`

पोखराको पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव (तस्बिरहरू)

काठमाडौँ । पोखरा महानगरपालिका–१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा दोस्रो संस्करणमो दाइँ महोत्सव गरिएको हो ।

कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरिएको छ ।

महोत्सवमा उत्कृष्ट गोरू पालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने दँदेरो प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता र गुन्द्री बुन्ने प्रतियोगितासहित दँदेरालाई टोपी वितरण र अतिथिलाई स्थानीय उपहार वितरण कार्यक्रम समावेश गरिएको छ ।

पोखरा भ्रमणमा रहेका विदेशी पर्यटकलाई दाइँ महोत्सवको अनुभव गरेका छन् ।

सरकारलाई दुर्गा प्रसाईको चेतावनी : हाम्रा माग पुरा नभए चुनाव हुँदैन

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आफूहरुको माग सम्बोधन नगरे फागुन २१ गते घोषणा गरिएको चुनाव हुन नसक्ने चेतावनी दिएका छन् ।

शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले शुक्रबार गृहमन्त्री ओम प्रकाश अर्यालसँग भएको संवादपछि आगामी मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने मिति तय भएको जानकारी दिएका छन् ।

प्रसाईंले आफूलाई गृहमन्त्रीले वार्ताका लागि बोलाएको र प्रधानमन्त्री पनि आफूले उठाएका मागप्रति सकारात्मक रहेको दाबी गरेका । उनले भने, ‘गृहमन्त्री ज्यूले बोलाउनु भयो, प्रधानमन्त्रीको तर्फबाट पनि मेरा मागहरू जनजीविकाका सवालमा महत्वपूर्ण छन् भन्ने सन्देश आएको छ । मेरो स्वास्थ्यमा केही समस्या देखिएकाले उपचार र विश्रामपछि २२ गते वार्तामा बस्ने सहमति भएको छ ।’

आफूले उठाएका मागहरू आफ्नो व्यक्तिगत नभई देश, जनता र सर्वहारा वर्गको भएको भन्दै प्रसाईंले यी माग पूरा नभए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले प्रधानमन्त्रीको टेबलसम्म आफ्ना माग पुग्नुलाई सकारात्मक रूपमा लिएको बताए । उनले आफ्ना माग सम्बोधनका लागि सरकार तयार नभए फागुन २१ गते घोषणा भएको चुनाव हुन नसक्ने चेतावनी समेत दिए । उनले भने, ‘दुर्गा प्रसाईले आन्दोलन रोकिहाल्यो भनेर ढुक्क नपर्नुस्, माग पुरा नभए चुनाव हुन दिंदैनौं कसरी गर्नु हुन्छ चुनाव ?’

आगामी मंसिर २२ गते प्रधानमन्त्रीसँग वार्ताको मिति तय भएको जानकारी दिँदै प्रसाईंले यदि उक्त वार्ताबाट निकास ननिस्किए आफूहरु आन्दोलनमा उत्रिने बताए । पत्रकार सम्मेलनका क्रममा फागुन २१ गतेको समय सीमा र सम्भावित राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नमा प्रसाईंले भने, ‘फागुन २१ गते सरकारले चाह्यो भने हुन्छ, चाहेन भने चुनावै हुँदैन । सरकारले चाह्यो भने जनमत संग्रह पनि हुन्छ ।’ प्रसाईंले व्यक्तिको परिवर्तनले मात्र समस्या समाधान नहुने भन्दै अहिलेको व्यवस्था नै खराब रहेको दाबी गरे ।

हेर्नुस् यस्ता छन् प्रसाईंका माग ?
१. वित्तीय संस्था, सहकारी र लघुवित्तबाट कालो सूचीमा परेका साना तथा ठूला व्यवसायी र यातायात व्यवसायीहरूलाई तत्काल कालो सूचीबाट हटाउनुपर्ने। साथै, बैंकले सकार्ने गैर–बैंकिङ सम्पत्तिहरूको बेचबिखन हाललाई रोक्नुपर्ने र ऋणीलाई थप कालो सूचीमा राख्न नपाइने ।
२. अर्को व्यवस्था नभएसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३५ दिने लिलामीको सूचना प्रकाशित गर्न नपाउने ।
३. यातायात व्यवसायीका गाडीहरू बैंकले तानेर थन्क्याउँदा बिग्रिने अवस्थामा पुगेको भन्दै ऋण पुनर्संरचना गरेर व्यवसायीलाई नै गाडी चलाउन दिनुपर्ने ।
४.लघुवित्त र सहकारीका कर्मचारीहरू घर–घरमा गएर पैसा उठाउने र मानसिक तनाव दिने कार्य तत्काल बन्द गर्नुपर्ने ।
५. काठमाडौं उपत्यकामा रहेका भूमिहीन सुकुम्बासी र कवाड व्यवसायीहरूलाई दीर्घकालीन विकल्प नदिएसम्म उनीहरूको व्यवसाय र बासस्थानमा डोजर चलाउन नपाइने ।
६. जेनजी विद्रोह र प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने, झुटा मुद्दा फिर्ता लिनुपर्ने र थप पक्राउ गर्न नपाइने ।

७. बैंक र व्यवसायी एउटै घरानाको हुँदा स्वार्थ बाझिएको भन्दै यसलाई कानुनी रूपमै छुट्याउनु पर्ने (बैंकरले व्यवसाय गर्न नपाउने, व्यवसायीले बैंक चलाउन नपाउने) ।
८. सेना, प्रहरी, जवान र निजामती कर्मचारीको तलब हाललाई कम्तीमा २० हजार रुपैयाँले वृद्धि गर्नुपर्ने ।
९. कारागारमा रहेका कैदी बन्दीको सिदा (रासन) भत्ता महँगी अनुसार अहिले अपुग भएकोले दैनिक ९६ रुपैयाँबाट बढाएर २०० रुपैयाँ पुर्‍याउनु पर्ने । साथै जेलभित्र काम गर्ने बन्दीलाई बिदाको सुविधा दिनुपर्ने ।
१०. हिन्दू अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको विषयमा जनमत संग्रह गरिनु पर्ने ।
प्रसाईंले यदि आफूहरुको माग पूरा नभए देशमा चुनाव हुन नसक्ने चेतावनी दिए । उनले भने, ’यी मागहरू पूरा भएनन् भने ८४ को चुनाव ८२ मा गराउने सपना नदेख्दा हुन्छ । माग पूरा नभए आन्दोलन रोकिँदैन ।’
उनले आफू व्यक्तिगत रूपमा ब्ल्याकलिस्टमा नपरेको र आफ्नो ६० बिघा जग्गा तथा सम्पत्ति भएको बताउँदै गरिब र निमुखा जनताका लागि सडकमा आएको जिकिर गरे ।

देउवासँग आज पनि कार्यवाहक सभापति र दुई महामन्त्रीको छलफल

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर उत्पन्न भएको विवाद चुलिँदै जाँदा पार्टी सभापति शेरबहादुर देउवा लगातार तेस्रो दिन पनि शीर्ष पदाधिकारीसँग गहन छलफलमा जुटेका छन् । नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने निर्णयमा मतैक्य नजुटेपछि देउवा पक्ष र महामन्त्रीहरूबीच संवादको शृङ्खला झन् तीव्र बन्दै गएको छ ।

शनिबार दिउँसो २ बजे देउवाको महाराजगञ्जस्थित निवासमै कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्मासहित पदाधिकारीहरूबीच फेरि छलफल बस्नेछ । २८ असोजदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका निष्कर्षमा पुर्‍याउन नसकेपछि समस्या समाधानलाई शीर्ष तहकै संवादमार्फत टुंग्याउने प्रयास भइरहेकामा यद्यपि ठोस सहमति बन्न सकेको छैन ।

देउवा पक्ष नेताहरू प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गरेर पार्टीलाई ‘अव्यवस्थित’ बनाउनु नहुने तर्क राख्दै आएका छन् । तर सभापति देउवा भने पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने पक्षमा देखिएका छन् । उता दुई महामन्त्रीले समय अभावका कारण नियमित महाधिवेशन गर्न नसकिने परिस्थिति आए विशेष महाधिवेशन अपरिहार्य हुने जिकिर गरिरहेका छन् ।

शुक्रबारको छलफलमा देउवा नेताहरूबीचको अनावश्यक तानातानप्रति रोष प्रकट गरेको एक पदाधिकारीले बताएका छन् । उनका अनुसार देउवाले आफू नेतृत्व छाड्न तयार भइसकेको अवस्थामा पनि नेताहरू ‘नियमित कि विशेष’ भन्ने नाममा विभाजित हुनु खेदजनक भएको टिप्पणी गरेका थिए । पुस मसान्तभित्र महाधिवेशन सक्ने संकल्पसहित अगाडि बढ्नु पर्ने उनको जोड रहेको स्रोत बताउँछ । लगातार तीन दिनदेखि चल्दै आएको संवादले अब समाधानतर्फ उन्मुख भएको दाबी समेत पदाधिकारीहरूको छ । शनिबारभित्रै सहमति टुंग्याउने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।

काठमाडौंबाट नजिकै रहेको ‘लाङटाङ पदमार्ग’ (तस्बिरहरू)

काठमाडौं। ‘लाङटाङ पदमार्ग’ काठमाडौंबाट नजिकैको पदमार्ग हो । यहाँबाट मनमोहक हिमशृङ्खलाको अवलोकन  गर्न सकिन्छ ।

असोज र कार्तिक  महिना पदयात्राको लागि राम्रो सिजन मानिन्छ । यही सिजनमा  यो पदमार्गमा विदेशीहरू भन्दा बढी नेपालीहरू  भेटिन्छन् ।

लाङटाङ खोला सँगसँगै अघि बढ्छ लाङटाङ पदमार्ग बीचबीचमा भेटिने अनुपम झरना, हिमश्रृङ्खलाले पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई आकर्षित गरी रहेको हुन्छ।

काठमाडौंबाट नजिक पर्ने पदमार्ग भएकाले पनि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको हो । नजिकैबाट प्राकृतिक सौन्दर्य अवलोकन र अनुभूत गर्नका लागि लाङटाङ पदमार्ग प्रसिद्ध रहेको छ ।

क्यामेराका लेन्सले  सुन्दर हिमाल, झरना, नदीनाला र प्राकृतिक सौन्दर्य  कैद गर्दै यात्रा गर्नु यस पदमार्गको अर्को पक्ष रहेको छ ।

‘एकैपटक आधा दर्जन हिमशृङ्खलाहरूको अवलोकन गर्न पाइने,  क्यान्जी गुम्बाबाट वरिपरि हिउँले ढाकेका हिमाल हेर्न पाइयो र सहज पदमार्ग र बसोबासका लागि पर्याप्त होटलहरू भएकाले पनि यस पदमार्गमा आन्तरिक र बाह्य पर्यटकहरूको आवागमन उस्तै देखिन्छ ।

काठमाडौंबाट जानका लागि भने बालाजु माछापोखरीबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनमा जान सकिन्छ ।

माछापोखरीमा बिहान ६ बजेदेखि ९ बजेसम्म सार्वजनिक बस पाइन्छ । बालाजु, कलंकी, थानकोट, गल्छी, नुवाकोट धुन्चे हुँदै ६–७ घण्टामा स्याफ्रुबेँसी पुगिन्छ । त्यसपछि सुरु हुन्छ पैदलयात्रा ।

स्याफ्रुबेँसीबाट ३ घण्टाको पैदल यात्रापछि ब्याम्बोमा बास बस्न सकिन्छ । तर, समय रहेमा लामा होटल वा रिभरसाइडमा गएर बास बस्दा उपयुक्त हुन्छ ।

भोलिपल्ट उकाली ओराली गर्दै लाङटाङ वा क्यान्जिङ गुम्बा पुगिन्छ । यात्रामा लाङटाङ खोलाले साथ छोड्दैन । पहाडको चेपबाट झरिरहेका झरना, चराचुरुङ्गीको चिरबिरचिरबिर आवाजले मन शान्त बनाउँछ ।

यसरी अर्को दिन बिहानै क्यान्जिङ उपत्यकाबाट क्याजिङ री जान सहज हुन्छ । कतिपय भने क्यान्जिङ पुगेपछि यलापिक अथवा सेर्गोरीतर्फ जाने गर्दछन् ।

पोखराविरूद्ध लुम्बिनीले जित्यो टस, दुबै टोलीमा यी खेलाडी परिवर्तन

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) को पहिलो खेलमा पोखरा एभेन्जर्सविरूद्ध लुम्बिनी लायन्सले टस जितेको छ । दुई टोलीबीच बिहान साढे ११ बजे खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ गर्ने भएको हो ।

लुम्बिनीले अघिल्लो खेलबाट आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । पोखराले भने दुई खेलाडी परिवर्तन गरेको छ । लुम्बिनीका थोमस ड्राकाको स्थानमा निरोसन डिकोवेल्ला सुरुवाती ११ मा आएका छन् । पोखराको आकाश चन्द र डेनियल डाउथवेट आजको खेलमा बेन्चमा छन् । उनीहरूको स्थानमा अविशेष तिवारी र म्याट टेलर सुरुवाती ११ मा आएका छन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । लुम्बिनीले ४ खेल खेलिसक्दा पोखराले ३ खेल खेलेको छ । दुवैले एक–एक खेल मात्रै जितेका छन् ।

लुम्बिनी लायन्सको कप्तानको जिम्मेवारी रोहित पौडेलले सम्हालेका छन् । यस टोलीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन् ।

पोखरा एभेन्जर्स कप्तानी कुशल भुर्तेलले गर्नेछन् । टोलीका खेलाडीहरूमा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन् ।

अमेरिकाले रोक्यो विदेशीलाई शरण दिनेसम्बन्धी सबै निर्णय

काठमाडौं । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वाशिङटन डीसीमा नेशनल गार्डका दुई सदस्यमाथि भएको गोली प्रहारको घटनापछि ट्रम्प प्रशासनले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी सबै फैसलामा रोक लगाउने घोषणा गरेको हो ।

अमेरिकी नागरिकता एवं आप्रवासन सेवा (यूएससीआईएस) का निर्देशक जोसेफ एडलोले एक्समा पोस्ट गरेर यसबारे जानकारी दिएका छन् । एडलोले पोस्टमा भनेका छन्, ‘अमेरिकी नागरिकको सुरक्षा सधैँ सबैभन्दा पहिलो आउँछ ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका देशका अमेरिका आउन नदिने अभिव्यक्ति दिएको केही घण्टापछि एडलोले शरण नदिने सम्बन्धी घोषणा गरेको बीबीसीले जनाएको छ । बुधबार वाशिङटन डीसीमा ह्वाइट हाउस नजिकै नेशनल गार्डका दुई सदस्यमाथि गोली प्रहार भएको थियो । गोलीबाट गम्भीर घाइते भएकामध्ये एक गार्डको मृत्यु भएको थियो । यस घटनामा संलग्न रहेको आशंकामा अफगान नागरिकलाई पक्राउ गरिएको छ ।

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ : कार्की सरकार गठन ओलीको सिफारिसमा आधारित

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठनको विवाद चुलिँदै गएको बेला राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफ सार्वजनिक भएको छ । राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको निर्णय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिस र सहमतिमा आधारित रहेको स्पष्ट पारिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट पठाइएको जवाफमा संविधानको मर्मअनुसार, असाधारण परिस्थितिमा राजनीतिक स्थिरता र राष्ट्रिय एकता मजबुत बनाउन चुनावी सरकार गठन गरिएको उल्लेख छ । राष्ट्रपति कार्यालयका सचिव डा. दीपक काफ्लेले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा राजनीतिक दलहरू र सरोकारवालासँग व्यापक परामर्श गरेर राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेको भनिएको छ ।

प्रधानमन्त्री ओलीले भने आफूले कार्कीलाई प्रधानमन्त्री बनाउने सिफारिस गरेको दाबीलाई बारम्बार अस्वीकार गर्दै आएका छन् । उनले सरकार गठन प्रक्रिया नै संवैधानिक हैसियतविहीन रहेको तर्क गर्दै सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।

तर राष्ट्रपति कार्यालयले भने कार्की नेतृत्वको सरकार गठनको उद्देश्य ६ महिनाभित्र नयाँ प्रतिनिधिसभा निर्वाचन गराउने तयारीलाई सहज बनाउनु रहेको स्पष्ट गरेको छ । ओलीको लिखित सहमति बिना यस्तो संवैधानिक कदम चालिन नसक्ने भन्दै कार्यालयले प्रतिवेदनमा उल्लेख गरेको स्रोतहरूको भनाइ समावेश गरिएको छ ।

यस विषयमा सर्वोच्च अदालतमा दायर १६ वटा रिटको एकै पटक सुनुवाइ हुँदैछ । संसद विघटन र चुनावी सरकार गठन दुवैको कानुनी वैधता के हो भन्ने विवादमा संवैधानिक इजलासले १२ कात्तिकमा सबै सरोकारवालाबाट लिखित जवाफ मागेको थियो ।

पत्रकार आचार्यको दुर्घटनामा मृत्यु

सुर्खेत । कालिकोटका पत्रकार वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा मृत्यु भएको छ । उनी प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष समेत हुन् ।रेडियो तिला आवाजका स्टेसन म्यानेजर आचार्य चढेको स्कुटरलाई सुर्खेतको वीरेन्द्रनगर–२ वडा कार्यालय अगाडि शुक्रबार साँझ मोटरसाइकलले ठक्कर दिएको थियो ।

मुलपानीबाट भुरेलीतर्फ गइरहेको यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले आचार्य चढेको स्कुटरलाई ठक्कर दिएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते आचार्यको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शाही पनि घाइते छन् । टाउको र शरीरका विभिन्न भागमा चोट लागेको शाहीको स्वास्थ्य मध्यम छ ।

नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको दाबी गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले मुलुक संकटमा भएको अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक भएको बताएका हुन् ।

उनले एकताबद्ध भएर अगाडि बढ्दा संकट पार लाग्ने बताए। ‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ ।’ महासचिव पोखरेलले भने, ‘यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ । अघि बढौं–सम्भव छ ।’

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ गते काठमाडौं उपत्यकामा हुँदैछ । महाधिवेशनका लागि आज एकै दिन देशभर प्रतिनिधि चयन हुँदैछ । एमालेले सकेसम्म सर्वसम्मत र सहमति हुन नसकेका स्थानमा मतदानमार्फत प्रतिनिधि चयन गर्दैछ ।

दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’ का संयोजक दुर्गा प्रसाईंले आज (शनिबार) पत्रकार सम्मेलन गर्दैछन् ।
यसअघि हिजो प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सिंहदरवारमा भएको उक्त भेटवार्ता यही मंसिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईंले जानकारी दिएका छन् ।

उनले भने, ‘मुख्य गरी हाम्रो मागका विषयमा छलफल भयो, अब मंसिर २२ गते फेरि छलफल गर्ने सहमति भएको छ ।’ संयोजक प्रसाईंले गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विषयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताएका थिए ।

पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिइन्

रुपन्देही । पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिएकी छन् । बाटोसम्बन्धी विवादका क्रममा उनीमाथि गाउँकै महिलाहरुले कुटपिट गरेको बताइएको छ ।

राप्ती गाउँपालिका–७ मा छलफलको क्रममा थारुले एक महिलामाथि जाइलागेपछि पूर्व सांसद थारुमाथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले जानकारी दिएको छ ।

आफूमाथि कुटपिट तथा हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिएकी छन् । सांसद बन्नकै लागि कहिले थरुहट पार्टी त कहिले एमाले पार्टीमा पुग्ने उनी अहिले राजावादी आन्दोलनमा सक्रिय छन् ।

गंगाले भनिन्, ‘माओवादी कार्यकर्ताले कुटेका हुन्, मैले चिनेको छु सबैलाई, बाटोमा समस्या समाधान गर्न गएकी थिएँ, घुँडामा चोट लागेको छ, मंगलसुत्र लुटेर लगेका छन्, प्रहरीमा जाहेरी दिएकी सिसहनियामा अस्थायी प्रहरी चौकीमा उजुरी दिएकी छु ।’

प्रहरी चौकी सिसनियामा वरिष्ठ असई रकमबहादुर खड्काले जग्गाको सीमाना विवादमा गंगा र छिमेकीबीच विवाद भएको र हात हालाहाल भएको घटनामा दुवै पक्षबाठ ठाडो निवेदन आएको जनाए ।

नेकपाको आज दाङमा एकता सन्देश सभा

रूपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शनिबार) लुम्बिनी प्रदेशअन्तर्गत दाङको देउखुरीस्थित लमहीमा एकता सन्देश सभा गर्दैछ ।

नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज यहाँ कार्यक्रम गर्न लागिएको हो । शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो । आजको सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, भीम रावल, वर्षमान पुनलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

लमही बजारभित्र बगैँचामा हुने कार्यक्रमको तयारी तीव्र बनाइएको आयोजकले बताएको छ । प्रदेशका विभिन्न जिल्लाबाट नेता–कार्यकर्ता आउने क्रम जारी छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दर्जन घटक मिलेर बनेको नेकपाले सांगठानिक गतिविधिलाई देशव्यापी रूपमा अभियानमा लगेको छ ।

देशैभरबाट आज एमाले महाधिवेशन प्रतिनिधि छानिँदै

काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशन नजिकिँदै गर्दा देशभरका संगठनहरू आज प्रतिनिधि चयन प्रक्रियामा जुटेका छन् । केही जिल्लामा सर्वसम्मतिको आधारमा प्रतिनिधि टुंगो लागिसकेको छ भने धेरै स्थानमा उम्मेदवार संख्या तोकिएको कोटाभन्दा बढी भएपछि निर्वाचनमार्फत छनौटको तयारी भएको छ ।

शुक्रबार साँझसम्म सर्वसम्मत चयनका लागि केन्द्रीय नेतृत्वबाट अन्तिम प्रयासका निर्देशन दिइएका थिए । सहमति नजुटेपछि आज निर्वाचनबाटै प्रतिनिधि छान्न स्थानीय कमिटीहरू अग्रसर भएका छन् । संगठन विभागले केही दिनअघि नै ५ बुँदे निर्देशन जारी गर्दै प्रतिनिधि चयनको समय सार्न नपाइने र शनिबारभित्रै प्रक्रिया सम्पन्न गर्नुपर्ने स्पष्ट गरिसकेको थियो ।

महाधिवेशनका लागि छानिनुपर्ने प्रतिनिधिको नामावली पठाउने अन्तिम म्याद सोमबार निर्धारित छ । अहिले एमालेका ६ लाख ६७ हजार ६३० संगठित सदस्यबाट करिब २२ सय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यस पटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक युवा प्रतिनिधि अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले महाधिवेशनमा नयाँ पुस्ताको सहभागिता बढाउने अपेक्षा गरिएको छ ।

देशभरका जिल्ला, पालिका र तल्ला संगठनमा आजको दिन प्रतिनिधि छनौट प्रक्रिया अत्यन्तै व्यस्त र निर्णायक बन्न पुगेको छ । महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा, सहमतिको प्रयास र निर्वाचन प्रक्रियाले एमाले संरचनामा चहलपहल थपिएको छ ।

बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २ मा कर्णाली याक्समाथि विराटनगरले रोमाञ्चक जित हात पारेको छ । कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

विराटनगरका लागि बसिर अहमदले उत्कृष्ट ब्याटिङ गरे । बसिर ४३ बलमा ६२ रन बनाएर अविजित रहे । लोकेश बम ६, जर्ज मुन्से ०, साम हिजलेट १६, शाहिल पटेल १९, मार्चेन्ट डि लिङ २, नारायण जोशी २५ र प्रतिश जिसी ६ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले दुई÷दुई तथा पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एक÷एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनायो । कर्णालीका लागि ओपनर प्रियांक पन्चालले सर्वाधिक ६३ रन बनाए । मार्क वाट ६ र गुल्सन झा २० रनमा आउट भए ।

विलियम वोसिष्टो ४८ र नजिबुल्लाह १२ रनमा अविजित रहे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक÷एक विकेट लिए ।

अब कसरी सल्टेला कांग्रेसमा महाधिवेशनको ‘किचलो’ ?

काठमाडौं । नेपाली कांग्रेसभित्र महिनौंदेखि महाधिवेशन विवाद सुल्झिनुको सट्टा झनझन जटिल बन्दै गएको छ । सभापति शेरबहादुर देउवा स्वयं सक्रिय भएर नेताहरूलाई एक ठाउँमा ल्याउन खोजिरहे पनि न त सहमतिको सूत्र भेटिएको छ, न त असन्तुष्ट पक्षको अडान नै कमजोर भएको छ । उल्टै, संस्थापन र इतर पक्षबीचको दूरी झन बढेको छ । त्यसमाथि देउवा निकट नेताहरू नै दुई धारमा विभाजित हुँदा कांग्रेस नै सग्लो रहन्छ कि रहँदैन भन्ने चिन्ता बढाएको छ ।

देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र आफू नजिकका अन्य नेतासँग निरन्तर छलफलमा छन् । सहमति नजुटेपछि आज उनले कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि समेतलाई बोलाएर अर्को ‘रेस्क्यु डायलग’ प्रयास गरेका थिए । तर प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कुनै टुंगो लागेको छैन-बरु देउवाले विशेष महाधिवेशन अस्वीकार गरिसकेको तथ्य मात्र स्पष्ट बन्दै गएको छ । महत भन्छन्, ‘अब हुनुपर्ने नियमित महाधिवेशन हो, विशेष महाधिवेशनको सम्भावना सकियो ।’

तर यही बिन्दुमै गगन–विश्व पक्ष कतै झुक्ने पक्षमा छैन । उनीहरू कार्यतालिका होइन–‘विशेष महाधिवेशन नै’ माग्दै अडानमा उभिएका छन् । देउवाले विशेष महाधिवेशन माग आत्मसात गर्न कार्यतालिका देखाएर समय धकेल्न खोजेको आशंका उनीहरूको छ । उनीहरू ठोकुवा गर्छन्–अब नियमित महाधिवेशनको गुञ्जायश टरेको छ, एक मात्र बाटो विशेष महाधिवेशन नै हो ।

यो रस्साकस्सीबीच देउवा निकट नेताहरूमै विभाजन देखिनु कांग्रेसका लागि अर्को समस्या भएको छ । चुनावअघि महाधिवेशनमा जान नसकिने भन्ने प्रमुख पदाधिकारीहरू एक छेउ उभिए भने, पहिलेदेखि महाधिवेशन माग्दै आएका २८ केन्द्रीय सदस्य अर्को छेउ । आज त उनीहरूले बानेश्वर र कुपण्डोलमा बेग्लाबेग्लै भेला गरी आ–आफ्नै निष्कर्ष निकाले । एकले ‘चुनावअघि महाधिवेशन असम्भव’ भने, अर्कोले ‘तुरुन्त मिति घोषणा गर’ भन्दै दबाब दिए ।

यसबीच, देउवा–गगन संवाद भने रोचक मोडमा पुगेको छ । महामन्त्री गगन थापाले देउवालाई दुई विकल्प दिएका छन्-‘कि ओलीझैं मैदानमा उत्रनुस्, नत्र ‘पिसफुल एक्जिट’ लिनुस् ।’ गगनले केपी ओलीको उदाहरण दिंदै भने, ‘ओली फ्रन्टमा उत्रे, महाधिवेशनमा पार्टीलाई लगे, अध्यक्षमा नै प्रतिस्पर्धा गर्दैछन् । तपाईंले त्यो मौका गुमाउनु भयो । अझै पनि मैदानमा आउन सक्नु हुन्छ-हामी प्रतिस्पर्धा गर्छौं ।’

उनले पर्दा पछाडि बसेर निर्णय रोकेकाले पार्टीलाई झनै जटिल बनाएको आरोप पनि लगाए । संवादमा गगनले ‘बटमलाइन’ प्रष्ट राखे-‘पुस २७ मा नियमित महाधिवेशन, नभए पुस २८ मा विशेष महाधिवेशन ।’ संस्थापन पक्षले भने विशेष महाधिवेशन नगर्ने आधारमा धेरै विकल्प राखे, तर गगन–विश्व पक्ष लचक नहुने पक्षमा देखिएका छन् ।

रविमाथि भएको अन्यायविरुद्ध लड्न रास्वपामा आएको हुँ : पूर्व एआईजी पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पार्टी सभापति रवि लामिछानेमाथि भएको अन्यायविरुद्ध लड्न आएको बताएका छन् ।

आज रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको बताएका छन् । उनले भने, ‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न डराउँदिनँ । मैले रास्वपाका अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।’

भदौ २४ गतेको जेनजी आन्दोलनमा मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू दुलोभित्र पसेको तर रास्वपाका सभापति लामिछानेलाई जनताले काँधमा बोकेर बाहिर ल्याएको उनको भनाई थियो । रास्वपा प्रवेश गर्दै पोखरेलले मुलुकको समृद्धि र सुशासन कायम गर्ने पार्टी रास्वपा मात्रै भएको दावी गरे । उनले जनताको आशा र भरोसा बोकेको पार्टीको सदस्यता लिन पाउँदा आफूलाई खुशी लागेको पनि बताएका छन् ।

 

गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नागरिक बचाउ महाअभियानका संरक्षक दुर्गा प्रसाईंबीच वार्ता जारी छ । उनीहरूबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको हो ।

सामाजिक शान्ति खलल गरेको आरोपमा प्रसाईंलाई यसअघि प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतले छाड्ने आदेश दिएपछि उनी छुटेका थिए । त्यसअघि उक्त अभियानले आन्दोलनको घोषणा पनि गरेको थियो ।

छुटे लगत्तै उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालले आग्रहपछि आन्दोलन स्थगित भएको बताएका थिए । उनी मंसिर ७ गतेदेखि ७ दिन हिरासत बसेर निस्किएका हुन् । मंसिर ६ गते राति सरकार र प्रसाईंको अभियानका प्रतिनिधिबीच वार्ताबाट निकास खोज्ने सहमति भएको थियो ।

 

पाटन दरबार क्षेत्रमा हप्तामा २ दिन सवारीसाधन चलाउन नपाइने

काठमाडौँ । ललितपुर महानगरपालिकाले शनिबारदेखि साताका २ दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त (भेहिकल फ्री) घोषणा गरेको छ ।

मेयर चिरिबाबु महर्जनका अनुसार ‘पाटन पाइलै पाइलामा’ भन्ने अभियान अन्तर्गत गाडी छिर्न नदिने निर्णय गरिएको छ । भेहिकल फ्री कार्यक्रम चरणबद्ध विस्तार गरिने समेत उनले जानकारी दिए । उनले हरेक नगरवासीसँग सहयोगको अपेक्षा गरिएको समेत बताए ।

पहिलो चरणमा शनिबार र बुधबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सवारीसाधन रोकिने भएको छ । यसलाई लगातार दुई महिना परीक्षण गरी थप समय र दिन विस्तार गरिने समेत महानगरले जनाएको छ ।

पहिलो चरणमा १३, १७ र २० मंसिरमा सवारी रोकिँदै छ । सोही महिना २४ र २७ गते भने बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने छ ।

दोस्रो चरणमा ५, ९ र १२ पुसमा गाडी निषेध गरिने छ । सोही महिनाको १६ र १९ गते बिहान ८ देखि राति ७ बजेसम्म सवारी रोकिने भएको छ ।

महानगरका अनुसार आकस्मिक सेवाका सवारीसाधन बाहेक सबै सवारी रोकेर यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने भएका छन् ।

 

 

स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटघाट भएको छ ।

मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबीचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

भेटमा मन्त्री गौतमले नेपाल–भारतबीचको सम्बन्ध गहिरो रहेको र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। साथै उनले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताईन् ।

राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्व दोहोर्याउँदै राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिका लागि भवन निर्माण, आवश्यक उपकरण र जनशक्तिको तालिममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं । ओपनर प्रियांक पन्चालको अर्धशतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६० रनको योगफल खडा गरेको हो ।  कर्णालीका ओपनर पन्चालले सर्वाधिक ६३ रन बनाए । उनले ४७ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । प्रतियोगितामा पन्चालको यो दोस्रो अर्धशतक हो । पन्चालले यसअघि चितवन राइनोजविरुद्ध ९० रन बनाएका थिए ।

२३–१ को स्थितीबाट पन्चालले विलियम बोसिस्टोसँग ९६ रनको साझेदारी गर्दै कर्णालीको इनिङ सम्हालेका थिए । बोसिस्टो ४८ रनमा अविजित रहे । उनले ४८ बलमा दुई चौका प्रहार गरे ।

एनपीएलको दोस्रो संस्करणमा शतक बनाउने पहिलो ब्याटर बनेका मार्क वाट भने आजको खेलमा ६ रनमै पभेलियन फर्किए । गुल्सन झाले १० बलमा २०० को स्ट्राइकरेटसहित २० रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे ।

विराटनगरका मर्चेन्ट डी लिंगे र कप्तान तथा मार्की सन्दीप लामिछानेले समान एक विकेट लिए ।

कर्णालीको यो चौथो खेल हो । कर्णालीले यसअघि चितवन राइनोजसँग चार विकेटको हार बेहोरेको थियो । यस्तै, कर्णालीले लुम्बिनी लायन्सलाई नौ विकेटले पराजित गर्दा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रन र चितवन राइनोजसँग चार विकेटको हार व्यहरेको छ ।

यता विराटनगरको भने पाँचौँ खेल हो । विराटनगरले यसअघि पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाण्डू गोर्खाजलाई पाँच विकेट र जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको थियो । तर, चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि टिमको अपराजित यात्रामा ब्रेक लागेको थियो ।

एनपीएलमा दोहोरो अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने प्रियांक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा दाहोरो अर्धशतक हान्ने तेस्रो खेलाडी कर्णाली याक्सका प्रियांक पञ्चाल बनेका छन् । सिजनको १६ औं खेलमा उनले विराटनगर किङ्ग्सलाई लक्ष्य प्रस्तुत गर्ने क्रममा अर्धशतक पूरा गरेका हुन् ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको कर्णालीबाट पञ्चालले ४२ बलमा ५० रन बनाए । उनले यसक्रममा चार चौका र एक छक्का प्रहार गरे । प्रतियोगिताको दोस्रो संस्करणमा पन्चालको यो दोस्रो अर्धशतक हो । पन्चालले यसअघि चितवन राइनोजविरुद्ध ९० रन बनाएका थिए ।

उनी जारी सिजनको दोस्रो सर्वाधिक रन जोड्ने ब्याटर पनि हुन् । दोहोरो अर्धशतक प्रहार गर्ने पोखरा एभेन्जर्सका कुशल भुर्तेल हुन् ।

पोखराका कप्तान कुशलको नाममा छटौं र १० औं अर्धशतक छ । छटौं खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कुशलले एनपीएलको १० औं अर्धशतक प्रहार गर्न ३२ बलमा ५३ रन जोडे ।

त्यस्तै, सिजनमा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गर्ने खेलाडी चितवनका रवि बोपारा हुन् । उनको नाममा सिजनको तेस्रो, आठौं र ११ औं अर्धशतक छ ।

जारी सिजनमा शतक प्रहार गर्ने एक मात्रै खेलाडी कर्णाली याक्सका मार्क वाट हुन् । सातौं खेलमा उनले लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङ गर्ने क्रममा ४४ बलमा अविजीत ११४ रन बनाए । उनी यो सिजनको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैन: संयोजक प्रचण्ड

 काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो दाबी गरे । उनले आफूहरु निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रुपमा स्थापित गर्न एकतावद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान समेत गरे।

आफूहरु उमेरले ७० वर्ष कटेपनि जेन-जेड पुस्ताभन्दा कम सक्रिय नरहेको टिप्पणी गरे। संयोजक दाहालले सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रुपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिवद्ध रहेको पनि बताए ।

उनले भने, ‘उमेरले ७० कटेपनि हामी जेनजीभन्दा कम सक्रिय छैनौं । हामी जेनजीभन्दा कम खटेका छैनौं । अब सुदूरपश्चिममा नेपाली कम्युनिष्ट पार्टीलाई एक नम्बर बनाउन कसैले रोक्नै सक्दैन । यो पार्टीलाई एक नम्बर बनाएर नयाँ इतिहास रच्ने अवसर गुम्न नदिनुहोला । सुदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौं ।’

उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग पार्टी प्रतिवद्ध रहेको पनि बताए ।

 

‘मिसन २०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सामग्री हस्तान्तरण

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा आयोजना हुन लागेको २०औँ एसियाली खेलकुदका लागि खेलाडीहरूलाई प्रशिक्षण सामग्री (किट) हस्तान्तरण गरेको छ ।

स्वर्णसहित दोहोरो अङ्कको पदक लक्ष्य राखेर अघि बढाइएको ‘मिसन २०२६’ कार्यक्रमअन्तर्गत आज कभर्ड हलमा आयोजित कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले खेलाडीहरूलाई किट हस्तान्तरण गरे ।

सदस्य–सचिव घिसिङले खेलाडीहरूलाई आवश्यक प्रशिक्षण सामग्री प्रदान गर्दै आगामी एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाइने बताए ।

उनका अनुसार खेलकुद संरचना, प्रविधि र वैज्ञानिक प्रशिक्षण प्रणालीलाई सुदृढ गर्दै नेपालले २०२६ को खेल मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखिएको बताए ।

कार्यक्रममा प्रशिक्षक, खेलाडी तथा राखेपका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

पूर्व एआइजी पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश (तस्बिरहरु)

काठमाडौँ । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

पार्टी कार्यालय बनस्थलीमा शुक्रबार भएको एक कार्यक्रममा पोखरेल रास्वपा प्रवेश गरेका हुन् ।

पोखरेलले २०७७ मंसिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा दिएका थिए । पोखरेललाई रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीमा स्वागत गरे ।

१५ वाम घटक मिलाएर रेकर्ड बनाइसक्यौं, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

कैलाली । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ वाम घटकलाई एक ठाउँमा ल्याएर नयाँ रेकर्ड बनाएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले वामपन्थी एकताको आवश्यकतामा जोड दिँदै भने, ‘हाम्रो ध्यान एमालेतिर पनि छ । एमालेभित्रका सबै वामपन्थी, देशभक्त र क्रान्तिकारीहरूलाई पनि यही पार्टीमा केन्द्रित हुनुपर्छ भन्ने हाम्रो दृढ मान्यता हो । सबैलाई अट्न सक्ने भएकाले नेपाली कम्युनिष्ट पार्टी गठन गरेका हौं ।’

प्रचण्डले अब पार्टीमा कुनै माओवादी वा एकीकृत समाजवादी नछुटेको दावी गरेका छन् । उनले एमालेभित्र रहेका क्रान्तिकारी कार्यकर्ताहरूलाई गहिरो रुपमा सोच्न र एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । धनगढीमा पहिलो पटक आयोजित सन्देश सभामा प्रचण्डले आर्थिक व्यवस्थापनको चुनौती समेत औंल्याए । उनले भने, ‘आजको सभा पहिले जस्तै ठूलो रकम खर्च गरेर आयोजना गर्न नसकिएकाले जनताको उपस्थिति कम हुन सक्छ भन्ने चिन्ता थियो । विगतमा यस्ता सभामा ठूलो खर्च हुन्थ्यो, तर यस पटक केन्द्रबाट कुनै रकम पठाउन सकिएन।’

उनले सुरक्षा व्यवस्थालाई पनि चुनौतीपूर्ण बताएका छन् । ‘धनगढीमा केही दिनअघि अन्य पार्टीका कार्यक्रममा व्यवधान आएको खबर हामीले सामाजिक सञ्जालबाट देखेका थियौं । तर यहाँका नेता–कार्यकर्ताले ती सबै चुनौतीहरूको बलियो उत्तर दिनुभयो र सभा सफल बनाउनु भयो’, प्रचण्डले भने । नेपाली कम्युनिष्ट पार्टीले देशका सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने योजना बनाएको छ ।

 

एमालेका यी सात पदाधिकारी ओलीको पक्षमा उभिए

काठमाडौं । नेकपा एमालेका सात वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् । आज (शुक्रबार) भएको अनौपचारिक छलफलपछि उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले सामूहिक निर्णय गरेका हुन् ।

स्रोतका अनुसार, यी नेताहरूले मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिलाई ध्यानमा राख्दै पार्टी एकताको पक्षमा योगदान गर्न सबैसँग आग्रह गरेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार, उनीहरूले नेतृत्व निर्माणका लागि सर्वसम्मतीको पहल गर्ने र सहमतिमा आधारित स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्ने निर्णय पनि गरेका छन् । एमालेको आगामी ११औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै यी सात पदाधिकारीले अध्यक्ष ओलीको नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गर्न योगदान दिने निष्कर्ष निकालेका छन् ।

उनीहरूले दुवै पक्ष—ओली र ईश्वर पोखरेलसँग नियमित छलफलमा रहेर सहमतिमा आधारित नेतृत्व निर्माणको औचित्य कायम रहेको पनि बताएका छन् । नेताहरूले पार्टीमा अराजनीतिक वा अस्वस्थ अभिव्यक्तिहरू नदिन दुवै पक्षलाई आग्रह गर्ने सहमति पनि गरेका छन् । यसरी उनीहरूले एमालेभित्रको मध्यमार्गी र एकताप्रतिको दृष्टिकोणलाई बल दिँदै, पार्टीको सुदृढीकरण र राष्ट्रिय नेतृत्वको स्थायित्व सुनिश्चित गर्न आफ्नो भूमिका निर्वाह गर्ने योजना तय गरेका छन् । यस निर्णयसँगै, अध्यक्ष ओलीको नेतृत्वलाई बल पुगेको छ भने पार्टीभित्र सहमति र स्वस्थ प्रतिस्पर्धा कायम राख्ने प्रयास पनि जारी रहने देखिन्छ ।

हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु

एजेन्सी। हङकङमा दशकौँपछि भएको सबैभन्दा भीषण आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार ९४ पुगेपछि बेपत्ता आफन्त खोज्दै असह्य पीडा बीच परिवारजन अस्पताल-अस्पताल धाइरहेका छन् । उत्तरी ताई पो जिल्लास्थित वाङ फुक कोर्टमा बुधबार दिउँसो लागेको आगो केही मिनेटमै द्रुत गतिमा फैलिँदै आठवटै आवासीय भवनलाई ३६ घण्टाभन्दा बढी समयसम्म जलेका खण्डहरमा रूपान्तरित गरिदियो ।

अधिकारीहरूले आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु गरेका छन्, जसमा भवनहरूलाई घेरेर निर्माणाधीन बाँसको मचान र प्लास्टिकको जाल सुरक्षाका लागि जोखिमकारक भएको आशंका गरिएको छ । शुक्रबार बिहानसम्म खोज तथा उद्धार टोलीले जलेका भवनहरूबाट लगातार कालो झोलामा शवहरू निकालिरहेका थिए । एएफपीका प्रतिनिधिहरूले छोटो समयमै धेरै शव निकालिएको देखेको उल्लेख गरेका छन् ।

थुप्रै परिवारका सदस्यहरू अझै बेपत्ता रहेकाले सारासिनहरू अस्पतालमा भीड बढिरहेको छ । सा टिन अस्पतालमा भेटिएकी ३८ वर्षीया महिला ‘वोङ’ आफ्नी बहिनी र उनकी जुम्ल्याहा बहिनीको खोजीमा रुँदै ‘अहिलेसम्म कुनै जानकारी पाउन सकिएन, हामी दिनदिनै विभिन्न अस्पताल पुगिरहेछौँ’ भन्दै दुःख व्यक्त गरिन् ।

अस्पतालहरूमा ५० जनाभन्दा बढी उपचाररत छन्, जसमा १२ जनाको अवस्था अत्यन्त गम्भीर र २८ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताए । प्रत्यक्षदर्शीहरूका अनुसार आगो एक भवनमा लागेको केही मिनेटमै अर्को-अर्को ब्लकमा फैलिएको थियो ।

अग्नि सेवाले एस्टेटका सबै फ्ल्याटहरूमा प्रवेश गरी खोजी कार्य सकिने बताएको छ । शुक्रबार बिहान पनि परिसरबाट सेतो धुवाँ निस्किरहेकाले आगलागीको पूर्ण नियन्त्रणमा समय लागेको देखिन्थ्यो । करिब दुई हजार एकाइमध्ये केहीमा मात्र आगो नियन्त्रणमा आएको थियो ।

सन् १९४८ पछि हङकङमा भएको यो सबैभन्दा घातक आगलागी हो । त्यसबेला कम्तीमा १३५ जनाको मृत्यु भएको थियो । पछिल्ला वर्षमा सुरक्षा उपाय कडा बनाइएकाले यस्ता दुर्घटना धेरै कम भएका भए पनि यस प्रकरणले पुनः सुरक्षा प्रणालीबारे कठोर प्रश्न उठाएको छ ।

यसैबीच, भ्रष्टाचार विरोधी निकायले परिसरमा भइरहेको नवीकरण कार्यको अनियमितता बारे अनुसन्धान सुरू गरेको छ । प्रहरीका अनुसार आगलागीको सम्भावित कारण बन्नसक्ने तरल सामग्री लापरवाहीपूर्वक छोडिएको आशंकामा तीन जनालाई पक्राउ गरिएको छ । केही बासिन्दाले आगो लाग्दा फायर अलार्म नबजेको र घर-घर दौडेर आफूहरूलाई एक-आपसमा चेतावनी दिनुपरेको गुनासो गरेका छन् ।

हङकङ सरकारले पीडित सहयोगका लागि ३० करोड हङकङ डलरको राहत कोष स्थापना गरेको छ । प्रभावितहरूका लागि अस्थायी आवास, आपतकालीन सहयोग, निःशुल्क मनोवैज्ञानिक परामर्श तथा स्वास्थ्य सहायता उपलब्ध गराइएको छ ।

अनेक समुदायले सहयोग अभियान सञ्चालन गरिरहेका छन् । नजिकैका सार्वजनिक चोकमा कपडा, खाना, औषधि र दैनिक आवश्यक वस्तुहरूका केन्द्र स्थापना गरिएको छ । सहयोग यति धेरै आएपछि आयोजकहरूले थप राहत सामग्री हाललाई आवश्यक नभएको अपिल गर्नुपरेको थियो ।

माधव नेपालको निर्देशन : संकटमा प्रचण्ड र मैले खेलेको भूमिका जनतासम्म पुर्‍याउनुस्

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टी नेता–कार्यकर्तालाई आफू र प्रचण्ड प्रधानमन्त्री भएका समयमा गरेका कामदेखि हालसम्म खेलिएको राजनीतिक भूमिकालाई जनतामाझ पुर्‍याउन निर्देशन दिएका छन् । धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नयाँ पुस्तालाई सही राजनीतिक दिशा दिन नेताहरूले आफ्ना कामबारे पारदर्शी रूपमा जनतासामु जानुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री नेपालले विशेषतः जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटका क्षणहरू स्मरण गर्दै आफू र प्रचण्ड राष्ट्रपति कार्यालयमै बसेर रातभर देशलाई जोगाउने प्रयासमा सक्रिय रहेको दाबी गरे । उनले भने, ‘राष्ट्रपतिले हामीलाई सम्झनु भयो, अरू नेताहरूको अत्तोपत्तो थिएन । हामी पुग्यौं, देशलाई संकटबाट जोगाउन भूमिका खेल्यौं ।’

उनले हालका प्रधानमन्त्रीलाई पनि निष्पक्ष चुनाव गराउन प्रोत्साहन प्रदान गरिएको उल्लेख गर्दै सबै नेता एउटै ढर्राका नभएको, राम्रो सोच र काम गर्ने नेतृत्व पनि देशमा रहेको स्पष्ट पार्न आग्रह गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले आफू मात्रको प्रशंसा चाहने प्रवृत्तिले राजनीतिमा नकारात्मक प्रभाव पार्ने टिप्पणी गरे । सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो शक्ति बन्ने विश्वास समेत व्यक्त गरे ।

सोही सभामा नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको मार्गचित्र तयार पारिसकेको उल्लेख गरे । वर्तमान दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण र अपराधीकरण हावी भएकाले देश कुशासन र भ्रष्टाचारको चपेटामा परेको उनको तर्क थियो ।
‘अहिले देशमा कुशासन र भ्रष्टाचार व्याप्त छ । यसलाई अन्त्य गर्ने जिम्मा हाम्रो पार्टीले लिनेछ’, उनले भने, ‘राजनीतिमा लाग्नेहरूमा इमानदारी, समर्पण र देश बनाउने हुटहुटी नहुँदा विकास थिलथिलो भएको हो । हामीलाई देश र जनताको चिन्ता छ, त्यसैले स्वच्छ राजनीतिको नेतृत्व हामीले गर्नुपर्छ ।’

नेपालले एकीकृत पार्टी बनेपछि सबै नेताले सबैको कामको प्रचार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार जनतामा सकारात्मक सन्देश पुर्‍याउन र देशलाई सही दिशामा डोर्याउन नेतृत्वको सामूहिक भूमिकाबारे जानकारी फैलाउनु आवश्यक छ । उनले नयाँ पुस्ता-विशेषतः जेन जेडलाई निराशाबाट उठाएर सकारात्मक राजनीतिक सहभागितातर्फ प्रेरित गर्न पनि पार्टी प्रतिबद्ध रहेको बताए ।

जेन्जी आन्दोलनका सहिद ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी

दोलखा । दोलखाको बिगु गाउँपालिका–३ बुलुङकी दिलकुमारी बुढाथोकीको बाँच्ने आधार नै टुटेको छ । स्तन क्यान्सर भएका कारण आमाको उपचारका लागि पठाओ चलाएर खर्च जुटाउँदै आएका महेश बुढाथोकीको जेन्जी आन्दोलनमा निधन भएपछि पुत्रशोकले दिलकुमारीका आँखा ओभानो छैनन् भने अब उनको उपचार खर्च जुटाउने आधार पनि समाप्त भएको छ ।

छोरा बितेपछि आमा दिलकुमारी हरेक रात र दिन रोएर बित्ने गरेको छ । उनी भन्छिन‍्, “छोरा कतिबेला आमा भन्दै छोरा आउँछ झैँ लाग्छ, बितेको विश्वास लाग्दैन ।”

‘पठाओ’ गरेर क्यान्सर भएकी आफ्नी आमाको उपचारको खर्च जुटाउँदै आएका २२ वर्षीय महेशको गत भदौ २४ गते कोटेश्वरमा नेपाल प्रहरीको गोली लागेर मृत्यु भएको थियो । महेशका बुबा केशव भन्छन्, “छोराले १२ उत्तीर्ण सकेको थियो, युरोप जाने सपना देखेको थियो, युरोपको माल्टा जाने भनेर ५० हजार रूपैयाँ मेनपावरलाई बुझाएको पनि थियो र अहिले फुर्सद भएको समयमा आमाको उपचारलाई खर्च जोहो गर्न पठाओ चलाउने गथ्र्याे तर छोराको न युरोपको सपना पूरा भयो, न आमाको उपचार पूरा गर्ने सपना पूरा भयो, हाम्रो त सबैथोक सकियो, बेसहारा भयौँ ।”

महेशका बुबा केशव १० वर्षअघि दोलखाको दुर्गमगाउँ बुलुङबाट आफ्नो कलिला दुई छोराहरूको सुनौलो भविष्य बोकेर काठमाडौँमा छिरेका थिए । गहभरि आँसु पार्दै उनी भन्छन्, गाउँमा बाँदर र भालु आतङ्कले बस्ने अवस्था भएन, जति खेती किसान गर्दा पनि परिवार पाल्न धौधौ भएपछि काठमाडौँ आइयो । तर आज यो अवस्था देख्नुपर्यो ।’’ आफू अनपढ भए पनि भारी बोक्दै छोरालाई १२ कक्षासम्म पढाएको बताउँदै उनी भन्छिन्, “अब म बा आमालाई सुख दिन्छु भन्थ्यो, अब युरोप जान्छु धेरै पैसा कमाउँछु अनि काठमाडौँमा घरघडेरी किन्छु भन्ने यसका ती सबै कुरा सपना जस्तै हराएर गए ।”

हाल केशव काठमाडौँको सुकेधारास्थित एक ग्यास डिपोमा ग्यास झार्ने र चढाउने काम गर्छिन् । उनको महिनाको रु १५ हजार तलबले न काठमाडौँको ठाउँमा परिवार पााल्न पुग्छ न छोराछोरी पढाउन नै । उनी भन्छन्, “घरको मियो भाँचियो, अब कसको साहाराले बाँच्ने ? श्रीमती पनि बिरामी छिन्, उनको उपचार खर्च कसरी जुटाउने ? अर्काे छोरा सानै छ ।”

भदौ २४ गतेको दिन स्मरण गर्दै दिलकुमारी भन्छिन‍्, ‘‘एक हजार लिएर आमा म स्कुटी सर्भिसिङ गरेर आउँछु है भनेर गएको थियो तर छोरा फर्केन, छोराको श्वास भेट्न सकिन्छ कि भनेर आफैं किष्ट मेडिकल कलेज पुगेँ, त्यो बेला यसको निधन भइसकेको रहेछ ।’’ उनी भन्छिन‍्, ‘‘घरको सबै काम गर्ने उही महेश थियो । लुगाधुने, खाना पकाउने, औषधि ल्याउने, खुवाउने काम गर्न रमाउँथ्यो ।’’ अहिले पनि छोरासहित बसेको घरमा बस्न गाह्रो भएपछि छोराको याद कम होला कि भनेर केशवको परिवार केही पर कोठा सरेर बसेको छ ।

मृतक महेशले नै आफ्नै भाइलाई २३ गतेको आन्दोलनमा धेरै मान्छे मरेको र २४ गते झन् समस्या हुनसक्ने र काम गर्न नजानु भन्दै २३ गते बेलुकी सम्झाएको बुबा केशव बताउँछन् । उनी भन्छन‍्, ‘‘भाइलाई सम्झायो तर आफूले छोडेर गयो । म बिहानै काम गर्न जाने भएकाले त्यस दिन छोरासँग भेट हुन पाएन एकैपटक छोरा मरेको खबर पाएँ, मैले केही सोच्न सकिनँ ।’’

महेशको कोटेश्वरमा प्रहरीको गोली लागेपछि मृत्यु भएकै अवस्थामा एक स्थानीय व्यापारीले उनलाई किस्ट मेडिकल कलेज लगेका थिए । छोरा अस्पतालमा छ भन्ने खबर पाएलगत्तै महेशका बुबा आन्दोलनका कारण गाडी नचलेकाले सुकेधाराबाट तीन घण्टा लामो हिँडेर किस्ट मेडिकल अस्पताल पुगेका थिए, उनी पुग्दा महेशको मृत्यु भइसकेको थियो । बुढाथोकी परिवारलाई राज्यले रु १५ लाख दिएको भए पनि अन्य कतैबाट खासै सहयोग र सद्भाव पनि नआएको उनको भनाइ छ ।

भीम रावलको चेतावनी : हेलिकप्टरबाट भाग्नेहरूलाई अब जनताले जवाफ दिनेछन्

कैलाली । नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी निर्वाचनलाई लक्षित गर्दै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । पार्टीको सुदूरपश्चिमस्तरीय एकता सन्देश सभालाई शुक्रबार सम्वोधन गर्दै उनले ‘जनतामा धम्की र डर फैलाउने शैली अपनाउने नेताहरूबाट सचेत हुनुपर्ने समय आएको’ बताएका हुन् ।

रावलले जेनजी आन्दोलनका बेला तात्कालीन प्रधानमन्त्री ओलीले सुरक्षा परिषद्को बैठक पनि बोलाउन नसकी बालुवाटारबाट हेलिकप्टर चढेर भागेको दाबी गर्दै अहिले भने भक्तपुरमा बसेर जनता धम्क्याइरहेको आरोप लगाए । उनले भने, ‘भक्तपुरको कुनामा बसेर जनतालाई थर्काउनेहरूलाई अब रोक्ने जिम्मा जनताकै हो, नेपाली कम्युनिस्ट पार्टी त्यसका लागि तयार छ ।’

नेता रावलले अन्तरिम सरकारलाई निशाना बनाउँदै चुनावका लागि निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न ‘बाहिर रहेका गोली–गठ्ठा’ तत्काल नियन्त्रणमा लिन आग्रह गरे । उनले जेनजी र युवाहरूको आन्दोलनका वास्तविक आवाजलाई पार्टीले राजनीतिक दस्तावेज र कार्यनीतिमा समेट्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसै क्रममा उनले आगामी प्रतिनिधिसभा निर्वाचन-फागुन २१ वा अन्य कुनै मितिमा-जो पनि तय भए, नेपाली कम्युनिष्ट पार्टी देशको ‘प्रमुख राजनीतिक शक्ति’ बन्ने विश्वास व्यक्त गरे । सुदूरपश्चिम प्रदेशका विकास चुनौती र जनसमस्यामा पार्टी जिम्मेवारीपूर्वक उभिने आश्वासन दिँदै उनले भने, ‘सिचाँइ आयोजना, नदी व्यवस्थापन, कृषि, रोजगारी-सबै क्षेत्रमा हामी दृढतापूर्वक तपाईहरूको साथमा रहनेछौं ।’ रावलले विगतमा पनि जनताले नेकपालाई ठूलो विश्वास दिएको तर सो विश्वास जोगाउने जिम्मा केपी ओलीले निर्वाह गर्न नसकेको आरोप समेत लगाए । अब उनले जनभावनालाई मूल केन्द्रमा राखेर पार्टी एकीकृत शक्ति रूपमै अघि बढ्ने बताए ।

 

चार वर्षे कार्यकाल पूरा गरी बिदा भए राखेपका सदस्य सचिव घिसिङ (तस्बिरहरु)

काठमाडौं।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ तथा राखेप बोर्ड सदस्यहरूको सम्मानसहित बिदाइ गरिएको छ ।

नेपाल सरकारले २०७८ साल मंसिर १३ गते नियुक्त भएका उनी आफ्नो चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका छन् ।

टंकलाल घिसिङ तथा राखेप बोर्ड सदस्यहरू बिदाइ आज काठमाडौंस्थित त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा गरिएको थियो ।

र उक्त कार्यक्रम मा ‘मिशन–२०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरूलाई किट्स वितरण  समेत गरिएको थियो ।

कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै, बिराटनगरको टोलीमा तीन खेलाडी परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्दैछ । कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै विराटनगर किंग्सलाई बलिङको निम्तो दिएका हुन् । कर्णालीले यसअघिको खेलबाट एक परिवर्तन गरेको छ । विकेटकिपर ब्याटर अर्जुन घर्तीको ठाउँमा ब्याटर दीपक डुम्रेलाई पहिलो रोजाइमा खेलाएको छ । विराटनगरले भने ३ परिवर्तन गरेको छ ।

सूर्य तामाङ, नरेन भट्ट र सुशभ रन्जानेको ठाउँमा साहिल पटेल, सुवाश भण्डारी र शेहान जयासूर्यलाई राखिएको छ । विराटनगर किंग्स ४ खेलमा ३ मा जित र एकमा हार व्यहोर्दै ६ अंकका साथ दोस्रो स्थानमा छ । कर्णाली ३ खेलमा २ मा हार र एकमा जित निकाल्दै २ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

कर्णाली याक्सको टोली –सोमपाल कामी, पवन सर्राफ, दिपक डुम्रे, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विलियम वसिस्टो, नजिबुल्लाह जड्रान र प्रियांक पञ्चाल।

विराटनगर किंग्सको टोली –सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अह्मद, नारायण जोशी, सुवास भण्डारी, साहिल पटेल, सेहान जयसूर्य, हेनरी जर्ज मुन्से, साम हिजलेट र मर्चेन्ट डि लाङगे ।

‘उज्यालो नेपाल पार्टी’ द्वारा निर्वाचनमा उम्मेदवार बन्न आवेदन आह्वान

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ । सो पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरुले आगामी मंसिर २९ गतेभित्र आवेदन दिन आग्रह गरेको हो ।

निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्न सक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले जानकारी दिए ।
उनले भने, ‘उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्न सक्ने व्यक्तिहरुबाट उम्मेदवारीको लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गर्दछ ।’

आवेदन दिँदा आफूले उठन चाहेको निर्वाचन क्षेत्र उल्लेख गर्न पनि सो पार्टीले भनेको छ । प्रवक्ता थापाले उम्मेदवारी दिँदा उज्यालो नेपाल बनाउने मार्गचित्रसहितको उम्मेदवारलाई प्राथमिकता दिइने बताए । उज्यालो नेपाल पार्टी मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । आज पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा सभा हुने जानकारी गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि उर्जामन्त्री मन्त्री कुलमान घिसिङ रहने छन् । सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ ।

पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौं । हामीसँग उज्यालो सपनालाई साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ । आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ ।’ उज्यालो नेपाल पार्टी, समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको जनाइएको छ । जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समृद्ध राष्ट्र निर्माणार्थ परिणाममुखी संवादमार्फत एकजुट हुन हार्दिक आह्वान गरेको छ ।

युद्धका बेला एक क्वीन्टलको बम खसाले पनि क्षति नहुने अण्डर ग्राउण्ड बनाएका थियौं : दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरु रहेको पनि स्मरण गरे ।

आफूले भारतमा रहेर नेपालको क्रान्तिका लागि पत्रकारिता गरेको समेत बताएका छन् । उनले अहिले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको बताए । युद्धताका मायाप्रसाद शर्मा जाजरकोटको जिल्ला इन्चार्ज रहेको र उक्त जिल्लामा आफूहरु लुक्नका लागि एक क्वीन्टलको बम खसालेको खण्डमा पनि क्षति नहुने गरी अण्डर ग्राउण्ड हल बनाएर बसेको बताए ।

उनले भने, ‘यहाँ नेपालमा वैधानिक ढंगले चलेका पत्रपत्रिका र पत्रकारलाई पनि ठूलो यातना दिइयो । दमन भएको थियो । यो सबैको वियोगबाट प्राप्त भएको नेपालको गणतन्त्र, संघीयता यी सबै विषयमा हामी आफूलाई यिनै उपलब्धीहरुको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको हुन्छ । त्यो प्रेरणा हामीले लिइरहनु पर्छ । त्यो क्रममा धेरै साथीहरुले ज्यान गुमाउनु भयो । राजनीतिक जीवनको यात्रामा राजनीतिक जिम्मेवारी लिए पनि दण्डपाणि न्यौपाने उहाँ पनि बेपत्ता हुनुभयो । हामी पारसमणि भन्थ्यौँ त्यो बेलामा अहिले मायाप्रसाद भनेर चिन्नुहुन्छ । उहाँ इन्चार्ज हुनुहुन्थ्यो त्यो जिल्लामा । त्यो बेलामा एक क्वीन्टलको बम माथिबाट खसाले पनि क्षति नहुने खालको अण्डर ग्राउण्ड हल बनाएका थियौँ ।’ अध्यक्ष दाहालले पुस्तक युद्ध पत्रकारिता युद्धको ऐना भएको जिकिर गरे ।

साताको शेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता शेयर रु ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबरमा कारोबार भएको छ । मङ्गलबारबाहेक सबै दिन कारोबार रकम रु छ अर्बभन्दा बढी रह्यो भने मङ्गलबारको कारोबार रु पाँच अर्बमा सीमित रह्यो ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ विन्दुमा पुगेको थियो । सो दिन एक करोड २३ लाख ७६ हजार ४७१ कित्ता शेयर रु छ अर्ब १९ करोड १८ लाख ८० हजार ९९६ मा किनबेच भएका थिए । सामूहिक लगानी समूहबाहेक अधिकांश उपसूचक बढे । सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड सात दशमलव ५६ प्रतिशतले घटेर सर्वाधिक गुमाउने समूहमा प¥यो ।

त्यस्तै सोमबार नेप्से परिसूचक ५० दशमलव ४४ अङ्कले उकालो लागेर दुई हजार ६५० दशमलव ६६ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड ३१ लाख ७८ हजार ६७६ कित्ता शेयर रु छ अर्ब ९८ करोड तीन लाख ६६ हजार ७४३ मा कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स रु २४ करोड ८१ लाख ५१ हजार ५४६ को कारोबारसहित शीर्ष स्थानमा रह्यो । झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेक इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । मविलुङ इनर्जी लिमिटेड चार दशमलव ४४ प्रतिशतले घट्यो ।

मङ्गलबार नेप्से पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार ६५५ दशमलव ९९ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड १३ लाख ९९ हजार ४१० कित्ता शेयर रु पाँच अर्ब ७७ करोड २३ लाख ६७ हजार २९ मा कारोबार भयो । विकास बैङ्क, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटे भने अन्य समूह बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै एक दशमलव ४१ प्रतिशतले उकालो लाग्यो ।

कारोबारको तेस्रो दिन बन्दीपुर केबलकार रु २६ करोड ९९ लाख ९७ हजार ६४९ को कारोबारसहित अग्रस्थानमा रह्यो । झापा इनर्जीमा पुनः १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी र श्रीनगर एग्रोटेक इन्डस्ट्रीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड चार दशमलव ९६ प्रतिशतले घट्यो ।

त्यस्तै बुधबार नेप्से नौ दशमलव ६१ अङ्कले बढेर दुई हजार ६६५ दशमलव ६० विन्दुमा पुगेको थियो, जुन अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशत वृद्धि हो । सो दिन एक करोड २३ लाख ३१ हजार ७९१ कित्ता शेयर ९० हजार ७८२ पटकको कारोबारमार्फत रु छ अर्ब ६३ करोड ३९ लाख ४८ हजार ९३६ मा किनबेच भयो । वित्त, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बिमा समूहका उपसूचक घटे भने अन्य उपसूचक बढे । होटल तथा पर्यटन समूह शून्य दशमलव ९९ प्रतिशतले वृद्धि भएको थियो ।

बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर रु ६२ करोड ४३ लाख ४३ हजार २१५ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई पुनः सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक, रिभरफल्स पावर र माहुली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए भने बोटलर्स नेपाल (बालाजु) तीन दशमलव ९४ प्रतिशतले घट्यो ।

साताको अन्तिम दिन बिहीबार पनि नेप्से बढेर साताभरिको कारोबार सकारात्मक रह्यो । नेप्से १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७८ दशमलव शून्य तीन विन्दुमा पुगेको थियो । बिहीबार कुल एक करोड ३७ लाख १३ हजार २५६ कित्ता शेयर रु छ अर्ब ५९ करोड २७ लाख ७२ हजार ४८३ मा कारोबार भयो ।

सागर डिस्टिलरीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्डस्ट्री, झापा इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीको लाभ कमाए । हिमस्टार ऊर्जा कम्पनी सर्वाधिक घट्ने कम्पनी बन्यो । बैङ्किङ समूहको उपसूचक एक दशमलव ४९ प्रतिशतले बढेर सबैभन्दा बढी उकालो लाग्यो ।

बजार निरन्तर उकालो लागिरहेको अवस्थामा निकट भविष्यमा आउने मौद्रिक नीतिको समीक्षाले नेप्सेको गतिमा प्रभाव पार्ने देखिन्छ । हाल ब्याजदर न्यून र तरलता पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन । यस्तो अवस्थामा लगानीकर्ताको मनोभाव मिश्रित देखिन्छ ।

यस्तोमा लगानीकर्ताको मनोबल बढाउन नियामक स्पष्टता, कर्जा विस्तारमा प्रोत्साहन, पुँजीबजारमैत्री प्रावधान आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ । साथै आगामी निर्वाचनको वातावरण स्थिर र सकारात्मक बन्दै जाँदा आर्थिक गतिविधि बढ्ने र यससम्बन्धी नीति सकारात्मक भए यसले बजारमा मनोवैज्ञानिक ऊर्जा थप्ने जानकारहरू बताउँछन् ।

ब्याटिङमा चितवनको लय गुम्दा काठमाडौंको जित

काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा तेस्रो जित निकालेको छ । काठमाण्डूले शुक्रबार चितवन राइनोजविरुद्ध ५३ रनको सहज जित निकालेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर १ बलमामा सबै विकेट गुमाउँदै ८९ रनमा समेटिएको हो ।

जारी सिजनमा चितवनको यो दोस्रो हार हो । यस टिमले अघिल्ला ३ खेलमा विराटनगरका बोल्टस् र कर्णाली याक्सलाई हराएको थियो भने लुम्बिनी लायन्ससँग जितेको थियो ।

काठमाडौंको यो तेस्रो जित हो । यो टिमले अघिल्ला ४ खेलमा लुम्बिनी लायन्स र जनकपुरसँग जितेको थियो । विराटनगर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो ।

जेनजी २.० को माग : भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गरियोस्

काठमाडौं । जेनजी पुस्ताका युवाहरुको एक समूह जेनजी २.० ले गत भदौ अन्तिम साताको आन्दोलनलाई संस्थागत रुप दिँदै भ्रष्टाचारका काण्डहरुको अनुसन्धान तथा आर्थिक, सामाजिक समस्याहरुको समाधानका लागि स्पष्ट राष्ट्रिय कार्ययोजना लागू गर्न माग गरेको छ ।
उक्त समूहले शुक्रवार सडकबाटै सरकारलाई ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचारसम्बन्धी सबै फाइल यथाशिघ्र खोल्न माग गरेको हो ।

त्यस्तै, जेनजी २.० ले आन्दोलनका मागहरुलाई संस्थागत गर्न, स्वतन्त्र न्यायिक आयोग गठन गर्न, विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्ने कानूनी प्रक्रिया अगाडि बढाउन तथा बन्द अवस्थामा रहेका उद्योग र कलकारखानाहरू खोलेर रोजगार सिर्जना गर्नेलगायतका माग राखेको छ । उनीहरुले कृषिमा आत्मनिर्भरता तथा निर्यातमुखी बनाउन, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिविरुद्ध छानबिन गरेर सुधार गर्न तथा राष्ट्रिय एकताको सन्देश प्रवद्र्धन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

जंगी अड्डालाई प्रधानमन्त्रीको तीन निर्देशन : ‘रगत बिनाको चुनाव, त्रुटिरहित सुरक्षा’ का लागि खट्नुस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई पूर्ण शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई कडा र स्पष्ट निर्देशन दिएकी छन् । नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणका क्रममा उनले निर्वाचन सुरक्षासम्बन्धी विस्तृत जानकारी लिँदै तीन मुख्य निर्देशन जारी गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले देश फेरि हिंसा, अव्यवस्था वा भयको चपेटामा पर्न नदिने आफ्नो सरकारको प्रतिबद्धता दोहो¥याउँदै भनिन्, ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना नागरिक पनि घाइते हुनु हुँदैन ।’ उनका अनुसार विगतका निर्वाचन अनुभव र वर्तमान सुरक्षा संवेदनशीलता विश्लेषण गर्दै सबै सुरक्षा निकायबीच त्रुटिरहित समन्वय आवश्यक छ ।

जंगी अड्डामा उनले सेनालाई जनतामा सुरक्षाको प्रत्याभूति दिने सुनिश्चित कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइन् । प्रहरी कारबाहीलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने, सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन हुने वातावरण सिर्जनामा सेनाले सहयोग पुर्‍याउनु पर्ने उनले औंल्याइन् । प्रधानमन्त्रीले हालैको जेनजी आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियारको खोजी–नियन्त्रणमा प्रहरीसँग घनिष्ट सहकार्य गर्न पनि आदेश दिएर फरार अभियुक्तहरू पक्रन कुनै कसर बाँकी नराख्न आग्रह गरिन् ।

सुरक्षा अवस्था, चुनौती र सेनाको आगामी योजनाबारे प्रधान सेनापति अशोकराज सिग्देलसहित सैन्य नेतृत्वले विस्तृत ब्रिफिङ गरेका थिए । निर्वाचनका दिन सेनाको परिचालन ढाँचा, समन्वय प्रक्रियादेखि सम्भावित जोखिम व्यवस्थापनसम्मका योजनाको प्रस्तुतीकरण गरिएको थियो । प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् बनेको सरकारको प्राथमिक जिम्मेवारी देशमा शान्ति–सुरक्षा बहाली गर्दै फागुन २१ गते हुने चुनावलाई स्वतन्त्र र निष्पक्ष बनाउनु नै रहेको बताइन् । सेनाले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नेमा आफू विश्वस्त रहेको उनले स्पष्ट गरिन् । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रधानमन्त्रीका मुख्य तीन निर्देशन
– जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्नू ।
– आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन । यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्नू ।

– जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खटिनू ।

नेकपाको एकता सन्देश सभा सुदूरपश्चिमबाट सुरु

कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता सन्देश सभा कैलालीको धनगढीबाट सुरु भएको । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरूको उपस्थितिमा सभा सुरु भएको हो । भानुभक्त जैसीको अध्यक्षयतामा सुरु भएको कार्यक्रममा प्रचण्ड माधवसहित भीम रावल गिरिजामणि पोख्रेललगायतले सम्बोधन गर्नेछन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट नेकपाका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

आजबाट सुरु भएको नेकपाको सन्देश सभा २३ गतेसम्म देशका विभिन्न स्थानमा सञ्चालन हुनेछन् । सुदूरपश्चिमबाट सुरु हुने यी कार्यक्रम क्रमशः लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, सङ्घीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा आयोजना हुनेछ । त्यस्तै, विदेशमा रहेका पार्टी संरचनाहरूका लागि मंसिर २१ गते साँझ ६ बजे भर्चुअल एकता सभा सञ्चालन गरिने कार्यक्रम समेत तय गरिएको छ ।

विजय लामासहित निगमका दुई पाइलटलाई कार्बाही

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटको ‘रोस्टर अफ’ गरेको छ । उडानका क्रममा भिडिओ र फोटोग्राफी गरेको भन्दै क्याप्टेन विजय लामा र सोनी राणालाई अर्को सूचना नभएसम्म विमान उडाउन रोक लगाइएको हो । क्यानले शुक्रबार निगमलाई लिखित पत्राचार गर्दै वाइडबडी जहाजका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई उडानमा रोक लगाउन निर्देशन दिएको हो । प्राधिकरणले दिएको निर्देशनअनुसार उडानमा रहेको अवस्थामा फोटो वा भिडियो खिच्नु उड्डयन सुरक्षा मापदण्डविपरीत हुने उल्लेख गरिएको छ ।

सोही आधारमा दुवै पाइलटलाई ‘अर्को सूचना नआएसम्म’ का लागि रोस्टर–अफ (उडान तालिकाबाट हटाइएको) गरिएको हो । उडान सुरक्षा संवेदनशील विषय भएकाले विमान ककपिटमा विशेषगरी फोटो-भिडियोग्राफी जस्ता क्रियाकलापले सुरक्षा जोखिम बढ्ने मानिन्छ । निर्देशनपत्रमा दुबै पाइलटका क्रियाकलाप प्रचलित उड्डयन सुरक्षा नियमहरूसँग बाझिने प्रकारका रहेको स्पष्ट उल्लेख छ । लामा सामाजिक सञ्जाल तथा युट्युबमा पनि सक्रिय छन् । क्याप्टेन लामा यसअघि पनि कार्बाहीमा परेका थिए ।