`

रवि लामिछानेलाई भेटेपछि प्रचण्डले भने- दुब्लाउनु भएछ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्।

केहीबेरअघि लामिछानेलाई भेट्न प्रचण्ड ललितपुरस्थित नक्खु कारागार पुगेका थिए।

लामिछानेलाई भेटेर निस्किएपछि उनले लामिछाने दुब्लाएको बताएका छन्। उनले आफू अभिभावकको हिसाबले रविलाई भेट्न पुगेको पनि बताए।

‘भरखरै रवि लामिछानेसँग भेट गरेँ, मेरो क्याबिनेटमा गृहमन्त्री पनि हो उहाँ,’ प्रचण्डले भने, ‘अभिभावकको हिसाबले उहाँको अवस्‍था बुझ्नु स्वाभाविक नै हो। भैरहवा हुँदा नै जान खोजेको, मिलेन। उहाँको भैरहवाको बसाइँको स्थिति जटिल नै रहेछ। दुब्लाउनुभएछ। यहाँ बसाइँ राम्रो भएको, खानपिन पनि राम्रो भएको भन्नुभयो। भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर यहाँको व्यवस्थापनको प्रशंसा गर्नुभयो।’

तस्बिरमा हेर्नूहोस् जनता प्रगतिशील पार्टीको बैठक

काठमाडौँ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालको बैठक बुधबार काठमाडौंमा बसेको छ ।

थापागाउँ स्थित पार्टीको केन्द्रीय कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक बसेको हो । बैठकमा गौर हत्याकाण्ड, रुपन्देही क्षेत्र न- ३ को उपनिर्वाचनको तयारी र विविध विषयमा छलफल भएको थियो ।

तस्बिरहरु :-

जापान सरकारको ३० अर्ब ८ करोड ऋण सहायता स्वीकृत

काठमाडौँ । सरकारले दुई दिनअघि (भदौ २ गते) बसेको मन्त्रिपरिषद्‌ बैठकका २५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम्‌ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन्‌ ।

सरकारले जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ ।

भदौ २ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको हो ।

बैठकले समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गरेको छ भने नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेकाले पदबाट पदमुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

त्यसै गरी थाइल्यान्डको बैंककमा भदौ १७ र १८ गते हुने हुने विश्व वित्तीय संरचनासम्बन्धी सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री आरजु राणालाई स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताए ।

मन्त्रिपरिषद्ले बालश्रम(निषेध तथा नियमित गर्ने) विधेयक २०८२ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने, मालपोत (आठौँ संशोधन) नियमावली स्वीकृत गर्ने, राष्ट्रिय युवा नीति २०८२ स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ ।

साफ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ।

भुटानको थिम्पुस्थित चाङिलमिथाङ रंगशालामा आज भएको खेलमा भारतसँग नेपाल ७-० गोलअन्तरले पराजित भएको हो। भारतले खेलको पहिलो हाफमा पाँच गोल गर्‍यो भने दोस्रो हाफमा दुई गोल थप्यो।

भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई/दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन्।

डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन्। जसमा आयोजक भुटानसहित नेपाल भारत र बङ्गलादेश छन्। अब नेपालले शुक्रबार भुटानसँग खेल्नेछ।

मन्त्री दाहाल र राजदूत श्रीवास्तवद्वारा हेवा खोला बेलिब्रिज उद्घाटन

पाँचथर। मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण सम्पन्न भएको ‘मोडुलर बेलिब्रिज’को आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्‌घाटन गरेका छन् ।

गत वर्षको असोज १२ गते आएको बाढीले ‘बेलिब्रिज’ बगाएपछि  निर्माण गरिएको ७० मिटर लामो ‘बेलिब्रिज’को आज मन्त्री दाहाल र राजदूत श्रीवास्तवले संयुक्त रुपमा उद्‌घाटन गरेका हुन्।

उक्त बेलिब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराएको र संरचना निर्माण तथा जडानको काम नेपाल सरकारले गरेको सडक विभागले जनाएको छ ।

बेलिब्रिज निर्माणपछि सहज रुपमा राजमार्ग खुला हुनुका साथै ताप्लेजुङ जिल्ला र पाँचथरको उत्तरी भेगका तीन वटा गाउँपालिकाको आवागमन सहज भएको छ । उक्त बेलिब्रिजको भार बहन क्षमता २५ टन रहेको छ ।

मेची राजमार्गअन्तर्गत हेंवा खोलामा रहेको सडक पुल यसअघि २०८० असार २ गते आएको बाढीले बगाएको र सोही स्थानमा थियो । करिब एक महिना लगाएर निर्माण गरेको नयाँ बेलिब्रिज पनि ०८१ असोज १२ गते आएको बाढीले बगाएको थियो ।

हेंवा खोलामा ‘डाइभर्सन’का माध्यमबाट सवारिसाधन आवतजावत गर्दै आएकामा वर्षायाम सुरु भएपछिको बाढीले पटकपटक उक्त डाइभर्सन बगाउँदा यात्रु एवं स्थानीय जनताले दुःख ब्यहोरिरहेका थिए ।

गत चैतदेखि बेलिब्रिज निर्माण कार्य थालिएको थियो । ‘दोभान–सुपरसौगात–लाइट विल्डर्स जेभी’ले जडानको कार्य अन्तिम चरणमा पुर्यायको समयमा गत जेठ ३१ गते अचानक बेलिब्रिज भाँचिएर झर्दा तीन जना कामदारको ज्यान गएको थियो ।

यसपछि सडक विभागले बेलिब्रिजका संरचना निर्माण गर्ने भारतीय कम्पनी ‘गार्डेन रिचसिप विल्डर्स एण्ड इञ्जिनियरिङ’लाई भाँचिएका सामग्री तथा प्राविधिक पठाइदिन आग्रह गरेको थियो । भारतबाट आएका प्राविधिक र मिस्त्रीहरुले गत साउन १७ गते बेलिब्रिज जडानको काम थालेर साउन २८ गते सम्पन्न गरेका थिए ।

बेलिब्रिजका लागि आवश्यक पहुँचमार्गसहितका संरचना निर्माण भएपछि आज उद्‌घाटन गरी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

प्रमुख भट्टराईका अनुसार भारतीय पक्षले सामग्रीका अतिरिक्त पठाएको ‘लञ्चिङ सेट’ र पुल जडान गर्न इञ्जिनियर तथा प्राविधिकहरू रहेको १८ जनाको टोलीले छोटो समयमै बेलिब्रिज जडान गर्न सफल भएको हो । बेलिब्रिजका सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो ।

लिपुलेकमा भारत-चीन सहमतिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं। नेपाली भूमि लिपुलेकमाथि भारत र चीनले हस्तक्षेप गरेको विरोधमा अखिल क्रान्तिकारीले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

लिपुलेक पास हुँदै भारत र चीनले द्विपक्षीय व्यापार गर्ने सहमति गरेपछि यसको विरोध भएको हो ।

     

इजरायलले फेरि आक्रमण गरे नयाँ मिसाइल तैनाथ गर्ने इरानको घोषणा

तेहरान । हालैको १२ दिने युद्धमा प्रयोग गरिएका भन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इरानले बुधबार कुनै पनि नयाँ इजरायली आक्रमणका लागि तयार रहेको बताएको छ ।

“१२ दिनको युद्धमा प्रयोग गरिएका मिसाइलहरू केही वर्षअघि निर्माण गरिएका थिए”, रक्षामन्त्री अजिज नासिरजादेहले आधिकारिक इरना समाचार एजेन्सीलाई उद्धृत गर्दै भने, “आज हामीसँग अघिल्ला मिसाइलहरू भन्दा धेरै क्षमतायुक्त मिसाइलहरू छन्, र यदि यहुदीवादी दुश्मनले फेरि आक्रमण सुरु गर्‍यो भने हामी निश्चय तिनलाई प्रयोग गर्नेछौँ ।”

जुन महिनाको मध्यतिर इजरायलले इरानविरुद्ध बम आक्रमण अभियान सुरु गरेपछि युद्ध चर्किएको थियो । त्यसको जवाफमा इरानले मिसाइल र ड्रोन आक्रमण गरेको थियो ।

