`

मतदाताको मन जित्ने प्रयासमा म्याग्दीका उम्मेदवार: रोजगारी र प्रविधिका विषय चर्चामा

Nepal One HD २५ माघ २०८२ १८:४१
निर्वाचन

गलेश्वर (म्याग्दी) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा हिमाली जिल्ला म्याग्दीमा चुनावी सरगर्मी बढ्दै गएको देखिन्छ ।

बिहानीपख डम्म कुहिरोले ढाकिने गाउँबस्ती दिन छिप्पिँदै जाँदा विस्तारै खुल्दै गएर सफा देखिन थालेसँगै यहाँको चुनावी सरगर्मी पनि तापिलो र रापिलो बन्दै गएको छ । जनभेटघाटका लागि गाउँबस्तीमा पुगेका उम्मेदवारहरुले मतदातालाई रिझाउन अनेकौँ प्रकारका तिगडम र हतकण्डा अपनाइरहेका छन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा मतदातालाई ढोग्ने, वृद्धवृद्धाबाट आशीर्वाद लिने, अङ्गालो हाल्ने, हात समातेर पाँचसात पाइलासँगै हिँड्ने, दुःखसुखका बारेमा सोेधपुछ गर्ने, छोराछोरी र परिवारको हालखबर लिनेजस्ता आत्मीय भाव झल्किने व्यवहार प्रदर्शन गरेर जनताजनार्दनको मन जित्ने प्रयास गरिरहेका छन् । यस्तो लाग्छ चुनाव जितेर गएपछि वा चुनावबाहेकको अरु समयमा यस्तै आत्मीयतापूर्ण व्यवहार जनताप्रति भइदिने हो भने जनतालाई किन दुःख हुँदो हो, नेता र राजनीतिप्रति किन वितृष्णा पैदा हुँदो हो ।

उम्मेदवारहरुले देखाएको व्यवहार मौसमी हो भन्ने मतदाताले राम्रोसँग बुझेका छन् । मतदाता उम्मेदवारलाई पेचिला प्रश्न गरिरहेका छन् । सचेत मतदाताले उम्मेदवारलाई राष्ट्रिय, अन्तरराष्ट्रिय राजनीति र परिवेशका मुद्दादेखि जेनजी आन्दोलनपछि उत्पन्न नेपालको अवस्था र यसको निकासका लागि राजनीतिक दल र चुनाव जितेपछि उम्मेदवारको भूमिकाका बारेमा प्रश्न गरिरहेका हुन्छन् । सामान्य मतदाता भने विशेषगरी पुराना रानीतिक पार्टीका उम्मेदवारलाई अहिलेसम्म के ग¥र्यौं भनेर आफूले विगतका निर्वाचनमा दिएका मतको हिसाबकिताब मागिरहेका हुन्छन् । तिनै मतदाताहरुसँग नयाँ उम्मेदवार पुग्दा उनीहरुको प्रश्न हुन्छ, “एक्लै के गर्न सकौला, के गर्छौ तिमीले जितेर भन्ने जस्ता ।”

घरदैलो अभियानअन्तर्गत भोट माग्दै गाउँगाउँमा पुगेका उम्मेदवारलाई ठूलाठूला आश्वासन होइन जनताका आधारभूत समस्यामा केन्द्रित हुन मतदाताले आग्रह गरेका छन् । एउटामात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा उम्मेदवार बिहानदेखि राति अबेरसम्म टोलटोलमा गई चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।

विशेषगरी घरदैलो कार्यक्रमलाई उम्मेदवारले तीव्रता दिएका छन् । जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार भ्याइनभ्याइ दौडधूप गरिरहेका छन् । तर मतदाताहरुले भने रोजगारी, बाटोघाटो तथा पुल निर्माण, पर्यटन तथा कृषि क्षेत्रको विकासलगायत विकास निर्माणका कामलाई प्राथमिकतामा राख्नेका पक्षमा मतदान गर्नुपर्ने बताउँदै आएको देखिन्छ ।

आश्वासन प्रतिभन्दा पनि उम्मेदवारको कार्यशैली, क्षमता तथा इमान्दारीजस्ता पक्षलाई विचार गरेर मतदाता गरिने उनीहरुको भनाइ छ । जनताले भोग्नुपरेका वास्तविक समस्यालाई जसले सम्बोधन गर्छ उसैलाई अवसर दिनुपर्ने भन्दै यहाँका मतदाताहरुले गाउँगाउँमा सामूहिक छलफल समेत गर्न थालेका छन् ।

अहिले म्याग्दी अलि बढी चर्चामा छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र रुपमा उम्मेदवार बनेका डा महावीर पुनका कारण विगतका निर्वाचनभन्दा यसपटकको निर्वाचनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा निकै महत्वका साथ हेरिएको छ ।

“अब उही पुरानै पाराको आश्वासन र लोकाचारका कुरामा भोट दिइँदैन, जसले हाम्रा आधारभूत समस्या समाधान गर्ने प्रतिज्ञा गर्दछ उसैलाई यसपटकको निर्वाचनमा भोट हालिन्छ”, बेनी नगरपालिका–२ का मतदाता पूर्णबहादुर खत्रीले भने ।

एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका गरी १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट अर्जुनबहादुर थापा उम्मेदवार रहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्बरबहादुर सुवेदी चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे, मङ्गल नेसनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट महावीर पुन चुनावी प्रतिस्पर्धामा छन् ।

स्वतन्त्र विश्लेषकले यसपटकको निर्वाचनमा म्याग्दीमा कांग्रेस, एमाले, नेकपा र स्वतन्त्र उम्मेदवार महावीर पुनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।

यसअघि २०७९ सालको प्र्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) ले २४ हजार २१ मत प्राप्त गरेका थिए भने निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरेका थिए ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका बीच हुन गइरहेको आसन्न निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पाटीलाई स्वतन्त्र उम्मेदवार डा पुन चुनौतीका रुपमा रहेको देखिन्छ । यसपटक प्रतिस्पर्धा थप चुनौतीपूर्ण हुने आकलन गरिएको छ । यहाँका मतदाताले प्रत्येक निर्वाचनमा स्वविवेकका आधारमा फरकफरक दललाई अवसर दिँदै आएको देखिन्छ ।

“अहिले साविकका राजनीतिक दलबाट मात्र उम्मेदवार छैनन्, नयाँ दल र स्वतन्त्रबाट उम्मेदवार छन्”, मङ्गला गाउँपालिका–४ का टेकनाथ सापकोटाले भने, “अघिल्ला निर्वाचनमा जनतासँग पुराना दलको विकल्प थिएन, तर यसपटक भने जनतासँग विकल्प छ, त्यसैले जसले आधारभूत समस्या समाधानका लागि विश्वास दिलाउँछ उसैलाई मत दिइन्छ ।”

जनताको यही मनोभावलाई बुझेर होला उम्मेदवारले पनि मतदाता भेटघाटका क्रममा स्थानीय समस्यालाई नै केन्द्रमा राखेर समाधान गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको म्याग्दीमा निर्वाचनका लागि कूल ८६ हजार ३९७ मतदाताले मतदान गर्न पाउनेछन् । सोमध्ये अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

यसपटक म्याग्देली जनता राष्ट्रिय राजनीतिमा जिल्लाको भूमिका स्थापित गर्नसक्ने र जनताका आधारभूत समस्यालाई सम्बोधन गर्नसक्ने उम्मेदवारलाई जिताउने मनस्थितिका साथ भेटघाटमा आउने सबैलाई नचिढ्याउने पक्षमा रहेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *