`

एनपीएल दोस्रो संस्करण १७ नोभेम्बरदेखि हुने, २७ दिनसम्म चल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । क्यानले एनपिएल मंसिर १ देखि २७ सम्म काठमाडौंमा गर्ने घोषणा गरेको हो। यो सिजनको एनपिएल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

त्यसका लागि सरकारले प्यारापिट र फ्लाड लाइट जडान गरिरहेको छ। सो काम एनपिएलअघि सकिने विश्वास छ।

यो सिजन पनि आठ टोलीले एनपिएलमा भाग लिनेछन्। त्यसका लागि टोलीहरुले ११-११ जना नेपाली खेलाडी भित्र्याइसकेका छन्। अब  विदेशी खेलाडी भित्र्याउने प्रक्रिया अघि बढाइनेछ।

 एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पारित गरेको छ ।

समितिको आजको बैठकमा बहुमतले समितिको प्रतिवेदन पारित गरेको सभापति कुसुमदेवी थापाले जानकारी दिए। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नागरिक उन्मुक्ति पार्टीका सांसदहरु प्रतिवेदन पारित गर्ने पक्षमा उभिएका थिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले भने प्रतिवेदन पारित गर्ने समयमा बैठक बहिष्कार गरेका थिए ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सांसदहरुको भनाइअनुसार भूमि व्यवस्था मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संशोधन गरेको बताएका थिए। संशोधन गरेका विषयलाई हेरेर अघि बढाउन उनले सांसदहरुलाई आग्रह गरे।

सांसदद्वय बीरबहादुर बलायर, सरस्वती सुब्बालगायतले धेरै छलफल भइसकेकाले सो प्रतिवेदन पारित गरिनुपर्ने बताए। सांसदद्वय रुपा सोसी चौधरी र अशोक चौधरीले पहिले भएका केही विषय विना जानकारी प्रतिवेदबाट हटाइएको, प्रतिवेदनमा फरक मत लेख्न समय दिनुपर्ने माग गरेका थिए ।

‘मधेशमा देखिएको सुक्खा समस्यालाई हल गर्न काम सुरुआत भइसकेको छ ’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर मित्र बरालले मधेस प्रदेशको विद्युत् र सिँचाइ सेवाका अवस्था बारेमा जनकपुरमा जानकारी लिएका छन् ।

नेपाल विद्युत् प्राधिकरण, प्रादेशिक कार्यालय जनकपुरधाममा आज आयोजित कार्यक्रममा उनहरुले मधेस प्रदेशको विद्युत् र सिँचाइ क्षेत्रमा तत्काल थप सुधारमा लाग्न पनि कर्मचारीलाई निर्देश गरेका छन् ।

सो अवसरमा मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशका तुलनामा उच्च रहेको हुँदा यसलाई तत्काल समाधान गर्नुपर्छ भनेका छन् । उनले भनेका छन्,“ यस प्रदेशमा विभिन्न स्थानमा अझै पनि पटक–पटक बिजुली कटौती हुने जनगुनासो छ । २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चितता गरिनुपर्छ । विद्युत् र सिँचाइ क्षेत्रमा सुधार आवश्यक छ । यो कामलाई प्रोत्साहित गर्दै, जनताको जीवनस्तर उकास्न हामी प्रतिबद्ध छौँ ।”

सो अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर बरालले तराईमा पछिल्लो समय देखिएको सुक्खा समस्यालाई सम्बोधन गर्न सकिने हुँदा यसमा विभागले उच्च प्राथमिताका साथ ध्यान दिएको जानकारी दिएका छन् । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य श्यामकिशोर यादव, विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादवलगायतको उपस्थिति रहेको थियो ।

किसानलाई मल र सिँचाइ उपलब्ध गराउन सांसदको माग

काठमाडौं। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा छाएको भन्दै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गरेका छन् । बैठकको शून्य समयमा सांसदहरूले किसानका लागि मल र सिँचाइ सुविधा तत्काल उपलब्ध गराउनुपर्ने माग गरेका हुन् ।

सांसद अमरबहादुर रायमाझीले भने, ‘नेपालका करिब ६२ प्रतिशत जनसङ्ख्या र ६३ प्रतिशत परिवार कृषिमा आधारित छन्, कृषि मुलुकको मेरुदण्ड हो भने रासायनिक मल उत्पादनलाई सुदृढ बनाउने तत्त्व हो । मलको अभावले उत्पादन कम हुने, श्रम निष्क्रिय हुने हुँदा सिङ्गो मुलुकलाई असर पर्छ, त्यसैले सरकारले मलको मागलाई मध्यनजर गर्दै आवश्यक नीतिगत व्यवस्था गरी दीर्घकालीन रूपमा आपूर्ति गर्ने व्यवस्था गरियोस् ।’

सांसद अमरा देवीले सरकारले मधेसलाई सुक्खा क्षेत्रका रूपमा घोषण गरेको उल्लेख गर्दै मधेसका किसानका लागि मल र सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद अमृतादेवी अग्रहरीले ट्राफिक प्रहरीले जनतालाई अनावश्यक दुःख दिने काम गरेको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

सांसद अर्जुननरसिंह केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरे  ।

उनले भने, ‘संसदीय समिति बेवारिसे भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदन कुनै व्यक्तिको निष्कर्ष नभई समितिको आधिकारिक प्रतिवेदन हो, यो प्रतिवेदन कार्यान्वयन नहुनु दुःखको विषय हो, यसले संसदीय मर्यादामाथि प्रश्न उठाएको छ ।’

सांसद आस्माकुमारी चौधरीले यताशीघ्र भूमिहीन तथा सुकुम्वासीको समस्या समाधान गर्नुपर्ने माग गरिन्। उनले भनिन्, ‘भूमिहीनसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत भइसकेको छ, भूमिहीन सुकुम्वासीको तर्फबाट यो विधेयक शीघ्र पास गरी समस्या समाधान गर्न माग गर्दछु ।’ उनले सरकारले गुठी पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् ।

सांसदहरू ईश्वरबहादुर रिजाल, ईश्वरीदेवी न्यौपाने, उर्मिला माझी, गङ्गा कार्की, जीवन परियार, चन्द्रबहादुर विश्वकर्मा, गोकुल बाँस्कोटा, कान्तिका सेजुवाल, गोमालाभ सापकोटा, किरणकुमार शाह, डा अमरेशकुमार सिंह र अनिता देवीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

म्यान्माको जन्ताद्वारा नयाँ चुनावी विवरण सार्वजनिक

म्यान्माको सत्तामा रहेको सेनाले बिहीबार लामो समयदेखि प्रतीक्षित डिसेम्बरको निर्वाचनबारे विवरण सार्वजनिक गरेको छ । सेनाले पहिलो चरणको मतदानमा करिब एक तिहाइ जनसङ्ख्या समेटिने बताएको छ ।

सैन्य नेतृत्वले यसै हप्ता चुनाव चरणबद्ध रूपमा गरिने घोषणा गरेको थियो । पहिलो चरण डिसेम्बर २८ देखि सुरु हुनेछ । सेनाले यसलाई युद्धको थकानबाट उद्धारको उपायका रूपमा प्रस्तुत गरेको छ । म्यान्मामा सन् २०२१ को विद्रोहपछि सेनाले सत्ता कब्जा गरेदेखि देश लगातार द्वन्द्वमा परेको छ ।

तर, अझै पनि देशका धेरै क्षेत्र सेनाको नियन्त्रणबाहिर रहेका छन् । लोकतान्त्रिक नेत्री आङ सान सुकी जेलमा हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घका एक विज्ञले यो निर्वाचनलाई निरन्तर सैनिक शासनलाई लुकाउन गरिएको ‘धोखाधडी’ भनेका छन् ।

सेनाले पूर्ण चुनावी तालिका अझै तय गरेको छैन । तर, राज्य सञ्चालित मिडियामा प्रकाशित सूचनाअनुसार पहिलो चरणको मतदान म्यान्माका तीन ३० टाउनसिपमध्ये एक सय दुईमा हुनेछ ।

यसमा राजधानी नेपिडोका सबै बस्तीहरू, व्यावसायिक राजधानी र सबैभन्दा ठूलो शहर याङ्गुनसहित करिब २५ लाख जनसङ्ख्या भएका क्षेत्रमा मतदान हुने उल्लेख छ ।

तर, ग्लोबल न्यु लाइट अफ म्यानमामा प्रकाशित विवरणले अझै पनि विद्रोहीहरूसँग सङ्घर्ष भइरहेका क्षेत्रमा सेनाले चुनाव गराउने ठूलो महत्त्वाकांक्षा नराखेको भन्ने देखाउँछ ।

जस्तै, पश्चिमी राखाइन राज्यमा स्थानीय जातीय सशस्त्र समूह अराकान सेनाले लगभग सम्पूर्ण नियन्त्रण लिएको छ । त्यहाँका १७ मध्ये केवल तीन टाउनसिपमा मात्र पहिलो चरणमा मतदान हुनेछ ।

त्यस्तै, उत्तरको सागिङ क्षेत्र प्रजातन्त्र समर्थक गुरिल्लाहरूको मुख्य गढ मानिन्छ । त्यहाँ पनि जम्मा एक तिहाइ क्षेत्रमा मात्र मतदान हुनेछ ।

जुन्ताले बाँकी चरणहरूको मिति घोषणा गरेको छैन, न त कुन बस्तीहरूमा मतदान हुनेछ भन्ने स्पष्ट पारेको छ ।

सन् २०२० को अन्तिम आमनिर्वाचनमा सुकीको पार्टीले ठूलो बहुमतले जितेको थियो । त्यसपछि सेनाले अप्रमाणित धाँधलीको आरोप लगाउँदै उनको सरकारलाई हटाएर सत्ता कब्जा गरेको थियो ।

हालैका हप्ताहरूमा सेनाले आफ्ना विरोधीहरूविरुद्ध साना–साना सैन्य सफलता पाएको दाबी गरेको छ । यसले चुनावअघि भूमि पुनः नियन्त्रणमा लिन खोजिरहेको छ ।

यस्तै, सेनाले निर्वाचनको आलोचना गर्ने वा प्रदर्शन गर्नेहरूलाई १० वर्षसम्म जेल सजाय दिने कानून पनि ल्याएको छ ।

गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा

इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले यस कदमको कडा विरोध गरेका छन् ।

उनीहरूले यस्तो कार्यले विनाशकारी मानवीय परिणाम ल्याउने चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसघंका महासचिव एन्टोनियो गुटेरेस, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायतका विदेशमन्त्री डेभिड लामी लगायतका नेताहरूले इजरायलको सुरक्षा क्याबिनेटले गाजा सहर कब्जा गर्ने योजना स्वीकृत गर्दै करिब ६० हजार जगेडा सैनिक परिचालन गर्ने निर्णय र भविष्यको प्यालेस्टिनी राज्यलाई टुक्र्याउने बस्ती परियोजनालाई लिएर आपत्ति जनाएको हो ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले एक्समा लेख्दै भनेका छन्, “यी कदमहरूले क्षेत्रलाई ‘स्थायी युद्धको चक्र’ मा डुबाउने खतरा छ ।’

उनले जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँगको छलफलमा पनि इजरायलको आक्रमणले दुवै जनताका लागि विनाश निम्त्याउन सक्ने बताएका छन् ।

संयुक्त राष्ट्रसघंका महासचिव गुटेरेसले गाजामा हुने आक्रमणलाई ‘खतरनाक वृद्धि’ भन्दै यसले जबरजस्ती विस्थापन, हत्या र ठूलो विनाश ल्याउने चेतावनी दिएका छन् ।

उनका अनुसार, यो कदमले गाजामा पहिले नै वञ्चित अवस्थामा रहेका प्यालेस्टिनी जनताको पीडा झन् बढाउनेछ । उनले तत्काल युद्धविराम, सबै बन्धकको बिना शर्त रिहाइ र ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने इजरायलको निर्णयलाई उल्ट्याउन आग्रह गरेका छन्।

उनका अनुसार सबै प्रकारका बस्ती विस्तार अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो र यसले प्यालेस्टिनी राज्यको सम्भावना कमजोर पार्छ ।

जर्मन सरकारले पनि इजरायलको सैन्य आक्रमणलाई बढाउने कदमको विरोध गरेको छ । सरकारी प्रवक्ता स्टेफेन मेयरले पत्रकारहरूसँग भनेका छन्, “यी कार्यहरूले कसरी युद्धविराममा लैजान्छ वा सबै बन्धकहरूको रिहाइमा मद्दत गर्छ भन्ने बुझ्न गाह्रो छ ।”

बेलायतका विदेशमन्त्री लामीले पनि ई–१ बस्ती योजनाको विरोध गर्दै भनेका छन्, “यदि यो कार्यान्वयन भयो भने, यसले प्यालेस्टिनी राज्यलाई दुई टुक्रा पार्नेछ, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुनेछ र दुई–राज्य समाधानलाई गम्भीर रूपमा कमजोर पार्नेछ । त्यसैले इजरायलले यो निर्णय फिर्ता लिनैपर्छ ।”

अल जजिराका अनुसार, जेरुसेलमको पूर्वमा पर्ने ई–१ क्षेत्रमा करिब तीन हजार पाँच सय आवासीय एकाइहरू निर्माण गर्ने योजना छ, जसले विद्यमान माले अदुमिम बस्ती विस्तार गर्नेछ ।

इजरायलभित्र पनि आलोचना भएको छ । विपक्षी नेता यायर लापिडले ६० हजार जगेडा सैनिक परिचालन गर्ने निर्णयलाई ‘भ्रम’ भन्दै आलोचना गरेका छन् । उनले यसले सैनिकहरूलाई अनावश्यक बोझ पार्ने र ‘ड्राफ्ट–डजिङ’ ९सैनिक भर्तीबाट पन्छिन खोज्ने प्रवृत्ति० बढाउने बताएका छन् ।

उनले एक्समा लेखेका छन्, “गाजा जित्ने भ्रममा ६० हजार जगेडा सैनिक बोलाइएको छ । यो सरकार देशकै इतिहासमा सबैभन्दा खराब हो । यसरी हामी युद्ध जित्न सक्दैनौँ ।”

विद्या भण्डारी पक्षधरको सम्पर्क कार्यालय उद्घाटन यस्तो देखियो (तस्बिरहरु)

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बानेश्वर थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।

एमालेले पार्टीमा फर्किन निषेध गरेपछि विद्यालय ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को यही कार्यालयमार्फत् राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् ।

उद्घाटन समारोहमा एमालेका तीन पदाधिकारी पुगेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पुगेका हुन् ।

यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ ।

मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनेको थियो । सोही समितिको कार्यालय उद्घाटन हुने नेताहरूले बताएका छन् ।

समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् ।

 

 

 

भारतीय सम्पदा पुनःस्थापनाकर्ताहरूले राजधानीको इतिहास जोड्दै्

भारतको राजधानीस्थित जलवायु–नियन्त्रित कोठामा पुनःस्थापनाकर्ताहरूले नयाँदिल्लीको अतीतलाई बुझ्न अनमोल झ्याल प्रदान गर्ने दुर्लभ ऐतिहासिक कागजात र कलाकृतिहरू सावधानीपूर्वक मिलाउँदै छन् ।

इन्दिरा गान्धी नेसनल सेन्टर फर द आट्र्स ९आइजिएनसिए० का विज्ञहरूले बिग्रिएका नक्सा र पुराना तस्वीरहरूलाई पुनर्जीवित गर्दैछन् । यी सामग्रीहरूले हाल तीन करोडभन्दा बढी मानिस बसोबास गर्ने विशाल महानगरको विकासक्रमलाई बुझ्न सहयोग गर्छ ।

यस कार्यले हजारौँ वर्षदेखि बसोबास र परिवर्तनका लहरहरू पार गर्दै आएको बहु–धार्मिक तथा बहु–सांस्कृतिक सहरको थप गहिरो समझ बनाउन मद्दत गरेको छ ।

“हामीले स्मृति जोगाइरहेका छौँ”, आइजिएनसिएको संरक्षण प्रयोगशालाका प्रमुख अचल पाण्ड्याले भनेका छन्, “जुन देशसँग स्मृति हुँदैन, त्यो देश केही हुँदैन ।”

सबैभन्दा बहुमूल्य पुनःस्थापित सामग्रीहरूमा विल्सन सर्वेक्षण नक्सा पनि पर्छन् । यी नक्सा सन् १९१० देखि १९१२ को बीचमा एक ब्रिटिश औपनिवेशिक अधिकारीले तयार पारेका करिब दुई सय ५० कागजातहरूको सङ्ग्रह हुन् ।

यी नक्सा १७औँ शताब्दीमा मुगल सम्राट शाहजहाँले शाहजहाँनाबादका रूपमा राजधानी स्थापना गरेको पुरानो दिल्लीमा केन्द्रित छन् ।

नक्सामा त्यतिबेला को कहाँ बस्थे भन्ने विवरण सावधानीपूर्वक अङ्कित गरिएको छ ।

“तपाईंले केवल नक्सा मात्र हेर्नुहुन्न, यहाँका मानिसहरूको जीवन र इतिहास पनि बुझ्न सक्नुहुन्छ”, नयाँदिल्ली नगर परिषद्को सम्पदा पुनःस्थापना टोलीका सदस्य सञ्जीव कुमार सिंहले भनेका छन् ।

लामो समयको उपेक्षाले यी नाजुक कागजातहरूलाई अझै कमजोर बनाएको छ । राजधानीको कठोर मौसम—गर्मीको तीव्र तापक्रम, आर्द्र मनसुन र जाडोको चिसो—सहित विश्वकै खराब वायु प्रदूषणले तिनलाई थप बिगारेको छ ।

यदि सन् २०२२ मा संरक्षण कार्य सुरु भएको थिएन भने यी कागजातहरू अहिले टुक्रिन्थे भन्ने पुनःस्थापनाकर्ताहरूको भनाइ छ ।

“यसको महत्त्व मर्ने व्यक्तिलाई अक्सिजन चाहिने जत्तिकै हो”, सिंहले भनेका छन् ।

लिपुलेकको विषयमा चीन र भारतले गरेको सम्झौताबारे माओवादीले माग्यो सरकारको जवाफ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले चीन र भारतले नेपालको भूमि लिपुलेक मार्ग हुँदै दुई देशबीच व्यापार गर्ने भनी भएको सम्झौताबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले भने, “आज नेपाल आमालाई दुखिरहेको छ, हाम्रा दुई छिमेकी मित्र राष्ट्र चीन र भारतले हाम्रो देश नेपाललाई जानकारीसमेत नदिइ लिपुलेक पासबाट दुई पक्षीय व्यापार खोल्ने सहमति गर्ने भन्ने खबरले हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ ।” उनले नेपालको संविधानमा उल्लेख गरेको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएपनि नेपाललाई कुनै जानकारीसमेत नदिइ गरिएको भनिएको सहमतिको विरोध गरे ।

उनले भने, “विगतमा पनि हाम्रो पार्टीले यो विषयमा नेपालको राष्ट्रिय सार्वभौमिकता तथा अखण्डताको विरुद्ध छ भनेर भनेकै थियो, कुनैपनि सरकारको मुख्य कामभित्र पर्ने राष्ट्रिय सार्वभौमिता र अखण्डताको रक्षाको निम्ति उभिनु हो, लिपुलेक पासबाट दुई पक्षीय व्यापार खोल्ने सहमतिको बारेमा आवश्यक कुटनीतिक र राजनीतिक पहल अगाडि बढाउन सरकारसँग अनुरोध गर्दछु ।”

