`

देवानगञ्जको तरंग सिंहदरबारसम्म

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको हिंसात्मक झडपको असर अब पूर्व-पश्चिम राजमार्ग हुँदै कोशी प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको छ।

देवानगञ्जमा अवस्था क्रमशः सामान्य बन्दै गए पनि घटनाको विरोधमा मंगलबार मोरङ, सुनसरी र सिराहाका विभिन्न स्थानमा प्रदर्शन भएको छ। प्रदर्शनका कारण केही स्थानमा यातायात प्रभावित भएको छ भने बजार, शैक्षिक संस्था र सरकारी कार्यालयसमेत प्रभावित बनेका छन्।

देवानगञ्जमा बोलबम यात्राको तयारीका क्रममा डिजे बाजा बजाउने विषयलाई लिएर दुई समुदायबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने एक जना गम्भीरसहित अन्य नौ जना घाइते भएका थिए।

घटनापछि प्रशासनले कर्फ्यु आदेश जारी गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको थियो।

घटनापछि देवानगञ्जमा सुरक्षा व्यवस्था कडा बनाइएसँगै अवस्था नियन्त्रणतर्फ उन्मुख भए पनि त्यसको विरोध अन्य जिल्लामा देखिएको छ। मंगलबार बिहानैदेखि विराटनगर, इनरुवा, कोशी ब्यारेज आसपास तथा पूर्व-पश्चिम राजमार्गका विभिन्न स्थानमा प्रदर्शनकारीले टायर बालेर विरोध जनाएका छन्। केही स्थानमा सडक अवरुद्ध हुँदा यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ।

विराटनगरमा बजार, विद्यालय र सार्वजनिक यातायातसमेत प्रभावित भएका छन्। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै केही विद्यालयले अघिल्लो दिन नै बिदा सम्बन्धी सूचना जारी गरेका थिए। मंगलबार बिहानदेखि मुख्य व्यापारिक क्षेत्रको गतिविधिसमेत सुस्त देखिएको छ।

सुनसरीको इनरुवामा पनि प्रदर्शनको प्रभाव परेको छ। इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले देवानगञ्ज घटनाको असर आफ्नो क्षेत्रमा समेत परेको जानकारी दिएका छन्। उनका अनुसार बजार, नगरपालिका कार्यालय तथा वडा कार्यालयहरू प्रभावित भएका छन् भने स्थानीयमा त्रासको अवस्था कायम छ।

प्रदर्शनकारीहरूले घटनामा राज्यको तर्फबाट अत्यधिक बल प्रयोग भएको आरोप लगाएका छन्। उनीहरूले प्रहरीले कम्मरमाथि गोली चलाएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। प्रदर्शनका क्रममा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामासमेत माग गरिएको छ।

सुरक्षा निकायले भने विभिन्न स्थानमा शान्ति–सुरक्षा कायम राख्न थप सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। संवेदनशील क्षेत्रहरूमा प्रहरी परिचालन बढाइएको छ भने राजमार्गमा सवारी सञ्चालन सहज बनाउन सुरक्षा टोली खटाइएको छ।

देवानगञ्ज घटनाको वास्तविक कारण, गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो र बल प्रयोग आवश्यक थियो वा थिएन भन्ने विषयमा औपचारिक छानबिनको माग भइरहेका बेला त्यसको राजनीतिक र सामाजिक प्रभाव भने सुनसरीभन्दा बाहिरसमेत फैलिएको देखिएको छ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न र शान्ति कायम राख्न आग्रह गरेको छ।

रश्मी रिजाल मृत्यु प्रकरण : आखिर भएको के हो?

काठमाडौं। सानीमा क्यापिटल्सकी मर्चेन्ट हेड ४५ वर्षीया रश्मी रिजालको मृत्यु प्रकरणले यतिबेला व्यापक चासो र बहस निम्त्याएको छ।

गत शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी रिजाल शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–१ बालेबासेस्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक आफ्नै विद्युतीय कारभित्र मृत अवस्थामा फेला परेपछि घटनालाई सुरुमा रहस्यमय मानिएको थियो।

गाडीभित्र जलेको अवस्थामा शव भेटिए पनि कारमा ठूलो क्षति नदेखिनु र शरीर पनि पूर्ण रूपमा नजलेको अवस्थामा भेटिएपछि हत्या, आत्महत्या वा अन्य कुनै कारणबारे विभिन्न अड्कलबाजी सुरु भएका थिए।

प्रहरीका अनुसार रिजाल शुक्रबार घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएको थियो। खोजीका क्रममा तारकेश्वरस्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक शंकास्पद रूपमा पार्किङ गरिएको उनको विद्युतीय कार फेला परेको थियो।

गाडीमा कालो सिसा भएकाले बाहिरबाट केही देख्न सकिने अवस्था थिएन। ढोका खोलेपछि पछाडिको सिटमा रश्मी मृत अवस्थामा भेटिएकी थिइन् भने चाबी अगाडिको भागमै रहेको थियो। त्यसपछि प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो।

घटनास्थलको अवस्थाले धेरै प्रश्न उठाएको थियो। गाडी पूर्ण रूपमा जलेको थिएन, पछाडिको सिटमा शव भए पनि सिट र गाडीको भित्री भागमा अपेक्षाकृत कम क्षति थियो। शरीरमा पनि सीमित मात्र जलन देखिएकाले घटनाको वास्तविक कारणबारे विभिन्न अनुमान सार्वजनिक भएका थिए।

तर, घटनास्थल आसपासका सीसीटीभी फुटेज विश्लेषण गरेपछि अनुसन्धानले नयाँ मोड लिएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार फुटेजमा रश्मी आफैं कार चलाएर घटनास्थल पुगेको, चालक सिटबाट पछाडिको सिटमा सरेको र त्यसपछि गाडीका सबै ढोका तथा सिसा बन्द गरेको देखिन्छ। त्यसपछि गाडीभित्र केही समय बिताएको दृश्य पनि फुटेजमा कैद भएको प्रहरीको भनाइ छ।

प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार उनले आफूमाथि पेट्रोल छर्किएर आगो लगाएको देखिएको छ। गाडीका सबै झ्याल बन्द भएकाले आगोले पर्याप्त अक्सिजन नपाउँदा ठूलो आगलागी हुन नसकेको र त्यसैले गाडी तथा शरीरमा सीमित मात्र क्षति पुगेको अनुमान गरिएको छ। प्रारम्भिक रूपमा जलन र अक्सिजनको अभाव दुवै कारणले मृत्यु भएको हुन सक्ने प्रहरीको आकलन छ।

यद्यपि प्रहरीले यसलाई अन्तिम निष्कर्ष भने मानेको छैन। पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण, रासायनिक विश्लेषण तथा डिजिटल प्रमाणको अध्ययनपछि मात्र मृत्युको वास्तविक कारण औपचारिक रूपमा पुष्टि हुने जनाएको छ। घटनास्थलबाट संकलित सामग्री, गाडीको प्राविधिक परीक्षण तथा मृतकले प्रयोग गरेका डिजिटल उपकरण पनि अनुसन्धानको दायरामा रहेका छन्।

घटनापछि परिवारले प्रहरीमा ज्यान सम्बन्धी कसुरअन्तर्गत जाहेरी दर्ता गराउँदै निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेको छ। परिवारले अन्तिम प्रतिवेदन नआएसम्म सबै सम्भावित पक्षको अनुसन्धान गर्नुपर्ने अडान राखेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले घटनाका सबै पक्षलाई समेटेर अनुसन्धान भइरहेको र अहिले नै कुनै पनि सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने बताएका छन्।

रश्मी रिजालको मृत्यु प्रकरणले बन्द गाडीभित्र भएको आगलागी, फरेन्सिक अनुसन्धान, डिजिटल प्रमाण र सीसीटीभी फुटेजको महत्वबारे पुनः बहस सुरु गराएको छ।

प्रहरीले उपलब्ध सबै वैज्ञानिक प्रमाणको विश्लेषणपछि मात्र घटनाबारे अन्तिम निष्कर्ष सार्वजनिक गर्ने जनाएको छ।

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन

काठमाडौं। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धी सम्झौंतालाई मध्यनजर राखेर कानुन निर्माण गर्नुपर्ने बताइएको छ।

राजधानीमा मंगलबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको प्रविधिको प्रयोगबाट हुने लैंगिक हिंसा सम्बोधनसम्बन्धी राष्ट्रियसभाबाट पारित संकल्प प्रस्ताव सम्बन्धमा भएको प्यानल छलफल कार्यक्रममा उक्त कुरा बताइएको हो ।

राष्ट्रियसभाबाट असार १७ गते सर्वसम्मत पारित संकल्प प्रस्तावकी प्रस्तावक रेणु चन्दले अभिव्यक्ति स्वतन्त्रताको महत्वपूर्ण माध्यम बनेको सामाजिक सञ्जाल नियमन गर्ने कानुन निर्माण नगर्ने हो भने विकराल समस्या उत्पन्न हुने बताइन् । कानुन अभावले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुन थालेपछि सरकारलाई छिटो कानुन निर्माणमा सहयोग पुर्‍याउन संकल्प प्रस्ताव राष्ट्रियसभामा ल्याउनुपरेको उनले बताइन् ।

उक्त संकल्प प्रस्तावमा पदमबहादुर परियार र रोशनी मेचे समर्थक रहेका छन् । प्रस्ताव महत्वपूर्ण सातवटा बुँदामा समेटिएको छ । डिजिटल हिंसामा सबैभन्दा धेरै महिला र बालबालिका पीडित हुनु परेको सांसद परियारले बताए । पछिल्लो समय डिजिटल हिंसाको संख्या बढ्दो छ, संसदले कानुन निर्माण गर्न सकेको छैन, राज्यसँग पीडितलाई सम्बोधन गर्ने संयन्त्रको अभाव भएकाले यो परिवेशमा संकल्प प्रस्ताव महत्वपूर्ण हुने परियारको भनाइ थियो ।

राज्यलाई कानुन निर्माणमा सहयोग पुर्‍याउन र डिजिटल हिंसाले समाजमा पारेको प्रभावबारे जानकारी लिन संकल्प प्रस्ताव सहयोगी हुने सांसद रोशनी मेचेले बताइन् । संकल्प प्रस्ताव पारित भएपछि सम्बन्धित मन्त्रालयले त्यसबारे के हुँदैछ भनेर सम्बन्धित मन्त्रालयले ३–३ महिनामा जानकारी राष्ट्रियसभामा पठाउने, समितिमार्फत् अनुगमन गर्ने र हिंसा न्यूनीकरण गर्न सञ्चारमाध्यमले भूमिका खेल्न सक्ने मेचेको भनाइ थियो ।

सामाजिक प्लेटफर्मबाट अधिकार उपयोग गर्न थालेसँगै यसको दुरुपयोग गर्नेको संख्या बढ्दै गएको कार्यक्रममा बताइयो । सामाजिक सञ्चाल उपयोग गर्न थालेको दुई दशक बढी भइसकेपछि हामी सूचना प्रविधि र साइबर सुरक्षाको कानुन निर्माणबारे बहस गर्दैछौं, यो आफैमा दुर्भाग्य भएको एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए । ‘प्रविधिले फड्को मारेर कहाँबाट कहाँ पुगिसक्यो, कानुन निर्माणमा यतिबेला हामी छलफलमा जुटेका छौं’, कार्यकारी निर्देशक श्रेष्ठले भने, हिंसाको घटना दैनिक चार गुणाले बढिरहेको छ, सोसल प्लेटफर्मलाई जवाफदेही बनाउन सकिएको छैन ।’

नागरिक समाजको तर्फबाट अधिवक्तासमेत रहेका कार्यकारी निर्देशक श्रेष्ठले राष्ट्रियसभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनमा आए कोशेढुंगा सावित हुने बताए । आर्थिक वर्ष २०८१–०८२ मा १८ हजार ९ सय २६ हिंसाका घटना प्रहरीमा दर्ता भएको, १७ हजार अर्थात् ८५ प्रतिशतभन्दा बढी काठमाडौंमा दर्ता भएको उनले जानकारी दिए । त्यसमध्ये पनि २ सय १८ अर्थात् १ दशमलब ५ प्रतिशतभन्दा थोरै मात्र मुद्दा चलेको उनले जानकारी दिए । यी सबै कानुन अभावले पीडितले न्याय नपाएको उनको भनाइ थियो ।

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्ताव डिजिटल हिंसा न्यूनीकरण अभियानको प्रस्थान विन्दु भएको कार्यक्रममा बताइयो । हिंसा न्यूनिकरणका लागि प्रहरीको क्षमता वृद्धि, जनचेतना कार्यक्रम, सबै क्षेत्र, समुदाय र वर्गलाई सम्बोधन हुने गरी कानुन निर्माणमा बहस पैरवी गर्न सांसदहरुलाई सहभागीले सुझाव दिएका थिए ।

कार्यक्रममा राइजिङ नेपालकी बिनु श्रेष्ठ र मञ्जिमा ढकाल, न्यूज बैंककी आकांक्षा धामी, अन्नपूर्ण पोष्टकी अवजी पौडेल, अधिवक्ता दीक्षा राउत, राससकी मधु शाही र केन्द्रविन्दूकी अनुष्का धामीलगायतले संकल्प प्रस्ताव र डिजिटल हिंसाबारे जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले गरेकी थिइन् ।

 

के छ पारित सङ्कल्प प्रस्तावमा ?

राष्ट्रियसभाले पारित गरेको सङ्कल्प प्रस्तावमा सरकारलाई कार्यान्वयनका लागि देहायका ७ मुख्य निर्देशन दिइएको छ । जसमा पहिलो नम्बरमा प्रविधिजन्य लैङ्गिक हिंसाका नयाँ र विकसित स्वरूपलाई कानुनी रूपमा परिभाषित गर्ने र प्रचलित कानुनमा आवश्यक संशोधन वा नयाँ कानुन निर्माण गर्नुपर्नेछ ।

दोस्रोमा पीडितको संरक्षण, पुनः स्थापना, अनुसन्धान, अभियोजन र क्षतिपूर्तिको प्रबन्ध समेटिएको विशेष कानुनी व्यवस्था गर्नुपर्नेछ ।

तेस्रोमा विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा डिजिटल अधिकार, अनलाइन सुरक्षा र साइबर सचेतनाका विषय समावेश गर्नुपर्ने, चौथोमा स्थानीय तहसम्म पुग्ने गरी नियमित रूपमा डिजिटल साक्षरता र साइबर सुरक्षा अभियान सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

यस्तै पाँचौँमा पीडित मैत्री उजुरी प्रणाली, डिजिटल प्रमाण संरक्षण र द्रुत न्याय सम्पादनका लागि संस्थागत संयन्त्र सुदृढ गर्नुपर्ने, छैटौँमा अनुसन्धान गर्ने निकाय, सरकारी वकिल र न्यायिक निकायलाई प्रविधिजन्य हिंसाको प्रभावकारी अनुसन्धान र अभियोजनका लागि दक्ष बनाउने, सातौँमा सामाजिक सञ्जाल र इन्टरनेट सेवा प्रदायकलाई हिंसाजन्य सामग्री तुरुन्त हटाउन र अनुसन्धानमा सहयोग गर्न कानुनी रूपमा जिम्मेवार बनाउने रहेको छ ।

अन्यौल र विवादमा ‘नयाँ एक रुपैयाँको सिक्का’

काठमाडौं। नेपाल राष्ट्र बैंकले छाप्न लागेको नयाँ एक रुपैयाँको सिक्कालाई लिएर यतिबेला व्यापक बहस सुरु भएको छ।

सामाजिक सञ्जालमा नयाँ सिक्काबाट नेपालको चुच्चे नक्सा हटाएर मुस्ताङस्थित ऐतिहासिक लो घेकेर (घार) गुम्बा राख्न लागिएको दाबी भाइरल भइरहेका बेला सरकार र नेपाल राष्ट्र बैंकका अधिकारीहरूको भनाइ भने एक-आपसमा बाझिएको देखिएको छ।

यसले सिक्काको वास्तविक डिजाइन के हुनेछ भन्ने विषयमा अन्योल थपिएको छ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सरकारले पठाएको प्रस्तावअनुसार एक रुपैयाँको सिक्काबाट हाल रहेको नेपालको नक्सा हटाएर लो घेकेर गुम्बाको आकृति राख्ने प्रस्ताव राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट स्वीकृत भइसकेको छ। स्रोतले असार २२ वा २३ गते बसेको बोर्ड बैठकबाट उक्त प्रस्ताव पारित भएको दाबी गरेको छ।

सरकारको सिफारिस तथा राष्ट्र बैंकअन्तर्गतको नोट तथा सिक्का डिजाइन तथा छपाइ समितिको सिफारिसका आधारमा बोर्डले निर्णय गरेको स्रोतको भनाइ छ। समितिको संयोजक स्वयं गभर्नर हुने भएकाले प्रस्ताव संस्थागत प्रक्रियाबाट अघि बढेको बताइएको छ।

बोर्डबाट स्वीकृत भएको भनिएको प्रस्तावमा सिक्काको आकृति मात्र होइन, यसको भौतिक स्वरूपमा पनि परिवर्तन गर्ने तयारी गरिएको छ। प्रस्तावअनुसार अहिलेको सुनौलो (गोल्डेन) रंगको सिक्कालाई चाँदीजस्तो (सिल्भर) रंगमा ल्याइने, आकार सानो बनाइने र तौल घटाइनेछ। हाल चार ग्राम तौल रहेको एक रुपैयाँको सिक्कालाई करिब ३.५ ग्राम वा सोभन्दा कम तौलको बनाउने योजना रहेको स्रोतले जनाएको छ।

राष्ट्र बैंकका अनुसार अहिले एक रुपैयाँको एउटा सिक्का उत्पादन गर्न नै करिब दुई रुपैयाँ ३५ पैसाभन्दा बढी खर्च लाग्ने भएकाले धातु, आकार र तौल परिवर्तन गरी उत्पादन लागत घटाउने उद्देश्य राखिएको हो। गोल्डेन मिश्रधातु लामो समयपछि रङ परिवर्तन हुने भएकाले पनि नयाँ धातु प्रयोग गर्ने तयारी गरिएको बताइएको छ।

यद्यपि सिक्कामा नेपालको नक्सा रहने कि नरहने भन्ने विषयमा राष्ट्र बैंकभित्रै फरक-फरक धारणा सार्वजनिक भएका छन्। राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने एक रुपैयाँको सिक्काबाट नेपालको नक्सा हटाउने निर्णय अन्तिम नभएको बताएका छन्।

उनका अनुसार गुम्बा वा आकाश भैरवको प्रतिमा राख्ने विषयमा पनि कुनै अन्तिम टुंगो लागेको छैन र नेपालको नक्सा रहने विषयमा आफू विश्वस्त रहेको दाबी गरेका छन्। यसले बोर्ड स्रोत र आधिकारिक प्रवक्ताको भनाइबीच स्पष्ट विरोधाभास देखिएको छ।

यसअघि सामाजिक सञ्जालमा चुच्चे नक्सासँगै आकाश भैरवको प्रतिमा राखिएको सिक्काको नमुना तस्बिर पनि भाइरल भएको थियो। तर राष्ट्र बैंक स्रोतले त्यस्तो कुनै डिजाइन बोर्डबाट स्वीकृत नभएको र ती तस्बिर आधिकारिक नभएको स्पष्ट पारेको छ। यसले वास्तविक डिजाइनबारे थप अन्योल सिर्जना गरेको छ।

यसैबीच, गत असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँका सिक्का टकमरी गर्न स्वीकृति दिएको थियो। तर सरकारले सार्वजनिक गरेको निर्णयमा सिक्काको रङ, आकार, तौल वा त्यसमा रहने आकृतिबारे कुनै विवरण खुलाइएको थिएन। यही कारण विभिन्न अनुमान र चर्चा चुलिएका छन्।

विवादको केन्द्रमा रहेको लो घेकेर (घार) गुम्बा मुस्ताङको लो घेकेर दामोदरकुण्ड गाउँपालिका-१ मा अवस्थित नेपालको सबैभन्दा पुराना बौद्ध गुम्बामध्ये एक हो। आठौँ शताब्दीमा गुरु पद्मसम्भव (गुरु रिम्पोछे) ले स्थापना गरेको मानिने यो गुम्बा तिब्बती बौद्ध धर्मको न्यिङमा सम्प्रदायसँग सम्बन्धित छ।

कतिपय इतिहासकारले यसलाई तिब्बतको प्रसिद्ध सम्ये गुम्बाभन्दा पनि पुरानो मान्छन्। २०७२ सालको भूकम्पपछि अमेरिकी दूतावास, गण्डकी प्रदेश सरकार र स्थानीय तहको सहयोगमा यसको पुनःनिर्माण र संरक्षणको काम भइरहेको छ। पछिल्ला वर्षहरूमा यो गुम्बा धार्मिक तथा पर्यटकीय दृष्टिले पनि आकर्षणको केन्द्र बनेको छ।

तर सिक्कामा राष्ट्रिय पहिचानको प्रतीक मानिने चुच्चे नक्सा हटाएर धार्मिक तथा सांस्कृतिक सम्पदा राख्ने प्रस्तावको चर्चा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ।

कतिपयले नेपालको सार्वभौमिकताको प्रतीक नक्सा हटाउन नहुने तर्क गरेका छन् भने अर्कोतर्फ ऐतिहासिक सम्पदालाई राष्ट्रिय सिक्कामा स्थान दिनु सकारात्मक कदम हुने मत पनि व्यक्त भइरहेको छ। केहीले यसलाई भूराजनीतिक कोणबाट समेत हेरेका छन्।

हालसम्म नेपाल सरकारले नयाँ एक रुपैयाँको सिक्काको अन्तिम डिजाइन सार्वजनिक गरेको छैन। राष्ट्र बैंकका विभिन्न तहबाट आएका फरक-फरक भनाइ र सामाजिक सञ्जालमा फैलिएका विभिन्न नमुना डिजाइनका कारण यो विषय अझै अन्योलमै छ।

‘मम’को सिक्वेल बन्दै 

काठमाडौं। बलिउडकी दिग्गज अभिनेत्री श्रीदेवी अभिनीत अन्तिम फिल्म ‘मम’ को सिक्वेल बन्ने भएको छ।

सन् २०१७ मा प्रदर्शन भएको पहिलो फिल्मले समीक्षक र दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो भने अब करिब नौ वर्षपछि ‘मम २’ निर्माणको तयारी अन्तिम चरणमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसपटक फिल्मको मुख्य भूमिकामा श्रीदेवीकी कान्छी छोरी खुसी कपूर देखिने भएकी छन्। फिल्मलाई उनका पिता बोनी कपूर ले निर्माण गरिरहेका छन्। निर्माण टोलीका अनुसार फिल्म नोभेम्बर २०२६ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

रिपोर्टअनुसार ‘मम २’ को छायांकन भारतको नोएडा र ग्रीसका विभिन्न स्थानमा सम्पन्न भइसकेको छ। यो परियोजना खुसी कपूरका लागि व्यावसायिक मात्र नभई भावनात्मक रूपमा पनि विशेष मानिएको छ, किनकि ‘मम’ श्रीदेवीको अन्तिम चलचित्र थियो। त्यसैले आमाले स्थापित गरेको विरासतलाई अगाडि बढाउने अवसरका रूपमा यस फिल्मलाई हेरिएको छ।

खुसी कपूरले नेटफ्लिक्स फिल्म ‘द आर्चिज’ मार्फत अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसपछि ‘नादानियाँ’ र ‘लभयापा’ जस्ता परियोजनामा देखिए पनि ती फिल्मले अपेक्षित सफलता हासिल गर्न सकेका थिएनन्। त्यसैले ‘मम २’ लाई उनको करियरको सबैभन्दा महत्त्वपूर्ण परियोजनामध्ये एक मानिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको प्रारम्भिक फुटेज हेरेका केही स्रोतहरूले खुसीको अभिनयमा उल्लेखनीय सुधार देखिएको बताएका छन्। उनी भावनात्मक दृश्यहरूमा पहिलेभन्दा धेरै परिपक्व देखिएको र कतिपय दृश्यमा श्रीदेवीको अभिनय शैलीको झल्कोसमेत महसुस हुने प्रतिक्रिया आएको दाबी गरिएको छ।

फिल्ममा करिश्मा तन्ना र जिशु सेनगुप्ता पनि महत्त्वपूर्ण भूमिकामा रहनेछन्। चलचित्रको निर्देशन गिरीश कोहली ले गरिरहेका छन्।

निर्माण टोलीका अनुसार ‘मम २’ पहिलो फिल्मको कथालाई प्रत्यक्ष रूपमा निरन्तरता दिने सिक्वेल भने हुनेछैन। बरु नयाँ पात्र, नयाँ परिवेश र फरक कथावस्तुमार्फत न्याय, रहस्य, सस्पेन्स र सशक्त महिला पात्रको कथा प्रस्तुत गरिनेछ।

उल्लेखनीय रूपमा, पहिलो ‘मम’ फिल्मको निर्देशन रवि उदयवार ले गरेका थिए। उक्त फिल्ममा श्रीदेवीको सशक्त अभिनयको व्यापक प्रशंसा भएको थियो र उनको निधनपछि त्यसै भूमिकाका लागि उनलाई मरणोपरान्त राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको थियो।

अब ‘मम २’ मार्फत श्रीदेवीको सम्झनालाई नयाँ पुस्तासामु पुनः प्रस्तुत गर्ने प्रयास हुने अपेक्षा गरिएको छ।

डेटिङ एपको कमाल, २६५ जोडीको विहे

काठमाडौं। घट्दो जन्मदर र बढ्दो अविवाहित जनसंख्याको चुनौतीसँग जुधिरहेको जापानले कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर सुरु गरेको सरकारी डेटिङ एपले उत्साहजनक नतिजा दिन थालेको छ।

टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको ‘टोकियो एनमुसुबी’ एपमार्फत हालसम्म २६५ जोडीले विवाह गरिसकेका छन्।

सेप्टेम्बर २०२४ मा सञ्चालनमा आएको यो एप विवाह गर्न इच्छुक तर उपयुक्त जीवनसाथी भेट्न कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरेर सुरु गरिएको हो। सरकारी सर्वेक्षणले करिब ७० प्रतिशत विवाह गर्न चाहने व्यक्ति म्याचमेकिङ प्रक्रियामा सक्रिय नभएको देखाएपछि सरकारले प्रविधिको प्रयोगमार्फत समाधान खोज्ने प्रयास गरेको थियो।

एपमा सहभागी हुन इच्छुक व्यक्तिले आफू कानुनी रूपमा अविवाहित रहेको प्रमाण पेस गर्नुपर्ने, अनलाइन अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्ने तथा अन्य आवश्यक मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। यसले विवाहप्रति गम्भीर उद्देश्य भएका व्यक्तिहरू मात्र सहभागी हुने वातावरण बनाएको सरकारी अधिकारीहरूको भनाइ छ।

यस वर्ष जुन ३० सम्म करिब ३६ हजार आवेदन परेकामध्ये १६ हजार जना सदस्य दर्ता भएका छन्। तीमध्ये ७६० जोडी गम्भीर प्रेम सम्बन्धमा रहेका छन् भने २६५ जोडी विवाह बन्धनमा बाँधिइसकेका छन्।

सरकारले सार्वजनिक गरेको अनुभवअनुसार ‘टर्टल’ नामबाट चिनिएकी एक महिलाले आफ्नो ४०औँ जन्मदिन नजिकिँदै गर्दा यसलाई जीवनसाथी खोज्ने अन्तिम अवसर ठानेर एप प्रयोग गरेकी थिइन्। धेरै ब्लाइन्ड डेटपछि उनले अगस्टको अन्त्यतिर वर्तमान पतिसँग भेट गरेकी, सेप्टेम्बरदेखि सम्बन्ध गहिरिएको र डिसेम्बरको अन्त्यमा विवाह प्रस्ताव स्वीकार गरेको उल्लेख गरेकी छन्।

‘स्काइट्री’ नामबाट परिचित अर्का प्रयोगकर्ताले एआईले सम्भावित जोडीसँगको अनुकूलता वैज्ञानिक ढंगले मूल्याङ्कन गरिदिने भएकाले सम्बन्ध अघि बढाउने निर्णय लिन सहज भएको बताएका छन्। उनका अनुसार अहिलेकी जीवनसाथीसँग एआईले निकै उच्च अनुकूलता देखाएको थियो।

यद्यपि जापानको जनसांख्यिकीय चुनौती भने अझै गम्भीर छ। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ मा जापानी नागरिकबाट जन्मिएका शिशुको संख्या घटेर ६ लाख ७१ हजार २३६ मा पुगेको छ, जुन लगातार दशौँ वर्षको वार्षिक गिरावट हो। सोही अवधिमा १६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने कुल प्रजनन दर १.१५ बाट घटेर १.१४ मा झरेको छ।

यद्यपि विवाहको संख्या केही बढेको देखिएकाले सरकारले एआईमा आधारित म्याचमेकिङ सेवाले दीर्घकालीन रूपमा विवाह र जन्मदर दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेको छ। जापानले जनसंख्या घट्ने चुनौती सामना गर्न प्रविधिको प्रयोगमार्फत सामाजिक समाधान खोज्ने प्रयासलाई अझ विस्तार गर्ने तयारीसमेत गरिरहेको छ।

साडीले झुन्ड्याएर श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान पक्राउ

काठमाडौं। सर्लाहीको धनकौल गाउँपालिका–१ शेखौनाका एक युवकले ससुरालीमा आफ्नै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए।

घटनाका बेला बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। आफन्तले समयमै साडीको पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैयामा पुर्‍याएको थियो। सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो। त्यसपछि थप उपचारका लागि रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनामा संलग्न बसन्ता बैठा धोबीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि झलनाथले भने, ‘मैले सुरु गरेको राष्ट्रिय संकल्प आज यथार्थ बन्यो’

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै आफूले प्रधानमन्त्री हुँदा अघि सारेको दूरदर्शी राष्ट्रिय सङ्कल्प आज यथार्थमा परिणत भएको बताएका छन्।

हाल चीनको बेइजिङमा रहेका खनालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै काठमाडौं उपत्यकामा प्रवेश गर्ने र बाहिरिने लाखौं नागरिकले वर्षौंदेखि भोग्दै आएको ट्राफिक जाम र सास्ती अन्त्य गर्ने उद्देश्यले आफूले प्रधानमन्त्री बनेकै दिन यो आयोजना अघि बढाएको स्मरण गरेका छन्।

उनका अनुसार वि.सं. २०६७ माघ २३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेकै दिन हस्ताक्षर गरेको पहिलो फाइल नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणसम्बन्धी थियो। त्यसको चार दिनपछि २०६७ माघ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोजना स्वीकृत गरेको र २०६८ सालमा नीतिगत रूपमा अघि बढाउने निर्णय गरिएको उनले उल्लेख गरेका छन्। आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत आयोजनाका लागि बजेट विनियोजन गरिएको पनि उनले स्मरण गरेका छन्।

खनालले आज सुरुङमार्ग सञ्चालनमा आउनु केवल एउटा पूर्वाधार परियोजना सम्पन्न हुनु मात्र नभई दूरदृष्टि, अटल अठोट, नीतिगत निरन्तरता र राष्ट्रिय प्रतिबद्धताको सफल परिणाम भएको बताएका छन्।

उनले राष्ट्र निर्माण कुनै एक व्यक्ति वा सरकारको मात्र उपलब्धि नभई निरन्तरता, सहकार्य र सामूहिक उत्तरदायित्वको प्रतिफल हुने उल्लेख गर्दै आयोजना सम्पन्न गर्न योगदान पुर्‍याउने विभिन्न समयका सरकार, प्राविधिक, कर्मचारी, मजदुर तथा सहयोगी राष्ट्र जापानप्रति आभार व्यक्त गरेका छन्।

उनका अनुसार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात गरेको छ।

यसले सुरक्षित, सहज र आधुनिक यातायात प्रणालीको विकास गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन र समग्र विकास यात्रालाई नयाँ गति दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन्।

मन्त्री हेरफेरको चर्चा

काठमाडौं। चामत्कारिक जनमतसहित सरकारको नेतृत्वमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला सरकार सञ्चालनसँगै आन्तरिक व्यवस्थापनको चुनौतीमा परेको देखिएको छ।

सरकार गठनअघि सार्वजनिक गरिएको १०० कार्यसूची अपेक्षित रूपमा कार्यान्वयन हुन नसकेको चर्चा भइरहेका बेला मन्त्रिपरिषद् पुनर्गठनको तयारीले पनि तीव्रता पाएको चर्चा राजनीतिक वृत्तमा छ।

सरकारको कार्यसम्पादन, सचिवालयको प्रभावकारिता र संगठनभित्र बढ्दो असन्तुष्टिका कारण नेतृत्वमाथि दबाब बढ्दै गएको बताइन्छ।

केन्द्रदेखि प्रदेश, जिल्ला र नगर तहसम्मका कार्यकर्ताबीच सरकारको कार्यशैलीप्रति असन्तुष्टि देखिन थालेको छ। विशेषगरी सिंहदरबारसँगै जोडिएको ललितपुर जिल्ला अहिले रास्वपाभित्रको असन्तुष्टिको केन्द्र बन्दै गएको चर्चा छ।

पार्टीभित्र प्रभावशाली नेतामध्ये मानिने ललितपुर–३ की सांसद तथा डा. तोसिमा कार्की चितवन महाधिवेशनमा उपसभापति पदमा पराजित भएपछि स्थानीय कार्यकर्तामाझ त्यसबारे विभिन्न टिप्पणी हुने गरेका छन्। अघिल्लो निर्वाचनमा तत्कालीन नेकपाकी नेतृ पम्फा भुसाललाई पराजित गर्दै चर्चामा आएकी कार्कीले यसपटक पनि आफ्नो क्षेत्रमा उल्लेखनीय मत ल्याएकी थिइन्। तर सरकार र पार्टी दुवै तहमा अपेक्षाअनुसार भूमिका नपाएको महसुस भएपछि उनी पछिल्लो समय सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी सामग्री साझा गर्नमै सक्रिय देखिएकी छन्।

केहीले यसलाई उनको व्यावसायिक निरन्तरता मानेका छन् भने कतिपयले पार्टीभित्र अवसर नपाएको संकेतका रूपमा व्याख्या गरिरहेका छन्।

यसैबीच, ललितपुरबाट कम्तीमा एक जना मन्त्री बनाउनुपर्ने माग स्थानीय कार्यकर्ताले नेतृत्वसमक्ष राखेको चर्चा छ। सभापति रवि लामिछानेले ‘सबै जिल्लालाई समेट्ने हो भने मन्त्रिपरिषद् अत्यधिक ठूलो बनाउनुपर्ने’ आशयको प्रतिक्रिया दिएको चर्चा पार्टी वृत्तमा छ। यद्यपि यसबारे पार्टीको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

मन्त्रिपरिषद् पुनर्गठनसँगै सम्भावित मन्त्रीहरूको नामबारे पनि विभिन्न अड्कलबाजी भइरहेका छन्। ललितपुर ठेगाना भएकी समानुपातिक सांसद सुम्निमा उदास सञ्चारमन्त्री बन्न सक्ने चर्चा छ।

अर्कोतर्फ पूर्व सञ्चारमन्त्री जगदीश खरेलले आफूलाई मन्त्री बनाउने सहमतिअनुसार महाधिवेशनमा महामन्त्री पदको दौडबाट पछि हटाइएको दाबी गर्दै निकटवर्तीहरूमाझ माहोल बनाइरहेको चर्चा पनि चलिरहेको छ।

समानुपातिक सांसद प्रभा कार्कीले ललितपुरले यसपटक मन्त्री पाउने संकेत दिएको चर्चा भएपछि स्थानीय कार्यकर्ताबीच थप चासो बढेको बताइन्छ।

यसबीच, रास्वपाका सभापति रवि र प्रधानमन्त्री बालेन शाहबीच भएको भेटवार्ताले पनि राजनीतिक वृत्त तताएको हो। छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीको सचिवालयलाई थप प्रभावकारी बनाउने विषय तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधानबारे विशेष रूपमा कुराकानी भएको रास्वपा स्रोतले जनाएको छ।

स्रोतका अनुसार सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीको सचिवालय पुनर्संरचना गर्ने विषयमा पनि छलफल भएको छ। पछिल्लो समय सचिवालयको कार्यशैली, मन्त्रीहरूको कार्यसम्पादन र समसामयिक राजनीतिक चुनौतीबारे प्रधानमन्त्री र पार्टी नेतृत्वबीच नियमित परामर्श भइरहेको दाबी गरिएको छ।

यद्यपि मन्त्रिपरिषद् हेरफेर वा सचिवालय पुनर्गठनबारे सरकार वा रास्वपाले हालसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्।

उता ललितपुर–१ का सांसद तथा जिल्ला सभापति बुद्धरत्न महर्जन पनि आफ्नै निर्वाचन क्षेत्रमा बढ्दो जनदबाबको सामना गरिरहेका छन्। वर्षायाम सुरु भएसँगै ग्रामीण बस्तीमा सडक, विद्युत् र मोबाइल नेटवर्कको समस्या दोहोरिएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन्।

चुनावका बेला यिनै समस्यालाई मुख्य मुद्दा बनाएका महर्जनलाई अहिले मतदाता र कार्यकर्ताले प्रत्यक्ष फोन गरेर समस्या समाधानको माग गरिरहेको चर्चा छ।

स्थानीयस्तरमा केही कार्यकर्ताले ‘झरीमा फेरि उही अवस्था हुने हो भने गाउँ नआउनुस्’ भन्दै असन्तुष्टि व्यक्त गरेको बताइन्छ।

संसद् भवनमा सहकर्मीहरूसँग कुराकानीका क्रममा महर्जनले पनि पूर्वाधार विकासका काममा पर्याप्त सहयोग नपाएको गुनासो गर्ने गरेको चर्चा राजनीतिक वृत्तमा छ।

बजेट विनियोजनको विषय पनि ललितपुरका रास्वपा सांसदका लागि अर्को दबाबको विषय बनेको छ। संघीय सरकारले बजेट सार्वजनिक गरेको लामो समय बितिसक्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा कति बजेट ल्याइयो भन्नेबारे स्पष्ट जानकारी दिन नसकेको भन्दै स्थानीय कार्यकर्ता र मतदाताले प्रश्न उठाउन थालेका छन्।

कांग्रेसको निर्णायक घडी

काठमाडौं । नेपाली कांग्रेस यतिबेला आफ्नो राजनीतिक इतिहासकै संवेदनशील मोडमा उभिएको छ।

लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको, संविधान निर्माणदेखि व्यवस्थागत परिवर्तनसम्म निर्णायक भूमिका खेलेको यो पार्टी अहिले बाह्य चुनौतीभन्दा बढी आन्तरिक ध्रुवीकरणसँग जुधिरहेको छ।

नेतृत्वको प्रतिस्पर्धा, संगठनात्मक खिचातानी र वैचारिक मतभेद स्वाभाविक राजनीतिक प्रक्रिया हुन्। तर ती मतभेद संस्थागत बहसभन्दा गुटीय शक्ति प्रदर्शनमा सीमित हुँदा त्यसको असर केवल पार्टीभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमै पर्न थालेको छ।

पछिल्ला महिनाहरूमा कांग्रेसभित्र नेतृत्व परिवर्तन, महाधिवेशनको समय, सक्रिय सदस्यता वितरण, संगठन पुनर्संरचना र भावी रणनीतिलाई लिएर बहस तीव्र बनेको छ। यी विषय लोकतान्त्रिक दलभित्र छलफलका सामान्य एजेन्डा हुन्। तर जब यिनै मुद्दा एकअर्कालाई कमजोर बनाउने माध्यम बन्न थाल्छन्, त्यसले संगठनलाई बलियो होइन, झन् कमजोर बनाउने खतरा बढाउँछ।

पार्टीभित्र अहिले पुरानो र नयाँ पुस्ताबीच नेतृत्व शैलीको बहस पनि देखिएको छ। अनुभवी नेतृत्वले संस्थागत निरन्तरता र राजनीतिक परिपक्वतालाई जोड दिइरहेको छ भने नयाँ पुस्ताले परिणाममुखी नेतृत्व, सुशासन, पारदर्शिता र संगठनात्मक रूपान्तरणको माग गरिरहेको छ। यी दुवै दृष्टिकोण आफैंमा विरोधाभासी होइनन्। चुनौती भनेको यी दुई धारलाई टकरावमा होइन, सहकार्यमा रूपान्तरण गर्न सकिन्छ कि सकिँदैन भन्ने हो।

यसबीच पछिल्ला निर्वाचनका परिणामले पनि कांग्रेसभित्र गम्भीर आत्मसमीक्षाको आवश्यकता महसुस गराएको छ। नयाँ राजनीतिक शक्तिको उदय, परम्परागत दलप्रति बढ्दो जनअसन्तोष र मतदाताको बदलिँदो मनोविज्ञानले कांग्रेसलाई आफ्ना कमजोरी पुनः मूल्यांकन गर्न बाध्य बनाएको छ। आत्मसमीक्षा कुनै पनि लोकतान्त्रिक दलका लागि सकारात्मक प्रक्रिया हो। तर आत्मसमीक्षा सुधारको आधार बन्नुको सट्टा दोषारोपण र गुटीय आरोप–प्रत्यारोपमा सीमित भयो भने त्यसले पार्टीलाई पुनर्जीवित गर्नुको सट्टा झन् संकटतर्फ धकेल्न सक्छ।

अहिले देश पनि राजनीतिक रूपमा संवेदनशील अवस्थामै छ। आर्थिक चुनौती, सुशासनप्रतिको प्रश्न, बढ्दो जननिराशा र शासनप्रतिको अविश्वासबीच नागरिकले बलियो, जिम्मेवार र विश्वसनीय राजनीतिक शक्तिको अपेक्षा गरिरहेका छन्। यस्तो अवस्थामा कांग्रेसभित्रको अस्थिरता केवल एउटा दलको समस्या मात्र होइन, लोकतान्त्रिक प्रणालीकै सन्तुलनसँग जोडिएको विषय बन्न सक्छ।

इतिहासले पनि ठूला राजनीतिक दलहरू धेरैजसो बाह्य आक्रमणले होइन, आन्तरिक विभाजनले कमजोर भएका छन्। त्यसैले कांग्रेसका लागि अहिले सबैभन्दा ठूलो चुनौती विपक्षी दलसँग प्रतिस्पर्धा गर्नु मात्र होइन, आफ्नै संगठनभित्र विश्वास पुनःस्थापित गर्नु पनि हो। व्यक्तिगत महत्वाकांक्षाभन्दा संस्थागत हितलाई माथि राख्ने संस्कृतिको विकास नगरेसम्म कुनै पनि सुधार दिगो हुन सक्दैन।

कांग्रेसभित्र विचारको प्रतिस्पर्धा हुनुपर्छ, तर त्यसले संगठनको अस्तित्वमाथि नै प्रश्न उठाउने अवस्था सिर्जना गर्नु हुँदैन। मतभेदलाई संवाद, बहस र संस्थागत प्रक्रियाबाट समाधान गर्ने परिपक्वता लोकतान्त्रिक दलको सबैभन्दा ठूलो शक्ति हो। यदि नेतृत्व र कार्यकर्ता दुवैले यही बाटो रोज्न सके भने अहिलेको संकट अवसरमा बदलिन सक्छ।

आज कांग्रेसका हरेक नेता र कार्यकर्ता इतिहासको कठघरामा उभिएका छन्। उनीहरूले अहिले गर्ने निर्णयले केवल पार्टीको भविष्य मात्र होइन, देशको लोकतान्त्रिक राजनीतिक दिशालाई समेत प्रभाव पार्नेछ। यही कारण अहिलेको आवश्यकता गुटीय ध्रुवीकरण होइन, साझा उद्देश्यमा आधारित एकता हो।

नेपाली कांग्रेस कुनै पनि हालतमा विभाजनको दिशामा जानु हुँदैन। मतभेद रहन सक्छन्, नेतृत्व परिवर्तनको बहस पनि हुन सक्छ, तर ती सबै संस्थागत प्रक्रियाभित्र समाधान हुनुपर्छ।

बलियो कांग्रेस केवल एउटा राजनीतिक दलको आवश्यकता होइन, लोकतान्त्रिक प्रतिस्पर्धा, राजनीतिक सन्तुलन र राष्ट्रिय स्थायित्वका लागि पनि महत्त्वपूर्ण आधार हो। अहिलेको समय शक्ति प्रदर्शनको होइन, एकढिक्का भएर भविष्य निर्माण गर्ने निर्णायक घडी हो।

३ वर्षमा सकिनुपर्ने रसुवागढी एकीकृत भन्सार भवन १० वर्षसम्म अधुरै

रसुवा। नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार रसुवागढी नाकामा निर्माणाधीन एकीकृत भन्सार भवन समयमै सम्पन्न हुन नसक्दा मुलुककै महत्त्वपूर्ण पूर्वाधार परियोजनामाथि प्रश्न उठेको छ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २०७३ सालमा सुरु गरिएको परियोजना एक दशक बितिसक्दा पनि अधुरै छ। निर्माणको गति सुस्त हुँदा व्यापार, भन्सार प्रशासन र सीमा व्यवस्थापनमा अपेक्षित सुधार हुन सकेको छैन।

रसुवागढी नाका नेपाल–चीनबीचको सबैभन्दा व्यस्त व्यापारिक मार्गमध्ये एक हो। यही नाकाबाट ठूलो परिमाणमा आयात–निर्यात हुने भएकाले आधुनिक र एकीकृत भन्सार पूर्वाधारको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो। त्यसैलाई ध्यानमा राख्दै भन्सार, अध्यागमन, सुरक्षा निकाय, क्वारेन्टाइन, बैंक तथा अन्य सरकारी सेवाहरू एउटै परिसरबाट सञ्चालन गर्ने उद्देश्यसहित एकीकृत भन्सार भवन निर्माणको योजना अघि बढाइएको थियो।

परियोजनाअन्तर्गत भन्सारका लागि एउटा र सुरक्षा निकायका लागि दुईवटा भवन निर्माण भइरहेको छ। निर्माणको जिम्मा श्यामसुन्दर–रबिना जेभीले २०७३ सालमा करिब ५४ करोड रुपैयाँमा पाएको थियो। सम्झौताअनुसार तीन वर्षमै सम्पूर्ण संरचना निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर निर्माण सुरु भएको १० वर्ष पुग्दा पनि भौतिक प्रगति करिब ६५ प्रतिशतमा मात्र सीमित छ।

निर्माण ढिलाइका पछाडि विभिन्न कारण देखाइएको छ। ठेक्का सम्झौतापछि पहिलो डेढ वर्षसम्म अदालतमा परेको रिटका कारण निर्माण प्रक्रिया अघि बढ्न सकेन। अर्को निर्माण कम्पनीले ठेक्का प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेपछि काम रोकिएको थियो। २०७५ जेठमा सर्वोच्चले रिट खारेज गरेपछि मात्रै निर्माणले गति लिने अपेक्षा गरिएको थियो। तर त्यसपछि पनि निर्माण कम्पनीले अपेक्षाअनुसार काम गर्न सकेन।

निर्माण कम्पनीले कामदार अभाव, बाढी–पहिरो, दुर्गम भूगोल तथा जोखिमपूर्ण कार्यस्थललाई ढिलाइको कारण बताउँदै आएको छ। कार्यालयका अनुसार निर्माण व्यवसायीले फेरि ६ देखि ८ महिनाको समय मागेको छ। यद्यपि सम्बन्धित कार्यालयले अब अन्तिमपटक मात्र म्याद थप्ने र त्यस अवधिमा पनि काम पूरा नभए ठेक्का सम्झौता नै रद्द गर्ने चेतावनी दिएको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका अनुसार परियोजनालाई अब थप लम्ब्याउन नसकिने निष्कर्षमा सरकार पुगेको छ। पूर्वाधार विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागबाट पनि काम समयमै सम्पन्न नभए ठेक्का तोड्ने स्पष्ट निर्देशन आएको जनाइएको छ।

यसैबीच, गृहमन्त्री सुधन गुरुङले पनि गत शनिबार रसुवागढी नाका पुगेर निर्माण कार्यको निरीक्षण गरेका छन्। उनले निर्माण व्यवसायीलाई कामदारको संख्या बढाएर द्रुत गतिमा काम सम्पन्न गर्न निर्देशन दिएका थिए।

सरकारले अब यो परियोजनालाई प्राथमिकतामा राखेर छिटो सम्पन्न गराउने संकेत दिएको छ।

तस्वीरहरू:

सुनसरीकाे देवानगञ्जमा सुरक्षा संयन्त्रको गम्भीर चुक

काठमाडौं । सुनसरीको देवानगञ्‍ज गाउँपालिका–३, कप्तानगञ्‍जमा आइतबार राति भएको साम्प्रदायिक हिंसाले सुरक्षा संयन्त्रको गम्भीर कमजोरी उजागर गरेको छ।

विवाद बढ्न सक्ने सूचना स्थानीय तहले पहिल्यै सुरक्षा निकायलाई दिँदा पनि समयमै हस्तक्षेप हुन नसक्दा स्थिति नियन्त्रणबाहिर पुगेको हो। अन्ततः प्रहरीको गोली लागेर देवानगञ्‍ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो भने २४ जना घाइते भए।

घटनापछि सरकारले सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ भने गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले पनि निष्पक्ष अनुसन्धान सुरु गरेको छ।

स्थानीयका अनुसार घटनाको सुरुवात मोहरम पर्वका बेला राखिएको एउटा झण्डाबाट भएको थियो। पर्व सकिएपछि अर्को समुदायले झण्डा हटाउन आग्रह गर्दै आएको थियो। विवाद बढ्दै गएपछि यो विषय गाउँपालिका अध्यक्ष बेचनकुमार मेहतासम्म पुगेको थियो।

अध्यक्ष मेहताका अनुसार सम्भावित झडपबारे सुरक्षा निकायलाई पहिल्यै जानकारी गराइएको थियो। तर, दुवै पक्षलाई राखेर संवाद गराउने वा विवाद समाधान गर्ने प्रभावकारी पहल हुन सकेन।

उनले भने, ‘सम्भावित घटनाबारे हामीले पहिल्यै सुरक्षा निकायलाई भनेका थियौँ। तर बेवास्ता गरियो। यही कारण अहिलेको अवस्था आयो।’

आइतबार साँझ साउने सोमबारको बोलबम यात्राका क्रममा एउटा समूहले डिजेसहित गानाबजाना गरिरहेको थियो। राति करिब ९ बजेतिर अर्को समुदायका केही व्यक्ति आएर डिजे बन्द गर्न आग्रह गरेपछि विवाद सुरु भयो।

यही क्रममा सुनसरी-२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाका अनुसार अचानक विद्युत् आपूर्ति बन्द भयो। करिब दुई घण्टासम्म बिजुली नहुँदा तनाव थप चर्किएको उनको भनाइ छ।

प्रहरी घटनास्थलमा पुगेपछि अवस्था सामान्य बनाउन नसकी झन् तनाव बढेको स्थानीयको आरोप छ। तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि हवाई फायर गर्नुपरेको बताएका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी २५ राउन्ड हवाई फायर गरेको दाबी गरेका छन्। तर त्यसक्रममा गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भयो।

घाइते मिथलेश मेहताका बुबा दिलीप मेहताले भने, ‘सुरुमा कतैबाट लाठी प्रहार भएको थिएन। उता प्रहरी, यता सर्वसाधारण थिए। उताबाट फायर आयो।’

घटनाले सुरक्षा नेतृत्वको व्यवस्थापनमाथि पनि गम्भीर प्रश्न उठाएको छ। घटना हुँदा जिल्ला प्रहरी प्रमुख एसपी केशवकुमार थेवे बिदामा थिए। उनको स्थानमा डीएसपी चन्द्र खड्का निमित्त प्रमुख थिए।

त्यसैगरी कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा थिए। सशस्त्र प्रहरी बल नम्बर-४ गण इनरुवाका प्रमुख एसपी श्यामकुमार कार्की मुख्यालय तानिइसकेका थिए भने नयाँ गणपति नियुक्त भइसकेका थिएनन्।

सीमावर्ती संवेदनशील जिल्लामा नेपाल प्रहरी, प्रदेश प्रहरी र सशस्त्र प्रहरी तीनै निकायको नेतृत्व एकैपटक कमजोर भएको अवस्थामा हिंसा भएको भन्दै सुरक्षा संयन्त्रको आलोचना भइरहेको छ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘संवेदनशील जिल्लाका सुरक्षा कमान्ड सम्हालेकाहरू एकैपटक बिदामा बस्नु हुँदैन। कमान्डर नहुँदा चेन अफ कमान्डमा असर पर्छ। सुनसरीमा सुरक्षा चुक स्पष्ट देखियो।’

घटनापछि स्थानीय प्रशासनले हरिनगरा, भुटाहा, कप्तानगञ्‍ज, घुस्की र देवानगञ्‍ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। सोमबार पनि देवानगञ्‍ज र इनरुवामा आगजनी, तोडफोड तथा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएपछि नेपाली सेना परिचालन गर्नुपरेको थियो।

सरकारले तत्काल प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएर ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाएको छ। डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर शेखर खनाललाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ। एसपी केशवकुमार थेवेको सरुवा गरी पुष्पराज मल्ललाई सुनसरी प्रहरी प्रमुख बनाइएको छ।

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन्। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले प्रारम्भिक अध्ययनमै झण्डाको विवाद समयमै समाधान हुन नसक्दा तनाव बढेको, त्यसपछि डिजे बजाउने विषयले झडप निम्त्याएको र अन्ततः प्रहरीको गोली चलेको निष्कर्ष निकालेको छ। आयोगले निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही, मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।

घटनापछि प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले शान्ति–सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको असफलता भएको भन्दै घटनाको प्रत्यक्ष जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पनि गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

देवानगञ्‍ज घटनाले एउटा स्थानीय विवाद मात्र नभई पूर्वसूचना हुँदाहुँदै रोकथाम हुन नसक्नु, संवेदनशील जिल्लामा सुरक्षा नेतृत्वको अभाव, समयमै संवाद र मध्यस्थता हुन नसक्नु तथा भीड नियन्त्रणमा असफलता जस्ता प्रश्न उठाएको छ। छानबिन समितिको प्रतिवेदनले यी सुरक्षा कमजोरीको वास्तविक कारण उजागर गर्न सक्ने अपेक्षा गरिएको छ।

सुनसरी तनावग्रस्त, दुवैजना एसपी बिदामा

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपले एक जनाको ज्यान जानुका साथै दर्जनौँ घाइते भएपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। तर घटनापछि सार्वजनिक भएको अर्को तथ्यले सुरक्षा संयन्त्रको तयारी र समन्वयमाथि थप प्रश्न खडा गरेको छ।

झडप चर्किएको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायको जिल्लास्तरीय नेतृत्व प्रभावकारी रूपमा उपस्थित नभएको खुलेको हो।

प्राप्त जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबे चार दिनदेखि बिदामा थिए। पारिवारिक कारणले बिदा लिएर जिल्लाबाहिर रहेका कारण घटनाको प्रारम्भिक व्यवस्थापन मातहतका अधिकृतहरूले गर्नुपरेको थियो। उता नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा रहेको खुलेको छ।

जिल्लामा अवस्था तनावपूर्ण बन्दै जाँदा प्रदेश तहको नेतृत्वसमेत अनुपस्थित हुनु सुरक्षा समन्वयका दृष्टिले महत्त्वपूर्ण विषय बनेको छ।

त्यति मात्र होइन, सशस्त्र प्रहरी बलतर्फको नेतृत्व पनि लामो समयदेखि रिक्त रहेको तथ्य बाहिरिएको छ। गत असार ३० गते सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण इनरुवाका एसपी श्याम कार्कीलाई मुख्यालय तानिएपछि उनको स्थानमा नयाँ कमान्डर पठाइएको थिएन। त्यसयता गण निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएको थियो।

सशस्त्र प्रहरीका एसपी कार्कीलाई तत्कालीन निर्णयअनुसार तस्करी नियन्त्रणमा कमजोरी देखिएको आरोपमा छानबिनका लागि मुख्यालय बोलाइएको थियो। त्यही क्रममा झापाका एसपीलाई पनि फिर्ता बोलाइएको थियो। तर दुवै जिल्लामा नयाँ कमान्डर समयमै खटाइएन। सुरक्षा दृष्टिले अत्यन्त संवेदनशील मानिने भारतसँगको खुला सीमावर्ती जिल्ला सुनसरीमा झण्डै एक महिनासम्म स्थायी कमान्डर नहुनु अहिलेको घटनापछि थप आलोचनाको विषय बनेको छ।

तस्करीसम्बन्धी छानबिनका क्रममा केही तल्लो तहका सुरक्षाकर्मीले अवैध कारोबारबाट संकलन भएको रकम माथिल्लो तहसम्म पुग्ने गरेको बयान दिएका कारण दुई डीएसपीसहित आठ जना सुरक्षाकर्मीलाई मुख्यालय तानेर अनुसन्धान अघि बढाइएको थियो। तर अनुसन्धान चलिरहेकै अवस्थामा रिक्त पदमा नयाँ नेतृत्व नपठाउँदा जिल्लाको सुरक्षा संरचनामै कमजोरी देखिएको टिप्पणी हुन थालेको छ।

देवानगञ्जमा सुरुमा सामान्य विवादका रूपमा देखिएको अवस्था केही समयमै साम्प्रदायिक तनावमा बदलियो। त्यसपछि प्रहरीले अश्रुग्यास, हवाई फायर र अन्ततः गोली चलाउनुपरेको अवस्था आयो। घटनापछि स्थानीय प्रदर्शन, कफ्र्यु उल्लंघन र सेना परिचालनसम्मको अवस्था सिर्जना भयो। यति संवेदनशील परिस्थितिमा जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरू अनुपस्थित हुनु र अर्को सुरक्षा निकाय नेतृत्वविहीन हुनु संयोग मात्र हो कि सुरक्षा व्यवस्थापनको कमजोरी भन्ने प्रश्न उठेको छ।

सुरक्षा विज्ञहरूले यस्ता संवेदनशील सीमावर्ती जिल्लामा नेतृत्वको निरन्तरता अत्यन्त आवश्यक हुने बताउँदै आएका छन्। कुनै अधिकारी बिदामा वा छानबिनमा परे पनि तत्काल वैकल्पिक नेतृत्वको व्यवस्था गर्नु सुरक्षा प्रशासनको आधारभूत जिम्मेवारी मानिन्छ। विशेष गरी साम्प्रदायिक संवेदनशीलता, सीमा सुरक्षा र तस्करीका चुनौती रहेका जिल्लामा कमान्ड संरचना कमजोर हुँदा आकस्मिक घटनाको व्यवस्थापन प्रभावित हुन सक्ने जोखिम रहन्छ।

देवानगञ्ज घटनाले अब केवल साम्प्रदायिक सद्भाव र शान्ति सुरक्षाको प्रश्न मात्र उठाएको छैन, संकटका बेला सुरक्षा निकायको नेतृत्व व्यवस्थापन, जनशक्ति परिचालन र निर्णय प्रक्रियाको प्रभावकारितामाथि पनि गम्भीर बहस सुरु गराएको छ।

घटना कसरी नियन्त्रणमा पुग्यो भन्ने मात्रै होइन, यस्ता संवेदनशील जिल्लामा नेतृत्व रिक्त रहनु किन दिइयो भन्ने प्रश्नको जवाफ पनि सम्बन्धित निकायले दिनुपर्ने देखिएको छ।

प्रधानमन्त्री बनेपछि बालेनको मुखुण्डो उत्रिँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा हालका प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) ले महानगरको नेतृत्वमा रहँदा लागू गरेको सडक पार्किङ निषेधको नीति अहिले पुनः उल्टिने संकेत देखिएको भन्दै प्रश्न उठ्न थालेको छ।

न्यूरोड र दरबारमार्ग क्षेत्रमा सडक पार्किङ हटाएर पैदलमैत्री वातावरण बनाउने अभियानलाई त्यसबेला व्यापक चर्चा र समर्थन मिलेको थियो। तर, अहिले त्यही क्षेत्रमा पुनः सशुल्क पार्किङ सञ्चालन गर्ने तयारी भइरहेको दाबी सार्वजनिक भएपछि यसबारे बहस सुरु भएको हो।

बालेनले मेयर हुँदा न्यूरोड, दरबारमार्गलगायत क्षेत्रबाट सडक पार्किङ हटाउने निर्णय गरेका थिए। त्यसपछि न्यूरोडका पुराना घरहरूको रंगरोगन, फुटपाथ व्यवस्थापन तथा दरबारमार्ग क्षेत्रमा सार्वजनिक पूर्वाधार सुधारका काम अघि बढाइएका थिए। तीमध्ये कतिपय कामको प्रशंसा भए पनि टायल बिछ्याउने क्रममा प्रक्रिया मिचिएको र आर्थिक अनियमितता भएको आरोप पनि लाग्दै आएको थियो, जसबारे सम्बन्धित निकायले छानबिन गरिरहेको बताइन्छ।

यसबीच काठमाडौं महानगरपालिकाभित्र पुनः पार्किङ ठेक्का लगाउने तयारी भइरहेको दाबी गरिएको छ। महानगर स्रोतलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरणअनुसार पार्किङ व्यवस्थापनसम्बन्धी नयाँ कार्यविधि तयार गर्ने काम भइरहेको छ।

सम्बन्धित स्रोतका अनुसार यस प्रक्रियामा रास्वपाको काठमाडौं महानगर कमिटीका नेता गणपतिलाल श्रेष्ठ, पूर्व पार्किङ ठेकेदार ह्विल्स कम्पनीका सञ्चालक शैलेश कुँवर, कावा मेयर सुनिता डंगोलका स्वकीय सचिव विश्व शाक्य, निजी सचिव सौरभ गौतम तथा मेयर सचिवालय प्रमुख वसन्त आचार्यको संलग्नता रहेको दाबी गरिएको छ। यद्यपि यस विषयमा महानगरपालिकाले औपचारिक धारणा सार्वजनिक गरेको छैन।

महानगरका एक कर्मचारीका अनुसार पार्किङ ठेक्कासम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी वसन्त आचार्यले सम्हालिरहेका छन्। उनी यसअघि कानुन विभाग प्रमुखका रूपमा कार्यरत रहेकामा अहिले पनि सम्बन्धित प्रक्रियामा सक्रिय रहेको दाबी गरिएको छ।

काठमाडौं महानगरमा यसअघि विद्यासुन्दर शाक्यको कार्यकालमा ह्विल्स कम्पनीले न्यूरोड र जमल क्षेत्रमा स्मार्ट पार्किङ सञ्चालन गरेको थियो। पछि ठेक्का रकम र प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको थियो भने केही पदाधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको थियो।

लेखमा महानगरले मानव सेवा आश्रमलाई हरेक वर्ष करोडौँ रुपैयाँ अनुदान उपलब्ध गराउने गरेको विषय पनि उठाइएको छ। विद्यासुन्दर शाक्यको पालामा सडक आश्रितको व्यवस्थापनका लागि भएको सम्झौताअनुसार आश्रमलाई घरभाडा, सवारीसाधन तथा सञ्चालन खर्च उपलब्ध गराइँदै आएको उल्लेख गरिएको छ। तर, त्यसको प्रभावकारिता वा उपलब्धिबारे सार्वजनिक समीक्षा नभएको आरोप लगाइएको छ।

त्यस्तै, केही दिनअघि काठमाडौं महानगरपालिका, मानव सेवा आश्रम र आईडीपी एजुकेशन स्टुडेन्ट सर्भिसबीच ४० लाख रुपैयाँ सहयोगसम्बन्धी त्रिपक्षीय सम्झौता भएको उल्लेख गर्दै अनुदान वितरण प्रक्रियामा पारदर्शितामाथि पनि प्रश्न उठाइएको छ।

लेखमा महानगरको सामाजिक विकास विभागबाट विभिन्न संघसंस्थालाई लाखौँदेखि करोडौँ रुपैयाँसम्म अनुदान वितरण हुने गरेको र त्यसमा केही व्यक्तिहरूको प्रभाव रहेको आरोपसमेत लगाइएको छ। यद्यपि ती आरोपहरूको आधिकारिक पुष्टि भएको छैन।

यसैगरी, असार मसान्तमा करिब एक करोड रुपैयाँ खर्च गरेर गरिएको फिल्म महोत्सवमाथि पनि प्रश्न उठाइएको छ । स्थानीय भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्य भनिए पनि नेपाल भाषा वा नेवारी चलचित्रलाई पर्याप्त प्राथमिकता दिइएको थियो वा थिएन भन्ने विषयमा आलोचना भएको उल्लेख गरिएको छ।

लेखमा काठमाडौं उपत्यका विकास प्राधिकरणमा अवकाशप्राप्त इन्जिनियर सुरज शाक्यको नियुक्तिलाई पनि विवादास्पद भन्दै चर्चा गरिएको छ। प्राधिकरण ऐन, २०४५ ले कार्यकारी प्रमुख नियुक्तिका लागि निश्चित योग्यता तोकेको भए पनि त्यसविपरीत नियुक्ति गरिएको दाबी गरिएको छ।

सुरज शाक्य यसअघि काठमाडौं महानगरको नक्सा विभाग प्रमुख रहँदा काठमाडौं टावरको नक्सा पाससम्बन्धी विवादमा जोडिएको उल्लेख गर्दै, पछि उनी सार्वजनिक निर्माण विभाग हुँदै शहरी योजना आयोग र त्यसपछि काठमाडौं उपत्यका विकास प्राधिकरणमा नियुक्त भएको विषयलाई पनि लेखमा प्रश्न गरिएको छ।

उल्लेखित सबै विषयमा विभिन्न आरोप र दाबी प्रस्तुत गरिए पनि सम्बन्धित व्यक्ति वा निकायबाट ती आरोपहरूको विस्तृत आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। त्यसैले यी विषयमा सम्बन्धित निकायको छानबिन वा औपचारिक धारणा आएपछि मात्रै निष्कर्षमा पुग्न सकिने अवस्था रहेको छ।

आक्रमण नगरेसम्म प्रत्याक्रमण नगर्ने

काठमाडौं। अमेरिका र इरानबीच पछिल्ला दुई सातादेखि चर्किएको सैन्य तनाव केही समयका लागि मत्थर हुने संकेत देखिएको छ।

अमेरिकाले इरानमाथिको हवाई आक्रमण स्थगित गरेसँगै इरानले पनि जवाफी आक्रमण रोक्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसले दुवै देशबीच कूटनीतिक संवादको सम्भावना फेरि बलियो बनेको विश्लेषण गरिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार एक वरिष्ठ इरानी अधिकारीले अमेरिकाले आक्रमण नगरेसम्म इरानले पनि सैन्य कारबाही नगर्ने स्पष्ट सन्देश वासिङ्टनसम्म पुर्‍याइसकेको बताएका छन्। उनका अनुसार इरानको नीति ‘जस्तालाई त्यस्तै’ रहेको र अमेरिकी आक्रमण रोकिएसम्म आफ्नो पक्षबाट पनि कुनै नयाँ हमला नगरिनेछ।

अमेरिकाले लगातार १३ रातसम्म इरानका विभिन्न सैन्य तथा रणनीतिक लक्ष्यमा हवाई आक्रमण गरेपछि शुक्रबार रातिदेखि बमबारी स्थगित गरेको थियो। त्यसयता शनिबार र आइतबार कुनै पनि अमेरिकी आक्रमण भएको छैन। त्यसको प्रतिक्रियास्वरूप, अमेरिकी सैन्य अखडा रहेका क्षेत्रलाई लक्षित गर्दै नियमित रूपमा जवाफी प्रहार गरिरहेको इरानले पनि पछिल्ला दुई दिनदेखि आफ्ना आक्रमण रोकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक प्रयासलाई अवसर दिन सैन्य कारबाही रोक्ने निर्णय गरेको उनका सल्लाहकारहरूले बताएका छन्। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जका अनुसार राष्ट्रपति ट्रम्पले वार्ताका लागि आवश्यक समय र वातावरण सिर्जना गर्न आक्रमण अस्थायी रूपमा स्थगित गरेका हुन्।

अमेरिकी अधिकारीहरूका अनुसार पछिल्ला बमबारीबाट इरानका पूर्वनिर्धारित अधिकांश सैन्य लक्ष्यमा आक्रमण सम्पन्न भइसकेको छ। साथै, निरन्तर सैन्य अभियानका कारण अमेरिकी हतियारको भण्डारमा समेत दबाब बढ्न थालेको र त्यसले दीर्घकालीन रणनीतिमा असर पार्न सक्ने भन्दै सैन्य नेतृत्वले राष्ट्रपति ट्रम्पलाई सचेत गराएको बताइएको छ।

यद्यपि अमेरिकाले आवश्यक परे पुनः ठूला सैन्य कारबाही सुरु गर्ने विकल्प भने खुला नै राखेको छ। अमेरिकी सेनाप्रमुख जनरल ड्यान केनले भविष्यका सम्भावित सैन्य आवश्यकतालाई ध्यानमा राख्दै हतियारको मौज्दातको व्यवस्थापन महत्त्वपूर्ण रहेको सुझाव दिएका छन्।

दुवै पक्षले आक्रमण रोकेसँगै अहिले सबैको ध्यान सम्भावित कूटनीतिक वार्तातर्फ केन्द्रित भएको छ। विशेष गरी विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ हर्मुज क्षेत्रमा तनाव कम हुने संकेत देखिएकाले अन्तर्राष्ट्रिय समुदायले पनि यो अवस्थालाई सकारात्मक रूपमा हेरिरहेको छ।

यद्यपि दुवै देशले औपचारिक युद्धविराम घोषणा गरेका छैनन् र परिस्थिति फेरि बिग्रिने जोखिम भने अझै कायम रहेको छ।

सुनसरी घटनाको विरोधमा राजविराजमा प्रदर्शन

सप्तरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ।

छिमेकी जिल्ला सुनसरीमा उत्पन्न तनावलाई मध्यनजर गर्दै सप्तरी प्रशासनले जिल्लाभर सुरक्षा सतर्कता पनि बढाएको जनाएको छ।

प्रदर्शनकारीहरूले राजविराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध जनाएका थिए। उनीहरूले देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै नाराबाजीसमेत गरेका थिए।

स्थानीय युवा सुरेन्द्र दासको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारका नाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा यस्ता घटना पुनः दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ।

यसअघि सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद उत्पन्न भएपछि झडप भएको थियो।

प्रश्नपत्र किन बारम्बार लिक हुन्छ ?

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज् (एमबीएस) प्रथम सेमेस्टर अन्तर्गत ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको पाँच मिनेटमै ह्वाट्सएपमार्फत बाहिरिएपछि त्रिविको परीक्षा प्रणाली फेरि गम्भीर प्रश्नको घेरामा परेको छ।

सामाजिक सञ्जालमा प्रश्नपत्र तीव्र रूपमा फैलिएको घटनाले परीक्षा सुरक्षामा भएको कमजोरी मात्र होइन, विश्वविद्यालयको विश्वसनीयतामाथि पनि प्रश्न उठाएको हो।

परीक्षा सुरु भइसकेको केही मिनेटमै प्रश्नपत्र सार्वजनिक हुनु सामान्य घटना होइन। यसले प्रश्नपत्र सुरक्षित राख्ने सम्पूर्ण संयन्त्र प्रभावकारी छ कि छैन भन्ने बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ। परीक्षा केन्द्रभित्र मोबाइलको प्रयोग कसरी भयो, प्रश्नपत्र कसले र कसरी बाहिर पठायो तथा त्यसमा कुनै संगठित मिलेमतो थियो कि थिएन भन्ने विषय अहिलेको अनुसन्धानको मुख्य केन्द्र बन्नुपर्ने देखिन्छ।

त्रिविले प्रश्नपत्र निर्माणदेखि छपाइ र वितरणसम्मको प्रक्रिया अत्यन्त गोप्य र सुरक्षित हुने दाबी गर्दै आएको छ। प्रश्नपत्र विषयविज्ञबाट तयार गराइन्छ, अति गोप्य शाखाभित्र छापिन्छ र सिलबन्दी गरेर सुरक्षा व्यवस्थासहित परीक्षा केन्द्रसम्म पुर्‍याइन्छ। परीक्षा सुरु हुनुअघि केन्द्राध्यक्षको रोहवरमा मात्र सिल खोलिने व्यवस्था छ। तर यति धेरै सुरक्षा प्रबन्ध हुँदाहुँदै परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र ह्वाट्सएपमा पुग्नुले वास्तविक कमजोरी प्रक्रिया होइन, त्यसको कार्यान्वयनमा रहेको संकेत गर्छ।

यो घटनाले परीक्षा केन्द्रको सुरक्षामाथि सबैभन्दा बढी प्रश्न उठाएको छ। यदि परीक्षा हलभित्र मोबाइल लैजान निषेध गरिएको हो भने फोटो कसरी खिचियो? यदि मोबाइल प्रयोग गर्न दिइएको थिएन भने प्रश्नपत्र बाहिर कसरी पुग्यो? यी प्रश्नको स्पष्ट उत्तर नखोजी केवल छानबिन समिति गठन गरेर मात्र समस्या समाधान हुने देखिँदैन।

डिजिटल प्रविधिको विकाससँगै प्रश्नपत्र लिक गर्ने तरिका पनि बदलिएको छ। अहिले केही सेकेन्डमै प्रश्नपत्रको फोटो खिचेर ह्वाट्सएप वा अन्य सामाजिक सञ्जालमार्फत सयौँ व्यक्तिसम्म पुर्‍याउन सकिन्छ। कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिले प्रश्नको उत्तरसमेत छोटो समयमा तयार गर्न सक्ने अवस्था बनेकाले परीक्षा सुरक्षाका पुराना उपाय अब पर्याप्त छैनन्। त्यसैले डिजिटल जोखिमलाई ध्यानमा राखेर नयाँ सुरक्षा प्रणाली विकास गर्नु अपरिहार्य देखिन्छ।

पछिल्लो घटनाले सबैभन्दा ठूलो असर इमानदार विद्यार्थीमाथि परेको छ। महिनौँ मिहिनेत गरेर परीक्षा दिने विद्यार्थीका लागि यस्तो घटनाले निराशा सिर्जना गर्छ। कसैले अनैतिक माध्यमबाट प्रश्नपत्र वा उत्तर प्राप्त गर्न सक्ने वातावरण बनेपछि निष्पक्ष प्रतिस्पर्धाको आधार नै कमजोर हुन्छ। यसले विश्वविद्यालयबाट प्रदान गरिने नतिजा र प्रमाणपत्रको विश्वसनीयतामाथि पनि प्रत्यक्ष असर पार्छ।

त्रिविमा प्रश्नपत्र लिक, उत्तरपुस्तिका हराउने, अघिल्ला वर्षकै प्रश्न दोहोरिने र नतिजामा त्रुटि देखिने घटना नयाँ होइनन्। तर एउटै प्रकृतिका समस्या बारम्बार दोहोरिँदा पनि प्रभावकारी सुधार हुन नसक्नु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ। प्रत्येक घटनापछि छानबिन गर्ने, दोषी खोज्ने र सुधार गर्ने प्रतिबद्धता दोहोरिए पनि व्यवहारमा त्यस्तो परिवर्तन देखिएको छैन।

यसपटकको घटना त्रिविका लागि अर्को सामान्य विवाद होइन, परीक्षा प्रणाली पुनः मूल्याङ्कन गर्ने अवसर पनि हो। परीक्षा केन्द्रमा मोबाइल र अन्य डिजिटल उपकरणमाथि पूर्ण नियन्त्रण, कडा निगरानी, सीसीटीभीको प्रभावकारी प्रयोग, केन्द्राध्यक्ष तथा निरीक्षकको स्पष्ट जवाफदेहिता र दोषीमाथि तत्काल कानुनी कारबाहीजस्ता उपाय अब ढिला नगरी लागू गर्नुपर्ने आवश्यकता देखिएको छ।

गृहमन्त्रीको राजीनामा माग

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्ज घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न भएको तनावका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि बास्कोटाले गृहमन्त्रीको नैतिक जिम्मेवारीबारे प्रश्न उठाएका हुन्।

उक्त घटनामा प्रहरीसहित २१ जना घाइते भएका छन्। कर्फ्यु जारी रहेकै बेला आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना पनि ब्यारेकबाट परिचालन गरिएको छ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले गृहमन्त्रीलाई लक्षित गर्दै संसद्को रोष्ट्रममा भावुक बन्नुभन्दा घटनाको जिम्मेवारी लिनुपर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘सभाहलमा केही आँसु झार्दै भक्कानिन्छन्। पानी पिउँदै भन्छन्-   हाम्रा भाइबहिनीमाथि गोली चलेकोमा आफूलाई कति पीडा भइरहेको छ। बाहिर केही रफ्फु मिडिया गिड्गिडाउँदै भन्छन्– दोष तिनै मान्छेको थियो, जसले गोली खाए। जवाफदेहिता छ भने राजीनामा देऊ।’

‘यसलाई धार्मिक द्वन्द्वका रूपमा मात्र हेर्न मिल्दैन’

काठमाडाैं। आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिकाको वडा नम्बर-३ मा दुई समूहबीच झडप भएपछि प्रहरीको गोली लागेर एकजना युवाको ज्यान गयो। झडपकै क्रममा ९ जना अन्य युवा र १३ जना प्रहरी घाइते भए। जसमध्ये दुई जना युवाको अवस्था गम्भीर छ।

बोलबम यात्राका क्रममा राति १२ बजेतिर डिजेको आवाज ठूलो भएको भन्दै अर्कोथरी समूहले त्यसको प्रतिवाद गरेको थियो। त्यही क्रममा परिस्थिति असामान्य बन्दै गएपछि प्रहरीले गोली चलायो। त्यही घटनाका कारण अहिले देवानगञ्जको सुरक्षा अवस्था तनावपूर्ण छ।

उक्त घटना घटेपछि राति नै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो। तर, कर्फ्युका बाबजुद पनि स्थानीय नागरिकले दिउँसो १ बजेदेखि निषेधित क्षेत्र तोडेर प्रदर्शन थालेका छन् भने नेपाली सेना सडकमा उत्रिएको छ। यसले त्यहाँको अवस्था झन् जटिल बन्ने हो कि भन्ने जोखिम बढाएको छ।

अर्कोतिर, घटना एउटा सामान्य विवादका कारण घटेको सुनसरी-२ बाट निर्वाचित सांसद लालबिक्रम थापा बताउँछन्। यस्ता सामान्य विवाद गाउँघरमा भइरहने भए पनि यो असामान्य घटना भएको थापाको जिकिर छ।

देवानगञ्जमा हिन्दु र मुस्लिम दुवै समुदायका मानिसहरूको बसोबास छ। यसअघि पनि सामान्य विवाद हुने गरेको थापा स्वीकार्छन्। तर, उनका अनुसार यसपटकको यो घटनालाई भने धार्मिक द्वन्द्वका रूपमा मात्रै हेर्न मिल्दैन।

हामीले थापासँग मोबाइल संवाद गरेका छौँ। प्रस्तुत छ- नेपालवान एचडीका लागि रामचन्द्र जोशीले थापासँग गरेको मोबाइल संवादको संक्षिप्त तथा सम्पादित अंशः

आइतबार राति देवानगञ्जमा भएको यो घटनाको पृष्ठभूमि के थियो?

वास्तवमा गाउँघरमा हुने सामान्य वादविवाद भइरहन्छन्। देवानगञ्ज गाउँपालिकामा हिन्दु र मुस्लिम दुवै समुदायको बसोबास छ। प्रारम्भिक जानकारीअनुसार एउटा झन्डासम्बन्धी विषयलाई लिएर सामान्य विवाद भएको थियो। यद्यपि घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेकाले सबै तथ्य अझै सार्वजनिक भइसकेका छैनन्।

यसबीच तपाईंको एउटा अभिव्यक्ति पनि आएको थियो। ताकी-ताकी गोली हानिएको छ भनेर। त्यसरी चाहिँ किन गोली चलाएको होला?

घटनाको प्रकृति हेर्दा र गोली लागेको व्यक्तिलाई हेर्दा अत्यन्तै निर्ममतापूर्वक गोली प्रहार गरिएको छ। अब कसले र किन गोली चलायो भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुनेछ। तर, घटना हेर्दाखेरि हामीले कल्पना गरेभन्दा निकै बाहिरको छ।

यो घटना चाहिँ दुई समूहबीचको हो कि दुई सम्प्रदायबीचको हो?

प्रारम्भिक बुझाइअनुसार मुस्लिम र हिन्दु समुदायका केही युवाबीच कुराकानी भइरहेको बेला विवाद उत्पन्न भएको देखिन्छ।

तर, यसलाई धार्मिक द्वन्द्वका रूपमा मात्र हेर्न मिल्दैन। सामाजिक सञ्जालमा हेर्दाखेरि त्यस्तो देखिन्छ। त्यस्तो होइन।

यो युवाहरूबीच भएको घटना हो। फेरि युवाहरू त्यति धार्मिक पनि छैनन्। स्थानीय स्तरमा दुवै समुदायबीच लामो समयदेखि आपसी सद्भाव रहेको, एकअर्काको घरमा जाने-आउने, संस्कार र परम्परामा सहभागी हुने संस्कार त थियो नै।

सोमबार पानी चढाउने चलन छ हाम्रो यहाँ। त्यही क्रममा केही धार्मिक गतिविधिका लागि बाजागाजासहित ठूलो साउण्डमा पूजा गर्ने परम्परा छ। सप्तकोशीको पानी लिएर धरानमा जाने र त्यहाँ जल चढाउने कुरा पहिल्यैदेखि चलिआएको परम्परा हो।

तपाईंले यो घटनालाई सामान्य भन्नुभयो। त्यसोभए स्थानीय स्तरमै भएको यो सामान्य घटनामा प्रहरी गोली चलाउनुपर्ने अवस्थासम्म कसरी पुग्यो?

मैले पनि प्रहरीलाई सोध्दाखेरि उहाँहरूले हामीले हवाई फायर मात्रै गरेको भन्नुभएको छ। यसरी गोली लागिरहँदा अनुसन्धानका लागि हामीले माथि पहल गरेका छौँ। माथि कुराकानी भइरहेको छ। घटनाको छानबिनका लागि आयोग बनिसकेको छ। अब आयोगले प्रतिवेदन नल्याइकन आफ्नो धारणा राख्नुभन्दा पनि यस्तो संवेदनशील विषयमा प्रतिवेदनको प्रतीक्षा गर्नु राम्रो हुन्छ।

अनि घाइतेहरूको अवस्था कस्तो छ अहिले?

मैले सबै घाइतेलाई भेटेको छु। नोबेल टिचिङ अस्पताल, नर्सिङ होम र न्युरो अस्पताल विराटनगरमा गोली लागेका घाइतेहरूको उपचार भइरहेको छ।

घाइतेमध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर छ।

सुरक्षा व्यवस्था कस्तो छ अहिले घटना भएको क्षेत्रमा?

घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। कर्फ्यु तोडेर पनि प्रदर्शन भयो। त्यसपछि नेपाली सेनाले पनि सुरक्षा दिइरहेको छ। विशेष गरी घटना भएको क्षेत्र र पूर्व-पश्चिम राजमार्ग आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

पछिल्लो समय नेपालमा यस्ता घटना दोहोरिइरहेका छन्। यसको कारण के हुन सक्छ?

यस्तो पनि हुन सक्ला- यस्ता घटना पहिले पनि नभएका भने होइनन्। पछिल्लो समय यस्ता घटनाहरू धेरै देखिनुको एउटा कारण अहिले युवामा राजनीतिक तथा सामाजिक सक्रियता बढ्नु पनि हुन सक्छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सूचना छिटो सार्वजनिक हुने भएकाले पनि यस्ता घटना धेरै भएको हुन सक्छ।

यस्ता घटनाले साम्प्रदायिक द्वन्द्व निम्त्याउने जोखिम कति रहन्छ?

यस्ता घटना हुनु आफैंमा अत्यन्तै दुःखद र चिन्ताजनक विषय हो। केही घटना योजनाबद्ध पनि हुन सक्छन् भने केही आकस्मिक परिस्थितिका कारण हुन सक्छन्। अहिले भएको घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेकाले निष्कर्षमा पुग्न हतार गर्नु उचित हुँदैन।

सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउने प्रक्रियालाई अघि बढाएको छ। अनुसन्धान प्रतिवेदन आएपछि घटनाबारे स्पष्ट जानकारी प्राप्त हुनेछ।

नेप्सेमा ३३ अंकको पहिरो

काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल शेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २ हजार ७०१.०६ विन्दुमा झरेसँगै बजारमा बिक्री दबाब हाबी भएको देखिएको हो।

बजार घटे पनि कारोबार रकम भने उल्लेख्य रह्यो। दिनभरमा ६ अर्ब ८ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ३९ लाख २५ हजार कित्ता शेयर खरिद-बिक्री भएको नेप्सेले जनाएको छ। यसले लगानीकर्ताको सक्रियता कायम रहे पनि बजारको मनोविज्ञान भने नकारात्मक बनेको संकेत गरेको छ।

सोमबार बैंकिङ र म्युचुअल फन्डबाहेक अन्य सबै ११ उपसूचक ओरालो लागेका छन्। बजारका अधिकांश क्षेत्र एकैपटक दबाबमा परेपछि समग्र परिसूचकमा ठूलो गिरावट आएको हो। कारोबार भएका कम्पनीमध्ये २३४ कम्पनीको शेयरमूल्य घटेको छ भने केवल ३६ कम्पनीको मात्र मूल्य बढेको छ।

व्यक्तिगत कम्पनीतर्फ एभरेस्ट कलर लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेर सकारात्मक प्रदर्शन गर्न सफल भयो। विपरीत, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १३.३८ प्रतिशतले घट्दै दिनकै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो।

बजारमा व्यापक गिरावट देखिए पनि कारोबार रकम ६ अर्ब रुपैयाँ नाघ्नुले लगानीकर्ताबीच किनबेचको गतिविधि भने निरन्तर रहेको देखिन्छ।

तर अधिकांश कम्पनीको मूल्य घट्नुले बजारमा अझै पनि नाफा सुरक्षित गर्ने प्रवृत्ति र लगानीकर्ताको सतर्कता कायम रहेको संकेत गरेको छ।

तनावग्रस्त देवानगञ्जको तरङ्ग माथिसम्म

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउने सोमबार बोलबम यात्राको तयारीका क्रममा भएको हिंसात्मक झडपले अब तराईका अन्य जिल्लामा समेत प्रभाव पार्न थालेको छ। डिजे बाजा बजाउने विषयलाई लिएर दुई समुदायबीच सुरु भएको विवाद प्रहरीको गोली चल्नेसम्म पुग्यो।

घटनामा एक जनाको मृत्यु भएपछि सुनसरीमा तनाव कायम रहँदा त्यसको विरोधमा सिरहामा समेत प्रदर्शन भएको छ। केहीबेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ।

सुनसरीको कप्तानगञ्जमा बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने क्रममा दुई समुदायबीच सामान्य भनाभन सुरु भएको थियो। स्थानीयका अनुसार विवाद चाँडै उग्र बन्दै हिंसात्मक झडपमा परिणत भयो। प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरेका थिए। त्यसबाट पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको जनाएको छ।

प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको हो। उनको मृत्युपछि स्थानीय बासिन्दा थप आक्रोशित बनेका छन्।

घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्। सर्वसाधारणतर्फ गोली लागेका घाइतेहरूको विराटनगरका न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको पेट, कम्मर, ढाड र तिघ्रामा गोली लागेको छ भने दुई जनालाई आईसीयूमा राखेर उपचार भइरहेको जनाइएको छ।

सुरक्षाकर्मीतर्फ इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित १३ जना घाइते भएका छन्। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा र आक्रमण गरेपछि सुरक्षाकर्मी पनि घाइते भएका हुन्।

स्थिति थप बिग्रिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहान ७ बजेदेखि देवानगञ्ज गाउँपालिका र आसपासका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु लागू गरेको छ। तर कफ्र्युका बीच पनि प्रदर्शन र तोडफोड नरोकिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै नेपाली सेना समेत परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार स्थानीय प्रशासनको आग्रहमा सेना परिचालन गरिएको हो।

यस घटनाको प्रभाव सुनसरीमा मात्र सीमित रहेन। ओमप्रकाश मेहताको मृत्युको विरोधमा सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर क्षेत्रमा स्थानीयले प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रदर्शनकारीले सडकमा टायर बालेर केहीबेर यातायात ठप्प पारेका थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार सुनसरी घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरे पनि प्रहरीको सम्झाइ–बुझाइपछि सडक पुनः सञ्चालनमा आएको छ। उनका अनुसार अहिले सिरहाको अवस्था सामान्य रहे पनि सुरक्षा निगरानी बढाइएको छ।

नेपाल–भारत सीमासँग जोडिएको देवानगञ्ज क्षेत्र संवेदनशील मानिन्छ। स्थानीयका अनुसार यसअघि पनि विभिन्न धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच बेला–बेलामा तनाव र झडप हुने गरेका छन्। पछिल्लो घटनाले फेरि साम्प्रदायिक सद्भाव र सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

सुरक्षा निकायले अहिले सुनसरीसहित आसपासका जिल्लामा उच्च सतर्कता अपनाएको छ। सम्भावित थप तनाव रोक्न संवेदनशील क्षेत्रमा अतिरिक्त सुरक्षा बल परिचालन गरिएको छ भने सामाजिक सञ्जालमार्फत भ्रामक सूचना नफैलाउन प्रशासनले सबैसँग आग्रह गरेको छ।

घटनाको वास्तविक कारण, गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो र त्यसमा कसको कति जिम्मेवारी छ भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रशासनले स्थानीय समुदायका अगुवा, जनप्रतिनिधि तथा सुरक्षा निकायबीच निरन्तर समन्वय गरेर अवस्था सामान्य बनाउन प्रयास भइरहेको जनाएको छ।

सांसदका स्वकीय सचिवबारे सर्वोच्चको अन्तरिम आदेश अस्वीकार

काठमाडौं। सांसदहरूलाई स्वकीय सचिव (निजी सचिव) राख्न दिने सरकारको निर्णय कार्यान्वयन रोक्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासले तत्काल निर्णय रोक्नुपर्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यद्यपि, अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ।

गत असार ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो। उक्त निर्णय साउन ४ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन प्रक्रिया अघि बढेको थियो।

सरकारको यही निर्णय संविधान र कानुनी व्यवस्थाविपरीत रहेको दाबी गर्दै अधिवक्ता डा. प्रेमराज सिलवालले गत शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

रिटमा सांसदलाई राज्यकोषबाट स्वकीय सचिव राख्ने व्यवस्था कानुनी आधारबिना गरिएको, यसले राज्यको आर्थिक भार बढाउने तथा सार्वजनिक स्रोतको दुरुपयोग हुन सक्ने जिकिर गरिएको छ।

सर्वोच्चले तत्काल कार्यान्वयन रोक्ने आदेश नदिए पनि सरकारलाई निर्णयको औचित्य र कानुनी आधारबारे लिखित स्पष्टीकरण पेस गर्न भनेको छ। अब विपक्षीको जवाफ आएपछि अदालतले रिटमाथि थप सुनुवाइ गर्दै अन्तिम निर्णय गर्नेछ।

सरकारको निर्णय सार्वजनिक भएपछि सांसदहरूलाई थप सुविधा दिने विषयमा राजनीतिक र सार्वजनिक बहस समेत चर्किएको छ।

विपक्षीहरूले आर्थिक मितव्ययिताको प्रश्न उठाइरहेका छन् भने सरकार पक्षले सांसदको कार्यसम्पादन प्रभावकारी बनाउन स्वकीय सचिव आवश्यक रहेको तर्क गर्दै आएको छ।

विश्व बजारमा राहत : घट्यो तेलको मूल्य

काठमाडौं। संयुक्त राज्य अमेरिका र इरानबीच बढेको सैन्य तनाव केही मत्थर हुने संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ।

दुवै देशबीच युद्धविराम र रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ पुनः सुरक्षित रूपमा सञ्चालन गर्ने विषयमा वार्ता अघि बढ्ने अपेक्षाले सोमबार विश्व तेल बजारमा सकारात्मक प्रभाव परेको हो।

इरानमा १३ दिनसम्म सैन्य आक्रमण सञ्चालन गरेपछि अमेरिकाले सप्ताहन्तदेखि थप कारबाही रोक्ने निर्णय गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले राष्ट्रपति ट्रम्पले कूटनीतिक समाधानका लागि वार्ताको ढोका खुला राख्दै केही समय दिएको बताएका छन्। त्यसको प्रतिक्रियामा इरानले पनि क्षेत्रीय मुलुकमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ।

यस घटनाक्रमले खाडी क्षेत्रमा तेल ढुवानी गर्ने जहाजहरूको आवतजावतमा देखिएको जोखिम केही कम भएको विश्लेषण गरिएको छ। विशेषगरी विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ हर्मुज’ सुरक्षित हुने संकेतले ऊर्जा बजारमा राहत दिएको छ।

यसअघि इरानले ओमानी जलक्षेत्र हुँदै जाने केही पानीजहाजलाई लक्षित आक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव चर्किएको थियो। त्यसपछि कमजोर बनेको युद्धविराम पूर्ण रूपमा भंग हुँदै अमेरिका र इरानबीच पुनः सैन्य गतिविधि सुरु भएको थियो। यसले कूटनीतिक प्रयाससमेत प्रभावित भएको थियो।

तनाव ‘स्ट्रेट अफ हर्मुज’ बाहिर पनि फैलिएको थियो। इरान समर्थित हुथी विद्रोहीहरूले लालसागर प्रवेश गर्ने प्रमुख समुद्री मार्ग बाब अल-मन्देब क्षेत्रमा साउदी अरबसँग सम्बन्धित पानीजहाजलाई निशाना बनाएपछि विश्व व्यापार र ऊर्जा आपूर्तिमाथि थप दबाब सिर्जना भएको थियो।

यही अस्थिरताका कारण गत साता ब्रेन्ट कच्चा तेलको मूल्य मे महिनायता पहिलोपटक प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको थियो। तर सप्ताहन्तमा युद्धको जोखिम कम हुने संकेत र समुद्री मार्ग खुला रहने अपेक्षापछि बजारको धारणा परिवर्तन भएको हो।

इरानले आइतबार ओमानसँग ‘स्ट्रेट अफ हर्मुज’ को व्यवस्थापन र जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्ने विषयमा सकारात्मक प्रगति भएको जनाएको थियो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीका अनुसार वार्ता दुवै देशको सार्वभौम अधिकारको सम्मान गर्दै साझा सञ्चालन संयन्त्र विकास गर्ने दिशामा केन्द्रित रहेको छ।

यसैबीच, चीनको पहलमा पाकिस्तानले अमेरिका र इरानबीच प्रत्यक्ष शान्ति वार्ता पुनः सुरु गराउन कूटनीतिक प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

युद्धको जोखिम घट्ने संकेतसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य सात प्रतिशतभन्दा बढीले घट्दै प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको थियो। विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितता कम गरेको छ।

नेसनल अस्ट्रेलिया बैंककी अर्थविश्लेषक स्याली अल्डका अनुसार मध्यपूर्वमा तनाव कम हुने संकेतले लगानीकर्ताको विश्वास बढाएको छ। उनका अनुसार प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथिको तेल मूल्य दुवै पक्षका लागि आर्थिक रूपमा दबाबपूर्ण भएकाले कूटनीतिक समाधानतर्फ जाने सम्भावना बलियो बनेको छ।

तेलको मूल्य घटेसँगै विश्वव्यापी मुद्रास्फीति पुनः बढ्ने जोखिम केही कम भएको छ। यसले ब्याजदर थप बढ्न सक्ने आशंका पनि घटाएको विश्लेषण गरिएको छ। यसको सकारात्मक प्रभाव अधिकांश एसियाली सेयर बजारमा देखिएको छ।

यद्यपि, कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको तीव्र लगानीको प्रतिफल र दीर्घकालीन स्थायित्वप्रति लगानीकर्ताको चिन्ता भने अझै कायम छ। त्यसकै प्रभावस्वरूप दक्षिण कोरियाको सियोल सेयर बजारमा एक प्रतिशतभन्दा बढी गिरावट आएको छ भने चिप निर्माता एसके हाइनिक्स र सामसुङका सेयरमा बिक्री दबाब देखिएको छ।

ताइपेई र सिङ्गापुरका सेयर बजार पनि ओरालो लागेका छन्।

यामाल र हालान्ड बने विश्वकै महँगा फुटबलर

काठमाडौं। विश्व फुटबल ट्रान्सफर बजारमा नयाँ इतिहास कायम गर्दै स्पेनका युवा स्टार लामिन यामाल र नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड संयुक्त रूपमा विश्वकै सबैभन्दा महँगा खेलाडी बनेका छन्।

पछिल्लो बजार मूल्याङ्कनअनुसार दुवैको मूल्य २२० मिलियन युरो पुगेको छ, जुन फुटबल इतिहासकै सबैभन्दा उच्च बजार मूल्य हो।

विश्वकपपछि अद्यावधिक गरिएको ट्रान्सफर बजारको मूल्याङ्कनमा यामाल र हालान्डले यसअघि रहेको २०० मिलियन युरोको सीमा पार गर्दै नयाँ कीर्तिमान बनाएका हुन्। यसअघि कुनै पनि खेलाडीको आधिकारिक बजार मूल्य २२० मिलियन युरोसम्म पुगेको थिएन।

स्पेनलाई विश्वकप उपाधि दिलाउने अभियानमा १९ वर्षीय यामालले उत्कृष्ट प्रदर्शन गरेपछि उनको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको हो। उनले प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गर्दै आफूलाई विश्व फुटबलको नयाँ सुपरस्टारका रूपमा स्थापित गरेका छन्।

यता, नर्वेका गोल मेसिन एर्लिङ हालान्डले पनि विश्वकपभर निरन्तर गोल गर्दै आफ्नो उत्कृष्ट लय कायम राखे। प्रतियोगितामा गरेको प्रभावशाली प्रदर्शनका कारण उनको बजार मूल्य पनि २० मिलियन युरोले बढेर २२० मिलियन युरो पुगेको हो।)

खेल विश्लेषकहरूका अनुसार यो मूल्यवृद्धिले विश्व फुटबलमा नयाँ पुस्ताका खेलाडीहरूको बढ्दो प्रभावलाई झल्काएको छ। कम उमेरमै विश्वस्तरीय प्रदर्शन गरेका यामाल र हालान्ड अहिले ट्रान्सफर बजारका सबैभन्दा आकर्षक खेलाडी बनेका छन्।

दुवै खेलाडीको कीर्तिमानी मूल्यले आधुनिक फुटबलमा युवा प्रतिभाको व्यावसायिक मूल्य कति तीव्र रूपमा बढिरहेको छ भन्ने देखाएको विश्लेषण गरिएको छ।

एमाले–नेकपा सहमतिपछि प्रचण्ड-माधव नेपाल भेट, के भयो कुरा ?

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालबीच सोमबार बिहान भेटवार्ता भएको छ।

प्रचण्ड नेपाल निवास पुगेर भएको भेटमा एमालेसँग भएको सत्ता सहमति, प्रदेश सरकार गठन र आगामी राजनीतिक रणनीतिबारे छलफल भएको नेताहरूले बताएका छन्।

नेकपाका एक नेताका अनुसार भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार भएको तीनबुँदे सहमतिको समीक्षा गरिएको थियो। उनले बाहिर चर्चा भएजस्तो पार्टीभित्र कुनै असहमति नरहेको दाबी गर्दै प्रदेश सरकारको नेतृत्व, मुख्यमन्त्री र मन्त्रीहरूको टुंगो लगाउने तथा आगामी राजनीतिक कदमबारे केन्द्रित भएर छलफल भएको जानकारी दिए।

‘एमालेसँग भएको सहमतिबारे समीक्षा भयो। बाहिर चर्चा भएजस्तो कुनै असहमति छैन। प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरूको टुंगो कसरी लगाउने तथा अबको रणनीति कस्तो बनाउने भन्ने विषयमा मुख्य रूपमा छलफल भयो,’ ती नेताले भने।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबीच प्रदेश सरकार सञ्चालनसम्बन्धी तीनबुँदे सहमति भएको थियो। उक्त सहमतिपछि विभिन्न प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने प्रक्रिया अघि बढिरहेको छ।

यसअघि सहसंयोजक माधव नेपाल एमालेसँग भएको सहमतिप्रति असन्तुष्ट रहेको चर्चा चलेको थियो। उनले आइतबार आफूनिकट केही नेताहरूसँग छलफलसमेत गरेका थिए। त्यसपछि प्रचण्ड स्वयं नेपाल निवास पुगेर भेट गरेपछि पार्टीभित्र देखिएको असन्तुष्टिबारे पनि चासो बढेको थियो।

यद्यपि नेकपाका नेताहरूले भने सहमतिलाई लिएर नेतृत्वबीच कुनै मतभेद नरहेको दाबी गरेका छन्। उनीहरूका अनुसार अहिलेको प्राथमिकता प्रदेश सरकार गठनलाई छिटो निष्कर्षमा पुर्‍याउने र सत्ता साझेदारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रहेको छ।

शनिबार भएको एमाले-नेकपा सहमतिले कर्णालीसहित विभिन्न प्रदेशको राजनीतिक समीकरणमा प्रत्यक्ष प्रभाव पारेको छ। आगामी केही दिनभित्र प्रदेश सरकारहरूको नेतृत्व र मन्त्रिपरिषद् गठनबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।

सुनसरीमा कर्फ्यु उल्लंघन भएपछी ब्यारेकबाट निस्क्यो सेना

सुनसरी। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शन उग्र बनेपछि देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ।

कर्फ्युका बाबजुद प्रदर्शनकारीले आगजनी र तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनाको हतियारसहितको टोली खटाइएको हो। सेनाको टोली परिचालनसँगै कप्तानगञ्जको अवस्था नियन्त्रणमा आउन थालेको स्थानीय प्रशासनले जनाएको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले सुरक्षा निकायले अवस्था पूर्ण रूपमा सामान्य बनाउन आवश्यक प्रयास गरिरहेको बताए।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । 

सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा पौडेलसँग आङ्देम्बेले भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ । यसबाहेक आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै, बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनस्र्थापनामा सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका थिए ।

अशोक दर्जीमाथि कुटपिटको भिडियो भाइरल भएपछि…

काठमाडौं। चर्चित बालकलाकार तथा गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक चर्चा पाएको छ।

भिडियोमा केही व्यक्तिले उनलाई घेरेर गालीगलौज र दुर्व्यवहार गरिरहेको देखिन्छ भने एक व्यक्तिले ‘अरूको पैसा कहिले तिर्छस्?’ भन्दै प्रश्न गरेको आवाज पनि सुनिन्छ। भिडियो सार्वजनिक भएसँगै उनका शुभचिन्तकले चिन्ता व्यक्त गरेका छन् भने घटनाको वास्तविकता र भिडियोको समयलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्।

हालसम्म उक्त भिडियो कहिले र कहाँ खिचिएको हो तथा घटनाको वास्तविक कारण के हो भन्ने विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन। अशोक दर्जी, उनका परिवार वा सम्बन्धित निकायबाट पनि घटनाबारे औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। त्यसैले अपुष्ट दाबीहरूलाई आधार बनाएर निष्कर्षमा नपुग्न आग्रहसमेत भइरहेको छ।

संघर्षपूर्ण जीवनयात्राबाट सांगीतिक क्षेत्रमा स्थापित भएका अशोक दर्जी पछिल्लो समय अध्ययनसँगै संगीत र अभिनयमा सक्रिय छन्। केही समयअघि उनले आफू कक्षा ११ मा अध्ययनरत रहेको र नयाँ नेपाली चलचित्र ‘पार्वती’ मा अभिनय गरिरहेको जानकारी दिएका थिए।

भिडियो भाइरल भएपछि चलचित्र ‘पार्वती’ निर्माण टोलीले अशोकको पक्षमा खुलेर समर्थन जनाएको छ। चलचित्रकी निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गाना अधिकारीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै अशोकलाई बदनाम गर्ने उद्देश्यले पुरानो भिडियो अहिले सार्वजनिक गरिएको दाबी गरेकी छन्।

उनले भिडियो हेर्दा लेनदेनसँग सम्बन्धित विषय जस्तो देखिए पनि वास्तविकता निष्पक्ष छानबिनबाट मात्रै बाहिर आउनुपर्ने बताएकी छन्। कसैको गल्ती भए पनि कानुनी प्रक्रियाभन्दा बाहिर गएर गालीगलौज, कुटपिट वा सार्वजनिक रूपमा अपमान गर्नु कुनै पनि हिसाबले स्वीकार्य नहुने उनको भनाइ छ।

निर्मात्री अधिकारीका अनुसार उक्त घटना धेरै समयअघिको हो र अशोकले निरन्तर मेहनत गर्दै सांगीतिक तथा अभिनय क्षेत्रमा सफलता हासिल गरिरहेका बेला नियोजित रूपमा पुरानो भिडियो बाहिर ल्याइएको हुन सक्ने आशंका गरिएको छ।

चलचित्र निर्माण टोलीले सामान्य परिवारबाट आफ्नो प्रतिभाको बलमा अघि बढिरहेका अशोक दर्जीलाई यतिबेला सबैको साथ, सहयोग र न्याय आवश्यक रहेको उल्लेख गरेको छ। टोलीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

यसैबीच, अशोक दर्जीले घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएको जानकारी पनि सार्वजनिक भएको छ।

हालसम्म उपलब्ध आधिकारिक जानकारीका आधारमा घटनाको वास्तविक कारण र भिडियोको समयबारे पुष्टि भइनसकेकाले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट दाबीप्रति सचेत रहनुपर्ने देखिएको छ।

रास्वपा सांसद केपी खनालको धम्की, भिडियो भाइरल

काठमाडौं। ‘कल्ले भन्यो? प्रमाण छ? हाल्छु-जाक्छु अहिले। समायो भने थाहा हुन्छ।’  

उल्लेखित अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य केपी खनालको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।  कार्यक्रमको सिलसिलामा कैलाली पुगेका उनको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापासँग भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

कार्यक्रममा प्रश्न उठेपछि सांसद खनालले आक्रोशित हुँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लागेको हो। भिडियोमा सांसद खनालका समर्थकले प्रश्न सोध्ने मान्छेलाई थर्काएको देखिन्छ। ‘माननीय ज्युले रोकेको केही प्रमाण छ तपाईंसँग?’ भिडियोमा सांसद खनालका समर्थकले प्रश्न सोध्ने मानिसलाई प्रतिप्रश्न गरेका छन्।

घटना खनालकै निर्वाचन क्षेत्र लम्कीमा आयोजित अस्पतालसम्बन्धी छलफलका क्रममा भएको हो। कार्यक्रममा सदस्य थापाले ‘लम्कीका मेयरलाई पक्राउ गर्न खोज्दा तपाईंले रोकेको हो भन्ने चर्चा छ, के त्यो सत्य हो ?’ भन्दै सांसद खनाललाई प्रश्न गरेका थिए।

प्रश्नको जवाफ दिँदै सांसद खनाल आक्रोशित बने। भिडियोमा उनले ‘कसले भन्यो ? प्रमाण छ ? हाल्छु अहिले, जाक्छु। समात्यो भने थाहा हुन्छ। यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ। अनधिकृत बोल्न मिल्छ ?’ भनेको सुनिन्छ।

सांसदको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ भने उनको व्यवहारबारे विभिन्न प्रतिक्रिया आइरहेकाका छन्।

अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापाले आफूले लम्की अस्पताल सञ्चालनसम्बन्धी विवाद समाधानका विषयमा प्रश्न उठाएको मात्र बताए। उनका अनुसार प्रदेश सरकार र स्थानीय तहबीच अस्पताल सञ्चालनलाई लिएर लामो समयदेखि विवाद चलिरहेका बेला त्यसको समाधानबारे जिज्ञासा राख्दा सांसद खनालले आवेगमा आएर धम्की दिएको दाबी गरेका छन्।

यता, सांसद खनालका स्वकीय सचिव हेमराज ढकालले भने घटनालाई फरक ढंगले व्याख्या गरेका छन्। उनका अनुसार लम्की प्रादेशिक अस्पताल सञ्चालनसम्बन्धी विवाद समाधानका लागि व्यवस्थापन समितिले सांसद खनाललाई छलफलमा बोलाएको थियो।

ढकालका अनुसार छलफलका क्रममा सांसद खनालले प्रदेश सरकार र स्थानीय सरकार एउटै राजनीतिक नेतृत्वको भएकाले आपसी समन्वय गरेर अस्पताल सञ्चालनको समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए। त्यसपछि एक सदस्यले ‘सुशीला शाहीलाई पक्राउ गर्न खोज्दा तपाईंले रोक्नुभयो’ भन्ने आरोपसहित प्रश्न गरेपछि सांसद खनाल आक्रोशित बनेका हुन्।

कार्यक्रममा सांसद खनालले प्रदेश र स्थानीय सरकारले अस्पताल सञ्चालन गर्न नसक्ने अवस्था आए संघीय सरकारले नै लम्की अस्पताल सञ्चालन गर्नुपर्ने धारणा पनि राखेका थिए।

लम्की प्रादेशिक अस्पतालको सञ्चालन तथा व्यवस्थापनको अधिकारलाई लिएर प्रदेश सरकार र स्थानीय तहबीच लामो समयदेखि विवाद जारी छ।

मन्त्री लम्सालको प्रश्न : गाउँ सार्नुपर्ने स्थिति छ?

काठमाडाैं। ‘गाउँ सार्नुपर्ने स्थिति छ?’

 ‘त्यसो भए गाउँ सारे भइहाल्थ्यो नि!’

उल्लेखित अभिव्यक्ति भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले अनुगमनका क्रममा सिन्धुपाल्चोकका स्थानीय नागरिकलाई दिएका हुन्।

यस अभिव्यक्तिका कारण मन्त्री लम्साल पुनः विवादमा तानिएका छन्। अनुगमनका क्रममा उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका पुगेका थिए। त्यहाँ स्थानीयले सडक विस्तारबारे प्रश्न उठाउँदा उनले ‘गाउँ सार्नुपर्ने स्थिति छ?’ भन्दै प्रतिप्रश्न गरेका थिए। त्यसपछि ‘त्यसो भए गाउँ सारे भइहाल्थ्यो नि!’ भन्ने अभिव्यक्ति दिएका थिए।

यसअघि पनि लम्साल ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्तिका कारण विवादमा परेका थिए। धादिङको निर्माणाधीन सडकको अनुगमनका क्रममा उनले समयमै बिजुलीका पोल नहटाएको भन्दै ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएपछि चौतर्फी आलोचना भएको थियो।

त्यसपछि तनहुँको शुक्लागण्डकी नगरपालिकामा रास्वपा नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा दिएको अर्को अभिव्यक्तिले पनि उनी विवादमा तानिएका थिए। त्यहाँ उनले जनताका काम नगर्ने मेयर तथा मन्त्रीलाई थुन्ने बताएका थिए।

त्यहाँ मन्त्री लम्सालले भनेका थिए, ‘कुनै मेयरले काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो वा सेवाप्रवाहमा लापरबाही गर्नुभयो भने त्यसबारे हामीलाई जानकारी गराउनुहोला। मेयरलाई पनि कारबाही गर्छौं। प्रदेशका मन्त्रीले त्यस्तो गर्नुभयो भने प्रदेशका मन्त्रीलाई नै थुन्छौं, चिन्ता लिनुपर्दैन। काम गर्नुपर्‍यो, काम गराउनुपर्‍यो।’

अनुगमनका क्रममा विभिन्न जिल्लामा पुगिरहेका मन्त्री लम्सालले पटक–पटक स्थानीय नागरिकसँग धम्कीपूर्ण र थर्काउने शैलीमा प्रस्तुत हुने गरेको आरोप लाग्दै आएको छ। कुनै बेला कानुनी शासनको चर्को वकालत गर्ने उनी अहिले भने आफैंलाई कानुनभन्दा माथि रहेको जस्तो व्यवहार गर्ने गरेको भन्दै आलोचना भइरहेको छ।

कानुनी राज्यमा गल्ती वा अपराधको निर्धारण कानुनले गर्छ। तर मन्त्री लम्साल भने आफ्नै नागरिकलाई अपराधीसरह व्यवहार गर्ने शैलीमा प्रस्तुत हुने गरेको देखिन्छ। यसले एकातिर नागरिकमा डर र त्रासको वातावरण सिर्जना गर्छ भने अर्कोतिर कानुनी शासनको मर्ममाथि नै प्रश्न उठाउने काम गर्छ।

मेटालाई टक्कर दिन सामसङको चस्मा

काठमाडौं। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले आफ्नो पहिलो स्मार्ट चस्माबारे विस्तृत जानकारी सार्वजनिक गर्दै वेरेबल एआई डिभाइसको बजारमा औपचारिक प्रवेश गर्ने तयारी गरेको छ। कम्पनीले यो चस्मालाई स्मार्टफोनको विकल्पका रूपमा नभई मोबाइल प्रयोगलाई अझ सहज, बुद्धिमानी र उपयोगी बनाउने सहायक उपकरणका रूपमा विकास गरिएको जनाएको छ।

मे महिनामा आयोजित गुगल आई/ओ सम्मेलनमा पहिलो झलक देखाएको सामसङले हालै सम्पन्न ग्यालेक्सी अनप्याक्ड कार्यक्रमपछि पत्रकार सम्मेलनमार्फत डिभाइसका डिजाइन, प्रविधि, फिचर र रणनीतिबारे थप जानकारी सार्वजनिक गरेको हो। सामसङका कार्यकारी उपाध्यक्ष तथा एक्सटेन्डेड रियालिटी (एक्सआर) अनुसन्धान तथा विकास टोलीका प्रमुख जेम्स चोईले स्मार्ट चस्मा कम्पनीको आगामी पुस्ताको एआई–आधारित वेरेबल रणनीतिको महत्वपूर्ण हिस्सा भएको बताए।

उनका अनुसार यो डिभाइस स्मार्टफोनलाई विस्थापित गर्न होइन, प्रयोगकर्ताले फोन प्रयोग गर्ने तरिकालाई अझ सहज र प्रभावकारी बनाउन डिजाइन गरिएको हो। स्मार्टफोन विकासमा लामो अनुभव रहेकाले आफूहरूले हलुका, आरामदायी र दैनिक प्रयोगका लागि उपयुक्त स्मार्ट चस्मा तयार गरेको उनको दाबी छ।

सामसङले प्रतिस्पर्धी कम्पनी मेटाको भन्दा फरक अवधारणा अपनाएको बताएको छ। कम्पनीका अनुसार स्मार्ट चस्माको तौल न्यून राख्दै लामो समयसम्म सहज रूपमा लगाउन सकिने गरी डिजाइन गरिएको छ। साथै, स्मार्टफोनमा प्रयोग हुने गुणस्तर परीक्षणकै मापदण्ड यसमा पनि लागू गरिएको छ।

चस्माले ड्रप टेस्ट, उच्च तापक्रम, धुलो, बाहिरी वातावरण, सनस्क्रिन, कस्मेटिक्सलगायत रसायनको प्रभाव परीक्षण सफलतापूर्वक पार गरेको कम्पनीले जनाएको छ। टिकाउपन सुनिश्चित गर्न सामसङले थप २० नयाँ परीक्षण प्रक्रिया समेत विकास गरेको छ।

सामसङको स्मार्ट चस्मा क्वालकमको चिपसेटबाट सञ्चालित हुनेछ। यसलाई प्रयोग गर्न स्मार्टफोनसँग जोड्नुपर्ने (टेथर्ड) व्यवस्था गरिएको छ।

यसमा जडान गरिएको इन–बिल्ट क्यामेराले प्रयोगकर्ताले देखिरहेको दृश्यको फोटो तथा भिडियो खिच्न सक्नेछ। साथै, ह्वाइटबोर्ड, प्रस्तुति वा कागजातमा रहेका सामग्री स्क्यान गरेर मुख्य बुँदा नोटका रूपमा तयार गर्न सक्ने सुविधा पनि उपलब्ध हुनेछ।

मोबाइलमा आएका लामो सन्देशलाई एआईमार्फत संक्षेप गरी चस्माभित्र रहेका स्पिकरबाट सुनाउन सक्ने क्षमता पनि यसमा रहनेछ। कम्पनीले चस्मासँगै पोर्टेबल चार्जिङ केस पनि उपलब्ध गराउने जनाएको छ।

हातको इसाराले नियन्त्रण

सामसङले स्मार्ट चस्मामा जेस्चर कन्ट्रोल प्रणाली पनि विकास गरिरहेको छ। ग्यालेक्सी स्मार्टवाच लगाएका प्रयोगकर्ताले हातको इसारामार्फत चस्माका विभिन्न फिचर नियन्त्रण गर्न सक्नेछन्।

त्यस्तै, कम्पनीको ग्यालेक्सी रिङमार्फत पनि जेस्चर कन्ट्रोल सम्भव हुने संकेत जेम्स चोईले दिएका छन्। कम्पनीका अनुसार आगामी शरद ऋतु (फल सिजन) मा बजारमा आउँदा यो चस्मा विभिन्न डिजाइन र रंगमा उपलब्ध हुनेछ।

स्मार्ट चस्माको डिजाइन विकासका लागि सामसङले प्रसिद्ध आईवेयर ब्रान्ड Gentle Monster र Warby Parker सँग सहकार्य गरेको छ।

स्मार्ट चस्माको बजारमा अहिले मेटाको रे–ब्यान सिरिजको स्पष्ट दबदबा छ। बजार अनुसन्धान संस्था आईडीसीका अनुसार सन् २०२६ को पहिलो त्रैमासिकसम्म स्मार्ट चस्मा बजारमा मेटाको हिस्सा करिब ६९.२ प्रतिशत रहेको छ।

मेटाले हालै २९९ डलरको इन्ट्री–लेभल स्मार्ट चस्मा र ७९९ डलर मूल्यको डिस्प्लेयुक्त रे–ब्यान मोडल सार्वजनिक गरिसकेको छ। यस्तो अवस्थामा सामसङले प्रिमियम सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने रणनीति लिएको छ।

यद्यपि कम्पनीले मूल्य भने अझै सार्वजनिक गरेको छैन। जेम्स चोईका अनुसार उत्पादनलाई प्रिमियम श्रेणीमा राखिने भए पनि अत्यधिक महँगो बनाइने छैन। उनले गुणस्तरअनुसार उचित मूल्य निर्धारण गरिने बताए।

आईडीसीका विश्लेषक फ्रान्सिस्को जेरोनिमोले सामसङको स्मार्ट चस्माको मूल्य ६०० देखि ७०० डलरबीच हुन सक्ने अनुमान गरेका छन्। तर मेटाको उत्पादनभन्दा उल्लेखनीय अतिरिक्त सुविधा नदिई उच्च मूल्य तोकिए बिक्रीमा चुनौती आउन सक्ने उनको भनाइ छ।

पीपी फोरसाइटका संस्थापक पाओलो पेस्काटोरेका अनुसार सामसङको प्रवेशले मेटालाई चुनौती त दिनेछ, तर बजारमा सफल हुन उपभोक्तालाई दैनिक जीवनमा उपयोगी हुने स्पष्ट कारण दिनुपर्नेछ।

उनका अनुसार सामसङसँग ठूलो स्मार्टफोन प्रयोगकर्ता आधार भए पनि उनीहरूलाई नयाँ वेरेबल डिभाइस खरिदतर्फ आकर्षित गर्नु कम्पनीका लागि सहज हुने छैन।

सामसङले स्मार्ट चस्मालाई सुरुवाती चरणमा सीमित प्रयोगकर्ता समूह लक्षित उत्पादनका रूपमा अघि बढाउने जनाएको छ। कम्पनीले तत्काल ठूलो मात्रामा बिक्री गर्ने लक्ष्य नराखेको स्पष्ट पारेको छ।

ओलीको नाम हटेको विवादपछि पुरानो शिलालेख पुनःस्थापना हुने

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्याससँग सम्बन्धित पुरानो शिलालेख पुनःस्थापना गरिने बताएका छन्। सुरुङमार्ग उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका योगदानलाई सम्मान गर्दै सरकारले शिलालेख पुनःस्थापना गर्ने स्पष्ट पारे।

सुरुङमार्ग उद्घाटनसँगै राखिएको नयाँ शिलालेखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नराखिएको भन्दै राजनीतिक वृत्तमा प्रश्न उठेपछि मन्त्री लम्सालले त्यसबारे स्पष्टीकरण दिएका हुन्।

उनले पुरानो शिलालेख जानाजानी हटाइएको नभई निर्माणका क्रममा आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकाले सुरक्षित रूपमा हटाइएको दाबी गरे।

‘हामीले विगतलाई सम्मान गर्नुपर्छ र गर्छौं पनि। केही कुरा मिडियामा आएजस्तो होइन,’ मन्त्री लम्सालले भने, ‘सुरुङमार्ग निर्माणका क्रममा शिलालेख रहेको स्थानमा संरचना बनाउनुपर्ने भएकाले त्यसलाई सुरक्षित रूपमा सडक विभागमा राखिएको थियो। पछि जेन–जी आन्दोलनका क्रममा विभागको भवनमा आगलागी हुँदा त्यो शिलालेख हराएको रहेछ।’

उनले सरकारले पुरानो शिलालेखको ऐतिहासिक महत्वलाई स्वीकार गर्दै त्यसलाई पुनःस्थापना गर्ने तयारी गरेको जानकारी दिए। विगतका सरकार र नेतृत्वको योगदानलाई सम्मान गर्दै आयोजना निर्माणसँग जोडिएका सबै पक्षको इतिहास संरक्षण गरिने उनको भनाइ थियो।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा गरिएको थियो। उद्घाटनका क्रममा राखिएको नयाँ शिलालेखमा भने वर्तमान पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको नाम उल्लेख भएपछि पुरानो शिलालेख हटाइएको विषयले राजनीतिक बहस चर्किएको थियो।

मन्त्री लम्सालले भने शिलालेख हराएको घटनाको वास्तविकता सार्वजनिक गर्दै त्यसलाई पुनःस्थापना गरेर विगतका योगदानलाई उचित सम्मान गरिने बताएका छन्।

असारको बिजुलीमा पनि भ्याट ?

काठमाडौं। असार महिनामा खपत भएको विद्युत्को बिल साउनमा जारी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) जोडिएपछि चौतर्फी आलोचना सुरु भएको छ।

उपभोक्ताले असारमा प्रयोग गरेको विद्युत्मा नयाँ आर्थिक वर्षदेखि लागू भएको भ्याट किन जोडियो भन्ने प्रश्न उठेपछि नेपाल विद्युत् प्राधिकरणले आन्तरिक राजस्व विभागसँग आधिकारिक कानुनी राय मागेको छ। विभागले सोमबार नै आफ्नो धारणा प्राधिकरणलाई पठाउने तयारी गरेको जनाएको छ।

आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत् सेवामा भ्याट लागू भएको हो। तर, धेरै उपभोक्ताको असार महिनाको विद्युत् खपतको बिल साउनमा जारी भएपछि त्यसमा भ्याट जोडिएको देखिएसँगै व्यापक विवाद उत्पन्न भएको छ। यसले ‘कर खपतको मितिका आधारमा लाग्ने हो कि बिल जारी भएको मितिका आधारमा ?’ भन्ने विषयमा अन्योल सिर्जना गरेको छ।

यही विवाद समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै स्पष्ट कानुनी व्याख्या मागेको हो। प्राधिकरणले विशेषगरी असार १ देखि ३२ गतेसम्म खपत भएको विद्युत्को बिल यदि साउन १ वा त्यसपछि जारी भएमा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा विभागको स्पष्ट धारणा मागेको जनाएको छ। साथै, औद्योगिक तथा व्यावसायिक ग्राहकसँग सम्बन्धित न्यूनतम डिमान्ड चार्जमा पनि भ्याट लाग्ने वा नलाग्ने विषयमा राय मागिएको छ।

आन्तरिक राजस्व विभागका निर्देशक प्रकाश पौडेलका अनुसार प्राधिकरणले उठाएका कानुनी जिज्ञासाको सम्बोधन गर्दै विभागले सोमबार नै आधिकारिक सुझाव पठाउने तयारी गरेको छ। विभागको राय प्राप्त भएपछि प्राधिकरणले आगामी बिलिङमा आवश्यक समायोजन गर्ने जनाएको छ।

यस विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पनि चासो देखाएका छन्। असारको विद्युत् खपतमा साउनदेखि लागू भएको भ्याट जोडेर बिल पठाइएकाबारे जनगुनासो बढेपछि मन्त्री श्रेष्ठले सम्बन्धित निकायसँग जानकारी लिएका हुन्।

नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार प्राधिकरणले बिल जारी भएको मितिलाई आधार मानेर भ्याट लागू गरेको हो। उनका अनुसार असारमा विद्युत् खपत भए पनि मिटर रिडिङपछि बिल साउनमा जारी भएकाले त्यसलाई साउनकै बिलका रूपमा गणना गरिएको छ।

उनले विद्युत्मा मात्र नभई दूरसञ्चारलगायत अन्य सेवामा पनि बिल जारी भएको मितिका आधारमा कर लागू हुने अभ्यास रहेको दाबी गरे। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक विरोध भएपछि कानुनी अन्योल हटाउन आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागिएको उनले बताए।

प्राधिकरणका अनुसार सरकारले असारमा खपत भएको विद्युत्मा भ्याट नलाग्ने निर्णय वा निर्देशन दिएमा आगामी महिनाको बिलमा आवश्यक समायोजन गरिनेछ। अहिले मिटर रिडिङ भइसकेका क्षेत्रमा भ्याटसहितको बिल जारी भइसकेको छ भने केही क्षेत्रमा अझै रिडिङको काम जारी रहेको जनाइएको छ।

भ्याट लागू भएपछि ठूलो संख्यामा घरायसी उपभोक्ता प्रत्यक्ष प्रभावित हुने देखिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने करिब २६ लाख घरायसी ग्राहक भ्याटको दायरामा पर्छन्।

प्राधिकरणको तथ्यांकअनुसार २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहक करिब १९ लाख ९८ हजार, २१ देखि ३० युनिटसम्मका ४ लाख २१ हजार, ३१ देखि ५० युनिटसम्मका ६ लाख १५ हजार छन्। त्यसैगरी ५१ देखि १०० युनिटसम्म खपत गर्ने १० लाख ७५ हजार, १०१ देखि २५० युनिटसम्मका १० लाख ८९ हजार तथा २५० युनिटभन्दा बढी खपत गर्ने ४ लाख ४२ हजार ग्राहक रहेका छन्।

सरोकारवालाले भने विद्युत् पूर्वाधार विकासका नाममा उपभोक्तामाथि थप करको भार थोपर्न नहुने बताएका छन्। उनीहरूका अनुसार विद्युत् महसुलमा मर्मतसम्भार, सेवा शुल्कलगायत विभिन्न शीर्षकमा पहिले नै रकम असुल गरिँदै आएको अवस्थामा थप भ्याटले उपभोक्ताको खर्च मात्र बढाउनेछ। ५० युनिटसम्म छुट भए पनि धेरै उपभोक्ताले खपत त्यसभन्दा तल सीमित राख्ने प्रयास गर्ने र करका कारण विद्युत् प्रयोगलाई नै निरुत्साहित गर्न सक्ने उनीहरूको तर्क छ।

यसअघि प्रतिनिधिसभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले १०० वा १५० युनिटभन्दा माथिको खपतमा मात्र भ्याट लगाउने विकल्पबारे अध्ययन भइरहेको बताएका थिए। तर हाल राजपत्रमा प्रकाशित आर्थिक ऐन, २०८३ तथा विद्युत् सेवामा मूल्य अभिवृद्धि कर असुल गर्ने निर्देशिका, २०८३ अनुसार ५० युनिटसम्मको खपतमा छुट र त्यसभन्दा माथि भ्याट लाग्ने व्यवस्था यथावत रहेको छ।

अब आन्तरिक राजस्व विभागले दिने कानुनी व्याख्याले असारमा खपत भएको तर साउनमा बिलिङ गरिएको विद्युत्मा भ्याट लाग्ने वा नलाग्ने भन्ने विवाद टुंगो लाग्ने अपेक्षा गरिएको छ।

आन्दोलन, उद्घाटन

काठमाडौं। नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।

काठमाडौँको चन्द्रागिरी नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म जोडिएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा खण्डको लामो जाम, उकालो र घुमाउरो सडकको समस्या उल्लेखनीय रूपमा कम हुने अपेक्षा गरिएको छ। सुरुङमार्ग प्रयोग गर्दा यात्रुको करिब एक घण्टा समय बचत हुने र इन्धन खपतसमेत घट्ने सरकारी विश्वास छ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुवाती चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। केही दिनसम्म सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रणालीको परीक्षण गरिने भएकाले यो अवधिमा सर्वसाधारणका सबै सवारीलाई प्रवेश दिइने छैन। परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क पनि नलिइने जनाइएको छ।

परीक्षण सफल भएपछि सबै वर्गका अनुमति प्राप्त सवारीसाधनलाई सुरुङमार्ग खुला गरिनेछ। त्यसपछि सुरुङमार्ग प्रयोग गर्ने सवारीले निर्धारित शुल्क तिर्नुपर्नेछ। सडक विभागका अनुसार कार तथा भ्यानले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि काठमाडौँतर्फ आउँदा ११५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ। ठूला बस र ट्रकले काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सुरुङमार्गमा भने सबै प्रकारका सवारी सञ्चालन गर्न पाइने छैन। पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारी, साथै पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ।

कुल २ हजार ६ सय ८८ मिटर लामो यस आयोजनामा मुख्य सुरुङ र उद्धार सुरुङ गरी दुई वटा सुरुङ निर्माण गरिएका छन्। मुख्य सुरुङबाट नियमित सवारी सञ्चालन हुनेछ भने आकस्मिक उद्धार तथा आपत्कालीन अवस्थाका लागि छुट्टै उद्धार सुरुङ तयार गरिएको छ।

आयोजनाका परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गमा अत्याधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ। सिसीटिभी निगरानी, आकस्मिक उद्धार प्रणाली, दमकल सेवा, सञ्चार सुविधा, अक्सिजन आपूर्ति तथा अन्य आवश्यक सुरक्षा संयन्त्र चौबीसै घण्टा सञ्चालनमा रहनेछन्। सुरुङमार्गको सञ्चालन र व्यवस्थापनका लागि आवश्यक प्राविधिक जनशक्ति तथा सुरक्षाकर्मीसमेत परिचालन भइसकेका छन्। साथै, सवारीसाधनले विद्युतीय माध्यमबाट शुल्क तिर्न सक्ने व्यवस्था मिलाइएको छ।

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग जापान सरकारको करिब २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको हो। जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यो आयोजना सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोभिड–१९ महामारी, प्राविधिक चुनौती र अन्य कारणले निर्माण अवधि लम्बिएको थियो। सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।

यता, सुरुङमार्ग उद्घाटन हुनुअघि भने केही स्थानीयले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन्। नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सुरुङमार्गसँगै निर्माण गरिनुपर्ने आकाशेपुल तत्काल बनाउन, सडक पेटी फराकिलो बनाउन, आयोजनाबाट प्रभावित स्थानीयलाई रोजगारी सुनिश्चित गर्न, जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्था गर्न तथा फ्लाइओभरको नाम ‘किसिपिँडी फ्लाइओभर’ राख्नुपर्ने माग अघि सारे।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो। प्रदर्शनकारीहरूले मुख्य सडक अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई सडकबाट हटाएको थियो। स्थानीयले भने आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो

काठमाडौं। साउन महिनाको दोस्रो सोमबार भक्तपुरको सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा-आराधनाका लागि बिहानैदेखि श्रद्धालुहरूको उल्लेखनीय भीड लागेको छ।

भगवान् शिवको प्रिय महिना साउन र सोमबारलाई शिव आराधनाको विशेष दिन मानिने भएकाले देशका विभिन्न जिल्लाबाट भक्तजन मन्दिर पुगेका छन्।

बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरूको लामो लाइन देखिएको थियो। श्रद्धालुहरूले जल, दूध, बेलपत्र, धतुरो, अक्षता, फूल तथा अन्य पूजासामग्री चढाउँदै भगवान् शिवको विशेष पूजा–आराधना गरेका छन्। धेरै भक्तजनले व्रत बसेर परिवारको सुख, शान्ति, समृद्धि, आरोग्यता र मनोकामना पूरा हुने विश्वासका साथ पूजा गरेका छन्।

साउन महिनामा विशेषगरी सोमबार शिवको उपासना गर्ने हिन्दू धार्मिक परम्परा रहिआएको छ। नेपालमा सौरमासअनुसार साउने सोमबार व्रत बस्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार यस दिन श्रद्धापूर्वक शिवको आराधना गरे मनोकामना पूरा हुने र जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास छ।

भक्तपुरको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिर नेपालकै प्रमुख शिवधाममध्ये एक मानिन्छ। धार्मिक मान्यताअनुसार यो मन्दिर भारतको प्रसिद्ध केदारनाथ धामको शिर (मस्तक) भागका रूपमा परिचित छ। यही धार्मिक विश्वासका कारण साउन महिनाभर यहाँ हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गरेका छन्।

साउनको प्रत्येक सोमबार मन्दिरमा विशेष पूजा, जलाभिषेक, रुद्राभिषेक तथा धार्मिक अनुष्ठान सञ्चालन हुने गर्दछ। त्यसैले दोस्रो सोमबार पनि भक्तजनहरूको अत्यधिक चाप देखिएको हो।

श्रद्धालुहरूको सहज दर्शनका लागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्थापन गरेको जनाएको छ। दर्शनार्थीको भीडलाई व्यवस्थित गर्न स्वयंसेवक, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने मन्दिर परिसरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

साउन महिना भरि विशेष धार्मिक महत्व रहने भएकाले आगामी सोमबारहरूमा पनि डोलेश्वर महादेव मन्दिरमा भक्तजनको उल्लेखनीय भीड रहने अपेक्षा गरिएको छ।

तस्वीरहरू:

विवादै विवादपछि बालेन सरकार बाध्य

काठमाडौं। सरकारले १ रुपैयाँको नयाँ सिक्काको डिजाइनमा फेरबदल गर्दै त्यसमा नेपालको आधिकारिक चुच्चे नक्सा र आकाश भैरवको आकृति समावेश गर्ने तयारी गरेको छ।

यसअघि मन्त्रिपरिषद्बाट स्वीकृत भएको लो-घेकर (घार) गुम्बाको तस्बिर राख्ने निर्णय चौतर्फी विवादमा परेपछि सरकार आफ्नो निर्णय पुनर्विचार गर्न बाध्य भएको हो। अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनलाई अन्तिम रूप दिइसकेको छ।

सरकारको यो निर्णय केवल एउटा सिक्काको डिजाइन परिवर्तन मात्र होइन, राष्ट्रिय पहिचान, सांस्कृतिक सम्पदा, कूटनीतिक संवेदनशीलता र उत्पादन लागतसँग जोडिएको बहसको परिणामका रूपमा पनि हेरिएको छ। केही दिनअघि मात्रै सार्वजनिक भएको डिजाइनले राजनीतिक, कूटनीतिक र सामाजिक वृत्तमा तीव्र बहस सिर्जना गरेपछि सरकारले पुरानो निर्णय सच्याउने बाटो रोजेको हो।

गत असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले १ र २ रुपैयाँ दरका सिक्काको नयाँ डिजाइन स्वीकृत गरेको थियो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्णय सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकलाई नयाँ डिजाइनका सिक्का टकमरी गर्न अनुमति दिइएको जानकारी दिएका थिए।

राष्ट्र बैंक सञ्चालक समितिको सिफारिस र अर्थ मन्त्रालयको प्रस्तावका आधारमा स्वीकृत डिजाइनअनुसार १ रुपैयाँको सिक्कामा मुस्ताङको ऐतिहासिक लो–घेकर (घार) गुम्बाको तस्बिर राख्ने तयारी गरिएको थियो। लो–घेकर गुम्बा आठौँ शताब्दीमा निर्माण भएको बौद्ध सम्पदा मानिन्छ र विश्वकै सबैभन्दा पुराना गुम्बामध्ये एकको रूपमा परिचित छ।

तर निर्णय सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल, राजनीतिक वृत्त र विभिन्न राष्ट्रियतावादी समूहबाट विरोध सुरु भयो। मुख्य विवाद सिक्काबाट नेपालको आधिकारिक चुच्चे नक्सा हटाइएको भन्ने विषयमा केन्द्रित थियो। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा हटाएर गुम्बा मात्र राख्न खोजिएको भन्दै सरकारमाथि राष्ट्रिय पहिचान कमजोर पार्न खोजेको आरोप लाग्यो।

पूर्वउपप्रधानमन्त्री भीम रावलसहित विभिन्न नेताहरूले सार्वजनिक रूपमा सरकारको आलोचना गरे। सामाजिक सञ्जालमा पनि हजारौँ प्रतिक्रिया आए। धेरैले राष्ट्रिय मुद्रामा नेपालको नक्सा हटाउन नहुने तर्क राखे।

विवाद केवल चुच्चे नक्सासम्म सीमित रहेन। लो-घेकर गुम्बाको पुनर्निर्माण २०७२ सालको भूकम्पपछि अमेरिकी दूतावासमार्फत करिब ३ करोड रुपैयाँको आर्थिक सहयोगमा भएको तथ्य सार्वजनिक भएपछि अर्को बहस सुरु भयो।

यो गुम्बा चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङ क्षेत्रमा पर्छ। यस्तो संवेदनशील क्षेत्रमा अमेरिकी सहयोगमा पुनर्निर्माण गरिएको संरचनालाई नेपालको राष्ट्रिय सिक्कामा समावेश गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्यो।

कूटनीतिक तथा सुरक्षा क्षेत्रका जानकारहरूले चीन-अमेरिका प्रतिस्पर्धाको वर्तमान अवस्थालाई ध्यानमा राख्दा यस्तो निर्णयले अनावश्यक सन्देश दिन सक्ने टिप्पणी गरे। विशेषगरी तिब्बतसँग जोडिएका विषयमा चीन अत्यन्त संवेदनशील रहने भएकाले राष्ट्रिय मुद्रा जस्तो प्रतीकात्मक माध्यममा त्यस्तो संरचना राख्दा कूटनीतिक जटिलता निम्तिन सक्ने विश्लेषण सार्वजनिक भए।

यही कारण सरकारले निर्णय पुनः समीक्षा गरेको स्रोतको दाबी छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार नयाँ डिजाइनमा सबैभन्दा प्रमुख रूपमा नेपालको चुच्चे नक्सा समावेश गरिनेछ। त्यससँगै काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको आकाश भैरवको आकृति पनि रहनेछ।

यसअघि प्रयोग हुँदै आएको ६४ वटा थोप्ला पनि यथावत् रहनेछन्। ती थोप्लालाई परम्परागत रूपमा ६४ योगिनीको प्रतीकका रूपमा व्याख्या गरिन्छ।

यसरी नयाँ डिजाइनले राष्ट्रियता, धार्मिक-सांस्कृतिक पहिचान र परम्परागत प्रतीकहरूलाई समेट्ने प्रयास गरिएको जनाइएको छ।

राष्ट्र बैंकले सिक्काको तस्बिर मात्र परिवर्तन गरिरहेको छैन। तौल, आकार र निर्माण सामग्रीसमेत परिवर्तन गर्ने तयारी भइरहेको छ।

हाल प्रचलनमा रहेका साना सिक्का मिश्रधातु (एलोय) बाट निर्माण हुँदै आएका छन्। अब भने स्टेनलेस स्टिल प्रयोग गरिनेछ। स्टेनलेस स्टिल प्रयोग गर्दा उत्पादन लागत कम हुने, सिक्काको आयु बढ्ने र ठूलो परिमाणमा उत्पादन गर्न सहज हुने राष्ट्र बैंकको निष्कर्ष छ।

साथै सिक्काको तौल पनि घटाइनेछ। अहिले १ रुपैयाँको सिक्का बनाउन नै २ देखि २.५ रुपैयाँसम्म खर्च लाग्ने अवस्था रहेको छ। अर्थात् सिक्काको उत्पादन लागत त्यसको अंकित मूल्यभन्दा धेरै माथि पुगेको छ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार यही कारण सानो मूल्यका सिक्कालाई कम लागतमा उत्पादन गर्न डिजाइनसँगै तौल र धातु परिवर्तन गर्न आवश्यक भएको हो।

विश्व बजारमा धातुको मूल्य बढ्दै जाँदा सिक्का उत्पादन महँगो बन्दै गएको छ। नेपालले आफ्नै देशमा सिक्का उत्पादन नगर्ने भएकाले विदेशमै टकमरी गराउनुपर्छ।

धातुको मूल्य, अन्तर्राष्ट्रिय ढुवानी खर्च, टकमरी शुल्क र विनिमय दरको प्रभावले सिक्का उत्पादनको लागत हरेक वर्ष बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ।

अर्थविद्हरूका अनुसार यदि यही अवस्था रहिरह्यो भने भविष्यमा साना दरका सिक्का उत्पादन गर्नु आर्थिक रूपमा झन् कठिन बन्दै जानेछ।

नयाँ सिक्का उत्पादनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ। प्रतिस्पर्धात्मक प्रक्रियामार्फत सबैभन्दा कम लागतमा गुणस्तरीय सिक्का उत्पादन गर्न सक्ने कम्पनी छनोट गरिनेछ।

टेन्डर प्रक्रिया सम्पन्न भएपछि मात्रै सिक्काको अन्तिम उत्पादन लागत निर्धारण हुनेछ।

राष्ट्र बैंकले नयाँ सिक्का बजारमा ल्याए पनि हाल प्रचलनमा रहेका पुराना सिक्काहरू तुरुन्तै अवैध हुने छैनन्। पुराना सिक्का र नयाँ सिक्का दुवै केही समयसम्म समान रूपमा चलनचल्तीमा रहने सम्भावना छ।

यसअघि १ रुपैयाँको सिक्कामा सगरमाथाको चित्र र २ रुपैयाँको सिक्कामा जनकपुरस्थित जानकी मन्दिर अंकित हुँदै आएको थियो। नयाँ डिजाइन लागू भएपछि क्रमशः नयाँ सिक्का बजारमा आउनेछन् भने पुराना सिक्का विस्तारै प्रतिस्थापित हुँदै जानेछन्।

विश्लेषकहरूका अनुसार सरकार तीनवटा प्रमुख कारणले आफ्नो निर्णय परिवर्तन गर्न बाध्य भयो।

पहिलो, चुच्चे नक्सा हटाइएको भन्ने विषयले राष्ट्रियताको बहस तीव्र बनायो।

दोस्रो, लो-घेकर गुम्बासँग जोडिएको अमेरिकी सहयोग र चीनसँगको भूराजनीतिक संवेदनशीलताले कूटनीतिक प्रश्न खडा गर्‍यो।

तेस्रो, सामाजिक सञ्जालदेखि राजनीतिक दलसम्मबाट व्यापक आलोचना भएपछि सरकारमाथि निर्णय पुनर्विचार गर्न दबाब बढ्यो।

अन्ततः सरकारले विवादित डिजाइनलाई संशोधन गर्दै राष्ट्रिय प्रतीकलाई प्राथमिकता दिने निर्णय गरेको हो।

नयाँ सिक्का कहिलेदेखि प्रचलनमा आउने भन्ने मिति भने अझै सार्वजनिक गरिएको छैन। मन्त्रिपरिषद्को अन्तिम प्रक्रिया पूरा भएपछि नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय टेन्डर आह्वान गर्नेछ र त्यसपछि उत्पादन सम्पन्न भएपछि नयाँ सिक्का क्रमशः बजारमा ल्याइने जनाइएको छ।

आफ्नै निर्वाचन क्षेत्रबाट लखेटिँदै रास्वपा सांसदहरू

काठमाडौं। प्रतिनिधि सभा बैठक १५ दिनका लागि स्थगित भएपछि सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग भेटघाटमा व्यस्त छन्। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्यहरूमाथि एकपछि अर्को गर्दै दुर्व्यवहारका घटना सार्वजनिक भएका छन्।

कतै बाटो छेकिएको छ, कतै कालो मसी छ्यापिएको छ भने कतै सार्वजनिक रूपमा अपमानजनक टिप्पणी गरिएको छ। पछिल्ला घटनाले जनप्रतिनिधिप्रति बढ्दो असन्तुष्टि देखाएको मात्र होइन, असहमति व्यक्त गर्ने शैली र लोकतान्त्रिक संस्कारबारे पनि नयाँ बहस सुरु गराएको छ।

रास्वपाका स्याङ्जा-१ का सांसद धनञ्जय रेग्मीमाथि पहिलो घटना सार्वजनिक भएको थियो। साउनको पहिलो साता निर्वाचन क्षेत्रमा स्थानीयसँग भेटघाटमा रहेका बेला केही स्थानीयले उनलाई बाटोमै रोके। ‘विकासका नयाँ योजना नल्याई किन गाउँ आएको?’, ‘यो तपाईंले बनाएको बाटो होइन’ भन्दै उनीहरूमाथि प्रश्नको वर्षा गरियो। स्थानीयले विकास निर्माणका काममा असन्तुष्टि जनाउँदै सांसदसँग जवाफ मागे। केहीबेरको तनावपूर्ण अवस्थापछि सांसद रेग्मीले हात जोड्दै आफूलाई जान दिन आग्रह गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भयो।

त्यसको केही दिनमै रौतहट क्षेत्र नम्बर-४ का सांसद गणेश पौडेलमाथि अझ गम्भीर प्रकृतिको घटना भयो। साउन ७ गते राति गढीमाई नगरपालिका-४ पर्सा गाउँमा ‘जनतासँग सांसद’ कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा उनीमाथि कालो मसी छ्यापियो।

जुत्ता लगाउने क्रममा पछाडिबाट आएका केही अपरिचित व्यक्तिले कालो मसी प्रहार गरेर फरार भएका थिए। घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ भने आक्रमणकारीको खोजी भइरहेको बताइएको छ।

यसैबीच उदयपुर-१ का सांसद पारशमणि गेलाल पनि स्थानीयको आक्रोशबाट जोगिन सकेनन्। साउन ९ गते निर्वाचन क्षेत्रमा पुगेका उनलाई स्थानीयले ‘चिठ्ठामा परेको माननीय’ र ‘चाउचाउको कुपनजस्तो माननीय’ भन्दै व्यंग्य गरे।

उनीहरूले जनताको समस्या समाधानमा सांसद गम्भीर नभएको, सामाजिक सञ्जालमा चर्चा कमाउन मात्र सक्रिय रहेको आरोप लगाए। सांसद गेलालले भने कुनै प्रतिवाद नगरी हाँस्दै र संयमित प्रतिक्रिया दिँदै परिस्थितिलाई सामान्य बनाउने प्रयास गरेका थिए।

लगातार तीन जना सांसदमाथि फरक-फरक प्रकृतिका घटना भएपछि रास्वपाले औपचारिक धारणा सार्वजनिक गरेको छ। पार्टीका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा सांसद गणेश पौडेलमाथि भएको कालो मसी प्रहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति, आलोचना र विरोध गर्ने अधिकार सबै नागरिकलाई सुरक्षित भए पनि जनप्रतिनिधिमाथि हुने हिंसात्मक, अपमानजनक वा दुर्व्यवहारपूर्ण व्यवहार कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ।

रास्वपाले यस्ता घटनाले विधिको शासन, लोकतान्त्रिक मूल्य-मान्यता र शान्तिपूर्ण राजनीतिक संस्कृतिमाथि प्रत्यक्ष प्रहार गर्ने जनाएको छ। पार्टीले घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग पनि गरेको छ।

घटनाप्रति प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले पनि असहमति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रतिनिधि सभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमण निन्दनीय भएको बताएका छन्। उनले असहमति भए त्यसको अभिव्यक्ति संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्ने उल्लेख गर्दै हिंसा, अपमान र आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन्।

पछिल्ला घटनाले जनप्रतिनिधिप्रति जनताको बढ्दो असन्तुष्टि  छताछुल्ल देखिन्छ। निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा नभएको, विकास निर्माणका काम अपेक्षाअनुसार अघि नबढेको र जनतासँग नियमित सम्पर्क कमजोर भएको गुनासो विभिन्न स्थानमा सुनिन थालेको छ। यही असन्तुष्टि कतिपय ठाउँमा प्रत्यक्ष विरोध र आक्रोशका रूपमा देखिएको विश्लेषण भइरहेको छ।

यद्यपि राजनीतिक विश्लेषकहरू जनप्रतिनिधिको आलोचना र जवाफदेहिता लोकतन्त्रको स्वाभाविक अभ्यास भए पनि कालो मसी छ्याप्ने, बाटो छेक्ने, अपमान गर्ने वा शारीरिक रूपमा डर-त्रास सिर्जना गर्ने गतिविधिले लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने बताउँछन्। उनीहरूका अनुसार जनताले आफ्ना प्रतिनिधिसँग प्रश्न सोध्ने, जवाफ माग्ने र असन्तुष्टि व्यक्त गर्ने अधिकार राख्छन्, तर त्यसको माध्यम कानुन र लोकतान्त्रिक मर्यादाभित्र हुनुपर्छ।

प्रतिनिधि सभा बैठक स्थगित भएका बेला अधिकांश सांसद अहिले आफ्ना निर्वाचन क्षेत्रमा छन्। यस्तो अवस्थामा जनप्रतिनिधि र मतदाताबीचको सम्बन्ध, जनअपेक्षा र राजनीतिक उत्तरदायित्वको विषय थप चर्चामा आएको छ।

पछिल्ला घटनाले जनताका गुनासा सुन्ने र समाधान खोज्ने प्रभावकारी संयन्त्र आवश्यक रहेको सन्देश दिएको छ भने विरोध र असहमतिलाई पनि लोकतान्त्रिक मर्यादाभित्र राख्नुपर्ने चुनौतीलाई थप उजागर गरेको छ।

‘प्रचण्डले नै कोशी प्रदेश एमालेको बिर्ता ठान्नुभयाे’

काठमाडौं। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाँचवटा प्रदेशमा सत्ता सहकार्यको सहमति गरेसँगै यतिबेला प्रदेश सरकार फेरबदलको चर्चा भइरहेको छ। एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको सहमति पत्रअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेको सरकार बन्नेछ भने कर्णाली र सुदूरपश्चिममा नेकपाले प्रदेश सरकारको नेतृत्व गर्नेछ। बाँकी रहेका दुई प्रदेशमा भने अन्य दलसँग संवाद र समझदारीअनुसार अगाडि बढ्ने एमाले स्रोतले बतायो।

केन्द्रमा दुई प्रमुख नेता र अन्य केही नेताहरूको उपस्थितिमा गरिएको यो सहमतिसँग यी दुई पार्टीकै कतिपय प्रदेश नेताहरू सन्तुष्ट छैनन्। प्रदेश सरकार फेरबदल गर्ने सहमतिसँगै एमाले अध्यक्ष ओली कोशी र लुम्बिनीका मुख्यमन्त्री परिवर्तन गर्ने जोडबलमा रहेको चर्चा पनि छ।

तर, ती प्रदेशका मुख्यमन्त्रीहरू हिक्मत कार्की र चेतनारायण आचार्यले भने एमालेको सचिवालय बैठकले निर्णय नगरी नेतृत्व नछोड्ने अडान लिएका छन्। उता कर्णाली र सुदूरपश्चिममा सरकार गठनको प्रक्रिया भने सहज देखिएको छ। ती प्रदेशहरूको नेतृत्व सत्ताबाहिर रहेको नेकपाले पाएपछि त्यहाँ सरकार गठन सहजै हुने अनुमान छ।

यता, अर्कोतिर केन्द्रको यो सहमतिसँग नेकपाका प्रदेश नेताहरू असन्तुष्ट देखिन्छन्। असन्तुष्ट हुने नेताहरूका अनुसार प्रचण्डले एकलौटी निर्णय गरे। नेकपाभित्रको पूर्व एकीकृत समाजवादी पक्षधर पनि प्रचण्डसँग रिसाएको बताइन्छ। नेकपाकै कोशी र बागमती प्रदेशका कतिपय नेताहरू पनि असन्तुष्ट देखिन्छन्।

यसअघि प्रचण्डले कोशी प्रदेशमा नेकपाको सरकार बन्ने आश्वासन दिएका थिए। नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’का अनुसार प्रचण्डले प्रदेश समीकरण फेरिने अवस्था बनेमा कोशीको नेतृत्व हामीले गर्छौं भनेका थिए। त्यति मात्र नभई प्रचण्डले सरकार परिवर्तनको सम्भावना बनेमा आफूलाई मुख्यमन्त्रीका लागि तयार रहन भनेको बताउँछन्।

तर, प्रदेश सरकारको समीकरण फेरिने बेलामा भने कोशी प्रदेश प्रचण्डको प्राथमिकतामा परेन। यसले कोशी प्रदेशका नेकपा नेताहरू असन्तुष्ट बनेको आङ्बोले बताए।

प्रचण्डले कोशी छोडेर किन कर्णाली र सुदूरपश्चिम रोजे? हामीले नेकपा कोशी प्रदेश संसदीय दलका नेता आङ्बोसँग वार्ता गरेका छौं। उनका अनुसार प्रदेशको सम्पूर्ण पार्टी पंक्तिले नै यसपटक कोशीको नेतृत्व हामीले नै पाउँछौं भनेर अपेक्षा गरेका थिए।

तर अन्तिम समयमा भने त्यसअनुसार निर्णय भएन। संयोजक कमरेड प्रचण्डले पनि कोशी प्रदेशको नेतृत्व एमालेबाहेक अरूले गर्न सक्दैनन् भन्ने सोचेको आङ्बोको दाबी छ। प्रस्तुत छ- नेपालवान एचडीका लागि जङ्ग तामाङले आङ्बोसँग गरेको वार्ताको सम्पादित र संक्षिप्त अंश:

तपाईं मुख्यमन्त्रीको तयारी गर्दै हुनुहुन्थ्यो। यस पटक पनि मुख्यमन्त्री बन्न सक्नुभएन। यसको कारण के हुन सक्छ?

हैन, हामी त दुई-अढाई वर्षदेखि प्रतिपक्षमा छौं। बाँकी समय पनि प्रतिपक्षमै बस्न मानसिक रूपमा तयार थियौं। खासगरी अहिले एमाले र कांग्रेसबीच देखिएको असमझदारीले गर्दा एकखालको राजनीतिक गतिरोध देखापर्‍यो। त्यो ‘डेडलक’लाई तोडेर यो समस्याको समाधान दिन चाहिँ हामी सरकारमा सहभागी हुनुपर्ने वा सत्ता साझेदारी गर्नुपर्ने अवस्था आयो।

त्यसपछि स्वाभाविक रूपमा यसअघि पनि मुख्यमन्त्रीको उम्मेदवारका रूपमा मेरो चर्चा भएको थियो। यसपटक पनि त्यो अवसर प्राप्त हुन्छ भन्ने अपेक्षा मेरो मात्रै होइन, कोशी प्रदेशका पार्टी पंक्ति र आम समर्थकहरूको पनि थियो।

तर त्यसअनुसार निर्णय भएन। त्यो पूरा हुन सकेन। अहिले भागबण्डामा कोशी प्रदेशको नेतृत्व एमालेले नै लिने भयो।

तपाईंले कोशी प्रदेशको मुख्यमन्त्री नपाउनुको कारण संसदीय अंकगणित जिम्मेवार हो कि अरू केही?

हैन, संसदीय अंकगणित मात्रै हुने भए त तेस्रो पार्टी हुँदा केन्द्रमा हाम्रो अध्यक्षले १८ महिनाभन्दा बढी सरकारको नेतृत्व गर्नुभयो। अरू प्रदेशमा पनि संख्यात्मक हिसाबले बागमतीमा तेस्रो शक्ति हुँदा नेतृत्व गरेका थियौं। लुम्बिनीमा पनि हामी तेस्रो हुँदा नेतृत्व गर्‍यौं। कोशीमा मात्रै तेस्रो होइनौं हामी।

दोस्रो कुरा, बागमतीमा एमालेभन्दा ठूलो हामी हुँदा पनि नेतृत्व लिएनौं। सुदूरपश्चिम र कर्णाली लियौं। सुदूरपश्चिम र कर्णालीभन्दा दोब्बर जनसंख्या कोशीमा छ। त्योभन्दा धेरै जनसंख्या बागमतीमा छ। यी ठूला जनसंख्या भएका रणनीतिक प्रदेशहरू छोडेर सुदूरपश्चिम र कर्णाली लिएको देख्दा संख्या भन्ने कुरा गौण हो भन्ने देखिन्छ।

तपाईंप्रति अध्यक्ष प्रचण्डले नै अरुचि राख्नुभयो भन्न मिल्छ कि मिल्दैन?

उहाँको रुचि वा अरुचिको विषय उहाँलाई नै थाहा होला। त्यसको जवाफ मसँग छैन। म यति चाहिँ भन्न सक्छु, यो संख्या भनेको बहाना मात्रै हो। नेतृत्वको प्राथमिकतामा चाहिँ म परिन।

मतलब अध्यक्ष प्रचण्डको प्राथमिकतामा तपाईं पर्नुभएन?

हाम्रो टिम नै छ त्यहाँ छलफल गर्न जाने। हाम्रो नेतृत्वले पनि त्यसलाई पुष्टि गरेको जस्तो देखिन्छ। त्यो टिमको प्राथमिकतामा म परिन।

अनि तपाईं मुख्यमन्त्री नहुँदा सुनिएका असन्तुष्टिका स्वरहरूलाई कसरी लिनुहुन्छ?

पटक-पटक अवसर आउँदा पनि कोशी प्रदेशको नेतृत्व हामीले नलिँदा त्यसप्रति एक प्रकारको असन्तुष्टि कार्यकर्तामा छ। हाम्रो नेतृत्वले नै कोशी प्रदेश एमालेको बिर्ता हो, एमालेबाहेक अरू कसैले यहाँ प्रदेश सरकारको नेतृत्व गर्न पाउँदैन भन्ने पुष्टि गरिदियो।

एमालेको बलियो क्षेत्र भनेको कोशी हो। स्वाभाविक रूपमा उहाँहरूको सिट धेरै आउँछ। यो ओलीको गृहप्रदेश भएकाले उहाँ जीवित रहुञ्जेल यहाँ अरूको सरकार बन्दैन भन्ने खालको स्थिति देखापर्‍यो।

तर प्रचण्डले नेकपाबाट इन्द्र आङ्बोलाई नै मुख्यमन्त्री बनाउने भनेर अभिव्यक्ति दिनुभएको थियो नि?

उहाँले त्यस्तो सार्वजनिक प्रतिक्रिया त धेरै ठाउँमा दिनुभएको छ। व्यक्तिगत रूपमा उहाँको त्यो कुरा झन् धेरै सुनेको हो। उहाँको त्यो अभिव्यक्तिसँग म पनि अभ्यस्त भइसकेको थिएँ।

दोस्रो कुरा, विगतमा सरकारमा मन्त्री हुँदा मैले गरेको काम र कार्यसम्पादनका आधारमा पनि जनताले मबाट केही अपेक्षा गरेका थिए। अहिले इन्द्र आङ्बो मुख्यमन्त्री हुँदा पनि प्रदेशका समस्याको समाधान र विकासले गति लिन्छ भन्ने अपेक्षा कार्यकर्ता र नागरिक समाजमा थियो। फेरि पनि अन्तिम निर्णय पार्टीको हो। त्यो निर्णय मानेर जानुको विकल्प छैन।

अध्यक्ष प्रचण्डको बोलीमा टुङ्गो नभएको किन होला?

यसको जवाफ मैले होइन, उहाँले नै दिनुहुन्छ होला। मैले मलाई फ्रिमा दिनुस् भनेर मागेको होइन। उहाँले नै आफैं इन्द्र आङ्बोलाई बनाउँछु भनेर भन्नुभएको हो।

तर किन दिन सक्नुभएन भन्ने प्रश्नको जवाफ उहाँहरूले नै दिनुहुन्छ होला। त्यो जवाफ दिने ठाउँमा म छैन। यत्ति चाहिँ हो कि नेतृत्वको प्राथमिकतामा म परिन।

मुख्यमन्त्री नबने पनि नेकपा तपाईंकै नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुन्छ?

म मूल्य र मान्यताको राजनीति गर्ने मान्छे हुँ। मैले यसअघि नै भनिसकेको छु- अब म मन्त्रीका रूपमा काम गर्दिन भनेर। त्यसकारण हाम्रा साथीहरूसहित हाम्रो पार्टी सरकारमा सहभागी हुन्छ।

तर, म भने मन्त्रीका रूपमा सरकारमा सहभागी हुने छैन।

ती सर्तहरू खुलाउन मिल्छ?

पहिलो, अहिले प्रदेश सरकारको कार्यसम्पादन र कार्यशैली सन्तोषजनक छैन। सरकार असफल हुँदै गएको छ। नेकपा असफल हुन सरकारमा जाने होइन। त्यसकारण सरकारको नीति, कार्यक्रम र बजेटमा आवश्यक परिमार्जन हुनुपर्छ। पूरक बजेट ल्याउन अहिलेको नेतृत्व त्यसका लागि तयार हुनुपर्छ।

दोस्रो, हामी (एमाले र नेकपा) प्रदेश सरकारको नेतृत्वमा रहँदा प्रदेशको नामकरण कोशी गरेका थियौं।

तर त्यो नामप्रति अहिले पनि नागरिकमा असन्तुष्टि छ। त्यसैले प्रदेशको पुनः नामकरण गरौं भन्ने हाम्रो प्रस्ताव छ। त्यसो गरियो भने त्यहाँको समस्या समाधान गर्न सकिन्छ।

प्रदेशको पुनः नामकरण गर्दा नेकपाले कुन नाम प्रस्ताव गर्छ?

अहिले नै यही नाम भन्न त मिलेन। तर पहिचानको त्यत्रो ठूलो आन्दोलन छ र अहिलेसम्म पनि त्यो चलिरहेको छ। त्यसलाई सम्बोधन गर्ने गरी प्रदेशको पुनः नामाङ्कन गरौं भन्ने हाम्रो प्रस्ताव र सर्त रहन्छ।

नागढुंगा सुरुङमार्गमा गाडी चलाएको पैँसा कति?

काठमाडाैं। २०२३ मा निर्माण सम्पन्नको उद्देश्य लिएर २०१९ मा केपी ओलीले शिलान्यास गरेको नागढ़ुंगा-सिस्ने खोला सुरुङमार्ग सोमबार देखि सुचारु हुँदैछ। 

सोमबारदेखि सिस्नेखोला-बलम्बु सुरूङमार्गमा सीमित रूपमा सवारी सञ्चालन सुरु हुने भएको छ। आयोजनाका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका आपतकालीन सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ।

मोटरसाइकल, तीनपांग्रे सवारी तथा पेट्रोल, डिजेल, एलपी ग्यासलगायत अत्यधिक प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने सुरूङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन। पैदलयात्रीलाई पनि सुरूङमार्गबाट आवतजावत गर्न दिइने छैन।

आयोजनाका प्रमुख पन्थीका अनुसार अन्य मापदण्ड पूरा गर्ने सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ। साथै, सञ्चालन सुरु भएको पहिलो १५ दिनसम्म कुनै पनि शुल्क नलिने र त्यसपछि शुल्क कार्यान्वयन गर्ने विषयमा आवश्यक निर्णय गरिने उनले बताए।

निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, मिनीबस तथा मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ। बस तथा सिंगल रियर एक्सल ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

मल्टी एक्सल ट्रक तथा भारी उपकरण बोकेका सवारीसाधनका लागि काठमाडौं प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।

सिस्नेखोला-बलम्बु सुरूङमार्गले धादिङको सिस्नेखोला र काठमाडौंको बलम्बुलाई प्रत्यक्ष रूपमा जोड्नेछ। हाल पृथ्वी राजमार्ग हुँदै यी दुई स्थानबीचको दूरी करिब ८ किलोमिटर रहेकोमा सुरूङमार्ग सञ्चालनमा आएपछि यो दूरी करिब ५ किलोमिटरमा झर्नेछ। यससँगै करिब २.८ किलोमिटर दूरी छोटिने र यात्राको समयसमेत उल्लेखनीय रूपमा बचत हुने अपेक्षा गरिएको छ।

 

मोबाइल नदिएको निहुँमा १७ वर्षीय लजिनको आफ्नै साथीबाट हत्या

काठमाडौं। बागलुङको बडिगाड गाउँपालिका-१ का १७ वर्षीय लजिन थापाको हत्या उनकै साथीहरूले गरेको प्रहरीले जनाएको छ। साथीको जन्मदिन मनाउन गएका लजिनको मोबाइल फोनको विषयमा भएको सामान्य विवादले अन्ततः ज्यान लिने घटनामा परिणत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटना साउन १ गते रातिको हो। सोही दिन असिम वनको जन्मदिन मनाउन लजिनसहित सात जना साथीहरू स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालय परिसरमा भेला भएका थिए। प्रहरीका अनुसार उनीहरूले राति करिब २:३० बजेसम्म मदिरा सेवन गरेका थिए। जन्मदिनको कार्यक्रममा एक जना ९ वर्षीय बालकसमेत सहभागी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कार्यक्रम सकिएपछि अधिकांश साथीहरू घर फर्किए पनि लजिनसँग रहेको आइफोन मोबाइल माग्ने विषयमा विवाद सुरु भएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार मोबाइल दिन अस्वीकार गरेपछि लजिनमाथि कुटपिट गरिएको थियो।

प्रहरीका अनुसार रेमबहादुर विक र ददी परियारले लजिनलाई पछ्याउँदै एकान्त स्थानमा पुर्‍याएर आक्रमण गरेका थिए। कुटपिटका क्रममा लजिन बेहोस भएका र त्यसपछि उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मृत्युपछि घटनालाई लुकाउने उद्देश्यले उनीहरूले शव घटनास्थलबाट करिब आधा घण्टाको दूरीमा रहेको स्थानीय मनखोलामा लगेर फालेको अनुसन्धानबाट खुलेको छ। लजिनको शव बिहीबार त्यही स्थानबाट फेला परेको थियो।

घटनापछि लजिन एक सातासम्म सम्पर्कविहीन भएका थिए। परिवारले खोजी गरे पनि अवस्था थाहा नपाएपछि प्रहरीले व्यापक खोज अभियान सञ्चालन गरेको थियो। खोजीका क्रममा प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा अन्य आधुनिक प्रविधिको प्रयोग गरिएको प्रहरीले जनाएको छ। त्यसपछि अनुसन्धानको घेरा साँघुरिँदै जाँदा घटनामा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ परेकाहरूको बयान, घटनास्थलबाट संकलित प्रमाण र प्राविधिक विश्लेषणका आधारमा घटनाको विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ। पोस्टमार्टम प्रतिवेदन र अन्य प्रमाणका आधारमा उनीहरूमाथि थप कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।