`

विश्वकपलाई लक्षित गर्दै टीसीएलले ल्यायो यस्तो योजना

काठमाडौं । आगामी फुटबल विश्वकपलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ।

नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ‘आर यू रेडी फर ग्रेटनेस’ नामक अभियान सञ्चालनमा ल्याएको जनाएको छ। अभियानअन्तर्गत ग्राहकलाई आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज किस्ताबन्दी (ईएमआई) सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार टीसीएल टेलिभिजन खरिद गर्ने ग्राहकले अधिकतम दुई लाख रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, विश्वकपको अवसर पारेर चार वर्षसम्मको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराइएको छ।

ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै नागरिकताको आधारमा मात्र सहज ईएमआई सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

सीजी इलेक्ट्रोनिक्सका अनुसार यो योजना जेठ २१ गतेदेखि साउन ३ गतेसम्म देशभर रहेका आधिकारिक सीजी इलेक्ट्रोनिक्स शोरुम तथा अधिकृत डिलरमार्फत लागू हुनेछ।

कम्पनीले विश्वकपको उत्साहलाई अझ रोमाञ्चक बनाउने उद्देश्यले यो विशेष अभियान सञ्चालन गरिएको जनाएको छ।

कारागारमै भाइरल ज्वरो फैलिएपछी यस्तो भयो

चितवन । भरतपुरस्थित जिल्ला कारागारमा भाइरल ज्वरोको संक्रमण फैलिएको छ। हालसम्म कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट प्रभावित भएको कारागार प्रशासनले जनाएको छ।

जिल्ला कारागारका प्रमुख खेमेन्द्र डुमानाका अनुसार पछिल्लो समय दैनिक पाँचदेखि सात जनासम्म कैदीमा भाइरल ज्वरोको लक्षण देखिने गरेको छ। उनका अनुसार संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ।

हाल कारागारमा ७१२ जना कैदीबन्दी रहेका छन्। कारागारको क्षमता ६०० जनाको भए पनि क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। यहाँ ५० जना महिला र ६५० जना पुरुष कैदीबन्दी रहेका छन्।

भाइरल ज्वरोबाट प्रभावित कैदीबन्दीलाई छुट्टै कोठामा राखेर उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको प्रमुख डुमानाले बताए।

कारागार प्रशासनले संक्रमण थप फैलिन नदिन स्वास्थ्य निगरानी तथा आवश्यक सतर्कता अपनाइएको जनाएको छ।

‘१२ गाउँ’ सिक्वेल-२ को तयारीमा विराज

काठमाडौं । अभिनेता तथा निर्देशक विराज भट्ट आफ्नो व्यावसायिक रूपमा सफल एक्सन फिल्म ‘१२ गाउँ’को सिक्वेल ‘१२ गाउँ २’ लिएर दर्शकमाझ आउने भएका छन्। निर्माण टिमले फिल्मलाई आगामी दशैंको फूलपातीको अवसरमा प्रदर्शन गर्ने तयारी गरेको छ।

विराज भट्टकै निर्देशनमा निर्माण भइरहेको फिल्मको छायांकन गीतबाट सुरु गरिएको छ। काठमाडौं, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा छायांकन हुने फिल्मले पहिलो श्रृंखलाले दर्शकमाझ बनाएको लोकप्रियतालाई निरन्तरता दिने निर्माण पक्षको विश्वास छ।

फिल्मको अर्को आकर्षण वरिष्ठ अभिनेता राजेश हमालको पुनरागमन हो। लामो समयदेखि नेपाली चलचित्रबाट टाढिएका हमाल करिब दुई दशकपछि यही फिल्ममार्फत नेपाली रजतपटमा फर्किन लागेका छन्। ‘बाटुली’, ‘जय शिव शंकर’ र ‘म छुनी तिम्रो’ जस्ता चलचित्रमा अभिनय गरेका हमालको पुनरागमनलाई लिएर दर्शकमाझ उत्सुकता देखिएको छ।

पहिलो भागमा विराज भट्टको किक लागेर नाक भाँचिएको दृश्यका कारण चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा देखिने भएका छन्। निर्माण टिमका अनुसार उनको पात्रलाई दोस्रो भागमा पनि निरन्तरता दिइनेछ।

फिल्ममा विराज भट्टसँगै समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मको कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका छन्। संगीत युग भुसाल, देवेन्द्र बराल र डीपी खनालको रहनेछ भने गायनमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर सुन्न पाइनेछ। फिल्मका डीओपी महेश पौडेल हुन्।

एक्सन, ड्रामा र पारिवारिक भावनाको मिश्रण रहने बताइएको ‘१२ गाउँ २’ को वितरण उपत्यकाभित्र काफिया फिल्म्स प्रालिले तथा उपत्यकाबाहिर कुबेर फिल्म्सले गर्ने निर्माण टिमले जनाएको छ।

२१ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार २३० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।

इसराइल-लेबनान युद्धविराममा हिजबुल्लाहको असहमति

काठमाडौं । अमेरिका, इसराइल र लेबननबीच भएको पूर्ण युद्धविराम सम्झौतामा हिजबुल्लाहले असहमति जनाएपछि यसको कार्यान्वयनमाथि प्रश्न उठेको छ।

अमेरिकी अनलाइन समाचारमाध्यम एक्सियसका अनुसार प्रारम्भिक रूपमा युद्धविरामप्रति सकारात्मक संकेत दिएको हिजबुल्लाहले बिहीबार सम्झौताका मुख्य सर्तहरू अस्वीकार गरेको हो।

अमेरिका, इसराइल र लेबननले बुधबार संयुक्त वक्तव्य जारी गर्दै हिजबुल्लाहले दक्षिणी लेबननको लिटानी नदीको दक्षिण क्षेत्रबाट आफ्ना लडाकु हटाउने र इसराइलमाथिका आक्रमण रोक्ने सर्तमा पूर्ण युद्धविराममा सहमति भएको घोषणा गरेका थिए।

तर हिजबुल्लाहले उक्त व्यवस्थालाई अस्वीकार गरेपछि सम्झौता व्यवहारमा कार्यान्वयन हुने वा नहुने विषयमा अन्योल बढेको एक्सियसले जनाएको छ।

यो युद्धविराम सफल भए अमेरिका र इरानबीच जारी तनाव कम हुने तथा सम्भावित सहमतिका लागि वातावरण बन्ने अपेक्षा गरिएको थियो। इरानले अमेरिकासँग हुने कुनै पनि सम्झौताका लागि इसराइल–लेबनन युद्धको अन्त्यलाई महत्त्वपूर्ण सर्तका रूपमा अघि सार्दै आएको छ।

हिजबुल्लाहका महासचिव नइम कासेमले सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई ‘लेबननका जनताको एक हिस्सालाई समाप्त पार्ने मार्गचित्र’को संज्ञा दिएका छन्।

उनले दक्षिणी लेबननबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता नभएसम्म कुनै पनि युद्धविराम स्वीकार्य नहुने स्पष्ट पारे। साथै, इजरायली आक्रमण जारी रहे प्रतिरोधात्मक कारबाही पनि जारी रहने चेतावनी दिएका छन्।

‘हाम्रा गाउँहरूमा बमबारी भइरहँदा र जनता मारिइरहँदा उत्तरी इसराइल सुरक्षित रहँदैन,’ कासेमलाई उद्धृत गर्दै एक्सियसले उल्लेख गरेको छ।

सम्झौताअनुसार दक्षिणी लेबननमा ‘पाइलट जोन’ स्थापना गर्ने र उक्त क्षेत्रमा लेबननी सेनाले पूर्ण नियन्त्रण लिने व्यवस्था गरिएको छ। त्यहाँ हिजबुल्लाहको सैन्य उपस्थिति नरहने सुनिश्चित गरिनेछ भने बदलामा इजरायली सेना पनि क्षेत्रबाट फिर्ता हुने सहमति भएको थियो।

संयुक्त वक्तव्यमा इसराइल र लेबननले एकअर्काविरुद्ध शत्रुतापूर्ण उद्देश्य नरहेको दोहोर्‍याउँदै बाँकी विवाद समाधान तथा दीर्घकालीन समझदारीका लागि प्रत्यक्ष वार्ता जारी राख्ने प्रतिबद्धता जनाएका छन्। अर्को चरणको वार्ता जुन २२ मा अमेरिकाको वासिङ्टन डीसीमा हुने तय गरिएको छ।

फेब्रुअरी अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि गरेको आक्रमणपछि हिजबुल्लाहले इसराइलतर्फ रकेट प्रहार गरेको थियो। त्यसपछि इसराइलले मार्च महिनामा लेबननभित्र सैन्य कारबाही विस्तार गरेको थियो।

यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि हिजबुल्लाह र इसराइलबीच मंगलबार आंशिक युद्धविराम घोषणा गरिएको थियो। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग टेलिफोन संवाद गर्दै लेबननमा जारी आक्रमण रोक्न आग्रह गरेपछि इसराइलले बेरूतमाथि योजना बनाइएको थप आक्रमण स्थगित गरेको बताइएको छ।

त्यसपछि सुरु भएको युद्धविराम प्रयास अहिले पूर्ण युद्धविरामको सहमतिसम्म पुगेको भए पनि हिजबुल्लाहको असहमतिले यसको भविष्य अनिश्चित बनेको छ।

 

एमालेको नयाँ अभियान, पार्टी सदस्यका छोराछोरीको सम्मेलन गरिने [भिडियो]

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता विस्तार तथा नयाँ पुस्तालाई संगठनसँग जोड्ने उद्देश्यसहित पार्टी सदस्यका छोराछोरीको सम्मेलन आयोजना गर्ने योजना अघि सारेको छ।

जेठ २० र २१ गते संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशालाबाट एमालेले पार्टी आबद्ध परिवारका छोराछोरीलाई संगठित गर्ने नयाँ संकल्प सार्वजनिक गरेको हो।

कार्यशालाबाट पारित संकल्पमा नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्दै पार्टी सदस्यका छोराछोरीहरूको सम्मेलन सबै तहका कमिटीमार्फत आयोजना गर्ने उल्लेख गरिएको छ।

‘नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा गर्दछ,’ संकल्पपत्रमा भनिएको छ।

एमालेका लागि यो अभियान भने नयाँ होइन। २०८० वैशाखमा बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकले पनि पार्टी सदस्यका छोराछोरीलाई संगठनमा आबद्ध गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

त्यतिबेला केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीप्रति युवा पुस्ताको आकर्षण घट्दै गएको निष्कर्ष प्रस्तुत गरेका थिए। केही सदस्यहरूले आफ्नै परिवारका छोराछोरीलाई समेत पार्टीको विचार बुझाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दलतर्फ मत आकर्षित भएको बताएका थिए।

यही अवस्थालाई मध्यनजर गर्दै एमालेले छोराछोरी अभियान सुरु गर्ने निर्णय गरेको थियो। अभियानअन्तर्गत पार्टीका नेता, कार्यकर्ता तथा सदस्यका सन्तानलाई संगठनसँग जोड्ने, राजनीतिक तथा वैचारिक प्रशिक्षण सञ्चालन गर्ने योजना बनाइएको थियो। केही स्थानमा कार्यक्रम सञ्चालन भए पनि देशव्यापी रूपमा प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन।

एमालेले त्यस अभियानबाट अपेक्षित परिणाम प्राप्त नभएको निष्कर्ष निकाल्दै यसपटक थप व्यवस्थित रूपमा छोराछोरीहरूको सम्मेलन आयोजना गर्ने रणनीति अघि सारेको हो।

बालेनलाई म्यासेज गरेको भन्दै पक्राउ परेका सचिव छुटे

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर पक्राउ परेको केही घण्टामै रिहा भएका छन्। बिहीबार अपराह्न काठमाडौंको कपनस्थित निवासबाट पक्राउ परेका उनलाई करिब सात घण्टा सोधपुछपछि राति रिहा गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पुष्करलाई मोबाइल फोनको अनुचित प्रयोग तथा उच्च पदस्थ व्यक्तिलाई अमर्यादित भाषा प्रयोग गरी सन्देश पठाएको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो। उनलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा छोडिएको बताइएको छ। श्रेष्ठ नेपाल सरकारकी सहसचिव हुन्।

प्रहरी स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटका लागि समय माग्दा अवसर नपाएपछि उनको निजी नम्बरमा सन्देश पठाएका थिए। उक्त सन्देशमा प्रयोग गरिएको भाषा निजामती कर्मचारीको पदीय मर्यादाविपरीत रहेको आरोप छ।

सोधपुछका क्रममा पुष्करले प्रधानमन्त्री कार्यालय तथा निजी सचिवालयमार्फत आफ्नो कुरा राख्ने अवसर नपाएपछि सन्देश पठाएको बताएका थिए। तर, आफूले अशिष्ट वा अमर्यादित भाषा प्रयोग नगरेको उनको दाबी छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार प्रधानमन्त्रीको सचिवालयकै आग्रहमा भविष्यमा यस्ता गतिविधि नदोहो¥याउने शर्तमा उनलाई रिहा गरिएको हो।

हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत पुष्कर असार २४ गते सचिव पदको पाँचवर्षे सेवा अवधि पूरा गरी अवकाश हुँदैछन्। अवकाश हुन केही दिनपछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल पनि सेवामुक्त हुने भएकाले पुष्कर मुख्यसचिव बन्ने दौडमा रहेको चर्चा प्रशासनिक वृत्तमा थियो।

स्रोतका अनुसार उनले मुख्यसचिव नियुक्ति, संवैधानिक निकाय वा अन्य कुनै जिम्मेवारीपूर्ण पदमा अवसर पाउने अपेक्षासहित प्रधानमन्त्रीसँग सम्पर्क गर्न खोजेका थिए। सन्देशमा आफ्नो गृहजिल्ला महोत्तरी, राजदूत पदका लागि दिएको आवेदन तथा सहयोगको अपेक्षासम्बन्धी विषयसमेत उल्लेख गरिएको बताइएको छ।

हर्क साम्पाङ चढेको मोटरसाइकल दुर्घटना, सामान्य घाइते

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् ।

उदयपुरको बेलकामा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा दुर्घटना परेका हुन् ।

उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हातमा चोट लागेको छ ।

प्रतिनिधि सभा बैठक यही जेठ २५ गतेसम्म स्थगित भएपछि साम्पाङ पार्टीको कार्यक्रमका लागि कोशीको तराईदेखि पहाडी क्षेत्रमा सहभागी भइरहेका छन् ।

रवि आउँदै, शिशिर जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमण आइतबारसम्म चल्नेछ।

परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने जनाइएको छ।

मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यो भ्रमणले दुई देशबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यसैबीच, मन्त्री खनालले सरकार सुशासन र तीव्र आर्थिक विकासको लक्ष्यसहित अघि बढिरहेको बताएका छन्। नागरिकको परिवर्तनप्रतिको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै उनले ती आकांक्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

उनले क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकतालाई प्रभावकारी रूपमा उठाइरहेको उल्लेख गर्दै विकास साझेदारीलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। स्थानीय सरकारलाई बलियो बनाउनु नै विकासका कार्यक्रम तथा सामाजिक क्षेत्रका गतिविधिलाई प्रभावकारी बनाउने आधार भएको उनको भनाइ थियो।

उता, भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किने भएका छन्।

लिङ्देनले पूर्वराजालाई नारायणहिटीमा कसरी लैजान्छन् ? (टिप्पणी)

काठमाडौं । ‘काम गर्नै दिएन’ भन्थे- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र उनका समर्थकहरू । अब डा. धवलशम्सेर राणाहरूले पार्टी परित्याग गरिसकेपछि राप्रपालाई उचाइमा पुर्‍याउन लिङ्देनकै भनाइमा कुनै बाधा/अवरोध छैन ।

तर, राप्रपाको म्याद सकिएको विषय कसरी टुंगोमा पुर्‍याउँछन् ? निर्वाचन आयोगको कसरी चित्त बुझाउँछन् लिङ्देनले ? प्रतीक्षाको मुद्दा बनेको छ ।

म्याद गुज्रेर राजनीतिक दलको वैधानिकता अन्त्य भएको विषय निर्वाचन आयोगका लागि पनि नजिर बन्‍ने छ, अहिलेको सन्दर्भमा । अर्ली महाधिवेशन गर्ने भनेर सुरू भएको महाधिवेशनको तालिका पाँचपटक जिल्ला अधिवेशनको मिति थप्दा पनि सम्पन्‍न भएन ।

विविध कारणले नसकिएको महाधिवेशन कसरी सम्पन्‍न गर्छन् लिङ्देनले ? यो पनि प्रतीक्षाको विषय बनेको छ ।

भनिन्छ, लिङ्देनले अन्तिमसम्म महाधिवेशनकै विषयमा डा. राणालाई ‘फसाउन’ खोजेका थिए । तर उल्टै राणाले राप्रपाको वैधानिकता समाप्त गरेको भन्‍ने कडा जवाफ दिएर लिङ्देनलाई फसाए । अब काम गर्न सबै बाटो खुला भएको बेला महाधिवेशन कसरी निष्कर्षमा पुर्‍याउँछन् लिङ्देनले हेर्न बाँकी छ ।

त्यो भन्दा पनि जेठको अन्ततिर तय भएको केन्द्रीय कार्य समितिको बैठक लिङ्देनले गर्छन् कि गर्दैनन् ? गरे भने पार्टी फुटको धब्बाबाट कसरी मुक्त हुन्छन् ? र, केन्द्रीय सदस्यहरूको कसरी चित्त बुझाउँछन् ? यो पनि उत्तिकै पेचिलो प्रश्‍न छ ।

एकता महाधिवेशनको म्याण्डेट शिरोधार्य गर्न नसकेको, राप्रपालाई एक ढिक्का राख्‍न नसकेको दाग त्यसै लागेकै छ लिङ्देनलाई । केन्द्रीय समिति बैठकमा गएर पार्टी परित्याग पनि काम गर्न नदिने अवरोध नै हो भन्‍न मिलेन होला ।

पार्टी विभाजन रोक्न नसकेको दाग कसरी फेस गर्छन् लिङ्देनले ? यो पनि पार्टी जीवनमा गम्भीर असफलता हो । किनकि जिम्मेवारी पन्छाउन, यसअघि जस्तो धवलशमशेरहरू अब राप्रपामा छैनन् । ‘काम गर्न नदिने’ मानिसहरूले राप्रपा छाडिसकेपछि लिङ्देनले अब कस्तो जोश र जाँगरमा काम गर्छन् र पूर्वराजालाई नारायणहिटीमा कसरी लैजान्छन् ? चासाेपूर्वक हेरिएकाे छ ।

सबैभन्दा महत्वपूर्ण विषय महाधिवेशनको मिति लिङ्देनले तोक्छन् कि तोक्दैनन् ? र हेमजंग गुरुङले महाधिवेशनको कार्य तालिका बनाउँछन् कि बनाउँदैनन् ? राप्रपावृत्तमा उत्सुकता बढेकाे छ ।

 

विराटनगर महानगरपालिकाले हासिल गर्‍यो ‘पूर्णखोप सुनिश्चितता’ लक्ष्य

विराटनगर। विराटनगर महानगरपालिकाले ० देखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै सञ्चालन गरिएको पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रममार्फत पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ।

महानगरपालिकाको खोप शाखाका अनुसार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएपछि कुल ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्‍याइएको हो। यस उपलब्धिसँगै विराटनगरले खोपबाट रोकथाम गर्न सकिने रोगहरूबाट बालबालिकालाई सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको बताइएको छ।

विवरणअनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका २ हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका १ हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका ६ हजार ९६६ जना रहेका छन्।

महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार खोप अभियानले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगहरूबाट सुरक्षित बनाउन महत्त्वपूर्ण योगदान दिएको छ। उनका अनुसार यसले बाल मृत्युदर घटाउने, रोगको जोखिम न्यूनीकरण गर्ने तथा समग्र रूपमा स्वस्थ समाज निर्माणमा सहयोग पुर्‍याएको छ।

खोप संयोजक सुशील साहले पूर्णखोप कार्यक्रमले दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी र टिटानसजस्ता रोगबाट बालबालिकालाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

त्यस्तै, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता भएको उल्लेख गरेका छन्।

चर्चाको केन्द्रमा ‘डोनाल्ड ट्रम्प’ भैँसी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको एक दुर्लभ एल्बिनो भैँसी अहिले देशभरि ठूलो आकर्षण बनेको छ।

‘डोनाल्ड ट्रम्प’ नाम दिइएको उक्त भैँसीलाई हेर्न ढाका मात्र नभई विभिन्न क्षेत्रबाट आगन्तुकहरूको भीड लाग्न थालेको छ।

सुनौलो रङको कपाल, पहेँलो सिङ र करिब ७०० किलोग्राम तौल भएको यो भैँसीलाई गत साता चिडियाखानामा सारिएपछि यसको चर्चा अझै बढेको हो। सामाजिक सञ्जालमा यसको तस्बिर र भिडियो भाइरल भएपछि सर्वसाधारणहरू प्रत्यक्ष अवलोकनका लागि चिडियाखानातर्फ आकर्षित भइरहेका छन्।

यो भैँसी सुरुमा इस्लामिक पर्व इद अल-अधाका लागि बलिदानका रूपमा प्रयोग गरिने उद्देश्यले राखिएको थियो। तर सुरक्षा कारण देखाउँदै सरकारले यसलाई राजधानी ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गर्न निर्देशन दिएको थियो।

हाल चिडियाखानामा अत्यधिक गर्मीका बीच पनि ठूलो संख्यामा मानिसहरू भैँसी हेर्न पुगिरहेका छन्। आगन्तुकहरूले खोर वरिपरि भीड लगाउँदै मोबाइल फोनबाट तस्बिर तथा भिडियो खिचिरहेका दृश्य देखिन्छन्। कतिपय अभिभावकले आफ्ना बालबालिकालाई राम्रो दृश्यका लागि काँधमा उचालेर समेत देखाइरहेका छन्।

चिडियाखानाका कर्मचारीहरूले भैँसीको विशेष हेरचाह गरिरहेका छन्। कपाल कोर्ने, पानी हालेर शरीर चिसो राख्ने र गर्मीबाट जोगाउने प्रयास भइरहेको बताइएको छ। आगन्तुकहरूले पनि यसले जनावरलाई विशेष व्यवहार गरिएको अनुभूति दिएको प्रतिक्रिया दिएका छन्।

ढाकाका विद्यार्थी मोहम्मद नासिमले यसको रूपरङ र व्यवहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको टिप्पणी गर्दै सामाजिक सञ्जालमा भाइरल भएपछि यसले विशेष ध्यान पाएको बताए।

तर सबै आगन्तुकको प्रतिक्रिया एउटै छैन। केहीले जनावरलाई विश्व नेतासँग जोडेर नामकरण गर्नु अनुचित भएको टिप्पणी गरेका छन्। ढाकाका बासिन्दा मोहम्मद जोयनल अदेदिनले यस्तो निर्णय असम्मानजनक देखिएको बताउँदै आलोचना गरेका छन्।

स्थानीय मिडियाका अनुसार चिडियाखानामा सुरुमा ‘डोनाल्ड ट्रम्प’ लेखिएको सूचना बोर्ड राखिएको थियो, जसलाई पछि हटाइएको छ। यस घटनासँग सम्बन्धित रूपमा चिडियाखानाका क्युरेटरलाई शनिबार बर्खास्त गरिएको भए पनि आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन।

भैँसीको भविष्य पनि इद अल-अधासँग जोडिएको देखिएको छ। सुरुमा बलिदानका लागि बेचिएको भनिएको उक्त भैँसी पछि सरकारी हस्तक्षेपपछि फिर्ता गरिएको थियो। गृहमन्त्री सलाहुद्दीन अहमदको निर्देशनपछि प्रहरी हस्तक्षेप भएको बताइएको छ।

यो घटनाले सामाजिक सञ्जालदेखि सडकसम्म व्यापक चर्चा पाएको छ। दक्षिणपश्चिमी सहर जसोरका आगन्तुक मोहम्मद हबीबुर रहमानले सुरुमा बलिदानका लागि चर्चा भएको भैँसी अहिले चिडियाखानामा राखिएको थाहा पाएपछि हेर्न आएको बताए।

हाल यो भैँसी बङ्गलादेशभरि सामाजिक सञ्जाल र सार्वजनिक चर्चाको केन्द्र बनेको छ।

‘ब्ल्याक होल’बाट ‘ह्वाइट होल’ ?

काठमाडौं। नयाँ वैज्ञानिक अनुसन्धानले ब्रह्माण्ड विज्ञानका केही अत्यन्त गहिरा र रहस्यमय पत्ता लगाएको छ। 

एक अध्ययनअनुसार बिग ब्याङ्गपछि तुरुन्तै बनेका ‘प्रिमोर्डियल ब्ल्याक होल’ पहिले वैज्ञानिकहरूले अनुमान गरेभन्दा धेरै लामो समयसम्म अस्तित्वमा रहन सक्ने सम्भावना देखिएको छ। 

यसमा अझ रोचक त यो छ, यी अत्यन्त साना ब्ल्याक होलहरू अन्ततः ह्वाइट होल जस्तो व्यवहार देखाउने अवस्थासम्म पुग्न सक्ने सम्भावना समेत देखाइएको छ। जसले पदार्थ र ऊर्जा बाहिर फ्याँक्ने तर भित्र केही पनि प्रवेश गर्न नदिने प्रकृतिको संकेत दिएको छ। 

‘प्रिमोर्डियल ब्ल्याक होल’हरू सामान्य स्टेलर ब्ल्याक होलभन्दा फरक हुन्छन्। स्टेलर ब्ल्याक होलहरू ठूला ताराहरूको जीवन अन्त्य भएर पतन हुँदा बन्ने गर्छन्। भने प्रिमोर्डियल ब्ल्याक होलहरू ब्रह्माण्डको सुरुवाती क्षणहरूमा अत्यन्त तातो, घना र अस्थिर अवस्थाहरूमा भएको सूक्ष्म क्वान्टम उतार-चढावबाट बनेका हुन सक्छन् भन्ने सिद्धान्त छ।

यस्ता ब्ल्याक होलहरूहरू अत्यन्त साना पनि हुन सक्छन् र अत्यन्त ठूलो संख्यामा पनि बनेका हुन सक्ने सम्भावना छ । यही कारणले वैज्ञानिकहरूले यिनलाई ‘डार्क म्याटर’को सम्भावित स्रोतका रूपमा पनि अध्ययन गरिरहेका छन्।

ब्ल्याक होलहरूको व्यवहार बुझ्न स्टीफन हकिन द्वारा प्रस्तावित हकिन विकिरण सिद्धान्त अत्यन्त महत्वपूर्ण मानिन्छ। यस सिद्धान्तले ‘ब्ल्याक होल’ पूर्ण रूपमा कालो वस्तु होइन, बरु यसले अत्यन्त सूक्ष्म मात्रामा थर्मल विकिरण उत्सर्जन गर्छ भनेर भन्छ । र यो प्रक्रियामा ब्ल्याक होलले आफ्नो ऊर्जा गुमाउँदै जान्छ र बिस्तारै सानो हुँदै जान्छ। जसलाई बाष्पीकरण भनिन्छ।

यस नियमअनुसार साना ब्ल्याक होलहरू छिटो बाष्पीकरण हुन्छन् भने ठूला ब्ल्याक होलहरू अत्यन्त लामो समयसम्म टिक्न सक्छन्। सम्भवतः ब्रह्माण्डको वर्तमान उमेरभन्दा पनि धेरै लामो समय सम्म टिक्न सक्छन् ।

‘इबर्ली कलेज अफ साइन्स’का अनुसन्धानकर्ता ड्यानियल पाराइजो र उनका सहकर्मीहरूले गरेको गणितीय तथा सैद्धान्तिक विश्लेषणले ब्ल्याक होलहरूको अन्तिम अवस्थाबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन्। उनीहरूको अनुसन्धान अनुसार, ब्ल्याक होल बाष्पीकरण हुँदै जाँदा जब यो अत्यन्त सानो द्रव्यमान अर्थात् ‘प्लाङ्क मास’को नजिक पुग्छ। तब यसको व्यवहार परम्परागत भौतिक नियमहरूबाट अलग हुन थाल्छ। 

प्लाङ्क मास करिब २० माइक्रोग्राम जति हुन्छ। जुन अत्यन्त सानो भए पनि भौतिकशास्त्रमा एक महत्वपूर्ण सीमा  बाउन्ड्री मानिन्छ ।

‘प्लाङ्क मास’लाई विशेष मानिनुको कारण के हो भने यही बिन्दुमा क्वान्टम भौतिकी र गुरुत्वाकर्षण दुवै प्रभावकारी रूपमा एकैसाथ सक्रिय हुन्छन्।

यस अवस्थालाई बुझ्न अहिलेको भौतिकशास्त्र पूर्ण रूपमा सक्षम छैन। यही कारणले यस चरणलाई ‘प्लाङ्कियन ब्ल्याक’होल भनिन्छ। अनुसन्धानकर्ताहरू भन्छन्, ‘यस अवस्थामा ब्ल्याक होलको परम्परागत संरचना, विशेषगरी घटना क्षितिज, बिस्तारै कमजोर हुँदै जान सक्छ र अन्ततः हराउन पनि सक्छ।’

यस अनुसन्धानको सबैभन्दा महत्वपूर्ण र विवादास्पद पक्ष भने यही अन्तिम चरण हो। पाराइजोका अनुसार, जब ब्ल्याक होल प्लाङ्क मास नजिक पुग्छ। तब यसको पूर्ण बाष्पीकरण तुरुन्तै हुँदैन। बरु, यो एक स्थिर अवस्थाजस्तो व्यवहार देखाउन थाल्छ। यस अवस्थामा ब्ल्याक होलले नयाँ प्रकारको विकिरण उत्सर्जन गर्न सक्छ। जसलाई प्युरिफाइङ विकिरण भनिएको छ। यो विकिरणले ब्रह्माण्डको क्वान्टम अवस्थालाई पुनः संरचना गर्ने वा सफा गर्ने जस्तो प्रभाव देखाउन सक्छ भन्ने परिकल्पना गरिएको छ।

उक्त नयाँ अवस्थाले ब्ल्याक होललाई पूर्ण रूपमा समाप्त गर्नुको सट्टा एक नयाँ प्रकारको वस्तुमा रूपान्तरण गर्न सक्छ। जसलाई बाह्य रूपमा हेर्दा ह्वाइट होल जस्तो देखिन सक्छ। ह्वाइट होल सैद्धान्तिक रूपमा ब्ल्याक होलको उल्टो संरचना हो, जसले पदार्थ र ऊर्जा बाहिर फ्याँक्छ तर कुनै पनि कुरा भित्र प्रवेश गर्न दिँदैन। यदि यस्तो वस्तु अस्तित्वमा आयो भने यसले ब्रह्माण्डमा ऊर्जा प्रवाह र पदार्थ वितरणबारे हाम्रो बुझाइलाई नै परिवर्तन गर्न सक्छ।

तर वैज्ञानिकहरू स्वयं पनि यस निष्कर्षमा सावधानी अपनाउनुपर्ने बताउँछन्। किनभने ह्वाइट होल वा ब्ल्याक होलको यस्तो अन्तिम अवस्था बुझ्न अहिलेको भौतिकशास्त्र पर्याप्त छैन। यसका लागि क्वान्टम ग्राभिटी नामक एकीकृत सिद्धान्त आवश्यक हुन्छ। जुन अहिले पनि पूर्ण रूपमा विकास भएको छैन। 

यद्यपि यो अध्ययन अहिले प्रि-पियर रिभ्यु प्लेटफर्मअर्क्साइभमा मात्र प्रकाशित भएको छ। जसको अर्थ यो प्रारम्भिक अनुसन्धान हो। र अन्तिम वैज्ञानिक प्रमाणको रूपमा स्वीकार गरिएको छैन।

यदि भविष्यमा यी निष्कर्षहरू पुष्टि भएमा, यसले ब्रह्माण्डको प्रारम्भिक अवस्था, ब्ल्याक होलको जीवनचक्र, ऊर्जा क्षय प्रक्रिया, र डार्क म्याटरको रहस्यबारेको आम  बुझाइमा ठूलो क्रान्ति ल्याउन सक्ने दाबी गरिन्छ।

बोल्ड फोटोसुटका कारण चर्चामा आएका बलिउड अभिनेत्री

काठमाडौं। सामाजिक सञ्जाल र मनोरञ्जन उद्योगमा कलाकारहरूको फरक शैलीका फोटोसुटले बेला-बेला ठूलो चर्चा हुने गरेको छ ।

विशेषगरी म्यागजिन कभर, विज्ञापन अभियान वा सामाजिक सन्देशसँग जोडिएका केही बोल्ड फोटोसुटले दर्शक र समीक्षक दुवैको ध्यान तानेका छन्।

बलिउडका केही चर्चित कलाकारले पनि आफ्नो करिअरका विभिन्न चरणमा यस्ता फोटोसुटमार्फत चर्चा बटुलेका थिए। कतिपयले यसलाई कला र आत्मअभिव्यक्तिको माध्यम माने भने कतिपयले सामाजिक सन्देश प्रवाह गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

सन्नी लियोनीले आफ्ना पति डेनियल वेबरसँग मिलेर पशु अधिकारसम्बन्धी अभियानमा सहभागी हुँदै चर्चित फोटोसुट गराएकी थिइन्। लामो समय अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रमा सक्रिय रहेकी उनी सन् २०१२ मा फिल्म जिस्म २ मार्फत बलिउडमा प्रवेश गरेकी थिइन्। त्यसयता उनले विभिन्न सामाजिक अभियानमा पनि सहभागिता जनाउँदै आएकी छन्।

सन् २०१७ मा इशा गुप्ता सामाजिक सञ्जालमा सार्वजनिक गरेका आफ्ना केही तस्वीरका कारण व्यापक चर्चामा आएकी थिइन्। फिल्म बादशाहो प्रदर्शनको समय सार्वजनिक भएका ती तस्वीरले समर्थक र आलोचक दुवैको प्रतिक्रिया पाएका थिए। इशाले भने त्यसलाई आफ्नो व्यक्तिगत अभिव्यक्ति र आत्मविश्वाससँग जोडेर हेर्नुपर्ने बताएकी थिइन्।

कल्कि कोचलिनले पनि एउटा चर्चित म्यागजिनका लागि गराएको कलात्मक फोटोसुटपछि धेरै चर्चा बटुलेकी थिइन्। उनले उक्त अभियानलाई शरीरप्रति सकारात्मक सोच र महिलाको स्वतन्त्र अभिव्यक्तिसँग जोडेर व्याख्या गरेकी थिइन्। सामाजिक सञ्जालमा यस विषयले लामो समयसम्म बहसको रूप लिएको थियो।

बलिउडमा परम्परागत सुन्दरताको परिभाषाभन्दा फरक पहिचान बनाएकी कलाकारका रूपमा विद्या बालन चिनिन्छिन्। चर्चित फोटोग्राफर डब्बु रत्नानीको वार्षिक क्यालेन्डरका लागि उनले दिएको बोल्ड पोजले पनि निकै चर्चा पाएको थियो। त्यसबेला उनको प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आए पनि विद्याले कलाकारका लागि आत्मविश्वास र सिर्जनात्मक स्वतन्त्रता महत्वपूर्ण हुने धारणा राख्दै आएकी छन्।

यस्तै, शर्लिन चोपडापनि आफ्नो साहसी फोटोसुटका कारण लामो समयदेखि चर्चामा रहने कलाकारमध्ये एक हुन्। मोडलिङ र मनोरञ्जन क्षेत्रमा सक्रिय उनले विभिन्न अन्तर्राष्ट्रिय प्रकाशनसँग समेत काम गरेकी छन्।

मनोरञ्जन उद्योगमा यस्ता फोटोसुटलाई एक समय केवल विवादको विषयका रूपमा हेरिन्थ्यो। तर पछिल्ला वर्षहरूमा धेरै कलाकारले यसलाई सिर्जनात्मक अभिव्यक्ति, आत्मविश्वास, शरीरप्रति सकारात्मक दृष्टिकोण तथा सामाजिक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा प्रस्तुत गर्न थालेका छन्।

यद्यपि यस्ता प्रस्तुतिहरूले समाजमा फरक-फरक धारणा र बहस भने निरन्तर जन्माइरहेका छन्।

राप्रपा छाड्नेको संख्या १९२ पुग्यो (सूचीसहित)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ। डा. धवलशम्शेर राणाको समूहले आज राजधानीको होटल येलो प्यागोडामा एक कार्यक्रम गर्दै सामूहिक राजीनामा दिएको हो। आज भएको कार्यक्रममार्फत १८३ जनाले राजीनामा दिएका थिए। तर यो सूची बढेर १९२ पुगेको छ।

राप्रपाको सामूहिक राजीनामा दिने समूहको थपिएको सूचीमा केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार जोशी, पूर्व केन्द्रीय सदस्य मदन पोखरेल, मनिष शर्मा, राधा शाही, विना अधिकारी, विमल अधिकारी, पशुपति कठायत, प्रविणकुमार शेरचन लगायतका नेता तथा कार्यकर्ता छन्।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी आन्दोलन तुहाएको भन्दै राणा समूहले पार्टी छोडेको हो। बिहीबार भएको कार्यक्रममा पहिलो चरणमा पार्टी परित्याग गर्नेहरूमा महामन्त्री डा. धवलशम्शेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी लगायतका नेता रहेका छन्।

 

बालेनको बचाउमा उत्रियो रास्वपा – ‘कूटनीतिक पहल राष्ट्रघात होइन’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले नेपाल-भारत सीमा विवाद समाधानका लागि भइरहेको कूटनीतिक पहललाई राष्ट्रघातको रूपमा व्याख्या नगर्न आग्रह गरेकी छन्।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्को प्रश्नोत्तर कार्यक्रममा सीमा समस्याबारे दिएको अभिव्यक्तिपछि विभिन्न राजनीतिक वृत्तमा बहस चर्किरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन्।

धितालले सीमा सम्बन्धी विषय नेपालका लागि अत्यन्त संवेदनशील, भावनात्मक र दशकौँदेखि समाधान हुन नसकेको राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै यस विषयलाई लिएर प्रधानमन्त्रीलाई अनावश्यक रूपमा विवादमा तान्ने प्रयास भइरहेको बताइन्।

उनका अनुसार छिमेकी मुलुकसँगका सीमा समस्या कुनै एक बैठक, एक भ्रमण वा एक अभिव्यक्तिले समाधान हुने विषय होइन। यस्ता जटिल मुद्दामा राजनीतिक, प्राविधिक र कूटनीतिक तहमा लामो समयसम्म निरन्तर छलफल र समझदारी आवश्यक पर्ने उनले जिकिर गरिन्।

उनले विगतका सरकारले पनि छिमेकी राष्ट्रसँग विभिन्न सन्धि, सम्झौता र समझदारी गरेका स्मरण गराउँदै कतिपय विषयमा राष्ट्रिय हितका दृष्टिले प्रश्न उठे पनि त्यसको मूल्यांकन समग्र सन्दर्भ र परिणामका आधारमा हुनुपर्ने धारणा राखिन्।

‘अघिल्ला सरकारहरूको कार्यकालमा वार्ताको प्रक्रिया नै अघि बढ्न नसकेको अवस्था थियो। अहिले कम्तीमा संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्ने वातावरण बनेको छ,’ उनले भनिन्।

धितालले सीमा विवाद समाधानको चरणमा पुग्दा दुवै देशमा राजनीतिक बहस, संसदीय छलफल र सार्वजनिक चासो बढ्नु स्वाभाविक प्रक्रिया भएको बताइन्। तर यस्ता विषयमा धैर्य, संयम र आपसी विश्वास आवश्यक हुने उनको भनाइ छ।

उनले प्रधानमन्त्रीलाई समयअघि नै खलनायकका रूपमा चित्रण गर्ने, नागरिकमा शंका र अविश्वास फैलाउने तथा हरेक कूटनीतिक प्रयासलाई राष्ट्रघातको दृष्टिले हेर्ने प्रवृत्तिले समाधानको बाटो सहज नबनाई झन् अवरोध सिर्जना गर्न सक्ने बताइन्।

रास्वपाको नेतृत्वले राष्ट्रिय हितविपरीत कुनै पनि निर्णय नगर्ने दाबी गर्दै उनले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको हितभन्दा माथि कुनै पनि सम्बन्ध, दबाब वा स्वार्थ हुन नसक्ने स्पष्ट पारिन्।

धितालले दशकौँसम्म शासन सञ्चालन गरेर पनि सीमा समस्या समाधान गर्न नसकेका राजनीतिक शक्तिहरूले अहिले समाधानको प्रयास गरिरहेकाहरूलाई विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्ने बताइन्।

उनका अनुसार यस्ता जटिल राष्ट्रिय मुद्दाको मूल्यांकन तत्कालको अभिव्यक्ति वा भ्रमणका आधारमा नभई सम्पूर्ण कूटनीतिक प्रक्रिया र त्यसबाट आउने परिणामका आधारमा गरिनु उपयुक्त हुन्छ।

उनले भावनात्मक उत्तेजना फैलाएर ‘खोक्रो राष्ट्रवाद’को राजनीति गर्नुको सट्टा कूटनीतिक प्रक्रियालाई आवश्यक समय दिनुपर्ने धारणा व्यक्त गर्दै राष्ट्रिय महत्वका विषयमा धैर्य, संयम र विश्वास नै सफल समाधानका आधार हुने उल्लेख गरिन्।

भ्युजका लागि गोरुलाई यातना दिएर भिडियो बनाउने व्यक्ति पक्राउ [भिडियो]

काठमाडौं।  सामाजिक सञ्जालमा धेरै भ्युज र चर्चा बटुल्ने उद्देश्यले घरपालुवा गोरुमाथि निर्दयी व्यवहार गरेको भिडिओ सार्वजनिक गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार पक्राउ पर्नेमा गौमुखी गाउँपालिका–१ का ३६ वर्षीय जालीराम थापामगर रहेका छन्। उनले आफ्नै खेतमा जोत्ने क्रममा गोरुले हिँड्न नसकी खेतमै बसेपछि त्यसलाई उठाउनका लागि कुटपिट र दुर्व्यवहार गरेको दृश्य भिडियोमा कैद गरी फेसबुक र टिकटकमा पोस्ट गरेका थिए।

प्रहरीका अनुसार सार्वजनिक भएको भिडियोमा थापामगरले गोरुको नाक र मुख माटोमा गाडेर कुटपिट तथा हिर्काउने जस्ता अमानवीय व्यवहार गरेको देखिएको छ। उक्त भिडियो सामाजिक सञ्जालमा फैलिन थालेपछि घटनाबारे प्रहरीको ध्यानाकर्षण भएको थियो।

घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने सम्बन्धी व्यवस्थाअनुसार मुद्दा दर्ता गरेको छ। संहिताको परिच्छेद २७ को दफा २९० अनुसार पशुपन्छीमाथि क्रूर वा अमानवीय व्यवहार गर्न पाइँदैन।

प्रहरीले तालुक जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हरि भट्टराईका अनुसार सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्ने नाममा पशुपन्छीमाथि हिंसा वा यातना दिने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरिएको छ।

चौतर्फी घेराबन्दीबीच नेतृत्वमा दृढ देखिए ओली

काठमाडौं । ‘सजिलो पर्‍यो, अनुकूल वातावरण बन्यो, प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्ने, प्रधानमन्त्री खाने, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर बीचमै अलपत्र छोडेर हिँड्ने हो कि भन्‍ने आशंका मनमा नलिनुहोला।’

बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको यो अभिव्यक्तिले एउटा स्पष्ट सन्देश दियो- उनी स्वेच्छिक रूपमा नेतृत्व छाड्ने मनस्थितिमा छैनन्।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका ओलीले एक घण्टा बढी समय बोले। आफ्नो सम्बोधनमा उनले निर्वाचन परिणाम, २३ र २४ भदौको जेन-जी विद्रोह, कार्की आयोग, आफ्नै पक्राउ प्रकरण, पार्टी संगठन र कार्यकर्ताको भूमिकालगायत विभिन्‍न विषय उठाए।

तर, उनको सम्बोधनको केन्द्रमा एउटा कुरा स्पष्ट देखिन्थ्यो- नेतृत्व हस्तान्तरणको बहसलाई अस्वीकार र अझै पार्टीको नेतृत्वमा रहने इच्छा।

सम्बोधनका क्रममा उनले भने, ‘कसैलाई आशंका हुन सक्छ कि मैले बीचमै झोला फ्याँकेर पार्टीलाई अलपत्र छोड्छु कि। त्यस्तो आशंका मनमा नराख्नुस्। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाउँछु। पार्टीलाई सफलताको दिशामा पुर्‍याएपछि मात्र, पार्टीको विधि र विधानअनुसार विश्राम लिने अवस्था आउँछ।’

यो एमालेभित्र पछिल्लो समय बढिरहेको नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहसप्रति ओलीको जवाफ थियो।

२०७१ सालको नवौं महाधिवेशनपछि लगातार अध्यक्ष बनेका ओलीले करिब डेढ दशक एमालेको नेतृत्व गरिसके । यस अवधिमा उनी नेपाली राजनीतिका सबैभन्दा शक्तिशाली नेतामध्ये एक बने।

राष्ट्रियतावादी छवि, आक्रामक शैली र प्रभावशाली वाक्पटुता कारण उनी लोकप्रियताको शिखरमा पुगे। तर समयसँगै उनीलक्षित आलोचना पनि बढ्दै गयो। त्यो आलोचनाको प्रमुख कारक उनी स्वयम् बने। 

अहिले एमालेभित्रै ओली अल्पमतमा छन् । एक समय निर्विवाद र निर्विकल्प नेता मानिने ओली अहिले आफ्नै पार्टीभित्र चुनौतीको सामना गरिरहेका छन्। पार्टीको संगठनात्मक अवस्था, चुनावी परिणाम र जनमतको गिरावटलाई लिएर नेताहरू खुला रूपमा प्रश्‍न उठाउन थालेका छन्।

ओली अध्यक्ष बनेपछि पार्टीका धेरै प्रभावशाली नेताहरू एमालेबाट बाहिरिए। पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनालदेखि भीम रावल, घनश्याम भुसाल र वामदेव गौतमसम्म विभिन्‍न कारणले पार्टीबाट अलग भए।

ओलीका आलोचकहरू भन्छन् – उनले वैचारिक बहसलाई संस्थागत रूपमा व्यवस्थापन गर्नुको सट्टा असहमतिहरूलाई निषेध गर्ने शैली अपनाए। परिणामस्वरूप एमालेले आफ्नो अनुभव, विविधता र आन्तरिक सन्तुलन गुमाउँदै गयो।

ओलीको राजनीतिक जीवनको सबैभन्दा ठूलो सफलता २०७४ सालको आमनिर्वाचन थियो। तत्कालीन नेकपाले करिब दुईतिहाइ बहुमत हासिल गर्‍यो।

प्रतिनिधिसभामा १७४ सिटसहितकाे त्यो जनमत नेपाली कम्युनिस्ट आन्दोलनकाे सबैभन्दा ठूलो उपलब्धिमध्ये एक थियो। त्यसपछि ओली प्रधानमन्त्री बने। जनताले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको अपेक्षा गरेका थिए। तर नेकपा पार्टी नै टिकेन।

प्रधानमन्त्री बनेको ४२ महिना नपुग्दै ओली सरकारले आफ्नो शक्ति गुमायो। दुईपटक संसद् विघटन गर्ने निर्णय सर्वोच्च अदालतबाट बदर भयो। ओली सरकारबाट बाहिरिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजनको अवस्थामा पुग्यो।

एमाले फुटेर नेपाल, खनाल लगायतका नेताहरुले नेकपा एकीकृत समाजवादी गठन गरे। रावल कारबाहीमा परे । घनश्याम भुषाल छुट्टै राजनीतिक अभियानतिर लागे।  आलाेचकहरुका अनुसार यहीँबाट एमालेको ओरालो यात्रा सुरु भयो। 

ओलीले इतिहासकै सबैभन्दा शक्तिशाली जनादेश जोगाउन सकेनन्। ओलीले याे स्वीकारेका छन् । आफू नेतृत्वकाे त्यसबेलाकाे सरकार र तत्कालीन नेकपा विभाजन बचाउन सकेको भए नेपालको राजनीतिक इतिहास फरक हुन सक्थ्यो भन्ने धारणा अझै पनि एमालेभित्र सुनिन्छ। तर त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नमा पार्टी र सरकारको नेतृत्वमा रहेका कारण धेरै औंला ओलीतर्फ सोझिने गरेका छन् ।

२०७९ को निर्वाचनमा एमाले पहिलो शक्तिबाट दोस्रो शक्तिमा खुम्चियो। त्यसपछि पार्टीको जनमत ओरालो लागिरह्यो। यही बिचमा कांग्रेससँग सहकार्य गर्दै ओली चौथोपटक सरकारको नेतृत्वमा पुगे।

उनको चौथो कार्यकाल भने एमालेकै लागि प्रत्युत्पादक बन्‍न पुग्यो। देशले अत्यासलाग्दो आन्दोलन र सबैभन्दा ठूलो राजनीतिक परिवर्तन देख्यो।  

२१ फागुनको निर्वाचनमा एमाले इतिहासकै कमजोर अवस्थामा पुग्यो। १६५ प्रत्यक्ष सिटमध्ये पार्टीले जम्मा ९ सिट जित्यो। यो परिणाम एमालेका लागि मात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनकै लागि ठूलो धक्का थियो।

अध्यक्ष ओली स्वयं आफ्नै निर्वाचन क्षेत्रमा ५० हजारभन्दा बढी मतान्तरले पराजित भए। पदाधिकारी तहका कुनै पनि नेताले चुनावी सफलता हासिल गर्न सकेनन्।

राजनीतिक विश्लेषकहरूका अनुसार यो एमालेको पराजय आकस्मिक थिएन। उनीहरुका अनुसा जेन-जी विद्रोहपछि एमाले नेतृत्वबाट आएका आक्रामक अभिव्यक्ति, आन्दोलनको अस्वीकार्यता र बदलिँदो राजनीतिक मनोविज्ञानलाई बुझ्न नसक्नु मुख्य कारण हाे ।

२३ र २४ भदौको जेन-जी विद्रोह नेपाली राजनीतिको अकल्पनीय मोड थियो। भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा र विगत लामो समयदेखि सत्ताको केन्द्र भागमा रहेका राजनीतिक दलहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै हजारौं युवा सडकमा उत्रिए। यही आन्दोलनको बलमा देशको राजनीतिक समीकरण बदलियो।

तर एमालेले आजसम्म पनि उक्त घटनालाई आन्दोलनका रूपमा स्वीकार गरेको छैन। ओली आन्दोलनकारी युवाहरूलाई देशद्रोही प्रवृत्तिको संज्ञा दिन्छन्। भनिन्छ, गत २१ फागुनको निर्वाचनमा एमाले पराजयको एउटा कारण याे पनि हो। 

थाहा छ कि पञ्‍चायती व्यवस्था फाल्न एमालेले आन्दोलन गरेको छ।  २०४६ को राजनीतिक परिवर्तनमा उसको महत्वपूर्ण योगदान छ। २०६२/०६३ को जनआन्दोलनको  प्रमुखमध्येकाे एक शक्ति हो। यो देशका विभिन्‍न परिवर्तनमा एमाले अग्रभागमा छ । तर २३ भदौमा भ्रष्टाचारविरुद्धको नारासहित  सुशासनको माग गर्दै सडकमा ओर्लीएका युवाहरुलाई ओलीले विध्वंशकारी र देशद्रोही भनेका छन् ।

पुस ३ गते काठमाडौंमा सम्पन्‍न एमाले महाधिवेशनमै नेतृत्व परिवर्तनको प्रयास भएको थियो। ईश्वर पोखरेलले अध्यक्ष पदमा ओलीसँग प्रतिस्पर्धा गरे। उनी पराजित भए पनि गोकर्ण विष्ट र योगेश भट्टराई फरक धारबाट नेतृत्व तहमा पुगे। त्यसयता भने एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस निरन्तर चलिरहेको छ।

२१ फागुनको निर्वाचनपछि बसेको सचिवालय बैठकमा पनि पार्टी पुनर्गठनको मुद्दा प्रमुख रूपमा उठेको बताइन्छ। शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत नेताहरूले वर्तमान शैलीमा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष प्रस्तुत गरेको चर्चा छ।

यथास्थिति र वर्तमान नेतृत्वलाई लिएर एमाले अघि बढ्न नसक्ने एमाले पुनगठनको बहस चलाउने नेताले बताउने गरेका छन्।  बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले यो कुरा दोहोर्याए। उनले भने, ‘समयानुकूल पार्टीमा व्यापक पुनगठन गरेर अघि बढ्छौँ।’

सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गरेको छ । यो कार्यदलले आगामी एकमहिना भित्र वर्तमान स्थिति र पुनगठनको आवश्यकताका सन्दर्भमा पार्टीको तल्लो तहदेखि प्रतिवेदन तयार गर्ने जिम्मा पाएको छ।  

कुनै समय ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्ने नारा युवापंक्ति लाउँथे । त्यसमध्ये केही नेतृत्व हस्तान्तरणको पक्षमा देखिएका छन् केही नेतृत्वमा ओलीकाे विकल्प खाेज्‍न नहुने बताइरहेका छन् ।

पछिल्लो समय ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता फुकुवा गर्ने निर्णय गरे। यो निर्णय पनि एमालेभित्रको शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ। अघिल्लो वर्ष सदस्यता राेकेकाे आराेप अध्यक्ष ओलीलाई लाग्याे । तर अहिलेको निर्णयलाई धेरैले ओलीको राजनीतिक बाध्यता र रक्षात्मक रणनीतिका रूपमा व्याख्या गरेका छन्।

आज एमाले रक्षात्मक अवस्थामा छ। राष्ट्रिय राजनीतिमा उसको प्रभाव खुम्चिएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ। चुनावी परिणाम निराशाजनक छन्। पुराना समर्थकहरू निराश छन् र युवापुस्ताको आकर्षण घटेको छ। भएका पार्टी कार्यकर्ता पलायनको अवस्थामा छन्। यस्तो अवस्थामा पनि ओलीले नेतृत्व हस्तान्तरण नगर्ने बताए ।

उनले बुधबारको कार्यक्रममा स्पष्ट रूपमा भने, ‘नेतृत्व विधि र विधानअनुसार मात्र छाडिनेछ।’ अर्थात्, तत्काल स्वेच्छिक रूपमा पदत्याग गर्ने कुनै संकेत छैन। ओलीको सन्देश छ- उनी अझै नेतृत्व छाड्ने पक्षमा छैनन्। 

 

प्रधानमन्त्री बालेनको एक वाक्य, ठूलो संकट : माफी कि राजीनामा ? (भिडियो वार्ता)

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमासम्बन्धी अभिव्यक्तिका कारण प्रधानमन्त्री बालेन्द्र शाहले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले संसदमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न विवादबारे बोल्दै श्रेष्ठले उक्त भनाइ प्राविधिक रूपमा गलत भएको टिप्पणी गरे।

‘दखल र अतिक्रमण फरक विषय हुन्। नेपाली किसानले कतै भारतीय किसानको भोगचलनको जमिन उपयोग गरेको हुन सक्छ, तर त्यसलाई नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्न मिल्दैन,’ श्रेष्ठले भने।

उनले सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट तथ्यगत त्रुटि भएको उल्लेख गर्दै आवश्यक ठानेमा माफी माग्नुपर्ने र गम्भीर राजनीतिक तथा नैतिक जिम्मेवारी लिनुपर्ने बताए।

‘यदि राष्ट्रिय संवेदनशीलतासँग जोडिएको विषयमा गम्भीर त्रुटि भएको महसुस गर्नुहुन्छ भने प्रधानमन्त्रीले त्यसअनुसार निर्णय लिन सक्नुहुन्छ। राजीनामा दिने वा नदिने उहाँको नैतिक र राजनीतिक निर्णयको विषय हो,’ श्रेष्ठको भनाइ छ।

नेपालले भारतको भूमि मिचेको छ कि छैन ? यही मूल प्रश्नको वरिपरी रहेर सीमाविद् श्रेष्ठसँग गरिएको संवादको सम्पादित अंश:

प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्नुभयो। नेपालले भारतको जग्गा मिचेको छ कि छैन ?

प्राविधिक दृष्टिकोणले नेपालले भारतको जग्गा मिचेको छैन। नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर लामो सीमा छ। उक्त सीमामा भारतले ठूलो संख्यामा सीमा सुरक्षा बल (एसएसबी) तैनाथ गरेको छ। सीमावर्ती क्षेत्रमा नेपाली नागरिक गल्तीवश केही मिटर भारतीय भूभागतर्फ पुगेको अवस्थामा समेत भारतीय सुरक्षाकर्मीले रोक्ने वा हस्तक्षेप गर्ने गरेका छन्। त्यसैले नेपालले भारतको भूमि अतिक्रमण गरेको छ भन्ने निष्कर्षमा पुग्‍न सकिँदैन।

मलाई लाग्छ, प्रधानमन्त्रीलाई सीमासम्बन्धी विषयमा गरिएको ब्रिफिङका क्रममा कतिपय प्राविधिक पक्ष ठीकसँग बुझाइएन । सीमाका केही क्षेत्रमा सीमारेखा अस्पष्ट भएका कारण भारतीय किसानले नेपाली किसानको भोगचलनको जमिन उपयोग गरेका छन् भने नेपाली किसानले पनि भारतीय किसानको भोगचलनमा रहेको जमिन उपयोग गरेका छन्। यसलाई अंग्रेजीमा ‘क्रस होल्डिङ अकुपेसन’ भनिन्छ।

प्रधानमन्त्रीले सम्भवतः यही सन्दर्भलाई बुझ्दा नेपालीले पनि भारतीय भूमि मिचेका रहेछन् भन्‍ने निष्कर्ष निकाल्नुभयो। तर प्राविधिक रूपमा यो निष्कर्ष सही होइन।

त्यसो भए प्रधानमन्त्रीको अभिव्यक्ति गलत थियो ?

प्राविधिक हिसाबले गलत थियो। किसानस्तरमा भएको भोगचलन वा दखललाई अतिक्रमण भन्‍न मिल्दैन। अतिक्रमण भनेको एउटा राष्ट्रले अर्को राष्ट्रको भूभाग कब्जा गर्नु हो। नेपाली किसानले कतै भारतीय किसानको भोगचलनको जमिन उपयोग गरेको हुन सक्छ, तर त्यसलाई राष्ट्रस्तरीय अतिक्रमण भन्न सकिँदैन।

मलाई लाग्छ- प्रधानमन्त्रीले तयारीबिना संसदमा बोल्दा शब्द चयनमा त्रुटि गर्नुभयो। ‘दखल’ भन्‍नुपर्ने ठाउँमा ‘अतिक्रमण’ शब्द प्रयोग भयो। त्यसैले उहाँको अभिव्यक्ति प्राविधिक रूपमा सही मान्‍न सकिँदैन।

विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने माग गरिरहेका छन्। यो विषय कसरी समाधान हुनुपर्छ ?

यो विषय कूटनीतिक र राजनीतिक दुवै रूपमा सम्बोधन गर्नुपर्छ। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबाट भ्रम सिर्जना भएको महसुस गर्नुभयो भने स्पष्टीकरण दिन सक्नुहुन्छ। आवश्यक ठाने माफी पनि माग्न सक्नुहुन्छ।

राजीनामा दिने वा नदिने विषय उहाँको नैतिक र राजनीतिक निर्णय हो। यदि आफूबाट राष्ट्रिय संवेदनशीलतासँग सम्बन्धित विषयमा गम्भीर त्रुटि भएको ठान्‍नुहुन्छ भने त्यसअनुसार निर्णय लिन सक्नुहुन्छ। कम्तीमा पनि ‘दखल’ भन्‍नुपर्ने ठाउँमा ‘अतिक्रमण’ शब्द प्रयोग भएको स्पष्ट पारेर माफी माग्‍न सकिन्छ।

अहिले नेपाल-भारत सीमामा मुख्य विवादित क्षेत्र कुन-कुन हुन् ?

नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर लामो सीमारेखा छ। मेरो अध्ययनअनुसार ७१ स्थानमा सीमासम्बन्धी विवाद, दाबी-प्रतिदाबी वा अतिक्रमणका विषय रहेका छन्।

मुख्य रूपमा दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको करिब ३७२ वर्ग किलोमिटर भूभाग विवादको केन्द्रमा छ। त्यसैगरी नवलपरासीको सुस्ता क्षेत्रमा करिब १४५ वर्ग किलोमिटर भूभाग विवादित छ।

त्यसबाहेक कञ्चनपुरको गड्‍डाचौकी क्षेत्र, इलामको सन्दकपुर क्षेत्र तथा पशुपतिनगर आसपासका केही भूभागमा पनि सीमासम्बन्धी विवाद र दाबी-प्रतिदाबी रहेका छन्।

नेपालले आफ्नो दाबी गरिरहेको भूभाग फिर्ता पाउन के गर्नुपर्छ ?

नेपालसँग ऐतिहासिक नक्सा, दस्तावेज, जनगणनाका अभिलेख तथा प्रशासनिक प्रमाणहरू छन्। सन् १८१९, १८२७, १८५६ लगायतका विभिन्‍न नक्साहरू उपलब्ध छन्। गुन्जी, नाबी र कुतिका बासिन्दाले नेपालको निर्वाचनमा मतदान गरेको इतिहास पनि छ।

यस्ता प्रमाणका आधारमा नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग भएको दाबी गर्दै आएको छ। तर भारतले त्यसलाई स्वीकार गरेको छैन।

नेपालले आफ्नो दाबी कूटनीतिक माध्यमबाट निरन्तर उठाइरहनुपर्छ। प्रमाणका आधारमा वार्तामा जानुपर्छ र अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पक्ष स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्छ।

प्रधानमन्त्री बालेनले नेपाल-भारत सीमा विवाद समाधानका लागि तेस्रो पक्षको मध्यस्थता आवश्यक हुन सक्ने बताएका छन् । यो सम्भव छ ?

अन्तर्राष्ट्रिय सीमासम्बन्धी सिद्धान्तअनुसार पहिलो प्राथमिकता संवाद, छलफल र द्विपक्षीय वार्तालाई दिइन्छ। दुई देशले आफैं समाधान खोज्ने प्रयास गर्नुपर्छ।

यदि त्यसबाट समाधान भएन भने मात्र तेस्रो पक्षको भूमिका आउन सक्छ। तर तेस्रो पक्षको संलग्नताका लागि दुवै देशको सहमति आवश्यक हुन्छ। नेपालले चाहे पनि भारत तयार नभएसम्म तेस्रो पक्षको मध्यस्थता सम्भव हुँदैन।

भारतीय विदेश मन्त्रालयले तेस्रो पक्षको संलग्नता अस्वीकार गरिसकेको छ। त्यसैले अहिलेको अवस्थामा त्यो विकल्प व्यावहारिक देखिँदैन।

प्रधानमन्त्रीको सीमा विषयक बुझाइ परिपक्‍व नभएको टिप्पणी पनि भइरहेको छ। तपाईंको धारणा के छ ?

मलाई लाग्छ, प्रधानमन्त्रीले पर्याप्त अध्ययन र तयारीबिना केही विषयमा धारणा सार्वजनिक गर्नुभएको देखिन्छ। सीमाजस्तो संवेदनशील विषयमा बोल्दा तथ्य, इतिहास, अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक प्रभावबारे गहिरो अध्ययन आवश्यक हुन्छ।

राज्यका उच्च पदाधिकारीले बोल्ने प्रत्येक शब्दले राष्ट्रिय हित र कूटनीतिक सम्बन्धमा प्रभाव पार्न सक्छ। त्यसैले यस्तो विषयमा बोल्दा विशेष सावधानी अपनाउनुपर्छ।

सार्वजनिक पदाधिकारीले सीमासम्बन्धी विषयमा बोल्दा के कुरामा ध्यान दिनुपर्छ ?

पहिलो कुरा, पर्याप्त तयारी गर्नुपर्छ। दोस्रो, स्थापित तथ्य र प्रमाणमा आधारित भएर बोल्नुपर्छ। तेस्रो, राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतालाई ध्यान दिनुपर्छ।

नेपाल र भारतबीच सीमासम्बन्धी विषय हेर्ने विभिन्‍न संयन्त्रहरू बनेका छन्। परराष्ट्र सचिवस्तरीय संयन्त्र, प्राविधिक समिति तथा सीमा कार्यसमूहहरू सक्रिय बनाएर समस्या समाधानतर्फ अघि बढ्नुपर्छ।

वार्ताबाट समाधान सम्भव छ ?

सम्भव छ। अन्तर्राष्ट्रिय सम्बन्धमा संवाद, छलफल, वार्ता, समझदारी र विश्वास निर्माण अत्यन्त महत्वपूर्ण हुन्छन्। नेपाल र भारतले नियमित संवाद जारी राखे समाधानको बाटो खुल्छ।

समस्या समाधानका लागि दुवै पक्षले एकअर्कालाई विश्‍वास गर्नुपर्छ। अहिले विश्‍वासको अभाव देखिन्छ। यही कारणले सीमा समस्या जटिल बनेको छ।

केही अन्तर्राष्ट्रिय उदाहरणहरू पनि छन् ?

छन्, भारत र बंगलादेशले सीमा विवाद समाधान गर्दा भूभाग साटासाटको मोडल अपनाएका थिए। भारतले १११ वटा इन्क्लेभ बंगलादेशलाई दियो भने बंगलादेशले ५१ वटा इन्क्लेभ भारतलाई दियो। त्यसपछि दुई देशबीचको सीमा समस्या समाधान भयो।

यसलाई ‘बंगलादेश मोडल’ भनिन्छ। नेपाल-भारत सम्बन्धमा पनि अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्न सकिन्छ, यद्यपि कालापानी-लिम्पियाधुरा जस्ता विषयमा यसको प्रयोग सम्भव छ वा छैन भन्‍ने अलग बहसको विषय हो।

नेपाल-भारत सीमा विवाद उठ्नेबित्तिकै नेपाली समाजमा राष्ट्रवादी भावना किन बलियो हुन्छ ?

यो विषय नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको छ। देशको एक वर्ग किलोमिटर भूभाग गुम्नु भनेको केवल जमिन गुम्नु मात्र होइन, त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकको भविष्य र राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय हो।

त्यसैले सीमासम्बन्धी विषय उठ्दा नेपाली समाज संवेदनशील हुनु स्वाभाविक हो। जनतामा आफ्नो भूमि र राष्ट्रप्रतिको भावनात्मक सम्बन्ध अत्यन्त बलियो हुन्छ।

अन्ततः नेपाल-भारत सीमा समस्या समाधानको उपाय के हो ?

समाधानको आधार संवाद नै हो। नेपाल, भारत र आवश्यक परे सम्बन्धित पक्षहरूबीच प्राविधिक, कूटनीतिक र राजनीतिक तहमा निरन्तर संवाद हुनुपर्छ।

वार्ता, तथ्य, प्रमाण र आपसी विश्वासका आधारमा समाधान खोज्नुपर्छ। अन्तिम लक्ष्य दुवै देशका लागि स्वीकार्य ‘विन–विन’ समाधान हुनुपर्छ। संवादको विकल्प संवाद नै हो।

कालिमाटी-कुलेश्वर करिडोर विस्तारसँगै भीममुक्तेश्वर क्षेत्रको आवतजावत सहज (तस्बिरहरु)

काठमाडौं। काठमाडौं महानगरपालिका–१३ अन्तर्गतको भीममुक्तेश्वर क्षेत्र नजिक विष्णुमती नदीको दायाँ किनारमा रहेको करिडोर सडक अहिले पूर्ण रूपमा पक्की बनाइएको छ। यसअघि टेकुतर्फको खण्ड मात्र कालोपत्रे रहेको उक्त करिडोर अहिले कालिमाटी पुलबाट कुलेश्वर हुँदै बल्खुसम्म विस्तार गरी पिच गरिएको हो।

कालिमाटी पुलको दायाँपट्टि रहेका अनाधिकृत घरटहरा हटाइएपछि खाली भएको क्षेत्रमा सडक निर्माण सम्पन्न गरिएको हो। केही समय अघिसम्म अव्यवस्थित बस्तीले ढाकिएको यो क्षेत्र अहिले खुला तथा व्यवस्थित देखिएको छ।

सरकारले वर्षायाममा डुबानको उच्च जोखिम रहेको भन्दै नदी किनारका बस्ती खाली गराई संरचनाहरू हटाएको थियो। त्यसपछि करिडोर विस्तारको काम अगाडि बढाइएको हो।

नवनिर्मित सडक सञ्चालनमा आएपछि कालिमाटी चोकको सवारी चाप छल्दै चालकहरूले सिधै करिडोरमार्फत कुलेश्वर र बल्खुसम्म पुग्न सक्ने भएका छन्। यसले काठमाडौं महानगरपालिका–१३ को भीममुक्तेश्वर क्षेत्रका स्थानीय बासिन्दालाई समेत सहज आवतजावतको सुविधा प्रदान गरेको छ।

 

राप्रपाबाट उछिटिएका धवल शम्शेरको नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता धवल शम्शेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै उनले वर्तमान अवस्थामा राप्रपाबाट आफूहरूले बोकेको राजनीतिक विचार र उद्देश्य पूरा गर्न नसकिने निष्कर्षमा पुगेपछि नयाँ यात्राको निर्णय गर्नुपरेको बताएका हुन्।

राणाले पाँच वर्षअघि राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउन आफूहरूले सक्रिय भूमिका खेलेको स्मरण गर्दै अहिले भने त्यही पार्टी छाड्नुपरेको अवस्था दुःखद भएको बताए।

उनले भने, ‘पाँच वर्षअघि हामीले राजेन्द्र लिङ्देनलाई अंगालो मारेर अध्यक्ष बनाएका थियौँ। तर आज त्यही घर छाड्नुपर्ने अवस्था आएको छ। यो खुसीको होइन, दुःखको दिन हो। तर जब आफूले विश्वास गरेको मूल्य र मान्यतालाई त्यही घरभित्रबाट स्थापित गर्न नसकिने अवस्था आउँछ, तब हिम्मत गरेर अर्को घर बनाउनैपर्छ।’

धवल शम्शेरले राप्रपा अहिले वैचारिक र संगठनात्मक रूपमा कमजोर बन्दै गएको आरोप पनि लगाए। उनका अनुसार पार्टीभित्र सुधारको प्रयास गरिए पनि त्यसलाई अगाडि बढ्न नदिइएको र आफूहरूले उठाएका एजेन्डाले उचित स्थान नपाएको गुनासो छ।

‘मक्किसकेको र चर्किसकेको घरमा बसिरहनुभन्दा नयाँ घर निर्माण गर्नु नै उचित ठानेका छौँ,’ उनले भने, ‘पछिल्ला चार वर्ष मेरो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय बने। मैले पार्टीलाई सही दिशा दिन, आन्दोलनलाई बलियो बनाउन र राप्रपालाई देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्न प्रयास गरेँ, तर मेरा ती प्रयासहरूलाई अघि बढ्न दिइएन।’

उनले नयाँ दल गठनको तयारी सुरु भइसकेको संकेत दिँदै आफूहरूसँग समान सोच र उद्देश्य भएका व्यक्तिहरूलाई एकत्रित गर्ने काम अगाडि बढाइएको बताए। यद्यपि नयाँ पार्टीको नाम, संरचना र आगामी कार्ययोजनाबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

यसैबीच, धवल शम्शेर राणासहित १८६ जनाले सामूहिक रूपमा राप्रपा परित्याग गरेको घोषणा गरेका छन्।

खुम्बुको हिउँमा घिस्रिँदै मृत्यु जितेर फर्किएका दावा [फोटो-फिचर]

काठमाडौं। सगरमाथाको खतरनाक खुम्बु आइसफॉल क्षेत्रमा सात दिनसम्म हराएका ओखलढुंगाका ५७ वर्षीय दावा शेर्पा अन्ततः जीवितै फेला परेका छन्।

हिउँको अन्धकार,अक्सिजनको कमी र कठोर चिसोबीच उनले गरेको संघर्षलाई उद्धारकर्ताहरूले ‘अविश्वसनीय जीवित यात्रा’ भनेर वर्णन गरेका छन्।

चैत १३ गते काठमाडौंको रामहिटीबाट ‘हिमालयन ट्राभल्स एडभेन्चर’ कम्पनीमार्फत उनी सगरमाथा क्षेत्रतर्फ गएका थिए। कुकको रूपमा काम गर्ने दावा शेर्पा हिमालतर्फ उक्लिएका थिए।

परिवारका अनुसार उनी क्याम्प १ र क्याम्प २ क्षेत्रमा देखिएका थिए। तर क्याम्प ४ तर्फ जाने क्रममा उनी अचानक सम्पर्कविहीन भए।

दावाकी श्रीमती डमु शेर्पाका अनुसार कम्पनीले सुरुका दिनहरूमा स्पष्ट जानकारी दिन सकेन। कहिले क्याम्प ३, कहिले क्याम्प ४ वरिपरि देखिएको भनियो, तर वास्तविक अवस्था परिवारसम्म स्पष्ट रूपमा पुगेन। तीन दिनभन्दा बढी समयसम्म बेपत्ताको औपचारिक जानकारी नै नदिएको परिवारको आरोप छ।

यसैबीच,हिमालको कठोर भू–भागमा दावाले आफ्नो जीवनका कठिन घडीहरू सामना गरे। घिस्रिँदै उनी क्याम्प ३ सम्म पुगेका थिए, जहाँ उनले केही खानेकुरा भेट्टाएर खाए। त्यसपछि तल झर्ने क्रममा उनी एक खोँचभित्र रातभर आश्रय लिएर बसे।

भोलिपल्ट बिहान खुम्बु आइसफॉल क्षेत्रमा हिमाल सफा गर्ने कार्यमा खटिएको ६ जनाको टोलीले उनलाई फेला पारेको हो। सगरमाथा आधार शिविर नजिकैको क्याम्पोन पोइन्ट क्षेत्रमा उनी हिउँमा घिस्रिरहेको अवस्थामा देखिएका थिए। टोलीले तत्काल उनलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो।

उद्धारपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था अहिले स्थिर छ तर हात र खुट्टामा गम्भीर फ्रस्टबाइट देखिएको छ। संवेदनशीलता फर्काउन तातो पानीसहितको विशेष उपचार जारी छ।

यसैबीच, सगरमाथा आरोहणका क्रममा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने तयारी गरेको छ।

घटनाले हिमाली क्षेत्रमा काम गर्ने श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे फेरि प्रश्न उठाएको छ।

तस्वीरहरू:

आदिवासी जनजाति महिला महासंघको माइतीघरमा खबरदारी कार्यक्रम(तस्बिरहरु)

काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो पहिचान: आदिवासी महिला एकताको अभियान’ नाराका साथ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले राजधानीमा खबरदारी कार्यक्रम गरेको छ।

महासंघले माइतीघर मण्डलामा ध्यानाकर्षण तथा खबरदारी कार्यक्रम आयोजना गर्दै आदिवासी जनजाति महिलाको अधिकार, भूमि तथा पहिचानसँग सम्बन्धित मुद्दामा सरकारको ध्यानाकर्षण गराएको हो।

कार्यक्रममा सहभागीहरूले आदिवासी समुदायका परम्परागत भूमि अधिकारको संरक्षण, महिलाको समान सहभागिता, तथा सांस्कृतिक पहिचानको सम्मान सुनिश्चित गर्न माग गरेका थिए।

महासंघले राज्यले आदिवासी जनजाति महिलाका मुद्दालाई नीति तथा व्यवहार दुवै तहमा सम्बोधन गर्न ढिलाइ गरिरहेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

 

 

मलेसियालाई १६७ रनले हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा समूह विजेता बन्दै छनोट भएको छ।

समूह ‘ए’ अन्तर्गत सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।

जितका लागि २७६ रनको लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमै सीमित भयो। मलेसियाका कप्तान सयद अजिजले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उनले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। शर्विन मुनियान्डीले १८ रन र ओपनर मोहम्मद हाजिकले १३ रन जोडे। अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका बलरहरूले सन्तुलित प्रदर्शन गरे। शेर मल्लले ३ विकेट लिए भने सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि कुशल भुर्तेलले विस्फोटक शतक प्रहार गर्दै १२६ रन बनाए। उनले ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गरे। यो उनको लगातार दोस्रो शतक हो। यसअघि चीनविरुद्धको पहिलो खेलमा पनि उनले शतक बनाएका थिए। टी–२० अन्तर्राष्ट्रियमा यो उनको तेस्रो शतक समेत हो।

आसिफ शेखले पनि उत्कृष्ट प्रदर्शन गर्दै ६८ रन जोडे। उनले २४ बलमा ५ चौका र ७ छक्का प्रहार गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले ३१ रन, सन्दीप जोराले १५ रन, लोकेश बमले १० रन र कुशल मल्लले अविजित ९ रन बनाए।

मलेसियाका लागि बलिङमा भिरनदीप सिंहले ३ विकेट लिए भने विजय उनई र कप्तान सयद अजिजले २–२ विकेट लिए।

यसअघि पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गरेको थियो। लगातार दुई जितसँगै नेपालले समूह विजेता बन्दै एसियन गेम्समा स्थान सुरक्षित गरेको हो। समूह ‘ए’ बाट मलेसिया पनि छनोट भएको छ भने लगातार दोस्रो हारपछि चीन प्रतियोगिताबाट बाहिरिएको छ।

समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेका छन्।

प्रतियोगिताको नियमअनुसार समूहका शीर्ष दुई टोली एसियन गेम्सका लागि छनोट हुने व्यवस्था रहेको छ।

फेरियो बालेनको बोली, आफ्ना मन्त्रीहरुको सम्पत्ति छानबिन नगर्ने [भिडियो]

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति छानबिन आयोगले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ।

आयोगलाई दिइएको कार्यादेश (टीओआर) मा वर्तमान प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति अनुसन्धान समावेश नगरिएको पाइएको हो।

सरकारले २०६२/६३ सालपछि सार्वजनिक उच्च ओहदामा पुगेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गत वैशाख २ गते मन्त्रिपरिषद्को निर्णयबाट पाँच सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको थियो। आयोगको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी रहेका छन्।

आयोग गठनको घोषणा गर्दा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले २०६२/६३ यता सार्वजनिक पदमा पुगेका सबै व्यक्तिहरूका साथै वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको पनि सम्पत्ति छानबिन हुने बताएका थिए। तर आयोगलाई प्रदान गरिएको कार्यादेशमा वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिनको व्यवस्था नरहेको खुलेको छ।

यससँगै आयोगको कार्यक्षेत्र र सरकारको प्रारम्भिक घोषणाबीच अन्तर देखिएको भन्दै प्रश्न उठ्न थालेका छन्।

 

सोधपुछ गर्न चौकी बोलाइएका ‘फेकु दास’ प्रहरीबाटै किन कुटिए ?

काठमाडौं। सर्लाहीको हरकठवा क्षेत्रमा प्रहरी कार्यालयमै बोलाइएका एक स्थानीय कुटिएका छन्।

प्रहरी जवानको कुटाइबाट धनकौल गाउँपालिका-५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका हुन्। उनी हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत छन्।

साइनिङ स्टार बोर्डिङ स्कुलका सञ्चालक संजय साहले फेकु दासका दुई छोराको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा प्रशासनले आवश्यक सोधपुछका लागि इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो।

त्यसपछि बुधवार दिउँसो फेकु दास श्रीमतीसहित प्रहरी कार्यालय पुगेका थिए। प्रारम्भिक विवरण अनुसार कार्यालयमै उनीहरूलाई सोधपुछ गर्ने क्रममा पत्रमा हस्ताक्षर गर्न भनिएको थियो। तर दासले विद्यालयको शुल्क पहिले नै तिरेको दाबी गर्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि विवाद सुरु भएको बताइएको छ।

त्यही विवाद चर्किँदै जाँदा प्रहरी जवान रामजीवन पासवानले दासमाथि बाँसको भाटा र बुटले कुटपिट गरेको आरोप लागेको छ। कुटपिटपछि उनी गम्भीर घाइते भएका थिए।

घटनामा दासको बायाँ हात, तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल बरहथवास्थित हनुमन्त हस्पिटल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको हो।

घटना बाहिरिएपछि स्थानीयस्तरमा प्रश्न उठेका छन् कि प्रहरी कार्यालयभित्रै बोलाइएका नागरिकमाथि कुटपिट कसरी भयो। पीडित पक्षले आफूलाई अन्याय भएको दाबी गरिरहेको छ भने घटनाको निष्पक्ष छानबिनको माग पनि उठेको छ।

इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्रको कोठामा दास र प्रहरी जवानबीच विवाद भएको स्वीकार गरेका छन्। उनका अनुसार सोही विवादकै क्रममा कुटपिटको घटना भएको हो।

यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको बताएका छन्। उनका अनुसार प्रारम्भिक सूचनामा दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको देखिएको छ।

उनले घटनामा संलग्न प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानिएको र थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

घटनाबारे विस्तृत छानबिन जारी रहेको प्रहरीले जनाएको छ।

फुट्यो राप्रपा, को-को अलग भए ?(सूचीसहित)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । पार्टीका केही वरिष्ठ नेता तथा पदाधिकारीहरूले पार्टीको वर्तमान नेतृत्वमाथि वैचारिक विचलन, संगठनात्मक कमजोरी र आन्तरिक लोकतन्त्रको अभावको आरोप लगाउँदै पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

जेठ २१ गते जारी संयुक्त वक्तव्यमा उनीहरूले आरपीपीको मूल वैचारिक आधार संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेको उल्लेख गर्दै वर्तमान नेतृत्व त्यस लक्ष्यबाट विचलित भएको आरोप लगाएका छन्। वक्तव्यमा पार्टीको नेतृत्वले गणतन्त्र सुदृढीकरणतर्फ झुकाव देखाएको र पार्टीको मूल उद्देश्य तथा महाधिवेशनका निर्णयहरूलाई बेवास्ता गरेको दाबी गरिएको छ।

असन्तुष्ट नेताहरूले पार्टीभित्र पारदर्शिता, जवाफदेहिता र विधिसम्मत अभ्यास कमजोर बन्दै गएको आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार नेतृत्वको कार्यशैली, आन्तरिक मतभिन्नताप्रतिको व्यवहार तथा संगठन सञ्चालनका विषयमा उठाइएका प्रश्नहरूको उचित सम्बोधन हुन नसक्दा पार्टीको जनाधार खस्किएको छ।

वक्तव्यमा वरिष्ठ नेता तथा कार्यकर्ताहरूको योगदानको सम्मान हुन नसकेको, पार्टी विधानको पूर्ण पालना नभएको तथा फरक मत राख्नेहरूमाथि अनुशासनात्मक दबाब सिर्जना गरिएको आरोप समेत लगाइएको छ।

पहिलो चरणमा पार्टी परित्याग गर्ने नेताहरूमा महामन्त्री, डा. धवलशम्शेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी लगायतका नेता रहेका छन्।

पार्टीभित्र केही समययता देखिएको असन्तुष्टि र नेतृत्वसँगको मतभेदका कारण यो कदम चालिएको बताइएको छ। असन्तुष्ट पक्षले आगामी दिनमा थप नेताहरू तथा कार्यकर्ताहरू पनि आफ्नो अभियानमा जोडिन सक्ने संकेत दिएको छ।

उनीहरूले आफूहरू पार्टीको स्थापना कालदेखि अघि सारिएका सिद्धान्त र मूल्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै वैकल्पिक राजनीतिक यात्राबारे आगामी दिनमा थप निर्णय सार्वजनिक गरिने बताएका छन्।

यस घटनाक्रमले आरपीपीको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याएको छ भने पार्टीभित्र थप ध्रुवीकरण हुने सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

सूची:

तेस्रोपटक को सँग बिहे गर्दैछन् आमिर खान ?

एजेन्सी। बलिउड अभिनेता आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्राटसँग विवाह गर्ने पुष्टि गरेका छन्। अभिनेता स्वयंले विवाह जुलाई ५, २०२६ मा हुने बताएका हुन्।

दुई वर्षभन्दा बढी समयदेखि सम्बन्धमा रहेका आमिर र गौरी अब वैवाहिक जीवन सुरु गर्ने तयारीमा छन्। भेराइटी इण्डियासँगको कुराकानीमा आमिरले स्पष्ट रूपमा भनेका छन्, ‘विवाहको खबर सत्य हो। जुलाई ५ मा हाम्रो विवाह हुँदैछ।’

रिपोर्ट अनुसार उनीहरूले विवाहलाई ठूलो तामझाम बिना पारिवारिक वातावरणमै सम्पन्न गर्ने योजना बनाएका छन्। दुवै जना आफ्नो निजी जीवनलाई अनावश्यक चर्चाबाट टाढा राख्न चाहेकाले भव्य रिसेप्सन वा ठूलो समारोह आयोजना नगर्ने तयारी गरिएको छ।

आमिर खानले सन् २०२५ मा आफ्नो ६० औं जन्मदिनको अवसरमा गौरीसँगको सम्बन्ध सार्वजनिक गरेका थिए। त्यसयता उनले विभिन्न अन्तर्वार्तामा गौरीले आफ्नो जीवनमा शान्ति र स्थिरता ल्याएको बताएका छन्।

यो विवाह आमिर खानको तेस्रो विवाह हुनेछ। यसअघि उनले सन् १९८६ मा फिल्म निर्माता रीना दत्तासँग विवाह गरेका थिए। जुन सन् २००२ मा सम्बन्ध विच्छेदमा टुंगिएको थियो। उनीहरूका दुई सन्तान जुनैद खान र इरा खान छन्।

त्यसपछि आमिरले सन् २००५ मा निर्देशक किरण रावसँग विवाह गरेका थिए। उनीहरूको सम्बन्ध २०२१ मा टुंगिएको हो। उनीहरूका छोरा आजाद राव खान छन्।

सम्बन्ध विच्छेद भए पनि आमिरले रीना र किरण दुवैसँग सम्मानजनक सम्बन्ध कायम राख्दै आएका छन्। र सन्तानको अभिभावकत्व पनि सहमतिमा निभाइरहेका छन्।

गौरी स्प्राट बेंगलुरुकी उद्यमी हुन् र फेसन तथा ब्यूटी क्षेत्रसँग सम्बन्धित व्यवसायमा सक्रिय छिन्। उनी हाल मुम्बईमा बसोबास गर्छिन् र एक छोराकी आमा पनि हुन्।

आमिर र गौरीको चिनजान भने नयाँ होइन। उनीहरू करिब २५ वर्षअघि पहिलो पटक भेटिएको तथ्य पनि सार्वजनिक भएको छ।

कुशलको शतकमा नेपालको विशाल स्कोर, मलेसियासामु २७६ रनको चुनौती

काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स क्रिकेट क्वालिफायरमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो। नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेल नायक बने। उनले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतमा १२६ रनको विस्फोटक शतकीय पारी खेले।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो तेस्रो शतक हो। उनको आक्रामक ब्याटिङले नेपाली टोलीलाई बलियो अवस्थामा पुर्‍यायो।

आसिफ शेखले पनि उत्कृष्ट प्रदर्शन गर्दै २४ बलमा ६८ रन जोडे। उनले ५ चौका र ७ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाउँदा ४ छक्का र १ चौका हिर्काए।

मलेसियाका लागि विरनदीप सिंहले ३ विकेट लिए भने सैयद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे।

नेपाल र मलेसिया दुवै टोली यसअघि नै आगामी एसियन गेम्सका लागि छनोट भइसकेका छन्। तर क्वालिफायर अन्तर्गतको यस खेलमा नेपालले ब्याटिङमा प्रभुत्व जमाउँदै मलेसियासामु कठिन लक्ष्य खडा गरेको छ।

बालेनलाई ज्ञात छ ‘सुगौली सन्धि’ ?

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्तिपछि देशको राजनीतिक वातावरण तरंगित छ। 

उक्त भनाइलाई लिएर संसद् र सडक तातेका छन् । राजनीतिक र कुटनीतिक वृत्तबाट शाहकाे चर्काे आलाेचना भइरहेकाे छ। 

प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय हित र नेपालको स्थापित सीमा सम्बन्धी अडानविपरीत रहेको भन्दै विपक्षी दलहरू आन्दाेलित छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा तथा अन्य विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने भन्दै संसद चल्न दिएका छैनन् । उनीहरूले माग सम्बोधन नभएसम्म संसद् सञ्चालन हुन नदिने चेतावनी दिएका छन् । 

राष्ट्रियसभा बैठक पनि यही विवादका कारण प्रभावित बनेको छ।

प्रधानमन्त्रीले आफ्नो भनाइको तथ्य र आधार सार्वजनिक गर्नुपर्ने माग उठिरहेका छन् भने कतिपयले यसलाई नेपालको राष्ट्रिय अडान कमजोर बनाएकाे टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शाहकाे अभिव्यक्तिमा संसद्बाहिर पनि विरोध चर्किएको छ। प्रधानमन्त्रीको भनाइविरुद्ध विभिन्न राजनीतिक संगठन तथा विद्यार्थी संगठनहरूले प्रदर्शन गर्दै देशभर पुत्ला दहन पनि गरेका छन्।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा छन्। उनले  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी देखि लिएर भाजपा अध्यक्ष नितिन नवीनका साथै सरकारमा रहेका उच्च अधिकारीहरूसँग भेट गरिसकेका छन्। 

उता भारतले नेपाल- भारत सिमा विवादकाे द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । उक्त अभिव्यक्तितर्फ लक्षित गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने धारणा राखेका छन् ।

प्रधानमन्त्री शाहकाे याे अभिव्यक्तिपछि नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तटबन्ध निर्माणमा रोक लगाएको छ। नेपाल-भारत सीमा संयुक्त गस्तीका क्रममा निर्माण कार्य रोक्न मौखिक आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ।  स्थानिय प्रशासन भने माथिको आदेश कुरेर बसेको छ।

तर माथिबाट के आदेश भयो त्यो भने खुल्न सकेको छैन।

स्थानीय बासिन्दाले नदी कटानको जोखिम बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सुस्ता बचाउ युवा अभियानले पनि तटबन्ध रोकिँदा समस्या थप गम्भीर बन्ने चेतावनी दिएको छ। 

यता रास्वपा भने सीमा विवाद जस्ताे संवेदनशिल विषयलाई सामान्यीकरण गरिरहेकाे छ। रास्वपा कार्यकर्ताहरू प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गरिरहेका छन् । के साँच्चै जान्नेलाई छान्ने भनेर सरकारमा पुगेको दल, उक्त दलका नेता र कार्यकर्ताहरूले इतिहास बिर्सेका हुन् ? 

ज्ञात छ सुगौली सन्धि ?

नेपाल-भारत सीमा विवादको सन्दर्भमा बारम्बार चर्चा हुने ऐतिहासिक दस्तावेजमध्ये सुगौली सन्धि सबैभन्दा महत्वपूर्ण मानिन्छ । 

सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज-नेपाल युद्धको अन्त्यपछि नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको यही सन्धिले आधुनिक नेपालको सीमाको आधार तय गरेको थियो ।

सन् १८१५ डिसेम्बर ३ मा हस्ताक्षर भएको र १८१६ मार्च ४ मा औपचारिक रूपमा लागू गरिएको सुगौली सन्धि नेपालको इतिहासकै सबैभन्दा महत्वपूर्ण तथा विवादास्पद सम्झौतामध्ये एक मानिन्छ ।

नेपालका तर्फबाट सन्धिमा राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिस पक्षबाट लेफ्टिनेन्ट कर्नेल पेरिस ब्राडशले सन्धिपत्रमा हस्ताक्षर गरेका थिए ।

सुगौली सन्धिपछि नेपालले आफ्नो अधीनमा रहेका विशाल भूभाग गुमाउन बाध्य भयो । इतिहासकारहरूका अनुसार युद्धअघि नेपालको सीमा पूर्वमा टिस्टा नदीसम्म, पश्चिममा सतलज नदी आसपासका क्षेत्रसम्म तथा दक्षिणतर्फ हालका धेरै तराई भूभागसम्म फैलिएको थियो । 

तर युद्धमा पराजयपछि नेपालले काली नदीपश्चिमका कुमाउँ र गढवाल, काँगडा क्षेत्र, सिक्किमसँग जोडिएका भूभाग तथा तराईका ठूलो हिस्सा ब्रिटिसलाई सुम्पनुपरेको थियो ।

सन्धिले केवल भूभागको क्षति मात्र गराएन, नेपालको कूटनीतिक र सैन्य स्वायत्ततामाथि समेत प्रभाव पार्यो । काठमाडौंमा ब्रिटिस प्रतिनिधि राख्ने, गोर्खा सैनिकलाई ब्रिटिस सेनामा भर्ती गर्न अनुमति दिने तथा विदेशी सैन्य विज्ञ नियुक्तिमा प्रतिबन्ध लगाउने जस्ता प्रावधान पनि सन्धिमा समावेश थिए । त्यसअघि नेपालले फ्रान्सेली सैन्य प्रशिक्षकहरूको सहयोग लिँदै आएको थियो ।

यद्यपि सुगौली सन्धिपछि गुमाइएका सबै भूभाग नेपालबाट स्थायी रूपमा टाढा भएनन् । सन् १८१६ मै तराईका केही क्षेत्र नेपाललाई फिर्ता गरिएको थियो भने सन् १८५७ को भारतीय विद्रोह दबाउन नेपालले ब्रिटिसलाई सहयोग गरेबापत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्र नेपाललाई फिर्ता दिइएको थियो । इतिहासमा यी भूभागलाई ‘नयाँ मुलुक’ भनेर चिनिन्छ ।

आज पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी विवादमा सुगौली सन्धिको उल्लेख हुने गरेको छ । नेपालले लिम्पियाधुराबाट उद्गम भएको महाकाली नदीलाई आफ्नो पश्चिमी सीमा मान्दै आएको छ । 

यही ऐतिहासिक सन्धि, पुराना नक्सा र दस्तावेजका आधारमा नेपालले उक्त क्षेत्रमाथि आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।

सुगौली सन्धिको पूर्णपाठ

३ डिसेम्बर, १८१५

१. माननीय इस्ट इन्डिया कम्पनी र नेपाल राजाका बीच चीरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।

२. युद्ध हुनुभन्दा पहिले दुवै राज्यका बीच जुन भू-भागका सम्बन्धमा विवाद थियो, ती भूभागहरु नेपालका राजाले परित्याग गर्छन् र ती भूभागहरुमाथि माननीय कम्पनीको प्रभुसत्ता स्वीकार गर्छन् ।

३. नेपालका राजा माननीय इस्ट इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरु सदाका निम्ति समर्पण गर्छन्,

– काली र राप्ती नदीको बीचका सम्पूर्ण तल्ला भागहरु,
– राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि बुटवल छोडेर ,
-गण्डकी र कोशी बीचको समस्त तल्लो भूभाग,
-मेची र टिस्टाबीचको समस्त तल्लो भूमि,
-मेची नदीभन्दा पूर्वतर्फका सम्पूर्ण पहाडी इलाकाहरु, नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी, जसमा मोरङबाट पहाडतिर जाने बाटो छ, यससँगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिनभित्रमा गोर्खाली सेनाले खालि गरिदिनु पर्नेछ ।

४. नेपाल राज्यका प्रमुख र भारदारहरु, ज-जसको स्वार्थमा माथि उल्लिखित अभिधाराले हानि पुर्‍याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिस सरकारले ती प्रमुखहरुलाई जम्माजम्मी सालाना दुई लाख रुपैयाँ पेन्सनका रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिज अनुसार समानुपातमा बाँडिने छ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइने छ ।

५. नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरुको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै, त्यो इलाका तथा त्यस इलाकाका निवासीहरुसँग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् ।

६. नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परेसान नगर्न र साथै, शान्ति भंग नगर्न स्वीकार गर्छन् र साथै के पनि स्वीकार गर्छन् भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरुबीच कुनै मतभिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थको रुपमा ब्रिटिस सरकारलाई सुम्पनेछन् र नेपालका राजाले ब्रिटिस सरकारको निर्णय स्वीकार गर्नु पर्नेछ ।

७. नेपालका राजा यस नियमलाई स्वीकार गर्छन् कि ब्रिटिस सरकारको अनुमतिविना कुनै ब्रिटिस प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिल्यै पनि राख्ने छैनन् ।

८. दुवै राज्यका बीचमा मित्रता र शान्ति सम्बन्ध सुदृढ र समुन्नत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् ।

९. यो सन्धि, जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्वारा आजको मितिदेखि १५ दिनभित्रमा अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफ्टिनेन्ट कर्नेल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सोभन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् ।

रमा हत्या काण्डको दुई साता : के गर्दै छ प्रहरी ?

काठमाडौं। दमक नगरपालिका-८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणको अनुसन्धानमा प्रहरी अझै निष्कर्षमा पुग्न सकेको छैन।

घटनाको अनुसन्धान सुरु भएको करिब दुई साता बितिसक्दा पनि ठोस नतिजा नआएपछि अनुसन्धान प्रक्रिया अल्मलिएको हो।

गत जेठ १६ गते शनिबार रतुवा खोलामा बोराभित्र प्याक गरिएको अवस्थामा उनको शव फेला परेको थियो। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। शव भेटिएको स्थान दमकको सेतुमाडी क्षेत्रस्थित रतुवा खोलाको पुलमुनि रहेको थियो, जहाँ सेतो प्लास्टिकको बोराभित्र शव फालिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार रमा गत बुधबार राति घरबाट निस्किएकी थिइन्। परिवारका सदस्यहरूले उनलाई साथी भेट्न गएको बताएका छन्। सोही दिन भेट्न बोलाउने साथी सुधार केन्द्रबाट छुटेको व्यक्ति रहेको खुलेको छ। ती युवकमाथि सोधपुछ गरिएको भए पनि हालसम्म उनको संलग्नता पुष्टि हुने आधार फेला परेको छैन।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँका अनुसार शव भेटिएको स्थान नै हत्या भएको स्थान होइन। प्रारम्भिक अनुसन्धानले घटनास्थललाई ‘सेकेन्डरी लोकेसन’ मात्र भएको देखाएको छ।  र वास्तविक हत्या भएको स्थान (प्राइमरी लोकेसन) पत्ता लाग्न बाँकी छ।

प्रहरीका अनुसार मृतकको मोबाइलको अन्तिम लोकेसन दमक बजार क्षेत्रमा देखिएको छ। राति करिब ११ बजेतिर मोबाइल बन्द भएको र त्यसपछि उनको गतिविधिबारे स्पष्ट जानकारी नभएको अनुसन्धानले देखाएको छ।

घटनाको प्रकृति हेर्दा एक जना व्यक्तिको मात्रै संलग्नता नदेखिएको प्रारम्भिक अनुमान प्रहरीको छ। तर हालसम्म कसैलाई पक्राउ गर्ने अवस्था नआएको इन्स्पेक्टर बानियाँले बताएका छन्।

प्रहरी स्रोतका अनुसार घटनास्थल, मोबाइल डाटा र अन्य प्रमाणका आधारमा घटनाको शृंखला पत्ता लगाउने प्रयास जारी छ। शंकास्पद व्यक्तिहरूलाई सोधपुछ गरिएको भए पनि ठोस निष्कर्षमा पुग्न बाँकी छ।

यसैबीच, अनुसन्धान चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र विभिन्न माध्यममा अपुष्ट जानकारी तथा भिडियो सामग्री सार्वजनिक भएकोप्रति प्रहरीले असन्तुष्टि जनाएको छ। यस्ता सामग्रीले अनुसन्धानमा असर पार्ने भन्दै प्रहरीले आधिकारिक पुष्टि नभएका विवरण सार्वजनिक नगर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार संवेदनशील अनुसन्धानका क्रममा बाहिरिने अपुष्ट सूचना र अनुमानका कारण न्यायिक प्रक्रिया प्रभावित हुन सक्ने जोखिम रहने भएकाले संयम अपनाउन आवश्यक छ।

मलेसियाविरुद्ध कुशल भुर्तेलको विस्फोटक शतक

 काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले मलेसियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरेका छन्।

२०औँ एसियाली खेलकुदअन्तर्गत भएको खेलमा भुर्तेलले केवल ४४ बलमा अविजित १०० रन बनाउँदै विपक्षी बलरमाथि पूर्ण रूपमा दबाब सिर्जना गरे। उनको इनिङ्समा १० चौका र ७ छक्का समावेश थिए।

भुर्तेलले २२७.२ को उत्कृष्ट स्ट्राइक रेटमा रन बटुल्दै नेपाली इनिङ्सलाई आक्रामक सुरुआत दिलाएका थिए।

ताजा स्थितिमा नेपालले १४ दशमलव ५ ओभरमा २ विकेटकाे क्षतिमा २ सय ८ रन बनाएर ब्याटिङ गरिरहेकाे छ ।

इजरायल-लेबनानबीच युद्धविराम घोषणा

एजेन्सी। अमेरिकी नेतृत्वमा वासिङ्टनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान बुधबार युद्धविराम लागू गर्न सहमत भएका छन्।

तर इरान समर्थित हिजबुल्लाहले गोली आदानप्रदान पूर्ण रूपमा बन्द नभएसम्म कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ। जसले सम्झौतामाथि अनिश्चितता अझै बढाएको हो।

औपचारिक कूटनीतिक सम्बन्ध नभएका दुवै पक्षबीच संयुक्त विज्ञप्तिमा ‘पाइलट जोन’ स्थापना गर्ने सहमति भएको उल्लेख छ। सो क्षेत्रमा लेबनानी सशस्त्र बलले गैर-राज्य सशस्त्र समूहहरूलाई हटाउँदै विशेष नियन्त्रण कायम गर्ने व्यवस्था रहने बताइएको छ।

युद्धविराम घोषणा भए पनि सीमावर्ती क्षेत्रमा त्यसअघि र पछि पनि झडप तथा आक्रमणहरू जारी रहेको जनाइएको छ। हिजबुल्लाहले इजरायली सेनालाई लक्षित आक्रमण गरेको दाबी गरेको छ भने इजरायली आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ।

सम्झौता सार्वजनिक भएको केही घण्टापछि उत्तरी इजरायलमा ‘संदिग्ध हवाई लक्ष्य’ देखिएपछि हवाई आक्रमण चेतावनी जारी गरिएको थियो, यद्यपि कुनै हताहत पुष्टि भएको छैन।

संयुक्त विज्ञप्तिअनुसार युद्धविराम लागू हुन हिजबुल्लाहको गोलीबारी पूर्ण रूपमा रोकिएको हुनुपर्ने र दक्षिणी लेबनानबाट उसका लडाकूहरू हटाइनुपर्ने शर्त समावेश गरिएको छ।

वासिङ्टनमा भएको वार्ता लेबनानी र इजरायली प्रतिनिधिहरूबीच प्रत्यक्ष संवादको चौथो चरण भएको जनाइएको छ। यो संवाद मार्च २ पछि सुरु भएको सङ्घर्षपछि अघि बढिरहेको हो, जसमा हिजबुल्लाहले इरानको समर्थनमा इजरायलमाथि आक्रमण पुनः सुरु गरेको थियो।

दुवै पक्षले आगामी जुन २२ को हप्तामा पुनः वार्ता गर्ने सहमति पनि जनाएको छ, जसको उद्देश्य व्यापक शान्ति सम्झौतामा पुग्ने बताइएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानको द्वन्द्व र इरानसँग सम्बन्धित तनावलाई अलग-अलग रूपमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। तर इरानले यी सबै घटनाहरू आपसमा जोडिएको दाबी गर्दै इरानी विदेशमन्त्री अब्बास अराघचीले बेरुतमा कुनै पनि आक्रमण भए युद्ध पुनः पूर्ण रूपमा सुरु हुने चेतावनी दिएका छन्।

इजरायली सेनाले बुधबार लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको ‘शत्रुतापूर्ण विमान’ र दुई प्रोजेक्टाइल रोकेको जनाएको छ। त्यसको जवाफमा हिजबुल्लाहले युद्धविराम उल्लङ्घन भएको भन्दै उत्तरी इजरायलमा सैनिक लक्ष्यहरूमा रकेट आक्रमण गरेको दाबी गरेको छ।

बिहीबार बिहान हिजबुल्लाहले दक्षिणी लेबनानको अल–कान्तारा सहरमा इजरायली सैनिक र सवारी साधनलाई लक्षित गर्दै रकेट प्रहार गरेको र चकिफ क्यासल नजिक इजरायली कमान्ड पोस्टमा दुई ड्रोन आक्रमण गरेको जनाएको छ।

यसअघि युद्ध रोक्ने उद्देश्यले प्रस्ताव गरिएको युद्धविराम अप्रिल १७ देखि लागू हुने भनिए पनि दुवै पक्षले एकअर्कामाथि उल्लङ्घनको आरोप लगाउँदै आक्रमण जारी राखेका थिए। हिजबुल्लाहका वरिष्ठ अधिकारी महमुद कोमातीले समूहले आंशिक युद्धविराम स्वीकार नगर्ने स्पष्ट पारेका थिए।

मानवीय क्षति पनि बढ्दै गएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार राजधानी बाहिरको मुख्य राजमार्गमा कारलाई लक्षित इजरायली आक्रमण भएको छ। इजरायली सेनाले धेरै गाउँ खाली गर्न चेतावनी दिएपछि दक्षिणी क्षेत्रमा २० भन्दा बढी स्थानमा आक्रमण भएको रिपोर्ट गरिएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार टायर सहर नजिक अल–हवास क्षेत्रमा भएको आक्रमणमा चार सिरियाली र दुई प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। तर इजरायली सेनाले उक्त क्षेत्रमा कुनै आक्रमण भएको जानकारी नभएको प्रतिक्रिया दिएको छ।

स्वास्थ्य मन्त्रालयले दक्षिणी क्षेत्रमा अन्य आक्रमणहरूमा एम्बुलेन्सलाई पनि लक्षित गरिएको र हिजबुल्लाहसँग आबद्ध अमल आन्दोलनको रिसाला स्काउट्स एसोसिएसनका दुई प्यारामेडिक्स मारिएको जनाएको छ। मन्त्रालयका अनुसार क्षतिग्रस्त एम्बुलेन्सका तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा मेडिकल सामग्री सडकभरि छरिएको देखिन्छ।

जिब्डिन सहरमा हिजबुल्लाहसँग सम्बन्धित इस्लामिक स्वास्थ्य समितिसँग आबद्ध एम्बुलेन्स टोलीमाथि भएको अर्को आक्रमणमा थप एक प्यारामेडिकको मृत्यु भएको एनएनएले जनाएको छ। द्वन्द्व सुरु भएदेखि हालसम्म कम्तीमा १३० आपतकालीन तथा स्वास्थ्यकर्मीहरूको ज्यान गइसकेको बताइएको छ।

लेबनानी सेनाले पनि इजरायली आक्रमणमा एक सैनिकको मृत्यु भएको र छुट्टै घटनामा एक अधिकारी तथा एक सैनिक घाइते भएको जनाएको छ।

सेनाले इजरायलले सैनिक, सवारी साधन र सैन्य स्थानहरूलाई योजनाबद्ध रूपमा लक्षित गरेको भन्दै कडा निन्दा गरेको छ।

‘काला हिरण’ : ‘यो सलमान खानको बायोपिक होइन’

काठमाडौं। चलचित्र ‘काला हिरण’ लाई लिएर विवाद थप गहिरिँदै गएको छ। निर्माण घोषणा र पोस्टर सार्वजनिक भएपछि सुरु भएको बहस अहिले कानुनी तहसम्म पुगेको छ।

बलिउड अभिनेता सलमान खानको कानुनी टोलीले फिल्म रोक्न माग गर्दै नोटिस पठाएपछि निर्माण पक्षले पनि सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छ।

निर्माता अमित जानीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत भिडियो सन्देश जारी गर्दै चलचित्रलाई लिएर फैलिएको बुझाइ गलत भएको बताएका छन्। उनका अनुसार ‘काला हिरण’ कुनै बायोपिक होइन र यो चलचित्रलाई केवल सलमान खानको दृष्टिकोण वा जीवन कथामा आधारित भनेर बुझ्नु गलत हुनेछ।

उनले भिडियोमा भनेका छन्, सलमान खानको कानुनी टोलीले चलचित्रको प्रदर्शन रोक्न र आगामी जुन २० मा सार्वजनिक गर्ने तयारी गरिएको टिजर समेत रोक्न दबाब दिइरहेको छ। जानीले यसलाई सिर्जनात्मक स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्।

यसैबिच एबिपी न्युजसँगको कुराकानीमा उनले चलचित्रको मुख्य उद्देश्य फरक रहेको दाबी गरेका छन्। उनका अनुसार ‘काला हिरण’ ले बिश्नोई समाजको इतिहास, उनीहरूको सांस्कृतिक विरासत, वन्यजन्तु संरक्षणप्रतिको प्रतिबद्धता र सामाजिक संघर्षलाई पर्दामा उतार्ने प्रयास गरेको छ। उनले सलमान खानलाई कथाको केवल एक हिस्सा मात्र बनाइएको स्पष्ट पारेका छन्।

यसअघि सलमान खान पक्षबाट कानुनी नोटिस जारी गरिएको थियो। सञ्चारमाध्यमका रिपोर्टअनुसार डीएसके लीगल नामक कानुनी फर्मले कास्टिङ निर्देशक अक्षय पाण्डेलाई उक्त नोटिस पठाएको हो। नोटिसमा प्रस्तावित चलचित्र ‘काला हिरण’ को निर्माण, प्रचारप्रसार र वितरण तत्काल रोक्न माग गरिएको उल्लेख छ।

नोटिसमा चलचित्रले सलमान खानसँग सम्बन्धित पुरानो काला हिरण शिकार प्रकरणलाई आधार बनाएको भन्दै यसले उनको व्यक्तिगत छवि, प्रतिष्ठा र गोपनीयतामा असर पार्न सक्ने दाबी गरिएको छ।

साथै, यसले अदालतमा विचाराधीन मुद्दामा समेत प्रभाव पार्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै उनको नाम, पहिचान वा उनीसँग सम्बन्धित घटनाक्रम प्रयोग गर्न अनुमति नदिएको स्पष्ट गरिएको छ।

यस घटनापछि चलचित्र उद्योगमा ‘व्यक्तिगत घटना र वास्तविक जीवनका पात्रहरूको प्रयोग’ सम्बन्धी कानुनी बहस पनि पुनः सतहमा आएको छ। विशेषगरी कुनै चर्चित व्यक्तिको जीवनसँग जोडिएका संवेदनशील घटनालाई चलचित्रमा उतार्दा अनुमति आवश्यक हुन्छ वा हुँदैन भन्ने प्रश्न फेरि उठेको छ।

सार्वजनिक विवरण अनुसार चलचित्रको पोस्टर गत शुक्रबार सार्वजनिक गरिएको थियो। पोस्टर सार्वजनिक भएपछि नै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको थियो। केहीले यसलाई साहसिक कथानक भनेका छन् भने केहीले संवेदनशील मुद्दालाई मनोरञ्जनका रूपमा प्रस्तुत गर्न नहुने टिप्पणी गरेका छन्।

निर्माण पक्षले आगामी जुन २० मा चलचित्रको पहिलो झलक र टिजर सार्वजनिक गर्ने घोषणा गरिसकेको छ। तर कानुनी विवादका कारण उक्त तालिका प्रभावित हुने हो वा होइन भन्ने विषय अझै स्पष्ट भएको छैन।

चलचित्रमा सलमान खान र ग्याङ्स्टर लरेन्स बिश्नोईबीचको विवाद पनि देखाइने चर्चा छ। तर मुख्य भूमिकामा को कलाकार छन् भन्ने विषय निर्माण पक्षले गोप्य राखेको छ, जसले चलचित्रप्रतिको कौतुहलता अझ बढाएको छ।

यो मुद्दाको ऐतिहासिक पृष्ठभूमि सन् १९९८ को काला हिरण शिकार प्रकरणसँग जोडिएको छ। त्यतिबेला सलमान खान जोधपुरमा चलचित्र ‘हम साथ साथ हैं’ को छायांकनमा थिए। त्यस क्रममा उनीमाथि काला हिरण र चिंकारा शिकारसँग सम्बन्धित मुद्दा दर्ता भएको थियो। सोही घटनापछि उनीसँगै सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र नीलमविरुद्ध पनि मुद्दा अघि बढाइएको थियो।

१९९८ अक्टोबर १२ मा सलमान खान पहिलो पटक पक्राउ परेका थिए र पछि जमानतमा रिहा भएका थिए। त्यसपछि लामो कानुनी प्रक्रियापछि सन् २०१८ अप्रिल ५ मा अदालतले उनलाई काला हिरण शिकार मुद्दामा ५ वर्ष जेल सजाय र १० हजार रुपैयाँ जरिबाना सुनाएको थियो।

हाल उक्त मुद्दा राजस्थान उच्च अदालतमा विचाराधीन अवस्थामा छ। पछिल्लो सुनुवाइ सन् २०२६ मे महिनामा भएको र अर्को सुनुवाइ सन् २०२६ जुलाई १३ का लागि तोकिएको बताइएको छ।

सलमान खान हाल जमानतमा बाहिरै रहेको अवस्थामा यो विवाद फेरि सार्वजनिक बहसको केन्द्र बनेको छ।

डिशहोमको फिफा विश्वकप २०२६ लक्षित विशेष अफर

काठमाडौं। आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै नेपालको डिटिएच टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ।

कम्पनीले बुधबार जारी गरेको सूचनाअनुसार डिटिएच कम्बो तथा आइपिटिभी कम्बो सेवाका ग्राहकहरूले ६ महिना वा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी ९ सय ९९ रुपैयाँमा फिफा विश्वकप २०२६ सिजन पास खरिद गरेमा थप ३ महिनाको निःशुल्क सदस्यता सुविधा प्राप्त गर्नेछन्। यो योजना जुन १ देखि जुलाई २१ सम्म लागू रहने कम्पनीले जनाएको छ।

फिफा विश्वकप २०२६ अन्तर्गतका सबै १ सय ४ खेल हिमालय स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुनेछन्। ग्राहकहरूले डिशहोमका डिटिएच, आइपिटिभी, डिगो, केबल टिभी तथा टिटु टिभी प्लेटफर्ममार्फत ती खेलहरू हेर्न सक्नेछन्।

डिशहोमले विश्वकपलाई अझ सहज र किफायती रूपमा दर्शकमाझ पुर्‍याउने उद्देश्यले यो योजना ल्याएको जनाएको छ। कम्पनीका अनुसार विश्वकै प्रतिष्ठित खेलकुद महोत्सवमध्ये एक मानिने फिफा विश्वकपका खेलहरू उत्कृष्ट गुणस्तरमा हेर्ने अवसर प्रदान गर्न विशेष योजना सञ्चालन गरिएको हो।

इच्छुक ग्राहकहरूले आफ्नो नजिकको डिशहोम डिलर वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत सिजन पास खरिद गर्न सक्नेछन्। थप जानकारीका लागि ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

प्रोग्रेसिभ फाइनान्सको संस्थापक सेयर बिक्री खुला

काठमाडौं। प्रोग्रेसिभ फाइनान्सका संस्थापक सेयरधनीले आफ्नो सेयर बिक्रीका लागि खुला गरेका छन्।

वर्तमान संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेपछि सो सूचना प्रकाशित गरिएको फाइनान्सले जनाएको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन र अन्य प्रचलित कानुनी व्यवस्था अनुसार उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरिएको छ।

फाइनान्सका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक मापदण्ड पूरा हुने गरी कागजातसहित कम्पनी सचिवको कार्यालयमा लिखित निवेदन दिनुपर्नेछ।

इच्छुक सर्वसाधारणले तोकिएको समयसीमाभित्र सम्पर्क गर्न आग्रह गरिएको फाइनान्सले जनाएको छ।

प्रहरीको छापा : १२ जना पक्राउ

सुनसरी। इनरुवा नगरपालिका–६ स्थित सीतल सेकुवा कर्नरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति छापा मारेर उनीहरूलाई तासको खालबाट नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार उक्त स्थानबाट नगद एक लाख एक हजार सात सय पैतीस रुपैयाँ र एक बुङ तास बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा इनरुवा–६ बस्ने ४७ वर्षीय जुनलक राई, इनरुवा–९ बस्ने २८ वर्षीय ताहिर साफी, इनरुवा–६ बस्ने ६० वर्षीय रामप्रसाद चौलागाईं, इनरुवा–८ बस्ने ३७ वर्षीय उमेश साह हलुवाई र इनरुवा–६ बस्ने ४७ वर्षीय विनोद बोगटी रहेका छन्।

त्यस्तै सीतल सेकुवा कर्नरका सञ्चालक ५९ वर्षीय शुरबहादुर राउत, इनरुवा–८ बस्ने २९ वर्षीय नजावुल मियाँ, २५ वर्षीय अमिर मियाँ, भोक्राहा नरसिंह गाउँपालिका–२ बस्ने २७ वर्षीय फारुक अन्सारी, २२ वर्षीय मफूज अन्सारी, रामधुनी नगरपालिका–९ बस्ने ३३ वर्षीय उमेश सदा र कोशी गाउँपालिका–१ बस्ने ३४ वर्षीय बैजनाथ यादवलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ।

फिल्म ‘रोल नं १’ का निर्माताद्वारा माफीनामा सार्वजनिक

काठमाडौं। दर्शकको ध्यान आकर्षित गर्न सफल हुँदै आएको नेपाली फिल्म ‘रोल नं १’ का निर्माताले माफीनामा सार्वजनिक गरेका छन्।

विशेषगरी पूर्वी नेपालका केही सिनेमा हलहरूमा विद्यालयका विद्यार्थीहरूले समूहमा फिल्म हेर्न थालेपछि दर्शकमाझ सकारात्मक वातावरण बनेको देखिएको छ। यही सन्दर्भमा फिल्मको निर्माण संस्था सेभेन सीज सिनेमा प्रालिले बिहीबार सामाजिक सञ्जालमार्फत माफीनामा सार्वजनिक गरेको हो।

कम्पनीका अध्यक्ष विनोद पौडेलद्वारा हस्ताक्षरित उक्त माफीनामामा सुरुवाती चरणमा फिल्मलाई विशेष रूपमा विद्यार्थी वर्गलाई लक्षित गरी निर्माण गरिएको शैक्षिक चलचित्रका रूपमा प्रस्तुत गरिएको विषयप्रति क्षमायाचना गरिएको उल्लेख छ।

निर्माता पौडेलले फिल्म ‘रोल नं १’ विद्यार्थी जीवन, अभिभावकको भूमिका तथा समाजमा सकारात्मक सोच विकास गर्ने उद्देश्यसहित तयार गरिएको स्पष्ट पारेका छन्।

माफीनामामा प्रारम्भिक रूपमा फिल्मलाई मुख्य रूपमा विद्यार्थी वर्गलाई लक्षित शैक्षिक चलचित्रका रूपमा प्रस्तुत गरिएको भए पनि प्रदर्शनपछि प्राप्त दर्शक प्रतिक्रिया, सुझाव र अनुभवका आधारमा अब यो फिल्म केवल विद्यार्थीका लागि मात्र नभई अभिभावक, शिक्षक तथा समाजका सम्पूर्ण जिम्मेवार व्यक्तिहरूले हेर्नुपर्ने महत्वपूर्ण चलचित्र भएको निष्कर्षमा पुगेको उल्लेख गरिएको छ।

निर्माण संस्थाले फिल्मप्रति देखाइएको चासो र सुझावप्रति धन्यवाद व्यक्त गर्दै शिक्षा क्षेत्रसँग सम्बन्धित सबैलाई फिल्म ‘रोल नं १’ हेर्न हार्दिक अनुरोधसमेत गरेको छ।

एक क्लिक…त्यसपछि सुरु हुन्छ यस्तो रहस्यमय प्रक्रिया

काठमाडौं। हामीले दैनिक रूपमा मोबाइल वा कम्प्युटरमा ब्राउजर खोलेर कुनै शब्द टाइप गर्छौं र केही सेकेन्डमै वेबसाइट हाम्रो स्क्रिनमा देखिन्छ। बाहिरबाट हेर्दा यो प्रक्रिया अत्यन्तै सहज र सामान्य लाग्छ।  तर यसको पछाडि इन्टरनेटको निकै ठूलो, व्यवस्थित र तहगत प्रविधि सक्रिय हुन्छ।

जब प्रयोगकर्ताले कुनै वेबसाइट खोल्ने प्रयास गर्छ, पहिलो काम उसको डिभाइसले सुरु गर्छ। मोबाइल, कम्प्युटर वा ट्याब्लेट जस्ता उपकरणलाई ‘क्लाइन्ट’ भनिन्छ।

क्लाइन्टले इन्टरनेटमार्फत वेबसाइटको जानकारी खोज्न थाल्छ। जहाँ वेबसाइटका फाइलहरू, डाटा, फोटो, भिडियो र कोडहरू भण्डारण गरिएका हुन्छन्,त्यो ‘सर्भर’ हो। सर्भर भनेको शक्तिशाली कम्प्युटर प्रणाली हो जुन सधैं इन्टरनेटमा जडित रहन्छ र प्रयोगकर्ताको अनुरोध अनुसार डाटा पठाउन तयार हुन्छ।

क्लाइन्ट र सर्भरबीचको सम्बन्ध नै इन्टरनेटको मूल आधार हो। प्रयोगकर्ताले कुनै वेबसाइट खोल्न चाहँदा क्लाइन्टले सर्भरलाई अनुरोध पठाउँछ, र सर्भरले आवश्यक सामग्री फिर्ता पठाउँछ। तर यो प्रक्रिया सिधै हुँदैन, बीचमा धेरै तहका प्रविधिहरू काम गर्छन्।

सबैभन्दा पहिले वेबसाइटको ठेगाना पहिचान गर्नुपर्छ। हामीले ब्राउजरमा लेख्ने नाम मानव भाषामा हुन्छ, जस्तै कुनै डटकम ठेगाना, तर कम्प्युटरले त्यस्तो नाम बुझ्दैन। कम्प्युटरले केवल संख्यात्मक आईपी एड्रेस बुझ्छ, जुन प्रत्येक वेबसाइटको वास्तविक डिजिटल ठेगाना हो।

यही समस्या समाधान गर्न ‘डोमेन नेम सिस्टम’ (डिएनएस) प्रयोग हुन्छ। डिएनएसलाई इन्टरनेटको फोनबुक जस्तै मानिन्छ, जसले वेबसाइटको नामलाई सम्बन्धित आईपी एड्रेसमा रूपान्तरण गर्छ। यो प्रणाली विश्वभर फैलिएका हजारौं सर्भरहरूको नेटवर्क हो। जसले सही ठेगाना पत्ता लगाउन केही मिलिसेकेन्डमै काम गर्छ।

सही आईपी एड्रेस फेला परेपछि क्लाइन्ट र सर्भरबीच वास्तविक डेटा आदानप्रदान सुरु हुन्छ। यो सम्पूर्ण सञ्चार प्रक्रिया ‘टीसीपी/आईपी’ प्रोटोकलमा आधारित हुन्छ। ‘टीसीपी’ ले ठूलो डाटालाई साना भागमा टुक्र्याउने, ती भागहरू सही क्रममा पुनः जोड्ने र डाटा सही रूपमा पुगेको सुनिश्चित गर्ने काम गर्छ।

‘आईपी’ ले ती साना डाटा टुक्रा, जसलाई ‘प्याकेट’ भनिन्छ, कुन बाटो हुँदै गन्तव्यसम्म पुग्ने भन्ने निर्धारण गर्छ। इन्टरनेटको संरचना यस्तो हुन्छ कि यी प्याकेटहरू एउटै बाटोबाट जानु आवश्यक हुँदैन। फरक फरक बाटो हुँदै पनि गन्तव्यमा पुग्न सक्छन्।

यो प्रणालीलाई अझ बुझ्न सजिलो बनाउने उदाहरण हो सडक सञ्जाल। ठूला सामानलाई एकै गाडीमा नहालेर साना साना भागमा बाँडेर पठाइन्छ, र ती भागहरू फरक फरक बाटो भएर पनि अन्तिम गन्तव्यमा पुग्छन्। त्यस्तै इन्टरनेटमा पनि डाटा साना प्याकेटमा विभाजन भएर नेटवर्क हुँदै यात्रा गर्छ र अन्तमा ब्राउजरले ती सबैलाई सही क्रममा जोड्छ।

यसपछि ब्राउजर र सर्भरबीच सञ्चारको अर्को तह सुरु हुन्छ, जसलाई ‘हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल’ (एचटीटीपी) भनिन्छ। ब्राउजरले सर्भरलाई अनुरोध पठाउँछ, जसलाई ‘रिक्वेस्ट’ भनिन्छ। सर्भरले त्यसको जवाफ दिन्छ, जसलाई ‘रेस्पोन्स’ भनिन्छ। यदि सबै प्रक्रिया सफल भयो भने सर्भरले ‘२०० ओके’ भन्ने सन्देश पठाउँछ, जसको अर्थ अनुरोध सफलतापूर्वक पूरा भयो भन्ने हो।

तर इन्टरनेटमा सबै कुरा सधैं सफल हुँदैन। कहिलेकाहीँ विभिन्न त्रुटिहरू पनि देखिन्छन्। ‘४०४’ को अर्थ माग गरिएको पेज भेटिएन भन्ने हुन्छ। ‘४०३’ को अर्थ प्रयोगकर्तासँग पहुँच अनुमति छैन भन्ने हुन्छ, ‘३०१’ को अर्थ वेबसाइटको ठेगाना स्थायी रूपमा परिवर्तन भएको छ भन्ने हुन्छ। र ‘५०३’ को अर्थ सर्भर अस्थायी रूपमा उपलब्ध छैन भन्ने हुन्छ। यी सबै कोडहरू इन्टरनेट प्रणालीमा हुने अवस्थाहरू बुझाउने संकेतहरू हुन्।

सर्भरबाट डाटा प्राप्त भएपछि ब्राउजरको वास्तविक काम सुरु हुन्छ, जसलाई ‘रेन्डरिङ’ भनिन्छ। ब्राउजरले प्राप्त गरेको ‘एचटीएमएल’ फाइल पढेर वेबपेजको आधार संरचना तयार गर्छ। त्यसपछि ‘सीएसएस’ ले त्यस पेजलाई डिजाइन, रंग, लेआउट र सौन्दर्य दिन्छ। ‘जाभास्क्रिप्ट’ ले वेबपेजलाई चलायमान र अन्तरक्रियात्मक बनाउँछ, जसले बटन क्लिक, मेनु खोल्ने, स्क्रोल गर्ने जस्ता कार्य सम्भव बनाउँछ।

यसका साथै वेबपेजमा प्रयोग हुने तस्बिर, भिडियो, अडियो, फन्ट र अन्य सामग्रीहरू पनि लोड हुन्छन्, जसलाई ‘एसेट्स’ भनिन्छ। यी सबै तत्वहरू मिलेर अन्ततः प्रयोगकर्ताको स्क्रिनमा पूरा वेबसाइट तयार हुन्छ। यो प्रक्रिया यति छिटो हुन्छ कि प्रयोगकर्ताले केही सेकेन्डमै सम्पूर्ण वेबसाइट देख्न सक्छ।

विश्वव्यापी रूपमा हेर्दा, एक सामान्य वेबपेज लोड हुन केही मिलिसेकेन्डदेखि केही सेकेन्डसम्म लाग्न सक्छ, तर त्यस समयमा हजारौं नेटवर्क उपकरण, राउटर, सर्भर, डेटा सेन्टर र प्रोटोकलहरू एकसाथ सक्रिय भएर काम गरिरहेका हुन्छन्। इन्टरनेटको यही संरचनाले विश्वभरका अर्बौं प्रयोगकर्तालाई एकै समयमा सेवा दिन सम्भव बनाएको छ।

ब्राउजरमा गरिएको एउटा सानो क्लिक वास्तवमा हजारौं तहको प्रविधि, नेटवर्क र प्रणालीहरूको संयुक्त परिणाम हो।

क्लाइन्टदेखि सर्भर, डिएनएसदेखि टीसीपी/आईपी, एचटीटीपीदेखि वेब रेन्डरिङसम्मको सम्पूर्ण प्रक्रिया मिलेर आधुनिक इन्टरनेटलाई छिटो, भरपर्दो र विश्वव्यापी बनाएको छ।

रोल्पामा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं। रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज बिहान अस्थायी नम्बर प्लेट एमएच१४टीसीजे ४७१ भएको बोलेरो सडकबाट खसेर दुर्घटना भएको हो।

दुर्घटनास्थलबाट हालसम्म नाम, थर र वतन नखुलेका दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

जस्तापाता तथा प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धानको काम गरिरहेको छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।