`

आईजीपीमाथिको करोडौँको भ्रष्टाचार आरोपमा छानबिन गर्न माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि प्रहरीका बन्दोबस्तीका सामग्री खरिदमा करोडौँ रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले मोजा, जुत्ता तथा कपडालगायत प्रहरीका सामग्री खरिदमा भएको भनिएको अनियमितताको विषय सार्वजनिक लेखा समितिसहित सम्बन्धित निकायमा पुगिसक्दा पनि सरकारले छानबिनमा चासो नदेखाएको आरोप लगाए ।

उनले अन्य पदाधिकारीमाथि सामान्य आरोप लाग्दा समेत कारबाही हुने तर प्रहरी प्रमुखमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लाग्दा पनि पदमै राखिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

सुनारले मन्त्री र प्रहरी महानिरीक्षकका लागि छुट्टाछुट्टै मापदण्ड हुन नहुने भन्दै आरोपबारे तत्काल निष्पक्ष अनुसन्धान गर्न माग गरे ।

प्रहरी संगठनभित्र आर्थिक अनियमितताको आरोप लाग्नु संवेदनशील विषय भएको उल्लेख गर्दै उनले यस्ता आरोपले सुरक्षा निकायप्रतिको जनविश्वास र संगठनको साखमा असर पर्ने बताए ।

उनले आरोप पुष्टि भए महानिरीक्षकलाई निलम्बन गरी कानुनी प्रक्रियाबाट अनुसन्धान अघि बढाउनुपर्ने मागसमेत गरे ।

भ्रष्टाचारसम्बन्धी विषय सार्वजनिक भइसकेपछि पनि सरकार मौन बस्नुले अनियमिततालाई संरक्षण गरेको सन्देश जाने उनको आरोप थियो ।

‘ग्यासको लाइनभन्दा मन्त्रीको लाइन लामो हुनेछ’

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव चर्किएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सरकारमाथि कडा प्रश्न उठाएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ग्यास अभावका कारण सर्वसाधारण भोकै बस्नुपर्ने अवस्था आउँदा पनि सरकारले जनताको समस्यालाई गम्भीर रूपमा नलिएको आरोप लगाइन् ।

उनका अनुसार बजारमा ग्यासका सिलिन्डर भए पनि कतिपय व्यवसायीले बिक्री नगरेको गुनासो उपभोक्ताबाट आइरहेको छ । ‘पसलमा ग्यास छ, तर बेच्न मान्दैनन्’ भन्दै आफूलाई दैनिक हजारौँ फोन आउने गरेको उनले बताइन् ।

तामाङले सरकारभन्दा ग्यासको कालोबजारी गर्ने गिरोह बलियो भएको हो कि भन्दै प्रश्न गरिन् । जनताले ठूलो मत दिएर सरकारमा पठाए पनि अहिले दाउरा खोजेर खाना पकाउनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको उनको भनाइ थियो ।

ग्यासको अभाव चर्किरहेका बेला सरकारले मन्त्री परिवर्तनमा मात्र ध्यान दिएको भन्दै उनले व्यंग्य गरिन् । ‘महिनैपिच्छे ग्यासकै लागि मन्त्री फेरिरहने हो भने ग्यासको लाइनभन्दा मन्त्रीको लाइन लामो हुनेछ,’ उनले भनिन् ।

यदि वास्तवमै बजारमा ग्यासको अभाव हो भने सरकारले तत्काल सार्वजनिक रूपमा अवस्था स्पष्ट पार्नुपर्ने तामाङको माग छ । जनतालाई वास्तविक स्थिति जानकारी गराएर आपूर्ति सहज बनाउन सरकारले तत्काल कदम चाल्नुपर्ने उनले बताइन् ।

सरकार जनताको दैनिक समस्याप्रति संवेदनशील हुन नसकेको आरोप लगाउँदै उनले ग्यास आपूर्ति व्यवस्थित गर्न र कालोबजारी नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्न माग गरिन् ।

‘राज्य बबितासम्म पुगेन’

काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पतालनजिकै सडक पेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद कार्कीले संविधानले स्वास्थ्य तथा सुरक्षित मातृत्वको हक सुनिश्चित गरे पनि नागरिकले व्यवहारमा पाउने स्वास्थ्य सेवाबीच ठूलो दूरी रहेको बताइन् ।

नेपालमा संस्थागत प्रसूति निःशुल्क रहेको, आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको तथा मातृ मृत्युदर घटिरहेको दाबी गरिए पनि संघीय सरकारी अस्पतालकै नजिक महिलाले सडक पेटीमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु दुःखद् भएको उनको भनाइ थियो ।

‘गजेन्द्र नारायण सिंह अस्पताल, त्यो पनि संघीय सरकारी अस्पतालको नजिकै सडक पेटीमा एउटी आमाले बच्चा जन्माउनु परेको दृश्यले हाम्रो मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड हामीसामु ल्याइदिएको छ,’ उनले भनिन् ।

कार्कीले प्रसव पीडामा अस्पताल पुगेकी महिलाको तत्काल ट्रायाज र आकस्मिक क्लिनिकल मूल्यांकन सुरु गर्नुपर्ने भए पनि उक्त घटनामा त्यसो भए–नभएकोबारे प्रश्न उठाइन् । प्रसव पीडामा रहेकी महिलालाई सुरक्षित रूपमा अस्पतालमा भर्ना गरी निरन्तर निगरानीमा राख्नुपर्ने र बिरामी अस्पतालबाट बाहिरिएको अवस्थामा खोजी तथा सम्पर्क गर्नुपर्ने उनको भनाइ थियो ।

अस्पतालमा बिरामीको सम्पर्क नम्बर राखिने भएकाले नियमित मूल्यांकनका क्रममा बिरामी बेडमा नभेटिए तत्काल खोजी गर्नुपर्ने उनले बताइन् । ‘हाम्रो इमरजेन्सी मोनिटरिङ सिस्टम कस्तो छ ?’ भन्दै उनले अस्पताल व्यवस्थापनसँग प्रश्न गरिन् ।

आर्थिक अवस्था कमजोर भएकी गर्भवतीले परीक्षणका लागि पैसा नभएको बताएपछि सामाजिक सेवा इकाइ र आमा सुरक्षा कार्यक्रम तत्काल सक्रिय हुनुपर्ने उनले बताइन् । आमा सुरक्षा कार्यक्रमले बच्चा जन्माउने शुल्क मात्र नभई आवश्यक स्वास्थ्य सेवा, परीक्षण, औषधि र उपचारमा समेत सहयोग पुग्ने गरी पुनःव्यवस्थित गर्नुपर्ने उनको माग थियो ।

स्वास्थ्य मन्त्रालयले घटनाबारे अनुसन्धान अघि बढाइसकेको र नेपाल मेडिकल काउन्सिलको टोलीसमेत घटनास्थल पुगेको उल्लेख गर्दै कार्कीले छानबिन दोषी पहिचान र कारबाहीमा मात्र सीमित हुन नहुने बताइन् । भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी प्रणालीगत सुधारमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।

उनले प्रसवका लागि अस्पताल आउने महिलाको आर्थिक अवस्था नहेरी तत्काल उपचार सुरु गर्ने गरी ‘नो डिनायल इन लेबर प्रोटोकल’ लागू गर्न माग गरिन् । उनका अनुसार प्रसवमा आएकी गर्भवती महिलालाई कुनै बहाना बनाएर उपचारबाट वञ्चित नगरी तत्काल क्लिनिकल मूल्यांकन गरी सुरक्षित रूपमा अस्पतालमा राख्ने व्यवस्था हुनुपर्छ ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत डेलिभरी मात्र निःशुल्क गर्ने नभई गर्भवती महिलालाई आवश्यक पर्ने परीक्षण, औषधि, उपचार, भिडियो एक्सरेलगायत सम्पूर्ण स्वास्थ्य सेवामा सहुलियत तथा निःशुल्क व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

त्यस्तै, प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाइलाई २४ घण्टा सक्रिय राख्नुपर्ने र आर्थिक रूपमा कमजोर बिरामीलाई आफैं पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिइन् ।

कार्कीले प्रत्येक अस्पतालमा विस्तृत ‘मेटर्नल केयर अडिट’को व्यवस्था गरी मातृ स्वास्थ्य सेवाको नियमित निगरानी र मूल्यांकन गर्नुपर्ने प्रस्ताव पनि राखिन् । बिरामी कहिले अस्पताल आयो, ट्रायाज भयो कि भएन, उपचार तथा हस्तक्षेप कहिले गरियो, शल्यक्रिया आवश्यक थियो कि थिएन, उपचारमा कहाँ ढिलाइ भयो र आर्थिक समस्या थियो कि थिएन भन्नेसम्मको विवरण अडिटमा समेटिनुपर्ने उनको भनाइ थियो ।

‘राज्य खोज्दै बबिता अस्पतालसम्म पुगिन्, सभामुख महोदय, तर राज्यको सेवा बबितासम्म पुगेन,’ उनले भनिन्, ‘बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनियोस्– चिन्ता नलेऊ बबिता, म तिम्रो साथमा छु ।’

कार्कीले मातृत्व स्वास्थ्यलाई कागजमा सीमित नराखी व्यवहारमै सुरक्षित र सहज बनाउन सरकारसँग माग गरिन् ।

सरकारले भोटेकोसी बाढीको क्षतिको आधिकारिक तथ्यांकसमेत दिन सकेन : सांसद गुरुङ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिको आधिकारिक तथ्यांकसमेत सरकारले सार्वजनिक गर्न नसकेको भन्दै प्रश्न उठाएकी छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र उद्धार टोलीको प्रशंसा गरिन् ।

उनले भोटेकोसी बाढीबाट कति जनाको मृत्यु भयो र कति बेपत्ता छन् भन्ने यकिन तथ्यांक सरकारले अझै सार्वजनिक गर्न नसकेको भन्दै नागरिकको जीवन र सम्पत्ति जोगाउन नसकेको सरकारले क्षतिको विवरणसमेत यकिन गर्न नसक्नु गम्भीर विषय भएको बताइन् ।

‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको पैसा खर्च गर्न सरकारले कुन साइत कुरिरहेको छ ?’ उनले प्रश्न गरिन् ।

बाढीबाट जोगिएका प्रभावित नागरिकलाई उद्धार कोषको रकमबाट प्रत्यक्ष नगद राहत उपलब्ध गराउनुपर्ने उनको माग छ । कोषमा रकम जम्मा गरेर मात्र पीडित नागरिकले राहत नपाउने भन्दै उनले प्रभावितको खातामा पुग्ने गरी राहत वितरण गर्न सरकारसँग आग्रह गरिन् ।

सांसद गुरुङले पछिल्लो समय देखिएका ग्यास अभाव र अस्पतालमा उपचार तथा प्रसूति सेवासम्बन्धी घटनालाई लिएर पनि सरकारको आलोचना गरिन् । सिंहदरबार आसपासमै ग्यास खोज्दा निराश भएका एक युवाले धोबीखोलामा हाम फालेर आत्महत्याको प्रयास गरेको घटनाबारे सरकार जानकार छ कि छैन भन्दै उनले प्रश्न गरिन् ।

‘प्रधानमन्त्रीज्यू, नागरिकले नयाँ मन्त्रीभन्दा पनि ग्यास खोजेका छन्,’ उनले भनिन्, ‘मन्त्री त फेरिनुभयो, अब नागरिकको घरमा भएको रित्तो सिलिण्डर पनि फेरियोस् ।’

सप्तरीमा आर्थिक अभावका कारण अस्पतालबाहिरै महिलाले बच्चा जन्माउनुपरेको घटनाप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराइन् । सुरक्षित मातृत्व राज्यको जिम्मेवारी भएको भन्दै आर्थिक अभावका कारण महिलाले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु लज्जास्पद भएको उनको भनाइ छ ।

गुरुङले प्रधानमन्त्रीको नियतमाथि तत्काल शंका नगरे पनि सरकारले अपेक्षित परिणाम दिन नसकेको बताइन् । सरकार अहंकार, अज्ञानता, घेराबन्दी वा अन्य कुनै कारणले भए पनि असफलताको बाटोतर्फ गइरहेको भन्दै उनले प्रधानमन्त्रीलाई सचेत गराइन् ।

‘नागरिकले ठूलो आशा गरेका छैनन् । पैसा तिरेर ग्यास खोजेका छन्, बाढीमा परेका आफन्तको अवस्था जान्न चाहेका छन्, पीडित परिवारले राज्यबाट अभिभावकत्व खोजेका छन्,’ उनले भनिन्, ‘त्यति पनि गर्न किन सकिरहेको छैन यो सरकारले ?’

बैठकमा सांसद गुरुङले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुंगाखोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराइन् ।

हुंगाखोला र दूधकोसी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गर्दै उनले सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक संयन्त्र तत्काल परिचालन गर्न सरकारसँग अनुरोध गरिन् ।

अस्पतालले भर्ना नलिएपछि फुटपाथमै सुत्केरी, छानबिन टोली राजविराजमा

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न स्वास्थ्य मन्त्रालयले टोली परिचालन गरेको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताले शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकमा घटना सार्वजनिक भएलगत्तै छानबिन टोली गठन गरी राजविराज पठाइएको जानकारी दिएकी हुन् ।

मन्त्रीका अनुसार नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय ‘एथिकल कमिटी’ र मन्त्रालयको क्युरेटिभ डिभिजन प्रमुख डा. पवन रायमाझी सम्मिलित संयुक्त टोली गठन गरिएको हो ।

टोलीले घटनाको सत्यतथ्य पत्ता लगाउन राजविराजमै पुगेर जाँचबुझ गरिरहेको मन्त्री मेहताले बताइन् ।

स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, नर्सिङ वा पारामेडिक्समध्ये जोसुकैको कमजोरी वा लापरबाही पुष्टि भए पनि मन्त्रालयले दोषीमाथि कानुनी कारबाही अघि बढाउने उनको भनाइ छ ।

बैठकमा सांसद रमेश मल्लले संघीय सरकार मातहतको अस्पतालमै यस्तो गम्भीर घटना हुनुमा स्वास्थ्य मन्त्री र सचिवले नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।

उनले घटनामा संलग्न दोषीमाथि तत्काल छानबिन गरी कडा कानुनी कारबाही गर्न माग गरे । सरकारी अस्पतालमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन मन्त्रालयले ठोस योजना ल्याउनुपर्ने उनको भनाइ थियो ।

ईजीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग

काठमाडौं । नेकपाका सांसद युवराज दुलालले सार्वजनिक खरिदका लागि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली (ईजीपी) तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दुलालले ईजीपी प्रणाली बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक खरिद प्रक्रिया प्रभावित भएको बताए । औषधि, स्वास्थ्य सामग्री तथा अत्यावश्यक वस्तुको खरिददेखि विकास निर्माणका कामसमेत प्रभावित भएको उनको भनाइ छ ।

२०७० सालमा सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, जवाफदेही, प्रभावकारी, प्रतिस्पर्धी र मितव्ययी बनाउने उद्देश्यले सरकारले ईजीपी प्रणाली लागू गरेको स्मरण गर्दै दुलालले १३ वर्षपछि आएर उक्त प्रणाली बन्द गरिनु गम्भीर विषय भएको बताए ।

उनका अनुसार साउन, भदौ, असोज र कात्तिक सार्वजनिक खरिद तथा ठेक्का प्रक्रियाका लागि महत्वपूर्ण समय हुन् । संघीय सरकारअन्तर्गतका सयौँ कार्यालय, ७५३ स्थानीय तह र सातवटै प्रदेशका विभिन्न कार्यालयबाट हुने खरिद तथा ठेक्का प्रक्रिया ईजीपी प्रणाली बन्द हुँदा प्रभावित भएको उनले बताए ।

दुलालले ईजीपी प्रणाली ह्याक भएको भन्ने विषयमा समेत सरकारले स्पष्ट पार्नुपर्ने बताए । प्रणाली ह्याक भएको भए त्यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

‘ह्याक भएको र ह्याकिङमा संलग्नहरूलाई छानबिन गरियोस्,’ उनले भने, ‘जो सुकै होस्, कर्मचारी, व्यवसायी वा बिचौलिया—दोषी देखिए कारबाहीको दायरामा ल्याइयोस्, उन्मुक्ति नदिइयोस् ।’

उनले पुरानो कोडका कारण प्रणाली सञ्चालन हुन नसक्ने बहाना बनाएर ईजीपीलाई नै विस्थापित गर्ने प्रयास भइरहेको हुन सक्ने भन्दै सरकारलाई सचेत गराए । पुरानो प्रणालीमा भएका कमजोरी सुधार गरेर सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

डिजिटल शासन, सुशासन र समृद्धिको कुरा गर्ने सरकारले ईजीपी बन्द गरेर सार्वजनिक खरिदलाई पुनः कागजी प्रक्रियामा फर्काए त्यो ठूलो विडम्बना हुने दुलालले बताए ।

‘विद्युतीय प्रणालीमा जाने भनेको सरकार फेरि कागजी युगमा फर्कियो भने त्योभन्दा ठूलो विडम्बना केही हुँदैन,’ उनले भने, ‘ठेक्कापट्टालाई फेरि कागजी मोडलमा लगेर गुन्डागर्दी र लुटपाटको शैलीमा सञ्चालन गर्ने अवस्था नआओस् ।’

ईजीपी प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धा कायम गर्न सरकार गम्भीर बन्नुपर्ने उनले बताए।

भोटेकोसी बाढीपीडितको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन सांसद काउँचाको माग

काठमाडौं। नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद काउँचाले भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले घर, सडक र सम्पत्तिमा क्षति पुर्‍याउनुका साथै प्रभावित नागरिकको मनमा गहिरो चोट पुर्‍याएको बताइन् । बाढीको असर पीडित नागरिकमा लामो समयसम्म रहन सक्ने भन्दै उनले तत्काल मनोसामाजिक सहयोग आवश्यक रहेको बताइन् ।

उनका अनुसार बाढी प्रभावित क्षेत्रका नागरिकसँगै स्थानीय तहमा कार्यरत कर्मचारीको मानसिक अवस्था पनि गम्भीर बन्दै गएको छ । अपर त्रिशूली–१ मा कार्यरत रसुवाका इन्जिनियर सुरेश सापकोटा बेपत्ता भएको र शिक्षक ईश्वरी भट्ट मानसिक रूपमा विक्षिप्त भएको उदाहरण दिँदै उनले विपद्पछि धेरै नागरिक तीव्र मानसिक तनाव, चिन्ता, एन्जाइटी र डिप्रेसनलगायत समस्याबाट गुज्रिरहेको बताइन् ।

‘विपद्पछिको पुनर्स्थापना भनेको भत्किएका घर र सडक बनाउनु मात्र होइन, भत्किएको मन र आशालाई पनि पुनर्निर्माण गर्नु हो,’ उनले भनिन् ।

सांसद काउँचाले प्रभावित क्षेत्रमा बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा आफन्त गुमाएका परिवारलाई लक्षित गरी तत्काल मनोसामाजिक कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरिन् । पीडितको भविष्यप्रतिको अनिश्चितता हटाउन पुनर्स्थापना र जीविकोपार्जनको स्पष्ट योजना ल्याउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, स्थानीय आवश्यकता र संस्कृतिअनुसार योग, ध्यान तथा सामुदायिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताइन् ।

‘बाढीले मानिसको घर बगाएको छ, तर सरकारले उनीहरूको आशा बग्न दिनु हुँदैन,’ सांसद काउँचाले भनिन्, ‘भौतिक राहतसँगै मानसिक स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिई पीडित नागरिकलाई घर मात्र होइन, सुरक्षित भविष्य र बाँच्ने आत्मविश्वास पनि दिनुपर्छ ।’

पाठ्यक्रमको बोझ घटाउनेदेखि एआई पढाउनेसम्मको सुझाव

काठमाडौं । विद्यार्थीको पाठ्यभार घटाउनेदेखि कृत्रिम बौद्धिकता (एआई) लाई पाठ्यक्रममा समेट्नेसम्मका सुझाव शिक्षा मन्त्रालयले संकलन गरेको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट शिक्षालाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी र रोजगारीसँग जोड्नुपर्ने सुझाव आएको हो ।

सहभागीहरूले पाठ्यक्रममा रहेका अनावश्यक विषयवस्तु र पाठ्यभार घटाउँदै शिक्षा प्रणालीलाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्नेमा जोड दिएका छन् । नयाँ प्रविधिको प्रयोग बढाउँदै एआईसम्बन्धी ज्ञानसमेत विद्यार्थीलाई दिनुपर्ने उनीहरूको सुझाव छ ।

कोशी प्रदेशमा शिक्षालाई स्थानीय उत्पादनसँग जोडेर स्वरोजगार र उद्यमशीलता बढाउने किसिमको पाठ्यक्रम बनाउनुपर्ने सुझाव आएको छ । सिकाइलाई विद्यार्थीकेन्द्रित, सिर्जनात्मक, प्रयोगात्मक र प्रविधिमैत्री बनाउनुपर्नेमा समेत जोड दिइएको छ ।

मधेश प्रदेशमा भने विषयवस्तु र पाठ्यभार घटाउने विषय प्रमुख रूपमा उठेको छ । कृषि, पर्यटन तथा स्थानीय सम्भावनासँग जोडिएका ज्ञान र सीप पाठ्यक्रममा समेट्नुपर्ने तथा एआईसम्बन्धी विषयलाई समेत स्थान दिनुपर्ने सुझाव दिइएको छ ।

सहभागीहरूले मातृभाषा, नेपाली र अंग्रेजी भाषामा विद्यार्थीको दक्षता बढाउनुपर्ने, स्थानीय ज्ञान र सीपबाट रोजगारी सिर्जना गर्ने विषय समावेश गर्नुपर्ने तथा शिक्षकलाई पाठ्यक्रम निर्माणमा सहभागी गराउनुपर्ने बताएका छन् ।

बागमती र गण्डकी प्रदेशमा पनि रोजगार तथा उद्यमशीलतामुखी शिक्षा, नैतिक शिक्षा, स्थानीय ज्ञान, सीप, कला, संस्कृति र व्यावहारिक शिक्षामा जोड दिइएको छ । कृषि, प्राविधिक तथा पूर्वव्यावसायिक शिक्षालाई विस्तार गरी आत्मनिर्भर जनशक्ति उत्पादन गर्नुपर्ने सुझाव आएको छ ।

लुम्बिनीका सहभागीहरूले पाठ्यभार र विषयवस्तु घटाउनुपर्ने तथा एआईको प्रयोगबाट विद्यार्थीको सिर्जनात्मक क्षमता विकास गर्नुपर्ने बताएका छन् । युवालाई विदेश पलायन हुन बाध्य बनाउनेभन्दा स्वदेशमै रोजगारी र उद्यम गर्न सक्ने बनाउने शिक्षा आवश्यक रहेको उनीहरूको भनाइ छ ।

कर्णालीमा प्रारम्भिक बालविकास तथा शिक्षालाई विद्यालय संरचनामा दुई वर्षको अवधिमा ल्याउनुपर्ने, पाठ्यक्रम कार्यान्वयनको प्रभावकारी अनुगमन गर्नुपर्ने र पटकपटक हुने पाठ्यक्रम परिवर्तनबाट उत्पन्न अन्योल अन्त्य गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रधानाध्यापकलाई केवल प्रशासक नभई शैक्षिक नेतृत्वको भूमिकामा विकास गर्नुपर्ने, स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय तहलाई अधिकार दिनुपर्ने, विद्यार्थीका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने र अभिभावक शिक्षालाई प्राथमिकता दिनुपर्ने सुझावसमेत आएको छ ।

पाठ्यक्रम विकास केन्द्रले प्रारूप परिमार्जनका क्रममा पहिलो चरणमा सातै प्रदेशका २८ जिल्लाबाट शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ, स्थानीय तह र अन्य सरोकारवालाको सुझाव संकलन गरेको हो ।

केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार २८ जिल्लापछि ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइबाट समेत सुझाव लिइनेछ । केन्द्रको वेबसाइटमार्फत पनि सुझाव संकलन गरिनेछ ।

सातै प्रदेशका छलफलबाट पाठ्यभार घटाउने, शिक्षालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने, प्रविधि तथा एआई समेट्ने र स्थानीय आवश्यकता तथा जीवनोपयोगी सीपलाई प्राथमिकता दिने विषयमा साझा धारणा देखिएको छ ।

प्राप्त सुझावका आधारमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनको प्रक्रिया अघि बढाइने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

सभापति थापा र नेता रामहरि खतिवडाबीच जम्काभेट

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा र नेता रामहरि खतिवडाबीच शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा भेटवार्ता भएको छ ।

भेटमा भोटेकोशी बाढीपछिको अवस्था, पार्टीभित्र देखिएको विवाद तथा पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको जनाइएको छ ।

पार्टीको आन्तरिक अवस्था र पछिल्लो राजनीतिक परिस्थितिबारे समेत दुई नेताबीच कुराकानी भएको बताइएको छ।

४७५ सिलिन्डर बरामद, दुई कारोबारी पक्राउ

काठमाडौं। बजारमा ग्यासको हाहाकार मच्चिरहेका बेला उपत्यकामा ठूलो परिमाणमा सिलिन्डर लुकाएर राखिएको भेटिएको छ ।

प्रहरीले काठमाडौंका दुई ठाउँबाट एकैदिन ३७२ सिलिन्डर बरामद गर्दै महँगोमा ग्यास बेच्ने दुई कारोबारीलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नरेफाँटबाट १८३ र सामाखुसीबाट १८९ वटा सिलिन्डर बरामद गरेको हो ।

पक्राउ पर्नेमा नरेफाँटस्थित रामेछाप ब्रान्ड ग्यास डिलरका सञ्चालक नारायण श्रेष्ठ र बसुन्धारास्थित हाम्रो सगरमाथा सहकारीमार्फत ग्यास कारोबार गर्दै आएका प्रदीप घिमिरे छन् ।

प्रहरीका अनुसार नरेफाँटको डिलरले ठूलो संख्यामा सिलिन्डर थुपारेर बजारमा अभाव सिर्जना गर्ने र साँखु तथा चक्रपथ क्षेत्रमा महँगोमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घिमिरेले भने प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा ग्यास बिक्री गर्ने गरेको प्रहरीको दाबी छ ।

ग्यास अभावकै बीच प्रहरीले बिहीबार भक्तपुरबाट थप १०३ सिलिन्डर बरामद गरेको थियो । सूर्यविनायकबाट ७५ र इटाछेबाट २८ सिलिन्डर बरामद भएका थिए ।

त्यस क्रममा सूर्यविनायक–३ ब्रह्मनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्दै आएका २५ वर्षीय उमेश साह र इटाछेमा सगर ग्यास बिक्री गर्ने ४१ वर्षीय राजेश कर्माचार्य पक्राउ परेका छन् ।

प्रहरीका अनुसार साहले एउटा सिलिन्डर २ हजार ८ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका थिए । भक्तपुरबाट पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ ।

दुई दिनमै काठमाडौं र भक्तपुरबाट ४७५ सिलिन्डर बरामद भएपछि अहिलेको ग्यास अभाव आपूर्तिको समस्यामात्र हो कि गोदाममा थुपारेर कृत्रिम रूपमा अभाव सिर्जना गरिएको हो भन्ने प्रश्न उठेको छ ।

प्रहरीले ग्यास लुकाउने, अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्नेमाथि निगरानी र कारबाही जारी राख्ने जनाएको छ ।

गगनको दाबी : कांग्रेस महाधिवेशन एक घण्टा पनि सर्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन तोकिएको मितिबाट एक घण्टासमेत नसर्ने दाबी गरेका छन् ।

महाधिवेशनको मिति फेरबदल हुने हो कि भन्ने आशंकामा नपर्न उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा थापाले असोज ३ र ४ गते वडा अधिवेशन हुने र असोज १६ गतेदेखि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताए ।

संविधान, कांग्रेसको विधान र अदालतको फैसलाले पार्टीलाई निर्धारित प्रक्रियाबाट पछि हट्ने सुविधा नदिएको उनको भनाइ थियो । त्यसैले महाधिवेशनको मिति सर्ने विषयमा कुनै भ्रम नराख्न उनले आग्रह गरे ।

महाधिवेशनमा कसैलाई सहभागी हुनबाट वञ्चित नगरिएको दाबी गर्दै थापाले सबैको सहभागिता सुनिश्चित हुने बताए । महाधिवेशनबाट नेतृत्व चयन भएपछि पार्टीका सबै पक्षलाई समेटेर कांग्रेस जनतामाझ जाने उनको भनाइ छ ।

महाधिवेशनमा प्रतिस्पर्धा हुने र जित्नेहरू नेतृत्वमा आउने भन्दै उनले नेतृत्वमा नपुगेका नेताकार्यकर्तालाई समेत साथ लिएर ७७ जिल्लामा पुग्ने योजना सुनाए ।

थापाले आफू पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएकाले राजनीतिक जोखिम कहाँ लिनुपर्छ भन्ने राम्रोसँग बुझेको पनि बताए ।

पार्टीभित्रको कमजोरी हटाउने विषयमा कठोर बन्ने र एकता कायम गर्ने सवालमा लचक बन्ने उनको भनाइ थियो । ‘पार्टीभित्रको फोहोर सफा गर्ने कुरामा निर्मम र एकता बनाउन नरम हुने’ आफ्नो राजनीतिक सिकाइ रहेको थापाले बताए ।

बालेनले बोलाए ठूला उद्योगी, अर्थतन्त्र चलायमान बनाउनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले ठूला उद्योगी तथा व्यवसायीसँग छलफल थालेका छन् ।

प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत उद्योगी व्यवसायी सहभागी छन् ।

सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो बनाउने तथा सुस्त रहेको आर्थिक गतिविधिलाई गति दिने विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग तथा व्यवसाय सञ्चालनमा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण र रोजगारी सिर्जनाका विषय उठेका छन् ।

त्यस्तै, नयाँ लगानी भित्र्याउने, सञ्चालनमा रहेका व्यवसाय विस्तार गर्ने र अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने उपायबारे पनि उद्योगी व्यवसायीबाट सुझाव लिने काम भइरहेको छ ।

सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाएर लगानीमैत्री वातावरण निर्माण गर्ने र आर्थिक गतिविधि बढाउने विषयलाई छलफलको प्राथमिकतामा राखेको सचिवालयले जनाएको छ।

बुवाको हत्या गरेर शव झुन्ड्याए, फेरि भीरबाट फाले,आमाछोरा पक्राउ

पाँचथर । मिक्लाजुङमा बुवाको हत्या गरेको आरोपमा आमा र छोरा पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका–३ का इन्द्रकुमार दमाईको हत्या आरोपमा ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरा प्रहरी नियन्त्रणमा परेका हुन् ।

प्रहरीका अनुसार आमा-छोराले घरमै बन्चरो र दाउ प्रहार गरी दमाईको हत्या गरेका थिए । हत्या लुकाउन उनीहरूले शवलाई सुरुमा घरनजिकैको आल्चाको रुखमा झुन्ड्याएको र पछि त्यहाँबाट करिब पाँच सय मिटर तल भीरपाखामा लगेर फालेको खुलेको छ ।

दमाई गत भदौ २० गते छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा भेटिएका थिए । उनको घाँटीमा सलको पासो थियो भने निधारलगायत शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेको चोट देखिएको थियो ।

घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले आत्महत्या नभई हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका आमा–छोराले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिष कर्णले बताए ।

पक्राउ परेका दुवैको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूलाई अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको बन्चरोसहित अन्य केही हतियारसमेत बरामद गरेको जनाएको छ ।

घटनाको कारणलगायत विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पहिरोले हुङ्गु खोला थुनियो, तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका–२ र ४ भएर बग्ने हुङ्गु (हुङ्का) खोला पहिरो खसेपछि थुनिएको छ । शुक्रबार बिहान खसेको पहिरोले खोला रोकिएपछि त्यहाँ कृत्रिम ताल बनेको छ ।

गौरीशंकर हाइड्रोपावरको कार्यालयबाट करिब एक सय मिटर तल वडा नम्बर २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोले खोला थुनेपछि करिब एक सय मिटर लामो र १५ मिटर गहिरो पानी जमेको छ ।

सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नवीनराजा बुढाथोकीका अनुसार पहिरोले बनाएको अवरोधमाथिबाट अहिले पानी विस्तारै बग्न थालेको छ । त्यसका कारण तत्काल ठूलो जोखिम नदेखिए पनि कृत्रिम बाँध पूर्ण रूपमा सुरक्षित भने नरहेको उनले बताएका छन् ।

अवरोध फुटेर एक्कासि पानी बगेमा हुङ्गु खोलाको तल्लो तटीय क्षेत्रमा बाढीको असर पर्न सक्ने भएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । प्रहरीले नदी किनारमा बसोबास गर्ने स्थानीय तथा आसपासका दुई जलविद्युत् आयोजनालाई समेत उच्च सतर्कता अपनाउन भनेको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय बुङबाट करिब १० किलोमिटर दक्षिण–पूर्वमा पर्छ ।

पहिरोले बनाएको अस्थायी बाँध जुनसुकै बेला फुट्न सक्ने सम्भावना पूर्ण रूपमा हटिसकेको छैन । बाँध फुटेमा हुङ्गु खोलाको बाढी सोताङ र थुलुङ दुधकोशी गाउँपालिका हुँदै खोटाङ र ओखलढुङ्गातर्फ बग्ने दुधकोशी नदी प्रणालीसम्म प्रभाव पार्न सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोको माथिल्लो भागबाट पानी बग्न थालेकाले तत्कालका लागि ठूलो जोखिम नरहेको भए पनि पानीको बहाव र बाँधको अवस्थामाथि निगरानी भइरहेको छ ।

बाढी प्रभावित स्वास्थ्य संस्थाको पुनर्निर्माणमा जर्मनीले सहयोग गर्ने

काठमाडौं । जर्मन सरकारले बाढीबाट प्रभावित क्षेत्रमा क्षति पुगेका स्वास्थ्य संस्थाको पुनर्निर्माण तथा स्वास्थ्य सेवा पुनःस्थापनामा सहयोग गर्ने भएको छ।

बाढीका कारण पूर्ण तथा आंशिक रूपमा क्षति भएका स्वास्थ्य संस्थाको पुनर्निर्माण, प्रभावित स्वास्थ्य संस्थामा फोहोरमैला व्यवस्थापन प्रणालीको सुदृढीकरण तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार गरेको प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने विषयमा बिहीबार मन्त्रालयमा छलफल भएको हो।

छलफलका क्रममा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा नियमित बनाउन आवश्यक पूर्वाधार निर्माण तथा सेवा पुनःस्थापनाका विषयमा समेत कुराकानी भएको थियो।

मन्त्रालयमा भएको बैठकमा जर्मन दूतावासका उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन सेइडल, विकास सहयोग उपप्रमुख जान डिर्क्सेन, जीआईजेड नेपालकी प्रोग्राम म्यानेजर रुथ शुमाकर तथा डेपुटी प्रोग्राम म्यानेजर तीर्थकुमार सिन्हा सहभागी थिए।

बैठकमा बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको क्षति, तत्कालीन आवश्यकता तथा दीर्घकालीन पुनर्निर्माणका लागि गर्नुपर्ने कामबारे छलफल भएको थियो।

एफआरबीमार्फत ब्रह्माण्ड बुझ्ने प्रयास

काठमाडौं। ब्रह्माण्ड कति ठूलो छ र त्यो वास्तवमा केबाट बनेको छ भन्ने कुरा अझै रहस्यकै विषय छ। हामीले देख्न सक्ने तारा, ग्रह, ग्यास र धुलो ब्रह्माण्डको सानो हिस्सा मात्रै हुन्। बाँकी ठूलो भाग डार्क म्याटर र डार्क इनर्जीले ओगटेको मानिन्छ।

यिनै रहस्य बुझ्न वैज्ञानिकहरूले अहिले अन्तरिक्षबाट आउने अत्यन्त छोटो तर शक्तिशाली रेडियो संकेतलाई पछ्याइरहेका छन्। यसलाई फास्ट रेडियो बर्स्ट अर्थात् एफआरबी भनिन्छ।

एफआरबी केही मिलिसेकेन्डका लागि मात्र देखिन्छन्। समयका हिसाबले यो झिमिक्क गरेजति छोटो अवधि हो। तर यही छोटो समयमा निस्किएको ऊर्जा अर्बौं प्रकाश वर्षको दूरी पार गर्दै पृथ्वीसम्म आइपुग्न सक्छ।

वैज्ञानिकहरूका लागि यसको महत्व संकेत कति शक्तिशाली छ भन्नेमा मात्रै छैन। एफआरबी पृथ्वीसम्म आइपुग्दा उसले पार गरेको लामो यात्राले पनि धेरै कुरा बताउँछ।

एफआरबी कहाँबाट उत्पन्न हुन्छन् भन्ने प्रश्नको पूर्ण उत्तर अझै भेटिएको छैन। केही एफआरबी अत्यन्त शक्तिशाली चुम्बकीय क्षेत्र भएका मृत ताराहरू ‘म्याग्नेटार’बाट उत्पन्न हुने वैज्ञानिकहरूको अनुमान छ।

अन्तरिक्षमा उत्पन्न भएको एफआरबी पृथ्वीतर्फ आउँदा बाटोमा धेरै कुरा पार गर्छ। उसले आकाशगंगाभित्रको ग्यास र धुलो हुँदै आकाशगंगाबीचको विशाल खालीजस्तो देखिने क्षेत्र पनि पार गर्नुपर्छ।

त्यो यात्राका क्रममा एफआरबीको रेडियो संकेतमा सामान्य परिवर्तन आउँछ। वैज्ञानिकहरूले यही परिवर्तनलाई ध्यानपूर्वक अध्ययन गर्छन्।

सरल भाषामा भन्नुपर्दा, एफआरबीले अन्तरिक्षको बाटोमा के कति पदार्थ भेट्यो भन्ने कुरा उसको संकेतले केही हदसम्म बताइरहेको हुन्छ।

यदि यस्ता हजारौँ संकेत अध्ययन गर्न सकियो भने वैज्ञानिकहरूले ब्रह्माण्डमा पदार्थ कहाँ कति छ भनेर एउटा ठूलो नक्सा तयार गर्न सक्छन्। यही नक्साले ब्रह्माण्डका केही ठूला रहस्य बुझ्न सहयोग गर्न सक्छ।

हामीले देख्ने संसार सामान्य पदार्थबाट बनेको छ। तारा, ग्रह, पृथ्वी र मानव शरीरसम्म इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनजस्ता कणबाट बनेका छन्।

तर यस्तो सामान्य पदार्थले ब्रह्माण्डको कुल पदार्थ ऊर्जा संरचनाको करिब ५ प्रतिशत मात्रै ओगट्ने वैज्ञानिकहरूको अनुमान छ।

करिब २७ प्रतिशत हिस्सा डार्क म्याटर र करिब ६८ प्रतिशत डार्क इनर्जीले ओगटेको मानिन्छ।

डार्क म्याटर देखिँदैन। त्यसबाट प्रकाश निस्कँदैन। तर यसको गुरुत्वाकर्षण प्रभाव भने देखिन्छ। आकाशगंगामा तारा र अन्य पदार्थ कसरी घुमिरहेका छन् भन्ने अध्ययन गर्दा वैज्ञानिकहरूले अदृश्य पदार्थको प्रभाव रहेको निष्कर्ष निकालेका हुन्।

डार्क इनर्जीको रहस्य अझ गहिरो छ। यसलाई ब्रह्माण्डको विस्तारलाई तीव्र बनाइरहेको शक्तिका रूपमा बुझिन्छ। तर यो वास्तवमा के हो भन्ने कुरा वैज्ञानिकलाई अझै थाहा छैन।

एफआरबीबाट ब्रह्माण्डमा सामान्य पदार्थ कसरी फैलिएको छ भन्ने बुझ्न सकिएमा यी दुवै रहस्यलाई बुझ्ने प्रयासमा नयाँ तथ्य थपिन सक्छ।

एफआरबीको अध्ययनबाट न्युट्रिनोबारे पनि जानकारी लिन सकिने वैज्ञानिकहरूको विश्वास छ।

न्युट्रिनोलाई ‘घोस्ट पार्टिकल’ अर्थात् भूत कण भनिन्छ। यसको कारण हो, यो अन्य पदार्थसँग अत्यन्तै कम अन्तरक्रिया गर्छ। त्यसैले हरेक सेकेन्ड असंख्य न्युट्रिनो हाम्रो शरीर हुँदै पार भए पनि हामीले त्यसको कुनै अनुभूति गर्दैनौँ।

न्युट्रिनोको संख्या अत्यन्त धेरै भए पनि यसको द्रव्यमान(मास) निकै कम हुन्छ। यसको वास्तविक द्रव्यमान कति हो भन्ने प्रश्न अहिले पनि वैज्ञानिक अनुसन्धानको महत्वपूर्ण विषय बनेको छ।

ब्रह्माण्डमा पदार्थ कसरी जम्मा हुन्छ र कसरी फैलिन्छ भन्ने अध्ययन गर्दा न्युट्रिनोको प्रभावसमेत बुझ्न सकिने भएकाले एफआरबी वैज्ञानिकका लागि उपयोगी हुन सक्छ।

तर ब्रह्माण्डमा पदार्थको वितरण अध्ययन गर्नु त्यति सजिलो छैन।

आकाशगंगाको केन्द्रमा रहेका अतिविशाल ब्ल्याक होलबाट निस्कने ऊर्जा र पदार्थले वरपरको ग्यासलाई टाढासम्म धकेल्न सक्छ। यसलाई वैज्ञानिकहरूले ‘कस्मिक फिडब्याक’ भन्छन्।

यस प्रक्रियाले कुनै क्षेत्रमा पदार्थको घनत्व घटाउन सक्छ। तर यही परिवर्तन डार्क म्याटर वा अन्य ब्रह्माण्डीय प्रक्रियाका कारण पनि देखिन सक्छ।

त्यसैले वैज्ञानिकका लागि कुन परिवर्तन ब्ल्याक होल वा आकाशगंगाबाट निस्किएको ऊर्जाका कारण भयो र कुन परिवर्तन डार्क म्याटर, डार्क इनर्जी वा न्युट्रिनोका कारण भयो भन्ने छुट्याउनु महत्वपूर्ण हुन्छ।

क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी अर्थात् क्यालटेकका प्राध्यापक विक्रम रविसँग काम गरिरहेकी अनुसन्धानकर्ता कृति शर्माको नेतृत्वमा गरिएको अध्ययनले यही समस्यालाई बुझ्न एफआरबी उपयोगी हुन सक्ने देखाएको छ।

टोलीले करिब १०० वटा एफआरबीको अध्ययन गरेको थियो। यसबाट आकाशगंगाबाट बाहिर निस्कने ऊर्जा र पदार्थले आकाशगंगाबीचको क्षेत्रमा पार्ने प्रभावबारे जानकारी निकालिएको थियो।

अध्ययनले यस्तो फिडब्याकको प्रभाव विगतका केही अनुमानभन्दा कमजोर हुन सक्ने संकेत गरेको छ।

वैज्ञानिकका लागि अहिलेको करिब १०० एफआरबीको नमुना सुरुवात मात्रै हो।

सन् २०२९ पछि अमेरिकाको नेभाडामा क्यालटेकको ‘डीप सिनोप्टिक एरे’ सञ्चालनमा आएपछि एफआरबीको अध्ययनले ठूलो गति लिन सक्ने अपेक्षा गरिएको छ। यसले दशौँ हजार एफआरबी पत्ता लगाउने वैज्ञानिकहरूको अनुमान छ।

त्यति ठूलो संख्यामा एफआरबीको तथ्यांक जम्मा भएपछि ब्रह्माण्डमा पदार्थ कहाँ र कसरी फैलिएको छ भन्ने अझ स्पष्टसँग बुझ्न सकिनेछ।

यसबाट डार्क म्याटरको वितरण, डार्क इनर्जीको प्रभाव र न्युट्रिनोको द्रव्यमानबारे पनि थप सटीक अध्ययन गर्न सकिने सम्भावना छ।

अर्थात्, केही मिलिसेकेन्ड मात्रै टिक्ने एफआरबी अब वैज्ञानिकका लागि क्षणिक रेडियो विस्फोट मात्र रहेनन्। अर्बौं प्रकाश वर्ष टाढाबाट आएका यी संकेतले ब्रह्माण्डको अदृश्य संसारबारे सूचना बोकेर ल्याइरहेका हुन सक्छन्।

मानिसले अझै नदेखेको ब्रह्माण्डको ठूलो हिस्सा बुझ्ने यात्रामा यही छोटो रेडियो संकेत भविष्यको महत्वपूर्ण सन्देशवाहक बन्न सक्नेछ।

रवि लामिछानेसँगै फरार बलात्कार आरोपी पक्राउ

काठमाडौं। जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका र कारागारबाट फरार रहेका एक कैदीलाई रुकुम (पश्चिम) प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम), मुसिकोट खलंगाका अनुसार बाँफिकोट गाउँपालिका–२ जिपु बस्ने २६ वर्षीय दुर्गालाल परियार (दुर्गालाल दमाईं) पक्राउ परेका हुन्।

रुकुम जिल्ला अदालत मुसिकोटको २०८१ माघ ६ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति तोकिएका परियार कारागार कार्यालय रुकुम (पश्चिम भाग) मा कैद भुक्तान गरिरहेका थिए।

तर, २०८२ भदौ २४ गते रास्वपा सभापति रवि लामिछानेसँगै जेन–जी आन्दोलनका क्रममा कारागारको गेट तोडी उनी फरार भएका थिए।

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार राति अन्दाजी २१ः०० बजे निजकै घरवतनमा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ भने आवश्यक कारबाहीका लागि रुकुम जिल्ला अदालत मुसिकोटमा उपस्थित गराइने सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिएका छन्।

आप्रवासन नीतिमा निर्मम ट्रम्प

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आप्रवासन नियन्त्रणलाई आक्रामक रूपमा अघि बढाएका छन् । अवैध रूपमा अमेरिकामा रहेका आप्रवासीलाई देशबाट निकाल्ने अभियानलाई प्राथमिकता दिँदै प्रशासनले पक्राउ, हिरासत र निर्वासनको प्रक्रिया तीव्र पारेको छ ।

ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकी इतिहासकै ठूलो निर्वासन अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । त्यसअनुसार सीमा क्षेत्रमा सुरक्षा कडा पारिनुका साथै अमेरिकाभित्र रहेका आप्रवासीको पहिचान र पक्राउमा समेत संघीय निकायलाई सक्रिय बनाइएको छ ।

सरकारले आपराधिक गतिविधिमा संलग्न आप्रवासीलाई मुख्य लक्ष्य बनाइएको बताउँदै आएको छ । तर, विभिन्न स्वतन्त्र अध्ययनले पक्राउ पर्ने सबै व्यक्तिलाई आपराधिक पृष्ठभूमिसँग जोड्न नमिल्ने देखाएका छन् ।

अमेरिकी गृह सुरक्षा विभागले भने आईसीईबाट पक्राउ परेकामध्ये करिब ७० प्रतिशत व्यक्तिमाथि आपराधिक अभियोग रहेको वा उनीहरू कुनै अपराधमा दोषी ठहर भएको जनाएको छ । यसमा अदालतमा विचाराधीन अभियोगसमेत समावेश गरिएको छ । आलोचकहरूले भने अभियोग लाग्दैमा व्यक्ति अपराधी प्रमाणित नहुने भएकाले सरकारी तथ्याङ्कको व्याख्या सावधानीपूर्वक गर्नुपर्ने बताएका छन् ।

मेक्सिकोसँग जोडिएको अमेरिकी सीमामा कडाइ बढेपछि त्यहाँबाट हुने पक्राउमा कमी आएको देखिएको छ । त्यसको प्रभावस्वरूप आप्रवासन नियन्त्रणको ध्यान अमेरिकाभित्रै सरेको छ ।

इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) ले विभिन्न क्षेत्रमा आप्रवासीको खोजी तथा गिरफ्तारी अभियान सञ्चालन गरिरहेको छ । यसले आप्रवासी समुदायमा त्रास बढाएको अधिकारवादी संस्थाहरूको दाबी छ ।

आप्रवासन नियन्त्रणका क्रममा संघीय एजेन्टले गरेको बल प्रयोगलाई लिएर समेत विवाद बढेको छ । उपलब्ध विवरणअनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता आईसीई र कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनका एजेन्टबाट भएको गोली प्रहारका घटनामा कम्तीमा २० जना प्रभावित भएका छन् ।

सन् २०२६ को गर्मीयाममा भएका केही घटनाले विशेष चर्चा पाए । संघीय अधिकारीहरूले सम्बन्धित घटनामा परिस्थितिअनुसार बल प्रयोग गरिएको दाबी गरेका छन् भने अनुसन्धानसमेत अघि बढाइएको बताएका छन् ।

अर्कोतर्फ आप्रवासी अधिकारका पक्षमा काम गर्ने संस्था र केही स्थानीय नेताले संघीय एजेन्टबाट आवश्यकताभन्दा बढी बल प्रयोग भएको आरोप लगाएका छन् ।

अमेरिकी सरकारका अनुसार ट्रम्प प्रशासनले दोस्रो कार्यकाल सुरु गरेपछि करिब ९ लाख ८५ हजार मानिसलाई अमेरिकाबाट निर्वासन गरिसकेको छ ।

निर्वासन प्रक्रियामा आईसीई, सीबीपीलगायत संघीय निकाय संलग्न छन् । तर, प्रत्येक निकायले छुट्टाछुट्टै रूपमा कति मानिसलाई देशबाट निकाल्यो भन्ने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

आप्रवासनसम्बन्धी अभियानको वास्तविक प्रभाव मूल्यांकन गर्न सरकारले थप विस्तृत तथ्याङ्क सार्वजनिक गर्नुपर्ने माग अधिकारवादी समूहहरूले गर्दै आएका छन् ।

आप्रवासी पक्राउसँगै हिरासतमा राखिने व्यक्तिको संख्या पनि बढेको छ । जुलाई २०२६ सम्म आईसीईको हिरासतमा करिब ६६ हजार मानिस रहेको विवरण सार्वजनिक भएको छ । यो ट्रम्पको दोस्रो कार्यकाल सुरु हुँदाको तुलनामा झन्डै ७० प्रतिशत बढी हो ।

सरकारले बढ्दो संख्यालाई व्यवस्थापन गर्न हिरासत क्षमता विस्तार गर्ने योजना अघि सारेको छ । तर हिरासत केन्द्रमा स्वास्थ्य सेवा, व्यवस्थापन र सुरक्षा अवस्थालाई लिएर आलोचना भइरहेको छ ।

आईसीईका अनुसार ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता हिरासतमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । केही घटनामा आत्महत्या भएको आशंका गरिएको छ भने केही मृतकमा पहिलेदेखि स्वास्थ्य समस्या रहेको बताइएको छ ।

हिरासतमा हुने मृत्युको दरबारे सरकारी र स्वतन्त्र अध्ययनका निष्कर्ष भने फरक छन् । सरकारी पक्षले उल्लेख्य वृद्धि नभएको दाबी गरे पनि केही स्वतन्त्र संस्थाले ट्रम्पको दोस्रो कार्यकालमा मृत्यु दर बढेको निष्कर्ष निकालेका छन् ।

यसरी ट्रम्प प्रशासनको आप्रवासन नीति सीमा नियन्त्रणमा मात्र केन्द्रित नरही अमेरिकाभित्र रहेका आप्रवासीको पक्राउ, हिरासत र निर्वासनसम्म विस्तार भएको देखिन्छ । अभियानको व्यापकता बढेसँगै यसको कानुनी, मानवीय र प्रशासनिक प्रभावबारे बहससमेत चर्किएको छ ।

बुवाको मुख हेर्ने दिन ‘जलाकी’ अभिनेत्री साहाराको एकल पोस्टर सार्वजनिक

काठमाडौं । आगामी नेपाली चलचित्र ‘जलाकी’की अभिनेत्री साहारा हाङमा लिम्बुको चरित्र पोस्टर सार्वजनिक गरिएको छ । कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण पक्षले उनको एकल पोस्टर सार्वजनिक गरेको हो ।

चलचित्रमा मुख्य अभिनेत्रीमध्येकी एक साहारा पोस्टरमा मगर समुदायको सांस्कृतिक पहिरनमा देखिएकी छन् । उनको अनुहारमा प्रसन्नता भए पनि भावभङ्गिमामा सोचमग्न देखिन्छिन् ।

‘जलाकी’ साहाराको नेपाली चलचित्र क्षेत्रमा पहिलो यात्रा हो । चलचित्रमा उनले आधुनिक सोच र स्वतन्त्र स्वभाव भएकी युवतीको भूमिका निर्वाह गरेकी छन् । पोखराकी सफल व्यवसायीकी छोरीको भूमिकामा प्रस्तुत हुने उनको पात्र पारिवारिक रूपमा सम्पन्न पृष्ठभूमिबाट आएको निर्माण पक्षले जनाएको छ ।

सिक्किमकी साहारा किशोरावस्थामै सौन्दर्य प्रतियोगितामार्फत चर्चामा आएकी थिइन् । उनले मिस टिन इन्डिया २०२२ को उपाधिसमेत जितेकी छन् । त्यसबाहेक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएकी साहाराले मण्डला थिएटरमा अभिनय प्रशिक्षणसमेत लिएकी छन् । ‘जलाकी’मा उनी अडिसनमार्फत छनोट भएकी हुन् ।

तर, साहाराका लागि ‘जलाकी’ केवल अभिनयको सुरुवात मात्र होइन, व्यक्तिगत रूपमा निकै भावुक यात्रा पनि बनेको छ । चलचित्रको छायांकनकै क्रममा उनको बुबाको कार दुर्घटनामा निधन भएको थियो । चलचित्रका लागि काठमाडौं आउनुअघि बुबासँग भएको भेट नै उनीहरूको अन्तिम भेट बन्न पुग्यो ।

साहाराका अनुसार चलचित्रमा काम गर्ने अवसर पाएको खबर सुनाउँदा उनका बुबा निकै खुसी भएका थिए । छोरी अभिनेत्री बनेर फर्किएपछि स्वागत गर्ने आफ्नो चाहना बुबाले व्यक्त गरेको उनी सम्झिन्छिन् । बुबाको निधनपछि पनि उनको सपना पूरा गर्ने उद्देश्यले साहारा केही दिनमै छायांकनमा फर्किएकी थिइन् ।

उनले आफू मानसिक रूपमा निकै कठिन अवस्थामा रहे पनि परिवार र निर्माण टोलीको साथले कामलाई निरन्तरता दिन सकेको बताएकी छन् । अभिनयमा आउन परिवार र समाजसँग संघर्ष गर्दा सबैभन्दा बलियो साथ बुबाबाटै पाएको उनको भनाइ छ ।

निर्देशक अशोक थापा मगरले आफूलाई डेब्यु कलाकारका रूपमा मात्र नभई परिवारको सदस्यजस्तो व्यवहार गरेर मार्गदर्शन गरेको साहाराले बताएकी छन् । छायांकार शैलेन्द्र डी. कार्की तथा चलचित्रको सम्पूर्ण टोलीबाट समेत राम्रो सहयोग पाएको उनको भनाइ छ ।

साहाराले ‘जलाकी’लाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रूपमा लिएकी छन् । चलचित्रको कथा र आफूले निर्वाह गरेको पात्रसँग व्यक्तिगत रूपमा समेत सम्बन्ध जोड्न सकेको उनको भनाइ छ ।

अशोक थापा मगरको निर्देशनमा बनेको ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा साहारासहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुनलगायत कलाकारको अभिनय छ ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् । चलचित्रको छायांकन शैलेन्द्र डी. कार्कीले गरेका हुन् ।

कुशे औंसीमा गोकर्णमा श्रद्धालुको घुइँचो [तस्वीरहरू]

काठमाडौं । कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन गोकर्णेश्वरमा श्रद्धालुको घुइँचो लागेको छ ।

दिवंगत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्न बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको चहलपहल बढेको हो । विभिन्न ठाउँबाट आएका श्रद्धालुले बागमती नदीमा स्नान गरी पितृप्रति श्रद्धा अर्पण गरेका छन् ।

कुशे औंसीका दिन गोकर्णमा श्राद्ध तथा तर्पण गरे दिवंगत पितृले शान्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । सोही विश्वासका कारण बाबु गुमाएका तथा पितृको सम्झना गर्न चाहनेहरू गोकर्ण पुगेका हुन् ।

जीवित बाबुलाई भने यस दिन मिठा परिकार, नयाँ कपडालगायतका सामग्री दिएर सम्मान गर्ने परम्परा छ । बाबुप्रति सम्मान र दिवंगत पितृको स्मरण गर्ने भएकाले हिन्दू धर्मावलम्बीका लागि यो दिन विशेष मानिन्छ ।

कुशे औंसीलाई ऋषितर्पणी तथा गोकर्ण औंसीका रूपमा समेत चिनिन्छ । यसै दिन धार्मिक कार्यमा प्रयोग गरिने कुश घरमा भित्र्याउने चलन छ । धार्मिक अनुष्ठानमा पवित्र मानिने कुशको विशेष महत्व रहेको धार्मिक मान्यता छ ।

श्रद्धालुको भीड बढेसँगै गोकर्णेश्वर मन्दिर र बागमती नदी किनार क्षेत्रमा सुरक्षा तथा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

बालेन सरकारको आलोचनामा उत्रिए नेकपा सांसद वयक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रेमबहादुर वयकले सरकारको कार्यशैलीलाई लिएर गम्भीर प्रश्न गरेका छन् ।

उनले बिहीबार प्रतिनिधि सभा बैठकमा ग्यासको आपूर्ति गर्न सरकारले नसकेको भन्दै आलोचना गरे ।

‘काठमाडौंमा ग्यासको हाहाकार हुँदा सरकारले ग्यासको आपूर्ति गर्न नसकेको कमजोरी के ले छोप्ने ?’, उनले प्रश्न गरे ।

ग्यास नपाएकै कारण एक युवकले आत्मदाहको प्रयास गरेको उनको भनाइ छ ।

त्यस्तै, संविधानको धारा ३६ मा खाद्यसम्बन्धी हक र धारा ४४ मा उपभोक्ताको हक पूरा हुन नसकेकोमा सरकार जिम्मेवार हो कि होइन ? भन्दै उनले प्रश्न गरे ।

जेन–जी आन्दोलनका शहीदहरूप्रति उनले सम्मान तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । तर, जेन–जीहरू सरकारसँग निराश बनेको टिप्पणी गरे ।

‘जेन–जी आन्दोलनका शहीदहरूको स्मृति सभा हँदै गर्दा भदौ २३ गते माइतीघर मण्डलामा जेन–जी अभियन्ता लक्ष्मीदेवी बस्नेतले आत्मदाहको प्रयास गरिन् आत्मदाह प्रयासको त्यो आगोको रापले यो सरकारलाई पोल्यो कि पोलेन ?’

साथै, भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्य तीव्र हुनुपर्ने बताए ।

रास्वपाकै सांसद सरकारविरुद्ध!

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कामकारबाहीप्रति असन्तुष्ट देखिन थालेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रभावशाली सांसदहरूले सरकारको कार्यशैली, संविधानको पालना, पुनर्निर्माण, ग्यास आपूर्ति र जेनजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइलगायत विषयमा प्रश्न उठाएका छन्।

रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारले संविधानअनुसार काम नगरेको आरोप लगाए। मुलुक बाढीपहिरो र ठूलो आर्थिक क्षतिको मारमा परिरहेका बेला सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले सरकारको केन्द्र नै परिवर्तन भएको टिप्पणी गरे।

‘हामी विषम परिस्थितिमा छौं। बाढीपहिरोको मारमा छौं। खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्थामा छ। अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन,’ उनले भने।

निर्वाचनका बेला संविधान परिवर्तन गर्ने वाचा नगरेको स्मरण गराउँदै सिंहले अहिले संविधानको मर्ममाथि नै प्रहार भइरहेको दाबी गरे। संसदीय व्यवस्थामा प्रधानमन्त्रीमार्फत सरकार सञ्चालन हुने भए पनि अहिले सल्लाहकार केन्द्रित शासन व्यवस्था देखिएको उनको आरोप थियो।

‘संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ। तर, यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ। सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन बनिरहेको छ,’ सिंहले भने।

सरकारको पुनर्निर्माण क्षमतामाथि पनि रास्वपाकै महामन्त्री विपिनकुमार आचार्यले प्रश्न उठाए। रसुवा र नुवाकोटमा बाढीपछि गर्नुपर्ने पुनर्निर्माणबारे बोल्दै उनले राज्यका प्रमुख संरचनाको पुनर्निर्माणमा भइरहेको ढिलाइले विपद्पीडित नागरिकलाई सरकारमाथि विश्वास गर्न कठिन हुने बताए।

आचार्यले गत भदौ २४ को आन्दोलनका क्रममा क्षतिग्रस्त निजी क्षेत्रका संरचना पुनर्निर्माण भएर सञ्चालनमा आइसकेको उदाहरण दिँदै सरकारी संरचनाको अवस्था भने अझै कमजोर रहेको बताए।

‘भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक तरिकाले उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ,’ उनले भने।

तर सिंहदरबार प्रवेश गर्दा आफूले फरक दृश्य देख्ने गरेको आचार्यको भनाइ थियो। आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार र गृह मन्त्रालय अझै पुनर्निर्माण हुन नसकेको उल्लेख गर्दै उनले राज्यको मुख्य प्रशासनिक केन्द्रकै पुनर्निर्माण सुस्त हुँदा विपद्बाट प्रभावित नागरिकले सरकारको पुनर्निर्माण योजनामाथि कसरी विश्वास गर्ने भन्ने प्रश्न गरे।

‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ उनले प्रश्न गरे।

उनले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यवहारिक कमजोरी पहिचान गरेर कामको गति बढाउन सरकारसँग आग्रह गरे।

यसैगरी रास्वपाका सांसद बोधनारायण श्रेष्ठले देशमा देखिएको ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराए। उद्योग समितिको बैठकमा तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीलाई लक्षित गर्दै दिएको विवादास्पद अभिव्यक्तिको प्रसंग उठाउँदै उनले समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताए।

‘हिजो उद्योगमन्त्रीको पीडादायक भनाइ ग्याससँग सम्बन्धित थियो। त्यो तीन पटक भिडिओमा दोहोर्‍याएर सुनेँ,’ श्रेष्ठले भने, ‘सचिवज्यू लगायत कर्मचारीहरूको असल नियतका साथ ग्यासको समस्यालाई समाधान गर्ने प्रयासहरू पनि सुन्यौं। तर ग्यासको समस्या उस्तै छ। झन् अप्ठेरो स्थितिमा गइराखेको छ।’

ग्यास अभावका कारण काठमाडौं उपत्यकाका उपभोक्ता लामो समय लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै उनले आपूर्ति व्यवस्थापनमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने बताए। भारतबाट ग्यास नियमित रूपमा आइरहेको भए पनि वितरण प्रणालीमा समस्या देखिएको उनको भनाइ थियो।

श्रेष्ठले ग्यास उद्योगी तथा व्यवसायीलाई एकै ठाउँमा राखेर समस्याको वास्तविक कारण पहिचान गर्न सरकारलाई सुझाव दिए। उपभोक्ताले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्ने वातावरण बनाउनुपर्ने र विद्युतीय चुलोको प्रयोग बढाउन सरकारले सहुलियत दिनुपर्ने उनको आग्रह थियो।

ग्यास आपूर्ति गर्न नसकेको विषयमा नैतिक जिम्मेवारी लिँदै रास्वपाका सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गरे।

बैठकमा बोल्दै भण्डारीले जनतालाई सामान्य रूपमा आवश्यक सेवा उपलब्ध गराउन नसक्ने अवस्थामाथि प्रश्न उठाए। बाटो बिग्रिएका स्थानमा समेत ग्यास पुर्‍याउने दायित्व राज्यको भएको भन्दै उनले सरकारले डेलिभरी व्यवस्थासमेत सुनिश्चित गर्न नसकेको बताए।

‘अहिले राज्यमा ग्यास पनि दिन सकेका छैनौं। बोकेर पनि दिनुपर्छ। बाटो बिग्रेको ठाउँमा डेलिभरी दिनुपर्ने हाम्रो दायित्व हो,’ उनले भने, ‘सामान्य डेलिभरी पनि दिन सक्दैनौं भने परिवर्तनको के काम ?’

उद्योग समितिको सदस्यका रूपमा आफू पनि जिम्मेवार रहेको उल्लेख गर्दै भण्डारीले नैतिकताको आधारमा समितिबाट अलग हुने बताए। जेनजी आन्दोलनले मुलुकमा ठूलो राजनीतिक परिवर्तन ल्याए पनि राज्यले त्यसबाट प्राप्त जिम्मेवारी पूरा गर्न नसकेको उनको भनाइ थियो। उनले जेनजी शहीदको सम्झनामा भव्य पार्क निर्माण गर्नसमेत माग गरे।

रास्वपा कै अर्का सांसद सोम शर्माले जेनजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूको शीघ्र रिहाइको माग गरे। प्रतिनिधिसभाको बैठकमा उनले जेनजी आन्दोलनकै कारण अहिलेको सरकार शक्तिशाली बनेको दाबी गर्दै आन्दोलनमा सहभागी भएकाहरूलाई बिर्सिए त्यसको राजनीतिक असर पर्न सक्ने चेतावनी दिए।

शर्माले भदौ २३ लाई दमन र भदौ २४ लाई विद्रोहको दिनका रूपमा चित्रित गर्दै आन्दोलनमा सहभागी भएर पक्राउ परेकाहरूलाई सरकारले तत्काल रिहा गर्नुपर्ने बताए।

‘जो उठे क्रान्ति गर्न आज जेलमा बसेका छन्, पुज्न पर्ने क्रान्तिकारीहरू कालकोठरीमा फसेका छन्,’ उनले भने।

आन्दोलनका कारण सरकार शक्तिशाली बनेको उल्लेख गर्दै शर्माले सरकार निर्माणमा योगदान गर्नेहरूलाई बेवास्ता नगर्न चेतावनी दिए। उनले पक्राउ परेका जेनजी आन्दोलनका सहभागीलाई ‘योद्धा’को संज्ञा दिँदै उनीहरूको शीघ्र रिहाइ हुनुपर्ने माग गरे।

यसरी बिहीबारको प्रतिनिधिसभा बैठकमा रास्वपाकै सांसदहरूले सरकारको कार्यशैलीमाथि फरक-फरक कोणबाट प्रश्न उठाएका छन्। संविधानको पालना र शासन प्रणालीदेखि पुनर्निर्माण, ग्यास आपूर्ति र जेनजी आन्दोलनका मुद्दासम्म सांसदहरूले सरकारलाई जवाफदेही बन्न दबाब दिएका हुन्।

 

बालेन मन्त्रिपरिषदको ‘दुई विकेट’ पतन

काठमाडौं । बालेन सरकार गठन भएपछि दुई मन्त्रीले राजीनामा दिएका छन् । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि राजीनामा दिने मन्त्रीको संख्या दुई पुगेको हो । 

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले राजीनामा दिएका थिए । 

मन्त्रीबाट ‘हट्नू’ भनेर प्रधानमन्त्री बालेनले निर्देशन दिएपछि साहले २६ वैशाख २०८२ मा राजीनामा दिएका थिए । 

स्वास्थ्य बीमा बोर्डमा आफ्नी श्रीमतीलाई सक्रिय बनाउन भूमिका खेलेको आरोप उनीमाथि लागेको थियो। त्यही प्रकरणले उनको पद चट् भयो । साह पनि राजीनामा दिँदै गर्दा निकै दुःखी देखिएका थिए । 

यता, उद्योगमन्त्री यादव ग्यास उद्योगीलाई दिएको विवादास्पद अभिव्यक्तिपछि राजीनामा दिन बाध्य भएकी हुन्।

बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले ग्यास उद्योगीहरूलाई ‘पाता नफर्काएसम्म’ आपूर्ति सहज नहुने बताएकी थिइन् । उनको यो अभिव्यक्ति निकै विवादित बन्यो ।

उद्योगीहरुले प्रधानमन्त्री बालेनलाई भेटेरै गुनासो गरे । अन्ततः उनी प्रधानमन्त्री बालेनसमक्ष राजीनामा दिन बाध्य भइन् । उनी मन्त्रालयबाट रुँदै बाहिरिएकी थिइन् ।

यसैबीच, रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेनले मन्त्री यादवप्रति गुण्डागर्दी शैली अपनाएको भन्दै आलोचना गरे । 

केही दिनअघि नै मन्त्री यादवको घरमा प्रधानमन्त्री बालेन र उनको सचिवालयले राति प्रहरी पठाएर तनाव दिएको सिंहले खुलासा गरे । उनका अनुसार मन्त्री यादवले त्यही दिन राजीनामा दिनुपथ्र्यो ।

एकपछि अर्को मन्त्रीको राजीनामालाई लिएर कतिपयले ‘बालेन मन्त्रिपरिषदको दुई विकेट पतन’ भनेर टिप्पणी गरेका छन् ।

‘बालेनका दास’ लेख्ने को हुन्?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा चर्चामा आएको गीत हो– ‘बालेनका दास’। 

गीत अझै निर्माणकै चरणमा रहे पनि यसका शब्द र विषयवस्तुले सामाजिक सञ्जालमा चर्चा पाउन थालेका छन्।

तर ‘बालेनका दास’ लेख्ने को हुन् ?

यसका रचनाकार हुन्- विदेशमा रहेका नेपाली युवा बिजु।

लामो समयदेखि गीत लेखनमा रुचि राख्दै आएका बिजुले नेपालको पछिल्लो राजनीतिक र सामाजिक अवस्थालाई आधार बनाएर यो गीत तयार गरेका हुन्।

गीतमा अहिले दुईवटा अन्तरा तयार भइसकेका छन्। थप तीन–चार अन्तरा जोडेर गीतलाई पूर्णता दिने उनको तयारी छ। गीत सार्वजनिक हुँदा भने यसको अन्तिम स्वरूप केही फरक हुन सक्ने उनी बताउँछन्।

रोचक पक्ष के छ भने गीतमा सुनिने स्वर बिजुको आफ्नै होइन। उनले शब्द र संगीत आफैँ तयार गरेर एआई प्रविधिको प्रयोगमार्फत स्वर तयार गरिरहेका छन्। प्रविधिको सहजताका कारण आफूले लेखेका सिर्जना सार्वजनिक गर्न अहिले सजिलो भएको उनको भनाइ छ।

बिजुले यसअघि पनि नेपालको राजनीतिक तथा सामाजिक अवस्थालाई समेटेर ‘खराने ग्याङ’ नामक गीत तयार गरेका थिए। युट्युबमा अपेक्षाकृत धेरै चर्चा नपाए पनि टिकटक र फेसबुकमा भने उक्त सिर्जना फैलिएको उनी बताउँछन्।

‘बालेनका दास’ तयार गर्नुको कारणबारे बिजु सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने क्रममा आउने प्रतिक्रिया र व्यवहारले आफूलाई गीत लेख्न प्रेरित गरेको बताउँछन्। उनका अनुसार सरकार वा सत्ताको आलोचना गर्ने व्यक्तिलाई विभिन्न नाम र ट्याग लगाएर कमजोर बनाउने प्रवृत्ति बढिरहेको छ।

आलोचनालाई लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा लिनुपर्ने उनको धारणा छ। गलत कामको विरोध गर्दा आलोचना वा गाली सहनुपरे पनि आफूले प्रश्न उठाउन नछाड्ने उनको भनाइ छ।

गीत सार्वजनिक गर्ने क्रममा आफूले मिश्रित प्रतिक्रिया पाइरहेको बिजु बताउँछन्। केही व्यक्तिबाट सामाजिक सञ्जाल तथा व्यक्तिगत सन्देशमार्फत गाली र धम्की आउने गरेको उनको दाबी छ। तर आफूले उठाएका विषयसँग सहमत हुने र समर्थन जनाउनेहरू पनि रहेको उनी बताउँछन्।

बिजु आफू कुनै राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पार्छन्। बालेन सरकारको आलोचना गर्दैमा आफू पुराना राजनीतिक दलको समर्थक नहुने उनको भनाइ छ।

उनको तर्क छ-  सत्तामा जो हुन्छ, प्रश्न पनि उसैसँग गरिन्छ। सत्ता बाहिर रहेका दल वा नेताको आलोचना गरेर तत्काल सरकारको काममाथि प्रश्न उठाउन नसकिने उनको धारणा छ।

पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति पनि आफू सन्तुष्ट नरहेको र अहिलेको सरकारका सबै कामलाई पनि सही भन्न नसकिने बिजु बताउँछन्। उनको निष्कर्ष छ- पुराना दल गलत थिए भन्दैमा वर्तमान नेतृत्वका कमजोरीमाथि प्रश्न गर्न छाड्नु हुँदैन।

उनका अनुसार कुनै पनि नेतृत्वप्रति अन्धसमर्थन लोकतन्त्रका लागि उचित हुँदैन। नेतृत्वलाई सही बाटोमा राख्न समर्थकसँगै आलोचकको भूमिका पनि आवश्यक हुन्छ।

बिजु बालेन आफैँ सत्ता बाहिर रहँदा गीत तथा सिर्जनात्मक अभिव्यक्तिमार्फत आफ्ना विचार सार्वजनिक गर्दै राजनीतिमा स्थापित भएको प्रसंग पनि उठाउँछन्। त्यसैले अहिले आलोचनात्मक अभिव्यक्तिलाई अस्वीकार गर्ने वा दबाउने प्रयास उचित नहुने उनको धारणा छ।

करिब सात वर्षदेखि विदेशमा रहेका बिजु ३० वर्ष पुगेका छन्। परदेशमा रहे पनि नेपालको राजनीतिक र सामाजिक गतिविधिलाई नजिकबाट पछ्याइरहेको उनी बताउँछन्।

कामका क्रममा मनमा आएका शब्द, वाक्य वा विचार तत्काल टिपोट गरेर राख्ने र फुर्सदमा त्यसलाई मिलाउँदै गीतको रूप दिने उनको सिर्जना प्रक्रिया हो।

राजनीतिक विषयमा मात्रै सीमित छैनन् उनका सिर्जना। परदेशी जीवन, परिवार, विदेशिनुको पीडा तथा बाबु–आमाले सन्तान विदेशिँदा भोग्ने भावनालाई समेटेर पनि उनले गीतहरू तयार गरेका छन्। विदेशिने क्रममा छोरीबाट टाढिनुपर्दाको भावनालाई समेत उनले सिर्जनामा उतारेका छन्।

आफू भविष्यमा गायकभन्दा पनि गीतकार र रचनाकारका रूपमा चिनिन चाहेको बिजु बताउँछन्। एआईलगायत प्रविधिको विकासले संगीत सिर्जनालाई सहज बनाइरहेको भन्दै आगामी दिनमा आफ्ना सिर्जनालाई निरन्तर सार्वजनिक गर्ने उनको योजना छ।

अहिले भने ‘बालेनका दास’ पूर्ण भइसकेको छैन। थप अन्तरा तयार गरी गीतलाई अन्तिम रूप दिएपछि सार्वजनिक गर्ने तयारीमा बिजु छन्।

‘राष्ट्रसेवक प्रहरीमाथि किन हमला भयो, हतियार कसले लुट्यो?’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु प्रसाद बरालले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट र मानवीय क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले युवा–विद्यार्थीको शान्तिपूर्ण आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइएको दाबी गरे । सरकारी तथा सार्वजनिक संरचना, न्यायालय, सुरक्षा निकाय, राजनीतिक दलका कार्यालय र निजी प्रतिष्ठानमाथि भएको आक्रमणको गम्भीर अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो ।

उनले संसद् भवन, शीतल निवास, सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह तथा स्वास्थ्य मन्त्रालयलगायतका संरचनामा भएको क्षतिको यथार्थ बाहिर ल्याउन माग गरे ।

‘युवा विद्यार्थीको शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई उपद्रवकारीहरूले योजनाबद्ध रूपमा तोडफोड, आगजनी, हिंसा र मृत्युमा रूपान्तरण गरे,’ बरालले भने, ‘यसमा को दोषी हो भन्ने कुरा कानुनी राज्यको कसीमा खोजिनुपर्छ ।’

न्यायालयका भवन, नागरिकका अभिलेख र प्रमाण नष्ट गरिएको भन्दै उनले सर्वोच्च अदालतसहित विभिन्न अदालतमा भएको क्षतिको समेत अनुसन्धान गर्न माग गरे । कारागारमा आक्रमण गरी कैदीबन्दी भगाइएको घटनाको कारण र संलग्न व्यक्तिबारे समेत छानबिन हुनुपर्ने उनको भनाइ थियो ।

निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान, होटल र बैंकमा भएको लुटपाट तथा आगजनी, प्रहरीमाथिको आक्रमण र हतियार लुटिएको घटनाको पनि हिसाब खोज्नुपर्ने उनले बताए ।

‘राष्ट्रसेवक प्रहरीमाथि किन हमला भयो, हतियार कसले लुट्यो ? हजारौँ सरकारी र निजी सवारी साधन कसले जलायो ? यसको निरूपण हुनु आजको आवश्यकता हो,’ उनले भने ।

राष्ट्रिय मानव अधिकार आयोगले घटनालाई पूर्वयोजनाअनुसार संगठित आपराधिक कार्यका रूपमा उल्लेख गरेको प्रसंग स्मरण गराउँदै बरालले यस्ता घटनालाई दबाएर राख्न नहुने बताए ।

उनले भदौ २३ र २४ का घटनाको सत्यतथ्य पत्ता लगाउने, दोषीमाथि कानुनी कारबाही गर्ने र भएको राष्ट्रिय क्षतिको परिपूरण गर्ने विषयमा प्रतिनिधिसभाले सक्रिय भूमिका खेल्नुपर्ने माग गरे ।

यसैबीच बरालले रसुवाको भोटेकोशी बाढीबाट भएको क्षतिको राहत, उद्धार तथा दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्नसमेत माग गरेका छन् ।

सत्ता कित्ताकै ‘खरो विपक्षी’ अमरेश सिंह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंह बिहीबार प्रतिनिधिसभाको बैठकमा आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध खरो रूपमा प्रस्तुत भए ।

सरकारको कार्यशैली, प्रहरी प्रशासनमाथिको हस्तक्षेप, मधेशप्रतिको व्यवहारदेखि विपद् व्यवस्थापन र महँगीसम्मका विषय उठाउँदै उनले सरकारलाई संसदबाटै कठोर प्रश्न गरे ।

सिंहले अहिले सरकारको केन्द्र सिंहदरबार नभएर ज्वागल बनेको टिप्पणी गरे । उनले सरकारमाथि ‘हुकुमी शासन’ चलाएको आरोपसमेत लगाए ।

‘सरकारको केन्द्र सिंहदरबार बुझेको थिएँ, तर सरकारको केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन चलिरहेको छ,’ उनले भने ।

उनले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई राति बोलाएर दबाब दिइएको र प्रहरी प्रशासनलाई समेत राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाए । प्रहरी नेतृत्वलाई कसरी अपमानित गरिएको छ भन्ने प्रश्न गर्दै उनले गौरीकुमारी यादव प्रकरणसमेत उठाए ।

‘मा. गौरीकुमारी यादवले त्यो दिन राजीनामा दिनुपथ्र्यो, जुन दिन रातमा प्रहरी परिचालन गरिएको थियो,’ सिंहले भने ।

सरकारमा प्रधानमन्त्रीसँग पर्याप्त अधिकार हुँदाहुँदै पनि त्यसको दुरुपयोग भइरहेको उनको आरोप थियो । प्रधानमन्त्रीले असन्तुष्ट भए मन्त्रीलाई बर्खास्त गर्न सक्ने भए पनि मन्त्रीमार्फत पक्राउ गर्न लगाउने शैली संविधानले परिकल्पना नगरेको उनले बताए ।

‘प्रधानमन्त्रीका अधिकार सिस्टममा हुन्छ । जतिखेर पनि मन्त्रीलाई बर्खास्त गर्न सक्छन् । तर प्रधानमन्त्रीले मन्त्रीलाई पठाउँछन् अरेस्ट गर्न । सचिवालयले पठाउँछ,’ उनले भने, ‘म कुन देशको सांसद ? यो देशको सांसद ? गुण्डाशैलीमा शासन गर्नुपर्छ भन्ने उहाँको कोट अनकोट हो । यो संविधानले परिकल्पना गरेको छैन ।’

सिंहले आफूले सुरुमै मन्त्री बन्न अस्वीकार गर्नुको कारणसमेत संसदमा खुलाए । आफू समुदाय र भूगोलको प्रतिनिधि भएकाले सरकारमा बसेर गलत कामको साक्षी बन्न नसक्ने उनको भनाइ थियो ।

उनले रास्वपाले संविधानको अक्षरशः पालना गर्ने दाबी गर्दै मधेशी समुदायमाथि सुरुदेखि नै प्रहार भइरहेको आरोप लगाए । दीपक साहदेखि गौरीकुमारी यादवसम्मका घटनालाई उनले त्यसैको उदाहरणका रूपमा प्रस्तुत गरे ।

‘रास्वपाको आधिकारिक तरिकाले भन्न चाहन्छु– हाम्रो पार्टी यो संविधानको अक्षरशः पालना गर्छ । हाम्रो पार्टी हिमाल, पहाड र तराईलाई समान रूपमा हेर्न चाहेको छ । तर मधेशीलाई प्रहार सुरुदेखि भइरहेको छ,’ उनले भने ।

सिंहले मधेशको बलमा सत्ता निर्माण भएको भन्दै सरकार नेतृत्वप्रति समेत आक्रोश पोखे । बर्दिबास मेडिकल कलेज स्थापनाको मधेशी जनताको सपना सरकारले समाप्त पारेको उनको आरोप थियो ।

‘तपाईंले मधेशीको बलमा सत्ता ठड्याउनु भएको छ, तपाईं तासको पत्ता हो । मधेशीको एउटा सपना थियो, त्यो हो बर्दिबास मेडिकल कलेज स्थापना गर्ने । त्यो तपाईंले समाप्त गर्नुभयो,’ उनले भने ।

सरकारका सल्लाहकारको भूमिकामाथि पनि सिंहले प्रश्न उठाए । विदेशी गुप्तचर संस्थासँग सल्लाहकारले लुकेर भेट गरेको दाबी गर्दै उनले राज्यको ढुकुटीबाट तलब खाने व्यक्तिले मुलुकको प्रतिष्ठामा आँच पुर्‍याउने काम गर्न नहुने बताए ।

‘एउटा जासुसी संस्थालाई भेट्न सल्लाहकार लुकेर जान्छ, राज्यको ढिकुटीबाट तलबभत्ता मन्त्रीस्तरीय खान्छ । लुकेर गएर हाम्रो देशको प्रतिष्ठा नास गर्ने अधिकार सरकारको सल्लाहकारलाई छैन,’ उनले भने ।

विपद् व्यवस्थापनमा समेत सरकार असफल भएको सिंहको आरोप थियो । रसुवाको बाढीमा प्रहरी र सशस्त्र प्रहरीसँग प्रभावकारी समन्वय भएको भए क्षति कम गर्न सकिने उनको दाबी थियो । विदेशी सहयोगका लागि सुरुमै आह्वान गर्नुपर्ने उनको भनाइ थियो ।

‘यही रसुवाको बाढीमा प्रहरी र सशस्त्रसँग समन्वय गरेको भए यत्तिको ठूलो क्षति हुने थिएन । सुरुमा विदेशीहरूलाई आह्वान गरेको भए यति क्षति हुने थिएन,’ उनले भने ।

सिंहले सरकारको जनजीविकासम्बन्धी कामप्रति पनि असन्तुष्टि जनाए । किसानले मल नपाएको र गृहिणीले ग्यास नपाएको भन्दै उनले सरकारलाई जनताको दैनिक समस्यातर्फ ध्यान दिन आग्रह गरे ।

‘आज किसानलाई एकातिर मल दिएको छैन, अर्कोतिर गृहिणीलाई ग्यास दिएको छैन,’ उनले भने ।

स्वास्थ्य र शिक्षा क्षेत्रको नियुक्ति तथा व्यवस्थापनमाथि पनि उनले प्रश्न उठाए । स्वास्थ्य क्षेत्रमा मधेशीलाई विभेद गरिएको दाबी गर्दै उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियुक्तिको विषय उठाए । शिक्षामन्त्रीले शिक्षा क्षेत्रलाई ध्वस्त बनाएको आरोपसमेत उनले लगाए ।

सत्ता पक्षकै सांसद भएर सरकारको आलोचना गरेका सिंहको प्रस्तुतिले बिहीबारको संसदमा सरकारमाथि आफ्नै कित्ताबाट उठेको असन्तुष्टिलाई सतहमा ल्याएको छ । रास्वपाबाट निर्वाचित सिंहले यसअघि नै मन्त्रिपरिषद्मा सहभागी हुने प्रस्ताव अस्वीकार गरेका थिए ।

सिंहको बिहीबारको अभिव्यक्ति भने सरकारको विरोधमा प्रतिपक्षी दलका सांसदले गर्ने आलोचनाजस्तै देखिन्थ्यो । फरक यति हो-यसपटक सरकारलाई प्रश्न गर्ने व्यक्ति विपक्षी बेन्चमा होइन, सत्ता कित्तामै छन्।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भ्रमणदेखि प्रदेशका प्रमुख सचिव नियुक्ति तथा शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिसम्मका निर्णय गरेको हो।

शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको भ्रमण टोलीको भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै, भारतको नयाँ दिल्लीमा हुने आईजीएस्सी बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि प्रस्तावित विधेयकको मस्यौदा तयार गर्ने प्रक्रियालाई अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। मिटरब्याजका कारण उत्पन्न हुने अपराध नियन्त्रण तथा पीडितलाई न्याय दिलाउने उद्देश्यले बन्ने विधेयकको तर्जुमा प्रक्रिया अघि बढाउने निर्णय भएको हो।

भूमि व्यवस्था मन्त्रालयबाट प्रस्तावित काठमाडौं, ललितपुर, भक्तपुर, दाङ र सप्तरीका २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त गर्ने निर्णय भएको छ। आयोगको अध्यक्षमा हरिप्रसाद लम्साल, सदस्यमा रामशरण सापकोटा तथा महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको प्रवक्ता पोखरेलले बताए।

त्यसैगरी, सहसचिव विनोदबहादुर कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।

सहसचिव उत्तरकुमार खत्रीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा नियुक्त गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

मन्त्रिपरिषद्का यी निर्णयबारे शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।

 

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल भइरहेको छ।

उद्योगमन्त्री बन्दै दीपककुमार साह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दीपककुमार साहलाई दिने तयारी गरेको छ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सुनसरी-४ बाट निर्वाचित सांसद साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो। उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा साहलाई जिम्मेवारी दिने तयारी भएको सचिवालयले जनाएको छ।

यादवले राजीनामा दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय केही समयदेखि मन्त्रीविहीन बनेको थियो। मन्त्रालयको नेतृत्व खाली भएपछि नयाँ मन्त्री नियुक्तिका लागि प्रधानमन्त्री शाहले पार्टीभित्र छलफल अघि बढाएका थिए।

साहलाई मन्त्री बनाउने तयारी भएपछि उनी निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएको बताइएको छ। मन्त्री नियुक्तिको तयारीसँगै उनी काठमाडौं आएर आवश्यक प्रक्रियामा सहभागी हुने तयारीमा रहेको स्रोतको भनाइ छ।

उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका साहसामु अहिले बजारमा देखिएको ग्यास आपूर्तिको समस्या समाधान गर्नु प्रमुख चुनौतीका रूपमा रहेको छ। पछिल्लो समय खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्ताले सास्ती भोगिरहेका छन्। ग्यासको सहज आपूर्ति तथा बजार व्यवस्थापनलाई लिएर सरकारमाथि समेत दबाब बढिरहेको छ।

यसअघि ग्यास आपूर्ति तथा उद्योगीहरूसँग सम्बन्धित विषयमा विवाद उत्पन्न भएपछि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी थिइन्। उनको राजीनामासँगै मन्त्रालयको नेतृत्व परिवर्तन हुन लागेको हो।

प्रधानमन्त्री शाहको सचिवालयले साहलाई उद्योगमन्त्री बनाउने तयारी भइरहेको जानकारी दिए पनि नियुक्ति र शपथको औपचारिक प्रक्रिया भने पूरा हुन बाँकी रहेको छ।

जलवायु न्याय माग्दै माइतीघरमा जेनजीको प्रदर्शन

काठमाडौं । जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

जलवायु परिवर्तनमा नेपालको कार्बन उत्सर्जनको योगदान निकै न्यून भए पनि औद्योगिक राष्ट्रहरूको गतिविधिका कारण उत्पन्न संकटको असर नेपालले भोगिरहेको भन्दै प्रदर्शनकारीले जलवायु न्यायको माग गरेका हुन् ।

उनीहरूले जलवायु संकटबाट प्रभावित नेपालजस्ता मुलुकलाई क्षतिपूर्तिको व्यवस्था गर्न औद्योगिक राष्ट्रहरूले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

रुस-युक्रेन युद्धमा लडिरहेका सैनिकको किमले गरे प्रशंसा

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले रुस-युक्रेन युद्धमा सहभागी आफ्ना सैनिकको प्रशंसा गरेका छन् ।

देशको ७८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विदेशमा सैन्य जिम्मेवारी सम्हालिरहेका सैनिकप्रति सम्मान व्यक्त गरेका हुन् ।

एक कार्यक्रममा किमले विदेशमा खटिएका उत्तर कोरियाली सेनाका कमान्डर तथा सैनिकको योगदानप्रति विशेष कृतज्ञता व्यक्त गरे ।

‘विदेशमा हुने सैन्य कारबाहीमा सहभागी हाम्रा कमान्डर र सैनिकप्रति विशेष कृतज्ञता र गहिरो सम्मान व्यक्त गर्दछु,’ किमले भने ।

रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण थालेपछि उत्तर कोरिया मस्कोको निकट सैन्य साझेदारका रूपमा देखिँदै आएको छ । प्योङयाङले रुसी युद्ध प्रयासमा हतियार तथा सैनिक सहयोग गरेको आरोप लाग्दै आएको छ ।

दक्षिण कोरियाली अधिकारीहरूले रुस–युक्रेन युद्धमा सहभागी उत्तर कोरियाली सैनिकमध्ये करिब दुई हजारको मृत्यु भएको दाबी गरेका छन् । तर रुस र उत्तर कोरियाले सैनिक हताहतीबारे आधिकारिक तथ्यांक सार्वजनिक गरेका छैनन् ।

युक्रेनले रुसले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरिरहेको आरोप लगाउँदै आएको छ । युक्रेनी पक्षले गत अगस्टमा त्यस्तो क्षेप्यास्त्र आक्रमणबाट नौ जनाको मृत्यु र दर्जनौँ घाइते भएको दाबी गरेको थियो ।

युक्रेनले रुसमा करिब ५० हजार उत्तर कोरियाली सैनिक परिचालन हुन सक्ने दाबीसमेत गरेको छ । यद्यपि उक्त संख्याको स्वतन्त्र पुष्टि भएको छैन ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी क्षेप्यास्त्रबाट सुरक्षाका लागि दक्षिण कोरियासँग हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेका छन् ।

दक्षिण कोरियाले उक्त आग्रहबारे औपचारिक निर्णय सार्वजनिक गरेको छैन।

रुस र उत्तर कोरियाबीच बढ्दो सैन्य सहकार्यले युरोपसँगै कोरियाली प्रायद्वीपको सुरक्षा अवस्थालाई लिएर पश्चिमा मुलुक र दक्षिण कोरियामा समेत चिन्ता बढाएको छ।

राष्ट्रिय परिचयपत्र बनाउन सिरहामा सेवाग्राहीको घुइँचो [तस्वीरहरू]

सिरहा । राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको ठूलो भीड लागेको छ ।

दैनिक दुईदेखि साढे दुई सय जनाको विवरण दर्ता गर्ने व्यवस्था भए पनि निर्धारित संख्याभन्दा बढी सेवाग्राही आउने गरेका कारण कार्यालयमा चाप बढेको हो ।

बिहानैदेखि लाइनमा बसेका सेवाग्राही दिनभर कुर्न बाध्य छन् । साना बालबालिका च्यापेर समेत सेवाग्राही सेवा लिन पुगेका छन् ।

त्यसमाथि सर्भर सुस्त हुने तथा पटक-पटक अवरुद्ध हुने समस्याले फोटो खिचाउन र बायोमेट्रिक दिन पुगेका कतिपय सेवाग्राही काम पूरा नगरी फर्किनुपरेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

‘तपाईंको यो सरकार तासको पत्ता हो’

काठमाडौं। रास्वपा सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई ‘तासको पत्ता’को संज्ञा दिँदै मधेसीमाथि विभेद जारी रहे सरकार टिक्न नसक्ने चेतावनी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले सरकार गठन भएदेखि नै मधेसीमाथि प्रहार भइरहेको आरोप लगाए ।

उनले मधेसी महिला बबिता पासवानले अस्पतालमा उपचार तथा बस्ने ठाउँ नपाउँदा अस्पतालबाहिरै सुत्केरी हुनुपरेको प्रसंग उठाउँदै राज्यको व्यवहारप्रति आक्रोश पोखे ।

‘बिहानै मेरो घरमा भोला पासवान आउनुभएको थियो । उहाँले बबिता पासवानको भिडियो देखाउनुभयो । यो राज्य मधेसीप्रति कति पीडादायी छ ?’ सिंहले प्रश्न गरे ।

बबिताको अवस्थाको भिडियो हेर्दा आफू भावुक भएको बताउँदै उनले प्रधानमन्त्री शाहलाई मधेसीको समर्थनमा बनेको सरकार भएको स्मरण गराए ।

‘म यहाँ रुँदिनँ । म राज्यलाई भन्न चाहन्छु -तपाईं मधेसीको बलमा सरकार ठड्याउनुभएको छ, तपाईंको यो सरकार तासको पत्ता हो,’ सिंहले भने ।

सरकारले मधेसीलाई सुरुदेखि नै बेवास्ता गरेको आरोप लगाउँदै उनले बर्दिबास मेडिकल कलेज बनाउने सपना समेत अलपत्र पारिएको बताए । दीपककुमार साहको बर्खास्तीदेखि गौरीकुमारी यादवको राजीनामासम्मका घटनालाई जोड्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

सिंहले आफू गुटको राजनीतिमा विश्वास नगर्ने दाबी गर्दै प्रधानमन्त्रीका सल्लाहकारमाथि राज्यको स्रोतसाधन दुरुपयोग गरेको आरोपसमेत लगाए ।

रसुवा बाढीपछि उद्धारमा भएको ढिलाइ, किसानले मल नपाएको अवस्था तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई लिएर पनि उनले सरकारको आलोचना गरे ।

न्यायालय र कर्मचारीतन्त्रसमेत अस्तव्यस्त रहेको दाबी गर्दै सिंहले प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारकै कार्यशैलीका कारण सरकार असफलतातर्फ उन्मुख भएको आरोप लगाए ।

‘निजी क्षेत्र उठिसक्यो, सिंहदरबार अझै किन बेवारिसे?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले २४ भदौ २०८२ को आन्दोलनका क्रममा भएको विध्वंसपछि निजी क्षेत्रले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिसक्दा पनि सरकारी संरचना भने अझै अलपत्र रहेको भन्दै प्रश्न उठाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले आफू महाराजगञ्ज, नक्साल हुँदै संसद् आउने गरेको उल्लेख गर्दै आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका निजी क्षेत्रका संरचना पुनः सञ्चालनमा आइसकेको बताए ।

‘भदौ २४ को विध्वंसमा खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनात्मक रूपमा उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देख्दा गर्व लाग्छ,’ उनले भने ।

तर, सिंहदरबार प्रवेश गर्दा भने जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै अवस्थामा देखिने गरेको उनले बताए । नयाँ संसद् भवनबाट बजेट प्रस्तुत गर्ने भनिए पनि आफूहरू अझै अस्थायी संरचनाबाटै संसद् सञ्चालन गर्न बाध्य रहेको उनको भनाइ थियो ।

राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र सार्वभौम संसद्कै पुनर्निर्माण सुस्त हुँदा बाढीपहिरोबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकले आफ्नो घर, बस्ती र सार्वजनिक संरचनाको पुनर्निर्माणप्रति कसरी विश्वास गर्ने भन्ने प्रश्न आचार्यले उठाए ।

गत वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा नक्सालस्थित भाटभटेनीलगायतका व्यापारिक संरचनामा समेत क्षति पुगेको थियो ।

निजी क्षेत्रले ती संरचना पुनर्निर्माण गरी सञ्चालनमा ल्याइसकेको उदाहरण दिँदै आचार्यले सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा देखिएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उद्योगमन्त्रीको राजीनामालगत्तै रास्वपा सांसदले पनि समितिबाट दिए राजीनामा

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको केही समयमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले संसदीय समितिको सदस्य पदबाट अलग हुने घोषणा गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यबाट राजीनामा दिने बताएका हुन् ।

देशभर खाना पकाउने ग्यासको अभाव चर्किएको अवस्थामा उपभोक्ता हित हेर्ने समितिमा बसेर काम गरिरहन आफूलाई नैतिक रूपमा उचित नलागेको उनले बताए ।

‘जनताले खाना पकाउने ग्याससमेत सहज रूपमा पाउन सकेका छैनन् । यस्तो गम्भीर अवस्थामा उपभोक्ताको हित हेर्ने समितिमा बसेर काम गर्ने नैतिकता मैले देखिनँ,’ भण्डारीले भने ।

उनले ग्यासलगायत उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न नसकेको भन्दै असन्तुष्टि जनाए ।

नागरिकले दैनिक उपभोगकै वस्तु पाउन सास्ती खेपिरहेका बेला समस्या समाधानका लागि ठोस पहल गर्न नसक्ने समितिमा बसिरहनुभन्दा त्यसबाट अलग हुनु उपयुक्त हुने उनको भनाइ थियो ।

उद्योगमन्त्री यादवले इन्धन आपूर्ति व्यवस्थापनको विषयमा आलोचना र विवादबीच बिहीबार नै पदबाट राजीनामा दिएकी थिइन् ।

भोटेकोशी बाढीमा उद्धार तीव्र बनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई थप प्रभावकारी र तीव्र बनाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बुर्लाकोटीले विपद्को क्षति ठूलो भएकाले पर्याप्त जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरेर उद्धार कार्य अघि बढाउनुपर्ने बताए ।

उनले बेपत्ता, उद्धार गरिएका तथा मृतकको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडासम्म पुर्‍याउने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । विपद्मा परेका व्यक्ति तथा पीडित परिवारले प्रत्यक्ष र भरपर्दो सूचना पाउने संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो ।

‘खोज तथा उद्धारका लागि दक्ष जनशक्ति, आवश्यक उपकरण र स्रोतसाधनसहितको संयन्त्र परिचालन गरी कामलाई अझ तीव्र बनाउनुपर्छ,’ बुर्लाकोटीले भने ।

भेटिएका शवको तत्काल पहिचानका लागि डीएनए परीक्षणलाई प्रभावकारी बनाउन थप जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गर्नुपर्ने उनले बताए ।

बुर्लाकोटीले विपद्पछिको पुनर्निर्माणमा समेत सरकारले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए । बाढी, पहिरोजस्ता जोखिम रहेका क्षेत्रमा बस्ती, सार्वजनिक कार्यालय तथा अन्य संरचना निर्माण नगर्ने नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सम्भावित विपद्बारे सचेत गराउन व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि उनले सरकारसँग माग गरे।

राजीनामा दिएपछि आँसु झार्दै मन्त्रालयबाट निस्किइन् गौरीकुमारी

काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

इन्धन आपूर्ति सहज बनाउन नसकेको भन्दै आलोचना भइरहेका बेला उद्योगीलाई लक्षित अभिव्यक्तिका कारण समेत विवादमा परेकी यादवले अन्ततः मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

राजीनामा दिएपछि मन्त्रालयबाट बाहिरिने क्रममा यादव भावुक देखिएकी थिइन् । मन्त्रालय परिसरबाट निस्कँदा उनको आँखामा आँसु देखिएको स्रोतले जनाएको छ ।

सञ्चारकर्मीले प्रतिक्रिया लिन खोजे पनि यादवले कुनै जवाफ दिइनन् । उनी राजीनामा दिएलगत्तै मन्त्रालयबाट बाहिरिएकी थिइन् ।

तत्कालीन श्रममन्त्री दीपक साह विवादमा परेर राजीनामा दिएपछि रिक्त भएको जिम्मेवारीमा मन्त्रालय हेरफेर गर्दै यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

तर, साहको राजीनामापछि मन्त्री बनेकी यादव पनि विवादबाट उम्किन सकिनन्। अन्ततः उनले समेत राजीनामा दिएर पदबाट बाहिरिनुपरेको छ।

देउवाको सरकारलाई चार सुझाव

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धारदेखि पुनर्निर्माणसम्म सरकारले चारवटा कामलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार नुवाकोट पुगेका देउवाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

‘विपत्तिको अवस्था अत्यन्तै दुःखदायी छ । प्रभावित नागरिकप्रति म गहिरो दुःख व्यक्त गर्न चाहन्छु,’ देउवाले भने, ‘अहिले सरकारले मुख्य रूपमा चारवटा विषयलाई प्राथमिकतामा राख्नुपर्छ– खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माण ।’

उनले बाढी प्रभावितका लागि सरकारले के गरिरहेको छ र कहाँ कमजोरी भइरहेको छ भन्ने विषयमा आफूले निरन्तर आवाज उठाउने बताए ।

‘यी चारवटा कुरा नगरी हुँदैन । सरकारले के गरेको छ, के गरेको छैन, त्यसबारे आवाज उठाउँछु,’ उनले भने, ‘बाहिर भन्छु, प्रेसमा पनि सबै ठाउँमा भन्ने छु ।’

देउवाका अनुसार तत्कालको पहिलो आवश्यकता खोज तथा उद्धार हो । त्यसपछि राहत र विस्थापित नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था छ ।

‘उद्धार गरिसकेपछि उनीहरूलाई कहाँ राख्ने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले तत्काल ध्यान दिनुपर्छ,’ उनले भने, ‘त्यसपछि पुनर्निर्माणको काम अघि बढाउनुपर्छ ।’

रसुवा बाढीले निम्त्याएको विपत्ति गम्भीर रहेको भन्दै देउवाले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्निर्माणका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री देउवा नेपाली कांग्रेसको ‘१५औँ महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, एनपी साउदलगायत नेतासहित नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा गएका हुन् ।

डोल्पाका सम्पर्कविहीन नागरिकको तत्काल खोजी गर्न सांसद बुढाको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपहिरोपछि सम्पर्कविहीन डोल्पाका नागरिकको तत्काल खोज तथा उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाले गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।

उनले बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्का कारण आफ्नो गृह जिल्ला डोल्पाका नागरिकसमेत प्रभावित भएको बताए ।

बुढाका अनुसार मुड्केचुला गाउँपालिका–१ का त्रिशूली हाइड्रोपावरमा कार्यरत लवी शाही, दुनैको स्वास्थ्य संस्थामा कार्यरत दिनेश शाही तथा डोल्पोबुद्ध निवासी थुप्तेन लामालगायत नागरिक र उनीहरूका परिवार बाढीपछि सम्पर्कविहीन छन् ।

उनले सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राख्दै उनीहरूको अवस्थाबारे परिवारजनलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद बुढाले विपद्को उद्धार तथा राहतमा खटिएका तीनै तहका सरकार, सुरक्षाकर्मी, जनप्रतिनिधि, राजनीतिकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, पत्रकार तथा स्थानीय समुदायप्रति सम्मान व्यक्त गरे ।

त्यस्तै, विपद् प्रभावित नागरिकको सहयोगमा जुटेका आम नागरिक, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय विकास साझेदारलाई समेत उनले सहयोगका लागि आह्वान गरे ।

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।

उनले बिहिवार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ ।