकी रहेका कोही पनि व्यक्ति बयान दिन नआएमा आयोग आफैं बयान लिन जाने र  त्यो प्रयासबाट पनि भएन भने सरकारले आफ्नो अधिकार क्षेत्रको प्रयोग गरेर बयानको लागि वातावरण बनाइदिने उनको भयान छ।

जेन-जी आन्दोलन पछि बनेको जाँचबुझ आयोगले पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकबाहेक सबै उच्च पदस्थ व्यक्तिहरुको बयान लिने कार्य सकेको छ। तर, नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीले भने बयान दिन नजाने बताइरहेका छन् ।

 

चुनावको लागि सबै पक्ष तयार छन् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार मन्त्री जगदीश खरेलले सरकार फागुन २१ मै चुनाव गराउन प्रतिबद्ध रहेको बताएका छन् । नेसनल प्रेस क्लब नेपालले अनामनगरमा आयोजना गरेको ‘सञ्चारमन्त्रीसँग सञ्चारकर्मी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खरेलले यस्तो बताएका हुन् ।

मन्त्री खरेलले चुनावको लागि सबै राजनैतिक दलहरु तयार रहेको पनि स्पष्ट पारे । ‘हामीले राजनैतिक दलका पार्टीहरुका कार्यालयमै गएर उहाहरुसँग कुराकानी गरेका छौ । उहाँहरु तयार हुनुहुन्छ ’, उनले भने, `चुनावका लागि तीनवटै सुरक्षा निकायले पनि तिव्र गतिमा काम गरिरहेका छन्।´

कार्यक्रममा सरकारको १०० दिनको समिक्षा, सामाजिक संजाल नियमन कि नियन्त्रण, चुनावको तयारी र सञ्चार माध्यमको भूमिका, नेपाल सञ्चार क्षेत्रका चुनौती र अवसर लगायतका विविध विषयमा अन्तर्क्रियाको थियो ।

लेखकलाई बयानमा जान कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेसभित्र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगमा उपस्थित भई बयान दिनुपर्ने विषयमा व्यापक छलफल भएको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे अनुसन्धानका क्रममा लेखकलाई बयानका लागि बोलाएपछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकमा यो विषय उठाइएको हो ।

सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अधिकांश नेताहरूले लेखकले आयोगमा उपस्थित भएर बयान दिनु नै उपयुक्त हुने धारणा राखेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा आयोगले बयानका लागि बोलाएको विषयमा गम्भीर छलफल भएको थियो। ‘उहाँलाई बयानमा बोलाइएको विषयमा छलफल भयो । अधिकांश नेताहरूले बयानमा जाँदा राम्रो हुन्छ भनेर सुझाव दिनुभएको छ’, उनले पत्रकारहरूलाई बताए ।

केन्द्रीय समिति बैठकमा पनि यही विषय दोहोरिएको थियो । आयोगले औपचारिक रूपमा पत्र पठाएर लेखकलाई बयानका लागि बोलाइसकेको सन्दर्भमा पार्टीभित्र पारदर्शिता र संस्थागत जिम्मेवारी देखिनुपर्ने मत धेरै नेताहरूले व्यक्त गरेका थिए । नेताहरूले आयोगसँग सहकार्य गर्नुले पार्टी र नेताको विश्वसनीयता बढ्ने धारणा राखेका छन् । यद्यपि, कांग्रेसभित्रै केही फरक मत पनि देखिएको छ ।

स्रोतका अनुसार लेखक बयान दिन तयार रहेको मनस्थितिमा भए पनि पार्टी सभापति शेरबहादुर देउवाबाट नजान दबाब परेको दाबी केही नेताहरूले गरेका छन् । यसबारे पार्टीले औपचारिक रूपमा कुनै निर्णय सार्वजनिक नगरे पनि आन्तरिक छलफलले लेखकलाई बयानमा जान सकारात्मक सन्देश दिएको देखिन्छ । आयोगले भदौ २३ र २४ गते भएका घटनाको तथ्य र जिम्मेवारी पहिचान गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरूसँग बयान लिँदै आएको छ । यस्तो अवस्थामा तत्कालीन गृहमन्त्रीको उपस्थितिलाई महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेसभित्र बहुमत नेताहरूले कानून र प्रक्रियाप्रति सम्मान देखाउँदै आयोगसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

 

 

विदेशमा बस्नेले नकारात्मकता फैलाउने मात्रै काम गरे : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धेरै सम्भावनाहरु भए पनि विदेश बस्नेहरुले नकरात्मकता मात्रै फैलाउने काम गरेको आरोप लगाएका छन् । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवद्र्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले नेपालमा लगानीको ठुलो सम्भावना रहेको भए पनि नेपालमा अब केही सम्भावना छैन भन्ने गलत भाष्य खडा गर्न खोजिएको बताए ।

नेपाल बाहिर बस्नेहरुले सामाजिक सञ्जालमा नकारात्मक भावना फैलाएको उनको भनाई छ । उनले नकरात्मकतालाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले आन्तरिक पुँजी परिचालन गरेर नेपालमा धेरै परियोजनाहरु सञ्चालन गर्न सकिने बताए । महासंघले आन्तरिक पुँजी परिचालन गर्नकै लागि १० अर्व रुपैयाँ बराबरको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेडको स्थापना गरेको पनि जानकारी दिए । कम्पनीले ईनोभेट तथा नयाँ स्टार्टअपहरुमा लगानी गर्ने बताए । अध्यक्ष ढकालले महिलाको सहभागिता बढाउन कानुन र नीतिगत सुधार गरेको पनि बताए ।

उनले भने, ‘नेपालमा धेरै सम्भावनाहरु हुँदाहुँदै हामी नकारात्मक हिसावको मात्रै प्रचार प्रसार गर्‍यौँ । नेपालमा केही सम्भावना छैन । नेपालमा केही भएको छैन भन्ने जुन भाष्य बनाइएको छ, त्यसलाई चिर्न आवश्यक छ । नेपालको आन्तरिक पुँजी परिचालन गरेर पनि केही सक्दैन भन्ने जुन एउटा खास गरेर सामाजिक सञ्जालमा नेपालभन्दा बाहिर बस्नेहरुले नेपालमा सम्भावना छैन भनेर नकारात्मक भाष्य खडा गरिएको छ ।’

