`

क्रिकेटको स्वर्णिम युग सुरु भयोः अध्यक्ष चन्द

भजनी (कैलाली) । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताएका छन् ।

नेपाल प्रिमियर लिग ९एनपिएल० को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताए ।

“यो क्रिकेटको स्वर्णिम युग हो । यसभन्दा पहिले नेपाली क्रिकेट यो उचाइमा कहिल्यै पुगेको थिएन,” उनले भने, “यो अवस्थासम्म पुग्नका लागि नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको महत्वपूर्ण हात छ ।” नेपाललाई विश्वमा चिनाउनका लागि क्रिकेटले विशेष भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चन्दले विश्वभरबाट माया र सहानुभूति पाइरहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल)ले क्रिकेटलाई थप बलियो बनाएको भन्दै उनले खेलाडीहरुलाई व्यावसायिक बनाउनमा मद्दत गर्दै गएको उल्लेख गरेका छन् ।

“अहिले क्रिकेट सबैभन्दा बढी लोकप्रिय खेल बनेको छ । यसमा हामीलाई गर्व महसुस हुन्छ,” अध्यक्ष चन्द भन्छन्, “एनपिएल सुरु भएपछि झन् क्रिकेट खेलाडी उत्पादन हुने क्रम बढ्दै गएको पाइन्छ । यो खुसीको कुरा हो ।”

खेलकुदका क्षेत्रमा सधैँ सुदूरपश्चिम अग्रपङ्क्तिमा देखिने गरेको बताउँदै अध्यक्ष चन्दले हरेक खेलमा सुदूरपश्चिमका खेलाडीको प्रतिनिधित्व सबैभन्दा बढी देख्न पाइने गरेको बताए ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारूले एनपिएलको सुदूरपश्चिम ट्रफी टुर सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित टीकापुर उद्यानबाट सुरु गर्नु ऐतिहासिक कदम भएको बताए । उनले ट्रफी टुरले टीकापुर उद्यानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन थप मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन्।

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले २०२७ सालमा तत्कालिन राजा महेन्द्र शाहले एक महिना देशको शासन व्यवस्था चलाएको ऐतिहासिक उद्यानको महेन्द्र विश्रामगृहको भवनअगाडि बाट एनपिएल ट्रफी टुरको शुभारम्भ गरिएको बताउँदै उनले यसैगरी छिट्टै पुनः ट्रफी जितेर विजयोत्सव मनाउन फर्किने विश्वास व्यक्त गरे । क्रिकेटप्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै उनले आवश्यकता योजनासहित क्रिकेट मैदानका लागि स्थानीय सरकारले काम थालनी गर्दा त्यसमा आफ्नोतर्फबाट लगानी गर्न तयार रहेको बताए ।

“खेलाडी उत्पादन हुने थलो स्थानीय तह हो । स्थानीय सरकारले मैदानका लागि आवश्यक व्यवस्था गर्न सक्यो भने त्यसमा हामी लगानी गर्न तयार छौँ,” उनले भने । टुर ट्रफी कैलालीलगायतका सुदूरपश्चिमका विभिन्न स्थानमा पु¥याइने बताइएको छ ।

राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल

वीरगञ्ज (पर्सा)। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

आज वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरीतस्करी नियन्त्रणका लागि सरोकार भएका निकायबीच समन्वय गरेर काम गर्न सबैलाई अनुरोध गरे । उनले झोलेपोके तस्करीलाई बाटोमा समात्नेभन्दा पनि जहाँ पुर्‍याइन्छ सोही ठाउँबाट नियन्त्रण लिन सरोकार भएका निकायलाई निर्देशन दिए ।

“दैनिक गुजरा चलाउनका लागि सरसमान ल्याउने र तस्करी गर्नेबीच छुट्याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि अनुरोध गर्दछु”, अर्थमन्त्री खनालले भने । राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने उनले धारणा व्यक्त गरे ।

“सबै निकाय एउटै हौँ । परस्पर प्रतिस्पर्धी होइनौँ । राजस्वको जिम्मेवारी अर्थमन्त्रालयको मात्रै नभएर राज्यका सबै निकायको हो । त्यसैले हातेमालो गरेर काम गर्न जरुरी छ”, मन्त्री खनालले भने, “राजस्व चुहावटमा देखिएका कमीकमजोरी संयुक्त रूपमा मिलेर समाधान गर्नका लागि निर्देश गर्दछु ।”

अर्थमन्त्री खनालले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकार भएका सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । “तीनवटै सुरक्षा निकायले पनि सूचना समन्वयमा सहकार्य गर्न जरुरी छ”, उनले भने, “सुरक्षा निकायबाट बरामदी लक्ष्य बढाउने विषय पनि त्यति राम्रो होइन । सोतर्फ ध्यान दिन आग्रह गर्दछु ।”

अर्थमन्त्री खनालले सीमामा बस्ने कर्मचारी तथा राजस्वसँग सम्बन्धित कर्मचारीहरूले सेवाग्राहीसँग बोली र व्यवहारमा नम्र र सभ्य व्यवहार गर्नुपर्ने बताए । सेवाग्राहीका लागि हामी खटिएकाले उनीहरूको भावनाअनुसार काम गर्न सबै कर्मचारीलाई उनले आह्वान गरे ।

अर्थमन्त्रालयका महाशाखा प्रमुख उत्तरकुमार खत्रीले चोरीतस्करी नियन्त्रण गर्ने अहिले उपयुक्त समय भएको बताए । “अहिले काम गर्नका लागि कुनै पनि राजनीतिक दबाब र प्रभाव नआउने भएकाले पनि सही ढङ्गले कार्यसम्पादन गर्न अनुरोध गर्दछु”, उनले भने, “राजस्व चुहावट नियन्त्रणमा सक्रिय भई लाग्न निर्देश गर्दछु ।”

राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरोकार भएका सबैसँग अनुरोध गरे । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त प्रयास जरुरी रहेकामा जोड दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले राजस्व चुहावट नियन्त्रणका लागि सरोकार भएका निकायसँग सहकार्य र समन्वय गरी योजनाबद्ध कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए । “चालु आवको तीन महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन भएको छ”, उनले भने, “गत आवको तीन महिनाको तुलनामा राजस्व सङ्कलन १२ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।”

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीले भने, “सो जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बेंसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहरमा ल्याएको र उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।”

प्रहरीले जिप चालक बेँसीसहर–९ का २९ वर्षीय मदन दुलाललाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको जनाएको छ । बालिकाको शव परीक्षण भइरहेको र परीक्षणपश्चात् परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।

ओलीको प्रश्न : त्यसबेला शुकरात त भागेनन्, आज केपी ओली भाग्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पासपोर्ट रोक्का गर्ने र काठमाडौं उपत्यका छाड्न नदिने सरकारको निर्णयप्रति असन्तुष्टि पोखेका छन् । बुद्धिजीवि वर्गको अन्तर संवादमा बोल्दै सुशीला कार्की नेतृत्वको सरकारलाई देश छाडेर आफू कतै नभाग्ने बताए ।

उनले भने, ‘यो असंवैधानिक, कसैप्रति पनि उत्तरदायी नभएको सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ? मर्न परे यही देशमा मर्छु, शुकरात त्यसबेला भागेनन्, आजको केपी ओली भाग्छ ? के सोचेको छ यिनीहरूले, तमासाको पनि हद हुन्छ नि । सुनेको मात्रै है, कुनै पत्र दिएको छैन ।’

आफूलाई काठमाडौं छाड्न नमिल्ने सीमा तोकेर देशमा चुनाव हुन नसक्ने समेत उनले बताएका छन् । उनले थपे, ‘देशको मजबूद पार्टीलाई काठमाडौं छाड्न नदिने रे, अनि चुनाव के आ–आफैं मात्रै लड्छौँ ? पार्टीहरू लड्छन् चुनाव । यो सबै असंवैधानिक सरकारका असंवैधानिक क्रियाकलाप हुन् ।’ उनले प्रतिनिधिसभा पुनस्र्थापनाको माग लिएर हरेक नेपाली आन्दोलित हुनुपर्ने समेत बताए ।

 

एकै पटक एक हजार ८४२ प्रहरी जवानले निकाले नाम (नतिजासहित)

काठमाडौं । नेपाल प्रहरीको जवान पदको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०८१ मंसिर २१ गते प्रकाशित विज्ञापनअनुसार खुला र विभिन्न समूहमा गरी एक हजार ८४२ जना जवानका लागि सिफारिस भएका हुन् । नियुक्तिका लागि सिफारिस भएकाहरुले मंसिर १ गते आफूले प्राप्त गरेका विभिन्न प्रमाणपत्रसहित सम्बन्धित परिक्षा केन्द्रहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

हेर्नुस् सूची

 

 

धर्मसँग मानवीय भावनालाई जोडौँः अध्यक्ष ढकाल

गलकोट(बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदिक सनातन धर्मका हिसाबले महत्वपूर्ण रहेको गण्डक क्षेत्रमा धार्मिक गतिविधि बढेको बताएका छन् ।

अध्यक्ष ढकालले मानव जातिका लागि मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएको बताए । उनले धर्मसँग मानवीय भावनालाई जोडेर बागलुङ भूमिलाई थप चिनाउन आवश्यक रहेको उल्लेख गरेका छन्।

मानव सेवा आश्रम बागलुङको शाखाको भवन निर्माणका लागि आयोजना गरेको श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञको आज उद्घाटनपछि अध्यक्ष ढकालले मानवीय भावनालाई धर्मसँग जोडेर बागलुङलाई चिनाउन आवश्यक रहेको बताए । उनले महायज्ञमार्फत मानवताको मन्दिर निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

“मानवीय भावनाको पुण्यकार्यमा सबैको सहयोग रहन्छ, पवित्र कालीगण्डकी तट जुन मुक्तिनाथ र दामोदरकुण्डको काखमा छ । आश्रमको भवन निर्माणमा व्यक्तिगत र संस्थागत रुपमा सहभागी हुन्छु”, उनले भने ।

विश्वका हिन्दू धर्मावलम्बीहरुका आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र दामोदरकुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम, जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट पनि हाम्रा सुप्रसिद्ध तीर्थस्थललाई मानव सेवा आश्रमले जोड्नुपर्ने अध्यक्ष ढकालले बताएका छन् । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले चिरेको बागलुङ धार्मिक पर्यटनको क्षेत्रमा अघि बढेको बताउँदै मानवीयताको मन्दिर निर्माणमा सबैले सहयोग गर्न आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ । आश्रमका अभियन्ता रामजी अधिकारी, सुमिरा लामासहित सबैलाई थव मानवीय क्षेत्रमा काम गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

सडकमा अलपत्र परेका, बेसहारा भएका, सहयोगापेक्षी, अभिभावकविहीन र अलपत्र परेका जस्को कोही छैन त्यस्को मानव सेवा आश्रम छ भन्ने सन्देश नेपालभर पु¥याउन आवश्यक रहेको उनको भनाइ थियो । विसं २०७२ मा बागलुङ शाखाको स्थापना भएको मानवसेवा आश्रम अहिले भाडाको भवनमा ६४ जनालाई आश्रय प्रदान गर्दै आएको छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा २०७८ देखि निर्माण थालिएको मानव सेवा आश्रमको भवन निर्माणमा रु पाँच करोड खर्च भइसकेको छ भने भवन सम्पन्नताका लागि थप रु चार करोड खँर्च लाग्नेछ । यही कात्तिक २८ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथा वाचकका रुपमा भागवत् भाष्कर कमलनयन गौतम रहेका छन् ।

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

काभ्रपेलाञ्चोक । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए ।
उनले भने, ‘वर्षाैदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए । ठाउँ नै खण्डहर जस्तो बनेको थियो । धुलो टकटक््याएर छपाइ थालेका छौँ ।’  उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने छ । सञ्चारमन्त्री खरेलले भने, ‘२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।’
लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका छपाइ सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर छाप्ने गरिएको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भए पनि छपाइ गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाइ सुरु गरिएको बताए । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए । पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो । सुरुमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ । कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आजैदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु तीन अर्ब लगानी भएको छ।

१२५ राजनीतिक दल आयोगमा दर्ता : राजनीतिक दलहरुले खोजे शान्ति सुरक्षाको ग्यारेन्टी

काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १२५ वटा राजनीतिक दलहरु दर्ता भएका छन् । शुक्रवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १८ वटा राजनीतिक दलहरुले दर्ताका लागि आयोगमा निवेदन दिएको बताए । उनकाअनुसार १८ मध्ये ९ वटा राजनीतिक दलहरुले अघिल्लो आर्थिक वर्षमा कागजात पेश गरे पनि पुग्ने गरी कागजात पेश नगरेकाले विचाराधिन अवस्थामा रहेका छन् । अहिले १८ वटा राजनीतिक दलहरु दर्ता प्रक्रियामा रहेका छन् ।

प्रवक्ता भट्टराईले अहिले निर्वाचन कार्यायोजना प्रकाशित भइसकेको र निर्वाचन कार्यक्रम प्रकाशन गर्न बाँकी रहेको पनि बताए । उच्चस्तरीय निर्वाचन सुरक्षाको बैठक पनि सम्पन्न भइसकेको र बैठकका निर्णयहरु कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा पठाइसकिएको बताए । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० गतेसम्म राखिएको र कार्तिक मसान्तसम्म दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका दलहरुले निर्वाचनमा भाग लिन दल दर्ता गर्नसक्ने स्पष्ट पारे ।

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले सरकारले राजनीतिक दलहरुसँग संवाद गरेर विश्वासमा लिन नसकेको बताए । उनले निर्वाचनस्थलहरु आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको अवस्थामा निर्वाचनमय वातावरण बनाउन सरकारले नसकेको जिकिर गरे ।समितिको बैठकमा राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराले मुलुकमा संविधान जोगाइराख्न निर्वाचनको विकल्प नभएको बताए । उनले संसद पुनर्स्थापना भन्दा पनि निर्वाचनमा सहभागी हुनु नै उत्तम विकल्प भएको बताए । शान्ति सुरक्षाको भरपर्दो व्यवस्था सरकारले गर्नुपर्ने बताए ।

बैठकमा राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले निर्वाचनको विकल्प नभएको बताए । नयाँ पुस्ताको आन्दोलनबाट हुन लागेको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले मतदान गर्न पाउँछन् की पाउँदैनन् भन्दै प्रश्न गरे । राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटाले निर्वाचनको विकल्प नभएको बताए । मुलुकलाई संकटबाट निकाल्न निर्वाचन जरुरी रहेको बताए । जेनजी आन्दोलनको नाममा धेरै क्षति भएको र जेलबाट भागेका कैदीहरुले दुःख दिने, प्रहरीबाट लुटिएका हतियार फिर्ता नहुँदा नागरिक त्रसित रहेको बताउनु भयो । बैठकमा सांसदहरुले निर्वाचनमा शान्ति सुरक्षाको सुनिश्चिततामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

 

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर्नुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनर्स्थापना पनि उनी आफैले गर्नुपर्ने तर्क गरेका हुन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापना अदालतले गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गरे ।

उनले प्रतिनिधिसभा पुनर्स्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकीर गर्दै त्यसको पक्षमा आम नेपाली जनता उभिनु पर्ने समेत बताए । अध्यक्ष ओलीले भने, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनु पर्दछ । प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई तीब्र बनाउनु पर्दछ । जसले विघटन गर्छ, त्यसले पुनर्स्थापना गर्छ । कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ । असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? पुनर्स्थापना गर्नुपर्‍यो नि । विघटन गर्ने राष्ट्रपतिले पुनर्स्थापना गर्नु पर्‍यो । यस कुरामा हामी लेख्न सक्नु पर्दछ । बोल्न सक्नु पर्दछ । सत्यको पक्षमा उभिन सक्नु पर्दछ ।’ अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर आन्दोलनमा उत्रन पनि सबैलाई आह्वान गरे । उनले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि दोहोर्‍याए ।

ओलीको आरोप : सुशीला कार्कीको सरकार असंवैधानिक र प्रतिगामी

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक, प्रतिगामी र अराजक प्रवृत्तिबाट जन्मिएको सरकारको संज्ञा दिएका छन् । एमाले शिक्षा तथा मानवस्रोत विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘केपी ओलीसँग अन्तर संवाद’ कार्यक्रममा बोल्दै उनले पूर्व प्रधानन्यायाधीश कार्कीले संविधान विपरीत प्रधानमन्त्री बनेको आरोप लगाए ।

ओलीका अनुसार संविधानले पूर्व प्रधानन्यायाधीशलाई कुनै पनि सरकारी जिम्मेवारी लिन निषेध गरेको भए पनि कार्कीले सो सीमालाई तोड्दै सत्ता सम्हालेकी हुन् । उनले भने, ‘कुनै संविधानले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्न दिने कुरा गरेको छैन । मानव अधिकार आयोग बाहेक अन्य कुनै पदमा जान मिल्दैन भन्ने प्रावधान छ । त्यसो हुँदा पनि संविधान मिचेर प्रधानमन्त्री बन्नु प्रतिगमनको पराकाष्ठा हो ।’

डिस्कर्डमार्फत प्रधानमन्त्री चयन भएको भनाइप्रति व्यङ्ग्य गर्दै ओलीले भने, ‘के सभ्य समाजमा डिस्कर्डबाट प्रधानमन्त्री छानिन्छ ? दुई–तीन हजार केटाकेटीले डिस्कर्डमा भोट हाले र त्यसलाई सरकार मान्ने ? कसले गन्यो त्यो मत ? कस्तो मतपत्र थियो ?’ उनले त्यस किसिमको प्रक्रियालाई ‘हावाको भरको हाहुको सरकार’ भनेर टिप्पणी गरे । ओलीले अराजक आन्दोलन र आगजनीको भरमा बनेको सरकारले लोकतन्त्र, संविधान र संसदप्रति वैरभाव देखाएको आरोप पनि लगाए । उनले भने, ‘२४ गतेको आगजनी र तोडफोडपछि बनेको सरकार न जनअनुमोदनबाट बनेको हो, न संविधानअनुसार । यो लोकतान्त्रिक प्रणाली र प्रक्रियासँग वैमनस्य राख्ने, प्रतिनिधिसभाको अस्तित्वलाई चुनौती दिने सत्ता हो ।’

राजतन्त्रकालीन प्रतिगमन देख्न सकिने भए पनि अहिलेको प्रतिगमन ‘अदृश्य र आधारहीन’ भएको उनको भनाइ थियो । ‘यी प्रतिगमनकारी न इतिहासमा छन्, न परम्परामा, न जनसमर्थनमा । हाहुमा आगो लगाउने, तोडफोड गर्ने, अराजक अभ्यास गर्नेहरूको भरमा बनेको सरकार देशका लागि खतरा हो’, उनले चेतावनी दिए । ओलीले अन्त्यमा एमालेले अराजकताका यी अभ्यासहरूविरुद्ध दृढतापूर्वक प्रतिवाद गर्ने स्पष्ट सन्देश दिएका थिए ।

तस्बिरमा हेर्नूहोस् कर्णाली याक्सको एनपिएल ट्रफी यात्रा

काठमाडौँ । कर्णाली याक्स स्पोर्ट्स प्रा.लीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली प्रदेशमा विभिन्न शहर, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी यात्रा सम्पन्न गरेको छ ।

कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा पहिलो दिन (मंगलबार) सल्यानको कुपिण्डे ताल र खलंगा बजारमा ट्रफी यात्रा गरेको हो । दोस्रो दिन (बुधबार) सुर्खेतको काँक्रेविहारसँगै विरेन्द्रनगर परिक्रम गराइएको थियो । सो क्रममा हजारौं विद्यार्थी तथा स्थानीयले ट्रफी नजिकैबाट नियालेका थिए ।

बिहीबार प्रशिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा पु¥याएर ट्रफीलाई सुदूरपश्चिम पठाइएको थियो । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरुको पनि उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।

यसअघि बुधबार काँक्रेविहारबाट कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले ट्रफी अनावरण गरेका थिए ।

ट्रफी यात्राका कर्णाली याक्सका प्रतिनिधिसँगै कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत, एनालिष्ट रवि थापा तथा खेलाडीहरु विपिनप्रसाद शर्मा, युनिससिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे सहभागी भएका थिए ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

हरेक खेल जित्दा क्रिकेट संघलाई १ लाख

कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ । कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले कर्णाली याक्सले जित्ने हरेक खेलवापत एसियस पेन्टस्ले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा सुर्खेतमा गरेका थिए ।

कुलमान लक्षित रास्वपाको टिप्पणी : पार्टी ‘कब्जा’ गर्ने नियतको खुला प्रतिवाद गर्छौं

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र हस्तक्षेप गर्ने वा ‘कब्जा’ गर्ने प्रयासहरूलाई खुला रूपमा प्रतिवाद गर्ने घोषणा गरेको छ । चितवनको सौराहामा शुक्रबार सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत पार्टीले यस्तो चेतावनी दिएको हो ।

अर्यालले प्रतिवेदनमा भनेका छन्, ‘पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाऊँ भन्ने कुरा गर्दाको साक्षी म स्वयं हुँ । तर, त्यसबेला उहाँहरूले पत्याउनु भएन । अहिले पनि हामी उहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौं । तर, पार्टीको इतिहास र पहिचान बुझ्न जरुरी छ । ‘कब्जा’ गर्ने नियत चाहिँ हामी खुला रूपमा प्रतिवाद गर्छौं ।’

यो भनाइ कुलमान घिसिङतर्फ लक्षित देखिएको बताइएको छ । ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व घिसिङले नयाँ दल गठनको तयारीसँगै रास्वपामा प्रवेशको सम्भावनामा चर्चा चलिरहेको थियो । उनले रास्वपाको कार्यकारी सभापति बन्ने शर्त राखेका थिए, तर त्यो अस्वीकार भएपछि दुवै पक्षबीचको सहकार्य सम्भावना लगभग टुटेको छ । प्रतिवेदनमा रास्वपाले पुराना तीन दलको वर्चस्व अन्त्य गर्न वैकल्पिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ । पार्टीले समान विचार र कार्यशैली भएका समूहहरूसँग हातेमालो गर्नुपर्ने र राष्ट्रिय हितका एजेण्डामा आधारित सहकार्यका लागि खुला रहने नीति लिएको छ ।

अर्यालले प्रतिवेदनमा भनेका छन्, ‘व्यक्तिगत अहं र सानातिना मतभेदभन्दा माथि उठेर एकता, मोर्चाबन्दी वा सहकार्यका लागि तत्पर हुनुपर्छ । सम्भव हुनेसँग एकता गर्ने, नहुनेसँग मोर्चाबन्दी र त्यो पनि नहुनेसँग सीमित मुद्दामा तत्कालीन सहकार्य गर्ने नीति अवलम्बन गर्नुपर्छ।’ रास्वपाको यो अभिव्यक्ति दलभित्र वैकल्पिक नेतृत्व र बाह्य सहकार्यका विषयमा चलिरहेको नयाँ समीकरणबीच आएको हो । जसले नेपालको वैकल्पिक राजनीतिक शक्तिहरूबीचको आगामी गठजोडमा नयाँ मोड ल्याउन सक्ने देखिन्छ ।

‘विप्लव’ सहितका नेता आयोग पुगेर गरे सनाखत (तस्वीरहरु)

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निर्वाचन आयोगमा सनाखतका लागि निर्वाचन आयोग पुगेको छ । नेकपा महासचिव विप्लव नेतृत्वमा आज नेकपा नेताहरू निर्वाचन आयोग पुगेर पार्टी सनाखत गरेका हुन् । प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेका हुन् ।

आगामी निर्वाचनमा भाग लिने तयारीमा नेकपा छ । विप्लव नेकपाले यसअघि नै दल दर्ताको निवेदन दिएको थियो । दल दर्ताका लागि आवश्यक कागजातसहित सनाखतका लागि आयोगले बोलाएपछि उनीहरू आज सनाखत गर्न गएका हुन् । दल दर्तासँगै विप्लव नेतृत्वको नेकपा पनि अब चुनावमा जाने भएको छ । देश र जनताको चाहना र अहिलेको वस्तुस्थितिलाई बुझेर आफूहरू दल दर्ता प्रक्रियामा लागेको नेताहरूले बताएका छन् ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

तीन महिनामा कुन बैंकहरुले कति कमाए नाफा ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् । असोजसम्ममा ५ वटा बैंकहरुको मात्रै नाफा बढेको छ भने १५ वटा बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सो बैंकले ५८ करोड ९७ लाख आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख मात्रै नाफा गरेको थियो ।

ग्लोवल आईएमई बैंकको पनि नाफा वृद्धि भएर १ अर्ब ८५ करोड ८६ लाख, सानिमा बैंकको वृद्धि भएर ४५ करोड ४९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको वृद्धि भएर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको वृद्धि भएर १ अर्ब १७ करोड ९२ लाख पुगेको छ ।
१५ वटा बैंकको नाफामा गिरावट आउँदा सिटिजन्स बैंकले घाटा व्यहोरेको छ । हाल बैंकको नाफा २२ करोड ४ लाख ऋणात्मक छ । यस्तै, कृषि विकास बैंकले ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकले ५५ करोड ८४ लाख ८३ हजार, नेपाल एसबीआई बैंकले ५० करोड १५ लाख ६५ हजार खुद नाफा कमाएका छन् ।

माछापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख ५६ हजार, सिद्धार्थ बैंकले ३२ करोड ४० लाख ९१ हजार, नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख ३१ हजार, एनएमबि बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६९ करोड २१ लाख ६९ हजार नाफा कमाएका छन् । यसैगरी, हिमालयन बैंकले ७० करोड २८ लाख ९४ हजार, नेपाल बैंकले ५८ करोड ८२ लाख ८७ हजार, प्राइम कमर्शियल बैंकले १ अर्ब २५ करोड ८४ लाख ३० हजार, कुमारी बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । समग्रमा ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । धेरैजसो बैंकहरु चर्को दबाबमा रहेको तथ्यले देखाएको छ ।

 

केही समयपछि देशको वागडोर रास्वपाले सम्हाल्छः स्वर्णिम वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको वागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने दाबी गरेका छन् ।

चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो दाबी गरे । उनले संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब सबै निर्वाचनमा केन्द्रिय हुनुपर्ने बताए। अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको छ ।

अब घनिभुत ढंगबाट निर्वाचनको तयारी गर्नुपर्ने वाग्लेले बताए। विचार, योजना र सिद्धान्तमा टेकेर जनतालाई प्रेरित पार्नुपर्ने बताए। उनले भने, ‘संघीय निर्वाचन घोषणा भइसकेको छ । त्यसको तयारी पनि हामीले अब घनिभुत ढंगले गर्नुपर्नेछ । १ सय २० दिन भन्दा कम छ । त्यसकै सेरोफेरोमा निर्वाचनको तयारीका लागि पनि विचार, योजना र सिद्धान्तमै टेकेर हामीले जनतालाई प्रेरित पार्नुछ, प्रेरणा दिनुछ । अबको केही समयपछि देशको कालखण्डको वागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्ने छ ।’

उनले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीमा एकजुट भएर लाग्न पार्टीका नेता, कार्यकताहरुलाई निर्देशन दिए ।

पत्रकारिताका कारण हिल्टन होटल जल्योः चलचित्र बोर्ड अध्यक्ष

काठमाडौँ । नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेन-जी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गरेका छन्।

आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले पत्रकारीताका कारणले नै हिल्टन होटल जलेको बताउँदै पत्रकारहरु संयमित हुन जरुरी रहेको बताए । डिसिले हिल्टन होटल जल्दा देशसँगै पर्यटन क्षेत्रलाई ठूलो घाटा भएपनि लगानीकर्तालाई भने घाटा नभएको बताए।

अध्यक्ष दाहालले भने– ‘हिल्टन होटल कसरी जल्यो ? अरु ककसको जल्यो जल्यो होला, हिल्टन कसरी जल्यो भन्दा पत्रकारिताकै कारणले गर्दा मात्रै जल्यो । जल्यो देशलाई घाटा भयो । पर्यटन उद्योगलाई घाटा भयो । तर लगानीकर्तालाई घाटा भएन । इन्सोरेन्सबाट उसले ७ अर्ब लिइसक्यो । उसलाई त्यहाँ डेढ अर्ब फाइदै भयो । पत्रकारिताको इगोले एउटा कुरा जित्न खोज्दा बिग्रेको हो नी त ।’

इगो राखेर पत्रकारितामा गर्दा देश समाजलाई ठूलो नोक्शानी पुर्‍याउने उनको भनाइ छ ।

राजनीतिक पाठशालाको सन्देश

काठमाडौँ। नेपाल आज पुनःएक ऐतिहासिक सङ्क्रमणको चौराहामा उभिएको छ । गणतन्त्र, सङ्घीयता र लोकतन्त्रको संस्थागत यात्रामार्फत देशले राजनीतिक रूपान्तरण र अनुभव गर्‍ र्यो, तर स्थायित्व र सुशासनका अपेक्षित परिणाम अझै हासिल गर्न सकेको छैन । संविधानले राजनीतिक ढाँचा र शासन व्यवस्थाको आधार तय गरिसकेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा अझै चुनौती बाँकी छ ।

मुलुकले रूपान्तरणको स्वाद चाखिसकेको छ, तर अब स्थायित्व, सुशासन र जनउत्तरदायित्वको यात्रामा प्रवेश गर्नुपर्ने आवश्यकता तीव्र बनेको छ ।

यसबीच, नेपालको राजनीति फेरि उथलपुथलको नयाँ चरणमा प्रवेश गरेको छ । प्रमुख दलभित्र सङ्गठनात्मक सङ्कट, वैचारिक द्वन्द्व र नेतृत्वको पुनसंरचना तीव्र बनेका छन् । सत्ताको समीकरणमा हुने बारम्बारको फेरबदलले जनताको भरोसा कमजोर बनाएको छ । यसैबीच, युवा पुस्ताबाट उठेको जेनजी आन्दोलनले दल–राज्य सम्बन्ध र जन–राजनीतिक चेतनामा नयाँ चुनौती र सम्भावना दुवै सिर्जना गरेको छ । यो आन्दोलनले पुरानो राजनीतिक संस्कृतिमा वैकल्पिक सोचको प्रवेश गराएको छ ।

यस पृष्ठभूमिमा नेपाल साँच्चिकै एउटा राजनीतिक पाठशाला बनेको छ । जहाँ हरेक असफलता, आन्दोलन र सत्तापरिवर्तनले नयाँ पाठ सिकाइरहेको छ । कतिपयले यसलाई राजनीतिक प्रयोगशाला भन्छन्, तर यथार्थमा राजनीतिशास्त्रको विद्यार्थी हुनुले भन्नै पर्दछ– नेपाल लोकतन्त्र, सङ्घीयता र समाजवादोन्मुख शासनको अभ्यासको गतिशील विद्यालय बन्न गएको छ । स्थापित प्रमुख दलले अहिले आन्तरिक सङ्कटको सामना गरिरहेका छन् । नेतृत्वमा उत्तराधिकारको स्पष्ट नीति छैन, वैचारिक आधार कमजोर छ, साङ्गठनिक एकता गुटबन्दीले ग्रसित छ र कार्यकर्ता स्तरमा निराशा बढ्दो छ । महाधिवेशनका माग तीव्र छन्, तर ती बहसका मञ्चभन्दा औपचारिकता बन्न पुगेका छन् । पुराना सबै दलले समाजवादोन्मुख, प्रगतिशील र जनमुखी नारा लगाइरहेका छन्, तर व्यवहारमा नीति र कार्यक्रममा वैचारिक स्पष्टता छैन । राजनीतिक विचारभन्दा शक्ति सन्तुलन र गठबन्धनको अङ्कगणित प्रमुख बनेको छ ।

पछिल्ला वर्षमा सबै दलभित्र फुटजुटको शृङ्खला दोहोरिरहेको छ । यी फुटहरू विचारका कारण होइनन्, अवसर र व्यक्तिगत महत्वाकाङ्क्षाका कारण हुन् । यसले दलहरूको आन्तरिक स्थायित्व कमजोर बनाएको छ र राज्यसत्तामा अस्थिरता निम्त्याएको छ । दलभित्र पद, अवसर र जवाफदेहिता नहुँदा कार्यकर्ता निराश छन् । युवाको ठूलो हिस्सा वैकल्पिक आन्दोलनतर्फ मोडिँदैछन् । कोही स्वतन्त्र अभियानमा, कोही नागरिक दबाब समूहमा, कोही प्रत्यक्ष सडक आन्दोलनमा देखिनुका कारण नै यही हो । यसले दलमुखी राजनीतिमा अविश्वास बढाएको छ ।

यही सन्दर्भमा जेनजी आन्दोलनलाई बुझ्नुपर्छ । यो आन्दोलन कुनै दलको निर्देशनमा होइन, स्वतःस्फूर्त रूपमा युवाको असन्तोषको विस्फोट थियो । बेरोजगारी, भ्रष्टाचार, नातावाद र अवसर–अभावले युवापुस्तालाई आक्रोशित बनाएको थियो । जब सरकारले अभिव्यक्तिको स्वतन्त्रता र सामाजिक सञ्जालमा नियन्त्रण गर्ने प्रयास ग¥र्यो, तब जनचेतनामा आगो बल्यो । यो आन्दोलनले स्पष्ट सन्देश दिएको छ कि अब युवा केबल दर्शक होइन, परिवर्तनका चालक शक्ति हुन् । सकारात्मक रूपमा हेर्दा, जेनजी आन्दोलनले उत्तरदायी नागरिक चेतनाको विकास गराएको छ । राज्यसत्ता र नागरिकबीचको सम्बन्ध पुनःपरिभाषित भएको छ ।

राजनीतिक दलहरूका लागि यो चेतावनी र अवसर दुवै हो । यदि तिनीहरूले युवाको आवाज आत्मसात् गर्नसके भने पुनर्जीवनको सम्भावना छ, अन्यथा जनविश्वास झन् टाढा जानेछ । नेपालको राजनीति सधैँ क्षेत्रीय र अन्तरराष्ट्रिय शक्ति केन्द्रहरूको दृष्टिमा रहँदै आएको छ । भारत, चीन र पश्चिमी मुलुकहरूले नेपालको राजनीतिक प्रक्रियामा प्रभाव पार्ने प्रयास नगरेका होइनन् । तर अहिलेको असन्तुलनको मुख्य कारण विदेशी चलखेल भनेर चर्चा गर्नुभन्दा पनि आन्तरिक कमजोरी हो भनी स्वीकार्नु पर्दछ । वैचारिक अस्पष्टता, नीतिगत अस्थिरता र भ्रष्टाचारले विदेशी हस्तक्षेपका ढोका आफैँ खोलिदिएका छन् । त्यसैले जिम्मेवारी नेपाली नेतृत्वकै हो । जसले राष्ट्रिय हित, स्वायत्त नीति र जनअपेक्षाबीच सन्तुलन कायम गर्नुपर्छ । नेपालको राजनीतिक रूपान्तरणको आगामी चरण दलभित्रको सुधारमा निर्भर छ । राज्यका संयन्त्रहरू दल प्रधान छन् । त्यसैले स्थायित्वको आधार पनि दलहरूको आन्तरिक स्थायित्व हो । निर्वाचन समयमै हुनुपर्छ; जनमत प्राप्त नेतृत्व नै स्थिर सरकारको आधार हो । ढिलाइ र असंवैधानिक उपायले लोकतन्त्रको अभ्यासलाई कमजोर बनाउँछ । दलहरूको साङ्गठनिक लोकतन्त्र केबल विधानमा होइन, व्यवहारमा देखिनुपर्छ । पार्टीका महाधिवेशन केबल पद बाँडफाँटको औपचारिकता होइन, विचार र नीतिको प्रतिस्पर्धा हुने मञ्च हुनुपर्छ । नेतृत्व हस्तान्तरणको स्पष्ट प्रक्रिया र नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्नसकेमात्र दलहरूको पुनर्जागरण सम्भव हुन्छ ।

राजनीतिक सङ्घीयता मात्र होइन, प्रशासनिक र वित्तीय सङ्घीयता पनि कार्यान्वयन हुनुपर्छ । प्रदेश र स्थानीय तहलाई अधिकार, स्रोत र स्वतन्त्रता दिएर राज्य संरचना सुदृढ गर्न सकिन्छ । सङ्घीयता जनताको नजिक सरकार पु¥याउने माध्यम हो ।

त्यसैले स्थानीय तहलाई बलियो बनाउन आर्थिक स्वायत्तता अनिवार्य छ । संविधानको मर्मअनुसार समाजवादोन्मुख शासनको कार्यान्वयनका लागि सार्वजनिक संस्थानहरू पारदर्शी र उत्तरदायी हुनुपर्छ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सामाजिक सुरक्षामा समान अवसर सुनिश्चित नगरी समाजवादको लक्ष्य पूरा हुन सक्दैन । राजनीतिक नेतृत्वको पहिलो जिम्मेवारी अब जनविश्वास पुनःस्थापना गर्नु हो । व्यक्तिगत स्वार्थ र गुटगत हितभन्दा माथि उठेर सेवा–केन्द्रित राजनीति गर्नसके मात्र लोकतन्त्र बलियो हुन्छ । जनतासँग प्रत्यक्ष संवाद, पारदर्शीता र परिणाममुखी शासनको अभ्यासले मात्र लोकतन्त्रलाई सार्थक बनाउँछ ।

नेपालको राजनीतिक यात्रा अहिले पुनर्विचारको चरणमा छ । प्रमुख दलहरू महाधिवेशनको तयारीमा छन्, नयाँ विचार र नयाँ पुस्ता प्रवेशको अपेक्षा बढेको छ । यी प्रक्रियाहरूले सङ्केत गर्छन् कि नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गर्दैछ । यदि दलहरूले यस अवसरलाई आत्मसुधार र जनसेवाको माध्यम बनाउँछन् भने नेपालको राजनीति स्थायित्व र रूपान्तरणको नमुना बन्न सक्छ । तर, पुनःअतीतका गल्तीहरू दोहोरिए भने नयाँ पुस्ताले आफ्नै बाटो रोज्नेछ, जुन अब अनिवार्य पनि देखिँदैछ ।

नेपालमा राजनीतिक प्रयोग धेरै भयो, तर सबैको सिक्ने प्रवृत्ति कमजोर रह्यो । अब हरेक असफलतालाई शिक्षामा रूपान्तरण गर्न सक्नुपर्छ । यही प्रक्रिया नै नेपालको लोकतान्त्रिक अभ्यासको सार हो । नेपाल साँच्चिकै राजनीतिक पाठशाला हो । जहाँ गल्तीमै पनि सिकाइ छ, सङ्घर्षमै पनि सम्भावना छ । आज दलहरू अलमलमा छन्, तर समयले उनीहरूलाई आत्मसुधारको अवसर दिइरहेको छ ।

नेपालको भविष्यको दिशानिर्देश अब स्पष्ट हुनुपर्छ । सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवादोन्मुख नीति–व्यवहारलाई मूर्त रूप दिनुपर्छ । नेपालको राजनीतिक पाठशालाको अन्तिम सन्देश के हो भने राजनीति अब पदको होइन, परिवर्तन र जनसेवाको अभ्यास बन्नुपर्छ ।

रास्वपाले भन्यो–संविधानलाई ‘ट्रयाक’ मा ल्याउने बाटो निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान राजनीतिक अनिश्चितताको एक मात्र निकास आगामी निर्वाचन नै भएको ठहर गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार सौराहामा शुरु भएको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भने, ‘जेनजी आन्दोलनपछि संविधान डिरेल भएको छ, यसलाई पुनः ट्रयाकमा ल्याउने औजार निर्वाचन नै हो ।’

अर्यालले संसद पुनर्स्थापनाबाट देशले कुनै स्थायी समाधान नपाउने दाबी गर्दै भने, ‘संसद फर्के पनि पुगिन्छ त्यही ठाउँमा—जहाँ सरकार त बन्ला, तर जेनजी आन्दोलनको म्यान्डेट र जनभावनालाई सम्बोधन गर्न सक्दैन ।’ उनले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटबारे टिप्पणी गर्दै न्यायालयले आफ्नो ‘न्यायिक भूमिका’ खेल्ने विश्वास व्यक्त गरे । तर, संसद पुनर्स्थापना भयो भने त्यसले देशलाई पुनः अराजक मोडमा धकेल्ने सम्भावना औंल्याए ।

रास्वपाको प्रतिवेदनमा भनिएको छ, ‘दलीय व्यवस्थामा विशेष परिस्थितिबाट गैरदलीय सरकार बनेको हो । अब यो सरकारको पहिलो दायित्व नै निर्वाचन गराउने हो ।’ अर्यालका अनुसार निर्वाचनले मात्र लोकतान्त्रिक प्रतिस्पर्धा पुनः स्थापित गर्छ र संविधान कार्यान्वयनको ‘ट्रयाक’ मा फर्किन्छ । पार्टीले सबै दलहरूलाई आगामी फागुन २१ को निर्वाचनलाई ‘अर्जुन दृष्टि’ का रूपमा लिन आह्वान गरेको छ । ‘देशलाई पुनः लोकतान्त्रिक बाटोमा फर्काउने शक्ति निर्वाचनमा केन्द्रित हुनुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

कार्यवाहक सभापति अर्यालले प्रधानमन्त्री र केही दलबीच संवादको कमीले राजनीतिक दूरी बढाउने चिन्ता व्यक्त गरे । ‘सरकार सबै दल र जनताको अभिभावक हो, त्यसैले कुनै आग्रह वा पूर्वाग्रह राख्नु हुँदैन’, उनले भने । रास्वपाले सम्पत्ति विवरण बुझाउन असफल ‘नागरिक सरकार’ लाई अनन्तकालीन समर्थन गर्न नसक्ने पनि स्पष्ट पारेको छ । ‘प्रतिशोधको राजनीतिविरुद्ध सरकार कसरी प्रस्तुत हुन्छ, सुशासन र दण्डहीनताको अन्त्यमा कति इमान्दार देखिन्छ, र निर्वाचनका तयारीमा कस्तो सक्रियता देखाउँछ—त्यसले हाम्रो शुभेच्छा निरन्तर रहन्छ कि क्रमभंग हुन्छ, निर्धारण गर्नेछ’, प्रतिवेदनमा भनिएको छ ।

 

 

बिडिसिए कपः एकदिवसीय क्रिकेट सुरु

बैतडी । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करण आजदेखि सुरु भएको छ । क्रिकेट सङ्घको आयोजनामा दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सुरु भएको प्रतियोगिता आज यहाँ आयोजित एक समारोहकाबीच उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले गरे । समारोहमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुख, दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरालगायतको उपस्थिति रहेको क्रिकेट सङ्घका उपाध्यक्ष लोकराज जोशीले जानकारी दिए।

उद्घाटन समारोहपश्चात् अहिले एनआरवासी र त्रिपुरा क्रिकेट क्लब खेलिरहेका छन् । बाह्र टोली सहभागी प्रतियोगिताको फाइनल खेल आगामी मङ्सिर ५ गते हुने क्रिकेट सङ्घका सचिव सिद्धराज कोकटीले जानकारी दिए। प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै म्यान अफ द सिरिजलाई रु १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु एक हजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

खेलाडी उत्पादन र क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए। गत वर्ष सम्पन्न २१औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)ले जितेको थियो ।

तस्बिरमा हेर्नुस् कीर्तिपुरमा किसानहरू धान सुकाउन व्यस्त

कीर्तिपुर । कीर्तिपुरका किसानहरूलाई अहिले धान सुकाउने चटारोमा परेको छ ।

जेष्ठको अन्तिम हप्ता र असार महिनामा रोपिएको धान अहिले भित्राउन उनीहरू व्यस्त देखिएका हुन ।

देशभरी परेको मोन्था चक्रवात, पश्चिमी वायुको प्रभावका कारण केही दिन ढिला गरी अहिले किसानहरु धान सुकाउन र भित्राउने गरी रहेको देखिन्छ ।

रास्वपाको निष्कर्ष : ठूला दलको ‘म्युजिकल चेयर’ ले जेनजी ‘विष्फोट’ (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालैको जेनजी आन्दोलनलाई पुराना दलहरूको अनैतिक सत्ता–संस्कृति र नागरिक असन्तोषको विष्फोटको रूपमा चित्रण गरेको छ । सौराहामा शुक्रबार सुरु विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपाले आफ्नो ‘निलो क्रान्ति’ को तयारीबीच जेनजीले ‘रातो क्रान्ति’ गरिदिएको टिप्पणी गरेको छ ।

अर्यालको भनाइमा, भदौ २३ र २४ गतेका घटनाहरू केवल सडकको आन्दोलन मात्र होइन, दशकौँदेखि थिचिएका नागरिक असन्तोषको सामूहिक विष्फोट थिए । उनले लेखेका छन्, ‘शासकहरूले आफ्नै भविष्य बरबाद पारे भन्ने तीव्र असन्तुष्टिले युवा पुस्ता मात्र होइन, सिंगो समाज परिवर्तनको निर्णायक शक्ति बन्न अघि सरेर जेनजी आन्दोलन भयो ।’

प्रतिवेदनका अनुसार, २३ गते आन्दोलन शान्त पार्ने घोषणा भइसकेको बेला सरकारको कठोर दमन र विद्यालय पोशाकधारी विद्यार्थीमाथिको गोलीकाण्डपछि आन्दोलन जनस्तरबाट पुनः प्रज्वलित भयो । ‘प्रधानमन्त्री केपी ओलीले जनको दुःख होइन, आफ्नै सुरक्षाको चिन्तामा राजीनामा दिएका हुन्’, अर्यालको प्रतिवेदनमा भनिएको छ । २४ गतेको विध्वंसमा राजनीतिक समूहहरूको योजनावद्ध सक्रियता देखिएको संकेत गर्दै उनले दुवै दिनका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

रास्वपाले राजनीतिक विश्लेषण गर्दै भनेको छ, ‘तीन ठूला दलले संसदलाई सत्ताको ‘म्युजिकल चेयर’ बनाएर लोकतन्त्रको नाममा दलतन्त्रको आडमा नागरिक स्वतन्त्रतालाई कुच्याएपछि यस्तो विष्फोट अपरिहार्य थियो ।’ अर्यालले ठूला दलहरू—कांग्रेस, एमाले र माओवादी केन्द्रले आ–आफ्नो स्वार्थका लागि सत्ताको खेल खेल्दा जनआक्रोश चरममा पुगेको र जेनजी आन्दोलन त्यसैको परिणाम भएको ठहर गरेका छन् ।

‘हामीले मतमार्फत ‘निलो क्रान्ति’ ल्याउने सपना देखेका थियौं, तर जनअसन्तोषले त्यसअघि नै ‘रातो क्रान्ति’ गरिदियो’, प्रतिवेदनमा भनिएको छ, ‘तर त्यो आन्दोलनको म्यान्डेट संस्थागत गर्न अब निर्वाचन नै पहिलो र अनिवार्य प्रक्रिया हो ।’ रास्वपाले दलविहीन अन्तरिम सरकारलाई बाध्यताको उपज मानेको छ र राजनीतिक स्थायित्वका लागि जनमतको पुनः अभिव्यक्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

 

 

‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा

काठमाडौँ  । लिम्बू संस्कृति बोकेको चलचित्र ‘जारी २ ः सङ अफ च्याब्रुङ’ र सामाजिक सन्देश बोकेको ‘मन बिनाको धन’ एकसाथ आजदेखि प्रदर्शनमा आएका छन् ।
यी दुवै चलचित्रले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको ‘जारी २ ः सङ अफ च्याब्रुङ’ यसअघि विसं २०८० मा प्रदर्शन भएको ‘जारी’ को दोस्रो शृङ्खला हो । लिम्बू समुदायको च्याब्रुङ नृत्य र सांस्कृतिक पहिचानलाई केन्द्रित गरेको चलचित्रले माओवादी द्वन्द्वको समयमा एक दम्पतीको जीवनमा आउने उतारचढावको कथालाई चित्रण गरेको छ ।
“यस चलचित्रबाट हामीले संस्कृतिसँगै समाज र परिवेशलाई पनि जोड्ने कोसिस गरेका छौँ,” उनले भने । उक्त चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सद्वारा निर्माण गरिएको चलचित्रले पहिलो दिन नेपालभर २६९ भन्दा बढी शो पाएको निर्माण पक्षले जानकारी दिएको छ ।

यसैगरी आजदेखि नै प्रदर्शन भएको दोस्रो चलचित्र ‘मन बिनाको धन’ बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर तयार पारिएको छ । गायक दर्जीलाई सडकबाट उद्धार गरेर गायनसम्ममा साथ दिएका सङ्गीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गरेको उक्त चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै गायक दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ ।
“सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथा चलचित्रमा ल्याएको छु । यो पूर्णतया उनकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रुपमा तयार गरेका छौँ तर मूलभूत घटनाक्रम उनकै जीवनको लिइएको छ । यो चलचित्रले गायक दर्जीको जीवनीसँग परिचित गराउँदै मनोरञ्जन पनि दिन्छ,” निर्देशक बुढाथोकीले भनेका छन् । गायक दर्जी हाल कक्षा ९ मा अध्ययनरत रहेकाले चलचित्रका रुपमा यो उमेरका लागि यही पहिलो र अन्तिम हुने उनले बताएका छन् ।
उक्त चलचित्रमा गायक दर्जीसँगै  सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झालगायतका कलाकारको अभिनय रहेको छ । उक्त चलचित्रले नेपालभर पहिलो दिन ९५ बढी शो पाएको निर्माण पक्षले जानकारी दिएका छन् ।

नासामा ३४ वर्षपछि महिला नेतृत्व

काठमाडौं । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित भएकी छन्। संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औं सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उनी निर्वाचित भएकी हुन्।

सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, क्लोराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वाशिङटन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो।

संस्था स्थापना भएको तीन दशकपछि नासाले पहिलोपटक महिला अध्यक्ष प्राप्त गरेको हो। नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि दुई कार्यकाल बोर्ड निर्देशक र महिला समितिको नेतृत्व सम्हालेकी छन्।

अमेरिकामा बसोबास गर्दै आएकी समाजसेवी गुरुङले २५ वर्षसम्म नेपाली समुदायको हक, हित र नेपाली कला, संस्कृति क्षेत्रका प्रवद्र्धमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकी छन्। सन् १९९९ बाट नासामा संलग्न गुरुङले नेपाली समुदायसँग निरन्तर भेट्घाट सुखदुःखमा साथ र सहयोग दिँदै आएको समाजसेवी राजा घलेले जानकारी दिएका हुन्।

नेपाली साहित्य, संस्कृति र परम्पराको जगेर्नामा सक्रिय भूमिका निर्वाह गरकै कारण अध्यक्षजस्तो गरिमामय पदमा उनी निर्वाचित हुन सफल भएका छन्।

त्यसैगरी नासाको कार्यकारी उपाध्यक्षमा डा दिलीप पन्थी (नर्थ क्यारोलिना) उपाध्यक्षमा प्रणय लामा र महासचिवमा शिक्षा गौतम (जर्जिया), सहसचिवमा बिमला अधिकारी र कोषाध्यक्षमा पुरनराज खतिवडा (नर्थ क्यारोलाइना) निर्वाचित भएको समाजसेवी घलेले जानकारी दिए।

अन्य १५ सदस्यीय कार्यकारी बोर्ड सदस्यमा राजेन्द्र न्यौपाने (साउथ क्यारोलिना), सुवास पोखरेल (मेरिल्याण्ड), डा. शङ्कर पराजुली (म्यासाचुसेटस्), होम लम्साल (नर्थ क्यारोलिना), कल्पना भट्टराई (जर्जिया), कुसुम बराल (साउथ क्यारोलिना), गुरुप्रसाद ढुङ्गेल (साउथ क्यारोलिना), रमा पाहारी (फ्लोरिडा), रुबी बराल (जर्जिया), प्रतिभा खडका (भर्जियना), अभिराज राजवंशी (साउथ क्यारोलिना), निशान्त अर्याल, (जर्जिया), जयनारायण साह (लुजिएना), सङ्गीता मल्ल र पार्वती तिमल्सिना (नर्थ क्यारोलाइना) निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त एवं नासाका पूर्वअध्यक्ष बिमल नेपालले जानकारी दिए।

नासाको ३४औं सम्मलेनको उद्घाटन नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीले गरेका थिए।

डीएसपीपछि अब जाँचबुझ आयोगमा एसपी बोहोरा र उच्च अधिकारीहरूको बयानको पालो

काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगमा काठमाडौं प्रहरीका अपरेशन कमाण्डर डीएसपी सुन्दर तिवारीले बयान दिएका छन् । उनले आन्दोलनका क्रममा भएका सम्पूर्ण कार्यवाही ‘माथिल्लो कमाण्डको आदेशअनुसार मात्र’ भएको स्पष्ट बताएका छन् ।

आयोग स्रोतका अनुसार, तिवारीले आफ्नो कुनै पनि निर्णय व्यक्तिगत तजबिजमा नभएको र सबै निर्देशन संगठनको नीति, आदेश र तत्कालीन परिस्थितिअनुसार मात्रै कार्यान्वयन गरिएको बताएका हुन् । उनका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुरुवाती चरणमा हामीले विद्यार्थीहरूको शान्तिपूर्ण जुलुस भनेर बुझ्यौँ, त्यसैले सामान्य सुरक्षा व्यवस्था अपनाइएको थियो । तर एभरेष्ट होटल अगाडि ब्यारिकेट तोडिएपछि र भिड संसद भवनतर्फ अघि बढ्न थालेपछि मात्रै बल प्रयोग गर्नुपर्‍यो ।’

तिवारीका अनुसार, सुरुवातमा प्रहरीको माइकिङद्वारा चेतावनी दिइएको थियो, त्यसपछि अश्रुग्यास प्रयोग गरिएको र अन्ततः घुँडामुनि लक्षित गरी रबरको गोली प्रहार गरिएको थियो । उनले थपे, ‘भिडले संसद भवनतर्फ धक्का दिने, पर्खाल र गेट तोड्ने प्रयास गरेपछि मात्रै गोली चलाइएको थियो ।’ तिवारीले गोली चलाउने प्रहरी टोली काठमाडौं जिल्ला प्रहरी परिसरको नभएको संकेत पनि गरेका छन् । उनका अनुसार, संसद भवन क्षेत्र जिल्ला प्रहरी परिसरको कार्यक्षेत्रभित्र नपर्ने भएकाले उनको टोलीले त्यहाँ बल प्रयोग गरेको थिएन ।

उनले भनेका छन्–सबै आदेशहरू सञ्चार सेट र मोबाइल फोनमार्फत् माथिल्लो कमाण्डबाट प्राप्त भएका थिए । ती आदेशहरूको ध्वनि रेकर्ड उपत्यका प्रहरी कन्ट्रोल रुममा सुरक्षित रहेको र त्यसको परीक्षणले आफ्ना भनाइ प्रमाणित गर्न सकिने उनले दाबी गरेका छन् ।तिवारीको बयानपछि आयोगले तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसपी अपिलराज बोहोरालाई आज बयानका लागि बोलाएको छ । त्यसपछि एसएसपी विश्व अधिकारी र उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीसँग पनि बयान लिने तयारी आयोगले गरेको छ ।

आयोग स्रोतका अनुसार, सोधपुछका क्रममा मुख्य कमाण्डरहरूलाई प्राथमिकता दिने नीति लिइएको छ । ‘बयानका नाममा फिल्डमा खटिएका सबै प्रहरीलाई तान्ने होइन’, स्रोतले भन्यो, ‘मुख्य निर्णय गर्ने तहका कमाण्डरहरूसँग कुरा गरेर घटनाका आधारभूत पक्ष स्पष्ट पार्ने हाम्रो उद्देश्य हो ।’ आयोगले अब क्रमशः आदेश श्रृंखला, बल प्रयोगका निर्णय प्रक्रिया र जिम्मेवारी विभाजनका विषयमा केन्द्रित भएर बयान लिने तयारी गरेको छ ।

 

पहिलो त्रैमासमा कुन बैंकहरुले कति कमाए ?

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् । असोजसम्ममा ५ वटा बैंकहरुको मात्रै नाफा बढेको छ भने १५ वटा बैंकको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सो बैंकले ५८ करोड ९७ लाख आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख मात्रै नाफा गरेको थियो । ग्लोवल आईएमई बैंकको पनि नाफा वृद्धि भएर १ अर्ब ८५ करोड ८६ लाख, सानिमा बैंकको वृद्धि भएर ४५ करोड ४९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको वृद्धि भएर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको वृद्धि भएर १ अर्ब १७ करोड ९२ लाख पुगेको छ ।

१५ वटा बैंकको नाफामा गिरावट आउँदा सिटिजन्स बैंकले घाटा व्यहोरेको छ । हाल बैंकको नाफा २२ करोड ४ लाख ऋणात्मक छ । यस्तै, कृषि विकास बैंकले ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकले ५५ करोड ८४ लाख ८३ हजार, नेपाल एसबीआई बैंकले ५० करोड १५ लाख ६५ हजार खुद नाफा कमाएका छन् ।

माछापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख ५६ हजार, सिद्धार्थ बैंकले ३२ करोड ४० लाख ९१ हजार, नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख ३१ हजार, एनएमबि बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६९ करोड २१ लाख ६९ हजार नाफा कमाएका छन् ।

यसैगरी, हिमालयन बैंकले ७० करोड २८ लाख ९४ हजार, नेपाल बैंकले ५८ करोड ८२ लाख ८७ हजार, प्राइम कमर्शियल बैंकले १ अर्ब २५ करोड ८४ लाख ३० हजार, कुमारी बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । समग्रमा ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । धेरैजसो बैंकहरु चर्को दबाबमा रहेको तथ्यले देखाएको छ ।

‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहनालाई प्रहरीले पूरा गर्ने बताएका छन् ।

‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा उनले जेनजी आन्दोलनको अपेक्षा आम नागरिकको अपेक्षा भएकाले यसलाई पूरा गर्न प्रहरीले प्रयास गर्ने बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले गोँगबु र नयाँबसपार्क क्षेत्र सुरक्षाको दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रको सुरक्षाका लागि प्रहरीसँगै नागरिकको पनि भूमिका अपरिहार्य रहेको उल्लेख गरेका छन् । “गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिसहरु आवतजावत गर्ने गरेका छन्, प्रत्येक नागरिकको सुरक्षा गर्ने दायित्व राज्य र नेपाल प्रहरीको हो,” उनले भने । जहाँ धेरै मानिसको आवतजावत हुन्छ त्यहाँ धेरै अपराध हुने गरेको उनको भनाइ छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका क्रममा उपत्यकाभित्रका १९३ प्रहरी कार्यालयमा क्षति भएकामा हालसम्म १८० भवन नागरिकको सक्रियतामा पुनर्निर्माण भइसकेको बताए । उनले नयाँ भवनबाट प्रहरीले उच्च मनोबलका साथ काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समुदाय स्तरबाट प्रहरी भवन बनेर समाजप्रति प्रहरीको औचित्यलाई पुष्टि गरेको बताए।

कार्यक्रममा प्रहरी प्रभाग नयाँबसपार्कको भवन पुनर्निर्माणमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

काठमाडौँ । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ ।

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरु, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

“मुद्दाका मिसिलहरु नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरुको २०८२ मङ्सिर १ गते उप्रान्त पूर्ववत् रुपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,” अदालतको सूचनामा भनिएको छ, “अन्य पेसी नचढेका मुद्दाहरुको कानुनबमोजिम अङ्ग पु¥याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदनपत्र, दोहो-याई पाउँ भन्ने निवदेन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरु, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो ।

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।

टेस्लाको वार्षिक सेयरधनी बैठक बिहीबार सम्पन्न भएको थियो । बैठकमा करिब ७५ प्रतिशतभन्दा बढी सेयरधनीले मस्कको स्टक–आधारित क्षतिपूर्ति योजनाको समर्थनमा मतदान गरे । परिणाम घोषणा भएपछि हल उत्साह र हर्षध्वनिले गुञ्जायमान भएको बताइएको छ ।

“म यो समर्थनका लागि अत्यन्त आभारी छु”, मस्कले मतदानपछि सेयरधनीहरू र टेस्लाको सञ्चालक मण्डललाई धन्यवाद दिँदै भने ।

धेरै सिइओहरूले जस्तो मासिक तलब वा बोनस नलिने मस्कको आम्दानी पूर्ण रूपमा कम्पनीका सेयर विकल्पहरूमा आधारित छ । नयाँ स्वीकृत प्याकेजअन्तर्गत टेस्लाले यदि ८५ खर्ब अमेरिकी डलरको बजार मूल्य हासिल गर्न सफल भयो भने उनलाई आगामी दशकमा ४२ करोड ३७ लाख टेस्ला सेयरहरू प्राप्त हुनेछ—जसको मूल्य करिब १० खर्ब अमेरिकी डलर बराबर हुनेछ ।

यो लक्ष्य पुरा गर्नका लागि टेस्लाको सेयर मूल्य हालको स्तरबाट करिब ४६६ प्रतिशतले बढ्नुपर्नेछ, जसले कम्पनीलाई हाल विश्वकै सबैभन्दा ठूलो मूल्याङ्कन भएका एनभिडियाभन्दा पनि माथि पुर्‍याउनेछ । एनभिडियाको बजार मूल्य हाल करिब ५० खर्ब अमेरिकी डलर रहेको छ ।
यदि मस्कले स्टक अवार्डका सबै १२ किस्ताहरू प्राप्त गरे भने उनको दैनिक औसत आय करिब २७ करोड ५० लाख अमेरिकी डलर पुग्नेछ । यसलाई इतिहासकै सबैभन्दा ठूलो कार्यकारी तलब सम्झौता मानिनेछ ।

टेस्लाको सञ्चालक मण्डलले सेयरधनीहरूलाई चेतावनी दिँदै उक्त योजना अस्वीकृत भए मस्क कम्पनीबाट टाढा जान सक्ने सम्भावना रहेको बताएका थिए । नियामक कागजातमा बोर्डले कि मस्कले आफूलाई प्रदान हुने नियन्त्रण र दीर्घकालीन प्रोत्साहनबिना सिइओको रूपमा निरन्तर रहनुपर्नेबारे चिन्ता व्यक्त गरेको उल्लेख गरेको छ ।

यद्यपि, यस्तो ऐतिहासिक स्वीकृतिका बीच पनि टेस्लाले चुनौतीपूर्ण वर्षको सामना गरिरहेको छ । सन् २०२५ मा विद्युतीय सवारीको सुस्त बजार माग, प्रतिस्पर्धाको तीव्रता र अमेरिकी सरकारको विद्युतीय सवारीप्रति प्रोत्साहनमा आएको कमीका कारण कम्पनीको बिक्री र नाफामा उल्लेखनीय गिरावट आएको सिएनएनले जनाएको छ ।

विश्लेषकहरूका अनुसार यो तलब प्याकेजले मस्कलाई दीर्घकालीन रूपमा टेस्लासँग बाँधिराख्ने अपेक्षा गरिएको छ, तर कम्पनीको भविष्य अब पनि बजारको प्रवृत्ति, प्राविधिक नवप्रवर्तन र विश्वव्यापी आर्थिक स्थिरतामा निर्भर रहनेछ ।

माधव नेपालप्रति झाँक्रीको व्यङग्य : आफ्नै बेइज्जती हुने कारबाही नगरेको भए हुन्थ्यो

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधवकुमार नेपालद्वारा नेतृ रामकुमारी झाँक्री र उनका पाँच सहकर्मीमाथि गरिएको कारबाहीले पार्टीभित्र ठूलो तरङ्ग ल्याएको छ । कारबाहीको जानकारी सार्वजनिक हुना साथ झाँक्रीले सामाजिक सञ्जालमार्फत नेपाललाई लक्षित गर्दै कडा, व्यंग्यपूर्ण र भावनात्मक प्रतिक्रिया दिएकी छिन् ।

पार्टीको लेटरहेडमै कारबाहीको निर्णय आएपछि झाँक्रीले लेखेकी छिन्, ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ?’ उनले १९ वर्षसम्म पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका माधव नेपालको राजनीतिक इतिहास स्मरण गराउँदै पछिल्लो निर्णयले उनको सम्पूर्ण यात्रामाथि पुनः प्रश्न उठाएको बताइन् । झाँक्रीले भनेकी छन्, ‘यो अन्तिम कदमले कमरेडको इतिहास बल्झिएको छ, बिर्सेका घटनाहरू पुनः स्मृतिमा फर्किएका छन् ।’

उनले लेखेकी छिन्, ‘जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशका लागि जीवन र जवानी अर्पण गर्नेले अन्ततः लाने त यही हो—एउटा मिठो वा तितो स्मृति, चिया पसलमा दुई जनाले गर्ने कुरा । आफ्नै मलामी त कसले पो देख्छ र ?’ झाँक्रीले कारबाहीलाई ‘अन्तिम कर्म’ ठान्दै व्यंग्यात्मक ढंगले नेपाललाई ‘हार्दिक धन्यवाद’ समेत दिएकी छिन् । यद्यपि, उनले अन्त्यमा मानवीय पक्ष पनि जोड्दै माधव नेपाललाई ‘अभिभावकको रूपमा सम्मानका साथ बाँकी जीवनमा सुख, परिवारमा शान्ति र सुस्वास्थ्य’ को शुभकामना दिएकी छन् ।

नेकपा एकीकृत समाजवादीमा आन्तरिक असन्तुष्टि बढ्दै गएको बेला झाँक्रीले हालै एमालेमा फर्किने घोषणा गरेकी थिइन् । यसबीचमा आएको कारबाही र त्यसप्रतिको उनको प्रतिकारले पार्टीभित्रको विभाजन अझ गहिरिएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन जारी, के-के छ व्यवस्था ?

काठमाडौँ । सरकारले पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन–२०८२ जारी गरेको छ ।

पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदमार्ग निर्माण तथा विकासमा एकरुपता कायम गर्ने हिसावले दिग्दर्शन जारी गरिएको हो ।

खासगरी पदयात्रीको सुरक्षा र सेवामा गुणस्तर कायम गर्न, दिगो, सुरक्षित, पहुँचयोग्य र पर्यावरणमैत्री पदमार्ग निर्माण गरी पदयात्रामा आकर्षण अभिवृद्धि गर्न, तीनै तहबाट निर्माण गरिने पदमार्गको व्यवस्थापनलाई सहजीकरण गर्न सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ बमोजिम दिग्दर्शन बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । दिग्दर्शनमा पदमार्गको वर्गीकरण रेखांकन, मापदण्डदेखि पालना गर्नुपर्ने नियमहरुसम्म उल्लेख गरिएको छ ।

पदमार्गको वर्गीकरणमा हाइकिङ पहिलो नम्बरमा राखिएको छ । एक दिन भित्र यात्रा गरिने न्युनतम पाँच किमि दुरीको मार्गलाई हाइकिङका रुपमा परिभाषित गरिएको छ भने दोस्रो नम्बरमा सहज पदमार्ग राखिएको छ । एक दिन भन्दा बढी समय यात्रा गरिने अधिकतम तीन हजार मिटर उचाईसम्मको मार्गलाई सहज पदमार्ग राखिएको छ ।

त्यस्तै तेस्रो नम्बरमा साहसिक पदमार्ग राखिएको छ । एक दिन भन्दा वढी समय यात्रा गरिने तीन हजार मिटर भन्दा माथिको उचाईको मार्गलाई सहासिक पदमार्गका रुपमा परिभाषित गर्न खोजिएको छ । पदमार्गको रेखाङ्कनसम्बन्धि मापदण्ड पनि दिग्दर्शनमा स्पष्ट पारिएको छ । पदमार्गले प्राकृतिक, जैविक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वका स्थानलाई जोड्नुपर्ने, पदमार्ग मोटरबाटोसँग नजोडिने गरी रेखाङ्कन गर्नुपर्ने, स्थानीय सम्पदाहरुको संरक्षण हुने गरी रेखाङ्कन हुनुपर्ने उल्लेख गरिएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट जारी गरिएको पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गको मापदण्ड तोकिएको छ । जसमा पदमार्गको न्युनतम लम्बाई पाँच कि।मी हुनुपर्ने, पदमार्गको न्युनतम चौडाई, हाइकिङ पदमार्गको हकमा २ मिटर, सहज पदमार्गको हकमा २ मीटर र साहसिक पदमार्गको हकमा १.५ मीटर उल्लेख गरिएको छ । पदमार्गमा सिँढी निर्माण गर्नुपर्ने भएमा सिँढीको उचाई पनि तोकिएको छ । हाइकिङ पदमार्ग १८ देखि २० सेन्टिमिटर, सहज पदमार्ग १६ देखि १८ सेन्टिमिटर, साहसिक पदमार्ग १४ देखि १६ सेन्टिमिटर उचाइ तोकिएको छ ।

पदमार्गमा सिँढी निर्माण गर्दा अपाङ्गमैत्री संरचनासमेत बनाउनुपर्ने उल्लेख छ । पदमार्गको निर्माण कसले गर्ने भन्ने पनि उल्लेख गरिएको छ । हाइकिङ पदमार्ग निर्माण स्थानीय तहले गर्नुपर्ने,सहज पदमार्ग निर्माण प्रदेश सरकारले गर्नुपर्ने, साहसिक पदमार्ग निर्माण नेपाल सरकारले गर्नुपर्ने, पदमार्ग निर्माण गर्दा स्थानीय निर्माण सामग्री, जैविक प्रविधि, परम्परागत सीप र श्रमको प्रयोग गर्नुपर्नेछ तर, भागलिक दृष्टिले जटिल रहे प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । पदमार्ग निर्माण गर्दा पदयात्रीको लागि आवश्यक पर्ने विश्राम स्थल, शौचालय, फोहोर संकलन तथा व्यवस्थापन पूर्वाधार जस्ता आधारभुत सेवाको सुनिश्चितता हुने व्यवस्था गर्नुपर्ने, राष्ट्रिय निकुञ्ज र आरक्षभित्र पदमार्गको निर्माण गर्दा वन तथा वातावरण मन्त्रालयको पूर्व सहमति लिएर र संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पूर्वसहमति लिई पदमार्ग निर्माण गर्नुपर्ने उल्लेख छ ।

पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गमा उपलब्ध हुनुपर्ने सेवा समेत तोकिएको छ । तीनै तहका सरकारले पदयात्रीलाई लक्षित गरी पदमार्गमा खानेपानी, शौचालय, आधारभूत सूचना तथा सञ्चार/पर्यटन सूचना केन्द्र,विश्राम स्थल, आधारभूत स्वास्थ्य उपचार, सुरक्षा तथा आपतकालीन उद्दार, स–साना पुलपुलेसा, दृष्यावलोकन स्थल (भ्यू प्वाइन्ट) को व्यवस्था गर्नुपर्ने उल्लेख छ । आवास तथा खानपिनको व्यवस्थाका बारेमा समेत पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनले तीनै तहका सरकारले पदमार्गमा स्थानीय समुदाय तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपने उल्लेख गरेको छ ।

 

३६ उपसचिवसहित ७३ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ३६ उपसचिवसहित ७३ जना कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार र बिहीबारको निर्णय अनुसार उनीहरुको सरुवा भएको हो । ३६ जना उपसचिवको सरुवा गर्दा ९ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

पदमबहादुर बुढालाई दैलेखको दुल्लु नगरपालिका, मंगलबहादुर शाहीलाई बर्दियाको ठाकुरबाबा नगरपालिका, शिवराज रेग्मीलाई लमजुङको राईनास नगरपालिका, महमदशेरे मुस्तफालाई रौतहटको देवाहीगोनाही नगरपालिका, बिकाउकुमार यादवलाई रौतहटको राजदेवी नगरपालिका, सुर्यप्रसाद गौतमलाई बाराको निजगढ नगरपालिका, ओमप्रकाश महतोलाई धनुषाको हंशपुर नगरपालिका, डम्बरबहादुर जिसीलाई बागलुङको गल्कोट नगरपालिका र सुनिल निरौलालाई झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै पाँच जना उपसचिवलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट सरुवा गरेर अन्यत्र पठाइएको छ । जसमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रेम सुवेदी, बर्दियाको ठाकुरबाबा नगरपालिका छविलाल नेपाली, कैलालीको भजनी नगरपालिकाका राजेन्द्रप्रसाद पन्थी, बाराको निजगढ नगरपालिकाका राजेन्द्रबहादुर अर्याल र बागलुङको गल्कोट नगरपालिकाका सुर्यप्रसाद उपाध्यायलाई अन्यत्र सरुवा गरिएको छ ।

हेर्नुस् सरुवा सूची

 

पाकिस्तान, इराकबाट गत हप्ता ४३३ अफगान कैदी कैद मुक्त

काबुल । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीहरूलाई गत हप्तामा रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।

पाकिस्तानको हिरासतमा राखिएका ४३० जना व्यक्ति दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै स्वदेश फर्किएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य तीन जना कैदीहरू भने पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसिम सिमा हुँदै स्वदेश पठाइएको जनाइएको छ ।

गत अक्टोबरको अन्त्यमा १७० जना अफगान कैदीहरू स्वदेश फिर्ता भए पछि हाल उनीहरु कैद मक्त भई स्वदेश फर्केका हुन ।

जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा छन् भने त्यस मध्ये पनि अधिकाशं इरान र पाकिस्तानमा बन्दी बनाइएका छन् ।

 

सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस् : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचन व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै उनले शान्ति सुरक्षासहित सबै पक्षलाई निर्वाचनमा सहज ढंगले सहभागिता हुनेगरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गरेका हुन् ।

अध्यक्ष दाहालले राष्ट्रिय सभा सञ्चालनका लागि केही कानूनी जटिलता र अस्पष्टता रहेको उल्लेख गर्दै त्यसलाई हटाउने विषयमा पनि सरकारले ढिलाई नगर्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय सभा बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई पनि सरकारले गम्भिरतापूर्वक लिनुपर्ने जरुरी रहेको बताए ।

अध्यक्ष दाहालले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले, व्यवस्थित ढंगले सम्पन्न गर्न आवश्यक कदम चाल्नको निम्ति हामी सरकारलाई आग्रह पनि गर्दछौं । त्यसलाई व्यवस्थित गरेर लैजान र शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढंगले सहभागिताका निम्ति त्यो वातावरण बनाउनका निम्ति पनि सरकारसँग विशेष आग्रह गर्न चाहन्छु ।’

उनले भने, ‘साथै राष्ट्रिय सभा सञ्चालनको निम्ति हामीलाई केही कानूनी जटिलता जस्तो पनि देखिएको छ । केही अस्पष्टताहरु पनि छन । ती असहजता र अस्पष्टताहरुलाई पनि सरकारले गम्भिरताका साथ लिनेछ भन्ने नै मलाई लागेको छ । र त्यो दिशातर्फ सरकार अगाडि बढोस् पनि म भन्न चाहन्छु । राष्ट्रिय सभा बैठक सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको काममा जोड दिन पनि सरकारलाई अनुरोध गर्न चाहन्छु ।’ अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारलाई महत्वपूर्ण सहयोग गर्ने भएकाले त्यसको बैठक सञ्चालन गर्ने काममा सरकारले सक्रियतापूर्वक लाग्नुपर्ने समेत बताए ।

 

संघीय संसद् र प्रदेश संसद्का पदाधिकारी सिंहदरबारमा जुटे (तस्बिरहरू)

काठमाडौं । संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्ष दुवै तहका संसद्का पदाधिकारी जुटेका हुन् ।

छलफलमा आगामी फागुन २१ गते हुने भनिएको आमनिर्वाचनसहितका विषयमा कुराकानी भइरहेको छ ।

त्यस्तै गरी दुई तहका संसद्‍बीचका अन्य साझा मुद्दाबारे पनि सभामुख देवराज घिमिरेको आयोजनामा कुराकानी भइरहेको छ ।

प्राविधिक समस्याका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित

नयाँदिल्ली । एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउदा शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल(आईजीआईए) मा सयौं उडानहरू प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

दिल्ली इन्टरनेसनल एयरपोर्टका प्राविधिक विज्ञहरू प्राविधिक समस्या समाधान गर्नका लागि सक्रिय रहेको र उडान पुनः सञ्चालन कहिले देखि सुरु हुन्छ भन्ने अझै थाहा हुन सकेको जनाइएको छ ।

विमानस्थलले जारी गरेको विज्ञप्तिमा “एटिसी प्रणाली” मा प्राविधिक समस्या आएका कारण आइजिआईएमा उडान सञ्चालनमा ढिलाइ भइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा प्राविधिक टोलीसहित सबै सम्बन्धित निकायहरु समस्यालाई चाँडै समाधान गर्न सक्रिय रूपमा काम गरिरहेको जनाइएको छ ।

यात्रुहरूलाई नयाँ उडान अपडेटका लागि आ–आफ्नो सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन सल्लाह दिएको छ । धेरै निजी एयरलाइन्सहरूले पनि उडान सञ्चालनका बारेमा अपडेटहरूका लागि सम्पर्कमा रहन आ–आफ्ना उडानकर्ताहरूलाई सल्लाह दिएका छन् ।

सरकारले कहिल्यै दलहरुलाई अवमूल्यन गरेको छैन : कानूनमन्त्री सिन्हा

काठमाडौं । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरुलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उनले यस्तो दाबी गरेका हुन् । शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट पक्षहरुसँगको पटक–पटक छलफल गर्नुपर्ने बाध्यताले राजनीतिक दलहरुसँगको सम्पर्क केही ढिला हुन गएको पनि स्पष्ट पारे ।

सरकारले राजनीतिक दलहरुलाई अवमूल्यन गरेर अघि बढ्दा असहज परिस्थिति आउँछ भनेर अनुभूति गरिरहेको उनको भनाई थियो । मन्त्री सिन्हाले वर्तमान सरकारले प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्ने एक मात्रै लक्ष्य लिए पनि असन्तुष्ट पक्षको सुनुवाई गर्नुपर्ने, सरकारको दैनिक काम पनि गर्नुपर्ने भएकाले निर्वाचनको तयारीको कामले तीव्रता नपाए जस्तो देखिएको पनि तर्क गरे । उनले शुरुका दिनमा सरकारले जेन–जी समूहहरुसँगको छलफलमा धेरै समय बिताउनुपरेको पनि उल्लेख गरे ।

मन्त्री सिन्हाले भने, ‘हामी संसदीय अभ्यास अलिकति बे्रक भएको बेलामा यसको एउटा पुल निर्माण गरेर पुन जनप्रतिनिधिहरुलाई हस्तान्तरण गर्नको निमित्त एक मात्र लक्ष्य लिएर हिँडेका छौँ । तर चुनाव मात्रै लक्ष्य रहँदैन रहेछ । चुनावको तयारीको क्रममा गर्नुपर्ने विभिन्न कामको साथसाथै असन्तुष्ट कतिपय पक्षको कुरा सुन्नुपर्ने कारणले गर्दा र सरकारको दैनिकी समेत सञ्चालन गर्नुपर्ने कारणले गर्दा हामीहरु अलिकति ढिलो भएको हो ।’

मन्त्री सिन्हाले भने, ‘हामीहरुले दलहरुसँग सम्पर्क गर्न केही ढिला भएकै थियो । जेन–जीका जुन समूहहरु हुनुहुन्छ । उहाँहरुसँगको पटक पटकको छलफलमा धेरै समय गएको पनि थियो । यो सरकारले कहिल्यै पनि दलहरुलाई अवमूल्यन गरेको छैन भन्ने कुरा यहाँहरुलाई अनुरोध गर्न चाहन्छु । दललाई अवमूल्यन गर्दाखेरी कस्तो असहज अवस्था सिर्जना भएको थियो भनेर हामीले अनुभूति गरिसकेका छौ । हामीले शुरुशुरुमा सुरक्षाको प्रत्याभूति दिनुपर्ने अवस्था थियो ।’

उनले थपे, ‘अल्पकालीन सुरक्षाको प्रत्याभूतिको अवस्था थियो । मध्यकालीन र दीर्घकालीन ३ वटै सोच बनाउनुपर्ने कारणले गर्दा सुरुको स्थिति सम्हाल्नको निमित्त हामीहरुलाई गाह्रो परेकै हो । हामी नेपाली नागरिकहरु कति सुर छौँ भन्नेकुरा कहाँबाट देखियो भने त्यत्रो घटना भएको तेस्रो दिनदेखि बाटोमा निस्केर सौहार्दपूर्ण वातावरण निर्माण गर्न जनतानै लागि रहनु भएको थियो । जुत्ता, चप्पल, लुगा केही नभएका, पकाउन भाँडा नभएका, पकाउने सामान नभएका हाम्रा सुरक्षाकर्मीहरुलाई जनताले नै यति सहयोग गर्नु भयो कि त्यसका निम्ति आभार व्यक्त गर्ने मसँग शब्द नै छैन ।’ मन्त्री सिन्हाले मुलुकको सुरक्षा अवस्थालाई सहज बनाउन सर्वसाधारण जनताले प्रहरीलाई गरेको सहयोगको समेत खुलेर प्रशंशा गरे । उनले सुरक्षा व्यवस्थालाई सहज बनाउने कठिन कार्यमा सरकारलाई सर्वसाधारण जनताले ठूलो साथ दिएको समेत बताए ।

 

भारतद्वारा सन् २०२७ का लागि डिजिटल जनगणनाको तयारी सुरु

नयाँदिल्ली ।  भारत सरकारले सन् २०२७ मा आयोजना गर्न लागिएको विश्वकै सबैभन्दा ठूलो र पहिलो पूर्ण डिजिटल जनगणनाको तयारी स्वरूप मोबाइल सफ्टवेयर प्रणालीको परीक्षण प्रारम्भ गरेको छ ।

यो जनगणना सन् २०११ पछि पहिलो हुनेछ र स्वतन्त्र भारतमा पहिलो पटक नागरिकहरूको जाति विवरण दर्ता गरिनेछ । जाति गणना अन्तिम पटक सन् १९३१ मा ब्रिटिश शासनकालमा गरिएको थियो । जाति गणनालाई राजनीतिक रूपमा संवेदनशील अभ्यासका रूपमा हेरिन्छ ।

गृह मन्त्रालयका अनुसार दक्षिणी राज्य कर्नाटकका चयन भएका क्षेत्रहरूमा नोभेम्बर १० देखि २० दिनसम्म परीक्षण सञ्चालन गरिनेछ । उक्त परीक्षणले मोबाइल एपमार्फत डाटा सङ्कलन प्रणाली र आत्म–गणनाको वैकल्पिक विकल्पको कार्यक्षमता परीक्षण गर्नेछ ।

“यस परीक्षणको उद्देश्य विभिन्न भौगोलिक क्षेत्रहरू—सहरी क्षेत्रदेखि सीमित मोबाइल नेटवर्क भएका दुर्गम स्थानहरूसम्म—डिजिटल प्रणालीको कार्यक्षमता र विश्वसनीयताको मूल्याङ्कन गर्नु हो”, मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ, “यो अभ्यास परम्परागत कागज–आधारित प्रणालीलाई विस्थापित गर्दै भारतको पहिलो पूर्ण डिजिटल जनगणनातर्फको ऐतिहासिक कदम हो ।”

डिजिटल जनगणनाको तयारी भारतका लागि ठूलो प्राविधिक र व्यवस्थापकीय चुनौती पनि हो । सन् २०२४ को आमनिर्वाचनमा देशले इलेक्ट्रोनिक मतदान प्रणाली अपनाएको थियो र यो छ हप्तासम्म सात चरणमा सम्पन्न भएको थियो । तर जनगणना भने देशव्यापी रूपमा एकै पटक सम्पन्न गर्नुपर्ने भएकाले यो अझ जटिल कार्य हुनेछ ।

मुख्य गणना सन् २०२७ मार्च १ मा सुरु हुने तय गरिएको छ । यद्यपि, हिमालयका उच्च उचाइ क्षेत्रहरू—हिमाचल प्रदेश, उत्तराखण्ड, लद्दाख र जम्मू–काश्मीरका विवादित क्षेत्रहरूमा—हिमपात सुरु हुनु अघि नै सन् २०२६ अक्टोबर १ देखि जनगणना सुरु गरिनेछ ।

भारतमा जाति सामाजिक संरचनाको शक्तिशाली निर्धारक मानिन्छ । यसले नागरिकहरूको सामाजिक हैसियत, शैक्षिक अवसर र स्रोत–साधनप्रतिको पहुँचमा गहिरो प्रभाव पार्दछ ।

अनुमानअनुसार भारतको करिब एक अर्ब ४० करोड जनसङ्ख्यामध्ये दुई तिहाइभन्दा बढी व्यक्ति ऐतिहासिक रूपमा वञ्चित समुदायमा पर्ने विश्वास गरिन्छ । सहस्राब्दी पुरानो हिन्दू सामाजिक पदानुक्रमले मानिसहरूलाई कार्य र सामाजिक स्थितिका आधारमा वर्गीकृत गरेको पाइन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) ले विगतमा जाति–आधारित गणनाको विरोध गर्दै यस्तो अभ्यासले सामाजिक विभाजनलाई गहिरो बनाउने तर्क गरेको थियो । तर, यस वर्ष मे महिनामा सरकारले नयाँ सर्वेक्षणलाई समर्थन प्रदान गरेको छ ।

समर्थकहरूले विस्तृत जनसाङ्ख्यिकीय तथ्याङ्क सामाजिक न्यायका कार्यक्रमहरूका लागि अत्यावश्यक हुने बताउँदै आएका छन् । यसमा विश्वविद्यालयका सिटहरू र सरकारी सेवामा सामाजिक रूपमा वञ्चित समुदायका लागि आरक्षण व्यवस्था थप प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ ।

अघिल्ला सरकारहरूले प्रशासनिक जटिलता र सम्भावित सामाजिक अशान्तिको डर देखाउँदै जाति सम्बन्धी तथ्याङ्क अद्यावधिक गरेका थिएनन् । साथै, सन् २०११ को जनगणनासँगै गरिएको जाति सर्वेक्षणको नतिजा अधिकारीहरूले त्रुटिपूर्ण भएको बताउँदै सार्वजनिक गरेका थिएनन् ।

भारतले यसपटकको डिजिटल जनगणनालाई राष्ट्रिय प्रशासनिक प्रणालीको आधुनिकीकरणतर्फको ऐतिहासिक मोडका रूपमा हेरेको छ ।

मेयर बालेनले गरे ऐतिहासिक ब्रह्मा मन्दिरको समुदघाटन {तस्वीरहरु}

काठमाडौँ । छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनर्निर्माण सम्पन्न भई समुद्घाटन गरिएको छ । शुक्रवार मध्यान्ह काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा. स्वामी केशवानन्द गिरी लगायतको उपस्थितिमा मन्दिरको समुद्घाटन गरिएको हो ।

यो मन्दिर काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरी गायत्री मार्गमा अवस्थित १९९० सालअघि नै भग्नावशेषको रूपमा रहेको थियो । छैटौँ शताब्दीको ऐतिहासिक व्रम्हा मन्दिर अहिले काठमाडौँ महानगरपालिकाले पुनः निर्माण सम्पन्न गरेको हो । केही दिनअघि मात्रै छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्माको मूर्ति मन्दिरमा पुनः स्थापना गरिएको थियो । उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृत्तमा रहेको थियो ।

हेर्नुस् तस्वीरहरू :

शेखर कोइरालाको प्रस्ताव : नियमित नभए स्वतः विशेष हुन्छ, चुनावअघि महाधिवेशन गर्नैपर्छ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको आन्तरिक नेतृत्व परिवर्तनका लागि आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने आफ्नो अडान दोहो¥याएका छन् । आज (शुक्रबार) बिहान विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा उपत्यकाका निकटस्थ जिल्ला सभापतिहरूसँगको छलफलमा उनले पुस महिनामै महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

डा. कोइरालाका अनुसार कांग्रेसले पुसको तेस्रो सातासम्म समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेपछि तुरुन्तै महाधिवेशनको तयारी थाल्नु पर्छ । ‘मेरो पहिलो माग निर्वाचनअघि नियमित महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्छ भन्ने हो’, छलफलमा सहभागी एक जिल्ला सभापतिले कोइरालाको भनाइ उद्धृत गर्दै सुनाए । उनका अनुसार कोइरालाले पुस २५ गतेसम्म बन्दसूची बुझाएर त्यसपछिका दिनमा महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् ।

कोइरालाले आउँदो २१ फागुनमा हुने निर्वाचनमा पार्टीले नयाँ नेतृत्व लिएरै जानुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएका छन् । उनका अनुसार यदि वर्तमान केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको निर्णय गर्न असफल भयो भने पार्टी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन आह्वान गर्ने बाध्यता सिर्जना हुनेछ । ‘नियमित महाधिवेशन नभए, विशेष महाधिवेशन स्वतः हुनुपर्ने प्रावधान कार्यान्वयन गर्नैपर्छ’, उनले स्पष्ट पारे ।

डा. कोइरालाले पार्टीमा हाल देखिएको असन्तुष्टिपूर्ण अवस्थालाई संवाद र एकताको माध्यमबाट समाधान गर्नुपर्ने धारणा पनि राखेका छन् । ‘पार्टीभित्र संवाद नटुटोस् भन्ने मेरो चाहना हो’, उनले भने, ‘शेरबहादुरजी लगायत मभन्दा सिनियर सबै नेतासँग कुरा गरेर पार्टीलाई मिलाएर लैजान्छु । विरोध भयो भनेर म रिसाउँदिनँ, सबैलाई साथ लिएर अघि बढ्नु पर्छ ।’ उनका अनुसार पार्टीभित्र समानान्तर गतिविधि बढ्दा कांग्रेसलाई ठूलो संकटमा पार्ने सम्भावना छ ।

त्यसैले, उनले केन्द्रीय कार्यसमितिलाई निष्कर्षमा पुग्न आग्रह गरे । छलफलमा रूपन्देही, चितवन, खोटाङ, नुवाकोट, धादिङ लगायतका जिल्ला सभापतिहरू, केही पूर्व जिल्ला सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।छलफलमा सहभागी केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल र टेकप्रसाद गुरूङका अनुसार बैठकमा उपस्थित अधिकांश नेताहरूले कोइरालाको प्रस्तावको समर्थन जनाएका थिए । संक्षेपमा, डा. कोइरालाले पार्टीलाई एकजुट बनाएर नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याउँदै, महाधिवेशन अब अपरिहार्य भएको सन्देश दिएका छन् ।

 

 

 

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग राष्ट्रिय सभा अध्यक्षको छलफल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल गरेका छन् । शुक्रवार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बसेको हो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित राजनीतिक दलहरुबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसबाट आनन्दप्रसाद ढुंगाना, नेकपा एमालेबाट गोपालप्रसाद भट्टराई लगायतको उपस्थित रहेको थियो ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले राष्ट्रिय सभा अन्तर्गतका समितिहरुको बैठक निरन्तर राखिरहेका छन् । साथै अधिवेशन आह्वानका लागि सरकार, राजनीतिक दलहरुसँग छलफल र संसद सुचारु गर्न पहलकदमी गर्दै आएका छन् । राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रिय सभाका समितिका बैठकहरु निरन्तर चलाउने तयारी थालेका छन् । संघीय संसद प्रतिनिधि सभाको निर्वाचनमा सरकारलाइ सघाउन विभिन्न निर्देशन र अनुगमन गर्न र निरन्तर छलफल गर्नसके सहज र शान्तिपूर्ण वातावरण निर्माण हुनसक्ने संविधानविदहरुले बताउँदै आएका छन् ।

राष्ट्रिय सभामा दर्ता भएका र विचाराधीन विधेयकलाई अगाडि बढाउन समितिहरुको बैठक निरन्तर चल्नुपर्ने हुन्छ । गत भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनसँगै संघीय संसदको अधिवेशन अन्त्य भएको थियो । आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी र तोडफोड भएपछि बैठक बस्नका लागि स्थानको समस्या छ । तर सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको हलमा बैठक राख्नेगरी संसद सचिवालयले तयारी समेत गरेको छ ।