किन भयो ‘खान सर’माथि हत्या प्रयासको मुद्दा दर्ता ?
एजेन्सी। बिहारको राजधानी पटनामा रहेको प्रसिद्ध कोचिङ संस्थानसँग जोडिएको हिंसात्मक घटनापछि चर्चित शिक्षक फैसल खान उर्फ ‘खान सर’ विरुद्ध प्रहरी कारबाही अघि बढाइएको छ।
कदमकुआन प्रहरी चौकीमा उनीविरुद्ध हत्या प्रयास र हतियार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रहरीका अनुसार कोचिङ सेन्टरमा ढुंगा प्रहार, तोडफोड र त्यसपछि भएको गोली प्रकरणपछि भारतीय दण्ड संहिताको धारा १०९ अन्तर्गत मुद्दा दर्ता गरिएको हो।
यो धारा हत्या प्रयाससँग सम्बन्धित छ, जसमा १० वर्षसम्म कैद र जरिवानासम्मको सजाय हुन सक्छ। कानुनअनुसार यसमा अग्रिम जमानतको सुविधा पनि उपलब्ध हुँदैन।
घटना कसरी भयो ?
गत मंगलबार राति पटनाको मुसलपुर हाट क्षेत्रमा रहेको ‘खान ग्लोबल स्टडीज’ कोचिङ सेन्टरमा ढुंगा प्रहार र तोडफोड भएको थियो। प्रारम्भिक चरणमा खान सर पक्षले यो आक्रमण प्रतिस्पर्धी कोचिङ संस्थासँग जोडिएको दाबी गरेको थियो।
त्यसपछि प्रहरीले ज्ञान बिन्दु कोचिङका निर्देशक रोशन आनन्दसहित तीन जनालाई पक्राउ गरेको थियो र उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको छ।
तर घटनाको भिडियो सार्वजनिक भएपछि अनुसन्धानले नयाँ मोड लिएको छ। भिडियोमा खान सरका दुई अंगरक्षकले गोली चलाएको देखिएको बताइएको छ। यसपछि ती सुरक्षा गार्डहरूलाई पनि पक्राउ गरी जेल पठाइएको छ।
प्रहरीका अनुसार गार्डहरूले आफूहरूले आत्मरक्षाका लागि गोली चलाएको बयान दिएका छन्। तर उनीहरूले उक्त कार्य खान सरको निर्देशनमा भएको पनि दाबी गरेका छन्। यसले मुद्दालाई थप जटिल बनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले खान सरलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने अवस्था रहेको छ। उनीसँग प्रारम्भिक सोधपुछ भइसकेको छ। खान सरले सुरुमा गोली चलेको पुष्टि गरे पनि पछि आफ्नो बयान परिवर्तन गर्दै गार्डहरूले आत्मरक्षामा गोली चलाएको बताएका छन्।
उनले प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्।
घटनामा एक सुरक्षा गार्ड घाइते भएको र अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घटनापछि विद्यार्थीहरूले विरोध प्रदर्शन समेत गरेका छन्। प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज संकलन गर्दै थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
