`

राजावादीको प्रदर्शन, गृहमन्त्री र प्रधानमन्त्री विरूद्ध नारा (तस्बिरहरु)

काठमाडौँ । शाही युवा शक्ति नेपाल केन्द्रिय समितिले जेन्जी पुस्ता जनता र राजा एक हौ देश बचाऔं भन्ने नारा सहित जन-प्रदर्शन कार्यक्रम गरेको छ ।

सामाखुसीबाट र्‍याली सोरखुट्टे जान लाग्दा प्रहीले रोकेपछि वनस्थली गएर सभा सुरू भएको थियो । उनीहरूले गृहमन्त्री र प्रधानमन्त्री विरूद्ध नारा लगाएका थिए।

 

आलमको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य अफताब आलमको निधनमा तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णय गरेको छ । शनिबार बसेको सो पार्टीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै उक्त निर्णय गरेको हो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । त्यस्तै कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।

६३ वर्षीय आलमको गएराति काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज निधन भएको थियो। केन्द्रीय कार्यसमितिले आलमको निधनले पार्टीले एक अनुभवी र समर्पित नेता गुमाएको जनाएको छ। बैठकले उनको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेको छ।

 

भीम रावलपछि अशोक राईलाई फकाउँदै प्रचण्ड–माधव

काठमाडौं । ‘नेपाली कम्युनिष्ट पार्टी’ का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल अहिले पुनः वाम शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने अभियानमा लागेका छन् । भीम रावलसँग पछिल्लो समय भएको निकटतापछि अब उनीहरूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) तर्फ पनि एकताको प्रस्ताव अघि सारेका छन् ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र अन्य आठ वामपन्थी समूहलाई समेटेर बनेको नयाँ नेपाली कम्युनिष्ट पार्टीले जसपासँग पनि औपचारिक संवाद सुरु गरिसकेको छ । प्रचण्ड–माधवको संयुक्त प्रस्तावबारे जसपाको केन्द्रीय समिति बैठकले विस्तृत छलफल गरेको छ ।

जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार, बैठकले वाम ध्रुवीकरण र चुनावी सहकार्य दुवै विकल्प खुला राख्ने निर्णय गरेको छ । श्रेष्ठकै नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको छ । उनले भने, ‘नीति, कार्यक्रम र सिद्धान्त मेल खाए एकता सम्भव छ, नभए चुनावी सहकार्यको बाटो खुला छ ।’

उनका अनुसार, प्रचण्ड–माधव पक्षले जसपालाई ‘पार्टी एकताको ढोका खुला छ’ भन्दै औपचारिक रूपमा वार्ताको निम्तो पठाएको हो । ‘उहाँहरूले एकैचोटि एकता गरौँ भन्नु भएको थियो, हामीले पार्टी बैठकपछि निर्णय दिने भन्यौं’, श्रेष्ठले सुनाए, ‘हामी समाजवादी दिशातर्फ अघि बढिरहेका छौँ, त्यसैले धेरै वैचारिक अन्तर छैन ।’ जसपा नेतृत्वले केही दिनभित्रै केन्द्रीय कार्यकारिणी समिति बैठक बसेर औपचारिक प्रतिक्रिया दिने तयारी गरेको छ ।

यसअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग कार्यगत एकता गरिसकेको जसपा अहिले लोसपा र जनमतसँग पनि संवादमै छ । उपेन्द्र यादवले समेत हालै पार्टी छाडेर गएका पुराना नेताहरूलाई ‘घर फर्कन’ आग्रह गरेका छन्, जसले वाम–समाजवादी मोर्चाको सम्भावना अझ बढाएको छ ।

त्यस्तै, नेकपा (एमाले) बाट निष्काशित भई ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेका डा. भीमबहादुर रावल पनि प्रचण्ड–माधवको एकता परियोजनासँग नजिकिएका छन् । गत कात्तिक १८ गते उनीहरूबीच भएको भेटमा प्रचण्डले रावल समूहलाई समेत ‘वाम एकताको मुख्य स्तम्भ’ बन्न आग्रह गरेका थिए ।

रावलले भने समूहगत सहमतिको आवश्यकता औंल्याउँदै आन्तरिक छलफल सुरु गरेका छन् । ‘म एक्लै निर्णय गर्न सक्दिनँ, समूहको राय लिएर निर्णय हुन्छ’, उनले बताएका छन् । वाम राजनीति फेरि एकताका चर्चाले ततिँदै जाँदा, प्रचण्ड–माधवको यो पहल ‘अर्को वाम ध्रुवीकरण’ को रूपमा देखिँदैछ । तर, नीति र नेतृत्वको सन्तुलनमा सहमति जुटाउने चुनौती भने ठूलो देखिएको छ ।

नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै धर्ना

काठमाडौँ । नेपाल स्काउट शुद्धिकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलय परिसरमा धर्ना दिएको छ ।

समितिले शनिवार कार्यलयमा धर्ना दिएको हो । स्काउटको निर्देशक नियुक्तिको लागि शनिवार सर्टलिस्टमा परेकाहरुलाई अन्तर्वार्ताको लागि बोलाइएको थियो । कार्यालयभित्र अन्तर्वार्ता चलिरहँदा बाहिर समितिले धर्ना दिएको हो । धर्नामा प्रहरीसँग धकलाधकेल समेत भएको थियो ।

नेपाल स्काउट शुद्धिकरण समितको संयोजक देवदुत अधिकारीले निर्देशक पदको लागि गरिएको भ्याकेन्सी आह्वान नै गलत भएको बताए । बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर्देशकको लागि भ्याकेन्सी आह्वान गरिएको उनको भनाई छ । उनले प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचराधिन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने बताए ।

निर्वाचित भएको प्रमुख आयुक्तलाई निःवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्वन गरेर चौधरीको नाईटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टिका लगाएर आयुक्त बनाएको उनको आरोप छ । उनले स्काउटभित्र भएका विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नको छानविन समितिले बनाएको प्रतिवेदन सार्वजानिक गर्नुपर्ने बताए । प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

उनले भने, ‘निर्देशक पदको लागि भ्याकेन्सी आह्वान गरिएको थियो । जुन निर्देशक पदमा बहालवाला निर्देशक हुँदाहुँदै भ्याकेन्सी आह्वान गरेर आज यहाँ ईन्टरभ्युको लागी बोलाइरहेको छ । यो हामीले मान्यता हुँदैन भनेर भनिरहेका छौँ । अर्को के त भने निर्वाचित भएको प्रमुख आयुक्तलाई यो भन्दा अगाडीको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले निलम्वन गरेर तेजुलाल चौधरीको नाईटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टिका लगाएर यहाँको आयुक्त बनाएको छ । अहिले विवादित भएर सर्वोच्च अदालतमा विचाराधीन छ, मुद्दा । अहिले हामीले यहाँ के उठाइरहेका छौँ भने विकृत्ति, विसंगति र भ्रष्टाचार व्याप्त छ । निज निर्देशकले रजीनामा लिइसकेपछि पनि हाम्रो छानविन कमिटी १३ दिनसम्म रिले अनसन र ८ दिनसम्म आमरण अनसन बसेको छानविन कमिटिको प्रतिवेदन सार्वजानिक गर र त्यो प्रतिवेदनको आधारमा कडा भन्दा कडा कारबाही होस् भन्ने हाम्रो माग हो ।’

स्काउटका निःवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषद्को बैठकले आफूलाई प्रमुख आयुक्त पदमा निर्वाचन गरेपनि तत्कालिन मन्त्री तेजुलाल चौधरीले एक वर्ष नपुग्दै हटाएको बताए । कानुनी प्रक्रिया नपु¥याई आफूलाई हटाएर देवराज घिमिरेलाई प्रमुख आयुक्त बनाएपछि आफूले सर्वोच्चमा मुद्दा हालेको उनले जानकारी दिए ।

हाल अदालतमा उक्त मुद्दा चलिरहेको अवस्थामा निर्देशक भ्याकेन्सी निकालेर नयाँ नियुक्त गर्न नमिल्ने उनको जिकिर छ । विषम परिस्थितिमा पनि हतार हतार गरेर नियुक्त गर्न खोजिएको उनले दाबी गरे । उनले निर्देशकले राजिनामा दिएको भनिएपनि नयाँ निर्देशक चयन प्रक्रियामा समावेश भएको बताए । उनले विज्ञापन निकाल्दाखेरी पनि जालझेल गरेको आरोप लगाए। जोईन्ट सेक्रेटरी सरहको पदको लागी विज्ञापन आह्वान गरेपनि न्युनतम शैक्षिक योग्यता स्नातक तह राखिएको बताए। उनले आफ्नो मान्छे नियुक्ती गर्नलागी शैक्षिक योग्यता घटाएको आरोप लगाए ।

उनले भने, ‘म प्रमुख आयुक्त पदमा २०८० साल फागुन १३ गते राष्ट्रिय परिषद्को , राष्ट्रिय परिषद् भनेको नेपाल स्काउटको सर्वोच्च निकाय । निर्विाचित पदाधिकारीहरु बस्ने ठाउँ, नेपालको प्रतिनिधि सभाजस्तै हो, नेपाल स्काउटको लागि । त्यो बैठकले नियुक्ति गरेको माननीय युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले मलाई दफा १६ अनुसारको ४ वर्षको लागी भनेर नियुक्ती गरेको प्रमुख आयुक्त पदमा । तर पछिल्लो मन्त्री तेजुलाल चौधरीले एक वर्ष नपुग्दै मलाई हटाइयो । कानूनी प्रक्रिया नपुगीकन हटाईयो । अहिले उहाँको आफ्नो मान्छे देवराज घिमिरे भन्नेलाई कानूनी प्रक्रिया नपु¥याईकन प्रमुख आयुक्त बनाईएको छ । त्यो हुनाले मैले मुद्दा हालेको छु । मेरो मुद्दा चलिरहेको छ । त्यसकारण मेरो भनाई के हो भने यो निर्देशक भ्याकेन्सी निकालेर अहिले यो जुन विषम परिस्थितिमा पनि हतार हतार गरेर यो नियुक्त गर्न खोजिएको छ, त्यो मिलेको छैन । कानुन प्रक्रिया मिलेको छैन भन्ने हाम्रो भनाई हो । निर्देशकले राजिनामा दिएको भने छ तर अहिले माथि ईन्टरभ्यूमा बसिरहेको छ । यो एकदम सुशासनको गलत भो । अर्को कुरा के हो भने विज्ञापन निकाल्दाखेरी जोईन्छ सेक्रेटरी सरहको पद भनिएको छ । भनेको नेपाल सरकारको सहसचिव स्तरको पद हो । सहसचिवस्तको पदको लागी न्युनतम शैक्षिक योग्यता भनेको ८/१० वर्ष अनुभवी, उपसचिवमा बसको र स्नाकोतर गरेको हुनुपर्छ । यहाँ विज्ञापनमा के भनिएको छ भने आफ्नो मान्छे ल्याउनको लागी स्नातक भनिएको छ ।’

उनले हाल सर्ट लिस्टमा नाम निकालेको अर्पण कार्की परीक्षा हुनुभन्दा एक दिन अगाडीसम्म स्काउटको कार्यालयमा आउने गरेको आरोप लगाए । कार्की प्रमुख आयुक्त घिमिरे र निर्देशक रामप्रसाद भट्टराईको आफ्नै साथी रहेको उनको दाबी छ । उनले आफ्नै साथी भएपछि प्रश्नपत्र बाहिरिँदैन भन्ने प्रश्न समेत उठाए । उनले निर्देशक पदको लिखित परीक्षा र अन्तर्वार्ता रोक्नुपर्ने बताए । उनले राष्ट्रिय शतर्कता केन्द्रमा पनि आफूहरुले उजुरी दिएको जानकारी दिए ।

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक संकटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका छन् ।

सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तलब नपाएका कारण उत्पन्न तनाव कम गर्न व्यस्त विमानस्थलहरूमा सेवा घटाउने आदेश जारी गरेको छ । यसका कारण एटलान्टा, डलास, डेनभर, शार्लोटलगायत देशका प्रमुख विमानस्थलहरूमा लामो सुरक्षा लाइन र अन्तिम क्षणका उडान रद्दहरू देखिएका छन् ।

एफएएको आदेशअनुसार हाल करिब चार प्रतिशत उडानहरू कटौती गरिएका छन् । यसको दर आगामी सातामा १० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ ।

– यात्रुहरू असहज, उडान पुनः बुकिङको हतारो 

ह्युस्टनको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थलमा यात्रुहरू बिहानैदेखि लामो लाइनमा उभिन बाध्य भए । कतिपयले कुर्दा–कुर्दै कुर्सीमा सुत्नुपरेको अनुभव सुनाए । एटलान्टामा पुगेकी कारा बर्गेरोनले भने, ‘लाइनहरू लगातार सर्दै थिए, यस्तो भीड मैले पहिले कहिल्यै देखेकी थिइनँ ।’

केही यात्रुलाई भने अझ कठिनाइ भयो । कनेक्टिकटकी चिकित्सक करेन सोइकाको उडान न्युजर्सीको नेवार्कबाट रद्द भएपछि उनलाई न्युयोर्कको जोन एफ। केनेडी विमानस्थल पुग्नुपर्ने अवस्था आयो । उनले उटाह जाने योजनाका लागि कार भाडामा लिन खोजे तर उपलब्ध भएन । अन्ततः उनले ‘क्रस–कन्ट्री ट्रक चलाएर जानुपर्ने’ बताए।

भाडाका कार कम्पनीहरूले पनि एकतर्फी यात्राको माग तीव्र रूपमा बढेको जनाएका छन् ।

– एयरलाइन्सको प्रतिक्रिया र उडान कटौतीको अवस्था 

उडान टङ्याकिङ वेबसाइट फ्लाइटअवेयर का अनुसार शुक्रबार मात्रै एक हजारभन्दा बढी उडानहरू रद्द भएका थिए । यो बिहीबारको तुलनामा पाँच गुणा बढी हो । वासिङ्टनस्थित रेगन राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित रह्यो । यहाँ १८ प्रतिशत उडान अर्थात करिब ८० भन्दा बढी रद्द गरिए ।

डेल्टा एयरलाइन्सले शुक्रबार १७० उडान स्थगित गरेको बताएको छ भने अमेरिकन एयरलाइन्सले सोमबारसम्म दैनिक २२० उडान कटौती गर्ने योजना बनाएको छ । साउथवेस्ट एयरलाइन्सले पनि करिब १२० उडान रद्द गरेको छ । युनाइटेड र अमेरिकन दुवैले प्रभावित यात्रुहरूलाई पुनः बुक गर्न सक्रिय प्रयास भइरहेको बताएका छन् ।

– राजनीतिक गतिरोध र दीर्घकालीन जोखिम 

ट्रम्प प्रशासनले डेमोक्रेट सांसदहरूलाई सरकारी बन्द अन्त्य गर्न दबाब दिँदै गर्दा एफएएको आदेश आएको हो । नियन्त्रकहरूलाई महिनाभर तलब नदिइँदा उनीहरूमा आर्थिक र मानसिक दबाब बढेको एफएएको भनाइ छ ।

यातायातमन्त्री डफीले भने, ‘हामी ढिलाइ वा अवरोध देख्न चाहन्नौँ, तर जबसम्म सुरक्षा मापदण्ड सुधार हुँदैन, उडान कटौती आवश्यक छ ।’

विश्लेषकहरूका अनुसार लामो समयसम्मको बन्दले अमेरिकी हवाई ढुवानी प्रणालीमा गम्भीर असर पार्न सक्छ । अमेरिकी हवाई मालसामानको करिब आधा हिस्सा यात्रु विमानमार्फत ढुवानी हुने भएकाले ढिलाइले आपूर्ति शृङ्खलामा पनि प्रभाव पार्नेछ ।

एलिभेट एभियसन ग्रुपका प्रमुख ग्रेग राइफलले भने, ‘हवाई यातायात अमेरिकी अर्थतन्त्रको मेरुदण्ड हो । यो बन्दले व्यापारिक बैठकदेखि लिएर पर्यटकहरूको यात्रा, सबै क्षेत्रमा असर पार्नेछ ।’

– यात्रुहरूका लागि सल्लाह 

सरकारको निर्देशन अनुसार ढिलाइ आफूहरूको नियन्त्रणभित्रको कारणले नभएसम्म एयरलाइन्सहरूले रद्द भएका उडानका टिकट फिर्ता गर्नुपर्छ तर खाना र आवास खर्च वहन गर्नुपर्ने छैन ।

यात्रा सल्लाहकार क्रिस्टिना श्लेगलले भने, ‘आतंकित नहुनुहोस्, आफ्नो उडानको स्थिति निरन्तर जाँच गर्नुहोस् र वैकल्पिक मार्गको जानकारी तयार राख्नुहोस् ।’

यदि सरकारी बन्द छिट्टै अन्त्य भएन भने आगामी बिदाहरूअघि हवाई यात्रा अझ अव्यवस्थित र महँगो बन्ने विश्लेषकहरूले चेतावनी दिएका छन् ।

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली। तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने केन्द्र बनाउन तनहुँ सङ्ग्रहालय स्थापना गरिएको छ । नेपाल क्षेत्री समाज तनहुँको सक्रियतामा व्यास नगरपालिका–१ करङकाठस्थित समाजको भवनमा तनहुँ सङ्ग्रहालय स्थापना गरिएको हो ।

सङ्ग्रहालयमा तनहुँमा रहेका जातजातिका पहिरन, उनीहरूले प्रयोग गर्ने सामग्री राखिने सङ्ग्रहालय संयोजक देवीबहादुर बस्नेतले जानकारी दिए । तनहुँमा प्रमुख १६ जाति रहेकाले सङ्ग्रहालयमा ती सबै जातजातिका सामग्री राखिने बस्नेतले बताए ।

उनले भने, ‘यहाँ रहेका ब्राम्हण, क्षेत्री, दरै, कुमाल, बोटे, गुरुङ, राई, दुरा, दमै, कामी, सार्की लगायतले प्रयोग गर्ने पहिरन, उनीहरूले प्रयोग गर्ने सामग्रीलगायत सबै सामग्री सङ्ग्रहालयमा राख्छाैँ । यो सङ्ग्रहालय नयाँ पुस्ताका लागि पाठशाला बन्नेछ । सङ्ग्रहालय विभिन्न जातजातिका धर्म, संस्कृति, रीतिरिवाज अध्ययनको बृहत् केन्द्र बन्ने विश्वास गरेका छौँ ।’

सङ्ग्रहालयले विभिन्न जातजातिका रहनसहन, वेषभूषासँगै सम्पूर्ण दिनचर्याबारे जान्ने अवसर प्रदान गर्ने उनको भनाइ छ । बस्नेतका अनुसार जिल्लामा बसोबास गर्ने सबै जातजातिका समुदायमा पुगेर उनीहरूले प्रयोग गर्ने वस्तुहरु संकलन गरी सङ्ग्रहालयमा राखिनेछ ।

उनले भने, ‘सम्बन्धित जातजातिका समुदायमा पुगेर त्यस्ता सामग्री संकलन गर्छौं, सहयोगका लागि अपिल पनि गरेका छौँ । नपाइने सामग्री भने खरिद गरिनेछ ।’

सङ्ग्रहालय संस्कृति संरक्षणसँगै जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पनि सहयोगी बस्नेतको विश्वास छ । उनका अनुसार सङ्ग्रहालयमा जिल्लाका ऐतिहासिक, पर्यटकीय गन्तव्यस्थलका बारेमा जानकारी दिने सामग्रीसमेत राखिएको छ ।

सङ्ग्रहालय स्थापनाका लागि गण्डकी प्रदेश सरकारले रु पाँच लाख बजेट सहयोग गरेको थियो । यस्तै नेपाल क्षेत्री समाज तनहुँले गत तिहारमा देउसीभैलो खेलेर रु चार लाख संकलन गरेको छ । सङ्ग्रहालयमा राष्ट्रिय विभूतिका शालिकसमेत राखिने बस्नेतले बताए।

उनले भने, ‘देशका लागि विशेष योगदान दिने व्यक्तिहरुको पनि शालिक बनाउँछौँ ।’

सङ्ग्रहालय स्थापनाका लागि बजेट आवश्यक पर्ने भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग सहयोगको अपिल गरिने बस्नेतले बताए।

सङ्ग्रहालयका सहसंयोजक तिलक चौहानले स्थानीय सरकारले सङ्ग्रहालयमा ध्यान नदिएकाले क्षेत्री समाजको परिकल्पनामा सङ्ग्रहालय बनाउन लागिएको बताए।

उनले भने, ‘यो सङ्ग्रहालय तनहुँको मात्र नभई देशैभरिको सङ्ग्रहालयको केन्द्र बन्ने विश्वास गरेका छौँ । सङ्ग्रहालय स्थापना भएको एक वर्ष पूरा भएको छ, तर यहाँ राखिने सामग्री संकलनको कामलाई अब तीव्रता दिन्छौँ ।’

क्षेत्री समाज नेपाल तनहुँका सदस्य एवं सङ्ग्रहालयका सचिव रामचन्द्र अधिकारीले सङ्ग्रहालय स्थापनाका लागि सहयोग गर्न सबै जातजातिलाई आग्रह गरे । उनले भने, ‘प्रत्येक टोल, गाउँ, वडासम्म पुगेर सामग्री संकलनको अभियानमा जुट्दैछौँ ।’

नेपाल क्षेत्री समाज तनहुँका सचिव हरि कार्कीले समाजको सक्रियतामा सङ्ग्रहालय निर्माण गरिएपनि यसलाई सबै जातजातिको पहिचान झल्किने केन्द्र बनाइने उल्लेख गरे।

उनले भने, ‘सङ्ग्रहालयमा ऐतिहासिक, पुरातात्विक वस्तुको संरक्षण त हुन्छ नै सङ्ग्रहालय विद्यार्थीका लागि शैक्षिक अध्ययनको केन्द्र बन्नेछ ।’

सङ्ग्रहालयसँगै यहाँ पुस्तकालयसमेत बनाइएको छ । पुस्तकालयमा विभिन्न लेखकले लेखेको पुस्तक राखिएको छ । ती पुस्तकले तनहुँका ऐतिहासिक, सांस्कृतिकस्थलका बारेमा अध्ययन गर्न सकिनेछ ।

आलमको निधनमा रास्वपा नेतृ संग्रौलाको टिप्पणी : मृत्यु उत्सव नबनोस्, नेता सुध्रिउन्

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको निधनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला संग्रौलाले टिप्पणी गरेकी छिन् ।

उनको निधन उत्सव बनेको दाबीसहित उनले लेखेकी छिन्, ‘मोहम्मद अफ्ताब आलमले देह त्याग गरेका छन् । नेताहरूले सुध्रिन आवश्यक छ, कम्तीमा मृत्यु हुँदा मान्छेहरूले उत्सव मनाउने समय न आओस् । आलमको आत्मालाई शान्ति मिलोस् ।’

आलमको आज बिहान काठमाडौं मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको थियो । उच्च रक्तचाप, मधुमेहलगायत स्वास्थ्य समस्या देखिएपछि विगत एक महिनादेखि सिनामंगलस्थित उक्त अस्पतालमा उपचार गराइरहेका थिए । दशैंअघि नै अस्पतालमा भर्ना भएका आलमलाई पछिल्लो एक सातादेखि थप जटिल अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर।  भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।

भारतको विहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै सीमानाका बन्द गरिनुका साथै उच्च सतर्कता अपनाइने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सूरक्षा व्यवस्थापनका लागि नेपाल–भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको जानकारी दिएको छ ।

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन। बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ–८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–९ का गाडी चालक २७ वर्षीय दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र घाइते अदै घर फर्किएको उनको भनाइ छ ।

पिकअप बुर्तिवाङ–ढोरपाटन सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए ।

उनले भने, ‘अहिले दुर्घटनामा परेका सबैको पहिचान खुल्यो, रातिमा दुर्घटना भएको हुँदा हामी उद्धार गरेर अस्पताल पठाउनतर्फ लाग्यौँ, दुर्घटना भएको केही समयमै खबर पायौँ र उद्धार पनि समयमै भयो, तर एक जनाको घटनास्थलमै मृत्यु भयो, घाइतेमध्ये एक जना घर फर्किसके भने चालक उपचाररत छन् ।’

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि ८०१ रोपनी जग्गा प्राप्त भएको छ । शीतोष्ण फलफूल तथा स्याउको उत्पादन दीर्घकालसम्म सुनिश्चित राख्ने उद्देश्यले सेटलाइट कृषि फार्मको अवधारणा अघि सारिएको हो । जग्गा प्राप्तिसँगै सेटलाइट कृषि फार्मको गुरुयोजना अघि बढाउन बाटो खुलेको छ ।

सरकारी जग्गा दर्ता, उपयोग तथा भाडामा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति–२०७९ मा भएको व्यवस्थाअनुरूपका मुस्ताङको घमीमा  सेटलाइट फार्म स्थापनाका लागि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा जग्गा प्राप्ति भएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।

केन्द्रले सेटलाइट फार्म स्थापनाका लागि सरोकारवाला निकायसँग दुई वर्षअघि प्रक्रिया अघि बढाएकोमा शुक्रबार मात्रै केन्द्रको नाममा जग्गा प्राप्ति प्रक्रिया टुङ्गिएको केन्द्र प्रमुख आत्रेयले बताए।

मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्य शर्मा अर्यालले केन्द्र प्रमुख पद्मनाथ आत्रेयलाई फार्मका लागि लालपूर्जा हस्तान्तरण गरेको मालपोत कार्यालय मुस्ताङले जनाएको छ ।

यहाँ उत्पादन हुने ३५ प्रजातिका स्याउलगायत शीतोष्ण फलफूलअन्तर्गत ओखर, कागजी बदाम, आरु, आरुबखडा, खुर्पानी, स्वीट चेरी र अङ्गुरलगायतका फलफूल जातहरुको संरक्षण गरी सयौँ वर्षसम्म स्याउको राजधानीका रुपमा स्थापित गराइराख्न चुनौती रहेकाले माथिल्लो भूभागमा सेटलाइट फार्मको अवधारण बनेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।

साथै तल्लो मुस्ताङ र माथिल्लो क्षेत्रमा स्याउलगायतका बिरुवा रोपण गर्ने तालिका फरकफरक भएकाले केन्द्रमा उत्पादन हुने बिरुवा माथिल्लो क्षेत्रका कृषकलाई अनुकूल हुँदैन । यसकारण सेटलाइट फार्म स्थापना भई उक्त स्थानमा बिरुवा उत्पादन भएको अवस्थामा त्यहाँका किसानका समस्या निराकरण हुने विश्वास गरिएको छ ।

यहाँको तल्लो मुस्ताङमा पछिल्लो समय धेरै पानी पर्न थालेका र माथिल्लो मुस्ताङमा जलवायु अनुकूलता अपनाउँदै तरकारीको बीउ उत्पादनको दृष्टिकोणबाट पनि अत्यन्तै सम्भावना रहेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ । उपल्लो मुस्ताङमा सयौँ हेक्टर जमिन बाँझो रहेको र त्यहाँ सिँचाइको व्यवस्थापन गर्नसकेमा प्रशस्तै स्याउ फलाउन सकिने जनाइएको छ ।

डीएनएन संरचना पत्ता लगाउने जेम्स वाटसनको निधन

काठमाडौं । डीएनएन संरचना पत्ता लगाउने वैज्ञानिकहरूमध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा निधन भएको हो । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

डीएनए संरचनाको खोजलाई २० औं शताब्दीको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धिहरूमध्ये एक मानिन्छ । उनले बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँग मिलेर १९५३ मा डीएनएको डबल–हेलिक्स संरचना पहिचान गरे । यसले आणविक जीवविज्ञानमा द्रुत प्रगतिको लागि मार्ग प्रशस्त गर्‍यो ।

वाटसनले जातीय र लिङ्ग भेदभावको आलोचनात्मक टिप्पणी पनि गरे, जसले उनको प्रतिष्ठालाई गम्भीर क्षति पुर्‍यायो । एक टेलिभिजन कार्यक्रममा उनले दाबी गरे कि कालो र गोरा मानिसहरू बीचको औसत आइक्यूमा भिन्नताको लागि जीन जिम्मेवार छ । वाटसनले दशकौंसम्म काम र अनुसन्धान गरेको कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले बीबीसीलाई उनको मृत्युको पुष्टि गर्‍यो ।

बाँझो जमिनमा माछा खेती गरौँ, युवा पलायन रोकौँ : प्रोफेसर भुजेल

काठमाडौँ । थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मत्स्य विषयका रिसर्च एसोसिएट प्रोफेसर तथा एक्वा सेन्टरका डाइरेक्टर डा रामचन्द्र भुजेलले नवीनतम प्रविधिको प्रयोग गरी माछा उत्पादन व्यवसाय सञ्चालन गरिए प्रोेटिन युक्त खाद्य सुरक्षामा सहयोग पुर्‍याउनुका साथै युवा पङ्क्तिलाई ठूलो सङ्ख्यामा रोजगारी दिलाउन सकिने बताएका छन् ।

मत्स्य अध्ययन र अनुसन्धानका क्षेत्रमा विश्वमै ख्याति कमाएको उक्त इन्स्टिच्युटमा तीन दशकदेखि माछासम्बन्धी कार्यक्रममा उच्च शिक्षा अध्यापनका साथै अनुसन्धान र तालिम प्रदान गर्दै आएका डा भुजेलले छोटो समयमा धेरै आर्थिक लाभप्राप्त गर्न सकिने माछाका जात र प्रविधि नेपालमा भित्र्याउन आफूहरूले विभिन्न पहल गर्दै आएको बताए ।

डा भुजेल भन्छन्, “अहिले माछा उत्पादन र उपभोगका हिसाबले नेपाल पछाडि भए पनि सम्भावना भने धेरै छ । माछा आफैँमा स्वास्थ्यवद्र्धक र पोसिलो खाना हो । नेपालका बाँझो जमिन माछापालन र युवा रोजगारका लागि उर्वरभूमि बन्न सक्छ । थाइल्याण्डबाट प्रतिफल लिनसकिने जातका माछा ल्याई यहाँ उत्पादनको पहल भइरहेको छ । पछिल्लो समय नेपालमा माछा पाल्नुपर्छ र खानुपर्छ भन्ने सोच पनि बढेको छ ।”

प्रोफेसर भुजेलसँग नेपालमा माछा व्यवसाय, रोजगारी र खाद्य सुरक्षालगायतका विषयमा केन्द्रित रही राससले लिएको अन्तर्वार्ताको सम्पादित अंश :

तपाईँ अहिले कहाँ, केमा ब्यस्त हुनुहुन्छ ?

माछाबारे अध्ययन, अनुसन्धान र तालिम कार्यक्रमहरूमा व्यस्त छु । हाल थाइल्याण्ड र नेपालसँगै कम्बोडिया, सिङ्गापुर तथा एसिया र अफ्रिकाका अन्य देशहरूमा सोही काम गरिरहेकोछु । थाइल्याण्ड माछाको व्यावसायिक उत्पादनबारे जान्ने, बुझ्ने र अध्ययन गर्ने ठूलो ठाउँ हो । त्यहाँबाट नेपालमा पङ्गास, झिङ्गे र मोती उत्पादन गर्ने जातको माछा पठाएर गहयोग गरिरहेको छु । नेपालमा अहिले ती माछाहरूका साथै टिलापियाको उत्पादन भइरहेको छ । मेरो उच्च शिक्षा र जीवन नै माछासम्बन्धी विज्ञता बढाउने क्षेत्र भएकाले त्यसैमार्फत समुदायलाई सहयोग गर्ने कार्यपत्र प्रस्तुत गर्ने र अनुभव बाढ्ने कार्यमा ५० जति देशमा पुगेको छु ।

विश्वमा नेपाल माछा खपतका हिसाबले कस्तो देश हो ?

नेपालमा पानी धेरै छ । यहाँ छ हजारभन्दा बढी नदी नाला छन् । यहाँको ठूलो परिमाणमा पानी त्यतिकै बगेर गइरहेको छ । नेपालका नदी–नाला, ताल–तलाउमा माछा छन् तर व्यावसायिक खेती गर्ने चलन भने कम छ । अहिले नेपालमा करिब एक लाख १३ हजार टन माछा उत्पादन हुन्छ । जसमा २१ हजार टन जति नदीनालाबाट मारिन्छ । ती माछा गाउँघरतिर नै सकिने हुनाले सहरका लागि करिब १० हजार टन जति भारत र अन्य देशबाट आयात हुन्छ । जसले गर्दा हरेका वर्ष झण्डै रु तीन अर्ब बाहिर जान्छ । हामी माछा उत्पादन र उपभोगका हिसाबले अरुका तुलनामा निकै पछाडि छौँ । तर उत्पादनको सम्भावना भने धेरै छ । माछा आफैँमा स्वास्थ्य र पोसिलो खानेकुरा हो । संसारमा एउटा व्यक्तिले प्रतिवर्ष करिब २० केजी माछा उपभोग गर्छ । नेपालमा भने प्रतिव्यक्ति खपत चार किलोभन्दा कम छ । थाइल्याण्डमा यो झण्डै ४० किलो छ । मलेसिया, जापान र कोरियामा त ६० केजीसम्म पुगेको छ । यसबाट नेपालमा माछा खानेमा चलन अतिकम देखिन्छ । तथापि, गएको पन्ध्र वर्षमा नेपालमा माछा पाल्नुपर्छ र खानुपर्छ भन्ने सोच बढेको छ । माछा उत्पादन बढाउन धेरै प्रयास गरिएको छ । यस विषयमा उच्च शिक्षाको पाठ्यक्रम विकास गरी लागू गर्न सहयोग गरिएको छ । अरु खेतीको तुलनामा माछाका लागि एक पटक पोखरी खनेपछि अलिअली मर्मत गरी बीसौँ वर्षसम्म निरन्तर उत्पादन गर्न सकिन्छ ।

नेपालमा व्यावसायिक माछा उत्पादन कति सम्भावना छ ?

मजदुरको अभाव तथा लागतको तुलनामा उत्पादन कम हुन थालेपछि पछिल्लो समय धान, मकै, गहुँको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । जग्गाहरू बाँझो हुन थालेका छन् । त्यो बाँझो जग्गामा पोखरी खन्ने हो भने राम्रो परिमाणमा माछा उत्पादन हुन सक्छ । तराईका चितवन, बारा, रूपन्देहीमा यसको अभ्यास भइरहेको छ । अरु खेती नभई प्रयोगमा नआएका जग्गामा पोखरी खनेर माछा उत्पादन गर्न सकिन्छ । एक हेक्टर जमिनमा धान लगाउँदा चार टन जाति उत्पादन हुन्छ । जबकी नेपालको औषत माछा उत्पादन नै डेढ गुनाबढी अर्थात् छ टन जति छ । अनि माछाको मूल्य धानको भन्दा झण्डै १० गुना बढी छ । त्यही जमिनमा पङ्गास, टिलापियाजस्ता चाँडो बढ्ने माछा नयाँप्रविधिको प्रयोग गरी पाल्ने हो भने २० टनदेखि ४० टनसम्म उत्पादन हुन्छ । उत्पादन र नाफा हेर्ने हो अरु खेतीको तुलनामा माछाबाट धेरै आम्दानी लिन सकिन्छ । धानखेती र माछापालन पनि सँगसँगै गर्न सकिन्छ । त्यस्तै हाँस, कुखुरा, बङ्गुर, गाई, भैँसी अनि बाख्रापालन माछासँगै पोखरीमाथि वा डीलहरूमा गर्न सकिन्छ । माछा उत्पादनलाई व्यावसायिक बनाउन सकेमा रोजगारीका नाममा विदेश जाने युवालाई यही राम्रो अवसर प्रदान गर्न सकिन्छ । सुरुआती दिनमा पोखरी खन्न केही पैसा लाग्छ । तर यसमा सरकारले पनि सहयोग गरिररहेको छ । माछापालनबाट राम्रो लाभ लिन सकिने विषयबारे राम्रो प्रचारप्रसार भएमा विदेश जाने युवाको सङ्ख्या पक्कै घट्न सक्छन् । अहिले देशमा युवा जनशक्ति काम नपाएर बरालिएको अवस्था छ । पैसाको ठूलो स्रोत र क्षेत्र भनेको माटो र पानी हो । यसलाई हामीले सही प्रयोग गर्न जान्नुपर्छ । यसमा युवा जनशक्तिलाई प्रेरित गर्नुपर्छ । माछा खेती धेरै नै फाइदाजनक छ ।

मुलुकको कुन क्षेत्र र जिल्लामा यसको सम्भावना बढी छ ?

नेपालमा माछाका लागि उपयुक्त हावापानी र सम्भावनाको क्षेत्र पहिलो तराई नै हो । समथर मैदान तथा गर्मी हावा पानीमा माछा चाँडो बढ्छ । त्यसकारण पनि तराईतिर बढी माछा उत्पादन हुन्छ । त्यसपछि चुरे पर्वत आसपासका खोच तथा फाँटमा पनि माछाखेती राम्रो हुन्छ । हामीले रामपुर क्याम्पससँग मिलेर चितवनबाट माछापालको प्रोजेक्ट गरी नवलपरासी र पछि लमजुङ र गोर्खाका केही गाउँमा पनि माछा पालन फैलाएका थियौँ । नेपालका उच्च पहाडी भेग ‘माउन्टेन’ तिर ट्राउट माछा उत्पादनको राम्रो सम्भावना छ । उदाहरणका लागि कास्की वा पोखरा नजिक र ककनीमा केही ट्राउट फार्म छन् । त्यस क्षेत्रमा पनि अहिलेको भन्दा धेरै गुणा बढी माछा उत्पादन गर्न सकिन्छ । नेपालका ट्राउट सिङ्गापुरतिरबाट पनि माग आएको भन्ने सुनेको छु । तर धेरै उत्पादन भइरहेको छैन । हाम्रै चिसो पानीमा हुने लोक माछा सहर, असला र गर्दी पनि पालन गर्न सके बजारको कुनै समस्या हुँदैन ।

नेपालमा माछा उत्पादनको पकेट क्षेत्र भनेर कहाँ र कति जिल्लालाई मानिएको छ ?

चितवन, रूपन्देही, बारा, पर्सा, दाङ, कैलाली, रौतहट, सर्लाही, धनुषा र कास्कीलगायतका जिल्ला माछा उत्पादनका हिसाबले अग्रस्थानमा छन् । सरकारले केही जिल्लालाई सुपर जोन, केहीलाई जोन अनि पकेट एरियाका रूपमा अघि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले यसलाई सहयोग गरेको छ । पछिल्लो समय पहाडी क्षेत्रका गाउँमा पनि किसानले अनुदान लिएर पोखरी बनाइ व्यावसायिक रूपमा माछा पालन सुरु गरेका छन् । यहाँको उत्पादन स्थानीय तहमै खपत हुन्छ । नेपाल आफैँमा पनि बजारको राम्रो सम्भावना छ । खेर गइरहेको सानो जग्गामा पनि माछा पालन हुन्छ । माछा उत्पादनका क्षेत्रमा थेरै थरी प्रविधिहरू छन, तिनलाई भित्र्याउनु छ । थोरै लागतमा धेरै उत्पादन गर्ने प्रविधिको प्रयोग गरेर व्यावसायिक माछापालनमा लाग्नु बुद्धिमानी हुन्छ । हावापानीका हिसाबले काठमाडौँ वरिपरि पनि माछा उत्पादनको निकै सम्भावना छ । तरकारीजस्तै प्लाष्टिक टनेल बनाई पानी तातो पारी तरकारीसँगै माछाखेती गर्न सकिन्छ । तातो हावापानी र तामक्रमअनुसार माछाको उत्पादन निर्भर रहन्छ ।

नेपालमा कति प्रजातिका माछा पाइन्छ ?

माछा भनेको पानीमा हुने जीवजन्तु हो । नेपालमा करिब १३२ प्रजातिका माछा पाइन्छ भनिन्छ । तीमध्ये खेती गर्ने थोरै हुन्छन् । माछाको व्यावसायिक उत्पादनमा संलग्न हुनुअघि कुन माछाले कति उत्पादन दिन्छ । उसको आहारा के हो, के रोग लाग्न सक्छ, त्यसबाट कसरी सुरक्षित तुल्याउने भन्ने आधारभूत ज्ञान किसानलाई हुनुपर्छ । जग्गाको क्षेत्रफल र हावापानीअनुरूप थोरै क्षेत्रफलमा धेरै माछा उत्पादन गरी आम्दानी लिन सकिन्छ । नेपालमा चिसोपानी भएका सुनकोशी, अरुण, लिखु, तमोर, तामाकोशी, कमला, मरिण, बागमती, त्रिशूली, नारायणी, कर्णाली, बबई, भेरी, सेती महाकालीजस्ता नदी नालामा असला, सहर र गर्दीजातका माछा पाइन्छ, जुन धेरै मानिसका जिब्रोमा स्वाद झुन्डिएको हुन्छ । यी माछाहरू ढिलो बढ्छन्, कसरी प्रजनन र उत्पादन हुन्छ भनेर थाहा हुनुपर्छ । माछाखेतीलाई लामो समय लाग्यो भने खर्चिलो हुन्छ । त्यसैले चाँडो बढ्ने माछा चाहिन्छ । नेपालमा कमन, विगहेड, ग्रास, सिल्भर, रहु, नैनी, भाकुर, टिलापिया, पङ्गासजस्ता माछाको व्यावसायिक उत्पादन गरिँदै आएको छ, जुन छिटो बढ्छन् र किसानलाई फाइदा दिन्छ । अहिले हामीले केही क्षेत्रमा व्यावसायिक माछाखेती गरिए पनि त्यसको उत्पादन र उत्प कम छ । आधुनिक प्रविधिको प्रयोग गरी हालको उत्पादनमा तीन गुणा बढाउन सकिन्छ, अनि बल्ल युवाहरू यस क्षेत्रमा आकर्षित हुन सक्छन् । स्वदेशमै बस्न चाहने युवालाई माछा व्यवसायले रोजगारी र आम्दानीका हिसाबले राम्रो विकल्प दिनसक्नपर्छ ।

आत्मनिर्भरका हिसाबले नेपालमा माछाको माग कति हो र अहिले अवस्था के छ ?

नेपालीले औषतमा चार किलोभन्दा कम वार्षिक प्रतिव्यक्ति माछा खाइरहेका छौँ । संसारको औषतसम्म पुर्‍याउन हामीले पाँच गुणा बढाउनुपर्छ । माछा पाल्ने क्षेत्र बढाउन बाँझो जमिनमा पोखरी खन्न पर्‍यो । उत्पादकत्व बढाउन कार्प माछामा नयाँ नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । चाँडो बढ्ने जातहरू जस्तो टिलापिया र पङ्गासको खेती गर्नुपर्छ । माछामा प्रोटिन, भिटामिन र अन्य पौष्टिक तत्वहरू प्रशस्त पाइन्छ । हप्तामा कम्तीमा दुई तीन पटक माछा खाएपछि स्वस्थ्य होइन्छ । सरकारी तथ्याङ्कअनुसार नेपालमा बर्सेनि जम्माजम्मी एक लाख १३ हजार टन माछा उत्पादन हुन्छ । करिब १० हजार टन खास गरी पङ्गास र रहु भारतबाट आयात हुन्छ । केही माछा नर्बे, भियतनाम र अरु देशबाट पनि आयत गरिन्छन् । संसारभर करिव ६०० जातका व्यावसायिक माछाका जात पाइन्छ । जमिनमा हुने कीरा फट्याङ्ग्राभन्दा पानीमा हुने माछा लगायतका जीवजन्तु धेरै हुन्छन । तराईका केही जिल्लाबाट माछा भारतमा पनि निर्यात हुन्छ किनभने उत्तरप्रदेश र विहारमा तेती माछाखेती छैन । त्यसकारण तराई क्षेत्रमा प्रशस्त माछा उत्पादन गर्नसके भारत निकासी गरेर किसानले मनग्य आम्दानी गर्न सक्छन् ।

जलवायु परिवर्तनबाट नेपालको माछा उत्पादनमा कस्तो असर पारेको छ ?

जलवायु परिवर्तनको असरजस्तै खडेरीले खोलानाला र तलाउ सुक्यो, पानी कम भयो भने पक्कै पनि असर पर्छ । माछाको लागि बनाएको पोखरीबाट जलवायु परिवर्तनको असर कम गर्नमा मद्दत मिल्छ । पोखरीको वरपर बाख्रा, कुखुरा, सुँगुर, बङ्गुर, हाँस, खुकुरा पालन तथा केराखेती, फलफूल, तरकारी र धान उब्जनी गरेर दोहोरो लाभ लिन सकिन्छ । माछामा खासगरी ब्याक्टेरिया र भाइरस तथा प्यारासाइट वा जुम्राजस्ता रोग लाग्छ जसले गर्दा माछा मर्न सक्छ । पोखरीमा धेरै माछा हालियो तर पानी कम भयो भने अक्सिजनको अभाव भएमा पनि माछा मर्न सक्छन् । माछाको खेती बढाउन सबै समुदायको भूमिका रहन्छ । बर्सातको खहरेका पानी रोकेर राखेर पोखरी बनाउन सकिएमा माछा पालनमा सहयोग पुग्छ । हाम्रा कोशी, कर्णाली, गण्डकीजस्ता सबै नदीमा माछा छन् । विद्युत्का लागि बाँध पूरै क्षेत्रमा बनाइएमा माछा खेल्ने र ओहोरदोहोर गर्ने बाटो बन्द हुनसक्छ । नदी नालाको कुनै माछा चिसो पानीमा बस्छन अनि अण्डा पार्ने बेलामा समुद्रतर्फ जान्छन् । कोही समुद्रबाट फूल पार्न चिसो पानीमा आउँछन् । त्यस्तो ओहोरदोहोरो हुन्छ । विद्युत् उत्पादनका लागि बनाइएका बाँधहरूले गर्दा त्यो रोकियो र अण्डानै पार्न नपाएपछि माछा स्वतह घट्छ नै । नदीमा माछा घट्ने यो एउटा मुख्य कारण हो ।

माछापालनमा सफल अभ्यास र समुदाय कुन हुन् ?नेपालमा माछापालनमा देखिएको चुनौती के हो ?

नेपालमा माछासँग अलि बढी जोडिएको समुदाय भनेको माझी, कुमाल, जलारी, बोटे, थारु आदि हुन् । उनीहरूको पाहुना आउँदा अनिवार्य माछा खुवाउनुपर्ने चलन छ । नेवारको पनि विभिन्न चाडबाडमा माछाको प्रयोग गरेको देखिन्छ । नेपालमा माछाको अध्ययन अझै जरुरी छ । नदीमा विष हालेर तथा विद्युतीय तारको प्रयोग गरेर माछा मारिँदा कतिपय नेपाली पहिचानको रूपमा रहेका महत्त्वपूर्ण माछाका प्रजाति नष्ट हुन्छ । नेपालका नदीमा कति माछा छ भन्ने यकिन तथ्याङ्क र पहिचानको चुनौती छ । नेपालमा नयाँ प्रजाति पत्ता लगाउने कार्य कीर्तिपुरको जियोलोजी विभागले गरेको छ । त्यस्तै माछा खेतीसम्बन्धी पढाइ, अनुन्धान र प्रसारप्रसार भने रामपुर क्याम्पस, नार्क र पशुपन्छी मन्त्रालय अन्तर्गतका कार्यालयबाट हुन्छ । बेरोजगार घटाउने, स्वास्थ्यमा फाइदा पुर्‍याउने र आर्यआर्जन बढाउने हेतुले माछापालन कार्यक्रम अघि बढाइएको छ ।

नेपालमा जलीय कृषिको कसरी विस्तार भएको छ ?

सुरुमा १९८०/८१ मा नेपालले एसियाली विकास बैंकसँग ऋण लिएर माछापालनको व्यावसायिक उत्पादन कार्य सुरु गरिएको हो । ‘केज कल्चर’ भनेर पोखराको फेवा र बेगनास ताल तथा इन्द्रसरोवरमा सुरु गरियो । रूपन्देही, बारा, पर्सा चितवनको माडी क्षेत्रमा माछापालन गर्ने व्यावसायिक समूह छन् । नीति निर्माण काठमाडौँबाट हुने कार्यक्षेत्र भने तराई हुँदा पनि केही समस्या भएको छ । माछापालनका सफल उदाहरण प्रस्तुत गरी यसको विकासमा सामाजिक सञ्जालले पनि प्रोत्साहन गरेको छ ।

थाइल्याडको माछापालनमा सरकारी सहयोगको तुलनामा नेपालमा कस्तो छ ?

त्यहाँका किसान आफैँ आत्मनिर्भर छन् । उपयुक्त हावापानी छ । नेपालमा भने सरकारले यसलाई प्रोत्साहन गरेर जानुपर्छ । यहाँको हिमाली तथा पहाडी क्षेत्रमा जाडो याममा चिसोले माछा मर्न सक्छ । तथापि नेपालका चिसो पानीका माछा मिठो हुन्छ । भारतभन्दा धेरै सानो मुलुक भए पनि थाइल्याण्डले वार्षिक आठ अर्ब डलर भारतकै बराबर कमाउँछ । समग्र कृषिमा अगाडि छ । नेपालमा पर्याप्त माछा उत्पादन गर्ने हो भने भारतका उत्तर प्रदेश र विहार निकासी हुन्छ ।

सीमापार नदी प्रणालीअन्तर्गत नेपाल–भारत माछाको ओहोर–दोहोर हुन्छ ?

चीनसँग धेरै नदी जोडिएको छैन । नदी प्रवाह खुल्ला रहने भएकाले भारतको गङ्गामा मिसिने हुनाले आउने र जाने सन्दर्भ चल्छ । त्यो हिसाबले नेपालका माछा भारत र भारतबाट नेपाल आउँछन् । त्यसले फाइदा पनि गर्छ र स्थानीय जात लोप हुन पनि सक्छ । माछा लोप भएर जाने विभिन्न कारण छ । बालीनालीमा प्रयोग हुने विषादी बगेर नदीमा जाने भएकाले असर गर्छ । खोला र नदीमा रहेका माछाको संरक्षणका लागि ठूलो कार्यक्रम बन्नुपर्छ । कुनै माछा लोप हुँदैछ भने भुरा उत्पादन गरेर नदीमा छाड्ने चलन छ तर यो त्यति भएको छैन ।

खाद्य सुरक्षामा माछाको योगदान केकस्तो छ ?

माछा मानिसको शरीरका लागि स्वास्थ्यकर तथा पोषणयुक्त खाना हो । यो सजिलैसँग पच्छ अनि सबै उमेर समूहलाई राम्रो गर्छ । अन्य मासुको तुलनामा चिकित्सकले पनि माछा खान सिफारिस गर्छन् । मानिसको शरीरलाई चाहिने धेरै पौष्टिकतत्व माछाबाट प्राप्त गर्न सकिन्छ । कति मानिसले नबुझेर माछा खाइरहेको छैन । काँडाको भय पनि उस्तै छ । खसीको मासु महँगो छ, कतिपय ठाउँमा खसीको मासु एक किलो किन्ने पैसाले माछा चार किलोसम्म आउँछ । खाद्य सुरक्षामा धेरै ठूलो माछाको योगदान छ । मानिस धान उत्पादनलाई जोड दिन्छ, तर त्यही खेतमा माछा उत्पादन गर्‍यो भने धेरै आम्दानी हुन्छ । अहिले मुलुकमा रहेको बाँझो जमिनमा माछा खेती गरिए युवा पलायन रोक्न र रोजगारी दिलाउन सकिन्छ । नेपालमा भात र आलु धेरै खाने गरिन्छ भने विदेशमा खासगरी थाइल्याण्ड, भियतनाम, जापान र कोरियामा माछालगायतका वस्तु धेरै खाने भात भने थोरै खाने चलन छ ।

माछाका उपभोक्ता र व्यवसाय गर्ने किसानलाई यहाँको केही सन्देश छ ?

चिकित्सकले कतिपय अवस्थामा रातो मासु खानु हुन्न भनिरहेको बेला आमनेपालीलाई माछा महत्त्वपूर्ण खुराक बन्न सक्छ । विश्वमै विस्तारै माछाप्रति आकर्षण बढेको छ । बाहिरबाट आयातितभन्दा स्थानीयलाई जोड दिनुपर्छ । माछा व्यवसाय गर्ने युवालाई प्रविधिसम्बन्धी जानकारी र तालिम दिन र बजारको व्यवस्था गर्नुपर्छ । युवाहरूमा इच्छा हुनपर्‍यो । त्यसका लागि विशेषज्ञसँग परामर्श गर्नुपर्छ । जसबाट धेरै लाभ प्राप्त गर्न सकियोस् । व्यवसाय गर्नुअघि कार्यक्रम र योजना बनाउनुपर्छ । माछा पालनका लागि सरकारले सहयोग र बैंकले सहुलियत कर्जा दिन्छ । किसानले त्यसको उचित सदुपयोग गर्नुपर्छ । माछापालन गरेर कयौँ नेपाली पर्यटकका रूपमा विदेश भ्रमण गएका उदाहरण छन् । विदेशमा काम गरेर फर्ककाले पनि माछा पालन गरेका छन् र योप्रति आकर्षण छ । त्यसैले पछिल्लो समय माछा व्यवसाय नेपालमा फस्टाउँदो छ ।

राष्ट्रिय सभामा विचाराधिन विधेयकको दफावार छलफल गर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभा विघटन भएपश्चात राष्ट्रिय सभामा ५ वटा विधेयक विचाराधिन अवस्थामा रहेका छन् ।

जेन–जी आन्दोलनपश्चात गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरेपछि संघीय संसदमा रहेका ३० वटा विधेयकहरु निष्क्रिय भएका थिए । राष्ट्रिय सभा र प्रतिनिधि सभामा उत्पत्ति भएका यि विधेयकहरु निष्क्रिय भएपनि हाल ५ वटा विधेयकहरु भने राष्ट्रिय सभामा विचराधिन अवस्थामा रहेका छन् ।

विचराधीन अवस्थामा रहेको सबै विधेयकहरु राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सचिव मनोजकुमार गिरीले जानकारी दिए । उनकाअनुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालासँग सम्बन्धित विधेयक, अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक, पर्यटन विधेयक, चलचित्र विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक विचराधीन अवस्थामा रहेका छन् ।

यिमध्ये विधायन समितिमा विचराधीन रहेका ३ वटा विधेयकलाई दफावार छलफल गर्ने तयारी समितिले गरेको उनले जानकारी दिए। समितिमा पर्यटन विधेयक, चलचित्र विधेयक र सामाजिक सञ्जालसम्बन्धी विद्येयकहरु विचराधीन रहेका छन् । अव बस्ने समितिको बैठकमा उक्त विधेयकहरुको दफावार छलफल अगाडी बढाइने उनले बताए ।

उनकाअनुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशाला सम्बन्धि विधेयकलाई भने समितिले छलफल गरेर प्रतिवेदनसहित पास गरी राष्ट्रिय सभामा पठाइसकेको छ । उक्त विधेयक सभामा विचाराधीन अवस्थामा रहेको उनले जानकारी दिए । अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक भने राष्ट्रिय सभामा प्रश्तुत भएर सैद्धान्तिक छलफल समेत सकिएको छ । उक्त विधेयक समितिमा आउन बाँकी रहेको उनले जानकारी दिए ।

उनले भने, ‘हामीसँग प्रतिनिधिसभा विघटन हुँदाखेरी ५ वटा विधेयकहरु विचाराधिन अवस्थामा रहेका छन् । ५ वटै विद्येयकहरु राष्ट्रियसभामा उत्पत्ति भएका विधेयकहरु हुन् । त्यसमध्ये एउटा राष्ट्रिय विधिविज्ञान प्रयोगशालासँग सम्बन्धित विद्येयक चाँही विधायन व्यवस्थापन समितिले छलफल गरेर प्रतिवेदनसहित पास गरेर सभामा विचाराधीन अवस्थामा रहेको छ ।

तीन वटा विधेयकहरु राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विचारधीन रहेका छन् । ३ वटा विधेयकहरुमा पर्यटन विधेयक, चलचित्र विद्येयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकहरु रहेका छन् । जसलाई हामी लगत्तै दफावार छलफल शुरु गर्ने तयारी समितिले गरिरहेको छ । त्यसबाहेक अर्को एउटा विधेयक चाहीँ अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित विधेयक राष्ट्रिय सभामा प्रश्तुत भएको छ । राष्ट्रिय सभामा सैद्धान्तिक छलफल सकिएको छ र समितिमा आउन अझै बाँकी रहेको छ ।’

समिति सचिव गिरीले प्रतिनिधि सभा विघटन हुँदा संघिय संसदमा विचराधीन रहेका ३० वटा विद्येयकहरु निष्क्रिय हुन पुगेको बताए । त्यसमध्ये ७ वटा विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका थिए । राष्ट्रिय सभाले पास गरेर प्रतिनिधि सभामा पठाएका विधेयकहरु निष्क्रिय भएको उनले जानकारी दिए। बाँकी २३ वटा विधेयकहरु भने प्रतिनिधि सभामा उत्पत्ति भएका थिए । तीमध्ये २१ वटा विधेयक प्रतिनिधि सभाकै विभिन्न स्टेजमा रहेका थिए भने दुई वटा विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको थियो ।

हाल संघीय संसदमा एउटा नयाँ विधेयक पेश गर्नेगरी सरकारले पठाएको छ । विधायन समिति सचिव गिरीकाअनुसार सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धि कोष स्थापना गर्ने विषयसँग सम्बन्धित विधेयक संघिय संसदमा पेश गर्ने प्रयोजनको लागि संघीय संसदमा पठाएको हो । सो विधेयकलाई संघीय संसदको राष्ट्रिय सभा या प्रतिनिधिसभातर्फ अगाडी बढाउने चरणमा रहेको उनले जानकारी दिए। यस्तै सरकारले जारी गरेको मतदाता नामावलीसँग सम्बन्धित अध्यादेशलाई पनि राष्ट्रिय सभामा प्रश्तुत गर्ने तयारी गरिएको उनले बताए ।

उनले भने, ‘भर्खरै यो सरकार गठन भईसकेपछि सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धि कोष स्थापना गर्ने विषयसंग सम्बन्धित एउटा विद्येयक संघीय संसदमा पेश गर्ने प्रयोजनको लागि संघीय संसदमा पठाएको छ । यसलाई अब राष्ट्रियसभातर्फ वा प्रतिनिधिसभातर्फ अगाडी बढाउने चरणमा हामी रहेका छौँ । यसबीचमा एउटा अध्यादेश जारी गरेको छ, सरकारले । यो मतदाता नामावलीसंग सम्बन्धित अध्यादेश, त्यो अध्यादेश चाहीँ संघीय संसदमा राष्ट्रिय सभामा प्रश्तुत गर्ने प्रयोजनको लापग संघिय संसदले त्यसको कपी प्राप्त गरेर माननीयज्युहरुलाई वितरण गरिसकिएको छ ।’

प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको बैठक पनि अन्त्य गरिएको छ । सरकारले राष्ट्रिय सभा बैठक बोलाएको छैन । जेन–जी आन्दोलनका क्रममा संसद भवनमा आगजानी भएपछि बैठक बस्ने ठाउँको समेत समस्या भएको छ । सरकारले सिंहदरबारस्थित कृषि समितिको हलमा राष्ट्रिय सभाको बैठक बोलाउने तयारी गरिरहेको छ । राष्ट्रिय सभा अन्तर्गत रहेका समितिहरुको बैठक भने बस्ने गरेका छन् । आगामी दिनमा बैठकलाई प्रभावकारी ढंगले अगाडी बढाउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले समितिका सभापतिहरुसँग छलफल समेत गरे । समिति सभापतिहरुले सभामा रहेका विचराधीन विधेयकहरुलाई छलफल गर्नेगरी तयारी अगाडी बढाउने बताए ।

कांग्रेस सुधार्न नैनसिंह महरले अघि सारे यस्ता सुझाव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी रुपान्तरणका लागि झण्डै तीन दर्जन सुझाव अघि पारेका छन् । केन्द्रीय समिति बैठकमा पार्टी रुपान्तरणका लागि लिखित रुपमा पेस गरेको दस्तावेजमा जन भावनाअनुसार काम गर्न संरचनामा सुधार गर्नुपर्ने बताएका छन् ।

उनले गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाई चुनाव लड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । नयाँ क्रियाशील सदस्यता लिँदा र वीकरण गर्दा प्रत्येकले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था लागू गर्न सके पार्टीका नेता कार्यकर्तामा आर्थिक अनुशासन कायम हुने उल्लेख छ ।

हेर्नुस् महरका ३४ बुँदे सुझाव

१. एक व्यक्ति एक पद दुई पटक र एक व्यक्ति तीन पटक मात्र सांसदको उम्मेदवार बन्न पाउने व्यवस्था गरिनुपर्छ। पार्टीका सबै तहमा अनिवार्य रूपले एक पदमा बढीमा दुई पटक मात्र रहन पाउने र विजय होस् वा पराजय, तीन पटक मात्र उम्मेदवार बन्न पाउने व्यवस्था गर्नुपर्छ। कुलिङ अफ पिरियडको अवधारणालाई कार्यान्वयन गर्नुपर्छ। तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका, गठबन्धनबारे निर्णय गर्ने, संसदीय बोर्डमा रहेर टिकट वितरण गर्ने, संयन्त्र र सरकारमा संलग्न नेताहरूले एक पटक कुलिङमा बस्नुपर्छ र गाईडको भुमिका खेल्नुपर्छ ।

२. तल्लो तहदेखि माथिल्लो तहका कार्यकर्ता तथा नेताहरूलाई जागृत गराउन युवा कांग्रेसको स्थापना गरेर जागरण अभियान सुचारु गर्न आवश्यक छ ।
३. विधानको अक्षरशः पालना हुनुपर्छ ।
४. गुटको अन्त्य गर्न वडा तहबाटै चिट बाँडेर समूह बनाई चुनाव लड्ने प्रवृत्ति अन्त्य गरौं भन्ने आग्रह गर्दछु ।
५. नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता लिँदा र नवीकरण गर्दा प्रत्येकले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था लागू गरौं। यसो गर्न सकेमा पार्टीका नेता कार्यकर्तामा आर्थिक अनुशासन कायम हुनेछ ।
६. वडाध्यक्ष (सभापति) को नेतृत्वमा भ्रातृ संस्थाको एकीकृत टोली निर्माण गरेर ६ हजार ७४३ वडामा जाने ।
७. पार्टी र जनप्रतिनिधिबीच समन्वय गर्ने संयन्त्र बनाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
८. वडाध्यक्ष, वडा सभापतिदेखि केन्द्रमा केन्द्रीय सदस्य, विभागीय प्रमुख, सांसद, मन्त्री, प्रधानमन्त्रीसम्मले चौमासिक कार्य प्रगति विवरण पार्टीको तोकिएको निकायमा बुझाउने ।
९. पार्टीका नेता र जनप्रतिनिधिलाई जनताप्रति, घोषणापत्रप्रति उत्तरदायी बनाउन संयन्त्र निर्माण गर्ने ।
१०. कांग्रेसका परिवार (पुराना मतदाता) लाई आफ्नो पक्षमा राख्न नसक्नुको कारण पत्ता लगाई समाधान खोज्ने ।
११. व्यक्तिभन्दा संस्था कसरी बलियो बनाउने भन्ने विषयमा कसैको चासो नभएको हुँदा नेपाली कांग्रेस पार्टी बलियो हुँदा देश र जनता बलियो हुने कुरा तल्लोदेखि माथिल्लो तहमा बहस चलाउने ।
१२. पार्टीभित्र टिकट वितरण गर्दा वडा तहको वडामै र जुन तहको टिकट वितरण गर्नुपर्ने हो, त्यही तहमा टुङ्ग्याउनु पर्ने ।
१३. पार्टी थिङ्कट्याङ्ङ्क– देश र पार्टीका लागि आवश्यक विषयवस्तु र नीति निर्माण गर्न नेपाली कांग्रेसको अलग्गै थिङ्क ट्याङ्क आवश्यक छ । उक्त थिङ् ङ्कट्याङ्कको विमर्श र छलफलबाट निकालेको निष्कर्ष पार्टीभित्र र सार्वजनिक क्षेत्रका लागि उपयोगी हुन्छ ।
१४. वडाधिवेशनदेखि केन्द्रको महाधिवेशनसम्मका सबै तहको अधिवेशन-महाधिवेशनमा प्रतिनिधि बन्न अनिवार्य रूपले सम्बन्धित तहको निर्वाचन जितेर आउनुपर्ने व्यवस्था मिलाउने र स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गर्नु पर्दछ । यसबाट केन्द्रको जिम्मेवारी लिने नेता आम कार्यकर्ता र भूगोलप्रति बढी जिम्मेवार हुन्छन् ।
१५. अहिले समाजको मनोविज्ञानमा आएको परिवर्तनलाई ख्याल गरेर नेपाली कांग्रेसले पनि आफूलाई स्वीकार्य बनाउन जरुरी छ । कांग्रेसको सङ्गठनमा काम गर्न समाजका अन्य समुदाय, वर्गबाट जुनसुकै बेला अनुरोध गर्न सक्छन् । जनताको विश्वास र भरोसा कमाएका व्यक्ति यदि कांग्रेसमा रहेर काम गर्न चाहन्छन् भने निश्चित प्रतिशतमा (ल्याटरल इन्ट्री) को प्रबन्ध आवश्यक छ ।
१६. भ्रातृ संस्थाको नियमित महाधिवेशन, अधिवेशन, निर्वाचन र नेतृत्व चयनले लोकतान्त्रिक संस्कृतिमा निखार आउँछ र आन्तरिक लोकतन्त्र संस्थागत हुँदै जान्छ ।
१७. भ्रातृ संस्थाको केन्द्रीय अध्यक्ष नेपाली कांग्रेस केन्द्रीय समितिको पदेन सदस्य हुने व्यवस्था बनाउनु पर्छ ।
१८. भ्रातृ संस्थाको चौमासिक रिपोर्ट आफूभन्दा माथिल्लो समिति र सम्बन्धित तहको पार्टीमा अनिवार्य बुझाउने ।
१९. जलवायु परिवर्तन र विपद् व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणका लागि सरकारी, गैरसरकारी र संस्थाहरूलाई भूमिका प्रदान गर्ने नीति अवलम्बन गरी राष्ट्रिय अभियान सञ्चालन गर्न आवश्यक छ । यसका लागि नेपाली कांग्रेसले वडादेखि केन्द्रसम्मका सबै तहमा एक छुट्टै संयन्त्र बनाई परिचालन गर्नुपर्नेछ (कार्यदल बनाउने) । यसलाई प्राकृतिक स्रोतसाधनको व्यवस्थापन तथा परिचालन अभियान पनि भन्न सकिन्छ ।
२०. आचारसंहिताः देश परिवर्तनको अभिभारा बोकेको दलका नेता कार्यकर्ताहरू स्व–अनुशासनमा बस्न र नैतिकताको मापदण्डभित्र बस्नु पर्दछ । जनताको नेता आफ्नो जनताको संस्कृतिसँग मेल खाने गरी सहज, साधारण र सफा जीवनशैलीको हुनु पर्दछ । तडकभडक, उपयोगितावादी चरित्रबाट टाढा रहनु अनिवार्य छ ।
२१. प्रविधिमैत्री पार्टीको निर्माण ।
२२. पार्टीमा ज्ञान व्यवस्थापन र हस्तान्तरण प्रणालीको विकास ।
२३. अनुशासन समिति, लेखा समिति र निर्वाचन समिति महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गर्ने ।
२४. अनुशासन समिति, लेखा समिति र निर्वाचन समिति महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गर्ने।
२५. प्रशिक्षणको आधारमा क्रियाशील सदस्यता लिनुभन्दा अघि साधारण सदस्यले नेपाली कांग्रेस पार्टी, राजनीति, अर्थतन्त्र, राष्ट्रियता र समाजलगायतका विषयमा अनिवार्य प्रशिक्षणको व्यवस्था।
२६. अतिआवश्यक कामबाहेक पार्टीका सबै नेता कार्यकर्ताले हिउँदे र वर्षे सिजनमा १०÷१० दिन कृषिमा काम गर्ने, यसबाट श्रमप्रति सम्मान बढ्छ। गाउँ–सहरलाई टेवा पुग्छ ।
२७. जनसम्पर्क समितिः विभिन्न ३७ देशमा रहेका जनसम्पर्क समितिहरूलाई बिनाभेदभाव पार्टीलाई जिम्मा दिनुपर्छ । एनआरएनएको क्लस्टर जस्तै, हरेक महादेशबाट १÷१ जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्छ ।
२८. कांग्रेसको पालिका अध्यक्ष प्रदेश, केन्द्रको स्वतः महाधिवेशन प्रतिनिधि बन्ने ।
२९. ७७ वटै जिल्लाबाट काठमाडौँ बसोबास गरेका पार्टीका साथीहरूले जिल्ला सम्पर्क समितिका माध्यमबाट आफ्ना गतिविधि बढाउनु पर्छ ।
३०. सक्रिय हुन जिल्ला सम्पर्क समितिको अध्यक्ष महाधिवेशन प्रतिनिधि हुने व्यवस्था मिलाउने ।
३१. नेपाली कांग्रेसले आफ्नै साङ्गठनिक तागतमा अबदेखिका निर्वाचनमा एक्लै प्रतिस्पर्धामा होमिने ।
३२. क्रियाशील सदस्यलाई नवीकरण गर्ने र प्रशिक्षणका माध्यमले नेपाली कांग्रेसका सदस्यहरूलाई सशक्तीकरण गर्ने। सबै तहमा युवाको प्रतिनिधित्व कम्तिमा पनि एक तिहाई राख्ने गरि विधानलाई युवामैत्री बनाउने ।
३३. नेपाली कांग्रेसका १३ भ्रातृ र ३६ शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाउने र परिचालन गर्न आवश्यक रणनीति अख्तियार गर्ने ।
३४. ३७ नेपाली जनसम्पर्क समितिहरूलाई गतिशील बनाउने र परिचालन गर्न आवश्यक रणनीति अख्तियार गर्ने। उनीहरूका माध्यमले गैरआवासीय नेपालीले राख्दै आएका नागरिकता, मतदानलगायत राजनीतिक अधिकार, लगानीको वातावरण र सहजीकरणलगायत विषयमा विमर्श गर्ने र पार्टीका दूतका रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रगाढ बनाउने र ग्लोबल थिङ्कट्याङ्क निर्माण गर्ने।

३५. स्थानीय तहका ७५३ मध्ये ३३२ पालिकामा नेतृत्वमा कांग्रेस रहेको छ । घोषणापत्र कार्यान्वयन, सुशासन र विकासबारे अडिट गर्ने र नागरिकको भरोसा जित्ने ।

देउसीको दक्षिणाबाट शान्ति टोलमा सिसी क्यामरा जडान

दमक । यहाँको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको रु एक लाख ५० हजार दक्षिणाबाट  शान्ति टोलमा  १५ वटा सिसी क्यामेरा जडान गरेका छन् ।

टोल विकास संस्थाल अध्यक्ष नीरज विष्टका अनुसार संस्थाले बर्सेनि देउसीभैली खेलेर टोलका ६७ घरपरिवारबिच सामाजिक एकता एवं सद्भावका साथ आपराधिक घटना नियन्त्रणका निम्ति टोलमा विविध गतिविधि सञ्चालन गर्दै आएको बताएका छन् ।

विसं २०६३ मा स्थापना भएको उक्त संस्थाले भैपरि सामाजिक कामका लागि रु एक लाखको टोल सुधार कोष स्थापना गरिएको शुक्रबार क्यामरा जडान गरेपछि अध्यक्ष विष्टले बताए ।

 हङकङ सिक्सेस: भारतमाथि नेपालको शानदार जित

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सात/सात रन बनाए ।
नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुई/दुई विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए ।
यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो । साथै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

बिहारमा चुनाव, मोरङका सीमा नाका तीन दिन बन्द

मोरङ । भारतको बिहारमा जारी विधानसभा निर्वाचनका कारण मोरङका सीमा नाका तीन दिन बन्द हुने भएको छ । बिहार विधानसभा चुनावअन्तर्गत गत बिहीबार पहिलो चरणको मतदान भइसकेको छ भने दोस्रो चरणको मतदान यही नोभेम्बर ११ तारिख हुँदैछ ।

सो अवधिमा सुरक्षा व्यवस्था सुदृढ गर्न त्यसतर्फ नेपाल–भारत सीमावर्ती क्षेत्रका नाका तीन दिन (७२ घण्टा) बन्द गरिने भएको हो । मोरङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सीमा नाका ७२ घण्टासम्म बन्द गरिने जानकारी दिएको हो ।

सूचनाअनुसार मतदान अवधिमा शान्ति–सुरक्षालाई ध्यानमा राखी सीमावर्ती आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, ’बिहार विधानसभाको आम निर्वाचन–२०२५ मा मतदानका दिन सुरक्षा संवेदनशीलता उच्च रहने भएकाले नेपाल–भारत सीमामा ७२ घण्टाको लागि नाका बन्द गरिने निर्णय भएको छ ।’

प्रशासनले जारी गरेको सूचनाअनुसार, आगामी २०८२ कात्तिक २२ गते साँझ ६ः१५ बजेदेखि २०८२ कात्तिक २५ गते निर्वाचन सम्पन्न नभएसम्म सीमावर्ती नाका बन्द रहनेछ । यस अवधिमा आपतकालीन सेवाबाहेक सबै किसिमका आवागमनमा रोक लगाइने जनाइएको छ । प्रशासनले नागरिकहरूलाई यस अवधिमा अनावश्यक सीमा आवागमन नगर्न तथा स्थानीय सुरक्षाकर्मीको निर्देशनको पालना गर्न आग्रह गरेको छ ।

रुसमा हेलिकप्टर दुर्घटनाः ५ जनाको मृत्यु, २ जना घाइते

रुस। रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रवार एक निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

अन्य दुई जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ । स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए ।

जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ ।दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना सवार रहेको पुष्टि गरेका छन् । सम्बन्धित अधिकारीहरूले दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको उल्लेख गरे । अधिकारीहरूले रिपोर्ट गरे कि का–२२६ हेलिकप्टर ठोक्किँदा आगलागी भएको थियो ।

पूर्णरूपमा ध्वस्त भएको थियो । क्षेत्रीय आपतकालीन सेवाहरूले उडानको इन्जिनमा आगो लागेको कारण दुर्घटनाको प्राथमिक कारण मानिएको छ । दागेस्तानका लागि रूसी आपतकालीन मन्त्रालयको मुख्य निर्देशनालयले एक विज्ञप्तिमा भनेको छ कि किज्ल्यारबाट इज्बरबाश जाँदै गरेको निजी हेलिकप्टर बसोबास नभएको घरमा ठोक्किएको थियो ।

दुई महिनापछि सञ्चालनमा आयो चन्द्रागिरि हिल्स (तस्बिरहरू)

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई महिनादेखि बन्द रहेको चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिर पुनः सञ्चालनमा आएको छ।

पुनर्संरचना तथा मर्मत–सम्भार सम्पन्न भएपछि आज (शनिबार)देखि केबलकार सेवा र मन्दिर क्षेत्र सर्वसाधारणका लागि पुनः खुला गरिएको हो। केबलकार सेवा पुनः सुरु भएपछि पर्यटक तथा भक्तजनहरू भालेश्वर मन्दिर दर्शनका लागि चन्द्रागिरी पुग्न थालेका छन्।

बन्द रहेकै कारण सुनसान रहेको क्षेत्र आजदेखि फेरि चहलपहलले भरिएको देखियो।

   

 

त्रिवि चमेना गृह निर्माणमा विद्यार्थी नेताको अवरोधपछि व्यवसायीको चेतावनी

काठमाडौँ । त्रिभूवन विश्वविद्यालय (त्रिवि) मा निर्माणाधीन चमेना गृह भवनको काममा अवरोध गर्ने विद्यार्थी नेताहरूलाई निर्माण व्यवसायीहरूले चेतावनी दिएका छन् ।

विद्यार्थी संगठनका नेताहरूले काम शुरु भएपछि विभिन्न बहानामा अवरोध गर्ने र पैसा असुल्ने गरेको आरोप लगाउँदै व्यवसायीहरूले आगामी दिनमा यस्तो गतिविधि भए मौन नबस्ने बताएका हुन् । निर्माण व्यवसायी समन महर्जनले त्रिवि बोर्डमा ठेक्का निर्णय प्रक्रियामा विद्यार्थी संगठनका प्रतिनिधिहरू सहभागी हुने गरेको तर काम शुरु भएपछि उनीहरू नै निर्माण रोक्ने र दबाब दिने गरेको आरोप छ ।

ठेक्का प्रक्रियामा विद्यार्थी नेताहरू बोर्डमा बसेर निर्णय गर्ने गरेको उनको भनाइ छ । तर काम शुरु भएपछि पैसा माग्ने गरेको महर्जनले बताए । यदि सो क्षेत्र वन वा हरियो क्षेत्र जोगाउनुपर्ने थियो भने ठेक्का अघि नै जानकारी दिनुपर्ने निर्माण व्यवसायी महर्जनको भनाइ छ ।

महर्जनले केही त्रिवि कर्मचारीले विद्यार्थीलाई उचालेर व्यवसायीसँग पैसा असुल्न लगाउने गरेको गम्भीर आरोप लगाए । व्यवसायी महर्जनले विद्यार्थीको नाममा गुण्डाहरूले धम्की दिने, थर्काउने र पैसा माग्ने काम गर्ने गरेको बताउँदै यस्ता गतिविधिमा संलग्नहरूलाई कीर्तिपुरवासीले ‘तह लगाउने’ चेतावनी दिएका छन्।

उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयबीच निर्माण हुन लागेको चमेना गृह परियोजना गत मंगलवार विद्यार्थीको विरोधका कारण अस्थायी रूपमा रोकिएको थियो । साउनबाट शुरु भएको निर्माणमा विद्यार्थीले रुख नकाट्न र क्याफ्टेरिया नबनाउन दबाब दिँदै आएका थिए । मंगलवार विद्यार्थी र व्यवसायीबीच झडपको अवस्था सिर्जना भएको थियो ।

निर्माण व्यवसायीहरूले यस्ता अवरोधले परियोजनामा ठूलो क्षति पुग्ने भन्दै त्रिवि प्रशासनसँग तत्काल समाधान खोज्न माग गरेका छन् ।

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्काली कार्यको आह्वान

काठमाडौँ। नेपालले जलवायु परिवर्तनसम्बन्धी साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आवश्यकता औँल्याएको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) पूर्वसन्ध्यामा यही कात्तिक २० र २१ गते भएको ‘लिडर समिट’मा नेपालले आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको हो।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले नेपालको तर्फबाट वक्तव्य दिँदै देशले प्रकृतिमैत्री प्रणाली र वातावरणीय संरक्षणलाई सधैं प्राथमिकतामा राख्दै आएको बताए। उनले नेपालका ४६ प्रतिशत भूभाग वनले ढाकिएको र स्थानीय समुदाय तथा आदिवासी जनजातिको सक्रिय सहकार्यमा सुरक्षित रहेको उल्लेख गरे।

डा. मिश्रले भने, “सगरमाथा र हिमालय हाम्रो पहिचान मात्र होइन, अर्बौं जनताका लागि जैविक विविधता, स्वच्छ हावा र पानीका प्रमुख स्रोत हुन्। यस कारण नेपाल विश्व जलवायु प्रणाली सन्तुलनमा महत्वपूर्ण योगदानकर्ता हो।”

उनले नेपालको कार्बन उत्सर्जन न्यून भए पनि नीति र कार्यमार्फत अग्रणी भूमिका खेलिरहेको र एनडिसी ३.० तथा एनएपीमार्फत पेरिस सम्झौताप्रति प्रतिबद्ध रहेको बताए। “हामी जीवाश्म इन्धनको चरणबद्ध अन्त्य गर्दै विद्युतीय सवारी र स्वच्छ ऊर्जातर्फ तीव्र रूपान्तरणमा छौँ,” उनले जोड दिए।

डा. मिश्रले काठमाडौँमा सम्पन्न सगरमाथा संवाद र त्यसबाट पुष्टि भएको बहुपक्षीय प्रतिबद्धताको स्मरण गराउँदै, नेपालमा जलवायु सङ्कट तीव्र हुँदै गएको, यस वर्ष मात्रै बाढी, पहिरो, खडेरी, हिमताल फुट्ने घटना र वन डढेलोका कारण ३०० भन्दा बढी नेपालीको ज्यान गएको बताए।

नेपालले कोप–३० सम्मेलनमा १.५ डिग्री सेल्सियस तापक्रम लक्ष्य कार्यान्वयन, ‘बाकु–बेलेम रोडम्याप’ अन्तर्गत १.३ ट्रिलियन अमेरिकी डलर बराबरको जलवायु वित्त जुटाउने लक्ष्य पूरा, अनुकूलन कोषमा तीन गुणा वृद्धि र हानिनोक्सानीलाई पूर्ण रूपमा कार्यान्वयन गरी कमजोर देशका लागि सरल पहुँच सुनिश्चित गर्न प्रयास गर्ने तयारी गरेको छ।

कोप–३० सम्मेलन यही नोभेम्बर १० देखि २१ तारिखसम्म आयोजना हुँदैछ। नेपालले मन्त्रिस्तरीय सहभागिता जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारको नेतृत्वमा नौ सदस्यीय टोली पठाउनेछ। सम्मेलनमा नेपालले सगरमाथा संवादका निष्कर्ष, जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त, प्रविधि हस्तान्तरण र जलवायु न्यायसँग सम्बन्धित एजेन्डा प्रस्तुत गर्ने तयारी गरेको छ।

अधिकारीहरूले जलवायु परिवर्तनका कारण नेपालमा वर्षाको प्रवृत्ति, मात्रा र समयतालिकामा व्यापक परिवर्तन देखिन थालेको र यसले उत्पन्न हुने जलवायुजन्य विपद्ले ठूला हानिनोक्सानी निम्त्याएको उल्लेख गरेका छन्। यसै सन्दर्भमा नेपालले कोप–३० मा जलवायुजन्य हानिनोक्सानीको विषयलाई विशेष प्राथमिकतामा राख्ने अपेक्षा गरेको छ।

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी । मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लगिन् ।

‘मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो’, तामाङले भनिन्, ‘पदयात्राको क्रममा लेक लागेमा औषधिको साथै खानासँगै चटनीका रूपमा प्रयोग गर्न स्वादिलो हुनेरहेछ ।’

रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । म्याग्दी भ्रमणमा आउनेले किनेर लैजानेदेखि देशका विभिन्न सहर तथा विदेशमा रहेका आफन्तहरूलाई कोसेली पठाउने प्रमुख वस्तु टिमुर बनेको बेनीकी उद्यमी मिना राम्जालीले बताइन् ।

‘घुम्न आएकाले सबैभन्दा धेरै किनेर लैजाने वस्तु टिमुरको धुलो र चटनी हो’, उनले भनिन्, ‘बहुउपयोगी टिमुर म्याग्दीको कोसेली बनेको छ ।’ ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको टिमुर बेनीका कोसेली घरहरूलाई ल्याएर बिक्री गर्छन् । उद्यमीहरूले टिमुरलाई प्रशोधन गरेर धुलो र चटनी बनाएर बट्टामा राखेर बिक्री गर्छन् । बट्टाको आकारअनुसार टिमुरको धुलो र चटनीको मूल्य हुन्छ ।

कोसेलीको साथै मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुने गरेको टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले बताए ।

बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब १५० परिवारले व्यावसायिक टिमुरखेती गरिरहेका छन । यस वर्ष करिब ५० मुरी टिमुर उत्पादन भएको अनुमान गरिएको टिमुरखेती समेत गरेका बानियाँले बताइन् ।

म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुरखेती भइरहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । बेनी–९ जिल्लामा बढी टिमुरखेती हुने स्थान हो । म्याग्दीमा हाल वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने गरेको वन डिभिजनको तथ्याङ्क छ ।

टिमुरखेतीसम्बन्धी अनुसन्धान गर्दै आएका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटाका अनुसार टिम्मुर औषधीय गुण भएको मसलेदार फल हो । उच्च रक्तचामलाई नियन्त्रण, कलेजो र दाँतको सुरक्षा, ‘फुड पोइजनिङ’ हटाउने टिमुर कलेजोसम्बन्धी समस्या भएका बिरामीहरूले पनि आयुर्वेदिक औषधिको रूपमा प्रयोग गर्ने उनले बताए ।

पहिलाका वर्षमा साउन, भदौमा टिमुर टिप्ने किसानले पछिल्ला केही वर्षदेखि गुणस्तरीय उत्पादनका लागि कात्तिकको अन्तिम सातादेखि टिप्ने गरेका छन् । अनुकूल मौसम भएको र फूल खेल्ने समयमा असिना नपरेकाले यसपालि टिमुरको उत्पादन बढेको ढावाकी जमुना राईले बताइन् । खेतबारीमा निजी प्रयोजनका लागि रोपेको टिमुरको दाना बेचेर आम्दानी हुन थालेपछि यहाँका कतिपय किसानले व्यावसायिक उत्पादन पनि थालेका छन् ।

पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसान नरबहादुर राइले बताए । जिल्लामा टिमुरखेती विस्तार गर्न डिभिजन वन कार्यालय, भू–तथा जलाधार संरक्षण कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले बिरुवा वितरण गर्दै आएका छन । म्याग्दी उद्योग वाणिज्य सङ्घले टिमुरलाई जिल्लाको प्रमुख उत्पादनका रूपमा प्रवर्द्धन गर्दै आइएको जनाएको छ ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

बैठक आज (शनिबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्य र सातवटै प्रदेशका सभापतिलाई बोलाइएको छ ।

महाधिवेशनपछि प्रचण्ड र म दुवै नेतृत्वमा रहँदैनौं : माधव नेपाल

काठमाडौं । ‘नेपाली कम्युनिष्ट पार्टी’ का सहसंयोजक माधवकुमार नेपालले आफू पदको लागि मरिहत्ते गर्ने व्यक्ति नभएको बताएका छन् ।पार्टी एकताका क्रममा दुई जना अध्यक्ष हुने प्रस्तावलाई अस्वीकार गरेर आफू सहसंयोजक बनेको नेता नेपालले दावी गरेका छन् । एक अन्तर्वाताका क्रममा नेपालले पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुवै जना अध्यक्ष हुने प्रस्ताव गरेको तर, आफूले नमानेको उनले दाबी गरेका छन् ।

‘भनिसक्नु भएको थियो प्रचण्डले । दुईटै अध्यक्षको व्यवस्था गरौं, पहिलेको मोडलमा जाऔं । २०७५ सालको मोडलमा जाऔं भनेर प्रचण्डजीले आफ्नोतर्फ उदारता देखाएको हो’ उनले भनेका छन्, ‘मैले भनें मलाई चाहिँदैन । त्यसैले म मैदान छोडेर भाग्ने होइन । तर पदको निम्ति मरिहत्ते पनि गर्ने होइन । मैले चाहेको भए धेरैचोटी म प्रधानमन्त्री भइसक्थेँ । मैले त्यो अवसर पाइसकेको थिएँ ।’

उनले पदको लागि मरिहत्ते गर्‍यो भन्लान् भनेर आफूले प्रचण्डको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । उनले ‘बेकारमा दुई–दुई वटा अध्यक्ष पदको निम्ति मरिहत्ते गर्‍यो भन्लान् भनेर फेरि यो गीत गाउँलान् भन्ने कुराले पनि मलाई अलि पोल्दोरहेछ ।’ उनले पार्टीको महाधिवेशनपछि आफू र प्रचण्ड दुवै जना नेतृत्वमा नबस्ने पनि स्पष्ट पारेका छन् ।

सहसंयोजक नेपालले एकीकृत समाजवादी भइसके पछाडि पनि आफूलाई राष्ट्रपति र प्रधानमन्त्रीको अफर आएको दाबी गरेका छन् । ‘राष्ट्रपति पनि बन्न नमानेको हो । विद्या भण्डारीजी राष्ट्रपति बन्नेवाला होइन । मलाई घेराबन्दीमा पारेर राष्ट्रपति बनाउन खोजेका थिए । मैले अस्वीकार गरेर ‘विद्या भण्डारीजी बन्नुस्’ भनेको नेपालको भनाई छ । ‘यो सबैलाई थाहा होस् । रामचन्द्र पौडेलजीलाई मैले नै हुन्छ भनेको हो । अहिले संकटको बेलामा रामचन्द्र पौडेल राष्ट्रपति ज्यूले जुन अडान लिनु भएको छ, त्यसको म प्रशंसा गर्न चाहन्छु ।’

भासिएको ८ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेन जब्दिघाट पुल (तस्बिरहरु)

काठमाडौँ । सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दिघाट पुल भत्किएको वर्षौँ बितिसक्यो । २०७४ साउन २८ गते भासिएको सो पुल २०७८ असोजमा आएको बाढीले बिच भागको स्पान बगाएकाेमा हालसम्म पुनर्निमाण हुन सकेकाे छैन ।

भत्किएको पुल कहिले निर्माण हुने हो निश्चित छैन । पप्पु कन्ट्रक्सनले डिजाइन अनुसार पुल निर्माण नगर्दा  सो पुल भासिएको हो । सडक विभाग अन्तर्गत पुल निर्माण शाखाले गरेको प्राविधिक अध्ययन अनुसार सो पुल निर्माणमा निर्माण कम्पनीले गम्भीर लापरबाही गरेको देखिएको छ ।

पुलचोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेजको प्रतिवेदन अनुसार जमिनमुनि १६ मिटरसम्म पाइल राख्नु पर्नेमा ५ मिटरसम्म मात्र राखिएको भेटिएको प्रतिवेदन उल्लेख गरिएको छ । जसका कारण पुलको भार वाहन क्षमता निकै कमजोर देखिएको हो ।

हस्तान्तरण नहुँदै पुलको पूर्वी भाग भत्किएको थियो । यो पुल भासिएपछि बर्दिया सदरमुकाम गुलरिया आउजाउ गर्ने मोटर बाटो बन्द भएका छन् ।

पप्पु कन्ट्रक्सनलले १६ करोड ६८ लाख ४ हजार रुपैयाँ लगानीमा निर्माण भएको पुल उद्घाटन नहुँदै भासिएपछि बबई नदी वारपार गर्न यहाँका नागरिकलाई डुंगाको सहारा लिन परेको छ ।

पप्पु कन्ट्रक्सनलले ०६८ असार २५ बाट पुल निर्माणको काम सुरु गरेको थियो । तोकिएको भन्दा डेढ वर्ष ढिलो निमार्ण भएको पुलको लम्बाई ४ सय ३५ मिटर रहेको छ। निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि सडक डिभिजन कार्यालय नेपालगन्जले २०७९ मंसिरमा पप्पुसँगको ठेक्का सम्झौता तोडेको छ।

जब्दीघाटमा स्टिमर सञ्चालनमा छ । स्टिमरमार्फत नदी पार गरेबापत एक जनाले १० रुपैयाँ शुल्क बुझाउनु पर्छ । साइकलको १० र मोटरसाइकलको १५ रुपैयाँ बुझाउन बाध्य छन् । 

तस्वीर : प्रकाश चन्द्र तिमिल्सेना /नेपाल फोटो लाइब्रेरी

कम्बोडियामा ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ हुर्दै’ कार्यक्रम व्यवस्थापन सिजन मिडिया गर्ने

काठमाडौं । पेशागत उत्कृष्टता, नवप्रवर्तन र सांस्कृतिक तथा पर्यटन आदानप्रदानको अवसर प्रदान गर्ने हेतुले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ आयोजना हुने भएको छ ।

आगामी अंग्रेजी नयाँवर्षको अवसरमा जनवरी पहिलो साता कम्बोडियामा भव्य रूपमा आयोजना हुन लागेको हो । उक्त कार्यक्रम कम्बोडियामो जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेयसएम कम्बोडिया) द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्तमको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ ।

यो अवार्ड समारोहले कम्बोडियामा लगायत एसियन मुलुकका विभिन्न क्षेत्रमा सफल र सक्रिय उद्योगी, कलाकार, नवप्रवर्तन, पर्यटन, शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रका असाधारण योगदान दिएका व्यक्तित्व र संस्थाहरूलाई अवार्ड सम्मान प्रदान गर्नेछ । उक्त कार्यक्रममा नेपालबाट पनि सहभागीताको लागि आवेदन दिन सकिने आयोजक प्रमुख लियाङ बोपाले जानकारी दिए ।

कार्यक्रमले केवल अवार्ड वितरणसम्म सीमित नभई एसियन मुलुकका व्यवसायी, कलाकार, उद्यमी र नवप्रवर्तकहरूलाई नेटवर्किङ र अनुभव आदानप्रदानको प्लेटफर्म पनि प्रदान गर्नेछ । यस मार्फत नेपाल र कम्बोडियाबीचको द्विपक्षीय मित्रता, सांस्कृतिक कूटनीति र पर्यटन प्रवर्धनलाई थप बल मिल्ने अपेक्षा गरिएको छ ।

अवार्डमा प्रमुख अतिथिको रुपमा कम्बोडिया सरकारवाट प्रतिनिधिहरु सहभागी हुनेछ भने दुई देशका व्यवसायीहरु पनि सहभागी हुनेछन ।
उक्त कार्यक्रममा उद्यमी, व्यवसायिक नेतृत्वकर्ता, प्रशिक्षक, मिडिया व्यक्तित्व, स्वास्थ्य र सौन्दर्य विशेषज्ञ, पेशागत, शिक्षक लगायतका विभिन्न पेशागत क्षेत्रका व्यक्ति तथा सस्थालाई समावेश गर्ने गरिने कार्यक्रम व्यवस्थापक प्रदीपराज वन्तले बताए अवार्डको माध्यमबाट एसियन मुलुकभरका पेशागत र संस्थागत व्यक्तित्वहरूको योगदानलाई मान्यता दिने र अन्तर्राष्ट्रिय सहयोग तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको छ । भने अन्य जानकारीको लागि नेपालका लागि कार्यक्रम साझेदारी सस्था सिजन मिडियामा सम्पर्क गर्न सकिनेछ ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । गाजामा नरसंहार गरेको आरोपमा टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

टर्की सरकारले शुक्रबार उक्त जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । इजरायलले यसको कडा विरोध गरेको छ ।इजरायलका विदेशमन्त्री गिदोन सारले आफ्नो देशले उक्त आरोपको कडा निन्दा गर्ने बताए।

उनले भने, ‘यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान नामका तानासाहको नयाँ अभ्यास हो ।’ इस्तानबुल अभियोजकको कार्यालयले विज्ञप्ति जारी गरी कुल ३७ संदिग्धविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ । पूर्ण सूची भने जारी गरिएको छैन ।

यसमा इजरायली रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर छन् । टर्कीले यी अधिकारीहरूलाई ‘नरसंहार र मानवताविरुद्धको अपराध’ गरेको आरोप लगाएको छ । टर्कीले भनेको छ, ‘इजरायलले गाजामा योजनाबद्ध रूपमा नरसंहार गरेको छ ।’

निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ का लागि तय भएको निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरेकी छन्।

शुक्रबार एक सन्देश जारी गर्दै कार्कीले मदातिधकार सदुपयोग गर्न भनेकी हुन्। उनले लोकतान्त्रिक समाजमा नागरिकका सपना २ कुराले साकार पार्ने पनि उल्लेख गरेकी छन्।

‘लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने २ मूलभूत साधन छन्- पहिलो, तपाईँ-हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन,’ उनले भनेकी छन्।

त्यस्तै दोस्रो ,’विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र। जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ-हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ।अथवा, यहाँहरु आफै सही प्रतिनिधि बन्नुपर्छ।’

उनले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकार सदुपयोग गर्नुपर्ने पनि बताएकी छन्।

‘पार्टी सदस्यबाट निकाल्नेहरूलाई ल्याएर उपाध्यक्ष र सचिव बनाएँ, अहिले मेरै टाउकोमा कराँते सिक्दैछन्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिने दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले कांग्रेससँग आफूहरुले संवाद गरिरहेको समेत बताए । उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताए । अध्यक्ष ओलीले देउवाकै अभावमा कांग्रेस केन्द्रिय कार्य समिति बैठक लम्बिएको जिकिर समेत गरे ।

उनले भने, ‘कांग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौं । कांग्रेससँग हाम्रो संवाद भईरहेको छ । कांग्रेस फाइनल्ली मेरो विश्वास छ–पुनर्स्थापनामा पुग्छ । कुराकानी भईराखेको छ । तर अब कांग्रेसभित्र जटिलता छ । शेरबहादुरजी उता जानुभयो । लिडरसिप क्राईसेस छ । अब लिडरसिप भनेको यस्तो चिज हुँदोरहेछ शेरबहादुरजी त्यो कुर्सीमा बसिदियो भने खुरुखुरु पास हुन्छ । बसिदिएन भने हुँदैन कति दिन भयो केन्द्रिय समिति बैठक बसेको, निर्णय छैन । हाम्रो पार्टीको महाधिवेशन ३ दिनमा सकिन्छ । केन्द्रिय कमिटी बैठक ३ दिनमा सकिन्छ । ३६० जना सबैलाई बोल्न पालो दिइएको हुन्छ । सबैले बोल्छन् । पहिला नै विषय फ्लोर गरिदिएको हुन्छ । सबैले दस्तावेजमा छलफल गर्दछन् । सबैले भाग लिन्छन् बोल्नका लागि ।’ अध्यक्ष ओलीले कांग्रेसभित्र नेतृत्वकै अभावमा जटिलता थपिन पुगेको पनि बताए ।

‘सञ्चारमाध्यममा गएर  र्‍याईर्‍याई गर्नुको औचित्य छैन’
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनर्गठन चाहियो भन्दै माग गरेपछि आफूले एक वर्षपछि गरे हुने महाधिवेशन पनि अगाडि सारेको बताएका छन् । शुक्रवार काठमाडौंमा विद्वत वर्गसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले पुनर्गठन गर्न आफूलाई कुनै आपत्ति नरहेको र कसले पार्टीमा रहेर काम गरेको छ वा छैन भन्ने कुरा कार्यकर्ताहरुले स्पष्ट देखेको बताए । काम गर्नेहरु पार्टीमा रहने र काम नगर्ने अब विदा हुने पनि स्पष्ट पारे । सञ्चारमाध्यममा गएर  र्‍याईंर्‍याईं गर्नुको औचित्य नरहेको उनको स्पष्टोक्ति छ । संसद पुनस्र्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा अध्यक्ष र पार्टीका विरुद्धमा काम हुनु राम्रो नभएको बताए ।

उनले भने, ‘पार्टीमा पुनर्गठन चाहियो, चाहियो भनेर एकथरी साथीहरु धेरै कराएका हुनाले अनुशासनहिन ढंगले उपद्रव मचाएको हुनाले एक वर्षपछि गरे हुने महाधिवेशनलाई मैले एक वर्षअघि सारेको छु । ठिक छ । पुनर्गठन गरौँ न त । काम नगर्नेहरु गए हुन्छ, काम गर्ने बसे हुन्छ । को काम गरेको छ, छैन, कार्यकर्ताले देखेको छ । को लड्या छ छैन, को काम गरेको छ की छैन, कार्यकर्ताले देखेको छ । कार्यकर्ताले फैसला गर्दछ । यो  र्‍याईं र्‍याईं मिडियामा गएर क्याईंक्याईं गरेको छ । उता युट्युबमा गयो त्यस्तै छ । टेलिभिजनमा गयो  र्‍याईर्‍याईं गरेको छ । एउटा पत्रिका भनेको छ,  र्‍याईंर्‍याईं गरेको छ । यो  र्‍याईंर्‍याईं यो साँझतिर झ्याउँकिरीले झ्याउँझ्याउँ गर्छ त्यो भन्दा बढ्ता गरेर । यति बेला संसद पुनःस्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने केपी ओली राजीनामा दे, राजीनामा दे । यो आज मात्रै भनेको हो र ?’
अध्यक्ष ओलीले आफूलाई सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने नेताहरुलाई ल्याएर उपाध्यक्ष राखेर पार्टी अघि बढाएको बताए । उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईप्रति लक्षित गर्दै अध्यक्ष ओलीले कराँते सिक्ने काम आफ्नो टाउकोलाई बनाएर नेताहरुले काम गरिरहेको बताए ।

 

मुलुकमा निर्वाचनको वातावरण बनिसकेको छैन : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताको लागि केन्द्रिय सदस्यहरुको हस्ताक्षर गर्न पुगेका उनले सञ्चारकर्मीमाझ अहिलेसम्म निर्वाचनको वातावरण बन्न नसकेको कुरा तथ्य भएको प्रतिक्रिया दिए ।

महासचिव विप्लवले मुलुकमा एक दिन निर्वाचन हुने उल्लेख गर्दै त्यसमा भाग लिएर आफूले देश र जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्वाचनलाई क्रान्ति, संघर्षको एउटा नयाँ मोर्चाको रुपमा आफ्नो पार्टीले लिएको र जनताले दिएको सुझावको आधारमा नै आफूहरुले निर्वाचनमा भाग लिने निर्णय लिएको जिकिर समेत गरे । महासचिव विप्लवले भने, ‘निर्वाचन विद्रोहकै निरन्तरता हो । हामी संसदीय व्यवस्थालाई पूरै स्वीकार गरेर होइन कि यो क्रान्तिकै संघर्षकै एउटा नयाँ मोर्चाको रुपमा हामीले जनताको पक्षमा यसलाई प्रयोग गर्दछौँ । पार्टी भन्दा बाहेक बाहिर अरु साधन छैन हामीसँग जनताको सेवा गर्ने र देशको सेवा गर्ने । यो नयाँ पार्टी हो । जनताको सल्लाह अनुसार नै यो कदम चालिएको छ । कम्युनिष्ट पार्टी एकताको बहसमा त नेपालमा जारी नै छ ।’

उनले भने, ‘आज तपाईले हेर्नुभयो होला नेपालमा कम्युनिष्टहरुलाई नयाँ ढंगले नयाँ केन्द्रमा एकीकृत गर्ने हाम्रो प्रस्ताव छ । हामी यहाँसम्म आएका छौं । नेकपाले अहिलेसम्म देशलाई र जनतालाई क्षति हुने कुनै पनि काम गरेको पनि छैन । गर्न पनि दिएको छैन । यसका लागि लड्दै आएको छ । जनताको सुझावअनुसार नै जनताले आफ्नो अधिकार चाहन्छन् । देशले स्वाधिनता चाहन्छ, नेपाल पुस्ताले एउटा परिवर्तनसहितको जीवन चाहन्छ । त्यसका लागि हामी संघर्षरत रहन्छौ ।’

उनले भने, ‘आजसम्म नेकपा मात्रै एउटा हो, जो जनतासँग जोडिएर काम गरेको छ । जेनजीलाई हाम्रो समर्थन र प्रेरणा थियो । निर्वाचनमा गएर सिंगै देशलाई बदल्ने । तपाईहरुकै साथ लिने हो । जति पनि नकारात्मक र दुखद परिणामहरु छन् । त्यसको शिक्षासहित नेकपाले हामीले देशलाई अपिल पनि गरेका छौँ । जनताले साथ दिएभने यो देशका युवाहरुलाई म नेपाली हुँ भन्ने स्वाभिमानीपूर्ण जीवन दिने हाम्रो चाहना छ । हामी देशभरी जाँदा तपाई आउनुस् भन्ने जनताको सुझाव छ ।’

उनले थपे, ‘नेकपा जसले अहिलेसम्म देशलाई सम्पूर्ण रुपले आफ्नो जीवन समर्पित गरेको छ । त्यस आधारमा । हामीले तीन वटा कुरा सोचेका छौँ । नम्बर एक एउटा नयाँ कम्युनिष्ट केन्द्रको लागि पहल गर्ने । दोस्रो समाजवादी केन्द्र निर्माणको लागि पहल गर्ने । तेस्रो तत्काल नेपालको जो अस्थिर संकटपूर्ण राजनीति छ । त्यसलाई निकास दिनका लागि एउटा सचेत सबै मित्रहरुसँग मिलेर देशभक्त, समाजवादी, कम्युनिष्ट हरुसँग मिलेर निकासका लागि पहल गर्ने । अहिले चुनावको वातावरण बनिसकेको छैन । त्यो त साँचो हो । तर एक दिन त चुनाव हुन्छ ।’ महासचिव विप्लवले नयाँ एउटा कम्युनिष्ट केन्द्र बनाउने गरी मुलुकलाई संकटबाट निकास दिने विषयमा मिलेर जाने विषयमा घनश्याम भुसाल र जनार्दन शर्मासँग छलफल गरिएको पनि बताए ।

जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ । बितेको नौ वर्षमा कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको छ ।

यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०७३ सालयता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर सो सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका हुन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका अधिकृत सोफिया भट्टराईले राष्ट्रिय वन तथा सामुदायिक वन र आसपासका क्षेत्रमा मात्रै नौ वर्षमा आठ जनाले ज्यान गुमाएको बताइन् ।

हात्तीको आक्रमणबाट दुई जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । ‘मृत्यु भएका प्रतिव्यक्ति रु १० लाखका दरले मृतकका परिवारलाई क्षतिपूर्ति दिइएको छ’, अधिकृत भट्टराईले भनिन्, ‘घाइतेहरूको प्रकृति हेरेर उपचार खर्च दिने व्यवस्था रहेको छ ।’

पछिल्लो समय कञ्चनपुरको भीमदत्त, बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिका र लालझाडी र बेल्डाँडी गाउँपालिकामा जङ्गली हात्तीले नोक्सान पुर्‍याउँदै आएका छन् । जङ्गली हात्ती बस्ती पस्दा स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् भने पालिका र सरोकारवाला निकाय हात्ती धपाउन खटिने गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत पुरुषोत्तम वाग्लेले हात्तीको आक्रमणबाट यहाँ २०७५ सालयता नौ जनाको मृत्यु भइसकेको जानकारी दिए । ‘यो अवधिमा नौ जनाको मृत्यु, सात गम्भीर र चार जना सामान्य घाइते भएका छन्’, उनले भने, ‘तुलनात्मक रुपमा यो वर्ष विगतको भन्दा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आवातजावत बढी देखिएको छ ।’

उनले हात्ती धपाउन निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीरणसिंह दलगण टोली तयारी अवस्थामा रहने गरेको जानकारी दिए ।

निर्वाचनका लागि ६० प्रतिशत काम सकियो, विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने सम्भावना कति ?

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागी हुनुको विकल्प नरहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको निर्वाचन अग्रिम र आकस्मिक भएकाले निर्वाचनमा जानुको विकल्प नरहेको बताए । उनले संविधान जीवित राख्नका लागि पनि निर्वाचनमा सहभागी हुनुपर्ने जरुरी रहेको बताए ।

निर्वाचनमा जाने प्रयोजनका लागि सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनका लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गरिदिनुपर्ने बताए । निर्वाचनको प्रक्रियामा सहजता र निर्वाचन कुनै हालतमा बिथोलिँदैन, असुरक्षाको भावना बोकेर मतदानस्थलमा पुग्नु पर्दैन भन्ने कुरा सरकारले विश्वास दिलाउन सक्नुपर्ने जिकिर गरे । राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेको मिति (फागुन २१) मा गराउन निर्वाचन आयोग लागिपरेको बताए ।

उनले भने, ‘यो अग्रिम र आकस्मिक निर्वाचन हो । अहिले निर्वाचनमा नजाने हो भने विकल्प के त ? हाम्रो संविधान जीवित छ, संविधानको रक्षा गरेका राखेका छौँ । निर्वाचनमा जाने बाहेक अरु बाटो हामीसँग छैन । निर्वाचनमा जाने प्रयोजनका लागि सरकारले निर्वाचनमय वातावरण बनाउने प्रयोजनका लागि शान्ति सुरक्षाको पहिलो प्रत्याभूति गर्नुपर्छ । श्रोत र साधनको सुनिश्चितता गर्नुपर्छ । निर्वाचनको प्रक्रियामा सहजता छ र निर्वाचन कुनै हालतमा बिथोलिँदैन, असुरक्षाको भावना बोकेर मतदानस्थलमा पुग्नु पर्दैन भन्ने कुरा सरकारले विश्वास दिलाउन सक्नुपर्छ । सम्मानित राष्ट्रपतिबाट निर्वाचनको जुन मिति घोषणा भएको छ, त्यसअनुसार नै निर्वाचन आयोग निर्वाचन आयोग समर्पित छ । त्यसमै हामी लागिपरेका छौँ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा जाने सबै राजनीतिक दलहरुको तयारी रहेको बताए । उनले निर्वाचनका लागि शान्ति सुरक्षा र निर्वाचनमय वातावरण तयार पार्नुपर्ने राजनीतिक दलहरुको माग रहेको बताए । आयुक्त भण्डारीले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो दाबी गरेका हुन् । उनकाअनुसार आजबाट कानूनअनुसार निर्वाचनको अवधि प्रारम्भ भएको छ । चार महिना निर्वाचन अवधि हुनेकुरा विश्वव्यापी मान्यता रहेको बताए । उनले चार महिनामा निर्वाचन सम्पन्न गराउन आयोगलाई कुने आपत्ति नरहेको पनि स्पष्ट पारे ।

विदेशमा रहेका नेपालीका लागि मतदान गर्ने व्यवस्थामा सरकारले कानून बनाएर दिए निर्वाचन आयोग कुनै पनि समयमा कार्यान्वयन गर्न तयार रहेको बताए । विदेशमा रहेका मतदाताका लागि मताधिकार सुनिश्चित गर्न तत्कालका लागि कठिन रहेको बताए ।
आयोगले मतदाता नामावली संकलानको काम घनिभुत रुपमा गरेको र उत्साहजनक उपस्थिति रहेको दाबी गरे । विदेशमा रहेका मतदाताको मताधिकार सुनिश्चित गर्न अहिले कानूनको अभाव रहेको बताउँदै गृह मन्त्रालयले अध्यादेशका लागि मस्यौदा तयार गरेको जानकारी दिए । नेपाली मतदाताहरु विश्वका १७० बढी मुलुकमा रहेकाले विधेयक ल्याएर मात्रै पनि सम्भव नरहेको बताए ।

ती देशहरुमा रहेका मतदाताहरुको मत संकलन गर्न कठिन रहेको बताए । नेपालको करिव ३९ वटा मुलुकमा मात्रै कुटनीतिक सम्बन्ध रहेकाले अन्य मुलुकमा जाने प्रयोजनका लागि सरकारले सहजीकरण गर्न जरुरी रहेको बताए । त्यहाँको स्थानीय सरकारको अनुमति लिनुपर्ने, शान्ति सुरक्षाको सुनिश्चितता रहे मात्रै सरकारले दिएको निर्देशन कार्यान्वयन गर्न सकिने स्पष्ट पारे । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले महिलाको हक अधिकार सुनिश्चित गर्ने प्रयोजनका लागि कानूनमा भएको व्यवस्थाअनुसार निर्देशन जारी गरिरहेको बताए । उनले प्रतिशत सुनिीश्चत राजनीतिक दलहरुले गर्नुपर्ने भएकोले पूर्वाग्रह नराखी काम गर्न आग्रह गरिएको बताए । कानूनको छिद्र खोजेर बलमिच्याँई नगरिदिन आग्रह गरे ।

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

काठमाडौँ । नेपाल ‘जेनजी फ्रन्ट’ले राष्ट्रिय परिचयपत्रको तथ्याङ्कका आधारमा निर्वाचनमा केन्द्रमै ‘बायोमेट्रिक्स’ रुजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ । मतदाता नामावली सङ्कलनमा देखिएको सीमितताले बालिग मतदातामा उत्साह नदेखिएको जनाउँदै फ्रन्टले आगामी निर्वाचनमा नागरिकको मताधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेको हो ।

“राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण दिइसकेको अवस्थामा त्यसैका आधारमा मतदान गर्न दिँदा फर्जी मतदानको समस्या नहुने र मतदातालाई समेत सहज हुने भएकाले जनमुखी र समाधानमुखी काम गर्न सम्बद्ध सबैमा अपिल गर्दछौँ”, फ्रन्टका संयोजक रक्षा बमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गरिरहेको छ । मतदाता नामावलीमा नाम दर्ताका लागि बायोमेट्रिक्स गर्न जिल्ला सदरमुकाम पुग्नुपर्ने जटिलताले मतदातामा उत्साह नथपेको संयोजक बमको भनाइ छ ।

निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नयाँ मतदाता दर्ता गर्न सकिने जनाएको छ । अहिलेसम्म जम्मा एक लाख ३६ हजार मात्र नयाँ मतदाताले नामावली दर्ता गरेका छन् ।

सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने

काठमाडौँ । सङ्घीयसहित प्रदेशसभाका सभामुखहरूको बैठकले प्रदेश कानुनमा भएका व्यवस्थालाई सङ्घीय सरकारले हटाएको विषयलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आमन्त्रणमा सातवटै प्रदेशसभाका सभामुखसँग आज सिंहदरबारमा भएको छलफलमा सङ्घीय सरकारको सो निर्णयले विधिको शासन कायम नहुने स्थिति बनेको निष्कर्ष निकालिएको हो ।

बैठकले जेनजी प्रदर्शनका क्रममा राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभामा भएको क्षति आँकलन गरी तत्काल वैकल्पिक व्यवस्थामार्फत सभा सञ्चालन गर्ने वातावरण बनाउन र पुनर्निर्माण अघि बढाउन सरकारसँग आग्रह गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकले प्रदेश संरचना,संस्थाको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्थापन गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । जनप्रतिनिधिलाई जनसेवामा सहजीकरण गर्न स्वकीय सचिवालय, भौतिक स्रोतसाधनसहितको कार्यकक्ष र आवश्यक सुविधा व्यवस्थापन गर्न अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा सभामुख घिमिरेसहित राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, प्रदेशसभाका सभामुखहरू र उपसभामुखलगायतको सहभागीता रहेको थियो ।

रास्वपाको पार्टी सदस्य संख्या साढे दुई लाख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सदस्य संख्या दुई लाख ४१ हजार ७९९ पुगेको जनाएको छ । शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठानिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ ।

यद्यपि, तीमध्ये अहिलेसम्म एक लाख ७३ हजार ५९ सदस्यको मात्रै प्रमाणिकरण भएको उल्लेख गरिएको छ । तीमध्ये थारू समुदायको सदस्यता १.५ प्रतिशत, मुस्लिम समुदायको १.१ प्रतिशत, आदिवासी जनजातिको १९.३ प्रतिशत र दलित समुदायको सहभागिता ७.३ प्रतिशत छ । रास्वपामा महिला सदस्य संख्या १४ प्रतिशत रहेको जनाइएको छ ।

प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका(१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षित रूपमा पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थाले पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।

गाउँपालिकाले विसं २०८० देखि सुरू गरेको पूजापाठ तथा सद्बिज छर्ने कार्यक्रमसँगै यहाँको धार्मिक महत्त्व थप बढेको छ । हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो स्थानमा विगतका वर्षमा मेला लाग्ने परम्परा रहँदै आएको थियो । माओवादी द्वन्द्वका कारण लामो समयदेखि रोकिएको मेला अहिले स्थानीयको पहलमा पुनःसञ्चालन गरिएको छ ।

गाउँपालिकाले यस स्थानको संरक्षणसँगै बाटो तथा भक्तजनको आवतजावतको सहजताका लागि फलामको बार लगाएको छ । यहाँसम्म पुग्न सडक विस्तार गरिएको छ । महादेव थान संरक्षण समिति गठन गरेर यो स्थानको संरक्षण तथा विकासको काम भइरहेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए।

गाउँपालिकाले महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा यसको संरक्षणका साथै धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको अध्यक्ष राईले बताए । ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिरहेको जनाउँदै उहाँले यसबाट पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयस्तरमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

“यो हाम्रो गाउँपालिकाको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल हो”, अध्यक्ष राईले भने, “यो क्षेत्रको विकासका लागि हामीले पूर्वाधार निर्माण, संरचना विस्तालगायत क्षेत्रमा काम गरिरहेका छौँ । यो प्रसिद्धस्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले यसको प्रचारप्रसारमा जुटेका छौँ ।”

गुफाँसगै यहाँको बनावटले सबैलाई आश्चर्यचकित पार्ने स्थानीय लालबहादुर प्रधानले बताए । यस मन्दिरको दर्शन गरेर मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेकाले भक्तजन यहाँ आउने गरेका उनको भनाइ छ । विगतमा ठूलो मेला लाग्ने गरेको भए पनि माओवादी द्वन्द्वकालपछि यहाँ मेला लाग्न बन्द भएको स्थानीय बताउँछन् ।

यहाँ बालाचतुदर्शीमा मेला लाग्नुका साथै भजनकीर्तन हुने गर्दछ । देवस्थलमा गुफासँगै विभिन्न देविदेवताको मूर्ति छन् । ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य मिसिएको यो स्थल गाउँपालिकाको पहिचान बन्ने सम्भावना बोकेको स्थानीयको भनाइ छ ।

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छः नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्ममा गरिसक्नुपर्ने बताएका छन् ।

काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको छलफलमा उनले समयको माग, वर्तमान अवस्थालगायत कारणले आगामी मङ्सिरमा महाधिवेशन गर्न सकिएन भने कुनै पनि हालतमा पुस मसान्तसम्म गरिसक्नपर्ने धारणा राखेका छन् ।

नेता कोइरालाले भने, “आउँदो आमनिर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वसहित चुनावमा जानुपर्छ । महाधिवेशन मङ्सिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषय धेरै पहिलेदेखि भन्दै आएको छु ।”

महाधिवेशनको तालिका बनाउँदा निर्वाचन आयोगले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने आवश्यतामा जोड दिँदै उनले कांग्रेस अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार र संयम भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले भने, “पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ । विगतमा पार्टीले थुप्रै आरोहअवरोह व्यहोरेकाले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ ।” आफूले पार्टीमा एकता, मेलमिलाप चाहेको बताउँदै उनले गुट, उपगुट र फुटको अन्त्य गर्न कोही कसैप्रति आग्रह–पूर्वाग्रह नराखी अघि बढ्नुपर्ने आवश्यकता औँल्याएको नेता कोइरालाको सचिवालयले जनाएको छ ।

नेता कोइरालाले भने, “देशभरका इमानदार, निष्ठावान् र निरन्तर क्रियाशील रहेका साथीहरूले पार्टीलाई बचाइरहेको छ । पार्टीका लाखौँ शुभेच्छुकहरू र बाह्य सबै पक्षले अहिले कांग्रेसको निर्णय हेरिरहेका छन्, पर्खिरहेका छन् ।”

माओवादीको ‘फ्रिज’ रोक्न आयोगमा जनार्दनको निवेदन, क–कसले दिंदैछन् साथ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह र झण्डा यथावत राख्न पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले आज निर्वाचन आयोगमा निवेदन दिएको छ । अभियानमा संलग्न नेता सन्दीप पुन, रजमान तामाङ लगायतका नेताहरू कान्तिपथ पुगेर पार्टीलाई ‘फ्रिज’ नगर्न मागसहितको निवेदन बुझाएका हुन् ।

पत्रमा उल्लेख छ कि दर्ता नम्बर ६५३ अन्तर्गतको पार्टीको नाम, झण्डा र चुनाव चिन्ह ऐतिहासिक जनयुद्ध र हजारौँ सहिद, घाइते तथा बेपत्ताहरूको योगदानसँग जोडिएको छ । आयोगले पार्टीको पहिचान फ्रिज गरेमा निर्वाचनको वैधानिकता नै प्रश्नविहीन हुने सम्भावना छ ।यसैबीच, नेकपा माओवादी केन्द्रले दश पार्टीसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी नामकरण गरे पनि, जनार्दन शर्माले पार्टी एकता प्रक्रियामा सहभागी नहुँदै नयाँ पार्टी गठनको तयारी गरेका छन्। शर्मा ४० वर्षसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेर पार्टीमा काम गर्दै आएका थिए।

शर्माको अभियान सुरुमा तत्कालीन सचिव राम कार्की र स्थायी समिति सदस्य अञ्जना विशंखेले समर्थन गरेका थिए । यद्यपि सुरुमा धेरैले साथ नदिए पनि, बिस्तारै पूर्व माओवादी नेताहरू उनको अभियानमा जोडिन थालेका छन् । उता, नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेताहरू पनि निर्वाचन आयोग पुगेका छन् । गत कात्तिक ११ गते दल दर्ताको लागि निवेदन दिएका उनीहरू आज सनाखतका लागि उपस्थित भएका हुन् ।
शर्मासँग हालसमम जोडिएका नेताहरू
जनार्दन शर्मा
राम कार्की
सुदन किराँती
अञ्जना विशंखे
जगप्रसाद शर्मा
नारायणी शर्मा
पुष्प न्यौपाने
सन्तोष विष्ट
पदमराज जोशी
ओमप्रकाश पुन
राजकुमार शर्मा
शिवकुमार मण्डल
अशोक जयसवाल
उमेश यादव
भगत बडुवाल
टेकेन्द्र भट्ट
दीपक साउद
विमला सिंह
भीमप्रकाश शर्मा
भीमबहादुर मल्ल
रामप्रसाद न्यौपाने
प्रतिभा केसी
मनऋि धिताल

यस्तो स्थितिमा, पूर्वमाओवादी नेताहरूको समर्थनमा नयाँ प्रगतिशील अभियानले आगामी निर्वाचनमा आफ्नो पहिचान कायम राख्न निर्वाचन आयोगसामु कडा चुनौती प्रस्तुत गरेको छ ।

 

प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल ‘महादेव थान’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । गाउँपालिकाले पछिल्ला वर्षमा संरक्षण र पूर्वाधार विकासको पहल थाले पनि अपेक्षित रूपमा पहिचान नपाएको स्थानीयको गुनासो छ । यो क्षेत्रको संरक्षण थाले पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।

गाउँपालिकाले विसं २०८० देखि सुरू गरेको पूजापाठ तथा सद्बिज छर्ने कार्यक्रमसँगै यहाँको धार्मिक महत्त्व थप बढेको छ । हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो स्थानमा विगतका वर्षमा मेला लाग्ने परम्परा रहँदै आएको थियो । माओवादी द्वन्द्वका कारण लामो समयदेखि रोकिएको मेला अहिले स्थानीयको पहलमा पुनःसञ्चालन गरिएको छ ।

गाउँपालिकाले यस स्थानको संरक्षणसँगै बाटो तथा भक्तजनको आवतजावतको सहजताका लागि फलामको बार लगाएको छ । यहाँसम्म पुग्न सडक विस्तार गरिएको छ । महादेव थान संरक्षण समिति गठन गरेर यो स्थानको संरक्षण तथा विकासको काम भइरहेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

गाउँपालिकाले महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा यसको संरक्षणका साथै धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको अध्यक्ष राईले बताए । ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रका रूपमा यस क्षेत्रको विकास गरिरहेको जनाउँदै उनले यसबाट पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयस्तरमा सुधार हुने विश्वास व्यक्त गरे ।

“यो हाम्रो गाउँपालिकाको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल हो”, अध्यक्ष राईले भने, “यो क्षेत्रको विकासका लागि हामीले पूर्वाधार निर्माण, संरचना विस्तालगायत क्षेत्रमा काम गरिरहेका छौँ । यो प्रसिद्धस्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले यसको प्रचारप्रसारमा जुटेका छौँ ।”

गुफाँसगै यहाँको बनावटले सबैलाई आश्चर्यचकित पार्ने स्थानीय लालबहादुर प्रधानले बताए । यस मन्दिरको दर्शन गरेर मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेकाले भक्तजन यहाँ आउने गरेका उनको भनाइ छ । विगतमा ठूलो मेला लाग्ने गरेको भए पनि माओवादी द्वन्द्वकालपछि यहाँ मेला लाग्न बन्द भएको स्थानीय बताउँछन् ।

यहाँ बालाचतुदर्शीमा मेला लाग्नुका साथै भजनकीर्तन हुने गर्दछ । देवस्थलमा गुफासँगै विभिन्न देविदेवताको मूर्ति छन् । ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य मिसिएको यो स्थल गाउँपालिकाको पहिचान बन्ने सम्भावना बोकेको स्थानीयको भनाइ छ ।

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज । पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन निर्माण भएको छ । तोकिएको समयअघि निर्माण सकिएको उक्त भवन केही दिनमा नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गरिने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आज नेपालगञ्ज विमानस्थालमा निर्माण सम्पन्न भएको टर्मिनल भवनको निरीक्षण गर्दै यथाशीघ्र यो टर्मिनल भवन सञ्चालनमा आउने गरी काम भइरहेको जानकारी दिए। उनले पोखरा, भैरहवा र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा गुणस्तरीय भवन निर्माण भएको बताउँदै यसले रोजगारी वृद्धिमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँपछिको ठूलो विमानस्थल मानिएको नेपालगञ्ज विमानस्थालबाट भारतको प्रमुख सहर दिल्ली, लखनउ उडान गर्ने उद्देश्य राखिएको उल्लेख गर्दै महानिर्देशक अधिकारीले उडानका सन्दर्भमा नेपाल र भारतबीच छलफल जारी रहेको बताएका छन् । “नेपालगञ्ज विमानस्थलको टर्मिनल भवनबाट अन्तरराष्ट्रिय विमानको उडान गर्न पनि सहज हुनेछ”, उनले भने ।

धनी मुलुकबाट नेपाल आएका पर्यटकले यहाँको विमानस्थल हेरेर गरिब देशमा आएको अनभूत गरे विमान तथा उडानको अन्तरराष्ट्रिय व्यापार टिकाउ हुन नसक्ने उल्लेख गर्दै उहाँले समयको मागअनुसार अत्याधुनिक टर्मिनल भवन निर्माण गरिएको बताए ।

नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनाका प्रबन्धक नलविक्रम थापाले म्याद सकिनुभन्दा करिब डेढ महिनाअघि निर्माण कम्पनीले काम पूरा गरेको जानकारी दिए। उनका अनुसार सो टर्मिनल भवनका लागि कुल लागत रु दुई अर्ब ९८ करोड रहेको छ । उनले भने, “काम एकदमै सन्तोषजनक छ, सबै काम गुणस्तरीय छन्, हाम्रा इन्जिनियरको प्रत्यक्ष निगरानीमा काम सम्पन्न भएको छ ।”

शर्मा एण्ड कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक रमेश शर्माले करिब दुई महिनाअघि विमानस्थलको टर्मिनल भवनको निर्माण सकिएको उल्लेख गर्दै अन्तरराष्ट्रिय उडानसमेत गर्न मिल्नेगरी काम भएको बताएका छन् । नेपालमा निर्माण व्यवसायीले समयमा काम गर्न सक्दैनन् भन्ने भाष्य बनेको छ, त्यसलाई चिर्न सकिएको उनको भनाइ छ ।

अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले ‘पिकआवर’मा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिन सक्ने बताइएको छ । विसं २०७९ पुसदेखि काम सुरु गरेको निर्माण कम्पनीले तीन वर्ष अर्थात् आगामी पुसमा सक्नेगरी तीव्रता दिएको थियो । टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ ।

पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु चेकजाँच काउन्टर १४, भिआइपी कक्ष तीन, बच्चाका लागि खेल्ने क्षेत्र (चिल्ड्रेन प्लेइङ एरिया) एक, भन्सार र क्वारेन्टिइन चेकजाँचका लागि अलगअलग कक्ष निर्माण गरिएका छन् ।

नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको व्यवस्थापनसमेत गरिएको छ ।