`

विपक्षीहरुले पेश गरेको सार्वजनिक जरुरीको प्रस्तावमा के छ?[पूर्णपाठ]

काठमाडाैं। प्रतिनिधिसभामा विपक्षी दलहरूले सार्वजनिक महत्त्वको जरुरी प्रस्ताव दर्ता गराएका छन्। मंगलबार बसेको बैठकमा सबै विपक्षी दलहरूको तर्फबाट बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले प्रस्ताव पेश गरेका हुन्।

उक्त प्रस्तावमा सुनसरी घटनाको निष्पक्ष छानबिन र सुकुम्बासी नागरिकको उचित व्यवस्थापनलगायतका मागहरू समेटिएका छन्।

प्रस्तावको समर्थनमा बोल्दै नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सुकुम्बासी समस्या समाधानमा कुनै पनि विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराइन्। ‘यी देखिएका समस्या समाधान गर्न हामी सरकारसँगै छौँ,’ उनले सम्बोधनका क्रममा भनिन्।

त्यस्तै, प्रस्तावको समर्थनमा बोलेका नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सुकुम्बासी नागरिकलाई हटाउने क्रममा सरकारले उनीहरूको मानवअधिकार हनन गरेको आरोप लगाए। सरकारले अन्य जिल्लाहरूमा सुकुम्बासीलाई लालपूर्जा बाँडिएको प्रसङ्ग उल्लेख गर्दै उक्त काम पूर्ववर्ती सरकारले नै गरेको बताए। अहिले देखिएका सुकुम्बासीका समस्याहरू सरकारले छिटो समाधान गर्नुपर्ने बताए।

विपक्षी खेमाबाटै प्रस्तावको समर्थनमा बोलेका श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले यो प्रस्तावलाई राजनीतिकीकरण नगरी समस्या समाधानतर्फ लाग्नुपर्ने बताए। ‘सरकारले नै नागरिकलाई अनागरिकजस्तो व्यवहार गर्नुहुँदैन,’ उनले भने।

‘सम्माननीय सभामुख महोदय,

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अबस्था र व्यबस्थापन सम्बन्धी हामीले राखेको यो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सदनको छलफलमा ल्याउनुभएकोमा धन्यवाद दिन चाहन्छु।

प्रस्तुत प्रस्तावको सन्दर्भमा प्रवेश गर्नु भन्दा पहिला म २ वटा संवेदनशील विषय यस सम्मानित सदनमा राख्न चाहान्छु।

पहिलो विषय- सुनसरी, सिरहा, धनुषा र पर्सा लगायतका जिल्लाहरुमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? भन्ने बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसबारे सरकारले चित्बुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ। उक्त घटनाहरुमा ज्यान गुमाउने प्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।

साथै सम्पूर्ण घाइहरुको पूर्ण शीघ्र स्वास्थ्यलाभको कामना गर्दै र क्षति भएको सम्पत्तिको एकीन गरी क्षतिपूर्तिको व्यबस्था गर्न सम्माननीय सभामुखज्यू मार्फत सरकारलाइ ध्यानाकर्षण गराउन चाहान्छु।

हाम्रो स्पष्ट माग छ- यस घटनाको सत्त्य तथ्य, निष्पक्ष र विश्वशनीय छानबिनका लागि न्यायीक छानविन समिति गठन गर्नुपर्छ।

दोस्रो विषय- विषय विपद् व्यवस्थापन तथा पूर्व तयारीका सम्बन्धमा सरकार निकै सुस्त गतिमा छ।

  • गत वैशाखको २३ गतेदेखि नै इलामको राजदुवालीमा गएको पहिरोले मेची राजमार्ग अबरुद्व छ। 
  • गत जेठ ८ गते पाँचथरको याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा वाढी पहिरो गयो। महमलाल खवास र कविन्द्र खवासको घर बगायो। पुल पनि बगायो। 
  • गत साउन १० गते  पाँचथरको फालेलुङ ५ लुङ्मादिनमा भीषण पहिरो गयो। ३ घर परिवार पुर्ण रुपमा विस्थापित भए । ३५ परिवारका १ सय ३८ जना नागरिक उच्च जोखिममा छन्। 
  • साउनको १२ गते सम्माननीय सभामुखज्यूसँग भेटेर यी समस्याहरु सम्बोधनको लागि सरकारको ध्यानाकर्षण गराएको थिए।

म प्रश्न गर्न चाहान्छु- विपद जानकारी दिएर आउदैन, सरकारले विपद्को ठुलो क्षति व्यहोरेपछि मात्र यसको तयारी गर्न खोजेको हो कि सरकारको केहि तयारी छ ? यस सम्मानित सदन र आम जनतालाइ शिघ्र जानकारी गराउन र पर्यापत पूर्व तयारीमा रहन माग गर्दछु।

सभामुख महोदय,

अब म सम्मानीत सदनमा म आफै प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावका सन्दर्भमा मेरो धारणा राख्न चाहान्छु।

आजकल मेरो मनमा एउटा विषयले निरन्तर घोचिरहन्छ- यो सरकारलाइ विधि प्रकृया पनि नचिहने, मानवीय मुल्य र संवेदनाको पनि ख्याल नगर्ने, बालबालिका, महिला  र जेष्ठ नागरिकको पिडा पनि महसुस गर्नु नपर्ने, मुलुकका विद्यमान समस्याका बारेमा राजनीति दलहरुसंग संवाद र सहकार्य पनि गर्नु नपर्ने, सबै विधि प्रकृयाहरु भत्काउनै पर्ने । सरकारको काम समाल्न हो कि भत्काउने? विधी वसाल्ने हो कि मिच्ने? म साच्चै नै अचम्ममा परेको छु ।

सभामुख महोदय, 

निकै भारी मनका साथमा म यहाँ पिडादायी सत्य जोड्न चाहान्छु।  

मनोहरा बस्ती खाली गर्न सरकारले दुई दिनको समय दियो । परिवार अब कहाँ जाने, बिरामी आमाबुबा र श्रीमतीलाई कसरी पाल्ने भन्ने चिन्ताले १९ वर्षीय रविन तामाङलाई थिच्दै लग्यो । बस्तीमा डोजर चल्नुअघि नै उनी आफ्नै घरको शौचालयमा मृत फेला परे ।

त्यसको केही दिनपछि बल्खुमा डोजर चल्यो। जीवनभर फलफूल मण्डीमा भारी बोकेर परिवार पाल्दै आएका ६१ वर्षीय इन्द्रबहादुर राई आफ्नो घर भत्किएको हेर्न नसक्ने भन्दै निराश भएर निस्किएको  केही समयपछि बागमती नदीमा मृत फेला पर्नुभयो।

अनि थापाथलीबाट विस्थापित भएर कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका ३६ वर्षीय भेषराज दर्जी। आठ वर्षदेखि बिरामी आर्थिक अभावका कारण नियमित उपचार समेत नपाएको अबस्था । होल्डिङ सेन्टरमा स्वास्थ्य अवस्था झन् जटिल भएपछि मात्र अस्पताल पुर्‍याइयो, तर उपचारकै क्रममा मृत्यु भयो।

त्यही होल्डिङ सेन्टरमा खाना समयमा नआउँदा दीर्घरोगीले औषधि खान नपाएको, सुत्केरी र बालबालिकासमेत भोकै बस्नुपरेको अवस्था छ।

यो कुनै नाटकको स्कृप्ट होइन सुकुम्वासी नागरिकलाई राज्यले गरेको व्यबहारको सत्यता हो। दीर्घरोगी नागरिकलाई समयमै उपचार, नियमित औषधि र रोगअनुकूल पौष्टिक आहार उपलब्ध गराउनु पर्नेमा राज्यले कस्तो व्यबहार गरेको छ? गम्भिर प्रश्न हो ?

सभामुख महोदय,

म यी तीनै मृत्युको कारण एउटै हो भनेर निष्कर्ष सुनाइरहेको छैन । तर डोजरको त्रास, योजनाविहीन विस्थापन, मानसिक आघात, उपचारको अभाव र होल्डिङ सेन्टरको कमजोर व्यवस्थापनको पृष्ठभूमिमा असहाय र उपायहिन भएर तीन जना नागरिक ज्यान गुमाउने अबस्था सिर्जना हुनुमा राज्य र यसले नागरिकमाथी गरेको व्यबहार प्रमुख कारण हो ।  

यसलाई सामान्य संयोग भनेर राज्य पन्छिन मिल्दैन, पाउदैन।

डोजरले टहरा मात्र भत्काएको छैन। कसैको बाँच्ने भरोसा भत्काएको छ, कसैको परिवारको सहारा खोसेको छ र कसैलाई बिरामी अवस्थामा न्यूनतम उपचार तथा स्याहारसमेत नपाउने ठाउँमा पुर्‍याएको छ।

आजको यो छलफल सार्वजनिक जग्गाको विषय मात्र होइन, राज्यको निर्णयपछि सिर्जना भएको मानवीय संकट र त्यसको जिम्मेवारी कसले लिन्छ भन्ने विषय हो।

सभामुख महोदय,

हामी सवैलाई थाहा छ, भूमिहिन सुकुम्वासी, भुमिहिन दलित र अब्यबस्थित वसोवासीको समस्या लामो समयदेखिको समस्या हो। यसमा केही व्यबस्थापकीय समस्या छन, केही कानूनी जटिलता र केही बदनियत पनि होलान। 

हामी प्रष्ट छौं- वास्तविक सुकुम्बासी र भूमिहीन नागरिकहरूले राज्यबाट न्याय पाउनुपर्छ। जो वास्तवमै आवासविहीन र भूमिहीन छन्, उनीहरूको पहिचान गरी सुरक्षित बसोबासको ग्यारेन्टी गर्नु राज्यको संवैधानिक दायित्व हो। 

संगैमा हामी यसमा पनि प्रष्ट छौं कि- नदी किनारको संरक्षण गर्नुपर्छ। सार्वजनिक जग्गा जोगाउनुपर्छ। बाढी र पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्छ। यो राज्यको दायित्व हो र यसमा हाम्रो कुनै असहमति छैन। 

म स्मरण गराउन चाहान्छु-

अघिल्लो सदनमा ‘भूमि सम्बन्धी ऐन संशोधन’ आउँदा नेपाली कांग्रेसको तर्फबाट गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका साथीहरूले निकै मेहनत गरेर समाधानका उपायसहित संशोधन दर्ता गराउनुभएको थियो। 

स्पष्ट दृष्टिकोण थियो- यो समस्या पटक-पटक बल्झिरहने ‘रोग’ नबनोस्। 

  • सक्कली सुकुम्बासी र भूमिहीन दलितले आत्मसम्मानका साथ आवास पाउनुपर्छ।
  • प्राकृतिक स्रोत र सार्वजनिक क्षेत्रको संरक्षण हुनुपर्छ: वन क्षेत्र, निकुञ्ज, संवेदनशील क्षेत्रमा वसोवास गर्न दिनु हुँदैन। वाग्मती-मनोहरा जस्ता नदी किनारका वास्तविक सुकुम्बासीलाई राज्यले पहिचान गरी अन्यत्र स्थानान्तरण र पुनर्स्थापना गर्नुपर्छ।
  • शक्तिको आडमा हदबन्दी भन्दा बढी जग्गा राख्नेहरूको विवरण सार्वजनिक गरी कानूनले अतिक्रमित भएको, कब्जा गरेको, हदवन्दीभम्दा बढी राखेको जग्गा नेपाल सरकारको नाममा ल्याउनुपर्छ र संवेदनशील क्षेत्रमा बसोबास गरेका वास्तविक भूमिहीनको व्यवस्थापनमा प्रयोग गर्नुपर्छ। वन, निकुञ्ज र सार्वजनिक जग्गा जोगिनुपर्छ।

स्थानीय तहले जग्गा र परिवार पहिचान गरी लालपूर्जा वितरणका लागि तयारी अबस्थामा रहेको बेला कानून बन्न सकेन। त्यतिवेला प्रतिनिधिसभाबाट पारित भएको उक्त संशोधन तर राष्ट्रिय सभामा पुग्दा संसद् विघटनको सिकार भयो। परिस्थित बदलियो। 

म प्रश्न गर्न चाहान्छु- कसले भनेको थियो व्यबास्थापन नगरौं, कसले भनेको थियो, नदी किनारा, संवेदनशील क्षेत्रका वस्तीलाई स्थानान्तरण गरेर व्यबस्थित नगरौं, कसले भनेको थियो, सार्वजनिक जग्गा नजोगाऔं। कसैको असहमित थियो? थिएन।

 भूमिहीनलाई जग्गा, आवास र लालपुर्जा दिने विषय निर्वाचनअघि सबैजसो दलको साझा प्रतिबद्धता थियो। हामी यसमा पनि प्रष्ट थियौं- यो संघ, प्रदेश, स्थानीय सरकार, संसद् र राजनीतिक दलहरूको साझा जिम्मेवारी हो।

 वर्तमान सरकारले साच्चै सुकुम्वासीको समस्याको दीर्घकालिन समाधान गर्न खोजेको थियो भने व्यापक छलफलपश्चात संसदको समितिबाट पारित कानून संसदमा पेश गरी द्रुत गतिमा यही सदनबाट पारित गरेर कार्यान्वयन किन गर्न सकेन ?  र विना तयारी डोजर चलायो जवरजस्ति उठिवास लगायो र नागरिकलाई बन्धक बनाएर राख्यो। 

 बरु भुमि आयोग खारेज भनेर त्यही प्रकृतिको राजनीतिक नियुक्तितिर सरकारको ध्यान गयो।

– यसैबाट प्रष्ट हु्न्छ सरकार समाधान चाहेको थिएन स्टन्ट मात्र चाहेको थियो। 

त्यसैले, सरकारले अमानवीय ढंगले बस्ती हटाइयो, नागरिकलाई एक ठाउँबाट विस्थापित गरी अर्को असुरक्षित ठाउँमा धकेलियो। समस्या समाधान भएन, केवल सारियो।

तथ्य र बस्तुस्थितिले यही भन्छ। राज्यको कुनै तयारी थिएन, विवेक थिएन, विधि थिएन। केवल सनक र बल थियो।

सरकारी तथ्याङ्कअनुसार छोटो अवधिमै २ हजार ६१६ घरधुरीका ११ हजारभन्दा बढी नागरिक विस्थापित भए। प्रारम्भमा सातवटा होल्डिङ सेन्टरमा ३८८ परिवारका करिब १ हजार ४८८ जना राखिए। प्रशासनले १० देखि १५ दिनभित्र उचित बसोबासको व्यवस्था गर्ने भनेको थियो । तर दुई महिनाभन्दा बढी समय बित्दा पनि स्थायी समाधान आएन।

सरकारले बस्तीबाट नागरिकलाई निकाल्यो। होल्डिङ सेन्टरमा राख्यो। त्यसपछि प्रतिपरिवार २५ हजार रुपैयाँ दिएर पाँच दिनभित्र आफ्नो व्यवस्था आफैँ गर्न भन्यो।

तर जसको नागरिकता मिलेन, जसको बैंक खाता थिएन, जसको विवरण फरक पर्‍यो, उनीहरूले रकम पाएनन्। रकम नपाउनेको समस्या समाधान गर्नुपर्नेमा खाना बन्द गरियो। कोठा नपाएका परिवारलाई कोटेश्वर, बालाजुजस्ता चोकसम्म पुर्‍याएर छाडियो।

सभामुख महोदय,

राज्यले नागरिकलाई सुरक्षित ठाउँमा पुर्‍याएको हो भने त्यहाँ पुगेपछि नागरिक पहिलेभन्दा सुरक्षित हुनुपर्छ। तर बाढीबाट जोगाउन भनेर कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा राखिएका नागरिक त्यहीँ फेरि बाढीमा परे।

त्यहाँ रहेका १५४ जनामध्ये ५४ जनालाई राति उद्धार गरेर अर्को ठाउँमा सार्नुपर्‍यो। नागरिकता, औषधि, लत्ताकपडा र बालबालिकाका पुस्तक तथा कापी पानीमा डुबे। परिवारलाई फेरि खरिपाटी र बोडेतर्फ सारियो। तर बालबालिकाको विद्यालय थापाथली र शान्तिनगरमा थियो। विद्यालय पुग्ने यातायातको व्यवस्था थिएन।

एउटा बच्चाले आफ्नो घर गुमायो। पुस्तक गुमायो। विद्यालय जाने बाटो गुमायो। 

घर भनेको जस्तापाता र इँटा मात्र होइन। घरसँग विद्यालय जोडिएको हुन्छ। रोजगारी जोडिएको हुन्छ । बिरामीको उपचार जोडिएको हुन्छ। परिवारको सुरक्षा र सम्मान जोडिएको हुन्छ।

 त्यसैले सरकारसँग अहिले हामीले धेरै अस्पष्ट माग गरेका छैनौँ। 

गर्नुपर्ने काम स्पष्ट छन्।

पहिलो, यस सम्पूर्ण प्रक्रियाको जिम्मेवारी कसको हो भन्ने स्पष्ट हुनुपर्छ । गृह मन्त्रालयले एउटा काम गर्ने, भूमि मन्त्रालयले अर्को कुरा भन्ने, स्थानीय तहले फरक निर्णय गर्ने र होल्डिङ सेन्टरमा अनधिकृत व्यक्तिले निर्देशन दिने अवस्था तत्काल अन्त्य हुनुपर्छ । त्यो अनधिकृत व्यक्ति को हो, उसले कुन कानुनी अधिकारका आधारमा निर्देशन दियो, र उसकै निर्देशनमा जेनजी अभियन्तामाथि प्रहरीले किन कुटपिट गर्यो ? सरकारले यस सदनलाई स्पष्ट र तथ्यसहितको जवाफ दिनुपर्छ । 

दोस्रो, स्थायी समाधान नहुँदासम्म नागरिकलाई आधारभूत मानवीय सुविधासहित राख्नुपर्छ । स्वच्छ पानी, पर्याप्त खाना, शौचालय, स्वास्थ्य सेवा र सुरक्षा कुनै राहत होइनन् । यी राज्यका न्यूनतम जिम्मेवारी हुन्।

गर्भवती महिला, सुत्केरी, शिशु, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीको छुट्टै सूची बनोस् । उनीहरूलाई आवश्यक पोषण, नियमित औषधि, मातृशिशु सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराइयोस्।

तेस्रो, बालबालिकाको शिक्षा तुरुन्त निरन्तर गरिनुपर्छ। उनीहरूलाई पुरानै विद्यालयमा पढ्न निःशुल्क यातायातको व्यवस्था गरियोस्। नष्ट भएका पुस्तक, कापी, पोशाक र प्रमाणपत्र सरकारले उपलब्ध गराओस्। परिवारको सहमतिबिना विद्यालय परिवर्तन गर्न बाध्य नपारियोस्।

चौथो, २५ हजार रुपैयाँ दिएर राज्य आफ्नो जिम्मेवारीबाट मुक्त हुन मिल्दैन। डोजर, स्थानान्तरण र बाढीका कारण भएको क्षतिको वास्तविक मूल्याङ्कन हुनुपर्छ। घरायसी सामान, औजार, औषधि, शैक्षिक सामग्री र जीविकोपार्जनको क्षतिका आधारमा उचित क्षतिपूर्ति दिइयोस्।

पाँचौँ, सरकारले स्थायी समाधानको समयसीमा घोषणा गर्नुपर्छ। वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण छिटो सम्पन्न गरियोस्। योग्य परिवारलाई सरकारले गरेको प्रतिबद्धताअनुसार लालपुर्जा, सुरक्षित आवास, सामाजिक आवास वा अन्य उपयुक्त विकल्प दिइयोस्।

सबैलाई एउटै रूपमा हेरेर समस्या समाधान हुँदैन। वास्तविक भूमिहीन को हो, जग्गा भएर पनि दाबी गर्ने को हो, जोखिमयुक्त स्थानमै सुधार सम्भव छ कि छैन, अर्को स्थानमा पुनर्वास गर्नुपर्ने हो कि होइन, प्रत्येक परिवारको अवस्था छुट्टाछुट्टै हेर्नुपर्छ।

अन्त्यमा 

सभामुखज्यू मार्फत पुन ध्यानाकर्षण सहित प्रस्ताव गर्न चाहन्छु,

गरिब, विपन्न असहाय नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा जवरजस्ती सारेर समस्या समाधान हुँदैन। डोजरले घर भत्काउन सक्छ, तर समस्या समाप्त गर्न सक्दैन। राज्यले नागरिक र नागरिको अधिकारको संरक्षण गर्ने हो। उपायविहीन, अलपत्र र जोखिममा रहेका नागरिकलाई संविधानले प्रत्याभूत गरेको संरक्षणको छहारीभित्र ल्याउनु राज्यको कर्तव्य  हो। ति निमुखा नागरिकको संवेदना र आत्मसम्मानमाथी पटक पटकको आक्रमण राज्यको सफलता होइन।

त्यसैले,

  • सुकुम्वासीमाथी राज्यले जे जस्तो अमानवीय र न्युनतम मानवअधिकार विपरित व्यबहार गर्‍यो- ति नागरिकसंग सरकारले माफी मागोस्। तत्काल सम्मानजनक व्यबस्थापन गरोस्।
  • तत्कालका लागि चाहिने माथी उल्लेखित अत्यावश्यक व्यबस्थापन र सुरक्षामा पर्याप्त ध्यान दियोस्।
  • दीर्घकालिन समाधानका लागि तत्काल कानून तर्जुमा गरी तिन तहको समन्वयमा विधिसम्मत र सम्मानजनक बाटो अबलम्बन गरोस।
  • वास्तविक सुकुम्बासी र जोखिम क्षेत्रमा रहेकालाई राज्यले पहिचान गरी प्राथमिकरण सहित अन्यत्र उपयुक्त स्थानमा स्थानान्तरण र पुनर्स्थापना गरोस। 
  • शक्तिको आडमा प्राकृतिक स्रोत र सार्वजनिक क्षेत्रको अतिक्रमण गरेका, हदबन्दी भन्दा बढी जग्गा राख्नेहरूको विवरण सार्वजनिक गरी अतिक्रमित भएको, कब्जा गरेको, हदवन्दीभम्दा बढी राखेको जग्गा कानुसम्मत रुपमा नेपाल सरकारको नाममा ल्याओस र ति जग्गामा संवेदनशील क्षेत्रमा बसोबास गरेका वास्तविक भूमिहीनको व्यवस्थापनमा प्रयोग गरोस्। 
  • वन क्षेत्र र सार्वजनिक क्षेत्रको अतिक्रमण गर्ने रोग ‘ र सधै बल्झिइरहने समस्या” सदाका लागि बन्द होस्।

यो प्रस्तावको उदेश्य सरकारलाई दोष लगाएर छलफल समाप्त गर्नका लागि ल्याइएको होइन। तत्काल गर्नुपर्ने कामको साझा कार्ययोजना बनाएर कार्यान्वयन सुरु गर्नका लागि हो। त्यसैले म सम्माननीय सभामुख महोदयमार्फत आग्रह गर्न चाहन्छु, सरकारले सात दिनभित्र एकीकृत कार्ययोजना सार्वजनिक गरोस्। सम्बन्धित संसदीय समितिले त्यसको नियमित अनुगमन गरोस्। सरकारले प्रत्येक पन्ध्र दिनमा प्रगति विवरण समितिमा पेश गरोस् र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराओस्।

सरकारले जब बाटो विराउछ तर संसदले बाटो देखाउनुपर्छ। यो सिंगो सदनको सामुहिक जिम्मेवारी हो। यही अपेक्षासहित यो प्रस्तावमा सदनमा छलफल होस र प्रस्तावलाई स्वीकार गरी सदसनबाट सरकारलाई स्पष्ट समयसीमासहित निर्देशन होस्। 

सम्माननीय सभामुख महोदयको अनुमतिले सदन समक्ष यस प्रस्ताव प्रस्तुत गर्दछु । धन्यवाद। जय नेपाल !’

सुकुम्बासी व्यवस्थापनका लागि सात दिनभित्र कार्ययोजना ल्याउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागि सरकारले सात दिनभित्र एकीकृत कार्ययोजना सार्वजनिक गर्न माग गरेको छ।

प्रतिनिधिसभामा बोल्दै कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको पहिचान गरी सम्मानजनक पुनर्स्थापना गर्नुपर्ने बताए।

उनले सरकारले प्रत्येक १५ दिनमा प्रगति विवरण संसदीय समितिमा बुझाउनुपर्ने र समस्या समाधान नभएसम्म सदनलाई जानकारी गराउनुपर्ने माग गरे।

आङ्देम्बेले सार्वजनिक जग्गा, वन क्षेत्र र नदी किनार संरक्षण गर्नुपर्ने भए पनि वास्तविक भूमिहीन नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्नु राज्यको संवैधानिक दायित्व भएको बताए।

उनले भने, ‘गरिब नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा जबर्जस्ती सारेर समस्या समाधान हुँदैन, राज्यले समाधानको बाटो खोज्नुपर्छ।’

‘सरकारले सुरक्षित भनेको होल्डिङ सेन्टरमै बाढी पस्यो’ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सुकुम्बासी बस्ती हटाएर राखिएका नागरिकको व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएको छ।

कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले प्रतिनिधिसभामा बोल्दै कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका नागरिकसमेत बाढीको जोखिममा परेको बताए।

उनका अनुसार बाढीबाट जोगाउन राखिएका नागरिक फेरि त्यहीँ बाढीमा परेपछि १५४ जनामध्ये ५४ जनालाई रातारात उद्धार गर्नुपरेको थियो।

उनले विस्थापित परिवारका नागरिकता, औषधि, लत्ताकपडा तथा बालबालिकाका पुस्तक-कापीसमेत नष्ट भएको बताए।

‘घर भनेको जस्तापाता र इँटा मात्र होइन, त्यससँग शिक्षा, रोजगारी, उपचार र परिवारको सुरक्षा जोडिएको हुन्छ,’ आङ्देम्बेले भने।

‘सरकारले सुकुम्बासी समस्या समाधान होइन, स्टन्ट गर्यो’

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधान गर्न नभई राजनीतिक स्टन्टका लागि बस्ती हटाएको आरोप लगाएका छन्।

‘यसैबाट प्रष्ट हुन्छ सरकारले समाधान चाहेको थिएन स्टन्ट मात्र चाहेको थियो,’ उनले भने। 

संसद्मा बोल्दै उनले सरकारले दीर्घकालीन योजना, कानुनी आधार र पुनर्स्थापनाको तयारीबिना डोजर चलाएको बताए।

उनले भने, ‘सरकारले समस्या समाधान गर्न खोजेको भए संसद्बाट कानून बनाएर अघि बढ्न सक्थ्यो, तर विना तयारी डोजर चलाएर नागरिकलाई विस्थापित गरियो।’

आङ्देम्बेले भूमि आयोग खारेज गरेर सरकारले समाधानभन्दा राजनीतिक नियुक्तितर्फ ध्यान दिएको आरोपसमेत लगाए।

उनका अनुसार राज्यको तयारी, विवेक र विधि नभई केवल बल प्रयोगको बाटो अपनाइएको छ।

सुकुम्बासी हटाउने नाममा सरकारले नै मानवीय संकट सिर्जना गर्यो: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनका नाममा मानवीय संवेदनासमेत ख्याल नगरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि धारणा राख्दै आङ्देम्बेले डोजर अभियानले घर मात्रै नभई नागरिकको भरोसा र जीवनसमेत संकटमा पारेको बताए।

उनले मनोहरा, बल्खु र थापाथलीबाट विस्थापित नागरिकको अवस्थालाई उदाहरण दिँदै योजनाविहीन विस्थापन, मानसिक तनाव, उपचार अभाव र कमजोर व्यवस्थापनका कारण नागरिकले ज्यान गुमाउने अवस्था आएको दाबी गरे।

‘डोजरले टहरा भत्काएको मात्र छैन, कसैको बाँच्ने भरोसा र परिवारको सहारा पनि खोसेको छ,’ उनले भने।

आङ्देम्बेले सरकारले सुकुम्बासी व्यवस्थापनमा देखाएको व्यवहारप्रति जिम्मेवारी लिनुपर्ने र पीडित नागरिकसँग माफी माग्नुपर्ने माग गरे।

 

सुनसरीसहितका गोलीकाण्डको न्यायिक छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लामा भएका घटनामा सरकारले नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा जवाफ दिनुपर्ने माग गरेको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले ती घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न माग गरे।

‘हाम्रो स्पष्ट माग छ- यस घटनाको सत्त्य तथ्य, निष्पक्ष र विश्वशनीय छानबिनका लागि न्यायीक छानविन समिति गठन गर्नुपर्छ,’ उनले भने।

उनले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

साथै क्षति भएको सम्पत्तिको मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

१ करोड ७५ लाख सिलिन्डर कहाँ हराए ?

काठमाडौं। मुलुकमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि बजारमा अभाव देखिन थालेपछि संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समस्या आपूर्तिमा भन्दा वितरण प्रणालीमै रहेको निष्कर्षसहित कडाइ थालेको छ।

समितिले देशभर प्रयोगमा रहेका करिब १ करोड ७५ लाख ग्यास सिलिन्डरको वास्तविक विवरण राज्यसँग हुनुपर्ने भन्दै सबै सिलिन्डरको म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ।

समितिका सभापति रहबर अन्सारीले बजारमा कुन सिलिन्डर कहाँ छ, कसले प्रयोग गरिरहेको छ र कति पटक रिफिल भयो भन्ने विवरणसमेत डिजिटल प्रणालीबाट पत्ता लाग्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

भारतबाट पर्याप्त ग्यास आयात भइरहेको अवस्थामा पनि बजारमा सिलिन्डर लुकाउने तथा होल्डिङ गर्ने प्रवृत्ति बढेको भन्दै समितिले यसलाई कृत्रिम अभाव सिर्जना गर्ने अभ्यासका रूपमा हेरेको छ। त्यसैले सिलिन्डरको ट्र्याकिङलाई तत्काल अघि बढाउन निर्देशन दिइएको हो।

सभापति अन्सारीले करिब १ करोड ७५ लाख सिलिन्डरको म्यापिङ ९० दिनभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। प्रत्येक सिलिन्डरमा आरएफआईडी वा बारकोड जडान गरेर त्यसलाई डिजिटल प्रणालीमा जोड्नुपर्ने उनको प्रस्ताव छ।

सिलिन्डरको डिजिटल पहिचान कायम भएपछि एउटा सिलिन्डर कुन डिपोबाट निस्कियो, कहाँ पुग्यो, कति पटक रिफिल भयो र अहिले कहाँ प्रयोग भइरहेको छ भन्ने जानकारी लिन सकिनेछ।

अन्सारीले आरएफआईडी वा बारकोड नलगाइएका सिलिन्डरको कारोबार निश्चित समयपछि रोक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। यस्तो प्रणाली लागू भए लुकाएर राखिएका सिलिन्डरसमेत बजारमा फर्काउन दबाब पर्ने समितिको अपेक्षा छ।

समितिले ग्यास वितरणमा देखिएको अर्को ठूलो विकृतिका रूपमा घरायसी प्रयोजनका लागि छुट्याइएको १४.२ किलोको सिलिन्डर व्यावसायिक क्षेत्रमा प्रयोग भइरहेको विषय उठाएको छ।

सभापति अन्सारीका अनुसार सहुलियतमा उपलब्ध गराइने घरायसी सिलिन्डर ठूला उद्योग तथा फाइभ स्टार होटलले प्रयोग गर्दा राज्यले ठूलो आर्थिक भार बेहोर्नुपरेको छ।

उनले यस्तो प्रयोगबाट मासिक करिब ६५ करोड रुपैयाँ र वार्षिक साढे ७ अर्ब रुपैयाँ हाराहारीमा राज्यलाई घाटा भइरहेको तथ्यांक प्रस्तुत गरे।

घरायसी उपभोक्तालाई दिइने सहुलियतको ग्यास र ठूलो व्यावसायिक प्रतिष्ठानले प्रयोग गर्ने ग्यासलाई एउटै प्रणालीमा राख्न नहुने उनको तर्क छ।

‘५०० रुपैयाँ कप चिया बेच्ने होटेललाई र कोठा भाडामा लिएर बस्ने विद्यार्थीलाई एउटै मूल्यमा ग्यास दिन सकिँदैन,’ अन्सारीले भने।

समितिले ग्यासको प्रयोगअनुसार सिलिन्डरको आकार र मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिएको छ।

विद्यार्थी तथा साना परिवारलाई लक्षित गरी ५ किलोको सिलिन्डर ल्याउनुपर्ने र व्यावसायिक प्रयोजनका लागि ५०, १०० तथा ४५० किलो क्षमताका सिलिन्डरको व्यवस्था गर्नुपर्ने अन्सारीले बताए।

यसबाट घरायसी उपभोक्ताका लागि दिइएको सहुलियत व्यावसायिक क्षेत्रले दुरुपयोग गर्ने अवस्था अन्त्य गर्न सकिने समितिको धारणा छ।

व्यावसायिक सिलिन्डरको व्यवस्था गर्न खोज्दा निगमका कर्मचारीले व्यवसायीका फाइल लामो समयसम्म रोकेर राख्ने गरेको गुनासो आएको भन्दै अन्सारीले यस्तो ढिलासुस्ती गर्ने कर्मचारीको विवरण समितिलाई उपलब्ध गराउन व्यवसायीलाई आग्रहसमेत गरेका छन्।

ग्यास वितरण प्रणालीको अव्यवस्थासँगै समितिले आयल निगमभित्र कर्मचारीलाई दिइने विभिन्न भत्तामाथि पनि प्रश्न उठाएको छ।

सभापति अन्सारीका अनुसार निगमका कर्मचारीका लागि विभिन्न शीर्षकमा करिब ४० करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ।

त्यसमध्ये ओभरटाइमका लागि १३ करोड, दैनिक भ्रमण खर्चमा ४ करोड ५७ लाख, औषधि उपचारमा ४ करोड ८० लाख, कार्यप्रोत्साहनमा ३ करोड ५ लाख, पोसाकमा २ करोड १४ लाख तथा घर रङरोगनमा करिब ७० लाख रुपैयाँ रहेको उनले बताए।

निगमले ठूलो रकम कर्मचारी सुविधामा खर्च गरिरहँदा उपभोक्ताले भने ग्यासको अभाव र वितरणसम्बन्धी समस्या भोग्नुपरेको भन्दै समितिले खर्च प्रणालीको औचित्यमाथि प्रश्न उठाएको हो।

अन्सारीले निगमका अधिकारीहरूलाई कामको गति बढाउन चेतावनी दिँदै समितिको निर्देशन कार्यान्वयन गर्न नसक्ने भए जिम्मेवारीबाट अलग हुनसमेत आग्रह गरे।

सभापति अन्सारीले सम्बन्धित मन्त्रीलाई आयल निगमसँग हरेक २४ घण्टामा ग्यास आपूर्ति तथा सिलिन्डर व्यवस्थापनको प्रगति विवरण लिन निर्देशन दिएका छन्।

समितिले सिलिन्डर म्यापिङको काममा यसअघि दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै निगमको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।

अब समस्या ग्यास आयातको मात्र नभई बजारमा पुगेपछि त्यसको वितरण, भण्डारण र प्रयोगको निगरानी कसरी गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने समितिको जोड छ।

सिलिन्डरको डिजिटल पहिचान, घरायसी र व्यावसायिक ग्यासको छुट्टाछुट्टै व्यवस्था तथा निगमभित्रको खर्च प्रणालीमा सुधार गर्न सके ग्यास बजारमा देखिने कृत्रिम अभाव र सहुलियतको दुरुपयोग नियन्त्रण गर्न सकिने समितिको अपेक्षा छ।

सभापति अन्सारीले समितिको उद्देश्य केवल सरकार वा निगमलाई आलोचना गर्नु नभई समस्या समाधान गर्नु रहेको स्पष्ट पार्दै निर्देशन कार्यान्वयनमा लापरबाही नगर्न चेतावनी दिएका छन्।

‘तलब बढाऊ, ब्लड प्रेसर होइन’ भन्दै नर्स सडकमा

काठमाडौं। अनसनरत स्टाफ नर्स ज्योति रानाभाटको मागप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्।

मंगलबार अस्पताल परिसरमा भेला भएका उनीहरूले विभिन्न मागसहित प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा नर्सहरूले आफूहरूले भोग्दै आएका समस्या र पेशागत अधिकारसँग सम्बन्धित विषयलाई उठाएका थिए।

प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीले ‘हामीलाई सरकार मात्र होइन, बिरामीले पनि सम्मान गर्दैनन्’, ‘हाम्रो ब्लड प्रेसर होइन, तलब बढाऊ’, ‘उन्नत नर्सिङ अभ्यासको विकास’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

नर्सहरूको पारिश्रमिक सम्बन्धित तहअनुसार निर्धारण हुनुपर्ने, श्रम शोषण अन्त्य गरिनुपर्ने तथा नर्सिङ शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेलगायत माग राख्दै रानाभाट अनसनमा बसेकी हुन्।

रानाभाटले गत साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा अनसन सुरु गरेकी थिइन्। लामो समयको अनसनका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो।

हाल उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ।

अनसनरत नर्सको मागप्रति सरकार गम्भीर हुनुपर्ने र नर्सिङ क्षेत्रका समस्या समाधानका लागि ठोस पहल गर्नुपर्ने प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीहरूको माग छ।

तस्वीरहरू:

कांग्रेस सांसद केरुङको प्रश्न, ‘ग्यास छ भन्ने, तर उपभोक्ताले किन पाएनन्?’

काठमाडौं। नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले बजारमा खाना पकाउने ग्यासको अभाव देखिँदा सरकार र नेपाल आयल निगमको दाबीमाथि प्रश्न उठाएका छन्। सरकारले ग्यासको पर्याप्त मौज्दात रहेको र आपूर्ति नियमित भइरहेको बताइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको भन्दै उनले वास्तविक अवस्था सार्वजनिक गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केरुङले सरकार र नेपाल आयल निगमले ग्यासको अभाव नरहेको दाबी गरिरहे पनि बजारमा उपभोक्ताले सिलिन्डर नपाइरहेको अवस्था विरोधाभासपूर्ण रहेको बताए।

उनले, ‘सरकार भन्छ ग्यास छ, आयल निगम पनि भन्छ आपूर्ति नियमित छ। तर उपभोक्ताले ग्यास पाएका छैनन्। त्यसो भए आपूर्ति भएको ग्यास कहाँ गयो?’ भन्दै सरकारसँग स्पष्ट जवाफ मागे।

केरुङले सरकारले आयात गरिएको र उपभोक्तासम्म वितरण गरिएको ग्यासको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग गरे। आपूर्ति र वितरणबीच ठूलो अन्तर देखिएको उल्लेख गर्दै उनले यो सरकारको वितरण प्रणाली कमजोर भएको प्रमाण भएको दाबी गरे।

भारतबाट हुने ग्यास आपूर्तिमा कुनै अवरोध आए त्यसको विकल्पबारे सरकारसँग स्पष्ट योजना नभएको पनि उनले आरोप लगाए। भारतमा निर्भर रहेको नेपालको ग्यास आपूर्तिमा समस्या उत्पन्न भए त्यसको व्यवस्थापन कसरी गरिन्छ भन्ने प्रश्न गर्दै उनले सरकारले पूर्वतयारी र आपत्कालीन योजना सार्वजनिक गर्नुपर्ने बताए।

व्यंग्यात्मक शैलीमा उनले, ‘भारतबाट ग्यास आउन बन्द भयो भने त्यसको परिपूर्ति कसरी हुन्छ? कि मन्दिरमा पूजा गर्दै घण्टी बजाउने पुजारी दाइले ल्याइदिने हो?’ भन्दै सरकारलाई कटाक्ष गरे।

सांसद केरुङले अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन, कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न र उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

देशमा आगो दन्किँदा प्रधानमन्त्री कहाँ थिए ?

काठमाडौं। सुनसरीको देवानगन्जमा तनाव चर्किँदा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)कहाँ थिए ? नेपाली कम्युनिष्ट पार्टी(नेकपा)की सांसद बलावती शर्माले यही प्रश्नमार्फत सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले देवानगन्जमा झडप भएको पाँच दिनपछि मात्रै प्रधानमन्त्री शाह राष्ट्रका नाममा सम्बोधन गर्दै टेलिभिजनको पर्दामा देखिएको टिप्पणी गरिन्।

उनले देशमा गम्भीर समस्या उत्पन्न भइरहँदा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति र सक्रियता नदेखिएको आरोप लगाइन्। सामाजिक सद्भावमा तनाव उत्पन्न हुँदा, सीमा क्षेत्रमा समस्या देखिँदा तथा विभिन्न वर्ग र समुदाय आफ्ना माग लिएर आन्दोलनमा रहँदा प्रधानमन्त्रीले उनीहरूसँग संवाद गर्नुपर्ने उनको भनाइ थियो।

शर्माले प्रधानमन्त्री सिंहदरबारको कोठाभित्र सीमित भएको आरोप लगाउँदै देशका नागरिक समस्यामा परेका बेला सरकार प्रमुखको भूमिका थप सक्रिय हुनुपर्ने बताइन्।

उनका अनुसार सीमा विवाद, सामाजिक तनाव, बेरोजगारी, आर्थिक समस्या तथा विभिन्न पीडित समूहका माग सम्बोधन गर्न प्रधानमन्त्री आफैंले पहल गर्नुपर्ने अवस्था छ। तर प्रधानमन्त्री राजनीतिक दलहरूसँग संवादमा नरहेको र नागरिकका समस्या सुन्न प्रत्यक्ष रूपमा नपुगेको शर्माको आरोप छ।

‘प्रधानमन्त्री सिंहदरबारको कोठाभित्र के गरेर बसिराख्नुभएको छ ?’ भन्दै शर्माले सरकारको प्राथमिकता र कार्यशैलीमाथि प्रश्न उठाइन्।

शर्माले प्रधानमन्त्री शाह राजनीतिक दलहरूसँग पर्याप्त संवादमा नरहेको आरोप लगाइन्। त्यस्तै, अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध सुधारका क्षेत्रमा पनि सरकारको प्रभावकारी सक्रियता नदेखिएको उनको भनाइ थियो।

संसद्लाई समेत सरकार प्रमुखले पर्याप्त महत्व नदिएको आरोप लगाउँदै उनले प्रधानमन्त्री जनप्रतिनिधिमूलक संस्थाप्रति उत्तरदायी हुनुपर्ने बताइन्।

उनले सुशासन र समृद्धिको नारासहित अघि बढेको सरकारले उद्योगी, व्यवसायी तथा निर्माण व्यवसायीलाई विश्वासमा लिनुको सट्टा त्रसित बनाउने काम गरेको आरोप लगाइन्।

निजी क्षेत्रलाई निरुत्साहित गरेर अर्थतन्त्र सुधार हुन नसक्ने भन्दै शर्माले सरकारको आर्थिक कार्यशैलीमाथि समेत प्रश्न उठाइन्।

शर्माले प्रधानमन्त्री शाहले संसद्को रोस्टमबाट नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई पनि पुनः उठाइन्।

उक्त अभिव्यक्ति दिएको दुई महिना दुई दिन बितिसक्दा पनि त्यसबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएको र अभिव्यक्ति संसद्को रेकर्डबाट समेत नहटाइएको उनले बताइन्।

राष्ट्रियता र सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति सामान्य रूपमा लिन नसकिने शर्माको भनाइ छ।

उनले उक्त अभिव्यक्तिको जवाफ नआएसम्म र संसद्को अभिलेखबाट नहटाएसम्म विरोध जारी राख्ने बताइन्।

देवानगन्ज घटनापछि प्रधानमन्त्रीको सम्बोधन आए पनि त्यसअघि सरकारको सक्रियता किन देखिएन भन्ने प्रश्न शर्माले उठाएकी छन्।

उनको भनाइमा सरकार प्रमुखले संकट उत्पन्न भएपछि मात्रै सम्बोधन गर्ने होइन, सम्भावित तनाव पहिचान गरी समयमै संवाद र हस्तक्षेप गर्नुपर्ने हुन्छ।

सामाजिक सद्भाव, सीमा सुरक्षा, आर्थिक संकट र नागरिकका आन्दोलनजस्ता विषय एकपछि अर्को उठिरहेका बेला प्रधानमन्त्रीको नेतृत्व र सरकारको उपस्थितिमाथि नै प्रश्न उठ्नु गम्भीर राजनीतिक सन्देश भएको शर्माको टिप्पणी छ।

ओलीसँगको वादविवादमा ढले जगन्नाथ

काठमाडौं। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया अध्यक्ष केपी शर्मा ओलीले थर्काएपछि बोल्दाबोल्दै ढलेको कुरा बाहिरिएको छ। 

सोमबार साँझ एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा बागमती प्रदेश सरकार गठन र संसदीय दलको नेतृत्वबारे छलफलका लागि बैठक बोलाइएको थियो। बैठकमा प्रदेश इन्चार्ज, प्रदेशका सांसद तथा पार्टीका शीर्ष नेताहरू सहभागी थिए। छलफलको मुख्य विषय नयाँ सरकार गठन र त्यसको नेतृत्व कसले गर्ने भन्ने थियो।

स्रोतहरूका अनुसार बैठकको सुरुदेखि नै अधिकांश सहभागीले जगन्नाथ थपलियाले अब संसदीय दलको नेतृत्व छाड्नुपर्ने धारणा राखेका थिए। उनीबाट सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने, विशेषगरी सरकार गठनका लागि आवश्यक राजनीतिक सहमति जुटाउन कठिन हुने तर्क बैठकमा बारम्बार उठाइएको बताइन्छ।

छलफलमा सहभागी अधिकांश सांसदले राप्रपासहित अन्य दलको समर्थन जुटाउन थपलियाको भूमिका प्रभावकारी नहुने तर्क गरेका थिए। एकपछि अर्को नेताले नेतृत्व परिवर्तनको पक्षमा धारणा राखेपछि बैठकको वातावरण थपलियाका लागि असहज बन्दै गएको थियो।

बैठकमा प्रदेश इन्चार्ज महेश बस्नेतले पनि अन्ततः पार्टी अध्यक्षको निर्णय कार्यान्वयन हुने संकेत दिएका थिए। त्यसक्रममा थपलियाले आफू पनि लामो समयदेखि पार्टीका लागि काम गरेको नेता भएको स्मरण गराउँदै आफ्नो पक्ष राख्ने प्रयास गरेका थिए।

लगातार नेतृत्व परिवर्तनको दबाब र आफ्नै सहकर्मीबाट योग्यता माथि प्रश्न उठाइएपछि थपलिया भावुक बनेका थिए। आफूले पाँच दशकभन्दा बढी समय पार्टीका लागि योगदान दिएको उल्लेख गर्दै अहिले अचानक आफूलाई अयोग्य ठहर गरिनुको कारणबारे उनले प्रश्न उठाएको स्रोतहरूको दाबी छ।

उनी बोलिरहेकै क्रममा स्वास्थ्य अवस्था बिग्रिएर अचेत भएपछि बैठकमा केहीबेर तनाव सिर्जना भएको थियो। त्यसपछि सांसद केशव पोखरेल, दावा दोर्जे लामा लगायतले उनलाई तत्काल मध्यपुर ठिमी अस्पताल पुर्‍याएका थिए।

थपलियालाई उपचारका लागि अस्पताल लगिएपछि पनि गुन्डुमा बैठक भने रोकिएन। सरकार गठन र नेतृत्व परिवर्तनको विषयमा छलफल मध्यरातसम्म चलेको बताइएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विषयमा आफ्नो धारणा स्पष्ट राख्दै सरकार सञ्चालनका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका स्रोतहरूको भनाइ छ। साथै राप्रपाको समर्थन जुटाउन सक्ने नेताले नै सरकारको नेतृत्व गर्ने संकेत पनि उनले दिएको बताइन्छ।

बैठकमा सहभागी १७ जना सांसदमध्ये अधिकांशले यसअघि नै किरण थापामगरलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरिसकेको चर्चा पनि भएको थियो। यसले थपलियामाथिको दबाब अझ बढाएको बताइन्छ।

यद्यपि केही दिनअघि अध्यक्ष ओलीले थपलियालाई नै मुख्यमन्त्री बनाउने आश्वासन दिएको चर्चा भएकाले उनी नेतृत्व परिवर्तनको विषय यति छिटो अगाडि बढ्ने अपेक्षामा थिएनन्। यही कारण गुन्डुमा भएको छलफल उनको अपेक्षाभन्दा बिल्कुल फरक दिशामा गएको स्रोतहरूको दाबी छ।

मधेसमा मात्रै गोली किन चल्छ? : अमरेश कुमार सिंह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले मधेसका घटनामा सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउँदै सरकारसँग जवाफ मागेका छन्। उनले मधेसमा हुने आन्दोलन तथा तनावका बेला बल प्रयोगको शैलीमाथि आपत्ति जनाउँदै सरकारले समान र न्यायपूर्ण सुरक्षा नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले मधेसमा सामान्य अवस्था नियन्त्रण गर्नका लागि पनि किन सिधै गोली चलाउने अवस्था सिर्जना हुन्छ भन्दै प्रश्न गरे। उनले भीड नियन्त्रणका अन्तर्राष्ट्रिय रूपमा स्वीकृत वैकल्पिक उपाय प्रयोग नगरी घातक बलको प्रयोग गरिनु गम्भीर विषय भएको उल्लेख गरे।

‘मधेसमा मात्रै गोली किन चल्छ? मधेसमा पानीको फोहोरा किन चल्दैन? मधेसमा टियर ग्यास किन चल्दैन? मधेसमा अश्रु ग्यास किन चल्दैन,’ उनले सोधे।

सिंहले देशका सबै नागरिकप्रति राज्यको व्यवहार समान हुनुपर्ने उल्लेख गर्दै कुनै पनि क्षेत्र वा समुदायप्रति विभेदपूर्ण सुरक्षा नीति स्वीकार्य नहुने बताए। उनले सुरक्षा निकायले भीड नियन्त्रणका क्रममा न्यूनतम बल प्रयोग गर्ने सिद्धान्त पालना गर्नुपर्ने र घटनाको निष्पक्ष छानबिन गरी आवश्यक सुधारका कदम चाल्न सरकारसँग माग गरे।

उनले मधेसमा पटक-पटक हुने घटनाबाट स्थानीय नागरिकमा असुरक्षाको भावना बढ्दै गएको भन्दै सरकारले सुरक्षा संयन्त्रको कार्यशैलीको समीक्षा गरी नागरिकको जीवन र अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

‘राष्ट्रियता र सीमा सुरक्षामा सरकार किन मौन?’

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियता, सीमा सुरक्षा तथा जनजीविकाका विषयमा सरकार र प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा सांसद बलावती शर्माले प्रधानमन्त्री शाह देशका गम्भीर समस्याप्रति उदासीन रहेको आरोप लगाइन्। उनले प्रधानमन्त्री सामाजिक सञ्जालमा बढी केन्द्रित भएको तर जनताका जल्दाबल्दा समस्या समाधानमा प्रभावकारी भूमिका नदेखिएको बताइन्।

शर्माले प्रधानमन्त्री शाहले केही समयअघि संसद्को रोस्टमबाट ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको विषयमा पुनः आपत्ति जनाइन्।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे स्पष्ट जवाफ नआएसम्म तथा भनाइ संसद्को अभिलेखबाट नहटाइएसम्म आफ्नो पार्टीको विरोध जारी रहने बताइन्। राष्ट्रियताजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु गम्भीर विषय भएको उनको भनाइ थियो।

शर्माले नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी स्थानीयले बनाएको अस्थायी माटोको बाँध भत्काएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्।

प्रधानमन्त्रीको कार्यशैली कमजोर रहेको र विवादास्पद अभिव्यक्तिले सीमा क्षेत्रमा एसएसबीको हेपाहा प्रवृत्तिलाई थप प्रोत्साहन गरेको उनले आरोप लगाइन्। कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रमा देखिएको सीमा विवादबारे पनि सरकारले स्पष्ट धारणा राख्नुपर्ने उनको माग थियो।

यसैगरी, सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनाव नियन्त्रणमा सरकारले ढिलाइ गरेको शर्माले बताइन्।

घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै उनले घटनाको सत्यतथ्य छानबिनका लागि विश्वसनीय तथा निष्पक्ष आयोग गठन गर्न सरकारसँग आग्रह गरिन्।

हिन्दु सम्राट सेनामाथि हर्क साम्पाङको प्रहार, ‘सेना गठन कसले कसले गर्न पाउने हो?’

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भइरहेको विरोधप्रति असहमति जनाउँदै त्यस विषयमा राजनीतिक रूपमा छलफल हुनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीले आफ्नो धारणा राखेपछि त्यसलाई सच्याउन दबाब सिर्जना गर्नुको सट्टा संसद् र राजनीतिक दलबीच संवाद हुनुपर्ने धारणा व्यक्त गरे।

प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीले कुनै विषयमा धारणा सार्वजनिक गर्दा त्यसबारे संसद् र राजनीतिक दलबीच खुला छलफल हुनुपर्ने बताए। उनले ‘प्रधानमन्त्रीले हामी यसो गरौँ भन्नुभएको छ भने त्यसबारे छलफल हुनुपर्ने होइन र?’ भन्दै संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिए।

साम्पाङले सांसदहरूको स्वतन्त्र आवतजावत र राजनीतिक गतिविधिको अधिकार सुनिश्चित गर्न राज्य असफल भएको आरोप पनि लगाए। उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचित जनप्रतिनिधिलाई निर्वाध रूपमा हिँडडुल गर्न नदिने अवस्था स्वीकार्य हुन नसक्ने बताए।

जनकपुरमा आफ्ना कार्यकर्तामाथि कुटपिट भएको दाबी गर्दै उनले दोषीमाथि कानुनी कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाए। ‘यो कानुनी राज्य हो कि जंगली राज्य? मेरो घरमा नआइजा भनेजस्तो अवस्था देखिएको छ,’ भन्दै उनले राज्यको शान्ति-सुरक्षा व्यवस्थामाथि प्रश्न उठाए।

साम्पाङले गृहमन्त्रीले वार्ता गरेको भनिएको ‘हिन्दु सम्राट सेना’बारे पनि स्पष्ट जानकारी दिन सरकारसँग माग गरे। उनले उक्त संगठनको कानुनी हैसियत, गठनको आधार र त्यस्तो नाममा ‘सेना’ गठन गर्न मिल्ने कानुनी मापदण्ड के हो भन्नेबारे सरकार स्पष्ट हुनुपर्ने बताए। ‘सेना गठन गर्ने मापदण्ड के हो? कसले सेना गठन गर्न पाउँछ?’ भन्ने प्रश्न गर्दै उनले सरकारले यसबारे संसद्लाई जवाफ दिनुपर्ने माग गरे।

सुनसरी घटनाको प्रसंग उठाउँदै साम्पाङले सम्भावित जोखिमबारे सरकारलाई पहिल्यै जानकारी हुँदाहुँदै पनि आवश्यक सावधानी नअपनाएको आरोप लगाए। 

रुस–युक्रेन आक्रमणमा कम्तीमा २७ जनाको मृत्यु

काठमाडौं। रुस र युक्रेनबीच पछिल्लो समय भएका आक्रमण तथा प्रत्याक्रमणमा दुवैतर्फ गरी कम्तीमा २७ जनाको मृत्यु भएको छ।

रुसको मस्को क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको रुसी समाचार संस्था तासले जनाएको छ। घटनामा थप ६ जना घाइते भएका छन्।

ड्रोन आक्रमणपछि खसेका भग्नावशेषका कारण रुसको क्रास्नोडार क्षेत्रमा समेत क्षति पुगेको जनाइएको छ।

यता, युक्रेनको दिनिप्रोपेत्रोभ्स्क क्षेत्रमा रुसले गरेको आक्रमणमा पेट्रोल स्टेसनमा तीन जनाको मृत्यु भएको छ। उक्त क्षेत्रका गभर्नर ओलेक्सान्द्र हन्जाका अनुसार घटनामा २१ जना घाइते भएका छन्। घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

यसैगरी जापोरिझ्झिया क्षेत्रमा भएको अर्को रुसी आक्रमणमा आठ जनाको मृत्यु भएको जनाइएको छ।

पछिल्ला घटनासँगै रुस र युक्रेनबीच जारी युद्धमा दुवै पक्षबाट हवाई आक्रमण र प्रत्याक्रमणको क्रम थप तीव्र बनेको देखिएको छ।

स्थायी सर्वदलीय–सर्वधार्मिक संवाद संयन्त्र बनाउन कांग्रेस सचेतक राईको माग

काठमाडौं। नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक तथा नागरिक संवाद संयन्त्र गठन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रस्तावित संयन्त्रमा हिन्दु, मुस्लिम, बौद्ध, किरात, इसाईलगायत धार्मिक समुदायका साथै स्थानीय सरकार, नागरिक समाज, महिला, युवा र सुरक्षा निकायको समान प्रतिनिधित्व हुनुपर्ने बताए।

सामाजिक तनावका प्रारम्भिक संकेत देखिनासाथ संयन्त्रले संवादको पहल गर्नुपर्ने उनको भनाइ छ। यस्तो संयन्त्रले समयमै संवादमार्फत सम्भावित द्वन्द्व र तनाव नियन्त्रणमा सहयोग पुग्ने उनले बताए।

राईले सुनसरीमा भएको घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा व्यवस्थामा देखिएका कमजोरी, अफवाहको भूमिका तथा राज्यको प्रतिक्रियाबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे।

उनले सामाजिक सञ्जालमार्फत घृणा र झुटा सूचना फैलाउनेमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने बताए। तर कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा राख्न नहुनेमा उनले जोड दिए।

सरकारलाई सहयोगी, पारदर्शी र खुला बन्न आग्रह गर्दै राईले संवेदनशील विषयमा गरिने निर्णय बन्द कोठामा नभई खुला राष्ट्रिय संवादमार्फत अघि बढाउनुपर्ने बताए।

उनका अनुसार असहमति दबाएर सामाजिक एकता कायम गर्न सकिँदैन। खुला, इमानदार र सम्मानजनक संवादबाट मात्रै आपसी विश्वास निर्माण हुने र त्यसले दिगो समाधानको आधार तयार गर्ने उनको भनाइ छ।

राईले सरकार र आन्दोलनरत पक्षबीच भएको १३ बुँदे सहमतिले समेत केही गम्भीर प्रश्न उठाएको बताएका छन्। उनले उक्त सहमतिका विषयमा समेत स्पष्टता आवश्यक रहेको बताए।

सुनसरी घटनामा सरकार असफल भयो : एमाले सांसद बराल

काठमाडौं। नेकपा (एमाले) का सांसद गुरु बरालले सुनसरीमा भएको घटनामा सरकारले समयमै शान्ति-सुरक्षा कायम गर्न नसकेको आरोप लगाएका छन्। सांस्कृतिक रीतिरिवाजका क्रममा भएको उक्त घटनाले समाजमा धार्मिक सद्भावमा असर पुग्ने जोखिम बढाएको भन्दै उनले सरकारसँग जवाफ मागेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सुनसरी घटनाको घाउ अझै निको हुन नसकेको उल्लेख गर्दै सरकारको सुरक्षा व्यवस्थापन कमजोर रहेको टिप्पणी गरे। उनले गृहमन्त्रीको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै घटनापछि समाजलाई आश्वस्त पार्ने वातावरण निर्माण गर्न सरकार असफल भएको दाबी गरे।‘सांस्कृतिक रितिरिवाज अगाडी बढाउने क्रममा सुनसरीमा घटेको घटनामा सरकारले सुरक्षा दिन सकेन। सरकारले तत्काल शान्ति सुरक्षा कायम गर्न सकेन,’ उनले भने। 

उनले सुनसरी घटनाको निष्पक्ष र विश्वसनीय छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे। विद्यमान छानबिन समितिले घटनाको वास्तविकता बाहिर ल्याउन नसक्ने जिकिर गर्दै उनले स्वतन्त्र न्यायिक संयन्त्रमार्फत अनुसन्धान गरिनुपर्ने बताए। ‘सुनसरी घटनाको न्यायिक समितिबाट छानबिन हुनुपर्छ। छानबिन समितिले सुनसरी घटनाको छानबिन गर्न सक्दैन,’ बरालले भने। 

बरालले सरकारले पीडितलाई आर्थिक क्षतिपूर्ति दिन सक्ने भए पनि त्यसबाट नागरिकले भोगेको भावनात्मक पीडा मेटिन नसक्ने उल्लेख गरे। त्यसैले दोषी पहिचान गरी कानुनी कारबाही र सत्यतथ्य सार्वजनिक गर्नु नै न्यायको आधार हुने उनको भनाइ थियो।

यसैक्रममा उनले विराटनगरका एक उद्योगी-व्यवसायीको घरमा सुरक्षा निकायले गरेको छापाप्रति पनि आपत्ति जनाए। पर्याप्त आधार र संवेदनशीलता बिना गरिएको कारबाहीले ती व्यवसायीलाई अन्तर्राष्ट्रिय ठगसरह व्यवहार गरिएको अनुभूति गराएको उनको आरोप थियो। यस्ता गतिविधिले सम्बन्धित व्यक्तिको प्रतिष्ठामा गम्भीर आँच पुगेको मात्र नभई उद्योगी तथा व्यवसायी समुदायमा त्रासको वातावरण सिर्जना भएको उनले बताए।

सांसद बरालले सरकारको आर्थिक नीति र बजार व्यवस्थापनप्रति पनि असन्तुष्टि व्यक्त गरे। बजारमा महँगी निरन्तर बढिरहँदा त्यसलाई नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल भएको उनको आरोप थियो। उपभोग्य वस्तुको मूल्यवृद्धिले आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गइरहेको उल्लेख गर्दै उनले बजार अनुगमन प्रभावकारी बनाउन र मूल्य नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारसँग माग गरे।

बालेन-सुधन भेट, के भयो कुरा ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा तराई–मधेशको पछिल्लो सुरक्षा अवस्था र त्यहाँ भएका घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

मधेशका विभिन्न क्षेत्रमा पुगेर स्थलगत रूपमा काम गरेका गृहमन्त्री गुरुङले त्यहाँको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए। घटनापछि स्थिति सामान्य बन्दै गएको अवस्थाबारे पनि प्रधानमन्त्रीले गृहमन्त्रीसँग जानकारी लिएका थिए।

भेटमा आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिका विषयमा समेत सामान्य छलफल भएको बताइएको छ।

गत १० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो।

उक्त घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो। घटनाको प्रभाव अन्य जिल्लामा समेत देखिएपछि सिरहामा भएको प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको थियो।

स्थिति नियन्त्रणमा लिन नेपाली सेनासमेत परिचालन गरिएको थियो। प्रधानमन्त्री र गृहमन्त्रीबीचको भेटमा यही घटनाक्रमपछि तराई–मधेशमा विकसित पछिल्लो अवस्था, सुरक्षा व्यवस्थापन र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ।

संसदमा विपक्षीको विरोध

काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।

सिंहदरबारस्थित संघीय संसद् भवनमा मंगलबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नासाथ नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले यसअघि पनि प्रतिनिधिसभा बैठकमा विरोध गर्दै आएका छन्।

गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘भारतको भूमि नेपालले पनि मिचेको छ’ भन्ने आशयको जवाफ दिएपछि विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहबाट उक्त अभिव्यक्तिबारे स्पष्ट जवाफ माग्दै आएका छन्। तर, हालसम्म प्रधानमन्त्री शाहले त्यसबारे औपचारिक स्पष्टीकरण दिएका छैनन्।

त्यस्तै, उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुख अर्यालले संसद् सचिवालयलाई निर्देशनसमेत दिएका छैनन्।

यही विषयलाई लिएर विपक्षी सांसदहरूले बैठकमा उठेर विरोध जनाउँदै आएका छन्।

विवाहबिनै पाँच सन्तान जन्माउने रोनाल्डो-जर्जिनाको प्रेम कथा

काठमाडौं। विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डो खेल करिअरको उत्तरार्धमा छन्। मैदानमा उनको उपलब्धि जति चर्चित छ, मैदानबाहिरको पारिवारिक जीवन पनि उत्तिकै चासोको विषय बन्ने गरेको छ।

रोनाल्डोको पारिवारिक जीवनको एउटा रोचक पक्ष के हो भने, उनले औपचारिक विवाह नगरी पाँच सन्तानको पिता बनेका छन्। युरोपेली समाजमा विवाह र पारिवारिक सम्बन्धलाई हेर्ने दृष्टिकोण नेपालजस्ता दक्षिण एसियाली समाजभन्दा केही फरक छ। त्यसैले रोनाल्डोको पारिवारिक संरचना त्यहाँ असामान्य विषय मानिँदैन।

सन् २०१० जुन १७ मा रोनाल्डो पहिलोपटक पिता बने। उनका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको हो। त्यतिबेला दक्षिण अफ्रिकामा विश्वकप खेलिरहेका रोनाल्डो छोराको जन्मपछि तत्काल अमेरिका पुगेका थिए।

तर जुनियरकी आमाको पहिचान रोनाल्डोले सार्वजनिक गरेनन्। उनले आफ्नो छोराको आमासम्बन्धी विषयलाई निजी राख्दै आएका छन्। रोनाल्डोले आफूले छोरालाई उपयुक्त समयमा यसबारे जानकारी दिने बताएका थिए। त्यसयता पनि यस विषयमा सार्वजनिक रूपमा स्पष्ट विवरण आएको छैन।

सन् २०१६ मा रोनाल्डोको जीवनमा जर्जिना रोड्रिगेज प्रवेश गरिन्। म्याड्रिडको एक गुच्ची स्टोरमा भएको भेटपछि उनीहरूबीच सम्बन्ध अघि बढेको थियो। छोटो समयमै उनीहरू नजिकिए र जर्जिना रोनाल्डोको पारिवारिक जीवनको महत्वपूर्ण हिस्सा बनिन्।

सन् २०१७ जुनमा रोनाल्डोले सरोगेसीमार्फत जुम्ल्याहा सन्तान इभा मारिया र माटेओलाई स्वागत गरे। त्यसै वर्ष नोभेम्बरमा जर्जिनाले छोरी अलाना मार्टिनालाई जन्म दिइन्। यससँगै रोनाल्डोको परिवार थप विस्तार भयो।

सन् २०२२ मा रोनाल्डो र जर्जिनाले जुम्ल्याहा सन्तानको अपेक्षा गरेका थिए। छोरी बेल्ला एस्मेराल्डाको जन्म भयो, तर उनका जुम्ल्याहा भाइ एन्जेलको भने जन्म हुन सकेन। परिवारका लागि यो निकै पीडादायी क्षण थियो। जर्जिनाले उक्त समयलाई जीवनको सबैभन्दा खुसी र दुःखद क्षण एकसाथ आएको अवस्थाका रूपमा सम्झिएकी थिइन्।

बेल्ला अहिले रोनाल्डो परिवारकी कान्छी सन्तान हुन्। जर्जिना रोनाल्डोका सबै सन्तानसँग नजिक छिन् र उनीहरूको हुर्काइमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्।

सन् २०२५ अगस्टमा रोनाल्डो र जर्जिनाले इन्गेजमेन्ट गरे। जर्जिनाले सामाजिक सञ्जालमा हीराको औंठी देखाउँदै इन्गेजमेन्टको खबर सार्वजनिक गरेकी थिइन्। यद्यपि उनीहरूको औपचारिक विवाह भने अझै भएको छैन। रोनाल्डोले सार्वजनिक अभिव्यक्तिमा जर्जिनालाई कहिलेकाहीँ पत्नीका रूपमा सम्बोधन गरे पनि उनीहरू कानुनी रूपमा विवाह बन्धनमा बाँधिएका छैनन्।

रोनाल्डोको पारिवारिक संरचना परम्परागत दृष्टिले फरक देखिए पनि उनले आफ्ना सन्तानसँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएका छन्। उनी परिवारसँग यात्रा गर्ने, समय बिताउने र त्यसका क्षणहरू सामाजिक सञ्जालमा साझा गर्ने गर्छन्।

जेठा छोरा क्रिस्टियानो जुनियर पनि फुटबलमा अघि बढिरहेका छन्। बुवाको पदचिह्न पछ्याउँदै उनी युवा फुटबलमा आफ्नो पहिचान बनाउने प्रयासमा छन्।

अभिषेक र खुशीको जोडीमा ‘पच्चिस पच्चिस’

काठमाडौं। अभिनेता अभिषेक खड्का र अभिनेत्री खुशी कार्कीको मुख्य भूमिका रहने नयाँ नेपाली फिल्म ‘पच्चिस पच्चिस’ निर्माण हुने भएको छ। फिल्मको निर्माण सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत घोषणा गरिएको हो।

सुब्रत आचार्यको निर्देशनमा बन्ने फिल्मले युवा पुस्ताको प्रेम, करिअर र मित्रताको कथा प्रस्तुत गर्ने बताइएको छ। निर्देशक आचार्यका अनुसार फिल्मको कथावस्तु अहिलेको जेन–जी पुस्ताको प्रेम सम्बन्ध र स्टार्टअप व्यवसायको परिवेशमा केन्द्रित छ।

कलाकार छनोट पनि कथाको विषयवस्तुलाई ध्यानमा राखेर गरिएको निर्देशक आचार्यले बताएका छन्। उनले कलाकारहरूले आफूलाई दिइएको चरित्रलाई न्याय गर्नेमा विश्वस्त रहेको बताए।

अभिषेकले ‘बेहुली फ्रम मेघौली’ बाट अभिनय यात्रा सुरु गरेका हुन्। उनको मुख्य भूमिका रहेको ‘कुमारी’ ले अपेक्षाअनुसार व्यावसायिक सफलता हासिल गर्न नसके पनि उनको अभिनयले भने प्रशंसा पाएको थियो।

यता, ‘मेरो डान्स युनिभर्स’ मार्फत चर्चामा आएकी खुशी कार्कीले ‘बाह्रगाउँ २’ मा समेत अभिनय गरिसकेकी छन्। थाइल्यान्डमा हुर्किएकी खुशीले नेपाली फिल्ममा आफ्नो अभिनय यात्रा अघि बढाइरहेकी छन्।

‘पच्चिस पच्चिस’ मार्फत अभिषेक र खुशी पहिलोपटक मुख्य जोडीका रूपमा पर्दामा देखिनेछन्।

जङ्गी अड्डाको निम्तो कहिले स्वीकार्लान् बालेनले?

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता भइरहेको हो।

प्रधानमन्त्री नियुक्त भएपछि शाह र प्रधानसेनापति सिग्देलबीच यो चौथोपटक भेटवार्ता भएको हो। प्रधानमन्त्री शाहले रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।

प्रधानमन्त्री नियुक्त भएको लामो समय बितिसक्दा पनि शाहले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको औपचारिक भ्रमण भने गरेका छैनन्।

रक्षामन्त्रीको हैसियतमा सुरक्षा तथा समसामयिक विषयमा ब्रिफिङ लिन सैनिक मुख्यालय आउन निमन्त्रणा गरिए पनि उनी अहिलेसम्म जङ्गी अड्डा पुगेका छैनन्।

३ हजार आवेदनको चाङ, राजदूत नियुक्तिको चटारो

काठमाडौं। सरकारले रिक्त रहेका २० वटा नेपाली नियोगमा राजदूत नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

परराष्ट्र मन्त्रालयले प्राप्त आवेदनहरूको अध्ययन गरिरहेको र उपयुक्त उम्मेदवार छनोट गरी आगामी सातासम्म सिफारिस गर्ने तयारी गरेको हो।

खुला आवेदन आह्वान गरेर राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागिएको यो पहिलोपटक हो। मन्त्रालयमा प्राप्त ३ हजारभन्दा बढी आवेदनमध्येबाट योग्य तथा उपयुक्त उम्मेदवार छनोट गरिनेछ।

हाल भारत, अमेरिका, चीन, अस्ट्रेलिया, जर्मनी, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलंका, बेलायत र स्पेनस्थित नेपाली दूतावासमा राजदूत पद रिक्त छ।

यसैगरी कार्यकाल पूरा गरेपछि केही समयका लागि म्याद थप गरेर राजदूतहरूले काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार तथा संयुक्त राष्ट्रसंघीय नियोग भियनामा पनि नयाँ राजदूत नियुक्त गर्नुपर्ने अवस्था छ। यी सबैलाई जोड्दा २० वटा नियोगमा राजदूत नियुक्त गर्नुपर्ने देखिन्छ।

नेपालका २८ वटा राजदूतावास छन्। संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्क, जेनेभा र भियनामा गरी तीन स्थायी नियोग छन् भने आठवटा महावाणिज्य दूतावास छन्। यसरी नेपालका विदेशस्थित कुल ३९ नियोग सञ्चालनमा छन्।

सरकारले चालु आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कस्थित नेपाली दूतावास भने बन्द गरिसकेको छ।

हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र यूएईस्थित नेपाली नियोगमा राजदूत कार्यरत छन्।

नेपालमा राजदूत नियुक्ति गर्दा राजनीतिक क्षेत्र र परराष्ट्र सेवाका करिअर कूटनीतिज्ञ दुवैबाट उम्मेदवार छनोट गर्ने अभ्यास छ। सरकारले यसपटक पनि दुवै क्षेत्रबाट राजदूत नियुक्त गर्ने तयारी गरेको छ।

ग्यास अभावदेखि विस्फोटसम्म, उपभोक्ता मारमा

काठमाडौं। बजारमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकेको गुनासो बढिरहेका बेला उपभोक्ता अधिकारकर्मीले ग्यास क्षेत्रमा देखिँदै आएका समस्या समाधानका लागि छुट्टै र स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन्।

उपभोक्ता अधिकारकर्मी जयप्रसाद पौडेलले ग्यासको अभावदेखि सिलिन्डर विस्फोट र सिलिन्डरभित्र लेदो भेटिनेसम्मका गुनासा दैनिकजसो आउने गरेको बताएका छन्। उनका अनुसार ग्यास क्षेत्रलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्ने स्पष्ट कानुनको अभावमा उपभोक्ताले पटक-पटक समस्या भोग्नुपरेको हो।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा बोल्दै पौडेलले ग्याससम्बन्धी समस्या नयाँ नभएको बताए। ग्यासको आपूर्ति, सिलिन्डरको अवस्था तथा उपभोक्ता सुरक्षासँग सम्बन्धित समस्या लामो समयदेखि देखिए पनि त्यसको स्थायी समाधानतर्फ पर्याप्त ध्यान नदिइएको उनको भनाइ छ।

उनले ग्यास कहिले अभाव हुने, कहिले सिलिन्डर विस्फोट हुने र कहिलेकाहीँ सिलिन्डरभित्र लेदो भेटिने जस्ता गुनासा नियमित रूपमा आउने गरेको बताए। उनका अनुसार ग्यास क्षेत्रमा बारम्बार समस्या देखिनुको एउटा प्रमुख कारण यस क्षेत्रलाई नियमन गर्ने छुट्टै कानुनी आधार नहुनु हो।

यसैबीच, ग्यास आपूर्ति सहज हुन नसक्दा उपभोक्ताले प्रत्यक्ष रूपमा समस्या भोगिरहेको पछिल्ला घटनाले पनि बजारको अवस्था स्पष्ट पारेको छ।

हिजो सार्वजनिक भएको विवरणअनुसार चितवनको भरतपुरका विभिन्न क्षेत्रमा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर घण्टौँसम्म ग्यासको लाइनमा बस्न बाध्य भएका छन्। एक सिलिन्डर ग्यास पाउन सात दिनसम्म कुर्नुपरेको गुनासोसमेत उपभोक्ताले गरेका छन्।

खाना पकाउने अत्यावश्यक वस्तुका रूपमा रहेको एलपी ग्यासको आपूर्ति नियमित हुन नसक्दा सर्वसाधारणको दैनिक जीवनमै प्रत्यक्ष असर परेको छ। बजारमा ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने, पटक-पटक डिपो धाउनुपर्ने तथा खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था देखिएको छ।

ग्यास अभावको समस्या केवल आपूर्तिसँग मात्र जोडिएको विषय नभई वितरण प्रणाली, बजार व्यवस्थापन र नियमनसँग पनि सम्बन्धित रहेको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ।

पौडेलले ग्यास क्षेत्रमा देखिने समस्या अभावमा मात्र सीमित नभएको बताए। सिलिन्डरको गुणस्तर, विस्फोटको जोखिम, सिलिन्डरभित्र लेदो वा अन्य पदार्थ भेटिनेजस्ता विषय पनि उपभोक्ता सुरक्षासँग प्रत्यक्ष जोडिएको उनको भनाइ छ।

ग्यास सिलिन्डरको नियमित परीक्षण, गुणस्तर अनुगमन तथा वितरण प्रणालीमा प्रभावकारी नियमन हुन नसके उपभोक्ताले आर्थिक क्षतिसँगै सुरक्षासम्बन्धी जोखिमसमेत व्यहोर्नुपर्ने अवस्था आउन सक्ने देखिन्छ।

उपभोक्ताले ग्यास खरिद गर्दा सिलिन्डरको अवस्था र गुणस्तरबारे आफैं पर्याप्त जानकारी लिन नसक्ने भएकाले राज्यले नै प्रभावकारी नियमन र अनुगमन गर्नुपर्ने अधिकारकर्मीहरूको जोड छ।

पौडेलले ग्याससँग सम्बन्धित समस्या पटक–पटक दोहोरिए पनि दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल हुन नसकेको बताए। उनका अनुसार समस्या देखिएपछि तत्कालीन व्यवस्थापन गर्नेभन्दा पनि ग्यास क्षेत्रलाई व्यवस्थित गर्ने दीर्घकालीन नीति आवश्यक छ।

ग्यासको आयातदेखि भण्डारण, ढुवानी, वितरण र सिलिन्डरको गुणस्तरसम्मका विषयलाई स्पष्ट रूपमा नियमन गर्ने कानुनी व्यवस्था आवश्यक रहेको उनले बताए।

उपभोक्ताको अधिकार सुरक्षित गर्न ग्यास आपूर्ति प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ छ। बजारमा कृत्रिम अभाव सिर्जना भए वा आपूर्ति व्यवस्थापनमा कमजोरी भए त्यसको जिम्मेवारी निर्धारण गर्ने स्पष्ट व्यवस्था पनि आवश्यक रहेको उनले बताए।

पछिल्ला दिनमा ग्यासको अभावसम्बन्धी गुनासो सार्वजनिक भइरहेका बेला उपभोक्ता अधिकारकर्मीले उठाएको कानुनी प्रश्नले समस्या केवल तत्कालीन आपूर्तिसँग मात्र सीमित नरहेको संकेत गरेको छ।

एकातिर उपभोक्ता ग्यासका लागि घण्टौँ लाइनमा बस्नुपर्ने र लामो समयसम्म कुर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ सिलिन्डरको सुरक्षा र गुणस्तरबारे पनि प्रश्न उठिरहेका छन्। यसले ग्यासको आपूर्ति प्रणालीसँगै समग्र बजार व्यवस्थापन र नियमनमाथि प्रश्न खडा गरेको छ।

मौसमले छेक्यो ब्रोड पिक उद्धार, निम्सदाइसहितका शव अझै हिमालमै

काठमाडौं। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित ब्रोड पिकमा ज्यान गुमाएका आरोहीहरूको शव संकलनमा मौसम र भौगोलिक कठिनाइ मुख्य बाधक बनेको छ। मृत्यु पुष्टि भइसके पनि जोखिमपूर्ण क्षेत्रमा रहेका शवलाई सुरक्षित स्थानसम्म ल्याउने काम अझै पूरा हुन सकेको छैन।

पाकिस्तानको काराकोरम क्षेत्रमा पर्ने विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा क्याम्प–३ भन्दा केही तल भीषण हिमपहिरो गएपछि निम्सदाइसहित ६ नेपाली र अन्य विदेशी आरोहीको मृत्यु भएको थियो। घटनापछि उद्धार टोलीले केही शव फेला पारे पनि सबैलाई आधार शिविरसम्म ल्याउन सकेको छैन।

ब्रोड पिकको माथिल्लो क्षेत्रमा लगातार हिमपात भइरहेको छ। तीव्र हावा, बाक्लो बादल र कमजोर दृश्यताका कारण हेलिकप्टरबाट गरिने उद्धार प्रभावित भएको उद्धार अभियानमा संलग्न पर्वतारोहीहरूले बताएका छन्।

विशेषगरी जोखिमपूर्ण स्थानबाट शव निकाल्न प्रयोग गरिने ‘लङलाइन’ प्रविधिका लागि स्थिर मौसम आवश्यक पर्छ। हेलिकप्टरबाट लामो डोरी झुन्ड्याएर तल रहेका उद्धारकर्मी वा शवलाई सुरक्षित स्थानमा सार्ने यो प्रविधि तीव्र हावा र कम दृश्यतामा प्रयोग गर्न कठिन हुन्छ।

सगरमाथा आरोही तथा माउन्टेन गाइड पेम्बा शेर्पाका अनुसार स्कार्दुस्थित सैन्य आधारबाट ब्रोड पिकतर्फ पठाउने तयारी गरिएका पाकिस्तानी सेनाका हेलिकप्टर प्रतिकूल मौसमका कारण पटकपटक उडान रद्द गर्न बाध्य भएका छन्।

उनका अनुसार पाकिस्तानमा उच्च हिमाली उद्धारका लागि निजी हेलिकप्टरको उपलब्धता नेपालमा जस्तो सहज छैन। सरकारी तथा सैन्य हेलिकप्टरमा निर्भर रहनुपर्ने भएकाले आवश्यक अनुमति र प्रशासनिक प्रक्रियाले पनि उद्धारको समय प्रभावित पार्न सक्छ।

उद्धारमा संलग्न मिङ्मा ग्याल्जे शेर्पाका अनुसार केही शव करिब ५ हजार मिटरको उचाइमा अत्यन्तै जोखिमपूर्ण भिरालो क्षेत्रमा अड्किएका छन्।

त्यसमध्ये निर्मल पुर्जा ‘निम्सदाइ’, चिनियाँ आरोही वाङ जोङ र नेपाली आरोही निमा शेर्पाको शव रहेको बताइएको छ। यसअघि उद्धार टोलीले करिब ५ हजार ७ सय मिटरको उचाइबाट चार शव तल्लो क्षेत्रमा ल्याउन सफल भएको थियो।

किली पेम्बा शेर्पा र ग्यालु शेर्पाको शव भने अहिले तुलनात्मक रूपमा सुरक्षित स्थानमा राखिएको छ। तर माथिल्लो क्षेत्रमा रहेका शवलाई तल झार्दा थप हिमपहिरोको जोखिम रहेकाले उद्धार टोलीले अत्यन्तै सावधानी अपनाउनुपर्ने अवस्था छ।

हिमपहिरोपछि जोखिम बढेपछि धेरै अन्तर्राष्ट्रिय उद्धार टोली तथा व्यावसायिक एजेन्सीहरू ब्रोड पिकबाट फर्किएका छन्। तर मिङ्मा ग्याल्जे शेर्पाको नेतृत्वमा रहेको नेपाली शेर्पा र पाकिस्तानी आरोहीको टोली भने उद्धारका लागि घटनास्थलमै रहेको छ।

उद्धार टोलीले हेलिकप्टरबाट सम्भव नभए स्थलमार्गबाटै शव निकाल्ने प्रयास जारी राखेको जनाएको छ। अत्यधिक जोखिमका बाबजुद परिवारको आग्रह र मृतक आरोहीप्रतिको सम्मानका कारण उद्धार अभियान नरोकिने टोलीको भनाइ छ।

अल्पाइन क्लब अफ पाकिस्तानले पनि प्रतिकूल मौसम र हिमपहिरोको जोखिमबीच उद्धारमा खटिएका नेपाली शेर्पा तथा पाकिस्तानी आरोहीहरूको साहसको प्रशंसा गरेको छ।

अल्पाइन क्लब अफ पाकिस्तानको पछिल्लो विवरणअनुसार उद्धार टोलीले हालसम्म चार आरोहीको शव पहिचान गरेको छ। तीमध्ये दुई शव ब्रोड पिकको बेसक्याम्पसम्म ल्याइएको छ।

तीन शव करिब ५ हजार मिटरको जोखिमपूर्ण भिरालो क्षेत्रमा रहेका छन् भने अर्को शव गहिरो खोँचमा अड्किएको बताइएको छ। हालको भौगोलिक अवस्था र मौसमका कारण उक्त स्थानमा पुग्न निकै कठिन रहेको उद्धार टोलीको आकलन छ।

पाकिस्तानी आरोही सोहैल सखी र अमेरिकी आरोही म्यालोरी गाइस भने अझै बेपत्ता छन्। उनीहरूको खोजी पनि प्रतिकूल मौसमका कारण प्रभावित भएको छ।

पाकिस्तानी सेना, अल्पाइन क्लब अफ पाकिस्तान र स्थानीय प्रशासनले हेलिकप्टर उद्धारका लागि आवश्यक तयारी गरिरहेका छन्। तर मौसममा सुधार नआएसम्म हवाई उद्धार सम्भव हुने अवस्था देखिएको छैन।

त्यसैले तत्कालका लागि उद्धार टोली स्थलमार्गमै निर्भर छ। ब्रोड पिकको कठिन भूगोल, निरन्तरको हिमपात र थप हिमपहिरोको जोखिमबीच निम्सदाइसहित बाँकी आरोहीका शवलाई सुरक्षित स्थानमा ल्याउनु उद्धार टोलीका लागि ठूलो चुनौती बनेको छ।

बाँकीपुरको झट्काले दिल्लीसम्म कम्पन !

काठमाडौं। भारतको बिहार राज्यको बाँकीपुर विधानसभा क्षेत्रमा सम्पन्न उपनिर्वाचनले राज्यको राजनीतिक समीकरणमा नयाँ बहस सुरु गराएको छ।

लामो समयदेखि भारतीय जनता पार्टी (भाजपा) को प्रभाव रहेको यस क्षेत्रमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले प्रभावशाली जित निकाल्दै तीन दशक पुरानो राजनीतिक परिदृश्य परिवर्तन गरेका छन्। उनको विजयलाई एउटा निर्वाचन क्षेत्रको परिणाम मात्र नभई बिहारको बदलिँदो राजनीतिक प्रवृत्तिको संकेतका रूपमा हेरिएको छ।

यो उपनिर्वाचन भाजपाका वरिष्ठ नेता नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको सिटका लागि जुलाई ३० मा सम्पन्न भएको थियो। मतपरिणामअनुसार प्रशान्त किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दै भाजपाका उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतको फराकिलो अन्तरले पराजित गरे। नीरज कुमारको पक्षमा ४४ हजार ८२७ मत परेको थियो।

बाँकीपुर विधानसभा क्षेत्रलाई सन् १९९५ देखि भाजपाको सुरक्षित निर्वाचन क्षेत्रका रूपमा लिइँदै आएको थियो। विभिन्न चुनावमा दलगत समीकरण फेरिए पनि यस क्षेत्रमा भने भाजपाले लगातार आफ्नो प्रभाव कायम राखेको थियो। यही कारणले यसपटकको नतिजालाई सामान्य हार–जितभन्दा धेरै ठूलो राजनीतिक घटनाका रूपमा विश्लेषण गर्न थालिएको छ।

प्रशान्त किशोरको नेतृत्वमा रहेको जन सुराज पार्टीले पहिलोपटक यस क्षेत्रमा जित निकाल्नुले बिहारमा नयाँ राजनीतिक विकल्पप्रति मतदाताको आकर्षण बढिरहेको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रशान्त किशोर भारतीय राजनीतिमा लामो समयदेखि चुनावी रणनीतिकारका रूपमा परिचित छन्। उनले विभिन्न राष्ट्रिय तथा क्षेत्रीय दलका चुनावी अभियान सञ्चालन गर्दै आफ्नो छुट्टै पहिचान बनाएका थिए। विशेषगरी सन् २०१४ को लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी रणनीति निर्माणमा उनको भूमिका निकै चर्चित बनेको थियो।

तर केही वर्षयता उनले सक्रिय राजनीतिमा प्रवेश गर्दै बिहार केन्द्रित जन सुराज अभियान सञ्चालन गरे। गाउँ–गाउँ पुगेर जनसंवाद, पदयात्रा र संगठन निर्माणमा केन्द्रित भएका किशोरले अन्ततः आफ्नै पार्टीमार्फत उल्लेखनीय निर्वाचन सफलता हासिल गरेका छन्। बाँकीपुरको विजयलाई उनको राजनीतिक जीवनको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

विजयपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रशान्त किशोरले आफ्नो जितलाई स्थानीय निर्वाचनको सीमाभन्दा माथिको राजनीतिक सन्देश भएको बताए। उनले तीन दशकदेखि कायम रहेको भाजपाको प्रभाव छोटो अवधिको चुनावी अभियानबाट अन्त्य भएको उल्लेख गर्दै मतदाताले परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएको दाबी गरे।

उनले यो परिणामले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसम्म पनि सशक्त राजनीतिक सन्देश पुगेको टिप्पणी गरे।

यस उपनिर्वाचनको परिणाम जन सुराज पार्टीका लागि संगठन विस्तार र राजनीतिक विश्वसनीयता दुवै हिसाबले महत्वपूर्ण मानिएको छ। सीमित प्रभाव भएको मानिने दलले स्थापित राष्ट्रिय पार्टीलाई पराजित गरेपछि कार्यकर्तामा उत्साह थपिएको छ भने आगामी निर्वाचनका लागि पार्टीको मनोबल पनि उकासिएको छ।

विश्लेषकहरूका अनुसार यदि जन सुराज पार्टीले यही ऊर्जा र जनसमर्थनलाई राज्यभर विस्तार गर्न सफल भयो भने आगामी बिहार विधानसभा निर्वाचनमा नयाँ राजनीतिक प्रतिस्पर्धा देखिन सक्छ।

बाँकीपुरसँगै सम्पन्न अन्य उपनिर्वाचनमा भने फरक–फरक परिणाम आएका छन्।

मध्यप्रदेशको डाटिया विधानसभा क्षेत्रमा कांग्रेसका घनश्याम सिंह विजयी भएका छन्। उनले भाजपाका आशुतोष तिवारीलाई ६ हजार १६ मतको अन्तरले पराजित गर्दै सिट कांग्रेसको पक्षमा पारे।

यता गुजरातको मञ्जपुर विधानसभा क्षेत्रमा भने भाजपाले आफ्नो प्रभाव कायम राख्यो। भाजपाका सतेन्द्रभाइ पटेलले कांग्रेसका भिखाभाई रबरीलाई करिब ३० हजार मतले पराजित गर्दै सहज जित हासिल गरे।

बाँकीपुरको नतिजाले आगामी बिहार विधानसभा निर्वाचनको राजनीतिक बहसलाई थप तीव्र बनाएको छ। लामो समयदेखि एउटै दलको प्रभाव रहेको क्षेत्रमा आएको परिवर्तनले मतदाताको सोच र प्राथमिकतामा परिवर्तन भइरहेको संकेत गरेको छ।

यद्यपि एउटा उपनिर्वाचनकै आधारमा सम्पूर्ण राज्यको राजनीतिक चित्र निर्धारण गर्न सकिँदैन। तर प्रशान्त किशोरको यो सफलता जन सुराज पार्टीका लागि ठूलो उपलब्धि बनेको छ भने स्थापित राजनीतिक दलहरूका लागि पनि आफ्ना रणनीति पुनरावलोकन गर्ने संकेत दिएको छ।

आगामी दिनमा जन सुराज पार्टीले यस सफलतालाई राज्यव्यापी समर्थनमा रूपान्तरण गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न अहिले बिहारको राजनीतिक वृत्तमा सबैभन्दा धेरै चासोका साथ हेरिएको विषय बनेको छ।

यदि पार्टीले आफ्नो संगठन विस्तार र जनविश्वासलाई निरन्तर मजबुत बनाउन सक्यो भने बिहारको आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरण देखिन सक्ने सम्भावना बलियो बनेको विश्लेषण भइरहेको छ।

महोत्तरीमा विद्यालय बस उखुबारीमा खस्यो, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा चालकसहित पाँच विद्यार्थी घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ७:३० बजे गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा मोर्डन सारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालतर्फ जाँदै थियो। सोही क्रममा बस अचानक नियन्त्रण बाहिरिएर सडक छेउको उखुबारीमा खसेको हो।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ का करिब ४० वर्षीय विजय भुजेल घाइते भएका छन्। साथै गौशाला–११ का महेश्वर महतोका १० वर्षीय छोरा प्रतिक कुशवाहा, ८ वर्षीय प्रज्वल कुशवाहा र १३ वर्षीया प्रिति कुशवाहा पनि घाइते भएका छन्।

त्यसैगरी गौशाला–९ का शेख जावेदका १३ वर्षीय छोरा उमर शेख तथा गौशाला–११ का रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा पनि दुर्घटनामा परेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्तिबजारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि गौशालास्थित बीके अस्पताल तथा अन्य स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आफ्नो मान्छे स्वकीय राख्ने दिन सकिए, कांग्रेसले कस्यो लगाम

काठमाडौं। नेपाली कांग्रेसले आफ्ना संघीय सांसदका स्वकीय सचिव नियुक्ति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित नयाँ कार्यविधि लागू गरेको छ।

संसदीय दलको बैठकबाट स्वीकृत ‘स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि, २०८३’ ले अब सांसदका स्वकीय सचिव नियुक्त गर्दा शैक्षिक योग्यता मात्रै होइन, व्यावसायिक क्षमता, अनुभव, नैतिक आचरण र कार्यकुशलतालाई समेत अनिवार्य मापदण्डका रूपमा अघि सारेको छ।

पछिल्ला वर्षहरूमा सांसदका स्वकीय सचिव नियुक्ति अधिकांश अवस्थामा व्यक्तिगत सम्बन्ध वा विश्वासका आधारमा हुने गरेको आलोचनाबीच कांग्रेसले पहिलोपटक स्पष्ट मापदण्डसहितको व्यवस्था अघि ल्याएको हो। दलको विश्वास छ कि योग्य र दक्ष सहयोगीको उपस्थितिले सांसदहरूको संसदीय भूमिका अझ प्रभावकारी बन्नेछ।

कार्यविधिअनुसार स्वकीय सचिव बन्न चाहने व्यक्तिले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कुनै पनि विषयमा स्नातक गरेकाले आवेदन दिन सक्ने भए पनि कानून, राजनीति शास्त्र, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, सूचना प्रविधि, आमसञ्चार, कृषि, इन्जिनियरिङ, स्वास्थ्य तथा व्यवस्थापन विषय अध्ययन गरेकालाई प्राथमिकता दिन सकिने व्यवस्था गरिएको छ।

यसले संसदीय कामको प्रकृतिअनुसार सम्बन्धित विषयमा अध्ययन गरेका व्यक्तिलाई अवसर दिने नीति लिएको देखिन्छ।

नयाँ कार्यविधिले उमेरको न्यूनतम सीमा पनि तोकेको छ। स्वकीय सचिव बन्न आवेदन दिने व्यक्तिको उमेर कम्तीमा २१ वर्ष पुगेको हुनुपर्नेछ।

त्यससँगै उम्मेदवारमा संसदीय प्रक्रिया र विधायिकी प्रणालीबारे आधारभूत ज्ञान, प्रतिवेदन तथा भाषणको मस्यौदा तयार गर्न सक्ने क्षमता, कम्प्युटर तथा डिजिटल उपकरणको प्रभावकारी प्रयोग, सामाजिक सञ्जाल सञ्चालन, तथ्य परीक्षण (फ्याक्ट–चेक) तथा सूचना व्यवस्थापनसम्बन्धी सीप हुनुपर्ने उल्लेख गरिएको छ।

आजको डिजिटल युगमा सांसदका गतिविधि परम्परागत कार्यालय व्यवस्थापनमा मात्र सीमित नरहेकाले सूचना प्रविधिमा दक्ष व्यक्तिलाई प्राथमिकता दिने नीति लिइएको देखिन्छ।

कार्यविधिले शैक्षिक योग्यताभन्दा बाहिर व्यावहारिक अनुभवलाई पनि महत्त्व दिएको छ।

नीतिगत अनुसन्धान, सार्वजनिक प्रशासन, पत्रकारिता, कानुनी अभ्यास, नीति निर्माण प्रक्रिया, स्थानीय वा प्रदेश सरकारसँगको कार्यअनुभव भएका व्यक्तिलाई स्वकीय सचिव नियुक्त गर्दा प्राथमिकता दिन सकिने व्यवस्था गरिएको छ।

यसबाट संसदीय कामको जटिलता बुझ्ने र सांसदलाई प्रभावकारी सहयोग गर्न सक्ने जनशक्ति छनोट गर्ने उद्देश्य स्पष्ट देखिन्छ।

नयाँ व्यवस्थाले स्वकीय सचिवको भूमिकालाई परम्परागत प्रशासनिक सहयोगीभन्दा माथि उठाएको छ।

कार्यविधिअनुसार स्वकीय सचिव सांसदका प्रमुख कार्यसहयोगी हुनेछन्। उनीहरूले विधेयक अध्ययन, संसदीय प्रश्न तयार पार्ने, शून्य समय तथा विशेष समयका लागि मस्यौदा तयार गर्ने, नीतिगत अनुसन्धान गर्ने, निर्वाचन क्षेत्रबाट आएका गुनासा व्यवस्थापन गर्ने, सञ्चार समन्वय गर्ने, प्रेस नोट तयार गर्ने, वेबसाइट तथा डिजिटल माध्यम सञ्चालन गर्ने र कार्यालय व्यवस्थापनमा सहयोग पुर्‍याउने जिम्मेवारी निर्वाह गर्नुपर्नेछ।

यसले सांसदलाई नीति निर्माण, कानून निर्माण र जनप्रतिनिधिको भूमिकामा थप केन्द्रित हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यविधिमा स्वकीय सचिवको नैतिक पक्षलाई पनि उत्तिकै महत्त्व दिइएको छ।

इमानदारिता, गोपनीयता कायम राख्ने क्षमता, अनुशासन, सकारात्मक सोच, जिम्मेवारीबोध तथा दबाबपूर्ण परिस्थितिमा पनि संयमित ढंगले काम गर्न सक्ने क्षमता भएका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ।

सांसदसँग काम गर्ने व्यक्तिले संवेदनशील सूचना तथा राजनीतिक गतिविधिसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले नैतिक आचरणलाई अनिवार्य सर्त बनाइएको हो।

स्वकीय सचिव बन्न इच्छुक व्यक्तिले सम्बन्धित सांसदको सिफारिससहित संसदीय दलमा आवेदन दिनुपर्नेछ।

आवेदनसँगै व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र तथा अधिकतम ५०० शब्दको प्रतिबद्धता पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिबद्धता पत्रमार्फत उम्मेदवारले आफू किन स्वकीय सचिव बन्न चाहन्छ, आफ्नो अनुभव, कार्ययोजना र जिम्मेवारी निर्वाह गर्ने दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने अपेक्षा गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा सांसदका स्वकीय सचिवहरूको भूमिका निकै विस्तार भएको छ। संसदीय समितिको बैठकदेखि विधेयक अध्ययन, नीति विश्लेषण, सार्वजनिक सञ्चार, सामाजिक सञ्जाल व्यवस्थापन र निर्वाचन क्षेत्रका कामसम्म उनीहरूको सक्रिय भूमिका रहने भएकाले दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको छ।

यही आवश्यकता महसुस गर्दै कांग्रेसले स्पष्ट मापदण्डसहितको कार्यविधि लागू गरेको देखिन्छ। यसले भविष्यमा संसदीय कामलाई अझ व्यावसायिक, व्यवस्थित र उत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुनसरीबाट फैलिएको धार्मिक तनाव : आकस्मिक कि पूर्वनियोजित?

काठमाडाैं। सुनसरीको कप्तानगञ्जबाट सुरु भएको धार्मिक तनाव केही दिनमै सिराहा, धनुषा, सप्तरी, पर्सालगायत तराई-मधेसका विभिन्न जिल्लासम्म फैलियो। स्थानीय स्तरमा सुरु भएको विवादले क्रमशः साम्प्रदायिक संवेदनशीलता ग्रहण गर्दा ग्रामीण जनजीवन प्रभावित भयो, प्रशासनले कर्फ्यु लगाउनुपर्‍यो, सुरक्षा बल परिचालन गरियो र मानवीय क्षतिसमेत भयो। सरकारले उक्त घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। समितिले घटनाको सुरुआत, त्यसको विस्तार, संलग्न पक्ष र सुरक्षात्मक कमजोरीबारे निष्कर्ष निकाल्ने छ।

तर, छानबिनको प्रतिवेदन आउनुअघि नै केही गम्भीर प्रश्न भने उठेका छन्-यो घटना आकस्मिक विस्फोट हो कि पूर्वनियोजित? यदि सुरक्षा निकायले यस्तै प्रकारको जोखिमबारे वर्षौंअघि नै चेतावनी दिएको थियो भने राज्य त्यसका लागि किन तयार देखिएन?

सार्वजनिक रूपमा चर्चामा आएको एउटा सुरक्षा प्रतिवेदनअनुसार सशस्त्र प्रहरी बलले करिब तीन वर्षअघि नै तराई-मधेस क्षेत्रमा साम्प्रदायिक तथा जातीय तनाव बढ्न सक्ने सम्भावनाबारे विस्तृत विश्लेषण तयार गरी तत्कालीन सरकारलाई बुझाएको थियो। उक्त प्रतिवेदनमा सुनसरीसहित विभिन्न संवेदनशील जिल्लाहरूको नाम उल्लेख गरिएको, सम्भावित जोखिमका स्रोत पहिचान गरिएको र रोकथामका लागि आवश्यक रणनीतिसमेत प्रस्ताव गरिएको दाबी छ।

सुनसरीबाट सुरु भएको तनाव कसरी विस्तार भयो?

सुनसरीमा हिंसात्मक घटना भएपछि त्यसलाई स्थानीय तहमै नियन्त्रण गर्न सकिने सम्भावना रहेको स्थानीयहरू बताउछन्। स्थानीयहरूका अनुसार घटना रोक्न सकिन्थ्यो, तर सुरक्षा निकायले तदारुकता देखाएन। विवाद सुरु भएको एकदेखि डेढ घण्टापछि मात्रै सुरक्षा निकाय घटनास्थल पुग्यो। यस्ता घटनामा प्रारम्भिक २४ देखि ४८ घण्टा सबैभन्दा संवेदनशील मानिन्छ। यही अवधिमा प्रभावकारी सुरक्षा परिचालन, गुप्तचर समन्वय, समुदायबीच संवाद र गलत सूचना नियन्त्रण गर्न सकिए स्थिति सामान्य अवस्थामा फर्किन सक्छ।

तर सुनसरीमा सुरु भएको तनाव क्रमशः अन्य जिल्लामा फैलियो। सुनसरी घटनाको भोलिपल्टै देखिनुपर्ने प्रधानमन्त्रीको राजनीतिक तदारुकता घटना घटेको चार दिनसम्म पनि देखिएन। १० गते घटेको घटनामा सामाजिक सुरक्षाको जिम्मा लिएको मन्त्रालयका गृहमन्त्री र यस्ता संवेदनशील घटनामा यथाशीघ्र राजनीतिक पहल गर्नुपर्ने प्रधानमन्त्री गुपचुप बसे। परिणाम तपाईं/हाम्रो अगाडि छ- विवाद आगोजसरी सिराहा, सप्तरी, धनुषा हुँदै सिङ्गो मधेसमा सल्कियो। त्यसपछि विभिन्न स्थानमा प्रदर्शन, नाराबाजी, झडप र प्रशासनिक हस्तक्षेपका घटना देखिए।

तीव्र रूपमा घटना फैलिन थालेपछि प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्यो। परिषद्ले सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक निर्देशन दिएको जानकारी सार्वजनिक गरियो।

तर परिषद्को बैठक पनि हिंसा अन्य जिल्लासम्म फैलिसकेपछि मात्रै बसेको देखिन्छ। सुनसरी घटनापछि नै उच्चस्तरीय सुरक्षा समीक्षा, जिल्ला प्रशासनबीच समन्वय, संवेदनशील क्षेत्रको निगरानी वृद्धि र सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचनामाथि नियन्त्रण गर्ने पहल गरिनुपर्ने थियो।

गृह मन्त्रालयको नेतृत्व र सुरक्षा संयन्त्र

आन्तरिक सुरक्षाको प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हुन्छ। गुप्तचर निकायबीच समन्वय, जिल्ला प्रशासनसँग सम्पर्क, सुरक्षा रणनीति निर्माण तथा सम्भावित जोखिमको मूल्याङ्कन यही मन्त्रालयमार्फत हुने गर्छ।

वर्तमान सरकार गठन भएको केही समयपछि तत्कालीन गृहमन्त्री सुधन गुरुङले पद छाडेपछि गृह मन्त्रालय केही समय प्रधानमन्त्रीकै अतिरिक्त जिम्मेवारीमा सञ्चालन भएको थियो। यही अवस्थालाई लिएर केही सुरक्षा विश्लेषकहरूले मन्त्रालय लामो समय पूर्णकालीन राजनीतिक नेतृत्वविहीन हुँदा निर्णय प्रक्रिया सुस्त हुन सक्ने टिप्पणी गरेका छन्।

यहाँ एउटा प्रसङ्ग उल्लेख गर्नु वाञ्छनीय हुन्छ। मधेसमा जुन घटना घट्यो, त्यसअघि गृहमन्त्री सुधन गुरुङले तारन्तार मधेस भ्रमण गरेका छन्। कहिले सीमा त कहिले मधेसका अन्य जिल्लाहरूमा उनी पुगेका समाचार र तस्बिरहरू सार्वजनिक भएका थिए।

त्यसअघि, प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’का प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का अध्यक्ष मोहन भागवतलाई भेटेको अपुष्ट समाचारहरू पनि सार्वजनिक भएका थिए। आरएसएस कट्टर हिन्दुवादी संगठन हो। भनिन्छ-आरएसएस र भारतको सत्तारूढ पार्टी भारतीय जनता पार्टी नेपालमा हिन्दुराष्ट्र चाहन्छन्।

सार्वजनिक रूपमा आएन, तर बेन त्यसकै केही समयपछि भारत भ्रमणमा गए। त्यहाँ उनले भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटे।

मधेस घटनापछि गृहमन्त्री गुरुङ मधेसमा खटे। तीन-चार दिनको अथक प्रयत्नपश्चात् हिंसा सामान्यकृत भएको छ। त्यहाँ उनले थुप्रै राजनीतिक, सामाजिक, धार्मिकलगायतका अगुवाहरूसँग भेटवार्ता गरे। मृतकका परिवारलाई भेटे। ती सबै भेटमध्ये एक-हिन्दु सम्राट सेनासँगको भेट भने अलि फरक देखिन्छ।  त्यो भेटवार्तापछि हिन्दु सम्राट सेनाले मधेसमा गर्ने भनेको सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता लियो। नेपालमा किराँत, बौद्व र सनातन हिन्दुराष्ट्र पुन:स्थापनाका लागि तीन महिनाभित्र सरकारबाटै राजनीतिक दलसँग छलफल थाल्ने सर्तसहित। 

यहाँनिरी अर्को प्रश्न उब्जिएको छ।  नेपालमा हिन्दुराष्ट्र चाहिएको कसलाई? हिन्दुहरु वा अरु कसैलाई?

सुनसरी घटना असामान्य तवरले घटेको छ। केही युवाहरुको सामान्य विवाद सिंगो मधेसमा डढेलोमा परिणत भयो। विद्युत काटेर अध्याँरोमा सुनसरीको कप्तानगन्जमा गोली चल्यो। सिमाक्षेत्रसँग जोडिएको कप्तानगन्जमा अहिलेभन्दा अघि यस्तो घटना भने घटेको थिएन। तर, घटना घटेको दिन भारतीय नम्बर प्लेटका केही मोटरसाइकलहरु आएर विवाद चर्काउन भूमिका खेलेको स्थानीयहरू बताउछन्। घटनापछि सिंहदरबार चुपचाप बस्यो। देशमा धार्मिक र साम्प्रदायीक डढेलो लागिरहेका बेला प्रधानमन्त्री र गृहमन्त्रीले संसद छल्ने काम गरे। यी र यस्तै कुराहरुले सुनसरी लगायत सिंगो मधेसमा फैलिएको डढेलोले अनेकन् प्रश्नहरुलाई जन्म दिएको छ।  ती अनेकन् प्रश्नमध्येको एक प्रश्न- के सुनसरी घटना गृहप्रशासन कै संलग्नतामा घटाइएको हो?

सुनसरीदेखि मधेससम्म फैलिएको पछिल्लो घटनाको सन्देश स्पष्ट छ-संकट आएपछि मात्र प्रतिक्रिया दिने शैली अब पर्याप्त छैन। राज्यले जोखिम पहिचान गर्ने, प्रारम्भिक चेतावनीलाई गम्भीरतापूर्वक लिने, सुरक्षा निकायबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, सामाजिक सञ्जालमा फैलिने भ्रामक सामग्रीको समयमै व्यवस्थापन गर्ने र स्थानीय समुदायसँग निरन्तर संवाद कायम राख्ने संस्थागत प्रणाली विकास गर्नुपर्ने आवश्यकता देखिएको छ।

छानबिन समितिले घटनाको सत्यतथ्य सार्वजनिक गर्नेछ। तर त्यसपछि पनि यदि प्रतिवेदन केवल अभिलेखमा सीमित रह्यो भने भविष्यमा यस्तै प्रकृतिका संकट दोहोरिने जोखिम कायमै रहनेछ। यस घटनाबाट सरकारले सुरक्षा चेतावनीलाई औपचारिक कागजको रूपमा नभई सम्भावित संकट रोक्ने अवसरका रूपमा लिनुपर्छ। सामाजिक सद्भाव केवल अपिल र वक्तव्यले कायम रहँदैन; त्यसका लागि समयमै निर्णय गर्ने नेतृत्व, सक्षम सुरक्षा संयन्त्र, प्रभावकारी गुप्तचर प्रणाली, निष्पक्ष कानुनी कार्यान्वयन र दीर्घकालीन संस्थागत तयारी अपरिहार्य हुन्छ।

…जब नजरबन्दमा रहेकी सुकी भेट्न आइसीआरसी पुग्यो

काठमाडौं । म्यानमारकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) का म्यानमारस्थित प्रतिनिधि आर्नोद डे बाकसँग भेटवार्ता गरेकी छन्।

सन् २०२१ मा सेनाले निर्वाचित सरकार अपदस्थ गरेपछि सुकीसँग कुनै अन्तर्राष्ट्रिय प्रतिनिधिको भएको यो पहिलो सार्वजनिक रूपमा पुष्टि भएको भेटवार्ता हो।

म्यानमारको राष्ट्रपति कार्यालयले सुकी र आइसीआरसी प्रतिनिधिबीच भेट भएको पुष्टि गर्दै आर्नोद डे बाकले राजधानी नेपितोमा उनलाई भेटेको जनाएको छ। आइसीआरसीले पनि भेटवार्ता भएको पुष्टि गरेको छ। संस्थाका अनुसार यस्तो भेट उसको नियमित मानवीय कार्यअन्तर्गत हिरासत वा नजरबन्दमा रहेका व्यक्तिको अवस्था बुझ्न गरिने प्रक्रियासँग सम्बन्धित हुन्छ। भेटमा के–के विषयमा कुराकानी भयो भन्नेबारे भने आइसीआरसीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

यो भेटवार्ता विशेष महत्त्वपूर्ण मानिएको अर्को कारण सुकी लामो समयदेखि सार्वजनिक दृश्यबाट लगभग पूर्ण रूपमा बाहिर रहनु हो। सैन्य कूयता उनी कहाँ र कस्तो अवस्थामा रहेकी छन् भन्नेबारे बाह्य संसारमा सीमित जानकारी मात्र उपलब्ध थियो। पछिल्लो भेटपछि म्यानमारको सैन्य समर्थित प्रशासनले सुकीका केही तस्बिरसमेत सार्वजनिक गरेको छ।

तस्बिरमा उनी आइसीआरसी प्रतिनिधिसँग कुराकानी गरिरहेको र आफ्नो ८१औँ जन्मदिन मनाउँदै गरेको देखिन्छ। यद्यपि उनको स्वास्थ्य अवस्थाबारे स्वतन्त्र रूपमा विस्तृत पुष्टि हुन सकेको छैन।

सन् २०२१ फेब्रुअरीमा म्यानमारको सेनाले सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएको थियो। त्यसपछि सुकीसहित तत्कालीन सरकारका प्रमुख नेताहरूलाई पक्राउ गरिएको थियो। उनीमाथि विभिन्न अभियोग लगाउँदै लामो कारावास सजाय सुनाइएको थियो। अधिकारवादी समूह तथा उनका समर्थकहरूले भने ती अभियोगलाई राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक नेतृत्वलाई दबाउने उद्देश्यले अघि सारिएको आरोप लगाउँदै आएका छन्।

सैन्य कूपछि म्यानमारमा राजनीतिक अस्थिरता मात्र होइन, सशस्त्र द्वन्द्वसमेत व्यापक बनेको छ। सैन्य सरकार र उसको विरोधमा रहेका राजनीतिक तथा सशस्त्र समूहबीचको संघर्षका कारण देशका विभिन्न भागमा हिंसा र मानवीय संकट जारी छ।

यसबीच सुकीलाई लामो समयसम्म सार्वजनिक सम्पर्कबाट टाढा राखिएको थियो। अन्तर्राष्ट्रिय समुदाय तथा क्षेत्रीय शक्तिहरूले पटक–पटक उनको अवस्था बुझ्न र भेट गर्न अनुमति दिन आग्रह गरे पनि त्यस्ता प्रयास सीमित रहँदै आएका थिए।

यस वर्ष अप्रिलमा सैन्य समर्थित प्रशासनले सुकीको बाँकी सजाय घटाएर उनलाई जेलबाट हटाई तोकिएको निवासमा राख्ने निर्णय गरेको थियो। संयुक्त राष्ट्रसंघले पनि सुकीलाई तोकिएको निवासमा स्थानान्तरण गरिएको जानकारी पाएपछि उनको तत्काल र निःसर्त रिहाइको माग दोहोर्याएको थियो।

तर घरमै नजरबन्दमा राखिएपछि पनि उनको परिवार तथा अन्तर्राष्ट्रिय समुदायसँगको प्रत्यक्ष सम्पर्कबारे पर्याप्त जानकारी सार्वजनिक भएको थिएन। यसअघि म्यानमारको राष्ट्रपति कार्यालयले उनी सजाय भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय प्रतिनिधिसँग भेट गर्न अनुमति नभएको बताएको थियो। जुन महिनामा आसियानका विशेष दूतलाई समेत सुकीसँग भेट गर्न अनुमति दिइएको थिएन।

त्यसको केही समयपछि आइसीआरसी प्रतिनिधिसँग भएको भेटलाई त्यसकारण पनि अर्थपूर्ण मानिएको छ।

अन्तर्राष्ट्रिय रेडक्रस समिति सशस्त्र द्वन्द्व तथा राजनीतिक संकटका क्रममा हिरासतमा रहेका व्यक्तिको अवस्था अनुगमन, मानवीय सहायता र अन्तर्राष्ट्रिय मानवीय कानुनसँग सम्बन्धित काममा सक्रिय रहने संस्था हो। म्यानमारमा पनि आइसीआरसीले द्वन्द्व प्रभावित समुदाय तथा मानवीय संकटमा परेका मानिसलाई सहयोग गर्दै आएको छ।

आइसीआरसी प्रतिनिधिसँगको भेटलाई राजनीतिक वार्ता वा सैन्य सरकार र सुकीबीचको औपचारिक संवादका रूपमा भने बुझ्न सकिँदैन। यसको मुख्य उद्देश्य मानवीय अवस्थाबारे जानकारी लिनु र हिरासतमा रहेका व्यक्तिसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्नु हो।

भेटवार्तापछि सार्वजनिक भएका तस्बिरले लामो समयदेखि सुकीको अवस्था नदेखेका उनका समर्थक र अन्तर्राष्ट्रिय समुदायमा नयाँ चासो पैदा गरेको छ। उनका छोरा किम एरिसले पनि आइसीआरसीको भेटलाई स्वागत गर्दै सुकीसँग परिवारको प्रत्यक्ष सम्पर्क र उनको निःसर्त रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब जारी राख्न आग्रह गरेका छन्।

तर यो भेटले म्यानमारको राजनीतिक संकट तत्काल समाधान हुने संकेत भने दिएको छैन। सुकी अझै स्वतन्त्र राजनीतिक गतिविधिमा सहभागी हुन पाउने अवस्थामा छैनन् र देशमा सैन्य समर्थित शासन तथा त्यसको विरोधमा रहेका शक्तिबीचको तनाव कायमै छ।

म्यानमारमा सैन्य शासनले निर्वाचनमार्फत राजनीतिक प्रक्रियालाई अघि बढाउने प्रयास गरे पनि त्यसको विश्वसनीयता र समावेशितामाथि अन्तर्राष्ट्रिय स्तरमा प्रश्न उठ्दै आएको छ। संयुक्त राष्ट्रसंघले भने म्यानमारमा दिगो राजनीतिक समाधानका लागि हिंसा अन्त्य, सबै पक्षबीच वास्तविक संवाद र राजनीतिक बन्दीहरूको रिहाइ आवश्यक रहेको बताउँदै आएको छ।

आङ सान सुकी म्यानमारको लोकतान्त्रिक आन्दोलनको प्रमुख अन्तर्राष्ट्रिय प्रतीक रहँदै आएकी छन्। त्यसैले उनीसँग वर्षौँपछि अन्तर्राष्ट्रिय मानवीय संस्थाका प्रतिनिधिको प्रत्यक्ष भेट हुनुलाई उनको व्यक्तिगत अवस्थाको जानकारी प्राप्त हुने घटनाका रूपमा मात्र नभई म्यानमारको राजनीतिक संकटप्रति अन्तर्राष्ट्रिय चासो पुनः केन्द्रित गराउने घटनाका रूपमा पनि हेरिएको छ।

फिफामा शक्ति संघर्ष, इन्फान्टिनो संकटमा

काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोमाथि नेतृत्वलाई लिएर दबाब बढ्दै गएको छ। फिफाका प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद योजनाका कारण उनीमाथि विभिन्न राष्ट्रिय तथा महादेशीय फुटबल संघको असन्तुष्टि बढेको हो।

फिफाले निजी लगानीकर्तालाई प्रतियोगितासँग सम्बन्धित व्यावसायिक संरचनामा स्वामित्व दिने प्रस्ताव अघि सारेपछि युरोपेली फुटबलमा त्यसको तीव्र विरोध भएको थियो। योजना पछि फिर्ता लिइए पनि त्यसले इन्फान्टिनोको नेतृत्वप्रति उठेको प्रश्न भने समाप्त भएको छैन।

इंग्लिस फुटबल एसोसिएसन (एफए)ले इन्फान्टिनोलाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको बीबीसीले जनाएको छ। एफएले यसबारे औपचारिक जानकारीसहित पत्र पठाउने तयारी गरिरहेको बताइएको छ। यसअघि वेल्स फुटबल संघले पनि इन्फान्टिनोप्रतिको समर्थन फिर्ता गरिसकेको छ।

विवादित योजनालाई लिएर युरोपेली फुटबल महासंघ (युइएफए) पनि आक्रामक बनेको छ। युइएफएले आवश्यक परे फिफाविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने संकेत दिएको छ।

युइएफएले फिफालाई पठाएको पत्रमा विवादित योजनासँग सम्बन्धित कानुनी मुद्दा, मध्यस्थता वा नियामक निकायमा उजुरी गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार भइरहेको उल्लेख गरेको छ।

योजनासँग सम्बन्धित सबै कागजात र विद्युतीय अभिलेख सुरक्षित राख्न पनि फिफालाई भनिएको छ। इमेल, सन्देश आदानप्रदान, बैठकका विवरण तथा अन्य डिजिटल सामग्री नष्ट नगर्न युइएफएको आग्रह छ।

यसअघि युइएफए र उत्तर तथा मध्य अमेरिकी तथा क्यारेबियन फुटबल महासंघ (कोनकाकाफ)ले संयुक्त रूपमा निजी लगानीसम्बन्धी प्रस्तावप्रति असहमति जनाएका थिए।

फिफाले ‘फिफा फर्वार्ड इन्टरप्राइज’ नामक छुट्टै व्यावसायिक संस्था स्थापना गर्ने अवधारणा अघि सारेको थियो। विश्वकपसहित फिफाका प्रमुख प्रतियोगिताको व्यावसायिक गतिविधि यही संस्थामार्फत सञ्चालन गर्ने योजना थियो।

त्यस संस्थामा बाह्य निजी लगानीकर्तालाई अल्पमत स्वामित्व बिक्री गर्ने प्रस्तावसमेत समावेश थियो। यसले फिफाका प्रतियोगिताको व्यावसायिक नियन्त्रण र भविष्यमा निजी क्षेत्रको प्रभावबारे प्रश्न उठाएको थियो।

फिफा नेतृत्वले भने यसलाई नयाँ लगानी र व्यावसायिक अवसर विस्तार गर्ने माध्यमका रूपमा अघि बढाएको थियो।

बीबीसी स्पोर्टका अनुसार इन्फान्टिनोले फिफाका २११ सदस्य संघलाई पत्र पठाउँदै प्रस्तावको समर्थन गरे प्रत्येक संघले ४ करोड अमेरिकी डलरसम्म प्राप्त गर्न सक्ने संकेत दिएका थिए।

प्रारम्भिक २ करोड डलर उपलब्ध गराउन निश्चित समयभित्र समर्थन जनाउनुपर्ने प्रस्तावसमेत अघि सारिएको बताइएको छ। यही आर्थिक प्रस्तावले फिफाभित्र शक्ति सन्तुलन र निर्णय प्रक्रियामाथि थप प्रश्न उठाएको छ।

योजनामा अमेरिकी भेन्चर क्यापिटल कम्पनी ‘थ्राइभ इटरनल’ प्रमुख लगानीकर्ता समूहको नेतृत्व गर्न सक्ने चर्चा थियो। उक्त कम्पनी जोशुआ कुशनरले स्थापना गरेका हुन्। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरका भाइ हुन्।

इन्फान्टिनोमाथिको दबाबमा युरोपसँगै एसियाली फुटबलको धारणा पनि महत्वपूर्ण बन्न थालेको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले युइएफए र कोनकाकाफसँग ऐक्यबद्धता जनाएको छ।

तर अफ्रिका, दक्षिण अमेरिका र ओसियानियाका फुटबल महासंघले भने अहिलेसम्म इन्फान्टिनोको योजनाको सार्वजनिक रूपमा विरोध गरेका छैनन्।

अर्कोतर्फ कतार, लेबनान, कुवेत र श्रीलंकाले इन्फान्टिनोको नेतृत्वप्रति आफ्नो समर्थन कायमै रहेको बताएका छन्। यसले फिफाभित्रको शक्ति समीकरण अझै विभाजित रहेको संकेत गरेको छ।

इन्फान्टिनो आगामी मार्चसम्म पदमा कायम रहेमा फिफा अध्यक्षका रूपमा चौथो तथा अन्तिम कार्यकालका लागि पुनः उम्मेदवार बन्न सक्नेछन्। त्यसका लागि २११ सदस्य राष्ट्रमध्ये कम्तीमा १०६ मत आवश्यक पर्नेछ।

फिफाको मत संरचनामा युरोपेली फुटबल महासंघसँग ५५ मत छन्। अफ्रिकासँग ५४, एसियासँग ४६, कोनकाकाफसँग ३५, ओसियानियासँग ११ र दक्षिण अमेरिकासँग १० मत छन्।

यस समीकरणमा युरोपको विरोध महत्वपूर्ण भए पनि इन्फान्टिनोको भविष्य निर्धारण गर्न अन्य महादेशका संघहरूको भूमिका निर्णायक हुन सक्छ।

फिफा काउन्सिलका ३७ सदस्यको संरचनाले पनि इन्फान्टिनोका लागि चुनौती सिर्जना गर्न सक्ने देखिन्छ। काउन्सिलका कम्तीमा १९ सदस्यले आपत्कालीन बैठकको माग गरेमा निश्चित समयभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ।

त्यस्तो बैठक बोलाइएमा इन्फान्टिनोको नेतृत्व, निजी लगानीसम्बन्धी योजना र फिफाको निर्णय प्रक्रियामाथि गम्भीर छलफल हुन सक्छ। त्यसक्रममा उनलाई पदबाट हट्न वा राजीनामा दिन दबाब सिर्जना हुन सक्ने सम्भावनासमेत चर्चा भइरहेको छ।

विभिन्न संघको असन्तुष्टि र कानुनी कारबाहीको चेतावनीका बाबजुद इन्फान्टिनोले तत्काल पदबाट हट्ने कुनै संकेत दिएका छैनन्।

अब उनको नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौती युरोपको असन्तुष्टि व्यवस्थापन गर्नुका साथै अन्य महादेशीय संघको समर्थन कायम राख्नु हुनेछ। विशेषगरी आगामी अध्यक्षीय निर्वाचन नजिकिँदै गर्दा फिफाभित्रको वर्तमान शक्ति समीकरणमा हुने कुनै पनि परिवर्तनले इन्फान्टिनोको राजनीतिक भविष्यमा प्रत्यक्ष असर पार्न सक्छ।

फिफाका प्रतियोगिताको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्ताव फिर्ता भए पनि त्यसले उठाएका प्रश्न भने अझै बाँकी छन्। निजी क्षेत्रको सहभागिता, फिफाको निर्णय प्रक्रिया, आर्थिक पारदर्शिता र अध्यक्षको अधिकारसम्बन्धी विवाद अब आगामी दिनमा फिफाको प्रमुख बहस बन्ने देखिएको छ।

सभामुखको गाउँमा सडकको बेहाल !

काठमाडौं। देशको सर्वोच्च राजनीतिक नेतृत्वमध्येका वर्तमान सभामुखको पुर्ख्यौली गाउँ र धादिङ-२ का सांसदको गृहगाउँ नै वर्षा लाग्नेबित्तिकै सडक समस्याले थलिने गरेको छ। धादिङको ज्वालामुखी गाउँपालिका–२ मैदीमा वर्षौँदेखि सडकको समस्या समाधान हुन नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन्।

निर्वाचनका बेला विकासका प्रतिबद्धता गर्ने नेताहरू राज्यको उच्च तहमा पुगे पनि गाउँ जोड्ने सडकको अवस्था भने उस्तै रहेको स्थानीयको गुनासो छ। वर्षा सुरु हुनासाथ सडक हिलो र लेदोले भरिने तथा ठाउँ–ठाउँमा यातायात अवरुद्ध हुने समस्या हरेक वर्ष दोहोरिने गरेको छ।

ज्वालामुखी गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ जोड्ने ससाह-अमराईँ-मैदी सडक, पाल्पा भञ्ज्याङ-साँधभञ्ज्याङ-मैदी सडक तथा ढोला-मैदी सडक लगातारको वर्षापछि हिलाम्मे बनेका छन्। सडकको अवस्था बिग्रिएपछि सवारीसाधन सञ्चालन गर्न कठिन भएको छ। कतिपय स्थानमा बोलेरो जस्ता गाडीलाई डोजरको सहायताले तानेर वारपार गराउनुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ।

सडक अवरुद्ध हुँदा गाउँबाट बाहिरिने र गाउँ फर्किने यातायात प्रभावित भएको छ। दैनिक आवतजावतदेखि अत्यावश्यक स्वास्थ्य सेवासम्म प्रभावित बनेको स्थानीय बताउँछन्। गम्भीर बिरामीलाई अस्पताल लैजानुपर्ने अवस्थामा एम्बुलेन्ससमेत सहज रूपमा सञ्चालन गर्न नसकिने अवस्था रहेको उनीहरूको गुनासो छ।

अत्यधिक हिलोका कारण मोटरसाइकल सञ्चालन गर्नसमेत कठिन भएको छ। वडा नम्बर ३ को डुँडेभञ्ज्याङ, बरामगाउँ तथा वडा नम्बर ४ का विभिन्न क्षेत्रमा सडक पैदल हिँड्नसमेत कठिन हुने गरी बिग्रिएका छन्। वैकल्पिक सडकको अभावले समस्या थप गम्भीर बनेको स्थानीयको भनाइ छ।

ससाह–अमराईँ–मैदी सडकअन्तर्गत नीलकण्ठ नगरपालिका-८ को धौखोला खेत क्षेत्रमा सडक बिग्रिएपछि केही दिनदेखि मैदीतर्फको नियमित यातायात सेवा प्रभावित भएको छ। गाउँ पुग्ने विभिन्न सडक अवरुद्ध हुँदा आकस्मिक स्वास्थ्य सेवा प्रभावित हुने जोखिम बढेको छ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएका बिरामीलाई जिल्ला सदरमुकाम लैजानसमेत कठिन हुने गरेको स्थानीयको भनाइ छ। स्वास्थ्यकर्मीको अभाव वा कुनै विपद्का बेला सडकको यही अवस्थाले समस्या थप गम्भीर बनाउन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयवासीका अनुसार सडकको समस्या हरेक वर्ष दोहोरिए पनि यसको दीर्घकालीन समाधान हुन सकेको छैन। सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नहुनु र वर्षायाममा नदीजन्य सामग्री उत्खननमा हुने कानुनी प्रतिबन्धका कारण मर्मत तथा सुधारका काम प्रभावित हुने गरेको उनीहरूको भनाइ छ।

यता गाउँपालिकाले भने सडकमा सवारीसाधन फसे तत्काल स्काभेटर वा डोजर परिचालन गरेर यातायात सञ्चालन गराउने व्यवस्था गरेको जनाएको छ। एम्बुलेन्स सञ्चालन आवश्यक परे उपकरण तथा जनशक्ति परिचालन गरेर सेवा निरन्तर राख्ने प्रयास भइरहेको गाउँपालिकाको भनाइ छ।

सडक स्तरोन्नतिको काम जारी रहेकाले नीलकण्ठ क्षेत्रमा सडक बिग्रिँदा त्यसको प्रत्यक्ष असर मैदी क्षेत्रमा परेको स्थानीय तहको भनाइ छ। वर्षा कम भएपछि सडकको स्थायी मर्मत तथा निर्माणलाई तीव्रता दिने तयारी गरिएको जनाइएको छ।

ऋण तिर्न फेरि ऋण ?

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट व्यवस्थापनका लागि ठूलो परिमाणमा ऋण परिचालन गर्ने भएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वार्षिक ऋण योजनाअनुसार सरकारले एक वर्षमा ६ खर्ब ५७ अर्ब २८ करोड रुपैयाँ नयाँ ऋण उठाउने लक्ष्य राखेको छ।

सरकारको आम्दानीले मात्र प्रस्तावित खर्च धान्न नसक्ने भएपछि बजेट घाटा पूर्ति गर्न आन्तरिक र बाह्य ऋण परिचालन गर्न लागिएको हो। प्रस्तावित ऋणमध्ये ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक र २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋण हुनेछ।

यसअनुसार कुल ऋण परिचालनको ६२.३८ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट र ३७.६२ प्रतिशत वैदेशिक स्रोतबाट जुटाउने सरकारको योजना छ।

आन्तरिक ऋण उठाउन सरकारले विभिन्न वित्तीय उपकरण प्रयोग गर्नेछ। योजनाअनुसार विकास ऋणपत्रबाट सबैभन्दा धेरै ३ खर्ब रुपैयाँ उठाइनेछ।

त्यस्तै ट्रेजरी बिलबाट १ खर्ब ४ अर्ब, नागरिक बचतपत्रबाट ५ अर्ब र वैदेशिक रोजगार बचतपत्रबाट १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य छ।

सरकारले छोटो अवधिको ऋणमा निर्भरता घटाउँदै तुलनात्मक रूपमा दीर्घकालीन प्रकृतिको विकास ऋणपत्रमार्फत स्रोत जुटाउने रणनीति अघि सारेको देखिन्छ।

सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक ऋणलाई चार चरणमा परिचालन गर्ने योजना बनाएको छ।

साउनदेखि असोजसम्मको पहिलो त्रैमासिकमा १ खर्ब रुपैयाँ ऋण उठाइनेछ। यसमध्ये १० अर्ब ट्रेजरी बिल र ९० अर्ब विकास ऋणपत्रमार्फत जुटाइनेछ।

कात्तिकदेखि पुससम्म दोस्रो त्रैमासिकमा ९३ अर्ब रुपैयाँ उठाउने लक्ष्य छ। यसमा १० अर्ब ट्रेजरी बिल, ८० अर्ब विकास ऋणपत्र, २ अर्ब ५० करोड नागरिक बचतपत्र र ५० करोड रुपैयाँ वैदेशिक रोजगार बचतपत्रबाट संकलन गरिनेछ।

माघदेखि चैतसम्मको तेस्रो त्रैमासिकमा १ खर्ब २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना छ। यो अवधिमा ३० अर्ब ट्रेजरी बिल र ९० अर्ब विकास ऋणपत्रमार्फत स्रोत जुटाइनेछ।

वैशाखदेखि असारसम्मको चौथो त्रैमासिकमा भने ९७ अर्ब रुपैयाँ ऋण उठाउने सरकारको तयारी छ।

नेपालको सार्वजनिक ऋणको आकार पछिल्ला वर्षमा निरन्तर बढिरहेको छ। सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ।

एक वर्षअघि यस्तो ऋण २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो। अर्थात् एक वर्षको अवधिमा सार्वजनिक ऋणमा करिब ३ खर्ब रुपैयाँ थपिएको छ।

पाँच वर्षअघिको अवस्था हेर्दा ऋण वृद्धिको गति अझ स्पष्ट हुन्छ। आर्थिक वर्ष २०७८/७९ मा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा अहिले करिब १० खर्ब रुपैयाँले बढिसकेको छ।

सरकारले प्रस्तावित ऋण परिचालन योजना कार्यान्वयन भए आर्थिक वर्ष २०८३/८४ को अन्त्यसम्म नेपालको कुल सार्वजनिक ऋण ३३ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ।

यो नेपालको अनुमानित कुल गार्हस्थ्य उत्पादनको करिब ४४.९४ प्रतिशत बराबर हुने प्रक्षेपण छ। त्यतिबेला कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५४.२४ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४५.७६ प्रतिशत रहने अनुमान गरिएको छ।

नयाँ ऋण थपिँदै गर्दा पुरानो ऋणको साँवा र ब्याज भुक्तानीको दायित्व पनि बढिरहेको छ।

आगामी आर्थिक वर्षमा सरकारले ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि मात्रै ४ खर्ब १७ अर्ब रुपैयाँ खर्च गर्नेछ। यसमध्ये ३ खर्ब १८ अर्ब रुपैयाँ साँवा तिर्न र करिब १ खर्ब रुपैयाँ ब्याज भुक्तानी गर्न छुट्याइएको छ।

यसले राज्यको नियमित बजेटमा ऋण व्यवस्थापनको हिस्सा क्रमशः बढ्दै गएको देखाउँछ।

सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। त्यसको प्रमुख स्रोत राजस्व र अनुदान भए पनि ती स्रोतले मात्र सम्पूर्ण खर्च धान्ने अवस्था छैन।

सरकारले १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ राजस्व र ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरेको छ। बाँकी वित्तीय आवश्यकता पूरा गर्न आन्तरिक तथा वैदेशिक ऋण परिचालन गर्न लागिएको हो।

किन पक्राउ परे परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई ?

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ।

सीआईबीका एसपी अनुपम शमशेर जबराका अनुसार भट्टराईलाई तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा पक्राउ गरिएको हो।

भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर गर्ने क्रममा उनी अदालतमा उपस्थित नभएपछि पक्राउ गर्न अदालतबाट पुर्जी जारी भएको थियो।

अदालतको पक्राउ पुर्जीपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो। घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बजारमा ग्यासको हाहाकार किन ?

काठमाडौं। पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास पाउन उपभोक्ताले लामो समय लाइनमा बस्नुपरेको दृश्य सार्वजनिक भइरहेका छन्।

ग्यास डिपो तथा विक्रेतासमक्ष खाली सिलिन्डर बोकेर पालो कुर्ने उपभोक्ताको संख्या बढेपछि बजारमा ग्यासको चरम अभाव भएको चर्चा चुलिएको छ। तर, नेपाल आयल निगमले भने वास्तविकता आपूर्ति घटेको नभई उपभोक्ताको माग अस्वाभाविक रूपमा बढेका कारण यस्तो अवस्था सिर्जना भएको जनाएको छ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हाल एलपी ग्यासको आयात र वितरण नियमित रूपमा भइरहेको छ। उनका अनुसार निगमले १४.२ किलोग्राम क्षमताको पूर्ण भरिएको सिलिन्डर वितरणलाई प्राथमिकता दिएपछि बजारमा उपभोक्ताको खरिद व्यवहारमा एकाएक परिवर्तन आएको हो।

उनका अनुसार यसअघि धेरै उपभोक्ताले ७.५ किलोग्राम अर्थात् आधा भरिएको सिलिन्डर प्रयोग गर्ने वा आवश्यक पर्दा मात्र ग्यास भर्ने गरेका थिए। तर अहिले अधिकांश उपभोक्ताले एकैपटक पूर्ण भरिएको सिलिन्डर लिन थालेका छन्। यही कारण बजारमा एक्कासि माग बढ्दा वितरण प्रणालीमा दबाब परेको उनले बताए।

प्रवक्ता ठाकुरका अनुसार ग्यासको आपूर्ति घटेको भए अघिल्ला महिनामै अभाव देखिनुपर्ने थियो। उनका अनुसार चैत महिनामा ३८ हजार ८०० मेट्रिकटन ग्यास वितरण हुँदा बजार सामान्य थियो भने वैशाखमा ३२ हजार ५६ मेट्रिकटन र जेठमा ३३ हजार ८४२ मेट्रिकटन ग्यास वितरण हुँदा पनि कुनै ठूलो समस्या देखिएको थिएन। तर असार महिनामा खपत एकाएक बढेर ४४ हजार ५४४ मेट्रिकटन पुगेपछि बजारमा दबाब सिर्जना भएको हो।

चार महिनाको ग्यास खपत

 

चैत: ३८ हजार ८०० मेट्रिकटन

वैशाख: ३२ हजार ५६ मेट्रिकटन

जेठ: ३३ हजार ८४२ मेट्रिकटन

असार: ४४ हजार ५४४ मेट्रिकटन

 

यी तथ्यांकले अघिल्ला महिनाको तुलनामा असारमा करिब १० देखि १२ हजार मेट्रिकटनसम्म बढी ग्यास खपत भएको देखाउँछन्। निगमका अनुसार यही अस्वाभाविक वृद्धिले बजारमा तत्काल दबाब सिर्जना गरेको हो।

नेपालमा एलपी ग्यास भारतीय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन (आईओसी) मार्फत आयात गरिन्छ। नेपाल आयल निगमले वार्षिक आवश्यकताका आधारमा ग्यासको परिमाण निर्धारण गरी आयात योजना बनाउने गरेको छ। सामान्य अवस्थामा मासिक औसत ४५ देखि ४६ हजार मेट्रिकटन ग्यास आवश्यक पर्ने अनुमानका आधारमा आपूर्ति व्यवस्थापन गरिन्छ।

कुनै महिना खपत कम भए त्यसलाई अर्को महिनामा समायोजन गर्न सकिने भए पनि एकै महिनामा अत्यधिक माग बढे तत्काल सोही अनुपातमा अतिरिक्त ग्यास आयात गर्न सम्भव हुँदैन। भारतबाट उत्पादन, ढुवानी, सीमा नाका हुँदै नेपालसम्म आइपुग्ने सम्पूर्ण प्रक्रियाले निश्चित समय लिने भएकाले तत्काल मागअनुसार आपूर्ति बढाउन चुनौती हुने निगमको भनाइ छ।

विशेषज्ञहरूका अनुसार बजारमा देखिएको समस्या वास्तविक आपूर्ति संकटभन्दा पनि ‘प्यानिक बाइङ’ अर्थात् अभाव हुने डरले आवश्यकताभन्दा बढी ग्यास संकलन गर्ने प्रवृत्तिसँग जोडिएको हुन सक्छ। कुनै वस्तु अभाव हुने हल्ला फैलिएपछि धेरै उपभोक्ताले अतिरिक्त सिलिन्डर भर्ने वा घरमा मौज्दात राख्ने प्रयास गर्दा बजारमा कृत्रिम दबाब सिर्जना हुने गर्छ।

यस्तै अवस्थामा डिलर र वितरकहरूले पनि छोटो अवधिमा अत्यधिक माग सामना गर्नुपर्ने भएकाले उपभोक्ताले लाइन बस्नुपर्ने अवस्था आउँछ, जसले अभावको मनोवैज्ञानिक प्रभावलाई अझ बढाइदिन्छ।

नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न तथा हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

निगमका अनुसार हाल नियमित रूपमा ग्यास आयात र वितरण भइरहेकाले उपभोक्ताले अनावश्यक रूपमा धेरै सिलिन्डर संकलन नगरे बजार सहज अवस्थामा फर्किन समय लाग्दैन।

यद्यपि, बजारमा अझै पनि कतिपय स्थानमा उपभोक्ताले ग्यास सहज रूपमा नपाएको गुनासो गरिरहेका छन्।

कांग्रेसलाई काँध हाल्न देउवा फर्किँदै ?

काठमाडौं। नेपाली कांग्रेसभित्र लामो समयदेखि चुलिँदै आएको आन्तरिक विवाद निर्णायक मोडमा पुगेको चर्चा भइरहेका बेला पूर्वसभापति शेरबहादुर देउवाको सम्भावित स्वदेश फिर्तीले पार्टीभित्रको राजनीतिक समीकरण थप पेचिलो बनेको छ।

कांग्रेसभित्रको शक्ति संघर्ष, नेतृत्वप्रतिको असन्तुष्टि र समानान्तर गतिविधिका बीच २९ साउनलाई निर्णायक मितिका रूपमा हेरिन थालेको छ।

पार्टीभित्रका विभिन्न तहका नेताहरूका अनुसार अन्तिम समयमा कुनै नाटकीय सहमति वा मेलमिलाप नभए कांग्रेस औपचारिक विभाजनतर्फ जाने सम्भावना बलियो बन्दै गएको छ। कतिपय नेताहरूले अनौपचारिक रूपमा ‘कांग्रेस त फुटिसक्यो, अब घोषणा हुन मात्रै बाँकी छ’ भन्न थालेका छन्।

यही पृष्ठभूमिमा २९ साउनदेखि तीन दिनसम्म विशेष भेला आयोजना गर्ने तयारी भइरहेको बताइएको छ। भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन भइसकेको दाबी छ। उक्त भेला सामान्य संगठनात्मक कार्यक्रम नभई कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने निर्णायक मञ्चका रूपमा हेरिएको छ।

भेलाबाट पार्टी एकताका लागि अन्तिम प्रयास हुने वा नयाँ राजनीतिक यात्राको घोषणा गरिने भन्ने विषय टुंगो लाग्ने अपेक्षा गरिएको छ। कांग्रेस विभाजनको अवस्था आए त्यसको नेतृत्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गर्ने चर्चा पनि पार्टीभित्र तीव्र बनेको छ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका छोरा डा. शशांक पछिल्लो समय पार्टीभित्र असन्तुष्ट पक्षका नेताहरूको केन्द्रमा रहेको बताइन्छ। सभापति गगन थापाको नेतृत्वशैलीप्रति असन्तुष्ट नेताहरू उनी वरिपरि केन्द्रित हुन थालेको दाबी गरिएको छ।

यही कारण विभाजन भएमा नयाँ समूहको नेतृत्व डा. शशांकले गर्ने र नयाँ दलको नाम ‘राष्ट्रिय कांग्रेस’ राख्ने तयारी भइरहेको चर्चा राजनीतिक वृत्तमा छ। निर्वाचन आयोगसँग ‘शंख’ चुनाव चिह्न माग्ने विषयमा समेत आन्तरिक छलफल भइरहेको स्रोतहरूको दाबी छ। यद्यपि, यी विषयमा सम्बन्धित नेताहरूबाट औपचारिक पुष्टि भएको छैन।

कांग्रेसभित्रको असन्तुष्टि भने नेतृत्वको कार्यशैली, निर्णय प्रक्रिया, पदाधिकारी चयन, संगठन सञ्चालन र आन्तरिक लोकतन्त्रसँग जोडिएको छ। असन्तुष्ट पक्षले नेतृत्वले निर्णय प्रक्रियालाई एकपक्षीय बनाएको तथा फरक मतलाई पर्याप्त स्थान नदिएको आरोप लगाउँदै आएको छ।

यता सभापति गगन थापानिकट नेताहरू भने कांग्रेसलाई विभाजनबाट जोगाउन अन्तिम समयसम्म प्रयास भइरहेको दाबी गर्छन्। उनीहरूका अनुसार पार्टी फुट्दा लोकतान्त्रिक राजनीति कमजोर हुने र त्यसको प्रत्यक्ष लाभ प्रतिस्पर्धी राजनीतिक शक्तिले उठाउने भएकाले सहमतिको सम्भावना अझै समाप्त भएको छैन।

तर कांग्रेसभित्रको असन्तुष्टि केवल आन्तरिक विवादमा सीमित छैन। प्रदेश सरकार गठनमा नेकपा र एमालेबीच सहकार्यको प्रक्रिया अघि बढिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गगन थापाबीच भएको भनिएको संवादले पनि कांग्रेसभित्र नयाँ बहस जन्माएको छ।

स्रोतका अनुसार प्रचण्डले प्रदेश तहमा तीन प्रतिपक्षी दलबीच सहकार्य गरेर अघि बढ्न गगनसमक्ष प्रस्ताव राखेका थिए। संघीयतामाथि प्रश्न उठाउने गतिविधि बढिरहेको भन्दै त्यसको प्रतिवादका लागि तीन दल एक ठाउँमा उभिनुपर्ने उनको धारणा थियो। तर गगनले तत्काल उक्त प्रस्ताव स्वीकार नगरेको बताइएको छ।

यस घटनाक्रमले कांग्रेसभित्र नेतृत्वले बदलिँदो राजनीतिक परिस्थितिलाई सही ढंगले उपयोग गर्न नसकेको भन्ने असन्तुष्टिलाई थप बल दिएको नेताहरूको दाबी छ। संगठन विस्तार र आन्तरिक समन्वयभन्दा सामाजिक सञ्जालमार्फत राजनीतिक धारणा सार्वजनिक गर्ने शैली हाबी भएको भन्दै नेतृत्वको आलोचना भइरहेको छ।

यही असन्तुष्टिका बीच पूर्वसभापति शेरबहादुर देउवालाई स्वदेश फर्कन आग्रह गरिएको स्रोतको दाबी छ। एक कांग्रेस नेताका अनुसार देउवा साउन २० देखि २२ गतेभित्र नेपाल फर्किने तयारीमा छन्। उनकी पत्नी आरजु र छोरा जयवीर भने तत्काल विदेशमै रहने बताइएको छ।

सरकारका जिम्मेवार पदाधिकारीहरूसँगको परामर्शपछि देउवा नेपाल फर्किन लागेको दाबीसमेत ती नेताले गरेका छन्। त्यसैले स्वदेश फर्किएलगत्तै उनी कानुनी झमेलामा पर्ने सम्भावना कम रहेको उनको भनाइ छ।

देउवाको स्वदेश फिर्तीलाई भने कांग्रेसभित्रको वर्तमान शक्ति संघर्षसँग जोडेर हेरिएको छ। उनी सक्रिय राजनीतिमा तत्काल फर्किएर नेतृत्वमा हस्तक्षेप गर्ने हुन् वा पार्टीभित्र बढ्दो असन्तुष्टि व्यवस्थापनमा भूमिका खेल्ने हुन् भन्ने स्पष्ट भइसकेको छैन। तर कांग्रेस विभाजनको चर्चा चर्किएका बेला उनको स्वदेश फिर्तीले पार्टीभित्रको समीकरणमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

कांग्रेसका एक उच्च तहका नेताका अनुसार अहिलेको परिस्थिति पार्टीका लागि पुनर्जागरणको अवसर हो। तर नेतृत्वले त्यसलाई पहिचान गर्न नसकेको उनको गुनासो छ। इतर पक्ष सहमतिका लागि लचिलो बन्दा पनि नेतृत्वले त्यसलाई पर्याप्त रूपमा ग्रहण गर्न नसकेको उनको आरोप छ।

संघीय संसद्मा कमजोर बनेको कांग्रेस प्रदेशसभा र स्थानीय तहमा समेत आफ्नो प्रभाव गुमाउँदै गएको भन्दै संगठन पुनर्संरचनाको आवाज उठिरहेको छ। यहीबीच वामपन्थी दलहरूबीच नयाँ राजनीतिक समीकरणको प्रयास भइरहेकाले कांग्रेसले आफ्नो आन्तरिक विवाद समाधान गर्न नसके त्यसको प्रत्यक्ष राजनीतिक असर आगामी दिनमा देखिन सक्ने नेताहरूको चिन्ता छ।

यदि कांग्रेस विभाजित भयो भने त्यसको प्रभाव पार्टीको संगठनमा मात्र सीमित नहुने राजनीतिक विश्लेषकहरूको बुझाइ छ। संसद्को अंकगणित, आगामी निर्वाचनको रणनीति, गठबन्धनको सम्भावना र समग्र राष्ट्रिय राजनीतिक समीकरणमा समेत त्यसको असर पर्न सक्छ।

गोरखामा पहिरोले बगायो तीनतले घर

गोरखा। अविरल वर्षापछि आएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा तीनतले पक्की घर बगाएको छ।

लक्ष्मीबजारबाट शिखर जाने सडकखण्डअन्तर्गत दिवामार्गमा स्थानीय मानसिंह गुरुङको घर पहिरोले बगाएको हो। सडकसँगै रहेको घर पहिरिएर करिब २० मिटर तल पुगेको बताइएको छ।

पहिरो खस्दा घरमा एक जना मात्रै थिए। घरमा डेरा गरी बस्दै आएका रौतहटको कटहरिया नगरपालिका–७ का टोखान महतो सामान्य घाइते भएका छन्।

घाइते महतोको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ। अविरल वर्षाका कारण गोरखाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

 

तस्बिरमा हेर्नुहोस् पोखराको बोलबम : ८ किलोमिटर पैदल यात्रा, खालीखुट्टा मन्दिर पुगे भक्तजन

पोखरा। साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम यात्रा निकालिएको छ। बिहानैदेखि गाइघाट क्षेत्रमा भेला भएका भक्तजन सेती नदीको पवित्र जल लिएर केदारेश्वर मन्दिरतर्फ पैदल यात्रामा निस्किएका हुन्।

गाइघाटबाट जल लिएर भक्तजन करिब ८ किलोमिटर दूरी पार गर्दै पोखराको केदारेश्वर मन्दिर पुग्छन्। त्यहाँ पुगेर उनीहरूले संकलन गरेको जल भगवान् शिवलाई अर्पण गर्ने धार्मिक परम्परा छ।

बोलबम यात्रामा सहभागी अधिकांश भक्तजन खालीखुट्टा यात्रा गर्दै मन्दिर पुगेका थिए। यात्राका क्रममा उनीहरूले भगवान् शिवको जयजयकार गर्दै धार्मिक उत्साहका साथ यात्रा पूरा गरेका थिए।

पोखराका स्थानीयसँगै तराईका विभिन्न जिल्लाबाट आएका तथा रोजगारीका सिलसिलामा पोखरामा बस्दै आएका भारतीय नागरिकसमेत बोलबम यात्रामा सहभागी भएका छन्।

साउन महिनाका सोमबार भगवान् शिवको पूजा–आराधना गर्ने परम्पराअनुसार पोखरामा हरेक वर्ष बोलबम यात्रा आयोजना हुँदै आएको छ।

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो

सिन्धुली। सोमबार दिउँसो सिन्धुलीको फिक्कल गाउँपालिका–स्थित नवलपुर क्षेत्रमा कार सुनकोसी नदीमा खसेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौंमा ओखलढुङ्गातर्फ जाँदै गरेको बसले कारलाई ठक्कर दिएपछि कार सडकबाट नदीमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको हो।

नदीमा खसेको कारको नम्बर खुलेको छैन। कारमा तीन जना सवार रहेको सूचना आए पनि प्रहरीले त्यसको पुष्टि गरिसकेको छैन।

घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनास्थलमा प्रहरी पुगेपछि मात्र दुर्घटनाको अवस्था र मानवीय क्षतिबारे थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

किन पक्राउ परिरहन्छन् दुर्गा प्रसाईं?

काठमाडाैं। आइतबार राति दुर्गा प्रसाईं १० औँ पटक पक्राउ परे। आइतबार राति भक्तपुरस्थित निवासबाट प्रहरीले उनलाई पक्राउ गर्यो। बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले अहिलेसम्म उनलाई तीनपटक पक्राउ गरेको छ।

प्रसाईं पक्राउ पर्ने कुरा अब कुनै नयाँ विषय रहेन। उनी केही बोल्छन्, पक्राउ पर्छन्। उनी केही बोल्न खोज्छन्, पक्राउ पर्छन्। उनी केही बोल्दैनन्, र! पनि पक्राउ पर्छन्। कहिले घरबाट, कहिले आधि बाटोबाट, कहिले विमानस्थल, कहिले पोखरा, कहिले मधेस। उनी पक्राउ परिरहन्छन्। 

जसरी प्रसाईं पक्राउ पर्ने गरेका छन्। मानौँ, उनी जेल पर्नेमा ‘रेकर्ड ब्रेकर’ बन्न चाहन्छन्। नेपाल सरकार उनलाई सम्मान सम्मान गर्न चाहन्छ।

तर, जसरी उनी पक्राउ पर्छन्, त्यसरी नै हिरासतमा भने बसिरहँदैनन्। पक्राउ परेको केही दिनमै साधारण तारेख, सामान्य धरौटी यस्तै यस्तै भनेर उनी रिहा हुन्छन्।  

पक्राउ हुनुअघि आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा दुर्गा प्रसाईंले राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र घोषणाका लागि आन्दोलनको घोषणा गरेका थिए। सोही पत्रकार सम्मेलनमा उनले सुनसरीमा भएको साम्प्रदायिक तनावसँग सम्बन्धित घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताको संलग्नता रहेको दाबी गर्दै एउटा ठूलो पोस्टर सार्वजनिक गरेका थिए।

प्रसाईंले सार्वजनिक गरेको उक्त पोस्टरमा सुनसरीको साम्प्रदायिक तनावका क्रममा रास्वपा सभापति रवि लामिछानेसँग संवादमा सहभागी भएका तथा धनुषामा गृहमन्त्रीलाई मागपत्र बुझाउने व्यक्तिहरू रास्वपाकै नेता भएको दाबी गरेका थिए।

पछिल्ला केही वर्षयता प्रसाईं सबैभन्दा धेरैपटक हिरासतमा पुग्ने व्यक्तिमध्ये एक हुन्। विगतमा नेकपा एमाले, तत्कालीन माओवादीलगायतका दलहरूसँग राजनीतिक निकटता बनाएका उनी पछिल्ला केही वर्षयता भने राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि हुने आन्दोलनमा सक्रिय रहँदै आएका छन्।

प्रसाईंमाथि सबैभन्दा बढी सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना, कागजात, आधारहीन अभिव्यक्ति दिने, हिंसालाई बढावा दिने खालका गतिविधि गर्ने तथा साइबर अपराधसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप लाग्ने गरेको छ। यसका अलावा कतिपयले उनलाई बैंकबाट ऋण लिएर नतिरेको र त्यही ऋण मिनाहाको व्यक्तिगत स्वार्थ परिपूर्तिका निम्ति मानिसहरूलाई भड्काउने र उक्साउने गरेको आरोप पनि लगाउने गरेका छन्।

अर्कोतिर, प्रसाईं आफैँ भने केही वर्षयता यो व्यवस्थाले अब नेपालीहरूको हित गर्न नसक्ने बताउँछन्। त्यसकै लागि आफू जीवनको अन्तिमसम्म लड्ने प्रतिज्ञा पनि उनी गरिरहन्छन्। उनका अनुसार उनी भुइँमान्छे हुन्। उनी भन्छन्, ‘म गरिब, अनेक किसिमका दुःखबाट पीडा खेपिरहेका मानिसहरू, निम्न, सीमान्तकृत, पिछडा वर्गका लागि काम गर्ने मान्छे हो।’ यो उनको रेडिमेडजस्तै स्टेटमेन्ट हो।

प्रसाईं आफूसँग छुट्टै खुपिया एजेन्सी भएको दाबी गर्छन्।  त्यही आधारमा उनले अनेक बोल्छन्। उनका कुरा यस्तो लाग्छ- केही सत्य, केही अर्धसत्य, केही असत्य। कहिले जेनजी आन्दोलन दाउद इब्राहिमको पैँसा र योजनामा भएको भन्ने उनी कहिले अहिलेका गृहमन्त्री सुधन गुरुङलाई रोहिङ्ग्या, इल्लुमिनाटी, युरोपिएन युनियनबाट परिचालित मान्छे भन्छन्।  

पेशाले प्रसाईं मेडिकल व्यवसायी हुन्। झापाको बिर्तामोडमा उनको निजी क्यान्सर अस्पताल छ। क्यान्सर अस्पताल सञ्चालनकै लागि उनले बैंकबाट ऋण लिएको पनि भन्ने गरिन्छ। उनका आलोचकहरूले भन्ने गरेका छन्, ‘उनका अभिव्यक्ति, उनले आह्वान गर्ने आन्दोलन पनि उनकै व्यवसायका लागि हुन्।’

मेडिकल कलेज सञ्चालन गर्न सम्बन्धन प्राप्तिका लागि प्रसाईंले ठूलो कसरत गरिरहेका छन्। उनका अनुसार त्यो काम गर्न लाग्दा डा. गोविन्द केसी ठूलो तगारो बने। मेडिकल कलेजको सम्बन्धन पाउन नसकेपछि नै उनले तत्कालीन माओवादी र नेकपा एमाले परित्याग गरे। त्यही रिसले रन्थनिएका उनीमाथि त्यसयता भने निरन्तर रूपमा सरकारविरोधी गतिविधि गर्ने गरेको आरोप लाग्दै आएको छ।

प्रसाईं कहिले, कहाँबाट र किन पक्राउ परे?

यो सरकार गठन भएपछि प्रसाईं ४ जेठमा पर्साको वीरगञ्जबाट पक्राउ परे। उनको सचिवालयका अनुसार त्यतिबेला उनी वीरगञ्जमा सुकुम्बासी, मिटरब्याजीलगायतका मुद्दालाई केन्द्रमा राखेर प्रदर्शन गर्न लागेका थिए। सचिवालयकै अनुसार उक्त प्रदर्शन रोक्न सरकारले उनलाई पक्राउ गर्यो।

त्यसपछि २८ असारमा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरियो। झापाबाट फर्किएका उनलाई सरकारले विमानस्थलमै पत्रकार सम्मेलन गर्न लागेको भन्दै पक्राउ गर्यो। यद्यपि, त्यतिबेला भने उनलाई हिरासतमा राखिएन। प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर उनको निजी निवास भक्तपुरमा लगेर छोडिदियो।

त्यसअघि प्रसाईं २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको मुखमा १७ फागुनमा पक्राउ परेका थिए। प्रहरीले उनलाई निर्वाचन बिथोल्न सक्ने भन्दै नियन्त्रणमा लिएको थियो। तर, उनले त्यसदिन नेपाल बन्दको घोषणा गरेका थिए। उनकै अनुसार त्यस दिनको राजसंस्थावादी आन्दोलनमा पूर्वराजपरिवारका सदस्यहरू पनि सहभागी हुँदै थिए।

निर्वाचन केन्द्रित अफवाह फैलाएको भन्दै त्यसकै केही अगाडि ४ जेठमा पनि उनी भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।

प्रसाईं पक्राउ परेपछि उनीविरुद्ध अदालतमा गम्भीर प्रकृतिका मुद्दाहरूमा अभियोजन भने अहिलेसम्म हुने गरेका छैनन्। सार्वजनिक शान्तिविरुद्धका गतिविधि, भड्काउ अभिव्यक्ति, साइबर अपराध र आपराधिक उपद्रवजस्ता आरोपमा उनी पक्राउ पर्ने गरेका छन्। पक्राउ परेपछि भने उनलाई अदालतले नै धरौटी, साधारण तारेख वा हाजिरी जमानीमा छोड्ने गरेको छ।

त्यस्तै, २८ माघमा वीरगञ्ज जाने क्रममा काठमाडौँको चाल्नाखेलबाट प्रसाईं प्रहरीको नियन्त्रणमा पुगे। त्यतिबेला उनीमाथि निर्वाचन बिथोल्ने तथा साइबरसम्बन्धी कसुरको आरोप लागेको थियो। साइबर ब्युरोका अनुसार सरकार, निर्वाचन आयोग र दलहरू निर्वाचनमा जाँदा प्रसाईंले भने बिथोल्नेगरी कार्यक्रम गर्न लागेका थिए।

५ माघमा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गर्यो। राजावादी कार्यक्रम र निर्वाचनविरोधी गतिविधि गर्न खोजेकै आरोपमा त्यतिबेला पनि उनी प्रहरी हिरासतमा पुगे। त्यसबेला उनीमाथि तोकिएको स्थानबाहेक अन्य ठाउँमा कार्यक्रम गर्न खोजेको र सार्वजनिक शान्ति भंग गर्न खोजेको आरोपमा पक्राउ परेका थिए।

१५ चैत २०८१ मा हिंसा भड्किने र दुई जनाको ज्यान जानेगरी भएको तीनकुने हिंसापछि प्रसाईं फरार भए। त्यतिबेला उनीमाथि हिंसा भड्काउन र आगजनी फैलाउन उक्साएको आरोप थियो। त्यही आरोपमा उनी २८ चैतमा भारतको आसामबाट पक्राउ परे।

४ मङ्सिर २०८१ मा उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियामा पैसा राखेको अपुष्ट आरोप लगाएको भन्दै पक्राउ परेका थिए। उनले पत्रकार सम्मेलनमा भनेअनुसार ओलीले कम्बोडियाको टेलिकममा पैसा लगानी गरेका छन्।

त्यसअघि ६ असोजमा उनी भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए। भड्काउपूर्ण अभिव्यक्ति दिएको र विभिन्न व्यक्तिमाथि आपत्तिजनक तथा आधारहीन आरोप लगाएको भन्दै उनी प्रहरी नियन्त्रणमा पुगे। यो उनी पक्राउ परेको पहिलोपटक थियो।

प्रसाईंलाई जेन–जी विद्रोहपछि प्रधानमन्त्री भएकी सुशीला कार्कीले चारपटक पक्राउ गरेकी थिइन्। त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा उनी तीनपटक पक्राउ परेका थिए।

अहिले बालेन सरकारको पनि उनले कडा शब्दमा विरोध गर्छन्। जेन–जी विद्रोहपछि प्रधानमन्त्री बन्न अफर आएको समेत भन्ने गरेका उनी बालेन सरकारविरुद्ध यसअघि त्यति आक्रामक थिएनन्। तर पछिल्ला दिनहरूमा भने सडकबाट उनी सबैभन्दा चर्को सुनिने प्रतिपक्षी शक्तिमध्ये एक बन्दै गएका छन्।