`

रवि र छविको मुद्दामा आज सुनुवाइ

बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज (बिहीबार) पेसी तोकिएको छ । सुनुवाइका लागि तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको १ नम्बर इजलासमा ३ नम्बर पेसी चढेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो । बिगोबमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले उनीसँगै जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो । पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।

भक्तपुरका नेवार समुदायले मनाए ‘सकिमना पुन्ही’ (फोटो फिचर)

काठमाडौं। नेवार समुदायले कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही मनाएको छ । यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ । नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने गर्दछन् ।

नेवार समुदायले पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने गर्दछन् । यसले शरीरमा ताकत उत्पन्न भई शरीर स्वस्थ हुने जनविश्वास छ ।

आज साँझ हरेक मन्दिरअगाडि उसिनेको सखरखण्ड, पिँडालु तथा भुटेको मकै, भटमास, गहुँ, बदाम, केराउ, चनालगायत विभिन्न गेडागुडीले देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाउँछन्, जसलाई स्थानीय भाषामा हलिमली भनिन्छ‌ र अन्त्यमा यसैलाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।

सकिमना पुन्ही कलालाई अन्नमार्फत प्रस्तुत गर्ने एक दुर्लभ कलाकारितासमेत हो ‌। घरघरमा उसिनेको पिँडालु खाएर सकिमना पुन्ही मनाएका स्थानीयहरुले धान, मकै, भटमासलगायत भुटेका गेडागुडीबाट न्यातपोल मन्दिर, बिस्काः रथ, गणेशलगायत विभिन्न देवीदेवताका आकृति बनाइने गरिन्छ, जसले यहाँको प्राचीन वैभव झल्काउने समेत गर्दछ ‌।

राजा महेन्द्रले बसाएको व्यवस्थित सहर महेन्द्रनगर (तस्बिरहरु)

कञ्चनपुर । अहिले भीमदत्त बजार भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालादेखि योजनाबद्ध रूपमा स्थापित भएको मानिन्छ । सुदूरपश्चिमका सहरहरुमध्ये योजनाबद्ध रूपमा स्थापित यो एक मात्र शहर हो ।

राजा महेन्द्रले २०१४ सालमा देश दर्शनका नाममा पूर्वको झापा, ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला हुँदै बैतडीसम्म पैदल भ्रमण गरेका थिए । त्यही क्रममा उनले महेनन्द्रनगरमा व्यवस्थित बस्ती बसाल्ने परिकल्पना गरेको स्थानीय जानकारहरु बताउँछन् । त्यसयता मानिसहरु पहाडबाट महेन्द्रनगर झर्न थालेका थिए ।

राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाएको बताइन्छ । पहिले बेलौरीमा रहेको कञ्चनपुर जिल्ला सदरमुकाम पनि महेन्द्रनगरमा प्रशासकीय भवन निर्माण गरेर त्यहाँ सारिएको थियो ।

हाल महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् । हरेक गल्लीको आफ्नै विशेषता छ । विपद्का बेला पनि यहाँ सहज हुने गल्लीहरू निर्माण गरिएको छ । गल्लीमा बनेका कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन । पछिल्लो समय पार्किङ अभावले भने यहाँको बजार अस्तव्यस्त देखिन्छ ।

सुदूरपश्चिमकै योजनाबद्ध सहरका रूपमा रहेको महेन्द्रनगर पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणले बजारको शोभा बिग्रिने भन्दै यहाँका स्थानीयले चिन्ता प्रकट गरेका छन् ।

ट्याक्टर भिरबाट खस्दा दुईको मृत्यु, चालक गम्भीर घाइते

बझाङ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई वृद्धको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत्यु हुनेमा थलारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खाती रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्ररीले जनाएको छ ।

‘नेपाली कम्युनिष्ट पार्टी’ ले दल दर्ताका लागि दियो निवेदन

काठमाडौं । दश कम्युनिष्ट घटक दल मिलेर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । विभिन्न १० वटा वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट बिहीबार आयोगमा दल दर्ताको निवेदन दिएको हो । साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले नेपाली कम्युनिष्ट पार्टी बनाएका हुन् । नव गठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिष्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिएका छन् ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएको नेता शिव खकुरेलले जानकारी दिए । उनका अनुसार दलको विधानलाई पूर्णता दिने कार्य भइरहेको छ । ‘पदाधिकारीलगायतका विषय टुंगिएपछि आयोगमा विधान लगायत दस्तावेज पेश गरिनेछ,’ उनले भने ।

विप्लव नेतृत्वको नेकपा आज सडकमा उत्रिँदै

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बिहीबार) बृहत् जनप्रदर्शन र जनसभा गर्दैछ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले दिएको जानकारीअनुसार आज दिउँसो १२ बजे शान्तिबाटिकाबाट बृहत्  र्‍याली सुरु हुनेछ भने दिउँसो १ बजे भृकुटीमण्डपमा आमसभा गरिनेछ । सभामा महासचिव विप्लवलगायतका शीर्ष नेताहरूले बोल्ने कार्यक्रम तय गरिएको छ।

नेकपाले अहिलेको सरकार विघटनको माग राखेको छ । ‘राष्ट्रिय स्वाधीनता, समाजवाद र सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्छ,’ प्रवक्ता प्रकाण्डले भने, ‘आम जनताको समस्या सम्बोधन गर्न तथा संविधान पुनर्लेखनलगायतका विषयमा हालको सरकारले काम गर्न सक्दैन।’ पार्टीले जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । सभा अगाडि  र्‍याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ । १० हजार बढीको संख्यामा कार्यकर्ता उतार्ने दाबी उनीहरुको छ ।

जग्गा खाली गर्न निवर्तमान मन्त्री खड्कालाई नेपाल स्काउटको सात दिने ‘अल्टिमेटम’

काठमाडौं । नेपाल स्काउटले राजधानीको लैनचौरस्थित आफ्नै जग्गा कब्जामा राखिरहेको कांग्रेस नेता दीपक खड्काको कम्पनी ‘खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि’ लाई बक्यौता रकम तिरी सात दिनभित्र जग्गा खाली गर्न अन्तिम चेतावनी दिएको छ ।

स्काउटले आज (बिहीबार) एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि कानुनी प्रक्रिया पूरा हुँदाहुँदै पनि कम्पनीले अटेर गरेको जनाउँदै अन्तिम पटक सात दिनको ‘अल्टिमेटम’ दिएको हो । सार्वजनिक सूचनामा भनिएको छ, ‘बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ। तोकिएको समयभित्र रकम नतिरे तथा जग्गा खाली नगरे सम्झौताका प्रावधान र मुलुकी देवानी संहिता, २०७४ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गरिनेछ ।’

लैनचौर (काठमाडौँ महानगरपालिका वडा नं. २६, साबिक २९) मा रहेको कित्ता नं. १० को झण्डै ३ रोपनी जग्गा २०६५ सालमा नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्टबीच १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७५ सालमा अवधि समाप्त भए पनि कम्पनीले जग्गा खाली नगरेपछि विवाद अदालतसम्म पुगेको थियो । काठमाडौँ जिल्ला अदालतले २०७६ असार १८ गते र उच्च अदालत पाटनले २०७९ असार १३ गते स्काउटको पक्षमा फैसला गरिसकेको छ । तर अदालतको फैसला कार्यान्वयन नभएपछि स्काउटले २०७९ चैत २८ गते ३५ दिने सूचना पनि जारी गरेको थियो ।

त्यसपछि २०८१ वैशाख ६ गते स्थानीय प्रशासनको सहयोगमा जग्गा सिलबन्दी गरिएको थियो । तर कम्पनीले अझै पनि भोगचलन गर्दै आएको स्काउटको आरोप छ । नेपाल स्काउटका अनुसार कम्पनीले सम्झौताअनुसारको बक्यौता रकम समेत तिरेको छैन । सूचनामा भनिएको छ, ‘बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ । उक्त समयभित्र बक्यौता नतिरे सम्झौताको बुँदा ४ र मुलुकी देवानी संहिता, २०७४ अनुसार जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिनेछ । जफत गरिएको सम्पत्तिबाट पनि बक्यौता असुल नभएमा कम्पनीको अन्य जायजेथाबाट असुलउपर गरिने व्यहोरा छ ।’

हेर्नुस् सूचना

न्यूयोर्कको मेयर जितेपछि मम्दानीले खाए नेपाली रेस्टुरेन्टमा मःम

काठमाडौं । अमेरिकी राजनीतिमा उदाउँदै गरेका दुई प्रभावशाली युवा अनुहार, न्युयोर्कका नव निर्वाचित नगर प्रमुख जोहरान मम्दानी र चर्चित सांसद अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) बीच हालै एक विशेष भेटघाट भएको छ । यो भेटघाटले राजनीतिक वृत्तमा मात्र नभई नेपाली समुदायमाझ पनि निकै चर्चा बटुलेको छ । किनभने यसको पृष्ठभूमिमा थियो ज्याक्सन हाइट्सको सुप्रसिद्ध नेपाली रेष्टुरेन्ट ‘लालीगुराँस बिस्ट्रो’ ।

मेयरमा निर्वाचित भएपछिको पहिलो व्यस्त दिनको अनुभव सुनाउँदै मम्दानीले बिहीबार ‘एक्स’ (पहिलेको ट्विटर) मा तस्बिरसहितको पोस्ट गरेका थिए । उनले लेखेका छन्, ‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्यो : एकाबिहानै अन्तर्वार्ता, घोषणा, बैठक र थप कुराकानी भए । तर, यी सबैमाझ महत्वपूर्ण चाहिँ ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रोमा हाम्री सांसद एओसीसँगको लन्च बैठक रह्यो ।’

तस्बिरमा मम्दानी र एओसी मःम, चिकेन तन्दुरी, दूध चिया र आलु लगायतका नेपाली परिकारहरूको स्वाद लिँदै सौहार्दपूर्ण गफमा मग्न देखिन्छन् । सन् २००८ मा स्थापित लालीगुराँस बिस्ट्रो न्युयोर्कको ज्याक्सन हाइट्समा रहेको नेपाली बाहुल्य क्षेत्रको एक लोकप्रिय गन्तव्य हो । नेपाली स्वाद र आतिथ्यका लागि परिचित यो रेष्टुरेन्ट नेपाली समुदायमाझ निकै चर्चित छ ।

मम्दानी र एओसी दुवैले आफ्नो चुनावी अभियानका क्रममा पनि न्युयोर्कका नेपाली समुदायलाई लक्षित गर्दै नेपाली भाषामै पोस्टहरू गरेर आफ्नोपन देखाएका थिए । अमेरिकी राजनीतिको केन्द्रमा नेपाली संस्कृति र परिकारको उपस्थितिले प्रवासी नेपालीहरूमाझ गर्वको अनुभूति गराएको छ । उनले त्यहाँ पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर बन्न सफल मम्दानीलाई निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हराउन भरपूर प्रयास गरेका थिए ।

तर ३४ वर्षीय मम्दानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बनेका हुन् । जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्ने छन् । उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन् ।

यस्तो छ ‘नेपाली कम्युनिष्ट पार्टी’ को २३ बुँदे घोषणापत्र (पूर्णपाठ)

काठमाडौं । विभिन्न १० वटा कम्युनिष्ट घटकबीचको एकताबाट बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ ले घोषणापत्र सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आज (बुधबार) आयोजित एकतासभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरे । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसहित साना वामघटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ । पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन् ।

पूर्णपाठ

 

आजको दिन अब कसैले बिर्साएर बिर्सने छैन : प्रचण्ड

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले आफूहरूलाई कमजोरी केलाउने र असाधारण एकताको लागि बल दिएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी घोषणाको कार्यक्रममा बुधबार प्रचण्डले जेनजी आन्दोलन भएकै कारण १० वटा कम्युनिष्ट दलले ऐतिहासिक एकता घोषणा गरेको बताए ।

‘दलहरूलाई सच्याउनका लागि जेनजीले ऊर्जा दिनु भयो । आजको एकता नेताको संकल्पको पछाडि जेनजी आन्दोलन र सहिदको भूमिका छ । उहाँहरूले त्यसो नगरेको भए कमजोरीबाट सच्चिने र एकतातिर यति छिट्टै जानेमा आउने थिएनौं । बरु विभाजनतिर जाने स्थिति हुन्थ्यो,’ प्रचण्डले भने, ‘हाम्रा कमजोरी उजागार गरिदिनु भयो । हामी कहाँ चुक्यौ भन्ने कुरालाई आन्दोलनले, प्रविधिमार्फत् भ्रष्टाचार विरुद्ध र सुशासनका पक्षमा आवाज बुलन्द गर्नुभयो । हामी सच्चिनुको विकल्पै छैन ।’

प्रचण्डले १० वटा कम्युनिष्ट दल एकै पटक मिलेको ऐतिहासिक दिन भएको पनि बताए । ‘नेपाली कम्युनिष्ट इतिहास कहिल्यै नबिर्सने दिन आज बनेको छ । १० वटा कम्युनिष्ट पार्टी एकै दिन मिलेको इतिहास छैन । त्यस कारण आजको दिन अविष्मरणीय ऐतिहासिक दिनका रूपमा अंकित भएको छ । यो दिन अब कसैले बिर्साएर बिर्सने छैन,’ प्रचण्डले थपे, ‘नेपाली राजनीतिमा देखिएका चुनौतीलाई समाधान गर्ने दिन हो । राष्ट्रमा देखिएको संकट र दलमाथि आक्षेप लगाउने कोशिसविरुद्ध राष्ट्रिय एकता स्वाधीनताको दिशामा अगाडि बढ्ने दिन हो ।’ एकै दिनको आन्दोलनले सुगौली सन्धीपछि सबैभन्दा ठूलो संकट ल्याइदिएको भन्दै आफूहरू एकतामा गएको उनले बताए । राष्ट्र संकटमा गएकोले कम्युनिस्टहरू एक भएर जवाफ दिन खोजेको प्रचण्डको दाबी छ ।

 

नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासनः उपसंयोजक नेपाल

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरे । उनले समाजिक न्याय र समानताको लागि माओवादीसहितका दलहरुसँग पार्टी एकता गर्नुपरेको बताए।

उनले वर्तमान राजनीतिक प्रणालीमा जिम्मेवारीभन्दा पदको मोह बढी भएको बताउँदै नेताहरुमा इमानदारी, त्याग र तपस्याको कमी रहेको पनि टिप्पणी गरे । उनले पार्टी र नेतृत्वले आफ्नै आचरण र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याए। उनले विगतको वामएकताको प्रयासमा संलग्न रहेका अधिकांश नेताहरु यही पार्टीमा रहेको उल्लेख गर्दै मुख्य कम्युनिष्ट दल नेपाली कम्युनिष्ट पार्टी नै बनेको पनि जिकिर गरे ।

उनले भने, ‘नेपाली राजनीतिको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको छ, कुशासन भएको छ । नेपाली राजनीतिको सबैभन्दा ठूलो रोग आत्मकेन्द्रित चिन्तन भएको छ । जिम्मेवारी पूरा नगर्ने पदमात्रै ओगट्ने, ठुलठुला ओहोदामा जान चाहाने तर जिम्मेवारी पुरा नगर्ने यो ठूलो समस्या छ । इमानदारिताको अभाव छ । त्याग तपस्याको कमी छ । त्यसो भएको हुनाले हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्न सक्नुपर्छ । नयाँ पुस्ताको विश्वास जित्न सक्नुपर्छ । अब के सही हो भने कुराले च्युरा भिज्नेवाला छैन । हामी कुरा गर्न धेरै सिपालु छौं । तर त्यो कुरालाई व्यवहारमा रुपान्तरण गर्ने कुरामा हामी पछाडि परेका छौं । देश बनाउने सवालमा धेरै कमजोरीहरु रहेका छन् । अब ती कमजोरीहरुलाई सुधारेर अघि बढ्नैपर्छ । हामीले जनतामा नयाँ आशा, विश्वास र संकल्प पैदा गर्न सक्नुपर्छ । त्यसो भएको हुनाले हाम्रो देशको विकासले गर्दा विश्वमा हामी नेपाली भएकोमा गौरवबोध गर्न सक्नेछौं ।’

उपसंयोजक नेपालले नयाँ पुस्तामा विश्वास र आशा जगाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै देश निर्माणका कमजोरी सुधार्दै अघि बढ्न आफूहरु प्रतिवद्ध रहेको पनि बताए । उनले समाजवादी मोर्चालाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने बताए । उनले विभिन्न घटकका कार्यकर्तालाई उत्साहित बनाउन मोर्चाले महत्वपूर्ण भुमिका खेल्ने भन्दै आत्मविश्वासका साथ अघि बढ्न सबैमा आग्रह गरे ।

जलवायु वार्तामा विश्व नेताहरू प्रवेश गर्दा, गरिब समुदायहरू सबैभन्दा बढी जोखिममा

रियो डी जेनेरियो, १९ कात्तिक । ब्राजिलमा हुन लागेको आगामी जलवायु वार्ताको सन्दर्भमा विश्वका नेताहरू एकत्रित हुँदै गर्दा जलवायु सङ्कटको सबैभन्दा ठूलो मूल्य तिर्नेहरू गरिब र सीमान्त समुदायहरू हुने प्रष्ट हुँदै गएको छ ।

रियोको उत्तरी भागमा अवस्थित अरारा बस्तीका लुइस क्यासियानो अहिलेका तात्तिएका गर्मीका दिनहरूमा चिन्तित रहेका छन् । उनि ३० वर्षदेखि त्यहीँ बस्दै आएका छन् । उनले भने, “आजको घाम साँच्चै डरलाग्दो छ ।” उनले आफ्नै घरमा हरियो छत बनाएका कारण केही राहत त पाएका छन्, जसले तापक्रम १५ डिग्री सेल्सियससम्म कम गर्छ, तर बारम्बारको विद्युत् अवरोधले वातानुकूलनको भर गर्न सकिँदैन ।

विश्वका नेताहरू जलवायु वार्ताका लागि ब्राजिल आउँदै गर्दा क्यासियानो जस्ता करोडौँ मानिसहरू असहज तापक्रम र आँधीबेहरीको जोखिममा छन् । चरम मौसमका घटनाहरूले गरिबीमा परेकाहरूलाई अझ नोक्सान पुर्‍याइरहेका छन्, किनभने उनीहरूलाई सामना गर्न न त स्रोत, न त प्रविधि केही पनि छैन ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हाल विश्वमा करिब एक अर्ब १० करोड मानिस चरम गरिबीमा बसिरहेका छन् । यसै कारण धेरैले तुलनात्मक रूपमा गरिब सहर बेलेममा यो सम्मेलन आयोजना गर्नु सराहनीय ठानेका छन् । युएन वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इन्गर एन्डरसनका अनुसार बेलेमजस्ता ठाउँमा सम्मेलन हुनु उपयुक्त छ, किनकि यहाँ गरिबी र जलवायु सङ्कट प्रत्यक्ष देखिन्छ ।

गरिबी र जलवायु सङ्कटको टक्कर केवल विकासशील मुलुकमै सीमित छैन । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम ९युएनडिपी० को प्रतिवेदनले धनी देशका गरिबहरू पनि चरम गर्मी, बाढी, खडेरी वा प्रदूषण जस्ता कम्तीमा चार खतरामध्ये एकको प्रभावमा छन् भन्ने देखाउँछ ।

विश्व स्रोत संस्थानका वरिष्ठ फेलो कार्टर ब्रान्डन भन्छन्, “गरिब मानिसहरूसँग जोखिमयुक्त ठाउँहरू छोड्ने वा प्रकोपपछि पुनर्निर्माण गर्ने क्षमता हुँदैन । त्यसैले जलवायु सङ्कटले उनीहरूको जीविकोपार्जन मात्र होइन, जीवन नै सङ्कटमा पार्छ ।”

अफ्रिकामा झन्डै ५० करोड मानिस गरिबीमा छन् र तीमध्ये धेरै खेतीमा निर्भर छन् । अन्तर्राष्ट्रिय कृषि अनुसन्धानका सल्लाहकार समूहकी कार्यकारी निर्देशक इस्माहाने एलोआफीका अनुसार प्राविधिक समाधानले केही राहत दिन सक्छ, तर त्यसको पहुँच अधिकांश किसानमा छैन ।

ब्राजिल सरकारले बेलेममा सम्मेलन आयोजना गरेर विश्वलाई अमेजन क्षेत्रका वास्तविक चुनौतीहरू देखाउने प्रयास गरेको छ । अक्सफामकी जलवायु नीति प्रमुख नाफकोट डाबी भन्छिन्, “वार्ताकारहरूले कठिन परिस्थितिमा बस्नुपर्ने गुनासो गरेका छन्, तर यही त संसारका अधिकांश मानिसहरूको वास्तविकता हो ।”

तर सबैले यस सम्मेलनबाट ठोस परिणाम आउनेमा विश्वास राखेका छैनन् । ड्युक विश्वविद्यालयकी प्राध्यापक किम्बर्ली मेरियन सुसीया भन्छिन्, “द्रुत कारबाहीको आवश्यकता छ भन्ने कुरा सबैले स्वीकार्छन्, तर त्यो कोपबाट सम्भव देखिँदैन ।”

युएनडिपीका निर्देशक पेड्रो कन्सेइकोका अनुसार विश्वमा गरिबी घट्ने गति रोकिएको छ । “अब गरिबीका तथ्याङ्क स्थिर छन्, घटेका छैनन्”, उनले भने।

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले पनि हालैको वक्तव्यमा उत्सर्जन घटाउनेभन्दा पहिले मानव पीडा कम गर्नमा जोड दिनुपर्ने बताएका छन् ।

तर कन्सेइको भनेका छन्, “गरिबी घटाउने र जलवायु सङ्कट समाधान गर्ने दुवै कुरा अलग होइनन् । यी एउटै एजेन्डाका दुई पाटाहरू हुन्—जहाँ एकमा सफलता अर्काको समाधान पनि हो ।”

कमला नदीमा कार्तिक स्नान गर्नको भीड, भूत-प्रेत’ हट्ने विश्वास (तस्बिरहरू)

काठमाडौं। सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक पूर्णिमाका अवसरमा आज बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

धार्मिक मान्यताअनुसार कमला नदीमा स्नान गर्दा ‘भूत-प्रेत’ हट्ने विश्वास रहँदै आएको छ । यही विश्वासका कारण विभिन्न जिल्लाका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन् ।

नदी क्षेत्रको इनर्वा, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती भारतको जयनगरसम्म बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ । प्रत्येक वर्षजस्तै यस वर्ष पनि उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट तथा भारतको बिहारसम्मका श्रद्धालुहरू कमला स्नानका लागि आएका छन् ।

स्थानीय निकायहरूले मेलाले धार्मिक एकता, सामाजिक सद्भाव र पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

माधव नेपालले भने–हामीले पनि चीन र भारतले जस्तो ‘नेपाली कम्युनिष्ट पार्टी’ किन नभन्ने ?

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा दल र नेताहरूको उपादेयता अझै नसकेको बताएका छन् । काठमाडौंको भृकुीमण्डपमा आयोजित एकतामा सभामा सम्बोधन गर्दै उनले नेताहरूले आफ्नो गल्ती, कमजोरी भने सच्याउनु पर्ने बताए ।

‘नेपालमा कम्युनिष्ट पार्टी र नेताहरूको उपादेयता अझै सकेको छैन । नपालको राजनीतिमा सबैभन्दा ठूलो रोग भ्रष्टाचार र कुशासन भएको छ । आत्मकेन्द्रित चिन्तन ठूलो रोग भएको छ । इमानदारिताको अभाव छ । हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्न सक्नु पर्छ । युवापस्ताको विश्वास जित्नुपर्छ,’ उनले भने । उनले वामदेव गौतमको कुरा स्मरण गर्दै थपे, ‘कुराले चिउरा भिज्नेवाला छैन । हामी कुरा गर्न र प्रचवन दिन सिपालु छौं । तर, रुपान्तरण गर्ने कुरामा धेरै पछाडि छौं ।’

पूर्व प्रधानमन्त्री समेत रहेका उनले नेपाल मात्र त्यस्तो देश रहेको, जहाँ कम्युनिष्टहरूले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको बताए । ‘बृहत् वाम एकता निकै लोकप्रिय छ । तर, व्यवहार हे¥यो भने अब धेरै बाँकी देख्नु हुन्छ । बाँकी वामहरूसँग पनि एकताको प्रयास अवश्य गर्नेछौं । हामी सानो दायरामा बस्न चाहँदैनौं । बन्देज, आग्रह र पूर्वग्राह पनि राख्दैनौं । सबैलाई समेट्नेगरी गोलबद्ध गरेर हिंड्न चाहन्छौं,’ उनले भने ।

नेपालले भारत र चीनमा कम्युनिष्ट पार्टीको नाम नियाल्दै आफूहरूले नव गठित पार्टीको नाम घोषणा गरेको सुनाए । नेपालले पार्टीको नाम राख्न वृहत छलफल भएको पनि बताए । ‘यो नेपाली कम्युनिष्ट पार्टी, हामीले सोचेका थियौं, पार्टीको नाम के राख्ने ? नेकपा समाजवादी राख्ने कि हाम्रो राजु कार्की कमरेडको । सबै समाजवादी कुन समाजवादी कुन समाजवादी ? अनि नेपाली कम्युनिष्ट राख्ने कि ?,’ नेपालले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टी भन्छन्, भारतीय कम्युनिष्ट पार्टी भन्छन् । भनेपछि हामीले नेपाली कम्युनिष्ट पार्टी किन नभन्ने ?’

अनि चम्किलो तारालाई चुनाव चिन्ह राखिएको बताए । ‘तारा चम्किलो चिन्ह किन नलिने । वृहत छलफलपछि हामी यो दुईवटा निष्कर्षमा पुगेका हौं,’ उनले भने । उनले देशविरोधी, संविधानविरोधीसँग कुनै सम्झौता नगर्ने बताए । ‘हामी प्रतिगमनको दिशामा लैजाने प्रयत्नलाई विफल बनाउनेछौं,’ उनले भने । सरकारसँग वार्तामा रहेका जेनजीहरूलाई पनि पार्टीमा भित्र्याएको बताउँदै उनले अन्य जेनजीहरूलाई पनि यो पार्टीमा आबद्ध हुन आह्वान गरे ।

नेपालले नयाँ पार्टी घोषणाले नेपाली राजनीतिमा तरंग पैदा गरेको बताउँदै नेपाली जनताको आशा र भरोसाको केन्द्र यो पार्टी बन्ने बताए । उनले यो पार्टीमा आफूहरूको अग्नी परीक्षा पनि सुरू भएको बताए । ‘जनतालाई हामीले विश्वास दिलाउनु पर्छ । यो पुरानै पार्टीको स्वरुप होइन । आफ्नै पार्टीहरूमा रहेका कमी कमजोरीको समीक्षा गरेर, गल्ती सुधार गरेर, परिवर्तनको संबाहक बनेर, क्रान्तिकारी चरित्र बोकेका योद्धाहरूको पार्टी बनाएका छौं,’ उनले भने ।

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै निष्पक्षरूपमा चुनाव हुनुपर्ने बताए । उनले बिहान मात्रै आफूले जेनजीको वार्तामा रहेकालाई पार्टीमा भित्र्याएको सुनाए । अरुलाई पनि पार्टीमा आउन आग्रह गरे, ‘आउनुस् हामीसँग हातेमालो गर्दै अघि बढ्नुहोस् । सुशासनको पक्षमा होस्, भष्ट्राचारको विरुद्धको अभियानमा होस् । जनताको जीवनमा रुपान्तरणको कुरामा होस् ।’ समाजमा रहेका विकृति, विसंगतिविरुद्ध जुध्ने कुरामा हात मिलाएर अघि बढ्न तयार रहेको बताए । सामाजिक अभियन्तालाई हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

 

एकीकृत समाजवादीमै रहन महासचिव भुसालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गरेका छन् ।

आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै भुसालसहितका नेताले विद्यमान नेतृत्व र कार्यशैलीका आधारमा कम्युनिष्ट पार्टी चल्न नसक्ने बताउँदै देशका विद्यामान समस्याको समाधानका लागि आफूहरूले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेलामार्फत् नयाँ रूपले सङ्गठित हुने स्पष्ट गरे।

कार्यक्रममा सो पार्टीका नेताहरू धनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठलगायत सहभागी थिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वामपन्थी पार्टीबीच आज एकता घोषणा भएको छ ।

स्वास्थ्य मन्त्रालयले गर्‍यो महाशाखा प्रमुखहरूको हेरफेर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ ।  मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिइसिडी) व्यवस्थापन महाशाखाका प्रमुखको जिम्मेवार हेरफेर भएको छ ।

मन्त्रिस्तरीय निर्णयबाट परिवार कल्याण महाशाखाको निर्देशकमा डा.मदनकुमार उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा डा.राधिका थपलिया, व्यवस्थापन महाशाखाको प्रमुखमा केशव पण्डित र इडिइसिडीको निर्देशक पदमा डा. रोशन न्यौपानेलाई सरुवा गरिएको छ ।

यसैगरी डा.पवनजङ्ग रायमाझी उपचारात्मक सेवा महाशाखाको निर्देशकमा सरुवा गरिएको प्रवक्ता डा.बुढाथोकीले जानकारी दिए ।

प्रचण्ड–माधवलाई वामदेवको प्रश्न : प्रधानमन्त्री हुँदा किन समाजवादको प्रयास भएन ?

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले समाजवाद निर्माणमा प्रवेश नगरेकाले नै जेनजी आन्दोलन भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनमा उनले समाजवाद मात्रै भनेर नहुने बताए । ‘समाजवाद निर्माणमा प्रवेश नगरेकाले जेनजी आयो । समाजवादी क्रान्ति मात्रै भनेर हुँदैन । कस्तो किसिमको क्रान्ति स्पष्ट भन्नु पर्छ । तब मात्र कमरेडहरूलाई काँधमा बोकेर हिँड्न सक्छु’, उनले भने ।

संविधानमा लेखिएको लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवाद लागु गर्नुपर्ने उनको भनाइ छ । गौतमले समाजवाद झोलामा मात्रै बोकेर हिँडेर नहुने बताए । उत्पादनमा आधारित कम्युनिष्ट पार्टी निर्माण हुनुपर्ने बताए । गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए । नेता गौतमले पार्टीका संयोजक र सहसंयोजकलाई प्रधानमन्त्री भएका बेला समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

काठमाडौंमा जारी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गौतमले संविधानमै गरिएको व्यवस्था कार्यान्वयनका लागि किन काम नगरेको भन्दै प्रश्न गरेका हुन् । ‘२०७२ मा जारी गरेको संविधानको प्रस्तावनामै लेखिएको छ, अब नेपालमा लोकतान्त्रिक मूल्य मायन्तामा आधारित समृद्ध समाजवाद निर्माण गरिनेछ । आज कति वर्ष भयो ? हामी कति पटक प्रधानमन्त्री भयौं ? हामीले कति पटक प्रधानमन्त्री–मन्त्री बनायौं ?’ उनले प्रश्न गरे, ‘संविधानले प्रस्तावनामै व्यवस्था गरेको त्यो चरित्रको समाजवाद निर्माण किन भएन, प्रयास गर्नु भयो कि भएन अहिले जवाफ दिनुहोला ।’

उनले संविधानमा लेखिएका कुरा लागू नगर्ने र नलेखिएका विषयमा धेरै कुरा गर्ने गरिएको भन्दै नेताहरूको आलोचना गरे। उनले नेताहरूसँग समाजवादी क्रान्तिको परिभाषा समेत मागे । ‘यो सधैँभरी महिना महिनामा सरकार परिवर्तन गर्ने सिस्टम, राज्य सञ्चालनको शासन प्रणालीलाई अन्त्य गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्नुपर्छ र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ,’ उनले भनेका छन् । यसअघि अघि बढ्न सकेको खण्डमा कम्युनिष्ट आन्दोलन धेरै अघि बढ्नसक्ने उनले बताएका छन् । ‘त्यसो भयो भने हामी अगाडि बढ्न सक्छौं । तपाईंहरू सबैमा विनम्र अनुरोध छ, यो पास गरिदिनुस्,’ उनले भने ।

 

अमेरिकी सरकारी शटडाउन इतिहासकै सबैभन्दा लामो, हवाई सेवा र जनजीवनमा असर

वासिङ्टन, १९ । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन बुधबार पूरा भएको छ । यो शटडाउनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको ३५ दिनको रेकर्ड तोडेको छ । कङ्ग्रेसले गत सेप्टेम्बर ३० सम्म बजेट पारित गर्न असफल भएपछि सरकारी कोष रोकिँदै आएको छ । यसले सङ्घीय निकायहरूदेखि सर्वसाधारणको दैनिकीसम्म गम्भीर असर पारेको छ ।

सरकारी कार्यक्रमहरू ठप्प हुँदा लाखौँ अमेरिकीलाई अत्यावश्यक खाद्यान्न र सहायता पाउन कठिनाइ भइरहेको छ । हाल १४ लाखभन्दा बढी सङ्घीय कर्मचारी — एयर ट्राफिक कन्ट्रोलरदेखि राष्ट्रिय पार्कका वार्डनसम्म — तलब बिना काम गरिरहेका छन् वा जबरजस्ती बिदामा बस्न बाध्य भएका छन् ।

मध्यरातमा रेकर्ड तोडिनु अघि नै ट्रम्प प्रशासनले आगामी सात दिनभित्र हवाई सेवा पूर्ण रूपमा अव्यवस्थित हुन सक्ने चेतावनी दिएको थियो । कर्मचारीहरूको अभावका कारण देशका प्रमुख विमानस्थलहरूमा लामो पङ्क्ति र सम्भावित उडान रद्द हुने स्थिति देखिएको छ ।

“यदि डेमोक्रेटहरूले अहिले समाधान खोजेनन् भने एक हप्ताभित्र देशव्यापी हवाई अराजकता देख्न सकिनेछ”, यातायातमन्त्री सीन डफीले फिलाडेल्फियामा आयोजित पत्रकार सम्मेलनमा भने, “हामीसँग आवश्यक सङ्ख्यामा नियन्त्रक नभए हवाई क्षेत्रका केही भागहरू बन्द गर्नुपर्ला ।”

अमेरिकी अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार यस वर्षको थ्याङ्क्सगिभिङमा ५८ लाख नागरिकले हवाई यात्रा गर्ने अनुमान छ — जुन नयाँ रेकर्ड हुनेछ । तर ६० हजारभन्दा बढी हवाई यातायात नियन्त्रक र ट्रान्सपोर्ट सुरक्षा अधिकारीहरू तलब बिना काममा निरन्तर खटिँदा सेवा प्रभावित हुने जोखिम बढेको छ ।

सन् २०१९ मा भएको यस्तै शटडाउन अन्त्य गराउन पनि हवाई कर्मचारीहरूको सामूहिक बिरामी विदा निर्णायक बनेको थियो ।

शटडाउनको मूल कारण भनेको स्वास्थ्य सेवासम्बन्धी खँर्च हो । डेमोक्रेटहरू लाखौँ अमेरिकीका लागि स्वास्थ्य बीमामा दिइँदै आएको अनुदानको म्याद सकिएपछि मात्र बजेटमा सहमति जनाउने अडानमा छन् । तर रिपब्लिकनहरू स्वास्थ्य विषयलाई पछि सम्बोधन गर्ने शर्तमा अहिले नै सरकारी कार्य पुनः सुरु गर्न दबाब दिइरहेका छन् ।

यद्यपि, पछिल्ला दिनहरूमा केही मध्यमार्गी सांसदहरूले समाधानको सङ्केत देखाएका छन् । दुई पार्टीका चार प्रतिनिधिले स्वास्थ्य बीमा लागत घटाउने उद्देश्यसहित सोमबार एउटा प्रारम्भिक समझदारी ढाँचा सार्वजनिक गरेका छन् ।

डेमोक्रेटहरूले अमेरिकी नागरिकहरूले नयाँ वर्षका लागि स्वास्थ्य बीमा लिन खोज्दा बढ्दो प्रिमियमको सामना गरेपछि रिपब्लिकनहरू सम्झौता गर्न बाध्य हुनेछन् भन्ने आशा गरेका छन् । तर राष्ट्रपति ट्रम्प भने अझै अडिग देखिन्छन् । सिबिएस न्युजसँगको अन्तर्वार्तामा उनले भने, “म जबरजस्ती स्वीकार गर्ने पक्षमा छैन ।”

शटडाउनलाई आफ्ना राजनीतिक विरोधीहरूलाई दबाबमा राख्ने माध्यम बनाउने ट्रम्प प्रशासनले सङ्घीय कामदारहरूलाई तलब नदिने चेतावनी जारी गरेको छ । साथै प्रगतिशील नीतिहरूमा कटौती गर्न खोजेको आरोप पनि लागेको छ ।

अदालतहरूले केही कदमहरू रोकेका छन्, तर प्रशासनले ‘सप्लिमेन्टल न्युट्रिशन असिस्टेन्स प्रोग्राम’ (एसएनएपी) अन्तर्गत चार करोड २० लाख अमेरिकीलाई किराना किन्न सहयोग गर्ने कोष रोक्ने धम्की दोहो¥याएको छ ।

तर ह्वाइट हाउसले पछि स्पष्टीकरण दिंदै भनेको छ, “सरकार आफ्नो कानूनी दायित्वको पूर्ण रूपमा पालना गर्दैछ र सकेसम्म चाँडो आंशिक सहायता वितरण गर्ने प्रयासमा छ ।”

तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु तत्कालीक कार्यनीति : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पार्टीको तत्कालीक कार्यनीति भएको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताए। नेता श्रेष्ठले मुलुकलाई थप संकटमा जान नदिन पनि घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेकाले पार्टी त्यसलाई तत्कालीक मूल कार्यनीति बनाएको समेत स्पष्ट पारे।

उनले निर्वाचन सम्पन्न गर्ने शर्तमा वर्तमान सरकारलाई सफल बनाउनु पनि आफूहरुको उद्देश्य हुनुपर्ने बताए। उनले निर्वाचनमा सहभागी हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे।

नेता श्रेष्ठले भने, ‘हाम्रो अहिलेको तत्कालीक कार्यनीति घोषित मितिमा निर्वाचन सम्पन्न होस भन्नेलाई बनाएका छौँ । र घोषित मितिमा निर्वाचन सम्पन्न भएन भने देशमा अझ संकट थपिने खतरा छ । अनिश्चत र अन्यौलको दिशातिर देश जाने खतरा छ । त्यसकारण निर्वाचन सम्पन्न हामीले टाइममा नै गर्नुपर्दछ । यसका निम्ति पहिलो आवश्यक्ता सरकारले त्यो दढृता गरोस । दोश्रो हामी सबै राजनीतिक पार्टीहरु त्यसका लागि एकतावद्ध भएर जाऔ । कतिपय राजनीतिक पार्टीहरु अहिले पनि अलमलमा छन् । उहाँहरुलाई हामी अपिल गर्न चाहन्छौ–घोषित मितिमा निर्वाचन सम्पन्न गर्नैपर्छ । त्यस उद्देश्यका निम्ति यो सरकारलाई सफल पार्नु आजको आवश्यक्ता हो । त्यसका निम्ति सरकारले उपयुक्त वातावरण निर्माण गर्नुपर्दछ । निर्वाचन आयोगले पनि त्यो ढंगले तयारी गर्नुपर्दछ ।’

नेता श्रेष्ठले निर्वाचनको वातावरण बनाउने काममा दृढतापूर्वक लाग्न पनि सरकारलाई सचेत गराउए ।

वैठकमै विव्यस अध्यक्षले कुटे प्रधानाध्यापक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष खाम्सोङ तामाङले वैठक चलिरहेका बेला कार्यकक्षमै कुटेका छन् । बुधबार विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला विव्यस पुनर्गठनको विषयमा छलफल भइरहेकै बेला तामाङले प्रधानाध्यापक भण्डारीमाथि एक्कासी हमला गरेको सहभागीहरूले जानकारी दिए ।

‘म र भण्डारी म्याडम निर्णय लेख्दै निहुरेर बसिरहेका थियौं । अचानक अध्यक्षले मुड्की प्रहार गर्नुभयो’, बैठकमा सहभागी वडा सदस्य नरेश तामाङले भने, ‘प्रअलाई निर्णय लेख्न केही असहज भएको देखिएपछि म सिकाइरहेको थिएँ, तर अध्यक्ष किन रिसाए बुझ्न सकिएन ।’
कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ ।

घटनापछि विद्यालयमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो । घाइते भण्डारीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ रहेको थियो । यसैबीच, नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिकाले घटनाप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष तामाङविरुद्ध कानुनी कारबाहीको माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

भदौ अन्तिम साताको हिंसा र विध्वंसलाई परिवर्तन ठान्नु गलत : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने टिप्पणी गरेका छन् । बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । भदौ २३ गतेको हिंसा र २४ गतेको देश दोहनलाई आन्दोलनलाई परिवर्तनको प्रतिक ठान्नु उपयुक्त नहुने उनको धारणा छ । उनले जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि घुसपैठ भएको कारण देश दोहन हुन पुगेको पनि बताए ।

उनले भने, ‘नेपालको लागि हिंसा र विध्वंस एउटा नियमित आकस्मिकता जस्तो भयो । १० वर्षको पीडा २० वर्ष अगाडि मात्रै टुंगिएको हो । अहिले पनि त्यसको उत्पादन समाजमा छ । जेनजी युवाहरुले एउटा फूल पनि भाँच्दैनौं, प्रहरीसँग वादविवाद गर्दैनौं भनेर आन्दोलन शुरु गर्नुभएको थियो । तर जसरी २३ गतेको हिंसा र २४ भदौको देश दोहानलाई परिवर्तन ठानेर त्यसको महिमामण्डन गर्नुपर्छ भन्ने म बेल्कुलै ठान्दिनँ ।’ उनले भ्रष्टाचारविरुद्ध तत्कालीन सरकारले गरेको कारबाही प्रक्रियाको अजरअन्दाज गरेर सरकारले भ्रष्टाचारको मलजल गरिरहेको भाष्य निर्माण गरिएकोप्रति गुनासो गरे । उनले २०४६ सालयताका भ्रष्टाचारका काण्डहरुको छानविन गर्न वर्तमान सरकारलाई चुनौती पनि दिए ।

जेनजी विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्‍यो : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले जेनजी विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको भन्दै मुलुकमा सुशासन कायम गर्ने चुनौती राजनीतिक दलहरुका सामु रहेको बताएका छन् । बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अमुक जाति, भाषा र संस्कृतिको मानिसले मात्र राज्यसत्ताको नेतृत्व गर्ने कुरा जेनजी विद्रोहले खारेज गरिदिएको पनि बताए।

उनले समाजलाई थप लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी बाटोतर्फ लैजाने कुरामा राजनीतिक दलहरु थप चनाखो हुनुपर्नेमा जोड दिए । उनले राज्य संरचनामा एउटै जाति र समुदायको नेतृत्वको तथ्यांक नै मुलुकको विकासका निम्ति गम्भीर समस्याको रुपमा रहेको धारणा राखे । उनले जेनजी विद्रोहले उठाएका एजेण्डाहरुलाई आत्मसात गरेर अघि बढ्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको पनि बताए ।

उनले भने, ‘जेनजी आन्दोलनले भ्रष्टाचारलाई खारेज गरेको छ । कुशासनलाई खारेज गरेको छ । नातावादलाई खारेज गरेको छ । कृपावादलाई खारेज गरेको छ । अमुक जाति, भाषा र संस्कृतिको मात्र नेतृत्व हुने कुरालाई पनि खारेज गरेको छ । यी कुराहरुलाई स्थापित गर्ने कुरा राजनीतिक दलका लागि सबैभन्दा ठुलो चुनौती हो भन्ने मलाई लाग्छ । त्यसकारण नेपाली समाजलाई अझै लोकतान्त्रिक बनाउने, अझै अग्रगमनतिर लग्ने, प्रगतिशील र अग्रगामी बनाउने कुरामा दलहरु चनाखो हुनुपर्छ ।’

उनले भने, ‘अहिले हाम्रो तथ्यले नै हामीलाई बर्बाद पारिरहेको छ । यो देश कुनै पनि जाति र समुदायको बहुमत भएको देश होइन । तर एउटै जाति, एउटै समुदाय र एउटै लिंगका मानिसहरु बारम्बार राज्य सत्तामा भइरहेका कारण पनि जेनजी विद्रोह भएको हो । त्यसकारण आज जेनजी आन्दोलनले मुलुकमा जुन वातावरण सिर्जना गरेको छ । त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टी जेनजी आन्दोलनले स्थापित गरेका एजेण्डालाई आत्मसात गरेर अघि बढ्ने कुरामा प्रतिबद्ध रहेको छ । हामी जेनजी आन्दोलनको मर्म र मागअनुसार नै पार्टीलाई अगाडि बढाउँछौं ।’ उनले पार्टीमा रहेका समस्याहरुको समाधान खोज्दै पार्टीलाई जेनजी आन्दोलनको मर्मअनुसार अगाडि बढाउने कुरामा पार्टी गम्भीर बहस र छलफलमा रहेको पनि बताए ।

 

न्युयोर्कमा ऐतिहासिक विजय : वामपन्थी ममदानी मेयर निर्वाचित, डेमोक्रेटहरूको मनोबल उकासियो

न्युयोर्क, १९ । अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय हासिल गरेका छन् । यो परिणामले न्युयोर्कको राजनीतिक दिशा परिवर्तन गरेको मात्र नभई सन् २०२६ को मध्यावधि निर्वाचन अघि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि प्रारम्भिक चेतावनीको रूपमा समेत देखिएको छ ।

ममदानीको यो विजयी परिणामसँगै डेमोक्रेटिक पार्टीले भर्जिनिया र न्युजर्सीको गभर्नर चुनावमा पनि उल्लेखनीय सफलता हात पारेको छ । यी परिणामहरूले ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि कमजोर भएको डेमोक्रेटहरूको मनोबल पुनः उच्च बनाएको छ भने रिपब्लिकनहरूमा भने चिन्ताको घण्टी बजाएको छ ।

व्यापारिक अभिजात वर्ग, रूढिवादी मिडिया र ट्रम्प आफैँले पनि उनको नीति र मुस्लिम पृष्ठभूमिमाथि तीव्र प्रहार गर्दै आएका थिए । तथापि, ती सबै आलोचनाबीच ममदानीको विजयले समावेशी र प्रगतिशील राजनीतिक शक्तिको उदयको सङ्केत गरेको छ ।

“यदि कुनै स्थानले डोनाल्ड ट्रम्पद्वारा विभाजित राष्ट्रलाई कसरी पुनः एकीकृत गर्ने भनेर देखाउन सक्छ भने, त्यो स्थान यही सहर हो — जसले उनलाई जन्म दियो”, ममदानीले विजय भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै भने, “राजनीतिक अन्धकारको यस घडीमा न्युयोर्क उज्यालो बन्नेछ ।”

भर्जिनिया र न्युजर्सीमा डेमोक्रेटहरूको गभर्नर पदमा जितले देशको राजनीतिक मुडमा परिवर्तन आएको सङ्केत गरेको छ । यसैबीच, क्यालिफोर्नियामा मतदाताहरूले ट्रम्प समर्थित जेरीम्यान्डरिङ्ग (निरन्तर निर्वाचन क्षेत्र पुनःसंरचना) रोक्ने प्रस्ताव पारित गर्दै चुनावी निष्पक्षतामा जोड दिएका छन् ।

अर्कोतर्फ, ट्रम्पले भने परिणामको जिम्मेवारी लिन अस्वीकार गर्दै आफ्नै ‘ट्रुथ सोसल’ प्लेटफर्ममा अज्ञात पोलस्टरहरू उद्धृत गर्दै रिपब्लिकन पराजयको कारण सरकार बन्द हुनु र मतपत्रमा आफ्नो नाम नहुनु रहेको दाबी गरेका छन्।

सदनका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले ‘डेमोक्रेटहरूले डोनाल्ड ट्रम्प र उनका चरमपन्थी सहयोगीहरूलाई देशभर परास्त गरिरहेका छन्’ भनी एक्समा लेख्दै पार्टीको पुनरुत्थान भएको घोषणा गरेका छन्।

न्युयोर्कको क्विन्स जिल्लाका सांसदसमेत रहेका ममदानीले बढ्दो जीवनयापन लागत, सार्वजनिक यातायात, बाल हेरचाह सुविधा र सहरद्वारा सञ्चालित किराना पसलहरू जस्ता ठोस मुद्दामा जनतालाई आकर्षित गरेका थिए । उनको सरल व्यक्तिगत शैली, सामाजिक सञ्जालमार्फतको सक्रियता र जनस्तरमा प्रत्यक्ष अभियानले व्यापक जनसमर्थन दिलायो ।

“अर्को र अन्तिम गन्तव्य सिटी हल हो”, ममदानीले विजयी घोषणा पछि एक्समा पोस्ट गरिएको भिडियो सन्देशमा भने।

स्व–वर्णित समाजवादी ममदानी पहिले लगभग अपरिचित हुन, तर पूर्व गभर्नर एन्डङ्यु कुओमोमाथि डेमोक्रेटिक मनोनयनमा जित हासिल गरेपछि उनी चर्चामा आएका हुन् । मङ्गलबारको मुख्य चुनावमा पनि उनले कुओमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा दुवैलाई पराजित गरे । स्लिवा गार्जियन एन्जल्स नागरिक अपराध गस्ती समूहका संस्थापक हुन् ।

ट्रम्पले चुनावको अन्तिम घडीमा ममदानीलाई ‘यहुदी विरोधी’ भन्दै व्यक्तिगत आक्रमण गरेका थिए, तर त्यो आरोप जनतामाझ प्रभावहीन रह्यो । त्यसैबीच, प्रमुख व्यापारी बिल एकम्यानसहितका आर्थिक वृतका ठूला व्यक्तिहरूले ममदानीका विपक्षीहरूलाई आर्थिक सहयोग गरे पनि परिणाम बदल्न सकेनन् ।

यस वर्षको निर्वाचनमा करिब १४ लाख ५० हजार मतदाताले मतदान गरेका थिए । यो सन् २०२१ को मतसङ्ख्याभन्दा धेरै थियो ।

राजनीतिक विश्लेषकहरूका अनुसार ममदानीको यो अप्रत्याशित उत्थानले डेमोक्रेटिक पार्टीभित्र मध्यमार्गी र वामपन्थी धारबीचको बहसलाई अझ प्रज्वलित गर्नेछ । सिराक्युज विश्वविद्यालयका राजनीति विज्ञ प्रोफेसर ग्रान्ट रीहरले भने, “न्युयोर्क जस्तो सहरमा शासन गर्नु आफैँमा चुनौती हो, जहाँ हरेक पक्षले आफ्नो धारिलो चक्कु निकालिसकेको छ ।”

कुओमोको निर्वाचन पार्टीमा निराशाको वातावरण थियो । केही समर्थकले ट्रम्पले अब सहरमा नेशनल गार्ड पठाउने सम्भावना व्यक्त गरे भने अरूले दक्षिणपन्थी मत विभाजनका लागि स्लिवालाई दोष दिए ।

न्युजर्सीमा डेमोक्रेट उम्मेदवार मिकी सेरिलले ट्रम्प समर्थित व्यापारीलाई पराजित गरे भने भर्जिनियामा एबिगेल स्प्यानबर्गरले गभर्नर पद पुनः डेमोक्रेटहरूको कब्जामा ल्याउन सफल भए ।

पूर्व राष्ट्रपति बाराक ओबामाले यी दुवै उम्मेदवारलाई समर्थन गरेका थिए । जीतपछि ओबामाले भने, “हामीसँग अझ धेरै काम बाँकी छ, तर भविष्य अहिले अलि उज्यालो देखिन थालेको छ ।”

प्रचण्ड ‘नेपाली कम्युनिष्ट पार्टी’ को संयोजक, माधव नेपाल सहसंयोजक

काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् । भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएका हुन् । सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ । नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव हलबाट पारित गरिएको हो । उनको प्रस्ताव हलले होहल्लाका साथ ताली बजाएर अनुमोदन गरेको नेता वर्षमान पुनले जानकारी दिए । विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बुधबार नयाँ पार्टी घोषणा गरेका हुन् । भेला घोषणा पत्र र विधान पनि पारित गरिसकिएको छ। १० पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरेका हुन् । नेकपा माओवादी र नेकपा एससहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ ।

 

झलनाथ मञ्च उक्लिएपछि, बामदेवको ‘घटुवा’

काठमाडौं । लामो समयदेखि वाम दलहरूको एकताबारे शंकालु देखिँदै आएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अन्ततः नयाँ रूपमा बनेको संयुक्त कम्युनिष्ट पार्टीमा सहभागी भएका छन् । ‘कतिपय असहमति र रिजर्भेसन’ रहेको स्वीकार्दै उनले ‘एकताको विकल्प छैन’ भन्दै एकीकृत पार्टीमा सहमति जनाएका हुन् ।

आज (बुधबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित वामपन्थी एकता घोषणा सभामा सहभागी हुँदै खनालले देश अहिले ‘विषम राजनीतिक अवस्थाबाट’ गुज्रिरहेको बताउँदै समाजवादी क्रान्तिको नयाँ यात्राका लागि वाम शक्तिहरूले पुनः एकताको बाटो लिनुपर्ने धारणा राखे । उनले भने, ‘म यहाँ केही ढिलो आएँ, ढिलो आउनुको कारण केही रिजर्भेसन थिए । प्रचण्डले ती विषय मिलाउने प्रतिबद्धता जनाएपछि म सहभागी भएको हुँ । असहमति भए पनि अब वाम एकता मात्रै विकल्प हो, त्यसैमा बल पुर्‍याउन आएको हुँ ।’

खनालले समाजवादी आन्दोलनलाई सुदृढ पार्न आत्मसमालोचना आवश्यक रहेको बताउँदै सबै वाम नेताले विगतका गल्ती कमजोरी सच्याउनु पर्नेमा जोड दिए । उनका अनुसार, नयाँ पार्टीले समाजवादी क्रान्तिको झण्डा उठाउँदै समृद्ध र समानतामूलक नेपाल निर्माणमा केन्द्रित हुनुपर्छ । खनाल यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी वाम पुनर्गठनबारे छलफल गरेका थिए । उनले ‘जबज त्याग्ने’ र ‘सिद्धान्तगत पुनर्विचार गर्ने’ जस्ता शर्त राखे पनि ओलीले असहमति जनाएपछि उनी वाम एकताको अर्को धार-प्रचण्ड र माधव नेपालको पक्षमा सहभागी भएका हुन् ।

यसबीच, पार्टीको वरियतामा पनि रोचक मोड आएको छ । नयाँ एकीकृत कम्युनिष्ट पार्टीमा प्रचण्डलाई पहिलो, माधवकुमार नेपाललाई दोस्रो र झलनाथ खनाललाई तेस्रो वरियता दिने सहमति भएको छ । यसअघि तेस्रो स्थानमा रहेका वामदेव गौतम अब चौंथो वरियतामा झरेका छन् । नव गठित दलमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित नौ वामपन्थी दलहरू सहभागी छन् । खनालको सहभागितासँगै वाम एकता प्रक्रियामा नयाँ ऊर्जा थपिएको ठानिएको छ, यद्यपि उनका ‘रिजर्भेसन’ र आगामी शक्ति सन्तुलनबारे राजनीतिक वृत्तमा बहस जारी छ । लामो समयदेखि एकता प्रक्रियाप्रति संशय राख्दै आएका झलनाथ खनाल अन्ततः वाम शिविरमा फर्किएका छन्—तर यो फिर्ती ‘पूर्ण सहमतिभन्दा बढी जिम्मेवारी र त्यागको संकेत’ का रूपमा व्याख्या भइरहेको छ ।

 

मध्ये भारतमा रेल दुर्घटना यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन

नयाँदिल्ली, १९ ।मध्ये भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो)रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दुःखद निधन भएको छ । दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो ।

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो । उद्धारकर्ताहरूले घण्टौँसम्मको अथक प्रयासपछि उक्त कोचलाई भुइँमा ल्याई फलाम काट्ने यन्त्रको सहयोगले भित्र अड्किएका शवहरू निकाल्न सफल भएका थिए । उनका अनुसार थप तीन जना यात्रुका शव त्यहीँ फेला परेका थिए ।

बुधबार बिहानसम्म उद्धार कार्य सकिएको र दुर्घटनास्थल हुँदै रेल आवागमन पुनः सुरु गरिएको अधिकारी अग्रवालले बताए । उनका अनुसार मृतकमध्ये यात्रु रेलका लोकोमोटिभ चालक पनि छन् भने गम्भीर रूपमा घाइते सह–पाइलट महिलाको निजी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा करिब २० जना यात्रु घाइते भएको प्रारम्भिक विवरणमा जनाइएको छ । सबैलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ ।

भारतीय रेल प्रशासनले एक विज्ञप्ति जारी गर्दै घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु भएको जनाएको छ । साथै, मृतक र घाइतेका परिवारजनलाई आर्थिक सहयोग प्रदान गरिने प्रतिबद्धता पनि जनाएको छ ।

छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

भारतमा यस्ता रेल दुर्घटनाहरू दुर्भाग्यवश असामान्य होइनन् । देशभर १४ हजार रेलमार्गमार्फत दैनिक करिब एक करोड २० लाखभन्दा बढी यात्रु ६४ हजार किलोमिटर लामो ट्र्याक सञ्जालमा यात्रा गर्छन् । रेल सुरक्षा सुधारका लागि सरकारको निरन्तर प्रयास भइरहे पनि प्रत्येक वर्ष सयौँ दुर्घटनाहरू हुने गरेका छन्, जसका कारण प्रायः मानव त्रुटि वा पुरानो सङ्केत प्रणालीलाई जिम्मेवार ठानिन्छ ।

सन् २०२३ मा भारतको पूर्वी भागमा भएको भीषण रेल दुर्घटनामा २८० भन्दा बढी यात्रुले ज्यान गुमाएका थिए । यो देशको इतिहासमै सबैभन्दा भयावह रेल दुर्घटनामध्ये एक मानिन्छ ।

सिंहदरबारमा रविलाई नभेटी किन फर्किइन् निकिता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेकी उनकी पत्नी निकिता पौडेल लामिछानेलाई नभेटी सिंहदरबारबाट फर्किएकी छन् । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बुधबार दिउँसो लामिछानेलाई बयानका लागि सिंहदरबार बोलाएको थियो । त्यही समयमा निकिता पनि त्यहाँ पुगेकी थिइन्, तर केही समयमै फर्किइन् ।

तर, चर्चामा आएको जस्तो उनी रविलाई भेट्न नभई आयोगलाई आवश्यक कागजातका सक्कल प्रतिलिपि बुझाउन पुगेको निकिताले स्पष्ट पारेकी छन् । आयोग परिसरबाट बाहिरिएपछि उनले भनिन्, ‘उहाँ (रवि) भित्र आयोगका पदाधिकारीहरूसँग कुरा गर्दै हुनुहुन्थ्यो । म बाहिरबाटै फर्किएँ, भेट हुने समय मिलेन ।’

आयोगले भदौ २४ गते लामिछाने जेलबाट बाहिरिएको घटनाको गहिरो अनुसन्धान गरिरहेको छ । यसअघि आइतबार नख्खु कारागारमै गएर आयोगका अधिकारीहरूले लामिछानेसँग भेट गरेका थिए । भेट सामान्य रहेको आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले बताएका थिए ।

आयोगका अनुसार आइतबारको कुराकानीलाई औपचारिक बयानको रूपमा अभिलेख गर्न बुधबार लामिछानेलाई सिंहदरबार ल्याइएको थियो । लामिछानेले सो क्रममा आफू कारागारबाट भागेको नभई प्रहरी र गृह प्रशासनको निर्णय अनुसार प्रक्रिया पूरा गरेर बाहिर आएको बताए । पछि सो कागजी प्रक्रिया कानुनी रूपमा त्रुटिपूर्ण ठहरेपछि उनी आफैं कारागार फिर्ता भएको उनको भनाइ छ । लामिछानेले उक्त प्रसंगसँग सम्बन्धित केही मूल कागजात घरमै छोडेका थिए । आयोगले ती कागजातका सक्कल प्रतिलिपि मागेपछि निकिता ती बुझाउन पुगेकी थिइन् । उनले भनिन्, ‘आयोगले ओरिजिनल डकुमेन्ट माग्नु भएको थियो, म तिनै दिएर फर्किएँ ।’

 

कैलालीमा एक सय छपन्न उद्योग थपिए

अत्तरिया(कैलाली) । यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । जिल्लामा हालसम्म १६ हजार २६ घरेलु तथा साना उद्योग दर्ता भईसकेको कार्यालयले जानकारी दियो। चालु आ.व.को सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी २०० वटा फर्म दर्ता भएका छन् ।

उक्त कार्यालयले चालु आ.व.को उक्त अवधिमा रु. ३९ लाख ९१ हजार छ सय ९९ राजस्व सङ्कलन गरेको छ । गत आ.व.मा रु एक करोड ६३ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो ।

गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ ।

समितिको बैठक बुधबार बोलाइएको थियो । तर, बैठक बस्नको लागि आवश्यक गणपूरक सङ्ख्या पुगेपनि विषयवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो ।

गणपूरक सङ्ख्या पुगेपनि परिवर्तित अवस्थामा सबै सदस्यहरूको सहभागितामा बैठक बस्ने गरी स्थगित गरिएको समिति सभापति तुलसीकुमारी दाहालले जानकारी दिइन् ।

जेनजी आन्दोलनपछिको हालको परिवर्तित अवस्थामा सबै सदस्यको उपस्थिति कात्तिकको २३ गते बस्ने गरी बैठकलाई स्थगित गरिएको उनको भनाई छ ।

उनकाअनुसार बुधवारको बैठकमा विधेयकलाई कसरी अगाडी बढाउने, आर्थिक २०८१/०८२ को समितिको वार्षिक प्रतिवेदनलाई पारित गर्ने, समसामयिक विषयमा छलफल गर्ने विषयवस्तु रहेको थियो ।

सङ्घीय एकाइबिचको अन्तरसम्बन्धअनुसार सुदूरपश्चिम प्रदेशमा छलफल गर्ने विषयमा सदस्यहरूको सुझाव दिने विषयवस्तु पनि कार्यसूचीमा रहेको उनले जानकारी दिइन् । उनका अनुसार समितिले सुदूरपश्चिमको प्रदेशसभासँग र त्यहाँको स्थानीय तहसँग विधि निर्माणको प्रक्रिया र कानुनको कार्यान्वयन तथा निर्माणको सन्दर्भमा समितिले छलफल गर्नेछ ।

यी सबै विषयवस्तुहरूमा अब कात्तिक २३ गते बस्ने बैठकमा छलफल गर्ने उनले बताइन् ।

उनले भनिन्,‘बैठकमा हाम्रा विषयवस्तु चाहिँ ३/४ वटा थिए । एउटा चाहिँ हामी विधेयकमाथि नै छलफल र विषयवस्तुलाई कसरी अगाडी बढाउने भन्ने विषयवस्तु एउटा थियो । अर्को, हाम्रो यो सङ्घीय एकाईबिचको अन्तरसम्बन्धको विषयवस्तु, हाम्रो यो कार्यक्षेत्रमा नै रहेको विषयमा अब हामीले सुदूरपश्चिमको प्रदेशसभासँग र त्यहाँको स्थानीय तहसँग एउटा, दुई वटा कति वटा तहसँग सम्भव हुन्छ । त्यो ठाउँमा चाहिँ उहाँहरूले विधि निर्माणको प्रक्रिया, उहाँहरूले कानुन कसरी छलफल गर्नुभएको छ, विधेयकहरूमाथि छलफल गर्ने समितिसँग छलफल गर्ने प्रदेशमा र स्थानीय तहहरुमा पनि गर्ने हाम्रो उद्देश्य छ । त्यो चाहिँ हामी सुदूरपश्चिम जाने योजना हो । त्यो योजनाको बारेमा माननीयज्युहरुको राय सल्लाह लिनलाई हामीले विषयवस्तु राखेका थियौँ । अर्को चाहिँ हाम्रो वार्षिक प्रतिवेदन, यो २०८१/०८२ को जुन वार्षिक प्रतिवेदन छ । यो वार्षिक प्रतिवेदन पारित गर्ने विषयवस्तु रहेको छ । अहिले समसामयिक अवस्था, अहिलेको परिवर्तित जुन भदौ २३ र २४ पछाडिको अवस्थामा प्रतिनिधिसभा नरहेको र राष्ट्रियसभा रहेको अवस्थामा संविधानले दिएको अधिकार र संविधानमा भएको व्यवस्था अनुरूप र हाम्रो नियमावलीले गरेको व्यवस्था अनुरूप हाम्रो जुन कार्यादेश छ, त्यो अन्तर्गत समितिले गर्नुपर्ने आफ्ना गतिविधिहरूलाई अगाडी बढाउने विषयवस्तुहरूमा छलफल गर्न आज हामीले खोजेका थियौँ । आज हाम्रो कोरम पनि पुगेको थियो । तर पहिलो बैठक चाहिँ अहिले परिवर्तित अवस्थामा सबै माननीय सदस्यको उपस्थिति भएर नै गरौँ भन्ने हिसाबले हामीले अर्को बैठक चाहिँ यही कात्तिकको २३ गते बस्ने गरी आजको बैठकलाई स्थगित गरेका छौँ ।’

उनले २३ गते राष्ट्रिय सभा अध्यक्षसँग नारायण प्रसाद दाहालसँग पनि छलफल गर्ने योजना रहेको बताइन् ।

सम्बन्धित सरोकारवाला र मन्त्रालयलाई बोलाएर विधेयकका बारेमा पनि छलफल गर्ने उनको भनाई छ । बैठकमा चलचित्र सम्बन्धी विधेयक छलफल गर्ने गरी तयारी रहेको सभापति दाहालले बताइन् ।

पार्टी फुटोस् भन्ने कहिले चाहिनँ, अब वाम एकताको नयाँ संकल्प गर्नुपर्छ’ : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू कहिले पनि पार्टी फुटोस् भन्ने चाहेको नबताउँदै वाम एकताको नयाँ अध्याय सुरु गर्नुपर्ने बताएका छन् । आज (बुधबार) काठमाडौं भृकुटीमण्डपमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको एकता घोषणा सभालाई सम्बोधन गर्दै नेता खनालले पार्टी फुट्नुका कारणबारे खुलस्त गर्दै भने, ‘हामी वाम एकता गर्न चाहन्छौं । हामीले कहिले पनि पार्टी फुटोस् भनेर चाहेका होइनौं । तर पार्टीभित्र केही कुरा पसे, त्यसैले फुट भयो । अब ती पसेका कुरा निकालेर फ्याँक्नु पर्छ ।’

उनले कम्युनिष्ट आन्दोलनमा पटक–पटक आएको विभाजनले आन्दोलन कमजोर बनाएको बताएका छन् । ‘हामी अनेकताको पक्षमा होइनौं, एकताको पक्षमा छौ’, उनले भने, ‘कम्युनिष्ट एकतालाई कसैले जलाउन वा टुटाउन सक्दैन । अब नयाँ संकल्प गरेर अघि बढ्नु पर्छ ।’

खनालले एकता कार्यक्रममा सहभागी हुनुको कारण समेत स्पष्ट गर्दै भने, ‘मैले प्रचण्डलाई केही कुरा भनेको छु । कमरेड प्रचण्डले ती कुरा मिलाउने प्रतिबद्धता गर्नु भएको छ । त्यसैले म त्यही रिजर्भेसन राखेर यहाँ आएको हुँ–एकतालाई बल पुर्‍याउन ।’ माओवादी, नेकपा एससहितको एकीकृत पार्टी ‘नेपाली कम्युनिष्ट पार्टी’ को घोषणा सभामा खनालले माधव नेपालको नाम भने लिएनन् ।

उनले सिंगो राष्ट्रको हितका लागि पनि वाम शक्तिहरू एकजुट हुनुपर्ने औंल्याए । ‘सिंगो राष्ट्रको एकता अहिलेको आवश्यकता हो । नेपालका कम्युनिष्टहरूले राष्ट्रिय हितका लागि साझा बाटो रोज्नु पर्छ’, उनले जोड दिए । त्यस क्रममा उनले आफ्नो राजनीतिक संघर्षका सम्झना पनि गरे । जेनजी आन्दोलनका क्रममा आफ्नी श्रीमती घाइते भएको स्मरण गर्दै उनले भने, ‘हातै काट्न परे पनि मेरी श्रीमतीले कम्युनिष्ट आन्दोलनका लागि कहिल्यै झुक्न नहुने सन्देश दिनु भएको थियो । त्यही संकल्प आज पनि जीवित छ ।’ खनालको उपस्थिति र अभिव्यक्तिले वाम एकताको पहलमा नयाँ ऊर्जा थपेको आयोजकहरूको भनाइ छ । पार्टीभित्र असन्तुष्टिका आवाजबीच पनि उनले ‘पार्टी फुटोस् भन्ने चाहेको होइन, बरु फुटको कारण मेट्ने समय आएको छ’ भन्दै वाम सहकार्यका लागि स्पष्ट सन्देश दिएका छन् ।

 

प्रधानमन्त्री कार्कीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधान्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजालसले कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्नुको कारण सोधेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान विपरीत पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएको जिकिर गर्दै नियुक्ति बदरको माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडालले आइतबार रिट दायर गरेका थिए । पूर्व प्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई अहिलेको संविधानले प्रधानमन्त्री बन्न नदिने उनको तर्क छ ।

राष्ट्रपतिबाट गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भइ धारा ८० बमोजिम शपथ लिएकी कार्कीको हकमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६-१३२ (२) को समेट ठाडो उल्लघंन भएको रिट निवेदनमा उल्लेख छ । रिटमा राष्ट्रपतिको कार्यालय शितलनिवास समेतलाई प्रतिवादी बनाइएको छ ।

हिंसा पीडितका लागि सहारा बन्दै एकद्वार संकट व्यवस्थापन केन्द्र

झापा। लैङ्गिक हिंसाबाट पीडितका लागि भद्रपुरमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र यहाँ प्रभावकारी बन्दै गएको छ । सबैखालका हिंसा पीडित महिला तथा वालवालिकालाई एउटै स्थानबाट उद्धार, उपचार, सुरक्षा, न्याय, पुनर्वास, परामर्श लगायतका सेवा प्रदान निःशुल्क गर्नका लागि केन्द्रको स्थापना भएको हो । प्रादेशिक अस्पताल भद्रपुरमा यो सेवा उपलब्ध छ ।

अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्रबाट आर्थिक वर्ष २०८१/०८२ मा १४७ जना हिंसापीडितले सेवा प्राप्त गरेको केन्द्रकी फोकल पर्सन निलुशा शाक्यले बताएकी छिन्। सेवा पाएकामध्ये १०४ जना जबरजस्ती करणीसम्बन्धी हिंसाका पीडित महिला रहेका छन् । घटनाका पीडकहरु १९ देखि ४९ वर्ष उमेर समूहको रहेको समेत उनले जानकारी दिए ।“ लैंगिक हिंसा, घरेलु हिंसा, बलात्कार, यौन शोषण, मानव बेचबिखन, जबर्जस्ती विवाह लगायतका घटनाका पीडितहरूले एकै ठाउँबाट सेवा पाउन सकुन् भनेर सरकारले केन्द्र सञ्चालनमा ल्याएको हो,” फोकल पर्सन शाक्य भन्छिन् “पीडितले यहाँबाट आवश्यक सेवा एकै ढोकाबाट पाउँछन् । विभिन्न निकाय धाइरहनु पर्दैन ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र झापाका दुई अस्पतालसहित कोशी प्रदेशको १८ वटा अस्पतालमा रहेको छ ।
प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मनोजकुमार साहले केन्द्रमार्फत स्वास्थ्य तथा चिकित्सकीय सेवा, कानूनी उपचार सेवा, मनोसामाजिक परामर्श, सुरक्षित आवास गृह र पुनस्र्थापना सेवा प्रदान भइरहेको बताए । फोकल पर्सन शाक्यका अनुसार केन्द्रको संरचनामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने र सरोकारवाला सरकारी निकाय एवम् महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनिधि सदस्य रहने व्यवस्था छ भने जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष र स्थानीय तहका उपप्रमुखरउपाध्यक्ष सदस्य रहनेगरी सल्लाहकार समिति रहने प्रावधान छ ।

केन्द्रले आव २०८१/८२ मा विभिन्न शीर्षकमा रु ११ लाख ४४ हजार १४२ खर्च गरेको र आव २०८२/८३ का लागि रु १५ लाख ९५ हजार ३०० को बजेट पारित गरेको शाक्यले जानकारी दिएकी छिन् । प्रादेशिक अस्पताल भद्रपुरमा विगत सात वर्षदेखि केन्द्र सञ्चालनमा रहेको छ ।

काठमाडौँका सार्वजनिक स्थलहरूमा निःशुल्क वाईफाई सेवाको अनुगमन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसहितको टोलीले बुधबार काठमाडौँका विभिन्न सार्वजनिक स्थलहरूमा सञ्चालनमा रहेका निःशुल्क वाईफाई सेवाको अनुगमन गरेको छ।

मन्त्री खरेलको टोलीले नयाँ बसपार्कदेखि टिचिङ अस्पताल, पशुपति आर्यघाट परिसर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको क्षेत्र अवलोकन गरेको हो। मन्त्रालयले झन्डै डेढ महिनाअघि राजधानीका १९ वटा संवेदनशील र अत्यावश्यक सार्वजनिक स्थलहरू—जस्तै अस्पताल, आर्यघाट, बसपार्क र विमानस्थल—मा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गर्ने प्रतिवद्धता जनाएको थियो।

अनुगमनका क्रममा मन्त्री खरेलले उक्त पहलले राजधानीका आम नागरिकलाई डिजिटल पहुँचमा जोड्ने दिशामा प्रभावकारी भूमिका खेलेको बताए। “हामीले बसपार्कदेखि टिचिङ, पशुपति आर्यघाट हुँदै विमानस्थलसम्म निःशुल्क वाईफाई सेवाको अवस्था हेयौं। डेढ महिनाको अवधिभित्र १९ वटा स्थानमा सेवा पुर्‍याइएको छ,” मन्त्री खरेलले विमानस्थलमा पत्रकारहरूसँग भने।

उनका अनुसार दोस्रो चरणमा दुर्गम जिल्लाहरूमा पनि यस्ता सेवाहरू विस्तार गर्ने तयारी भइरहेको छ। “अब हाम्रो योजना अत्यन्तै दुर्गम मानिएका सोलुखुम्बु, रामेछाप, रौतहट, गुल्मी, जुम्ला, म्याग्दी, बैतडी जस्ता जिल्लाका भीडभाड हुने र संवेदनशील सार्वजनिक स्थलहरूमा पनि निःशुल्क वाईफाई सुविधा पुर्‍याउने हो,” उनले बताए।

मन्त्री खरेलले नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वमा नेपाल टेलिकम, एनसेल, वर्ल्डलिङ्क, भायानेटलगायत निजी क्षेत्रका सेवा प्रदायकहरू र समुदायको सहकार्यमा यो परियोजना अघि बढाइरहेको बताए। “यो परियोजना राज्य, निजी क्षेत्र र समुदायबीचको साझा सहकार्यको उदाहरण हो,” उनले जोड दिए।

दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तारबारे बोल्दै उनले भने, “हामीले सुरुवाती चरणमै दार्चुलाका एक गाउँ, बाजुराको एक स्थान र तिलिचो बेसक्याम्पसम्म इन्टरनेट पहुँच पुर्‍याइसकेका छौं। त्यस्तै, जाजरकोटमा आएको प्राकृतिक विपत्तिपछि हामीले १,००० भन्दा बढी व्यक्तिलाई सञ्चारमा पुनःजोडेका छौं।”

उनले दुर्गम क्षेत्रमा सञ्चार र इन्टरनेट विस्तारलाई आफ्नो मन्त्रालय र प्रधानमन्त्री सुषिला कार्कीको पनि शीर्ष प्राथमिकता भएको उल्लेख गरे। “कर्णाली, सुदूरपश्चिम, मधेश लगायतका दुर्गम गाउँ र अन्य जिल्लाहरूमा इन्टरनेट पहुँच पुर्‍याउने कार्य हाम्रो पहिलो प्राथमिकता हो,” मन्त्री खरेलले भने।

सरकारले डिजिटल पहुँच र सूचना प्रवाहलाई सहज बनाउन निःशुल्क वाईफाई परियोजना अगाडि सारेको हो। मन्त्रालयका अनुसार आगामी चरणमा अन्य प्रमुख सहर र पर्यटकीय स्थलहरूमा पनि यस्तो सेवा विस्तार गरिँदैछ।

नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट क्षतिमा २३९ रन जोड्यो । बलियो स्कोरतर्फ लम्किँदै गर्दा दुईवटा रनआउटले नेपालको गतिमा ब्रेक लगाइदिएको थियो । राम्रो लयमा देखिएका आसिफ शेख र दीपेन्द्रसिंह ऐरी रनआउट भएका थिए । आउट हुनुअघि आसिफले ३४ रन र दीपेन्द्रले ३७ रन जोडेका थिए ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्लले सातौँ नम्बरमा आएर महत्वपूर्ण योगदान दिए । यस्तै, आरिफ शेखले ३० रन बनाएर आउट भए । दशौं नम्बरमा आएका सन्दीप लामिछानेले आक्रमक ब्याटिङ गर्दै १० बलमा १५ रन बनाउँदै नेपालको स्कोर माथि उकास्न मद्दत गरे । अन्तिम बलमा ललित नारायण राजवंशीले चौका निकाल्न सफल भए । युएईका जुनैद सिद्दिकी र ध्रुव परासरले दुई–दुई विकेट लिए ।

पुँजीगत खर्चमा भारी गिरावट, चालु शीर्षकमा बढ्यो

काठमाडौं । पुँजीगत खर्चमा भारी गिरावट देखिन थालको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको हालसम्ममा सरकारले गरिरहेको पुँजीगत खर्च घटेको हो । सरकारी खर्चको हिसाब राख्ने अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु असोज १८ गते (मंगलवार) सम्म पुँजीगत शीर्षकमा छुट्टाइएको ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरिएकोमध्ये २२ अर्ब खर्च भएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधीमा ३२ अर्ब ५६ करोड खर्च भइसकेको थियो ।

सरकारले पुँजीगत बजेट दीर्घकालीन योजनामा लगानी गर्छ । सडक, पुल, विद्यालय, अस्पताल, सिंचाई, ऊर्जा परियोजना निर्माण वा विस्तारका लागि खर्च गरिने बजेट हो । यस किसिमको खर्चले देशको उत्पादन क्षमता र दीर्घकालीन आर्थिक वृद्धि बढाउँछ । पुँजीगत खर्च विकासको गति जनाउने सूचक पनि हो । हाल साही शीर्षकमा छुट्टाइएको बजेट खर्च अघिल्लो वर्षको तुलनामा कम हुनुले विकासको गति सुस्त बन्दै गएको तथ्यबाटै प्रष्ट देखिएको हो । जेनजी आन्दोलनपछि बढ्दो अनिश्चिता र असुरक्षाको कारणले निर्माण व्यवसायीहरुले विकासका कामहरुमा तीव्रता दिएका छैनन् । अर्थतन्त्र बुझेको अर्थमन्त्री रहँदा पनि विकास खर्चमा देखिएको समस्याहरु हटाउन उनले चासो नदेखाउँदा विकासको गति सुस्त बनेको आकलन गर्न थालिएको छ ।

यता, चालु खर्च भने बढेको सरकारी तथ्यले देखाउछ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज १८ गते (मंगलवार) सम्म २ खर्ब ८२ अर्ब खर्च भएको छ । अघिल्लो आवको यो अवधिमा चालु शीर्षकमा यो वर्ष छुट्टाइएको ११ खर्ब ४० अर्ब बजेटमध्ये २ खर्ब ६४ अर्ब खर्च गरेको थियो । अघिल्लो वर्षको यो अवधिमा केही खर्च चालु शीर्षकमा खर्च बढेको देखिएको छ । चालु खर्च भनेको नियमित सञ्चालन खर्च हो । सरकारले कर्मचारी तलव भत्ता, कार्यालय खर्च, प्रशासनिक सेवा लगायतमा खर्च गर्ने गरेको छ ।

वन्यजन्तु चोरीशिकारीका तस्कर कारागार नफर्किंदा संरक्षणमा चुनौती

चितवन, १९ ।  कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधका १६ जना कैदीबन्दी हालसम्म फर्किएका छैनन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् । वन्यजन्तु अपराधका कैदीबन्दी कारागार नफर्किंदा गैँडासहित अन्य वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ ।

दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री गर्ने व्यवसायका मुख्य अभियुक्तसमेत बाहिर रहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले उच्च सतर्कता अपनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले फरार भएकामध्ये केही कुख्यात तस्करका रूपमा कारागारमा राखिएको जानकारी दिएका छन् । उनका अनुसार ठूलो कान्छा एवं सागर प्रजा भनिने विन्दरसिंह प्रजा, रमेश खाती, आइतसिंह मोक्तान कुख्यात तस्करीमा लागेकाहरू नफर्किंदा संरक्षणमा चुनौती थपिएको हो ।

निकुञ्ज प्रशासन र सुरक्षा निकायले विसं २०७८ मा नियन्त्रणमा लिएका प्रजा कालिका नगरपालिका–११ का हुन् । त्यस्तै खाती हेटौँडा नगरपालिका–३ मकवानपुरका र मोक्तान राप्ती नगरपालिका–११ का हुन् । उनीहरूमध्ये प्रजा विसं २०७८ मा र मोक्तान र खाती विसं २०८० मा पक्राउ परेका संरक्षण अधिकृत डा पन्तले जनाउँदै तीनै जना अधिकतम सजाय १५ वर्ष कैदका लागि कारागार परेका उल्लेख गरेका छन्।

अन्य फरार रहेकाहरू समेतबाट निकुञ्ज सुरक्षामा चुनौती थपिएको प्रशासनले जनाएको छ । सोहीअनुरुप निजहरूलाई पक्राउ गर्नका लागि सूचना सङ्कलन र सहजीकरणमा निकुञ्ज प्रशासन जुटेको छ भने सुरक्षा निकाय लागिरहेको डा पन्तले बताएका छन् ।

दुर्लभ एकसिङ्गे गैँडासहित वन्यजन्तु चोरीशिकारका मुख्य आरोपितहरूको सञ्जाल ठूलो हुने र फरार भएमा पक्राउ गर्न सास्ती हुने गर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले वन्यजन्तु अपराधका फरार कैदीबन्दी खोजीका लागि सम्बन्धित निकुञ्जले आवश्यक सहजीकरण गरिरहेका जनाउँदै सुरक्षा निकायको समन्वयमा निरन्तर खोजी भइरहेको बताए ।

यसैबीच, विभागको आन्तरिक रूपमा रहेको वन्यजन्तु अपराध नियन्त्रण सचिवालयको बैठक बिहीबार बस्दैछ । यससँगै केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरोको बैठक बस्ने तयारी गरिएको छ । विभागका महानिर्देशक संयोजक रहने उक्त ब्यूरोमा गृहसहित विभिन्न निकायका सहसचिवस्तरका अधिकारीहरू सदस्य रहने व्यवस्था छ ।

ढकालले राष्ट्रिय रूपमा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको भन्दै सबै निकुञ्जलाई पत्राचार गरी वन्यजन्तु अपराधमा केकति कैदीबन्दी फर्किएका छैनन् तथ्याङ्क सङ्कलन गरेर पठाउन भनिएको जानकारी दिए ।

कारागार कार्यालय भरतपुरका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार यहाँबाट भागेका ७४३ मध्ये अझै १३५ कैदीबन्दी फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेका जनाउँदै उनले वन्यजन्तु तस्करीमा ५३ जना कैदीबन्दी रहेका बताए। उनीहरूमध्ये ४६ जना दुर्लभ एकसिङ्गे गैँडाका आरोपी हुन् भने सात जना अन्य वन्यजन्तुसम्बन्धी अपराधका हुन् ।

झलनाथ खनाललाई ‘नेपाली कम्युनिष्ट पार्टी’ मा तेस्रो वरियता

काठमाडौं । ‘नेपाली कम्युनिष्ट पार्टी’ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् ।आज (बुधबार) बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूबीच खनाललाई तेस्रो वरियता दिने गरी सहमति भएको हो ।

यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो । विभिन्न घटकबीच हुन लागेको एकताप्रति खनालले असन्तुष्टि जनाएका थिए । तर उनी भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी हुन पुगेका छन् । एकता वार्तामा सहभागी एक नेताका अनुसार, बुधबार बिहान मात्रै भएको छलफलमा खनाल तेस्रो वरियतामा बसेर नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुन सहमत भएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने स्रोतले बताएको छ । खनालले हिजो मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । पार्टी निर्णयमा आपत्ति जनाएका खनालले सुरुमा पार्टी पुनर्गठनको प्रक्रियामा लाग्ने बताएका थिए । यद्यपि अन्तिम समयमा उनी प्रचण्ड–माधव समूहतिरै लागेका हुन् । एकता सभा हुनुअघि प्रचण्ड र माधव नेपालसँग खनाल वार्तामा बसेका थिए । महासचिव घनश्याम भुसाल पनि बिहानको वार्ता सहभागी भए पनि एकता प्रक्रियामा आउन राजी भएनन् ।

झलनाथपछि झाँक्री समूहका नेता थापा पनि पुगे एकता सभामा

काठमाडौं । दश दलहरूबीचको एकताविरुद्ध रहेका नेता झलनाथ खनाल जारी एकता सभामा पुगेसँगै रामकुमारी झाँक्री समूहका अर्का नेता अम्बरबहादुर थापा पनि पुगेका छन् । झाँक्रीसहित केही नेताहरू एमालेमा फर्किने तयारी थाले पनि थापा भने एकता सभामा सहभागी भएका छन् । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता थापा दैलेखबाट निर्वाचित विघटित प्रतिनिधिसभाका सदस्य हुन् । नेकपा एसका सम्मानित नेता खनालले एकताको विरोध गर्दै हिजो मंगलबारसम्म एमालेमा फर्किन छलफलमा थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत उनको छलफल भएको थियो ।

फूलखेतीमै रमाएका कृषकहरु

वालिङ (स्याङ्जा)। केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गर्दथ्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरुमा न्यूनीकरण हुँदै गइरहेको छ ।

पछिल्ला वर्षहरुमा जिल्लाभित्रका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक उत्पादन थालिएसँगै फूल तथा माला बिक्रीबाट जिल्लामा आर्थिक उपार्जन गर्ने कृषकहरुको सङ्ख्या बढ्दै गएको छ । छोटो अवधि एकै यामबाट राम्रो आम्दानी हुने र बजारमा माग अत्याधिक हुँदा बजारीकरणको समस्या नहुने भएकाले पनि पछिल्लो समय यहाँका कृषकहरु यतातिर आकर्षिक भएका हुन् ।

कालीगण्डकी गाउँपालिकाले यहाँका कृषकहरुलाई फूलखेतीको सम्भावनाका बारेमा जानकारी दिने र फूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यसहित व्यावसायिकरुपमा फूलखेती गरेको थियो । पालिकाले थालेको फूलखेतीबाट उत्पादन तथा आम्दानी राम्रो भएपछि यहाँका कृषकहरु ह्वात्तै यसतर्फ आकर्षित भएका हुन् । अहिले गाउँपालिकाका कृषकले ठूलो परिमाणमा व्यावसायिक फूलखेती गरेका छन् ।

कृषकहरुले दसैँ तथा तिहारको अवधिमा मात्रै फूल तथा माला बिक्री गरेर लाखौँ आम्दानी गर्न सफल भएका छन् । गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार दसैँ, तिहारको अवधिमा सयपत्री फूलका थुङ्गा तथा माला बिक्री गरेर रु १६ लाख २० हजार आम्दानी गरेका हुन् ।

दसैँ तथा तिहारमा फूल तथा माला बिक्रीबाट राम्रो आम्दानी गरेका कृषकहरुका बारीमा अझै पनि टन्नै फूलहरु फुलिरहेका छन् । असारमा दुई चरणमा लगाएका फूलहरुको उत्पादन पनि दसैँ, तिहार लक्षित गरेर हुने गरेको छ । दोस्रो चरणमा लगाएका फूलहरुको उत्पादन मङ्सिरको अन्तिमसम्म लिन सकिने कृषि अधिकृत पौडेलले बताए।

कालीगण्डकीसहित जिल्लाभरका कृषकहरुले गत वर्षभन्दा यस वर्ष फूल बिक्रीबाट आम्दानी पनि वृद्धि गरेका हुन् । कालीगण्डकीका कृषकहरुले सयपत्री फूल बिक्रीबाट गतवर्ष मात्रै रु १५ लाख आम्दानी गरेका थिए । बारीमा अझै पनि फूल फुलिरहेकाले आम्दानी पनि स्वतः वृद्धि हुने कुषि अधिकृत पौडेल बताउँछन् ।

कालीगण्डकी गाउँपालिकाअन्तर्गत विभिन्न वडाका २२ जना कृषकले व्यावसायिकरुपमा सयपत्री फूलखेती गर्दै आएका छन् । बाइस जनाले ३० रोपनीभन्दा धेरै क्षेत्रफलमा सयपत्री फूलखेती गरेका हुन् । गाउँपालिकाले कृषकहरुलाई सयपत्री फूलखेतीतर्फ आकर्षित गर्नका लागि प्रोत्साहनस्वरुप फूलको बीउ तथा अनुदान रकम उपलब्ध गराएको थियो । गाउँपालिकाभित्रका सामुदायिक घरबास (होमस्टे)हरुमा पाहुनाहरुको स्वागत सत्कारका लागि प्रयोग गर्ने गरी फूल लगाउने अभियान अगाडि बढाइएको थियो ।

कालीगण्डकी गाउँपालिका–३ लसर्घा देउरालीका रेमनसिंह सोमैले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सयपत्री फूलखेती गरेका छन् । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा उनले ‘कर्मा ५५५’ र कलकत्ते जातको सयपत्री फूल खेती गरेका हुन् । गतवर्ष परीक्षणको रुपमा लगाएको फूलखेतीबाट राम्रो आम्दानी भएपछि यस वर्ष थप विस्तार गरेर खेती गरेको उनले बताए । “गत वर्ष साढे दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेको थिएँ” उनले भने, “बजारमा फूलको माग अत्याधिक भई खपत भएकाले यस वर्ष पनि थप विस्तार गरी फूलखेती गरेको हुँ ।”

गत वर्ष साढे दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेका उनले यस वर्ष तीन रोपनी क्षेत्रफलमा झण्डै दुई हजार फूलका बेर्ना लगाएका हुन् । यहाँ उत्पादन भएको फूल गाउँपालिकाले बजारीकरणको व्यवस्थासमेत गरिदिएकाले बजारको कुनै समस्या नभएको हो । कालीगण्डकी गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा फूलको न्यूनतम् मूल्य निर्धारण गरिएको हो । “यहाँ उत्पादन भएको फूल थोकमा प्रतिकेजी रु तीन सय र फुटकरमा रु ३५० का दरले बिक्री गर्छौं”, उनले भने, “दुई चरणमा लगाएको फूलमध्ये पहिलो चरण अर्थात् असारमा लगाएको फूल बिक्री भइसकेको छ ।”

उत्पादन भएको फूल बुटवल, गुल्मीको रिडी तथा स्थानीय बजारहरुमा बिक्री भएको उनले बताए। गत वर्ष फूलको मूल्य कम रहेकाले अपेक्षा अनुसार आम्दानी नभएको र यसपालि मूल्य राम्रो निर्धारण भएकाले पनि आम्दानीमा वृद्धि हुने विश्वास उनको छ । “गत वर्ष एकै याममा रु दुई लाख ५० हजार आम्दानी भएको थियो”, उनले भने, “यस वर्ष क्षेत्रफल, बेर्ना र मुल्य पनि बढेकाले आम्दानी पनि बढ्छ, करिब चार लाख आम्दानी हुने अपेक्षा गरेको छु ।” गत वर्ष माला बनाएर बिक्री गर्दा पनि अपेक्षाअनुसार आम्दानी गर्न नसकेकाले यसवर्ष मालाभन्दा पनि फूलका थुङ्गा बिक्रीमा जोड दिएका छन् ।

गाउँपालिका आफैँले व्यावसायिक रुपमा फूलखेती गरेको छ । व्यावसायिक फूलखेती गर्न चाहने कृषकहरुलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउनुका साथै बजारीकरणको समेत व्यवस्था गरिदिएकाले गाउँपालिका नै फूलमय बन्न पुगेको छ । यहाँबाट बर्सेनि लाखौँ मूल्यको फूल देशका विभिन्न सहरहरुमा पुग्ने गरेको छ । कालीगण्डकी–१ का व्यावसायिक कृषक हीरामणि सुवेदीले यसपालिको दसैँ, तिहारको अवधिमा होलसेलमा रु ३०० र फुटकरमा रु ४०० प्रतिकेजीका दरले फूलका थुङ्गा बिक्री गरे । गत वर्षभन्दा यस वर्ष फूलको उत्पादन र मूल्य राम्रो पाईएकाले आम्दानी वृद्धि भएको उनले बताए। उनले दसैँ, तिहारको अवधिमा मात्रै रु एक लाख ५० हजार आम्दानी गरे ।

कालीगण्डकी–२ कि पुष्पा सिञ्जाली राना, वडा नं ५ का रविलाल गौडेल, वडा नं ६ का युवराज अधिकारी र वडा नं ७ का घनबहादुर थापाले दसैँ, तिहारको अवधिमा रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्नुभएको कृषि अधिकृत पौडेलले जानकारी दिए। गत असारमा शिक्षण पेशाबाट अवकास लिएका स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका तुल्सीराम भण्डारीले फुर्सदको समयलाई फूलखेतीमा लगाएर वर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् ।

भण्डारीले महान् चाडहरु दसैँ, तिहार, छठ पर्वलगायतका धार्मिक कार्यहरुलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोपेका थिए। दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुने गरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उनले बताए । “शिक्षण पेसामा रहँदै गर्दा पनि बिहान–बेलुकाको समयमा थोरै मात्रामा फूल खेती गरेको थिएँ”, उनले भने, “फूलखेतीबाट राम्रै आम्दानी हुने देखेपछि अहिले त झन पूरै समय फुर्सद भएकाले व्यावसायिकरुपमा फूल खेती थालेको हुँ ।”

बाँदरले अन्नबाली नष्ट गरिदिएपछि अन्नबालीको विकल्पका रुपमा सयपत्री फूलखेती थालेको उनले बताए । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गर्नुभएका भण्डारीले माग अनुसार फूल पु¥याउन नसकेको बताए । “सयपत्री फूल तथा मालाको माग अत्याधिक भएको छ”, उनले भने, “माग भएबमोजिम उपलब्ध गराउन सकिएको छैन ।”

यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ । उनले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाएका हुन्। उनले गरेको व्यावसायिक फूलखेतीमा पत्नी सरस्वती भण्डारी, छोराहरु बासु र रामचन्द्रले पनि साथ दिएका छन् । यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफँै पु¥याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरुले गर्दै आएको उनले बताए।

उनले फूलका थुङ्गा होलसेलमा प्रतिकेजी रु ३००, फुटकरमा प्रतिकेजी रु ४०० देखि रु ४५० र माला प्रतिगोटा रु ९० सम्म बिक्री गर्दै आएका छन् । ग्राहकको मागका आधारमा माला वा फूलका थुङ्गा दुवै बिक्री गर्ने गरेको उनले बताए । अहिलेसम्म झण्डै रु छ लाखको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारहरुबाट फूल तथा मालाको माग आइसकेको उनले बताए । “असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो” उनले भने, “दोस्रो चरणमा लगाएको फूलको उत्पादन मङ्सिरसम्म लिन सकिन्छ ।”

गत वर्ष एकै याममा फूल तथा माला बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएका उहाँले यस वर्ष रु १० लाख बढी आम्दानी हुने बताए । साठी वर्षीय भण्डारीले दसैँ, तिहारको अवधिमा मात्रै माला बिक्रीबाट रु दुई लाख ५६ हजार १६० आम्दानी गरेका छन्। फूलका थुङ्गा बिक्रीबाट रु चार लाख सात हजार ५० आम्दानी गरेका हुन् । उनले सयपत्री फूलका बिरुवा÷बेर्ना बिक्रीबाट पनि रु ५३ हजार आम्दानी भएको जानकारी दिए । बजारको माग र उत्पादन पनि सोही अनुसार हुँदा यसपालि राम्रो आम्दानी भएको उनी बताँउछन् । भण्डारीले विगत चार वर्षदेखि फूलखेती गर्दै आएका छन् ।

शिक्षकका रुपमा गाउँकै विद्यालयमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गरेका भण्डारीले गाउँमै तीन रोपनी जग्गामा फूलखेती गरेका हुन् । बाँझो जमिनको सदुपयोग गर्दै आगामी दिनमा फूलखेतीका लागि थप क्षेत्रफल बढाउने योजनामा रहेको उनि बताउँछन्।

वालिङ–१४ भङ्गेनीका युवा कृषक प्रकाश डुम्रेले पनि विगत आठ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएका छन्। उनले वालिङ बजार नजिकै तीन रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन् । दसैँ, तिहारजस्ता चाडपर्व लक्षित बिवाह, ब्रतबन्धजस्ता धार्मिक, सांस्कृतिक तथा विशेष मेला महोत्सवहरुमा उनले फूल तथा माला बिक्री गर्दै आएका छन् । फूलका थुङ्गा प्रतिकेजी रु ३५० देखि ४०० र प्रतिमाला रु १२० का दरले बिक्री गरेका डुम्रेले बर्सेनि राम्रो कमाइ गर्दै आएका छन् ।

स्थानीय व्यापारी तथा व्यक्तिहरुले पनि फोन सम्पर्क गरी माला तथा फूलको माग गर्ने भएकाले बिक्रीका लागि बजारको समस्या नभएको उनी बताँउछन् । गत आर्थिक वर्ष २०७५/७६ मा वालिङ नगरपालिकाबाट रु एक लाख अनुदानसमेत उनले प्राप्त गरेका थिए । नगद अनुदानभन्दा पनि गुणस्तरीय बीउबिजन तथा उपकरणहरु दिएमा आफूजस्ता किसानलाई थप प्रोत्साहन मिल्ने उनको भनाई छ । जिल्लामा फूल उत्पादनको परिणामका बारेमा कृषि ज्ञान केन्द्रमा यकिन तथ्याङ्क छैन । फूल उत्पादन गर्ने व्यवसायीहरुको समूह बनाउने तयारीमा कृषि ज्ञान केन्द्र रहेकाले अबका दिनमा मात्रै जिल्लामा फूलको उत्पादन, आयात, निर्यात तथा कारोबारका बारेमा विवरण आउने कार्यालयका सूचना अधिकारी विकास विकले जानकारी दिएका हुन्।

कलाकार निश्चल बस्नेतलाई मातृशोक

काठमाडौं । कलाकार तथा निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । उनकी आमा अमृता बस्नेतको बुधबार ७१ वर्षको उमेरमा निधन भएको हो । उनी १५ वर्षदेखि डायलसिस गराउँदै आएकी थिइन् । पछिल्लो समय निमोनिया भएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको थियो । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवार स्रोतले जनाएको छ ।