`

अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लगाउने निर्णय सच्याउन माग

काठमाडौं । नेकपा एमालेले पार्टीको भातृ संगठन अनेरास्ववियुमा ३२ वर्ष उमेरहद लागू गर्ने निर्णय गर्दै निर्णय कार्यान्वन गर्न सर्कुलर पनि गरिसकेको छ ।

जेठ ११ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको ५२औँ बैठकले अनेरास्ववियुको २४ औं महाधिवेशनमा उमेरहद सम्बन्धी मापदण्ड सुनिश्चित गर्न निर्देशन दिएको थियो । त्यसै निर्देशनअनुसार निर्णय कार्यान्वयन गर्न सर्कुलर गरिएको हो ।

तर पार्टीको निर्णयप्रति अनेरास्ववियुका नेताले असन्तुष्टि जनाएका छन् । अनेरास्ववियुका महासचिव नरेश रोकायाले पार्टी बैठकको एजेन्डामै नभएको विषय अनेरास्ववियुमा उमेर हदबन्दी लगाउने निर्णय पार्टी संचालनको मुलभुत सिद्धान्त विपरीत रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो संगठनको आफ्नै विधान छ, सांगठनिक संरचना छ, संचालनको आफ्नै विधि छ, आवश्यक, अत्यावश्यक पुनःसंरचना निर्माणका निम्ति निति तथा विधान महाधिवेशन आयोजना गर्न सार्वभौम अधिकार रहेको छ । विधान अधिवेशन सम्पन्न गर्न नसक्ने विशेष परिस्थिति आएमा राष्ट्रिय महाधिवेशनको बन्द सत्रको हलमा सार्वभौम प्रतिनिधि कमरेडहरुले उमेर हद लगायतका विभिन्न बिषयमा अत्यावश्यक र उत्कृष्ट निर्णय निर्णय गर्न सक्नुहुनेछ ।’

यस्तो छ रोकायाको भनाई

हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) नेपाली समाजमा रहेको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका समस्याहरुको पहिचान र समाधानको लागि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै जनताको बहुदलीय जनवाद जस्तो नेपाली क्रान्तिको मौलिक सिद्धान्त मार्फत अघि बढिरहेको छ ।
हाम्रो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, बहुलवादी खुल्ला समाज, बहुदलीय प्रतिष्पर्धा, निर्वाचित प्रतिनिधिद्वारा शासन प्रणालीको संचालन, स्वतन्त्र न्यायपालिका, मानव अधिकारको प्रत्याभूति लगायतका विश्वव्यापी मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको छ ।

हाम्रो पार्टीले आन्तरिक लोकतन्त्रका निम्ति जनवादी केन्द्रियता (पार्टी संचालनको सिद्धान्त) लाई आत्मसात गर्ने गर्दछ, त्यसकारण हाम्रो पार्टी संसारकै सर्वश्रेष्ठ लोकतान्त्रिक कम्युनिस्ट पार्टी रहेको बिषय घाम जस्तै छर्लङ्ग रहेको छ ।
तर
यही जेठ ११ गते बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले (जुन बैठकमा समसामयिक राजनीतिक परिस्थिति बाहेक अरु एजेन्डा थिएन) एजेन्डामै नभएको बिषय अनेरास्ववियुमा उमेर हदबन्दी लगाउने निर्णय पार्टी संचालनको मुलभुत सिद्धान्त विपरीत रहेको छ ।त्यसकारण हामीलाई पुर्ण विश्वास रहेको छ, हाम्रो गौरवशाली पार्टीले यो निर्णय तत्काल सच्याउने छ ।

किनकी

खेल शुरु भैईसकेपछि जसरी खेलको नियम परिवर्तन हुँदैन, (यदि भएमा त्यसलाई म्याच फिक्सिङ्ग मानिन्छ र खेल रद्द हुन्छ र दोषीलाई दण्डित गरिन्छ) त्यसैगरी राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समिति र विभिन्न उपसमिति निर्माण भएर महाधिवेशनको सम्मुखमा पुगिसकेपछि एकाएक दुरगामी प्रभाव रहने, संगठनको आन्तरिक जीवन खलबल हुने र विद्यार्थी आन्दोलनको घाँटी रेटिने प्रकारको निर्णय किमार्थ गर्नहुन्न, गर्न मिल्दैन ।

हाम्रो संगठनको आफ्नै विधान छ, सांगठनिक संरचना छ, संचालनको आफ्नै विधि छ, आवश्यक, अत्यावश्यक पुनःसंरचना निर्माणका निम्ति निति तथा विधान महाधिवेशन आयोजना गर्न सार्वभौम अधिकार रहेको छ । विधान अधिबेशन सम्पन्न गर्न नसक्ने विशेष परिस्थिति आएमा राष्ट्रिय महाधिवेशनको बन्द सत्रको हलमा सार्वभौम प्रतिनिधि कमरेडहरुले उमेर हद लगायतका विभिन्न बिषयमा अत्यावश्यक र उत्कृष्ट निर्णय निर्णय गर्न सक्नुहुनेछ ।
तसर्थ
हाम्रो गौरवशाली पार्टीले यस विषयमा पुनर्विचार गर्नेनैछ, सम्पुर्ण शुभचिन्तक महानुभावहरुलाई सान्त र धैर्य रहन विनम्र अनुरोध गर्दछु ।

अवरुद्ध पूर्व-पश्चिम राजमार्गमा यातायात संचालन

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा यातायात संचालन आएको छ ।

गएराति बाढीले डाइभर्सन बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएकोमा ह्युम पाइप थपेर यातायात संचालन गरिएको डिभिजन सडक भरतपुरले जनाएको छ । चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएको थियो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए ।

सशस्त्र प्रहरीद्वारा नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्वार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्वार गरेको छ ।

नारायाणी नदीमा बाँध बाँधी गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्वार गरिएको सशस्त्र प्रहरीको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्वार गरेको हो ।

नदीको बाध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुवेको छ ।

‘राइड सेयरिङ’ नियमावली खारेजीको माग गर्दै गण्डकीमा सार्वजनिक यातायात बन्द

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको विरोधमा आज यातायात व्यवसायीले गण्डकी प्रदेशमा यातायात ठप्प पारेका छन् ।

सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिको आह्वानमा यातायात ठप्प पारिएको हो । प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्वीकृत गरी यही जेठ १ गते प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो । तर व्यवसायीले राइड सेयरिङ नियमावलीलाई प्रदेश सरकारले फिर्ता नलिएकाले गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा बन्द गरिएको बताएका छन् ।

प्रदेश सरकारले सर्वोच्च अदालतको फैसलालाई आधार मानेर राइड सेयरिङ कम्पनीलाई वैधानिकता दिन नियमावली जारी गरेको जनाएको छ । सर्वोच्च अदालतले राइड सेयरिङ कम्पनीलाई उपभोक्ताको हक, श्रम र रोजगारीजस्ता मौलिक हकसँग जोड्दै कानुनी व्यवस्था गर्न आदेश दिएको थियो ।

यातायात व्यवसायीले भने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै राइड सेयरिङको विरोध गर्दै आएका छन् ।

उनीहरूले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।

ट्रम्प प्रशासनले लगाएका आयात कर अहिले कायमै रहने

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका आयात कर हाललाई लागू नै रहने भएका छन् । अमेरिकी माथिल्लो अदालतले बिहीबार तल्लो अदालतको आदेशलाई अस्थायी रूपमा रोक लगाउने निर्णय दिएको हो ।

यो निर्णय एक दिनपछि आएको हो जब न्यूयोर्कस्थित अन्तर्राष्ट्रिय व्यापार अदालतले ट्रम्पका अधिकांश विश्वव्यापी ट्यारिफहरूलाई अवैध ठहर गरेको थियो । ट्रम्प प्रशासनले ती ट्यारिफहरू तस्करी रोक्न र अमेरिकाको व्यापार सुरक्षाका लागि लागू गरिएको दाबी गर्दै आएको छ।

तर व्यापार अदालतले ती शुल्कहरू अमेरिकी कानुन अनुसार अत्यधिक अधिकार प्रयोग गर्दै लगाइएको बताएको थियो । पूर्वराष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका थिए, ‘सर्वोच्च अदालतले राष्ट्रलाई जोखिममा पार्ने निर्णयलाई चाँडै र निर्णायक रूपमा उल्ट्याओस् भन्ने आशा छ।’

व्यापार अदालतको निर्णयले ट्रम्पले चीन, क्यानडा, मेक्सिको लगायतका देशहरूबाट आयात हुने वस्तुहरूमा लगाएको ट्यारिफ, र गत महिना विश्वभर लागू गरिएको १० प्रतिशत आयात कर खारेज गर्ने देखिएको थियो ।

यस्तै, युरोपेली संघ र चीनमाथि लगाइएका उच्च ‘प्रतिस्पर्धात्मक ट्यारिफ’ पनि यसमा समावेश थिए । यसैबीच, अर्को एक संघीय अदालतले पनि बिहीबार एउटा छुट्टै मुद्दामा ट्यारिफ राष्ट्रपति अधिकारभन्दा बाहिर गएको भन्दै समान निर्णय दिएको छ, यद्यपि त्यो निर्णय केवल एउटा खेलौना कम्पनीसँग सीमित थियो ।

अब, अन्तिम निर्णय नआउँदासम्म ट्रम्पका ट्यारिफहरू लागू नै रहनेछन्, र यस मुद्दाको अर्को सुनुवाइ आगामी जून ५ मा हुने तय भएको छ ।

नवलपरासीमा बाढीले सडक बगाएपछि यातायात अवरुद्ध

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ ।

बिहीबार रातिको वर्षाले चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको हो ।

बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको प्रहरीले जनाएकोछ ।

बाढीले तरकारी बोकेको पिकअप भ्यान पनि बगाएको छ । राजमार्ग खुलाउन त्यहाँ काम भइरहेपनि रातभरिको वर्षातका कारण कठिनाइ भएको छ ।

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस क्लबलाई उपाधि

कास्की । पोखरामा सञ्चालन भएको नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’को उपाधि पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस् क्लबले तथा महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा यही जेठ ८ गतेदेखि सुरु भएको प्रतियोगिता बिहीबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ सेटले हराउँदै टिपटपले लगातार तेस्रो पटक उपाधि जितेको हो । च्याम्पियन बनेको टिपटपले आठ लाख पुरस्कार पायो । उपविजेता गण्डकीले चार लाख पुरस्कार प्राप्त गर्यो ।

उक्त खेलमा गण्डकी प्रदेशले सुरुवाती दुई सेट २५–२० र २७–२५ अङ्कले जित्यो भने हेल्प नेपालले तीन सेट २५–२२, २५–१४ र १५–८ अङ्कले जित्यो ।

यसैगरी महिलातर्फ टिप टप न्यु डायमण्ड युथ स्पोर्टस एकेडेमीलाई ३–१ ले हराउँदै पुलिस क्लबले उपाधि जित्यो । उक्त खेलमा पुलिसले पहिलो सेट २५–२० अङ्कले जित्यो भने दोस्रो सेट डायमण्डले २५–२२ अङ्कले जित्यो । तेस्रो सेट निकै प्रतिस्पर्धामक बन्यो ।

उक्त सेट पुलिसले २८–२६ अङ्कले जित्यो । पुलिसले चौथो सेट २५–१४ अङ्कले जित्दै लगातार तेस्रो पटक उपाधि जित्न सफल भयो । पुलिसले रु आठ लाख तथा उपविजेता न्यू डायमण्डले रु चार लाख पुरस्कार पायो ।

यसैगरी तृतीय भएका पुरुषतर्फ पुलिस र महिलातर्फ एभरेष्ट भलिबल क्लबले समान रु दुई लाखका दरले पुरस्कार पाए । प्रतियोगितामा महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुशवहर रजा उत्कृष्ट हुँदै जनही रु ५० हजार पुरस्कार पाए ।

प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे ।

महिला तथा पुरूषतर्फका विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । पुरूष काभा क्लब च्याम्पियन्स लिग तीन महिनापछि मालदिभ्समा हुनेछ । महिला प्रतियोगिता भने नेपालमा आयोजना हुने नेपाल भलिबल सङ्घले जनाएको छ ।

लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको रातो मच्छिन्द्रनाथको रथ(फोटोफिचर)

काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ । बिहीबार अपरान्हदेखि रथ तान्न सुरू गरेर साँझ जावलाखेल पुर्याइएको हो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। जावलाखेल पुर्याएसँगै अब आइतबार भोटो जात्रा मनाइन्छ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने सबैभन्दा लामो जात्रा हो।

मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी सुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ। यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

यी हुन सरकारले देखेको मुलुकको अर्थतन्त्रको चुनौती

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्रमा रहेको चुनौतीका बारेमा बुँदागत रुपमा जानकारी दिएको छ ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रमा रहेको चुनौतीका बारेमा सविस्तार उल्लेख गरिएको छ ।

समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा र अनुसन्धान तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पत्ति शुद्धीकरणको सघन अनुगमन सूचीमा परेको परेको विषयलाई चुनौतीका रुपमा स्पष्ट पारिएको छ ।

परम्परागत खेती प्रणालीमा अपेक्षित सुधार हुन नसक्दा कृषि क्षेत्रको उत्पादकत्व न्यून रहेको छ भने युवामा खेती गर्ने आकर्षण बढ्न नसक्नु पनि चुनौतीका रुपमा चित्रण गरिएको छ । यस्तै, नवप्रवर्तन र प्रविधिको उपयोगको कमी, न्यून उत्पादकत्व र अधिक उत्पादन लागतले गर्दा कूल राष्ट्रिय आयमा उत्पादनमूलक क्षेत्रको योगदान अपेक्षा गरेअनुरूप हुन नसकेका विषयलाई पनि महत्व दिइएको छ ।

“समग्र मागमा आएको कमीले गर्दा उद्योग क्षेत्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । भौतिक पूर्वाधारमा गरिएको लगानी आर्थिक क्रियाकलाप विस्तारमा प्रतिविम्बित हुन नसक्दा उत्पादन वृद्धिमा वाञ्छित योगदान पुग्न सकेको छैन । जलवायु परिवर्तनको नकारात्मक असर कृषि, खानेपानी, सिँचाइलगायत क्षेत्रमा बढ्दै गइरहेको छ”, बजेटमा भनिएको छ ।

यस्तै, डिजिटल पूर्वाधारको कमीले डिजिटल अर्थतन्त्र विकासको गति सुस्त रहेको तथा मुलुकको श्रम बजार र उत्पादित जनशक्तिको सीपबीच सामाञ्जस्यता कायम हुन नसक्नु पनि चुनौतीका रुपमा रहेको जानकारी दिइएको छ ।

औद्योगिक र निर्माण क्षेत्रमा आवश्यक जनशक्ति विदेशबाट आपूर्ति भइरहेको छ भने स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा दक्ष र अर्धदक्ष जनशक्तिसमेत विदेश पलायन हुने प्रवृत्ति चिन्ताजनक अवस्थामा रहनु र गरिबीको रेखामुनिको जनसङ्ख्याको अनुपात अझै उच्च रहेको छ ।

लगानी जोखिम व्यवस्थापन गर्न विकसित भएका नयाँ नयाँ वित्तीय उपकरणलाई प्रभावकारी रूपमा परिचालन गर्न हुन सकेको छैन । उत्पादनमूलक क्षेत्रमा आवश्यकमात्रामा वित्तीय साधन प्रवाह हुन नसक्नु एवं नियामक निकायको भूमिकालाई प्रभावकारी बनाउने र वित्तीय जोखिम न्यून गर्ने चुनौती छ ।

पहिलोपटक सम्पन्न भएको मुलुकको क्रेडिट रेटिङबाट तुलनात्मक रूपमा अनुकूल नतिजा प्राप्त भए पनि त्यसबाट लाभ लिन बाँकी नै रहेको विषयलाई बजेटले चुनौती देखेको छ । नीतिगत र कानुनी सुधार गरिए पनि अपेक्षाकृत रूपमा विदेशी पुँजी र प्रविधि आकर्षित हुन सकेको छैन ।

निर्यात विस्तार र विविधीकरण हुन नसक्दा उच्च व्यापार घाटा कायमै छ । कमजोर उत्पादन क्षमताले गर्दा उपभोग्य वस्तुको आयात उच्च रहनु एवं पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रबाट सेवा निर्यात हुने उच्च सम्भावनाको अपेक्षित लाभ लिन नसकिएका विषयलाई पनि अर्थमन्त्रीले चुनौतीका रुपमा लिनुभएको छ । “विप्रेषणको उच्च भूमिका रहेको बाह्य क्षेत्रलाई दिगो रूपमा सन्तुलनमा राख्ने चुनौती छ”, बजेटमा भनिएको छ ।

विकासका लागि राजस्व वचत न्यून हुँदै जानु, आम्दानीका स्रोत साँघुरिँदै जानु, राजस्वको वर्तमान संरचनालाई आन्तरिक उत्पादनमा आधारित, फराकिलो र दिगो बनाउने कामलाई पनि चुनौतीका रुपमा लिइएको छ । विनियोजन कुशलता कायम गर्न नसक्नु, चालु खर्च उच्च रहँदा परम्परागत स्रोतबाट पुँजीगत खर्च जुटाउन चुनौतीपूर्ण बन्दै गएको छ ।

कार्यान्वयन पक्ष कमजोर हुँदा आयोजना सम्पन्न गर्न लामो समय र बढी लागत लाग्ने अवस्था छ । स्रोतको आवश्यक प्रबन्ध नहुँदा विकास कार्यक्रम तथा आयोजना घोषणामा सीमित हुने जोखिम बढेको तथा सार्वजनिक ऋणको बढ्दो परिमाणले ऋणको दिगोपना कायम गर्ने चुनौती थपेको छ ।

“सार्वजनिक प्रशासनलाई व्यावसायीकरण गर्न नसक्दा सेवा प्रवाहको गुणस्तरमा अपेक्षित सुधार हुन सकेको छैन । सार्वजनिक सेवामा ढिलासुस्ती, जिम्मेवारी बोधको कमी, परम्परागत निर्णय प्रक्रिया र अन्तर निकाय समन्वय कमजोर हुँदा सुशासन कायम गर्ने चुनौती छ”, बजेट वक्तव्यमा भनिएको छ ।

बजेटमा कर्णालीः जलविद्युत्, पर्यटन र सडक पूर्वाधारमा जोड

कर्णाली । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर्णाली प्रदेशका लागि जलविद्युत्, पर्यटन र सडक पूर्वाधारमा बजेट विनियोजन गरेको छ । बजेटमा पुराना योजनामा बजेट थप गरेर कामको निरन्तरता दिएको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वर्षभित्र कर्णालीको विद्यमान विद्युत् समस्या हल गर्नेगरी काम गरिने बताए ।  बजेटमा विद्युत् समस्याको दीर्घकालीन समाधान गर्न कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रसारण लाइन दुई वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ ।

बजेटमा आगामी वर्ष कर्णालीमा कार्यान्वयन भइरहेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई तीव्रता दिइने उल्लेख छ । भेरी–बबई बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स र पावर हाउस दुई वर्षभित्र सम्पन्न गर्न  दुई अर्ब सात करोड बजेट विनियोजन गरिएको छ । कर्णाली कोरिडोरका लागि  एक अर्ब २७ करोड बजेट व्यवस्थापन गरिएको छ । मुगुको ताल्चा विमानस्थलदेखि रारासम्मको सडकलाई स्तरोन्नति गरिने भएको छ ।

सरकारले कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट व्यवस्थापन गरेको छ । प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा ६० करोड विनियोजन गरिएको थियो । जुम्लामा हाइअल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माणलाई सरकारले निरन्तरता दिने भएको छ ।  सुर्खेतको भेरी पम्पिङ खोनेपानी आयोजना आगामी दुई वर्षमा सम्पन्न गर्न एक अर्ब ३२ करोड विनियोजन गरिएको छ ।

निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सुरक्षित पर्या–पर्यटन पदमार्गहरुको विकास गरिनेछ । लुम्बिनीको बर्दियादेखि कर्णालीको रारासम्म पदयात्रा सञ्चालन गर्नुका साथै रारा पर्या–पर्यटन पदमार्ग विकास गरिने बजेटमा उल्लेख छ ।

कर्णालीको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास गरिनेछ । पुष्पलाल मध्यपहाडी राजमार्ग नजिकका आकर्षक स्थलमा पर्यटन पूर्वाधारको विकासमा जोड दिँदै कर्णाली, भेरी प्रमुख नदीहरुमा र्याफ्टिङलगायत पर्यटन प्रवद्र्धनका क्रियाकलाप सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ । सुर्खेतमा प्रदेशिक विमानस्थलको पूर्व तयारी सम्पन्न गरी निर्माण थालनी गरिने छ ।

प्रत्येक प्रदेशमा एक–एक प्राविधिक शिक्षालय छनोट गरी नमुना शिक्षालयमा स्तरोन्नति गरिनेछ । साधारण विद्यालयका प्राविधिक धारका विद्यार्थीले सीप विकासका लागि त्यस्ता शिक्षालयको पूर्वाधार सुविधाको उपयोग गर्न सक्ने छन् । सातै प्रदेशमा
मुटु तथा क्यान्सर रोगको उपचार विस्तार गरिनेछ । सबै प्रदेशका एक/एक वटा सरकारी अस्पतालमा विशिष्टीकृत जलन उपचार विभाग सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ ।

नलगाड, फुकोट कर्णाली, उत्तरगंगा र मुगु कर्णालीलगायतका आयोजनाका लागि लगानी ढाँचा निर्धारण गरी निर्माण कार्य आरम्भ गरिने छ । नदी कटान, डुवान तथा पहिरोको जोखिम व्यवस्थापन गर्न कर्णाली नदीमा नदी नियन्त्रण कार्यक्रम सञ्चालन हुनेछ । आगामी आर्थिक वर्षमा कर्णाली कोरिडोरको हिल्सा–सिमकोट तथा खुलालु–पिलुचौर–तुम्च खण्डको सड़क स्तरोन्नति गरिने भएको छ । कर्णाली कोरिडोरको लागि एक अर्ब २७ करोड बजेट व्यवस्था गरिएको छ ।

कर्णाली राजमार्गअन्तरगत सुर्खेत–खुलालु–कालीकोट–जुम्ला सडक र सुर्खेत–महाबुलेक–नाग्मा–गमगढी सडकलाई स्तरोन्नति गर्न बजेट व्यवस्था गरिएको छ । ताल्चा–रारा सडक कालोपत्रे गर्न बजेट बिनियोजन गरिएको छ । रणनीतिक तथा व्यापारिक महत्वका भेरी कोरिडोर सडकको स्तरोन्नति गरिने भएको छ । बबई छिन्चुमा सुरुङ मार्ग निर्माण गर्नका लागि स्रोत व्यवस्थापन र अन्य तयारी गर्ने बताएको छ ।

उर्जा क्षेत्रका लागि ८६ अर्ब एक करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा जलस्रोत क्षेत्रको सार्थक उन्नयनका लागि आगामी आर्थिक वर्षका लागि ८६ अर्ब एक करोड बराबरको बजेट विनियोजन गरेको छ ।

कूल २८ बुँदामा समेटिएको बजेटले जलविद्युत् उत्पादन, प्रसारण, वितरण तथा वितरण प्रणालीलाई प्रभावकारी रुपमा अगाडि बढाउने उद्देश्य राखेको छ ।

सरकारले कूल २८ हजार पाँच सय मेगावाट बराबरको बिजुली उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र समेत कार्यान्वयनका ल्याएको सन्दर्भमा आगामी आवको बजेटमा ठूला जलाशययुक्त आयोजनाई प्राथमिकतामा राखेको छ ।

चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेका कार्यक्रमलाई नै विशेष प्राथमिकतामा राखेर केही थप नयाँ व्यवस्था गरिएको छ । बजेटमा व्यवस्था गरिएका कार्यक्रमलाई कार्यान्वनयका लागि सरकारले सार्थक पहल र नीगित सुधारमा जोड दिने समेत उल्लेख गरेको छ ।

मुलुकको समृद्धिमा योगदान पुर्याउने लक्ष्यका साथ आगामी आवको बजेटमा जलस्रोतको दिगो उपयोग, ऊर्जा क्षेत्रको अनुसन्धान र विकासमा जोड दिइएको छ । नदी बेसिन गुरुयोजनाअनुरूप जलस्रोतको महत्व उपयोग, संरक्षण र नियमन गर्ने, तथा भूमिगत जलस्रोतको उपयोग र व्यवस्थापनको लागि जलसतह मापन तथा डिजिटाइजेसन गरिने भएको छ ।

जलविद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने, ऊर्जा सुरक्षाका लागि विद्युत् उत्पादनलाई विविधिकरण एवम् जलाशययुक्त ठूला आयोजनाको निर्माणलाई उच्च प्राथमिकता राखेर सरकारले जलविद्युत् सर्भेक्षण, उत्पादन, प्रसारण र वितरणमा निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने लक्ष्य निर्धारण गरेको छ ।

ऊर्जा मिश्रणको लागि लघु तथा साना जलविद्युत्, सौर्य तथा वायु ऊर्जाको विकास गर्ने, औद्योगिक तथा गार्हस्थ ग्राहकको लागि ऊर्जाको माग र खपत समयको आधारमा फरक–फरक महसुल निर्धारण गर्ने बजेटमा व्यवस्था गरिएको छ ।

विद्युत् आपूर्तिको भरपर्दो व्यवस्था गरी आन्तरिक ऊर्जा खपत बढाइउने र आगामी दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको बाँकी काम सम्पन्न गरिनेछ । यो कार्यक्रम चालु आवमा पनि कार्यान्वयनमा छ ।
ऊर्जा उत्पादन वृद्धिको आधारमा विद्युत् निर्यात सुनिश्चित गर्न छिमेकी तथा अन्य सम्भाव्य मुलुकहरूसँग कूटनीतिक पहल गर्ने र क्षेत्रीय विद्युत् बजारमा नेपालको उपस्थितिलाई सुदृढ गर्ने व्यवस्थालाई बजेटले सम्बोधन गरेको छ ।

विश्वविद्यालय तथा निजी क्षेत्रसँगको सहकार्यमा ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्ने, ग्रीन हाइड्रोजन उत्पादन गर्न स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गरिने भएको छ । सौर्य तथा वायु ऊर्जा ब्याट्रीमा सञ्चय गरी राष्ट्रिय प्रणालीमा आवद्ध गरेमा जलाशययुक्त आयोजना सरह विद्यु् खरिद सम्झौता गर्ने सरकारको योजना छ ।

जलाशययुक्त आयोजना प्राथमिकतामा

सरकारले आगामी आवको बजेटमा जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राखेको छ । कूल ६७० मेगावाट क्षमताको जलाशययुक्त दूधकोशी जलविद्युत् आयोजना, तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गरिनेछ ।

यस्तै, बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत् आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने भएको छ । सो आयोजनामा सरकारले गरेको लगानीलाई शेयरमा परिणत गरिनेछ । हालसम्म जग्ग प्राप्तिका लागि मात्रै सरकारले झण्डै ४० अर्ब बराबरको रकम उपलब्ध गराएको छ ।

अपर अरूण, किमाथांका अरूण, नलगाड, फुकोट कर्णाली, उत्तरगङ्गा, तमोर, मुगु कर्णाली, सुनकोशी–३ लगायतका आयोजनाको लगानी ढाँचा निर्धारण गरी निर्माण शुरु गर्ने सरकारको योजना छ ।

तामाकोशी–५ आयोजनाको निर्माणलाई तीव्र पार्ने लक्ष्य राखेको सरकारले आगामी आर्थिक वर्षभित्र २१० मेगावाट क्षमताको चैनपुर सेती र १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण लक्ष्य राखिएको छ । कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन सम्पन्न गरी लगानी ढाँचा यकिन गरिने भएको छ । सो आयोजनाको हाल अध्ययन कार्य जारी छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापन र इच्छुक नेपाली नागरिकको सहलगानीमा उच्च प्रतिफलको सम्भावना भएका आयोजना निर्माण गर्ने र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर सम्पन्न गरी निर्माण कार्य अघि बढाउन अग्रसरता लिने सरकारको प्राथमिकता छ ।

जलविद्युत् आयोजना सम्पन्न हुने समय तालिकासँग संगती मिल्ने गरी सब स्टेशन र प्रसारण लाइन निर्माण गर्ने, विद्युत् उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत् खरिद सम्झौता गर्ने तथा ‘रन अफ रिभर’ आयोजनाको ‘टेक एण्ड पे’ अवधारणा अनुरूप विद्युत् खरिद सम्झौता गरिने भएको छ ।

राष्ट्रिय प्रसारण प्रणालीदेखि उद्योग स्थलसम्मको वितरण लाइन उद्योग आफैले निर्माण गरेमा ह्विलिङ्ग चार्ज लिन पाउने व्यवस्था गरिएको बजेटले सघन शहरी क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यलाई तीव्रता दिनेछ ।

खिम्ती–बाह्रविसे–लप्सीफेदी, न्यु वुटवल– गोरखपुर, दोदोधारा–बरेली ४०० केभी र चिलिमे–केरूङ्ग २२० केभी क्षमताका राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइनको निर्माण अघि बढाउने लक्ष्य बजेटको छ । यस्तै, इनरूवा–पूर्णिया ४०० केभी र चमेलिया–जौलजीबी २२० केभी प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण सुरू गर्ने र कर्णाली प्रदेशमा नियमित विद्युत् आपूर्तिका लागि कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रसारण लाइनको निर्माण दुई वर्षभित्र सम्पन्न गरिने भएको छ । ऊर्जा निर्यात सम्भाव्यताको आधारमा थप अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने र प्रशारण लाइन विस्तार तथा वितरण आयोजनाका लागि रु १३ अर्ब १८ करोड विनियोजन गरिएको छ ।
औद्योगिक क्षेत्रलगायत विद्युत्को उच्च माग भएका स्थानमा अविच्छिन्न, पर्याप्त र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने र विद्युत् माग कम हुने समयमा निश्चित युनिटभन्दा बढी खपत गर्ने उत्पादनमूलक उद्योगलाई महसुल दरमा थप छुट दिने व्यवस्था मिलाइएको छ ।

परम्परागत ऊर्जा र एलपी ग्यासलाई प्रतिस्थापन गरी स्वच्छ तथा नवीकरणीय ऊर्जाको खपत बढाउन विद्युतीय चुलोलगायतका घरायसी उपकरणको उपयोगलाई प्रवद्र्धन गर्ने र ऊर्जाको घरायासी आवश्यकता विद्युतीय माध्यमबाट पूरा गर्न सात प्रदेशका सात शहरमा कम्प्लिट वाइरिङ्ग पाइलट प्रोजेक्ट सञ्चालन गरिने भएको छ ।

विद्युत् आपूर्ति अवरूद्ध भएको सूचना स्वचालित रूपमा वितरण केन्द्रमा प्राप्त हुने र तत्काल मर्मत गरिने व्यवस्था मिलाउने र विद्युत् चुहावट न्यूनीकरण गरिने भएको छ ।

सरकारको लगानीमा निर्माण हुने बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत् बिक्री गरी सरकारको सञ्चित कोषमा दाखिला गर्ने व्यवस्था बजेटको नयाँ प्रबन्ध हो । रानीजमरा–कुलरिया आयोजनाबाट उत्पादन भएको र भेरी–बबई तथा सुनकोशी–मरिन आयोजनाबाट उत्पादन हुने विद्युत् बिक्री गरी प्राप्त हुने रकम उक्त सञ्चितकोषमा दाखिला गरिनेछ ।

वैकल्पिक ऊर्जाको उत्पादन तथा खपत वृद्धि गरी कार्बन उत्सर्जन घटाउने, सौर्य, जैविक तथा वायु ऊर्जामा निजी क्षेत्रको लगानी आकर्षित गर्ने र वैकल्पिक ऊर्जातर्फ रु दुई अर्ब ३३ करोड विनियोजन गरिएको छ ।

कृषियोग्य भूमिमा सिञ्चित क्षेत्र विस्तार गर्न सिँचाइ पूर्वाधारको विकास गर्ने र बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स, नहर, सुरूङ, पावरहाउस र वितरण प्रणाली एकसाथ सम्पन्न हुने गरी निर्माण गरिने भएको छ ।

बबई, रानी जमरा कुलरिया, महाकाली, प्रगन्ना–बड्कापथ सिँचाइ आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने, तथा सिक्टा र वृहत दाङ उपत्यका सिँचाइ आयोजनाको निर्माणलाई तीब्रता दिने लक्ष्य राखिएको छ । त्यसका लागि रु आठ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

भेरी–बबई डाइभर्सन आयोजनाको हेडवर्कस् र पावरहाउस निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्न रु दुई अर्ब ७ करोड विनियोजन गरिएको छ ।

सुनसरी–मोरङ्ग, चन्द्र नहर, कमला, नारायणी, गण्डक, राजापुर लगायतका सिँचाइ प्रणालीको मर्मत–सम्भार, पुनस्र्थापना तथा व्यवस्थापन सुधारका लागि रु एक अर्ब ८२ करोड विनियोजन गरिएको छ ।
सुनकोशी–मरिन डाइभर्सन आयोजनाको निर्माणलाई तीब्रता दिने तथा वागमती सिँचाइ आयोजनाको स्तरोन्नति गरी सुनकोशी–मरिन पथान्तरण आयोजनाबाट थप हुने पानीको उपयोगबाट वारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरिनेछ। यसका लागि रु २ अर्ब ७३ करोड विनियोजन गरिएको छ ।

आगामी पाँच वर्षसम्ममा पहाडी र हिमाली क्षेत्रका कृषियोग्य टारहरूमा लिफ्ट सिँचाइ सुविधा विस्तार गरी चार लाख ६८ हजार हेक्टरमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने बजेटमा विशेष प्रबन्ध गरिएको छ । तराइ र भित्री मधेशमा भूमिगत जल सिँचाइ सुविधा उपलब्ध गराउन निर्माणाधीन आयोजना सम्पन्न गर्नका लागि रु तीन अर्ब ३१ करोड विनियोजन गरिएको छ ।

नौमुरे बहुउद्देश्यीय आयोजनाका लागि लगानी सुनिश्चित गरी निर्माण कार्य प्रारम्भ गर्ने उद्देश्य राखेको सरकारले कालीगण्डकी–तिनाँउ नदी पथान्तरण आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरी निर्माणको ढाँचा यकिन गर्ने भएको छ । यस्तै, तमोर–चिस्याङ्ग, सुनकोशी–तावा, त्रिशुली–लोथर, माडी–दाङ र ग्वारखोला बहुउद्देश्यीय आयोजनाको अध्ययन तथा तयारी कार्यलाई तीव्रता दिनका लागि रु ३७ करोड विनियोजन गरिएको छ ।

गुणस्तरीय र भरपर्दो मौसम सूचना प्रणालीको विकास गर्ने र जलजन्य विपद् व्यवस्थापनका लागि उपयुक्त प्रविधिको प्रयोग र पूर्व जानकारी प्रणाली अवलम्बन गरिने भएको छ ।

नदी कटान, डुबान तथा पहिरोको जोखिम व्यवस्थापन गर्न महाकाली, कर्णाली, नारायणी, कोशी लगायतका ठूला नदीहरूमा नदी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध गरिएको छ । मनसुनजन्य विपद र भूकम्पीय प्रकोपबाट प्रभावित क्षेत्रमा सिँचाइ प्रणाली पुनःनिर्माणको कार्यलाई तीब्रता दिनका लागि रु पाँच अर्ब ५९ करोड विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने जलविद्युत आयोजनबाट थप नौ सय ४२ मेगावाट विद्युत उत्पादन भई कुल जडित क्षमता चार हजार आठ सय मेगावाट पुग्नेछ । त्यसैगरी ७३२ किलोमिटर डवल सर्किट राष्ट्रिय प्रशारण लाइन निर्माण हुनेछ । आर्थिक वर्ष २०८२/८३ मा थप १४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य राखिएको छ । नदी नियन्त्रणतर्फ ६३ किलोमिटर तटबन्ध निर्माण र २७० हेक्टर जग्गा नदी उकास गरिने भएको छ ।

बलियो सरकारको कमजोर बजेटः पूर्वअर्थमन्त्री पुन

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आशा जगाउने खालको बजेट ल्याउन नसकेको बताएका छन् ।

बिहीबार सरकारले बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा पुनले अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि नियमित ढंगले बजेट आएको बताए ।

उनले भने,‘अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि जस्तो छ नियमित गरौं भन्ने खालको नियमित बजेटको रुपमा आएको छ । बलियो सरकार छ, तर आशा जगाउन सकेन । बलियो बजेट आउनुपर्ने हो त्यस्तो बलियो देखिएन । छरिएर आएको छ ।’

त्यस्तै उनले करको विषयमा भने विद्युतीय गाडीमा निरन्तरता गरेर पर्यावरण संरक्षणका कुराले पनि राम्रो काम भएको धारणा राखे ।

हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने

काठमाडौं । हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको  बजेट वक्तव्यमा हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरी तराई मधेशको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गर्ने लक्ष्य रहेको जानकारी दिए । यसका लागि रु तीन अर्ब ५६ करोड विनियोजन गरिएको छ ।

“काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माण कार्य आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गरिनेछ । आगामी वर्ष ३७ किलोमिटर सडकमा सबबेस, चार किलोमिटर सुरुङ र ६० पुल निर्माण गरिनेछन् । यसका लागि  २४ अर्ब ४९ करोड विनियोजन गरिएको छ,” बजेट वक्तव्यमार्फत मन्त्री पौडेलले भने, “पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्डलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइनेछ । आगामी आर्थिक वर्षमा आँबुखैरेनी–पोखरा सडक खण्ड चार लेनमा स्तरोन्नति कार्य सम्पन्न गरिनेछ । यसका लागि रु आठ अर्ब ५२ करोड विनियोजन गरिएको छ ।”

यसैगरी, पूर्व–पश्चिम राजमार्गदेखि तराई मधेशका जिल्ला सदरमुकाम हुँदै सीमावर्ती नाका जोड्ने रानी–इटहरी, वीरगञ्ज–पथलैया, वेलहिया–बुटवल, मोहनापुल–अत्तरियालगायतका चार लेनका व्यापारिक मार्गको निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ । कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ । आगामी आर्थिक वर्षमा कर्णाली कोरिडोरको हिल्सा–सिमकोट तथा खुलालु–पिलुचौर–तुम्च सडक स्तरोन्नतिका लागि रु एक अर्ब २७ करोड विनियोजन गरिएको छ ।

कोशी कोरिडोरको खाँदबारी–दोभानखण्ड र कालीगण्डकी कोरिडोर स्तरोन्नति गर्न रु दुई अर्ब ३३ करोड विनियोजन गरिएको छ भने अरुण कोरिडोरको चतरा–लेगुवाघाट सडक ट्र्याक खोल्न समेत बजेट विनियोजन गरिएको छ ।

यसैगरी, झापाको बाहुनडाँगीदेखि डडेल्धुराको रूपालसम्मका बस्ती र बजारलाई जोड्ने मदन भण्डारी राजमार्ग निर्माणका लागि रु दुई अर्ब ५१ करोड विनियोजन गरिएको छ । अत्तरिया–खोड्पे–दार्चुला सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरी डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने कार्य सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–खुलालु–कालीकोट–जुम्ला सडक र सुर्खेत–महावुलेक–नाग्मा–गमगढी सडकलाई स्तरोन्नति गर्न बजेटको व्यवस्था गरिएको छ । ताल्चा–रारा सडक कालोपत्र गरिने छ । गल्छी–रसुवागढी सडक स्तरोन्नतिका लागि रु दुई अर्ब ५६ करोड विनियोजन गरिएको छ ।

रणनीतिक तथा व्यापारिक महत्वका तमोर कोरिडोर, दमक–चिसापानी सडक, भेरी कोरिडोर, डुम्रे–बेँसीसहर–चामे सडक, कक्रहवा–सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, सहिद मार्ग, रत्न राजमार्ग, राप्ती राजमार्ग, खुटिया–दिपायललगायतका सडकको स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।

काठमाडौँ चक्रपथको कलङ्की–बसुन्धरा–धोवीखोला सडक खण्डको स्तरोन्नति कार्यलाई निरन्तरता दिन रु एक अर्ब २४ करोड विनियोजन भएको छ । यसैगरी, विपद्बाट क्षतिग्रस्त बिपी राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजपथ, मेची राजमार्गलगायत सडकको पुनर्निमाण गर्न आवश्यक बजेट विनियोजन भएको अर्थमन्त्री पौडेलले बताए ।

राष्ट्रिय राजमार्गमा पर्ने सडकपुल निर्माण गर्न रु तीन अर्ब १८ करोड विनियोजन भएको छ । “निर्माणाधीन वैकल्पिक सहायक राजमार्ग र निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गतका आयोजनाहरूलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी सिर्जित दायित्व फरफारक गरिनेछ । यसका लागि रु २१ अर्ब आठ करोड विनियोजन गरिएको छ,” उनले भने, “यातायातको चाप र लेन तथा लेन्थका आधारमा सडकको वर्गीकरण गरिनेछ । सवारीसाधनको मापदण्ड तर्जुमा गरी सडक दुर्घटना न्यूनीकरण गरिनेछ । प्रमुख सहरहरूमा ट्राफिक सङ्केत चिह्न र सडक बत्तीको व्यवस्था गरी सवारी चाप व्यवस्थित गरिनेछ ।”

बजेट वक्तव्य अनुसार अन्तरराष्ट्रिय सीमा नाकाबाट अस्थायी पैठारी हुने सवारीसाधन तथा ढुवानीका साधन र अत्यधिक भार भएका उपकरणमा प्रचलित कानुनबमोजिम भन्सार विन्दुमा महसुल सङ्कलन गरेपश्चात् प्रदेश र स्थानीय तहले थप शुल्क वा दस्तुर लिन नपाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

अध्ययन सम्पन्न भएका सुरुङमार्गहरू दुम्कीबास–बर्दघाट, खुर्कोट–चियाबारी, बबई–छिन्चु, मझिमटार–शक्तिखोर, हेम्जा–नयाँपुल, कुलेखानी–भीमफेदी र धरान–लेउती निर्माण गर्न स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइनेछ । टोखा–छहरे, शिवपुर–भालुवाङ, रानीघाट–भुरिगाउँ, दोलालघाट–चर्नावती र हात्तीसार–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने छ ।

यसैगरी, आगामी वर्ष पूर्व पश्चिम राजमार्गलाई आधार मानी स्ट्यान्डर्ड गेज मापदण्डको विद्युतीय रेलमार्ग निर्माण गर्न विस्तृत अध्ययन गरिनेछ । निर्माणाधीन बर्दिवास–निजगढ खण्डको रेलमार्गलाई पूर्व पश्चिम विद्युतीय रेलमार्गको मापदण्डअनुरूप बनाइनेछ । पूर्व पश्चिम रेलमार्ग निर्माण गर्ने प्रयोजनका लागि अधिग्रहण गर्न रोक्का राखिएको कांकडभिट्टा–इटहरी खण्डको जग्गा फुकुवा गरिने छ ।

आगामी आर्थिक वर्षमा काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ । सीमावर्ती दक्षिणतर्फका नाकाका न्यूजलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज जोड्ने रेलमार्ग निर्माण कार्यको तयारी सुरु गरिने बजेट वक्तव्यमा उल्लेख छ । सम्भाव्यताका आधारमा अन्तरदेशीय जल यातायातको विकास, विस्तार र प्रवद्र्वन गरिनेछ । कोशी, गण्डकीलगायत नेपालका प्रमुख नदी हुँदै कलकत्ता बन्दरगाहसम्मको जल यातायात सञ्चालन गर्न आवश्यक तयारी गरिने छ ।

“आर्थिक वर्ष २०८२/८३ मा नागढुङ्गा, सिद्धबाबा र काठमाडौँ–तराई मधेश द्रुत मार्गमा पर्ने तीनवटा सुरुङ मार्ग निर्माण सम्पन्न गरिनेछन् । राष्ट्रिय गौरवका र प्रमुख सडक आयोजनामा थप ८५० किलोमिटर सडक कालोपत्र र १७१ सडकमा पुल निर्माण सम्पन्न गरिनेछन्,” वक्तव्यमा उल्लेख छ, “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु एक खर्ब ५२ अर्ब विनियोजन गरिएको छ ।”

सामाजिक सुरक्षा भत्ता अब ७० वर्षमा पाइने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाएको छ । यसअघि ६८ वर्षमा दिइँदै आएको सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाएर ७० वर्ष पुर्याइएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाएर ७० वर्ष पुर्याइएको जानकारी दिए ।

२०७९ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले सामाजिक सुरक्षा पाउने उमेर घटाएर ६८ वर्षमा झारेको थियो ।

खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुद मन्त्रालयका लागि  ६ अर्ब आठ करोड रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा रु तीन अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । यसपटक  दुई अर्ब ५६ करोड वृद्धि गरिएको हो ।

सरकारले कर्णाली प्रदेशमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि ५४ करोड विनियोजन गरेको छ । काठमाडौँको मुलपानी क्रिकेट रङ्गशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ रङ्गशाला निर्माणका लागि ४२ करोड रकम विनियोजन गरेको छ ।

यस्तै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि सरकारले  ४० करोड रकम विनियोजन गरेको छ । झापाको दमकमा सवै प्रकारका खेल प्रतियोगिता सञ्चालन गर्न सकिने आधुनिकस्तरको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ ।

चितवनस्थित गौतमबुद्ध क्रिकेट रङ्गशालाको सिर्जित सम्पति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गरिने र उनीहरुका सन्ततिका लागि शैक्षिक छात्रवृद्धि प्रदान गरिने बजेटमा उल्लेख छ ।

खेल विधाको विविधीकरण र खेल पर्यटनको प्रवद्र्धन गर्न सरकारले सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोट्र्स स्टेडियम बनाउने बजेट मार्फत घोषणा गरेको छ ।

त्यसैगरी सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चलान गर्न आवश्यक बजेट विनियोजन गरेको छ भने खेलकुदमा महिला सहभागितालाई बढाउन प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यस्तै उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

 

श्रम र रोजगार क्षेत्रको बजेट झण्डै आधाले घट्यो

काठमाडौं। सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि बजेट घटाएको छ। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट झण्डै आधाले घटाइएको हो।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चार अर्ब २८ करोड विनियोजन गरिएको उल्लेख छ। साथै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि रु एक खर्ब नौ अर्ब विनियोजन गरिएको उनले बताए।

मन्त्रालयको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आवमा रु आठ अर्ब १० करोड विनियोजन गरिएको थियो। आगामी आवका लागि मन्त्रालयको बजेट झन्डै आधा अर्थात् ४७ दशमलव १६ प्रतिशतले कम हो।

मन्त्री पौडेलले बेरोजगारी समस्या दिगो रुपमा समाधान गर्न श्रम बजारको मागअनुरुप युवा जनशक्तिको दक्षता वृद्धि गरिने बताए।

आगामी आवका लागि विनियोजित बजेटमा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि रु एक अर्ब ९९ सय करोड विनियोजन गरिएको छ। उनले बजेटमा रोजगार पोर्टल सञ्चालन गर्ने र सबै प्रदेशमा रोजगार मेला सम्मेलन आयोजना गरिने उल्लेख छ।

उनका अनुसार श्रम गन्तव्यको विविधीकरण गरिने छ भने श्रम कूटनीतिको माध्यमबाट थप मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गरिनेछ। वैदेशिक रोजगारमा जाने महिलाको कार्यस्थलको सुरक्षा र सेवासुविधा सुनिश्चित हुनेगरी गन्तव्य मुलुकहरुसँग थप सम्झौता गरिनेछ। वैदेशिक रोगारबाट फर्किएका जनशक्तिको सीप, पुँजी र प्रविधि उपयोग गरी स्वरोजगार प्रवर्द्धन र उत्पादन वृद्धि गर्न श्रमिकबाट उद्यमी कार्यक्रम सञ्चालन गरिनेछ। यसका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था हुने मन्त्री पौडेलले उल्लेख गरे।

बजेटमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिने उल्लेख छ। अर्थमन्त्री पौडेलले उहाँले सामाजिक सुरक्षा सुविधाको एकीकृत प्रतिवेदन प्रणाली विकास गरिने बताए। उनले सामाजिक सुरक्षा सेवाका लागि राष्ट्रिय परिचयपत्र क्रमशः अनिवार्य गरिने उल्लेख गरे। बजेटमा ज्येष्ठ नागरिक, अपांगता भएका र अशक्त व्यक्तिलाई घुम्ती टोलीमार्फत पत्र उपलब्ध गराइने उल्लेख छ।

यसैगरी, संघीय सरकारबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमहरुमा प्रदेश र स्थानीय तहबाट रकम थप गर्न र उस्तै प्रकृतिका कार्यक्रममार्फत दोहोरो सुविधा दिन पाइने छैन। उद्योगका लागि आवश्यक सीपयुक्त जनशक्ति आपूर्ति गर्न विश्वविद्यालय, प्राविधिक शिक्षालय र व्यावसायिक तालिम केन्द्रसँगको समन्वयमा प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गरिनेछ। छ महिनाभन्दा कम अवधिको प्राविधिक तथा व्यावसायिक सीप विकास तालिम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र प्रदेशस्तरबाट सञ्चालन गरिनेछ।

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत(पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट पेस गरेका हुन् ।

यो गतवर्षको भन्दा एक खर्ब ४ अर्ब ठूलो बजेट हो । विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च हुनेछ ।

यो खर्चमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वमार्फत, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करो र वैदेशिक ऋणमार्फत २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुट्नेछ । बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएर बजेट बजेट घाटा पूर्ति गरिने अर्थमन्त्री पौडेलले बताए ।

बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार

काठमाडौं । सरकारले सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार बढाएको छ । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएकाले ५ हजार भत्ता बढाएको जानकारी दिए ।

नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने

काठमाडौँ । सरकारले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणमार्फत नेपाललाई आकर्षक गन्तव्यका रूपमा स्थापित गरिने घोषणा गरेका छन्।

बजेटमा छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्रवर्द्धनका विशेष योजना सञ्चालन गरिने उल्लेख गरिएको छ। पर्या–पर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक र सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्यस्थलमा पर्यटक लक्षित सेवा विस्तार गरिने जनाइएको छ।

प्राकृतिक, सांस्कृतिक, साहसिक, चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिने तथा स्थलमार्गबाट आउने पर्यटकका लागि स्वागत तथा सेवा केन्द्र स्थापना गरिने लक्ष्य बजेटमा समावेश गरिएको छ। पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ।

राष्ट्रिय निकुञ्ज, आरक्षण तथा संरक्षण क्षेत्रमा जंगल सफारी, पदयात्रा र पर्या पर्यटन विकासमा जोड दिइनेछ। निजी क्षेत्रको सहकार्य र पर्यटन बोर्डको सहजिकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।

उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सुरक्षित पर्या–पर्यटन पदमार्गको विकास गरिनेछ। शुक्लाफाँटा, खप्तड, बर्दिया, रारा, लुम्बिनी, मुक्तिनाथ, सौराहा, गोसाइँकुण्ड, जनकपुरधाम, कालिञ्चोक, कोशीटप्पु, सगरमाथा, कचनकवल, पाथीभरालगायत क्षेत्रमा पदयात्रा सञ्चालन गरिनेछ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारका लागि भरपर्दो व्यवस्था मिलाइनेछ।

होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगको मान्यता

सरकारले बजेटमार्फत होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह मान्यता दिने घोषणा गरेको छ। ती उद्योगका लागि आयकर तथा विद्युत् महसुलमा छुट दिइने जनाइएको छ। होटल, रेस्टुराँ तथा जंगल सफारीमा कार्यरत श्रमिकलाई प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिने उल्लेख छ।

त्यसैगरी सगरमाथा, पशुपति, लुम्बिनी, स्वर्गद्वारी, रारा, खप्तडलगायत प्रमुख धार्मिक तथा सांस्कृतिक गन्तव्यमा पूर्वाधार निर्माण गरिनेछ। बजेटमा स्वयम्भूनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथ क्षेत्रमा सन्ध्याकालीन पदमार्गको विकास गरिने जनाइएको छ। पुष्पलाल मध्यपहाडी राजमार्गका आकर्षक स्थलमा पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ भने कर्णाली, भेरी, गण्डकी, त्रिशूलीलगायत नदीनदीमा र्‍याफ्टिङको व्यवस्था मिलाइनेछ।

कृषि तथा पशुपन्छी विकासका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन

 

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्को संयुक्त बैठकमा बिहीबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी विकासतर्फ कुल ५७ अर्ब ४८ करोड विनियोजन गरिएको बताए ।

जसमा रासायनिक मल खरिदमा अनुदान, प्राङ्गारिक मलमा किसानलाई प्रोत्साहनदेखि बाँदरलगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रमलगायतका योजनाहरु सरकारले अघि सारेको छ ।

कृषि, पशुपन्छी र मत्स्य बिमा कार्यक्रम, चैते धान प्रवद्र्धन कार्यक्रम, साना सिँचाइमार्फत सिञ्चित क्षेत्र विस्तार कार्यक्रम, मध्यपहाडीलगायत प्रमुख राजमार्ग र सडक करिडोर लक्षित राष्ट्रिय फल सुन्तला, व्यावसायिक फलफूल, तरकारी, भेडा/बाख्रा र गाई/भैँसी प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ  ।

त्यसैगरी, उच्च पहाड लक्षित सुन्तला, स्याउ, ओखर, याक, चौँरी प्रवद्र्धन, हिउँदे मकै/मध्य पहाडी मकै उत्पादन र मकै बीउ उत्पादन कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, स्थानीय तथा रैथाने बाली÷बीउको जात दर्ता सहजीकरण कार्यक्रम, कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैङ्क सुदृढीकरण कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत जोन/सुपरजोन क्षेत्रमा क्षेत्रफल विस्तार र उत्पादन वृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिएको  उनले बताए ।

त्यसैगरी, प्राङ्गारिक कृषि प्रवद्र्धन र माटो स्वास्थ्य सुधार अभियान सञ्चालन गर्ने, कृषि उद्यमशीलता प्रवद्र्धन गर्ने, मासु निर्यातका लागि पाडापाडीपालन र भैँसीराँगा उत्पादन प्रवद्र्धन कार्यक्रम, महामारीजन्य पशु रोग र खोरेत रोग नियन्त्रण कार्यक्रम र पशु नस्ल सुधारलाई बजेटले प्राथमिकता दिएको छ ।

किसान सूचीकरण कार्यक्रम, स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापनका लागि ‘एक गाउँ, एक प्राविधिक’ कार्यक्रम, विषादी चेकजाँचको दायरा विस्तार र विषादी प्रयोगसम्बन्धी सचेतना कार्यक्रम, बुटवलस्थित सेमलारमा क्षेत्रीयस्तरको आधुनिक कृषि बजार निर्माण, सङ्घीय कृषि बजारको स्तरोन्नति र स्थानीय तहमा कृषि उपज हाटबजार, सङ्कलन केन्द्र, कोल्ड चेम्बर तथा प्रशोधन संरचना निर्माण, बालीको न्यूनतम समर्थन मूल्य निर्धारण र कार्यान्वयन, बीउ बिजन उत्पादन, आपूर्ति तथा वितरण व्यवस्थापन कार्यक्रम, निर्यातजन्य बाली वस्तुहरु जस्तैः चिया, कफी, अलँैची, छुर्पी, आदिको उत्पादन वृद्धि, प्राङ्गारिक प्रमाणीकरण र निर्यात सहजीकरण गर्ने, कृषि, पशुपन्छी र खाद्य प्रयोगशालाको स्तरोन्नति गर्ने, बाँझो जमिन सदुपयोग गर्नेजस्ता कार्यक्रमलाई बजेटले प्राथमिकतामा राखेको छ । बाली लगाउनु १५ दिनअघि नै समर्थन मूल्य तोकिने आगामी वर्षको बजेटमा उल्लेख गरिएको छ ।

स्वास्थ्य बीमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी गरिने

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःसंरचना गर्ने बताउँदै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बिमाको दायरा विस्तार गरिने बताए । गत आवमा स्वास्थ्य बीमा कार्यक्रमलाई सात अर्ब पाँच करोड बजेट छुट्याइएको थियो ।

अर्थमन्त्री पौडेलले भने, “बीमितको सुविधा थैली क्रमशः वृद्धि गरिँदै लगिनेछ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिनेछ । बीमितलाई फरकफरक योजनाको सुविधा उपलब्ध गराइनेछ । बिमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपन हटाइनेछ ।”

त्यसैगरी हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

डिजिटल साक्षरताका लागि विशेष कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ । सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच कामय गर्ने भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भने, “प्रेस स्वतन्त्रताको प्रवद्र्धन गरी पारदर्शीता र जवाफदेहितामा अभिवृद्धि गरिनेछ, नागरिकको वैयक्तिक स्वतन्त्रता र गोपनियताको हकको रक्षा गरिने छ ।”

सरकारले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा विकसित नविनम प्रविधिको खोज, अनुसन्धान र विकास तथा प्रवद्र्धनमा जोड दिने भएको छ । अर्थमन्त्री पौडेलले भने, “डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जमा गरिने छ, डिजिटल साक्षारताका विशेष कार्यक्रम सञ्चालन गरिने छ, डिजिटल प्रविधिको निर्माण र इकोसिस्टम विकास गर्न ७४ करोड बजेट विनियोजन गरेको छु ।”

सरकारले डाटा सेन्टर निर्माण र सञ्चालन, पूर्वाधार विकास गर्न निजी क्षेत्रसँग साझेदार गर्ने भएको छ । काठमाडौँमा सूचना प्रविधि पार्क निर्माण गर्ने सरकारको योजना छ ।

अर्थमन्त्री पौडेलले सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्न मध्यपहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गर्ने बताए । डाटा सेन्टर स्थापनाका लागि स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा, विद्युत् र सुरक्षा उपलब्ध गराउने बजेटमा उल्लेख छ । सरकारले एकीकृत डाटा व्यवस्थापन केन्द्रको स्तरोन्नति पनि भएको छ ।

मुलुकलाई दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने

काठमाडौँ । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बहिहीबार संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताए ।

यसैगरी कृषिमा आधुनिकीकरण गरी उत्पादनमा वृद्धि गरिने, कृषिमा आश्रित जनशक्तिलाई तालिम, प्रशिक्षण दिइने बजेटमा उल्लेख छ ।

मल, बीउको पर्याप्त व्यवस्था गरिने, सुपर जोन र जोन क्षेत्रमा विभाजन गरी कृषि र पशुपालनका लागि विशेष व्यवस्था गरिने उनले जानकारी दिए । खाद्यान्न, तरकारी, मासुमा आत्मनिर्भर हुने व्यवस्थाका लागि बजेट विनियोजन गरिएको छ ।

माटोको उर्बरा शक्ति कायम राख्न कार्यक्रमको व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले उल्लेख गरे। प्राङ्गारिक मलको प्रवद्र्धन गरी अर्गानिक फलफूल र तरकारीको उत्पादन गरिने छ ।

विभिन्न जिल्लामा समस्याका रूपमा रहेको बाँदर, बँदेल, निलगाईको नियन्त्रण गरिने र प्रभावित क्षेत्रमा अदुवालगायत खेती प्रवद्र्धन गरिने भएको छ । गुणस्तरीय बीउबीजनको व्यवस्था गरिने, मासु निर्यात प्रवद्र्धन गरिने कार्यक्रमलाई सरकारले बजेटबाट अघि बढाउन लागेको छ ।

चार करोड २८ लाख माछाका भूरा उत्पादन गरिने कार्यक्रम पनि बजेटबाट आगामी वर्षमा ल्याउन लागिएको उनले बताए । अलैँची, चिया, कफीको निर्यात प्रवद्र्धन गरिने पनि सरकारले जनाएको छ ।

कम्पनीको दर्तादेखि बहिर्गमन प्रक्रिया एकलविन्दुबाट, नयाँ उद्योगलाई तीन वर्षसम्म भाडा छुट

काठमाडौं । सरकारले उद्योग दर्तादेखि बन्दको प्रक्रियाएउटै स्थानबाट सहज रूपमा हुने व्यवस्था मिलाउने घोषणा गरेको छ । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अबदेखि कम्पनीको दर्तादेखि बहिर्गमनसम्मका सम्पूर्ण प्रक्रिया एकलविन्दु प्रणालीबाट सम्पादन हुने बताए ।

त्यस्तै, विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति पाएका उद्योगहरूलाई सुरुका तीन वर्षसम्म भाडामा छुट दिने व्यवस्था गरिने उनले बताए । सरकारले उद्योगमैत्री वातावरण बनाउँदै लगानी प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने घोषणा गरेको छ । बिहबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरी विमानस्थल निर्माण अघि बढाउने घोषणा गरेका हुन् ।

त्यस्तै उनले भद्रपुर, टरिगाँउको स्तरोन्नति र सुर्खेत विमानस्थल निर्माणको घोषणा गरेका छन् ।

रासायनिक मलको लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले कृषिमा आधुनिकीकरण र अर्थतन्त्रमा रुपान्तरण नाराका साथ उत्पादनशील क्षेत्रमा रुपान्तरण गर्ने उद्देश्यले आगामी आर्थिक वर्षमा रासायनिक मलको लागि २८ अर्ब ८२ करोड बजेट छुट्याएको छ ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उच्च मूल्य वस्तु उत्पादनको लागि ८३ करोड र चैते धान उत्पादनको लागि आवश्यक पर्ने सिंचाईका लागि ३३ करोड तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिए ।

सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न सक्रिय कोष स्थापनाका लागि बिउँ पुँजीको व्यवस्था गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताको सम्पत्ति एवं राहदानी रोक्का राख्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै उनले भने, ‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलन कर्ताको सम्पत्ति एवं राहदानी रोक्का राखिने छ ।’

त्यस्तै उनले सहकारी संस्थामा रहेको ५ लाखसम्मको बचत रकमको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् निक्षप सुरक्षण गरिने बताए ।

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ती लिलाम बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्न सक्रिय कोष स्थापनाका लागि बिउँ पुँजीको व्यवस्था गरेको उनले बताए ।

उनले सहकारी संस्थाको वर्गीकरण, एकीकरण र संरचनागत सुधार गरिनेछ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋण सहकारी संस्थाहरुको प्रभावकारी नियमन गरिने बताए ।

प्रदेशलाई ६० अर्ब ६६ करोड बजेट

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई करिब ६ खर्ब रुपैयाँ दिने भएको छ । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारले वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६० अर्ब ६६ करोड र स्थानीय तहलाई ८८ अर्ब ९७ करोड हस्तान्तरण गर्ने जानकारी दिए ।

यसैगरी सशर्त अनुदान प्रदेशलाई ३० अर्ब ३४ करोड तथा स्थानीय तहलाई २ खर्ब ११ अर्ब ४६ करोड हस्तान्तरण हुनेछ भने समपुरक अनुदान प्रदेशलाई ३ अर्ब २८ करोड र स्थानीय तहमा १९ अर्ब ६ करोड हस्तान्तरण हुने छ ।

यता विशेष अनुदानतर्फ प्रदेशले ३ अर्ब २७ करोड र स्थानीय तहले ९ अर्ब ७८ करोड रुपैयाँ हस्तान्तरण हुनेछ ।यी अनुदान कार्यसम्पादनका आधारमा हस्तान्तरण हुने अर्थमन्त्री पौडेलको भनाइ छ ।

यसैगरी राजस्व बाँडफाँटबाट १ खर्ब ६५ अर्ब हस्तान्तरण हुने अनुमान छ । राजस्व बाँडफाँट र अनुदान गरी ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्ने पौडेलले बताए ।

५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने भएको छ । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भूमिसम्बन्धी कानुन संसोधनगरी भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास स्थाई रुपमा समाधान गर्न लालपूर्जा दिइने घोषणा गरेका हुन्। अर्थमन्त्रीले स्रोत साधन र जनशक्तिको अभाव नहुने बताएका छन्।

इजरायलले कब्जा गरेको वेस्ट बैंकमा थप यहुदी बस्तीलाई अनुमति

जेरुसेलम । इजरायलले बिहीबार कब्जा गरिएको वेस्ट बैंकमा २२ वटा यहुदी बस्ती स्थापना गर्ने बताएको छ । यसमा सरकारी अनुमति बिना नै निर्माण गरिएका चौकीहरूको वैधानिकीकरण पनि समावेश छ ।

इजरायलले सन् १९६७ को मध्यपूर्व युद्धमा गाजा पट्टी र पूर्वी जेरुसेलमसँगै वेस्ट बैंक कब्जा गरेको थियो र प्यालेस्टिनीहरूले आफ्नो भविष्यको राज्यका लागि तीनवटै क्षेत्र चाहन्छन् ।

अधिकांश अन्तर्राष्ट्रिय समुदायले बस्तीहरूलाई अवैध र दशकौँ पुरानो द्वन्द्व समाधानका लागि अवरोधका रूपमा हेर्छन् ।

रक्षामन्त्री इजरायल काट्जले वेस्ट बैंकका लागि बाइबलीय शब्द प्रयोग गरेर ‘जुडिया र सामरियामा हाम्रो पकड बलियो बनाउँछ’, ‘इजरायलको भूमिमा हाम्रो ऐतिहासिक अधिकारलाई स्थापित गर्दछ र प्यालेस्टिनी आतङ्कवादको दमनकारी प्रतिक्रिया हो’ भने ।

उनले यो ‘इजरायललाई खतरामा पार्ने प्यालेस्टिनी राज्यको स्थापनालाई रोक्ने रणनीतिक कदम’ पनि भएको बताए ।

इजरायलले पहिले नै यस क्षेत्रमा एक सयभन्दा बढी बस्ती निर्माण गरिसकेको छ । त्यहाँ करिब पाँच लाख बसोबासकर्ता बस्छन् । बस्तीहरू साना पहाडी चौकीहरूदेखि अपार्टमेन्ट ब्लकहरू, सपिङ मलहरू, कारखानाहरू र सार्वजनिक पार्कहरूसहितका पूर्ण विकसित समुदायहरूसम्म फैलिएका छन् ।

वेस्ट बैंकमा ३० लाख प्यालेस्टिनी बस्छन् । उनीहरू पश्चिमी समर्थित प्यालेस्टिनी प्राधिकरणको जनसङ्ख्या केन्द्रहरूको प्रशासनमा इजरायली सैन्य शासनअन्तर्गत बस्छन् । बसोबास गर्नेहरूसँग इजरायली नागरिकता छ ।

हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणले गाजामा युद्ध सुरु गर्नुभन्दा धेरै अघिदेखि नै प्यालेस्टिनीहरूलाई वेस्ट बैंकको साना र साना क्षेत्रहरूमा सीमित पार्दै र व्यवहार्य, स्वतन्त्र राष्ट्र स्थापनाको सम्भावनालाई अझ टाढा बनाउँदै इजरायलले हालका वर्षहरूमा बस्ती निर्माणलाई तीव्र पारेको छ ।

आफ्नो पहिलो कार्यकालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बलपूर्वक कब्जा गरिएको इलाकामा इजरायलको दावीलाई समर्थन गरेर र बस्तीहरूलाई वैधानिक बनाउने कदमहरू चालेर दशकौँको अमेरिकी विदेश नीतिलाई तोड्यो ।

पूर्वराष्ट्रपति जो बाइडेनले आफ्ना धेरैजसो पूर्ववर्तीहरूझैँ बस्तीहरूको विरोध गरे तर तिनीहरूको वृद्धि रोक्न इजरायलमाथि कम दबाब दिए।

संयुक्त राष्ट्रसङ्घको शीर्ष अदालतले गत वर्ष कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको उपस्थिति गैरकानूनी भएको फैसला सुनाएको थियो र यसलाई अन्त्य गर्न र बस्ती निर्माण तुरुन्तै रोक्न आह्वान गरेको थियो ।

इजरायलले अन्तर्राष्ट्रिय न्यायालयको १५ न्यायाधीशको प्यानलको गैर–बाध्यकारी रायको निन्दा गर्दै यी क्षेत्रहरू यहुदी जनताको ऐतिहासिक मातृभूमिको हिस्सा भएको बताएको छ ।

– युद्धग्रस्त गाजामा बस्तीहरूको आह्वान –

इजरायलले सन् २००५ मा गाजा पट्टीबाट आफ्ना बस्तीहरू फिर्ता लियो तर वर्तमान सरकारका प्रमुख व्यक्तिहरूले तिनीहरूलाई पुनः स्थापित गर्न र क्षेत्रको धेरै प्यालेस्टिनी जनसङ्ख्यालाई स्वैच्छिक आप्रवासनका रूपमा वर्णन गरेर अन्यत्र पुनःस्थापित गर्न आह्वान गरेका छन् ।

प्यालेस्टिनीहरूले त्यस्ता योजनाहरूलाई आफ्नो मातृभूमिबाट जबरजस्ती निष्कासनको खाकाका रूपमा हेर्छन् र विज्ञहरू यी योजनाले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्ने सम्भावना रहेको बताउँछन् ।

दशकौँसम्म इजरायल–प्यालेस्टिन भूमि प्रयोगको ढाँचाको अध्ययन गरेका बेन गुरियन विश्वविद्यालयका वातावरणीय अध्ययनका प्राध्यापक याकोभ गार्बका अनुसार इजरायलले अहिले गाजाको ७० प्रतिशतभन्दा बढी क्षेत्र नियन्त्रण गरेको छ ।

यस क्षेत्रमा इजरायलसँगको सिमानामा रहेको बफर जोनका साथै अहिले प्रायः निर्जन रहेको दक्षिणी सहर रफाह र इजरायलले खाली गर्न आदेश दिएका अन्य ठूला क्षेत्रहरू समावेश छन् ।

इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत

काठमाडौं । इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुन महिनासम्ममा इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको हो ।

‘सूचना प्रविधिको पहुँच आम क्षेत्रमा पुगेको छ । तीन तहका सरकारमा ई–गभर्नेन्स प्रणाली विस्तार हुँदै गएको छ । ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सेवा स्थानीय तहका ६ हजार ५६६ वडा केन्द्रमा विस्तार भएको छ,’ मन्त्री पौडेलले भने, ‘डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ ।’

१५ वटा सार्वजनिक संस्थान घाटामा

कामठाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०८२ प्रतिनिधिसभामा पेस गरेका छन् ।

सार्वजनिक संस्थानको आर्थिक वर्ष २०८०/८१ को समग्र अवस्था, उपलब्धि, सञ्चालनको चुनौती, सुधारका क्षेत्रलगायत विषय समेटेर सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको अर्थमन्त्री पौडेलले बताए ।

नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालित छन् । तीमध्ये २० पूर्णसरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षको भन्दा दुई दशमलव २० प्रतिशतले वृद्धि भई २९ खर्ब १० अर्ब १७ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा पाँच दशमलव ८६ प्रतिशतले वृद्धि भई सात खर्ब तीन अर्ब ९३ करोड पुगेको छ । यसमध्ये शेयर लगानी तीन खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु तीन खर्ब ३९ अर्ब सात करोड रहेको छ ।

आव २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय रु छ खर्ब ६० अर्ब १५ करोड पुगेको छ । आव २०७९/८० को तुलनामा शून्य दशमलव २२ प्रतिशतले कम हो । कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११ दशमलव ५७ प्रतिशत रहेको छ ।

योजना आयोगको बैठकद्वारा आगामी तीन वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम आर्थिक वर्ष २०८२/०८३–२०८४/८५ सम्म त्रिवर्षीय मध्यमकालीन संरचनाको वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको हो ।

सोही खर्च संरचनाभित्र आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आयव्ययको विवरण समाहित हुनेछ । बैठकले बजेट तर्जुमा प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षदेखि राष्ट्रिय स्रोत अनुमान समितिबाट निर्धारित स्रोत अनुमान तथा सीमाका आधारमा आयव्ययको अनुमान तयार हुनुअगावै अन्तिम रुप दिई अर्थ मन्त्रालयमा पठाउन आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।

आयोगका उपाध्यक्ष प्रा शिवराज अधिकारीले आगामी तीन आर्थिक वर्षको स्रोत अनुमान तथा प्रक्षेपण, आयोजनाको विश्लेषण र प्राथमिकीकरणसहितको विवरण प्रस्तुत गर्दै आर्थिक अनुशासनसहितको विकासमा जोड दिन सबै मन्त्रालयलाई बुझाउने काम भइरहेको जानकारी गराए ।

संविधानको कार्यान्वयनप्रति जिम्मेवार छौं र त बजेट ल्याउन दिँदैछौंः प्रमुख सचेतक पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले वर्तमान परिवेशमा सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलहरूका तर्फबाट बोल्दै उनले भने, ‘गणतन्त्र स्थापनाका लागि जसरी हामीबीच एकरुपता भएको थियो, त्यसरी गणतन्त्रको रक्षाका निम्ति गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ ।’

उनले भ्रष्टाचारको अन्त्य गर्दै सामाजिक न्याय र समृद्धिका निम्ति अग्रसर हुन सरकारको ध्यानाकर्षण गराए । पाण्डेले ‘भिजिट भिसा’ प्रकरण निरुपण नहुन्जेलसम्म गृहमन्त्री रमेश लेखकको राजीनामा माग निरन्तर जारी रहने उल्लेख गर्दै बजेट र आर्थिक सर्वेक्षणका लागि मात्र संसद् बैठक सञ्चालन गर्न आफूहरु सहमत भएको बताए ।

उनले भने, ‘संविधानको धारा १३ का तीनवटा उपधारामा जेठ १५ गते बजेट प्रस्तुत गर्नेसम्बन्धी व्यवस्था छन् । हामी विपक्षी दलहरू संविधानको कार्यान्वयनप्रति जिम्मेवार छौं । त्यसैले आज बजेट ल्याउन दिँदैछौं ।’

पाण्डेले गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा पत्रकार सम्मेलन गरेर जनतालाई थप गुमराहमा राख्न खोजेको आरोप लगाए ।

उनले भने, ‘पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीले कर्मचारीलाई दोषरोपण गरेर गृहमन्त्री पन्छिन खोज्नु भयो । भ्रष्टाचार भयो भने कारबाही गर्ने दायित्व यो सरकारको छ कि छैन ? कारबाही गर्न यो सरकार बनेको होइन ?’

भिजिट भिसा प्रकरणलाई लिएर मंगलबारदेखि विपक्षी दलले निरन्तर सदन अवरुद्ध गर्दै आएका छन् । तर बजेट ल्याउन भने उनीहरुले नरोक्ने रणनीति अनुसार आज सदन चल्न दिएका हुन् । आज सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।

यसवर्ष आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदर भन्दा माथि रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताए ।

चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवा क्षेत्रको योगदान ६२.०१ रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराए ।

चालु आवको फागुन मसान्तसम्मको अवस्थाअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको आर्थिक सवेक्षणमा उल्लेख छ ।

राजावादीहरुको प्रदर्शन सुरु

काठमाडौं । राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी संघसंगठनले राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंका विभिन्न स्थानबाट प्रदर्शन सुरु गरेका छन् ।

रत्नपार्कको शान्तिवाटिकामा भेला हुनुअघि उनीहरुले चाबहिल, सामाखुशी, बानेश्वरलगायतका क्षेत्रबाट र्याली निकालेका हुन् । राजावादीले रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढ्ने संयुक्त जनआन्दोलन समितिले जनाएको छ । आन्दोलनमा सहभागीलाई छातासहित उपस्थित भएका छन् ।

राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना तथा संघीयता खारेजी नभएसम्म आन्दोलन जारी रहने राजावादी नेताहरूले दाबी गरेका छन् । स्थानीय प्रशासनले आज दुई बजेसम्म एमाले र दुई बजेपछि शान्तिबाटिकामा कार्यक्रम गर्न राप्रपालाई स्थान तोकिदिएको छ ।

एमालेले सडकमा मनायो ‘गणतन्त्र उत्सव’

काठमाडौँ । नेकपा एमालेले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा मनाएको छ र एमालेले सातदशक लामो बलिदानपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रुपमा मनाएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आफ्नो मौलिक वेशभूषामा पार्टीका कार्यकर्ता सांस्कृतिक झाकीसहित र्याली भृकुटीमण्डमा पुगेर उत्सवमा सहभागी भएको थियो ।

यही जेठ ११ गतेको नेकपा एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको थियो ।

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ का लागि कन्सल्ट्यान्ट प्रशिक्षकका रूपमा दक्षिण अफ्रिकी प्रशिक्षक निक पोथासलाई नियुक्त गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथासलाई नियुक्त गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । यसअघि उनीसँग श्रीलंका, वेस्ट इन्डिज र बंगलादेशका राष्ट्रिय टोलीसँग आबद्ध रहेको अनुभव छ ।

नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली आइसिसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तयारीमा छ । यही जेठ १९ देखि २९ गतेसम्म स्कटल्यान्डमा हुने उक्त शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । पोथसको सहयोगमा नेपाली टोलीले प्रदर्शनमा सुधारसहित उत्कृष्ट खेल्ने अपेक्षा गरिएको क्यानका जनाएको छ ।

अमेरिकाद्वारा बर्ड फ्लुको खोपका लागि मोडर्नासँगको ५९ करोड डलरको सम्झौता रद्द

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एभियन फ्लू खोप विकास गर्न मोडर्नासँगको ५९ करोड डलरको सम्झौता बुधबार रद्द गरेको अमेरिकी बायोटेक कम्पनीले जनाएको छ ।

यसले खोपको बारेमा गलत सूचना प्रवद्र्धन गर्न दशकौँ बिताएका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरको खोपहरू विरुद्धको पछिल्लो कदमलाई चित्रित गरेको छ ।

ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा तीन दिनअघि जनवरी १७ मा घोषणा गरिएको सम्झौता चरा र गाईवस्तुमा सर्ने एच५एन१ इन्फ्लुएन्जा स्ट्रेनलाई लक्षित गर्ने एमआरएनए खोपका लागि थियो ।

विज्ञहरूले यो भाइरस मानिसमा फैलिन सक्ने र महामारी निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
अमेरिकी फर्मास्युटिकल र बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सुरक्षा र प्रतिरक्षा प्रतिक्रिया परीक्षण गर्न डिजाइन गरिएको तीन सय व्यक्तिको प्रारम्भिक चरणको क्लिनिकल परीक्षणबाट सकारात्मक परिणामहरू घोषणा गरेपछि समाचारको खुलासा गरेको थियो ।

‘एचएचएसबाट कोषको समाप्तिले अनिश्चितता थप्दछ, हामी हाम्रो एच ५ एभियन फ्लु खोपको चरण १/२ अध्ययनको यस अन्तरिम विश्लेषणमा अवलोकन गरिएको बलियो प्रतिरक्षा प्रतिक्रिया र सुरक्षा प्रोफाइलबाट खुसी छौँ र हामी कार्यक्रमका लागि वैकल्पिक मार्गहरू अन्वेषण गर्नेछौँ’, सिइओ स्टेफन बानसेलले एक विज्ञप्तिमा भनेका छन्, ‘महामारी इन्फ्लुएन्जामा यी क्लिनिकल डाटाले एमआरएनए प्रविधिले उदाउँदो स्वास्थ्य खतराहरूको प्रतिकारका रूपमा खेलेको महत्त्वपूर्ण भूमिकालाई जोड दिन्छ ।’

विज्ञप्तिमा मोडर्नाले खोपको विकास र निर्माण कोषका लागि ‘विकल्पहरू खोज्ने’ बताइएको छ ।
पूर्वराष्ट्रपति जो बाइडेनको कोभिड–१९ प्रतिक्रिया संयोजकका रूपमा काम गरेका जनस्वास्थ्य विज्ञ डा आशिष झाले निराश प्रतिक्रिया दिए ।

‘एमआरएनए खोपहरूमा भएको आक्रमण अर्थहीन छ’, उनले एक्समा पोस्ट गरेका छन्, ‘यो राष्ट्रपति ट्रम्पको अपरेसन वार्प स्पीड थियो जसले हामीलाई एमआरएनए खोप दियो ।’