उनले भने, ‘नेपालम उद्योग महासंघले निजी क्षेत्रको एडभोकेसी गर्ने, रोजगारी सिर्जना गर्ने संस्था भएकोले हामीले के क्याम्पेन गर्‍यौँ भने नेपालकै पुँजी परिचालन गरेर पनि धेरै ठूला आयोजना गर्न सकिन्छ है भन्ने एउटा म्यासेज दिनु थियो । यसका लागि निजी क्षेत्रका सबै व्यवसायीलाई समेटेर १० अरबको नेपाल डेभलपमेन्ट पव्लिक लिमिटेड भनेर कम्पनी सञ्चालन गर्‍यौँ र त्यो कम्पनीले स्टाटअप लगानीकर्ताहरुलाई ईक्विटीको खाँचो भएमा सहयोग गर्नेछ । यो १० अरको कम्पनी सञ्चालन गरेपछि १० अर्बलाई यदि ईक्विटी मान्ने हो भने करिब ४०(५० अरब बराबरको चाँही परियोजनाहरू हामी आन्तरिक पुँजी परिचालन गरेर गर्न सकिन्छ । विशेष गरी कोरोना महामारीपछि पर्यटन क्षेत्र आन्तरिक रूपमा उल्लेखनीय रूपमा बढेको छ ।’

एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा बुधवार उच्चस्तरीय नीतिगत संवाद आयोजना गरिएको हो । कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि र महिला उद्यमशीलता प्रवद्र्धनका उपायहरूमाथि छलफल गरिएको छ । कार्यक्रममा होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा तथा समुदायमा आधारित पर्यटन जस्ता सुक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय योगदान रहेको विषयमा छलफल भएको थियो ।

प्रदेशको समानुपातिक सूचीका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघको समानुपातिकमा उम्मेदवार हुन चाहेका १९ नेताहरूको नाम प्रदेशबाट हटाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए । यसबारे निर्वाचन आयोगलाई जानकारी गराउने पनि उनले बताएका छन् ।

१५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग
नेपाली कांग्रेसमा १५ औं महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी कार्यसम्पदान समितिको बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेको बताए । उनकाअनुसार बैठकमा थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रिय महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । थापाले क्रियाशील सदस्यको काम समयमै नसकिने भएको भन्दै यस्तो प्रस्ताव बैठकमा राखेको प्रवक्ता महतले बताए । बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूचिको कार्य अगाडि बढाउनेबारेमा समेत कुरा राखेको बताए ।

उनले भने, ‘बैठकमा पार्टीको महाधिवशन र क्रियाशील सदस्यताको सम्बन्धमा महामन्त्री ज्यूले ब्रिफिङ गर्नुभयो । समग्रमा कार्यवाहक सभापतिले निर्वाचनका सम्बन्धमा समानुपातिक सूचि पेस गर्नुपर्ने कुरा, राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको सूचि तयार गर्नुपर्ने कुराहरु राख्नुभयो । यसमा अझै काम गर्ने विषय उहाँले राख्नुभयो । अनुशासन समितिका संयाजकले पनि अनुशासन समितिले गरेको कारबाही र समितिमा परेका निवेदनका विषयमा पनि कुरा राख्नुभयो । यसमा केही साथीहरु आज बोल्नु भयो ।’

उनले भने, ‘भोलि फेरि १ बजे कार्यसम्पादन समितिको बैठक बस्छ र महाधिवेशनको कार्यतालिका सम्बन्धमा र समानुपातिक उम्मेदवार र राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल अगाडि बढ्छ । प्रदेश सभाको बन्दसूचीमा रहेका साथिहरुले त्यहाँबाट आफ्नो नाम हटाएर अन्यत्रै जान चाहेका १९ जनाको सूचि बैठकले पास गरेको छ । यसबारे निर्वाचन आयोगलाई जानकारी दिने कुरा भएको छ । महामन्त्रीले वडा र क्षेत्रीय महाधिवेशन गरेर एकैचोटि केन्द्रको महाधिवेशन गर्ने कुरा राख्नु भयो । क्रियाशीलको काम समयमै नसकिने उहाँको भनाइ थियो । त्यसमा अन्य साथीहरुले कार्यतालिकालाई व्यवहारिक हुने किसिमले निर्णय गर्नुपर्ने कुरा राख्नु भयो ।’ कार्यसम्पादन समितिको अर्को बैठक बिहीवार दिउँसो १ बजे बस्ने समेत महतले जानकारी दिएका छन् ।

 

सरकार भेट्न सिंहदरबार जानु पर्थ्याे, अहिले आफै पार्टी कार्यालयमा आयो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताएको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् ।

उनले विगतमा सरकार खोज्दै सिंहदरबार जानुपर्ने अवस्थाको अन्त्य गर्दै अहिले सरकार नै राजनीतिक दलको कार्यालयमा पुग्नु सकारात्मक रहेको बताए । उनले यसले राजनीति र निर्वाचनका लागि वातावरण बनाउने बताए । उनले निर्वाचनको लागि माहोल बनाउने तयारी गरेकोमा सरकारको प्रशंसा गरे । उनले भने, ‘सत्ता पक्ष र सरकारलाई भेट्न सिंहदरबार जानु पर्दथ्यो । अहिले सरकारले पार्टी कार्यालयमा पुगेर राजनीति, सकारात्मक राजनीति र निर्वाचनको वातावरण बनाउन पहल गरिरहनुभएको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । निर्वाचनको लागि माहोल बनाउने काम सरकारले गर्दैछ ।’

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन बाहेक अर्को विकल्प नदेखेको बताए । उनले रास्वपाले एकमत भएर निर्वाचनमा जाने बताएको जानकारी दिए । सरकारले पनि निर्वाचनको तयारीका लागि आवश्यक काम गरिरहेको जानकारी गराउँदै फागुन २१ गतेको निर्वाचन नै अन्तरिम सरकारको अर्जुनदृष्टि रहेको बताए । सरकारको तयारी भन्दाअघि नै रास्वपा निर्वाचनमा होमिएको आभाष भएको जिकिर गरे । निर्वाचन नहुने हो की भन्ने शंका नगर्न पनि उनले आग्रह गरे । इतिहासमै सरकार राजनीतिक दलको कार्यालयमा गएको रेकर्ड नरहेको बताए ।

 

 

खड्का नाम मात्रका कार्यवाहक, शक्ति सबै देउवामै : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नाम मात्रको कार्यवाहक दिएर कांग्रेस आफैंले चलाएको आरोप लगाएका छन् । थापाले कार्यतालिका संशोधन गरेर गतिका साथ अगाडि नबढे विशेष महाधिवेशनमा जानुको विकल्प नहुने बताएका छन् ।

बुधबार कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै थापाले नाम मात्रको कार्यवाहक दिएर सभापतिले शक्तिको अभ्यास गरिरहेको आरोप लगाएका हुन् । देउवाकै कारण महाधिवेशन प्रभावित भएको उनले बताए । ‘सभापतिजीले कार्यवाहक दिनुभयो, नाम मात्रको कार्यवाहक दिनुभयो । उहाँ यहाँको बैठकमा आउनु भएको छैन बाँकी रहेको शक्ति त्यहीबाट अभ्यास भइरहेको छ,’ थापाले भने । देउवाले असोज २८ गते पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका थिए । महामन्त्री थापाले महाधिवेशन नगरी कांग्रेस चुनावमा जान नसक्ने बताए ।

