`

व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता

भक्तपुर । चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याएर कालभैरबको मूर्ति स्थापना गरिएको छ ।

यहाँको १९ रोपनी १० आना क्षेत्रफल रहेको ४७ नं कित्ता रहेको सार्वजनिक जग्गालाई २०४२ सालमा व्यक्तिको नाममा दर्ता गरी विभिन्न व्यक्तिमा हक हस्तान्तरण भएको थाहा पाएपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

आर्थिक वर्ष २०६०/०६१ मा थाहा भएको यस विषयमा अनुसन्धानपश्चात् आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरमा व्यक्तिको नाममा दर्ता खारेज गरी सार्वजनिक कायम गरिएको थियो ।

सरकारको नाममा फिर्ता आएपछि स्थानीय सरकारको पहल र नागरिकको सहभागितामा कालभैरबको विशाल मूर्ति स्थापना गरिएको चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए ।

उनले भने, ‘व्यक्तिको नाममा दर्ता भएको सार्वजनिक जग्गा स्थानीयवासीकै पहलमा पुनः सरकारककै नाममा फिर्ता आएको छ । यसको संरक्षण गर्न स्थानीय सरकार र स्थानीयवासी लागिरहेका छौँ । यही जग्गामा ढुङ्गाबाट कालभैरबको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठासमेत गरेका छौँ ।’

यहाँ करिब २० लाखमा अर्को एक मन्दिर निर्माण गर्ने, करिब २० लाखकै लागतमा बहुउदेश्यीय सामुदायिक भवन निर्माण र धार्मिक क्षेत्रको रूपमा विकास गरी पर्यटक भित्रयाउने लक्ष्यसहित काम अगाडि बढाइएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

निषेधित क्षेत्र तोकेर सरकार कमजोर भयो भन्ने कुरा प्रमाणित भयोः अध्यक्ष लिङ्देन

काठमाडौं । राप्रपा कार्यसम्पादन समितिको बैठकले आन्दोलनलाई निरन्तरता राख्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले आगामी कार्यक्रमहरु अझै मजबुत तरिकाले अगाडि बढाउने गरि बैठकमा छलफल भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनले भने, ‘जेठ १५ गते र १६ गते भएको कार्यक्रमबारे समीक्षा भयो । आगामी कार्यक्रम पनि अझै मजबुत बनाउने भनेर बैठकमा छलफल गरिएको छ । शनिबार (आज) पनि शान्तिबाटिकामा जम्मा भएर आन्दोलनलाई निरन्तरता दिने निर्णय भयो ।’

साथै उनले हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल शक्तिहरु त्यहाँ प्रर्दशन हुन्छ भन्ने विषयलाई लिएर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डराएको स्पष्ट देखिएको उनले बताए । उनले निषेधित क्षेत्र तोकेर सरकार कमजोर भयो भन्ने कुराको प्रमाणित गरेको समेत बताए ।

आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा कक्षामा विद्यार्थी संख्या शून्य भएको छ। कक्षा चारसम्मको पठनपाठनको अनुुमति पाएको विद्यालयको २, ३ र ४ कक्षामा नयाँ शैक्षिक सत्र २०८२ मा भर्ना हुन आउने विद्यार्थीको संख्या शून्य भएको हो । प्रधानाध्यापक खिमबहादुर चर्माकारले बालकक्षामा चार र कक्षा एकमा तीन जना विद्यार्थी रहेका बताए।

‘गत वर्ष कक्षा ४ मा तीन, ३, २ मा एकरएक एक र १ मा तीन जना विद्यार्थी थिए’, उनले भने, ‘चार कक्षा उत्तीर्ण भएका माथिल्लो तह अध्ययन गर्न, सारेमारे टोलबाट आउने २ र ३ का विद्यार्थी टाढा भएपछि अर्को विद्यालयमा भर्ना भए ।’ कक्षा १ का विद्यार्थीको उमेर कम भएको र सिकाइ वृद्धिका लागि कक्षा दोहोर्‍याइएको र बालकक्षामा नयाँ विद्यार्थी भर्ना गरिएको प्रअ चर्माकारले बताए। युुवा वर्षको सेवा क्षेत्रमा पर्ने आनन्दबगर, लामगरा, सिम र सारेमारे टोलमा भर्नाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षकले घरदैलो गरेका थिए।

आनन्दबगर र सारेमारे टोल टाढा भए पनि नजिकैको लामगरा र सिमका अभिभावकले पनि बेनीका सामुदायिक र निजी विद्यालयमा पठाउन थालेपछि पछिल्लो पाँच वर्षयता विद्यार्थी सङ्ख्या घट्दै गएको व्यवस्थापन समितिका अध्यक्ष भविराम थापाले बताए।लामगरा र सिममा करिब ५० घरपरिवारको बसोबास छ। अङ्ग्रेजी माध्यमबाट पठनपाठन, पुस्तकालय, बालमैत्री शिक्षण विधि, विपन्न विद्यार्थीको लागि पोसाक र शैक्षिक सामग्रीको व्यवस्था मिलाए पनि अभिभावकले वास्ता नगर्दा निराश भएको व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए।

विसं २०४१ मा स्थापना भएको विद्यालयमा एक सय जनासम्म विद्यार्थी हुुन्थे। सिकाइ उपलब्धि ९५ प्रतिशत छ । विद्यार्थी सङ्ख्या कम भएपछि गत वर्ष बेनी नगरपालिकाले एक वटा कक्षा घटुवा गरेर चार कक्षासम्म कायम गरेको थियो। उक्त विद्यालयमा हाल दुई जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना सहयोगी कर्मचारी छन् । बेनी नगरपालिकाले विद्यार्थी नभएका कक्षा घटुवा गर्ने र शिक्षकलाई नजिकको धेरै विद्यार्थी भएको विद्यालयमा व्यवस्थापन गर्ने नीति लिएको छ ।

युवा वर्षलगायत विद्यार्थी कम भएका विद्यालयको सघन अनुगमन गरेर आवश्यक निर्णय लिइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए।

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी –पहिरोको जोखिम सुरू

काठमाडौं ।  नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको एक सय मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ ।

जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । जसले धनकुटा हुँदै जाने भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ । आजै झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेको पनि केसीले बताए । उनका अनुसार अहिले पानी घट्दो क्रममा रहेको र मानवीय जोखिम रहेको छैन । स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको बताए।

नेपालमा मनसुन भित्रिने सरदरभन्दा १५ दिनअगावै बिहीबार रातिदेखि मनसुन भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ ।

पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको पनि विभागले जानकारी दिएको छ। पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले बुलेटिनमार्फत जानकारी गराएको छ।

पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको र ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतमा सतर्कता तहभन्दा माथिको बाढी मापन भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले पनि सबैमा अनुरोध गरेको छ।

महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप बर्षा हुनसक्ने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

वर्षा गराउने बादल पूर्वी नेपालबाट उत्तरतर्फ सरिरहेको पनि मौसम विज्ञान विभागले जानकारी दिएको छ। आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि बढ्दो हुने देखिएको जनाइएको छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध पनि गरिएको छ।

आकस्मिक घटना व्यवस्थापनका लागि विद्यार्थी र स्थानीयलाई कृत्रिम अभ्यास

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयका छात्रछात्रा र स्थानीयवासीलाई आकस्मिक घटना व्यवस्थापनका लागि कृत्रिम अभ्यास गराइएको छ ।

कामपा वडा नम्बर ३० ले आकस्मिक घटना व्यवस्थापनका लागि कृतिम अभ्यास गराइएको वडाध्यक्ष दलबहादुर कार्की जानकारी दिए । ग्यालेक्सी स्कूलको छात्रावासमा रहेका छात्रछात्रा र वडावासीका लागि भूकम्प र आगलागीका कृतिम घटनामा व्यक्तिको भूमिका, गर्नुपर्ने काम, कामका लागि समूह निर्माण, सञ्चार, खोज तथा उद्धार र सुरक्षित रहने ठाउँको पहिचानको अभ्यास गराइएको हो ।

आकस्मिक घटनामा विज्ञ खोज्न थाल्दा पनि र उद्धारका क्रममा गलत अभ्यास गरियो भने पनि, यी दुवै अवस्थामा बचाउन सकिने ज्यान पनि गुम्न सक्छ । यसकारण यस्ता घटनामा कसको के भूमिका हुन्छ र आपसी काम कसरी गर्नुपर्छ भन्ने ज्ञान दिनका लागि अध्यास आयोजना गरिएको वडाध्यक्ष कार्कीको भनाइ छ ।
तत्काल आइलाग्ने घटनाको नजिक हुने व्यक्तिबाहेक छिटो सहयोग अरूले गर्नै सक्दैन । सकेसम्म सहयोग गर्न सक्ने, सहयोग गर्न नसके पनि अज्ञानताका कारण थप जोखिम हुन नदिने अवस्थाका लागि समुदायस्तरका कार्यक्रमलाई निरन्तरता दिइएको वडासदस्य मनोज डङ्गोलले बताए ।

“आपतकालमा व्यक्तिले होइन, संयन्त्रले काम गर्नुपर्छ । व्यक्तिले गरेको प्रयत्न कमजोर र अपुग हुनसक्छ । यो सन्देश प्रवाह गर्न आवश्यक छ”, वडा सचिव देवराज जोशीले भने, “टोलभित्रै विपद् व्यवस्थापनको पहिलो काम गर्ने संयन्त्र गर्ने प्रणालीको विकास गर्न खोजेका छौँ ।”

अभ्यासको क्रममा भूकम्प र आगालागीजस्ता विपतको समयका गर्नुपर्ने कामपाको बारेमा जानकारी गराइएको थियो । आगलागी नियन्त्रणबारे अभ्यास गरियो ।

आगोको प्रकार चिन्ने, प्रारम्भिक अवस्थामा आगलागी नियन्त्रण गर्न आफू नजिक भएका वस्तु सामग्रीको प्रयोग गर्ने, फायर इस्टिङ्गङवीसरको प्रकार, प्रकृतिअनुसार फायर इस्टिङ्ग्वीसरको प्रयोग छनोट, प्रयोग विधिको सिद्धान्तलाई अभ्यास गराइएको थियो ।

वडाले स्टार सेफ्टीसँगको सहकार्यका तालिम पनि आयोजना गरेको थियो । तालिमका प्रशिक्षक उमेशजङ्ग रायमाझीले, घरमा ग्यास ल्याउँदा गुडाएर नल्याउन, गुडाएर ल्याएको भए आधा घण्टासम्म रेगुलेटर नजोड्न, लाइटर बालेर ग्यास लिक गएको परीक्षण नगर्न, ग्यास सकियो भनेर सिलिण्डर लडाएर प्रयोग नगर्न सुझाव दिए ।
नयाँ ग्यास जोड्नु अघि लिकेज थाहा पाउन पानीको थोपा राखेर हेर्दा पानीमा फोका देखियो भने लिक भएको थाहा पाउन सकिने रायमाझीले जानकारी गराए ।

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पाङ्गे सवारीसाधनको आयात ह्वातै घटेको छ । चालु आर्थिक वर्षको वैशाखसम्म यो नाका हुँदै एक अर्ब ५३ करोड मूल्य पर्ने सात सय ३५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् ।

जबकी आव २०८०/८१ को वैशाख मसान्तसम्मको अवधिमा भने दुई अर्ब सात करोड मूल्य पर्ने एक हजार २६७ वटा जीप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगञ्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताए ।

इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको आयात घटेसँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ । चालु आवको १० महिनामा इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनबाट रु चार अर्ब तीन करोड राजस्व सङ्कलन भएको छ । तर, गत आवको सोही अवधिमा भने रु चार अर्ब ३९ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको १० महिनामा ट्रक, मिनि ट्रकको आयात पनि खुम्चिएको छ । सो अवधिमा रु ५३ करोड मूल्यका २३१ वटा ट्रक, मिनिट्रक आयात भएका छन् । जबकी गत आवको सोही अवधिमा भने रु दुई अर्ब १२ करोड मूल्य पर्ने ७६४ वटा ट्रक तथा मिनि ट्रक आयात भएको थियो ।

चालु आवको १० महिनामा विद्युत्बाट चल्ने जीप, कार र भ्यानको आयातमा पनि उच्च गिरावट देखिएको छ । सो अवधिमा रु ४२ करोड मूल्य पर्ने १७४ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ । जबकी गत आवको १० महिनामा भने रु ९५ करोड मूल्यका ४४८ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २६ थरिका साना÷ठूला सवारीसाधन गरेर रु १८ अर्ब ५२ करोड मूल्यका रु दुई करोड १४ लाख ७५ हजार ४७१ वटा सवारीसाधन आयात भएका छन् ।

ती सवारीसाधन आयात हुँदा कार्यालयले भने रु १५ अर्ब २४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको वैशाख मसान्तसम्मको अवधिमा रु १७ अर्ब ५ करोड मूल्यका २६ थरिका रु दुई करोड ७० लाख २२ हजार दुई सय २२ वटा साना/ठूला सवारीसाधन आयात भएका छन् । ती सवारीसाधनको आयातबाट कार्यालयले रु १३ अर्ब ४४ करोड राजस्व सङ्कलन गरेको छ ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि ७० खेलाडी छनोट

बैतडी । सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनोट गरिएका छन् ।

हालै पुर्चौडी नगरपालिकामा सम्पन्न १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेर ७० खेलाडी छनोट गरिएका हुन् ।

बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएका हुन् । छनोट हुने खेलाडीमा छात्र र छात्रा भलिबलमा नौरनौ, कबड्डी छात्र र छात्रामा नौरनौ, एथ्लेटिक्समा छात्र र छात्रा गरेर ११/११ जना र कराँतेमा छ/छ खेलाडी छनोट भएका छन् ।

पुर्चौडीमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दशवटै स्थानीय तहको सहभागिता रहेको थियो ।

छनोट भएका खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका जनाउने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी जानकारी दिए । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिना हुने भनिए पनि मिति भने तय भएको छैन ।

गड्डाचौकी– अत्तरिया सडकखण्ड स्तरोन्नतिले विकासमा नयाँ आयाम थपिने विश्वास

कञ्चनपुर । पूर्व पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

आर्थिक वर्ष ०८२/८३ को बजेट वक्तव्यमा चार लेनको सडक स्तरोन्नीका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन भएपछि सडक पूर्वाधार निर्माणले फड्को मार्ने विश्वास गरिएको छ ।

‘एसियन हाइवे स्टयान्डर्ड’को सडक बन्ने भएपछि यसले सुदूरपश्चिमको विकासमा टेवा पुर्‍याउने भएको छ । बजेटअनुसार आधुनिक तरिकाले सडक पूर्वाधारका कार्य हुने भएका छन् ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर हरिशप्रसाद जोशीले गड्डाचौकीदेखि अत्तरियासम्मको ४९ किलोमिटर सडक बजेट सुनिश्चित गरिएपछि आउँदो आवदेखि स्तरोन्नतिको कार्य हुने बताए । उनले सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सडक स्तरोन्नतिका लागि अलग्गै कार्यालय खोलेर कार्य अगाडि बढाउने बताए ।

शाखाले देशमा ठूला सडक, पुल निर्माण र मर्मतसम्भार कार्य गर्छ । “ठूलो बहुवर्षीय आयोजना भएकाले अलग्गै कार्यालय खोलेर सडक स्तरोन्नतिको कार्य आगामी आवदेखि सुरू गरिन्छ”, उनले भने ।

चार लेनको गुणस्तरयुक्त सडक ‘अस्फाल्ट कङ्क्रिट’ प्रविधिको हुने उनले बताए । आयोजना पूरा हुन तीनदेखि पाँच वर्षसम्मको समयावधि लाग्ने उनले बताए ।

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताए ।

‘म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ । गृह मन्त्रालय मातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नुपर्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृह मातहतको सिआइबीले छानबिन गरिरहेको थियो । अहिले त्यस्तो अवस्था होइन त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।’

उनले बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेउभन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेउभन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए ।

कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकाङ्क्षा–ध्रुवीकरणहरू हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई ‘डिष्टर्ब’ हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो ।

संसद्मा प्रस्तुत बजेटका सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले बजेट यथार्थपरक र सम्भव हुने हिसाबले यस पटकको बजेट आएको जवाफ दिए ।

‘हामीलाई त्यसै पपुलिष्ट हुनु छैन । राम्रा काम गर्नु छ । यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो । गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको थियो । माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको थियो । हामी त्यस्तो गर्दैनौँ’, उनले भने, ‘हामीले पहिला पूर्वाधार विकासमा जोड दियौँ । पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौँ ।’

प्रधानमन्त्री ओलीले खेल क्षेत्रले हरेक मानिसलाई जोड्ने र क्रियाशीलता बढाउने बताउँदै हाफ म्याराथनको आयोजनाका लागि कान्तिपुरलाई धन्यवाद समेत दिएका छन् ।

लेउती खोलाको बाढीले धरान-धनकुटा सडक अवरुद्ध

धनकुटा । भारी वर्षापछि लेउती खोलामा आएको बाढीले धनकुटामा कोशी लोकमार्ग बगाएको छ । साँघुरीगढी गाउँपालिका–६ स्थित फेदीमा लेउती खोलाले करीव ३० मिटर कालोपत्रे सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

खोलाले सडक कटान गरेर बगाएपछि कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । धनकुटा प्रहरी प्रमुख एसपी शरदकुमार थापाले बाढीले कम्तीमा २५ देखि ३० मिटर सडक भत्काएको र आज बिहानैदेखि कोशी लोकमार्ग अवरुद्ध बनेको जानकारी दिए ।

धनकुटामै बाढीले थप दुई ठाउँ बाटोमा अवरोध पुर्याएको छ। चौबीसे गाउँपालिका–४ मा छहरे खोलाले तमोर करिडोरको बाटो पनि भत्काएको एसपी क्षेत्रीले जानकारी दिए ।

चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पद्वारा सङ्केत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लंघन’ गरेको भन्दै चीनसँग नयाँ व्यापार तनावको संकेत गरेका छन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको व्यापार वार्ता ‘केही हदसम्म अवरुद्ध’ भएको बताएको केही घण्टापछि ट्रम्पले ट्रुथ सोसल प्लाटफर्म नामक आफ्नै लगानीको सामाजिक सञ्जालमा नयाँ व्यापार तनावको संकेत गरेका हुन् ।

जेनेभामा उच्च अधिकारीबिच भएको वार्तापछि विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकले एक–अर्कामाथि लगाएको उच्च करलाई अस्थायी रूपमा घटाउन यसै महिना सहमति जनाएका थिए ।

शुक्रबार ट्रम्पले लेखेका छन्, ‘चीनले अमेरिकासँगको सम्झौताको पूर्ण रूपमा उल्लंघन गरेको छ।’

पोस्टबारे सोधिएको प्रश्नमा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरले सिएनबिसीसँग भने, ‘बेइजिङले महत्त्वपूर्ण खनिजहरूजस्ता वस्तुको आपूर्ति रोक्ने वा सुस्त बनाउने प्रक्रिया जारी राखेको छ ।’

उनले चीनसँग संयुक्त राज्य अमेरिकाको व्यापारघाटा ‘अझै पनि व्यापक रहेको’ र वासिङ्टनले बेइजिङको व्यवहारमा ठुलो परिवर्तन नदेखेको बताए ।

बिहीबार बेसेन्टले ट्रम्प र उनका चिनियाँ समकक्षी सी चिनफिङले यस परिस्थितिबारे कुराकानी गर्न सक्ने बताए ।

कांग्रेस नेता आलमलाई मस्तिष्कघात

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएर बुधबार रिहा भएका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघात भएपछि उनलाई शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

हाल आलमको स्वास्थ्य अवस्था स्थिर छ । रौतहटमा इटाभट्टामा मान्छेलाई जिउँदै पोलेर हत्या गरेको आरोपमा उनले बुधबारमात्रै अदालतबाट सफाइ पाएका थिए ।

जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा उनीविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालतले जिल्लाको फैसला बदर गरेको हो ।

काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला

काठमाडाैं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदै छन् । उनको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै हुनुहुन्छ । उनीहरुका साथमा राउटे समुदायकि महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दै छन् ।

आफ्नै पोसाकमा सजिएका उनीहरु असिनपसिन भएर हस्त–शिल्पकला काठ र कपडामा देखाउँदै छन् । उनीहरुले गरिरहेको काम काठमाडौँ उपत्यकाबासीका लागि नौलो थियो । पुरुषहरु कोसी (आरी) बनाउँदै त महिलाहरु कपडामा बुट्टा सिलाउँदै थिए ।

बिहीबारदेखि यहाँ सुरु भएको राष्ट्रिय ललितलकला प्रदर्शनी, २०८२ का अवसरमा ललितकलाकै इतिहासमा पहिलो पटक राउटेहरु यसरी कला सिर्जनामा सहभागी भएका हुन् । उनीहरुले यहाँ प्रत्यक्ष रुपमा कला कार्यशाला नै गर्नु अर्काे नयाँ थियो ।

प्रदर्शनीमा कला हेर्न आइपुगेका कला पारखीहरु राउटेको प्रस्तुति देख्दा सेल्फीमा रमाएका दृश्य हेर्न लायक थियो । उनीहरुले राउटेले गरेका काम श्रव्यदृश्यमा कैद गर्न भ्याए । मुङ्ग्रोको सहयोगमा बसिलो प्रयोग गरेर उनीहरुले हस्तकला कोसी बनाए । ‘सानो छिनु ल्याइएन, त्यसैले चिल्लो बनाउन पाएन, बसिलोले काठमा आकार बनाउँदै छु’, दीपक शाहीले राससको जिज्ञासाको जवाफ दिए ।

उनका अनुसार डाडु, पन्यूँ, कोसी, ढकल, सन्दुक, पिर्का राउटेका मुख्य हस्त–शिल्पकला हो । प्रदर्शनीमा उनीहरुका हस्तकलासमेत राखिएको छ । यो पनि ललितकलाको इतिहासमै पहिलो पटक सरकारी तहबाट राउटेको कला प्रदर्शनीमा समावेश भएको हो ।

त्यसमाथि हस्त शिल्पकलामा यसपटक उनीहरुले बनाएको कला प्रादेशिक पुरस्कार प्राप्त गर्न समेत सफल भएको छ । उनीहरुले रु ३० हजार राशिको पुरस्कार पाए । ‘हामी खुसी छम्, यहाँ आएम्, पैसा दिए, हामीले बनाएका सामान बिक्री भइरहेको छ’, दीपकले थपे ।

उनीहरुको २० वटा कोसी बिक्रीका लागि भनेर यहाँ ल्याइएको थियो । सबै बिक्री भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए । उनले भने, ‘नेपालको लोपोन्मुख समुदाय राउटेका हस्त शिल्पकलालाई हामीले राष्ट्रियस्तरमा जोड्न सफल भएका छौँ, कलामा पुनःजागरण भनेर हामीले काम गरिरहेका छोँ, यसरी रैथाने मौलिक कला जोगाउनु हाम्रो महत्वपूर्ण उद्देश्य थियो, एक हिसाबले सफल भएको महसुस गरेका छौँ ।’ उनले यसपालि तराईको डोम समुदायको कलासमेत समावेश गरिएको बताए ।

मुख्यगरी राउटेहरुसँग जोडिएको प्रादेशिक कला प्रदर्शनीले हो । गत फागुन ६ देखि १० गतेसम्म कर्णालीमा प्रादेशिक कला प्रदर्शनी आयोजना गरिएको थियो ।

राउटे समुदायको कला पनि छ भन्ने थाहा पाएपछि स्थानीयहरुको सहयोगमा उनीहरुको बस्तीमै गएर कला प्रदर्शनीमा सहभागी गराइएको थियो । उनीहरुले कर्णालीमा पनि प्रत्यक्ष कला कार्यशाला गर्नुभएको थियो ।

त्यही बेलादेखि उनीहरु हाम्रो सम्पर्कमै हुनुहुन्थ्यो, उनीका सहयोगी लालबहादुर खत्रीसँगको समन्वयमा काठमाडौँमा कला सिर्जनाका लागि ल्याउन सफल भयौँ’, कर्णाली कला प्रदर्शनीका संयोजक, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य पाल्साङ्मो लामाले बताए ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले एउटा प्रयास गरेर रैथाने कलाहरुलाई उजागर गर्ने प्रयास गरेको र आगामी दिनमा यस्ता मौलिक कलाका साथै अनुसन्धान, कलाकारको सर्वेक्षणलगायतका कामलार्ई प्राथमिकता दिने बताए ।

सूर्यनारायणले काठमाडौँमा कला देखाउन पाएनन्

कर्णाली प्रदेशमा भएको कला प्रदर्शनीमा राउटे मुखिया सूर्यनारायण शाहीको कला प्रदर्शनी भएको थियो । उनले कला कार्यशालामा समेत आफ्नो कला देखाएका थिए । तर उनको केही समय अघि निधन भएकाले काठमाडौँमा उनीले कला देखाउन पाएनन् ।

यद्यपि उनले बनाएको पिर्का र ढकनसहितको कोसी यहाँ देख्न सकिन्छ । प्रदर्शनीमा लोकेन्द्र शाहीले बनाएको डाडु, बन्दावीर शाहीले बनाएको कोसी र ढकन, दीपक शाहीले बनाएको सन्दुक, खगेन्द्र शाहीले बताएको डाडु, धयर शाहीले बनाएको पन्यूँ राखिएको छ । । उनीहरुका कला प्रदर्शनीको मुख्य आकर्षण पनि रहेको प्रतिष्ठानका उपकुलपति तथा उक्त कला प्रदर्शनी संयोजक लालकाजी लामाले बताए ।

कला प्रदर्शनी यही जेठ ३१ गतेसम्म जारी रहने छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’ मार्फत छानिएका कलाकृति समावेश गरी यहाँ राष्ट्रिय कला प्रदर्शनी सुरु गरेको हो ।

प्रदर्शनीमा देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला, समसामयिक/आधुनिक चित्रकला/मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् । जसमा मुख्यतः थारू, अवधि, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातका कलाको विशेष सहभागिता रहेको छ ।

सम्मान र पुरस्कार

समारोहमा यस वर्षको ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि एक लाख ५० हजार र सम्मानपत्र रहेको छ ।

‘सहिद कलाकार अनिल लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ गङ्गाधर सारुलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशि रु ५०/५० हजार र सम्मानपत्र रहेको छ ।

राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः पत्रकार शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिएको छ ।

ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०/३० हजार र सम्मानपत्र रहेको छ । ललितकला प्रवर्द्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरियो ।

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला)लाई प्रदान गरियो । यस पुरस्कारको राशि एक लाख र सम्मानपत्र रहेको छ ।

राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक/आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शङ्करकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्र्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफलप्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि रु ६० हजार र सम्मानपत्र रहेको छ ।

प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरिङ शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला) बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सीता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला) लाई प्रदान गरियो । यी सम्पूर्ण पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ ।

त्यस्तै, प्रादेशिक समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बागमतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दीपक आउजी, समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारू, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगरले पुरस्कार पाए ।

प्रादेशिक परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा, मधेशबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङ, परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतीक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकार, शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा (शिवकुमार राई), मधेशबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मुक्तान तामाङ, लुम्बिनीबाट बाल गोविन्द त्रिपाठी, कर्णालीबाट सोविन शाही, सुदूरपश्चिमबाट लालबहादुर कुमालले पुरस्कार पाए ।

वास्तुकला तथा लोककलातर्फ कोसीबाट माधवी कर्ण, मधेशबाट आरतीकुमारी साह, बागमतीबाट युनेस नापित श्रेष्ठ (वास्तुकला), लुम्बिनीबाट सञ्चिता अग्रहरी, सुदूरपश्चिमबाट मित्थु थारू, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलामा बागमतीबाट विनयबहादुर रिमाल क्षेत्री, कला फोटोग्राफीमा कोसीबाट अर्जुन कुलुङ राई, मधेशबाट प्रशान्त चौधरी, गण्डकीबाट सृजना भुर्तेल, लुम्बिनीबाट मनिराम पन्थ र सुदूरपश्चिमबाट माधव ओझालाई पुरस्कृत गरियो । यी सम्पूर्ण पुरस्कारको राशि रु ३०/३० हजार र सम्मानपत्र रहेको छ ।

राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर विकलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि रु ६० हजार र सम्मानपत्र छ । प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेशबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावादोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरियो । यस पुरस्कारको राशि रु ३० हजार र सम्मानपत्र रहेको छ ।

मुस्ताङमा बृहत् साइकल तथा घोडा र्‍याली उत्सव

मुस्ताङ । पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा आज संयुक्त साइकल तथा घोडा र्‍याली आयोजना गरिएको छ ।

जलवायु सङ्कटले समग्र मानव सभ्यतामै प्रतिकूल असर पुर्‍याएको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक प्रथम साइकल तथा घोडा र्‍याली आयोजना गरिएको हो ।

घरपझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा देशभरका साइकलयात्री टोली मुस्ताङमा यहाँ सहभागी भएका गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार पहिलो पटक आयोजना गरिएको साइकल र्‍यालीमा २३ जिल्लाका ३६२ जनाले उत्साहजनक रूपमा सहभागिता जनाएका छन् ।

“हाम्रो उद्देश्य भनेकै यहाँको पर्यटन प्रवर्द्धन गर्नु हो, दूरदराजमा रहेका गाउँलाई समेत साइकल तथा घोडा र्‍यालीले चिनाउने हाम्रो ध्येय हो”, अध्यक्ष लालचनले भने, “हामीले अपेक्षा गरेभन्दा बढी देशभरबाट साइकल टोली मुस्ताङमा आउनुभएको छ, कार्यक्रममार्फत जलवायु सङ्कट न्यूनीकरण र कार्बन उत्सर्जन कम गर्ने विकल्प प्रस्तुत गर्न खोजेका हौँ ।”

समुन्द्री सतहदेखि तीन हजार मिटर अग्लो उचाइमा पदयात्रा गर्न पाउँदा सहभागीहरू निकै नै उत्साहित भएका छन् । कपिलवस्तुबाट सहभागी वाराङ्गा साइकल राइडर विष्णुप्रसाद सापकोटाले मुस्ताङमा पहिलो पटक साइकलयात्रा गर्न आएको जानकारी दिए । यहाँको पर्यटन प्रवर्द्धन तथा वातावरण स्वच्छताका साथै साइकल संस्कृतिको विकासमा टेवा पु¥याउने गरी साइकल सिटी पोखराको समन्वयमा मुस्ताङ आइपुगेको उनले बताए ।

“हिमालै हिमाल भएको मुस्ताङमा साइकल यात्रा गर्न पाउँनु अहोभाग्य हो । यति ठूलो कार्यक्रम यहाँ आयोजना हुँदा यहाँको पर्यटन संस्कृतिको विकासका साथै जलवायु सङ्कट न्यूनीकरण गर्न धुवाँ, धुलो र इन्धनरहित सवारीसाधन प्रयोगमा अभिप्रेरित गर्ने पनि हामीहरूको उद्देश्य हो”, राइडर सापकोटाले भने ।

साईकल चढ्ने संस्कृतिले मानवस्वास्थ्य सहयोग पुग्ने, कार्बन उत्पादन घटाउने र आर्थिक विकासमा समेत टेवा पुर्‍याउने साइक्लिङ क्लब नेपालगञ्जका सल्लाहकार रमेश मल्लले बताए । “हामी त १५० मिटरको उचाइमा थियौँ, यहाँको उचाइ त तीन हजारभन्दा बेसी रहेछ । केही अक्सिजनको कमी महसुस भए पनि यहाँको सौन्दर्यले सबै बिर्साइदिएको अनुभूति भएको छ”, उनले भने । घोडा र साइकल संस्कृतिले पर्यावरण जोगाउन निकै ठूलो योगदान पुर्‍याउने मल्लको भनाइ छ ।

स्थानीय कर्म गुरुङले जलवायु सङ्कट न्यूनीकरणसँग जोडेर पर्यटन प्रवर्द्धन गर्ने यस खालको कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह भएको धारणा राखे । “मुस्ताङमा महत्वपूर्ण चाडपर्व यार्तुङ, तिजी र धज्याङ पर्वहरूमा घोडा चढेर दौडने र तारो हान्ने खेल खेलिन्छ, यो हाम्रो संस्कृति र मौलिकता पनि हो”, उनले भने, “पछिल्लो समय जलवायु सङ्कटका कारण हिमालहरू निकै जोखिममा छन्, यसले यहाँको पारिस्थितिक प्रणाली र कृषि, पर्यटन र वातावरण क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष क्षति परिरहेको छ ।”

यसअघि गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले प्रथम साइकल तथा घोडा र्‍यालीको संयुक्त रूपमा उद्घाटन गरेका थिए । सहभागी टोलीलाई मुस्ताङको जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ र पुथाङ एअरपोर्टका आमा समूह, क्लब र स्थानीयले स्वागत गरेका थिए ।

गाउँपालिकाअन्तर्गतका पाँचवटै वडाका गाउँ परिक्रमा गर्ने गरी कुल २५ किलोमिटर दूरी तय गरिएको थियो । र्‍याली पाँचवटै वडा परिक्रममा गरी गाउँपालिका कार्यालयमा पुगेर समापन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिए । र्‍यालीमा ३६२ साइकल र ३० वटाभन्दा बढी घोडाको प्रयोग भएका थिए ।

नेपाल एमेच्योर गल्फ मङ्गलबारदेखि

काठमाडौँ । नेपाल गल्फ सङ्घको आयोजनामा ११औँ संस्करणको नेपाल एमेच्योर खुला गल्फ प्रतियोगिता यही जेठ २० गतेदेखि हुने भएको छ ।

यही जेठ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ५४ होलको हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष टासी घलेले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दक्षिण एसियाका बङ्गलादेश, श्रीलङ्का, भूटान र भारतका खेलाडी सहभागी हुनेछन् । पुरुषतर्फ व्यक्तिगत र टिम प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी, सोही प्रतियोगिताको महिलातर्फको स्पर्धामा भने आयोजक नेपाल र भारतका खेलाडीको मात्र सहभागिता रहनेछ । प्रतियोगितामा ४५ पुरुष र १० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

वल्र्ड एमेच्योर गल्फ र्याङिकद्वारा मान्यता प्राप्त प्रतियोगिताले नेपालका साथै दक्षिण एसियामा युवा विकास र एमेच्योर गल्फको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष घलेले बताए ।

परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । हङकङमा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर समारोहका क्रममा शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा आफूहरुबीच उच्चस्तरीय आदानप्रदान र विकास सहयोग सहित नेपाल–चीन द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा छलफल भएको मन्त्री राणाले जानकारी दिइन् ।

त्यस्तै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न सँगै मिलेर काम गर्ने विषयमा पनि छलफल भएको उनले बताइन् । जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा ‘मे ३०’ मा हस्ताक्षर समारोह भएको हो ।

सो समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी भएको हो । मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय एवं हङकङस्थित नेपाली महावाणिज्य दूतावासका वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डल समारोहमा सहभागी भएको छ ।

कोशी प्रदेशबाट मनसुन नेपाल प्रवेश

काठमाडौं । यसवर्षको मनसुन बिहीबार रातिदेखि नेपाल प्रवेश गरेको छ । नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरुमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ ।

नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ। हाल देशको बाँकी भू–भागमा भने पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत रहेको देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक गर्दै जाने जनाएको छ ।

ट्रम्प–पुटिन–जेलेन्स्की बैठकको आयोजना गर्ने टर्कीको प्रस्ताव

अङ्कारा । टर्कीले शुक्रबार युक्रेनमा तीन वर्षदेखि चलिरहेको युद्धको अन्त्यतर्फ अगाडि बढ्ने प्रयासमा अमेरिकी, रुसी र युक्रेनी राष्ट्रपतिहरूबीच भेटघाटको आयोजना गर्ने प्रस्ताव राखेको छ ।

किएभ र मस्को दुवैसँग सम्बन्ध कायम राख्न प्रयास गरेको नाटो सदस्य टर्की तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा मुख्य मध्यस्थकर्ता बनेको छ ।

“हामी इमान्दारीपूर्वक सोच्छौँ कि श्री (रेसेप तैयप) एर्दोगानको नेतृत्वमा श्री ट्रम्प, श्री (भ्लादिमिर) पुटिन र श्री (भोलोदिमर) जेलेन्स्कीबीच भेटघाटका साथ पहिलो र दोस्रो प्रत्यक्ष इस्तानबुल वार्तालाई समापन गर्न सम्भव छ”, विदेशमन्त्री हाकान फिदानले किएभको भ्रमणका क्रममा भने ।

“हामी या त यस युद्धको निरन्तरतामा आँखा बन्द गर्न सक्छौँ वा वर्षको अन्त्यअघि दिगो शान्ति प्राप्त गर्न सक्छौँ, युद्धविराम र शान्तिका लागि अपेक्षाहरू बढेका छन्”, उनले भने, “जबसम्म हामी वार्ताको टेबलमा रहन्छौँ तबसम्म निश्चित रूपमा प्रगति हुनसक्छ ।

जेठ २० गतेदेखि असार १५ गतेसम्म प्रतिनिधिसभा बैठक १९ दिन बस्ने

काठमाडौं । कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ ।

शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १ देखि १५ गतेसम्मको सम्भावित कार्यसूची टुंग्याएको एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए ।

उनले जेठ २० गतेदेखि प्रारम्भ हुने बैठकमा सहज ढंगले लैजानेगरी आग्रह गरेको बताए । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार जेठमा १० वटा र असार १५ गतेसम्म ९ वटा बैठक निर्धारण गरिएको छ ।

पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ भने असार १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ ।

यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ भने २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिनेछन् ।

२६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको भने सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ । त्यस्तै सम्भावित तालिका अनुसार २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ ।

प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी दिएको हो ।

बढुवा हुनेहरूमा सुदर्शन प्रसाद खतिवडा, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जिसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।

 

क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताएका छन् ।

संसदको पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकमा उनले बर्सातका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वसूचना प्रणालीलाई विशेष प्राथमिकतामा राखेको बताए ।

‘कम्तीमा वडा तहमा कार्यरत जनप्रतिनिधिलाई बाढीपहिरोबारे पूर्वसूचना सम्प्रेषण गर्न सकियो भने पनि क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ’, मन्त्री खड्काले भने,’यस वर्ष सामान्यभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले सोहीअनुसार पूर्वसूचना प्रणालीलाई मजबुत बनाउन सरकार लागिरेहको छ ।’

उनले मौसम पूर्वसूचना प्रणालीबारे जल तथा मौसम विज्ञान विभागमार्फत थप जानकारी लिएर अगाडि बढ्न सके क्षति न्यूनीकरणमा सघाउ पुग्ने बताए । जनप्रतिनिधि र सरकार बेलैमा जिम्मेवार भए क्षति न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री खड्काको भनाइ थियो ।

उनले विद्युत् विधेयकलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारे मन्त्रालय लागिरहेको बताए ।

राजावादीहरुद्वारा बबरमहल र माइतीघर क्षेत्रमा प्रदर्शन

काठमाडौं । राजावादीहरूको दोस्रो दिन शुक्रबार पनि काठमाडौंमा आन्दोलन जारी राखेका छन् ।

राजसंस्था पुनःस्थाना, हिन्दू राज्य र गणतन्त्र खारेजीको माग गर्दै उनीहरुले बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

पहिलो दिन बिहीबार रत्नपार्कमा कार्यक्रम गरेका उनीहरुले शुक्रबार माइतीघर मण्डला र बबरमहल क्षेत्र केन्द्रित आन्दोलन गरिरहेका छन् ।

प्रदर्शनकारीहरू सडकमा भेला भएपछि माइतीघर र बबरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित बनेको छ ।

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम छिटो सक्न दुई ‘सिफ्ट’मा काम

चितवन । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो ।

करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको थियो ।

यससँगै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बीबीआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिए । हाल बिहान ७ देखि राति १० बजेसम्म १४० भन्दा बढी मजदुरले काम गरिरहेका र यो सङ्ख्या २०० भन्दा बढी पुग्ने उनले बताए ।

“असारसम्म ४० प्रतिशत काम गर्नेगरी जनशक्ति परिचालन गर्न थालिएको छ । हाल भौतिक प्रगति २० प्रतिशत हाराहारी रहेको छ । प्याराफिटहरूमा सेन्टिङका काम भइरहेकाले छिट्टै प्रगति देखिने छ । यसअघि आवश्यक रड र सिमेन्ट समयमा पाउन नसक्दा समस्या भएको थियो”, सञ्चालक गौतमले भने ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण हेर्ने कर्मचारी लिएर रङ्गशाला पुगेकी महानगर प्रमुख दाहालले निर्माण कम्पनीलाई कुनै समस्या भए सहजीकरण गर्न महानगर तयार रहेको भन्दै ढिलासुस्ती नगर्न आग्रह गरेकी थिइन् । उनले चालु आर्थिक वर्षका लागि प्राप्त बजेट नै ‘फ्रिज’ हुनसक्नेतर्फ सचेत रहन आग्रह गरिन् ।

सङ्घीय सरकारले रु २५ करोड र बागमती प्रदेश सरकारले रु १० करोड रङ्गशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ । बजेट सुनिश्चित र निकासाका लागि निकै मेहनत गर्नुपरेको भन्दै दाहालले लक्ष्यअनुसार काम गर्न आग्रह गरिन् ।

महानगरले गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखेर रङ्गशाला निर्माण गरिरहेको छ । रङ्गशालाको प्यारापिट र भीआईपी टावर निर्माणको काम भइरहेको छ । रङ्गशालामा दुईवटा भीआईपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । पश्चिमतर्फको प्यारापिटको सेन्टिङको काम भइरहेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरलाई स्वामित्व हस्तान्तरण गरेको थियो । महानगरले स्वामित्व लिएर सङ्घीय, प्रदेश तथा महानगर आफैँले समेत लगानी गर्ने गरी विसं २०८१ साउनबाट रङ्गशालाको काम सुरु गरिएको हो । रु ७८ करोडमा ठेक्का लगाइएको हो ।

महानगरका इन्जिनियर सन्तोष आचार्यका अनुसार क्रिकेट मैदानसहित पाँचवटा पिच, ढलसहित मैदान निर्माण, दुईवटा तीन/तीन तलाको भिआइपी टावर बनाइनेछ । एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । १० हजार अट्ने प्यारापिट बन्नेछ । ३० महिनाभित्र निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

आधा विश्वले जलवायु परिवर्तनका कारण अतिरिक्त गर्मीको सामना गर्‍यो

वासिङ्टन । मानव निर्मित जलवायु परिवर्तनका कारण गत वर्ष विश्वको आधा जनसङ्ख्याले अतिरिक्त एक महिना अत्यधिक गर्मीको सामना गरेको शुक्रबार एउटा नयाँ अध्ययनले देखाएको छ ।

यो निष्कर्षले जीवाश्म इन्धनको निरन्तर दहनले विशेष गरी विकासोन्मुख देशहरूमा कम मान्यता प्राप्त प्रभावहरूका साथ हरेक महादेशमा स्वास्थ्य र कल्याणलाई कसरी हानि पुर्‍याइरहेको छ भन्ने कुरालाई जोड दिएको अध्ययनका लेखकहरूले बताएका छन् ।

“प्रत्येक ब्यारेल तेल जलाउँदा, प्रत्येक टन कार्बन डाइअक्साइड निस्कन्छ र तापक्रमको प्रत्येक अंश, तातो लहरहरूले धेरै मानिसलाई असर गर्नेछ”, इम्पेरियल कलेज लन्डनका जलवायु वैज्ञानिक र प्रतिवेदनका सह–लेखक फ्रेडेरिक ओटोले भने ।

विश्व मौसम एट्रिब्युसन, क्लाइमेट सेन्ट्रल र रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टरका वैज्ञानिकहरूले गरेको यो विश्लेषण जुन २ मा ग्लोबल हिट एक्सन डे अघि जारी गरिएको थियो । विश्लेषणले यस वर्ष गर्मीको थकान र तातो स्ट्रोकको खतरालाई उजागर गर्दछ ।

ग्लोबल वार्मिङको प्रभावको मूल्याङ्कन गर्न शोधकर्ताहरूले सन् २०२४ मे १ देखि सन् २०२५ मे १ सम्मको अवधिको विश्लेषण गरेका थिए ।

उनीहरूले ‘चरम तातो दिनहरू’ लाई सन् १९९१ देखि सन् २०२० सम्म दिइएको स्थानमा रेकर्ड गरिएका तापक्रमको ९० प्रतिशतभन्दा तातो दिनहरूका रूपमा परिभाषित गरे ।

सहकर्मी–समीक्षित मोडलिङ दृष्टिकोण प्रयोग गरेर उनीहरूले त्यस्ता दिनहरूको सङ्ख्यालाई मानव कारणले हुने तापक्रम वृद्धि बिनाको सिमुलेटेड संसारसँग तुलना गरे ।

परिणामहरू स्पष्ट थिएः विश्वव्यापी जनसङ्ख्याको ४९ प्रतिशत अर्थात करिब चार अर्ब मानिसले अन्यथा भन्दा कम्तीमा ३० दिन बढी चरम गर्मीको अनुभव गरे ।

टोलीले यस वर्षको अवधिमा ६७ वटा चरम गर्मीका घटनाहरू पहिचान गर्‍यो र ती सबैमा जलवायु परिवर्तनको छाप फेला पार्‍यो ।

क्यारेबियन टापु आरुबा सबैभन्दा बढी प्रभावित भएको थियो । त्यहाँ एक सय ८७ चरम गर्मी दिन रेकर्ड गरियो । यो जलवायु परिवर्तन बिना संसारमा अपेक्षाभन्दा ४५ दिनभन्दा बढी हो ।

यो अध्ययन अभूतपूर्व विश्वव्यापी तापक्रमको वर्ष पछि आएको छ । सन् २०२३ लाई उछिनेर सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष थियो भने सन् सन् २०२५ को जनवरी अहिलेसम्मको सबैभन्दा तातो जनवरी थियो ।

पाँच वर्षको औसतमा विश्वव्यापी तापक्रम अब पूर्व–औद्योगिक स्तरभन्दा १.३ डिग्री सेल्सियस बढी छ –– र सन् २०२४ मा मात्रै तिनीहरूले पेरिस जलवायु सम्झौताद्वारा तोकिएको प्रतीकात्मक सीमा १.५ डिग्री सेल्सियस नाघे ।

प्रतिवेदनले कम आय भएका क्षेत्रहरूमा गर्मीसँग सम्बन्धित स्वास्थ्य प्रभावहरूमा डेटाको गम्भीर अभावलाई पनि प्रकाश पार्छ ।

युरोपले सन् २०२२ को गर्मीमा ६१ हजारभन्दा बढी तातोसँग सम्बन्धित मृत्यु रेकर्ड गर्दा अन्यत्र तुलनीय तथ्याङ्कहरू विरलै छन् । धेरै तातोसँग सम्बन्धित मृत्युहरूलाई हृदय वा फोक्सोको रोग जस्ता अन्तर्निहित अवस्थाहरूमा गलत रूपमा श्रेय दिइन्छ ।

लेखकहरूले प्रारम्भिक चेतावनी प्रणाली, सार्वजनिक शिक्षा र सहरहरू अनुरूप तातो कार्य योजनाहरूको आवश्यकतामा जोड दिए ।

छाया र भेन्टिलेसन सहित राम्रो भवन डिजाइन र चरम गर्मीको समयमा कडा गतिविधिबाट बच्ने जस्ता व्यावहारिक समायोजनहरू पनि आवश्यक छन् ।

तैपनि अनुकूलन मात्र पर्याप्त हुनेछैन । बढ्दो गम्भीरता र चरम गर्मीको आवृत्ति रोक्ने एक मात्र तरिका भनेको जीवाश्म इन्धनहरू द्रुत रूपमा चरणबद्ध रूपमा हटाउनु रहेको लेखकहरूले चेतावनी दिए ।

टर्कीमा पाँच हजार वर्ष पुरानो रोटी फेरि आयो

टर्की । प्रारम्भिक कांस्य युगमा आजको मध्य टर्कीमा नयाँ निर्माण गरिएको घरको ढोकामुनि एउटा रोटीको टुक्रा गाडिएको थियो ।

अब पाँच हजार वर्षभन्दा बढी पछि पुरातत्वविद्हरूले यसलाई खनेर निकालेका छन् र स्थानीय बेकरीलाई यसको रेसिपी पुनः सिर्जना गर्न मद्दत गरेका छन् – ग्राहकहरू यसलाई किन्न लाइनमा बसिरहेका छन् ।

गोलाकार र प्यानकेक जस्तै समतल १२ सेन्टिमिटर (पाँच इन्च) व्यासको यो रोटी मध्य एनाटोलियन सहर एस्किसेहिर नजिकैको कुल्लुओबा साइटमा उत्खननका क्रममा फेला परेको थियो ।

“उत्खननका क्रममा प्रकाशमा आएको यो सबैभन्दा पुरानो पकाएको रोटी हो र यसले धेरै हदसम्म आफ्नो आकार सुरक्षित राख्न सक्षम भएको छ”, पुरातत्वविद् र उत्खननका निर्देशक मुरात तुर्कटेकीले भने, “उत्खननका क्रममा पाइने रोटी एउटा दुर्लभ वस्तु हो । सामान्यतया तपाईंले टुक्राहरू मात्र फेला पार्नुहुन्छ, तर यहाँ, यसलाई संरक्षित गरिएको थियो किनभने यसलाई जलाइएर गाडिएको थियो ।”

रोटी जलेको थियो र ईसापूर्व तीन हजार तीन सयको आसपास निर्माण गरिएको घरको प्रवेशद्वारमुनि गाडिएको थियो ।

रोटी जलाउनु अघि एउटा टुक्रा च्यातिएको थियो, त्यसपछि घर निर्माण गर्दा गाडिएको थियो ।

“यसले हामीलाई प्रशस्तताको अनुष्ठानको बारेमा सोच्न बाध्य पार्छ”, तुर्कटेकीले भने ।

– यस खोजबाट प्रेरित –

सन् २०२४ सेप्टेम्बरमा उत्खनन गरेर निकालिएको जलेको रोटी बुधबारदेखि एस्किसेहिर पुरातत्व सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको छ ।

“हामी यस खोजबाट धेरै प्रभावित भयौँ । हामीले उत्खनन निर्देशकसँग कुरा गर्दा हामी यो रोटी पुनः उत्पादन गर्न सक्छौँ कि भनेर म आश्चर्यचकित भएँ”, सहरका मेयर आयसे उनलुसेले भने ।

रोटी मोटो पिसेको एमर पिठो (गहुँको पुरानो प्रजाति) र मसुरोको दानाबाट बनाइएको र खमीरका रूपमा अझै अज्ञात बिरुवाको पातको प्रयोग गरिएको थियो भन्ने विश्लेषणहरूले देखाए । पुरानो एमरका बीउहरू अब टर्कीमा अवस्थित छैनन् ।

मूल रेसिपीको जति नजिक पुग्न सकिन्छ त्यति नजिक पुग्न नगरपालिकाले पुरानो रोटीको विश्लेषण गरेपछि पुरानो एमरसँग मिल्दोजुल्दो रेसिपी काभिल्का गहुँ, साथै बुल्गुर र मसुरो प्रयोग गर्ने निर्णय गर्‍यो ।

कम लागतको रोटी प्रदान गर्न नगरपालिकाद्वारा प्रवर्धित, हल्क एकमेक बेकरी (टर्कीमा ‘जनताको रोटी’ को अर्थ) मा कर्मचारीहरूले हरेक दिन हातले कुल्लुओबाको तीन सय वटा रोटी बनाइरहेका छन् ।

“पुर्खाको गहुँको पिठो, मसुरो र बुल्गुरको संयोजनले समृद्ध, तृप्त, कम ग्लुटेन, प्रिजर्भेटिभ–मुक्त रोटी बनाउँछ”, बेकरीका प्रबन्धक सेराप गुलरले भने ।

पहिलो कुल्लुओबा रोटीहरू तीन सय ग्राम (११ औँस) केकका रूपमा बजारमा आए । यसको मूल्य ५० टर्की लिरा (लगभग एक दशमलव २८ डलर ) छ र केही घण्टामै बिक्री भयो ।

“म हतारमा आएँ किनभने मलाई डर थियो कि केही बाँकी नरहला । म यस पुरानो रोटीको स्वादका बारेमा उत्सुक छु”, ग्राहक सुजान कुरुले भने ।

– खडेरी प्रतिरोधी –

लिखित प्रमाणको अभावमा कुल्लुओबाको सभ्यता धेरै हदसम्म रहस्यमय रहेको छ । कांस्य युगमा हत्तीहरू एस्किसेहिर क्षेत्रमा बस्थे । हत्तीहरू एनाटोलिया जातिका मानिसहरू हुन् जो हित्तीहरूभन्दा पहिले थिए ।

“कुल्लुओबा व्यापारिक गतिविधि, शिल्प, कृषि र खानीमा संलग्न एक मध्यम आकारको सहरी समूह थियो । त्यहाँ स्पष्ट रूपमा एउटा निश्चित पारिवारिक र सामाजिक व्यवस्था थियो”, पुरातत्वविद् डेनिज सारीले भने ।

रोटीको पुनः खोजले खडेरीका लागि उपयुक्त प्राचीन गहुँको खेतीमा चासो जगाएको छ । कुनै समय पानीको स्रोतमा धनी रहेको एस्किसेहिर प्रान्त आज खडेरीबाट ग्रस्त छ ।

“हामी जलवायु सङ्कटको सामना गरिरहेका छौँ, तर हामी अझै मकै र सूर्यमुखी खेती गरिरहेका छौँ, जसलाई धेरै पानी चाहिन्छ”, स्थानीय मेयर उनलुसले भने, “हाम्रा पुर्खाहरूले हामीलाई पाठ सिकाइरहेका छन् । उनीहरूजस्तै हामी पनि कम पानी चाहिने बालीतर्फ अघि बढ्नुपर्छ ।”

खडेरी र रोग प्रतिरोधी भएको यस क्षेत्रमा काभिल्का गहुँको खेतीलाई पुनर्जीवित गर्न मेयर चाहन्छन् ।

“हामीलाई यस विषयमा बलियो नीति चाहिन्छ । प्राचीन गहुँ खेती यस दिशामा एउटा प्रतीकात्मक कदम हुनेछ”, उनले भने, “यी भूमिहरूले यस रोटीलाई पाँच हजार वर्षसम्म सुरक्षित राखेका छन् र हामीलाई यो उपहार दिएका छन् । यस सम्पदाको रक्षा गर्नु र यसलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो ।”

दुई महिनापछि म्याराडोनाको मुद्दा खारेज

अर्जेन्टिना । हप्तौँको सुनुवाइ र ४० भन्दा बढी साक्षीको गवाहीपछि अर्जेन्टिनाको अदालतले बिहीबार एक टिभी मिनिसिरिजको स्क्यान्डलका कारण दिवंगत फुटबल खेलाडी डिएगो म्याराडोनाको चिकित्सक टोलीको मुद्दालाई रद्द गरेको छ ।

सन् २०२० मा म्याराडोनाको मृत्युमा कथित चिकित्सा लापरबाहीका कारण पहिलेदेखि नै ढिलाइ भएको यस मुद्दामा तीन नयाँ न्यायाधीशसहित नयाँ मुद्दा सुरुदेखि नै सुरु गर्नुपर्नेछ । न्यायाधीश जुलिएटा माकिन्टाच यस मुद्दाका बारेमा वृत्तचित्र मिनिसिरिजमा संलग्न भएको र यसले नैतिकताका धेरै नियमहरू उल्लंघन गरेको हुन सक्छ भन्ने कुरा खुलासा भएपछि उनी यस हप्ता मुद्दाबाट राजीनामा दिन बाध्य भए ।

उनका सहकर्मी न्यायाधीश म्याक्सिमिलियानो साभारिनोले माकिन्टाचको व्यवहारले म्याराडोनाका छोराछोरीलगायत साक्षीहरूबाट घण्टौँ पीडादायी, कहिलेकाहीँ अश्रुपूर्ण गवाही सुनेको कारबाहीमा ‘पूर्वाग्रह उत्पन्न’ गरेको भन्दै बिहीबार मुद्दा रद्द गरे ।

‘म शान्त छैन । म रिसाएको छु । म तिनीहरूलाई घृणा गर्छु !’ फुटबल खेलाडीकी छोरी जाना म्याराडोनाले बिहीबार अदालत बाहिर पत्रकारहरूलाई भनिन् । पूर्वसाझेदार भेरोनिका ओजेडाले घटनालाई ‘अपमानजनक’ भनेका छन् । तर उनले भने, ‘यदि मैले यो (गवाही) हजार पटक बढी गर्नुपर्‍यो भने, म गर्नेछु । ’

विश्वको सबैभन्दा महान् खेलाडीमध्ये एक मानिने म्याराडोनाको सन् २०२० नोभेम्बरमा मस्तिष्कको शल्यक्रियाबाट निको हुँदै गर्दा ६० वर्षको उमेरमा निधन भएको थियो ।शल्यक्रिया गरेको दुई हप्तापछि उनको हृदयाघात र तीव्र पल्मोनरी एडेमाबाट मृत्यु भएको पाइएको थियो । पल्मोनरी एडेमा भनेको यस्तो अवस्था हो जहाँ फोक्सोमा तरल पदार्थ जम्मा हुन्छ ।

उनकाे सात सदस्यीय चिकित्सक टोली उनकाे घरमा स्वास्थ्यलाभको अवस्थाका लागि मुद्दामा छ, जसलाई अभियोजकहरूले गम्भीर लापरबाहीका रूपमा वर्णन गरेका छन् ।

बजेट यथार्थपरक रहेको अर्थमन्त्री पौडेलको दाबी

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन हुनेमा विश्वस्त हुन आग्रह गरेका छन् । बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका निम्ति व्यवहारिक र वस्तुनिष्ठ कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि तत्पर रहेको बताएका हुन् ।

उनले बजेट यथार्थपरक ल्याएका दाबी पनि गरे । उनले भने, ‘यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु । बजेट कार्यान्वयनका निम्ति व्यवहारिक, वस्तुनिष्ठ कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि काममा तत्पर रहेको छ । बजेटको आकारको बारेमा कुरा गर्दा पूँजीगत खर्चको विनियोजन बढाइएको छ ।’

चालु खर्चलाई सीमाभित्र राखिएको छ । सरकारी वित्त हस्तान्तरणको आकारलाई वृद्धि गरिएको छ ।’ उनले यस पटक बजेटको आकारको विषयमा त्यति टिप्पणी नभएको बताए ।

उनले भने, ‘बजेट आम्दानी र खर्चको यथार्थपरक छ । आम्दानी र खर्च दुवैको प्रश्नमा बजेट यथार्थपरक छ । होटेल, रिसार्ट, सूचना प्रविधि उद्योगबाट हुने आयमा विशेष उद्योग सरह सुविधा दिने प्रवन्ध गरिएको छ ।’

अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारले पनि सन्तुलित बजेट निर्माण गर्न सक्ने गरी सङ्घीय सरकारको बजेट आएको दाबी गरे ।

उनले स्वास्थ्य बीमालाई व्यवस्थित बनाउने गरी बजेट आएको दाबी समेत गरे । उनले विदेशी लगानी प्रवद्र्धनको लागि नीतिगत सुधार गर्ने प्रयास गरिएको बताए ।

उनले भने, ‘विदेशी लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा सरकारले लिएको छ । डिजिटल भुक्तानीमा लाग्ने १३ प्रतिशत कर खारेज गरिएको छ । भन्सार बिन्दुमा लाग्दै आएको अग्रिम भन्सार कर पनि हटाएका छौँ ।’

अर्थममन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए ।

बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै आएका छन् स्याङ्जाका डिलबहादुर

वालिङ । स्याङ्जाका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेका छन् ।

उनले २०७० सालमा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु गरेका थिए । पछिल्लो समय गुरुङले दूधबाट चिज उत्पादन गरिरहेका छन् । यहाँ अन्य किसानले पनि गाईभैँसीको दूधबाट चिज उत्पादन गरिरहेका बेला ओकादीका गुरुङले भने जिल्लामै पहिलोपटक बाख्राको दूधबाट चिज उत्पादन गरेका हुन् ।

गुरुङको फर्ममा हाल सानाठूला गरी ५२ वटा बाख्रा छन् । यी स्थानीय खरी जातको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएका बाख्राहरू हुन् । तीमध्ये १६ वटाले करिब १० लिटर दूध दिन्छन्, त्यसबाट दैनिक डेढ केजीसम्म चिज उत्पादन हुने गरेको छ । यसरी दिनहुँ उत्पादन हुने चिजलाई हरेक साताको एक दिन बजारीकरण गरिरहेको गुरुङले जानकारी दिए ।

‘यहाँ उत्पादन भएको चिज पोखराका ठूला होटलहरूमा बिक्री गरिरहेको छु । प्रतिकेजी दुई हजारका दरले चिज बिक्री हुने गरेको छ । सुरुमा केही समस्या भए पनि पछिल्लो केही महिनायता मासिक १५० केजी चिज बिक्रीबाट तीन लाख रुपैयाँसम्म आम्दानी गरिरहेको छु’, उनले भने, ‘चिजको माग उच्च छ, पुर्‍याउनै सकिएको छैन । उत्पादन वृद्धि गर्न दुधालु बाख्रा थप्ने तयारीमा छु ।’

बाख्राको दूधबाट चिज बनाउने सीप गुरुङले तनहुँको बन्दीपुरमा सिकेका थिए । त्यहाँ सिकेको सीपलाई घरमै प्रयोगात्मक अभ्यास गर्दै उनले व्यावसायिक उत्पादन गर्न थालेको बताए । हाल उत्पादन भएको चिजलाई थप गुणस्तरीय बनाउने, प्याकेजिङ सुधार र ब्रान्डिङ गर्ने काम भइरहेको गुरुङले बताए ।

विगतमा भारतमा वायरिङसम्बन्धी काम गर्दै आएका गुरुङ अरूको भन्दा फरक व्यवसाय गर्ने सोचसहित स्वदेश फर्किएका थिए । त्यही सोचका साथ २०७० सालमा १२ वटा बाख्राबाट यो व्यवसायको जन्म भएको हो । ‘बाख्रा खरिद तथा खोर निर्माणमा ३ लाख ५० हजार लगानी गरेको थिएँ । युवाहरूका लागि नमूना बाख्रा गाउँ अभियानमा जोडिएर अगाडि बढेको थिएँ । हाल महिनामै सुरुको लगानी जस्तै आम्दानी गरिरहेको छु’, गुरुङले भने ।

नमूना बाख्रा गाउँ अभियानका अध्यक्ष सुशील अर्याल गुरुङले गरिरहेको काम फरक र अन्य युवाका लागि पनि अनुकरणीय रहेको बताउँछन् । ‘केही फरक सोचसहित काम गरेमा नेपालमै प्रशस्त सम्भावना छ । धेरैलाई बाख्राको दूध पनि उपयोग गर्न सकिन्छ भन्ने थाहा पनि छैन तर उहाँले हाम्रै अभियानबाट त्यसको प्रयोग विधि सिकेर राम्रो गरिरहनुभएको छ’, उनले भने ।

संरक्षणको पर्खाइमा सेल्मे फलाम खानी

भोजपुर। नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा फलाम खानी रहेका छन् । कतिपय फलामलगायतका खनिज उद्योगहरू सञ्चालनपश्चात् बन्द भएका पनि छन् ।

आफ्नै देशमा रहेका फलाम खानी बन्द हुँदा बाह्य मुलुकबाट फलाम आयात गर्नुपर्ने देशको बाध्यात्मक अवस्था छ । यस्तै चपेटामा परेको छ भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ‘सेल्मे फलाम खानी’ ।

विसं २०१३ सम्म सञ्चालनमा रहेको सेल्मे फलाम खानी अहिले बन्द छ । करिब १५० वर्षको इतिहास बोकेको यो खानी अहिले बन्द अवस्था छ । बन्द भएको लामो समयपछि अहिले यो फलाम खानी सञ्चालनका लागि राज्यले ध्यान दिनुपर्नेमा स्थानीयवासीले माग गरेका छन् ।

दशकौँ अघिसम्म यहाँका कालिगडले यहीँ उत्पादन भएको फलामबाट सामग्रीहरू बनाउँदै आएका थिए । यहाँको फलाम खानी बन्द भएपछि अन्यत्रबाट ल्याइएको फलाममा निर्भर बन्नुपर्ने अवस्था रहेको स्थानीय कालिगडहरू बताउँछन् ।

राज्यले आवश्यक सम्भावनाको खोज अनुसन्धान गरेर यहाँको खानी सञ्चालन गरिदिए सहजता हुने उनीहरूको भनाइ छ ।

सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामासमेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारहरू बताउने गर्दछन् ।

सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकोले राज्यले आवश्यक अध्ययन गरेर उत्खननका लागि पहल गर्नुपर्ने स्थानीय कालीगड मनकुमार विश्वकर्मा बताउँछन् । सेल्मेको फलाम उत्कृष्ट मानिने उनको भनाइ छ ।

यहाँको फलाम खानीलाई सञ्चालनमा ल्याउन सके स्थानीयको आर्थिक अवस्थामासमेत सुधार आउने विश्वकर्माको भनाइ छ । ‘राज्यले सेल्मे फलाम खानीको सञ्चालनका लागि अध्ययन अनुसन्धान गर्न आवश्यक छ’, उनले भने । फलाम उत्खनन गरिएका खाल्डाहरूसँगै फलामका धाउ तथा किट अहिले पनि देख्न सकिन्छ । यहाँको फलामलाई निकै उत्कृष्ट फलामका रूपमा लिइन्छ । यहाँका फलामबाट सयौँ वर्षअघि निर्माण गरिएका सामग्री अहिले पनि गाउँघरमा पाइन्छ ।

अग्रजहरूले यहीँको फलाम प्रयोग गरेर कालीगड पेसा गरिरहेको भए पनि अहिलेको पुस्ताले बाहिरको फलाम खरिद गरेर पेसा धान्नुपर्ने अवस्था रहेको विश्वकर्मा बताउँछन् । सेल्मे गाउँका धेरैले व्यावसायिक रूपमा कालीगड पेसा गर्दै आएको भए पनि विभिन्न समस्याका कारण पेसा छोड्नेको सङ्ख्या बढ्दै भएको उनको भनाइ छ । यो खानी सञ्चालन भए स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने उनको भनाइ छ ।

सेल्मेमा उत्खनन गरिएको फलाम निकै उत्कृष्ट रहेकाले अहिले पनि गाउँघरमा यहाँका फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगड हर्कराज विश्वकर्माले बताए । आफ्ना पुर्खाले यही नै फलाम उत्खनन गरेर आवश्यक सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ ।

भोजपुरे खुकुरी भोजपुरको गौरव रहेकाले यहीँको फलामको प्रयोग गरेर उद्योग सञ्चालन गर्न सकिने अर्का कालीगड तीर्थकुमार विश्वकर्माको भनाइ छ । यहीँको फलाम प्रयोग गरेर खुकुरी बनाउन सके भोजपुरको पहिचानलाई विश्वसम्म पुर्‍याउनमा सहयोग पुग्ने उनको धारणा छ ।

‘भोजपुर खुकुरीले चिनिएको जिल्ला हो’, उनले भने, ‘यहाँ धेरै प्रकारका भोजपुरे खुकुरी बन्छन् । विडम्बना यहाँको फलाम खानी बन्द हुँदा आयातित फलामबाट बनाउनुपर्ने अवस्था छ । यहीको फलामबाट बनाउने हो भने यसले छुट्टै महत्त्व झल्काउने थियो ।’

सेल्मे क्षेत्रका करिब नौ परिवारले अहिले पनि व्यावसायिक रूपमा कालीगड पेसा गरिरहेको छन् । ‘बाजेबराजुले यहीको फलामबाट आरन उद्योग सञ्चालन गर्नु हुन्थ्यो’, उनले भने, ‘हाम्रो पालोमा आउँदा खानी बन्द भएको अवस्था छ ।’

तीन/चार पुस्ताअघि अर्थात् करिब १५० वर्षअघिदेखि फलाम खानी सञ्चालन भएको र करिब २०१३ सालसम्म सञ्चालनमा रहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए ।

उनका अनुसार यहाँको सेल्मे, देवी खोला, छोक्लालगायत स्थानमा फलामको धाउ पाइन्छ । सेल्मे क्षेत्रमा रहेको फलाम खानीलाई पुनःसञ्चालन गर्न सकिएमा हजारौँलाई रोजगारी दिन सकिने सम्भावना रहेको उनको भनाइ छ । अहिले पनि यहाँको फलामबाट बनेका खुकुरी, कृषि औजार, कट्टी, खुर्पालगायतका सामग्री गाउँघरमा भेटिन्छ ।

देशकै सम्पत्तिका रूपमा रहेको सेल्मे फलाम खानीलाई सञ्चालनका लागि राज्यले ध्यान दिन जरुरी रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए ।

यो फलाम खानी सञ्चालनको लागि प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिन आवश्यक रहेको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।

‘यो खानी सञ्चालनका लागि वडा तहबाट काम गर्न सकिने अवस्था छैन’, उनले भने, ‘हाम्रो तहबाट राज्यको निकायमा यहाँको सम्भावनाको विषयमा जानकारी गराइरहेका छौँ । यसलाई सञ्चालनमा ल्याउन सके भोजपुरको मात्र नभएर देशको आर्थिक अवस्थामा टेवा पुग्ने देखिन्छ ।’

बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम

काठमाडौं । नेपाल सरकारले बिहीबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेको छ। उक्त बजेटअनुसार वन तथा वातावरण मन्त्रालयमा आगामी आवका लागि १८ अर्ब ६१ करोड विनियोजन गरिएको छ।

यस पटकको बजेटमा सधैँ खटकिरहने तर पूरा हुन नसकेका धेरै विषय समेटिएको वन मन्त्रालयले जनाएको छ। खासगरी मुलुकभरका वनजङ्गलमा काठ सडेर कुहिने तर कानुनी उल्झनका कारण बर्सेनि अर्बाैका काठ आयात गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने विषय बजेटमा सम्बोधन गरिएको छ।

वनमन्त्री ऐनबहादुर शाही ठकुरीले रासससँग कुरा गर्दै आगामी बजेटमा वन क्षेत्रको भोगाधिकार दिँदा नापजाँच गरिएका रूखहरू कटान गर्नुअघि पुनः नापजाँच गर्नुपर्ने व्यवस्था हटाइने उल्लेख गरिएको बताए। साथै सुकेका तथा ढलापडा रूखलाई सङ्कलन गरी प्रयोगमा ल्याउने विषय पनि बजेटमा सम्बोधन भएको उनले बताए।

मन्त्री शाहीले भने, “देशभित्रको काठ तथा काठजन्य सामग्रीको गुणस्तरीय उत्पादन तथा उपभोग बढाउन सिजनिङ उद्योगलाई प्रोत्साहन गरिनेछ। यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्ग आसपासका क्षेत्रमा फर्निचर तथा भेनियर उद्योग स्थापना गर्न प्रोत्साहन गरिने बजेटमा उल्लेख छ।”

यसैगरी जैविक विविधता र वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण गर्न घाँसेमैदान तथा पानीका स्रोतको व्यवस्थापन गर्ने मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि सामुदायिक विकास, आयआर्जन तथा रोजगारीका कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ।

मन्त्रालयले मानव वन्यजन्तु सहअस्तित्व कायम हुनेगरी मध्यवर्ती क्षेत्रको व्यवस्थापन गरिने व्यवस्था बजेटमा रहेको जनाएको छ। जङ्गली हात्तीको आक्रमणबाट हुने जनधनको क्षति रोकथाम गर्न हात्तीको प्राकृतिक मार्ग संरक्षण तथा नियन्त्रणका लागि आधुनिक प्रविधिसहितको ‘सोलार फेन्सिङ’ प्रयोग गरिने भएको छ।

“जडीबुटी उत्पादन, सङ्कलन, प्रशोधन, प्रयोगशाला प्रमाणीकरण र बजारीकरण गरी निर्यात प्रवर्द्धनमा जोड दिइनेछ। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको पूर्वाधार विकास र व्यवस्थापन सुधार गरी उत्पादन क्षमता बढाइनेछ। यसका लागि २० करोड विनियोजन गरिएको छ”, मन्त्री शाहीले भने।

‘फुट फरेष्ट’ कार्यक्रम सञ्चालन गरिने

सामुदायिक वन तथा राष्ट्रिय राजमार्गको दायाँबायाँ क्षेत्रमा फलफूल, जडीबुटी तथा उच्च मूल्यका वनस्पतिका वृक्षरोपण र संरक्षण गर्न समुदायलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ। यस्त,ै समुदायसँगको सहकार्यमा ‘फुट फरेष्ट’ कार्यक्रम सञ्चालन गरिने भएको छ।

चुरे तथा तराई–मधेसको जलचक्रलाई दिगो बनाउन जलाधार क्षेत्रको एकीकृत व्यवस्थापन गरिने, गल्छी तथा सिमसार क्षेत्र संरक्षण, वन क्षेत्रमा वृक्षरोपण तथा प्राकृतिक पुनःस्थापना र पानीको सञ्चय तथा पुनर्भरणका कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। त्यसका लागि एक अर्ब ६९ करोड विनियोजन गरिएको मन्त्री शाहीले जानकारी दिए।

यसैगरी बजेटमा जैविक विविधताको संरक्षण र वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि समुदायस्तरमा सचेतना अभियान सञ्चालन गरिने र डढेलो लगाउने व्यक्तिलाई कानुनको दायरामा ल्याउन सूचना दिने र निभाउन योगदान गर्ने व्यक्ति तथा समुदायलाई पुरस्कृत गरिने व्यवस्थासमेत गरिएको छ।

वन मन्त्रालयको बजेट झण्डै तीन अर्ब वृद्धि

अघिल्लो आवको तुलनामा यस मन्त्रालयको बजेट दुई अर्ब ९१ करोडले वृद्धि भएको छ। गत वर्ष वन मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन गरिएको थियो। यस बजेटमा वन क्षेत्रको संरक्षण र वन पैदावारलाई राष्ट्रिय स्रोतका रूपमा सदुपयोग गरिने र पर्यावरण तथा जैविक विविधतामा प्रतिकूल असर नपर्ने गरी वन क्षेत्रको व्यावसायिक उपयोग र दिगो व्यवस्थापन गरिने उल्लेख छ।

वातावरण तथा जैविक विविधता संरक्षणमा नकारात्मक असर नपर्ने गरी राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र तथा वन क्षेत्रको प्रयोग र विकास आयोजना कार्यान्वयन गरिने भएको छ। सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजनाका लागि वन क्षेत्रको प्रयोग गर्दा जग्गा व्यवस्थापन गर्न र रूख हुर्काउन लाग्ने रकमको एक प्रतिशत मात्र वन विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रियालाई शीघ्र, सरल र सहज बनाइएको छ। आयोजनाको क्षेत्र निर्धारण र वातावरणीय प्रतिवेदन एकैपटक स्वीकृत गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ। प्रतिवेदन स्वीकृत भएपछि कटान गर्नुअघि रूखको सङ्ख्या घटेमा वा १० प्रतिशतसम्म बढेमा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न नपर्ने व्यवस्था गरिएको मन्त्री शाहीले जानकारी दिए।

पातलो प्लाष्टिकको उत्पादनमा रोक
प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न आगामी मंसिर १ गतेदेखि लागु हुने गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा रोक लगाएको छ। हाल सञ्चालित उद्योगमा यसअनुरूपको गुणस्तर वृद्धि गर्न ‘डाइ’ प्रतिस्थापनका लागि पुँजीगत अनुदान दिने व्यवस्था गरिएको छ।
काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषण न्यूनीकरण गर्न कारखानाहरूमा प्रयोग भइरहेको परम्परागत ‘बोइलर’ लाई विद्युतीय प्रविधिमा रूपान्तरण गर्न निजी क्षेत्रलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बजेटमा उल्लेख छ।

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयन गरिने

यस्तै, पग्लिँदै गरेका हिमाल, सुक्दै गएका हिमनदी र समग्र ‘इकोसिस्टम’मा परेको प्रतिकूल प्रभावलाई दृष्टिगत गरी वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। जलवायु न्यायको सिद्धान्तअनुरूप नेपालको हित संरक्षणका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा पैरवी गरिने बजेटमा उल्लेख छ। मन्त्रालयले जलवायु कोषहरूमा वित्तीय पँहुच अभिवृद्धि गर्ने, सगरमाथा संवादका निष्कर्ष कार्यान्वयन गर्ने, विश्व समुदायसँगको सहकार्यमा जलवायु अनुकूलनका कार्यक्रमलाई प्रदेश र स्थानीय तहसम्म आन्तरिकीकरण गर्ने जनाएको छ।

कार्बन व्यापारका सबै आयामलाई समेट्ने गरी नीतिगत स्पष्टता ल्याइने, कार्बन उत्सर्जन न्यूनीकरणका प्रयासबाट सिर्जना हुने कार्बन क्रेडिटको यथार्थ लेखाङ्कन गरी प्रतिस्पर्धी मूल्यमा अन्तरराष्ट्रिय बजारमा बिक्री गर्न आवश्यक तयारी गरिने बजेटमा उल्लेख छ।

मन्त्री शाहीका अनुसार बजेटमा ध्वनि, वायु र जल प्रदूषण नियन्त्रणका मापदण्ड लागू गरी जनस्वास्थ्य र पर्यावरण संरक्षणलाई प्राथमिकता दिइने उल्लेख छ। साथै बढ्दो वायुप्रदूषणको असरलाई कम गर्न राष्ट्रिय वायु गुणस्तर मापदण्ड अद्यावधिक गरी कार्यान्वयनमा ल्याइनेछ।

सगरमाथाको सुन्दरता र सुरक्षा

-केपी शर्मा ओली
यतिबेला हामी समिटर समिट शिखर आरोहीहरुको शिखर सम्मेलनमा सहभागी भइरहेका छौँ । यस अवसरमा हामी यस क्षेत्रका समस्याहरुको पनि चर्चा गरिरहेका छौँ । यस क्षेत्रको विगत र वर्तमानको समीक्षा गरिरहेका छौँ र भविष्यका बारेमा पनि छलफल गरिराखेका छौँ । यस क्षेत्रको भविष्य कसरी सुरक्षित, सुन्दर र उन्नत बनाउन सक्छौँ, त्यसमा छलफल गरिरहेका छौँ ।

अहिले सगरमाथा क्षेत्रमा फोहरमैलाको समस्या र त्यसलाई सफा गर्नुपर्ने समस्या । दुई राउण्ड हामीले त्यसको अभियान चलाइसक्यौँ । तर पनि त्यो सफा भइसकेको छैन । अझै पनि हामीले अभियानका रुपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्नेछ । त्यसमा केही नीति नियम बनाउनुपर्नेछ । जसले लिएर जान्छ, उसले कुनै पनि फोहर त्यहाँ गर्न पाउँदैन र जे लिएर गएको हुन्छ, त्यो चिज यदि बिस्कुट बुझाउन ल्याउनुपर्छ बेसक्याम्पमा । यस प्रकारका नियम नराख्ने हो भने अर्को आरोही त्यही फोहर मात्रै सफा गर्नका लागि जानुपर्ने हुन्छ । एक जनाले फ्याँकेको फोहर सफा गर्ने अर्को दुई जना चाहिन्छ । त्यसो भएर फोहर सफाइको पनि बन्दोबस्त गर्ने हो कि ?

अहिले हामी ऐन र नियमको पनि संशोधन गर्दैछौँ । यसमा विभिन्न पक्षहरुका बारेमा छलफल गर्नेछौँ । त्यहाँ भइरहेको क्राउडका बारेमा, अघि भिडियोमा पनि हेर्‍यौँ, कति क्राउड देखिन्छ भन्ने कुरा । सगरमाथा अहिले पहिलेको जस्तो छैन, तेञ्जिङ नोर्गे रहिलारी चढेको छैन । अहिले थुप्रै मानिसहरु चडेर बाटो बनाइसकेको छ, डोरी टाँगिसकेको छ । यस्ता थुप्रै कुराहरु भइसकेका छन्, त्यसकारण सजिलो भइसकेको छ । पहिलेजस्तो गाह्रो होइन । पहिले धेरै गाह्रो थियो । अहिले जो पनि चढुँला जस्तो र धेरै अभ्यास नै नगरिकन एकैचोटी सगरमाथा जाउला जस्तो गर्छ मान्छे, किनभने चढाइदिने शेर्पा छँदैछ, माथि पुर्‍याइदिहाल्छ भन्ने मान्छे ढुुक्क छ । त्यो पनि एउटा हो । सोलु, सगरमाथा र शेर्पा तीन वटासँग गज्जब छ नि । सोलुमा सगरमाथा छ, सगरमाथा हिमाललाई शेर्पाले चिनेको छ, चढाइदिहाल्छन् भन्ने, जो पनि जान खोज्छन् । त्यति हल्का पनि अलिकति बनाउन भएन जस्तो लाग्छ ।

द एमेन्डमेन्ट अफ ल इज रजिष्ट्रर्ड इन द नेशनल एसेम्बली अर अपर हाउस अफ द पार्लियामेन्ट । एण्ड र द रुल इज गोइङ द एमेन्डमेन्ट । इट इज अलरेडी इन द क्याबिनेट । सो, वी आर डिस्कसिङ एबाउट द एमेन्डमेन्ट अफ दिस् रुल्स एण्ड रेगुलेशन । हाउ वी क्यान इम्प्रुभ द सिचुएशन इन सगरमाथा, इन माउण्ट एभरेष्ट । हाउ वी क्यान मेक सगरमाथा क्लिनर एण्ड इजियर एण्ड भेरी सेफ टु… ।

त्यसो भएर, केही गर्नुपर्ने कुराहरु छ भने नेपाल पर्वतारोहण सङ्घ छँदैछ, पर्यटन बोर्ड छँदैछ । त्यसकारण यी संस्थाहरुमार्फत सरकारलाई ठोस रुपमा सुझाव दिने उपयुक्त बेला भएको छ । किनभने ऐन र नियम संशोधन हुनका लागि प्रस्तावित भएका छन् । सरकारलाई यसमा धेरै केही लिनुदिनु छैन, यसमा राम्रो गर्नु मात्रै छ । अर्को कुनै स्वार्थ छैन । त्यसकारण राम्रो गर्नका लागि म यहाँहरुसँग सुझावहरु आमन्त्रण गर्न चाहन्छु र सुझावहरु दिनुस् । हामी राम्रो गर्नका लागि त्यसलाई संशोधन गर्छौं ।

आरोहीहरुका अनुभवहरु पनि हामीले सुन्यौँ, सहभागीहरुका छलफल पनि सुन्यौँ, नेतृत्वका अभिव्यक्ति पनि हामीले सुन्यौँ र भिडियो पनि हेर्‍यौँ । सगरमाथाको अवस्था सुन्यौँ, अनुुभव पनि सुन्यौँ । अवस्था भिडियोमा हेर्‍यौँ । त्यसकारण हामीले केही त गर्न पर्छ । तसर्थ, हामी यसका निम्ति सबैका प्रयासहरुलाई एक ठाउँमा ल्याउ भन्ने मेरो आग्रह छ ।

मलाई खुुसी लाग्छ, आठ हजार मिटरभन्दा माथि आरोहण गर्ने मौरिस हर्जोगलाई नेपाल एम्बेसी पेरिसमा भेटेर उहाँलाई सम्मान गर्ने मौका पाएको थिएँ । आइ मेट हिम, आइ फर्गेट द डेट बट आइ मेट हिम एण्ड अवार्डेड हिम फर हिज भेरी हिस्टोरीकल वर्क, मिस्टर मौरिस हर्जोग एण्ड हिज वाइफ ।

फ्रेन्च साथीहरुमा पनि अरुतिर जस्तै हिमाल चढेका साथीहरु र हिमाल आएका, देखेका साथीहरुमा नेपालप्रतिको ज्यादै गहिरो भावना छ । जो पहिलो सगरमाथा आरोही हुनुहुन्थ्यो, जसले अलिक पछि नै चढ्नुु भयो, १९७८ मा सगरमाथा आरोहण गर्नुभएको थियो । फस्ट फ्रेञ्च सिटिजन हु क्लाइम्ब द माउण्ट एभरेष्ट अर सगरमाथा वाज पिरमाजो, आइ गट अपरच्युनिटी टु मिट हिम एण्ड एक्सचेञ्ज ओपिनियन विथ हिम । द्याट वाज गुट अपरच्युनिटी फर मि ।

मैले अरु साथीहरुलाई पनि भेट्ने मौका पाएको छु । क्लाइमरहरुसँग, सफल क्लाइमरहरुसँग कामीरितादेखि लिएर अरु थुप्रै साथीहरुसँग मैले भेट्ने र सम्मान गर्ने मौका पाएको छुु । मलाई खुसी लागेको छ । सफलताका कथाहरु जोडिँदै जाउन् । प्रियप्रिय कुराहरु सुनिँदै जाउन् । अप्रिय कुराहरुको स्थिति नआओस् भन्ने कुरा हामी सोच्छौँ र सगरमाथा आरोहणले ७२ वर्ष पूरा गरेको छ । यो आगामी दिनमा अझ धेरै वर्षहरु बढ्दै जानेछन्, सफलताहरु बढ्दै जानेछन् । अवस्था, वातावरण र परिस्थितिलाई पनि हामीले अनुकूल त्यसैगरी बनाउँदै जानुपर्नेछ । यस काममा हामी सबैको साथ सहयोग आवश्यक छ । नेपाल सरकार यसप्रति कदम चाल्नका लागि प्रतिबद्ध छ । म यहाँहरु सबैलाई फेरि एकपटक धन्यवाद भन्न चाहन्छु, जो सम्मानित हुनुभएको छ, उहाँहरुलाई बधाई र शुुभकामना भन्न चाहन्छु र जो सम्मानित हुनुुभएको छैन, उहाँहरु धेरैलाई एकैचोटी सम्मान गर्न नसकिने भएको हुनाले, कोही ३० पटक चढिसकें, ३१ पटक चढ्नेलाई त सम्मान गर्न गाह्रो भयो नि । त्यसो भएर सम्मान गर्नुपर्ने ३० पटक चढ्नेलाई होइन र ? १० पटक चढ्ने होइन र ? ५ पटक चढ्ने होइन र ? ३ पटक चढ्ने होइन र ? अवश्य हो नि । अब ३१ पटक चढेपछि अरु तलकाले सम्मान पाउने त अलिक गाह्रो भयो, कठीन कुरा हुने भयो । त्यसो भएर अलिकति थोरै साथीहरुले मात्रै सम्मान पाउनुुभएको हुनसक्छ भन्ने मलाई लाग्छ । थुप्रै साथीहरुले सम्मानयोग्य काम गर्नुभएको छ । धेरै नयाँ नयाँ कीर्तिमानहरु कायम गर्नुभएको छ । एउटा चेलीले एकै सिजनमा आउँदै जाँदै गरेर तीन पटक सगरमाथा केही समयभित्र सफलतापूर्वक आरोहण गर्नुभएको छ । त्यस्ता कीर्तिमानहरु छन् । छोटो समयमा सगरमाथा आरोहण गर्नुभएको छ । बिना अक्सिजन सगरमाथा आरोहण गर्नुभएको छ, त्यो दुनियाँका निम्ति आश्चर्यका कुरा हुन् । तर हामी केही केही कुराहरुमा होसियार पनि हुनुु पर्दछ । अहिले केही अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा मैले सुनेको छुु कि विभिन्न खालका कुराहरु डोपिङजस्तै केही औषधि खाएर चढ्यो । त्यस्तो हो भने त्यो नहोस् भन्ने म आग्रह गर्न चाहन्छु । त्यस्तो हुँदैन, सगरमाथासँग पनि बेइमानी ? यो त भएन । त्यसो भएर त्यस्ता कुराहरु यदि भयो भने त्यसलाई रोक्नुपर्छ र हामीले त्यस्ता कुराहरुमा ख्याल पनि गर्नुपर्छ ।

समिटर समिटमा तपाईंहरुको यो उत्साहलाई, थकाइ नलागिकन अन्टायर्ड जस्तो निरन्तरको प्रयास र सहभागितलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । सबैमा शुभ रहोस् । यो सफल भएको छ । सफलताको कीर्तिमानलाई अगाडि बढाउनुपर्छ । यसलाई अझ बढी अन्तरराष्ट्रियकरण पनि गर्दै जानुुपर्छ र यसमा आकर्षण पनि बढोस् तर भिडन्तमा पनि नजाओस् । सगरमाथालाई धेरै सस्तो चिज बनाउनभन्दा अलिकति त्यसको वेट राख्ने तरिका पनि अवलम्बन गर्नुपर्छ भन्ने लाग्छ ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले १५ जेठ मा ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा व्यक्त गरेको मन्तव्य)

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यसदिन बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ । यो बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ।

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानबिन गर्न माग गर्दै न्यायपरिषदमा उजुरी परेको छ ।

युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न माग गर्दै शुक्रबार परिषदमा उजुरी गरेका हुन् ।

उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उनले जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान गर्न माग गरेका छन् ।

गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरुलाई ज्युँदै इटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्वसांसद आफ्ताब आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो ।

माओवादीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान जेठ २१ बाट पुनः सुरु गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पुनः सुरू गर्ने भएको छ । शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले केही दिनअघि पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २१ गतेपछि पुनः सुरु गर्ने निर्णय गरेको हो ।

अभियानले पार्टीप्रति आकर्षण बढेको निष्कर्षसहित जेठ २१ गतेदेखि फेरि सुरू गर्ने निर्णय गरेको सचिव लीलामणि पोखरेलले जानकारी दिए । माओवादीले यसअघि जेठ २ गतेदेखि १० गतेसम्म अभियान चलाएको थियो । दोस्रो चरण लमजुङबाट सुरू हुनेछ ।

यसैबीच संसद्मा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउन माओवादीले संसदीय दलको बैठक बोलाएको छ । बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

जेठ १९ गते संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । संसद्मा अवरोध जारी राख्ने कि विकल्पमा जाने भन्ने विषयमा विज्ञहरूको रायबाट थप निर्णय लिने माओवादीको तयारी छ ।

संविधान संशोधनको विषयलाई सरकार र मुख्य राजनीतिक दलले सामान्य रुपमा लिनु हुँदैनः सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले आफ्नै स्रोत/साधनको उपयोग गर्दै देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने बाटो अंगिकार गर्नुपर्नेमा जोड दिएका छन् । पूर्वमन्त्री भण्डारीले भनेका छन्, ‘पर्यटन, जल, जमिन, भौगोलिक बनावट, जडीबुटी र कृषिलगायतका हिसाबले हिसावले धनी छ, तर यसको सदुपयोग हुन सकेको छैन ।’

सांसदसँग रासस संवादका लागि नेता भण्डारीसँग संविधान कार्यान्वयन र संशोधन, सङ्घीयता कार्यान्वयनको अवस्था, देशको आर्थिक विकासमा राजनीतिक दलको भूमिका, तथा मुलुकको समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश)

देशले गणतन्त्र प्राप्त गरेको आज १८ वर्ष भएको छ । तर, व्यवस्था फेरिएपनि जनताको अवस्था उस्तै छ । यो अवधिलाई फर्केर हेर्ने हो भने देशको आर्थिक अवस्थामा कुनै फरक आएको छैन । देशको बाह्य सम्वन्धमा तात्विक सुधार हुन सकेको छैन । त्यसकारण जबसम्म जनताको आवस्थामा परिवर्तन आउँदैन, तबसम्म गणतन्त्र दिवस मात्रै मनाउनुले कुनै अर्थ राख्छ जस्तो मलाई लाग्दैन । हामी लोकतान्त्रिक प्रणालीमा छौँ । प्रजातान्त्रिक प्रणालीमा जो कोहीले पनि फरक मत राख्न पाउँछ । अहिले देशको राजनीतिक व्यवस्थाको विकल्प खोज्न सबै जनतालाई आधिकार छ । कसैले परक मत राख्दैमा त्यसको खेदो गर्नु हुँदैन । लोकतन्त्रमा जनताका असन्तुष्टिलाई सरकार र राजनीतिक दलले अन्यथा लिनु हुँदैन ।

संविधान पूर्ण छैन । संविधान जारी गर्ने बेलामा पनि धेरै विमतिहरु थिए । संविधानमा जनताका धेरै सवाल समावेश हुन सकेको छैन । यो संविधान जनताको मत विपरीत जारी गरिएको छ । त्यतिबेला राजनीतिक दलको सम्झौताका रुपमा यो संविधान जारी भएको हो । संविधान जारी गर्ने बेलामै राजनीतिक दलहरुले गल्ती गरेका छन् । अब यसलाई सच्याउनको निम्ति पनि संविधान संशोधन जरुरी छ । संविधान जारी गर्ने समयमा छुटेका जनताका सवाल र जारी भएको यो दश वर्षको अवधिलाई गहिरो गरी समीक्षा गरेर संशोधन गर्न जरुरी छ । संविधान संशोधनको विषयलाई सरकार र मुख्य राजनीतिक दलले सामान्य रुपमा लिनु हुँदैन ।

सरकार गठनका क्रममा कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायत सात राजनीतिक दलबीच संविधान संशोधन गर्ने सहमति भएको छ । तर आज सरकार बनेको ११ महिनासम्म पनि संविधानको विषय टुङ्गो लागेको छैन । संशोधनको नाममा जनतालाई भुलभुलैमा पार्नु हुँदैन । सरकारले मुख्यगरी जनताको भावनाअनुसार संविधानको विषय ल्याउनुपर्छ । संशोधन सरकारले बहुमतको आधारमा गर्नु हुँदैन । जसरी जारी गर्ने बेलामा सबै राजनीतिक दलको बीचमा सहमति भएको थियो । त्यसरी नै संशोधनमा पनि जनताको भावना अुनसार सबै दलको सहमति हुनुपर्छ ।

अहिलेको सङ्घीय संरचना अत्यन्त महङ्गो छ । सङ्घीयताबारे पनि गहिरो गरी समीक्षा गर्नुपर्छ । सङ्घीयताको नाममा अनावश्यक खर्च भइरहेको छ । युवा शक्ति विदेश पलायन हुनु देशको लागि बिडम्वनाको अवस्था हो । देशभित्र रोजगारी नपाएर मात्रै होइन । रोजगारी पाएका निजामती सेवा, नेपाल प्रहरी, नेपाली सेनापनि जागिर छोडेर विदेश पलायन हुँदै छन् । कोही अध्ययनको निम्ति भन्दै विदेश पलायन भएका छन । उनीहरुलाई देशभित्रै रोजगारी दिने, व्यवहारिक शिक्षा दिने र उपयुक्त सेवा सुविधा दिने विषयमा सरकारको ध्यानै जान सकेको छैन ।

वर्तमान सरकार मात्रै होइन, यसअघिका सरकारको पनि पर्याप्त ध्यान पुगेन । देश सुधार गर्न पहिला राजनीतिक दलमा सुधार जरुरी छ । राजनीतिक दल एकले अर्कालाई आरोप लगाए मात्रै हुँदैन । हामी नेताहरु सच्चिन जरुरी छ । हामी नेताहरु अहङ्कारी र गैरजिम्मेवार भएका छौँ । हामीमा म जस्तो कोही छैन भन्ने भ्रम पैदा भएको छ । यी सबै भ्रमबाट मुक्त भएर दल र दका नेताहरु सच्चिनुपर्ने अहिलेको आवश्यकता हो । त्यसपछि मात्रै देश बन्छ ।

म नै सर्वेसर्वो भन्ने भ्रमबाट हामी मुक्त हुनुपर्छ । नेताले आफ्नो लागि होइन, जनताको निम्ति काम गर्नुपर्छ । हामी नेताहरु जनताप्रति उत्तरदायि हुनुपर्छ । जिम्मेवार हुनुपर्छ । सरकार र राजनीतिक दलले जनताको पक्षमा काम गर्नुपर्छ । सबैभन्दा पहिला देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन जरुरी छ । त्यसको निम्ति आफ्नै देशको पर्यटन विकासमा जोड दिनुपर्छ ।

बन्द भएका र रुग्ण अवस्थामा रहेका उद्योग/कलकारखानाको सञ्चालन गर्नुपर्छ । हामीसँग पर्याप्त जल छ । त्यसको भरपूर उपयोग गर्दै रोजगारी सिर्जना गर्नुपर्छ । अहिलेसम्म देश विकास नहुनुमा नेताहरुले नैतिक जिम्मेवारी लिनुपर्छ । राजनीतिक दलका नेताले निर्वाचनको समयमा जनतासामु राखेका प्रतिबद्दता पूरा गर्ने गरी काम गर्नुपर्छ ।

अहिले पनि सरकारले ठोस नीति र कार्यक्रम बनाउन नसक्दा विकासका योजना मलपत्र परेका छन् । मुख्य कुरा यो वर्तमान सरकारले विकासका योजनाहरू समयमै सम्पन्न गर्न नसक्नुको कारण र समाधानका उपायहरू खोज्न जरुरी छ । कुनैपनि निर्माणका कामहरु समयमै सम्पन्न गर्न जरुरी छ । सुशासनको निम्ति सरकारले भ्रष्टाचारीलाई कडा कारवाही गर्नुपर्छ । आफ्नो पार्टीको मान्छे हो भनेर कुनैपनि सरकारले आफ्ना नेता÷कार्यकर्ताको संरक्षण गर्नु हुँदैन । तर, अहिले यहाँ त्यही भइरहेको छ । भ्रष्टाचार अन्त्य गर्दै देशमा सुशासन कायम गर्न आम नागरिकको पनि महत्वपूर्ण भूमिका हुन्छ ।

फुकुसिमा प्रतिबन्धपछि चीन र जापान समुद्री खाना आयात पुनः सुरु गर्ने तयारीमा

बेइजिङ । चीन र जापानले शुक्रबार उनीहरू आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर वर्षौंदेखिको विवाद अन्त्य गर्न नजिक पुगेको बताएका छन् ।

आणविक फोहोर पानीको टोकियोको व्यवस्थापनलाई लिएर बेइजिङले जापानी समुद्री खानाको आयातमा प्रतिबन्ध लगाएको थियो । सन् २०२३ मा जापानले बिस्तारै फुकुसिमा आणविक संयन्त्रबाट प्रशोधन गरिएको फोहोर पानी प्रशान्त महासागरमा छोड्न थाल्यो ।

यस कदमलाई अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले समर्थन गरेको थियो । तर बेइजिङबाट कडा आलोचना भएको थियो र उसले जापानी समुद्री खाना आयातमा प्रतिबन्ध लगाएको थियो ।

यस हप्ता बेइजिङमा जापानी अधिकारीहरूसँग भएको वार्ताले ‘पर्याप्त प्रगति हासिल गरेको’ भन्दै चीनले शुक्रबार प्रतिबन्ध हटाउने नजिक पुगेको सङ्केत गरेको थियो ।

“यस वर्ष अहिलेसम्म दुई पक्षले धेरै चरणका प्राविधिक आदानप्रदान गरेका छन्”, बेइजिङको भन्सार प्रशासनले थप विवरण नदिई एक विज्ञप्तिमा भन्यो ।

जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयासीले बेइजिङ र टोकियोले ‘चीनमा मत्स्य उत्पादनहरूको निर्यात पुनः सुरु गर्न आवश्यक प्राविधिक आवश्यकताहरूबारे सहमतिमा पुगेको’ बताए ।

“निर्यातसम्बन्धी सुविधाहरूका लागि पुनः दर्ता प्रक्रिया सम्पन्न भएपछि चीनमा निर्यात पुनः सुरु हुनेछ”, हयासीले शुक्रबार भने, “हामी यसलाई एउटा प्रमुख कोसेढुङ्गाका रूपमा लिन्छौँ ।”

यसअघि चीनले फेब्रुअरीमा फुकुसिमा प्लान्ट नजिकै स्वतन्त्र रूपमा सङ्कलन गरेको समुद्री पानी र समुद्री जीवको नमूनामा कुनै असामान्यता नभेटिएको तर प्रतिबन्ध खारेज गर्नुअघि थप परीक्षण आवश्यक रहेको सङ्केत गरेको थियो ।

सन् २०११ मा एउटा ठूलो भूकम्पले घातक सुनामी निम्त्यायो र यसले फुकुसिमा आणविक सुविधालाई डुबाएको थियो भने यसका छ वटा रिएक्टरमध्ये तीन वटालाई पग्लन बाध्य तुल्याएको थियो ।

जापानसँगको सम्बन्ध टोकियोको साम्राज्यवादी विरासतले गर्दा लामो समयदेखि तनावपूर्ण रहेको चीनले प्रशोधित फोहोर पानीलाई वातावरणीय रूपमा गैरजिम्मेवार भएको भन्दै निकासीको कडा विरोध गरेको छ ।

‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

काठमाडौँ। गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले नेपाली गीतसङ्गीत क्षेत्रका चार विशिष्ट व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने उक्त सम्मान तथा पुरस्कार यही जेठ २७ गते स्वर्गीय प्रधानकै जन्मथलो सिन्धुपाल्चोकको चौतारामा आयोजना गरिने प्रतिष्ठानकी कोषाध्यक्ष भुवन मास्केले जानकारी दिइन् ।

उनका अनुसार प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा गायक प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

‘यस वर्षको सम्मान तथा पुरस्कार गायक प्रधानकै जिल्लामा दिने तयारी छ । उनको सम्झनामा गीतसङ्गीतमा आफ्नो जीवन समर्पित गरेकालाई थोरै भए पनि प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ’, कोषाध्यक्ष मास्केले भनिन् ।

यस वर्षको ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान– २०८२’ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरिने भएको छ । उनलाई सम्मानसँगै  एक लाख एक हजार नगद राशि प्रदान गरिने छ ।

त्यसैगरी, ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसङ्गीत सम्मान –२०८२’ बाट वरिष्ठ वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्की डली र गायक सुरजकुमार थापालाई ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि  ५० हजार एक रहेको छ ।

यसैगरी, सिन्धुपाल्चोक निवासी प्रतिभावान गायक चन्द्रसिं घलेलाई ‘प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार–२०८२’ प्रदान गरिनेछ । यस पुरस्कारको राशि रु २५ हजार एक रहेको प्रतिष्ठानकी कोषाध्यक्ष मास्केले जानकारी दिइन्।

नेपाली सङ्गीत क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई सम्मानित गर्दै आएको प्रतिष्ठानले यस वर्ष पनि विभिन्न विधामा योगदान दिने कलाकारलाई छनोट गरी सम्मान गर्न लागेको हो ।

सुन तोलाको १ लाख ८८ हजार ५ सय

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।

बिहीबार तोलाको १ लाख ८७ हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार बढेर १ लाख ८८ हजार ५ सयमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

काँक्रोको बीउबाट मनग्य आम्दानी

पर्वत । पर्वतका विभिन्न गाउँमा काँक्रोेको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ । किसानले काँक्रोको बीउबाट मनग्य आम्दानी लिन थालेका छन् । गत वर्ष फागुनको पहिलो साता लगाएको भक्तपुरे लोकल जातको काँक्रो पाकेर अहिले फाँटैभरि पहेँलपुर छ । अत्यधिक बढेको गर्मीसँगै कृषकलाई काँक्रोे टिपेर बीउ निकाल्न भ्याइनभ्याइ भएको हो ।

बिहादी गाउँपालिका–१ बाच्छा, फलेवास नगरपालिका–११ पाङराङ, वडा नं १० कुर्घा, वडा नं ७ लिमिठाना, वडा नं ६ देवीस्थान र वडा नं ५ खानीगाउँ तथा जलजला गाउँपालिका–४ खोलाखेत र वडा नं ७ धाइरिङका कृषकले व्यावसायिक रुपमा काँक्रोेको बीउ उत्पादन गर्दै आएका छन् । अनुकूल मौसम र हावापानीका कारण विगतका वर्षहरुमा भन्दा यस वर्ष काँक्रोेको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

फलेवास नगरपालिका–११ पाङराङमा ७२ कृषकले व्यावसायिक रुपमा काँक्रोेखेती गर्दै आएका छन् । यो गाउँमा गत वर्ष बीउ बिक्रीबाट  ६ करोड भित्रिएको र गत वर्षभन्दा यस वर्ष अझै उत्पादन बढ्ने स्थानीय बाबुराम भुसालले बताए ।

यस्तै बिहादी गाउँपालिका–१ बाच्छामा मात्रै कृषकले २०० रोपनी क्षेत्रफलमा बीउका लागि काँक्रोको खेती गरेका छन् । बाच्छामा बीउ काँक्रोको व्यावसायिक उत्पादनमा लागेको सिर्जनशील कृषक समूहले मात्रै १०० रोपनीमा काँक्रो लगाएको छ । कृषक समूहका अध्यक्ष शिवकुमार क्षेत्रीका अनुसार २८ कृषक उक्त समूहमा आबद्ध छन् ।

गत वर्ष काँक्रोको बीउ प्रतिकिलो १३ हजारका दरले बिक्री गरिएको थियो । अहिले पनि काठमाडौँ, पोखरा, बुटवललगायतका स्थानबाट काँक्रोको बीउको माग भइहेको छ । मूल्य भने तोकिएको छैन । कृषक क्षेत्रीले १७ रोपनी क्षेत्रफलको जग्गामा काँक्रोेको खेती गरी कम्तीमा पनि १०० किलोभन्दा बढी काँक्रोेको बीउ उत्पादन हुने बताए ।

यसैगरी जलजला गाउँपालिका–७ धाइरिङको सल्यानका कृषकले गत वर्ष काँक्रोेको बीउ बेचेर तीन करोड आम्दानी गरेका थिए । यस वर्ष अझै वृद्धि हुने अनुमान गरिएको स्थानीय टुङ्गनाथ आचार्यले बताए ।

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

राँझा । हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सोनारीक्षेत्र सुगम बन्दै गएको छ ।

कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल सँगसँगै हुलाकी सडक निर्माण भएपछि विगतमा दुर्गम क्षेत्रको रुपमा रहेको राप्ती नदी पारी अवस्थित बैजापुर, बिनौना र फत्तेपुर अहिले सुगम बनेको हो । राप्ती सोनारी गाउँपालिकाको व्यावसायिक चहलपहल बढ्दै गएको राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए।

‘हुलाकी सडक र पुल बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन्, व्यावसायिक कारोबार पनि बढ्दै गएको छ’ उनले भने, ‘हुलाकी सडक बनेपछि मानिसको आवागमन र चहलपहल बढ्दै गएको छ, अहिले घरेलु तथा साना उद्योग तथा व्यवसाय पनि फस्टाउँदै गएको छ ।’

सडक र पुल बनेपछि राप्तीपारी अवस्थित बिनौना, बैजापुरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बैजापुरमा रहेको प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी र बिनौनामा रहेको धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्ने सर्वसाधारणको सङ्ख्या बढ्दो छ ।

हुलाकी सडक र राप्ती नदीमा माथि बनेको पुललगायतका पूर्वाधार विकासले सोनारी क्षेत्रका जनताको आर्थिक तथा समग्र सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्ती सोनारी–५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्टले बताए ।

नेपालगञ्ज–बघौडा हुलाकी सडक सँगसँगै राप्ती सोनारीको वडा नं ६ कुण्डादेखि नारायणपुर हुँदै अगैयास्थित पूर्व–पश्चिम राजमार्ग जोड्ने हुलाकी सडकखण्ड विस्तार भएपछि अहिले साना ठूला सवारीसाधन आवागमन पनि बढ्दै गएको छ । नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्ग भन्दा यो हुलाकी सडक छोटो पर्ने भएकाले सवारीसाधनको आवागमन बढ्दो रहेको विष्टले बताए ।

कचनापुर र बिनौनालाई जोड्ने राप्ती पुल निर्माण भएपछि गाउँपालिकाको नदी वारि र पारिको सीधा सम्पर्क बनेको राप्ती सोनारी–५ का जमानसिंह वलीले बताए । सडक र पुललगायतका पूर्वाधार विकाससँगै राप्ती सोनारीमा व्यवसायी चहलपहल आएको उल्लेख गर्दै उनले कृषिको माध्यमबाट जनताको आर्थिक जीवनस्तर उकास्नतर्फ अब स्थानीय सरकारले योजना ल्याउनुपर्ने बताए ।