`

भोटेकोशी बाढीमा बेपत्ताको खोजी माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूका परिवार र आफन्तले बुधबार माइतीघरमा प्रदर्शन गरेका छन्।

उनीहरूले माथिल्लो त्रिशूली–३ ‘ए’ को क्याम्पबाट बेपत्ता भएकाहरूको तत्काल खोजी गर्न र बाढी आउनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन्।

आफन्त खोजीका लागि दक्षिण कोरियाली निर्माण कम्पनी डोसानसँग आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनुअघि आवश्यक सावधानी नअपनाएर कम्पनीले लापरबाही गरेको प्रदर्शनकारीहरूको आरोप छ।

कालिकोटमा सरकारी जग्गा ‘सेटिङ’मा व्यक्तिका नाममा, १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कालिकोटमा करोडौँ मूल्यको सरकारी तथा नगर विकास समितिको जग्गा व्यक्तिका नाममा दर्ता गराएको अभियोगमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग, कालिकोटका जिल्ला समिति अध्यक्ष धिरबहादुर बमसहित १२ जनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार खाँडाचक्र नगरपालिका–१ मा कर्णाली राजमार्गसँगै जोडिएको नगर विकास समितिको कित्ता नं. १७७२ तथा सरकारी प्रकृतिका कित्ता नं. ५७२ र ९२१ को जग्गा मिलेमतोमा व्यक्तिका नाममा दर्ता गराइएको थियो।

अख्तियारको अनुसन्धानमा समितिले स्थलगत निरीक्षणसमेत नगरी कानुनी प्रक्रिया मिचेर सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएको खुलेको दाबी गरिएको छ।

नगरपालिका क्षेत्रमा कृषि प्रयोजनका लागि तोकिएको १३० वर्गमिटरको सीमाभन्दा अत्यधिक बढी क्षेत्रफलको जग्गा उपलब्ध गराइएको आयोगले जनाएको छ।

जग्गा प्राप्त गर्ने व्यक्तिहरूको अन्यत्रै घरजग्गा रहेकोसमेत अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ। जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेको केही समयमै तीमध्ये केहीले जग्गा बिक्रीसमेत गरेको पाइएको आयोगले जनाएको छ।

कसलाई कति बिगो ?

अख्तियारले तत्कालीन आयोग जिल्ला समिति अध्यक्ष धिरबहादुर बम, विज्ञ सदस्य रमेश नेपाली, सदस्य राजेन्द्रबहादुर थापा र मालपोत कार्यालय कालिकोटका तत्कालीन प्रमुख नेत्रबहादुर शाहीविरुद्ध जनही १ करोड ७६ लाख ८६ हजार ८ सय रुपैयाँ बिगो मागदाबी गरेको छ।

उनीहरूविरुद्ध बिगोसहित कैद र जरिवानाको माग गरिएको छ।

त्यस्तै, खाँडाचक्र नगरपालिका–१ का तत्कालीन कार्यवाहक वडाध्यक्ष भरतबहादुर शाहीविरुद्ध १ करोड ९४ हजार ४ सय रुपैयाँ बिगो माग गरिएको छ।

मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा मुकुन्द बस्नेत र कार्यालय सहयोगी भक्तबहादुर शाहीविरुद्ध जनही ७५ लाख ९२ हजार ४ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ।

सोही कार्यालयका सहायक कम्प्युटर अपरेटर वीरेन्द्रबहादुर शाहीविरुद्ध पनि कैद र जरिवानाको माग गरिएको छ।

सरकारी जग्गा आफ्नो नाममा दर्ता गराई भ्रष्टाचारमा मतियार बनेको अभियोगमा जग्गा प्राप्त गर्ने व्यक्तिहरूलाई समेत प्रतिवादी बनाइएको छ।

अख्तियारले उनीहरूबाट बिगो असुलसँगै गैरकानुनी रूपमा व्यक्तिको नाममा पुगेको सरकारी जग्गा सरकारकै नाममा फिर्ता गर्न माग गरेको छ।

आरोपपत्र दायर भएसँगै अब मुद्दाको अन्तिम टुंगो विशेष अदालतको न्यायिक प्रक्रियाबाट लाग्नेछ। आरोपितमाथि लागेको अभियोग अदालतबाट प्रमाणित हुन बाँकी छ।

टी-२० आई अलराउन्डर वरियतामा दीपेन्द्र एक स्थान तल झरे

काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन्।

आईसीसीले मंगलबारसम्मका खेललाई आधार बनाएर बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र तेस्रोबाट चौथो स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक भने २५६ नै कायम छ।

नेपालले पछिल्लो समय कुनै टी-२०आई खेल नखेलेकाले दीपेन्द्रको वरियतामा प्रत्यक्ष परिवर्तन भएको होइन। उनीभन्दा तल रहेका इंग्ल्यान्डका विल ज्याक्सले श्रीलंकाविरुद्धको हालै सम्पन्न टी-२०आई शृङ्खलामा गरेको प्रदर्शनका आधारमा अंक सुधार गरेपछि तेस्रो स्थानमा उक्लिएका हुन्।

नेपालले अब शुक्रबारदेखि एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। एसियन गेम्समा दीपेन्द्रसहित नेपाली खेलाडीको प्रदर्शनले आगामी टी-२०आई वरियतामा समेत प्रभाव पार्न सक्नेछ।

आईसीसीको नयाँ अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा कायमै छन्। उनको रेटिङ ३२१ रहेको छ। पाकिस्तानका सायम अयुब २९२ रेटिङसहित दोस्रो स्थानमा छन्।

यस्तै, विल ज्याक्स तेस्रो स्थानमा उक्लिँदा दीपेन्द्र २५६ अंकसहित चौथो स्थानमा छन्। अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा रहेका छन्।

सशस्त्रको छापा : रास्वपा नेताको घरमा ५० लाखको मोबाइल पार्टस् बरामद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भोला साहको घरबाट करिब ५० लाख रुपैयाँ मूल्य बराबरका मोबाइल पार्टस् बरामद भएका छन्।

सशस्त्र प्रहरी बलको रौतहटस्थित नम्बर ११ गण हेडक्वार्टरबाट खटिएको टोलीले गौर नगरपालिका–४, टिकुलियास्थित साहको घरमा छापा मार्दा ५० लाख १४ हजार ५ सय रुपैयाँ बराबरका मोबाइल पार्टस् फेला पारेको हो।

ठूलो परिमाणमा सामान लुकाएर राखिएको सूचनाका आधारमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट सूचना आएपछि एसपी चेतराज जोशीको कमाण्डमा टोली खटिएको थियो।

खानतलासीका क्रममा घरभित्र लुकाएर राखिएको अवस्थामा मोबाइल पार्टस् फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। छापाका क्रममा करिब ४५ जना सशस्त्र प्रहरी परिचालन भएका थिए। गौर भन्सार कार्यालयका प्रतिनिधिसमेत टोलीमा सहभागी थिए।

घरबाट ठूलो परिमाणमा मोबाइल पार्टस् फेला परेपछि प्रहरीले भन्सार प्रक्रिया र सामानको कानुनी स्रोतबारे अनुसन्धान अघि बढाएको छ।

खानतलासीका क्रममा तीन थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरीले बरामद सबै सामग्री गौर भन्सार कार्यालयमा बुझाएको जनाएको छ। अब भन्सारले सामानको स्रोत, मूल्यांकन, भन्सारसम्बन्धी कागजात तथा संलग्न व्यक्तिको भूमिकाबारे अनुसन्धान गर्नेछ।

बरामद सामान अवैध रूपमा ल्याइएको वा भन्सार छली भएको भन्ने विषय भने अनुसन्धानपछि मात्रै टुंगो लाग्नेछ।

बङ्गालको खाडीमा शक्तिशाली ‘डीप डिप्रेसन’, भारतका धेरै राज्यमा भारी वर्षाको चेतावनी

काठमाडौं । बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पश्चिमतर्फ अघि बढिरहेको छ। पछिल्लो ६ घण्टामा यो प्रणाली करिब १२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमतर्फ सरेको हो।

बुधबार बिहान ५ः३० बजे उक्त प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्रमा रहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ।

मौसम विभागका अनुसार बुधबार रातिसम्म यो प्रणाली उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटबीच पर्ने कलिङ्गपट्टनम आसपासबाट तटमा प्रवेश गर्ने सम्भावना छ।

‘डीप डिप्रेसन’ समुद्रमा बन्ने न्यून चापीय प्रणालीको शक्तिशाली अवस्था हो। यससँगै तीव्र हावाहुरी र भारी वर्षा हुने गर्छ।

यसको प्रभावका कारण भारतका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको छ।

मध्य प्रदेशका छिन्दवाडा, सिवनी र बालाघाटमा बुधबार भारी वर्षाको चेतावनी दिइएको छ। बिहारका सबै ३८ जिल्लामा पनि वर्षाको सम्भावनालाई ध्यानमा राख्दै पहेँलो सतर्कता जारी गरिएको छ।

मौसम प्रणालीको प्रभावसँगै ती क्षेत्रमा हावाहुरी र वर्षाको गतिविधि बढ्न सक्ने मौसम विभागले जनाएको छ।

भारतको राजस्थानमा भने अवस्था फरक देखिएको छ। वर्षा रोकिएपछि त्यहाँ तापक्रम बढेको छ।

जैसलमेरमा तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ। बीकानेर र बाडमेरमा पनि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

सेप्टेम्बरमै मे महिनाको जस्तो गर्मी महसुस हुन थालेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मौसम विभागका अनुसार राजस्थानमा आगामी चारदेखि पाँच दिन मौसम मुख्यतः सुक्खा रहने सम्भावना छ। यस अवधिमा तापक्रम अझै बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु [तस्वीरहरू]

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगर समितिको अधिवेशन सुरु भएको छ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा महामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशन सुरु भएको हो।

अधिवेशनले महानगर समितिको नयाँ नेतृत्व चयन गर्नेछ।
 तस्वीरहरू:


 

प्रधानमन्त्री कार्यालयको दबाब : टेलिकममा हतारो, ५ अर्बको बिलिङ ठेक्का विवादमा

काठमाडौं । नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया फेरि विवादमा तानिएको छ। करिब ५ अर्ब रुपैयाँको ठेक्का आह्वान गरिए पनि स्पेसिफिकेसन र टेन्डरसम्बन्धी कागजातलाई अन्तिम रूप दिने काम पूरा नहुँदै प्रक्रिया अघि बढाइएको भन्दै टेलिकमभित्रै प्रश्न उठेको छ।

बुधबार टेलिकमले नयाँ बिलिङ तथा कस्टमर सपोर्ट सिस्टम खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो। यो टेलिकमको नयाँ बिलिङ प्रणाली खरिद गर्ने तेस्रो प्रयास हो।

तर, टेलिकमको रिभ्यु कमिटीले स्पेसिफिकेसन र टेन्डरसम्बन्धी कागजातमा दिएका सुझाव टुंगो लगाउनुअघि नै सूचना निकालिएको आरोप छ। यसले खरिद प्रक्रिया फेरि विवादित बन्न सक्ने भन्दै कर्मचारीहरूमा असन्तुष्टि देखिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार लामो समयदेखि बिलिङको ठेक्का अघि बढ्न नसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट टेलिकम व्यवस्थापनमाथि दबाब परेको थियो। ढिलाइ गरे कारबाही हुन सक्ने चेतावनी आएपछि व्यवस्थापनले जसरी पनि ठेक्का निकाल्ने निर्णय गरेको दाबी गरिएको छ।

टेलिकमको नयाँ प्रणाली खरिदको लागत भ्याटसहित करिब ५ अर्ब रुपैयाँ पुग्नेछ। बोलपत्रको बिड सेक्युरिटी करिब ९ करोड रुपैयाँ तोकिएको छ। प्रस्ताव बुझाउने अन्तिम म्याद कात्तिक १३ गतेसम्म रहेको छ।

इलेक्ट्रोनिक खरिद प्रणाली ईजीपीमा सुरक्षा जोखिम देखिएपछि त्यसको मर्मत तथा सुधारको काम भइरहेकाले यसपटक बोलपत्रका कागजात भौतिक रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

बिलिङ ठेक्काको सबैभन्दा पेचिलो विषय भनेको योग्यताको मापदण्ड र स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्था हो।

टेलिकमभित्र गार्टनरको सूचीमा रहेका भेन्डरलाई मात्रै सहभागी गराउने कि खुला प्रतिस्पर्धा गर्ने भन्ने विषयमा मतभेद रहेको स्रोतको दाबी छ।

त्यसैगरी, टेलिकमको प्रतिस्पर्धी कम्पनी एनसेललाई बिलिङ तथा डिजिटल बिजनेस सपोर्ट सिस्टम सेवा दिइरहेको ह्वेल क्लाउडलाई टेलिकमको ठेक्कामा सहभागी गराउँदा स्वार्थको द्वन्द्व हुने वा नहुने विषय पनि विवादमा छ।

सर्वोच्च अदालतले यसअघि नै बिलिङ प्रणाली खरिद गर्दा स्वार्थको द्वन्द्व नहुने र ग्राहकको व्यक्तिगत विवरण तथा तथ्यांकको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको थियो।

यही विषयलाई लिएर रिभ्यु कमिटीभित्रै स्पेसिफिकेसनमा हस्ताक्षर गर्न आनाकानी भइरहेको स्रोतको दाबी छ।

स्रोतका अनुसार बिलिङ ठेक्काको मापदण्डलाई लिएर सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना, टेलिकमका प्रमुख प्रविधि अधिकृत तथा पूर्वप्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालबीच मतभेद देखिएको छ।

मन्त्री तिमिल्सिना धेरैभन्दा धेरै भेन्डरलाई प्रतिस्पर्धामा ल्याउने पक्षमा रहेको स्रोतको दाबी छ। स्वार्थको द्वन्द्वसम्बन्धी प्रावधानले प्रतिस्पर्धा सीमित गर्न नहुने उनको धारणा रहेको बताइएको छ।

तर, टेलिकमभित्रै केही अधिकारी भने उक्त प्रावधान कायम राखेर प्रतिस्पर्धाको दायरा सीमित गर्नुपर्ने पक्षमा रहेको स्रोतको दाबी छ।

गार्टनरको मापदण्ड र स्वार्थको द्वन्द्वसम्बन्धी प्रावधानमा सहमति नजुट्दै ठेक्का निकालिएपछि विवाद थप चर्किएको बताइएको छ।

टेलिकमले यसअघि २०८१ चैतमा नयाँ बिलिङ प्रणालीका लागि ठेक्का आह्वान गरेको थियो। त्यस प्रक्रियामा ह्वेल क्लाउड र हुवावे सहभागी भएका थिए।

प्राविधिक मूल्यांकनपछि हुवावे मात्रै आर्थिक प्रस्तावका लागि योग्य ठहरिएको थियो। तर, आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेपछि प्रक्रिया रोकियो।

त्यसपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेका थिए।

समितिले टेन्डरको स्पेसिफिकेसन निश्चित कम्पनीलाई अनुकूल हुने गरी तयार पारिएको र सार्वजनिक खरिदसम्बन्धी प्रक्रियामा प्रश्न उठ्ने अवस्था रहेको निष्कर्ष निकालेको थियो। यही विवादका कारण पुरानो ठेक्का अन्ततः रद्द गरिएको थियो।

अघिल्लो प्रक्रिया रद्द भएपछि नयाँ टेन्डर निकाल्न टेलिकममाथि समयको दबाब पनि बढेको छ। अहिले प्रयोग भइरहेको बिलिङ प्रणाली एसिया इन्फोले सञ्चालन गरिरहेको छ र त्यसको सम्झौताको अवधि २०२७ सेप्टेम्बरसम्म रहेको सार्वजनिक विवरणमा उल्लेख छ।

नयाँ प्रणाली खरिद, डाटा माइग्रेसन र परीक्षणका लागि लामो समय लाग्ने भएकाले ढिलाइ हुँदा सेवा निरन्तरतामै असर पर्न सक्ने टेलिकमका अधिकारीहरूले बताउँदै आएका छन्।

तर, समयको दबाबकै नाममा स्पेसिफिकेसन, प्रतिस्पर्धाको आधार र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न नटुंग्याई ठेक्का अघि बढाउँदा अर्को विवाद निम्तिन सक्ने कर्मचारीहरूको चिन्ता छ।

टेलिकमको बिलिङ प्रणाली खरिद यसअघि पनि कानुनी र खरिदसम्बन्धी विवादमा परेको थियो। पुरानो बिलिङ प्रणालीको मर्मतसम्भार ठेक्कालाई लिएर अख्तियारले समेत मुद्दा दायर गरिसकेको छ।

अब नयाँ ठेक्काले पुराना विवाद टुंग्याएर प्रतिस्पर्धात्मक खरिद प्रक्रिया अघि बढाउँछ कि फेरि कानुनी र प्रशासनिक झमेलामा फस्छ भन्ने प्रश्न उठेको छ।

त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । त्रिपुरेश्वरमा बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाको निष्पक्ष छानबिनको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागी यातायात मजदुरहरूले घटनालाई सामान्य विवादका रूपमा मात्र नहेरी घटनाको सुरुदेखिको सम्पूर्ण परिस्थितिको अनुसन्धान गर्न माग गरेका छन्। उनीहरूले घटनाको वास्तविक कारण पत्ता लगाई सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रदर्शनकारीहरूले यातायात मजदुरमाथि हुने व्यवहार, ट्राफिक व्यवस्थापन तथा कार्यस्थलमा मजदुरले भोग्दै आएका समस्याका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। घटनामा संलग्न पक्ष, प्रत्यक्षदर्शीको बयान, सीसीटीभी फुटेजलगायत उपलब्ध प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनीहरूको माग छ।

यसअघि घटनाको सत्यतथ्य छानबिन गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैरेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

यातायात मजदुर तथा व्यवसायीसम्बद्ध विभिन्न संघसंस्थाले पनि घटनाको विस्तृत छानबिन गरी दोषी देखिए कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्।

साथै मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि उनीहरूले सरकारसँग माग गरेका छन्।

 

 

बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन व्यवसायी तथा चालकलाई आग्रह गरेको हो। साथै, बिहीबारदेखि रातिको समयमा यात्रा नगर्न पनि महासंघले अनुरोध गरेको छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै लामो दूरीको यात्रा नगर्न तथा आवश्यक सावधानी अपनाउन सरोकारवालालाई आग्रह गरिसकेको थियो।

यसैअनुसार महासंघले आफ्ना सदस्य तथा यातायात व्यवसायीलाई सतर्कता अपनाएर मात्र सेवा सञ्चालन गर्न सचेत गराएको जनाएको छ।

मौसम पूर्वानुमानअनुसार यस साता निरन्तर वर्षा हुने सम्भावना रहेकाले विभिन्न स्थानमा सडकमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने सरकारले जनाएको छ।

सोही कारण यात्राका क्रममा आवश्यक सावधानी अपनाउन र जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न आग्रह गरिएको छ।

गड्डाचौकीबाट पास गाडी धनगढीमा समातिँदा भन्सार अधिकृतको ‘फोन आतंक’

काठमाडौं । भन्सार पास भएर आएको भारतीय गाडी कैलालीमा नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका एक अधिकृत र सशस्त्र प्रहरीबीच विवाद चर्किएको छ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीलाई फोन गरेर आक्रोशपूर्ण र धम्कीपूर्ण शैलीमा कुरा गरेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

भट्टले गड्डाचौकीबाट भन्सार प्रक्रिया पूरा गरेर आएको गाडी कैलालीमा किन रोकिएको भन्दै प्रश्न गरेका छन्। उनले तत्काल गाडी छाड्न वा भन्सार कार्यालयमा पठाउन दबाब दिएका छन्।

गाडी नछाडिए गृहमन्त्री, नेपाल प्रहरीका आईजीपी र भन्सार विभागका उच्च अधिकारीलाई फोन गर्ने चेतावनीसमेत उनले दिएका छन्।

एसपी केसीले गाडी कम मूल्यांकन अर्थात् अन्डरविलिङ भएको शंका लागेर नियन्त्रणमा लिएको बताएका छन्।

त्यसपछि भट्टले त्यस्तो शंका भए गाडी भन्सार कार्यालयमै पठाउनुपर्ने बताएका छन्।

‘भन्सारमा पठाइदिनुपर्यो। होइन भने हजुरहरूलाई लाग्छ भने छोडिदिनुपर्यो। बाटोमा दुःख दिने कामचाहिँ नगरौँ सर,’ अडियोमा भट्टले भनेका छन्।

उनले गाडी भन्सारमा नपुगे वा छुट्न नसके आफूले आईजीपी र गृहमन्त्रीलाई जानकारी गराउने चेतावनी दिएका छन्।

भट्टले कञ्चनपुरबाट जाने सामानलाई बाटोमा दुःख दिने गरेको आरोपसमेत लगाएका छन्।

‘भोलि त्यो गाडी गएन या त्यसमा कुनै क्वान्टिटी फरक हालेर गयो भने मेरो डीजी, हजुरको आईजीपी प्लस तीन–चार जनालाई म स्वाट्टै हान्छु,’ उनले भनेको अडियोमा सुनिन्छ।

गाडी नियन्त्रणमा लिन ठूलो टोली गएको विषयमा समेत उनले एसपी केसीसँग प्रश्न गरेका छन्।

त्यस क्रममा भट्टले ‘त्यो कुनै आतंकवादी थियो र सर ?’ भन्दै प्रश्न गरेका छन्। गाडी महेन्द्रनगरमै नियन्त्रणमा नलिई धनगढीमा किन समातियो भन्ने विषयमा पनि उनले प्रश्न उठाएका छन्।

भट्टले गाडी नियन्त्रणमा लिनुको पछाडि आर्थिक लेनदेन भएको हुन सक्ने आशयको प्रश्नसमेत गरेको सुनिन्छ।

त्यसको जवाफमा एसपी केसीले भनेका छन्, ‘खै, पैसा पाएको नपाएको त तपाईंहरूलाई थाहा होला।’

प्रहरी स्रोतका अनुसार भन्सार अधिकृत भट्टले कैलालीका डीएसपी हीरासिंह महरालाई समेत फोन गरेका थिए।

महरासँग पनि उनले स्पष्टीकरण सोध्ने र कारबाही गर्ने चेतावनी दिएको प्रहरी स्रोतको दाबी छ।

‘तपाईंहरूले पैसा खानुभयो’ भन्ने आरोपसमेत भट्टले डीएसपीसँग लगाएको स्रोतले जनाएको छ। उक्त आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन।

प्रहरी स्रोतका अनुसार अडियो संवाद अत्तरियामा भारतीय नम्बरको गाडी नियन्त्रणमा लिइएको घटनासँग सम्बन्धित छ।

यूपी ३१ सीटी १३०३ नम्बरको भारतीय गाडी टायर, ट्युबलगायतका सामानसहित अत्तरियामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।

उक्त गाडी गड्डाचौकी भन्सार कार्यालयबाट भन्सार प्रक्रिया पूरा गरेर आएको बताइएको छ। तर सामानको कम मूल्यांकन गरी भन्सारबाट पास गरिएको भन्ने सूचनाका आधारमा गाडी नियन्त्रणमा लिइएको प्रहरी स्रोतको दाबी छ।

नियन्त्रणमा लिइएको गाडी कैलाली भन्सार कार्यालयमा बुझाइएको र त्यहाँबाट पुनः इलाका प्रहरी कार्यालयमार्फत कञ्चनपुर भन्सार कार्यालयमा पठाइएको जनाइएको छ।

गाडी नियन्त्रणमा लिनुपर्ने अवस्था, सामानको वास्तविक मूल्यांकन र भन्सार प्रक्रिया कानुनअनुसार भए–नभएको विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।

सार्वजनिक अडियोमा उठाइएका आरोप र आर्थिक लेनदेनसम्बन्धी दाबीको समेत स्वतन्त्र पुष्टि हुन बाँकी छ।

बाढीमा बेपत्तालाई मृतकसरह मान्यता दिन युवराज दुलालको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी, त्रिशूली र सुनकोशीको बाढीमा बेपत्ता भएकाहरूलाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले परिवारले काजक्रिया गरिसकेका अवस्थामा पनि कानुनी रूपमा बेपत्ताकै सूचीमा रहनुपर्ने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए।

बेपत्ताको मृत्यु दर्ता नहुँदा परिवारले राहत पाउन नसकेको र बैंकिङ तथा अन्य आर्थिक कारोबारसमेत प्रभावित भएको उनले बताए।

‘सुनकोशी, भोटेकोशी र त्रिशूलीको बाढीमा बेपत्ता भएका नागरिकका परिवारले प्राप्त गर्नुपर्ने राहत तथा आर्थिक कारोबारसमेत रोकिएको अवस्था छ,’ दुलालले भने, ‘त्यसैले बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत प्रदान गर्नुपर्ने परिवारहरूको पटकपटकको मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

दुलालले मलेसिया जाने नेपाली कामदारका लागि लागू गरिएको भनिएको नयाँ श्रम प्रणालीप्रति पनि आपत्ति जनाएका छन्।

उनका अनुसार ११ सयभन्दा बढी म्यानपावर कम्पनी रहेको अवस्थामा मलेसियाका रोजगारदाता छनोट गर्ने अधिकार सीमित संख्याका २५ वटा कम्पनीलाई मात्र दिइएको विषयले श्रम बजारमा समस्या सिर्जना गरेको छ।

प्रधानमन्त्रीले मलेसियाली समकक्षीसँग यस विषयमा असन्तुष्टि व्यक्त गरिसकेको भए पनि व्यवहारमा सिन्डिकेट कायमै रहेको भन्दै दुलालले यसलाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरेका छन्।

एसियाली खेलकुदमा इभाना थापा पहिलो चरणमै बाहिरिइन्

काठमाडौं। नेपाली टेबलटेनिस खेलाडी इभाना थापा एसियाली खेलकुदको महिला एकलतर्फ पहिलो चरणमै पराजित भएकी छन्।

बुधबार नागोयास्थित स्काइ हल टोयोटामा भएको खेलमा इभाना उज्वेकिस्तानकी अरुजन कमलोभासँग सोझो चार सेटमा पराजित भइन्।

इभानाले चारै सेट ३-११, ६-११, २-११ र ८-११ ले गुमाइन्।

यसअघि बुधबार नै इभाना र रुविन महर्जनको जोडी मिक्स्ड डबल्सको दोस्रो चरणमा हङकङका क्वान टु यी र विङ लाम एनजीको जोडीसँग ३-० ले पराजित भएको थियो।

मिक्स्ड डबल्समै संयोग कपाली र नवीता श्रेष्ठको जोडी भने पहिलो चरणबाटै बाहिरिएको थियो।

नेपालले पुरुष तथा महिला टिम इभेन्टमा पनि समूह चरण पार गर्न सकेन।

प्रि-ओपनमै नेप्से १६ अंकले बढ्यो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार प्रि-ओपन सेसनमै नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

प्रि-ओपन कारोबार बन्द हुँदा नेप्से १५.९८ अंकले बढेर २६७०.२७ विन्दुमा पुगेको छ।

यस अवधिमा ८९ वटा स्क्रिप्सको ७ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम ४६ लाख २१ हजार ३९२ रुपैयाँ पुगेको छ।

प्रि-ओपनमा कारोबारमा आएका कम्पनीमध्ये २८ वटाको सेयर मूल्य बढेको छ। ४२ वटाको मूल्य घट्दा १३ वटा स्क्रिप्सको मूल्य भने स्थिर रहेको छ।

जेन्जी माथि गोली चलाउनेलाई कठघरामा उभ्याउन सांसद खत्रीको माग

काठमाडौं । रास्वपाका सांसद राजीव खत्रीले जेन्जी आन्दोलनका दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्। उनले जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह थियो कि थिएन भन्ने विषयमा प्रतिनिधिसभाबाटै संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै खत्रीले जेन्जी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्यायको अनुभूति गर्न नसकेको भन्दै सरकार र संसद्को भूमिकामाथि प्रश्न उठाए।

उनले गत चैत १९ गतेको संसद् बैठक सम्झाउँदै रास्वपा सभापति रवि लामिछानेले ‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो’ भनेको स्मरण गरे।

तर संसद्को ५८औँ बैठकसम्म आइपुग्दा सहिदकी आमाले नै आफ्नो अपमान भएको भन्दै सदनमा रुनुपर्ने अवस्था आएको खत्रीको भनाइ थियो।

‘छोराको झोलामा कापी र किताब थियो, मुखमा भ्रष्टाचारविरोधी नारा थियो। छाती र टाउकोमा गोली हानियो। खुङ्खार आतंकवादीसरह मारियो,’ खत्रीले भने।

उनले सहिदका आमाबाबुको पीडा र आन्दोलनमा ज्यान गुमाएकाहरूको बलिदानलाई राजनीतिक विवादमा सीमित गर्न नहुने बताए।

‘सहिदको रगत र आमाको आँसुको हिसाबकिताब हुन्छ भनियो। तर छोराको लासमाथि पद साटेको होइन भन्दै सदनमा चित्कार छोड्नुपर्ने दिन आयो,’ उनले भने।

खत्रीले जेन्जी आन्दोलनको प्रकृतिबारे संसद्ले स्पष्ट धारणा बनाउनुपर्ने बताए।

‘जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन ? हो भने यही सदनबाट संकल्प प्रस्ताव ल्याएर पास गरौँ,’ उनले भने।

आन्दोलनलाई विद्रोहका रूपमा स्वीकार गर्ने हो भने त्यस क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने उनको माग छ।

‘दोषीलाई कठघरामा उभ्याएर जेन्जीलाई न्याय दिने संकल्प गरौँ। नत्र सहिदकी आमाको आँसुले अवश्य पोल्नेछ,’ खत्रीले भने।

उनले जेन्जी आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका युवाको न्यायको प्रश्न संसद्ले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए।

जानकी मन्दिरलाई विश्व सम्पदा बनाउने बाटो खुल्यो, मनीष झाले सरकारलाई दिए धन्यवाद

काठमाडौं । रास्वपाका सांसद मनीष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै झाले चुनावी प्रतिबद्धताअनुसार जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढेको भन्दै सरकारप्रति आभार व्यक्त गरे।

गत वर्षको चुनावी अभियानका क्रममा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले संरक्षित स्मारक क्षेत्र घोषणा हुनु त्यसतर्फको महत्वपूर्ण कदम भएको बताए।

‘गत वर्ष चुनावी अभियानको सुरुवात गर्दा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता हामीले व्यक्त गरेका थियौँ। सोही प्रतिबद्धताअनुरूप मन्दिर क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय भएकामा आभार व्यक्त गर्दछु,’ झाले भने।

झाले पछिल्लो समय सरकारी काममा देखिएको तदारुकताको पनि प्रशंसा गरे।

विशेषगरी बाढीका कारण अवरुद्ध कृष्णभीरको सडक १२ दिनमै सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देखाएको सक्रियता उनले सराहनीय भएको बताए।

सरकारले देखाएको यही गति अन्य विकास आयोजना र सार्वजनिक सेवामा पनि देखिनुपर्ने उनको भनाइ थियो।

सांसद झाले विभिन्न स्थानमा रहेका बाढीपीडितका अस्थायी शिविरको अवस्थाप्रति पनि संसद्को ध्यानाकर्षण गराए।

अस्थायी शिविरमा महिला र बालबालिकाको सुरक्षा संवेदनशीलता बढेको भन्दै उनले तत्काल प्रभावकारी सुरक्षा र व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग गरे।

असुरक्षित वातावरणमा बस्न बाध्य पीडितहरू प्राकृतिक विपत्तिपछि थप समस्यामा पर्न सक्ने भन्दै उनले शिविरको व्यवस्थापनलाई प्राथमिकतामा राख्न आग्रह गरे।

ऊर्जामन्त्रीको ब्रिफिङ : भोटेकोशी बाढीको भयावह क्षति, पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने [पूर्णपाठ]

काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जलविद्युत् क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठका अनुसार विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन्।

बुधबार प्रतिनिधिसभामा सार्वजनिक महत्वको वक्तव्य दिँदै मन्त्री श्रेष्ठले विपद्पछि समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि प्रारम्भिक रूपमा ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान सुनाए।

मन्त्री श्रेष्ठका अनुसार सम्पर्कविहीन हुनेमा नेपाल विद्युत् प्राधिकरणका ४७ कर्मचारीसमेत छन्।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट मात्रै ४३९ जना सम्पर्कविहीन छन्। उक्त आयोजनाबाट हालसम्म ३९ वटा शव निकालिएको उनले संसद्लाई जानकारी दिए।

त्यस्तै माथिल्लो त्रिशूली–३ ‘बी’बाट १७८, रसुवागढीबाट ९३, लाङटाङ खोलाबाट ३९ र माथिल्लो त्रिशूली–३ ‘ए’बाट ३९ जना सम्पर्कविहीन रहेको विवरण उनले प्रस्तुत गरे।

कठिन परिस्थितिका बीच केही आयोजनाबाट श्रमिक तथा प्राविधिकको उद्धार गरिएको पनि मन्त्रीले बताए।

बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन्।

यसबाट राष्ट्रिय विद्युत् प्रणालीबाट ४१० मेगावाट विद्युत् बाहिरिएको छ। सञ्चालनमा रहेका आयोजनामध्ये २७५ मेगावाट क्षमतामा प्रत्यक्ष क्षति पुगेको छ भने प्रसारण लाइनमा आएको क्षतिका कारण थप १३५ मेगावाट उत्पादन प्रभावित भएको छ।

निर्माणाधीन ५०८ मेगावाट क्षमताका ६ वटा आयोजनामा समेत ठूलो क्षति पुगेको मन्त्री श्रेष्ठले बताए।

त्रिशूलीको २२० केभी सबस्टेसन, मातातीर्थ–चिलिमे प्रसारण लाइन तथा विभिन्न स्विचयार्डमा क्षति पुगेको छ।

सिँचाइ तथा नदी नियन्त्रणतर्फका संरचना पुनर्निर्माणमा मात्रै करिब ४ अर्ब ९४ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।

विपद्बाट क्षतिग्रस्त ऊर्जा संरचना पुनःनिर्माण र सञ्चालनमा ल्याउन ठूलो स्रोत आवश्यक पर्ने मन्त्री श्रेष्ठले बताए।

बाढीमा ज्यान गुमाएका तथा बेपत्ता नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत दिने निर्णय भएको उनले जानकारी दिए।

त्यस्ता परिवारलाई ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

बाढी प्रभावित ग्राहकलाई समेत राहत दिने तयारी छ। भदौ महिनादेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गरी निःशुल्क नयाँ मिटर जडान गर्ने र प्रभावित १५ पालिकाका उपभोक्तालाई महसुल छुट दिने विषयमा अध्ययन भइरहेको मन्त्रीले बताए।

खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको योगदानको कदर गर्दै जलविद्युत् आयोजनाको प्राथमिक सेयर अर्थात् आईपीओमा उनीहरूको २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको मन्त्री श्रेष्ठले संसद्लाई जानकारी दिए।

अत्यावश्यक सेवा सञ्चालनका लागि प्रभावित क्षेत्रमा सौर्य ऊर्जा प्रणाली र सुधारिएको चुलो वितरण गरिएको पनि उनले बताए।

यसैबीच बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण मध्य तथा पश्चिम नेपालसहित बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा पुनः भारी वर्षाको जोखिम रहेको मन्त्रीले बताए। उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेका छन्।

पूर्णपाठ

सम्माननीय सभामुख ज्यू

सर्वप्रथम, गरिमामय यस संसदमा गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको अकल्पनीय एवम् विनाशकारी बाढीमा परी जीवन गुमाउनु हुने सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पीडा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थनासमेत गर्दछु ।

सम्पर्कविहीन आफन्तजन फर्किने आशामा प्रतीक्षारत आँखाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन । भोटेकोशी बाढीले हाम्रो खुसी खोसेको पनि झण्डै एक महिना हुन लाग्यो ।

समय बित्दैमा पीडा कहाँ कम हुन्छ र ? यी दिन धेरै परिवारका लागि प्रतीक्षा, आँसु र अनिश्चिततामै बितिरहेका छन् । आफन्तको खबर, एक झल्को वा आवाज सुन्ने आशामा धेरै आँखाले अझै बाटो हेरिरहेका छन् । यो विपत्तिले धेरैको अभिभावक खोसेको छ । कयौं काख रित्तिएको छ, सिउँदो पुछिएको छ, जीवनको साहारा हराएको छ । कसैले घर, कसैले रोजगारी, कसैले जीवनको आधार गुमाएका छन् ।

यो प्रकृतिले दिएको गहिरो र कहिल्यै नमेटिने चोट हो । यस्तो पीडाको बीचमा हामी एउटा कठिन दोबाटोमा उभिएका छौं । शोकमै थला पर्ने कि यही शोकलाई साहस र शक्तिमा बदल्दै फेरि उठ्ने ?

हामी उठ्नुछ, आँसु पुछ्दै, हिलो धुलो टकटक्याउँदै उठ्नैपर्छ । नागरिकको भविष्य सुरक्षित र सुन्दर बनाउन उठ्नैपर्छ । फेरि कुनै आमा यस्तो विपत्तिमा रुन नपरोस्, हाम्रा बालबालिकाको विद्यालय नभत्कियोस । व्यवसाय बगेर निरीह बन्न नपरोस् भन्ने अपेक्षासहित नागरिकलाई साथ र भरोसा दिलाउन पर्ने नै छ ।

सम्माननीय सभामुख महोदय,

हामीले हार मानेका छैनौं । सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ति सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौं । अहिलेको हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु, विस्थापित परिवारको पुनःस्थापना गर्नु र क्षतिग्रस्त विद्युत्, सडक, पुल लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नु हो । प्रभावित नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी हो । पीडाको यो घडीमा सरकार नागरिकसँगै छ । जनताको पीडा र आँसुमा राज्यको पनि संवेदना जोडिएको छ । पक्कै पनि हामी शोक र पीडामा छौं । तर, निराशामा छैनौं । आँखा रसाएका छन्, तर आशा मरेको छैन । घाउ गहिरो छ । यद्यपि, मल्हम लगाउन प्रयत्नशील छौं ।

बाढीले हामीबाट धेरै कुरा खोसेको छ । तर, हाम्रो मानवीयता, साहस र एक अर्काप्रतिको साथ खोस्न सकेको छैन । जस्तोसुकै संकटमा पनि हामी नेपाली एक ढिक्का छौं भन्ने सन्देश दिएका छौं । साना–साना नानी बाबुले समेत आफ्नो खाजा कटाएर सहयोग पठाएका छन् । सबै नेपाली र नेपाललाई माया गर्ने शुभेच्छुकले आफ्नो दक्षता, सीप मात्र होइन तन, मन र धन समेत सहयोग गरिरहनुभएको छ, उहाँहरु सबैलाई हाम्रो साधुवाद । 

विश्वमा विरलै हुने यस किसिमको विपत्तिमा भौगोलिक जटिलता, प्रतिकूल मौसमका बीचमा आफ्नै ज्यानको समेत प्रवाह नगरी अहोरात्र खोज, उद्धार र सेवामा जुटिरहनु भएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, स्वयंसेवक, स्वदेश तथा विदेशका विज्ञसहित सम्पूर्ण उद्धारकर्मीहरूप्रति ह्दयदेखि नै नमन गर्दछु । उहाँहरुको समर्पण, साहस र मानवीय संवेदना शब्दमा व्यक्त गर्न सकिँदैन । विपत्तिका बेलामा उहाँहरूको कर्म मानवताको अनुपम परिचय हो ।

विपद्का कारण भएको जनधनको क्षति र खोज तथा उद्धार, घाइतेको उपचार, पीडितको राहत तथा पुनःस्थापना एवम् क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलगायतका विषयमा माननीय ज्यूहरूले व्यक्त गर्नुभएको चासो, चिन्ता र संवेदना अत्यन्तै सान्दर्भिक छन् ।

सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका आदरणीय सभापति रवि लामिछाने ज्यूबाट भएको संवाद र पहलसँगै विषम् परिस्थितिमा देशका राजनीतिक शक्तिहरू बीच देखिएको ऐक्यबद्धता प्रशंसनीय छ । जनताको जीवनभन्दा ठूलो अर्को कुनै दायित्व हुन सक्दैन । विपत्तिका सन्दर्भमा सम्माननीय प्रधानमन्त्री ज्यूले गरिमामय संसदमा यसअघि नै विस्तृत जानकारी गराई सक्नुभएको संसदलाई विदित नै छ । यद्यपि, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत भएका प्रमुख विषय सम्माननीय सभामुख ज्यूमार्फत सम्मानित संसदलाई जानकारी गराउन अनुमति चाहान्छु । 

सम्माननीय सभामुख महोदय,

विपत्तिको सबैभन्दा पीडादायी पक्ष मानवीय क्षति नै हो । प्राप्त विवरण अनुसार विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत ८ सय जनाभन्दा बढी अझै सम्पर्क विहीन रहेको जानकारी प्राप्त भएको
छ । जसमध्ये नेपाल विद्युत् प्राधिकरणका ४७ जना कर्मचारी हुनुहुन्छ ।

बाढी आउनुअघि माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा १ हजार ४३३ जना कार्यरत मध्ये ९५५ जनाको सकुशल उद्धार तथा केही आफैं सम्पर्कमा आउनुभएको छ । यद्यपि, सो आयोजनाबाट ४३९ जना सम्पर्क विहीन रहेको विवरण प्राप्त भएको छ । बाढी आएको १२औं दिनमा सो आयोजनाबाट एक जना चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको थियो । यस आयोजनाबाट हालसम्म ३९ वटा शव फेला परेको छ ।

त्यस्तै माथिल्लो त्रिशूली–थ्री ‘ए’बाट ३९ जना सम्पर्कविहीन हुनुहुन्छ । निरन्तर खोज तथा उद्धार कार्यको परिणाम स्वरुप बाढी आएको १०औं दिनमा माथिल्लो त्रिशूली–थ्री ‘ए’बाट दुई जना कर्मचारी सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गर्न सम्भव भएको थियो । उक्त आयोजनामा एक जनाको शव प्राप्त भएको छ ।

माथिल्लो त्रिशूली–३ बी बाट १७८ जना, रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना, मैलङ खोला जलविद्युत आयोजनबाट ७ जना, रसुवा–भोटेकोशी जलविद्युत आयोजनाबाट ३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।

यसैगरी लाङटाङ खोला जलविद्युत आयोजनाबाट ३९ जना सम्पर्क विहीन हुनुहुन्छ । सो आयोजनाबाट १९ जनाको सकुशल उद्धार गरिएको र दुई वटा शव निकालिएको छ । चिलिमे जलविद्युत् केन्द्रको विद्युत गृहमा भएको खोज तथा उद्धारका क्रममा ५ जना कर्मचारीको शव प्राप्त भएको छ भने त्यहाँ अझै एक जना सम्पर्क विहीन हुनुहुन्छ ।

मिडिल त्रिशूली गंगा जलविद्युत आयोजनाबाट २ जना, त्रिशूली जलविद्युत केन्द्रबाट ३ जना, देवीघाट जलविद्युत केन्द्र, त्रिशूली थ्री बी हब, रसुवा वितरण केन्द्र, चिलिमे–त्रिशूली प्रसारण लाइनबाट पनि कर्मचारीहरु सम्पर्क विहीन रहेको विवरण प्राप्त भएको सम्मानित संसद समक्ष निवेदन गर्दछु । विपद्का कारण जलविद्युत् आयोजनाका भूमिगत संरचनामा फसेका तथा सम्पर्क विहीन व्यक्तिको खोज तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

सम्माननीय सभामुख महोदय,

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् सेवालाई यथासम्भव नियमित राख्ने जिम्मेवारी पूरा गर्दै खोज तथा उद्धार कार्यलाई पनि तीव्र र प्रभावकारी बनाउन जनप्रतिनिधि, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरुङ विशेषज्ञ, भूगर्भ विद्, प्राविधिक तथा उद्धारकर्मी र पीडित परिवारसँग निरन्तर समन्वय र सहकार्य गर्दै आएको निवेदन गर्दछु । उद्धार कार्यलाई प्रभावकारी बनाउन विद्युत प्राधिकरणले आवश्यक सवारी साधनदेखि डेडिकेटेड हेलिकप्टरको समेत व्यवस्था गरेको छ । विस्फोटक पदार्थ, इन्धन, उपकरण र दक्ष जनशक्तिको परिचालनमा सम्बन्धित निकायहरूसँग समन्वय र सहजीकरण गर्दै आएको छ । प्राधिकरणको स्रोत साधनलाई प्राधिकरणका निम्ति मात्र नभई प्रभावित सबैका निम्ति प्रयोगमा ल्याइएको निवेदन गर्दछु ।

उद्धार कार्यका क्रममा प्राप्त सूचना, घटनास्थलको वस्तुस्थिति तथा प्रगतिबारे सार्वजनिक सञ्चारमाध्यम र पीडित परिवारलाई नियमित रूपमा जानकारी गराउने व्यवस्थासमेत गरिएको छ । साथै पीडित परिवारसँग प्रत्यक्ष सम्पर्क र समन्वय गरी उहाँहरूलाई यथार्थ सूचना र आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई समेत उच्च प्राथमिकता दिइएको निवेदन गर्दछु । खोज तथा उद्धारका निम्ति आवश्यक सामग्री तथा उपकरणको व्यवस्थापनका लागि रसुवाको शान्तिबजार, नुवाकोटको बट्टार र काठमाडौंस्थित प्राधिकरणको प्रधान कार्यालयमा कमान्ड पोस्ट निर्माण गरी छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । जसले स्थानीय प्रशासन, सुरक्षा निकाय, प्रवर्द्धक तथा उद्धारमा संलग्नबीच आवश्यक समन्वय गर्दै आएको छ । साथै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्षति मूल्यांकन समितिले प्रभावित प्रवर्द्धक कम्पनीहरूसँग सम्पर्कमा रहेर समन्वय गर्दै आएको छ ।

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा रहेका नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित ११ वटा विद्युत् उत्पादन केन्द्रहरु बाढीका कारण हाल बन्द हुन पुगेका छन् । बाढी पूर्व सञ्चालनमा रहेको ७ वटा जलविद्युत आयोजना र एउटा सोलार आयोजनाको गरी करिब २७५ मेगावाट क्षति भएको छ भने १३५ मेगावाट क्षमताका ३ वटा जलविद्युत आयोजनामा क्षति नभए पनि प्रसारण लाइनमा क्षति हुँदा हाल उत्पादन बन्द छ । विपदबाट कुल ४१० मेगावाट विद्युत् राष्ट्रिय विद्युत् प्रणालीभन्दा बाहिर छ ।

त्यस्तै ५०८ मेगावाट क्षमताका ६ वटा निर्माणाधीन जलविद्युत आयोजनाहरू पनि क्षतिग्रस्त हुन पुगेका छन् । बाढीका कारण प्रसारण प्रणालीतर्फ त्रिशूलीस्थित २२० केभी त्रिशूली–थ्री बी हब सबस्टेसनमा पूर्ण क्षति भएको छ । मातातीर्थ–चिलिमे २२० केभी हब पनि अवरुद्ध भएको छ । त्यसैगरी १३२ केभीको त्रिशूली थ्री बी हबको मातातीर्थ प्रसारण लाइन, ६६ केभीको चिलिमे–मातातीर्थ प्रसारण लाइनमा क्षति पुगेको छ । साथै चिलिमे स्विच यार्ड, माथिल्लो त्रिशूली थ्री ए स्विच यार्ड, देवीघाट स्विच यार्ड सँगै वितरण लाइन तथा पोल लगायतका संरचनाहरूमा पनि ठूलो क्षति भएको छ ।

विपद्को असर ठूला जलविद्युत् आयोजना र संरचनामा मात्र सीमित छैन । घरायसी तथा सामुदायिक प्रयोगमा रहेका नवीकरणीय ऊर्जा प्रविधिमा समेत उच्च क्षति भएको छ ।  प्रारम्भिक मूल्यांकन अनुसार समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

बाढीले सिँचाइ आयोजना, नदी नियन्त्रण संरचना तथा जल केन्द्रमा समेत क्षति पुर्याएको  छ । यी संरचनाको पुनःस्थापनाका लागि ४ अर्ब ९४ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । उल्लेखित तथ्यांकमा प्रदेश र स्थानीय तहबाट निर्माण गरिएका संरचना समावेश गरिएको छैन ।

भोटेकोशी–त्रिशूली नदी प्रणालीको बाढीका कारण तल्लो तटीय क्षेत्रमा समेत गम्भीर असर पुग्यो । जसका कारण भरतपुर, मझुवाबस्तीदेखि सुस्तासम्म जोखिम बढेपछि जलस्रोत तथा सिँचाइ विभागबाट विशेषज्ञसहितको प्राविधिक टोली तत्कालै परिचालन गरी क्षति न्यूनीकरणमा उल्लेख्य योगदान पुर्याइएकाको विषयसमेत निवेदन गर्दछु ।

सम्माननीय सभामुख महोदय,

बाढीका कारण राष्ट्रिय प्रसारण प्रणालीमा नै गम्भीर धक्का पुगेको भए पनि नेपाल विद्युत प्राधिकरणका कर्मचारीले उच्च व्यावसायिक कार्य दक्षता प्रदर्शन गर्दा देशको विद्युत आपूर्तिमा कुनै समस्या पर्न नदिई बाढी प्रभावित नुवाकोटमा आंशिक रुपमै भए पनि केही घण्टाभित्र नै विद्युत् आपूर्ति गर्ने सफलता प्राप्त भयो । यसका निम्ति काठमाडौं, सिन्धुपाल्चोक लगायतका स्थानबाट वैकल्पिक व्यवस्था गरिएको
थियो ।

बाढीका कारण रसुवा जिल्लामा विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध भएको थियो भने नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा आंशिक रूपमा विद्युत् सेवा प्रभावित भएको थियो । हाल क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित सबै क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु भइसकेको निवेदन गर्दछु ।

तत्कालै विद्युत सेवा उपलब्ध गराउन कठिन रहेका स्थानमा मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत २० वाट क्षमताका घरेलु सौर्य प्रणाली र २ किलोवाट क्षमताका संस्थागत सौर्य विद्युत प्रणाली वितरण गरी स्वास्थ्य संस्था, विद्यालय, होल्डिङ सेन्टर, सुरक्षाकर्मी, उद्धारकर्मी लगायत सर्वसाधारणका घरधुरीमा वैकल्पिक विद्युत सेवा उपलब्ध गराएको विषय निवेदन गर्दछु ।

अत्यावश्यक सेवा सञ्चालनमा सहजता ल्याउन मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत ६०५ सेट साना घरेलु सौर्य विद्युत् प्रणाली, १ हजार सेट पोर्टेबल सोलार लाइट र १४ सेट संस्थागत सौर्य प्रणाली उपलब्ध गराएको छ । घटनाको भोलिपल्टै ५ सय सेट घरेलु सौर्य प्रणाली उपलब्ध गराइएको थियो । साथै निजी क्षेत्रबाट प्राप्त १ हजार सेट पोर्टेबल सोलार लाइट समेत स्थानीय तहको मागका आधारमा प्रभावित क्षेत्रमा पठाइएको छ ।

यसैगरी, प्रभावित क्षेत्रमा २ हजार सेट सुधारिएको पोर्टेबल फलामे चुलो वितरणका लागि माग संकलनको कार्य भइरहेको छ । सडक तथा अन्य भौतिक संरचना पुनर्निर्माणसँगै दशैंअघि यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङमो गाउँपालिकामा एक–एक वटा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना गर्न आवश्यक प्रक्रियासमेत अघि बढाइएको निवेदन गर्दछु ।

सम्माननीय सभामुख महोदय,

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको साथमा उभिनुपर्छ ।

राष्ट्रसेवा गर्दागर्दै त्रिशूलीमा विलीन तथा सम्पर्कविहीन रहनुभएका विद्युत प्राधिकरणको कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराउँछु । यो पीडाको क्षतिपूर्ति होइन, दुःखको घडीमा राज्यको साथ र जिम्मेवारीको सानो प्रयास मात्र हो । आगामी दिनमा प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार थप सहयोग हुनेछ ।

त्यस्तै प्रभावित घर परिवार तथा व्यवसायीलाई विद्युत् सेवासँग जोडिएको आर्थिक भारबाट थोरै राहत दिन बाढी प्रभावित ग्राहकको भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र पुनः विद्युत् सेवा लिन चाहनेलाई निःशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णय भएको छ । साथै, प्रभावित १५ पालिकाका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत दिन सकिने विषयमा अध्ययन भइरहेको निवेदन गर्दछु ।

कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित साधन स्रोतका बीच पनि खोज, उद्धार तथा पुनःस्थापनामा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका अत्यन्त प्रशंसनीय छ । उहाँहरूको समर्पण र योगदानको उच्च सम्मान गर्दै बहालवाला सुरक्षाकर्मीका लागि जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन आवश्यक प्रक्रिया अघि बढाएको विषयसमेत निवेदन गर्दछु ।

विद्युत आपूर्ति नियमित, खोज तथा उद्धारमा विभिन्न निकायसँग समन्वय, सहजीकरण एवम् प्राविधिक सहयोग, पीडित परिवारहरूसँग नियमित सम्पर्क, विशेषज्ञ परिचालन गर्न मन्त्रालय, विद्युत विकास, विद्युत प्राधिकरण, सिँचाइ विभाग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जल तथा मौसम विज्ञान विभाग लगायतका निकायका कर्मचारीहरु प्रतिबद्ध भई कार्य गर्नुभयो । उहाँहरु सबैलाई सम्मानित संसदबाट धन्यवाद व्यक्त गर्न चाहान्छु ।  विपत्तिले हामीलाई ठूलो मानवीय र भौतिक क्षति मात्र दिएको छैन, भविष्यका लागि गम्भीर पाठ पनि सिकाएको छ । हामीले क्षतिको लेखा जोखाका साथै त्यसबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली निर्माण गर्नुपर्ने भएको छ । साथै भविष्यमा निर्माण हुने जलविद्युत आयोजना लगायतका संरचना यस प्रकारका विपद्को जोखिम न्यूनीकरण गर्न सक्ने गरी सुरक्षालाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जानकारी गराउँछु । 

अन्त्यमा सम्माननीय सभामुख महोदय,

यसै साता बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूबाट पूर्व जानकारी प्राप्त भएको छ । यसबाट मध्य तथा पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने सम्भावना देखिएको छ । ती क्षेत्र सँगै हालैको बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा थप सतर्कता आवश्यक देखिन्छ ।

वर्षाको मात्रा र प्रभावित क्षेत्रबारे पूर्वानुमान अझै परिवर्तन हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागका सूचनालाई नियमित गर्दै जनता र सम्बद्ध निकायलाई सुसूचित राख्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मातहतका निकायलाई परिचालित गरिसकेको निवेदन गर्दछु । पूर्वानुमानलाई सम्भावित जोखिमको संकेतका रूपमा लिनुपर्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत सबैलाई आग्रह गर्दछु ।

धन्यवाद

नेपालको जय होस् ।

वसन्तपुरमा देवी नाच प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। काठमाडौँको वसन्तपुरमा इन्द्रजात्राको रौनक सुरु भएको छ।

येँया पर्वको विधिवत सुरुवातको अवसरमा हनुमानढोका दरबार क्षेत्रमा परम्परागत देवप्याखँ अर्थात् देवी नाच प्रदर्शन गरिएको छ।

इन्द्रजात्राको पहिलो दिन ३६ हात लामो काठको लिङ्गो अर्थात् योसिं उठाउने क्रममा देवी नाच प्रस्तुत गरिएको हो।

नाचमा सहभागी कलाकारले विभिन्न देवीदेवता तथा दैत्यका मुकुन्डो लगाएका थिए। धिमे र भुस्या बाजाको तालसँगै प्रस्तुत गरिएको नाच हेर्न वसन्तपुरमा स्थानीय तथा विदेशी पर्यटकको भीड लागेको थियो।

वसन्तपुरस्थित शिव–पार्वती मन्दिरको प्राङ्गणमा प्रदर्शन गरिएको यो ऐतिहासिक नाच इन्द्रजात्राको प्रमुख सांस्कृतिक आकर्षणमध्ये एक हो।

इन्द्रजात्रा सुरु हुनुअघिदेखि नै हनुमानढोका, मरु तथा आसपासका क्षेत्रमा चहलपहल बढेको छ। जात्राको रौनकसँगै राजधानीको पुरानो बस्ती नेवारी संस्कृति र परम्पराको रंगमा रंगिन थालेको छ।


 

नेकपा सहसंयोजक नेपाल बाढी प्रभावित क्षेत्रमा

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालको नेतृत्वमा टोलीले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा स्थलगत अनुगमन थालेको छ।

टोलीले बुधबार धादिङको गल्छी गाउँपालिका-महेशदोभान क्षेत्रमा पुगेर बाढीबाट भएको क्षतिको स्थलगत अनुगमन गरेको हो। अनुगमनपछि टोलीले गल्छी गाउँपालिकामा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफलसमेत गरेको छ।

बाढीबाट प्रभावित क्षेत्रको अवस्था, स्थानीयको आवश्यकता तथा राहत व्यवस्थापनबारे जानकारी लिन टोली प्रभावित क्षेत्रमा पुगेको बताइएको छ। २०८३ असोज ७ गते नेपाल नेतृत्वको टोली रसुवा, नुवाकोट र धादिङका विभिन्न प्रभावित क्षेत्रमा पुगेर अनुगमन तथा राहत वितरण गर्ने कार्यक्रममा सहभागी भएको हो।

जबरजस्ती करणी मुद्दाका फरार कैदी काभ्रेबाट पक्राउ

काठमाडौं। जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएर कारागारबाट फरार रहेका एक व्यक्तिलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ०७ स्थायी घर भएका २६ वर्षीय आर्यन पुरी रहेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार, २०८२/०१/२४ देखि कारागार कार्यालय नख्खु, ललितपुरमा कैद भुक्तान गरिरहेका थिए। तर, २०८२/०५/२४ मा ‘जेन्‍जी आन्दोलन’ का क्रममा १७ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी छँदै उनी नख्खु कारागारबाट फरार भएका थिए।

फरार भई काभ्रे जिल्लामा लुकिछिपि बसिरहेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई मिति २०८३/०६/०६ गते बागमती प्रदेश, काभ्रे जिल्लाको मन्दनदेउपुर नगरपालिका वडा नं. ०८ स्थित कुन्ताबेँसीबाट पक्राउ गरेको हो।

पक्राउ परेका पुरीलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय नख्खुमा पेश गरिएको सिआइबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जनाएका छन्।

 

नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव: काठमाडौै लगायतका क्षेत्रमा वर्षा

काठमाडौै। नेपालमा जलवाष्पयुक्त न्यूनचापीय प्रणालीको प्रभाव देखिन थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण मनसुन थप सक्रिय भई देशका विभिन्न भू-भागमा वर्षा भइरहेको छ।

विशेषगरी बागमती प्रदेशदेखि पूर्वतर्फका भू-भागमा यस प्रणालीको प्रभाव बढी देखिएको छ। न्यूनचापीय मौसमका कारण काठमाडौँ उपत्यकालगायत आसपासका क्षेत्रहरूमा दिनभरजसो बदली भई वर्षा भइरहेको छ।

मौसमविद्हरूका अनुसार मौसम पूर्ण रूपमा सुधार हुन केही समय लाग्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जलवायु संकट चर्कियो, विकासशील देशलाई वित्तीय सहयोग बढाउन गुटेरेसको आग्रह

एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्न उत्सर्जन कटौतीसँगै विकासशील मुलुकका लागि पर्याप्त वित्तीय सहयोग आवश्यक रहेको बताएका छन्।

आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनको तयारीका क्रममा आयोजित उच्चस्तरीय कार्यक्रममा बोल्दै गुटेरेसले जलवायु न्यायलाई प्राथमिकतामा राख्न विश्व समुदायलाई आग्रह गरेका हुन्।

उनले जीवाश्म इन्धन उद्योगले वातावरणलाई ‘खुला ढल’ जस्तो व्यवहार गरिरहेको आरोप लगाए। जलवायु संकटको असर तीव्र बन्दै गएकाले अब ढिला नगरी प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ।

गुटेरेसले रुसले युक्रेनमा आक्रमण गरेयता पाँच प्रमुख पश्चिमी तेल कम्पनीले करिब ५ खर्ब अमेरिकी डलर नाफा कमाएको उल्लेख गरे।

तर विकासशील मुलुकलाई तापक्रम वृद्धिसँग अनुकूलन गर्न परिचालन भएको जलवायु वित्त करिब ३४ अर्ब डलर मात्रै रहेको उनले बताए।

यसले जलवायु संकटको भार र त्यससँग जुध्न उपलब्ध वित्तीय स्रोतबीच ठूलो असमानता रहेको उनको भनाइको आशय छ।

गुटेरेससँगै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले पनि कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। टर्की र अस्ट्रेलियाले आगामी नोभेम्बरमा कोप–३१ जलवायु सम्मेलन सहआयोजना गर्दैछन्।

जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा चरम मौसमी घटनाको जोखिम बढिरहेको छ।

युरोपमा बढ्दो गर्मी र डढेलोदेखि नेपाल तथा तिब्बतमा हिमनदी पग्लिएपछि आएको बाढीसम्मका घटनाले जलवायु जोखिमको गम्भीरता देखाइरहेका छन्।

तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसको सीमाभन्दा अस्थायी रूपमा माथि जाने सम्भावनाले यस्ता चरम घटनाको जोखिम थप बढाउन सक्ने वैज्ञानिकहरूको चेतावनी छ।

कार्यक्रममा हरित अर्थतन्त्रतर्फको रूपान्तरण, उत्सर्जन कटौती तथा विकासशील मुलुकलाई जलवायु लक्ष्य पूरा गर्न आवश्यक वित्त जुटाउने विषयमा जोड दिइनेछ।

टर्कीले सन् २०३५ सम्म विश्वव्यापी अन्तिम ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्‍याउने ‘३५×३५’ लक्ष्य अघि सारेको छ। यद्यपि त्यसमा नवीकरणीय ऊर्जाको हिस्सा कति हुने भन्ने स्पष्ट गरिएको छैन।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालका लागि जलवायु वित्त र क्षति तथा नोक्सानी कोष महत्त्वपूर्ण विषय बनेको छ।

नेपालका विदेशमन्त्री शिशिर खनालले न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने तर जलवायु जोखिम उच्च भएका मुलुकलाई आर्थिक सहयोग गर्नु परोपकार नभई कानुनी र नैतिक दायित्व भएको बताएका छन्।

गैरनाफामूलक संस्था युनियन अफ कन्सर्न्ड साइन्टिस्ट्सकी राहेल क्लिटसले पनि जलवायु परिवर्तनबाट बढी प्रभावित तर पर्याप्त वित्तीय सहयोग नपाएका मुलुकका लागि क्षति तथा नोक्सानी कोष महत्त्वपूर्ण रहेको बताइन्।

उनले जलवायु न्याय र कमजोर मुलुकको आवाजलाई विश्वमञ्चमा उठाउँदै आएको भन्दै गुटेरेसको भूमिकालाई उल्लेख गरिन्।

एम्बुलेन्समा ४५० किलो गाँजा, दुई जना पक्राउ

काठमाडौं । सुनसरीमा प्रहरीले एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज ७ गते राति करिब ११ः२४ बजे इटहरी उपमहानगरपालिका–२०, तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा एम्बुलेन्स जाँच गरिएको थियो।

प्रहरी चौकी तरहराबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेको बा २ च ६७५३ नम्बरको एम्बुलेन्स रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

उक्त एम्बुलेन्समा ‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको पाइएको छ।

प्रहरीले एम्बुलेन्स र बरामद गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको छ।

पक्राउ परेका दुई जनामाथि गाँजा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तलब बढाउन अतिरिक्त हुलाकका कर्मचारीको माग, सरकारले नसुने आन्दोलनमा जाने

काठमाडौं। न्यून पारिश्रमिकमा काम गरिरहेका अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरूले आफूहरूलाई पनि सरकारी कर्मचारीसरह पारिश्रमिक वृद्धि तथा सेवा-सुविधा उपलब्ध गराउन माग गरेका छन्।

नुवाकोट जिल्ला हुलाक कार्यालयअन्तर्गतका अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आफूहरूको पारिश्रमिकमा समेत वृद्धि गर्न माग गरेका हुन्।

ज्ञापनपत्रमा सरकारले श्रावण १ गतेदेखि लागू हुने गरी स्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने व्यवस्था गरे पनि अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीलाई उक्त व्यवस्थाबाट वञ्चित गरिएको उल्लेख छ। उनीहरूले लामो समयदेखि अत्यन्त न्यून पारिश्रमिकमा काम गर्दै आएको भन्दै तत्काल पारिश्रमिक पुनरावलोकन गर्न माग गरेका छन्।

अतिरिक्त हुलाकका कर्मचारीका संयोजक राजाराम पाण्डेका अनुसार उनीहरुले २०१९ को हुलाक ऐनमा टेकेर काम गरिरहेका छन्। ‘हामीले दुर्गम तथा ग्रामीण क्षेत्रमा समेत हुलाक सेवा प्रवाह गर्दै आएका छौँ,’ उनले भने, ‘तर आफूहरूको जिम्मेवारीअनुसार पारिश्रमिक तथा सेवा-सुविधा उपलब्ध भएको छैन।’ उनका अनुसार हालको महँगी र दैनिक जीवनयापनको बढ्दो लागतका कारण विद्यमान पारिश्रमिकबाट न्यूनतम जीवनयापन गर्नसमेत कठिन भइरहेको छ।

ज्ञापनपत्रमा अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक पुनर्निर्धारण, न्यूनतम पारिश्रमिक र पोसाक भत्ता उपलब्ध गराउने, सेवा-सुविधा तथा वृत्ति विकास सुनिश्चित गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, समान प्रकृतिको सरकारी सेवा प्रदान गर्ने कर्मचारीबीच विभेदरहित र न्यायसंगत पारिश्रमिक तथा सेवा- व्यवस्था गर्नुपर्ने माग उनीहरूले गरेका छन्।

पाण्डेले सम्बन्धित कार्यालयले हाम्रा माग सम्बोधन गर्न रुची नदेखाए चरणबद्द रुपमा आन्दोलनमा जाने बताए। 

‘हामी देशभर पाँच हजार भन्दा बढी कर्मचारी छौँ। हाम्रा मागमा सरकार सकारात्मक नभए चरणबद्द आन्दोलन गर्छौँ। अहिले ज्ञापन पत्र बुझाउने, अब विज्ञप्ति निकाल्ने त्यसपछि सम्बन्धित निकायसँग सहकार्य गर्ने।  त्यति गर्दा पनि भएन भने मंसिरमा हामी आमरण अनसन सुरु गर्छौँ,’ उनले भने। 

अतिरिक्त हुलाक सञ्चालन तथा कार्यविधि ऐन-नियमावलीमा आवश्यक संशोधन गर्न, अतिरिक्त हुलाकका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न तथा पालिका हुलाक कार्यालयमा अतिरिक्त हुलाकका कर्मचारीलाई प्रतिनिधित्वको व्यवस्था गर्नसमेत माग गरिएको छ।

ज्ञापनपत्रमा आफ्ना मागबारे संसद्मा आवाज उठाइदिन र सरकारको ध्यानाकर्षण गराइदिन सांसदहरूलाई समेत आग्रह गरिएको छ। साथै, आफ्ना माग सम्बोधन गरी अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक तथा सेवा-सुविधामा आवश्यक सुधार गर्न मन्त्रालयसँग अनुरोध गरिएको छ।

‘गड पार्टिकल’

ब्रह्माण्ड आखिर बनेको केबाट हो? हामीले देख्ने हरेक वस्तुको अस्तित्व कसरी सम्भव भयो? अनि पदार्थले द्रव्यमान अर्थात मास कहाँबाट पायो?

मानिसले यस्ता प्रश्नको उत्तर खोज्न थालेको धेरै भयो। आँखाले देख्न नसकिने संसारमा के भइरहेको छ भन्ने जान्न वैज्ञानिकहरूले परमाणुभन्दा पनि सानो तहसम्म पुगेर खोजी गरे। यही क्रममा विज्ञानले एउटा यस्तो कण भेट्टायो, जसले ब्रह्माण्डलाई बुझ्ने हाम्रो दृष्टिकोण नै बदलिदियो।

त्यो हो हिग्स बोसोन।

यसलाई संसारले अर्को नामले पनि चिन्छ, ‘गड पार्टिकल’ अर्थात् ‘ईश्वरको कण’। नाम सुन्दा धार्मिक रहस्यसँग जोडिएको जस्तो लागे पनि यसको धर्मसँग कुनै सम्बन्ध छैन। यो प्रकृतिको आधारभूत संरचना बुझ्न भौतिकशास्त्रले पत्ता लगाएको एउटा महत्वपूर्ण कण हो।

कहानी सुरु हुन्छ सन् १९६४ बाट। त्यतिबेला भौतिकशास्त्रीहरूसामु एउटा पेचिलो प्रश्न थियो। प्रकृतिका आधारभूत कणहरूले आखिर द्रव्यमान अर्थात् म्यास कसरी प्राप्त गर्छन्?

कणहरू छन्। तिनको गति छ। ऊर्जा छ। तर तिनमा म्यास कहाँबाट आयो?

यही प्रश्नको उत्तर खोज्ने क्रममा पिटर हिग्ससहित केही वैज्ञानिकहरूले एउटा नयाँ अवधारणा अघि सारे। उनीहरूले ब्रह्माण्डभरि एउटा अदृश्य क्षेत्र फैलिएको हुन सक्ने बताए। त्यसलाई नाम दिइयो हिग्स फिल्ड।

वैज्ञानिकहरूको विचारमा विभिन्न कणले यो फिल्डसँग फरक फरक ढंगले अन्तरक्रिया गर्छन्। यही अन्तरक्रियासँग कणहरूको म्यास जोडिएको हुन्छ।

तर सिद्धान्त प्रस्तुत गर्नु एउटा कुरा थियो। त्यसको प्रमाण भेट्टाउनु अर्कै।

वैज्ञानिकहरूलाई त्यो प्रमाण भेट्टाउन झन्डै पाँच दशक कुर्नुपर्‍यो।

हिग्स फिल्डलाई बुझ्न एउटा सामान्य उदाहरण लिन सकिन्छ।

कल्पना गर्नुहोस्, एउटा ठूलो कोठा छ। बाहिरबाट हेर्दा कोठा खाली देखिन्छ। तर वास्तवमा त्यहाँ एउटा अदृश्य वातावरण छ।

अब त्यही कोठाबाट दुई जना मानिस दौडिए। एउटालाई केही रोकावट महसुस भएन। अर्कोलाई भने वरिपरिको वातावरणले गति कम गरिदिएजस्तो भयो।

हिग्स फिल्डको अवधारणा बुझाउन यस्तै उदाहरण उपयोगी हुन्छ। वास्तवमा हिग्स फिल्ड कुनै भौतिक समुद्र वा कोठामा भरिएको पदार्थ होइन। यो एउटा क्वान्टम फिल्ड हो, जुन ब्रह्माण्डभरि विद्यमान मानिन्छ।

कण र यो फिल्डबीच हुने अन्तरक्रिया फरक हुन्छ। यही अन्तरक्रियाले आधारभूत कणहरूको म्याससँग सम्बन्ध राख्छ।

अनि हिग्स बोसोन?

सरल भाषामा भन्दा, यो हिग्स फिल्डसँग सम्बन्धित क्वान्टम कण हो।

हिग्स बोसोनको नाम वैज्ञानिक समुदायमा स्थापित भइसकेको थियो। तर आम मानिसबीच यसको चर्चा अर्कै नामले भयो, ‘गड पार्टिकल’।

भौतिकशास्त्री लियोन लेडरम्यानको पुस्तक द गड पार्टिकल प्रकाशित भएपछि यो नाम झन् लोकप्रिय बन्यो।

तर ‘गड पार्टिकल’ वैज्ञानिक नाम होइन। यसको अर्थ हिग्स बोसोन भगवान हो भन्ने पनि होइन। यो नामले यसको वैज्ञानिक महत्वलाई रोचक ढंगले मात्र प्रस्तुत गरेको हो। त्यसैले वैज्ञानिक रूपमा यसलाई हिग्स बोसोन नै भनिन्छ।

सन् २०१२ जुलाई ४। स्विट्जरल्यान्ड र फ्रान्सको सीमामा रहेको सर्नमा वैज्ञानिकहरूको उत्साह चरममा थियो।

दशकौँदेखि खोजिएको कणको संकेत भेटिएको घोषणा गरियो। त्यसका लागि प्रयोग गरिएको थियो लार्ज हेड्रोन कोलाइडर, अर्थात् एलएचसी।

एलएचसीमा गरिएको प्रयोगबाट भेटिएको नयाँ कणका गुण हिग्स बोसोनको भविष्यवाणीसँग मिल्दोजुल्दो थिए।

सन् १९६४ मा गरिएको सैद्धान्तिक भविष्यवाणी र सन् २०१२ को प्रयोगात्मक प्रमाणबीचको दूरी अन्ततः समाप्त भयो।

तर वैज्ञानिकहरूका लागि यो अन्त्य थिएन। यो अर्को ठूलो प्रश्नको सुरुवात थियो।

एलएचसी संसारकै सबैभन्दा जटिल वैज्ञानिक संरचनामध्ये एक हो। करिब २७ किलोमिटर लामो भूमिगत सुरुङमा प्रोटोनलाई अत्यन्त तीव्र गतिमा दौडाइन्छ। त्यसपछि तिनलाई आपसमा ठोक्काइन्छ।

किन यति ठूलो ऊर्जा चाहिन्छ?

किनकि वैज्ञानिकहरू प्रकृतिका अत्यन्त सूक्ष्म तहमा पुग्न चाहन्छन्। प्रोटोनहरू उच्च ऊर्जामा ठोक्किँदा क्षणभरका लागि विभिन्न कणहरू उत्पन्न हुन सक्छन्। तीमध्ये हिग्स बोसोन पनि हुन सक्छ।

तर यहाँ अर्को कठिनाइ छ।

हिग्स बोसोन बनेर लामो समय बस्दैन। यो तुरुन्तै अन्य कणमा डिके हुन्छ।

त्यसैले वैज्ञानिकहरूले हिग्स बोसोनलाई प्रत्यक्ष देख्दैनन्। उनीहरूले त्यसबाट बनेका कणहरूको संकेत अध्ययन गर्छन्।

अर्थात्, हराइसकेको कणको अस्तित्व त्यसले छोडेको ‘सीग्नेचर’बाट पहिचान गरिन्छ।

हिग्स बोसोनको लाइफटाइम करिब १०⁻²² सेकेन्डको आसपास हुन्छ। यति छोटो समयको कल्पना गर्न पनि कठिन छ।

यो बनेको केही क्षणमै अर्को कणमा डिके हुन्छ। तर त्यही क्षणभित्र भएको घटनालाई वैज्ञानिकहरूले अत्यन्त संवेदनशील डिटेक्टर र जटिल गणनाको सहायताले पहिचान गर्छन्।

यहाँ विज्ञानको एउटा रोचक पक्ष देखिन्छ। वैज्ञानिकहरू यस्तो कण खोजिरहेका थिए, जुन बनेको थाहा पाउनुअघि नै अस्तित्वबाट हराइसकेको हुन्छ।

त्यसको अस्तित्व प्रत्यक्ष देखेर होइन, त्यसले छोडेका संकेतबाट प्रमाणित गर्नुपर्छ।

हिग्स बोसोनबारे सबैभन्दा धेरै सुनिने कुरा हो, ‘यसले पदार्थलाई म्यास दिन्छ।’ तर यो वृतान्त मात्र पूरा सत्य होइन।

हिग्स फिल्डले इलेक्ट्रोन र क्वार्कजस्ता आधारभूत कणहरूको म्याससँग महत्वपूर्ण सम्बन्ध राख्छ। तर प्रोटोन र न्युट्रोनको अधिकांश म्यास भने हिग्स फिल्डबाट मात्र आएको हुँदैन।

तिनभित्रका क्वार्क र ग्लुओनबीच हुने स्ट्रङ इन्टर्‍याक्सनले पनि ठूलो भूमिका खेल्छ। त्यसैले हिग्सलाई ‘ब्रह्माण्डको सबै म्यासको स्रोत’ भन्नु सही हुँदैन। तर यसले एउटा महत्वपूर्ण प्रश्नको उत्तर भने दिन्छ, आधारभूत कणहरूले म्यास कसरी प्राप्त गर्छन्?

अब एउटा कल्पना गरौँ। यदि हिग्स फिल्ड नै नभएको भए? इलेक्ट्रोनलगायत केही आधारभूत कणको म्यास अहिलेको जस्तो हुने थिएन। त्यसले परमाणुको संरचनामा ठूलो परिवर्तन ल्याउँथ्यो।

परमाणु फरक हुन्थे। रसायन फरक हुन्थ्यो। हामीले चिनेको पदार्थको संसार नै फरक हुन्थ्यो।

ताराहरू, ग्रहहरू र अन्ततः जीवनको अस्तित्वसमेत हामीले अहिले बुझेको स्वरूपमा सम्भव नहुन सक्थ्यो।

त्यसैले हिग्स फिल्ड हामीले चिनेको ब्रह्माण्ड किन यस्तो छ? भन्ने ठूलो प्रश्नसँग जोडिएको प्रसङ्ग हो।

हिग्स बोसोन भेटिएपछि ब्रह्माण्डका सबै रहस्य खुलिसकेका छैनन्। बरु विज्ञानका अगाडि अझ ठूला प्रश्न उभिएका छन्।

डार्क म्याटर के हो? डार्क इनर्जी वास्तवमा के हो?  न्युट्रिनोको म्यास किन यति सानो छ? स्ट्यान्डर्ड मोडलभन्दा बाहिर अरू कस्ता कण र प्राकृतिक शक्ति छन्?

यी प्रश्नको पूर्ण उत्तर विज्ञानसँग अहिले पनि छैन।

त्यसैले हिग्स बोसोनलाई अन्तिम उत्तरभन्दा पनि अर्को रहस्यतर्फ जाने ढोकाका रूपमा हेर्न सकिन्छ।

हिग्स बोसोनको कथा एउटा सानो कणबाट सुरु हुन्छ। तर यसको पछाडि मानिसको हजारौँ वर्ष पुरानो जिज्ञासा छ।

हामी कहाँबाट आयौँ? हामी वरिपरि देखिरहेको संसार बनेको केबाट हो?  पदार्थले आफ्नो स्वरूप कसरी पायो? यी प्रश्नको उत्तर खोज्दै मानिसले आँखाले नदेखिने संसारमा प्रवेश गर्‍यो। सिद्धान्त बनायो। प्रयोग गर्‍यो। असफल भयो। फेरि खोज्यो।

करिब पाँच दशकअघि एउटा सैद्धान्तिक विचार प्रस्तुत भयो। दशकौँपछि त्यसको प्रमाण खोजियो। अरबौँ कणको टक्करबाट प्राप्त तथ्याङ्क केलाइयो। असंख्य सम्भावनाबीच एउटा अत्यन्त सूक्ष्म संकेत पहिचान गरियो।

र,अन्ततः एउटा महत्वपूर्ण उत्तर हात लाग्यो, ‘गड पार्टिकल’। गड पार्टिकल भगवानको खोजी हैन। यो मानिसले नदेखिने संसारलाई बुझ्न गरेको अद्भुत खोज हो।

सायद यही यसको सबैभन्दा सुन्दर पक्ष हो। ब्रह्माण्डको विशाल रहस्य बुझ्न मानिस अन्ततः एउटा अत्यन्त सानो कणको खोजीमा पुग्यो।

विश्वमा ट्रम्प नीतिको वितण्डा

काठमाडौं । विश्व राजनीति अहिले अस्थिरताको नयाँ चरणमा प्रवेश गरेको छ। इरान र युक्रेनका युद्ध सीमित भूगोलमा रोकिएका छैनन्। ऊर्जा बजारमा दबाब छ। जलवायु संकटले बाढी, डढेलो र अत्यधिक गर्मी बढाइरहेको छ। त्यसमाथि कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको तीव्र विकासले मानव भविष्यबारे नयाँ चिन्ता थपेको छ।

यही समयमा विश्वमा स्थिरता कायम गर्न बनेका अन्तर्राष्ट्रिय संस्थाहरूको प्रभावसमेत कमजोर हुँदै गएको छ। संयुक्त राष्ट्रसंघजस्ता संस्थाले लोकतन्त्र, मानव अधिकार र अन्तर्राष्ट्रिय सहकार्यको पक्षमा आवाज उठाइरहे पनि शक्तिशाली राष्ट्रका निर्णयसामु उनीहरूको प्रभाव सीमित देखिन थालेको छ।

यस्तो परिस्थितिमा विश्वको सबैभन्दा ठूलो सैन्य तथा आर्थिक शक्ति अमेरिकाको भूमिका झन् महत्वपूर्ण हुन्छ। तर राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकी विदेश नीति परम्परागत बाटोबाट निकै टाढा पुगेको विश्लेषण हुन थालेको छ।

ट्रम्पले भने अमेरिकी शक्ति र प्रभाव इतिहासकै बलियो अवस्थामा रहेको दाबी गर्दै आएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा पनि उनले अमेरिकाले विश्वमा शान्ति र स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गर्ने अपेक्षा गरिएको छ।

तर अमेरिकाका सहयोगी राष्ट्रहरूको धारणा भने त्यति सहज छैन।

क्यानडा र युरोपेली मुलुकहरू अमेरिकामाथिको परम्परागत सुरक्षा निर्भरता घटाउने दिशामा अघि बढिरहेका छन्। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले समेत अमेरिका पहिलेको जस्तो नरहेको सार्वजनिक टिप्पणी गरेका छन्।

ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीति दोस्रो कार्यकालमा अझ आक्रामक बनेको छ। सहयोगी राष्ट्रमाथि दबाब, व्यापार युद्ध, भन्सार वृद्धि र सैन्य शक्तिको प्रयोगको धम्की उनको विदेश नीतिका प्रमुख विशेषता बनेका छन्।

ट्रम्पको दृष्टिकोणमा अमेरिकासँग आफ्नो हितअनुकूल निर्णय गराउने पर्याप्त शक्ति छ। त्यसैले सम्झौता र बहुपक्षीय सहकार्यभन्दा दबाब र सौदाबाजीलाई प्राथमिकता दिइएको देखिन्छ।

इरानसँगको तनाव यसको एउटा उदाहरण हो। अमेरिकी दबाबका बाबजुद इरानी शासन तत्काल कमजोर नभएपछि सैन्य शक्तिको सीमाबारे पनि प्रश्न उठेका छन्। लामो समयदेखि जारी युद्धले अमेरिकाका लागि अपेक्षित छिटो परिणाम ल्याउन नसकेको विश्लेषण भइरहेको छ।

ट्रम्पले इरानविरुद्ध विभिन्न दबाबका उपाय प्रयोग गरे पनि युद्ध लम्बिँदै गएको छ। यसले अमेरिकाको सैन्य क्षमता र त्यसको व्यावहारिक सीमाबारे बहस जन्माएको छ।

युक्रेन युद्धले पनि आधुनिक युद्धको स्वरूप बदलिएको देखाएको छ। ड्रोन, सस्तो हतियार र विकेन्द्रित सैन्य रणनीतिले ठूलो सैन्य शक्तिलाई समेत चुनौती दिन सक्ने अवस्था देखिएको छ।

इरान र युक्रेन दुवैले ठूलो क्षति बेहोरेका छन्। तर यी युद्धले शक्तिशाली राष्ट्रका सीमासमेत उजागर गरेका छन्।

अमेरिका र चीनबीचको व्यापार तथा प्रविधि प्रतिस्पर्धाले अर्को चुनौती थपेको छ। दुर्लभ खनिज तथा महत्वपूर्ण प्रविधिको आपूर्तिमा चीनको प्रभावले अमेरिकालाई आफ्ना निर्भरता पुनर्विचार गर्न बाध्य बनाएको छ।

परम्परागत अमेरिकी विदेश नीतिले साझा खतरा देखाएर सहयोगी राष्ट्रलाई एउटै गठबन्धनमा बाँध्ने प्रयास गर्थ्यो। ट्रम्पको नीति भने त्यसको विपरीत देखिन्छ।

व्यापार युद्ध, भन्सार नीति र सहयोगी राष्ट्रमाथिको सार्वजनिक दबाबले अमेरिकाले दशकौँ लगाएर निर्माण गरेको गठबन्धन प्रणालीमै असर पर्न थालेको विश्लेषण छ।

युरोपेली राष्ट्रहरूले आफ्नो रक्षा बजेट बढाउन थालेका छन्। यसको एउटा कारण अमेरिका भविष्यमा पनि पुरानै स्तरको सुरक्षा प्रत्याभूति दिनेछ भन्ने विश्वास कमजोर हुनु हो।

यसरी हेर्दा ट्रम्पको नीति अमेरिकालाई बलियो बनाउने उद्देश्यमा केन्द्रित भए पनि त्यसको परिणामस्वरूप सहयोगी राष्ट्रहरू वैकल्पिक सुरक्षा र रणनीतिक साझेदारी खोज्न थालेका छन्।

ग्रिनल्यान्डप्रति ट्रम्पको चासो पनि विवादको विषय बनेको छ। डेनमार्कको स्वायत्त भूभागमाथि अमेरिकाले देखाएको चासो र त्यससँग जोडिएका सैन्य विकल्पका अभिव्यक्तिले नाटोभित्रै असहजता बढाएको छ।

ग्रिनल्यान्डका केही राजनीतिक व्यक्तित्वले अमेरिकाप्रतिको विश्वास घट्दै गएको बताएका छन्। उनीहरूको तर्कमा मित्र राष्ट्रबाटै सुरक्षा चुनौती महसुस हुन थालेपछि पुरानो भरोसा कायम राख्न कठिन हुन्छ।

अमेरिकाले आफ्नो रणनीतिक हितका लागि दबाब प्रयोग गर्न सक्छ। तर त्यही दबाबले सहयोगी राष्ट्रलाई टाढा पुर्‍याएमा दीर्घकालमा अमेरिकी प्रभावमै असर पर्न सक्ने जोखिम हुन्छ।

अमेरिकी प्रभाव कमजोर हुँदै गएको सम्पूर्ण जिम्मेवारी ट्रम्पको नीतिमाथि मात्र राख्न सकिँदैन।

अफगानिस्तान र इराकमा लामो समय चलेका युद्धले अमेरिकी अर्थतन्त्र, सैन्य शक्ति र अन्तर्राष्ट्रिय छविमा ठूलो दबाब पारे। ती युद्धमा खर्बौं डलर खर्च भयो। हजारौँ अमेरिकी सैनिकले ज्यान गुमाए।

चीनको आर्थिक तथा प्राविधिक उदय पनि ट्रम्पको आगमनपछि मात्र भएको होइन। रुस र पश्चिमबीचको तनावको जरा पनि दशकौँ पुरानो हो। जलवायु परिवर्तन र एआईको तीव्र विकास पनि ट्रम्पअघि नै सुरु भइसकेका विश्वव्यापी परिवर्तन हुन्।

तर यी सबै संकटबीच ट्रम्पको राजनीतिक शैलीले परिस्थितिलाई अझ तीव्र बनाएको आलोचना भइरहेको छ।

ट्रम्पको दोस्रो कार्यकालले अमेरिकी विदेश नीतिमा आएको परिवर्तनलाई थप स्पष्ट बनाएको छ। बहुपक्षीय संस्थामाथिको अविश्वास, सहयोगी राष्ट्रसँगको तनाव, व्यापार युद्ध र सैन्य दबाबले दोस्रो विश्वयुद्धपछि निर्माण भएको विश्व व्यवस्थामाथि नै प्रश्न उठाएको छ।

अमेरिका अझै विश्वकै प्रमुख सैन्य र आर्थिक शक्तिमध्ये एक हो। तर शक्ति हुनु र त्यसलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्नु एउटै कुरा होइन।

आजको विश्वमा चीनको उदय, रुससँगको तनाव, मध्यपूर्वको युद्ध, युक्रेन संकट, जलवायु परिवर्तन र एआईको तीव्र विकासले शक्ति सन्तुलनलाई नयाँ दिशामा धकेलिरहेका छन्।

ट्रम्प यस परिवर्तनका एकमात्र कारण होइनन्। तर उनको आक्रामक र एकपक्षीय शैलीले ती परिवर्तनलाई तीव्र बनाइरहेको बहस भने चर्किएको छ।

विश्व व्यवस्था अब पहिलेको अवस्थामा फर्किन्छ कि नयाँ शक्ति सन्तुलन निर्माण हुन्छ भन्ने प्रश्न खुलै छ। तर एउटा कुरा स्पष्ट छ, ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिले अमेरिकी मित्रराष्ट्र, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय संस्थासँगको सम्बन्धमा ठूलो परिवर्तन ल्याएको छ। त्यसको दीर्घकालीन प्रभाव भने अझै देखिन बाँकी छ।

नेपालमा तिब्बतीलाई उक्साउने अमेरिकाको एनईडी के हो?

काठमाडौं। अमेरिकी अर्बपति एलन मस्कले एउटा अमेरिकी संस्थामाथि प्रश्न उठाएपछि पुरानो विवाद फेरि बल्झिएको छ। विवादित संस्थाको नाम हो- नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी (एनईडी)।

मस्कले अमेरिकी सरकारको खर्च कटौती अभियानमा एनईडीलाई समेत निशानामा राख्दै संस्था खारेज गर्नुपर्ने धारणा राखे। त्यसपछि एनईडीको स्थापना, काम, आर्थिक स्रोत र विश्वका विभिन्न देशमा उसको भूमिकाबारे बहस चर्कियो।

एनईडी कुनै नयाँ भने संस्था होइन। एनईडीले सन् १९८३ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा स्थापना भएको यो संस्थाले विश्वका विभिन्न मुलुकमा लोकतन्त्र, निर्वाचन, राजनीतिक दल, सञ्चार, नागरिक समाज र श्रमिक संगठनसँग सम्बन्धित परियोजनामा सहयोग गर्दै आएको छ।

तर एनईडीको परिचय यतिमात्र हैन, यसलाई अमेरिकी विदेश नीतिको प्रभाव विस्तार गर्ने माध्यमका रूपमा व्याख्या गरिन्छ। 

त्यही कारण एनईडीलाई कतिपय आलोचकले ‘दोस्रो सीआईए’ समेत आरोप लाग्ने गरेको छ।

यसका पछाडि एनईडीका सहसंस्थापक एलन वेन्सटाइनको पुरानो भनाइ पनि जोडिन्छ। उनले सन् १९९१ मा वासिङ्टन पोस्टसँगको अन्तर्वार्तामा एनईडीले खुला रूपमा गर्ने कतिपय काम विगतमा सीआईएले गोप्य रूपमा गर्ने गरेको आशय व्यक्त गरेका थिए।

आलोचकहरूले यही भनाइलाई एनईडीको भूमिकामाथि प्रश्न उठाउने आधार बनाएका हुन्। 

एनईडीसँग जोडिएका प्रमुख चार संस्थामा इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आईआरआई), नेसनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडीआई), सेन्टर फर इन्टरनेसनल प्राइभेट इन्टरप्राइज (सीआईपीई) र सोलिडारिटी सेन्टर पर्छन्।

यी संस्थामार्फत राजनीतिक दल, निर्वाचन, निजी क्षेत्र, नागरिक समाज तथा श्रमिक संगठनसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यही संरचनालाई लिएर प्रश्न उठ्ने गरेको हो।

लोकतन्त्र बलियो बनाउने नाममा सञ्चालित कार्यक्रमले सम्बन्धित देशको राजनीतिक प्रक्रिया र सार्वजनिक नीतिमा समेत प्रभाव पार्न सक्छ कि सक्दैन ? यही प्रश्न एनईडीमाथिको विवादको एउटा मुख्य पाटो हो।

निकारागुआ, सर्बिया, युक्रेन, भेनेजुएला र हङकङका राजनीतिक घटनाक्रममा समेत एनईडीको भूमिकाबारे बहस भएको पाइन्छ।

सन् १९९० को निकारागुआ निर्वाचनमा विपक्षी समूह तथा सञ्चारसम्बन्धी कार्यक्रमलाई दिइएको अमेरिकी सहयोग, सर्बियामा स्लोबोदान मिलोसेभिचविरुद्धको आन्दोलनमा ‘ओटपोर’ युवा समूहसँग जोडिएको सहयोग तथा युक्रेनका राजनीतिक आन्दोलनमा एनईडी समर्थित परियोजनालाई आलोचकहरूले उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेका छन्।

तर यी मुलुकमा भएका राजनीतिक परिवर्तनलाई एनईडीकै कारण भएको निष्कर्ष निकाल्न भने सकिँदैन। स्थानीय राजनीतिक अवस्था, जनआन्दोलन, सरकारविरुद्धको असन्तुष्टि र अन्य अन्तर्राष्ट्रिय शक्तिको भूमिकासमेत त्यसमा जोडिन्छ।

नेपालमा एनईडीको चर्चा भने प्रायः तिब्बतसम्बन्धी गतिविधिसँग जोडिन्छ।

‘स्टुडेन्ट्स फर अ फ्री तिब्बत’ (एसएफटी) लगायतका संस्थाले अमेरिकी स्रोतबाट आर्थिक सहयोग प्राप्त गरेको विवरण सार्वजनिक अभिलेखमा देखिन्छ। एनईडीका अनुदान विवरणमा तिब्बतसम्बन्धी संस्थाहरूलाई दिइएको सहयोगबारे पनि जानकारी भेटिन्छ।

यही कारण नेपालमा विदेशी फन्डिङ र तिब्बतसम्बन्धी गतिविधिबीचको सम्बन्धबारे प्रश्न उठ्ने गरेको हो।

तिब्बत मामिला नेपालको भूराजनीतिक तथा सुरक्षा संवेदनशीलतासँग जोडिएको विषय हो। त्यसैले विदेशी पैसाबाट सञ्चालन हुने तिब्बतसम्बन्धी कार्यक्रमको उद्देश्य के हो ? पैसा कहाँबाट आयो ? कहाँ खर्च भयो ? कसरी परिचालन भयो ? प्रश्न उठ्ने गरेको छ। 

त्यस्तै, एनईडीलाई कुनै मुलुकविरुद्ध प्रयोग गर्ने ‘प्रोक्सी’ नै हो भनेर निष्कर्ष निकाल्न पनि थप प्रमाण चाहिन्छ। संस्थाको वास्तविक गतिविधि, आर्थिक कारोबार, परियोजनाको उद्देश्य र त्यसको कार्यान्वयन हेर्नुपर्छ।

उसो त एनईडीको बजेटलाई लिएर अमेरिकाभित्रै पनि विवाद छ। डोनाल्ड ट्रम्प प्रशासनले वैदेशिक सहायता तथा सरकारी खर्च कटौती गर्ने प्रयास गर्दा एनईडीको बजेटमाथि समेत प्रश्न उठेको थियो।

तर अमेरिकी बजेट प्रक्रिया राष्ट्रपतिको प्रस्तावमा मात्र निर्भर हुँदैन। बजेट स्वीकृतिमा कंग्रेसको महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले राष्ट्रपतिले बजेट घटाउने वा रोक्ने प्रस्ताव गर्नु र संस्था कानुनी रूपमा बन्द हुनु एउटै कुरा होइन।

एनईडीलाई ‘राष्ट्रपतिभन्दा शक्तिशाली’ संस्था भन्ने किसिमका दाबी पनि सुनिन्छन्। तर यसको बजेट र अधिकार अमेरिकी कानुनी तथा संवैधानिक प्रक्रियाबाट निर्धारण हुन्छ। मस्कले भने एनईडीमाथि भ्रष्टाचार र राजनीतिक हस्तक्षेपसँग सम्बन्धित आरोप लगाउँदै यसको औचित्यमाथि प्रश्न उठाएका छन्।

एनईडी विवादले नेपालमा विदेशी फन्डिङको पारदर्शिताको बहस पनि फेरि तातेको छ।

नेपालमा विदेशी पैसा भित्र्याउने संस्थाले कति रकम पाउँछन् ? कहाँबाट पाउँछन् ? कुन कामका लागि पाउँछन् ? कहाँ खर्च गर्छन् ? स्थानीय तहमा कसरी परिचालन हुन्छ ?  यसमा भने पारदर्शी हुन भने आवश्यक छ।

सरकारी जागिरे लुइँटेल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि!

काठमाडौं । सरकारी जागिर खाने कि पार्टीको संगठन चलाउने ?

सुनकोशी गाउँपालिकाका कर्मचारी अशोक किरण लुइँटेलको सन्दर्भमा अहिले यही प्रश्न उठेको छ।

सुनकोशी गाउँपालिका–१, बलखु स्थायी घर भएका लुइँटेल गाउँपालिकाको पशु सेवा विभागमा कार्यरत छन्। तर सरकारी सेवामा रहेकै अवस्थामा उनी नेपाली कांग्रेसको क्रियाशील सदस्य मात्र होइन, क्षेत्रीय प्रतिनिधिसमेत बनेको विवरण सार्वजनिक भएको छ।

कांग्रेसको अधिवेशनसम्बन्धी सार्वजनिक सूचीमा लुइँटेलको नाम क्रियाशील सदस्यका रूपमा उल्लेख छ। उनको क्रियाशील सदस्यता नम्बर ०५५२१४ र मतदाता क्रम संख्या १४ रहेको विवरणमा देखिन्छ।

त्यसैगरी, उनी कांग्रेसको क्षेत्रीय प्रतिनिधिका रूपमा समेत चयन भएको विवरण सार्वजनिक भएको छ।

क्षेत्रीय प्रतिनिधि बन्नु सामान्य पार्टी सदस्यता लिएजस्तो विषय होइन। पार्टीको अधिवेशनमा प्रतिनिधित्व गर्ने र सांगठनिक प्रक्रियामा भूमिका खेल्ने जिम्मेवारी हो।

अर्थात्, सरकारी कार्यालयको जिम्मेवारीसँगै पार्टीको सांगठनिक जिम्मेवारी पनि सम्हालिएको देखिन्छ।

सरकारी कर्मचारीको राजनीतिक संलग्नतामाथि कानुनी बन्देज छ। निजामती सेवा ऐन, २०४९ को दफा ४४ ले निजामती कर्मचारीलाई राजनीतिमा भाग लिन रोक लगाएको छ। कर्मचारीको राजनीतिक तटस्थता र आचरणसम्बन्धी व्यवस्थाले पनि दलगत राजनीतिक गतिविधिमा संलग्नतालाई निषेध गरेको छ। 

यदि सरकारी सेवामा रहेकै अवस्थामा उनले कांग्रेसको क्रियाशील सदस्यता लिएका र क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी सम्हालेका हुन् भने विषय व्यक्तिगत राजनीतिक आस्थामा मात्र सीमित हुँदैन। सरकारी कर्मचारीको राजनीतिक तटस्थता र आचरणसम्बन्धी कानुनी व्यवस्थाको पालना भयो कि भएन भन्ने प्रश्नसमेत जोडिन्छ।

आफन्त पनि कांग्रेसकै उम्मेदवार

लुइँटेलको राजनीतिक सम्बन्धसँग जोडिएको अर्को विवरण पनि सार्वजनिक भएको छ।

उनी नेपाली कांग्रेसबाट ओखलढुंगा–१ मा २०८२ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका कुमार लुइँटेलका काकाका छोरा भएको बताइएको छ। कुमार लुइँटेल उक्त निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार थिए।

तर पारिवारिक सम्बन्धलाई नै आधार बनाएर लुइँटेलमाथि प्रश्न उठाइएको होइन। आफन्त राजनीतिक दलमा हुनु अलग विषय हो।

यहाँको मूल प्रश्न भने सरकारी सेवामा रहेका लुइँटेल स्वयं कांग्रेसको क्रियाशील सदस्य र क्षेत्रीय प्रतिनिधि बनेको दाबी छ। 

लुइँटेलको नाम कांग्रेसको क्रियाशील सदस्यता तथा क्षेत्रीय प्रतिनिधिसम्बन्धी सूचीमा रहेको विवरण सार्वजनिक भएपछि अब सुनकोशी गाउँपालिकाको भूमिकामाथि पनि प्रश्न उठेको छ।

के भन्छ कानुन ?

निजामती सेवा ऐन, २०४९ अनुसार कर्मचारीले देहायबमोजिमको कार्य गरेन बन्देज गरिएको छ। 

राजनीतिक वा अवाञ्छनीय प्रभाव पर्न नदिनेः

कुनै पनि निजामती कर्मचारीले आफ्नो सेवा सम्बन्धी कुरामा मनसाय बसाली वा दुर्भावनायुक्त अन्य कर्मचारी माथि कुनै राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न वा प्रभाव पर्ने प्रयास गर्नु हुँदैन ।

४४. राजनीतिमा भाग लिन नहुनेः निजामती कर्मचारीले राजनीतिमा भाग लिनु हुँदैन ।

४५. सरकारको आलोचना गर्न नहुनेः
(१) नेपाल सरकारको नीतिको विपरीत हुने गरी वा नेपाल सरकार र जनताको पारस्परिक सम्बन्धमा वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी कुनै पनि निजामती कर्मचारीले आफ्नो वास्तविक वा काल्पनिक नामबाट वा बेनामी कुनै लेख प्रकाशित गर्न, प्रेसलाई कुनै खबर दिन, रेडियो वा टेलिभिजन आदिद्वारा भाषण प्रसारित गर्न, कुनै सार्वजनिक भाषण दिन वा कुनै वक्तव्य प्रकाशित गर्न हुँदैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून र नेपाल सरकारको नीतिको विपरीत नहुने गरी लेख प्रकाशन वा प्रसारण गर्न बाधा पर्ने छैन ।

४६. निर्वाचनमा भाग लिन नहुनेः
निजामती कर्मचारीले कुनै पनि राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव पार्न हुँदैन ।

तर कसलाई मत दिएको वा दिने विचार गरेको कुरा प्रकट नगरी प्रचलित कानून बमोजिम आफूले पाएको मताधिकारको अधिकार प्रयोग गर्न तथा पर्ने छैन ।

यो हेर्नुहोस् :

बालेन अमेरिका उडे, ‘नेपाललाई भारतमा गाभ्ने’ आरोप खेपेका वाग्ले बने कावा प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अमेरिका उडेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उनी मंगलबार साँझ न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री देशबाहिर गएसँगै सरकारको कार्यकारी जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको काँधमा आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।

वाग्ले कार्यवाहक प्रधानमन्त्री बनेसँगै उनीमाथि केही वर्षअघि लागेको विवादास्पद आरोप फेरि चर्चामा आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री मुकुल ढकालले २०८१ सालमा वाग्लेमाथि नेपाललाई भारतको राज्य बनाउने प्रस्ताव गरेको आरोप लगाएका थिए। ढकालले एक टेलिभिजन अन्तर्वार्तामा भारतीय पक्षसँगको भेटपछि वाग्लेले यस्तो प्रस्ताव राखेको दाबी गरेका थिए।

यो आरोप भने वाग्लेले अस्वीकार गर्दै आएका छन्। संसद्मा समेत उक्त विषय उठेपछि वाग्लेले आफ्नो भनाइलाई तोडमोड गरिएको दाबी गरेका थिए। उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानप्रति आफू प्रतिबद्ध रहेको बताएका थिए।

आरोप र त्यसको खण्डनबीच अहिले उनै वाग्ले केही दिनका लागि सरकारको कार्यकारी नेतृत्वमा पुगेका छन्।

बालेन अमेरिका उडेपछि सिंहदरबारको कार्यकारी कमान वाग्लेको हातमा आएको हो। उनले प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारका नियमित कामकारबाही अघि बढाउनेछन्।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गर्न न्यूयोर्क पुगेका हुन्। उनले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

शाह असोज १० गते नेपाल फर्किने तालिका छ। त्यसअघिसम्म सरकारको दैनिक प्रशासनिक तथा कार्यकारी जिम्मेवारी वाग्लेले सम्हाल्नेछन्।

यसरी केही दिनका लागि प्रधानमन्त्रीको कुर्सीको जिम्मेवारी त्यही वाग्लेको काँधमा आएको छ।

जसलाई केही वर्षअघि नेपाललाई भारतमा गाभ्ने प्रस्ताव गरेको आरोप लागेको थियो।

पाँचथरमा जय नेपाल पार्टीको संगठन विस्तार, राजकुमार जोशी बने जिल्ला सभापति

पाँचथर । ‘सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्र’को पक्षमा काम गर्ने विश्वासिलो राजनीतिक शक्तिका रूपमा जय नेपाल पार्टीलाई अघि बढाउने तयारी गरिएको छ।

पार्टीका केन्द्रीय सदस्य तथा सचिवालय प्रमुख सगुन सुन्दर लावतीले देशहित चाहने सबै शक्ति, समूह र व्यक्तिलाई समेटेर पार्टी जनतामाझ जाने बताएका छन्।

मंगलबार फिदिममा आयोजित भेलालाई सम्बोधन गर्दै लावतीले नेपालीबीचको एकता, राष्ट्रिय गौरव, सामाजिक सद्भाव र सहिष्णुतालाई पार्टीले प्राथमिकतामा राख्ने बताए।

‘देशलाई माया गर्ने, देशको हित चाहने सबै शक्ति, समूह र व्यक्तिलाई समेटेर जय नेपाल पार्टी जनतामाझ जानेछ,’ उनले भने, ‘नेपाली नेपालीबीचको एकता, राष्ट्रिय गौरवको निरन्तरता, सामाजिक सद्भाव र सहिष्णुतालाई सर्वोपरी मानेर हामी क्रियाशील रहनेछौं।’

भेलाले पार्टीका केन्द्रीय सदस्य राजकुमार जोशीलाई पाँचथर जिल्ला कार्यसमितिको तदर्थ सभापति चयन गरेको छ।

३१ सदस्यीय जिल्ला कार्यसमितिको उपसभापतिमा कमलकुमार राई र भीम आचार्य तथा सचिवमा रोसिना बोहरा चयन भएका छन्। सहसचिवमा योगेन्द्र सिगु र सबिना वजी चयन भएका छन्।

जिल्ला सदस्यमा राजभक्त आङदेङबे, संजीव जोशी, धनबहादुर विक, राजकुमार सम्बाहाम्फे, मदनकुमार बोहरा, मिना गदाल, शिवकला लावती, नरेन्द्र लावती, मदन चाम्लिङ, रिमला जोशी, राम लावती, तीर्थ तामाङ, होम मगर, ऋतुवर्ण लिम्बु र विष्णु श्रेष्ठ चयन भएका छन्।

भेलाले जिल्लाका विभिन्न स्थानीय तहका सभापतिसमेत चयन गरेको छ।

याङवरक गाउँपालिकामा चरीमाया योङहाङ, फालेलुङमा राम तामाङ र नरेन्द्र सिगु, फिदिम नगरपालिकामा नन्द लावती, तुम्बेवामा देवीधर्म खड्का, कुम्मायकमा चन्द्र लावती, फाल्गुनन्दमा मोती आङदेङबे र मिक्लाजुङमा रवीन राईलाई सभापतिको जिम्मेवारी दिइएको छ।

प्रदेश निर्वाचन कार्यसमिति ‘क’को सभापतिमा गमबहादुर सिगु र ‘ख’को सभापतिमा रोशन घिमिरे चयन भएका छन्। यी पदाधिकारी जिल्ला कार्यसमितिका पदेन सदस्य रहने बताइएको छ।

केन्द्रीय सम्मानित सल्लाहकार समितिका सदस्य क्या. जसबहादुर खेवाङको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं सचिवालय प्रमुख लावतीको उपस्थितिमा भएको भेलाले जिल्ला सम्मानित सल्लाहकार समिति पनि गठन गरेको छ।

टठबहादुर घिमिरेको संयोजकत्वमा गठन गरिएको समितिमा नरबहादुर लावती र दलबहादुर समाल सदस्य छन्।

जय नेपाल पार्टीले पाँचथरमा जिल्ला नेतृत्वसँगै स्थानीय तह र प्रदेश निर्वाचन क्षेत्रसम्म संगठन विस्तार थालेको जनाएको छ।

भोटेकोशी–त्रिशूली बाढीः तामाङ समुदायको पुनर्वासमा सांसद तामाङको जोड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट सबैभन्दा बढी प्रभावित आदिवासी तामाङ समुदायका लागि तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायको अवस्था गम्भीर रहेको बताए।

‘म आवाजविहीन रसुवा, नुवाकोट र धादिङका आदिवासी तामाङहरूको गुनासो राख्न उभिएको छु,’ उनले भने।

उनले त्रिशूली सभ्यता तामाङहरूको प्राचीन माङ्युल सभ्यता भएको दाबी गर्दै बाढीले उक्त क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको बताए।

तामाङका अनुसार बाढी प्रभावित क्षेत्रका कतिपय वडामा जनगणनाअनुसार तामाङ समुदायको जनसंख्या ४० प्रतिशतदेखि ९९ प्रतिशतसम्म छ। भोटेकोशी र त्रिशूलीको बाढीबाट उनीहरूको घरबास मात्रै नभई जीवन निर्वाहका आधारसमेत नष्ट भएको उनको भनाइ छ।

‘बाढीबाट प्रभावित तामाङहरूको परिवार मात्र होइन, जीवन निर्वाहका स्रोत-साधनसहित बस्ती नै बगरमा परिणत भएको छ,’ उनले संसदमा भने।

उनले तामाङसहित सबै प्रभावित समुदायका लागि तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरे। प्रभावितलाई बसोबास र खानाको व्यवस्था गर्नुपर्ने उनको माग छ।

त्यस्तै, बाढीका कारण बाउ-आमा गुमाएका बालबालिकाको शिक्षा र स्वास्थ्य सुनिश्चित गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने उनले बताए।

बाढीबाट मृत्यु भएका तथा बेपत्ता भएका नेपाली र विदेशी नागरिकका परिवारका लागि सरकारले निश्चित राहत प्याकेजसहित नीति घोषणा गर्नुपर्ने माग पनि सांसद तामाङले राखे।

उनले विपद्पछि राहत र उद्धारमा मात्रै सीमित नभई प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सेन्चुरी स्पाइसेज बन्यो काठमान्डु गोर्खाजको प्रायोजक

काठमाडौं । सेन्चुरी स्पाइसेज नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजको प्रायोजक बनेको छ।

एनपीएलको तेस्रो संस्करणका लागि सेन्चुरी स्पाइसेज र काठमान्डु गोर्खाजबीच मंगलबार प्रायोजन सम्झौता भएको हो। सम्झौताअनुसार दुगड स्पाइसेज एन्ड फुड प्रडक्ट्स प्रालिअन्तर्गतको सेन्चुरी स्पाइसेजको लोगो टोलीको जर्सीको छाती र हेल्मेटमा राखिनेछ।

सम्झौतापछि काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले नेपाली बजारमा स्थापित ब्रान्डलाई टोलीसँग जोड्न पाउँदा खुसी लागेको बताए।

त्यस्तै, दुगड स्पाइसेज एन्ड फुड प्रडक्ट्स प्रालिका प्रबन्ध निर्देशक आदित्य दुगडले ब्रान्ड र खेलकुदबीचको सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुने तालिका छ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी हुँदैछन्।

 काठमान्डु गोर्खाजले यसअघि नै अस्ट्रेलियाका पूर्वकप्तान तथा स्टार ब्याटर डेभिड वार्नरलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरिसकेको छ।

साथै, वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडीमध्ये एक हुन्।

 

त्रिपुरेश्वर घटनापछि यातायात संगठन आन्दोलित, सरकारसँग ९ बुँदे माग

काठमाडौं । त्रिपुरेश्वरमा यात्रुवाहक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनापछि यातायात क्षेत्रका ६ वटा महासंघ तथा संघ-संगठन सरकारसँग जवाफ माग्दै अघि सरेका छन्।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिनदेखि यातायात श्रमिकको सुरक्षा र ट्राफिक प्रहरीको कार्यशैली सुधारसम्मका ९ बुँदे माग अघि सारेका हुन्।

संगठनहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका छन्। आगजनीबाट पूर्ण रूपमा क्षति भएको बसका धनीलाई पनि तत्काल क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ।

चालक र ट्राफिक प्रहरीबीच विवाद सुरु भएदेखि घटनासम्मको सम्पूर्ण विवरण छानबिन गर्न संगठनहरूले माग गरेका छन्।

सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान, फोन सम्पर्क तथा सम्बन्धित प्रहरी अधिकारीको भूमिकासमेत अध्ययन गर्नुपर्ने उनीहरूको भनाइ छ।

घटनाको निष्पक्ष छानबिनका लागि सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग पनि गरिएको छ। दोषी देखिए जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूले बताएका छन्।

संगठनहरूले सडकमा ट्राफिक प्रहरीले गर्ने चेकजाँच, कारबाही र चालकसँगको व्यवहार कानुनी प्रक्रिया तथा आचारसंहिताअनुसार भए नभएको निष्पक्ष रूपमा छानबिन गर्न माग गरेका छन्।

ट्राफिक प्रहरीको कार्यसम्पादनलाई प्रविधिमैत्री र जनमुखी बनाउनुपर्ने उनीहरूको जोड छ। प्रहरीको व्यवहार र कार्यसम्पादनको नियमित अनुगमन गर्न सरोकारवाला सम्मिलित संयन्त्र बनाउनुपर्ने मागसमेत अघि सारिएको छ।

सडकमा ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, अनावश्यक हैरानी वा कानुनी झमेलाविरुद्ध तत्काल उजुरी गर्न सकिने २४ घण्टे हेल्पलाइन र न्यायिक सुनुवाइ संयन्त्र बनाउनुपर्ने माग गरिएको छ।

यातायात श्रमिकलाई श्रम ऐन, २०७४ अनुसार अनिवार्य रोजगार सम्झौता गराउने र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने व्यवस्था कानुनी रूपमै अनिवार्य गर्नुपर्ने संगठनहरूको माग छ।

सवारी तथा यातायात ऐनले ट्राफिक प्रहरीलाई सडकमा अत्यधिक अधिकार दिएको भन्दै चेकजाँच तथा कारबाहीसम्बन्धी अधिकारलाई कानुनअनुसार पुनर्व्यवस्थित गर्नुपर्ने उनीहरूले बताएका छन्।

यात्रु र सवारीसाधनको सुरक्षासँगै चालक तथा यातायात श्रमिकको जीवन, पेसागत मर्यादा र मानसिक सुरक्षालाई पनि राज्यको यातायात सुरक्षा नीतिमा समेट्नुपर्ने माग गरिएको छ।

उपत्यकाका मुख्य सहरसहित देशभर व्यवस्थित बसबिसौनी र यात्रु चढ्ने तथा ओर्लने स्थान निर्माण गर्नुपर्ने माग पनि संगठनहरूले अघि सारेका छन्।

त्यस्तै सार्वजनिक शौचालय, भोजनालय र विश्रामस्थलजस्ता पूर्वाधारलाई श्रमिकमैत्री तथा सुरक्षित बनाउनुपर्ने उनीहरूको भनाइ छ।

माग तत्काल सम्बोधन नभए शान्तिपूर्ण र कानुनसम्मत आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै ६ वटै संगठनले संयुक्त संघर्ष समिति गठन गरेका छन्।

रास्वपा सांसद यज्ञमणिको अदालतप्रति आक्रोश

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सरकारका सुधारका प्रयासमा न्यायालयले अनावश्यक हस्तक्षेप गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै न्यौपानेले सरकार गलत बाटोमा गए संसद्ले खबरदारी गर्ने भए पनि राज्यको नीति निर्माणमा अदालतको हस्तक्षेप बढेको बताए।

‘सरकारले बाटो बिराउन खोज्छ भने त संसद् छ। तर राज्यको नीति निर्माणमा अदालतले किन यति धेरै हस्तक्षेप गरिरहेको छ ?’ उनले प्रश्न गरे।

न्यौपानेले नेपालको न्याय प्रणाली अझै पुरानै ढर्रामा चलिरहेको दाबी गरे। न्यायालयको वास्तविक अवस्था बुझ्न न्यायाधीश, वकिल वा नेताभन्दा मुद्दा भोगेका नागरिकसँग सोध्नुपर्ने उनको भनाइ थियो।

‘न्यायालय कस्तो छ भनेर न्यायाधीश, वकिल, नेता र कर्मचारीलाई सोध्ने होइन। एउटा मुद्दा जितेर आएको बहादुरलाई सोध्नुस्। एउटा मुद्दा हारेको व्यक्तिलाई सोध्नुस्,’ उनले भने।

अदालतका कतिपय फैसलाले नागरिकलाई न्याय दिनुको साटो थप पीडा दिएको आरोपसमेत उनले लगाए।

उनले अपराधीमाथि कारबाही अघि बढाउँदा अदालतबाट आउने अन्तरिम आदेशले सरकारको काम प्रभावित हुने गरेको बताए।

‘अदालतले मुद्दा र अपराधका प्रकृति अध्ययन गर्ने कुनै संयन्त्र बनाएको छ ? सबै फैसलाहरू त एकैखाले देखिएका छन्,’ उनले भने।

न्यौपानेले न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने र उनीहरूले गरेका फैसलाको अध्ययन गर्न संसदीय समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारे।

उनका अनुसार फैसलाहरू कसरी भए, किन भए र त्यसको सामाजिक तथा राज्य व्यवस्थामाथि कस्तो प्रभाव पर्‍यो भन्नेबारे संसद्ले अध्ययन गर्नुपर्छ।

‘अदालतका फैसलाहरू अध्ययन गर्ने समिति यही संसद्ले गठन गर्नुपर्छ। फैसलाहरू कसरी भएका छन् ? किन भइरहेका छन् ? र यसको प्रभाव के छ ? यो सबैको छानबिन हुनुपर्छ,’ उनले भने।

न्यौपानेले न्यायपालिकामा देखिएको बेथिति, मुद्दाको ढिलाइ र न्यायमा नागरिकको पहुँचजस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।

न्यौपानेले न्यायपालिकाको पुनर्संरचनाको बहस अघि बढाउनुपर्ने बताए। सरकारका सुशासनका प्रयासमा अदालत बाधक बनेको अवस्थामा त्यसबारे राजनीतिक तथा कानुनी रूपमा समाधान खोज्नुपर्ने उनको भनाइ थियो।

‘यदि न्यायपालिकाले परिवर्तनलाई स्वीकार गर्दैन भने त्यो परिवर्तनको कुनै अर्थ छैन,’ उनले भने।

ज्ञानेन्द्र शाहीले भने – जेनजी शहीदकी आमाको आँसु पुछ्नुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका शहीदकी आमाको आँसु पुछ्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जेनजी आन्दोलनका दोषीमाथि कारबाही हुन नसकेको आरोप लगाए।

उनले राष्ट्रिय मानव अधिकार आयोगले घटनासम्बन्धी प्रतिवेदन बुझाइसकेको उल्लेख गर्दै दोषीमाथि कारबाही गर्न सरकार किन अघि नबढेको भन्दै प्रश्न गरे।

‘सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेनजी आन्दोलनकी शहीदकी आमा अहिले रुनुभयो। तपाईंहरूले सरकार चलाएको ६ महिना भयो। राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन बुझाइसकेको छ। को–को दोषी हुन् भनेर प्रमाणसहित प्रतिवेदन दिएको ६ महिना भयो। अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन ?’ शाहीले प्रश्न गरे।

शाहीले आन्दोलनका दोषीमाथि कारबाही गर्न नसक्ने हो भने सरकारमा बसिरहनुको औचित्यमाथि समेत प्रश्न उठाए।

‘यदि पक्रिन सक्नुहुन्न भने सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ? ती आमाको आँखाको आँसु पुछ्नुस्,’ उनले भने।

आन्दोलनमा संलग्न भएको आरोप लागेका व्यक्तिमाथि राजनीतिक आबद्धता नहेरी कारबाही गर्नुपर्ने उनको भनाइ थियो।

‘जेनजी आन्दोलनमा जो–जो अपराधी छन्, चाहे सत्तापक्षका हुन्, चाहे प्रतिपक्षका हुन्, यिनीहरूलाई समातेर जेल हाल्नुस्,’ शाहीले भने।

संसद्मै एक जना सांसद आफ्ना सन्तानको पीडा सम्झिएर रोइरहेको प्रसंग जोड्दै उनले सरकारको संवेदनशीलतामाथि पनि प्रश्न उठाए।

‘संसद्मा एक जना सांसद रुँदै गर्दा कुर्सीमा तपाईंहरू कसरी बस्न सक्नुहुन्छ ? पक्राउ गर्नुस्,’ उनले सरकारलाई आग्रह गरे।

एमालेभित्रको विवाद सडक र सामाजिक सञ्जालमा छताछुल्ल नपार्न सोम पोर्तेलको आग्रह

काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य सोम पोर्तेलले पार्टीका केन्द्रीय नेताहरूलाई आन्तरिक मतभेद र बहस सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेका छन्।

पोर्तेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका केन्द्रीय नेताहरूलाई सम्बोधन गर्दै पार्टीभित्रका विषय पार्टीकै बैठक, विधि र प्रक्रियाबाट टुंग्याउनुपर्ने बताएका हुन्।

उनले पछिल्लो समय एमालेका नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निरन्तर आइरहेको उल्लेख गर्दै मिडियामा हेडलाइन बन्ने वा सामाजिक सञ्जालमा लाइक, कमेन्ट र वाहवाही पाउँदैमा राजनीतिक लोकप्रियता र उचाइ नबढ्ने टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘मिडियामा हेडलाइन बन्दैमा वा सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र वाहवाहीले राजनीतिक लोकप्रियता र उचाइ बढ्छ भन्ने भ्रममा तपाईंहरू हुनुहुन्छ भन्ने मलाई विश्वास छैन।’

पोर्तेलले पार्टीको केन्द्रीय कमिटी बैठक जारी रहेको अवस्थामा नेताहरूले आफ्ना असहमति र विचार बैठकमै स्पष्ट रूपमा राख्नुपर्ने सुझाव दिएका छन्। आफ्ना धारणा तथ्यसहित प्रस्तुत गरेर केन्द्रीय सदस्यहरूलाई विश्वस्त र सहमत गराउन तथा आवश्यक निर्णय गराउने प्रयास गर्न उनले आग्रह गरेका छन्।

निर्णय तत्काल आफ्नो पक्षमा नआए पनि लोकतान्त्रिक विधि र पार्टी प्रक्रियाभित्र रहेर निरन्तर प्रयास गर्नुपर्ने उनको भनाइ छ।

उनले पार्टीको आन्तरिक बहस, असहमति र विचारलाई सडक तथा सामाजिक सञ्जालमा छताछुल्ल पार्ने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने बताएका छन्।

‘पार्टीभित्रका विषय पार्टीकै बैठक, विधि र प्रक्रियाबाट टुङ्ग्याउने राजनीतिक संस्कारलाई अझ बलियो बनाउन आवश्यक छ,’ पोर्तेलले भनेका छन्, ‘यो हाम्रो पार्टी जीवनको अनुशासनभित्र पर्ने गम्भीर मूल्यमान्यता समेत हो।’

पोर्तेलले पार्टी निर्माणमा नेताहरूको योगदान स्वीकार गर्दै लाखौँ कार्यकर्ताको योगदानलाई पनि कम नआँक्न आग्रह गरेका छन्। नेताहरूको योगदानको मात्रा तलमाथि हुन सक्ने भए पनि आफूहरूजस्ता कार्यकर्ताले समेत श्रम, समय, संघर्ष र विश्वासबाट पार्टी निर्माण गरेको उनको भनाइ छ।

उनले नेताहरूबीचको बहस र मतभिन्नता व्यक्तिगत प्रतिष्ठा वा सामाजिक सञ्जालको लोकप्रियताको विषय नभएको बताएका छन्।

‘यो पार्टीको भविष्य, संगठनको एकता र लाखौँ कार्यकर्ताको भावनासँग जोडिएको विषय हो,’ उनले भनेका छन्, ‘यसमा गम्भीर सचेतनासहित प्रस्तुत हुन, सोच्न र निर्णयमा पुग्न सुझाव दिन चाहन्छु।’

‘छोराको लाससँग सांसद पद साटेको’ आरोप सम्झिएर संसदमै रोइन् रचना खतिवडा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा प्रतिनिधिसभाको बैठकमै भावुक हुँदै रोएकी छन्।

आफूले सांसद पद पाएको विषयलाई लिएर दुर्गा प्रसाईँले गरेको भनिएको ‘छोराको लाससँग सांसद पद साटेको’ टिप्पणी सम्झिएपछि उनी संसद्मै रोएकी हुन्।

बैठकमा बोल्दै खतिवडाले आफू प्रधानमन्त्रीको आग्रहपछि सांसद बनेको बताइन्। उनले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवार र उनीहरूको बलिदानलाई न्याय दिलाउने उद्देश्यले आफू संसद्मा आएको बताइन्।

‘प्रधानमन्त्रीले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ। जेनजीका सन्तानहरूको बलिदान खेर जान नदिन म यो सदनमा पुगेकी हुँ,’ उनले भनिन्।

सरकारले परिवर्तनको बाटो बिराउन नदिन संसद्बाट निरन्तर खबरदारी गर्नु आफ्नो उद्देश्य रहेको उनले बताइन्।

खतिवडाले जेनजी आन्दोलनका शहीदले पूर्ण न्याय पाएको दिन आफू सांसद पदबाट राजीनामा दिन तयार रहेको बताइन्।

‘जुन दिन जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन,’ उनले भनिन्।

तर आफ्नो उद्देश्य र व्यक्तिगत पीडामाथि राजनीतिक टिप्पणी गरिएको भन्दै उनले दुःख व्यक्त गरिन्।

‘मेरो यो पवित्र उद्देश्य र छातीको घाउलाई कसैले छोराको लासमाथि सांसद पद साटेकी भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु,’ उनले भनिन्।

खतिवडाले आफ्नो छोराको मृत्युको पीडामाथि राजनीतिक आक्रमण नगर्न आग्रह गरिन्।

‘तपाईंहरूका छोराछोरी तपाईंसँग छन्। उनीहरू हाँस्छन्, खेल्छन्, भविष्य देख्न पाउनुहुन्छ। तर मेरो संसार उजाडिएको छ। मेरो काख रित्तिएको छ,’ उनले भावुक हुँदै भनिन्।

उनले आफू बसेको ठाउँबाट एकपटक आफ्नो पीडा बुझिदिनसमेत आग्रह गरिन्।

‘आज पनि कसैले मेरो छोरा जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु,’ उनले भनिन्, ‘त्यसैले आरोप लगाउनुअघि हजार पटक सोचिदिनुस्। एउटा आमाको ममता र पीडामाथि प्रहार गर्ने दुस्साहस नगरिदिनुस्।’

खतिवडाले आफू सांसद बन्नुको उद्देश्य मेडिकल माफिया बन्नु नभएको भन्दै आफूमाथि लगाइएको आरोपको खण्डनसमेत गरिन्।

‘आलोचना सुन्न सक्नु पनि लोकतन्त्र हो’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सिता थपलियाले सरकार नागरिकका आलोचना र प्रश्न सुन्नबाट पन्छिन खोजेको आरोप लगाएकी छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै नागरिकका दैनिक समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताइन्।

बीपी कोइरालाको भनाइ उद्धृत गर्दै थपलियाले समाजको कुनै वर्गले अन्याय महसुस गरिरहेसम्म देशको आधार बलियो हुन नसक्ने बताइन्।

सरकार गठन भएको लामो समय बितिसक्दा पनि नागरिकमा निराशा बढ्दै गएको उनको दाबी छ।

‘सय दिनमा विगतभन्दा फरक गरेर देखाउँछौँ भन्ने साथीहरू सरकारमा हुनुहुन्छ। तर नागरिक झन् निराश किन छन् ? अहिले भइरहेका घटना अपवाद नभएर नियमितजस्ता देखिन थालेका छन्,’ उनले भनिन्।

सांसद थपलियाले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउ प्रकरणप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्।

उनले सरकारको आलोचना र असहज प्रश्नलाई अपराधको रूपमा लिन नहुने बताइन्।

‘लोकतन्त्र भनेको सरकारको प्रशंसा मात्र सुन्ने व्यवस्था होइन, असहज प्रश्न सहने तागत पनि हो,’ उनले भनिन्, ‘हथकडीले हात बाँध्न सकिएला, तर विचार बाँध्न सकिँदैन।’

साइबर कानुनको प्रयोगबाट वैधानिक आलोचनालाई अपराधीकरण गर्न नहुने उनको भनाइ थियो।

थपलियाले आफ्नो निर्वाचन क्षेत्रका नागरिकले भोगिरहेको यातायात समस्याबारे पनि संसद्मा कुरा उठाइन्।

धादिङ र गोरखा जोड्ने त्रिशूली नदीमाथिको फुर्के खोलाको पक्की पुल बाढीले बगाएको २८ दिन बितिसक्दा पनि पुनःनिर्माण वा वैकल्पिक व्यवस्थामा सरकारले पर्याप्त ध्यान नदिएको उनको आरोप छ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा हुनसक्ने अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न पनि उनले सरकारसँग आग्रह गरिन्।

त्यस्तै, असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमानलाई ध्यानमा राख्दै सम्भावित विपद्का लागि तत्काल पूर्वतयारी गर्न उनले सरकारलाई आग्रह गरिन्।

थपलियाले सरकारको आलोचना गर्दै सामाजिक सञ्जालमा गरिएको राजनीतिक टिप्पणी र अहिलेको सत्तापक्षको व्यवहारबीच तुलना गरिन्।

‘हिजो सरकारविरुद्ध स्ट्याटस लेखेर डलर कमाउनेहरू आज किन जनताका स्ट्याटस बुझ्ने हिम्मत राख्दैनन् ?’ उनले प्रश्न गरिन्।

उनले सरकारसँग सामाजिक सञ्जालमा प्रशंसा खोज्नेभन्दा श्रमिक, उपभोक्ता र आम नागरिकका वास्तविक समस्या सुन्ने क्षमता देखाउनुपर्ने बताइन्।

‘जनताले तपाईंका शब्द होइन, कर्म र जवाफ खोजिरहेका छन्,’ थपलियाले भनिन्।

ज्वाला संग्रौलाको प्रश्न : मन्त्रीज्यू, बत्ती बाल्न अछाम कहिले जाने?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौला(ज्वाला)ले २९ वर्षदेखि अलपत्र रहेको बुढीगंगा जलविद्युत आयोजनालाई लिएर सरकारसँग जवाफ मागेकी छन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै संग्रौलाले २० मेगावाट क्षमताको आयोजना दशकौँदेखि निर्माण पूरा हुन नसक्दा अछाम र बाजुराका नागरिकले अझै अन्धकारको समस्या भोगिरहेको बताइन्।

उनले सुदूरपश्चिमका जनताको विद्युत् पहुँचको विषय संघीय संसद्मा पर्याप्त प्राथमिकतामा नपरेको गुनासो गरिन्।

‘सदनमा बेलाबेला प्रधानमन्त्रीको कालो चश्माको विषयमा बहस हुन्छ। तर सुदूरपश्चिमका जनताको भाग्यमा सिंहदरबारले बाँधेको कालो पट्टी र अन्धकारबारे कहिल्यै बहस हुँदैन,’ उनले भनिन्।

बुढीगंगा आयोजना अछाम र बाजुराको सीमाक्षेत्रमा बग्ने बुढीगंगा नदीमा निर्माणाधीन छ। आयोजना निर्माणका लागि पटकपटक ठेक्का लागे पनि कामले अपेक्षित गति लिन नसकेको सांसद संग्रौलाको भनाइ छ।

उनले ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई आयोजनाको काम कहिले तीव्र गतिमा अघि बढ्छ भनेर प्रश्न गरिन्।

‘मन्त्रीज्यू, चार पटक ठेक्का लागेको बुढीगंगा जलविद्युत आयोजना कहिले सम्पन्न गरेर बत्ती बाल्दै उद्घाटन गर्न अछाम जानुहुन्छ ?’ उनले प्रश्न गरिन्।

उनले आयोजनाको काम थप लम्ब्याउने अवस्था नरहेको बताउँदै निर्माणलाई तत्काल गति दिन सरकारको ध्यानाकर्षण गराइन्।

सांसद संग्रौलाले बुढीगंगा आयोजनाको चर्चा सुन्दै एउटा पुस्ता बितिसकेको बताइन्।

आयोजना बन्ने आशामा वर्षौँदेखि बसेका नागरिक अझै विद्युत्को सहज पहुँचबाट वञ्चित हुनु दुःखद भएको उनको भनाइ छ।

अछाम र बाजुराका धेरै गाउँमा विद्युत् पहुँचको समस्या कायमै रहेको उल्लेख गर्दै उनले सरकारले अब आयोजना सम्पन्न गर्न ठोस पहल गर्नुपर्ने बताइन्।

‘एउटा पुस्ता बुढीगंगा आयोजनाको नाम जप्दाजप्दै बितिसक्यो। तर सुदूरपश्चिमका जनता अझै उज्यालोको प्रतीक्षामा छन्,’ उनले भनिन्।

नेकपा कार्यसंयोजन समिति बैठक : यस्ता छन् आठ एजेन्डा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक पेरिसडाँडामा सुरु भएको छ।

प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा पछिल्लो राजनीतिक परिस्थितिसँगै पार्टीका आगामी सांगठनिक गतिविधिबारे छलफल भइरहेको छ।

नेकपाले यसअघि तय गरेको महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसलाई पुनः मिलाउने तयारी गरिएको छ। बैठकले महाधिवेशन तथा अधिवेशनको नयाँ मिति र कार्यतालिकाबारे निर्णय गर्नेछ।

बैठकका लागि आठवटा मुख्य एजेन्डा तय गरिएको छ।

बैठकको सुरुवात शहीदप्रति श्रद्धाञ्जलीबाट हुनेछ। त्यसपछि संयोजक र सहसंयोजकले वर्तमान राष्ट्रिय परिस्थिति तथा पार्टीको आगामी जिम्मेवारीबारे धारणा राख्ने कार्यक्रम छ।

महाधिवेशन र विभिन्न तहका अधिवेशन, सचिवालय तथा कार्यसमिति बैठक सञ्चालन, पार्टी र जनवर्गीय संगठनको समायोजन तथा सदस्यता नवीकरणबारे पनि छलफल हुनेछ।

त्यस्तै, विशेष संगठन सुदृढीकरण अभियान अघि बढाउने, विभिन्न समूह तथा व्यक्तिलाई पार्टीमा समाहित गर्ने विषय पनि एजेन्डामा राखिएको छ।

बैठकको विविधतर्फ भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनर्स्थापना र पुनर्निर्माणको विषय समेटिएको छ।

बाढीपीडितका लागि पार्टीको तर्फबाट सञ्चालन गरिने पुनर्स्थापना तथा पुनर्निर्माण अभियानबारे पनि बैठकले आवश्यक निर्णय गर्ने बताइएको छ।

प्रवक्ता ज्वालाका अनुसार समसामयिक राजनीतिक घटनाक्रमसँगै पार्टीको सांगठनिक संरचना र आगामी अभियानलाई प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित रहनेछ।

श्रीमानले फरुवा प्रहार गरेर गरे श्रीमतीको हत्या

सुर्खेत। सुर्खेतमा श्रीमानले फरुवा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ।

चौकुने गाउँपालिका-५, रेक्चाकी ३० वर्षीया चन्द्रा देवकोटाको फरुवा प्रहारबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी कविन्द्रसिं बोहोराका अनुसार चन्द्राका श्रीमान् ३२ वर्षीय गोपीराम जैसीले मंगलवार बिहान करिब १०ः२० बजे उनको टाउकोमा फरुवाले प्रहार गरेका थिए।

प्रहारबाट चन्द्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयले गोपीरामलाई नियन्त्रणमा लिएर राखेका छन्। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ।