`

उत्कृष्ट काम गर्ने मन्त्रीको मन्त्रालयमै सरुवामा ‘राजनीतिक ट्याग’

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारमा उत्कृष्ट कार्यसम्पादन गर्ने मन्त्रीका रूपमा प्रचारित सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रालयमा कर्मचारी सरुवालाई लिएर कर्मचारी वृत्तमा असन्तुष्टि देखिएको छ।

मन्त्रालयमा लामो समयदेखि प्रभाव जमाएर बसेका कर्मचारीलाई छुन नसकिएको तर एमाले र कांग्रेसनिकटको आरोप लगाउँदै कर्मचारीलाई सरुवा गर्ने क्रम बढेको कर्मचारीहरूको गुनासो छ।

हालै मन्त्रालयले २४ जना उपसचिवको सरुवा गरेको थियो। सरुवाका क्रममा निजामती सेवा ऐनको व्यवस्थाविपरीत जीवनराज सेढाईंलाई अतिरिक्त समूहमा राखिएको र त्यसपछि उनले राजीनामा दिएको कर्मचारी स्रोतको दाबी छ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पशुपति महतलाई एमालेनिकट भएको आरोप लगाउँदै सरुवा गरिएको बताइएको छ। यसअघि अर्थमन्त्री रामेश्वर खनालको सचिवालयमा काम गरेका दीपक ढकाललाई कांग्रेसनिकटको ट्याग लगाउँदै जिल्ला समन्वय समिति काभ्रेमा पठाइएको स्रोतको भनाइ छ। हरिप्रसाद चापागाईंलाई पूर्वएमाले भएको आरोप लगाउँदै मन्त्रालयबाट बाहिर पठाइएको पनि कर्मचारीहरूले बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरेका गोकर्ण उपाध्यायलाई समेत कांग्रेसनिकटको आरोप लगाउँदै लम्कीचुहा खटाइएको स्रोतको दाबी छ।

उपसचिवहरू निर्मला न्यौपाने, माधवप्रसाद ढकाल, लेखनाथ न्यौपाने, नेत्र पौडेल, महेन्द्र बिक, अनुषा कोइराला र विवेक घिमिरेलाई एमालेनिकटको आरोप लगाउँदै सरुवा गरिएको कर्मचारीहरूको भनाइ छ। त्यस्तै, उत्तम घिमिरे, रमेश पाण्डेय, पूर्वमन्त्री बद्री पाण्डेको सचिवालयमा काम गरेका हिमाल गौतम र लीलाधर अवस्थीलाई कांग्रेसनिकटको आरोप लगाउँदै सामान्य प्रशासन मन्त्रालयबाट बाहिर पठाइएको दाबी गरिएको छ।

सरुवामा को हावी ?

कर्मचारीहरूको भनाइमा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी सरुवाको निर्णय प्रक्रियामा मन्त्री तथा मन्त्रालयका उच्च अधिकारीसँगै राजनीतिक पहुँच भएका व्यक्तिहरूको प्रभाव देखिने गरेको छ।

सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरूका अनुसार तल्लो तहका कर्मचारीको सरुवामा दीपक बोहराको प्रभाव रहने गरेको छ। सहसचिव तथा सचिव तहका कर्मचारीको सरुवामा भने सुवास शर्मालगायतका व्यक्तिहरूको हस्तक्षेप हुने गरेको कर्मचारी स्रोतको दाबी छ।

यद्यपि, कर्मचारी सरुवामा राजनीतिक आस्थाका आधारमा विभेद गरिएको भन्ने आरोपबारे मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक भएको छैन।

कर्मचारीहरू भने प्रशासनिक निर्णयमा राजनीतिक दलसँगको निकटता वा विगतको जिम्मेवारीलाई आधार बनाउने प्रवृत्तिले निजामती सेवाको निष्पक्षता र व्यावसायिकतामाथि प्रश्न उठ्ने बताउँछन्।

एकातिर मन्त्रालयमा लामो समयदेखि जिम्मेवारी सम्हाल्दै आएका कर्मचारीको प्रभाव कायमै रहने र अर्कोतिर राजनीतिक आस्था वा विगतको जिम्मेवारीका आधारमा कर्मचारी सरुवा गरिने अवस्था देखिए त्यसले प्रशासन सुधारको दाबीमाथि नै प्रश्न उठाउने उनीहरूको भनाइ छ।

कर्मचारी सरुवालाई नियमित प्रशासनिक प्रक्रियाभन्दा राजनीतिक छानबिन र वर्गीकरणको माध्यम बनाइन नहुने उनीहरूको माग छ। सरुवामा स्पष्ट मापदण्ड, पारदर्शिता र कानुनको पालना हुनुपर्ने कर्मचारीहरूको जोड छ।

सीटीईभीटीका ज्यालादारी श्रमिक आन्दोलित, ७४ जनालाई काममा फर्काउन माग

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले रोजगारी सुरक्षालगायत विभिन्न माग राख्दै परिषद्को सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन्।

करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले कार्यरत श्रमिकलाई हालकै पदमा निरन्तर काम गर्न पाउने व्यवस्था गर्नुपर्ने, रोजगारीको सुरक्षा र सेवा–सुविधा सुनिश्चित गर्नुपर्नेलगायतका माग अघि सारेको छ।

समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई पुनः काममा फर्काउनुपर्ने माग गरेको छ। त्यस्तै, करार कर्मचारीलाई दसैं पेश्की, पोशाक, प्रशिक्षण, दुर्गम तथा स्थानीय भत्तालगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग पनि समितिको छ।

मासिक ज्यालादारी कर्मचारीलाई हालकै अवस्थामा निरन्तर काम गर्न दिनुपर्ने तथा पोशाकलगायतका सुविधा उपलब्ध गराउनुपर्ने समितिको माग छ। उनीहरूको सेवा तथा कार्यअवस्था एकतर्फी रूपमा परिवर्तन गर्न नहुनेसमेत समितिले जनाएको छ।

आन्दोलनमा सहभागी भएकै आधारमा कुनै पनि श्रमिकमाथि पूर्वाग्रह, विभेद वा प्रतिशोधपूर्ण व्यवहार नगर्न समितिले व्यवस्थापनसँग आग्रह गरेको छ।

श्रमिकहरूले आफ्ना माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र स्पष्ट कार्ययोजना सार्वजनिक गर्नसमेत माग गरेका छन्। व्यवस्थापनसँग टकरावको बाटो रोज्नुभन्दा संवाद र सहमतिमार्फत समस्या समाधान गर्न आफूहरू तयार रहेको समितिको भनाइ छ।

माग सम्बोधन नभएसम्म खबरदारीका कार्यक्रम जारी राख्ने समितिले जनाएको छ।

तस्वीरहरू:

 

अभावबीच पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी

काठमाडौं । पौडी खेल्न पानी चाहिन्छ। तर, पारा पौडी खेलाडीका लागि पानीमा उत्रिनु मात्र पर्याप्त हुँदैन। नियमित प्रशिक्षण, अपाङ्गमैत्री पूर्वाधार, दक्ष प्रशिक्षक, फिजियोथेरापी, रिकभरी, पोषण, यातायात र आर्थिक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ।

नेपालका चार पारा पौडी खेलाडी भने यिनै आधारभूत सुविधाको अभावबीच अन्तर्राष्ट्रिय मञ्चमा देशको झण्डा फहराउने सपना बोकेर अभ्यास गरिरहेका छन्। उनीहरूका कथा फरक छन्, संघर्ष फरक छन्, तर लक्ष्य एउटै छ, पानीमा आफ्नो क्षमता प्रमाणित गर्ने र नेपालका लागि पदक जित्ने।

सन् २०१० देखि नेपालले पारा एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको छ। तर, यो प्रतियोगितामा नेपालको पदक यात्रा अझै सीमित छ। सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ पारा एसियाली खेलकुदमा तेक्वान्दोकी पलेशा गोवर्धनले जितेको कांस्य पदक नै हालसम्म नेपालको एक मात्र पदक हो।

अब चार पारा पौडी खेलाडी त्यो इतिहासमा अर्को अध्याय थप्ने तयारीमा छन्।

पारा पौडी संघको आयोजनामा मुख्य प्रशिक्षक सुवास श्रेष्ठले सृजना सार्की, जेनिशा कठायत, हर्कमान घर्ती र मेम्बर सिङ्गी स्याङ्बोलाई प्रशिक्षण दिइरहेका छन्।

पछिल्ला केही महिनादेखि उनीहरू नियमित अभ्यासमा छन्। खेलाडीको मेहनत र लगनमा कमी छैन। समस्या छ भने तयारीका लागि आवश्यक स्रोत र पूर्वाधारमा।

प्रशिक्षणका लागि स्विमिङ पुलकै व्यवस्था गर्नु उनीहरूको पहिलो चुनौती थियो। रिफ्रेस रिक्रिएसन सेन्टरले सहुलियत दरमा पुल र लेन उपलब्ध गराएपछि अभ्यास केही सहज भएको छ। तर, पानीमा अभ्यास गर्न पाउनु मात्रै पर्याप्त छैन।

फिजियोथेरापी, रिकभरी, ज्याकुजी, पोषण, यातायात र आवश्यक खेल सामग्रीको अभाव अझै छ। अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्ने खेलाडीका लागि यी सुविधा तयारीको अभिन्न हिस्सा हुन्।

प्रशिक्षक श्रेष्ठका लागि पनि यही सबैभन्दा ठूलो चुनौती हो सीमित स्रोतका बीच खेलाडीको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनु।

खेलाडीमा प्रतिभा छ, मेहनत छ र आत्मविश्वास पनि छ। तर, पर्याप्त सुविधा नहुँदा उनीहरूले आफ्नो क्षमताअनुसार तयारी गर्न पाइरहेका छैनन्।

१९ वर्षीया सृजना सार्कीका लागि आगामी प्रतियोगिता विशेष हुनेछ। यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

जुम्लाकी सृजनाको जीवन तीन वर्षअघि अचानक बदलियो। माटो खन्ने क्रममा पहिरो वा ढिस्कोमा पुरिएपछि उनले अपाङ्गताको सामना गर्नुपर्‍यो। त्यसपछि जीवन सहज रहेन। तर, उनले आफ्नो सपना भने छाडिनन्।

अहिले गोकर्णेश्वरमा बसेर स्नातक तहको अध्ययनको तयारी गरिरहेकी उनी प्रशिक्षणका लागि नियमित रूपमा अभ्यासस्थल पुग्छिन्। कहिले ट्याक्सी त कहिले टेम्पो चढेर प्रशिक्षणमा पुग्ने उनको दैनिकी बनेको छ।

पछिल्लो समय पौडीमा उनले विशेष मेहनत गरिरहेकी छन्। पहिलोपटक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसरले उनलाई उत्साहित बनाएको छ।

तर, उनी केवल सहभागितामा सीमित हुन चाहन्नन्।

उनको चाहना पानीमा उत्रिँदा आफ्नो विगतका कठिनाइ होइन, आफ्नो क्षमता देखाउने हो। त्यसैले पहिलो अन्तर्राष्ट्रिय यात्रालाई उनी पदकको सम्भावनासँग जोडेर हेरिरहेकी छन्।

बागलुङका २१ वर्षीय हर्कमान घर्तीको जीवन पनि एउटा दुर्घटनापछि बदलियो।

करिब ११ वर्षअघि उनको गाउँमा पहिलोपटक बिजुली पुगेको थियो। त्यही क्रममा मेन इन्सुलेटर समात्दा उनलाई करेन्ट लाग्यो। दुर्घटनामा उनले दुवै हात गुमाए।

तर, हात गुमेपछि उनको सपना रोकिएन।

हर्कमान पछिल्लो छ वर्षदेखि घरेलु खेलकुदमा सक्रिय छन्। पौडी उनको खेलयात्राको महत्वपूर्ण हिस्सा बनेको छ। एक वर्षअघि उनले जापानमा अन्तर्राष्ट्रिय एथलिट लाइसेन्ससमेत बनाएका थिए।

अहिले उनको लक्ष्य तत्कालको प्रतियोगिताभन्दा पनि ठूलो छ। आगामी ओलम्पिक र विश्व च्याम्पियनसिपका लागि आवश्यक समय र क्वालिफिकेसन पूरा गर्ने उनको योजना छ।

तर, त्यसका लागि पर्याप्त प्रशिक्षण सुविधा चाहिन्छ। ज्याकुजी, फिजियोथेरापी र रिकभरीजस्ता सुविधा नियमित रूपमा उपलब्ध नहुँदा तयारी प्रभावित हुने गरेको उनी बताउँछन्।

त्यसैले आगामी प्रतियोगितामा पदकको शतप्रतिशत ग्यारेन्टी गर्न नसकिने उनको भनाइ छ। तर, प्रतिस्पर्धा गर्ने आत्मविश्वास भने कमजोर छैन।

दुवै हात गुमाएका हर्कमानका लागि पौडी केवल खेल होइन, आफ्नो पहिचान संसारसामु स्थापित गर्ने माध्यम बनेको छ।

सुदूरपश्चिमकी जेनिशा कठायतका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता नयाँ अनुभव होइन। उनी करिब नौ वर्षदेखि पौडीमा सक्रिय छिन्।

कक्षा १० मा पढिरहेका बेला उनले खुट्टा गुमाइन्। त्यसपछि पनि पौडीसँगको सम्बन्ध टुटेन। बरु यही खेललाई उनले आफ्नो आत्मविश्वास र पहिचानको आधार बनाइन्।

चीनमा भएको १९औँ एसियाली खेलकुदमा उनले नेपालको प्रतिनिधित्व गरिसकेकी छन्। त्यसबेला उनले आफूले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकिनन्।

तर, त्यो अनुभवले उनलाई रोक्नेभन्दा अझ राम्रो तयारी गर्न प्रेरित गर्‍यो।

अहिले उच्च शिक्षालाई निरन्तरता दिँदै प्रशिक्षणमा पनि ध्यान दिइरहेकी जेनिशा यसपटक अघिल्लो अनुभवलाई सुधारिएको प्रदर्शनमा बदल्न चाहन्छिन्।

उनको लक्ष्य स्पष्ट छ—पदक।

मेम्बर सिङ्गी स्याङ्बोको पौडी यात्रा पनि दुर्घटनाबाटै सुरु भएको हो।

१७ वर्षको उमेरमा रसुवागढी नाकानजिक भएको सडक दुर्घटनामा उनले एउटा खुट्टा गुमाए। त्यतिबेला उनी कन्टेनर गाडीमा हेल्परका रूपमा काम गर्दै गाडी चलाउन सिकिरहेका थिए।

दुर्घटनापछि जीवन सहज रहेन। कृत्रिम खुट्टाको व्यवस्थापनका क्रममा उनको सम्पर्क पौडी खेलसँग जोडियो।

सुरुमा पौडी उनको ठूलो योजना थिएन। अवसर पाएपछि पानीमा उत्रिए। विस्तारै त्यही पानी उनको जीवनको नयाँ बाटो बन्यो।

अहिले २६ वर्षका स्याङ्बो नियमित प्रशिक्षणमा छन्। करिब दुई महिनादेखि निरन्तर अभ्यास गरिरहेका उनी आफ्नो तयारी राम्रो भइरहेको बताउँछन्।

अब उनको लक्ष्य सहभागिता मात्र होइन।

‘मेडल नै ल्याउने’ उनको स्पष्ट उद्देश्य छ।

प्रशिक्षण र दैनिक खर्च व्यवस्थापनमा केही सहयोग पाइरहे पनि सबै आवश्यक सुविधा पर्याप्त छैनन्। तर, त्यसले उनको आत्मविश्वास कमजोर बनाएको छैन।

सृजनाका लागि यो पहिलो अन्तर्राष्ट्रिय यात्रा हो। जेनिशा आफ्नो अघिल्लो अनुभव सुधार्न चाहन्छिन्। हर्कमानको लक्ष्य ओलम्पिक र विश्व च्याम्पियनसिपको बाटो तय गर्नु हो। मेम्बर सिङ्गी भने पहिलो ठूलो अन्तर्राष्ट्रिय अवसरमै पदक जित्न चाहन्छन्।

उनीहरूको विगत फरक छ।

कसैले पहिरोमा अपाङ्गता बेहोरे। कसैले करेन्टबाट दुवै हात गुमाए। कसैले किशोरावस्थामै खुट्टा गुमाए। कसैको जीवन सडक दुर्घटनाले बदलियो।

तर, उनीहरूलाई जोड्ने कुरा एउटै छ—हार नमान्ने इच्छाशक्ति।

उनीहरू अहिले पनि पर्याप्त सुविधाविनै अभ्यास गरिरहेका छन्। अपाङ्गमैत्री खेल पूर्वाधार सीमित छन्। फिजियोथेरापी र रिकभरीको व्यवस्था सहज छैन। पोषण र खेल सामग्रीको पर्याप्त उपलब्धता छैन। प्रशिक्षणस्थलसम्म पुग्नसमेत कतिपय अवस्थामा व्यक्तिगत संघर्ष गर्नुपर्छ।

तर, स्विमिङ पुलमा उत्रिएपछि उनीहरूको ध्यान यी समस्याबाट केही समयका लागि हट्छ।

पानीमा हरेक स्ट्रोकसँगै उनीहरू आफ्नो समय सुधार्न खोज्छन्। हरेक अभ्याससँगै अन्तर्राष्ट्रिय मञ्चमा राम्रो प्रदर्शन गर्ने सपना बुन्छन्।

त्यहाँ उनीहरूको शारीरिक अवस्थाभन्दा खेल क्षमता महत्वपूर्ण हुन्छ।

मुख्य प्रशिक्षक सुवास श्रेष्ठका लागि यी चार खेलाडी केवल खेलाडी होइनन्, सम्भावना बोकेका प्रतिभा हुन्।

उनीहरूको मेहनत र इच्छाशक्ति बलियो छ। तर, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नियमित र वैज्ञानिक प्रशिक्षण आवश्यक हुन्छ। त्यसका लागि पर्याप्त समय, उपकरण, रिकभरी, पोषण र आर्थिक स्रोत चाहिन्छ।

सीमित साधनका बीच खेलाडीलाई तयार पार्नु चुनौतीपूर्ण भए पनि उनीहरूमा रहेको सम्भावनाले प्रशिक्षकलाई उत्साहित बनाएको छ।

उपलब्ध स्रोतबाट अधिकतम उपयोग गर्दै खेलाडीको प्रविधि, समय र प्रदर्शन सुधार्ने प्रयास भइरहेको छ। तर, पदकको लक्ष्य राख्ने हो भने तयारीलाई अझ व्यवस्थित र दीर्घकालीन बनाउनुपर्ने आवश्यकता स्पष्ट छ।

नेपालको पारा खेलकुदले अझै लामो यात्रा तय गर्न बाँकी छ। एउटा पदकले मात्रै संरचनागत समस्या समाधान हुँदैन। खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन निरन्तर लगानी, पूर्वाधार र वैज्ञानिक प्रशिक्षण आवश्यक हुन्छ।

अहिले भने यी चार खेलाडी पानीमा आफ्नो भविष्य खोजिरहेका छन्।

सृजना पहिलो अन्तर्राष्ट्रिय यात्रामा आफ्नो क्षमता देखाउन चाहन्छिन्। जेनिशा विगतको अनुभवलाई सुधारिएको प्रदर्शनमा बदल्न चाहन्छिन्। हर्कमानको सपना ओलम्पिक र विश्व च्याम्पियनसिपसम्म पुग्ने छ। मेम्बर सिङ्गी दुर्घटनाले खोसेको खुट्टाको पीडालाई पदकको खुसीमा बदल्न चाहन्छन्।

उनीहरूलाई अहिले सबैभन्दा धेरै चाहिएको कुरा अवसर हो।

किनकि मेहनत गर्ने क्षमता उनीहरूसँग छ। सपना उनीहरूसँग छ। देशका लागि खेल्ने इच्छाशक्ति पनि छ।

अब प्रश्न उनीहरूले कति मेहनत गर्छन् भन्ने मात्र होइन। उनीहरूको मेहनतलाई राज्य र खेलकुद क्षेत्रले कति साथ दिन्छ भन्ने पनि हो।

तस्वीरहरू :

चार महिना पनि किन टिकेन प्रधानमन्त्रीको ‘प्रोटोकल’?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सोमबार भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग भएका यी भेटवार्ताले प्रधानमन्त्री शाहले सरकार गठनका सुरुवाती दिनमा अपनाएको कूटनीतिक शैलीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ।

प्रधानमन्त्री बनेलगत्तै शाहले विदेशी राजदूत तथा उच्च अधिकारीसँग सामूहिक भेटवार्तालाई प्राथमिकता दिएका थिए। त्यसबेला उनको सचिवालयले प्रधानमन्त्रीले विदेशी प्रतिनिधिसँग ‘एक्लाएक्लै नभेट्ने’ शैली अपनाएको प्रचार गरेको थियो। यसलाई उनको सचिवालयले नयाँ ‘प्रोटोकल’को रुपमा व्याख्या पनि गर्यो। 

तर, चार महिना नपुग्दै प्रधानमन्त्री आफैंले भारत र चीनका राजदूतसँग प्रत्यक्ष भेटवार्ता गरेपछि उनको पुरानो प्रोटोकल व्यवहारमै बदलिएको देखिएको छ। 

यसले केही प्रश्न जन्मिएका छन्- प्रधानमन्त्रीको त्यो प्रोटोकल राजनीतिक स्टन्ट थियो या राजनीतिक अपरिपक्वता? यदि यी दुवै कुरा होइनन् भने प्रधानमन्त्री शाह आफैले निर्माण गरेको प्रोटोकल चार महिना पनि किन टिकेन? कुटनितिक विवाद निम्तिने गरी र विदेशी नियोगका पदाधिकारीहरुलाई झस्काउने त्यो निर्णय प्रधानमन्त्री कार्यालयले किन गरेको थियो?  

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको भेटसमेत शाहले अस्वीकार गरेको चर्चा भएको थियो। प्रधानमन्त्री तहका व्यक्तिसँग मात्र व्यक्तिगत भेट गर्ने अडानका कारण मिश्रीसँगको भेट हुन नसकेको बताइएको थियो। त्यसपछि नेपाल-भारत सम्बन्धमा चिसोपना आएको भन्दै राजनीतिक वृत्तमा विभिन्न टिप्पणीसमेत भएका थिए।

तर पछिल्लो समय प्रधानमन्त्रीको कूटनीतिक सक्रियता एकाएक बढेको छ। भारत र चीनसँगै अमेरिकी प्रतिनिधिसँग समेत प्रत्यक्ष संवादको वातावरण बन्दै गएको छ। यसलाई सरकारको बाह्य सम्बन्धलाई नयाँ गति दिने प्रयासका रूपमा हेरिएको छ।

भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री शाहलाई शुभकामना सन्देशसमेत दिएका थिए।

त्यस्तै, चिनियाँ राजदूत माओमिङसँगको भेटमा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने तथा विकास साझेदारीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्रीको पछिल्लो सक्रियतालाई भारत र चीन भ्रमणको सम्भावनासँग जोडेर पनि हेरिएको छ। यद्यपि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत वा चीन भ्रमणको समयतालिका अहिलेसम्म टुंगो नलागेको जनाएको छ। भ्रमण भएमा त्यसका लागि एजेन्डा, सहमति र आवश्यक तयारी पूरा गर्न समय लाग्ने मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

यी भेटवार्ताको अर्को चासोको विषय भनेको परराष्ट्रमन्त्री शिशिर खनालको अनुपस्थिति हो। विदेशी प्रतिनिधिसँगको उच्चस्तरीय भेटमा प्रधानमन्त्री स्वयं प्रत्यक्ष सहभागी हुँदा परराष्ट्र मन्त्रालयको संस्थागत भूमिकाबारे प्रश्न उठ्न थालेको छ। परराष्ट्र मन्त्रालयले भने यस्ता भेटवार्तालाई नियमित कूटनीतिक प्रक्रियाकै हिस्सा बताउँदै आएको छ।

प्रधानमन्त्रीको कूटनीतिक शैलीमा आएको परिवर्तनलाई रास्वपाभित्रको पछिल्लो राजनीतिक समीकरणसँग जोडेर समेत हेर्न थालिएको छ। पार्टी सभापति रवि लामिछानेले भारत भ्रमण गरी उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेपछि प्रधानमन्त्री शाह पनि छिमेकी मुलुकका प्रतिनिधिसँग प्रत्यक्ष संवादमा सक्रिय भएका छन्। लामिछानेको सम्भावित चीन भ्रमणको चर्चाबीच प्रधानमन्त्रीको पछिल्लो सक्रियताले राजनीतिक वृत्तमा थप चासो पैदा गरेको छ।

यसैबीच प्रधानमन्त्री शाह र लामिछानेबीच आइतबार बालुवाटारमा करिब ४५ मिनेट भेटवार्ता भएको बताइएको छ। सरकार सञ्चालन, नियुक्ति तथा पार्टीभित्रको शक्ति सन्तुलनलाई लिएर दुवै पक्षबीच असमझदारी बढिरहेको चर्चाका बीच भएको उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसरी हेर्दा प्रधानमन्त्री शाहका लागि अहिले दुईवटा चुनौती एकसाथ देखिएका छन्-एकातिर पार्टीभित्रको शक्ति सन्तुलन व्यवस्थापन र अर्कोतिर भारत, चीन तथा अमेरिकासँग सरकारको सम्बन्धलाई थप प्रभावकारी बनाउने दबाब। 

विदेशी प्रतिनिधिसँग ‘एक्लै नभेट्ने’ अघिल्लो शैलीबाट पछि हट्दै प्रत्यक्ष संवादमा आउनुले प्रधानमन्त्रीले आफ्नो कूटनीतिक कार्यशैली पुनर्विचार गरेको संकेत भने स्पष्ट रूपमा दिएको छ।

के हो मानिसको आत्माको रहस्य?

काठमाडाैं। मानिसले आफूलाई चिन्न थालेदेखि नै एउटा प्रश्नले उसलाई पछ्याइरहेको छ-हाम्रो आत्मा कहाँबाट आयो?

हामी जन्मिनुअघि हाम्रो अस्तित्व कहाँ थियो? मृत्यु भएपछि हाम्रो चेतना वा आत्मा कहाँ जान्छ? के आत्मा शरीरभन्दा अलग कुनै अस्तित्व हो? यदि आत्मा वास्तवमै शरीरभन्दा अलग छ भने, त्यो कहाँबाट आउँछ?

यी प्रश्नको निश्चित वैज्ञानिक उत्तर आजसम्म प्राप्त भएको छैन। तर संसारका विभिन्न धर्म, दर्शन र संस्कृतिले हजारौँ वर्षदेखि यी प्रश्नको आफ्नै तरिकाले उत्तर खोज्दै आएका छन्। कतिपय परम्पराले आत्मालाई कुनै अदृश्य आध्यात्मिक संसारबाट आएको मान्छन् भने कतिपयले यसलाई ब्रह्माण्डीय चेतनाको अंशका रूपमा व्याख्या गर्छन्।

आत्मा र प्रकृतिको सम्बन्ध

मानव सभ्यताको प्रारम्भिक चरणमा मानिसले प्रकृतिमा भएका धेरै घटनालाई अदृश्य शक्तिसँग जोडेर बुझ्थ्यो। यसैबाट ‘एनिमिज्म’ अर्थात् प्रकृतिका वस्तुहरूमा पनि आत्मा वा चेतना हुन्छ भन्ने विश्वास विकसित भएको मानिन्छ।

प्राचीन मानिसका लागि पहाड, नदी, जंगल, जनावर, रुख तथा आकाश केवल निर्जीव वस्तु थिएनन्। तिनमा कुनै न कुनै आत्मिक शक्ति रहेको विश्वास गरिन्थ्यो।

वर्षा, हावा, चट्याङ, आँधी र बाढीजस्ता प्राकृतिक घटनालाई पनि अदृश्य शक्तिको गतिविधिका रूपमा व्याख्या गरिन्थ्यो। पृथ्वी हल्लिँदा कुनै पृथ्वी-आत्मा सक्रिय भएको, पानीको ठूलो बहाव आउँदा पानीसँग सम्बन्धित कुनै शक्ति जिम्मेवार भएको विश्वास गरिन्थ्यो।

यसरी हेर्दा आध्यात्मिक संसारको अवधारणा मानिसको सभ्यतासँगै विकसित भएको देखिन्छ।

श्वास र आत्माको सम्बन्ध

मृत्युबारे मानिसले गरेको प्रारम्भिक अवलोकन अझ रोचक थियो। मानिस जीवित हुँदा सास फेर्छ, तर मृत्यु भएपछि श्वास रोकिन्छ। त्यसैले धेरै पुराना संस्कृतिमा श्वासलाई जीवन र आत्मासँग जोडियो।

अब्राहमिक धर्महरू-यहूदी, इसाई र इस्लाम-मा पनि जीवन र श्वासबीचको सम्बन्ध महत्वपूर्ण छ।

बाइबलको जेनेसिसमा परमेश्वरले मानिसलाई माटोबाट बनाएर उसको नाकमा जीवनको श्वास फुकिदिएको र मानिस जीवित आत्मा बनेको वर्णन पाइन्छ। यसले एउटा प्राचीन अवधारणालाई देखाउँछ-शरीर भौतिक हुन सक्छ, तर जीवन दिने तत्व भौतिक शरीरभन्दा बाहिरको हुन सक्छ।

आत्मा आकाशबाट आउँछ?

प्राचीन मानिसले रातको आकाश हेर्दा त्यहाँ असंख्य तारा र ग्रह देख्थ्यो। तर ती वस्तुको वास्तविक प्रकृति उसलाई थाहा थिएन। त्यसैले आकाशलाई देवता र अदृश्य शक्तिहरूको संसारका रूपमा बुझ्ने परम्परा विकसित भयो।

प्राचीन ग्रीक दर्शनमा समेत आत्मा र ताराबीच सम्बन्ध जोडिएको पाइन्छ। प्लेटोका केही दार्शनिक विचारलाई आधार मान्दा आत्मा तारासँग सम्बन्धित कुनै उच्च संसारबाट आएको र मृत्यु भएपछि पुनः त्यही दिशातर्फ फर्किने अवधारणा देखिन्छ।

यसले एउटा रोचक प्रश्न जन्माउँछ-यदि शरीर पृथ्वीबाट बनेको हो भने चेतना कहाँबाट आयो?

आज विज्ञानले हामीलाई ताराहरू, ग्रहहरू र ब्रह्माण्डबारे प्राचीन मानिसको कल्पनाभन्दा निकै बढी जानकारी दिएको छ। मानिस अन्तरिक्षमा पुगिसकेको छ। पृथ्वीको वायुमण्डलभन्दा बाहिर गएर पनि उसले कुनै परम्परागत अर्थको ‘स्वर्ग’ भेटेको छैन।

तर आध्यात्मिक विश्वास गर्नेहरूका लागि यसको अर्थ स्वर्ग छैन भन्ने हुँदैन। उनीहरू स्वर्ग वा आध्यात्मिक संसार भौतिक स्थान नभएर अर्को आयाममा रहेको हुन सक्ने तर्क गर्छन्।

अर्को आयामको सम्भावना

यहीँबाट ‘आध्यात्मिक आयाम’को अवधारणा अगाडि आउँछ।

के आत्मिक संसार पृथ्वीभन्दा माथि कतै रहेको ठाउँ होइन, बरु यही ब्रह्माण्डमा तर हाम्रो इन्द्रियले अनुभव गर्न नसक्ने अर्को आयाम हो?

अलौकिक घटना, भूतप्रेत, आत्माको उपस्थिति वा मृत्यु नजिकका अनुभवलाई व्याख्या गर्ने क्रममा कतिपय मानिसले यस्तै अवधारणा प्रस्तुत गर्छन्।

तर यहाँ विज्ञान र विश्वासबीच स्पष्ट सीमा छ। मानिसले विभिन्न किसिमका व्यक्तिगत तथा सांस्कृतिक अनुभवहरू वर्णन गरे पनि आत्मा वा आध्यात्मिक संसारको अस्तित्वलाई वैज्ञानिक रूपमा प्रमाणित गर्ने पुनरुत्पाद्य प्रमाण अहिलेसम्म स्थापित भएको छैन।

यसको अर्थ मानिसका सबै अनुभव झुटा हुन् भन्ने पनि होइन। यसको अर्थ केवल यति हो-अनुभव हुनु र वैज्ञानिक रूपमा प्रमाणित हुनु एउटै कुरा होइन।

यहूदी परम्पराको ‘गुफ’

आत्माको उत्पत्तिसम्बन्धी सबैभन्दा रहस्यमय अवधारणामध्ये एउटा यहूदी धार्मिक परम्परामा पाइने ‘गुफ’ हो।

‘गुफ’ शब्दको अर्थ हिब्रू भाषामा ‘शरीर’ भन्ने हुन्छ। केही ताल्मुदिक परम्परामा यसलाई जन्मिन बाँकी आत्माहरूको भण्डार वा निवाससँग जोडिएको छ।

यस अवधारणाअनुसार मानिसको आत्मा पृथ्वीमा जन्मिनुअघि कुनै आध्यात्मिक अवस्थामै रहेको हुन्छ। त्यसपछि उपयुक्त समयमा आत्मा मानव शरीरमा आउने मान्यता पाइन्छ।

यहूदी परम्पराका केही व्याख्यामा संसारमा जन्मिन बाँकी आत्माहरू ‘गुफ’मा रहेको र सबै आत्माहरू जन्मिएपछि मात्र मसीहको आगमन हुने विश्वाससँग यो अवधारणा जोडिन्छ।

यहाँ एउटा अत्यन्त रोचक विचार देखिन्छ-हामी जन्मिएपछि मात्र अस्तित्वमा आएका होइनौँ; हाम्रो आत्माको अस्तित्व जन्मअघि नै हुन सक्छ।

तर यो कुरा बुझ्दा एउटा महत्वपूर्ण तथ्य छुटाउन हुँदैन। ‘गुफ’को अवधारणा हिब्रू बाइबलमा प्रत्यक्ष रूपमा उल्लेखित सिद्धान्त होइन। यो मुख्यतः पछि विकसित भएको यहूदी ताल्मुदिक र कब्बालिस्टिक परम्परासँग सम्बन्धित अवधारणा हो।

कब्बालामा आत्माको रहस्य

यहूदी रहस्यवादी परम्परा कब्बालामा आत्माको विषय अझ गहिरो रूपमा प्रस्तुत हुन्छ।

कब्बालिस्टिक ग्रन्थहरूमा आत्मा, ईश्वर, ब्रह्माण्ड र मानव अस्तित्वबीचको सम्बन्धलाई रहस्यमय भाषामा व्याख्या गरिएको छ। केही परम्परागत व्याख्याअनुसार जन्मिन बाँकी आत्माहरूलाई ईश्वरको महिमासँग सम्बन्धित कुनै आध्यात्मिक अवस्थाबाट उत्पन्न भएको मानिन्छ।

यस दृष्टिकोणबाट हेर्दा मानव शरीर पृथ्वीमा अस्थायी आवासजस्तो देखिन्छ भने आत्मा त्यसमा प्रवेश गर्ने यात्रुजस्तो।

यस्तो अवधारणा संसारका अन्य धार्मिक परम्परामा पनि फरक–फरक रूपमा देखिन्छ।

हिन्दू दर्शनसँग तुलना

हिन्दू दर्शनमा आत्मा र पुनर्जन्मको अवधारणा अत्यन्त महत्वपूर्ण छ। आत्मालाई शरीरभन्दा अलग र नाशरहित तत्वका रूपमा हेर्ने परम्परा छ। शरीर परिवर्तनशील हुन्छ, तर आत्माको यात्रा निरन्तर रहने विश्वास गरिन्छ।

यसमा ‘हामी को हौँ?’ भन्ने प्रश्नको उत्तर शरीरभन्दा गहिरो तहमा खोजिन्छ।

यद्यपि कब्बालाको ‘गुफ’ र हिन्दू दर्शनको आत्मा एउटै अवधारणा होइनन्। दुवै परम्पराले जन्मअघि र मृत्युपछिको अस्तित्वबारे प्रश्न उठाए पनि तिनका धार्मिक तथा दार्शनिक आधार फरक छन्।

विज्ञानले के भन्छ?

आधुनिक विज्ञानले मानिसको चेतनालाई मस्तिष्कसँग गहिरो रूपमा सम्बन्धित देखाएको छ। स्मृति, भावना, निर्णय, व्यक्तित्व र चेतनासँग सम्बन्धित धेरै प्रक्रिया मस्तिष्कका गतिविधिसँग जोडिएका छन्।

तर चेतना वास्तवमा के हो भन्ने प्रश्न अझै पूर्ण रूपमा समाधान भएको छैन।

हामी मस्तिष्कका धेरै प्रक्रिया बुझ्न सक्छौँ, तर ‘म आफैँ भएको अनुभव’ कहाँबाट आउँछ भन्ने प्रश्न अझै दर्शन र विज्ञान दुवैका लागि चुनौतीपूर्ण छ।

यही खाली ठाउँमा आत्मा, चेतना र आध्यात्मिक ब्रह्माण्डसम्बन्धी बहसहरू जन्मिन्छन्।

के हाम्रो आत्मा कुनै आध्यात्मिक ब्रह्माण्डबाट आएको हो?

यसको निश्चित उत्तर अहिले हामीसँग छैन।

धर्मले विश्वासका आधारमा उत्तर दिन्छ। दर्शनले तर्कका आधारमा प्रश्न गर्छ। विज्ञानले प्रमाण खोज्छ।

सायद यही कारण आत्माको प्रश्न हजारौँ वर्षदेखि जीवित छ।

हामी ताराहरूबाट बनेका पदार्थबाट बनेका हौँ भन्ने वैज्ञानिक तथ्य रोचक छ। हाम्रो शरीरमा रहेका धेरै तत्व कुनै समय ताराहरूभित्र बनेका थिए। तर त्यसबाट हाम्रो चेतना पनि कुनै आध्यात्मिक ब्रह्माण्डबाट आएको प्रमाणित हुँदैन।

त्यसैले अहिलेको सबैभन्दा इमानदार निष्कर्ष यही हुन सक्छ-आत्माको उत्पत्ति मानव ज्ञानको सबैभन्दा पुरानो र अझै अनसुल्झिएको रहस्य हो।

‘गुफ’को कथा होस्, प्लेटोको तारासम्बन्धी दर्शन होस्, हिन्दू दर्शनको आत्मा होस् वा आधुनिक विज्ञानको चेतनासम्बन्धी खोज-यी सबैले एउटै गहिरो प्रश्नतर्फ संकेत गर्छन्:

हामी केवल शरीर हौँ, कि शरीरभित्र कुनै यस्तो अस्तित्व पनि छ जसको यात्रा हाम्रो जन्मभन्दा धेरै अगाडिदेखि सुरु भएको थियो?

सायद यसको उत्तर हामीले अहिलेसम्म भेटेका छैनौँ।

र सम्भवतः यही अनिश्चितताले मानिसलाई हजारौँ वर्षदेखि आकाशतर्फ हेर्न, मृत्युबारे सोच्न र आफूभित्रको ‘म’लाई खोजिरहन प्रेरित गरिरहेको छ।

बाँदर-बँदेलको आतंक नियन्त्रणबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति गम्भीर बन्दै गएपछि प्रतिनिधि सभामा यस समस्याको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन मागसहित जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

प्रस्तावक नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ हुन् भने समर्थकहरु नेकपा एमालेकी सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई छन् ।

सोमबार दर्ता भएको प्रस्तावमा किसानको उत्पादन, आम्दानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमै असर पारिरहेको भन्दै बाँदर र बँदेलको समस्या अब मानव-वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरहेको प्रस्तावमा उल्लेख गरिएको छ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमार्फत सरकारले बाँदर तथा जंगली बँदेल व्यवस्थापनका लागि समयसीमा, बजेट र संघ, प्रदेश तथा स्थानीय तहको जिम्मेवारी स्पष्ट हुने गरी राष्ट्रिय कार्ययोजना बनाउन माग गरिएको प्रस्तावक केरुङले बताए ।

उनका अनुसार प्रस्तावमा नेपालको संविधानको धारा ३६ ले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको तथा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ ले राज्यलाई नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्ने दायित्व दिएको स्मरण गराइएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्राणीशास्त्र विभागको प्राविधिक सहयोगमा प्रकाशित अध्ययनले बाँदरबाट भइरहेको क्षतिको भयावह अवस्था देखाएको प्रस्तावमा उल्लेख छ।

‘अत्यधिक प्रभावित ४४ स्थानीय तहमा २० हजार ३९५ वटा रातो बाँदर प्रत्यक्ष गणना गरिएको छ भने मध्यपहाडी क्षेत्रमा न्यूनतम १ लाख ४ हजार १३७ बाँदर रहेको अनुमान गरिएको छ,’ प्रस्तावमा छ, ‘एउटा समूहमा १९८ वटासम्म बाँदर भेटिएका छन् र औसत समूहको आकार ४२।६६ रहेको छ ।

अध्ययनअनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा बाँदर, बँदेल र दुम्सीबाट हुने द्वन्द्व विशेष गम्भीर देखिएको  र कोशीमा बाँदर र हात्ती तथा लुम्बिनी र मधेश प्रदेशका जिल्लामा बाँदर र नीलगाइका कारण किसानले समस्या भोगिरहेको प्रस्तावमा छ ।

बाँदरकै आतंकका कारण पहाडी भूमि बाँझो हुँदै गएको र बसाइँसराइको प्रमुख कारणमध्ये यो समस्या पनि बन्न थालेको केरुङले बताए ।

कृषि उत्पादनमा परेको आर्थिक क्षति झनै ठूलो रहेको र सर्वेक्षणमा सहभागी १ हजार ८४६ घरधुरीमा बाँदरबाट मात्रै वार्षिक करिब ५ करोड रुपैयाँ बराबरको बाली क्षति भएको अध्ययनले देखाएको प्रस्तावमा भनिएको छ ।

मकैमा प्रतिघरधुरी औसत ३१२ किलो अर्थात् उत्पादनको ५०।३ प्रतिशत क्षति भएको र सर्वेक्षित परिवारको मकैमा मात्रै करिब २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको र धान, गहुँ, कोदो, आलु, तोरी, सुन्तला र अलैंचीमा समेत १८ देखि ५२ प्रतिशतसम्म क्षति भएको प्रस्तावमा उल्लेख छ।

प्रस्तावक केरुङका अनुसार प्रदेशगत अवस्था झनै चिन्ताजनक छ। गण्डकीमा मकैको सापेक्ष क्षति ९० प्रतिशत, कर्णालीमा ८८ प्रतिशत तथा सुदूरपश्चिममा धानको ८५ प्रतिशत र गहुँको ९० प्रतिशतसम्म क्षति पुगेको छ ।

किसानहरू पाक्न लागेको बाली जोगाउन बिहानदेखि साँझसम्म खेतबारीमा कटेरो बनाएर बस्नुपर्ने अवस्थामा पुगेका छन्। एकैपटक करिब सयको समूहमा बाँदर खेतबारीमा पस्ने गरेको र कुकुर, रेडियो तथा आवाज निकाल्ने जस्ता परम्परागत उपायसमेत प्रभावहीन बन्दै गएको प्रस्तावमा उल्लेख गरिएको छ।

प्रस्तावमा भनिएको छ, ‘बाँदरकै आतंकका कारण पहाडी भूमि बाझोमा परिणत हुँदै बसाइसराइको प्रमुख कारण बनेको छ । स्वरोजगारी, उद्यम, उत्पादन र उत्पादकत्वमा नै असर पारी ग्रामीण र शहरको अर्थतन्त्रलाइ नै फराकिलो जोखिम तर्फ धकेलेको छ ।’

संसदमा छलफल गर्नुपर्ने पाँच कारण

प्रस्तावमा बाँदर तथा जंगली बँदेलको समस्या प्रतिनिधि सभामा छलफल गर्नुपर्ने पाँचवटा कारणसमेत उल्लेख गरिएको छ।

१. बाँदर तथा जंगली बँदेलबाट हुने बाली क्षति व्यापक भई किसानको उत्पादन, आय, खाद्य सुरक्षा तथा ग्रामीण जीविकोपार्जनमा गम्भीर असर परेको र कतिपय स्थानमा खेती छाड्ने तथा बसाइँ सर्ने अवस्था सिर्जना भएको ।

२. वैज्ञानिक अध्ययनमा सर्वेक्षण गरिएका १ हजार ८४६ घरधुरीमध्ये ९८ प्रतिशतले बाँदरलाई प्रमुख समस्याका रूपमा उल्लेख गरेको र बाँदरबाट मात्रै ती घरधुरीमा वार्षिक करिब ५ करोड रुपैयाँ बराबरको क्षति देखिएको अवस्थामा समस्या राष्ट्रिय कृषि तथा खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको ।

३. प्रतिनिधि सभामा २०८१ फागुनमै यस विषयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भइसके पनि किसानले बाली जोगाउन दिनरात खेतबारीमा बस्नुपर्ने अवस्था अझै कायम रहेको ।

४. बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको भए पनि उच्च जोखिम क्षेत्रको पहिचान, वैज्ञानिक बाँदर संख्या व्यवस्थापन, स्थानीय प्रतिकार्य संयन्त्र, खेतबारी संरक्षण तथा राहतको प्रभावकारी प्रणाली पर्याप्त रूपमा कार्यान्वयन हुन नसकेको ।

५. सरकारसँग पछिल्लो वैज्ञानिक अध्ययन, प्राविधिक कार्यदल, स्थानीय तहका अनुभव तथा विगतको संसदीय छलफलसहित पर्याप्त आधार उपलब्ध भइसकेकाले अब अध्ययन र घोषणा मात्र नभई किसानले प्रत्यक्ष अनुभूति गर्ने समयसीमाबद्ध राष्ट्रिय कार्ययोजना आवश्यक भएको ।

डेढ वर्षपछि पनि उस्तै समस्या

प्रतिनिधि सभामा  १२ फागुन २०८१ मा बाँदर र बँदेलबाट किसानले भोगिरहेको समस्या तथा दीर्घकालीन समाधानसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भएको थियो।

त्यस क्रममा वन्यजन्तु नियन्त्रण, बाली सुरक्षा, स्थानीय सरकार र वन निकायबीच समन्वय तथा किसानलाई व्यावहारिक संरक्षण दिनुपर्ने विषय उठेको थियो।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले समेत विभिन्न अध्ययन प्रतिवेदनमाथि सरकार र सरोकारवाला विज्ञसँग छलफल गरी आवश्यक बजेट विनियोजन गर्न तथा तत्कालीन र दीर्घकालीन उपाय खोज्न सरकारलाई निर्देशन दिएको थियो।

तर डेढ वर्षपछि पनि किसानले बारीमै बसेर बाली रुँग्नुपर्ने अवस्था कायम रहेको प्रस्तावमा उल्लेख छ।

यसबीच सरकारले जंगली रातो बाँदरलाई गत वर्षको १९ माघ र जंगली बँदेललाई गत वर्षकै १२ फागुनमा पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ। तोकिएका सर्तअनुसार निजी खेतबारीमा क्षति पुर्‍याउने रातो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन तथा जंगली बँदेललाई धपाउन, लखेट्न, पक्रन वा नियन्त्रण गर्न सकिने व्यवस्था छ।

तर कानुनी घोषणा मात्रले किसानले भोगिरहेको दैनिक समस्या समाधान गर्न नसकेको प्रस्तावमा उल्लेख छ।

वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० ले बाली क्षतिको मूल्याङ्कनका आधारमा बढीमा १० हजार रुपैयाँसम्म राहत दिने व्यवस्था गरेको छ।

कतिपय बालीमा उत्पादनको आधाभन्दा बढी क्षति भइरहेको अवस्थामा विद्यमान राहत रकम, क्षति मूल्याङ्कन र राहत प्राप्त गर्ने प्रक्रियालाई वास्तविक नोक्सानीअनुकूल पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ।

सरकारले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक कार्यदल गठन गरी बाँदर, बँदेल, नीलगाई र दुम्सीबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका उपायबारे सुझाव संकलनसमेत गरेको प्रस्तावमा उल्लेख छ।

वैज्ञानिक अध्ययन, संसदीय छलफल, स्थानीय तहका अनुभव र सरकारी कार्यदलबाट पर्याप्त आधार तयार भइसकेकाले अब समस्या पुनः अध्ययनमा सीमित नराखी कार्यान्वयनयोग्य राष्ट्रिय नीति आवश्यक रहेको प्रस्तावमा जोड दिइएको छ।

प्रस्तावमा छ, ‘वैज्ञानिक अध्ययन, संसदीय छलफल, स्थानीय तहका अनुभव र सरकारी कार्यदलबाट पर्याप्त आधार तयार भइसकेकाले अब समस्या पुनः अध्ययनमा सीमित राख्नेभन्दा समयसीमासहितको कार्यान्वयनयोग्य राष्ट्रिय नीति आवश्यक भएको छ ।’

आठ बुँदे कार्ययोजनाको माग

प्रस्तावमा सरकारसँग तत्काल आठवटा काम अघि बढाउन माग गरिएको छ।

पहिलो, उपलब्ध वैज्ञानिक अध्ययन र सरकारी कार्यदलका सुझावका आधारमा ३० दिनभित्र समयसीमा, बजेट तथा तीन तहका सरकारको जिम्मेवारीसहित एकीकृत राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्न माग गरिएको छ।

दोस्रो, बाली क्षति, किसानको उजुरी, वन्यजन्तुको संख्या र आवागमनका आधारमा अत्यधिक प्रभावित पालिका तथा वडाको राष्ट्रिय द्वन्द्व नक्साङ्कन गरी उच्च जोखिम क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ।

तेस्रो, प्रभावित किसानलाई अनुदानमा प्रभावकारी घेराबार, सुरक्षित अवरोध, सामुदायिक निगरानी, पूर्वसूचना प्रणाली तथा प्रमाणित गैरघातक नियन्त्रण प्रविधि उपलब्ध गराउन माग गरिएको छ। अत्यधिक प्रभावित स्थानीय तहमा आधुनिक उपकरण र प्रशिक्षित जनशक्तिसहित द्रुत प्रतिकार्य टोली स्थापना गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।

चौथो, उच्च द्वन्द्व भएका क्षेत्रमा वैज्ञानिक अध्ययन र निरन्तर अनुगमनसहित लक्षित बाँझोपन तथा अन्य उपयुक्त जनसंख्या व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ। जंगली बँदेलका हकमा नियमित संख्या अध्ययन गरी अत्यधिक प्रभावित क्षेत्रमा कानुनी र वैज्ञानिक मापदण्डअनुसार नियन्त्रण कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।

पाँचौँ, बाली क्षतिको राहत वास्तविक उत्पादन लागत, क्षेत्रफल, क्षतिको मात्रा र स्थानीय बजार मूल्यका आधारमा पुनरावलोकन गर्न माग गरिएको छ। राहत आवेदन, क्षति प्रमाणीकरण र भुक्तानी प्रक्रिया सरल बनाई स्थानीय तहबाटै छिटो सेवा उपलब्ध गराउनुपर्ने माग छ।

छैटौँ, अत्यधिक प्रभावित क्षेत्रमा वन्यजन्तुले कम क्षति गर्ने वैकल्पिक उच्च मूल्यका बालीका लागि बीउ, प्राविधिक सहयोग, अनुदान र बजार सुनिश्चित गर्न तथा वनभित्र प्राकृतिक आहारा, पानी र वासस्थान सुधार गर्न माग गरिएको छ।

सातौँ, किसान, सामुदायिक वन, वन कार्यालय र स्थानीय सरकारको संयुक्त संयन्त्र गठन गरी उच्च जोखिम भएका स्थानीय तहमा तत्काल राहत र प्रतिकार्यका लागि छुट्टै द्रुत कोष स्थापना गर्न माग गरिएको छ।

आठौँ, सरकारले २०८१ फागुनको संसदीय छलफलपछि गरेका निर्णय, अध्ययन, खर्च, कार्यक्रम र उपलब्धिको एकीकृत विवरण सदनमा प्रस्तुत गर्नुपर्ने तथा राष्ट्रिय कार्ययोजनाको प्रगति प्रत्येक तीन महिनामा सम्बन्धित संसदीय समितिमा पेस गर्नुपर्ने माग गरिएको छ।

प्रस्तावमा मानव-वन्यजन्तु द्वन्द्वलाई कुनै गाउँ, स्थानीय तह वा सत्ता पक्ष-प्रतिपक्षको मात्र समस्या नभई राष्ट्रिय सामाजिक, आर्थिक र राजनीतिक समस्याका रूपमा सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रस्तावमा कृषि, वन तथा पर्यावरण मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू-संरक्षण विभागलाई सम्बन्धित निकायका रूपमा तोकिएको छ।

ओखलढुंगाका जीर्ण झोलुङ्गे पुल मर्मत गर्न खतिवडाको ध्यानाकर्षण

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति रामहरि खतिवडाले जिल्लाका जीर्ण तथा निर्माणाधीन झोलुङ्गे पुलको अवस्थाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

खतिवडाले सुनकोशी गाउँपालिका-२, बालखु पञ्चकन्यामा जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल तथा सिद्धिचरण नगरपालिका क्षेत्रमा निर्माणाधीन पर्यटकीय झोलुङ्गे पुलको अवस्थाबारे सस्पेन्सन ब्रिज डिभिजनका प्रमुख शंकर बुढाथोकीलाई जानकारी गराउँदै आवश्यक पहल गर्न आग्रह गरेका हुन्।

केही दिनअघि ओखलढुंगाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा खतिवडाले दुवै पुलको स्थलगत निरीक्षण गरेका थिए।

निरीक्षणका क्रममा उनले पुलको अवस्था, निर्माणको प्रगति तथा स्थानीयवासीले भोग्नुपरेका समस्याबारे जानकारी लिएका थिए।

स्थानीयवासीको आवतजावतमा महत्वपूर्ण भूमिका खेल्दै आएको बालखु पञ्चकन्याको जीर्ण झोलुङ्गे पुलको तत्काल मर्मत गर्नुपर्नेमा खतिवडाले जोड दिएका छन्।

त्यस्तै, सिद्धिचरण नगरपालिका क्षेत्रमा निर्माणाधीन पर्यटकीय झोलुङ्गे पुलको कामलाई पनि प्रभावकारी रूपमा अघि बढाउन उनले आग्रह गरेका छन्।

पुलको अवस्थाका कारण स्थानीयवासीले भोग्नुपरेका कठिनाइलाई सम्बन्धित निकायसम्म पुर्‍याउँदै आवश्यक प्राविधिक तथा प्रशासनिक पहल गर्न खतिवडाले सस्पेन्सन ब्रिज डिभिजनका प्रमुख बुढाथोकीसँग आग्रह गरेका छन्।

उनले जिल्लाका ग्रामीण तथा पर्यटकीय क्षेत्रमा रहेका झोलुङ्गे पुलको नियमित निरीक्षण, मर्मतसम्भार तथा निर्माण कार्यलाई सम्बन्धित निकायले प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहसँग चिनियाँ राजदूत झाङ माओमिङको भेट, के भयो कुराकानी?

