`

जेनजी आन्दोलनका क्रममा भागेका ‘खत्री’ सुन्धाराबाट पक्राउ

काठमाडौं। अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका प्रतिवादी बिराज सिंह लवट (खत्री) पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला, तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय लवटलाई काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित केन्द्रीय कारागार नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुबाट फरार रहेका लवटलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो ।

पक्राउपछि उनलाई प्रहरी वृत्त जनसेवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तरवार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि…

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी टेलिभिजन एनबीसी न्युजको ‘मिट द प्रेस’ नामक अन्तर्वार्ता चलिरहेको क्रममा रिसाउँदै अन्तर्वार्ता बीचमै छोडेका छन् ।

अन्तर्वार्ता पत्रकार क्रिस्टिन वेल्करसँग भइरहेको थियो । सो क्रममा सन् २०२० को राष्ट्रपति चुनाव र ६ जनवरीमा अमेरिकी संसद् भवन (क्यापिटल) मा भएको दंगासम्बन्धी प्रश्नहरू उठेपछि ट्रम्प असन्तुष्ट बनेका थिए ।

ट्रम्पले पुनः २०२० को चुनाव धाँधली भएको भन्ने आधारहीन दाबी दोहोर्‍याए । पत्रकार वेल्करले क्यालिफोर्नियाको गभर्नर चुनाव प्रक्रिया र मतगणनाबारे प्रश्न गर्दा उनले त्यसलाई अस्वीकार गर्दै आक्रोश व्यक्त गरे ।

ट्रम्पले एनबीसी र कार्यक्रमलाई नै भ्रष्ट भन्दै आरोप लगाए । उनले पत्रकारलाई ‘तँ या त भ्रष्ट छेस् कि मूर्ख छेस्’ भनेर टिप्पणी समेत गरे ।

जब पत्रकारले प्रमाण मागिन्, ट्रम्पले कुनै ठोस प्रमाण प्रस्तुत नगरी चुनावमा धाँधली भएको दाबी दोहोर्‍याइरहे । केही समयपछि उनले ‘मलाई पुग्यो’ भन्दै माइक्रोफोन उतारेर अन्तर्वार्ता बीचमै छाडे ।

अन्तर्वार्ता क्रममा वेल्करले उनलाई सम्झाउँदै आफू विशेष अन्तर्वार्ताका लागि विस्कन्सिन पुगेको बताइन् । त्यसको जवाफमा ट्रम्पले आफूले पर्याप्त समय दिइसकेको भन्दै प्रतिक्रिया दिए ।

ट्रम्पले भने, ‘म तिमीसँग एक घण्टादेखि झरीमा बसिरहेको छु, पानी पर्दै रोकिँदै गरिरहेको छ । मैले त तिमीलाई पर्याप्त समय दिइसके । तिमीले आफ्नो प्रेसलाई सिधा गर्नुपर्छ,’ भन्दै अन्तर्वार्ता छोडेर हिँडे ।

अन्तर्वार्तामा उनले ६ जनवरी २०२१ को क्यापिटल आक्रमणबारे पनि विवादास्पद टिप्पणी गरे । उनले ती घटनामा संलग्न व्यक्तिहरूलाई संघीय अनुसन्धान निकायले भवनभित्र प्रवेश गर्न प्रोत्साहित गरेको जस्तो आधारहीन दाबी दोहोर्‍याए ।

त्यसैगरी, उनले ती व्यक्तिहरूले सजायको डरले दोष स्वीकार गरेको समेत दाबी गरे ।

अन्तर्वार्ताको अन्त्यतिर उनले आफैंले प्रस्ताव गरेको ‘एन्टी–वेपनाइजेशन फन्ड’ अन्तर्गत ती व्यक्तिहरूलाई क्षतिपूर्ति दिने विषयमा स्पष्ट जवाफ दिन अस्वीकार गरे ।

एनबीसी न्युजले ट्रम्पको अन्तर्वार्ता बीचमै छोडिएको विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

बैठकमा निरन्तर अवरोध भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रारम्भमा १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, निर्धारित समयपछि पनि दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक सञ्चालन हुन सकेन र सूचना टाँसेर अर्को दिनसम्मका लागि स्थगित गरिएको हो।

२०८२ फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान प्रतिनिधिसभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो।

प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा दिएको ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूले उक्त अभिव्यक्तिको प्रमाण पेस गर्न वा संसद्को रेकर्डबाट हटाउन माग गर्दै सदन अवरुद्ध गरेका हुन्।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले आवश्यक स्पष्टीकरण दिइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले थप स्पष्ट पार्न सक्ने जनाएको छ। तर विपक्षी दलहरूले आफ्नो अडान कायम राखेपछि प्रतिनिधिसभा बैठक सञ्चालन हुन सकेन।

वाईफाइ कसरी काम गर्छ ?

काठमाडौं। हामी दैनिक जीवनमा इन्टरनेटको प्रयोग गरिरहेका छौँ। अझ इन्टरनेट, मोबाइल डाटा वा वाइ-फाइको हामी आदी नै भएका छौं भन्दा फरक नपर्ला। 

तर कहिल्यै सोच्नु भएको छ ? वाईफाइले कसरी काम गर्छ ? वाईफाइका पछाडि अत्यन्त जटिल तर रोचक भौतिक विज्ञान, गणित र कम्प्युटर इन्जिनियरिङको संयोजन छ।  तारबिनै मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा इन्टरनेट चल्नु यो कुनै चमात्कार भन्दा कम हैन। तर यो इलोक्ट्रो-म्याग्नेटिक वेबहरूको अत्यन्त व्यवस्थित प्रयोग हो ।

वाइ-फाइको आधार नै रेडियो वेब हो। जसले प्रकाशको गतिमा हावामा यात्रा गर्छ । यी तरंगहरू राउटर र तपाईंको डिभाइसबीच सूचना आदानप्रदान गर्ने ‘इन्भिजिबल ब्रिज’ हुन् । यही प्रक्रियाले हामीलाई केबलबिनै इन्टरनेटको संसारसँग जोड्छ ।

वाइ-फाइले मुख्य रूपमा २.४ गिगाहर्ज र ५ गिगाहर्ज दुई फ्रिक्वेन्सी ब्यान्ड प्रयोग गर्छ। फ्रिक्वेन्सी भनेको कुनै तरंग कति पटक दोहोरिन्छ भन्ने मापन हो, जसलाई हर्जमा नापिन्छ ।

सरल भाषामा बुझ्दा, यदि तपाईं समुन्द्र किनारमा बसेर छालहरू हेर्दै हुनुहुन्छभने, छालहरू कति छिटो आउँछन् भन्ने नै फ्रिक्वेन्सी हो ।

एक सेकेन्डमा एक छाल आए एक हर्ज हुन्छ। तर वाइ-फाइको सन्दर्भमा एक गिगाहर्ज भनेको एक सेकेन्डमा एक अर्ब छाल बराबरको गति हो ।

फ्रिक्वेन्सी जति उच्च हुन्छ, डेटा पठाउने क्षमता त्यति नै बढी हुन्छ। त्यसैले ५ गिगाहर्ज ब्यान्डले उच्च गति दिन्छ तर यसको दायरा छोटो हुन्छ ।

२.४ गिगाहर्ज भने लामो दूरीमा पुग्न सक्छ र पर्खालजस्ता अवरोध पनि सजिलै पार गर्छ, तर गति अलि कम हुन्छ ।

फ्रिक्वेन्सीहरूलाई अझ साना च्यानलहरूमा विभाजन गरिएको हुन्छ । यसको मुख्य उद्देश्य धेरै प्रयोगकर्ताले एकै समयमा इन्टरनेट प्रयोग गर्दा हुने ‘ट्राफिक जाम’ कम गर्नु हो ।

यदि च्यानलहरू नहुने हो भने सबै डिभाइसले एउटै बाटो प्रयोग गर्दा सिग्नलहरू एकआपसमा बाझिन्थे, जसलाई अवरोध भनिन्छ । च्यानल विभाजनले यही समस्या समाधान गर्छ र नेटवर्कलाई स्थिर बनाउँछ ।

डेटा कसरी हावामा पुग्छ ?

जब तपाईं कुनै वेबसाइट खोल्नुहुन्छ वा भिडियो हेर्नुहुन्छ, तपाईंको डिभाइसले त्यो कमाण्डलाई १ र ० को भाषामा रूपान्तरण गर्छ । यो नै कम्प्युटरको बेसिक ल्याङ्गवेज हो।

तपाईंले कुनै लिंक क्लिक गर्दा त्यो कमाण्ड तुरुन्तै हजारौँ-लाखौँ १ र ० को श्रृंखलामा बदलिन्छ । यही श्रृंखला डिजिटल सूचना हो। जसलाई पछि तरंगमा रूपान्तरण गरिन्छ ।

वाइ-फाइ चिपले बाइनरी डेटा लाई रेडियो तरंगमा रूपान्तरण गर्छ । यस प्रक्रियालाई संकेत मोडुलेसन भनिन्छ ।

यसमा प्रत्येक १ र ० लाई फरक-फरक तरंग ढाँचा, तीव्रता वा आवृत्तिमा बदलिन्छ । यसरी सूचना ‘कोडेड सिग्नल’ बनेर हावामा यात्रा गर्न सक्षम हुन्छ ।

त्यसपछि ती अदृश्य तरंगहरू राउटरसम्म पुग्छन्, जुन इन्टरनेट नेटवर्कको मुख्य प्रवेश बिन्दु हो ।

राउटरले आएका रेडियो तरंगहरूलाई पुनः १ र ० मा परिवर्तन गर्छ, जसलाई संकेत पुनः रूपान्तरण भनिन्छ । त्यसपछि यो डेटा इन्टरनेट सेवा प्रदायक हुँदै विश्वव्यापी नेटवर्कमा पुग्छ ।

त्यहाँ रहेको सर्भरले तपाईंले मागेको सूचना वेबपेज, भिडियो वा फाइल खोजेर पुनः तपाईंको डिभाइसतर्फ पठाउँछ ।

सर्भर → इन्टरनेट नेटवर्क → राउटर → रेडियो तरंग → डिभाइस → स्क्रिनमा देखिने सामग्री यो सम्पूर्ण प्रक्रिया उल्टो बाटोमा दोहोरिन्छ ।

आधुनिक वाइ-फाइ प्रणालीहरू अत्यन्त द्रुत छन् । पुराना राउटरहरू ५४ मेगाबिट प्रति सेकेन्ड वरिपरि काम गर्थे भने नयाँ वाइ-फाइ ५ र वाइ-फाइ ६ ले गिगाबिट प्रति सेकेन्डसम्म गति दिन सक्छन् ।

यसको अर्थ एक सेकेन्डमै लाखौँदेखि अर्बौँ सूचना संकेत आदानप्रदान हुन सक्छ ।

यो तीव्रताका कारण हामीले भिडियो, अनलाइन खेल, भिडियो कल वा क्लाउड सेवा बिना रोकावट प्रयोग गर्न सक्छौं ।

वाइ-फाइको सबैभन्दा रोचक पक्ष भनेको यसको अदृश्यता हो । हामीले देख्दैनौं, तर हाम्रो वरिपरि निरन्तर लाखौँ रेडियो तरंगहरू बगिरहेका हुन्छन् ।

हरेक क्लिक, टाइप, भिडियो वा सन्देश यही अदृश्य तरंगमार्फत संसारभर पुगिरहेको हुन्छ । यो प्रणाली यति छिटो र सूक्ष्म छ कि मानव आँखाले महसुस गर्न सक्दैन।  

यसरी हेर्दा, वाइ-फाइ केवल प्रविधि होइन, बरु विज्ञान, गणित र मानव आवश्यकताको अद्भुत योग बाट बनेको छ।  जसले आजको युगलाई एक क्लिकमै जोडिरहेको छ ।

हङकङद्वारा नेपालसामु १८९ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो। उसका लागि अंशुमान रथले उत्कृष्ट ८० रनको योगदान दिए। यस्तै, शाहिद वसिफले ५५ रन तथा शिव माथुरले २६ रन जोडे।

अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि बलिङमा शेर मल्ल चम्किए। उनले ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।

विपक्षीले छाडेनन् अडान, संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं। प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । विपक्षी दलको अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख डीपी अर्यालले नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए ।

सांसद अर्यालले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएको भन्दै क्षमायाचना गर्नुपर्ने बताइन्।

विपक्षी दलको प्रश्न : आर्थिक विधेयकको १६ पृष्ठ गायब,कहाँ गयो ?

काठमाडौं। आर्थिक विधेयकमा अर्थ मन्त्रालयले गरेको करको दर हेरफेर तथा १६ पृष्ठ हटाइएको विषय संसद्मा गम्भीर रूपमा उठेको छ ।

उक्त बिषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेको बठ्याइँ भएको विपक्षी दलले आरोप लगाएका हुन्।

नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्याल र रास्वपा सांसद ज्ञानबहादुर शाहीले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

पद्मा अर्यालले संसद्मा बोल्दै विधेयकमा गम्भीर त्रुटि भएको दाबी गरिन् । उनले भनिन्, ‘आर्थिक विधेयकको १६ पृष्ठ गायब भयो । करका दर हेरफेर भएको छ ।’

त्यस्तै, रास्वपा सांसद ज्ञानबहादुर शाहीले करका दर हेरफेर कसरी र किन भयो भन्ने प्रश्न उठाए । उनले भने, ‘करका दर हेरफेरको विषय कसलाई थाहा हुन्छ । सीमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्तिबाहेक अरुलाई थाहा हुँदैन । तर आज सूचना लिक भएर ७५३ वटा गाडी केरला नाकाबाट भित्रन्छ । १४ गते भन्सार पास गरिन्छ । २० गते गाडी आउँछ । अनि चुहावट चाहिँ कसले गर्‍यो ?’

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा १६ पृष्ठ हटाएर अर्थ मन्त्रालयले नयाँ संस्करण सार्वजनिक गरेपछि सरकारको आलोचना तीव्र बनेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यही जेठ १५ गते आर्थिक विधेयक प्रस्तुत गरेका थिए । प्रारम्भिक विधेयकमा कुल पृष्ठ संख्या ४६४ रहेकोमा अर्थ मन्त्रालयले पछि सार्वजनिक गरेको संस्करणमा ४४८ पृष्ठ मात्र रहेको देखिएको छ । यस आधारमा १६ पृष्ठ हटाइएको देखिन्छ ।

यससँगै करसम्बन्धी व्यवस्थामा समेत दुवै संस्करणबीच फरक देखिएको छ, जसले विधेयकको प्रक्रियामाथि प्रश्न उठाएको छ ।

संसदीय कानुनी प्रक्रियाअनुसार संसद्मा पेस भइसकेको विधेयकमा कुनै पनि संशोधन गर्नुपरेमा अनिवार्य रूपमा संसद्को स्वीकृति लिनुपर्ने हुन्छ । संसदीय प्रक्रिया अनुसार पेस भइसकेको विधेयक स्वतः परिवर्तन गर्न पाइँदैन, त्यसका लागि औपचारिक संशोधन प्रस्ताव ल्याउनुपर्छ ।

तर मन्त्रालयले त्यसो नगरी मनोमानी टावरले करको दर हेरफेर गरेको पाइएको छ।

आर्थिक विधेयकमा कर हेरफेरको विषय संसदमा(भिडियो)

काठमाडौं । आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषय प्रतिनिधिसभामा उठेको छ। संसद्मा दर्ता भइसकेको विधेयकमा परिवर्तन गरिएको भन्दै सांसदहरूले सरकारसँग स्पष्ट जवाफ मागेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले करसम्बन्धी व्यवस्थामा भएको परिवर्तन र त्यससँग जोडिएको सूचनाको चुहावटबारे सरकारको ध्यानाकर्षण गराए। उनले करका दर परिवर्तनसम्बन्धी जानकारी सीमित व्यक्तिहरूसँग मात्र रहने भएकाले यसबारे गम्भीर छानबिन आवश्यक रहेको बताए।

‘करका दर हेरफेरको जानकारी सामान्यतया अर्थमन्त्री र उहाँबाट स्वीकृत सीमित व्यक्तिहरूलाई मात्र हुन्छ,’ शाहीले भने, ‘तर सूचना बाहिरिएपछि ७५३ वटा गाडी केरला नाकाबाट भित्रिएको र भन्सार प्रक्रियासमेत पूरा भएको चर्चा छ। यस्तो अवस्थामा सूचना कसले चुहायो भन्ने विषयमा सरकारले जवाफ दिनुपर्छ।’

आर्थिक विधेयकमा गरिएको फेरबदलबारे संसद्मा मात्र होइन, बाहिर पनि प्रश्न उठ्न थालेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संसद्मा पेश गरेको आर्थिक विधेयक ४६४ पृष्ठको रहेको थियो। तर पछि अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको संस्करण ४४८ पृष्ठको देखिएको छ।

यसबाट संसद्मा पेश गरिएको विधेयकबाट १६ पृष्ठ हटाइएको देखिएको छ। साथै, संसद्मा दर्ता भएको विधेयक र मन्त्रालयको वेबसाइटमा राखिएको पछिल्लो संस्करणबीच करसम्बन्धी व्यवस्थामै फरक रहेको बताइएको छ।

यसैबीच, संसद्मा पेश भइसकेको आर्थिक विधेयकमा मन्त्रालयले एकतर्फी रूपमा फेरबदल गरेको आरोप लागेपछि उक्त विषयमा सरकारमाथि थप दबाब बढेको छ।

विपक्षी दलले यसरी गरे संसद अवरोध [तस्वीरहरू]

काठमाडौं। प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेरअघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

तस्वीरहरू:

नेपाली सेनालाई सीमा सुरक्षामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई साम्पाङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन नेपाली सेनालाई सीमाक्षेत्रमा तैनाथ गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली सेनाको प्राथमिक जिम्मेवारी देशको सीमा सुरक्षा रहेको उल्लेख गरे। सेनालाई सीमामा परिचालन गर्नुपर्ने ठाउँमा अन्यत्र प्रयोग भइरहेको उनको भनाइ थियो।

साम्पाङले राष्ट्रको अस्तित्वका लागि भूगोल अपरिहार्य रहेको बताउँदै सीमा र राष्ट्रिय अखण्डताप्रति सबै गम्भीर हुनुपर्ने धारणा राखे। प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले त्यसले जनमानसमा दुःख र आक्रोश पैदा गरेको बताए।

‘देश रहनका लागि भूगोल चाहिन्छ। भूगोलबिनाको देशको कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको भनाइप्रति हामी दुःखी र आक्रोशित छौं। उहाँले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ।’

प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिको स्पष्टिकरण पनि स्वयम् प्रधानमन्त्रीले नै दिनुपर्ने उनको भनाइ थियो। ‘उहाँको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्याइनुपर्छ,’ साम्पाङले जोड दिए।

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने – एमाले

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले संसदमा आएर माफी नमागेसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भएको दाबी गर्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने मागसमेत राखिन्।

अर्यालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै अभिन्न भूभाग भएको उल्लेख गर्दै ती क्षेत्र निःसर्त रूपमा फिर्ता हुनुपर्ने धारणा राखिन्।

उनले भनिन्, ‘आज पनि राष्ट्रियता सम्बन्धी बहस चलिरहेको छ, यो कुनै एउटा प्रतिपक्षको विषय मात्रै होइन, यो ३ करोड नेपाली जनताको साझा विषय हो। त्यसैले यो सम्मानित सभाबाट भूल सुधार गरौँ, हामी सबै एकताबद्ध बनौँ।’

उनले राष्ट्रियताको विषयमा सत्ता–विपक्षबीच विभाजन हुनु नहुने बताउँदै संसदबाट साझा राष्ट्रिय सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने प्रस्तावसमेत अघि सारिन्।

अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर क्षमायाचनासहित विवादित अभिव्यक्ति रेकर्डबाट हटाउने प्रक्रिया अघि बढाउन सभामुखलाई आग्रह गरेकी छन्।

बालेनको बोली विवाद : विपक्षीको संसद अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायम राखेका छन्।

केहीबेरअघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाएपछि बैठकको कार्यवाही प्रभावित भएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठक अवरुद्ध गरेका हुन्। उनीहरूले प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने माग अघि सारेका छन्।

यसअघि बसेको सर्वदलीय बैठकमा पनि यही विषयमा छलफल भए पनि सत्ता र विपक्षबीच सहमति जुट्न सकेको थिएन।

सर्वदलीय बैठकमा सत्तापक्षले भारत भ्रमण, सीमा विवाद लगायतका समसामयिक विषयमा रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिने प्रस्ताव राखेको थियो।

तर विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री बालेन शाह स्वयंले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान लिएका छन्।

विपक्षी अवरोधका कारण संसद् बैठकको नियमित कार्यसूची अघि बढ्न नसकेको जनाइएको छ।

‘म सबैको प्रिय बन्न होइन, बाँच्न आएकी हुँ’ – एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहान फेरि सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा आएकी छिन्।

गायन प्रतिभाका कारण मात्र नभई आफ्ना व्यक्तिगत विचार र सामाजिक विषयमा लेख्ने स्टाटसका कारण पनि उनी प्रायः सार्वजनिक बहसमा आउने गर्छिन्।

पछिल्लो समय उनले समाजमा घटेका घटना र आफ्नो पारिश्रमिकबारे लेखेको स्टाटसपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्। कतिपयले उनको अभिव्यक्तिलाई समर्थन गरेका छन् भने कतिपयले उनलाई विवादमा आउन जानाजान यस्ता विषय उठाउने गरेको आरोपसमेत लगाएका छन्।

सामाजिक सञ्जालमै ‘सधैँ किन एलिना नै विवादित हुनुपर्छ ?’ भन्ने प्रश्न उठिरहँदा उनले त्यसको जवाफ दिँदै आफ्नो धारणा सार्वजनिक गरेकी छिन्।

एलिनाले लेखेकी छिन्, ‘विष निल्यो भने भित्रै आफूलाई मार्छ, त्यसैले म ओकल्ने काम गर्छु।’

उनका अनुसार मानिसहरूले उनलाई धेरै बोल्ने, हरेक विषयमा प्रतिक्रिया दिने भनेर प्रश्न गर्ने गरेका छन्। तर सबैको स्वभाव एउटै नहुने र मौन बस्नु मात्र समस्या नहुन सक्ने उनको तर्क छ।

आफ्नो उद्देश्य स्पष्ट पार्दै उनले थप लेखेकी छिन्, ‘म सबैको प्रिय बन्न यो संसारमा आएकी होइन, म बाँच्न आएकी हुँ। म अरूको कारणले आफूलाई दुःख दिन चाहन्न।’

उनको यो स्टाटसले फेरि एकपटक सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ।

उनको स्टाटस जस्ताको त्यस्तै पढ्नुहोस् :

‘धेरै प्रश्न आउँछन्, मलाई किन यति धेरै बोल्नुपर्छ… तिमीलाई मात्र किन? सबैको स्वभाव एउटै हुँदैन। नबोल्ने मान्छेहरू समस्यामा छैनन् भन्ने पनि होइन। बस, यति हो,विष निले भने भित्रै आफूलाई मार्छ, त्यसैले म ओकल्ने काम गर्छु। बाँकी, म सबैको प्रिय बन्न यो संसारमा आएको होइन, म बाँच्न आएको हुँ। म अरूको कारणले आफूलाई दुख दिन चाहन्न। धन्यवाद।’

सीके राउतले भने- ‘हामी सरकारमा भएको भए लिपुलेक फिर्ता भइसक्थ्यो’ [भिडियो]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत) ले सीमाको रक्षा मधेसीले गरिरहेको बताएका छन्।

सोमबार काठमाडौंको माइतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले सीमामा लडाई गर्ने मधेशी भएको बताएका हुन्।

उनले भने, ‘आजसम्म सीमामा लडेर मधेसीले सीमाको रक्षा गरेका छन्।  तपाईहरुले देव नारायण यादवको नाम सुन्नु भएको होला।  सप्तरीमा ठुलो आन्दोलन नै भएको थियो। हामी त्यसरी नै आफ्नो सीमाको रक्षा गर्दै आएका छौँ।  किनकी सीमामा हामी बस्छौं।  हामीले रक्षा गरेर देशको रक्षा भएको हो।’ उनले भने ‘लिपुलेक लिम्पियाधुराको कुरा उठेको छ। मधेशीको हातमा शासन सत्ता नै छैन। यदि मधेशीको हातमा शासन सट्टा भएको भए आजको  जुन हालत उक्त भूमीको भएको छ त्यस्तो हालत कहिल्यौ हुने थिएन।’

त्यस्तै उनले मधेसका जनताको मतको आधारमा सरकार गठन हुने भए पनि उनीहरूका अधिकार भने लामो समयदेखि उपेक्षा हुँदै आएको आरोप लगाएका छन्।

नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेसका मागप्रति राज्य सधैं अनुदार रहेको उनले दाबी गरे।

राउतले मधेसबाट मत लिएर सरकार बनाउने तर अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको टिप्पणी गरे। उनले राणा शासनदेखि हालसम्मका राजनीतिक शक्तिहरूले मधेसलाई न्याय दिन नसकेको आरोपसमेत लगाए।

उनका अनुसार २००७ सालपछि कांग्रेस र कम्युनिष्ट दुवै दलले सत्ता नेतृत्व गरे पनि मधेसी समुदायले अझैसम्म पूर्ण अधिकार नपाएको स्थिति कायम छ। नागरिकता, सुकुम्वासी समस्या समाधान र स्वायत्तता जस्ता मागहरू वर्षौंदेखि सम्बोधन हुन नसकेको उनको भनाइ थियो।

सिके राउतले माओवादी सशस्त्र आन्दोलनपछि पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै आन्दोलन र परिवर्तनका चरणहरूमा समेत मधेस ठगिएको टिप्पणी गरे।

‘मधेसलाई राणाहरूले पनि ठगे, उपनिवेश शासन नै लादे। कांग्रेस–कम्युनिष्टहरूले पनि विगत ७५ वर्षदेखि ठग्दै आएका छन्,’ उनले भने, ‘मत चाहिँ मधेसबाट लिने तर अधिकार नदिने षड्यन्त्र भइरहेको छ।’

उनले वर्तमान सरकारलाई मधेसका मागहरू गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको जानकारी दिए।

जनमत पार्टीले मधेसका राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने निष्कर्ष पुनः दोहोर्याएको छ।
भिडियो:

मोदीको अगाडी बोल्न नसकेका रविले गरे भारत भ्रमणबारे ब्रिफिङ

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसामु सीमा विवादबारे नबोली भारत भ्रमण सकेर स्वदेश फर्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भ्रमणबारे सर्वदलीय बैठकमा ब्रिफिङ गरेका छन्।

आज संसद् सचिवालय, सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले भारत भ्रमणका क्रममा भएका भेटवार्ता र छलफलका विषयमा जानकारी गराएको रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताएका छन्।

महामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल भएको थियो। उनले सबै दलका नेताहरूले सर्वदलीय संवाद सुरु भएकोप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै स्वागत गरेको जानकारी दिए।

बैठकमा सभापति लामिछानेले संसदमा देखिएको गतिरोध अन्त्य गर्न राजनीतिक संवाद आवश्यक रहेकोमा जोड दिएका थिए। उनले समसामयिक राजनीतिक मुद्दाहरू समाधान गर्न निरन्तर छलफल र सहकार्यको आवश्यकता रहेको धारणा राखेको बताइएको छ।

सर्वदलीय बैठकमार्फत राजनीतिक संवादको वातावरण निर्माण गर्ने प्रयासलाई सहभागी दलका नेताहरूले सकारात्मक रूपमा लिएको पनि बताइएको छ।

नेपालको बोर्डरबाट भाग्ने क्रममा टीएमसी नेता जहाँगीर खान पक्राउ

काठमाडौं। भारतको पश्चिम बंगालमा सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) का नेता जहाँगीर खानलाई पश्चिम बंगाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) ले नेपाल सीमाबाट पक्राउ गरेको छ।

बीबीसी बाङ्लालाई उद्धृत गर्दै प्रहरी स्रोतका अनुसार जहाँगीर खान नेपाल सीमा हुँदै भारतबाट भाग्ने प्रयास गरिरहेका बेला उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउको स्थान र समयबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

जहाँगीर खान हालै पश्चिम बंगालको फाल्टा विधानसभा क्षेत्रको उपनिर्वाचनका कारण चर्चामा आएका थिए। उक्त निर्वाचनमा उनी टीएमसीका उम्मेदवार बनेका थिए तर मतदानअघि नै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

टीएमसीले त्यसबेला उनको उम्मेदवारी फिर्ता व्यक्तिगत निर्णय भएको बताएको थियो। फाल्टा उपनिर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) का देबाङ्शु पाण्डे भारी मतान्तरसहित विजयी भएका थिए।

प्रहरीले जहाँगीर खानमाथि लगाइएको आरोपबारे भने हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

