`

को हुन् सुशीला कार्कीले मन्त्री बनाउन लागेका चार नयाँ अनुहार ?

Nepal One HD २६ मंसिर २०८२ १४:०९
प्रमुख खबर

काठमाडौं । आधा कार्यकाल पुरा गरेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज (शुक्रबार) बाट चार नयाँ मन्त्री थपिँदै छन् । सरकार गठनको तीन महिनापछि कार्कीले शुक्रबार चार मन्त्री थप्न लागेकी हुन् । जसमा श्रद्धा श्रेष्ठ, कुमार इङनाम, राजेन्द्र सिंह भण्डारी र माधव चौलागाईं छन्।

श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, इङनामले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र चौलागाईंले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँदै छन् । चौंथो पटकको विस्तारसँगै सरकारमा अब १४ मन्त्री हुनेछन् । उनीहरूको आजै ३ बजेपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथको कार्यक्रम हुँदैछ ।

को हुन् थपिँदै गरेका चार मन्त्री ?
महिला मन्त्रालयको जिम्मा पाएकी श्रद्धा श्रेष्ठ यसअघि नेपाल पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक थिइन् । उनी बोर्डमा ब्रान्डिङ शाखामा रहेर काम गरिसकेकी छन् । उनी यसअघि प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि प्रतिष्पर्धा गरेकी थिइन् । बोर्डमा उत्कृष्ट काम गरेको भन्दै श्रेष्ठले अमेरिकी सरकारले प्रदान गर्ने १० महिने हफ्रे फेलोसिप पाएकी छिन् । चौलागाईं लेखक, गीतकार र जनस्वास्थ्यविज्ञ हुन् । कर्णालीविज्ञका रूपमा चिनिने चौलागाईं ‘मान्ठ हुँम मान्ठ’ गीतका रचनाकार हुन् । जुम्लाको सिञ्जा क्षेत्रका चौलागाईं जनस्वास्थ्यविज्ञ हुन् ।

अध्ययन अनुसन्धानमा सक्रिय चौलागाईं कर्णाली क्षेत्रका मुद्दालाई केन्द्रसँग जोड्ने र बहस गर्ने अभियानमा सक्रिय छन् । उनको ‘सपादलक्ष कर्णाली’ पुस्तक पनि प्रकाशित छ । कर्णालीको इतिहास मात्र होइन, अवसरलाई पनि बताउने उक्त पुस्तक शिलापत्र वर्षपुस्तकको सूचीमा मनोनयन समेत भएको थियो । चौलागाईं कर्णालीमा हुने ‘कुडा कर्णाली उत्सव’को विशेष पहलकर्ता पनि हुन् ।

थपिएका मन्त्रीमा भण्डारी पूर्व प्रहरी हुन् । उनले प्रहरीमा पूर्व अतिरिक्त महानिरीक्षक भएर काम गरिसकेका छन् । उनी केन्द्रीय अनुसन्धान विभागका संस्थापन प्रमुख पनि हुन् । भूमि व्यवस्थामन्त्री इङनाम कानुनका प्राध्यापक र विज्ञ हुन् । काठमाडौं स्कुल अफ लमा प्राध्यापन गरिसकेका उनले वित्तीय अपराध, अन्तर्राष्ट्रिय व्यापारका विषयमा पुस्तक लेखेका छन् । शुक्रबार (मंसिर २६) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीमा नियुक्तिका निम्ति उनीहरूका नाम सिफारिस गरिएको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *