`

शुक्लाफाँटा निकुञ्जमा हराएका सबै महिला सकुशल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका सम्पर्कविहीन महिलाहरू अन्ततः सकुशल परिवारको सम्पर्कमा आएका छन्। जंगलभित्र च्याउ खोज्दै जाँदा बाटो बिर्सिएपछि उनीहरू सम्पर्कविहीन भएको खुलेको छ।

भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार सोमबार मध्याह्न करिब १२ः१५ बजे महिलाहरू आफैं घरपरिवारको सम्पर्कमा आएका हुन्। उनीहरूले जंगलभित्र च्याउ खोज्ने क्रममा बाटो बिर्सिँदा बाहिर निस्कन नसकेको बताएका छन्।

महिलाहरू सकुशल सम्पर्कमा आएपछि उनीहरूको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली भीमदत्त नगरपालिका–१९ स्थित बागफाँटा पुगेको छ।

उनीहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका थिए। त्यसपछि लामो समयसम्म सम्पर्क हुन नसकेपछि खोजी अभियान सञ्चालन गरिएको थियो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्कविहीन महिलाहरू सकुशल परिवारको सम्पर्कमा आएको पुष्टि गर्दै सबैको अवस्था सामान्य रहेको जानकारी दिए।

यसअघि आइतबार साँझदेखि हराइरहेका बेल्डाँडी गाउँपालिका-२ का तीन महिलालाई नेपाली सेनाको सहसेनानी सुमन जिसी नेतृत्वको टोलीले निकुञ्जभित्रबाट फेला पारेर सोमबार बिहान सकुशल उद्धार गरेको थियो। उनीहरूलाई आवश्यक स्वास्थ्य अवस्था बुझिसकेपछि परिवारको जिम्मा लगाइएको छ।

निकुञ्जभित्र अनुमति बिना च्याउ टिप्न गएका तीन समूहका महिलाहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी र निकुञ्ज प्रशासनले संयुक्त रूपमा व्यापक खोजी अभियान सञ्चालन गरेका थिए। खोजी अभियानपछि सबै महिलाहरू सुरक्षित अवस्थामा फेला परेका छन्।

सुकुमवासी नागरिकलाई लालपूर्जा दिन सरकारले जारी गर्यो सूचना

काठमाडौं । सरकारले सुकुमबासी नागरिकका लागि जग्गा प्राप्ति र व्यवस्थापन प्रक्रिया अघि बढाउँदै ३५ दिने सूचना जारी गरेको छ। सरकारको भूमिहीन दलित र सुकुमबासीलाई जग्गा उपलब्ध गराउने योजनाअन्तर्गत भूमी समस्या समाधान समितिले लक्षित वर्गलाई तोकिएको समयभित्र निवेदन दर्ता गर्न आह्वान गरेको हो। 

यो सूचनाअनुसार भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीका रूपमा योग्यता पुगेका व्यक्तिले समितिले तोकेको ढाँचाअनुसारको निवेदन फाराम भर्नुपर्नेछ। उक्त फाराम साउन ४ गतेदेखि ३५ दिनभित्र सम्बन्धित स्थानीय तहका वडाहरूमा खटिएका लगत सङ्कलकमार्फत बुझाउनुपर्ने व्यवस्था गरिएको छ। समितिका अनुसार, लगत सङ्कलनको दोस्रो पटकको सूचना प्रकाशित भइसकेका स्थानीय तहका हकमा भने यो अन्तिम अवसर हो।

सूचना देशभर लागू नभई कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानीय तहमा मात्र लागू गरिएको छ। कोशी प्रदेशअन्तर्गत उदयपुर, सुनसरी र खोटाङका केही गाउँपालिकाहरू समेटिएका छन् भने मधेश प्रदेशमा सिराहा, सर्लाही र बाराका विभिन्न नगरपालिका तथा गाउँपालिकामा आवेदन मागिएको छ। 

बागमती प्रदेशमा रसुवा, सिन्धुपाल्चोक र चितवनको इच्छाकामना गाउँपालिका समावेश छन्। त्यसैगरी गण्डकी प्रदेशका गोरखा, पर्वत, मनाङ, बागलुङ, म्याग्दी, मुस्ताङ र स्याङ्जाका अधिकांश स्थानीय तह, लुम्बिनी प्रदेशको बाँकेस्थित डुडुवा गाउँपालिका तथा कर्णाली प्रदेशका जाजरकोट र डोल्पाका विभिन्न स्थानीय तहमा पनि यो प्रक्रिया लागू हुनेछ।

आठ वर्षअघिको लेखले विवादमा मन्त्री पौडेल, के लेखेका थिए?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले करिब आठ वर्षअघि लेखेको एउटा लेखले सामाजिक सञ्जालमा उनको तिव्र आलोचना सुरु भएको छ। 

झन् नयाँपत्रिका साप्ताहिकमा प्रकाशित उक्त लेखका केही अंश नेपाली समाजलाई अपाच्य हुने गरी समावेश गरिएका छन्। उक्त लेखमा आफ्ना १५ रहर लेख्ने क्रममा पौडेलले १० नम्बरमा लेखेका छन्,- ‘आफूलाई मन परेका लेखकलाई कहिल्यै नभेट्ने तर मन परेकी लेखिकालाई सकेसम्म नछोड्ने।’ यसले उनको स्त्रीप्रतिको दृष्टिकोण, सार्वजनिक नैतिकता र जिम्मेवारीमाथि प्रश्न उठिरहेका छन्।

‘जोगी जिन्दगी’ शीर्षकको उक्त लेखमा पौडेलले स्नातक तहको अध्ययन पूरा गरेपछि आफूले गर्न चाहेका विभिन्न रहरहरूको सूची प्रस्तुत गरेका थिए। तीमध्ये केही अभिव्यक्ति आम तवरमा प्रयोगका दृष्टिकोणले अपाच्य छन्।

लेखको पाँचौँ रहरमा उनले विभिन्न देश, वर्ण, बुनोट र जातिका महिलासँग यौन सम्बन्ध राख्ने इच्छा व्यक्त गरेका छन्। उनको यो अभिव्यक्तिमा मन्त्री पौडेलले महिलालाई वस्तुको रूपमा प्रस्तुत गरेको, स्त्रीप्रति अपमानजनक सोच राखेको तथा लैङ्गिक संवेदनशीलतालाई ध्यानमा नराखेको जस्तो टिप्पणी भइरहेका छन्।

लेखमा उनले आफ्ना पूर्व हेडमास्टरलाई गोद्ने कुरा उल्लेख गरेका छन्।  विद्यालयमा पढ्दाका एकजना प्रधानाध्यापकलाई कुट्ने वा अरूमार्फत कुटाउने चाहना व्यक्त गर्दै आफू सात वर्ष पुरानो कुण्ठाबाट मुक्त हुन चाहेको उनको रहरहरूको सूचीको पहिलो नम्बरमा समावेश छ । यो सरासर हिंसा प्रवर्धन गर्ने अभिव्यक्ति हो।  यसले हिंसालाई सामान्यीकरण मद्दत गर्छ।

यस विवादसँग जोडिएको अर्को संयोग पनि चर्चामा छ। मन्त्री पौडेलको उक्त लेख प्रकाशित हुँदा झन्नयाँ पत्रिका का सम्पादक दीपक सापकोटा थिए। एउटा सम्पादकले यो लेख कसरी स्विकृत गर्यो भन्दै सापकोटा माथि पनि विभिन्न प्रश्न उठिरहेका छन्।   

अर्कोतिर सापकोटा केही समय अगाडि मात्रै नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञमा नियुक्त भएका थिए। यही कारण सामाजिक सञ्जालमा उक्त लेखको प्रकाशन र त्यसबेलाको सम्पादकीय निर्णयबारे पनि चर्चा भइरहेको छ।

९ राजमार्गमा यातायात अवरुद्ध, कुन-कुन ?

काठमाडौं। लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार हाल देशभरका कम्तीमा ९ वटा प्रमुख राजमार्गमा पूर्ण वा आंशिक रूपमा सवारी आवागमन अवरुद्ध भएको छ।

कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीको प्रभाव परेपछि सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ। इलाम नगरपालिका–९ राजदुवाली र पाँचथरको याङवरक गाउँपालिका–१ खोबरे खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माटेखोला क्षेत्रमा पनि पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ। काठमाडौं–हेटौँडा जोड्ने कान्ति लोकपथमा पनि बाढी र पहिरोको जोखिम उच्च रहेकाले अर्को सूचना जारी नभएसम्म यातायात बन्द गरिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरीखोला र कोदारी क्षेत्रमा अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डा क्षेत्रमा रहेको पासाङल्हामु सडकखण्डमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

यता, चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिस्मारखानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन भए पनि जवाङखोला क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

निरन्तर वर्षा भइरहेकाले थप पहिरो र बाढीको जोखिम कायम रहेको भन्दै नेपाल प्रहरीले अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

श्रावणको पहिलो सोमबार : पशुपतिनाथमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं । श्रावण महिनाको पहिलो सोमबारका अवसरमा राजधानीस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थी तथा व्रतालुहरूको उल्लेख्य भीड लागेको छ। भगवान् शिवका परम भक्तहरू ब्रह्ममुहूर्तदेखि नै मन्दिर पुगेर जलाभिषेक, पूजा–आराधना तथा दर्शनमा सहभागी भएका छन्।

श्रावण महिना भगवान् शिवको प्रिय महिना मानिने भएकाले प्रत्येक सोमबार विशेष रूपमा पूजा गर्ने परम्परा रहेको छ। यही धार्मिक विश्वासका कारण पशुपतिनाथ मन्दिर परिसर बिहान सबेरैदेखि भक्तजनले भरिभराउ बनेको छ। नेपालका विभिन्न जिल्लासँगै भारतबाट आएका श्रद्धालुहरू पनि शिवलिङ्गमा जल, दूध, बेलपत्र, धतुरो, फूल तथा प्रसाद चढाउँदै पूजा गरिरहेका छन्।

विशेषगरी महिलाहरू हरियो, पहेँलो र रातो पहिरनमा सजिएर परिवारको सुख, शान्ति, समृद्धि तथा मनोकामना पूरा हुने विश्वासका साथ व्रत बसेका छन्। अविवाहित युवतीहरूले योग्य जीवनसाथीको कामना गर्दै व्रत राखेका छन् भने विवाहित महिलाहरूले श्रीमान्को दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना गर्दै शिव आराधना गरेका छन्।

पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको अत्यधिक भीडलाई मध्यनजर गर्दै दर्शन व्यवस्थापन, सुरक्षाकर्मी परिचालन, स्वयंसेवक परिचालन तथा सरसफाइ व्यवस्थामा विशेष तयारी गरेको छ। भक्तजनलाई सहज रूपमा दर्शन गराउन लामबद्ध प्रवेश तथा निकासको व्यवस्था मिलाइएको छ।

हिन्दू धर्मग्रन्थअनुसार श्रावण महिनामा भगवान् शिवको विधिपूर्वक पूजा–आराधना र सोमबार व्रत बस्दा मनोकामना पूरा हुने, पारिवारिक सुख–शान्ति प्राप्त हुने तथा सकारात्मक ऊर्जा मिल्ने विश्वास रहिआएको छ। यही विश्वासका कारण प्रत्येक वर्ष श्रावण महिनाभर पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ।

श्रावणको पहिलो सोमबारसँगै पशुपतिनाथ मन्दिर परिसर भक्तिमय वातावरणले भरिएको छ। शिवभजन, मन्त्र उच्चारण, घण्ट र शंखको ध्वनिसँगै श्रद्धालुहरूले भगवान् पशुपतिनाथको दर्शन गरी धार्मिक आस्था व्यक्त गरेका छन्।

प्रश्नपत्र चुहावटविरुद्ध ‘कक्रोच’ आन्दोलन चर्कियो

काठमाडौं। भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणाली सुधारको माग गर्दै भइरहेको ‘कक्रोच’ आन्दोलन थप चर्किएको छ।

राजधानी नयाँदिल्लीमा सोमबार हजारौँ प्रदर्शनकारी संसद् भवनतर्फ मार्च गर्न भेला भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रहरीले मार्चका लागि अनुमति नदिए पनि विद्यार्थी, युवायुवती, विभिन्न पेशामा आबद्ध व्यक्ति तथा सर्वसाधारण जन्तरमन्तर क्षेत्रमा जम्मा भएका छन्। सम्भावित झडपलाई मध्यनजर गर्दै संसद् भवन आसपास ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले लाउडस्पीकरमार्फत प्रदर्शनकारीलाई तितरबितर हुन आग्रह गरेको जनाएको छ।

प्रदर्शनमा सहभागीहरूले भारतीय राष्ट्रिय झण्डा बोकेर शिक्षा प्रणालीमा सुधार, प्रश्नपत्र चुहावट रोक्न प्रभावकारी व्यवस्था तथा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नाराबाजी गरेका छन्। आन्दोलनकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि युवाको भविष्यप्रति गम्भीर नभएको आरोप पनि लगाएका छन्।

‘कक्रोच जनता पार्टी’ नामबाट परिचित यो आन्दोलन केही महिनाअघि सर्वोच्च अदालतका प्रधानन्यायाधीशले एक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’ (साङ्ला) सँग तुलना गरेको अभिव्यक्तिपछि सुरु भएको हो। उक्त टिप्पणीलाई विरोधको प्रतीक बनाउँदै युवाहरूले सामाजिक सञ्जालमार्फत आन्दोलन विस्तार गरेका हुन्।

पछिल्ला वर्षहरूमा मेडिकल कलेज, सरकारी सेवा र अन्य प्रतिस्पर्धात्मक परीक्षाका प्रश्नपत्र पटक-पटक चुहिएको घटनाले विद्यार्थी र अभिभावकमा असन्तुष्टि बढ्दै गएको छ। यही विषयलाई आन्दोलनको मुख्य एजेन्डा बनाइएको छ।

आन्दोलनका प्रमुख अभियन्ता सोनम वाङचुक अनशनमा बसेको करिब तीन सातापछि प्रहरीले उनलाई अस्पताल पुर्‍याएको घटनाले आन्दोलनप्रति थप सहानुभूति र समर्थन बढेको बताइएको छ। आन्दोलनकारीहरू विगत एक महिनादेखि जन्तरमन्तरमा धर्ना दिँदै आएका छन्।

उनीहरूको मागमा शिक्षा प्रणालीमा संरचनागत सुधार, प्रश्नपत्र चुहावटमा संलग्नमाथि कडा कारबाही, आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति तथा परीक्षा प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउने व्यवस्था समावेश छन्।

वाङचुकले सरकारले शिक्षा सुधारका विषयमा स्पष्ट प्रतिबद्धता जनाए वा आन्दोलनकारीलाई संसद्सम्म पुग्न दिएर सांसदहरूले यी विषय संसद्मा उठाउने सुनिश्चित गरेमा मात्र आफ्नो अनशन अन्त्य गर्ने बताएका छन्।

यता दिल्ली प्रहरीले भने संसद्को मनसुन अधिवेशन जारी रहेकाले सुरक्षा संवेदनशीलता बढेको भन्दै मार्चको अनुमति नदिएको जनाएको छ।

प्रधानमन्त्री मोदी नेतृत्वको सरकारका लागि यो आन्दोलन पछिल्ला समयको महत्वपूर्ण सार्वजनिक दबाबका रूपमा हेरिएको छ। विपक्षी दल, नागरिक समाजका प्रतिनिधि तथा केही चर्चित कलाकारहरूले पनि आन्दोलनप्रति समर्थन जनाएका छन्।

सरकारका केही मन्त्रीहरूले भने आन्दोलनप्रति कडा प्रतिक्रिया दिएका छन्। शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आन्दोलनमा संलग्न केही समूहले राष्ट्रविरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन्। यद्यपि सरकारका अन्य प्रतिनिधिहरूले विद्यार्थीका चिन्ता बुझ्ने बताए पनि आन्दोलनकारीसँग औपचारिक वार्ताको आवश्यकता नरहेको धारणा सार्वजनिक गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले भने शिक्षा प्रणालीमा सुधार नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

साउनको पहिलो सोमबार : गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो, शिव आराधनामा बिहानैदेखि श्रद्धालु

काठमाडौं । हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्त्व बोकेको साउन महिनाको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लागेको छ। काठमाडौंको गोकर्णेश्वर मन्दिरमा पनि बिहानैदेखि भगवान् शिवको दर्शन तथा पूजा–आराधनाका लागि व्रतालु र श्रद्धालुहरूको घुइँचो लागेको छ।

साउन महिनाभर प्रत्येक सोमबार भगवान् शिवको व्रत बस्ने र विशेष पूजा गर्ने परम्परा रहँदै आएको छ। त्यसैले पहिलो सोमबारको अवसरमा गोकर्णेश्वर मन्दिर परिसर बिहानैदेखि भक्तजनले भरिभराउ बनेको छ। कतिपय श्रद्धालुहरू ब्रह्ममुहूर्तमै मन्दिर पुगेर जल, दूध, बेलपत्र, धतुरो, फूल, अक्षता र फलफूल चढाउँदै शिवको आराधनामा सहभागी भएका छन्।

मन्दिर परिसरमा महिलादेखि ज्येष्ठ नागरिक, युवा तथा बालबालिकासम्मको उल्लेख्य सहभागिता देखिएको छ। हरियो, पहेँलो तथा रातो पहिरनमा सजिएका महिला व्रतालुहरू शिवको पूजा गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा मनोकामना पूरा हुने विश्वासका साथ व्रत बसेका छन्। पुरुष श्रद्धालुहरू पनि शिवलिङ्गमा जल अर्पण गर्दै दर्शनका लागि लामो लाइनमा बसेका देखिएका छन्।

हिन्दू धर्मशास्त्रअनुसार साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ। विशेषगरी सोमबारका दिन विधिपूर्वक व्रत बसेर शिवको पूजा गरे मनोकामना पूरा हुने, वैवाहिक जीवन सुखमय हुने, पारिवारिक कलह अन्त्य हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका कारण हरेक वर्ष साउन लाग्नासाथ देशभरका शिव मन्दिरमा भक्तजनको चहलपहल बढ्ने गर्छ।

गोकर्णेश्वर मन्दिर काठमाडौं उपत्यकाको प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक हो। साउन महिनामा यहाँ दैनिकभन्दा धेरै गुणा बढी श्रद्धालु आउने भएकाले दर्शन व्यवस्थापनका लागि विशेष तयारी गरिएको छ। भक्तजनलाई सहज रूपमा दर्शन गराउन लाइन व्यवस्थापन, सुरक्षाकर्मी परिचालन तथा सरसफाइ व्यवस्थामा समेत विशेष ध्यान दिइएको छ।

मन्दिरमा दर्शनका लागि आउने श्रद्धालुहरूले शिवलिङ्गमा जलाभिषेक गर्नुका साथै बेलपत्र, चन्दन, धूप, दीप र प्रसाद चढाएर पूजा गरेका छन्। कतिपय भक्तजनले सामूहिक रूपमा शिव भजन तथा स्तुति पनि गरेका थिए, जसले मन्दिर परिसरलाई भक्तिमय बनाएको थियो।

सौरमासअनुसार नेपालमा साउन महिनाका चार वा पाँच सोमबार विशेष रूपमा मनाइन्छ। विशेषगरी अविवाहित युवतीहरूले योग्य जीवनसाथी प्राप्तिको कामना गर्दै तथा विवाहित महिलाहरूले श्रीमान्को दीर्घायु, पारिवारिक सुख–समृद्धि र सुस्वास्थ्यको कामना गर्दै सोमबार व्रत बस्ने परम्परा रहिआएको छ।

साउन महिनाको पहिलो सोमबारसँगै देशका अन्य प्रसिद्ध शिवालयहरू पशुपतिनाथ, डोलेश्वर, किर्तिपुरको बाघभैरव परिसरस्थित शिवमन्दिर, भक्तपुर, ललितपुर तथा अन्य जिल्लाका शिव मन्दिरहरूमा पनि बिहानैदेखि दर्शनार्थीहरूको उल्लेख्य भीड लागेको छ। धार्मिक आस्था, परम्परा र संस्कृतिको संगमका रूपमा साउन सोमबार नेपाली समाजमा आज पनि उत्तिकै श्रद्धा र उत्साहका साथ मनाइँदै आएको छ।

कच्चा तेल एक महिनायताकै महँगो

काठमाडौं। अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले अन्तरराष्ट्रिय वित्तीय बजारमा असर देखिन थालेको छ।

मध्यपूर्वमा द्वन्द्व चर्किएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च स्तरमा पुगेको छ भने एसियाली सेयर बजारमा मिश्रित कारोबार देखिएको छ।

विशेषगरी विश्वको समुद्री मार्गबाट हुने कच्चा तेल आपूर्तिको ठूलो हिस्सा ओसारपसार हुने हर्मुज जलमार्ग प्रभावित हुन सक्ने आशंकाले तेल बजारमा दबाब बढेको विश्लेषण गरिएको छ। पछिल्ला दिनहरूमा अमेरिकाले इरानी सैन्य लक्ष्यमा थप आक्रमण गरेको र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार मुलुकका सैन्य संरचनालाई लक्षित गरेको विवरण सार्वजनिक भएपछि लगानीकर्ताको चिन्ता बढेको हो।

यसैबीच, अन्तरराष्ट्रिय बजारमा ब्रेन्ट र वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) दुवै कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै पछिल्लो एक महिनायताकै उच्च बिन्दुमा पुगेको बताइएको छ।

बजार विश्लेषकहरूका अनुसार तेलको मूल्यमा आएको तीव्र वृद्धिले विश्वव्यापी मुद्रास्फीति फेरि बढ्ने जोखिम बढाएको छ। यदि मूल्य लामो समयसम्म उच्च रह्यो भने केन्द्रीय बैंकहरूको ब्याजदर सम्बन्धी नीति, उपभोक्ताको खर्च र आर्थिक वृद्धिमा समेत दबाब पर्न सक्ने आकलन गरिएको छ।

यद्यपि केही विश्लेषकहरूले अमेरिकी अर्थतन्त्रमा मुद्रास्फीति क्रमशः घट्दै गएको र श्रम बजार पनि केही नरम बन्दै गएकाले तत्काल व्यापक मुद्रास्फीतिको नयाँ चक्र सुरु हुने सम्भावना भने सीमित रहेको बताएका छन्।

तेल बजारमा उतारचढाव भइरहेका बेला एसियाली सेयर बजारमा भने मिश्रित अवस्था देखिएको छ। चीनले अर्थतन्त्रलाई थप चलायमान बनाउन नयाँ प्रोत्साहन कार्यक्रम ल्याउने अपेक्षाले हङकङ र साङ्घाईका सेयर सूचकमा वृद्धि भएको छ। ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि हरियाली देखिएका छन्।

तर अमेरिकी बजारमा आएको गिरावटको प्रभाव सियोल, सिड्नी र वेलिङ्टनका बजारमा परेको छ, जहाँ लगानीकर्ताले सतर्क रणनीति अपनाएको देखिएको छ।

भू–राजनीतिक तनावका बीच सुरक्षित लगानी मानिने सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्य भने केही बढेको अन्तरराष्ट्रिय बजारको तथ्यांकले देखाएको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वको अवस्था थप जटिल बनेमा ऊर्जा, वित्तीय तथा वस्तु बजारमा अझ ठूलो उतारचढाव आउन सक्ने सम्भावना रहेको छ।

धुलाम्मे मैदानबाट आधुनिक फुटबल हब बन्दै पेप्सीकोला

काठमाडौं। वर्षौंदेखि धुलाम्मे, असमान र अव्यवस्थित अवस्थामा रहेको पेप्सीकोला फुटबल मैदान अब आधुनिक कृत्रिम घाँसे मैदानमा रूपान्तरण हुँदैछ। काठमाडौं महानगरपालिकाको लगानीमा निर्माण भइरहेको ११ ‘ए’ साइडको अत्याधुनिक मैदान अहिले अन्तिम चरणमा पुगेको छ। कार्पेट बिछ्याउने काम सकिएको छ भने अब बालुवा भर्ने काम बाँकी रहेको छ।

काठमाडौं महानगरपालिका–३२ स्थित यस मैदानमा अहिले निर्माणको गति तीव्र छ। महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर अर्जुन अर्यालका अनुसार मैदानको अधिकांश संरचनागत काम सम्पन्न भइसकेको छ र अबको करिब दुई महिनाभित्र सम्पूर्ण निर्माण कार्य सकिने अपेक्षा गरिएको छ।

उनका अनुसार कृत्रिम घाँसमाथि विशेष प्रकारको बालुवा हाल्ने काम बाँकी छ। चिसो मौसमका कारण यो प्रक्रिया केही समय लाग्ने भए पनि सम्झौताअनुसार मंसिरभित्र निर्माण सम्पन्न हुनेछ।

कृत्रिम घाँसे मैदानमा बालुवा राख्नु केवल औपचारिक प्रक्रिया मात्र होइन। यसले मैदानको गुणस्तर र टिकाउपनलाई प्रत्यक्ष प्रभाव पार्छ। प्लास्टिक फाइबरबाट बनेको कृत्रिम घाँसलाई सीधा र स्थिर राख्न बालुवाले महत्वपूर्ण भूमिका खेल्छ। यसले घाँस चाउरिन वा उखेलिन नदिई लामो समयसम्म प्रयोगयोग्य बनाउँछ।

त्यति मात्र होइन, बालुवाको तहले मैदानलाई नरम बनाउने भएकाले खेलाडी दौडिँदा वा लड्दा चोट लाग्ने जोखिम कम हुन्छ। साथै बलको गति र उफ्राइ प्राकृतिक घाँसजस्तै हुने भएकाले खेलको गुणस्तर पनि उच्च रहन्छ।

वर्षायाममा पानी जम्ने समस्या समाधान गर्न मैदानमा आधुनिक ड्रेनेज प्रणाली निर्माण भइरहेको छ। पानी सहज रूपमा बाहिर निस्कने व्यवस्था मिलाइने भएकाले वर्षाको समयमा पनि खेल सञ्चालन गर्न सहज हुनेछ। मैदानको वरिपरि खेलाडी र दर्शकको आवतजावतलाई व्यवस्थित बनाउन फुट ट्र्याकसमेत निर्माण गरिनेछ।

महानगरपालिकाले काठमाडौंभित्र आधुनिक खेल पूर्वाधार विस्तार गर्ने योजनाअन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा यो परियोजना अघि बढाएको हो। पेप्सीकोला मात्र होइन, बाँसबारी, नयाँबजारको सोसल ग्राउण्ड, बल्खुको बागमती करिडोर, चाबहिलको गणेशथानलगायत काठमाडौंका ६ स्थानमा कृत्रिम घाँसे फुटबल मैदान निर्माण भइरहेको छ।

यी सबै मैदानको स्तरोन्नति तथा निर्माणको जिम्मा जेएसएस/एसएम जेभी, ज्ञानेश्वरले ६ करोड ८० लाख रुपैयाँमा लिएको हो। निर्माण सम्पन्न भएपछि काठमाडौंका स्थानीय खेलाडी, क्लब तथा फुटबल प्रशिक्षणका लागि आधुनिक र सुरक्षित अभ्यासस्थल उपलब्ध हुने अपेक्षा गरिएको छ।

पेप्सीकोला मैदानको स्तरोन्नतिसँगै लामो समयदेखि धुलो, हिलो र अव्यवस्थित अवस्थाबाट प्रभावित स्थानीय खेलाडीहरूले अब अन्तर्राष्ट्रिय मापदण्ड नजिकको सुविधायुक्त मैदानमा अभ्यास र प्रतियोगिता खेल्न पाउनेछन्। महानगरपालिकाको यो परियोजनालाई काठमाडौंमा खेल पूर्वाधार विकासतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

 

ब्रेन ट्युमरको शल्यक्रियापश्चात् स्वास्थ्यलाभ गर्दै दीपाश्री

काठमाडौं। अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। हाल उनी काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहेकी छन्।

वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पताल स्रोतले जनाएको छ।

अभिनेता तथा उनका सहकर्मी दीपकराज गिरीका अनुसार नयाँ फिल्मको सुटिङ र डबिङको व्यस्त तालिकाकै बीच दीपाश्रीको स्वास्थ्य परीक्षण गर्दा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। त्यसपछि निर्माण टोली केही समय अन्योलमा परेको भए पनि चिकित्सकको सल्लाहअनुसार तत्काल शल्यक्रिया गर्ने निर्णय गरिएको उनले बताए।

उपचारका लागि भारत जानुपर्ने सुझाव आए पनि अन्ततः नेपालमै उपचार गराउने निर्णय गरिएको र डा. वसन्त पन्तको नेतृत्वमा सफल शल्यक्रिया सम्पन्न भएको दीपकराजले जानकारी दिएका छन्।

शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। उनी अहिले चिकित्सकको निगरानीमा अस्पतालमै आराम गरिरहेकी छन्।

उनको स्वास्थ्यबारे जानकारी सार्वजनिक भएपछि फिल्म क्षेत्रका कलाकार, निर्माता, निर्देशक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिरहेका छन्।

स्पेनको श्लोक ‘ला रोजा’ के हो?

काठमाडाैं। विश्व फुटबलमा प्रत्येक राष्ट्रिय टोलीको आफ्नै पहिचान र उपनाम हुन्छ। ब्राजिललाई ‘सेलेसाओ’, अर्जेन्टिनालाई ‘ला अल्बिसेलेस्ते’, इटालीलाई ‘अजुरी’ र जर्मनीलाई ‘डाइ मान्साफ्ट’ भनेर चिनिन्छ। त्यसैगरी स्पेनको राष्ट्रिय फुटबल टोलीलाई ‘ला रोजा’ अर्थात् ‘रातो टोली’ भन्ने गरिन्छ। यो उपनाम केवल स्पेनको रातो जर्सीसँग मात्र जोडिएको होइन, बरु देशको फुटबल इतिहास, राष्ट्रिय पहिचान र सफलताको प्रतीक पनि बनेको छ।

‘ला रोजा’ स्पेनिस भाषाको शब्द हो, जसको अर्थ ‘रातो’ हुन्छ। स्पेनको राष्ट्रिय टोलीले दशकौंदेखि गाढा रातो रंगको जर्सी लगाउँदै आएकाले विश्वभरका समर्थक र सञ्चारमाध्यमले टोलीलाई ‘ला रोजा’ भनेर सम्बोधन गर्न थालेका हुन्। समयसँगै यो नाम स्पेनको फुटबल संस्कृतिको अभिन्न हिस्सा बन्यो।

स्पेनको राष्ट्रिय टोली सन् १९२० मा स्थापना भएको हो। त्यही वर्ष बेल्जियमको एन्टवर्पमा भएको ओलम्पिक खेलमार्फत टोलीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो। सुरुआती दशकहरूमा स्पेनसँग उत्कृष्ट खेलाडी भए पनि टोलीले विश्व फुटबलमा स्थायी प्रभाव जमाउन सकेको थिएन। तर २१औं शताब्दीमा प्रवेशसँगै ‘ला रोजा’ विश्व फुटबलकै सबैभन्दा शक्तिशाली टोलीका रूपमा उदायो।

विशेषगरी सन् २००८ देखि २०१२ सम्मको अवधि स्पेनिस फुटबलको स्वर्णयुग मानिन्छ। प्रशिक्षक लुइस आरागोनेसले सुरु गरेको परिवर्तनलाई भिसेन्टे डेल बोस्केले थप उचाइमा पुर्‍याए। यही अवधिमा स्पेनले लगातार तीन ठूला अन्तर्राष्ट्रिय उपाधि जित्दै इतिहास रच्यो। सन् २००८ मा युरोकप, सन् २०१० मा दक्षिण अफ्रिकामा भएको फिफा विश्वकप र सन् २०१२ मा पुनः युरोकप जित्दै ‘ला रोजा’ लगातार तीन प्रमुख प्रतियोगिताको च्याम्पियन बन्ने पहिलो राष्ट्रिय टोली बन्यो।

सन् २०१० को विश्वकप स्पेनका लागि विशेष ऐतिहासिक रह्यो। फाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेन पहिलो पटक विश्व च्याम्पियन बन्यो। आन्द्रेस इनिएस्टाले गरेको निर्णायक गोल आज पनि विश्व फुटबलका अविस्मरणीय क्षणमध्ये एक मानिन्छ।

‘ला रोजा’को सफलताको सबैभन्दा ठूलो आधार यसको खेल शैली हो। स्पेनले विश्व फुटबलमा ‘टिकी–टाका’ शैलीलाई लोकप्रिय बनायो। छोटो–छोटो पास, बलमाथि लामो समय नियन्त्रण, धैर्यपूर्वक आक्रमण निर्माण र उच्च प्राविधिक क्षमतामा आधारित यो शैलीले विश्व फुटबलमा नयाँ युगको सुरुवात गरेको मानिन्छ। जाभी हेर्नान्डेज, आन्द्रेस इनिएस्टा, सर्जियो बुस्केट्स, जेरार्ड पिके, डेभिड भिया, इकर कासियास र सर्जियो रामोसजस्ता खेलाडीहरूले यही शैलीलाई विश्वभर स्थापित गरे।

यद्यपि स्वर्णयुगपछि स्पेन केही वर्ष अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भयो। २०१४ र २०१८ का विश्वकप तथा केही अन्तर्राष्ट्रिय प्रतियोगितामा टोली प्रारम्भिक चरणमै बाहिरियो। तर पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरूको आगमनसँगै ‘ला रोजा’ पुनः विश्व फुटबलको शीर्ष टोलीमध्ये एक बन्न सफल भएको छ।

पेड्री, गाभी, निको विलियम्स, लामिन यामाल, दानी ओल्मो, रोड्री र अन्य युवा खेलाडीहरूले स्पेनलाई नयाँ ऊर्जा दिएका छन्। अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजनले टोलीलाई फेरि उपाधिको प्रमुख दाबेदार बनाएको छ। युरोकप र विश्वकप दुवै प्रतियोगितामा स्पेनले पुनः आफ्नो पुरानो लय फर्काउने संकेत देखाइसकेको छ।

‘ला रोजा’ केवल एउटा उपनाम मात्र होइन, यो आकर्षक फुटबल, अनुशासन, सामूहिक खेल र सफलताको प्रतीक हो। विश्व फुटबलमा रातो जर्सी देख्नेबित्तिकै समर्थकहरूले सम्झिने नाम ‘ला रोजा’ हो। यही कारण स्पेनको राष्ट्रिय टोली आज पनि विश्वका सबैभन्दा सम्मानित, लोकप्रिय र सफल फुटबल राष्ट्रहरूमध्ये एकका रूपमा चिनिन्छ।

ला टोमाटिना : स्पेनमा हुने अनौठो टमाटर युद्ध

काठमाडौं। हरेक वर्ष अगस्ट महिनाको अन्तिम बुधबार स्पेनको भ्यालेन्सिया प्रदेशस्थित सानो शहर बुञोल रातारात रातो रंगले ढाकिन्छ। सडक, घर, पसल, मानिसका कपडा र अनुहार–सबैतिर पाकेका टमाटर मात्र देखिन्छन्। हजारौं मानिस एकअर्कामाथि टमाटर फ्याँक्दै रमाइरहेका हुन्छन्।

यो कुनै विरोध प्रदर्शन वा झगडा होइन, बरु विश्वप्रसिद्ध सांस्कृतिक उत्सव ला टोमाटिना हो, यसलाई संसारकै सबैभन्दा ठूलो ‘टमाटर युद्ध’ भनेर चिनिन्छ।

आज लाखौं मानिसले सामाजिक सञ्जाल र टेलिभिजनमार्फत यो दृश्य देखिरहेका हुन्छन्। हजारौं विदेशी पर्यटक स्पेन पुगेर यो अनौठो अनुभव लिन चाहन्छन्। तर एउटा सामान्य युवाबीचको विवादबाट सुरु भएको यो उत्सव कसरी विश्वकै चर्चित पर्व बनेको हो। यसको इतिहास, नियम, आर्थिक महत्व र विवादबारे अत्यन्त रोचक तथ्यहरू छन्।

ला टोमाटिनाको सुरुआत सन् १९४५ मा भएको मानिन्छ। त्यस वर्ष बुञोल शहरमा धार्मिक तथा सांस्कृतिक जुलुस चलिरहेको थियो। जुलुसका क्रममा केही युवाबीच सामान्य विवाद भयो। झगडाका क्रममा उनीहरूले नजिकै रहेको तरकारी पसलबाट टमाटर उठाएर एकअर्कामाथि हान्न थाले। घटना छोटो समयमै सकियो। तर त्यसले स्थानीय युवामाझ नयाँ मनोरञ्जनको रूप लियो। अर्को वर्ष उनीहरू आफैं टमाटर बोकेर आए र फेरि त्यही गतिविधि दोहोर्याए। यसरी सुरु भएको परम्परा विस्तारै बुञोलको वार्षिक पर्व बन्यो।

सुरुआती वर्षहरूमा स्पेनी प्रशासनले यसलाई अव्यवस्थित गतिविधि भन्दै रोक्ने प्रयास गर्‍यो। विशेष गरी सन् १९५० को दशकमा प्रहरी परिचालन गरी टमाटर युद्ध रोक्न खोजियो। तर स्थानीय बासिन्दाले यसको विरोध गरे। सन् १९५७ मा नागरिकहरूले ‘टमाटरको अन्त्येष्टि’ गर्दै सांकेतिक प्रदर्शन गरे। उनीहरूले बाकसभित्र ठूलो टमाटर राखेर शोकयात्रा निकाले। यस घटनाले राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्यो। अन्ततः सरकारले प्रतिबन्ध हटायो र ला टोमाटिनालाई आधिकारिक रूपमा स्थानीय सांस्कृतिक उत्सवको मान्यता दियो। त्यसपछि यो निरन्तर आयोजना हुँदै आएको छ।

अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, भारतलगायत दर्जनौं देशका पर्यटक विशेष रूपमा यो उत्सवमा सहभागी हुन स्पेन पुग्छन्। उत्सवका क्रममा होटलहरू महिनौँअघि नै बुक हुन्छन्। रेस्टुरेन्ट, यातायात, स्थानीय पसल र पर्यटन व्यवसायले उल्लेखनीय आम्दानी गर्छन्।

पहिले स्थानीय किसानबाट उपलब्ध टमाटर प्रयोग गरिन्थ्यो। अहिले भने उत्सवका लागि विशेष रूपमा कम गुणस्तरका, खान योग्य तर बजारमा कम बिक्री हुने पाकेका टमाटर ल्याइन्छ। सामान्यतया करिब १२० देखि १५० टन टमाटर प्रयोग हुने गरेको छ। सहभागीको संख्या र व्यवस्थापनका आधारमा मात्रा केही फरक पर्न सक्छ। यी टमाटर मानिसले खानका लागि नभई उत्सवका लागि मात्र प्रयोग गरिन्छ।

उत्सवको दिन बिहानै हजारौं सहभागी बुञोलको मुख्य सडकमा भेला हुन्छन्। पहिलो चरणमा एउटा विशेष खेल आयोजना गरिन्छ, जसलाई ‘पालो जाबोन’ भनिन्छ। साबुन लगाइएको अग्लो काठको खम्बाको टुप्पोमा झुण्ड्याइएको मासुको टुक्रा झार्न सफल भएपछि मुख्य कार्यक्रम सुरु हुने संकेत दिइन्छ। त्यसपछि टमाटर बोकेका ट्रक शहरमा प्रवेश गर्छन्। एक पटक सायरन बजेपछि सहभागीहरूले एकअर्कामाथि टमाटर प्रहार गर्न सुरु गर्छन्। करिब एक घण्टासम्म लगातार टमाटर फ्याँक्ने क्रम चल्छ। अर्को सायरन बजेपछि सबै गतिविधि तुरुन्त रोक्नुपर्छ।

सहभागी बढ्दै गएपछि दुर्घटना रोक्न प्रशासनले केही अनिवार्य नियम लागू गरेको छ। सबैभन्दा महत्वपूर्ण नियम भनेको टमाटर फाल्नुअघि त्यसलाई हातले थिचेर नरम बनाउनुपर्ने हो। यसले चोट लाग्ने सम्भावना घटाउँछ। साथै, बोतल, ढुंगा वा अन्य कडा वस्तु प्रयोग गर्न पाइँदैन। अरूको कपडा जबरजस्ती च्यात्न वा हिंसात्मक व्यवहार गर्न निषेध गरिएको छ। उत्सव समाप्त भएपछि तुरुन्त टमाटर फाल्न बन्द गर्नुपर्छ। यी नियमका कारण ठूलो भिडमा पनि दुर्घटना न्यून हुने गरेको छ।

एक समय ला टोमाटिनामा सहभागीको संख्या अत्यधिक बढ्यो। सानो शहरमा एकै दिन ४० हजारभन्दा बढी मानिस पुग्न थालेपछि सुरक्षा चुनौती बढ्यो। त्यसपछि स्थानीय प्रशासनले टिकट प्रणाली लागू गर्‍यो। अहिले सीमित संख्यामा मात्र सहभागीलाई प्रवेश दिइन्छ। यसले भीड नियन्त्रण, सुरक्षा र व्यवस्थापन सहज बनाएको छ।

टमाटर युद्ध सकिएपछि शहरका सडक राताम्मे देखिन्छन्। तर सफाइ कार्य अत्यन्त व्यवस्थित हुन्छ। दमकलका गाडीले सडकमा उच्च चापको पानी छर्किन्छन्। स्थानीय बासिन्दा पनि सफाइमा सहभागी हुन्छन्। टमाटरमा रहेको प्राकृतिक अम्लका कारण ढुंगाका सडकहरू झन् चम्किने गरेको स्थानीयहरू बताउँछन्। केही घण्टामै शहर फेरि सामान्य अवस्थामा फर्किन्छ।

ला टोमाटिना बुञोलको अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको छ। होटल, होमस्टे, रेस्टुरेन्ट, यातायात, स्मरणिका पसल, स्थानीय कृषि उत्पादन र पर्यटन सेवाले उल्लेखनीय आम्दानी गर्छन्। स्थानीय प्रशासनका अनुसार उत्सवका कारण हजारौं अस्थायी रोजगारी सिर्जना हुने गर्छ। विश्वभरका सञ्चारमाध्यमले निःशुल्क प्रचार गरेकाले स्पेनको पर्यटन प्रवर्द्धनमा पनि यसको ठूलो भूमिका छ।

उत्सव लोकप्रिय भए पनि आलोचनाबाट मुक्त छैन। खाद्यान्न संकट रहेको विश्वमा सयौं टन टमाटर फाल्नु उचित होइन भन्ने तर्क उठ्ने गरेको छ। यद्यपि आयोजकहरूले प्रयोग हुने टमाटर बजारमा बिक्रीयोग्य उच्च गुणस्तरका नभई कम मूल्यका तथा विशेष रूपमा उत्सवका लागि छुट्याइएका हुने बताएका छन्। कतिपय पशु तथा वातावरण संरक्षणकर्मीले पनि खाद्यान्नको सदुपयोग हुनुपर्ने तर्क राख्दै आएका छन्।

इटालीमा सुन्तला युद्ध, भारतका केही स्थानमा रंगको होली तथा विभिन्न देशमा फलफूलसँग सम्बन्धित उत्सव आयोजना हुन्छन्। तर केवल टमाटर प्रयोग गरी व्यवस्थित रूपमा हजारौं मानिसले एकसाथ भाग लिने उत्सव भने ला टोमाटिना नै विश्वप्रसिद्ध बनेको छ। यसले स्पेनको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा अझ बलियो बनाएको छ।

स्पेन भनेको केवल फुटबल, फ्लामेन्को नृत्य वा समुद्री किनारा मात्र होइन। ला टोमाटिनाले पनि स्पेनलाई विश्व पर्यटनको नक्सामा विशेष स्थान दिलाएको छ। प्रत्येक वर्ष सामाजिक सञ्जालमा लाखौं तस्बिर र भिडियो भाइरल हुन्छन्। यही कारण धेरै युवाले आफ्नो ‘बकेट लिस्ट’ मा ला टोमाटिनालाई समावेश गर्ने गरेका छन्।

करिब आठ दशकअघि सामान्य झगडाबाट सुरु भएको ला टोमाटिना आज विश्वकै चर्चित सांस्कृतिक उत्सवमध्ये एक बनेको छ।

यसले एउटा सानो शहर बुञोललाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको मात्र होइन, स्पेनको पर्यटन, स्थानीय अर्थतन्त्र र सांस्कृतिक छविलाई पनि सुदृढ बनाएको छ।

अर्को विश्‍वकप कहिले र कहाँ‍‌‌?

काठमाडौं । फिफा विश्वकप २०३० फुटबल इतिहासकै सबैभन्दा फरक र विशेष संस्करणका रूपमा आयोजना हुँदैछ। प्रतियोगिताले विश्वकपको १०० वर्ष पूरा भएको अवसरलाई विशेष बनाउँदै पहिलो पटक छ देश र तीन महादेशमा खेलहरू आयोजना गर्ने भएको हो। मुख्य प्रतियोगिता स्पेन, पोर्चुगल र मोरक्कोमा हुने भए पनि उद्घाटन चरणका तीन खेल भने दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछन्।

फिफाको प्रस्तावित तालिका अनुसार शतवार्षिकी विशेष खेलहरू जुन ८ र ९ मा उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन्। त्यसपछि प्रतियोगिताको औपचारिक उद्घाटन समारोह र मुख्य खेलहरू जुन १३ र १४ देखि स्पेन, पोर्चुगल र मोरक्कोमा सुरु हुने अपेक्षा गरिएको छ। यद्यपि फिफाले पूर्ण खेल तालिका सार्वजनिक गरिसकेको छैन। फाइनल भने जुलाई २१ मा हुने अनुमान गरिएको छ।

विश्वकपको १०० औं वार्षिकोत्सवलाई ऐतिहासिक रूपमा मनाउन फिफाले सन् १९३० को पहिलो विश्वकपसँग जोडिएका राष्ट्रहरूलाई विशेष सम्मान दिएको हो। पहिलो विश्वकप आयोजना गरेको उरुग्वेले एउटा खेल आयोजना गर्नेछ भने त्यस प्रतियोगिताको उपविजेता अर्जेन्टिनाले पनि एक खेल खेलाउने अवसर पाउनेछ। त्यतिबेला अस्तित्वमा रहेको एकमात्र महादेशीय फुटबल महासंघ कन्मेबोलको मुख्यालय रहेको पाराग्वेलाई पनि एक खेल आयोजना गर्ने जिम्मेवारी दिइएको छ।

आयोजक राष्ट्र भएकै कारण स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वेले स्वतः विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्। बाँकी ४२ टोली भने आगामी वर्षहरूमा हुने महादेशीय छनोट प्रतियोगितामार्फत तय हुनेछन्।

दक्षिण अमेरिकामा हुने तीन उद्घाटन खेलमा सहभागी टोलीहरूलाई त्यसपछि युरोप वा अफ्रिकामा पुगेर समूह चरणका बाँकी खेल खेल्नुपर्ने भएकाले फिफाले उनीहरूलाई अतिरिक्त यात्रा तथा विश्राम समय दिने योजना बनाएको छ। शतवार्षिकी खेलपछि मुख्य आयोजक राष्ट्रहरूमा प्रतियोगिता नियमित तालिकाअनुसार अघि बढ्नेछ।

हालका लागि २०३० को विश्वकपमा ४८ टोली सहभागी हुने निश्चित छ। यही ढाँचा पहिलो पटक २०२६ को विश्वकपबाट लागू गरिएको थियो। तर फिफाले भविष्यमा प्रतियोगितालाई अझ विस्तार गरेर ६४ टोलीसम्म पुर्‍याउने सम्भावनाबारे पनि छलफल गरिरहेको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ४८ टोलीको ढाँचालाई ‘भव्य सफलता’ भएको बताएका छन्। उनका अनुसार यसले धेरै राष्ट्रलाई विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर दिएको छ र विश्वभर फुटबलको विकासमा सकारात्मक प्रभाव पारेको छ। २०२६ को विश्वकपमा साना फुटबल राष्ट्रहरूको प्रदर्शनले पनि प्रतियोगिता विस्तारको पक्षमा बलियो आधार दिएको उनको भनाइ छ। ६४ टोलीको प्रस्तावबारे भने फिफाले अध्ययन र छलफल जारी राख्ने जनाएको छ।

विश्वकपको इतिहास सन् १९२४ र १९२८ का ओलम्पिक फुटबल प्रतियोगिताबाट सुरु भएको मानिन्छ, जहाँ दुवै संस्करणको स्वर्ण पदक उरुग्वेले जितेको थियो। त्यस समय ओलम्पिक फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सञ्चालन गर्ने भएकाले फिफाले आफ्नै अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु गर्ने निर्णय गरेको थियो।

सन् १९२८ मा फिफाले पहिलो विश्वकप आयोजना गर्ने प्रस्ताव स्वीकृत गर्दै उरुग्वेलाई आयोजकको जिम्मेवारी दिएको थियो। उरुग्वेले त्यस वर्ष आफ्नो स्वतन्त्रताको शतवार्षिकी पनि मनाइरहेको थियो। पहिलो विश्वकप जुलाई १९३० मा आयोजना भएको थियो, जसमा १३ टोली सहभागी भएका थिए। मोन्टेभिडियोस्थित एस्तादियो सेन्तेनारियोमा भएको फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले पराजित गर्दै पहिलो विश्व च्याम्पियन बनेको थियो।

त्यसयता विश्वकप लगातार विस्तार हुँदै आएको छ। पहिलो संस्करणमा १३ टोली सहभागी भएको प्रतियोगिता १९९८ मा ३२ टोलीमा पुगेको थियो भने २०२६ बाट ४८ टोलीको ढाँचा लागू गरिएको छ। अब २०३० को विश्वकपले शतवार्षिकी मनाउनुका साथै पहिलो पटक तीन महादेश र छ देशमा आयोजना हुने कीर्तिमान पनि बनाउनेछ।

२०३० को विश्वकपपछि अर्को संस्करण सन् २०३४ मा हुनेछ, जसको आयोजना साउदी अरेबियाले गर्ने निश्चित भइसकेको छ। डिसेम्बर २०२४ मा फिफाले साउदी अरेबियालाई आधिकारिक रूपमा आयोजक घोषणा गरेको थियो। २०३० जस्तो बहुराष्ट्रिय आयोजना नभई २०३४ को विश्वकप भने एकल आयोजक राष्ट्रमै सम्पन्न हुनेछ। प्रतियोगिताको मिति र विस्तृत खेल तालिका भने फिफाले अझै सार्वजनिक गरेको छैन।

कांग्रेसमा थपियो अर्को नयाँ विवाद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष अब केवल आन्तरिक असन्तुष्टिमा सीमित छैन, बरु पार्टीको भविष्य नै निर्धारण गर्ने निर्णायक मोडमा पुगेको संकेत देखिएको छ। लामो समयदेखि जारी संस्थापन र संस्थापनइतर समूहबीचको विवाद समाधानतर्फ उन्मुख हुने अपेक्षा गरिए पनि पछिल्ला घटनाक्रमले त्यसको ठीक विपरीत चित्र प्रस्तुत गरेका छन्। दुवै पक्षबीच विश्वासको दूरी बढ्दै जाँदा पार्टी विभाजनको जोखिमसमेत खुला रूपमा उठ्न थालेको छ।

संस्थापनइतर समूहले नेतृत्वले पार्टी एकताप्रति कुनै गम्भीरता नदेखाएको आरोप लगाउँदै अब राष्ट्रिय स्तरबाटै दबाब सिर्जना गर्ने रणनीति अघि सारेको छ। असार अन्तिम साता शीर्ष नेताहरूको बैठकले अन्तिमसम्म एकताको प्रयास गर्ने निष्कर्ष निकाले पनि त्यसयता नेतृत्वबाट कुनै सकारात्मक पहल नभएको निष्कर्षमा इतर पक्ष पुगेको हो।

इतर समूहका नेता मीन विश्वकर्माले पटक-पटकको संवाद र वार्ताबाट पनि सहमति ननिस्किएकाले पार्टी एकताको सम्भावना अत्यन्त कमजोर बनेको दाबी गरेका छन्। उनका अनुसार नेतृत्व तहले आवश्यक राजनीतिक लचकता देखाउन नसक्दा कांग्रेसभित्रको संकट झन् गहिरिँदै गएको छ। उनले केही नेताहरूले पार्टी एकताको सम्भावना ‘९९ प्रतिशत समाप्त’ भएको टिप्पणीसमेत गर्न थालेको उल्लेख गर्दै अहिलेको अवस्था अत्यन्त संवेदनशील भएको बताए।

यही पृष्ठभूमिमा इतर समूहले साउन महिनाभित्र राष्ट्रिय भेला आयोजना गर्ने औपचारिक घोषणा गरेको छ। समूहका अनुसार वर्तमान राष्ट्रिय राजनीति अस्थिर मोडमा पुगेको, लोकतान्त्रिक शक्तिमाथि चुनौती बढ्दै गएको र स्थापित दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको अवस्थामा कांग्रेसभित्र बलियो एकता कायम गर्न नीतिगत छलफल अपरिहार्य भएको छ। यही उद्देश्यका साथ राष्ट्रिय भेला आयोजना गर्न लागिएको उनीहरूको भनाइ छ।

राष्ट्रिय भेलासँगै इतर समूहले पार्टी पुनर्संरचनाका लागि पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्तावमा चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विशेष महाधिवेशनबाट बनेको संरचनासँग समायोजन गर्दै सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, सभापतिको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने तथा पुनर्गठित केन्द्रीय समितिबाट पन्ध्रौँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने विषय समेटिएको छ।

त्यसैगरी, महाधिवेशनसम्बन्धी समितिहरू वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी गठन गर्ने तथा क्रियाशील सदस्यताको विवाद अन्त्य गर्न तत्कालीन महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा टुंगो लगाइएका सबै सदस्यलाई स्वतः महाधिवेशनमा सहभागी हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ। डिजिटल अभिलेखीकरणलाई केवल व्यवस्थापनको प्रक्रिया बनाउने, त्यसलाई सदस्यताको वैधतासँग नजोड्ने मागसमेत गरिएको छ।

तर इतर समूहको यो प्रस्तावप्रति संस्थापन पक्ष भने सकारात्मक देखिएको छैन। विशेषगरी केन्द्रीय कार्यसमितिको पुनर्गठनसम्बन्धी प्रस्तावलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने संस्थापन पक्षको स्पष्ट अडान छ। पार्टी विधानभन्दा बाहिर गएर कुनै सहमति हुन नसक्ने उनीहरूको भनाइ छ।

यसबीच राष्ट्रिय भेला घोषणा गरेर इतर समूहले नेतृत्वमाथि राजनीतिक दबाब बढाउने रणनीति अपनाएको विश्लेषण गरिएको छ। पार्टीभित्रको शक्ति सन्तुलन, आगामी महाधिवेशनको नेतृत्व र संगठनात्मक नियन्त्रणलाई केन्द्रमा राखेर दुवै पक्ष आ–आफ्नो अडानमा उभिँदा कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अब निर्णायक चरणमा प्रवेश गरेको देखिन्छ। वार्ताबाट सहमति जुट्ने सम्भावना दिनप्रतिदिन कमजोर बन्दै जाँदा राष्ट्रिय भेला पार्टी एकताको आधार बन्ने कि विभाजनतर्फको औपचारिक पाइला बन्ने भन्ने प्रश्नले अहिले कांग्रेसको राजनीतिलाई सबैभन्दा बढी तरंगित बनाएको छ।

बागमतीको जलसतह घट्दो, तत्काल बाढीको जोखिम टर्‍यो

काठमाडौं । बागमती नदीको जलसतह आइतबार अपराह्न केही समय सतर्कता तहभन्दा माथि पुगे पनि अहिले बहाव घट्दो क्रममा रहेकाले तत्काल बाढीको जोखिम टरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार अपराह्न गौरीघाट मापन केन्द्रमा बागमती नदीको जलसतह २.४१ मिटर पुगेको थियो, जुन २.१ मिटरको सतर्कता तहभन्दा माथि हो। त्यसपछि नदीको बहाव क्रमशः घट्न थालेको विभागले जानकारी दिएको छ।

विभागकी बाढीविद् सरस्वती विष्टका अनुसार नदीको पानीको सतह घटिरहेको हुँदा अहिले आत्तिनुपर्ने अवस्था छैन। यद्यपि मौसमको अवस्थालाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दाले आवश्यक सतर्कता भने अपनाइरहनुपर्ने उनले बताइन्।

विभागका अनुसार बागमती नदीको जलसतह २.७ मिटर पुगेमा खतरा तह पार गरेको मानिन्छ। त्यसैले नदी किनार, डुबानको जोखिम रहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न र आवश्यक परे सुरक्षित स्थानमा सर्न विभागले आग्रह गरेको छ।

रवि-स्वर्णिम भेटले झस्किएको हो बालेन पक्ष?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार काभ्रेको धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा पुगेपछि पार्टीभित्र नयाँ राजनीतिक चर्चा सुरु भएको छ। दुई नेताबीच लामो समयसम्म भएको भेटवार्ताले सरकार र पार्टीभित्रको पछिल्लो समीकरणबारे विभिन्न अड्कलबाजीलाई थप बल दिएको छ।

स्रोतका अनुसार रवि पत्नी निकिता पौडेल लामिछानेसँग रिसोर्ट पुगेका थिए भने अर्थमन्त्री वाग्ले आफ्ना केही निकट नेतासहित त्यहाँ उपस्थित भएका थिए। दुवै नेता फरक-फरक समयमा रिसोर्ट पुगे पनि त्यहाँ उनीहरूबीच लामो छलफल भएको बताइएको छ। उक्त रिसोर्टमा अर्थमन्त्री वाग्लेको समेत लगानी रहेको बताइन्छ।

रास्वपाभित्रका केही नेताहरूले यसलाई शनिबारको सार्वजनिक बिदामा भएको सामान्य पारिवारिक भेटघाटका रूपमा व्याख्या गरेका छन्। यद्यपि पार्टीका केही नेताहरू भने भेटको उद्देश्य राजनीतिक रहेको दाबी गर्छन्।

स्वर्णिम वाग्लानिकट एक नेताले दुवै नेता परिवारसहित रिसोर्ट पुगेकाले त्यसलाई अस्वाभाविक रूपमा लिन नहुने बताए। उनका अनुसार सरकारको अवस्था, समसामयिक राजनीति वा पार्टीका विषयमा छलफल हुनु स्वाभाविक भए पनि भेट मुख्यतः पारिवारिक हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि पछिल्लो समय रास्वपाभित्र अर्थमन्त्री वाग्लेको भूमिकालाई लिएर विभिन्न चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्र प्रधानमन्त्री बालेन्द्र शाह अर्थमन्त्री वाग्लेको विकल्प खोज्ने तयारीमा रहेको चर्चा केही समयदेखि चल्दै आएको छ।

रास्वपाका केही नेताहरूका अनुसार प्रधानमन्त्री शाहले अर्थ मन्त्रालयको नेतृत्व परिवर्तन गर्ने सम्भावनाबारे आन्तरिक छलफल गरिरहेका छन्। वाग्लेको स्थानमा विदुषी राणा वा सुशान्त बैद्धिकलाई ल्याउन सकिने चर्चा पार्टीभित्र भइरहेको स्रोतहरूको दाबी छ। पछिल्लो समय प्रधानमन्त्री शाह र विदुषी राणाबीच बढेको निकटतालाई पनि यी चर्चासँग जोडेर हेरिएको छ।

यसैक्रममा हालै उद्योगी-व्यवसायीसँग भएको एक छलफलमा अर्थमन्त्री वाग्लेलाई सहभागी नगराइएको घटनाले पनि विभिन्न अड्कलबाजी जन्माएको थियो। उक्त छलफल विदुषी राणाको पहलमा आयोजना गरिएको बताइन्छ।

यद्यपि रास्वपा नेतृत्वनिकट स्रोतहरूले भने अर्थमन्त्री परिवर्तनबारे बाहिर आएका चर्चा पुष्टि नगरेका छन्। सभापति रवि लामिछानेनिकट एक स्रोतका अनुसार प्रधानमन्त्रीले अहिले नै अर्थमन्त्री परिवर्तन गर्ने निर्णयमा पुगेको भन्ने दाबी तथ्यमा आधारित छैन।

‘स्वर्णिमको विकल्प खोज्ने कुरा बाहिर आएजस्तो गम्भीर विषय अहिले छैन। अर्थमन्त्री फेरबदल तत्काल हुने अवस्था देखिँदैन,’ स्रोतले भन्यो।

यसबीच अर्थमन्त्री वाग्लेको सचिवालयले उनी मन्त्रालयकै कामका सिलसिलामा उपत्यकाबाहिर रहेको जनाएको छ। काभ्रे नै पुगेकोबारे भने सचिवालयले पुष्टि गरेको छैन।

उता प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि प्रधानमन्त्री काभ्रेको उक्त रिसोर्ट जाने कुनै कार्यक्रम नरहेको जनाएको छ। सचिवालयका एक सदस्यका अनुसार शनिबार प्रधानमन्त्रीको पार्टीका नेताहरूसँग भेटघाट गर्ने कुनै कार्यसूची थिएन।

राजनीतिक वृत्तमा भने केही दिनअघि प्रधानमन्त्री शाह र सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित निवासमा भएको भेटसँग पनि धुलिखेलको यो भेटलाई जोडेर हेरिएको छ। स्रोतहरूका अनुसार उक्त भेटमा सरकारको कार्यसम्पादन र केही मन्त्रीहरूको भूमिकाबारे छलफल भएको थियो। त्यसैको निरन्तरताका रूपमा रवि र स्वर्णिमबीच धुलिखेलमा पनि राजनीतिक संवाद भएको हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि रास्वपाले दुई नेताको भेटबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। त्यसैले धुलिखेलको रिसोर्टमा भएको भेट पारिवारिक जमघट मात्र थियो वा त्यसले सरकार र पार्टीभित्रको आगामी राजनीतिक निर्णयलाई प्रभावित पार्नेछ भन्ने प्रश्न भने अझै खुला नै रहेको छ।

किन अर्जेन्टिना विश्व फुटबलको सबैभन्दा ठूलो ‘भिलेन’ हो?

काठमाडाैं। विश्व फुटबलमा अर्जेन्टिना जति सफल टोली कमै छन्। तीनपटकको विश्वकप विजेता, लियोनेल मेस्सी, डिएगो म्याराडोनाजस्ता महान खेलाडी जन्माएको देश र दक्षिण अमेरिकी फुटबलको महाशक्ति। तर, अर्जेन्टिना जति समर्थकको अपार माया पाउने टोली हो, त्यति नै धेरै आलोचना र विरोध पनि खेप्ने टोलीका रूपमा चिनिन्छ।

विश्वकप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्जेन्टिनाका समर्थकहरू आफ्नो राष्ट्रिय गौरव प्रदर्शन गर्न निकै उत्साहित देखिन्छन्। रंगशालामा निलो-सेतो झण्डा, ड्रम, गीत र नाराले उनीहरूको उपस्थिति अलगै देखिन्छ। तर, यही उत्साह कहिलेकाहीँ अतिराष्ट्रवाद, अपमानजनक नाराबाजी र विवादमा परिणत हुने गरेको भन्दै आलोचना हुने गरेको छ।

हालै एक अर्जेन्टिनी टेलिभिजन टिप्पणीकारले मेक्सिकाली नागरिकलाई ‘घृणित’ भन्दै उनीहरू अर्जेन्टिनीसँग फुटबलमा मात्र होइन, हरेक क्षेत्रमा ईर्ष्या गर्ने गरेको अभिव्यक्ति दिएका थिए। उक्त टिप्पणीको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले सार्वजनिक रूपमा विरोध गर्दै त्यसलाई ‘अस्वीकार्य’ र ‘आपत्तिजनक’ भनेकी थिइन्।

यसअघि पनि केही अर्जेन्टिनी समर्थक र खेलाडी विवादमा परेका थिए। सन् २०२४ मा फ्रान्सका धेरै खेलाडीको अफ्रिकी मूललाई लक्षित गर्दै अपमानजनक गीत गाएको विषयले अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेप्नुपरेको थियो। त्यस घटनापछि अर्जेन्टिनी खेलाडीहरूले सार्वजनिक रूपमा माफी मागेका थिए। यद्यपि, केही समर्थकले अझै पनि त्यस्ता गीत गाउने गरेको आरोप लाग्दै आएको छ।

सामाजिक सञ्जालमा पनि अर्जेन्टिनी समर्थकसँग सम्बन्धित जातीय विभेद, झडप र असभ्य व्यवहारका भिडियोहरू बेला-बेला सार्वजनिक हुने गरेका छन्। यस्ता घटनाले टोलीको छविमा प्रश्न उठाउने गरेको छ।

ब्राजिलसँगको ऐतिहासिक प्रतिस्पर्धा

अर्जेन्टिनाको सबैभन्दा ठूलो फुटबल प्रतिद्वन्द्वी ब्राजिल हो। दक्षिण अमेरिकाका यी दुई सफल राष्ट्रबीचको प्रतिस्पर्धा दशकौँ पुरानो छ। विश्वकपदेखि कोपा अमेरिका र विश्वकप छनोटसम्म हरेक भेट उच्च तनावपूर्ण हुने गर्छ।

सन् २०१४ को विश्वकप ब्राजिलमा हुँदा अर्जेन्टिनी समर्थकहरूले “ब्राजिल, हामीलाई कस्तो लागिरहेको छ?” भन्ने अर्थ लाग्ने गीत गाएर घरेलु टोलीलाई व्यंग्य गरेका थिए। त्यस गीतले दुई देशबीचको फुटबल प्रतिस्पर्धा कति भावनात्मक छ भन्ने देखाएको थियो।

चिली र मेक्सिकोसँग पनि बढ्दो प्रतिस्पर्धा

ब्राजिलपछि अर्जेन्टिनाको सम्बन्ध सबैभन्दा बढी तनावपूर्ण बनेको देश चिली हो। चिलीले सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिनालाई लगातार पेनाल्टी सुटआउटमा हराएपछि दुई देशका समर्थकबीचको प्रतिस्पर्धा झन् चर्किएको थियो।

मेक्सिकोसँग पनि अर्जेन्टिनाको सम्बन्ध पछिल्ला वर्षहरूमा थप संवेदनशील बनेको छ। विश्वकपमा पटक–पटक भएका भेट, सामाजिक सञ्जालमा हुने बहस र समर्थकबीचका विवादले यो प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ।

आकर्षक तर विवादास्पद खेलशैली

अर्जेन्टिनाको फुटबल शैलीलाई प्राविधिक कौशल, सिर्जनात्मकता र चतुर खेलका लागि प्रशंसा गरिन्छ। मेस्सी, म्याराडोना, रिकल्मे जस्ता खेलाडीहरूले यही शैलीलाई विश्वभर लोकप्रिय बनाए।

तर, आलोचकहरू भने अर्जेन्टिनी खेलाडीहरू कहिलेकाहीँ अत्यधिक मानसिक दबाब सिर्जना गर्ने, समय खेर फाल्ने, रेफ्रीसँग अनावश्यक बहस गर्ने वा नियमको सीमासम्म पुगेर खेल्ने प्रवृत्तिका कारण आलोचित हुने गरेको बताउँछन्। त्यसैले केही समर्थकले अर्जेन्टिनाको खेलशैलीलाई उत्कृष्ट मात्र होइन, विवादास्पद पनि मान्ने गर्छन्।

‘एनिवन बट अर्जेन्टिना’ किन?

विश्व फुटबलमा एउटा रोचक प्रवृत्ति पनि देखिन्छ। धेरै तटस्थ समर्थकले प्रतियोगिता सुरु भएपछि ‘अर्जेन्टिना बाहेक जोसुकै जितोस्’ भन्ने धारणा सार्वजनिक गर्ने गरेका छन्। यसको कारण केवल मैदानभित्रको प्रतिस्पर्धा होइन, केही समर्थकको व्यवहार, अतिराष्ट्रवादी अभिव्यक्ति र विगतमा भएका विवादहरू पनि मानिन्छन्।

यद्यपि, यसले सम्पूर्ण अर्जेन्टिनी समर्थक वा टोलीलाई प्रतिनिधित्व गर्दैन। अर्जेन्टिनाका लाखौँ समर्थक खेल भावना, संस्कृति र फुटबलप्रतिको गहिरो प्रेमका लागि पनि परिचित छन्।

अन्ततः अर्जेन्टिना विश्व फुटबलको सबैभन्दा प्रभावशाली राष्ट्रमध्ये एक हो। उसका समर्थकहरूको अद्वितीय जोश, ऐतिहासिक सफलता र महान खेलाडीहरूले संसारभर प्रशंसक कमाएका छन्। तर, केही विवादास्पद व्यवहार र अतिराष्ट्रवादी अभिव्यक्तिका कारण अर्जेन्टिना समय-समयमा आलोचनाको केन्द्रमा पनि पर्ने गरेको छ। यही कारण अर्जेन्टिना आज पनि विश्व फुटबलको सबैभन्दा धेरै माया र सबैभन्दा धेरै बहस हुने टोलीमध्ये एक बनेको छ।

एक रुपैयाँको सिक्काको डिजाइन फेरियो, चुच्चे नक्सा हटेपछि राजनीतिक विवाद

मन्त्रिपरिषद्को असार ३२ गते बसेको बैठकले एक रुपैयाँको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्ने निर्णय गरेको हो। नयाँ डिजाइनअनुसार सिक्कामा हाल प्रयोग हुँदै आएको नेपालको नक्साको सट्टा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा रहेको अशोक स्तम्भ र गुम्बाको तस्बिर राख्ने व्यवस्था गरिएको सरकारको निर्णयमा उल्लेख छ।

यस निर्णयपछि पूर्वउपप्रधानमन्त्री तथा पूर्वसांसद भीम रावलले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन्। उनले यदि नयाँ सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा हटाइएको हो भने त्यसलाई नेपालको भौगोलिक अखण्डताविरुद्धको गम्भीर निर्णयका रूपमा लिनुपर्ने बताएका छन्।

रावलले प्रधानमन्त्री बालेन शाहले यसअघि संसदमा दिएको अभिव्यक्तिको सन्दर्भ उल्लेख गर्दै उक्त निर्णयप्रति आपत्ति जनाएका हुन्। उनले सरकारले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्।

यसअघि प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा दिएको भारत–नेपाल सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आलोचना गर्दै आएका छन्। उनीहरूले उक्त अभिव्यक्तिका लागि प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।

सरकारले भने एक रुपैयाँको सिक्काको डिजाइन परिवर्तनबारे औपचारिक रूपमा सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई प्राथमिकता दिने उद्देश्य रहेको जनाएको छ। नयाँ डिजाइनमा नेपालको नक्सा हटाउने निर्णयको कारणबारे भने सरकारले छुट्टै व्याख्या गरेको छैन।

 

सोनाम वाङचुकको आन्दोलन कसरी राष्ट्रिय आन्दोलन बन्यो?

दिल्लीको जन्तर-मन्तरमा जुलाई १८ को बिहान वातावरण असामान्य रूपमा शान्त थियो। प्रदर्शनकारीहरू मौन थिए, तर उनीहरूको चिन्ता स्पष्ट देखिन्थ्यो। मञ्चको बीचमा सुतिरहेका थिए भारतका चर्चित अभियन्ता, इन्जिनियर तथा शिक्षा सुधारक- सोनम वाङचुक।

एक्कासी प्रहरी आयो र वाङचुकलाई उठाएर लग्यो।  विधार्थीहरु आश्चर्यमा थिए कहाँ लागेको भनेर।  केही समयपछि खबर आयो- अस्पताल लगियो भनेर।  रिसले चुर्मुरिएका कक्रोज जनता पार्टीका कार्यकर्ताले विभिन्न खाले नाराबाजी गर्न थाले। लगत्तै अर्को ठुलो खबर सार्वजनिक भयो- ‘सिजीपी’का संस्थापक अभिजित दिपकेले अनसन घोषणा गरे।

वाङचुकको अनशन कुनै व्यक्तिगत मागका लागि नभएको कक्रोज जनता पार्टीले यसअघि नै जनाइसकेको छ। उनी भारतको शिक्षा प्रणालीप्रति लाखौं विद्यार्थीमा बढ्दो निराशा र आक्रोशको प्रतीक बनेका थिए। भारतको सबैभन्दा महत्वपूर्ण चिकित्सा प्रवेश परीक्षा ‘नेशनल एलिजिबिलिटी कम इन्ट्रान्स टेस्टमा भएको प्रश्नपत्र चुहावटको विवाद उनको अनसनको प्रमुख एजेन्डा हो। करोडौं विद्यार्थीको भविष्यसँग जोडिएको यो परीक्षा प्रश्नपत्र बाहिरिएको आरोपपछि रद्द भयो र लाखौं विद्यार्थी पुनः परीक्षा दिन बाध्य भए। यही घटनाले देशभर असन्तुष्टि फैलायो र शिक्षा मन्त्रालयमाथि जवाफदेहिता माग्ने आन्दोलन सुरु भयो।

‘कक्रोच जनता पार्टी ’ नामक एउटा व्यंग्यात्मक युवा अभियानले यस आन्दोलनको नेतृत्व गरिरहेको छ। नाम सुन्दा राजनीतिक दल जस्तो लागे पनि यो औपचारिक राजनीतिक संगठन होइन। सामाजिक सञ्जालमार्फत सुरु भएको यो अभियानले छोटो समयमै करोडौं युवाको ध्यान तान्यो। अहिले यो अभियानको मुख्य माग छ- शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट राजीनामा दिनुपर्छ, परीक्षा प्रणालीमा व्यापक सुधार गरिनुपर्छ र परीक्षा अनियमितताका कारण मानसिक तनावमा परेर आत्महत्या गरेका भनिएका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइनुपर्छ।

जुन २० देखि जन्तर-मन्तरमा सुरु भएको आन्दोलनमा सुरुमा विद्यार्थी, अभिभावक र केही सामाजिक अभियन्ता मात्र सहभागी थिए। तर जुन २८ मा सोनम वाङचुक अनिश्चितकालीन अनशनमा बसेपछि आन्दोलनको स्वरूप नै बदलियो। लद्दाखका हिमाली गाउँदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म पहिचान बनाएका वाङचुक आन्दोलनमा जोडिएपछि राष्ट्रिय सञ्चारमाध्यम, नागरिक समाज, शिक्षाविद् र विपक्षी दलहरूको ध्यान जन्तर-मन्तरतर्फ केन्द्रित हुन थाल्यो। अहिले यो विद्यार्थी आन्दोलन राष्ट्रिय बहसको विषय नै बनिरहेको छ।

वाङचुकले अनशन सुरु गर्दा आफू छ हप्तासम्म वा मृत्यु नहुँदासम्म पनि आन्दोलन नछोड्ने चेतावनी दिएका थिए। उनका अनुसार यो एउटा परीक्षा रद्द भएको विषय थिएन, लाखौं युवाको भविष्यसँग खेलवाड गर्ने प्रणालीविरुद्धको संघर्ष हो। शिक्षा प्रणालीमा पारदर्शिता र जिम्मेवारी स्थापित नभएसम्म आन्दोलन जारी रहने उनको अडान छ।

भारतमा सोनम वाङचुक कुनै नयाँ नाम होइन। हिमाली क्षेत्र लद्दाखका बासिन्दा वाङचुकलाई धेरैले वातावरण अभियन्ता, शिक्षा सुधारक, वैज्ञानिक र सामाजिक अभियन्ताका रूपमा चिन्छन्। तर उनको परिचय यतिमै सीमित छैन। उनले दशकौंसम्म दुर्गम हिमाली क्षेत्रमा शिक्षा प्रणाली सुधार, दिगो प्रविधिको विकास र जलवायु परिवर्तनसँग जुध्ने उपायहरूमा काम गरेका छन्। यही कारण उनी भारतमा राजनीतिक दलभन्दा माथि उठेर विश्वास गरिने सार्वजनिक व्यक्तित्वमध्ये एक मानिन्छन्।

सन् १९६६ सेप्टेम्बर १ मा लद्दाखको उलेयटोक्पो गाउँमा जन्मिएका वाङचुकको बाल्यकाल नै असामान्य थियो। गाउँमा विद्यालय नभएकाले उनले पहिलो नौ वर्ष आमासँग घरमै शिक्षा लिए। पछि परिवार श्रीनगर सरेपछि पहिलो पटक विद्यालय पुगेका उनी त्यहाँको शिक्षा प्रणालीसँग असन्तुष्ट भए। आफूलाई नआउने उर्दू भाषामा पढाइ हुने र शिक्षकहरूले विद्यार्थीमाथि शारीरिक दण्ड प्रयोग गर्ने संस्कृतिले उनलाई गहिरो असर गर्‍यो। यही अनुभवले भविष्यमा शिक्षा प्रणाली परिवर्तन गर्ने संकल्प जन्माएको उनी स्वयंले विभिन्न अवसरमा बताएका छन्।

यही अनुभवलाई आधार बनाएर उनले पछि लद्दाखमा विद्यार्थीमैत्री शिक्षा प्रणाली विकास गर्ने अभियान चलाए। परम्परागत घोकन्ते शिक्षाभन्दा प्रयोगात्मक सिकाइमा जोड दिने उनको अवधारणाले हजारौं विद्यार्थीको जीवन परिवर्तन गर्‍यो। उनले स्थापना गरेका शैक्षिक परियोजनाहरू आज पनि वैकल्पिक शिक्षाका सफल उदाहरणका रूपमा हेरिन्छन्। जलवायु परिवर्तनसँग जुध्न उनले विकास गरेको ‘आइस स्तुपा’ प्रविधिले हिमाली क्षेत्रमा हिउँदको पानी संरक्षण गरेर वसन्तमा खेतीका लागि प्रयोग गर्ने नयाँ उपाय दिएको छ। यही योगदानका लागि उनले सन् २०१८ मा प्रतिष्ठित रेमन म्यागसेसे पुरस्कार प्राप्त गरेका थिए। बलिउडको चर्चित चलचित्र थ्री इडियट्स का मुख्य पात्र ‘राञ्चो’ को प्रेरणा पनि उनी नै भएको मानिन्छ, यद्यपि वाङचुकले आफूलाई फिल्मसँग प्रत्यक्ष जोड्न सधैं अस्वीकार गर्दै आएका छन्।

सिजेपीले सुरु गरेको यो आन्दोलन विस्तारै सामाजिक सञ्जालको सीमाभन्दा बाहिर पुगेको छ। भारतका विभिन्न राज्यबाट विद्यार्थीहरू दिल्ली पुग्न थालेका छन्। जन्तर-मन्तरमा दैनिक रूपमा सयौं युवा भेला हुन्छन् र सामूहिक उपवास बस्छन्। आन्दोलनलाई समर्थन गर्दै वातावरणविद्, शिक्षाविद्, मानवअधिकारकर्मी, कलाकार र विभिन्न विद्यार्थी संगठनहरूले यो आन्दोलनमा ऐक्यवद्वता जनाइरहेका छन् ।

तर आन्दोलन बढ्दै जाँदा केन्द्र सरकारको मौनता पनि त्यत्तिकै चर्चाको विषय बन्यो। आन्दोलन सुरु भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि कुनै मन्त्री वा उच्च सरकारी प्रतिनिधि प्रदर्शनस्थल पुगेका छैनन्। आन्दोलनकारीहरूले पटक-पटक वार्ताको आह्वान गरे पनि औपचारिक प्रतिक्रिया आएको छैन । सरकारी पक्षको यही मौनताले अहिले यो आन्दोलनलाई झन् राजनीतिक बनाइरहेको छ।

अहिले के हुँदैछ?

अनशन सुरु भएको झण्डै तीन सातापछि वाङचुकको स्वास्थ्य गम्भीर रूपमा कमजोर बन्न थालेपछि चिकित्सकहरूले लगातार उनको स्वास्थ्य बिग्रिरहेको चेतावनी दिइरहेका थिए।  अर्कोतिर अदालतले समेत दैनिक स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो। तर आन्दोलनकारीहरूको भनाइमा सरकार वार्ताभन्दा पनि आन्दोलनलाई समाप्त पार्ने उपाय खोजिरहेको छ। अन्ततः अनशनको २०औँ दिन दिल्ली प्रहरीले हस्तक्षेप गर्‍यो र वाङचुकलाई जबर्जस्ती अस्पताल लगियो। यो घटनाले आन्दोलनलाई नयाँ मोड मात्र दिएको छैन, सरकारको भूमिकामाथि थप प्रश्न पनि खडा गरेको छ।

प्रहरीले वाङचुकको स्वास्थ्य अत्यन्त नाजुक बनेपछि चिकित्सकहरूको सिफारिस र अदालतको आदेशअनुसार सरकारी अस्पतालमा भर्ना गरिएको दाबी गर्‍यो। दिल्ली प्रहरीका अधिकारीहरूले कुनै पनि नागरिकको जीवन राज्यका लागि महत्वपूर्ण भएकाले आवश्यक चिकित्सकीय हस्तक्षेप गरिएको बताएका थिए। तर आन्दोलनकारीहरूको दाबी फरक छ। उनीहरूका अनुसार प्रहरीले प्रदर्शनस्थलमा बल प्रयोग गर्दै वाङचुकलाई सेतो कपडाले छोपेर जबर्जस्ती हटाएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूले पनि उक्त घटनापछि व्यापक बहस जन्माए।

वाङचुकलाई अस्पताल लगिएलगत्तै आन्दोलनको नेतृत्व फेरि ‘कक्रोच जनता पार्टी’का संस्थापक अभिजित दिप्केले सम्हाले। उनले आफू पनि अनिश्चितकालीन अनशनमा बस्ने घोषणा गरे र संसद्को वर्षायाम अधिवेशन सुरु हुने दिन देशव्यापी प्रदर्शन गर्न आह्वान गरेका छन्। उनका अनुसार आन्दोलन कुनै एक व्यक्तिमा निर्भर छैन, बरु करोडौं विद्यार्थीको भविष्यसँग जोडिएको अभियान हो। वाङचुक अस्पताल पुगे पनि आन्दोलन भने नरोकिने उनले स्पष्ट पारेका छन्।

यता अस्पतालमा उपचाररत वाङचुकका परिवारले पनि सरकारप्रति अविश्वास व्यक्त गरिरहेको छ। उनकी पत्नी गीताञ्जली जे आङ्मोले सामाजिक सञ्जालमार्फत आफ्नो अनुमति, परिवारको सहमति र निजी चिकित्सकको सल्लाहबिना वाङचुकलाई कुनै औषधि वा तरल पदार्थ नदिन अस्पताल प्रशासनलाई आग्रह गरिन्। यसले आन्दोलन केवल सडकमा सीमित नरही मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको बहससँग पनि जोडियो।

यसबीच दिल्ली उच्च अदालतमा अर्को सार्वजनिक हितको रिट पनि दर्ता भयो। उक्त रिटमा वाङचुकको ज्यान बचाउन आवश्यक परे जबर्जस्ती तरल आहार खुवाउन सकिने व्यवस्था गर्न माग गरिएको थियो। यसले आन्दोलनलाई कानुनी बहसको केन्द्रमा पनि पुर्‍याएको छ।

राजनीतिक रूपमा पनि आन्दोलनको प्रभाव बढ्दै गएको देखिन्छ। कांग्रेस सांसद शशि थरूरले वाङचुकलाई खुला पत्र लेख्दै अनशन अन्त्य गर्न आग्रह गरे। उनले वाङचुकले देशको अन्तरात्मालाई झक्झक्याएको उल्लेख गर्दै अब दीर्घकालीन संघर्षका लागि उनको जीवन आवश्यक रहेको बताए। यद्यपि वाङचुक समर्थकहरूले सरकार वार्तामा नआएसम्म आन्दोलन रोकिनु नहुने अडान कायम राखे।

वास्तवमा यो आन्दोलन केवल एउटा परीक्षा विवादमा सीमित छैन। भारतमा प्रत्येक वर्ष करोडौं विद्यार्थी विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन्छन्। तीमध्ये चिकित्सा प्रवेश परीक्षा अर्थात् निट सबैभन्दा कठिन र प्रतिष्ठितमध्ये एक हो। लाखौं विद्यार्थी वर्षौंसम्म तयारी गर्छन्, परिवारले ठूलो आर्थिक लगानी गर्छन्, तर प्रश्नपत्र चुहावटजस्ता घटनाले उनीहरूको मेहनतमाथि नै प्रश्न उठाइदिन्छ। यही कारण वाङचुकको आन्दोलनले विद्यार्थी, अभिभावक र आम नागरिकको व्यापक समर्थन पाएको हो।

अर्कोतर्फ, यो आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि पनि नैतिक दबाब बढाएको छ। आन्दोलन सुरु भएको लामो समय बितिसक्दा पनि केन्द्र सरकारले आन्दोलनकारीसँग औपचारिक वार्ता नगर्नु विपक्षी दलहरूको आलोचनाको विषय बनेको छ। आन्दोलनकारीहरूको भनाइमा उनीहरूले सरकार परिवर्तनको माग गरेका छैनन्; उनीहरूको माग केवल शिक्षा प्रणालीमा जवाफदेहिता स्थापित गर्ने र जिम्मेवार मन्त्रीले नैतिक उत्तरदायित्व स्वीकार गर्ने मात्र हो।

वाङचुकका लागि पनि यस्तो आन्दोलन पहिलो होइन। पछिल्ला वर्षहरूमा उनले लद्दाखको संवैधानिक अधिकार, वातावरण संरक्षण र स्थानीय जनप्रतिनिधित्वका विषयमा पटक–पटक आन्दोलन गरेका छन्। गत वर्ष यस्तै आन्दोलनका क्रममा उनी पक्राउ परेका थिए र करिब १७० दिन हिरासतमा बिताएपछि उनीमाथिका आरोप खारेज भएका थिए। त्यसैले अहिलेको आन्दोलनलाई धेरै विश्लेषकहरूले उनको लामो सार्वजनिक संघर्षको अर्को अध्यायका रूपमा पनि हेरेका छन्।

(विभिन्‍न अन्तराष्ट्रिय सञ्‍चारमाध्यमको सहयाेगमा तयार पारिएकाे)

रुकुम-पूर्वमा भुकम्प

काठमाडौं। रुकुम पूर्वमा आइतबार अपराह्न ५ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साउन ३ गते अपराह्न ४ः३० बजे रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा पनि महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट भएको कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

सम्बन्धित निकायले भूकम्पपछि सम्भावित क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।

ठूलो मात्रामा लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डाबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपालले आइतबार दिउँसो विशेष सूचनाका आधारमा गरेको अपरेशनमा काठमाडौं महानगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट स्थायी घर भई हाल चन्द्रागिरी–४ नैकाप बस्दै आएकी २४ वर्षीया सुमित्रा राई पक्राउ परेका हुन्।

सशस्त्र प्रहरीका अनुसार अनिल देउलाले लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोली परिचालन गरिएको थियो। पक्राउका क्रममा उनीहरूको साथबाट ५० वटा बक्समा राखिएको १५ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ।

प्रहरीले उनीहरूले प्रयोग गर्दै आएको बा ७७ प ७८०० नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको छ।

त्यसैगरी, देउला बस्दै आएको कोठामा गरिएको खानतलासीका क्रममा १ हजार १८८ वटा डाइजापाम तथा फेनरागन ट्याब्लेट, ३ हजार ७७० वटा ट्रामाडोल क्याप्सुल र १५० वटा पोलेन ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा १ लाख ३९ हजार १६५ रुपैयाँ नगद र तीन थान मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध, नगद, स्कुटर र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।

विश्वकै पहिलो ‘रोबोट फोन’ सार्वजनिक

एजेन्सी। चिनियाँ प्रविधि कम्पनी अनरले वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स कन्फरेन्स २०२६ मा विश्वकै पहिलो ‘रोबोट फोन’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो उपकरणले परम्परागत स्मार्टफोनको अवधारणालाई नयाँ स्तरमा पुर्‍याउँदै कृत्रिम बुद्धिमत्ता (एआई) र मेकानिकल प्रविधिको संयोजन प्रस्तुत गरेको हो।

यस फोनको सबैभन्दा ठूलो विशेषता यसको ४-डिग्री-अफ-फ्रिडम टाइटेनियम एलोय मेकानिकल गिम्बल प्रणाली हो। फोनभित्रै जडान गरिएको यो प्रणालीले क्यामरा मोड्युललाई स्वतन्त्र रूपमा घुम्न, चलायमान वस्तुलाई पछ्याउन, संगीतको लयअनुसार प्रतिक्रिया दिन तथा एआईले दिएको प्रतिक्रिया शारीरिक हाउभाउमार्फत अभिव्यक्त गर्न सक्षम बनाउँछ। आवश्यकता पर्दा एउटा बटन थिचेर गिम्बल बाहिर निस्कने र प्रयोग नभएको अवस्थामा फोनभित्रै लुक्ने व्यवस्था गरिएको छ।

अनरका अनुसार गिम्बल प्रणालीमा प्रयोग भएका माइक्रो–मोटरहरू परम्परागत विकल्पभन्दा करिब ७० प्रतिशत साना छन्। यसले हिँड्दा हुने कम्पन (वाकिङ शेक) ९६ प्रतिशतसम्म कम गर्दै सीआईपिए ५ दशमलव ५  स्तरको इमेज स्टेबिलाइजेसन प्रदान गर्ने कम्पनीको दाबी छ। क्यामरा मोड्युल ३६० डिग्रीसम्म घुम्न सक्ने र ९० तथा १८० डिग्रीका स्मार्ट मोसन ट्रान्जिसनमार्फत सिनेमाटिक भिडियो रेकर्डिङलाई सहज बनाउने सुविधा पनि यसमा समावेश गरिएको छ।

एआई क्षमताका हिसाबले पनि यो उपकरणलाई परम्परागत स्मार्टफोनभन्दा निकै फरक बनाइएको छ। फोनमा रहेको होनर योयो एआई ले प्रयोगकर्ताको एउटै आदेशमा धेरै काम क्रमशः आफैं सम्पन्न गर्न सक्छ। जस्तै, एन्टी-मोसन सिकनेस मोड सक्रिय गर्ने, स्क्रिनको ब्राइटनेस मिलाउने, अलार्म सेट गर्ने र ट्याक्सी बुक गर्ने जस्ता काम न्यूनतम मानवीय हस्तक्षेपमै गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले प्रदर्शनका क्रममा फोनले रियल-टाइम डेटा विश्लेषण गरी फुटबल विश्वकप फाइनलमा स्पेनले अर्जेन्टिनालाई ३-१ ले पराजित गर्ने अनुमान प्रस्तुत गरेको देखाएको थियो। त्यसक्रममा फोनको गिम्बल प्रणालीले टाउको हल्लाएजस्तो प्रतिक्रिया जनाउँदै एआई विश्लेषणलाई शारीरिक अभिव्यक्तिसँग जोडेको थियो। यो केवल प्रदर्शनका लागि गरिएको एआई डेमो भएको कम्पनीले जनाएको छ।

फोटोग्राफीका लागि फोनमा फ्ल्यागशिप स्तरको ट्रिपल रियर क्यामरा सेटअप दिइएको छ। यसमा २०० मेगापिक्सेलको ४डी गिम्बल मुख्य क्यामरा, ५० मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स र २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो लेन्स समावेश छन्।

अनरले यो उपकरणलाई एआरआरआई सँगको रणनीतिक साझेदारीअन्तर्गत विकसित गरेको पहिलो उत्पादन पनि जनाएको छ। यसमा एआरआरआई-लग सी इन्कोडिङ, एलयूटी कलर ग्रेडिङ, सी-लग, फोकस लक र ह्वाइट ब्यालेन्स लकजस्ता व्यावसायिक भिडियो निर्माणका सुविधा समावेश गरिएका छन्, जसले विशेषगरी व्यावसायिक भिडियो निर्माता र कन्टेन्ट क्रिएटरलाई लक्षित गरेको छ।

यो रोबोट फोन मार्च २०२५ मा सार्वजनिक गरिएको होनर अल्फा स्ट्रेटेजी अन्तर्गतको पहिलो प्रमुख उत्पादन हो। कम्पनीले स्मार्टफोन निर्माता मात्र नभई एआई-आधारित टर्मिनल इकोसिस्टम कम्पनी बन्ने दीर्घकालीन रणनीतिअनुसार यो उपकरण विकास गरिएको जनाएको छ।

अनरका अनुसार रोबोट फोन हार्डवेयरमा गरिएको सामान्य सुधार मात्र नभई एआई र मेकानिकल प्रविधिको संयोजनमार्फत स्मार्टफोनलाई थप अन्तरक्रियात्मक, बुद्धिमान र प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्न सक्ने उपकरणका रूपमा विकास गर्ने दिशामा महत्वपूर्ण कदम हो।

थप ३ प्रतिशत महँगो बन्यो स्वास्थ्य उपचार

काठमाडौं । सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू गरेसँगै स्वास्थ्य सेवा थप महँगो भएको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले आर्थिक विधेयक–२०८३ मार्फत साउन १ गतेदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो। नयाँ व्यवस्थाअनुसार निजी अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गराउने सेवाग्राहीले उपचार शुल्कमा थप ३ प्रतिशत स्वास्थ्य समता शुल्क तिर्नुपर्नेछ।

सरकारले स्वास्थ्य क्षेत्रमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले शुल्क लागू गरेको जनाएको भए पनि यसले उपचार खर्च बढाउने भन्दै निजी स्वास्थ्य संस्था, चिकित्सक र विभिन्न सरोकारवालाले विरोध जनाउँदै आएका छन्।

यसअघि पनि लागू भएर हटाइएको थियो

निजी स्वास्थ्य सेवामा अतिरिक्त शुल्क लगाउने अभ्यास नेपालमा नयाँ भने होइन। वि.सं. २०६५ मा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले ‘स्वास्थ्य सेवा कर’का नाममा निजी अस्पतालमा उपचार गराउँदा ५ प्रतिशत कर लगाउने व्यवस्था गरेका थिए। उक्त कर अस्पतालहरूले बिरामीबाट असुल गरी सरकारलाई बुझाउने व्यवस्था थियो।

तर, उपचार सेवा महँगो भएको भन्दै चर्को आलोचना भएपछि वि.सं. २०७५ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त स्वास्थ्य सेवा कर हटाएका थिए।

कर हटाएको करिब आठ वर्षपछि सरकारले नयाँ नाममा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू गरेसँगै निजी स्वास्थ्य सेवाको लागत फेरि बढेको छ।

विश्वकप फाइनलको मुखैमा अर्जेन्टिनाको पक्षमा किन खुले नेतान्याहू?

काठमाडाैं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप फाइनलमा अर्जेन्टिनालाई समर्थन गर्ने बताएका छन्।

विश्वकप फाइनलअघि इजरायलका लागि अर्जेन्टिनाका राजदूत रब्बी शिमोन एक्सेल वाहनिशसँग भएको भेटमा नेतान्याहूले अर्जेन्टिनाप्रति आफ्नो समर्थन व्यक्त गरेका हुन्।

भेटका क्रममा राजदूत वाहनिशले अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीको सन्देश नेतान्याहूलाई सुनाएका थिए। त्यसको जवाफमा नेतान्याहूले माइलीलाई ‘सच्चा साथी’को संज्ञा दिँदै अर्जेन्टिनालाई विभिन्न क्षेत्रमा इजरायलको समर्थन रहने बताएका थिए।

‘जेभियर, तिमी साथी हौ। एक सच्चा साथी। तिमी एक महान् साथी हौ। हामी तिमीलाई समर्थन गर्छौं र अर्जेन्टिनालाई धेरै तरिकाले समर्थन गर्छौं। शुभकामना!’ नेतान्याहूले भनेका छन्।

नेतान्याहूले अधिकांश इजरायली नागरिक पनि विश्वकप फाइनलमा अर्जेन्टिनाकै पक्षमा रहेको दाबी गरेका छन्।

अर्जेन्टिना र स्पेनबीचको फाइनललाई विश्वभर उच्च चासोका साथ हेरिएको छ। सामाजिक सञ्जालमा पनि यस खेललाई लिएर व्यापक चर्चा भइरहेको छ। एकातिर लगातार अर्को विश्व उपाधिको लक्ष्यसहित अर्जेन्टिना मैदानमा उत्रँदैछ भने अर्कोतर्फ युवा स्टार लामिन यामालको नेतृत्वमा स्पेन नयाँ इतिहास रच्ने लक्ष्यमा रहेको छ।

कुवेतको अमेरिकी शैन्य अखडामा इरानको आक्रमण

काठमाडाैं। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ड्रोन आक्रमणको नयाँ चरण सुरु गरेको दाबी गरेको छ।

इरानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसी फारसीले जनाएअनुसार इरानले सहरी क्षेत्रहरूमा भएको अमेरिकी आक्रमणको प्रतिक्रियास्वरूप ‘अपरेशन लाइटनिङ’को १७औँ चरण सुरु गरेको जनाएको हो।

इरानी सेनाका अनुसार यस चरणमा कुवेतस्थित क्याम्प अल–अदीरीमा रहेको अमेरिकी हतियार भण्डारलाई निशाना बनाइएको छ। साथै, अली अल–सलेम एयर बेसमा रहेका अमेरिकी सैन्य उपकरण र सैन्यकर्मीहरूको केन्द्रमा पनि पुनः ड्रोन आक्रमण गरिएको दाबी गरिएको छ।

इरानले पछिल्ला दिनहरूमा अमेरिका–इरान तनाव बढेसँगै कुवेतमा रहेका अमेरिकी सैन्य संरचनामाथि निरन्तर आक्रमण गरिरहेको दाबी गरेको छ। यद्यपि इरानका यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

यता कुवेतले भने आफ्ना सुरक्षा निकायले इरानबाट गरिएका आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ। घटनाबारे अमेरिकी अधिकारीहरूले भने तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

यसअघि पनि इरानले ड्रोन आक्रमणमार्फत कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गर्दै आएको थियो।

आमिर खानको घरबाहिर किन राखियो सुरक्षाकर्मी?

मुम्बई । बलिउड अभिनेता आमिर खानलाई कुख्यात लरेन्स बिश्नोई ग्याङको नाममा ज्यान मार्ने धम्की आएको दाबीपछि मुम्बई प्रहरीले उनको निवास वरपरको सुरक्षा व्यवस्था कडा बनाएको छ। सामाजिक सञ्जालमा भाइरल भएको पोस्ट र भ्वाइस क्लिपको सत्यता पुष्टि गर्न प्रहरीले अनुसन्धान थालेको छ।

मुम्बई प्रहरीका अनुसार हालसम्म भाइरल पोस्ट वा अडियो वास्तवमै लरेन्स बिश्नोई ग्याङबाट जारी भएको भन्ने आधिकारिक पुष्टि भएको छैन। प्रहरी आयुक्त देवन भारतीले सामाजिक सञ्जालमा फैलिएका सामग्रीको प्रामाणिकता जाँच भइरहेको र अनुसन्धान पूरा भएपछि मात्र वास्तविकता स्पष्ट हुने बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार आमिर खान हाल आफ्नी पत्नी गौरी स्प्राटसँग हनिमुन मनाउन अष्ट्रेलियामा रहेका छन्। यसबीच सामाजिक सञ्जालमा फैलिएको कथित पोस्टमा उनको हालैको विवाहलाई लिएर आपत्तिजनक टिप्पणी गरिएको छ भने धम्कीपूर्ण भाषा प्रयोग गरिएको दाबी गरिएको छ।

यसअघि आमिर खानले आफ्नो तेस्रो विवाहलाई लिएर उठेका ‘लभ जिहाद’ सम्बन्धी आरोपको सार्वजनिक रूपमा खण्डन गरेका थिए। उनले आफ्ना सबै विवाह सिभिल म्यारिजअन्तर्गत भएको र आफ्ना कुनै पनि पत्नीले धर्म परिवर्तन नगरेको स्पष्ट पारेका थिए। साथै, पत्नी गौरी स्प्राट हिन्दू नभई इसाई धर्मावलम्बी रहेको पनि उनले बताएका थिए।

भारतीय कानुनअनुसार अघिल्ला वैवाहिक सम्बन्ध कानुनी रूपमा समाप्त भइसकेको अवस्थामा पुनः विवाह गर्न कुनै कानुनी अवरोध हुँदैन। आमिर खानका अघिल्ला दुवै विवाह सम्बन्धविच्छेदमार्फत कानुनी रूपमा अन्त्य भइसकेकाले उनको तेस्रो विवाह कानुनसम्मत मानिन्छ।

प्रहरीले भाइरल पोस्ट र अडियोको स्रोत पहिचान गर्ने तथा त्यसमा गरिएको धम्की वास्तविक हो वा होइन भन्ने विषयमा अनुसन्धान जारी राखेको छ। अनुसन्धानको निष्कर्ष सार्वजनिक भएपछि मात्रै घटनाको वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।

१० उद्योगले बुझाए ४६ करोड, १० उद्योगको लाइन काटियो

काठमाडौं । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत उद्योगीहरूले गत आर्थिक वर्षको असार मसान्तसम्म राज्यकोषमा ४६ करोड ८६ लाख रुपैयाँ महसुल दाखिला गरेका छन्।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीका अनुसार देशभर रहेका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूबाट उक्त रकम संकलन भएको हो।

उनका अनुसार देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्योगले अझै करिब ८८ करोड रुपैयाँ महसुल बक्यौता तिर्न बाँकी छ।

बक्यौता नतिर्ने उद्योगहरूमाथि कारबाही प्रक्रिया पनि सुरु गरिएको लिमिटेडले जनाएको छ। सोडारीका अनुसार हालसम्म बक्यौता नबुझाएका १० उद्योगको विद्युत् आपूर्ति काटिएको छ।

त्यसमध्ये कन्टिनेन्टल ग्रुपअन्तर्गतका दुई उद्योगले मात्रै करिब ४ करोड रुपैयाँ महसुल तिर्न बाँकी रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।

मिटरब्याजपीडितलाई सरकारले धाेका दियाे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मिटरब्याज पीडितलाई धोका दिएको आरोप लगाएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले अर्थतन्त्र सुधार र गरिबी न्यूनीकरणमा प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे।

उनले मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकार असफल भएको दाबी गर्दै गरिबी घटाउनुको सट्टा गरिब नागरिकलाई थप समस्यामा धकेल्ने काम भइरहेको आरोप लगाए।

‘मिटरब्याज पीडितलाई सरकारले धोका दिएको छ। अर्थतन्त्र उकास्ने काम भएको छैन। गरिबी निवारण गरेर जानुपर्ने ठाउँमा गरिबलाई डुबाउने काम भएको छ,’ ओलीले भने।

फरक प्रसंगमा अध्यक्ष ओलीले एमाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अपेक्षाअनुसार अघि बढ्न नसकेको स्वीकार गरे। उनले प्रविधिमा दक्षता हासिल गर्न निरन्तर अध्ययन र अभ्यास आवश्यक रहेको उल्लेख गरे।

‘हामी आईटी क्षेत्रमा पछि परेका छौँ। ज्ञान दुई ढङ्गले प्राप्त गर्न सकिन्छ- एउटा गुरुको माध्यमबाट र अर्को आफ्नै मेहनतबाट। बिना अभ्यास कुनै पनि चिज प्राप्त गर्न सकिँदैन,’ उनले भने।

प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्काको भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्।

श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएका प्रचण्डले भ्रमणका क्रममा इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए।

संयोजक दाहालको निजी सचिवालयका अनुसार उद्घाटन सत्रमा उनले विश्व शक्ति सन्तुलनमा देखिएको परिवर्तन, साम्राज्यवाद र नवउदारवादले सिर्जना गरेका चुनौती, दक्षिण एसियाली जनआन्दोलनका अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक अवधारणाबारे आफ्नो धारणा राखेका थिए।

भ्रमणका क्रममा प्रचण्डले श्रीलङ्काका प्रमुख वामपन्थी राजनीतिक दलका नेताहरूसँग उच्चस्तरीय भेटवार्ता समेत गरेका थिए। सचिवालयका अनुसार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, वामपन्थी आन्दोलन र क्षेत्रीय राजनीतिक विषयमा छलफल भएको थियो।

परिभाषाविहीन, दिशाविहीन र थितिविहीन राजनीति चलिरहेको छ : ओली

आइतबार पार्टी संसदीय मामिला विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको सांसदहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ पछिका राजनीतिक घटनाक्रमपछि मुलुकको राजनीति सही मार्गबाट विचलित भएको दाबी गरे।

उनले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधान र कानुनले स्पष्ट प्रक्रिया निर्धारण गरेको उल्लेख गर्दै वर्तमान सरकारको गठन भने लोकतान्त्रिक अभ्यासअनुसार नभएको आरोप लगाए।

‘अहिले परिभाषाविहीन, दिशाविहीन र थितिविहीन राजनीति चलिरहेको छ। लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्, तर अहिलेको सरकार निर्माणको प्रारम्भ नै हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनीको आधारबाट भएको हो,’ ओलीले भने।

अध्यक्ष ओलीले मुलुकको राजनीतिक अभ्यासलाई लोकतान्त्रिक मूल्य, विधि र संस्थागत प्रक्रियाअनुसार अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए।

बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हिंसात्मक गतिविधिको जगमा बनेको आरोप लगाएका छन्।

आइतबार पार्टी संसदीय मामिला विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको सांसदहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार गठनको प्रक्रिया लोकतान्त्रिक मूल्य र संवैधानिक अभ्यासविपरीत भएको दाबी गरे।

उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संविधान र कानुनले स्पष्ट प्रक्रिया निर्धारण गरेको उल्लेख गर्दै वर्तमान सरकार भने हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनीजस्ता गतिविधिबाट बनेको आरोप लगाए।

‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्। तर अहिलेको सरकार निर्माणको प्रारम्भ नै हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीबाट भएको हो,’ ओलीले भने।

अध्यक्ष ओलीले मुलुकको राजनीति अहिले परिभाषाविहीन, दिशाविहीन र थितिविहीन अवस्थामा पुगेको टिप्पणी गर्दै गत भदौ २३ र २४ पछिका घटनाक्रमपछि नेपालको राजनीति सही दिशाबाट विचलित भएको दाबी गरे।

संसदमा प्रभावकारी उपस्थितिका लागि एमालेको तयारी, ‘इस्यु कलेक्सन सेन्टर’ बनाइने

काठमाडौं । नेकपा एमालेले संसदमा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी बनाउन ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्ने भएको छ।

आइतबार पार्टीले आयोजना गरेको सांसदहरूसँगको अन्तर्क्रिया कार्यक्रममा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पार्टीले इस्यु कलेक्सन सेन्टर निर्माण गर्ने जानकारी दिएकी हुन्।

उनका अनुसार उक्त सेन्टरमार्फत सांसदहरूले संसदमा उठाउनुपर्ने समसामयिक विषय, तथ्य, तथ्यांक र आवश्यक सामग्री व्यवस्थित रूपमा उपलब्ध गराइनेछ। यसबाट सांसदहरूलाई संसदमा बोल्दा तथ्यमा आधारित प्रस्तुति दिन सहज हुने विश्वास पार्टीले लिएको छ।

एमालेले संसदभित्र आफ्नो भूमिका थप प्रभावकारी, तथ्यपरक र संगठित बनाउने उद्देश्यले यस्तो संयन्त्र स्थापना गर्न लागेको जनाएको छ।

विश्वकप फाइनलका १० रोचक तथ्य

काठमाडाैं। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धा विश्वकपको उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने हुँदै छन्। दुई उत्कृष्ट टोलीबीच हुने यस फाइनलअघि मैदानभित्रको खेल मात्र होइन, रेफ्रीदेखि इतिहास, विश्राम, रणनीति र वातावरणसम्मका धेरै पक्ष चर्चामा छन्। फाइनलअघि जान्नैपर्ने १० महत्वपूर्ण तथ्य यस्ता छन्।

पहिलो पटक विश्वकप फाइनलमा स्लोभेनियाली रेफ्री

यस पटकको फाइनलको जिम्मेवारी ४६ वर्षीय स्लाभ्को भिन्चिचले पाएका छन्। उनी विश्वकप फाइनलमा रेफ्री गर्ने पहिलो स्लोभेनियाली बनेका छन्।

भिन्चिचले यसअघि सन् २०२४ को यूईएफए च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिड र बोरुसिया डर्टमुन्डबीचको खेल सञ्चालन गरेका थिए। त्यस्तै, युरो २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएको खेल पनि उनले नै रेफ्री गरेका थिए।

सन् २०२२ को विश्वकपमा उनले अर्जेन्टिना र साउदी अरेबियाबीचको खेल सञ्चालन गरेका थिए, जहाँ अर्जेन्टिना अप्रत्याशित रूपमा पराजित भएको थियो। यस विश्वकपमा उनले औसत प्रतिखेल २ दशमलव ३३ वटा पहेंलो कार्ड दिएका छन्।

स्पेनको पक्षमा देखिएको एउटा रोचक संयोग

पछिल्ला १४ वटा विश्वकप र युरोपियन च्याम्पियनसिप (पुरुष र महिला)का फाइनलमध्ये १३ पटक सेमिफाइनल पहिले खेलेको टोली नै च्याम्पियन बनेको तथ्यांक छ।

यस पटक स्पेनले अर्जेन्टिनाभन्दा एक दिन अगाडि सेमिफाइनल खेलेको थियो। त्यसैले स्पेनसँग अतिरिक्त विश्रामको फाइदा छ। सन् २०२२ को विश्वकपमा भने यही फाइदा अर्जेन्टिनाले पाएको थियो।

अर्जेन्टिनाका राष्ट्रपति फेरि मैदानमा नजाने

अर्जेन्टिनाका वर्तमान राष्ट्रपति जाभियर मिलेई पनि फाइनल हेर्न मैदानमा जाने छैनन्।

गत ३६ वर्षदेखि कुनै पनि अर्जेन्टिनी राष्ट्रपतिले विश्वकपमा राष्ट्रिय टोलीको खेल प्रत्यक्ष हेरेका छैनन्। सन् १९९० मा तत्कालीन राष्ट्रपति कार्लोस मेनेम टोलीलाई भेट्न गएपछि अर्जेन्टिना पहिलो खेलमै क्यामरुनसँग पराजित भएको थियो। त्यसयता राष्ट्रपति मैदान पुगे अशुभ हुने विश्वास कायम छ।

यता, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र राजा फेलिपे छैटौँ भने फाइनल हेर्न उपस्थित हुने कार्यक्रम छ।

इतिहास रच्ने अवसर

यदि अर्जेन्टिनाले उपाधि जित्यो भने लगातार दुई विश्वकप जित्ने इतिहास रच्ने तेस्रो राष्ट्र बन्नेछ। यसअघि इटाली (१९३४ र १९३८) तथा ब्राजिल (१९५८ र १९६२) ले मात्र यस्तो उपलब्धि हासिल गरेका छन्।

स्पेनले उपाधि जिते युरोकप र विश्वकप दुवै एकैसाथ जित्ने चौथो राष्ट्र बन्नेछ। यसअघि जर्मनी, फ्रान्स र स्पेनले नै यस्तो सफलता हासिल गरेका थिए। स्पेनले यसअघि युरो २००८, विश्वकप २०१० र युरो २०१२ लगातार जित्दै ऐतिहासिक कीर्तिमान बनाएको थियो।

फाइनलमा अर्जेन्टिनाको आक्रमण र स्पेनको रक्षापङ्क्तिबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

अर्जेन्टिनाले प्रतियोगितामा सबैभन्दा धेरै १९ गोल गरेको छ। स्पेनले १४ गोल गर्दै चौथो स्थानमा छ।

तर रक्षात्मक रूपमा स्पेन सबैभन्दा बलियो देखिएको छ। स्पेनले प्रतियोगिताभर केवल एक गोल मात्र व्यहोरेको छ भने अर्जेन्टिनाले सात गोल खाएको छ।

विजेतालाई ट्रफी मात्र होइन, विशेष औँठी पनि

यस विश्वकपको अर्को विशेष आकर्षण भनेको विजेता टोलीलाई विशेष च्याम्पियनसिप रिङ प्रदान गरिनु हो।

अमेरिकी खेल संस्कृतिबाट प्रेरित यो परम्परा विश्वकपमा पहिलो पटक लागू गरिएको हो। विश्वविजेता टोलीका खेलाडी र प्रशिक्षकलाई विशेष डिजाइन गरिएको औँठी प्रदान गरिनेछ। त्यसमा विश्वकप ट्रफीको आकृति र विजेता टोलीको पहिचान झल्किने डिजाइन रहनेछ।

फाइनलिसिमा हुन पाएन

यी दुई टोलीबीच यस वर्ष कतारमा फाइनलिसिमा खेलाउने तयारी थियो। अर्जेन्टिना सन् २०२२ मा इटालीलाई हराएर जितेको उपाधि जोगाउने लक्ष्यमा थियो।

तर मध्यपूर्वको युद्धका कारण प्रतियोगिता रद्द भयो। वैकल्पिक मिति र स्थानमा सहमति हुन नसकेपछि अन्ततः खेल नै रद्द गरिएको थियो।

क्लब अनुभवबिनाका सफल प्रशिक्षक

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टे र अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी दुवैले शीर्ष डिभिजन क्लब फुटबलमा उल्लेखनीय प्रशिक्षकीय अनुभव बिना नै राष्ट्रिय टोलीलाई विश्व फुटबलको सर्वोच्च मञ्चसम्म पुर्‍याएका छन्।

डे ला फुएन्टेले लामो समय स्पेनका विभिन्न उमेर समूहका टोली सम्हालेका थिए भने स्कालोनीले पनि प्रायः अर्जेन्टिनाको राष्ट्रिय टोलीसँग मात्र काम गरेका छन्।

अतिरिक्त समयको प्रभाव

स्पेनले प्रतियोगिताका सबै खेल ९० मिनेटमै टुंग्याएको छ।

अर्जेन्टिनाले भने दुई खेल अतिरिक्त समयमा खेलेको छ। प्रतियोगिताभर अर्जेन्टिनाका खेलाडीले ७९४ मिनेट मैदानमा बिताएका छन् भने स्पेनका खेलाडीले ७१७ मिनेट मात्र।

फाइनलमा यो ७७ मिनेटको अन्तरले पनि प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

वातावरण पनि बन्न सक्छ चुनौती

फाइनलअघि अमेरिकाको राष्ट्रिय मौसम सेवाले क्यानडाबाट आएको डढेलोको धुवाँका कारण वायु प्रदूषणबारे चेतावनी जारी गरेको थियो। यद्यपि पछिल्ला दिनमा अवस्था केही सुधार भएको छ।

स्पेनले प्रतियोगिताभर अधिकांश खेल छानायुक्त रंगशालामा खेलेको थियो। पूर्ण खुला मैदानमा उनीहरूले केवल एक खेल खेलेका छन्।

अर्जेन्टिनाले भने तीन खेल खुला मैदानमा खेलेको छ, जसमा दुई खेल ३२ डिग्री सेल्सियसभन्दा बढी तापक्रममा सम्पन्न भएका थिए।

इतिहास, तथ्यांक, विश्राम, रणनीति र मानसिक तयारीका आधारमा हेर्दा दुवै टोलीसँग उपाधि जित्ने पर्याप्त आधार छन्। अब विश्व फुटबलको सबैभन्दा ठूलो प्रश्नको उत्तर मैदानमा ९० मिनेट वा आवश्यक परे थप समयमा मात्र मिल्नेछ।

सेती नदी थुनिँदा पोखरामा बढ्यो जोखिम

पोखरा। लगातारको वर्षापछि पोखरामा ठूलो पहिरो खस्दा सेती नदीको बहाव आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका-१५ र १७ को सीमास्थित रातोपहिरो क्षेत्रमा नदी किनार कटान भएपछि खसेको पहिरोले नदीको निकास अवरुद्ध बनाएको हो।

पहिरोका कारण नदीको पानी सहज रूपमा बग्न नसक्दा माथिल्लो क्षेत्रमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ। पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङका अनुसार पहिरो थुनिएको स्थानभन्दा माथि नदीको पानीको सतह करिब ५० मिटरसम्म उक्लिएको छ। यसले आसपासका बस्ती र तटीय क्षेत्रका बासिन्दामा थप चिन्ता बढाएको छ।

घटनाको जानकारी पाएलगत्तै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, उपप्रमुख गुरुङसहित सुरक्षा निकाय र स्थानीय तहका अधिकारी घटनास्थल पुगेका थिए। टोलीले पहिरोको अवस्था, नदीको बहाव र सम्भावित जोखिमको स्थलगत निरीक्षण गरेको छ।

विशेषज्ञहरूका अनुसार नदीको बहाव लामो समयसम्म अवरुद्ध भए माथिल्लो क्षेत्रमा पानी जमेर आकस्मिक रूपमा ठूलो बाढी आउने जोखिम रहन्छ। त्यसैले पहिरोको अवस्था र नदीको प्रवाहलाई निरन्तर निगरानीमा राखिएको जनाइएको छ।

निरन्तर वर्षाका कारण पहिरो थप खस्ने सम्भावना रहेकाले प्रशासनले सेती नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, नदी किनारमा अनावश्यक आवतजावत नगर्न र सम्बन्धित निकायको सूचना पालना गर्न पनि अनुरोध गरिएको छ।

मनसुन सक्रिय भएसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लामा पहिरो, नदी कटान र बाढीका घटना बढिरहेका छन्। सेती नदी थुनिएको पछिल्लो घटनाले प्राकृतिक विपद्को जोखिम अझ बढाएको भन्दै स्थानीय प्रशासनले आवश्यक तयारीलाई तीव्र बनाएको जनाएको छ।

चल्न छाड्यो फेसबुक

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसोदेखि प्राविधिक समस्या देखिएको छ। करिब दिउँसो १:३० बजेदेखि विशेषगरी डेस्कटप संस्करण प्रयोग गर्ने धेरै प्रयोगकर्ताले आफ्नो फेसबुक खाता खोल्न नसकेको गुनासो गरेका छन्।

प्रयोगकर्ताको स्क्रिनमा देखिएको सन्देशअनुसार साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको उल्लेख गरिएको छ।

सन्देशमा समस्या समाधानका लागि काम भइरहेको जनाउँदै केही समयपछि पुनः प्रयास गर्न पनि आग्रह गरिएको छ।

फेसबुकको मातृ कम्पनी मेटाले भने समाचार तयार पार्दासम्म समस्याबारे कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। समस्या कति प्रयोगकर्तामा परेको हो र यसको कारण के हो भन्ने विषय पनि खुल्न बाँकी छ।

गर्मी बढेसँगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको चाप बढ्यो

जनकपुरधाम । तापक्रम वृद्धि भएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा आँखासम्बन्धी समस्या लिएर उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।

अस्पतालका अनुसार हाल दैनिक ४०० देखि ५०० जना बिरामी उपचारका लागि आउने गरेका छन्। यसअघि भने औसतमा दैनिक करिब ३०० जना सेवाग्राहीले अस्पतालको सेवा लिने गरेका थिए।

अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार पछिल्ला दिनमा विशेषगरी बालबालिका र वृद्धवृद्धामा आँखासम्बन्धी समस्या बढी देखिएको छ। अत्यधिक गर्मी र धुलोधुवाँका कारण आँखामा संक्रमण, एलर्जी तथा अन्य समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढेको उनले बताए।

जानकी आँखा अस्पतालमा धनुषासँगै सिरहा, महोत्तरी, सिन्धुलीलगायत जिल्लाबाट पनि बिरामी उपचारका लागि आउने गरेका छन्। साथै, छिमेकी भारतको बिहार राज्यबाट समेत उल्लेख्य संख्यामा बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।

शंकर पोखरेलको सुझाव : सांसदका स्वकीय सचिव एआई र सूचना प्रविधिमा दक्ष हुनुपर्छ

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिव घरायसी सहयोगीका रूपमा नभई संसदीय कार्यलाई प्रभावकारी बनाउन सक्ने दक्ष र प्रविधिमैत्री व्यक्तिबाट छनोट गर्नुपर्ने बताएका छन्।

आइतबार पार्टीको संसदीय विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गर्न सक्ने जनशक्ति अहिलेको संसदीय अभ्यासका लागि आवश्यक भएको बताए।

उनले सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा व्यक्तिगत वा घरायसी कामका लागि नभई संसदीय जिम्मेवारी निर्वाहमा सहयोग पुर्‍याउन सक्ने राजनीतिक चेत भएको र प्रविधिमा दक्ष व्यक्तिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

‘स्वकीय सचिव राख्नु स्वाभाविक र आवश्यक हो। तर उनी घरायसी सहयोगी होइन, सांसदको कामलाई प्रभावकारी बनाउने व्यक्ति हुनुपर्छ। सूचना प्रविधिमा दक्ष वा एआईको प्रयोग गर्न सक्ने क्षमता भएको व्यक्तिलाई रोज्नुपर्छ,’ पोखरेलले भने।

भर्चुअल र डिजिटल माध्यममा राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको उल्लेख गर्दै उनले एमाले यस क्षेत्रमा अपेक्षाकृत कमजोर देखिएको टिप्पणी गरे। त्यसैले संसदभित्रका धारणा, बहस र गतिविधिलाई डिजिटल माध्यममार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने जनशक्तिको आवश्यकता रहेको उनले बताए।

पोखरेलले सबै सांसदको रुचि, क्षमता र विषयगत दक्षता समान नहुने भएकाले संसदमा जिम्मेवारी बाँडफाँट पनि त्यसैअनुसार हुनुपर्ने धारणा राखे। विषयवस्तुको ज्ञान र विशेषज्ञताका आधारमा सांसदलाई बोल्ने तथा नेतृत्व गर्ने अवसर दिइए संसदीय प्रस्तुति अझ प्रभावकारी बन्ने उनको भनाइ थियो।

‘पदीय मर्यादाको सीमाभन्दा पनि विषयगत ज्ञान, दक्षता र क्षमताका आधारमा नेतृत्व गर्ने अभ्यास विकास गर्न सक्यौं भने संसदको कामकारबाही अझ प्रभावकारी बन्न सक्छ,’ उनले भने।

घोषणा गरियो ‘हजारौँमा एक’

काठमाडौं । निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली फिल्म ‘हजारौंमा एक’ निर्माण हुने भएको छ। सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले निर्देशन गर्ने यो फिल्म एक्सन-एड्भेन्चर विधामा निर्माण हुन लागेको हो।

निर्माण पक्षका अनुसार फिल्म रहस्य, साहसिक यात्रा र अलौकिक कल्पनामा आधारित हुनेछ। कथाको परिकल्पना सीता मायाले गरेकी हुन् भने उनी नै फिल्मकी प्रस्तुतकर्ता पनि हुन्। दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माता रहनेछन् भने छायांकन निर्देशक (डीओपी)को जिम्मेवारी हरि हुमागाईंले सम्हाल्नेछन्।

फिल्म नेपाली भाषामा निर्माण गरिए पनि अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै हिन्दी र मलियालम भाषामा पनि डब गरिने निर्माण पक्षले जनाएको छ।

मुख्य भूमिकामा मलियालम चलचित्र उद्योगसँग आबद्ध एक अभिनेता रहने जानकारी दिँदै निर्माण पक्षले उनको परिचय पहिलो पोस्टर (फर्स्ट लुक)मार्फत सार्वजनिक गरिने जनाएको छ। साथै, मलियालम फिल्म उद्योगका केही कलाकार तथा प्राविधिकको पनि सहभागिता रहने निर्देशक आचार्यले बताएका छन्।

फिल्मको पटकथालाई नेपाली परिवेशअनुकूल संवाद र रूपान्तरण गर्ने काम लेखक शान बस्नेतले गरिरहेका छन्। छायांकन यसै वर्षको फागुन-चैतदेखि सुरु गर्ने तयारी गरिएको छ।

निर्माण पक्षका अनुसार फिल्मका अधिकांश कलाकार, प्राविधिक तथा गीत–संगीत नेपाली सर्जककै रहनेछन्। करिब चार करोड रुपैयाँको अनुमानित बजेटमा निर्माण हुने यो फिल्म नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा छायांकन गरिनेछ।

आधुनिक प्रविधि, साहसिक कथा र अलौकिक कल्पनाको संयोजनमार्फत स्वदेशी दर्शकसँगै अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गर्ने उद्देश्यका साथ फिल्म निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ।

पाँच मन्त्रीको पद धरापमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको चर्चा सिंहदरबार र राजनीतिक वृत्तमा तीव्र बनेको छ। विशेषगरी पाँच मन्त्रालयमा नेतृत्व परिवर्तन हुन सक्ने अड्कलबाजीले नयाँ राजनीतिक बहस सुरु भएको छ।

स्रोतकाअनुसार अर्थ, स्वास्थ्य, कानुन, कृषि र उद्योग मन्त्रालयमा मन्त्री फेरबदल हुन सक्ने सम्भावना रहेको बताइए पनि सरकार वा सत्तारुढ दलले यसबारे कुनै औपचारिक पुष्टि गरेका छैनन्।

सरकार निकट स्रोतका अनुसार मन्त्रीहरूको कार्यसम्पादन समीक्षा, आगामी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सरकारको कार्यक्षमता बढाउने उद्देश्यले मन्त्रिपरिषद् पुनर्गठनबारे आन्तरिक छलफल भइरहेको बताइएको छ।

पछिल्लो समय प्रधानमन्त्री बालेन विशेषत अर्थमन्त्री स्वर्णिम वाग्ले र कानुनमन्त्री सोबिता गौतमसँग असन्तुष्ट छन्। प्रधानमन्त्रीको सचिवालयसँग निकट एक स्रोतका अनुसार अर्थमन्त्री वाग्लेले करको दररेट हेरफेर गरेमा प्रधानमन्त्री लगायत सिङ्गो सचिवालय असन्तुष्ट छ। 

त्यस्तै, उक्त स्रोतको दाबी अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाईमा पनि प्रधानमन्त्री लगायत उनको सचिवालय रुष्ट बनेको थियो।  त्यसयता शाहको सचिवालय कानुनमन्त्री सोबिता गौतम र महान्याधिवक्ता नारायणदत्त कँडेललाई हटाउने लबिङमा लागिरहेको छ। कतिसम्म भने प्रधन्यायाधिश शर्मासँग पनि प्रधानमन्त्रीको सचिवालय खुसी छैन। 

उक्त स्रोतका अनुसार शाहको सचिवालयको मुख्य टार्गेट चाहिँ परराष्ट्रमन्त्री शिशिर खनाल हुन्।  राहदानी ठेक्का प्रकरणमा प्रधानमन्त्रीको सचिवालय मन्त्री खनालसँग निकै असन्तुष्ट बनेको थियो। सचिवालयले जर्मन कम्पनीसँगको ठेक्का तोडेर फ्रेन्च कम्पनीलाई दिनुपर्ने अड्डी कसेको थियो।  तर, खनालले  उक्त स्वार्थमा काम गर्न नसकिने र जर्मन कम्पनीलाई नै ठेक्का निरन्तरता दिने अडान लिएपछि सचिवालय उनीसँग झनै तातिएको चर्चा पनि छ।  यधपी, मन्त्री फेरबदलको सूचीमा खनाल भने छैनन्।   

राजनीतिक विश्लेषकहरूका अनुसार कार्यसम्पादनका आधारमा मन्त्री परिवर्तन भए सरकारले पदभन्दा परिणामलाई प्राथमिकता दिएको सन्देश दिन सक्छ। तर, स्पष्ट मापदण्ड र पारदर्शी प्रक्रिया नअपनाई निर्णय गरिए सरकारभित्र असन्तुष्टि बढ्नुका साथै राजनीतिक विवाद सिर्जना हुन सक्ने उनीहरूको भनाइ छ।

विशेषगरी अर्थ मन्त्रालयको नेतृत्व परिवर्तन हुन सक्ने चर्चाले आर्थिक नीति, बजेट कार्यान्वयन तथा लगानीकर्ताको मनोबलमा समेत प्रभाव पार्न सक्ने भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन्।

यद्यपि हालसम्म मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै आधिकारिक निर्णय सार्वजनिक भएको छैन। त्यसैले पाँच मन्त्री परिवर्तन हुने चर्चा पुष्टि नभएको दाबीका रूपमा मात्रै रहेको छ। यदि मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भने त्यसको स्वरूप, नयाँ मन्त्रीहरूको छनोट र सरकारको औपचारिक निर्णयपछि मात्र वास्तविक तस्वीर स्पष्ट हुने देखिएको छ।

 

एमाले संसदीय विभागको कार्यक्रम च्यासलमा सुरु, ओलीले सांसदलाई प्रशिक्षण दिने

काठमाडौं। नेकपा (एमाले)को संसदीय विभागको कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै उनले संघीय संसद्का सांसदहरूलाई समसामयिक राजनीतिक अवस्था, संसदीय भूमिका र पार्टीको भावी रणनीतिबारे प्रशिक्षण दिनेछन्।

एमालेका संघीय सांसदहरू सहभागी रहेको कार्यक्रममा संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउने, सरकार र प्रतिपक्षप्रति पार्टीको रणनीति तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने बताइएको छ।

पार्टीले संसदीय भूमिका, नीति तथा जनसरोकारका विषयमा सांसदहरूलाई एकीकृत धारणा बनाउन नियमित रूपमा यस्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ।