`

विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको सुरुवात, संयुक्त विज्ञप्ति आजै आउने

काठमाडौं । देशको बदलिँदो राजनीतिक परिदृश्यबीच बाम आन्दोलनका तीन शीर्ष नेताहरू नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्र परित्याग गरेका पूर्व अर्थमन्त्री जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल नयाँ सहकार्यका लागि तयार भएका छन् । आज (शुक्रबार) बिहान हरिसिद्धीस्थित विप्लव निवासमा भएको भेटवार्तापछि ती तीन नेताबीच मुलुकको राजनीतिक अन्योल समाधान र बाम शक्तिहरूबीच नयाँ सहकार्यको ढाँचा निर्माण गर्ने सहमति बनेको स्रोतले बताएको छ ।

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घनश्याम भूसालले सहकार्यको सुरुवातलाई ‘नयाँ दिशातर्फको कदम’ भन्दै यसलाई एकीकरणको रूपमा नलिन आग्रह गरे । उनले भने, ‘हामी एकताबद्ध भएर जानेछौं, तर एकीकरण भन्ने भ्रम नपाल्न आग्रह गर्दछु । देशको वर्तमान राजनीतिक आवश्यकताअनुसार सहकार्यलाई विस्तार र घनिभूत बनाउँदै लैजाने छौं ।’ भूसालले विगतमा पनि तीन नेताबीच सहकार्यको अभ्यास भएको बताउँदै अहिले त्यसलाई पुनः सक्रिय र संगठित रूपमा अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।

भेटमा देशको पछिल्लो राजनीतिक अस्थिरता, कम्युनिष्ट आन्दोलनको दिशाहीनता र वाम शक्तिहरूबीचको दूरी घटाउने उपायबारे विस्तृत छलफल भएको बताइएको छ । बैठकमा सहकार्यको औपचारिक रूपरेखा र राजनीतिक प्रतिवद्धताबारे मस्यौदा तयार पार्ने सहमति भएको र त्यसको विवरणसहितको संयुक्त विज्ञप्ति आजै सार्वजनिक गरिने जनाइएको छ । यसैबीच नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकता प्रक्रियापछि दुवै नेता आफ्ना–आफ्ना स्वतन्त्र अभियानमा लागेका छन् ।

जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ को नाममा युवालाई एकीकृत गर्दै नयाँ राजनीतिक अभियान थालेका छन् । भूसालले भने एकीकृत समाजवादीभित्र एकता प्रक्रियाबाट अलग भएका कार्यकर्तालाई एकजुट गर्दै नयाँ आन्दोलनको तयारी गरिरहेका छन् । उता, विप्लव नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा अन्तरिम सरकार गठनलगायतका मागसहित र्‍याली र जनसभा गरेको छ । सभामा विप्लवले सच्चा कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य भएको भन्दै नयाँ राजनीतिक ध्रुवीकरणको संकेत दिएका थिए । यी घटनाक्रमले बाम राजनीतिमा नयाँ समीकरण बन्ने संकेत गरेको विश्लेषकहरूको ठम्याइ छ । तीन नेताको आजै आउने भनिएको संयुक्त विज्ञप्तिले यस सहकार्यको स्वरूप र भविष्यको दिशाबारे थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।

चितवनमा रास्वपाको विस्तारित वैठक सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकको केही बेरअघि उद्घाटन भएको छ । बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना प्रस्तुत गर्ने र महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक संरचनाको प्रस्तावना पेस गर्ने प्रवक्ता मनिष झाले बताए ।

बैठकमा केन्द्रीय समितिसहित प्रदेश, जिल्ला तथा क्षेत्रका पदाधिकारीहरू प्रतिनिधिकारुपमा सहभागी छन् । प्रस्तावमाथि समूह विभाजन गरेर छलफल हुने उनले बताए । बैठकमा सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षरको प्रतिवेदन प्रस्तुत दीपक बोहराले प्रस्तुत गर्ने तय भएको छ । यस्तै बैठकले आगामी महाधिवेशनदेखि नयाँ वैकल्पिक शक्तिहरूसँग एकता वा सहकार्यबारे भइरहेको छलफलबारे पनि निर्णय गर्नेछ ।

पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

हात्तीवनस्थित संयोजक दाहालको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकतालगायत विषयमो छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिएका छन् ।

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ । स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।

शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने छ । दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ । यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् ।

बालबालिकामा कुपोषणको जोखिम हुननदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

मेलम्चीको पानी पूर्ण रूपमा रोकियो

काठमाडौँ । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् ।

मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए।

उनले भने, “गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गरेका हुन् । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोेदेखि काठमाडौँमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ ।”

विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो ।

मेलम्चीको पानी काठमाडौँमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए । सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

आँखा शिविरबाट २४२ जना लाभान्वित

जुम्ला । सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरमा २४२ जना लाभान्वित रहेका छन् ।

बिहीबार सम्पन्न दुईदिने निःशुल्क शिविरमा ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको सिन्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिएका छन् । शिविरमा १२६ महिला र ११६ जना पुरुषले सेवा लिएका थिए । बिरामीको आवतजावतदेखि आवाससम्मको खँर्च गाउँपालिकाले व्यवस्थापन गरेको हो ।

नागरिकको इच्छाअनुसार स्थानीय सरकारले स्वास्थ्य सेवालाई गाउँ केन्द्रित गरेको सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताएका छन् ।

यसैबीच, चालु आर्थिक वर्षको प्रथम तीन महिनामा जिल्लाका एक हजार ४७० जनाको नेत्र परीक्षण गरिएको यहाँस्थित नेत्रज्योति सङ्घले जनाएको छ । गत आवमा पाँच हजार ७०० जनाले सेवा लिएका थिए ।

चितवनमा रास्वपाको विस्तारित बैठक सुरु

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा सुरु भएको छ । सौराहास्थित सभा हलमा बैठक बसिरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने प्रवक्ता झाले जानकारी दिए ।

गृहमन्त्री अर्यालको पक्षमा उभिइन् रक्षा, सुदनलाई जवाफ–राजीनामा चाहँदैनौं

काठमाडौं । नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा आवश्यक नभएको बताएकी छन् ।सरकार पक्षसँगका वार्ताहरूमा जेनजीका तर्फबाट अघि सरिरहेका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागे लगत्तै जेनजी आन्दोलनका एक अगुवा तथा ‘जेन–जी फ्रन्ट नेपाल’ का संयोजक रक्षा बमले त्यसको खण्डन गरेकी छन् ।

बमले आफूहरूले गृहमन्त्रीको राजीनामा होइन, परिणाम र काम चाहेको बताएकी छिन् । ‘हामी नागरिक सरकारको पक्षमा छौँ तर खबरदारी निरन्तर गर्छौँ’, उनले बिहीबार सामाजिक सञ्जालमा लेखेकी छन्, गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौं ।’

यसअघि सुदन गुरुङले गृहमन्त्री अर्यालले काम गर्न नसकेको भन्दै पद छाड्नु पर्ने बताएका थिए । ‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सुदनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् । देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्या समेत सहेर बसें । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ । कज मैले सोचेको थिएँ, कामले देखाउँछ र कामले बोल्छ । अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु तर, अब तपाईँबाट आशा मरिसकेको छ ।’

गृहले प्रहरी निरीक्षक अनु लामालाई सोध्यो स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनु लामालाई स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो ।

लामा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत छिन् । सूचना अनुसार उनी ४५ दिनदेखि कार्यालयमा उपस्थित छैनन् । १० दिनको बिदा लिएर असार २५ गते बिदामा बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन् ।

२० दिनको बिदा सकाएर साउन १६ गते कार्यालयमा हाजिर हुनुपर्नेमा त्यसयता कसैलाई जानकारी नगराई गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनमा उल्लेख छ । त्यसपछि खोजतलास र सूचना टाँस गराउँदा समेत अनुपस्थित भएपछि सार्वजनिक सूचना जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सूचना प्रकाशित भएको ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन गृहले निर्देशन दिएको छ । ‘अन्यथा तपाईं उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को बिदा स्वीकृत नगराई लगातार ४५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कसूरमा ऐ. नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम ’भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ कारवाही भइ जानेछ,’ सूचनामा भनिएको छ ।

हेर्नुस् सूचना

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता, तस्बिरहरू

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फिर्ता भएका छन् ।

आज साँझ उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गरे ।  सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल सोमबार प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा प्रस्थान गरेका थिए।

दोहामा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार आयोजना गरिएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई सम्बोधन गरेका थिए। साथै उनले गरिबी निवारण, उत्पादक रोजगारी र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच बैठकमा समेत मन्तव्य राखेका थिए।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए। साथै उनले कतार राष्ट्रिय संग्रहालयको अवलोकन समेत गरेका थिए।

सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक आयोजित ‘सामाजिक विकासका लागि विश्व शिखर सम्मेलन’पछि दोहामा दोस्रो संस्करण सम्पन्न भएको हो। यस सम्मेलनमा विश्वभरका देशहरूले विकासको असमानता, जनसङ्ख्या असन्तुलन र प्रविधिको प्रभावका विषयमा छलफल गरेका थिए।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले नेपालले शान्ति, विकास र स्थायित्वका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिएको छ।

माधव नेपालले पार्टी बनाउन नसकेर प्रचण्डकहाँ गएको ओलीको टिप्पणी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालमाथि पार्टी बनाउन नसकेर झोला बोकेर प्रचण्डकहाँ पुगेको टिप्पणी गरेका छन्।

बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पार्टीको गीत विमोचन कार्यक्रममा बोल्दै झलनाथ खनाल पनि अस्ति रातिसम्म आफूकहाँ आएर नजाने बताएपछि हिजो पुगेको भन्दै व्यंग्य गरे। उनले भने, ‘माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमसहित धेरै जानुभएको थियो नि पार्टी बनाउँछु भनेर, अहिले माधव नेपाल झोला बोकेर प्रचण्डकहाँ पुग्नुभयो।’

उनले झलनाथ खनालसँगको भेटमा आफूले सिद्धान्त भन्दा पदको कुरा गर्न भनेको बताए।

उनले थपे, ‘झलनाथजी अस्ति राति १२ बजेसम्म यही हुनुहुन्थ्यो। उता जाँदै जान्न भन्नुहुन्थ्यो, हिजो बिहानै के भएछ कुन्नि, फेरि पुग्नुभएछ। उहाँले सिद्धान्तको कुरा गर्नुहुन्थ्यो, उहाँलाई चाहिएको छ पद सिद्धान्तको होइन पदको कुरा गरौँ भनेको थिएँ। सिद्धान्तको लफडा बेकारको। आफ्नो अहङ्कारले पार्टी फुटाउँछन् अनि सिद्धान्तको लेप लगाउँछन्। पार्टी फुटाउने कुरा कुनै सिद्धान्तले दिन्छरु ’

 

एकसाथ २१ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । सरकारले २१ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २१ सहसचिवको सरुवा गरेको हो । सरुवा भएका हरू १४ जना प्रशासन सेवाका, ४ जना विविध सेवाका र ३ जना नेपाल इन्जिनियरिङ सेवाका छन् ।

देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरियो : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उनले सो कुरा बताएका हुन् ।  अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर समेत गरे ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको बताए । संविधान विपरीत प्रतिनिधि सभा विघटन गरेकाले आफूहरूले त्यसको पुनःस्थापनाको माग गरेर अघि बढ्नुपरेको अध्यक्ष ओलीको तर्क थियो ।

उनले भने, ‘यो असंवैधानिक सरकारले प्रतिनिधि सभा किन भङ्ग गरेको हो ? भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो । यो असंवैधानिक ढङ्गले भङ्ग गरेको छ । सिफारिस गर्ने हैसियतनै नभएकाहरूले सिफारिस गरेको छ । र संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भङ्ग गर्नु भएको छ । गर्नु हुँदैनथ्यो थियो । त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनस्थापनाको माग गर्दछौ । त्यसका लागि आन्दोलन गर्दछौँ । र अगाडि बढ्छौँ ।’

अध्यक्ष ओलीले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन पनि आफ्नो पार्टी युथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णय गरेको समेत बताए ।

पार्टी एकताअघि नै भुसाल र झाँक्रीसहित ६ नेतामाथि माधव नेपालको कारवाही

काठमाडौं । नेकपा माओवादीसहित १० वाम दलबीच एकता घोषणाकै दिन माधव नेपालले महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेका छन् । हिजो एकता घोषणाअघि सचिवालय बैठक राखेर ६ जनालाई पार्टी सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएका छन् । कारबाहीमा पर्नेमा महासचिव भुसालसहित रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बञ्जाडे, धर्मराज निरौला र किसान श्रेष्ठ छन् ।

कारबाहीमा परेका व्यक्तिहरुले पार्टीको नाम र पदको दुरुपयोग गरेर कुनै गतिविधि गरे थप कारबाही गर्ने चेतावनी समेत दिएका छन् । यद्यपि, भुसालले भने पार्टी पुनर्गठन गर्ने घोषणा गर्ने मंसिर पहिलो साता बस्नेगरी राष्ट्रिय भेला बोलाएका छन् । कारवाहीको पत्र विहीवार सार्वजनिक भए पनि मिति भने बुधवार अर्थात कात्तिक १९ कै राखिएको छ । यद्यपी यो कारवाहीको पत्र अहिले केहीबेर अघि मात्र नेकपा एसको साबिक मेसेन्जर ग्रुपमा हालिएको हो ।

स्थानीयले बन्द गरे मेलम्ची खानेपानीको पानी पथान्तरण

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्णरुपमा बन्द गरेका छन् । विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेका हुन् । आफूहरुको माग पूरा नभएसम्मका लागि पानी पथान्तरण पूर्णरुपमा बन्द गरेको स्थानीयले बताएका छन् ।

मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्रि गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ । स्थानीहरुले बाढी प्रभावितलाई आवश्यक राहत वितरण गरर्नुपर्ने र आयोजनाका बोर्ड सदस्यहरुको सम्पति विवरण सार्वजनिक गर्न समेत माग राखेका छन् ।

ब्लुमबर्गद्वारा मिथेन उत्सर्जन घटाउन १० करोड डलरको लगानी घोषणा

वासिङ्टन । अमेरिकी अर्बपति तथा न्युयोर्कका पूर्व मेयर माइक ब्लुमबर्गले आफ्नो परोपकारी संस्था ब्लुमबर्ग फिलान्थ्रोपीजमार्फत मिथेन ग्यासको उत्सर्जन घटाउने उद्देश्यले १० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

मिथेनलाई जलवायु परिवर्तनको ‘सुपर प्रदूषक’ हरितगृह ग्यासहरूमध्ये एक मानिन्छ र पछिल्ला वर्षहरूमा यो विषय अन्तर्राष्ट्रिय वार्ताको केन्द्रीय मुद्दा बन्दै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आगामी वार्षिक जलवायु सम्मेलन (कोप–३०)अगाडि विश्व नेताहरू ब्राजिलको अमेजन क्षेत्रमा भेट गर्न तयारी गरिरहेका बेला यो घोषणा गरिएको हो ।

८३ वर्षीय ब्लुमबर्गले पत्रकारहरूसँगको संवादमा भने, “मिथेन उत्सर्जन जलवायु परिवर्तनका प्रमुख कारणहरू मध्ये एक हो, तर यसलाई नियन्त्रण गर्न सक्ने हाम्रो सबैभन्दा ठूलो अवसर पनि यही हो ।”

ब्लुमबर्ग फिलान्थ्रोपीजले विगत केही वर्षदेखि तेल, ग्यास र कोइला उद्योगबाट हुने मिथेन चुहावटको निगरानी गर्न उपग्रह प्रणाली सञ्चालनमा सहयोग पुर्‍याउँदै आएको छ । यसका लागि संस्थाले कार्बन म्यापर लगायतका साझेदारहरूसँग सहकार्य गर्दै ती चुहावटहरू सार्वजनिक गर्न र जिम्मेवार कम्पनीहरूलाई कारबाही गर्न प्रेरित गर्ने अभियान चलाइरहेको छ ।

यस नयाँ १० करोड डलरको लगानीले ब्लुमबर्गले सन् २०१९ देखि यस क्षेत्रमा प्रतिबद्ध गरेको कुल रकमलाई १७ करोड २० लाख डलरमा पुर्‍याउनेछ । यो रकम मिथेन उत्सर्जन घटाउने प्रयासहरूलाई अझ सशक्त बनाउने उद्देश्यले विनियोजन गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ब्लुमबर्गको यो कदमको प्रशंसा गर्दै आफ्नो राष्ट्र ‘जलवायु, स्वास्थ्य र साझा भविष्यका लागि ठोस परिणामहरू ल्याउने प्रयत्नमा ब्लुमबर्ग फिलान्थ्रोपीज र साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको’ बताएको छ ।

फ्रान्सले आगामी नोभेम्बर १० देखि २१ तारिखसम्म ब्राजिलको बेलेम सहरमा आयोजना हुने कोप–३० सम्मेलनअघि नै मिथेन उत्सर्जनलाई प्राथमिक मुद्दा बनाउने प्रयास गरिरहेको छ । वैज्ञानिकहरूका अनुसार हालको ग्लोबल वार्मिङको करिब एक–तिहाइ हिस्सा मिथेन ग्यासकै कारण हो ।

मिथेन ग्यासले २० वर्षको अवधिमा कार्बन डाइअक्साइडभन्दा करिब ८० गुणा बढी शक्तिशाली प्रभाव पार्दछ । यद्यपि यो वातावरणमा तुलनात्मक रूपमा छिटो विघटन हुन्छ । यसको मुख्य स्रोतहरू कृषि क्षेत्र, जीवाश्म इन्धनको उत्खनन र फोहोर व्यवस्थापन (ल्यान्डफिल)हुन् ।

“हामीले जीवाश्म इन्धन अपरेटरहरूलाई आफ्नो उत्पादित प्राकृतिक ग्यासको कम्तीमा ९८ प्रतिशत कब्जा गर्न र अनावश्यक रूपमा फ्लेयरिङ (ग्यास जलाउने प्रक्रिया)गर्न नदिने कठोर नियम लागू गरेका छौँ”, सोही पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी राज्य न्युमेक्सिकोकी गभर्नर मिशेल लुजान ग्रिसमले भने, “यी लगानीहरू र स्याटेलाइट इमेजरीहरूले हामीलाई वास्तविक प्रगति मापन गर्न सहयोग पु¥याउनेछन् ।”

अर्कोतर्फ राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सङ्घीय सरकारले जलवायु नीतिमा चासो घटाएको र कोप कार्यक्रमबाट दूरी बनाएको आलोचना भइरहे पनि कार्बन म्यापरका विज्ञ रिले डुरेनका अनुसार टेक्सासजस्ता कन्जरभेटिभ राज्यका कम्पनी र नियामक संस्थाहरू पनि मिथेन चुहावटको तथ्याङ्कप्रति जिम्मेवार बन्न थालेका छन्, किनभने उनीहरूका लागि यो विषय स्थानीय सुरक्षा र जनस्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ ।

ब्लुमबर्गको यो नयाँ लगानीले विश्वभर मिथेन उत्सर्जन नियन्त्रणका प्रयासहरूलाई गति दिने र जलवायु सङ्कट विरुद्धको अभियानमा ठोस मोड ल्याउने अपेक्षा गरिएको छ ।

रामराज्य ल्याइदिउँ जस्तो लाग्छ तर, भन्ने बित्तिकै सबै हुँदैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा देशभित्र र बाहिरका दृश्य, अदृश्य शक्तिहरुले काम गरिरहने हुँदा भनेअनुसार सबै काम गर्न नसकिने बताए । ती शक्तिहरुसँग सन्तुलन मिलाएर अघि बढ्दै आफ्ना एजेण्डाहरु लागू गर्नुपर्ने उनको भनाई छ ।

रामराज्य ल्याई दिउँ भन्ने चाहना भए पनि भन्ने बित्तिकै केही नहुने टिप्पणी गरे । उनले अबको लोकतन्त्र समावेशी र सहभागीयुक्त हुनुपर्ने बताए । गणतन्त्रको विकल्प नभएको उल्लेख गर्दै उनले वंशाणुगत जन्मजात नै कोही राजा हुनुपर्ने अलोकतान्त्रिक व्यवस्था मान्य नहुने बताए । उनले नेपालको संविधानमा वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गिक र जातपातजन्य वर्ण विरोधको अन्त्यगर्नेगरी राज्यको पुनर्संरचना गर्ने भन्ने उल्लेख भएकोले सोहीअनुरुप अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘राजनीतिमा बढो ख्याल गर्नुस् तपाईहरुले सबै देखेको मात्रै हुँदैन, कही अदृश्य शक्तिहरुले काम गरिरहेका हुन्छन् । त्योसँग तपाईले एकैचोटी शक्ति सन्तुलन मिलाएर लढ्न सक्नु भएन भने झोक उठ्दा त सबैलाई सिध्याईदिउँ क्यारे । अहिले नै रामराज्य ल्याईदिउँ क्यारे भनेजस्तो लाग्छ तपाईलाई । त्यो सपना त बोक्नुपर्छ । तर लडाईँ लड्दाखेरी तपाई हात्तिसँग कुस्ती खेल्नु पर्‍यो के गर्नुहुन्छ, कुस्ती खेल्न सक्नुहुन्छ तपाई हात्तीसंग लड्दाखेरी ? हात्तिसंग कुस्ती खेल्ने त होईन । हात्तिलाई त जुक्तिले माउतेले जस्तो गरेर अंकुश लगाएर त्यसलाई नियन्त्रण गरे अनि आफ्नो गन्तब्यमा जानुपर्छ । त्यसो भएको हुनाले हामीले त्यो ढंगले चाँही गर्‍यौँ ।’

उनले भने, ‘यो मुद्दा पनि सँगसँगै सम्बोधन गर्नुपर्छ । अवको लोकतन्त्र, अबको गणतन्त्र, राजतन्त्र फ्याक्ने मात्रै होईन । गणतन्त्र त चाहियो, त्यो वंशानुगत जन्मजात नै कोही चाँही ठुलो हुन्छ, त्यो पनि छोरो नै राजा हुनुपर्ने, निश्चित जातिकै हुनुपर्ने भन्ने त सोझै अलोकतान्त्रिक हो नी त्यो त । त्यो विषय त मध्ययुगिन कुरा थियो, हामी कहाँ पछिसम्म टासिँयो । त्यो त चाहियो चाहियो । संगसंगै लोकतन्त्र पनि अप्रत्यक्ष भोट हाल्ने मात्रै लोकतन्त्र होईन । अथवा पुँजीवादी हाम्रा काँग्रेसहरुले भनेजस्तो लोकतन्त्र पनि पूर्ण हुँदैन । कम्युनिष्टले भन्ने वर्ग मात्रै भनेर अरु कुरा छाडेर वर्गको नाममा आजिवन सत्तामा बसेर वर्गको उत्थानीकरण त हुन्छ त उसको त । त्यसकारण जुन भ्रष्टिकरण भएको थियो, त्यो भन्दा माथी उठेको लोकतन्त्र समावेशी र सहभागीयुक्त लोकतन्त्र चाहिन्छ ।’ जेन–जी अगुवा अमित खनालले नेपालका राजनितक दलहरुको विचारमा परिवर्तन हुन नसकेको बताए । मार्क्सबाट लेनिन, लेनिनबाट माओ आउँदै गर्दा केही न केही परिवर्तन भएको भएपनि नेपालमा राजनीतिक दलहरुको भने २०६३ सालमा बोकेका एजेण्डा अझै बोकेर हिँडिरहेको बताए ।

जेन–जी अगुवा माजिद अन्सारीले सुरक्षा निकायको भुमिकामाथि प्रश्न उठाए । प्रहरीले जेन–जी आन्दोलनका क्रममा लाठी चार्ज गर्नुपर्ने ठाउँमा प्रहरीले गोली चलाएको र राष्टको धरोहर बचाउनुपर्ने ठाउँमा देखा नै नपरेको उनको भनाई छ । उनले आन्दोलनकारीलाई बदनाम गर्ने चलन बढेको पनि बताए । आन्दोलनका क्रममा अराजकता मच्चाउनेलाई कारबाही गर्नुपर्ने भए पनि हाल मधेसी, मुसहर, दलित, जनजातिका अनुहार मात्रै पक्राउ परेको उल्लेख गरे । राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीवार जेनजी अगुवाहरुसँग अन्तरसंवाद कार्यक्रममा गरेको थियो ।

‘जेनजीको मुख्य मागलाई नै सरकारले बेवास्ता गर्‍यो’
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको बताएका छन् । उनले जेन–जी अगुवाहरुलाई आफ्ना माग सम्बोधन गराउनको लागि सरकारसँग सम्झौता गर्न सुझाव दिए । जेन–जी आन्दोलनको मुख्य माग नै भ्रष्टाचारीलाई कारबाही गर्ने भएपनि सरकारले अहिलेसम्म कारबाही प्रक्रिया अगाडी नबढाएको उनको भनाई छ ।

उनले ठूला भ्रष्टाचारी र भ्रष्टाचारका ठूला ठूला काण्डहरु छानविनको लागि प्रक्रिया अगाडी बढाउन दबाब दिन सुझाव दिए । उनले भदौ २३ को आन्दोलनको क्रममा भएका गोली प्रहारको पनि निष्पक्ष रुपमा छानविनको लागि दबाब बढाउन आग्रह गरे । उनले छानविनको लागि समिति बने पनि दोषीलाई कारबाही गर्न ढिलो भएको बताए । यसले गर्दा प्रमाण नष्ट हुने र दोषी उम्कने उनको दाबी छ । निर्वाचन गर्न पनि सरकारलाई दबाब दिनुपर्ने उहाँको भनाई छ । निर्वाचन नभएमा संविधान असफल हुने उनको भनाई छ ।

 

 

पाल्पाको सत्यवती मेला, जहाँ चिच्चाएर वर मागिन्छ (तस्बिरहरु)

काठमाडौँ । ताललाई तीन पटक घुम्ने, आफूले लगेको बाँसको पाती वा लिँगो तालको छेउमा गाड्ने, पूजा गर्ने र अनि चिच्चाएर वर माग्ने ताल छेउमा गाडेको लिंगो चिनेर पूजा गर्ने गरिन्छ । यो दृश्य हो पाल्पाको सत्यवती तालमा लाग्ने कार्तिके पूर्णिमा मेलाको ।

पाल्पाको कोलडाँडास्थित सत्यवती तालमा लागेको ५ दिने मेला अन्तर्गत अन्तिम दिन बुधबार अत्यधिक भीड लागेको थियो । मेला १५ गतेदेखि नै चले पनि मंगलबार बेलुकीदेखि बुधबार बेलुकीसम्म श्रद्धालुको भीड लागेको थियो । यहाँको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार २४ घण्टामा १ लाख ५० हजार भन्दा बढी श्रद्धालुले यसपटक सत्यवती बज्यैको दर्शन गरेका छन् ।

सत्यवती मेलामा पाल्पाबाहेक छिमेकका रुपन्देही, कपिलवस्तु, नवलपुर, अर्घाखाँची, स्याङ्जा साथै कास्की, बाग्लुङ्, काठमाडौ, तनहुँ, चितवनबाट श्रद्धालु आउने गर्छन् । यसबाहेक छिमेकी मुलुक भारतका गोरखपुर, सुनौली, नौतुना, बस्ती, नौगढसम्मबाट सत्यवती ताल र यहाँ रहेकी बहिरी बज्यैको दर्शन गर्न, मेला भर्न र भाकल पूरा हुनेहरु भाकल अनुसारको बोका, कुखुरा लिएर आउने गर्छन् ।

धार्मिक पर्यटकीय स्थल सत्यवती तालमा कान कम सुन्ने बज्यै भएको र चिच्चाएर वर माग्दा पुग्ने जनविश्वास रहेको छ । तालको वरपरको क्षेत्रमा बज्यै उत्पत्ति भएको विश्वास छ । कानले नसुन्ने भएकाले बज्यैलाई चिच्याएर वर माग्ने चलन रहेको जनविश्वास छ ।

 

कार्की सरकार गठनको पछाडि गम्भीर षड्यन्त्र छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै उनले सरकार गठनका पछाडि षड्यन्त्र लुकेको पनि टिप्पणी गरे । उनले जेन–जी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको पुष्टि गरेको पनि जिकिर गरे । उनले संसद विघटन भइसकेपछि कुशासन र भ्रष्टाचारमार्फत देश लुट्ने समूहहरु सक्रिय रहेको उल्लेख गर्दै जनताले प्रतिवाद गर्न तयार हुनुपर्ने बताए । महासचिव चन्दले संविधान संशोधन र पुनर्लेखनको आवश्यकता रहेको उल्लेख गर्दै राज्यको पुनःरचना जनताको हितअनुसार हुनुपर्नेमा जोड दिए । प्रशासनिक सुधार, विश्व विद्यालयस्तरबाट दक्ष प्रशासनिक जनशक्ति तयार पार्नुपर्ने र नेताहरूको सम्पती आर्जनको स्रोत छानबिन गर्नुपर्ने पनि उनको माग छ ।

उनले भने, ‘नेपालमा संसदीय व्यवस्था नराम्रोसँग असफल भयो । जेनजीले नै संसद र सरकारविरुद्ध नारा लगाए । हामीले पनि साथ दियौं । तर जेनजी आन्दोलन पनि सफलताको दिशामा छ । यदि जेनजीको मागहरु पुरा हुन नसके जेनजी आन्दोलन जनआन्दोलनभन्दा ठुलो विद्रोहको रुपमा अघि बढ्नसक्छ । त्यसैले समयमै हामी सबैले साच्नुपर्छ । आफ्नो आफ्नो रोटि सेक्ने होइन अधुरो क्रान्ति पुरा गर्ने समय छ । संसद विघटन त भएको छ तर देशलाई लुटेका लुटेराहरु खुला रुपमा भाषण गर्दै हिँडिरहेका छन् ।’

उनले भने, ‘हामीे जेनजी आन्दोलनलाई पुर्णतः सफल बनाउन हामीले केही अपिल गर्दै आएका छौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई छिटोभन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकारमा बदल्नुपर्छ । सरकारमा कार्कीसहितका मन्त्रीहरुलाई कसले ल्यायो । रहस्यमय तरिकाले सरकार गठन गरियो ? त्यसकारण षड्यन्त्रकारी कुराबाट अगाडि जाने कुराले मुलुकलाई ध्वस्त पारेको छ । संविधान संशोधन र पुर्नलेखन गर्नुपर्छ, त्यहीअनुसार राज्यको पुर्नसंरचना गर्नुपर्छ । अहिले पनि राज्यका संरचनाहरु नेपाली जनताका भएका छैनन् । आज नेताको सम्पतीहरु त जल्यो तर त्यो सम्पती कसरी आर्जन गरियो भन्ने कुराको खोजि गर्नुपर्छ कि पर्दैन ? प्रशासनिक संरचनाको सुधार गर्नुपर्छ । विश्वविद्यालयका विद्यार्थीहरुले प्रशासन चलाउनेगरी तयार बनाउनु पर्छ ।’ उनले जेनजी आन्दोदनका मागहरुप्रति राजनीतिक दलहरूले गम्भीर नभए देश फेरि अस्थिरतामा फस्न सक्ने चेतावनी समेत दिए ।

 

अनौठो ‘स्काई केभ’

म्याग्दी । सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल । झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृष्य अनौठो र सुन्दर देखिन्छ । पहाडको फेदीबाट हेर्दा आकाश देखिने भएकाले स्थानीयद्वारा ‘स्काई केभ’ (आकाशे गुफा)नामाकरण गरिएको छ ।

नारच्याङबाट अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने यो गुफा अनौठो र आकर्षक भएको स्थानीय माइकल पुनले बताए । “अन्नपूर्ण आधार शिविर आउनेजाने पर्यटकले पदमार्गबाट अनौठो मानेर पहाडको टुप्पोमा रहेको गुफा हेर्ने गरेका छन्”, उनले भने, “गुफासम्म पुग्ने पदमार्ग नभएकाले पर्यटक यहाँ पुग्न सकेका छैनन् ।”

मुख्यबाट ३० मिनेट हिँडेपछि समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइमा रहेको आकाशे गुफामा पुग्न सकिन्छ । करिब १५ मिटर लामो गुफा सुरुङ जस्तै रहेको पुनले बताए । गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग नभएकाले पैदालयात्रा जोखिम मानिएको उनको भनाइ छ ।

पुनका अनुसार गुफाभित्रैबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला तथा वरपरका पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । काठमाडौँबाट अन्नपूर्ण आधार शिविर घुम्न आएका सुजित भट्टले पहाडको टुप्पोमा कडा चट्टानले बनेको स्काई केभ अनौठो लागेको प्रतिक्रिया दिए । “टाढैबाट हेर्दा पनि गुफाका विषयमा धेरै उत्सुकता जाग्यो”, उनले भने, “सम्बन्धित ठाउँमै पुगेर अवलोकन गर्ने सुविधा भएमा कौतूहलता मेटिने थियो ।”

नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले स्काई केभ पदमार्गको एक आकर्षण भएको बताए। “विसं २०६८ मा मौरिस हर्जोग पदमार्गको अध्ययनका क्रममा स्काई केभ पनि पहिचान भएको थियो”, उनले भने, “पदमार्गसँगै रहेका अन्य स्थानमा आधारभूत पूर्वाधार बनाएर पर्यटक आउने वातावरण बनाइएको छ ।”

स्काई केभसम्म पुग्ने पदमार्ग बनाएर भ्रमणमा आउने पर्यटकको बसाइँ लम्बाउने र सहायक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको गुरुङले जानकारी दिए । अन्नपूर्ण हिमालका प्रथम आरोहण टोलीका अगुवा फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा पदमार्ग घोषणा गरेको थियो ।

नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा दुई घण्टा गाडी र हुमखोलाबाट फुतफुते झरना, साँधीखर्क, गुफाँफाँट हुदै भुसकेत जाने पदमार्गको बीचभागमा स्काई केभ पर्दछ । हुमखोलाबाट तीन घण्टाको पैदलयात्रामा स्काई केभ भएको पहाडको फेदीमा पुगिन्छ ।

मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविर पुगेर आएका म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले स्काई केभसम्म पुग्ने पदमार्ग, आवश्यक पूर्वाधारलगायत संरचना निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि गाउँपालिका, प्रदेश सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग समन्वय गर्ने बताए ।

एमालेमा फर्किनुअघि झाँक्री र श्रेष्ठले भेटे ओली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ लगायत नेताहरू नेकपा (एमाले) फर्किने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र झाँक्रीलगायत नेताहरूबीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तापछि कात्तिक २४ गते झाँक्रीसहित नेताहरू एमालेमा फर्कन तयार भएको पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् ।

माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीलगायत १० दलीय घटक एकता भई नेपाली कम्युनिष्ट पार्टी गठन भएको छ भने उक्त पार्टीमा झाक्रीलगायत नेताहरू गएका थिएनन् । उनीहरूले पत्रकार सम्मेलन गरी एमालेमा फर्कन सकिने संकेत गरेका थिए । नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादीसहित १० वाम दलसँग एकता गरेपछि असन्तुष्ट नेताहरू एमाले फर्किन लागेका हुन् । महासचिव घनश्याम भुसालले भने पार्टी पुनर्गठन गर्ने घोषणा गरिसकेका छन् ।

 

 

 

निरंकुश सत्तालाई जेनजीको बलिदानले खरानी बनाइ दियो : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले निरंकुश बन्दै गएको सत्तालाई जेनजीको बलिदानले खरानी बनाई दिएको बताएका छन् । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौंमा निकालेको प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले जेनजी पुस्ताले आफ्नो रगत दिएर निरंकुश सत्तालाई खरानी बनाएको बताएका छन् ।

‘जेनजी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् । राज्यसत्ता अन्धो थियो । बहिरो थियो । निरंकुश थियो । मुर्ख बन्दै गएको थियो । जनताविरुद्ध तानाशाही बन्दै गएको थियो,’ उनले भने, ‘जेनजीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी दलालहरूको सत्ता र संसद्लाई थला पारेर आगोमा खरानी बनाइदिए ।’

उनले काठमाडौंको सडकबाट नवयुवाको रगत अझै आलै रहेको र जलाइएका संरचनाहरू जीर्ण बनेर उभिएको जिकिर समेत गरेका छन् । कम्युनिष्ट चन्दले विदेशी प्रभाव समाप्त नभएसम्म देशमा निष्पक्ष शासन सम्भव नहुने बताएका छन् । विप्लवले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘प्रधानमन्त्री होस् वा राष्ट्रपति, फरक पर्दैन, तर जनताले नै प्रत्यक्ष चुन्ने कार्यकारी प्रमुखतर्फ देश जानुपर्छ ।’

तर, उनले हालको परिस्थितिमा त्यो सम्भव नदेखिएको बताए । विप्लवले भने, ‘तर, आजको दिनमा सम्भव छैन । आजको दिनमा प्रत्यक्ष कार्यकारी भनियो भने फेरि यहाँ पैसाका बलमा एनजीओहरू, विदेशी डलरमा नेपाली जनतालाई भ्रष्टीकरण गरेर, ठगेर हाम्रो देशका विरुद्धमा उत्तेजना फैलाउने एनजीओहरुलाई पनि प्रतिबन्ध लगाउनु पर्ने छ । लखेट्नुपर्ने छ ।’ उनका अनुसार विदेशी प्रभाव, भ्रष्टाचार र एनजीओको नियन्त्रण अन्त्य भएपछि मात्र नेपालमा निष्पक्ष चुनाव र जनमुखी शासन सम्भव हुनेछ ।

 

रवि र छविको मुद्दामा जिल्लाको फाइल माग्ने आदेश

काठमाडौं । उच्च अदालत बुटवलको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीसँग सम्बन्धित मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट फाइल माग्न आदेश दिएको छ । न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले मिसिल (मुद्दासम्बन्धी कागजात) पेश गर्न आदेश जारी गरेको हो । अदालतले जिल्ला अदालतबाट फाइल पेश भएपछिको सुनुवाइमा, रवि लामिछानेले आफूमाथि हुनसक्ने बिगो रकम जम्मा गरेर थुनामुक्त हुन पाउने सम्भावनामा सुनुवाइ गर्ने तयारी गरेको बताएको छ ।

मुद्दाको सुनुवाइको क्रममा शुरुमा छविराज जोशीका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए । इजलासले मुद्दाको मिसिल अपुग भएको कारण थप कागजात माग्नुपर्ने र त्यसपछि मात्र अर्को पेशीका लागि मुद्दा अगाडि बढ्ने निर्णय सुनाएको थियो । यस कारण रविका कानून व्यवसायीले बहस गर्न पाउनु अघि आजको सुनुवाइ टुंगिएको छ । मुद्दाको अर्को पेशी कहिले तोकिने भन्ने अझै निश्चित छैन ।

यसअघि, कात्तिक १३ गते तोकिएको पेशीमा जोशीका अधिवक्ताले निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको थियो। त्यसअघिका सुनुवाइमा उच्च अदालत बुटवलले रवि र जोशीको एकै प्रकृतिका मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो । रवि लामिछानेले आफूले बुझाउनुपर्ने बिगो रकम बैंकमा जम्मा गरेर थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति मागेका थिए । उच्च अदालतले यसै क्रममा जोशीको फाइल पनि पेश गर्न आदेश दिएको हो ।

यसअघि लामिछानेले सुप्रिम सहकारी ठगी मुद्दामा थुनामा रहँदै आफ्नो भागको बिगो रकम दाखिला गरेका थिए। तर, जिल्ला अदालत रुपन्देहीले उनलाई तत्काल रिहा नगरी उच्च अदालतमा निवेदन दर्ता गर्नु परेको थियो । सुप्रिम सहकारी ठगीमा रवि लामिछानेसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ । लामिछानेले त्यसको आफ्नो हिस्साको चार भागमध्ये एक भाग बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित पेश गरेका थिए । उनले आफ्नो बचत र ऋणमा कुनै अपचलन नभएको दावी गर्दै निवेदन पेश गरेका हुन् ।

 

 

बिहारमा मतदान, प्रधानमन्त्री मोदीको ‘लोकप्रियताको परीक्षा’

पटना(भारत)। भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राजनीतिक ‘लोकप्रियताको परीक्षा’ का रूपमा हेरिएको छ ।

देशको प्रभावशाली राज्यहरूमध्ये एक बिहारमा भएको यो निर्वाचनले मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)को प्रभाव र जनसमर्थन कति मजबुत छ भन्ने सङ्केत गर्ने अपेक्षा गरिएको छ ।

दुई चरणमा सम्पन्न मतदान अन्तर्गत २४३ सिटका लागि बिहारभरका मतदान केन्द्रहरूमा लाखौँ मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् ।

बेरोजगारी, कानून र व्यवस्थाको समस्या तथा मतदाता सूची संशोधनमा देखिएको अनियमितता सम्बन्धी सार्वजनिक असन्तुष्टिका बीच सम्पन्न यो निर्वाचनको परिणाम नोभेम्बर १४ मा सार्वजनिक गरिनेछ ।

परिणामले मोदीको नेतृत्वमा रहेको एनडिएले आफ्नो प्रभुत्व कायम राख्न सक्छ वा शासन र अर्थतन्त्रका प्रश्नमा असन्तुष्ट जनताले विपक्षी गठबन्धनलाई समर्थन जनाउँछन् भन्ने सङ्केत गर्नेछ ।

– मोदीका लागि बिहारको राजनीतिक अर्थ –

बिहारलाई लामो समयदेखि भारतको राजनीतिक ‘अग्रदूत’ अर्थात् राजनीतिक रुझान बताउने राज्यका रूपमा हेरिन्छ । यही कारणले यो चुनाव प्रधानमन्त्री मोदीका लागि अत्यन्तै महत्त्वपूर्ण ठहरिएको हो ।

सन् २०२९ को आम निर्वाचन र त्यसअघि हुने उत्तर प्रदेश, पश्चिम बङ्गाल तथा असामका राज्य चुनावहरूलाई ध्यानमा राख्दै मोदीले बिहारमा जितद्वारा आफ्नो राजनीतिक गति कायम राख्ने प्रयास गरिरहेको स्पष्ट देख्न सकिन्छ ।

बिहारले भारतीय संसद्को तल्लो सदनमा ४० जना सांसद पठाउँछ । यसकारण यहाँको जितले मोदीको सङ्घीय गठबन्धनलाई बलियो बनाउनेछ भने हारले विपक्षी दलहरूलाई नयाँ ऊर्जा प्रदान गर्न सक्छ ।

नयाँदिल्लीका राजनीतिक विश्लेषक सिद्धार्थ मिश्राले भने, “यो चुनाव केवल गठबन्धनका लागि मात्र होइन, सत्ता समीकरणका लागि निर्णायक छ । यदि मोदीको नेतृत्वमा रहेको एनडिए असफल भयो भने त्यसले केन्द्रमा रहेको उनको सरकारको स्थायित्वमा पनि प्रश्न उठाउन सक्छ ।”

गत वर्षको सङ्घीय चुनावमा भाजपाले पूर्ण बहुमत नपाएपछि जनता दल (युनाइटेड)र लोक जनशक्ति पार्टी ९रामविलास० सँग मिलेर सरकार गठन गरेको थियो । यी दलहरू अहिले बिहारमा पनि मोदीका प्रमुख साझेदारका रूपमा रहेका छन् ।

– विपक्षी दलहरूको चुनौती र मतदाता असन्तुष्टि –

बिहारमा सत्तारूढ गठबन्धनको नेतृत्व जनता दल (युनाइटेड) का मुख्यमन्त्री नितिश कुमारले गरेका छन् । जनता दल (युनाइटेड) प्रमुख सहयोगी दल भारतीय जनता पार्टी (भाजपा) हो । ७४ वर्षीय कुमार करिब दुई दशकदेखि राज्यको नेतृत्वमा रहँदै आएका छन् । उनलाई राज्यको पूर्वाधार विकास र कानून–व्यवस्थामा सुधारको श्रेय दिइन्छ ।

एक समय मोदीका राजनीतिक प्रतिद्वन्द्वी रहेका कुमार पछिल्ला वर्षहरूमा पुनः एनडिएमा फर्किएका हुन् । राजनीतिक विश्लेषकहरूले भनेका छन्, “यदि बिहारमा एनडिए पराजित भयो भने, कुमारको दलभित्र विभाजन हुने सम्भावना बढ्नेछ र त्यसले मोदी सरकारको सङ्घीय स्थायित्वमा पनि असर पार्न सक्छ ।”

नयाँदिल्लीका राजनीति विज्ञ प्राध्यापक रवि रञ्जनका अनुसार यो चुनावले बिहारको नेतृत्व मात्र नभई, सङ्घीय सत्ता सन्तुलनलाई समेत प्रभावित गर्न सक्छ ।

विपक्षमा कांग्रेससँग गठबन्धन गरेको राष्ट्रिय जनता दल (राजद)चुनावी मैदानमा छ । मोदीका पूर्व चुनाव प्रबन्धक प्रशान्त किशोरले बनाएको नयाँ राजनीतिक समूह ‘जन सुराज’ पनि प्रतिस्पर्धामा उत्रिएको छ ।

कांग्रेसका नेता राहुल गान्धीले हालै निर्वाचन आयोगमाथि मतदाता सूचीको संशोधनलाई राजनीतिक लाभका लागि गरिएको भन्दै आलोचना गरेका छन् ।

जुनदेखि राज्यका करिब सात करोड ४० लाख मतदातामध्ये करिब १० प्रतिशतको नाम सूचीबाट हटाइएको बताइन्छ ।

विपक्षी दलहरूले यस कदमले गरीब र अल्पसङ्ख्यक समुदायलाई मताधिकारबाट वञ्चित गरेको आरोप लगाएका छन् । निर्वाचन आयोगले भने जनसाङ्ख्यिकीय परिवर्तन, बसाइँसराइ र मृत्युका कारण सूची संशोधन आवश्यक रहेको स्पष्ट पारेको छ ।

– आर्थिक चुनौती र मतदाताको अपेक्षा –

बिहार कृषि प्रधान र भारतको सबैभन्दा आर्थिक रूपमा कमजोर राज्यहरूमध्ये एक हो । यहाँ करिब १३ करोड जनसङ्ख्या रहेको छ ।

रोजगारी सिर्जना र आर्थिक समृद्धि दुवै पक्षका मुख्य चुनावी मुद्दा बनेका छन् । भाजपा गठबन्धन र विपक्षी दलहरूले लाखौँ सरकारी रोजगारी सिर्जना गर्ने वाचा गरे पनि अर्थशास्त्रीहरूले राज्यको कमजोर आर्थिक अवस्थालाई देखाउँदै त्यसको व्यवहारिकता माथि शङ्का व्यक्त गरेका छन् ।

सेप्टेम्बर महिनामा प्रधानमन्त्री मोदीले महिला मतदाताहरूलाई लक्षित गर्दै ७५ लाख महिलालाई रोजगार कार्यक्रम अन्तर्गत १० हजार भारतीय रुपैयाँ (झन्डै ११३ अमेरिकी डलर)नगद सहायता प्रदान गरेका थिए । बिहारमा पुरुषहरू प्रायः रोजगारीका लागि बाहिरिने भएकाले महिलाहरू निर्णायक मतदाता समूहका रूपमा रहेका छन् ।

मुम्बईस्थित टाटा इन्स्टिच्युट अफ सोसल साइन्सेजका पूर्व प्राध्यापक तथा सामाजिक–अर्थशास्त्री पुष्पेन्द्र कुमार भन्छन्, “बिहारको यो चुनावले राज्यको विरोधाभासलाई प्रस्ट पार्छ—जनसङ्ख्याको ठूलो हिस्सा गरिबीमा बाँचिरहेको छ, तर सत्तारूढ गठबन्धनले राज्यलाई विकासको बाटोमा राखेको दाबी गर्छ ।”

उनका अनुसार सरकारले केही कल्याणकारी कार्यक्रमहरू सुरु गरे पनि भूमिहीनता, न्यून ज्याला र सीमित रोजगारीका अवसरजस्ता दीर्घकालीन समस्याहरूलाई सम्बोधन गर्ने ठोस नीति अझै देखिएको छैन ।

गगनलाई उद्धवको चुनौती : हाम्रो नेतृत्वमा भोट नआउने ग्यारेन्टी होस्, राजीनामा दिन्छौं

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रैबाट गलत भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको बताएका छन् । बत्तीसपुतलीमा जारी संस्थापनपक्षको नियमित महाधिवेशन दबाब भेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले केन्द्रीय महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरी गलत भाष्य निर्माण गरिएको बताए । उनले कांग्रेसलाई ‘जनताले भोट हाल्दैनन्, जनतामा जान सकिँदैन’ भन्ने भाष्यले पार्टीलाई क्षति गरेको बताए ।

‘कसैले प्रमाणित गर्दिनुस्, ग्यारेन्टी दिनुहोस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर । हामी राजीनामा दिन तयार छौँ,’ उनले भने, ‘भोट कसले हाल्छन् कसले हाल्दैनन् भनेर ठेक्का लिइदिने को छन् ?’ तर, उनले नेतृत्व परिवर्तनको स्वाभाविक समय भएकाले कार्यकर्तामा देखिएको आकांक्षालाई सम्मान गर्नुपर्ने बताए । ‘मुलुक खरानीमाथि छ । पहिले मुलुकलाई यसबाट मुक्त गरौँ,’ उनले भने, ‘चुनावबाट प्रतिनिधिसभा आएपश्चात् देश सही दिशामा हिँड्छ ।’ अहिलेका लागि राष्ट्रको हित प्राथमिक भएको भन्दै उनले पार्टी जीवनको सुधार त्यसपश्चात् गर्न सकिने उनले तर्क गरे ।

 

बालेनविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी

काठमाडौँ । नेकपा एमालेनिकट युवा संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

शाहले सामाजिक सञ्जाल फेसबुकमा अश्लिल शब्द प्रयोग गर्दै स्टाटस लेखेको भन्दै युवासंघले उनी विरुद्ध साईबरमा उजुरी दिएको हो । जनप्रतिनिधिले अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत राजनीतिक दल छिमेकी राष्ट्रमाथि टिप्पणी गरेको भन्दै कारबाहीको माग गरेका छन्।

बालेनले केही दिनअघि राजनीतिक दल र छिमेकी राष्ट्र भारत र चीनसहितलाई अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए। उक्त स्टाटस उनले फेसबुकबाट केहीबेरमै हटाएका थिए।

राष्ट्रिय युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका युवा नेताहरू साइबर ब्युरो पुगेका हुन्।

दुई वर्षसम्म कोरिया जान नपाएका युवाले घेरे इपीएस कोरिया शाखा

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा उत्तिर्ण (पास) गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै युवाहरुले आन्दोलन थालेका छन् । भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा समेत दक्षिण कोरिया जान नपाएकाहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् । सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।

तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएको कारण दक्षिण कोरिया जान पाएका छैनन् । कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरूलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ । सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा एक लाख हाराहारीमा नेपालीहरू कार्यरत रहेका छन् ।

पुराना दलप्रति सुमना श्रेष्ठको कटाक्ष : ‘रिफर्म’ को आशा मुर्खता मात्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी नेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठले राजनीतिक परिदृश्य प्रति निरासा व्यक्त गरेकी छन् । उनले यस निरासाजनक स्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै पुराना राजनीतिक दलहरूमा सुधारको आशा राख्नु अब ‘मूर्खता’ जस्तो मात्र हुने बताएकी छ । सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले पटक–पटक नेतृत्वमा पुगेका दलहरू देशलाई निरासा बाहेक केही दिन नसक्ने र उनीहरू अहिले एकजुट हुने मुख्य उद्देश्य चुनावी समीकरण मिलाउन मात्र भएको बताएकी छन् ।

श्रेष्ठका अनुसार, परिवर्तन ल्याउने भनिएकाहरू अझै छिन्न–भिन्न छन् । यसमा मुख्य कारण के हो भने नेतृत्व कसले लिने ?’ भन्ने प्रश्नमा अड्किनु । यस्तो अवस्थामा, सबै परिवर्तनको अपेक्षा राख्ने व्यक्तिहरूलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता देखिएको छ । उनले प्रश्न उठाएकी छन्, ‘पार्टीलाई दिशा दिन एक नेता हैन, एउटा परिषद् (Councl of Leaders) बनाए कस्तो होला ?’ श्रेष्ठको भनाइमा, कुनै एक नायकको अनुहार अगाडि राख्नुको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिने व्यवस्था आवश्यक छ ।

पूर्वमन्त्री श्रेष्ठले वर्तमानमा मध्यमार्गी पथ आवश्यक रहेको बताएकी छन् । उनले जनताको वास्तविक मुद्दा बोकेको वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न आग्रह गरेकी छन् । आजै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल भएको थियो । नयाँ र वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच यस्तो छलफलपछि श्रेष्ठको यस्तो अभिव्यक्ति आएको हो । जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेका बाबुरामको सचिवालयले जनाएको छ ।

छलफलमा पूर्व प्रधानमन्त्री भट्टराईसँगै पूर्व माओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठ, डीपी अर्याल लगायत सहभागी भएका थिए । जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेका बाबुरामको सचिवालयले जनाएको छ ।

सर्वपक्षीय अन्तरिम सरकार माग गर्दै विप्लव नेकपाको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा बिहीबार प्रदर्शन गरेको छ । सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो । भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यका साथ आयोजना गरिएको नेकपाले बताएको छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

कांग्रेसमा महाधिवेशनको ‘किचलो’ : सानेपामा बैठक, बत्तीसपुतलीमा संस्थापन पक्षको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेसको मुख्यालय सानेपामा पार्टीको केन्द्रीय समिति बैठक बसिरहँदा बत्तिसपुतलीमा संस्थापन पक्षका नेताहरूले बेग्लै भेला गरेको छ । विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिनको लागि अहिले अनुपम फुडल्यान्डमा संस्थापन पक्षको भेला चलिरहेको छ । महामन्त्री गगन थापाले चुनावअघि नै महाधिवेशन गर्ने नभए विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेपछि संस्थापन पक्षले काउन्टर दिन भेला राखेका हुन्। भेलाको अगुवाइ सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला पक्षका नेताहरुले गरेका छन् ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् । भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, कोशी प्रदेशका महामन्त्री भेपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्बुजा, अछाम सभापति पुष्प बहादुर शाह लगायत सहभागी छन् ।

संस्थापन पक्षका नेता बद्री अर्यालले विशेष महाधिवेशन पार्टीको लागि धोका हुने उनले बताए । पार्टी सभापति शेरबहादुर देउवामाथि आक्रमण भए लगत्तै नेतृत्व छाड्न महामन्त्रीहरूले दबाब दिएको भन्दै आपत्ति जनाए । मंसिरभित्र नियमित महाधिवेशन गर्न नसके पूरै कार्यसमिति नै असफल भएको पुष्टि हुने भन्दै सबैले राजीनामा दिनुपर्ने माग गरे ।

मंसिरमा चुनाव सम्भव नहुने उनीहरूको निष्कर्ष छ । महामन्त्रीहरूले चुनावमा केन्द्रित हुनको लागि समेत परिपत्र गरिरहेको भन्दै महाधिवेशनमा लाग्ने कि चुनावमा भन्दै असन्तुष्टि जनाएका छन् । कांग्रेसभित्र विगतदेखि नै अन्तर्घात हुँदै आएको भन्दै महाधिवेशन गरेर लगत्तै चुनावमा जान नसकिने उनीहरूको साझा बुझाइ छ ।

 

खेलाडीहरुले एन्फा गेटमै झुण्ड्याई दिए मेडल (तस्वीरहरु)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरूबीच यो वर्ष ‘ए’ डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरु विरोधमा उत्रिएका छन् । नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर धर्ना दिएका छन् ।

उनीहरुले आफूहरुले जितेको मेडल समेत एन्फालाई उपहार दिएको भन्दै एन्फाको गेटमा झुण्डाई दिएका छन् । नियमित लिग नहुँदा खेलाडी मारमा परेको र नेपाली फुटबल ओरालो लागेको उनीहरुको भनाइ छ । यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधि बसेर अर्को वर्षदेखि मात्र होम एन्ड अवेको आधारमा ‘ए’ डिभिजन गर्ने सहमति गरेका थिए ।

यो वर्ष भने तीन वर्षअघि भएको ‘ए’ डिभिजन लिगका शीर्ष ६ टोली र आजदेखि हेटौंडामा सुरू एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भएको थियो । राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइजसँगै, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब,सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन् । बाँकी ८ ‘ए’ डिभिजन क्लबको भने प्रतिनिधित्व हुने छैन ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

गृहमन्त्री अर्यालले गरे पूर्व राष्ट्रपति भण्डारीसँग भेटवार्ता : आन्दोलनमा जलेको घर निरीक्षण

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर निरीक्षणका साथै भेटवार्ता गरेका हुन् । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेन जी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोडफोड गरेका थिए । सोही निवासको गृहमन्त्री अर्यालले बिहीबार बिहान निरीक्षण गरे ।

साथै उनले भण्डारीसँग भेटवार्ता पनि गरेका छन् । भेटमा पछिल्लो राजनीतिक, समसामयिक विषयहरू र आगामी निर्वाचनबारे छलफल भएको छ । यसअघि गृहमन्त्री अर्यालले पूर्व राष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।

सुधन गुरुङको चेतावनी : गृहमन्त्री राजीनामा देऊ, जेनजीको माग सम्बोधन नभए चुनाव हुन दिदैंनौं

काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा माग गर्दै सरकारलाई कडा चेतावनी दिएका छन् । उनले हत्यारा र भ्रष्टाचारविरुद्ध कुनै कारबाही नगरी उल्टै जेनजी आन्दोलनका अभियन्तामाथि दमन गरेको भन्दै गृहमन्त्रीप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत ‘अलोकप्रिय गृहमन्त्रीका लागि सन्देश’ शीर्षकमा लेख्दै गुरुङले भनेका छन्, ‘शहीदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आशा र आँशु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने वाचा गर्नुभएको थियो—अब त्यो वाचा पूरा गर्नुहोस् ।’ उनका अनुसार दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि आन्दोलनका क्रममा मारिएका युवाहरूका हत्यारा अझै पक्राउ नपरेकोले सरकारप्रति जनआस्था समाप्त हुँदै गएको छ ।

‘जेनजीको माग सम्बोधन नभए चुनाव हुन दिने छैनौ’
गुरुङले जेनजी आन्दोलनका मागहरू पूरा नभए आगामी २०८४ सालको निर्वाचन रोक्ने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ‘हामीले भदौ २३ र २४ को आन्दोलन चुनाव सार्नका लागि होइन, देश परिवर्तनका लागि गरेका थियौं । यदि जनता र जेनजीको आवाजलाई बेवास्ता गरियो भने यो चुनाव हुन दिनेछैनौं ।’

प्रहरीमाथि छानबिन अघि बढ्दै
यसैबीच, जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा उपत्यकामा खटिएका प्रहरीहरूको सूची काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट प्राप्त गरेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ती प्रहरीहरूको बयान लिन तयारी भइरहेको छ । ‘सूची प्राप्त भएको छ । आजैदेखि बयानका लागि प्रक्रिया सुरु हुँदैछ’, शर्माले बताएका छन् ।

आयोगले यसअघि प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसँग पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो । आयोगले विवरण समयमा नपठाएको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिनमा अवरोध गरेको आरोप लागेको छ । उनले निकोलस भुसाल पक्राउका बारेमा पनि आपत्ति जनाएका छन् । देशमा भइरहेको जेन–जी आन्दोलन र त्यसप्रति सरकारको कठोर कदमका कारण राजनीतिक वातावरण फेरि तात्न थालेको छ । सुधन गुरुङले सरकारलाई ‘जनताको आवाज सुन्ने’ अन्तिम मौका दिएको बताउँदै चेतावनी दिएका छन् ‘यदि यो आवाज दबाइयो भने अबको आन्दोलनले पद र प्रतिष्ठा दुवै बगाउनेछ ।’

जाँचबुझ आयोगलाई प्रहरीले बुझायो जेनजी आन्दोलनमा खटिएकाहरूको सूची

काठमाडौं । गत भदौ २३ र २४ गते भएको घटना सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनमा काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको हो । उक्त सूची प्राप्त गरेको जाँचबुझ आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए । सूची प्राप्त भएसँगै प्रहरीको बयान लिने तयारी भइरहेको उनले बताएका छन् ।

‘त्यस दिन खटिएकाहरूको सूची प्राप्त भएको छ । आज बयानका लागि हामी सूची हेर्दैछौं,’ शर्माले भने । अन्य ठाउँमा खटिएकाहरूको विवरण प्रहरी प्रधान कार्यालयसँग माग गरेको उनले बताए । बयान क–कसको हुने भन्ने यकिन भइसकेको छैन । यसअघि जाँचबुझ आयोगले बुधबार प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण समेत सोधेको थियो ।

विवरण माग गर्दा समयमा उपलब्ध नगरी आयोगको छानबिनमा बाधा पुर्‍याएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोग गठन भएको केही दिनपछि प्रहरी प्रधान कार्यालयसँग सूची माग गरिएको थियो। तर २२ दिनसम्म पनि कुनै विवरण उपलब्ध नगराएपछि आयोगले पत्राचारबारे पुनः जानकारी गराएको थियो ।

त्यसरी पत्राचार गर्दा आयोगलाई प्रहरी प्रधान कार्यालयले आइजीपीदेखि जवानसम्म फिल्डमै खटिएको जवाफ पठाएको थियो । त्यसपछि आयोगले जाँचबुझ आयोगको मानमर्दन गरेको भन्दै किन कारबाही नगर्ने भनेर आइजीपी खापुङकै नाममा पत्र काटेको हो । जवाफमा देशभरिको सूची पठाउन समय लाग्ने बताउँदै आयोगलाई प्रधान कार्यालयले उपत्यकाको मात्रै सूची पठाएको हो ।

आइतबार नै जाँचबुझ आयोगले प्रहरी प्रधान कार्यालयलाई काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते खटिएका प्रहरी इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्न व्यवस्था मिलाउन भनी पत्राचार गरेको थियो । प्रहरीसँग सोधपुछ र बयानका लागि बोलाउनु पर्ने भएकाले इन्चार्ज तथा कमाण्डरहरूलाई उपत्यका नछाड्न भनिएको हो ।

खेलाडीको प्रदर्शन : वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल {तस्वीरहरू}

काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले प्रदर्शन र धर्ना दिएका छन् । बिहीवार बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका हुन् । उनीहरुले एन्फा मुख्यालमा धर्ना दिएका हुन् ।

उनीहरुले एन्फा फुटबल एशोसिएसन कि कन्सलटेन्सी, विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ? नो गेम, नो फ्रेम : एन्फाज टु ब्लेम, घरेलु लिग चलाऊ : फुटबल बचाऊ, वाक्क लाग्दो एन्फा : दिक्क लाग्दो नेपाली फुटबल, फुटबल क्यालेण्डरमा होइन, ग्राउण्डमा चाहियो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

एन्फाभित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ । हालै धुलिखेलमा सम्पन्न साधारण सभामा, अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि क्लवहरूले आर्थिक अनियमितताको आरोप लगाएका छन् । २०८२ मा फुटबल गतिविधिका लागि एक अर्ब ५६ करोड रुपैयाँ खर्च भएको एन्फाको दाबी छ । तर यो रकमको विस्तृत हिसाव सार्वजनिक नहुँदा केही क्लवहरूले असन्तुष्टि जनाएका छन् । यसबाहेक खेलाडीहरूको तलव र सुविधाको विषयमा पनि विवाद छ । गत सिजनमा केही क्लवहरूले खेलाडीहरूलाई समयमै तलव नदिएको गुनासो आएको थियो । यस्ता समस्याले युवा खेलाडीहरूको मनोबलमा असर परिरहेको फुटबल विश्लेषकहरूको भनाइ छ ।

तस्वीरहरु

‘पितृ’ का नाममा दीप प्रज्वलन नमोबुद्ध जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मालम्बीहरूले ऐतिहासिकस्थल नमोबुद्धमा ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न गरेका छन् । मङ्गलबारदेखि सुरु भएको जात्रा आज बिहान ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै सम्पन्न भएको हो ।

कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि सुरु भएको जात्राअन्तर्गत मेला भर्न गएका तामाङ र नेवार समुदायका मानिसले आफ्नो पितृको सम्झानामा दुई दिन दुई रात दीप प्रज्वलन गरेका हुन् ।

काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीयस्थान नमोबुद्धमा विशेषगरी कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्दै आएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङबज्र लामाले जानकारी दिए। “कात्तिक शुक्ल पूर्णिमा तिथिका दिन शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रूपमा मान्दै आइएको छ । किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि नमोबुद्ध हो । उक्त स्थान ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको शिलालेखमा उल्लेख छन्”, उनले भने ।

द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गरेमा पितृले मोक्ष प्राप्त गर्ने जनविश्वास रहिआएको गुठीका अध्यक्ष लामाले बताए । यहाँ दीप प्रज्वलनका लागि बर्सेनि बौद्ध धर्मालम्बीको ठूलो भीड लाग्ने गरेको उनको भनाइ छ ।

मेलामा करिब एक हजारले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रा अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

नमोबुद्ध गुठीका अध्यक्ष लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा दीप प्रज्वलन गर्नुका साथै सांस्कृतिक गीत तथा नृत्य प्रस्तु गरिएको छ । “यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने र मौक्ष प्राप्त हुने धार्मिक मान्यता छ”, उनले भने ।

मेलामा सिन्धुपाल्चोकसहित सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोटलगायत जिल्लाबाट बौद्ध धर्मालम्बीहरूको सहभागिता थियो ।

नमोबुद्धका मूल लामागुरु कान्छा लामाका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा शिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा यहाँ ठूलो मेला लाग्ने गरेको हो ।

“पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिएको हो”, लामागुरुले भने । उनका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोहीस्थान नजिकै बाँकी जीवन चैत्य सेवामा बिताएका थिए । तत्पश्चात् राजारानी शङ्खेश्वरी अजी–अजीमाको नामले चिनिँदै आएका जनविश्वास रहिआएको उनले जानकारी दिए ।

नमोबुद्धमा सधैँजसो स्वदेश तथा विदेशका बौद्धमार्गीहरूको चहलपहल हुने गरेको छ । नमोबुद्धबाट ऐतिहासिक पनौतीसहितका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिमश्रृङ्खला र पहाडी मनमोहक दृष्यावलोकन गर्न सकिन्छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् ।

वैकल्पिक राजनीतिक शक्ति निर्माणमा बाबुराम, डीपी र जनार्दन पनि सहभागी

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल भएको छ । नयाँ र वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच यस्तो छलफल सुरु भएको हो । जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेका बाबुरामको सचिवालयले जनाएको छ ।

छलफलमा पूर्व प्रधानमन्त्री भट्टराईसँगै पूर्व माओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठ, डीपी अर्याल लगायत सहभागी छन् । जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेका बाबुरामको सचिवालयले जनाएको छ ।

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लार्ई युवा वर्ष घोषणा गरेको थियो । सन् १९९९ देखि युवाका आवाजलार्ई बुलन्द गर्ने हिसाबले हरेक वर्ष १२ अगस्टका दिन युवा दिवसका रूपमा मनाउने गरिन्छ । युवाहरू स्वभावैले ऊर्जाशील, सकारात्मक परिवर्तनका संवाहक र परिवर्तनका उत्प्रेरक हुन् । युवा भन्ने बित्तिकै शारीरिक, मानसिक शक्तिले ऊर्जाशील व्यक्तित्व बुझिन्छ । आजको युवाले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण सक्रिय भएर लाग्न जरुरी छ । यो वर्ग साहस, सिर्जनशील, उच्च आत्मविश्वास, निर्णय गर्न सक्ने क्षमता, काम गर्न सक्ने तत्परता भएको हुँदा राष्ट्र निर्माणमा सहभागी गराई देशको मानवीय पुँजीका रूपमा राज्यले परिचालन गर्नु पर्दछ । उमेरको हदलार्ई हेरी युवाको परिभाषा विभिन्न मुलुकका सरकारले आआफ्नै तरिकाले गरेको पाइन्छ ।

नेपालको राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्ष उमेरकालाई युवा घोषित गरेएको छ । ‘युथ भिजन २०२५’ ले युवाको उमेर समूहलाई १६ देखि २४ वर्ष र २५ देखि ४० वर्ष गरी दुई उमेर समूहमा विभाजन गरेको छ । भारतले १६ देखि २९ वर्ष, चीनले १८ देखि ३५ वर्ष, जर्मनीले १४ देखि २६ वर्ष, बङ्गलादेश र फिलिपिन्सले १५ देखि ३० वर्ष, दक्षिण अफ्रिकाले १५ देखि २९ वर्षलाई युवा भनी घोषणा गरेका छन् । युवाको परिभाषा आआफ्नै तरिकाले भने पनि अधिकांश देशमा युवाको उमेर १५ देखि ३५ वर्षको उमेरलाई प्राथमिकता दिएको पाइन्छ । राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले भने काम गर्नसक्ने उमेर भनेको १५ देखि ६४ वर्षको जनसङ्ख्यालाई मानेको छ तर हाम्रो देशमा भने ४१ वर्षदेखि माथिको उमेरलाई पाको उमेरको संज्ञा दिइएको छ । कैयन् विभिन्न सेवामा काम गर्ने मानिस ५० वर्षदेखि पेन्सन पकाएका छन् भने ५९ वर्षमा त काम गर्न नै नसक्ने भनेर अवकाश गरी घरमा नै बसेको पाइन्छ ।

हाम्रो देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको नीति, नियम, कानून, विनियम राम्रोसँग अध्ययन गरी परिवर्तन गर्नु पर्दछ । नीति नियमले नै एउटै नेपाली जनतालाई काखा र पाखा गरेको छ । नेपालमा उद्योग धन्दाहरू नहुँदा, युवावर्गलाई विदेशिन बाध्य हुन पुगेका छन् । नेपाल सरकारले ११० देशलाई संस्थागतरूपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारमा गएका छन् । आर्थिक वर्ष २०७७÷७८ सम्म ४४ लाख ३३ हजार ८१२ जना कामदार वैदेशिक रोजगारमा गएका छन् । उक्त सङ्ख्या भारतबाहेक अन्य मुलुकको तथ्याङ्क हो । यदि भारतलाई पनि जोडे भने जम्माजम्मी ८० लाखभन्दा बढी युवा बाहिरिएको देखिन्छ । वैदेशिक रोजगारमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत, अद्र्धदक्ष कामदार २.४ प्रतिशत, अदक्ष कामदार ७४.५ प्रतिशत रहेको छ । यही आर्थिक वर्ष २०७७÷७८ सम्ममा वैदेशिक रोजगारमध्ये मलेसियामा २८.४ प्रतिशत, कतारमा २.७ प्रतिशत, साउदी अरेबियामा २०.९ प्रतिशत छन् । यसमा भारत जाने कामदारको सङ्ख्या समावेश गरिएको छैन ।

युगको युवा

नेपालको इतिहास हेर्ने हो भने १०४ वर्ष राणाशासनको युग थियो । ३० वर्षको पञ्चायती शासनको युग थियो । विसं २०४६ देखि २०६२÷६३ को बहुदलीय व्यवस्थाको युग थियो । विसं २०६२÷६३ देखि आजसम्म लोकतान्त्रिक गणतन्त्रको युग छ । हरेक युगलाई हे¥यौँ भने हरेक परिवर्तनलाई अध्ययन ग¥यौं भने तत्कालीन युवाले नै परिवर्तनमा भूमिका खेलेको पाइन्छ । त्यतिबेलाको परिवर्तन धेरै गाहे थियो । कठिन थियो । बोल्न, लेख्न पाइँदैनथ्यो । शासक वर्गको कठपुतली बन्दै जे पनि हुन्छ भनेर भन्नु पर्दथ्यो । त्यसकारणले पनि हामीले हाम्रा पुर्खालाई मानसम्मान गर्दै आदर गर्दै हरेक पार्टीका युवाले आफ्नो अभिभावक र संरक्षक बनाएर राज्य सञ्चालन र देशको विकास गर्न युवा वर्ग चालक÷पाइलट बनेर अगाडि बढ्नुपर्दछ ।

हाम्रा पुर्खाको अनुभव, ज्ञान, दक्षता, क्षमता भनेको शासन परिवर्तन गर्ने, लडाइँ गर्ने, जेल बस्ने, जङ्गलबाट युद्ध गर्ने, सत्ता परिवर्तन गर्ने जस्ता साहसिला काम गरेका छन् । जेलनेल बस्दा विश्वविद्यालय अध्ययन गर्न पाउनु भएन, राम्रा पुस्तक अध्ययन गर्न पाउनु भएन । संसारको देशमा कस्तो विकास भएको छ सोको पहिचान गर्न पाउनसकेनन् । विकासको रणनीतिक धारणा थाहा पाएनन् । अहिलेको युवाहरूले आफ्नै देशमा राम्रा राम्रा स्कुल, कलेज, विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएका छन् । विश्वका विश्वविद्यालयमा अध्ययन गरेका छन् । विश्वका विकसित मुलुकको अध्ययन गरेका छन् । सूचना र प्रविधिको उपयोग गर्न पाएका छन् । स्थल, जल र वायुयानको माध्यमद्वारा छिटो भन्दा छिटो यात्रा गर्न पाएका छन् ।

एक्काइसौँ शताब्दीको विकास र आवश्यकतासँग परिचित छन् । पहिचान गर्न सक्छन् । अबको विकास अघिल्लो पुस्तालाई चाहिने होइन । अबको विकास सकिन्छ हाम्रो पुस्ताले उपयोग गर्ने हो, सकिँदैन भने अर्को पुस्ताले उपयोग गर्ने हो । एकपटक यो पुस्ता ‘बौलाहा’ बनेर काम गर्नुपर्दछ । ‘पागल’ बनेर काम गर्नु पर्दछ । अहिलेको पुस्ताको ज्ञान, बुद्धि, विवेक, चाहना भनेको व्यवस्थापनमा छ, विचारमा छ, विकासमा छ, बजारमुखी अर्थतन्त्रमा छ, उत्पादनमुखी अर्थतन्त्रमा छ, स्वावलम्बी बन्नेमा छ, एन्टरप्रेनरसिपमा छ, स्टार्टसअप व्यवसायमा छ, स्वतन्त्र तरिकाले काम गर्नेमा छ ।

यो देश बनाउन लगभग ४१ प्रतिशत युवाको इच्छा, चाहना, विचार र आवश्यकता बुझ्ने र बुझाउने राजनैतिक नेतृत्व, व्यावसायिक नेतृत्व र कुशल प्रशासकको आवश्यकता पर्दछ । आगामी पुस्ताको लागि, यो पुस्ताले नेतृत्व लिनैपर्दछ । प्रशासन चलाउनु नै पर्दछ । हरेक व्यक्ति, समाज, र देशमा एउटा युग आउँछ, त्यस समयमा शासन पद्धति त्यही युगका व्यक्तिले चलाउँछ । आज नेपालमा युवाको ‘युग’ आएको छ । केही दशक वा हिजोसम्म धेरै उमेर र अनुभवी व्यक्तिको युग थियो । त्यो युग आज फेल भएको प्रमाणित भएको छ । यसको प्रमाण धेरै छन्, जसमध्ये ८० लाखभन्दा बढी युवा संसारका विभिन्न देशमा कामको खोजीमा छन् ।

अब यो विदेशिएका युवालाई स्वदेशमा फिर्ता गर्नुपर्ने देखिन्छ । अबको नेतृत्व युवाले गर्नु पर्दछ । यो देशको मुहार फेर्नुपर्दछ । संसारको हरेक देशलाई हे¥याँै भने हामीजस्तै गरी उठेका छन् । मरुभूमि बालुवाबाट उठेका छन् । चिसोभन्दा चिसो हावापानी र हिउँबाट उठेका छन् । तातोभन्दा तातो हावापानीबाट माथि उठेका छन्, जुन देश बन्नका लागि एक समय युवाहरूले त्याग गरे र देश निर्माण गरे । हाम्रा युवाहरूले संसारको १७२ देश प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले बनाइसके । अब आफ्नै देश किन नबनाउने रु आफ्नै देश बनाउने बेला आएको छ ।

युवाको परिभाषा र युवा हुनका लागि समाजको परिवर्तन र रूपान्तरणमा देन दिन सक्नुपर्दछ । आफूले आफ्नै स्वार्थको लागि काम गर्नु युवाको परिभाषा भित्र पर्दैन । तर, आफूलार्ई परिवर्तन गरेर समाजलार्ई परिवर्तन गर्नुपर्दछ । परिवर्तन यति सजिलो छैन, ठूलो त्याग र तपस्या गर्नुपर्दछ । यसको लागि प्रशस्त मात्रामा अनुशासन र आफूले आफूलार्ई कानून बनाएरअगाडि बढ्नुपर्दछ । सरकारले बनाएको कानुनले व्यक्तित्व विकास गर्न कुनै सहयोग गर्दैन । आजको युवाले बिर्सनै नहुने विषय के हो भने जीवनका ससाना विषयवस्तुलार्ई मध्यनजर गरी कार्य गर्नुपर्दछस जस्तै–दैनिक क्रियाकलाप, समयको सही व्यवस्थापन, साथीसँगको उठबस, सकारात्मक सोचको विकास, पारिवारिक सम्बन्ध, सामाजिक कार्यमा संलग्न, माया, प्रेम, शैक्षिक कार्यक्रममा सहभागिता नेतृत्वदायी भूमिका, साहित्यिक काममा संलग्न, नयाँनयाँ पुस्तकको अध्ययन, आफूभन्दा ठूला मानिससँगको सङ्गतलगायत कार्यहरूलार्ई आफ्नो दैनिकीमा राख्नुपर्दछ ।

जहिले पनि परिवर्तन सानो विषयबाट हुन्छ, परिवर्तन एउटा विषयबाट सुरु गरेर उक्त विषयलार्ई अन्त्य गर्न सक्नुपर्दछ । परिवर्तन गर्न चाहनेले कहिल्यै पछि हट्नुहुँदैन र कहिले अल्छी गर्नु पनि हुँदैन । यो संसार सक्नेका लागि हो, कसैले कसैलार्ई टीका लाएर केही पनि दिएको छैन । यो आकाश खुल्ला छ, उड्नेको लागि बाटो खाली छ, पैदलबाट हिँड्नुस् वा गाडीबाट गुड्नुस् वा चुप लागेर घरमा बस्नुस् दुवै बाटो खुल्ला छ । हामी कहाँ जान चाहन्छाँै र कसरी यसलार्ई व्यवहारमा प्रयोग गर्छौँ भन्ने कुराको दृष्टिकोण, लक्ष्य र उद्देश्य स्पष्ट हुनुपर्दछ र त्यसैमा तल्लीन भएर लाग्नुपर्दछ । यसैलार्ई व्यवहारमा उतार्न सक्नुपर्दछ ।

नेपाली युवाको अवसरका क्षेत्र
हाम्रो देश हरेक हिसाबले उर्वर भूमि हो । यो भूमिमा जे पनि फल्छ र फलाउन सकिन्छ । हिमाल छ, पहाड छ, तराई छ, खेतीयोग्य जमिन छ, पर्यटन स्थल छ, जडीबुटी, जङ्गल, जल र अनगन्ती नदीनाला छ । त्यस्तै गरी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि युवासँग गरिने विविध प्रकारका योजना छन् । नेपाली युवाको अवसरका क्षेत्र हामो देश हरेक हिसाबले उर्र्वर भूमि हो । यो भूमिमा जे पनि फल्छ र फलाउन सकिन्छ । हिमाल छ । पहाड छ । तराई छ । खेतीयोग्य जमिन छ । पर्यटन स्थल छ । जडीबुटी, जङ्गल, जल र अनगन्ती नदीनाला छन् । त्यस्तैगरी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि युवासँग गरिने विविध प्रकारका योजना छन् । युवा तथा खेलकुद मन्त्रालयले युवासँग सरोकार हुने राष्ट्रिय युवा नीति, २०६६ जारी गरेको छ ।

राष्ट्रिय युवा नीतिमा युवाका क्षेत्रमा काम गर्ने युवाहरू राजनीतिक क्षेत्रमा आबद्ध युवा, विशेष प्राथमिकता क्षेत्रका युवा, अपाङ्गता भएका युवालार्ई सहभागी गर्दै लैजाने रणनीति छ । मन्त्रालयले युवा साझेदारी कार्यक्रम, राष्ट्रिय तथा अन्तरराष्ट्रिय युवा अनुभव आदानप्रदान कार्यक्रम, युवा सूचना केन्द्र, स्वरोजगारको लागि तालिम, युवा प्रतिभा सम्मान कार्यक्रम र युवा उत्तरदायी बजेट कार्यक्रममा सहभागी भइरहेको छ । युवा सूचना केन्द्र, राष्ट्रिय तथा अन्तरराष्ट्रिय युवा गैरसरकारी सङ्घ–संस्थासँग मिलेर अगाडि बढाउने कार्यक्रम स्थानीयस्तरसम्म युवाको सञ्जाल बनाउने कार्यक्रम गरी रहेको छ । राष्ट्रको अमूल्य मानवस्रोत र ऊर्जाको भण्डार युवा हो ।

युवा तथा खेलकुद मन्त्रालयले युवासँग सरोकार हुने राष्ट्रिय युवा नीति, २०६६ जारी गरेको छ । राष्ट्रिय युवा नीतिमा युवाका क्षेत्रमा काम गर्ने युवाहरू राजनीतिक क्षेत्रमा आवद्ध, विशेष प्राथमिकता क्षेत्रका युवाहरू, अपाङ्गता भएका युवालार्ई सहभागी गर्दै लैजाने रणनीति छ । मन्त्रालयले युवा साझेदारी कार्यक्रम, राष्ट्रिय तथा अन्तरराष्ट्रिय युवा अनुभव आदान–प्रदान कार्यक्रम, युवा सूचना केन्द्र, स्वरोजगारका लागि तालिम, युवा प्रतिभा सम्मान कार्यक्रम, र युवा उत्तरदायी बजेट कार्यक्रममा सहभागी भइरहेको छ । युवा सूचना केन्द्र, राष्ट्रिय तथा अन्तरराष्ट्रिय युवा गैरसरकारी सङ्घ–संस्थासँग मिलेर अगाडि बढाउने कार्यक्रम, स्थानीयस्तरसम्म युवाहरूको सञ्जाल बनाउने कार्यक्रम गरि नै रहेको छ ।

(समाज रुपान्तरण अभियानमा क्रियाशील लेखक साउथ स्टेन ग्रुपका संस्थापक अध्यक्ष हुनुहुन्छ)

नयाँ राजनीतिक लहर : १८ दल दर्ताको पर्खाइमा, ३० कात्तिकभित्र प्रमाणपत्र लिनैपर्ने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशमा फेरि राजनीतिक हलचल बढेको छ । निर्वाचन आयोगमा अहिले नयाँ दल दर्ताको चहलपहल निकै तातिएको छ । जहाँ हालसम्म १८ वटा नयाँ राजनीतिक दल दर्ताको पर्खाइमा छन् ।आयोगका अनुसार, यी सबै दललाई अब ३० कात्तिकभित्र दर्ता प्रमाणपत्र लिनुपर्ने बाध्यता छ, अन्यथा उनीहरू निर्वाचन प्रयोजनका लागि सहभागी हुन बञ्चित हुनेछन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, पछिल्लो पटक आयोगमा ‘नेपाली कम्युनिष्ट पार्टी’ नामक नयाँ पार्टीले दर्ताको निवेदन दिएको छ । यो पार्टी १० वाम घटकहरूको एकताबाट बनेको हो । जसमा साविकका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पनि सहभागी छन् । नयाँ पार्टीले पाँचकुने तारा आफ्नो चुनाव चिन्हका रूपमा रोजेको छ ।

निर्वाचन नजिकिँदै, दल दर्ताको भीड बढ्दै
‘जेन–जी आन्दोलन’ अघि आयोगमा नौ दलले दर्ता निवेदन दिएका थिए भने आन्दोलनपछि थप नौ दल थपिएका छन् । यसरी अहिले आयोगमा १८ नयाँ दलको निवेदन अध्ययनमा छ । आयोगमा अहिलेसम्म १२५ दल दर्ता प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने १२४ दल अद्यावधिक अवस्थामा छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भने मंसिर १ देखि १० गतेसम्म तय गरिएको छ । त्यसअघि सबै दलले कात्तिक ३० सम्म दर्ता प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्नेछ ।

निर्वाचन आयोगको समयरेखा
कात्तिक ३० – दल दर्ता प्रमाणपत्र लिन अन्तिम म्याद
मंसिर १–१० – निर्वाचन प्रयोजनका लागि दल दर्ता
मंसिर १५ – समानुपातिक निर्वाचन प्रणालीका लागि कार्यालय स्थापना
पुस १८–१९ – बन्दसूची पेश गर्ने मिति
फागुन ३–१८ – प्रचारप्रसार अवधि
फागुन २१ – मतदान (बिहान ७ देखि बेलुका ५ सम्म)

दर्ताका लागि आवश्यक कागजात
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दर्ताका लागि दलले प्रस्तुत गर्नुपर्ने प्रमुख कागजातहरू यस्ता छन् :
–दलको विधान, नियमावली र घोषणापत्र दुई–दुई प्रति
–झण्डा, लोगो, चुनाव चिन्ह
– केन्द्रीय समिति, पदाधिकारी र ठेगाना
–आय स्रोत र कोष सम्बन्धी विवरण
–लोकतान्त्रिक र समावेशी व्यवस्था उल्लेख भएको विधान
–केन्द्रीय पदाधिकारीहरूको नागरिकता प्रतिलिपि र हस्ताक्षर

नयाँ पुस्ता र पुराना अनुहार
दल दर्ताको यो दौडमा पुराना राजनीतिक अनुहारहरूसँगै नयाँ पुस्ताको प्रवेश पनि देखिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’, रेशमलाल चौधरी, र हर्क साम्पाङ जस्ता चिनिने नामहरूसँगै केही जेन–जी युवाहरू र स्थानीय जनप्रतिनिधिहरू पनि नयाँ दल गठनमा सक्रिय छन् । कतिपय विश्लेषकहरू भन्छन्, ‘यो चुनाव पुराना पार्टीहरूको प्रभुत्वलाई चुनौती दिने नयाँ पुस्ताको राजनीतिक परीक्षण हुनेछ ।’ निर्वाचन आयोगको ढोका नयाँ र पुराना दुवै राजनीतिक आकांक्षीहरूले भरिँदै गर्दा, अबको १० दिनभित्र दर्ता प्रमाणपत्र लिने वा दलको सपना स्थगित हुने दुवै सम्भावना खुला छन् । फागुन २१ को मतदान केवल जनताको मतको उत्सव मात्र होइन, पुरानो र नयाँ पुस्ताबीचको राजनीतिक टक्कर पनि बन्ने संकेत देखिन थालेको छ ।

 

१० वाम दलको एकता फागुन २१ सम्म टिके ठुलो कुरो : लेखनाथ न्यौपाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले नेकपा एकीकृत समावादीसहित १० वाम दलको एकता लामो समय नटिक्ने टिप्पणी गरेका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनसम्म टिके पनि ठूलो हुने उनले टिप्पणी गरेका छन् । घोषणा सभामा नगएका नेता न्यौपानेले आफूले ओछ्यानमा बसेर भिडिओ हेरेको जानकारी गराएका छन् ।

‘पिँध नभाका लोटा अनुहार कुच्चिएका पानीका लौरा पिङ खेल्दा खेल्दा थाकेका गनाएका नाम मञ्चमा, यसो हेरेको सबै दाने गाई जस्ता, फुकाएपछि आआफ्नै बाटो लाग्ने, फागुन २१ सम्म रहे ठुलो कुरो’ उनले भनेका छन्, ‘नहुनु भन्दा जस्तो भए पनि मामा मामै हो, चित्त बुझाउने मेसो । एउटा नयाँ कुरो टाई लगाउन बिर्सेका रहेछन् मान्छेहरूले आज ?’ एकता प्रक्रियामा असहमति जनाउँदै जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीलगायतले बेग्लै अभियान घोषणा गरिसकेका छन् ।