`

महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्ताव व्यक्तिगत : खड्का

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले राखेको महाधिवेशन कार्यतालिका प्रस्तावमाथि प्रश्न उठेको छ । सहमहामन्त्री यादवले मंगलबारको केन्द्रीय समितिमा १५ औं महाधिवेशन वैशाख मसान्तमा गर्ने गरी कार्यालिका पेस गरेका थिए । कांग्रेस विधानमा महामन्त्रीहरूले केन्द्रीय समितिमा प्रस्ताव पेस गर्न सक्छन् । तर सहमहामन्त्रीले प्रस्ताव पेस गरेको र त्यो प्रस्ताव पेस गर्न दिएको भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आलोचना भएको थियो ।

आज केन्द्रीय समिति बैठक सुरू हुनासाथ सहमहामन्त्री यादवले पेस गरेको प्रस्तावमाथि अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरले नै प्रश्न उठाएका छन् । १४ औं महाधिवेशनमा यादव र मन्सुर दुवै शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका थिए । सहमहामन्त्री मन्सुरले व्यक्तिगत धारणाका रूपमा सहमहामन्त्री यादवको प्रस्ताव आए पनि त्यसलाई सञ्चार माध्यमहरूमा संस्थापन पक्षको प्रस्ताव भनेर आएकोले त्यो आफूलाई स्वीकार्य नहुने बताएका हुन् ।

आफू कुनै पनि गुट भेलामा नगएको र अहिले कुनै पनि गुटमा नरहेको बताएका मन्सुरले यादवले पेस गरेको कार्यतालिकामाथि प्रश्न उठाएका हुन् । त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का बोलेका थिए । ‘सहमहामन्त्री महेन्द्र यादवले राख्नु भएको प्रस्ताव उहाँको धारणा हो भनेर मैले भनिसकेको छु । जब अध्यक्षले केन्द्रीय समितिलाई त्यो उहाँको धारणा भनिसकेपछि आज कुन पत्रिकाले के समाचार लेखे भनेर यहाँ छलफल गर्नु सान्दर्भिक हुन्न जस्तो लाग्छ, सबैको ध्यानाकर्षण गराएँ,’ कार्यवाहक सभापति खड्काको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले सुनाए ।

पोखरा सहकारीको ८९ करोड हिनामिना, अध्यक्षसहित सात जना पक्राउ

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको झण्डै ८९ करोड हिनामिना आरोपमा कास्की प्रहरीले अध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदी रहेका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले अध्यक्ष, व्यवस्थापकसहित वर्तमान तथा पूर्व पदाधिकारीलगायतलाई अनियमित ढंगले दुरुपयोग गरेको र साथ दिएको आरोपमा पक्राउ गरेको हो ।

सहकारी रजिस्ट्रार कार्यालय कास्कीले सहकारीको बचत रकम हिनामिना भएको भन्दै आवश्यक कारबाहीका लागि मंगलबार मात्रै प्रहरीलाई पत्राचार गरेको थियो । प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई बुधबार बिहान पक्राउ गरेर अनुसन्धान थालेको छ । उनीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

 

कांग्रेस नेता फरमुल्लाह मन्सुरको प्रस्ताव : भावी प्रधानमन्त्री गगन भनेर चुनावमा जाउँ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पूरै देशले गगन थापालाई खोजेको भन्दै आगामी निर्वाचनमा उनैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जान प्रस्ताव गरेका छन् । आज (बुधबार) केन्द्रीय समिति बैठकमा धारणा राख्दै मन्सुरले देशैभरबाट थापाको खोजी भएको भन्दै पार्टीले चुनाव जित्न पनि थापालाई प्रधानमन्त्रीको घोषणा गरेर जानुपर्ने बताएका हुन् ।

‘देशैभरका जनताबाट हाम्रो महामन्त्री गगन थापालाई भाबी प्रधानमन्त्री र कांग्रेसको सभापतिमा अगाडि सार्नुपर्छ भन्ने आवाज सुनिरहेको छु । उहाँले महामन्त्री जित्दा पनि ६४ प्रतिशत लोकप्रिय मत ल्याउनु भएको थियो । अहिले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्ष पनि उहाँकै कारण जुटेको हो,’ मन्सुरले भने, ‘यसैले आउने चुनावमा गगन थापा हाम्रो प्रधानमन्त्रीको उम्मेदवार हो भनेर जाउँ । यस्तो हुँदा पार्टी पनि जित्छ । हामी पनि जित्छौं ।’

पार्टीका दुईटा महाधिवेशनको कार्यतालिका आएको भन्दै उनले यतिखेर ५४ प्रतिशतले माग गरेको आधारमा विशेष महाधिवेशन उपयुक्त हुने उनले बताए । ‘हामीले वर्षौंसम्म सत्तामा बसेर गरेको काम जनताले नरुचाएपछि पछिल्लो आन्दोलन भएको हो । यसैले अहिलेकै नेतृत्त्व लिएर चुनावमा जान सकिँदैन, जानु पनि हुन्न,’ मन्सुरले भने, ‘एउटा पक्षले वैशाखमा महाधिवेशनको प्रस्ताव गरेको छ । यो महाधिवेशन गर्न ल्याइएको प्रस्ताव होइन । अर्को महामन्त्रीको प्रस्ताव छ । यसैले यतिखेर विशेष महाधिवेशन गरेर नयाँ नेतृत्त्व चयन गर्नुपर्छ । अनि मात्रै चुनावमा जानुपर्छ ।’

प्रकृतिलाई खुसी पार्न तोरन तार्ने चलन

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको बराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।

म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरुले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुन्द्रि सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाईमा रहेको तिनचुलेको बराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर बिधीपूर्वक तानिएको छ ।

खेती किसानी र पशुपालन गर्ने स्थानीयबासीहरुले परापुर्वकालदेखि हरेक वर्षको कात्तिक शुक्ल पूर्णीमाका दिन प्रकृतिलाई खुसी पार्न सामुुहिक रुपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएको धार्मिक पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रर्वद्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीले बताएका छन् ।

“कात्तिक पूर्णिमाका दिन तिनचुले बराह तालमा तोरन तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगब्याधी नहुुने र शिवालय मन्दिरमा पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ,” उनले भने “चार वटा टोलबाट सामुहिक र भाकल पुरा भएकाले व्यक्तिगत रुपमा तोरण ल्याएर तार्ने चलन छ ।”

बैकुण्ठ चर्तुदर्शीका साँझ गाउँगाउँबाट माझखर्कमा लगिने तोरनलाई त्यहाँ देखि डोलीमा चढाएर बाजा र भजनकिर्तन सहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ । शिवालय मन्दिर देखि बराहतालको पुर्वी छेउको रुखमा तोरन तान्ने गरिएको छ ।

बाबियोको डोरी बाटेर थरिथरिका फुलहरु गाँसेर तोरन बनाउने चलन छ । तोरन लिएर पुगेका भक्तजनहरु बैकुण्ठ चर्तुदर्शीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकिर्तन गर्ने गर्छन् ।

यस वर्ष पाँच वटा तोरन तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पुजाआजा तथा दर्शन गरेका समितिका अध्यक्ष धनबहादुर घर्तीले जानकारी दिए। तोरन तार्न र पुजाआजाका लागि आएका भक्तजनहरुलाई समितिले निशूल्क प्रसाद र चिया वितरण गरेको थियो ।
ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सिप, अर्गल, सिरकुुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोट लगायतका ठाउँबाट भक्तजन आएका थिए । माझखर्कबाट तिनचुलेतर्फ तोरन लैजानु अघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो ।

पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा बिजयी भएका टिकावाङका लालबहादुर पटेललाई पहलमान घोषणा गरिएको थियो । पटेललाई फेता गुटाएर काँधमा बोकेर मन्दिर र बराह ताल परिक्रमा गरिइएको थियो ।

म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तिनचुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताए ।

ताराखोला, मङ्गला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तिनचुुलेलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उनले बताए। सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सम्मुखमा रहेका तिनचुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ ।

प्रचण्ड–नेपालको एकतामा घोषणामा झलनाथ खनाल पनि पुगे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीसहितका विभिन्न १० वटा कम्युनिष्ट घटकहरूबीच एकता घोषणाका लागि बुधबार काठमाडौँको भृकुटीमण्डपमा सम्मेलन सुरु भएको हो ।सम्मेलनमा पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक शुरुवात गरेका हुन् । सम्मेलनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिएका छन् ।

सम्मेलनमा पार्टीको विधान, केन्द्रीय समिति तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेण्डा तय गरिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्र र नेकपा एसबीचको एकतामा सहभागी हुने भएका छन् । नयाँ पार्टी खोल्ने घोषणा गरेका पूर्व प्रधानमन्त्री खनाल पनि सो कार्यक्रममा सहभागी भएका हुन् । यसअघि आज बिहानै उनले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेका थिए । खनालले समाजवादी कार्यक्रममा जानुपर्ने लगायतका चार शर्त पूरा गरे एमालेमा फर्कने धारणा राख्दै आएका थिए ।

काठमाडौंको भृकुटीमण्डपमा जारी एकता सभामा उद्घोषक वर्षमान पुनले खनाल सहभागी हुन लागेको बताएका हुन् । खनाल कार्यक्रमस्थलमा आइपुगेको पुनले जानकारी दिएका छन् । खनालले हिजो मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीच भएको एकताको निर्णयप्रति खनालले शुरूमा विमति जनाएका थिए ।

गगनलाई ‘थर्काएका’ सिटौलालाई शाहीको जवाफ : तपाई ‘आउटडेटेड’ भइसक्नु भयो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले महामन्त्री गगन थापालाई कटाक्ष गर्ने नेता कृष्णप्रसाद सिटौलालाई कडा जवाफ फर्काएका छन् । जारी केन्द्रीय समितिको बैठकमा शाहीले एउटा व्यक्तिले सामाजिक सञ्जालमा स्टाटस लेख्दा देशभरि हंगाामा भएको भन्दै यस्ता कुरालाई हचुवाको रूपमा नलिन आग्रह गरे ।

‘एउटा व्यक्तिले स्टाटस लेख्यो भने देशभरि हंगामा हुन्छ । तहल्का मच्चिन्छ । अनि हाम्रै जिम्मेवार नेता केन्द्रीय समितिको बैठकमा के हो त्यो फेसबुक ? के हो सामाजिक सञ्जाल भनेर भनेर नेतालाई ललकार्नु हुन्छ ? के यस्तो भनेर र अर्कोलाई आरोपित गरेर बस्ने अवस्था छ त ?,’ सिटौलातिर इंगित गर्दै शाहीले भने, ‘इफ यु आर नट अपडेटेड, यु आर आउटडेटेड । हामीले चाहे पनि नचाहे पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैनौं । कतिपयमा दम्भ पनि हुन्छ । हामी नै हौं अरू केही होइन भन्ने छ । यस्तो गलत प्रवृत्तिबाट माथि उठौं ।’

जेनजीले सामाजिक सञ्जालमार्फत् नै आन्दोलनको आँधीबेहरी ल्याएको नबिर्सन पनि उनले नेताहरूलाई आग्रह गरे । मंगलबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री थापामाथि सामाजिक सञ्जाल चलाएर नेताहरूलाई गाली गरेको भन्दै चेतावनी दिएका थिए । महामन्त्रीमाथि अस्वाभाविक लाञ्छना लगाएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सिटौलालाई माफी नै मगाएका थिए । त्यही प्रसंगको सन्दर्भमा शाहीले यस्तै हर्कत देखाइरहे २०६४ सालमा ३७ सिटमा झरे जस्तै यस पटक ७ सिटमा झर्नुपर्ने चेतावनी दिए । ४८ घण्टामा देश तहसनहस भएको भन्दै पार्टीले चाहे नियमित महाधिवेशन जतिखेर पनि गर्न सक्ने उनको भनाइ छ ।

‘एक ठाउँमा उभिउ,ँ नियमित अधिवेशन गरौं । ४८ घण्टामा देश तहसनहस भयो । संसारमा नभएको भयो भनेर हामी नै भन्दैछौं । कांग्रेसले गर्न सक्दैन भन्ने नै होइन । कुनै नेताको अनुहार मन पर्दैन भनेर सोच्नु राम्रो हुँदैन । तर पनि आज होटल होटलमा बैठक बसेका छन् । यहाँ बस्ने बाठाटाठा साथीले महाधिवेशनको कार्यतालिका भनेर प्रस्ताव गर्नुभयो । महामन्त्री पनि प्रस्ताव आयो । सहमतिमा नआएपछि यो विचारमात्रै हो,’ उनले भने, ‘एउटा प्रस्ताव आउनुपथ्र्यो । केन्द्रीय समितिमा छलफल हुनुपथ्र्यो । हामी भोटिङबाट टुंगोमा पुर्याउँथ्यौं । तर एकले अर्कोलाई धाक र धम्की दिने कुरा गरेका छौं । यसले हामीलाई कुन ठाउँमा पुर्‍याउँछ ?’

जतिसुकै हस्ती र जिम्मेवार नेता भने पनि जनताले हराइदिने चेतावनी उनले दिए । ‘हामी सबै अतिवादी भएका छौं । हस्तीलाई नै जनताले हराइदिन्छन् । गाडीमा चढ्दा कांग्रेसका जोसुकै भए पनि चोर फटाहा भन्ने छ । बाहिर राम्रो स्थिति छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राम्रो छैन । कमजोर भएका छौं,’ शाहीले भने, ‘बैठक भइरहेको छ । तर समाधानको लागि होइन । टार्न बोलेर हुँदैन जस्तो भएको छ ।’ कार्यवाहक सभापतिलाई कार्यबाहेक बनाउन खोजेको पनि उनले बताए । फागुन २१ मा हुम्लाका हिउँमा चुनाव हुन नसक्ने पनि उनले बताए । ‘हामी हुम्लामा फागुनको चुनाव हिउँले मर्नु छैन । चुनाव हुन्छ हुँदैन एउटा कुरा हो,’ शाहीले भने, ‘तर बसेर नेताहरूले महाधिवेशनबारे एउटा निकास निकाल्नुस् ।’

हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौँ। फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त छन् । सन् १९५२ मा फ्रान्समा जन्मिएका उनले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आएका छन् ।

चलचित्र निर्देशक भ्यालीले हिमाली क्षेत्रका बासिन्दाहरूको जीवन, संस्कृतिको सौन्दर्य र चुनौतीलाई गहिरो रूपमा प्रस्तुत गर्दै सन् १९९९ मा ‘हिमालय क्याराभान’ नामक चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्र अन्तरराष्ट्रिय रूपमा अत्यधिक प्रशंसित भएको थियो, जसले विश्व प्रसिद्ध ओस्कार अवार्डका लागि मनोनयनमा परेको थियो ।

उनले त्यसअघि निर्माण गरेका डकुमेन्ट्रीहरू, हनि हन्टर्स, नेपाल बियोन्ड द क्लाउड्स, हिमायन गोल्ड रसलगायत सिर्जनाहरुले नेपालको हिमाली जीवन र वातावरणको गहिरो अध्ययन गरेका छन् । उनका फोटोहरू नेशनल जियोग्राफी, जियो म्यागेजिन र अन्य प्रमुख अन्तरराष्ट्रिय प्रकाशनहरूमा प्रकाशित भएका छन् ।

नेपालसँग उनको सम्बन्ध भावनात्मक रहेको देखिन्छ । उनले नेपालका हिमाली जनजीवन, प्राकृतिक सुन्दरता, र स्थानीय परम्पराप्रति गहिरो प्रेम व्यक्त गर्दै नेपाललाई ‘दोस्रो घर’को रूपमा लिएका छन् । केही वर्षयता खासगरी तराई/मधेसमा मनाइने छठ पर्वका बारेमा विशेष अभिरुची राख्न थालेका एरिक यसलाई नेपालको अर्को विशिष्ठ पर्वको रुपमा अथ्र्याउँछन् ।

यहाँका सांस्कृतिक मूल्य र सरल जीवनशैलीबाट सधैँ प्रेरित भएका बताउने निर्देशक भ्यालीले पछिल्लो समय वातावरणीय संरक्षण, ग्रामीण पर्यटन र सामुदायिक विकासका क्षेत्रमा पनि सक्रियता देखाउँदै आएका छन् । यसै सन्दर्भमा उनी नेपाल आएको समय पारेर उनीसँग राससको श्रव्यदृश्य स्टुडियोमा रासस समाचारदाताद्वय भीष्मराज ओझा र सिर्जना राईले गरेको कुराकानी :

तपाइँ लामो समयदेखि नेपाली संस्कृति, समाज र जीवनशैलीसँग साक्षात्कार हुनुहुन्छ । नेपालसँग तपाईको सम्बन्ध कहाँबाट कसरी सुरु भयो ? यति लामो समय तपाईलाई नेपालको के विषय ले जोडिरहेको छ होला ?

नेपाल मेरो ‘लभ एट फ्रस्ट साइट’ हो । एक शब्दमा भन्दा, प्रेम । पहिलोपटक म सन् १९७३ मा नेपाल आएको थिएँ । बनारसी बाटो हुँदै आएको याद छ । हाइकिङ गरेर, ठूलो टाटा ट्रकको छतमा बसेर आएको थिएँ । पहिलोपटक नेपाल भित्रिदै गर्दाको अनुभव म सायदै बिर्सिन सक्छु ।

यहाँका आर्कषक पाखोबारी, चिटिक्क आकारका रातो र सेतै लिपिएका घरहरु र ती घरहरु पछाडि देखिने अद्भूत हिमालहरुको दृश्यले मेरो मुटुको ढुकढुकी बढेको थियो । झण्डै ५० वर्षअघि यहाँको भूगोल र जीवनशैलीको दृश्यले मेरो ‘लभ एट फ्रस्ट साइट’ बन्यो नेपाल ।

म फ्रान्सेली नागरिक हुँ । मेरो देश पनि राम्रो छ । धेरै वर्ष फ्रान्सको पट्यारलाग्दो बसाईपछि नेपालसँगको अनुभव मेरा लागि अदभूत बन्न पुग्यो । नेपालको यात्राका क्रममा अप्ठ्यारा र अनौठा लाग्ने बाटाहरु नै रोचक अनुभूतिको सुरुआत बन्यो । नेपाल आइसकेपछि यहाँको संस्कृति मेरा लागि नयाँ संस्कृतिको खानीजस्तो भयो । यो देशसँगको प्रेमानुभुूति सधैँ रहिरहनेछ । म अहिले ७३ वर्षको उमेरमा छु । विगतलाई फर्केर हेर्दा यहाँको सबै कुराले मलाई प्रेममा पारिरहेको छ ।

तपाईको फिल्म ‘क्याराभान’ छायाङ्कन गरिएको डोल्पो, त्यहाँका समुदाय र संस्कृतिसँगको पहिलो भेटलाई कसरी स्मरण गर्नुहुन्छ ?

डोल्पो मेरो लागि अर्को सुन्दर प्रेम कथा हो । सन् १९८१ तिर म पहिलोपटक डोल्पा पुगेको थिएँ । जतिबेला नेपाल सरकारले मलाई प्रवेश दिएको थिएन । किनकी विदेशीका लागि डोल्पा निषेधित जस्तो थियो । म डोल्पा पुग्ने बित्तिकै मैले जिन्दगीको अविष्मरणीय सांस्कृतिक झट्का (कल्चरल सक) महसुस गरेँ किनभने त्यो समयको डोल्पो बाहिरी दुनियासँग अभ्यस्त थिएन, ‘अनट्च्ड’ थियो भनौं । मलाई त्यो विषय चाखलाग्दो बन्यो । मलाई नेपाल मन पर्नुको कारण डोल्पाको विशेष संस्कृति पनि हो । मेरो साथी थिन्ले (क्याराभानः हिमालय चलचित्रका मुख्य पात्र) को घरमा धेरै समय बसे, उनीसँग डोल्पा घुम्ने र बुझने काम भयो । उनैको प्रस्तावमा मैले फिल्म बनाएको हुँ ।

मैले उनलाई चलचित्रहरु देखाएको थिएँ, उनले मलाई “डोल्पो संस्कृतिको पुस्तक मात्र, चलचित्र किन नबनाउने ?” भन्ने सुझाव दिए । त्यसपछि मलाई रोचक लागेको डोल्पोसँगै थिन्लेको जीवनशैली, कथा, संस्कृति र संघर्षबारे गहन अध्ययन गरेर ‘क्याराभानः हिमालय’ निर्माण सुरु गर्‍यौँ । डोल्पावासीहरुको जीवनशैली प्रकृतिसँग निकट र निर्भर थियो । ढुङ्गाबाट बनाइएका घरमा बस्ने उनीहरु आफैँले बुनेका कपडा प्रयोग गर्दथे । सुन्दर डोल्पाका बासिन्दाहरुको जीवनशैली कठिनाइपूर्ण थियो तर उनीहरु निकै बहादुर र परिश्रमी थिए । साँच्चैभन्दा नेपाल कला, संस्कृति, भाषा, संस्कार र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।

नेपालको हरेक नयाँ ठाउँमा पुग्दा अध्ययनका लागि अझ धेरै बाँकीजस्तो छ । धेरै खोज अनुसन्धान गर्न सकिने ठाउँ हो, नेपाल । डोल्पोको अध्ययन गर्न चाखलाग्दो ठाँउ थियो । जहाँ मैले फिल्म बनाउने क्रममा सहकर्मी मात्र नभई साथीको रुपमा सम्बन्ध विकास गरेँ । म अझै पनि उनीहरुसँग सम्पर्कमा छु ।

एउटा प्रसङ्ग सुनाइहालौँ । उत्तर डोल्पामा यात्राका क्रममा मेरो जुत्ता च्यातियो । नयाँ जुत्ता बनाउन जुत्ता बनाउने स्थानीयसँग आग्रह गरेँ । याकको छालाबाट बन्ने जुत्ताको साइज र शुल्कलाई लिएर उनीसँगको संवाद मलाई अझै पनि रमाइलो लाग्छ । उनले भनेँ, “यति ठूलो जुत्ता अहिलेसम्म बनाएको छैन तर बनाउन सक्छु ।” मैले शुल्क सोधेपछि उनले भने, “चालिस पाथी पिठो दिनुहोस् ।” मैले उनलाई आफूसँग पिठो नभएकाले पैसा दिने प्रस्ताव गरेँ । उनले भनेका थिए, “तिम्रो पैसाले केही गर्न सक्दिन, मलाई पिठो देउ ।” अन्ततः मैले पिठो किनेर उनलाई दिएपछि मात्र जुत्ता बन्यो । हो, त्यो समय भिन्न थियो । र म त्यो पुरानो डोल्पासँग अत्यधिक प्रेममा थिएँ । त्यो समयको डोल्पो चुनौतीपूर्ण पनि थियो । बिरामी भए सहज उपचार पाउन सकिने अवस्था थिएन । जीवनशैली सहज थिएन । म फेरि पनि भन्छु, उनीहरु बहादुर मात्र थिएनन्, बलियो आत्मसम्मानसहित बाँच्दथे ।

यो पचास वर्षअघि र पछिको डोल्पोमा के भिन्नता देख्नुभएको छ ?

पचास वर्षपछिको डोल्पोमा धेरै कुरा बिलाएर गएको छ । सडक पुगेपछि डोल्पो फेरिएको छ । मैले ५० वर्षअघि चिनेको डोल्पो र अहिलेको डोल्पोमा धेरै भिन्नता छ । चेप्टो छानो छाएका घरहरु देखिने डोल्पो सुक्खाजस्तो थियो । विश्वव्यापी मौसम परिवर्तनले होला, अहिले वर्षा हुने रहेछ । लोपोन्मुख, मौलिक र चाखलाग्दो भौतिक संरचना र वास्तुकला अब प्रयोगमा छैनन् । जलवायु परिवर्तनको असरजस्तो देखिन्छ । पछिल्लो समय नेपाली युवायुवतीहरुले विदेशिने क्रम बढेसँगै त्यसको प्रभाव डोल्पोमा पनि देखेँ । गउँहरु रित्तिएका छन् । गाउँमा वृद्धहरु मात्र छन् । जलवायु परिवर्तनको प्रभाव त छ, त्यो भन्दा धेरै रोजगारीको खोजीमा युवाहरु विदेश पलायन मुख्य समस्याका रुपमा देखेको छु । ऊर्जाशील जनशक्ति नै बाहिर गएपछि नेपालको विकास कसरी हुन्छ होला ! यसतर्फ गम्भीर भएर यहाँको सरकारले सोच्नु आवश्यक छ ।

विदेशी निर्देशकका रुपमा तपाईलाई आफनोे फिल्ममा नेपाली संस्कृतिलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न कति सहज थियो ?

म पेसाले सिकर्मी हो, फिल्म मेरो रुचि थियो । विदेशी निर्देशकका रुपमा मैले यहाँ अलिक बढी दुःख गरेँ । म आफनो कामसँग मात्र हैन, यहाँको संस्कृति र समुदायसँग पनि उतिकै इमान्दार छु । यो देश र संस्कृतिसँगको प्रेमले फिल्म बनाउन सहयोग पुग्यो । फिल्म बनाउनुपर्छ भने हामीले विषयवस्तुको बारे थाहा पाउनुपर्छ । फिल्म खिच्नुअघि नै गहन अध्ययन आवश्यक छ । राम्रो स्क्रिप्ट लेख्नुपर्छ । हिमालय, क्याराभानको स्क्रिप्ट लेख्नका लागि मात्र पनि तीन वर्ष अध्ययन गरेका थियौँ । गहन अध्ययनले आफनो कथा, पात्रप्रतिको बुझाइ बढ्छ र आफैँ बाटो खुल्छ ।

साथी थिन्लेले भनेको अझै पनि स्मरण छ, “हाम्रो संस्कृति पनि हिऊँ जस्तो बिलाउँदैछ”, मैले जवाफमा भनेको थिएँ, “फ्रान्समा पनि मेरो संस्कृति बिलाउँदैछ ।” अहिले त अझ विश्वव्यापीकरणले सबै कुरा परिवर्तन हुँदैछ । हरेक संस्कृतिमा यस्ता विशेषता हुन्छन्, जसलाई संरक्षण गर्नैपर्छ, अभिलेखीकरणको आवश्यकता छ । किताब लेखेर होस् वा फिल्म निर्माण गरेर, त्यसलाई बचाइरहनुपर्छ । डोल्पोको कथा लेख्दै गर्दा त्यो फिल्म विश्वकै अन्तिम क्याराभान बन्न पुग्यो । वास्तवमै त्यो ठूलो दायित्व थियो । बहुत चुनौती र जटिलता थियो ।

नेपाली निर्देशकद्वारा निर्देशित नेपाली फिल्महरु विश्व समुदायमा पुर्‍याउनका लागि तपाईकोे सुझाव के छ ? नवनिर्देशकहरुले ध्यान दिनुपर्ने विषयहरु के हुन् ?

हिमालय क्याराभानको स्क्रिप्ट लेख्दै गर्दा म नेपाली संस्कृतिलाई झल्काउनुपर्नेमा पूर्ण सचेत थिएँ । तर त्यसलाई विश्वव्यापी बनाउन, अन्तरराष्ट्रिय दर्शकसम्म कसरी पुर्याउने भन्नेमा पनि उतिकै सचेत थिए । मैले ‘युनिर्भसल’ कथा नै निकाल्नुपर्ने थियो । संस्कृति मात्र देखाउने हो भने त्यसलाई बुझ्ने दर्शकमा सिमितता हुन्छ । क्याराभानको कथा नै एउटा वृद्ध र युवाबीच (जेनेरेसन कन्फ्लिक्ट) पुस्तागत द्वन्द्व र सङ्घर्षमा आधारित हो । त्यसैले फिल्ममा नेतृत्वका लागि दुई पुस्ताबीचको सङ्घर्ष देखाइएको छ, जुन संसारका सबै दर्शकले बुझने र आकर्षित गर्ने कुरा हो । क्याराभान निर्माण सानो मेहनतले सम्भब भएको हैन । समुदायबाटै पात्र छनोट काम पनि महत्वपुर्ण थियो । ज्याक पेरिन उत्कृष्ट प्रोड्युसर हुन । यसको स्क्रिप्ट तयार गर्न झण्डै तीन वर्ष लागेको थियो ।

हो, लोकल कथालाई अन्तरराष्ट्रिय दर्शकसम्म पु¥याउनका लागि कथा ‘युनिर्भसल’ बन्नैपर्छ साथमा बलियो टिमको आवश्यकता पदर्छ । क्याराभान यति सफल बन्ला भन्ने कसैले कल्पना गरेका थिएनन होला । म स्वयंलाई ओस्कारमा पुग्ला भन्ने थाहा थिएन । मैले मिहेनत गरेँ, मिहेनतले त्यहासँम्म पु¥यायो । पर्याप्त लगानी र समय दिएर बनाएको फिल्म सफल हुन्छ भन्ने हामी भन्न किटान गर्न सक्दैनाँै । ‘हनि हन्टर्स’ पनि न्यासनल जियोग्राफीमा सबैभन्दा बढी रुचाइएकामध्ये एक कथा थियो । किनभने त्यो मात्र नेपाली कथा मात्र नभई युनिभर्सल कथा थियो ।

तपाईका फिल्मले नेपाल र नेपाली संस्कृतिप्रति विश्वमा हेर्न दृष्टिकोणमा कस्तो प्रभाव पार्‍यौँ होला जस्तो लाग्दछ ? पर्यटन विकासमा टेवा पुर्‍याउन केही सुझाव छ ?

मलाई मेरा फिल्महरुले पक्कै पनि नेपालप्रति विश्वको ध्यान खिच्न सफल भयो भन्ने मेरो बुझाइ छ । र, मलाई लाग्दछ कि नेपालका पर्यटन, सांस्कृतिक चासो र संरक्षणको प्रयास पनि बढ्न थालेको छ । नेपाललाई पर्यटकीय गन्तव्य बनाउन धेरैभन्दा धेरै प्रचारप्रसार आवश्यक छ । मैले आफैँले पनि नेपाली संस्कृति विश्व समुदायसम्म पुर्याउन, प्रचार प्रसारको काम गरे । प्रचारप्रसारका लागि अन्तरराष्ट्रिय स्तरमा सम्बन्ध भएकाहरुसँग काम गर्नुपर्छ, जुन निकै महङ्गो हुन्छ । । नेपाली फिल्म बनाउँदै गर्दा त्यसको प्रवद्र्धनका लागि मलाई नेपाल सरकारबाट हुनसक्ने सहयोग पनि प्राप्त भएन । क्याराभानः हिमालय चलचित्र ओस्कार अवार्डमा पुग्यो । हनी हन्टर्स नेसनल जियोग्राफीको कभर भयो । यो देशप्रतिको प्रेम, सदभाव र सत्कर्मका बाबजुत उल्टो मैले नेपाल सरकारबाट प्रवेषाज्ञा प्राप्तिमा पटकपटक समस्या खेप्दै आएको छु । प्रवेषाज्ञा पाउन बहुतै समस्या झेल्दै आएको छु । तर पनि नेपालीहरुको माया लाग्छ । नेपालको माया लाग्छ । मेरो कामले नेपाल र नेपालीका पक्षमा सधैँ सकारात्मक प्रभाव पर्ने विश्वास छ ।

भर्जिनियामा ट्रम्पको पार्टी पराजित, पहिलो पटक महिला गभर्नर निर्वाचित

अमेरिकी राज्य भर्जिनियामा डेमोक्र्याट पार्टीकी उम्मेदवार अबीगेल स्पानबर्गरले गभर्नरको चुनाव जितेकी छिन्।

उनी उक्त राज्यकी पहिलो महिला गभर्नर बनेकी हुन्। उनको प्रतिस्पर्धा रिपब्लिकन नेतृ विन्सम अर्ल–सियर्ससँग भएको थियो।
स्पानबर्गरको जितको पुष्टि मंगलबार राति मतदान सकिएपछि भएको हो । मतगणनाको सुरुदेखि नै उनी लिड गरिरहेकी थिइन्। स्पानबर्गर पूर्व सीआईए अधिकारी हुन् र तीनपटक अमेरिकी कांग्रेस सदस्य रहिसकेकी हुन् ।

उनको अब आउने जनवरीमा पदभार ग्रहण गरिनेछ र भर्जिनियाकी पहिलो महिला गभर्नर बन्नेछिन् भन यस अघि यो पदका लागि ७४ जना पुरुष रहेर काम गरिसकेका छन्, भने उनी ७५ औं गभर्नर को रुपमा निर्वाचित हुने छिन् ।

स्पानबर्गरको प्रचार अभियान पूर्ण रूपमा ट्रम्पविरोधी थियो। उनले भर्जिनियालाई ट्रम्प प्रशासनका नीतिहरूका कारण हुने क्षतिबाट जोगाइने प्रतिबद्धता जनाउँदै आएकी छिन् । उनले भनेकी थिइन्, ‘म वासिङटनबाट आउने अव्यवस्थाबीच पनि भर्जिनियाको पक्षमा दृढ रूपमा उभिनेछु।’

उनकी प्रतिस्पर्धी सियर्सले आफैँलाई ट्रम्प समर्थकका रूपमा प्रस्तुत गर्ने प्रयास गरेकी थिइन्, तर उनलाई प्रयाप्त सहयोग वा वित्तीय सहायता भने थिएन्। चुनावको अन्तिम चरणमा ट्रम्पले पनि केवल सामान्यरुपमा समर्थन जनाएका थिए।

सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् ।

काठमाडौँ उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन् ।

सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौँ उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए। “मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ, यसलाई विस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौँ”, सञ्चारमन्त्री खरेलले स्पष्ट गरे।

सरकारले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको जानकारी दिँदै उनले भने, “दार्र्चुला, बझाङ, जाजरकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पु¥याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी इन्टरनेट सेवा पु¥याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ । ”

सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पु¥याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए ।

सञ्चार सचिव राधिका अर्यालले सूचना प्रविधिको क्षेत्रमा भएको विकास, स्रोतसाधन र सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी देशभर इन्टरनेटको क्षमता विस्तार गर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले सञ्चार मन्त्रालयको निर्देशनअनुसार नयाँ बसपार्क, काठमाडौँस्थित विभिन्न ठूला अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थललगातयका संवेदनशील एवं महत्वपूर्ण स्थलहरूमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार गरिएको जानकारी दिए।

नयाँबसपार्कस्थित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले निःशुल्क इन्टरनेट सेवा सुरु भएसँगै नयाँबसपार्क आउने सेवाग्राहीलाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको तथा तीन निर्माणाधीनसहित विभिन्न आठ स्थानमा नयाँ जडान गरिएको प्राधिकरणले जनाएको छ ।

यसैगरी ठूलोभ¥याङस्थित यातयात व्यवस्था कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ ।

सञ्चारमन्त्री खरेलको अग्रसरतासँगै अब नयाँबसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निःशुल्क एवं प्रभावकारी रुपमा वाइफाइ सेवा सञ्चालन हुने भएको छ ।

निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने भएका छन् ।

यसैबीच सञ्चारमन्त्री खरेल आजै इन्टरनेट सेवा सञ्चालनका क्रममा अनुगमन गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पशुपति मन्दिर र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल जानुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

बयानका लागि रवि लामिछानेलाई सिंहदरबारमा पुर्‍याइयो {तस्वीरहरु}

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिँदैछ । बयानका लागि लामिछानेलाई ललितपुरको नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगकै कार्यालयमा पुर्‍याइएको छ । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार पुर्‍याइ सकिएको जानकारी दिए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।

सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा लामिछाने कारागारमा छन् । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नक्खु कारागारबाट बाहिर आएको विषयमा आयोगले बयान लिन लागेको हो । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई बोलाएको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए । रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनः कारागारमै फर्किएका थिए ।

आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो । उक्त दिन लामिछाने कारागारले यहाँ सुरक्षा दिन नसक्ने भन्दै पत्र दिएको बताउँदै जेलबाट बाहिर आएका थिए । आयोगले लामिछानेकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको छ ।

२० वर्षमा धेरै कुरा बद्लियो तर, राजनीतिक दलको नेतृत्व बद्लिएन : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पछिल्ला २० वर्षमा नेपालमा धेरै कुरा बदलिए पनि राजनीतिक दलको नेतृत्व भने बदलिन नसकेको बताएका छन् । काठमाडौंमा बुधवार पत्रकार सम्मेलन आयोजना गरी उनले यस्तो बताएका हुन् ।

उनले संविधान, राज्य व्यवस्था, बसाईसराई, आर्थिक गतिविधि, बजारको विस्तार लगायतका धेरै गतिविधिले समाज नयाँ हिसावले पुनर्गठित भएको बताए । प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिए पनि पुराना पार्टीहरुको नेतृत्व भने बदलिन नसकेको बताए । उनले संसद विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भईरहने प्रवृत्ति हट्न नसकेको बताए । उनले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाड्न नचाहेको बताए ।

उनले भने, ‘हामी धेरै नयाँ भईसकेका छौँ । हामी नयाँ संविधान लेख्यौँ, राज्य व्यवस्था नयाँ बनायौँ, बसाईसराई अरु आर्थिक गतिविधि बजारको विस्तार यी गतिविधि धेरै कुराले हाम्रो समाज नयाँ हिसावले पुर्नगठित हुँदैछ । यसको संरचनामा ठुलाठुला परिवर्तन आएका छन् । प्रविधि, यसको विकास, यसले समाजमा पारेको प्रभाव, मनोविज्ञान त्यो धेरै कुरा बदलियो । गएको १० वर्षमा, १५ वर्षमा, २० वर्षमा धेरै कुरा बदलियो तर बदलिँदै नबदलिएको एउटा कुरा छ, त्यो हो, हाम्रा पुराना पार्टीहरुको नेतृत्व । त्यो बदलिएन । सबै चीज बदलिनुपर्ने र बदलिसक्यो । तर पुराना पार्टीहरु नेतृत्व सधैभरी त्यही रहनुपर्ने ।’ उनले राजनितिक पार्टी र त्यसको नेतृत्व सुधार नभएसम्म राज्य संयन्त्रन सुध्रिन नसक्ने बताए ।

ओरालो लागेकाको एकताले निकास दिंदैन, नालायकी लुकाउने प्रयास मात्रै : घनश्याम भुसाल (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एकताका नाममा उल्टो बाटो हिँडेर गरिएको तमासाले कम्युनिष्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै लैजाने टिप्पणी गरेका छन् । माओवादीसहितको एकता प्रक्रियामा असहमति राख्दै पत्रकार सम्मेलन गरेर नेतृत्व असफल विवादित बन्दै गएको र माओवादी केन्द्रको नेतृत्वमाथि ठुला प्रश्न उठेको अवस्थामा आयोजना हुँदै गरेको एकता नेताहरूको नालायकी लुकाउने प्रयास बाहेक केही हुन नसक्ने बताए ।

उनले माओवादी अध्यक्ष प्रचण्ड र पार्टी अध्यक्ष माधव नेपालको मिलनलाई लक्षित गर्दै ओरालो लागिरहेका धेरै जनाको एकताले उकालो नचढिने उनले बताएका छन् । उनले भने, ‘गत कार्तिक १५ गते पार्टीको केन्द्रीय कमिटीका सदस्यहरूको आकस्मिक बैठकले समग्र परिस्थितिको विश्लेषण गर्दै कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी पुनर्गठनका लागि पार्टी पंक्तिलाई आह्वान गर्ने र भावी योजना बनाउनका लागि स्थायी कमिटीमा रहेका कमरेडहरूलाई जिम्मा दिएको छ ।’

उनले कमजोर र ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिएको बताउँदै यसले निकास दिन नसक्ने निष्कर्ष उनले सुनाए । बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले पछिल्लो पटक पार्टीले नेकपा माओवादी केन्द्र लगायतसँग गर्न लागेको एकताप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

‘संकटमोचन गर्ने फर्मुला जुन तयार भएको छ । यो गलत छ,’ भूसालले भने, ‘कमजोरहरू, ओरालो लागेकाको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैन, जो आफैं ओरालो हिँड्दै छन् । त्यसले निकास दिँदैन ।’ एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा समाजवादको जिम्मेवारी आफूहरूले लिएको स्मरण गर्दै अहिले त्यो उद्देश्य कहाँ पुग्यो ? भनेर प्रश्न गरे । उनले भने, ‘त्यसैले तथाकथित एकताको भ्रममा नपर्न, नेकपा एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन, र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई हामी आह्वान गर्दछौँ । साथै, आगामी मंसिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गर्दछौँ ।’

आगामी भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने बताए । उनले थपे, ‘हामीले क्रान्तिकारी पुनर्गठनका लागि लिएको यस पहलकदमीलाई आफ्ना अमूल्य सुझाव, सल्लाह दिन सबै विभिन्न राजनीतिक दल, पेसा वा क्षेत्रमा रहेका देशभित्र वा बाहिर रहेका देशभक्त, लोकतन्त्रवादी, प्रगतिशील, वामपन्थी तथा कम्युनिष्टहरुलाई हार्दिक आह्वान गर्दछौँ ।’

हेर्नुस् पूर्णपाठ

 

सोधपुछका लागि नख्खु कारागारबाट रविलाई सिंहदरबार ल्याइदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सोधपुछका लागि हिँडाइएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ । उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गरिनेछ ।

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो ।

जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट हिँडाइएको नख्खु कारागार स्रोतले बताएको छ ।

प्रचण्ड–खनाल र भुसालको भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौं । वामपन्थी एकता प्रक्रियालाई तीव्र बनाउने प्रयासका बीच आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच महत्वपूर्ण भेटवार्ता भएको छ । खनालसँगै पार्टी महासचिव धनश्याम भुसाल पनि प्रचण्ड निवास पुगेर करिब एक घण्टा लामो छलफलमा सहभागी भएका छन् ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार भेटवार्ता अझै जारी रहे पनि प्रारम्भिक वातावरण सकारात्मक रहेको छ । ‘हामी एउटै केन्द्रमा एकताबद्ध हुनुपर्छ भन्ने आग्रह गरेका छौँ,’ श्रेष्ठले सुनाए, ‘उहाँहरूले पनि पदीय बार्गेनिङ होइन, नीतिगत सहमतिको आधारमा अघि बढ्ने संकेत गर्नु भएको छ ।’ श्रेष्ठका अनुसार छलफलमा केही नीतिगत विषय अझै खुल्न बाँकी भए पनि आगामी एकदेखि डेढ घण्टाभित्र निर्णय आउने अपेक्षा गरिएको छ ।

श्रेष्ठले दिउँसो तय गरिएको नौ वामपन्थी दलबीचको एकता प्रक्रियामा खनाल र भुसाल पनि सहभागी हुन सक्ने सम्भावना प्रबल रहेको बताए । ‘अन्तिम टुंगो नलागे पनि वार्ता सकारात्मक दिशातर्फ छ,’ उनले भने, ‘एकता प्रक्रियामा उहाँहरू सहभागी हुनुहुने सम्भावना छ ।’ पूर्व प्रधानमन्त्री खनालले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वाम एकताको विषयमा संवाद गरेका थिए । तर, ओलीसँग सहमतिको सम्भावना नरहेको भन्दै खनाल माओवादी केन्द्रसँगको संवादमा जोडिएका हुन् । यस भेटवार्तालाई वामपन्थी एकता प्रक्रियामा नयाँ गतिका रूपमा हेरिएको छ । भेटवार्ता सकारात्मक रहेको भन्दै श्रेष्ठको अबको एक डेढ घण्टामा निर्णय आउने बताए ।

‘एक–डेढ घण्टामा निर्णय आउँला । हामीले एउटै केन्द्रमा बस्नु पर्छ भनेर उहाँहरुलाई आग्रह गरेका छौँ,’ प्रचण्डसँगै रहेका श्रेष्ठले भने, ‘उहाँहरूले हाम्रो पदीय बार्गेनिङ होइन भन्नु भएको छ । नीतिगत रुपमा केही विषयमा छलफल भइरहेको छ । त्यो छलफलपछि मात्रै निष्कर्ष आउँछ । एक–डेढ घण्टाजति समय लाग्ला । सकारात्मक निर्णय आउने छ भन्ने आशा गरौं ।’

छलफल सकारात्मक भएको भन्दै उनले आज दिउँसो हुन लागेको नौ वामपन्थी दलबीचको एकता प्रक्रियामा पनि खनाल र भुसाल सहभागी हुन सक्ने संकेत गरे । ‘विषय टुंगिसकेको त छैन, तर सकारात्मक छ । एकता प्रक्रियामा आउनु होला भन्ने आशा गरौँ,’ श्रेष्ठले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले गए राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वामपन्थी एकताको विषयमा कुराकानी गरेका थिए । तर, ओलीसँग एकता सम्भव नभएको खनालले बताएका छन् ।

 

झलनाथ खनाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । बुधबार बिहान पूर्वप्रधानमन्त्रीद्वयबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा खनालले आफ्नी श्रिमती रविलक्ष्मी चित्रकारको उपचारको सिलसिलामा देखाएको सद्भावप्रति धन्यवाद दिएका थिए ।

खनालका प्रेससहयोगी मिलन उपाध्यायका अनुसार वर्तमान राजनीतिक अवस्थाको बारेमा पनि छलफल भएको हो ।

माओवादी र एकीकृत समाजवादीको एकतामा नजाने घोषणा गरेका खनाल मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए । एमालेका नेताहरूका अनुसार वार्ता सरकारात्मक रहेको छ ।

जेनजी आन्दोलनपछि राहदानी वितरणमा समस्या

काठमाडौं । जेनजी आन्दोलनपछि राहदानी बनाउनेको घुइँचो देखिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको विभागका अधिकारीहरु बताउँछन् । उनीहरुकाअनुसार यो भीड बढ्नुको कारण जेनजी आन्दोलनसँगै दशैं–तिहार पनि मुख्य कारक हो । जेन–जी आन्दोलनका कारण केही राहदानी जलेको र उपकरणमा क्षति पुग्दा विभागको सेवा अवरुद्ध हुन पुगेको र दशैँ तिहार मनाउन आउनेहरुले पासपोर्ट बनाएर फर्कन खोज्दा भीड थेगिनसक्नु भएको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताए ।

उनकाअनुसार राहदानी विभागसँग अहिले एक लाख ७९ हजार राहदानी स्टक छ । मासिक रुपमा ९० हजारदेखि १ लाखसम्म नियमित रुपमा राहदानीको माग हो । त्यसैले अझै २ महिनालाई राहदानी पुग्ने नै छ । चार महिनापछि नयाँ कम्पनीले सम्झौताअनुसार राहदानी व्यस्थापन गर्नेछ । अहिले राहदानी पुस्तिका कम वितरणको कारण कुनै समस्याले बिचमा पुस्तिका अभाव नहोस् भन्ने हेतुले रहेको उनको भनाइ छ । अर्यालकाअनुसार अहिले दैनिक झण्डै ४ हजार ५ सय देखि ५ हजारको हाराहारीमा राहदानीको माग छ ।

त्यसमा विभागबाट हुने सामान्यतः १ हजार २ सय हो । अहिले विभागले दैनिक १ हजार राहदानी वितरण सामान्य प्रक्रियाबाट दिएको छ भने जरुरी परेर आउने २–३ सय जनालाई पनि विभागले राहदानी दिने गरेका छ । नियोग जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयहरूबाट थप राहदानी वितरण भइरहेको छ । अहिले दैनिक २ हजारदेखि २हजार ५ सयको हाराहारीमा राहदानी उत्पादन भइरहेको छ । त्यसमध्ये १ हजार देखि १ हजार २ सय विभागबाट वितरण भएको छ भने बाँकी जिल्ला प्रशासनसहितका कार्यालयलाई र विदेशस्थित नियोगबाट वितरण भइरहेको अर्यालले जानकारी दिए ।

महानिर्देशक अर्यालले भने, ‘मुख्य तीन कारणले राहदानी बनाउनेको भीड देखियो । एउटा जेन–जी आन्दोलनका कारण पासपोर्ट र केही उपकरणहरु जले । त्यसले गर्दा जिल्लाबाट राहदानी वितरणमा केही समस्या भयो । जिल्लामा राहदानी वितरणमा ढिलाइ हुन थालेपछि सबै मान्छेहरु विभागमा आएका कारण भीडभाड देखिएको हो । दोस्रो कारण जेनजी आन्दोलनका कारण सेवा अवरुद्ध हुन पुग्यो र दशैँ तिहारका कारण सेवा अवरुद्ध भयो । त्यसमा पनि दसैँ तिहारका लागि जतिपनि विदेशबाट नेपालीहरु आएका थिए, ती नेपालीहरुले धेरैजसोले नेपालबाट पासर्पोट बनाएर जान खोजेपछि चाप बढेको हो ।’

उनले भने, ‘अर्को कारण राहदानीका लागि पुरानो सम्झौता सकिँदैछ । यो सक्रमणकालिन अवस्था हो । नयाँ सम्झौता अनुसार आपूर्ति हुनका लागि अहिलेको तालिकाअनुसार फागुन ११ बाट राहदानी जारी शुरु हुन्छ । त्यो अवधीभित्र अलिकति राहदानी पुस्तिकाको अभाव हुनसक्छ । अहिले राहदानी पुस्तिका सीमित छ । बीचमा वैकल्पिक व्यवस्था गरेर पूर्ति गर्ने भनेर लागिरहेका छौं । सम्भवतः एक दुई हप्ता भित्र रिजल्ट पनि आउछ । जरुरी पर्नेलाई तत्कालै दिन सकियोस् भनेर अहिले सेवा कटौती गरिएको हो । यो तीन कारणले अप्ठ्यारो परेको हो । भीड धेरै समय रहँदैन । छिट्टै नै यो समस्या समाधान हुन्छ ।’

६ हजार राहदानी जले
राहादनी विभागकाअनुसार जेन–जी आन्दोलनमा ६ हजार राहदानी जलेर नष्ट भएका छन् । जलेका राहदानी बनाउनेहरुको पनि विभागमा आउँदा भीड बढेको महानिर्देशक अर्याल बताउँछन् । उनले भने, ‘हाम्रो तथ्यांकमा करिब ६ हजार राहदानी जलेका छन् । ती एकैपटक बल्कमा रि प्रिन्ट गर्ने भन्दा पनि जसलाई जरुरी छ, उसैलाई प्राथमिकता दिनुपर्छ भनेर काम भइरहेको छ ।’

अर्यालकाअनुसार अहिले देखिएको भीडभाड एक–दुई हप्तामै समाधान हुन्छ, त्योअनुसार काम पनि भइरहेको छ । यसमा राहदानी विभाग, परराष्ट्र मन्त्रालय र सिंगो नेपाल सरकारले विभिन्न प्रयास गरिरहेको उनको भनाइ छ । अहिलेको भीडलाई व्यवस्थापन गर्न सबै कुटनीतिक च्यानललाई विभागले प्रयोग गरिरहेको छ । त्यसैले एक–दुई हप्ताभित्रमा समस्या समाधान हुने सम्भावना छ ।

अर्यालले सबैले राहदानी पाउनसक्ने स्थिति रहेकाले नआत्तिन सबैलाई आग्रह समेत गरेका छन् । ‘मेरो चाहीँ अनुरोध छ सबैलाई, आत्तिनु पर्ने केही छैन । सबैलाई हामीले जरुरी छ भने राजधानी दिन्छौं र त्यो जरुरी हुनेलाई सहज रूपमा, यदि केही व्यवस्था भयो भने, एकदम सहज रूपमा दिने गरी हामीले व्यवस्था मिलाउँछौं । त्यसैले एक–दुई हप्ता चाहीँ पर्खिदिनु हुन अनुरोध छ । त्योभित्रमा हामीले गृहकार्य गरिरहेका छौं र सबैलाई सहज रूपमा दिने गरेर राजधानी वितरण हुने गरी हामी व्यवस्था मिलाउँछौं र यसको लागि सबैको सहयोगका लागि अनुरोध गर्दछु,’ महानिर्देशक अर्यालले भने ।

प्रचण्ड र माधव नेपालको एकता आफूलाई जोगाउन मात्र : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) बाट विदा लिएकी नेतृ रामकुमारी झाँक्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा एसबीच पार्टी एकता हुँदा वाम आन्दोलन कमजोर हुने दाबी गरेका छिन् । आफ्नो पार्टीको मूल नेतृत्व एकताको पक्षमा उभिएपछि आज पत्रकार सम्मेलन गरेकी झाँक्रीले यस्तो दाबी गरेकी हुन् ।

‘नेकपा बन्दा पार्टीभित्रको लोकतान्त्रिक जीवन समाप्त पर्‍यौं । अहिले फेरि नेकपा एस र माओवादी एक हुँदा वाम आन्दोलन कमजोर हुन्छ । किनकी, त्यहाँ ओत लाग्ने मात्रै काम हुँदैछ, यसले पार्टी कमजोर हुन्छ’, उनले भनिन् । उनले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भए राज्यका प्रणाली कमजोर हुने बताइन् । उनले प्रचण्ड र माधव नेपालको एकता आफूलाई जोगाउनका लागि मात्र भएको समेत आरोप लगाइन् । नेतृ रामकुमारी झाँक्रीले आजबाट एकीकृत समाजवादी पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका वाम दलबीच आज एकता घोषणा हुँदै गर्दा यो प्रक्रियाबाट अलग रहेकी झाँक्रीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन् । झाँक्रीले भनिन्, ‘एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने अभियानमा हामी लागेका छौँ । आज एकीकृत समाजवादीसँगको यात्रा टुंगिँदा एक प्रकारले हामी खुसी नै छौं ।’

राजदूत फिर्ता बोलाउनु अदालतको अवहेलना : नेपाल बार

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा विचाराधीन रहेको राजदूत फिर्ता प्रकरणमा सरकारले गरिरहेको काम कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतमा मुद्दा चलिरहेको र अन्तरिम आदेशसमेत जारी भइसकेको अवस्थामा राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा फिर्ता बोलाएर काममा लगाउने सरकारी निर्णय अदालतको अवहेलना भएको बारको ठहर छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बारले सरकारको यो कदमले स्वतन्त्र न्यायपालिकाको अवधारणा र विधिको शासनलाई कमजोर बनाउने चेतावनी दिएको छ ।

महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक प्रावधान, संविधानवाद र स्वतन्त्र न्यायपालिका सम्बन्धी अवधारणा एवम् संविधानको धारा १२८ (४) बमोजिम अदालतको आदेशभन्दा फरक परिणाम निकाल्ने गरी गरिने कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष कार्य अदालतको अवहेलना हो ।’

बारले अदालतको आदेश वा फैसलाको पालना गर्नु सबैको कर्तव्य भएको स्मरण गराउँदै यसको उल्लंघनले स्वेच्छाचारितालाई बढावा दिने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अदालतको फैसला वा आदेशमाथि स्वस्थ, प्राज्ञिक छलफल गर्न सकिए पनि त्यसको प्रत्यक्ष वा परोक्ष रूपमा पालना नगर्नुले विधिको शासनलाई कमजोर पार्दछ ।’ नेपाल बारले अदालतप्रतिको आस्थामा आँच आउने कुनै पनि कार्य नगर्न र अदालतका आदेशहरूको अक्षरशः पालना गर्न सम्बन्धित सबै पक्षलाई हार्दिक अपिल गरेको छ ।

५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ५० अर्ब निक्षेप तान्ने भएको छ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । गत हप्ताबाट लामो समयका लागि अर्थात १७५ दिन अवधिको निक्षेप संकलन गरेको राष्ट्र बैंकले आज पनि दीर्घकालिन निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकले अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ ।

ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख १६ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ ।

यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटक पटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । आइतबारको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । बैंकहरुले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट छैन् । त्यसैले राष्ट्र बैंकले दीर्घकालिन उपकरण प्रयोग गर्न थालेको छ । हाल बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम चुलिरहेको छ ।

रंग उडेर लेउ लाग्न थालेको रानीमहल, प्रांगणमा फोहोर (तस्बिरहरु)

पाल्पा । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाएको रंग उडेर भित्तामा लेउ लाग्न थालेको छ ।

रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले वेवास्ता गर्दा यहाँको सरसफाइ भएको छैन भने भवनको रंगरोगन उडेको छ ।

तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले उठाउँदै आएको छ । तानसेन नगरपालिकाले गत साउनदेखि कार्तिक १२ गतेसम्म १३ लाख ७० हजार ३ सय राजस्व संकलन गरेको छ ।

घुम्न जाने पर्यटक रानीमहल भित्रै बसेको, प्रहरीले कपडा सुकाएर अशोभनीय कार्य गरेको, फोहोर सफा नगरेको गुनासो स्थानीयले गरेका छन् ।

२०७५ साउनमा पुरातत्व विभागले १० वर्षका लागि तानसेन नगरपालिकालाई रानीमहल हस्तान्तरण गरेको छ । दैनिक कम्तीमा ३ सय पर्यटकले रानीमहलको अवलोकन गर्ने गरेको तानसेन नगरपालिकाले जनाएको छ ।

वर्षायामपछि रानीमहलमा कालो धब्बा देखिँदै आएको तर विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रंगरोगन गर्न ढिलाई भएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए ।

वि.सं. १९५० मा निर्माण सुरु भएर १९५४ मा निर्मांण कार्य सम्पन्न भएको ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीमहललाई प्रेमका प्रतिकका रुपमा चिनिन्छ । तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमा युनानी शैलीमा रानीमहल दलबार निर्माण गरेका हुन् ।

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबारको खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार, बिहान ११ः१५ बजे शुरू हुनेछ ।

जारी शृंखलाको यो अन्तिम खेल हो । नेपाल र यूएई दुवैले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । यो शृंखलामा अमेरिकाले आफ्नो चारवटै खेल जितेको छ । आयोजक यूएईले पनि एक खेल जितेको छ भने नेपाली टोली यसअघि खेलिएको तीनवटै खेलमा पराजित भएको छ । त्यसैले बुधबारको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

भयानकै होला भनेर सुरू गरेको समाजवादीसँगको यात्रा आजैबाट समाप्त भयो : झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको घोषणा गरेकी छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकताको निर्णयसँगै नेकपा एस विसर्जन भएको समेत टिप्पणी गरिन् । झाँक्रीले भनिन्, ‘प्रारम्भका दिनहरूमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं । त्यो अभियान एक हिसाबले समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । पार्टी विघटन भएको छ ।’

उनले अहिले आफूहरूको बाटो अवरुद्ध बनेको र ‘पज’ को अवस्थामा रहेको बताइन् । माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्‍याएको दृष्यलाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै उनले त्यसलाई एउटा बिम्बको संज्ञा दिइन् । ‘त्यो फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो । त्यो एउटा बिम्ब मात्र थियो । विभाजनमा म प्रमुख पात्र थिएँ वा थिइनँ इतिहासले मूल्यांकन गर्नेछ,’ झाँक्रीले थपिन् ।

अब यो यात्रा टुंगिएकोमा आफू खुशी नै भएको उनले बताइन् । यो यात्रा अवरुद्ध छ भन्ने धेरै पहिले थाहा पाए पनि विभिन्न प्रतिबद्धताका कारण निर्णय लिन समय लागेको प्रष्ट पारिन् । संविधान र लोकतन्त्रमा संकट आएपछि एकीकृत समाजवादी निर्माण गरेको भन्दै उनले तर सो पार्टी सोचेअनुसार अघि बढ्न नसकेको र आफूहरूले त्यो पार्टीबाट चुनाव जित्नसमेत नसकेको उनले बताइन् ।

बिना शर्त पूरानै घर फर्कदै छौं, हाँसेर बोलिदिए पुग्छ : किसान श्रेष्ठ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले पुरानै घर नेकपा एमालेमा निःशर्त फर्किन लागेको बताएका छन् । उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर फर्किन लागेको बताएका छन् । आज पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’ ‘हामी निःशर्त आफ्नो घर फर्किन चाहन्छौं । त्यो वातावरण बनाइ दिन अनुरोध गर्न चाहन्छु,’ श्रेष्ठले थपे ।

पत्रकार सम्मेलन गर्नुको कारण सुनाउँदै उनले भने, ‘कसैसँग समाहित वा एकता भन्दा पनि मूल घर, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा प्रवेश गर्ने होइन कि निःशर्त घर फर्किने सिलसिलामा पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’ नेपालको कम्युनिष्ट आन्दोलनमा ध्रुवीकरणको नयाँ अध्याय सुरु भएसँगै नेकपा एकीकृत समाजवादीभित्र भने तीव्र मतभेद देखिएको छ । नेकपा माओवादी केन्द्रसहित ९ कम्युनिष्ट घटकहरू मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गर्न लागेकै दिन एकीकृत समाजवादीको एउटा प्रभावशाली समूहले पार्टी परित्याग गरी नेकपा एमालेमा फर्कने घोषणा गरेको हो ।

नेतृ रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको समूहले आज बिहान बसेरा होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेमा फर्कने घोषणा गरेको हो । एकीकृत समाजवादीका केही नेताहरूले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाउँदै आएका थिए । उनीहरूले पार्टीको अस्तित्व र औचित्यमाथि प्रश्न उठाउँदै एमालेसँगको एकता नै स्वाभाविक हुने तर्क गर्दै आएका थिए ।

यसअघि, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकताका लागि विभिन्न चरणमा वार्ता भए पनि झाँक्री समूहलगायतका नेताहरूको असहमतिले गर्दा प्रक्रियाले पूर्णता पाउन सकेको थिएन । आजै ९ कम्युनिष्ट पार्टीहरू एक भई नयाँ दल घोषणा गर्न लागेका बेला एकीकृत समाजवादीमा आएको यो फुटले नेपालको वामपन्थी राजनीतिमा नयाँ तरङ्ग ल्याउने निश्चित छ ।

रवि लामिछानेसँग जाँचबुझ आयोगले सोधपुछ गर्दै

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेसँग सोधपुछ गर्ने भएको छ । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो ।

जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराइने नख्खु कारागार प्रशासन स्रोतले जनाएको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।

रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनः कारागारमै फर्किएका थिए । आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।

अशोक राईलाई प्रचण्ड–माधवको एकता प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोक राईलाई एकता प्रस्ताव गरेका छन् । सो प्रस्तावपछि राईले केन्द्रीय समिति बैठक बोलाएका छन् । अध्यक्ष राईले एकताको प्रस्ताव आएको पुष्टि गर्दै पार्टीको एकीकृत धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिएका छन् । बैठक आज बिहान साढे ११ बजे काठमाडौंस्थित पार्टीमा कार्यालयमा बस्ने उनले जनाएका छन् ।

बैठकमा पार्टी एकता र मोर्चाबन्दीका लागि आएका प्रस्तावसहित आगामी निर्वाचन र भदौको जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाबारे छलफल हुने अध्यक्ष राईले बताए । ‘पार्टी एकता गरौं, नभए मोर्चाबन्दी गरौं भनेर प्रचण्डबाट, माधव नेपालजी लगायत दुई–चार ठाउँबाट प्रस्ताव आएको छ । यस सम्बन्धमा कस्तो नीति बनाएर जाने भन्नेबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको छ,’ अध्यक्ष राईले भने । उनले केन्द्रीय समिति बैठकको निष्कर्षअनुसार अगाडि बढ्ने बताएका छन् ।

ओलीपछि आज प्रचण्डसँग भेट्दै झलनाथ खनाल

काठमाडौं । वामपन्थी दलहरूबीच एकताको बहस चलिरहेका बेला नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शीर्ष नेताहरूसँगको भेटवार्ता तीव्र बनाएका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भोलिपल्टै आज उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग वार्ता गर्दैछन् ।

नेता खनालले वाम एकताका लागि चार वटा वैचारिक शर्त अघि सारेका छन् । जसमा माक्र्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, समाजवादी क्रान्तिको कार्यदिशामा स्पष्ट हुनुपर्ने र समाजवादी कार्यक्रममा एकमत हुनुपर्ने जस्ता विषय प्रमुख छन् । ‘यी शर्तहरू मान्ने जोसुकैसँग पार्टी एकता हुनसक्छ,’ खनालले भने ।

खनाल बृहत् वाम एकताको खोजीमा रहँदा उनकै पार्टी एकीकृत समाजवादी भने विभाजनको संघारमा छ । अध्यक्ष माधवकुमार नेपाल पक्ष माओवादीसँग एकता गर्ने निर्णयमा पुगिसकेको छ भने खनाल, घनश्याम भूसाल र रामकुमारी झाँक्री पक्ष यसमा असहमत छ । झाँक्री नेतृत्वको समूह आजै पत्रकार सम्मेलन गरेर नेकपा (एमाले) फर्कने तयारीमा रहेको बुझिएको छ ।

माओवादी र नेकपा एससहितका नौं वाम घटकको आज एकता घोषणा हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौं वाम घटकबीच आज (बुधबार) काठमाडौं भृकुटीमण्डपमा पार्टी एकता घोषणा हुँदैछ ।

एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने र चुनाव चिह्न पाँच कुने तारा राख्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी हुने वाम घटकहरूबीच अबको ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पनि भएको छ ।

एकतापछि पार्टीको संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल रहने छन् । पार्टीको मार्गदर्शक सिद्धान्त भने माक्र्सवाद, लेलिनवाद हुने सहमति भएको छ । यो एकता प्रक्रियामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)सहितका समूह सहभागी हुन लागेका हुन् ।

यो एकतासम्बन्धी निर्णयलाई माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले अनुमोदन गरेको छ । एकता घोषण सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी छ ।

गएको आइतबार पार्टी एकतासम्बन्धी सहमति पत्रमा माओवादी, एकीकृत समाजवादीसहितका आठ बाम घटकले हस्ताक्षर गरेका थिए । त्यस लगत्तै गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चाले पनि एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको हो । माओवादी र एकीकृत समाजवादीसहितका वाम दलबीचको एकतालाई लिएर दुवै पार्टीभित्र तीव्र विवाद सिर्जना भएको छ ।

माओवादी केन्द्रका जनार्दन शर्मा, राम कार्की, अन्जना विशंखेसहितका नेता र एकीकृत समाजवादीका झलनाथ खनाल, धनश्याम भुसाल, रामकुमारी झाँक्रीसहितका नेताले यो एकताप्रति असहमति जनाउँदै यो एकता प्रक्रियामा सामेल नहुने घोषणा गरेका छन् । जनार्दन शर्मासहितका नेताले प्रगतिशील एकता अभियान घोषणा गरिसकेका छन् भने एकता प्रक्रियामा सहभागी नहुने जनाएका एकीकृत समाजवादीका नेताले एमालेमै फर्किने गरी छलफल अघि बढाएका छन् ।

निर्वाचन तयारीबारे पूर्वराष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको संवाद

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् । उनले निर्वाचनको वातावरण निर्माण र राजनीतिक स्थिरताबारे विचार–विमर्श गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनअनुसार निर्वाचनका लागि सहकार्य र संवादका प्रयासमा जुटेका गृहमन्त्री अर्याल ललितपुरको बागडोलस्थित पूर्वराष्ट्रपति यादवको निवास पुगेका थिए।

उनले डा. यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भदौ २३ र २४ गतेको घटनाले मुलुकमा पारेको असरबारेसमेत छलफल गरेका थिए । संक्षिप्त भलाकुसारीपछि दुई नेताबीच वर्तमान राजनीतिक परिस्थिति र आगामी निर्वाचन तयारीका विषयमा गम्भीर कुराकानी भएको थियो।

त्यस क्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे जानकारी गराएका थिए ।

सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम गर्दै आएकाले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति यादवलाई समाजका सबै पक्षलाई निर्वाचनतर्फ उन्मुख हुने गरी प्रेरित गरिदिन गृहमन्त्री अर्यालले आग्रह गरे ।

डा. यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सह्राना गरेका थिए । पूर्वप्रधानन्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्तिहरु सामेल भएको कारण यस सरकारले निष्पक्ष चुनाव गराउन सक्ने पूर्वराष्ट्रपतिले विश्वास व्यक्त गरे ।

उनले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव गराएको सन्दर्भ स्मरण गर्दै उक्त समयमा आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे-भोगेका अनुभव सुनाएका थिए । त्यस बेला पनि निकै प्रतिकूल समयमा चुनाव गराउन सम्भव भएको उल्लेख गर्दै उनले अहिले पनि यो तटस्थ सरकार भएकाले सबै पक्षले विश्वास गर्नुपर्ने बताए ।

डा यादवले भने, ‘यो संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चयको अन्त्य गर्न निर्वाचनबाहेक अर्को कुनै सुरक्षित बाटो नै छैन । तपाईंहरु मेहनतसाथ लाग्नुभएको छ। यो सह्राहनीय पक्ष छ । निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस् । चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ।’

चुनावका संवाहक दलहरु नै भएकाले अब चुनावभन्दा दायाँबायाँ सोच्न नहुने पूर्वराष्ट्रपतिको धारणा थियो । अहिले चुनाव हुन सकेन भने भोलि अर्को ठूलो सङ्कट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्ने उनको भनाइ थियो।

डा. यादवले थपे, ‘अहिले चुनाव गराउन सकिएन र यो प्रक्रिया डिरेल भयो भने प्यान्डोरा बक्स खुल्छ । अब दायाँबायाँतिर लाग्नुहुँदैन । तपाईँहरुले जे गरिरहनुभएको छ त्यो ठीक छ । प्रधानमन्त्रीज्यू पनि चुनावमा गम्भीरतापूर्वक लाग्नुभएको देखिन्छ ।’

एमाले अध्यक्ष ओली र झलनाथ खनालबिच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा मंगलबार साँझ दुई नेताबीच भेटवार्ता भएको हो।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको बहुमत पक्ष माओवादी केन्द्रसहितका दलसँग एकता गर्ने तयारी गरिरहँदा खनाल–ओलीबीच  छलफल भएको हो। एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने बताएका खनालले एमालेसँग छलफल अघि बढाएका हुन्।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भेटवार्ता सकारात्मक भएको दाबी गर्दै खनालकै नेतृत्वमा एकीकृत समाजवादीको एक समूह एमालेमा फर्किने घोषणा हुने सम्भावना रहेको बताएका छन्।

नेता बस्नेतका अनुसार नेतृ रामकुमारी झाँक्री, पूर्वसांसदहरू किसान श्रेष्ठ, अम्बरबहादुर थापा लगायतका नेता(कार्यकर्ताहरू एमालेमा फर्किने तयारीमा छन्।

यस समूहमा नेताहरू गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई लगायतका नेता तथा कार्यकर्ताहरू पनि रहेको नेता बस्नेतले जानकारी दिएका छन्।

यता, नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।

 

रामकुमारी झाँक्री लगायतका नेताहरू पत्रकार सम्मेलन गरेर एमालेमा फर्किँदै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरू एमालेमा फर्किने भएका छन् ।

नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले पत्रकार सम्मेलन गरेर एमालेमा फर्किने भएका हुन् ।

झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।

बुधबार नै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्दैछन् ।

राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणको अवस्थाबारे परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग जानकारी लिएकी छन् ।

मन्त्रालय र विभागका अधिकारीहरूलाई मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर राहदानी वितरणका विषयमा जानकारी माग गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीलाई राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न निर्देशन पनि दिइन् ।

राहदानी अभाव हुने अवस्था आउन नदिन तत्काल विभिन्न वैकल्पिक योजनासहित अघि बढ्न उनको निर्देशन थियो ।

चन्द्र भण्डारीको प्रस्ताव : संसद् पुनर्स्थापना गरौँ

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्नुपर्ने बताएका छन् । जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा भण्डारीले संसद् पुनर्स्थापना गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘संसद् पुनःस्थापना गरौँ । संविधान संशोधन पनि गरौँ र जेनजीको माग सम्बोधन गरेर अघि बढौँ’ बैठकमा भण्डारीको प्रस्ताव थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने ठहर गरेको थियो । तर अहिले कांग्रेसभित्र फागुन २१ का लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुनुपर्ने आवाज उठिरहेको छ । फागुन २४ को जेनजी आन्दोलनपछि सत्ताबाट बहिर्गमनमा परेको नेकपा एमालेले भने संसद् पुनःस्थापनालाई हुनुपर्ने निर्णय गरी यसका लागि कानुनी प्रक्रियामा जाने बताइसकेको छ ।

सिटौलाले गगनलाई भने–फेसबुकबाट सभापति छान्ने हो ? पार्टी कब्जा गर्न नखोज्नुस्

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलाबीच सवालजवाफ चलेको छ । आज (मंगलबार) बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेता सिटौलाले महामन्त्री थापाका गतिविधिबारे प्रश्न उठाएका हुन् । उनले थापा सामाजिक सञ्जालमा सेलिब्रेटी बन्नका लागि पार्टीको महामन्त्री हुँ भन्ने कुरा नै बिर्सेको टिप्पणी गरे ।

उनले सामाजिक सञ्जालबाट नेतालाई गाली गरेको भन्दै महामन्त्री थापाको आलोचना गरेका थिए । उनले सामाजिक सञ्जालबाट नेतालाई गाली गर्ने भए सचिवालय बन्द गर्ने की नगर्ने भन्दै प्रश्न गरेका थिए । उनले महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । उनले फेसबुकबाट सभापति छान्ने हो ? भन्दै गगनलाई प्रश्न समेत गरेका थिए । नेता सिटौलाले महामन्त्री थापालाई आफ्नो चरित्र सुधार्न र बोल्न मन लागेको कुरा बैठकमा बोल्न आग्रह समेत गरेका छन् । उनले बैठकमा नबोल्ने तर सामाजिक सञ्जालमा लेख्न लगाउने गरेको आरोप समेत लगाए । उनले थापालाई आफू पार्टीको महामन्त्री हुँ भन्ने कुरा थाहा पाइराख्न सुझाव पनि दिए ।

‘महाधिवेशन नगरी निर्वाचनमा जाने सुविधा हामीलाई छैन’
कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको बताएका छन् । उनले २२ भदौ अघि र हालको नेपाल एउटै नभएको बताएका छन् । महाधिवशेन जनतासँग जोडिने मञ्च भएकाले नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने तर्क थापाले गरे । राजनीतिक आन्दोलनहरूमा नेतृत्व गर्दै आएको कांग्रेसले यस पटक आफ्नै विरुद्ध आन्दोलन भएको देख्नु परेको बताए ।

महामन्त्री थापाले आन्दोलन कांग्रेस रहेको सरकारका विरुद्ध भएको बताए । ‘हामी एकै पटकमा सडकमा मिल्काइएको अवस्थामा छौं । कार्यकर्ता, शुभेच्छुकको प्रश्न हामीप्रति छ,’ थापाले भने, ‘तमाम प्रश्नको उत्तर नदिइकन गयौं भने मतदाताले आन्दोलनको अन्तिम रूप मतदानको बेला देखाउँछन् ।’ मतदाता कहिले कांग्रेसको उम्मेदवार भोट माग्न आउँछन भनेर पर्खेर नबसिरहेको उनले बताए । कांग्रेसप्रति उठेका प्रश्नको उत्तर नपाउँदासम्म जनता मत हाल्न आतुर भएर उम्मेदवारलाई नपर्खने थापाको भनाइ छ । थापाले पार्टी नेताहरूप्रति प्रश्न गर्दै भने, ‘जनता हामीलाई भोट दिऔं भनेर आतुर भएर बसेका छन् ? पार्टीका कमिटीहरू कुरेर बसेका छन् ?’

जेनजी आन्दोलनलाई पूर्ण रूपमा प्रायोजित थियो भनेर छुट नपाउने उनले बताए । सभापति शेरबहादुर देउवाले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने सुविधा दिएर उपचारका लागि सिंगापुर गएको उनले बताए । देशका लागि थप तीन विकल्प रहेको उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘थप हिंसामा देश जाने, जे छ त्यस्तै रहने, अहिले मुखरित भएको जनभावनालाई समेटेर त्यसको नेतृत्व गर्ने सम्भावनाहरू रहेको छ ।’ आफूले नेतृत्व नगरेको कतिपय आन्दोलनको संस्थागत गर्ने नेतृत्व कांग्रेसले गर्दै आएको स्मरण गरे । थापाले थपे, ‘यो अनिश्चततालाई सम्हाल्छ कसले ? यो अवस्थामा कांग्रेसले म छु । हामी छौं, हामीले सम्हाल्छौं भन्नु पर्ने पनि होइन ?’

‘हर्ष’को ट्रेलर सार्वजनिक कार्यक्रममा वर्षा र अन्य कलाकार

काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’ को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने तय गरिएको छ।

अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम म्युजिकको निर्माणमा बनेको यो चलचित्रलाई निर्देशक एकता पौडेलले निर्देशन गरेकी हुन्। पौडेलको निर्देशनमा बनेको यो उनको डेब्यू चलचित्र हो। उनले यसअघि केही छोटा चलचित्रको निर्माण गरिसकेकी थिइन्। चलचित्रलाई उनले दिवंगत निर्देशक शिव रेग्मीलाई समर्पण गरेकी छन्।

न्यूयोर्क फिल्म एकेडेमीबाट चलचित्र मेकिङ र आमसञ्चारमा स्नातक गरेकी निर्देशक पौडेलले चलचित्र ‘हर्ष’ लाई पारिवारिक र सामाजिक कथामा आधारित रहेको बताएकी छन्। चलचित्रको कथा र पटकथा पनि पौडेलकै लेखन रहेको छ। सम्पूर्ण छायांकन चितवनमा गरिएको यो चलचित्र हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको छ।

चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओसे गुरुंग, विशाल पहाडी, निमा पाण्डे, लुनिमा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रुष्टि महर्जन र संगीत नाफितको अभिनय रहेको छ।

चलचित्रका निर्माता प्रश्न पौडेल र विकास पौडेल हुन् भने हिक्मत चौखल कार्यकारी निर्माता रहेका छन्। चलचित्रको छायांकन आलोक शुक्लाले र सम्पादन लोकेश बज्राचार्यले गरेका छन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता खगेन्द्र लामिछानेले भने, “२र३ वर्षको अन्तरालपछि चलचित्र खेलेको छु। महिला निर्देशकले निर्देशन गरेको चलचित्रमा अभिनय गर्नु मेरो पहिलो अनुभव हो। एकता पौडेलले निकै मिहिनेतका साथ यो चलचित्र बनाएकी छन्। म उनको कामको सम्मान गर्छु।”

त्यस्तै अभिनेत्री वर्षा राउतले आफ्नो भूमिकाबारे भन्दै भनिन्,
“मलाई आमा, सासू र परिवारसँग सम्बन्धित पात्रहरू सधैं मन पर्छ। ‘हर्ष’मा म त्यस्तै भूमिकामा छु, र भविष्यमा पनि यस्ता पात्रहरूमा आफूलाई देखिरहने छु।”

गगन थापाको महाधिवेशन प्रस्तावविरुद्ध संस्थापन पक्षको ‘काउन्टर’ तालिका

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन मितिको विवाद आधिकारिक रूपमै केन्द्रीय समितिमा प्रवेश भएको छ । आज (मंगलबार) बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पुसमा महाधिवेशन गर्ने प्रस्ताव राखेपछि ‘काउन्टर’ मा संस्थापन पक्षका सह–महामन्त्री महेन्द्र यादवले वैशाखको महाधिवेशन तालिका प्रस्ताव राखेका छन् ।

महामन्त्री थापाले पुसको १६ गते देखि १९ गतेसम्मको महाधिवेशन प्रस्ताव राखेका थिए । जुन यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले पनि प्रस्ताव गरिरहेको मिति हो । महामन्त्री थापाले उक्त प्रस्ताव राखे लगत्तै सहमहामन्त्री यादवले वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याएका छन् ।

संस्थापन पक्षले फागुन २१ गतेको निर्वाचनमा केन्द्रीत हुनुपर्ने भन्दै त्यसअघि महाधिवेशन गर्न नसकिने अडान राखेको छ । महामन्त्री थापाले प्रस्ताव गरेको पुसको मितिको समयमा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय पर्ने देखिन्छ । थापाले मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण, १० देखि २० गते सम्म क्रियाशील छानबिन, २४ गते निर्वाचन समितिलाई हस्तान्तरण गर्ने प्रस्ताव राखे । यस्तै, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन गरेर १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् । तर, संस्थापन पक्ष चुनावअघि महाधिवेशन नगरी यही कार्यसमितिको कार्यकाल थप्ने पक्षमा छ ।

यो कार्यसमितिको कार्यकाल मंसिरबाट सकिँदै छ। संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री यादव मंसिर २० गते सम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण र २० गते सम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्ने गरी प्रस्ताव राखे । त्यसपछि चुनावमा केन्द्रित हुनुपर्ने भन्दै चैत्र १ गते वडा अधिवेशन, ५ गते पालिका, १२ गते प्रदेश क्षेत्रीय, २० गते संघीय क्षेत्रीय, ३० गते जिल्ला, वैशाख १५ गते सात प्रदेश र वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्ने उनको प्रस्ताव छ । अहिले दुई कार्यतालिका आएपछि नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अडान छ। उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिसकेका छन् ।

 

डेडिकेटेड ट्रंकलाइन विवादमा सरकारले उद्योगीहरुको प्रस्तावमा सहमति जनायो : चन्द्र ढकाल

काठमाडौं । सरकारले डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्ने व्यवसायीहरुको प्रस्तावमा सहमति जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, सम्बन्धित मन्त्रीहरुसँगको भेटमा आफूले राखेको मध्यमार्गी प्रस्तावमा सहमति भएको दाबी गरेका हुन् । करिव साढे २ घण्टा लगाएर गरिएको छलफलमा सहमति जुटेको उनको भनाई थियो । अध्यक्ष ढकालकाअनुसार उद्योगीहरुको सहमतिमा २८ किस्तामा पहिलो किस्तालाई धरौटीको रुपमा मान्ने सहमति गरिएको छ ।

उनले भने, ‘हिजो जुन डिसिजन भयो । हाम्रो जुन एजेण्डा थियो, त्यो एजेण्डामा सबै जनालाई ल्याउन गाह्रै पनि भयो । त्यही भएर दुई, साढे २ घण्टा मिटिङ लम्विएको पनि थियो । तथापि हामीहरुकै एजेण्डाअनुसार डिसिजन भएर जुन सहमति भयो । त्यसका लागि म सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय अर्थमन्त्री ज्यु, माननीय उद्योगमन्त्री ज्यू, माननीय ऊर्जामन्त्री ज्यु, मुख्य सचिव ज्युलगायत सबै नेपाल सरकारको विशिष्ट पदाधिकारीहरु र नेपाल सरकारलाई म धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु ।’

उनले भने, ‘हाम्रा व्यवसायी साथीहरुले मलाई विश्वास गरेर तपाई जानुस् भनेर मलाई भन्नु भयो । मलाई मात्रै बोलाएकाले मैले अरु साथीहरुलाई लैजान पाइन । निजी क्षेत्रको तर्फबाट म मात्रै थिए । यसलाई जुन हिसावले अण्डस्टयान्डिङ बनेको छ । त्यही अनुसार काम गर्नु होला। अलिकति डिस्कशन पनि भयो ।’ नेपाल विद्युत प्राधिकरणले दिएको २८ किस्ताको सुविधालाई स्वीकार गरी एक किस्ता बराबरको रकमलाई धरौटीको रुपमा उद्योगीहरुले बुझाएपछि काटिएको विद्युतको लाइन जोड्ने प्रस्तावमा सरकार सहमति भएसँगै यो विवाद समाधान हुने अवस्थामा पुगेको महासंघले जनाएको छ ।

नौं घटकको एकतापछि ‘नेपाली कम्युनिष्ट पार्टी’

काठमाडौँ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न नौं कम्युनिष्ट घटकबीचको एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने भएको छ । आज (मंगलबार) पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको नामबारे जानकारी दिए ।

यसअघि एकतापछि पार्टीको चुनाव चिह्न पाँचकुने तारा हुने भए पनि नाम टुंगो लाग्न बाँकी थियो । ‘नेपाली कम्युनिष्ट पार्टी रहने छ, चुनाव चिह्न पाँचकुने तारा हुनेछ । आजको बैठकले यसलाई अनुमोदन गरेको छ’, सापकोटाले भने । उनले बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सम्बोधनमा राष्ट्रिय मुक्तिका लागि आधार तयार भएको बताएको जानकारी दिए । त्यस्तै माओवादी परित्याग गरि नयाँ अभियान घोषणा गरेका जनार्दन शर्माको सम्बन्धमा अझै पनि विचार गर्न आग्रह गरेको उल्लेख गरे । त्यस्तै झलनाथ खनाल, भीम रावल, घनश्याम भूसालहरुसँग पनि संवाद भइरहेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।

उनले नेतृत्व परिवर्तन स्वाभाविक रुपमा हुने भन्दै कुनै पनि व्यक्ति नमर्दासम्म पदमा नरहने बताए । ‘नेतृत्व भनेको नमर्दासम्म अध्यक्ष पदमा रहिरहने, झुण्डिरहने भन्ने कुरा सहि होइन’ उनले भने, ‘विश्वभरका क्रान्ति, प्रतिक्रान्ति दुवैले यो शिक्षा दिएको छ ।’ माओवादी, एकीकृत समाजवादीसहित नौं कम्युनिष्ट घटकबीच बुधबार एकता घोषणा हुँदैछ । प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रीय समितिको बैठकले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग गर्न लागिएको एकतालाई अनुमोदन गर्ने एजेण्डा छ । उक्त एकताप्रति असहमति प्रकट गर्दै जनार्दन शर्माले अलग अभियान घोषणा गरेका छन् ।

नेता शर्माले प्रतिस्पर्धा गर्न नदिन र नयाँ नेतृत्व स्थापित हुन नदिन पार्टी एकताको नाटक गरिएको आरोप लगाएका छन् । मंगलबार ललितपुरको बखुन्डोलमा पत्रकार सम्मेलन गर्दै उनले नेकपा माओवादीको महाधिवेशन आयोजक समितिलाई पार्टीहरूसँग एकता गर्ने अधिकार नभएको बताएका छन् । ‘अहिले माओवादीको महाधिवेशन आयोजक समिति बनेको थियो, आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ,’ शर्माले भने, ‘त्यसको अधिकार क्षेत्रभित्र नै छैन । त्यो आयोजक समितिले पाउँदै पाउँदैन । आयोजक समितिले त महाधिवेशन सम्पन्न गर्ने भनेको थियो ।’

‘महाधिवेशन सम्पन्न गर्न लाग्नुको सट्टा अनेक गरेर टार्ने, पार्टीभित्र विधि, पद्धतिलाई स्थापित गर्न नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उदेश्यबाट प्रेरित भएर आज जुन खालको एकता गर्ने भनेको छ, त्यसले न कुनै निकास दिने छ,’ उनले थपे । उनले आजैबाट माओवादी केन्द्र लगायतमा भद्रगोल सुरु भइसकेको समेत दाबी गरे ।

‘जेनजी आन्दोलनले समाजवादी क्रान्तिको झल्को दियो’
माओवादी केन्द्रका संयोजक प्रचण्डले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले कम्युनिष्टहरुले गर्ने समाजवादी क्रान्तिको झल्को दिएको बताएका छन् । नेकपा एसलगायत ८ वटा घटकसँग एकताअघि बसेको माओवादी केन्द्रको अन्तिम केन्द्रीय समिति बैठकलाई समापन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका रुपमा जेनजी आन्दोलनलाई संश्लेषण गर्दै लैजानु पर्ने बताएका हुन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जेनजी आन्दोलनमा माओवादीले उठाएका विषय नै युवाले स्थापित गरेको बताए । सोही बैठकले भीम रावल, झलनाथ खनाल, घनश्याम भुसाललगायतका नेताहरुलाई पनि छलफल गरेर एउटै पार्टीमा समेट्न पहल गर्ने निर्णय गरेको छ ।

 

माओवादी संसदीय व्यवस्थामा डुबुल्की मारेर सकियो, दर्ज्यानी चिन्ह मिल्काएर आयौं : राम कार्की

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन पूर्ण रूपमा संसदीय राजनीतिमा समाहित भएपछि यसको सार नष्ट भएको टिप्पणी गरेका छन् । ललितपुरमा आज आयोजित वाम ध्रुवीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा उनले भने, ‘फेरि सशस्त्र संघर्ष निरन्तर लैजान सम्भव थिएन, तर संसदीय व्यवस्थामै डुबुल्की मारेर पूर्णरूपमा सकिनु गलत भयो ।’

नेता कार्कीले अक्षम नेतृत्वलाई प्रतिस्थापित गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताएका छन् । नेकपा एकीकृत समाजवादी लगायतसँगको एकता सम्बन्धी एजेण्डा पारित गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक चलिरहँदा अलग्गै पत्रकार सम्मेलन गर्दै नेता कार्कीले नेपालमा कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताए ।

यति वर्ष संघर्ष गर्दा पनि आफ्नो पार्टी नेतृत्वलाई सुधार गर्न तथा विस्थापित गर्न नसकेको भन्दै उनले समाजवादका निम्ति अब एकीकृत अभियान सुरु गर्ने बताए । नेता कार्कीका अनुसार माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोधलाई सतहमा ल्याइदियो, र त्यो सकारात्मक ऊर्जालाई राजनीतिमा प्रयोग गर्न सकियो भए मुलुक रुपान्तरण हुनसक्थ्यो । तर सशस्त्र संघर्ष रोकिएपछि पार्टीले नयाँ बाटो समात्न सकेको छैन ।

उनले दलका वयोवृद्ध नेताहरू नेतृत्व छाड्न नचाहेको आरोप लगाउँदै भने, ‘हाम्रा नेताहरू ७५ वर्ष पुगिसक्दा पनि म छैन भने मेरो पार्टी रहँदैन भनेर हिँडिराखेका छन् । यो स्थितिको अन्त्य हुनुपर्छ ।’ भदौ २३–२४ मा भएको जेनजी आन्दोलनबारे कार्कीले भने, ‘लगातार ५० वर्षदेखि चलेको कुशासन विष्फोट भएको हो, तर त्यसका हर्ताकर्ताहरू अझै जनताको अगाडि आएर माफी माग्न सकेका छैनन् ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलको एकता प्रक्रिया असन्तुष्ट नेताहरूको नयाँ मोर्चा बनाउने तयारीसँग पनि जोडिएको छ । कार्की, जनार्दन शर्मा र अन्जना विशंखे नेतृत्वको असन्तुष्ट पक्षले प्रचण्ड नेतृत्वको वाम ध्रुवीकरण घोषणामा भाग नलिने र छुट्टै मोर्चा निर्माण गर्ने तयारी गरिरहेको छ ।

पत्रकार सम्मेलनमा कार्कीले समाजवादी विचारधारा भएका सबैलाई एकतावद्ध हुन आह्वान गर्दै भने, ‘हामी पार्टीको पदीय भूमिका छाडेर, व्यक्तिगत पूर्वाग्रह त्यागेर नयाँ एकीकृत समाजवादी अभियान सुरु गर्न जुटेका छौं । देशभक्त, जनवादी सोच राख्ने र समाजवादलाई लक्ष्य ठान्ने सबैलाई यस अभियानमा गोलबद्ध हुन अनुरोध गर्दछौं ।’ असन्तुष्ट माओवादी पक्षले एकीकृत समाजवादीको झलनाथ खनाल, घनश्याम भूसाल र विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेपालसँग मोर्चाबन्दीको तयारी पनि गरिरहेको छ । कार्कीका अनुसार यस नयाँ अभियानले पार्टीभित्रको पुरानो संरचना र व्यक्तिगत सत्ता आकांक्षालाई तोड्दै समाजवादी आन्दोलनलाई पुनर्जीवित गर्ने उद्देश्य राखेको छ ।

 

हितेन्द्रदेव शाक्यको रिटमा कारण देखाउ आदेश

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै सरकारलाई विपक्षी बनाएर शाक्यले आफूलाई पुनर्बहालीको माग सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको हो । योसंगै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

यसअघि पनि २०७७ साल माघ २६ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई नेपाली कांग्रेस र नेकपा माओवादीको संयुक्त सरकारले २०७८ साउन २५ गते पदबाट हटाएको थियो । त्यसपछि केपी ओली नेतृत्वको सरकारले कुलमानको कार्यकाल सकिने बेला उनलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो । २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते नै पदबाट हटाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेको थियो । जेनजी आन्दोलनपछि गठन भएको सरकारले सुनुवाइको सामान्य मौका समेत नदिई जिम्मेवारीबाट हटाई अन्यत्र जिम्मेवारी तोकेको भन्दै न्यायको लागि हितेन्द्र सर्वोच्च अदालत गएका थिए ।

 

प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो : जनार्दन शर्मा

काठमाडौं । माओवादी केन्द्रबाट विदा लिएका नेता जनार्दन शर्माले पार्टी आयोजक कमिटीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर एकताको नाटक गरेको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादीसहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले पत्रकार सम्मेलन गरेर एकताको नाममा महाधिवेशन टार्ने काम भएको बताएका छन् ।

उनले भने, ‘पार्टीभित्र विधि र पद्धति स्थापित हुन नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उद्देश्यले एकता भइरहेको छ । त्यसले न देशलाई निकास दिन्छ, न त जनमत नै पाउँछ, आजैदेखि त्यहाँ भद्रगोल सुरु भइसक्यौं । हजारौँको केन्द्रीय कमिटी बन्दै छन् ।’ उनले प्रचण्डले माओवादी छाडेर माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप समेत लगाएका छन् । उनले थपे, ‘हामीले त्यो कुरालाई स्वीकार गर्न सकेनौं । त्यसैले हामीले पुनर्गठनको प्रगतिशील अभियान अघि बढाएका हौं । अहिलेको ध्रुवीकरण सिद्धान्त र विचार भन्दा बाहिरबाट भइरहेको छ ।’