बिष्णु सापकोटाले मुख खोले- ‘मेरो मौनतालाई कमजोरी नठान्नु, दोषको स्वीकारोक्ति नमान्नु’


काठमाडौँ । गायिका एलिना चौहानका पूर्वपति बिष्णु सापकोटाले आफ्नो डिभोर्सका विषयमा पहिलोपटक मुख खोलेका छन् ।
गायिका चौहान र उनका पूर्वपति सापकोटाबीच सम्बन्धविच्छेद भएको महिनौंपछि पनि सामाजिक संजालमा ‘डिभोर्स’को चर्चा सेलाएको छैन ।
टिकटक र रिल्समा अहिले पनि उनीहरूको सम्बन्धविच्छेदको कुरालाई लिएर नानाथरी टिप्पणी भैरहेको देखिन्छ । एलिनाले हालै ल्याएको तीजको गीतपछि यो चर्चा झनै चुलिएको छ ।
गीतमा उनले व्यक्त गरेको भावलाई धेरै टिकटकरले एलिनाको वास्तविक जीवनसँग सम्बन्ध रहेको भन्दै भिडियो बनाइरहेका छन् । एलिनाले पनि पछिल्ला केही अन्तर्वार्तामा आफ्नो कथा सुनाइरहेकी छिन् ।
उनको हरेक अन्तर्वार्ताको केन्द्रमा डिभोर्स र पूर्वपतिकै कुरा समेटिएको देखिन्छ
सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले गर्दा आफू मानसिक पीडाबाट गुज्रिएको बताएका छन् ।
आफूहरू सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याएको उनले जनाएका छन् ।
दुबै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्ने उनको भनाई छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म स्पष्टरूपमा भन्न चाहन्छु – अहिले मेरो बारेमा भइरहेका अनावश्यक टिकटक भिडियोहरु र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याईरहेका छन् ।
प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म– सम्मानको संरक्षणका लागि मेरो ब्यक्तिगत मानहानी तथा ब्याबसायिक नोक्सानिको क्षतिपुर्ति सहित मैले अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।’
उनले आफ्नो मौनतालाई कमजोरी ठान्नु वा दोष स्वीकारेको संकेत मान्नु पूर्णरुपमा अनुचित हुने बताएका छन् । ‘अहिले दुबैको आ–आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ । कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?’, उनले प्रश्न गरेका छन् ।
साथै सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । आफ्नो चरित्रहत्याका विरुद्ध अष्ट्रेलियामा नै कानूनी प्रक्रिया अगाडि बढाइसकेको उनले बताएका छन् ।