`

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठ पूजा (तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन् । प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत सोमवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ  ।

काठमाडौँको कमल पोखरीमा विगत नौ वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ ।

मन्त्री घिसिङ पुगे भारतमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ भारत पुगेका छन् । मन्त्री घिसिङलाई दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली दूतावासका राजदूत शंकर शर्मा र भारत सरकार बिदेश मन्त्रालयका नर्दन डिभिजनका डेपुटी सेक्रेटरी तुसारन्शु शर्माले स्वागत गरेका छन् । मन्त्री घिसिङ आज (सोमबार) अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसए सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका हुन् । ४० बढी देशका मन्त्री सहभागी हुने आठौं सभा नयाँदिल्लीमा १०–१३ कात्तिकमा हुनेछ ।

आईएसएमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ । उक्त सम्मेलनमा मन्त्री घिसिङले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२१ को २१औं सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो ।

आईएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आइएसएमा आबद्ध भएको थियो । नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो । सम्मेलनमा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने छन् ।

 

 

अब तरुण दल चुप लागेर बस्दैन, आन्दोलनमा जान्छ : विद्वान गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । सोमवार नेपाल तरुण दलको स्थापना दिवस पारेर सो घोषणा गरिएको हो । अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरूको अस्तित्व रक्षाका लागि पनि आफूहरूले अब चुप लागेर बस्ने अवस्था नभएको बताए ।

उनले दुर्गा प्रसाई, सुदन गुरुङहरूले आफूहरूको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता–कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रूपमा चित्रण गर्ने काम भइरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले भने, ‘आज एउटा सरकार बनेको छ । पुराना दलको सरकार गएपछि मुलुकमा केही परिवर्तन भएको छ ? आज एउटा कुनै दुर्गा प्रसाईले छठपछि आन्दोलनको घोषणा गरेको छ । एउटा कुनै अभियन्ता गुरुङले आगामी १६ गतेबाट आन्दोलनको घोषणा गरेको छ । केही जेनजी पुस्ताहरूले पनि फेरि नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई झोलेको रूपमा हाम्रा परिवारहरूलाई विभिन्न सामाजिक सञ्जालमा हालेर हामीलाई ट्रोल बनाउने काम भइरहेको छ ।’

उनले भने, ‘यसैले म तरुण दलका साथीहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामी चुप लागेर बसेर मात्रै मुलुकमा शान्ति हुँदो रहेनछ । यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाई हाम्रो अस्तित्व जोगाउने हो भने अव यिनीहरूको विरुद्ध सडकमा भिँडने हो । यो भन्दा अव अर्को विकल्प नै छैन । अव आउने दिनमा २३ गतेको घटनालाई हामीले समर्थन गरेका थियौँ । २४ गतेको घटना जुन घटनाको हामीले पुनर्विचार गर्न सकेनौँ । जसकारण हामीले यति ठुलो क्षति व्यहोर्न गयौं । अब आउने दिनमा कुनै पनि आन्दोलनहरू, कुनै पनि वादीहरूले गर्ने आन्दोलनहरूमा अव नेपाल तरुण दल सजग रहनेछ । र तयारी अवस्थामा रहन पनि हामी साथीहरूलाई आग्रह गर्दछौँ ।’ अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंस आफूहरूले रोक्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए ।

देशव्यापी आक्रमण एमाले बलियो रहेको प्रमाण : सूर्य थापा

रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले अहिलेको अवस्थामा एमाले बिनाको देश र केपी ओली बिनाको एमाले हुन नसक्ने बताएका छन् । आज अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेले आयोजना गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले धमिलो पानीमा माछा मार्न पाउने गरी केही पाटीभित्र र बाहिरका व्यक्तिहरुले चलाएको गलत हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै पार्टीमा ओली नेतृत्वको विकल्प नभएको जनाए ।

‘अहिले केही तत्वहरु एमाले बिनाको देश र केपी ओली बिनाको एमालेको कल्पना गर्दै हिंडेका छन्, एमालेभित्र पनि केही व्यक्तिहरु त्यो खिचडी बनाउन चाहेका होलान् तर उनीहरुले कुनै दिवासपना नदेखे हुन्छ । अहिले देशमा एमाले बिना चल्न सक्दैन र एमाले केपी ओलीको नेतृत्व बिना चल्न सक्दैन, मंसिर महिनामा हुने महाधिवेशन अध्यक्ष केपी ओलीकै नेतृत्वमा अघि बढ्छ कसैले भ्रम नपाले हुन्छ ।’

उनले एमालेको चिन्ता गर्दै सामाजिक सञ्जालमा अभियान चलाएकाहरुलाई इंगित गर्दै भने, ‘हिजो पार्टीमा रहेर अहिले चर्न गएकाहरुले बढी यस्ता कुरा उठाएका छन्, केही कांग्रेस, माओवादी वा यस्तै यस्तैले चलाएका छन्, एमालेको चिन्ता अरुले नगरे हुन्छ, आफ्नो थैली बाँधे हुन्छ, एमालेले आफ्नो निर्णय आफै गर्न सक्छ । हाम्रो नेतृत्व हाम्रो आवश्यकताको आधारमा गर्नसक्छ, कसैले बाहिर बसेर गोहीको आँशु नचुहाए हुन्छ ।’

नेता थापाले भदौ २३ र २४ गतेको आन्दोलन ठूलो राष्ट्रघाती गिरोहको योजनामा भएको र अर्बौको नोक्सानी भएको बताए । ‘हामीले जेनजीहरुका जायज मागमा साथ दिन्छौं तर उनीहरुलाई मोहोरा बनाएर विध्वंश मच्चाउनेहरुलाई कुनै पनि मानेमा साथ दिन सकिदैन । राष्ट्रिय सम्पति र व्यक्तिगत सम्पतिमा आगो लगाउनेलाई पानीमुनि गए पनि छाडिने छैन, अपराधीले छुट पाउने छैन ।’

आन्दोलनपछि केही अन्यौलमा परिरहेको समयमा एमालेले बिस्तारै सबै जिल्लामा यसखालका कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै उनले देशभरका ७७ जिल्लामध्ये अर्घाखाँचीले पहिलो पटक यति ठूलो प्रदर्शन गरेर देशव्यापी सन्देश दिएको जनाए । उनले एमाले कार्यकर्ताको बल अडिएको पार्टी भएकाले हरेक विषय वास्तविकतामा आधारित रहेर अघि बढ्न सुझाए । एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनु पर्ने बताए ।

 

आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराए । उनले भने, ‘धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ ।धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन् ।’ मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याए ।

अर्का केन्द्रीय सदस्य बोमबहादुर विश्वकर्माले सम्बोधन गर्दै देशमा शान्ति, स्थिरता र कानुनी शासनको अभाव रहेको बताए । उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनको नाममा अराजकता फैलाउने काम भएको भन्दै असंवैधानिक सरकारले जनताको अधिकारमा खेलबाड गरेको आरोप लगाए । विश्वकर्माले भने, ‘निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरिसकेको छ । हाम्रो पार्टी फेरि उठ्नेछ, फेरि जित्नेछ । तर, शान्ति र सुरक्षाको प्रत्याभूति नहुँदासम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्भव छैन ।’

 

मन्त्री घिसिङ भारत प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ भारत प्रस्थान गरेका छन् । मन्त्री घिसिङ आज (सोमबार) अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आईएसए सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका हुन् । ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने आठौं सभा नयाँदिल्लीमा १०–१३ कात्तिकमा हुनेछ ।

आईएसएमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ । उक्त सम्मेलनमा मन्त्री घिसिङले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–२१ को २१औं सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो ।

आईएसएको स्थापना सम्बन्धमा संरचना सम्झौतालाई प्रतिनिधि सभाले अनुमोदन गरेपछि नेपाल १०१ औं सदस्य राष्ट्रको रुपमा २०८१ को भदौमा आइएसएमा आबद्ध भएको थियो । नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो । सम्मेलनमा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने छन् ।

पाँच बर्षअघि नै ठेक्का सम्झौता, पुल निर्माण अझै भएन सुरु

म्याग्दी । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटर चल्ने पुल निर्माण योजना अलपत्र बनेको छ । मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीस्थित दाङखोलामा ठेक्का सम्झौता भएको ५ वर्षमा पनि पुल निर्माण सुरु नभएको हो । करिब १८ मिटर लामो पुल बनाउन पूर्वाधार विकास कार्यालय र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो ।

विसं २०७८ जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण कार्य सुरु नै नभएको धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले बताए । ‘धवलागिरिको केन्द्र मुनासहित ५ वडालाई जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि यो पुल आवश्यक छ’, उनले भने, ‘पुल बनेर यातायात सञ्चालन हुनुपर्ने समयसम्म पनि निर्माण सुरु भएको छैन ।’ विसं २०७५ मा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटेरबल पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको वडाध्यक्ष खत्रीले बताए ।

पुल निर्माणस्थल म्याग्दीखोला जलविद्युत् आयोजनाको यसअघि प्रस्तावित बाँध निर्माणस्थलमा पर्दा सम्झौता लगत्तै कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, विसं २०७७ को बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र पछिल्लो समय निर्माण व्यवसायी अदालत गएपछि पुल निर्माण कार्य प्रभावित बनेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । काम नभएपछि कार्यालयले ठेकेदारलाई पेस्की दिएको ३३ लाख रुपैयाँधरौटीबाट फिर्ता गरेको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले दाङखोलामा मोटरेबल पुल नबन्नुको मुख्य कारण दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजना भएको बताए ।

‘सम्झौतालगत्तै आएका ठेकेदारलाई काम गर्न दिएको भए त्यही समयमा पुल बन्ने थियो’, उनले भने, ‘सहमतिअनुसार दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाले नै दाङखोलामा पुल बनाउनु पर्छ ।’ जलविद्युत् आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाइड्रोका निर्देशक तेजेन्द्र रोकाले दाङखोलाबाट हाल बाँध निर्माणस्थल इल्पुमा सारिएको र मोटरेबल पुलको विषयमा आफू नयाँ सञ्चालक भएकाले पुरानो सहमतिको विषयमा जानकार नभएको प्रतिक्रिया दिए । तत्कालीन निर्देशक हर्कमान मगरले दाङखोलामा सरकारी पक्षबाट पुल निर्माण हुन नसके आयोजनाले पुल बनाउने लिखित निर्णयमा हस्ताक्षर गरेका थिए । रासस

चुनाव गराउन नसके मुलुक अप्ठ्यारोमा पर्छ : उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापति डीपी अर्यालले मुलुकलाई सही निकास दिन निर्वाचनको विकल्प नै नभएको बताएका छन् । आज (सोमबार) भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले फागुन २१ मा चुनाव गराउनुको विकल्प नभएको बताएका हुन् । ‘रास्वपा चुनावमा केन्द्रित भइसक्यो, पार्टी उपसभापति स्वर्णिम वाग्लेले नेतृत्वमा बाचा पत्र तयार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘कार्तिक १५ गते निर्वाचन केन्द्रित कार्यक्रम घोषणा गर्दैछौं । अरू दलले पनि चुनाव सम्पन्न गर्न सहयोग गर्नुपर्छ ।’

अहिलेको सरकारले चुनाव गराउन नसके मुलुक नै अप्ठ्यारोमा पर्ने उनको भनाइ छ । त्यस्तै उनले अहिलेको अन्तरिम सरकारको मुख्य काम नै निर्वाचन गराउनु भएको पनि बताए । रास्वपाले जेनजी अगुवा, ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौँका मेयर बालेन्द्र शाहलगायतसँग संवाद गरिरहेको विषयमा पत्रकारहरूले सोधेको जिज्ञासामा उनले भने, ‘सबै शक्तिलाई एकै ठाउँमा ल्याउन निरन्तर संवाद भइरहेको छ । छलफलहरू सकारात्मक भइरहेका छन् ।’

नेपालको भारत र चीनसँग मात्रै तीन खर्ब बढीको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै तीन खर्ब बढीको व्यापारघाटा व्यहोर्नुपरेको छ । निर्यात भन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोडको व्यापार घाटा व्यहोरेको हो । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) सम्ममा भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोडको वस्तु आयात गरेको छ ।

यो अवधिमा ५९ अर्ब १२ करोडको मात्रै वस्तु निकासी गरेको छ । जसबाट पहिलो त्रैमासमा भारतसँग मात्रै नेपालले १ खर्ब ९९ अर्ब ७४ करोडको व्यापार घाटा व्यहोर्नु परेको छ । त्यस्तै, उत्तरी छिमेकी देश चीनसँग नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्ममा १ खर्ब ४८ अर्ब ९४ करोडको वस्तु आयात गरेको छ भने निर्यात भने १८ करोड ६४ लाखको मात्रै गरेको छ । जसबाट नेपालले १ खर्ब ४ अर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।

भारतपछि सबैभन्दा बढी व्यापारघाटा रहेको मुलुकमा चीन पर्ने गरेको छ । त्यस्तै, नेपालले अफगानीस्तान, अर्जेनटिना, अस्टे«लिया, बंगलादेशदेखि अमेरिकी मुलुकसँग पनि ठूलो व्यापार घाटा व्यहोरेको छ । नेपालले १ सय ४० देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा साइप्रस, बहामासलगायतका केही देशहरुसँग वैदेशिक व्यापार नाफामा गर्दै आएको विभागको तथ्यांकले देखाउछ । –न्युज एजेन्स

‘जेनजी आन्दोलन’ को असर : देशको अर्थतन्त्र ‘हल्लियो’, पाँचतारे हायात होटल अनिश्चित बन्द

काठमाडौं । ‘जेनजी आन्दोलन’ ले देशको राजनीतिकमा उलटफेर मात्रै होइन, आर्थिक मेरुदण्ड समेत हल्लाइ दिएको छ । ३६ घण्टामै सत्ता परिवर्तन गराएको यो ऐतिहासिक आन्दोलनले पुराना दलहरुका शक्ति–केन्द्रहरू भत्काउँदै देशका ठूला उद्योग र व्यवसायहरू समेत ध्वस्त बनाएको छ । भौतिक सम्पत्तिको क्षति, रोजगार गुमाउनेहरूको पीडा र पर्यटन क्षेत्रको ठप्प अवस्थाले मुलुकको अर्थतन्त्रलाई गहिरो संकटमा पारेको छ । आन्दोलनका क्रममा आगजनी, लुटपाट र तोडफोडमा परेका प्रमुख व्यवसायिक संस्थाहरू मध्ये देशकै प्रतिष्ठित होटल हायात रिजेन्सी पनि पर्‍यो, जसले अब अनिश्चितकालका लागि आफ्नो सेवा बन्द गर्ने घोषणा गरेको छ ।

आन्दोलनले ल्याएको विनाश
जेनजी आन्दोलनको पहिलो दिनमै १९ जना युवा र बालबालिकाको सडकमै हत्या भएपछि आन्दोलनले दोस्रो दिन नै हिंसात्मक रूप लिँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई अपदस्थ गर्‍यो । राजनीतिक परिवर्तनसँगै देशको आर्थिक ढाँचा समेत हल्लियो–भाटभटेनी सुपरमार्केट, हिल्टन होटल, चन्द्रागिरी हिल्स र सिजी कम्पनी जस्ता ठूला करदाता संस्थामाथि प्रत्यक्ष प्रहार हुँदा हजारौं रोजगारी गुमे ।

हायातको ‘शटडाउन’ : अर्थतन्त्रमा अर्को झड्का
राजधानीको पाँचतारे हायात रिजेन्सी होटल, जुन नेपालको सबैभन्दा ठूलो पर्यटकीय होटलका रूपमा चिनिन्छ । आन्दोलनमा परेको क्षतिको बहानामा अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ । होटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा होटलका अतिथि कक्ष, कार्यकक्ष, लबी, बैंक्वेट र चैत्यसम्ममा तोडफोड, लुटपाट र आगजनी भएको छ । पुनर्निर्माणपछि मात्रै सेवा सञ्चालन सम्भव हुनेछ ।’ होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले पुनर्निर्माणका लागि करिब एक वर्ष लाग्ने बताएका छन् । तर होटल बन्दको निर्णयसँगै त्यहाँ कार्यरत आठ सय बढी कर्मचारी बेरोजगार बनेका छन् ।

युनियन र सरकारको आपत्ति
होटल बन्दको निर्णयलाई हायातमा क्रियाशील ट्रेड युनियनहरूले एकतर्फी र अन्यायपूर्ण बताएका छन् । उनीहरूले भनेका छन्, ‘सेवा सुविधाबारे वार्ता जारी रहँदा व्यवस्थापनले अचानक होटल बन्द गरेर श्रमिकमाथि चोट पुर्‍याएको छ ।’ यसै विषयमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले चासो देखाएका छन् । अर्थमन्त्री खनालले भनेका छन्, ‘सुरक्षाको पूर्ण प्रत्याभूति सरकार दिनेछ, सेवा सञ्चालनमा फर्कन डराउनु पर्दैन ।’ तर होटल व्यवस्थापन आफ्नो निर्णयबाट पछि हट्ने मनस्थितिमा छैन ।

पर्यटन र रोजगारीमा प्रत्यक्ष असर

हायात बन्द भएपछि काठमाडौंको पर्यटकीय गतिविधिमा समेत असर परेको छ । अन्तर्राष्ट्रिय सम्मेलन, विवाह समारोह र उच्चस्तरीय आगन्तुकहरूको प्रमुख जमघटस्थल बन्द हुँदा देशको पर्यटन आयमा गम्भीर गिरावट आउने अनुमान गरिएको छ ।

हायातको प्रतिबद्धता
हायात व्यवस्थापनले भने पुनर्निर्माणपछि अझ मजबुत रूपमा फर्कने दाबी गरेको छ । ‘हामी पुनर्निर्माणपछि नेपालको पर्यटन प्रतिष्ठा पुनः स्थापित गर्नेछौं र सरकारी राजस्व तथा राष्ट्रिय अर्थतन्त्रमा अझ ठूलो योगदान दिनेछौं ।’ जेनजी आन्दोलनले सत्ता मात्र बदलेको छैन, देशको आर्थिक मेरुदण्डमा गहिरो चोट पुर्‍याएको छ । हायात होटल बन्द त्यसको उदाहरण मात्र हो । जहाँ राजनीतिक आन्दोलनको प्रत्यक्ष असर उद्योग, रोजगार र पर्यटनमा देखिएको छ । अब प्रश्न एउटै छ–देश फेरि उठ्ने त हो, तर कहिले र कसरी ?

 

 

स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा बयान

काठमाडौं । अधिवक्ता समेत रहेका राजसंस्था पुनःस्थापना अभियन्ता स्वागत नेपालसँग प्रहरीको साइबर ब्युरोले करिब ६ घण्टा बयान लिएको छ । भोटाहिटीस्थित ब्युरोमा आइतबार अधिकारीहरूले उनीसँग दिउँसो २ बजेदेखि राति करिब ८ बजेसम्म बयान लिएका हुन् । त्यसपछि उनलाई फेरि उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाइएको हो । सनाखतका लागि उनलाई ११ कात्तिकमा पनि ब्युरोमा उपस्थित हुन भनिएको छ । उनले आफूविरुद्ध प्रधानमन्त्री सुशीला कार्कीले उजुरी दिएको हो वा प्रहरीलाई लागेर अनुसन्धान गरेको भनेर प्रश्न पनि गरेका छन् । ११ गते आफूविरुद्ध उजुरी नदेखाइ सनाखत नगर्ने नेपाल बताएका छन् ।

नेपालसँग सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले भने । एसपी अवस्थीका अनुसार आज बिदा परेकाले भोलि (मंगलबार) थप सोधपुछ हुने बताए । नेपाल पनि मंगलबार उपस्थित हुने भन्दै ब्यूरोबाट बाहिरिएका थिए । उनीमाथि लागेको आरोपका बारेमा प्रहरीले उनीमाथि सोधपुछ गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध निराधार आरोप लगाएको आरोपमा अभियन्ता नेपाललाई ब्युरोले बोलाएको थियो । ‘मैले प्रधानमन्त्री सुशीला कार्कीले संविधानभन्दा बाहिर गएर कोही पनि प्रधानमन्त्री नियुक्त हुन सक्दैन भनेर विगतमा दिएको अभिव्यक्तिकै आधारमा उहाँलाई अनैतिक भनेको थिएँ । उहाँले चुनाव गराउन सक्नु हुन्न भन्ने पनि उहाँकै अभिव्यक्तिमा आधारित थियो । जेनजीहरूले चुनाव गराउन दिनु हुन्न भनेको होइन, दिनु हुने छैन भनेको हुँ’, नेपालले भने, ‘सुशीला कार्की ज्यू अनैतिक हुनुहुन्छ भन्दा साइबर क्राइम भयो रे ।’

बयानका क्रममा नेपालले आफ्नो अभिव्यक्ति साइबर अपराधअन्तर्गत नपर्ने दाबी गरेका छन् । ‘मैले बोलेको कुन चाहिँ अभिव्यक्ति साइबर क्राइम हो ?’, उनले प्रश्न गरेका थिए, ‘साइबर क्राइम भनेको विद्युतीय कारोबर ऐन २०६३ को दफा ४७ हो । मैले भनेका कुरा त सबै राजनीतिक कुरा हुन् ।’

 

जेलबाट भागेका पाँच हजार कैदी अझै फरार, सात सय हतियार बाहिरै : सम्भव छ ‘भयरहित’ निर्वाचन ?

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २८ कारागार र नौं वटा बाल सुधारगृहबाट भागेका १४ हजार ५४९ बन्दीमध्ये अझै करिब पाँच हजार फरार छन् । कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९,५८२ बन्दी (९ हजार कैदी र ५८२ बालबन्दी) फिर्ता भइसकेका छन् भने ४,९८२ जनालाई अझै नियन्त्रणमा लिन बाँकी छ ।

सरकारले फरार कैदीहरूलाई कारागार फर्किन ‘अल्टिमेटम’ जारी गर्दै विशेष खोजी तथा पक्राउ अभियान सञ्चालन गरिरहेको छ । फरारहरू समाजका लागि सुरक्षा चुनौती बनेपछि जिल्ला सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदलहरू गठन गरी खोजी अभियान तीव्र बनाइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

प्रदर्शनको मौका छोपी झुम्का, नक्खु, डिल्लीबजार, चितवन, तनहुँ, दाङ, कैलाली, कञ्चनपुर लगायत देशका विभिन्न कारागारबाट हजारौं कैदीबन्दी भागेका थिए । सो क्रममा रामेछापमा तीन, धादिङ र सप्तरीमा दुई-दुई कैदीको गोली लागेर मृत्यु भएको थियो । यस्तै नौवस्ता र डोटी बाल सुधारगृहमा झडप हुँदा छ बालबन्दीको मृत्यु भएको थियो । हाल देशभरका ७२ जिल्लामा ७५ वटा कारागार र सुधार गृहमा ३० हजार ६४१ कैदीबन्दी रहेका छन् ।

हतियार र फरार कैदीले चुनौती थपेपछि निर्वाचनमाथि प्रश्न
अन्तरिम सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि करिब ७ सय थान आधुनिक हतियार र पाँच हजार बढी फरार कैदी अझै सरकारको नियन्त्रणमा आएका छैनन् । यस्तो अवस्थामा भयरहित र निष्पक्ष निर्वाचन सम्भव छ कि छैन भन्ने प्रश्न तीव्र रूपमा उठ्न थालेको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मेवारी पाएको छ । तर, मन्त्रिपरिषद् अझै अपूर्ण रहेको र सरकारले समय मन्त्री पठाउने, राजदूत फिर्ता बोलाउने र आन्तरिक विवाद समाधानमै खर्चिरहेको आरोप छ ।

सरकारले राजनीतिक दलहरूसँग संवाद थालेको भए पनि दलहरूबीच सहमति नजुट्दा निर्वाचनको वातावरण अझै स्पष्ट छैन । बालुवाटारमा भएको बहुदलीय छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादी लगायतका दलका शीर्ष नेताहरूले सरकार समक्ष तीन न्यूनतम शर्त अघि सारेका छन् ।
१) फरार कैदी तुरुन्त नियन्त्रणमा लिनू ।
२) लुटिएका हतियार फिर्ता गर्नू ।
३) देशभर शान्ति–सुरक्षा सुनिश्चित गर्नू ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनभन्दा पहिले संसद् पुनःस्थापना हुनुपर्ने सुझाव दिएका छन् भने माओवादी केन्द्रले निर्वाचन नै समाधानको बाटो भएको दाबी दोहोर्‍याइरहेको छ । प्रधानमन्त्री कार्कीले राजदूतहरूसँगको ब्रिफिङमा सरकारको पहिलो प्राथमिकता निर्वाचन रहेको बताए पनि फरार कैदी र हतियार नियन्त्रणमा नआउँदासम्म निर्वाचन सुरक्षित हुनेमा व्यापक शंका उत्पन्न भएको छ । देशभर पाँच हजार कैदी र सयौं हतियार अझै बाहिर रहँदा, सरकार अपूर्ण र दलहरू असमझदारीमा हुँदा छ महिनाभित्र भयरहित निर्वाचन गराउने चुनौती अन्तरिम सरकारका लागि झन् जटिल बन्दै गएको छ ।

 

 

 

कांग्रेसको विशेष कि नियमित महाधिवेशन ? के भन्छन् कार्यवाहक सभापति खड्का ?

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन नियमित समयमै हुने बताएका छन् । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्दै नियमित महाधिवेशन गर्ने निर्णय जारी केन्द्रीय समिति बैठकबाट हुने बताए । उनले केन्द्रीय कार्यसमिति बैठकले घोषणा भएको निर्वाचन, नियमित अधिवेशनलगायत सबै विषयलाई विचार गरेर निर्णय गर्ने पनि बताएका छन् ।

‘सबै कुरालाई एक ठाउँमा जोडेर चालु केन्द्रीय कार्यसमिति बैठकबाट घोषणा भएको निर्वाचन, पार्टीको नियमित अधिवेशन, भ्रातृ संस्थाका अधिवेशन सबै विषयलाई अगाडि राखेर, पार्टीका महाधिवेशन प्रतिनिधिले प्रस्ताव गर्नु भएको विशेष महाधिवेशनलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर वृहत एकतामा जोड दिइनेछ,’ उनले भने ।

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशको अवस्था प्रतिकूल रहेको भन्दै त्यसलाई अनुकूलतामा पुर्‍याउन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने बताए । खड्काले देश इतिहासकै सबैभन्दा प्रतिकूल अवस्थामा उभिएको पनि बताए । उनले देश मात्र नभई नेपाली कांग्रेस पार्टी पनि प्रतिकूल अवस्थामै रहेको बताए । संविधानमार्फत नेपाली जनताको जिम्मामा आएको लोकतान्त्रिक प्रणाली, शासनको मालिक जनता हुने पद्दति स्थापना भएको घडीमा ठूलो ध्वंश बेहोर्नु परेको उनको भनाइ छ ।

‘शासनको मालिक जनता हुने पद्दति स्थापना गरेर एउटा राजनीतिक परिवर्तनलाई संस्थागत गरिरहेको घडीमा हामीले अत्यन्त ठूलो ध्वंश बेहोर्नुपरेको छ,’ उनले भने, ‘भदौ २३ गतेको जेनजी युवाको शान्तिपूर्ण आन्दोलन भ्रष्टाचार अन्त्य, सुशासन व्यवस्थाको लागू, सामाजिक सञ्जाल बन्द फिर्ता ३ मागअगाडि सारेर सुरु गरिएको थियो । २३ गते नै होनाहार युवाहरूले अमूल्य गुनाउनु पर्‍यो । जेनजीकै भनाइमा शान्तिपूर्ण आन्दोलनमा ठूलो घुसपैठ हुन पुगेर मुलुकले ठूलो विपत्तिको सामना गर्नुपर्‍यो । २४ गते देशैभरि ४ घण्टामा सिंगो देशमा ध्वंश भयो। मानवीय क्षति भयो । नेपालको इतिहासमा पहिलोचोटी । देशको कार्यपालिका, व्यवस्थापिका, सर्वोच्च प्रणालीमाथि आक्रमण भयो खरानी बनाइयो ।’

उनले ००७ सालको शान्तिको प्रतिक विराटनरस्थित कोइराला निवास, लोकतन्त्रको लागि विगुल फुकेको गणेशमान सिंहको निवास चाक्सीबारी, कृष्णप्रसाद भट्टराईको आश्रमसहित देशभरका कांग्रेस कार्यालय खरानी भएको चर्चा गरे । उनले जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान जोगाउन खेलेको भूमिकाको प्रशंसा पनि गरे । त्यस्तै खड्काले भदौ २४ गते सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमणको निन्दा पनि गरे ।

‘सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि प्राण लिने गरी आक्रमण भए । देशैभर नेताका घर खरानी बनाइए,’ उनले भने, ‘यो पृष्ठभूमिमा तरुण दलको स्थापना दिवस मनाउँदैछौँ । यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु– अत्यन्त जुझारुपनका साथ तर अनुशासन भएर धैर्यता संयमता र जिम्मेवारी भएर सिंगो देश र नागरिकको रक्षाका लागि एकता हुनुछ । तरुणहरू संगठित हुनुछ ।’

उनले फेरि एकपटक तरुण दलको झन्डा बोकेर अधिकार रक्षाका लागि, नागरिकको रक्षाका लागि एकताबद्ध हुन आह्वान पनि गरे । यस्तो अवस्थामा हुन सक्ने आकस्मिक खतराबाट सुरक्षित हुने तरिका बोध गरेर अघि बढ्न निर्देशन पनि दिए । जारी केन्द्रीय समिति बैठकको पहिलो दिननै सभापति देउवाले दिएको सन्देश प्रेरणादायी भएको भन्दै उनले भने, ‘उपचार गर्दै गरेको अवस्थामा अदम्य साहससहित जलेको पार्टी कार्यालयमा प्रेरणासहित सन्देश दिनु भएको छ । त्यो दिनको सन्देशले कांग्रेसलाई ठूलो ऊर्जा दिएको छ ।’ विगतमा कमीकमजोरी भएको स्वीकार गर्दै थपे, ‘कमी कमजोरी भए होलान् हामी स्वीकार्छौ । परिवर्तनका लागि अधिकारलाई रक्षा गर्ने कामलाई वृहत एकतासहित अघि बढ्छौँ भन्दै सभापतिले सन्देश दिनु भएको छ ।’ उनले जारी केन्द्रीय समिति बैठकले कांग्रेस एक भएको सन्देश दिने पनि बताए ।

 

 

‘परान’ को प्रचारका लागि नेपाल आइपुगिन् पूजा

काठमाडौँ । अभिनेत्री पूजा चन्द चलचित्र परानको प्रचारका लागि नेपाल आएकी छन् । सोमवार संयुक्त राज्य अमेरिकाबाट त्रिभुवन विमानस्थल हुँदै चलचित्र प्रचार प्रसारका लागि नेपाल आएकी हुन् । नेपाल आएसँगै विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफू चलचित्र प्रदर्शनको प्रचारका लागि नेपाल आएको बताइन् । चलचित्र परानका निर्देशक दीपक आर्चाय (काकु) सँग छलफल गरेर नेपाल आएको बताइन् ।

उनले भनिन्, ‘अब फिल्म रिलिज हुने कुरा भयो, अब जाने कि नजाने भन्ने कुरा भइराखेको थियो । अनि फेरि उहाँसँग कुरा भयो, अनि उहाँसँग कुरा हुँदा दिदी आउन पाए राम्रो हुन्थ्यो भन्ने कुरा गर्नुभयो । मेरो श्रीमानले पनि अहिले चाहिँ फेरि ट्रेन्ड नै रहेछ अब कलाकारहरू चाहिँ स्पेसल्ली फिल्म रिलिजमा उपस्थित हुने, अनि त्यो कारणले गरेर पनि जाने भन्ने फाइनल डिसिजन गर्‍यौँ ।’

कार्तिक १४ मा प्रदर्शन हुन लागेको चलचित्र परानमा उनी आमाको भूमिकामा छिन् । दीपकप्रसाद आचार्यबाट निर्देशित यस चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।

 

 

 

किष्ट अस्पतालमा तनाव, प्रहरीद्वारा लाठ्ठीचार्ज र अश्रुग्यास प्रहार

काठमाडौं । सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पताल तनावग्रस्त बनेको छ । सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेका हुन् । मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए । त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठ्ठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । ठूलो संख्यामा खटिएको सुरक्षाकर्मीहरुले मृतकका आफन्तलाई ढुंगामुढा नगर्न आग्रह गर्दा उतेजित भीडले प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठ्ठीचार्ज गरेको छ ।

प्रहरीले अश्रुयास पनि हानेको छ । सोक्रममा केही घाइते भएका छन् । प्रदर्शनकारीहरू ढुंगा बोकेर अस्पताल तोडफोड गर्न पुगेका थिए । प्रहरीले अस्पताल छेउछाउमा अश्रुयास ग्यास हानेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । गत शुक्रबार अस्पतालमा मीना राईको मृत्यु भएपछि उनको आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् ।

 

हेलिकप्टरमै जन्मिएका शिशुको अस्पताल नपुर्‍याउँदै मृत्यु

सुर्खेत । कालिकोटकी एक महिलाले हेलिकप्टरमै शिशुको जन्म दिएकी छिन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी तिलागुफा नगरपालिका–९ चिलखायाकी अविशा खत्रीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै बच्चा जन्मिएको थियो । प्रदेश अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापाले एयरपोर्टबाट अस्पतालको एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै शिशुको मृत्यु भइसकेको जानकारी दिइन् ।

सोमबार बिहान उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएको थियो । चिलखाया स्वास्थ्य संस्थाकी अनमी तुलसी थापाले खत्रीको अवस्था चिन्ताजनक भएकाले प्रदेश अस्पताल रेफर गरेको बताइन् । ‘उपचारका लागि एक सातादेखि स्वास्थ्य संस्था धाइरहनु भएको थियो । पहिलो बच्चा पनि ७ महिनामा जन्मिएर ५ दिनसम्म मात्र बाँच्यो’, उनले भनिन्, ‘यसपालि पनि ७ महिनामै व्यथा लागेकाले हामीले सुविधा सम्पन्न अस्पतालमा पठाएको हौं ।’

अहिलेको परिस्थिति सम्हाल्न चुनावको विकल्प छैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिस्थिति सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् । आज चितनवमा पत्रकारसँग उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थिति सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए ।

संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए । उनले भने, ‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ ।’

उनले थपे, ‘मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ। सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।’ संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनले बताए । यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ’, संयोजक दाहालले भने ।

अकबरेबाट ५५ लाख आम्दानी

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानी खेतीबाट वार्षिक रु ५५ लाख आम्दानी गर्दै आएका छन् । आफ्नै गाउँमा कृषिकर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उनले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानी खेती गरेका हुन् । आफ्नै ठाउँमा कृषिकर्म गरेर उदाहरणीय बन्ने उद्देश्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको राईले बताए । करिब आठ वर्षअघिदेखि मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानी खेती गर्दै आएका उनी जिल्लाका परिचित खुर्सानी किसान हुन् ।

‘खुर्सानी खेतीबाट वार्षिक रु ५५ देखि रु ६० लाखसम्म आम्दानी गर्छु’, किसान राईले भने, ‘४२ रोपनी जग्गा भाडामा लिएर ३२ हजार हाराहारी बोट लगाएको छु । गत वर्ष पनि रु ५० लाख बढी आम्दानी भएको थियो ।’ खुर्सानी खेतीका लागि उनले वार्षिक रु दुई लाख तिरेर ६५ रोपनी जग्गा भाडामा लिएको जानकारी दिए । यस वर्ष खेतीका लागि करिब रु १२ लाख लगानी गरेको जनाउँदै उनले युवामा विदेशप्रतिको मोह बढिरहेको समयमा आफूले भने आफ्नै बारीमा व्यावसायिक रूपमा कृषिकर्म गरिरहेको बताए ।

विभिन्न तीन ठाउँमा जग्गा व्यवस्थापन गरेर खेती गर्दै आका राईले हाल चार जनालाई रोजगारीसमेत दिएका छन् । सडक पहुँच राम्रो भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सहज भएको उनको भनाइ छ । पौवादुङमामा उत्पादन भएको खुर्सानी धरान, इटहरी, विराटनगर, झापा र काठमाडौँसम्म बिक्रीका लागि पठाउने गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिए । उनका अनुसार खुर्सानी खेती अहिले पालिकाको मुख्य आम्दानीको स्रोत बनेको छ । किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए ।

‘अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘हामीले कृषि क्षेत्रमा लगानी बढाउँदै भूगोल सुहाउँदो खेतीमा जोड दिइरहेका छौँ ।’ गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पु¥याउँदै आएको छ । खुर्सानी खेतीको विस्तारका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ७५० किसानलाई करिब रु ७० लाख बराबरको ‘मल्चिङ प्लास्टिक’ सहित आवश्यक कृषि सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । गाउँपालिकाले सञ्चालन गरेको सहयोगात्मक कार्यक्रमका कारण यस वर्ष खेती विस्तार भएको उनको भनाइ छ । उनका अनुसार अहिले पौवादुङमामा करिब ५०० हेक्टर क्षेत्रमा करिब ९०० किसानले व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती गर्दै आएका छन् । रासस

 

 

 

फुटबलको महाभिडन्त आज : रियल म्याड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं । विश्व फुटबलकै सबैभन्दा ठूलो ‘राइभलरी’ मानिने ‘एल क्लासिको’ मा आज राति दुई स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने यो खेल नेपाली समयअनुसार राति ९ः०० बजे सुरु हुनेछ ।
स्पेनिस ‘ला लिगा’ को शीर्ष स्थानमा रहेका दुई टोलीबीचको यो भिडन्तले उपाधि होडमा समेत महत्वपूर्ण प्रभाव पार्नेछ ।

जाभी अलोन्सोको प्रशिक्षणमा रहेको रियल म्याड्रिड ९ खेलबाट २४ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ भने २ अंकले पछि रहेको डिफेन्डिङ च्याम्पियन बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ । आजको जितले रियललाई बार्सिलोनामाथि ५ अंकको स्पष्ट अग्रता दिलाउने छ।

लयमा रियल, चोटमा बार्सिलोना

रियल म्याड्रिड यस सिजन उत्कृष्ट लयमा देखिएको छ । लिगमा खेलेका ९ मध्ये ८ खेल जितेको रियलका लागि स्टार फरवार्ड केलियन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । १० गोलसहित उनी हाल ला लिगाका सर्वाधिक गोलकर्ता हुन् । उनले गत सिजन बार्सिलोनाविरुद्ध ४ खेलमा ५ गोल गरेका थिए । यता, बार्सिलोना भने प्रमुख खेलाडीहरूको चोटका कारण समस्यामा छ । स्ट्राइकर रोबर्ट लेवान्डोस्की, ड्यानी ओल्मो, राफिन्हा र गाभी जस्ता महत्वपूर्ण खेलाडीहरू घाइते छन् ।

यस्तै प्रशिक्षक हान्सी फ्लिक पनि रातो कार्डका कारण खेलमा अनुपस्थित रहने छन् । यद्यपि, च्याम्पियन्स लिगको पछिल्लो खेलमा ओलम्पियाकोसमाथि ६–१ को सानदार जित निकालेको बार्सिलोना उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । गत सिजन बार्सिलोनाले रियल म्याड्रिडमाथि दबदबा कायम राखेको थियो । लिगका दुवै खेल र अन्य कप प्रतियोगितामा गरी बार्सिलोनाले रियललाई चार पटक पराजित गरेको थियो । तर, यसपटक बलियो लयमा रहेको रियल घरेलु मैदानमा उक्त हारको बदला लिने दाउमा हुनेछ ।

 

 

कञ्चनपुर कारागारबाट भागेका कति कैदीबन्दी फर्किए ?

कञ्चनपुर । जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् । फरारमध्ये १७ महिला कैदी समेत छन् । जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको हो ।

कारागारमा हाल १४ भारतीय नागरिक समेत कैद सजाय भोगिरहेका छन्भने १७ भारतीय कैदी अझै फरार छन् । स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही हुने भएको छ । निमित्त प्रशासक जोशीका अनुसार फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनी रूपमा कसुरदार ठहरिने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइने व्यवस्था छ । पटक–पटक कारागार प्रशासनले स्वेच्छिक रूपमा फर्किन सार्वजनिक अपिल गरे पनि अझै केही कैदी सम्पर्कमा नआएकाले प्रहरीले फरार कैदीबन्दीको खोजी र पक्राउ कार्यलाई तीव्र बनाइएको निमित्त प्रशासक जोशीको भनाइ रहेको छ ।

ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिंदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

हेटौँडा । मकवानपुरमा स्कुटरलाई ग्यास बुलेटले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार (आज) बिहान ९ः३० बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एन एल०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ छन् । दुर्घटनामा गम्भीर घाइते भएको उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दि ए। मृतक केदारको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

स्कुटरमा श्रेष्ठसहित उनको २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठ समेत सवार थिए । दुर्घटनाका क्रममा सरस्वती गम्भीर घाइते भएकी छन् भने छोराको अवस्था सामान्य छ । उनको हाल चितवन स्थित एलाईभ अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता बोगटीले बताए। प्रविन पनि उनकै साथमा रहेको प्रहरीको भनाइ छ । यता, ग्यास बुलेट चालक भारतको बिहार बस्ने ५५ वर्षीय मोहमद मतिन इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिहरेको बताएको छ ।

जीपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु
यता दार्चुलामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार महाकाली नगरपालिका–४ बांगाबगरमा जीप दुर्घटना भएको हो । व्यास गाउँपालिका–३ सिनाका ३८ वर्षीय कल्याण सिंह धामीले चलाएको सुपप्र ०४०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारलाई ठक्कर दिँदा घाइते भएका थिए । जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा उनको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

काठमाडौँमा विप्लवको र्‍याली र सभा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले यही कात्तिक २० गते काठमाडौँमा प्रदर्शन र सभा गर्ने भएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै विप्लवले यस्तो आह्वान गरेका हुन् । उनले लेखेका छन् ‘नेपाललाई अरूले होइन हामी आफैले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर,दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २०गते काठमाडौँमा भेटौँ साथीहरू ।’

उनले स्वाधीनता र समाजवादका पक्षमा उभिनका लागि कात्तिक २० गते काठमाडौँमा भेट्न भनेका छन् । नेता सन्तोष बुढामगरले भने जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागिएको जानकारी दिए ।

नेता बुढामगरका अनुसार उक्त दिनमा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका कार्यकर्ताहरूद्वारा  र्‍याली निकालिने छ । त्यसपछि सभा आयोजना हुनेछ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् । सभामा करिब १०÷१५ हजार मानिसहरू सहभागी हुने उनले बताए । प्रदर्शन र सभास्थल भने निश्चित भई नसकेको उनले बताए ।

 

२१ दिनमा दुई दल सूचीकृत, ६ वटा प्रक्रियामा

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको २१ दिनमा जम्मा दुई दल अध्यावधिक भएका छन् । आयोगको वेबसाइटमा अध्यावधिक गरेको दल दर्ताको सूचीमा असोज २४ गते राष्ट्रिय जनमुक्ति पार्टी र असोज २८ गते जनस्वराज पार्टी रहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्षमा केशवबहादुर थापा रहेका छन् । जनस्वराज पार्टीको अध्यक्षमा दीपक कुमार साह छन् ।

आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दलहरूलाई मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय दिएको छ । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहनेले कात्तिक ३० गते अगावै दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । आयोगमा अहिलेसम्म १२४ दल दर्ता अद्यावधिक भएको छ । निर्वाचन घोषणापछि ६ वटा राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

दल दर्ताका लागि निवेदन दिएकामा हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल नागरिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी र राष्ट्रिय जेनजी पार्टी रहेका छन् । निवेदन दिएका ६ वटा दलमध्ये श्रम संस्कृति, नेपाल नागरिक, गतिशील लोकतान्त्रिक र राष्ट्रिय परिवर्तन पार्टी दर्ता प्रक्रियामा रहेको छ भने नेपाल लिभरल पार्टी अनुसूची–३ लगायतको विवरण पेस नभएको र राष्ट्रिय जेनजी पार्टी विधान लगायत फाइलमा टिपोट गरेको प्रवक्ता भट्टराईले जानकारी दिएका छन् ।

 

दुर्घटनामा नगरपालिका कर्मचारी राईको निधन

इलाम । इलामको सूर्योदय नगरपालिका कार्यालयकी कर्मचारी रूपा राईको सवारी दुर्घटनापछि उपचारका क्रममा निधन भएको छ । गत शनिबार दिउँसो करिब ४ बजे सूर्योदय नगरपालिका–१०, आहाले नजिकै अटो र पिकअप भ्यान ठोक्किँदा राई गम्भीर घाइते भएकी थिइन् । उनलाई बिर्तामोडस्थित बि एन्ड सी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि फिक्कल अस्पताल ल्याइएको थियो ।

फिक्कल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनको ‘पल्स’ भेटिएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । सोमबार बिहान करिब ४ बजे उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनी दुर्घटनामा परेर घाइते अवस्थामा रहेकै बेला कतिपयले निधन भइसकेको भन्दै सामाजिक सञ्जालमा ‘श्रद्धाञ्जली’ लेखेका थिए । त्यसको व्यापक आलोचना भएको थियो ।

 

जेनजी आन्दोलनका शहीद र घाइतेहरुको बलिदान खेर जान दिनु हुँदैन : मन्त्री गौतम

काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरुको बलिदान खेर जान दिन नहुने बताएकी छन् । सोमवार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेन जी आन्दोलनका घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन् ।

उनले केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताइन् । उपचाररत घाइतेमध्ये एक जना महिला रहेको र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताइन् । अर्को एक घाइते गोली लागेर उपचाररत रहेको जानकारी दिइन् । दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको बताइन् । शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र जेनजीहरुको भ्रष्टाचार हुनु नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने बताइन् ।

उनले भनिन्, ‘केएमसीबाट ८३ जना जेनजी घाइतेहरुलाई उपचार गरिसक्नु भएको रहेछ । अहिले मैले २ जना बिरामी हेरेँ । अरु सन्चो भएर जानुभयो । एक जना महिलामाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको रहेछ, त्यो हेर्दा साह्रै दुःख लाग्यो । जेनजी छोरा रहेछन् । अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ । उहाँको अवस्था जटिल नै छ । उहाँको अवस्था पनि सुधारोन्मुख रहेछ । उपचारमा अस्पतालले धेरै राम्रो गरेको रहेछ । यत्रो शहीद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । गुड गभर्नेन्सको मुद्दा हामीले बिर्सिनु हुँदैन ।’ उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताइन् । —न्युज एजेन्सी नेपाल

प्रचण्डको आह्वान : परिवर्तन पक्षधर शक्तिहरू मिलेर समाजवादी नेपाल निर्माण गरौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न अपिल गरेका छन् । आज छठ पर्वको शुभकामना दिँदै उनले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

‘आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको छ ।’, प्रचण्डले भने, ‘परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौँ भन्ने विश्वास व्यक्त गर्दछु ।’

प्रचण्डले मधेस–तराईको मुख्य चाडका रूपमा मनाइने छठ संस्कृति, परम्परा, श्रम, सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको बताएका छन् । उनले पर्वले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउने उल्लेख गरे । छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाओस् भन्ने उनले कामना गरे । देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस् भन्ने कामना गरेका छन् ।

गर्भवतीको मृत्युपछि किष्ट अस्पतालमा तनाव, प्रहरीसँग घम्साघम्सी (तस्बिरहरू)

काठमाडौँ ।  बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्। प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।

घटना कार्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुको भनाइ छ । आक्रोशित आफन्तहरुले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।

समयमै धानको समर्थन मूल्य नतोक्दा मर्कामा किसान

कैलाली । टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पर्खेर बसेका छन् । चाडपर्वका समयमा घरायसी आर्थिक जोहो गर्न केही धान प्रति क्विन्टल दुई हजार ५०० मा बिक्री गरेका उनले बाँकी धान सरकारले तोकेको समर्थन मूल्यमा बिक्री गर्नका लागि खाद्यलाई पर्खेर बसेका हुन् । ‘घर खर्चका लागि सस्तोमा पनि धान बिक्री नगरी नहुने भएपछि १० क्विन्टल धान झण्डै एक हजार सस्तोमा बिक्री गर्नुपर्‍यो ।’ उनी भन्छन्, ‘खाद्यले समयमा किसानको धान खरिद गरेको भए मैले १० हजार घाटा खाएर धान बिक्री गर्नुपर्ने थिएन ।’

यो पीडा बन्धुरामको मात्रै होइन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमा धान खरिद नगर्दा अधिकांश किसान मर्कामा परेका छन् । घरको आर्थिक जोहो गर्न र उत्पादन भएको धान राख्ने ठाउँ नहुँदा किसान सस्तोमा धान बिक्री गर्न बाध्य छन् । अझै चाडपर्वको समयमा बढी खर्च चाहिने हुँदा किसानले बर्सेनि त्यसको जोहो धान बेचेरै गर्ने गरेका छन् । ‘३०-४० क्विन्टल धान हुन्छ, त्यो व्यवस्थापन गर्ने ठाउँ हुँदैन । बाध्यताले पनि सस्तोमा बिक्री गर्नैपर्‍यो ।’ भजनी नगरपालिका–३ का श्रवण थारु भन्छन्, ‘हरेक अभावका बाबजुद उत्पादन भएको धान किसानले आफ्नो लागत नउठ्दा पनि बिक्री गर्नुपरिरहेको छ ।’

भजनीकै अर्का किसान जयप्रसाद ढुङ्गानाले सरकारले किसानको पीडा कहिल्यै नबुझेको गुनासो गरे । उनले चैते धान बिक्री गर्दा होस् वा बर्खे धान बिक्री गर्दा होस् सरकारले आफै तोकेको समर्थन मूल्यमा समयमा धान खरिद गर्न नसकेको बताए । ‘यो देशमा आन्दोलन नगरी अधिकार पाइँदैन । तर किसानले प्रायः आन्दोलन गर्न जानेका हुँदैनन् ।’ उनी भन्छन्, ‘त्यसैले पनि होला किसानको समस्या न खेती लगाउँदा सम्बोधन हुन्छ, न उत्पादन भएको वस्तु बिक्री गर्दा ।’ किसानका समस्या जबसम्म राज्यले सम्बोधन गर्दैन तबसम्म किसान आत्मनिर्भर बन्न नसक्ने उनको बुझाइ छ ।

कैयौँं किसानले खाद्य संस्थानको पर्खाइमा धान नै भित्र्याएका छैनन् । खेतमै धान थुपारेर केही किसानले खाद्यको बाटो कुरिरहेका छन् । ‘आजसम्म खाद्यले समयमा किसानको धान खरिद गरेको कुनै वर्ष छैन । यसवर्ष पनि त्यहीँ हो ।’ किसान जितबहादुर चौधरी भन्छन्, ‘अब मैले अझै खाद्यको बाटो हेरेर धान भित्र्याएको छैन । अझै धान खरिद गर्ने सम्भावना देखिएको छैन । अब सस्तोमै भए पनि बिक्री गर्नुपर्छ ।’ उनले किसानले उत्पादन भएको वस्तुको बजार मूल्य कहिल्यै नपाएको गुनासो गरे ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा चासो नदिएपछि किसानहरुको चौतर्फी विरोध हुँदा स्थानीय प्रशासनसहित सरोकारवालाले यथाशीघ्र किसानको धान खरिद गर्न आग्रह गरेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लगायतका सरोकारवालाको छलफलले कात्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र धान खरिदको कोटा बढाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारी स्वामित्वको खाद्यले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएको छ । खाद्यले धान खरिद सुरु गरेपछि व्यापारीले पनि मूल्य बढाएर खरिद गर्छन् । खाद्यले कैलालीको टीकापुर, सत्ती, जोशीपुर, भजनी, गौरीगङ्गा र धनगढीको मोहनपुर गरी ६ ठाउँमा डिपो राखेर धान खरिद गर्ने गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले खरिद केन्द्रमा धान खरिदको तयारी भइरहेको बताए । केन्द्रबाट धान खरिदको परिपत्र नआएको जानकारी दिए । केन्द्रले कोटा निर्धारणसहितको परिपत्र पठाएलगत्तै खरिद सुरु गरिने उनको भनाइ छ । उनका अनुसार कति मात्रामा धान खरिद गर्ने भनेर केन्द्रले कोटा निर्धारण गर्ने गरेको छ । सरकारले यसवर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार चार सय ६३।८१ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६ सय २८।३३ रुपैयाँ तोकेको छ । रासस

‘जात्रा हेर्न’ भन्दै दैलेखबाट जाजरकोट पुर्‍याएर साथीको हत्या

सुर्खेत । जाजरकोटमा जात्रा हेर्न पुगेका दैलेखका एक युवकको हत्या भएको छ। जाजरकोटको जुनीचाँदे गाउँपालिका-८ पंक भन्ने ठाउँमा जात्रा हेर्न पुगेका दैलेख नौमुले गाउँपालिका-४, उत्तिसेनीका ३९ वर्षीय लालबहादुर पुन मगरको हत्या भएको हो। हत्यामा संलग्नहरू पनि नौमुलेकै रहेको जाजरकोट प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका-४, कै भित्रिखोलाका २९ वर्षीय पदमबहादुर रोका मगर, २८ वर्षीय नर बहादुर गुरुङ, २८ वर्षीय वीरेन्द्र रोका मगर, ३२ वर्षीय तिलक घर्ती मगर, २९ वर्षीय लक्ष्मण सुनार र २८ वर्षीय कमल रानामगर छन्।

जाजरकोट प्रहरीका अनुसार, कात्तिक ३ गते साँझदेखि जुनीचाँदे गाउँपालिकाको पंकस्थित दलसरा रावतको बारीमा मेला लागिरहेको थियो। सोही क्रममा ४ गते बिहान करिब ३ बजे लाल बहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो । घाइते अवस्थामा उनलाई उनका साथीहरू विवेक बुढा मगर र वीरबहादुर घर्ती मगरले घटनास्थलबाट आफ्नो घरमा लगेका थिए।

५ गते पुन मगर आफ्ना साथीहरूसँग घर जाने भन्दै सोही ठाउँको पंक गाउँमा रहेको दलवीर रावतको घरमा पुगेका थिए । सोही रात भान्छा कोठामा सुतेका पुन मगर कात्तिक ६ गते बिहान मृत अवस्थामा फेला परेका थिए। घटनालगत्तै हत्यामा संलग्न व्यक्तिहरू फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय जाजरकोट र जिल्ला प्रहरी कार्यालय दैलेखको समन्वयमा कात्तिक ७ गते विभिन्न स्थानबाट फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

 

प्रधानमन्त्रीलाई खुस्बुको प्रश्न : मन्त्रिपरिषदमा किन पुरुषको बाहुल्य ?

काठमाडौं । राप्रपाकी नेतृ खुस्बु ओलीले देशको कार्यकारी पदमा पहिलो पटक महिला पुग्दा पनि सरकारमा महिला सहभागिता कम भएको भन्दै प्रश्न उठाएकी छन् । गत भदौ २७ गते प्रधानमन्त्री बनेकी सुशीला कार्कीले तेस्रो पटकसम्म मन्त्रिपरिषद् विस्तार गर्दा उनीसहित दुई जना मात्र महिला छन् ।

हालको मन्त्रिपरिषद् १० सदस्यको छ, जसमा दुई जना मात्र महिला छन् । यो विषयलाई लिएर युवा नेतृ ओलीले प्रश्न उठाएकी छन् । ‘महिला सक्षम र प्रतिस्पर्धी हुँदा पनि जब सरकारमा मन्त्रीको आँकडा ८ पुरुष : १ महिला रहन्छ, समस्या क्षमता होइन, सोच हो ।’

उनले भनेकी छन्, ‘मलाई लाग्थ्यो कि नेपालको राजनीतिमा महिलाको प्रतिनिधित्व कम हुनुको कारण भनेको शक्ति नेतृत्व गर्ने दलहरूको हरेक कुनामा, सरकार बनाउने, मन्त्रिपरिषद् भर्ने काममा पुरुषहरूको प्रभुत्व हुनु हो । तर आज, देश महिला प्रधानमन्त्रीको नेतृत्वमा हुँदा पनि वास्तविकता परिवर्तन भएको छैन ।’

उनले लेखेकी छिन्, ‘मैले सोचेको थिएँ कि परिस्थिति उल्टिनेछ, महिला नेतृत्वको अर्थ धेरैका लागि ठाउँ हुनेछ। तर फेरि एक पटक, प्रणालीले हामीलाई देखाएको छ कि अनुहार परिवर्तनको अर्थ सधैँ जगमा परिवर्तन हुँदैन ।’ कार्की सरकारमा अहिले ओमप्रकाश अर्याल (गृह), कुलमान घिसिङ (ऊर्जा), रामेश्वर खनाल (अर्थ), बब्लु गुप्ता (खेलकुद), अनिलकुमार सिन्हा (उद्योग), सुधा शर्मा (स्वास्थ्य), जगदीश खरेल (सञ्चार), महावीर पुन (शिक्षा) छन् ।

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ । लोक आस्थाको पर्व छठको आज महत्वपूर्ण दिन हो । आजको दिनलाई सौजका अघ्र्य भनिन्छ । अर्थात आज अस्ताउँदो सूर्यलाई व्रतालुहरूले अघ्र्य दिइँदैछ ।

उदाउँदो सूर्यलाई प्रतिदिन जसो हिन्दु धर्मावलम्वीहरूले पूजा आराधना गर्दछन् । तर छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पूजा गरिन्छ । षष्ठी तिथिका दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइसकेपछि व्रतालु र उनका पारिवारिक सदस्यहरु प्रसाद सामग्रीसहित रात्री सम्पूर्ण नदीनाला तालतलैया र सरोवरकै घाटमा रात्री विश्राम गर्दछन् ।

मंगलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ । आईतवार खर्ना विधिसम्म घरमै पूजापाठ भएको यस पर्वमा आजदेखि नदीनाला तालतलैया र सरोवरको घाटहरुमा पूजापाठ हुने गर्दछ । जसका लागि पोखरीका घाटहरू तालतलैया र नदीनालाका घाटहरू घरभन्दा पनि बेहुली जस्तै सजाइएका छन् ।

सफासुदर बनाइएको छ । यस पर्वमा प्रयोग हुने केरा, उखु,ठकुवा भूसवासहित स्थानीयस्तरमै उत्पादन हुने प्राकृतिक रुपमा आफ्नै करेसाबारी र खेतीपातीमा उत्पादन हुने प्रसादका रुपमा चढाइने सम्पूर्ण प्रसादका सामग्रीहरु लिएर घरका पुरुष वर्ग पोखरी र तालतलैयाका घाटहरूमा पुगिरहेका छन् । व्रतालु महिलाहरू पनि घाटमा पुग्ने क्रम निरन्तर जारी छ ।

गर्भवतीको मृत्युपछि किस्ट अस्पतालमा तनाव, तैनाथ गरियो प्रहरी (तस्बिरहरू)

काठमाडौँ । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्ने भएपछि किष्ट अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् ।

घटना कार्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरुको छ ।

अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरुको भनाइ छ । आक्रोशित आफन्तहरुले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।

 

 

बेलायतका चर्चित र्‍यापर गेट्सको गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु

काठमाडौं । बेलायतको राजधानी लण्डनमा एक चर्चित र्‍यापरले चलाएको कारले ठक्कर दिँदा घाइते नेपाली युवकको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कारको ठक्करबाट घाइते भएका २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको उपचारका क्रममा सोमबार निधन भएको हो । उनलाई यही अक्टोबर १८ मा पूर्वी लण्डनको इल्फोर्डको रेडब्रिज लेन इस्टमा कालो अडीले ठक्कर दिएको थियो ।

ब्रिटिस प्रहरीका अनुसार त्यो गाडी ४१ वर्षीय र्‍यापर गेट्सले चलाएका थिए । आफ्नो गाडीले ठक्कर तामाङलाई ठक्कर दिएपछि उनी भागेका थिए । गेट्सलाई गत सोमबार नै प्रहरीले पक्राउ गरिसकेको छ । हाल हिरासतमा रहेका उनलाई आज बार्किङसाइड म्याजिस्ट्रेट्स कोर्टमा दोस्रो पटक उपस्थित गराइँदै छ । स्थानीय प्रहरीका अनुसार नेपालको धरान घर भएका तामाङ विद्यार्थी भिसामा बेलायत आएका थिए ।

विप्लवले समाजवाद पक्षधरलाई बोलाए काठमाडौँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले स्वाधीनता र समाजवाद पक्षधरलाई कात्तिक २० गते काठमाडौँ बोलाएका छन् । नेपाललाई अरूले होइन, हामी आफैले फेर्ने हो भन्दै उनले यस विषयमा छलफल गर्न समाजवादीहरूलाई कात्तिक २० गते काठमाडौंमा भेट्न अपिल गरेका हुन् ।

आज (सोमबार) सामाजिक सञ्जालमार्फत समाजवादीहरूलाई भेटघाटका लागि आह्वान गरेका उनले यस विषयमा विस्तृत जानकारी भने दिएका छैनन् । उनले लेखेका छन्, ‘नेपाललाई अरूले होइन, हामी आफैले फेर्ने हो । अरूले होइन, नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन्, देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू ।’

३ सय विदेशी पर्यटकद्वारा कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण

ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ ।  फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए  ।  अन्नर्पूण फुटहिल्स टे«क्स एण्ड एक्सपिडिशनका तेन्जी  शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चाल्र्स इली वेद्रिन्स र निकोलस पाउल अरीस्टाइड छन् ।

गतसाता  चिलिका एक नागरिकले कञ्चनजङ्घा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेको थिए ।  विश्वको ३२औँं अग्लो र  नेपालको १५औँ अग्लो कुम्भकर्ण(फक्ताङलुङ) हिमाल आरोहण गर्नका लागि फ्रान्साका तीन नागरिक सो हिमालको आधार शिविर क्षेत्रमा पुगेको पर्यटन साहयक शेर्पाले बताउभयो । सो हिमालकाृ उचाइ सात हजार ७१० मिटर उचाइ रहेको छ ।

विसं २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका बताइएको छ । पछिल्लो वर्षहरुमा यहाँका हिमालहरु उत्साहकासाथ आरोहण गर्न थालिएका छन् । गत वर्षको कात्तिकमा चारजना दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ हिमालको पहिलो पटक सफल आरोहण गरेको थिए ।

गत वर्षको चैतमा शार्फु–४ हिमालमा पहिलो पटक आरोहण गरिएको थियो । चिलिका एक नागरिक हर्नान लील, पर्वतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलो पटक आरोहण गर्न सफल भएका थिए ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेक पोष्ट कार्यालयका पर्यटन साहयक टाँसी तेन्जिङका अनुसार ३०० जना विदेशी पर्यटकले विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण गरेका छन् । केही घुन्सा क्षेत्रमा विश्राम गरेका छन् । गत भदौ महिनाको तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म कञ्चनजङ्घा भ्रमण याम रहने शेर्पाले बताए ।

पर्यटन विभागका अनुसार गत वर्षको याममा अर्थात मार्च १ देखि अप्रिल २१ सम्ममा २६ जना पुरुष र १५ जना महिला गरी ४१ जनाले आठ हजार ५५६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको चुचुरोमा सफलतापूर्वक आरोहण गरेका थिए ।  सो आरोहणबाट एक करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो ।

निर्वाचन भाँड्ने र फेरि आन्दोलनमा जाने काम नगर्नु होला : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् । सोमवार काठमाडौंको ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेन—जी आन्दोलनका घाइतेहरुसँगको भेटपछि उनले सो आग्रह गरेकी हुन् । शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भिर अवस्था देखिएपछि गहभरी आँशु झार्दै उनले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरुको ध्यानाकर्षण गराइन् ।

मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको जिकिर समेत गरिन् । उनले घाइते विरामीहरुले आफूलाई अस्पतालको कुरीति र बेथितिको बारेमा ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनीहरुले दिएको सुझावको आधारमा अस्पतालहरुको सुधारमा लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । त्यस क्रममा उनले आफूले गरेका सबै कामहरु पारदर्शी ढंगले जनताको बीचमा लैजाने संकल्प लिएको समेत व्यक्त गरिन् ।

मन्त्री गौतमले भनिन्, ‘बिरामीहरुको अवस्था हेर्दाखेरी मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस भन्न चाहन्छु । जसले सरकारको विरोध गर्नु हुन्छ, चुनाव भाँड्न खोज्नु हुन्छ । त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु । हाम्रो जनआन्दोलनको मर्म के थियो भने यी कुरीति, बेथितिहरु सबै हटुन् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ । मैले गरेका कामहरु कति, के भयो भन्ने कुरा म ट्रान्सपरेन्टली ढंगले देखाउनेछु भनेर पनि भन्नेछु ।’

मन्त्री गौतमले यसअघि बिहानै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेन—जी आन्दोलनका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । त्यस क्रममा उनले अस्पतालले उनीहरुको उपचारमा कुनै कमी नगरेको आफूले पाएको बताइन् । —न्युज एजेन्सी नेपाल

आज सिंगापुर जाँदै देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासहित आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए ।

जेन जी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि आक्रमण भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति त्यही दिन तोकेका थिए । केपी ओली नेतृत्वको निवर्तमान सरकारमा आरजु राणा देउवा परराष्ट्र मन्त्री थिइन् ।

राप्रपा नेता लोहनीको प्रश्न : वर्तमान मन्त्रीहरूको नेपाल भित्र–बाहिर कति सम्पत्ति छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले सम्पति विवरण सर्वजनिक नगरेकोमा प्रश्न उठाएका छन् । राप्रपाका पूर्व अध्यक्ष समेत रहेका लोहनीले सामाजिक सञ्जालमार्फत मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक नगरिएकोमा प्रश्न उठाएका हुन् । जेनजी आन्दोलन र बलिदानको एउटा माग भ्रष्टाचार विरुद्ध सरकारी सक्रियता भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘यो मागप्रति सरकार सचेत छ भनेर प्रष्ट पार्नको लागि पनि मन्त्रीहरूको नेपाल र नेपाल बाहिर कति सम्पत्ति छ भनेर जनतासामु खुला भएर आउने हिम्मत किन नभएको ?’

लोहनीका चार बुँदे प्रश्न
१) प्रधानमन्त्री सुशीलाजीको शाासनको एक महिना पुगिसक्यो । भ्रष्टाचारविरुद्ध अभियानप्रति इमान्दार भएको देखिनको लागि पनि कम से कम सरकारमा एक महिना भन्दा बढी मन्त्री भएका सबैको सम्पत्ति विवरण जनतासामू पेस गर्नु पर्ने होइन र ?
२) जेनजी आन्दोलन र बलिदानको एउटा माग भ्रष्टाचारविरुद्ध सरकारी सक्रियता हो। यो मागप्रति सरकार सचेत छ भनेर प्रष्ट पार्न पनि मन्त्रीहरूको नेपाल र नेपाल बाहिर कति सम्पत्ति छ भनेर जनतासामु खुला भएर आउने हिम्मत किन नभएको ?
३) दलका नेताहरूको सम्पत्ति छानबिन आयोग किन गठन गर्न नसकेको ?
४) सम्माननीय सुशिला कार्कीजी भ्रष्टाचारविरुद्ध कठोर व्यक्तित्य भन्ने धेरै को विश्वास छ । तर ऐले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने ठूला ठूला भ्रष्टाचारका फाइल पनि अब फेरि शक्तिमा आउन पाइन्छ कि भन्नेहरूको इसारामा निष्क्रिय भएर बसेको हल्ला व्याप्त छ । प्रधानमन्त्रीको ध्यान जाओस् जनता धेरै समय चुपो लाग्ने छैनन् ।

 

 

भाषण गर्न र रिबन काट्न नबोलाउनु होस् : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् । आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन् । मन्त्री पुनले आफ्नो सम्पूर्ण समय काममा लगाउन चाहेको संकेत गर्दै अनावश्यक समारोहहरूमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन÷शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला,’ उनले भनेका छन् । आफू युनेस्कोको महासभाको उज्बेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको जानकारी दिंदै उनले अत्यावश्यक काममा मात्र मन्त्रीहरू विदेश गएका स्पष्ट पारेका छन् ।

मन्त्री पुनले अत्यावश्यक र नगई नहुने महत्त्वपूर्ण बैठक तथा कामहरूमा मात्र केही मन्त्रीहरू विदेश गएको स्पष्ट पारेका छन् । उनले ‘विदेश घुम्यो’ भन्ने हल्ला नगर्न पनि आग्रह गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका वैज्ञानिक पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएलगत्तै आफ्नो फरक कार्यशैलीका कारण चर्चामा छन् ।

भिडियो ‘भाइरल’ भएपछि अमनप्रताप अधिकारीले मागे माफी

काठमाडौं । निर्देशक अमन प्रताप अधिकारीले प्रदर्शनका क्रममा अपशब्द बोलेको भिडियो विवादित बनेपछि सामाजिक सञ्जालमार्फत माफी मागेका छन् । उनले भ्रष्टाचार र हत्यारा सरकारविरुद्ध आक्रोशमा ती शब्द बोलेको स्वीकार्दै, भिडियो सुन्दा अप्ठ्यारो लाग्ने भएकाले माफी मागेका हुन् । अधिकारीले आफूले कुनै हिंसात्मक कार्य नगरेको र प्रमाणित भए जेल जान तयार रहेको पनि बताएका छन् ।
चर्चित फुटबल कमेन्टेटर समेत रहेका अधिकारी ‘पोइट आइडल’ नामक रियालिटी शोका निर्देशक समेत हुन् ।

अधिकारीले फेसबुकमा २४ भदौ अपराह्न ५ः५२ बजे उक्त विवादित भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनले ‘जल्यो तेरो देश’ भन्दै अराजक र अश्लील भाषा प्रयोग गरेका थिए । ‘ल हेर अब… (अपशब्द) संसद् भवनभित्र पूरै… सकियो… चोर…(अपशब्द) भुसियाहरू… छोराहरू… नेताको नाममा…(अपशब्द) लुटपाट… सकियो हेर त्यहाँ, तेरो देश सकियो, तेरो राज्य …(अपशब्द) को छोराहरू… अब… सकियो… सबको पालो आउँछ…चोरी घुसखोरी… सब डढा अब…(अपशब्द) सबको ज्यान जान्छ… सक्यो… सक्यो… सक्यो…’ जस्ता अपाच्य शब्दहरू बोलेका थिए ।

अमननप्रतापले सोमबार बिहान जारी गरेको भिडियोमा भनेका छन्, ‘भाद्र २३ गते जेनजी आन्दोलनलाई समर्थन गर्दै म संसद् भवन पुगेँ । संसद् भवन अगाडि गोली चल्यो । ड्याङड्याङ गोली चल्दाखेरि भागमभाग दौडादौड । मेरै अगाडि पछाडि र दायाँबायाँ स्कुल ड्रेस लगाइरहेका विद्यार्थीहरू त्यहीँ ढले । उनीहरू त्यहीँ सहिद भए । २४गते ती विद्यार्थीहरू झल्झली मेरो आँखामा मुटुमा आइरहेको अवस्थामा आक्रोश बोकेर म फेरि संसद भवन पुगेँ । …गोली प्रहार गर्ने, आदेश दिने तथा सरकार चलाउनेहरूलाई मैले तेरो देश सकियो बोलेँ ।’ त्यो आक्रोशमा अपशब्द बोलेकोमा उनले माफी मागेका छन् ।

‘अहिले तपाईंको फोनमा मेरो भिडियो सुन्दा अफ्ठ्यारो लाग्छ अपशब्द । माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जो विरुद्ध मैले अपशब्द बोलेको हो, त्यसमा पछुतो गर्दिनँ,’ उनले भने । अधिकारीले आफूले संसद् भवन वा कुनै पनि भवन जलाएको वा हातपात गरेको प्रमाण भेटेमा जेल जान तयार रहेको पनि बताएका छन् ।

 

छठका लागि सजिसजाउ जनकपुरका पोखरी (तस्बिरहरू)

जनकपुर ।  छठ पर्वका लागि जनकपुरधाममा रहेको पवित्र तीर्थस्थल तथा पोखरी बेहुली झै सिँगारिएको छ । छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्ती जडान गरी छठघाट सिँगारेको छ ।

पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ ।

श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा साँस्कृतिक पहिचानका रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

छठ पर्व सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो ।

तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।

महाभारत ग्रन्थका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ ।

लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरिँदैछ । भोलि (मंगलबार) उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन गरिनेछ ।