उनलाई पक्राउ गरेपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ।

बढ्यो फ्यानको व्यापार [फोटो-फिचर]

काठमाडौं । काठमाडौं उपत्यका सहित देशभर तापक्रम बढ्दै जाँदा राजधानीका इलेक्ट्रोनिक्स पसलहरूमा पङ्खा किन्ने उपभोक्ताको चहलपहल उल्लेख्य रूपमा बढेको छ।

विशेषगरी काठमाडौंको महाबौद्ध क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स पसलहरूमा पछिल्ला दिनहरूमा पङ्खा खरिद गर्ने ग्राहकको संख्या बढेको व्यवसायीहरूले बताएका छन्। गर्मी बढेसँगै घर, कार्यालय तथा व्यापारिक प्रतिष्ठानका लागि पङ्खाको माग बढेको उनीहरूको भनाइ छ।

बजारमा भारत र चीनबाट आयात गरिएका विभिन्न ब्रान्डका पङ्खा उपलब्ध छन्। साधारण टेबल फ्यानदेखि स्ट्यान्ड फ्यान र वाल फ्यानसम्म बिक्री भइरहेका छन्। व्यापारीहरूका अनुसार पङ्खाको मूल्य करिब ७ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्म रहेको छ।

व्यवसायीहरूले केही साताअघिसम्म बिक्री सुस्त रहे पनि हाल तापक्रम बढेसँगै दैनिक कारोबारमा उल्लेख्य वृद्धि भएको बताएका छन्। ग्राहकहरूले विशेषगरी कम विद्युत् खपत गर्ने र बढी हावा दिने पङ्खा बढी रोज्ने गरेका छन्।

मौसमसम्बन्धी तथ्याङ्कअनुसार काठमाडौंमा जुन महिनामा औसत अधिकतम तापक्रम करिब २९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम करिब १९ डिग्री सेल्सियस रहने गर्दछ। पछिल्ला दिनहरूमा भने दिउँसोको तापक्रम २९ देखि ३० डिग्री सेल्सियससम्म पुगेको छ।

आर्द्रता बढेसँगै गर्मीको महसुस अझ बढी भएको मौसमविद्हरूले बताएका छन्। उनीहरूका अनुसार मनसुन सक्रिय हुने चरणमा रहेकाले आगामी दिनमा वर्षासँगै तापक्रम केही घट्न सक्ने भए पनि उमस (आर्द्रता) भने बढ्न सक्ने सम्भावना रहेको छ।

गर्मीको असर बढेसँगै काठमाडौंका इलेक्ट्रोनिक्स बजारमा पङ्खा, कुलर लगायत शीतलता दिने उपकरणहरूको कारोबार पनि बढ्न थालेको व्यवसायीहरूको भनाइ छ।

महाबौद्ध क्षेत्रका पसलहरूमा यतिबेला उपभोक्ताको भीडसँगै व्यापार पनि चलायमान बनेको छ।
तस्वीरहरू:

प्रधानमन्त्रीको जवाफ नआउँदा कांग्रेस असन्तुष्ट, सभामुखको भूमिकामाथि पनि प्रश्न

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा आएर सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्‍याएको छ। कांग्रेस संसदीय दलका नेता भिस्मराज आङ्देम्बेले प्रधानमन्त्री संसदमा उपस्थित नभएकाले अनावश्यक विवाद लम्बिएको बताएका छन्।

उनले कांग्रेस सत्तापक्षसँग टकरावको राजनीति गर्न नचाहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सार्वभौम संसदको रोष्ट्रमबाट दिएको अभिव्यक्तिको जवाफ पनि संसदमै दिनुपर्ने बताए। ‘प्रधानमन्त्री संसदमा आएर एक मिनेट भए पनि आफ्नो धारणा राख्नुपर्छ,’ उनले भने।

आङ्देम्बेले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिक्रिया दिएको विषयमा पनि प्रश्न उठाए। उनले यसले कांग्रेसमा थप संशय उत्पन्न गरेको बताए।

संसदको कार्यसञ्चालन र नियमावली पारित प्रक्रियाप्रति पनि उनले असन्तुष्टि जनाए। नियमावली अपेक्षाविपरीत ढंगले पारित भएको दाबी गर्दै उनले संसदमा अराजक अवस्था सिर्जना भएको टिप्पणी गरे। साथै, प्रधानमन्त्रीसँग जवाफ माग्दा सभामुखले प्रतिरक्षा गर्ने शैली देखिएको आरोप लगाउँदै सभामुखको भूमिकामाथि समेत प्रश्न उठाए।

उनले नीति तथा कार्यक्रममाथिको बहस सरकार र प्रतिपक्षबीच केन्द्रित हुनुपर्ने भए पनि अहिले विवाद सभामुखसँगको तर्क-वितर्कमा सीमित भएको बताए।

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी विवादका बीच कांग्रेसले संसदमै औपचारिक जवाफको माग गरिरहेको छ।

विश्वकप फुटबलमा ‘गोल-मेसिन’ र ‘गेम-चेन्जर’ले इन्ट्री गर्दै

काठमाडौं। विश्व फुटबल अहिले एउटा नयाँ युगमा प्रवेश गरिरहेको छ। दुई दशकभन्दा बढी समयसम्म फुटबलमा वर्चस्व कायम गरेका लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको पुस्तापछि अब नयाँ सुपरस्टारहरूको चर्चा चुलिएको छ।

तीमध्ये सबैभन्दा धेरै ध्यान खिचिरहेका दुई नाम एर्लिङ हालान्ड र लामिन यामाल हुन्।

यी दुई खेलाडीको शैली, भूमिका र विशेषता एकअर्काभन्दा बिल्कुलै फरक भए पनि आधुनिक फुटबलका सबैभन्दा प्रभावशाली युवा अनुहारका रूपमा स्थापित भइसकेका छन्। आगामी फिफा विश्वकप २०२६ मा पहिलो पटक विश्वकपको मञ्चमा देखिने अपेक्षासँगै उनीहरूप्रति विश्वभरका फुटबल समर्थकहरूको चासो झनै बढेको छ।

नर्वेका स्टार एर्लिङ हालान्ड आधुनिक फुटबलका सबैभन्दा खतरनाक स्ट्राइकरमध्ये एक मानिन्छन्। करिब १.९४ मिटर अग्ला उनी शारीरिक रूपमा अत्यन्त बलिया छन्। तीव्र गति, उत्कृष्ट पोजिसनिङ र सानो अवसरलाई पनि गोलमा परिणत गर्ने क्षमताले उनलाई ‘गोल मेसिन’को उपनाम दिलाएको छ।

सन् २०१९ मा नर्वेको राष्ट्रिय टोलीबाट डेब्यु गरेका हालान्डले छोटो समयमै आफ्नो देशको इतिहासमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्।

नर्वे लामो समयपछि विश्वकपमा स्थान बनाउन सफल भएको खण्डमा त्यसको मुख्य श्रेय हालान्डको उत्कृष्ट प्रदर्शनलाई जाने विश्लेषकहरू बताउँछन्। क्लब फुटबलमा पनि उनले लगातार गोलको वर्षा गर्दै आफूलाई विश्वकै उत्कृष्ट सेन्टर फरवार्डका रूपमा स्थापित गरेका छन्।

यता स्पेनका लामिन यामाल भने फुटबल कलाको अनुपम उदाहरणका रूपमा हेरिन्छन्। अझै किशोर अवस्थामै रहेका यामालले आफ्नो अद्भुत ड्रिब्लिङ, सिर्जनात्मक पास र आत्मविश्वासी खेल शैलीका कारण विश्व फुटबलमा सनसनी मच्चाइसकेका छन्।

विंगर र आक्रमणकारी प्लेमेकरका रूपमा खेल्ने यामालले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा स्पेनलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

फ्रान्सविरुद्धको सेमिफाइनलमा गरेको उत्कृष्ट गोलले उनलाई प्रतियोगिताको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनाएको थियो। सो प्रतियोगितामा उनले एक गोल र चार असिस्ट गर्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड समेत जितेका थिए।

यदि हालान्डलाई ‘फिनिसर’ भनिन्छ भने यामाललाई ‘क्रिएटर’ भन्न सकिन्छ। हालान्डको मुख्य काम गोल गर्नु हो भने यामाल खेलको लय परिवर्तन गर्न, अवसर सिर्जना गर्न र विपक्षी रक्षापंक्तिलाई छक्याउन माहिर छन्।

विश्व फुटबल अहिले एउटा रोचक मोडमा उभिएको छ। मेस्सी र रोनाल्डोको स्वर्णिम युग विस्तारै अन्त्यतर्फ जाँदा नयाँ पुस्ताको नेतृत्व कसले सम्हाल्ला भन्ने प्रश्नको केन्द्रमा हालान्ड र यामाल उभिएका छन्।

आगामी विश्वकपमा पहिलो पटक उनीहरूलाई विश्वकै ठूलो फुटबल मञ्चमा देख्न पाउने सम्भावनाले फ्यानहरूलाई थप उत्साहित बनाएको छ।

पश्चिम एसियाको तनावले एसियाली सेयर बजारमा पहिरो

काठमाडौं। पश्चिम एसियामा फेरि चर्किएको भू-राजनीतिक तनाव र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा देखिएको सम्भावित ‘बबल’ सम्बन्धी चिन्ताका कारण सोमबार एसियाली सेयर बजारहरूमा उल्लेखनीय गिरावट आएको छ।

अमेरिकी बजारमा शुक्रबार देखिएको तीव्र गिरावटको प्रभाव एसियाली बजारहरूमा समेत परेको विश्लेषकहरूले बताएका छन्।

सोमबारको कारोबारमा दक्षिण कोरियाको प्रमुख सेयर सूचकांक कोस्पी (कोरिया कम्पोजिट स्टक प्राइस इन्डेक्स) सबैभन्दा बढी दबाबमा देखिएको छ। सुरुवाती कारोबारमा यो सूचकांक झन्डै ९ प्रतिशतसम्म ओरालो लागेको थियो भने कारोबार अगाडि बढ्दै जाँदा केही सुधार भएर करिब ४.९२ प्रतिशतको गिरावटमा सीमित भएको बताइएको छ।

विशेषगरी एआई र सेमिकन्डक्टर उद्योगसँग सम्बन्धित कम्पनीहरूको सेयरमा ठूलो दबाब देखिएको छ। दक्षिण कोरियाको प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सको सेयर करिब ५.७ प्रतिशतले घटेको छ भने विश्वकै प्रमुख मेमोरी चिप उत्पादकमध्ये एक एसके हाइनिक्सको सेयर पनि २.७ प्रतिशतले ओरालो लागेको छ।

जापानको निक्केई–२२५ सूचकांक ३.७५ प्रतिशतले घट्दा ताइवानको टाइएक्स सूचकांकमा ३.४७ प्रतिशतको गिरावट देखिएको छ। हङकङको हाङशेङ इन्डेक्स १.१८ प्रतिशतले घटेको छ भने चीनको शाङ्हाई कम्पोजिट सूचकांक पनि १.२६ प्रतिशतले ओरालो लागेको छ।

यसअघि शुक्रबार अमेरिकी बजारमा पनि ठूलो गिरावट आएको थियो। प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्डाक कम्पोजिट ४.१८ प्रतिशतले घटेको थियो, जुन सन् २०२५ को अप्रिलयताकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिएको छ। त्यस्तै, एस एन्ड पी ५०० सूचकांक पनि २.६४ प्रतिशतले घटेको थियो, जुन पछिल्ला केही महिनामध्येकै ठूलो गिरावट हो।

बजार विश्लेषकहरूका अनुसार अमेरिकी चिप निर्माता कम्पनी ब्रोडकमले अपेक्षाभन्दा कमजोर आम्दानी प्रक्षेपण सार्वजनिक गरेपछि एआई उद्योगको तीव्र मूल्यवृद्धि वास्तविक आधारभन्दा बढी अपेक्षामा टिकेको त होइन भन्ने प्रश्न उठ्न थालेको छ। पछिल्ला दुई वर्षमा एआईसँग सम्बन्धित कम्पनीहरूको सेयर मूल्य अस्वाभाविक रूपमा बढेकाले लगानीकर्ताहरूमा ‘एआई बबल’ फुट्न सक्ने चिन्ता बढ्दै गएको छ।

यसका साथै अमेरिकामा सार्वजनिक भएको बलियो रोजगारी तथ्यांकले अमेरिकी केन्द्रीय बैंकले आगामी महिनाहरूमा ब्याजदर बढाउन सक्ने अनुमानलाई बल पुर्‍याएको छ। उच्च ब्याजदरले विशेषगरी प्रविधि क्षेत्रका कम्पनीहरूको मूल्यांकनमा दबाब सिर्जना गर्ने भएकाले लगानीकर्ताहरू सतर्क बनेका छन्।

यता पश्चिम एसियामा इजरायल र इरानबीच अप्रिलमा भएको युद्धविरामपछि फेरि ठूलो स्तरको सैन्य तनाव उत्पन्न भएको समाचारले विश्व वित्तीय बजारमा थप अनिश्चितता सिर्जना गरेको छ। सम्भावित द्वन्द्वले हर्मुज जलडमरूमध्य हुँदै हुने तेल आपूर्तिमा असर पार्न सक्ने आशंकाले ऊर्जा बजारसमेत प्रभावित बनेको छ।

विश्लेषकहरूका अनुसार यदि क्षेत्रीय तनाव अझ बढ्यो भने कच्चा तेलको मूल्यमा वृद्धि हुन सक्छ, जसको प्रत्यक्ष असर तेल आयातमा निर्भर एसियाली अर्थतन्त्रहरूमा पर्नेछ। ऊर्जा लागत बढ्दा मुद्रास्फीति र आर्थिक वृद्धिदर दुवै प्रभावित हुन सक्ने भएकाले लगानीकर्ताहरूले सुरक्षित लगानीतर्फ ध्यान केन्द्रित गर्न थालेका छन्।

विश्व बजारमा बढ्दो अनिश्चितता, एआई क्षेत्रको मूल्यांकनमाथिको प्रश्न र पश्चिम एसियाको सुरक्षा अवस्थाले आगामी केही दिन अन्तर्राष्ट्रिय वित्तीय बजारमा उतारचढाव कायम रहने संकेत गरेको छ।

युद्धविरामपछि इरानको मिसाइल प्रहारले मध्यपूर्व तरंगित

एजेन्सी। अप्रिलको सुरुवातमा लागू भएको युद्धविरामपछि इरानले पहिलो पटक इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको इजरायलले जनाएको छ।

यस घटनासँगै मध्यपूर्वमा पुनः व्यापक द्वन्द्व चर्किने चिन्ता बढेको छ भने केही महिनादेखि जारी शान्ति प्रयासहरू पनि प्रभावित हुने देखिएको हो।

इरानको सरकारी प्रसारण संस्थाले पनि क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेको छ। इरानका अधिकारीहरूका अनुसार इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा गरेको आक्रमणको जवाफस्वरूप यो सैन्य कारबाही गरिएको हो।

सम्भावित थप सैन्य तनावलाई ध्यानमा राख्दै इरानले आफ्नो पश्चिमी हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ।

इरानको क्रान्तिकारी सुरक्षा बल (आईआरजीसी) ले जारी गरेको वक्तव्यमा यदि इजरायल वा अमेरिकाले पुनः आक्रमण गरे अझ व्यापक र कडा प्रतिक्रिया दिइने चेतावनी दिएको छ। वक्तव्यमा क्षेत्रीय सुरक्षामाथि हुने कुनै पनि चुनौतीलाई दृढतापूर्वक सामना गरिने उल्लेख गरिएको छ।

क्षेप्यास्त्र प्रहारसँगै इजरायलका विभिन्न सहरहरूमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएको थियो। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार लाखौं नागरिक सुरक्षित आश्रयस्थलतर्फ गएका थिए। इजरायली सेनाले अधिकांश क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको दाबी गरेको छ। यद्यपि उत्तरी इजरायलका केही क्षेत्रमा विस्फोटका आवाज सुनिएको बताइएको छ।

इजरायली सेनाले इरानको कदमलाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिएको बताउँदै आवश्यक परे कडा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सुरक्षा अधिकारीहरूले देशको रक्षा प्रणाली पूर्ण सतर्क अवस्थामा राखिएको जानकारी दिएका छन्।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इजरायलले तत्काल थप सैन्य प्रतिक्रिया दिन आवश्यक नरहेको संकेत गरेका छन्। एक अन्तर्वार्ताका क्रममा उनले क्षेत्रीय परिस्थितिलाई नजिकबाट नियालिरहेको र आगामी रणनीतिक निर्णयहरू आफ्नो नेतृत्वमा हुने बताएका छन्।

पछिल्ला वर्षहरूमा इरान र इजरायलबीच प्रत्यक्ष तथा अप्रत्यक्ष सैन्य तनाव निरन्तर बढ्दै आएको छ। दुवै पक्षले एकअर्कामाथि ड्रोन, क्षेप्यास्त्र तथा क्षेत्रीय सहयोगी समूहमार्फत दबाब सिर्जना गर्ने रणनीति अपनाउँदै आएका छन्। यही पृष्ठभूमिमा भएको पछिल्लो घटनाले युद्धविरामको भविष्यप्रति गम्भीर प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न आग्रह गरिरहेका बेला यो घटनाले मध्यपूर्वमा पुनः अस्थिरता बढ्ने सम्भावनालाई बलियो बनाएको छ।

हाल दुवै देशका सुरक्षा निकाय उच्च सतर्क अवस्थामा रहेका छन् भने क्षेत्रीय परिस्थितिको विश्वव्यापी रूपमा नजिकबाट निगरानी भइरहेको छ।

रास्वपा जिल्ला अधिवेशन : रवि भर्सेस बालेन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वमा संस्थापन पक्ष अर्थात सभापति रवि लामिछाने पक्षको प्रभाव बलियो देखिएको छ।

शनिबार र आइतबार सम्पन्न पहिलो चरणका ५० भन्दा बढी जिल्ला अधिवेशनमा अधिकांश स्थानमा सभापति लामिछानेनिकट नेताहरू निर्वाचित भएका हुन्।

पार्टी स्रोतका अनुसार अधिवेशनअघि रास्वपाभित्र वालेन्द्र शाह(बालेन) समूह र पूर्व विवेकशील साझा पार्टीबाट आएका नेताहरूको समेत समायोजन गरिएको थियो। पार्टी नेतृत्वले उनीहरूलाई केन्द्रीय समिति तथा विभिन्न विभागमा जिम्मेवारी दिएर समेट्ने प्रयास गरेको थियो। यही आधारमा आगामी महाधिवेशन पनि सहमतिमै सम्पन्न गर्ने तयारी रहेको बताइँदै आएको थियो।

महामन्त्री भूपदेव शाहले यसअघि रास्वपाको महाधिवेशनलाई ‘एकताको महाधिवेशन’का रूपमा अघि बढाउने र सबै पक्षलाई समेटेर नेतृत्व चयन गर्ने समझदारी बनेको बताएका थिए। तर जिल्ला तहको निर्वाचन परिणामले भने संस्थापन पक्षको पकड अझ बलियो भएको संकेत दिएको छ।

पार्टीका केही नेताहरूका अनुसार अधिवेशनका क्रममा कतिपय जिल्लामा ‘रवि समूह’ र ‘बालेन समूह’ भनेर अनौपचारिक रूपमा दुई धार देखिएको थियो। पदका आकांक्षीहरूले आफू कुन समूहसँग नजिक रहेको भन्ने प्रचारसमेत गरेको बताइन्छ। यद्यपि, केन्द्रीय नेतृत्वले कुनै पनि पक्षमा हस्तक्षेप नगरी निर्वाचन प्रक्रियालाई अगाडि बढाएको दाबी गरिएको छ।

नुवाकोट, काभ्रेपलाञ्चोक, सुनसरी, मोरङ, रसुवालगायत जिल्लामा यसअघि तदर्थ समितिमा रहेका नेताहरू नै पुनः सभापतिमा निर्वाचित भएका छन्। झापामा केन्द्रीय संगठन विभाग सदस्य ओमनाथ भण्डारी जिल्ला सभापति बनेका छन् भने बागमती प्रदेश सदस्य राजन अर्याल धादिङ जिल्ला सभापतिमा निर्वाचित भएका छन्। उनले तदर्थ सभापति सूर्यमणि पाठकलाई पराजित गरेका थिए।

रास्वपाको संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठका अनुसार डोल्पा, हुम्ला, मनाङ र मुस्ताङबाहेक अन्य सबै जिल्लाको अधिवेशन जेठ २६ गतेभित्र सम्पन्न गर्ने तयारी छ। उनका अनुसार चुनाव भएका जिल्लाहरूमा कार्यकर्ताले आफ्नो रोजाइअनुसार मतदान गरेका कारण समायोजनबाट आएका केही नेताहरू नेतृत्वमा पुग्न नसकेका हुन सक्छन्।

उनले पार्टीले जिल्ला अधिवेशनमा गुटगत प्यानल बनाएर चुनाव लड्न नदिएको स्पष्ट पारे। केही स्थानमा ‘नयाँ’ र ‘पुराना’ नेताबीच प्रतिस्पर्धा देखिए पनि आधिकारिक रूपमा कुनै समूहगत प्रतिस्पर्धालाई मान्यता नदिइएको उनको भनाइ छ।

रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले पनि धेरै आकांक्षी भएका कारण कतिपय जिल्लामा सहमति जुट्न नसकी निर्वाचन गर्नुपरेको बताएकी छन्। उनका अनुसार जहाँ सहमति सम्भव भयो त्यहाँ सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने अन्यत्र लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो।

पार्टीभित्र पछिल्लो समय विभिन्न दलबाट प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको र जिल्ला तहमा नयाँ अनुहारप्रति कार्यकर्ताको आकर्षण देखिएको नेताहरूको विश्लेषण छ। उनीहरूका अनुसार अधिवेशनले पार्टीभित्र पुरानो शैलीको शक्ति सन्तुलन परिवर्तन हुँदै गएको संकेत दिएको छ।

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म पहिलो एकता महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुनेछन्।

पार्टीभित्र सभापति रवि, वरिष्ठ नेता शाह र उपसभापति स्वर्णिम वाग्लेलाई पुनः नेतृत्वमा निरन्तरता दिने विषयमा प्रारम्भिक समझदारी बनेको बताइएको छ।

कार्यकर्ताहरूमा अहिले पनि रवि लामिछानेप्रति उच्च अपेक्षा र भरोसा रहेको देखिन्छ। जिल्ला अधिवेशनको परिणामले पनि संस्थापन नेतृत्वप्रतिको विश्वास अझै बलियो रहेको सङ्केत गरेको विश्लेषकहरू बताउँछन्।

तुलसीपुरमा ३५५ जनामा देखियो क्षयरोग

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा बालबालिकासहित ३५५ जनामा क्षयरोग (टिबी) संक्रमण पुष्टि भएको छ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये १५ वर्षमुनिका ३४ जना बालबालिका रहेका छन् भने १५ वर्षभन्दा माथिका ३२१ जनामा क्षयरोग देखिएको हो ।

उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका क्षयरोग स्रोत व्यक्ति शिवप्रसाद तिवारीका अनुसार सरकारी तथा केही निजी स्वास्थ्य संस्थामार्फत सञ्चालन भइरहेका १३ वटा डट्स (डाइरेक्टली अब्जर्भ्ड ट्रिटमेन्ट सर्ट–कोर्स) केन्द्रबाट निःशुल्क परीक्षण, उपचार र व्यवस्थापन सेवा प्रदान भइरहेको छ।

तिवारीका अनुसार तुलसीपुर क्षेत्रमा क्षयरोग उपचारको सफलता दर उत्साहजनक रहेको छ। हाल संक्रमितमध्ये करिब ९७ प्रतिशत बिरामी पूर्ण रूपमा निको हुने गरेका छन् भने करिब ३ प्रतिशत बिरामीको क्षयरोगकै कारण मृत्यु हुने गरेको तथ्यांक छ।

नेपाल सरकारले सन् २०३५ सम्म देशलाई क्षयरोगमुक्त बनाउने राष्ट्रिय लक्ष्य अघि सारेको सन्दर्भमा तुलसीपुर उपमहानगरपालिकाले पनि स्थानीय स्तरमा विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ।

जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओमपी न्यौपानेका अनुसार आगामी तीन वर्षभित्र तुलसीपुरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित निदान, उपचार र व्यवस्थापनका कार्यक्रमलाई थप प्रभावकारी बनाइएको छ। उनले समयमै परीक्षण, संक्रमितको पहिचान र नियमित औषधि सेवन सुनिश्चित गर्न सकिए क्षयरोग नियन्त्रण सम्भव हुने बताए।

यद्यपि, समुदायमा अझै पनि क्षयरोगबारे चेतनाको कमी, प्रारम्भिक लक्षणलाई बेवास्ता गर्ने प्रवृत्ति तथा सबै सम्भावित बिरामीको समयमै परीक्षण हुन नसक्नुजस्ता चुनौतीहरू बाँकी रहेको न्यौपानेले उल्लेख गरे।

स्वास्थ्यकर्मीहरूका अनुसार दुई साताभन्दा बढी लगातार खोकी लाग्ने, तौल घट्दै जाने, राति धेरै पसिना आउने, ज्वरो आउने तथा थकान महसुस हुने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्ने हुन्छ।

समयमै उपचार सुरु गरेमा क्षयरोग पूर्ण रूपमा निको पार्न सकिने रोग भएको चिकित्सकहरू बताउँछन्।

रास्वपाकाे पाँचथर अध्यक्षमा प्रकाश गुरुङ, विभिन्न दल त्याग गर्दै धमाधम रास्वपा प्रवेश

बालेन सरकारलाई र्‍याख र्‍याख पार्ने विपक्षीका यी ६ एजेन्डा

काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। यसअघि जेठ १९ मा बसेको प्रतिनिधिसभा बैठक विपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको थियो। अवरोध गर्ने क्रममा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते दिएको अभिव्यक्तिको विषय उठाएका थिए।

प्रधानमन्त्री शाहले संसदको रोस्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। यसपछि विपक्षी दलहरूले मात्रै होइन, जनस्तरबाट पनि उनको निकै आलोचना भयो। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रिय बहसको विषय नै बन्यो।

सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा समेत विपक्षी दलहरूले यो विषय उठाउने भएका छन्। शाहले संसदको रोस्ट्रममा उभिएर माफी नमागेसम्म संसद अवरोध गरिराख्ने विपक्षी दलहरूको तयारी छ। ‘यस्तो संवेदनशील विषय हामी यत्तिकै छोड्दैनौँ। प्रधानमन्त्रीले माफी माग्नुपर्छ,’ एमाले संसदीय दलको कार्यालय बताउँछ।

कांग्रेस पनि यो विषयमा आन्दोलनरत छ। कांग्रेसका जनवर्गीय संगठनहरू नेपाल विद्यार्थी संघ र तरुण दलले सडकमा प्रधानमन्त्रीको पुत्ला दहन नै गरे। कांग्रेस सभापति गगन थापाले एक जिल्ला कार्यक्रममा सम्बोधन गर्ने क्रममा शाहले माफी माग्नुपर्ने बताएका थिए। कांग्रेसले पनि भोलिको संसद बैठकमा यो विषय जोडतोडका साथ उठाउने निश्चितजस्तै छ।

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी पंक्ति नै सडकमा निस्कियो। माइतीघरमा गरेको विरोध प्रदर्शनमा नेकपाका शीर्ष नेताहरू पनि सहभागी थिए। उनीहरूले पनि प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताइरहेका छन्।

त्यस्तै, श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध गर्दै शनिबार मात्रै माइतीघरमा प्रदर्शन गर्‍यो। उसले पनि प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग अघि सारेको छ।

विपक्षी दलले सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा उठाउने अर्को प्रमुख मुद्दा हो– सम्पत्ति विवरण छानबिन समिति। सरकारले बनाएको उक्त समितिले २०६२/६३ सालयता सार्वजनिक पद धारण गरेर उच्च ओहोदामा पुगेका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने जिम्मा पाएको छ। तर, रोचक पक्ष के छ भने पूर्वराजपरिवारका सदस्य, राष्ट्रपति, पूर्वराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीहरू तथा नेपाली सेना भने यो छानबिन समितिको दायराभित्र नआउने बताइएको छ।

यो आफैँमा विरोधाभासी कुरा हो। सरकारले निर्माण गरेको संयन्त्रले सरकारलाई नै नछुने भन्ने हुँदैन। यदि छानबिन गर्ने हो भने यसले सबैको गर्नुपर्छ। तर, एकपक्षीय ढंगले समिति अगाडि बढ्दा यसले प्रतिशोध जन्माउने खतरा बढ्दै जान्छ, जुन सरकार आफ्नै लागि प्रत्युत्पादक हुन सक्छ।

यो विषयमा पनि विपक्षी दलहरू असन्तुष्ट छन्। उनीहरूले संसदमा सम्पत्ति छानबिनको विषय जोडतोडका साथ उठाउने तयारी गरिरहेको स्रोतको दाबी छ।

केही दिनअघि मात्रै करिब ३ महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका एमाले अध्यक्ष ओलीले सरकारले बनाएको सम्पत्ति छानबिन समितिप्रति आगो ओकले। त्यसक्रममा उनले एमालेले यो समितिलाई मान्यता नदिने स्वघोषणा नै गरे। ‘हामी यस्ता समितिलाई मान्यता दिन्नौँ,’ उनले सम्बोधनका क्रममा भनेका थिए।

सोमबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरू संसद नियमावलीको विवाद उठाउने तयारीमा छन्।

अवरोधकै बीच संशोधित संसद नियमावलीको मस्यौदा पारित गरिएको थियो। तर, विपक्षी दलहरूले यसमा आपत्ति जनाइरहेका छन्। ‘संविधानसँग बाझिने गरी संसद नियमावली पारित गर्नुहुँदैन,’ विपक्षी दलहरूको तर्क छ।

एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालका अनुसार संविधानसँग बाझिने गरी बनाइएको मस्यौदा पारित गर्ने काम गरियो। ‘संविधानभन्दा माथि रहने गरी कुनै पनि कानुन बनाइनु हुँदैन भन्ने हाम्रो धारणा हो,’ उनले भनिन्।

सभामुखको कार्यशैलीलाई लिएर विपक्षी दलहरू आक्रोशित छन्। भोलि बस्ने संसद बैठकमा सभामुखको कार्यशैलीमाथि पनि प्रश्न उठाउने उनीहरूको तयारी छ। सभामुखको दायित्व निष्पक्ष रूपमा सभा सञ्चालन गर्नुपर्ने भए पनि सभामुख आफैँ सरकार र प्रधानमन्त्रीको बचाउमा उत्रिएको विपक्षी दलहरूको आरोप छ।

‘सरकार सत्तापक्षको हुन्छ, संसद विपक्षको हुन्छ।’ पूर्वप्रधानमन्त्री तथा पूर्वसभामुख कृष्णप्रसाद भट्टराईलाई सम्झिँदै कांग्रेसका एक सांसदले सभामुखले प्रतिपक्षलाई अवमूल्यन गरेर बलमिच्याइँ गरेको आरोप लगाए। ‘हरेक कुरामा सभामुखले संख्याको दम्भ देखाउँदै संसदलाई पेलेर अघि बढाइरहनुभएको छ। यसरी सधैँभरि संसद चल्न सक्दैन,’ उनले भने।

सभामुखको कार्यशैलीमा एमालेले पनि आपत्ति जनाउँदै आइरहेको छ। एमालेका अनुसार सभामुख अर्याल संख्याको दम्भले संसद चलाइरहेका छन्। ‘सत्तापक्षका माननीयले जे बोल्दा पनि हुने, प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिँदा चुप लागेर बस्ने, संख्याकै बलमा जे पनि पारित गर्ने जुन काम भइरहेको छ, सभामुखले यो पेलेर गरिरहेका छन्,’ एमाले संसदीय दलको कार्यालयले भन्यो।

सुधन गुरुङलाई क्लिन चिट दिएको विषय पनि विपक्षी दलहरूको एजेन्डामा रहेको बताइन्छ।

विवादित व्यवसायी दिपक भट्टसँगको शेयर कारोबारमा अनियमितता देखिएको आरोप लागेपछि तत्कालीन गृहमन्त्री गुरुङले राजीनामा दिएका थिए। छानबिनको माग उठेपछि सरकारले लगत्तै छानबिन समिति गठन गर्‍यो। उक्त छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि गुरुङ अहिले फेरि गृहमन्त्रालयमा पुनरागमन गर्ने तयारीमा छन्।

यसैका लागि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री पद खाली राखेको चर्चा पनि हुने गरेको छ। तर, समितिले गरेको छानबिनमा विपक्षी दलहरू असन्तुष्ट छन्। ‘निष्पक्ष र पारदर्शी रूपमा छानबिन नभएकाले सोमबारको संसद बैठकमा यो विषय पनि उठाउने तयारी छ,’ स्रोतले भन्यो।

त्यस्तै, विपक्षी दलहरूको निशानामा परेको अर्को एजेन्डा हो– मानव अधिकार आयोगको प्रतिवेदन।

केही दिनअघि मात्रै मानव अधिकार आयोगले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका घटनासँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गरेको थियो। आयोगको उक्त प्रतिवेदनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रमेश लेखक र पृथ्वीसुब्बा गुरुङलाई नयाँ कानुन बनाएर भए पनि कारबाही गर्न सिफारिस गरेको छ भने अन्य थुप्रै सार्वजनिक व्यक्तिहरूलाई अनुसन्धानको सिफारिस गरेको छ।

अनुसन्धानको सिफारिसमा पर्नेमा रास्वपा सभापति रवि लामिछानेदेखि जेनजी विद्रोहपछि गठन भएको नागरिक सरकारकी प्रधानमन्त्री सुशिला कार्कीदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका शीर्ष पदाधिकारीसमेत छन्। रास्वपाका १७ सांसदलाई अनुसन्धान गर्न सिफारिस गरेको प्रतिवेदनले विभिन्न जेनजी युवा, युट्युबर लगायतलाई पनि अनुसन्धानको दायरामा तान्न भनेको छ।

तर, जेनजी आन्दोलनका मुख्य पात्र तथा वर्तमान प्रधानमन्त्री शाहको भने प्रतिवेदनमा नामसमेत उल्लेख गरिएको छैन। यो विषयमा रास्वपा नेता मनिष झाले नै आपत्ति जनाएका थिए। शाह, सभामुख अर्याल लगायतको भूमिकाबारे उनले प्रश्न उठाएका हुन्।

विपक्षी दलहरूले सोमबारको प्रतिनिधिसभा बैठकमा यो विषय पनि उठाउने तयारी गरेका छन्। विपक्षीका यी ६ एजेन्डाले सोमबारको प्रतिनिधिसभा बैठक पनि सहज रूपमा अघि बढ्न सक्ने देखिँदैन।

विपक्षीलाई फसाउने दाउमा बालेन सरकार

काठमाडौं । बालेन सरकारले गठन गरेकाे उच्चस्तरीय सम्पत्ति छानबिन आयोग विवादित भएकाे छ ।

आयोगलाई दिएको कार्यादेश सार्वजनिक भएसँगै सरकारको नियतमाथि प्रश्न पनि उठेकाे छ ।

विशेषगरी प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह, उनका मन्त्रिपरिषद्का सदस्य, राष्ट्रपति, उपराष्ट्रपति र नेपाली सेनालाई छानबिनको दायराबाहिर राखिएको विषयले विपक्षी दलहरू सरकारमाथि आक्रामक बनेका छन् ।

विपक्षी दलहरूको आरोप छ- सम्पत्ति छानबिनको नाममा सरकारले राजनीतिक प्रतिस्पर्धीलाई दबाबमा राख्ने र आफूलाई भने सुरक्षित राख्ने रणनीति अपनाएको छ।

उनीहरूका अनुसार आयोगको उद्देश्य भ्रष्टाचार नियन्त्रणभन्दा पनि राजनीतिक रूपमा विपक्षीलाई निशाना बनाउने देखिएको छ।

सरकारले आयोग गठन गर्दा २०६२/०६३ सालपछि सार्वजनिक जिम्मेवारीमा पुगेका राजनीतिज्ञ, उच्च सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी, संवैधानिक निकायका पदाधिकारी तथा स्थानीय तहका प्रमुख-उपप्रमुखको सम्पत्ति स्रोत परीक्षण गर्ने उद्देश्य प्रस्तुत गरेको थियो।

आयोगले ४० हजारभन्दा बढी व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आह्वान गरिसकेको छ। तर कार्यादेशभित्रै केही शक्तिशाली पदाधिकारीलाई छानबिनको दायराबाट बाहिर राखिएको तथ्य सार्वजनिक भएपछि आयोगको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको हो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सम्पत्ति छानबिनको अवधारणालाई आफूहरूले समर्थन गरे पनि कार्यान्वयनमा दोहोरो मापदण्ड स्वीकार्य नहुने बताएका छन्।

उनले भने, ‘सम्पत्ति छानबिनमा हामी सरकारलाई सहयोग गर्छौँ, गर्नुपर्छ पनि। तर कसैको गर्ने र कसैको नगर्ने हुँदैन। त्यसो भयो भने राजनीतिक प्रतिशोध साँधेको अर्थमा हामी बुझ्छौँ।’

आङ्देम्बेको भनाइले कांग्रेसको मुख्य चिन्ता प्रष्ट देखाउँछ। कांग्रेसको बुझाइमा आयोगलाई निष्पक्ष देखाउन खोजिए पनि वास्तविक रूपमा विपक्षी दलका नेता, पूर्वमन्त्री र सार्वजनिक पदाधिकारीलाई केन्द्रमा राखेर छानबिनको वातावरण बनाइएको छ।

एमालेले पनि आयोगको कार्यादेशप्रति गम्भीर असन्तुष्टि जनाएको छ। एमाले सांसद साजिदा खातुन सिद्धिकीले भ्रष्टाचारविरुद्धको अभियानलाई आफूहरूको दलले सधैं समर्थन गर्ने बताउँदै पक्षपातपूर्ण छानबिन स्वीकार्य नहुने चेतावनी दिएकी छन्।

उनले भनिन्, ‘भ्रष्टाचारमा शून्य सहनशीलता एमालेको नीति हो। त्यसका लागि एमाले प्रतिबद्ध छ। तर आयोगले कसको सम्पत्ति छानबिन गर्ने, कसको नगर्ने भन्ने पक्षपातपूर्ण ढंगले निर्णय गर्छ भने त्यो स्वीकार्य हुँदैन।’

एमालेको आशंका कार्यादेशमा मात्रै सीमित छैन। मंगलबार पार्टी अध्यक्ष तथा जेन-जी विद्रोहका बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगप्रति खुलेर असन्तुष्टि व्यक्त गरे। उनले सम्पत्ति विवरण बुझाउन अस्वीकार गर्दै सरकारको कदमप्रति व्यंग्य गरे।

ओलीले भने, ‘आगो लगाएर खरानी पारेर भएन ? अझै सम्पत्ति विवरण बुझाउनुपर्ने ? मैले खरानी भरेर दिनु ? लैजाउ भरेर खरानी।’

ओलीको यो अभिव्यक्तिलाई एमालेले आयोगमाथिको अविश्वासको संकेतका रूपमा प्रस्तुत गरेको छ। एमाले नेताहरूको तर्क छ, यदि छानबिन निष्पक्ष हो भने वर्तमान सरकार र सत्तारूढ नेतृत्वलाई किन छुट दिइयो ?

नेकपाले त आयोग गठनको सम्पूर्ण प्रक्रियामाथि नै प्रश्न उठाएको छ। नेकपा प्रमुख सचेतक युवराज दुलालले आयोगलाई विपक्षीविरुद्ध प्रयोग गर्न खोजिएको आरोप लगाएका छन्। उनका अनुसार संसद्को आगामी बैठकमा यो विषय प्रमुख एजेन्डाका रूपमा उठाइनेछ।

दुलालले भने, ‘सम्पत्ति छानबिन गर्दा ज–जसले अकुत कमाएका छन्, दोषी हुने उनीहरू नै हुन्। तर अहिले सत्तापक्ष, सेना, राष्ट्रपति–उपराष्ट्रपति लगायतलाई बाहिर राख्ने र अरूलाई मात्रै छानबिन गर्ने कुरा गलत छ। हामी संसद्मा यो विषय उठाउँछौँ।’

विपक्षी दलहरूको साझा प्रश्न एउटै छ- यदि आयोगको उद्देश्य भ्रष्टाचारविरुद्ध निष्पक्ष अनुसन्धान हो भने वर्तमान प्रधानमन्त्री र मन्त्रिपरिषद् किन छानबिनको दायराबाहिर छन् ?

यो प्रश्नलाई बल पुर्‍याउने अर्को पक्ष भनेको सरकार गठनपछि सार्वजनिक भएका केही मन्त्रीहरूको सम्पत्ति विवरण हो। ती विवरण सार्वजनिक हुँदा सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक बहस भएको थियो।

कतिपय सम्पत्तिको स्रोत र वृद्धि अस्वाभाविक देखिएको भन्दै प्रश्न उठेका थिए। तर अहिले आयोगलाई दिइएको कार्यादेशमा वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति स्रोत परीक्षण गर्ने अधिकार समावेश छैन।

आलोचकहरू यही बिन्दुलाई सरकारको सबैभन्दा कमजोर पक्ष मानिरहेका छन्। उनीहरूको बुझाइमा सरकार भ्रष्टाचारविरुद्धको अभियानलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्न खोजिरहेको छ।

आयोगको अधिकार क्षेत्रमाथि पनि विवाद बढिरहेको छ। पूर्वन्यायाधीशहरूको फोरमले आयोगको सूचनाले सबै पूर्वन्यायाधीशलाई अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउन बाध्य नपार्ने निष्कर्ष निकालेको छ। फोरमले न्यायाधीशहरूको सम्पत्ति तथा आचरण अनुगमन गर्ने अधिकार संविधानले न्याय परिषद्लाई दिएको भन्दै आयोगको वैधानिकतामाथि प्रश्न उठाएको छ।

यसले आयोग केवल राजनीतिक विवादमा मात्र नभई संवैधानिक बहसमा पनि तानिएको देखिन्छ।

यता सरकार भने विपक्षी दलहरूको आरोप अस्वीकार गर्दै आएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले आयोगलाई कानुन र कार्यादेशको सीमाभित्र रहेर निष्पक्ष र पारदर्शी रूपमा काम गर्ने जिम्मेवारी दिइएको बताएका छन्।

उनले आयोगमाथि अनावश्यक शंका नगर्न आग्रह गर्दै छानबिन प्रक्रियाले कसैलाई पूर्वाग्रहका आधारमा नहेर्ने दाबी गरेका छन्।

तर विपक्षी दलहरू सरकारको स्पष्टीकरणबाट सन्तुष्ट देखिएका छैनन्। उनीहरूको तर्क छ, निष्पक्षताको प्रमाण भाषणले होइन, कार्यादेशले दिनुपर्छ। जब कार्यादेशमै वर्तमान सत्ता नेतृत्वलाई छानबिनबाट बाहिर राखिएको छ, तब आयोगको निष्पक्षतामाथि स्वाभाविक रूपमा प्रश्न उठ्नेछ।

नेपालमा ईभी विस्तारका लागि कति चार्जिङ स्टेसन चाहिन्छ ?

काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा विद्युतीय सवारीसाधन (ईभी) प्रति सर्वसाधारणको आकर्षण तीव्र रूपमा बढिरहेको छ।  सरकारले पनि यसको पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ।

यसैबीच, एक सरकारी अध्ययनले सन् २०३० सम्म देशभर कम्तीमा १० हजार चार्जिङ स्टेसन आवश्यक पर्ने निष्कर्ष निकाल्दै ईभी विस्तारको मुख्य आधार चार्जिङ नेटवर्क नै रहेको स्पष्ट पारेको छ।

पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालमा ईभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी प्रतिवेदनले विद्युतीय यातायातको लक्ष्य पूरा गर्न चार्जिङ पूर्वाधार विस्तारलाई सबैभन्दा महत्वपूर्ण आधारका रूपमा औँल्याएको हो।

हाल नेपालभर सरकारी र निजी क्षेत्रका गरी करिब एक हजार चार्जिङ स्टेसन सञ्चालनमा छन्। तीमध्ये अधिकांश काठमाडौं, पोखरा, भरतपुरलगायत प्रमुख सहरी क्षेत्रमा केन्द्रित छन्। विद्युतीय सवारीका आधिकारिक बिक्रेता तथा निजी कम्पनीहरूले आफ्नै नेटवर्क विस्तार गरिरहेका छन्।

उपलब्ध तथ्यांकअनुसार विशाल ग्रुप, पारामाउन्ट मोटर्स र भिजी अटोमोबाइलले २५०, एमएडब्ल्यू वृद्धिले १६०, दिगो प्रालिले १२०, साइमेक्स इङ्कले ७० तथा शशीला मोटर्सले १७ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेका छन्। त्रिवेणी ग्रुपसहित अन्य कम्पनीहरूले पनि नयाँ पूर्वाधार निर्माण गरिरहेका छन्।

साविक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको संयोजकत्वमा तयार पारिएको प्रतिवेदनले ईभी प्रवर्द्धनका क्रममा नेपालले विभिन्न संरचनागत र नीतिगत चुनौती सामना गरिरहेको उल्लेख गरेको छ। प्रतिवेदनअनुसार चार्जिङ पूर्वाधारको अभावसँगै ब्याट्रीको उच्च लागत, ब्याट्री पुनः प्रयोग तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीति नहुनु, ब्याट्री स्वापिङ प्रविधिको अभाव र सडक पूर्वाधारको अवस्था प्रमुख समस्याका रूपमा रहेका छन्।

यसबाहेक दक्ष जनशक्तिको कमी, प्राविधिक सीप विकासको अभाव, आवश्यक पाटपुर्जाको आयातमा परनिर्भरता, निजी क्षेत्रको सीमित लगानी, विद्युतीय सवारीको उच्च प्रारम्भिक मूल्य, न्यून पुनःबिक्री मूल्य, गुणस्तर मापन प्रणालीको चुनौती तथा दक्ष चालकको अभावले पनि ईभी क्षेत्रको विकासमा असर गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

विशेषगरी राजमार्ग, ग्रामीण तथा दुर्गम क्षेत्रमा पर्याप्त चार्जिङ सुविधा नहुँदा लामो दूरीको यात्रा तथा सार्वजनिक यातायातका रूपमा विद्युतीय सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको अध्ययनले देखाएको छ।

सरकारले भने देशको करिब एक लाख किलोमिटर सडक सञ्जालमा विद्युतीय सवारीको प्रयोग बढाएर आन्तरिक रूपमा उत्पादित जलविद्युत्को खपत विस्तार गर्ने रणनीति लिएको छ।

यसबाट पेट्रोलियम पदार्थको आयातमा कमी आउनुका साथै विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्ने विश्वास सरकारको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा हुने उतारचढाव र आपूर्ति अवरोधबाट समेत मुलुकलाई सुरक्षित राख्न ईभीको प्रयोग प्रभावकारी हुने अध्ययनले निष्कर्ष निकालेको छ।

यसै सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणले हाल १४२ किलोवाट क्षमताका ६२ वटा द्रुत गतिको चार्जर सञ्चालन गरिरहेको छ। चालु आर्थिक वर्षमा मात्रै सात प्रमुख स्थानमा थप पूर्वाधार विस्तारका लागि एक करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ईभी प्रवर्द्धनलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले काम गरिरहेको बताएका छन्।

मन्त्रालयले तयार पारेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ अनुसार आर्थिक वर्ष २०८५/८६ सम्म देशव्यापी चार्जिङ स्टेसन सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ। सो योजनाअन्तर्गत पेट्रोल पम्पमै चार्जिङ सुविधा स्थापना गर्ने, सार्वजनिक विद्युतीय सवारीलाई प्राथमिकता दिने तथा प्रमुख सहरहरूमा विद्युतीय बस र ट्रलीबस सञ्चालनको व्यवस्था गरिनेछ।

अध्ययन प्रतिवेदनले चुनौतीका बाबजुद ईभी क्षेत्रले नेपालका लागि ठूलो अवसर सिर्जना गर्ने पनि औँल्याएको छ। विद्युतीय सवारीको सञ्चालन खर्च परम्परागत इन्धनयुक्त सवारीको तुलनामा निकै कम हुने, नयाँ रोजगारीका अवसर बढ्ने, वायु प्रदूषण घट्ने, सहरी यातायात थप व्यवस्थित बन्ने तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

नेपालले तय गरेको दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म निजी सवारीमध्ये ९० प्रतिशत विद्युतीय बनाउने र सन् २०४५ सम्म ‘नेट शून्य कार्बन उत्सर्जन’ हासिल गर्ने राष्ट्रिय प्रतिबद्धता जनाएको छ।

विज्ञहरूका अनुसार यी लक्ष्य प्राप्त गर्न चार्जिङ पूर्वाधार विस्तार, नीतिगत स्पष्टता र निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनु अपरिहार्य हुनेछ।

आखिर सबैलाई चाहियो ‘पीए’

काठमाडौं । सङ्घीय संसद् र प्रदेश सभाका सांसदहरूले आफ्नो कार्यगत दक्षता बढाउन र कानुन निर्माण प्रक्रियालाई गुणस्तरीय बनाउन भन्दै औपचारिक रूपमा व्यक्तिगत सहयोगी कर्मचारी (स्वकीय सचिव) को व्यवस्था गर्न माग गरेका छन्।

सुदूरपश्चिमको टीकापुरमा जेठ २२ देखि २४ गतेसम्म आयोजित ‘अन्तर–व्यवस्थापिका मञ्च’को ११औँ सम्मेलनबाट सांसदहरूले यस्तो माग औपचारिक रूपमा अघि सारेका हुन्। सम्मेलनमा सहभागी प्रतिनिधिहरूले संसदीय कामकाजलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति अभाव रहेको निष्कर्ष निकालेका थिए।

सम्मेलनपछि जारी गरिएको ९ बुँदे ‘टीकापुर सन्देश–पत्र’ मा सांसदहरूलाई संसदीय गतिविधि तथा कानुन निर्माण कार्यमा सहयोग पुर्‍याउनका लागि स्वकीय सचिवसहित आवश्यक सहयोगी कर्मचारीको व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ।

यो पढ्नुहोस् :

सन्देश–पत्रको ५ नम्बर बुँदामा विशेष रूपमा सांसदहरूको कार्यक्षमता अभिवृद्धि गर्न सहयोगी संरचना बलियो बनाउनुपर्ने आवश्यकता उल्लेख गरिएको छ।

राजेश हमाललाई हर्कले भने – ‘अब माटो चुनाव चिन्हबाट चुनाव लड्नुपर्छ !’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अभिनेता राजेश हमालसँग सम्बन्धित विषयमा एकै दिनको अन्तरालमा तीन वटा फेसबुक पोस्ट गरेका छन्।

शनिबार अध्यक्ष राईले अभिनेता हमाललाई आफ्नो दलमा भित्र्याउने चाहना रहेको उल्लेख गर्दै सार्वजनिक रूपमा प्रस्तावसमेत अघि सारेका थिए।

उनले हमालजस्ता व्यक्तित्वले राजनीतिमा प्रवेश गरे पार्टीलाई मात्र नभई राष्ट्रिय राजनीतिलाई समेत नयाँ दिशा दिन सक्ने संकेत गरेका छन्।

त्यसपछि उनले अर्को पोस्टमार्फत आगामी निर्वाचनमा आफ्नो पार्टी ‘माटो’ चिन्हबाट चुनाव लड्नुपर्ने धारणा व्यक्त गरेका छन्। उक्त पोस्टमा उनले संगठन विस्तार, जनस्तरको मुद्दा र वैचारिक स्पष्टताका आधारमा पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

तेस्रो पोस्टका रूपमा उनले हालै अभिनेता हमालले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै दिएको अभिव्यक्ति समेटिएको एक भिडियो पनि सेयर गरेका छन्। उक्त भिडियोमा हमालले देशको नेतृत्व गर्ने व्यक्तिले गम्भीर, संयमित र दूरदृष्टिपूर्ण हुनुपर्ने आवश्यकता औँल्याएका थिए।

हर्कराज राईले लगातार हमालसँग सम्बन्धित सामग्री साझा गरेपछि सामाजिक सञ्जालमा यसको राजनीतिक अर्थबारे पनि चर्चा सुरु भएको छ।

हमाल पछिल्लो समय सरकारप्रति आलोचनात्मक अभिव्यक्तिहरू दिँदै आएका छन्।

उनको स्टाटस यस्तो छ :

बालेन सरकारमाथि कांग्रेसको सूक्ष्म निगरानी

काठमाडौं। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका हरेक कामकारबाहीमाथि नेपाली कांग्रेसले निगरानी बढाउने भएको छ ।

जनताको हित र राष्ट्रका हित विपरीत कार्य गरे खबरदारी गर्न बालेन सरकारको सूक्ष्म निगरानी कांग्रेसले गर्ने भएको हो । यसका लागि कांग्रेसले मन्त्रालयगत संयोजक तोकेका सांसदहरूको बैठक आइतबार बसेको छ ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले मन्त्रिपरिषद्का निर्णय, मन्त्रालयगत गतिविधि तथा सरकारका नीतिगत र प्रशासनिक कामको नियमित अनुगमन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी संयोजक सांसदहरूले विभिन्न मन्त्रालयको कार्यसम्पादन, जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय तथा सरकारको प्रभावकारिताबारे धारणा राखेका थिए ।

बैठकले बालेन सरकारका कामकारबाहीको अध्ययन र विश्लेषण गरी आवश्यक विषय संसदमा सशक्त रूपमा उठाउने, राष्ट्रिय महत्वका मुद्दामा कांग्रेसको धारणा निर्माण गर्न सुझाव दिने तथा जनताका गुनासा र समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍ाउने निर्णय पनि गरेको छ।

कांग्रेसले सरकारको कामको प्रभावकारी निगरानीका लागि मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाउने र नियमित समीक्षा गर्ने नीति लिएको छ । यसका लागि संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने व्यवस्था गरिएको छ भने आवश्यकता अनुसार जुनसुकै बेला बैठक बोलाउन सकिने जनाइएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि कांग्रेसले संसदभित्र र बाहिर दुवै मोर्चाबाट सरकारलाई जवाफदेही बनाउन तथा जनचासोका विषयमा दबाब सिर्जना गर्न आफ्नो भूमिका थप सशक्त बनाउने संकेत दिएको छ ।

स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्य गराएको आरोप, पक्राउ परिन् सञ्चालिका

काठमाडौं। ललितपुरको सानेपास्थित एक स्पा सेन्टरमा कार्यरत बालिकालाई जबरजस्ती अनैतिक गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले स्पा सञ्चालिकालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२, अरुणथापा चोकमा सञ्चालन हुँदै आएको ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखा सिरानचोक गाउँपालिका–३ घर भएकी सुमन थापा मगर उर्फ सुमन कुमाल रहेकी छन्। उनलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, स्पा सेन्टरमा स्टाफका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकहरूको इच्छाअनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले छापा मारी उनलाई पक्राउ गरेको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धानका लागि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ। जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनासँग सम्बन्धित अन्य पक्ष र सम्भावित संलग्न व्यक्तिहरूबारे समेत अनुसन्धान जारी रहेको छ।

साथै, पीडित बालिकाको संरक्षण र आवश्यक कानुनी तथा मनोसामाजिक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको जनाइएको छ।

नेपाल-भारतबीच ‘क्रस बोर्डर पेमेन्ट’ सुरू

काठमाडौं । नेपाल र भारतबीच भएको ‘क्रस बोर्डर पेमेन्ट’ सम्झौता औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भएको भेटवार्तापछि उक्त प्रणाली लागू गर्ने सहमति कार्यान्वयनमा आएको हो।

यो व्यवस्थासँगै अब दुवै देशका नागरिकले अनलाइन माध्यमबाट व्यक्तिगत रूपमा रकम आदानप्रदान गर्न सक्ने भएका छन्। प्रारम्भिक चरणमा भने सीमित बैंक तथा वित्तीय संस्थामार्फत मात्रै सेवा उपलब्ध गराइएको छ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का अनुसार सेवा सञ्चालनमा रहेका वाणिज्य बैंकका ग्राहकले आफ्नो बैंकको मोबाइल बैंकिङ एप वा ‘कनेक्ट आईपीएस’ एप प्रयोग गरी भारतमा सिधै रकम पठाउन सक्नेछन्। यसका लागि बैंकहरूले आफ्ना मोबाइल एपमा ‘क्रस बोर्डर फण्ड ट्रान्सफर’ नामक सुविधा समावेश गरेका छन्।

रकम पठाउँदा प्राप्तकर्ताको बैंक खाता नम्बर वा मोबाइल नम्बरमा आधारित भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसले परम्परागत रेमिटेन्स प्रक्रिया भन्दा छिटो, सहज र कम झन्झटिलो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

भारततर्फ पनि हाल केही निश्चित बैंकहरूले मात्रै यो सुविधा सञ्चालनमा ल्याएका छन्। आगामी दिनमा थप बैंकहरू जोडिँदै जाने र सेवाको दायरा विस्तार गरिने जनाइएको छ।

यसैबीच, नबिल बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘एन बैंक’ मार्फत नेपाल–भारत–नेपाल रियल टाइम पर्सन-टु-पर्सन (पीटुपी) रेमिटेन्स सेवा सुरु गरिसकेको छ। यसअन्तर्गत नबिल बैंकमा खाता भएका ग्राहकहरूले मोबाइल एपबाटै भारतमा रहेका आफन्त, परिवार वा साथीभाइलाई रकम पठाउन सक्नेछन्। त्यस्तै, भारतबाट पनि नेपालमा रहेको नबिल बैंक खातामा प्रत्यक्ष रकम पठाउन सकिने सुविधा उपलब्ध भएको बैंकले जनाएको छ।

विशेषगरी अध्ययन, स्वास्थ्य उपचार, पारिवारिक खर्च तथा साना व्यक्तिगत कारोबारका लागि यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। नेपाल र भारतबीच खुला सीमाना र घनिष्ठ जनस्तरको सम्बन्ध रहेको सन्दर्भमा यस्तो डिजिटल भुक्तानी प्रणालीले आर्थिक कारोबारलाई थप सरल, सुरक्षित र पारदर्शी बनाउने विश्वास गरिएको छ।

रास्वपा बारा लफडा : केन्द्रीय कार्यालय घेराउ गर्न पुगे कार्यकर्ता [तस्वीरहरू]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कलैया उपमहानगरपालिकाको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद चर्किएको छ।

विवादका बीच कलैयाका कार्यकर्ताहरूले आइतबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्।

आन्दोलनरत कार्यकर्ताहरूका अनुसार नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका थिए।

निर्वाचन सम्पन्न भई विजयी उम्मेदवार तथा पदाधिकारीहरूको शपथ ग्रहणसमेत भइसकेपछि पुनः निर्वाचन गराउने सूचना सार्वजनिक गरिएपछि विवाद सुरु भएको उनीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले मधेश प्रदेश समितिको तर्फबाट ‘५० प्लस १’ बहुमत नपुगेको आधार देखाउँदै पुनः निर्वाचनको सूचना जारी गरिएको दाबी गरेका छन्। उनीहरूको आरोप छ, यस्तो निर्णय पार्टीको विधान र लोकतान्त्रिक अभ्यासविपरीत छ।

उनीहरूले एकपटक निर्वाचन सम्पन्न भई आधिकारिक रूपमा विजयी घोषणा गरिसकेपछि पुनः निर्वाचन गराउने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

कार्यकर्ताहरूले कुनै आधिकारिक लेटरहेड वा हस्ताक्षरबिनै सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको सूचना सार्वजनिक गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ र निष्पक्ष निर्णयको माग गरेका छन्।

साथै, पार्टीले देशभर सञ्चालन गरिरहेको अधिवेशन प्रक्रियामा पारदर्शिता कायम गर्न, विधानअनुसार निर्णय गर्न तथा कार्यकर्ताको मतको सम्मान गर्नुपर्ने उनीहरूको माग रहेको छ।

तस्वीरहरू:

प्रचण्ड गर्मी : छालालाई कसरी जोगाउने ?

काठमाडौं। गर्मीको तीव्रता दिनप्रतिदिन बढ्दै गएको छ। तापक्रम उकालो लागेसँगै यसको प्रत्यक्ष असर मानव छालामा स्पष्ट रूपमा देखिन थालेको छ।

अहिले अस्पताल तथा छाला क्लिनिकहरूमा बिरामीहरूको चाप बढेको छ। कसैलाई अनुहारमा चायाँ-पोतोको समस्या छ भने कसैलाई घमौराले सताइरहेको छ। फंगल संक्रमण, छाला चिलाउने तथा डन्डीफोरजस्ता समस्या पनि उल्लेख्य रूपमा बढेका छन्।

चिकित्सकहरूका अनुसार अहिलेको मौसम छालाका लागि अनुकूल छैन। चर्को घाम, निरन्तर पसिना र सडकको धुलो-धुवाँको मिश्रणले छालाको प्राकृतिक सुरक्षा तह कमजोर बनाइरहेको छ। जसको परिणामस्वरूप छालाको चमक घट्ने मात्र होइन, विभिन्न प्रकारका संक्रमण र दीर्घकालीन समस्याहरू देखिन सक्ने जोखिम बढेको छ। छाला रोग विशेषज्ञहरूको भनाइ छ,‘गर्मी मौसमलाई हल्का रूपमा नलिनुहोस्, छालाको नियमित हेरचाह अनिवार्य छ।’

उनीहरूका अनुसार सानो सावधानीले पनि धेरै समस्या रोक्न सकिन्छ।

विशेषगरी अनुहारमा देखिने कालो दाग, चायाँ-पोतोको समस्या महिला मात्र होइन पुरुषमा पनि उत्तिकै देखिएको छ। बाहिर लामो समय काम गर्ने, घाममा हिँड्ने वा छालाको उचित सुरक्षा नगर्ने व्यक्तिहरू बढी प्रभावित भइरहेका छन्।

वरिष्ठ छाला रोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थका अनुसार सूर्यबाट निस्कने पराबैजनी (युभी) किरणले छालाको कोषमा प्रत्यक्ष असर पार्छ। लामो समय घाममा बस्दा मेलानिन उत्पादन गर्ने कोष अत्यधिक सक्रिय भई अनुहारमा कालो दाग, चायाँ वा पोतो देखिन सक्छ।

उहाँका अनुसार युभी किरणले छालाको सतही मात्र होइन, गहिरो तहसम्म असर पुर्‍याउन सक्छ। यसले छालाको प्राकृतिक चमक घटाउने र समयभन्दा छिटो बुढ्यौलीका लक्षण देखिने सम्भावना बढाउँछ। अनुहार, घाँटी र हातजस्ता खुला भागहरू बढी प्रभावित हुने गर्छन्।

बजारमा चायाँ हटाउने दाबी गरिएका थुप्रै क्रिम, लेप तथा औषधिहरू उपलब्ध छन्। तर चिकित्सकको सल्लाहबिना प्रयोग गर्दा फाइदाभन्दा हानि बढी हुने उनीहरूको चेतावनी छ।

प्रारम्भिक अवस्थामा सामान्य देखिएको समस्या पनि गलत क्रिम वा अनियन्त्रित प्रयोगका कारण झन् फैलिने वा गाढा हुने जोखिम रहन्छ। छालाको प्रकृति व्यक्तिअनुसार फरक हुने भएकाले सबैका लागि एउटै उत्पादन उपयुक्त हुँदैन।

छाला परीक्षणपछि मात्र विशेषज्ञको सिफारिसअनुसार सामग्री प्रयोग गर्नुपर्नेमा चिकित्सकहरूले जोड दिएका छन्।

चिकित्सकहरूका अनुसार सुक्खा छालाका लागि मोइस्चराइजरयुक्त क्रिम उपयुक्त हुन्छ, जसले आवश्यक नमी कायम राख्छ। तर चिल्लो छालामा अत्यधिक तेलयुक्त क्रिम प्रयोग गर्दा डन्डीफोरजस्ता समस्या बढ्न सक्छन्।

त्यसैले आफ्नो छालाको प्रकार बुझेर मात्र सौन्दर्य सामग्री छनोट गर्नुपर्नेमा विशेषज्ञहरूको सुझाव छ।

गर्मी बढेसँगै देखिने अर्को समस्या घमौरा हो। अत्यधिक पसिना निस्केर पसिना नली बन्द हुँदा छालामा साना रातो दाना देखिने अवस्थालाई घमौरा भनिन्छ।

यो समस्या विशेषगरी अनुहार, घाँटी, छाती, ढाड र शरीरका गुम्सिने भागहरूमा बढी देखिन्छ। यसले चिलाउने, पोल्ने र असहजता बढाउने गर्छ।

डा. कायस्थका अनुसार घमौरा देखिएमा प्रभावित भागलाई सफा पानीले धुने र प्राकृतिक रूपमा सुक्न दिने गर्नु उपयुक्त हुन्छ। कपडाले कडा रूपमा पुछ्दा छाला झन् उत्तेजित हुन सक्छ। चिसो र हावा चल्ने वातावरणमा बस्दा निको हुने सम्भावना छिटो हुन्छ।

गर्मी मौसममा फंगल संक्रमण पनि व्यापक रूपमा देखिन्छ। पसिना जम्ने र गुम्सिने भागहरूमा ढुसीजन्य जीवाणु सक्रिय भई संक्रमण फैलिने जोखिम हुन्छ।

विशेषगरी काखी, काछ, स्तनमुनि, घाँटीका चाउरी, पेटको तह तथा खुट्टाका औंलाबीचका भागहरूमा संक्रमण बढी देखिन्छ।

संक्रमण भएको स्थान चिलाउने, रातो हुने, छाला उप्किने, कत्ला देखिने र कहिलेकाहीँ दुर्गन्ध आउने जस्ता लक्षण देखा पर्न सक्छन्। कतिपय अवस्थामा बीच भाग सामान्य र वरिपरि रातो घेरासहित गोलो दाग देखिनु दादको संकेत मानिन्छ।

विशेषज्ञहरूका अनुसार गर्मीमा नियमित सरसफाइ अत्यन्त आवश्यक छ। दिनभरि पसिना लागेको कपडा नफेर्दा संक्रमणको जोखिम बढ्छ।

सुती कपडा प्रयोग गर्न सुझाव दिइन्छ, किनकि यसले पसिना सोस्ने क्षमता राम्रो हुन्छ र छाला सुक्खा राख्न मद्दत गर्छ। भित्री वस्त्र, मोजा तथा दैनिक प्रयोगका कपडा पनि सकेसम्म सुतीकै प्रयोग गर्नु उपयुक्त हुन्छ।

राति सुत्नुअघि भित्री वस्त्र फेर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। पुरुषका लागि खुकुलो लुगा तथा महिलाका लागि हल्का र हावा चल्ने पहिरनले छाला स्वस्थ राख्न मद्दत गर्छ।

गर्मीमा छालाको सुरक्षाका लागि सनस्क्रिन अत्यन्त आवश्यक मानिन्छ। तर धेरैलाई यसको सही प्रयोगबारे जानकारी हुँदैन, चिकित्सकहरू बताउँछन्।

अनुहार सफा गरेपछि पहिले मोइस्चराइजर लगाउने, त्यसपछि सनस्क्रिन प्रयोग गर्ने र आवश्यक परे मात्र अन्य सौन्दर्य सामग्री प्रयोग गर्ने उपयुक्त विधि हो।

सनस्क्रिन घरबाट निस्कनुभन्दा करिब ३० मिनेटअघि लगाउनु राम्रो मानिन्छ, जसले छालामा प्रभावकारी रूपमा काम गर्न समय पाउँछ। सही मात्रामा प्रयोग गरिएको सनस्क्रिनले करिब ६–७ घण्टासम्म सुरक्षा दिन सक्छ।

विशेषज्ञहरूका अनुसार घामबाट बच्नु नै छालाको सुरक्षा गर्ने सबैभन्दा प्रभावकारी उपाय हो।

घरबाहिर निस्कँदा छाता प्रयोग गर्ने, चौडा किनार भएको टोपी लगाउने र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको तीव्र घाममा लामो समय नबस्ने बानी अपनाउन सके छालालाई धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ।

इरानी फुटबल टोलीका अधिकारीलाई अमेरिकाले भिसा नदिएपछि…

एजेन्सी। सन् २०२६ को फिफा विश्वकप नजिकिँदै गर्दा इरान र अमेरिकाबीच इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा नदिएको विषयलाई लिएर विवाद चर्किएको छ।

इरान फुटबल महासंघ ले अमेरिकी सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै यसलाई खेलभावना विपरीत, राजनीतिक रूपमा प्रेरित र अन्तर्राष्ट्रिय खेलकुद नियमको मर्मविपरीत भएको आरोप लगाएको छ।

महासंघका अनुसार राष्ट्रिय टोलीसँग सम्बन्धित व्यवस्थापकीय, प्राविधिक तथा प्रशासनिक अधिकारीहरू प्रतियोगिताको तयारीका लागि अनिवार्य हुने भएकाले उनीहरूलाई प्रवेशाज्ञा (भिसा) दिनु आवश्यक थियो। तर केही प्रमुख अधिकारीहरूको भिसा प्रक्रिया अस्वीकृत वा रोकिएको दाबी गरिएको छ।

इरानले यस विषयलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष समेत उठाएको छ। महासंघले आयोजक राष्ट्रले सबै सहभागी टोलीका लागि समान र निष्पक्ष वातावरण सुनिश्चित गर्नुपर्ने दायित्व रहेको भन्दै यस घटनाले खेलको समानतामाथि प्रश्न उठाएको जनाएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार भिसा नपाउनेहरूमा महासंघका अध्यक्ष, महासचिव, राष्ट्रिय टोलीका कार्यकारी निर्देशक तथा सञ्चार निर्देशकजस्ता उच्च अधिकारीहरू रहेका छन्। अमेरिकी पक्षले भने राष्ट्रिय टोलीका खेलाडीहरूको भिसा प्रक्रिया पूरा भएको जनाएको छ।

टर्किएस्थित अमेरिकी राजदूतले सामाजिक सञ्जालमार्फत इरानी खेलाडीहरूको भिसा प्रक्रिया सम्पन्न भएको उल्लेख गर्दै खेलकुदले विश्वलाई जोड्ने माध्यम भएको प्रतिक्रिया दिएका छन्। उनले अमेरिका विश्वभरका खेलाडी तथा समर्थकलाई स्वागत गर्न तयार रहेको पनि बताएका छन्।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। इरान समूह ‘जी’ मा रहेको छ र उसले लस एन्जलसमा न्युजिल्यान्ड, बेल्जियम र इजिप्टविरुद्ध समूह चरणका खेल खेल्ने तालिका छ।

रूस-युक्रेन तनाव : ड्रोन हानाहान जारी

काठमाडौं। रूसले सेन्ट पिटर्सबर्ग नजिकै २५ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। लेनिनग्राद क्षेत्रका गभर्नर अलेक्जान्डर ड्रोज्डेन्को ले शनिबार टेलिग्राममार्फत सुरक्षा बलले २५ वटा मानवरहित हवाई यन्त्र (ड्रोन) नष्ट गरेको र थप सैन्य कारबाही जारी रहेको बताएका छन्।

घटना ‘रूसको डाभोस’ भनेर चिनिने सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सञ्चालन भइरहेका बेला भएको हो। राष्ट्रपति भ्लादिमिर पुटिन ले सम्बोधन गरेको एक दिनपछि भएको यो आक्रमणलाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ।

मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार शनिबार राजधानी मस्कोतर्फ उडिरहेका थप नौ युक्रेनी ड्रोन पनि रूसी वायु सुरक्षाले खसालेको छ।

युद्वको सुरुवात धेरै वर्षअघि भएको हो। पछिल्ला वर्तमान घटनाले यस युद्वलाई मलजल गरेपनि सन् १९९१ मा सोभियत संघ विघटन भएपछि युक्रेन स्वतन्त्र राष्ट्र बनेपछि युक्रेनले पश्चिमी मुलुकहरूसँग सम्बन्ध विस्तार गर्न थालेको थियो। रूस भने युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रभित्रै राख्न चाहन्थ्यो।

सन् २०१४ मा युक्रेनमा भएको जनआन्दोलनपछि रूस समर्थक राष्ट्रपति भिक्टर यानुकोभिच सत्ताच्युत भए। त्यसलगत्तै रूसले युक्रेनको क्रिमिया क्षेत्र आफ्नो नियन्त्रणमा लियो। यही वर्षदेखि पूर्वी युक्रेनका डोनेट्स्क र लुहान्स्क क्षेत्रमा रूस समर्थित पृथकतावादी समूह र युक्रेनी सेनाबीच सशस्त्र द्वन्द्व सुरु भयो।

यसबीच युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) सँग निकटता बढाउँदै गयो। रूसले भने युक्रेनको सम्भावित नाटो सदस्यतालाई आफ्नो राष्ट्रिय सुरक्षामाथिको प्रत्यक्ष खतरा भन्दै आएको थियो।

अन्ततः सन् २०२२ फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्‍यो। राष्ट्रपति पुटिनले यसलाई ‘विशेष सैन्य अभियान’ भनेका थिए। तर युक्रेन र पश्चिमी राष्ट्रहरूले यसलाई सार्वभौम राष्ट्रमाथिको आक्रमण भन्दै व्यापक विरोध जनाए।

युद्धको सुरुआती चरणमा रूसले राजधानी कीभ कब्जा गर्ने प्रयास गरे पनि युक्रेनी प्रतिरोधका कारण पछि हट्नुपरेको थियो। त्यसपछि युद्ध मुख्यतः पूर्वी र दक्षिणी क्षेत्रमा केन्द्रित हुँदै आएको छ।

अमेरिका, बेलायत, जर्मनी लगायतका पश्चिमी राष्ट्रहरूले युक्रेनलाई ठूलो मात्रामा आर्थिक सहायता, हतियार र सैन्य उपकरण उपलब्ध गराउँदै आएका छन्। अर्कोतर्फ, रूसले आफ्नो रक्षा उद्योगलाई तीव्र रूपमा विस्तार गर्दै युद्ध जारी राखेको छ।

पछिल्ला दुई वर्षमा युद्धको स्वरूप उल्लेखनीय रूपमा परिवर्तन भएको छ। परम्परागत ट्यांक र तोपखानाको प्रयोगसँगै दुवै पक्षले लामो दूरीका मिसाइल र ड्रोन प्रविधिको व्यापक प्रयोग गर्न थालेका छन्। युक्रेनले रूसको भित्री भागमा रहेका तेल भण्डारण केन्द्र, हवाई अड्डा र सैनिक पूर्वाधारलाई लक्षित गरी ड्रोन आक्रमण गरिरहेको छ भने रूसले पनि युक्रेनका ऊर्जा संरचना र सहरहरूमा निरन्तर हवाई आक्रमण गर्दै आएको छ।

सेन्ट पिटर्सबर्ग र मस्कोजस्ता रूसका प्रमुख सहरसम्म युक्रेनी ड्रोन पुग्न थालेपछि युद्धको प्रभाव सीमावर्ती क्षेत्रबाट बाहिर फैलिएको देखिएको छ। यसले रूसको आन्तरिक सुरक्षामाथि नयाँ चुनौती खडा गरेको विश्लेषण गरिएको छ।

संयुक्त राज्य अमेरिका र अन्य अन्तर्राष्ट्रिय शक्तिहरूले पटक-पटक युद्धविराम र वार्ताको प्रयास गरे पनि अहिलेसम्म स्थायी समाधान निस्कन सकेको छैन।

बरु पछिल्ला महिनाहरूमा दुवै पक्षका ड्रोन तथा मिसाइल आक्रमण अझ तीव्र बन्दै गएका छन्।

…अन्ततः यस्तो पत्र लेखेर अरशदले छोडे कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस कपिलवस्तुका सहसचिव वाजीह अरशदले पार्टी सदस्यता समेत त्याग्दै राजीनामा दिएका छन्।

उनले आजैदेखि लागू हुने गरी नेपाली कांग्रेसको साधारण सदस्य र पार्टी पद दुवैबाट अलग भएको घोषणा गरेका हुन्।

अरशदले पार्टीको हितमा कुरा उठाउँदा आफूलाई लगातार घेराबन्दीमा पारिएको र जिल्लाको नेतृत्वको कार्यशैलीसँग असहमति रहेको भन्दै राजीनामा दिएको बताएका छन्।

उनका अनुसार पार्टीभित्र पुराना कार्यकर्तालाई उचित सम्मान नदिइने र उनीहरूलाई विस्थापित गर्ने प्रवृत्ति बढेको देखिएको छ।

उनले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, ‘पार्टीको हितमा कुरा उठाउँदा चौतर्फी नेतृत्वको घेराबन्दीमा पर्दै आएको हुनाले जिल्लाको नेतृत्वको कार्यशैलीसँगको मेरो असहमति रहेको हुँदा म आफ्नो पद र नेपाली कांग्रेसको साधारण सदस्यसमेतबाट आजैको दिनदेखि राजीनामा दिने घोषणा गर्दछु।’

यो घटनालाई स्थानीय तहमा नेपाली कांग्रेसभित्र देखिँदै आएको आन्तरिक असन्तुष्टि र नेतृत्व शैलीप्रतिको प्रश्नका रूपमा हेरिएको छ।

उनको राजीनामा  पत्र यस्तो छ :

श्रीमान् सभापति ज्यू
मिति : २०८३/०२/२४

नेपाली कांग्रेस
जिल्ला कार्य समिति, कपिलवस्तु

विषय : राजीनामा सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको २०५५ सालदेखि साधारण सदस्य रही, २०५५ फाल्गुन २९ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (कपिलवस्तु बहुमुखी क्याम्पस) को निर्वाचनबाट सदस्य पदमा विजयी भई आफ्नो राजनीतिक यात्राको सुरुवात गरेको र २०६० सालमा सोही क्याम्पसको स्ववियु सभापति निर्वाचित भई २०६२ साल माघ ०५ गते र फाल्गुन १५ गते जनआन्दोलनको क्रममा गिरफ्तार भई, २०६२ साल चैत्र २५ गते तौलिहवामा माओवादी आक्रमणको समयमा गिरफ्तारीबाट मुक्त भएको र त्यसपश्चात २०६३ साल फाल्गुन १२ गते सम्पन्न नेविसंघको ८औं जिल्ला अधिवेशनबाट कपिलवस्तु जिल्लाको सभापति निर्वाचित भई पार्टीप्रति समर्पित रहेर संगठन गर्दै आएको छु। हाल नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सह-सचिव पदमा रही काम गर्दै आएको छु।

निरन्तर नेपाली कांग्रेसमा काम गर्दा अग्रजहरूको सम्मान गर्दै पार्टीभित्रका अनियमितताविरुद्ध आफ्नो आवाज सधैं बुलन्द गर्दै आएको थिएँ। तर कपिलवस्तु कांग्रेसको नेतृत्वको पृष्ठभूमि बागी र विद्रोही रहेको हुँदा पार्टीका पुराना कार्यकर्ताहरूलाई विस्थापित गर्ने खालको व्यवहार देखिएकाले म आफ्नो पदमा रही पार्टीप्रति इमान्दार कार्यकर्ताहरूलाई सम्मान दिलाउन असफल भएको छु।

पार्टीको हितमा कुरा उठाउँदा चौतर्फी नेतृत्वको घेराबन्दीमा पर्दै आएको हुनाले जिल्लाको नेतृत्वको कार्यशैलीसँग मेरो असहमति रहेको हुँदा म आफ्नो पद र नेपाली कांग्रेसको साधारण सदस्यसमेतबाट आजैको दिनदेखि राजीनामा दिने घोषणा गर्दछु। आगामी दिनहरूमा म महामानव विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटो र प्रजातान्त्रिक मूल्य र मान्यताप्रति स्वतन्त्र रहँदै इमान्दार रहने गरी देश र जनताप्रति समर्पित रहने छु।

बोधार्थ :
मो. वाजीह अरशद
सह-सचिव
नेपाली कांग्रेस जिल्ला कार्य समिति, कपिलवस्तु

विवादबीच गृहमन्त्रीमा गुरुङ पुनरागमनको प्रयासमा

विवादित व्यवसायी दिपक भट्टसँगको शेयर कारोबारमा अनियमितता रहेको आरोप लागेपछि तत्कालीन गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिए।

छानबिनको माग उठेपछि सरकारले लगत्तै छानबिन समिति गठन गर्‍यो। उक्त छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि गुरुङ अहिले फेरि गृहमन्त्रालयमा पुनरागमन गर्ने तयारीमा छन्। यसैका लागि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री पद खाली राखेको चर्चा पनि हुने गरेको छ। तर, जनस्तरबाट छानबिन समिति घटना टार्न बनाइएको प्रतिक्रिया आइरहेका छन्।

यही विषयमा बोल्दै गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले भने, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु।’

छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको भन्दै उनले आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए।

आफूले क्लिन चिट पाएर पुनः गृहमन्त्रीमा फर्किने सम्भावनाबारे उनले थपे, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।’

गृहमन्त्रीबाट राजीनामा दिइसकेपछि गुरुङ विभिन्न विवादास्पद ठाउँहरूमा सहभागी भए। सशस्त्र प्रहरीको कार्यालय पुगेर प्रहरीलाई थर्काएको आरोप उनीमाथि छ। राजीनामा दिएकै भोलिपल्टबाट आफ्ना समर्थकहरूलाई उनले माइतीघरमा प्रदर्शनमा उतारे। छानबिनमा तानिएको एकजना व्यक्तिका लागि आफ्नै समर्थकलाई प्रदर्शनमा उतार्नु कत्तिको न्यायोचित हुन्छ ? त्यो पनि सत्ताधारी सांसदकै लागि।

त्यस्तै, केही दिनअघि मात्रै प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिविरुद्ध जेनजी युवाहरू भारतीय दूतावासअगाडि प्रदर्शनमा जुटे। त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो। पक्राउ परेर हिरासतमा पुगेका युवाहरूलाई पूर्वगृहमन्त्री गुरुङले हिरासतमै पुगेर थर्काए। धम्की दिए। चेतावनीको भाषा प्रयोग गरे। हिरासतमा बसेका युवाहरूका अनुसार उनीहरूलाई गुरुङले ‘यो अन्तिम चान्स हो, यसपछि सरकारविरुद्ध नबोल्नु’ भनेका थिए।

हिजो मात्रै टिकटकमा नेपाली ब्रो नामका व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका समाचारहरू सार्वजनिक भए। उक्त प्रकरणमा समेत पूर्वगृहमन्त्री गुरुङले प्रहरी कार्यालय पुगेर छानबिन प्रभावित पार्ने काम गरेको चर्चा छ।

त्यसअघि गुरुङ आफ्नै सचिवालयका कारणले विवादित बने। गृहमन्त्रीबाट राजीनामा दिए पनि उनको पूर्ववत् सचिवालयले गृहमन्त्रालय चलाइरहेको समाचार आए। जेम्स कार्की लगायतको टिमले कर्मचारीलाई हप्काईदप्काई गरेको आरोपहरू लागे। सुकुमवासी बस्ती भत्काउने क्रममा बल प्रयोग उनकै सचिवालयमार्फत भएको भनियो।

उनै विवादित गुरुङ फेरि गृहमन्त्रालयको चाबी प्राप्तिको प्रयत्नमा छन्। के गुरुङ यी सबै घटनाहरूको बीच फेरि गृहमन्त्री बन्लान् ?

 हुण्डी कारोबार : १९ लाख ५२ हजारसहित एक जना पक्राउ

रसुवा । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ठूलो परिमाणमा नगदसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन्। उनलाई पासाङ ल्हामु राजमार्गअन्तर्गत धुन्चे बजार क्षेत्रमा चेकजाँचका क्रममा पक्राउ गरिएको हो।

प्रहरीले स्याफ्रुवेशीतर्फबाट काठमाडौं आउँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो गाडी रोकेर जाँच गरेको थियो। सो क्रममा गुरुङको साथ रहेको झोलाभित्र ठूलो मात्रामा नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक राजु शाहका अनुसार झोलाभित्र १ हजार, ५ सय र १०० रुपैयाँ दरका नोटसहित कुल १९ लाख ५२ हजार १०० रुपैयाँ बरामद भएको हो।

बरामद नगदसहित उनलाई नियन्त्रणमा लिएर हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत रसुवाबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले स्रोत नखुलेको ठूलो रकमको कारोबारबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

‘म फेरि गृहमन्त्री भए भने फोटो खिच्ने,बधाई दिने काम नगरौँ’ – सुधन गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध हुने भनिएको सम्पत्ति छानबिनपछि सफाइ पाएर पुनः सरकारी जिम्मेवारीमा फर्किने आशा व्यक्त गरेका छन्।

आइतबार गोरखामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि गृहमन्त्रीको जिम्मेवारी दिइए छोटो समयमै उल्लेखनीय काम गरेर देखाउने दाबी गरे।

कार्यक्रममा बोल्दै उनले भने, ‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनु। दुई महिनाजति समय दिनु।’

उनले मन्त्री बनेपछि औपचारिकता र भीडभाडमा समय खेर नफाल्ने बताउँदै मन्त्रालयको कामलाई प्रत्यक्ष रूपमा परिणाममुखी बनाउन केन्द्रित हुने बताए।

उनको भनाइमा, ‘त्यतिखेर फोटो खिच्ने, माला लगाउने, खादा लगाउने, बधाई दिने कार्यहरू नगरौँ। मन्त्रालय धाउने काम पनि नगरौँ।’

गुरुङले आफूलाई जिम्मेवारी दिइए दुई महिनाभित्र आवश्यक सुधारका कामहरू सुरु गर्ने र प्रशासनिक प्रणालीलाई व्यवस्थित गर्ने बताए।

उनले भने, ‘दुई महिना समय दिनुहोला, म त्यतिखेर सबै कुरा स्टाब्लिस गरिदिन्छु। त्यसपछि पनि भएन भने बाबु तिम्ले बोलेको कुरा भएन है भन्नुहोला।’

उनले आफूले आफ्नो राजनीतिक धरातल नबिर्सिएको र मतदाताको विश्वास तथा मतको सम्मान गर्दै अघि बढिरहेको उल्लेख गरे।