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्। राजदूत माओमिङले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।

भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, दुई देशबीच विभिन्न क्षेत्रमा हुँदै आएको सहकार्यलाई विस्तार गर्ने तथा विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाहले नेपाल र चीनबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए। उनले दुई देशबीच आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्दै विकास र समृद्धिका साझा लक्ष्य हासिल गर्न मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

नेपालले चीनसँगको सम्बन्धलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विकास, पूर्वाधार, प्रविधि, पर्यटन, व्यापार तथा लगानीलगायतका क्षेत्रमा सहकार्यका सम्भावनालाई थप फराकिलो बनाउनुपर्नेमा जोड दिएका थिए।

भेटमा नेपाल र चीनबीच पारस्परिक हितका विषयमा सहकार्यलाई निरन्तरता दिने तथा आगामी दिनमा सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएको बताइएको छ। दुई देशबीचको विकास साझेदारीलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक समन्वय र सहकार्यका विषयमा पनि कुराकानी भएको जनाइएको छ।

सो अवसरमा चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गरेका थिए। उनले नेपाल र चीनबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताएका थिए।

राजदूत माओमिङले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत पारस्परिक लाभ र साझा हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

नेपाल र चीनबीच राजनीतिक, आर्थिक, सामाजिक तथा विकासका विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। पछिल्लो भेटवार्तालाई दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा विकास साझेदारीलाई नयाँ गति दिने प्रयासका रूपमा हेरिएको छ।

प्रधानमन्त्री शाह र राजदूत माओमिङबीच भएको भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

‘राजनीतिबाट संन्यास लिन्छु’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट भ्रमपूर्ण प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आफू संसद्मा आफैँलाई ‘अग्निपरीक्षा’ दिन उभिएको बताएका हुन्।

शाहीले आफूले मदिरा सेवन गरेको तथा अश्लील भिडियोसँग जोडेर विभिन्न आरोप लगाइएको भन्दै ती आरोप प्रमाणित गर्न चुनौती दिए। उनले आफूविरुद्ध लगाइएका आरोपको सत्यता जाँच गर्न संसद्मै आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्ने मागसमेत गरे।

प्रतिनिधिसभा बैठकमा उनले नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको प्रसङ्ग उल्लेख गर्दै गलत र भ्रामक सूचनाले व्यक्तिको जीवनमा गम्भीर असर पार्न सक्ने बताए।

‘नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले गलत र भ्रामक सूचनाका कारण पीडादायी घाँटी रेटिएर आत्महत्या गरेको इतिहास नेपाली राजनीतिमा जीवितै छ। आज त्यस्तै अवस्था ममाथि आइपरेको छ,’ उनले भने।

आफूविरुद्ध सामाजिक सञ्जालमा विभिन्न किसिमका आरोप लगाइएको उल्लेख गर्दै शाहीले ‘खाइ न पाइ छालाको टोपी लाई’ भन्ने उखान चरितार्थ भएको बताए। आफूले रक्सी सेवन गरेर जथाभावी बोलेको तथा अश्लील भिडियो सार्वजनिक भएको भन्दै आरोप लगाइएको उनको भनाइ थियो।

‘आज ममाथि रक्सी खाएर जे मन लाग्यो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएका छन्,’ उनले भने।

आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै शाहीले संसद्मै आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरे। उनले संसद्मा स्वास्थ्य विभाग तथा स्वास्थ्यकर्मीको टोली रहेको उल्लेख गर्दै चिकित्सकको टोलीमार्फत आफ्नो शरीरको विस्तृत परीक्षण गर्न आग्रह गरे।

‘यही संसद्मा स्वास्थ्य विभाग छ, स्वास्थ्यकर्मीसहितको टोली छ र टोली राखियोस्। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अंग जाँच गरियोस्। मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस्,’ उनले भने।

उनले जन्मेदेखि अहिलेसम्म आफूले मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा पनि गरे।

‘जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्रै मेरो शरीरमा कतै प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राजीनामा दिन तयार छु। म राजीनामा दिन तयार छु,’ उनले भने।

शाहीले आफूविरुद्ध अश्लील भिडियोसँग जोडेर भइरहेको प्रचारप्रति पनि गम्भीर आपत्ति जनाए। सामाजिक सञ्जालमा भेटिएका अन्य व्यक्तिका भिडियो आफूलाई जोडेर प्रचार गरिएको उनको आरोप थियो।

‘सामाजिक सञ्जालमा कतै भेटिएको कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो, यौन अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र शाही हो भन्दै प्रचार गरिएको छ,’ उनले भने।

यदि उक्त भिडियो आफू नै भएको प्रमाणित भए राजनीतिक जीवनबाटै सन्यास लिने उनले घोषणा गरे। उनले भिडियोको सत्यता परीक्षण गर्न सम्बन्धित निकायलाई चुनौतीसमेत दिए।

‘उक्त भिडियो यदि मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट सन्यास लिन्छु,’ शाहीले भने।

आफूविरुद्ध भ्रमपूर्ण सूचना फैलाउने व्यक्तिहरूको समेत स्वास्थ्य परीक्षण गर्नुपर्ने माग उनले गरे। आफूलाई बदनाम गर्ने उद्देश्यले गलत सूचना तथा सामग्री फैलाइएको भन्दै उनले त्यसको स्रोत र सत्यताबारे छानबिन हुनुपर्ने बताए।

शाहीले सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने उद्देश्यले गलत सूचना फैलाउनेहरूमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। विशेषगरी गृहमन्त्रीसँग आफूविरुद्ध भ्रम फैलाउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न उनले आग्रह गरे।

उनले राजनीतिक व्यक्तिको चरित्रमाथि गम्भीर आरोप लगाउँदा त्यसको प्रमाण र तथ्य प्रस्तुत गर्नुपर्ने भन्दै प्रमाणबिनाका आरोपले व्यक्तिको मात्र नभई समग्र राजनीतिक वातावरणमा समेत नकारात्मक असर पार्ने बताए।

शाहीले आफूले संसद्को रोस्टमबाटै आरोपको सामना गर्न तयार रहेको उल्लेख गर्दै सत्य र तथ्यका आधारमा आफ्नो विषय टुंग्याउन आग्रह गरे। उनले आफूविरुद्ध फैलाइएका सामग्रीको निष्पक्ष परीक्षण र अनुसन्धान भए आफू जुनसुकै परिणाम स्वीकार गर्न तयार रहेको पनि बताएका छन्।

 

दुई दिनमै नेप्से २३ अंकले ओरालो

काठमाडौं। सेयर बजारमा लगातार दोस्रो कारोबार दिन गिरावट आएको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.०४ अंकले घटेर २६४१.०५ बिन्दुमा बन्द भएको छ।

गत साताको शुक्रबार पनि नेप्से १३.८२ अंकले घटेको थियो। सोमबारको गिरावटसँगै बजारले पछिल्ला दुई कारोबार दिनमा कुल २२.८६ अंक गुमाएको छ।

कारोबार रकम भने सामान्य बढेको छ। सोमबार ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। शुक्रबार ३ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो।

सोमबार कारोबारमा आएका कम्पनीमध्ये ८२ वटाको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

यसले समग्र बजारमा बिक्री चाप बढेको देखाएको छ। कारोबार रकममा सामान्य वृद्धि भए पनि बढ्नेभन्दा घट्ने कम्पनीको संख्या दोब्बरभन्दा बढी रहेकाले बजारको समग्र धार कमजोर देखिएको छ।

करदाता सम्मानदेखि ठूलो लगानीसम्म, बहुराष्ट्रिय कम्पनीलाई सरकारको साथ

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा इमानदारीपूर्वक कर तिर्ने बहुराष्ट्रिय कम्पनी तथा निजी क्षेत्रलाई सरकारले सम्मान गर्ने बताएका छन्।

उनले करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा व्यवहार गरिने बताए।

अर्थ मन्त्रालयमा नेपालमा सक्रिय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँगको छलफलमा वाग्लेले लगानीकर्ता सुरक्षित, करदाता सम्मानित र युवा उद्यम गर्न प्रेरित हुने वातावरण निर्माण सरकारको प्राथमिकता रहेको बताए।

उनका अनुसार सरकारको लक्ष्य केवल कर संकलन बढाउनु नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु हो। उद्योगले नाफा कमाएपछि पुनःलगानी हुने, उत्पादन र रोजगारी बढ्ने तथा आम्दानी विस्तार हुँदै अन्ततः राज्यको राजस्वसमेत बढ्ने उनको तर्क थियो।

वाग्लेले सरकार निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने बताए। नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय वा सरकारी निकायको प्रयासबाट मात्र सम्भव नहुने भन्दै उनले सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

‘सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्छ,’ उनले भने, ‘नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व पनि हो।’

उनले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए। लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको र कर प्रणाली पूर्वानुमेय रहेको विश्वास गर्न सके मात्रै ठूलो लगानी भित्रिने उनको भनाइ थियो।

मन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग सरकारका सुधार प्रभावकारी भए-नभएकोबारे स्पष्ट प्रतिक्रिया मागेका छन्। व्यवसाय विस्तारमा अझै रहेका मुख्य अवरोध पहिचान गर्न उनले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था र सरकारी प्रक्रियाबारे सुझाव मागे।

त्यस्तै, सरकारले आगामी छ महिनाभित्र गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाँच निर्णयसमेत पहिचान गरी सुझाव दिन उनले आग्रह गरे।

उनले केही दिनयता उद्योगी-व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग छलफल गरेको उल्लेख गर्दै ती छलफलबाट सरकार र निजी क्षेत्रले संयुक्त रूपमा आर्थिक रूपान्तरणको नेतृत्व गर्नुपर्ने निष्कर्षमा पुगेको बताए।

मन्त्री वाग्लेले आगामी दशकलाई नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बनाउनुपर्ने बताए।

उनले बहुराष्ट्रिय कम्पनीहरूलाई नेपालमा थप लगानी गर्न, सञ्चालनमा रहेका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न, प्रविधि भित्र्याउन र रोजगारी सिर्जना गर्न आग्रह गरे।

सरकारले लगानीमैत्री र उत्पादनमुखी वातावरण निर्माण गर्न चाहेको भन्दै उनले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको बताए।

‘हामीले यस वर्षको बजेटमार्फत स्पष्ट सन्देश दिएका छौँ – सरकार निजी क्षेत्रलाई शंकाको दृष्टिले होइन, साझेदारको दृष्टिले हेर्छ,’ वाग्लेले भने।

वाग्लेले सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई शून्य–योगको सम्बन्धका रूपमा बुझ्न नहुने बताए। उद्योगको विस्तारसँगै रोजगारी, आम्दानी, उपभोग र राजस्व बढ्ने भएकाले निजी क्षेत्रको वृद्धि सरकारकै आर्थिक हितसँग जोडिएको उनको भनाइ थियो।

उनले बहुराष्ट्रिय कम्पनीहरू नेपालका ठूला लगानीकर्ता, रोजगारदाता र करदाताका रूपमा अर्थतन्त्र निर्माणमा महत्वपूर्ण साझेदार रहेको बताए।

वाग्लेले नेपालमा लगानी गरेका कम्पनीहरूले आफ्ना कमजोरी तथा समस्या खुलेर बताउनुपर्ने र सरकारले पनि सुधार गर्नुपर्ने क्षेत्र पहिचान गरेर अघि बढ्ने बताए।

साथै, उनले बहुराष्ट्रिय कम्पनीहरूको लगानी र व्यवसाय विस्तारका लागि आफू सरकारको तर्फबाट साथमा रहने प्रतिबद्धता जनाए।

संसद्मा ड्रेस कोड लागू गर्न एमाले सांसद पोखरेलको माग

काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सङ्घीय संसद्को गरिमा कायम राख्न पोसाक संहिता लागू गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरू समेत टिसर्ट लगाएर संसद् बैठकमा सहभागी हुने गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराए। उनले संसद् प्रवेशमा टिसर्ट लगाउन रोक लगाउँदै सांस्कृतिक वा राष्ट्रिय पोसाक अनिवार्य गर्न रुलिङ माग गरे।

पोखरेलले संसद्को लोगो पनि जथाभावी प्रयोग भइरहेको भन्दै कोट, हाफकोट र ओभरकोटबाहेक टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज र सलमा लोगो प्रयोग गर्न रोक लगाउनुपर्ने बताए।

संसदीय अनुशासनका लागि विभिन्न देशका अभ्यासको उदाहरण दिँदै उनले संसद्को पोसाकसम्बन्धी मर्यादा कायम गर्न सभामुखसँग विशेष रुलिङ माग गरे।

संसदीय अभ्यास ‘कर्मकाण्डी’ भएको भन्दै सुधार समिति बनाउन रास्वपा महामन्त्री आचार्यको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले संसद्को वर्तमान अभ्यासलाई सुधार गर्न ‘संसदीय सुधार समिति’ गठन गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै आचार्यले संसदीय अभ्यास अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको भन्दै यसको समीक्षा र सुधारका लागि सभामुखको ध्यानाकर्षण गराएका हुन्।

उनले अहिलेको संसदीय अभ्यास ‘कर्मकाण्डी’ बन्दै गएको धारणा राख्दै संसद्ले सांसदहरूको क्षमता र भूमिकालाई पर्याप्त रूपमा उपयोग गर्न सकेको छ कि छैन भन्ने विषयमा सबै सांसदबीच सर्वेक्षण गर्नुपर्ने बताए।

‘एक पटक सबै सांसदहरूबीच सर्वेक्षण (पोलिङ) गर्नुपर्छ । के हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त ? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ त ? यदि छ भने त मलाई समस्या छैन,’ उनले भने।

आचार्यले अहिलेको अभ्यासबाट धेरै सांसद असन्तुष्ट रहेको आफ्नो बुझाइ रहेको बताए। त्यस्तो अवस्था भए संसद्को कार्यशैली र अभ्यास सुधारका लागि सबै सांसद मिलेर अघि बढ्नुपर्ने उनको धारणा छ।

‘मेरो जस्तै बुझाइ धेरै सांसदहरूको पनि हो भने यो संसदीय अभ्यास सुधारका लागि सबैले मिलेर काम गर्नुपर्छ,’ उनले भने।

संसद्लाई थप सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने विषयमा अध्ययन तथा सुझाव दिन छुट्टै समिति गठन गर्नुपर्ने प्रस्ताव उनले अघि सारे।

‘मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर अहिलेको यो संसद्लाई कसरी बढी सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने भन्ने दिशामा एकपटक काम गर्नुपर्छ जस्तो लाग्छ,’ आचार्यले भने।

उनले आफ्नो प्रस्तावका सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराउँदै संसदीय अभ्यासमा सुधारका लागि संस्थागत पहल आवश्यक रहेको बताए।

धार्मिक तनाव रोक्न दीर्घकालीन नीति बनाउन राप्रपाको माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कप्तानगञ्ज र गोलबजारमा भएका पछिल्ला घटनालाई लिएर सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै धार्मिक तथा सामुदायिक तनाव रोक्न दीर्घकालीन नीति बनाउन माग गरेको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा राप्रपा सांसद सरस्वती लामाले नागरिकको जिउधनको सुरक्षा गर्न नसक्नु राज्यको कमजोरी भएको बताइन्। धार्मिक वा अन्य कुनै बहानामा हुने हिंसाले अन्ततः सामाजिक सद्भावसँगै देशलाई नै क्षति पुर्‍याउने उनको भनाइ थियो।

उनले यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायबीच प्रभावकारी समन्वय, पूर्वतयारी र दीर्घकालीन सुरक्षा रणनीति आवश्यक रहेको बताइन्।

लामाले नेपालको बहुधार्मिक र बहुसांस्कृतिक पहिचानलाई ध्यानमा राख्दै सबै धर्म तथा आस्थाका केन्द्रलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने प्रस्ताव अघि सारिन्। उनका अनुसार धार्मिक संस्थाहरू अनिवार्य रूपमा सरकारी निकायमा दर्ता हुनुपर्ने, आर्थिक स्रोत पारदर्शी बनाउनुपर्ने र नियमित लेखापरीक्षणको व्यवस्था गरिनुपर्छ।

भविष्यमा धार्मिक विवाद तथा द्वन्द्वको सम्भावना न्यूनीकरण गर्न एउटा आस्थाको केन्द्रदेखि अर्को आस्थाको केन्द्रबीचको दूरी र स्थानसम्बन्धी स्पष्ट मापदण्ड बनाउनुपर्ने मागसमेत उनले गरिन्।

यस्ता व्यवस्थालाई कुनै धर्ममाथिको हस्तक्षेपका रूपमा बुझ्न नहुने स्पष्ट पार्दै लामाले यसले सुशासन, पारदर्शिता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताइन्।

राज्यले सर्वधर्म समभावको सिद्धान्तअनुसार सबै धर्म, संस्कृति र ऐतिहासिक धरोहरको समान संरक्षण गर्नुपर्ने उनको जोड थियो।

‘हाम्रो विविधता विभाजनको कारण होइन, राष्ट्रिय एकताको शक्ति बन्नुपर्छ,’ उनले भनिन्, ‘धर्मका नाममा हुने कानुनविपरीतका गतिविधि कडाइका साथ रोक्दै सबैका लागि समान कानुनी मापदण्ड लागू गरिनुपर्छ।’

बालेनले संसद आउँदा टि-सर्ट खोल्नुपर्छ : एमाले

काठमाडौं। नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्को गरिमा कायम गर्न संसदीय पोशाकसम्बन्धी स्पष्ट व्यवस्था गर्न माग गरेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई टी-सर्ट लगाएर संसद् बैठकमा सहभागी हुन रोक लगाउनुपर्ने बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे।

उनले सन् २०२१ फेब्रुअरी ९ मा न्युजिल्यान्डको संसद्मा भएको घटना तथा सन् २०२३ मा क्यानडाको संसद्मा पोशाकसंहिता लागू गर्न गरिएको संसदीय रुलिङको उदाहरणसमेत प्रस्तुत गरे।

संसद्को गरिमा कायम गर्न सांस्कृतिक वा राष्ट्रिय पोशाकलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई टी-सर्ट लगाएर संसद् प्रवेश गर्न रोक लगाउनुपर्ने माग गरे।

‘संसद्को गरिमा कायम गर्न सांस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक अनिवार्य गरियोस्, प्रधानमन्त्री र मन्त्रीलाई टी-सर्ट लगाएर संसद्भित्र प्रवेश गर्न रोक लगाइयोस्,’ उनले भने।

त्यस्तै, संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टी-सर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका पोशाकमा प्रयोग गर्न रोक लगाउनुपर्ने उनले बताए।

‘संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु,’ उनले भने।

१५ सेकेण्ड मात्रै बोले ध्रुव राई, भने- ‘विश्वभरबाट कुरी कुरी भनियो’

सोमबार (साउन २५) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को सीमासम्बन्धी अभिव्यक्तिपछि राष्ट्रियताको विषयमा सबै एकजुट हुनुपर्ने आफ्नो आग्रह कार्यान्वयन हुन नसकेको बताए।

उनले भने, ‘सभामुख महोदय, मैले यसअघि जुन विषयमा हामी एक ढिक्का हुनुपर्छ भनेको थिएँ, त्यसमा नेपाली मात्र नभएर विश्वभरबाट कुरीकुरी भनेको हुनाले मेरो भनाइ यहीँ अन्त्य गर्छु।’

त्यसपछि सांसद राई थप केही नबोली आफ्नो आसनमा बसेका थिए।

 

‘सत्ता र सरकार अस्थायी हुन्, तर भूगोल र सार्वभौमसत्ता स्थायी हुन्छ’

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को सञ्चार शैलीदेखि सरकारको कार्यसम्पादनसम्म प्रश्न उठाउँदै जनताका वास्तविक समस्या ओझेलमा परेको आरोप लगाएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक निता घतानीले प्रधानमन्त्रीले राष्ट्रका नाममा गर्ने सम्बोधन सरकारी सञ्चार माध्यमलाई भन्दा आफ्नै सामाजिक सञ्जाल र त्यसबाट आउने भ्युज तथा मनिटाइजेसनलाई प्राथमिकता दिएको आरोप लगाइन्।

प्रविधिको प्रयोग सकारात्मक भए पनि राज्यका आधिकारिक सञ्चार संयन्त्रलाई बेवास्ता गरेर व्यक्तिगत फेसबुक पेजमार्फत लोकप्रियता खोज्ने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो। प्रधानमन्त्रीजस्तो संवैधानिक जिम्मेवारीमा रहेको व्यक्तिको सम्बोधनलाई संस्थागत प्रक्रियामार्फत नागरिकसम्म पुर्‍याउनुपर्ने उनले बताइन्।

घतानीले प्रधानमन्त्री शाहले संसद्को रोस्टमबाटै नेपालले भारतको सीमा मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति समेत आपत्ति जनाइन्।

संवेदनशील भूराजनीतिक विषयमा प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा यस्तो अभिव्यक्ति दिए भन्ने प्रश्न गर्दै उनले उक्त भनाइ तत्काल संसद्को अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरिन्।

‘सत्ता र सरकार अस्थायी हुन्, तर भूगोल र सार्वभौमसत्ता स्थायी हुन्छ,’ उनले भनिन्।

उनले सरकार जनताका दैनिक समस्याप्रति गम्भीर नभएको आरोप पनि लगाइन्। सहकारीपीडित बचत फिर्ताको पर्खाइमा रहेको, सुकुम्बासीहरू आवासको समस्यामा रहेको तथा किसानले मल र उत्पादनको उचित मूल्य नपाएको विषय उनले संसद्मा उठाइन्।

स्वास्थ्य सेवातर्फ पनि सरकार असफल भएको उनको दाबी थियो। गरिब नागरिक उपचारबाट वञ्चित भइरहेको, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको तथा आवश्यक सेवामा नागरिकले अझै सास्ती खेप्नुपरेको उनले बताइन्।

बजारमा ग्यास अभाव र महँगी बढिरहेको उल्लेख गर्दै उनले सरकारको उपस्थितिमाथि प्रश्न उठाइन्। ‘बजारमा ग्यास छैन, तर सरकार कहाँ छ ?’ भन्दै उनले सरकारको प्राथमिकता जनताको दैनिकी सहज बनाउनेतर्फ हुनुपर्ने बताइन्।

पासपोर्ट, सवारी चालक अनुमतिपत्र तथा अस्पतालमा सेवाग्राहीले अझै लामो लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै घतानीले सरकारको सेवा प्रवाहमाथि पनि प्रश्न उठाइन्।

सिंहदरबारको नाम परिवर्तन गर्ने विषयमा भइरहेको बहसप्रति समेत उनले टिप्पणी गर्दै सरकारको ध्यान प्रतीकात्मक विषयमा भन्दा जनताले भोगिरहेका आधारभूत समस्या समाधानमा केन्द्रित हुनुपर्ने संकेत गरिन्।

देउवा एक्लै नेपाल आउने, आरजु र जयवीर नआउने

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा एक्लै नेपाल फर्किने भएका छन्। हङकङ हुँदै गत शुक्रबार थाइल्यान्डको राजधानी बैंकक पुगेका देउवा साउन २८ गते बिहीबार नेपाल फर्किन लागेका हुन्।

देउवासँगै नेपालबाहिर रहेका पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवा र उनका छोरा जयवीर देउवा भने नेपाल नफर्किने देउवानिकट स्रोतले जनाएको छ।

यसअघि देउवा साउन २६ गते नै नेपाल फर्किने तयारीमा थिए। तर, समय व्यवस्थापनमा समस्या भएपछि उनको नेपाल फर्किने कार्यक्रम दुई दिन पछि सारिएको स्रोतको भनाइ छ।

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको भेलामा सहभागी हुन देउवा नेपाल फर्किन लागेको बताइएको छ।

कांग्रेसभित्र पछिल्लो समय बढ्दै गएको आन्तरिक असन्तुष्टि र नेतृत्वलाई लिएर भइरहेको बहसका बीच देउवाको नेपाल आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भेलामा पार्टीको आगामी रणनीति, नेतृत्व तथा आन्तरिक विवादका विषयमा समेत छलफल हुने बताइएको छ।

सनातन हिन्दुराष्ट्रको माग गर्दै काठमाडौंमा ‘साउन पैदल यात्रा’

काठमाडौं। नेपाललाई सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्ने माग गर्दै काठमाडौंमा धार्मिक ‘साउन पैदल यात्रा’ आयोजना गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा श्रावणको अन्तिम सोमबार पैदलयात्रा गरिएको हो। मैतिदेवी मन्दिरबाट सुरु भएको यात्रा पशुपतिनाथ मन्दिरमा पुगेर सम्पन्न भएको थियो।
पैदलयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको सहभागिता थियो। सहभागीहरूले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने मागसहित विभिन्न नाराहरू लगाएका थिए।
संगठनले धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण, सनातन परम्पराको प्रवर्द्धन र हिन्दुराष्ट्र पुनःस्थापनाको मागलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले ‘साउन पैदल यात्रा’ आयोजना गरिएको जनाएको छ।
तस्वीरहरू: 

प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रका नाममा हुने सम्बोधन सरकारी सञ्चारमाध्यमभन्दा निजी फेसबुक पेज र मनिटाइजेसनमा केन्द्रित भएको आरोप लगाएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सचेतक निता घतानीले प्रविधिको प्रयोग सकारात्मक भए पनि राज्यका आधिकारिक निकायलाई बाइपास गरेर फेसबुकको भ्युज बढाउनेतर्फ प्रधानमन्त्री केन्द्रित हुनु दुःखद भएको बताइन्।

सांसद घतानीले प्रधानमन्त्री शाहले संसद्को रोस्टमबाटै नेपालले पनि भारतको सीमा मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै त्यसको प्रतिवाद गरिन्। उनले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा यस्तो संवेदनशील विषयमा अभिव्यक्ति दिएको हो भन्ने स्पष्ट पार्नुपर्ने माग गरिन्।

‘सत्ता र सरकार अस्थायी हुन्, तर भूगोल र सार्वभौमसत्ता स्थायी हुन्छ,’ उनले भनिन्, ‘आफ्नो देशको अस्मितामाथि प्रश्न उठाउने अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्छ र प्रधानमन्त्रीले यसमा माफी माग्नुपर्छ।’

सरकार देशका विभिन्न वर्ग र समुदायले भोगिरहेका समस्याप्रति बेखबर रहेको आरोप पनि घतानीले लगाइन्। उनका अनुसार सहकारी पीडितहरू आफ्नो बचत फिर्ताको पर्खाइमा छन् भने सुकुम्वासीहरू बासको चिन्तामा छन्। तर, सरकारले उनीहरूका समस्या समाधान गर्न ठोस पहल गर्न नसकेको उनको भनाइ थियो।

किसानले समयमा मल नपाएको र उत्पादनको उचित मूल्यसमेत नपाएको उनले बताइन्। गरिब तथा विपन्न नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाइरहेको अवस्थामा बन्द भएको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकार असफल भएको उनको आरोप थियो।

बजारमा ग्यासको अभाव र महँगी बढ्दै गएको उल्लेख गर्दै उनले प्रश्न गरिन्, ‘बजारमा ग्यास छैन, तर सरकार कहाँ छ?’

राहदानी, सवारीचालक अनुमतिपत्र तथा अस्पतालमा सेवा लिन नागरिकले अझै पनि लामो लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ‘अनलाइन’ सेवा प्रवाहमाथि समेत प्रश्न उठाइन्।

पछिल्लो समय सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने विषयमा भइरहेको बहसबारे पनि सांसद घतानीले टिप्पणी गरेकी थिइन्।

‘घेराबन्दी होइन, जवाफदेही बनाउन खोजेका हौँ’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन दबाब बढाएको छ।

कांग्रेस सांसद रेनुका काउचाले सोमबार प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रधानमन्त्रीलाई रुलिङमार्फत सदनमा बोलाउन माग गरेकी हुन्।

काउचाले प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिन बोलाउनु सरकारलाई कमजोर बनाउने नभई प्रधानमन्त्री र सभामुख पदको गरिमा कायम गर्ने प्रयास भएको बताइन्। उनले आफूहरूले प्रधानमन्त्रीको घेराबन्दी गर्न नभई सरकारलाई जवाफदेही बनाउन खोजेको स्पष्ट पारिन्।

‘प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्। हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौँ,’ उनले भनिन्।

प्रधानमन्त्री शाहप्रति प्रतिपक्ष सकारात्मक रहेको संकेत दिँदै काउचाले मुलुकको हितमा अघि बढे सरकारलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन्। उनले प्रधानमन्त्री एक्लो नरहेको भन्दै प्रतिपक्ष आवश्यक पर्दा साथमा उभिने बताइन्।

तर, त्यसका लागि सरकारले संविधान र संसद्को मर्यादा कायम राख्नुपर्ने उनको जोड थियो। ‘संविधानभन्दा माथि कोही छैन, संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन र राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन,’ उनले भनिन्।

कांग्रेसले विशेषगरी प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै आएको छ। प्रतिनिधिसभामा उक्त विषय पटक–पटक उठे पनि प्रधानमन्त्रीबाट अहिलेसम्म स्पष्ट जवाफ नआएको भन्दै प्रतिपक्षी सांसदहरूले प्रश्न उठाइरहेका छन्।

काउचाले प्रधानमन्त्रीसँग जवाफ माग्नु राजनीतिक विरोधका लागि मात्र नभएको दाबी गरिन्। उनका अनुसार संसद्मा उठेका गम्भीर विषयको जवाफ दिने दायित्व सरकारको हो र त्यसबाट प्रधानमन्त्री पनि पन्छिन नमिल्ने उनको भनाइ छ।

युवा पुस्ताबाट आएका प्रधानमन्त्रीप्रति आफूहरूको अपेक्षा रहेको उल्लेख गर्दै उनले सरकार असफल हुने अवस्था आउन नदिन प्रधानमन्त्रीले सत्य स्वीकार गर्ने र गल्ती भए सच्याउने राजनीतिक साहस देखाउनुपर्ने बताइन्।

कांग्रेस सांसदले बालेनलाई भनिन् – ‘नडराउनुहोस्, तपाईं एक्लो हुनुहुन्न’

काठमाडौं। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिपक्षबाट समेत सहयोग पाउने बताएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहलाई सत्य स्वीकार गर्दै राजनीतिक संवाद र सहकार्यको बाटोमा अघि बढ्न आग्रह गरिन्।

‘प्रधानमन्त्रीजी नडराउनुहोस्, तपाईं एक्लो हुनुहुन्न । तपाईंको साथमा प्रतिपक्ष छ,’ उनले भनिन्, ‘सत्य स्वीकार गर्नुहोस् । गलत भएका छन् भने सच्याउने साहस देखाउनुहोस्।’

काउचाले युवा पुस्ताबाट प्रधानमन्त्री बनेका शाहप्रति आफूहरूको अपेक्षा रहेको बताइन्। युवा नेतृत्वले मुलुकमा सकारात्मक परिवर्तन ल्याउने विश्वास रहेकाले प्रधानमन्त्रीलाई असफल हुने छुट नरहेको उनको भनाइ थियो।

उनले प्रधानमन्त्रीले राजनीतिक दल तथा प्रतिपक्षसँग संवाद बढाएर सरकार सञ्चालन गर्नुपर्ने संकेत गर्दै आवश्यक अवस्थामा प्रतिपक्ष पनि सहयोग गर्न तयार रहेको बताइन्।

उनको अभिव्यक्ति संसद्मा प्रधानमन्त्री शाहप्रति कांग्रेसको पूर्ण विरोधभन्दा पनि सुधारका लागि सहकार्य र संवादको प्रस्तावका रूपमा आएको देखिन्छ।

मातृभाषा पत्रकारिता लोकतन्त्रको पहुँच विस्तार गर्ने माध्यम हो : मन्त्री गौतम

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मातृभाषामा हुने पत्रकारिताले राज्य र नागरिकबीचको सूचनाको दूरी घटाउँदै लोकतन्त्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।

काठमाडौंमा सोमबार आयोजित तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्यका नीति, निर्णय र गतिविधिबारे हरेक नागरिकले आफ्नै मातृभाषामा जानकारी पाउने वातावरण लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताइन्।

अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा आयोजित सम्मेलनमा मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र सांस्कृतिक विविधता संरक्षणमा आदिवासी समुदायले पुर्‍याएको योगदानको चर्चा गर्दै भाषाको संरक्षण सञ्चारमाध्यमसँग प्रत्यक्ष जोडिएको बताइन्।

उनका अनुसार भाषा घरपरिवार वा समुदायमा बोलिने माध्यम मात्र नभई सञ्चारको अभ्यासमा प्रयोग हुँदा जीवित र पुस्तान्तरणयोग्य बन्छ। मातृभाषामा सञ्चार विस्तार हुनु भनेको सम्बन्धित समुदायको ज्ञान, संस्कृति र पहिचानलाई सार्वजनिक जीवनमा स्थापित गर्नु पनि हो।

‘मिथिलादेखि राउटे समुदायसम्मका नागरिकले राज्यका गतिविधि बुझ्न पाउनुपर्छ,’ मन्त्री गौतमले भनिन्, ‘नागरिकले आफ्नै आमाले सिकाएको भाषामा राज्यका सूचना प्राप्त गर्दा मात्रै लोकतन्त्र वास्तविक अर्थमा बलियो हुन्छ।’

नेपालको बहुभाषिक र बहुजातीय पहिचानलाई संरक्षण गर्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै उनले मातृभाषाका पत्रकारहरूले भोगिरहेका व्यावसायिक तथा संस्थागत समस्याप्रति सरकार सकारात्मक रहेको बताइन्।

मातृभाषा पत्रकारिताको विकास र प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारबारे ठोस प्रस्ताव र सुझाव दिन उनले पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरिन्। भाषाको संरक्षणसँगै पत्रकारको वृत्तिविकास र सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो।

सम्मेलनमा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका नेता तथा सञ्चारकर्मी सहभागी थिए। अन्तर्राष्ट्रिय अनुभव र अभ्यासको आदानप्रदानले नेपालमा मातृभाषा पत्रकारिताको विकासका लागि थप मार्गदर्शन दिने अपेक्षा मन्त्री गौतमले व्यक्त गरिन्।

प्रतिनिधिसभामा विपक्षीको आज पनि विरोध

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले आज पनि विरोध जनाएका छन्। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन्।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले ‘नेपालले पनि भारतका धेरै ठाउँमा जग्गा मिचेको रहेछ’ भन्दै दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जनाएका हुन्।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै विपक्षी दलहरूले यसअघि पनि संसद् बैठकमा विरोध जनाउँदै आएका छन्।

बालुवाटारमा बालेन-रवि भेट, दूरी घटाउन ‘कसरत’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सभापति रवि लामिछाने पक्ष र प्रधानमन्त्री वालेन्द्र शाह पक्षबीच बढ्दै गएको राजनीतिक रस्साकस्सीबीच दुई नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ।

सरकार सञ्चालन, पार्टी संगठन र नियुक्तिका विषयमा दुवै पक्षबीच देखिएको असमझदारीलाई व्यवस्थापन गर्दै सम्बन्ध सुधार्ने प्रयासका रूपमा भेटलाई हेरिएको छ।

आइतबार साँझ बालुवाटार पुगेका लामिछाने र प्रधानमन्त्री शाहबीच करिब ४५ मिनेट छलफल भएको थियो। पछिल्लो समय सरकारको कामकारबाहीप्रति रास्वपाका सांसद तथा नेताहरूले सार्वजनिक रूपमा प्रश्न उठाउन थालेका बेला भएको भेटले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्वबीचको सम्बन्धलाई फेरि बहसमा ल्याएको छ।

रास्वपाभित्र सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच व्यक्तिगत सम्बन्ध रहे पनि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच पछिल्लो समय मतभेद देखिन थालेको बताइन्छ। सरकारका निर्णय, विभिन्न निकायमा भएका नियुक्ति, पार्टी संगठन विस्तार तथा पदाधिकारी मनोनयनमा कसको प्रभाव कति रहने भन्ने विषयले दुवै पक्षबीच रस्साकस्सी बढाएको स्रोतहरूको दाबी छ।

विशेषगरी पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको विषयमा देखिएको अन्योलले दुवै पक्षबीचको दूरीलाई थप प्रस्ट पारेको छ। पार्टी सभापतिका तर्फबाट मनोनयन प्रक्रिया अघि बढाउन खोजिए पनि प्रधानमन्त्री पक्षबाट नाम टुंग्याउने विषयमा अपेक्षित सहमति नआएको लामिछानेनिकट स्रोतको दाबी छ। यही कारण केही पदाधिकारी तथा सदस्यको मनोनयन लम्बिएको बताइएको छ।

सरकारमा कसको प्रभाव बढी देखिने भन्ने प्रश्न पनि दुवै पक्षको रस्साकस्सीको अर्को आधार बनेको देखिन्छ। प्रधानमन्त्री शाह आफ्नो कार्यशैलीअनुसार सरकार सञ्चालन गर्न चाहिरहेका छन् भने पार्टी नेतृत्वले सरकारका निर्णयमा संगठनात्मक तथा राजनीतिक समन्वय आवश्यक रहेको बताउँदै आएको छ। सरकारमा सहभागी मन्त्री, पार्टी पदाधिकारी र सांसदको भूमिकालाई कसरी सन्तुलित गर्ने भन्ने विषयमा पनि मतभिन्नता देखिएको छ।

यसबीच सरकारका विभिन्न निकायमा भएका नियुक्तिले पनि विवाद थपेको छ। केही नियुक्तिमा विवादित पृष्ठभूमि भएका व्यक्तिहरूलाई जिम्मेवारी दिइएको भन्दै पार्टीभित्रै प्रश्न उठेको बताइएको छ। नियुक्ति प्रक्रिया र व्यक्तिको छनोटमा पर्याप्त राजनीतिक तथा संगठनात्मक छलफल नभएको असन्तुष्टि सभापति पक्षबाट उठेको स्रोतको दाबी छ।

अर्कोतर्फ, प्रधानमन्त्री पक्षले भने सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्रीको नेतृत्वमा हुने भएकाले हरेक निर्णयलाई पार्टीभित्रको गुटगत दृष्टिले हेर्न नहुने धारणा राख्दै आएको बताइन्छ। सरकारका निर्णयलाई बाहिरबाटै निरन्तर प्रश्न उठाउँदा सरकार कमजोर हुने र त्यसको राजनीतिक असर अन्ततः पार्टीमै पर्ने प्रधानमन्त्री पक्षको बुझाइ रहेको स्रोतहरूको भनाइ छ।

यही मतभेद संसद्मा समेत देखिन थालेको थियो। रास्वपाका केही सांसदले सरकारको कार्यशैलीप्रति खुलेर खबरदारी गर्न थालेपछि प्रधानमन्त्री शाह असन्तुष्ट रहेको चर्चा चल्यो। त्यसको केही दिनअघि प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू विभिन्न चुनौतीसँग एक्लै लडिरहेको संकेत गरेपछि पार्टीभित्रको सम्बन्धबारे थप प्रश्न उठेको थियो।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि पार्टीका नेताहरूबाट समेत प्रतिक्रिया आउन थाले। यसले असन्तुष्टि अब बन्द कोठाको छलफलमा मात्र सीमित नभई सार्वजनिक तहमा पुग्न थालेको संकेत दिएको थियो। यही अवस्थामा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच प्रत्यक्ष संवाद हुनुलाई सम्बन्धमा थप क्षति हुन नदिन गरिएको राजनीतिक पहलका रूपमा हेरिएको हो।

लामिछाने र शाहबीच व्यक्तिगत रूपमा संवादको बाटो भने बन्द भएको देखिँदैन। दुवै नेताबीच यसअघि पनि लामो छलफल भएको बताइएको छ। तर उनीहरूबीचको व्यक्तिगत संवादभन्दा दुवै पक्षका समर्थक र दोस्रो तहका नेताबीच देखिएको प्रतिस्पर्धा अहिले बढी चुनौतीपूर्ण बनेको देखिन्छ।

रास्वपाभित्रको यो रस्साकस्सी व्यक्ति वा पदको विषयमा सीमित छैन। सरकारको निर्णय प्रक्रियामा पार्टीको भूमिका कति हुने, संगठनमा कसको प्रभाव रहने, आगामी राजनीतिक रणनीति कसरी तय गर्ने र सरकारको सफलताको श्रेय कसरी बाँडिने भन्ने व्यापक प्रश्नसँग पनि यो जोडिएको छ।

सभापति लामिछाने पार्टी संगठनलाई आफ्नो नेतृत्वमा सुदृढ गर्न चाहन्छन् भने प्रधानमन्त्री शाह सरकार सञ्चालनमा आफ्नो राजनीतिक तथा प्रशासनिक प्रभाव कायम राख्न चाहन्छन्। दुवै नेताको आफ्नै राजनीतिक आधार र प्रभाव भएकाले उनीहरूबीचको सम्बन्ध जति महत्वपूर्ण छ, त्यति नै उनीहरू वरिपरिका समूहबीचको समन्वय पनि महत्वपूर्ण बनेको छ।

त्यसैले बालुवाटारको पछिल्लो भेटलाई केवल दुई नेताबीचको नियमित भेटका रूपमा मात्र बुझ्दा त्यसको राजनीतिक पृष्ठभूमि छुट्न सक्छ। भेटको केन्द्रमा सरकार र पार्टीबीचको दूरी कम गर्ने, दुवै पक्षका असन्तुष्टि व्यवस्थापन गर्ने र आगामी दिनमा समन्वयको नयाँ आधार खोज्ने प्रयास रहेको देखिन्छ।

यदि शीर्ष नेतृत्वबीच समझदारी बने पनि दुवै पक्षका दोस्रो तहका नेताबीचको रस्साकस्सी यथावत् रह्यो भने समस्या फेरि सतहमा आउने सम्भावना छ। त्यसैले अबको चुनौती रवि र बालेनबीच संवाद कायम गर्नु मात्र होइन, उनीहरूका पक्षमा उभिएका समूहबीच पनि सहकार्यको वातावरण बनाउनु हो।

सरकार सञ्चालनको सय दिन पूरा भइसकेको अवस्थामा प्रधानमन्त्री शाहमाथि परिणाम देखाउने दबाब छ। उता पार्टी सभापति लामिछानेमाथि पनि सरकारमा सहभागी दलका रूपमा जनअपेक्षा पूरा गराउने र पार्टी संगठनलाई व्यवस्थित बनाउने चुनौती छ। दुवै पक्षबीचको असमझदारी लम्बिँदा त्यसको प्रत्यक्ष असर सरकारको प्रभावकारिता र पार्टीको राजनीतिक छविमा पर्न सक्छ।

त्यसैले बालुवाटार भेटलाई तत्काल कुनै निर्णय गर्ने बैठकभन्दा पनि सम्बन्धमा आएको चिसोपन कम गर्ने ‘कसरत’का रूपमा बुझ्न सकिन्छ।

अब दुई नेताबीच भएको संवादले दुवै पक्षका समर्थकबीचको रस्साकस्सीलाई कति नियन्त्रण गर्छ, सरकारका निर्णयमा समन्वय कति बढ्छ र पार्टी संगठनका विवाद कसरी टुंगिन्छन् भन्ने कुराले यो भेटको वास्तविक परिणाम देखाउनेछ।

ट्रमा सेन्टर सार्न खोजेपछि ढल्केबरमा चक्काजाम

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनअन्तर्गत पाँचौँ दिन बुधबार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले आधा घण्टा राजमार्ग अवरुद्ध गरेका हुन्।

बिहान ११ बजेदेखि ११ः३० बजेसम्म ढल्केबरमा राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए। संघर्ष समितिले प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग राख्दै गत शुक्रबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो।

प्रतिनिधिसभामा स्वास्थ्यसम्बन्धी विषयमा बोल्दै स्वास्थ्यमन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबरमा विरोध थप चर्किएको हो। स्थानीयले वर्षौँदेखि अघि बढाइएको योजना अन्यत्र सार्न खोजिएको भन्दै निर्णय सच्याउन माग गरेका छन्।

संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार आन्दोलनलाई थप सशक्त बनाइनेछ। उनका अनुसार बिहीबार बिहान ११ बजेदेखि १२ बजेसम्म र साउन २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राजमार्ग चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ।

ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमै पहिलोपटक रकम विनियोजन गरेको थियो। मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस–२ ‘क’ स्थित कित्ता नम्बर १६९ को करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर योजना अघि बढाइएको थियो।

स्थानीय जनप्रतिनिधिका अनुसार ट्रमा सेन्टरका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ र लालपुर्जा समेत तयार भइसकेको छ। योजना निर्माणको चरणमा प्रवेश गर्न लागेको अवस्थामा स्थान परिवर्तनको निर्णय आएपछि स्थानीय आक्रोशित भएका हुन्।

ढल्केबर पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण स्थान भएकाले यहाँ ट्रमा सेन्टर आवश्यक रहेको स्थानीयको तर्क छ। राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई तत्काल उपचार उपलब्ध गराउन सकिने र आसपासका जिल्लाका बासिन्दाले समेत सेवा पाउने भएकाले प्रस्तावित योजना अन्यत्र सार्न नहुने उनीहरूको माग छ।

स्थानीयको आन्दोलन अब केवल ट्रमा सेन्टर निर्माणको मागमा सीमित नरही सरकारले वर्षौँअघि अघि बढाएको योजना कार्यान्वयन गर्ने कि स्थान परिवर्तन गर्ने भन्ने विषयमा केन्द्रित भएको छ।

सरकारले स्थानीय सरोकारवालासँग संवाद गरी विवाद समाधान नगरे आन्दोलन थप चर्किन सक्ने देखिएको छ।

पाँच वर्षमा २ हजार २८८ विदेशी नेपालबाट निष्कासित

काठमाडौं। नेपालमा बसाइँ, भिसा तथा अध्यागमनसम्बन्धी नियम उल्लंघन गर्ने विदेशी नागरिकमाथि निष्कासनको कारबाही बढ्दै गएको छ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२१ देखि २०२५ सम्म पाँच वर्षको अवधिमा २ हजार २८८ जना विदेशी नागरिक नेपालबाट निष्कासित भएका छन्।

तथ्यांकअनुसार सन् २०२५ मा मात्रै ५२३ जना विदेशी नागरिक निष्कासनमा परेका छन्। यो पाँच वर्ष अवधिमै सबैभन्दा धेरै संख्या हो। सन् २०२४ मा ५०९, २०२३ मा ४५८, २०२२ मा ४७० र २०२१ मा ३२८ जना विदेशी नागरिकलाई नेपालबाट निष्कासित गरिएको थियो।

यसरी हेर्दा नेपालबाट निष्कासित हुने विदेशी नागरिकको संख्या पछिल्ला वर्षमा सामान्यतः बढ्दो देखिन्छ। सन् २०२१ को ३२८ जनाको तुलनामा २०२५ मा निष्कासन हुनेको संख्या ५२३ पुगेको छ, जुन करिब ६० प्रतिशतको वृद्धि हो।

पाँच वर्षको तथ्यांकमा नेपालबाट निष्कासित विदेशीमध्ये चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै देखिन्छ। सन् २०२३ मा मात्रै २०९ जना चिनियाँ नागरिक निष्कासनमा परेका थिए। त्यसपछि २०२४ मा १४९ र २०२५ मा १२० जना चिनियाँ नागरिक निष्कासित भएका छन्।

यसअघि सन् २०२२ मा १११ र २०२१ मा ३४ जना चिनियाँ नागरिक निष्कासनमा परेका थिए। संख्या वर्षअनुसार घटबढ भए पनि पछिल्लो पाँच वर्षको समग्र सूचीमा चिनियाँ नागरिक सबैभन्दा अगाडि देखिएका छन्।

सन् २०२५ मा निष्कासित ५२३ विदेशीमध्ये १२० जना चिनियाँ नागरिक थिए। अर्थात् एक वर्षमा नेपालबाट निष्कासन हुने विदेशीमध्ये उल्लेख्य हिस्सा चिनियाँ नागरिकको रहेको देखिन्छ।

नेपालबाट निष्कासित विदेशीको सूचीमा दक्षिण एसियाली मुलुकका नागरिकको संख्या पनि उल्लेख्य छ।

सन् २०२५ मा ७५ जना बंगलादेशी नागरिक निष्कासित भएका थिए। २०२४ मा ४२ र २०२३ मा ११ जना बंगलादेशी नागरिक निष्कासनमा परेका थिए।

त्यस्तै सन् २०२५ मा १८ जना पाकिस्तानी नागरिक निष्कासित भएका छन्। २०२४ मा ३०, २०२२ मा १८ र २०२१ मा १२ जना पाकिस्तानी नागरिक निष्कासनमा परेका थिए।

यसले नेपालमा अध्यागमनसम्बन्धी नियम उल्लंघनको विषय कुनै एउटा क्षेत्र वा मुलुकका नागरिकमा मात्र सीमित नभएको देखाउँछ।

नेपालबाट निष्कासन हुने विदेशीको सूचीमा अमेरिका र बेलायतका नागरिक पनि नियमित रूपमा देखिन्छन्।

सन् २०२५ मा ३४ जना अमेरिकी नागरिक निष्कासित भएका थिए। २०२४ मा ५४, २०२३ मा ३७, २०२२ मा ४८ र २०२१ मा ११ जना अमेरिकी नागरिक निष्कासनमा परेका थिए।

त्यस्तै सन् २०२५ मा २२ जना बेलायती नागरिक निष्कासित भएका छन्। २०२४ मा २९, २०२३ मा १८, २०२२ मा ३७ र २०२१ मा १६ जना बेलायती नागरिकलाई निष्कासन गरिएको विभागको तथ्यांकमा उल्लेख छ।

पाँच प्रमुख मुलुकबाहेक युरोप, एसिया र अन्य क्षेत्रका विभिन्न मुलुकका नागरिक पनि निष्कासनमा परेका छन्। केही वर्षको विवरणमा उज्बेकिस्तान, फ्रान्स र दक्षिण कोरियालगायत देशका नागरिक पनि देखिन्छन्।

विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्नुपर्ने प्रमुख कारण भने भिसा अवधि सकिएपछि पनि नेपालमा बसिरहनु अर्थात् ओभरस्टे देखिएको छ।

विभागको पाँच वर्षको विवरणअनुसार हरेक वर्ष मुद्दासम्बन्धी कारणभन्दा ओभरस्टेका कारण निष्कासित हुने विदेशीको संख्या निकै बढी छ।

सन् २०२५ मा निष्कासित ५२३ जनामध्ये ४५९ जना ओभरस्टे र ६४ जना मुद्दासम्बन्धी कारणबाट निष्कासनमा परेका थिए।

त्यस्तै सन् २०२४ मा ४५९ जना ओभरस्टे र ५० जना मुद्दाका कारण, २०२३ मा ४१२ जना ओभरस्टे र ४६ जना मुद्दाका कारण, २०२२ मा ४३४ जना ओभरस्टे र ३६ जना मुद्दाका कारण तथा २०२१ मा २९३ जना ओभरस्टे र ३५ जना मुद्दाका कारण निष्कासित भएका थिए।

अर्थात् पाँच वर्षमा निष्कासित २ हजार २८८ विदेशीमध्ये ठूलो हिस्सा भिसाको अवधि सकिएपछि पनि नेपालमा बसेका विदेशी नागरिकको छ।

नेपालमा पर्यटन, व्यवसाय, अध्ययन, रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशी नागरिकको आवागमन हुने गर्छ। विदेशी आगमन बढेसँगै उनीहरूको प्रवेश, बसाइँ, भिसाको अवधि र गतिविधिको नियमन पनि अध्यागमन व्यवस्थापनको महत्वपूर्ण विषय बन्दै गएको छ।

तोकिएको अवधिभन्दा बढी नेपालमा बस्ने, भिसामा उल्लेख गरिएको उद्देश्यभन्दा फरक गतिविधि गर्ने वा अन्य कानुनी विवादमा पर्ने विदेशी नागरिकमाथि अध्यागमन विभागले कानुनअनुसार कारबाही गर्दै आएको छ।

ओभरस्टेको उच्च संख्या भने नेपालमा विदेशी नागरिकको भिसा व्यवस्थापन र अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाउने एउटा सूचकका रूपमा लिन सकिन्छ। विदेशी नागरिकले नेपाल प्रवेश गर्दा प्राप्त गरेको भिसाको प्रकृति र अवधि पालना नगरेमा जरिवानादेखि निष्कासनसम्मको कारबाही हुन सक्छ।

पाँच वर्षको तथ्यांकले निष्कासन संख्या बढेको देखाए पनि यसलाई मात्रै आधार बनाएर विदेशी नागरिकबाट नियम उल्लंघन बढेको निष्कर्ष निकाल्न भने सावधानी आवश्यक हुन्छ। नेपालमा हरेक वर्ष आउने विदेशीको कुल संख्या, विभिन्न प्रकारका भिसा लिनेको संख्या र अध्यागमन निगरानीको प्रभावकारितासँग निष्कासनको तथ्यांकलाई जोडेर हेर्नुपर्ने हुन्छ।

तर निरन्तर रूपमा ओभरस्टे प्रमुख कारणका रूपमा देखिनुले भिसा अवधि व्यवस्थापन र विदेशी नागरिकको कानुनी हैसियत अनुगमनमा थप प्रभावकारिताको आवश्यकता भने देखाउँछ।

अर्कोतर्फ, निष्कासनमा पर्ने विदेशीको राष्ट्रियता फरक–फरक हुनुबाट अध्यागमन नियम सबै विदेशी नागरिकका लागि समान रूपमा लागू हुने देखिन्छ। कुनै निश्चित देशका नागरिक मात्र कारबाहीमा पर्ने अवस्था नभई नियम उल्लंघन गर्ने विभिन्न देशका नागरिकमाथि कारबाही हुने गरेको तथ्यांकले देखाउँछ।

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीचको भेटवार्ता सकियो

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधानमन्त्री शाहले नेपाल-भारतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन आपसी सहकार्य र साझेदारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

भेटमा दुई देशबीच पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

यातायात सेवा कार्यालयको राजस्व ५० लाखले बढ्यो

काठमाडौं। यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक करोड ९४ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा करिब ५० लाख रुपैयाँ बढी राजस्व संकलन भएको हो।

कार्यालयका अनुसार चालक अनुमतिपत्रको संख्या वृद्धि, सवारीसाधन थपिनु तथा सेवा प्रवाह छिटोछरितो हुनु राजस्व बढ्नुका प्रमुख कारण हुन्।

गत आवमा सवारीसाधन करबाट सबैभन्दा धेरै एक करोड ३९ लाख तीन हजार रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै, सवारी दर्ता किताब दस्तुरबाट ६४ लाख ९२ हजार, पकेट तथा रुट परमिटबाट १८ लाख ८८ हजार, अग्रिम आयकरबाट ६ लाख ६८ हजार र बेरुजु असुलीबाट एक हजार ५७५ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ।

सोही अवधिमा कार्यालयले विभिन्न वर्गका गरी ६२० वटा चालक अनुमतिपत्र वितरण गरेको छ। जसमा मोटरसाइकल, स्कुटर तथा मोपेड वर्ग ‘ए’ का १८८, कार, जिप तथा डेलिभरी भ्यान वर्ग ‘बी’ का ३८ तथा लाइसेन्सको प्रतिलिपि र नवीकरण ३९४ रहेका छन्।

कार्यालयका अनुसार सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने प्रयाससँगै सवारीसाधन र चालक अनुमतिपत्रसम्बन्धी कारोबार बढ्दा राजस्व संकलनमा समेत वृद्धि भएको हो।

समान काम, समान दाम भन्दै कर्मचारीद्वारा सीटीईभीटी घेराउ

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीले विभिन्न माग राख्दै परिषद्को केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका छन्।

साउन १४ गतेदेखि देशभरका आङ्गिक शिक्षालयमा चरणबद्ध आन्दोलन गर्दै आएका कर्मचारीले माग सम्बोधन नभएपछि पूर्वघोषित कार्यक्रमअनुसार आजदेखि केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। आन्दोलनमा करिब २ हजार २ सय करार तथा ज्यालादारी कर्मचारी सहभागी रहेको बताइएको छ।

कर्मचारीले समान कामका लागि समान ज्याला लागू गर्नुपर्ने माग गरेका छन्। त्यससँगै स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्वको व्यवस्था गर्न उनीहरूको माग छ।

लामो समयदेखि परिषद्अन्तर्गतका विभिन्न शिक्षालयमा काम गर्दै आए पनि समान प्रकृतिको जिम्मेवारी पूरा गर्ने कर्मचारीबीच पारिश्रमिक तथा सेवा–सुविधामा विभेद गरिएको आन्दोलनरत कर्मचारीको गुनासो छ। उनीहरूले यस्तो विभेद अन्त्य गरी न्यायोचित सेवा–सुविधाको व्यवस्था गर्न माग गरेका छन्।

करार तथा ज्यालादारी केन्द्रीय संघ समितिका सह–संयोजक इन्जिनियर युकेश गौतमले चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दासमेत व्यवस्थापनले माग सम्बोधन गर्न चासो नदेखाएपछि केन्द्रीय कार्यालय घेराउ गर्नुपरेको बताए।

उनका अनुसार कर्मचारीका माग वार्ता र संवादमार्फत तत्काल सम्बोधन गर्नुपर्छ। समान कामका लागि समान ज्याला, स्थानीय तथा दुर्गम भत्ता, सामाजिक सुरक्षा र पेशागत स्थायित्वलाई मुख्य मागका रूपमा अघि सारिएको उनले बताए।

पशुपतिमा निशुल्क स्वास्थ्य शिविर

काठमाडौं। सशस्त्र प्रहरी परिवार महिला सङ्घले पशुपतिनाथ मन्दिर परिसरमा दर्शनका लागि आउने भक्तजनलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

साउन महिनाको प्रत्येक सोमबार सञ्चालन हुँदै आएको शिविरमा नेपाल एपीएफ अस्पतालका चिकित्सकसहितको टोलीले भक्तजनको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ।

शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि र खानेपानीसमेत निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको छ।

यसैगरी, साउन महिनाभर प्रत्येक सोमबार पशुपतिनाथ मन्दिरमा आउने दर्शनार्थीको सुरक्षालाई ध्यानमा राख्दै बागमती किनारमा विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ। १० सदस्यीय टोलीलाई र्‍याफ्ट बोट तथा आवश्यक उद्धार सामग्रीसहित तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको जनाइएको छ।

द रिटर्न अफ समिर भट्ट : १२ गाउँ-२ दशैँमा आउँदै

काठमाडौं। समिर भट्टको मुख्य भूमिका रहेको बहुप्रतीक्षित नेपाली फिल्म ‘१२ गाउँ २’ आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। दसैँको अवसर पारेर फूलपातीको अघिल्लो दिन फिल्म प्रदर्शनमा ल्याउन लागिएको हो।

‘१२ गाउँ २’ सन् २०२४ मा प्रदर्शनमा आएको सफल फिल्म ‘१२ गाउँ’को सिक्वेल हो। एक्सन अभिनेता विराज भट्टको निर्देशनमा बनेको पहिलो श्रृंखलाबाट समिर भट्ट नेपाली फिल्म क्षेत्रमा उदाउँदो स्टारका रूपमा स्थापित भएका थिए। पहिलो फिल्मको सफलतासँगै समिरको बढ्दो लोकप्रियताका कारण ‘१२ गाउँ २’लाई दर्शकमाझ प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ।

फिल्मको निर्देशन विराज भट्टले गरेका हुन्। फिल्ममा विराज भट्ट, समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी, पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय रहेको छ।

सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा महेश पौडेलको छायांकन छ। त्यस्तै, स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक तथा सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ।

दसैँको माहोललाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको ‘१२ गाउँ २’बाट निर्माण पक्षले पहिलो श्रृंखलाको सफलता दोहोर्‍याउने अपेक्षा गरेको छ।

इङ्ग्लिस अलराउन्डर जैब सुदूरपश्चिममा

काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।

जैब एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। उक्त संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट हात पारेका थिए।

इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले घरेलु क्रिकेटमा भने निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। बाँयाहाते ब्याटर जैबले टी–२० क्रिकेटमा ११२ खेल खेल्दै १ हजार ७९२ भन्दा बढी रन बनाएका छन्। उनको स्ट्राइक रेट १४० भन्दा माथि रहेको छ।

भाइटालिटी ब्लास्टमा मात्रै उनले १ हजार ६०० भन्दा बढी रन बनाइसकेका छन्। स्लो लेफ्ट आर्म बलिङ गर्ने जैबले टी–२० क्रिकेटमा २३ विकेटसमेत लिएका छन्।

जैबले पछिल्लो समय भाइटालिटी ब्लास्ट र द हन्ड्रेडमा समेत सहभागिता जनाउँदै उत्कृष्ट लय कायम राखेका छन्। नेपाल फर्किन पाउँदा खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘म फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी छु र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित छु।’

सुदूरपश्चिम रोयल्सले यसअघि कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा कायम राखेको थियो।

त्यस्तै, अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई टोलीमा भित्र्याएको थियो। जैबको आगमनसँगै सुदूरपश्चिमको टोली थप बलियो बनेको अपेक्षा गरिएको छ।

कांग्रेस फुट्न नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि र नेतृत्वगत खिचातानी बढिरहेका बेला पार्टीका नेता चन्द्र भण्डारीले विभाजन रोक्न नेता-कार्यकर्तालाई अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले संकटका बेला पुरानो पार्टीको आवश्यकता अझ बढी हुने भन्दै कांग्रेसलाई फुटबाट जोगाउनुपर्ने बताएका छन्। पार्टीमा कमजोरी भए त्यसलाई सुधार्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।

भण्डारीले वर्षायाममा घर भत्काउँदा सबै भिज्ने र असिना पर्दा ज्यानसमेत जोखिममा पर्न सक्ने उदाहरण दिँदै आन्तरिक विवादका कारण पार्टी नै कमजोर पार्न नहुने संकेत गरेका छन्।

उनले कांग्रेसको इतिहास, संघर्ष र सहिदहरूको योगदान स्मरण गर्दै पार्टीको संरचना त्याग र बलिदानको जगमा बनेको उल्लेख गरेका छन्।

सत्तामा रहँदा कांग्रेसले कतिपय विषय बिर्सिएको स्वीकार गर्दै उनले विगतका कमजोरीबाट पाठ सिकेर पार्टीको मर्यादा जोगाउनुपर्नेमा जोड दिएका छन्।

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं। नेपाल माइक्रो इन्स्योरेन्सले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले आफ्नो केन्द्रीय कार्यालय भरतपुर, चितवनका साथै काठमाडौं र विभिन्न प्रादेशिक कार्यालयका लागि कर्मचारी माग गर्दै आवेदन खुलाएको हो।

कम्पनीले मुख्य बजार अधिकृत (सीएमओ), मुख्य वित्तीय अधिकृत (सीएफओ), पाँच जना प्रदेश प्रमुख (मार्केटिङ), बजार प्रतिनिधि तथा सूचना प्रविधि विभागका लागि सहायक पदमा कर्मचारी माग गरेको जनाएको छ।

सम्बन्धित शैक्षिक योग्यता हासिल गरेका तथा बीमा, बैंकिङ वा वित्तीय क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। बजार प्रतिनिधि पदका लागि भने हालै स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले समेत आवेदन दिन सक्नेछन्।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो बायोडाटा, आवेदनपत्र, फोटो लगायत आवश्यक कागजात कम्पनीको आधिकारिक इमेल [email protected] मा पठाउनुपर्नेछ।
कम्पनीका अनुसार प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र आगामी छनोट प्रक्रियामा सहभागी गराइनेछ।

जेईले लियो एक महिनामै ९ जनाको ज्यान

काठमाडौं। नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट पछिल्लो एक महिनामै कम्तीमा नौ जनाको मृत्यु भएको छ।

कोशीमा ६, मधेशमा दुई र लुम्बिनीमा एक जनाको मृत्यु भएको हो। थप ३७ जना संक्रमित अस्पतालमा उपचाररत छन्।

वर्षायामसँगै जेई संक्रमणको जोखिम बढ्ने भएकाले आगामी दिनमा संक्रमित र मृतकको संख्या थप बढ्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्। लामखुट्टेको टोकाइबाट सर्ने जेई नेपालमा गम्भीर स्वास्थ्य समस्या र मृत्युको प्रमुख कारणमध्ये एक हो।

जेई भाइरस संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। पानी जम्ने क्षेत्र, धानखेत तथा सुँगुर पाल्ने स्थान आसपास संक्रमणको जोखिम बढी हुन्छ। संक्रमणले मस्तिष्क तथा स्नायु प्रणालीमा गम्भीर असर पार्न सक्छ। गम्भीर अवस्थामा पुगेका बिरामीमध्ये उल्लेख्य संख्यामा मृत्यु हुने र बाँचेकामध्ये पनि केहीमा दीर्घकालीन अपांगता देखिन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।

नेपालमा जेई संक्रमणका लागि छुट्टै प्रभावकारी औषधि छैन। संक्रमित भएपछि लक्षण र जटिलताअनुसार उपचार गरिन्छ। त्यसैले संक्रमण नियन्त्रणमा खोपलाई सबैभन्दा प्रभावकारी उपाय मानिएको छ।

पछिल्ला वर्षका तथ्यांकले जेई संक्रमणबाट मृत्यु हुने तथा गम्भीर बिरामी पर्नेमा खोप नलगाएका व्यक्तिको संख्या बढी रहेको देखाएको छ। पश्चिम नवलपरासीमा हालै भएको एक मृत्युमा पनि सम्बन्धित व्यक्तिले जेईविरुद्धको खोप नलगाएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

जिल्लामा केही महिनाअघि खोप अभियान सञ्चालन गरिए पनि करिब ७७ प्रतिशत नागरिकले मात्र खोप लगाएका थिए। यसले जोखिममा रहेका सबै जनसंख्यालाई खोपको पहुँचमा ल्याउन अझै चुनौती रहेको देखाउँछ।

नेपालमा करिब एक करोड २५ लाख जनसंख्या जेई संक्रमणको उच्च जोखिममा रहेको अनुमान छ। पछिल्ला तथ्यांकले बालबालिकामात्र नभई वयस्कहरू पनि संक्रमणको जोखिममा रहेको देखाएका छन्।

गत वर्ष नेपालमा जेई संक्रमणबाट कम्तीमा ४१ जनाको मृत्यु भएको थियो भने १४१ जना संक्रमित भएका थिए। संक्रमण ४५ भन्दा बढी जिल्लाका ११७ भन्दा बढी स्थानीय तहमा फैलिएको थियो।

त्यसअघि २०८१ मा २३ जनाको मृत्यु भएको र कम्तीमा ८० जना संक्रमित भएको तथ्यांक छ। लगातार वर्षेनी संक्रमण र मृत्यु दोहोरिनुले जेई नियन्त्रणका लागि दीर्घकालीन रणनीतिको आवश्यकता देखिएको छ।

तर जोखिममा रहेका सबैलाई खोप उपलब्ध गराउन स्रोतको अभाव मुख्य चुनौती बनेको छ। सरकारले उच्च जोखिमका जिल्लामा लक्षित खोप अभियान सञ्चालन गर्दै आए पनि देशभरका जोखिममा रहेका जनसंख्यालाई समेट्ने अवस्था अझै बनेको छैन।

सरकारले यस वर्ष जेईको उच्च जोखिममा रहेका ११ जिल्लामा खोप अभियान सञ्चालन गर्न ४६ करोड रुपैयाँ छुट्याएको छ। चितवन, कैलाली, तनहुँ, दाङ, झापा, कपिलवस्तु, मोरङ, रूपन्देही, सुनसरी, रौतहट र सर्लाही अभियानका लागि छनोट भएका छन्।

तर खोप खरिद र आपूर्ति प्रक्रियाका कारण अभियान तत्काल सुरु नहुने देखिएको छ। जोखिमको मौसम सुरु भइसकेको अवस्थामा खोप अभियानमा हुने ढिलाइले संक्रमण नियन्त्रणमा चुनौती थप्न सक्ने विज्ञहरूको चिन्ता छ।

जेईविरुद्धको खोप सरकारी स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित रूपमा निःशुल्क दिइँदै आएको छ। निजी क्षेत्रबाट पनि खोप उपलब्ध भए पनि महँगो भएकाले जोखिममा रहेका सबैले आफ्नै खर्चमा लगाउन सक्ने अवस्था छैन।

नेपालमा जेईको जोखिम दशकौँ पुरानो हो। सन् २००५ मा ठूलो संख्यामा मृत्यु भएपछि नेपालले सन् २००६ देखि जेईविरुद्ध खोप अभियान सुरु गरेको थियो। पछि यसलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको हो।

तर पछिल्ला वर्षमा संक्रमण पुनः बढ्दै जानुले खोप कार्यक्रमसँगै रोग निगरानी र लामखुट्टे नियन्त्रणलाई पनि प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार वर्षायाममा पानी जम्ने स्थान हटाउने, घरवरपर सरसफाइ कायम गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउने तथा जोखिम क्षेत्रमा समयमै खोप पुर्‍याउने कामलाई प्राथमिकता दिनुपर्छ।

जेईबाट हुने मृत्यु र दीर्घकालीन अपांगता रोक्न खोपको पहुँच विस्तार गर्नु तत्कालीन आवश्यकता देखिएको छ।

संक्रमण बढेपछि उपचारमा केन्द्रित हुनेभन्दा जोखिम पहिचान गरी समयमै रोकथाममा लगानी गर्नु नै प्रभावकारी उपाय हुने विज्ञहरूको निष्कर्ष छ।

भारतले २७ ठाउँको नाम फेर्दा चीनलाई चसक्क

काठमाडौं । भारतले चीनसँग सीमा विवाद रहेको क्षेत्रमा पर्ने २७ स्थानलाई आफ्नो आधिकारिक नक्सामा नयाँ मानक नामसहित समावेश गरेपछि चीनले त्यसप्रति असन्तुष्टि जनाएको छ। चीनले ‘जाङ्नान’ भनेर दाबी गर्दै आएको र भारतले ‘अरुणाचल प्रदेश’ भन्ने गरेको क्षेत्रमा भारतले गरेको नामकरणलाई चिनियाँ विज्ञहरूले एकपक्षीय कदमका रूपमा व्याख्या गरेका छन्।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्समा प्रकाशित विवरणअनुसार भारतको नयाँ नक्सामा चार हिमाली भञ्ज्याङ र एक उच्च हिमाली तालसहित २७ स्थानलाई औपचारिक पहिचान दिइएको छ। भारतले भने भौगोलिक स्थानको सही पहिचान कायम गर्न र ती क्षेत्रको भौगोलिक तथा ऐतिहासिक महत्त्वलाई अभिलेखमा स्पष्ट पार्न नामकरण गरिएको जनाएको छ।

तर चिनियाँ विज्ञहरूको धारणा भने फरक छ। उनीहरूले पछिल्लो निर्णयले दुई देशबीच पछिल्लो समय सुधार हुँदै गएको सम्बन्धमा अनावश्यक तनाव थप्न सक्ने बताएका छन्। सीमा विवाद समाधानका लागि भइरहेका वार्तालाई पनि यसले थप जटिल बनाउन सक्ने उनीहरूको भनाइ छ।

चिङ्ह्वा विश्वविद्यालयअन्तर्गत राष्ट्रिय रणनीति संस्थानका अनुसन्धानकर्ता कियान फङले चीन र भारतबीच सम्बन्ध सुधारका लागि संवाद अघि बढिरहेका बेला विवादित क्षेत्रमा एकतर्फी कदम चाल्नु उपयुक्त नभएको बताएका छन्। उनका अनुसार यस्ता गतिविधिले सीमा विषयलाई पुनः राजनीतिक तनावको केन्द्र बनाउन सक्छ।

भारतको पछिल्लो निर्णय चीन–भारत सीमा मामिलामा परामर्श तथा समन्वयसम्बन्धी कार्य संयन्त्रको ३६औँ बैठकपछि सार्वजनिक भएको हो। अगस्ट ६ मा नयाँ दिल्लीमा भएको उक्त बैठकमा सीमा व्यवस्थापन, सीमा निर्धारण, नियन्त्रण, आपसी संयन्त्र तथा सीमापार सहकार्यका विषयमा छलफल भएको थियो।

बैठकपछि दुवै पक्षले कूटनीतिक तथा सैन्य माध्यमबाट निरन्तर सम्पर्कमा रहने र सीमाक्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्ने प्रतिबद्धता जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

जाङ्नान क्षेत्रका स्थानको नामकरणलाई लिएर चीन र भारतबीच यसअघि पनि पटकपटक विवाद हुँदै आएको छ। चीनले सन् २०१७ देखि उक्त क्षेत्रमा रहेका विभिन्न भौगोलिक स्थानका लागि आफ्नै मानक नाम सार्वजनिक गर्दै आएको छ।

चिनियाँ विवरणअनुसार अहिलेसम्म विभिन्न चरणमा ११२ स्थानका नाम सार्वजनिक गरिएका छन्। तीमध्ये गाउँ, नदी, पहाडी भञ्ज्याङ, चुचुरा तथा अन्य भौगोलिक संरचना समावेश छन्।

भारतले भने चीनले गरेको नामकरणलाई अस्वीकार गर्दै आएको छ। नयाँ नाम राख्दैमा अरुणाचल प्रदेशको भू–राजनीतिक वा प्रशासनिक अवस्थामाथि कुनै असर नपर्ने भारतको धारणा रहँदै आएको छ।

चीन–भारत सीमा विवादको मुख्य ऐतिहासिक आधारमध्ये सन् १९१४ को सिमला सम्मेलनमा प्रस्तावित म्याकमोहन रेखा पनि हो। भारतले यसलाई आफ्नो पूर्वोत्तर सीमाको आधार मान्दै आएको छ। चीनले भने उक्त सीमारेखालाई स्वीकार गरेको छैन।

चीनका अनुसार म्याकमोहन रेखा निर्धारण प्रक्रियालाई तत्कालीन चिनियाँ सरकारले स्वीकार नगरेकोले त्यसलाई वैध अन्तर्राष्ट्रिय सीमा मान्न सकिँदैन। भारत भने अरुणाचल प्रदेश आफ्नो भूभाग भएको दाबीमा कायम छ।

यही फरक दृष्टिकोणका कारण सीमावर्ती क्षेत्रका स्थानको नाम, नक्सा र प्रशासनिक गतिविधिसमेत दुई देशबीच संवेदनशील विषय बन्दै आएका छन्।

शाङ्हाई इन्टरनेसनल स्टडीज युनिभर्सिटीअन्तर्गत दक्षिण एसिया तथा हिन्द महासागर अध्ययन केन्द्रका प्राध्यापक क्वो जुताङले भारतले गरेको नामकरणले विवादित क्षेत्रको कानुनी अवस्थालाई परिवर्तन गर्न नसक्ने बताएका छन्।

उनका अनुसार यस्तो कदमले भारतले आफ्नो क्षेत्रीय दाबीलाई बलियो देखाउने प्रयास गरे पनि यसले वास्तविक सीमा विवाद समाधान गर्दैन। बरु वार्ताका लागि आवश्यक विश्वासको वातावरण कमजोर हुन सक्ने उनको भनाइ छ।

चीनले जाङ्नान क्षेत्रलाई तिब्बतसँग ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको क्षेत्रका रूपमा व्याख्या गर्दै आएको छ।

सीमा तनावका कारण लामो समयदेखि प्रभावित चीन–भारत सम्बन्ध पछिल्लो समय क्रमशः सुधार गर्ने प्रयास भइरहेको छ। दुवै देशका अधिकारीबीच सीमा व्यवस्थापन र सैन्य सम्पर्कका माध्यमबाट तनाव नियन्त्रण गर्ने प्रयास जारी छ।

सन् २०२४ को अन्त्यतिर सीमा मामिलासम्बन्धी वार्तामा समेत विभिन्न विषयमा समझदारी बनेको थियो। त्यस्तै नाथुला नाका पुनः सञ्चालन हुनु र उच्चस्तरीय कूटनीतिक संवाद बढ्नुले दुई देशबीच सम्बन्ध सामान्य बनाउने प्रयास भइरहेको संकेत दिएको छ।

जुलाईमा मनिलामा भएको चीनका विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको भेटवार्तामा पनि द्विपक्षीय सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउने तथा क्षेत्रीय विषयमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो।

तर विवादित भूभागमा नयाँ नामलाई आधिकारिक नक्सामा समावेश गर्ने भारतको पछिल्लो कदमले सीमा विवाद पुनः चर्चामा ल्याएको छ।

चीन र भारत दुवैले विवादित क्षेत्रमाथि आ–आफ्नो दाबी कायम राख्दै आएका छन्। यस्तो अवस्थामा स्थानको नाम परिवर्तन वा नक्सामा नयाँ पहिचान थप्ने गतिविधिले विवादको समाधानभन्दा राजनीतिक दाबीलाई मात्र बलियो बनाउने सम्भावना हुन्छ।

सीमा विवाद दीर्घकालीन रूपमा समाधान गर्न नियमित वार्ता, आपसी समझदारी र सीमा क्षेत्रमा स्थिरता कायम गर्नु आवश्यक देखिन्छ। दुवै पक्षले एकअर्काका संवेदनशीलतालाई ध्यानमा राखेर एकपक्षीय गतिविधिभन्दा संवादलाई प्राथमिकता दिए मात्र सम्बन्ध सुधारको पछिल्लो वातावरणलाई निरन्तरता दिन सकिने अवस्था छ।

भारतको नामकरण कदमले विवादित क्षेत्रमाथिको आफ्नो प्रशासनिक दाबी प्रस्तुत गरेको छ भने चीनले त्यसलाई अस्वीकार गर्दै आफ्नो सार्वभौमसत्ताको दाबी दोहोर्याएको छ।

यसले चीन–भारत सीमा विवाद अझै पनि कूटनीतिक सम्बन्धको संवेदनशील विषय रहेको स्पष्ट पारेको छ।

साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको घुइँचो

काठमाडौं । साउनको अन्तिम सोमबारका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ।

भगवान् शिवको पूजा, आराधना र दर्शनका लागि देशका विभिन्न स्थानबाट आएका श्रद्धालुले पशुपति क्षेत्र भरिभराउ भएको छ।

बिहानैदेखि परेको झरीको समेत प्रवाह नगरी भक्तजनहरू पशुपतिनाथ दर्शनका लागि पुगेका छन्। गेरुवा वस्त्रमा सजिएका हजारौँ श्रद्धालु जल, बेलपत्र तथा विभिन्न पूजा सामग्रीसहित लामबद्ध भएर दर्शनको प्रतीक्षामा छन्।

पशुपति क्षेत्र ‘बोलबम’को नारा, भजन–कीर्तन र धार्मिक गतिविधिले गुञ्जायमान बनेको छ। साउन महिनाको अन्तिम सोमबार भगवान् शिवको पूजा तथा आराधना गर्ने धार्मिक परम्पराअनुसार भक्तजनको संख्या अन्य दिनको तुलनामा उल्लेख्य बढेको हो।

भक्तजनको चापलाई व्यवस्थित गर्न पशुपति क्षेत्र र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मन्दिर प्रवेश, दर्शन तथा भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ भने भक्तजनलाई सहज रूपमा दर्शन गराउने प्रयास भइरहेको छ।

पशुपतिनाथमा दर्शनार्थीको चाप बढेसँगै गौशाला, तिलगंगा तथा आसपासका सडकमा सवारी आवागमनसमेत प्रभावित भएको छ। सडकमा सवारीको चाप र पैदल यात्रुको संख्या बढेपछि ट्राफिक व्यवस्थापनमा समेत चुनौती देखिएको छ।

साउनको अन्तिम सोमबारलाई विशेष धार्मिक महत्वका साथ मनाउने भएकाले पशुपतिनाथसँगै काठमाडौं उपत्यकाका अन्य शिवालयहरूमा समेत बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।

तस्वीरहरू:


 

सुस्ता डुब्ने डर, बाँध बाँध्न जुटे स्थानीय र सुरक्षाकर्मी

पश्चिम नवलपरासी। नारायणी नदीमा पानीको बहाव बढेसँगै डुबान र कटानको जोखिम बढेपछि पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र सुरक्षाकर्मी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्।

सुस्ता गाउँपालिका–५ स्थित थारुटोलदेखि सीमास्थलका रूपमा चिनिने सिमलको रुख आसपासको नदी किनारमा बुधबारदेखि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चौबिसै घण्टा काम गरिरहेको छ। नदीको बहाव बस्तीमा पस्न नदिन बोरामा बालुवा तथा माटो भरेर नाइलनको डोरीले बाँध्दै अस्थायी बाँध निर्माण भइरहेको हो।

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार तत्काल गाउँलाई डुबान र नदी कटानबाट जोगाउनु नै स्थानीयको पहिलो प्राथमिकता बनेको छ। स्थायी संरचना निर्माण हुन नसकेको अवस्थामा स्थानीय श्रम र उपलब्ध स्रोतसाधन परिचालन गरेर अस्थायी संरक्षणको काम अघि बढाइएको उनले बताए।

‘अहिले हाम्रो पहिलो प्राथमिकता गाउँलाई डुबान र नदी कटानबाट जोगाउनु हो,’ जैसवालले भने, ‘स्थायी समाधान नहुँदासम्म स्थानीयकै श्रम र उपलब्ध साधन प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिरहेका छौँ।’

सुस्तामा यसअघि स्थानीयले निर्माण गरेको अस्थायी तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काइदिएको आरोप सार्वजनिक भएपछि नदी कटान र सीमा क्षेत्रको समस्या थप चर्चामा आएको थियो। त्यसपछि स्थानीय प्रशासन तथा सम्बन्धित निकायबीच छलफल भएपछि तत्कालका लागि अस्थायी तटबन्ध निर्माणलाई अघि बढाइएको हो।

यसअघि नारायणी सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन आयोजना, भरतपुरले ठेक्का प्रक्रियामार्फत स्थायी तटबन्ध निर्माणको तयारी गरेको थियो। तर सीमावर्ती क्षेत्रमा निर्माणका लागि माथिल्लो तहबाट स्वीकृति आवश्यक पर्ने भारतीय पक्षको भनाइपछि काम अघि बढ्न नसकेको स्थानीयको दाबी छ।

स्थायी तटबन्ध निर्माणमा अन्योल भएपछि अहिले अस्थायी संरचनामार्फत बस्ती जोगाउने प्रयास भइरहेको छ। नारायणी सिँचाइ तथा नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले अस्थायी तटबन्ध निर्माणका लागि बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ। स्थानीयले सरकारी निकायबाट प्राप्त सामग्रीसँगै आफ्नै स्रोतबाट समेत बोरा, बालुवा र डोरी जुटाएर कामलाई तीव्रता दिएका छन्।

नदीको बहाव अझ बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटबन्ध निर्माणलाई निरन्तरता दिइएको जैसवालले बताए। आवश्यक परे थप जनशक्ति र सामग्री परिचालन गरेर बस्तीलाई सुरक्षित राख्ने तयारी भइरहेको उनको भनाइ छ।

सुस्ता क्षेत्रमा हरेक वर्ष वर्षायाममा नारायणी नदीको कटान र डुबानको समस्या दोहोरिँदै आएको छ। तत्कालका लागि अस्थायी तटबन्धले जोखिम कम गर्न सहयोग गरे पनि दीर्घकालीन समाधानका लागि स्थायी तटबन्ध निर्माण आवश्यक रहेको स्थानीयको भनाइ छ।

स्थानीयवासीले सीमावर्ती क्षेत्रमा देखिएको प्राविधिक तथा प्रशासनिक जटिलता समाधान गरी नेपाल र भारतका सम्बन्धित निकायबीच समन्वय बढाउन सरकारसँग आग्रह गरेका छन्।

उनीहरूले हरेक वर्ष अस्थायी संरचना निर्माण गरेर जोखिम टार्नेभन्दा दीर्घकालीन तटबन्ध निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन माग गरेका छन्।

तस्वीरहरू:

राजेन्द्र लिङ्देनलाई छाड्दै नेता कार्यकर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एउटै विचार, सिद्धान्त र एजेण्डामा कटिबद्ध सहयात्रीहरूलाई समेट्न नसकेको भन्दै नुवाकोटकाे पञ्क‍न्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।

राप्रपाभित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएको आइतबार राप्रपा परित्याग गर्ने स्थानीय नेताहरूले बताएका छन् । उनीहरु डा. धवलशम्सेर राणा सभापति रहने प्रस्तावित जय नेपाल पार्टीमा आवद्ध हुनेछन् ।

नुवाकोट राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको गृह जिल्ला हो र स्थानीय तहका नेता, कार्यकर्ताहरूको सामूहिक राजीनामा आएपछि राप्रपामा ठूलै हलचल मच्चिएको छ ।

राप्रपाबाट राजीनामा दिनेहरूमा पञ्‍चकन्या गाउँपालिकाका राप्रपा अध्यक्ष चक्रबहादुर कार्की, उपाध्यक्षहरू गीता मिजार र शंकर थापा, सचिव जयराम थापालगायत सदस्यहरू छन् ।

पञ्‍चकन्या गाउँपालिका वडा नं १ का अध्यक्ष मनोजकुमार राई, वडा नं ३ का अध्यक्ष राजु कार्की, वडा नं ४ का अध्यक्ष भक्तबहादुर अधिकारी र वडा नं ५ का अध्यक्ष कर्णप्रसाद सिटौलालगायत पाँचै वडाका अन्य पदाधिकारी तथा सदस्यहरू छन्।