‘कार्यतालिका संशोधन गरेर गतिका साथ अधिवेशनमा जाने निर्णय भएन भने विशेष महाधिवेशनमा जानुको विकल्प छैन,’ थापाले भने, ‘अधिवेशन नगरी, नयाँ नेतृत्व नछानी पार्टी निर्वाचनमा जान हुँदैन । कांग्रेसप्रति चिन्ता भएका सबैले यो बुझ्नु पर्छ ।’ पुस २६ गतेदेखि गर्ने भनिएको महाधिवेशन समयमा नहुने देखिए पछि कांग्रेसले कार्यसम्पादन समितिमा छलफल शुरू गरेको हो । कांग्रेस कार्यसम्पादन समितिको बैठक बिहीबार पुनः बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

 

सरकार भङ्ग गर्न राष्ट्रपति पौडेललाई विप्लवको १० दिने अल्टिमेटम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले वर्तमान सरकारले जेनजी विद्रोहको भावना अनुरूप काम नगरेको भन्दै सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग नेकपा माओवादीले वर्तमान सरकारलाई भंगगरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुझाएको उक्त ज्ञापनपत्रमा कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गर्न १० दिने ‘अल्टिमेटम’ दिइएको छ । ‘जेनजी विद्रोहको भावनाअनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई गर्नुपर्छ। यदि जनताका भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेनजीका आवाजहरूलाई समयमै सुनिएन भने परिस्थिति फेरी पनि विस्फोटक बन्दैन भनेर भन्न सकिँदैन । तसर्थ परिस्थितिको यो गम्भीरतालाई मध्यनजर गर्दै हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट तत्काल निम्न मागहरू पूरा गरेर मात्र देशलाई सापेक्षिक शान्ति, स्थिरता र निर्वाचनतिर लैजान सकिन्छ भन्ने मान्यताकासाथ महामहिम राष्ट्रपति ज्यू सामु यो ज्ञापन पत्र पेस गरेका छौँ’, ज्ञापनपत्रमामा भनिएको छ । त्यति मात्र नभइ प्रत्यक्ष निर्वाचिन कार्यकारीको व्यवस्था, भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायलय गठन, साम्राज्यवादी साँस्कृतिक हस्तक्षेप बन्द गर्ने लगायतका मागहरु समेत अघि सारेका छन् । साथै आफ्ना मागहरु पूरा नभएमा सडक संघर्षमा जाने चेतावनी समेत दिइएको छ ।

हेर्नुस् विप्लवका मागहरू

एलिजा गौतम आजपामा प्रवेश

काठमाडौं । चर्चित मोडेल, मिडिया उद्यमी, समाजसेवी एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रबेश गरेकी छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन् । आजपा अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले गौतमलाई टीका, माला लगाई पार्टीमा प्रवेश गराएका हुन् ।

आजपा प्रबेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउनका लागि आजपामा प्रबेश गरेको बताइन् । आजपाले उठाउदै आएको मुद्दा, नीति, बिचार मुलुक र नेपाली जनताको हितमा भएको बताउदै उनले समाजको सेवा गर्ने काम अझै प्रभावकारी रुपमा अगाडी बढाउने बताइन् ।

पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि आजपामा प्रबेश गर्नेको लहर चलेको छ । यसैगरी नेपाली कांग्रेस निकटको जनजाति महासंघको गण्डकी प्रदेशका अध्यक्ष तेजबहादुर कुम्हाल, नेपाली कांग्रेस सर्लाहीका नेता एंव पूर्व मुखिया रामबाबु साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य ललिता चौधरी (सिरहा) लगायतका नेताहरू पार्टी प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन । आजपाको केन्द्रीय कमिटीको बैठक प्रज्ञा भवनमा जारी छ । बैठकले अगामी निर्वाचनको रणनीतिको बारेमा छलफल गर्दै उम्मेदवार छनोटको मापदण्ड बारेमा छलफल हुने लगायतका एजेण्डाहरु रहेको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।

 

रास्वपा कार्यालयमा सरकारी टोली, मन्त्री खरेलले भने, ‘चुनावी माहोल बनाउँछौं’

काठमाडौं । उच्चस्तरीय राजनीतिक संवाद कार्यदलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर औपचारिक भेटघाट गरेको छ । बुधबार दिउँसो भएको भेटमा समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनको तयारीबारे छलफल भएको बताइएको छ ।भेटघाटमा संवाद कार्यदल संयोजक तथा कानुनमन्त्री अनिल सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनाल सहभागी थिए। रास्वपाको तर्फबाट उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झासहित केन्द्रीय सदस्यहरू उपस्थित थिए।

छलफलपछि प्रवक्ता खरेलले सरकार निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण बनाउन सबै दलसँग संवादमा जुटेको बताए । ‘चुनावको वातावरण बनाउँदैछौं’, उनले भने । फागुन २१ मा तोकिएको निर्वाचनलाई लक्षित गर्दै दलगत भेटघाट तीव्र बनाइएको उनको भनाइ छ ।
यसअघि संवाद टोलीले कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) का कार्यालयमा पुगेर शीर्ष नेताहरूसँग छलफल गरेको थियो । आजै राप्रपा र जनमत पार्टीको कार्यालयमा समेत अनुगमन तथा भेटघाट गरिएको छ । सरकारको यो पहललाई निर्वाचनपूर्व राजनीतिक सहमति र संवाद सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ ।

 

कांग्रेस महाधिवेशन कार्यतालिका अन्योलमा, तीन तहको अधिवेशन प्रस्तावमा छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय सानेपामा जारी रहँदा पार्टीको आगामी महाधिवेशन कार्यतालिका पुनः अन्योलमा परेको छ । समसामयिक राजनीतिक अवस्था, पार्टी संगठनको तयारी, राष्ट्रियसभा निर्वाचन र उम्मेदवार छनोटका मापदण्डलगायत विषयमा केन्द्रित बैठकमा मुख्य चासो भने महाधिवेशन समयमै सम्पन्न गर्न सकिने–नसकिने विषयमै देखिएको छ ।

कांग्रेसले यसअघि पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि त्यसका लागि आधारभूत मानिने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम अझै टुंगिन सकेको छैन । कार्यतालिका अनुसार काम अघि नबढेपछि तोकिएको समयमै वडा, क्षेत्र, प्रदेश हुँदै केन्द्रसम्मका सबै तहका अधिवेशन सम्पन्न गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन् । यही कारणले बैठकमा हालको अवस्थामा सबै तहको अधिवेशन सम्भव नभएकाले तीन तहको अधिवेशन मात्रै गरेर केन्द्रीय महाधिवेशनमा जाने विकल्पबारे गम्भीर छलफल भएको छ ।

मंसिर १५ गते सार्वजनिक गरिएको कार्यतालिकाअनुसार पुस १६ गतेदेखि वडा अधिवेशन सुरु गरी छ तहको अधिवेशन पूरा गर्दै पुस २६–२८ मा केन्द्रीय महाधिवेशन गर्ने योजना थियो । तर सदस्यता वितरणकै काम नसकिँदा उक्त तालिका व्यवहारिक नभएको नेताहरूको बुझाइ छ । त्यसैले वडा अधिवेशनको मिति केही पर सार्दै पुस २० गतेतिर वडा, पुस २३–२४ तिर क्षेत्रीय र पुस २६–२८ गते केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव बैठकमा अघि सारिएको छ, जसमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

महामन्त्री गगन थापाले आम निर्वाचनअघि महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनुपर्ने धारणा राख्दै तीन तहको अधिवेशन गरेर भए पनि पार्टीलाई महाधिवेशनमा लैजान सकिने प्रस्ताव अघि सारेका छन् । उनको तर्क छ– संगठनात्मक वैधता र नेतृत्व चयनबिनै चुनावमा जानु पार्टीका लागि दीर्घकालीन रूपमा घातक हुन सक्छ । यसका विपरीत सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू भने अहिलेको अवस्थामा महाधिवेशन गर्न समय अपुग हुने भन्दै आवश्यक परे वैशाखसम्म सार्नुपर्ने मतमा देखिएका छन् ।

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति नजुटेमा विशेष महाधिवेशनको विकल्प समेत तयार राख्ने महामन्त्री थापा पक्षको रणनीति रहेको बताइएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा उम्मेदवारको मापदण्ड र पार्टीको भूमिका बारे पनि छलफल हुने कार्यक्रम छ । कार्यसम्पादन समिति बैठकको निष्कर्षले कांग्रेसको महाधिवेशनको दिशा मात्र होइन, आगामी आम निर्वाचनतर्फ पार्टी कसरी अघि बढ्छ भन्ने कुरा पनि तय गर्ने अपेक्षा गरिएको छ ।

 

 

आँखामा ‘आइ लेन्स’ र तासमा चिप जडान गरेर क्यासिनोमा ठगी, सात जना पक्राउ

काठमाडौं । क्यासिनोमा अत्याधुनिक प्रविधि प्रयोग गरी ठगी गर्ने गिरोहलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ । आँखामा विशेष ‘आइ लेन्स’ लगाएर खेलको नतिजा पहिल्यै थाहा पाउने र तासमा चिप जडान गरी क्यासिनो खेलमा हेरफेर गर्ने गतिविधिमा संलग्न ७ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरूलाई काठमाडौं महानगरपालिका–२६ स्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका छन् । उनीहरूमध्ये केही भारतीय नागरिक समेत रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार भारतबाट संगठित रूपमा आएको गिरोहले ‘क्यासिनो इभेन्ट’ आयोजना गर्ने बहानामा ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले प्रविधिको दुरुपयोग गर्दै क्यासिनो खेलमा अनियमितता सिर्जना गरी ठूलो रकम हिनामिना गर्ने योजना बनाएको पाइएको छ ।

एसएसपी थापाले भने, ‘आँखामा विशेष प्रकारको लेन्स प्रयोग गरेर कार्डको स्थिति थाहा पाउने, तासमा इलेक्ट्रोनिक चिप जडान गर्ने जस्ता गतिविधि अत्यन्तै योजनाबद्ध र संगठित देखिन्छन् । यसले क्यासिनो क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ ।’ प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान जारी राखेको जनाएको छ । साथै, घटनामा अन्य व्यक्ति वा अन्तर्राष्ट्रिय सञ्जाल संलग्न भए–नभएकोबारे पनि खोजी भइरहेको छ । प्रहरीका अनुसार क्यासिनो सञ्चालनमा संलग्न व्यवसायीहरूलाई पनि सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र यस्ता प्रविधिगत ठगीप्रति सतर्क रहन आग्रह गरिएको छ ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

सर्वोदय–उज्यालो नेपालबीच चुनावी मोर्चा, ‘बलेको चिम’ चुनाव चिन्ह

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएर दीपक साहले गठन गरेको सर्वोदय पार्टी कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँग चुनावी एकतामा जोडिएको छ । दुवै पार्टीबीच तीन बुँदे सहमति गर्दै आगामी निर्वाचनमा संयुक्त रूपमा प्रतिष्पर्धा गर्ने घोषणा गरिएको हो ।

बुधबार काठमाडौंको इन्द्रेणी बैंक्वेटमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष दीपककुमार साहले चुनावी एकतासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार प्रतिनिधि सभा निर्वाचनमा उज्यालो नेपाल पार्टीको दर्ता, संगठन संरचना र चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्दै संयुक्त उम्मेदवारी दिइनेछ । सम्झौतामा दुवै पार्टीले साझा घोषणापत्र तयार गर्ने, प्रचार–प्रसारदेखि चुनावी अभियानसम्म सबै गतिविधि संयुक्त रूपमा सञ्चालन गर्ने उल्लेख छ ।

सहकार्यको क्रममा कुनै विवाद उत्पन्न भएमा दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकमार्फत समाधान गर्ने व्यवस्था पनि गरिएको छ । दुवै दलले पछिल्लो समय जनतामा बढ्दो सुशासन, दिगो विकास, सामाजिक न्याय तथा इमानदार र जनउत्तरदायी नेतृत्वको अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । लोकतन्त्र, संघीयता, समावेशीता र समानताको संरक्षण गर्दै देश र मधेसको समग्र विकास तथा दिगो समृद्धिलाई चुनावी एकताको मुख्य सन्देशका रूपमा अघि बढाइने नेताहरूले बताएका छन् । सर्वोदय र उज्यालो नेपालको यो एकतालाई नयाँ राजनीतिक शक्तिहरूबीचको सहकार्यको ढोका खोल्ने प्रयासका रूपमा पनि हेरिएको छ ।

 

सरकार निर्वाचनका लागि निर्वाचन गराउनेतर्फ मात्र लाग्न हुँदैन : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र गुरुङले निर्वाचनका लागि मात्रै निर्वाचन गराउनेतर्फ सरकार लाग्न नहुने बताएका छन् । सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चाारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले फागुन २१ गते हुने निर्वाचनबारे सरकारको तयारी अझै पुग्न नसकेको बताए । सरकार राजनीतिक दलका कार्यालयमा पुगेर निर्वाचन गराउने हेतुले राजनीतिक संस्कार देखाउनु राम्रो रहेको पनि बताए । यसले परिस्थितिलाई सहज बनाउने र निर्वाचनको माहोललाई सुमधुर बनाउने काम गरेको उल्लेख गरे । निर्वाचन मुलुकको बेथिति र समस्यालाई समाधान गर्ने हुनुपर्ने बताए ।

उनले भने, ‘फागुन २१ गते हुने निर्वाचनको सम्बन्धमा सरकारको तयारी, मुलुकको अवस्थाबारे जानकारी दिने उद्देश्यले आउनु भएको छ । उहाँहरुले राजनीतिक संस्कार देखाउनु भएको छ । यसले परिस्थितिलाई सहज बनाउने र निर्वाचनको माहोललाई सुमधुर बनाउने काम भएको छ । निर्वाचनले मुलुकको बेथिति र समस्यालाई समाधान गर्ने हुनुपर्छ । निर्वाचनका लागि मात्रै निर्वाचन हुनु हँदैन । अहिलेको चुनावी प्रक्रिया नै गलत छ । यसलाई सच्याउन राजासहितको राजनीतिक दल र जेन–जी पुस्तासँग संवाद र सम्झौता गरेर अघि बढ्ने प्रस्ताव राखेका छौँ ।’ नेता गुरुङले राजासहितको राजनीतिक दल र जेन–जी पुस्तासँग संवाद र सम्झौता गरेर अघि बढ्ने प्रस्ताव आफूहरुले सरकारका मन्त्रीहरुसँग राखेको बताए ।

राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी : मन्त्री सिन्हा

काठमाडौं । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसँगको भेटका क्रममा राप्रपा कार्यालय पुगेका मन्त्री सिन्हाले यस्तो बताएका हुन् ।

उनले आउने प्रतिनिधि सभा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित र स्वतन्त्र एवं सहज बनाउने भन्नेबारे छलफल भएको बताए । उनले राप्रपाले निर्वाचन गराउनै पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको प्रतिवद्धता जनाएको पनि बताए । उनले आगामी दिनमा आवश्यक सुझाव दिँदै जानेबारे छलफल भएको बताए ।

उनले भने, ‘आउने निर्वाचनलाई कसरी प्रभावकारी बनाउने, धाँदलीरहित, स्वतन्त्र र सहज रुपमा कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको छ । चुनावी तयारी, समयबारे कुराकानी भएको छ । चुनाव हुन्छ भन्ने आश्वासन आएको छ । चुनावका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । अन्य सुधारका लागि सुझाव पनि दिँदै जाने कुराहरु भन्नुभएको छ । छलफल सकारात्मक र फलदायी रह्यो ।’ सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरुको कार्यालयमा धाइरहेका छन् ।

 

सम्पत्ति विवरण हामीले बुझाएका छौं, प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेन : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, भौतिक, शहरी विकासमन्त्री कुलमान घिसिङले सुशासन र पारदर्शीताको मामिलामा कतै कम्परमाइज नगरेको बताएका छन् । एक सय दिने उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले सुशासन र पारदर्शीतालाई कठोरतापूर्व लागू गरिएको बताए । उनले सम्पति विवरण सबै मन्त्रीले समयमै बुझाइसकेको समेत बताएका छन् । घिसिङकाअनुसार सबै मन्त्रीले साढे दुई महिनामै विवरण बुझाएकाले अब सार्वजनिक गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हो ।

मन्त्री घिसिङले भने, ‘हामीले कर्मचारीको हिसाबमा विगत ३० वर्षदेखि नियमित सम्पत्ति विवरण पेश गरेका हुन्छौं । यो वर्षमा मन्त्रिमण्डलमा आएपछि साढे २ महिनाभित्र क्याविनेटमा पेश गर्नुपर्ने नियमअनुसार सबै मन्त्रीले पेश गर्नुभएको छ । त्यसको सार्वजनिक गर्ने विषय प्रधानमन्त्री कार्यालयलले नै गर्ने हो । हामीले हरेक वर्ष सम्पत्ति विवरण पेश गर्ने गरेका छौं । हामी परदर्शीता र सुशासनको विषयमा कटिबद्ध छौं ।’ उनले भने, ‘मैले सबै ठाउँमा भनेको छु, सुशासनको विषयमा हामीले कठोतापूर्वक लागू गर्नुपर्छ । जेनजी आन्दोलनबाट आएका छौं, सुशासनको मामिलामा हामी तल माथि गर्न सक्दैनौँ । सुशासनको विषयमा कम्परमाइज कहीँ पनि कम्परमाइज गरेका छैनौँ । सबै निकायहरुमा कुनै निकायमा समस्या आएको छ भने कारबाही गर्नुपर्ने अवस्था आएको छ र हामीले कारबाही पनि गरेका छौं ।’

मन्त्री घिसिङले आफू राजनीतिबाट अब ब्याक नहुने पनि स्पष्ट पारेका छन् । उनकाअनुसार आगामी चुनावमा नयाँ शक्ति एक भएर जानेमा सबै एकमत रहेकाले सहकार्य हुँदैछ । घिसिङले भने, ‘म मन्त्रीका रुपमा आएपछि राजनीतिक हिसावले म इन्ट्री भएकै हो । राजनीतिक क्षेत्रमा जुन हिसावले मन्त्री हुँदादेखि नै मैले म राजनीतिमा आएँ भनेको छु । मन्त्रीको हैसियतले अहिले जिम्मेवारीलाई बहन गरेर अघि बढेको छु । उपयुक्त समयमा जुन बेला हामी चुनावमा जान्छौं ।’

मन्त्री घिसिङले भने, ‘नोमिनेसनका लागि समय आउँछ । उपयुक्त समयमा हामी आवश्यक निर्णय गछौँ । अब अहिलेको सरकार चुनाव गर्ने सरकार हो । चुनाव गर्ने कार्यभार भएकाले त्यो भन्दा अरु कार्यभार छैन । चुनावमा जाने नै भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एक छौं । त्यसमा मेरो भनाइ देशका लागि परिवर्तनलाई संस्थागत गर्न र आगामी नेतृत्व सही आउन आआफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन पछि हट्न हुँदैन । सबै एक भएर अघि बढ्नु पर्नेमा एक छौं ।’

मन्त्री घिसिङले परिवर्तनलाई संस्था गर्न र आगामी चुनावबाट नयाँ सक्षम नेतृत्व ल्याउन सबै नयाँ शक्तिलाई मिलाएर लगिने बताए । मन्त्री घिसिङले १०० दिने उपलब्धिभित्र बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान गर्ने, मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाएको तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएको र मनसुनले क्षति पुर्‍याएको वीपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याई जनजीवन सहज बनाएको लगायत कामहरु समावेश गरेका छन् ।

घिसिङकाअनुसार १०० दिनमा गरिएका कार्यहरुमा बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी तय गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गरिएको छ । त्यस्तै अपर अरुण जलविद्युत आयोजनाको समेत वित्तीय ढाँचा तयार भएको, भारत र बंगलादेशमा १९ अर्ब रुपैयाँ बराबर विद्युत निर्यात भएको उपलब्धि सूचीमा समावेश गरिएको छ । भौतिकतर्फ कोटेश्वर चोक सुधारमा जापान सरकारसँग ३४ अर्ब ४९ करोड येन बराबर ऋण सम्झौता राखिएको छ । त्यस्तै ४० रुग्ण ठेक्का तोडिएका छन् । अन्य तोड्ने प्रक्रियामा रहेका छन् । वीपी राजमार्गको पुनर्निर्माणको कामलाई पनि उपलब्धिको सूचीमा मन्त्री घिसिङले राखेका छन् ।

शहीद परिवारलाई बेवास्ता गरेको भन्दै आन्दोलनको घोषणा

काठमाडौं । शहीद परिवारलाई बेवास्ता गरेको आरोप लगाउँदै शहीद परिवारका सदस्यहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् । मधेस सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै तयारी नगरिएको र मधेसमा रहेका शहीद परिवारलाई दिइँदै आएको राहत प्याकेज समेत अड्काएर राखेको उनीहरुको आरोप छ ।

शहीद परिवारको अपमान गर्न खोजिएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् । मधेसी शहीद प्रतिष्ठानका सदस्यहरुले पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिवारसम्म आफूहरुको माग सम्बोधनमा सरकारले गम्भिरता नदेखाए आन्दोलन गर्ने बताए । सरकारले शहीद परिवारलाई अपमान गर्नुका साथै मधेसी शहीद प्रतिष्ठान नै बन्द गर्ने योजना बनाइरहेको आफूहरुलाई महशुस भएको उनीहरुको भनाइ छ ।

मधेसी शहीद प्रतिष्ठानका सदस्य शुभम यादवले आफूहरु प्रतिष्ठानमा आएको ७-८ महिना भईसक्दा समेत तलबसम्म नपाएको गुनासो गरे  गृह सञ्चार तथा कानून मन्त्रालयमा मुख्यमन्त्री कार्यालय सारिएपछि आफूहरुलाई व्यवस्थापन नै नगरी कार्यालय खाली गर्न दबाब समेत आइरहेको उनले आरोप लगाए । मधेसी शहीद प्रतिष्ठानका सदस्य यादवले प्रतिष्ठानको ऐन बनेको महिनौ बितिसक्दा समेत ऐन मन्त्रीपरिषद्बाट स्वीकृति प्राप्त भएर प्रदेश सभामा लैजाने कुनै तयारी सरकारले नगरेको समेत बताए ।

 

नख्खु कारागारबाट भागेर ठमेलमा साथीको हत्या, रोल्पामा पक्राउ परे आकाश

दाङ । जेनजी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट भागेर ठमेलमा युवकको हत्या गरेका आकाश मगर रोल्पाबाट पक्राउ परेका छन् । रोल्पा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर सुनिल थापा नेपालीका अनुसार उनी गत असोज १३ गते मकवानपुरका २५ वर्षीय सुरज तामाङलाई ठमेलमा खुकुरी हानेर फरार भएका थिए । आकाश र सुरज चिनजानकै साथी भएको प्रहरीको भनाइ छ ।

सुरजको उपचारको क्रममा वीर अस्पतालमा भोलिपल्ट मृत्यु भएको थियो । आकाश लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा थिए । जेनजी आन्दोलनको क्रममा भदौ २४ मा नख्खुसहित देशभरको कारागारमा आगजनी र हुलदंगा गरी कैदीबन्दी भगाइएको थियो । सोक्रममा उनी भागेका थिए । आकाशलाई काठमाडौं पठाइएको रोल्पा प्रहरीले जनाएको छ ।

मन्त्री घिसिङका १०० दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सम्पन्न काम, हासिल भएका उपलब्धि र आगामी प्राथमिकतासहितको कार्ययोजना सार्वजनिक गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री घिसिङले सरकार गठनपछि बहु–मन्त्रालयको जिम्मेवारी सम्हालेको छोटो अवधिमै १०१ वटा महत्वपूर्ण काम सम्पन्न भएको दाबी गरे । उनले नेतृत्व लिएको टोलीले संकट व्यवस्थापन, पूर्वाधार सुधार र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

मन्त्री घिसिङका अनुसार जल तथा मौसम विज्ञान विभागलाई थप सक्रिय बनाउँदै मौसम र बाढीसम्बन्धी विशेष बुलेटिन प्रणाली लागू गरिएको छ । यसमार्फत जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै पूर्वसूचना उपलब्ध गराइँदा सम्भावित क्षति न्यूनिकरणमा सहयोग पुगेको छ । उनले काठमाडौं उपत्यकामा लामो समयदेखि देखिँदै आएको बञ्चरेडाँडामा फोहोर विसर्जन अवरोध का कारण उत्पन्न फोहोर संकट समाधान गर्नु १०० दिनको प्रमुख उपलब्धिमध्ये एक भएको उल्लेख गरे । यसले राजधानीको जनस्वास्थ्य र सहरी व्यवस्थापनमा राहत पुगेको उनले बताए ।
त्यस्तै, वर्षौंदेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजना अन्तर्गत तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गर्नु पनि उल्लेखनीय उपलब्धि भएको मन्त्री घिसिङको भनाइ छ । यसले व्यापार, आवागमन र कूटनीतिक सम्बन्धलाई पुनः गतिशील बनाएको छ ।

मनसुनका कारण क्षतिग्रस्त वीपी राजमार्ग लाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याएर जनजीवन सहज बनाइएको, जोखिमपूर्ण सडक खण्डमा तत्काल मर्मत तथा व्यवस्थापन गरिएको विवरण पनि सार्वजनिक गरिएको छ । जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले परिणाममुखी काम, प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्व नै आफ्नो कार्यशैलीको आधार भएको बताए। आगामी दिनमा ऊर्जा उत्पादन, सुरक्षित पूर्वाधार, शहरी व्यवस्थापन र विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाइने उनको प्रतिबद्धता छ । कार्यक्रममा उनले १०० दिनका उपलब्धिसँगै आगामी कार्यकालमा कार्यान्वयन गरिने योजनाहरू पनि सार्वजनिक गर्दै जनअपेक्षा अनुसार नतिजा दिने गरी सरकार अघि बढ्ने स्पष्ट पारे ।

मन्त्री घिसिङले सार्वजनिक गरेका कामहरुको विवरण

शेखर कोइरालालाई रविन्द्र मिश्रको प्रश्न : यस्तो ‘ल्याङ्ग्रे’ पाराले राजनेता भइन्छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा भाषामा खुलापत्र सार्वजनिक गरेका छन् । पत्रमा मिश्रले कोइरालाले पछिल्लो समय दिएका अभिव्यक्तिलाई आधार बनाएर उनको राजनीतिक धार स्पष्ट नभएको आरोप लगाउँदै अब निर्णायक रूपमा कित्ता रोज्नुपर्ने बताएका छन् ।

मिश्रले कोइरालाका देशलाई अभिभावक चाहिएको, राष्ट्रियता नाजुक अवस्थामा पुगेको, राष्ट्रियता र प्रजातन्त्र सँगसँगै अघि बढ्न नसके देश जोगिन नसक्ने र लोकतन्त्र छाडातन्त्र जस्तो बनेको भन्ने भनाइहरू उद्धृत गर्दै ती कुरामा चिन्ता व्यक्त गर्ने व्यक्ति आफैं निर्णायक भूमिकामा देखिन नसकेको टिप्पणी गरेका छन् । देशको अवस्था यति गम्भीर भएको स्वीकार गर्ने नेता स्वयं जिम्मेवारी लिन तयार नदेखिनु आत्मकेन्द्रित सोचको उदाहरण भएको उनको आरोप छ ।

खुलापत्रमा मिश्रले वीपी कोइरालाको राजनीतिक विरासतको चर्चा गर्दै शेखर कोइरालासँग प्रश्न गरेका छन्–देशलाई पहिलो प्राथमिकता दिने कि पदलाई ? विचारभन्दा माथि देश राख्ने वीपीको शिक्षासँग अहिलेको व्यवहार मेल नखाने उनको तर्क छ । उनले सत्ता समीकरण र अवसरको प्रतीक्षामा बस्दै अस्पष्ट अभिव्यक्ति दिइरहने शैलीलाई ‘ल्याङल्याङ’ व्यवहारको संज्ञा दिएका छन् ।

मिश्रले शेखर कोइरालालाई स्पष्ट कदम चाल्न आग्रह गर्दै पत्रकार सम्मेलन गरेर देश र कांग्रेसलाई ‘वीपी पथ’ मा लैजानुपर्ने कारण खुलस्त भन्न सुझाव दिएका छन् । त्यसो गर्न सके कांग्रेस सभापति र प्रधानमन्त्री बन्ने बाटो सहज हुने दाबी पनि उनले गरेका छन् । अर्कोतर्फ, छिमेकीको धारणा, भू–राजनीति र सत्ताको गणितमा अल्झिरहनु राजनीतिक नेतृत्वको कमजोरी भएको उनको भनाइ छ ।

खुलापत्रमा मिश्रले भविष्यमा देश नयाँ समझदारीतर्फ जाने सम्भावना प्रबल रहेको उल्लेख गर्दै त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने धारणा राखेका छन् । त्यसो नभए देश विस्तारै वा अनपेक्षित रूपमा अस्तित्वको संकटतर्फ धकेलिन सक्ने चेतावनी पनि दिएका छन् । यस्तो अवस्थामा वीपीको विचार बोकेको दलका नेताले निर्णायक भूमिका नखेले दुःखद हुने उनको टिप्पणी छ ।

मिश्रले कोइरालालाई दुई विकल्पमध्ये एउटा रोज्न स्पष्ट आग्रह गरेका छन्–या आफूलाई प्रचण्डवादी भनेर स्वीकार गर्ने या वीपीवादी भनेर अडान लिने । दुबैतर्फ मिल्ने प्रयासले न त राजनेता बन्न सकिने न त देशलाई मार्गदर्शन दिन सकिने उनको निष्कर्ष छ । मिश्रका अनुसार अस्पष्ट र ढुलमुले राजनीतिले इतिहासमा कसैलाई पनि राजनेता बनाएको छैन ।
हेर्नुस् मिश्रको खुला पत्र

 

 

राजनीतिक दलहरु निर्वाचनमा लागेको देख्दा उत्साहित भएका छौं : सञ्चारमन्त्री खरेल

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनका लागि उचित वातावरण बनिसकेको दाबी गरेका छन् । जनमत पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उचित वातावरण बनिसकेको जिकिर गरेका हुन् । उनले सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको र आवश्यक तयारी गरिरहेको पाएको पनि बताए । मन्त्री खरेलकाअनुसार जनमत पार्टी पनि निर्वाचनका लागि तयारी अवस्थामा छ । निर्वाचनका लागि सबै राजनीतिक दलहरु लागेको देख्दा सरकार उत्साहित भएको जिकिर गरे ।

उनले भने, ‘चुनावको वातावरण तयार गर्न सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै आएर छलफल गरेका हौँ । जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा छ । फागुन २१ मा सरकारले चुनाव गर्दैछ । हामी जति राजनीतिक दलहरुको पार्टी कार्यालयमा गएका छौँ, उहाँहरुले चुनावको लागि वातावरण बनिसकेको र चुनावको लागि तयार भएको सन्देश पाएका छौँ । हामी सबै चुनावमा होमिनु पर्छ भनेर सरकार उत्साहित भएर अघि बढेको छ ।’ सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरुको कार्यालयमा धाइरहेका छन् ।

राहदानीलगायतका कागजात वडा तहमै उपलब्ध गराउने गृहकार्यमा छु : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरुको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरुले श्रम स्वीकृति लगायतका कागजातहरु लिने कामका ठगी लगायतका विभिन्न खालका झमेला व्यहोर्नुपरिरहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न पनि वडा तहबाटै त्यस्ता खालका कागजात उपलब्ध गराउन आवश्यक रहेको समेत स्पष्ट पारे ।

उनले देशमा सानो काम गर्न पनि विभिन्न खालका झमेला व्यहोर्नुपर्ने भएपछि नेपाली युवाहरु श्रमको खोजीको विदेशिन बाध्य हुनु परेको समेत स्पष्ट पारे । उनले राज्यले श्रमिकहरुको हितमा काम गर्न नसक्दा उनीहरुले दलालहरुको फन्दा फस्नुपर्ने अवस्था आएको समेत स्मरण गराए । मन्त्री भण्डारीले भने, ‘यहाँको स्ट्रगलसँग हार खाएर गिवअप गरेको हो त्यो । यहाँ संघर्ष गर्‍यो, सारा गर्‍यो । अब सक्दैन भनेर भाग्न थाल्यो के विदेश । भाग्न थाल्यो भन्ने सोच आउने वित्तिकै त्यहाँ दलाल शुरु हुन्छ । त्यसलाई त्यही गाउँपालिकामा नै राज्य उपस्थित हुनु पर्दैन ?’

उनले भने, ‘पछि हामी त्यसमा निष्कर्ष निकाल्दैछौँ । के त ? वेलफेयर स्टेट त जहाँ पनि अम्ब्रेला बनेर आउनु पर्‍यो नि । तिमी विदेश जाँदैछौ ? ल तिम्रो पाटपोर्टलगायत यो हो । यो लोन ल । अब त निर्ब्याजी पाएपछि त त्यहाँबाट उम्किन पायो नि त । यो के हुन्छ मैले वर्कआउट गरिराखेको छु । म सचिवजीसँग पनि सल्लाह गरौला । यो श्रम स्विकृतिलगायतका सबै चिज त्यो वडावडाबाट दिए हुँदैन ? किन हामी यस्ता झमेलाहरु सिर्जना गरिरहन्छौ ? यो त पर्सनल इनिसिएसनमा हुने भयो के काम । राज्य खै त त्यहाँ ? यो कुरा एकदमै ल्याकिङ भएको छ साथीहरु ।’

मन्त्री भण्डारीले राज्यले उपस्थिति नदेखाएका कारण नेपाली श्रमिकहरु देशभित्रै ठगीको चपेटामा पर्नुपर्ने अवस्था आएको समेत बताए । त्यस अवसरमा उनले युवाहरुलाई देशभित्र श्रम गरेर केही गर्ने संकल्प गर्न पनि आग्रह गरे । नेपाली युवाहरुमा माग बढी तर काम नगर्ने प्रवृत्ति समस्याको रुपमा रहेको उनको भनाई थियो ।

 

ट्रम्पको चेतावनी : भेनेजुएलाका मदुरोले पद छाड्नु नै बुद्धिमानी हुन्छ

काठमाडौं । दुई नेताबीच तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पद छाड्नु नै बुद्धिमानी हुने बताएका छन् । यदि मादुरोले कठोर बन्ने प्रयास गरे यो नै उनको अन्तिम पटक हुने चेतावनी दिनए । ट्रम्पले फ्लोरिडाको पाम बिचस्थित आफ्नो मार–अ–लागो रिसोर्टमा मदुरोलाई सत्ता छाड्न बाध्य पार्ने लक्ष्य हो कि भनेर सोधिएको प्रश्नको जवाफमा यस्तो टिप्पणी गरेका हुन् । ट्रम्पले अमेरिकाले सप्ताहन्तमा प्रतिबन्धित तेल ट्याङ्करलाई पछ्याइरहेको कुरा पनि पुष्टि गरे । मदुरोले ट्रम्पको शब्दलाई प्रत्यक्ष संकेत नगरी हरेक नेताले आफ्नै राष्ट्रको आन्तरिक मामिलामा ध्यान दिनुपर्नेमा जोड दिए ।

फागुन २१ मै निर्वाचन हुनुपर्छ : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको कदमलाई आफूहरुले सकारात्मक रुपमा लिएको र निर्वाचनमा भाग लिने कुरा शुरुवातदेखि नै गर्दै आएको बताए । उनले जेन–जी

आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने र नयाँ जनादेश आउनुपर्ने बताए । भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै नभइ समाजमा रहेको त्रासको सामना गर्नसक्ने परिस्थिति सरकारले निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘सरकारको कदमलाई सकारात्मक रुपले हेरेको छ । निर्वाचनमा भाग लिने शुरुवातदेखि नै निर्णय गरिसकेका छौँ । फागुन २१ गते निर्वाचन हुनुपर्छ । आन्दोलनको मर्म जुन थियो, त्यसको कदर हुनुपर्छ । नयाँ जनादेश लिनुपर्छ । हामी निर्वाचनको पक्षमा छौँ । मूल रुपमा भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै होइन, समाजमा नै अराजकताको स्थिति छ, त्यसको सामना गर्ने विषयमा सरकारसँग कुरा भएको छ ।’ उनले निर्वाचन प्रयोजनार्थ सुरक्षाबारे आफूहरुले सरकारसँग चासो राखेको बताए ।

सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल

सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन कार्यक्रममा गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेगरी सरकार गृहकार्यमा लागेको बताए ।

गृहमन्त्रीले भने, ‘हाम्रो मूल रणनीति कुनैपनि अवस्थामा द्वन्द्व हुन नदिने हो । मुलुकको सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण बनाउन शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भयपूर्ण प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी गरिरहेका छौँ । संसद् विगठन भएको छ महिनाभित्र चुनाव हुनुपर्ने जनादेश भएकाले सुरक्षा चुनौतीलाई सुदृढ गर्दै निर्वाचन चुनाव सम्पन्न हुनेछ ।’

जेनजीका आन्दोलनका सहिद पहिचान गरी सबैको नामावली राजपत्रमा प्रकाशन गरिएको जनाउँदै उहाँले सहिद परिवारलाई राहत प्रदानमा सरकार केन्द्रित रहेको बताए । गृहमन्त्री अर्यालले समृद्धि, विकास र सुशासन कायमका लागि जेनजीपुस्तालाई राजनीतिको मूलधारमा ल्याउनुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार जेनजीपुस्ता दल विशेषको नभई सबैका साझा जनशक्ति भएकाले यो पुस्ताको सिर्जनशीलता र प्रतिभालाई राष्ट्र विकसमा उपयोग गर्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार शान्ति सुरक्षा कायम गर्दै सुशासनमा केन्द्रित रहेको बताए । ‘सुरक्षा निर्देशन दिन सङ्घीय सरकारबाट आदेश लिनुपर्ने अवस्थाले पनि शान्ति सुरक्षामा प्रदेश सरकार सक्रिय रूपमा संलग्न हुन सकेको छैन’, उनले भने, ‘कर्णालीमा सुरक्षा जनशक्ति पनि दरबन्दी अनुसार छैन । यद्यपि, जनतालाई सुरक्षा प्रदान गर्न हामी प्रयासरत छौँ ।’

मुख्यमन्त्री कँडेलले प्रदशेका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रशासक मात्र नभई सुशासनको पहरेदारका रूपमा काम गर्न निर्देशन दिए । कर्णालीमा मनपरी भाडा असुली, असुरक्षित यात्रा, लागु पदार्थको प्रभाव र पछिल्लो समय दुव्र्यसनीको केन्द्रका रूपमा विकास भइरहेको अवस्थालाई गम्भीरताका साथ लिन र न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न उनले संघीय सरकारसँग आग्रह गरे । गृह सचिव रामेश्वर दङ्गालले गोष्ठीमा समग्र कर्णाली प्रदेशको सुरक्षा अवस्था, चुनौती र समाधानका लागि अवलम्बन गरिएका उपाय, व्यवस्थापनका बारेमा जानकारी दिने बताए । गोष्ठीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक टेकेन्द्र कार्की, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ ।