`

मुगुमा पहिरो : घरमाथि ढुंगा खस्दा ३ वर्षीय बालकको मृत्यु

काठमाडौं। मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ढुंगासहितको पहिरो घरमाथि खस्दा तीन वर्षीय बालकको ज्यान गएको छ भने उनका बाबुआमा घाइते भएका छन्।

साउन ९ गते बिहान करिब ४ बजे पेमा लामाको घरमा भाडामा बस्दै होटल सञ्चालन गरिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका जगनाथ बडुवालको परिवार सुतिरहेका बेला माथिबाट आएको पहिरो घरमा खसेको थियो।

पहिरोमा च्यापिएका तीन वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुको टोलीले उद्धार गरी बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्‍याएको थियो। उपचारका क्रममा बिहान ५:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा रमेशका बुबा ३२ वर्षीय जगनाथ बडुवाल र आमा २७ वर्षीया सृजना बडुवाल सामान्य घाइते भएका छन्। उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। थप पहिरोको जोखिम कायम रहेकाले आसपासका आठ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

विस्थापित सुकुम्बासीको व्यवस्थापन यस्तो ?

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई नागरिकतामा उल्लेख भएको स्थायी ठेगानामा फर्किन भूमि समस्या समाधान समितिले दिएको निर्देशनले कानुनी, संवैधानिक र मानवीय बहस चर्किएको छ।

समितिले पछिल्ला केही दिनयता क्रमिक रूपमा सूचना जारी गर्दै होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई आफ्नै जिल्ला फर्किन भनेपछि अधिकारकर्मी, कानुनविद् र भूमिअधिकार अभियन्ताले त्यसप्रति गम्भीर असहमति जनाएका छन्।

भूमि समस्या समाधान समितिले साउन ८ गते जारी गरेको सूचनामार्फत गोङ्गबुस्थित नेपाल टेलिकम होल्डिङ सेन्टरमा बसिरहेका सात परिवारलाई नागरिकतामा उल्लेखित स्थायी ठेगानामा सम्पर्क गर्न निर्देशन दिएको छ। ती परिवारका लागि सम्बन्धित जिल्ला समितिमा आवश्यक कागजात र डिजिटल विवरण पठाइसकिएको भन्दै अब सम्बन्धित जिल्ला र स्थानीय तहमा सम्पर्क गर्न भनिएको छ।

यसअघि पनि समितिले साउन ६ र ७ गते गरी दुई चरणमा २८ परिवारलाई यस्तै निर्देशन दिएको थियो। ती परिवार कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन्। समितिले लगभग दैनिकजसो यस्ता सूचना जारी गर्दै विस्थापित परिवारलाई काठमाडौं बाहिर पठाउने प्रक्रिया अघि बढाइरहेको छ।

समितिका अनुसार काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका परिवारको डिजिटल विवरण अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको थियो। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयको निर्देशनअनुसार ती विवरण सम्बन्धित जिल्लामा पठाएर कानुनी प्रक्रिया अगाडि बढाइएको समितिको भनाइ छ।

समितिले सम्बन्धित जिल्लामा स्वीकृत कार्यविधिअनुसार जग्गा उपलब्ध गराउने उद्देश्यले निवेदन तथा आवश्यक कागजात पठाइएको जनाएको छ।

तर संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरूले राज्यले कुनै पनि नागरिकलाई नागरिकतामा उल्लेख भएको ठेगानामै फर्किएर बस्न बाध्य बनाउन नसक्ने बताएका छन्।

उनीहरूका अनुसार नागरिक किन आफ्नो जन्मस्थान वा स्थायी ठेगाना छाडेर काठमाडौं आए भन्ने कारण राज्यले बुझ्नुपर्ने हुन्छ। आर्थिक अवस्था, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक अवसर र अन्य कारणले मानिस बसाइँसराइ गर्ने भएकाले नागरिकतालाई मात्रै आधार बनाएर बसोबास निर्धारण गर्न नमिल्ने उनीहरूको तर्क छ।

कानुनविद्हरूको भनाइमा यस्तो निर्णयले नागरिकको स्वतन्त्र बसोबासको अधिकारमाथि प्रत्यक्ष असर पार्न सक्छ।

अधिकारकर्मीहरूले सरकारमाथि अर्को गम्भीर आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार नदी किनारका बस्ती हटाउँदा, विस्थापितलाई होल्डिङ सेन्टरमा राख्दा र अहिले त्यहाँबाट बाहिर पठाउँदा समेत प्रभावित परिवारसँग पर्याप्त संवाद गरिएको देखिँदैन।

उनीहरूको भनाइमा पुनर्स्थापनासम्बन्धी यति संवेदनशील विषयमा सरोकारवालासँग छलफल नगरी एकतर्फी निर्णय लिँदा समस्या थप जटिल बन्न सक्छ।

संविधानले के भन्छ ?

नेपालको संविधानले प्रत्येक नागरिकलाई देशको जुनसुकै स्थानमा बसोबास गर्ने, आवतजावत गर्ने तथा रोजगारी र व्यवसाय गर्ने स्वतन्त्रता सुनिश्चित गरेको छ।

त्यसैगरी संविधानले प्रत्येक नागरिकको आवासको हकलाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ। भूमिहीन दलितका हकमा राज्यले कानुनबमोजिम एकपटक जमिन उपलब्ध गराउनुपर्ने र आवासविहीनलाई बसोबासको व्यवस्था गर्नुपर्ने दायित्व पनि संविधानमै उल्लेख छ।

यही संवैधानिक व्यवस्थालाई आधार बनाउँदै अधिकारकर्मीहरूले विस्थापित परिवारलाई उनीहरूको रोजगारी, शिक्षा, सामाजिक सम्बन्ध र जीविकोपार्जनबाट टाढा पार्ने निर्णय उचित नहुने बताएका छन्।

भूमि व्यवस्थापनसम्बन्धी कानुनले भूमिहीन सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्दा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने व्यवस्था गरेको छ।

भूमि समस्या समाधान आयोगका पूर्वपदाधिकारीहरूले पनि कानुनी प्रक्रिया पूरा नगरी गरिएको पुनर्स्थापनाले भविष्यमा थप विवाद निम्त्याउन सक्ने बताएका छन्। उनीहरूका अनुसार सबै तहका सरकारबीच समन्वय र प्रभावित समुदायको सहभागिताबिना गरिएको व्यवस्थापन दिगो समाधान बन्न सक्दैन।

भूमि अधिकार क्षेत्रमा काम गर्ने विज्ञहरूले नदी किनार जोखिमयुक्त क्षेत्र भएकाले त्यहाँ स्थायी बसोबास गर्न नदिने निर्णयलाई स्वाभाविक माने पनि त्यसको विकल्पका रूपमा प्रभावित परिवारलाई नागरिकताकै जिल्लामा पठाउनु समाधान नभएको तर्क गरेका छन्।

उनीहरूका अनुसार वर्षौंदेखि काठमाडौंमा बसोबास गर्दै आएका परिवारको रोजगारी, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सम्बन्ध सबै उपत्यकासँग जोडिएको हुन्छ। त्यसैले सम्भव भएसम्म उनीहरू बसेकै स्थान नजिक वा पहुँचयुक्त क्षेत्रमा जग्गा वा एकीकृत आवासको व्यवस्था गर्नु बढी व्यवहारिक हुने सुझाव दिइएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका अधिकारीहरू भने नदी किनार कानुनले निषेध गरेको अर्थात् ‘नकारात्मक सूची’मा पर्ने क्षेत्र भएकाले त्यहाँ गरिएको बसोबासलाई वैधानिक रूपमा मान्यता दिन नसकिने बताउँछन्।

मन्त्रालयको भनाइमा नदी, खोल्सा, निकुञ्ज, वन, प्राकृतिक प्रकोपको उच्च जोखिमयुक्त क्षेत्र तथा अन्य निषेधित स्थानमा भएको बसोबासलाई नियमितीकरण गर्न कानुनले अनुमति दिँदैन। त्यसैले त्यहाँबाट विस्थापित परिवारको पुनर्स्थापना वैकल्पिक व्यवस्थाअनुसार गर्नुपर्ने अवस्था आएको हो।

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चालगायत विभिन्न संगठनहरूले भने नागरिकताको ठेगानाका आधारमा मानिसलाई आफ्नो वर्तमान बसोबास छाड्न बाध्य बनाउने निर्णय मानवअधिकारको भावना विपरीत भएको बताएका छन्।

उनीहरूले निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकेका छन्। उनीहरूको भनाइमा भूमिहीन नागरिकलाई केवल जग्गा दिने विषय मात्र नभई आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सम्मानजनक जीवनसँग जोडेर समाधान खोज्नुपर्छ।

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित परिवारको व्यवस्थापन अहिले सरकारका लागि सबैभन्दा चुनौतीपूर्ण सामाजिक मुद्दामध्ये एक बनेको छ।

एकातिर सार्वजनिक जग्गा संरक्षण र जोखिमयुक्त क्षेत्र खाली गराउने दायित्व छ भने अर्कोतिर संविधानले सुनिश्चित गरेका आवास, बसोबास र सम्मानपूर्वक बाँच्ने अधिकारको संरक्षण पनि उत्तिकै महत्वपूर्ण विषय हो।

यस कारण कानुनी प्रक्रिया, तीनै तहका सरकारबीच समन्वय, प्रभावित समुदायसँग संवाद र जीविकोपार्जनलाई केन्द्रमा राखेर पुनर्स्थापना योजना अघि बढाइए मात्र दीर्घकालीन र विवादरहित समाधान सम्भव हुने सरोकारवालाहरूको निष्कर्ष छ।

कांग्रेस : दुई धार, दुई रणनीति

काठमाडौं। नेपाली कांग्रेसभित्र नेतृत्व, कार्यशैली र पार्टीको भावी दिशालाई लिएर देखिएको मतभेद झन् गहिरिँदै गएको छ।

विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद अहिले संस्थापन र असन्तुष्ट पक्षबीच खुला शक्ति प्रदर्शनको चरणमा पुगेको देखिन्छ। बीपी कोइराला स्मृति दिवसका अवसरमा दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेपछि पार्टीभित्रको ध्रुवीकरण थप स्पष्ट बनेको हो।

पछिल्ला गतिविधिले कांग्रेस एउटै राजनीतिक दल भए पनि दुई फरक रणनीति र दुई फरक राजनीतिक दृष्टिकोणसहित अघि बढिरहेको सन्देश दिएको छ। एकातिर पार्टी सभापति गगन थापाले संगठनलाई जनतामाझ लैजाने उद्देश्यसहित नयाँ अभियान घोषणा गरेका छन् भने अर्कोतर्फ निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला निकट समूहले राष्ट्रिय भेला आयोजना गरेर नेतृत्वमाथि दबाब बढाउने तयारी थालेको छ।

सभापति गगन थापाले भदौ २४ गतेदेखि ‘एनसी फर एनसी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ भन्ने नारासहित सुरु हुने यस अभियानमार्फत कांग्रेसलाई केवल राजनीतिक बहसमा सीमित नराखी जनजीवनसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखिएको छ।

पार्टीका अनुसार अभियानअन्तर्गत कार्यकर्तालाई सामाजिक सेवा, नागरिकसँग प्रत्यक्ष संवाद, नेतृत्व विकास, सुशासन प्रवर्द्धन तथा स्थानीय समस्याको समाधानमा परिचालन गरिनेछ। रक्तदान, वृक्षारोपण, स्वास्थ्य शिविर, नागरिकलाई सरकारी सेवा लिन सहजीकरण तथा स्थानीय तहको कामको निगरानीजस्ता कार्यक्रमलाई अभियानको मुख्य प्राथमिकतामा राखिएको छ।

सभापति थापाले पार्टीका कार्यकर्तालाई समाजप्रति उत्तरदायी बनाउँदै कांग्रेसलाई पुनः जनविश्वासको केन्द्रमा स्थापित गर्ने उद्देश्य अभियानको रहेको बताएका छन्।

यता देउवा-कोइराला समूहले साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। असन्तुष्ट पक्षले वर्तमान नेतृत्वको कार्यशैलीका कारण पार्टी कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै नयाँ राजनीतिक तथा सांगठनिक कार्यदिशा तय गर्न भेला आवश्यक भएको जनाएको छ।

भेलाको तयारीका लागि प्रतिनिधि छनोट, जिम्मेवारी बाँडफाँट र छलफलका एजेन्डा तय गर्ने काम सुरु भइसकेको जनाइएको छ। भेलामा पार्टीको वैचारिक दिशा, संगठन विस्तार, आर्थिक नीति, सामाजिक एजेन्डा र आन्तरिक संरचनाबारे विस्तृत छलफल हुने तयारी छ।

असन्तुष्ट नेताहरूको भनाइमा यो भेला केवल विरोधका लागि नभई कांग्रेसलाई पुनः सशक्त र प्रभावकारी बनाउने वैकल्पिक मार्ग खोज्ने प्रयास हो।

कांग्रेसभित्र अहिले देखिएको अवस्था दुई फरक रणनीतिमा आधारित देखिन्छ। संस्थापन पक्ष जनतामाझ पुगेर पार्टीको छवि सुधार गर्न केन्द्रित देखिएको छ भने असन्तुष्ट पक्ष नेतृत्व सुधार र आन्तरिक संरचनामा परिवर्तनको मागलाई प्रमुख एजेन्डा बनाइरहेको छ।

राजनीतिक रूपमा यी गतिविधिले पार्टीभित्रको शक्ति सन्तुलन मात्र होइन, आगामी महाधिवेशन र नेतृत्वको भविष्यलाई समेत प्रभाव पार्ने आकलन गरिएको छ। असन्तुष्ट पक्षले नेतृत्वसँग सहमति हुन नसके थप कडा राजनीतिक निर्णय लिन सकिने संकेतसमेत दिएको छ।

कांग्रेसभित्रको पछिल्लो अवस्थाले पार्टी विभाजनको चर्चा पनि सुरु गराएको छ। यद्यपि धेरै राजनीतिक विश्लेषकहरूले तत्काल पार्टी फुट्ने सम्भावना भने कम रहेको बताएका छन्।

राजनीतिक विश्लेषक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. भेषराज घिमिरेका अनुसार राष्ट्रिय भेला पार्टी विभाजनको तयारीभन्दा पनि नेतृत्वलाई सहमतिमा आउन दबाब दिने रणनीति हुन सक्छ। उनका अनुसार असन्तुष्ट पक्षले आफ्नो शक्ति देखाएर नेतृत्वलाई वार्तामा ल्याउने प्रयास गरिरहेको देखिन्छ।

उनको विश्लेषणमा विशेष महाधिवेशनपछि उत्पन्न विवाद समाधानका लागि दुवै पक्ष अन्ततः संवादमा फर्किनुपर्ने अवस्था आउने सम्भावना बलियो छ। पछिल्ला कार्यक्रममा असन्तुष्ट पक्षको उल्लेख्य सहभागिताले नेतृत्वमाथि थप दबाब सिर्जना गरेको उनको बुझाइ छ।

नेपाली कांग्रेस अहिले एकै समयमा दुईवटा चुनौतीसँग जुधिरहेको छ। पहिलो, पार्टीभित्रको आन्तरिक एकता कायम राख्ने चुनौती र दोस्रो, जनतामाझ कमजोर बन्दै गएको राजनीतिक प्रभाव पुनः स्थापित गर्ने चुनौती।

संस्थापन पक्षले जनसम्पर्क विस्तारलाई प्राथमिकता दिएको छ भने असन्तुष्ट पक्षले संगठनभित्र सुधारबिना पार्टी बलियो बन्न नसक्ने तर्क अघि सारेको छ। दुवै पक्षका गतिविधिले कांग्रेसको आगामी राजनीतिक यात्रा कुन दिशातर्फ मोडिने भन्ने विषयलाई थप रोचक बनाएको छ।

आफ्नै अभिव्यक्ति भारी,वेदिकामाथि अनुसन्धान जारी

काठमाडौं। सामाजिक अभियन्ताका रूपमा परिचित वेदिका केसीमाथि विद्युतीय माध्यमबाट मानहानि हुने प्रकृतिको सामग्री सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान अघि बढाएको छ।

बुधबार दिउँसो पक्राउ परेकी केसीलाई सोही दिन साँझ हाजिर जमानीमा रिहा गरिएको हो। उनीसँग अनुसन्धान अधिकृतहरूले बयान लिने कार्य जारी राखेका छन् भने अनुसन्धान अझै निष्कर्षमा पुगिसकेको छैन।

साइबर ब्युरोका अनुसार कथावाचिका राधिका दासीले दिएको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो। उजुरीमा सार्वजनिक रूपमा प्रसारित अन्तर्वार्तामा आफूमाथि आधारहीन र प्रतिष्ठामा असर पुग्ने आरोप लगाइएको दाबी गरिएको छ।

सो अन्तर्वार्ता सञ्चारकर्मी प्रकाश सुवेदीसँग गरिएको टेलिभिजन कार्यक्रममा प्रसारण भएको थियो भने त्यसको भिडियो युट्युबमार्फत पनि सार्वजनिक भएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सार्वजनिक भिडियो,सामाजिक सञ्जालमा भएका गतिविधि तथा उजुरीमा उल्लेख गरिएका विषयवस्तुलाई आधार बनाएर आवश्यक प्रमाण संकलन गरिरहेको जनाएको छ।

अनुसन्धान पूरा नभएसम्म घटनाका सबै पक्षसँग बयान लिने, डिजिटल सामग्रीको अध्ययन गर्ने तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने साइबर ब्युरोको भनाइ छ।

साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार वेदिका केसीलाई हिरासतमा राखिएको छैन। अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई हाजिर जमानीमा छाडिएको हो। उनका अनुसार अहिले अनुसन्धान जारी रहेकाले थप निर्णय प्रमाण र अनुसन्धानको निष्कर्षका आधारमा गरिनेछ।

वेदिका केसी पछिल्ला केही वर्षदेखि सामाजिक सञ्जालमार्फत धार्मिक अन्धविश्वास, धामी-झाँक्री, झारफुक तथा आफूले गलत ठानेका धार्मिक अभ्यासविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी अभियन्ताका रूपमा परिचित छिन्।

विराटनगरकी २२ वर्षीया केसीले विभिन्न भिडियो, लाइभ कार्यक्रम र सामाजिक सञ्जाल पोस्टमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएकी छन्। उनले आफूलाई समाजमा फैलिएका अन्धविश्वासविरुद्ध सचेतना फैलाउने अभियानमा सक्रिय रहेको बताउँदै आएकी छन्।

यद्यपि, यसपटक भने कथावाचिका राधिका दासीबारे सार्वजनिक रूपमा गरिएको टिप्पणी कानुनी विवादको विषय बनेको छ। उजुरीमा सार्वजनिक अभिव्यक्तिले व्यक्तिगत प्रतिष्ठामा गम्भीर असर पुर्‍याएको दाबी गरिएको छ। यही आधारमा प्रहरीले विद्युतीय माध्यमबाट गरिएको सामग्री कानुनविपरीत भए–नभएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

नेपालको विद्युतीय कारोबार ऐन, २०६३ अनुसार विद्युतीय माध्यम प्रयोग गरी कसैको मानहानि हुने, झुटा आरोप लगाउने वा अपमानजनक सामग्री प्रकाशन तथा प्रसारण गर्ने कार्य कानुनी दायराभित्र पर्न सक्छ।

त्यस्ता घटनामा अनुसन्धानपछि कसुर पुष्टि भए कानुनअनुसार कारबाही हुन सक्ने व्यवस्था रहेको छ। तर अनुसन्धान सम्पन्न नभएसम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने कानुनी सिद्धान्त पनि लागू हुन्छ।

यस घटनाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने अभिव्यक्तिको जिम्मेवारी, अभिव्यक्ति स्वतन्त्रताको सीमा तथा व्यक्तिगत प्रतिष्ठाको संरक्षणजस्ता विषयलाई फेरि एकपटक चर्चामा ल्याएको छ।

पछिल्ला वर्षहरूमा डिजिटल प्लेटफर्ममार्फत हुने मानहानि, चरित्रहत्या र विवादास्पद अभिव्यक्तिसम्बन्धी उजुरी बढ्दै गएकाले साइबर ब्युरोले यस्ता घटनामा अनुसन्धानलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

हाल वेदिका केसीसँग बयान लिने प्रक्रिया जारी रहेकाले अनुसन्धानको अन्तिम निष्कर्ष आएपछि मात्र यस प्रकरणमा थप कानुनी प्रक्रिया अगाडि बढ्ने वा नबढ्ने विषय टुंगो लाग्ने प्रहरीले जनाएको छ।

आफ्नालाई छान्ने ‘बालेन सरकार’

काठमाडौं। सरकारले सार्वजनिक निकायमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने, योग्य र सक्षम व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट नेतृत्वमा पुर्‍याउने प्रतिबद्धता जनाएको भए पनि हालसम्म भएका नियुक्तिहरूले त्यसको ठीक विपरीत चित्र देखाएको भन्दै आलोचना बढ्न थालेको छ।

अध्यादेशमार्फत एकैपटक सयभन्दा बढी सार्वजनिक निकायका पदाधिकारी हटाइएपछि सुरु भएको नयाँ नियुक्ति प्रक्रियामा मेरिटभन्दा राजनीतिक निकटता हाबी भएको आरोप विभिन्न क्षेत्रबाट उठिरहेको छ।

गत वैशाख १९ गते जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ लागू भएपछि ११० सार्वजनिक निकायका अध्यक्ष, सदस्य र पदाधिकारी गरी एक हजार ५९४ जना एकैपटक पदमुक्त भएका थिए। त्यसपछि सरकारले खुला प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन गर्ने घोषणा गरे पनि व्यवहारमा प्रक्रिया पारदर्शी नभएको टिप्पणी भइरहेको छ।

सरकारले अधिकांश निकायमा आवेदन आह्वान, छनोट समिति र अन्तर्वार्ताको प्रक्रिया अपनाए पनि अन्तिम निर्णय भने पहिल्यै तय गरिएका व्यक्तिको पक्षमा गएको आरोप छ। बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्ष नियुक्ति यसको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

उक्त पदका लागि कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामा उत्कृष्ट मूल्यांकन प्राप्त गरेका उम्मेदवारलाई अन्तिममा पछि पार्दै दोस्रो नम्बरका उम्मेदवारलाई नियुक्त गरिएको भन्दै प्रक्रिया नै विवादमा परेको छ। यसले खुला प्रतिस्पर्धा केवल औपचारिकता बनेको प्रश्न उठाएको छ।

यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा पनि अन्तर्वार्ता प्रक्रिया पूरा हुनुअघि नै मन्त्रिपरिषद्ले निर्णय गरेको आरोप लागेको छ। अन्य उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै नियुक्ति निर्णय भएको घटनाले प्रक्रिया निष्पक्ष नभएको चर्चा बढाएको छ।

सार्वजनिक निकायका कार्यकारी पदाधिकारीका लागि ६५ वर्ष उमेर सीमा तोकिएको कानुनी व्यवस्था रहे पनि केही नियुक्तिमा त्यसको पालना नभएको भन्दै प्रश्न उठाइएको छ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा उमेर सीमा नाघेका व्यक्तिलाई नियुक्त गरिएको विषय विवादमा परेको छ। नेपाल वायुसेवा निगममा लामो समयअघि अवकाश प्राप्त व्यक्तिलाई नेतृत्वको जिम्मेवारी दिइएको विषयले पनि सरकारको ‘नयाँ सोच र नयाँ नेतृत्व’को प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।

विशेषगरी दशकौँअघि अवकाश लिएका व्यक्तिलाई पुनः सार्वजनिक संस्थाको नेतृत्वमा ल्याउनु योग्य नयाँ पुस्ताप्रति अन्याय भएको टिप्पणी हुँदै आएको छ।

नेपाल स्काउटको प्रमुख आयुक्त नियुक्तिलाई लिएर पनि विवाद चुलिएको छ। स्काउट ऐनअनुसार पदाधिकारी कुनै राजनीतिक दलसँग आबद्ध हुन नहुने व्यवस्था भए पनि नियुक्त व्यक्तिको राजनीतिक सक्रियता र विगतका गतिविधिलाई लिएर प्रश्न उठाइएको छ।

यससँगै उनीमाथि अघिल्ला अन्तर्राष्ट्रिय स्काउट कार्यक्रममा सहभागी केही नेपाली नफर्किएको घटनासँग सम्बन्धित आरोपसमेत सार्वजनिक रूपमा चर्चामा आएका छन्। यस्ता विवादबीच गरिएको नियुक्तिले सरकारको नैतिक मापदण्डमाथि प्रश्न उठाएको आलोचकहरूको भनाइ छ।

सुशासन र भ्रष्टाचारविरुद्ध कडा नीति लिने प्रतिबद्धता व्यक्त गरेको सरकारले नै विभिन्न उजुरी र छानबिनमा परेका व्यक्तिलाई पनि नेतृत्वमा ल्याउन खोजेको आरोप लागेको छ।

नेपाल निजामती अस्पतालका कार्यकारी निर्देशक नियुक्तिमा उजुरीको टुंगो नलाग्दै नियुक्ति गरिएको विषय चर्चामा छ। त्यस्तै, अन्य केही सार्वजनिक संस्थामा पनि विगतमा विवादमा परेका व्यक्तिलाई पुनः जिम्मेवारी दिन खोजिएको भन्दै आलोचना भइरहेको छ।

सरकारले सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने, योग्यताका आधारमा नेतृत्व चयन गर्ने र सार्वजनिक संस्थामा दलीय हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो। तर हालसम्म भएका नियुक्तिले भने त्यही पुरानै राजनीतिक भागबन्डाको शैली दोहोरिएको आरोप लागिरहेको छ।

अध्यादेशमार्फत पुराना पदाधिकारी हटाएर नयाँ नियुक्ति गर्ने अधिकार प्रयोग गरिएको भए पनि त्यसपछिका निर्णयमा पारदर्शिता, कानुनी मापदण्ड र मेरिट प्रणालीभन्दा राजनीतिक पहुँच प्रभावशाली बनेको भन्दै प्रश्न उठिरहेका छन्।

सरकारले हालसम्म ११० सार्वजनिक निकायमध्ये करिब २६ निकायमा नेतृत्व नियुक्त गरिसकेको छ। नेपाल वायुसेवा निगम, गोरखापत्र संस्थान, शिक्षक सेवा आयोग, प्रेस काउन्सिल, नेपाल दूरसञ्चार प्राधिकरण, धितोपत्र बोर्ड, रेल्वे बोर्ड, नेपाल स्काउट, विद्युत् नियमन आयोगलगायतका निकायमा नयाँ नेतृत्व चयन भइसकेको छ।

त्यसैगरी विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएका छन् भने नेपाल पर्यटन बोर्ड, लगानी बोर्ड, बीमा प्राधिकरण, राष्ट्रिय सहकारी नियमन प्राधिकरणसहित दर्जनौँ निकायमा नियुक्ति प्रक्रिया अझै जारी छ।

सरकारले नियुक्ति प्रक्रिया कानुनी र प्रतिस्पर्धामूलक भएको दाबी गर्दै आएको भए पनि पछिल्ला घटनाक्रमले सार्वजनिक नियुक्तिको विश्वसनीयता, पारदर्शिता र सुशासनको अभ्यासबारे गम्भीर बहस सुरु गराएको छ।

‘कम्युनिस्ट’ देखि सहँदैनन् ‘ट्रम्प’

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२६ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै डेमोक्र्याट उम्मेदवारहरूलाई ‘समाजवादी’ र ‘कम्युनिस्ट’को संज्ञा दिँदै राजनीतिक आक्रमण तीव्र बनाएका छन्।

तर पछिल्ला जनमत सर्वेक्षणहरूले अमेरिकी मतदाताको मुख्य चिन्ता विचारधाराभन्दा पनि आर्थिक असमानता, धनी-गरिबबीच बढ्दो दूरी र वर्तमान आर्थिक प्रणालीप्रतिको निराशा रहेको संकेत गरेका छन्।

लामो समयदेखि अमेरिकी राजनीतिमा समाजवादलाई चुनावी हतियारका रूपमा प्रयोग गरिँदै आएको छ। रिपब्लिकन नेताहरूले डेमोक्र्याटहरूलाई समाजवादसँग जोडेर आलोचना गर्ने रणनीति अपनाउने गरेका छन्। तर पछिल्ला वर्षहरूमा मतदाताको प्राथमिकता विचारधाराको बहसभन्दा दैनिक जीवनमा देखिएको आर्थिक दबाब, बढ्दो जीवनयापन खर्च, कर प्रणाली र ठूला कम्पनीहरूको प्रभावतर्फ केन्द्रित हुन थालेको देखिन्छ।

हालै सार्वजनिक भएको फक्स न्युजको सर्वेक्षणले पुँजीवादप्रतिको अमेरिकी विश्वास उल्लेखनीय रूपमा कमजोर बन्दै गएको देखाएको छ। सन् २०१९ मा ५७ प्रतिशत मतदाताले पुँजीवादलाई सकारात्मक रूपमा हेर्थे भने अहिले त्यो अनुपात घटेर ५० प्रतिशतमा झरेको छ। उता पुँजीवादप्रति नकारात्मक धारणा राख्नेहरूको संख्या २७ प्रतिशतबाट बढेर ४६ प्रतिशत पुगेको छ। यसले केही वर्षअघिसम्म बलियो रहेको पुँजीवादप्रतिको समर्थन अहिले लगभग बराबरीको अवस्थामा पुगेको संकेत गर्छ।

सर्वेक्षणले अमेरिकी नागरिकको अर्को महत्वपूर्ण चिन्ता पनि उजागर गरेको छ। ६५ प्रतिशत मतदाताले वर्तमान आर्थिक प्रणाली धनीहरूको पक्षमा झुकेको विश्वास व्यक्त गरेका छन्। ट्रम्पको पहिलो कार्यकालताका यस्तो धारणा राख्नेको संख्या ५६ प्रतिशत थियो। केही वर्षमै यो अनुपात उल्लेखनीय रूपमा बढेको छ।

विशेष चासोको विषय भने रिपब्लिकन समर्थकभित्र पनि यही असन्तुष्टि बढ्दै जानु हो। सन् २०१९ मा ७२ प्रतिशत रिपब्लिकन समर्थकले पुँजीवादप्रति सकारात्मक धारणा राखेका थिए। अहिले त्यो संख्या ६१ प्रतिशतमा झरेको छ। अझ पुँजीवादप्रति अत्यन्तै सकारात्मक धारणा राख्ने रिपब्लिकन समर्थक ५४ प्रतिशतबाट घटेर ४१ प्रतिशतमा सीमित भएका छन्।

त्यसैगरी आर्थिक प्रणाली धनीहरूको हितमा मात्र केन्द्रित भएको विश्वास गर्ने रिपब्लिकन समर्थकको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। सन् २०१८ मा ३० प्रतिशत रहेको यस्तो धारणा अहिले ४२ प्रतिशत पुगेको छ। स्वतन्त्र बजार र निजी क्षेत्रको पक्षमा उभिने दलभित्रै यस्तो असन्तुष्टि बढ्नु अमेरिकी राजनीतिका लागि महत्वपूर्ण संकेत मानिएको छ।

अन्य सर्वेक्षणहरूले पनि यही प्रवृत्तिलाई पुष्टि गरेका छन्। वाल स्ट्रिट जर्नल–एनओआरसीको अध्ययनअनुसार अहिले आधाभन्दा कम अमेरिकीले मात्र पुँजीवादी आर्थिक प्रणालीले राम्रोसँग काम गरिरहेको विश्वास गर्छन्। करिब एक दशकअघि यो संख्या ६० प्रतिशतभन्दा माथि थियो।

प्यू रिसर्च सेन्टरको अर्को अध्ययनले धनी व्यक्ति तथा ठूला कम्पनीहरूले पर्याप्त कर नतिरेको विषयप्रति अमेरिकी नागरिक गम्भीर रूपमा चिन्तित रहेको देखाएको छ। ६१ प्रतिशत अमेरिकीले धनीहरूले उचित कर नतिरेको बताएका छन् भने ६० प्रतिशतले ठूला कम्पनीहरूले पनि कर छल्ने गरेको धारणा व्यक्त गरेका छन्। रिपब्लिकन समर्थकहरूको उल्लेखनीय हिस्साले समेत यही चिन्ता व्यक्त गरेको सर्वेक्षणले देखाएको छ।

यही कारण पछिल्ला वर्षहरूमा आर्थिक समानता, कर सुधार, न्यून आय भएका नागरिकको संरक्षण तथा ठूला कम्पनीमाथि कडा नियमनको पक्षमा बोल्ने नेताहरूको लोकप्रियता बढ्न थालेको विश्लेषण गरिएको छ।

स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्स लामो समयदेखि आर्थिक असमानता, धनीमाथि बढी कर र सामाजिक सुरक्षाको पक्षमा बोल्दै आएका छन्। विचारधारागत रूपमा उनी लोकतान्त्रिक समाजवादसँग जोडिए पनि उनको लोकप्रियताको मुख्य आधार आर्थिक न्यायको एजेन्डा रहेको विश्लेषकहरूको भनाइ छ।

त्यस्तै न्यूयोर्ककी प्रतिनिधि अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज (एओसी) ले पनि आर्थिक असमानता, श्रमिक अधिकार र सामाजिक सुरक्षाका मुद्दालाई निरन्तर उठाउँदै आएकी छन्। रिपब्लिकनहरूको तीव्र आलोचनाका बाबजुद उनी राष्ट्रिय राजनीतिमा प्रभावशाली नेतामध्ये एक मानिन्छिन्।

पछिल्लो समय डेमोक्र्याटिक राजनीतिमा आर्थिक मुद्दालाई केन्द्रमा राख्ने नयाँ पुस्ताका नेताहरूको उदय भइरहेको विश्लेषणसमेत हुन थालेको छ। केही रिपब्लिकन विश्लेषकहरूले पनि अर्थतन्त्रका विषयमा प्रभावकारी सन्देश दिने डेमोक्र्याट उम्मेदवारहरू भविष्यमा चुनौतीपूर्ण प्रतिस्पर्धी बन्न सक्ने स्वीकार गर्न थालेका छन्।

यसले आगामी अमेरिकी मध्यावधि निर्वाचनमा वैचारिक आरोप–प्रत्यारोपभन्दा पनि आर्थिक अवस्था, जीवनयापनको लागत, कर प्रणाली, रोजगार र आय असमानताजस्ता विषय निर्णायक बन्न सक्ने संकेत दिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार अमेरिकी मतदाताले अहिले समाजवादको सैद्धान्तिक बहसभन्दा पनि आफ्नो आर्थिक अवस्था कसरी सुधारिन्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका छन्। त्यसैले विपक्षीलाई ‘समाजवादी’ वा ‘कम्युनिस्ट’ भनेर मात्रै आलोचना गर्नु चुनावी रूपमा पर्याप्त नहुन सक्छ। यदि आर्थिक असन्तुष्टि अझ गहिरिँदै गयो भने मतदाताले विचारधाराभन्दा पनि आफ्ना दैनिक समस्याको समाधान गर्ने एजेन्डालाई प्राथमिकता दिन सक्ने देखिएको छ।

बालेनको सचिवालयमा २८ जना कर्मचारी, कुमार र असीमले खान्छन् मन्त्रीसरहको तलब

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा मन्त्री, सांसद तथा नेताहरूले स्वकीय सचिव र ठूलो सचिवालय बनाएर राज्यकोषको दुरुपयोग गरेको भन्दै कडा आलोचना गर्ने गरेका थिए। तर प्रधानमन्त्री बनेपछि भने उनले आफ्नै सचिवालयमा २७ जना कर्मचारी तथा सल्लाहकार नियुक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहको सचिवालयमा विभिन्न जिम्मेवारीमा २७ जना कार्यरत छन्। तीमध्ये प्रमुख सल्लाहकार कुमार बेन र प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले मन्त्रीसरहको सुविधा तथा पारिश्रमिक पाउँदै आएका छन्। त्यस्तै, सचिवालयमा रहेका अन्य दुई जनाले राज्यमन्त्रीसरहको सुविधा उपभोग गरिरहेका छन्।

सरकार गठनपछि प्रधानमन्त्री शाहले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गरेका थिए। त्यसबेला उनले प्रशासनिक खर्च कटौती, सरकारलाई चुस्त बनाउने तथा अनावश्यक संरचना घटाउने प्रतिबद्धता व्यक्त गरेका थिए। तर सचिवालयमा मन्त्री र राज्यमन्त्रीसरहको सुविधा पाउने गरी चार जनालाई नियुक्त गरेपछि उनको अघिल्लो अभिव्यक्ति र वर्तमान अभ्यासबीच तुलना हुन थालेको छ।

विद्यमान कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्रीले आफ्नो सचिवालयमा अधिकतम ४८ जना कर्मचारी तथा सहयोगी राख्न सक्ने प्रावधान छ। त्यसअनुसार हाल नियुक्त गरिएका २७ जना कानुनी सीमाभित्रै रहे पनि प्रधानमन्त्रीले विगतमा उठाउँदै आएको मितव्ययिता र सरकारी खर्च कटौतीको एजेन्डासँग यो निर्णय मेल खान्छ वा खाँदैन भन्ने प्रश्न उठ्न थालेको छ।

प्रधानमन्त्रीको सचिवालयमा एक जना अवैतनिक स्वास्थ्य सल्लाहकारसमेत नियुक्त भएका छन्। सचिवालयमा रहेका कर्मचारी र सल्लाहकारहरूले प्रशासन, राजनीतिक समन्वय, सञ्चार, कानुन, नीति, आर्थिक तथा प्राविधिक विषयमा प्रधानमन्त्रीलाई सहयोग गर्ने जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री शाहले विगतमा स्वकीय सचिवको व्यवस्था र ठूलो सचिवालयको आवश्यकता नभएको धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका थिए। तर सरकार सञ्चालनको जिम्मेवारी सम्हालेपछि सचिवालय विस्तार गरेको तथ्य सार्वजनिक भएपछि उनको अघिल्लो राजनीतिक अडान र अहिलेको अभ्यासबीचको अन्तरबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

मानवअधिकार संस्थाको दाबी : सरकारले तीन न्यायाधिशलाई राजीनामा दिन दबाब दियो

काठमाडाैं। तीन मानवअधिकारवादी संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामा दिन नत्र महाअभियोगको धम्की दिएको रिपोर्ट सार्वजनिक गरेका छन्।  एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे)ले नेपालमा न्यायपालिकाको स्वतन्त्रता कमजोर हुन सक्ने भन्दै संयुक्त रूपमा चिन्ता व्यक्त गरेका छन्।

संस्थाहरूका अनुसार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन राजनीतिक दबाब दिइएको तथा नमाने महाभियोग लगाइने धम्की दिइएको भन्ने विश्वसनीय जानकारी उनीहरूले प्राप्त गरेका छन्। यस्ता गतिविधिले न्यायिक स्वतन्त्रता र विधिको शासनमा गम्भीर असर पार्न सक्ने उनीहरूको भनाइ छ।

उनीहरूले सरकारले संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरेर न्यायिक नियुक्तिमा राजनीतिक प्रभाव बढ्न सक्ने अवस्था सिर्जना गरेको आरोप पनि लगाएका छन्। साथै, प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको परम्परा तोडिएको र संसदीय सुनुवाइ प्रक्रिया पर्याप्त पारदर्शी नभएको भन्दै प्रश्न उठाएका छन्।

तीन संस्थाले न्यायिक सुधार आवश्यक भए पनि त्यो सुधार अदालतको स्वतन्त्रता, पारदर्शिता र योग्यतामा आधारित नियुक्तिलाई सुदृढ गर्ने दिशामा हुनुपर्ने बताएका छन्। साथै, न्यायाधीशमाथि राजनीतिक दबाब नदिन, स्पष्ट संवैधानिक आधारबिना महाभियोग प्रक्रिया अघि नबढाउन र संवैधानिक परिषद् ऐनमा गरिएको संशोधनलाई खुला संसदीय प्रक्रियामार्फत पुनरावलोकन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।

तीन दिन हिरासतपछि छुटे ‘निहारिका र बिनु’

काठमाडौं। न्यायको माग गर्दै सिंहदरबार पुगेका निहारिका राजपुत र बिनु यादव तीन दिनपछि प्रहरी हिरासतबाट हाजिरी जमानीमा रिहा भएका छन्।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेका बेला प्रहरीले उनीहरूलाई हाजिरी जमानीमा छाडे पनि उनीहरूले उठाएका न्यायका मुद्दा भने अझै समाधानको चरणमा पुगेका छैनन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान गरिएका दुवैलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरिएको हो। उनीहरूविरुद्ध सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो।

गत बुधबार झरीकै बीच न्यायको माग गर्दै निहारिका र बिनु सिंहदरबार पुगेका थिए। उनीहरूको उद्देश्य गृहमन्त्रीलाई भेटेर आफ्ना गुनासा राख्ने थियो। तर सुरक्षाकर्मीले सिंहदरबारभित्र प्रवेश गर्न नदिएपछि उनीहरू मुख्य गेटअगाडि सडकमै धर्नामा बसे।

प्रहरीले सडक आवागमन अवरुद्ध भएको र सार्वजनिक शान्तिमा असर परेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको थियो।

निहारिका राजपुतको नाम नेपालमा ‘कुमारी आमा’को रूपमा व्यापक चर्चामा आएको थियो। उनले आफूलाई विवाहको आश्वासन दिएर पटक–पटक यौन शोषण गरिएको र पछि अलपत्र पारिएको आरोप लगाउँदै लामो समयदेखि न्यायको खोजी गरिरहेकी छन्।

उनले शिवराज श्रेष्ठविरुद्ध बलात्कारको आरोप लगाएपछि लामो समय कानुनी लडाइँ चल्यो। घटनाको अनुसन्धान निष्पक्ष नभएको, प्रमाण कमजोर बनाउने प्रयास भएको तथा आफ्नो बच्चाको डीएनए परीक्षण हुनुपर्ने माग गर्दै उनले पटक–पटक आन्दोलन, अनशन र प्रदर्शनसमेत गरिन्।

२०७९ साल कात्तिकमा गरिएको डीएनए परीक्षणले बच्चा शिवराज श्रेष्ठकै भएको पुष्टि गरेपछि दुवैबीच विवाह भएको थियो। तर विवाहपछि पनि आफूलाई श्रीमतीको रूपमा स्वीकार नगरेको, घरपरिवारबाट अस्वीकार गरिएको र घरेलु हिंसा सहनुपरेको भन्दै निहारिका फेरि न्याय माग्दै सार्वजनिक रूपमा आन्दोलनमा उत्रिएकी हुन्।

उनको भनाइमा विवाहले समस्या समाधान गरेन, बरु अर्को चरणको अन्याय सुरु भयो। अहिले उनी आफू र आफ्नो छोराको सम्मानजनक जीवन सुनिश्चित गर्न राज्यको हस्तक्षेप आवश्यक रहेको बताउँदै आएकी छन्।

निहारिकासँगै पक्राउ परेकी बिनु यादवको संघर्ष पनि वर्षौंदेखिको हो।

बिनुले आफ्ना प्रेमी प्रदीप कडायतविरुद्ध बलात्कारको उजुरी दिएपछि कानुनी प्रक्रिया सुरु भएको थियो। त्यसपछि दुवैबीच विवाह भए पनि वैवाहिक जीवन टिक्न सकेन। बिनुको आरोपअनुसार विवाहपछि उनीमाथि लगातार घरेलु हिंसा भयो, परिवारबाट अस्वीकार गरियो र जबर्जस्ती गर्भपतन गराउनसमेत दबाब दिइयो।

पछि श्रीमानले सम्बन्धविच्छेदको मुद्दा दायर गरे र जिल्ला अदालतले सम्बन्धविच्छेदको फैसला सुनायो। तर आफूलाई पर्याप्त जानकारी नै नदिई एकपक्षीय निर्णय गरिएको भन्दै बिनु उच्च अदालत पुगिन्। उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याइदियो।

हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। अन्तिम फैसला नआउँदासम्म उनको कानुनी संघर्ष जारी रहने देखिन्छ।

हाजिरी जमानीमा रिहा भएपछि निहारिका र बिनुले तत्काल स्वतन्त्रता त पाए, तर उनीहरूले उठाएका मूल प्रश्नहरू अझै समाधान भएका छैनन्।

उनीहरूका मुद्दा केवल व्यक्तिगत विवादका रूपमा सीमित छैनन्, बरु महिला हिंसा, न्यायमा पहुँच, पीडित संरक्षण र राज्य संयन्त्रको संवेदनशीलतासँग जोडिएका विषय बनेका छन्।

सार्वजनिक रूपमा न्याय माग्न सडकमा उत्रिएका पीडित महिलालाई पक्राउ गरिनु उचित हो कि होइन भन्ने विषयमा पनि सामाजिक सञ्जालदेखि नागरिक तहसम्म बहस भइरहेको छ। एकातिर सार्वजनिक व्यवस्था कायम राख्ने दायित्व राज्यको छ भने अर्कोतर्फ न्याय नपाएका नागरिकले आफ्नो आवाज कहाँ र कसरी उठाउने भन्ने प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ।

निहारिका राजपुत र बिनु यादव दुवैका कानुनी विवाद अहिले पनि अन्तिम निष्कर्षमा पुगेका छैनन्। एकले वैवाहिक अधिकार र सम्मानको माग गरिरहेकी छन् भने अर्की सर्वोच्च अदालतमा आफ्नो मुद्दाको अन्तिम फैसला पर्खिरहेकी छन्।

तीन दिनको हिरासतपछि उनीहरू रिहा भए पनि उनीहरूले थालेको न्यायको यात्रा भने अझै टुंगिएको छैन।

घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराईलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

अख्तियारका अनुसार उनलाई शुक्रबार २१ हजार रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न आवश्यक पर्ने वडा कार्यालयको सिफारिस उपलब्ध गराइदिने भन्दै भट्टराईले सेवाग्राहीसँग घुस रकम मागेका थिए।

सेवाग्राहीबाट मागिएको रकम बुझिसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

हाल भट्टराईलाई अख्तियारको हिरासतमा राखी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

अख्तियारले सार्वजनिक सेवा प्रवाहमा हुने भ्रष्टाचार र घुस लेनदेनविरुद्ध कारबाहीलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

‘सीजेपी’ र मोदीबीच वार्ता हुँदै

काठमाडौं। भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता, प्रश्नपत्र चुहावट र मूल्याङ्कन प्रक्रियामाथि उठेका गम्भीर प्रश्नपछि चर्किएको ‘कक्रोच’ आन्दोलन अब सरकारसँग औपचारिक संवादको चरणमा पुगेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनकारी र सरकारबीच शुक्रबार वार्ता हुने भएको हो।

मेडिकल प्रवेश परीक्षा तथा उच्च माध्यमिक तहको अनलाइन मूल्याङ्कन प्रणालीमा देखिएका त्रुटिले देशभर विद्यार्थी र अभिभावकमाझ असन्तुष्टि बढाएको छ। यही विषयलाई लिएर सामाजिक सञ्जालमार्फत संगठित ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले शिक्षा सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको छ।

सिजेपीका प्रवक्ता सौरभ दासले सरकारसँगको वार्तामा आन्दोलनका सबै माग औपचारिक रूपमा प्रस्तुत गरिने बताए। उनका अनुसार लामो समयदेखि सडकमा उत्रिएका विद्यार्थी र नागरिकको आवाज सरकारले अब गम्भीर रूपमा सुन्नुपर्ने अवस्था आएको छ।

बिहीबार राति प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत मन्त्रिपरिषद्ले परीक्षा प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिविरुद्ध कडा कानुनी कारबाही सुनिश्चित गर्ने विषयमा छलफल गरेको जानकारी दिएका थिए। उनले सम्बन्धित मन्त्रीहरूको सुझाव समेटेर आवश्यक विधेयकलाई अन्तिम रूप दिई छिट्टै संसद्मा प्रस्तुत गरिने बताएका छन्।

सरकारको यो सक्रियता शिक्षा क्षेत्रमा पारदर्शिता र जवाफदेहिता माग गर्दै देशभर चर्किएको दबाबका बीच आएको हो। पछिल्ला दिनमा विद्यार्थी, नागरिक समाज र विभिन्न पेशागत समूहले परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

यसैबीच आन्दोलनको समर्थनमा २६ दिनदेखि आमरण अनशनमा रहेका सामाजिक अभियन्ता सोनम वाङचुकले बिहीबार राति भोक हडताल अन्त्य गरेका छन्। सरकारले शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन नगर्ने, शिक्षा र परीक्षा प्रणाली सुधारका विषयमा संसद्मा विस्तृत छलफल गर्ने आश्वासन दिएपछि उनले अनशन तोडेका हुन्।

गत सोमबार नयाँदिल्लीमा भएको विशाल प्रदर्शनमा दशौँ हजार विद्यार्थी र नागरिक सहभागी भएका थिए। राजधानीमा पछिल्लो पाँच वर्षकै सबैभन्दा ठूलो प्रदर्शन मानिएको उक्त र्‍याली नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको थियो, जसले आन्दोलनलाई अझ तीव्र बनाएको थियो।

सिजेपीका संस्थापक अभिजीत डिप्केले सोनम वाङचुकको निर्णयको सम्मान गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनका अनुसार वाङचुकको त्यागले शिक्षा सुधारको मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

विश्लेषकहरूले प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल सुरु भएयता यो आन्दोलनलाई सरकारले सामना गरिरहेको सबैभन्दा ठूलो राजनीतिक र सामाजिक चुनौतीका रूपमा हेरिरहेका छन्।

नेपालमा अनैतिक गतिविधि गर्ने ५७ विदेशी महिला पक्राउ

काठमाडौं। नेपालमा अनैतिक गतिविधिमा संलग्न हुन विदेशी महिलाको आगमन बढ्दै गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यसम्पादन सार्वजनिक गर्दै अनैतिक गतिविधिमा संलग्न ५७ जना विदेशी महिला पक्राउ परेको जानकारी दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामध्ये ४७ जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि अध्यागमन विभागमार्फत सम्बन्धित देश फर्काइएको (डिपोर्ट) छ। बाँकी १० जनाको डिपोर्ट प्रक्रिया जारी रहेको उनले बताए।

प्रहरीका अनुसार पछिल्लो समय विशेषगरी बैंककसहित केही अफ्रिकी मुलुकबाट आएका महिलाहरू अनैतिक गतिविधिमा संलग्न हुने क्रम बढ्दो देखिएको छ। यसलाई नियन्त्रण गर्न प्रहरीले होटल, गेस्टहाउस र अन्य शंकास्पद स्थानमा निगरानी तथा विशेष अपरेशनलाई तीव्र बनाएको जनाएको छ।

प्रहरीले मानव बेचबिखन तथा यौन शोषणसँग सम्बन्धित सम्भावित सञ्जालमाथि पनि अनुसन्धान जारी रहेको बताउँदै यस्ता गतिविधि नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ।

पुष्पलाल स्मृति दिवसमा वाम नेताहरू एउटै मञ्चमा

काठमाडौं। ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित विचार गोष्ठीमा नेपालका प्रमुख वामपन्थी नेताहरू एउटै मञ्चमा सहभागी भएका छन्।

‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक गोष्ठी पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको हो। कार्यक्रममा विभिन्न कम्युनिस्ट दलका शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्था, वाम आन्दोलनको दिशा, लोकतन्त्रको सुदृढीकरण तथा वाम शक्तिबीच सहकार्य र एकताका सम्भावनाबारे आफ्नो धारणा राखेका छन्।

गोष्ठीमा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता मोहनविक्रम सिंह, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,  सहसंयोजक माधवकुमार नेपाल तथा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली सहित विभिन्न वामपन्थी दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

पुष्पलाल श्रेष्ठको राजनीतिक योगदानको स्मरण गर्दै आयोजित कार्यक्रममा सहभागी नेताहरूले वर्तमान राजनीतिक चुनौती, संविधानको कार्यान्वयन, सुशासन, सामाजिक न्याय तथा वाम आन्दोलनको भविष्यबारे विचार व्यक्त गरेका थिए।

पुष्पलाल मित्रता केन्द्रले प्रत्येक वर्ष पुष्पलाल स्मृति दिवसको अवसरमा यस्ता वैचारिक कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रममा विभिन्न वाम धारका शीर्ष नेताहरू एउटै मञ्चमा देखिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

 

आमिर खानका सौतेनी भाइमाथि ईभा ग्रोभरको आरोप : ‘अरुसँग शारीरिक सम्बन्ध राख्न दबाब दिन्थे’

काठमाडौं। बलिउड अभिनेता आमिर खानका सौतेनी भाइ हैदर अली खानमाथि उनकी पूर्वपत्नी तथा अभिनेत्री ईभा ग्रोभरले गम्भीर आरोप लगाएकी छन्।

हालै एक पोडकास्टमा बोल्दै ईभाले हैदरले आफ्नो मानसिक स्वास्थ्यसम्बन्धी अवस्था विवाहअघि लुकाएको, त्यसपछि आफूले घरेलु हिंसा, मानसिक यातना र अस्वीकार्य दबाब झेल्नुपरेको दाबी गरेकी हुन्।

ईभाका अनुसार विवाहपछि केही समयमै हैदरको व्यवहार असामान्य बन्दै गयो। त्यसपछि मात्रै उनी स्किजोफ्रेनिया (मानसिक स्वास्थ्यसम्बन्धी गम्भीर अवस्था) बाट पीडित रहेको थाहा पाएको उनले बताइन्। त्यसपछि हैदर हिंसात्मक बन्दै गएको र आफूले शारीरिक दुर्व्यवहारसमेत सहनुपरेको उनको आरोप छ।

उनले परिवार जोगाउने उद्देश्यले सम्बन्ध टिकाउने प्रयास गरेको बताउँदै दोस्रो अवसर पनि दिएको उल्लेख गरिन्। तर त्यसपछि हैदरले आफूलाई फिल्म उद्योगमा कामका लागि अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राख्न दबाब दिन थालेको दाबी उनले गरेकी छन्।

ईभाका अनुसार फिल्म क्षेत्रमा यस्ता प्रस्ताव नयाँ नभए पनि आफ्नै श्रीमानबाट यस्तो कुरा सुन्नु आफ्नो जीवनकै सबैभन्दा पीडादायी अनुभव थियो। उनले हैदरले घरखर्च, बिजुलीको बिल र बच्चाको आवश्यकताको बहाना बनाएर आफूलाई सम्झौता गर्न दबाब दिने गरेको आरोप लगाइन्। यही घटनापछि सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको उनले बताएकी छन्।

ईभाले धेरै वर्षअघि नै हैदरसँग सम्बन्धविच्छेद गरिसकेको जानकारी दिँदै अहिले पनि हैदरको अवस्था दयनीय रहेको दाबी गरेकी छन्। उनका अनुसार हैदरसँग स्थायी बसोबासको घरसमेत छैन र दैनिक जीवनयापन गर्नसमेत कठिनाइ भइरहेको छ।

यसअघि पनि ईभाले हैदरमाथि फिल्म उद्योगमा अवसर दिलाउने नाममा निर्देशक तथा निर्मातासँग सम्झौता गर्न दबाब दिएको आरोप सार्वजनिक गरेकी थिइन्। पछिल्लो अन्तर्वार्तामा उनले वैवाहिक जीवनभर मानसिक, आर्थिक र शारीरिक पीडा भोग्नुपरेको दाबी दोहोर्याएकी छन्।

काभा पुरुष भलिबल : आज पाकिस्तानसँग भिड्दै नेपाल 

काठमाडौं। पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज प्रतियोगिताको तेस्रो खेलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ।

नेपाली टोली लगातार दुई हारपछि पहिलो जितको खोजीमा मैदान उत्रिँदै गर्दा पाकिस्तान भने अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।

नेपाल र पाकिस्तानबीचको खेल इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। यसअघि खेल अपराह्न ४:१५ बजेका लागि तय गरिएको भए पनि शुक्रबारको प्रार्थनाको समयलाई ध्यानमा राख्दै आयोजकले खेल तालिका परिवर्तन गरेको हो।

आजकै दिन प्रतियोगिताअन्तर्गत उज्वेकिस्तान र श्रीलंकाबीच पहिलो तथा बंगलादेश र काजकिस्तानबीच दोस्रो खेल पनि हुनेछ।

घरेलु समर्थकको साथ पाएको पाकिस्तान प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ। सुरुवाती दुवै खेल जित्दै उसले ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा आफूलाई बलियो बनाएको छ।

नेपालले भने हालसम्म खेलेका दुवै खेलमा हार बेहोरे पनि प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो। दुवै खेल पाँच सेटसम्म पुगेका थिए, तर निर्णायक क्षणमा चुकेपछि नेपाल जितबाट वञ्चित बनेको थियो।

आजको खेल नेपालका लागि प्रतियोगितामा पुनरागमन गर्ने अवसरका रूपमा हेरिएको छ।

बलियो पाकिस्तानविरुद्ध सकारात्मक नतिजा निकाल्न सके नेपालले आत्मविश्वासका साथै अंक तालिकामा पनि महत्वपूर्ण सुधार गर्नेछ।

…जब दिल्ली एयरपोर्टमा नाम कै कारण रोकिए अभिनेता नाजिर हुसेन

काठमाडौं। अभिनेता नाजिर हुसेनले भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई पटक-पटक छुट्टै सुरक्षा जाँचका लागि रोकिएको भन्दै त्यसको कारण सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

भारत भ्रमण सकेर नेपाल फर्किने क्रममा आफूलाई दोस्रो पटक पनि अलग कक्षमा लगेर सोधपुछ गरिएको अनुभव उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

नाजिर भारतस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नयाँदिल्ली पुगेका थिए। उक्त कार्यक्रममा उनको अभिनय रहेको नेपाली चलचित्र ‘गुन्यो चोलो’ को विशेष प्रदर्शन गरिएको थियो। कार्यक्रम सम्पन्न भएपछि नेपाल एयरलाइन्समार्फत काठमाडौं फर्किने क्रममा विमानस्थलमा आफूलाई अन्य यात्रुभन्दा अलग राखेर विस्तृत सोधपुछ गरिएको उनले बताएका छन्।

उनका अनुसार सोही यात्रामा निर्देशक समुद्र भट्ट र जनकदीप पराजुली पनि सँगै थिए। तर उनीहरूलाई कुनै अतिरिक्त जाँच नगरी सहज रूपमा अघि बढ्न दिइयो भने आफूलाई भने छुट्टै कक्षमा लगेर विभिन्न प्रश्न सोधिएको थियो।

नाजिरले सामाजिक सञ्जालमा लेखेअनुसार सुरक्षा अधिकारीहरूले ‘नेपाल किन जाँदै हुनुहुन्छ ?’, ‘तपाईंसँग कति पैसा छ ?’ लगायतका प्रश्न गरेका थिए। उनले आफू नेपाल फर्किरहेको, भारत भ्रमणको उद्देश्य चलचित्र प्रदर्शनमा सहभागी हुनु रहेको तथा आफूसँग भारतीय मुद्रा नरहेको स्पष्ट रूपमा जानकारी गराएको बताएका छन्।

यद्यपि त्यसपछि पनि किन आफूलाई अलग राखेर जाँच गरिएको भन्ने प्रश्न गर्दा सुरक्षा अधिकारीबाट स्पष्ट जवाफ नपाएको उनको गुनासो छ। उनका अनुसार अधिकारीहरूले ‘कोई बात नहीं’ भन्ने छोटो प्रतिक्रिया मात्रै दिएका थिए, जुन आफ्नो प्रश्नको उत्तर हुन नसक्ने उनको भनाइ छ।

नाजिरले यदि आफ्नो पूरा नाम  ‘मोहम्मद नाजिर हुसेन’ भएकै कारण प्रत्येक पटक अतिरिक्त सुरक्षा जाँचको सामना गर्नुपरेको हो भने त्यो स्वीकार्य नहुने बताएका छन्। यदि त्यसो होइन भने वास्तविक कारण सार्वजनिक गरिनुपर्ने उनको माग छ।

उनले राहदानी स्क्यान गरेपछि यात्रुको विवरण प्रणालीमा देखिने भएकाले कुनै विशेष कारण नभई एउटै व्यक्तिलाई पटक-पटक अलग राखेर सोधपुछ गर्नु उचित नहुने धारणा व्यक्त गरेका छन्।

उनका अनुसार यसअघि पनि यस्तै अनुभव भएको थियो। पहिलो पटक सामान्य प्रक्रिया ठानेर बेवास्ता गरे पनि दोस्रो पटक उस्तै व्यवहार दोहोरिएपछि आफूले सार्वजनिक रूपमा प्रश्न उठाउन आवश्यक ठानेको बताएका छन्।

नाजिरको यो अनुभव सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केहीले अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच सम्बन्धित देशको आन्तरिक प्रक्रिया हुने टिप्पणी गरेका छन् भने कतिपयले कुनै पनि यात्रुलाई स्पष्ट कारण नदिई पटक–पटक छुट्टै जाँच गर्नु पारदर्शिताको दृष्टिले उचित नहुने बताएका छन्।

यस विषयमा भारतीय विमानस्थल प्रशासन वा सम्बन्धित सुरक्षा निकायले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।

उनको पोस्ट :

सुर्खेतमा ग्यास छैन ?

काठमाडौं। नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगर क्षेत्रमा एलपी ग्यासको अभाव नभएको स्पष्ट पारेको छ। निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रूपमा आयात भइरहेकाले बजारमा ग्यास सकिएको भन्ने हल्लामा सत्यता छैन।

निगमले पछिल्लो समय ग्यास अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय गर्न थालेपछि वितरण प्रणालीमा केही दबाब देखिएको जनाएको छ। यही कारण केही स्थानमा असहज अवस्था देखिए पनि वास्तविक रूपमा आपूर्ति प्रणाली नियमित रहेको निगमको भनाइ छ।

नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपककुमार घिमिरेका अनुसार उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन ‘एक व्यक्ति, एक सिलिन्डर’ व्यवस्था लागू गरिएको छ। अधिकृत बिक्रेतामार्फत विभिन्न कम्पनीका १४.२ केजी क्षमताका दुई हजार ९२२ वटा एलपी ग्यास सिलिन्डर प्रतिगोटा दुई हजार ६० रुपैयाँमा बिक्री–वितरण गरिने उनले जानकारी दिए।

त्यसैगरी नेपाल ग्यासका थप ३२० वटा सिलिन्डर वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको न्यू जानकी ट्रेड एण्ड सप्लायर्समार्फत वितरण गरिने निगमले जनाएको छ।

निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गर्दै अधिकृत बिक्रेताबाट मात्रै ग्यास खरिद गर्न अनुरोध गरेको छ। साथै तोकिएको मूल्यभन्दा बढी रकम असुलेको, मौज्दात हुँदाहुँदै ग्यास बिक्री नगरेको वा अनधिकृत रूपमा ग्यास सञ्चय गरेको पाइएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन पनि आग्रह गरिएको छ।

निगमका अनुसार आपूर्ति प्रणाली नियमित रहेकाले उपभोक्ताले हल्लाको पछि नलागी आवश्यकताअनुसार मात्रै ग्यास खरिद गरे बजारमा सहज वितरण कायम रहनेछ।

‘आइ एम विथ डा. केसी’ भन्नेहरू सरकारमा छन् 

काठमाडौं। नेपालको चिकित्सा शिक्षा सुधार आन्दोलनको चर्चा हुँदा अग्रपंक्तिमा आउने नाम हो- डा. गोविन्द केसी। 

एक जना अस्थिरोग विशेषज्ञका रूपमा चिकित्सा सेवा दिँदै आएका उनले करिब डेढ दशकदेखि चिकित्सा शिक्षा, सार्वजनिक स्वास्थ्य सेवा र सुशासनका लागि गरेको संघर्ष नेपाली राजनीतिक इतिहासकै सबैभन्दा लामो र प्रभावशाली नागरिक आन्दोलनमध्ये एक बनेको छ।

अहिले डा. केसी २४औँ सत्याग्रहमा छन्। कैलालीको धनगढीबाट सुरु गरेको उनको पछिल्लो अनशनले फेरि एकपटक सरकारमाथि दबाब सिर्जना गरेको छ। तर यसपटकको आन्दोलन विगतका अनशनभन्दा फरक छ। किनभने अघिल्ला सरकारलाई डा. केसीका माग पूरा गर्न दबाब दिने, सामाजिक सञ्जालमा ‘आइ एम विथ डा. केसी’ लेख्ने र सडक आन्दोलनमा सहभागी हुने धेरै व्यक्ति अहिले स्वयं सरकारको नेतृत्व गरिरहेका छन्।

त्यसैले अहिले बहस केवल डा. केसीका पाँच बुँदे मागमा सीमित छैन। विपक्षमा हुँदा बोलेका कुरा सत्तामा पुगेपछि पनि व्यवहारमा लागू हुन्छन् कि हुँदैनन् ? बहसको केन्द्रमा एउटा गम्भीर प्रश्न खडा भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ अस्थिरोग विशेषज्ञ डा. गोविन्द केसीले वि.सं. २०६९ मा पहिलोपटक आमरण अनशन सुरु गरेका थिए। त्यसबेला उनको मुख्य उद्देश्य चिकित्सा शिक्षामा बढ्दो राजनीतिक हस्तक्षेप रोक्ने, निजी मेडिकल कलेजको अनियन्त्रित विस्तार नियन्त्रण गर्ने र चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउने थियो।

पछि उनका मागहरू थप व्यापक बन्दै गए। सरकारी अस्पताल सुदृढीकरण, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, चिकित्सा शिक्षा आयोगको प्रभावकारी कार्यान्वयन, मेडिकल कलेजको नियमन, स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रण, योग्यताका आधारमा नियुक्ति र जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने विषय उनले निरन्तर उठाउँदै आए।

पटक-पटक अनशन, सरकारसँग वार्ता, सहमति र त्यसपछि कार्यान्वयन नहुँदा फेरि आन्दोलन विगत एक दशकभन्दा बढी समयदेखि यही क्रम दोहोरिँदै आएको छ।

डा. केसीको आन्दोलन सुरु भएयता नेपालमा धेरै सरकार बने र परिवर्तन भए। प्रधानमन्त्री फेरिए, मन्त्री फेरिए, गठबन्धन फेरिए। तर उनले उठाएका धेरै मुद्दा अझै समाधान हुन सकेका छैनन्।

हरेक सरकारले आन्दोलन चर्किएपछि वार्ता टोली गठन गर्‍यो। सहमति गर्‍यो र अनशन अन्त्य गरायो। तर अधिकांश सहमति कार्यान्वयनमा ढिलाइ भयो। यही कारण डा. केसी बारम्बार सत्याग्रहमा फर्किएका हुन्।

यसपटकको आन्दोलनको सबैभन्दा ठूलो विशेषता भनेको सरकारको नेतृत्वमा रहेका धेरै व्यक्तिहरू विगतमा डा. केसीका समर्थक हुनु हो भन्दा फरक नपर्ला ।

प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले सन् २०२० मा सामाजिक सञ्जालमा ‘आइ एम विथ डा. केसी’ लेख्दै तत्कालीन सरकारको आलोचना गरेका थिए। उनले डा. केसीप्रति राज्यले देखाएको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए।

अहिले त्यही पोस्ट फेरि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरैले प्रधानमन्त्रीलाई आफ्नै पुरानो अभिव्यक्ति सम्झाउँदै अहिले सरकारले के गर्छ भनेर प्रश्न गरिरहेका छन्।

वर्तमान शिक्षामन्त्री सस्मित पोखरेल पनि डा. केसीको आन्दोलनमा खुलेर सहभागी हुने नेतामध्ये एक थिए।

उनले त्यतिबेला सरकार मन्त्री थप्न व्यस्त रहेको तर जनताको स्वास्थ्यप्रति बेवास्ता गरेको आरोप लगाउँदै ‘डा. केसीको माग पूरा गर’ अभियान चलाएका थिए।

आज उनी आफैं मन्त्रिपरिषद्का सदस्य छन्। त्यसैले विगतमा उठाएका माग कार्यान्वयन गर्ने जिम्मेवारी अहिले उनैसँग पनि जोडिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बम डा. केसीको अभियानमा प्रत्यक्ष सहभागी भएका थिए। उनले डा. केसीको मागपत्र स्वास्थ्य मन्त्रालयसम्म पुर्‍याएका थिए।

सांसद दीपक बोहराले पनि सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब दिन आग्रह गर्दै डा. केसीको माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए।

सांसद राजीव खत्रीले सार्वजनिक खर्च कटौती र सुशासनको पक्षमा आवाज उठाउँदै सांसद र राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा हटाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

डा. गोविन्द केसीले उठाउने मुद्दा कुनै दल वा व्यक्तिविरुद्ध होइन। उनका अधिकांश माग स्वास्थ्य सेवा सुधार, चिकित्सा शिक्षामा पारदर्शिता, सरकारी अस्पतालको सुदृढीकरण र जनताको स्वास्थ्य अधिकारसँग सम्बन्धित छन्।

आज पनि दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव, सरकारी अस्पतालको कमजोर अवस्था, निजी स्वास्थ्य सेवाको बढ्दो व्यापारिकरण र चिकित्सा शिक्षाको महँगो लागत जस्ता समस्या उस्तै छन्। त्यसैले उनका धेरै माग अझै सान्दर्भिक मानिन्छन्।

२४औँ सत्याग्रहले वर्तमान सरकारलाई  पाँच बुँदे मागको सामना गराएको छैन, आफ्नै विगतसँग पनि आमनेसामने बनाएको छ।

विपक्षमा हुँदा ‘आइ एम विथ डा. केसी’ लेख्ने, सडकमा उत्रिने र सरकारको आलोचना गर्ने नेताहरू अहिले निर्णय गर्ने ठाउँमा छन्। अब बालेन नेतृत्वको सरकारले के गर्छ त्यो भने हेर्न बाँकी नै छ। 

 

रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या

काठमाडौं। रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। घटनापछि आक्रोशित स्थानीयवासीले आरोपितमाथि कुटपिट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती रेनुदेवी जयसवाल (अन्दाजी ४०-४५ वर्ष) माथि धारिलो हतियार (खुकुरी) प्रहार गरिएको थियो। घाँटीमा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल स्थायी घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनुदेवीमाथि खुकुरी प्रहार गरेका हुन्।

घटनापछि स्थानीयवासीले उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। हाल घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको कारणबारे हालसम्म केही खुलाएको छैन। हत्या किन र के कारणले भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

कराची। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र पर्सियन खाडी क्षेत्रमा बढेको सैन्य तनावको प्रभाव देखाउँदै पाकिस्तान सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

पछिल्लो निर्णयअनुसार पेट्रोल र हाई-स्पिड डिजेल दुवैको मूल्य प्रतिलिटरमा वृद्धि गरिएको छ।

पाकिस्तानी सरकारले पेट्रोलको मूल्य प्रतिलिटर ६.३९ पाकिस्तानी रुपैयाँ र हाई–स्पिड डिजेलको मूल्य ७.८३ रुपैयाँले बढाएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ३२७ रुपैयाँ १२ पैसा र हाई–स्पिड डिजेल ३७५ रुपैयाँ ४ पैसा पुगेको छ। पेट्रोलियम डिभिजनले जारी गरेको सूचनाअनुसार संशोधित मूल्य बिहीबारदेखि लागू भएको छ।

सरकारले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर परिवर्तन भइरहनु र मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावका कारण आयात लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको जनाएको छ।

यसअघि अल पाकिस्तान पेट्रोलियम पम्प ओनर्स एसोसिएसनले सरकारले लागू गर्न लागेको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै देशव्यापी हडतालको घोषणा गरेको थियो। तर पेट्रोलियम मन्त्रीसँगको वार्तापछि संगठनले आन्दोलन तत्कालका लागि दुई सातासम्म स्थगित गरेको छ।

पाकिस्तानमा पछिल्ला महिनादेखि इन्धनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। हाई–स्पिड डिजेलको मूल्य अप्रिल ३ मा प्रतिलिटर ५२० रुपैयाँ ३५ पैसासम्म पुगेको थियो। फेब्रुअरी २८ पछि अन्तर्राष्ट्रिय परिस्थितिका कारण यसको मूल्य लगातार बढ्दै गएको थियो।

त्यसैगरी पेट्रोलको मूल्य पनि मार्चको पहिलो सातामा प्रतिलिटर २६६ रुपैयाँबाट बढ्न सुरु भई अप्रिल ३ मा ४५८ रुपैयाँ ४१ पैसासम्म पुगेको थियो। त्यसयता मूल्यमा केही समायोजन भए पनि पछिल्लो निर्णयले फेरि इन्धन महँगिएको छ।

पेट्रोलियम मन्त्री अली परवेज मलिकका अनुसार अब पाकिस्तानमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार दैनिक रूपमा निर्धारण गरिनेछ। मन्त्रिपरिषद् र प्रधानमन्त्रीको निर्णयअनुसार तेल तथा ग्यास नियामक प्राधिकरणलाई हरेक दिन मूल्य समायोजन गर्ने अधिकार दिइएको उनले बताएका छन्।

तर सरकारको यो निर्णयलाई अल पाकिस्तान डिलर्स एसोसिएसनले स्वीकार गरेको छैन। संगठनले दैनिक मूल्य निर्धारण प्रणाली व्यवसायी र उपभोक्ता दुवैका लागि असहज हुने भन्दै विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।

पाकिस्तानमा पेट्रोल मुख्य रूपमा निजी सवारीसाधन, मोटरसाइकल, रिक्सा तथा साना गाडीमा प्रयोग हुने भएकाले यसको मूल्यवृद्धिले मध्यम र निम्न–मध्यम वर्गका नागरिकको दैनिक खर्च बढ्ने अनुमान गरिएको छ।

यस्तै हाई–स्पिड डिजेल ट्रक, बस, मालवाहक सवारी, विद्युत् उत्पादन केन्द्र तथा ठूला जेनेरेटरमा प्रयोग हुने भएकाले यसको मूल्य बढ्दा ढुवानी लागत महँगिने र त्यसको प्रत्यक्ष असर खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत पर्ने विश्लेषण गरिएको छ।

इन्धनको मूल्यवृद्धिले बढ्दो महँगीको सामना गरिरहेका पाकिस्तानी नागरिकमाथि थप आर्थिक दबाब पर्ने देखिएको छ भने दैनिक मूल्य समायोजन प्रणालीले आगामी दिनमा बजारमा अझ बढी मूल्य अस्थिरता ल्याउन सक्ने चिन्ता पनि व्यक्त हुन थालेको छ।

रास्वपा सांसद बब्लु गुप्ताले तिरे जरिबाना

काठमाडौं। गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।

सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ। उनीमाथि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरिएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडिको सिटमा उभिएर मोबाइलबाट भिडियो खिचिरहेको देखिएका थिए। उक्त भिडियो सार्वजनिक भएपछि जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षाका आधारभूत नियम उल्लंघन गरेको भन्दै व्यापक आलोचना भएको थियो।

सांसदजस्ता जनप्रतिनिधिमाथि पनि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठिरहेका बेला ट्राफिक प्रहरीले उनीमाथि सवारी तथा यातायात व्यवस्था ऐनअनुसार ५ सय रुपैयाँ जरिबाना गरेको हो।

कारबाहीपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले कानुन सबैका लागि समान भएको सन्देश दिएको भन्दै ट्राफिक प्रहरीको कदमको स्वागत गरेका छन्। अर्कोतर्फ, जोखिमपूर्ण गतिविधिका लागि ५ सय रुपैयाँको जरिबाना पर्याप्त नभएको टिप्पणी पनि गरिएको छ।

आलोचना चुलिएपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। उनले बाल्यकाल बिताएको स्थानमा पुगेपछि पुराना सम्झनाले भावुक बनेर रमाइलोका क्रममा भिडियो बनाउँदा आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्।

उनले अब आफ्नो ऊर्जा देश र जनताको हितमा लगाउने प्रतिबद्धता जनाउँदै आफूबाट जानी वा नजानी भएको गल्तीका लागि सबैसँग क्षमा मागेका छन्।

यसअघि पनि ट्राफिक नियम उल्लंघन गरेका सार्वजनिक पदाधिकारीमाथि कारबाही भएका उदाहरण छन्। हेल्मेट नलगाई मोटरसाइकल चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ५ सय रुपैयाँ जरिबाना गरेको थियो। यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए।

रास्वपा सांसदमाथि कालो मसी प्रहार

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा कालो मसी दलेर दुर्व्यवहार गरिएको छ।

उक्त घटनापछि रौतहटको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ भने निर्वाचित जनप्रतिनिधिमाथिको यस्तो व्यवहारलाई लोकतान्त्रिक मर्यादाविपरीत भएको भन्दै विभिन्न तहबाट टिप्पणी हुन थालेको छ।

घटना बिहीबार राति गढीमाई नगरपालिका-७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सम्पन्न भएपछि भएको हो। स्थानीय नागरिकसँग मलखादको अभाव, विकास निर्माण र अन्य जनजीविकासँग सम्बन्धित विषयमा छलफल सकेर फर्किने तयारीमा रहेका सांसद पौडेलमाथि अज्ञात समूहले कालो मसी प्रहार गरेको हो।

सांसद पौडेलका अनुसार कार्यक्रम राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा सकिएको थियो। त्यसपछि उनी उपस्थित स्थानीयसँग भेटघाट गर्दै फर्किने क्रममा मास्क लगाएका २ देखि ३ जनाको समूह पछाडिबाट आएको थियो। उनीहरूले चिनजानकै व्यक्तिले अँगालो हालेजस्तो गर्दै अचानक उनको ढाडमा कालो मसी दलिदिएर घटनास्थलबाट भागेका थिए।

घटना लगत्तै कार्यक्रममा सहभागी स्थानीय बासिन्दा र समर्थकहरूले उनीहरूलाई पछ्याउने प्रयास गरेका थिए। तर अँध्यारोको फाइदा उठाउँदै उक्त समूह फरार भएको बताइएको छ।

सांसद पौडेलले आक्रमणकारीहरूको हातमा रातो झण्डा र केही पर्चासमेत रहेको दाबी गरेका छन्। उनीहरू आफूलाई ‘मधेश मुक्ति अभियान’सँग आबद्ध समूहका रूपमा प्रस्तुत गरिरहेको संकेत आफूले पाएको उनको भनाइ छ। यद्यपि उक्त दाबीबारे प्रहरीबाट आधिकारिक पुष्टि भइसकेको छैन।

घटनापछि तत्काल प्रहरीलाई जानकारी गराइएको र अनुसन्धान सुरु गरिएको सांसद पौडेलले बताएका छन्। उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आशंकामा ‘फगु’ (वा ‘फुगु’) भनेर चिनिने एक व्यक्तिको नाम खुलेको प्रहरी स्रोतले जनाएको छ। यद्यपि प्रहरीले हालसम्म कसैलाई पक्राउ गरिसकेको छैन भने संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।

यस घटनाले राजनीतिक असहमति व्यक्त गर्ने शैलीबारे पनि नयाँ बहस सुरु गराएको छ। लोकतान्त्रिक व्यवस्थामा असहमति, विरोध वा आलोचना स्वाभाविक मानिए पनि निर्वाचित जनप्रतिनिधिमाथि सार्वजनिक रूपमा दुर्व्यवहार गर्नु स्वीकार्य हुन नसक्ने मत व्यक्त भइरहेको छ।

स्थानीय राजनीतिक वृत्तमा पनि घटनाको आलोचना हुँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग उठ्न थालेको छ। राजनीतिक मतभेदलाई हिंसात्मक वा अपमानजनक गतिविधिमार्फत व्यक्त गर्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने भन्दै यस्ता घटनामाथि राज्यले निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ।

पक्राउ परेकी वेदिका हाजिर जमानीमा रिहा

काठमाडौं। विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ परेकी वेदिका केसी हाजिर जमानीमा रिहा भएकी छन्।

सरकारी वकिलको कार्यालयको लिखित सहमतिमा उनलाई शुक्रबार उपस्थित हुने सर्तमा रिहा गरिएको साइबर ब्युरोले जनाएको छ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार केसीविरुद्धको अनुसन्धान भने जारी रहेको छ। ब्युरोले जिल्ला अदालत काठमाडौंबाट एक दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

आफूलाई सामाजिक अभियन्ताका रूपमा चिनाउँदै आएकी केसीलाई बिहीबार काठमाडौंको जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको थियो। सोही दिन आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई हाजिर जमानीमा छाडिएको हो।

पछिल्लो समय केसीले सामाजिक सञ्जाल र विभिन्न टेलिभिजन कार्यक्रममार्फत धर्मभित्र देखिएका विकृति, अन्धविश्वास तथा तन्त्र–मन्त्रका नाममा हुने ठगी र शोषणविरुद्ध आफ्ना धारणा सार्वजनिक गर्दै आएकी थिइन्।

उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ । उनका केही अभिव्यक्तिले आफ्नो चरित्रमा आघात पुगेको दाबी गर्दै चर्चित कथावाचिका दासीले उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने सार्वजनिक रूपमा बताएकी थिइन्।

व्यवसायिक पृष्ठभूमिसमेत रहेकी केसी जीबीएस एजुकेसनल कन्सल्टेन्सीकी सञ्चालक हुन्। उनी धर्म, संस्कार तथा तन्त्रविद्याका नाममा हुने दुरुपयोगविरुद्ध आवाज उठाउँदै आएको दाबी गर्दै आएकी छन्।

हाल केसीमाथि लागेको विद्युतीय अपराधसम्बन्धी आरोपको अनुसन्धान जारी रहेको साइबर ब्युरोले जनाएको छ।

सांसदलाई स्वकीय,सर्वोच्चमा रिट

काठमाडौं। संघीय सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता प्रेमराज सिलवालले उक्त निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका हुन्।

सर्वोच्च अदालतले रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि साउन ११ गतेको पेसी तोकेको छ।

रिटमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ। सरकारको निर्णय कानुनी र संवैधानिक दृष्टिले परीक्षण हुनुपर्ने माग रिटमा गरिएको छ।

सरकारले हालै संघीय संसद्का सदस्यलाई एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार संशोधित व्यवस्था नेपाल राजपत्रमा साउन ४ गते प्रकाशित भइसकेको छ। नयाँ व्यवस्थाले प्रत्येक सांसदलाई राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न सक्ने सुविधा प्रदान गरेको छ।

यसअघि जेन–जी विद्रोहपछि गठन भएको सरकारले सांसदका स्वकीय सचिवको सुविधा हटाउने निर्णय गरेको थियो। तर वर्तमान सरकारले सो निर्णय उल्टाउँदै पुनः स्वकीय सचिव राख्ने व्यवस्था लागू गरेको हो।

धान रोपिएको सडकदेखि चार लेनसम्म : फेरिएको पोखराको हरिचोक-याम्दी सडक

पोखरा। केही समयअघि यही सडक धुलो, हिलो र निर्माणको ढिलासुस्तीका कारण स्थानीयको असन्तुष्टिको प्रतीक बनेको थियो। निर्माण कार्य वर्षौँसम्म लम्बिँदा आक्रोशित स्थानीयले २०८१ साल असार १५ गते राष्ट्रिय धान दिवसकै दिन सडकमै धान रोपेर विरोध जनाएका थिए। त्यो दृश्य देशभर चर्चाको विषय बनेको थियो।

आज भने त्यही भूपी शेरचन राजमार्गअन्तर्गतको हरिचोक-याम्दी सडकखण्ड पूर्णतः फरक स्वरूपमा देखिएको छ। चार लेनमा विस्तार, कालोपत्रे र स्पष्ट लाइन मार्किङपछि सडक आधुनिक र व्यवस्थित बनेको छ। दैनिक हजारौँ सवारीसाधन गुड्ने यो सडक अहिले पोखराको प्रमुख प्रवेशमार्गमध्ये एक आकर्षक सडकका रूपमा स्थापित भएको छ।

करिब २.२ किलोमिटर लामो यो सडक भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैको महत्त्वपूर्ण खण्ड हो। पोखरालाई पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँग जोड्ने मुख्य मार्ग भएकाले यसको निर्माण ढिलाइले स्थानीय मात्रै होइन, हजारौँ यात्रु र व्यवसायीले वर्षौँसम्म सास्ती खेप्नुपरेको थियो। वर्षायाममा हिलो, सुख्खा मौसममा धुलो र साँघुरो सडकका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बन्दै आएको थियो।

यो सडक स्तरोन्नतिको जिम्मा मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि. ले २०७९ साउन १४ गते ४८ करोड रुपैयाँमा पाएको थियो। प्रारम्भिक सम्झौताअनुसार दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण विभिन्न कारणले पटक-पटक प्रभावित भयो। म्याद तीनपटक थपिएपछि मात्रै यस वर्ष निर्माण सम्पन्न भएको हो। २०८१ साउनसम्म सक्नुपर्ने काम नसकिएपछि चैत मसान्तसम्म म्याद थपिएको थियो भने अन्तिमपटक २०८३ वैशाख मसान्तसम्म समय दिइएको थियो। तर निर्धारित अन्तिम समयभन्दा अगावै निर्माण सम्पन्न भएको हो।

हरिचोक-याम्दी सडकको परिवर्तनले पूर्वाधार विकासमा भएको ढिलाइ र त्यसविरुद्ध स्थानीयले गरेको संघर्ष दुवैलाई सम्झाइदिएको छ। एक समय विरोधको प्रतीक बनेको यही सडक अहिले पोखराको विकास र आधुनिक सडक पूर्वाधारको नयाँ उदाहरण बनेको छ। स्थानीयवासीको अपेक्षा भने अब सडकको नियमित मर्मत, प्रभावकारी ट्राफिक व्यवस्थापन र गुणस्तरको दीर्घकालीन संरक्षणमा केन्द्रित रहेको छ।

वाङचुकले अनसन तोडेपछि सिजेपीको आन्दोलन के हुँदैछ?

काठमाडाैं। गएको राती अभियन्ता सोनाम वाङचुकले २६ दिन लामो अनसन तोडे।  उनले अनसन तोडेपछि भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर जारी आन्दोलन नयाँ चरणमा प्रवेश गरेको छ। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी) ले सरकारले आफ्ना प्रतिनिधिसँग तटस्थ स्थानमा वार्ता गर्न सहमति जनाएको जनाएको छ। पार्टीका अनुसार दुवै पक्षबीच शुक्रबार भारतको संविधान क्लबमा औपचारिक छलफल हुने तय भएको छ।

सीजेपीका नेता सौरभ दासले सरकारले आन्दोलनकारीको प्रस्ताव स्वीकार गरी वार्ताका लागि तटस्थ स्थान रोजेकोमा स्वागत गरेका छन्। उनका अनुसार संविधान क्लब अफ इन्डियामा हुने बैठकमा आन्दोलनका प्रमुख मागहरूमाथि विस्तृत छलफल हुनेछ। उनले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, नीट प्रश्नपत्र चुहावट प्रकरणमा निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही तथा शिक्षा प्रणालीमा व्यापक सुधारको माग यथावत रहेको स्पष्ट पारे।

यसअघि कक्रोज जनता पार्टीका संस्थापक अभिजित दिपकेले सामाजिक सञ्जाल एक्समार्फत शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आन्दोलन नरोकिने जानकारी दिएका थिए। अर्कोतिर 

सीजेपीले लामो समयदेखि नयाँदिल्लीस्थित जन्तर-मन्तरमा धर्ना दिँदै आएको छ। आन्दोलनकारीहरूले प्रश्नपत्र चुहावटजस्ता घटनाले लाखौँ विद्यार्थीको भविष्य संकटमा परेको भन्दै शिक्षा प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रश्नपत्र चुहावटका घटनाविरुद्ध कडा कानुनी व्यवस्था गर्ने विधेयक ल्याउने घोषणा गरेपछि पनि सीजेपीले त्यसलाई मात्र पर्याप्त नभएको प्रतिक्रिया दिएको छ। पार्टीले परीक्षा अनियमितताप्रति सरकारको सबैभन्दा कडा कदम भनेको केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट हटाउनु हुने दाबी गरेको छ।

यता, चर्चित वातावरण अभियन्ता तथा शिक्षा सुधारका पक्षधर सोनम वाङ्चुकले सरकारबाट माग सम्बोधन गर्ने आश्वासन पाएपछि आफ्नो आमरण अनशन अन्त्य गरेका छन्। उनी शिक्षा सुधार र आन्दोलनकारी विद्यार्थीहरूको समर्थनमा लामो समयदेखि भोक हडतालमा थिए।

वाङ्चुकका अनुसार बिहीबार मध्यराततिर गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले भेट गरी सरकार आन्दोलनकारीका मागबारे सकारात्मक रहेको र समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि उनले अनशन तोड्ने निर्णय गरेका हुन्। यद्यपि आन्दोलनकारीहरूले आफ्ना मुख्य माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन्।

सोनाम वाङचुकले किन तोडे अनसन?

काठमाडाैं। भारतका चर्चित वातावरण अभियन्ता तथा शिक्षा सुधारका पक्षधर सोनम वाङ्चुकले २६ दिनदेखि जारी राखेको आमरण अनशन अन्ततः तोडेका छन्। शिक्षामा व्यापक सुधार, पारदर्शिता र उत्तरदायित्वको माग गर्दै देशभर युवाहरूले चलाइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनी गत २६ दिनदेखि भोक हडतालमा बसेका थिए।

सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सन्देशमा वाङ्चुकले विभिन्न पक्षबीच लामो समयसम्म भएको वार्ता, आन्दोलनको भावी दिशा तथा देशमा सम्भावित हिंसात्मक अवस्था सिर्जना हुन सक्ने चिन्तालाई ध्यानमा राख्दै आफूले अनशन अन्त्य गर्ने निर्णय गरेको बताएका छन्। उनले आन्दोलनका मूल उद्देश्यहरू अझै पूरा नभएकाले संघर्ष भने जारी रहने स्पष्ट पारेका छन्।

५९ वर्षीय वाङ्चुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी) र त्यसमा सहभागी विद्यार्थी तथा युवाहरूलाई समर्थन जनाउँदै अनशन सुरु गरेका थिए। आन्दोलनकारीहरूले शिक्षामा देखिएको अनियमितता, परीक्षा प्रणालीमा भएको अव्यवस्था, उत्तरदायित्वको अभाव तथा सुधारका मागलाई लिएर लामो समयदेखि प्रदर्शन गर्दै आएका छन्।

वाङ्चुकले आफ्नो सन्देशमा आन्दोलन पूर्ण रूपमा अहिंसात्मक हुनुपर्नेमा जोड दिएका छन्। उनले कुनै पनि प्रकारको हिंसाले आन्दोलनको नैतिक शक्ति कमजोर बनाउने उल्लेख गर्दै युवाहरूलाई संयमित, जिम्मेवार र शान्तिपूर्ण ढंगले आफ्ना माग अघि बढाउन आग्रह गरेका छन्।

उनको अनशन भारतभर व्यापक चर्चाको विषय बनेको थियो। सामाजिक अभियन्ता, शिक्षाविद्, विद्यार्थी संगठन तथा विभिन्न नागरिक समूहहरूले उनको अभियानप्रति समर्थन जनाएका थिए भने सरकारसँग आन्दोलनकारीहरूको माग सम्बोधन गर्न दबाब पनि बढ्दै गएको थियो।

अनशन समाप्त गरे पनि शिक्षा सुधारका लागि आफ्नो प्रतिबद्धता यथावत रहने वाङ्चुकले बताएका छन्। उनले आन्दोलनको उद्देश्य व्यक्तिविशेषको विरोध नभई देशको शिक्षा प्रणालीलाई पारदर्शी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउनु रहेको उल्लेख गरेका छन्। उनले सरकार र आन्दोलनकारीबीच संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै युवाहरूको आवाजलाई गम्भीरतापूर्वक सुन्न आग्रह गरेका छन्।

राजेन्द्र लिङ्देनको बेइमानीले राप्रपामा समायोजन भएका नेताको बिचल्ली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समायोजन हुने दल र नेताहरुले वैधानिकता नपाउने र बिचल्लीमा पर्ने क्रम जारी छ ।

राप्रपामा प्रवेश गराएर राजनीतिकर्मीहरुको सम्मान र व्यवस्थापन गर्न चुकेको कारण राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै नियत र क्षमतामा प्रश्नहरु उठेको छ । लिङ्देनको राजनीतिक इमानदारीमाथि पनि आलोचना हुन थालेको छ । यही घटनाक्रम र प्रवृत्तिले गर्दा समाजमा स्थापित व्यक्ति र नेताहरु राप्रपामा आवद्ध हुनबाट झस्किन थालेका छन् ।

राप्रपा र राप्रपा नेपालबीच समायोजन भएको सात महिना बितिसक्यो तर उक्त एकीकरण प्रक्रियाले निर्वाचन आयोगबाट वैधानिकता पाएन । जबकि, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरु राप्रपाको टिकटबाट चुनाव लडे र धेरै नीतिगत निर्णयहरुमा सहभागी भइसकेका छन् ।

विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेका रवीन्द्र मिश्र समूहले पनि निर्वाचन आयोगबाट वैधानिकता पाएन । राप्रपाका वरिष्ठ उपाध्यक्षको रुपमा समायोजन भएका मिश्रले राप्रपा परित्याग गरिसके।उनीसँग राप्रपामा लागेका बहुसंख्यक नेताहरु राप्रपाबाट अलग भइसकेका छन् ।

गत संसदीय चुनावमा राप्रपाबाट चुनाव लडेका डा. सुरेन्द्र भण्डारी र स्वागत नेपालहरु राप्रपाभित्र कुनै वैधानिक हैसियतमा छैनन् । उनीहरुलाई निर्वाचन आयोगले चिन्दैन । भण्डारीसँगै राप्रपामा आवद्ध भएका सुन्दरसिंह बोहरालाई एकता गर्ने बेला पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको थियो । अर्का प्रवक्ता मोहन श्रेष्ठले यही निर्णयबारे सार्वजनिक नोटिस जारी गरेका थिए । तर, पनि बोहराको हैसियत राप्रपाभित्र गुमनाम छ ।

राप्रपाले देशव्यापी जाँच लिएर ४० वर्ष मुनिका युवाहरुलाई केन्द्रीय सदस्य मनोनित गरेको थियो । ती युवा केन्द्रीय सदस्यहरुलाई हालसम्म निर्वाचन आयोगले चिन्दैन । तीमध्ये इन्जिनियर गोपीकृष्ण चौलागाई, रविकिरण हमाल, मिस नेपाल आस्माकुमारी केसीलगायत धेरै जना युवा नेताहरु राप्रपाबाट अलग भइसकेका छन् ।

लिङ्देनको नेतृत्वमा रहेको राप्रपाले राजनीतिक दल र दलका नेताहरुलाई पार्टीमा स्वागत गरेर अलपत्र पार्ने, एकताको संझौता पालना नगर्ने घटनाक्रमहरु बढिरहेको अवस्थामा राप्रपा नेतृत्वको विश्वसनीयतामाथि गम्भीर शंका उब्जिएको छ । स्मरण रहोस्, गत चुनावमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भयो ।

यस्तै घटनाक्रम र अविश्वासका कारण आगामी मंसिरमा घोषणा भएको महाधिवेशन समयमै सम्पन्न हुन्छ भन्नेमा राप्रपाभित्र ठूलो शंका कायम छ ।

भिडियो:

 

गुडिरहेको मोटरसाइकलमा स्टन्ट गर्न उभिएका रास्वपा सांसद बब्लु गुप्ता आलोचित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी आलोचनामा परेका छन्।

भिडियोमा उनी हेल्मेट नलगाई मोटरसाइकलको पछाडिको भागमा उभिएर मोबाइल चलाइरहेको देखिन्छ।

सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गुप्ताको उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ।

सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षासम्बन्धी आधारभूत नियम उल्लंघन गरेको भन्दै धेरैले आपत्ति जनाएका छन्। आलोचकहरूले सांसदजस्ता जिम्मेवार व्यक्तिले ट्राफिक नियम पालना गर्दै नागरिकलाई सकारात्मक सन्देश दिनुपर्ने बताएका छन्।

घटनाबारे प्रतिक्रिया दिँदै सांसद गुप्ताले आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्। उनले कानुनी कारबाही भोग्न तयार रहेको बताउँदै सम्बन्धित मोटरसाइकललाई जरिवानाका लागि ट्राफिक प्रहरी कार्यालय पठाइसकेको जानकारी दिएका छन्।

उनका अनुसार उक्त घटना एक कार्यक्रममा सहभागी हुन भसुवातर्फ जाने क्रममा भएको थियो। उनले यसबाहेक घटनामा अन्य कुनै विशेष विषय नरहेको बताएका छन्।

सांसद गुप्ताले गल्ती स्वीकार गरे पनि उनको भिडियो सामाजिक सञ्जालमा निरन्तर शेयर भइरहेको छ।

स्वकीय सचिवमा परिवार र आफन्त नियुक्त नगर्न रास्वपाको सांसदलाई निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्दा परिवारका सदस्य वा नजिकका आफन्तलाई नियुक्त नगर्न आन्तरिक निर्देशन जारी गरेको छ।

पार्टीले राज्यकोषबाट उपलब्ध हुने सुविधाको पारदर्शी र जनउत्तरदायी प्रयोग सुनिश्चित गर्ने उद्देश्यले यस्तो मापदण्ड लागू गरेको जनाएको हो।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा शुक्रबार जारी गरिएको ‘स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड’ मा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ।

निर्देशनमा स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुसार एकाघरका सदस्य तथा नजिकका नातेदारलाई नियुक्त गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ। नियुक्ति पारिवारिक सम्बन्धभन्दा बाहिरबाट मात्रै गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ।

सरकारले हालै संघीय संसद्का सदस्यलाई एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गर्दै त्यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशित गरिसकेको छ। संशोधित व्यवस्थाअनुसार प्रत्येक सांसदले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। यो सुविधा संघीय संसद्का सदस्यहरूको कानून निर्माण, नीतिगत बहस तथा जनगुनासो सम्बोधनजस्ता जिम्मेवारी प्रभावकारी बनाउन दिइएको हो।

रास्वपाले भने राज्यकोषबाट उपलब्ध हुने उक्त सुविधाको दुरुपयोग नहोस् भन्ने उद्देश्यले आफ्ना सांसदका लागि छुट्टै आन्तरिक मापदण्ड जारी गरेको जनाएको छ। पार्टीका अनुसार स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी, मितव्ययी र सुशासनको सिद्धान्तअनुकूल हुनुपर्नेमा जोड दिइएको छ।

‘बालेनले देश र रविले पार्टी भड्खालाेमा हाले’

काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेनले देश भड्खालोमा हालेको भन्दै चिन्ता प्रकट गरेक छन् ।

बालेन प्रधानमन्त्री भएको चार महिना हुनै लाग्दा सचिव बस्नेतले यस्तो टिप्पणी गरेका हुन् । उता रास्वपा सभापति रवि लामिछानेले पनि पार्टीलाई भड्खालोमा हालेको बस्नेत बताउँछन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नगरपालिका चलाउने बालेन टिमले देश र ग्यालेक्सी टेलिभिजन चलाउने रबि टिमले पार्टी चलाएपछि देश पनि भड्खालोमा, पार्टी पनि भड्खालोमा ।’

एक रुपैयाँकाे सिक्काबाट चुच्चे नक्सा हटाएकाे, नेपालले पनि भारतकाे जग्गा मिचेकाे भनेकाे, भारतीय मिडियाहरुमा नेपाल झुकेकाे जस्ता दाबी प्रकाशन/प्रकारण भएकाे र देशमा सुकुम्बासी, भूमिहीन,  किसान, मजदुरविराेधी नीति र व्यवहार बालेन सरकारबाट भइरहँदा बस्नेतले यस्ताे बताएका हुन् ।

गगन थापाको सन्देश : चुनावले होइन, सिद्धान्तले कांग्रेसलाई परिभाषित गर्छ

काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई चुनावले नभएर  , सिद्धान्तले परिभाषित गर्ने बताएका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसलाई केवल स्मरणको कार्यक्रममा उनले कांग्रेसको भावी राजनीतिक दिशा, संगठनको चरित्र र चुनावी रणनीतिले कांग्रेस परिभाषित हुने बताएका हुन्। उनका अनुसार कांग्रेसको राजनीति सत्ता जित्नका लागि मात्र होइन, समाजको विश्वास जित्नका लागि हुनुपर्छ।

पछिल्ला केही वर्षयता नेपाली राजनीतिमा चुनाव, गठबन्धन र सत्ताको अंकगणित नै मुख्य बहस बनेको छ। यही परिवेशमा थापाले कांग्रेसको राजनीतिक पहिचानलाई बीपी कोइरालाको सिद्धान्तसँग जोड्ने प्रयास गरे। उनले भने, ‘शक्तिको प्रतिस्पर्धा मात्रै राजनीति होइन, सत्ताको प्रतिस्पर्धा मात्रै राजनीति होइन। किनभने हामीलाई यही कुरा बीपी कोइरालाले सिकाउनुभएको हो।’

थापाले आगामी स्थानीय र प्रदेश निर्वाचनलाई लिएर पार्टीभित्रैबाट आउने दबाब र चेतावनीप्रति कांग्रेस सजग रहेको बताए। उनले आफूलाई कतिपय नेताले चुनावको परिणाम देखाएर तर्साउने गरेको उल्लेख गर्दै त्यसलाई अस्वीकार गरे।

‘मलाई कतिपय साथीहरूले तर्साउन खोज्नुहुन्छ, कहिलेकाहीँ नेताहरूले पनि तर्साउन खोज्नुहुन्छ। हेरौंला स्थानीय चुनाव भन्नुहुन्छ, हेरौंला प्रदेशको चुनाव भन्नुहुन्छ। हामी बीपी कोइरालाका कार्यकर्ता हौं। हामी एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिहाल्ने होइनौं,’ उनले भने।

गठबन्धनको राजनीतिप्रति पनि अप्रत्यक्ष रूपमा प्रश्न उठाएका थापाले अब गठबन्धनको राजनीति नहुने दाबी गरे। ‘हामी चुनाव हारिएला, नजितिएला भनेर आस्थासँग सम्झौता गर्दै सोसाइटी र सिद्धान्तले नमान्ने गठबन्धनको राजनीति बोक्ने कांग्रेस होइन,’ उनको दाबी छ।  

थापाको अर्को महत्त्वपूर्ण सन्देश सत्ता र समाजबीचको सम्बन्धमा केन्द्रित थियो। उनका अनुसार कांग्रेसको सफलता सरकारमा पुग्नुमा होइन, नागरिकको विश्वास जित्नुमा निर्भर छ। ‘हाम्रा लागि प्राइमरी कुरा भनेको नागरिकको विश्वास र भरोसा हो। त्यसका लागि हामीले सत्तासँग होइन, समाजसँग जोडिएको कांग्रेस बनाउनुपर्ने छ,’ उनले जोड दिए।

यद्यपि, अहिले नेपाली राजनीतिको यथार्थ भने थापाले त्यति सरल छैन। थापा नेतृत्वको कांग्रेस आफै दुई खेमातिर विभाजित अवस्थामा छ।  अर्को खेमाको नेतृत्व पूर्णबहादुर खड्काले गरिरहेका छन्, भनिन्छ जसमा शेरबहादुर देउवाको सहयोग छ।  उक्त खेमातिर कांग्रेसका समकालीन तथा पुराना नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महत्हरु छन्।  यसले थापाको भनाइलाई झन् धेरै चुनौती दिन्छ। 

यस्तो अवस्थामा नेपालको वर्तमान राजनीतिमा गठबन्धन, शक्ति सन्तुलन र चुनावी गणितलाई बेवास्ता गरेर कुनै पनि दल अघि बढ्न सक्ने अवस्था छैन। त्यसैले थापाले अघि सारेको ‘समाजसँग जोडिएको कांग्रेस’ को अवधारणा व्यवहारमा कसरी रूपान्तरण हुन्छ भन्ने प्रश्न आगामी स्थानीय तथा प्रदेश निर्वाचनले नै उत्तर दिनेछ।

बीपीको स्मृति दिवसमा थापाले दिएको सन्देशले एउटा कुरा भने स्पष्ट पारेको छ- कांग्रेसभित्र अब चुनाव जित्ने रणनीतिभन्दा पनि पार्टीको वैचारिक पहिचान, संगठनात्मक पुनर्निर्माण र नागरिकसँगको सम्बन्धलाई केन्द्रमा राख्ने बहस अझ तीव्र हुने संकेत देखिएको छ। यही बहसले आगामी दिनमा कांग्रेसको राजनीतिक मार्ग तय गर्ने सम्भावना बलियो छ।

पुष्पलाल स्मृति दिवसमा ओलीले के भने?

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसलाई केवल श्रद्धाञ्जली कार्यक्रमका रूपमा सीमित राखेनन्। उनले त्यसलाई वर्तमान सरकारमाथि तीव्र राजनीतिक आक्रमण गर्ने मञ्चका रूपमा प्रयोग गरे। उनको करिब एक घण्टाको सम्बोधनमा सरकारको कार्यशैली, संविधान, लोकतन्त्र, राजनीतिक दलको भूमिका, सामाजिक सञ्जालको प्रभावदेखि वामपन्थी एकतासम्मका विषय समेटिए। 

तर भाषणको एउटा स्पष्ट सन्देशका रुपमा उनले वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यताबाट विचलित भइरहेको छ र त्यसको प्रतिवाद गर्ने जिम्मेवारी कांग्रेस र एमालेको काँधमा भएको बताए।

ओलीले सुरुमै सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप लगाए। आफूलाई ‘निराधार रूपमा पक्राउ गरिएको’ उल्लेख गर्दै उनले एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि पनि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरिएको दाबी गरे। 

उनले भने, ‘दुनियाँमा कहीँ पनि यस्तो सरकार हुँदैन। मलाई सरकारले निराधार रूपमा पक्राउ गर्‍यो, विष्णु पौडेलमाथि प्रतिशोध साँध्यो।’ यो अभिव्यक्तिले वर्तमान सरकारलाई लोकतान्त्रिक अभ्यासभन्दा राजनीतिक बदला लिन केन्द्रित रहेको सन्देश दिन खोजेको देखिन्छ।

ओलीको अर्को निशाना सरकारले गरिरहेको संविधान संशोधनको बहस र सरकार सञ्चालनको प्रक्रिया थियो। सरकारले राजनीतिक दलसँग पर्याप्त परामर्श नगरी निर्णय गरेको आरोप लगाउँदै उनले भने, ‘राजनीतिक दलहरूसँग परामर्श गरिएन, दलहरूमाथि झुटा आरोप लगाइयो, अपमान गरियो।’ संविधान संशोधनको बहस चलिरहेका बेला उनले दलहरूको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे।

ओलीले पछिल्लो समय देखिएको ‘पुराना र नयाँ दल’ को बहसलाई पनि खारेज गरे। उनका अनुसार यो विभाजन राजनीतिक प्रतिस्पर्धाभन्दा समाजलाई टुक्र्याउने रणनीति हो। ‘धर्मका नाममा, जातका नाममा, भूगोलका नाममा नेपालीलाई विभाजन गर्न खोज्दा पनि सफल भएनन्, अहिले नयाँ र पुरानाका नाममा विभाजन गर्न खोजिएको छ,” उनले भने। यस्ता प्रयासले परिवार र समाजमै वैचारिक दूरी बढाउने उनको तर्क थियो।

मन्तव्यमा कांग्रेस-एमाले सहकार्यलाई विशेष प्राथमिकता दिएका ओलीले फेरी कांग्रेस-एमालेले सहकार्य अग्र्नुपरने बेला आएको दाबी गरे । उनले ले लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र आवश्यक संशोधनको नेतृत्व यी दुई दलले नै गर्नुपर्ने दाबी गरे। उनका अनुसार वर्तमान सरकार आफू, देउवा र प्रचण्डको बदनाम गर्न केन्द्रित रहेको छ। तीन नेताले खाएको नभइ वर्तमान समयसम्म आइपुग्न आफूहरुले अभूतपूर्व संघर्ष गरेको ओलीको भनाइ थियो।  

‘२००७, २०३६, २०४६, २०६२/०६३ को आन्दोलनमा को थियो? संविधान बनाउने बेला को थियो? संघर्ष र बलिदान पुराना दलले दिएका हुन्। अब लोकतन्त्र फिर्ता ल्याउने काम पनि एमाले र कांग्रेसले नै गर्छ,’ उनले भने।

अधिकांश समय वर्तमान सरकारको आलोचनामा केन्द्रित रहेका ओलीले सरकारले सामाजिक सञ्जाललाई असामाजिक बनाएको आरोप लगाए। उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, नेतामाथि निरन्तर प्रहार गर्ने र समाजलाई असामाजिक बनाउने प्रयास भइरहेको दाबी गरे। ‘एकछिन सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रम छर्ने, छाडा बोल्ने र नेतामाथि प्रहार गर्ने प्रवृत्तिमा ध्यान दिनु हुँदैन,’ उनले कार्यकर्तालाई आग्रह गरे।

ओलीले वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको आवश्यकता दोहोर्‍याए। वर्तमान राजनीतिक अवस्थालाई उनले लोकतन्त्र र संविधानमाथिको चुनौतीका रूपमा चित्रण गर्दै ‘हामी सबै वामपन्थी-लोकतान्त्रिक शक्तिहरू मिलेर लोकतन्त्र फर्काउन, संविधान जोगाउन र सुशासन पुनःस्थापित गर्न एकजुट हुनुपर्छ,’ भन्ने आह्वान गरे।

लिङ्देनकै कारण राप्रपाको एकता अवैध

काठमाडौँ । गत पुसमा एकतामा जोडिएका राप्रपा र राप्रपा नेपालबिच भएको एकता अवैध ठहर भएको पाइएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले गत पुसमा एकता गरेका थिए। 

निर्वाचन आयोगमा दुवै पार्टीले आवश्यक कागजात नै दिन नसकेपछि उनीहरुबीचको एकता टुक्रिने भएको हो । यसअघि राप्रपाले असार ३ गते मात्रै दल एकीकरणसम्बन्धी निवेदन दिएपनि आयोगले उक्त निवेदनका संदर्भा कुनै सुनवाई नै गरेन । 

अहिले निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि आवश्यक कागजात अपुग रहेको भन्दै राप्रपा नेपाल र राप्रपालाई थप विवरण पेश गर्न निर्देशन दिएको हो।

आयोगले साउन १ गते दुवै दललाई पठाएको पत्रमार्फत दर्ता निवेदनसँग संलग्न गरिएका कागजात अध्ययन तथा जाँचबुझ गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ८ बमोजिम आवश्यक कागजात र विवरण अपुग रहेको जनाएको छ।

पत्रमा तोकिएको कानुनी व्यवस्था अनुसार अपुग कागजात, विवरण तथा आवश्यक प्रमाणहरू यथाशीघ्र उपलब्ध गराउन दुवै दललाई आग्रह गरिएको छ। आयोगले आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै दल दर्तासम्बन्धी थप निर्णय अघि बढाइने संकेत गरेको छ।

निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल दर्ता गर्दा कानुनले तोकेका मापदण्ड र आवश्यक कागजातको पूर्णता अनिवार्य हुने भन्दै अपुग विवरण भएमा थप कागजात माग्ने अभ्यास नियमित प्रक्रिया भएको जनाएको छ।

राप्रपा नेपाल र राप्रपाले आयोगको निर्देशनअनुसार आवश्यक कागजात बुझाएपछि दर्ता प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ। आयोगले भने कानुनी प्रक्रिया पूरा भएपछि मात्रै दर्तासम्बन्धी अन्तिम निर्णय हुने स्पष्ट पारेको छ।

 

बाँदर, बँदेलको बढ्दो आतंक: खेती जोगाउनै किसानलाई महासङ्ग्राम 

काठमाडौं। नेपाललाई कृषिप्रधान देश भनिए पनि पछिल्ला वर्षहरूमा किसानले सबैभन्दा ठूलो संघर्ष मौसमसँग मात्र होइन, जङ्गली वन्यजन्तुसँग पनि गर्नुपरेको छ।

बाली लगाउने, स्याहार गर्ने र उत्पादनको प्रतीक्षा गर्ने किसानका लागि अहिले सबैभन्दा कठिन काम भनेको हुर्काएको बाली जोगाउनु बनेको छ। वन्यजन्तुको बढ्दो आक्रमणका कारण धेरै किसानले महिनौँको मेहनत, लगानी र आशा एकै रातमा गुमाइरहेका छन्।

देशका पहाडी, हिमाली र तराईका अधिकांश जिल्लाबाट बाँदर, बँदेल, दुम्सी, नीलगाई र अन्य जङ्गली जनावरले खेतीमा ठूलो क्षति पुर्‍याएको गुनासो बढ्दो छ।

मकै, धान, गहुँ, कोदो, तरकारी, फलफूलदेखि उखुसम्मका बाली निरन्तर नष्ट भइरहेका छन्। कतिपय स्थानमा बाली पाक्नै लाग्दा एकै रातमा सखाप हुने गरेको छ भने कतै दिनदहाडै बाँदरको समूहले खेतबारी उजाड्ने गरेको किसानहरूको अनुभव छ।

यसको प्रत्यक्ष असर कृषि उत्पादनमा मात्र सीमित छैन। उत्पादन घट्दा किसानको आम्दानी घट्ने, ऋण तिर्न समस्या हुने, परिवारको जीविकोपार्जन प्रभावित हुने र कृषि पेशाप्रतिको आकर्षण नै घट्दै जाने अवस्था सिर्जना भएको छ। कृषिमा निर्भर परिवारका लागि यो समस्या आर्थिक मात्र नभई सामाजिक संकटका रूपमा पनि देखिन थालेको छ।

वन्यजन्तुको त्रासका कारण धेरै किसान रातभर खेतबारीमा पहरा दिन बाध्य छन्। टिन ठटाउने, आगो बाल्ने, टर्च बालेर जनावर धपाउने, कुकुरको सहारा लिने तथा पालैपालो खेत कुर्ने जस्ता परम्परागत उपाय अपनाउँदा पनि क्षति रोक्न सकिएको छैन।

कतिपय स्थानमा स्थानीयले आफ्नै खर्चमा वन्यजन्तु धपाउन मानिस नै खटाउने व्यवस्था गरेका छन्, जसले सरकारी संयन्त्रको कमजोरीलाई छताछुल्ल पारेको छ।

समस्या यतिमै सीमित छैन। धेरै किसानले वन्यजन्तुबाट बारम्बार क्षति बेहोरेपछि खेतीयोग्य जमिन बाँझै छोड्न थालेका छन्। विशेषगरी वन क्षेत्रसँग जोडिएका गाउँहरूमा खेती गर्नुभन्दा जग्गा खाली राख्नु सुरक्षित हुने मानसिकता बढ्दै गएको स्थानीय तहहरूको भनाइ छ। यसले कृषि उत्पादनमा दीर्घकालीन असर पार्ने चिन्ता बढाएको छ।

सरकारले केही समयअघि रातो बाँदर र जङ्गली बँदेललाई ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गर्दै बाली जोगाउने क्रममा ती जनावर मरे किसानमाथि कारबाही नहुने व्यवस्था गरेको छ। तर किसान र कृषि क्षेत्रका जानकारहरूका अनुसार कानुनी व्यवस्था मात्र पर्याप्त छैन। वन्यजन्तुको संख्या व्यवस्थापन, वैज्ञानिक नियन्त्रण, क्षतिपूर्ति र दीर्घकालीन रणनीति प्रभावकारी रूपमा लागू नभएसम्म समस्या समाधान हुने अवस्था देखिँदैन।

कृषि विभागले पनि वन्यजन्तुबाट हुने क्षतिको समस्या जटिल बन्दै गएको स्वीकार गरेको छ। विभागका अनुसार हाल वन्यजन्तुबाट हुने क्षतिका लागि स्पष्ट राहत वा क्षतिपूर्ति दिने प्रभावकारी संयन्त्र छैन। यद्यपि बाँदरको बन्ध्याकरण (स्टेरिलाइजेसन), स्थानान्तरण, जैविक बार निर्माण, मौरीपालनको विस्तार तथा वन क्षेत्रमै वन्यजन्तुको प्राकृतिक आहारा बढाउने उपायबारे अध्ययन र परीक्षण भइरहेको जनाएको छ।

प्राविधिकहरूका अनुसार मानव-वन्यजन्तु द्वन्द्व बढ्नुका पछाडि वन क्षेत्रमा प्राकृतिक आहाराको कमी, बस्ती विस्तार, खेती प्रणालीमा आएको परिवर्तन तथा वातावरणीय असन्तुलनजस्ता कारण पनि जिम्मेवार छन्। त्यसैले समाधान पनि बहुआयामिक हुनुपर्ने उनीहरूको सुझाव छ। वन व्यवस्थापन, कृषि नीति, स्थानीय तहको सक्रियता र समुदायको सहभागितालाई एकसाथ जोडेर मात्र दीर्घकालीन समाधान सम्भव हुने उनीहरूको भनाइ छ।

यसैबीच कृषि, वन तथा वातावरण मन्त्रालयले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि गठन गरेको कार्यदलमार्फत अध्ययन अघि बढाइरहेको छ।

कार्यदलले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणाली सुधार, जनचेतना अभिवृद्धि, कानुनी सुधार तथा दीर्घकालीन व्यवस्थापनका उपायसहित अन्तरिम प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

मन्त्रालयले त्यसका आधारमा आवश्यक नीतिगत निर्णय र कार्यान्वयन प्रक्रिया अघि बढाउने जनाएको छ।

बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ – भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बी.पी. कोइरालाको तस्बिर भित्तामा झुण्ड्याएर श्रद्धाञ्जली व्यक्त गर्ने परम्पराभन्दा माथि उठेर उनको विचारलाई चिन्तन र व्यवहारमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।

उनले नवीन परिस्थितिमा नेपाली कांग्रेससँग जनताले औपचारिक भाषणभन्दा पनि वैचारिक रूपान्तरण र नयाँ संकल्प र अभियानको पनि अपेक्षा गरेको बताए ।

‘बी.पी.को तस्बिरलाई सदैव भित्तामा झुण्ड्याएर हेरेको हिजोको राजनीति थियो । त्यो बी.पी.लाई भित्तामा झुण्ड्याएर देख्दै आएको हिजोको राजनीतिलाई चिन्तनमा र व्यवहारमा रुपान्तरित गर्ने कहिले ? यो प्रश्न निरन्तर उठेको पनि हो,’ उनले बी.पी. स्मृति दिवसमा भने, ‘त्यसकारण यो नवीन परिस्थिति, संकल्प र अभियानमा हामीले बी.पी.लाई भित्तामा होइन, उहाँको चिन्तनलाई व्यवहारमा उतारेर सार्वजनिक गर्नुछ ।’

विगतमा बी.पी. स्मृति दिवस र जयन्ती औपचारिकतामा सीमित भएको भन्दै अब त्यसलाई विचारको अभियानमा बदल्नुपर्ने उनको भनाइ थियो ।

‘हिजो बी.पी.को हरेक स्मृति दिवस र जयन्ती औपचारिकतामा सीमित हुन्थ्यो । एक दिन एक शब्द बोलेर वर्षभरी आनन्दले निदाउने त्यो खालको निरन्तरता थियो,’ उनले भने, ‘अब औपचारिकतामा होइन, चिन्तनको नयाँ धारा बनेर सार्वजनिक हुनुपर्दछ र त्यसलाई नेपाली कांग्रेसको नेतृत्वले, केन्द्रीय कार्य समितिले बोकेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमाल, पहाड, तराई मधेश भित्रसम्म पुर्‍याउनुपर्छ ।’

आङ्देम्बेले अहिलेको समयले कांग्रेससँग सामान्य भाषणभन्दा पनि ऐतिहासिक निर्णयको अपेक्षा गरेको बताए ।

‘अहिलेको समयले नेपाली कांग्रेसलाई एक थान भाषण होइन, गम्भीरतापूर्वक एउटा ऐतिहासिक निर्णय गर भनिरहेको यो कुरालाई हामीहरूले बुझ्नुपर्दछ,’ उनले भने ।

उनले पार्टीभित्र मतभेद स्वाभाविक भए पनि विवाद र आक्रोशले संगठनलाई कमजोर बनाउने बताए ।

‘एउटा जीवन्त पार्टीमा मतभेदहरू हुन सक्छन् । पार्टीमा छलफल र बहसहरू हुन्छ । वाद प्रतिवाद हुन्छ । तर, जब विवाद आक्रोशमा झाँगिदै जान्छ । झाँगिदै गएका विवादहरूले पार्टीलाई समाप्त गर्दै लान्छ, पार्टीको गतिशीलतालाई समाप्त पार्छ,’ उनले भने ।
सत्ताको अंकगणितले कांग्रेसको वैचारिक धरातल कमजोर बनेको उनको भनाइ थियो ।

‘बी.पी.ले ५० वर्षअघि भन्नुभएको थियो कि राष्ट्रियताको रक्षा र प्रजातन्त्रको प्राप्ति एक आपसको पूरक हो । यो नेपाली कांग्रेसले अपनाएको मेलमिलापको नीतिसँग सम्बन्धित थियो,’ उनले भने, ‘तर, आज नेपाली कांग्रेसको त्यो समाजवादी दर्शन र विचार सत्ता प्राप्तिको अंक गणितले किचिएर, थिचिएर, समाप्त भएको देख्ने साँक्षी पनि हौँ । तपाईं हामी साँक्षी हौँ ।’

आङ्देम्बेले पार्टीभित्र र बाहिरको राजनीतिमा विवेक र तर्क कमजोर हुँदै गएको टिप्पणी पनि गरे ।

‘जब विवेक हराउँछ, त्यो विस्तारै अहंकारमा परिणत हुँदोरहेछ । जब तर्क हराउँछ, त्यो तर्क विस्तारै गालीमा परिणत हुँदोरहेछ, त्यो पार्टीभित्र र बाहिर दुवैतिर छ,’ उनले भने ।

उनले राजनीति सेवा र त्यागको माध्यम बन्नुपर्नेमा जोड दिए । नाफा–घाटाको हिसाबले राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

‘इमानदार कार्यकर्ता कुन कुनामा छन् ? थाहा छैन । वरिपरि घुम्नेहरूलाई खोजिन्थ्यो । हेरिन्थ्यो । आफ्नो वरिपरिकालाई खोज्ने प्रवृत्ति त्यो हिजो नाफा र घाटाको दृष्टिबाट हेरिएको राजनीतिमा थियो,’ उनले भने, ‘तर, आजको राजनीति लगानीकर्ताको लेखाजोखामा होइन, हामीहरूले आजको राजनीतिको यथार्थ धरातल यिनै कार्यकर्ताहरू, यिनै निमुखा श्रमजीवी, किसान, मजदुरहरू हुन् । त्यहीँ ठाउँबाट हामीले आजको राजनीति हेर्नुपर्छ ।’

उनले कांग्रेसलाई नवीन परिस्थितिमा, नवीन संकल्पसाथ नवीन अभियानमार्फत अघि बढाउनुपर्ने पनि बताए ।

वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एकजुट हुन ओलीको आह्वान

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र सुशासनको रक्षा गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले समान उद्देश्य भएका राजनीतिक शक्तिहरू जनताको हितका लागि एकजुट हुनुपर्ने बताए।

ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल चाँडै अन्त्य हुने दाबी गर्दै प्रदेश र स्थानीय सरकार नियमित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे।

उनले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै पञ्चायतकालमा समेत अहिलेजस्तो बर्बरता नदेखिएको दाबी गरे। साथै, पार्टीका नेता–कार्यकर्तामाथि दमन गरिएको र सरकारले संविधानविरोधी गतिविधि गरिरहेको आरोप लगाए।

कार्यक्रममा उनले नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गर्दै सामाजिक रूपान्तरणका लागि पुष्पलालले आफ्नो समयमै सबैभन्दा व्यवस्थित र विकसित वैचारिक आधार प्रस्तुत गरेको उल्लेख गरे।

लोकतन्त्र जोगाउने जिम्मेवारी कांग्रेस र एमालेकै हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेस र एमालेकै काँधमा रहेको बताएका छन्।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पुराना राजनीतिक दलको योगदानलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवाद गरे।

‘२००७, २०३६, २०४६ र २०६२/०६३ का आन्दोलनदेखि संविधान निर्माणसम्म पुराना राजनीतिक दलले नै नेतृत्व गरेका छन्,’ उनले भने, ‘अब लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र आवश्यक संशोधन पनि कांग्रेस र एमालेले नै गर्नुपर्छ।’

ओलीले नयाँ र पुराना दलका नाममा समाजलाई विभाजित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै राजनीतिक दलबिनाको लोकतन्त्र सम्भव नहुने बताए।

उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने र नेतामाथि अनावश्यक प्रहार गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गरे।

सरकारले सुशासनमाथि कुठाराघात गर्यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेकपा नेता नारायणकाजी श्रेष्ठले सुशासनको नाममा वर्तमान रास्वपा नेतृत्वको सरकारले उल्टै सुशासनमाथि कुठाराघात गरेको आरोप लगाएका छन्।

उनले संविधान निर्माणमा प्रमुख भूमिका खेलेका राजनीतिक दलहरूलाई योजनाबद्ध रूपमा किनारा लगाउने प्रयास भइरहेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे। लोकतान्त्रिक व्यवस्था र संविधानमाथि हुने कुनै पनि प्रहार स्वीकार्य नहुने उनको भनाइ थियो।

श्रेष्ठले विगतका कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले कठोर संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा गर्नु अहिले सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताए।

त्यस्तै, नेपालका कम्युनिष्ट शक्तिहरूलाई एउटै केन्द्रमा एकीकृत गर्नुपर्ने धारणा राख्दै उनले एकपटकको असफलतालाई आधार बनाएर एकताको प्रयास नै त्याग्न नहुने बताए। कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकताको विकल्प नभएको उनको भनाइ थियो।

एआईबाट गीत दुरुपयोग भए उजुरी दिन संगीत रोयल्टी संकलन समाजको आग्रह

काठमाडौं। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरेर स्रष्टाको अनुमति वा लाइसेन्सबिना गीत–संगीत प्रयोग भइरहेका घटनाप्रति संगीत रोयल्टी संकलन समाजले गम्भीर चासो व्यक्त गरेको छ।

समाजले यस्ता अनधिकृत प्रयोगविरुद्ध सम्बन्धित स्रष्टा तथा अधिकारवालालाई उजुरी दर्ता गर्न आग्रह गरेको हो।

समाजले जारी गरेको सूचनाअनुसार एआईमार्फत सिर्जना वा प्रयोग गरिएका गीत–संगीतमा अधिकार उल्लङ्घन भएको भए सम्बन्धित व्यक्तिले समाजमा औपचारिक उजुरी दिन सक्नेछन्।

समाजका अनुसार उजुरी कार्यालयमा स्वयं उपस्थित भएर वा लिखित निवेदनमार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। उजुरीका आधारमा अनधिकृत सामग्री हटाउन माग गर्न र सम्बन्धित रोयल्टी दाबी गर्न सकिने उल्लेख गरिएको छ।

यस्तै, हालसम्म समाजमा दर्ता नभएका गीत–संगीतका विवरण तथा आवश्यक प्रक्रिया पनि यथाशीघ्र पूरा गर्न स्रष्टा तथा अधिकारवालालाई अनुरोध गरिएको छ।

संगीत रोयल्टी संकलन समाजका प्रमुख कार्यकारी अधिकृत सागर पाण्डेद्वारा जारी सूचनामा एआई प्रविधिको बढ्दो प्रयोगसँगै बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई प्रभावकारी बनाउन यस्तो पहल गरिएको जनाइएको छ।

May be an image of text