`

दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ।न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो ।

गाउँपालिकाले दलित समुदायका सदस्यलाई आत्मनिर्भर बनाउन १५ दिने मुढा बनाउने तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए।आर्थिक रुपमा कमजोर वर्गलाई पालिकाले आयआर्जनका विविध कार्यक्रममा सहभागी गराउन यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

पालिकाले महिलाहरुलाई अचार बनाउने, ढाका बुनाइ, सिलाइकटाइ, बेमौसमी सागसब्जीखेती, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालनलगायत कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्रप्रति एमाले महासचिवको टिप्पणीः ‘अपुताली राजा’

काठमाडौं । राजनीतिक दलका नेताहरुमा यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहप्रति अमर्यातित टिप्पणी गर्ने होडबाजी नै चलेको छ ।

यसैक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाह अपुतालीको राजा भएको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले उनी अपुतालिमा राजा हुँदा समेत असहज मानेकै बताएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरुले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरु पढ्न पाइने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरुले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरु पढ्न पाइन्छ । अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्वपञ्चहरुले उनको गुनगान गाउनु बेग्लै कुरा हो । तर आमजनताले त उनी अपुतालिमा राजा हुँदा समेत असहज मानेकै हुन् ।’

उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने

सियोल। उत्तर कोरियाले सन् २०२५ मा थप तीन हजार सैनिक रुसमा पठाएको र मस्कोलाई किएभसँग लड्न सहयोग पुर्‍याउन क्षेप्यास्त्र, तोपखाना र गोलाबारुद आपूर्ति गरिरहेको दक्षिण कोरियालीसेनाले बिहीबार जनाएको छ ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि परम्परागत मित्र राष्ट्र रुस र उत्तर कोरिया नजिकिएका छन् र सियोलले नेता किम जोङ उनले मस्कोलाई सहयोग गर्न हजारौं सैनिक र हतियारका कन्टेनरहरू पठाएको बताएका छन् ।

मस्को र प्योङयाङ दुवैले सैनिक तैनाथीको औपचारिक पुष्टि गरेका छैनन् तर गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक प्रतिरक्षासम्बन्धी धारासहित व्यापक सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।

दक्षिण कोरियाका सेना प्रमुखले भने, “जनवरी र फेब्रुअरीको बीचमा थप तीन हजार सैनिकलाई सुदृढीकरणको रुपमा पठाइएको अनुमान गरिएको छ ।”

रुसमा पठाइएको उत्तर कोरियाली सेनाको प्रारम्भिक ११ हजार सैनिकमध्ये चार हजार मारिएको वा घाइते भएको अनुमान गरिएको छ ।

“जनशक्तिका अतिरिक्त उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र गोलाबारुदको आपूर्ति जारी राखेको छ,” जेसीएसको प्रतिवेदनमा भनिएको छ।

“अहिलेसम्म उत्तर कोरियाले महत्वपूर्ण मात्रामा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र, १७० एमएम सेल्फ प्रोपेल्ड गन र २४० एमएम मल्टिपल रकेट लञ्चरका करिब २२० युनिट उपलब्ध गराएको आँकलन गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

यसले चेतावनी दिएको छ, “युद्धभूमिको स्थितिको आधारमा यो सङ्ख्या बढ्न सक्छ ।”

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै उत्तर कोरियाले गत वर्ष ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

आणविक शक्ति सम्पन्न उत्तर कोरियाले युक्रेनविरुद्ध प्रयोग गर्ने रुसमा निर्यातका लागि हतियारको परीक्षण गर्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । 

शान्ति प्रक्रिया मैले सुरू गरेको भएपनि त्यसको श्रेयको भोको छैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जवाफदेहीता निगरानी समिति र द्वन्द्धपीडित सङ्गठनद्वारा बिहीबार आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका यसअघिका काम किन सफल भएनन् भन्ने समीक्षा गरी आगामी दिनका कामलाई सफल बनाउन जिम्मेवार पक्ष हामी सबै लाग्नुपर्नेमा जोड दिए ।

उनले पीडितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहने विश्वास दिलाउँदै विगतमा भएको अनावश्यक र अनुचित हिंसालाई अब उप्रान्त यस्तो नहुने सुनिश्चित गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा लान सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसद्बाट सहमतिमा पारित गराइएको स्मरण गरे ।

संसद्बाट सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन बनेपछि ती आयोगका पदाधिकारी नियुक्तिका लागि यसअघि गठित सिफारिस समितिमा सहमति नभइ त्यस समितिको अवधि सकिएपछि सरकारले प्रमुख दलको परामर्शमा फेरि अर्काे सिफारिस समिति गठन गरेको छ ।

‘सबै नेपाली जनता द्वन्द्वका घाउलाई बिर्सन चाहन्छन् । हिंसाको बाटो हामीले छोडिसकेका छौँ । अब उप्रान्त त्यस्ता काम नहोउन्, पीडितलाई न्याय दिन सकौँ । अठार वर्षसम्म शान्ति प्रक्रियाले पूर्णता प्राप्त नगर्दा हामीलाई अन्तर्राष्ट्रियस्तरमा मुख देखाउन लाजलाग्ने स्थिति भएको छ, त्यसकारण अब हामी काम पूरा गर्न गम्भीर हुनुपर्छ । गम्भीर मानवअधिकारको उलङ्घन गर्नेलाई कारवाही हुन्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘जनयुद्धलाई अहिले पनि उत्सव मनाउने वा सार्वजनिक बिदा दिएर मनाउन खोज्ने कुरा गरिरहन आवश्यक छैन । यस्ता कुराले पीडितलाई झन् पीडित बनाउन सक्छ ।’

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लान अन्तर्राष्ट्रिय समुदायको सहयोग र साथ प्राप्त भइरहनुपर्नेमा जोड दिँदै यस प्रक्रियालाई मौलिक तरिकाले समाधान निकाल्न नेपालले प्रयास गरिरहेको बताए ।

प्रधानमन्त्रीले नेपालमा शान्ति प्रक्रिया टुंग्याउने श्रेय आफूलाई नचाहिएको बताए । । उनले आफ्नो उद्देश्य पीडितका घाउमा मल्हम लगाउने र उनीहरुको आँशु पुछ्ने मात्र रहेको बताए ।

उनले भने, ‘कसले श्रेय लिने हो भन्ने कुरा छाडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक छैन । पीडितका घाउमा मल्हम लगाउँ, उहाँहरुको आँशु पुछौं ।’ उनले ठूला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने बताए ।

द्वन्द्वपीडितलाई न्याय दिने कुरामा कसैको दुईमत छैनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन कांग्रेस सुरुदेखि नै प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनमा सभापति देउवाले पीडितलाई न्याय दिने कुरामा कुनैपनि दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौंताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताएका हुन् ।

उनले सक्रमणकालीन न्यायका लागि वर्तमान सरकार, राजनीतिक दलहरु पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट रहेको बताए । उनले सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्नसक्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सक्रमणकालीन न्यायका लागि सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको छ । आयोगले शान्ति सम्झौंताका मर्म अनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान सुरु गरेर न्याय दिलाउने नै छ । वर्तमान सरकार, राजनीतिक दलहरु पीडितलाई न्याय दिलाउने विषयमा स्पष्ट छौं । सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्नसक्नुपर्ने आवश्यक छ ।’

संक्रमणकालीन न्यायको विषय फौजदारी कानुन जस्तो होइनः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा दलहरुबीच कहिले पनि विवाद नभएको र अब पनि हुन नहुने बताएका छन् ।

बिहीबार ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनमा प्रचण्डले राजनीतिक दलहरूबीच अहिले धेरै विषयमा विवाद भएपनि शान्ति प्रक्रिया टुंग्याउने विषयमा भने विवाद नरहेको बताएका हुन् ।

उनले पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक दलहरूमा अहिले पनि विवाद छन्। प्रमुख दलहरू कोही सत्तापक्षमा छौं कोही विपक्षीमा छौं। विगतमा पनि तमाम विवाद भएपनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा कहिले पनि विवाद भएन र हुँदैन पनि ।’

उनले टीआरसी विधेयक ढिलै पारित भएपनि राजनीतिक कारणले भने ढिलाइ नभएको दावी गरे। टीआरसी विधेयक पारित भइसकेको र आयोग गठनका लागि पनि सिफारिस समिति गठन भइसकेको भन्दै प्रचण्डले पीडितहरूको न्याय दिने प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

उनले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन सबै एकजुट हुनुपर्ने बताए । उनले भने, ‘संक्रमणकालीन न्यायका आफ्नै मान्यता छन् । यो फौजदारी कानुन जस्तो होइन । सम्बन्धित देशको विशेषता अनुसार हेर्नुपर्ने हुन्छ ।’

प्रमुख तीन दलका शीर्ष नेता एउटै मञ्चमा

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता एकै मञ्चमा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा देखिएका हुन् ।

‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनमा बिहीबार तीन नेता एउटै मञ्चमा देखिएका हुन् ।

सम्मेलनमा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् ।

म सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिन्थेंः बाबुराम भट्टराई

दाङ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकोले पूरा अवधि काम गर्न दिएको भए हुने बताएका छन् ।

रिपोर्टर्स क्लबको दाङ शाखाले बिहीबार बिहान आयोजना गरेको साक्षात्कारमा भट्टराईले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने बताए ।

उनले कुलमानलाई सरकारले किन हटायो भन्ने कुरा सरकारले नै जान्ने कुरा भएको टिप्पणी गरे । उनले संस्थान, प्राधिकरणजस्ता राज्यका अर्धस्वायत्त अंगहरुमा दलीय हस्तक्षेप र नियन्त्रण चरम रुपमा रहेको आरोप लगाए ।

यस्ता समस्या विधिले समाधान गर्नको लागि आफू सरकारको नेतृत्वमा रहँदा संस्थान निर्देशन बोर्ड गठन गरेको पनि स्मरण गराए । उनले नेपालको अर्थ राजनीतिमा यतिवेला गम्भीर संकटमा रहेको टिप्पणी गरे ।

उनले मिश्रित निर्वाचन प्रणालीले नै अहिलेको राजनीतिक संरचनामा समस्या निम्त्याएको औंल्याए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी नभएसम्म यस्तो अस्थिरता आइरहने दाबी गरे ।

उनले नेपालमा राजतन्त्र भूत भइसकेकोले पछाडि फर्केर समस्याको समाधान नहुने दाबी गरे । नेपाली जनताले ठूलो बलिदानी गरेर राजसंस्था नेपालबाट हटाएकोले त्यसलाई फिर्ता गर्नु मुर्खता हुने उनको टिप्पणी छ ।

उनले नेपालमा राजसंस्था आउँदै नआउने ठोकुवा गरे । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर जानुपर्नेमा जोड दिए।

दक्षिण कोरियामा हालसम्मकै ठूलो डढेलो, मृतकको संख्या २६ पुग्यो

बीबीसी । दक्षिण कोरियाका अधिकारीहरूले देशको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले धेरै वनजङ्गल जलाउनुका साथै मानवीय क्षति गराएको बताएका छन् ।

हालसम्म त्यसबाट २६ जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार मानिसहरू विस्थापित बनेका छन् । अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो ६० देखि ८० वर्षीय उमेरका मानिसहरू छन् । प्रत्यक्षदर्शीहरूले आगोले आफ्ना घरहरू सखाप पार्दाको पीडादायी दृश्यहरू वर्णन गरेका छन् । मार्च २१ मा सुरु भएको डढेलोले धेरै सुख्खा अवस्था र तीव्र गतिको वायुले क्षतिको मात्रा बढाएको छ ।

डढेलो नियन्त्रणका लागि हजारौं सङ्ख्यामा अग्निनियन्त्रक र सैनिकहरू खटाइएको छ । दक्षिण कोरियामा डढेलो अन्यत्रको तुलनामा असामान्य मानिने हुँदा पनि यस तहको क्षति अभूतपूर्व मानिएको छ ।

अधिकारीहरूले उक्त डढेलोलाई त्यहाँ विवरण राख्न थालिए यताकै सबैभन्दा खराब बताएका छन्। हालसम्म त्यो ३५ हजार ८ सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरूले बताएका छन् । डढेलो निभाउन तीन क्षेत्रमा १२० भन्दा बढी हेलिकप्टर परिचालन गरिएको छ ।

आगलागीले सांस्कृतिक धरोहरहरूमा समेत ठूलो खतरा निम्त्याइरहेको बताइएको छ। इसङ सहरमा आगोले इस्वी संवत् ६१८ मा निर्मित त्यहाँको ठूलोमध्येको एक गौन्सा मन्दिरलाई ध्वस्त पारेको छ । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रभर ऐतिहासिक कलाकृतिहरूलाई आगोको पहुँचबाट बाहिर निकाल्न मानिसहरू सङ्घर्षरत छन् ।

ललितपुरको इमाडोलमा एक युवकको हत्या, आरोपी पक्राउ

काठमाडौँ । ललितपुरमा एक युवकको हत्या भएको छ । ललितपुरको इमाडोलस्थित ओचुहाइटमा रामेछापका ३० वर्षीय रिपक खातीको हत्या भएको हो ।

गएराति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् ।

नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन्।

काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ।

यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन्।

काँकडभिट्टाबाट २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ। समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ। द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए।

मङ्गोलियामा दुर्लभ ‘दुईऔँले’ डाइनसोर पत्ता लाग्यो

बीबीसी । वैज्ञानिकहरूले मङ्गोलियाको गोबी मरुभूमिमा हातमा दुईटा औँला भएका डाइनोसरको एउटा दुर्लभ प्रजाति फेला पारेका छन् ।

वैज्ञानिक नाम ’डुओनाइकस शोग्ट्बातरी’ (-Duonychus tsogtbaatari) दिइएको उक्त डाइनसोर ‘थेरिजाइनसोर’ (Therizinosaur) समूहमा पर्ने नितान्त भिन्न जीव हो । उक्त समूहमा पर्ने डाइनसोरहरू पछाडिका खुट्टामा उभिन्थे र तिनका खुट्टामा प्रायः तीनवटा खुर वा औँला हुन्थे ।

डुओनाइकस शोग्ट्बातरी मध्यम आकारको थियो। त्यसको तौल झन्डै २६० केजी भएको अनुमान गरिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार उक्त डाइनसोरका औँलाहरू लामा र बाङ्गा थिए । ती औँला दोबार्न मिल्ने खालका भएकाले उक्त जीवसँग वनस्पतिहरू सजिलै समात्ने क्षमता भएको ठानिएको छ ।

थेरिजाइनसोर समूहमा भएका कुनै जीव शाकाहारी थिए भने कुनै शाकाहार र मांसाहार दुवै गर्थे । आजभन्दा १४.५ करोड वर्षअघि सुरु भई ६.६ करोड वर्षअघि टुङ्गिएको ‘क्रिटेशस’ युगमा ती डाइनसोर एशिया र उत्तर अमेरिकामा विचरण गर्थे । डाइनसोरको जीवाश्म मङ्गोलियास्थित गोबी मरुभूमिको बायान्शिरी फर्मेशनमा फेला परेको थियो।

उक्त नमुना क्रिटेशस युगको उत्तरार्धतिर (६.६ करोड देखि १०.०५ करोड वर्षअघि) को हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन यूनेस्कोले मङ्गोलियाको गोबी मरुभूमिलाई डाइनसोरका जीवाश्मको विश्वभरिकै सबैभन्दा ठूलो भण्डार मानेको छ ।

उक्त क्षेत्र क्रिटेशस युगको उत्तरार्धतिरका जीवाश्मका लागि महत्त्वपूर्ण मानिन्छ । क्रिटेशस युग डाइनसोर युगका तीन मुख्य युगमध्ये अन्तिम हो। त्यही कालखण्डमा डाइनसोरको अन्तिम क्रमविकास भएको थियो ।

चैत २० देखि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले चैत २० गतेदेखि काठमाडौँमा हुन लागेको सडक आन्दोलनका लागि तयारी अवस्थामा बस्न शिक्षकहरुलाई सर्कुलर जारी गरेको छ ।

बुधबार सर्कुलर जारी गरी महासंघले शिक्षा मन्त्रालय लगायतका निकायले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी नहुन आग्रह गरेको हो ।

त्यस्तै महासंघले आन्दोलन अवधिभर एसइई लगायतका कुनै पनि परीक्षाका उत्तर पुस्तिका परीक्षण, सम्परीक्षण नगर्नु तथा नगराउन भनेको छ । त्यस्तै महासंघले हरेक जिल्लाले सबै शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क १०० रुपैयाँ प्राप्त गरी त्यसबाट ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ।

तिब्बतको टिंग्री काउन्टी आसपास केन्द्र बनाएर भूकम्प

काठमाडौं । तिब्बतमा बुधबार भूकम्पको गएको छ । टिंग्री काउन्टी आसपास केन्द्रविन्दु बनाएर बुधबार नेपाली समयानुसार साँझ ६ बजेर २७ मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि पनि तिब्बत केन्द्र बनाएर भूकम्प गएको थियो ।

बुढानीलकण्ठमा २ अर्ब ९६ लाखको अनलाइन जुवा खेलाउने ११ भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले दुई अर्ब ९६ लाखभन्दा बढीको अनलाइन जुवा खेल्ने÷खेलाउने ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ बूढानीलकण्ठको देउला टोलस्थित एक घर भाडामा लिई अनलाइन जुवा (सट्टाबाजी) खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू सनी मिणा, मोहित बर्मा, पियुस भारद्वाज, हरकेश डडैया, निशान्त भारद्वाज, आकाश बर्मा, अंकितकुमार सैनी, सन्जु शाकला, रामसिंह जाठ, लोकेश कुमार र विकाश कुमार छन् ।

उनीहरुले दुई अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा (सट्टेबाजी) खेल्ने–खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजारभन्दा बढी रकमबराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार समेत गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ३४ थान मोबाइल, पाँच थान ल्यापटप, हिसाबकिताबको अभिलेख राखिएको नोट बुक चार थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटीएम २७ थान र भारतीय सिमकार्ड ४० थान बरामद गरेको छ ।

उनीहरुलाई काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।

एन्फाको वार्षिक बजेट डेढ अर्ब

काठमाडौं ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रुपैया बजेट साधारणसभामा पेस गर्ने निर्णय गरेको छ ।

एन्फाको दुई दिन बसेको कार्यसमितिको बैठकले आगामी वैशाख २६ गते साधारणसभा गर्ने निर्णय गर्दै उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि उक्त रकम पेस गर्ने निर्णय गरेको एन्फाद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।

एन्फाले आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण प्रतिवेदन पनि कार्यसमितिबाट पारित गरेर साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । कार्यसमितिको बैठकले पियुष न्यौपानेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले म्याट रसलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै एन्फाले पूर्वअध्यक्ष गणेश थापाले फिफाको निर्देशन उल्लंघन गरेको लगायत अन्य गतिविधिमाथि आवश्यक अनुसन्धान तथा छानबिन गरी कारबाही गर्न फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा सङ्घको न्यायिक निकायमा आवश्यकताअनुसार पत्राचार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्तिउपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानबिन गरी निर्णयका लागि पत्राचार गर्ने निर्णय गरेको छ ।

कुलमान हटाएकोबारेमा सदनमा जवाफ दिन्नः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले युवा संघसँग कति तागत छ भन्ने कुरा मानिसहरुले आकलन नै नगरेको भए देश र जनताका लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताए ।

‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छन । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्सजस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गर्दै यसबारे प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने स्पष्ट गरे ।

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन् ।’

प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षी दलहरुले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे । विपक्षीहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, संघका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे आ–आफ्नो धारणा राखे ।

आफूलाई हटाउने निर्णय बदरको माग गर्दै कुलमान सर्वोच्चमा

काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गरी बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाई सो ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । रिटमा आफूलाई पदबाट हटाउने निर्णय बदर गर्न माग गरिएको छ ।

मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको दोहोरो सुविधाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बुधबार अधिवक्ता चन्द्रप्रकाश भुसालले केन्द्र र प्रदेश गरी मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि २७ रोपनी १२ आनाभन्दा बढी क्षेत्रफलमा विलासितायुक्त आवास निर्माण गरिएको छ। उक्त आवासमा ७ वटा भवनमा १४ वटा ब्लक छन्। सोको निर्माण गर्न ८५ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ।

सो आवासमा प्रदेश प्रमुखको निवास र मुख्यमन्त्रीका निवास छन् । आवासमा प्रदेश प्रमुख र मुख्यमन्त्री निवासमा कर्मचारी व्यवस्था समेत गरिएको छ । यसको आधारमा प्रदेश प्रमुखको लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब २–३ लाख रुपैयाँसम्म हुनसक्ने र मुख्यमन्त्रीका लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब ३–४ लाख रुपैयाँसम्म हुनसक्ने रिटमा उल्लेख छ ।

२०७५ मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले संघीय राजधानीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूलाई आवास सुविधा दिने निर्णय गरेको थियो ।

उक्त निर्णय नेपालको संविधानको धारा १७१ तथा २३५, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १७, संङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७, प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ को दफा ३, संघिय कानून, प्रदेश ऐन, नियम तथा कार्यविधी विपरीत भएको र राज्य कोषको चरम दुरुपयोग गरेकाले प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूलाई आवास सुविधा दिने मन्त्रिपरिषद्को उक्त निर्णय बदर गर्न माग रिटमा गरिएको छ ।

दोहोरो सुविधा निषेध गर्ने स्पष्ट कानुनी व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी, अनावश्यक रूपमा लिइएका आवास सुविधाको वित्तीय अडिट गरी राज्य कोषमा फिर्ता गराउन, राज्य स्रोतको सदुपयोग सुनिश्चित गर्दै आर्थिक अनुशासन कायम राख्न सरकारका नाममा परमादेश जारी गर्न निवेदनमा माग गरिएको छ । रिटमाथि चैत १५ गतेलाई पेसी तोकिएको छ ।

नेप्सेमा ४ अर्ब २० करोडको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । बुधबार नेप्से ३९ दशमलव १३ अङ्कले बढेर २ हजार ६ सय २१ दशमलव ८६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । यस्तै फाइनान्स, होटल, जलविद्युत्, लगानी, निर्जीवन बीमा समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार उकालो लागेको दिन उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ । आज ३ सय १७ वटा कम्पनीका ९१ लाख ४२ हजार कित्ता शेयर ४ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।

कुलमान बर्खास्त प्रकरणले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो । दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिए ।

यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरुलाई अनुरोधसहितको रुलिङ गरेका थिए ।

आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए ।

उनीहरुले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका थिए । प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने तय भएको छ ।

एन्फाले गणेश थापालाई कारबाहीका लागि अख्तियारलाई पत्राचार गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापाविरुद्ध कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

एन्फाको बैठकले थापाले फिफाको निर्देशन उल्लङ्घन गरेको भन्दै विभिन्न निकायमा कारबाहीका लागि पत्राचार गर्ने निर्णय गरेको हो । २०७२ मा फिफाले थापालाई भ्रष्टाचार र घुस काण्डमा संलग्न भएको भन्दै १० वर्षका लागि प्रतिबन्ध लगाएको थियो ।

तर, एन्फाले उनले अझै प्रभाव कायम राख्ने प्रयास गरिरहेको भन्दै कारबाही माग गरेको हो । एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काविरुद्ध पनि छानबिन गर्न पत्राचार गर्ने निर्णय गरेको छ । साथै, पुरुष राष्ट्रिय टोलीका प्रशिक्षकमा म्याट रसलाई नियुक्त गर्ने र साधारणसभा वैशाख २६ गते गर्ने निर्णय गरेको छ ।

कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीको स्पष्टीकरमा जालझेल भए आन्दोलन अगाडि बढ्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका छन् ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन चल्न दिने बताएका हुन् । उनले स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै सदन चल्ने, तर स्पष्टीकरण जालझेलको भ आन्दोलनमा जाने चेतावनी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले संसदको रोष्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेका छौं ।स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ । जालझेल भयो भने आन्दोलन अगाडि बढ्छ ।’

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरूले संसदका दुवै सदनको बैठक अवरोध गरेका छन् ।

सञ्चारमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा नवनियुक्त राजदूत मायदालाई स्वागत गर्दै नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको उल्लेख गर्दै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न अनुरोध गरे ।

जापानको ओसाकामा नेपाल–२०२५ वल्र्ड एक्सपो हुन लागेकामा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले यसले नेपाली उत्पादन प्रदर्शन गर्ने पर्याप्त अवसर सिर्जना गर्नुका साथै द्विपक्षीय व्यापार अभिवृद्धिमा योगदान पुर्‍याउने आधार सिर्जना हुने बताए।

आगामी वर्ष सन् २०२६ मा कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव रहेको र त्यही वर्ष नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुँदैछ भन्ने उनले राजदूत मायदालाई जानकारी दिए। यस सन्र्दभमा, नेपालले जापानबाट थप विकास सहायता प्राप्त गर्ने मन्त्री गुरुङले विश्वास व्यक्त गरे।

जापानका तत्कालीन विदेशमन्त्री कामीकावा योकोले गत वर्ष मे महिनामा गर्नुभएको नेपाल भ्रमण, सन् २०२२ नोभेम्बरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवलोकन गर्न जापानका विदेश राज्यमन्त्री ताकेइ शुनसुकेसहितको टोलीले गरेको नेपाल भ्रमणको स्मरण गराउँदै मन्त्री गुरुङले यस प्रकारको अवलोकन तथा भ्रमणबाट नेपालको लोकतन्त्र मजबुत बनाउन र निर्वाचन निष्पक्ष बनाउन सहयोग पुगेको उनले उल्लेख गरे ।

समय–समयमा हुने द्विपक्षीय भ्रमण नेपाल र जापानबीचको सौहार्द्रपूर्ण सम्बन्धमा कोसेढुङ्गाको रुपमा रहिरहने मन्त्री गुरुङले बताए।

नेपालमा जापानले गरेको आर्थिक, सामाजिक, विकासका सहयोगको चर्चा गर्दै मन्त्री गुरुङले भविष्यमा थप एक अर्काको सहकार्य प्रगाढ बनाउने धारणा राखे। नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ । जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ ।

नेपालसँग जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा भौतिक पूर्वाधार विकास, मानव संशाधन विकास, स्वास्थ्य, कृषि विकास, वातावरण संरक्षण, संस्कृति आदि पर्दछन् । नेपालले पूर्वाधार विकास, औद्योगिक विकास, कृषि, जलविद्युतलगायत क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहेको मन्त्री गुरुङले उल्लेख गरे।

जापानमा नेपाली समुदायको उल्लेख्य उपस्थित हुनु नै द्विपक्षीय सम्बन्धको उल्लेखनीय पक्ष रहेको उनको भनाइ थियो । मन्त्री गुरुङले नवनियुक्त राजदूत मायदाको सफल कार्यकालको शुभकाना दिँदै आगामी दिनमा दुई मुलुकबीच आर्थिक सहयोग र सहकार्यका विषय एवं द्विपक्षीय व्यापार तथा लगानीका विषयलाई उच्च प्राथमिकता दिनुहुने छ भन्ने विश्वास व्यक्त गरे।

मानव संशाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजनाअन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । जापान कोलम्बो योजनामा सामेल भएकाले जापान सरकारले नेपाली विद्यार्थीलाई प्राविधिक तालिम दिन थालेको छ । यस्तो सहयोगका लागि जापान सरकारप्रति मन्त्री गुरुङले आभार प्रकट गरे ।

सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध अझै घनिष्ट एवं मैत्रीपूर्णरुपमा अगाडि बढिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको प्रारम्भ हुनुअघि जनस्तरमा द्विपक्षीय सम्बन्ध पनि उत्तिकै बलियो भएकामा खुसी व्यक्त गरे ।

जापानले भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता र सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति अभार व्यक्त गर्नुका साथै उनले नेपालले सदैव जापानसँगको आपसी हित र सहयोगलाई उच्च महत्व दिई आएको बताए। जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गर्ने गरेको निःशर्त सम्मानप्रति नेपालले खुला हृदयले प्रशंसा गर्दै आएको मन्त्री गुरुङले बताए ।

सो अवसरमा राजदूत मायदाले नेपाल र नेपाली जनताप्रति जापानको अत्यन्त मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे। उनले नेपाललाई सहयोग गर्न सधैँ तत्पर रहेको उल्लेख गर्दै दुवै देशलाई हित हुने सहयोग साझा गर्नुपर्ने धारणा राखे । राजदूत मायदाका अनुसार जापानमा हाल करिब दुई लाख नेपाली अध्ययन, रोजगारी र व्यवसायमा आबद्ध छन् ।

त्यस्तै, मुस्ताङ घुम्न जाने आफ्नो इच्छा रहेको उल्लेख गर्दै राजदूत मायदाले नेपाल प्राकृतिक र सांस्कृतिक दृष्टिले सम्पन्न रहेको बताए। मन्त्री गुरुङले लमजुङ जिल्लाको सौन्दर्य र त्यहाँ घुमफिर गर्ने महत्वपूर्ण पर्यटकस्थलबारे राजदूत मायदालाई जानकारी दिए ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव कोषहरि निरौला, सूचनाप्रविधि विज्ञ डा शालिग्राम पराजुली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

गंगालालमा विपन्न बालबालिकाको मुटुको उपचार निःशुल्क

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए ।

‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रति बालबालिका दुई लाख ५० हजार सहायता दिंंदै आइरहेको छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक श्रोतसमेत थप गरेर आर्थिक अभावको समस्या भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

यस वर्षको वर्ष पुष महिनासम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् ।

सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप श्रोतको खोजी गर्न स्थानीय तहहरुसँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सदस्य सापकोटालाई जिमेवारीसमेत तोकेको छ ।

‘स्थानीय तहहरुसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ,’ सञ्चालक समिति सदस्य सापकोटाले भने, ‘सहकार्य गर्ने गरी गृहकार्य शुरु गरेका छौं ।’
नेपालमा एक हजार बालबालिका मध्ये ८ देखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।

आगो निभाउने क्रममा दक्षिण कोरियामा हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

सियोल । बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको छ ।
योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ ।

राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलोे निभाउने क्रममा स्थानीय समय अनुसार दिउसो करीव १२ः५४ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

दक्षिण कोरियाको जङ्गलमा लागेको डढेलोका बुधबार मध्यान्नसम्ममा कम्तीमा १८ जनाको मृत्यु भएको एक जना वेपत्ता भएको वन सेवा अधिकारीहरूलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।

एजेन्सीका अनुसार गत शुक्रबार दक्षिण ग्योङगसाङ प्रान्तको सान्चेओङ काउन्टीबाट सुरु भएको आगो उइसोङसम्म फैलिएको छ । तीव्र हावाका कारण डढेलो अन्डोङ, चेओङसोङ, येओङयाङ र येओङडुयोेकतर्फ अघि बढिरहेको र जङ्गलको छेउछाउका वस्ती जोखिममा परिरहेका छन् ।

गत शुक्रबारदेखि यस क्षेत्रमा आगलागी नियन्त्रणका लागि दर्जनौँ हेलिकप्टर तथा हजारौँ अग्नि नियन्त्रकहरू तैनाथ गरिएको छ भने करिब पाँच हजार सैनिक र १४६ हेलिकप्टर पठाइएको छ ।

दक्षिण कोरियाली विपक्षी नेतालाई सफाइ

सियोल । दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङलाई निर्वाचन कानुन उल्लङ्घन गरेको अभियोगमा बुधबार अदालतले सफाइ दिएको छ ।

प्रमुख विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता लीले गत राष्ट्रपतीय चुनाव प्रचार अभियानका क्रममा कुनै पनि गलत बयान नदिएको ठहर गर्दै सियोल उच्च अदालतले तल्लो अदालतको आदेशलाई उल्ट्याएको हो ।

सन् २०२२ को राष्ट्रपतीय चुनावका क्रममा गलत सूचना सम्प्रेषण गरेको आरोपमा गत नोभेम्बरमा सियोल केन्द्रीय जिल्ला अदालतले लीलाई एक वर्षको जेल सजाय सुनाएको थियो ।

अभियोजकहरूले लीलाई पहिलो र पुनरावेदनको सुनुवाईमा दुई वर्षको जेल सजायको माग गरेका थिए ।

सफाई पाएसँगै नेता लीले निर्वाचन कानुन उल्लङ्घनको मुद्दामा अदालतले आफूलाई सफाइ दिएकोमा अदालतप्रति आभार प्रकट गरेका छन् । “सत्य र न्यायमा आधारित ठोस निर्णय गरेकोमा म अदालतप्रति आभारी छु,” लीले अदालत बाहिर उत्साही समर्थकहरूको अगाडि भने ।

“सरकारले ममाथि मुद्दा चलाउने प्रयासमा ‘सार्वजनिक स्रोतहरूको दुरूपयोग’ गरेको र मविरूद्ध झुट्टा मुद्दा चलाएको पुष्टि भएको छ,” उनले भने ।

आगामी दिनमा कोरियाली जनताको हितमा आफुलाई समर्पित गर्दै सत्यको पक्षमा निरन्तर लड्ने उनले बताए ।

उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

मध्यविन्दु । नवलपरासीको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ ।

प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने यस केन्द्रमा सर्वसाधारण मात्र नभई सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू, कलाकार, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरू उपचारका लागि आउने गरेका छन् ।

प्राकृतिक चिकित्सालयमा उपचारका लागि आएका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती १३ दिनको प्राकृतिक उपचार पश्चात् मङ्गलबार फर्किएका छन् । कम्मरमा दुखाइका कारण हिँडडुल गर्न समस्या भएपछि प्राकृतिक उपचारका लागि आएका उनीहरु निको भएर फर्कन लागेको बताए ।

यहाँ आधुनिक औषधिको सट्टा प्राकृतिक तथा वैकल्पिक उपचार पद्धति अपनाइनाले उपचारका लागि धेरैको आकर्षण बढेको हो । पूर्व सभामुख ओनसरी घर्तीका अनुसार यहाँको उपचार विधि तनावमुक्त जीवनशैली, प्राकृतिक उपचार, स्वास्थ्यकर खानपान, र योग साधनामा केन्द्रित छ ।

प्राकृतिक चिकित्सालयमा सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरु उपचारका लागि आउनुभएका सो चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जनकारी दिए । केही वर्षयता यहाँ विदेशी पर्यटक तथा प्राकृतिक चिकित्सा रुचाउने विदेशीहरू पनि आउन थालेका छन् ।

विसं २०६४ मा महायज्ञमार्फत सङ्कलित रकमबाट स्थापना गरिएको प्राकृतिक चिकित्सालयमा सेवा लिन मुलुकभित्रका मात्रै नभई भारत, क्यानडा, अमेरिका, फ्रान्स, बेल्जियम, अस्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, जापान, नर्वे, इजरायललगायतका देशबाट उपचारका लागि बिरामी आउने गरेका छन् ।

तत्कालीन समयमा ५२ श्ययाबाट सुरु गरिएको संस्थामा हाल तीन सय श्ययाको क्षमता रहेको छ ।

“अन्य उपचार पद्धतिबाट निको नभएका बिरामीले पनि यहाँ उपचारपछि पुनः जीवन पाएका उदाहरण छन्”, व्यवस्थापक सापकोटाले भने, “सर्जरीबाहेकका रोग निको पार्न सकिने प्राकृतिक चिकित्सालाई दिगो रूपमा टिकाउन सरकारले नीतिगत सहजताका साथै बजेट विनियोजन गर्नुपर्छ ।”

चिकित्सालयमा बिरामीका लागि उपचार, आवास र खाना गरी दैनिक रु एक हजार एक सय शुल्क तोकिएको छ । कूल ५० जना जनशक्ति रहेको चिकित्सालयमा मासिक १५ लाख खर्च रहेको व्यवस्थापक सापकोटाको भनाइ छ । “चिकित्सालयमा हालसम्म ५० हजार जनाको सफल उपचार गरिसकिएको छ”, उनले भने ।

प्राकृतिक चिकित्सा उपचार विधिले शरीरमा नकारात्मक असर नपर्ने चिकित्सालयका चिकित्सक डा.आजाद पुरीले बताए । प्राकृतिक चिकित्सा र योगमा प्रतिरक्षात्मक, उपचारात्मक र निधानात्मक तीनवटै आयाममा उपचार गरिने र यसले जटिल, दीर्घरोग हुने बाटो नै बन्द गर्ने डा पुरीको भनाइ छ ।

बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चैत १९ गतेदेखि थाइल्याण्ड भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जाने कार्यक्रम तय भएको हो ।

यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौँ शिखर सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री ओलीबाट थाइल्याण्डका समकक्षी फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । शताब्दीयौँ पुरानो सभ्यता र सांस्कृतिक सम्बन्ध रहे पनि नेपालका सरकार प्रमुखबाट अहिलेसम्म दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्डको औपचारिक भ्रमण भएको थिएन । सन् १९८३ मा थाइल्याण्डका तत्कालीन प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गरेका थिए ।

यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा विस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णय अगावै परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले भ्रमणको तयारीका कामहरु प्रारम्भ गरेको थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले नेपाल र थाइल्याण्डबीच सांस्कृतिक गतिविधि तथा आर्थिक सम्बन्ध थप प्रगाढ बढाउन यस भ्रमणले योगदान गर्ने अपेक्षा गरिएको बताए । उनले बुद्ध धर्मलगायत अन्य सांस्कृतिक र व्यपारिक सम्बन्धले दुई देशबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे ।

मन्त्रिपरिषद्को बैठकले नेपाल र थाइल्याण्डबीच हस्ताक्षर हुने ‘कल्चरल एग्रिमेन्ट विटविन द गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ किङ्डम अफ थाइल्यान्ड’ विषयको सम्झौता स्वीकृत गरेको छ ।

यस्तै नेपाल सरकार र थाइल्याण्ड सरकारबीच हस्ताक्षर हुने पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी ‘मेमोरेन्डम अफ अन्डस्ट्यान्डीङ (एमओयु) विटविन द मिनिस्ट्री अफ कल्चर, टुरिजम एन्ड सिभिल एभिएसन अफ द गभर्मेन्ट अफ नेपाल एन्ड द मिनिस्ट्री अफ टुरिज्म एन्ड स्पोर्टस् अफ द किङ्डम अफ थाइल्यान्ड अन टुरिज्म कोपरेसन’ विषयक समझदारीपत्र स्वीकृत भएको छ ।

प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको पूर्वसन्ध्यामा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले मङ्गलबार उनीसँग शिष्टाचार भेट गरेका थिए ।

सन् १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र थाइल्याण्डबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ । दुई मुलुकबीचको संस्कृति र जनता–जनताको सम्पर्क दुुई वर्ष वर्षभन्दा बढी पुरानो मानिन्छ । नेपाल र थाइल्याण्ड बौद्ध धर्मको दर्शनद्वारा नजिकबाट जोडिएका छन् । राजा जनक दुई मुलुकको संस्कृतिको एक पुल मानिन्छन् ।

नेपाल र थाइल्याण्डले संस्कृति, पर्यटन, व्यापार, लगानी, कृषि, मानव संसाधन विकासलगायत साझा हितका विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको सहयोगका साथ बहुआयामिक सम्बन्धका क्षेत्रमा काम गर्दै आएका छन् ।

उच्चस्तरीय भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई सही दिशामा आकार दिन र मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । दुई देशबीच फराकिलो र गहिरो सहयोगका लागि प्रचुर सम्भावना रहेका छन् ।

क्षेत्रीय शान्ति, प्रगति र समृद्धिका लागि बिमस्टेक प्रक्रियालाई बढावा दिने नेपालको प्रतिबद्धता व्यक्त हुँदै आएको सन्दर्भमा बिमस्टेकको सफलता यस क्षेत्र र बाहिरका सबै सदस्य राष्ट्रको हितमा हुने ठानिएको छ । छैटौँ शिखर सम्मेलनको आयोज राष्ट्र हुनुका नाताले बिमस्टेक प्रक्रियालाई सफलतापूर्वक सञ्चालन गर्न थाइल्याण्डको नेतृत्वदायी भूमिका रहनेछ भने बिमस्टेक शिखर सम्मेलनको आयोजक राष्ट्रमा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण हुनु कूटनीतिक महत्वको विषय रहनेछ ।

श्रीमानको अस्तु बोकेर पोखरा आएकी लोरेटा…..

जमुना वर्षा शर्मा, पोखरा ।  अमेरिकी नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उत्ति नै उनका आँखामा पीडा र अनुहारमा निराशा छचल्किएको देखिन्थ्यो । सराङकोटको डाँडामा उभिँदा उनका गह्रौँ मनका भावनाहरू बादलसरि मडारिएका थिए ।

केही वर्षअघि उनले श्रीमान्‌ फिल हुलवर्कको हात समाउँदै यिनै सिँढीहरू उक्लिएकी थिइन् । सँगै खिचिएका तस्वीरहरू, सूर्योदयको सुनौलो रङ, नीलो आकाशको शान्ति, कुहिरोले बनाएका अनौठा आकृतिहरू, हरियाली डाँडाहरू, चराचुरुङ्गीका चिरबिर सबै त्यहीँ थिए । थिएन त केवल एउटा साथ, एउटा स्पर्श, एउटा हात, जसले उनलाई जीवनभर समातेर राख्ने वाचा गरेको थियो । अब तस्वीरहरू केवल याद बनेका छन्, सूर्योदयको उज्यालोभन्दा मनको अँध्यारो गहिरो छ र सिँढीहरू उक्लिने पाइला सहाराविहीन भएका छन् ।

नेपाललाई दोस्रो घर सम्झने ७६ वर्षीय अमेरिकी नागरिक फिल हुलवर्कको नेपालप्रतिको अपार मायाले नै लोरेटालाई उनको अस्तु बोकेर नेपाल ल्याउने प्रेरणा दियो । अमेरिकाको डेल्टा एयरलाइन्समा कार्यरत फिल पहिलोपटक सन् २००७ मा नेपाल आएका थिए । थाइल्यान्ड भ्रमणका क्रममा एक जना साथीले नेपालको प्राकृतिक सुन्दरताबारे सुनाएपछि उनको गन्तव्य नेपाल बन्न पुग्यो । प्रकृतिसँग रमाउन मन पराउने हुलवर्क नेपालका विभिन्न स्थानमा पुगेर प्राकृतिक सौन्दर्यसँगै यहाँको जीवनशैली र संस्कृतिमा घुलमिल भए, जहाँ गए पनि, जहाँ पुगे पनि, उनलाई पोखराको सुन्दरताले नै सबैभन्दा बढी तान्यो ।

पोखराका सुन्दर दृश्य, संस्कृति र यहाँका मानिसहरूको मायालु स्वभावले फिललाई यति मोहित बनायो कि उनी हरेक वर्ष नेपाल आउन थाले । पोखराको शान्त वातावरण र फेवातालको किनारले उनलाई सान्त्वना र आनन्द प्रदान गर्थ्यो । एयरलाइन्सबाट सेवा निवृत्त भएपछि त उनले आफ्नो अधिकांश समय नेपालमै बिताउन थाले ।

सन् २०१९ मा नेपाल बसाइका क्रममा फिल हुलवर्क नसा च्यापिएपछि बिरामी परे । लेकसाइड गौरीघाटस्थित होटल ‘रानीवन आर्केट’मा बस्दै आएका हुलवर्कलाई होटल सञ्चालक तथा पर्यटन व्यवसायी हरि भुजेलले उपचारमा विशेष ध्यान दिए । तर, निको भएन ।

एक महिनापछि लोरेटा नेपाल आइन् र उनलाई आफ्नै देश लगेर उपचार गरिन् । विडम्बना, एउटा समस्या समाधान नहुँदै उनलाई ‘ब्रेन ट्युमर’ भएको पत्ता लाग्यो । अन्ततः उपचारकै क्रममा ६ महिनाअघि फिलको निधन भयो । बिरामी अवस्थामै नेपाललाई सम्झिरहेका फिलको आत्माको शान्तिका लागि उनकी पत्नी लोरेटा श्रीमान्‌को अस्तु लिएर नेपाल आएकी हुन् ।

श्रीमान्‌को अस्तु लिएर सराङकोट डाँडामा पुगेकी लोरेटासँग पर्यटन व्यवसायी हरि भुजेल, पोखराकै अर्का साथी विनय पौडेल र लोरेटाकी साथी सेरी पनि थिइन् । लोरेटाले स्वर्गीय श्रीमान्‌को तस्वीरलाई स्पर्श गर्दै पुष्पगुच्छा अर्पण गरिन् । मुस्कुराइरहेको श्रीमान्‌को तस्वीर एक टकले हेर्दै गर्दा लोरेटाका आँखा आँसुले भरिए । मौनताबीचका अनगिन्ती भावनासँगै उनले श्रीमान्‌को अस्तु सराङकोटको डाँडामा विसर्जन गरिन् । फिलसँगको सम्झनालाई उनले नेपालकै माटोसँग मिलाइन् ।

फिलले आफ्नै जीवनकालमा नेपाललाई माया गर्दै बारम्बार आफ्नो अस्तु नेपालमा लैजान लोरेटालाई अनुरोध गर्थे । ‘फिल नेपालका प्रकृति र संस्कृतिमा रमाउने असाध्यै सरल र मिजासिलो व्यक्ति हुनुहुन्थ्यो,’ होटल सञ्चालक हरि भुजेलले भने, ‘हामीले धेरैपटक हाम्रो घरको भान्सामा सँगै नेपाली खाना खाएका छौँ, होली पर्व मनाएका छौँ, मठमन्दिर देवालय पुगेका छौँ, थुप्रैथुप्रै सम्झना छन् फिलसँग ।’ फिलको अन्तिम इच्छालाई लोरेटाले पूरा गरेर नेपालसँगको सम्बन्धलाई अझ गाढा बनाएको भुजेलले बताए ।

फिल नेपालीको आतिथ्यता र यहाँको जीवनशैलीको खुलेर प्रशंसा गरे । विशेष गरी पोखराका स्थानीय क्षेत्रमा गएर लोकल रक्सी स्वाद मानेर पिउने उनको बानी थियो । ‘फिल नेपाललाई यति माया गर्नुहुन्थ्यो कि उहाँ वर्षको झण्डै तीन महिना नेपालमै बिताउनुहुन्थ्यो । दुई महिना एक्लै रहनुहुन्थ्यो भने एक महिना लोरेटासँगै,’ भुजेलले भने ।

डेल्टा एयरलाइन्समै कार्यरत लोरेटा हरेक वर्ष एक महिनाको बिदा मिलाएर श्रीमान्‌सँग पोखरा घुम्न आउने गर्थिन् । अहिले पनि लोरेटाको नेपालप्रतिको निरन्तर आगमनले फिलको सम्झनालाई अमर बनाइरहेको छ । ‘फिलको नेपालप्रतिको माया र लोरेटाको समर्पणले यो क्षणलाई झन्‌ मार्मिक बनाएको छ । फिलको आत्मा नेपालका पहाड, नदी र नेपालीहरूको हृदयमा सधैँ बाँचिरहनेछ,’ फिलका साथी विनय पौडेलले भावुक हुँदै भने ।

एउटै एयरलाइन्समा कार्यरत हुँदा सुरु भएको प्रेमलाई यो जोडीले विवाहमा परिणत गरेका थिए । जीवनको उत्तराद्धतिर आउँदा पनि फिलसँग बिताएका प्रत्येक क्षण लोरेटाका लागि अविस्मरणीय तथा प्रेमले भरिपूर्ण रहे । ‘मैले सन्तान जन्माउने चाहना गरिनँ, तर अहिले कताकता एक्लोपन महसुस गर्छु,’ लोरेटाले भनिन्, ‘मेरो साथमा फिल छैन तर ऊसँग बिताएका हरेक पल र उसले टेकेको माटो मलाई उत्तिकै प्रिय छ । फिल अब भौतिक रूपमा हाम्रो साथमा छैनन्, तर उनको आत्मा सधैँ नेपालमै रहनेछ । पोखरामा उहाँको सम्झना सधैँ जीवन्त रहनेछ ।’

राष्ट्रियसभाको बैठकमा पनि विपक्षीको अवरोध

काठमाडौं । राष्ट्रियसभाको बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । बुधबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरे ।

विपक्षी सांसदहरु उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामीलाई समय दिएका थिए । अछामीले घिसिङको बर्खास्तीको निर्णयबारे प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने बताए त्यसपछि अध्यक्षले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् । विपक्षीको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको बैठक अझै बस्न सकेको छैन ।

भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेशलाई नियमित विधेयका रुपमा अघि बढाउने भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा अध्यादेशलाई विधेयकका रुपमा अघि बढाउने सहमति जुटेको हो ।

अध्यादेश अघि बढाउँदा पास हुने स्थिति नबनेपछि सत्तारुढ दल विधेयकका रुपमा अघि बढाउन सहमत भएका नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

उनले भने, ‘अध्यादेश चैत १८ गतेभित्र प्रमाणीकरण भइसक्नुपर्छ । तर भूमिसम्बन्धी अध्यादेश अध्यादेशको रुपमा जानसक्ने अवस्था रहेन। त्यसैले यसलाई नियमित विधेयकमा लैजान दलहरूबीच सहमति भएको छ।’

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशमा साथ नदिएको बताएको छ । जसका कारण सरकार पछाडि हट्न बाध्य भएको हो ।

सरकारले संसद अधिवेशन नरहेका बेला ६ वटा अध्यादेश ल्याएको थियो । तर अन्य पाँच अध्यादेश भने संसदबाट पास भइसकेका छन् ।

रुस र युक्रेनबीच ‘व्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति

वासिङ्टन  । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताका क्रममा रुस र युक्रेनले ‘व्ल्याक सी’ र ऊर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न मङ्गलबार सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दशौँ हजार मानिसको ज्यान लिइसकेको युद्धको शीघ्र अन्त्यका लागि जोड दिइरहेका बेला अमेरिकी वार्ताकारहरूले साउदी अरबको राजधानी रियादमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच तीन दिनसम्म छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको कार्यालय (ह्वाइट हाउस) ले जारी गरेको वक्तव्यमा भनिएको छ, “दुबै देश ‘सुरक्षित नेभिगेसन सुनिश्चित गर्न, बल प्रयोग अन्त्य गर्न र ‘व्ल्याक सी’मा सैन्य उद्देश्यका लागि व्यापारिक जहाजको प्रयोग रोक्न सहमत भएका छन्।

दुबै देशमा ऊर्जा पूर्वाधारमा आक्रमणमा प्रतिबन्ध लगाउने उपायहरू पनि खोजी गर्ने सहमति भएको संयुक्त राज्य अमेरिकाले जनाएको छ ।

यसैबीच, क्रेमलिनले रूसको कृषि क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेपछि मात्र ‘ब्ल्याक सी’ मा आक्रमण रोक्ने सम्झौता लागू हुने बताएको छ ।

रुस र संयुक्त राज्य अमेरिकाले गत हप्ता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको ३० दिने ग्यास (इन्धन)को पाइपलाइन, विद्युत गृह र तेल प्रशोधन केन्द्रमा लागू हुने ऊर्जा युद्धविराममा सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको चर्को दबाबपछि कूटनीतितर्फ फर्केका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहायता र गुप्तचर आदानप्रदानमा केही समयका लागि प्रतिबन्ध लगाउनेलगायत सम्झौताले काम गर्छ कि गर्दैन भनेर अहिले नै भन्न नसकिने तर ती ‘सही कदम’ भएको बताएका छन् ।

जेलेन्स्कीले किएभमा आयोजित पत्रकार सम्मेलनमा भने, “वार्तामा भविष्यमा युद्धविरामका लागि तेस्रो पक्षलाई ल्याउने विषयमा पनि छलफल भएको छ ।

दुवै पक्षसँग सम्बन्ध कायम गरेको टर्कीले ‘ब्ल्याक सी’को अवस्थाको अनुगमन गर्न सक्ने र मध्यपूर्वी राष्ट्रले ऊर्जा सम्झौताको पर्यवेक्षण गर्न सक्ने उनले बताए ।

– कृषि क्षेत्रबारे प्रस्ताव –

सन् २०२२ मा युक्रेनमाथि आक्रमणको आदेश दिएदेखि नै पश्चिमा राष्ट्रहरूले पुटिनलाई बहिष्कृत गरेकोमा यसको अन्त्य गर्दै ट्रम्पले पदभार ग्रहण गरेपछि पुटिनसँग सीधै वार्ता गरेका थिए ।

यस सहकार्यको बदलामा संयुक्त राज्य अमेरिकाले रुसप्रति चालेको पहिलो ठोस कदममा ह्वाइट हाउसले ‘रुसी कृषि र मल निर्यातका लागि ‘विश्व बजारमा पहुँच पुनस्र्थापना गर्न मद्दत गर्ने’ बताएको छ।

संयुक्त राज्य अमेरिकाले रूसी कृषिमा प्रत्यक्ष रूपमा प्रतिबन्ध लगाएको थिएन तर अन्तर्राष्ट्रिय लेनदेनको लागि प्रयोग गरिने भुक्तानी प्रणालीमा पहुँचलाई सीमित गरेको थियो।

यो मुद्दा रुसका लागि एउटा प्रमुख चर्चाको विषय बन्यो। रुसले विश्वका विकासशील मुलुकहरूलाई अमेरिकी नीतिहरूले उच्च मूल्यमा योगदान पुर्याइरहेको बताएको थियो।

मस्कोले रुसी कृषि बैङ्क र खाद्यान्नको अन्तर्राष्ट्रिय व्यापारमा संलग्न अन्य वित्तीय संस्थाहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएपछि र सरल अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा पुनः जोडिएपछि मात्र यो सम्झौता लागू हुने बताएको छ ।

जेलेन्स्कीले अमेरिकी निर्णयबारे आफूलाई पूर्ण जानकारी नभएको बताउँदै चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, “यो स्थिति कमजोर हुनु र प्रतिबन्धहरू कमजोर हुनु हा भन्ने हामी विश्वास गर्छौं ।”

वार्तामा सहभागी युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले काला सागर सम्झौताका बारेमा विस्तृत अध्ययन भइरहेको बताएका छन् ।

उनले यदि रुसी युद्धपोतहरू ब्ल्याक सीको पूर्वी भागबाट हटेमा युक्रेनलाई आत्मरक्षाको अधिकार प्रयोग गर्ने पूर्ण अधिकार हुने बताए ।

युक्रेनले यसै महिनाको सुरुमा अमेरिकाले प्रस्ताव गरेको बिनाशर्त युद्धविरामका लागि सहमति जनाएको थियो, तर रुसले यसलाई अस्वीकार गरेको थियो।

– ‘नेपोलियन र हिटलर’–

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले मस्को व्यापक युद्धविरामका लागि सहमत हुन नजिक पुगेको र काला सागरमा पानीजहाज लाई प्राथमिकता दिएको कुनै सङ्केत दिएनन् ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको यसअघिको सम्झौताले युक्रेनको बन्दरगाहबाट लाखौं टन खाद्यान्न र अन्य खाद्यान्न निर्यात सुरक्षित रूपमा पठाउन अनुमति दिएको थियो, तर रुसले यो आफ्नो व्यापारका लागि फाइदाजनक नभएको गुनासो गरेको थियो।

अमेरिकाले कृषि निर्यातको घोषणा गर्नुअघि लाभरोभले पश्चिमा देशहरूले ’नेपोलियन र हिटलर’ले जस्तै रुसलाई ‘नियन्त्रण’ गर्न खोजेको आरोप लगाएका थिए।

जेलेन्स्कीले कुन कुन देशले आफ्नो देशमा शान्ति सैनिक पठाएर सम्भावित युद्धविराम सम्झौताको निरीक्षणका लागि सेना परिचालन गर्न सक्छन् भन्ने पेरिसमा हुन लागेको शिखर सम्मेलनबाट आफूले स्पष्ट हुने अपेक्षा गरेको बताएका छन् ।

साउदी अरबमा वार्ता भइरहेको समय रुस र युक्रेन दुवैले जमिनमा आक्रमण बढाइरहेको दाबी गरेका छन् । युक्रेनले आफ्नो हवाई प्रतिरक्षा एकाइले मङ्गलबार रुसले प्रक्षेपण गरेका १३९ मध्ये ७८ वटा ड्रोन खसालेको बताएको छ ।

युक्रेनको उत्तरपूर्वी सहर सुमीमा एक दिनअघि एक आवासीय क्षेत्रमा रुसी आक्रमणमा परी २३ बालबालिकासहित मृत्यु हुनेको सङ्ख्या १०१ पुगेको र एक वयस्क र एक बालकको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

रुसले महिनौँदेखि युद्धमोर्चाका केही क्षेत्रमा प्रगति गरेको छ र मङ्गलबार दक्षिणी र पूर्वी युक्रेनका थप दुई गाउँकब्जा गरेको दाबी गरेको छ । 

थाई प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

बैंकक । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले संसद्मा विश्वासको मत प्राप्त गरेकी छन् । संसद्मा विपक्षी दलहरूले उनी माथि उनका अर्बपति पिता एवं पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको कठपुतली भएको आरोप लगाएका थिए ।

दुई दिनसम्म चलेको चर्को बहसपछि अविश्वास प्रस्तावमा सांसदहरूले सात अनुपस्थितिका साथ एक सय ६२ का विरूद्ध तीन सय १९ मतले विश्वासको पक्षमा मतदान गरेकी थिइन् । विपक्षीले ३८ वर्षीया पेटोङटार्नको देशको व्यवस्थापन र उनको अनुभवहीनता माथि आक्रमण गरेको थियो ।

मतदान जितेपछि पेटोङटार्नले आफ्ना समर्थकहरूलाई धन्यवाद दिइन् । “पक्ष र विपक्षमा सबै मत मलाई र मन्त्रिपरिषद्लाई जनताका लागि कडा मेहनत गर्न उत्प्रेरित गर्ने शक्ति हुनेछ”, उनले फेसबुकमा लेखिन् ।

आधुनिक थाई राजनीतिका सबैभन्दा प्रभावशाली तर विवादास्पद नेता थाकसिन १५ वर्षको स्व–निर्वासनपछि सन् २०२३ मा देश फर्किएका थिए । उनले ऐतिहासिक भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा प्रहरी अस्पतालमा आठ वर्षको जेल सजायको केही महिना बिताएपछि राजाद्वारा क्षमादान पाए । यसले उनलाई सहजै व्यवहार गरिएको अफवाह फैलायो ।

सन् २००१–२००६ शासन अन्तर्गत ७५ वर्षीय थाकसिन समृद्ध लाखौँ गरिब थाईबीच अझै पनि लोकप्रिय छन् । तर, उनलाई भ्रष्ट र चतुर मान्ने राज्यको रूढीवादी शीर्ष वर्गले तिरस्कार गरेको छ ।

पूर्वप्रधानमन्त्री श्रेत्था थाविसिनलाई अदालती आदेशद्वारा हटाइएपछि थाक्सिनले स्थापना गरेको राजनीतिक आन्दोलनको पछिल्लो रूप फेउ थाई पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकारको नेतृत्वमा पेटोङटार्न गत वर्ष प्रधानमन्त्री बने । चर्चा अवधिमा मुख्य विपक्षी पिपुल्स पार्टीका सांसद रङ्सिमान रोमले पेटोङटार्न माथि आफ्ना पितालाई विशेष व्यवहार गरेको आरोप लगाए ।

आफू प्रधानमन्त्री बन्नुभन्दा केही महिनाअघि मात्र आफ्ना पिताले राजकीय क्षमादान पाएको औँल्याउँदै पेटोङटार्नले उक्त आरोपलाई अस्वीकार गरिन् । विपक्षी सांसदहरूले पेटोङटार्नमाथि कर चुहावट र गत महिनाको अन्त्यमा चीनलाई पठाइएका ४० उइगुर मुद्दालाई गलत तरिकाले सम्हालेको आरोप लगाए ।

उइगुरहरूको स्वदेश फिर्तीले अन्तर्राष्ट्रिय निन्दा निम्त्यायो र वासिङ्टनले केही थाई अधिकारी माथि भिसा प्रतिबन्ध लगायो ।

दक्षिण कोरियामा डढेलोमा परी १८ जनाको मृत्यु, २७ हजार विस्थापित

सियोल ।  दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ । अधिकारीहरूका अनुसार आगलागीले १८ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएको तथा २७ हजार मानिसलाई विस्थापित हुन बाध्य पारेको छ ।

आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक दक्षिणपूर्वी उइसेङ जङ्गलमा लागेको डढेलो निभाउने प्रयासमा एउटा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । कोरिया वन सेवाले उद्धार कार्य जारी रहेको र विमानमा एक पाइलट मात्र थिए भन्ने अनुमान गरेको छ ।

एक प्राचीन बौद्ध मन्दिर, घरहरू, कारखानाहरू र सवारीसाधनहरू लगायत संरचनाहरू नष्ट भएका छन् । आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको र १९ जना घाइते भएको सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ ।

टेलिभिजन सम्बोधनमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सुले गत शुक्रबार सुरु भएको डढेलोले विगतका अन्य धेरै डढेलोको तुलनामा बढी क्षति पुर्‍याएको बताए । ‘क्षतिहरू बढ्दै छन्’, हानले भने, ‘हामीसँग यस्ता डढेलोका क्षतिहरू हुन सक्छन् जुन हामीले पहिले कहिल्यै अनुभव गरेका छैनौँ, त्यसैले हामीले यो हप्ताको बाँकी समयमा सबै डढेलोलाई निभाउन हाम्रा सबै क्षमताहरू केन्द्रित गर्नुपर्छ ।’

हानले रातभरको तीव्र हावाले क्षेत्रहरूमा डढेलो निभाउन कर्मचारीहरूले कठिनाई भोगिरहेको बताए । उनले करिब चार हजार छ सय ५० अग्नि नियन्त्रक, सैनिक र अन्य कर्मचारीहरूले करिब एक सय ३० हेलिकप्टरको सहयोगमा डढेलो निभाउन काम गरिरहेको बताए । उनले बिहीबार केही मात्रामा ५–१० मिलिमिटर पानी पर्ने अपेक्षा गरिएको बताए ।

पर्यवेक्षकहरूका अनुसार जारी डढेलो दक्षिण कोरियामा जमिन जलेको सन्दर्भमा तेस्रो ठूलो हो । अग्नि नियन्त्रकहरूले सुक्खा बतासका कारण आगलागी नियन्त्रण गर्न संघर्ष गरिरहेकाले धेरै दक्षिणपूर्वी शहर र सहरका अधिकारीहरूले मङ्गलबार बासिन्दाहरूलाई खाली गर्न आदेश दिएका थिए । दक्षिण कोरियाको गृह मन्त्रालयका अनुसार सबैभन्दा ठूलो आगलागी अन्डोङ, छिमेकी र उइसेङ र सान्चेओङ काउन्टी तथा उल्सान सहरमा भएको थियो ।

यसअघि मङ्गलबार अधिकारीहरूले ती क्षेत्रमा सबैभन्दा ठूलो डढेलोमध्ये अधिकांश निभाएको तर हावा र सुक्खा अवस्थाले आगो फेरि फैलिएको बताएका थिए । तर हावा बढेपछि आगो निभाउने प्रयासहरू रातारात आंशिक रूपमा स्थगित गरियो ।

उइसेङमा आगलागीले गाउन्सा मन्दिरका ३० भन्दा बढी संरचनामध्ये करिब आधा नष्ट गरेको छ । यी संरचना मूल रूपमा सातौँ शताब्दीमा निर्माण गरिएको थियो । नष्ट भएका संरचनामध्ये दुई राज्य–निर्दिष्ट ‘खजाना’ –सन् १६६८ मा बनेको खोलामा बनाइएको मण्डप–आकारको संरचना र सन् १९०४ मा राजाको दीर्घायुको अभिव्यक्तिका लागि निर्माण गरिएको जोसेओन राजवंशको संरचना थिए ।

सरकारी र बौद्ध अधिकारीहरूका अनुसार मन्दिरको अर्को राज्य–निर्दिष्ट ‘खजाना’ आठौँ शताब्दीमा निर्मित ढुङ्गाको बुद्ध मूर्तिलाई सुरक्षित स्थानमा सारिएको थियो । कोरिया वन सेवाले मङ्गलबार राष्ट्रव्यापी रूपमा डढेलोको चेतावनी उच्च ‘गम्भीर’ स्तरमा बढाएको छ । यसले स्थानीय सरकारहरूलाई आपत्कालीन प्रतिक्रियामा थप कामदारहरू नियुक्त गर्न, वन र पार्कहरूका लागि प्रवेश प्रतिबन्धहरू कडा गर्न र सैन्य एकाइहरूलाई प्रत्यक्ष–आगो अभ्यास रोक्न सिफारिस गर्न आवश्यक परेको छ ।

अधिकारीहरूका अनुसार मृतक १८ जना मध्ये चार जना अग्नि नियन्त्रक र सरकारी कर्मचारी छन् । उनीहरू शनिबार सान्चेओङमा तीव्र हावाले गर्दा आगोको ज्वालामा फसेपछि मारिएका थिए । सरकारी अधिकारीहरूले मानवीय त्रुटि सम्भवतः पारिवारिक चिहानहरूमा बढेको घाँस वा वेल्डिङको कामबाट स्पार्कहरू सफा गर्दा आगोको प्रयोगका कारण धेरै आगलागी निम्त्याएको आशङ्का गर्छन् ।

बझाङमा एसईई परीक्षा बिग्रीएको भन्दै किशोरीले गरिन् आत्महत्या

बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको केदारस्युँ गाउँपालिका-१, रायलकी १७ वर्षीया आकांक्षा मल्ल घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार मल्ल मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन्।

बेलुका कोठामा झुण्डिएको अवस्थामा भेटिएकी मल्लको सुसाइड नोट पनि फेला परेको छ। नोटमा उनले आफू कसैको कारणले नभई आफ्नै कारणले आत्महत्याको बाटो रोजेको उल्लेख गरेकी छन्।

प्रहरीका अनुसार कारण भने उल्लेख छैन। परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

केदारस्युँ गाउँपालिका-१, स्थित गर्जेपानी माधयमिक विद्यालय रायलमा अध्ययरत थिइन्, आंकाक्षा उनका बुवा पूर्ण त्यही विद्यालयका शिक्षक हुन्।

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी(फोटोफिचर)

इटहरी । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित भवनमा एक्कासी आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ ।

भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।

आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ ।

भवनभित्र फसेका मानिसको सकुशल उद्धारसहित यथासक्य छिटो आगो नियन्त्रण गर्न सघाउ पुर्याउने उद्देश्यले अहिले नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

तस्बिरः प्रदेश खबरबाट

कुलमानको बर्खास्ती बक्यौता उठाउन नदिने सरकारको उद्देश्यः माओवादी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको भन्दै आपत्ति जनाएको छ ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं विचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाइएको भन्दै आपत्ति जनाएका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय फिर्ता हुनुपर्ने भन्दै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । उनले स्पष्टीकरणको नौटंकी रचेर आफ्नो गलत कुरा छोप्न घिसिङलाई हटाइएको बताए । उनले घिसिङलाई हटाएर सरकार बिचौलियाको पक्षमा उभिएको बताए ।

सांसद बस्नेतले चार महिना सरकार टिकाउन सकिन्छ भन्ने आत्मविश्वास गुमाएकाले घिसिङलाई हटाइएको आरोप लगाए ।

उनले भने, ‘यो हदको मानमर्दन किन गर्यो ? सरकारलाई चार महिना पनि टिक्न सकिन्छ भन्ने विश्वास गुमाएकाले होला चार महिना अगावै सरकार विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकलाई बर्खास्ती गर्ने निर्णयमा पुगेको छ ।’

उनले कुलमानको बर्खास्ती बक्यौता उठाउन नदिने सरकारको मुख्य उद्देश्य रहेको बताए । उनले भने,’कुलमानको बर्खास्ती बक्यौता उठाउन नदिने,माफियाहरूको स्वार्थ पूरा गर्ने,प्राधिकरणलाई बिचौलियाहरूको हातमा सुम्पिने खालको उद्देश्यमा छ भन्ने कुरा जनताले बुझेका छन्।’

बालुवाटारमा सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक

काठमाडौँ । सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटार बसिरहेको छ । बैठकमा सङ्घीय संसदमा विचाराधीन विधेयकहरूलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्याउन पहल गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता पक्षीय दलका शीर्ष नेताको बैठकमा विचाराधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको थियो ।

बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामयिक विषयमा छलफल भएको थियो । तर बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि अध्यादेशमा सहमति जुटाउने प्रयास असफल भएको थियो ।

प्रतिनिधिसभामा विपक्षीहरुको अवरोध, कुलमानलाई हटाएकोबारेमा प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं । विपक्षी दलहरुलेप्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । बुधबारको बैठक सुरु हुनासाथ नेकपा माओवादीका सांसद शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाइएको भन्दै यसबारे प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने बताए ।

त्यसपछि विपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन् । विपक्षी दलका सांसद उठेर विरोध जनाइरहँदा सभामुख देवराज घिमिरेले पटक पटक बैठक संचालनका लागि आग्रह गरिरहेका छन् । विपक्षीको विरोध जारी रहेपछि सभामुखले आधाघण्टाका लागि बैठक स्थगित गरेका छन् ।