`

‘२३ गते दमन गर्ने र २४ गते हिंसा गर्ने दुवैलाई सजाय हुनुपर्छ’

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

बीपी कोइराला स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै उनले सरकारले घोषणा गरेको छानबिन कहाँ पुग्यो भन्दै प्रश्न गरेका हुन्।

थापाले भदौ २४ गतेको घटनामा आफ्नो घरसमेत जलेको उल्लेख गरे पनि व्यक्तिगत क्षतिभन्दा त्यतिबेला ज्यान गुमाएका परिवार र घाइते युवाको पीडा ठूलो रहेको बताए। उनका अनुसार उक्त घटनालाई आफ्नो व्यक्तिगत क्षतिको विषय बनाएर मात्र हेर्नु गलत हुनेछ।

उनले भदौ २३ गते भएको दमन र त्यसदिनको घटनामा घुसपैठ तथा हिंसा भड्काउनेहरूको समेत पहिचान हुनुपर्ने बताए। शान्तिपूर्ण रूपमा उठेको युवाको आक्रोशमाथि राज्यबाट भएको बल प्रयोगको निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।

थापाले भदौ २४ गते भएको ठूलो क्षति र हिंसालाई पनि छुट्टै कोणबाट छानबिन गर्नुपर्ने बताए। सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको आगजनी र तोडफोड कसले गर्‍यो, कसले योजना बनायो र कसरी यति ठूलो ध्वंस सम्भव भयो भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने उनले बताए।

उनले आक्रोश र आवेगमा भएका प्रतिक्रियालाई एउटै डालोमा राखेर हेर्न नहुने बताए। तर आवेगको फाइदा उठाउँदै योजनाबद्ध रूपमा अपराध गर्नेहरूलाई भने कानुनी उन्मुक्ति दिन नहुने उनको धारणा छ।

‘प्रश्न जवाफदेहिताको हो, प्रश्न दण्डहीनताको हो,’ थापाले भने, ‘अपराध गर्नेले त्यसको सजाय पाउनैपर्छ।’

सरकार गठनलगत्तै भदौ २४ को घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाइएको स्मरण गराउँदै थापाले अहिलेसम्म अनुसन्धानको अवस्था सार्वजनिक नगर्नु गम्भीर विषय भएको बताए। उनले सरकारलाई घटनाको छानबिनमा ढिलाइ गरेर जनतालाई अलमल्याउने काम नगर्न चेतावनी दिए।

थापाले भदौ २३ गतेको घटनाबारे भएको अध्ययनको पूर्ण प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन्। उनका अनुसार २३ गते दमन गर्नेहरू र २४ गते हिंसा तथा ध्वंसमा संलग्नहरू दुवै पक्षमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ।

‘भदौ २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ, २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ,’ थापाले भने, ‘त्यसपछि मात्रै राज्य जवाफदेही बन्ने बाटोमा अघि बढ्छ।’

उनले दोषीलाई कारबाही नगर्दा दण्डहीनताले प्रश्रय पाउने र भविष्यमा त्यस्तै घटना दोहोरिन सक्ने चेतावनीसमेत दिए। ‘काल पल्किसकेपछि त्यसले यो र त्यो भन्दैन,’ भन्दै थापाले आज अरू कसैले भोगेको पीडा भोलि जोसुकैले भोग्नुपर्ने अवस्था आउन सक्ने बताए।

उनका अनुसार राज्यले विगतका घटनाबाट पाठ सिक्दै दोषीलाई कानुनी दायरामा ल्याउन सके मात्रै समाजमा न्याय र सभ्यताको अनुभूति कायम गर्न सकिन्छ।

भदौ २३ गते देशमा गोली चलेको थियो अनि २४ गते विध्वंस भयो – राजीव खत्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको गोली प्रहारको घटनालाई छानबिनको दायरामा ल्याएर दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै उनले सडकमा बगेको रगत र त्यसपछिका घटनामा जलेका संरचनाले भदौ २३ गते उठेका प्रश्नलाई दबाउन नसक्ने बताए ।

उनले भदौ २३ को गोलीकाण्डलाई त्यसको भोलिपल्ट भएको विध्वंससँग जोड्दै घटनालाई एउटै शृङ्खलाका रूपमा बुझ्नुपर्ने तर्क गरे ।

‘भदौ २३ गते देशमा गोली चलेको थियो अनि २४ गते विध्वंस भयो । २३ गते कारण हो भने २४ गते परिणाम हो,’ खत्रीले भने ।

खत्रीले आन्दोलनमा सडकमा उत्रिएका युवासँग राज्यसत्ता, प्रहरी वा प्रशासनको शक्ति नभएको बताए । उनीहरूसँग केवल आफ्ना प्रश्न र असन्तुष्टि रहेको उनको भनाइ थियो ।

राज्यसँग भने शक्ति र बन्दुक रहेको भन्दै उनले नागरिकका प्रश्नको जवाफ बल प्रयोगबाट दिइएको आरोप लगाए ।

‘सडकमा उभिएका ती युवाको हातमा सत्ता थिएन, प्रहरी थिएन, प्रशासन थिएन । उनीहरूसँग थियो त केवल प्रश्न । राज्यसँग भने बन्दुक थियो र प्रश्नको उत्तर गोलीबाट दियो,’ उनले भने ।

सांसद खत्रीले भदौ २४ गते भएका विध्वंसका घटनालाई मात्रै केन्द्रमा राखेर भदौ २३ को गोलीकाण्डलाई ओझेलमा पार्न खोजिएको भन्दै आपत्ति जनाए ।

उनका अनुसार एउटा घटनालाई अर्को घटनाले छोप्ने प्रयास गर्नु न्यायको बाटो होइन । गोली चलाउने निर्णय कसरी भयो, त्यसको जिम्मेवारी कसले लियो र त्यसबाट भएको क्षतिको जवाफदेहिता कसरी तय हुन्छ भन्ने प्रश्नको उत्तर खोजिनुपर्ने उनले बताए ।

सडकमा बगेको रगत र त्यसपछि जलेका संरचनालाई अलग–अलग घटनाका रूपमा हेर्दा आन्दोलनको वास्तविक पृष्ठभूमि र त्यसबाट उत्पन्न परिस्थितिको मूल्याङ्कन अधुरो हुने उनको भनाइ थियो ।

उनले भदौ २३ गतेको गोली प्रहारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे ।

रविले रोष्टमामा उभिएर के भने? [पूर्णपाठ]

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोसीलगायत पछिल्ला विपत्तिलाई सामान्य प्राकृतिक दुर्घटनाका रूपमा मात्रै नहेरी जलवायु न्यायको अन्तर्राष्ट्रिय मुद्दा बनाउनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको सबैभन्दा कठोर असर नेपाली नागरिकले भोगिरहेको बताए । भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकलाई केवल प्राकृतिक विपत्तिका मृतकका रूपमा सीमित गर्न नहुने उनको भनाइ थियो ।

उनले जलवायु संकटका कारण ज्यान गुमाउने र विस्थापित हुने नेपालीको क्षतिको अन्तर्राष्ट्रिय रूपमा अभिलेख राखी न्यायको दाबी गर्नुपर्ने बताए ।

‘हामीले संकल्प गर्नुपर्छ, यो शहादतलाई न्यायको औजार बनाएर जलवायु न्यायको ढोका ढक्ढक्याउनेछौँ,’ लामिछानेले भने ।

लामिछानेले विपत्तिपछि राज्यको उपस्थिति नदेखिएको भन्दै हुने आलोचनाप्रति पनि धारणा राखे । उद्धार, उपचार, राहत र विस्थापितको व्यवस्थापनमा राज्य संयन्त्र परिचालन भएको भन्दै उनले राज्यको उपस्थिति कामबाट देखाउनुपर्ने बताए ।

‘राज्य यतिबेला भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,’ उनले भने, ‘सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका नागरिकको छहारी बन्न राज्य रातदिन खटिरहेको छ।’

उनले भत्किएका सडक र पुल बनाउनेसँगै विपत्तिले टुटाएको नागरिकको भरोसा जोड्नु पनि राज्यको जिम्मेवारी भएको बताए ।

यद्यपि सरकारका कमजोरीमाथि प्रश्न गर्न नहुने पक्षमा आफू नरहेको उनले स्पष्ट पारे । प्रतिपक्षको रचनात्मक आलोचना लोकतन्त्रको अधिकार मात्रै नभई कर्तव्यसमेत भएको उनको भनाइ थियो ।

तर, पीडित नागरिकको आक्रोशलाई राजनीतिक हतियार बनाउने काम भने स्वीकार्य नहुने उनले बताए ।

विपत्तिमा आफन्त गुमाएका वा बेपत्ता परिवारका सदस्य खोजिरहेका नागरिकले सरकारप्रति आक्रोश पोख्नु स्वाभाविक भएको लामिछानेले बताए ।

उनले पीडितको आक्रोशलाई सरकार वा दलविरुद्धको व्यक्तिगत आक्रमणका रूपमा नलिई राज्यसँग गरिएको अन्तिम गुहारका रूपमा बुझ्नुपर्ने बताए ।

‘जब मानिस गहिरो चोटमा पर्छ, उसले भगवानलाई समेत सराप्छ भने सरकार के हो ? रास्वपा के हो ?’ भन्दै उनले पीडितका आवाज सुन्ने र उनीहरूको आँसु पुछ्ने क्षमता नै राज्यसत्ताको वास्तविक परीक्षा भएको बताए ।

साथै उनले विपद्मा परेका नागरिकलाई सामाजिक सञ्जालमा होच्याउने र साइबर बुलिङ गर्ने प्रवृत्तिको विरोध गरे । रास्वपाका कुनै सदस्य वा पदाधिकारी त्यस्तो कार्यमा संलग्न भएको पाइए साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने चेतावनी उनले यसअघि नै दिएका विषयलाई पनि सम्बोधनमा दोहोर्‍याए ।

लामिछानेले प्राकृतिक विपत्तिलाई सत्ता र प्रतिपक्षको चस्माबाट हेर्न नहुने बताए । विपद्ले दल हेरेर प्रहार नगर्ने भएकाले उद्धार र राहतलाई दलगत सीमाभन्दा माथि उठाएर राष्ट्रिय दायित्व बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले विपत्तिका बेला राजनीतिक दलहरूले देखाएको सहकार्यलाई सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गरे । संकटको समयमा देखिएको राष्ट्रिय एकतालाई भविष्यका लागि पनि जोगाउनुपर्ने उनले बताए ।

लामिछानेले हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालले पहल गर्नुपर्ने प्रस्ताव अघि सारे ।

उनले संघीय संसद्का दुवै सदनबाट ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ सम्बन्धी विशेष संसदीय प्रस्ताव पारित गरी विश्वका संसद् र अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनुपर्ने बताए ।

जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय वित्तमा सहज पहुँच, सीमापार पूर्वसूचना प्रणाली, हिमाली क्षेत्रमा वैज्ञानिक अनुसन्धान तथा तथ्यांक आदानप्रदान र जलवायुजन्य क्षति तथा हानिका लागि अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्नुपर्ने उनको प्रस्ताव छ ।

लामिछानेले भोटेकोसीलगायत विपत्तिबाट भएको मानवीय, आर्थिक र गैरआर्थिक क्षतिको व्यवस्थित राष्ट्रिय अभिलेख तयार गर्नुपर्ने बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति वा सहयोग माग्नुअघि नेपालसँग आफ्नै क्षतिको प्रमाणित तथ्यांक हुन आवश्यक छ । त्यसका लागि जलवायु परिवर्तनले विपत्तिमा पारेको भूमिकाबारे स्वतन्त्र वैज्ञानिक अध्ययन गराई त्यसकै आधारमा अन्तर्राष्ट्रिय क्षति तथा हानिको दाबी तयार गर्नुपर्ने उनले बताए ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि, कोप सम्मेलन र उच्च कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्रहरूसमक्ष नेपालका तर्फबाट औपचारिक जलवायु न्यायको अपिल गर्नुपर्ने उनको प्रस्ताव छ ।

‘पुनर्निर्माणका नाममा हामी थप ऋणको बोझ थाम्न सक्ने अवस्थामा छैनौँ,’ लामिछानेले भने, ‘जलवायु परिवर्तनबाट भएको क्षतिको पुनर्निर्माणको भार फेरि ऋणका रूपमा नेपाली जनतामाथि थोपर्नु न्यायसंगत हुँदैन।’

लामिछानेले आगामी संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका लागि जलवायु संकटको वास्तविकता विश्वसामु प्रस्तुत गर्ने अवसरका रूपमा प्रयोग गर्न सरकारलाई आग्रह गरे ।

उनले सरकारको कूटनीतिक पहलसँगै संसद्ले पनि विश्वका अन्य संसद् र जनप्रतिनिधिसँग संवाद अघि बढाउनुपर्ने बताए । अन्तरसंसदीय माध्यमबाट हिमालयको संकटबारे विश्वव्यापी बहस सिर्जना गर्नुपर्ने उनको धारणा छ ।

‘अब हामीलाई याचना गर्ने होइन, नयाँ, प्रभावकारी र स्वाभिमानी कूटनीति चाहिएको छ,’ उनले भने, ‘हाम्रा हिमालहरूको अवस्था विश्व समुदायलाई तथ्यसहित बुझाउने कूटनीति।’

लामिछानेले पछिल्लो विपत्तिले नेपाललाई बलिया राज्य संस्थाको आवश्यकता झन् स्पष्ट पारेको बताए ।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकायलगायत विपद् व्यवस्थापनसँग जोडिएका संस्थाको क्षमता बढाउनुपर्ने बताए । अहिलेको विपद्बाट प्राप्त अनुभव र सिकाइलाई दस्तावेजीकरण गरेर भविष्यका लागि सुरक्षित राख्नुपर्ने उनको भनाइ छ ।

‘एउटा व्यक्तिले जतिसुकै चाहे पनि उसले गर्न सक्ने सुधारको आफ्नै सीमा हुन्छ,’ उनले भने, ‘संस्थाहरूसँग नै यस्ता महाविपद् र जोखिम सामना गर्ने सीप, ज्ञान, स्रोत र अनुभव सुरक्षित हुनुपर्छ।’

उनले विपत्तिबाट आएको पीडालाई भविष्यको तयारी र राष्ट्रिय एकतामा बदल्नुपर्नेमा जोड दिँदै सम्बोधनको अन्त्य ‘सर्वे भवन्तु सुखिनः’को कामनासहित गरे ।

यस्तो छ पूर्णपाठ :

सम्माननीय सभामुख महोदय,

यो सम्मानित सदनमा म आज ठूलो हिम्मत जुटाएर र अत्यन्तै भारी मन लिएर उभिएको छु । कल्पनाभन्दा पर, जम्माजम्मी एक निमेषमै सर्वस्व गुमाएकाहरूलाई सान्त्वना र समवेदना दिन संसारको कुनै पनि भाषासँग शब्द छैनन् । उद्धार अझै जारी छ र हामीले अझै पनि सुखद् समाचारको आशा मारेका छैनौँ।

भदौ १० को विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई हामी प्राकृतिक विपत्तिका मृतक मान्न तयार छैनौं, हुनु हुँदैन । ती त जलवायु अन्यायका पिडित हुन् । आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिर्न बाध्य भएका ती निर्दोषहरूलाई मानव सभ्यताले ढिलो चाँडो कुनै विशेष दर्जा दिनेछ । किनकि यो विपत्तिका कारक उनीहरू थिएनन् । पृथ्वीको तापक्रम उनीहरूले बढाएका थिएनन् । हिमाल पगाल्ने कार्बन उत्सर्जन उनीहरूले गरेका थिएनन् । अहिलेको जलवायु संकट उनीहरूको सिर्जना थिएन । तर जलवायु संकटको सबैभन्दा ठूलो मूल्य भने तिनै धर्तीपुत्रहरूले र त्यो भूगोलसँग कुनै चिनजान नभएका पर्यटकले आफ्नो जीवन दिएर चुकाए।

जलवायु संकटको असमान भारका कारण समाप्त भएका र फेरि पनि समाप्त हुनसक्ने जीवनहरूमाथि हामीले केवल शोक मनाएर अब पुग्दैन । हजारौं मानिसको यो अन्यायपूर्ण बलिदानलाई अब सामान्य श्रद्धाञ्जलीमा सीमित गरिरहन सकिन्न । हामीले संकल्प गर्ने पर्छ, यो शहादतलाई न्यायको औजार बनाएर हामीले जलवायु न्यायको ढोका ढक्ढक्याउनेछौँ । त्यही नै हाम्रो वास्तविक श्रद्धाञ्जली हुनेछ। 

सभामुख महोदय,

यो विपत्तिमा नेपाली समाजले फेरि एकपटक प्रमाणित गरेको छ, हामी साना योद्धा होइनौँ । यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले अरूका परिवारलाई आश्रय दियो। त्यो सामान्य चेतना होइन । त्यही साहस, विवेक र मानवीयताको उज्यालोमा यो देशले फेरि आफ्नो भविष्य लेख्नेछ।  यस विपत्तिमा स्थानीय तहमा खटिनुभएका सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो ज्यान गुमाउनुभयो । कतिपयले आफ्नै सहकर्मी गुमाउनुभयो, कतिपयले आफन्त गुमाउनुभयो । आफ्नै आँखाअगाडि मृत्यु र विनाश देख्नुभएका उहाँहरूले नै पीडितलाई पहिलो गुहार दिनुभयो, आँसु पुछ्दै तुरुन्तै उद्धारमा फर्किनुभयो, राहतमा खटिनुभयो, समन्वय गर्न दौडिनुभयो र पीडितहरूको खोजीमा निस्किनुभयो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका वीर जवानहरूले यसपटक कर्तव्यनिष्ठा र साहसको नयाँ कीर्तिमान रच्नुभयो । कहिले उर्लंदो भेलमा हेलिएर त कहिले अँध्यारा र साँघुरा सुरुङहरूमा घस्रिएर उहाँहरू उद्धारमा खटिनुभयो । त्यसमध्ये कतिपय आफैं प्रभावित हुनुहुन्थ्यो, कतिपयका आफ्नै घरपरिवार विपत्तिमा थिए । तर उहाँहरूले आफ्ना आँसु लुकाउनुभयो र अरूका आँसु पुछन दौडिनुभयो । आफ्नै पीडालाई मनभित्र थाती राखेर अरूको जीवन बचाउन दौडिनुभयो । आफ्नो जीवनको पर्वाह नगरी अरूको जीवन बचाउन दौडिएका हाम्रा सुरक्षाकर्मीहरूको करुणा, साहस, समर्पण र प्रतिबद्धताप्रति यो देश कृतज्ञ रहनेछ।  यो पीडामा हामीलाई सबै मित्र राष्ट्रहरूले नेपाल एक्लो छैन भन्ने ढाडस दिनुभयो । आर्थिक मात्र होइन, विशेषज्ञ, चिकित्सक, प्राविधिक, उद्धारकर्मी, उपकरण र राहतको पनि सहयोग गर्नुभयो । यो साथ र सहयोगका लागि सबै मित्र राष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार तथा सहयोगी संस्था र व्यक्तिहरूप्रति नेपाल गहिरो कृतज्ञता व्यक्त गर्दछ । जलवायु न्यायको अभियानमा हामीलाई तपाईंहरूको अझ बढी सहयोग जरुरी छ।  बाढीमा आफ्नै सहकर्मीहरु गुमाउनुपरेको पिडाले दुखेको मुटु थिचेर राष्ट्रसेवक कर्मचारीहरु बिपत्तिसँग जुधिरहनुभएको छ । हामीले बिर्सिएका छैनौं, यही विपत्तिकाबीच हाम्रा राष्ट्रसेवक कर्मचारीको ऐतिहासिक चाड थियो, ‘नीजामती सेवा दिवस्’ । गोपनीयताको बन्धनमा बाँधीएका ती राष्ट्रेवकले आफ्ना दुःख गुनासा ब्यक्त गर्ने दिन समेत बिर्सिएर त्यसको खर्च समेत विपत्तीमा परेकाहरुप्रति समर्पित गरिदिनुभयो । तपाइँहरुप्रति धन्यवाद र कृतज्ञताभन्दा उच्चस्तरको सम्मान म यही रोष्ट्रमबाट ब्यक्त गर्न चाहान्छऺ।  प्रतिकूल मौसम, कठिन भूगोल र जोखिमपूर्ण परिस्थितिका बीच हवाई उद्धारमा खटिनुभएका पाइलट, चालकदलका सदस्य तथा सम्पूर्ण हवाईकर्मीहरू अनि घाइतेहरूको उपचारमा दिनरात खट्नुभएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरूप्रति हामी अत्यन्त आभारी छौं।  यो संकटमा आफ्नो व्यापारिक स्वार्थभन्दा माथि उठेको निजी क्षेत्र, ज्यान हत्केलामा राखेर सरकारलाई सचेत र जनतालाई सुसूचित गरिरहेको सञ्चार क्षेत्र, शरीर विदेशमा भए पनि मन नेपालमै भएका र त्यहीअनुसार खटेका गैरआवासीय नेपाली, सामाजिक संघसंस्था र नागरिक संगठनहरू र आम नागरिक सबैले यो संकटमा देशलाई आफ्नो सफल परीक्षा दिनुभयो। 

सभामुख महोदय,

यो विपत्तिमा सरकारको भूमिकालाई पनि सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिका सुरुकै घन्टामा सरकारले आफ्नो सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो । हजारौं सुरक्षाकर्मी तत्काल प्रभावित क्षेत्रमा खटिए । तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो । घाइतेहरूको उद्धार र उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परतामा म प्रश्न गर्ने ठाउँ देख्दिनँ । आफ्ना घर, सम्पत्ति र जीवनका आधारभूत साधनसमेत गुमाएका नागरिकलाई होल्डिङ सेन्टरमा राखेर राज्यले उनीहरूको तत्कालीन आवश्यकता र सुरक्षाको जिम्मेवारी लिएको छ।  कतिपय ठाउँमा बाटो छैन, सञ्चार छैन, मौसम अनुकूल छैन । तर यी सबै कठिनाइका बीच पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगेका छन् । त्यसैगरी, स्थानीय प्रशासन, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, विद्युत् तथा खानेपानीका प्राविधिक, स्वयंसेवक र स्थानीय नागरिक स्वयंले पनि यस विपत्तिको सामना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । प्रभावित क्षेत्रको अवस्था र क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै बढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी उद्धार, राहत र पुनःस्थापनामा प्राथमिकता दिइएको छ । त्यससँगै क्षतिग्रस्त सडक, पुल, विद्युत्, खानेपानीलगायत अत्यावश्यक पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने काम पनि अघि बढाइएको हामीले देखेकै छौं।  यो कठिन समयमा उद्धार, राहत र पुनःस्थापनाका लागि भएका प्रयासलाई धन्यवाद दिन कसैले कन्जुस्याइँ गर्नु हुँदैन।  यद्यपि राज्यले केही गरेन, राज्य कहाँ छ ? भनेर म केहीले भनेको सुन्छु । राज्यले गरेन भन्ने गुनासोलाई खण्डन गर्ने सबैभन्दा शक्तिशाली तरिका भनेको ‘राज्य कहाँ छ ?’ भनेर दृश्यसहित प्रस्ट्याउनु हो । म यहीँबाट भन्न चाहन्छु, राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ।

राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छहारी बन्न रातदिन खटिरहेको छ।

राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलहरू मात्र होइन, विपद्ले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयासमा छ।

राज्य यतिबेला भविष्यमा फेरि यस्तो विपद्‌को नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्वतयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ।

र, राज्य यतिबेला आफ्ना सम्पूर्ण सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर, नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ।  हो, हाम्रा स्रोत, साधन र प्रविधिमा सीमितता होलान् । तर, हामीसँग भएको क्षमता, सीप र कौशलको उच्चतम प्रयोग भएको छ । हाम्रो सुरक्षा फौजको साहस र समर्पणमा कुनै सीमितता छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरू आज जसरी दत्तचित्त भएर खटिरहेका छन्, त्यो केवल जागिरे ‘ड्युटी’ होइन, त्यो त मातृभूमि र नागरिकप्रतिको सर्वोच्च निष्ठा हो।  जहाँ मृत्यु ढुकेर बसेको हुन्छ, जहाँ अर्को पहिरो खस्ने संशय हुन्छ, त्यस्तो मृत्युको कालो सुरुङभित्र आफ्ना नागरिकलाई बचाउन उहाँहरू जसरी आफ्नो ज्यान हत्केलामा राखेर होमिनुभएको छ, त्यो अदम्य साहस देखेर म मात्र होइन, आज सिंगो देश नतमस्तक छ । उहाँहरूको त्यो आँट, ऊर्जा र नागरिकप्रतिको निःस्वार्थ दायित्वबोधलाई म यस गरिमामय संसदको रोस्ट्रमबाट उच्च सम्मानसहित स्यालुट गर्न चाहन्छु।  यस्तो कहालीलाग्दो विपद् विध्वंसपछि पनि हामीकहाँ एउटा रोग देखिन्छ, विपद्लाई अवसर बनाएर एकापसमा आरोप-प्रत्यारोपको खेल खेल्ने र कसलाई कसरी तल खसाल्ने भनेर रमाउने । तर सम्माननीय सभामुख महोदय, राजनीतिको रोटी सेक्ने समय यो हुँदै होइन । आज यो अकल्पनीय प्रकोपको मारमा हजारौं परिवार परेका छन् । उनीहरूले केवल घरबार गुमाएका छैनन्; जायजेथा, बस्ती, छिमेक, खेतबारी, आफ्नो जीवनको सम्पूर्ण कमाइ र सर्वस्व गुमाएका छन् । त्योभन्दा माथि, आफ्ना प्राणभन्दा प्यारो परिवारका सदस्य गुमाएका छन् । ती नागरिकको छातीमा परेको चोट र भत्किएको मनको गहिराइ हामी यहाँ सुरक्षित कुर्सीमा बसेर सायदै नाप्न सक्छौं।  बिहान विद्यालय गएका छोराछोरी अब फर्किन्छन् कि भनेर भत्किएको संघारमा बाटो हेरिरहेका आमाबाबु, मृत्युको त्यो अँध्यारो सुरुङभित्र कतै प्रियजनको सास अझै बाँकी छ कि भनेर छटपटाउँदै बगरमा भ‌ट्किरहेका आफन्त, लेदो र हिलोले पुरिएको घरभित्रबाट अझै आवाज आउँछ कि भनेर चिच्याइरहेका ती पुकारहरू अनि बेपत्ता आफन्त पर्खेर प्रत्येक सेकेन्ड सास रोकिएला जसरी केही सुखद खबर सुन्न आतुर आफन्तजनको अवस्था र मनस्थिति परिकल्पना भन्दा बाहिर छ । सोच्दा मात्र पनि मुटु दुख्छ, आङ सिरिङ्ग हुन्छ । भोग्नेलाई कस्तो हुन्छ होला?  यस्तो अकल्पनीय विध्वंसमा सर्वस्व गुमाएका र मृत्युसँग पौठेजोरी खेलिरहेका नागरिकबाट राज्यमाथि आक्रोश पोखिनु एकदमै स्वाभाविक हो । आफन्तको सास खोजिरहेका ती आत्तिएका आँखालाई यो प्राकृतिक विध्वंसको आयतन कति विशाल छ भनेर नाप्ने फुर्सद हुँदैन । सरकारले देशमा उपलब्ध सम्पूर्ण साधनस्रोत परिचालन गरेको छ कि छैन ? हाम्रा सेना र प्रहरी ज्यान हत्केलामा राखेर त्यो मृत्यु-सुरुङको कति गहिराइससम्म पुगेका छन् ? यी तथ्यहरूले उनीहरूलाई सान्त्वना दिँदैनन् । उनीहरूलाई त केवल एउटै कुरा चाहिएको हुन्छ, मेरो प्रियजनको सास बाँकी छँदै राज्य त्यहाँ पुग्नेओस्, उद्धार गरिदियोस् ! यो आश निराशामा बद्लिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नैसर्गिक अधिकार हो।  त्यसैले, म सरकारका सम्पूर्ण संयन्त्र र नेतृत्व पंक्ति र पार्टी सदस्यहरूलाई यही रोस्ट्रमबाट स्मरण गराउन चाहन्छु, जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो?

नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा र राज्य गुहार्ने अन्तिम चित्कारको रूपमा बुझ्नुपर्छ । त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुछने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो । अनि उनीहरूको अवस्था र मनस्थितिलाई समानुभूतिका साथ महसुस गर्नु हाम्रो दायित्व हो। 

सम्माननीय सभामुख महोदय,

यही रोस्ट्रमबाट म सरकार र दलका सम्पूर्ण शुभेच्छुकहरूलाई एउटा गम्भीर अपिल गर्न चाहन्छु, यो महाविपद्‌को समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक-चौतारामा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यैबाट बन्द गरौं।

सरकारलाई मेरो स्पष्ट आग्रह छ, पीडामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने, त्यसको विरुद्ध ‘हामी निर्मम हुन्छौं’ भनेर विज्ञप्ति निकाल्ने होइन, राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाउने हो । देखाउनुहोला। 

सम्माननीय सभामुख महोदय,

राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्ध-समर्थक चाहिएकै छैन । हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछने सदस्यहरू चाहिएको छ।

नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन । यदि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको सदस्य, पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइयो भने, त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिनेछ । विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन।  भयानक विपद् र विध्वंसको सामना गरिरहँदा, को सत्तापक्ष र को प्रतिपक्ष भनेर तराजुमा जोखिँदैन । प्रकृतिको प्रहारले कुन पार्टीको समर्थक हो भनेर छानेर हिर्काउँदैन ।

त्यसैले, उद्धार र राहतमा पनि हाम्रो उपस्थितिलाई दलगत सीमाभन्दा माथि उठाएर पूर्णतः ‘राष्ट्रिय दायित्व’ मा बदल्नैपर्छ भनेर यो महाविपद्‌को घडीमा सम्पूर्ण राजनीतिक दल र नेतृत्वले जुन अभूतपूर्व परिपक्वता देखाउनुभयो, त्यो आफैंमा एउटा शक्तिशाली सन्देश हो । सर्वदलीय संवाद र अभ्यासहरूमार्फत हामीले विपद्‌का बेला नागरिक हितका लागि एउटै मोर्चामा उभिन्छौँ भन्ने नेपालीको विशिष्ट पहिचानलाई पुनः स्थापित गरेका ०छौं । संकटको बेला देखिएको यो राष्ट्रिय एकता हाम्रो अमूल्य पुँजी हो, यसलाई हामीले कुनै पनि हालतमा टुट्न दिनु हुँदैन । विपत्तिका समयमा हामी सरकारको साथमा छौं भनेर विपक्षी दलका नेताहरुले गर्नुभएको उद्घोष केवल सामान्य अभिब्यक्ति होइन, एउटा ठूलो प्रतिवद्दता र परिपक्क राजनीतिक संस्कार हो । म खुला हृदयले उहाँहरुको प्रशंसा गर्दछु।  रसुवामा भएको अकल्पनीय प्राकृतिक प्रलयको आज १५औं दिन । यो विपद्‌को केन्द्र संघीय राजधानीबाट धेरै टाढा छैन । विगतमा यस्तो विपद् र विध्वंस हुँदा नेपाली दाजुभाइ तथा दिदीबहिनीको घरदैलोमा पुगिहाल्ने र समानुभूति प्रकट गर्ने रवि लामिछाने आज फिल्डमा छैन । मनमा निरन्तर हुटहुटी चलिरहन्छ । मन अस्थिर हुन्छ । एउटा मनले भन्छ, “तँ जा ! त्यो अकल्पनीय विपद्मा रोइरहेका नागरिकको आँगनमा पुग्, सेल्टरमा बस्, उद्धार र राहतमा काँध थाप र नजिकबाट नियाल् ।” तर, आज म जुन जिम्मेवारीमा छु, त्यसको बोध गर्दै म रोकिएको छु । मेरो दायित्व भावनाको भेलमा बगेर एक्लै दौडिने होइन, समग्र राज्य संयन्त्र, दलीय संरचना र सिंगो समाजलाई एकढिक्का बनाएर विपद्‌को मैदानमा प्रभावकारी रूपले परिचालन गर्ने हो । सरकारको कामकारबाहीको लय बिग्रेला कि भनेर म आफैं यसपटक प्रभावित क्षेत्रमा गइनँ, आज म ब्यक्ति होइन संस्था बलियो हुनुपर्छ भन्ने तथ्यको वकालत गर्ने ठाउँमा आइपुगेको छु । यद्यपी एकपटक विपद्मा परेका नागरिकको पिडा सुन्न म केहीदिनमा सामान्य ढंगले पुग्ने सोचमा छु । बृद्ध बाआमाहरु र आपतमा परेका दिदिबहिनी दाजुभाइहरुले यो आइदिए हुन्थेयो भन्ने चाहन राख्नुभएको जानकारी पाएको हुँदा एकपटक विपद्ग्रस्त क्षेत्रमा म पुगेछु भने पनि मेरो उपस्थितिले उद्दारकार्यमा बाधा पुग्ने छैन।  म सरकारले गरेका प्रयासमाथि प्रश्नै गर्न हुँदैन, कमजोरी औंल्याउन हुँदैन भन्दिनँ । प्रतिपक्षको रचनात्मक आलोचना लोकतन्त्रमा अधिकार मात्र होइन, कर्तव्य पनि हो । सरकारमाथि प्रश्न गरौं, जवाफदेहिता मागौँ, कमजोरी सच्याउन दबाब दिऔं । तर राष्ट्रिय पीडालाई राजनीतिक हतियार बनाउने छुट हामी कसैलाई छैन।

यो विपत्ति कसैका लागि राजनीतिक लाभहानिको विषय बन्नु हुँदैन । यो हामी एकअर्कासँग लड्ने समय होइन । हाम्रो राजनीतिक विचार फरक हुन सक्छ । पार्टी फरक हुन सक्छ । सरकारप्रतिको हाम्रो धारणा फरक हुन सक्छ । तर देश र जनताप्रतिको हाम्रो दायित्व फरक हुन सक्दैन। 

सभामुख महोदय,

अब हामीले लड्नुपर्ने जलवायु न्यायको लडाइँ सजिलो छैन । यो लडाइँ नलडी र नजिती हामी आफैंलाई जोगाउन सक्दैनौँ । त्यसैले आजको आवश्यकता आरोप-प्रत्यारोप होइन, यो राष्ट्रिय पीडालाई राष्ट्रिय शक्तिमा बदल्नु हो । यो समय एकअर्काविरुद्ध होइन, संसारसँग एउटै स्वरमा एउटै प्रश्न गर्ने समय हो। 

सभामुख महोदय,

हामीसँग एउटै विकल्प छ, आँसु पुछेर फेरि उभिनु । गुमाएकाहरूको पीडालाई हाम्रो शक्ति र उनीहरूको बलिदानलाई हाम्रो संकल्प बनाउनुछ । हामीले यसपालिको विपत्तिको घाउमा मात्र मलम लगाएर पुग्दैन । राहत र पुनर्निर्माणमा मात्र सीमित भएर पनि पुग्दैन । विपत्तिको जरासम्म पुग्नुपर्छ । किनकि यो केवल एउटा प्राकृतिक विपत्ति होइन, जलवायु परिवर्तनले गहिरिँदै गएको संकटको कठोर परिणाम हो । त्यसैले अब हामीले जलवायु न्यायको लडाइँ लड्नु छ।

उसको लागि सरकारले विभिन्न देशका सरकारहरूसँग समन्वय गरिरहेको छ र थप गर्नेछ । तर सम्माननीय सभामुख महोदय, हामीले बुझेकै छौं, सरकारको कूटनीतिको आफ्नै सीमा र दायरा हुन्छ । राष्ट्रहरूबीचको सम्बन्ध र अन्तर्राष्ट्रिय निर्णयहरूलाई सरकारहरूले मात्र दिशा दिँदैनन् । विश्वका जनप्रतिनिधिहरू, संसदहरू र जनमतले पनि अन्तर्राष्ट्रिय नीति र निर्णय निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्।  त्यसैले अब यो सम्मानित संसदले पनि आफ्नो विशिष्ट भूमिका निर्वाह गर्नुपर्छ । सरकारले विश्वका सरकारहरूसँग संवाद गरिरहँदा नेपालको संसदले विश्वभरिका संसद् र जनप्रतिनिधिहरूसँग संवाद गर्नुपर्छ । सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय सुरु गर्नुपर्छ।

यस सम्मानित संसद्समक्ष मेरो प्रस्ताव छ : हिमालयलाई विशेष जलवायु तथा विपद् जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं, हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि Green Climate Fund (GCF) मा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न, South-South Cooperation मार्फत हिमालयसम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्यांक आदानप्रदानलाई अघि बढाउन, सीमा-पार प्रारम्भिक चेतावनी तथा विपद् पूर्वसूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन, जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायुजन्य हानि र क्षतिको सम्बोधनका लागि Fund for Responding to Loss and Damage (FRLD) बाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं । यी विषयहरू समेटेर संघीय संसद्‌का दुवै सदनबाट “हिमाली जलवायु तथा विपद् आपत्काल (Himalayan Climate and Disaster Emergency)” सम्बन्धी विशेष संसदीय प्रस्ताव पारित गरी अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरौं।  जलवायु परिवर्तन हाम्रा नागरिकको लागि जीवन र मरणको विषय बनेको छ । पछिल्ला विनाशकारी हिमपहिरोहरूले वनमा रहेको कार्बन भण्डारलाई जस्तै पर्वतीय हिउँलाई पनि महत्वपूर्ण प्राकृतिक सम्पत्ति asa मान्यता दिनुपर्ने टड्कारो आवश्यकतालाई उजागर गरेका छन् । यी हिमनदीहरू अमूल्य ताजा पानीका भण्डार हुन्, जसले पारिस्थितिक प्रणाली र तल्लो तटीय क्षेत्रका लाखौँ मानिसहरूको जीवनयापनलाई धान्छन् । यद्यपि, विश्वव्यापी आर्थिक र जलवायु लेखाप्रणालीमा यिनीहरू अझै पनि उपेक्षित छन्।

कोशी, गण्डकी तथा कर्णाली जलाधार क्षेत्रमा पहिचान गरिएका ४७ वटा सम्भावित खतरनाक हिमतालहरूले यस सङ्कटलाई थप स्पष्ट पारेका छन्, जसले समग्र दक्षिण एसियाका तल्लो र माथिल्लो तटीय समुदायहरूलाई गम्भीर खतरामा पारेको छ । यी साझा सीमापार जोखिमहरूको अनुगमन गर्न हामीले क्षेत्रीय साझेदारहरूसँग सक्रिय रूपमा सहकार्य गर्नैपर्छ।

यसका साथै, अन्तर्राष्ट्रिय समुदायले लोप हुँदै गइरहेको यस प्राकृतिक पुँजीको व्यवस्थित मापन, अनुगमन र वित्तीय मूल्याङ्कन गर्न ‘पर्वतीय हिम-भण्डारको लगत’ औपचारिक रूपमा स्थापना गर्नुपर्छ।  विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान ०.१% जति नगण्य भए तापनि, विश्वव्यापी तापक्रम वृद्धिका गम्भीर परिणामहरू हाम्रा नागरिकले भोगिरहेका छन् । हाम्रा अमूल्य ताजा पानीका भण्डारहरूमा भइरहेको अपूरणीय क्षतिको सम्बोधन गर्न र अग्रपङ्क्तिमा रहेका हिमाली राष्ट्रहरूको जलवायु उत्थानशीलता अभिवृद्धि गर्न, यस सरकारले बहुपक्षीय मञ्चहरूमा जलवायु न्यायको जोडदार माग गर्दै अन्तर्राष्ट्रिय जलवायु वित्तको न्यायोचित परिचालन र त्यसमा हाम्रो सहज पहुँच सुनिश्चित गर्नुपर्छ।

त्यसलाई अन्तर-संसदीय संघलगायतका प्लेटफर्ममार्फत विश्वभरिका राष्ट्रिय संसदहरूमा पठाउने ऐतिहासिक पहल गरौं । हिमालयमाथि मडारिरहेको संकटबारे संसारको विवेकलाई झकझक्याउने ऐतिहासिक अग्रसरता हामीले नै लिनुपर्छ । हामी प्रयास गरौं, विश्वभरिका संसदहरूमा हिमालयको भविष्यबारे बहस होस् । विश्वका जनप्रतिनिधिहरूले आफ्ना सरकारलाई प्रश्न गरून्, हिमालयको संरक्षण र हिमाली समुदायको सुरक्षाका लागि हाम्रो देशले के गरिरहेको छ?  जलवायु न्यायको विषयमा विश्वका कतिपय सरकारहरू अझै पनि अनुदार छन् । कतिपय शक्तिशाली राष्ट्रहरू आफ्नो ऐतिहासिक र नैतिक जिम्मेवारी स्वीकार गर्न तयार देखिँदैनन् । त्यस्ता सरकारहरूमाथि दबाब सिर्जना गर्न, जनमत निर्माण गर्न र जलवायु न्यायको पक्षमा विश्वव्यापी राजनीतिक वातावरण तयार गर्न हामी विश्वका विधायिकाहरू र जनप्रतिनिधिहरूको सहयोग लिन सक्छौं।

हामीलाई यस्तो विश्वव्यापी संसदीय बहसको प्रारम्भ चाहिएको छ, जसले हिमालयका लागि विशेष अन्तर्राष्ट्रिय सहयोग, वैज्ञानिक अनुसन्धान, सीमापार प्रारम्भिक चेतावनी प्रणाली, जलवायु अनुकूलन तथा विपद् पुनर्निर्माणका लागि नयाँ अन्तर्राष्ट्रिय प्रतिबद्धताको ढोका खोल्न सकोस् । हामी संसारलाई बुझाउन सकौं, आज हिमालयमा देखिएका असामान्य बाढी, हिमताल विस्फोट, तीव्र गतिमा पग्लिरहेका हिमनदी, अतिवृष्टि र पहिरोका घटनाहरूलाई यदि अझै पनि कसैले छुट्टाछुट्टै स्थानीय विपत्तिका रूपमा मात्र हेरिरहेको छ भने उसले हिमालय क्षेत्रमा विकसित हुँदै गएको जलवायु तथा विपद्‌को असाधारण अवस्थाको गम्भीरता बुझ्न सकेको छैन । र त्यसले भविष्यमा मानव सभ्यता, अर्थतन्त्र र मानिसको जीवनमाथि पुऱ्याउन सक्ने क्षतिको अनुमान गर्न सकेको छैन । हामीले विश्वमञ्चमा नेपाललाई केवल विपत्तिबाट पीडित राष्ट्र होइन, बरु हिमालय र मानव सभ्यताको भविष्यबारे संसारलाई समयमै चेतावनी दिइरहेको राष्ट्रका रूपमा र हिमालयको आवाजका रूपमा स्थापित गर्नु छ।  सभामुख महोदय,
मृत्युवरण गरेका, हराएका, गम्भीर घाइते भएका, आत्मीयजन र आर्थिक रूपमा सर्वस्व गुमाएका हजारौं देशवासीले चुकाएको अत्यन्त कठोर मूल्यमा नेपालले अहिले असाधारण अन्तर्राष्ट्रिय Exposure पाएको छ । सारा विश्वको ध्यान नेपालतर्फ केन्द्रित भएको छ । अहिले पनि हामीले जलवायु न्यायको झन्डा उठाउन सकेनौँ भने कहिल्यै सक्दैनौँ।

त्यसका लागि सम्मानित संसद्समक्ष मेरा केही प्रस्ताव छन् : अहिलेको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा गरौं । यस विपत्तिको कारण, क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं । त्यससँगै मृत्यु, बेपत्ता, विस्थापन तथा सम्पूर्ण आर्थिक र गैर-आर्थिक क्षतिको व्यवस्थित राष्ट्रिय ‘क्षति तथा हानि अभिलेख’ तयार गरौं । विश्वसामु न्याय माग्नुअघि हामीसँग आफ्नै क्षतिको प्रमाणित हिसाब हुनुपर्छ।  हाम्रा बारेमा हाम्रा आफ्नै दाबीलाई मात्र संसारले त्यति गम्भीरतापूर्वक नसुन्न सक्छ । त्यसैले यस विपत्तिमा जलवायु परिवर्तनको भूमिकाबारे अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वतन्त्र वैज्ञानिक अध्ययन गराऔं । त्यसबाट प्राप्त तथ्य र प्रमाणका आधारमा नेपालको औपचारिक अन्तर्राष्ट्रिय क्षति तथा हानिको दाबीपत्र तयार गरौं।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (UNFCCC), COP (कोप) तथा ऐतिहासिक उच्च कार्वन उत्सर्जन गर्ने विकसित राष्ट्रहरूसामु पनि यस संसद्कै तर्फबाट औपचारिक जलवायु न्यायको अपिल प्रस्तुत गरौं । पुनर्निर्माणका नाममा हामी थप ऋणको बोझ थाम्न सक्ने अवस्थामा छैनौँ । जलवायु परिवर्तनबाट भएको क्षतिको पुनर्निर्माणको भार फेरि ऋणका रूपमा नेपाली जनतामाथि थोपर्नु न्यायसंगत हुँदैन । त्यसैले हाम्रो जोड अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त का लागि हुनुपर्छ।

साथै, अर्को विपत्तिको प्रतीक्षा नगरी हिमताल, हिमनदी, वर्षा र नदीहरूको वास्तविक समय निगरानी तथा सीमापार पूर्वसूचना र तथ्यांक आदानप्रदान प्रणालीलाई अब हाम्रो राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ । र, भविष्यमा हुन सक्ने जलवायुजन्य विस्थापनका लागि दीर्घकालीन कानुनी र वित्तीय आधार पनि अहिल्यै तयार गर्नुपर्छ। 

सभामुख महोदय,

अबको केही दिनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदैछ । यो महासभा हाम्रा लागि केवल एउटा नियमित कूटनीतिक उपस्थिति मात्र बन्नु हुँदैन । यो त विश्व समुदायलाई हाम्रा हिमालहरूमा अहिले क्या भइरहेको छ भनेर सत्यको ऐना देखाउने ऐतिहासिक र निर्णायक मञ्च बन्नुपर्छ।

संसारका कैयौँ राष्ट्रहरू र त्यहाँको राजनीतिक नेतृत्वलाई हाम्रा हिमालमा पग्लिरहेको हिउँले कसरी समग्र मानव सभ्यतालाई नै प्रलयतर्फ धकेलिरहेको छ भन्ने यथार्थको गहिराइ अझै थाहा नहुन सक्छ । उनीहरूले हिमालको आँसुलाई नजिकबाट नियाल्ने मौका नपाएका हुन सक्छन् । यस्तो बेलामा महासभा मात्र होइन, राज्यसँग उपलब्ध सम्पूर्ण द्विपक्षीय र बहुपक्षीय मञ्चहरूलाई हामीले जलवायु संकट, प्रकृतिको दोहन र त्यसले ल्याएको अकल्पनीय प्रकोपको यथार्थ स्थापित गर्ने सशक्त थलोका रूपमा प्रयोग गर्नैपर्छ। 

सभामुख महोदय,

अब हामीलाई याचना गर्ने होइन, एउटा नयाँ, प्रभावकारी र स्वाभिमानी कूटनीति चाहिएको छ । हाम्रा हिमालहरूको कहालीलाग्दो अवस्थाबारे विश्व समुदायलाई तथ्यसहित, शालीन तर दृढतापूर्वक बुझाउने कूटनीति ! जलवायु र पर्यावरणमाथिको अतिक्रमणले ल्याएको विनाशबारे बुझाउने कूटनीति ! र प्रकृति र मानव जीवनको अस्तित्व रक्षाबारे बुझाउने कूटनीति!

हामी जुन भूगोलमा उभिएका छौँ र जुन विपद्‌को सामना गरिरहेका छौं, आज जलवायु न्यायको यो लडाइँमा विश्व समुदायलाई सत्य बुझाउन नेपालभन्दा उपयुक्त र नैतिक रूपले बलियो देश अर्को कुनै छैन । यसै गरिमामय रोस्ट्रमबाट, म सरकारलाई हाम्रो ‘जलवायु कूटनीति’ लाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गर्दछु।  सभामुख महोदय,
विश्वसँग न्याय माग्नुअघि हामीले आफैंभित्र न्याय र एकता कायम गर्नुपर्छ।

हाम्रो घरभित्र अहिले ठूलो क्षति भएको छ । भौतिक संरचना भत्किएका छन्, बस्तीहरू उजाडिएका छन्, हजारौं परिवार छिन्नभिन्न भएका छन् । अबको पुनर्निर्माण कुनै सत्ता र प्रतिपक्षभन्दा पनि सिंगो राष्ट्रको जिम्मेवारी हो । राजनीतिक आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर, एकअर्काको हात समाएर हामीले यो देशलाई भविष्यप्रतिको भरोसा दिलाउनुपर्छ । भोलि जब हामी विश्वसामु उभिएर जलवायु न्याय माग्नेछौं, हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो आर्थिक हैसियत वा राजनीतिक प्रभाव हुने छैन । हाम्रो सबैभन्दा ठूलो शक्ति हुनेछ, सिंगो देशको एकीकृत आवाज। 

सभामुख महोदय,

नेपाल त्यस्तो देश हो, जसले इतिहासमा धेरै ठूला धक्का सहेको छ, धेरैपटक भत्किएको छ, तर हरेकपटक अझ बलियो भएर उठेको छ । भूकम्पले हल्लायो, तर हामी सम्हालियौँ । भूकम्पले भत्काएका घरकै जगमा पहिलेभन्दा बलिया घर बनायौँ । हामी संकटहरूसँगै बाँच्न र हाँस्न सिकेको जाति हौं । यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ । र सबै पीडित र प्रभावितका आँसु पुछनेछौँ। 

सभामुख महोदय,

चाहे राजनीतिक विपद् होस् वा प्राकृतिक, हामीले त्यसको डटेर सामना गर्नुको अर्को कुनै विकल्प छैन । यदि यो शाश्वत सत्य हो भने, अब हामीले नागरिकको जीवन रक्षालाई हाम्रो नीति र राजनीतिको पहिलो प्राथमिकता बनाउनैपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी एउटा महान् सपना, देश बनाउने हुटहुटी र अदम्य ऊर्जा बोकेर जन्मिएको दल हो । यी लगातारका विपद् र क्षतिबाट हामी दुःखी पक्कै छौं, तर किञ्चित विचलित छैनौँ । हाम्रा सीमा र कमजोरीहरूलाई हामी कहिल्यै लुकाउँदैनौं, बरु खुला रूपमा स्वीकार गर्छौँ।

विपद्‌को यस घडीले हामीलाई सिकाएको सबैभन्दा ठूलो पाठ नै ‘संस्थाको उपादेयता’ हो । एउटा व्यक्तिले जतिसुकै चाहोस्, उसले गर्न सक्ने सुधारको एउटा निश्चित सीमा हुन्छ । हिजो पत्रकार र टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग पनि कम्ती ऊर्जा कहाँ थियो र? कम्ती हुटहुटी कहाँ थियो? कम्ती जोशजाँगर कहाँ थियो? तर, एउटा व्यक्तिको रूपमा समाज रूपान्तरणमा गर्न सक्ने योगदानको आफ्नै सीमा थियो । त्यसैले हामीले एउटा सार्वजनिक संस्थाको रूपमा रास्वपाको गठन गरेका हौं।

ब्यक्तिसँग भन्दा धेरै, राज्यका संस्थाहरूसँग नै यस्ता महाविपद् र जोखिमको सामना गर्न सक्ने सीप, ज्ञान, स्रोत र विगतका अनुभवहरू सुरक्षित हुन्छन् । हुनुपर्छ । विगतमा के थियो त्यता नजाऔं । अब चाँही हुनैपर्छ । रास्वपाले सुनिश्चित गर्ने भनेकै संस्थागत क्षमता अभिबृद्धी र जवाफदेहीता हो।  तसैले, हाम्रा सुरक्षा निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सम्पूर्ण संस्थाहरूलाई थप बलियो बनाउन र अहिलेको विपद् व्यवस्थापनबाट प्राप्त सिकाइका दस्ताबेजहरूलाई सुरक्षित राख्ने गरी काम गर्न म सरकारलाई आग्रह गर्दछु । संस्थाहरूलाई बलियो बनाएर नतिजामुखी प्रतिकार्य र उद्धारको नेतृत्व गर्न सकियो भने मात्र हामी भविष्यका संकटहरूका लागि साँच्चै तयार हुन सक्छौं।  अन्तिममा सम्माननीय सभामुख महोदय,

ॐ सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद्दुःखभाग्भवेत्।

रवि बोल्ने बेला संसद पुगेका बालेन, रविसँगै बाहिरिए

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बुधबार प्रतिनिधिसभा बैठकमा अचानक देखिए ।

संसद् बैठकमा विरलै उपस्थित हुने प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने बेला संसद् पुगेका हुन् ।

बुधबारको बैठकमा लामिछानेले विशेष समय लिएर सम्बोधन गर्ने कार्यसूची थियो । सोही क्रममा लामिछाने बोल्न थालेपछि प्रधानमन्त्री शाह पनि संसद् भवन पुगे ।

प्रधानमन्त्री शाह लामिछानेको सम्बोधन सुन्नकै लागि बैठकमा आएको देखिएको थियो । लामिछानेले आफ्नो सम्बोधन सकेलगत्तै प्रधानमन्त्री शाह पनि बैठकबाट बाहिरिएका थिए ।

प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।

सामान्यतः प्रतिनिधिसभाको बैठकमा कमै देखिने शाह रविको सम्बोधनका क्रममा उपस्थित हुनु र सम्बोधन सकिएपछि बाहिरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पुनर्निर्माण सबै दलको साझा दायित्व हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपहिरोपछि हुने पुनर्निर्माणलाई सबै राजनीतिक दलको साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

उनले राष्ट्रिय एकता कायम गर्दै विपत्तिको सामना गर्न सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिनुपर्ने बताए। ठूला–ठूला विपत्तिबाट मुलुक विगतमा पनि उठेको उल्लेख गर्दै लामिछानेले यसपटक पनि देश उठ्ने विश्वास व्यक्त गरे।

‘अबको पुनर्निर्माण सबै राजनीतिक दलको साझा दायित्व हो। राष्ट्रिय एकता कायम गरेर एकै शक्ति भएर विश्वसामु उभिनुपर्छ। ठूला–ठूला विपत्तिबाट उठेका छौँ, यसपटक पनि उठ्नेछौँ,’ उनले भने।

रास्वपा देश निर्माणको दृढ संकल्पसहित गठन भएको भन्दै लामिछानेले पार्टी कुनै पनि परिस्थितिमा विचलित नहुने बताए।

‘रास्वपा देश बनाउने अदम्य साहस बोकेर बनेको पार्टी हो, हामी विचलित हुने छैनौँ। रास्वपा जवाफदेहिताबाट भाग्दैन,’ उनले भने।

उनले बाढी प्रभावितको उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारले उपलब्ध सबै स्रोत–साधनको प्रभावकारी प्रयोग गर्नुपर्नेमा जोड दिए।

विपदका पीडितलाई होच्याउनेलाई रास्वपाले साधारण सदस्य पनि राख्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने आफ्नै पार्टीका नेता–कार्यकर्तालाई समेत नछाड्ने चेतावनी दिएका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै लामिछानेले विपत्तिमा सर्वस्व गुमाएका नागरिकको आक्रोश र पीडालाई मजाक बनाउने प्रवृत्ति स्वीकार्य नहुने बताए ।

उनले नागरिकको चित्कारलाई गलत ढंगले व्याख्या गर्ने, सामाजिक सञ्जालमा ओठे जवाफ फर्काउने र पीडितमाथि साइबर बुलिङ गर्ने अधिकार कसैलाई नभएको बताए ।

‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन,’ लामिछानेले भने ।

लामिछानेले विपद्का बेला नागरिकको पक्षमा उभिनुपर्नेमा पीडितलाई नै होच्याउने रास्वपाका सदस्य वा पदाधिकारीमाथि कडा कारबाही हुने घोषणा गरे ।

उनका अनुसार पार्टीको जुनसुकै तहमा रहेको व्यक्ति भए पनि विपत्तिमा परेका नागरिकलाई सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गरेको पाइए साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिनेछ ।

उनले पार्टीलाई अन्ध समर्थकको भीड बनाउनेभन्दा दुःखमा परेका नागरिकको पक्षमा उभिने सदस्य आवश्यक रहेको बताए ।

‘हामीलाई विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक होइन, शोक र पीडामा रहेका भुईँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य चाहिएको छ,’ उनको भनाइ थियो ।

लामिछानेले विपत्तिका बेला नागरिकमा देखिएको आक्रोशलाई सामाजिक सञ्जालको टिप्पणी वा राजनीतिक पक्षधरता हेरेर मूल्याङ्कन गर्न नहुने बताए ।

विपत्तिमा आफन्त गुमाएका, घरबारविहीन भएका र राज्यसँग राहत तथा उद्धारको अपेक्षा गरिरहेका नागरिकको पीडालाई बुझ्नुपर्ने उनको भनाइ थियो ।

उनले पार्टीका नेता–कार्यकर्तालाई समेत जनताको दुःखमा संवेदनशील बन्न निर्देशन दिँदै राजनीति भनेको संकटमा परेकालाई थप चोट दिने नभई उनीहरूको साथमा उभिने माध्यम हुनुपर्ने सन्देश दिए ।

विपद्का बेला पार्टीको विचारभन्दा माथि उठेर मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले पीडित नागरिकमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहारलाई स्वीकार नगर्ने स्पष्ट पारे।

सरकारलाई प्रश्न गर्ने आधार छैन : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारलाई प्रश्न गर्नेभन्दा राज्यका प्रयासलाई साथ दिनुपर्ने बताएका छन्।

उनले प्राकृतिक विपत्तिलाई सत्तापक्ष र विपक्षीको दृष्टिकोणबाट हेर्न नमिल्ने भन्दै बाढीपीडितको उद्धार, राहत र सुरक्षामा राज्यले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरे।

लामिछानेले बाढीपीडितका लागि खाद्यान्न, आवास तथा बसोबासको व्यवस्था गर्नेदेखि तत्कालीन आवश्यकता पूरा गर्न राज्य सक्रिय रहेको बताए।

उनले भने, ‘सरकारलाई प्रश्न गर्ने आधार छैन। सत्तापक्ष र विपक्षीको आँखाले विपत्तिमा हेर्न मिल्दैन। राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएको छ। राज्यले बाढीपीडितका लागि सम्पूर्ण व्यवस्था गरेको छ।’

लामिछानेले विपत्तिको समयमा सरकारलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुपर्ने बताए। उनका अनुसार राज्य अहिले सुरुङभित्र फसेका नागरिकको जीवन खोज्नेदेखि सहाराविहीन नागरिकको सहारा बन्नेसम्मको भूमिकामा सक्रिय छ।

‘राज्य यतिबेला सुरुङभित्र आफ्ना नागरिकको ज्यान खोजिरहेको छ। राज्य सहाराविहीनको सहारा बनिरहेको छ,’ उनले भने।

भोटेकोशी बाढीपीडित जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूलाई ‘जलवायु अन्यायका पीडित’ भएको बताएका छन्।

उनले जलवायु संकटको मूल्य नेपाली नागरिकले चुकाउन नहुने भन्दै पीडितलाई श्रद्धाञ्जली दिएर मात्रै राज्यको दायित्व पूरा नहुने बताएका छन्।

लामिछानेले भने, ‘भदौ १० को भोटेकोशी बाढीका पीडित जलवायु अन्यायका पीडित हुन्। जलवायु संकटको मूल्य हामी चुकाउँदैनौँ। हामी केवल शोक मनाउँदैनौँ, केवल श्रद्धाञ्जली दिएर पुग्दैन। हामी जलवायु न्यायको माग गर्नेछौँ।’

उनले बाढीपीडितको न्यायका लागि आवाज उठाउने प्रतिबद्धतासमेत जनाएका छन्।

भोटेकोसी बाढी ‘नखाएको विष’, अन्तर्राष्ट्रिय मञ्चमा न्याय खोज्न रञ्जु दर्शनाको माग

काठमाडौं । भोटेकोसीमा आएको विनाशकारी बाढीलाई रञ्जु दर्शनाले नेपालको नियन्त्रणबाहिरको विपत्तिको गम्भीर परिणामका रूपमा चित्रण गरेकी छन् । उनले जलवायु परिवर्तनको असरका कारण नेपालजस्ता मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै अब अन्तर्राष्ट्रिय मञ्चमै जलवायु न्यायको आवाज उठाउनुपर्ने बताएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दर्शनाले भोटेकोसी बाढीले पुर्‍याएको क्षतिलाई सामान्य प्राकृतिक विपत्तिका रूपमा मात्रै हेर्न नहुने बताइन् । उनका अनुसार जलवायु परिवर्तनको असरबाट नेपालले भोगिरहेको क्षतिले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्नुपर्ने अवस्था आएको छ ।

‘भोटेकोसीको बाढी र यसले पुर्‍याएको क्षति हाम्रा लागि नखाएको विष लागेजस्तै भएको छ,’ उनले भनिन्, ‘जलवायु परिवर्तनका कारण नेपालले ठूलो मूल्य चुकाउनुपरेको छ । अब चुप लागेर बस्ने होइन, अन्तर्राष्ट्रियस्तरमै जलवायु न्यायको विषय उठाउनुपर्छ।’

दर्शनाले विपत्तिपछि सरकारले थालेको उद्धार, राहत र पुनर्स्थापनाको कामबारे पनि संसदबाट जवाफ मागिन् । प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न सरकारसँग स्पष्ट योजना हुनुपर्ने उनको भनाइ छ ।

‘सरकारको ठोस तयारी के छ ? पीडितहरूले कहिलेसम्म राहत पाउँछन् ?’ भन्दै उनले विपद्पीडितलाई राहत पुर्‍याउने विषयमा सरकारले अविलम्ब जवाफ दिनुपर्ने बताइन् ।

उनले विपद् आएपछि उद्धारमा मात्रै केन्द्रित हुने पुरानो शैली बदल्नुपर्ने बताउँदै जोखिम न्यूनीकरण र पूर्वतयारीमा समेत राज्यले लगानी बढाउनुपर्नेमा जोड दिइन् ।

सांसद दर्शनाले प्रभावित क्षेत्रको पुनर्स्थापनालाई तत्कालको राहतमा सीमित नगर्न सरकारलाई आग्रह गरिन् । भविष्यमा यस्तै प्रकृतिका विपत्तिबाट हुने क्षति घटाउन दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ ।

उनले भोटेकोसी बाढीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न नेपालले उपलब्ध सबै कूटनीतिक र अन्तर्राष्ट्रिय माध्यम प्रयोग गर्नुपर्ने बताइन् ।

‘हामीले सकेसम्म छिटो र धेरै माध्यमबाट यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ, ताकि भविष्यमा यस्तो क्षति बेहोर्न नपरोस्,’ उनले भनिन् ।

उनका अनुसार जलवायु परिवर्तनको असर सबैभन्दा बढी भोग्ने तर त्यसमा योगदान तुलनात्मक रूपमा कम भएका मुलुकका रूपमा नेपालले अन्तर्राष्ट्रिय तहमा आफ्नो क्षति र न्यायको माग बलियो ढंगले उठाउनुपर्ने समय आएको छ।

‘जेनजीकै बलमा संसद-सरकारमा पुग्ने, युवालाईचाहिँ जेल?’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले जेनजी आन्दोलनका क्रममा सडकमा उत्रिएका युवामाथि राज्यले गरेको व्यवहारप्रति प्रश्न उठाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आन्दोलनमा सहभागी युवाहरू अझै जेलमा रहनु, अदालतमा तारिख धाउनु र न्यायिक प्रक्रियामा अल्झिरहनुपर्ने अवस्था आफैंमा लज्जास्पद भएको बताए ।

उनले जेनजी आन्दोलनबाट राजनीतिक परिवर्तनको वातावरण बने पनि त्यसै आन्दोलनका सहभागीले भने न्याय पाउन नसकेको विरोधाभास देखिएको बताए ।

‘आज पनि कैयौँ युवाहरू जेलमा छन्, उनीहरू तारिख लिन बाध्य छन् । अदालतको कठघरामा उभिनुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यही जेनजी आन्दोलनको बलमा कोही हामी संसदमा छौँ, कोही सरकारमा छौँ । तर न्यायचाहिँ दुई खालको देखियो।’

न्यौपानेले सरकारसँग जेनजी आन्दोलनलाई औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिन माग गरे । त्यसका लागि संसदमा सङ्कल्प प्रस्ताव ल्याउनुपर्ने उनको भनाइ छ ।

उनले आन्दोलनमा संलग्न भएर जेलमा रहेका युवाहरूलाई तत्काल रिहाइको वातावरण बनाउन पनि सरकारसँग आग्रह गरे ।

‘जेनजी आन्दोलनलाई जनआन्दोलनका रूपमा घोषणा गरियोस् । यसलाई सङ्कल्प प्रस्तावका रूपमा संसदमा प्रस्तुत गरियोस् र जेलमा रहेका युवाहरूलाई अविलम्ब रिहा गर्ने वातावरण सिर्जना गरियोस्,’ उनले भने ।

सांसद न्यौपानेले रसुवाको भोटेकोसी बाढीबाट भएको क्षतिलाई प्राकृतिक विपत्तिमा मात्र सीमित गरेर हेर्न नहुने तर्क गरे । उनले यसलाई अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनसँग पनि जोडेर हेर्नुपर्ने बताए ।

बाढीमा सन्तान गुमाएका आमाहरूको पीडा र जेनजी आन्दोलनले उठाएका विषयलाई राज्यले सम्बोधन गर्न नसक्दा निराशा झन् गहिरिएको उनको भनाइ थियो ।

यही पीडाका बीच केही आमाहरू आत्मदाहको प्रयाससम्म गर्न बाध्य भएको प्रसंग उठाउँदै उनले राज्य संवेदनशील बन्नुपर्ने बताए ।

उनले विगतमा आमाहरूले आफ्ना सन्तान गुमाउनुपरेको अवस्था फेरि नदोहोरियोस् भन्दै राज्यले आन्दोलनका माग, पीडितको न्याय र युवामाथि चलिरहेका मुद्दालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए ।

जेनजी आन्दोलन हाइज्याक भयो, उपलब्धि जोगाउन सरकार असफल : सांसद विक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले जेनजी आन्दोलनको मर्म र त्यसबाट उठेको परिवर्तनको आवाजलाई राज्यले गम्भीरतापूर्वक लिन नसकेको आरोप लगाएकी छन् ।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन केवल विरोध प्रदर्शन नभई परिवर्तनको आकांक्षा बोकेको आन्दोलन भएको बताइन् । तर, त्यसबाट प्राप्त उपलब्धिको संरक्षण गर्न राज्य सफल भयो कि भएन भन्ने प्रश्न अहिले पनि अनुत्तरित रहेको उनको भनाइ छ ।

‘हरेक आन्दोलन र युद्धले परिवर्तनको रूप बोकेका हुन्छन्। भदौ २३ र २४ को जेनजी आन्दोलनले पनि ठूलो परिवर्तनको रूप बोकेको थियो,’ उनले भनिन् ।

सांसद विकले वास्तविक जेनजी आन्दोलनलाई भदौ २४ गते अर्कै समूहले आफ्नो नियन्त्रणमा लिएको आरोप लगाइन् । त्यसक्रममा लामो समय लगाएर निर्माण भएका राज्यका संरचना ध्वस्त पारिएको र ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति भएको उनले बताइन् ।

‘साँच्चिकै वास्तविक जेनजीहरूको आन्दोलनलाई २४ गते हाइज्याक गरियो,’ उनले भनिन्, ‘सयौँ वर्ष लगाएर बनेका संरचना ध्वस्त भए । कैयौँ भौतिक र मानवीय सम्पत्तिमा क्षति पुग्यो ।’

उनले आन्दोलनका क्रममा सिर्जित परिस्थितिले समाजमा गहिरो पीडा छाडेको बताउँदै त्यसको निष्पक्ष समीक्षा र जिम्मेवारी निर्धारण आवश्यक रहेको बताइन् ।

विकले आन्दोलनपछिको अवस्थाप्रति पनि सरकारसँग जवाफ मागिन् । भदौ २३ लाई सहिद दिवसका रूपमा स्मरण गर्ने क्रममा लक्ष्मीदेवी बस्नेतले आत्मदाहको प्रयास गर्नुपर्ने अवस्था किन आयो भन्दै उनले प्रश्न उठाइन् ।

‘नागरिकहरूले आत्मदाह गर्नुपर्ने जस्तो भयावह वातावरण किन सिर्जना भयो ? घाइतेहरूको उपचार किन भएन ? शहीदका सपना किन साकार हुन सकेनन् ?’ उनले प्रश्न गरिन् ।

उनले आन्दोलनमा घाइते भएकाहरूको उपचार, पीडित परिवारको अवस्था र आन्दोलनका क्रममा उठेका मागलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताइन् ।

सांसद विकले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन गर्न पनि सरकारसँग माग गरिन् ।

उनका अनुसार आयोगले प्रतिवेदन तयार पारिसकेको भए पनि त्यसलाई सार्वजनिक बहस र कार्यान्वयनमा लैजानुको सट्टा थन्क्याइएको अवस्था छ ।

‘यो प्रतिवेदन थन्क्याउने बेला होइन, कार्यान्वयन गर्ने बेला हो,’ उनले भनिन् ।

उनले आन्दोलनको मर्म, त्यस क्रममा भएका क्षति र उठेका प्रश्नलाई बेवास्ता गरेर राज्य अघि बढ्न नसक्ने भन्दै मानव अधिकार आयोगको प्रतिवेदनमाथि तत्काल आवश्यक प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन् ।

‘हामीभित्र मानवता हराइसकेको हो?’

काठमाडौं। भोटेकोसी बाढीमा आफन्त गुमाएका परिवारको पीडा सामाजिक सञ्जालमा समेत उपहासको विषय बनेपछि नेपाली कांग्रेसकी सांसद सीता थपलियाले आपत्ति जनाएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थपलियाले विपत्तिमा परेका नागरिकले आफ्ना बेपत्ता आफन्तको खोजी गरिदिन सरकारसँग गरेको आग्रहको भिडियोमा आएका टिप्पणीप्रति असन्तुष्टि जनाइन् ।

उनले विपत्तिले परिवारका सदस्य गुमाएका मानिसको पीडालाई समेत हल्का रूपमा लिने प्रवृत्ति देखिनु दुःखद् भएको बताइन्। आफ्नै नेपाली दाजुभाइ तथा दिदीबहिनीबाट पीडितको भिडियोमा गरिएको टिप्पणीले आफूलाई थप दुःखी बनाएको उनको भनाइ थियो ।

‘आफ्ना परिवारका सदस्य हराएपछि खोजी गरिदिन सरकारसँग आग्रह गर्ने नागरिकको पीडामाथि यस्तो टिप्पणी गर्ने हिम्मत कसरी आयो ?’ भन्दै उनले प्रश्न गरिन् ।

थपलियाले विपत्तिमा परेका परिवारलाई थप चोट पुग्ने गरी सामाजिक सञ्जालमा टिप्पणी नगर्न पनि आग्रह गरिन् । ‘हामीभित्र मानवता हराइसकेको हो ? कृपया अरुको दुःखलाई मजाक नबनाऔँ,’ उनले भनिन् ।

प्रतिनिधिसभामै सांसद थपलियाले बजारमा देखिएको ग्यास अभावप्रति उद्योगमन्त्रीको ध्यानाकर्षण गराइन् । घरायसी उपभोक्ताले ग्यासका लागि सास्ती खेपिरहँदा सम्बन्धित मन्त्रालय भने बेखबरजस्तो देखिएको उनको आरोप थियो ।

उनले उपभोक्ताको घरआँगनमा सहज रूपमा ग्यास कहिले पुग्छ भन्दै सरकारसँग जवाफ मागिन् ।

विपत्तिका बेला अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने जिम्मेवारीबाट सरकार पन्छिन नहुने उनको भनाइ थियो।

भोटेकोशी बाढीको खोज तथा उद्धार तीव्र बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरण परिचालन गर्न सरकारसँग माग गरिन्।

उनले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ज्यान जोगाउनु भएको बताउँदै संकटको समयमा राज्यको बलियो उपस्थिति देखिनुपर्नेमा जोड दिइन्।

रसुवामा बाढी आएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि खोज तथा उद्धारले अपेक्षित गति लिन नसकेको उनको आरोप थियो। ‘यो केवल प्राकृतिक विपत्ति होइन, सयौँ परिवारको जीवनसँग जोडिएको गम्भीर राष्ट्रिय संकट हो,’ उनले भनिन्।

रसुवा घटनापछि दैलेख तथा कर्णाली क्षेत्रका समेत थुप्रै नागरिक अझै सम्पर्कविहीन रहेको भन्दै थापाले उनीहरूको यथार्थ विवरण तत्काल अद्यावधिक गरी परिवारलाई सही सूचना उपलब्ध गराउन सरकारसँग माग गरिन्।

जेनजी आन्दोलन तत्कालीन सरकारको दमनको परिणाम : सांसद केसी [भिडिओ]

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलन जनतामा बढेको चरम निराशा र असन्तुष्टिको परिणाम भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले तत्कालीन सरकारको दमनका कारण आन्दोलनले उग्र रूप लिएको बताए। उनका अनुसार आन्दोलन कुनै दलको पक्ष वा विपक्षमा नभई शासनशैली, संस्कार र प्रणाली परिवर्तनका लागि भएको थियो।

‘यो आन्दोलन सरकार परिवर्तनका लागि मात्र होइन, संस्कार र शासनशैली परिवर्तन, सुशासन तथा विधिहीनता र दण्डहीनताको अन्त्यका लागि थियो,’ उनले भने, ‘आन्दोलनको मर्मअनुसार हामी अघि बढ्न सकेका छौँ कि छैनौँ, त्यसतर्फ गम्भीर हुनुपर्छ।’

ठूलो जनविश्वास र आशासहित बनेको सरकार सफल हुनुपर्नेमा जोड दिँदै केसीले अहिले बाढीका कारण चारैतिर संकटको अवस्था रहेको बताए।

उनले बाढी प्रभावितको उद्धार तथा सुरक्षामा अझै पर्याप्त काम हुन नसकेको भन्दै तत्काल उनीहरूको समस्या समाधानमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराए।

जेनजीसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग [भिडि‌ओ]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेनजी आन्दोलनपछि अन्तरिम सरकारसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले आन्दोलन सफल भएपछि सरकारसँग भएका सहमति अझै कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले आन्दोलनका क्रममा मृत्यु भएका तथा घाइतेका परिवारसँग गरिएका सम्झौता पनि यथाशीघ्र कार्यान्वयन गरी उनीहरूका माग सम्बोधन गर्नुपर्ने बताए।

यादवले जेनजी आन्दोलनकै क्रममा पक्राउ परेका युवाहरूलाई समेत तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

शशाङ्कले यसरी सम्झिए बीपी

काठमाडौं । जननायक बीपी कोइरालाको जन्मजयन्तीमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले आफ्ना पिता मात्र होइन, नेपाली लोकतान्त्रिक आन्दोलनका एक युगपुरुषका रूपमा बीपीलाई सम्झिएका छन् ।

बीपीको जन्मजयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै डा. शशाङ्कले उनको राजनीतिक संघर्ष, विचार र योगदानको स्मरण गरेका हुन् । उनले बीपीलाई राष्ट्रिय एकताका संवाहक र स्वतन्त्र चिन्तनका अद्वितीय व्यक्तित्वका रूपमा चित्रण गरेका छन् ।

लोकतन्त्र स्थापनाका लागि बीपीले जेलदेखि निर्वासनसम्म भोगेका दुःख र संघर्ष नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण अध्याय भएको शशाङ्कको भनाइ छ । व्यक्तिगत सुखभन्दा मुलुकको राजनीतिक स्वतन्त्रता र लोकतान्त्रिक व्यवस्थालाई प्राथमिकता दिएका बीपीको त्याग अहिले पनि स्मरणीय रहेको उनले बताएका छन् ।

शशाङ्कले बीपीको विचारमध्ये राष्ट्रियता, लोकतन्त्र, समाजवाद र राष्ट्रिय मेलमिलापलाई विशेष रूपमा सम्झिएका छन् । उनका अनुसार बदलिँदो राजनीतिक परिस्थितिमा समेत बीपीले अघि सारेका यी विचारको सान्दर्भिकता कम भएको छैन, बरु झन् बढेको छ ।

‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र राष्ट्रिय मेलमिलापको बीपीको दर्शन आजको नेपालका लागि झन् बढी सान्दर्भिक बनेको छ,’ उनले भनेका छन् ।

देशलाई सही दिशामा अघि बढाउन बीपीले देखाएको एकता, सहअस्तित्व र आशाको बाटो समात्नुपर्नेमा शशाङ्कले जोड दिएका छन् । उनका अनुसार राजनीतिक विभाजन र प्रतिशोधले मुलुकलाई निकास दिन सक्दैन ।

बीपीको ‘आशाको राजनीति’लाई अहिलेको आवश्यकता भन्दै शशाङ्कले सत्य, साहस र त्यागको बाटोमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । समुन्नत, न्यायपूर्ण र लोकतान्त्रिक नेपाल निर्माणमा आफूलाई थप समर्पित गर्ने उनको भनाइ छ ।

देशभर कांग्रेसका नेता–कार्यकर्ताले विभिन्न कार्यक्रम गरेर बीपीको जन्मजयन्ती मनाइरहेका बेला शशाङ्कको सन्देशमा भने बीपीको स्मरणसँगै वर्तमान राजनीतिक अवस्थाप्रतिको संकेतसमेत देखिन्छ । उनले बीपीलाई सम्झँदै विभाजनभन्दा एकता र प्रतिशोधभन्दा आशाको राजनीति रोज्नुपर्ने सन्देश दिएका छन् ।

रसुवा बाढीको प्रभाव र जलवायु वित्त अध्ययन गर्न अर्थ समितिद्वारा उपसमिति गठन

काठमाडौं। प्रतिनिधिसभाको अर्थ समितिले रसुवामा आएको बाढीले मुलुकको अर्थतन्त्रमा पारेको असर तथा जलवायु वित्त (क्लाइमेट फाइनान्स) सम्बन्धी विषयमा अध्ययन-विश्लेषण गर्न सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ।

सिंहदरबारमा आयोजित समितिको बैठकले उक्त उपसमिति चयन गरेको हो।

उपसमितिका सदस्यहरूमा सांसदहरू नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक रहेका छन्।

रसुवा बाढीका कारण पुगेको आर्थिक क्षति र जलवायु वित्तका विविध आयामबारे अध्ययन गरी आगामी असोज २ गतेभित्र प्रतिवेदन बुझाउने गरी उपसमितिलाई कार्यादेश दिइएको समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए।

लोमान्थाङमा सातपटक भूकम्प, आधाभन्दा बढी घर जोखिममा

मुस्ताङ। एकपछि अर्को गर्दै भूकम्पको धक्का आउन थालेपछि मुस्ताङको लोमान्थाङमा स्थानीयको त्रास बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै सात पटक भूकम्पको धक्का महसुस भएपछि ऐतिहासिक माटोको सहरका बासिन्दा घरभित्र बस्नसमेत डराउन थालेका छन् ।

भूकम्पको निरन्तर धक्काले लोमान्थाङ गाउँपालिकामा ठूलो भौतिक क्षति पुगेको गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङले बताएका छन् । सदियौँ पुराना माटोका संरचना रहेका कारण सामान्य धक्काले समेत घर तथा ऐतिहासिक संरचनामा गम्भीर असर परेको हो ।

गाउँपालिकाका अनुसार अधिकांश घरमा चिरा परेको छ । करिब आधाभन्दा बढी घर तत्काल बस्न जोखिमपूर्ण अवस्थामा पुगेका छन् । पुराना र नयाँ दुवै प्रकारका घरमा क्षति देखिएको अध्यक्ष गुरुङले बताएका छन् ।

उनका अनुसार २० देखि ३० प्रतिशत घर पूर्ण रूपमा बस्न अयोग्य हुने गरी क्षतिग्रस्त भएका छन् भने करिब ५० प्रतिशत घरमा उल्लेख्य क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

‘धेरैजसो घरमा चिरा परेको छ । केही समय लगातार भूकम्पको धक्का रह्यो भने बाँकी संरचना पनि ढल्ने जोखिम छ,’ अध्यक्ष गुरुङले भने ।

लोमान्थाङमा रहेका परम्परागत घर तथा ऐतिहासिक संरचना मुख्यतः माटोबाट निर्माण गरिएका छन् । वर्षौँ पुराना यस्ता संरचना पटकपटकको कम्पन थेग्न नसक्ने अवस्थामा पुगेकाले थप पराकम्पन आए ठूलो क्षति हुन सक्ने स्थानीय तहको चिन्ता छ ।

हालसम्म भूकम्पका कारण मानवीय तथा पशुचौपायाको क्षति भने नभएको गाउँपालिकाले जनाएको छ । तर, घर तथा संरचनामा भएको क्षतिको मात्रा भने ठूलो रहेको बताइएको छ ।

क्षतिको वास्तविक अवस्था पत्ता लगाउन गाउँपालिकाले प्राविधिकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेको छ । टोलीले गाउँका विभिन्न वडामा पुगेर क्षतिग्रस्त संरचनाको निरीक्षण तथा विवरण संकलन गरिरहेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालका अनुसार जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र सुरक्षाकर्मी सम्मिलित टोलीले स्थलगत अनुगमन थालेको छ ।

‘टोली वडा–वडामा पुगेर क्षतिको अवस्था हेर्ने, मुचुल्का उठाउने र विवरण संकलन गर्ने काममा लागेको छ,’ उनले भने ।

भूकम्पको धक्का रोकिए पनि स्थानीयको डर भने हटेको छैन । पटकपटक कम्पन भइरहेकाले चर्किएका घरहरू थप कमजोर बन्दै गएका छन् । अझै पराकम्पन गएमा अहिले सामान्य देखिएका संरचनासमेत भत्किन सक्ने जोखिम रहेको गाउँपालिकाले जनाएको छ ।

लोमान्थाङ पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण क्षेत्र हो । माटोबाट बनेका पुराना घर, गुम्बा तथा परम्परागत संरचनाका कारण यसको छुट्टै पहिचान छ । भूकम्पले यिनै ऐतिहासिक सम्पदामा समेत असर पुर्‍याएपछि स्थानीय थप चिन्तित बनेका छन् ।

गाउँपालिकाले क्षतिको विस्तृत विवरण तयार पार्ने काम भइरहेको जनाएको छ । प्रारम्भिक अवस्थाबारे जिल्ला प्रशासन कार्यालयसँगै संघ र प्रदेश सरकारलाई समेत जानकारी गराइएको छ ।

अहिले लोमान्थाङमा मुख्य चिन्ता एउटा मात्रै छ- पहिलो धक्काले चर्किएका घरहरू दोस्रो धक्काले नढलून् । त्यसैले क्षतिग्रस्त घरमा नबस्न र थप जोखिमबाट जोगिन स्थानीय तहले स्थलगत अवस्थाको मूल्यांकनलाई प्राथमिकता दिएको छ।

भवन ठडियो, बर्थिङ सेन्टर चलाउन जनशक्ति छैन

सप्तरी । गाउँमै सुत्केरी सेवा दिने उद्देश्यले लाखौँ खर्च गरेर बनाइएको बर्थिङ सेन्टर कर्मचारी र आवश्यक स्रोतसाधनको अभावमा प्रयोगविहीन बनेको छ।

तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टर सञ्चालन नहुँदा स्थानीय गर्भवती महिलाले प्रसूति सेवाका लागि अन्यत्र धाउनुपर्ने अवस्था छ ।

चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध गराउने लक्ष्यसहित निर्माण गरिएको बर्थिङ सेन्टर २०७९ चैत १५ गते औपचारिक रूपमा सञ्चालनमा ल्याइएको थियो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्वीकृत बजेटबाट तयार पारिएको उक्त केन्द्र अहिले दक्ष जनशक्ति, उपकरण र आर्थिक स्रोतको अभावमा अलपत्र परेको स्थानीयको गुनासो छ ।

स्वास्थ्यचौकी प्रमुख मनोज देवका अनुसार चार वर्षको अवधिमा बर्थिङ सेन्टरबाट एक जनाले मात्रै प्रसूति सेवा लिएका छन् । सेवा सञ्चालनमै नरहेपछि गाउँमा बनाइएको प्रसूति केन्द्र स्थानीयका लागि प्रभावकारी हुन नसकेको हो ।

स्थानीय सीता मण्डलका अनुसार गाउँमै बर्थिङ सेन्टर भए पनि सञ्चालनमा नआएपछि गर्भवती महिलालाई प्रसूति गराउन बाहिर लैजानुपर्ने बाध्यता छ । सामान्य अवस्थामा पनि टाढा जानुपर्ने र आकस्मिक अवस्थामा झन् समस्या हुने उनको भनाइ छ ।

वडाध्यक्ष ललनप्रसाद राउतले कर्मचारी अभावकै कारण बर्थिङ सेन्टर बन्द भएको बताए । उनका अनुसार तत्कालीन समयमा वडा कार्यालयको बजेटबाट समेत केन्द्र सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो । तर, आवश्यक जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा नियमित हुन सकेन ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेश झाले लौनिया र तोपामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको जानकारी दिँदै वरसाइनमा पनि सेवा सञ्चालन गर्ने पालिकाको नीति रहेको बताए । तर, नीति बने पनि आवश्यक जनशक्ति र स्रोत व्यवस्थापन नहुँदा स्थानीयले त्यसको लाभ लिन पाएका छैनन् ।

हाल वरसाइन स्वास्थ्यचौकीमा चार जना कर्मचारी र एक जना कार्यालय सहयोगी कार्यरत छन् । तर, उनीहरूबाटै बर्थिङ सेन्टरलाई आवश्यक दक्ष प्रसूति सेवा नियमित रूपमा सञ्चालन गर्न नसकिएको पालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णले दक्ष जनशक्ति अभावका कारण बर्थिङ सेन्टर सञ्चालनमा समस्या रहेको स्वीकार गरे । उनका अनुसार प्रसूति सेवा नियमित बनाउन आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

२०७९ चैत १५ गते गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले उद्घाटन गरेको बर्थिङ सेन्टर चार वर्ष नपुग्दै प्रभावहीन बनेको छ ।

गाउँमै सुरक्षित प्रसूति सेवा दिने उद्देश्यले बनाइएको संरचना प्रयोगमा नआउँदा एकातिर सरकारी लगानी खेर जाने जोखिम छ भने अर्कोतिर स्थानीय महिला प्रसूति सेवाका लागि अझै बाहिर जान बाध्य छन् ।

हर्मुजमा इरान-अमेरिका भिडन्त, तेल १०० डलरनजिक

काठमाडौं। इरान र अमेरिकाबीचको सैन्य टकराव अब समुद्री मार्गदेखि अमेरिकी सैन्य अखडासम्म फैलिएको छ।

अमेरिकाले इरानी तेल ट्यांकरमाथि कारबाही गरेपछि इरानले हर्मुज जलघाँटीमा अमेरिकी जहाजलाई निशाना बनाएको दाबी गरेको छ । त्यससँगै मध्यपूर्वको तनाव थप गहिरिएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी सेनाले अमेरिकी युद्धपोततर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाही गरिएको हो । त्यसक्रममा पाँच इरानी तेल ट्यांकर नष्ट गरिएको अमेरिकी पक्षले जनाएको छ । अमेरिकी कारबाहीमा परेका ट्यांकरका चालक दललाई पहिले नै जहाज खाली गर्न निर्देशन दिइएको बताइएको छ ।

अमेरिकी कारबाहीपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले पनि जवाफ फर्काएको दाबी गरेको छ । आईआरजीसीका अनुसार हर्मुज जलघाँटी पार गर्न खोजिरहेका दुई अमेरिकी जहाजसहित १० वटा जहाजलाई लक्षित गरिएको छ । तीमध्ये आठवटा तेल ट्यांकर रहेको इरानी पक्षको भनाइ छ ।

इरानले कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्यांकरलाई समेत चेतावनी दिएको छ । हर्मुज जलघाँटीमाथि आफ्नो निगरानी कडा बनाइएको भन्दै इरानी पक्षले त्यहाँबाट हुने समुद्री आवागमनलाई समेत दबाबमा राखेको संकेत दिएको छ ।

यतिमै इरानको जवाफी कारबाही रोकिएन । इरानले जोर्डनस्थित अमेरिकी सैन्य अखडा लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

जोर्डनका अनुसार इरानबाट प्रहार गरिएका २० क्षेप्यास्त्रमध्ये १८ वटा आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको थियो । बाँकी दुई क्षेप्यास्त्र जनघनत्व नभएका क्षेत्रमा खसेको बताइएको छ । घटनामा अमेरिकी सैनिकतर्फ कुनै हताहती नभएको जोर्डन र अमेरिकी अधिकारीहरूले बताएका छन् ।

इरानले भने उक्त आक्रमणलाई ‘दण्डात्मक कारबाही’का रूपमा व्याख्या गर्दै अमेरिकी सैन्य संरचनामा क्षति पुर्‍याएको दाबी गरेको छ । तर क्षतिको इरानी दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।

अमेरिका र इरानबीचको पछिल्लो टकरावको सबैभन्दा ठूलो चिन्ता हर्मुज जलघाँटीलाई लिएर देखिएको छ । विश्व बजारमा तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण यो समुद्री मार्गमा पछिल्ला दिनमा जहाजको आवागमन घटेको तथ्यांक सार्वजनिक भएको छ ।

जहाज ट्र्याकिङसम्बन्धी तथ्यांकअनुसार मंगलबार हर्मुज हुँदै जम्मा ६ वटा वस्तु ढुवानी गर्ने जहाज गुज्रिएका थिए । अघिल्लो दिन यस्तो संख्या ९ थियो भने पछिल्लो १० दिनको औसत १२ रहेको बताइएको छ । यद्यपि ट्रान्सपोन्डर बन्द गर्ने जहाजका कारण वास्तविक संख्या केही फरक हुन सक्ने जनाइएको छ ।

हर्मुज जलघाँटीमा तनाव लम्बिँदै गएमा खाडी मुलुकबाट विश्व बजारतर्फ हुने तेल आपूर्ति प्रभावित हुन सक्ने जोखिम बढेको छ । त्यसको असर सबैभन्दा पहिले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिन थालेको छ ।

इरान–अमेरिका तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको छ । बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९९ डलरभन्दा माथि पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) ९४ डलरभन्दा माथि कारोबार भएको छ ।

पछिल्लो वृद्धिसँगै ब्रेन्टको मूल्य १०० डलरको मनोवैज्ञानिक सीमाको निकै नजिक पुगेको हो । अगस्टको सुरुदेखि ब्रेन्टको मूल्य करिब २५ प्रतिशतले बढिसकेको र मध्यपूर्वमा जारी युद्ध तत्काल अन्त्य हुने सम्भावना कमजोर बन्दै गएपछि बजारमा आपूर्ति अवरोधको डर बढेको बताइएको छ ।

विश्लेषकहरूका अनुसार हर्मुजमा लामो समयसम्म समुद्री आवागमन प्रभावित भयो भने त्यसको असर तेलमा मात्र सीमित रहने छैन । इन्धन महँगिँदा ढुवानी, उत्पादन र उपभोग्य वस्तुको लागतसमेत बढ्न सक्छ । त्यसले विश्व अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब थप बढाउने जोखिम छ ।

अहिलेको अवस्थामा इरान र अमेरिकाबीचको ‘जवाफी कारबाही’ कहाँसम्म पुग्छ भन्ने नै मुख्य चासो बनेको छ ।

एउटा पक्षले तेल ट्यांकर ध्वस्त पार्ने र अर्को पक्षले अमेरिकी सैन्य तथा समुद्री लक्ष्यमा आक्रमण गर्ने क्रम जारी राखे हर्मुज जलघाँटी विश्वकै सबैभन्दा संवेदनशील ऊर्जा मार्गमध्ये एक बन्ने खतरा बढेको छ ।

अनुहारै नमिलेपछि सहिदका सालिक अनावरण रोकियो [तस्वीरहरू]

ललितपुर। सहिदको सालिक त बन्यो, तर अनुहारै नमिलेपछि अनावरण गर्न खोज्दा विवाद भयो ।

ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स परिसरमा जेनजी आन्दोलनका ४५ सहिदको सम्झनामा तयार पारिएका सालिक अनावरण गर्ने तयारी थियो ।

कार्यक्रमका लागि गृहमन्त्री सुधन गुरुङसमेत पुगेका थिए । तर, सालिकमा आफ्ना आफन्तको अनुहार नचिनिने भन्दै सहिद परिवारले आपत्ति जनाएपछि कार्यक्रम नै रोकियो ।

परिवारजनले सालिकमा सहिदको वास्तविक अनुहार झल्किने गरी सुधार गर्नुपर्ने माग राखेका छन् । अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि निर्धारित कार्यक्रम अघि बढ्न सकेन ।

अन्ततः गृहमन्त्री गुरुङ सालिक अनावरण नगरी फर्किए । सहिदको सम्झनामा बनाइएको सालिकमै परिवारले प्रश्न उठाएपछि सातदोबाटोमा हुने भनिएको अनावरण कार्यक्रम स्थगित भएको हो ।


 

‘पुनर्निर्माणका लागि सरकारले पूरक बजेट ल्याउँछ कि ल्याउँदैन?’

काठमाडौं। बाढीपहिरोले जनधनसँगै पूर्वाधार र अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याएपछि अब सरकारसामु राहत बाँडेको विवरण मात्र पर्याप्त नहुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले उद्धारदेखि पुनर्निर्माणसम्म सरकारको तयारीमाथि प्रश्नैप्रश्न उठाएकी छन्।

बुधबार संघीय संसद्को अर्थ समितिमा बोल्दै राणाले अझै सम्पर्कविहीन नागरिकको खोजी, विपद्पछि बनाइएका होल्डिङ सेन्टरको सुरक्षा, पुनर्निर्माणका लागि आवश्यक रकम र जलविद्युत् क्षेत्रमा भएको क्षतिबारे सरकारसँग जवाफ मागिन्।

ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन रहेको अवस्थामा खोजी अभियान किन सुस्त भयो भन्ने उनको मुख्य चासो थियो। त्रिशूली थ्री ‘ए’ लगायतका जलविद्युत् आयोजनामा खोजी कार्य रोकिएको भए त्यसको कारण सार्वजनिक गर्नुपर्ने उनले बताइन्।

विपद्बाट विस्थापितलाई राख्न बनाइएका ३५ भन्दा बढी होल्डिङ सेन्टरको व्यवस्थापनप्रति पनि राणाले गम्भीर चिन्ता जनाइन्। महिला र बालबालिकालाई एउटै टेन्टमा असुरक्षित ढंगले राख्दा मानव बेचबिखनदेखि यौन दुर्व्यवहारसम्मको जोखिम बढ्न सक्ने भन्दै उनले सरकारसँग सुरक्षा व्यवस्थाको स्पष्ट जवाफ मागिन्।

विपद् आउनुअघि नै जोखिमको सूचना दिने संयन्त्र प्रभावकारी बनाउन नसकिएको विषय पनि उनले उठाइन्। सीमावर्ती क्षेत्रमा जडान गरिएका सेन्सरले खतरा देखाए पनि नेपाल र चीनबीच वास्तविक समयमै सूचना आदानप्रदान नहुँदा पूर्वसूचना प्रणाली कमजोर बनेको उनको भनाइ थियो।

अब प्रश्न विपद् आएपछि उद्धार गर्ने मात्रै होइन, अर्को विपद् आउनुअघि कति तयारी गरिएको छ भन्ने पनि हो। त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग योजना र बजेट के छ भन्ने जानकारी उनले मागिन्। हिमताल फुट्ने सम्भावित जोखिम र नदी बेसिन पहिचानमा चीनसँग भइरहेको सहकार्यको अवस्थाबारे पनि उनले सरकारलाई प्रश्न गरिन्।

विपद्पछिको पुनर्निर्माण झन् ठूलो आर्थिक चुनौती बन्ने देखिएको छ। अर्थ मन्त्रालयले पुनर्निर्माणमा करिब ४ देखि ५ अर्ब अमेरिकी डलर अर्थात् झण्डै ७ खर्ब ६२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको प्रसंग निकाल्दै राणाले यति ठूलो रकम कहाँबाट जुटाउने भन्ने प्रश्न गरिन्।

आन्तरिक स्रोतबाट जुटाउने हो कि वैदेशिक ऋण वा अनुदानमा भर पर्ने हो ? ऋण लिए चालू वर्षको घाटा र सावाँब्याज भुक्तानीमा कस्तो असर पर्छ ? पुनर्निर्माणका लागि सरकारले पूरक बजेट ल्याउँछ कि ल्याउँदैन ? उनका प्रश्न यिनै विषयमा केन्द्रित थिए।

जलविद्युत् क्षेत्रको क्षतिलाई पनि उनले छुट्टै आर्थिक संकटका रूपमा प्रस्तुत गरिन्। निजी क्षेत्रका आयोजनामा भएको क्षति कम गर्न बिमा दाबी भुक्तानी, रोयल्टी छुट र निर्यात राजस्वसम्बन्धी राहत कहिलेदेखि लागू हुन्छ भन्ने उनले सोधिन्। प्रभावित व्यवसायीका लागि सरकारले छुट्टै सहजीकरण टोली बनाएर काम गर्नुपर्ने उनको सुझाव छ।

उता दसैँको मुखमा रसुवागढी नाका बन्द हुँदा नेपाल–चीन व्यापारमा परेको असर अर्को चुनौती बनेको छ। वैकल्पिक व्यापारिक मार्गका रूपमा कोरला नाका प्रयोग गर्दा लागत र कठिनाइ बढ्ने भएकाले व्यापारीलाई परेको असर कम गर्न सरकारले के गर्दैछ भन्ने विषयमा पनि राणाले जवाफ मागिन्।

विपद्को आर्थिक क्षति यतिमै सकिँदैन। त्यसैले आवश्यकता आकलन प्रतिवेदनपछि हुने भनिएको दातृ सम्मेलनलाई पनि उनले गम्भीरतापूर्वक लिन सरकारलाई सचेत गराइन्।

जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकका रूपमा नेपालले अन्तर्राष्ट्रिय सहयोग र ‘क्लाइमेट जस्टिस’को मुद्दा उठाउँदै आएको छ। तर, क्षतिको तथ्यांक, आवश्यकता र पुनर्निर्माण योजनाको बलियो दस्तावेज तयार गर्न नसके अन्तर्राष्ट्रिय कोषको लाभ अरू देशले लैजान सक्ने राणाको चेतावनी छ।

उनले भनिन्, ‘हामीले क्लाइमेट जस्टिसको दाबी अन्तर्राष्ट्रिय मञ्चमा कसरी गर्दैछौँ ? राम्रो डकुमेन्टेसन र तयारी भएन भने विश्वमा आउने फन्ड अरू देशले लैजान्छन् र हामी पछि पर्छौँ।’

राणाले विपद् व्यवस्थापन ऐन, २०७४ मा रहेका कानुनी तथा संस्थागत कमजोरी हटाउन तत्काल संशोधन प्रक्रिया अघि बढाउनुपर्ने माग पनि गरिन्।

विपद्को क्षति ठूलो छ, चुनौती झन् ठूलो। यस्तो बेला कसले गल्ती गर्‍यो भनेर औँला ठड्याउनेभन्दा उद्धार, राहत र पुनर्निर्माणमा राज्यका सबै संयन्त्र एक ठाउँमा उभिनुपर्ने उनको जोड छ।

तर, सहकार्यको कुरा जति महत्वपूर्ण छ, सरकारसँग ‘अब के गर्ने ?’ भन्ने प्रश्नको स्पष्ट उत्तर हुनु त्यति नै आवश्यक छ।

विश्वमा भरोसा घट्दै जाँदा संयुक्त राष्ट्रसंघलाई विश्वास फर्काउने चुनौती

न्युयोर्क। युद्ध, भूराजनीतिक तनाव र जलवायु संकटले विश्वलाई अस्थिर बनाइरहेका बेला संयुक्त राष्ट्रसंघले आफ्नो भूमिकामाथि उठिरहेका प्रश्नको सामना गर्नुपर्ने भएको छ। बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्य कमजोर बन्दै गएको भन्दै संयुक्त राष्ट्रसंघको ८१औँ महासभाले संस्थाप्रतिको विश्वास पुनःजगाउने विषयलाई केन्द्रमा राखेको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार सुरु भएको महासभाको उद्घाटन गर्दै नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले विश्व समुदायले अहिले एकैपटक धेरै संकटको सामना गरिरहेको बताए।

उनका अनुसार विभिन्न क्षेत्रमा जारी द्वन्द्वले मानवीय पीडा बढाएको छ। विकासका उपलब्धि पनि स्थिर रहन सकेका छैनन् भने जलवायु परिवर्तनको असर झन् तीव्र हुँदै गएको छ। यस्तो अवस्थामा बहुपक्षीय सहकार्यप्रतिको विश्वास कमजोर हुनु थप चिन्ताको विषय बनेको उनले बताए।

रहमानले अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रति घटिरहेको भरोसा भाषणबाट नभई परिणाममुखी कामबाट फर्काउनुपर्ने धारणा राखे। आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसंघप्रति पुनःविश्वास निर्माणलाई प्राथमिकतामा राख्ने उनले बताए।

८१औँ महासभाको मूल विषय पनि यही चुनौतीसँग जोडिएको छ। ‘विश्वास पुनःस्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित सुरु भएको महासभामा शान्ति तथा सुरक्षा, दिगो विकास, जलवायु परिवर्तन, मानवअधिकार, प्रविधि र बहुपक्षीय सहकार्यलाई प्राथमिकतामा राखिएको छ।

रहमानले सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना हुँदाको विश्व र अहिलेको विश्वबीच ठूलो अन्तर आइसकेको बताए। त्यसैले संस्थाको आधारभूत मूल्य र बडापत्रको मर्म कायम राख्दै समयअनुकूल सुधार आवश्यक रहेको उनको भनाइ थियो।

महासचिव एन्टोनियो गुटेरेसले पनि विश्वमा देखिएको विभाजन र अस्थिरताका बीच संयुक्त राष्ट्रसंघको आवश्यकता झन् बढेको बताए। तर यही समयमा अन्तर्राष्ट्रिय संस्थाहरूले प्रभावकारी ढंगले काम गर्न चुनौती भोगिरहेको उनले उल्लेख गरे।

गुटेरेसले युद्ध र विस्थापनसँगै आणविक तनाव, गरिबी, असमानता तथा जलवायु संकटलाई विश्वसामु रहेका गम्भीर समस्याका रूपमा प्रस्तुत गरे। कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले नयाँ अवसरसँगै जोखिमसमेत थपेको उनको भनाइ थियो।

द्वन्द्वका कारण विस्थापित हुनेको संख्या बढिरहेको र मानवीय आवश्यकता चुलिँदै गए पनि सहायता तथा विकासका लागि उपलब्ध स्रोत भने खुम्चिँदै गएको उनले बताए। अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको उल्लंघन तथा राष्ट्रहरूबीच बढ्दो अविश्वासले साझा समाधान खोज्ने प्रयासलाई समेत कमजोर बनाएको उनको निष्कर्ष थियो।

यस्तो परिस्थितिमा महासभाले कूटनीति, संवाद र सहकार्यलाई अघि बढाएर अन्तर्राष्ट्रिय सम्बन्धमा हराउँदै गएको विश्वास फर्काउनुपर्ने गुटेरेसले बताए।

उनले ‘भविष्यका लागि सम्झौता’ र ‘संयुक्त राष्ट्रसंघ–८० पहल’ लाई संस्थागत सुधारका आधारका रूपमा अघि सार्दै महासभाले त्यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।

विश्वका समस्या कुनै एक राष्ट्रको प्रयासले मात्र समाधान नहुने भन्दै गुटेरेसले संयुक्त राष्ट्रसंघको उद्देश्यअनुसार साझा समाधान खोज्न सबै देश एक ठाउँमा उभिनुपर्ने धारणा राखे।

पोखराका सरकारी संरचना : भग्नावशेष उस्तै, काम–सेवा अन्तैबाट (तस्वीर)

पोखरा। गत वर्ष भदौ २४ गतेको जेन–जी आन्दोलनमा क्षतिग्रस्त पोखराका सरकारी भवन र सरकारी आवास एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेका छैनन्।

आन्दोलनका क्रममा क्षति पुगेका कतिपय संरचना अहिले पनि भग्नावशेषकै अवस्थामा छन् भने सरकारी सेवा भने वैकल्पिक स्थानबाट सञ्चालन भइरहेका छन्।

सिंहदरबार र संघीय कार्यालय रहेको काठमाडौं उपत्यकापछि भौतिक संरचनामा ठूलो क्षति व्यहोरेको सहरका रूपमा पोखरा देखिएको थियो।

आन्दोलनका क्रममा गण्डकी प्रदेश सभा भवन, प्रदेश प्रशिक्षण प्रतिष्ठान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय तथा आवास र मन्त्री आवासमा आगजनी भएको थियो।

पोखरा महानगरपालिकाको मुख्य भवन तथा वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र शिक्षा कार्यालयसहित कास्कीमा रहेका संघीय सरकारका दर्जनौँ कार्यालयसमेत आन्दोलनकारीको निशानामा परेका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयका भवनमा सामान्य मर्मत तथा सरसफाइ गरेर सेवा सञ्चालनमा ल्याइएको छ। तर मन्त्री आवासको पुनर्निर्माण अझै पूरा भएको छैन।

प्रदेश सभा भवनमा भएको क्षति गम्भीर रहेकाले त्यसलाई तत्काल प्रयोग गर्न सकिने अवस्था छैन। नयाँ भवन निर्माणको काम अघि बढेकाले प्रदेश सभा वैकल्पिक स्थानबाट सञ्चालन भइरहेको छ।

पोखरा महानगरपालिकाले पनि नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ। भवन पुनर्निर्माण नहुँदासम्म महानगरको प्रशासनिक काम त्यहीँबाट हुँदै आएको छ।

आन्दोलनका क्रममा मन्त्री तथा सांसदका निजी घर र व्यावसायिक संरचनामा समेत आगजनी भएको थियो। निजी क्षेत्रका अधिकांश घर तथा होटल पुनर्निर्माणपछि पुरानै अवस्थामा फर्किए पनि केही संरचना अझै निर्माणाधीन छन्।

तस्बिरमा हेर्नुहोस्, जेन-जी आन्दोलनमा क्षतिग्रस्त पोखराका सरकारी भवनको एक वर्षपछिको अवस्था।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

‘राजनीति सिकाउन आएका हौँ’ भन्ने गृहमन्त्रीलाई सोम पोर्तेलको प्रश्न : ‘ट्युसन सेन्टर खोल्ने हो कि ?’

काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य सोम पोर्तेलले गृहमन्त्रीको अभिव्यक्तिप्रति व्यंग्य गर्दै आफूलाई राजनीति सिकाउन आएको बताउने मन्त्रीले उल्टै धेरै कुरा सिकाउन सक्ने टिप्पणी गरेका छन् ।

गृहमन्त्रीले ‘हामी राजनीति सिकाउन आएका हौँ’ भनेको प्रसंग उल्लेख गर्दै पोर्तेलले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा विभिन्न प्रश्न उठाएका हुन् ।

उनले लेखेका छन्, ‘पानी बगाएर गृहमन्त्री कसरी बन्न सकिन्छ ? त्यो तपाईंबाटै सिक्नुपर्छ । सम्पत्ति कसरी लुकाउने ? अवैध सम्पत्तिलाई कसरी वैध बनाउने ? करोडौँ मूल्यको सेयर र सयौँ रोपनी जग्गा कसरी जोड्ने ?’

आफूमाथि प्रश्न उठेपछि छानबिनको नाटक कसरी गर्ने, आफूलाई ‘सर्वहारा र इमानदार’ देखाउन कसरी नाटक गर्ने तथा राजनीतिक स्टन्ट कसरी गर्ने भन्ने कुरा पनि गृहमन्त्रीबाटै सिक्नुपर्ने पोर्तेलको व्यंग्य छ ।

पोर्तेलले गृहमन्त्रीलाई लक्षित गर्दै भनेका छन्, ‘यी कुरा सिकाउन ट्युसन सेन्टर खोल्ने पो हो कि मन्त्रीज्यू ?’

उनले गृहमन्त्रीले अरूलाई नैतिकताको पाठ पढाउनुअघि आफूले एकपटक ऐनामा अनुहार हेर्नुपर्ने टिप्पणीसमेत गरेका छन् ।

‘नैतिकताको पाठ पढाउनु अघि आफ्नो अनुहार ऐनामा एकपटक हेर्ने पो हो कि मन्त्रीज्यू,’ पोर्तेलले भनेका छन् ।

पोर्तेलको यो अभिव्यक्ति गृहमन्त्रीको पछिल्लो राजनीतिक अभिव्यक्तिप्रति लक्षित देखिन्छ । उनले गृहमन्त्रीमाथि सम्पत्ति, छानबिन र राजनीतिक आचरणसँग सम्बन्धित गम्भीर प्रश्नसमेत उठाएका छन् ।

ओलीको आरोप : ‘भदौ २४ को त्रासदी लोकतन्त्रमाथिको सुनियोजित आक्रमण’ [भिडि‌ओ]

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको हिंसा र विध्वंसलाई नेपालको इतिहासकै ‘कालो अध्याय’ भएको बताएका छन् ।

भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै ओलीले उक्त घटना राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील बाटो उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने घातक योजनाको मूर्त रूप भएको दाबी गरेका हुन् ।

उनले प्रदर्शनका नाममा अराजकता र परिवर्तनका नाममा हिंसालाई वैधता दिने प्रयासले लोकतान्त्रिक दृष्टान्तलाई कमजोर पार्ने भन्दै त्यसको दीर्घकालीन असरप्रति चिन्ता व्यक्त गरेका छन् ।

ओलीले भदौ २४ को विध्वंसका आरोपीलाई उन्मुक्ति दिने तथा उनीहरूविरुद्ध सुरु भएका अनुसन्धान र अभियोजन रोक्ने कामले राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको आरोपसमेत लगाएका छन् ।

उनले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारकसहित सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई गम्भीर घटनाका रूपमा व्याख्या गरेका छन् ।

‘शान्तिपूर्ण प्रदर्शन भनेर अनुमति लिइएको कार्यक्रम कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार छन्’ भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने ओलीको माग छ । राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्नसमेत उनले उठाएका छन् ।

ओलीले भदौ २३ गतेको प्रदर्शन र त्यसपछिका घटनामा ज्यान गुमाएका युवासहित कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले उपचाररत घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनापछि पुनर्निर्माणमा जुटेका राजनीतिक-सामाजिक व्यक्तित्व तथा व्यवसायीप्रति पुनरुत्थानको शुभेच्छा व्यक्त गरेका छन् ।

उनले अब त्यस्तो घटना दोहोरिन नदिन लोकतन्त्र, संविधान, राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

ओलीले लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि सबै सम्बन्धित शक्ति र व्यक्तिलाई सहकार्य गर्दै अघि बढ्न अपिलसमेत गरेका छन्।

जे-जी आन्दोलनको एक वर्षमा प्रचण्डको प्रश्न : ‘युवाले खोजेको परिवर्तन कहाँ पुग्यो ?’ [पूर्णपाठ]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन-जी आन्दोलनका क्रममा भएको दमन, हिंसा, आगजनी र तोडफोडबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

जेन-जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति समवेदना जनाएका हुन् ।

उनले जेन-जी आन्दोलन अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट सुरु भएको बताएका छन् । तर युवाको आवाजलाई सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको र त्यसपछि आन्दोलनमा घुसपैठ गरी हिंसा, लुटपाट तथा विध्वंस मच्चाइएको उनको आरोप छ ।

प्रचण्डले भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय र राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको उल्लेख गरेका छन् ।

उनका अनुसार आन्दोलन हिंसात्मक बन्दै गएपछि वास्तविक जेन-जी अभियन्ताहरूले नै ‘घुसपैठ भयो’ भन्दै घर फर्किन आग्रह गरेका थिए । युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा तथा विध्वंसमा परिणत गर्ने योजनालाई एउटै दृष्टिले हेर्न नहुने उनको भनाइ छ ।

‘जेन-जी विद्रोह’का नाममा आफ्नो पार्टी, नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न नसकिने प्रचण्डले बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारलाई हठात् हटाइएको उल्लेख गर्दै आफूहरू न गोली चलाउने पक्षमा रहेको र न सिंहदरबार जलाउने पक्षमा रहेको दाबी गरेका छन् ।

प्रचण्डले आन्दोलनको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित छानबिन आवश्यक रहेको बताएका छन् । ‘को दोषी थियो, आन्दोलनमाथि दमन किन र कसरी भयो, कसले आन्दोलन भड्कायो, हिंसा र विध्वंसबाट लाभ कसले उठायो’ भन्नेलगायतका प्रश्नको जवाफ खोज्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि आन्दोलनका क्रममा भएका दमन, हिंसा तथा तोडफोडका घटनामा संलग्न पक्षमाथि अनुसन्धान र कारबाहीको आवश्यकता औँल्याएको भन्दै प्रचण्डले प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

उनले जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधन नभएको दाबीसमेत गरेका छन् । भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र समान अवसरको अपेक्षा गरेका नागरिक फेरि निराश बनेको भन्दै उनले महँगी, कमजोर अर्थतन्त्र, बेरोजगारी, बढ्दो वैदेशिक पलायन, सार्वजनिक ऋण र करको बोझप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

संविधान संशोधनका नाममा संविधानका मूलभूत संरचनामै परिवर्तन गर्ने प्रयास स्वीकार्य नहुने प्रचण्डको चेतावनी छ । संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्ता नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धि भएकाले तिनलाई कमजोर पार्ने प्रयासको प्रतिवाद गर्ने उनले बताएका छन् ।

‘युवाको आवाजलाई दबाएर होइन, सुनेर र सम्बोधन गरेर मात्र लोकतन्त्र बलियो हुन्छ’ भन्दै प्रचण्डले लोकतन्त्रका कमजोरीको समाधान लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनु भएको बताएका छन् ।

उनले आफ्नो पार्टी पार्टी शुद्धीकरण, संगठनात्मक पुनर्निर्माण र राजनीतिक रूपान्तरणको प्रक्रियामा अघि बढ्ने पनि बताएका छन् । साथै संविधान र लोकतन्त्रको रक्षाका लागि शान्ति, संविधान र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपालीलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

पूर्णपाठ:

‘आज भदौ २४ गते।

गत साल आजकै दिन नेपालको इतिहासमा सबभन्दा रहस्यमय, सबैभन्दा भयानक, विध्वंसको दिनका रूपमा रह्यो।

आजको दिन, गत साल, नेपालको इतिहासमा सयौँ-सयौँ वर्षमा तयार भएका ऐतिहासिक धरहराहरू जलाइए। नेपाली राजनीतिक आन्दोलनको इतिहासमा निकै ठुलो त्याग, तपस्या र बलिदान गरेका पार्टीका कार्यालयहरू जलाइए। सरकारी संरचनाहरू जलाइए, निजी भवन जलाइए र देशभरि केही घण्टाभित्रै एउटा भयानक वातावरण बनियो।

आजको दिनलाई सम्झिँदा मैले नेपालको राष्ट्रिय स्वाधीनतामाथि यो स्तरको हमला, नेपाली जनताको लोकतान्त्रिक आन्दोलन र आकांक्षामाथि यो स्तरको प्रहार र केही घण्टाभित्रै भएको यो विध्वंस साच्चै नै रहस्यमय पनि छ। यसले के माग गर्छ भने गहिरो अध्ययन-अनुसन्धान गरेर यो विध्वंस मच्चाउने तत्व को हुन्? वास्तविक दोषी को छन्? यसको सत्यतथ्य अनुसन्धान गर्ने कुरा र दोषीलाई कारबाही गर्ने कुरा असाध्यै महत्वपूर्ण ठान्दछु म।

तर गएको एक वर्षमा त्यतातिर घटनाक्रम गएको छैन। मानव अधिकार आयोगद्वारा तयार पारिएको प्रतिवेदन पनि कार्यान्वयनतिर अगाडि बढेको छैन, बरु दराजमा थन्क्याउने काम भएको छ।

र युवाहरूले भाद्र २३ गते जुन आकांक्षाका साथ सुशासनको कुरा गरेका थिए, पारदर्शिताको कुरा गरेका थिए, ती आकांक्षाहरू भाद्र २४ ले प्रतिनिधित्व गरेको छ त? भन्दा भाद्र २४ ले ती भावना र आकांक्षालाई होइन, बरु जेन-जी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गर्न र २३ को आन्दोलनलाई अपहरण गर्ने र त्यसलाई कब्जा गर्नेहरूकै हालीमुहाली भएको देखिन्छ।

मैंने यसलाई रहस्यमय छ र अझ गम्भीर अनुसन्धानको दायरामा ल्याउनै पर्छ भन्ने किन पनि भन्न चाहन्छु भने यसको राष्ट्रिय आयामहरू छन्, यसको अन्तर्राष्ट्रिय आयामहरू पनि छन्। त्यसकारण अन्तर्राष्ट्रिय स्तरबाट पनि आजको भू-राजनीतिको सन्दर्भमा पनि यसको अध्ययन-अनुसन्धान हुन जरुरी छ। नेपालको राष्ट्रिय आयामका दृष्टिले पनि हाम्रा सुरक्षा निकायहरूको भूमिकादेखि, राजनीतिक नेतृत्वको भूमिकादेखि सबैको बारेमा पनि अझ गहिरो अध्ययन र अनुसन्धान गर्न जरुरी छ।

र यसले जे चिज निम्त्यायो, सायद नेपालको इतिहासमा एकै दिन यति ठुलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण छैन। त्यसकारण मैले बेलाबेलामा भन्ने गर्छु, सायद राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिको सबभन्दा ठुलो संकट हामीले अहिले व्यहोरिरहेका छौँ। नेपाली जनताको आत्मनिर्णयको अधिकार खोसिएको अनुभूति हुन्छ, अनुभव हुन्छ। नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथि निरंकुशताको प्रहार भएको छ। नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको संविधान मिचिएको छ। भाद्र २४ को घटनाक्रमका कारणले नै त्यो मिचिएको छ।

यो अवस्थामा यसको बहुआयामिक अध्ययन गर्नु, अनुसन्धान गर्नु, दोषी पत्ता लगाउनु र बिना आग्रह-पूर्वाग्रह त्यसलाई कारबाहीको दायरामा ल्याउनु र संविधान र लोकतन्त्रलाई अझ सुदृढ गर्ने दिशामा अगाडि बढ्नु, राष्ट्रिय स्वाधीनतालाई अझ सुदृढ गर्ने दिशामा अगाडि बढ्न देशका सबै राजनीतिक शक्ति, देशभक्त र आम नेपाली जनता एक भएर अगाडि बढ्नु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ।

हाम्रो पार्टीको तर्फबाट आजकै दिन एउटा प्रेस वक्तव्यमार्फत भाद्र २३ र भाद्र २४ लाई कसरी बुझ्ने भन्ने बारेमा हामीले स्पष्ट गरेका छौँ। त्यसको पनि अध्ययन गर्न म सबैसँग हार्दिक अपिल गर्दछु, धन्यवाद।’

जेनजी सहिदहरूकाे वलिदान स्मरणीय, प्रेरणादायी र सम्मानयाेग्य : दाहाल

काठमाडौं । नेपाली कांग्रेसका नेता सूर्यकुमार दाहाल (एस.के)ले जेनजी सहिदहरूले राष्ट्र र समाजमा परिवर्तनका लागि गरेको बलिदान सधैँ स्मरणीय, प्रेरणादायी र सम्मानयोग्य रहने बताएका छन्। उनले परिवर्तनको यात्रा सहज नहुने र त्यसका लागि अनेकौँ पीडा, संघर्ष, त्याग तथा बलिदान जोडिने उल्लेख गरेका छन्।

‘आफ्नो जीवनभन्दा माथि उठेर अधिकार, न्याय, स्वतन्त्रता र समुन्नत भविष्यको सपना बोकेर अगाडि बढ्ने ती वीर आत्माहरूको योगदान राष्ट्रले कहिल्यै बिर्सन सक्दैन,’ दाहालले विज्ञप्तिमार्फत् भने ।

सहिदहरूको बलिदानले सबैलाई अझ जिम्मेवार, सचेत र कर्तव्यनिष्ठ बन्न प्रेरणा दिने उल्लेख गर्दै दाहालले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

दाहालले आन्दोलनका क्रममा भएको बलिदानलाई तत्कालीन घटनाका रूपमा नभई देशको परिवर्तन, अधिकार, न्याय र स्वतन्त्रताको संघर्षसँग जोडिएको महत्वपूर्ण योगदानका रूपमा स्मरण गर्नुपर्ने बताएका छन्।

जंगीअड्डामा बनेको थियो सत्ता परिवर्तनको डिजाइन, जेनजी आन्दोलन होइन

सर्वप्रथम, जेनजी विद्रोह होइन, आन्दोलन पनि होइन । त्यो सरकारी दस्तावेजले नै भनेको छ । कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि यही भन्छ । त्यो बेला भदौ २४ गते जति पनि सरकारी तथा निजी संरचना जलाइयो, त्यसमा देशभरिबाट जम्मा भएका मानिसहरूको विश्लेषण गरिएको छ ।

प्रतिवेदनमा मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलको डाटाको पनि विश्लेषण भएको छ । त्यस दिन त्यस क्षेत्रमा १ लाख २४ हजार मोबाइल सिम सक्रिय थिए । आगजनी भएको २० मिटर वरिपरि मात्रै २४ हजार सिम सक्रिय थिए ।

डिस्कर्डमा यसको तयारी गरिएको र ३४ हजार सदस्य रहेको भनिएको छ । डिस्कर्डमा संलग्न भएकामध्ये १० हजार जना सहभागी नै थिएनन् । त्यसकारण यो आन्दोलन होइन । यो सोचविचार गरेर नेपाली सेनाले सहजीकरण गरेको हो ।

यो घटनाको पृष्ठभूमि तयार हुनुअघि भएका घटनाक्रम बुझ्न हामी २०१५ अक्टोबर २४ मा फर्किनुपर्छ । त्यो दिन नेपाली सेनाले, प्रधानसेनापतिको नेतृत्वमा, सरकारलाई नसोधीकनै आफू एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) मा सहभागी हुने भन्दै निवेदन पठाएको छ ।

२०१७ मा फेरि त्यो निवेदन पठाइएको छ । २०१९ मा युटाह राज्यको नेशनल गार्डसँग सहकार्य गर्ने भनेर अमेरिकाले स्वीकृति दिएको छ । अब यो कुरा सेनाले प्रत्यक्ष रूपमा गरेको हो ।

तर, यस्तो विषयमा त निजामती प्रशासनले राय–टिप्पणी उठाउनुपर्थ्यो । राजनीतिक नेतृत्वले निर्णय गर्नुपर्थ्यो । मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्थ्यो । त्यसपछि मात्रै सन्धि–सम्झौता हुने हो । यहाँ त कुकुरले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले कुकुर हल्लायो ।

असार ६, २०७९ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एसपीपी पारित हुँदैन भनियो । त्यसपछि एमाले, कांग्रेस, नेकपालगायत सम्मिलित सत्ता गठबन्धनविरुद्ध नेपाली सेनालाई अमेरिकाले हतियारका रूपमा प्रयोग गर्‍यो भन्ने मेरो बुझाइ हो ।

बाहिरबाट युथ काउन्सिलमा संलग्न हुने, तालिमका लागि अमेरिका जान पाइन्छ भन्ने लोभमा गाउँबाट आएका तथा सहरका सोझासाझा केटाकेटीहरू पनि गए । यता राजनीतिक संरचना तयार पार्ने काम भइरहेको थियो ।

यो सम्भव नभएपछि सेनाले आफ्नै जंगीअड्डामा एउटा सेल गठन गरेको थियो, जसको उद्देश्य यी नेताहरूलाई भ्रष्टाचारका मुद्दामा बदनाम गराउने थियो भन्ने कुरा पनि आएको छ ।

यो कुरा माधवसुन्दर खड्का भन्ने नेपाली सेनाका एक कर्णेलले भनेका छन् । सेना अवकाश पाए पनि सैनिकको सेवा सम्बन्ध पूर्ण रूपमा समाप्त हुँदैन । बोलाएको बेला आउनुपर्छ । सैनिक जहिल्यै ड्युटीमा रहने प्रकृतिको हुन्छ । त्यसकारण उनी भूतपूर्व भए पनि महासेनानी तहको व्यक्तिले भनेको कुरा त्यत्तिकै अस्वीकार गर्न मिल्दैन।

अर्को कुरा, यो सम्झौता भइसकेको भनेर नेपाली सेनाका मेजर जनरल विनोज बस्न्यातले लेख लेखेका छन् । लिंक्डइनमा पनि छ, ट्विटरमा पनि उनले यसबारे भनेका छन् । उनले सम्झौता भइसकेको र अब कार्यान्वयनमा जानुपर्छ भनेका छन् ।

यदि सम्झौता सेनाले गरेको हो भने राजनीतिक नेतृत्वले त्यसलाई पास गरेको छैन । मन्त्रिपरिषद्ले स्वीकृति दिएको छैन । संसदबाट एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)जस्तै अनुमोदन आवश्यक पर्छ । एक जना मेजर जनरलले यसरी सार्वजनिक रूपमा भनेपछि सेनाको संलग्नता देखिन्छ ।

सेनालाई प्रयोग गरेर राजनीतिक नेतृत्वसँग बार्गेनिङ भइरहेको थियो । अत्यन्त दबाब बढेपछि अमेरिकनले दुःख दिन थाले । अर्कोतिर, अमेरिका अब घट्दो शक्ति हो, विश्वको एकमात्र बलियो शक्ति होइन, भूराजनीतिक परिवर्तन हुँदैछ भन्ने बुझाइका आधारमा ओली चीन गएर ग्लोबल सेक्युरिटी इनिसियटिभ (जिएसआई)मा सम्झौता गरिदिए ।

बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को फ्रेमवर्कमा आरजु राणा परराष्ट्रमन्त्री हुँदा पहिलेको भन्दा अझ ‘फेभरेबल टर्म’मा सम्झौता भयो । त्यसपछि अमेरिकनहरूले अब यिनीहरूबाट हुँदैन भन्ने निष्कर्ष निकाले र शेरबहादुर देउवाले कुटाइ खाए ।

मैले फेसबुकमा ओली भाग्नुपरेको र देउवाले कुटाइ खानुपरेको उनीहरू देशभक्त भएकै कारण हो भनेर भनेको थिएँ । यसबीचमा भएका घटनाहरू यिनै हुन् ।

यसमा चाहिँ सेना अनावश्यक रूपमा बाठो भयो । त्यो उसको काम नै होइन । नेपाली सेना त संविधान र कानुनअनुसार चल्ने हो ।

राजनीतिक नेतृत्वले गर्ने निर्णयको प्रशासनिक प्रक्रिया हुन्छ । रक्षा सचिव छन्, सहसचिव छन् । उनीहरूले प्रक्रिया पूरा गर्ने विषयमा सेनाले आफैं सम्झौता गर्दै हिँड्यो ।

र, सेनाले अहिलेका प्रधानमन्त्री बालेन शाहलाई नेताका रूपमा स्थापित गरेको हो । त्यो कुरा कसरी प्रमाणित हुन्छ भने काठमाडौं महानगरको मेयर भएलगत्तै उनलाई जंगीअड्डामा लगेर स्वागत गरिएको भिडियो मैले हेरेको छु ।

एउटा मेयरलाई जंगीअड्डामा स्वागत गर्नुपर्ने कारण के हो ? त्यसको पनि एउटा प्रक्रिया होला । राज्यका विभिन्न तह र निकायबीच समन्वय गर्ने सबै च्यानलहरू छन् ।

संघीय सरकारसँग प्रदेश सरकार र स्थानीय सरकारले व्यवहार गर्ने निकायहरू छन् । एउटा संघीय मामिला मन्त्रालय हो । अर्को अन्तरप्रदेश काउन्सिल भन्ने संरचना छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेशबाट प्रतिनिधित्व हुने गरी मेयर तथा उपमेयरसमेत सहभागी हुने सरकारी संयन्त्र छ । संविधानले त्यसको व्यवस्था गरेको छ ।

त्यसविपरीत किन एउटा मेयरलाई सेनाले जंगीअड्डामा स्वागत गर्‍यो ?

यो कुरा ओलीलाई थाहा थियो । प्रचण्डलाई पनि थाहा थियो । मधेशवादी दललाई पनि थाहा थियो । तर, अमेरिकनहरूको अगाडि उनीहरूले केही गर्न सक्दैनथे ।

सेना त उनीहरूको अगाडि सलाम ठोक्ने मात्रै होइन, पछाडि धाप मार्ने शक्ति पनि थियो भन्ने मेरो बुझाइ हो । बालेन त्यतिखेर धाप मारेको मान्छे हुन् भन्ने कुरा बालेनले आफैं प्रमाणित गरेका छन् ।

उनको श्रीमतीको सवालमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति आयो । अहिलेसम्म त्यसमा केही भएन । यस्तो भन्न किन हिम्मत आयो ?

एउटा मेयरले सिंहदरबारमा आगो लगाउँछु भन्दा प्रमुख जिल्ला अधिकारीले पक्राउ गरेर लग्यो । प्रचण्डले गिरफ्तार गर्न खोज्दा शेरबहादुर देउवाले रोकेको भनेर हामीले समाचार पढेका होइनौँ ?

किन रोकेको ? किनभने बालेनको पछाडि शक्ति थियो ।

ओली सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । त्यो एउटा निर्णय थियो । तर, त्यो निर्णय गर्ने प्रक्रिया र समय ठीकसँग बुझ्न सकेनन् ।

मेटाले यो देशबाट ४० अर्ब रुपैयाँ लैजान्छ । नेपाललाई ५ अर्ब २० करोड रुपैयाँ भ्याट बुझाउनुपर्ने हो । तर, बुझाउँदैन ।

तर, सामाजिक सञ्जाल बन्द गर्ने समय ठीक भएन । त्यही कारण इन्स्टाग्राम र फेसबुक बन्द हुँदा जेनजीहरू बिच्किए ।

डिजिटल जर्नालिजम गर्नेहरू, जसले फेसबुक, युट्युब च्यानललगायत सञ्चालन गर्थे, उनीहरू पनि आक्रोशित भए । त्यो स्वाभाविक नै हो ।

अरूबेला मेरा लेखहरूमा ४-५ हजार शेयर हुन्थे । तर, त्यसबेला मैले लेखेको लेखमा १०० शेयर पनि भएन । त्यस्तो अवस्थामा त्यस्तो खालको प्रतिक्रिया आउनु स्वाभाविक थियो ।

तर, गत सालको २३ र २४ भदौमा नभएको भए पनि मंसिर वा पुसमा यस्तो घटना हुने निश्चित थियो ।

यसमा नेपाली सेनाको प्रत्यक्ष संलग्नता छ । यो डिजाइन नै नेपाली सेनाको जंगीअड्डामा भएको हो । यसका पुग्दो सबुत छन् । मुद्दा चलाउने हो भने अदालतमा पेस गर्न सकिने प्रकृतिका प्रमाणहरू छन् ।

र, वैधानिक सरकार फालियो । चुनाव गराइयो । अहिले यस्तो खालको संसद छ ।

त्यो संसदमा जोकरहरू माननीय छन् भनेर मानिसहरूले धेरै खालका टिप्पणी गर्छन् । तर, मैले यसलाई कसरी बुझ्छु भने एसपीपी अनुमोदन संसदले गर्नुपर्छ भनेर अमेरिकनहरूलाई नेपाली नेताहरूले भनेका थिए ।

संसद् सार्वभौमसत्ता सम्पन्न र हाम्रो सबैभन्दा ठूलो जनप्रतिनिधिमूलक संस्था हो भनेर उनीहरूलाई भनिएको थियो । अहिले ‘ला, तेरो जनप्रतिनिधिमूलक संस्था हेर त, कस्ता जोकरहरू आउँदा रहेछन्’ भनेर हामीलाई गिज्याएको जस्तो लाग्छ ।

मैले चाहिँ त्यसरी बुझेको छु । संसदमा जस्ता क्रिया–प्रतिक्रिया हुन्छन्, जस्ता मान्छे सांसद भएर गएका छन्, त्यसलाई हेरेर ‘तेरो गौरवको प्रतीक यही हो’ भनेर अमेरिकनहरूले गिज्याएको हो भन्ने मेरो बुझाइ छ ।

तर, परिस्थिति उनीहरूले सोचेजस्तो छैन ।

किन छैन भने यो घटना घटाउँदा एउटा सिद्धान्तमा आधारित सोच थियो । अमेरिका संसारको एक मात्र महाशक्तिशाली राष्ट्र रहनेछ भन्ने सोच थियो ।

फेब्रुअरी २८ तारिखमा इरानमा आक्रमण गर्‍यो । एक–दुई हप्तामै इरानलाई ठेगान लगाइदिन्छ भन्ने सोच थियो । तर, त्यहाँ अमेरिका नराम्ररी फस्यो ।

फेब्रुअरी २८ पछि संयुक्त राष्ट्रसंघको स्थायी सदस्य राष्ट्रका प्रमुखहरू चीनको बेइजिङ पुगेका छन् । ट्रम्प पनि पुगेका छन् । पुटिन पनि पुगेका छन् । बेलायत र फ्रान्सका राष्ट्र प्रमुख त दुई-दुई चोटि पुगिसकेका छन् ।

अबको शक्ति केन्द्र भनेको चीन हो । नेपालको सीमा जोडिएको पनि चीनसँगै हो ।

धेरैले नेपालमा अमेरिकाले गरेको गतिविधिलाई हेरेर अमेरिकाले चीनलाई लक्षित गरेको भन्छन् । तर, मेरो बुझाइ ठीक विपरीत छ । त्यो भारतलक्षित हो ।

ट्रम्पले फेब्रुअरी २०२५ पछि भारतलाई जुन व्यवहार गरेका छन्, त्यसबाट भारत पनि आजित भएर आफ्नो दिशा परिवर्तन गर्न थालेको छ ।

यसले गर्दा नेपालको राजनीतिमा नेपाली सेना धेरै अप्ठ्यारोमा परेको छ । अस्ति मानार्थ सेनापतिको पद लिन आउँदाखेरि हाम्रो सेनापतिलाई भारतीय सेनापतिले यही भनेका छन्- यहाँ दायाँबायाँ भयो भने ठीक हुँदैन ।

अब नेपाली सेनाले कोर्स करेक्सन गर्ने स्थिति आएको छ ।

यो कुनै क्रान्ति होइन । विदेशी शक्तिसँग मिलेर गरिएको काम हो । देशको सार्वभौमसत्ता र राष्ट्रिय अस्मितामाथिको आक्रमण गरिएको हो ।

कुनै पनि देशको क्रान्ति भनेको सरकारविरुद्ध हुन्छ । यहाँ त सार्वभौमसत्ताको अभ्यास गर्ने संसद् भवन, कार्यकारिणी अधिकार प्रयोग गर्ने सिंहदरबार र त्यसको व्याख्या गर्ने तथा नागरिक अधिकारको ग्यारेन्टी गर्ने सर्वोच्च अदालत जलाइयो ।

त्यो त राज्यविरुद्धको अपराध हो ।

फौजदारी संहिताअनुसार सर्वस्व हरणसहित २७ वर्ष जेल हुने अपराध हो त्यो ।

अघिल्लो सरकार दूधले नुहाएको थियो वा रामराज्य थियो भन्ने मेरो भनाइ होइन । सरकार ठीक ढंगले चलेन भनेकै हो । यसको गतिमति ठीक भएन भनेकै हो । मैले लेखहरूमा पनि त्यसबारे भनेकै छु ।

तर, जे भए पनि हाम्रा संस्थाहरू ठेगानमै थिए । विधि र प्रक्रियाअनुसार चल्थे ।

अहिले सुशासनको कुरा गरिन्छ । तर, त्यो सबैभन्दा भद्दा मजाक भएको छ ।

सुशासनका ८ वटा सूचक हुन्छन् । तीमध्ये एउटा विधिको शासन हो ।

त्यसअनुसार अहिलेका प्रधानमन्त्रीलाई पक्रेर जेल हाल्नुपर्छ । प्रधानमन्त्रीविरुद्ध ३४ वटा किटानी जाहेरी छन् । बालबालिकाको दुरुपयोग गरेको भन्ने आरोप छ । त्यो सबैभन्दा जघन्य मानव अधिकार उल्लंघन हो ।

अहिले ४० जना सांसदलाई मुद्दा चलाउन राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ । त्यसमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, रवि लामिछाने र सभामुख डोलप्रसाद अर्याललगायत सबै पर्छन् ।

यदि सुशासन गर्ने हो भने पहिले उनीहरूलाई गिरफ्तार गर्नुपर्‍यो । अनुसन्धान–तहकिकात गर्नुपर्‍यो । सम्बन्धित अदालतमा अभियोजन गर्नुपर्‍यो ।

त्यो भएको छ ? छैन ।

त्यही कुरा अर्कोतिरबाट हेर्ने हो भने हाम्रो फौजदारी संहिताले भ्रष्टाचारलाई तीन वर्गमा बाँडेको छ– सामान्य अपराध, गम्भीर अपराध र जघन्य अपराध ।

तीन वर्षभन्दा कम सजाय हुनेलाई सामान्य अपराध, ३ देखि १० वर्षसम्म सजाय हुनेलाई गम्भीर अपराध र त्यसभन्दा बढी सजाय हुनेलाई जघन्य अपराध भनिन्छ ।

अब त देश यस्तो स्थितिमा आइपुगेको छ कि डाकाले पाकेटमारलाई कारबाही गरेको जस्तो भएको छ ।

सर्वस्वसहित २७ वर्ष जेल बस्नुपर्ने अपराधको अभियुक्तले सात वर्षभन्दा बढी जेल बस्नेलाई मुद्दा चलाउने स्थिति बनेको छ ।

यसरी देश बिग्रियो ।

यसलाई सच्याउने पनि नेपाली सेनाले नै हो । सुरुवात राजेन्द्र क्षेत्रीको पालामा भयो, मलजल प्रभुराम शर्माको पालामा भयो र कार्यान्वयन अशोक सिग्देल र अनुपजंग थापाको पालामा भयो ।

उनीहरूले छादेको र छेरेको अरूले सोर्छ ? कसरी हुन्छ ?

कोर्स करेक्सन भएन भने आन्दोलन हुँदा आन्दोलनकारीको लक्ष्य नेपाली सेना बन्नेछ ।

जसरी भदौ २४ गते राजनीतिक नेतृत्वहरूको घरघरमै आगो लगाइयो, अब आन्दोलन हुँदा उनीहरूका घरमा पनि आक्रमण हुनेवाला छ ।

किनभने विषवृक्ष रोपेको उनीहरूले हो ।

गत वर्षका आन्दोलनकारीले गरेको वैधानिक हुने र अर्को आन्दोलनकारीले गरेको वैधानिक नहुने भन्ने हुन्छ ?

जति समय घर्किँदै जान्छ, त्यति नै यो विषले फल दिनेवाला छ ।

भदौ २४ गते बेलुका पनि मैले भनेको छु– सुगौली सन्धिपछि देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

यो राष्ट्रघात हो । देशद्रोह हो ।

यसमा म अहिले पनि दृढ छु ।

प्रचण्डको दाबी- ‘जेनजी आन्दोलनमा ठूलो षड्यन्त्र र घुसपैठ’

काठमाडौं। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनमा ठूलो षड्यन्त्र र घुसपैठ भएको दाबी गरेका छन्।

सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा उनले भदौ २३ गते भएको जेनजी आन्दोलन ‘अपहरण’ गरिएको भन्दै त्यसका पछाडि को थियो भन्ने प्रश्न उठाएका हुन्।

आन्दोलनमा घुसपैठ गर्ने व्यक्ति वा समूह र त्यसपछि देशको अवस्था कहाँ पुग्यो भन्ने विषयमा गहिरो अध्ययन आवश्यक रहेको उनको भनाइ छ। समयक्रमसँगै घटनाको सत्यतथ्य बाहिर आउने विश्वास पनि उनले व्यक्त गरे।

प्रचण्डले राष्ट्रिय मानवअधिकार आयोग र सुरक्षा निकायले तयार पारेका प्रतिवेदनसमेत गायब पारिएको आरोप लगाए। ती प्रतिवेदन वर्तमान सरकारको जिम्मेवारीमा रहेका व्यक्तिहरूले गायब पारेको आरोप लागिरहेको भन्दै उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरे।

भदौ २४ गते भएको विध्वंस कसले गर्‍यो भन्ने प्रश्न गर्दै प्रचण्डले भदौ २३ गते नै आन्दोलनकारीलाई घर फर्किन आग्रह गर्ने र आन्दोलनमा घुसपैठ तथा ‘अपहरण’ भएको बताउने पक्षले नै भोलिपल्टको विध्वंस गराएको हुन सक्ने तर्क गरे।

उनले भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष अध्ययन गरी वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिए।

जेनजीका सपना पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी आन्दोलनले उठाएका माग र देखाएका सपनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा बानेश्वरस्थित तत्कालीन संसद् भवन परिसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले आन्दोलनका क्रममा भएको पीडा आफूहरूले पनि महसुस गरेको बताइन्।

उनले २०८२ भदौ २३ र २४ गतेका घटनालाई एउटै दृष्टिले हेर्न नहुने धारणा राखिन्।

‘२३ गतेको जस्तो नियति कसैले भोग्न नपरोस्,’ उनले भनिन्, ‘तपाईंहरूले भोगेको पीडा हामीले पनि महसुस गरेका छौँ। हामी पनि चैनले निदाउन सकेका छैनौँ।’

मन्त्री गौतमले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपस्थिति रहे पनि राष्ट्रियसभामा प्रतिनिधित्व नहुँदा कानुन निर्माणमा केही असहजता रहेको संकेत गरिन्। आन्दोलनपछि बनेको सरकार र त्यसका कामकारबाहीको मूल्यांकन जनताले आफैँ गरिरहेको उनको भनाइ थियो।

उनले आपसी विवाद र संघर्षले अन्ततः आन्दोलनका विरोधीलाई फाइदा पुग्ने चेतावनीसमेत दिइन्। सरकार स्पष्ट र सफा नियतका साथ अघि बढिरहेको दाबी गर्दै सही उद्देश्यका साथ काम गर्न सके मुलुकको विकासका लागि धेरै समय नलाग्ने बताइन्।

‘नियत सफा राख्यौँ भने देश बन्न धेरै समय लाग्दैन,’ उनले भनिन्, ‘सहिद र घाइतेले देखेका तथा तपाईंहरूले बोकेका हरेक सपना पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।’

सरकारले आफ्ना कामलाई क्रमशः व्यवस्थित गर्दै अघि बढाइरहेको भन्दै उनले नागरिकलाई सरकारप्रति विश्वास कायम राख्न आग्रह गरिन्।

 

बालेनलाई प्रधानमन्त्री बनाउन भएको थिएन जेनजी आन्दोलन

काठमाडौं। एक वर्षअघि आजकै दिन काठमाडौंका सडकमा युवाहरू उत्रिएका थिए। उनीहरूको हातमा कुनै राजनीतिक दलको झन्डा थिएन। उनीहरूले कुनै नेताको जयजयकार गरेका थिएनन्।

उनीहरू आक्रोशित थिए। उनीहरूसँग आक्रोशको ज्वाला थियो। आक्रोश, भ्रष्टाचारविरुद्धको आक्रोश। सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्धको आक्रोश। र पुरानो राजनीतिक शैलीप्रतिको आक्रोश।

गत भदौ २३ गते माइतीघरबाट सुरु भएको त्यो सानो भीड बानेश्वर पुग्दा ठूलो बनिसकेको थियो। भीडले सुरक्षाघेरा तोड्ने कोसिस गर्‍यो। अनि राज्यले बल प्रयोग गर्‍यो। गोली चल्यो । युवाहरूले ज्यान गुमाए । त्यसपछि आन्दोलन झन् चर्कियो।

त्यसको परिणाम स्वरुप भदौ २४ गते आगो बल्यो। केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए। त्यसपछि सरकारी संरचना, राजनीतिक दलका कार्यालय र नेताका निवास खरानी भए।

उक्त आन्दोलनले सरकार ढाल्यो।

तर के उक्त आन्दोलन बालेन शाहलाई प्रधानमन्त्री बनाउन भएको थियो?

त्यतिबेला सडकमा बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने माग थिएन। युवाहरूले भ्रष्टाचारको विरोध गरेका थिए। सामाजिक सञ्जाल खोल्न माग गरेका थिए। शासन गर्ने पुरानो शैलीमाथि प्रश्न गरेका थिए।

तर आन्दोलनपछि बनेको जटिल राजनीतिक परिस्थितिको लाभ उठाउन खोजियो। बालेन प्रतिदिन जेनजीको मसिह बन्दै थिए।  

अन्तरिम सरकार बन्यो । निर्वाचन घोषणा भयो। बालेनले काठमाडौं महानगरपालिकाको प्रमुख पद छाडे। रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरे। चुनाव लडे। केपी शर्मा ओलीलाई पराजित गरे। रास्वपाले १८२ सिट जित्यो। अन्तत:  बालेन प्रधानमन्त्री बने ।

तर एक वर्षको घटनाक्रम हेर्दा यस्तो लाग्छ, र जेनजीले सडकमा उठाएको असन्तुष्टिको राजनीतिक लाभ अन्ततः बालेनले उठाए। 

बालेन प्रधानमन्त्री बनेपछि जेनजीले खोजेको परिवर्तन आयो त?

यही प्रश्न अहिले झन् महत्वपूर्ण छ। किनकि सत्तामा पुगेपछि बालेनको शैलीलाई लिएर अराजकता, मनपरी र संस्थागत प्रक्रियाप्रति बेवास्ताका आरोप लाग्न थालेका छन्। 

हिजो जुन प्रवृत्तिविरुद्ध जेनजी युवाहरू सडकमा थिए, आज त्यही प्रवृत्तिको झल्को नयाँ सत्ताको व्यवहारमा देखिन थालेको छ भन्दा फरक नपर्ला।

राजनीतिमा अनुहार फेरिनु सजिलो कुरा हो। तर संस्कार फेर्नु गाह्रो कुरा हो। त्यहि गाह्रो अभ्यास गर्न बालेनलाई गाह्रो भइरहेको छ। 

जेनजीले पुराना अनुहार हटाउन मात्रै सडक तताएको थिएन। जेनजी पुरानो राजनीतिक संस्कार अस्वीकार गरेको थियो ।बालेन नयाँ हुन्।  उनि नयाँ छन् भनेर  उनीमाथि प्रश्न गर्न नहुने भने  होइन। बरु उनीमाथि प्रश्न झन् बढी हुनुपर्छ। किनकी जेनजी आन्दोलन नै प्रश्नको कठघरामा उभिएको आन्दोलन हो। 

बालेन उनै हुन्,जसलाई जेनजीले पत्याए।  किनकि जसको नाममा परिवर्तनको आशा गरियो, उसले नै जवाफदेहिता, प्रक्रिया र संस्थाभन्दा आफ्नो निर्णयलाई माथि राख्न थाल्यो भने हिजो र आजमा फरक के रह्यो ?

हिजो युवाहरूले नेताहरूलाई भनेका थिए, सत्ता जनताका लागि हो, नेताका लागि होइन। त्यहि प्रश्नले जेनजी आन्दोलन भएको हो। 

आज त्यही कुरा बालेनलाई पनि भन्नुपर्ने अवस्था आयो भने जेनजी आन्दोलनको मर्म कहाँ रहन्छ ?

बालेन प्रधानमन्त्री बनेको तथ्य आन्दोलनको एउटा राजनीतिक परिणाम हुन सक्छ। तर बालेनको सत्ता नै आन्दोलनको अन्तिम गन्तव्य थियो भन्न मिल्दैन ।

जेनजी आन्दोलनको असली परीक्षा त त्यतिबेला हुन्छ, जब आन्दोलनबाट आएको नयाँ सत्ता आफैँ प्रश्नको घेरामा पर्छ ।

एक वर्षअघि युवाहरूले सडकमा उभिएर पुरानो सत्तालाई प्रश्न गरेका थिए। आज जेनजीका नाममा बनेको नयाँ सत्तासँग प्रश्न गर्ने पालो आएको छ।

जेनजी आन्दोलन बालेनलाई प्रधानमन्त्री बनाउन भएको थिएन। यदि भएको थियो भने आन्दोलनको गन्तव्य त्यहिँ समाप्त हुन्थ्यो।

तर आन्दोलन बालेन प्रधानमन्त्री बनेपछि पनि सकिएको छैन। बरु अहिले अर्को नयाँ अध्याय सुरु भएको छ।

किनकी नयाँ पुस्ताले प्रश्न गर्न छाडेको छैन। र प्रश्न गरिरहने छ।

‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’को बक्स अफिसमा दबदबा, हल्यान्डको भविष्यबारे चासो

काठमाडौं । मार्भलको नयाँ फिल्म ‘स्पाइडर-म्यान : ब्रान्ड न्यू डे’ले प्रदर्शनको एक महिनापछि पनि विश्वभरको बक्स अफिसमा आफ्नो प्रभाव कायमै राखेको छ। जुलाईको अन्त्यमा प्रदर्शनमा आएको फिल्मले सुरुवातदेखि नै उत्साहजनक व्यापार गर्दै पछिल्लो समय पनि लगातार चर्चा बटुलिरहेको छ।

फिल्म समीक्षक चार्ली रिज्लीले ‘ब्रान्ड न्यू डे’लाई पछिल्लो दुई दशकमा आएको उत्कृष्ट स्पाइडर–म्यान साहसिक फिल्ममध्ये एकका रूपमा व्याख्या गरेका छन्।

सन् २०२५ मा रिलिज भएका मार्भलका केही ठूला फिल्मले अपेक्षाअनुसार व्यापार गर्न नसकेपछि एमसीयूको नयाँ फिल्मप्रति सुरुमा ठूलो अपेक्षा नरहेको अनुमान गरिएको थियो। तर टम हल्यान्डले अभिनय गरेको स्पाइडर–म्यान पात्रको लोकप्रियता अझै बलियो रहेको फिल्मको व्यापारले देखाएको छ।

‘ब्रान्ड न्यू डे’ले प्रदर्शनको पहिलो सप्ताहन्तमै घरेलु बक्स अफिसमा उल्लेखनीय कीर्तिमान कायम गरेको थियो। पहिलो साताको आम्दानी पनि अत्यन्तै बलियो रहेपछि फिल्मले लामो समयसम्म राम्रो व्यापार गर्ने संकेत त्यतिबेलै देखाएको थियो।

प्रदर्शनको एक महिनापछि पनि यसको गति सुस्त भएको छैन। अगस्ट महिनाका अधिकांश सप्ताहन्तमा फिल्म सर्वाधिक कमाइ गर्ने चलचित्रका रूपमा रह्यो। ‘इन्सिडियस : आउट अफ द फर्दर’ प्रदर्शनमा आएको दिन भने केही समयका लागि यसको शीर्ष स्थान खोसिएको थियो।

विश्वव्यापी कमाइका आधारमा ‘ब्रान्ड न्यू डे’ले ‘अवतार : द वे अफ वाटर’लाई पछि पार्दै सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा तेस्रो स्थान हासिल गरेको छ।

अमेरिकी घरेलु बजारमा पनि फिल्मको प्रदर्शन उल्लेखनीय छ। सर्वकालीन सर्वाधिक कमाइ गर्ने फिल्म बन्ने दौडमा यसको अगाडि रहेको ‘स्टार वार्स : द फोर्स अवेकन्स’सँगको अन्तर पनि धेरै ठूलो छैन। त्यसैले आगामी साताहरूमा ‘ब्रान्ड न्यू डे’ले अमेरिकी बक्स अफिसमा नयाँ कीर्तिमान बनाउन सक्ने सम्भावना कायम रहेको छ।

स्पाइडर-म्यानका रूपमा टम हल्यान्ड फेरि फर्किन्छन्?

फिल्मको सफलतासँगै टम हल्यान्डले अब स्पाइडर–म्यानको भूमिका निरन्तरता दिने वा नदिने विषय पनि चर्चामा आएको छ। ‘स्पाइडर–म्यान : नो वे होम’पछि आफ्नो भविष्यलाई लिएर लामो समयदेखि योजना बनिरहेको हल्यान्डले यसअघि नै संकेत गरिसकेका छन्।

‘ब्रान्ड न्यू डे’को कथाको अन्त्यले पनि हल्यान्डकै स्पाइडर–म्यान यात्रालाई थप अगाडि बढाउने सम्भावना देखाएको छ। यद्यपि अर्को फिल्ममा उनी कहिले फर्किनेछन् भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

मार्भल स्टुडियोजका प्रमुख केभिन फाइगीका अनुसार हल्यान्डले अहिले केही समय आराम गर्नेछन्। लामो विश्व भ्रमणपछि हल्यान्ड र जेन्डायाले विश्राम लिने र फिल्मको सफलताको खुसी मनाउने समय पाउने उनको भनाइ छ।

यससँगै ‘ब्रान्ड न्यू डे’को व्यावसायिक सफलताले स्पाइडर–म्यान पात्रप्रतिको दर्शकको आकर्षण अझै बलियो रहेको पुष्टि गरेको छ भने टम हल्यान्डको भविष्यमा पनि यही पात्रको भूमिका महत्वपूर्ण रहने संकेत गरेको छ।

१ सय ६२ किलो गाँजासहित २ जना पक्राउ 

हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६२ किलो ७ सय ९४ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवन माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका-२४ बस्ने ४८ वर्षीय टेक बहादुर दोङलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो। 

भाबरदेखि  खरङ्गातर्फ आउँदै गर्दा बा.प्र.०१-०२५ च ०८७७ नम्बरको कार जाँच गर्ने क्रममा उनीहरूबाट १३ वटा पोकामा रहेको १ सय ६२ किलोभन्दा बढी गाँजा फेला परेको प्रहरीले जनाएको छ। 

त्यस्तै घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

जेनजी विद्रोह होइन, ‘अन्तर्राष्ट्रिय जासुसी विद्रोह’ हो : रवीन्द्र मिश्र

काठमाडौं। राजनीतिक टिप्पणीकार रवीन्द्र मिश्रले जेनजी आन्दोलन नभई अन्तर्राष्ट्रिय जासुसी विद्रोह रहेको बताएका छन्। 

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय जासुसी संस्थाले नेपाली युवाहरुको प्रयोग गरी जासुसी विद्रोह सम्पन्न आरोप लगाए। 

उनका अनुसार विद्रोहमा ६ घण्टाको अवधिमा देशको तीन धरोहर (कार्यपालिका, ब्यवस्थापिका, न्यायपालिका) र राष्ट्रप्रमुखको निवास जलिसकेको थियो। 

मिश्रले ‘जासुसी सिनेमा’ हेरेपछि भदौ २३ र २४ को घटनालाई विदेशी जासुसी विद्रोहको संज्ञा दिएको उल्लेख गरेका हुन् । 

उनले देश नवीन समझदारीमा नगए भदौ २३ र २४ को भन्दा धेरै गम्भीर संकट आउने र आन्तरिक शक्तिहरूले सम्हाल्न नसक्ने अवस्था आउने चेतावनी दिएका छन्। 

उनले नेपालले आफ्नो दीर्घकालीन हितलाई सुनिश्चित गर्ने हो भने भदौ २३ र २४ को घटनाको गहिराइमा पुग्नुपर्ने बताए।

त्यस्तै, उनले जेनजी आन्दोलनमा जीवन गुमाउनेहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

एकै दिन ६ फिल्म रिलिज हुने

काठमाडौं । यस शुक्रबारदेखि नेपाली चलचित्र भवनमा तीन नेपालीसहित तीन विदेशी फिल्म प्रदर्शनमा आउने भएका छन्। भदौ २६ गतेदेखि ‘पेन्सन पट्टा’, ‘बेहुली’ र ‘अक्षरा’सँगै ‘हनुमान अंश’, ‘फल २ : डेडपोइन्ट’ र ‘हैवान’ दर्शकमाझ आउन लागेका हुन्।

माओत्से गुरुङको निर्देशनमा तयार भएको ‘पेन्सन पट्टा’ सामाजिक तथा भावनात्मक कथामा आधारित चलचित्र हो। दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ र विल्सन विक्रम राईलगायत कलाकारको अभिनय रहेको फिल्मले ऋण, पारिवारिक जिम्मेवारी, बाबुको निधनपछि आउने संकट तथा आमा–छोराबीचको सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ।

सशान कँडेल निर्देशित ‘बेहुली’ पारिवारिक कथामा आधारित चलचित्र हो। प्रेम, सम्बन्ध, मित्रता र पारिवारिक भावनालाई समेटिएको फिल्ममा पारस बम ठकुरी ‘कुल ब्वाइ’, दिव्या रायमाझी, पदम तामाङ र सुशान्त कार्कीलगायत कलाकारको अभिनय छ। अर्जुन पोखरेल फिल्मका प्रस्तुतकर्ता हुन्।

विनय राज पौडेलको निर्देशन रहेको ‘अक्षरा’ सामाजिक–पारिवारिक विषयमा केन्द्रित छ। महिलाको पहिचान, पारिवारिक सम्बन्ध, सामाजिक मूल्य र चुनौतीलाई कथामा समेटिएको फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत र रिस्ता बस्नेतलगायत कलाकार देखिन्छन्।

विदेशी फिल्मतर्फ हिन्दी चलचित्र ‘हनुमान अंश’ पनि यही शुक्रबारबाट नेपालमा प्रदर्शन हुँदैछ। नीम करोली बाबाको जीवन र दर्शनलाई आधार बनाइएको यो फिल्म आध्यात्मिक यात्राको कथामा निर्माण गरिएको हो। विशाल चतुर्वेदी निर्देशित फिल्ममा शोभिनव सत्या, चन्दन के आनन्द, अनिल रस्तोगी, पूर्णिमा तिवारी र विहान शेड्गेलगायत कलाकार छन्।

त्यस्तै, हलिउड चलचित्र ‘फल २ : डेडपोइन्ट’ पनि नेपाली हलमा लाग्दैछ। साहसिक तथा रोमाञ्चक कथामा आधारित फिल्ममा दुई युवती खतरनाक पर्वत आरोहणका क्रममा करिब चार हजार फिटको उचाइमा संकटमा फस्छन्। त्यसपछि उनीहरूले ज्यान जोगाउन आफ्नै डर र जोखिमसँग संघर्ष गर्नुपर्ने अवस्था आउँछ। माइकल स्पिरिग र पिटर स्पिरिग निर्देशित फिल्ममा ह्यारिएट स्लेटर, अर्सेमा थोमस, टम ब्रिट्नी र ग्रेस क्यारोलिन करीको अभिनय छ।

अर्कोतर्फ, प्रियदर्शन निर्देशित हिन्दी एक्सन–क्राइम ड्रामा ‘हैवान’ पनि यही मितिबाट प्रदर्शनमा आउनेछ। फिल्ममा दृष्टिविहीन मार्सल आर्ट खेलाडीले एक बालिकालाई मनोरोगी हत्याराबाट बचाउन गर्ने संघर्षलाई मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ। सैफ अली खान र अक्षय कुमार फिल्मका प्रमुख कलाकार हुन्।

यसरी शुक्रबारदेखि नेपाली हलमा फरक स्वाद र शैलीका ६ चलचित्र एकसाथ प्रदर्शनमा आउने भएका छन्। तर रसुवा बाढीपछि सिर्जिएको परिस्थितिलाई ध्यानमा राख्दै केही नेपाली चलचित्रले भने आफ्नो प्रदर्शन मिति पछाडि सारेका छन्। नयाँ चलचित्रमध्ये दर्शकको रोजाइमा कुन पर्छ भन्ने परिणाम भने प्रदर्शनपछि नै देखिनेछ।

कांग्रेसले ल्यायो १५औँ महाधिवेशनको नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मका कार्यक्रम तय गरेको हो।

निर्णयअनुसार देशभरका ६ हजार ७४३ वडामा आगामी असोज ३ र ४ गते अधिवेशन हुनेछ। त्यसपछि असोज ७ गते गाउँपालिका तथा नगरपालिकास्तरीय अधिवेशन गरिनेछ।

त्यस्तै, असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन एकैदिन गर्ने कार्यतालिका बनाइएको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म आयोजना गर्ने निर्णय भएको छ।

निर्वाचन समितिका अनुसार जिल्ला तथा प्रदेश अधिवेशनको मिति भने केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि तय गरिनेछ।

एसीसी प्रिमियर कप : नेपाल हङकङसँग १५ रनले पराजित

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा हार बेहोरेको छ।

हङकङसँग नेपाल १५ रनले पराजित भए पनि यसअघि नै सेमिफाइनलमा पुगेको नेपाल रनरेटका आधारमा समूह विजेता बनेको छ।

हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ९० रनको योगदान दिए। आशिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुलशन झाले २० रन बनाए। इशानको उत्कृष्ट पारीका बाबजुद नेपाल लक्ष्यसम्म पुग्न सकेन।

हङकङका अइजाज खानले चार विकेट लिए। यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट लिए।

त्यसअघि क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल तयार पारेको थियो।

हङकङका बाबर हयातले अविजित ११७ रनको शतकीय पारी खेले। शाहिद वसिफले ४५ र जिशन अलीले १५ रन थप्दा एहसान खान ३५ रनमा नटआउट रहे।

नेपालका लागि सन्दीप लामिछानेले चार तथा शेर मल्लले तीन विकेट लिए।

समूह चरणमा नेपालले यसअघि बहराइनलाई ७ विकेट, आयोजक मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो।

चार खेलबाट ६ अंक जोडेको नेपाल हङकङसँग पराजित भए पनि राम्रो रनरेटका कारण समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो।

‘जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस्’

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनलाई लिएर पुराना राजनीतिक दलका नेताहरूले गरिरहेका टिप्पणीप्रति आपत्ति जनाएका छन्। उनले आन्दोलनको इतिहासलाई तोडमोड गर्ने वा अवमूल्यन गर्ने प्रयास नगर्न पुराना दलका नेताहरूलाई चेतावनी दिएका छन्।

जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले भदौ २३ गतेको आन्दोलनलाई सामान्य घटनाका रूपमा नलिन आग्रह गरे। आन्दोलनमाथि प्रश्न उठाउनु वा त्यसलाई अपमान गर्नु देशका नागरिकको भावनामाथि नै प्रहार भएको उनको भनाइ थियो।

उनले पुरानो राजनीतिक सोचबाट नयाँ नेपाल निर्माण सम्भव नहुने भन्दै दलका नेताहरूलाई समयमै आफूलाई सुधार्न सुझाव दिए। जनताले परिवर्तनका लागि आफूहरूलाई जिम्मेवारी दिएको उल्लेख गर्दै गुरुङले आफूहरू सत्ता र शक्तिको मोहमा नभएको दाबी गरे।

गृहमन्त्री गुरुङले जिम्मेवारीमा रहँदा आफूबाट कुनै कमजोरी नहोस् भन्ने विषयमा सधैँ सचेत रहने गरेको बताए। सरकारले जेनजी आन्दोलनका क्रममा उठाइएका मागलाई सम्बोधन गर्दै सुशासन र सुधारका पक्षमा काम गरिरहेको उनको दाबी थियो।

उनले विगतमा सुशासन र परिवर्तनको माग गर्दै सडकमा उत्रिएका युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोपसमेत लगाए।

गुरुङले आफूलाई सुशासन कायम गर्ने जिम्मेवारी दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहप्रति आभार व्यक्त गरे। आफूले लामिछानेसँग आवश्यक विषयमा निरन्तर परामर्श गरिरहेको पनि उनले बताए।

बाढीमा ज्यान गुमाएकाको सम्झनामा जय नेपाल पार्टीले बाल्यो दीप

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै जय नेपाल पार्टीनिकट नेपाल युवा संगठनले कमलादी गणेशस्थानमा दीप प्रज्ज्वलन गरेको छ।

पार्टी सभापति डा. धवलशम्शेर राणाको उपस्थितिमा भएको कार्यक्रममा दिवंगतप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको सकुशल उद्धारको कामना गरिएको थियो। कार्यक्रममा एक मिनेट मौनधारणसमेत गरिएको थियो।

नेपाल युवा संगठनका सभापति निराजन बमका अनुसार गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका वीर शहीदहरूप्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो।

यसैबीच, नवलपुरमा जय नेपाल पार्टीका स्थानीय नेता–कार्यकर्ताले पनि सोमबार साँझ बाढीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन गरेका छन्।