इजरायली आक्रमणमा वरिष्ठ सैन्य कमान्डर, आणविक वैज्ञानिकसहित सयौँ मानिस मारिएका थिए । आक्रमण सैन्य आधार र आवासीय दुवै क्षेत्रमा गरिएको थियो । संयुक्त राज्य अमेरिका पनि केही समयका लागि इरानी आणविक सुविधामाथि आक्रमण गर्दै युद्धमा संलग्न भएको थियो ।

जुन २४ देखि इरान र इजरायलबीच युद्धविराम कायम छ । तर तेहरानले युद्ध खोजेको नभए पनि कुनै पनि द्वन्द्वका लागि तयार रहेको प्रष्ट पार्दै इरानी अधिकारीहरूले अर्को चरणको लडाइँ कुनै पनि क्षण सुरु हुनसक्ने चेतावनी दिएका छन् ।

सोमबार प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले इरान ‘टकरावका लागि हरेक क्षण तयार’ रहनुपर्ने बताए । उनले भने, “हामी युद्धविराममा छैनौँ; हामी शत्रुताको अन्त्यको अवस्थामा छौँ ।”

इरानी मिडियाका अनुसार सेनाले बिहीबार दुई दिने सैन्य अभ्यास सुरु गर्नेछ । यसमा छोटो र मध्यम दूरीका क्रुज मिसाइलहरूको विस्तृत शृङ्खला समावेश हुनेछ । पश्चिमी मुलुकहरूले बारम्बार इरानको क्षेप्यास्त्र कार्यक्रमलाई क्षेत्रीय सुरक्षाका लागि खतरा भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जुलाईमा फ्रान्सले तेहरानसँग यसको आणविक कार्यक्रम मात्र नभई क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय महत्वाकांक्षा समेट्ने ‘व्यापक सम्झौता’ गर्न आह्वान गरेको थियो ।

तर इरानले आफ्नो सैन्य क्षमतालाई वार्ताका लागि प्रस्तुत गर्न अस्वीकार गर्दै यसलाई आफ्नो रक्षा अधिकारको हिस्सा भएको दोहोर्‍याएको छ ।

व्यासको चिस्यान केन्द्रमा निःशुल्क आलु भण्डारण

तनहुँ।  जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानका आलु भण्डारणको निःशुल्क व्यवस्था गरिएको छ । केन्द्र सञ्चालनको पहिलो वर्ष परीक्षणको समय भएकाले बीउको आलु भण्डारण निःशुल्क गरिएको हो ।

तीन रोपनी क्षेत्रफलमा चिस्यान केन्द्र निर्माण गरिएको छ । आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्यहोर्ने जनाएपछि भण्डारण गरिएको हो ।

चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि आठ मेट्रिकटन बीउ आलु भण्डारण गरिएको कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिए । उनका अनुसार व्यास-९ स्थित सुनौलो नयाँ गोरेटो सहकारी संस्था, व्यास-५ को हरियाली कृषक समूह, व्यास-६ को श्याम्घा साना किसान समूह, रिस्ती मादी कृषक समूह र कृषि ज्ञान केन्द्रबाट गरी उक्त परिमाणको आलुको बीउ भण्डारण गरिएको छ ।

नगरपालिकाले चिस्यान केन्द्र सञ्चालनका लागि तीन पटकसम्म सूचना जारी गर्दा पनि कुनै सहकारी संस्था वा प्राइभेट फार्मबाट आवेदन नआएपछि नगरपालिका आफैँले सञ्चालन गरेको प्रमुख पोखरेलले बताए। एक सय ३० मेट्रिकटन क्षमताको चिस्यान केन्द्र गत चैतदेखि विधिवत रूपमा सञ्चालनमा ल्याइएको जनाउँदै उनले गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको उल्लेख गरे।

केन्द्र निर्माणको जिम्मा देवचुली कन्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । विसं २०७८ भदौ १३ गते कम्पनीले सम्झौता गरी निर्माण अघि बढाइएको थियो । विद्युत् प्राधिकरणले समयमा ‘थ्री फेज’को ट्रान्समिटर जडान नगरिदिँदा एक वर्ष ढिलाइ गरी सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक ठेक्का रकम रु एक करोड ६२ लाख ३२ हजार २४६ रहेकामा थप रु १९ लाख ९८ हजार ६२७ वृद्धि भई करसहित रु करोड ९१ लाख ३२ हजार ७२२ पुगेको नगरपालिकाले जनाएको छ ।

वर्षौँदेखि व्यक्तिले कब्जा गरी भोगचलान गर्दै आएको सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । आगामी आर्थिक वर्षदेखि व्यास नगरपालिकामा उत्पादन भएका आलु, सुन्तलालगायत फलफूल र तरकारी पूर्ण रूपमा भण्डारण गर्न सकिने उनले बताए।

नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक करिब पाँच करोड बाहिरिनबाट रोकिने व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। “व्यासमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि आलु, फलफूल, तरकारीलगायत कृषिउपज भण्डारण गरी सुरक्षित राख्न सकिन्छ ।

‘योसँगै कृषिउपज भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य हुने विश्वास गरेका छौँ’, उनले भने। चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषिउपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान व्यवसायिक रूपमा उत्साहित भएका छन् ।

विशेषगरी आलु, सागसब्जी तथा अन्य कृषिउपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न चिस्यान केन्द्र महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

मन्त्री सुडीले विधेयकमा सुधारको आवश्यकता भएका बताउँदै बालसुधार गृहका लागि यो विधेयक उपयोगी हुने धारणा राखे।

‘सङ्घीय सरकारको मातहतमा पाँच वटा बालसुधार गृह छन्, चार वटा गैरसरकारी संस्थाबाट सञ्चालन भएका छन्’, उनले भने, ‘बालसुधार गृहमा देखिएका समस्या समाधान गर्न विधेयक ल्याइएको हो । बालबालिकाको हकमा छुट्टै न्यायालयको व्यवस्था हुनेछ ।’

छलफलमा सांसदहरू वासुदेव घिमिरे, दामोदर पौडेल वैरागी, रणकुमारी बलम्पाकी मगर, ठकुरप्रसाद गैरे, प्रकाश ज्वाला, विमला सुवेदी, सुशीला सिर्पाली ठकुरी, भगवती चौधरी, सराज अहमद फारुकी, ज्ञानु बस्नेत सुवेदी, रमा कोइराला पौडेल, जावेदा खातुन जागा, बिजुला रायमाझी, विद्या भट्टराई, हर्कमाया विश्वकर्मा, प्रेम सुवाल, प्रतिमा गौतम, सपना राज भण्डारी र प्रेमबहादुर महर्जनले भाग लिएका थिए।

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली। विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति बनाउन सुरु मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन विश्वकर्माको पूजा आराधना गर्दै यहाँ उत्सव मनाउने प्रचलन रहेको छ ।

धनगढी उपमहानगरपालिका–२ भन्सारका मूर्तिकार महेन्द्रकुमार शाहले असोज १ गते मूर्तिको माग बढी हुने भएकाले अहिलेदेखि बनाउन थालिएको बताए । विश्वकर्मा पूजाका लागि फरक फरक स्वरूपका कलात्मक मूर्ति बनाउन उनलाई  हिजोआज भ्याइनभ्याइ छ ।

माटोको मूर्ति निर्माण गर्ने, निर्मित मूर्तिलाई सिँगार्ने, रङ लगाउने, सजाउने, आकर्षक बनाउनेलगायत कार्यमा व्यस्त हुने गरेको शाहले बताए ।

‘पूजाको दिन बजारमा कलकारखाना, उद्योग, औजार र उपकरणलगायत क्षेत्रमा मूर्ति मा बढी हुन्छ । मूर्तिलाई प्रतिस्थापना गरेर पूजा अर्चना गर्ने प्रचलन छ’, उनले भने, ‘बजार मागअनुसार आपूर्ति गर्ने उद्देश्यले साउनको दोस्रो सातादेखि विश्वकर्मा बाबाको मूर्ति बनाउन सुरु गरेको हुँ, पछि हतार गर्नुभन्दा अहिलेदेखि काम गर्दै सहज हुन्छ ।’

मूर्तिकार शाहले हालसम्म १५ वटा मूर्ति निर्माण भइसकेका जनाउँदै थप मूर्ति बनाउने तयारी भइरहेको बताए । उनका अनुसार प्रतिमूर्ति पाँच हजारदेखि १० हजारसम्ममा बिक्री हुन्छ । जसमध्ये ५० प्रतिशत फाइदा हुने उनको भनाइ छ ।

ग्राहकको मागअनुसार विभिन्न दररेटका मूर्ति बनाउने गरेको शाहले उल्लेख गरे । ‘एउटा मूर्ति बनाउन झन्डै एक साता लाग्छ । तीन दशकदेखि मूर्तिकार पेसालाई अँगाल्दै आएको छु । विश्वकर्माको पूजा, छठ पर्व, बडादसैँलगायत चाडपर्वका लागि विभिन्न देवीदेवताका मूर्ति बनाएर बिक्री गर्दै आइरहेको छु’, उनले भने ।

मूर्ति निर्माणका लागि माटो, पराल, सुतली धागो, काठ, किला, कपास, बोरालगायत सामग्री प्रयोग हुने शाहले जानकारी दिए । लामो समयदेखि यही पेसाबाट छोराछोरीको शिक्षादीक्षासँगै आठ जनाको परिवारको जीविकोपार्जन भइरहेको उनले बताए ।

स्थानीय सरकारले कला, संस्कृतिको संरक्षण, पुस्तान्तरणका लागि मूर्तिकारलाई आर्थिक सहयोग, सीपमूलक तालिमलगायतको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको हो : परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छिन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उनले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हाँसिल भएको बताएकी हुन् । “महिलाले महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेका छन् । त्यो सबै नेपाली महिलाहरुले गरेको सङ्घर्षकै उपलब्धि हो”, उनले भनिन् ।

मन्त्री डा राणाले नेपाली कांग्रेसकै महिला नेतृहरु मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाको योगदानको स्मरण गर्दै उनीहरु र अरु महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट पारिन् ।

उनले वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै सङ्घर्ष गर्न बाँकी रहेको बताइन् । उनले विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रही आएको स्मरण गरिन् ।

“अग्रजहरुकै प्रेरणाबाट हामी महिला अधिकारको सङ्घर्षमा लाग्यौँ र वर्तमान संविधान र नेपालका विद्यमान कानुनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौँ”, उनले भनिन् । वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसद्मा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक भएको उनको भनाइ थियो । नेपाली कांग्रेसकी नेतृ डा राणाले यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यावहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गरिन् ।

महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि संविधान लेख्ने बेलामा आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको मन्त्री राणाले स्मरण गरिन् । उनले महिलालाई राजनीतिमा सजिलो नरहेको बताइन् । उनले भनिन्, “हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हाबी नै छ । महिलालाई राजनीतिमा सजिलो छैन । त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लड्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीहरुलाई जागरुक गर्यौँ, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पार्यौँ ।”

उनले नेपालमा मात्र नभएर विश्वका अरु देशहरुमा महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरुले सुनाउने गरेको बताइन् ।

गुरुङ समुदायले मातृभाषा जोगाउने अभियानमा सुरु गर्नुपर्छः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएकाले मातृभाषा संरक्षण र पुस्तान्तरण अभियान घरबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित गुरुङ भाषाको ‘तमू कए’ पत्रिका सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले बसाइँसराइका कारण गुरुङ भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताए। कुनै समुदायको अस्थित्व उसको भाषा र संस्कृतिमा झल्किने हुँदा गुरुङ समुदायले मातृभाषा संरक्षण र पुस्तान्तरणमा विशेष पहल गर्नुपर्ने उनको भनाइ छ ।

“कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ”, उनले भने, “तमू भाषा र योसँग जोडिएको मौलिक संस्कृति जोगाउने अभियान सुरु गरिहाल्नुपर्ने जरुरी छ । अहिदे संरक्षणसँगै पुस्तान्तरणमा जोड दिएनौँ भने हाम्रा पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जानेछ ।”

प्रतिष्ठानले तमू भाषाको पत्रिका पहिलो पटक प्रकाशन गरेकामा धन्यवाद दिँदै मन्त्री गुरुङले यो पहल सकारात्मक देखिए पनि मुख्य भाषालाई जीवन्त राख्ने आधार परिवार र समुदाय हुनपर्नेमा जोड दिए । उनले भने, “प्रतिष्ठानले पत्रिका निकाल्नु इतिहास हो । तर, वास्तविक भाषा संरक्षण घरबाट सुरु हुनुपर्छ र यसलाई पुस्तान्तरण गर्दै जानुपर्छ ।”

मन्त्री गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउनुको मुख्य उद्देश्य समतामूलक समाज र समावेशी चरित्रको अभ्यास गर्नु रहेको उल्लेख गरे । सङ्घीय शासन प्रणालीमा सबैको स्वामित्व महसुस गराउने उद्देश्यले आरक्षण, समावेशी नीति ल्याइएको बताउँदै उनले गुरुङ समुदायले यो अवसरलाई भरपुर उपयोग गर्न नसकेको गुनासो गरे । उनले संविधानले दिएका समावेशीका अवसरलाई उपयोग गरेर राज्यको मूलधारमा पुग्न गुरुङ समुदायले जोड गर्नुपर्ने सुझाव दिए।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा, संस्कृति, कला र जीवनशैलीको दस्ताबेजीकरण गर्ने कार्य हुँदै आएको बताए। जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न निःशुल्क लोकसेवा तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले निजामती सेवामा गुरुङ समुदाय न्यून उपस्थिति हुनु चिन्ताको विषय भएको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी रहेको बताए । यो अभियानलाई प्रतिष्ठानले ढिलै भए पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख राजन मुकारुङले नेपालमा भएका विभिन्न मातृभाषामध्ये, चार वटा भाषाका मातृभाषा पत्रिका अहिलेसम्म प्रकाशन भएका जानकारी दिए।

‘तमू कए’ पत्रिकाका कार्यकारी सम्पादक अनिता गुरुङले गुरुङ भाषा बोल्न सकिने भए पनि लिपीमा उतार्न चुनौतीपूर्ण भएको अनुभव सुनाए। पत्रिकामा गाउँघरमा बोलिने, ठेट भाषा र त्यहाँका मौलिक कला, संस्कृति समेटिएको उनले बताए ।

‘खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाइने’

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान आवश्यकता भएको बताएका छन् ।

आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियशनद्वारा यहाँ आयोजित ‘प्रथम नेपाल जलभूगर्भ सम्मेलन’ को उद्घाटन कार्यक्रममा उनले कृषिमा भूमिगत सिँचाइको दिगो प्रयोगका लागि अध्ययन, अनुसन्धान वैज्ञानिक तथ्यमा आधारित भएर गर्नुपर्नेमा जोड दिए ।

मन्त्री यादवले भने, “राष्ट्रको समृद्धिका लागि भूमिगत जलको उपयोग, दिगो व्यवस्थापन, भूमिगत जलको प्रदूषणबाट सिर्जित विपद् न्यूनीकरण, वातावरण विनाश, जलवायु परिवर्तन तथा यसका असरहरू न्यूनीकरणका विषयमा केन्द्रित रही महत्त्वपूर्ण छलफल गरी प्रभावकारी योजना बनाउनु जरुरी छ ।”

नागरिकको पहिलो आवश्यकता खानेपानीको सहज आपूर्तिसँगै मुलुकको आर्थिक समृद्धिको मूल आधार मानिने भएकाले सोहीअनुसार काम अगाडि बढाउन आवश्यक रहेको मन्त्री यादवको भनाइ छ । उनले जलस्रोतको उपयोग, व्यवस्थापन र संरक्षणका सन्दर्भमा वैज्ञानिक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तनका गहिरिँदै गएका प्रभावहरू र अनियन्त्रित जनसङ्ख्या वृद्धिका कारण सतहमा रहेका जलस्रोतमा अत्यधिक चाप परेकाले यसको प्रत्यक्ष असर भूमिगत जलस्रोतको तीव्र दोहनका रूपमा देखिएको उनले उल्लेख गरे । यसले दीर्घकालीन रूपमा गम्भीर समस्या उत्पन्न गर्नसक्नेतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री यादवले नेपालका तराई क्षेत्रका लाखौँ नागरिकको जीवनमा भूमिगत जलको प्रत्यक्ष प्रभाव रहेको जनाउँदै यसको संरक्षणमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए । “हामी प्रायः हिमालबाट बग्ने नदीनाला, तालतलैया र झरनाहरूको चर्चा गर्छौँ तर हाम्रो समृद्धिको एउटा ठूलो हिस्सा जमिनमुनि लुकेको भूमिगत जल हो”, उनले भने, “यो अदृश्य तर अमूल्य स्रोत हो, जुन कृषि, उद्योग र दैनिक जीवनका लागि अनिवार्य बनिसकेको छ ।”

मन्त्री यादवले यस सम्मेलनबाट प्राप्त हुने सुझाव तथा निष्कर्षहरू सङ्घीय र प्रदेश सरकारलाई उपलब्ध गराउनुपर्ने बताउँदै यसले खानेपानीको अभावले सङ्कटमा परेका क्षेत्रहरूको दीर्घकालीन समस्या समाधानमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “खानेपानीको दिगो समाधान र समग्र विकासमा योगदान पुग्ने उद्देश्यले आयोजित यस सम्मेलनको पूर्ण सफलता र महत्त्वपूर्ण निष्कर्षहरू प्राप्त होउन् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जलवायु परिर्वतनका कारण तराईमा चापाकल सुकेकाले खानेपानीको समस्याबाट पीडित भएका बताए । मन्त्रालय र विभागले सहन्वय गरी तराई क्षेत्रमा तत्काल राहत दिनुका साथै दीर्घकालीन समाधानका लागि योजनाबद्ध काम गरिरहेको जानकारी दिए ।

उनले भने, “हामी अहिले देखिएका समस्या समाधानका लागि तत्काल राहत दिन प्रतिबद्ध छौँ र दिइरहेका छौँ । दीर्घकालीन रूपमा देशभर पानीको सन्तुलित वितरण र उपयोगका लागि ठोस नीति निर्माण र वैज्ञानिक अध्ययन आवश्यक छ ।”

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले भूमिगत जलस्रोतको संरक्षण, दीर्घकालीन उपयोग र जल सङ्कट समाधानको मार्गमा यस्ता सम्मेलनहरू महत्त्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरे । उनले भने, “सम्बन्धित मन्त्रालय, विज्ञ र नीति निर्माता मिलेर वैज्ञानिक अनुसन्धानमा आधारित योजना अघि बढाए मात्र खानेपानीको दीर्घकालीन समाधान सम्भव देखिन्छ ।”

उक्त कार्यक्रममा नेपालका साथै विदेशबाट जल व्यवस्थापनसँग सम्बन्धित ख्याति प्राप्त विज्ञ, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालय, गैरसरकारी संस्था तथा सरोकार भएका संस्थाका प्रतिनिधिसहित करिब एक सय ५० भू–वैज्ञानिक, भूमिगत जल विज्ञ, इञ्जिनियर, वातावरण विज्ञलगायतको सहभागिता छ ।

माओवादी अध्यक्ष प्रचण्डद्वारा नाडा अटो शोको अवलोकन (तस्बिरहरु)

काठमाडौँ । पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवलोकन गरेका छन् ।

नाडा अटो शो मा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो । सो क्रममा उनले नाडा शो को प्रमुख आकर्षण रहेको उड्ने कारमा बसेर अवलोकन गरेका हुन् ।

नेपालको चर्चित अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म पर्दशनीमा राखिएको छ ।

गंगारामलाई हटाएर रञ्जिता आफैं बनिन् नागरिक उन्मुक्ति दलको नेता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी आफैं संसदीय दलको नेता बनेकी छन् ।

श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएर आफैँले दलको नेताको जिम्मेवारी राखेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएकी छन् ।

पत्रमा अध्यक्ष श्रेष्ठले ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनु भएका मा. गंगाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरे उपर पार्टीको विधान बमोजिम स्पष्टीकरण सोधिएको’ उल्लेख गरेकी छन् ।

‘स्पष्टीकरण सोधिएकोमा तथ्यपरक एवं सन्तोषजनक जवाफ प्राप्त नभएको हुँदा निज मा. गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदीय दलको भूमिकामा नरहने गरी मिति २०८२/०४/३० गते कारबाही गरेको’ संसद् सचिवालय पुगेको पत्रमा उल्लेख छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्न भनेर अध्यक्ष श्रेष्ठले संसद् सचिवालयमा पत्र पठाएकी हुन् ।

नेप्से परिसूचक नौ दशमलव ७० अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ७० अङ्कले घटेर दुई हजार ७६७ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५३ हजार ८५३ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २० करोड सात लाख ५३ हजार ८६८ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूह दुई दशमलव शून्य तीन र म्युचुअल फण्ड शून्य दशमलव शून्य छ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १९, विकास बैंक शून्य दशमलव ७६, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ५८ र लगानी समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।

जीवन बिमा शून्य दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४०, निर्जीवन बिमा शून्य दशमलव ५८, व्यापार एक दशमलव शून्य छ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी पञ्चकन्या माईहाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव शून्य तीन प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू २५ करोड नौ लाख ७९ हजार २४० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड–१ को २६ लाख ५७ हजार ५५५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

काठमाडौँ ।  माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न आज नख्खु कारागार जाने भएका छन्।

उनी आज साँझ ६ बजे नख्खु कारागार जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

सहकारी ठगी प्रकरणमा लामिछाने पूपक्षका लागि नख्खु कारागारमा छन्। उनी यसअघि रूपन्देही कारागारमा थिए। गत शनिबार मात्रै उनलाई नख्खु कारागार ल्याईएको हो ।

गत चैत २५ गतेदेखि उनी बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन् । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।

 

काठमाडौँमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने तयारी (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिन कडाइ गरिने जनाएको छ ।

प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त शुभाष बस्नेतद्वारा आज यहाँ हायोजित पत्रकार सम्मेलनमा सहरीकरणलाई व्यवस्थित बनाउन प्राधिकरणले सक्रिय भूमिका निवार्ह गरिरहेको बताए। उनका अनुसार जग्गा प्लटिङ, संस्थागत भवन, व्यापारिक तथा सार्वजनिक संरचना, मिश्रित आवासीय, सभा तथा सम्मेलन भवन, सांस्कृतिक तथा भोजभतेर स्थल, अस्पताल, विद्यालय, कलेजलगायत भौतिक संरचना निर्माण गर्न प्राधिकरणबाट अनिवार्य योजना अनुमति लिनुपर्ने प्रावधान भए पनि विभिन्न निकाय र व्यक्तिले अनुमति नलिई अवैध रूपमा निर्माण गर्दै आइरहेका पाइएको छ ।

आयुक्त बस्नेतले आमउपभोक्ता तथा नागरिकलाई काठमाडौँ उपत्यका विकास प्राधिकरणको योजना अनुमतिबिना बिक्री वितरणमा राखिएका घडेरी वा संरचना कानुनी रूपमा अवैध हुने भएकाले त्यसबाट पर्न सक्ने कानुनी झमेलाबारे सचेत रहन आग्रह गरे ।

कानुनी प्रक्रिया पूरा नगरेका ‘रियल स्टेट’ कम्पनी वा मापदण्ड नपुगेका व्यक्तिबाट बिक्रीमा राखिएका घडेरी तथा अवैध कित्ताकाटसम्बन्धी विज्ञापन प्रकाशित नगर्न उनले सञ्चारमाध्यमलाई अनुरोध गरे । साथै, स्वीकृतिबिना गरिएको अवैध कित्ताकाटमा कडाइका साथ कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

अफगानिस्तानमा बस दुर्घटनामा मृतकको संख्या ७६ पुग्यो

एजेन्सी । इरानबाट स्वदेश फर्कँदै गरेका अफगानी नागरिकहरू सवार बस र दुई अन्य सवारी साधनबीच पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७६ पुगेको एक प्रान्तीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

हेरात प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद युसुफ सईदीले एक वक्तव्यमा भने, ‘यो दुखद घटनामा ७६ जना नागरिकहरूले ज्यान गुमाएका छन्, साथै तीन जना गम्भीर घाइते भएका छन् ।’

सेनाको विज्ञप्तिअनुसार, मृतकहरूलाई सैन्य अस्पतालमा सारिएको छ, जसमा एक दर्जनभन्दा बढी बालबालिका समेत रहेका छन् ।

अल–फारुक सेनाको अस्पतालका प्रमुख चिकित्सक मोहम्मद जानान मुकद्दसका अनुसार, धेरै शवहरू यति धेरै जलेका थिए कि पहिचान गर्न गाह्रो भएको थियो ।

मंगलबार राति हेरात शहर नजिकको गुजारा जिल्लामा दुर्घटना भएको हो । प्रहरीका अनुसार, बस इन्धन बोकेको ट्रकसँग ठोक्किँदा आगलागी भएको थियो ।

दुर्घटनापछि केही घण्टासम्म सडकमा बसको जलिसकेको ढाँचा देखिएको समाचार संस्था एएफपीका एक पत्रकारले बताए ।

बसमा सवार यात्रुहरू हालै इरानबाट राजधानी काबुल फर्किंदै गरेका अफगानी नागरिक रहेका प्रवक्ता सईदीले मंगलबार बताए ।

संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका अनुसार, यस वर्षको सुरुदेखि हालसम्म इरान र पाकिस्तानबाट करिब १५ लाख अफगानी नागरिकहरू स्वदेश फर्किएका छन् । यी देशहरूले दशकौंसम्म शरण दिइसकेपछि आप्रवासीहरूलाई फिर्ता पठाउने प्रयास तीव्र बनाएका छन् ।

स्वदेश फर्किएका धेरै नागरिकहरू वर्षौं विदेशमा बसेका, कुनै ठेगाना नभएका र थोरै सामानसहित आएका छन्, जसका कारण उनीहरूलाई पुनः बसोबास गर्न गम्भीर चुनौतीहरू झेल्नुपरेको छ । अफगानिस्तान हाल गरिबी र बेरोजगारीबाट ग्रस्त रहेको छ ।

सरकारी सञ्चालित बख्तर समाचार एजेन्सीले यस दुर्घटनालाई हालका वर्षहरूमा भएको सबैभन्दा घातक मध्ये एक बताएको छ ।

गत वर्षको डिसेम्बरमा अफगानिस्तानमा तेल ट्यांकर र ट्रकसँग भएको दुईवटा बस दुर्घटनामा कम्तीमा ५२ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै, सन् २०२४ को मार्चमा हेलमन्ड प्रान्तमा बस र इन्धन ट्यांकर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु र ३८ जना घाइते भएका थिए ।

सन् २०२२ को डिसेम्बरमा सालङ दर्रामा भएको अर्को गम्भीर दुर्घटनामा इन्धन ट्यांकर पल्टिएर आगो लाग्दा ३१ जनाको ज्यान गएको थियो ।

संख्या छ भनेर जे पनि निर्णय गर्न पाइन्न: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा आइपरेको चुनौती कांग्रेसले मात्रै समाधान गर्नसक्ने दाबी गरेका छन्।

प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय शक्ति भएपछि चुनावलाई महत्त्वपूर्ण मान्नु पनि स्वाभाविक रूपमा लिनुपर्ने बताए।

उनले भने, ‘चुनाव जित्ने आकाङ्क्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ। तर, सबै कुरा त्यो होइन। सत्तामा पुग्ने कुरा पनि सशर्त हो निशर्त होइन। हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन। कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ। त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन।’

उनले लोकतन्त्रमा संख्याको आधारमा निर्णय गर्न पाइने बताए।

उनले थपे, ‘तर मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन। संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ। संसद्मा होस् वा पार्टीमा। पार्टीभित्र निर्णय गर्दा बहुमत छ भनेर निर्णय गरेपनि आम पार्टी पंक्तिले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ख्याल गर्नुपर्छ। सबैले स्वीकारे मात्रै वैध हुन्छ।’

कांग्रेसले विगतमा गरेका निर्णय वैधानिक र वैध रहेको पनि उनले बताए।

पछिल्लो समय नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख ईन्दिरा राना मगरमाथि आचरण प्रश्न उठाउँदै दुई तिहाइ पुर्‍याएर पदमुक्त गर्ने तयारी गरिरहेका छन्।

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी सेना नपठाउने आश्वासन दिएका छन्  । यद्यपि उनले एक दिनअघि यस्तो सम्भावनालाई खुला छाडेका थिए ।

टिभी अन्तर्वार्तामा ट्रम्पले युक्रेनको नाटोमा प्रवेश गर्ने र रुसबाट क्रिमिया प्रायद्वीप फिर्ता पाउने आशा ‘असम्भव’ भएको बताए ।

रिपब्लिकन राष्ट्रपति ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अन्य युरोपेली नेताले सोमबार ह्वाइट हाउसमा रूस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले लामो वार्ता गरेका थिए । पत्रकारको प्रश्नमा ट्रम्पले जेलेन्स्कीले मागेको सुरक्षा ग्यारेन्टी अन्तर्गत अमेरिकी सेना पठाउने कुरा भने अस्वीकार गरेनन् ।

गत हप्ता अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे पुटिन खुला भएको बताएका थिए  । तर मङ्गलबार फक्स न्युजको ‘फक्स एन्ड फ्रेन्ड्स’ कार्यक्रममा उनले अमेरिकी सेना युक्रेनको सिमाना रक्षा गर्न नजाने प्रष्ट पार्दै भने, “तपाईंलाई मेरो आश्वासन छ, र म राष्ट्रपति हुँ ।”

सन् २०२९ जनवरीमा आफ्नो कार्यकाल समाप्त भएपछि ट्रम्पको अमेरिकी सेनामाथि कुनै नियन्त्रण हुनेछैन । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले पनि पुष्टि गर्दै भनिन्, “कुनै पनि शान्ति मिसन अन्तर्गत अमेरिकी सेना जमिनमा रहने छैन ।”

ट्रम्पले अन्तर्वार्तामा रूसी आक्रमण अन्त्य गर्न सम्भावित सम्झौतामा पुग्ने आशा व्यक्त गरे । तर उनले युक्रेनले क्रिमिया फिर्ता पाउने वा नाटोमा सामेल हुने आकांक्षा अलग राख्नुपर्नेमा जोड दिए। उनले भने, “यी दुवै कुरा असम्भव छन् ।”

पुटिनले डोनेट्स्क र लुहान्स्क क्षेत्रबाट युक्रेनी सेना फिर्ता लैजाने र क्रिमियालाई रूसी क्षेत्रका रूपमा मान्यता दिन दबाब दिइरहेका छन् । सोमबार ट्रम्पले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता गर्ने व्यवस्था गरिरहेको बताएका थिए ।

तर पुटिन युक्रेनी नेतासँग प्रत्यक्ष भेट्न इच्छुक छन् कि छैनन् भन्नेबारे क्रेमलिनले अझै केही खुलाएको छैन । पत्रकारको प्रश्नमा लेविटले भनिन्, “पुटिनले भेट्ने वाचा गरिसक्नुभएको छ ।”

जेलेन्स्की, पुटिन र आफूबीच त्रिपक्षीय वार्ताको दबाब दिइरहेको बताउँदै ट्रम्पले भने, “आवश्यक परेमा त्रिपक्षीय बैठक हुनेछ तर पहिले पुटिन–जेलेन्स्की आमनेसामने हुनुहुनेछ ।”

टप एन्ड टी-२० सिरिज: नेपालको लगातार दोस्रो जित

काठमाडौँ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको छ ।

नेपालले दिएको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रन खेल्दै अलआउट भयो । यससँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

यो जितसँगै नेपालले ५ खेलबाट ४ अंक बनाएको छ। नेपालले यसअघिको खेलमा हाबार्ट हेरिकेन्सलाई ६६ रनले हराएको थियो ।

मेलबर्नका अर्जुन नायरले सर्वाधिक २६ रन जोडे। २२ बल खेलेका उनले २ चौका र १ छक्का हाने। जय लेमिरे १८ र ह्यारी डिक्सनले १६ रन मात्रै बनाउन सके ।

नेपालका लागि सोमपाल कामी चम्किए । उनले सर्वाधिक ५ विकेट झारे। ४ ओभर बलिङ गरेका उनले १७ रन दिएर मेलबर्नलाई दबाबमा राखे। कुशल भुर्तेलले २ विकेट लिए । शहाब आलम र रुपेश सिंहले १र१ विकेट लिए ।

यसअघि डार्विनको पार्मर्स्टस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए। उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२-१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई-दुई विकेट लिए ।

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश फिर्ताको प्रक्रिया र उपचाररत कामदारको स्वास्थ्य अवस्थाबारे सदनमार्फत जानकारी गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका हुन्।

सांसद रमा कोइराला पौड्यालले कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट १२ जनाको निधन भएको र केही व्यक्ति सघन उपचारकक्षमा उपचाररत रहेका बताउँदै यो घटनाबारे सरकारले सदनलाई विस्तृत जानकारी गराउनुपर्ने माग गरिन्।

यो घटनापछि त्यहाँको सरकारले कामदारमाथि धरपकड सुरु गरेको समाचारहरू पनि बाहिरिएकाले नेपालीको अवस्था के छ भनेर सरकारले सोधीखोजी गर्नुपर्ने उनको भनाइ छ। त्यस्तै, विदेश जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम पर्याप्त नरहेको सांसद पौड्यालले बताइन्।

सांसद जनार्दन शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरूको शव नेपाल ल्याउनका लागि भइरहेका प्रक्रिया र उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे संसद्मा जानकारीका लागि आग्रह गरे। त्यस्तै, बाढीपहिरोका कारण सडक सञ्जाल बिग्रिएको र दुर्घटनाको जोखिम बढेको विषयमा पनि उनले संसद्को ध्यानाकर्षण गरे।

अस्थायी आवासगृहमा बसिरहेका जाजरकोटका भूकम्पपीडितलाई वर्षायामले थप प्रभावित भएको बताउँदै सांसद शर्माले पुनर्निर्माणलाई गति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

आजको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले उपसभामुखलाई हटाउनका लागि सत्तारुढ दलले षड्यन्त्र गरिरहेका आरोपसमेत लगाएका छन्। सांसद सन्तोष परियारले उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्नेगरी सत्तापक्ष दलहरूले गृहकार्य गर्नु दुःखद् रहेको बताए।

सत्तारुढ दलले ह्वीप जारी गरी हस्ताक्षर संकलन गरेर सांसदहरूको विवेकलाई बन्दी बनाउन नहुने उनको धारणा थियो। कार्यपालिकाले व्यवस्थापिकामाथि हस्तक्षेप गरेको भन्दै यस्ता कार्यले लोकतन्त्र नै खतरामा पर्ने परियारले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले उपसभामुखलाई महाअभियोग लगाउनका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले खाली कागजमा हस्ताक्षर गराएको आरोप लगाइन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन नगर्ने वर्तमान सरकारले उपसभामुखसँग जोडिएको पुरानो विषयलाई बाहिर ल्याएर साना दललाई हतोत्साही गरिरहेको उनको भनाइ छ।

संवैधानिक निकायमा आफू अनुकूलका व्यक्ति नियुक्ति गर्न संवैधानिक परिषद्मा बहुमत पुर्याउन सरकारले उपसभामुख रानालाई पदमुक्त गर्न षड्यन्त्र गरिरहेको समेत सांसद कार्कीले आरोप लगाइन्।

आकस्मिक समयमा सांसद महेशकुमार बर्तौलाले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-६ मा चट्याङ लागेर एक जनाको मृत्यु र आठ जना घाइते भएका विषय सदनमा उठाए। चट्याङलगायत विपद्जन्य घटनामा मृत्यु भएका परिवारलाई सरकारबाट उपलब्ध गराइने राहत रकम बढाउनुपर्ने माग उनले राखे।

सांसद रुक्मिणी राना बराइलीले पछिल्लो समय महिला हिंसाका घटना बढिरहेको भन्दै महिला हिंसा नियन्त्रण गर्न प्रभावकारी कानुन कार्यान्वयनमा गर्नुपर्नेमा जोड दिइन्। उनले महिला हिंसाका घटनाबारे सदनको ध्यानाकर्षण गराए।

सांसद महेन्द्रराय यादवले सर्लाही जिल्ला हरिपुर्वा नगरपालिकामा असुरक्षा बढेको बताउँदै त्यहाँ इलाका प्रहरी कार्यालय स्थापना गर्ने र शान्ति सुरक्षा कायम गर्न सरकारसँग आग्रह गरे। त्यस्तै, तराईका क्षेत्रमा अहिले पनि खानेपानी र सिँचाइको समस्या कायम रहेको उनले उल्लेख गरे।

सांसद डा अमरेशकुमार सिंहले हरिपुर्वामा पूर्वशिक्षक रामपुकार रायको गोली हानेर हत्या भएको विषय संसद्मा उठाउँदै नागरिकको जीउधनको सुरक्षाको प्रत्याभूति गर्न माग गरे। सत्तारुढ दुई ठूला दलले साना दललाई तर्साइरहेका उनले आरोप लगाए। न्याय पालिकामा सरकारको हस्तक्षेप बढेको उनको आरोप छ।

सांसद अब्दुल खानले बर्दिया जिल्लामा बाघसहित जंगली जनावरको आक्रमणबाट नागरिकले ज्यान गुमाउनेक्रम नरोकिएको बताए। बाघको आक्रमण रोक्नका लागि राज्यका निकायबाट गम्भीर पहल गरिनुपर्ने उनले माग राखे।

सांसद वासुदेव घिमिरेले हालसम्म दुई सय ५३ पालिकाले मात्रै भूउपयोग नीति बनाएका जनाउँदै तीबाहेकका अन्य पालिकाले भूउपयोग नीति लागू नगर्दा जमिनको कित्ताकाट खुल्न नसकेको बताए। भूउपयोग नीति कार्यान्वयनका लागि स्थानीय तहलाई संघीय र प्रदेश सरकारले सहजीकरण गरिनुपर्ने उनले धारणा राखे।

अन्नपूर्ण संरक्षण क्षेत्र मनसुनमा घटे पर्यटक

गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा मनसुनका कारण पर्यटक घटेका छन् । गत अषाढ यता पर्यटक आगमनमा कमी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । असारमा १९ हजार ७४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । साउनमा जम्मा ११ हजार ८२४ पर्यटक भित्रिएको आयोजनाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए ।

मनसुन सुरु हुनुअघि गत जेठमा ३१ हजार ९५५ पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए । गत वर्षको तुलनामा भने यो साउनमा पर्यटक बढी आएको उनको भनाइ छ । गत वर्ष साउनमा जम्मा पाँच हजार ७१० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । मनसुनयाम पर्यटन क्षेत्रका लागि बेमौसम मानिन्छ ।

असोज लागेपछि पदयात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने आयोजना प्रमुख डा कडरियाले बताएका छन । “मनसुनयाममा पनि घुम्न सकिने गन्तव्यको पहिचान र प्रवर्द्धनको काम गर्न सकिएमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ”, उनले भने, “पछिल्लो समय कास्कीको कोरी, बागलुङको ढोरपाटनलगायत ठाउँमा मनसुन पदयात्राका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन् ।”

असारदेखि भदौसम्मको यामलाई पर्यटन क्षेत्रका लागि ‘अफसिजन’का रूपमा लिने गरिएको उनले बताए । अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि असोजदेखि मङ्सिर र चैतदेखि जेठसम्मको समय उत्तम मानिन्छ । सोही याममा पर्यटक आगमन पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ । गत आवमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । यस क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायतका गन्तव्यस्थलले पर्यटकलाई लोभ्याउने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौं।  राष्ट्रियसभाका सांसदहरूले ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यान्वयन’सम्बन्धी छलफलमा सांसदहरूले ऐनमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्योपचारमा ५० प्रतिशत छुट भनिए पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसकेको बताए ।

सांसद सुमित्रा बिसीले भनिन्, ‘ज्येष्ठ नागरिकको नागरिकता नहुँदा वृद्धाश्रममा बस्न पनि समस्या भएको छ, कतिपयले वृद्धाभत्ता पनि पाउनुभएको छैन, यो समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्छ ।’

सांसद मदनकुमारी शाह (गरिमा)ले प्रत्येक अस्पतालमा ज्येष्ठ नागरिकका लागि छुट्टै शय्याको व्यवस्था हुनुपर्ने माग गरिन् । कानुनमा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गरिए पनि पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन्।

कानुनमा सार्वजनिक सवारीसाधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई वटा सिट सुरक्षित राख्नुपर्छ र यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको छ । सांसद रेनु चन्दले ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना बनाउनुपर्नेमा जोड दिइन् ।

त्यसैगरी, सरकारले तोकेको स्वास्थ्य संस्थाले सरकारले तोकेको सङ्ख्यामा ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने पनि कानुनमा उल्लेख छ ।

सांसद युवराज शर्माले भने, ‘यदि बाबुले कमाएको सम्पत्तिमा छोराको हक हुन्छ भने छोराले कमाएको सम्पत्तिमा पनि बाबुको हक हुने कानुनी व्यवस्था गर्नुपर्छ ।’

सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन भएका ७७ जिल्लाका ९४ वटा अस्पतालबाट ज्येष्ठ नागरिकका लागि निःशुल्क तथा आंशिक रूपमा अस्पतालले तोकिएको स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले ज्येष्ठ नागरिक १६ लाख ६० हजार ३७०, दलित ज्येष्ठ नागरिक एक लाख ६१ हजार ८२५, एकल महिला ज्येष्ठ नागरिक एक लाख ७३ हजार ५६० र अन्य ज्येष्ठ नागरिक १७ हजार १५९ तोकिएको सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित भएका जानकारी दिइन्।

शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, संशोधन नगरे सडक आन्दोलन गर्ने घोषणा

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । नेपाल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स अर्गनाइजेसन (नेपाब्सन) र प्याब्सन केन्द्रीय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय शिक्षा ऐन संशोधन गर्दा निजी विद्यालयहरूको अस्तित्व नै सङ्कटमा पार्ने गरी प्रावधान राखिएको भन्दै आपत्ति जनाएका हुन्।

सङ्घीय संसदबाट पारित गर्न लागिएको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०मा आफनो मागहरु सम्बोधन नभएको भन्दै आन्दोलको घोषणा गरेको हो ।

पाब्सनका अध्यक्ष टीकाराम पुरी र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा विधेयको व्यवस्था संशोधन नगरे विद्यालय बन्द गरेर सडकमा उत्रिने भनिएको छ।

‘निजी शैक्षिक संस्थाहरूलाई ‘नाफा–नोक्सानीरहित’ भन्दै नियमन गर्ने प्रावधान अस्वीकार्य छ। सरकारको शिक्षानीति विपरीत यसले गुणस्तरीय शिक्षा खस्काउने खतरा बढाएको छ’, उनीहरूले भनेका छन् ।

भोलि विहान ११ वजे देखि १ वजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू व्यानर सहित नयाँबानेश्वरचोकसम्म न्याली निकाली पुन माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।

६ गते, विहान ११ वजे देशैभरिका स्कुलबसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने, काठमाडौं उपत्यकामा २७ किमी चक्रपथवरिपरि स्कुल बसहरूको कालो झण्डा र व्यानर सहित याली गर्ने । दिउँसो ठिक १ वजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ र धर्ना गर्ने ।

८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा उनीहरूले गरेका छन् ।

विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्रीहरू उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग राखेका छन् ।

विद्यालय शिक्षा विधेयक संसदीय समितिमा पारित हुने चरणमा छ । तर, सरोकारवालाहरूले केही विषयमा असन्तुष्टि जनाएपछि समितिबाट यो विधेयक पारित हुनसकेको छैन ।

यस्ता छन् निजी विद्यालय सञ्चालकहरुको माग
(१) “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु पर्ने ।

(२) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना – खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
(३) कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।

(४) छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।

(५) छात्रवृत्ति सम्वन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान – जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

 

सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन नाउपाले लेख्यो सभामुखलाई पत्र

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्तापक्ष बस्ने जानकारी संसद् सचिवालयलाई दिएको छ ।

गत २२ असारमा पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षीमा बस्ने भनेर निवेदन दिएको थियो ।

सोही अनुसार नाउपाका सांसदहरू प्रतिपक्षमा बस्दै आएका थिए । त्यसको ४५ दिनपछि हिजो अध्यक्ष रन्जिता श्रेष्ठले सत्तापक्षमा रहने जानकारीसहित संसद् सचिवालयलाई निवेदन दिएको संसद् सचिवालय स्रोतले बताएको छ ।

सभामुख घिमिरेले बुधबारको कार्यव्यवस्था बैठकमा नाउपाबाट सत्ता पक्षमा सिट व्यवस्थापनका लागि पत्र आएको जानकारी गराएका थिए। सो कार्यव्यवस्थामा नाउपा संसदीय दल नेता गंगाराम चौधरी पनि उपस्थित थिए।

सभामुख घिमिरेले संसदीय दल नेता चौधरीलाई सिट व्यवस्थापनबारे पत्र आएकोले निर्क्यौल गर्न भनेका थिए। प्रतिनिधि सभामा नाउपाका ४ जना सांसद छन्।

कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा : रास्वपा

काठमाडौँ । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले संकलन गरेको हस्ताक्षरलाई लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको ठहर गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरमाथि भएको आक्रमणको विरोध गरेका हुन् ।

आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमालेले संकलन गरेको हस्ताक्षरप्रति आपत्ति जनाएउँदै नयाँहरूलाई निषेध गर्न खोजेको आरोप लगाए।

‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो त्यसले सम्मानीत सदनलाई चोट पु¥याएको छ । लोकतन्त्रको विारसत धानेको भनिएकाहरूबाट सार्वभौम संसद्को उपसभामुखजस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको छ भन्ने रास्वपाको ठम्याइ हो,’ उनले भने ।

उनले भने, ‘उहाँले जति सम्मान पाउनुभएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ सांसद आफैँमा सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।’

उनले आफूहरूलाई कमजोर बनाउने खोजिए पनि निषेध गर्न कुनै हालतमा सक्ने बताए। उनले सदनमाथि बारम्बार भइरहेको आक्रमण टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए।

नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी २० सिरिज अन्तर्गत आफ्नो पाँचौ म्याचमा नेपालले मेलबर्न रिनेगेट्स एकेडेमीसमक्ष १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पहिलो इनिङमा ९ विकेट गुमाएर १३९ रन जोडेको हो ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिएका छन् । उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाएका हुन् ।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२-१२ रन बनाए ।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई-दुई विकेट लिए । मेलबर्न रेनेगेड्स एकेडेमी अहिले जबाफी ब्याटिङमा उत्रेको छ ।

विचरा सोजो जनतालाई ठगे (राउण्ड टेबल)

नेपालको पछिल्लो राजनीति तथा नेकपा एमालेमा रहदा पद्मा अर्यालले गरेका काम कारवाहिको विषयमा गरेको संवादको यो अंश ।

प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौँ । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन्। प्रधानमन्त्री अस्वस्थ भएपछि संसद्‍मा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियो।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ।

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेटवार्ता

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् । काठमाडौँमा मङ्लबार सम्पन्न भएको हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखले आज शिष्टाचार भेटवार्ता गरेका हुन् ।

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे जानकारी दिएका थिए । भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सभामुखले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावना रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखेका हुन । प्रतिनिधिमण्डलकी नेतृ हसनले नेपालले हिन्दूकुश हिमालय ‘पार्लियामेन्टेरियन्स मिट–२०२५’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरेकी छिन्। नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिक संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरेकी छिन् ।

अध्यक्ष थेबे निजि भ्रमणमा गएपछि युवा संघको कार्यवाहक अध्यक्षमा गुरुङ

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङले पाएका छन् ।

संगठनका अध्यक्ष क्षितिज थेबे निजि भ्रमणमा गएपछि गुरुङले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

अध्यक्ष थेबे  नफर्किदा सम्म संगठनको नियमित कामकारबाही संचालनको सम्पूर्ण जिम्मेवारी कार्यवाहक अध्यक्ष गुरुङलाई दिईएको छ ।

 

 

‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’

कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताएका छन् ।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूले देखाएको मार्गदर्शनलाई अपनाउँदै जनताको हित र अधिकार रक्षा हुनेगरी काम गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । मुलुक सङ्घीयतामा गएसँगै कर्णालीजस्ता पिछडिएका क्षेत्रको विकासमात्र नभई नागरिकको जीवनस्तर माथि उठेको उनले उल्लेख गरेका छन्।

उनले भनेका छन्, “पैसा हामीसँगै छ, टाढा जानुपर्दैन । इच्छाशक्तिले काम गरियो भने कर्णालीले मुलुकलाई केही दिन सक्ने सामथ्र्य राख्छ । अब सघंले केही दिएन भनेर गुनासो गर्नुपर्छ जस्तो लाग्दैन । हामीसँग भएको बजेट खँर्च गर्ने क्षमता बढाऔँ ।” बजेट खँर्च गर्न जिम्मेवार कर्मचारीलाई पुरस्कृत र त्यसमा लापरवाही गर्ने कर्मचारीलाई प्रदेश सरकारले दण्डित गर्ने साहस राख्नुपर्नेमा उनले जोड दिएका छन् ।

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले कर्णालीवासीको सङ्घर्षबाट कान्छो भएर जन्मे पनि प्रदेशको नामकरणमा कर्णालीले जेठो रूपमा स्थापित गरेको बताए । उनले सङ्घीयताको कार्यान्वयनपश्चात सबै वर्ग जाति, भेग, क्षेत्रको उत्थानमा सहयोग पुगेको जनाए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले सिंहदरबारबाटै शासन चलाउने राजनीति दलहरूको मनोवृत्तिका कारण कर्णालीको अपेक्षित विकास हुन नसकेको टिप्पणी गरेका थिए । उनले स्थानीय तथा प्रदेश सरकार बलियो भएमात्र सङ्घीय व्यवस्था दिगो एवं बलियो हुने र जनताको जीवनस्तरमा पनि परिवर्तन आउने जिकिर गरेका छन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णाली जन्माउने सहिदहरूको सपना पूरा गर्न लाग्नुपर्नेमा जोड दिँदै पीडित परिवारलाई प्रदेश सरकारले आवश्यक सम्बोधन गर्नुपर्ने बताएका छन्। सघंले कर्णालीप्रति हेर्ने दृष्टिकोण बदल्न र यहाँको नेतृत्वहरूको सोचमा सकरात्मकसोच आउन सके विकासको लक्षित गन्तव्यमा पुग्न सकिने उनको भनाइ रहेको छ ।

उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, जिल्ला समन्वय समितिका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश सचिवहरू, सुरक्षा निकायका प्रमुख, कर्मचारी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा

झापा । लागुऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न सुधार (पुनःस्थापना)केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका २७ वटा पुनःस्थापना केन्द्रमा अहिले आठ सय ४५ जना लागुऔषधको दुव्र्यसनमा फसेका युवा छन् । ती युवालाई अभिभावक आफैँले र प्रहरीले दुर्व्यसनबाट मुक्त गराउन पुनःस्थापना केन्द्रमा राखेका हुन् ।

भारतसँगको खुला सीमानाका कारण पछिल्लो समय जिल्लामा लागुऔषध दुर्व्यसनको समस्या भयावह रूपमा देखिएको छ । दिनहुँ प्रहरीले सीमानाका, ठूला बजार र ग्रामीण बस्तीबाट युवालाई लागुपदार्थसहित नियन्त्रणमा लिने गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार मेचीनगर र विर्तामोडमा छवटाका दरले पुनःस्थापना केन्द्र सञ्चालनमा छन् भने शिवसताक्षीमा चार, दमकमा तीन, कनकाईमा तीन, अर्जुनधारामा दुई, कमलमा दुई र बुद्धशान्तिमा एउटा पुनःस्थापना केन्द्र रहेका छन् ।

विर्तामोडका पुनःस्थापना केन्द्रमा सबैभन्दा बढी दुई सय २३ जना युवा उपचाररत् छन् । मेचीनगरमा एक सय ७८, शिवसताक्षीमा एक सय पाँच, दमकमा ८९, कनकाईमा ८२, कमलमा ७३, अर्जुनधारामा ५५ र बुद्धशान्तिमा ४० जनाले लागुऔषध द्रुव्यसनको मुक्तिका लागि उपचाँर गराइरहेका छन् ।

मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नवयात्रा पुनःस्थापना केन्द्रका सञ्चालक भीमप्रसाद लुइँटेलले केन्द्रमा हाल ३३ जनाको उपचार भइरहेको बताएका छन् । समाजले बिग्रियो भनेर बेवास्ता गरेको र परिवारको विश्वास गुमाइसकेको अवस्थामा द्रुव्यसनमा लागेको युवालाई सुधारेर स्वस्थ बनाइ परिवार र समाजमा पुनःस्थापना गर्ने कार्य सहज भने नहुने उनले धारणा राखेका छन्।

“राज्यले गर्नुपर्ने काम हामीले गरिरहेका छौँ”, विगत १३ वर्षदेखि पुनःस्थापना अभियानमा सक्रिय लुइँटेलले भने, “सीमावर्ती क्षेत्रमा यो समस्या विकराल भइसकेको छ । राज्यले यो विषयमा गम्भीर हुन ढिला भइरहेको छ ।”

पुनःस्थापना केन्द्रहरूले तीनमहिने र छमहिने कोर्स पूरा गर्नेगरी द्रुव्यसनमा लागेका युवाहरूको आवासीय सशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् । केन्द्रमा आवासीय उपँचार गराउन आउने युवालाई द्रुव्यसन छुटाउन दिनहुँ परामर्श कक्षामा सहभागी गराउने, नियमित स्वास्थ्य परीक्षण गराउने र हरेक दिन योग तथा ध्यानसमेत गराउँदै आइएको नवयात्रा पुनःस्थापना केन्द्रका सञ्चालक लुइँटेलले बताएका छन् ।

वडा अध्यक्ष साहको निधन

राजविराज । राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उनको उपचारको क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताएकी छिन् ।

जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित रहेका थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा एक लाख ९५ हजार एक सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४५ रुपैयाँले घटेर तोलामा दुई हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला दुई हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।

जापानको निर्यात संकट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो

जापान । जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, जुलाई महिनामा जापानको अमेरिका तर्फको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले घटेको छ । यो लगातार चौथो महिना हो जसमा अमेरिका तर्फको निर्यात घटेको देखिएको छ ।

निर्यातमा आएको यो तीव्र गिरावट मुख्य रूपमा गाडी र गाडीका पार्टपुर्जाको आपूर्तिमा आएको भारी कमीका कारण भएको हो, जुन अमेरिकी सरकारले लगाएको नयाँ आयाशुल्कको असर हो । विवरणअनुसार, अमेरिकामा जापानी गाडीको निर्यात २८.४ प्रतिशतले घटेको छ भने पार्टपुर्जाको निर्यात १७.४ प्रतिशतले कमी आएको छ ।

जापानको कुल निर्यात २.६ प्रतिशतले घटेर ९.३६ ट्रिलियन येन (झण्डै ६.३१ मिलियन अमेरिकी डलर) पुगेको छ, जुन लगातार तेस्रो महिना घटेको हो । उता, आयात पनि ७.५ प्रतिशतले घटेको छ, जुन कच्चा तेल, कोइला र तरल प्राकृतिक ग्याँस (एलएनजी) को मूल्य घटेका साथै बलियो येनका कारण भएको हो ।

मन्त्रालयले जनाएअनुसार, जापानको व्यापार घाटा जुलाई महिनामा ११७.५ अर्ब येन पुगेको छ, जुन पछिल्लो दुई महिनामा पहिलो पटक घाटामा गएको अवस्था हो ।

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल (इलाम) । केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरे ।

सङ्घीय सरकारको एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ ।

पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रुपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ ।

इरानबाट फर्किंदै गरेका अफगानी चढेको बसमा आगलागी, ७३ जनाको मृत्यु

काठमाडौं ।अफगानिस्तानमा बसमा दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ।

मृतकमध्ये १७ जना बालबालिका रहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू थिए। तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताएका छन्।

बसमा सवारमा सबैको मृत्यु भएको र ठोक्किएको अरू दुई सवारीमा रहेका दुई जनाले समेत ज्यान गुमाएका छन्। घटना मंगलबार बेलुकीको हो।

हालैका महिनामा गृहयुद्धका कारण अफगानिस्तानबाट भागेका अफगानी नागरिकलाई इरानले स्वदेश फिर्ता पठाउनेक्रमलाई तीव्रता दिएको छ।

सन् १९७० को दशकमा लाखौं अफगानी भागेर इरान र पाकिस्तान गएका थिए। सन् १९७९ मा अफगानिस्तानमा शोभियत संघको आक्रमणका दौरान र सन् २०२१ मा तालिबान पुन:सत्तामा आएपछि अफगानीहरूले अन्य मुलुक पलायन हुनेक्रम बढेको थियो।