नेकपा (माओवादी केन्द्र) सांसद पूर्णबहादुर घर्तीले प्रदेश राजधानीबाट सहिद मार्ग हुँदै रोल्पाबाट रुकुमपूर्वको सदरमुकाम जोड्ने रोल्पा र रुकुमको सीमानामा चिङ्वाङ खण्डमा निरन्तर पहिरो जाँदा आवागमन प्रभावित भएको बताउँदै आवागमन सहज बनाउन सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले भने, “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भू–भाग हो, त्यसको भोग गर्ने अधिकार नेपाललाई छ, अहिले चीन र भारतले त्यही लिपुलेक मार्ग भएर दुई देशबीचमा व्यापार गर्ने भनी समाचार आएको छ, नेपालको सहमतिबिना नेपालको भू–भाग प्रयोग गरी दुई देशले व्यापार गर्ने कुरा गलत छ, यो कुराबाट दुई छिमेकी सच्चिनुपर्छ, त्यो निर्णयबाट उहाँहरु फिर्ता हुनुपर्छ ।”

उनले भारतले लिपुलेक, लिम्पियाधरा र कालापानीप्रति एतिहासिक प्रमाणले नेपालको दाबी पुग्दैन भनी दिएको अभिव्यक्तिप्रति आपत्तिसमेत जनाए ।

दार्चुला जीप दुर्घटना अपडेटः एक जनाको मृत्यु

खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

आज बिहान नौगाड गाउँपालिका–४ होपरीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकी नौगाड गाउँपालिका–४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिएका छन् ।

सामान्य घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते तीन जनालाई धनगढी रेफर गर्ने तयारी भइरहेको गोकुलेश्वर अस्पतालले जनाएको छ । सो दुर्घटनामा घाइते भएका जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

छोरीद्वारा बाबुको किरियाः समाजमा सङ्घर्ष, प्रधानमन्त्री र पूर्वराष्ट्रपतिद्वारा समवेदना

काभ्रेपलाञ्चोक । विसं १९९३ असोज ३ गते जन्मनुभएका हरिप्रसाद सापकोटा पनौती नगरपालिका–१ (तत्कालीन रयाले गाविस)का अगुवा तथा कम्युनिष्टका लागि सेल्टरदाताका रूपमा अविचलीत रहेका थिए । विसं २०५३ सालमा श्रीमतीको मृत्युभएपछि गाउँबासीले हरिप्रसादलाई छोरा नभएको भनेर गरेको हेलारदुर्व्यवहारविरुद्ध छोरीहरूलाई समाज परिवर्तनको अभियानमा लगाएर आमा र बुबा दुवैको कर्तव्य निभाउँदै आएका थिए । गत साउन २५ गते ९१ वर्षीय हरिप्रसादको निजी निवासमा निधन भएको हो ।

बुबाको किरिया बसेका उनका तीन छोरीलाई प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना व्यक्त गरेका छन् । उनीहरूले टेलिफोनमार्फत किरियापुत्रीलाई समवेदना व्यक्त गरेका छन् । भण्डारीले बुधबार र प्रम ओलीले सोमबार उनीहरूलाई टेलिफोन गरी समवेदना व्यक्त गरेको जनाइएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष ओलीले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेका हरिप्रसाद सापकोटाको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै सोमबार परिवारजनमा समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । उनले सापकोटा परिवारमा परेको शोकको घडीमा दुख व्यक्त गर्न टेलिफोन गरेर छोरीहरूले गरेको सहास र सामाजिक चेतना तथा परिवर्तनको प्रशंसा गरेका थिए ।

एमाले धादिङका सचिव राधिका सापकोटाको मोबाइलमा फोन गरेर बुबाको काजक्रियामा बस्नुभएका राधिकासहित बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा र बौद्धिक परिषद् काभ्रेपलाञ्चोकको कोषाध्यक्ष निर्मला सापकोटालेसमाज परिवर्तनका लागि चाल्नुभएको उक्त कदमको प्रशंसा गरेका छन् ।

त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले बुधबार राधिकालाई टेलिफोन गरी ‘धेरै धेरै समवेदना छ’ भनिएको पारिवारिक स्रोतले जनाएको छ । उनले ‘छोरीहरूले बुबाको किरिया बस्छुभन्दा समाजले स्वीकार्नु पर्ने हो, किन विरोध गर्नुपर्ने’ भन्दै आलोचना समेत गरेकी छिन् ।

दश दिनमा संस्कारअनुसार आफन्त दाजुभाइले ‘गौत’ खाएर चोखिनुपर्नेमा अन्यत्रै बसेर आएकोमा छोरीहरूले दुःख व्यक्त गरेका छन् । स्व हरिप्रसादका पाँच छोरीमध्ये तीन जना अहिले किरिया बस्नुभएको हो । दुई छोरी अस्वस्थताका कारण किरिया नबसेको जनाइएको छ ।

उनीहरूले विसं २०५२ मा आँफूहरू सानै भएपनि आमा बित्दा किरिया बस्छुभन्दा समाजले अस्वीकार गरेको गुनासो गरेका छन् । छोरा नभएका कारण तीन छोरीले गत साउन २६ गते दागबत्ती दिएर सापकोटाको दाहसंस्कार गरेका थिए । दागबत्ती दिएर दाहसंस्कार गरेपछि स्थानीयले त्यस क्रियाकलापलाई स्वीकार्न चाहेका थिएनन् । समाजको बहिस्कारको चेतावनी दिएकाबीच उनीहरू बुबाको किरियामा बसेका छन्।

आँफूहरू किरियामा बस्दै गर्दा बहिस्कार गर्नेसम्बन्धी समाजका अगुवाहरूको बैठक बसेको खबर पाएपछि उपप्रमुख सापकोटाले सामाजिक सञ्जालबाट आक्रोश पोख्दै लेखेकी थिईन्, “महिलामाथिको विभेद् कहिले अन्त्य हुन्छ, आफ्ना बाबाको काजकिरिया गर्दा सामाजिक बहिष्कारको बैठक हुँदैछ । यो समाज र दाजुभाइ भन्नेले हामीलाई पीडामाथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरु कसैको वंशमा दखल गरेका छैनौँ, हामी अब थप पीडा सहनसक्ने अवस्थामा छैनौँ ।” बाबुको शव जलाउँदै गर्दा दाजुभाइ र छिमेकीले यतिकै छोडेर हिडेका थिए ।

“ख्याल गर तिमीले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौँ छोरीमाथि न्याय हुनेछ । खबरदार यो छलफल र बहस रोकिहाल, हामी बहिसकार हुन तयार छौँ । १३ दिन हाम्रो बुबाको घरमा बसेर काजकिरिया गर्न देऊ, पीडा नदेऊ, १३ दिनपछि सदाका लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौँ । समाजको डर लाग्ने कृपया हामीलाई साथ दिनुपर्ने बाध्यता नसम्झनु होला, तपाईंहरू स्वतन्त्र हुनुहुन्छ”, उपप्रमुख सापकोटाले लेखेकी छिन्। उनले आँफूहरू बहिस्कार हुन तयार रहेको भन्दै कानुन र संविधानविपरित काम नगर्न चेतावनीसमेत दिएकी थिईन् ।

सापकोटा दिदिबहिनीले बुबाको किरियामा बसिरहेको अवस्थामा उनीहरूलाई सामाजिक बहिस्कारको प्रयास भएकोप्रति सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् भने उनीहरूको कदमलाई समर्थन गर्दै सामाजिक सञ्जालमा हजारौँ पोष्टहरू शेयर भएका छन् ।

छोरीहरूलाई काजकिरिया गर्न सापकोटा परिवारका पुरोहितले अनुमति दिएपछि उनीहरू किरिया बसेका हुन् । समाजले पुरोहितलाई पनि बहिस्कार गर्नेसमेतको धम्की दिइएपछि उनीले आफूले ‘विधी’ गराउन नसक्ने बताएपछि अर्का पुरोहितबाट काजकिरियाको काम भइरहेको उपप्रमुखको भनाइ छ । आज काजकिरियाको काम सकिँदैछ ।

नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरा र छोरीलाई समान अधिकार दिएको छ । यस्तै संहितामा छोरीले बुबाको सम्पत्ति लिन, उत्तराधिकारी बन्न र काजकिरिया गर्न बराबर अधिकार राख्नसक्ने उल्लेख गरिएको छ ।

सरकारले नेपाली भूमिको संरक्षण गरोस्: रास्वपा सांसद नेपाली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले लिपुलेक र कालापानीको भू–भाग छिमेकी राष्ट्रले प्रयोग गर्ने विषय गम्भीर भएकाले त्यस विषयमा सरकारले गम्भीर भएर देशको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले मानव तस्करीजस्तो गम्भीर विषय आउँदा ठूला पार्टीले गम्भीरतापूर्वक नलिएको उल्लेख गर्दै रास्वपाले स्वतन्त्र छानबिन समिति गठन गर्न अनुरोध गर्दा नगरेको र अहिले उपसभामुख माथि प्रहार गर्न खोजेको आरोप लगाए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रव्रबहादुर प्रधानले भिजिट भिसामा जाने व्यक्तिका विषयमा न्यायिक छानबिन गरी तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

 

उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न एमालेको माग

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आकस्मिक समयमा बोल्दै उनले नेपाली भू–भाग कालापानी र लिपुलेक हुँदै छिमेकी राष्ट्रहरुले सीमा व्यापार गर्ने विषयमा भएको सहमतिका विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

मुख्य सचेतक बर्तौलाले परराष्ट्र मन्त्रालयमार्फत भारत–चीनका विदेशमन्त्रीबीच बुधबार भारतीय विदेश मन्त्रालयमार्फत सार्वजनिक भएको धारणामा लिपुलेक र कालापानीको भूमि हुँदै सीमा व्यापार गर्ने कुराप्रति गम्भीर ध्यानाकर्षणसमेत गराए ।

‘भूगोल, अर्थतन्त्र, जनसङ्ख्यामा देशहरु सानो ठूलो हुनसक्छ तर नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो’, उनले भने, ‘देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानमा कसैबाट आघात हुने काम भएको सहन सक्दैनौँ ।’ उनले नेपालको भूमिमाथि नेपालको सहभागिता, स्वीकृति र जानकारीबिना दुई देशका विदेशमन्त्रीस्तरीय बैठकले सीमा व्यापार गर्ने विषयमा भएको सम्झौताको नेकपा (एमाले) संसदीय दलको तर्फबाट गम्भीर विरोध र असहमति जनाए ।

समानता, शसक्तिकरण र सम्भावनाका विषयमा महिला प्रहरीलाई प्रोत्साहित गर्नुपर्छः गृहमन्त्री

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले समानता, शसक्तिकरण र सम्भावनाका विषयहरुमा महिला प्रहरीलाई विशेष ढंगले प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री ले सबै स्म्भावनामा महिला प्रहरी कर्मचारीलाई समाहित गर्नुपर्ने बताए।

“सबै सम्भावनामा महिलाहरुलाई समाहित गर्न तीन ‘स’ (समानता, शसक्तिकरण र सम्भावना) को नीति अवलम्बन गरिनुपर्छ ।” गृहमन्त्री लेखकले भने–“ मुद्दा र नीतिहरुमा समावेशन गर्ने, शसक्तिकरणको अभियान सञ्चालन गर्नुपर्ने र सबै सम्भावनामा महिलालाई समाहित गरिनुपर्छ । सम्भावना अवसर हो, क्षमता प्रर्दशन गर्ने ठाउँ हो । अवसरको प्रदानता गर्ने, यी सबै कुरामा जानुपर्छ, त्यो ढंगले अगाढी बढ्न जुरुरी छ”

प्रहरीमा १२ प्रतिशत महिला कर्मचारी रहेको भन्दै उनले २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि प्रहरीमा महिलाको उपस्थिति बढेको बताए । त्यस्तै मन्त्री लेखकले नेपाल प्रहरीमा भर्ना प्रक्रियामा २० प्रतिशत महिला आरक्षणको व्यवस्था उल्लेख गर्दै उनले परिणाममा २० प्रतिशत महिलाको उपस्थिती नेपाल प्रहरीमा पु¥याउनुपर्ने बताए।

“ नेपाल प्रहरीमा भर्ना प्रक्रियामा २० प्रतिशत महिला आरक्षणको व्यवस्था छ । १२ प्रतिशत मात्रै उपस्थिती छ ।” उनले भने–“ हामीले आरक्षणमा २० प्रतिशत होइन परिणाममा २० प्रतिशत महिलाहरुको उपस्थिती नेपाल प्रहरीमा पु¥याउनुपर्छ । यो कुरामा हामी अगाढी बढौं । प्रहरी संगठनले २० प्रतिशतको आरक्षणलाई परिणाममा २० प्रतिशत बनाउन गृहकार्य आग्रह छ ।”

उनले परिणाममा महिलाको उपस्थिती २० प्रतिशत पु¥याउने विषयमा गृह मन्त्रालय र सरकारका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । “ हामी यस्तो प्रहरी संगठनको परिकल्पना गरिरहेका छौं, जहाँ महिला र पुरुष दुवै समान रूपमा सुरक्षित, समान रूपमा सशक्त र समान रूपमा उत्तरदायी हुन सकून् ।” उनले भने–“ देशको शान्ति सुरक्षा कायम राख्न महिला प्रहरीको योगदान अतुलनीय छ । यो प्रगति हाम्रो समावेशी समाजको वास्तविक प्रतिबिम्ब हो । महिला प्रहरीको निष्ठा र साहसप्रति उच्च सम्मान छ ।”


त्यसैगरी मन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानून जारी गरिनेमा प्रतिवद्धता व्यक्त गरे । “प्रहरी सम्बन्धी कानुनको नयाँ मस्यौदामा आधारभूत दर्जाका प्रहरीको २० वर्षमा निवृत्ति र पेन्सन हुने व्यवस्थालाई अब चार वर्ष घटाएर १६ वर्षमा झारिने छ,’ लेखकले भने–“ अब तल्लो दर्जा होइन प्रहरीको कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई हामीले आधारभूत तह भनेर व्यवस्था गरेका छौं ।”
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई देशका सबै जातजाती, लिंग र भूगोलको बनाइने र महिलाहरूको आरक्षणलाई थप गरिने उनको भनाई थियो ।

“नेपाल प्रहरी र सशस्त्र प्रहरीको नीतिगत र कानुनी सुधार मेरो पहिलो प्राथमिकता थियो, त्यसमा नेपाल प्रहरीको विधयेक संघीय संसदमा पेश गरेर संसदको राज्य व्यवस्था समितिमा छलफल भइरहेको थियो ।” उनले भने“ समितिमा केही जटिलता आउँदा प्रहरी कानून रोकिएको अवस्था छ ।”

यही सदनबाट प्रहरी सम्वन्धी कानून पारित गर्ने लक्ष्य रहेपनि मस्यौदा राज्य व्यवस्था समितिमै रोकिएको उनको भनाई थियो । लेखकले स्थापनाको ७४ वर्षपछि महिला प्रहरी सम्मेलन गरेर प्रहरीले एउटा इतिहास थपेको उल्लेख गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट दुई सय भन्दा बढी महिला प्रहरी कर्मचारी सहभागी थिए ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरे । “वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्नुका साथै कार्यरत कर्मचारीका लागि तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा र अन्य सेवासुविधा उपलब्ध गराउनेछ”, सम्झौतापत्रमा उल्लेख छ ।

विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा रहेका तीन सय १० वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ । बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित गरिरहेको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए।

भारत र चीनको व्यवहार स्वीकार्य छैन, प्रतिवाद गर्न तयार बनौं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौताको प्रतिवाद गर्न सबै राजनीतिक दल एकढिक्का हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिधिसभा बैठकमा बोल्दै उनले यो आपत्तिजनक र अस्वीकार्य रहेको उल्लेख गरे। ‘हाम्रा दुई छिमेकी भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीहरुले पढ्यौँ, सुन्यौँ, जान्यौँ,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टी हाम्रा यी दुई छिमेकीले गरेको व्यहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ। अस्वीकार्य छ।’

यो विषयमा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने र त्यो सन्देश दुवै छिमेकीलाई दिनुपर्ने थापाको भनाइ छ ।

‘यो विषयमा भारत र चीन दुइवटैलाई नेपालका राजनीतिक दलहरुले एक ठाउँमा उभिएर एक ढिक्का भएर एउटै सन्देश दिनुपर्ने छ-हाम्रो भूमिमाथि आँखा लगाउने कुरा हामी कसैलाई पनि स्वीकार्य छैन। नेपालले यसको प्रतिवाद गर्छ,’ थापाले भने।

उनले नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको सम्झौतामा सरकारले अढि बढाएको पहलकदमीमा सबैलाई समेटेर अघि बढ्न पनि आग्रह गरे। ‘नेपाल सरकारले यसका बारेमा जुन पहलकदमी अगाडि बढाएको छ, सबैलाई समेटेर अगाडि बढाओस् ’ थापाले भने।

यो विषयमा पहिले पनि सबै राजनीतिक दल एक ठाउँमा उभिएको र अहिले पनि उभिनुपर्ने भन्दै उनले यसलाई कसैले पनि घरेलु राजनीतिको विषय बनाउन नहुनेमा जोड दिए।

‘यो विषयमा नेपालका सबै राजनीतिक दलहरू एक ठाउँमा आएर उभिनुपर्छ, हिजो पनि उभियौँ, आज पनि हामी उभिनुपर्ने छ,’ थापाले भने, ‘हाम्रा मतमतान्तर आफ्ना ठाउँमा छन्। हाम्रा प्रतिष्पर्धा आफ्ना ठाउँमा छन्। हामी कोही पनि यो विषयलाई घरेलु राजनीतिको विषय नबनाऊँ।’

भूमि विधेयक संसदीय समितिबाट बहुमतले पारित

काठमाडौं । भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ ।  प्रतिनिधि सभाको  अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् ।

फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए ।फरकमतसहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने उनको भनाइ छ ।

तस्बिरमा हेर्नूहोस् प्रथम महिला प्रहरी सम्मेलन, सम्मानित भईन् चैतन्य माया डंगोल

काठमाडौँ । प्रथम महिला प्रहरी सम्मेलन २०८२ मा सहभागी हुन देशभरबाट महिला प्रहरीहरु काठमाडौं आएका छन् ।

सम्मेलनमा पहिलो प्रहरी महिला चैतन्य माया डंगोललाई सम्मान पनि गरिएको थियो।

तस्बिरहरु

 

 

 

 

 

 

 

 

बालबालिकालाई स्वर्णबिन्दु खुवाउन लामवद्ध सर्वसाधारण

प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङमा बिहीबार बालबालिकालाई स्वर्णबिन्दु खुवाउन लामवद्ध रुपमा सहभागी भएका सर्वसाधारणहरु ।

तस्बिरमा हेर्नुहोस् पञ्चदान पर्वको रौनक

भक्तपुर । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा भक्तपुरका नेवार समुदायको बौद्ध धर्मालम्बीहरु आज पञ्चदान पर्व मनाउदै छन् ।

नेवार समुदायका बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइ मनाउने परम्परा रहेको छ ।

आजको दिनमा अन्न, गेडागुडी फलफूल सख्‍खर पानी ९सर्वत० र औषधिको दान गर्ने गरिन्छ । दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको काठमाडौंको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट निकालिएका बुद्धलाई सूर्यमढीस्थित डबलीमा राखी स्थानीय र विभिन्न गुठिको पूजा सकेपछि नगरको परिक्रमा गराइन्छ ।

पञ्चदान दिने परम्परा अनुसार शाक्य, ब्रजाचार्य र भिक्षुलाई भिक्षा दान दिएका थिए भने पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, काँक्रो आदि गच्छेअनुसार चढाउने परम्परा छ ।

 

लिपुलेकबारे भारत र चीनको व्यवहारप्रति युवा संघको आपत्ति, भूमिको रक्षा गर्न जुनसुकै कदम चाल्न तयार

काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भारत र चीनबीच हालै लिपुलेक मार्ग हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति विरोध जनाएको छ।

बिहिवार युवा संघ नेपालका कार्यवाहक अध्यक्ष महाराज गुरुङले विज्ञप्ति जारी गर्दै नेपालको भुमिको रक्षाका निम्ति जुन सुकै कदम पनि चाल्न तयार भएको बताए ।

गुरुङले जारी गरेको विज्ञप्तिमा ऐतिहासिक अभिलेख, तथ्य, प्रमाण र नक्साका आधारमा कालापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्र नेपालको भूमि भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संलग्नता र सहमति बिना दुई छिमेकी मित्र राष्ट्रहरूले यस क्षेत्रमा कुनै पनि गतिविधि गर्नु नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रत्यक्ष उल्लङ्घन हो जुन अस्वीकार्य छ ।

यसअघि पनि सन् २०१५ मा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यसैप्रकारको सहमति हुँदा समेत नेपाललाई संलग्न नगरिएको तथ्य विद्यमान छ । भारतले २०२० मा लिपुलेक हुँदै सडक निर्माण गरेको घटनाले नेपालभित्र व्यापक असन्तोष निम्त्याएको स्मरणीय छ ।’

सरकारले निरन्तर कूटनीतिक विरोध र वार्ताको माध्यमबाट आफ्ना दाबीहरू प्रस्तुत गर्दै आएको उल्लेख गर्दै पुनः नेपाललाई बेवास्ता गरेर नेपाली भूमिको प्रयोग सम्बन्धी सहमति गरिनु मित्रतापूर्ण छिमेकी सम्बन्ध र आपसी विश्वासको भावनाको विपरीत भएको उल्लेख छ।

‘हामी नेपाल सरकारलाई यसबारे तत्काल कूटनीतिक पहल गर्न र राष्ट्रिय हित, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दछौं ।

राष्ट्रिय युवा संघ नेपाल नेपालको संविधान, ऐतिहासिक अभिलेख र जनभावनाअनुसार आफ्नो भूमिको रक्षा गर्न निरन्तर सचेत र प्रतिबद्ध छ र यसका लागि आवश्यक जुनसुकै कदम चाल्न तयार रहेको समेत जानकारी गराउँदछौँ ।’

निर्माणाधीन पक्की पुल

तनहुँको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोलामा निर्माण हुँदै गरेको पक्की पुल । पूर्वाधार विकास कार्यालय तनहुँको रु पाँच करोड ७० लाख ७३ हजारको लागतमा यहाँ पुल निर्माण कार्य भइरहेको छ ।

संघीयताले नवप्रवर्तनका योजनालाई प्राथमिकता दिएको छः मुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तन कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रमअन्तर्गत प्रादेशिक निर्देशक समितिको आज राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै उनले ती कार्यक्रममार्फत प्रदेशको समृद्धि र विकासलाई नयाँ उचाइमा पु¥याउन सकिने बताएका थिए ।

मुख्यमन्त्री आचार्यले भनेका छन्, “नवप्रवर्तनका कार्यक्रम लागू भएका पालिकाको प्रभावकारी अनुगमन गर्न जरुरी छ, अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला समन्वय महासघं, नगरपालिका महासघं र गाउँपालिका महासघंको भूमिका महत्त्वपूर्ण रहनेछ ।”

लुम्बिनी प्रदेशमा हाल सात स्थानीय तहमा नवप्रवर्तन कार्यक्रम कार्यान्वयनमा छन् । रुपन्देहीको मायादेवी गाउँपालिकामा स्मार्ट मायादेवी, बर्दियाको ठाकुरबाबा नगरपालिकामा दिगो विकास तथा हरित अर्थतन्त्रः कृषिको रूपान्तरणमा हामी सबैको साझेदारी, पाल्पाको तानसेन नगरपालिकामा तानसेन उद्यमशीलता तथा पर्यटन विकास कार्यक्रम, प्युठानको सरुमारानी गाउँपालिकामा डिजिटल विद्यालय कार्यक्रम, नवलपरासी पश्चिमको रामग्राम नगरपालिकामा पर्यटन होमस्टे प्रवद्धनसँगै उद्यमशीलता कार्यक्रम, गुल्मीको छत्रकोट गाउँपालिकामा सूचना प्रविधिमैत्री शिक्षा र रुपन्देहीकै शुद्धोधन गाउँपालिकामा विद्युतीय सुशासनका लागि ई–सिफारिस सेवा केन्द्र सञ्चालनमा छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले प्रदेश तथा स्थानीय तहको कानुन निर्माणदेखि कार्यान्वयन तहसम्म क्षमतावृद्धिका लागि गुणस्तरीय तालिम आवश्यक रहेको बताए । प्रदेश सचिव कविन्द्र नेपालले विषयवस्तु प्रस्तुत गरेका छन् भने कार्यक्रम समन्वय विश्लेषक विष्णु नेपाली र प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक उजिर न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए।

बैठकमा नवप्रवर्तन साझेदारी कोषमार्फत सञ्चालन भएका योजनालाई व्यवस्थित गर्नुपर्ने, संघीयता सुदृढीकरणलाई आधार मानेर बजेट तथा कार्यक्रम निर्माण गर्ने, सेवा प्रवाह र सुशासन प्रवद्र्धन हुनेगरी योजना अघि बढाउने, लैंगिक समानता र सामाजिक समावेशीकरणमा जोड दिने लगायतका विषयमा छलफल भएको थियो ।

जिल्ला समन्वय समिति महासघं लुम्बिनीका अध्यक्ष द्रोणबहादुर खत्री, नगरपालिका महासघं लुम्बिनीका अध्यक्ष खिलध्वज पन्थी, गाउँपालिका महासघं लुम्बिनीका अध्यक्ष विष्णुकुमार गिरी, मालारानी गाउँपालिकाकी उपाध्यक्ष दिपा पोख्रेललगायतले तीन तहका सरकारले सहकार्य, समन्वय र सहअस्तित्वको मर्मअनुसार नवप्रवर्तन कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

आर्थिक वर्ष २०८२/८३ का लागि प्रादेशिक सहयोग एकाइ र प्रदेश सुशासन केन्द्रका वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ । साथै प्रादेशिक प्राविधिक सहायता समिति गठनबारे पनि छलफल भएको थियो । कार्यक्रमको सहजीकरण उपसचिव मोहन अर्यालले गरेका थिए ।

एकवर्षमा विपद्का घटनाबाट चौध करोड बढीको क्षति

विराटनगर । विपद्सम्बन्धी घटनाबाट एक वर्षमा मोरङमा कुल रु १४ करोड ९२ लाख २९ हजार ५०० बराबरको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ४१२ वटा विपद्का घटना घटेका थिए । त्यसमध्ये सबैभन्दा बढी आगलागीका २६१ घटनामा रु १४ करोड ६५ लाख ४७ हजार ५०० बराबरको क्षति भएको छ । चट्याङका ११ घटनामा दुई महिला, एक पुरुषको मृत्यु, दुई घाइते र एक घर क्षति भई रु तीन लाख ३५ हजार बराबरको क्षति भएको उल्लेख छ ।

त्यसैगरी, डुबानका चार घटनामा रु ६५ हजार, हावाहुरीका सात घटनामा एक घर पूर्णरुपमा र २२ घरमा आंशिक क्षति हुन गई रु छ लाख ८५ हजार तथा जङ्गली जनावरका आक्रमणका ३४ घटनामा दुई महिला र दुई जना पुरुषको मृत्यु एवं रु १५ लाख ९७ हजार मूल्य बराबरको भौतिक क्षति भएको जिल्ला आपतकालीन् कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

सो अवधिमा बाढीका १० घटनामा १८७ घरमा क्षति, पहिरो एक, सर्पदंशका ४३ घटनामा चार महिला र चार पुरुषको मृत्यु, भिरबाट लडि एक जनाको मृत्यु र करेन्टका ४० घटनामा सात महिला र आठ पुरुषको मृत्यु भएको जनाइएको छ । कुल ३६ वटा चौपयाको मृत्यु भएको उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद्का घटना थाहा पाउने बित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी स्थानीयको सहयोग लिने गरको बताएका छन् ।

निजी विद्यालयका सञ्चालकहरू सडक आन्दोलनमा (तस्बिरसहित)

काठमाडौं । सिंहदरबारमा शिक्षा विधेयक पारित गर्ने कार्यसूचीका साथ संसदीय दलको बैठक चलिरहँदा निजी विद्यालयका सञ्चालकहरू सडक आन्दोलनमा होमिएका छन् ।

प्याब्सन र एन प्याब्सनको संयुक्त आव्हानमा विधेयकका केही प्रावधानमा असहमति जनाउँदै उनीहरूले आन्दोलन थालेका हुन् । माइतीघर मण्डलामा निजी विद्यालयका प्रिन्सिपलहरू व्यानरसहित भेला भएका छन् । नयाँबानेश्वर चोकसम्म न्याली निकाली पुन माइतीघर फर्किएर कोणसभा गर्ने उनीहरूको तयारी छ ।

विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही प्रावधान निजी विद्यालयमैत्री नभएको उनीहरूको भनाइ छ ।

यस्ता छन् निजी विद्यालय सञ्चालकहरुको माग
(१) “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु पर्ने ।
(२) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना – खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।
(३) कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने ।
(४) छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
(५) छात्रवृत्ति सम्वन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान – जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

बैतडीमा शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाइँदै

बैतडी । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम स्थानीय तहबाट भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकामा दर्ता शिविर सञ्चालन गरेर विवरण सङ्कलन गरिरहेको हो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तलगायतको समस्यालाई ध्यानमा राखेर राष्ट्रिय परिचयपत्रका लागि स्थानीयस्तरमा विवरण सङ्कलन थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। यसअघि विवरण सङ्कलन जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौँडीबाट हुँदै आएको थियो ।

प्रजिअ पैडेलले भनेका छन्, “सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्ने प्रक्रियालगायत विभिन्न सरकारी तथा गैरसरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । दुर्गमका नागरिकले परिचयपत्र बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । उक्त बाध्यताको अन्त्यका लागि विवरण सङ्कलनको कार्यलाई स्थानीय तहमा विस्तार गरेका हौँ ।”

उनका अनुसार शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिविरमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ ।

पालिकामा विवरण सङ्कलन गर्न सुरु भएपछि स्थानीय नागरिक उत्साहित हुँदै सहभागिता जनाइरहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताएका छन्। उनले भनेका छन्, “परिचयपत्र बनाउन हजारौँ खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय शिविरमा उपस्थित भई जानकारी उपलब्ध गराइरहेका छन् ।”

यसअघि पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा शिविरमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको थियो । पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका र सिँगास गाउँपालिकामा यथाशीघ्र शिविर सञ्चालन गरिने जिल्ला प्रशासन कार्यायलले जनाएको छ ।

पुर्चौँडी नगरपालिकामा इलाका प्रशासन कार्यालयमार्फत, दशरथचन्द नगरपालिकामा जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरण भइरहेको प्रजिअ पौडेलले जानकारी दिएका छन् । प्रशासन कार्यालयले नागरिकको सुविधालाई प्राथमिकतामा राख्दै परिचयपत्र वितरण र विवरण सङ्कलनलाई सहज र प्रभावकारी बनाउँदै आएको उनको भनाइ छ ।

जिल्लामा विसं २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न सुरु भएको थियो । राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएकाले आफ्नो नाम दर्ता गराउन जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ ।

दार्चुलामा जिप दुर्घटनाः ११ जना घाइते, चारको अवस्था गम्भीर

खलङ्गा । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ११ जना घाइते भएकामध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । उनका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका उनले जानकारी दिए।

चालकसहित ११ जना सवार उक्त जिप चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रहरी निरीक्षक रावतले यसबारे विस्तृत अनुसन्धान सुरु गरिएको उल्लेख गरेका छन् । उनका अनुसार दुर्घटनामा घाइते भएका जिपचालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु

काठमाडौँ । नेपालमा पहिलोपटक महिला प्रहरी सम्मेलन सुरु भएको छ । आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न क्षेत्रगत रूपमा प्रतिनिधित्व हुने गरी दुई सय महिला प्रहरीको सहभागी रहेको छन्।

गृहमन्त्री रमेश लेखकले आज यहाँ सम्मेलन उद्घाटन गर्दै यो सरकारका लागि मार्गदर्शक हुने विश्वास व्यक्त गरेका छन् । उनले पुरुषभन्दा महिला सक्षम छन्, भन्ने उदाहरण प्रस्तुत हुँदै आएको बताउँदै महिला प्रहरीले प्राप्त गरेका जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिरहेको समेत उल्लेख गरेका छन्।

गृहमन्त्री लेखक नेपाल प्रहरीले महिलालाई माथिल्लो तहमा पुग्नका लागि प्रेरणा दिँदै आएको बताउँदै पछिल्लो समय महिला हरेक क्षेत्रमा सक्षम रहेका धारणा राखेका छन् । विसं २०६३÷६३ को आन्दोलनपछि गणतान्त्रिक व्यवस्था र समावेशी निर्माण गर्ने चरित्र विशेषताका कारण प्रहरीमा १२ प्रतिशत महिलाको सहभागिता भएको उनले जानकारी दिएका छन् ।

समावेशी चरित्रको राज्य निर्माण गर्ने विशेषताले नागरिकलाई संविधानमा नै उल्लेख गरी धेरै अधिकार दिएको यसले पुष्टि हुने उनले बताएका हुन् । उनले आजका दिनमा नेपाल प्रहरीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरिएकाले महिलाको सहभागिता बढ्दै गएको बताए ।

गृहमन्त्री लेखकले भने, “अब आरक्षणमा २० प्रतिशत होइन, महिला प्रहरीको उपस्थिति २० प्रतिशत पु¥याउनुपर्छ, त्यसमा हामी प्रतिबद्ध छौँ, तपाईंहरू अघि बढ्नुस् मन्त्रालयको तर्फबाट पूर्णसहयोग रहन्छ ।” उनले महिलाको आरक्षण मात्रै ३३ प्रतिशत हुनुपर्नेमा जोड दिँदै यसलाई क्रमशः बढाउँदै लगिने धारणा राखेका छन् ।

पछिल्लो समय बलात्कार, यौनजन्य हिंसाका घटना बढिरहेको भन्दै त्यसमा महिला र बालबालिका बढी पीडित भएरहेका उनले जानकारी दिए। गृहमन्त्री लेखकले तीन समानताको व्यवहार, सशक्तिकरण र सम्भावनाको अवसरमा महिलालाई समाहित गर्नुपर्नेमा जोड दिएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले न्यायको पहिलो ढोका प्रहरी भएको बताउँदै महिला हरेक क्षेत्रमा काम गर्न सक्षम रहेको महिला प्रहरीले उदाहरण प्रस्तुत गरिरहेको धारणा राखेकी छिन् । विगतमा महिलाले केही गर्न सक्दैनन् भन्ने अनुमान निराधार ठहर भइसकेको उनले बताएकी छिन् । उनले अब भिभिआइपी र भिआइपीको सुरक्षामा महिलाले पनि सुरक्षा दिन सक्छन् भन्दै उदाहरण बनिदिन प्रहरी नेतृत्वलाई अनुरोध गरेकी छिन् । उनले प्रहरीमा शून्यबाट १२ दशमलव ४१ प्रतिशत महिला सहभागी हुनु गर्वको विषय भएको बताईन् ।

महान्यायाधिवक्ता रमेश बडालले यो सम्मेलनले जे पारित गर्छ, राज्यलाई त्यसले महत्त्वपूर्ण सुझाव दिने विश्वास व्यक्त गरेकी छिन्। संवैधानिक निकायमा महिला न्यायाधीशका लागि प्रसूति बिदा थिएन अहिले त्यो व्यवस्था गरिएको जानकारी दिँदै उनले कानुन विहिनताका कारणले पनि विभेद् भएको अवस्थामा विस्तारै सुधार हुँदै गएको बताएका छन् ।

अझै विभेद् भए यो सम्मेलनले औँल्याइदिए सुधार गरिने बडालले बताएका छन्। “व्यवहारको सन्दर्भमा कानुन कार्यान्वयन हुने अवस्था नभएकाले कसरी गाँठो फुकाउने भनेर सुझाव आओस्”, उनले भनेका छन् ।

महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला प्रहरीमा आउनका लागि प्रेरणा दिने किसिमका कानुन तथा नीति निर्माण गर्न सरोकार भएका निकायलाई आग्रह गरेकी छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले महिला, बालबालिका तथा जेष्ठ नागरिकविरुद्धका हिंसा वृद्धि भइरहेको उल्लेख गर्दै हिंसा अन्त्यका लागि समन्वय र सहकार्य गर्न मन्त्रालय तयार रहेको बताएकी छिन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले देशभरका महिला प्रहरी कर्मचारीहरू दर्जा, क्षेत्रगत र जिम्मेवारीगत रूपमा सम्मेलनमा सहभागी भएका जानकारी दिएका छन् । उनले सम्मेलनलाई समावेशीगत बनाउने प्रयास गरिएको उल्लेख गरेका छन् ।

सम्मेलनमा विभिन्न १० वटा कार्यपत्रमाथि छलफल हुने तथा प्यानल छलफल गरी काठमाडौँँ घोषणापत्र जारी गरिने छ । साथै महिला प्रहरीको भूमिका, स्वास्थ्य, वित्तीय साक्षरता, साइबर सुरक्षा कर्तव्य निर्वाहलगायत विषयका कार्यपत्र प्रस्तुत हुनेछन् ।

महिला प्रहरीको भूमिका, लैङ्गिकमैत्री वातावरण र कार्यस्थल, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र क्षमता अभिवृद्धि, अवसर तथा चुनौतीका विषयमा छलफल हुने प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार सम्मेलनमा समाजमा ‘रोलमोडल’का रूपमा अग्रणी भूमिकामा रहेका व्यक्ति र प्रहरीमा नेतृत्व तहमा पुगेर सेवा निवृत्त भएका, महिला कर्मचारीको हैसियतमा रहेका र विभिन्न विधामा रहेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा रहेर सेवा गरेकाहरूको अनुभव आदानप्रदान हुनेछ ।

सम्मेलनपछि जारी हुने घोषणापत्र संविधान र कानुन तथा तालुक गृह मन्त्रालयको नीति, कार्ययोजना, प्रहरीको कार्ययोजना तथा लैङ्गिक नीतिमा आधारित हुने पनि अधिकारीले बताए । हाल नेपाल प्रहरीमा १२ दशमलव ४१ प्रतिशत महिला छन् ।

शिक्षकहरु नै ब्यानर टेक्दै हिँडेपछि…

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरुका माग समावेश नगरिएको भन्दै निजि विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले आज माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले माइतीघर मण्डलामा ब्यानरसहित प्रदर्शन गरेका हुन्।

विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आआफ्ना ब्यानरसहित विरोध प्रदर्शनमा आएका थिए । उनीहरुले सडकमै ब्यानर राखेर प्रदर्शन गरेका छन् । त्यस क्रममा ब्यानर नटेक्न माइकिङ गरिएको भए पनि शिक्षकहरु नै ब्यानर टेक्दै हिँडेका थिए ।

नयाँ बानेश्वर चोकसम्म र्‍याली निकाली पुनस् माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने जानकारी दिइएको छ।

प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० प्रतिवेदनमा नीजि विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्राबधान र निजी सञ्चालकमा रहेका विद्यालयलाई क्रमशः गैर–नाफामूलक राखिएकोले त्यसलाई हटाउनु पर्ने माग गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको प्यारापिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्यारापिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले २०८१ फाल्गुन १९ गते सम्झौता गरेर २० गतेबाट काम थालनी गरेका थिए ।

४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलका अनुसार निर्माण कार्य ९५ प्रतिशतभन्दा बढी सकिएको र अब सरसफाइ, रेलिङ फिटिंग जस्ता काम मात्र बाँकी रहेको जानकारी दिए ।

१० हजार दर्शक क्षमताको यो मैदान पूर्वी र पश्चिम गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा दुई हजार २९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाए ।

फ्लड लाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको अहिले ६ वटा लाइटका लागि सबै पोलहरू ल्याइसकेको र केही दिन जडानको काम सुरु गरिने जनाएको छ ।

   

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९४ हजार ८०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार २९० मा खरिदबिक्री भइरहेको छ ।

बुधबार एक तोला सुन रु एक लाख ९३ हजार ५०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५५ मा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सिडिओले नै तीज पर्व रोक्न खोज्दा बैतडीमा झडपको स्थिति

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ गढीस्थित श्रीकृष्ण मन्दिरमा प्रमुख जिल्ला अधिकारी(सिडिओ)ले तीज मनाउन रोक लगाएपछि झडपको स्थिति सिर्जना भएको छ ।

विगत पाँच दशकदेखि सो मन्दिरमा चल्दै आएको हरितालिका तीज मनाउने परम्परा रोक्न खोज्दा बुधबार राति स्थानीयबासी र प्रहरीबीच झडप भएको हो ।

प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बुधबार राति ९ बजे मन्दिर परिसरमा प्रहरी परिचालन गरी कार्यक्रम रोक्न प्रयास गरेपछि स्थानीय आन्दोलित बनेका थिए ।

समाजसेवी मोहन थापा, महिला अधिकारकर्मी सरस्वती नेपाली, कल्पना राना, तुलसी ठगुन्ना, वडा नं–४ का अध्यक्ष भानदेव भट्ट, कार्यपालिका सदस्य दिनेश सिनाललगायतले परम्परा रोक्न नहुने भन्दै सिडिओलाई ज्ञापनपत्र बुझाए पनि अस्वीकृत भएपछि अवस्था तनावपूर्ण बनेको स्थानीयले बताएका छन् ।

महिला अधिकारकर्मी तुलसी ठगुन्नाले भनिन्, “बिगत पाँच दशकदेखि चल्दै आएको परम्परा रोक्नु गलत कदम हो । सिडिओले प्रहरी परिचालन गरेर महिलामाथि धावा बोले, यसविरुद्ध अब हामी शसक्त आन्दोलनमा उत्रिनेछौं ।”

धार्मिक क्रियाकलापमा प्रमुख जिल्ला अधिकारीले हस्तक्षेप गरेपछि असामान्य स्थिति सिर्जना हुने आशंका बढेको छ । प्रमुख जिल्ला अधिकारीको कदमविरुद्ध स्थानीय महिला समूह मात्र नभई विभिन्न राजनीतिक दलहरूले पनि आपत्ति जनाएका छन् ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी पौडेलले भने अर्को पक्षका स्थानीयबासीको मागअनुसार तीज मनाउन रोक लगाउनु परेको प्रतिक्रिया दिएका छन् ।

तीज गीतमा कृषिका कुरा

गण्डकी । तीज गीत भन्नासाथ पहिले महिलाका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यमका रुपमा बुझिन्थ्यो । तीज गीतमार्फत महिला अधिकार र मुक्तिको आवाज मुखरित गरिन्थ्यो । पछिल्लो समय महिलाका मुद्दामा मात्र तीज गीत सीमित छैन । तीजका नाममा भड्किला गीत गाउने प्रवृत्ति पनि देखिन्छ । तर पोखरामा केही वर्षयता तीज गीतलाई कृषिसँग जोडेर प्रतियोगिता आयोजना हुँदै आएको छ ।

तीजको छेको पारेर आठौँ संस्करणको ‘कृषि तीज गीत प्रतियोगिता’ बिहीबार आयोजना हुन लागेको हो । गण्डकी प्रदेशस्तरीय उक्त प्रतियोगितामा मनाङ र मुस्ताङबाहेक नौ जिल्लाका कृषक समूहले भाग लिने प्रतियोगिताका संयोजक घनश्याम पाण्डेले जानकारी दिएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रले छनोट गरेर पठाएका समूहबीच प्रतिस्पर्धा हुने उनको भनाइ छ ।

प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वय र पब्लिक फोरके टेलिभिजनद्वारा आयोजित उक्त प्रतियोगिता पोखरा उद्योग वाणिज्य सघंको सभाकक्षमा सञ्चालन हुनेछ । प्रतियोगिताका विजेता समूहले रु ५५ हजार ५५५, दोस्रो हुने समूहले रु ३३ हजार ३३३, तेस्रोले रु २२ हजार २२२ र सान्त्वना हुने समूहले रु ११ हजार १११ पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

उत्कृष्ट नृत्य र वेषभूषातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक पाण्डेले बताए। प्रतियोगितामा कलाकार राजु परियार, प्रजापति पराजुली, सशीला गौतम, राजन कार्की, सरला पाण्डेलगायको साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ । दर्शकका लागि प्रवेश निःशुल्क गरिएको छ । गत वर्षको प्रतियोगितामा बागलुङको जिल्ला कृषि सहकारी सघं विजेता बनेको थियो ।

कृषि पेसाको सम्मानसहित किसानलाई व्यावसायिक कृषिमा प्रेरित गर्ने उद्देश्यले कृषि तीज गीत प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक पाण्डेले बताएका छन्। किसानले भोग्दै आएका समस्या, गुनासा, सफलताका कथा आदि विषयवस्तुलाई तीज गीतमार्फत उठाउने गरिएको उनको भनाइ छ । तीज पर्वको अवसर पारेर पोखराका अन्य सघंसंस्थाले पनि विभिन्न मेला र उत्सवको आयोजना गरेका छन् ।

प्रचण्डसँग रविको गुनासो- गठबन्धन मप्रति अनुदार बनेन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रास्वपा सभापति रवि लामिछानेले गुनासो पाखेका छन् ।

कारागारमै भेट्न पुगेका प्रचण्डसँग रविले यो गठबन्धन आफूप्रति अनुदार नभएको गुनासो गरेका हुन् । रविलाई भेटेर भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले बिगो बुझाएर मुद्दा लड्न पाउने कुरालाई सबैले विचार गर्नुपर्ने बताए ।

प्रचण्डले भने, ‘मेरै जस्तो केसमा अरूले चाहिँ उन्मुक्ति पाउने, मेरो भन्दा गम्भीर केस भएकालाई उन्मुक्ति दिइयो, मलाई मात्रै लखेटियो भन्ने कुरा राख्नुभयो। मैले सदनदेखि सडकसम्ममा पनि बोलेको कुरा उहाँलाई थाहा छँदै थियो। अदालतले नै तोकेको बिगो बैङ्क धरौटी राखेर मुद्दा लड्छु भन्दा पनि सुविधा पाइनँ ।’

उनले थपे, ‘उहाँमाथिको विभेद कम होस्, उहाँलाई सहज वातावरण बनोस् भन्ने कुरा हो । तर मैले उहाँलाई राजनीतिक रूपमा कांग्रेस एमालेको आफूलाई गरेको व्यवहारले पार्टीलाई राम्रो फाइदा भएको बुझ्नुभएको रहेछ ।’

उनले लामिछाने आफू प्रधानमन्त्री हुँदा दुई पटक गृहमन्त्री भएको भन्दै अभिभावकको हिसाबले भेटेको बताए। लामिछाने पहिलाको भन्दा दुब्लाएको पाएको पनि सुनाए ।

अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक अमेरिकी सरकार

अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तान यात्रा नगर्न पुनः आग्रह गर्दै गम्भीर सुरक्षा खतरा र अनुचित रूपमा पक्राउ पर्ने सम्भावना रहेको स्पष्ट पारेको छ ।
मंगलबार जारी विज्ञप्तिमा अमेरिकी परराष्ट्र मन्त्रालयले अफगानिस्तानलाई उच्च जोखिमयुक्त देशहरूको सूचीको शीर्ष स्थानमा राखेको छ । मन्त्रालयले अफगान नागरिकमा अमेरिकीहरूलाई मनपरीरूपमा नियन्त्रणमा लिइने सम्भावना उच्च रहेको भन्दै विशेष खतरा सूचक (डी जोखिम संकेत) प्रयोग गरेको हो ।

यससँगै बर्मा, इरिट्रिया, इरान, निकारागुवा, उत्तर कोरिया, रुस र भेनेजुएला पनि त्यस्ता देशहरूमा परेका छन्, जहाँ अमेरिकाका नागरिकहरू जोखिममा पर्ने सम्भावना रहेको जनाइएको छ ।

खासमा प्रेसका अनुसार, तालिबान पक्षद्वारा केही अमेरिकी नागरिकहरूलाई पक्राउ गरिएको घटनापछि अमेरिकाको चिन्ता झन् बढेको छ । अमेरिकाले आफ्ना नागरिकलाई कुनै पनि हालतमा अफगानिस्तान नजान आग्रह गर्दै, यात्रा योजनामा पुनर्विचार गर्न भनिएको छ ।
मन्त्रालयले यसअघि नै अफगानिस्तानमा आतङ्कवाद, अपहरण, गृह अशान्ति र मनपरी गिरफ्तारी जस्ता बहुपक्षीय खतरा रहेको उल्लेख गर्दै यात्रा चेतावनी जारी गरिसकेको थियो । सन् २०२१ यता अमेरिकाको काबुलस्थित दूतावास बन्द भएकाले त्यहाँ कन्सुल सेवा उपलब्ध नभएको पनि स्मरण गराइएको छ ।

यसका साथै, अमेरिकाले केन्यामा पनि आतङ्ककारी हमला हुन सक्ने भन्दै आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । ती समूहहरूले होटल, बजार, धर्मस्थल, विद्यालयलगायत विदेशीहरूको आवतजावत हुने स्थानहरूमा कुनै पनि बेला आक्रमण गर्न सक्ने चेतावनी दिइएको छ ।

भारतको स्वच्छ ऊर्जा कोसेढुङ्गा तर कोइलामै निर्भरता

भारतले आफ्नो स्थापित ऊर्जा क्षमताको आधा हिस्सा गैर–जीवाश्म इन्धनबाट हासिल गरेर निर्धारित लक्ष्यभन्दा वर्षौँअघि महत्त्वपूर्ण कोसेढुङ्गा पूरा गरेको छ । तर विश्वको तेस्रो सबैभन्दा ठूलो हरितगृह ग्याँस उत्सर्जक भारत अझै पनि बिजुली उत्पादनका लागि कोइलामै गहिरो निर्भर छ ।
“यो भारतको ऊर्जा सङ्क्रमण यात्रामा ठूलो उपलब्धि हो”, नवीकरणीय ऊर्जामन्त्री प्रह्लाद जोशीले जुलाईमा तथ्याङ्क सार्वजनिक गर्दै भनेका छन्, “यो उपलब्धि भारतले पेरिस सम्झौताअन्तर्गत लिएको सन् २०३० को लक्ष्यभन्दा पाँच वर्षअघि आएको हो । सन् २०७० सम्म शुद्ध–शून्य उत्सर्जनमा पुग्ने भारतको प्रतिबद्धताको दिशामा यो एक महत्त्वपूर्ण कदम हो ।”
तर जलवायु विज्ञ अवन्तिका गोस्वामी भन्छीन्, “५० प्रतिशतको यो कोसेढुङ्गाले स्थापित क्षमतामात्र देखाउँछ, वास्तविक उत्पादन अझै पनि निकै कम छ ।”
कारण स्पष्ट छ – हाल करिब तीन–चौथाई बिजुली अझै पनि कोइला जलाउने पावर प्लान्टबाट नै आउँछ ।
– कोइला विरोधाभास –
भारतको कोइलामाथि निर्भरता अझै पनि घटेको छैन । बरु, गत वर्षमा कोइला उत्पादन पाँच प्रतिशतले बढेको छ । कोइला मन्त्रालयले भनेको छ, “कोइला अझै पनि अपरिहार्य छ ।”
यसले ऊर्जा सङ्क्रमणमा भारतका व्यावहारिक चुनौतीहरू देखाउँछ । नवीकरणीय ऊर्जामा तीव्र वृद्धि भए पनि भण्डारण क्षमताले माग धान्न सकेको छैन ।
मन्त्रालयका अनुसार कोइला क्षेत्र भारतको ऊर्जा मिश्रणमा प्रमुख योगदानकर्ता बनेको छ । यसले देशको ७४ प्रतिशतभन्दा बढी बिजुली आपूर्ति गर्छ र स्टिल तथा सिमेन्ट जस्ता प्रमुख उद्योगलाई पनि चलाइराँख्छ ।
यो निर्भरताले भारतलाई विश्वव्यापी रूपमा चुनौतीपूर्ण स्थितिमा राख्छ । समग्रमा कार्बन उत्सर्जनका लागि यो मुलुक चीन र संयुक्त राज्य अमेरिकाभन्दा पछि छ ।
यँही कारणले भारत अझै पनि विश्वको तेस्रो ठूलो उत्सर्जक बनेको छ । तर विश्लेषकहरूका अनुसार भारतको जनसङ्ख्या एक अर्ब ४० करोड भए पनि प्रतिव्यक्ति उत्सर्जन विश्वव्यापी औसतको एक तिहाइ मात्रै हो ।
सतत सम्पदा क्लाइमेट फाउन्डेसनका कार्यकर्ता हरजित सिंहका शब्दमा, “प्रतिव्यक्ति उत्सर्जन हेर्दा भारतले अपेक्षाकृत राम्रो प्रगति गरिरहेको छ ।”
भारतले सन् २०३० सम्ममा उत्सर्जन ४५ प्रतिशत घटाउने लक्ष्य लिएको छ । तर विज्ञान तथा वातावरण केन्द्रका अनुसार सन् २०४७ सम्ममा बिजुलीको माग दोब्बरभन्दा बढी हुने अपेक्षा गरिएको छ ।
– नवीकरणीय ऊर्जामा प्रगति –
भारतको ४८४.८ मेगावाट स्थापित क्षमतामध्ये आधा गैर–जीवाश्म इन्धन स्रोतबाट आएको छ ।
यसको सबैभन्दा ठूलो हिस्सा सौर्य ऊर्जाबाट छ । यो कुल ११९ मेगावाट छ जुन विश्वमै तेस्रो ठूलो हो । भारतले मरुभूमिमा विश्वकै सबैभन्दा ठूलो सौर्य र हावा ऊर्जा फार्म निर्माण गरिरहेको छ ।
यसपछि हाइड्रो, हावा र आणविक ऊर्जा छन् । तर आणविक ऊर्जाको योगदान दुई प्रतिशतभन्दा कम छ ।
तर समस्या के छ भने सौर्य र हावाबाट ऊर्जाको उत्पादन मौसम अनुसार मात्र स्थिर हुन्छ । भण्डारण क्षमता भने जम्मा ५०५ मेगावाट घन्टा छ । यो अपर्याप्त छ ।
मन्त्री जोशीले भनेका छन्, “भारत हरेक वर्ष २५–३० मेगावाट नवीकरणीय क्षमता थप्दैछ । तर भण्डारण क्षमता नभएसम्म हामी या त त्यो ऊर्जा बर्बाद गर्नेछौँ वा नवीकरणीय घट्दा फेरि कोइलामै फर्कनुपर्नेछ ।”
– भण्डारण र चीनमाथि निर्भरता –
भण्डारणका लागि आवश्यक ब्याट्री उत्पादनमा दुर्लभ धातु चाहिन्छ । यो दुर्लभ धातुको ७० प्रतिशत आपूर्ति चीनले नियन्त्रण गरेको छ । हरजित सिंह भन्छन्, “हामी अझै पनि चीनमाथि निर्भर छौँ ।”
यँही कारणले चीनका विदेशमन्त्री वाङ यीले हालै नयाँदिल्ली आएर दुर्लभ धातुको आपूर्तिबारे छलफल गरेका थिए ।
भारतले अर्को विकल्पका रूपमा पम्प–हाइड्रो भण्डारण प्रणालीमा ध्यान दिइरहेको छ । यसमा अतिरिक्त ऊर्जा प्रयोग गरेर पानीलाई माथिल्लो जलाशयमा पम्प गरिन्छ र माग बढ्दाँ बिजुली उत्पादन गर्न सो पानी प्रयोग गरिन्छ ।
– आगामी बाटो –
तर विशेषज्ञ गोस्वामी स्वच्छ ऊर्जामा सङ्क्रमणका लागि बहुआयामिक दृष्टिकोण आवश्यक रहेको बताँउछन् ।
उनी भन्छन्, “भारतको स्वच्छ ऊर्जामा रूपान्तरण बहुआयामिक हुनुपर्नेछ । कोइला प्लान्टको उत्सर्जन घटाउँदै, ग्रिडमा नवीकरणीय स्रोतलाई राम्रोसँग एकीकृत गर्न सके मात्र वास्तविक परिवर्तन सम्भव हुनेछ ।”

रवि लामिछानेलाई भेटेर नख्खु कारागारबाट फर्किए प्रचण्ड (फोटो फिचर)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर फर्किएका छन् ।

प्रचण्ड रविलाई भेट्न आज ललितपुरको नख्खु कारगार पुगेका थिए । प्रचण्ड रवि भेट्न कारगार पुगेसँगै रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि कारागार पुगेका छन् ।

रवि लामिछानेलाई भेटेपछि प्रचण्डले भने- दुब्लाउनु भएछ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन्।

केहीबेरअघि लामिछानेलाई भेट्न प्रचण्ड ललितपुरस्थित नक्खु कारागार पुगेका थिए।

लामिछानेलाई भेटेर निस्किएपछि उनले लामिछाने दुब्लाएको बताएका छन्। उनले आफू अभिभावकको हिसाबले रविलाई भेट्न पुगेको पनि बताए।

‘भरखरै रवि लामिछानेसँग भेट गरेँ, मेरो क्याबिनेटमा गृहमन्त्री पनि हो उहाँ,’ प्रचण्डले भने, ‘अभिभावकको हिसाबले उहाँको अवस्‍था बुझ्नु स्वाभाविक नै हो। भैरहवा हुँदा नै जान खोजेको, मिलेन। उहाँको भैरहवाको बसाइँको स्थिति जटिल नै रहेछ। दुब्लाउनुभएछ। यहाँ बसाइँ राम्रो भएको, खानपिन पनि राम्रो भएको भन्नुभयो। भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर यहाँको व्यवस्थापनको प्रशंसा गर्नुभयो।’

तस्बिरमा हेर्नूहोस् जनता प्रगतिशील पार्टीको बैठक

काठमाडौँ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालको बैठक बुधबार काठमाडौंमा बसेको छ ।

थापागाउँ स्थित पार्टीको केन्द्रीय कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक बसेको हो । बैठकमा गौर हत्याकाण्ड, रुपन्देही क्षेत्र न- ३ को उपनिर्वाचनको तयारी र विविध विषयमा छलफल भएको थियो ।

तस्बिरहरु :-

जापान सरकारको ३० अर्ब ८ करोड ऋण सहायता स्वीकृत

काठमाडौँ । सरकारले दुई दिनअघि (भदौ २ गते) बसेको मन्त्रिपरिषद्‌ बैठकका २५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम्‌ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन्‌ ।

सरकारले जापान सरकारबाट प्राप्त हुने करिब ३० अर्ब आठ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ ।

भदौ २ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको हो ।

बैठकले समृद्धिका लागि वन परियोजनाको अनुदान तथा ऋण सम्झौताको संशोधन स्वीकृत गरेको छ भने नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेकाले पदबाट पदमुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

त्यसै गरी थाइल्यान्डको बैंककमा भदौ १७ र १८ गते हुने हुने विश्व वित्तीय संरचनासम्बन्धी सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री आरजु राणालाई स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनले बताए ।

मन्त्रिपरिषद्ले बालश्रम(निषेध तथा नियमित गर्ने) विधेयक २०८२ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने, मालपोत (आठौँ संशोधन) नियमावली स्वीकृत गर्ने, राष्ट्रिय युवा नीति २०८२ स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ ।