Author: nepalone
महिला अधिकार कार्यान्वयनका लागि नाङ्लोसहित प्रदर्शन (तस्बिरहरु)
काठमाडौँ । मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको कार्यान्वयनको माग सहित महिला अधिकारका लागि नाङ्लो सहित धर्ना दिइएको छ ।
माइतीघर मण्डलामा भेला भएका अधिकारकर्मीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड तथा नाङ्लो प्रदर्शन गरेका थिए ।


अमेरिकी कर धम्कीबीच मोदीको कर कटौतीको वाचा
दैनिक वस्तुहरूमा उपभोग कर घटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबले वार्षिक अर्बौं डलरको राहत दिलाउन सक्ने र अमेरिकी भन्सार शुल्कको कडा असर झेलिरहेको अर्थतन्त्रमा माग बढाउन मद्दत पुर्याउने विशेषज्ञहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरेको भन्दै नयाँदिल्लीमाथि सजायस्वरूप आयात शुल्क २५ प्रतिशतबाट दोब्बर गरेर ५० प्रतिशत पुर्याउने धम्की दिएका छन् ।
यस सम्भावित कदमले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रको भविष्यलाई अनिश्चित बनाएको छ । भारतीय निर्यातकर्ताहरूले यसले अर्डर गुम्ने र रोजगारीमा गम्भीर सङ्कट आउने चेतावनी दिएका छन् ।
नयाँदिल्लीले वासिङ्टनको कदमलाई ‘अनुचित, अन्यायपूर्ण र अस्वीकार्य’ भनेको छ । तर मोदीले गत हप्ता भारतको स्वतन्त्रता दिवसमा दिएको भाषणमा ‘आम मानिसमाथिको करको बोझ कम गर्ने’ वाचा गर्दै यस अमेरिकी प्रहारलाई कम गर्ने प्रयास देखाएका थिए।
मोदीको प्रस्तावित वस्तु तथा सेवा कर ९जिएसटी० कटौतीले साना कारदेखि वातानुकूलनसम्मका सामान उपभोक्ताका लागि सस्तो बनाउने अर्थशास्त्रीहरूको भनाइ छ ।
हाल जिएसटी प्रणाली एक जटिल चार–स्तरीय संरचनामा आधारित छ, जसमा कर दर पाँचदेखि २८ प्रतिशतसम्म लाग्छ ।
मोदीको सुधार अनुसार, अधिकांश सामान दुई तहमा पर्नेछन्— पाँच प्रतिशत वा १८ प्रतिशत दरमा ।
भारतीय प्रधानमन्त्रीले यस परिवर्तनलाई ‘दीपावली उपहार’ भनेका छन्। दीपावली, प्रकाशको वार्षिक हिन्दू पर्व हो, जसमा उपभोक्ताहरू सुन, कपडा र उपभोक्ता इलेक्ट्रोनिक्सजस्ता सामानमा धेरै खर्च गर्छन् ।
– ठूलो बचत –
ट्रम्पको भन्सार शुल्क नीतिले भारतमा कस्तो असर पार्छ भन्ने कुरा रूस–युक्रेन शान्ति सम्झौतामा कति प्रगति हुन्छ र नयाँदिल्लीले अमेरिकी राष्ट्रपतिको अगस्ट २७ को समयसीमा अघि वैकल्पिक तेल आपूर्तिकर्ता पाउन सक्छ कि सक्दैन भन्नेमा निर्भर गर्नेछ ।
विशेषज्ञहरूका अनुसार मोदीको कर सुधारले कर सङ्कलन १३ देखि १७ अर्ब डलरसम्म घटाउनेछ र यसले घरेलु माग बढाउन सहयोग गर्नेछ ।
एम्के ग्लोबल फाइनान्सियल सर्भिसका विश्लेषकहरूले नीतिलाई ‘घरेलु उपभोग बढाउने दिशामा स्वागतयोग्य कदम’ भनेका छन् ।
उनीहरूको अनुमानमा, हाल शीर्ष २८ प्रतिशत दरमा रहेका धेरै सामानहरू १८ प्रतिशतमा झर्नेछन् भने १२ प्रतिशत श्रेणीका ‘लगभग सबै’ सामान पाँच प्रतिशत तहमा जानेछन् ।
मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसका विश्लेषकहरूले भने परिवर्तनहरूले धेरै क्षेत्रलाई लाभ दिने र घरपरिवारमा ‘ठूलो बचत’ ल्याउने बताएका छन् ।
तर प्रस्ताव कार्यान्वयन हुने–नहुने अन्ततः जिएसटी परिषद्मा निर्भर छ । यस परिषद्मा राज्य सरकारका प्रतिनिधिहरू रहेका छन् । उनीहरूले अघिल्ला वर्षहरूमा व्यापक सहमति बनाउन सङ्घर्ष गर्दै आएका छन् ।
विशेषज्ञहरूका अनुसार यदि प्रस्ताव स्वीकृत भयो भने सार्वजनिक वित्तीय स्थिति कमजोर हुनसक्छ । तर यसले अमेरिकी करको जोखिमलाई केही हदसम्म पन्छाउने र मध्यम वर्गमा मोदीको लोकप्रियता बढाउने सम्भावना पनि छ ।
यो प्रस्ताव यस वर्षको अन्त्यतिर हुने अपेक्षित बिहार चुनावअघि आएको हो । बिहार १३ करोड जनसङ्ख्या भएको ठूलो हिन्दू बहुल राज्य हो । बिहार मोदीका लागि प्रमुख राजनीतिक युद्धभूमि मानिन्छ ।
“अहिलेको चर्चित आर्थिक कथा भनेको ट्रम्पको ५० प्रतिशत भन्सार शुल्क र अमेरिका–भारत सम्बन्धमा देखिएको अवरोध हो”, जिन्दल ग्लोबल युनिभर्सिटीका अर्थशास्त्री दीपान्सु मोहनले भने्, “जिएसटी पुनःसमायोजन त्यो सन्दर्भमा मोदीको कडा प्रतिक्रिया हो । मोदीले मध्यम वर्गलाई सन्देश दिइरहेको छन्– ‘हामी सुनिश्चित गर्छौं कि अन्ततः तपाईंको हातमा पर्याप्त बचत रहोस् ।’”
यद्यपि उनले भने्, “यो भारतको अर्थतन्त्रले केही समयदेखि निम्न मध्यम आय वर्गलाई पर्याप्त फाइदा दिन नसकेको स्वीकारोक्ति पनि हो ।”
– भारत–अमेरिका व्यापार वार्ता –
पर्यटक आकर्षित गर्न ‘नेपाल आर्ट एण्ड कल्चर’ महोत्सव
काठमाडौँ । पर्यटक आकर्षित गर्न पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर’ महात्सव आयोजना हुने भएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर महोत्सव आयोजना गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सम्मेलन यही भदौ २० देखि आगामी असोज १० गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरमा आयोजना हुनेछ ।
सम्मेलनको उद्देश्यबारे जानकारी गराउँदै नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागरशमशेर राणाले नेपालमा मात्रै नभई विदेशमा यस्ता सांस्कृतिक पर्वहरूले ठूलो महत्त्व राख्ने भएकाले यसलाई अन्तरराष्ट्रियस्तरसम्म पुर्याउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । उनले कार्यक्रमले स्वदेशी तथा विदेशी पर्यटक दुवैलाई आकर्षित गर्ने उद्देश्य राखेको बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल प्रायः साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिए पनि यो महोत्सवमार्फत नेपाललाई सांस्कृतिक वैभव र धरोहरहरूको भण्डारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको स्पष्ट पारे । उनले भने, “हाम्रो विशिष्ट संस्कृतिलाई जगेर्ना गर्दै धरोहरहरूको वैभवतालाई संसारभर चिनाउनुपर्छ । यस किसिमको महोत्सवले नेपालमा पर्यटकको सङ्ख्या बढाउनुका साथै आर्थिक आम्दानीमा योगदान पुर्याउने विश्वास लिएका छौँ ।”
महोत्सव सञ्चालन समितिका प्रमुख एवं नेपाल होटल व्यवसायी सङ्घ ९हान०का अध्यक्ष विनायक शाहले नेपाल ‘लाइफटाइम एक्सपेरियन्स’ का लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे । उनले भने, “नेपाल लाइफटाइम एक्सपेरियन्स लिने उत्कृष्ट गन्तव्य हो । पर्यटन र जात्रा–महोत्सव जोड्ने हाम्रो प्रयासअन्तर्गत थालिएको यस महोत्सवले एक्सपेरिमेन्टल टुरिजम्का लागि योगदान गर्ने हाम्रो विश्वास छ ।”
कार्यक्रम संयोजक आयुषा श्रेष्ठले तीन सातासम्म सञ्चालन हुने यस महोत्सवमा ४० वटा कार्यक्रम आयोजना गरिने जानकारी दिइन् । इन्द्रजात्राको अवसरसँगै सुरु हुने यो महोत्सवलाई उपत्यकाका सम्पदा, कला, संस्कृतिको समग्र उत्सवका रूपमा प्रस्तुत गरिने उनले बताइन् ।
‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ भन्ने नारासहित सुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित सङ्घसंस्था र सरोकार भएकालाई समेटेर सांस्कृतिक प्रदर्शनी, कला–कौशल, सङ्गीत–नृत्य, परम्परागत परिकार तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
उपत्यकाका पुराना सहर–काठमाडौँ, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउने उद्देश्यले सुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
एक वर्षमै भित्रियो १७ खर्ब २३ अर्ब बढी रेमिट्यान्स
काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सूचकहरु सकारात्मक बन्दै गएको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर तीन दशमलव ६७ प्रतिशत रहेको थियो । त्यस्तै, गत आवमा वार्षिक औसत मुद्रास्फीति चार दशमलव ०६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार गत आवमा शोधनान्तर स्थिति रू पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रू पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको थियो । त्यस्तै, आयात १३ दशमलव तीन प्रतिशतले र निर्यात ८१ दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको थियो ।
गत आर्थिक वर्षमा कुल रू १७ खर्ब २३ अर्ब २७ करोड बराबर विप्रेषण भित्रिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९ दशमलव २ प्रतिशतले र अमेरिकी डलरमा १६ दशमलव ३ प्रतिशतले बढेको हो । गत असार महिनाको विप्रेषण आप्रवाह मात्रै रु एक खर्ब ८९ अर्ब ११ करोड रहेको छ ।
त्यसैगरी, २०८१ असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव दुई प्रतिशतले वृद्धि भई २०८२ असार मसान्त सम्मा रु २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड बराबर हो । उक्त सञ्चितिले १५ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रका बाह्य सूचकहरु सुधार हुँदै जाँदा विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति र निर्यात हालसम्मकै उच्च अवस्थामा पुगेको छ ।
त्यसैगरी गत आवमा विस्तृत मुद्राप्रदाय १२ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो आव यस्तो मुद्राप्रदाय १२ दशमलव ९ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२ दशमलव ६ प्रतिशतले वृद्धि भई रू ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव चार प्रतिशतले वृद्धि भई रु ५४ खर्ब ९८ अर्ब पुगेको छ ।
प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।
नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् ।

यसअघि आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपराष्ट्रपति भो थि आन सुआनबीच भेट भएको थियो । उनी भ्रमण पूरा गरेर भदौ ९ गते स्वदेश फर्कने तालिका छ ।
सुपादेउराली पुग्ने गोरुसिङ्गे-सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित
अर्घाखाँची । पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे-सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् ।
साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे-सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो ।
गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म करिब ६८ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर चौडाइमा सडक फराकिलो बनाइएको सडक डिभिजन कार्यालय शिवपुरका डिभिजन प्रमुख एवं इञ्जिनीयर सविन कोइरालाले बताए । उनका अनुसार गोरुसिङ्गेबाट सन्धिखर्कसम्म ६७ दशमलव पाँच किमी सडक कालोपत्र गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको थियो । गत आर्थिक वर्षमा पहिरो रोकथाम तथा स्तरोन्नतिमा एक करोड, मर्मतमा एक करोड ५० लाख, सडक सुरक्षामा ५५ लाख, सडकको अत्यधिक मर्मतमा दुई करोड रकम खर्च भएको प्रमुख कोइरालाले जानकारी दिए ।
वर्षामा आउने पहिरोले सडकअवरुद्ध हुने भएकाले नियमित सञ्चालनका लागि दुई वटा पहिरो पन्छ्याउन प्रयोग गरिने उपकरण तयारी अवस्थामा राखिएको छ । ठाँडामा जेसिभी र नरपानीमा लोडर तयारी अवस्थामा राखिएको उनले बताए ।
गोरुसिङ्गे–सन्धिखर्क खण्डअन्तर्गत शितगङ्गा नगरपालिकाको बसेरीको जङ्गल, अमराई, रिब्दी, सितापुर तथा सन्धिखर्क नगरपालिकाको नरपानीबाट फुद्बाङ्गसम्मको सडकमा पहिरोको उच्च जोखिममा रहेका डिभिजन प्रमुख कोइरालाले उल्लेख गरे । उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा सडक मर्मत तथा स्तरोन्नतिका लागि आठ करोड ४० लाख बजेट प्राप्त भएको छ ।
यो खण्ड स्तरोन्नति गरिएपछि विशेष गरी शक्तिपीठका रूपमा रहेको सुपादेउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई सहज भएको कोइरालाको भनाइ छ । अवरोधबिना यात्रा गर्न पाएपछि मन्दिर दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित भएका उनले बताए ।
“यसअघि सुपादेउराली मन्दिरमा पुगेका जो कोहीले चट्टानी भिरमा रहेको साँघुरो र डरलाग्दो सडक सम्झन्थे । त्यही चट्टानी डरलाग्दो भिरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि मन्दिर आउने धार्मिक पर्यटकलाई सहजता भएको छ”, उनले भने ।
उक्त खण्डमा कडा चट्टान भएकाले नयाँ प्रविधि ‘रक एञ्चोज’ प्रयोगमार्फत ड्रिल गरेर आरसिसी ढलान गरी सडक विस्तार गरिएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख कोइरालाले जानकारी दिए ।
यसअघि लाहुरेबजारबाट सुपा मन्दिरसम्म सडकको चौडाइ चार दशमलव पाँच मिटर हुँदा यातायात आवागमनमा कठिनाइ हुँदै आएको थियो । सडक डिभिजन शिवपुरले सडक स्तरोन्नति गरी नौ मिटर चौडाइको बनाएको हो ।
जिल्ला सदरमुकाम जोड्ने पुरानो र महत्त्वपूर्ण मार्गका रूपमा रहेको गोरुसिङ्गे–सन्धिखर्क खण्डको लाहुरेबजारबाट सुपा मन्दिरसम्म करिब तीन सय मिटर कडा चट्टान र भिरालोका कारण सात्रा सङ्घर्षपूर्ण बनेको थियो । सडक डिभिजन कार्यालय शिवपुरबाट नयाँ प्रविधिको प्रयोग गरी वाल निर्माण गरिएको प्रमुख कोइरालाले उल्लेख गरे ।
नेपालको प्रसिद्ध धार्मिकस्थल सुपादेउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि गर्न तथा सुपादेउराली आसपासका पर्यटकीय गन्तव्य नरपानीको डाँडाको प्रचारप्रसार हुने अपेक्षा लिइएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताए ।
“नरपानीडाँडा चिसो हावा र चिसो पानीले प्रशिद्ध छ । यहाँबाट मनमोहक दृश्यहरूसँगै हिमाल देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या पनि पछिल्लो समय वृद्धि हुँदै गएको छ”, उनले भने ।
मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीलगायत जिल्लाबाट पर्यटक आउने जनाउँदै भारतको उत्तर प्रदेश, विहारबाट पनि धार्मिक पर्यटक यहाँ आउने गरेका सन्धिखर्क–७ का वडाध्यक्ष चुराबहादुर केसीले बताए ।
यहाँ आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुँदै, एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति रहेको अर्घा भगवती मन्दिर र अर्घा दरबार क्षेत्रसम्म पुर्याउने योजनासहित गरपालिकाले काम अगाडि बढाएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । सुपादेउरालीमा आएका भक्तजनका लागि लक्षित गरेर भौतिक संरचना निर्माण गर्न थालिएको उनले जानकारी दिए
सुपादेउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास रहिआएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष खनालले बताए । कडा चट्टानकाबीच निर्माण भएको सडक र सोही सडकको छेउमा मन्दिर छ । यहाँ आएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उच्च पदमा पुगेका व्यक्तिलेसमेत दर्शन गर्छन् ।
कुनै समस्या आएकामा सुपादेउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास रहिआएको छ । सोही कारणले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाउने गरिन्छ ।
अब फोन गरेरै बाढी सम्बन्धी पूर्वसूचना दिइने
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप प्रभावकारी बनाउनका सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ । विभागले यसका लागि ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको हो ।
बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत सन्देश प्रवाह गर्दै आएको विभागले अबदेखि भने ‘भ्वाइस कल’मार्फत पनि पूर्व सूचना सम्प्रेषण गर्ने तयारी थालेको हो ।
जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छः गृहमन्त्री लेखक
काठमाडौँ भदौ । गृहमन्त्री रमेश लेखकले द्वन्द्वरहित समाज केबल काल्पनिक विषय मात्रै भएको बताएका छन् ।
यहाँ आज आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषय कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले द्वन्द्वसँगै समाधान पनि हुने गरेको धारणा राखे । “द्वन्द्वरहित समाज कसैले भन्छ भने त्यो काल्पनिक हो, यथार्थ होइन”, उनले भने, “जहाँ द्वन्द्व छ त्यहाँ समाधान पनि छ, हामीले द्वन्द्वलाई ठीक ढङ्गले बुझिदिनुपर्छ, द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो ।”
पछिल्लो समय संविधानले गरेको अधिकारको बाँडफाँटले मुलुकमा द्वन्द्व उत्पन्न गराइरहेको सङ्केत पाइरहेको उनको भनाइ थियो । “पालिकाहरुबीच अहिले प्राकृतिक स्रोतसाधनको वितरण र सीमाको द्वन्द्व भएको देखिन्छ”, उनले भने, “उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वको व्यवस्थापन गरिनुपर्छ ।”
विस्तृत सम्झौताताका वार्ता समितिमा रहँदाका अनुभव सुनाउँदै उनले २०६३ मङ्सिर ५ गते सशस्त्र द्वन्द्वको समाप्त भएको बताए । “हिंसाको समाजलाई शान्तिको रुपान्तरण गरिएको छ”, उनले भने, “द्वन्द्वका प्रकृति संसारभर फरकफरक छन्, द्वन्द्वको प्रकृति फरक छ, सर्वव्यापी छ, समाज रहुञ्जेल द्वन्द्व रहन्छ ।”
उनले धेरै विश्वविद्यालय, स्कूल, कलेज, सडक र पुल बनाउने विषय ठीक भए पनि धेरै संविधान बनाउने कुरो खराब रहेको बताए ।
“विसं २०७२ को सातौँ संविधान हो, देश कति ज्यादा अस्थिरतामा गयो, कति अनिश्चितता र कति ज्यादा द्वन्द्वबाट गुज्रियो भन्ने आवस्थाको मापन गर्ने कुरा संविधान हो”, उनले भने, “नेपाल संसारका विरलैमध्येको त्यस्तो देश हो, जसले सात दशकमा सात संविधान बनायो, संविधान निर्माणको यात्रा २००४ सालदेखि सुरु भएको थियो ।”
सरकारमा मन्त्री हेरफेर सुरु, जसपाले दुई जना मन्त्रीलाई फिर्ता बोलाउने
काठमाडौँ । अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टीले मन्त्री हेरफेर गर्ने भएको छ । पार्टीको पछिल्लो बैठकमार्फत् जसपाले यस्तो निर्णय गरेको हो ।
दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिएको जसपाका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । “सरकारमा सहभागी हुँँदा नै एक वर्षका लागि भनेर पठाइएको थियो । अहिले सोही निर्णय कार्यान्वयन गर्ने निर्णय गरिएको हो,” उनले भने, “नयाँ बन्ने मन्त्रीको नाम प्रधानमन्त्रीसँग पहिल्यै पठाइसकिएको छ ।”
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाबाट हाल प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री छन् ।
टक्सार बजारमा खुल्यो सङ्ग्रहालय
टक्सार। भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो ।
नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना गरी सर्वसाधारणका लागि खुला गरेको हो । परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको संस्थाका अध्यक्ष किशोरकुमार ताम्रकारले बताए ।
उनले भने, ‘टक्सारमा पहिला एक र दुई पैसाका टक पनि काटिने गरिन्थ्यो, त्यो पैसा समेत सङ्ग्रहालयमा देख्न सकिन्छ, यसको व्यवस्थापन र सञ्चालनका लागि आगामी दिनमा दीर्घकालीन योजनाका साथ अघि बढ्नेछौँ ।’
सङ्ग्रहालयमा हलो, काठका विभिन्न सामग्री, लालटिन, माटाका भाँडा, क्यासेट राखिएको छ । संस्थाका सचिव यदु सुवालले स्थानीय स्तरमा प्रयोग भएका पुराना सामग्री सङ्ग्रह गरी सङ्ग्रहालय स्थापना गरिएको बताए ।
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सिर्जना राईले टक्सार इतिहास ठाउँ भएको उल्लेख गर्दै सङ्ग्रहालयले यहाँको संस्कार र संस्कृति जोगाउन सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरिन् ।
विसं १८७२ मा राजा गीर्वाण युद्ध शाहको पालामा स्थापना भएको ऐतिहासिक टक्सार बजारको संरक्षण गर्न पनि सङ्ग्रहालय स्थापना गरिएको समाजसेवी चन्द्रकुमार उदासले बताए ।
रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट
गण्डकी। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदानले परोपकारी हितसँगै स्वयं व्यक्तिको पनि हित हुने बताएका छन् ।
बह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल पार्दी शाखाले आइतबार आयोजना गरेको रक्तदान शिविरको उद्घाटन गर्दे उनले रक्तदान कार्यक्रम मानवीय, धार्मिक र सामाजिक कर्मसँग जोडिएको पवित्र कार्य रहेको बताए ।
मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै
जनकपुरधाम । मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण गर्न लागिएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा रु ७५ करोडको लागतमा प्रदेशका २५ पालिकामा भूकम्प प्रतिरोधात्मक, सुविधा सम्पन्न कृषि तथा पशुपक्षी उपचार तथा परीक्षण केन्द्रको भवन निर्माण भइरहेको हो ।
विश्वबंैकको ऋण सहयोगमा सो मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाअन्तर्गत आर्थिक करिडोरको कार्यालय बर्दिबासले २५ वटा पालिकामा भवन निर्माण गरिरहेको हो । आयोजना कार्यालयका अनुसार एउटा भवन निर्माणमा करिब रु तीन करोडदेखि रु पाँच करोड खँर्च हुने अनुमान गरिएको छ ।
कृषिको माटो परीक्षण, पशुको रोगसम्बन्धी अनुसन्धान तथा पशुमा लाग्ने विभिन्न रोगको उपचार, पशुको गोबर तथा दूधजन्य पदार्थको परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक उपकरणसहित ल्याब स्थापना गरेर सो केन्द्रबाट सेवा दिने उद्देश्य रहेको कार्यालय प्रमुख राजेश साहले जानकारी दिएका छन् । सबै भवनको डिजाइन समान हुनुका साथै प्रविधियुक्त बनाइने उहाँले बताउनुभयो ।
निर्माण भइरहेको सो दुईतले भवनमा कृषि तथा पशुका लागि बेग्लाबेग्लै उपचार कार्यकक्ष तथा प्रयोगशालाका साथै सोही भवनमा सुपथमूल्यमा कृषि तथा पशुपक्षीमा लाग्ने रोगको उपचारसहित औषधि बिक्री कक्षका लागि दुई वटा सटरसमेत निर्माण हुने साहले उल्लेख गरेका छन् । भवन निर्माण भइरहेका २५ वटा पालिकामध्ये १४ वटाको काम सकिएको कार्यालयले जनाएको छ ।
सोही क्रममा जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरियामा सोही आयोजनाद्वारा निर्माण गरिएको सुविधा सम्पन्न भवन जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख साहले जानकारी दिएका छन् । उनका अनुसार उक्त भवन भ्याटसहित रु दुई करोड २५ लाखमा निर्माण गरिएको हो ।
यस वर्षको गौरा पर्व भदौ १५ गते
काठमाडौ । यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्कार जोतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित आज प्रकाशित विज्ञप्तिमा भदौ १२ देखि सुरु भई १५ गते मुख्य दिनका रुपमा मनाइने जनाइएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘गौरा पर्व पर्वतराज हिमालय पुत्री पार्वतीको कठोर तपस्याले सफलता प्राप्त गरेको सुखद उपलक्ष्यमा वैदिककालदेखि मनाइँदै आएको हाम्रो मौलिक सांस्कृतिक पर्व हो, गौरा पर्वमा व्रतालु नारीहरुको प्रमुख भूमिका रहेको हुन्छ ।’
विज्ञप्तिमा उल्लेख भएअनुसार भदौ १२ गते भाद्र शुक्लपक्ष पञ्चमी तिथि बिहान ७ः१० बजेसम्म सिंहलग्न र अपराह्न ३ः५४ बजेसम्म पञ्चमीतिथि रहेको छ तथा यसैदिन बिरुडा (पञ्च अनाज)भिजाउने बिरुडा पञ्चमी पनि रहेको छ ।
यस्तै भदौ १३ गते बिरुडा धुने षष्ठीतिथि साँझ ५ः५४ बजेसम्म रहेको छ । यसैदिनमा बिरुडा धुने र नोला(पानीको धारामा) गोरा पुजिने गरिन्छ । भदौ १४ गते गौरा सप्तमी र अमुक्ताभरण सप्तमी साँझ ७ः५७ बजेसम्म रहेको छ । यसैदिन गौरा भित्र्याउने, गौरा र दुबधागो पुजन रहेको छ । भदौ १५ गते दुर्वाष्टमी व्रत, गौरा पर्वको मुख्य दिन अठ्वाली अनुराधा नक्षत्र अपराह्न ३ः५६ बजेसम्म रहेको जनाइएको छ ।
महिलाले यस वर्ष दुबधागो उत्तराभिमुख भई लगाउँदा शुभ रहेको छ । आफ्नो अनुकूलता र चलनअनुसार गोराः सेलाइने (समापन) छ । यसवर्ष गौरा पर्व भाद्र शुक्ल पक्षमा परेको हुँदा नौली गोरिया (नवविवाहिता नारी)ले उज्याली गोराः मा दुबधागो लाउन पाउने हुँदा गौरा पर्व थप उल्लासमय हुनेछ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा पञ्चतन्मात्राज्ञमा माँ गौरीको कृपादृष्टि बनिरहोस् भन्ने कामना गर्दै, अमूल्य निधि र वैभवका रुपमा रहेका हाम्रा धार्मिक र सांस्कृतिक पर्व हरितालिका तीज, गणेश चतुर्थी, ऋषिपञ्चमी र गौरापर्वको सुखद उपलक्ष्यमा व्रतालु महिला दिदीबहिनी, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइको सुस्वास्थ, सुख, शान्ति र समृद्धिको हृदयतः मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।’
तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको ‘हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज’ को अवसरमा आयोजित बृहत् सांस्कृतिक तथा दर खाने कार्यक्रममा मन्त्री खड्काले तीजलाई केवल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताएका हुन् ।
मन्त्री खड्काले भने, “कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैंलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ। त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईँहरूको जिम्मेवारी हो। तीज अब दाजुभाइ, आमा–दीदी–बहिनी सबैले मिलेर मनाउने साझा पर्वको रूपमा स्थापित हुँदै गएको छ।”
कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा. रमेश ढुंगेलले तीजजस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई विश्वमञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले भने, “हाम्रा पर्वहरूले राष्ट्रिय पहिचानलाई निरन्तरता दिने मात्र होइन, विविधतामूलक संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अवसर पनि प्रदान गर्छन्।”
क्याम्पस इकाई समितिका अध्यक्ष सरोज लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ता गीता गुरुङले तीजलाई सबै जातजाति र भाषा–भाषीबीच साझा पर्वका रूपमा विस्तार हुँदै गएको बताउँदै महिलाहरूलाई अझै पनि आसन, भाषण र शासनमा उचित स्थान नपाएकोमा चिन्ता व्यक्त गरे।
क्याम्पस प्रमुख विनोद पन्तले विद्यार्थीहरूलाई सांस्कृतिक चेतना, अनुशासन र ज्ञानसँगै अगाडि बढ्न आग्रह गरे। कार्यक्रममा नृत्य, गीत तथा दर खाने सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। सहभागीहरूले तीजलाई महिला सशक्तिकरण मात्र नभई सामाजिक सद्भाव र सहकार्यको पर्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।
भियतनाम र नेपालका उपराष्ट्रपतिबीचको बैठकमा के भयो कुराकानी ?
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा आएकी भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ।
आज भएको भेटमा उनीहरुबीच दुवै मुलुकमा धार्मिक समानता रहेको र धार्मिक र सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो।
उनीहरुबीच मित्रवत्, न्यानो र सौहार्द रुपमा सम्पन्न भेटवार्ता भएको जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारी द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयका बारेमा विचार आदानप्रदान भएको बताए।
दुवै उपराष्ट्रपतिबीच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति भएकोसमेत भएको छ। सो अवसरमा दुवै मुलुकबीच हवाई सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको सहसचिव अधिकारीले बताए।
भियतनाम उच्च आर्थिक वृद्धिदर भएको मुलुक भएकाले नेपालले त्यहाँबाट सिक्नसक्ने र लगानीको सम्भावनाका विषयमा उनीहरुबीच छलफल भएको सहसचिव अधिकारीले बताए।
द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधिलगायत विषयमा र जनस्तरको सम्बन्ध अघि बढाउने विषयमा उनीहरुबीच कुराकानी भएको थियो।
भियतनामका तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो। यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।
उपराष्ट्रपति भो थि आन सुआन उपराष्ट्रपति यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार आइपुगेकी हुन्। उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ।
बढ्दै गइरहेको नेपाल-चीनको सम्बन्ध
काठमाडौँ । प्राध्यापक हुआङ झेङ डुओ चीनको सिचुआन विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक हुन । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय स्कूल अफ एडभान्स्ड इन्टरनेशनल स्टडिजमा समेत अध्ययन गरेका डुओ चीन र दक्षिण एसियाली देशहरूबीचको सम्बन्धबारे अध्ययन अनुसन्धानकर्ताका रुपमा सक्रिय छन् । उनका ३ पुस्तकहरू र दर्जनौँ अनुसन्धानात्मक लेखहरु प्रकाशित छन् ।
प्रस्तुत छ, चीन–नेपाल सम्बन्धको ७०औँ वर्षको अवसर पारेर भइरहेका विभिन्न कार्यक्रममा सहभागिता जनाउन काठमाडौँ आएका निर्देशक डुओसँग नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा केन्द्रित रही राष्ट्रिय समाचार समिति(रासस) का उपसम्पादक मधु शाहीसँग गरिएको अन्तवार्ताः
नेपाल घुम्न आइहनुहुन्छ ? के कुराले यहाँ आइरहन मनलाग्ने बनाउँछ ?
नेपाल मेरो दोस्रो घर होभन्दा पनि हुन्छ । अहिलेसम्म लगभग २० पटकभन्दा बढी नेपाल आएको छु । अध्ययन अनुसन्धान गर्ने कामदेखि विभिन्न शैक्षिक गोष्ठी, सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी भइरहेको हुन्छु । त्योभन्दा पनि नेपालको प्राकृतिक सौन्दर्यले मलाई पटकपटक तानिहरन्छ । मैले नेपालका विभिन्न स्थानहरु घुमेको छु । काठमाडौँ बाहिर जनकपुर, चितवन, लुम्बिनी, पोखरा, मनाङ लगायताका ठाउँहरुमा पुगेको छु । सबैको आ–आफ्नै विशेषताहरु छन् । तथापि लुम्बिनी मेरो मन पर्ने ठाउँमध्ये पर्दछ । यो भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले पनि महत्वपूर्ण छ । बौद्ध धर्मसँगको नाता धेरै पुरानो हो चीनको । त्यहाँ गएर केही समय बिताउँदा मन शान्त हुन्छ ।
नेपाल घुम्न आउने पर्यटकमध्ये चिनियाँ पर्यटकको सङ्ख्या ठूलो छ । पर्यटन क्षेत्रमा नेपालले के–कस्ता सुधार गर्नसके चिनियाँ पर्यटकको आकर्षण बढाउन सकिएला ?
नेपाल प्राकृतिक रुपमा सुन्दर त छँदैछ । त्यसबाहेक विश्वसम्पदा सूचीमा रहेका विभिन्न दरबार क्षेत्रहरु, विशवकै सर्वोच्च शिखर सगरमाथा, विभिन्न राष्ट्रिय निकुञ्जहरु, अनि यहाँको संस्कृति आफैँमा बेजोड छ । खासगरी लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले चिनियाँ नागरिकहरुको आकर्षणको केन्द्र बनेको छ । मैले घुमफिरका क्रममा देखेको लुम्बिनी भौतिक संरचनामा ठिकै छ तर त्यहाँको सांस्कृतिक भावना आदानप्रदान गर्ने विषयमा पर्यटक लक्षित अझै हुन सकेको छैन । उदाहरणका लागि, एकपटक मेरा एक साथीलाई लिएर लुम्बिनी घुम्न गएका थियौँ ।
उनले फर्किने बेलामा लुम्बिनीको अध्यात्मिक र मौलिक उपहार के लैजाने ? भनेर बजार घुम्दा केही नयाँ चिज पाइएन । र अन्तिममा लुम्बिनीमा रहेको पिपलको रुखबाट खसेका केही पातहरु बटुलेर चिनोको रुपमा लिएर गए । नेपालले पर्यटकलाई मौलिक उपहार के दिएर फर्काउन सकिएला ? भन्ने तिर सोच्नसके व्यापार व्यवसाय पनि वृद्धि हुने र पर्यटक पनि खुसी हुने थिए । त्यस्तै, नेपाल भ्रमणमा पर्यटकले अन्य देशको तुलनामा निकै महँगोमा टिकट किन्नुपर्छ । टिकटमा सहुलियत हुनसके नेपाल भ्रमणमा आउने चिनियाँ नागरिकको सङ्ख्या निकै नै बढ्ने सम्भावना देख्छु ।
पछिल्लो समय दुई देशबीच उच्चस्तरीय भ्रमणहरु बाक्लिँदै गएका छन् । यसले कूटनीतिक सम्बन्धमा कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
कुनै पनि मुलुकको सम्बन्ध प्रगाढ बनाउन भेटघाट र निरन्तर संवाद हुनु जरुरी छ । यसले एकअर्काको भावनात्मक सम्बन्धलाई अझै बढी मजबुद बनाउन मद्दत गर्छ । कूटनीतिक रुपमा उच्चस्तरीय तहमा सरकार प्रमुखहरु वा राज्य प्रमुखहरुका बीच समयसमयमा भेटघाट हुनु त स्वाभाविक नै छ । त्यसबाहेक, नागरिकहरुबीचको सम्बन्ध पनि बाक्लिँदै गएको छ । यसले एकअर्कालाई राम्ररी बुझ्नका लागि मद्दत गर्दछ । चिनियाँ समाजलाई बुझ्नका लागि दुवै देशका विद्यार्थीहरुको आवतजावतले सहयोग गरिरहेको छ । पश्चिमा मुलुकका सञ्चारमाध्यमले चीनका बारेमा जुनप्रकारले व्याख्या गरिरहेका छन्, त्यो बुझाई गलत हो भन्ने कुरामा उनीहरु विश्वस्त हुँदै गएका छन् ।
नेपाल–चीनको कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष पुग्यो । अब नेपाल र चीनको सम्बन्ध कुन दिर्शातर्फ अग्रसर भएको देख्नुहुन्छ ?
नेपाल र चीन कूटनीतिक सम्बन्ध सन् १९५५ अगस्ट १ देखि सुरु भएको हो । विगतदेखि नै यी दुई देशबीच सहअस्तित्व, सहकार्य, सम्मानपूर्ण र मैत्रीपूर्ण सम्बन्ध विस्तार हुँदै आएको छ । अहिले अगस्ट महिनाभरि नेपाल र चीनले कूटनीतिक सम्बन्ध विस्तार गरेको ७० वर्षको उत्सव मनाइरहेका छाँै । अब आगामी वर्षलाई अझै कसरी स्वर्णिम र प्रगाढ बनाउने विषय महत्वपूर्ण हो । मेरो विचारमा नेपाल र चीनको सम्बन्ध दीर्घकालीन र परिणाममुखी बनाउन नेपालको राजनीति स्थायी हुन जरुरी हुन्छ ।
यहाँको विकासले मूर्तरुप लिनका लागि स्थायी नेतृत्व आवश्यक छ । त्यस्तै, यहाँको जलविद्युत् परियोजनाहरुमा सहकार्य गर्न सकिन्छ । त्यस्तै, अबको समय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को भएकाले डिजिटल साझेदारीमा पनि नेपालले सम्बन्ध अर्थपूर्ण बनाउने अर्को आधार देखेको छु । नेपालले भर्खरै एआई नीति ल्याएको छ, जुन सकारात्मक छ । चीनले यस क्षेत्रमा निकै नै प्रगति हासिल गरिसकेकाले नेपालले पनि चीनबाट प्रविधि सिक्न सक्छ ।
नेपाल–चीनको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने राजनीतिक, आर्थिक, शैक्षिक, समाजिक, सांस्कृतिकलगायत विभिन्न आधारहरुमध्ये कुन आधार बढी प्रभावकारी देख्नुहुन्छ ?
तपाईंले भनेजस्तो राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिकलगायत सबै आधारहरुले नै दुई देशको कूटनीतिक सम्बन्ध बलियो बनाउँछन् । यी सबै बुँदा एकअर्कासँग अन्तर सम्बन्धित छन् । यद्यपि, मेरो विचारमा आर्थिक विकासको साझेदारीले अरु क्षेत्रको समृद्धिमा समेत टेवा पु¥याउन सक्छ । आर्थिक विकास र गरिबी न्यूनीकरणका सन्दर्भमा चीन आफूले जानेको कुराहरु नेपाललाई बाँड्न चाहन्छ ।
नेपालमा निकै चासोका साथ चीनको बेल्ड एण्ड रोड(बिआरआई) परियोजनालाई लिने गरिएको छ । यसबारे तपाईंको धारणा के छ ?
नेपाल भू–परिवेष्ठित देश भएकाले यहाँ बाहिरी कनेक्टीभिटी विस्तार गर्न अति महत्वपूर्ण छ । चीनको बेल्ड एण्ड रोड इनिसिएटिभ(बिआरआई) परियोजनाले वास्तवमा कनेक्टिभिटी विस्तार र यहाँको विकास सहयोगी बन्न सक्छ । तर बिआरआईका परियोजनाहरु जुन रुपमा अगाडि बढ्नुपर्ने हो, त्यो रुपमा बढ्न नसक्नुको पछाडि यस क्षेत्रमा बढ्दै गएको भू–राजनीतिक अवस्था पनि एउटा कारण हुन सक्छ । विकासका सन्दर्भमा सबै राजनीतिक दलहरु एक ठाउँमा आउन जरुरी छ ।
नेपाल दुई शक्तिशाली छिमेकी देशबीच रहेको तुलनात्मक रुपमा सानो देश हो । यी ठूला राष्ट्रहरुबीचको सन्तुलन कायम गर्न नेपालले के–कस्ता रणनीति अपनाउनुपर्ला ?
तपार्इंले भने जस्तै नेपाल दुई शक्तिशाली देशबीचको भौगोलिक हिसाबले सानो देश हो । तर, यसको आफ्नै अस्तित्व, सार्वभौमसत्ता र अलग्गै पहिचान छ । चीन र भारतबीचको छिमेकी सम्बन्ध सन्तुलन गर्न केही चुनौती नेपालले महसुस गरेको हुनसक्छ । मेरो विचारमा नेपालले छिमेकी मुलुकहरुबीच सदाचार र सहकार्यको भावना राखे खासै ठूलो समस्या होइन । सहकार्य गर्नका लागि सन्तुलन कायम गर्नुपर्ने समस्या हो जस्तो लाग्दैन । यस्तो कूटनीतिक अभ्यास नेपालले गर्दै आइरहेको पनि देखिन्छ ।
नेपाली विद्यार्थीहरु चीनमा अध्ययन गर्न जानेक्रम बढ्दो छ । ती विद्यार्थीहरुले दुई देशको सम्बन्ध जोड्न कस्तो भूमिका खेल्न सक्छन् ?
पछिल्लो समय चीनमा नेपाली विद्यार्थीहरु अध्ययन गर्नेक्रम बढ्दो छ । यो हाम्रा लागि सुखद पक्ष हो । विभिन्न तालिम, सेमिनार र छलफलमा भाग लिने युवा जमात तीव्र छ । विद्यार्थीहरु ज्ञान र संस्कृति आदानप्रदान गर्ने महत्वपूर्ण स्रोत भएकाले शैक्षिक विकासले दुवै देशको सम्बन्ध जोड्न मद्दत गर्छ । एकअर्कालाई बुझ्न पनि यस्तो खालको गतिविधिहरु आवश्यक छ ।
अन्त्यमा, नेपालको कुन पक्ष तपाईंलाई सुन्दर लाग्छ ?
नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक हिसाबले सुन्दर छ । यससँगै अर्को रोचक पक्ष यहाँको बहुआयामिक समाज हो । यहाँको समाजमा खुला रुपमा गरिने वैचारिक बहस, छलफल र अन्तक्रियात्मक संस्कृति मलाई राम्रो लाग्छ ।
बक्यौता माग्दै किसानहरु उखु बोकेर माइतीघरमा बसे धर्ना, तस्बिरहरू
काठमाडौँ । बक्यौता माग्दै किसानहरू उखु बोकेरै राजधानीको माइतीघरमा धर्नामा बसेका छन् । प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग गर्दै किसानहरू आइतबारदेखि धर्नामा बसेका हुन् । आर्थिक वर्ष ०८१/०८२ को उखुको बक्यौता भुक्तानी हुनुपर्ने उखु उत्पादक महासंघ नेपालको भनाइ छ ।
दुर्घटनामा घाइते सामाजिक अभियन्ता खत्रीको मृत्यु
दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा काठमाडौं आइतबार बिहान निधन भएको हो ।
पृथ्वीराजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा जिपको ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको हो ।
बेलचौताराबाट दुलेगौडा आउँदै गरेको ग९प ३९९२ नम्बरको मोटरसाइकलमा सवार खत्रीलाई विपरीत दिशाबाट आउँदै गरेको ग३च ३१९ नम्बरको जिपले ठक्कर दिएको थियो ।
घाइते खत्रीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।
इजरायलबाट फर्केका विपिन जोशीका परिवार राष्ट्रपति भेट्न पुगे
काठमाडौँ । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेल सँग भेट गरेका छन् ।
इजरायल पुगेरक फर्केकी विपिनका आमा पद्मा र पुष्पा जोशीले आइतबार राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।
खोटाङको साकेलामा श्रमदान अभियान
खोटाङ। साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्नेलगायत काम थालिएको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईसहित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध उपकरण र केही प्राविधिक तथा कर्मचारीको साथमा दिनहुँ जनश्रमदान गरिरहेका छन् ।
अध्यक्ष राईले स्थानीय नागरिकलाई आवतजावतमा सास्ती नहोस् भन्ने हेतुले केही कर्मचारीको साथमा कहिले मुख्य त, कहिले शाखा सडक मर्मत गरिरहेको बताए ।
साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक, बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक, कात्तिके–सोस्तुङ–रतन्छा नैनेपाटी सडकलगायत पालिकाभित्रका बजार, उद्यान, कार्यालय र सार्वजनिक स्थलको सरसफाइ गर्नुका साथै उक्त स्थानमा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन् ।
अभियानमा उपाध्यक्ष बिर्सिका राई र वडाध्यक्षको सहभागिता रहेको छ ।
प्रचण्डले बोलाएको पदाधिकारी बैठक स्थगित
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक फेरि स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी
काठमाडौं। वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ ।
ती कार्यका लागि घुम्ती सवारीसाधनसहितको टोली परिचालन गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ ।
विभागका महानिर्देशक रामकुमार श्रेष्ठले हैजा रोगको सङ्क्रमण पुष्टि भएका क्षेत्रमा खानेपानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्रीसहितको टोली खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको जानकारी दिए ।
उनले भने, ‘हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै सवारी साधनसहितको घुम्ती टोली खटाएका छौँ । पानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ ।’
वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु
देउखुरी। दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान ६ः०० बजे आसपासमा चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्यूठानबाट चन्द्रौटा जाँदै गरेको लु३९प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्यूठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षे सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए । थापाको भालुबाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही ठाउँका मोटरसाइकल चालक २२ वर्षे प्रचण्ड थापा भने घाइते भएको प्रहरीको भनाइ छ । हाल उनको भालुबाङ अस्पतालमा सामान्य उपचारपछि बुटवल पठाइएको प्रहरी निरीक्षक बमले बताए ।
मृतकको शव परीक्षणका लागि लमही अस्पताल पठाइएको छ भने टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाँचौं अन्तर्राष्ट्रिय युवा फोरम संयुक्त राष्ट्र संघको सम्मेलन सम्पन्न,नेपालको जलवायु परिवर्तन मुख्य एजेण्डा
काठमाडौँ । मानवअधिकार र दिगो विकास लक्ष्य (Sustainable Development Goals) सम्बन्धी छलफल, आदान–प्रदान र समाधान खोज्ने उद्देश्यका साथ पाँचौँ संस्करणको पाँचौं अन्तर्राष्ट्रिय युवा फोरम हालै थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्र संघको ESCAP हलमा सम्पन्न भएको छ।

जहाँ नेपाल देखी काठमाडौं महानगर प्रतिनिधि सँगै 25 जना सँगै ६२ देशहरूबाट ३५० भन्दा बढी प्रतिनिधिहरू सहभागी. भएका थिय यसपटकको फोरममा जलवायु परिवर्तन, नैतिक कृत्रिम बुद्धिमत्ता, लैंगिक समानता, शिक्षा–नवप्रवर्तन, मानव अधिकार प्रवर्द्धन र वैश्विक साझेदारीलाई मुख्य एजेन्डा बनाइएको थियो।

यसपटकको फोरममा विश्वभरका युवा, नीति–निर्माता, राजदूत, मानवअधिकार कार्यकर्ता तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।यस सम्मेलनमा युवाहरूले सामना गरिरहेका चुनौतीहरू शान्ति र मानवअधिकार, लैङ्गिक समानता, वातावरणीय संकट, जलवायु परिवर्तन, सामाजिक समावेशीकरण, तथा दिगो विकास लक्ष्य (SDGs) कार्यान्वयन जस्ता महत्वपूर्ण विषयहरूलाई केन्द्रमा राखी छलफल गरिएको थियो।

सस्टेनेबल डेभलपमेन्ट काउन्सिल द्वारा आयोजित र संयुक्त राष्ट्र संघका निकायहरू, सरकारका प्रतिनिधिहरू तथा नागरिक समाजका अगुवाहरूको सहयोगमा सम्पन्न यो कार्यक्रमले युवा नेतृत्वमा आधारित विश्वव्यापी अभियानमा नयाँ उचाइ थप्यो।एशिया, अफ्रिका, युरोप, अमेरिका र प्यासिफिक क्षेत्रका आवाजहरू एकत्रित भई जलवायु परिवर्तन, नैतिक कृत्रिम बुद्धिमत्ता, लैङ्गिक समानता, र समावेशी शासनजस्ता महत्वपूर्ण विषयहरूमा विचार आदानप्रदान गरियो।

२०१७ मा काठमाडौं, नेपालबाट सुरु भएको अन्तर्राष्ट्रिय युवा फोरम राहुल के सि ले सञ्चालक गरेँको यस सस्था ले विश्वव्यापी युवा नेतृत्वको मञ्च बन्न सफल भएको वर्षको बिभिन्न देशका राजदुतको भानाइ छ सह–संस्थापक राहुल के.सी. ले भने, “काठमाडौंमा सपना देखिएको यो मञ्च आज संयुक्त राष्ट्र संघसम्म पुगेको छ। यो केवल सम्मेलन मात्र होइन, अभियान हो जसको प्रभाव बैंककभन्दा टाढासम्म फैलिनेछ।”







सुनचाँदीकै मूल्यमा उच्च वृद्धि
काठमाडौँ । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु दुई हजार ३०० र चाँदीमा रु ४० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ ।
शुक्रबार एक तोला सुन रु एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३१० मा क्रयविक्रय भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
धुन्चे श्याफ्रुबेशी सडकखण्ड अन्तर्गतको आकर्षक बाह्र घुम्ती सडक, यस्तो देखिन्छ तस्बिरमा
काठमाडौं । छिमेकी देश चीनसँग जोडिने धुन्चे श्याफ्रूबेशी सडकखण्ड अन्तर्गत सानोभार्खु स्थित बाह्र घुम्ती सडक सो बाटो भएर यात्रा गर्नेहरूका लागि आकर्षक सडकको रुपमा रहेको छ ।
आकर्षक बाह्र घुम्ती सडक रहेको हुनाले अहिले यात्रुहरुले फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने समेत गरेको पाइन्छ ।
सडक आकर्षक भए पनि खाल्डाखुल्डी, काँही पहिरो गएको हुनाले यात्रा गर्न भने जोखिम नै रहेको स्थानीयले बताए ।
सोही सडक हुँदै नेपाल चीन सिमा रसुवागढी र लाङटाङ उपत्यका पुगिन्छ ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी ।




भियतनामकी उपराष्ट्रपति सुआन र उपराष्ट्रपति यादवबिच शिष्टाचार भेटवार्ता
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन्।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुआनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए।
उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन्। मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन्। यसो हुनसके भियतनामबाट नेपाल भित्रिने पर्यटकहरुको संख्या बढाउन सकिने नेपालको विश्वास छ।

उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने र पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका स्थान भ्रमण गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि उनी स्वदेश फर्किनेछिन्।
रौतहटमा सुटकेशभित्र फेला परेको शवको पहिचान खुल्यो
रौतहट । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो।
स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दिएको जानकारीअनुसार रुबीका श्रीमान शिव कुमार साह ९३५० भारत, बिहार, मुजफ्फरपुर जिल्ला सकरा बेल निवासी तथा साधु शरण साहका छोरा हुन्। मृतक रुबी देवी साह, रौतहट माधवनारायण नपा–६ बस्ने राम विनोद साह मण्डलकी धर्मपत्नी अन्दाजी ५० वर्षीया सुनिच्छा देवीकी छोरी हुन्।
शनिबार राति करिब साढे १० बजेतिर सडक किनारमा डोरीले बाँधिएको अवस्थामा भेटिएको सुटकेश खोलेपछि अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। प्राथमिक रूपमा शवसँगै भेटिएका साडी र चुराका आधारमा महिला भएको अनुमान गरिएको थियो।
शवलाई रस्सीले बेरिएको अवस्थामा सुटकेशमा राखिएकाले हत्या गरी फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। मुचुल्कापछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको डिएसपी कार्कीले जानकारी दिए ।
घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले नजिकैको विद्यालयमा जडान गरिएको सिसीटिभी फुटेज संकलन गरेको छ भने मृतकको मोबाइल कल डिटेल निकाल्ने तयारी भइरहेको जनाएको छ।
सङ्घीय मामिला तथा सामान्य मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना
दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने बताएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको स्वागत कार्यक्रममा उनले विशेष परिस्थितिमा प्राप्त यो जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
मन्त्री न्यौपानेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नीतिगत रूपमा चल्ने मन्त्रालय बनाउने प्रमुख जिम्मेवारी रहेको उल्लेख गरेकी छिन् । मन्त्रालयको काम कर्मचारी सरुवा बढुवामात्र हो कि भन्ने रहेकामा त्यसलाई चिर्दै सङ्घीय व्यवस्थालाई सुदृढ बनाउने काम पनि मन्त्रालयको रहेको बताएकी हुन्।
मन्त्री न्यौपानेले कर्मचारी र सेवाग्राहीको गुनासो सुनुवाइका लागि मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना गरिएको बताउँदै त्यहाँबाट गुनासो सुनुवाइ हुन थालेको बताएकी छिन् ।
कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटीका उपसचिव खिमबहादुर कुमाल, शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष रघुनाथ पौडेललगायतले मन्त्री न्यौपानेलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।
अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण
टक्सार(भोजपुर), । अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूको सहयोगबाट आएको रु ९० हजार नगदबाट भोजपुर नगरपालिकाभित्रका ती विद्यार्थीलाई शनिबार पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको हो ।
नवोदय संस्था भोजपुरले छनोट गरेका विद्यार्थीलाई कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले छात्रवृत्तिका सामग्री वितरण गरेका छन् । कक्षा १ देखि ९ सम्मका छात्रछात्रालाई छनोट गरी नौ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पोशाक वितरण गरेको संस्थाका सचिव यदु सुवालले जानकारी दिएका छन् । नगरपालिकाभित्रका मावितर्फ विद्योदय मावि, यशोधरा मावि, लक्ष्मी मावि, सिद्धेश्वर माविसहित जनकल्याण आधरभूत विद्यालय, जगदिश्वरी आवि, पञ्चकन्या आवि, जनसेवा आवि र पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सामग्री पाएका सचिव सुवालले जानकारी दिए ।
हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका दम्पती ईश्वर श्रेष्ठ र सावित्री जोशीबाट रु ३० हजार, डा सुन्दर मोहन प्रतिष्ठानबाट रु २० हजार, मदनप्रसाद श्रेष्ठ र देवी श्रेष्ठबाट प्राप्त रु २० हजार र खड्गबहादुर इन्द्रकुमारी श्रेष्ठबाट प्राप्त रु २० हजार स्कुल पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको छ ।
कोशी प्रदेशका राज्यमन्त्री राईले अभिभावकविहीन विद्यार्थीलाई गरिएको शैक्षिक सामग्री वितरणले अध्ययनमा मद्दत गरेको बताउँदै त्यस्ता विद्यार्थीको लगत सङ्कलन गर्नुपर्ने बताए । अभिभावकविहीन बालबालिकका लागि पनि प्रदेशस्तरमा विभिन्न संस्था खुलेकाले त्यसमार्फत पालनपोषण र अध्ययनको व्यवस्था गर्न सकिने बताएका छन् ।
अभिभावकविहीन, विपन्न बालबालिकालाई राज्यले नै आवासीय विद्यालयसहित अध्ययनको व्यवस्थापन गर्नुपर्ने भए पनि त्यो नहुँदा बालबालिकालाई दाता खोजेर सहयोग गर्नुपर्ने अवस्था आएको विद्योदय माविका प्रधानाध्यापक खोमराज धमलाले बताएका छन् । आमाबाबुको माया नपाएका बालबालिकालाई विशेष ध्यान दिनु जरुरी रहेको उनले बताएका हुन्।
पाँच वर्षदेखि पुल निर्माण अधुरै
चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।
दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रु आठ करोडमा उक्त पुल निर्माण गर्न सूर्य जेभी निर्माण कम्पनीले जिम्मा पाएको थियो । विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको शिलान्यास गरेका थिए ।
जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकारले पटकपटक निर्माणकार्य अघि बढाउन आग्रह गरे पनि निर्माणमा संलग्न व्यवसायीले बेवास्ता गरिरहेको छ । उनका अनुसार पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका बासिन्दा लाभान्वित हुनेछन् । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर ठेकेदार सम्पर्कविहीन हुँदै आएको उपाध्यक्ष श्रेष्ठ बताए ।
निर्माणको जिम्मा पाएको सूर्य जेभी निर्माण कम्पनीका प्रोपाइटर गणेश आर्चाय ‘ड्रइङ डिजाइन’को ‘एप्रुभ’ भइसके पनि चरिकोट डिभिजन कार्यालयले भिओ नबनाइदिएको कारण काम सुरु नभएको बताएका छन् । “हामी पुलको काम तत्कालै गर्न चाहन्थ्याँै तर सडक डिभिजन कार्यालय चरिकोटले भिओ नबाइदिएको कारण काम गर्न गाह्रो भयो”, उनले भने । सडक डिभिजन कार्यालय चरिकोटले दुई वर्षदेखिको बिल भुक्तानी नगरेको उनको दाबी छ ।
पुलको बीचको पिलर १० इन्च फरक परेको र सोको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेकाले भिओ र बिल भुक्तानीको काम नरोकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठ बताएका छन् ।
जुगल गाउँपालिका–५ का वडाध्यक्ष रवीन्द्र घिमिरे पुल निर्माण अघि नबढ्दा जनताले सास्ती भोग्नुपरेको बताएका छन् । नदी वारिपारि गर्न झोलुङ्गे पुल भए पनि जीर्ण भएकाले जोखिम रहेको उनले बताएका छन्।
आँबुखैरेनीमा चेपाङ समुदायका छात्र/छात्रालाई निःशुल्क शिक्षा
तनहुँ । आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा सो तह अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो । छात्र चेपाङले केही दिनअघि सार्वजनिक भएको सो तहको परीक्षामा उत्तीर्ण भएका हुन् ।
गाउँपालिकाले खाना, बस्नका लागि मासिक रु पाँच हजारका दरले वार्षिक रु ६० हजार सहयोग गर्दै आएको शिक्षा शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिएका छन् । गाउँपालिकामातहत रहेका २४ सामुदायिक विद्यालयमध्ये २२ मा पूरै तहमा निःशुल्क शिक्षाको व्यवस्था गरेको उनले बताएका छन् ।
उनले भनेकाछन् “रामशाह र मित्रता माविमा कक्षा ५ सम्म पूरै निःशुल्क गरिएको छ । कक्षा ६ देखि माथि नेपाली माध्यममा निःशुल्क भए पनि अङ्ग्रेजी माध्यममा शुल्क निर्धारण गरिएको छ ।”
विद्यार्थी चेपाङको शिक्षा क्षेत्रमा देखिएको यस किसिमको उपलब्धिले सम्पूर्ण चेपाङ समुदाय र पालिकाका लागि समेत गौरवको विषय बनेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । विद्यार्थी अमृतसँग भेटघाट गर्दै अध्यक्ष उहाँले भन्नुभयो, “आगामी उच्च शिक्षाका लागि बाटो सहज बनाउन गाउँपालिकाले आवश्यक सबै सहयोग तथा पहल गर्नेछ ।”
चेपाङ, भुजेललगायत सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने रणनीति, छात्रवृत्ति प्रणालीलाई अझ प्रभावकारी बनाउने उपाय र समग्र विकास प्रक्रियामा सीमान्तकृत समुदायको समावेशिता सुनिश्चित गर्ने योजनाका बारेमा विमर्श गरी अघि बढ्ने योजना बनाइएको अध्यक्ष चुमानले बताएका छन् ।
रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव
हेटौँडा । रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा महिलाको शव भेटिएको छ ।
शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो ।
डोरीले बेरिएको सुटकेश बेवारिस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सुटकेशभित्र केही शंकास्पद बस्तु रहेको भन्दै रातभरि राखेर बिहानमात्रै सुटकेश खोलेको थियो ।
बिहान शुटकेश खोल्दा विवाहित महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। गुलाबी रंगको कुर्तासुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ। महिलाको पहिचान खुलेको छैन ।
पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्छः महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । एमाले जिल्ला कमिटी दाङको जिल्ला प्रतिनिधि परिषद्लाई सम्बोधन गर्दै उनले पार्टी निर्माणका लागि सबैले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।
महासचिव पोखरेलले एमालेमा बहुपद होइन एक पदको अवधारणा भएको र त्यसलाई कार्यान्वयन गर्दै सबैलाई अवसर प्रदान गरी सो अवसरको सफल प्रयोग गरिनुपर्ने बताए । ‘पार्टीले मलाई के दियो होइन, मैले पार्टीलाई के दिए भन्नेतिर ध्यान दिनुपर्छ । दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुपर्छ,’– उनले भने ।
महासचिव पोखरेलले पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने बताए । ‘उहाँले सामाजिक काम जति पनि गर्न सक्नुहुन्छ । तर सक्रिय राजनीतिमा आउनु शोभनीय होइन । तीज आइरहेको छ, अगुवा महिला नेतासँग अस्ति दर खानुभयो । त्यो उहाँले गज्जब गर्नुभयो,’– उनले भने ।
महासचिव पोखरेलले रास्ट्रको विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको बताए । ‘एमाले र कांग्रेस सरकारमा भएपछि राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ,’ उनले भने, ‘विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजना अघि बढेका छन् र सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेका छन् ।’
यसैगरी, महासचिव पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशनको तयारी भइरहेको बताए । महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उनले बताए ।
गौतमबुद्ध र पोखरा विमानस्थलमा उडानको वातावरण मिलाउन भियनामी उपराष्ट्रपतिलाई परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गरेकी हुन् ।
सो भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरुमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राखिन्।
मन्त्री डा राणले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन् । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताइन् ।
पछिल्ला वर्षहरुमा नेपाल र भियतनामका पर्यटकहरुको सङ्ख्या उल्लेखनीय रुपमा बृद्धि भएको जानकारी दिँदै मन्त्री डा राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् ।
मन्त्री डा राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरेकी थिइन् । त्यसैगरी उनले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गरेकी थिइन् ।
भेटमा मन्त्री डा राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै दक्षिण(दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा सो भेटमा छलफल भएको थियो ।
जी ७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम)का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरुको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको सो अवसरमा उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री डा राणाले बताएकी थिइन् ।
पाकिस्तानमा बाढीको कहर ब्युनर र स्वातमा विनाशकारी प्रभाव
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको तेज बाढीले जनजीवनमा भयावह असर पुर्याएको छ। इस्लामिक राहत संस्थाले गरेको अध्ययन अनुसार, यी क्षेत्रका करिब ६० प्रतिशत परिवारले आफ्नो जीविकोपार्जन गुमाएका छन् भने घर, खेतीयोग्य जमिन र पशुपन्छीमा पनि व्यापक क्षति पुगेको छ।
इस्लामिक राहत संस्थाको आपतकालीन टोलीले प्रभावित क्षेत्रका मानिसहरूलाई खाद्यान्न र पिउने पानी वितरण गर्दैछ। प्राप्त विवरणअनुसार, ७३ प्रतिशत घरहरू पूर्ण रूपमा ध्वस्त वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ब्युनर जिल्लामा ६० प्रतिशत र स्वात जिल्लामा ५३ प्रतिशत मानिसहरूले आफ्नो परिवार पालनपोषण गर्न असमर्थ भएका छन्। साथै, ब्युनरमा ८० प्रतिशत खेतीयोग्य जमिन बाढीले नष्ट भएको छ भने करिब आधा पशुपन्छी मरेका छन्।
स्वास्थ्य क्षेत्रमा पनि ठूलो समस्या देखिएको छ। बाढीपछि दूषित पानी र मृत पशुपन्छीका कारण पानीजन्य रोगहरू फैलिएका छन्। अध्ययनले देखाएको छ कि ४० प्रतिशत घरधुरीमा पेटका रोगहरू देखा परेको छ। सरसफाइको अवस्था अत्यन्त खराब छ र यसले स्थिति झन् जटिल बनाएको छ।
इस्लामिक राहत संस्थाका कार्यवाहक निर्देशक रजा नरेजोले बताउनुभयो, “बाढीको पानी घट्दै गए पनि यसको प्रभाव दीर्घकालीन हुनेछ। सर्वाधिक प्रभावित क्षेत्रका मानिसहरूका रोजगारी र आम्दानी स्रोतहरू लगभग एकैछिनमा नष्ट भएका छन्। ब्युनर जिल्लाका ६० प्रतिशत कामदारहरूले आफ्नो जीविकोपार्जन गुमाइसकेका छन्।”
त्यसैगरी, पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले आगामी दिनहरूमा देशका विभिन्न भागहरूमा भारी वर्षा र सम्भावित बाढीको चेतावनी दिएको छ। विशेषगरी गिलगिट–बाल्टिस्तान र खैबर पख्तुनख्वा क्षेत्रमा छिटफुट वर्षा र गडगडाहटसहितको आँधी आउने सम्भावना छ। यसका कारण बाढी, पहिरो र हिमताल फुट्ने जोखिम रहेका जिल्लाहरूमा सतर्कता अपनाउन भनिएको छ। प्रभावित जिल्लाहरूमा चितवन, डिर, स्वात, शाङ्ग्ला, मनसेहरा, बत्तग्राम, एबटाबाद, मलाकण्ड, पेशावर, चरसड्डा, नौशेरा, मरदान, टाङ्क, बन्नु र लक्की मरवात पर्छन्।
सरकार र स्थानीय निकायहरूले उच्च सतर्कता अपनाइरहेको भए पनि आगामी दिनमा स्थिति अझ जटिल बन्न सक्ने सम्भावना रहेको छ। जनजीवन र क्षतिपूर्ति पुनःस्थापनाका लागि व्यापक सहयोग र तत्काल राहत आवश्यक छ।
अफगान शरणार्थीहरूको घरफिर्ती जारी, पाकिस्तान र इरानबाट व्यापक आगमन
अफगान शरणार्थी समस्यासम्बन्धी उच्च आयोगले जानकारी दिएको अनुसार, शुक्रबारको दिनमा मात्रै एक हजार ६९३ अफगान शरणार्थी परिवार—कुल ६ हजार २०२ जना व्यक्ति छिमेकी मुलुकहरू इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन् ।
उनीहरूले अफगानिस्तानको विभिन्न सीमा नाकाहरूबाट प्रवेश गरेका छन्, जसमा पश्चिम हेरातस्थित इस्लाम कला नाका, पूर्व ननगहारस्थित तोर्खम नाका, दक्षिण कन्धारस्थित स्पिन बोल्दक नाका र पश्चिम निमरोजस्थित अब्रीशम नाका रहेका छन् ।
संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले सन् २०२५ को सुरुदेखि अगस्ट महिनासम्म मात्रै २० लाख भन्दा बढी अफगान नागरिक इरान, पाकिस्तान तथा अन्य देशहरूबाट अफगानिस्तान फर्किएको जानकारी दिएको छ ।
अफगानिस्तानको शरणार्थी तथा पुनःस्थापना मन्त्रालयका अनुसार हाल करिब ६० लाख अफगान नागरिक विदेशमा शरणार्थीको रूपमा बसोबास गरिरहेका छन्, जसमध्ये अधिकांश अवैध रूपमा इरान र पाकिस्तानमा छन् ।
न्यायको आवाजलाई बुलन्द बनाउन नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ: मन्त्री पन्त
भारतको रक्षा क्षेत्रमा ठूलो प्रगति, लडाकु विमान इन्जिन स्वदेशमै बन्ने
भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा निर्माण गर्न फ्रान्सेली कम्पनीसँग सहकार्य गर्दै आएको रक्षा मन्त्री राजनाथ सिंहले जानकारी दिएका छन् ।
सिंहले यसअघि गत मे महिनामा भारतले विकास गर्न लागेको पाँचौं पुस्ताको ‘एडभान्स्ड मिडियम कम्ब्याट एयरक्राफ्ट’ ९एएमसीए० को प्रोटोटाइप स्वीकृत गरेको थिए । उनले त्यसलाई ‘भारतको आत्मनिर्भर रक्षा क्षमतातर्फको महत्वपूर्ण उपलब्धि’ भनेर उल्लेख गरेको थिए ।
शुक्रबार नयाँ दिल्लीमा आयोजित एक सम्मेलनमा बोल्दै मन्त्री सिंहले लडाकु विमान इन्जिनको स्वदेशी निर्माणसम्बन्धी थप विवरण प्रस्तुत गरेका थिए ।
उनले भनेका छन्, “हामी भारतमै लडाकु विमानका इन्जिन उत्पादन गर्न अगाडि बढिरहेका छौं । यसका लागि फ्रान्सेली कम्पनीसँग सहकार्य भइरहेको छ ।”
यद्यपि मन्त्री सिंहले कम्पनीको नाम खुलाउनु भएन, तर भारतीय सञ्चारमाध्यमहरूले यो कम्पनी सफ्रान भएको उल्लेख गरेका छन् । सफ्रान फ्रान्सको एक प्रमुख एयरोस्पेस र रक्षा कम्पनी हो, जसले विगत धेरै वर्षदेखि भारतमा विभिन्न परियोजनामा काम गर्दै आएको छ ।
तर अहिलेसम्म यो सहकार्यको औपचारिक पुष्टि भएको छैन ।
भारत, जुन विश्वकै ठूलो हतियार आयातकर्ताहरू मध्ये एक हो, आफ्ना सुरक्षाफौजको आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यसै सन्दर्भमा स्वदेशमै हतियार तथा रक्षा उपकरण उत्पादनमा जोड दिँदै आएको छ ।
पछिल्लो समय भारतले पश्चिमी मुलुकहरूसँग सैन्य सहकार्य बलियो बनाउँदै आएको छ, जसमा अमेरिका, जापान र अष्ट्रेलियासँगको क्वाड गठबन्धन पनि पर्छ ।
यसै वर्षको अप्रिलमा भारतले फ्रान्सको दसोल्ट एभिएसनसँग २६ वटा रफाल लडाकु विमान खरिद गर्न बहु–अर्ब डलरको सम्झौता गरेको थियो । यसले भारतले पहिले नै खरिद गरेका ३६ वटा रफाल विमानमा थपिनेछ र रूसी मिग–२९के विमानहरूको स्थान लिनेछ ।
रक्षा मन्त्री सिंहले सन् २०३३ सम्म भित्र्याइने स्वदेशी रक्षा सामग्री खरीदका लागि कम्तीमा १०० अर्ब अमेरिकी डलर बराबरको नयाँ सम्झौता गरिने वाचा पनि गरेका छन् ।
हालैका वर्षहरूमा भारतले ठूलो हेलिकप्टर कारखाना सञ्चालनमा ल्याउनुका साथै, पहिलो स्वदेशी विमानवाहक जहाज, युद्धपोत र पनडुब्बी निर्माण सम्पन्न गरेको छ। साथै, लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण समेत सफलतापूर्वक सम्पन्न गरेको छ ।
भारतको सुरक्षा दृष्टिकोणमा पाकिस्तान प्रमुख चुनौतीको रूपमा रहेको बताइन्छ । पछिल्लो मे महिनामा भारत र पाकिस्तानबीच सन् १९९९ यता कै सबैभन्दा तनावपूर्ण चारदिने सैन्य झडप भएको थियो ।

