`

जापानको रक्सी कडा रहेछ : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले  आफूलाई नखाएको रक्सी पनि लागेको भन्दै सहकारी ठगलाई सहकारी ठग र खराने ग्याङलाई खराने ग्याङ नै भनेको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा लेखेको उक्त स्टाटसको सुरुवातमै उनले ‘जापानको रक्सी कडा रहेछ’ भन्दै व्यंग्य गरेका छन्। त्यसपछि वर्षौंदेखि मनमा दबिएका सत्य कुरा अनायास बाहिर आएको दाबी गर्दै विभिन्न समूह र व्यक्तिमाथि कटाक्ष गरेका छन्। ‘वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा पनि मुखबाट फुत्त निस्किएछन्। जति लुकाउन खोजे पनि सत्य त लुक्दो रहेनछ,’ उनले लेखेका छन्। 

उनले सहकारी प्रकरणमा मुछिएका व्यक्तिहरूलाई ‘सहकारी ठग’ भनेका छन् भने केही समूहलाई ‘गाँजडी ग्याङ’, ‘खराने ग्याङ’ र ‘टीओबी ग्याङ’ जस्ता शब्द प्रयोग गरेर टिप्पणी गरेका छन्।

उनी अगाडि लेख्छन्, ‘सहकारी ठगलाई ठग नै भनिएछ। गाँजडीको ग्याङलाई गाँजडी ग्याङ नै भनिएछ। खराने ग्याङलाई खराने ग्याङै भनिएछ। टीओबी ग्याङलाई टीओबी ग्याङ नै भनिए छ।’

उनले आफूलाई सामाजिक सञ्जालमा आलोचना गर्नेहरूलाई लक्षित गर्दै ‘विश्वभरका बेरोजगार केटा हो- डलर झर्छ होला सक्ने जति रोष्ट गर’ भनेर व्यंग्य गरेका छन्। विदेशमा रहेका नेपाली युवाहरूले आफ्नो पोस्टबाट कन्टेन्ट बनाएर आम्दानी गर्ने भन्दै ‘आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै कमाइ हुन्छ। नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ’ भन्ने टिप्पणी गरेका छन्।

 

करिब २ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ तथा चाँदी ४ हजार २०० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार ३१ अमेरिकी डलर र एक औँस चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अमेरिकी हवाई आक्रमणमा ५० भन्दा बढी इरानी सैनिकको मृत्यु

काठमाडौं। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानको अर्धसैनिक बल रिभोलुसनरी गार्डका सैन्य संरचनालाई लक्षित गर्दै व्यापक हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका-इरान द्वन्द्व थप चर्किएको छ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार आइतबार गरिएको आक्रमणमा इरानको तटीय निगरानी प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र, समुद्री सैन्य क्षमता तथा क्षेप्यास्त्र र ड्रोन भण्डारणस्थललाई निशाना बनाइएको थियो। अमेरिकी पक्षले पहिलो पटक रिभोलुसनरी गार्डका संरचनामाथि प्रत्यक्ष सैन्य कारबाही गरिएको जनाएको छ।

अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा लडाकु विमान र समुद्रबाट प्रहार गरिएका टोमाहक क्रुज मिसाइल प्रयोग गरिएको देखिन्छ। आक्रमणको एक प्रमुख लक्ष्य पहाडी क्षेत्रमा रहेको सैन्य आधार रहेको बताइएको छ। इरानले आफ्ना क्षेप्यास्त्र तथा सैन्य सामग्री प्रायः पहाडी सुरुङ र सुरक्षित आधारहरूमा राख्ने गरेको अमेरिकी दाबी छ।

अमेरिकी सेनाका अनुसार जोर्डनस्थित सैन्य अड्डामाथि इरानले गरेको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको, एक जना बेपत्ता भएका तथा चार जना घाइते भएका छन्। अमेरिकी पक्षका अनुसार युद्ध सुरु भएयता १६ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ भने ४३० भन्दा बढी घाइते भएका छन्।

यता, इरानी अधिकारीहरूले अमेरिकी पछिल्लो आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएको बताएका छन्। यद्यपि, इरानले सैन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन।

युद्धविरामका लागि भएको अन्तरिम समझदारी असफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त फेरि तीव्र बनेको छ। अमेरिकाले इरानभित्रका पुल, विद्युत् पूर्वाधार तथा अन्य रणनीतिक संरचनामा आक्रमण जारी राखेको छ भने इरानले कुवेतका विद्युत् केन्द्र र समुद्री पानी प्रशोधन संयन्त्रलाई लक्षित गरी जवाफी आक्रमण गरेको दाबी गरेको छ।

इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएसँगै संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढाएको छ।

होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी यो द्वन्द्व आठौँ दिनमा प्रवेश गरेको छ। विश्वव्यापी तेल तथा प्राकृतिक ग्यासको करिब २० प्रतिशत आपूर्ति यही जलमार्ग हुँदै हुने भएकाले यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा समेत प्रभाव पार्ने चिन्ता बढेको छ।

गिरोहको कब्जामा सरकार?

काठमाडौं । प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारप्रति सुरुवातमा देखिएको अभूतपूर्व जनसमर्थन पछिल्ला चार महिनामा क्रमशः कमजोर बन्दै गएको छ। पुराना राजनीतिक दलप्रतिको निराशाबीच परिवर्तनको आशा बोकेर सत्तामा पुगेका बालेनलाई सुरुवाती दिनमा भ्रष्टाचारविरोधी, नयाँ राजनीतिक संस्कृतिका वाहक र देश रूपान्तरण गर्न सक्ने नेतृत्वका रूपमा हेरिएको थियो। देशभित्र मात्र होइन, विदेशमा रहेका नेपाली समुदायले पनि उनको खुलेर समर्थन गरेका थिए।

तर, सरकार गठनको चार महिना नपुग्दै समर्थकहरू उत्साहबाट ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन्। सरकारको कार्यशैली, अपेक्षित परिणाम दिन नसक्नु र केही विवादास्पद घटनाले जनविश्वासमा असर पारेको छ।

यो बीचमा सुकुम्बासी व्यवस्थापन सरकारको सबैभन्दा ठूलो असफलता रह्यो। नदीकिनारका बस्ती हटाउँदा वैकल्पिक व्यवस्थापन र लालपुर्जा वितरणको प्रतिबद्धता गरिए पनि तीन महिनासम्म कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै यसले सरकारको विश्वसनीयतामा प्रश्न उठ्यो।

यस्तै, प्रधानमन्त्रीको अनौपचारिक सार्वजनिक प्रस्तुति, सामाजिक सञ्जालको प्रयोग र केही प्रतीकात्मक गतिविधिलाई ठूलो समस्या नभए पनि जनताले अपेक्षा गरेको मुख्य विषय भने सेवा प्रवाह र नतिजा रहेको छ। सरकारका लागि अब सय दिनपछिको ‘हनिमुन अवधि’ समाप्त भएकाले विगतका सरकारलाई दोष दिएर मात्र उम्किने अवस्था छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साहबीच समन्वय अपेक्षाअनुसार हुन नसकेका समाचार पनि सार्वजनिक भइरहेका छन्। सुकुम्बासी व्यवस्थापन, संघ-स्थानीय तहबीचको अधिकार विवाद तथा सरकारको प्रभावकारिताबारे दुवै नेताबीच छलफल भएको भए पनि आवश्यक राजनीतिक तालमेल कमजोर देखिएको छ।

सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएका घटनालगायत विवादित विषयमा सरकारले गम्भीर अनुसन्धान नगरेको भन्दै आलोचना भइरहेको छ। यस्ता घटनाले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रश्न उठाएको लेखको निष्कर्ष छ।

लेखले सरकारभित्र कुनै ‘अदृश्य’ वा ‘भूमिगत प्रभाव समूह’ सक्रिय रहेको दाबी पनि हुने गरेको छ। उक्त समूहले सरकारका निर्णय, सार्वजनिक गतिविधि र राजनीतिक रणनीतिमा प्रभाव पारिरहेको आरोप छ। 

बाढीले बगाउँदा २ जनाको मृत्यु

खोटाङ । खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको बाढीमा बगेर दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार रहेका छन्।

नेर्पाका वडाध्यक्ष माधव राईका अनुसार आफन्तको घरबाट फर्किने क्रममा स्थानीय छाँगे खोलामा आएको बाढीले बगाउँदा शान्ता राई बेपत्ता भएकी थिइन्। ढिलोसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी गर्दा उनको शव खोलामा फेला परेको हो।

त्यसैगरी, केपिलासगढी गाउँपालिका–४ स्थित गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा पर्शुराम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

लगातारको वर्षापछि जिल्लाका साना खोलानाला र खोल्सीहरूमा पानीको बहाव बढेकाले स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

स्कुटर चालकको मृत्यु

बुटवल। बुटवलको राजमार्ग चौराह क्षेत्रमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भैरहवा निवासी ६० वर्षीय ताराचन सुनार रहेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले ट्राफिक प्रहरीकै अगाडि स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका सुनारलाई तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ। उनीमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरीले जनाएको छ।

हामी कुनै पार्टीसँग मिल्दैनौँ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा मिलेर प्रदेश सरकार गठन गर्ने प्रस्ताव आएको खुलासा गर्दै त्यसलाई अस्वीकार गरेको बताएका छन्।

ललितपुरमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार’ तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै थापाले तीन दलको संयुक्त सरकार बनाउने प्रस्ताव नागरिकले दिएको जनादेशविपरीत हुने भएकाले कांग्रेस त्यसमा सहमत हुन नसक्ने स्पष्ट पारे।

‘अहिले तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउने प्रस्ताव आएको छ। हामीले त्यसलाई गलत भनेका छौं। यसो गर्नु नागरिकले दिएको म्यान्डेटको सम्मान हुँदैन,’ उनले भने।

बागमती प्रदेश सरकारको भविष्यबारे उठेका प्रश्नको जवाफ दिँदै थापाले कांग्रेस सत्ता प्राप्तिका लागि आफ्नो सिद्धान्तसँग सम्झौता नगर्ने बताए।

उनले प्रदेशमा प्रमुख तीन दल मिलेर सरकार गठन गर्नु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने प्रयास भएको टिप्पणी गरे। उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सशक्त प्रतिपक्ष आवश्यक रहने भएकाले सबै दल सरकारमै सहभागी हुने अभ्यास उचित नहुने बताए।

थापाले विगतमा सत्ता केन्द्रित राजनीतिका कारण अस्थिरता बढेको उल्लेख गर्दै अब कांग्रेसले आफ्नो सोच र प्राथमिकता परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गरेको बताए। ‘एउटासँग चुनावी गठबन्धन गर्ने, अर्कोसँग सरकार बनाउने प्रवृत्तिले राजनीति अस्थिर बनायो। सत्ता नै सबैथोक भन्ने सोचले मुलुकलाई सही दिशामा लैजान सकेन,’ उनले भने।

यता, कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाइसकेको छ भने मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गरिसकेको छ। एमालेसँगको पूर्वसमझदारीलाई निरन्तरता नदिने पक्षमा कांग्रेस नेतृत्व देखिएकाले कर्णाली प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे राजनीतिक छलफल तीव्र बनेको छ।

बालेन सरकार ५ वर्ष टिक्दैन : कुलमान घिसिङ

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वर्तमान अवस्था कायम रहे सरकार पाँच वर्ष टिक्न कठिन हुने बताएका छन्।

पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले जनअपेक्षाअनुसार काम नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी पनि दिए।

घिसिङले सरकार पाँच वर्ष पूरा गरोस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै वर्तमान कार्यशैलीले त्यो सम्भावना कमजोर बनाइरहेको बताए। उनका अनुसार रास्वपाले सार्वजनिक रूपमा गर्ने प्रतिबद्धता र व्यवहारमा देखिएको कार्यशैलीबीच अन्तर देखिएको छ।

उनले जनताले ठूलो विश्वासका साथ दुई तिहाइको समर्थन दिएर सरकार बनाएको स्मरण गराउँदै सरकार नागरिकका अपेक्षा, आवश्यकता र माग सम्बोधन गर्न जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताए।

पछिल्ला केही महिनामा आत्मदाहका घटनाहरू बढ्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै घिसिङले त्यसलाई केवल छुट्टाछुट्टै घटना नभई समाजमा बढ्दो निराशाको संकेतका रूपमा व्याख्या गरे। उनले यस्तो अवस्था सिर्जना हुनुमा सबै पक्ष जिम्मेवार भए पनि मुख्य जिम्मेवारी सरकारकै हुने धारणा राखे।

सांसद खुस्बु ओलीलाई फेसबुकमार्फत धम्की दिएको आरोपमा दुई जना पक्राउ

चितवन । सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिएको तथा चरित्रहत्या गर्ने उद्देश्यले सामग्री प्रकाशित गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका-१६ निवासी तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भई हाल नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले सांसद ओलीविरुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण र मानहानि हुने प्रकृतिका सामग्री पोस्ट गरेका थिए।

तेजेन्द्रप्रसाद पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सदस्य रहेको जिल्ला पार्टी स्रोतले जनाएको छ। उनी पार्टीको औपचारिक संगठनात्मक जिम्मेवारीमा भने नरहेको स्रोतको भनाइ छ।

चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार सांसद ओलीको उजुरीका आधारमा साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौंमा दर्ता भएको थियो। त्यसपछि नेपाल प्रहरीको साइबर ब्यूरोले उनीहरूको पहिचान गरी चितवन प्रहरीलाई जानकारी गराएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो।

सार्वजनिक बिदा परेकाले आइतबार उनीहरूविरुद्ध म्याद थप गर्न नसकिएको र त्यसैले औपचारिक रूपमा परिचय सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ। यद्यपि, नियन्त्रणमा लिइएकामध्ये एक जना रास्वपाका कार्यकर्ता रहेको जानकारी प्राप्त भएको एसपी पौडेलले बताए।

प्रहरीले सोमबार जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ। हालको कानुनी व्यवस्थाअनुसार साइबर अपराधसम्बन्धी उजुरी जुनसुकै स्थानमा दर्ता भए पनि आवश्यक प्रक्रिया सम्बन्धित प्रहरी कार्यालयबाट अघि बढाउन सकिने व्यवस्था छ।

द्रौपदीको चीरहरणपछि

काठमाडौं। महाभारतमा वर्णित द्यूतक्रीडाको प्रसङ्ग जुवाको खेल थिएन। यही एउटा घटनाले कौरव-पाण्डवबीचको सम्बन्ध सधैँका लागि टुट्यो, धर्म र अधर्मबीचको रेखा स्पष्ट बनायो र अन्ततः कुरुक्षेत्रको महासंग्रामको आधार तयार गर्‍यो।

यसै घटनासँग जोडिएको अर्को चर्चित प्रसङ्ग हो-उद्धव र श्रीकृष्णबीच भएको संवाद। यस संवादमा उद्धवले भगवान् श्रीकृष्णसँग एउटा यस्तो प्रश्न राख्छन्, जुन प्रश्न आज पनि धेरै मानिसको मनमा उठ्ने गर्छ-यदि श्रीकृष्ण सर्वज्ञ र सर्वशक्तिमान् थिए भने द्रौपदीको अपमान हुनुअघि नै किन रोक्नुभएन?

द्यूतक्रीडाको दिन हस्तिनापुरको राजसभा मानिसहरूले भरिएको थियो। कौरवहरूको तर्फबाट मामा शकुनिले पासा खेलिरहेका थिए भने पाण्डवहरूको तर्फबाट धर्मराज युधिष्ठिर आफैँ खेलमा सहभागी थिए। खेल अघि बढ्दै जाँदा युधिष्ठिरले एकपछि अर्को गर्दै आफ्नो सम्पत्ति, राज्य, ऐश्वर्य र अधिकार गुमाए। त्यसपछि उनले आफ्ना भाइहरूलाई दाउमा राखे र अन्ततः आफ्नी पत्नी द्रौपदीलाई समेत दाउमा लगाए। शकुनिको चतुर चालका कारण उनी प्रत्येक बाजीमा पराजित हुँदै गए।

खेल सकिएपछि दुर्योधनले आफूले द्रौपदीलाई जितेको घोषणा गर्‍यो। त्यसपछि उसले आफ्ना भाइ दुःशासनलाई द्रौपदीलाई राजसभामा ल्याउन आदेश दियो। दुःशासन द्रौपदी बसेको स्थानमा पुग्यो र उनलाई जबर्जस्ती कपाल समातेर घिसार्दै राजसभामा ल्यायो।

सभामा भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्य, विदुर, धृतराष्ट्र र अन्य धेरै विद्वान् तथा योद्धाहरू उपस्थित थिए। उनीहरू धर्म, नीति र न्यायका ज्ञाता मानिन्थे। तर त्यति ठूलो अन्याय आफ्नै आँखाअगाडि भइरहँदा पनि कसैले निर्णायक रूपमा विरोध गरेन। त्यो मौनताले अन्यायलाई अझ बलियो बनायो।

राजसभामा पुगेपछि द्रौपदीले सबैभन्दा पहिले एउटा प्रश्न उठाइन्। उनले सोधिन्, ‘जसले पहिले नै आफूलाई हारिसकेको छ, उसलाई आफ्नी पत्नीलाई दाउमा राख्ने अधिकार रहन्छ कि रहँदैन?’ यो प्रश्नले सभा केहीबेर मौन बन्यो। कसैसँग स्पष्ट उत्तर थिएन। विदुरले विरोध जनाए, विकर्णले पनि द्रौपदीको पक्षमा बोले, तर दुर्योधनले कसैको कुरा सुनेन।

केहीबेरपछि दुर्योधनले दुःशासनलाई द्रौपदीको वस्त्र खोस्न आदेश दियो। सुरुमा द्रौपदीले आफ्नै शक्तिले प्रतिरोध गरिन्। उनले आफ्नो वस्त्र समातिन्, सभामा उपस्थित सबैसँग न्यायको याचना गरिन् र धर्मको रक्षा गर्न आग्रह गरिन्। तर जब कतैबाट पनि सहयोग प्राप्त भएन, तब उनले सबै प्रयास त्यागेर पूर्ण विश्वासका साथ श्रीकृष्णलाई पुकारिन्।

महाभारतमा वर्णन गरिएअनुसार त्यसपछि एउटा चमत्कार भयो। दुःशासनले जति वस्त्र तान्यो, द्रौपदीको वस्त्र उति नै बढ्दै गयो। अन्ततः ऊ थाक्यो, तर द्रौपदीको लाज जोगियो।

यही घटनाले उद्धवको मनमा एउटा प्रश्न जन्मायो। एक दिन उनले श्रीकृष्णसँग भने, ‘हे माधव! तिमी पाण्डवहरूका सबैभन्दा निकट मित्र थियौ। उनीहरूले तिमीमाथि पूर्ण विश्वास गर्थे। तिमीलाई भविष्यमा के हुने हो भन्ने सबै थाहा थियो। त्यसो भए युधिष्ठिरलाई जुवा खेल्न किन रोकेनौ? उनी राज्य हार्दै गर्दा किन केही बोलेनौ? भाइहरूलाई दाउमा लगाउँदा किन मौन बस्यौ? द्रौपदीलाई दाउमा राख्दा पनि किन हस्तक्षेप गरेनौ? तिमी त्यतिबेला मात्र किन आयौ, जब उनको चीरहरण सुरु भइसकेको थियो?’

उद्धव यतिमै रोकिएनन्। उनले थप भने, ‘यदि तिमीले चाहेको भए पासाको परिणाम परिवर्तन गर्न सक्थ्यौ। शकुनिको चाल विफल बनाउन सक्थ्यौ। द्यूतक्रीडा नै हुन नदिन सक्थ्यौ। द्रौपदीलाई अपमानित हुनुअघि नै बचाउन सक्थ्यौ। त्यसो हुँदा यति ठूलो घटना नै हुने थिएन। त्यसपछि अन्तिम क्षणमा पुगेर लाज जोगाएको श्रेय कसरी लिन मिल्छ?’

श्रीकृष्णले उद्धवका सबै प्रश्न शान्त भएर सुनिरहे। त्यसपछि मुस्कुराउँदै भने, ‘प्रिय उद्धव, संसारमा धर्मसँगै विवेक पनि आवश्यक हुन्छ। केवल धर्मको पक्षमा हुनु पर्याप्त हुँदैन। सही समयमा सही निर्णय गर्न सक्नुपर्छ। दुर्योधनलाई पासा खेल्न आउँदैनथ्यो। त्यसैले उसले आफ्नो कमजोरी स्वीकार गर्‍यो र शकुनिलाई आफ्नो प्रतिनिधि बनायो। यही उसको विवेक थियो।’

श्रीकृष्णले थप भने, ‘युधिष्ठिरले पनि चाहे आफ्नो तर्फबाट मलाई खेल्न आग्रह गर्न सक्थ्यो। यदि शकुनि र म आमनेसामने पासा खेलिरहेका हुन्थ्यौँ भने परिणाम के हुन्थ्यो, त्यो तिमी आफैँ अनुमान गर्न सक्छौ। तर उसले त्यसो गरेन।’

त्यसपछि श्रीकृष्णले एउटा यस्तो कुरा बताए, जुन उद्धवलाई पनि थाहा थिएन।

‘युधिष्ठिरले मसँग एउटा वचन लिएको थियो। उसले नबोलाएसम्म द्यूतक्रीडा भइरहेको सभामा नआउन आग्रह गरेको थियो। मैले त्यो वचनको सम्मान गरेँ। म बाहिर नै प्रतीक्षा गरिरहेको थिएँ।’

श्रीकृष्णले अगाडि भने, ‘भीम, अर्जुन, नकुल र सहदेव कसैले पनि मलाई सम्झेनन्। उनीहरू आफ्नो क्रोध, पीडा र असहायतामै डुबिरहेका थिए। द्रौपदीले पनि सुरुमा आफ्नै शक्तिमा भरोसा गरिन्। उनले सभामा उपस्थित सबैसँग न्याय मागिन्। आफ्नो बलले प्रतिरोध गरिन्। तर जब उनले सबै आशा त्यागिन्, आफ्नो अहंकार छोडिन् र सम्पूर्ण विश्वासका साथ मलाई पुकारिन्, त्यही क्षण म उनको सहायता गर्न पुगेँ।’

उद्धव अझै सन्तुष्ट भएनन्। उनले फेरि सोधे, ‘के यसको अर्थ तिमीलाई नबोलाएसम्म तिमी कसैको सहायता गर्दैनौ?’

श्रीकृष्णले उत्तर दिए, ‘उद्धव, यो सृष्टि प्रत्येक जीवको कर्मले चल्छ। म सबैसँग साक्षीका रूपमा रहन्छु, तर प्रत्येक निर्णय मानिस आफैँले गर्नुपर्छ। यदि म हरेक निर्णयमा हस्तक्षेप गर्न थालेँ भने कर्मको नियम नै समाप्त हुन्छ।’

उद्धवले फेरि जिज्ञासा राखे, ‘यदि तिमी केवल साक्षी हौ भने मानिसहरूले गल्ती गरिरहँदा पनि हेरेर बस्छौ?’

श्रीकृष्णले गम्भीर स्वरमा भने, ‘साक्षी हुनुको अर्थ निष्क्रिय हुनु होइन। जब मानिसले म हरेक क्षण उसको साथमा छु भन्ने अनुभूति गर्छ, उसले गलत काम गर्न सक्दैन। तर जब ऊ आफूले गरेको कर्म कसैले देख्दैन भन्ने भ्रममा पर्छ, त्यहीँबाट अधर्म सुरु हुन्छ।’

उहाँले थपे, ‘युधिष्ठिरको सबैभन्दा ठूलो भूल यही थियो। उसले म सबै कुरा जान्छु भन्ने सत्यलाई केही समयका लागि बिर्सियो। यदि उसले म सधैँ उसको साथमा छु भन्ने चेतना राखेको भए, सायद द्यूतक्रीडाको निर्णय नै फरक हुने थियो।’

श्रीकृष्णका यी वचन सुनेपछि उद्धव मौन भए। उनले बुझ्न थाले कि ईश्वरलाई संकट पर्दा सम्झिने होइन, हरेक कर्मअघि उहाँलाई साक्षी ठानेर निर्णय लिनु नै वास्तविक आध्यात्मिकता हो। मानिसले जब आफ्नो बुद्धि, विवेक र कर्मलाई ईश्वरको उपस्थितिसँग जोड्छ, तब उसले अधर्मको बाटो रोज्दैन।

मुसोलिनीका अन्तिम दिनहरू

काठमाडौं। इतिहासमा केही यस्ता शासकहरू छन्, जसको उदय जति नाटकीय थियो, पतन पनि त्यत्तिकै दर्दनाक रह्यो। इटालीका फासिस्ट नेता बेनिटो मुसोलिनी त्यस्ता शासकमध्ये एक हुन्।

करिब दुई दशकसम्म इटालीमा निरंकुश शासन चलाएका मुसोलिनीले आफूलाई नयाँ रोमन साम्राज्यको निर्माता ठान्थे। उनको भाषण सुन्न हजारौँ मानिस सडकमा उत्रिन्थे, उनको आदेश नै कानुन बन्थ्यो र उनको विरोध गर्नु मृत्यु निम्त्याउनुजस्तै मानिन्थ्यो। तर दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सबै दृश्य उल्टियो।

जसले लाखौँ मानिसमाथि शासन गरेका थिए, अन्ततः उनी आफ्नै देशमा लुक्दै भाग्न बाध्य भए। केही दिनपछि उनी पक्राउ परे, गोली हानी मारिए र मृत्युपछि पनि उनको शव सार्वजनिक रूपमा अपमानित गरियो। विश्व इतिहासमा यो घटनालाई कुनै पनि तानाशाहको सबैभन्दा भयावह अन्त्यमध्ये एक मानिन्छ।

सन् १९४५ को अप्रिलसम्म आइपुग्दा मुसोलिनीको शासन पूर्ण रूपमा कमजोर भइसकेको थियो। मित्रराष्ट्रका सेना उत्तर इटालीतर्फ तीव्र गतिमा अघि बढिरहेका थिए भने इटालीका प्रतिरोधी लडाकु ‘पार्टीजन’हरूले गाउँ-सहरमा फासिस्ट सेनामाथि लगातार आक्रमण गरिरहेका थिए।

जर्मनीका तानाशाह एडोल्फ हिटलरको शासन पनि ढल्ने अवस्थामा पुगेको थियो। यस्तो परिस्थितिमा मुसोलिनीसँग सत्ता जोगाउने कुनै सम्भावना बाँकी थिएन।

एक समय आफूले अन्तिम साससम्म युद्ध लड्ने घोषणा गरेका मुसोलिनीले अब युद्धभूमिमा होइन, भागेर ज्यान बचाउने बाटो रोजे। उनी आफ्नी प्रेमिका क्लारेटा पेटाची, केही फासिस्ट अधिकारी र जर्मन सैनिकहरूको सहयोगमा उत्तरतर्फ स्विट्जरल्याण्ड पुग्ने योजनामा थिए।

केही इतिहासकारहरूका अनुसार उनी स्विट्जरल्याण्ड पुगेर राजनीतिक शरण लिन चाहन्थे भने केहीले उनी अस्ट्रियास्थित नाजी नियन्त्रण क्षेत्रमा पुग्ने प्रयासमा रहेको उल्लेख गरेका छन्।

मुसोलिनीले आफ्नो पहिचान लुकाउन जर्मन सैनिकको ओभरकोट, स्टील हेल्मेट र सैनिक पोशाक लगाएका थिए। उनी जर्मन सेनाको एउटा काफिलाभित्र बसेर सीमा पार गर्ने योजनामा थिए। तर भाग्यले उनको साथ दिएन।

२७ अप्रिल १९४५ मा कोमो ताल नजिकै पार्टीजनहरूले जर्मन सैनिकहरूको काफिला रोके। सुरुवातमा उनीहरूले केवल जर्मन सैनिकहरूको जाँच गरिरहेका थिए। केहीबेरपछि काफिलाभित्र रहेका इटालियनहरूलाई छुट्ट्याउने क्रममा एक प्रतिरोधी लडाकुले मुसोलिनीमाथि शंका गर्‍यो। हेल्मेट हटाइयो, चस्मा निकालियो र केही क्षणमै सबैले उनलाई चिने।

एक समय इटालीभरि आफ्नो तस्वीर टाँस्ने मुसोलिनी अब भीडको बीचमा टाउको झुकाएर बसेका थिए। पक्राउ पर्दा उनले कुनै प्रतिरोध गरेनन्। केही ऐतिहासिक विवरणअनुसार उनले शान्त स्वरमा आफू नै मुसोलिनी भएको स्वीकार गरेका थिए।

मुसोलिनीलाई पक्राउ गरेपछि उनी र क्लारेटा पेटाचीलाई अलग-अलग राखियो। पार्टीजन नेतृत्वले उनीहरूलाई के गर्ने भन्ने विषयमा छलफल गर्‍यो।

युद्ध अन्तिम अवस्थामा पुगिसकेको थियो। फासिस्ट शासनले हजारौँ मानिसको ज्यान लिएको भन्दै प्रतिरोधीहरू उनीमाथि कुनै दया देखाउने पक्षमा थिएनन्।

२८ अप्रिल १९४५ को बिहान मुसोलिनी र क्लारेटालाई एउटा सानो गाउँतर्फ लगियो। त्यसपछि दुवैलाई गोली हानी हत्या गरियो।

कसले गोली चलायो र वास्तविक घटनास्थल कहाँ थियो भन्ने विषयमा आजसम्म इतिहासकारहरूबीच मतभेद छ। केही स्रोतले पार्टीजन नेता वाल्टर अडिसियोलाई जिम्मेवार ठान्छन् भने अन्य स्रोतहरूले फरक विवरण प्रस्तुत गरेका छन्।

केही प्रत्यक्षदर्शीहरूले मुसोलिनी अन्तिम समयमा निकै मौन रहेको बताएका छन्। कतिपय स्रोतमा उनले जीवनदान मागेको उल्लेख छ भने केहीमा ‘मेरो छातीमा गोली हान’ भनेको दाबी गरिएको छ। यी विवरणहरू इतिहासकारहरूबीच विवादित विषयकै रूपमा रहेका छन्।

मुसोलिनीको हत्या भएपछि उनी, क्लारेटा पेटाची र अन्य मृतकहरूको शव ट्रकमा राखेर मिलानको पियाजाले लोरेटो चोकमा ल्याइयो। यो स्थान प्रतीकात्मक थियो। आठ महिनाअघि यही ठाउँमा मुसोलिनीको आदेशमा १५ जना प्रतिरोधी लडाकुलाई गोली हानी मारिएको थियो।

बिहान रेडियो र पत्रपत्रिकाले मुसोलिनीको मृत्युको खबर सार्वजनिक गरेपछि हजारौँ मानिस लोरेटो चोकमा जम्मा भए। लामो समयसम्म फासिस्ट शासनको दमन भोगेका सर्वसाधारणमा आक्रोश चरममा थियो। त्यसैले शव देख्नासाथ भीडले आफ्नो रिस पोख्न थाल्यो।

कसैले शवमा थुक्यो। कसैले लात्ती हान्यो। कसैले अपशब्द प्रयोग गर्‍यो। केही महिलाले आफ्ना परिवारका सदस्यहरू फासिस्ट शासनका कारण मारिएको भन्दै शवमाथि गोली चलाएको र कोर्राले प्रहार गरेको उल्लेख विभिन्न ऐतिहासिक पुस्तकहरूमा गरिएको छ। त्यो दृश्य प्रतिशोधको चरम अभिव्यक्ति थियो।

केहीबेरपछि मुसोलिनी, क्लारेटा पेटाची र अन्य केही व्यक्तिका शवलाई फलामको संरचनामा खुट्टाबाट उल्टो झुण्ड्याइयो। यो दृश्य केही घण्टामै विश्वभरका समाचारपत्रको पहिलो पृष्ठमा छापियो।

झुण्ड्याइएको अवस्थामा मुसोलिनीको शवमाथि मानिसहरूले अझै अपमानजनक व्यवहार गरिरहे। क्लारेटाको शव झुण्ड्याउँदा उनको स्कर्ट माथि सरेको र पछि कसैले कपडा मिलाइदिएको विवरण पनि विभिन्न ऐतिहासिक अभिलेखमा पाइन्छ।

त्यो दिन लोरेटो चोकमा देखिएको दृश्य दोस्रो विश्वयुद्धको अन्त्यसँग जोडिएको सबैभन्दा चर्चित तस्बिरमध्ये एक बन्यो।

घटनास्थलमा रहेका विदेशी पत्रकारहरूले देखेको दृश्यलाई निकै भयावह रूपमा वर्णन गरेका छन्। उनीहरूका अनुसार मुसोलिनीको अनुहार रगतले लत्पतिएको थियो। हजारौँ मानिस उनको शव वरिपरि उभिएर चिच्याइरहेका थिए। कसैले विजयको खुसी मनाइरहेका थिए भने कसैले वर्षौँदेखिको पीडा पोखिरहेका थिए।

विश्वभरका सञ्चारमाध्यमहरूले यो घटनालाई फासिस्ट शासनको अन्तिम अध्यायका रूपमा प्रस्तुत गरे। कुनै समय युरोपका शक्तिशाली नेतामध्ये एक मानिने व्यक्ति अन्ततः आफ्नै देशको सडकमा अपमानित अवस्थामा देखिएको दृश्यले विश्वलाई स्तब्ध बनायो।

केही घण्टापछि अमेरिकी सैनिकहरूले हस्तक्षेप गरेर शवहरू त्यहाँबाट हटाए। मुसोलिनीको शवको पोस्टमार्टम गरियो। चिकित्सकहरूले टाउकोमा लागेको गोली नै मृत्युको मुख्य कारण भएको निष्कर्ष निकाले।

त्यसपछि उनको शव मिलानस्थित एउटा चिहानमा गाडियो। केही समयसम्म उनको समाधिस्थल गोप्य राखिएको थियो। पछि उनका समर्थकहरूले शव चोरेको घटना समेत इतिहासमा उल्लेख गरिएको छ र अन्ततः उनको जन्मस्थान प्रेडाप्पियोमा पुनः दफन गरियो।

इतिहासकारहरूका अनुसार मुसोलिनीको शवमाथि भएको सार्वजनिक अपमानको खबरले एडोल्फ हिटलरलाई गहिरो प्रभाव पारेको थियो। उनले आफ्नो शव कुनै पनि हालतमा शत्रुको हातमा नपरोस् भन्ने आदेश दिएका थिए।

त्यसको एक दिनपछि, ३० अप्रिल १९४५ मा, हिटलरले बर्लिनस्थित आफ्नो बंकरमा आत्महत्या गरे र उनका सहयोगीहरूले उनको शव जलाइदिए।

यसकारण अर्जेन्टिनाभन्दा बलियो छ स्पेन

काठमाडाैं। विश्वकपको फाइनल अब केही घण्टामै हुँदैछ। स्पेन आफ्नो दोस्रो विश्वकप उपाधिबाट केवल एक जित टाढा छ। स्पेनका लागि यो कुनै असाधारण प्रदर्शन गर्ने खेल नभई प्रतियोगिताभर देखाएको खेलशैली, धैर्य र आत्मविश्वासलाई निरन्तरता दिने अवसर हो। टोलीभित्र विश्वास छ कि अहिलेसम्म जसरी खेलिएको छ, त्यसैलाई दोहोर्याउन सके उपाधि जित्ने सम्भावना बलियो छ।

स्पेनले यस विश्वकपमा सातै खेलमा आफूलाई पछि पर्न दिएको छैन। समूह चरणमा केप भर्डेसँग बराबरी खेलेपछि पनि टोलीले आफ्नो रणनीति परिवर्तन गरेन। नकआउट चरणमा पोर्चुगल र बेल्जियमविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्दै जित निकाल्यो भने सेमिफाइनलमा फ्रान्समाथि प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। प्रतियोगिताभर स्पेनको सबैभन्दा ठूलो विशेषता सामूहिक खेल, मानसिक दृढता र आफ्नो पहिचानप्रतिको अडिग विश्वास बनेको छ।

प्रशिक्षक लुइस दे ला फुएन्तेको टोली सधैं बल आफ्नो नियन्त्रणमा राख्दै खेलमाथि प्रभुत्व जमाउने शैलीमा विश्वास गर्छ। परिस्थिति जस्तोसुकै भए पनि स्पेनले आफ्नो रणनीति परिवर्तन नगर्ने संकेत देखाएको छ। फाइनलमा अर्जेन्टिनाविरुद्ध सुरुआती दबाब वा पछि पर्ने अवस्था आए पनि टोली आफ्नो खेलशैलीबाट विचलित नहुने विश्वास स्पेनिस टोलीमा देखिन्छ।

यद्यपि, स्पेनका लागि सबैभन्दा ठूलो चुनौती साविक विश्वविजेता अर्जेन्टिना हुनेछ। लियोनेल मेस्सी उत्कृष्ट लयमा छन् र प्रतियोगिताभर निर्णायक प्रदर्शन गरेका छन्। उनी कुनै पनि क्षण खेलको नतिजा बदल्न सक्ने खेलाडी भएकाले स्पेनले विशेष सतर्कता अपनाउनुपर्नेछ। तर स्पेनको ध्यान केवल मेस्सीमा मात्र होइन, अर्जेन्टिनाको सम्पूर्ण टोलीमा हुनेछ।

विशेषगरी जुलियन आल्भारेजलाई स्पेनले निकै खतरनाक खेलाडीका रूपमा हेरिरहेको छ। उनी परम्परागत स्ट्राइकर मात्र होइन, खेल निर्माण गर्ने, विङमा खेल्ने र आवश्यक पर्दा पेनाल्टी क्षेत्रभित्र पुगेर गोल गर्ने क्षमता भएका बहुआयामिक खेलाडी हुन्। लगातार दौडिने, खाली स्थान सिर्जना गर्ने र दुवै खुट्टाले उत्कृष्ट प्रहार गर्न सक्ने उनको क्षमताले अर्जेन्टिनाको आक्रमण अझ बलियो बनाएको छ।

स्पेनको अर्को बलियो पक्ष भनेको उसको रक्षात्मक संयोजन हो। प्रतियोगिताभर टोलीले केवल एक गोल मात्र व्यहोरेको छ। रोड्री र फाबियान रुइजले मिडफिल्डमा उत्कृष्ट सुरक्षा दिएका छन् भने लामिन यामाल, एलेक्स बाएना, मिकेल ओयारजाबाल, पेड्रो पोरो र मार्क कुकुरेलालगायतका खेलाडीले आक्रमणसँगै रक्षामा पनि उत्तिकै योगदान दिएका छन्। बल गुम्नेबित्तिकै सबै खेलाडी रक्षात्मक भूमिकामा फर्किने टोलीको सामूहिक मानसिकताले स्पेनलाई सन्तुलित बनाएको छ।

प्रतियोगिताको सुरुआतमा केही खेलाडी पूर्ण रूपमा फिट नभए पनि विश्वकप अघि बढ्दै जाँदा टोलीको लय, आत्मविश्वास र फिटनेस दुवैमा सुधार आएको छ। लगातारको जितले पनि स्पेनलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ।

अब स्पेनका लागि लक्ष्य एउटै छ-प्रतियोगिताभर देखाएको अनुशासन, धैर्य र सामूहिक खेललाई फाइनलमा पनि कायम राख्ने। अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्त सहज नहुने निश्चित छ, तर स्पेन विश्वकपकै आफ्नो उत्कृष्ट लयमा मैदानमा उत्रिने विश्वासमा छ। यही प्रदर्शन दोहोर्याउन सके सन् २०१० पछि स्पेनले दोस्रो पटक विश्वकप ट्रफी उचाल्ने सपना साकार हुन सक्छ।

 

(एक स्पेनिस लेखकले लेखेको यो लेख बिबिसीबाट अनुवाद गरिएको हो) 

श्रमशोषणको आरोप लगाउँदै प्रशिक्षार्थी चिकित्सकको प्रदर्शन

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि श्रमशोषण भइरहेको आरोप लगाउँदै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रमशोषणविरुद्धको संघर्ष समिति’ को नेतृत्वमा भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक)लाई नेपालको श्रम ऐन, २०७४ अनुसार सेवा–सुविधा उपलब्ध गराउन सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।

उनीहरूले हाल आफूहरूलाई कानुनले तोकेको सीमाभन्दा बढी समय काममा खटाइँदै आएको गुनासो गर्दै प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय दैनिक अधिकतम १२ घण्टा र सातामा ७२ घण्टाभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयन गर्नुपर्ने तथा सातामा कम्तीमा एक दिन अनिवार्य बिदा सुनिश्चित गरिनुपर्ने माग राखेका छन्।

प्रदर्शनकारीहरूले सातामा ४८ घण्टाभन्दा बढी काम गराइए श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने मागसमेत अघि सारेका छन्।

यस्तै, सरकारले बजेटमार्फत घोषणा गरेको तलब वृद्धि तथा यसअघि भएको सहमतिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको बढेको पारिश्रमिक तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ।

एमबीबीएस र बीडीएस अध्ययन पूरा गरेपछि एमडी, एमएस तथा एमडीएस अध्ययनका लागि अनिवार्य गरिएको एक वर्षे कार्यअनुभव (वर्क एक्सपेरियन्स) को व्यवस्था खारेज गर्नुपर्ने माग पनि प्रदर्शनकारीहरूले गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले प्रशिक्षार्थी चिकित्सकको श्रमको उचित मूल्याङ्कन, कानुनअनुसार सेवा–सुविधा तथा सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

कपी गर्नेका दिन गए अब

काठमाडौं । सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) ले प्रयोगकर्ताबीचको संवादलाई थप अर्थपूर्ण र सुरक्षित बनाउने उद्देश्यले आफ्नो रिप्लाई र फिड एल्गोरिदममा नयाँ परिवर्तन गरेको छ। नयाँ अपडेटसँगै प्रयोगकर्ताले फलो गरेका तथा आफूलाई पनि फलो गर्ने (म्युचुअल फलोअर्स) का पोस्ट र रिप्लाईलाई बढी प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

एक्सका प्रोडक्ट प्रमुख निकिता बियरका अनुसार यसअघि साथीभाइ वा परिचित प्रयोगकर्ताका प्रतिक्रियालाई पर्याप्त प्राथमिकता नदिँदा रिप्लाई सेक्सनमा अपरिचित प्रयोगकर्ताबीच अनावश्यक विवाद, गालीगलौज र अस्वस्थ बहस बढी देखिने गरेको थियो।

उनका अनुसार नयाँ एल्गोरिदम लागू भएपछि प्रयोगकर्ताले आफ्ना चिनजानका वा समान रुचि भएका व्यक्तिहरूका प्रतिक्रिया पहिले देख्नेछन्। यसबाट अनावश्यक विवाद कम हुने, स्वस्थ संवादलाई प्रोत्साहन मिल्ने र प्लेटफर्ममा हुने छलफलको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।

‘कम्युनिटीज’ फिचर बन्द

यसैबीच, एक्सले समान रुचिका प्रयोगकर्तालाई समूहमा आबद्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याएको ‘कम्युनिटीज’ फिचर पनि बन्द गरेको छ। कम्पनीले उक्त सेवा यस वर्षको अप्रिलमै हटाइसकेको जनाएको छ।

कम्पनीका अनुसार यो फिचर कुल प्रयोगकर्तामध्ये एक प्रतिशतभन्दा कम ले मात्र प्रयोग गर्दै आएका थिए। तर प्लेटफर्ममा आउने स्पाम, वित्तीय ठगी र मालवेयरसम्बन्धी करिब ८० प्रतिशत रिपोर्ट यही फिचरसँग सम्बन्धित रहेको पाइएको थियो।

कम प्रयोग हुने तर व्यवस्थापनमा धेरै स्रोत खर्चिनुपर्ने भएकाले कम्पनीले ‘कम्युनिटीज’ सेवा बन्द गर्दै अब प्लेटफर्मका मुख्य फिचर सुधार र प्रयोगकर्ता अनुभवलाई थप प्रभावकारी बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने निर्णय गरेको जनाएको छ।

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै माइतीघरमा युवाहरूको प्रदर्शन

काठमाडौं । नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले समृद्ध नेपालको आधारका रूपमा आगामी २०८७ सालभित्र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप अधिकार र स्रोतसाधनसहित बलियो बनाउनुपर्ने, मन्त्रिपरिषद्को आकार १० सदस्यीयमा सीमित गर्नुपर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा सञ्चालन गर्नुपर्ने माग पनि अघि सारेका छन्।

यस्तै, नेपालमा सञ्चालनमा रहेका सबै बैंकको राष्ट्रियकरण गर्नुपर्ने, अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन अपराधीका लागि कडा कानुनी सजायको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

प्रदर्शनमा सहभागी युवा अर्जुन विश्वकर्माले सुकुम्बासी, भूमिहीन किसान तथा जग्गाविहीन वास्तविक नागरिकहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने बताए।

त्यसैगरी, हाल लागू रहेका शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गर्दै सिप, प्रविधि र व्यावहारिक शिक्षामा आधारित नयाँ पाठ्यक्रम लागू गर्नुपर्नेमा पनि प्रदर्शनकारीहरूले जोड दिएका छन्।

एक वर्षमा ५८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा कुल ५८ अर्ब एक करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको जनाएको छ।

विभागका अनुसार गत साउनदेखि असार मसान्तसम्म ‘अटोमेटिक रुट’ मार्फत ८९७ वटा परियोजनामा नौ अर्ब ५८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यस्तै ‘अप्रुभ्ड रुट’ मार्फत २१९ वटा परियोजनाका लागि ४८ अर्ब ४१ करोड ६६ लाख तीन हजार २५ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ।

क्षेत्रगत रूपमा हेर्दा उत्पादनमूलक क्षेत्रमा ६३ वटा परियोजनाका लागि तीन अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

ऊर्जा क्षेत्रमा चार वटा परियोजनामा सात अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने कृषिमूलक क्षेत्रमा १८ वटा परियोजनाका लागि २३ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

पर्यटन क्षेत्रमा २२७ वटा परियोजनामा १३ अर्ब ९९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

यस्तै, सबैभन्दा धेरै ७२७ वटा परियोजना सूचनाप्रविधि (आईटी) क्षेत्रमा दर्ता भएका छन्। ती परियोजनाका लागि दुई अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

रेशम-रञ्जिता घर झगडा सामाजिक सञ्जालमा

काठमाडौं । पूर्वसांसद रेशम चौधरी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ (चौधरी)बीच फेरि सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ। सामाजिक सञ्जालमार्फत दुवैले एकअर्कालाई लक्षित गर्दै टिप्पणी गरेपछि उनीहरूबीचको राजनीतिक तथा व्यक्तिगत विवाद पुनः चर्चामा आएको हो।

विवादको सुरुआत रञ्जिता श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै गरेकी थिइन्। उनले आफ्नै संगठनभित्र अस्थिरता सिर्जना गर्ने प्रवृत्तिमाथि व्यंग्य गर्दै टिप्पणी गरेकी हुन्। रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेटघाट गरेपछि रञ्जिताले उक्त अभिव्यक्ति सार्वजनिक गरेकी थिइन्।

रञ्जिताले आफ्नो स्टाटसमा ‘आफ्नै घरमा आगो लगाउनेले छिमेकीको घर जोगाउँछु भन्नु हास्यास्पद’ भएको उल्लेख गर्दै विगतमा पार्टीभित्र विशेष राष्ट्रिय भेला गराउने, अध्यक्ष हटाउने अभियान चलाउने तथा संसदीय दलको नेतृत्वलाई विवादमा तान्ने गतिविधि भएको आरोप लगाएकी छन्।

 

उनले कुनै प्रदेशमा आफ्नै दलको प्रतिनिधित्वसमेत नरहेको अवस्थामा अन्य दलका सांसदहरू बोलाएर सरकारको भविष्य निर्धारण गर्ने दाबी गर्नु राजनीतिक प्रभाव नभई प्रभावको भ्रम मात्र भएको टिप्पणी पनि गरेकी छन्।

रञ्जिताको स्टाटस सार्वजनिक भएको केही समयपछि रेशम चौधरीले पनि फेसबुकमार्फत जवाफ दिएका छन्। उनले आफूलाई लक्षित गर्दै हैसियत बनाइदिने व्यक्तिलाई नै समाप्त पार्ने प्रयास गर्नेहरू कहिल्यै कसैका हुन नसक्ने टिप्पणी गरेका छन्।

रेशमले घरमा भ्वाङ आफूले नपारेको दाबी गर्दै ‘आफैंले भित्तामा भ्वाङ पारेर अर्काको घर ताक्नेले बहुलट्ठीपन प्रदर्शन गरिरहेको’ आरोप लगाएका छन्।

 

रेशम र रञ्जिताबीचको लामो समयदेखिको विवादले नागरिक उन्मुक्ति पार्टीमा समेत गम्भीर असर पारेको छ। लगातारको मतभेदपछि रञ्जिता श्रेष्ठ नेकपा (माओवादी केन्द्र)मा समाहित भइसकेकी छन् भने रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीमै सक्रिय छन्।

२०७९ सालको निर्वाचनपछि पश्चिम तराईको राजनीतिमा उदाएको नागरिक उन्मुक्ति पार्टी पछिल्ला वर्षहरूमा लगातार कमजोर बन्दै गएको छ। गत वर्ष फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले देशभर एक पनि सिट जित्न नसकेपछि यसको राजनीतिक प्रभाव उल्लेखनीय रूपमा घटेको विश्लेषण भइरहेको छ।

थारु समुदायका केही अगुवाहरूले पनि पार्टीको कमजोर अवस्थाका लागि रेशम र रञ्जिताबीचको आन्तरिक विवाद तथा सार्वजनिक आरोप–प्रत्यारोपलाई प्रमुख कारणका रूपमा औंल्याउँदै आएका छन्।

तेस्रो स्थानको लागि भिड्दै फ्रान्स र इंग्ल्याण्ड, एम्बाप्पेको नजर गोल्डेन बुटमा

काठमाडाैं। विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि फ्रान्स र इङ्ल्यान्डबीच आइतबार बिहान रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार बिहान २:४५ बजे सुरु हुने खेलमा दुवै टोली हारको पीडा बिर्सँदै जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछन्।

उपाधिका प्रमुख दाबेदारमध्ये एक मानिएको फ्रान्स सेमिफाइनलमा स्पेनसँग २-० ले पराजित भएको थियो। यता इङ्ल्यान्ड भने अर्जेन्टिनासँग अन्तिम क्षणमा २-१ ले पराजित हुँदै करिब ६ दशक लामो ठूलो अन्तर्राष्ट्रिय उपाधिको प्रतीक्षा फेरि लम्ब्याउन बाध्य बन्यो। अब दुवै टोलीको लक्ष्य कम्तीमा कांस्य पदक जितेर विश्वकप यात्रा टुंग्याउने रहेको छ।

डेसच्याम्प्सको फ्रान्ससँग अन्तिम खेल

यो खेल फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सका लागि विशेष हुनेछ। राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा उनको यो अन्तिम खेल हो।

समूह चरणकै क्रममा आमाको निधनको पीडा बेहोरेका डेसच्याम्प्सले १४ वर्षसम्म फ्रान्सको नेतृत्व गर्दै आधुनिक फुटबलका सफल प्रशिक्षकमध्ये आफूलाई स्थापित गरेका छन्। उनले सन् २०१८ मा फ्रान्सलाई विश्वकप उपाधि दिलाएका थिए भने २०२२ मा टोलीलाई फाइनल र २०२६ मा सेमिफाइनलसम्म पुर्‍याएका छन्। ५७ वर्षीय डेसच्याम्प्स आफ्नो सफल यात्राको अन्त्य जितका साथ गर्न चाहन्छन्।

एम्बाप्पेको लक्ष्य गोल्डेन बुट

फ्रान्सका कप्तान केलियन एम्बाप्पेका लागि यो खेल व्यक्तिगत रूपमा पनि निकै महत्वपूर्ण छ। गोल्डेन बुटको दौडमा उनी अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीसँग कडा प्रतिस्पर्धामा छन्।

मेस्सीले हालसम्म ८ गोल र ४ असिस्ट गरेका छन् भने एम्बाप्पेको नाममा ८ गोल र ३ असिस्ट छ। असिस्टका आधारमा मात्र मेस्सी अगाडि रहेका छन्।

यदि एम्बाप्पेले इङ्ल्यान्डविरुद्ध गोल गर्दै मेस्सीलाई उछिने भने उनी दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन्। साथै, विश्वकपमा मेस्सीको २१ गोलको कीर्तिमान बराबरी गर्न पनि उनी केवल एक गोल टाढा छन्।

‘तेस्रो स्थान हाम्रो लक्ष्य थिएन’ : टुचेल

इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले तेस्रो स्थानको खेल कुनै पनि टोलीको चाहना नहुने बताएका छन्।

उनले भने, ‘हाम्रा खेलाडी र फ्रान्सका खेलाडीमध्ये कसैले पनि यो खेल खेल्न चाहेका थिएनन्। सबैको सपना फाइनल खेल्ने थियो।’

फ्रान्सका प्रशिक्षक डेसच्याम्प्सले पनि त्यसमा सहमति जनाउँदै भने, ‘हामी जहाँ पुग्न चाहन्थ्यौँ, त्यहाँ पुग्न सकेनौँ। निराशा ठूलो छ, तर अब त्यसलाई स्वीकार्दै अन्तिम खेलमा राम्रो प्रदर्शन गर्नुपर्छ।’

दुवै टोलीको विश्वकप यात्रा

फ्रान्सले समूह चरणमा सेनेगललाई ३-१, इराकलाई ३-० र नर्वेलाई ४-१ ले हराउँदै शतप्रतिशत जित निकालेको थियो। त्यसपछि नकआउट चरणमा स्विडेनलाई ३-०, पाराग्वेलाई १-० र मोरक्कोलाई २-० ले पराजित गर्दै सेमिफाइनल पुगेको फ्रान्स स्पेनसँग २-० ले पराजित भएको थियो।

इङ्ल्यान्डले भने समूह चरणमा क्रोएसियालाई ४-२ ले हराउँदा घानासँग गोलरहित बराबरी खेलेको थियो। पानामालाई २-० ले हराएर नकआउट चरण पुगेको इङ्ल्यान्डले त्यसपछि कङ्गोलाई २-१, मेक्सिकोलाई ३-२ र नर्वेलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। तर सेमिफाइनलमा अर्जेन्टिनासँग २-१ ले हार बेहोर्नुपर्‍यो।

सुपरकम्प्युटरको अनुमान

अप्टा सुपरकम्प्युटरले २५ हजार सिमुलेसनका आधारमा फ्रान्सलाई खेलको प्रमुख दाबेदार मानेको छ। उसका अनुसार फ्रान्सको जित्ने सम्भावना ५०.७ प्रतिशत रहेको छ। इङ्ल्यान्डको जित्ने सम्भावना २५.६ प्रतिशत र खेल बराबरी हुने सम्भावना २३.७ प्रतिशत रहेको बताइएको छ।

हेड-टु-हेडमा कसको पलडा भारी?

विश्वकपमा भएका भेटमा इङ्ल्यान्डले सुरुआती दुई खेल जितेको थियो। सन् १९६६ मा इङ्ल्यान्ड २-० ले विजयी भएको थियो भने १९८२ मा पनि ३-१ को जित निकालेको थियो। पछिल्लो भेट भने २०२२ को विश्वकपमा भएको थियो, जहाँ फ्रान्स २-१ ले विजयी बनेको थियो।

समग्र अन्तर्राष्ट्रिय भेटमा भने फ्रान्सको पलडा भारी छ। पछिल्ला ९ भेटमध्ये फ्रान्सले ६ खेल जितेको छ, इङ्ल्यान्डले एक खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएका छन्।

सम्भावित रणनीति

उपाधिको दौड समाप्त भइसकेकाले दुवै टोलीले केही नयाँ खेलाडीलाई अवसर दिन सक्ने सम्भावना छ। तर गोल्डेन बुटको प्रतिस्पर्धाका कारण एम्बाप्पे सुरुदेखि नै मैदानमा उत्रने अपेक्षा गरिएको छ।

इङ्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले पनि समान ६-६ गोल गरेका छन्। दुवैले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुटको प्रतिस्पर्धालाई अन्तिमसम्म रोचक बनाउने प्रयास गर्नेछन्।

 

भारतको पहिलो निजी अर्बिटल रकेट ‘विक्रम–१’ सफल प्रक्षेपण

नयाँ दिल्ली। हैदराबादस्थित अन्तरिक्ष प्रविधि कम्पनी स्काईरूट एरोस्पेसले शनिबार भारतको पहिलो निजी अर्बिटल रकेट ‘विक्रम–१’ सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो उपलब्धिलाई भारतको निजी अन्तरिक्ष उद्योगका लागि ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

रकेटको प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित प्रक्षेपण केन्द्रबाट दिउँसो १२ः०५ बजे गरिएको हो। प्रारम्भिक तालिकाअनुसार बिहान ११ः३० बजे प्रक्षेपण गर्ने योजना भए पनि उडान हुनुभन्दा करिब पाँच मिनेटअघि प्राविधिक जाँचका लागि काउन्टडाउन रोकिएको थियो। केही समयपछि सबै प्रणाली सुरक्षित रहेको पुष्टि भएपछि प्रक्रिया पुनः सुरु गरियो र रकेट सफलतापूर्वक अन्तरिक्षतर्फ प्रस्थान गर्यो।

समाचार एजेन्सी पीटीआईका अनुसार परीक्षण उडानलाई ‘मिशन आगमन’ नाम दिइएको छ। यस मिशनमार्फत विक्रम–१ ले विभिन्न प्राविधिक परीक्षणसँग सम्बन्धित पेलोड अन्तरिक्षमा बोकेको छ। साथै, रकेटले प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र ‘कस्मिक ब्लूम’ नामक कलाकृति पनि साथमा लगेको छ।

स्काईरूट एरोस्पेसले यसअघि सन् २०२२ मा ‘विक्रम–एस’ नामक सबअर्बिटल रकेटको सफल प्रक्षेपण गरेको थियो। ‘विक्रम–१’ को सफल उडानसँगै भारतको निजी क्षेत्र अर्बिटल अन्तरिक्ष अभियानमा प्रवेश गरेको कम्पनीले जनाएको छ।

राइड सेयरिङमा नयाँ कर व्यवस्था, अब प्रत्येक १०० रुपैयाँ राइडमा ६ रुपैयाँ सरकारलाई

काठमाडौं। सरकारले राइड सेयरिङ सेवामा नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार प्रत्येक राइडबाट प्राप्त हुने आम्दानीमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र १ प्रतिशत कारोबार कर (टीडीएस) गरी कुल ६ प्रतिशत कर लाग्ने भएको हो।

नयाँ व्यवस्थासँगै राइड सेयरिङ कम्पनीहरूले आफ्ना राइडर तथा क्याप्टेनलाई सूचना जारी गर्दै उक्त कर रकम ‘तिर्न बाँकी रकम’ का रूपमा देखिने र अनिवार्य रूपमा बुझाउनुपर्ने जानकारी दिएका छन्।

हाल नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीहरूले एपमार्फत सेवा उपलब्ध गराएबापत छुट्टाछुट्टै कमिसन लिँदै आएका छन्। पठाओले अधिकतम २० प्रतिशत, इन्ड्राइभले १० प्रतिशत र याङ्गोले करिब ३ प्रतिशतसम्म सेवा शुल्क (कमिसन) लिने गरेका छन्।

सरकारले लागू गरेको नयाँ ६ प्रतिशत करसँगै अब राइडरहरूले कमिसन र करबापत मात्रै २६ प्रतिशतसम्म रकम तिर्नुपर्ने अवस्था आएको छ। यसबाहेक इन्धन, सवारीसाधनको मर्मत, मोबाइल डाटा, भ्वाइस सेवा तथा अन्य सञ्चालन खर्च भने राइडरले आफैं बेहोर्नुपर्ने हुन्छ।

नयाँ कर व्यवस्थाले राइडरहरूको आम्दानीमा असर पर्ने भन्दै यसबारे विभिन्न राइड सेयरिङ समूहले चासो व्यक्त गर्न थालेका छन्।:::

निर्देशनमा पुनरागमन गर्दै निर शाह

काठमाडौं। वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली फिल्म ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन्। शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै फिल्मको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पहिलो गीतमा निर शाहकै शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा गायक शिव परियारको स्वर रहेको छ।

फिल्मको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका छन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्। छायांकनको जिम्मेवारी सौरभ लामाले सम्हाल्नेछन्। यस्तै, पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा फिल्मसँग आबद्ध छन्।

निर्माण पक्षका अनुसार फिल्मको प्रि-प्रोडक्सन तयारी अन्तिम चरणमा पुगेको छ। कलाकार तथा अन्य प्राविधिक टोलीको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ।

लामो अनुभवका साथ नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याएका निर्देशक निर शाहले ‘प्रिन्स’ मार्फत नयाँ कथावस्तु र फरक शैलीको प्रस्तुति लिएर पुनः दर्शकमाझ फर्किने तयारी गरेका छन्। फिल्मको प्रदर्शन मिति भने हालसम्म घोषणा गरिएको छैन।

४ हजार साइकलयात्रीको सहभागितामा काठमाडौं कोरा च्यालेन्ज २०२६ सम्पन्न

काठमाडौं। नेपालकै सबैभन्दा ठूलो सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान काठमाडौं कोरा च्यालेन्ज २०२६ शनिबार उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। पाटन दरबार स्क्वायरबाट सुरु भएको अभियानमा करिब ४ हजार साइकलयात्री सहभागी भएका थिए। राजधानीका विभिन्न सडक र सांस्कृतिक सम्पदा क्षेत्र हुँदै सञ्चालन गरिएको यस अभियानले शिक्षा, वातावरण संरक्षण, स्वस्थ जीवनशैली तथा दिगो यातायातप्रति जनचेतना फैलाउने उद्देश्यलाई थप बलियो बनाएको आयोजकले जनाएको छ।

हरेक वर्ष आयोजना हुँदै आएको कोरा च्यालेन्ज नेपालमा साइकल संस्कृतिको विस्तार गर्ने प्रमुख अभियानका रूपमा स्थापित हुँदै गएको छ। यस वर्ष पनि विभिन्न उमेर समूह, पेशा र पृष्ठभूमिका सहभागीहरू एउटै उद्देश्यका साथ साइकल यात्रामा निस्किएका थिए। अभियानमा अनुभवी साइकलयात्रीदेखि पहिलो पटक सहभागी बनेकाहरूको पनि उल्लेखनीय उपस्थिति देखिएको थियो।

यस वर्ष सहभागीहरूले आफ्नो क्षमता र रुचिअनुसार ५०, ७५, १०० तथा १६५ किलोमिटरका चार फरक-फरक रुट रोजेका थिए। निर्धारित दूरी पूरा गरेपछि सबै सहभागीहरूले नगबहाल पुगेर आफ्नो यात्रा सम्पन्न गरेका थिए। लामो दूरीको यात्रामा सुरक्षा व्यवस्थापन, स्वास्थ्य सहायता तथा स्वयंसेवकहरूको सक्रिय परिचालन गरिएको थियो।

आयोजकका अनुसार काठमाडौं कोरा च्यालेन्ज केवल साइकल यात्रा मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान हो। अभियानबाट संकलित सहयोग शिक्षा क्षेत्रमा खर्च गरिने, वातावरण संरक्षणका गतिविधिलाई प्रोत्साहन गरिने तथा दैनिक जीवनमा साइकलको प्रयोग बढाएर प्रदूषण न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमको समापन समारोहमा निर्धारित दूरी सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई पदक प्रदान गरिएको थियो। त्यससँगै सांस्कृतिक प्रस्तुति, सामुदायिक भेटघाट तथा मनोरञ्जनात्मक कार्यक्रमले समापन समारोहलाई थप आकर्षक बनाएको थियो। बालबालिकालाई पनि साइकल संस्कृतिसँग जोड्ने उद्देश्यले ‘किड्स कोरा’ आयोजना गरिएको थियो, जहाँ साना बालबालिकाले सुरक्षित वातावरणमा साइकल चलाउँदै अभियानमा सहभागिता जनाएका थिए।

काठमाडौंमा बढ्दो सवारी चाप, वायु प्रदूषण र स्वास्थ्यसम्बन्धी चुनौतीबीच कोरा च्यालेन्जले दिगो यातायातको विकल्पका रूपमा साइकलको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ। समुदाय, स्वयंसेवक, निजी क्षेत्र र विभिन्न संस्थाको सहकार्यमा सञ्चालन हुँदै आएको यो अभियानले हरेक वर्ष हजारौं मानिसलाई एउटै मञ्चमा जोड्दै सामाजिक उत्तरदायित्व र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गरिरहेको छ।

आयोजकले आगामी वर्षहरूमा अभियानलाई अझ व्यापक बनाउने तथा देशका अन्य शहरहरूमा पनि यस्ता सामुदायिक साइकलिङ कार्यक्रम विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ। करिब चार हजार सहभागीको उपस्थितिले काठमाडौं कोरा च्यालेन्ज २०२६ नेपालमा सामुदायिक खेलकुद र सामाजिक अभियानलाई एकसाथ जोड्ने सफल उदाहरणका रूपमा पुनः स्थापित भएको छ।

सिंहदरबारमा बज्यो घण्टी

काठमाडौं। गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबार पुगेका दुई महिलालाई प्रहरीले शनिबार सिंहदरबारको दक्षिण गेटबाट हटाएको छ।

हिंसापीडित रहेको भन्दै लामो समयदेखि न्यायको माग गर्दै आएकी ‘कुमारी आमा’का नामबाट परिचित निहारिका राजपुत र बिनु यादव गृहमन्त्री सुधन गुरुङसँग प्रत्यक्ष भेटेर आफ्ना गुनासा राख्न माग गर्दै धर्नामा बसेका थिए। उनीहरूलाई प्रहरीले बल प्रयोग गर्दै गेट क्षेत्रबाट हटाएको हो।

राजपुत र यादव विगत पाँच दिनदेखि लगातार सिंहदरबार पुगेर गृहमन्त्रीसँग भेटको माग गर्दै धर्ना दिँदै आएका छन्। उनीहरूको भनाइअनुसार आफ्ना समस्या सम्बन्धित निकायसमक्ष प्रत्यक्ष रूपमा राख्ने प्रयास गरे पनि सुनुवाइ नभएपछि सिंहदरबारको गेटमै धर्ना दिन थालेका हुन्।

प्रहरीले भने सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै उनीहरूलाई सिंहदरबार प्रवेशद्वारबाट हटाएको जनाएको छ। पछिल्ला केही दिनदेखि उनीहरू धर्नामा बस्न पुगेपछि प्रहरीले हरेक दिनजसो हस्तक्षेप गर्दै गेट क्षेत्र खाली गराउँदै आएको छ।

फुटेको हो कांग्रेस?

काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको संकेत देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले सभापति गगन थापासँग पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकाल्दै अब नयाँ राजनीतिक रणनीतितर्फ अघि बढ्ने संकेत दिएको छ।

शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा इतर पक्षको नेतृत्व गरिरहेका नेता पूर्णबहादुर खड्काको अध्यक्षतामा देउवा समूहका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकमा बिपी स्मृति दिवसको तयारी, पार्टी एकताका लागि गठन गरिएको समितिको अवस्था, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा विस्तृत छलफल भएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकालिएको बताए। उनका अनुसार साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय भएको छ, जहाँ आगामी राजनीतिक दिशा तय गरिनेछ।

गगन थापा नेतृत्वको संस्थापन पक्षसँग सहमति हुने सम्भावना अब नरहेको भन्दै विश्वकर्माले भने, ‘मिल्ने लक्षण अब ९९ प्रतिशत देखिन्न।’ उनले एकताका लागि आफूहरूले निरन्तर प्रयास गरे पनि संस्थापन पक्षबाट वार्तालाई गम्भीर रूपमा नलिइएको आरोप लगाए।

विश्वकर्माले संस्थापन पक्षलाई नै पार्टी एकता गर्न इच्छा नभएको हुन सक्ने दाबी गरे। अब नयाँ राजनीतिक बाटो रोज्ने तयारी भइरहेको उल्लेख गर्दै उनले नेतृत्व, नीति, राजनीतिक सिद्धान्त, संगठनात्मक संरचना, विधान तथा पार्टी सञ्चालनको विधिबारे क्रमशः छलफल गरिने बताए।

नयाँ पार्टी गठनको सम्भावना र त्यसको नेतृत्वबारे सोधिएको प्रश्नमा उनले सबै विषय प्याकेजमै टुंगो लाग्ने प्रतिक्रिया दिए। विश्वकर्माले पार्टीको सम्भावित नाम, चुनाव चिन्ह, कानुनी प्रक्रिया र संगठनात्मक संरचनाबारे पनि आगामी दिनमा विस्तृत छलफल हुने जानकारी दिए। उनका अनुसार राष्ट्रिय भेलापछि नयाँ राजनीतिक विकल्पबारे थप स्पष्ट निर्णय सार्वजनिक गरिनेछ।

देउवा समूहको यो निष्कर्षले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब नयाँ मोडमा पुग्न सक्ने संकेत गरेको छ। यदि दुवै पक्षबीच अन्तिम समयसम्म पनि सहमति हुन सकेन भने कांग्रेसमा औपचारिक विभाजन वा नयाँ राजनीतिक शक्ति निर्माणको प्रक्रिया अघि बढ्न सक्ने आकलन गरिएको छ।

एकै परिवारका ३ जना पक्राउ

काठमाडाै। दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।

अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रहरी उपरीक्षक खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौँबाट पक्राउ गरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका-२ निवासी गोविन्द कुमार साहले व्यापार व्यवसाय गर्न गोपाल साहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर रु ९९ लाख ऋण लिएका थिए।

गोविन्द साहले दृष्टिबन्धकमा रजिष्ट्रेशन गरिदिएको जग्गापछि जग्गाधनीलाई थाहै नदिई गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखी रु चार करोड ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताए।

जनकपुरधामस्थित गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्सा बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले बताए।

पक्राउ परेका तीनै जनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपालकै पहिलो सडक सुरुङमार्गमा ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ सम्पन्न

काठमाडौं। काठमाडौंको नागढुंगा र धादिङको सिस्नेखोला जोड्ने नेपालकै पहिलो सडक सुरुङमार्गमा शनिबार ‘नागढुंगा टनेल फन रन एण्ड वाक’ कार्यक्रम सम्पन्न भएको छ।

सुरुङमार्ग सञ्चालनमा आउनुअघि आयोजना गरिएको कार्यक्रममा सर्वसाधारण, खेलाडी, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले सुरुङभित्र दौड र पदयात्रा गर्दै नेपालकै पहिलो सडक सुरुङमार्गको प्रत्यक्ष अनुभव लिएका थिए।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य सुरुङमार्गको प्रवर्द्धन गर्नुका साथै यसको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु हो। कार्यक्रमका क्रममा सहभागीहरूले सुरुङभित्रको संरचना, सुरक्षा व्यवस्था र पूर्वाधारको अवलोकन गरेका थिए।

काठमाडौं उपत्यकाको प्रवेशद्वार मानिने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं-धादिङ आवतजावत सहज हुने, यात्रा समय घट्ने तथा नागढुंगाको लामो ट्राफिक जामको समस्या कम हुने अपेक्षा गरिएको छ।

 

फेसबुकमा एमाले सचिव बस्नेत र कवि पराजुलीको जुहारी र काउन्टर

काठमाडौं। नेकपा (एमाले)का सचिव महेश बस्नेत र कवि अर्जुन पराजुलीले सरकार र अदालतको भूमिकालाई लिएर कवितामा जुहारी चलेको छ। विष्णु पौडेल रिहाई भएकोमा आपत्ति जनाउँदै सरकारको बचाउ गर्दै कविता लेखेका पराजुलीलाई बस्नेतले अदालत कानुनले चल्छ भन्दै काउन्टर दिएका छन्।  

एमाले सचिव बस्नेतले आफ्नो कवितामा सरकारको जिम्मेवारी अनुसन्धान र आरोप प्रस्तुत गर्ने तथा अदालतको जिम्मेवारी प्रमाण र कानुनका आधारमा न्याय सम्पादन गर्ने भएको उल्लेख गरेका छन्। उनले अदालतको निर्णयलाई सरकारसँगको प्रतिस्पर्धाका रूपमा नहेर्न आग्रह गर्दै सरकार र अदालत संविधानका दुई स्वतन्त्र आधार भएको बताएका छन्। बस्नेतले न्याय प्रमाणका आधारमा हुनुपर्ने र राजनीतिक प्रभावभन्दा कानुनी प्रक्रियाले नै जित्नुपर्ने सन्देश दिएका छन्।

यता कवि अर्जुन पराजुलीले व्यंग्यात्मक शैलीमा सरकार र अदालतबीच देखिएको अवस्थाको चित्रण गरेका छन्। उनले ‘सरकारले समाउँछ, अदालतले छोड्छ’ भन्ने पंक्तिलाई दोहोर्‍याउँदै पक्राउ र रिहाइको क्रमलाई व्यंग्य गरेका छन्। ‘नयाँ सरकार, पुरानो अदालत, कम्पिटिसन जोडका तोड छ’ भन्ने पंक्तिमार्फत उनले सरकार पक्राउ गर्न र अदालत रिहा गर्न निरन्तर लागिरहेको जस्तो सार्वजनिक धारणा झल्काएका छन्।

दुवै कविताले पछिल्ला न्यायिक निर्णय र राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा सरकार र अदालतको भूमिका तथा न्याय प्रणालीबारे सामाजिक सञ्जालमा बहस सिर्जना गरेका छन्।

सीजेपी संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा

नयाँदिल्ली। कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन्। पार्टीको आधिकारिक एक्स ह्यान्डलमार्फत शनिबार बिहान यसको जानकारी सार्वजनिक गरिएको हो।

पार्टीका अनुसार पर्यावरण अभियन्ता सोनम वाङचुकलाई दिल्ली प्रहरीले धर्नास्थलबाट नियन्त्रणमा लिएर अस्पताल लगेको घटनाको विरोधस्वरूप दीपकेले अनिश्चितकालीन भोक हडताल सुरु गरेका हुन्।

सीजेपीले एक्समा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘अभिजीत दीपके अनिश्चितकालीन अनशनमा बसेका छन्। जुलाई २० का लागि घोषणा गरिएको ‘चलो संसद्’ मार्च भने पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुनेछ।’

दीपकेले पनि सामाजिक सञ्जाल एक्समार्फत आफू अनिश्चितकालीन भोक हडतालमा बसेको पुष्टि गरेका छन्।

सोनम वाङचुकलाई प्रहरीले धर्नास्थलबाट अस्पताल लगेको घटनापछि भारतमा विरोध प्रदर्शन थप चर्किने संकेत देखिएको छ। यसैबीच, ‘चलो संसद्’ मार्चलाई पनि सीजेपीले पूर्ववत् रूपमा अघि बढाउने जनाएको छ।

– एजेन्सी

श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

सङ्खुवासभा। सङ्खुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ का स्थायी बासिन्दा तथा हाल मादी–४ डाँडागाउँमा बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार शनिबार बिहान करिब ६ बजे घरायसी विवादका क्रममा सार्कीले आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेलमाथि खुकुरी प्रहार गरेका थिए।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी फुलमायाको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि अमरबहादुर आफैं मादीस्थित मङ्लबारे प्रहरी चौकीमा पुगेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनामा प्रयोग गरिएको खुकुरीसहित अमरबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि ओखरबोटस्थित मादी नगर अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

गलत नियत सच्याउन गाह्रो हुन्छ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका निर्णयमा त्रुटि हुन सक्ने भए पनि जनतालाई अप्ठ्यारो पार्ने नीति आवश्यक परे परिवर्तन गर्न सकिने बताएका छन्। शुक्रबार रौतहटका विभिन्न पार्टी नेताहरूसँगको छलफलमा उनले सरकारको नियत र नीतिबीचको भिन्नताबारे धारणा राख्दै जनहितविपरीतका निर्णय सच्याउनुपर्ने बताएका हुन्।

लामिछानेले सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्ने उल्लेख गर्दै नियत खराब हुनु भने गम्भीर विषय भएको बताए। उनले भने, ‘सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ। नियत खराब भयो भने कहाँ करेक्सन गर्ने? नियत करेक्सन गर्न गाह्रो हुन्छ। दुई/चारवटा निर्णयले विवाद ल्याउन सक्छ।’

उनले किसान, मजदुर तथा गरिब-विपन्न वर्गलाई असर पार्ने कुनै पनि नीति दीर्घकालमा अनुपयुक्त देखिए परिवर्तन गर्न सकिने स्पष्ट पारे।

‘कुनै पनि सरकारले लिएको नीति किसानलाई अप्ठ्यारो पार्ने, मजदुर वर्गलाई अप्ठ्यारो पार्ने, गरिब-विपन्न वर्गलाई अप्ठ्यारो पार्ने कालान्तरमा देखिएको खण्डमा त्यस्ता कुनै पनि नीतिहरू परिवर्तन हुन्छन्। यो अपरिवर्तनीय कुरा होइन, परिवर्तन हुन सक्छ,’ उनले भने।

पार्टीका नेता-कार्यकर्ताले उठाएका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै लामिछानेले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन औपचारिक रूपमा पत्राचार गर्न आग्रह गरे। ‘आज तपाईँले भन्नुभएका कुराहरू मैले मनन गरेको छु। यसलाई औपचारिक रूपमा पत्रमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुहोस्। पार्टीले आफ्नो अभिभावकत्व लिनबाट कहिल्यै पछि हट्दैन। पार्टी अभिभावक हो, पार्टीले हेर्नेछ,’ उनले बताए।

नेतृत्वले दीर्घकालीन सोच र उद्देश्यका साथ नीति ल्याउने भए पनि कार्यान्वयनका क्रममा चुनौती आउन सक्ने उनको भनाइ थियो। ‘कहिलेकाहीँ व्यवहारमा उतार्न केही काम गरिन्छ। त्यसले धेरै ठूलो क्षति पुर्‍यायो भने रातारात परिवर्तन गर्नुपर्छ। तर कहिलेकाहीँ नेतृत्वले एउटा उद्देश्य र भिजनका साथ नीति ल्याएको हुन्छ। कार्यान्वयनका चुनौतीका कारण त्यसलाई असफल देखाउने भाष्य पनि सिर्जना हुन सक्छ,’ उनले भने।

देवेन्द्रराज पाण्डेलाई विभिन्न दलका नेता तथा शुभेच्छुकद्वारा माल्यार्पण

काठमाडौं। पूर्वमन्त्री, नागरिक अगुवा तथा लेखक डा. देवेन्द्रराज पाण्डेको पार्थिव शरीरमा शुक्रबार आफन्त, शुभेच्छुक तथा विभिन्न राजनीतिक दलका नेताहरूले माल्यार्पण गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

श्रद्धाञ्जली कार्यक्रममा परिवारका सदस्य, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता, बौद्धिक व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थितहरूले डा. पाण्डेको पार्थिव शरीरमा माल्यार्पण गर्दै नेपालको राजनीति, सुशासन, नागरिक आन्दोलन र बौद्धिक क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गरेका थिए।

डा. पाण्डे पूर्वमन्त्री, प्रखर लेखक तथा नागरिक अभियन्ताका रूपमा परिचित थिए। सार्वजनिक जीवनमा उनले लोकतन्त्र, सुशासन र सामाजिक उत्तरदायित्वका पक्षमा निरन्तर आवाज उठाउँदै आएका थिए।

हराएकी छात्रा मृत फेला

तनहुँ। देवघाट क्षेत्रबाट केही दिनअघि सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेकी छन्। नारायणी नदीमा सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले निरन्तर खोजी गरिरहेका बेला उनको शव नवलपुरको त्रिवेणीधाम क्षेत्रमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शवमा रहेको कपडा, हातमा लगाएको औँठी तथा कानमा लगाएको रिङका आधारमा परिवारका सदस्यले श्रेष्ठको पहिचान गरेका हुन्। धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि सम्पन्न भइसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल चितवनको गैँडाकोट नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी श्रेष्ठ गत असार १४ गते साँझ करिब ८ बजे बा.प्र.०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर डेराबाट निस्किएकी थिइन्। त्यसयता उनी परिवार र आफन्तको सम्पर्कमा आएकी थिइनन्।

खोजतलासका क्रममा उनको स्कुटर देवघाट गाउँपालिका–५ स्थित हनुमानचोकमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो। त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गणबाट गोताखोरसहितको टोली परिचालन गरी नारायणी नदी आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरिएको थियो।

श्रेष्ठ चितवनस्थित भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत छात्रा रहेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आँप किन खाने र किन नखाने?

काठमाडाैं। आँप स्वादका साथै पोषणले भरिपूर्ण फल हो। यसमा भिटामिन ‘ए’, भिटामिन ‘सी’, फाइबर, पोटासियम, म्याग्नेसियम तथा विभिन्न एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यी पोषक तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणालीलाई स्वस्थ राख्न, छाला र आँखाको स्वास्थ्य जोगाउन तथा समग्र शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्छन्। त्यसैले सन्तुलित मात्रामा आँप खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

यदि तपाईंले आँपसँगै अन्य फलफूल पनि पर्याप्त मात्रामा खानुहुन्न भने शरीरमा केही आवश्यक पोषक तत्वको कमी हुन सक्छ। आँप भिटामिन ‘सी’को राम्रो स्रोत भएकाले यसको अभावमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भई रुघाखोकी वा संक्रमणको जोखिम बढ्न सक्छ। यसमा रहेको फाइबर र प्राकृतिक पाचन एन्जाइमले खाना पचाउन तथा कब्जियत कम गर्न मद्दत गर्ने भएकाले आँप वा अन्य फाइबरयुक्त फलफूल नखाँदा पाचनसम्बन्धी समस्या देखिन सक्छ। त्यस्तै, भिटामिन ‘ए’ र एन्टिअक्सिडेन्टको कमीले छालाको चमक घट्ने तथा आँखाको स्वास्थ्यमा पनि नकारात्मक असर पर्न सक्छ।

केही स्वास्थ्य समस्या भएका व्यक्तिका लागि आँप विशेष रूपमा उपयोगी हुन सक्छ। दीर्घकालीन कब्जियत वा कमजोर पाचन भएका व्यक्तिले आँप सेवन गर्दा पाचन प्रक्रिया सहज बनाउन मद्दत मिल्छ। रक्तअल्पता भएका व्यक्तिका लागि पनि आँप लाभदायक मानिन्छ, किनभने यसमा पाइने आइरन र भिटामिन ‘सी’ले शरीरमा आइरनको अवशोषण बढाउन सहयोग गर्छ। त्यसैगरी, भिटामिन ‘ए’ र ‘सी’को कमी भएका, स्वस्थ रूपमा तौल बढाउन चाहने तथा उच्च रक्तचाप भएका व्यक्तिले पनि सन्तुलित मात्रामा आँप सेवन गर्दा स्वास्थ्य लाभ प्राप्त गर्न सक्छन्। यद्यपि, कुनै पनि स्वास्थ्य समस्यामा आँपलाई उपचारको विकल्पका रूपमा होइन, सन्तुलित आहारको एक भागका रूपमा लिनुपर्छ।

बच्चालाई आँप खुवाउँदा उमेरअनुसार मात्रा मिलाउनु आवश्यक हुन्छ। ६ महिनादेखि १ वर्षसम्मका शिशुलाई सुरुमा १–२ साना चम्चा आँपको प्युरी वा म्यास दिएर सुरु गर्नुपर्छ। बच्चाले सहज रूपमा पचाएपछि मात्रा बिस्तारै बढाउन सकिन्छ। १ वर्षदेखि ३ वर्षसम्मका बच्चालाई दिनमा करिब आधा कप अर्थात् ५०–६० ग्राम आँपका नरम टुक्रा दिन सकिन्छ भने ३ वर्षभन्दा माथिका बच्चालाई दिनको एक सानो कचौरासम्म आँप खुवाउन सकिन्छ।

बच्चालाई पहिलो पटक आँप खुवाउँदा थोरै मात्राबाट सुरु गरेर केही दिनसम्म एलर्जी वा पाचनसम्बन्धी समस्या भएको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ। आँपलाई राम्रोसँग धोएर मात्र प्रयोग गर्नुपर्छ र सकेसम्म प्राकृतिक रूपमा पाकेको आँप छनोट गर्नु उपयुक्त हुन्छ। अत्यधिक मात्रामा आँप सेवन गर्दा प्राकृतिक चिनीको मात्रा बढी हुने भएकाले सन्तुलित मात्रामा मात्रै खानुपर्छ।

समग्रमा, आँप स्वादिष्ट मात्र नभई स्वास्थ्यका लागि अत्यन्तै लाभदायक फल हो। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रणालीलाई सुधार गर्ने, छाला र आँखाको स्वास्थ्य जोगाउने तथा शरीरलाई आवश्यक भिटामिन र खनिज उपलब्ध गराउने काम गर्छ। उमेर, स्वास्थ्य अवस्था र आवश्यकताअनुसार उचित मात्रामा आँप सेवन गर्दा यसको अधिकतम स्वास्थ्य लाभ लिन सकिन्छ।

कलाकारले नै ‘गौतम बुद्ध बिहारका हुन्’ भनेपछि

काठमाडौं। भारतीय कमेडियन समय रैना फेरि एकपटक आफ्नो अभिव्यक्तिका कारण विवादमा परेका छन्। यसपटक उनको नेटफ्लिक्समा प्रदर्शन भइरहेको ‘इन्डिया गट लेटेन्ट २’ को तेस्रो एपिसोडमा गौतम बुद्धबारे दिएको टिप्पणीलाई लिएर नेपाली दर्शकले तीव्र आलोचना गरेका छन्।

शुक्रबार प्रसारित एपिसोडमा एक महिला प्रतियोगीसँगको संवादका क्रममा रैनाले ‘गौतम बुद्ध पनि बिहारबाट थिए’ भन्ने अभिव्यक्ति दिएका हुन्।

कार्यक्रममा ती प्रतियोगीले आफूलाई पुरुष मन नपर्ने भन्दै बिहारका पुरुषप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेकी थिइन्। त्यसको जवाफमा रैनाले बिहारीहरू बुद्धिमानी हुने र उनीहरूले ‘यूपीएससी’ जस्तो कठिन परीक्षा उत्तीर्ण गर्ने भन्दै उनीहरूको बचाउ गरेका थिए। सोही प्रसङ्गमा उनले प्रतियोगीलाई लक्षित गर्दै ‘तिमीलाई थाहा छ, गौतम बुद्ध पनि बिहारबाट थिए’ भनेका थिए।

उनको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा नेपाली प्रयोगकर्ताले विरोध जनाएका छन्। धेरैले गौतम बुद्धको जन्मस्थल नेपालस्थित लुम्बिनी रहेको ऐतिहासिक तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकारिएको तथ्यलाई बेवास्ता गर्दै गलत अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

यसअघि पनि समय रैनाको ‘इन्डिया गट लेटेन्ट’ अश्लील र विवादास्पद सामग्रीका कारण व्यापक आलोचनामा परेको थियो। ती विवादपछि कार्यक्रम केही समय रोकिएको थियो भने हाल यसको दोस्रो सिजन नेटफ्लिक्समार्फत प्रदर्शन भइरहेको छ।

राजीनामा दिने तयारीमा एमाले वागमती प्रदेशका मन्त्रीहरु

हेटौंडा । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सत्ता साझेदारी अन्त्य भएसँगै वाग्मती प्रदेश सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिने भएका छन्।

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको निर्देशनपछि सरकारमा रहेका मन्त्रीहरूले पदबाट बाहिरिने निर्णय गरेका हुन्। यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकपछि नै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए। 

तर, पार्टीको केन्द्रीय निर्देशन नआएका कारण अन्तिम समयमा निर्णय स्थगित गरिएको थियो। पछिल्लो केन्द्रीय राजनीतिक निर्णयसँगै प्रदेश सरकारबाट बाहिरिने प्रक्रिया अघि बढाइएको एमाले स्रोतले जनाएको छ।

हाल वाग्मती प्रदेश सरकारमा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारको आगामी अवस्था, सरकार अल्पमतमा पर्छ वा नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भन्ने विषय अब हुने राजनीतिक छलफलले टुंगो लगाउनेछ।

ज्वाला सङ्ग्रौलाको प्रश्न- ‘रवि र विष्णुका लागि कानुन किन फरक-फरक?’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाले पूर्वगृहमन्त्री रवि लामिछाने र नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अदालतले अपनाएको प्रक्रियामाथि प्रश्न उठाएकी छन्।

‘४ करोड बिगो मागदाबी गरिएका रबि लामिछानेले  बिगो बराबरकै धरौटी तिरेर पनि १४ महिना जेल बस्नुपर्ने, अनि २० करोड ७७ लाख बिगो सहित भ्रस्टाचार र सम्पती सुद्दीकरण मुद्दामा अनुसन्धानमा तानिएका बिश्णु पौडेल २२ दिन हिरासत बसेर साधारण तारेखमा रिहा हुने?,’ उनले फेसबुक मार्फत प्रश्न गरेकी छन्।  

सङ्ग्रौलाले समान प्रकृतिका कानुनी प्रक्रियामा फरक व्यवहार भएको भन्दै कानुनको समान कार्यान्वयनबारे प्रश्न गरेकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्,‘अदालतले कसैलाई बिगो बराबर धरौटी माग्छ, अनि कसैलाई साधारण तारेखमा छोड्छ। कानुन सबैका लागि एउटै हुनुपर्दैन?’

सङ्ग्रौलाले कानुनको प्रयोगमा समानता हुनुपर्ने भन्दै न्याय प्रणालीप्रति आम नागरिकको विश्वास कायम राख्न अदालतले सबैप्रति समान मापदण्ड अपनाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

 

‘अनटचेबल’ अर्जेन्टिनाको विरुद्द ‘अनस्टपेबल’ स्पेन

काठमाडाैं। स्पेनले फ्रान्सलाई २-० ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई ३७ खेलसम्म पुर्‍याएको छ। अप्टाका अनुसार यो उपलब्धिले कुनै पनि युरोपेली टोलीले बनाएको सबैभन्दा लामो अपराजित यात्राको कीर्तिमान बराबरी गरेको हो। यद्यपि स्पेनले २०२५ को यूईएफए नेसन्स लिगको फाइनलमा पोर्चुगलसँग पेनाल्टी सुटआउटमा हार बेहोरेको थियो। त्यसैले यो अपराजित यात्रा केवल नियमित समय र अतिरिक्त समयमा मात्रै लागू हुन्छ।

स्पेनले अहिले बराबरी गरेको कीर्तिमान यसअघि इटालीले बनाएको थियो। रोबर्टो मान्चिनीको प्रशिक्षणमा रहेको इटाली अक्टोबर २०१८ देखि सेप्टेम्बर २०२१ सम्म लगातार ३७ खेल अपराजित रहेको थियो। त्यही अवधिमा इटालीले युरो २०२० को उपाधि पनि जितेको थियो। फरक यति मात्र हो कि इटालीले त्यस अवधिमा कुनै पनि खेल-पेनाल्टीसहित हारेको थिएन, जबकि स्पेनको नेसन्स लिगको फाइनल पेनाल्टीमा समाप्त भएको थियो।

यदि विश्व फुटबलको सन्दर्भमा हेर्ने हो भने, दक्षिण अमेरिकी टोलीहरूमा सबैभन्दा लामो अपराजित यात्राको कीर्तिमान ब्राजिल र अर्जेन्टिनाको नाममा छ। ब्राजिल डिसेम्बर १९९३ देखि जनवरी १९९६ सम्म लगातार ३६ खेल अपराजित रहँदा विश्वकप उपाधिसमेत जित्न सफल भएको थियो। त्यसपछि अर्जेन्टिनाले जुलाई २०१९ देखि नोभेम्बर २०२२ सम्म लगातार ३६ खेल अपराजित रहने कीर्तिमान बनायो। कतार विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्याशित हार बेहोरे पनि त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै विश्वकप जितेर आफ्नो क्षमता प्रमाणित गरेको थियो।

स्पेनको वर्तमान सफलता कुनै आकस्मिक घटना भने होइन। पछिल्ला दुई दशकमा स्पेनले विश्व फुटबलमा निरन्तर प्रभुत्व कायम गर्दै आएको छ। युरोपेली टोलीहरूले कम्तीमा २५ खेल लगातार अपराजित रहने ११ वटा उदाहरणमध्ये ६ वटा स्पेनकै नाममा छन्। अझ उल्लेखनीय कुरा के छ भने तीमध्ये पाँच वटा उपलब्धि पछिल्ला २२ वर्षभित्रै हासिल भएका हुन्। यसले स्पेनको फुटबल संरचना, प्रतिभा उत्पादन प्रणाली र निरन्तर उत्कृष्ट प्रदर्शनको स्पष्ट संकेत दिन्छ।

स्पेनको अपराजित यात्रामा व्यक्तिगत खेलाडीहरूको योगदान पनि अत्यन्त महत्वपूर्ण रहेको छ। विशेषगरी मिडफिल्डर फाबियन रुइजले राष्ट्रिय टोलीबाट ४९ खेल खेल्दा अहिलेसम्म हार बेहोरेका छैनन्। पेरिस सेन्ट-जर्मेन (पीएसजी) का यी मिडफिल्डर पछिल्ला केही वर्षयता विश्वकै उत्कृष्ट मिडफिल्डरमध्ये एकका रूपमा स्थापित भएका छन्। यद्यपि स्पेनको ३७ खेलको अपराजित यात्रामा सबैभन्दा धेरै समय मैदानमा बिताउने खेलाडी भने उनी होइनन्।

यस अवधिमा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडी मार्क कुकुरेल्ला हुन्। उनको पछि गोलरक्षक उनाइ सिमोन, डिफेन्डर आयमेरिक लापोर्टे, युवा स्टार लामिन यामाल र फरवार्ड मिकेल ओयारजाबाल क्रमशः दोस्रोदेखि पाँचौं स्थानमा छन्। यी खेलाडीहरू प्रशिक्षक लुइस डे ला फुएन्तेको योजनाका सबैभन्दा महत्वपूर्ण हिस्सा बनेका छन्।

डे ला फुएन्तेले ३७ खेलको अपराजित यात्रामा कुल ६२ फरक खेलाडी प्रयोग गरेका छन्। पहिलो नजरमा हेर्दा यो संख्या धेरै लाग्न सक्छ र टोली छनोटमा अस्थिरता देखिएको जस्तो पनि लाग्न सक्छ। तर वास्तविकता भने फरक छ। कम्तीमा २० खेल खेल्ने १५ खेलाडीमध्ये १० जना विश्वकप सेमिफाइनलमा सुरुआती रोजाइमा थिए भने चार जना वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। अर्का मिडफिल्डर मार्टिन जुबिमेन्डी बेन्चमा उपलब्ध थिए। यसले टोलीको गहिराइ र प्रशिक्षकको योजनाबद्ध व्यवस्थापनलाई पुष्टि गर्छ।

स्पेनको वर्तमान अपराजित यात्राको सुरुआत मार्च २०२४ मा भएको थियो। त्यसबेला लन्डन स्टेडियममा कोलम्बियासँग १-० ले पराजित भएपछि स्पेनले त्यसयता कुनै पनि खेल नियमित वा अतिरिक्त समयमा हारेको छैन। यो यात्रा केवल कमजोर टोलीविरुद्धको सफलता मात्र होइन। यस अवधिमा स्पेनले ब्राजिल, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स र पोर्चुगलजस्ता विश्व फुटबलका शक्तिशाली टोलीहरूसँग पनि उत्कृष्ट प्रदर्शन गर्दै सकारात्मक नतिजा निकालेको छ।

अर्कोतर्फ, अर्जेन्टिना पनि उत्कृष्ट लयमा छ। हाल अर्जेन्टिना लगातार १४ खेलमा अपराजित छ र ती सबै खेल जितेको छ। तर स्पेनले आफ्नो अपराजित यात्रा सुरु गरेयता अर्जेन्टिनाले तीन खेल हारिसकेको छ। यही तथ्यले पछिल्लो समयको निरन्तरता, स्थिरता र प्रदर्शनका आधारमा स्पेन अहिले विश्व फुटबलकै सबैभन्दा बलियो टोलीमध्ये एक भएको संकेत गर्छ।

स्पेनको यो निरन्तर सफलताले केवल एउटा कीर्तिमान बराबरी गरेको मात्र होइन, भविष्यमा अझ ठूलो इतिहास रच्ने सम्भावना पनि देखाएको छ। यदि डे ला फुएन्तेको टोलीले यही लय कायम राख्न सक्यो भने इटालीको कीर्तिमानलाई उछिनेर युरोपेली फुटबलमा नयाँ इतिहास लेख्ने अवसर स्पेनसँग हुनेछ। अहिलेको टोलीमा अनुभवी खेलाडी र युवा प्रतिभाको सन्तुलित संयोजन, बलियो रणनीति, गहिरो बेन्च र उत्कृष्ट प्रदर्शनले स्पेनलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको प्रमुख दाबेदारका रूपमा स्थापित गरेको छ।

आत्मदाह प्रयासपछि राजविराज कारागारमा तनाव

राजविराज। सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा कैदीबन्दीको स्थानान्तरण र चौकीदार नियुक्तिको विषयलाई लिएर शनिबार तनाव उत्पन्न भएको छ।

कैदीबन्दीहरूले स्थानान्तरण प्रक्रियासँगै चौकीदार नियुक्तिमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै विरोध जनाएपछि कारागारभित्र तनावको अवस्था सिर्जना भएको हो।

यद्यपि, जिल्ला प्रशासन र प्रहरीले भने विवादको मुख्य कारण चौकीदारको व्यवहार रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी हेमराज घिमिरेका अनुसार बिहान सामान्य विवाद भएको भए पनि अहिले अवस्था पूर्ण रूपमा सामान्य रहेको छ।

विवाद बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको डीएसपी घिमिरेले जानकारी दिए।

थप चर्किदै अमेरिका-इरान युद्ध

काठमाडौं। अमेरिका र इरानबीचको सैन्य तनाव फेरि तीव्र बनेको छ। कमजोर युद्धविराम सम्झौता एक साताअघि भंग भएपछि दुवै पक्षले लगातार आक्रमणलाई तीव्रता दिएका छन्। शनिबार पनि अमेरिकाले इरानका सैन्य पूर्वाधारमाथि आक्रमण जारी राख्दा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रहरू र सामरिक जलमार्गलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको जनाएको छ।

अमेरिकी सेनाले लगातार सातौं रात इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई तथा समुद्री आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार पछिल्लो आक्रमणमा निगरानी केन्द्र, सैन्य रसद संरचना, भूमिगत हतियार भण्डारण स्थल तथा समुद्री सैन्य क्षमतासँग सम्बन्धित संरचनाहरूलाई निशाना बनाइएको थियो। यस अभियानमा लडाकु विमान, ड्रोन, युद्धपोत तथा अन्य आधुनिक सैन्य साधन प्रयोग गरिएको अमेरिकी पक्षले जनाएको छ।

सेन्ट्रल कमाण्डले मध्यपूर्वभर ५० हजारभन्दा बढी अमेरिकी सैनिक उच्च सतर्कतामा रहेको र आवश्यक परे थप कारबाहीका लागि पूर्ण तयारी अवस्थामा रहेको पनि उल्लेख गरेको छ।

यता, इरानी सञ्चारमाध्यमहरूले अमेरिकी आक्रमणका क्रममा दक्षिणी शहर जास्कमा रहेका विद्युत् उत्पादन केन्द्र तथा समुद्री पानी प्रशोधन (डिसालिनेसन) संयन्त्रमा मिसाइल प्रहार भएको दाबी गरेका छन्। स्थानीय अधिकारीलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार आक्रमणपछि जास्कका धेरै गाउँमा खानेपानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ।

युद्धसँगै विश्व ऊर्जा बजारलाई प्रत्यक्ष असर पार्ने होर्मुज जलडमरूमध्य पनि तनावको केन्द्र बनेको छ। विश्वको करिब २० प्रतिशत तेल यही जलमार्गबाट ओसारपसार हुने भएकाले यसको सुरक्षा विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

अमेरिकाले इरानविरुद्ध समुद्री नाकाबन्दी लागू गरेको दाबी गर्दै चारवटा व्यावसायिक जहाजलाई मार्ग परिवर्तन गराएको, एउटा जहाजलाई निष्क्रिय बनाएको तथा अर्को जहाजमा नियन्त्रण लिएको जनाएको छ। इरानले भने आफ्ना समुद्री नियम उल्लंघन गर्ने चारवटा जहाजलाई मिसाइल र ड्रोनमार्फत रोकेको दाबी गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) ले जलडमरूमध्य पार गरेका दुईवटा तेल ट्याङ्कर विस्फोट भएर आगलागी भएको दाबी गरे पनि अमेरिकी सेनाले उक्त दाबीलाई असत्य भन्दै अस्वीकार गरेको छ।

यसैबीच, यमनको तट नजिक अर्को एउटा जहाजमा हतियारधारी समूहले नियन्त्रण लिएको खबर सार्वजनिक भएको छ। यस घटनाले लाल सागरको प्रवेशद्वारसमेत असुरक्षित बन्दै गएको संकेत गरेको छ। यस मार्गबाट पनि विश्वव्यापी तेल आपूर्ति हुने भएकाले ऊर्जा बजारमा थप अनिश्चितता बढेको छ।

इरानी सरकारी टेलिभिजनले आईआरजीसीलाई उद्धृत गर्दै अमेरिकी “आक्रमण” जारी रहेसम्म खाडी क्षेत्रबाट रासायनिक मल, तेल वा ग्यासको एक थोपासमेत सुरक्षित रूपमा निर्यात हुन नसक्ने चेतावनी दिएको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका सल्लाहकार मोहसेन रेजाइले पनि अमेरिकाले थप सैन्य हस्तक्षेप वा इरानी भूभाग कब्जा गर्ने प्रयास गरे त्यसको कडा जवाफ दिइने बताएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धको बढ्दो तीव्रताप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनका प्रवक्तामार्फत जारी वक्तव्यमा विशेषगरी इरान तथा अन्य प्रभावित क्षेत्रमा नागरिक पूर्वाधारमाथि भइरहेको आक्रमणलाई लिएर गहिरो चिन्ता व्यक्त गरिएको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार शनिबार बिहान होर्मोजगान प्रान्तका विभिन्न क्षेत्रमा विस्फोट भएका छन्। राज्य सञ्चालित टेलिभिजनले तीन जनाको मृत्यु भएको, आठ जना घाइते भएको तथा दुईवटा पुल र एउटा सडक सुरुङमा क्षति पुगेको जनाएको छ। सिरिक, अहवाज, यज्द, जास्क र खोर्रमाबादमा पनि विस्फोट र हवाई आक्रमण भएको खबर सार्वजनिक भएको छ।

शुक्रबार पनि दक्षिणी इरानका कम्तीमा पाँचवटा पुलमा आक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका थिए। बन्दर खामिर बन्दरगाह क्षेत्रमा पुलमाथिको आक्रमणमा सात जनाको मृत्यु भएको र रेल स्टेशनमा समेत क्षति पुगेको उल्लेख गरिएको छ। पाकिस्तान सीमावर्ती इरानशहर विमानस्थल पनि आक्रमणको निशानामा परेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे इरानका थप पूर्वाधारमा व्यापक हवाई आक्रमण गर्न सकिने चेतावनी दिइसकेका छन्। उनले इरानको तटीय क्षेत्र वा टापुहरूमा स्थल सेनाको प्रयोग गर्ने सम्भावनालाई पनि पूर्ण रूपमा अस्वीकार गरेका छैनन्। अमेरिकी अधिकारीहरूका अनुसार दक्षिणी इरानमा केन्द्रित आक्रमणको उद्देश्य राष्ट्रपति ट्रम्पलाई थप रणनीतिक विकल्प उपलब्ध गराउनु पनि हो।

तर यस्तो कदमले इरानलाई खाडीका अमेरिकी सैन्य अड्डा रहेका मुलुकहरूमा प्रतिआक्रमण गर्न उक्साउन सक्ने विश्लेषण गरिएको छ। इरानले बहराइन, कतार, कुवेत, जोर्डन तथा उत्तरी हिन्द महासागरमा रहेको अमेरिकी जहाजलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ।

कुवेत सरकारले आफ्नो एउटा विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन केन्द्र इरानी आक्रमणबाट प्रभावित भएको पुष्टि गरेको छ। उक्त आक्रमणपछि आगलागी हुनुका साथै धेरै विद्युत् उत्पादन इकाइ बन्द भएको जनाइएको छ। कुवेती सेनाले इरानी ड्रोन आक्रमणविरुद्ध प्रतिरक्षा कारबाही जारी रहेको जनाएको छ।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्डले बहराइनस्थित अमेरिकी ड्रोन भण्डारण केन्द्र ध्वस्त पारेको तथा बहराइनको मुख्य कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रलाई ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ।

इरानी सरकारी समाचार संस्था आईआरएनएका अनुसार इरानी नौसेनाले उत्तरी हिन्द महासागरमा रहेको एक अमेरिकी जहाजतर्फ तटीय क्रुज मिसाइल प्रहार गरेको छ। इरानी सेनाले उक्त मिसाइल प्रहारपछि अमेरिकी जहाजमा त्रास फैलिएको र जहाज इरानी नौसेनाको आक्रमण दायराभन्दा बाहिर हट्न बाध्य भएको दाबी गरेको छ।

लगातार बढिरहेको सैन्य तनाव, ऊर्जा पूर्वाधारमाथिको आक्रमण, तेल आपूर्तिमा देखिएको जोखिम तथा होर्मुज जलडमरूमध्यमा बढ्दो असुरक्षाले मध्यपूर्वको संकटलाई थप गम्भीर बनाएको छ। यदि दुवै पक्षले सैन्य कारबाहीलाई नियन्त्रणमा ल्याउन सकेनन् भने यसको प्रभाव केवल क्षेत्रीय सुरक्षामा मात्र सीमित नरही विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा समेत गहिरो असर पर्ने विश्लेषण गरिएको छ।

सप्तरीमा सामुहिक आत्मदाहको प्रयास

राजविराज। सप्तरीको राजविराज कारागारमा शनिबार बिहान पाँच कैदीबन्दीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

कारागार प्रशासनका अनुसार कैदीबन्दीबीच केही दिनयता चल्दै आएको आन्तरिक विवाद चर्किएपछि उनीहरूले आत्मदाहको प्रयास गरेका हुन्।

घटनालगत्तै सुरक्षाकर्मी र चिकित्सक टोली सक्रिय भएर उद्धारमा खटिएकाले कुनै मानवीय क्षति हुन पाएन। आत्मदाहको प्रयास गर्ने सबै कैदीबन्दीको अवस्था सामान्य रहेको जनाइएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारसँग भएको सामान्य विवादपछि कारागारभित्र तनावको अवस्था सिर्जना भएको जानकारी दिए।

घटनापछि कारागार प्रशासनले छलफलमार्फत स्थिति नियन्त्रणमा ल्याएको जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।