`

‘भ्रष्टाचार निवारणका लागि बनाइएको सतर्कता केन्द्र सरकारको प्राथमिकतामा परेन’

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते निशानामा परेको प्रधानमन्त्री मातहतको राष्ट्रिय सतर्कता केन्द्र अभावै अभावमा गुज्रिरहेको छ । जेन–जी आन्दोलनकारीको निशानामा परी आगलागी र तोडफोड भएको सतर्कता केन्द्रको कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा ल्याइएको भए पनि यो निकायको आफ्नै भवन छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्दा पनि शक्तिशाली निकायका रूपमा मानिने सतर्कता केन्द्र सरकारको प्राथमिकतामा पर्न सकेको छैन । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ बमोजिम राष्ट्रिय सतर्कता केन्द्रले नेपाल सरकारका मन्त्रालय-विभाग-कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरू नियमितरुपमा भए-नभएको विषयमा सूचना सङ्कलन गर्ने, नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थाबाट नियमितरुपमा हुनुपर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गर्ने अधिकार पाएको छ ।

सार्वजनिक पदधारण गरेका व्यक्तिले प्रचलित कानुन बमोजिम दिएको सम्पत्ति विवरण र आयको अनुगमन गर्ने, भ्रष्टाचार हुनसक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्न आवश्यक व्यवस्था मिलाउने, भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनु पर्ने नीति, रणनीति र तत् सम्बन्धी कानुनमा कुनै सुधार गर्नुपर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने, नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थामा उजुरी पेटीका राख्ने व्यवस्था मिलाउनेसम्मको काम कर्तव्य अधिकार पाएको यो निकाय आफैँ कोमामा परेको छ ।

भ्रष्टाचार सम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने, भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य काम गर्ने वा गराउने, नेपाल सरकारले तोकेका अन्य काम गर्ने वा गराउने यो निकायको काम, कर्तव्य अधिकार भएपनि यति धेरै अधिकार पाएको निकाय आफैँ अभावमा गुज्रिनुपरेको सरकारी अधिकारी बताउँछन् । राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव नारायणप्रसाद भट्टले प्रधानमन्त्री सुशीला कार्की मातहत पर्ने सतर्कता केन्द्र अझै पनि अभावै अभावमा गुज्रनु परेको बताए ।

सहसचिव भट्टले भने ‘राष्ट्रिय सतर्कता कता केन्द्र प्रधानमन्त्री मातहतको निकाय हो । उनको प्रत्यक्ष नियन्त्रण र रेखदेखमा चल्ने भनेर भ्रष्टाचार निवारण ऐनको दफा ३७ मा व्यवस्था गरेको छ । सतर्कता केन्द्रको आफ्नै भवन पहिले पनि थिएन । शिक्षा मन्त्रालयको भुइँतलाबाट यो कार्यालय सञ्चालन गर्दै आएका थियौँ । आन्दोलनका क्रममा हाम्रो कार्यालय जल्यो । कतिपय कोठाहरू तोडफोड भयो । कतिपय धुँवाले बिग्रियो । कतिपय जल्यो पनि । त्यसले गर्दा हामीले केही दिन कार्यालय सञ्चालनमा अप्ठ्यारो पयो । हामीले निर्माणसम्बन्धी सङ्घीय सचिवालयमा त्यहाँ पनि लेखेर पठायौँ । सहरी विकास मन्त्रालयलाई पनि पटकपटक पत्र लेख्यौँ । बारम्बार अनुरोध गरेपछि उहाँहरूको केही हदसम्मको सहयोग पछि व्यवस्थापन गर्‍यौँ । अहिले तल बेसमेन्टमा बस्न सक्ने अवस्था छैन । भुइँतलामै व्यवस्थापन गरेर कार्यालय सञ्चालनमा ल्याएका छौँ । एउटै कोठामा ८-१० जनासम्म बसेर काम गर्नुपरिरहेको छ । मेरै कार्यकक्ष पनि जल्यो । त्यहाँ बस्न नमिल्ने भनेर स्टीकर टासिएपछि अहिले वैकल्पिक व्यवस्थापन गरेर बसिरहेको छु ।’

उनकाअनुसार भ्रष्टाचार रोकथाम गर्ने उद्देश्यले आवश्यकताअनुसार सम्बन्धित निकायलाई सुझाव वा निर्देशन दिने, भ्रष्टाचार सम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराई राख्नेसम्मको काम यो निकायको हो । तर यो निकायसँग आफ्नै भवन छैन । लामो समयदेखि शिक्षा मन्त्रालयमा शरण लिएर बसेको राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै भवनका लागि धेरै पहल गरेपनि सुनुवाइ नभएको भट्टले बताए । उनकाअनुसार सहरी विकास मन्त्रालयलाई धेरै पटक पत्राचार भएको छ । व्यवस्थापन हुने आश्वासन पटकपटक सतर्कता केन्द्रले पाए पनि अहिलेसम्म नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री मातहतको यो निकायमा जनशक्तिको समेत चरम अभाव रहेको छ । भट्टकाअनुसार विशेष गरेर प्राविधिक जनशक्तिको अभाव चर्को छ । पटक पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जनशक्तिका लागि पत्राचार भएपनि सुनुवाइ भएको छैन । उनकाअनुसार मुख्यसचिवकै अध्यक्षतामा हुने बैठकमा पनि पटकपटक कुरा उठाए पनि इन्जिनियर, आइटी तिरको पदपूर्ति हुन सकेको छैन । अहिले सतर्कता केन्द्रमा प्राविधिकतर्फ ५७ प्रतिशत दरबन्दी खाली रहेको छ भने समग्रमा २५ प्रतिशत दरबन्दी खालि छ । सतर्कता केन्द्रलाई १३ करोड बजेट विनियोजन भएकोमा ११ करोड तलब भत्तामै सकिने गरेको छ । अरू अनुगमनका कामहरूमा खर्च हुने गरेको सहसचिव भट्टले बताए । सतर्कतालाई अझ प्रभावकारी बनाउन सुधार कार्ययोजनाअनुसार अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री मातहतको सतर्कता केन्द्र पंगु हुनु दुर्भाग्य

प्रधानमन्त्री मातहतको सतर्कता केन्द्र पंगु बन्नु दुर्भाग्य भएको ट्रान्सपरेसी इन्टरनेशल नेपालले बताएको छ । भ्रष्टाचार निवारण र सुशासनको मामिलामा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले जेन–जी आन्दोलनपछि सुशासनको जगमा बनेको सरकारले भ्रष्टाचार हुनै नदिने मनाशयले खोलिएको राष्ट्रिय सतर्कता केन्द्रलाई प्राथमिकतामा राख्न नसक्नु दुःखद भएको बताए । चरम संकटबाट गुज्रिएको सतर्कता केन्द्रलाई प्रधानमन्त्रीले समेत बेवास्ता गर्नु गलत भएको उनको भनाइ छ ।

ट्रान्सपरेन्सी इन्टरनेशल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले भने ‘कुनै पनि सरकारका निर्णयहरू, त्यसमा कुनै दुबिधा लाग्दा, आवाज उठ्दा अथवा शङ्का उत्पन्न हुँदा ती विषयहरू हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रको हो । यो केन्द्र विगतमा प्रधानमन्त्रीको कार्यालयमा थियो । राजनीतिक नेतृत्वको प्रधानमन्त्रीकै हातमा हुँदा यसमा राजनीतिकरण भयो र यसले कुनै आँट नै देखाउन सकेन । अहिले स्वतन्त्र अन्तरिम सरकार हुँदा पनि यो यति कमजोर छ कि यसलाई मजबुत बनाउनेतर्फ ध्यानै दिएको देखिएन । त्यसैले यसले केही पनि प्रभावकारी रूपमा हेर्न–निगरानी गर्न सकेको छैन । यो सरकार बन्दा सुशासन अभिवृद्धि, भ्रष्टाचार न्यूनीकरण र नियन्त्रण गर्छ भनेर हामी खुसी भएका थियौँ । अब देशमा केही प्रभाव पार्ला भन्ने आशा थियो । तर अहिले दुई महिना भन्दा बढी हुँदैछ, हेर्दा त्यो अपेक्षित प्रगति दिएन । राम्रोसँग काम भइरहेको छैनन् । राष्ट्रिय सतर्कता केन्द्रलाई तुरुन्त सशक्त बनाउनुपर्छ । सतर्कता केन्द्रलाई सरकार,नागरिक र संघसंस्थाहरूको तर्फबाट पनि यस्ता संस्थाहरूलाई मजबुत, स्वतन्त्र र सक्षम बनाउन के आवश्यक पर्‍यो हामी सहयोग गर्न तयार छौँ ।’

अध्यक्ष शर्माकाअनुसार यो अन्तरिम सरकार गठन हुनुको मुख्य कारण बहुमत प्राप्त सरकारले सुशासन कायम नगर्दा विद्रोह भएकाले सुशासनका निम्ति हो । यो सरकारले सुशासन अभिवृद्धि गर्न महत्त्वपूर्ण कदमहरू चाल्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्न पूर्णरुपमा नसके पनि एउटा सुरुवात गर्नुपर्ने शर्माको भनाइ रहेको छ ।

 

निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नुस् : भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् । सोमवार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरुबाट सुझाव लिएर काम गर्न सके कठिन नहुने बताए ।

निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानिकन सूत्रअनुसार अघि बढ्न आग्रह गरे । उनले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउनु हुँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमवारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका कामहरु शुरु हुने बताए । उनले भने, ‘संवैधानिक व्यवस्था बमोजिम हाम्रो निर्वाचन प्रणाली दुई वटा छ । एउटा प्रत्यक्ष निर्वाचन प्रणाली र अर्को समानुपातिक निर्वाचन प्रणाली । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरुले समानुपातिकमा आफ्नो कोको उम्मेदवार हो, लिस्ट पेश गर्नु हुन्छ । सो बमोजिम विभिन्न कार्यक्रमहरु रहेका छन् । ती कार्यक्रमहरुबाट अन्तिममा दलहरुबाट पेश भएका समानुपातिक उम्मेदवारहरुको अन्तिम नामावली कायम रहन्छ ।’

उनले भने, ‘विभिन्न वर्ग, समुदाय, क्षेत्रलाई समेटेर प्रतिनिधि सभामा प्रतिनिधित्व गराउने हाम्रो संवैधानिक व्यवस्थालाई टड्कारो रुपमा अंगीकार गरेर निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्दछ । यो निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा साथीहरुले काम गर्ने सन्दर्भमा अलि झन्झिटिलो पनि मान्नु होला । तर यो सूत्र र फर्मुलामा हुने निर्वाचन भएकाले सूत्रलाई पहिला नै मनन गरिदिनु भयो र ती व्यक्तिहरुबाट सल्लाह र सुझाव लिएर कार्यक्रम सञ्चालन गर्नुभयो भने कठिन छैन । कम्मर कसेर निर्वाचन सम्पन्न गर्नुस् ।’ सरकारले आगामी फागुन २१ लाई प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनको मिति तोकेको छ ।

 

नेपाल आर्थिक पत्रकार समाजको वार्षिकोत्सव (तस्बिरहरु)

काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आफ्नो स्थापनाको २९ औं वार्षिकोत्सव तथा अवार्ड वितरण समारोह सम्पन्न गरेको छ ।

आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रबैंकका गभर्नर विश्व पौडेल लगायत विभिन्न उद्योगीहरुको उपस्थित रहेको थियो ।

तस्बिरहरु :- 

निजी क्षेत्रको विश्वास बढाउने गरी काम गरिरहेका छौं : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरि काम गरिरहेको बताएका छन् । सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गर्ने, सरकारी नीतिगत र कार्यपद्धतिमा सुधार गर्ने गरी काम गरिरहेको जानकारी दिए । उनले वर्तमान सरकारले जेन–जी आन्दोलनको भावना अनुसार सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए ।

उनले भने, ‘अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गरी सरकारी नीतिगत र कार्यपद्धति दुवैमा सुधार गर्न प्रतिवद्ध मात्रै रहेका छैनौँ । त्यही दिशामा हामीले कार्यहरु अगाडि बढाएका पनि छौँ । अहिलेको सरकारले जेनजी आन्दोलनको मर्मलाई केन्द्रमा राखेर आफ्नो कार्य गरिररहेको समेत जानकारी गराउँछु ।’ उनले वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन गराउनु रहेको दोहोर्‍याए । सरकार सुशासन कायम र समयमा नै निर्वाचन गर्न प्रतिवद्ध रहेको उनको भनाई छ ।

सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधीकरण गर्न नमिल्ने बताएका छन् । सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औं वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताए । उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको उल्लेख गर्दै कानूनी राज्यमा कसैको सम्पतिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए । नेपालमा नेपाली वा विदेशी जसले सम्पति सिर्जना गरे पनि त्यो मुलुकको सम्पति हुने उनको भनाई छ ।

विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको उनले बताए । लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानूनअनुसार कारबाही हुने उनले बताए । सडकबाट अपराधी करार गरेर निजी सम्पतिमाथि हमला गर्न नमिल्ने उनको भनाई छ । उनले भने, ‘मुलुकमा जोसुकैले सम्पति सिर्जना गरे पनि कसैले हाईड्रोपावर बनायो, कसैले डिर्पामेन्ट स्टोर खोल्यो, कसैले होटल बनायो, कसैले उद्योग स्थापना गर्‍यो भने त्यो मुलुकको सम्पत्ति हो । त्यो नेपालकै निजी क्षेत्रले लगानी गरेको हो की विदेशीले लगानी गरेको भन्ने कुरा कति पनि माने राख्दैन । विगतमा कतिपय विदेशी लगानीकर्ताले लगानी गरेको सम्पती आज हामीले प्रयोग गरिरहेका छौँ ।’

उनले भने, ‘त्यसको स्वामित्व हस्तान्तरण भएर नेपाली लगानीकर्ताको हातमा आएको होला, कतिपय स्वामित्व हस्तान्तरण भएर नेपाल सरकारको हातमा पनि आएको होला । सम्पति सिर्जना गर्ने व्यक्तिले व्यक्तिगत तवरले कुनै गल्ती गरेको छ भने उसलाई कारबाही गर्ने कानुनहरु हुन्छन्, कानुनसम्मत ढंगले कुनै पनि व्यक्तिलाई अपराधीकरण गर्ने वा कारबाही गर्ने हो । सडकबाट कसैलाई औला ठडाएर अपराधीकरण गर्नु चाँही कानुनी राज्यमा मिल्दै मिल्दैन ।’
उनले सही सूचना प्रवाह नहुँदा पनि अपराधिक क्रियाकलापहरु बढ्ने गरेको बताए । उनले सूचनाको गम्भिरतालाई समेत ध्यानमा राखेर प्रवाह गर्नुपर्नेमा जोड दिए ।

समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया शुरु गर्न आयोगमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोमवार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय स्थापना गरिएको हो । समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगका सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।

नेपालमा संवैधानिक व्यवस्था बमोजिम दुई वटा निर्वाचन प्रणाली छ । एउटा प्रत्यक्ष निर्वाचन प्रणाली रहेको छ भने अर्को समानुपातिक निर्वाचन प्रणाली हो । पदभार ग्रहण गर्दै सचिव पन्थले प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा दुई वटा प्रणाली रहेका र त्यसमध्ये एउटा प्रत्यक्ष निर्वाचन प्रणाली र अर्को समानुपातिक निर्वाचन प्रणाली भएको बताए । समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन पद्धति कायम गर्न र सञ्चालन गर्नका लागि आयोगको सचिवलाई निर्वाचन अधिकृत तोकेर समानुपातिक निर्वाचन प्रणालीका कार्यक्रम अघि बढाउने व्यवस्था रहेको पनि बताए ।

सोही बमोजिम सोमवार आयोगले आयोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ समानुपातिक निर्वाचन प्रणाली निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुका साथै आयोगका सचिव पन्थलाई निर्वाचन अधिकृत तोकेको हो । आयोगमा कार्यालय स्थापनासहित निर्वाचन अधिकृत पन्थले पदभार ग्रहण समेत गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिअघि सानेपामा पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ । केहीबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक राखेका छन् । आज दिउँसो २ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ । लामो रस्साकस्सीपछि पुसभित्र नियमित महाधिवेशन ल्याउने सहमति कांग्रेसमा जुटेको छ । महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरू सहमत भए पनि पूर्व पदाधिकारी विमलेन्द्र निधि र कृष्ण सिटौलालगायतका केही नेताहरूले असहमति राख्दै आएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने भएको छ । पदाधिकारी बैठकबाट कार्यतालिकामा सहमति जुटेपछि केन्द्रीय समिति बैठकमा पेश गरिने भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेश गर्ने भएका छन् । महाधिवेशन चुनाव अघि वा पछिको विवादले कांग्रेसको केन्द्रीय समितिको बैठक ६ मंसिरदेखि स्थगित हुँदै आएको थियो । सभापति शेरबहादुर देउवा स्वयं पुसभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भएपछि केन्द्रीय समिति बैठकमा निणायार्थ प्रस्ताव पेश गरिने भएको छ ।

काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ। बिरामी रहेका उनका बुवा रामनारायण शाहको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको हो। उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो।  उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा निधन भएको सिभिल अस्पताल स्रोतले जानकारी दिएको छ।

“उहाँलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन, अवस्था गम्भीर थियो। उपचार क्रममा आज मध्याह्न निधन भएको हो,” अस्पताल स्रोतले भन्यो। स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो। बालेनका बुबाको अवस्था गम्भिर भएपछि आजै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर मेयर बालेन शाहलाई भेटेकी थिइन् भने रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी आयुर्वेद डाक्टर थिए।

मेयर बालेनका बुवाको स्वास्थ्य गम्भीर, भेट्न गइन् प्रधानमन्त्री कार्की

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना भएका छन्। शाहलाई आइतबार बिहानै अस्पताल लगिएको थियो । उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको छ। साथै मस्तिष्कमा पनि असर देखिएको छ। अहिले उनी अचेत अवस्थामा रहेको स्रोतले जनाएको छ।

अस्पताल स्रोतका अनुसार शाहको अवस्था गम्भीर छ। अरू समस्या पनि देखिएको छ। जस्का कारण मेयर बालेनका बुवालाई भेट्न प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान १० बजे अस्पताल पुगेकी थिइन्।

आयोगमा १२० दल दर्ता : पुराना हस्तीदेखि जेनजी नेतृत्वसम्मको चुनावी भिडन्तको तयारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यस पटक अभूतपूर्व राजनीतिक सक्रियता देखिएको छ । निर्वाचन आयोगले तोकेको मंसिर १ देखि १४ गतेसम्मको समय सीमाभित्र १२० राजनीतिक दलले निर्वाचनमा सहभागी हुन दर्ता निवेदन दिएका छन् । आयोगमा दर्ता भइसकेका १४३ दल बाहेक २३ दलले आवेदन नदिए पनि समग्र राजनीतिक वातावरण नयाँ दलको उदय, पुराना शक्तिको पुनः परीक्षण र जेन–जी आन्दोलनपछिको उर्जाले गतिशील बनेको स्पष्ट देखिन्छ ।

दर्ता भएका १२० दलमध्ये केही दलहरू सहमति र मिलनबाट एकल चुनाव चिन्ह प्रयोग गर्दै संयुक्त रूपमा प्रतिस्पर्धा गर्न उत्रिने तयारीमा छन् । १४ दल मिलेर ६ संयुक्त निवेदन दिएका छन्, जसले पार्टीहरूबीच ठूलो रणनीतिक सहकार्य देखाएको छ । १०५ दल भने आफ्नै चिह्नमा प्रतिस्पर्धा गर्न अघि सरेका छन् । आयोगले दर्ता निवेदनको छानबिन गरी २० मंसिरमा अन्तिम सूची राजपत्रमा प्रकाशित गर्नेछ, जसलाई आधार मानेर आगामी निर्वाचनमा सहभागी हुने दलहरू निश्चित हुनेछन् ।

मुख्य राजनीतिक शक्तिहरू—नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र–एकीकृत), रास्वपा, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेमकिपा, राष्ट्रिय जनमोर्चादेखि आम जनताको पार्टीसम्म सबैले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । विगतमा चुनाव बहिष्कारमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) समेत यस पटक आधिकारिक रूपमा प्रतिस्पर्धामा फर्किएको छ ।

यसैबीच, जेन–जी आन्दोलनपछि राजनीतिक प्रवेश गरेका युवा, व्यवसायी, प्राध्यापक, पूर्व प्रशासक, अधिवक्ता, अभियन्तादेखि पत्रकारसम्म संलग्न भएर दर्ता भएका नयाँ दलहरूले यस निर्वाचनलाई विशेष बनाएका छन् । श्रम संस्कृति पार्टी हर्क साम्पाङको नेतृत्वमा जेन–जी विद्रोहपछिको पहिलो दर्ता दलका रूपमा चर्चामा छ । रोजगारी, उत्पादन र सांस्कृतिक समावेशितामा जोड दिने यस दलको समिति प्रायः युवा तथा जनजाति समुदायबाट बनेको छ । त्यसैगरी, उद्यमी वीरेन्द्रबहादुर बस्नेतको पहलमा गठन भएको गतिशील लोकतान्त्रिक पार्टीले रोजगारी सिर्जना, उद्यमशीलता र उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै व्यावसायिक तथा शैक्षिक पृष्ठभूमिका व्यक्तिहरू सहभागी गराएको छ ।

थारू समुदायको मुद्दामा स्थापित रेशम चौधरीको संरक्षकत्वमा नागरिक उन्मुक्ति पार्टी दर्ता हुँदा पहिचान र संघीयताको एजेण्डा फेरि बलियो भएर सार्वजनिक मञ्चमा आएको देखिन्छ । जेन–जी आन्दोलनका घाइते तथा नेतृत्वकर्तादेखि युवासम्म समेटिएको राष्ट्रिय परिवर्तन पार्टी प्रस्तुति, स्मृति र प्रतिरोधको राजनीति बोकेर उभिएको अर्को नयाँ शक्ति हो । उर्जा मन्त्री कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टी, अधिवक्ता रमणकुमार कर्ण नेतृत्वको जनादेश पार्टी, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी, पूर्व सांसद योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी तथा दलित समुदायको मुद्दालाई केन्द्रमा राखेको हाम्रो पार्टी नेपाल जस्ता दलहरूले यसपटक राजनीतिक विविधता अझै फैलाएका छन् ।

समावेशिता बलियो बनाउने उद्देश्यले महिला, दलित, युवा, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको नेतृत्वमा बनेका नागरिक सेवा पार्टी, समावेशी समाजवादी पार्टी तथा अन्य नयाँ दलहरूले सामाजिक न्याय र प्रतिनिधित्वका सवाललाई मुख्य एजेण्डा बनाएका छन् ।अर्कोतर्फ, दुर्गा प्रसाईंको समर्थनमा दर्ता भएको नागरिक बचाउ दलले प्रत्यक्ष प्रधानमन्त्रीय प्रणालीको मुद्दा उठाउँदै चुनावी प्रतिस्पर्धामा प्रवेश गरेको छ । जनमत पार्टीबाट बाहिरिएका नेताहरूले सर्वोदयदेखि जनसेवा पार्टीसम्मका नयाँ संरचना निर्माण गर्दै वैकल्पिक राजनीतिक मार्ग निर्माण गर्ने प्रयास देखिन् छ।

यसैबीच, केही दलहरू संयुक्त रूपमा एउटै चुनाव चिह्नसहित प्रतिस्पर्धा गर्ने सहमतिमा पुगेका छन् । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी–बहुजन एकता पार्टी–जनजागृति पार्टी, राष्ट्रिय मुक्ति पार्टी–जसपा–नागरिक उन्मुक्ति पार्टी, सचेत नेपाली पार्टी–नागरिक सर्वोच्चता पार्टी तथा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)–नेपाल कम्युनिष्ट पार्टी जस्ता गठबन्धनहरूले दलबीचको सहकार्य नयाँ स्वरूपमा विस्तार गरेको देखिन्छ ।

नेपालको निर्वाचन इतिहास हेरियो भने दलहरूको संख्यामा समयअनुसार उतारचढाव भए पनि राजनीतिक वैकल्पिक खोजी कहिल्यै थामिएको छैन । २०४८ मा २० दलबाट सुरु भएको बहुदलीय प्रतिस्पर्धा २०७० मा १२२ दल, २०७४ मा ५५ र २०७९ मा ६१ दलसम्म पुगेको थियो । यस पटक १२० दल दर्ता हुनु राजनीति क्षेत्रमा असन्तुष्टि, उथलपुथल र नयाँ पुस्ताको दाबीले चुनावलाई पुनः बहुस्तरीय बनाइदिएको संकेत हो । निर्वाचन आयोगले दर्ता प्रक्रियाअवधि भरि दलहरूलाई नछुटाउने मनसायका साथ निरन्तर सहजीकरण गरेको भन्दै कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको बताएका छन् ।

यसरी, पुराना शक्ति, वैकल्पिक समूह, पहिचान केन्द्रित राजनीति, उद्यममुखी दृष्टि, युवायुवतीको उभार र जेन–जी आन्दोलनको प्रतिरोध भावना सबै एकैसाथ मिसिएर आउँदै गरेको प्रतिनिधिसभा निर्वाचन २०८१ नेपाली राजनीतिक इतिहासकै विविधतम् र सर्वाधिक प्रतिस्पर्धी चरण बन्ने संकेत दिँदै अघि बढेको छ ।

१२ दलले दिएको निवेदन दर्ता प्रक्रियामा
यी हुन् चुनावका लागि दर्ता भएका १२० दल

देश विकास पार्टी

प्रगतिशील लोकतान्त्रिक पार्टी

देश भक्त समाज

नेपाल लोकतान्त्रिक पार्टी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)

राष्ट्रिय स्वतन्त्र पार्टी

आम जनता पार्टी

मंगोल नेशनल अर्गनाईजेशन

बहुजन शक्ति पार्टी

नेपाल सद्भावना पार्टी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

नेपाल मानवतावादी पार्टी

नेपाल जनता संरक्षण पार्टी

नेपाल कम्युनिष्ट पार्टी (माले)

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)

नेपाल जनता पार्टी

राष्ट्रिय समता पार्टी नेपाल

संयुक्त नागरिक पार्टी

नेपाल जनमुक्ति पार्टी

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

राष्ट्रिय यथार्थवादी पार्टी नेपाल

नेपाल परिवार दल

राष्ट्रिय जनता पार्टी नेपाल

राष्ट्रिय जनमोर्चा

समावेशी समाजवादी पार्टी नेपाल

जनप्रजातान्त्रिक पार्टी नेपाल

विकासशील जनता पार्टी

राष्ट्रिय नागरिक पार्टी

जनता समाजवादी पार्टी (जसपा)

राष्ट्रिय परिवर्तन पार्टी

नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)

संघीय लवकतान्त्रिक राष्ट्रिय मञ्च

राष्ट्रिय एकता दल

संघीय नेपाल पार्टी

जनमत पार्टी

गतिशील लोकतान्त्रिक पार्टी

नेपाली जनश्रमदान संस्कृति पार्टी

नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल)

राष्ट्रिय साझा पार्टी

परिवर्तन पार्टी

नेपाल समावेशी पार्टी

नेपाली कांग्रेस

खम्बुवान राष्ट्रिय मोर्चा

नेपालका लागि नेपाली पार्टी

सचेत नेपाली पार्टी

जनप्रिय लोकतान्त्रिक पार्टी

राष्ट्रिय विकास पार्टी

नेशनल रिपब्लिक नेपाल

युनाईटेड नेपाल डिमोक्रयाटीक पार्टी

जय मातृभूमि पार्टी

नेपाल नौलो जनवादी पार्टी

श्रम संस्कृति पार्टी

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

स्वाभिमान पार्टी

जन प्रजातान्त्रिक पार्टी

जनता प्रगतिशिल पार्टी नेपाल

नागरिक शक्ति नेपाल

नागरिक उन्मुक्ति पार्टी (नाउपा)

मितेरी पार्टी नेपाल

प्रगतिशील समाजवादी पार्टी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

तराई–मधेश लोकतान्त्रिक पार्टी

राष्ट्रिय समुन्नति पार्टी

जनादेश पार्टी नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

नेकपा (एमाले)

सार्वोदय नागरिक पार्टी

राष्ट्रवादी केन्द्र नेपाल

राष्ट्रिय जनमुक्ति पार्टी

राष्ट्रिय उर्जाशील पार्टी नेपाल

उज्यालो नेपाल पार्टी

नेपाली जनता दल

नागरिक सर्वोच्चता पार्टी नेपाल

आमुल परिवर्तन रिपब्लिकन पार्टी

जनजागरण पार्टी नेपाल

त्रिमुल नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)

इतिहासिक जनता पार्टी

राष्ट्रिय कम्युनिष्ट पार्टी

प्रजातान्त्रिक पार्टी नेपाल

सामाजिक लोकतान्त्रिक पार्टी

नेपाल कम्युनिष्ट पार्टी

नेपाल नागरिक पार्टी

राष्ट्रिय सद्भावना पार्टी

गान्धिबादी पार्टी नेपाल

राष्ट्रबादी युवा मोर्चा

नेपाल मातृभूमि पार्टी

नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टी (एकल चुनाव चिन्ह)

नागरिक सेवा पार्टी

हाम्रो पार्टी नेपाल र उज्यालो नेपाल पार्टी (एकल निर्वाचन चिन्ह)

राष्ट्रिय गौरब पार्टी साविकको नेपाल राष्ट्रिय जनएकता पार्टी

उज्जवल भविष्य पार्टी

नेपाली काँग्रेस (बिपी)

अखण्ड सुदूरपश्चिम पार्टी नेपाल

राष्ट्रिय मूक्ति आन्दोलन नेपाल

समाजवादी पार्टी नेपाल

संघीय विकासवादी पार्टी नेपाल

राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)

नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)

प्रगतिशिल नागरिक पार्टी

राष्ट्र निर्माण दल नेपाल

राष्ट्रिय जनमत पार्टी

लोक दल

सम्मुनत नेपाल पार्टी

राष्ट्रबादी एकता पार्टी

विवेकशिल साझा पार्टी

नागरिक बचाउ दल नेपाल

नेपाल जनसेवा पार्टी

उन्नत लोकतन्त्र पार्टी

देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल

आवाज पार्टी

समावेशी समाजवादी पार्टी

हाम्रो पार्टी नेपाल

नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी), नेकपा कम्युनिष्ट पार्टी (एकल चूनाव चिन्ह)

आम जनता पार्टी, जनादेश पार्टी नेपाल (एकल चुनाव चिन्ह)

सर्वोदय पार्टी

पिपुल फस्र्ट पार्टी

सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी (एकल चूनाव चिन्ह)

जन अधिकार पार्टी

जनता लोकतान्त्रिक पार्टी नेपाल

 

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन । जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यहाँ रहेका एचआईभी एड्स सङ्क्रमितमध्ये ३५ जनामा यौन रोग देखिएको पाइएको छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार विगत १० महिनामा गरिएको एक हजार ४० जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यौन रोगी भेटिएको हो । उनीहरूलाई भिरिङ्गी रोग देखिएको हो । उनका अनुसार असुरक्षित यौन सम्पर्क गर्दा सङ्क्रमितमा यौन रोग बढ्न थालेको हो ।

अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ । त्रियानब्बे जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यो रोग देखिएको हो । जिल्लामा हाल एक हजार दुई सय ४३ जना एड्स सङ्क्रमित रहेका छन् । जसमध्ये ३४ जनाले माडीको बघौडा अस्पतालबाट औषधि सेवन गरिरहेका छन् भने एक हजार २०९ जनाले भरतपुरमा रहेको एआरटी सेन्टरबाट औषधि सेवन गर्दै आएका छन् ।

विगत १० महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा ६६ जना नयाँ सङ्क्रमित भेटिएको पौडेलले जानकारी दिए । दुई सय ८५ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा एड्स सङ्क्रमित भेटिएको उनले बताए ।

उनका अनुसार यस अवधिमा भरतपुर अस्पतलाको एआरटी सेन्टरमा औषधि सेवनका लागि १०४ जना बिरामी थपिएका छन् । यहाँ थपिएका नयाँ सङ्क्रमितसहित अन्य जिल्लाबाट स्थानान्तरण भएका बिरामीसमेत यहाँबाट सेवा लिने गरेको उनले बताए ।

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यहाँबाट औषधि खाँदै आएका ६५ जना बिरामी स्थानान्तरण भएका छन् । अठ्ठाइस् जनाले औषधि सेवन गर्न छाडेको उनले जानकारी दिए । यहाँ रहेका सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भएको उनले बताए ।

एड्स रोग लागेका सङ्क्रमितलाई हेर्ने दृष्ट्रिकोणमा अझै परिवर्तन आउन नसकेको उनले बताए । सङ्क्रमितहरूलाई उपचारका लागि अस्पताल ल्याउनका लागि एम्बुलेन्सहरूलेसमेत गाह्रो मान्ने गरेका उनको भनाइ छ ।

सन्दर्भ एचआइभी एड्स दिवस: एचआईभी एड्सको त्रास: पर्यटनको दिगोपनामा ह्रास

काठमाडौँ । विश्वभर एचआईभी एड्स विरुद्धको सचेतना अभियान (डिसेम्बर १ तारिख) चलिरहेको बेला अहिले हामीलाई दुई कुराले सताइरहेको छ । पहिलो, सन् १९८८ देखि विश्वव्यापी समस्याको रूपमा देखापर्न थालेको एचआईभी एड्स अर्थात् ‘रोग प्रतिरोधात्मक क्षमताको ह्रास हुने घातक रोग’ विगत ३७ वर्षमा पनि पूर्ण नियन्त्रण हुन सकेको छैन । दोस्रो, विगतमा यसको प्रकोप नियन्त्रणका लागि केही सफल प्रयासमा विकसित देशले उपलब्ध गराउने गरेको सहयोगको क्रम घट्न जाने वा बन्द हुने क्रम चलेसँगै विश्वका कम विकसित तथा विपन्न राष्ट्रहरूमा एक किसिमको भय र त्रास बढिरहेको छ ।

सङ्क्रमितहरूलाई उपलब्ध गराइने औषधि तथा सूईको मूल्य महँगो हुने हुँदा सोको आपूर्तिमा बाधा उत्पन्न हुन गई खासगरी तेस्रो विश्वका कमजोर राष्ट्रहरूमा एचआईभी एड्स नियन्त्रण तथा रोकथामका उपायहरू कम प्रभावी वा निरर्थक बन्दै जाने आशङ्का बढेको अवस्था छ ।

पर्यटन र एचआईभी एड्स

यात्रा र सरुवा रोग अर्थात पर्यटन र महामारीजन्य प्रकोपको नितान्त घनिष्ट सम्बन्ध रहेको हुन्छ । एक ठाउँका घातक रोग अर्को ठाउँमा सहजै सर्नसक्छ । एचआईभी एड्स त्यस्तै प्रकोप वा महाविपद् हो । यात्राबाटै अफ्रिकादेखि विश्वभर फैलिँदै गएको यो एचआईभी रोग वा यसका कारण हुन जाने अन्य ‘प्रतिकारात्मक शक्ति क्षय हुने रोग’ तथा विविध विमारहरूले गर्दा अहिलेसम्म विश्वमा करिब पाँच करोड व्यक्तिको ज्यान गएको छ ।

त्यसैगरी एचआइभी एड्सपछिको अर्को विश्वव्यापी संकटजन्य ‘प्यान्डेमिक रोग’ अर्थात् कोरोना (कोभिड १९) ले पनि सन् २०१९ को डिसेम्बर महिनादेखि हालसम्म करिब ७१ लाख २० हजार मानिसलाई यो विश्वबाट लगिसकेको छ । छिटो छिटो फैलिएर विश्वका सबै मानिसमा त्रास बढाएको यो रोगलाई संक्रमण र विनाशका हिसाबले एचआईभी एड्सभन्दा पनि झनै खतरा मानियो । हामीले यसलाई महाघातक, महामरक आदिका संज्ञा पनि दिइयो । सन् २०१९ को डिसेम्बरदेखि चीनबाट तीव्र रूपमा फैलिन सुरु गरेको ‘कोभिड १९’ सन् २०२५ मा पनि विश्वका कतिपय ठाउँमा नयाँ–नयाँ ‘भेरियन्ट’को रूपमा देखापरेबाट हामी अझ पनि कोरोनाजन्य महाविपत्बाट पूर्णतः सन्त्रासरहित हुन सकेका छैनौँ ।

बढ्दो भयावहता

चाहे एचआइभी होस् वा कोरोना, मानिसमा छाला, रगत र सासका माध्यमबाट सर्ने समस्याले गर्दा पर्यटनका लागि यी आपत्जन्य वा जोखिमजन्य कुरा हुन् । एक ठाउँको पर्यटक अर्को ठाउँमा जाँदा सङ्क्रामक रोग लिएर जान्छ र त्यसबाट स्थानीय परिवेशमा रोग फैलिने त्रास हुन्छ भने त्यसले निश्चय नै पर्यटन विकासमा ठूलो अवरोध ल्याउँछ । कोभिडका बेला विश्वभर झण्डै ९५ प्रतिशत पर्यटकीय गतिविधि ठप्प हुन पुगे । पर्यटक आगमनमा पनि त्यही दरमा कटौती भयो । सन् २०२० र २०२१ मा विश्वको पर्यटन तहसनहस बन्न पुग्यो । नेपालको पर्यटनको हबिगत पनि झनै दुरुह बन्न पुग्यो । सन् २०१९ मा करिब १२ लाख पर्यटक आगमन रहेकामा सन् २०२० र २०२१ मा त्यो संख्या डेढ–दुई लाखको हाराहारीमा झर्नु भनेको नेपालका लागि अत्यन्त पीडादायी र नैराश्यताको स्थिति थियो ।

नेपालको पर्यटन विकासको प्रक्रिया र गतिमा त्यो ठूलो झट्का थियो, अनपेक्षित महासंकट नै थियो । सन् २०२२, २०२३ र २०२४ मा पर्यटनको लयलाई कम्तीमा पुरानै अवस्थामा पु¥याउने हाम्रा प्रयास भए पनि ती पूर्णरूपेण सफल हुन सकेनन् । पर्यटनको ‘रिकभरी’ हुन अझ पनि केही समय कुर्नुपर्ने भएको छ । कोभिड–१९ ले पारेको प्रभावलाई अहिलेसम्मकै अत्यन्त ठूलो प्रभाव मानिएको छ । तर एचआइभी सङ्क्रमणले कोभिडले जस्तो एक्कैपटक ध्वस्त नपारे पनि भित्रभित्र समाज खाइरहेको हुन्छ । पर्यटन समुदायलाई कमजोर र ग्लानियुक्त बनाइरहेको हुन्छ ।

पछिल्ला तथ्याङ्कहरूले भनिरहेछन् विश्वमा एचआइभीको भयावहता घटेको छैन, भविष्यमा आई पर्नसक्ने चुनौतीको ढोका बन्द भएको छैन । नेपालमा मात्रै अहिले पनि करिब ३४ हजार एचआइभी सङ्क्रमित हुनु, करिब ८ हजार सङ्क्रमितले नियमित औषधि सेवन गरिहनुपर्ने अवस्था हुनु र विश्व आर्थिक सङ्कट बढ्दै गएअनुसार वैदेशिक सहयोगको रकम घट्दै जानुले सरकारले मात्र यस्ता एचआईभी सङ्क्रमितहरूलाई नियमित औषधिको प्रबन्ध गर्न सक्ला नसक्ला भन्ने द्विविधा र संशय कायमै छ । त्यसै त हामी ऋणमा चुर्लुम्म डुबिरहेका छौँ, अझ विरामी उपचारका लागि पनि वैदेशिक ऋण खोज्नुपर्ने अवस्था आयो भने हाम्रो हालत के होला ? यस्तो स्थितिमा दिगो विकासको समग्र चक्रलाई प्रभाव त पर्छ नै त्यसमा पनि पर्यटनको चक्रमा थप दूरगामी असर पुग्छ ।

पर्यटनको रूप र धूप बढ्दै गएपछि त्यसले यौन बजारलाई बढावा दिन्छ । नाफाखोरिताको चरम नमूना ‘यौन पर्यटन बजार’ हो । हरेक विकृति त्यहाँ भेट्न सकिन्छ । ‘समाजलाई बिगार्छ’ भन्ने कुरा मान्न यो समूह कहिल्यै तयार हुँदैन । यो एउटा तीतो सत्य हो । हामीलाई सुन्न मन नलागे पनि सुन्न बाध्य बनाउने यथार्थ हो । विश्वका कतिपय देशले यस्तो यौन बजारलाई बैधता प्रदान गरेको भए पनि नेपालले हालसम्म बैधता दिएको छैन । यद्यपि, केही नीतिनिर्माता तथा व्यवसायीहरू यसको पक्षमा छन्, तर जनमानस र स्थानीय समुदायले भने यस्तो प्रस्तावको खरो विरोध गरिरहेका छन् । ५ प्रतिशतको लाभका लागि पञ्चानब्बे प्रतिशत जनताको अहित कसैले भित्र्याउनुहुँदैन । बहस हुँदैछ, भविष्यमा बैधता पाउला नपाउला, तर पनि नेपालमा अबैध रूपमा यस्ता यौनधन्दा भइरहेको कसैसामु छिपेको छैन । लुकेको सत्यका बारेमा धेरै पत्रकार तथा साहित्यकारहरूले उजागर गर्दै आएका छन् ।

विश्व अनुभव र अबको सचेतता

विश्वको अनुभवले भन्छ, महिला, पुरुष, तेस्रो लिङ्गी, फरक यौन चाहना भएका व्यक्ति आदि सबै खालका मानिसहरू रुचि वा अरुचिपूर्वक पनि यस्तो बजारमा तानिने गरेका छन् । यसमा बढी आर्थिक लाभ हुन्छ भन्ने भनाइ छ । तर पीडित तथा संक्रमितहरू यो धर्तीबाट छिट्टै माथि लाग्छन् भन्ने कुरा लोभीपापीले बुझेका हुँदैनन् । ‘पैसैपैसा ’ भन्ने मदनकृष्ण श्रेष्ठको गीतजस्तै त्यो जमातले पैसाभन्दा यो दुनियाँमा अर्को महत्वपूर्ण कुरा छ भन्ने कुरा ख्यालै गर्दैन । यौन व्यवसाय चलाएर रातारात ‘कार चढ्न आतुर’ त्यस्तो जमातलाई अब छुटकारा दिनुहुँदैन । नवपुस्ता (जेनजी) ले पनि यस सवालमा एउटा ध्यान दिनुपर्ने बेला भएको छ ।

सबैले बुझ्नुपर्छ, बहुव्यक्तिसँग यौनसम्बन्ध कायम हुनु भनेको यौनजन्य रोगको सहज आमन्त्रण हुनु हो । यौनजन्य रोगमा एचआईभी एड्स सबैभन्दा घातक रोग भएकाले एक जनामा सर्नेवित्तिकै त्यस्तो रोग केही दिन वा महिनामा हजारौँमा सर्न सक्छ । पर्यटनको केन्द्र वा गन्तव्यमा यस खालको नकारात्मक खबर आयो भने त्यो ठाउँ सदाका लागि पर्यटनबाट वञ्चित हुनसक्छ । टिकाउ पर्यटन अर्थात दिगो पर्यटन व्यवस्थापनमा त्यो सन्दर्भ महाचुनौतीको रूपमा देखा पर्दछ । थाइल्याण्डजस्ता देशले यस मामिलामा पछिल्लो समय केही सचेतता देखाउन थालेका छन् । पुँजीवादी र भौतिक संसारमा लिप्त प्रवृत्ति र संस्कारले यौन उपभोगवादलाई ‘किन्ने बेच्ने वस्तु’ र ‘किन्ने बेच्ने सेवा’ ठान्ने प्रवृत्ति नहटेसम्म पर्यटन जगतबाट प्रत्यक्ष होस् वा अप्रत्यक्ष, यस्तो यौन व्यापार हटाउन कठिन छ । कतिपयले यसै माध्यमलाई पर्यटनको ‘दिगो स्रोत’ पनि ठान्न सक्छन् । त्यो क्षणिक हो ।

तसर्थ, हामीले आजैदेखि सोच्नुपर्छ बुद्धको देश, सीताको देश, भृकुटीको देश, सगरमाथाको देश हाम्रो महागौरवमय नेपालमा त्यस खालको पर्यटनले बढावा पाउनु हुँदैन । यहाँको प्रकृति, यहाँको संस्कृति, यहाँको इतिह्रास र यहाँका हजारौं रैथाने खानापिना र नाना–गाना–बजानाले विश्वका जुनसुकै कुनाका पर्यटकलाई दुई हप्ता बसाउन काफी छन् । केही विन्दु र कुनामा चलाउन आँटिने यौनकर्ममय पर्यटन हाम्रो चाहना र नीतिगत प्राथमिकता कहिल्यै पनि हुनुहुँदैन । एड्सले ग्रस्त नेपाल हाम्रो चाहना होइन, यौनकर्मीको प्रदूषित भूमि नेपाल बनाउनु पनि छैन । चाहे शहर होस्, चाहे गाउँ होस्, व्यावसायिक यौनकर्म हुने ठाउँमा सरकार र स्थानीय समुदायले कडा निगरानी राख्नुपर्ने आवश्यकता छ । विश्वभर एड्सविरुद्धको सचेतना दिवस मनाइरहेको बेला आजको मूल सन्देश पनि यही हो । हामी सबैलाई चेतना भया । रासस (लेखक दिगो पर्यटन विकासविज्ञ हुन्)

बढ्यो लघुवित्तको कर्जा सीमा, अब १५ लाखसम्म पाइने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा बढाइएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाख पुर्‍याएको हो । यसअघि लघुवित्तले धितोमा ७ लाख रुपैयाँसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था थियो ।

त्यस्तै लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीको कर्जा भुक्तानीमा परेको समस्यालाई ध्यानमा राख्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता रहेको तर कर्जा प्रवाह न्यून रहेपछि राष्ट्र बैंकले लघुवित्तहरुलाई पनि कर्जाको सीमा फराकिलो बनाएको हो ।

 

 

 

एसीसी यू–१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ ।

युएईको अजमानस्थित करवान मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराएर उपाधि नजिक पुगेको हो । यस्तै युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यसैबीच फाइनल यात्रा तय गरेसँगै नेपाल र युएई आगामी एसिया कप खेल्न छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनल पुग्ने टोली सिधै एसिया कपका लागि छनोट हुने प्रावधान छ ।

यस्तै सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने छ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपका लागि छनोट हुने छ । तेस्रो स्थानका लागि आजै मलेसिया र ओमानबीच खेल हुनेछ । एसीसी पुरुष यू–१९ प्रिमियर कपमा १४ टोलीको सहभागिता रहेको थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ ।

जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

चितवन।  गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरूले परिचय पत्रसमेत लिएका छन् ।

जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरूले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमले बताए ।

उनका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरू परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उनले भने, ‘कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।’ जेन-जी आन्दोलनका जिल्ला नेतृत्वहरूले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ ।

स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरूले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उनले बताए  ।

‘स्थायी ठेगाना भएको ठाउँबाट राहत रकम नबुझेको प्रमाण पेस गरे हामीले राहत र परिचय पत्र दिन्छौँ’, उनले भने ।  घाइतेहरूको वर्गीकरणको काम यही साताभित्र गर्ने तयारी गरिएको उनले जानकारी दिए । घाइतेलाई राहत स्वरुप सरकारले रु २० हजार दिने निर्णय गरेको थियो ।

मौद्रिक नीति समीक्षा : नीतिगत दर घट्यो, व्यक्तिगत अधिविकर्ष कर्जा वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले लचिलो नीति अवलम्वन गर्दै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ ।

व्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । व्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत कायम राखिएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत कायम गरिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको व्याजदर व्यक्तिगत मुद्दती निक्षेपको व्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिएको छ भने बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरिएको छ । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरिने, लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था समेत मिलाइएको छ ।

त्यस्तै समीक्षामार्फत हालैको बाढी पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम÷व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एक पटकको लागि पुनरसंरचना-पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ । जेन–जी आन्दोलनपश्चात् बनेको सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकुल बनाउन गरेका नीतिगत प्रयास र यस बैंकले अवलम्बन गरेको मौद्रिक सहजताबाट अर्थतन्त्र क्रमशः सुदृढ हुँदै जाने अपेक्षा राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकको समीक्षा प्रतिवेदनमा भनिएको छ, ‘जेन–जी आन्दोलनपश्चात बनेको सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकूल बनाउन गरेका नीतिगत प्रयास र यस बैंकले अवलम्वन गरेको मौद्रिक सहजताबाट अर्थतन्त्र क्रमशः सुदृढ हुँदै जानेछ ।’ अन्तर्राष्ट्रिय साख रेटिङ एजेन्सी फिचले हालै सम्पन्न गरेको नेपालको सार्वभौम साख रेटिङमा गत वर्षकै रेटिङ (बीबी–) लाई निरन्तरता दिएको छ । राष्ट्र बैंकका अनुसार जेनजी आन्दोलनको क्रममा केही होटलहरूमा क्षति भए पनि नेपालको शान्ति सुरक्षामा पर्यटक आश्वस्त देखिएकोले बाह्य पर्यटक आगमन बढेको छ । नेपाल पर्यटन बोर्डबाट प्राप्त विवरणअनुसार सन् २०२४ को दस महिनामा ९ लाख ४१ हजार वाह्य पर्यटक भित्रिएकोमा सन् २०२५ को सोही अवधिमा करिव ९ लाख ४४ हजार वाह्य पर्यटक भित्रिएका छन् ।

जलविद्युत उत्पादनमा प्रगति भई आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा थप ३०९.२ मेगावाट जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चतर्फ मूलतः तयारी नपुगेका र साना आयोजनाहरू कटौती गरी राष्ट्रिय प्राथमिकताप्राप्त र सम्पन्न हुने चरणमा रहेका आयोजनाहरूको कार्यान्वयन एवम् क्षतिको पुनर्निर्माणमा प्राथमिकता दिएकोले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास राष्ट्र बैंकले लिइएको छ । यसको बाबजुद धानलगायत वर्षेवाली लगाउने समयमा मनसुन ढिलो सुरु भएको र त्यसको केही अन्तरालमा भारी वर्षा भएको कारण बाढी पहिरोले कृषि लगायतका क्षेत्रहरू प्रभावित भएका छन् । समग्रमा चालु आर्थिक वर्षको आर्थिक वृद्धि लक्ष्यभन्दा केही कम रहने प्रारम्भिक अनुमान छ ।

नेपाल राष्ट्र बैंककाअनुसार पछिल्ला महिनाहरूमा भारतमा उपभोक्ता मुद्रास्फीति लक्ष्यभन्दा न्यूनस्तरमा रहँदै आएको छ । आर्थिक वर्ष २०२५/२६ मा भारतको मुद्रास्फीति २.६ प्रतिशतमा सीमित हुने भारतीय रिजर्भ बैंकको प्रक्षेपण छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा थप सहजता आउने प्रक्षेपण छ । आन्तरिक उत्पादनतर्फ धानलगायत वर्षेवालीको उत्पादन केही कम हुनुको साथै आगामी निर्वाचनमा हुने खर्चले मुद्रास्फीतिमा केही चाप पार्ने देखिन्छ । फलस्वरूप आर्थिक वर्ष २०८२/८३ मा औसत उपभोक्ता मुद्रास्फीति ४.० प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या क्रमिक रूपमा वढ्दै गएको छ । आयातको तुलनामा विप्रेषण आप्रवाहको विद्यमान प्रवृत्ति कायम रहेमा चालु आर्थिक वर्षको बाँकी अवधिमा समेत विदेशी विनिमय सञ्चिति सुविधाजनक स्तरमै रहने अनुमान राष्ट्र बैंकले गरेको छ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा अधिक तरलता र न्यून ब्याजदरको अवस्था कायमै रहेको र निक्षेप तथा कर्जाका भारित औसत व्याजदर निरन्तर घट्दै गएका छन् । तथापि, निक्षेपको भारित औसत वास्तविक व्याजदर भने धनात्मक नै रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात बढ्दै गए पनि औसत पुँजी पर्याप्तता अनुपात तोकिएको न्युनतम सीमाभन्दा बढी रहेको छ ।

तस्बिरमा हेर्नूहोस्, तोरीले पहेलपुर चितवन

काठमाडौँ । खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख भाग हो । जहाँ धान, गहुँ, मकै, लगायत तोरी उत्पादन अत्यधिक हुने गर्दछ ।

यतिबेला चितवन जिल्लाका अधिकांश क्षेत्रमा तोरी फुलेर पहेलपुर भएको छ ।

कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार ५६७ दशमलब ९४ मेट्रिकटन तोरी उत्पादन भएको चितवनमा यस वर्ष उत्पादन अझ बढ्ने अनुमान गरिएको छ । गत वर्ष १४ हजार १७४ हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो।

आर्थिक वर्ष २०७९\०८० मा १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा १९ हजार एक सय आठ मेट्रिकटन तोरी उत्पादन भएको थियो। त्यसैगरी आर्थिक वर्ष २०७७\०७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा १२ हजार दुई सय १८ मेट्रिकटन तोरी उत्पादन भएको थियो।

आव २०७८\०७९ मा १३ हजार दुई सय ७० क्षेत्रफलमा तोरी खेती गरिएकामा १४ हजार आठ सय ६२ मेट्रिकटन तोरी उत्पादन भएको थियो। क्रमशः तोरी उत्पादन र खेती गर्ने क्षेत्रफल विस्तार कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

पछिल्लो समयमा जिल्लाका किसान नगदेबालीतर्फ आकर्षित हुँदै गर्दा तोरीको क्षेत्रफल र उत्पादन दुबै वृद्धि भएको हो । निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा जङ्गली जनावरले क्षति नपुर्याउने भएकाले पनि चितवनमा तोरी खेतीतर्फ किसानको आकर्षण बढेको हो।

तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत कारण थिए। कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टरमा झरेको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

बजारमा तेलको मूल्य वृद्धि हुनु, बजारमा पाइने अरु प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले किसानलाई तोरी खेती तर्फ आकर्षण बढेको हो ।

चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली, जितपुर क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ। चितवन तोरीका लागि प्रख्यात जिल्ला हो ।

 

चुनावको तयारीमा लाग्नु पर्ने बेला कांग्रेस महाधिवेशन कति सम्भव ?

काठमाडौँ । करिब तीन महिनादेखि महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको माग र नेतृत्वबीचको तानातानमै अल्झिएको नेपाली कांग्रेस अहिले विवाद समाधानतर्फ अघि बढेको छ । लम्बिएको विवाद रोक्न सभापति शेरबहादुर देउवाको सक्रियतापछि शीर्ष तहमा पुस भित्रै नियमित महाधिवेशन गर्ने सहमति बनाइए पनि त्यसलाई व्यवहारिकरूपमा सम्पन्न गर्न सकिने कि नसकिने भन्नेमा नेताहरू बीच असमझदारी यथावत छ ।

कांग्रेसभित्र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएपछि विवाद एकाएक चर्किएको थियो । शेखर कोइराला समूह, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षीय नेताहरू विशेष महाधिवेशनको भूमिकामा उभिए पनि फागुनमा सम्भावित निर्वाचन नहुने आंकलनले अब नियमित महाधिवेशनमै सहमति खोज्ने वातावरण बनेको नेता बताउँछन् ।

नेताहरूका अनुसार संसद् विघटन प्रकरणमा सर्वोच्चको निर्णय नआइसक्दा, तयार वातावरण नदेखिँदा र फागुन २१ का लागि तोकिएको निर्वाचन समयमै हुने आशंका कमजोर बनेपछि पुसमा महाधिवेशनको कार्यतालिका ल्याउने सहमति तुलनात्मक रूपमा सजिलो बनेको हो। पार्टी विभाजनको जोखिम बढ्दै गएको स्थितिमा कम्तीमा वडा–क्षेत्र तहसम्म अधिवेशन प्रक्रिया सुरु गर्न सके महाधिवेशन केही समय पछाडि सार्न सकिने विकल्प समेत नेताहरूले देखेका छन् । तर कार्यान्वयनको मोर्चामा स्पष्टता छैन । गगन थापा निकट केन्द्रीय सदस्य प्रकाश रसाइली कार्यतालिका आए पनि चुनावअघि महाधिवेशन पूरा हुन कठिन हुने तर्क गर्छन् । उनका अनुसार ‘चुनावअघि अधिवेशन हुन सक्दैन, विशेष गर्नुपर्छ’ भन्ने धारणा बोकेका प्रदेश–जिल्ला–वडास्तरका नेताहरू नै फास्ट ट्रयाकमा लागेनन् भने महाधिवेशन फेरि पनि धकेलिन सक्छ ।

यता प्रदीप पौडेल, जसले यसअघि नै पुसमा महाधिवेशन गर्न लिखित प्रस्ताव पेस गरेका थिए, अहिले कार्यतालिका आउँदा समयको अत्यधिक चाप बढेको बताउँछन् । उनका अनुसार सदस्यता वितरण र सम्बन्धित प्रक्रियाहरू तत्काल टुंग्याउन सके मात्र महाधिवेशन व्यवहारिक तवरले सम्पन्न हुनसक्छ, नत्र ‘घोषणा मात्र’ मा सीमित हुन सक्ने आशंका बढेको छ । शेखर कोइराला समूहकी नेतृ सरिता प्रसाईं भने डेढ महिनामा पनि महाधिवेशन सम्भव रहेको दाबी गर्छिन् । उनका अनुसार माओवादी र एमालेले महाधिवेशन पूरा गरिसक्दा कांग्रेस यथास्थितिमा चुनावमा जाँदा जनतामा नकारात्मक प्रतिक्रिया बढ्न सक्छ, त्यसैले चुनावअघि नै अधिवेशन आवश्यक छ ।

देउवा निकट नेता नैनसिंह महर पनि सबै पक्ष एकताबद्ध हुन सके चुनावको चापका बीच पनि पुसमै महाधिवेशन सम्भव छ भन्नेमा विश्वस्त छन् । ‘केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णय अहिलेको आवश्यकता हो,’ महरको भनाइ छ । त्यस्तै नेता योगेन्द्र चौधरीले पनि असहमतिको मनोविज्ञान छोडेर सबैले सहयोग गरे चुनावअघि नै महाधिवेशन पूरा गर्न सकिने तर्क प्रस्तुत गरेका छन् ।

आज बस्दै गरेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६–२९ भित्र महाधिवेशन गर्ने कार्यतालिका पेस गर्ने तयारी छ । तर समानुपातिक उम्मेदवार सूची बुझाउने पुस १४–१५, राष्ट्रियसभा सदस्य उम्मेदवारी दर्ता पुस २३ र आगामी फागुन २१ को निर्वाचन कार्यतालिकासँग दौडिनुपर्ने बाध्यताका कारण महाधिवेशन कति यथार्थ रूपमै सम्भव छ भन्ने जिज्ञासा कांग्रेसभित्र गहिरो बनेको छ । केन्द्रीय नेताहरू आशावादी छन्–यदि पार्टीभित्र आजकै निर्णय सर्वसम्मत भयो भने महाधिवेशन सम्भव छ । तर मूल प्रश्न उस्तै छ—कांग्रेसले सहमति बनाएझैं तीव्र गतिमा काम गर्न सक्छ कि फेरि मतभेद र प्रक्रियागत ढिलाइमै फस्छ ? देशको राजनीतिक अनिश्चितताबीच कांग्रेसको निर्णय आजै निर्णायक मोडमा जाने अपेक्षा गरिएको छ ।

मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमा आज (सोमबार) सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा विहीबारदेखि शुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि सुनुवाइमा राखिएको हो । मुख्यमन्त्री नियुक्तिविरुद्ध दुईवटा सार्वजनिक सरोकारका र मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यहरुले रिट दर्ता गरेका थिए ।

तीनवटै रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरिसकेको छ । उक्त रिटमा यसअघि मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वको कुनै पनि निर्णय नगर्न नगराउन भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको थियो । तत्कालीन प्रदेश प्रमुखले होटलमै एमालेका सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरेपछि यो विवाद सर्वोच्च पुगेको थियो ।

 

युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनु पर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनु पर्ने बताएका छन् । समाजवादी युवा संघ मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हरेक परिवर्तनमा युवाहरुले नेतृत्वका साथै शहादत समेत दिँदै आएको बताएका हुन् । उनले युवाहरुले सरकारमा पनि नेतृत्व गर्न पाउनु पर्ने बताए । युवाहरुको सहभागिता बिना कुनै पनि आन्दोलन सम्भव नरहेको जिकिर गरे । युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष यादवले युवाहरुलाई उमेरले मात्र नभई सोच र चिन्तनले समेत युवा बन्नुपर्ने बताए ।

अग्रगामी क्रान्तिकारी सोच बोकेकाहरुलाई मात्र युवा भन्न सकिने उनको भनाई थियो । उनले भने, ‘हरेक आन्दोनलमा युवाहरु नेतृत्व गर्दै आएका छन्, उनीहरुको सहभागिता बिना विश्वको कुनै पनि आन्दोलन सम्भव भएको छैन । उनीहरुले सत्ताको पनि नेतृत्व गर्नुपर्छ ।’ आसन्न प्रतिनिधि सभाको निर्वाचन र संघर्षलाई साथसाथ अघि बढाएको जसपा नेपालले सम्मेलनमार्फत निर्वाचन केन्द्रित तयारीको लक्ष्यसहित युवाहरुलाई प्रशिक्षत गरेको छ ।

चालकसहित म्याग्दी नदीमा खस्यो ट्रक

म्याग्दी । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् । सिमेन्ट बोकेर भैरहवादेखि दरवाङ जाँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २ः३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो ।

ट्रकसहित चालक पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा म्याग्दी नदीमा खसेका थिए । प्रहरी निरीक्षक सागर तिमिल्सिना र सिङ्गा तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको १३ जना प्रहरीको टोलीले म्याग्दी नदीको पानीमा खसेको ट्रकभित्र रहेका चालक खाम्चालाई उद्धार गरेको हो । निधारमा चोट र शरीरको विभिन्न भाग ददारिएको अवस्थामा उद्धार गरिएका चालक खाम्चाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार चालकको अवस्था खतरामुक्त छ । नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ । प्रहरीका अनुसार ट्रकमा तीन सय ४० बोरा सिमेन्ट थिए । केही बोरा नदीमा खसेको र केही बोरा भिरमा अड्किएको छ ।
फापरखेतको पहिरोले बर्खायाममा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक दैनिकजसो अवरुद्ध बनाउने र अन्य समयमा दुर्घटनाको जोखिम बनाएको छ । उक्त ठाउँमा गत असोजमा पनि सिमेन्ट बोकेको ट्रक सडकबाट खसेको थियो ।

सरकारी सम्पति तोडफोड र आगजनीको आरोपमा पूर्व सांसद मोदीका स्वकीय सचिव पक्राउ

काठमाडौं । जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा पूर्व सांसद अमनलाल मोदीका स्वकीय सचिव पक्राउ परेका छन् । विघटित प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) का सांसद मोदीका स्वकीय सचिव ताजिम अन्सारी तोडफोड र आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । उनीसहित ५ जनालाई मोरङ जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा आइतबार पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका अनुसार अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरूण साह सोनार पक्राउ परेका छन् । अन्सारी आगजनीमा संलग्न भइरहँदा उनी तत्कालिन माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीका स्वकीय सचिव थिए। मोदी मन्त्री हुँदा पनि उनी स्वकीय सचिवको जिम्मेवारीमा थि ए। घटनामा उनको प्रत्यक्ष संलग्नता देखिएको भिडियोहरू सार्वजनिक भएका थिए ।

अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडका क्रममा नेपाल प्रहरीको टोपी लगाएर उल्लास मनाएको भिडियो पनि बाहिरिएको थियो । आइतबार पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । अन्सारी लगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवाहरूलाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ । मोरङका सरकारी भवनहरूमा आगजनी गर्ने २१ जना यसअघि नै पक्राउ परिसकेका छन् । पूर्व सांसद मोदीले भने अन्सारी अहिले आफ्नो स्वकीय सचिव नरहेको बताएका छन् । ‘म मन्त्री हुँदा उनी मेरो स्वकीय सचिव थिए । तर पछिल्लो समयमा उनी थिएनन् । विनोद सिंह छन्,’ मोदीले भने ।

 

जनकपुरमा महिलाको शंकास्पद मृत्यु

जनकपुरधाम । जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झा गत बिहीबार राति मृत फेला परेकी थिइन् । घरका सदस्यहरुले रोशनीले पासो लगाएर आत्महत्या गरेको जानकारी माइती पक्षलाई दिएका थिए । माइती पक्षले भने घरकै सदस्यहरु मिलेर रोशनीको हत्या गरेको आरोप लगाएको छ ।

रोशनीको माइत घर धनुषाको नगराइन नगरपालिका २ जटही हो । उनको चार वर्ष अघि सामाजिक परम्परा अनुसार प्रशान्त मिश्रसँगको बिहे भएको थियो । रोशनीका पति प्रशान्त मधेश प्रदेशको नीति तथा योजना आयोगका कर्मचारी हुन् । माइती पक्षले हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा रोशनीका पति प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्रविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले भने माइती पक्षबाट असुरक्षित भएकाले आफूहरुले लिएर गएको बताउँछन् ।

उनले घटनाबारे अनुसन्धान जारी रहेको बताए । अहिलेसम्म मृतकको घाँटीमा डाम मात्र देखिएको बताउँदै उनले पोस्टमार्टम रिपोर्ट पश्चात मात्र हत्या हो कि आत्महत्या हो भनेर निष्कर्षमा पुगिने बताए । रोशनीका मामा प्रदीप चौधरी भने घटनाको प्रकृति हत्या गरेको जस्तो देखिएको बताउँछन् । प्रमाण नष्ट गर्न उनका कपडाहरु पनि जलाइएको बताउँदै उनी भन्छन्, ‘हामीलाई भान्जीको हत्या भएको शंका छ । त्यसैले सत्यतथ्य बाहिर ल्याउनुपर्छ । दोषीहरुलाई कडा कारबाही हुनुपर्छ,’ उनी भन्छन् ।

 

बिराटनगरमा आज नेकपाको सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज (सोमबार) कोशी प्रदेशस्तरीय सन्देश सभा गर्दैछ । प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने विशेष सभालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू आज विराटनगर आउन लागेका हुन् ।

एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउन सातै प्रदेशमा सभा गर्ने क्रममा आज कोशी प्रदेशको विराटनगरमा सभा गर्न लागिएको हो ।जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा आयोजना हुने नेकपाका स्थानीय नेताहरुले बताएका छन् ।

१० हजार समर्थकलाई उपस्थित गराउने दाबी उनीहरुले गरेका छन् । सुदूरपश्चिम, लुम्बिनी गण्डकी प्रदेशमा भने नेकपाले सभा सकेको छ । सभामा प्रमुख वक्ताका रूपमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायत नेताहरू रहेका छन् ।

नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, आज यूएईसँग भिड्दै

काठमाडौं । एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज (सोमबार) नेपाल र आयोजक यूएई भिड्दै छन् । खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ ।

अस्ती मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

त्यस्तै, ओमानलाई पराजित गर्दै यूएई फाइनलमा पुगेको हो । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुनेछ । फाइनलमा पुगेका नेपाल र यूएई दुवै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भइसकेका छन् ।

परिवारले फरक जातका प्रेमीको हत्या गरेपछि युवतीले गरिन् शवसँग बिहे

काठमाडौं । भारतको महाराष्ट्र प्रदेशस्थित नान्देडमा २० वर्षीया युवतीले हत्या गरिएका प्रेमीको शवसँग विवाह गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार घटना नान्देडको इतवारा क्षेत्रको हो । जहाँ आँचल नामकी युवतीले फरक जातका २२ वर्षीय सक्षम टेटे नामका युवकसँग प्रेम गर्थिन् ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाह गर्न चाहन्थे, तर सक्षम फरक जातका भएकाले आँचलको परिवारले यो सम्बन्धलाई अस्वीकार गर्‍यो । परिवारले आँचललाई उनीबाट अलग हुन दबाब दिइरहेको थियो ।

यसैबीच जब आँचलले उनीसँग विवाह गर्न लागेको चाल पाए तब उनका दाजुभाइ र बुबाले बिहीबार टेटलाई भेटघाटका लागि भन्दै बोलाएर पहिले कुटपिट गरे, त्यसपछि टाउकोमा गोली हाने र अन्त्यमा टाउको ढुंगाले किच्दै मारे । यसपछि सक्षम टेटेको अन्तिम संस्कार गर्ने प्रक्रिया चलिहरको बेला आँचल उनको घर पुगिन् ।

उनले सक्षमको शरीरमा हल्दी लगाइन्, अनि उनको हातमार्फत आफ्नो निधारमा सिन्दूर लगाइन् र प्रेमीको मृत शरीरसँग विवाह गरेको घोषणा गरिन् । त्यसपछि उनले आफ्नो बाँकी जीवन उनकै घरमा उनकी श्रीमतीका रूपमा बस्ने निर्णय गरिन् । यसपछि हत्यारा बुबा र दाजुभाइलाई मृत्युदण्डको माग गर्दै उनले भनिन्, ‘उनको मृत्युमा पनि हाम्रो प्रेमले जित्यो र मेरा बुबा र दाजुभाइले हारे ।’

उनले अगाडि भनिन्, ‘मैले यसकारण उनीसँग विवाह गरेँ, किनभने सक्षमको मृत्यु भए पनि उनको प्रेम जीवित छ ।’ यसैबीच प्रहरीले हत्या घटनामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूमा गजानन बालाजिराव मामिलवाड, साहिल मामिलवाड, हिमेश मामिलवाड, जयश्री मदनसिंह ठाकुर, सोमेश लाखे र वेदान्त कुन्डेकर छन् । घटनाबारे थप अनुसन्धान जारी छ ।

कांग्रेसको बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका टुंग्याउने तयारी

काठमाडौं । लामो समयदेखि पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) दिउँसो २ बजेदेखि सानेपास्थित पार्टी मुख्यालयमा बस्दैछ । १५औं महाधिवेशनको कार्यतालिकालाई अन्तिम रूप दिने उद्देश्यसँगै बस्न लागेको बैठकलाई निर्णायक चरणको रूपमा हेरिएको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूको उपस्थिति रहनेछ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी विस्तृत कार्यतालिका बैठकमा पेस गर्ने तय भएको पार्टी स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसले पुस अन्तिम साताभित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने तयारी गर्दै आएको छ । प्रारम्भिक योजना अनुसार पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव तयार पारिएको छ । तर नियमित महाधिवेशन र विशेष महाधिवेशन दुवै पक्षका नेताहरूबीच सहमति नजुट्दा अन्तिम निर्णय बारम्बार ढिलिएको हो ।

गत असोज अन्त्यबाट चलिरहेको बैठकहरुमा सहमति नजुटेपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । आम निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने देउवाको धारणा र मध्यमार्गी प्रस्तावहरू पछि नजिकिएका नेताहरूको सहमतिबाट आजको बैठक निर्णायक बन्न सक्ने देखिएको छ ।

असोज २९ गते विशेष महाधिवेशन बोलाउन मागसहित निवेदन दर्ता भएपछि पुस २८ गतेभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने प्रावधानले पार्टीमा थप दबाब सिर्जना भएको छ । यही कारण पुस २७ देखि महाधिवेशन चलाउन सकिने वैकल्पिक समयतालिका तयारी भइरहेको र आजको बैठकमा औपचारिक रूपमा टेबुल हुनसक्ने एक नेताले बताएका छन् ।

महामन्त्री गगन थापा नेतृत्वको समूहले समेत सबै शीर्ष नेताहरू इमानदारीपूर्वक अघि बढे पुसभित्रै महाधिवेशन सम्भव हुने धारणा राखेपछि सभापति देउवाले कार्यबाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन प्रस्ताव तयारी गर्न निर्देशन दिएका हुन् ।

पार्टीभित्र विशेष महाधिवेशनको माग फिर्ता हुने संकेत देखिन थालेसँगै नियमित महाधिवेशनको कार्यतालिकामा सहमति बन्ने वातावरण तयार हुँदैछ । यसैले आजको केन्द्रीय समिति बैठकबाट आधिकारिक कार्यतालिका टुंग्याई कांग्रेस महाधिवेशनतर्फ औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

विधुवा नारीको कथामा बन्यो ‘नैना’

काठमाडौं । नेपाली टेलिश्रृंखला ‘नैना’ चाँडै प्रदर्शन हुने भएको छ । विष्णु रिजालको लेखन र निर्देशन रहेको टेलिश्रृंखला विधुवा नारीको कथामा आधारित रहेको छ ।

श्रृंखलामा स्वनिका बाँस्तोला, खेम पाण्डे, रश्मी भट्ट, अस्मिता बस्नेत, सुरेश थापा (दर्शाने), बद्री पुडासैनी, विक्रम लामा, अनिता श्रेष्ठलगायत कलाकारहरुको अभिनय रहेको छ ।

खेम पण्डित निर्माता रहेको ‘नैना’ ले नेपाली समाजमा विधुवा नारीले भोग्नु पर्ने दुःख, पीडा र समाजले लगाउने विभिन्न खालका लाञ्छनालगायतका विविध पाटोलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । ‘नैना’ टेलिश्रृंखलाले विधुवा नारीको दुःख पीडालाई समाजका पण्डित–पुरोहित वर्गले कसरी संरुक्षण दिइरहेका छन् भन्ने कुरा समेत रहेको लेखक–निर्देशक विष्णु रिजालले जानकारी दिए ।

सुहाङ नेम्वाङ इलामबाट एमाले महाधिवेशन प्रतिनिधि, युवा संघका प्रवक्ता पनि सर्वसम्मत

काठमाडौं । नेकपा एमाले इलाम जिल्ला कमिटीले दुवै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । इलाम १ र २ बाट २० जना महाधिवेशन प्रतिनिधि निर्विरोध भएका हुन् ।

दुई वटा प्रतिनिधि सभा रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका छन् । इलाम–१ बाट युवातर्फ निरोज पौडेल चयन भएका छन् । पौडेल युवा संघका प्रबक्ता समेत हुन् ।

महिलातर्फ उमादेवी सुनुवार, सकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध भएका छन् । खुलातर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन भएका छन् । इलाम–२ बाट युवातर्फ रामप्रसाद सुवेदी (रविन्द्र) चयन भएका छन् । महिलातर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बु र पबिमाया राई चयन भएका छन् ।

विघटित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङ खुला तर्फबाट प्रतिनिधि चयन भएका छन् । नेम्वाङ सहित केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । दलित कोटाबाट देवेन्द्र विश्वकर्मा पनि निर्विरोध प्रतिनिधि चयन भए ।

यी हुन् इलामबाट चुनिएका एमाले महाधिवेशन प्रतिनिधि

निर्वाचन क्षेत्र नं. १
– खुल्ला तर्फ
१ काजिमान कागते
२ खम्बा सिंह
३ दिपक थेबे
४ उदयबहादुर राई
५उमेश गुरुङ
– युवातर्फ
१ निरोज पौडेल
– महिलातर्फ
१ साबित्रा शिवा
२ सकुन्तला लेप्चा
३ उमादेवी सुनुवार
निर्वाचन क्षेत्र नं. २
– खुल्लातर्फ
१ गणेश बराल
२ सुहाङ नेम्बाङ
३ केशब धैराली
४ महेश बस्नेत
५ दिपेन्द्र खनाल
६ हेमन्त राई
– युवातर्फ
१ रबिन्द्र सुबेदी
– महिलातर्फ
१ दिलु लावती
२ पबीमाया राई
३ टीकादेबी घिमिरे

कर्णालीलाई हराउँदै काठमाण्डू ‘प्लेअफ’ नजिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई हराउँदै काठमाडौँ गोर्खाज ‘प्लेअफ’ नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (आइतबार) कर्णालीलाई पाँच विकेटले हराएसँगै काठमाडौँ अंक तालिको दोस्रो स्थानमा उक्लिएको हो ।

एनपीएल सिजन–२ मा काठमान्डु गोर्खाजले चौंथो जित निकालेको हो । आफ्नो छैटौं खेलमा काठमाण्डुले कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्‍यो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । काठमाण्डुको जितमा विदेशी ब्याटरले संयमित ब्याटिङ गरे । जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए ।

जोन ४१ रनमा आउट हुँदा जेरार्ड ४३ रनमा अविजित रहे । वेन चाल्र्सवर्थ ३४, मिलिन्द कुमार १५, आकाश त्रिपाठी ८ र रसिद खान ० रनमा आउट भए । बलिङमा कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो। कर्णालीका लागि गुल्सन झाले आक्रामक ब्याटिङ गरे । उनले २२ बलमा अविजित ४९ रन बनाए ।

मार्क वाट ३०, पवन सर्राफ ३५, नाजिबुल्लह जाद्रान १२, प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १, कप्तान सोमपाल कामी ६, दीपक डुम्रे १० रनमा आउट भए ।बलिङमा काठमान्डुका रशिद खानले २, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक-एक विकेट लिए । योसँगै एनपीएलमा काठमाण्डुले ६ खेलमा चौथो जित दर्ता गरेको छ । कर्णालीले भने चौथो हार व्यहोरेको छ । ५ खेलमा कर्णालीले एक मात्र जित निकालेको छ ।

कञ्चन विच्छाको सांसद पद खारेज गर्न राप्रपाको पत्र

जनकपुरधाम । पार्टीको निर्देशन विपरीत मधेशका वन तथा वातावरण मन्त्री बनेकी कञ्चन विच्छालाई प्रदेशसभा सदस्य मुक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेश सभालाई पत्राचार गरेको छ ।

राप्रपाबाट एक मात्र प्रदेशसभामा समानुपातिक सांसद रहेकी विच्छा गत २४ कात्तिकमा संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । उनलाई ८ मंसिरमा मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

राप्रपाले उनलाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । नबाहिरिएपछि स्पष्टीकरण समेत सोधेको थियो । पार्टीको नीति नियमको अटेर गरेपछि प्रक्रिया पुर्‍याए राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै हटाउन राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको हो ।

राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीको हस्ताक्षरसहित प्रदेश सभालाई पत्र पठाइएको हो । आजै पत्र प्रदेश सभा सचिवालयलाई प्राप्त भएपछि उपसभामुख बबिता राउत ईशरलाई बुझाइएको सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । उपसभामुख ईशरले पत्र प्राप्त गरेको र त्यस बारे कर्मचारीसहित कानुन विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गर्ने बताइन् ।

रवि लामिछानेलाई यो सरकारले पनि पेल्यो भने सडकमै उत्रिन्छौं : डीपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डीपी अर्यालले सरकारले पार्टी अध्यक्ष रवि लामिछानेप्रति कुनै प्रकारको पूर्वाग्रह देखाए प्रतिवाद गर्न पछि नहट्ने चेतावनी दिएका छन् । विवेकशील साझा पार्टीसँग भएको एकता घोषणा सभामा बोल्दै उनले सरवि लामिछानेको विषय नजरअन्दाज नगर्न सरकारलाई सचेत गराए ।

अर्यालका अनुसार विगतको सरकारले नै ‘राजनीतिक प्रतिशोध’ का नाममा लामिछाने र रास्वपालाई दवाबमा पार्ने रणनीति अपनाएको थियो । ‘तत्कालीन सरकारले प्रशासन र प्रहरी निकायलाई राजनीतिक रूपमा प्रयोग गर्न खोज्यो, कुनै कसर बाँकी राखिएन’, उनले भने ।

उनले अहिलेको सरकारलाई पनि त्यही बाटो नअपनाउन आग्रह गरे । ‘यो सरकारले रवि लामिछाने र रास्वपालाई बेवास्ता गर्छ भने, हामीका लाखौँ समर्थकहरू चुपचाप टुलुटुलु हेरेर बस्दैनन्’, अर्यालको कडा चेतावनी थियो । उनका अनुसार रास्वपाले वर्तमान सरकारलाई समर्थन गरिरहेको भए पनि त्यसले आफ्नो सीमा नाघे सडक आन्दोलनसम्म जान बाध्य हुन सक्ने उल्लेख गरे ।

अर्यालले सरकारले पाएको म्यान्डेट अनुसार चुनाव तयारी र आवश्यक काममा सीमित रहनुपर्ने बताए । ‘हामीले शंका सुविधा दिइरहेका छौँ, तर हामीलाई सडकमा धकेल्ने परिस्थिति सिर्जना नगरियोस्’, उनले आग्रह गरे ।

विवेकशील साझासँगको एकतालाई उनले रास्वपाका लागि नयाँ ऊर्जा र ‘निलो क्रान्ति’ को नयाँ चरणको रूपमा व्याख्या गरे । उनका अनुसार विभिन्न नयाँ समूह र व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेकाले रास्वपाको संगठनात्मक शक्ति विस्तार भइरहेको छ । अर्यालले अध्यक्ष लामिछानेको उद्धरण सुनाउँदै भने, ‘रविजीले कारागारमा बसेर पनि आफू कमजोर भएको महसुस गर्नु भएन । राजनीतिमा आएर कुनै गल्ती गरेको छैन भन्ने आत्मविश्वास उहाँमा छ ।’

विवेकशील साझाका नेता–कार्यकर्तालाई स्वागत गर्दै अर्यालले साझा अभियान अब अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे । ‘निलो क्रान्तिले मूर्त रूप लिन थालेको छ, हामी अहिले झनै बलियो भएका छौँ’, उनले जोड दिए ।

साँझ झुल्किँदै जाँदा आकाशको रंगीन रूप (तस्बिरहरु)

काठमाडौँ । हिजोआज काठमाडौँ उपत्यकाबाट दिनहुँजसो हिमालहरु अवलोकन गर्न सकिन्छ।

वरिपरि देखिने टाढाका सेत्तामे हिमालहरू साँझतिर झनै मनमोहक देखिन्छन्। उपत्यकामा चिसो बढेसँगै साझा परेपछि सूर्यास्तको फरक–फरक रंगले काठमाडौँको आकाश मिनेट–मिनेटमा बदलिन थालेको छ।

अस्ताउँदो सूर्यको सुनौलो किरण हिमालको हिउँमा परेर झनै चम्किने दृश्यले उपत्यकावासीलाई मोहित बनाइरहेको छ।

काठमाडौँबाट देखिने प्रमुख हिमालहरूमध्ये गणेश हिमाल, हिमालचुली, लाङटाङ साथै ८,१५६ मिटर अग्लो मनास्लु हिमाल समेत प्रस्ट देखिने गरेका छन्।

यिनका अतिरिक्त उपत्यकाबाट दोर्जे लाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर जस्ता हिमालहरू पनि स्पष्ट देखिन्छन्।

 

माधव नेपालको दावी : हाम्रो पार्टीमा जेन–जीको आकर्षण छ

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेकपा जेन–जीको आकर्षणको केन्द्र बनेको दाबी गरेका छन्। पोखरामा आयोजित एकता सन्देश कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले जेन–जीका युवाहरुले दिनदिन पार्टीमा आएको दाबी गरेका हुन् ।

‘वीरगञ्जकी मुस्कान खातुनसहित वार्तामा बसेका जेन–जीका युवाहरु हाम्रो पार्टीमा आएका छन् । जेन–जीको आकर्षणको केन्द्र बनेको छ । त्यसो हुनाले जेन–जीको भावनालाई हामीले सम्मान गर्नुपर्छ,’ उनले भने । पूर्वप्रधानमन्त्री नेपालले जेन–जीको नाममा कुकर्म गर्नेहरुलाई भने दण्डित गर्नुपर्ने बताए ।

 

चीनद्वारा व्यावसायिक अन्तरिक्ष अनुगमनका लागि नयाँ विभाग गठन

बेइजिङ  ।   चीन राष्ट्रिय अन्तरिक्ष प्रशासनले देशमा तीव्र गतिमा विस्तार भइरहेको व्यावसायिक अन्तरिक्ष क्षेत्रको समन्वय र नियमनका लागि नयाँ विभाग स्थापना गरेको जनाएको छ ।

नयाँ विभागको स्थापना व्यावसायिक अन्तरिक्ष उद्योगका लागि विशेष नियमन व्यवस्था तयार गर्ने महत्वपूर्ण कदम भएको प्रशासनले जनाएको छ। यसले उच्च गुणस्तरको विकासलाई निरन्तर अघि बढाउने र सम्पूर्ण उद्योग शृङ्खलालाई लाभ पुर्‍याउने विश्वास गरिएको छ।

हालका वर्षहरूमा सहायक नीति, प्रविधि उपलब्धि र बजारको मागका कारण चीनको व्यावसायिक अन्तरिक्ष क्षेत्रमा ऐतिहासिक प्रगति भएको छ। उद्योग शृङ्खलाभित्रको सहकार्यपूर्ण नवप्रयोगले यस्तो प्रगति सम्भव भएको बताइन्छ।

प्रशासनका एक अधिकारीका अनुसार चीनमा व्यावसायिक अन्तरिक्षसँग सम्बन्धित उद्यमहरूको संख्या हाल छ सयभन्दा बढी पुगेको छ। सुरक्षालाई सुनिश्चित गर्दै विकासको सम्भावना क्रमशः खुल्दै गएको छ।

प्रशासनले हालै २०२५ देखि २०२७ सालसम्मका लागि व्यावसायिक अन्तरिक्ष क्षेत्रको उच्च गुणस्तरीय र सुरक्षित विकास प्रवर्द्धन गर्ने कार्ययोजना सार्वजनिक गरेको छ। उक्त योजनाले व्यावसायिक अन्तरिक्ष गतिविधिलाई राष्ट्रको समग्र अन्तरिक्ष विकास संरचनासँग जोड्ने लक्ष्य राखेको छ ।

अर्मनमा अलैँचीखेतीको परीक्षण सफल

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँचीखेती सफल भएको छ । परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँचीखेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो ।

टिकावाङका १२ परिवारले व्यावसायिक अलैँचीखेती गरेका स्थानीय दिलबहादुुर थापाले बताएका छन् । “अनुकूल हावापानी, भूगोल, बजार र मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाँडी फाँडेर अलैँचीखेती विस्तार गर्न थालेका छौँ”, अलैँचीखेती गर्दै आएका उनले भने “यसवर्ष एकजना किसानले बढीमा चार क्विन्टलसम्म अलैँची बेचेका छन् ।”

थापाले घरबाटै प्रतिकिलो रु एक हजार ९५० का दरले तीन सय ८० किलो अलैँची बिक्री गरेको जानकारी दिएका छन् । उनले परीक्षणका लागि विसं २०७४ मा अलैँचीखेती सुरु गरेका थिए । यसवर्ष टीकावाङका शेरबहादुर थापाले ८० किलो र दुर्गाबहादुर थापाले १५ किलो अलैँची बिक्री गरेका छन् । एकजना किसानले न्यूनतम दुईदेखि १० किलो अलैँची बिक्री गरेका छन् ।

अर्मनको टिकावाङका साथै खोलाखर्कमा पनि अलैँचीखेती गरिएको छ । म्याग्दीको अन्य ठाउँमा अलैँचीखेती भएको छैन् । मङ्गला गाउँपालिकाको कृषि शाखाका प्राविधिक जगत बानियाँले जिल्लाको अर्मनमा मात्र व्यावसायिक अलैँचीखेती भएको बताएका छन् । अर्मनमा अलैँचीखेतीको परीक्षण सफल भएपछि किसान उत्साहित भएका उनको भनाइ छ ।

यहाँबाट वार्षिक रु १५ लाख मूल्य बराबरको अलैँची बिक्री हुने गरेको कृषि शाखाका प्राविधिक बानियाँले जानकारी दिए । प्रशस्त अलैँची उत्पादन गर्नसके बजारको समस्या नरहेको उनको भनाइ छ । पूर्वी नेपालको कोशी प्रदेशको पहाडी जिल्लामा खेती हुँदै आएको अलैँचीलाई ‘कालो सुन’ भन्ने गरिन्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट ८०० देखि एक हजार ८०० मिटर उचाइको ओसिलो ठाउँमा अलैँचीखेती हुुन्छ ।

वार्षिक दुई हजारदेखि दुई हजार ५०० मिलिलिटर वर्षा हुने ठाउँमा अलैँचीखेती उपयुक्त मानिने कृषि शाखाका प्राविधिक बानियाँले जानकारी दिए । “अलैँचीखेतीका लागि शितोष्ण आद्रता भएको जलवायु चाहिन्छ । नेपालमा रामशाही, गोलशाही र डम्मर शाही जातको अलैँचीखेती हुने गरेको छ”, उनले भने ।

मङ्गला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले टीकावाङ, खोलाखर्कलगायत अर्मनका ओसिलो क्षेत्रलाई अलैँचीको पकेट क्षेत्रका रूपमा विकास गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । पालिकाले अलैँचीका बिरुवा खरिदमा अनुदान, टिप्ने, भण्डारण गर्ने औजार, उपकरणमा सहयोग, खेतीसम्बन्धी प्राविधिक ज्ञानसीपसहितको तालिम र बजारीकरणमा सहजीकरण गगरिरहेको उनले जानकारी दिएका छन् ।

नेपालका तीर्थस्थलको भारतमा प्रचारप्रसार गर्न दुवै देशका ब्राह्मणले सहयोग गर्ने

काठमाडौँ । नेपालका तीर्थस्थलहरूको पहिचान एवं व्याख्यान गरी भारतमा प्रचारप्रसार गरेर भारतीय धार्मिक पर्यटक भित्र्याउन दुवै देशका ब्राह्मणले सहयोग आदानप्रदान गर्ने भएका छन् । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा आज सम्पन्न ब्राह्मण अन्तरराष्ट्रिय सम्मेलनले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा दुवै देशका ब्राह्मणले सहकार्य र समन्वय गर्ने भएका हुन् ।

ब्राह्मण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट नेपाल शाखाको आयोजनामा सम्मेलन गरिएको हो । सम्मेलनले आज जारी गरेको घोषणा एवं सङ्कल्पमा विश्वभरका जन्मना र कर्मणा ब्राह्मण एक भई सनातन संस्कार र संस्कृतिको संरक्षणमा ऐक्यबद्धता कायम गर्ने भएका छन् ।

विश्वभरका ब्राह्मणको ज्ञान, विज्ञान र कर्मलाई आ–आफ्नो मुलुकको सत्शासन व्यवस्थामा प्रयोग गरी सनातन जीवन पद्धतिका माध्यमबाट विश्व शान्ति कायम गने अभियान चलाइने घोषणा प्रा डा माधवप्रसाद पाण्डेयले गरेका छन् । विश्वभरका ब्राह्मणलाई एउटै छातामुनि ल्याउने, धेरै ब्राह्मणको बसोबास रहेको नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेकाले दुवै देशको धार्मिक पर्यटन प्रवर्द्धनमा यसलाई उपयोग गर्ने घोषणा भएको छ ।

वैदिक सनातन समाज व्यवस्थापनलाई सर्वोपरी मानी वैदिक शासन पद्धति, वैदिक कृषि पद्धति, वैदिक यज्ञ विधान, वैदिक कर्म पद्धतिलगायत विषयमा अध्ययन, अनुसन्धान गराई समाज विकासमा लगाइने भएको छ । आदिम सनातन वैदिक भूमि नेपालबाट विश्वबन्धुत्वको भावनालाई चरितार्थ गराउन मानवीय सेवा कार्यलाई विस्तार गरिने भएको छ ।

प्राचीन ग्रन्थ वेद, पुराण, उपनिषद्लगायत सत् ग्रन्थहरुको संरक्षण गर्दै विभिन्न भाषामा अनुवादसमेत गराएर सनातन धर्मको प्रचारमा सहयोग पु¥याइने भएको छ । नेपाल, भारत तथा सनातन धर्मावलम्बीको बसोबास रहेको अन्य देशमा गाईको संरक्षण गरिने भएको छ । गुरुकुलीय शिक्षा पद्धतिको अभियानलाई पनि अघि बढाइने राष्ट्रिय धर्मसभा नेपालको अध्यक्षसमेत रहनुभएका पूर्वनायब बडा गुरुज्यु डा माधव भट्टराईले बताएका छन् ।

नदी, नाला, खोला, कुवा, धार्मिक, सांस्कृतिकस्थल संरक्षण गरी प्राकृतिक पर्यावरण जोगाउने अभियानसहित वैदिक यज्ञ एवं उपासना विधिविधानको प्रचारप्रसार गराउने घोषणा पनि विश्वभरका ब्राह्मणले गरेका छन् । ब्राह्मण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट ९पञ्जीकृत० भारतसँग सम्बद्धता रहनेगरी अन्तरराष्ट्रिय ब्रह्मण समाज नेपालको गठन गर्ने घोषणासमेत सम्मेलनबाट भएको मुख्य संरक्षकसमेत रहेका गर्गाचार्य संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।

सम्मेलनले जारी गरेको १६ बुँदे घोषणा पत्रको प्रेरणाको स्रोत विश्वको सर्वोच्च शिखर सगरमाथा, वेदव्यास एवं कालीदास तथा बुद्ध जन्मभूमि नेपाललाई मानिएको नेपाल शाखाका संयोजक धर्मराज बरालले बताएका छन् ।

तस्बिरमा हेर्नुहोस्, पोखरामा आयोजित नेकपाको एकता सभा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार पोखरामा एकता सभा गरेको छ ।

पोखरा चिप्लेढुंगास्थित मानव अधिकार चोकमा आयोजित एकता सभामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठसहितका नेताले सम्बोधन गरेका थिए ।

हरेक प्रदेशमा एकता सभा गर्ने नेकपाको योजनाअनुसार तेस्रो सभाको रुपमा पोखरामा गरिएको हो । यसअघि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एकता सभा गरिएको थियो ।

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स(युएई) मा जारी एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने भएको छ । उपाधिका लागि सोमबार बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा खेल हुनेछ ।

नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधि नजिक पुगेको हो । युएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो । यु-१९ एसिया कप आगामी डिसेम्बरमा युएईमा हुँदैछ ।

कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य,अर्धशतक हान्न चुके गुल्सन

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार जारी खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजसमक्ष १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अनतर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।

कर्णालीका लागि गुल्सन झा ले २२ बलमा ६ चौका ३ छक्का सहयोगमा ४९ रनमा अविजित रहे। नन्दन यादव १ रनमा अविजित रहे। २९ बलमा २ चौका र २ छक्का प्रहार हान्दै पवन सर्राफ ३५ रन बनाउँदा सन्तोष यादवको बलमा एलबीडब्लु धरापमा परे।

२७ बलमा १ चौका र २ छक्का प्रहार गरेका ओपनर मार्क वाट ३० रन बनाउँदा रन आउट हुन पुगे। अर्का ओपनर प्रियाङक पञ्चाल रोयल डकआउट हुन पुगे।

विलियम बसिस्टो १ रनमा नै रन आउट भए। नजिबुल्लाह जड्रान १२ रन बनाउँदा रासिद खानको बलमा साहब आलमको हातबाट क्याच आउट नै भए।

कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारको बलमा कट एण्ड बोल्ट हुन पुगे। दिपक डुम्रे १० रन बनाउँदा रासिद खानको बलमा बोल्ड आउट भए।

काठमाडौका लागि रासिद खानले २ विकेट लिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे।