`

भोटेकोशी बाढीमा उद्धार तीव्र बनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई थप प्रभावकारी र तीव्र बनाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बुर्लाकोटीले विपद्को क्षति ठूलो भएकाले पर्याप्त जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरेर उद्धार कार्य अघि बढाउनुपर्ने बताए ।

उनले बेपत्ता, उद्धार गरिएका तथा मृतकको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडासम्म पुर्‍याउने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । विपद्मा परेका व्यक्ति तथा पीडित परिवारले प्रत्यक्ष र भरपर्दो सूचना पाउने संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो ।

‘खोज तथा उद्धारका लागि दक्ष जनशक्ति, आवश्यक उपकरण र स्रोतसाधनसहितको संयन्त्र परिचालन गरी कामलाई अझ तीव्र बनाउनुपर्छ,’ बुर्लाकोटीले भने ।

भेटिएका शवको तत्काल पहिचानका लागि डीएनए परीक्षणलाई प्रभावकारी बनाउन थप जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गर्नुपर्ने उनले बताए ।

बुर्लाकोटीले विपद्पछिको पुनर्निर्माणमा समेत सरकारले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए । बाढी, पहिरोजस्ता जोखिम रहेका क्षेत्रमा बस्ती, सार्वजनिक कार्यालय तथा अन्य संरचना निर्माण नगर्ने नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सम्भावित विपद्बारे सचेत गराउन व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि उनले सरकारसँग माग गरे।

राजीनामा दिएपछि आँसु झार्दै मन्त्रालयबाट निस्किइन् गौरीकुमारी

काठमाडौं। उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

इन्धन आपूर्ति सहज बनाउन नसकेको भन्दै आलोचना भइरहेका बेला उद्योगीलाई लक्षित अभिव्यक्तिका कारण समेत विवादमा परेकी यादवले अन्ततः मन्त्री पदबाट राजीनामा दिएकी हुन् ।

राजीनामा दिएपछि मन्त्रालयबाट बाहिरिने क्रममा यादव भावुक देखिएकी थिइन् । मन्त्रालय परिसरबाट निस्कँदा उनको आँखामा आँसु देखिएको स्रोतले जनाएको छ ।

सञ्चारकर्मीले प्रतिक्रिया लिन खोजे पनि यादवले कुनै जवाफ दिइनन् । उनी राजीनामा दिएलगत्तै मन्त्रालयबाट बाहिरिएकी थिइन् ।

तत्कालीन श्रममन्त्री दीपक साह विवादमा परेर राजीनामा दिएपछि रिक्त भएको जिम्मेवारीमा मन्त्रालय हेरफेर गर्दै यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

तर, साहको राजीनामापछि मन्त्री बनेकी यादव पनि विवादबाट उम्किन सकिनन्। अन्ततः उनले समेत राजीनामा दिएर पदबाट बाहिरिनुपरेको छ।

देउवाको सरकारलाई चार सुझाव

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धारदेखि पुनर्निर्माणसम्म सरकारले चारवटा कामलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार नुवाकोट पुगेका देउवाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

‘विपत्तिको अवस्था अत्यन्तै दुःखदायी छ । प्रभावित नागरिकप्रति म गहिरो दुःख व्यक्त गर्न चाहन्छु,’ देउवाले भने, ‘अहिले सरकारले मुख्य रूपमा चारवटा विषयलाई प्राथमिकतामा राख्नुपर्छ– खोज तथा उद्धार, राहत, प्रभावित नागरिकको व्यवस्थापन र पुनर्निर्माण ।’

उनले बाढी प्रभावितका लागि सरकारले के गरिरहेको छ र कहाँ कमजोरी भइरहेको छ भन्ने विषयमा आफूले निरन्तर आवाज उठाउने बताए ।

‘यी चारवटा कुरा नगरी हुँदैन । सरकारले के गरेको छ, के गरेको छैन, त्यसबारे आवाज उठाउँछु,’ उनले भने, ‘बाहिर भन्छु, प्रेसमा पनि सबै ठाउँमा भन्ने छु ।’

देउवाका अनुसार तत्कालको पहिलो आवश्यकता खोज तथा उद्धार हो । त्यसपछि राहत र विस्थापित नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था छ ।

‘उद्धार गरिसकेपछि उनीहरूलाई कहाँ राख्ने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले तत्काल ध्यान दिनुपर्छ,’ उनले भने, ‘त्यसपछि पुनर्निर्माणको काम अघि बढाउनुपर्छ ।’

रसुवा बाढीले निम्त्याएको विपत्ति गम्भीर रहेको भन्दै देउवाले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्निर्माणका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री देउवा नेपाली कांग्रेसको ‘१५औँ महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, एनपी साउदलगायत नेतासहित नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा गएका हुन् ।

डोल्पाका सम्पर्कविहीन नागरिकको तत्काल खोजी गर्न सांसद बुढाको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपहिरोपछि सम्पर्कविहीन डोल्पाका नागरिकको तत्काल खोज तथा उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाले गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।

उनले बाढीपहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्का कारण आफ्नो गृह जिल्ला डोल्पाका नागरिकसमेत प्रभावित भएको बताए ।

बुढाका अनुसार मुड्केचुला गाउँपालिका–१ का त्रिशूली हाइड्रोपावरमा कार्यरत लवी शाही, दुनैको स्वास्थ्य संस्थामा कार्यरत दिनेश शाही तथा डोल्पोबुद्ध निवासी थुप्तेन लामालगायत नागरिक र उनीहरूका परिवार बाढीपछि सम्पर्कविहीन छन् ।

उनले सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राख्दै उनीहरूको अवस्थाबारे परिवारजनलाई आधिकारिक सूचना उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद बुढाले विपद्को उद्धार तथा राहतमा खटिएका तीनै तहका सरकार, सुरक्षाकर्मी, जनप्रतिनिधि, राजनीतिकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, पत्रकार तथा स्थानीय समुदायप्रति सम्मान व्यक्त गरे ।

त्यस्तै, विपद् प्रभावित नागरिकको सहयोगमा जुटेका आम नागरिक, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय विकास साझेदारलाई समेत उनले सहयोगका लागि आह्वान गरे ।

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।

उनले बिहिवार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ ।

‘७ सय रुपैयाँ नहुँदा एउटी महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपर्‍यो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रकम अभावका कारण एक सुत्केरी महिलाले अस्पतालबाहिरै शिशु जन्माउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले राजविराज-१४, प्रसाही टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवानले अस्पतालको गेटबाहिरै शिशु जन्माउनुपरेको घटना अत्यन्तै संवेदनशील र गम्भीर भएको बताए ।

उनका अनुसार प्रसव पीडामा रहेकी बबिता उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन् । अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेपछि उनले आफूसँग २ हजार ५ सय रुपैयाँ मात्रै रहेको जानकारी गराएकी थिइन् ।

७ सय रुपैयाँ अपुग भएपछि अस्पताल प्रशासनले उपचारमा आनाकानी गरेको र त्यसपछि उनले अस्पताल परिसरबाहिरै शिशु जन्माउनुपरेको कर्णले बताए ।

‘महिला प्रसव पीडामा थिइन् र बच्चाको जन्म अस्पताल कम्पाउन्ड बाहिर नै भयो,’ उनले भने ।

सांसद कर्णले गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न, असहाय तथा निम्न आय भएका नागरिकको स्वास्थ्य उपचारको भरोसा केन्द्र भए पनि आर्थिक अभावकै कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताए ।

उनले घटनाले नेपालको स्वास्थ्य प्रणालीमा रहेका कमजोरीलाई उजागर गरेको भन्दै गरिब, पीडित तथा दलित महिलाले स्वास्थ्य सेवामा भोग्नुपरेका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।

‘एउटी महिला पैसाको अभावमा अस्पतालबाहिर आफ्ना बच्चा जन्माउनुपर्ने अवस्था आएको छ । हामी भने स्वास्थ्यमा ठूला-ठूला कुरा गरेर बसिरहेका छौँ,’ कर्णले भने ।

उनले सप्तरीमा भएको घटनाको सत्यतथ्य छानबिन गरी त्यसको विवरण संसद्मा जानकारी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराए।

फैसला कार्यान्वयनका लागि छुट्टै ऐन ल्याउँदै सरकार

काठमाडौं । अदालतले फैसला गर्ने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्न सरकारले छुट्टै कानुनी व्यवस्था गर्ने भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फैसला कार्यान्वयनका लागि छुट्टै ऐन र संस्थागत संरचना आवश्यक रहेको बताएकी हुन् ।

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले अदालतमा मुद्दाको चाप घटाउनु जत्तिकै फैसला कार्यान्वयनको कमजोर अवस्थालाई सुधार्नु पनि सरकारको प्राथमिकता भएको बताइन् ।

उनका अनुसार अदालतबाट फैसला भइसकेपछि पनि त्यसको कार्यान्वयन न्यून हुनु न्याय प्रणालीकै गम्भीर समस्या हो । फैसला कार्यान्वयनमा देखिएको यही ‘ग्याप’ का कारण नागरिकको न्यायालयप्रतिको विश्वाससमेत कमजोर हुँदै गएको उनको भनाइ छ ।

मन्त्री गौतमले फैसला कार्यान्वयनका लागि छुट्टै कानुन बनाउने आवश्यकता सरकारले महसुस गरेको जानकारी दिइन् । स्थानीय तहका न्यायिक समितिदेखि अदालतसम्मबाट भएका निर्णय कार्यान्वयनको चरणलाई प्रभावकारी बनाउन संस्थागत संरचनामै सुधार आवश्यक रहेको उनले बताइन् ।

फैसला कार्यान्वयनको अवस्थालाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग बढाउने सरकारको तयारी छ । फैसलासँग सम्बन्धित विवरण डिजिटल प्रणालीमा अद्यावधिक गर्ने र सम्बन्धित निकायका प्रणालीबीच अन्तरआबद्धता कायम गर्ने व्यवस्था मिलाइने मन्त्री गौतमले बताइन् ।

‘अदालतले गरेको फैसला कार्यान्वयन नै भएन भने संविधानले सुनिश्चित गरेको न्यायको हक कसरी कार्यान्वयन हुन्छ ?’ भन्दै उनले फैसला कार्यान्वयनलाई अब उच्च प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताइन् ।

मन्त्री गौतमले अदालतमा थुप्रिएका मुद्दाको ब्याकलग घटाउनेसँगै फैसला कार्यान्वयनमा देखिएको अवरोध पहिचान गरी समाधान गर्न सरकार गम्भीर रहेको स्पष्ट पारिन् ।

फैसला सुनाउनेदेखि त्यसको वास्तविक कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रियालाई प्रभावकारी बनाउने गरी कानुनी तथा संस्थागत सुधार गरिने उनको भनाइ छ ।

अँधेरी खोलाको बाढीमा स्कुटरसहित बगेकी सरिताको सकुशल उद्धार

 

काठमाडौं ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० मा अँधेरी खोलामा आएको बाढिले स्कुटर सहित मानिस बगाएको छ।

बुधवार साँझ मेलम्चीबाट रामपुरतर्फ जाँदै गरेकी मेलम्ची नगरपालिका-१० रामपुरकी २३ वर्षिया सरिता दाहाल (अधिकारी)ले चलाएको बा ४५ प ६९८१ नम्बरको स्कुटर अँधेरी खोलामा आएको बाढीले बगाएको हो ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी निरीक्षक योगेश खरेलको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। 

प्रहरीले बाढिले बगाएकी दाहाल र स्कुटरलाई सकुशल उद्धार गरेको हो।

त्यस्तै,उद्धारपछि दाहाललाई तत्काल उपचारकालागि नगर अस्पताल मेलम्ची पठाइएको प्रहरीले जानकारी गराएको छ।

सरकार कहीं-कहीं चुकेको छ -कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकले भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको बाढीपछि सरकारबाट भइरहेका उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे छलफल गरेको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकमा सरकारले गरेका उद्धार तथा राहतका कामको अवस्थाबारे समीक्षा गरिएको कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बताइन् ।

उनका अनुसार कांग्रेसले यसअघि नै उद्धार, राहत र पुनःस्थापनासम्बन्धी विषयमा सरकारलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो । बैठकमा उक्त ध्यानाकर्षणपत्रका विषय तथा सरकारले त्यसको कार्यान्वयनमा गरेका कामबारे पनि छलफल भएको थियो ।

थापाले राहत सामग्री सुरुमा नुवाकोटमा थुप्रिएको र वास्तविक पीडितले राहत नपाएको अवस्था देखिएपछि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको बताइन् । अहिले पनि कतिपय ठाउँमा सरकार चुकेको भन्दै उनले निरन्तर खबरदारी गरिरहने बताइन् ।

‘सरकार कहीं-कहीं चुकेको छ । यसमा खबरदारी गर्छौं र गरिरहेका छौं,’ उनले भनिन्, ‘सरकारका सकारात्मक काममा भने हाम्रो समर्थन रहन्छ ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले बुधबार संसदमा बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनाबारे छानबिन तथा अनुगमनका लागि समिति गठन गर्ने विषय उठाएको प्रसंगमा पनि छलफल भएको थियो ।

थापाले बाढीपछिको अवस्थाबारे संसदीय समिति गठन गर्ने विषय सकारात्मक रहेको बताउँदै समिति गठनमा ढिलाइ गर्न नहुने बैठकको निष्कर्ष रहेको जानकारी दिइन् ।

भोटेकोशी बाढी : संसदीय समिति गठन गर्न विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकले भोटेकोशी बाढीपछिको उद्धार, राहत र पुनःस्थापनासम्बन्धी काम गर्न संसदीय समिति शीघ्र गठन गर्न सरकारलाई माग गर्ने  निर्णय गरेको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको नेकपा एमालेकी उपनेता पद्मा अर्यालले बताइन्।

उनका अनुसार बाढीबाट बाँचेका नागरिकलाई शीघ्र पुनःस्थापना गर्नुपर्ने तथा उनीहरूलाई मनोसामाजिक परामर्श दिनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनेबारे बैठकमा छलफल भएको थियो।

यस्तै, सरकारले सञ्चालन गर्ने अभियानमा सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको छ।

ओमान ६० रनमा अलआउट, नेपाल एसीसी मेन्स प्रिमियर कपको फाइनलमा

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि शानदार जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २६ ओभरमा ६० रनमै अलआउट भयो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए। त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। ऐरीले ६ ओभरमा ११ रन खर्चिएर ३ विकेट लिए भने लामिछानेले ६ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिए। ललित राजवंशीले ५ ओभरमा १२ रन दिँदै २ विकेट लिए। रोहित पौडेलले पनि विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। उनले ७६ बलमा ४ चौका प्रहार गरे। बसिर अहमदले ८८ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए।

त्यस्तै देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे। ओमानका हस्नैन शाह र जय ओदेड्राले समान ३-३ विकेट लिएर नेपाली ब्याटरलाई दबाबमा राखेका थिए।

तर नेपालका बलरले ओमानको ब्याटिङ लाइनअपलाई टिक्न नदिँदा टोली सामान्य लक्ष्यमा समेत दबाबमा परेको हो। ओमानलाई सस्तैमा समेट्दै नेपालले एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनल यात्रा तय गरेको छ।

१२ अस्पतालमा शवगृह बनाउँदै सरकार

काठमाडौं। विपद्का बेला ठूलो संख्यामा शव फेला पर्दा व्यवस्थापनमा हुने समस्या समाधान गर्न सरकारले देशका १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो क्षमताका शवगृह बनाउने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रत्येक अस्पतालमा एकैपटक कम्तीमा ५० शव राख्न सकिने क्षमताको शवगृह निर्माण वा क्षमता विस्तारको योजना अघि सारेको हो ।

मन्त्रालयका अनुसार कोशी, नारायणी, गजेन्द्रनारायण सिंह, भरतपुर, भेरी र डडेलधुरा अस्पतालमा शवगृह निर्माण तथा क्षमता विस्तारको प्रक्रिया अघि बढाइनेछ ।

त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह बनाइनेछ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विगतका विपद्का क्रममा शव व्यवस्थापनमा देखिएको कठिनाइ र पछिल्लो भोटेकोशी बाढीपछि उत्पन्न अवस्थाले अस्पतालमा यस्तो पूर्वाधारको आवश्यकता झन् स्पष्ट पारेको बताएकी छन् ।

उनका अनुसार विपद् आउँदा शव व्यवस्थापनका लागि तत्काल पर्याप्त संरचना नहुँदा समस्या थपिने गरेको छ । विगतका घटनाबाट सिकेर भविष्यमा त्यस्तो अवस्था दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्रालयले शवगृह विस्तारसँगै फरेन्सिक मेडिसिन तथा मेडिको-लिगल सेवा प्रभावकारी बनाउने तयारीसमेत गरेको छ । विपद्का बेला शवको सुरक्षित संरक्षण, पहिचान र वैज्ञानिक परीक्षणका लागि यस्ता संरचना महत्वपूर्ण हुने मन्त्रालयको निष्कर्ष छ ।

विपद् पूर्वतयारीलाई बलियो बनाउने उद्देश्यले अघि सारिएको यो योजनाले ठूलो संख्यामा मृत्यु हुने प्राकृतिक विपत्ति वा अन्य घटनामा शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एसीसी प्रिमियर कप : २६ ओभर सकिँदा ओमान ५८-८ को स्थितिमा

काठमाडौं। एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित ५० ओभरमध्ये ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। उनले ७६ बलमा ४ चौका प्रहार गरे। त्यस्तै बासिर अहमदले ४७ रन बनाए। उनले ८८ बलमा ३ चौका र १ छक्का प्रहार गरे। देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे।

ओमानका बलर हस्नैन शाह र जय ओदेड्राले समान ३-३ विकेट लिए भने अन्य बलरले पनि नेपाली ब्याटरलाई दबाबमा राखे।

जवाफी ब्याटिङमा ओमानले २६ ओभरमा ८ विकेट गुमाएर ५८ रन बनाएको छ। ओमानलाई जितका लागि अब २७ ओभरमा ९३ रन आवश्यक छ। एसीसी प्रिमियर कप : २६ ओभर सकिँदा ओमान ५८-९ को स्थितिमा
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, दिपेन्द्र सिंह ऐरीले ३ विकेट, ललित राजवंशीले २ विकेट तथा रोहित पौडेलले १ विकेट लिएका छन्।

हालको अवस्थामा नेपाल जिततर्फ बलियो देखिएको छ।

१७ घण्टापछि खुल्यो भोर्ले बजारको सडक 

रसुवा। रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारमा खसेको पहिरो हटाएपछि नुवाकोट–धुन्चे सडक सञ्चालनमा आएको छ ।

बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ करिब ५ बजे खसेको पहिरो बिहीबार बिहान १० बजे हटाइएको हो । पहिरोका कारण करिब १७ घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका थिए ।

पहिरो हटाउन बिहीबार बिहानैदेखि सडकको दुवैतर्फ डोजर परिचालन गरिएको थियो । पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

बेत्रावती हुँदै स्याफ्रुबेँसी–धुन्चे जोड्ने मुख्य सडक बाढीपछि अवरुद्ध रहेकाले भोर्ले हुँदै जाने सडक वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ ।

पहिरोका कारण काठमाडौं तथा नुवाकोटबाट धुन्चे जाने र धुन्चेबाट फर्कने यात्रुसँगै राहत सामग्री बोकेका सवारीसाधनसमेत बीच बाटोमै रोकिएका थिए ।

प्रतिपक्षी दलको बैठकमा चार एजेन्डामाथि छलफल

काठमाडौं । प्रतिपक्षी दलहरूको बैठकमा चारवटा प्रस्तावमाथि छलफल हुने भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा बस्न लागेको बैठकमा भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको प्रलयकारी बाढी, सर्वदलीय बैठकका निर्णय र कार्यान्वयन प्रक्रिया, सरकारले गठन गरेका पछिल्ला समितिहरूको कार्यसम्पादन र समसामयिक घटनाक्रमबारे छलफल हुने भएको हो ।

प्रतिपक्षी दलहरूको बैठक कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएका हुन् ।

अभिनय छाडेर ज्योतिष बनेकी अभिनेत्री

काठमाडौं ।बलिउडमा हरेक वर्ष धेरै नयाँ अनुहार प्रवेश गर्छन्। कतिपय कलाकार पहिलो चलचित्रबाटै दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल हुन्छन् भने केही समयपछि उनीहरू पर्दाबाट हराउँदै जान्छन्।

सुरुवाती सफलता पाए पनि अभिनय यात्रालाई लामो समय निरन्तरता दिन नसकेका यस्तै अभिनेत्रीमध्ये एक हुन् टुलिप जोशी।

टुलिप जोशीले आफ्नो फिल्मी करियरको सुरुवात नै चर्चित चलचित्रबाट गरेकी थिइन्। पहिलो फिल्मबाटै दर्शकको ध्यान ताने पनि उनले बलिउडमा लामो यात्रा गर्न सकिनन्। अहिले भने उनको परिचय अभिनेत्रीभन्दा पनि व्यवसायी तथा वैदिक ज्योतिषसँग जोडिएको छ।

टुलिप जोशीको जन्म सन् १९७९ सेप्टेम्बर ११ मा मुम्बईमा भएको हो। उनको पारिवारिक पृष्ठभूमि पनि रोचक छ। उनका पिता किशोर जोशी गुजरातका हिन्दु हुन् भने आमा जाबेल जोशी आर्मेनियाली मूलकी क्रिस्चियन हुन्।

मुम्बईस्थित जमनाबाई नर्सी स्कुलमा प्रारम्भिक शिक्षा हासिल गरेपछि उनले रसायनशास्त्र विषयमा स्नातक तहसम्म अध्ययन गरिन्। अभिनय क्षेत्रमा प्रवेश गर्नुअघि उनको रुचि पूर्ण रूपमा चलचित्रमै केन्द्रित थिएन। तर कलेज जीवनमै विज्ञापनमा काम गर्ने अवसर पाएपछि उनको ग्ल्यामर क्षेत्रसँगको सम्बन्ध विस्तार हुँदै गयो।

विज्ञापनमा काम गर्दा प्राप्त अनुभवले उनलाई क्यामेरासामु सहज बन्न सहयोग गर्‍यो। यही क्रममा उनले चलचित्रमा अभिनय गर्ने अवसर खोज्न थालिन्।

टुलिपको बलिउड प्रवेश सन् २००२ मा प्रदर्शनमा आएको ‘मेरे यार की शादी है’ बाट भयो। यो चलचित्र रोमान्टिक–कमेडी कथामा आधारित थियो। चलचित्रमा उनले उदय चोपडा र जिमी शेरगिलजस्ता कलाकारसँग काम गर्ने अवसर पाइन्।

टुलिपले उक्त भूमिकाका लागि अडिसन दिएकी थिइन्। अडिसनबाट छनोट भएपछि उनले ठूलो पर्दामा पाइला टेकिन्। नयाँ अभिनेत्रीका लागि यो निकै राम्रो सुरुवात थियो। चलचित्रले दर्शकमाझ राम्रो चर्चा पाएपछि टुलिपको सुन्दरता र अभिनयलाई पनि नोटिस गरियो।

पहिलो फिल्मबाटै चिनिन सफल भएपछि बलिउडमा उनको सम्भावनाबारे चर्चा हुन थालेको थियो। धेरैलाई उनी आगामी दिनमा स्थापित अभिनेत्री बन्ने अपेक्षा थियो।

पहिलो चलचित्रबाट प्राप्त चर्चा भने टुलिपको फिल्मी करियरमा लामो समय टिक्न सकेन। त्यसपछि उनले विभिन्न चलचित्रमा अभिनय गरिन्। ‘दिल मांगे मोर’, ‘मातृभूमि’, ‘धोखा’, ‘बच्चन’ लगायतका फिल्ममा उनी देखिइन्।

उनले फरक-फरक भूमिकामा आफूलाई प्रस्तुत गर्ने प्रयास गरिन्। तर पहिलो फिल्मबाट प्राप्त चर्चालाई ठूलो व्यावसायिक सफलतामा बदल्न भने सकिनन्। बलिउडमा नयाँ अभिनेत्रीका लागि निरन्तर चर्चामा रहनु र बलियो भूमिका पाउनु चुनौतीपूर्ण हुने गर्छ। टुलिपको करियरमा पनि यस्तै अवस्था देखियो।

उनले सलमान खान अभिनीत ‘जय हो’ मा समेत अभिनय गरेकी थिइन्। तर यति धेरै चर्चित परियोजनासँग जोडिँदा पनि उनको अभिनय करियरले अपेक्षित उचाइ लिन सकेन।

समय बित्दै जाँदा टुलिप चलचित्रबाट टाढिँदै गइन्। एक समय बलिउडमा देखिने उनको उपस्थिति विस्तारै कम भयो र अन्ततः अभिनयलाई प्राथमिकता दिन छाडिन्।

उनको पछिल्लो जीवन भने फिल्मी चमकधमकभन्दा निकै फरक देखिन्छ। चलचित्रमा सक्रिय नरहे पनि उनी व्यक्तिगत तथा व्यावसायिक जीवनमा भने व्यस्त रहँदै आएकी छन्।

टुलिपको निजी जीवनमा पनि उनको विवाहको चर्चा हुने गर्छ। उनले क्याप्टेन विनोद नायरसँग विवाह गरेकी हुन्। विवाहअघि उनीहरू केही वर्ष सम्बन्धमा रहेको बताइन्छ।

विनोद नायर भारतीय सेनासँग सम्बन्धित पृष्ठभूमिका व्यक्ति हुन्। विवाहपछि टुलिपले पारिवारिक जीवनलाई पनि प्राथमिकता दिइन्। चलचित्र क्षेत्रमा सक्रिय रहँदा बनाएको सार्वजनिक पहिचानभन्दा बाहिर उनी आफ्नो निजी जीवनमा केन्द्रित हुँदै गइन्।

चलचित्रबाट दूरी बनाएपछि टुलिपले आफ्नो करियरलाई नयाँ दिशातर्फ मोडिन्। सन् २०१७ मा उनले आफ्ना पति विनोद नायरसँग मिलेर ‘किमाया कन्सल्टिङ’ नामक कम्पनी स्थापना गरेकी थिइन्।

यसबाट टुलिप केवल पूर्वअभिनेत्रीका रूपमा सीमित रहिनन्। उनले व्यवसायिक क्षेत्रमा पनि आफ्नो उपस्थिति बनाउन थालिन्। मनोरञ्जन क्षेत्रबाट बाहिरिएर नयाँ पेशागत यात्रा रोज्नु उनको जीवनको महत्वपूर्ण परिवर्तन मान्न सकिन्छ।

टुलिप पछिल्लो समय वैदिक ज्योतिषसँग पनि जोडिएकी छन्। उनी ज्योतिषसम्बन्धी अध्ययन तथा परामर्शमा संलग्न रहेको बताइन्छ।

उनले मानिसहरूलाई व्यक्तिगत सम्बन्ध, स्वास्थ्य, करियर तथा व्यवसायलगायत विभिन्न विषयमा ज्योतिषीय परामर्श दिने काम गर्दै आएकी छन्। यसले उनको वर्तमान परिचयलाई अभिनय क्षेत्रभन्दा निकै फरक बनाएको छ।

कुनै समय ठूलो पर्दामा अभिनेत्रीका रूपमा देखिएकी टुलिप अहिले आफ्नै व्यवसाय र रुचिका क्षेत्रमा सक्रिय छिन्। बलिउडबाट टाढिए पनि उनले आफ्नो पेशागत जीवनलाई भने पूर्ण रूपमा निष्क्रिय बनाएकी छैनन्।

सेप्टेम्बर ११ टुलिप जोशीको जन्मदिन हो। हरेक वर्ष उनको जन्मदिन आउँदा उनको पहिलो चलचित्र, छोटो फिल्मी यात्रा र अहिलेको जीवनबारे चर्चा हुने गर्छ।

ग्यास नपाएपछि आरआर गेटमै दाउरामा खाना पकाए विद्यार्थीले (तस्वीरहरू)

काठमाडौं । बजारमा ग्यासको हाहाकार भएपछि विद्यार्थीहरू सडकमा दाउरा बालेर खाना पकाउन बाध्य भएका छन् ।

ग्यास अभावविरुद्ध सांकेतिक विरोध जनाउँदै अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीले बिहीबार रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको गेटमै खाना पकाएका हुन् ।

विद्यार्थीहरूले दाउरामा भात र गुन्द्रुक–आलु पकाएर त्यहीँ बसेर खाए । उनीहरूले ग्यासको अभावले विद्यार्थीको दैनिक जीवन नै प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउन यस्तो विरोध गरेको बताएका छन् ।

ग्यास लिन लामो समय लाइनमा बस्नुपर्ने अवस्था आएपछि कतिपय विद्यार्थी पढाइ छाडेर ग्यासको खोजीमा भौंतारिनुपरेको छ । डेरामा खाना पकाउन नसक्दा चाउचाउ र बिस्कुटको भरमा बस्नुपरेको विद्यार्थीहरूको गुनासो छ ।

बजारको ग्यास अभाव तत्काल समाधान गरी सहज आपूर्ति व्यवस्था गर्नुपर्ने माग गर्दै विद्यार्थीले आरआर क्याम्पस गेटमा दाउरामा खाना पकाएर विरोध जनाएका हुन् ।

नेपाललाई भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडौं । बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५ टन राहत तथा उद्धार सामग्री पठाएको छ । भारतीय वायुसेनाको सी–१७ विमानमार्फत बुधबार उक्त सामग्री नेपाल ल्याइएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार पछिल्लो खेपमा राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का उद्धार उपकरण, विभिन्न राहत सामग्री, फरेन्सिक सामग्री तथा नेपाली सेनासँग कार्यरत टोलीका लागि आवश्यक बन्दोबस्तीका सामान छन् ।

बाढीपछि भारतले निरन्तर नेपाललाई राहत तथा औषधि सहयोग उपलब्ध गराउँदै आएको छ । उद्धार तथा खोजी कार्यमा सहयोग गर्न भारतले नेपाली सेनासँग समन्वय गरी सुरुङ उद्धार टोली र फरेन्सिक टोलीसमेत नेपाल पठाएको छ ।

यसअघि सेप्टेम्बर ३ को राति भारतले दुई सैन्य विमानमार्फत २१ टनभन्दा बढी अत्यावश्यक राहत सामग्री नेपाल पठाएको थियो । पछिल्लो ३५ टनसहित भारतबाट प्राप्त मानवीय सहायता थप बढेको छ ।

यसैबीच, बाढी तथा त्यसपछिको विपद्मा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको छ । नेपाल प्रहरीका अनुसार ५ हजार ३२६ जना अझै बेपत्ता छन्, जसमा ५८९ जना विदेशी नागरिक रहेका छन् ।

प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा उद्धार टोलीले बेपत्ताको खोजी र शव व्यवस्थापनको काम जारी राखेका छन् । चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र नुवाकोटलगायत जिल्लामा ठूलो संख्यामा शव फेला पारिएको प्रहरीले जनाएको छ ।

व्यवसायी शंकरलाल अग्रवालको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकरलाल अग्रवाललाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा अग्रवालको रिट पेसीमा राखिएको हो ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनकी तर्फबाट दीपा अग्रवालले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

गत साउन ७ गते उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको वाणिज्य इजलासले अग्रवाललाई नख्खु कारागारमा थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

अदालतको आदेशअनुसार जगदम्बा स्टिलको बैंक खाता सञ्चालनको अधिकार पाएका परिवारका सदस्यहरूले व्यावसायिक प्रयोजनका लागि लिएको कर्जा अन्यत्र प्रयोग गरेको देखिएको छ । यसलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अन्तर्गतको कसुरसँग जोडिएको छ ।

अदालतले अग्रवालको बैंक खाता प्रयोग भएको वित्तीय कारोबार जटिल प्रकृतिको रहेको र त्यसबाट बैंकिङ प्रणालीमा जोखिम उत्पन्न भएको निष्कर्षसहित मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामै राख्ने आदेश दिएको हो ।

जगदम्बा स्टिलले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा रहेको कन्सोरियमबाट चालु पुँजी कर्जा लिएको थियो । तर, उक्त रकम निर्धारित व्यावसायिक प्रयोजनमा प्रयोग नगरी जग्गा खरिद तथा अन्य कम्पनीको शेयरमा लगानी गरिएको आरोपमा बैंकिङ कसुरको मुद्दा अघि बढेको हो ।

अब सर्वोच्च अदालतले अग्रवाललाई थुनामा राख्ने उच्च अदालतको आदेश र बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका कानुनी प्रश्नमाथि सुनुवाइ गर्नेछ । सर्वोच्चको आदेशले अग्रवालको थुनाको निरन्तरता वा त्यसमा हुने परिवर्तनबारे बाटो तय गर्नेछ ।

कांग्रेसले बोलायो विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षी दलहरूलाई एकै ठाउँमा राखेर छलफल थालेको छ ।

रसुवाको भोटेकोशी बाढीपछि उत्पन्न अवस्था र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे साझा धारणा बनाउन कांग्रेसले बैठक बोलाएको हो ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ । बैठकमा बाढीपीडितको उद्धार, राहत तथा पुनस्र्थापनाको अवस्थासँगै सरकारका पछिल्ला कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

बैठकमा संसद्मा विपक्षी दलहरूले खेल्ने भूमिका र आगामी राजनीतिक रणनीतिबारे समेत छलफल हुने कांग्रेसले जनाएको छ ।

रसुवाको बाढीले ठूलो क्षति पुर्‍याएपछि राहत तथा उद्धारको काम प्रभावकारी बनाउनुपर्ने विषय अहिले राजनीतिक बहसको समेत केन्द्रमा छ । यही अवस्थामा कांग्रेसले अन्य विपक्षी दलसँग छलफल अघि बढाएको हो ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विपक्षी दलका प्रतिनिधिलाई बोलाइएको छ ।

कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी बढाउँदै विपद् व्यवस्थापनमा सरकारको भूमिकाबारे पनि विपक्षी दलसँग साझा धारणा बनाउने तयारी गरेको छ।

डार्क इनर्जी : ब्रह्माण्ड लगातार विस्तार भइरहेको छ?

काठमाडौं। ब्रह्माण्ड किन विस्तार भइरहेको छ ? र त्यो विस्तारको गति समयसँगै बढिरहेको छ कि घटिरहेको छ ? लामो समयदेखि वैज्ञानिकहरूलाई अल्झाइरहेको यो प्रश्नमा नयाँ अध्ययनले फेरि बहस सुरु गराएको छ।

ब्रह्माण्डको विस्तारलाई तीव्र बनाउने शक्तिका रूपमा व्याख्या गरिँदै आएको डार्क इनर्जीमाथि नै नयाँ अनुसन्धानले प्रश्न उठाएको हो। टाटा इन्स्टिच्युट अफ फण्डामेन्टल रिसर्च र अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले ब्रह्माण्डको विस्तार तीव्र भइरहेको भन्ने निष्कर्षमा पुनर्विचार गर्नुपर्ने देखाएको छ।

अनुसन्धानकर्ताहरूले १ हजार ७ सयभन्दा बढी टाइप–१ए सुपरनोभाको तथ्यांक पुनः अध्ययन गरेका थिए। ब्रह्माण्डको विस्तार मापन गर्न यी सुपरनोभाको चमकलाई लामो समयदेखि वैज्ञानिकहरूले महत्वपूर्ण आधारका रूपमा प्रयोग गर्दै आएका छन्।

यिनै अध्ययनबाट ब्रह्माण्डको विस्तार समयसँगै तीव्र हुँदै गएको र त्यसको पछाडि डार्क इनर्जी रहेको निष्कर्ष निकालिएको थियो। यही खोजका लागि सन् २०११ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारसमेत प्रदान गरिएको थियो।

तर नयाँ अध्ययनले सुपरनोभाको चमकमा त्यसलाई जन्म दिने ताराको उमेरले पार्ने प्रभावलाई पनि समेटेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार फरक उमेरका ताराबाट बनेका सुपरनोभाको चमकमा अन्तर हुन सक्छ। यसलाई हिसाब नगर्दा ब्रह्माण्डको विस्तार तीव्र भइरहेको जस्तो देखिन सक्ने उनीहरूको तर्क छ।

ताराको उमेरसम्बन्धी प्रभावलाई समायोजन गरेपछि भने नतिजा बदलिएको छ। अनुसन्धानकर्ताहरूले ब्रह्माण्डको विस्तार तीव्र हुँदै गएको प्रमाणभन्दा विस्तारको गति सुस्त हुँदै गएको संकेत बढी देखिएको बताएका छन्।

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर सुबिर सरकारका अनुसार सुपरनोभाको चमक र त्यसलाई जन्म दिने ताराको उमेरबीचको सम्बन्धलाई बेवास्ता गर्दा डार्क इनर्जीको प्रभावलाई बढी आँकलन गरिएको हुन सक्छ।

अनुसन्धानमा ब्रह्माण्डको विस्तार सबै दिशामा समान छ कि छैन भन्ने पक्ष पनि हेरिएको थियो। अनुसन्धानकर्ताहरूले आफूहरू गइरहेको दिशातर्फ यस्तो प्रभाव बढी देखिएको र दूरी बढ्दै जाँदा त्यसको प्रभाव घट्दै गएको बताएका छन्। उनीहरूका अनुसार यस्तो परिणामलाई डार्क इनर्जीको प्रभावबाट मात्र व्याख्या गर्न कठिन हुन्छ।

तर यसको अर्थ डार्क इनर्जीको अस्तित्व वैज्ञानिक रूपमा समाप्त भयो भन्ने होइन। नयाँ निष्कर्षसँग सबै वैज्ञानिक सहमत पनि छैनन्। सोही जर्नलमा प्रकाशित अर्को अध्ययनले ब्रह्माण्डको विस्तार अझै तीव्र गतिमा भइरहेको निष्कर्षलाई समर्थन गरेको छ।

अक्सफोर्ड विश्वविद्यालयकी प्रोफेसर मारिया भिन्सेन्जीले टाइप-१ए सुपरनोभा र तिनको वातावरणले खगोलीय मापनमा पार्ने प्रभावबारे थप अध्ययन आवश्यक भए पनि हालसम्मका प्रमाणले ब्रह्माण्डको विस्तार तीव्र भइरहेको वैज्ञानिक मोडललाई समर्थन गर्ने बताएकी छन्।

अब यो विवादको उत्तर अझ ठूलो तथ्यांकबाट खोजिनेछ। रुबिन अब्जर्भेटरीको नयाँ सर्वेक्षणबाट लाखौँ सुपरनोभासम्बन्धी तथ्यांक प्राप्त हुने अपेक्षा गरिएको छ।

त्यसले अहिलेको बहसलाई थप स्पष्ट पार्नेछ,ब्रह्माण्ड साँच्चिकै तीव्र गतिमा फैलिरहेको हो, वा त्यसको प्रमाण मानिँदै आएको मापनमा नै केही सुधार आवश्यक छ ?

डार्क इनर्जीको प्रकृति अझै विज्ञानकै ठूलो रहस्य हो। नयाँ अध्ययनले त्यसको अस्तित्व खारेज गरेको छैन। तर ब्रह्माण्डको विस्तारलाई बुझ्न वैज्ञानिकहरूले प्रयोग गर्दै आएको तस्वीर पहिले सोचेभन्दा जटिल हुन सक्ने संकेत भने दिएको छ।

[अन्तर्राष्ट्रिय संस्थाहरूका अध्ययनमा आधारित]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षति र त्यसपछिको उद्धार तथा पुनस्र्थापनाको कामलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले बिहीबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठकमा पछिल्लो समसामयिक अवस्थासँगै बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेको खोज, उद्धार, उपचार तथा राहतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम जारी छ भने विस्थापित नागरिकको राहत र पुनस्र्थापनाको चुनौती पनि सरकारसामु छ ।

यही परिस्थितिमा राहत र पुनस्र्थापनाको कामलाई थप प्रभावकारी बनाउने तथा आवश्यक निर्णय लिन प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको सचिवालयको भनाइ छ ।

सचिवालयका अनुसार बैठकमा बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि पुनस्र्थापनासम्मका विषयमा आवश्यक निर्णय लिइनेछ ।

बाढीले सडक, पुललगायतका पूर्वाधारमा समेत क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा आवतजावत र अत्यावश्यक सामग्री पुर्‍याउने काम चुनौतीपूर्ण बनेको छ ।

सरकारले उद्धारसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावितको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौँ सडकमा सवारीको चाप (तस्वीर)

काठमाडौं। पृथ्वी राजमार्गको कृष्णभीरमा खसेको पहिरोले मुख्य सडक १० दिनदेखि ठप्प हुँदा त्यसको असर अब वैकल्पिक मार्गमा समेत देखिन थालेको छ।

काठमाडौं–हेटौँडा सडकमा सवारीसाधनको चाप अस्वाभाविक रूपमा बढेपछि सामान्य यात्रासमेत घण्टौँ लम्बिन थालेको छ।

पृथ्वी राजमार्गबाट काठमाडौं आउने–जाने अवस्था सहज नभएपछि सवारीसाधनलाई हेटौँडा–काठमाडौं सडकतर्फ मोडिएको छ। त्यसैको परिणाम, पछिल्लो एक सातादेखि यो सडकमा ट्रक, बस र निजी सवारीको बाक्लो चाप देखिएको हो।

सवारी व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १६ गतेदेखि काठमाडौं–हेटौँडा आवतजावत गर्ने सवारीलाई छुट्टाछुट्टै रुट तोकेको छ। तर, साँघुरो पहाडी सडकमा एकैपटक बढेको सवारी चापले जामको समस्या भने घट्न सकेको छैन।

१० चक्कासम्मका मालवाहक गाडी काठमाडौं आउँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गरिरहेका छन्। हेटौँडाबाट काठमाडौं आउने १४ सिटभन्दा कम क्षमताका सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै सञ्चालन भइरहेका छन्।

काठमाडौं फर्किने सवारीलाई भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी रुट प्रयोग गराइएको छ।

सवारीको चाप बढेपछि सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौँडा–काठमाडौं यात्रा अहिले पाँच घण्टासम्म लम्बिएको छ। पहाडी सडकको साँघुरोपन र बढ्दो मालवाहक तथा यात्रुवाहक सवारीका कारण यात्रुहरू लामो समय जाममा बस्न बाध्य छन्।

यसको असर यात्रुको आवतजावतमा मात्रै सीमित छैन। काठमाडौंका लागि अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सामग्री बोकेका सवारीसमेत यही वैकल्पिक मार्गबाट चल्न थालेपछि ढुवानी व्यवस्थामा समेत दबाब परेको छ।

कृष्णभीरमा पहिरो खसेपछि पश्चिम नेपालतर्फ जाने सार्वजनिक यातायात तथा अत्यावश्यक वस्तु बोकेका सवारीले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। मुख्य राजमार्ग लामो समय अवरुद्ध रहँदा एउटा सडकको समस्या अर्को सडकमा सवारी चापका रूपमा सर्दै गएको छ।

पृथ्वी राजमार्ग कहिले सहज हुन्छ भन्ने टुंगो नलाग्दा हेटौँडा–काठमाडौं सडकमा परेको अतिरिक्त चाप तत्काल हट्ने अवस्था देखिएको छैन। पहिरो पन्छाएर मुख्य सडक सञ्चालनमा नल्याएसम्म वैकल्पिक सडकले पनि यात्रुको सास्ती धान्नुपर्ने देखिएको छ।

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

राजनीतिक छविभन्दा परका साहित्यिक ‘बीपी’

काठमाडौं। बीपी कोइरालालाई नेपाली समाजले मूलतः राजनीतिज्ञका रूपमा चिनेको छ।

प्रजातान्त्रिक आन्दोलनका अगुवा, नेपाली कांग्रेसका नेता र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा उनको राजनीतिक परिचय अत्यन्त प्रभावशाली छ। तर यही राजनीतिक परिचयको छायामा साहित्यकार बीपी ओझेलमा पर्नु उनको बौद्धिक व्यक्तित्वको अपूर्ण मूल्याङ्कन हो।

बीपीको साहित्यिक महत्त्व यसमा छैन कि एक राजनीतिज्ञले साहित्य पनि लेखे; यसको महत्त्व यसमा छ कि उनले नेपाली आख्यानको केन्द्र नै परिवर्तन गरे।

बाहिरी घटना, सामाजिक परिवेश र आदर्श पात्रभन्दा मानिसको चेतना, इच्छा, अपराधबोध, यौनिकता र मानसिक द्वन्द्वलाई कथाको विषय बनाएर उनले नेपाली आख्यानमा नयाँ मनोवैज्ञानिक भूगोल निर्माण गरे।

बीपीलाई ‘मनोविश्लेषणवादी’ वा ‘यौनचेतनाका लेखक’ भन्नु पनि त्यत्तिकै अपूर्ण हुन्छ। उनका रचनामा यौन र अवचेतन महत्त्वपूर्ण भए पनि ती आफैँ अन्तिम विषय होइनन्। शरीर, प्रेम, विवाह, नैतिकता, धर्म र सामाजिक मर्यादाका बीच मानिसले आफ्नो अस्तित्व कसरी निर्माण गर्छ भन्ने प्रश्न उनको साहित्यको गहिरो तहमा छ।

‘दोषी चश्मा’मा बीपीले वस्तुगत घटनाभन्दा त्यसलाई हेर्ने व्यक्तिको दृष्टिलाई महत्त्व दिएका छन्। चश्मा यहाँ भौतिक वस्तु मात्र होइन, वास्तविकतालाई हेर्ने मानसिक माध्यमका रूपमा अर्थपूर्ण हुन्छ। मानिसले संसारलाई यथार्थ रूपमा मात्र ग्रहण गर्दैन; उसको पूर्वधारणा, अनुभूति र मानसिक अवस्थाले त्यसलाई प्रभावित गर्छ।

कथाको शक्ति यही दृष्टिगत उल्झनमा छ। बाहिरी संसार एउटै भए पनि त्यसलाई बुझ्ने व्यक्तिको चेतना फरक हुन्छ। यसरी बीपीले ‘वास्तविकता’ र ‘अनुभूत वास्तविकता’बीचको दूरी देखाउँछन्। नेपाली कथामा मनोवैज्ञानिक दृष्टिकोणको विकास बुझ्न ‘दोषी चश्मा’ यस कारण महत्त्वपूर्ण हुन्छ।

‘नरेन्द्र दाइ’मा प्रेम कुनै निष्कलंक भावनाका रूपमा प्रस्तुत हुँदैन। सम्बन्धभित्र आकर्षणसँगै अधिकारबोध, आत्मीयतासँगै स्वार्थ र समर्पणसँगै असुरक्षा मिसिन्छ। यही मिश्रणले पात्रहरूलाई सरल नैतिक वर्गीकरणबाट बाहिर निकाल्छ।

कथाको महत्त्व नरेन्द्र दाइको चरित्रलाई ‘सही’ वा ‘गलत’ ठहराउनुमा होइन, उसको सम्बन्धगत व्यवहारका पछाडि रहेको मानसिक संरचना देखाउनुमा छ। प्रेममा मानिसले अर्को व्यक्तिलाई कति स्वतन्त्र छाड्छ र कति आफ्नो भावनाको अधीनमा राख्न खोज्छ भन्ने प्रश्न, कथाको सम्बन्धगत तहमा देखिन्छ। बीपीले प्रेमलाई आदर्श भावनाबाट हटाएर मानवीय कमजोरीसहितको अनुभूतिका रूपमा प्रस्तुत गरेका छन्।

‘पवित्रा’को केन्द्रमा ‘पवित्रता’ शब्द आफैँ आलोचनाको विषय बन्छ। समाजले विशेषतः महिलाको चरित्रलाई निश्चित नैतिक मापदण्डबाट परिभाषित गर्ने प्रवृत्तिले निजी जीवनलाई सार्वजनिक मूल्याङ्कनको विषय बनाउँछ। व्यक्तिको व्यवहारभन्दा उसको सामाजिक छविले महत्त्व पाउने अवस्था यहाँ देखिन्छ।

कृतिको आलोचनात्मक शक्ति यहीँ छ। नैतिकता सार्वभौम सत्य हो कि समाजले निर्माण गरेको मापदण्ड? एउटै व्यवहार पुरुष र महिलाका लागि फरक ढङ्गले मूल्याङ्कन हुन्छ भने त्यसलाई न्यायपूर्ण नैतिकता भन्न मिल्छ? ‘पवित्रा’ यिनै प्रश्नतिर उन्मुख हुन्छ। यसले बीपीको साहित्यमा लैङ्गिक नैतिकताको आलोचनात्मक सम्भावना पनि देखाउँछ।

‘कर्णेलको घोडा’मा घोडा कथाको घटनात्मक वस्तु मात्र होइन, स्वाभाविक शक्ति र आवेगको प्रतीकका रूपमा पनि अर्थपूर्ण हुन्छ। मानिसले आफूलाई सभ्यता, अनुशासन र नियममा बाँधेको छ; प्रकृति भने आफ्नै लयमा चल्छ। यही दुई अवस्थाबीचको भिन्नता कथाको प्रतीकात्मक आधार बन्छ।

यहाँ बीपीले मानिसको सभ्यतालाई स्वतः श्रेष्ठ मानेका छैनन्। नियन्त्रण र स्वाभाविकताबीचको सम्बन्धलाई उनी खुला राख्छन्। मानिसले आफ्नो प्राकृतिक आवेगलाई नियन्त्रण गर्दै जाँदा प्राप्त हुने अनुशासन र त्यसबाट गुम्न सक्ने सहजताबीचको तनाव कथाको दार्शनिक पक्ष हो। त्यसैले घोडाको प्रसङ्गलाई यौनिक संकेतमा सीमित गर्नु कृतिको अर्थलाई साँघुरो बनाउनु हुन्छ।

‘सुम्निमा’ बीपीको साहित्यमा शरीर र आत्माबीचको सम्बन्धलाई सबैभन्दा गहिरो रूपमा उठाउने कृति हो। सुम्निमा र सोमदत्त दुई पात्र मात्र होइनन्; उनीहरू फरक जीवनदृष्टिका प्रतिनिधि हुन्। सोमदत्तको चेतनामा संयम, संस्कार र आध्यात्मिक अनुशासन प्रमुख छन् भने सुम्निमाको जीवनदृष्टिमा प्रकृति, शरीर र सहज अनुभूतिको स्वीकार छ।

कृतिले शरीरलाई आध्यात्मिकताको बाधक ठहराउने प्रवृत्तिमाथि प्रश्न गर्छ। मानिसलाई आत्मिक प्राणी मानेर उसको शारीरिक अस्तित्वलाई दबाउन खोज्दा जीवनको एउटा आधारभूत पक्ष अस्वीकार हुन सक्छ। सुम्निमाको दृष्टि त्यस अस्वीकारको प्रतिपक्ष हो।

तर बीपीले सुम्निमालाई पूर्ण सत्य र सोमदत्तलाई पूर्ण भ्रमका रूपमा प्रस्तुत गरेका छैनन्। दुवै दृष्टिभित्र आफ्नै सीमाहरू छन्। यही कारण ‘सुम्निमा’ कुनै निश्चित जीवनदर्शनको प्रचार होइन; मानिसको अस्तित्वमा शरीर र चेतना, प्रकृति र संस्कारबीचको सम्बन्धमाथिको दार्शनिक बहस हो।

‘तीन घुम्ती’मा इन्द्रमायाको जीवन प्रेम, विवाह र मातृत्वका निर्णायक मोडबाट अघि बढ्छ। तर यी मोडको वास्तविक अर्थ सम्बन्ध परिवर्तनमा मात्र छैन; प्रत्येक अवस्थामा आफ्नो जीवनको निर्णय गर्ने अधिकार कसको हो भन्ने प्रश्न उठ्छ।

इन्द्रमायाले परम्परागत वैवाहिक संरचनालाई स्वीकार नगर्दा उसको संघर्ष व्यक्तिगत विद्रोहमा सीमित रहँदैन। विवाहलाई स्थायी नैतिक बन्धन मान्ने सामाजिक मान्यतामाथि पनि प्रश्न उठ्छ। त्यस्तै, मातृत्वलाई महिलाको अनिवार्य सामाजिक भूमिका मान्ने दृष्टिकोणसँग उसको निर्णय ठोक्किन्छ।

यस अर्थमा ‘तीन घुम्ती’ बीपीको साहित्यमा नारीको आत्मनिर्णयको सबैभन्दा स्पष्ट आख्यान हो। यद्यपि यसलाई आजको नारीवादी दृष्टिबाट पुनःपढ्दा एउटा प्रश्न बाँकी रहन्छ, महिलाको स्वतन्त्रतालाई पुरुष लेखकले कुन दृष्टि र भाषामार्फत प्रस्तुत गरेका छन्? कृतिको शक्ति र सीमा दुवै यही पुनःपाठमा देखिन्छन्।

‘हिटलर र यहुदी’मा बीपीको दृष्टि निजी सम्बन्धबाट इतिहास र सामूहिक हिंसातिर फैलिन्छ। हिटलर र यहुदीको प्रसङ्ग ऐतिहासिक घटनाको स्मरणमा सीमित छैन; सत्ता, घृणा र हिंसाले व्यक्तिको चेतनालाई कसरी प्रभावित गर्छ भन्ने प्रश्नसँग जोडिन्छ।

बीपीका लागि इतिहास शासक र राजनीतिक घटनाको क्रमभन्दा व्यापक छ। त्यसको केन्द्रमा भयभीत, पीडित र निर्णय गर्न बाध्य मानिस हुन्छ। यस दृष्टिले कृति बीपीको साहित्यमा सामाजिक तथा ऐतिहासिक चेतनाको विस्तारका रूपमा देखिन्छ। मानिसको मनलाई सामाजिक संरचनाबाट अलग गरेर बुझ्न नसकिने उनको धारणा यहाँ फराकिलो ऐतिहासिक सन्दर्भमा पुग्छ।

बीपीको साहित्यमा फ्रायडीय मनोविश्लेषणसँग मिल्ने धेरै पक्ष छन् ,जस्तै, अवचेतन, दमित इच्छा, यौनचेतना, अपराधबोध र मानसिक द्वन्द्व इत्यादी। तर उनको साहित्यलाई फ्रायडको सिद्धान्तको प्रत्यक्ष प्रयोगका रूपमा बुझ्नु पर्याप्त हुँदैन।

बीपीले पश्चिमी मनोविश्लेषणका अवधारणालाई नेपाली सामाजिक संरचनाभित्र रूपान्तरण गरेका छन्। परिवार, विवाह, धर्म, संस्कार र सामाजिक प्रतिष्ठाले व्यक्तिको मनोविज्ञान निर्माण गर्ने प्रक्रिया उनका पात्रमा देखिन्छ। यही कारण उनको मनोविश्लेषण व्यक्तिगत मनको अध्ययनमा सीमित छैन; सामाजिक नैतिकता व्यक्तिको चेतनाभित्र कसरी स्थापित हुन्छ भन्ने अध्ययन पनि हो।

बीपीको साहित्यमा यौनचेतना उल्लेखनीय भएकै कारण उनलाई यौन लेखकका रूपमा वर्गीकृत गरिएको पाइन्छ। तर उनका कृतिहरूलाई समग्रमा हेर्दा यौन छुट्टै विषय नभएर व्यक्तिको इच्छा र सामाजिक नैतिकताबीचको सम्बन्ध बुझ्ने माध्यम बनेको देखिन्छ।

‘सुम्निमा’मा शरीर र प्रकृति, ‘पवित्रा’मा सामाजिक नैतिकता तथा ‘तीन घुम्ती’मा सम्बन्ध र आत्मनिर्णयसँग जोडिएर यौनिकताको अर्थ विस्तार हुन्छ। यसरी बीपीको यौनचेतना शरीरको वर्णनमा भन्दा इच्छा, सामाजिक स्वीकृति र व्यक्तिको निर्णय क्षमतामा केन्द्रित छ। यही पक्षले उनको लेखनलाई तत्कालीन नेपाली सामाजिक नैतिकतासँग आलोचनात्मक संवादमा पुर्‍याउँछ।

बीपीको राजनीतिक र साहित्यिक चेतनाबीच प्रत्यक्ष सम्बन्ध खोज्न सकिन्छ, तर साहित्यलाई राजनीतिक विचारको विस्तारका रूपमा हेर्नु उचित हुँदैन। राजनीतिक जीवनमा उनको प्रमुख सरोकार नागरिक स्वतन्त्रता थियो; साहित्यमा त्यही स्वतन्त्रताको प्रश्न निजी जीवन र चेतनाको तहमा देखिन्छ।

व्यक्ति राज्यबाट मात्र नियन्त्रित हुँदैन। परिवार, विवाह, धर्म, सामाजिक प्रतिष्ठा र नैतिक मान्यताले पनि उसको निर्णयमा प्रभाव पार्छन्। यसरी बीपीको साहित्यले स्वतन्त्रताको राजनीतिक अर्थलाई व्यक्तिको निजी जीवनसम्म विस्तार गर्छ। बाहिरी स्वतन्त्रता प्राप्त भएपछि पनि आफ्नै सामाजिक संस्कारसँग प्रश्न गर्न नसक्ने व्यक्ति कति स्वतन्त्र हुन्छ भन्ने प्रश्न उनका रचनाको गहिरो राजनीतिक अन्तर्धारा हो।

बीपीको सबैभन्दा ठूलो साहित्यिक योगदान नेपाली आख्यानको केन्द्रमा ‘मानिस’लाई नयाँ ढङ्गले स्थापित गर्नु हो। उनले पात्रलाई सामाजिक भूमिकाको प्रतिनिधि मात्र बनाएनन्; उसको निजी चेतना, इच्छा र अन्तर्द्वन्द्वलाई पनि कथाको वैध विषय बनाए। यसले नेपाली साहित्यमा मनोवैज्ञानिक आख्यानको सम्भावना विस्तार गर्‍यो।

तर बीपीको साहित्यलाई आलोचनामुक्त मान्नु पनि उचित हुँदैन। विशेषतः नारी पात्रको निर्माण, यौनचेतनाको प्रस्तुति र केही सामाजिक धारणालाई आजका नारीवादी तथा समकालीन सिद्धान्तबाट पुनःपरीक्षण गर्न सकिन्छ। उनका कृतिको महत्त्व उनीभित्र कुनै अन्तिम सत्य भेटिनुमा होइन; आजको पाठकलाई नयाँ प्रश्न सोध्ने आधार दिनुमा छ।

बीपी कोइरालाको साहित्यको मूल उपलब्धि विषयको नवीनताभन्दा दृष्टिको नवीनतामा छ।

‘दोषी चश्मा’ले दृष्टि र अनुभूत वास्तविकताको द्वन्द्वलाई प्रतीकात्मक रुपमा दर्शाएको छ। ‘नरेन्द्र दाइ’ले प्रेमसम्बन्धको जटिलता देखाउँछ, ‘पवित्रा’ले सामाजिक नैतिकताको लैङ्गिक मापदण्डलाई प्रश्न गर्छ।  ‘कर्णेलको घोडा’ले प्रकृति र सभ्यताको तनावलाई प्रतीकात्मक बनाउँछ, ‘सुम्निमा’ले शरीर र आध्यात्मिकताको सम्बन्धलाई दार्शनिक तहमा पुर्‍याउँछ, ‘तीन घुम्ती’ले नारीको आत्मनिर्णयलाई केन्द्रमा राख्छ र ‘हिटलर र यहुदी’ले व्यक्ति तथा इतिहासको सम्बन्धलाई फराकिलो बनाउँछ।

यी विविध कृतिमा बीपीको साझा साहित्यिक आग्रह मानिसलाई कुनै एक नैतिक परिभाषामा सीमित नगर्नु हो। यही कारण उनका पात्रहरू आदर्शका नमुना होइनन्; उनीहरू आफ्ना समय, सम्बन्ध, इच्छा र निर्णयसँग जुधिरहेका जटिल मानिस हुन्।

नेपाली आख्यानमा व्यक्तिको आन्तरिक जीवनलाई यति महत्त्वपूर्ण विषय बनाउनु बीपीको विशिष्ट योगदान हो।

यसर्थ, बीपीको साहित्यलाई राजनीतिक व्यक्तित्वको छायामा वा मनोविश्लेषण र यौनचेतनाको सीमित चौखटमा होइन, व्यक्ति, समाज र अस्तित्वबीचको सम्बन्धको आलोचनात्मक आख्यानका रूपमा पढ्नु बढी सार्थक हुन्छ।

के मिल्सले भनेजस्तै सत्ता अभिजात वर्गको मात्रै हुन्छ?

काठमाडौं। राजनीतिमा एउटा सामान्य प्रश्न हुन्छ-सत्ता कसले चलाउँछ? नेपालको विद्यमान प्रणाली हेर्दा सरकारको संरचना संविधानतः निर्वाचनबाट निर्वाचित सरकारको हातमा हुन्छ।

तर अमेरिकी समाजशास्त्री सी. राइट मिल्सले सन् १९५६ मा प्रकाशित आफ्नो चर्चित पुस्तक ‘द पावर एलिट’ मार्फत यही सरल धारणामाथि गम्भीर प्रश्न उठाए। मिल्सका अनुसार आधुनिक लोकतन्त्रमा औपचारिक रूपमा सत्ता जनप्रतिनिधिको हातमा देखिए पनि वास्तविक निर्णय र प्रभाव भने सीमित शक्तिशाली समूहको हातमा केन्द्रित हुन्छ।

समाजका महत्वपूर्ण निर्णयहरू सबै नागरिकले प्रत्यक्ष रूपमा गर्दैनन्। राजनीतिक, आर्थिक र सैन्य क्षेत्रका शीर्ष तहमा रहेका सीमित व्यक्तिहरूले एकअर्कासँग जोडिएर ठूलो प्रभाव निर्माण गर्छन्। मिल्सको ‘द पावर एलिट’ सिद्धान्त अर्थात् ‘सत्ता-अभिजात वर्ग सिद्धान्त’को मूल धारणा यही हो। नागरिक र सत्ताबीचको सम्बन्ध, पहुँच, स्रोत र निर्णय क्षमताले सामान्य नागरिकको भन्दा धेरै ठूलो राजनीतिक प्रभाव पैदा गर्न सक्छ।

मिल्सले आफ्नो पुस्तकमा सत्ता राजनीतिक नेतृत्व, ठूला आर्थिक संस्थान र सैन्य नेतृत्वको उच्च तहमा केन्द्रित हुने तर्क गरेका थिए। ‘यी क्षेत्रका प्रभावशाली व्यक्तिहरूबीच व्यक्तिगत तथा संस्थागत सम्बन्ध बलियो हुँदै जाँदा उनीहरूले राज्यका महत्वपूर्ण निर्णयमा असाधारण प्रभाव पार्न सक्छन्,’ मिल्सको सत्ता–अभिजात वर्ग सिद्धान्तले भन्छ।

मिल्सले उक्त किताबमार्फत प्रतिपादन गरेको यस सिद्धान्तको अर्थ लोकतन्त्र समाप्त हुन्छ भन्ने होइन। लोकतन्त्रको औपचारिक संरचनाभित्रै अनौपचारिक शक्ति कसरी निर्माण हुन्छ? भन्ने प्रश्न उठाउनु हो।

यही सिद्धान्तलाई नेपालको राजनीतिमा जोड्दा अनेकन् प्रश्नहरू जन्मिन्छन्। नेपालको संविधानले प्रधानमन्त्रीलाई सरकारको कार्यकारी प्रमुख मान्छ। परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने औपचारिक जिम्मेवारी पनि सरकारकै हो। तर व्यवहारमा प्रधानमन्त्रीबाहेक सत्तारुढ दलका सभापति, प्रभावशाली मन्त्री, ठूला व्यवसायी, सुरक्षा संयन्त्र, कूटनीतिक वृत्त तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँग प्रत्यक्ष सम्पर्कमा रहेका राजनीतिक व्यक्तिहरूले पनि निर्णय प्रक्रियामा प्रभाव पार्छन्।

त्यसको उदाहरण जनताको दैनिक जीवनशैलीमा प्रस्तुत हुन्छ। जनताको दैनिक जीवनमा एक किसिमको आवश्यकता हुन्छ। तर राज्यले त्यसअनुसारको काम गरेको देखिँदैन।

नेपालमा पछिल्लो समय देखिएका ग्यास, पासपोर्ट, लाइसेन्स र अस्पतालहरूका लाइन यही सिद्धान्तका दृष्टान्त हुन्। एउटा जननिर्वाचित सरकारले नागरिकको जनजीवनका आवश्यकताअनुसार काम गर्नुपर्ने हो।

तर सरकारले ती आवश्यकताअनुसार काम गर्न नसक्दा विभिन्न फरक ठाउँमा सेवाग्राहीका लाइनहरू देखिए। मिल्सको यो सिद्धान्तले यही ठाउँमा प्रश्न उठाउँछ, ‘सरकार वा सत्ता निश्चित अभिजात वर्गको हातमा हुन्छ?’

कुनै नेता औपचारिक रूपमा सरकारको प्रमुख नभए पनि देशभित्र र बाहिरका शक्तिशाली समूहसँग उसको निरन्तर संवाद छ भने उसको राजनीतिक प्रभाव अपेक्षाकृत ठूलो हुन सक्छ। अर्कोतर्फ, सरकारको नेतृत्व गरिरहेको व्यक्ति अन्तर्राष्ट्रिय कूटनीति वा शक्तिशाली संस्थासँगको सम्पर्कबाट केही हदसम्म टाढा रह्यो भने उसको औपचारिक शक्ति र वास्तविक प्रभावबीच अन्तर देखिन सक्छ।

यो सन्दर्भमा पनि वर्तमान सरकारको कूटनीति र विदेश नीतिलाई जोड्न सकिन्छ। अनलाइनखबरले सोमबार लेखेको थियो, ‘अन्तर्राष्ट्रिय शक्तिको प्राथमिकतामा बालेनभन्दा अघि रवि।’ बालेन सरकारको विदेश नीति हेर्दा पनि त्यस्तै देखिन्छ। विदेशी नियोग, अन्तर्राष्ट्रिय शक्तिको प्राथमिकतामा बालेनभन्दा रवि नै अघि देखिन्छन्।

प्रधानमन्त्री बालेनले विदेशी कूटनीतिज्ञसँग भेटघाटमा रुचि नदेखाएपछि विदेशी शक्तिहरूको सम्पर्क लामिछानेतर्फ बढेको हुनसक्ने विश्लेषण पनि हुन्छ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा गत जेठमा नयाँ दिल्ली पुगेका लामिछानेले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत उनको भेट भएको थियो। उक्त भ्रमणपछि लामिछानेप्रति भारतको चासो थप प्रस्ट भएको थियो।

भारत भ्रमणपछि लामिछानेलाई चीनबाट समेत भ्रमणको निमन्त्रणा आएको थियो। चीन भ्रमणको तयारी भइरहे पनि अन्तिम समयमा स्थगित भएको थियो। यद्यपि भविष्यमा भ्रमण हुनसक्ने बताइएको छ। पछिल्लो समय नेपालमा आएको भोटेकोशी बाढीका कारण उक्त भ्रमण थप पछाडि धकेलिने सम्भावना देखिएको छ।

बालेन प्रधानमन्त्री बनेपछि विदेशी शक्तिहरूले उनलाई सम्पर्क र सहकार्यका लागि प्राथमिकता दिन खोजेका थिए। तर प्रधानमन्त्री स्वयंले परम्परागत कूटनीतिक शैलीभन्दा फरक ढंगले विदेश मामिला सञ्चालन गर्ने नीति लिएपछि उनीहरूको ध्यान विस्तारै लामिछानेतर्फ सरेको हुनसक्छ। अर्कोतिर, अन्तर्राष्ट्रिय समुदायका लागि सहज रूपमा उपलब्ध हुने व्यक्तिसँग सम्पर्क र संवाद बढाउन सजिलो हुन्छ।

यसकै अर्को पाटो प्रधानमन्त्री र सभापति लामिछानेबीचको शक्ति सम्बन्ध एउटा रोचक अध्ययनको विषय बन्न सक्छ। प्रधानमन्त्रीसँग संवैधानिक र कार्यकारी अधिकार हुन्छ। तर पार्टी नेतृत्व, जनसमर्थन, राजनीतिक सञ्जाल र अन्तर्राष्ट्रिय सम्पर्कले अर्को राजनीतिक पात्रलाई पनि प्रभावशाली बनाउन सक्छ। यस्तो अवस्थामा प्रश्न केवल ‘सत्ता कसको हातमा छ?’ भन्ने हुँदैन, ‘प्रभाव कसले प्रयोग गरिरहेको छ?’ भन्ने हुन्छ।

तर कुनै विदेशी नेता वा कूटनीतिज्ञले नेपालका कुनै राजनीतिक व्यक्तिसँग भेट्नु वा फोन गर्नु मात्रै उसलाई ‘पावर एलिट’ प्रमाणित गर्ने पर्याप्त आधार होइन। कूटनीतिक सम्बन्धमा पार्टीका नेता, सरकारका प्रतिनिधि, पूर्वप्रधानमन्त्री, सांसद तथा अन्य प्रभावशाली व्यक्तिसँग संवाद हुनु सामान्य पनि हुन सक्छ।

मिल्सको उक्त सिद्धान्तको मूल प्रश्न कुन व्यक्तिसँग कति पहुँच छ, त्यो पहुँचले कुन निर्णयमा प्रभाव पार्छ र त्यसको संस्थागत परिणाम के हुन्छ? भन्ने हो।

नेपालजस्तो संक्रमणकालीन राजनीतिक संरचना भएको मुलुकमा यो प्रश्न झन् महत्वपूर्ण हुन्छ। यहाँ दलभित्रको शक्ति संघर्ष, नेतृत्वको व्यक्तिगत प्रभाव, व्यावसायिक स्वार्थ, प्रशासनिक संयन्त्र र बाह्य कूटनीतिक सम्बन्ध एकअर्कासँग जोडिएका छन्। निर्वाचनले राजनीतिक वैधता दिन्छ, तर त्यसपछि राज्य सञ्चालनमा प्रभाव पार्ने शक्ति केवल निर्वाचनबाट प्राप्त मतमा सीमित रहँदैन।

‘लोकतन्त्रमा सत्ता केवल पदमा खोजेर पुग्दैन, शक्तिको वास्तविक प्रवाह कहाँबाट भइरहेको छ भनेर पनि हेर्नुपर्छ,’ मिल्सको उक्त सिद्धान्तको महत्वपूर्ण पाटो हो।

प्रधानमन्त्री को हो भन्ने प्रश्नको उत्तर संविधानले दिन्छ। तर निर्णय प्रक्रियामा प्रधानमन्त्रीबाहेक क–कसले प्रभाव पार्छ, कसले कुन शक्ति केन्द्रसँग संवाद गर्छ, कसको कुरा राज्य संयन्त्रले गम्भीरतापूर्वक सुन्छ र कसको पहुँच निर्णयको तहसम्म पुग्छ भन्ने प्रश्नको उत्तर खोज्न भने ‘पावर एलिट थ्योरी’ जस्ता राजनीतिक सिद्धान्त आवश्यक पर्छन्।

सत्ता केही व्यक्तिको अदृश्य सञ्जालमा केन्द्रित हुँदैछ कि संस्थागत प्रणालीमार्फत जनताको नियन्त्रणमा रहँदैछ? लोकतन्त्रको स्वास्थ्य मापन गर्ने एउटा महत्वपूर्ण आधार यही पनि हो। मिल्सको सिद्धान्तले पनि यही प्रश्नलाई जीवित राख्छ।

यथावत् छन् २३ र २४ भदौका प्रश्नहरु

काठमाडौं। एक वर्षअघि सडकमा उर्लिएको जेनजी पुस्ताको आन्दोलनले नेपालको राजनीतिको दिशा नै बदलिदियो। सरकार ढल्यो, संसद् विघटन भयो, अन्तरिम सरकार बन्यो र त्यसपछि भएको निर्वाचनमार्फत नयाँ राजनीतिक शक्ति भारी जनमतसहित सत्तामा पुग्यो। तर, आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र विधिको शासन लगायतका मूल प्रश्नहरु भने अझै उस्तै छन्।

जेनजी आन्दोलनको माग सरकार परिवर्तन थिएन। भ्रष्टाचार, नातावाद, कृपावाद, बेरोजगारी, कुशासन, अपारदर्शिता र राज्य संयन्त्रको जवाफदेहितामाथि प्रश्न उठाउँदै नयाँ पुस्ता सडकमा आएको थियो। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्कालीन ‘ट्रिगर’ बने पनि आन्दोलनको गहिरो कारण राज्य सञ्चालनको पुरानो शैलीप्रतिको असन्तुष्टि थियो।

२०८२ भदौ २३ गते काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरतर्फ अघि बढ्दा प्रहरीले बल प्रयोग गरेको थियो। त्यस क्रममा ठूलो मानवीय क्षति भयो। भोलिपल्ट आन्दोलन थप उग्र बन्यो र सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायतका सरकारी संरचना तथा विभिन्न राजनीतिक दलका कार्यालयमा आगजनी भयो। २४ भदौको मध्य दिउसोसम्म आइपुग्दा आन्दोलन नियन्त्रणबाहिर गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। निर्धारित समयभन्दा अगावै प्रतिनिधिसभा विघटन गरियो र २०८२ फागुन २१ गते निर्वाचन सम्पन्न भयो। निर्वाचनले परम्परागत राजनीतिक शक्तिलाई ठूलो धक्का दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्‍यो। नयाँ राजनीतिक शक्तिले भारी जनमतसहित सरकार बनाएपछि धेरैले यसलाई जेनजी आन्दोलनको प्रत्यक्ष राजनीतिक उपलब्धिका रूपमा व्याख्या गरे।

तर सत्ता परिवर्तनपछि सबैभन्दा गम्भीर प्रश्न न्याय र जवाफदेहिताको बनेको छ।

आन्दोलनका क्रममा भएको मानवीय क्षतिको छानबिन गर्न बनेका विभिन्न आयोग तथा अध्ययन समितिका प्रतिवेदन अझै पूर्ण रूपमा सार्वजनिक र कार्यान्वयन हुन नसकेको आरोप छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा सुरक्षा संयन्त्रका केही पदाधिकारीमाथि लापरबाही गरेको ठहर गर्दै फौजदारी अनुसन्धान तथा कारबाहीको सिफारिस गरेको थियो।

त्यसैको आधारमा ओली र लेखक पक्राउ परेका थिए। तर सर्वोच्च अदालतको आदेशपछि उनीहरू १३ दिन थुनामा बसेर हाजिरी जमानीमा छुटे। त्यसयता अनुसन्धानले अपेक्षित गति लिन नसकेको र मुद्दा चलाउने वा नचलाउने विषयमा सरकारी तहबाट स्पष्ट निर्णय आउन नसकेको अवस्था रहेको सामग्रीले देखाउँछ।

सरकारले एउटा प्रतिवेदन कार्यान्वयन गर्नुको सट्टा अर्को अध्ययन समिति बनाएको विषयले पनि प्रश्न जन्माएको छ। पूर्वन्यायाधीश प्रेमराज कार्की नेतृत्वको समितिले बानेश्वरमा सुरक्षाकर्मीले अत्यधिक गोली चलाएको निष्कर्ष निकालेको भनिए पनि प्रतिवेदन बुझ्ने र सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन।

राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित अध्ययन प्रतिवेदनको अवस्था पनि उस्तै देखिन्छ। आयोगले आन्दोलनका क्रममा राज्य पक्षबाट भएको बल प्रयोग, सुरक्षा व्यवस्थापन तथा सेना परिचालनलगायत विषयमा प्रश्न उठाउँदै विभिन्न अधिकारीमाथि फौजदारी तथा विभागीय कारबाहीको सिफारिस गरेको थियो। तर दोषी ठहर वा कारबाही सिफारिस भएका कतिपय अधिकारी अझै जिम्मेवारीमा रहेको विषयले पीडित परिवार र आन्दोलनका अगुवाहरूमा असन्तुष्टि बढाएको छ।

अर्कोतर्फ आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता गर्ने प्रक्रिया अघि बढिरहेको छ। सरकारी सम्पत्तिमा भएको तोडफोड र आगजनीमाथि अनुसन्धानसँगै आन्दोलनकारीमाथि लागेका फौजदारी मुद्दा फिर्ताको कानुनी बाटो खोज्न समिति गठन गरिएको छ। यसले न्यायको प्रक्रिया सबै पक्षका लागि समान रूपमा अघि बढेको छ कि छैन भन्ने प्रश्न थप गम्भीर बनाएको छ।

जेनजी आन्दोलनको अर्को प्रमुख मुद्दा ‘ठूला माछा’माथिको कारबाही थियो। दशकौँदेखि संस्थागत हुँदै आएको भ्रष्टाचार र सार्वजनिक पदमा बसेकाहरूको सम्पत्तिमाथि छानबिन गर्न बनेको आयोगसमेत अदालतको अन्तरिम आदेशपछि रोकिएको छ। यसले भ्रष्टाचार नियन्त्रण र उच्च राजनीतिक तथा प्रशासनिक तहको सम्पत्ति छानबिनको विषयलाई थप जटिल बनाएको छ।

यता नयाँ सरकारले छोटो अवधिमै केही शासकीय सुधारको दाबी गरेको छ। तर संसद्मा भारी बहुमत हुँदाहुँदै अध्यादेशमार्फत शासन गर्न खोजेको, सामाजिक सञ्जालका विषयमा विवादास्पद निर्णय गरेको तथा वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्तीमा डोजर चलाएको जस्ता विषयले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

सरकारभित्रै पनि विवाद देखिए। गृहमन्त्री सुधन गुरुङ विवादित व्यवसायीसँगको साझेदारीसम्बन्धी विवादमा राजीनामा दिन बाध्य भएको तथा श्रममन्त्री दिपककुमार साह पदीय मर्यादा दुरुपयोगको आरोपमा पदमुक्त भएको घटनाले नयाँ राजनीतिक शक्तिले पनि पुराना राजनीतिक संस्कारबाट पूर्ण रूपमा मुक्ति पाउन नसकेको संकेत गरेको छ।

जेनजी पुस्ताको असन्तुष्टिको अर्को प्रमुख कारण आर्थिक अवसरको अभाव हो। देशभित्र रोजगारी सिर्जना हुन नसक्दा ठूलो संख्यामा युवा वैदेशिक रोजगारीतर्फ जान बाध्य छन्। युवाको ऊर्जा र जनसांख्यिक लाभांशलाई देशभित्रै उत्पादनशील क्षेत्रमा प्रयोग गर्न नसकिए नेपालको आर्थिक भविष्यमा गम्भीर असर पर्न सक्छ।

यसका लागि सरकारले स्टार्टअप, डिजिटल अर्थतन्त्र, सफ्टवेयर विकास, ऊर्जा व्यापार र निजी क्षेत्रसँगको साझेदारीजस्ता क्षेत्रमा नीति अघि बढाउने प्रयास गरेको छ। तर नीति घोषणा मात्र पर्याप्त छैन। लगानीको वातावरण, प्रशासनिक सुधार, नीतिगत स्थिरता र रोजगारी सिर्जना एकसाथ अघि बढाउनुपर्ने चुनौती सरकारसामु छ।

डिजिटल स्वतन्त्रता पनि आन्दोलनको महत्वपूर्ण आधार थियो। सामाजिक सञ्जालमाथिको प्रतिबन्धले युवाको असन्तुष्टिलाई सडकसम्म पुर्‍याएको थियो। त्यसैले अबको सरकारका लागि डिजिटल अधिकार संरक्षणसँगै सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनु पनि महत्वपूर्ण परीक्षा हो। नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी अनुमतिपत्रलगायत सेवामा डिजिटल पहुँच विस्तार गर्नुपर्ने अपेक्षा बढेको छ।

राजनीतिक रूपमा भने जेनजी आन्दोलनले पुराना दलहरूलाई पनि दबाबमा पारेको छ। कांग्रेस, एमाले र अन्य दलभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र युवाको सहभागिताको बहस तीव्र भएको छ। नयाँ राजनीतिक शक्तिको उदयले पुराना दललाई आफ्नो संगठन, नेतृत्व र राजनीतिक शैली पुनर्विचार गर्न बाध्य बनाएको छ।

तर आन्दोलनको सबैभन्दा संवेदनशील प्रश्न अझै पीडितको न्यायसँग जोडिएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका परिवारले न्याय, राहत, उपचार र दोषीमाथि कारबाहीको अपेक्षा गरेका छन्। केही परिवारलाई राहत र सहिद घोषणा भए पनि न्यायिक छानबिन र दोषीमाथि कारबाहीको अन्तिम परिणाम अझै पर्खाइमै छ।

जेनजी आन्दोलनको एक वर्षमा नेपालको राजनीतिक सत्ता असाधारण रूपमा परिवर्तन भएको छ। तर राजनीतिक परिवर्तन र संरचनागत सुधार एउटै कुरा होइनन्। सरकार फेरिनु परिवर्तनको सुरुवात हुन सक्छ, अन्तिम उपलब्धि होइन।

अब सरकारसामु तीन ठूला प्रश्न छन्-भ्रष्टाचारमाथि निष्पक्ष कारबाही हुन्छ कि हुँदैन? युवाले स्वदेशमै सम्मानजनक अवसर पाउँछन् कि पाउँदैनन्? र राज्य नागरिकप्रति पारदर्शी तथा जवाफदेही बन्छ कि बन्द कोठामा निर्णय गर्ने पुरानै शैली दोहोरिन्छ?

एक वर्षअघि सडकले सत्ता परिवर्तन गर्‍यो। अब सबैभन्दा ठूलो परीक्षा सत्ताले राज्य परिवर्तन गर्न सक्छ कि सक्दैन भन्ने हो।

जेनजी आन्दोलनले पुरानो राजनीतिक संरचनालाई चुनौती दिएर नयाँ पुस्तालाई सत्ताको केन्द्रसम्म पुर्‍याएको छ। तर नयाँ पुस्ताले पनि पुरानै शैली, पुरानै अपारदर्शिता र पुरानै दण्डहीनतालाई निरन्तरता दियो भने आन्दोलनको राजनीतिक उपलब्धि खोक्रो बन्न सक्छ।

त्यसैले जेनजी आन्दोलनको पहिलो वर्षको वास्तविक समीक्षा सरकार कति लोकप्रिय भयो भन्ने होइन, आन्दोलनले उठाएका प्रश्नमध्ये कति प्रश्नको संस्थागत समाधान भयो भन्ने आधारमा हुनुपर्ने देखिन्छ। सडकमा उठेको आवाज सत्ताको कुर्सी परिवर्तनमा मात्र सीमित हुन्छ कि राज्य सञ्चालनको संस्कारमै परिवर्तन ल्याउँछ—अबको नेपाली राजनीतिले यसको जवाफ दिनुपर्नेछ।

 

राप्रपा धनुषा अधिवेशन रोक्न केन्द्रीय निर्वाचन संयोजकलाई आग्रह

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले जिल्ला अधिवेशन तत्काल रोक्न माग गरेका छन् । यही भदौ २७ गते अधिवेशन गर्न लागिएको भन्दै उनीहरूले पार्टीका प्रमुख निर्वाचन संयोजकसमक्ष पत्र पठाएर अधिवेशन रोक्न आग्रह गरेका हुन् ।

पत्रमा राप्रपाको विधानअनुसार वडा, गाउँपालिका, नगरपालिका, प्रदेश र क्षेत्रीय समिति गठन तथा अधिवेशन सम्पन्न भएपछि मात्रै जिल्ला अधिवेशन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ । तर विधानको प्रक्रिया पूरा नगरी जिल्ला अधिवेशन गर्न लागिएको उनीहरूको आरोप छ ।

जिल्ला कार्यसमितिले आफूहरूलाई समेत पर्याप्त जानकारी नदिई तथा बैठकको निर्णयसमेत नगरी अधिवेशन गर्न लागिएको दाबी गरेको छ । व्यक्तिगत खुसीका आधारमा अधिवेशन गराउँदा पार्टीभित्र संकट निम्तिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

‘विधानलाई बेवास्ता गरी अवैधानिक जिल्ला अधिवेशन रोक्न’ आग्रह गर्दै पत्रमा पार्टीमा सुरक्षा, सद्भाव र एकता कायम गर्न आवश्यक निर्णय लिन माग गरिएको छ ।

साथै सम्पूर्ण कार्यकर्ताको सहभागिता सुनिश्चित हुने गरी विधानसम्मत ढंगबाट जिल्ला अधिवेशन गराउन उनीहरूले निर्वाचन संयोजकसँग आग्रह गरेका छन् ।

पत्रमा जिल्ला उपाध्यक्ष रामनारायण ठाकुर, पूर्वजिल्ला अध्यक्ष रामचन्द्र मुखिया, जिल्ला सहसचिव रविन्द्र यादव तथा जिल्ला सदस्य अरविन्द दुबे र सुभाषकान्त ठाकुरसहितले हस्ताक्षर गरेका छन् ।

सम्झनामा बालकोटको बार्दली

वि.सं. ०६२/६३ सालको दोस्रो जनआन्दोलनको सफलतापछि स्व. गिरिजाप्रसाद कोइरालाजीको प्रधानमन्त्रीत्वमा गठन भएको सरकारमा केपी सर उपप्रधान तथा परराष्ट्रमन्त्री हुनुभयो । त्यतिबेला उहाँको स्वास्थ्य राम्रो थिएन । मिर्गौलाको समस्या देखिइसकेको थियो । तर समय र परिस्थितिले उहाँलाई आराम गरेर बस्न दिएन । १० वर्ष माओवादीको सशस्त्र सङ्घर्षले राष्ट्रिय र अन्तरराष्ट्रिय सम्बन्धहरुमा अनेकौं समस्याहरू विद्यमान थिए । तसर्थ उहाँले आफ्नो स्वास्थ्यको एकरत्ति पर्वाह नगरी उक्त पद स्वीकार गर्नुभएको थियो ।

यो समयमा हाम्रो बालकोटको यो घर बनिसकेको थियो । तसर्थ हामीले मन्त्री क्वाटर नगईकन घरमै बस्ने निर्णय लियौं । हामीले यस्तो निर्णय लिनुका पछाडि एउटा कारण त्यसबेला पर्याप्त मात्रामा मन्त्री क्वाटर थिएनन् पनि । कम्तीमा काठमाडौंमा घर भएकाहरू आफ्नै घरमा बसी दिएमा अन्य घर नभएका साथीहरुलाई सजिलो हुन्छ भन्ने ठान्यौँ तर आफ्नै घरलाई मन्त्री निवास बनाउँदा कस्तो समस्या हुन्छ भन्ने कुराको राम्रै अनुभव मैले गर्न पाएँ ।

केपी सर पार्टीमा पनि सक्रिय सदस्य, अझै उहाँको स्वभाव सधैं साथीभाइकै बिच बस्न रुचाउने । यतिकै हाम्रो घर सधैं भिडभाड भइरहने स्थान भयो । अब त्यसमाथि उपप्रधान तथा परराष्ट्रमन्त्री समेत हुँदा घरलाई थेग्न कति गाह्रो हुँदो रहेछ भन्ने राम्रै थाहा पाएँ । कार्यकर्ताको व्यवस्थापन, सरकारी कर्मचारीहरुको व्यवस्थापन, विदेशी पाहुनाहरू र अन्यको व्यवस्थापन, यी सबै जटिलता र चुनौतीहरुको डटेर सामना गरी उहाँको नौ-दस महिने कार्यकाल राम्रै सम्पन्न भयो भन्ने लाग्छ ।

यसरी एउटै घरबाट सबै खालका जिम्मेवारीहरु सम्हाल्न पर्दा धेरै गाह्रो महसूस गर्दै गर्दा अगाडिको ८ आना जग्गामा केही ठाउँ बनाउने कि ? भन्ने सोच आयो । यसैबिच ०६४ श्रावणमा उहाँको मिर्गौला प्रत्यारोपण गर्नु थियो । त्यसको चारपाँच महिनापछि भएको पहिलो संविधानसभाको निर्वाचनमा केपी सरलाई पराजित गरियो, उहाँ हार्नुभयो ।

अनि मलाई लाग्यो अब त केपी ओलीले हिजोको जस्तो सक्रिय जीवन बिताउनु पर्दैन होला । अर्कोतिर मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति हुनाले सक्रिय हुन गाह्रो पनि होला तर मेरो सोचले फेल खायो । उहाँको जीवन र लक्ष्य मैले नबुझेको रहेछु । उहाँ त अलिकति पनि हतास नभईकन झन् पो सक्रिय हुनु भयो ।

यसबिचमा हाम्रो घर, घर हो कि ? पार्टी कार्यालय हो कि ? रेस्टुरेन्ट हो कि ? पुलिस चौकी हो कि ? भनेर छुट्याउन पो गाह्रो भयो । विसं २०६८ साल चैत्र २७ गते मेरो ३३ वर्षे जागिरे जीवनबाट अवकाश पाएँ । अवकाशपछि हातमा केही लाख पैसा आयो । अब यो पैसाले के गर्ने, कहाँ खर्च गर्ने भन्ने सरसल्लाह हुन थाल्यो । साथीभाइ, परिवार सबैले आआफ्नै खालको सुझावहरु दिए तर मेरो मन भने अर्को एउटा घर बनाउने तिर थियो । कारण एउटा घर मात्र हुँदा मलाई साह्रै गाह्रो भइरहेको थियो । त्यसै घरमा तल्ला पो थप्ने कि भन्ने सल्लाह पनि भयो । तर मलाई भने अग्लो घर मनै पर्दैनथ्यो । घर अग्लो हुँदा बढी दुःख पाउने त मैले नै हो ।

मैले के सुनेकी थिएँ भने धेरैपल्ट तलामाथि गर्दा बुढेसकालमा खुट्टा अर्थात् घुँडा दुख्ने समस्या हुन्छ । यो अनुभव पाटन महापालमा पाँच वर्ष बस्दा थाहा पाइसकेकी थिएँ । तसर्थ तल्ला थप्ने कुरामा म सहमत हुन सकिनँ । यसैबिच ७० साल सायद मङ्सिरमा संविधानसभाका लागि दोस्रो चुनाव हुने भयो । २०६४ सालमा चुनाव हुँदा माओवादी पहिलो पार्टी, काङ्ग्रेस दोस्रो पार्टी र एमाले तेस्रो पार्टी भएका थिए ।

संविधानसभाका सदस्यको संख्या ६०१ थियो तर संविधानसभाले आफ्ना कार्यकालमा संविधान लेख्न नसकेपछि अन्त्यमा प्रधानन्यायाधीश खिलराज रेग्मीजीको नेतृत्वमा बनेको सरकारले दोस्रो पटक संविधानसभाका लागि चुनाव गराउने भयो । अनि म उक्त चुनावको परिणामको प्रतिक्षामा बसें । अर्थात् उक्त चुनावमा केपी सरले जित्नु भएमा दोस्रो घर निर्माण गर्ने, पराजित भएमा घर निर्माण नगर्ने सोच थियो मेरो ।

विसं २०७० मा सम्पन्न चुनावमा काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो पार्टी भए । केपी सर पनि संविधानसभा सदस्यमा चुनिनुभयो । यो समयमा केपी सरले के भन्नुभएको थियो भने अब नेपालमा संविधान सभाले संविधान बनाउनेछ । नभन्दै थुपै बाधाअड्चन छिचोलेर नेपालमा सर्वप्रथम संविधान सभाले २०७२ आश्विन ३ गते संविधान जारी गर्न सफल भयो ।

विसं २०७० मा भएको दोस्रो संविधानसभाको चुनाव अघिदेखि नै केपी सरको हातमा समस्या देखिसकेको थियो तर कामको व्यस्तताले खासै ध्यान दिन पाएको थिएन । चुनाव सम्पन्नपछि माघ महिनामा भएको संसदीय दलको चुनावमा तत्कालीन एमाले पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरी केपी सर दलको नेतामा निर्वाचित हुनुभयो । संयोग नै भनौ, त्यही दिन मैले दोस्रो घरको शिलान्यास गरेकी थिएँ । राती घर फर्किदा उहाँले भन्नु भयो -यता तिमीले दोस्रो घरको शिलान्यास गर्यो यता राजनीतिमा एक महत्त्वपूर्ण छलाङ मारे । यसरी निर्माण भएको हाम्रो घरको जग्गा आठ आना थियो भने चार वटा कित्ता थिए । ससाना कित्तामा घर बनाउन सम्भव नभएपछि हामीलाई बेचेको थियो ।

यो घर निर्माणको समयभरि नै केपी सरको स्वास्थ्य बिग्रेको हुनाले मैले खासै ध्यान दिन पाइनँ । परिवारका सदस्यहरु र सहयोगीहरुको सहयोगमा यो दोस्रो घर निर्माण सम्पन्न भएको थियो । सुरूमा यो घर पनि साढे दुई तल्लाको थियो । भुइँ तल्लामा एउटा सानो बेड रूम, एउटा किचेन बनाउने भनेर सानो खुल्ला ठाउँ र एउटा लामो कोठा थियो ।

यो तल्लाभित्र रङ पनि नलगाइन बस्न हुनेसम्म भएपछि हाम्रोमा खटाइएका सशस्त्र प्रहरीहरुलाई यहाँ सारें । तीन-चार वर्षपछि प्रहरीलाई अन्त सारी यहाँ विभिन्न किताबहरुको स्टोर बनाएँ । अन्तमा फेरि बुक स्टोरलाई पनि परिवर्तन गरी बैठक कोठाहरु बनाएँ । यहाँ एउटा कोठा र अरु खुल्ला थिए । बैठक बनाएपछि सबै भित्ताहरुमा सयौं तस्बिरहरु टाँगे । एउटा कुनामा ठूल्ठूला तस्बिरहरुको साथै संगीतका सामाग्रीहरु जस्तै हारमोनियम, तबला, गितार, मादल, सारङ्गी, झ्यालीलगायत धेरै सामग्रीहरु थिए । धेरै पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक दृश्यहरु देखिने फोटाहरु थिए ।

खासगरी विसं २०७८ असारमा केपी ओली नेतृत्वको सरकारलाई परमादेशमार्फत् अपदस्थ गरेपछि यो बैठक सर्वसाधारण र पार्टी नेता तथा कार्यकर्ताहरु सँगको भेटघाट र लामोलामो बैठकहरु समेत सयौ हजारौं पटक भयो होला । देशका ७७ वटै जिल्लाका साथीहरुले यो कोठा देखेका होलान् ।

यही बैठकमा कयौं टिकटक पनि बनेको देखेकी छु । कहिले कहीँ ६०-७० जनाको बैठक तथा भेलाहरू पनि यहाँ सम्पन्न भएका थिए । खास गरी विसं २०७२ देखि २०८२ सम्म यो कोठाले हजारौं हजार नेपालीहरुलाई आत्मीयताका साथ स्वागत र सत्कार गरेको थियो ।

यो कोठाको बाहिर प्यासेजमा पनि एक सेट सोफा छ । भित्ताहरुमा ठूला साना तस्बिर र केपी सरको बारेमा जनताले अभिव्यक्त गरेका भावनाहरु र कोरिएका फोटाहरु पनि थिए । यो ठाउँमा अझ विहानदेखि रातीसम्म साथीभाइहरु बसिरहेका हुन्थे ।

अब हामी फलामको चेन गेट खोलेर माथि गएपछि भित्तामा अझ आकर्षक तस्बिरहरु थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यू, राष्ट्रपति, उपराष्ट्रपति र अन्यसँगका फोटोहरु यहीँ भित्तामा थिए । एउटा भर्याङ्ग सकिनसाथ छ्वालीले बनाएको आर्टलाई काठको फ्रेममा राखेर दिएको उपहारले सबैलाई स्वागत गर्दथ्यो ।

अगाडि बढेपछि पुनः भित्ताभरीका तस्बिरले स्वागत गर्दै लगेपछि पहिलो तल्लाको कोठा छिर्ने ढोकासँगैको भित्तामा दोस्रो जनआन्दोलन ६२/६३ का अमर शहीदहरुको फोटो अंकित ठुलो फ्रेमको फोटो थियो । जसले हरेक व्यक्तिलाई आन्दोलन र शहिदप्रति आदर गर्न प्रेरित गर्दथे । यो तल्लामा पनि एउटा सानो कोठा र अरु बाँकी सबै खुल्ला थिए । अर्को आकर्षक, ऐतिहासिक र महत्त्वपूर्ण कोठा हो यो। यो बैठक कोठामा पार्टी सचिवालय बैठकहरु, विदेशी पाहुनाहरु, राष्ट्रिय मिडियाहरु सँगको भेटघाट हुन्थ्यो ।

कहिलेकाहीँ सांगीतिक कार्यक्रमहरु पनि हुन्थ्यो । म स्वयम्ले पनि धेरै पटक अलि धेरै महिला दिदीबहिनीहरुसँग भेटघाट, छलफल आदि गरेकी छु । यो कोठाको फोटोहरु राष्ट्रिय एवं अन्तरराष्ट्रिय मिडियाहरुमा सयौं पटक प्रकाशित भएका छन् । यो कोठाको दक्षिण साइडको दुइटा कुनामा दुइटा कर्नरमा काठको दराज थिए । दुइटै दराजमा विभिन्न उपहारका सामानहरू थिए ।

बाहिरपट्टि टेबुलमा ठुलो भोजपुरे करूवा, ढलोटै ढलोटको ठुलो गणेशको बाल्टीमा राखेर ल्याउन गाह्रो भयो । त्यसै बिचमा मेरो अफिसमा ओभर टाइम बसेर काम गर्नु पर्थ्यो । त्यसै ओभर टाइमको पैसा (चार पाँच सय जति) जम्मा भएपछि मैले पानी बोक्न एउटा सानो गाग्री किनेँ । यसरी मेरो पसिनाको कमाईबाट खरिद गरेको उक्त प्यारो गाग्री पनि यहीँ थियो । यसका अलावा यो लामो कोठामा पनि धेरै उपहारका सामानहरु थिए । २०७८ सालदेखि अगाडिको कौसी छोपेर आइटी अफिस बनाएँ ।

यहाँका भित्ताहरुमा पनि ठूला साना तस्बिरहरु टाँगियो । माथि कौसीमा पूर्वतिर फर्केको केपी सरको रेप्लिका थियो । बालुवाटारबाट फर्किदा ल्याएर अन्त ठाउँ नभएपछि कौसीमा राखेकी थिएँ । यहाँ पनि कागती, सुन्तला, मेवा, एभोकाडो आदिका ससाना रूखहरू थिए । सिजनमा खाइ नसकेर अमिलोको अचार खाने र झोल बनाएर राख्ने गर्दथे । लसुन, प्याज, धनियाँजस्ता मसला र हरियो तरकारी हुन्थ्यो । सिमी, भिन्डी, तिते करेलाजस्ता तरकारी पनि धेरै उत्पादन गरेँ । गोलभेडा, खुर्सानी, धनियाँ पनि हुन्थ्यो । यसरी सानो कौसी खेतीबाट पनि राम्रै उत्पादन गरेकी थिएँ ।

मेरो पहिलो र दोस्रो दुवै घरको सबैभन्दा माथि छतमा राष्ट्रिय झण्डा फहराइरहेको हुन्थ्यो । मूलतः मैले नयाँ साल र दशैंको समयमा वर्षको २ पटक झण्डा फेर्ने गर्दथे । छतमाथिको उक्त झण्डा फर्फराइरहेको दृश्य देख्दा छाती गौरवले फुल्ने गर्दछ । यस्तो गौरवको झण्डा ओडेर अराजक जत्थाले राष्ट्रिय सम्पत्ति ध्वस्त गर्दै हिँडेको पनि यही आँखाले हेर्न र देख्नुपर्यो ।

हाम्रो दुई घरका बिचमा एउटा सानो बगैंचा थियो । चारैतिर रङ्गीचङ्गी फूलहरु फुल्थे । हरियो घाँसका बिचमा एउटा एभोकाडोको रूख थियो । पछाडिपट्टी सेतो रङका माटोका चरचुरुङ्गी र अन्य वस्तुहरु थिए । रूखको अगाडि पूर्व फर्किएर राखिएका तीनवटा आकर्षक ढुङ्गाका मूर्तिहरु थिए । बिचमा बुद्धको, दायाँबायाँ शिव र सरस्वतीको प्रतिमा थिए । आन्दोलनकारी नामका लुटेराहरुले उक्त यी तीन प्रतिमा मध्ये बुद्ध र शिवको मूर्ति उठाएर लगेछन् ।

उक्त मूर्तिहरु अगाडि उभिएर, बसेर एकल वा सामूहिक फोटो खिच्ने वालकोटको एउटा विशेषता थियो । त्यसैले यहाँको फोटो हजारौंसँग हुनुपर्दछ । यो बगैंचाको पछाडिपट्टी फलामको स्ट्याण्डमा गमलाहरु राखेकी थिएँ । उसो त हाम्रो घरको आँगनभरी नै सयौं गमलामा रङ्गीचङ्गी फूलहरु फुलेर निवास वरपरको वातावरणलाई सुन्दर र सुगन्धित बनाइरहेको थियो तर आज मेरो सोच र उद्देश्य तुच्छ भए पनि उनीहरुकै कारणले हाम्रो घरको बार्दली राष्ट्रिय/अन्तरराष्ट्रिय स्पमा चर्चित बन्यो ।

त्यसपछि मैले यो चर्चित बार्दलीलाई अझ राम्रो र आकर्षक बनाउनुपर्छ भनेर राम्रा र ठूला सेतो रङका गमलाहरु ल्याएर त्यसमा आकर्षक र सुगन्धित वास्ना आउने फूलहरु रोप्ने काम गरेँ । साथै मैले लेखेको किताब करूणामा एउटा शीर्षक बालकोटको बार्दली नाम दिएर राखें ।

शाक्यको बुधबार विमोचित कृति ‘सपनाको भग्नावेश‘बाट साभार

बागमती प्रदेश सभाका पाँच सदस्यलाई कारबाही गर्ने राप्रपाको तयारी

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै पाँच जना प्रदेशसभा सदस्यलाई पदबाट हटाउन प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ।

संसदीय दलको पत्रअनुसार भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामालाई प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरिएको हो।

पत्रमा बागमती प्रदेश सरकारमा सहभागी हुने निर्णयअनुसार मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारको पक्षमा अनिवार्य मतदान गर्न पार्टी संसदीय दलले ह्विप जारी गरेको उल्लेख छ।

तर, सम्बन्धित प्रदेशसभा सदस्यहरू बैठकमा अनुपस्थित भई ह्विप उल्लंघन गरेको दाबी गरिएको छ।

उनीहरूलाई ह्विप उल्लंघनबारे स्पष्टीकरण सोधिए पनि तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नदिएको भन्दै पार्टी विधान तथा संसदीय दलको विधानअनुसार कारबाही गर्ने निर्णय भएको पत्रमा उल्लेख छ।

राप्रपा बागमती प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यबाट हटाउने निर्णय कार्यान्वयन गरी प्रदेशसभालाई जानकारी गराइदिन प्रदेशसभा सचिवालयलाई आग्रह गरेको छ।

राप्रपाबाट प्रदीपकुमार सुवेदीले दिए राजीनामा

वीरगञ्ज। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वीरगञ्ज, पर्साका प्रदीपकुमार सुवेदीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई सम्बोधन गर्दै सुवेदीले राजीनामा पत्र बुझाएका हुन्। पार्टी स्थापनाकालदेखि नै आफू पार्टीको वृद्धि, सुदृढ संगठन निर्माण तथा देशहितका लागि कर्तव्यनिष्ठ कार्यकर्ताका रूपमा सक्रिय रहँदै आएको उनले पत्रमा उल्लेख गरेका छन्।

तर, लामो समय पार्टीमा आबद्ध रहेर जिम्मेवारी निर्वाह गरेपछि अब भने पार्टीबाट अलग हुने निर्णय गरेको सुवेदीले बताएका छन्। उनले पत्रमार्फत ‘आजको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको’ जानकारी गराएका छन्।

सुवेदीले पार्टीप्रति आफ्नो शुभेच्छा भने कायमै रहने उल्लेख गर्दै पत्रको अन्त्यमा ‘पार्टी सधैँ भलो होस्’ भन्ने शुभकामना दिएका छन्।

ग्यास अभाव : सिलिन्डर बोकेर सिंहदरबार पुगे विद्यार्थी [तस्वीरहरू]

काठमाडौं। खाना पकाउने ग्यासको अभाव चुलिँदै गएपछि त्यसको विरोधमा विद्यार्थीहरू सिलिन्डर बोकेर सिंहदरबार पुगेका छन्।

अखिल क्रान्तिकारी विद्यार्थी संघले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्दै तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग माग गरेको हो।

बजारमा ग्यास नपाउँदा विद्यार्थी तथा सर्वसाधारणले भोगिरहेको सास्तीप्रति सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको विद्यार्थी संगठनले जनाएको छ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले बजारमा पर्याप्त मात्रामा खाना पकाउने ग्यास उपलब्ध गराउन माग गर्दै अभावको समस्या तत्काल समाधान गर्न आग्रह गरे।

विद्यार्थीहरूले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूमाथि कडाइ गर्न पनि सरकारसँग माग गरेका छन्।

बजारमा ग्यास हुँदाहुँदै उपभोक्ताले सहज रूपमा पाउन नसक्ने अवस्था अन्त्य गर्नुपर्ने उनीहरूको भनाइ छ।


 

भोटेकोसी बाढीपीडितको उद्धार र पुनर्निर्माणलाई तीव्र बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, क्षतिग्रस्त सडक सञ्चालन तथा पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

शीतल निवासमा भदौ २४ गते बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सांसद अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देलसँगको छुट्टाछुट्टै छलफलका क्रममा राष्ट्रपति पौडेलले उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकता दिन आग्रह गरेका हुन्।

राष्ट्रपति पौडेलले बाढीपीडितका लागि होल्डिङ सेन्टरको व्यवस्थापन र सडक पहुँच पुनःस्थापनाको काम छिटो सक्न निर्देशन दिएका छन्। साथै, विकट भौगोलिक अवस्थालाई ध्यानमा राख्दै ठूला बेलिब्रिज निर्माणका लागि आवश्यक परे अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन र जलवायु परिवर्तनका कारण नेपालले व्यहोरेको क्षतिको क्षतिपूर्ति पाउन प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्ने सुझाव उनले दिए।

भेटमा मन्त्रीद्वय खनाल र लम्सालले दसैँअघि नै सडक यातायात सुचारु गर्ने र प्रभावितका लागि अस्थायी आवास निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी गराएका थिए। बाढीग्रस्त क्षेत्रमा वैकल्पिक सडक निर्माण र अन्य योजनाहरू अघि बढाइएको उनीहरूको भनाइ थियो।

बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रपति पौडेलले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर पुनर्निर्माणमा लाग्न र नागरिकको जनजीवन सामान्य बनाउने कामलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

यस्ता केटाकेटी धेरै आए, धेरै गए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते भएको विध्वंसले मुलुकलाई कम्तीमा २५ वर्ष पछाडि धकेलेको दाबी गरेका छन्। उनले उक्त दिनलाई देशका लागि ‘कालो दिन’को संज्ञा दिएका छन्।

बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नै घरमा पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै भौतिक संरचनाको क्षतिसँगै मुलुकको विकास र समग्र यात्रामै ठूलो धक्का पुगेको बताए।

‘देश २५ वर्षभन्दा धेरै पछि परेको छ,’ ओलीले भने, ‘अहिले रमाउनेहरू पनि कम्तीमा २५ वर्ष पछाडि परेका छन्। यसको असर भोग्दै गएपछि मात्रै अहिले रमाउनेहरूले पनि थाहा पाउनेछन्।’

ओलीले भदौ २४ को घटनालाई सामान्य राजनीतिक असन्तुष्टिको अभिव्यक्तिका रूपमा मात्रै बुझ्न नहुने बताए। आगजनी, तोडफोड र विध्वंसका कारण मुलुकले दीर्घकालीन क्षति बेहोर्नुपर्ने उनको भनाइ थियो।

पछिल्लो समय गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूलाई सुध्रिन चेतावनी दिएको प्रसंगमा पनि ओलीले व्यंग्य गरेका छन्। पुराना नेताले अहिलेका सत्तापक्षको प्रशंसा गर्नुपर्ने हो कि भन्ने आशयमा उनले प्रश्न गरे।

गृहमन्त्रीको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले विगतमा आफूहरू हेलिकप्टरबाट भाग्नुपरेको प्रसंगसमेत जोडे। अहिले पनि त्यस्तै चेतावनी दिइएको भन्दै उनले सरकारमा रहेका नयाँ पुस्ताप्रति व्यंग्य गरे।

‘पहिले हेलिकप्टर चढेर भागेका थियौँ, अहिले त्यो पनि हाम्रै हातमा छ। चढिहाल्यौँ भने पनि जाक्दिन्छौँ भन्नुभएको छ,’ ओलीले भने।

उनले राजनीतिक क्षेत्रमा नयाँ अनुहार र नयाँ समूह आउनु अस्वाभाविक नभए पनि उनीहरूको व्यवहार र अभिव्यक्तिमा परिपक्वता आवश्यक हुने संकेत गरे।

‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए,’ ओलीले व्यंग्य गर्दै भने।

पक्राउ पर्दैमा हत्कडी लगाउने?

काठमाडौं । पक्राउ पर्‍यो वा अभियोग लाग्यो भन्दैमा व्यक्तिलाई नियमित रूपमा हत्कडी लगाउने प्रहरी अभ्यासविरुद्ध सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट परेको छ।

नेपाल ल क्याम्पसमा बीएएलएलबी अध्ययनरत रोशन आउजी, विकास यादव र विवेक चौधरीले बुधबार संयुक्त रूपमा रिट दायर गरेका हुन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कानुन मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र प्रेस काउन्सिल नेपाललाई विपक्षी बनाइएको छ।

निवेदकहरूले पक्राउ पर्दैमा हत्कडी लगाएर सार्वजनिक रूपमा प्रस्तुत गर्ने अभ्यासले व्यक्तिको सम्मान, स्वतन्त्रता र निर्दोषिताको संवैधानिक अधिकारमाथि प्रश्न उठाएको जिकिर गरेका छन्।

संविधानले दोष प्रमाणित नभएसम्म व्यक्तिलाई निर्दोष मान्ने व्यवस्था गरेकाले अभियोग लाग्दैमा उसलाई अपराधीसरह व्यवहार गर्न नहुने उनीहरूको तर्क छ। रिटमा सम्मानपूर्वक बाँच्न पाउने हक, वैयक्तिक स्वतन्त्रता तथा निर्दोषिताको सिद्धान्तको संरक्षण माग गरिएको छ।

निवेदकहरूले हत्कडीलाई प्रहरीको नियमित अभ्यास नभई विशेष परिस्थितिमा मात्रै प्रयोग हुने उपाय बनाउन माग गरेका छन्। व्यक्ति भाग्ने, हिंसात्मक गतिविधि गर्ने वा आफैंलाई क्षति पुर्‍याउने वास्तविक जोखिम भए–नभएको वस्तुनिष्ठ र लिखित मूल्याङ्कनपछि मात्र आवश्यक अवधिका लागि हत्कडी लगाउने व्यवस्था गर्न परमादेश माग गरिएको छ।

उच्च सुरक्षा जोखिम भएका अभियुक्तका हकमा पनि हत्कडीलाई पहिलो विकल्प नबनाउन र सुरक्षित ढुवानी, पर्याप्त सुरक्षाकर्मी तथा विशेष सुरक्षा टोली परिचालनजस्ता कम प्रतिबन्धात्मक उपाय अपनाउनुपर्ने रिटमा उल्लेख छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गम्भीर बिरामीको हकमा भने हत्कडी प्रयोगलाई अझ कडा सर्तमा बाँध्नुपर्ने माग गरिएको छ।

रिटमा प्रहरीसँगै सञ्चारमाध्यमको अभ्यासमाथि पनि प्रश्न उठाइएको छ। अदालतबाट दोषी प्रमाणित नभएका व्यक्तिलाई हत्कडी लगाएर सार्वजनिक गरिएका तस्बिर तथा भिडियो प्रकाशन–प्रसारण गर्दा समाजमा उसलाई पहिल्यै अपराधीका रूपमा स्थापित गर्ने अवस्था बन्न सक्ने निवेदकहरूको जिकिर छ।

त्यस्ता सामग्रीको अनावश्यक प्रकाशन तथा प्रसारण रोक्न, सार्वजनिक भइसकेका सामग्री हटाउन तथा अभियुक्तको मर्यादा र निर्दोषिताको सिद्धान्त जोगाउने गरी आवश्यक निर्देशिका र आचारसंहिता बनाउन प्रेस काउन्सिललाई आदेश दिनसमेत माग गरिएको छ।

आवश्यक अवस्थामा सुरक्षित ढुवानीका वैकल्पिक उपाय अपनाउनुका साथै अदालतमा उपस्थित गराउन भिडियो कन्फरेन्सजस्ता माध्यम प्रयोग गर्न सकिने स्पष्ट कार्यविधि बनाउन पनि रिटमा माग गरिएको छ।

निवेदकहरूले अनावश्यक रूपमा हत्कडी लगाउँदा व्यक्तिको प्रतिष्ठा र सामाजिक छविमा अपूरणीय क्षति पुग्न सक्ने भन्दै रिटको अन्तिम फैसला नआएसम्म नियमित वा मनोमानी रूपमा हत्कडी प्रयोग नगर्न अन्तरिम आदेश माग गरेका छन्।

मौलिक हक, मानव अधिकार र निर्दोषिताको सिद्धान्तसँग जोडिएको विषय भएकाले रिटलाई अग्राधिकार दिएर शीघ्र सुनुवाइ गर्नसमेत माग गरिएको छ। रिटको पेसी बिहीबारका लागि तोकिएको छ।

ट्रक रोक्न खोज्दा चालक फरार, एक टनभन्दा बढी गाँजा बरामद

धनकुटा। धनकुटामा प्रहरीले एक टनभन्दा बढी लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ। चेकजाँचका क्रममा ट्रक रोक्न खोज्दा चालक भने प्रहरीलाई छलेर फरार भएका छन्।

साँगुरीगढी गाउँपालिका-७ फेदीस्थित कोशी लोकमार्गमा बुधबार राति भएको चेकजाँचका क्रममा ना.४ ख ५२७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मुलघाटबाट खटिएको टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ट्रकलाई रोकेर जाँच गर्न खोजेको थियो। प्रहरीका अनुसार रोक्न संकेत गरेलगत्तै चालकले ट्रकबाट हाम फालेर भागेका थिए।

चालकको गतिविधि शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले नेपाल प्रहरीको मुलघाटस्थित टोलीलाई खबर गरेको थियो। त्यसपछि संयुक्त रूपमा ट्रकको खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो।

प्रहरीले ट्रकसहित बरामद गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर नापतौल गर्दा कुल १ हजार २४० दशमलव ६ किलोग्राम रहेको पुष्टि भएको जनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर ६ गुल्म धनकुटाका प्रमुख डीएसपी राजेश फुयलका अनुसार चालक फरार भएपछि ट्रकभित्र गाँजा रहेको खुलेको हो। फरार चालकको पहिचान र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

कोशी लोकमार्गको धनकुटा खण्ड हुँदै ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको सूचनापछि पछिल्लो समय प्रहरीले निगरानी र चेकजाँच बढाएको जनाएको छ। पछिल्लो बरामदगी पनि सोही निगरानीका क्रममा भएको प्रहरीको भनाइ छ।

एकैपटक एक हजार २४० किलोभन्दा बढी गाँजा बरामद हुनुले धनकुटा हुँदै भइरहेको लागूऔषध ओसारपसारको सञ्जालप्रति समेत प्रहरीले अनुसन्धान अघि बढाउने देखिएको छ।

राधिका शाक्यको ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक

काठमाडौं। एक वर्षअघि आगजनीमा ध्वस्त भएको बालकोटस्थित घरको भग्नावशेष अहिले एउटा पुस्तकको कथासँग जोडिएको छ।

राधिका शाक्यले त्यही घरको प्रांगणमा बुधबार आफ्नो पुस्तक ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ सार्वजनिक गरेकी छन्।

घर निर्माण गर्दाका संघर्षदेखि त्यससँग जोडिएका व्यक्तिगत स्मृति र विभिन्न किस्सालाई शाक्यले पुस्तकमा समेटेकी छन्।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट घर ध्वस्त भएपछि आफूले भोगेको अनुभूति र त्यस घटनाले पारेको प्रभाव पनि पुस्तकमा समावेश गरिएको छ।

पुस्तक सार्वजनिक गर्ने ठाउँ पनि सामान्य थिएन। आफूले वर्षौं बिताएको घर अहिले भग्नावशेषमा परिणत भएको अवस्थामा त्यही प्रांगणमा पुस्तक सार्वजनिक गर्दै शाक्यले घरसँग जोडिएका पुराना सम्झना र पछिल्लो घटनालाई एकै ठाउँमा उभ्याएकी हुन्।

पुस्तकमा घर केवल भौतिक संरचनाका रूपमा नभई परिवारका सम्झना, संघर्ष र सपनासँग जोडिएको एउटा भावनात्मक थलोका रूपमा प्रस्तुत गरिएको छ।

आगलागीपछि घर गुमे पनि त्यससँग जोडिएका स्मृति भने बाँकी रहेको सन्देश पुस्तकले दिन खोजेको छ।

जेनजी आन्दोलनका क्रममा बालकोटस्थित घरमा भएको आगजनी र त्यसपछि बनेको भग्नावशेष पुस्तकको कथाको महत्वपूर्ण पाटो बनेको छ।

त्यसैले पुस्तक सार्वजनिक गर्ने अवसर पनि शाक्यका लागि विगत सम्झने र आफूले भोगेको घटनालाई शब्दमा उतार्ने क्षण बनेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

‘२३ गते दमन गर्ने र २४ गते हिंसा गर्ने दुवैलाई सजाय हुनुपर्छ’

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

बीपी कोइराला स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले सरकारले घोषणा गरेको छानबिन कहाँ पुग्यो भन्दै प्रश्न गरेका हुन्।

थापाले भदौ २४ गतेको घटनामा आफ्नो घरसमेत जलेको उल्लेख गरे पनि व्यक्तिगत क्षतिभन्दा त्यतिबेला ज्यान गुमाएका परिवार र घाइते युवाको पीडा ठूलो रहेको बताए। उनका अनुसार उक्त घटनालाई आफ्नो व्यक्तिगत क्षतिको विषय बनाएर मात्र हेर्नु गलत हुनेछ।

उनले भदौ २३ गते भएको दमन र त्यसदिनको घटनामा घुसपैठ तथा हिंसा भड्काउनेहरूको समेत पहिचान हुनुपर्ने बताए। शान्तिपूर्ण रूपमा उठेको युवाको आक्रोशमाथि राज्यबाट भएको बल प्रयोगको निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।

थापाले भदौ २४ गते भएको ठूलो क्षति र हिंसालाई पनि छुट्टै कोणबाट छानबिन गर्नुपर्ने बताए। सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको आगजनी र तोडफोड कसले गर्‍यो, कसले योजना बनायो र कसरी यति ठूलो ध्वंस सम्भव भयो भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने उनले बताए।

उनले आक्रोश र आवेगमा भएका प्रतिक्रियालाई एउटै डालोमा राखेर हेर्न नहुने बताए। तर आवेगको फाइदा उठाउँदै योजनाबद्ध रूपमा अपराध गर्नेहरूलाई भने कानुनी उन्मुक्ति दिन नहुने उनको धारणा छ।

‘प्रश्न जवाफदेहिताको हो, प्रश्न दण्डहीनताको हो,’ थापाले भने, ‘अपराध गर्नेले त्यसको सजाय पाउनैपर्छ।’

सरकार गठनलगत्तै भदौ २४ को घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाइएको स्मरण गराउँदै थापाले अहिलेसम्म अनुसन्धानको अवस्था सार्वजनिक नगर्नु गम्भीर विषय भएको बताए। उनले सरकारलाई घटनाको छानबिनमा ढिलाइ गरेर जनतालाई अलमल्याउने काम नगर्न चेतावनी दिए।

थापाले भदौ २३ गतेको घटनाबारे भएको अध्ययनको पूर्ण प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन्। उनका अनुसार २३ गते दमन गर्नेहरू र २४ गते हिंसा तथा ध्वंसमा संलग्नहरू दुवै पक्षमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ।

‘भदौ २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ, २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ,’ थापाले भने, ‘त्यसपछि मात्रै राज्य जवाफदेही बन्ने बाटोमा अघि बढ्छ।’

उनले दोषीलाई कारबाही नगर्दा दण्डहीनताले प्रश्रय पाउने र भविष्यमा त्यस्तै घटना दोहोरिन सक्ने चेतावनीसमेत दिए। ‘काल पल्किसकेपछि त्यसले यो र त्यो भन्दैन,’ भन्दै थापाले आज अरू कसैले भोगेको पीडा भोलि जोसुकैले भोग्नुपर्ने अवस्था आउन सक्ने बताए।

उनका अनुसार राज्यले विगतका घटनाबाट पाठ सिक्दै दोषीलाई कानुनी दायरामा ल्याउन सके मात्रै समाजमा न्याय र सभ्यताको अनुभूति कायम गर्न सकिन्छ।

भदौ २३ गते देशमा गोली चलेको थियो अनि २४ गते विध्वंस भयो – राजीव खत्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको गोली प्रहारको घटनालाई छानबिनको दायरामा ल्याएर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै उनले सडकमा बगेको रगत र त्यसपछिका घटनामा जलेका संरचनाले भदौ २३ गते उठेका प्रश्नलाई दबाउन नसक्ने बताए ।

उनले भदौ २३ को गोलीकाण्डलाई त्यसको भोलिपल्ट भएको विध्वंससँग जोड्दै घटनालाई एउटै शृङ्खलाका रूपमा बुझ्नुपर्ने तर्क गरे ।

‘भदौ २३ गते देशमा गोली चलेको थियो अनि २४ गते विध्वंस भयो । २३ गते कारण हो भने २४ गते परिणाम हो,’ खत्रीले भने ।

खत्रीले आन्दोलनमा सडकमा उत्रिएका युवासँग राज्यसत्ता, प्रहरी वा प्रशासनको शक्ति नभएको बताए । उनीहरूसँग केवल आफ्ना प्रश्न र असन्तुष्टि रहेको उनको भनाइ थियो ।

राज्यसँग भने शक्ति र बन्दुक रहेको भन्दै उनले नागरिकका प्रश्नको जवाफ बल प्रयोगबाट दिइएको आरोप लगाए ।

‘सडकमा उभिएका ती युवाको हातमा सत्ता थिएन, प्रहरी थिएन, प्रशासन थिएन । उनीहरूसँग थियो त केवल प्रश्न । राज्यसँग भने बन्दुक थियो र प्रश्नको उत्तर गोलीबाट दियो,’ उनले भने ।

सांसद खत्रीले भदौ २४ गते भएका विध्वंसका घटनालाई मात्रै केन्द्रमा राखेर भदौ २३ को गोलीकाण्डलाई ओझेलमा पार्न खोजिएको भन्दै आपत्ति जनाए ।

उनका अनुसार एउटा घटनालाई अर्को घटनाले छोप्ने प्रयास गर्नु न्यायको बाटो होइन । गोली चलाउने निर्णय कसरी भयो, त्यसको जिम्मेवारी कसले लियो र त्यसबाट भएको क्षतिको जवाफदेहिता कसरी तय हुन्छ भन्ने प्रश्नको उत्तर खोजिनुपर्ने उनले बताए ।

सडकमा बगेको रगत र त्यसपछि जलेका संरचनालाई अलग–अलग घटनाका रूपमा हेर्दा आन्दोलनको वास्तविक पृष्ठभूमि र त्यसबाट उत्पन्न परिस्थितिको मूल्याङ्कन अधुरो हुने उनको भनाइ थियो ।

उनले भदौ २३ गतेको गोली प्रहारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे ।

रविले रोष्टमामा उभिएर के भने? [पूर्णपाठ]

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोसीलगायत पछिल्ला विपत्तिलाई सामान्य प्राकृतिक दुर्घटनाका रूपमा मात्रै नहेरी जलवायु न्यायको अन्तर्राष्ट्रिय मुद्दा बनाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको सबैभन्दा कठोर असर नेपाली नागरिकले भोगिरहेको बताए । भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा सीमित गर्न नहुने उनको भनाइ थियो ।

उनले जलवायु संकटका कारण ज्यान गुमाउने र विस्थापित हुने नेपालीको क्षतिको अन्तर्राष्ट्रिय रूपमा अभिलेख राखी न्यायको दाबी गर्नुपर्ने बताए ।

‘हामीले संकल्प गर्नुपर्छ, यो शहादतलाई न्यायको औजार बनाएर जलवायु न्यायको ढोका ढक्ढक्याउनेछौँ,’ लामिछानेले भने ।

लामिछानेले विपत्तिपछि राज्यको उपस्थिति नदेखिएको भन्दै हुने आलोचनाप्रति पनि धारणा राखे । उद्धार, उपचार, राहत र विस्थापितको व्यवस्थापनमा राज्य संयन्त्र परिचालन भएको भन्दै उनले राज्यको उपस्थिति कामबाट देखाउनुपर्ने बताए ।

‘राज्य यतिबेला भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,’ उनले भने, ‘सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका नागरिकको छहारी बन्न राज्य रातदिन खटिरहेको छ।’

उनले भत्किएका सडक र पुल बनाउनेसँगै विपत्तिले टुटाएको नागरिकको भरोसा जोड्नु पनि राज्यको जिम्मेवारी भएको बताए ।

यद्यपि सरकारका कमजोरीमाथि प्रश्न गर्न नहुने पक्षमा आफू नरहेको उनले स्पष्ट पारे । प्रतिपक्षको रचनात्मक आलोचना लोकतन्त्रको अधिकार मात्रै नभई कर्तव्यसमेत भएको उनको भनाइ थियो ।

तर, पीडित नागरिकको आक्रोशलाई राजनीतिक हतियार बनाउने काम भने स्वीकार्य नहुने उनले बताए ।

विपत्तिमा आफन्त गुमाएका वा बेपत्ता परिवारका सदस्य खोजिरहेका नागरिकले सरकारप्रति आक्रोश पोख्नु स्वाभाविक भएको लामिछानेले बताए ।

उनले पीडितको आक्रोशलाई सरकार वा दलविरुद्धको व्यक्तिगत आक्रमणका रूपमा नलिई राज्यसँग गरिएको अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताए ।

‘जब मानिस गहिरो चोटमा पर्छ, उसले भगवानलाई समेत सराप्छ भने सरकार के हो ? रास्वपा के हो ?’ भन्दै उनले पीडितका आवाज सुन्ने र उनीहरूको आँसु पुछ्ने क्षमता नै राज्यसत्ताको वास्तविक परीक्षा भएको बताए ।

साथै उनले विपद्मा परेका नागरिकलाई सामाजिक सञ्जालमा होच्याउने र साइबर बुलिङ गर्ने प्रवृत्तिको विरोध गरे । रास्वपाका कुनै सदस्य वा पदाधिकारी त्यस्तो कार्यमा संलग्न भएको पाइए साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने चेतावनी उनले यसअघि नै दिएका विषयलाई पनि सम्बोधनमा दोहोर्‍याए ।

लामिछानेले प्राकृतिक विपत्तिलाई सत्ता र प्रतिपक्षको चस्माबाट हेर्न नहुने बताए । विपद्ले दल हेरेर प्रहार नगर्ने भएकाले उद्धार र राहतलाई दलगत सीमाभन्दा माथि उठाएर राष्ट्रिय दायित्व बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले विपत्तिका बेला राजनीतिक दलहरूले देखाएको सहकार्यलाई सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गरे । संकटको समयमा देखिएको राष्ट्रिय एकतालाई भविष्यका लागि पनि जोगाउनुपर्ने उनले बताए ।

लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालले पहल गर्नुपर्ने प्रस्ताव अघि सारे ।

उनले संघीय संसद्का दुवै सदनबाट ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ सम्बन्धी विशेष संसदीय प्रस्ताव पारित गरी विश्वका संसद् र अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनुपर्ने बताए ।

जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय वित्तमा सहज पहुँच, सीमापार पूर्वसूचना प्रणाली, हिमाली क्षेत्रमा वैज्ञानिक अनुसन्धान तथा तथ्यांक आदानप्रदान र जलवायुजन्य क्षति तथा हानिका लागि अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्नुपर्ने उनको प्रस्ताव छ ।

लामिछानेले भोटेकोसीलगायत विपत्तिबाट भएको मानवीय, आर्थिक र गैरआर्थिक क्षतिको व्यवस्थित राष्ट्रिय अभिलेख तयार गर्नुपर्ने बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति वा सहयोग माग्नुअघि नेपालसँग आफ्नै क्षतिको प्रमाणित तथ्यांक हुन आवश्यक छ । त्यसका लागि जलवायु परिवर्तनले विपत्तिमा पारेको भूमिकाबारे स्वतन्त्र वैज्ञानिक अध्ययन गराई त्यसकै आधारमा अन्तर्राष्ट्रिय क्षति तथा हानिको दाबी तयार गर्नुपर्ने उनले बताए ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि, कोप सम्मेलन र उच्च कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्रहरूसमक्ष नेपालका तर्फबाट औपचारिक जलवायु न्यायको अपिल गर्नुपर्ने उनको प्रस्ताव छ ।

‘पुनर्निर्माणका नाममा हामी थप ऋणको बोझ थाम्न सक्ने अवस्थामा छैनौँ,’ लामिछानेले भने, ‘जलवायु परिवर्तनबाट भएको क्षतिको पुनर्निर्माणको भार फेरि ऋणका रूपमा नेपाली जनतामाथि थोपर्नु न्यायसंगत हुँदैन।’

लामिछानेले आगामी संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका लागि जलवायु संकटको वास्तविकता विश्वसामु प्रस्तुत गर्ने अवसरका रूपमा प्रयोग गर्न सरकारलाई आग्रह गरे ।

उनले सरकारको कूटनीतिक पहलसँगै संसद्ले पनि विश्वका अन्य संसद् र जनप्रतिनिधिसँग संवाद अघि बढाउनुपर्ने बताए । अन्तरसंसदीय माध्यमबाट हिमालयको संकटबारे विश्वव्यापी बहस सिर्जना गर्नुपर्ने उनको धारणा छ ।

‘अब हामीलाई याचना गर्ने होइन, नयाँ, प्रभावकारी र स्वाभिमानी कूटनीति चाहिएको छ,’ उनले भने, ‘हाम्रा हिमालहरूको अवस्था विश्व समुदायलाई तथ्यसहित बुझाउने कूटनीति।’

लामिछानेले पछिल्लो विपत्तिले नेपाललाई बलिया राज्य संस्थाको आवश्यकता झन् स्पष्ट पारेको बताए ।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकायलगायत विपद् व्यवस्थापनसँग जोडिएका संस्थाको क्षमता बढाउनुपर्ने बताए । अहिलेको विपद्बाट प्राप्त अनुभव र सिकाइलाई दस्तावेजीकरण गरेर भविष्यका लागि सुरक्षित राख्नुपर्ने उनको भनाइ छ ।

‘एउटा व्यक्तिले जतिसुकै चाहे पनि उसले गर्न सक्ने सुधारको आफ्नै सीमा हुन्छ,’ उनले भने, ‘संस्थाहरूसँग नै यस्ता महाविपद् र जोखिम सामना गर्ने सीप, ज्ञान, स्रोत र अनुभव सुरक्षित हुनुपर्छ।’

उनले विपत्तिबाट आएको पीडालाई भविष्यको तयारी र राष्ट्रिय एकतामा बदल्नुपर्नेमा जोड दिँदै सम्बोधनको अन्त्य ‘सर्वे भवन्तु सुखिनः’को कामनासहित गरे ।

यस्तो छ पूर्णपाठ :

सम्माननीय सभामुख महोदय,

यो सम्मानित सदनमा म आज ठूलो हिम्मत जुटाएर र अत्यन्तै भारी मन लिएर उभिएको छु । कल्पनाभन्दा पर, जम्माजम्मी एक निमेषमै सर्वस्व गुमाएकाहरूलाई सान्त्वना र समवेदना दिन संसारको कुनै पनि भाषासँग शब्द छैनन् । उद्धार अझै जारी छ र हामीले अझै पनि सुखद् समाचारको आशा मारेका छैनौँ।

भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौं, हुनु हुँदैन । ती त जलवायु अन्यायका पिडित हुन् । आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ । किनकि यो विपत्तिका कारक उनीहरू थिएनन् । पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन् । हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन् । अहिलेको जलवायु संकट उनीहरूको सिर्जना थिएन । तर जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धर्तीपुत्रहरूले र त्यो भूगोलसँग कुनै चिनजान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए।

जलवायु संकटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुनसक्ने जीवनहरूमाथि हामीले केवल शोक मनाएर अब पुग्दैन । हजारौं मानिसको यो अन्यायपूर्ण बलिदानलाई अब सामान्य श्रद्धाञ्जलीमा सीमित गरिरहन सकिन्न । हामीले संकल्प गर्ने पर्छ, यो शहादतलाई न्यायको औजार बनाएर हामीले जलवायु न्यायको ढोका ढक्ढक्याउनेछौँ । त्यही नै हाम्रो वास्तविक श्रद्धाञ्जली हुनेछ। 

सभामुख महोदय,

यो विपत्तिमा नेपाली समाजले फेरि एकपटक प्रमाणित गरेको छ, हामी साना योद्धा होइनौँ । यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले अरूका परिवारलाई आश्रय दियो। त्यो सामान्य चेतना होइन । त्यही साहस, विवेक र मानवीयताको उज्यालोमा यो देशले फेरि आफ्नो भविष्य लेख्नेछ।  यस विपत्तिमा स्थानीय तहमा खटिनुभएका सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो ज्यान गुमाउनुभयो । कतिपयले आफ्नै सहकर्मी गुमाउनुभयो, कतिपयले आफन्त गुमाउनुभयो । आफ्नै आँखाअगाडि मृत्यु र विनाश देख्नुभएका उहाँहरूले नै पीडितलाई पहिलो गुहार दिनुभयो, आँसु पुछ्दै तुरुन्तै उद्धारमा फर्किनुभयो, राहतमा खटिनुभयो, समन्वय गर्न दौडिनुभयो र पीडितहरूको खोजीमा निस्किनुभयो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वीर जवानहरूले यसपटक कर्तव्यनिष्ठा र साहसको नयाँ कीर्तिमान रच्नुभयो । कहिले उर्लंदो भेलमा हेलिएर त कहिले अँध्यारा र साँघुरा सुरुङहरूमा घस्रिएर उहाँहरू उद्धारमा खटिनुभयो । त्यसमध्ये कतिपय आफैं प्रभावित हुनुहुन्थ्यो, कतिपयका आफ्नै घरपरिवार विपत्तिमा थिए । तर उहाँहरूले आफ्ना आँसु लुकाउनुभयो र अरूका आँसु पुछन दौडिनुभयो । आफ्नै पीडालाई मनभित्र थाती राखेर अरूको जीवन बचाउन दौडिनुभयो । आफ्नो जीवनको पर्वाह नगरी अरूको जीवन बचाउन दौडिएका हाम्रा सुरक्षाकर्मीहरूको करुणा, साहस, समर्पण र प्रतिबद्धताप्रति यो देश कृतज्ञ रहनेछ।  यो पीडामा हामीलाई सबै मित्र राष्ट्रहरूले नेपाल एक्लो छैन भन्ने ढाडस दिनुभयो । आर्थिक मात्र होइन, विशेषज्ञ, चिकित्सक, प्राविधिक, उद्धारकर्मी, उपकरण र राहतको पनि सहयोग गर्नुभयो । यो साथ र सहयोगका लागि सबै मित्र राष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार तथा सहयोगी संस्था र व्यक्तिहरूप्रति नेपाल गहिरो कृतज्ञता व्यक्त गर्दछ । जलवायु न्यायको अभियानमा हामीलाई तपाईंहरूको अझ बढी सहयोग जरुरी छ।  बाढीमा आफ्नै सहकर्मीहरु गुमाउनुपरेको पिडाले दुखेको मुटु थिचेर राष्ट्रसेवक कर्मचारीहरु बिपत्तिसँग जुधिरहनुभएको छ । हामीले बिर्सिएका छैनौं, यही विपत्तिकाबीच हाम्रा राष्ट्रसेवक कर्मचारीको ऐतिहासिक चाड थियो, ‘नीजामती सेवा दिवस्’ । गोपनीयताको बन्धनमा बाँधीएका ती राष्ट्रेवकले आफ्ना दुःख गुनासा ब्यक्त गर्ने दिन समेत बिर्सिएर त्यसको खर्च समेत विपत्तीमा परेकाहरुप्रति समर्पित गरिदिनुभयो । तपाइँहरुप्रति धन्यवाद र कृतज्ञताभन्दा उच्चस्तरको सम्मान म यही रोष्ट्रमबाट ब्यक्त गर्न चाहान्छऺ।  प्रतिकूल मौसम, कठिन भूगोल र जोखिमपूर्ण परिस्थितिका बीच हवाई उद्धारमा खटिनुभएका पाइलट, चालकदलका सदस्य तथा सम्पूर्ण हवाईकर्मीहरू अनि घाइतेहरूको उपचारमा दिनरात खट्नुभएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरूप्रति हामी अत्यन्त आभारी छौं।  यो संकटमा आफ्नो व्यापारिक स्वार्थभन्दा माथि उठेको निजी क्षेत्र, ज्यान हत्केलामा राखेर सरकारलाई सचेत र जनतालाई सुसूचित गरिरहेको सञ्चार क्षेत्र, शरीर विदेशमा भए पनि मन नेपालमै भएका र त्यहीअनुसार खटेका गैरआवासीय नेपाली, सामाजिक संघसंस्था र नागरिक संगठनहरू र आम नागरिक सबैले यो संकटमा देशलाई आफ्नो सफल परीक्षा दिनुभयो। 

सभामुख महोदय,

यो विपत्तिमा सरकारको भूमिकालाई पनि सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिका सुरुकै घन्टामा सरकारले आफ्नो सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो । हजारौं सुरक्षाकर्मी तत्काल प्रभावित क्षेत्रमा खटिए । तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो । घाइतेहरूको उद्धार र उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परतामा म प्रश्न गर्ने ठाउँ देख्दिनँ । आफ्ना घर, सम्पत्ति र जीवनका आधारभूत साधनसमेत गुमाएका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर राज्यले उनीहरूको तत्कालीन आवश्यकता र सुरक्षाको जिम्मेवारी लिएको छ।  कतिपय ठाउँमा बाटो छैन, सञ्चार छैन, मौसम अनुकूल छैन । तर यी सबै कठिनाइका बीच पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगेका छन् । त्यसैगरी, स्थानीय प्रशासन, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, विद्युत् तथा खानेपानीका प्राविधिक, स्वयंसेवक र स्थानीय नागरिक स्वयंले पनि यस विपत्तिको सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । प्रभावित क्षेत्रको अवस्था र क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै बढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी उद्धार, राहत र पुनःस्थापनामा प्राथमिकता दिइएको छ । त्यससँगै क्षतिग्रस्त सडक, पुल, विद्युत्, खानेपानीलगायत अत्यावश्यक पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने काम पनि अघि बढाइएको हामीले देखेकै छौं।  यो कठिन समयमा उद्धार, राहत र पुनःस्थापनाका लागि भएका प्रयासलाई धन्यवाद दिन कसैले कन्जुस्याइँ गर्नु हुँदैन।  यद्यपि राज्यले केही गरेन, राज्य कहाँ छ ? भनेर म केहीले भनेको सुन्छु । राज्यले गरेन भन्ने गुनासोलाई खण्डन गर्ने सबैभन्दा शक्तिशाली तरिका भनेको ‘राज्य कहाँ छ ?’ भनेर दृश्यसहित प्रस्ट्याउनु हो । म यहीँबाट भन्न चाहन्छु, राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ।

राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छहारी बन्न रातदिन खटिरहेको छ।

राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलहरू मात्र होइन, विपद्ले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयासमा छ।

राज्य यतिबेला भविष्यमा फेरि यस्तो विपद्‌को नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्वतयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ।

र, राज्य यतिबेला आफ्ना सम्पूर्ण सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर, नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ।  हो, हाम्रा स्रोत, साधन र प्रविधिमा सीमितता होलान् । तर, हामीसँग भएको क्षमता, सीप र कौशलको उच्चतम प्रयोग भएको छ । हाम्रो सुरक्षा फौजको साहस र समर्पणमा कुनै सीमितता छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरू आज जसरी दत्तचित्त भएर खटिरहेका छन्, त्यो केवल जागिरे ‘ड्युटी’ होइन, त्यो त मातृभूमि र नागरिकप्रतिको सर्वोच्च निष्ठा हो।  जहाँ मृत्यु ढुकेर बसेको हुन्छ, जहाँ अर्को पहिरो खस्ने संशय हुन्छ, त्यस्तो मृत्युको कालो सुरुङभित्र आफ्ना नागरिकलाई बचाउन उहाँहरू जसरी आफ्नो ज्यान हत्केलामा राखेर होमिनुभएको छ, त्यो अदम्य साहस देखेर म मात्र होइन, आज सिंगो देश नतमस्तक छ । उहाँहरूको त्यो आँट, ऊर्जा र नागरिकप्रतिको निःस्वार्थ दायित्वबोधलाई म यस गरिमामय संसदको रोस्ट्रमबाट उच्च सम्मानसहित स्यालुट गर्न चाहन्छु।  यस्तो कहालीलाग्दो विपद् विध्वंसपछि पनि हामीकहाँ एउटा रोग देखिन्छ, विपद्लाई अवसर बनाएर एकापसमा आरोप-प्रत्यारोपको खेल खेल्ने र कसलाई कसरी तल खसाल्ने भनेर रमाउने । तर सम्माननीय सभामुख महोदय, राजनीतिको रोटी सेक्ने समय यो हुँदै होइन । आज यो अकल्पनीय प्रकोपको मारमा हजारौं परिवार परेका छन् । उनीहरूले केवल घरबार गुमाएका छैनन्; जायजेथा, बस्ती, छिमेक, खेतबारी, आफ्नो जीवनको सम्पूर्ण कमाइ र सर्वस्व गुमाएका छन् । त्योभन्दा माथि, आफ्ना प्राणभन्दा प्यारो परिवारका सदस्य गुमाएका छन् । ती नागरिकको छातीमा परेको चोट र भत्किएको मनको गहिराइ हामी यहाँ सुरक्षित कुर्सीमा बसेर सायदै नाप्न सक्छौं।  बिहान विद्यालय गएका छोराछोरी अब फर्किन्छन् कि भनेर भत्किएको संघारमा बाटो हेरिरहेका आमाबाबु, मृत्युको त्यो अँध्यारो सुरुङभित्र कतै प्रियजनको सास अझै बाँकी छ कि भनेर छटपटाउँदै बगरमा भ‌ट्किरहेका आफन्त, लेदो र हिलोले पुरिएको घरभित्रबाट अझै आवाज आउँछ कि भनेर चिच्याइरहेका ती पुकारहरू अनि बेपत्ता आफन्त पर्खेर प्रत्येक सेकेन्ड सास रोकिएला जसरी केही सुखद खबर सुन्न आतुर आफन्तजनको अवस्था र मनस्थिति परिकल्पना भन्दा बाहिर छ । सोच्दा मात्र पनि मुटु दुख्छ, आङ सिरिङ्ग हुन्छ । भोग्नेलाई कस्तो हुन्छ होला?  यस्तो अकल्पनीय विध्वंसमा सर्वस्व गुमाएका र मृत्युसँग पौठेजोरी खेलिरहेका नागरिकबाट राज्यमाथि आक्रोश पोखिनु एकदमै स्वाभाविक हो । आफन्तको सास खोजिरहेका ती आत्तिएका आँखालाई यो प्राकृतिक विध्वंसको आयतन कति विशाल छ भनेर नाप्ने फुर्सद हुँदैन । सरकारले देशमा उपलब्ध सम्पूर्ण साधनस्रोत परिचालन गरेको छ कि छैन ? हाम्रा सेना र प्रहरी ज्यान हत्केलामा राखेर त्यो मृत्यु-सुरुङको कति गहिराइससम्म पुगेका छन् ? यी तथ्यहरूले उनीहरूलाई सान्त्वना दिँदैनन् । उनीहरूलाई त केवल एउटै कुरा चाहिएको हुन्छ, मेरो प्रियजनको सास बाँकी छँदै राज्य त्यहाँ पुग्नेओस्, उद्धार गरिदियोस् ! यो आश निराशामा बद्लिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नैसर्गिक अधिकार हो।  त्यसैले, म सरकारका सम्पूर्ण संयन्त्र र नेतृत्व पंक्ति र पार्टी सदस्यहरूलाई यही रोस्ट्रमबाट स्मरण गराउन चाहन्छु, जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो?

नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा र राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नुपर्छ । त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुछने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो । अनि उनीहरूको अवस्था र मनस्थितिलाई समानुभूतिका साथ महसुस गर्नु हाम्रो दायित्व हो। 

सम्माननीय सभामुख महोदय,

यही रोस्ट्रमबाट म सरकार र दलका सम्पूर्ण शुभेच्छुकहरूलाई एउटा गम्भीर अपिल गर्न चाहन्छु, यो महाविपद्‌को समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक-चौतारामा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यैबाट बन्द गरौं।

सरकारलाई मेरो स्पष्ट आग्रह छ, पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने, त्यसको विरुद्ध ‘हामी निर्मम हुन्छौं’ भनेर विज्ञप्ति निकाल्ने होइन, राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाउने हो । देखाउनुहोला। 

सम्माननीय सभामुख महोदय,

राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध-समर्थक चाहिएकै छैन । हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछने सदस्यहरू चाहिएको छ।

नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन । यदि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको सदस्य, पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइयो भने, त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिनेछ । विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन।  भयानक विपद् र विध्वंसको सामना गरिरहँदा, को सत्तापक्ष र को प्रतिपक्ष भनेर तराजुमा जोखिँदैन । प्रकृतिको प्रहारले कुन पार्टीको समर्थक हो भनेर छानेर हिर्काउँदैन ।

त्यसैले, उद्धार र राहतमा पनि हाम्रो उपस्थितिलाई दलगत सीमाभन्दा माथि उठाएर पूर्णतः ‘राष्ट्रिय दायित्व’ मा बदल्नैपर्छ भनेर यो महाविपद्‌को घडीमा सम्पूर्ण राजनीतिक दल र नेतृत्वले जुन अभूतपूर्व परिपक्वता देखाउनुभयो, त्यो आफैंमा एउटा शक्तिशाली सन्देश हो । सर्वदलीय संवाद र अभ्यासहरूमार्फत हामीले विपद्‌का बेला नागरिक हितका लागि एउटै मोर्चामा उभिन्छौँ भन्ने नेपालीको विशिष्ट पहिचानलाई पुनः स्थापित गरेका ०छौं । संकटको बेला देखिएको यो राष्ट्रिय एकता हाम्रो अमूल्य पुँजी हो, यसलाई हामीले कुनै पनि हालतमा टुट्न दिनु हुँदैन । विपत्तिका समयमा हामी सरकारको साथमा छौं भनेर विपक्षी दलका नेताहरुले गर्नुभएको उद्घोष केवल सामान्य अभिब्यक्ति होइन, एउटा ठूलो प्रतिवद्दता र परिपक्क राजनीतिक संस्कार हो । म खुला हृदयले उहाँहरुको प्रशंसा गर्दछु।  रसुवामा भएको अकल्पनीय प्राकृतिक प्रलयको आज १५औं दिन । यो विपद्‌को केन्द्र संघीय राजधानीबाट धेरै टाढा छैन । विगतमा यस्तो विपद् र विध्वंस हुँदा नेपाली दाजुभाइ तथा दिदीबहिनीको घरदैलोमा पुगिहाल्ने र समानुभूति प्रकट गर्ने रवि लामिछाने आज फिल्डमा छैन । मनमा निरन्तर हुटहुटी चलिरहन्छ । मन अस्थिर हुन्छ । एउटा मनले भन्छ, “तँ जा ! त्यो अकल्पनीय विपद्मा रोइरहेका नागरिकको आँगनमा पुग्, सेल्टरमा बस्, उद्धार र राहतमा काँध थाप र नजिकबाट नियाल् ।” तर, आज म जुन जिम्मेवारीमा छु, त्यसको बोध गर्दै म रोकिएको छु । मेरो दायित्व भावनाको भेलमा बगेर एक्लै दौडिने होइन, समग्र राज्य संयन्त्र, दलीय संरचना र सिंगो समाजलाई एकढिक्का बनाएर विपद्‌को मैदानमा प्रभावकारी रूपले परिचालन गर्ने हो । सरकारको कामकारबाहीको लय बिग्रेला कि भनेर म आफैं यसपटक प्रभावित क्षेत्रमा गइनँ, आज म ब्यक्ति होइन संस्था बलियो हुनुपर्छ भन्ने तथ्यको वकालत गर्ने ठाउँमा आइपुगेको छु । यद्यपी एकपटक विपद्मा परेका नागरिकको पिडा सुन्न म केहीदिनमा सामान्य ढंगले पुग्ने सोचमा छु । बृद्ध बाआमाहरु र आपतमा परेका दिदिबहिनी दाजुभाइहरुले यो आइदिए हुन्थेयो भन्ने चाहन राख्नुभएको जानकारी पाएको हुँदा एकपटक विपद्ग्रस्त क्षेत्रमा म पुगेछु भने पनि मेरो उपस्थितिले उद्दारकार्यमा बाधा पुग्ने छैन।  म सरकारले गरेका प्रयासमाथि प्रश्नै गर्न हुँदैन, कमजोरी औंल्याउन हुँदैन भन्दिनँ । प्रतिपक्षको रचनात्मक आलोचना लोकतन्त्रमा अधिकार मात्र होइन, कर्तव्य पनि हो । सरकारमाथि प्रश्न गरौं, जवाफदेहिता मागौँ, कमजोरी सच्याउन दबाब दिऔं । तर राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउने छुट हामी कसैलाई छैन।

यो विपत्ति कसैका लागि राजनीतिक लाभहानिको विषय बन्नु हुँदैन । यो हामी एकअर्कासँग लड्ने समय होइन । हाम्रो राजनीतिक विचार फरक हुन सक्छ । पार्टी फरक हुन सक्छ । सरकारप्रतिको हाम्रो धारणा फरक हुन सक्छ । तर देश र जनताप्रतिको हाम्रो दायित्व फरक हुन सक्दैन। 

सभामुख महोदय,

अब हामीले लड्नुपर्ने जलवायु न्यायको लडाइँ सजिलो छैन । यो लडाइँ नलडी र नजिती हामी आफैंलाई जोगाउन सक्दैनौँ । त्यसैले आजको आवश्यकता आरोप-प्रत्यारोप होइन, यो राष्ट्रिय पीडालाई राष्ट्रिय शक्तिमा बदल्नु हो । यो समय एकअर्काविरुद्ध होइन, संसारसँग एउटै स्वरमा एउटै प्रश्न गर्ने समय हो। 

सभामुख महोदय,

हामीसँग एउटै विकल्प छ, आँसु पुछेर फेरि उभिनु । गुमाएकाहरूको पीडालाई हाम्रो शक्ति र उनीहरूको बलिदानलाई हाम्रो संकल्प बनाउनुछ । हामीले यसपालिको विपत्तिको घाउमा मात्र मलम लगाएर पुग्दैन । राहत र पुनर्निर्माणमा मात्र सीमित भएर पनि पुग्दैन । विपत्तिको जरासम्म पुग्नुपर्छ । किनकि यो केवल एउटा प्राकृतिक विपत्ति होइन, जलवायु परिवर्तनले गहिरिँदै गएको संकटको कठोर परिणाम हो । त्यसैले अब हामीले जलवायु न्यायको लडाइँ लड्नु छ।

उसको लागि सरकारले विभिन्न देशका सरकारहरूसँग समन्वय गरिरहेको छ र थप गर्नेछ । तर सम्माननीय सभामुख महोदय, हामीले बुझेकै छौं, सरकारको कूटनीतिको आफ्नै सीमा र दायरा हुन्छ । राष्ट्रहरूबीचको सम्बन्ध र अन्तर्राष्ट्रिय निर्णयहरूलाई सरकारहरूले मात्र दिशा दिँदैनन् । विश्वका जनप्रतिनिधिहरू, संसदहरू र जनमतले पनि अन्तर्राष्ट्रिय नीति र निर्णय निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्।  त्यसैले अब यो सम्मानित संसदले पनि आफ्नो विशिष्ट भूमिका निर्वाह गर्नुपर्छ । सरकारले विश्वका सरकारहरूसँग संवाद गरिरहँदा नेपालको संसदले विश्वभरिका संसद् र जनप्रतिनिधिहरूसँग संवाद गर्नुपर्छ । सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय सुरु गर्नुपर्छ।

यस सम्मानित संसद्समक्ष मेरो प्रस्ताव छ : हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं, हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि Green Climate Fund (GCF) मा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न, South-South Cooperation मार्फत हिमालयसम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्यांक आदानप्रदानलाई अघि बढाउन, सीमा-पार प्रारम्भिक चेतावनी तथा विपद् पूर्वसूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन, जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायुजन्य हानि र क्षतिको सम्बोधनका लागि Fund for Responding to Loss and Damage (FRLD) बाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं । यी विषयहरू समेटेर संघीय संसद्‌का दुवै सदनबाट “हिमाली जलवायु तथा विपद् आपत्काल (Himalayan Climate and Disaster Emergency)” सम्बन्धी विशेष संसदीय प्रस्ताव पारित गरी अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरौं।  जलवायु परिवर्तन हाम्रा नागरिकको लागि जीवन र मरणको विषय बनेको छ । पछिल्ला विनाशकारी हिमपहिरोहरूले वनमा रहेको कार्बन भण्डारलाई जस्तै पर्वतीय हिउँलाई पनि महत्वपूर्ण प्राकृतिक सम्पत्ति asa मान्यता दिनुपर्ने टड्कारो आवश्यकतालाई उजागर गरेका छन् । यी हिमनदीहरू अमूल्य ताजा पानीका भण्डार हुन्, जसले पारिस्थितिक प्रणाली र तल्लो तटीय क्षेत्रका लाखौँ मानिसहरूको जीवनयापनलाई धान्छन् । यद्यपि, विश्वव्यापी आर्थिक र जलवायु लेखाप्रणालीमा यिनीहरू अझै पनि उपेक्षित छन्।

कोशी, गण्डकी तथा कर्णाली जलाधार क्षेत्रमा पहिचान गरिएका ४७ वटा सम्भावित खतरनाक हिमतालहरूले यस सङ्कटलाई थप स्पष्ट पारेका छन्, जसले समग्र दक्षिण एसियाका तल्लो र माथिल्लो तटीय समुदायहरूलाई गम्भीर खतरामा पारेको छ । यी साझा सीमापार जोखिमहरूको अनुगमन गर्न हामीले क्षेत्रीय साझेदारहरूसँग सक्रिय रूपमा सहकार्य गर्नैपर्छ।

यसका साथै, अन्तर्राष्ट्रिय समुदायले लोप हुँदै गइरहेको यस प्राकृतिक पुँजीको व्यवस्थित मापन, अनुगमन र वित्तीय मूल्याङ्कन गर्न ‘पर्वतीय हिम-भण्डारको लगत’ औपचारिक रूपमा स्थापना गर्नुपर्छ।  विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान ०.१% जति नगण्य भए तापनि, विश्वव्यापी तापक्रम वृद्धिका गम्भीर परिणामहरू हाम्रा नागरिकले भोगिरहेका छन् । हाम्रा अमूल्य ताजा पानीका भण्डारहरूमा भइरहेको अपूरणीय क्षतिको सम्बोधन गर्न र अग्रपङ्क्तिमा रहेका हिमाली राष्ट्रहरूको जलवायु उत्थानशीलता अभिवृद्धि गर्न, यस सरकारले बहुपक्षीय मञ्चहरूमा जलवायु न्यायको जोडदार माग गर्दै अन्तर्राष्ट्रिय जलवायु वित्तको न्यायोचित परिचालन र त्यसमा हाम्रो सहज पहुँच सुनिश्चित गर्नुपर्छ।

त्यसलाई अन्तर-संसदीय संघलगायतका प्लेटफर्ममार्फत विश्वभरिका राष्ट्रिय संसदहरूमा पठाउने ऐतिहासिक पहल गरौं । हिमालयमाथि मडारिरहेको संकटबारे संसारको विवेकलाई झकझक्याउने ऐतिहासिक अग्रसरता हामीले नै लिनुपर्छ । हामी प्रयास गरौं, विश्वभरिका संसदहरूमा हिमालयको भविष्यबारे बहस होस् । विश्वका जनप्रतिनिधिहरूले आफ्ना सरकारलाई प्रश्न गरून्, हिमालयको संरक्षण र हिमाली समुदायको सुरक्षाका लागि हाम्रो देशले के गरिरहेको छ?  जलवायु न्यायको विषयमा विश्वका कतिपय सरकारहरू अझै पनि अनुदार छन् । कतिपय शक्तिशाली राष्ट्रहरू आफ्नो ऐतिहासिक र नैतिक जिम्मेवारी स्वीकार गर्न तयार देखिँदैनन् । त्यस्ता सरकारहरूमाथि दबाब सिर्जना गर्न, जनमत निर्माण गर्न र जलवायु न्यायको पक्षमा विश्वव्यापी राजनीतिक वातावरण तयार गर्न हामी विश्वका विधायिकाहरू र जनप्रतिनिधिहरूको सहयोग लिन सक्छौं।

हामीलाई यस्तो विश्वव्यापी संसदीय बहसको प्रारम्भ चाहिएको छ, जसले हिमालयका लागि विशेष अन्तर्राष्ट्रिय सहयोग, वैज्ञानिक अनुसन्धान, सीमापार प्रारम्भिक चेतावनी प्रणाली, जलवायु अनुकूलन तथा विपद् पुनर्निर्माणका लागि नयाँ अन्तर्राष्ट्रिय प्रतिबद्धताको ढोका खोल्न सकोस् । हामी संसारलाई बुझाउन सकौं, आज हिमालयमा देखिएका असामान्य बाढी, हिमताल विस्फोट, तीव्र गतिमा पग्लिरहेका हिमनदी, अतिवृष्टि र पहिरोका घटनाहरूलाई यदि अझै पनि कसैले छुट्टाछुट्टै स्थानीय विपत्तिका रूपमा मात्र हेरिरहेको छ भने उसले हिमालय क्षेत्रमा विकसित हुँदै गएको जलवायु तथा विपद्‌को असाधारण अवस्थाको गम्भीरता बुझ्न सकेको छैन । र त्यसले भविष्यमा मानव सभ्यता, अर्थतन्त्र र मानिसको जीवनमाथि पुऱ्याउन सक्ने क्षतिको अनुमान गर्न सकेको छैन । हामीले विश्वमञ्चमा नेपाललाई केवल विपत्तिबाट पीडित राष्ट्र होइन, बरु हिमालय र मानव सभ्यताको भविष्यबारे संसारलाई समयमै चेतावनी दिइरहेको राष्ट्रका रूपमा र हिमालयको आवाजका रूपमा स्थापित गर्नु छ।  सभामुख महोदय,
मृत्युवरण गरेका, हराएका, गम्भीर घाइते भएका, आत्मीयजन र आर्थिक रूपमा सर्वस्व गुमाएका हजारौं देशवासीले चुकाएको अत्यन्त कठोर मूल्यमा नेपालले अहिले असाधारण अन्तर्राष्ट्रिय Exposure पाएको छ । सारा विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको छ । अहिले पनि हामीले जलवायु न्यायको झन्डा उठाउन सकेनौँ भने कहिल्यै सक्दैनौँ।

त्यसका लागि सम्मानित संसद्समक्ष मेरा केही प्रस्ताव छन् : अहिलेको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा गरौं । यस विपत्तिको कारण, क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं । त्यससँगै मृत्यु, बेपत्ता, विस्थापन तथा सम्पूर्ण आर्थिक र गैर-आर्थिक क्षतिको व्यवस्थित राष्ट्रिय ‘क्षति तथा हानि अभिलेख’ तयार गरौं । विश्वसामु न्याय माग्नुअघि हामीसँग आफ्नै क्षतिको प्रमाणित हिसाब हुनुपर्छ।  हाम्रा बारेमा हाम्रा आफ्नै दाबीलाई मात्र संसारले त्यति गम्भीरतापूर्वक नसुन्न सक्छ । त्यसैले यस विपत्तिमा जलवायु परिवर्तनको भूमिकाबारे अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वतन्त्र वैज्ञानिक अध्ययन गराऔं । त्यसबाट प्राप्त तथ्य र प्रमाणका आधारमा नेपालको औपचारिक अन्तर्राष्ट्रिय क्षति तथा हानिको दाबीपत्र तयार गरौं।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (UNFCCC), COP (कोप) तथा ऐतिहासिक उच्च कार्वन उत्सर्जन गर्ने विकसित राष्ट्रहरूसामु पनि यस संसद्कै तर्फबाट औपचारिक जलवायु न्यायको अपिल प्रस्तुत गरौं । पुनर्निर्माणका नाममा हामी थप ऋणको बोझ थाम्न सक्ने अवस्थामा छैनौँ । जलवायु परिवर्तनबाट भएको क्षतिको पुनर्निर्माणको भार फेरि ऋणका रूपमा नेपाली जनतामाथि थोपर्नु न्यायसंगत हुँदैन । त्यसैले हाम्रो जोड अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त का लागि हुनुपर्छ।

साथै, अर्को विपत्तिको प्रतीक्षा नगरी हिमताल, हिमनदी, वर्षा र नदीहरूको वास्तविक समय निगरानी तथा सीमापार पूर्वसूचना र तथ्यांक आदानप्रदान प्रणालीलाई अब हाम्रो राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ । र, भविष्यमा हुन सक्ने जलवायुजन्य विस्थापनका लागि दीर्घकालीन कानुनी र वित्तीय आधार पनि अहिल्यै तयार गर्नुपर्छ। 

सभामुख महोदय,

अबको केही दिनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदैछ । यो महासभा हाम्रा लागि केवल एउटा नियमित कूटनीतिक उपस्थिति मात्र बन्नु हुँदैन । यो त विश्व समुदायलाई हाम्रा हिमालहरूमा अहिले क्या भइरहेको छ भनेर सत्यको ऐना देखाउने ऐतिहासिक र निर्णायक मञ्च बन्नुपर्छ।

संसारका कैयौँ राष्ट्रहरू र त्यहाँको राजनीतिक नेतृत्वलाई हाम्रा हिमालमा पग्लिरहेको हिउँले कसरी समग्र मानव सभ्यतालाई नै प्रलयतर्फ धकेलिरहेको छ भन्ने यथार्थको गहिराइ अझै थाहा नहुन सक्छ । उनीहरूले हिमालको आँसुलाई नजिकबाट नियाल्ने मौका नपाएका हुन सक्छन् । यस्तो बेलामा महासभा मात्र होइन, राज्यसँग उपलब्ध सम्पूर्ण द्विपक्षीय र बहुपक्षीय मञ्चहरूलाई हामीले जलवायु संकट, प्रकृतिको दोहन र त्यसले ल्याएको अकल्पनीय प्रकोपको यथार्थ स्थापित गर्ने सशक्त थलोका रूपमा प्रयोग गर्नैपर्छ। 

सभामुख महोदय,

अब हामीलाई याचना गर्ने होइन, एउटा नयाँ, प्रभावकारी र स्वाभिमानी कूटनीति चाहिएको छ । हाम्रा हिमालहरूको कहालीलाग्दो अवस्थाबारे विश्व समुदायलाई तथ्यसहित, शालीन तर दृढतापूर्वक बुझाउने कूटनीति ! जलवायु र पर्यावरणमाथिको अतिक्रमणले ल्याएको विनाशबारे बुझाउने कूटनीति ! र प्रकृति र मानव जीवनको अस्तित्व रक्षाबारे बुझाउने कूटनीति!

हामी जुन भूगोलमा उभिएका छौँ र जुन विपद्‌को सामना गरिरहेका छौं, आज जलवायु न्यायको यो लडाइँमा विश्व समुदायलाई सत्य बुझाउन नेपालभन्दा उपयुक्त र नैतिक रूपले बलियो देश अर्को कुनै छैन । यसै गरिमामय रोस्ट्रमबाट, म सरकारलाई हाम्रो ‘जलवायु कूटनीति’ लाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गर्दछु।  सभामुख महोदय,
विश्वसँग न्याय माग्नुअघि हामीले आफैंभित्र न्याय र एकता कायम गर्नुपर्छ।

हाम्रो घरभित्र अहिले ठूलो क्षति भएको छ । भौतिक संरचना भत्किएका छन्, बस्तीहरू उजाडिएका छन्, हजारौं परिवार छिन्नभिन्न भएका छन् । अबको पुनर्निर्माण कुनै सत्ता र प्रतिपक्षभन्दा पनि सिंगो राष्ट्रको जिम्मेवारी हो । राजनीतिक आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर, एकअर्काको हात समाएर हामीले यो देशलाई भविष्यप्रतिको भरोसा दिलाउनुपर्छ । भोलि जब हामी विश्वसामु उभिएर जलवायु न्याय माग्नेछौं, हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो आर्थिक हैसियत वा राजनीतिक प्रभाव हुने छैन । हाम्रो सबैभन्दा ठूलो शक्ति हुनेछ, सिंगो देशको एकीकृत आवाज। 

सभामुख महोदय,

नेपाल त्यस्तो देश हो, जसले इतिहासमा धेरै ठूला धक्का सहेको छ, धेरैपटक भत्किएको छ, तर हरेकपटक अझ बलियो भएर उठेको छ । भूकम्पले हल्लायो, तर हामी सम्हालियौँ । भूकम्पले भत्काएका घरकै जगमा पहिलेभन्दा बलिया घर बनायौँ । हामी संकटहरूसँगै बाँच्न र हाँस्न सिकेको जाति हौं । यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ । र सबै पीडित र प्रभावितका आँसु पुछनेछौँ। 

सभामुख महोदय,

चाहे राजनीतिक विपद् होस् वा प्राकृतिक, हामीले त्यसको डटेर सामना गर्नुको अर्को कुनै विकल्प छैन । यदि यो शाश्वत सत्य हो भने, अब हामीले नागरिकको जीवन रक्षालाई हाम्रो नीति र राजनीतिको पहिलो प्राथमिकता बनाउनैपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी एउटा महान् सपना, देश बनाउने हुटहुटी र अदम्य ऊर्जा बोकेर जन्मिएको दल हो । यी लगातारका विपद् र क्षतिबाट हामी दुःखी पक्कै छौं, तर किञ्चित विचलित छैनौँ । हाम्रा सीमा र कमजोरीहरूलाई हामी कहिल्यै लुकाउँदैनौं, बरु खुला रूपमा स्वीकार गर्छौँ।

विपद्‌को यस घडीले हामीलाई सिकाएको सबैभन्दा ठूलो पाठ नै ‘संस्थाको उपादेयता’ हो । एउटा व्यक्तिले जतिसुकै चाहोस्, उसले गर्न सक्ने सुधारको एउटा निश्चित सीमा हुन्छ । हिजो पत्रकार र टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग पनि कम्ती ऊर्जा कहाँ थियो र? कम्ती हुटहुटी कहाँ थियो? कम्ती जोशजाँगर कहाँ थियो? तर, एउटा व्यक्तिको रूपमा समाज रूपान्तरणमा गर्न सक्ने योगदानको आफ्नै सीमा थियो । त्यसैले हामीले एउटा सार्वजनिक संस्थाको रूपमा रास्वपाको गठन गरेका हौं।

ब्यक्तिसँग भन्दा धेरै, राज्यका संस्थाहरूसँग नै यस्ता महाविपद् र जोखिमको सामना गर्न सक्ने सीप, ज्ञान, स्रोत र विगतका अनुभवहरू सुरक्षित हुन्छन् । हुनुपर्छ । विगतमा के थियो त्यता नजाऔं । अब चाँही हुनैपर्छ । रास्वपाले सुनिश्चित गर्ने भनेकै संस्थागत क्षमता अभिबृद्धी र जवाफदेहीता हो।  तसैले, हाम्रा सुरक्षा निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सम्पूर्ण संस्थाहरूलाई थप बलियो बनाउन र अहिलेको विपद् व्यवस्थापनबाट प्राप्त सिकाइका दस्ताबेजहरूलाई सुरक्षित राख्ने गरी काम गर्न म सरकारलाई आग्रह गर्दछु । संस्थाहरूलाई बलियो बनाएर नतिजामुखी प्रतिकार्य र उद्धारको नेतृत्व गर्न सकियो भने मात्र हामी भविष्यका संकटहरूका लागि साँच्चै तयार हुन सक्छौं।  अन्तिममा सम्माननीय सभामुख महोदय,

ॐ सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद्दुःखभाग्भवेत्।

रवि बोल्ने बेला संसद पुगेका बालेन, रविसँगै बाहिरिए

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बुधबार प्रतिनिधिसभा बैठकमा अचानक देखिए ।

संसद् बैठकमा विरलै उपस्थित हुने प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने बेला संसद् पुगेका हुन् ।

बुधबारको बैठकमा लामिछानेले विशेष समय लिएर सम्बोधन गर्ने कार्यसूची थियो । सोही क्रममा लामिछाने बोल्न थालेपछि प्रधानमन्त्री शाह पनि संसद् भवन पुगे ।

प्रधानमन्त्री शाह लामिछानेको सम्बोधन सुन्नकै लागि बैठकमा आएको देखिएको थियो । लामिछानेले आफ्नो सम्बोधन सकेलगत्तै प्रधानमन्त्री शाह पनि बैठकबाट बाहिरिएका थिए ।

प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।

सामान्यतः प्रतिनिधिसभाको बैठकमा कमै देखिने शाह रविको सम्बोधनका क्रममा उपस्थित हुनु र सम्बोधन सकिएपछि बाहिरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।