`

फ्रान्सले किन लगायो बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध?

काठमाडौं। फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडा कानुनी नियन्त्रण लागू गर्ने भएको छ।

फ्रान्सेली संसदबाट पारित भएको नयाँ कानुन आगामी सेप्टेम्बर १, २०२६ देखि कार्यान्वयनमा आउनेछ।

नयाँ व्यवस्थाअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकको स्पष्ट सहमतिबिना फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, एक्स (पूर्व ट्विटर), युट्युब र व्हाट्सएपजस्ता सामाजिक सञ्जालमा नयाँ खाता खोल्न वा ती प्लेटफर्म प्रयोग गर्न पाउने छैनन्।

फ्रान्स सरकारले बालबालिकाको मानसिक स्वास्थ्य संरक्षण, साइबरबुलिङ न्यूनीकरण र सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने उद्देश्यले यो कानुन ल्याएको जनाएको छ। कानुनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीलाई कडा आर्थिक जरिबाना गर्ने व्यवस्था पनि गरिएको छ।

यद्यपि, अनलाइन विश्वकोश, शैक्षिक सामग्री, वैज्ञानिक सूचना तथा अध्ययन–अनुसन्धानसँग सम्बन्धित डिजिटल सेवाहरू भने यस प्रतिबन्धको दायरामा पर्ने छैनन्।

फ्रान्सले यसअघि नै विद्यालय परिसरमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ। अब सामाजिक सञ्जालसम्बन्धी नयाँ कानुन कार्यान्वयनमा आएपछि बालबालिकाको डिजिटल सुरक्षालाई थप प्रभावकारी बनाउने सरकारको अपेक्षा छ।

यसअघि अष्ट्रेलियाले पनि १६ वर्षमुनिका किशोरकिशोरीका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो।

तर १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई अभिभावकको सहमतिसँग जोडेर व्यापक कानुनी व्यवस्था लागू गर्ने मुलुकमध्ये फ्रान्स अग्रपंक्तिमा पुगेको बताइएको छ।

आन्दोलन चर्किँदै गएपछि बोले मोदी

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर जारी रहेको युवा आन्दोलनका मागप्रति सरकार सकारात्मक रहेको बताएका छन्। विशेषगरी नीट परीक्षा प्रश्नपत्र लिक प्रकरणमा दोषीमाथि कडा कारबाहीको माग उठिरहेका बेला उनले सरकारले छिटो न्याय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत गठन गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको वक्तव्यमा प्रधानमन्त्री मोदीले प्रश्नपत्र लिकका सबै घटनामा संलग्न दोषीलाई कानुनअनुसार यथाशीघ्र कडा सजाय दिलाइने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यस्ता मुद्दाको छिटो सुनुवाइ र फैसला सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत गठन गर्ने प्रक्रिया अघि बढाइएको र सम्बन्धित निकायलाई आवश्यक तयारी तथा कार्यान्वयनका लागि निर्देशन दिइसकिएको उल्लेख गरेका छन्।

मोदीले विद्यार्थीको हित र भविष्यको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकतामा रहेको भन्दै सरकारले यस दिशामा निरन्तर महत्वपूर्ण निर्णयहरू लिइरहेको बताएका छन्। उनले युवाको भविष्यसँग खेलबाड गर्ने, परीक्षा प्रणालीलाई प्रभावित पार्ने वा कुनै पनि प्रकारको अनियमिततामा संलग्न हुने व्यक्तिलाई कुनै पनि हालतमा नछोडिने स्पष्ट पारे।

भारतमा नीट परीक्षा प्रश्नपत्र लिक प्रकरणपछि देशका विभिन्न भागमा विद्यार्थी र युवाले निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा परीक्षा प्रणालीमा सुधारको माग गर्दै आन्दोलन गरिरहेका छन्। सरकारले आन्दोलनकारीको चासोलाई सम्बोधन गर्ने उद्देश्यले दोषीलाई छिटो कानुनी दायरामा ल्याउन र मुद्दाको शीघ्र टुंगो लगाउन फास्ट ट्र्याक अदालतमार्फत प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ।

रुसी सेनामा भर्ती भएर मारिने नेपाली ४९१ पुगेको दाबी

काठमाडौं । रुस–युक्रेन युद्ध सुरु भएको साढे चार वर्ष पुग्न लाग्दा रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको संख्या ५०० नजिक पुगेको दाबी गरिएको छ।

रुसी सेनामा भर्ती भएका नेपालीको उद्धार तथा स्वदेश फिर्ताका लागि लामो समयदेखि अभियान चलाउँदै आएकी अभियन्ता कृतु भण्डारीका अनुसार साउन ५ गतेसम्म युद्धमा ४९१ नेपालीको मृत्यु भएको छ भने ७३ जना अझै बेपत्ता छन्। तर नेपाल सरकारसँग रहेको आधिकारिक विवरण भने यसभन्दा निकै कम छ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका अनुसार रुसले औपचारिक रूपमा नेपाललाई हालसम्म १२७ जना नेपाली युद्धमा मारिएको जानकारी मात्रै गराएको छ।

अभियन्ताले सार्वजनिक गरेको विवरण र सरकारी तथ्यांकबीचको ठूलो अन्तरले रुसी सेनामा भर्ती भएका नेपालीको वास्तविक अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

भण्डारीका अनुसार रुसले युद्धमा मृत्यु भएका नेपालीका परिवारलाई सिधै सम्पर्क गरी मस्को बोलाउने, उतै शव व्यवस्थापन र अन्त्येष्टि गराउने अभ्यास अपनाउँदै आएको छ। यही प्रक्रियाका कारण धेरै घटनाबारे नेपाल सरकारलाई औपचारिक जानकारी नपुग्ने गरेको उनको दाबी छ। उनका अनुसार हालसम्म मृत्यु भएका नेपालीमध्ये एक जनाको पनि शव नेपाल पठाइएको छैन।

युद्धमा ज्यान गुमाएका नेपालीका परिवारले अर्को समस्या पनि भोगिरहेका छन्। रुसले उपलब्ध गराउने क्षतिपूर्ति रकम लिन परिवारका सदस्यलाई मस्को नै पुग्नुपर्ने अवस्था रहेको छ। तर रुसमाथि लगाइएका अन्तर्राष्ट्रिय वित्तीय प्रतिबन्धका कारण उक्त रकम वैधानिक बैंकिङ प्रणालीमार्फत नेपाल पठाउन कठिन हुने भएकाले धेरै परिवार अनौपचारिक माध्यम प्रयोग गर्न बाध्य भएको भण्डारीको भनाइ छ। यसक्रममा क्षतिपूर्ति रकम नेपाल ल्याउन अतिरिक्त खर्च र कमिसनसमेत तिर्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्।

रुसी सेनामा भर्ती भएर लामो समयदेखि सम्पर्कविहीन भएका नेपालीको खोजीका लागि कन्सुलर सेवा विभागमा ३६३ वटा निवेदन परेको छ। तीमध्ये केहीको मृत्यु पुष्टि भए पनि धेरैको अवस्था अझै अज्ञात छ। यसले युद्धमा नेपाली नागरिकको वास्तविक अवस्था अझै स्पष्ट हुन नसकेको देखाउँछ।

नेपाल सरकारले भने सुरुबाटै आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती नहुन आग्रह गर्दै आएको छ। पछिल्लो पटक परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि नवनियुक्त रुसी राजदूत अलेक्सी भ्लादिमिरोभिच सुरोभत्सेभसँगको भेटमा नेपालीको भर्ती रोक्न, भर्ती भएकाको विवरण उपलब्ध गराउन, युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन, मृत्यु भएका नेपालीको शव नेपाल पठाउन तथा घाइते र मृतकका परिवारलाई सहज रूपमा क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेका थिए।

अभियन्ता भण्डारीका अनुसार रुसले विदेशी नागरिकलाई सेनामा आकर्षित गर्न समय-समयमा नयाँ सुविधा घोषणा गर्दै आएको छ। पछिल्लो समय भर्ती हुनेबित्तिकै ठूलो रकम उपलब्ध गराउने, घाइतेलाई आवास सुविधा दिने तथा इच्छुकलाई रुसी नागरिकता प्रदान गर्ने जस्ता प्रलोभनसमेत दिइएको दाबी गरिएको छ। यही कारण नेपाली युवा अझै पनि विभिन्न माध्यमबाट रुसी सेनामा पुग्ने क्रम पूर्ण रूपमा रोकिएको छैन।

भण्डारीले यसअघि रुसी सेनामा भर्ती भएका ६९९ नेपालीको विवरण संकलन गरी परराष्ट्र मन्त्रालयमा बुझाइसकेको बताएकी छन्। उनका अनुसार युद्धका क्रममा ११ जना नेपाली युक्रेनको नियन्त्रणमा युद्धबन्दी बनेका छन्। सामाजिक सञ्जालमार्फत युद्धमा सहभागी, घाइते, बेपत्ता र मृत्यु भएका नेपालीबारे जानकारी संकलन गर्दै आएका उनका विभिन्न समूहमा अहिले करिब ३ हजार ४ सय सदस्य सक्रिय छन्।

रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि आफ्ना सैनिक क्षति बढ्दै गएसँगै विदेशी नागरिकलाई पनि सेनामा भर्ती गर्न थालेको थियो। नेपाली युवासमेत विभिन्न प्रलोभनमा परी रुसी सेनामा पुगेका छन्। उनीहरूलाई छोटो सैन्य तालिमपछि युद्धको अग्रपंक्तिमा पठाइने गरेको विभिन्न विवरणले देखाउँछन्।

नेपाल सरकारले पटक–पटक कूटनीतिक माध्यमबाट असन्तुष्टि जनाउँदै रुसी पक्षसँग नेपालीको भर्ती रोक्न, विवरण उपलब्ध गराउन र प्रभावित परिवारलाई राहत उपलब्ध गराउन आग्रह गरे पनि हालसम्म सबै मागको पूर्ण कार्यान्वयन भएको छैन।

यसबीच अभियन्ताहरूले सार्वजनिक गरिरहेको तथ्यांक र सरकारी अभिलेखबीचको ठूलो अन्तरले युद्धमा संलग्न नेपालीको वास्तविक अवस्था अझै अस्पष्ट रहेको देखाएको छ।

चक्रपथको कलंकी-बसुन्धारा खण्ड निर्माण चाडपर्वपछि

काठमाडौं।  काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दसैँ–तिहार)लगत्तै सुरु हुने भएको छ । अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको योजना प्रमुख आशिका पोखरेलले जानकारी दिइन् ।

उनकाअनुसार परियोजनाअन्तर्गत मुख्य एक्सप्रेस-वे बाहिरको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ । उक्त कार्यको करिब ८० प्रतिशत प्रगति भइसकेको छ । केही स्थानमा कालोपत्रे गर्नमात्र बाँकी छ ।

मुख्य एक्सप्रेस–वे निर्माणका लागि चिनियाँ पक्षले प्रारम्भिक डिजाइन (प्रिलिमिनरी डिजाइन) पेस गरिसकेको छ । त्यसमा नेपाल पक्षबाट आवश्यक सुझाव तथा टिप्पणी दिइसकिएको र हाल अन्तिम डिजाइन पेस गर्ने चरणमा रहेको उनले बताइन् । ‘यही मितिमा सुरु हुन्छ भन्ने छैन । मनसुन तथा चाडपर्वपछि कार्यान्वयनको चरणमा प्रवेश गर्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनिन् ।

चीनमा टेन्डर प्रक्रिया नेपालको तुलनामा छोटो हुने भएकाले निर्माण प्रक्रिया छिट्टै अघि बढ्ने उनले विश्वास व्यक्त गरिन् । साइट क्लियरेन्स गर्न समय लागेकाले परियोजना ढिलाइ भएको उनको जिकिर छ । घरटहरा, रुखविरुवा तथा अन्य संरचना हटाउने काम सम्पन्न नहुँदा चिनियाँ पक्ष निर्माणमा आउन नसकेको र त्यसैबीच कोभिड–१९ महामारीका कारण परियोजना करिब तीनदेखि चार वर्ष पछि धकेलिएको उनले बताइन् । पछिल्लो समय भने आवश्यक कागजी प्रक्रिया, पत्राचार, सर्वेक्षण तथा डिजाइनसम्बन्धी काम निरन्तर अघि बढिरहेको उनको भनाइ छ ।

परियोजनाको प्रारम्भिक अनुमानित लागत करिब १२ अर्ब रुपैयाँ थियो । तर, मुद्रास्फीति तथा डिजाइनमा गरिएको सुधारका कारण लागत पुनः अद्यावधिक भइरहेको छ । अन्तिम डिजाइनसँगै संशोधित लागत विवरण प्राप्त भएपछि मात्र यकिन लागत सार्वजनिक गर्न सकिने उनले बताइन् । दोस्रो चरणमा सम्भावित जटिलतालाई पहिल्यै पहिचान गरी समाधानको प्रयास भइरहेको उनको भनाइ छ । ‘पहिलो चरणको कार्यान्वयन गर्दा के–के जटिलता हुन्छ भनेर थाहा पायौँ । त्यसैले कमजोरीलाई सम्बोधन गर्न पहिल्यैदेखि व्यापक अध्ययन, प्राविधिक अभ्यास तथा पत्राचारको काम गरेका छौँ,’ पोखरेलले भनिन् ।

उनकाअनुसार चिनियाँ पक्षले पनि तोकिएको समयमै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । निर्माणका कारण सर्वसाधारणले केही समय असुविधा व्यहोर्नुपर्ने भएकाले धैर्य गरिदिन उनले आग्रह गरिन् ।

तस्वीरहरू:
default
default

default
default
default
default
default
default
default
default
default
default

ओली-प्रचण्ड अंकमाल गर्ने ताउरमाउरमा

काठमाडाैं । लगातार खुम्चिँदै गएको जनाधार, नयाँ राजनीतिक शक्तिको उदय र प्रदेश सरकारको बदलिँदो अंकगणितले नेपालका प्रमुख वाम दलहरू फेरि सहकार्यको बाटोमा उन्मुख भएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच मंगलबार भएको झण्डै दुई घण्टा लामो संवादलाई प्रदेश सरकारको समीकरणभन्दा पनि वाम ध्रुवीकरण र सम्भावित एकताको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ।

दुई नेताबीचको भेटमा प्रदेश सरकार, राजनीतिक स्थायित्व र वाम शक्तिबीच सहकार्यका विषयमा विस्तृत छलफल भएको स्रोतको दाबी छ।

छलफलपछि जनकपुर पुगेका दाहालले आफूले सर्वदलीय सरकार गठनको प्रस्ताव राखे पनि त्यसमा सहमति नजुटेपछि वाम सहकार्यको विषयमा सकारात्मक संवाद भएको बताएका थिए।

‘पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिबीच सहकार्यको वातावरण बनेको छ। कांग्रेससँग पनि छलफल चलिरहेको छ,’ दाहालले सञ्चारकर्मीसँग भने।

नेकपा प्रवक्ता प्रकाश ज्वालाले पनि ओली र दाहालबीचको संवाद प्रदेश सरकारको सीमाभन्दा बाहिर गएर समग्र वाम सहकार्यमा केन्द्रित भएको बताए।

‘वर्तमान संविधान, गणतन्त्र पक्षधर तथा देशभक्त शक्तिसँग सहकार्य गर्ने गरी सर्वदलीय गठबन्धन बनाउने प्रस्ताव राखिएको हो। तर अध्यक्ष कमरेड ओली त्यसमा सकारात्मक हुनु भएन। त्यसपछि वाम सहकार्यको मार्गमा अघि बढ्ने विषयमा छलफल भएको हो,’ ज्वालाले भने।

दुई वर्षअघिसम्म एकअर्काविरुद्ध सार्वजनिक रूपमा कठोर अभिव्यक्ति दिने ओली र दाहाल अहिले फेरि एउटै टेबलमा बसेर सहकार्यबारे छलफल गर्न थालेका छन्। यसलाई राजनीतिक बाध्यताले जन्माएको नयाँ समीकरणका रूपमा पनि विश्लेषण गरिएको छ।

विगतका निर्वाचनले वाम दललाई ठूलो झट्का दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ शक्तिको उदयसँगै परम्परागत वाम दलहरूको मत आधार कमजोर बन्दै गएको छ। प्रदेशदेखि संघसम्म सत्ता समीकरणमा पनि उनीहरूको पकड पहिलेभन्दा कमजोर देखिएको छ। यही अवस्थाले विभाजित वाम शक्तिलाई फेरि एक ठाउँमा ल्याउनुपर्ने दबाब बढाएको नेताहरू बताउँछन्।

एमालेभित्र पनि वाम सहकार्यको पक्षमा खुलेर अभिव्यक्ति आउन थालेको छ।

एमाले नेता लेखराज भट्टले पनि सहकार्यलाई समयको आवश्यकता भएको बताए। उनका अनुसार अहिलेको संवाद भविष्यमा पार्टी एकतासम्म पुग्ने आधार बन्न सक्छ।

‘देशको राजनीतिक परिवर्तनका लागि प्रमुख भूमिका खेलेका वामहरू सहकार्यमा जान जरुरी छ। सहकार्य गर्दै जाँदा भोलि एकतासम्म पुग्न सकिन्छ,’ भट्टले भने।

उनले विगतका कमजोरीबाट पाठ सिकेर नयाँ आधारमा सहकार्य गर्नुपर्नेमा जोड दिए।

नेपालको वाम आन्दोलन भने विगतमा पटकपटक मिल्ने र फुट्ने चक्रबाट गुज्रिएको छ। ३ जेठ २०७५ मा एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। तर नेतृत्वबीचको शक्ति संघर्षले त्यो एकता तीन वर्ष पनि टिक्न सकेन। सर्वोच्च अदालतको फैसलापछि पार्टी विभाजित भयो।

२०७९ को निर्वाचनपछि पनि एमाले र माओवादीले सत्ता सहकार्य गरे। १० पुसमा दाहाल प्रधानमन्त्री बने। तर त्यो गठबन्धन पनि लामो समय टिकेन। त्यसपछि दाहाल कांग्रेससँग जोडिए। पछि फेरि एमालेसँग सहकार्य गरे।

अन्ततः त्यो समीकरण पनि टुट्यो। दाहालले सार्वजनिक रूपमै आफूलाई ओलीले धोका दिएको आरोप लगाएका थिए। त्यसपछि दुई नेताबीच सम्बन्ध निकै चिसिएको थियो।

यही पृष्ठभूमिमा अहिले फेरि दुई नेताबीच संवाद सुरु हुनु अर्थपूर्ण मानिएको छ।

स्रोतका अनुसार एमालेभित्र उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल र प्रवक्ता लेखराज भट्टले संवादलाई सहज बनाउने भूमिका खेलेका छन्।

नेकपातर्फबाट वर्षमान पुन र प्रमेश हमालले पनि दुई दलबीच सम्पर्क बढाउने काम गरिरहेका छन्। शीर्ष नेताबीच यसअघि पनि अनौपचारिक भेटघाट हुँदै आएको भए पनि यसपटकको छलफललाई अधिक राजनीतिक महत्वका साथ हेरिएको छ।

विश्लेषकहरूका अनुसार अहिले प्रदेश सरकारको अंकगणित मिलाउनु मात्रै उद्देश्य होइन। कमजोर बन्दै गएको वाम जनमतलाई पुनः संगठित गर्ने, कम्युनिस्ट मत विभाजन रोक्ने र नयाँ राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने साझा आधार तयार गर्ने प्रयास पनि हो।

यद्यपि विगतमा पटकपटक गठबन्धन टुटेको इतिहासका कारण अहिलेको सहकार्य कति टिकाउ हुन्छ भन्ने प्रश्न अझै बाँकी छ।

विश्वास र अविश्वासको लामो इतिहास बोकेका ओली र दाहालबीचको सम्बन्धले फेरि नयाँ मोड लिएको छ। तर दुवै दलका नेताहरू सार्वजनिक रूपमा सहकार्यको पक्षमा बोल्न थालेका छन् भने दोस्रो तहका नेताहरूले पनि संवादलाई संस्थागत बनाउन पहल गरिरहेका छन्।

यसले एउटा कुरा भने स्पष्ट पारेको छ-लगातार कमजोर बन्दै गएको वाम शक्ति अब राजनीतिक अस्तित्व जोगाउन सहकार्यको बाटो हुँदै सम्भावित एकताको दिशामा अघि बढ्न बाध्य देखिएको छ। अहिलेको संवाद त्यसैको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ।

गणेश नेपालीको आत्मदाह प्रकरण छानबिन गर्न न्यायिक समिति गठन

काठमाडौं । सरकारले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले समितिले घटनाका सबै पक्षको अध्ययन गरी सत्यतथ्य पत्ता लगाउने जानकारी दिए।

मुगुका २५ वर्षीय गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। उपचारका क्रममा उनको वीर अस्पतालमा निधन भएको थियो।

सरकारले उक्त घटनाको कारण, परिस्थितिलगायत पक्षबारे निष्पक्ष छानबिन गर्न न्यायिक समिति गठन गरेको जनाएको छ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं। सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ अन्तर्गत लागू भएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो। उक्त शुल्क चालु आर्थिक वर्षको बजेटमार्फत साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोकिएको जानकारी दिए। बैठकले गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद्ले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित उडानलाई प्रवर्द्धन गर्न २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै, मिटरब्याज पीडितसँग भएको सम्झौतालाई अनुमोदन गर्दै मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू तत्कालैदेखि अवैध घोषणा गर्ने निर्णय पनि बैठकले गरेको छ।

साथै, गणेश नेपालीको आत्महत्या घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गरिएको सरकारले जनाएको छ।

वर्षा रोकिएपछिको काठमाडौं

काठमाडौं। लगातारको वर्षापछि बुधबार बिहान काठमाडौं उपत्यकाको मौसम केही खुलेको छ।

केही दिनदेखि मनसुनी वर्षाले प्रभावित बनेको जनजीवनमा बुधबार बिहान केही राहत देखिएको हो।

निरन्तरको वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा डुबान, सडक भासिने तथा आवागमन प्रभावित हुने अवस्था सिर्जना भएको थियो। मौसम खुलेसँगै काठमाडौंका जगडोल, हलचोक, ह्वाइट गुम्बालगायत क्षेत्रबाट उपत्यकाको दृश्य पनि छर्लङ्ग देखिएको छ।

यद्यपि, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभाव अझै कायम रहेकाले वर्षाको जोखिम टरेको छैन। महाशाखाका अनुसार आगामी तीन दिन काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान, नदी-नालामा बहाव बढ्ने तथा भूक्षयजस्ता जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तस्वीरहरू:

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं। प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारी नीतिगत विषयमा छलफल हुने बताइएको छ। विशेषगरी निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क फिर्ता लिने विषयमा सरकारले औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले यसअघि सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य समता शुल्क तत्काल लागू नगर्ने घोषणा गरेका थिए। उक्त घोषणालाई कानुनी प्रक्रियामार्फत कार्यान्वयन गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने तयारी गरेको जनाइएको छ।

यसका साथै विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव, नियुक्ति तथा अन्य समसामयिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

अमेरिका-इरान टकरावले ध्वस्त विश्व तेल बजार

काठमाडौं। अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावले विश्व ऊर्जा बजारमा नयाँ संकट निम्त्याएको छ। विशेषगरी कच्चा तेलको आपूर्तिमै अनिश्चितता बढेपछि एसियाली तेल प्रशोधन उद्योग (रिफाइनरी)ले उत्पादन विस्तार गर्ने योजना प्रभावित हुने संकेत देखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको माग बढ्ने अपेक्षासँगै अगस्ट महिनादेखि उत्पादन बढाउने तयारीमा रहेका रिफाइनरीहरू अहिले कच्चा तेलको नियमित आपूर्तिप्रति चिन्तित बनेका छन्। पश्चिम एसियाको तनावका कारण प्रमुख समुद्री मार्गहरू जोखिममा परेपछि तेल ढुवानीमा अवरोध आउने सम्भावना बढेको हो।

विश्व बजारमा खपत हुने करिब २० प्रतिशत कच्चा तेल स्ट्रेट अफ होर्मुज हुँदै ओसारपसार हुने गर्छ। तर अमेरिका–इरान युद्ध चर्किएसँगै उक्त समुद्री मार्गमा जोखिम बढेपछि विशेषगरी भारत, चीन, दक्षिण कोरियालगायत एसियाली आयातकर्ता देशहरू प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

यसैबीच, यमनका हुथी विद्रोहीहरूले बाब अल-मन्देब जलडमरू हुँदै हुने साउदी तेल निर्यात अवरुद्ध गर्ने चेतावनी दिएका छन्। यसले विश्व बजारमा दैनिक लाखौँ ब्यारेल कच्चा तेलको ढुवानी प्रभावित हुन सक्ने आकलन गरिएको छ।

सुरक्षाको जोखिम बढेपछि केही तेल ट्यांकरहरूले आफ्नो निर्धारित मार्ग परिवर्तन गर्न थालेका छन्। यदि यो अवस्था लम्बियो भने जहाजहरूले अफ्रिकी तट हुँदै लामो दूरी पार गर्नुपर्नेछ, जसले ढुवानी समय र लागत दुवै बढाउनेछ।

यता, रूसले पनि आफ्ना रिफाइनरीमाथि बढ्दो आक्रमणपछि डिजेल निर्यातमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा इन्धन आपूर्ति झन् दबाबमा परेको छ। विश्लेषकहरूका अनुसार अमेरिका–इरान युद्ध र रूसको निर्यात प्रतिबन्धले विश्व इन्धन बजारमा एकैपटक दोहोरो संकट सिर्जना गरेको छ।

युद्धका कारण डिजेल, पेट्रोल र हवाई इन्धन प्रशोधनबाट हुने नाफा उल्लेखनीय रूपमा बढेको छ। अमेरिका र युरोपका अधिकांश रिफाइनरीहरू पूर्ण क्षमतामा सञ्चालन भइरहे पनि थप उत्पादन बढाउने पर्याप्त क्षमता उनीहरूसँग छैन।

यस्तो अवस्थामा चीनलाई सम्भावित विकल्पका रूपमा हेरिएको छ। हाल चीनका धेरै रिफाइनरीहरू पूर्ण क्षमतामा सञ्चालन नभएकाले उत्पादन बढाउने अवसर रहेको विश्लेषण गरिएको छ। पर्याप्त कच्चा तेल भण्डारण भएका कारण चीनले उत्पादन वृद्धि गर्न सक्ने भए पनि त्यसले विश्व बजारको अभाव पूर्ण रूपमा पूर्ति गर्न सक्छ वा सक्दैन भन्ने अझै स्पष्ट भइसकेको छैन।

विश्लेषकहरूका अनुसार यदि पश्चिम एसियाको तनाव चाँडै समाधान भएन भने अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बढ्न सक्छ र त्यसको प्रत्यक्ष असर विश्व अर्थतन्त्रसँगै नेपालजस्ता आयातमा निर्भर मुलुकमा पनि पर्नेछ।

प्रचण्डको चेतावनी : ‘मधेशमा कमजोर भयौं भने कम्युनिस्ट आन्दोलनले ठूलो मूल्य चुकाउँछ’

जनकपुरधाम। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा पार्टी सुदृढ बनाउन नसकिए देशको राजनीति र समग्र कम्युनिस्ट आन्दोलनले गम्भीर चुनौती सामना गर्नुपर्ने बताएका छन्।

मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले मधेशलाई पार्टीको रणनीतिक केन्द्रका रूपमा चित्रण गरे। जनसंख्या, राजनीतिक प्रभाव र विकासको सम्भावनाका हिसाबले मधेश अत्यन्त महत्वपूर्ण प्रदेश भएकाले यहाँ संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए।

उनका अनुसार मधेशमा बलियो संगठन निर्माण गर्न सके पार्टी मात्र होइन, समग्र मधेश आन्दोलनले पनि नयाँ राजनीतिक शक्ति प्राप्त गर्नेछ। तर त्यसो गर्न नसकिए त्यसको असर राष्ट्रिय राजनीतिसँगै कम्युनिस्ट आन्दोलनमा समेत पर्ने उनले उल्लेख गरे।

‘मधेशमा पार्टी राम्रो बनाउन सकियो भने पार्टी, मधेश र मधेश आन्दोलन सबैका लागि बलियो शक्ति निर्माण हुन्छ,’ उनले भने, ‘तर यहाँ संगठन कमजोर रह्यो भने देश र कम्युनिस्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।’

प्रचण्डले आगामी दिनमा मधेश केन्द्रित संगठन विस्तार, जनसम्पर्क अभियान र कार्यकर्ता परिचालनलाई अझ प्रभावकारी बनाइने जानकारी पनि दिए। उनले पार्टीभित्र प्राप्त सुझावलाई समेट्दै संगठनलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका क्रममा प्रचण्डले हालै निर्वाचित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराउँदै एकताबद्ध भएर संगठन निर्माणमा जुट्न निर्देशन दिएका थिए।

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनी सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्।

श्रेष्ठका छोरा सम्पूर्ण श्रेष्ठका अनुसार उनी पछिल्लो ९–१० दिनदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा उपचार गराइरहेका छन्। चिकित्सकहरूले उनको अवस्था जटिल रहेको बताएका छन्।

श्रेष्ठलाई गत वर्ष प्याङ्क्रियाज (अग्न्याशय) मा समस्या देखिएपछि नेपालका विभिन्न अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो, जहाँ क्यान्सर पुष्टि भएपछि किमोथेरापी गरिएको थियो। करिब तीन महिनाको उपचारपछि उनी नेपाल फर्किए पनि त्यसयता स्वास्थ्य अवस्था क्रमशः कमजोर बन्दै गएको परिवारले जनाएको छ।

हेलियस अस्पतालमा भर्ना हुनुअघि उनको हरिसिद्धिस्थित मेडिसिटी अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा पनि उपचार गरिएको थियो। तर पछिल्लो समय स्वास्थ्यमा थप जटिलता देखिएपछि आईसीयूमा राखेर उपचार गर्नुपरेको हो।

गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका पुराना र प्रभावशाली नेतामध्ये एक हुन्। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा पक्राउ परेपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए। पार्टीको विभिन्न तहमा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका श्रेष्ठ विशेष महाधिवेशनका क्रममा दिएको अभिव्यक्तिका कारण पनि चर्चामा आएका थिए।

हाल उनको स्वास्थ्यमा सुधारका लागि चिकित्सक टोलीले निरन्तर निगरानीसहित उपचार गरिरहेको छ।

हिरासतबाट चिनियाँ नागरिक छुटाइदिने भन्दै ठगी, हास्य कलाकार नारद खतिवडासहित तीन पक्राउ

काठमाडौं। अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने र नियन्त्रणमा रहेका राहदानीसमेत फिर्ता गराइदिने भन्दै ठगी गरेको आरोपमा हास्य कलाकार नारदप्रसाद खतिवडासहित तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि हिरासतमा रहेका चिनियाँ नागरिकलाई प्रभाव प्रयोग गरेर छुटाइदिने आश्वासन दिँदै रकम असुलेको आरोप लागेको छ।

प्रहरीका अनुसार कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिक र विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानी झिकाइदिने भन्दै उनीहरूले करिब ९ लाख रुपैयाँ ठगी गरेका थिए।

यस प्रकरणमा पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका–८ घर भई हाल ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा, नवलपरासी पश्चिमको सुनौल नगरपालिका–७ तर्गौलीका ५९ वर्षीय गोपालकुमार गुरुङ र सर्लाही लालबन्दी नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने ५२ वर्षीय हास्य कलाकार नारदप्रसाद खतिवडा रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

बालेनको घोषणापछि पनि अस्पतालले उठाइरहे ३% स्वास्थ्य समता शुल्क

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले स्वास्थ्य सेवा महँगो नबनाउने भन्दै ३ प्रतिशत स्वास्थ्य समता शुल्क तत्काल लागू नगर्ने घोषणा गरे पनि निजी अस्पतालहरूले भने बिरामीबाट अतिरिक्त शुल्क लिन नछोडेको पाइएको छ।

सरकारको सार्वजनिक घोषणापछि पनि अस्पतालहरूको बिलिङ प्रणालीमा कुनै परिवर्तन नआउँदा बिरामीले अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको हो।

ह्याम्स अस्पताल, बयोधा अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका सेवाग्राहीले अझै पनि स्वास्थ्य समता शुल्क तिर्नुपरेको गुनासो गरेका छन्। एक बिरामीका अनुसार नाक, कान तथा घाँटी विशेषज्ञ चिकित्सकलाई देखाउँदा नियमित शुल्कसँगै अतिरिक्त ३ प्रतिशत रकमसमेत तिर्नुपरेको थियो।

अस्पताल प्रशासनले भने सरकारबाट औपचारिक लिखित निर्देशन नआएकाले हालसम्म पुरानै व्यवस्था अनुसार शुल्क लिइरहेको जनाएको छ। अधिकांश अस्पतालको बिलिङ शाखाले पनि लिखित परिपत्र प्राप्त नभएसम्म शुल्क हटाउन नसकिने अडान लिएको छ।

प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्कालका लागि लागू नगर्ने निर्णय भएको बताएका थिए। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि सर्वसाधारणमाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको उल्लेख गरेका थिए।

प्रधानमन्त्रीका अनुसार उक्त शुल्कको मूल उद्देश्य दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवा उपलब्ध गराउने, विपन्न र सीमान्तकृत समुदायलाई सहयोग गर्ने तथा स्वास्थ्य बिमा विस्तारका लागि स्रोत जुटाउने थियो। तर तत्कालीन अवस्थामा जनतामाथि थप खर्चको भार पर्ने देखिएकाले निर्णय पुनर्विचार गरिएको उनको भनाइ थियो।

यद्यपि, संसदबाट पारित भइसकेको आर्थिक ऐन लागू रहेकाले प्रधानमन्त्रीको घोषणामात्रैका आधारमा शुल्क स्वतः हट्ने कि नहट्ने भन्ने कानुनी प्रश्न पनि उठेको छ।

आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा (१०) ले भने नेपाल सरकारलाई आवश्यकता अनुसार दस्तुर, शुल्क, महसुल वा करको दर घटाउने, बढाउने वा आंशिक तथा पूर्ण रूपमा छुट दिने अधिकार दिएको छ। त्यसैले सरकारले औपचारिक निर्णय र कार्यान्वयन प्रक्रिया अघि बढाएपछि मात्र शुल्क हट्ने कानुनी व्यवस्था रहेको देखिन्छ।

यसबीच, सरकारी घोषणा र अस्पतालको व्यवहारबीच देखिएको असमानताले बिरामी अन्योलमा परेका छन्।

कांग्रेस दुई चिरा : तस्वीरमा हेर्नुहोस् देउवा-खड्का पक्षको कार्यक्रम

काठमाडौं। जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस नेपाली कांग्रेसले यस वर्ष पनि मनायो। तर, यसपटक बीपीको विचारभन्दा कांग्रेसभित्रको विभाजन बढी देखियो।

एकातिर सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन समूहले ‘ग्रिन रन’देखि जलवायु संवादसम्मका कार्यक्रम आयोजना गर्‍यो भने अर्कोतर्फ देउवा–पूर्णबहादुर खड्का समूहले छुट्टै स्मृति सभा गरेर आफ्नो राजनीतिक सन्देश दियो। एउटै पार्टीका दुई धारले एउटै दिन छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दा कांग्रेसभित्रको दूरी सार्वजनिक रूपमा थप प्रस्टिएको छ।

देउवा–खड्का समूहले आयोजना गरेको कार्यक्रममा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत संस्थापन पक्षका शीर्ष नेताहरू अनुपस्थित रहे। त्यस्तै बिहान संस्थापन पक्षले आयोजना गरेको ‘ग्रिन रन’मा पनि इतर समूहका नेताहरू देखिएनन्।

बीपीले जीवनभर राष्ट्रिय मेलमिलाप, सहमति र लोकतान्त्रिक एकताको राजनीति अघि सारेका थिए। तर उनकै स्मृति दिवसमा कांग्रेसभित्र दुई अलग मञ्च, दुई अलग सन्देश र दुई अलग शक्ति प्रदर्शन देखिनुले पार्टीभित्रको आन्तरिक संकट अझ गहिरिएको संकेत दिएको छ।

पछिल्ला महिनादेखि विशेष महाधिवेशन, केन्द्रीय कार्यसमितिको वैधानिकता, १५औँ महाधिवेशनको तयारी र संगठनात्मक संरचनालाई लिएर कांग्रेसभित्र विवाद चर्किँदै आएको छ। त्यसको प्रत्यक्ष प्रभाव बीपी स्मृति दिवसका कार्यक्रममै देखिएको हो।

बीपीको नाममा श्रद्धाञ्जलि अर्पण गरिए पनि उनको राजनीतिक दर्शनअनुसार एकताको सन्देश दिन नसक्दा यसपटकको स्मृति दिवस कांग्रेसका लागि आत्मसमीक्षाको विषय बनेको छ।

एउटै संस्थापक नेताको सम्झनामा समेत एउटै मञ्च साझा गर्न नसकेको कांग्रेसले आगामी दिनमा आन्तरिक मतभेद कसरी व्यवस्थापन गर्छ भन्ने प्रश्न अझ पेचिलो बनेको छ।

तस्वीरहरू:

दक्षिण एसियामा यौन हिंसापीडितको क्षतिपूर्ति पहुँच चुनौतीपूर्ण

काठमाडौं। दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। न्यायमा पहुँचका लागि दक्षिण एसियाली अभियान (समाज) ले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा जुलाई २२ मा एकैसाथ उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

दक्षिण एसियाका २७ सदस्य संस्थाको सञ्जाल रहेको समाजले गरेको अध्ययनमा आधारित प्रतिवेदनमा क्षेत्रीय रूपमा यौन हिंसापीडितको क्षतिपूर्ति, न्यायमा पहुँच तथा कानुनी व्यवस्थाको अवस्था विश्लेषण गरिएको छ । इक्वालिटी नाउ समाजको सचिवालयका रूपमा रहेको छ भने महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) नेपालको सदस्य संस्था हो ।

प्रतिवेदनले बंगलादेश, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकामा यौन हिंसापीडितका लागि रहेको क्षतिपूर्ति प्रणाली, कानुनी व्यवस्था र व्यवहारिक कार्यान्वयनको विस्तृत समीक्षा गरेको छ । अध्ययनले दक्षिण एसियाका अधिकांश मुलुकमा यौन हिंसापीडितका लागि न्याय र क्षतिपूर्तिमा पहुँच अझै चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनअनुसार नेपालको अपराध पीडित संरक्षण ऐन, २०७५ ले पीडितका अधिकार संरक्षणका लागि दक्षिण एसियामै सबैभन्दा व्यवस्थित कानुनी ढाँचा प्रदान गरेको छ । यद्यपि, द्वन्द्वकालीन यौन हिंसापीडितहरूले अझै प्रभावकारी परिपूरण तथा क्षतिपूर्ति प्राप्त गर्न नसकेको उल्लेख गरिएको छ ।

अध्ययनले नेपाललाई यौन हिंसापीडितको अधिकार संरक्षणका क्षेत्रमा अन्य मुलुकले सिक्न सक्ने असल अभ्यास भएका दुई देशमध्ये एक का रूपमा पहिचान गरेको छ । अपराधीले क्षतिपूर्ति दिन नसकेमा वा दिन अस्वीकार गरेमा राज्यले पीडित राहत कोषमार्फत क्षतिपूर्ति उपलब्ध गराउन सक्ने व्यवस्था नेपालको महत्वपूर्ण उपलब्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यसले पीडितलाई अपराधी दोषी ठहर भएपछि मात्र क्षतिपूर्ति पाउने अवस्थाबाट मुक्त गराउने आधार तयार गरेको प्रतिवेदनको निष्कर्ष छ । तर, प्रक्रियागत जटिलता, अन्तरिम आर्थिक सहयोगको अभाव तथा न्यायमा पहुँचका कठिनाइका कारण धेरै पीडित अनौपचारिक वा दबाबपूर्ण मेलमिलापतर्फ धकेलिने अवस्था अझै कायम रहेको प्रतिवेदनले औँल्याएको छ । विशेषगरी सीमान्तकृत समुदायका यौन हिंसापीडितले यी समस्या अझ गम्भीर रूपमा भोगिरहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार बंगलादेशमा अध्ययन गरिएका बलात्कारसम्बन्धी मुद्दामध्ये केवल ६.८ प्रतिशतमा मात्रै अदालतले क्षतिपूर्ति प्रदान गरेको पाइएको छ । त्यहाँ राष्ट्रिय स्तरको पीडित क्षतिपूर्ति कोषसमेत नरहेको उल्लेख गरिएको छ ।

पाकिस्तानमा न्यायाधीशलाई क्षतिपूर्ति निर्धारणमा व्यापक विवेकाधिकार दिइए पनि दोषी प्रमाणित भएका धेरै मुद्दामा समेत पीडितले क्षतिपूर्ति नपाउने अवस्था रहेको प्रतिवेदनले जनाएको छ ।

भारतमा भने पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था फौजदारी मुद्दामा दोषी प्रमाणित भएको अवस्थासँग प्रत्यक्ष रूपमा जोडिएको छैन । तर विभिन्न राज्यमा यसको कार्यान्वयन असमान रहेको अध्ययनले देखाएको छ ।

माल्दिभ्समा फरेन्सिक परीक्षण, सुरक्षित आश्रय सेवा तथा कानुनी सहायता सीमित सहरी क्षेत्रमा मात्रै उपलब्ध भएकाले दुर्गम क्षेत्रका पीडितले गम्भीर भौगोलिक अवरोध सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

श्रीलंकामा द्वन्द्व प्रभावित क्षेत्रका यौन हिंसापीडितले सहायता, पुनःस्थापना तथा परिपूरण सेवा प्राप्त गर्न उल्लेखनीय कठिनाइ भोगिरहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै समाजले दक्षिण एसियाली सरकार, दातृ निकाय तथा नागरिक समाज संस्थाहरूलाई यौन हिंसापीडितका लागि प्रभावकारी क्षतिपूर्ति प्रणाली सुनिश्चित गर्न ठोस कदम चाल्न आग्रह गरेको छ ।

विशेषगरी बंगलादेश, पाकिस्तान र माल्दिभ्समा फौजदारी मुद्दामा दोषी प्रमाणित भएको अवस्थासँग असम्बद्ध राष्ट्रिय पीडित क्षतिपूर्ति कोष स्थापना गर्न समाजले आह्वान गरेको छ । यसबाट पीडितले अपराधी दोषी ठहर हुन पर्खनुपर्ने बाध्यता हट्दै समयमै राहत र क्षतिपूर्ति प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिवेदनले स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा यातायात खर्चका लागि आवश्यक आपतकालीन सहयोग उपलब्ध गराउन अन्तरिम क्षतिपूर्ति वितरण संयन्त्र स्थापना गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ ।

यसैगरी, अदालतबाट आदेश भएका क्षतिपूर्तिको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न, क्षतिपूर्ति वितरणसम्बन्धी वार्षिक तथ्याङ्क सार्वजनिक गर्न, पीडित राहत कोष सञ्चालनसम्बन्धी निर्देशिकालाई एकरूप बनाउन तथा क्षतिपूर्तिसम्बन्धी सूचना स्थानीय भाषामा र सबैका लागि पहुँचयोग्य ढाँचामा उपलब्ध गराउन दक्षिण एसियाली सरकारहरूलाई प्रतिवेदनले आग्रह गरेको छ ।

साथै, नेपाल र श्रीलंकामा द्वन्द्वकालीन यौन हिंसापीडितका लागि स्पष्ट परिपूरणसम्बन्धी कानुनी व्यवस्था तत्काल निर्माण गर्न सम्बन्धित राज्य निकायलाई पनि प्रतिवेदनले सिफारिस गरेको छ ।

चक्रे मिलनको राजनीतिक ‘यू-टर्न’ : राजावादी अभियानमा खुलेरै देखिए

काठमाडौं। एक समय नेकपा एमालेको चुनाव चिह्न बोकेर प्रतिनिधिसभाको निर्वाचन लडेका मिलन गुरुङ ‘चक्रे मिलन’ अहिले राजावादी अभियानमा खुलेर देखिएका छन्।

‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ अभियानमा हस्ताक्षर गरेको उनको तस्बिर सार्वजनिक भएपछि उनको राजनीतिक यात्राले फेरि बहस सिर्जना गरेको हो।

गत निर्वाचनमा एमालेले गोरखा-२ बाट उम्मेदवार बनाएका चक्रे मिलन अहिले गणतन्त्रको विकल्प खोज्ने अभियानमा उभिनुले केवल व्यक्तिगत धारणा परिवर्तन मात्र होइन, पछिल्ला वर्षहरूमा नेपाली राजनीतिमा देखिएको अस्थिर राजनीतिक निष्ठाको अर्को उदाहरणका रूपमा पनि हेरिएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा चक्रे मिलन राजतन्त्र पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरिरहेको देखिन्छ। तस्बिरसँगै ‘राजाको पक्षमा हस्ताक्षर गर्दै मिलन गुरुङ (चक्रे) काका’ भन्ने टिप्पणी पनि व्यापक रूपमा साझा भइरहेको छ।

यसअघि एमालेको टिकटबाट चुनाव लडिसकेका व्यक्तिको यस्तो सार्वजनिक उपस्थितिले एमालेसँग उनको वर्तमान सम्बन्ध, राजसंस्थाप्रतिको उनको नयाँ राजनीतिक दृष्टिकोण र आगामी राजनीतिक भूमिकाबारे प्रश्न उठाएको छ।

चक्रे मिलनको नाम लामो समयदेखि आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको छ। उनीमाथि केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, लागुऔषध, अभद्र व्यवहार तथा गुण्डागर्दीसँग सम्बन्धित विभिन्न मुद्दा चलेका थिए। यिनै विवादका बीच एमालेले उनलाई उम्मेदवार बनाएपछि त्यसबेला पनि व्यापक आलोचना भएको थियो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकाटीसँग पराजित भएका थिए।

निर्वाचनमा पराजयपछि सक्रिय पार्टी राजनीतिमा खासै नदेखिएका चक्रे मिलन अहिले भने राजावादी अभियानमा खुलेर उभिएको दृश्य सार्वजनिक भएको छ। यसले पछिल्ला दिनमा पूर्वराजा समर्थक अभियानमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरू जोडिने क्रम बढिरहेको संकेतसमेत गरेको छ।

यद्यपि चक्रे मिलनले एमाले परित्याग गरेको वा औपचारिक रूपमा कुनै राजावादी दलमा आबद्ध भएको सार्वजनिक जानकारी भने हालसम्म आएको छैन।

आरेन राईको पुरानो अभिव्यक्तिबारे हर्कको बचाउ

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्ना पार्टीका सांसद आरेन राईको विगतको विवादित अभिव्यक्तिलाई लिएर भइरहेका आलोचनाप्रति पहिलोपटक विस्तृत धारणा सार्वजनिक गरेका छन्। उनले मानिस समयसँगै परिवर्तन हुने भएकाले पुरानो भनाइलाई मात्रै आधार बनाएर कसैलाई सधैँ दोषी ठहर गर्न नहुने बताएका छन्।

जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै साम्पाङले राई पहिले फरक राजनीतिक संगठनमा आबद्ध रहेकाले त्यतिबेलाको वैचारिक प्रभावअनुसार अभिव्यक्ति दिएको हुन सक्ने बताए। अहिले भने उनी फरक सोच र राजनीतिक संस्कृतिमा अघि बढिरहेको उनको दाबी छ।

साम्पाङका अनुसार मानिसको व्यवहार र विचार उसले पाएको वातावरण र संगतले निर्धारण गर्ने भएकाले विगतको गल्ती स्वीकार गरेर अघि बढ्न खोज्ने व्यक्तिलाई सुधारको अवसर दिनुपर्छ।

उनले सांसद राईले संसदमै उभिएर आफ्नो पुरानो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी मागिसकेको स्मरण गराउँदै त्यसपछि पनि निरन्तर पुरानै विषय उठाएर आलोचना गर्नु उचित नहुने बताए।

‘मानिसको सोच स्थायी हुँदैन। जसरी वातावरण बदलिँदा भाषा र व्यवहार परिवर्तन हुन्छ, त्यसरी नै राजनीतिक चेतना पनि बदलिन सक्छ,’ साम्पाङले भने।

उनले अहिले राई श्रम संस्कृति पार्टीको विचार र नीतिअनुसार अघि बढिरहेको दाबी गर्दै विगतको एउटा अभिव्यक्तिका आधारमा पार्टीमाथि प्रश्न उठाउनु न्यायोचित नहुने बताए।

साम्पाङ जनकपुर पुगेका बेला जानकी मन्दिर प्रवेश गर्न खोज्दा केही युवाले राईको पुरानो अभिव्यक्तिलाई लिएर विरोध जनाएका थिए। त्यसपछि आयोजित कार्यक्रममा उनले यो विषयमा प्रष्टिकरण दिएका हुन्।

आरेन राई खोटाङ–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। श्रम संस्कृति पार्टीमा आउनुअघि उनी केही वर्ष मंगोल नेसनल अर्गनाइजेसनमा सक्रिय थिए।

त्यही अवधिमा दिएको ‘गाई काटेर खान पाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण उनी लामो समयदेखि विवादमा पर्दै आएका छन्।

भिडियो:

सुदूरपश्चिमको विकास बजेट ६० प्रतिशत पनि कटेन

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटको ६२.२६ प्रतिशत मात्र खर्च गरेको छ।

विशेषगरी विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पुँजीगत खर्च ५८.३३ प्रतिशतमा सीमित हुँदा बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ३३ अर्ब ४३ करोड २५ लाख रुपैयाँको कुल बजेटमध्ये २० अर्ब ८१ करोड ५१ लाख रुपैयाँ खर्च भएको हो।

चालुतर्फ १३ अर्ब ५९ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएकामा ९ अर्ब २४ करोड ८६ लाख रुपैयाँ अर्थात् ६८.०४ प्रतिशत खर्च भएको छ। यता पुँजीगततर्फ १९ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ विनियोजन हुँदा ११ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन ५८.३३ प्रतिशत हो।

मन्त्रालयगत रूपमा सामाजिक विकास मन्त्रालय सबैभन्दा बढी प्रभावकारी देखिएको छ। यस मन्त्रालयले समग्रमा ७१.५३ प्रतिशत बजेट खर्च गरेको छ। त्यसपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७१.४६ प्रतिशत खर्च गरेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको समग्र खर्च ६०.०५ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ५८.६८ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ५१.८० प्रतिशत तथा आर्थिक मामिला मन्त्रालयको ५२.०५ प्रतिशत रहेको छ।

सबैभन्दा कमजोर प्रदर्शन आन्तरिक मामिला तथा कानुन मन्त्रालयको देखिएको छ। उक्त मन्त्रालयले कुल ३०.७६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ।

निकायगत रूपमा भने प्रदेश सभा (व्यवस्थापिका) ले ७३.१८ प्रतिशत बजेट खर्च गर्दै सबैभन्दा राम्रो प्रगति देखाएको छ। स्थानीय तहका लागि विनियोजित ३ अर्ब ६३ करोड ९५ लाख रुपैयाँमध्ये ७५.५५ प्रतिशत खर्च भएको तथ्यांकले देखाएको छ।

प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीका अनुसार पूर्वाधार आयोजना अपेक्षित गतिमा अघि नबढ्नु, निर्माण कार्यमा ढिलाइ, कर्मचारी अभाव तथा ‘जेन–जी आन्दोलन’ लगायतका कारण यस वर्ष पुँजीगत खर्च प्रभावित भएको हो।

उनका अनुसार चालु खर्च उच्च रहने तर विकास बजेट कमजोर रहने पुरानै प्रवृत्ति यस वर्ष पनि दोहोरिएको छ।

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवा सडकमा उत्रिए

काठमाडौं। लोक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले सरकारी पदपूर्तिसम्बन्धी नयाँ व्यवस्थाको विरोध गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

उनीहरूले साउन ४ गते मुख्यसचिवस्तरीय बैठकबाट पारित २२ बुँदे निर्णयको बुँदा नम्बर ११ तत्काल खारेज गर्न माग गरेका छन्।

प्रदर्शनकारीका अनुसार उक्त व्यवस्थाले लोक सेवा आयोगमार्फत हुने नियमित पदपूर्ति प्रक्रियामा अनावश्यक अवरोध सिर्जना गर्नेछ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने निर्णय गरेको थियो।

त्यस्तै, स्थायी पदपूर्तिका लागि पनि सोही कार्यालयको स्वीकृतिबिना लोक सेवा आयोगमा माग पठाउन नपाइने व्यवस्था गरिएको छ। बैठकले अस्थायी पदपूर्ति नगर्ने निर्णयसमेत गरेको छ।

यही निर्णयका कारण लोक सेवा आयोगको नियमित विज्ञापन र रिक्त पदपूर्ति प्रक्रिया प्रभावित हुने तथा लामो समयदेखि परीक्षाको तयारी गरिरहेका उम्मेदवार अन्योलमा पर्ने भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले बुँदा नम्बर ११ फिर्ता लिएर पदपूर्ति प्रक्रिया नियमित रूपमा सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

यशको ‘टक्सिक’ नेपाली निर्मातालाई हुनसक्छ ‘टक्सिक’

काठमाडौं। नेपाली फिल्म उद्योगमा सार्वजनिक बिदालाई लक्षित गरेर प्रदर्शन मिति तय गर्ने पुरानै प्रवृत्ति फेरि एकपटक भदौ १२ मा देखिएको छ।

लगातार तीन दिन सार्वजनिक बिदा पर्ने भएकाले एकै मितिमा पाँच नेपाली फिल्म रिलिज गर्ने तयारी भए पनि अन्तिम समयमा अधिकांश निर्माता पछि हटेका छन्। यसले नेपाली फिल्म बजारमा भारतीय फिल्मको प्रभाव अझै बलियो रहेको संकेत गरेको छ।

भदौ १२ शुक्रबार जनैपूर्णिमा, १३ गते शनिबार गाइजात्रा र १४ गते रोपाइँ जात्राको सार्वजनिक बिदा परेकाले लामो बिदाको अवसरलाई उपयोग गर्ने उद्देश्यले ‘पार्वती’, ‘मास्टर्नी’, ‘जदौ’, ‘बेहुली’ र ‘ग्रेट’ प्रदर्शन गर्ने योजना बनाइएको थियो। तर प्रदर्शन नजिकिँदै जाँदा चार फिल्मले मिति परिवर्तन गरे।

निर्माताहरूले लामो बिदामा दर्शक स्वतः हलसम्म पुग्ने विश्वास राख्ने परम्परा अझै कायम रहेको देखिन्छ। बलियो कथावस्तु र प्रतिस्पर्धी सामग्रीको भरोसामा सामान्य समयमा फिल्म ल्याउनेभन्दा बिदाको अवसर रोज्ने प्रवृत्ति यसपटक पनि दोहोरिएको हो।

यसपटकको फेरबदलको प्रमुख कारण भारतीय अभिनेता यश अभिनीत फिल्म ‘टक्सिक’ मानिएको छ। भारतमा अगस्ट २६ देखि प्रदर्शनमा आउने यो फिल्म नेपालमा भदौ १२ बाट प्रदर्शन हुने तयारीमा छ। ‘केजीएफ’ शृंखलामार्फत नेपाली दर्शकमाझ बलियो लोकप्रियता बनाएका यशको नयाँ फिल्मसँग सीधा प्रतिस्पर्धा गर्न अधिकांश नेपाली निर्माता इच्छुक देखिएनन्।

यसको असरस्वरूप प्रियंका कार्की अभिनीत ‘मास्टर्नी’ भदौ ५ मा सारिएको छ। नीति शाह, मुकुन भुसाल र ऋचा शर्मा अभिनीत ‘जदौ’ असोज ९ मा पुगेको छ भने पारस बम अभिनीत ‘बेहुली’ भदौ २६ मा प्रदर्शन हुने तय गरिएको छ। मनोज पण्डितको फिल्मले पनि भदौ १२ छाडे पनि नयाँ मिति भने घोषणा गरिएको छैन।

यता अभिनेत्री तथा निर्माता नीता ढुंगानाले भने आफ्नो फिल्म ‘पार्वती’ निर्धारित मितिमै प्रदर्शन गर्ने निर्णयबाट पछि नहट्ने संकेत दिएकी छन्। यशको ‘टक्सिक’सँग प्रत्यक्ष बक्स अफिस प्रतिस्पर्धा गर्ने निर्णयले उनको आत्मविश्वासलाई लिएर उद्योगभित्र चर्चा सुरु भएको छ।

नेपाली फिल्मले भारतीय फिल्मसँग प्रत्यक्ष प्रतिस्पर्धा गरेको यो पहिलो घटना भने होइन। विसं २०७९ को नयाँ वर्षमा यश अभिनीत ‘केजीएफ २’ र अनमोल केसी अभिनीत ‘ए मेरो हजुर ४’ एकै समयमा प्रदर्शन भएका थिए। त्यसबेला ‘केजीएफ २’को विश्वव्यापी प्रभावका बीच पनि ‘ए मेरो हजुर ४’ले आफ्नो लगानी उठाएको दाबी गरिएको थियो। त्यसपछि अनमोलको स्टारडम र नेपाली फिल्मको प्रतिस्पर्धी क्षमताबारे सकारात्मक बहस भएको थियो।

यसपटक त्यही शैलीको जोखिम नीता ढुंगानाले लिएकी छन्।

बीपी स्मृति दिवसमै कांग्रेस विभाजित

काठमाडौं। नेपाली कांग्रेसका संस्थापक नेता, जननिर्वाचित पहिलो प्रधानमन्त्री तथा प्रजातान्त्रिक समाजवादका प्रणेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस यसपटक विगतभन्दा फरक राजनीतिक परिवेशमा मनाइँदै छ।

हरेक वर्ष साउन ६ गते कांग्रेसले केन्द्रदेखि गाउँ-टोलसम्म बीपीको विचार, योगदान र लोकतान्त्रिक संघर्षको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्ने परम्परा रहँदै आएको छ। तर यस वर्ष भने कांग्रेसभित्रको गहिरिँदै गएको आन्तरिक विभाजनले बीपी स्मृति दिवसलाई नै दुई फरक राजनीतिक धारको प्रदर्शनस्थल बनाएको छ।

विशेष महाधिवेशनपछि पार्टीभित्र विकसित शक्ति संघर्षका कारण कांग्रेस अहिले दुई स्पष्ट धारमा विभाजित देखिएको छ। एउटा पक्ष विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा उभिएको छ भने अर्को पक्षले त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै छुट्टै गतिविधि सञ्चालन गरिरहेको छ। यही राजनीतिक विभाजनको प्रत्यक्ष प्रभाव बीपी स्मृति दिवसका कार्यक्रममा पनि परेको छ।

नयाँ संस्थापन पक्षले ललितपुरमा ‘ग्रिन रन’ आयोजना गर्दै बीपीको स्मृति दिवसलाई वातावरण संरक्षण, जलवायु परिवर्तन र युवाको सहभागितासँग जोड्ने प्रयास गरेको छ। कार्यक्रममा सभापति गगनकुमार थापासहित शीर्ष नेताहरू सहभागी भएका छन्। दौडपछि जलवायु परिवर्तन, दिगो विकास र सार्वजनिक नीतिबारे छलफल कार्यक्रमसमेत राखिएको छ।

उता असन्तुष्ट समूहले काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम आयोजना गर्दै बीपीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै पार्टीको वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। यही कार्यक्रममा पार्टी एकताका लागि अघि सारिएको पाँचबुँदे प्रस्तावलाई पनि पुनः जोडदार रूपमा उठाइने जनाइएको छ।

यसरी एउटै पार्टीका दुई पक्षले एउटै दिन फरक-फरक कार्यक्रम गर्नु सामान्य औपचारिकता मात्र नभई कांग्रेसभित्रको गहिरिँदै गएको राजनीतिक दूरीको संकेतका रूपमा हेरिएको छ।

बीपीको सम्पूर्ण राजनीतिक जीवन लोकतन्त्र, राष्ट्रिय मेलमिलाप, बहुदलीय प्रतिस्पर्धा र संगठनात्मक एकताको पक्षमा केन्द्रित थियो। राजा महेन्द्रले २०१७ सालमा सत्ता कब्जा गरेपछि लामो जेलजीवन बिताएका बीपीले अन्ततः राष्ट्रिय मेलमिलापको नीति अघि सार्दै राजनीतिक संवादलाई नै निकासको आधार मानेका थिए।

उनले राजनीतिक असहमतिलाई संवादमार्फत समाधान गर्नुपर्ने विचार निरन्तर राखे। यही कारण आज उहाँकै नाममा राजनीति गर्ने कांग्रेसभित्र संवादभन्दा समानान्तर गतिविधि बढ्नु धेरैका लागि विडम्बनापूर्ण अवस्था बनेको छ।

असन्तुष्ट पक्षले पार्टी एकताका लागि पाँचबुँदे प्रस्ताव अघि सारेको छ। मुख्य रूपमा विशेष महाधिवेशनअघि निर्वाचित कार्यसमितिलाई पुनः समायोजन गर्ने, कार्यसम्पादन समितिको नयाँ संरचना बनाउने, १५औँ महाधिवेशनको कार्यतालिका तय गर्ने तथा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्नुपर्ने उनीहरूको माग छ।

तर वर्तमान संस्थापन पक्षले यी प्रस्तावहरू स्वीकार गर्न नसकिने स्पष्ट संकेत दिइसकेको छ। विशेष गरी कार्यसमिति पुनर्गठन र क्रियाशील सदस्यताको विषयमा दुवै पक्षबीच सहमति जुट्न सकेको छैन।

यही कारण पार्टी एकताको सम्भावना कमजोर बन्दै गएको चर्चा कांग्रेसभित्रै भइरहेको छ।

यसपटकको बीपी स्मृति दिवसका कार्यक्रमहरूलाई धेरैले शक्ति प्रदर्शनका रूपमा पनि हेरिरहेका छन्। नयाँ नेतृत्वले युवा, वातावरण र नयाँ राजनीतिक एजेन्डालाई जोड दिँदै आफ्नो सन्देश दिन खोजेको देखिन्छ। अर्कोतर्फ असन्तुष्ट समूहले पुरानो संगठनात्मक संरचना, अनुभव र परम्परागत नेतृत्वको समर्थन प्रदर्शन गर्न खोजिरहेको छ।

दुवै पक्षले आफू नै बीपीको वास्तविक राजनीतिक उत्तराधिकारी भएको सन्देश दिन खोजे पनि साझा मञ्चमा उभिन नसक्नुले कांग्रेसभित्रको विभाजन अझ स्पष्ट बनाएको छ।

बीपी स्मृति दिवसपछि कांग्रेसको सम्पूर्ण राजनीति १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने देखिएको छ। वर्तमान नेतृत्वले महाधिवेशनको तयारी अघि बढाइसकेको छ भने असन्तुष्ट पक्षले आफ्नै राष्ट्रिय भेला र सम्भावित नयाँ राजनीतिक विकल्पबारे छलफल गरिरहेको छ।

पार्टी एकताका लागि संवाद जारी रहेको दाबी गरिए पनि अहिलेसम्म विवादका मुख्य विषयमा सहमति जुट्ने संकेत देखिएको छैन।

बीपी कोइरालाले लोकतन्त्रलाई निर्वाचन वा सत्ता प्राप्तिको माध्यमका रूपमा होइन, विचार, सहमति र संगठनात्मक संस्कृतिको अभ्यासका रूपमा व्याख्या गरेका थिए।

आज उनकै स्मृति दिवसमा कांग्रेसभित्र देखिएको समानान्तर कार्यक्रमले पार्टीले बीपीको वैचारिक विरासतलाई व्यवहारमा कसरी अघि बढाइरहेको छ भन्ने प्रश्न उठाएको छ।

दाङमा निर्माणाधीन घरको पानी ट्यांकीबाट दुई पुरुषको शव फेला

काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीबाट दुई पुरुषको शव फेला परेको छ।

प्रहरीका अनुसार दुवै शव बुधबार फेला परेका हुन्। मृतकहरूको पहिचान अझै खुल्न नसकेको र घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले शवको पहिचान, मृत्युको कारण तथा घटनाको वास्तविकता खुलाउन आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

दाङको जंगलबाट ११ नाल भरुवा बन्दुक बरामद

काठमाडौं। दाङको बङगलाचुली गाउँपालिका–८ स्थित घोरलभिर (पिपली जंगल) क्षेत्रमा लुकाएर राखिएको अवस्थामा ११ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

प्रहरीका अनुसार बुधबार बिहान करिब ९ बजे झाडीभित्र भरुवा बन्दुक लुकाइएको भन्ने गोप्य सूचनापछि प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो।

खोजतलासका क्रममा झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा एक नाल प्रयोग गर्न नमिल्ने (बेचालु) र १० नाल प्रयोगयोग्य तर लोड नगरिएका भरुवा बन्दुक फेला परेका हुन्।

बरामद गरिएका बन्दुक कसले, किन र कहिले त्यहाँ लुकाएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

बालेनले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयका साथै विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ। सरकारका नियमित निर्णय र समसामयिक एजेन्डाबारे पनि बैठकमा आवश्यक निर्णय हुन सक्ने बताइएको छ।

भरतपुर आँखा अस्पतालको सेवा विस्तार

चितवन। नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा सेवा केन्द्रबाट गत आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख ८१ हजारभन्दा बढी सेवाग्राहीले आँखा उपचार सेवा लिएका छन्।

अघिल्लो आर्थिक वर्षको तुलनामा सेवा लिनेको संख्या करिब १६ प्रतिशतले वृद्धि भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार एक वर्षमा भरतपुर आँखा अस्पतालबाट मात्रै एक लाख ७९ हजार २६ जनाले सेवा लिएका छन्। त्यसैगरी सिटी क्लिनिकमार्फत १९ हजार ५३८ जना र विभिन्न आँखा शिविरमार्फत ४२ हजार २७० जनाले परीक्षण तथा उपचार सेवा पाएका छन्।

विद्यालय लक्षित आँखा परीक्षण कार्यक्रम पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। गत आर्थिक वर्षमा ४६ हजार ८५ विद्यार्थीको आँखा परीक्षण गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतभन्दा बढी वृद्धि हो।

मातहतका दुई सेकेन्डरी आँखा अस्पतालबाट २७ हजार ३५७, दुई सर्जिकल आई केयर सेन्टरबाट नौ हजार ४६४ तथा १९ वटा आँखा उपचार केन्द्रबाट ५७ हजार २८६ जनाले सेवा लिएका छन्।

शल्यक्रियातर्फ पनि अस्पतालले प्रगति गरेको छ। गत आर्थिक वर्षमा ११ हजार ६३९ जनाको आँखाको शल्यक्रिया गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा केही बढी हो।

अस्पताल व्यवस्थापनका अनुसार विशिष्टीकृत आँखा उपचार सेवा, विशेषज्ञ जनशक्ति र सेवा विस्तारका कारण बिरामीको आकर्षण बढ्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै सर्लाहीको हरिपुर र धादिङको नेत्रावतीमा नयाँ आँखा उपचार केन्द्र सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ।

हाल भरतपुर आँखा अस्पतालअन्तर्गत कावासोती र पर्साको ठोरीमा सेकेन्डरी आँखा अस्पताल, चोरमारा र सर्लाहीको ईश्वरपुरमा सर्जिकल आई केयर सेन्टर, भरतपुरमा सिटी क्लिनिक तथा विभिन्न जिल्लामा १९ वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन्।

कीर्तिपुरमा कारभित्र मृत फेला परेका व्यक्तिबारे के भन्छ प्रहरी ?

काठमाडौं। कीर्तिपुरमा कारभित्र मृत अवस्थामा फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठको घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गर्दै घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरले गरेको अनुसन्धानका आधारमा घटनास्थल, सीसीटीभी फुटेज तथा अन्य प्रमाणहरूको विश्लेषणपछि प्रहरीले हालसम्म प्राप्त तथ्यले बाह्य संलग्नताको संकेत नदेखिएको जनाएको हो।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुरस्थित ग्रिनउड भिल्लामा बस्दै आएका थिए। मंगलबार बिहान उनी आफ्नै कार लिएर कीर्तिपुरको ट्याङ्गलाफाँट क्षेत्रमा पुगेका थिए। घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने प्रहरी र उद्धार टोली घटनास्थल पुगेर अवस्था नियन्त्रणमा लिएको थियो।

काठमाडौंका एसएसपी दिलीप घिमिरेले हालसम्मको अनुसन्धानबाट घटनामा अन्य व्यक्तिको संलग्नता देखिने प्रमाण फेला नपरेको बताएका छन्। घटनासम्बन्धी थप कानुनी र प्राविधिक अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार श्रेष्ठ औषधि व्यवसायसँग आबद्ध थिए। पछिल्ला वर्षहरूमा व्यवसायमा आर्थिक समस्या आएपछि उनी तनावमा रहेको भन्ने जानकारी परिवारबाट प्राप्त भएको छ। यद्यपि घटनाको सबै पक्ष पुष्टि गर्न पोस्टमार्टम रिपोर्ट तथा अन्य प्राविधिक परीक्षणको प्रतिवेदन पर्खिएको प्रहरीले जनाएको छ।

शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ भने घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

भरतपुर कारागारमा छैन कैदीबन्दी राख्ने क्षमता

चितवन। जिल्ला कारागार भरतपुरमा कैदीबन्दीको चाप बढ्दै गएपछि क्षमताभन्दा बढी रहेका कैदीलाई अन्य जिल्लाका कारागारमा स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ। पछिल्लो एक वर्षमा मात्रै ११६ जना कैदीलाई विभिन्न कारागारमा सारिएको छ।

कारागार प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार कारागारको क्षमता ५०५ जनाको भए पनि हाल ७१७ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा बसोबास व्यवस्थापन, सरसफाइ तथा दैनिक सञ्चालनमा चुनौती थपिएको उनले बताए।

एक वर्षको अवधिमा भरतपुर कारागारबाट सबैभन्दा धेरै ५३ जना भीमफेदी कारागार पठाइएको छ। त्यसैगरी २६ जना नुवाकोट, १७ जना कपिलवस्तु, सात जना कास्की, छ जना जगन्नाथ देवल, चार जना स्याङ्जा तथा नख्खु, ललितपुर र नेपालगञ्ज कारागारमा एक-एक जना स्थानान्तरण गरिएको छ।

हाल कारागारमा ६७७ पुरुष र ४० महिला गरी कुल ७१७ जना कैदीबन्दी रहेका छन्। जबकि कारागारको स्वीकृत क्षमता ४७५ पुरुष र ३० महिला गरी जम्मा ५०५ जनाको मात्रै छ।

कारागार प्रशासनका अनुसार कैदीबन्दीको संख्या निरन्तर बढ्दै जाँदा व्यवस्थापनमा दबाब परेको छ।

हिरासतबाटै राहुल गान्धीले दिए मोदी सरकारलाई पाँचबुँदे चुनौती

एजेन्सी। भारतको लोकसभाका विपक्षी नेता राहुल गान्धीले प्रहरी हिरासतमा रहेकै अवस्थामा भिडिओ सन्देश सार्वजनिक गर्दै मोदी सरकारसमक्ष पाँचबुँदे माग अघि सारेका छन्।

प्रधानमन्त्री निवासअगाडि धर्ना दिँदा पक्राउ परेका गान्धीले शिक्षा क्षेत्रको संकट र विद्यार्थीमाथिको प्रहरी कारबाहीलाई लिएर सरकारमाथि प्रश्न उठाएका हुन्।

छत्रसाल स्टेडियममा राखिएको हिरासतबाट सार्वजनिक सन्देशमा गान्धीले शिक्षा प्रणालीमा देखिएका समस्या र आन्दोलनरत विद्यार्थीमाथि भएको बल प्रयोगबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन्।

संसदमा यस विषयमा छलफल गराउन सभामुखसँग आग्रह गर्दा अनुमति नपाएपछि प्रधानमन्त्री निवासअगाडि धर्ना दिन बाध्य भएको उनको भनाइ छ।

गान्धीले गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आन्दोलनका क्रममा बल प्रयोग गर्ने सुरक्षाकर्मीमाथि कारबाही, विद्यार्थीविरुद्ध दर्ता गरिएका सबै मुद्दा खारेज, प्रश्नपत्र लीक प्रकरण र शिक्षा क्षेत्रका समस्याबारे संसदमा तत्काल बहस तथा विद्यार्थीमाथि भएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्रीबाट सार्वजनिक माफीको माग गरेका छन्।

प्रहरीले राहुल गान्धीसहित प्रियंका गान्धी, अखिलेश यादवलगायत विपक्षी नेताहरूलाई नियन्त्रणमा लिए पनि केही समयपछि रिहा गरेको बताइएको छ। उनीहरू राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र लीक प्रकरण र आन्दोलनरत विद्यार्थीमाथि भएको प्रहरी कारबाहीको विरोधमा धर्नामा बसेका थिए।

यता केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले भने विपक्षी दलको आन्दोलनलाई राजनीतिक उद्देश्यबाट प्रेरित भएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारले संसदमा सबै विषयमा छलफल गर्न तयार हुँदाहुँदै कांग्रेसले सडक आन्दोलन रोजेको, सुरक्षा प्रोटोकल उल्लंघन गरेको र विद्यार्थीलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्न खोजेको दाबी गरेका छन्।

यसैबीच विद्यार्थी आन्दोलनप्रति समर्थन जनाउन शिवसेना (यूबीटी) का नेता उद्धव ठाकरे र तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रा आन्दोलनस्थल पुगेका छन्। कक्रोच जनता पार्टी (सिजेपी) ले पनि विपक्षी नेताहरूको उपस्थितिलाई स्वागत गरेको छ।

राहुल गान्धीको गिरफ्तारी र विद्यार्थीमाथि भएको प्रहरी कारबाहीको विरोधमा भारतका विभिन्न राज्यमा प्रदर्शन सुरु भएको छ।

केरल, असम र उत्तर प्रदेशलगायत क्षेत्रमा विपक्षी दलका कार्यकर्ताहरू सडकमा उत्रिएका छन् भने संसद भवन र मध्य दिल्ली आसपास सम्भावित थप प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

कांग्रेसको ग्रिन रन कार्यक्रममा दौडिए गगन-विश्व

काठमाडौं। नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा जलवायु परिवर्तनप्रति जनचेतना फैलाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ।

बुधबार बिहान आयोजित दौड कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको ‘ग्रिन रन’मार्फत जलवायु परिवर्तनका चुनौतीबारे जनचेतना अभिवृद्धि गर्ने, वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने तथा हरित जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

बीपी स्मृति दिवसका अवसरमा कांग्रेसले देशभर विविध कार्यक्रम सञ्चालन गरिरहेको छ।

तस्वीरहरू:

बागमतीमा एमालेका ६ मन्त्रीले दिए सामूहिक राजीनामा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णयसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ।

एमालेका सबै ६ मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीको निर्णयअनुसार सरकारमा रहेका सबै मन्त्रीले तत्काल प्रभावबाट लागू हुने गरी पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। पत्रमा राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ।

सरकारबाट बाहिरिने निर्णयसँगै एमालेले मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको पुष्टि गरेको छ। यससँगै प्रदेश सरकारको अंकगणित परिवर्तन भएको छ र मुख्यमन्त्री अब प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा परेका छन्।

एमालेका तर्फबाट कृषि, भौतिक पूर्वाधार, उद्योग–पर्यटन–श्रम तथा यातायात, वन तथा वातावरण र स्वास्थ्य क्षेत्र हेर्ने गरी सरकारमा सहभागी भएका सबै मन्त्रीले एकैसाथ पद त्याग गरेका हुन्।

एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूमा नयाँ सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वले सरकारबाट बाहिरिन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार मन्त्रीहरू काठमाडौंबाट हेटौंडा पुगेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको सहकार्यमा सञ्चालन हुँदै आएको बागमती सरकार झण्डै दुई वर्षपछि नयाँ राजनीतिक मोडमा पुगेको छ। एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री बानियाँले अब संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। त्यस अवधिमा नयाँ सत्ता समीकरण बन्ने वा वर्तमान सरकार टिक्ने भन्ने विषयले बागमती प्रदेशको राजनीति थप चासोको केन्द्र बनेको छ।

के इरान युद्दमार्फत चीनलाई झस्काउदै छन् ट्रम्प?

काठमाडौँ। अमेरिका र इरानबीच बढ्दो तनाव केवल दुई देशबीचको सैन्य प्रतिस्पर्धा मात्र होइन, यसले मध्यपूर्वको शक्ति सन्तुलन, विश्व ऊर्जा बजार र अमेरिकी वैश्विक नेतृत्वको भविष्यसमेत निर्धारण गर्न सक्ने अवस्था सिर्जना गरेको छ। विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिको मूल्याङ्कन गर्दा इरानसँगको सम्बन्ध नै उनको सबैभन्दा ठूलो विरासत बन्ने देखिन्छ। तर, युद्धको वर्तमान अवस्थाले त्यो विरासत सकारात्मकभन्दा बढी जटिल र जोखिमपूर्ण दिशातर्फ उन्मुख भएको संकेत गरेको छ।

अमेरिकाको दीर्घकालीन उद्देश्य इरानलाई पूर्ण रूपमा पराजित गर्नु होइन, बरु उसलाई नियन्त्रणमा राख्नु रहेको देखिन्छ। अमेरिकी सुरक्षा वृत्तमा लामो समयदेखि दुई मुख्य लक्ष्य दोहोरिँदै आएका छन्– हर्मुज जलडमरूमध्यमा निर्बाध अन्तर्राष्ट्रिय आवतजावत सुनिश्चित गर्नु र इरानको आणविक कार्यक्रमलाई सीमित बनाउनु। अर्थात्, वासिङ्टनको चाहना युद्ध सुरु हुनुअघिको रणनीतिक सन्तुलनमा फर्किने हो।

तर, अहिलेको परिस्थितिले ती लक्ष्य हासिल गर्न सजिलो छैन भन्ने स्पष्ट पारेको छ। विश्वको महत्वपूर्ण ऊर्जा मार्ग मानिने हर्मुज जलडमरूमध्यमा इरानले आफ्नो प्रभाव बढाउँदै गएको छ। यदि इरानले त्यहाँबाट गुड्ने जहाजहरूमाथि नियन्त्रण वा शुल्क प्रणाली लागू गर्न सफल भयो भने त्यसले उसलाई ठूलो आर्थिक स्रोत उपलब्ध गराउन सक्छ। त्यति मात्र होइन, विश्व ऊर्जा आपूर्तिमा पनि इरानको प्रभाव बढ्न सक्छ।

अमेरिकाले सैन्य दबाबमार्फत समस्या समाधान गर्न खोजे पनि केवल हवाई आक्रमणले रणनीतिक उपलब्धि हासिल गर्न सकिने अवस्था देखिँदैन। इरानजस्तो ठूलो भूभाग र बलियो प्रतिरोध क्षमता भएको देशविरुद्ध स्थलगत युद्ध सञ्चालन गर्नु अत्यन्त महँगो, लामो र राजनीतिक रूपमा जोखिमपूर्ण विकल्प हुन सक्छ। त्यसैले वासिङ्टनभित्र पनि प्रत्यक्ष युद्धप्रति उत्साह सीमित देखिन्छ।

यसबीच इरानले आफ्नो क्षेप्यास्त्र र ड्रोन क्षमतामार्फत क्षेत्रीय शक्ति सन्तुलन बदल्न सक्ने क्षमता प्रदर्शन गरिसकेको छ। खाडी क्षेत्रका ऊर्जा संरचना, अमेरिकी सैन्य अड्डा र इजरायली हितलाई लक्षित गर्न सक्ने क्षमता इरानसँग रहेको दाबीले अमेरिका र उसका साझेदार राष्ट्रहरूलाई थप चिन्तित बनाएको छ। रुस र चीनसँगको सहकार्यले भविष्यमा इरानको सैन्य प्रविधि अझ विकसित हुन सक्ने अनुमान अमेरिकी रणनीतिकारहरूले गरिरहेका छन्।

यही कारणले अमेरिकाभित्र फेरि अर्को बहस सुरु भएको छ- के इरानलाई केवल प्रतिबन्ध र वार्ताले नियन्त्रण गर्न सम्भव छ, वा सत्ता परिवर्तन नै अन्तिम विकल्प हो? विगतमा पनि इरानमा शासन परिवर्तनको सम्भावनाबारे चर्चा भएको थियो। बाह्य दबाबले आन्तरिक विद्रोह जन्माउने अपेक्षा गरिए पनि त्यसले अपेक्षित परिणाम दिन सकेन। अहिले कूटनीतिक प्रयासहरू कमजोर बन्दै जाँदा फेरि त्यही रणनीति पुनः चर्चामा आउन थालेको देखिन्छ।

आर्थिक प्रतिबन्ध त्यस रणनीतिको प्रमुख आधार बनेको छ। इरानको तेल निर्यातमा दबाब बढाएर आर्थिक संकट सिर्जना गर्ने र त्यसमार्फत आन्तरिक असन्तुष्टि बढाउने सोच अमेरिकामा बलियो बन्दै गएको देखिन्छ। साथै, इरानभित्र असन्तुष्ट समूह वा सत्ता संरचनाभित्रका विभाजनलाई उपयोग गर्ने सम्भावनाबारे पनि विभिन्न विश्लेषण भइरहेका छन्।

तर, यस रणनीतिसँग अर्को ठूलो जोखिम जोडिएको छ। यदि इरान कमजोर हुनुको सट्टा झन् आक्रामक र संगठित रूपमा बाहिरियो भने अमेरिका दीर्घकालीन क्षेत्रीय द्वन्द्वमा फस्न सक्छ। यस्तो युद्धले अमेरिकी सैन्य स्रोत, आर्थिक क्षमता र कूटनीतिक प्राथमिकतामाथि ठूलो दबाब पार्नेछ।

विशेषगरी इन्डो–प्यासिफिक क्षेत्रमा चीनसँगको प्रतिस्पर्धा तीव्र भइरहेका बेला अमेरिकाले आफ्नो सैन्य क्षमता मध्यपूर्वमा अत्यधिक खर्च गर्नुपर्ने अवस्था सिर्जना भए त्यसले अर्को रणनीतिक चुनौती जन्माउन सक्छ। ताइवानसँग सम्बन्धित सम्भावित संकटका लागि तयारी गरिएका स्रोतहरू अन्यत्र प्रयोग हुन थाले अमेरिकाको विश्वव्यापी शक्ति सन्तुलनमा समेत प्रभाव पर्न सक्छ।

त्यसैले इरानसँगको युद्ध केवल वर्तमानको संकट होइन, यसले भविष्यका धेरै ठूला भू-राजनीतिक परिवर्तनको आधार तयार गरिरहेको छ। ट्रम्प प्रशासनका लागि यो केवल एउटा विदेश नीति मुद्दा मात्र नभई अमेरिकी शक्ति, रणनीति र विश्व नेतृत्वको परीक्षासमेत बन्न पुगेको छ।

नामीबियाविरुद्द नेपालको फितलो प्रदर्शन, ८ विकेटले पराजित

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ। मंगलबार भएको खेलमा घरेलु टोली नामिबियाले नेपाललाई ८ विकेटले पराजित गर्दै सहज जित निकालेको हो।

नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.४ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो। सुरुदेखि नै खेलमा पकड बनाएको नामिबियाले लक्ष्य पछ्याउने क्रममा नेपाली बलिङ आक्रमणलाई प्रभावहीन बनाउँदै महत्वपूर्ण दुई अंक आफ्नो पक्षमा पार्न सफल भयो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै समेटिएको थियो। नियमित अन्तरालमा विकेट गुमाएका कारण नेपाली ब्याटिङले ठूलो योगफल बनाउन सकेन।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३० रनको योगदान दिए। गुलशन झाले २०, करण केसीले १८ तथा आसिफ शेखले १६ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल सानो लक्ष्यमा सीमित हुन पुग्यो।

नामिबियाका बलर जेजे स्मित नेपालका लागि सबैभन्दा घातक सावित भए। उनले उत्कृष्ट बलिङ गर्दै ६ विकेट हात पारे। त्यस्तै ज्याक ब्रासेल र बेर्नार्ड स्कोल्जले समान दुई–दुई विकेट लिएर नेपाली इनिङ्सलाई दबाबमा राखे।

यस जितसँगै नामिबियाले लिग–२ अंक तालिकामा २९ खेलबाट २४ अंक पुर्‍याएको छ। नेपालको पनि २९ खेलबाट २४ अंक नै रहेकाले दुवै टोली बराबरी अंकमा रहेका छन्।

नेपालले अब सिरिजअन्तर्गत आफ्नो दोस्रो खेल बिहीबार नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ। पहिलो खेलको हारपछि नेपाल आगामी खेलमा पुनरागमन गर्दै महत्वपूर्ण अंक बटुल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

ओली र प्रचण्डले के के कुरा गरे?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्ताले पछिल्लो राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु गरेको छ। दुई नेताबीच भएको छलफलमा प्रदेश सरकारमा सम्भावित सत्ता सहकार्य, समसामयिक राजनीतिक अवस्था तथा वाम शक्तिहरूबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचारविमर्श भएको बताइएको छ।

भेटपछि जनकपुरधाममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै संयोजक प्रचण्डले नेकपा र एमालेबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको बताएका थिए। उनले विभिन्न विषयमा संवाद जारी रहेको र प्रदेश सरकारको सम्भावित सत्ता साझेदारीका विषयमा अन्य राजनीतिक दलसँग पनि छलफल भइरहेको संकेत गरेका थिए।

यसैबीच एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत दुई नेताबीच भएको छलफलबारे थप स्पष्ट पार्दै यसलाई सकारात्मक राजनीतिक पहलका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार अध्यक्ष ओलीसँगको भेटपछि प्रचण्डले एमालेसँगको सहकार्य औपचारिक रूपमा अघि बढेको जानकारी दिएका हुन्।

बस्नेतले प्रदेश सरकार गठन वा पुनर्संरचनामा हुने सहकार्यलाई मात्र प्राथमिकता नदिई यो प्रयासलाई राष्ट्रिय हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको दीर्घकालीन सहकार्यसँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले वामपन्थी शक्तिहरूबीच विश्वास, संवाद र सहकार्य बढ्दै जानु मुलुकको समग्र राजनीतिक वातावरणका लागि सकारात्मक हुने विश्वास व्यक्त गरे।

उनका अनुसार पछिल्ला दिनमा बदलिँदो राजनीतिक परिस्थितिमा साझा मुद्दामा सहकार्य गर्ने संस्कृतिको विकास आवश्यक देखिएको छ। त्यसका लागि प्रमुख वाम शक्तिहरूबीच नियमित संवाद र समझदारीले स्थिर राजनीतिक वातावरण निर्माणमा योगदान पुग्न सक्ने उनको भनाइ छ।

दुई शीर्ष नेताबीचको यो भेटलाई प्रदेश सरकारहरूको आगामी समीकरणसँग जोडेर पनि हेरिएको छ। केही प्रदेशमा सत्ता साझेदारीको सम्भावना र नयाँ राजनीतिक समीकरणबारे विभिन्न तहमा छलफल भइरहेका बेला भएको यो भेटले त्यसलाई थप अर्थपूर्ण बनाएको राजनीतिक वृत्तको विश्लेषण छ।

यद्यपि सहकार्यको स्वरूप, सहभागी दलहरूको भूमिका र सम्भावित सहमतिबारे भने कुनै औपचारिक निर्णय सार्वजनिक गरिएको छैन। दुवै पक्षले संवादलाई निरन्तरता दिने संकेत गरेकाले आगामी दिनमा वाम शक्तिहरूबीचको सहकार्य कुन दिशामा अघि बढ्छ भन्ने विषय राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।

प्रचण्डको दाबी : वामपन्थी सहकार्य औपचारिक रूपमा अघि बढ्यो

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा वामपन्थी शक्तिबीच सहकार्यको वातावरण क्रमशः अनुकूल बन्दै गएको बताएका छन्।

आज साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले नेकपा र नेकपा (एमाले)बीच सहकार्यलाई संस्थागत गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको जानकारी दिए। उनले तीन दलबीचको समझदारी अझै अन्तिम टुंगोमा नपुगेको स्पष्ट पार्दै विभिन्न विषयमा छलफल निरन्तर जारी रहेको बताए।

दाहालका अनुसार प्रदेश सरकारमा सत्ता साझेदारीको सम्भावित ढाँचाबारे नेपाली कांग्रेससँग समेत संवाद भइरहेको छ। उनले राजनीतिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न दलबीच परामर्श र छलफल अघि बढिरहेको उल्लेख गरे।

बालेन-स्वर्णिम सम्बन्धमा ठूलो खटपट

काठमाडौं। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क कार्यान्वयनमा आएको दुई दिन नबित्दै सरकारले स्थगित गरेपछि सरकारको निर्णय प्रक्रिया, आर्थिक नीति निर्माण तथा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिचको समन्वयबारे नयाँ बहस सुरु भएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी विद्यालय र निजी अस्पतालबाट प्रदान गरिने सेवामा ३ प्रतिशत समता शुल्क लगाउने घोषणा गरेको थियो। यसको उद्देश्य दुर्गम तथा विपन्न समुदायका नागरिकलाई शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने, स्वास्थ्य बीमा सुदृढ बनाउने तथा आवश्यक आर्थिक स्रोत जुटाउने रहेको सरकारको भनाइ थियो।

तर नीति कार्यान्वयनमा आएलगत्तै निजी क्षेत्र, अभिभावक, स्वास्थ्य क्षेत्र र विभिन्न सरोकारवालाबाट व्यापक विरोध सुरु भयो। अतिरिक्त शुल्कले प्रत्यक्ष रूपमा सेवाग्राहीमाथि आर्थिक भार बढाउने भन्दै चौतर्फी आलोचना भएपछि सरकारले आफ्नो निर्णय पुनर्विचार गर्न बाध्य भएको देखिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको समता शुल्क तत्कालका लागि कार्यान्वयन नगर्ने जानकारी दिएका छन्। उनले यो निर्णय अर्थमन्त्रीसँगको परामर्शपछि गरिएको उल्लेख गरेका छन्। साथै सरकारले नागरिकको प्रतिक्रिया सुन्ने र आवश्यक परे आफ्ना निर्णय सच्याउन तयार रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यद्यपि निर्णय सार्वजनिक गर्ने शैलीले पनि राजनीतिक र प्रशासनिक वृत्तमा चर्चा पाएको छ। सामान्यतया सम्बन्धित मन्त्रालयबाट आउने नीतिगत निर्णय प्रधानमन्त्री स्वयंले सार्वजनिक गरेपछि सरकारभित्रको निर्णय प्रक्रिया र जिम्मेवारी बाँडफाँटबारे विभिन्न टिप्पणी हुन थालेका छन्।

बजेट सार्वजनिक भएदेखि नै अर्थमन्त्रीले समता शुल्कको औचित्यबारे सार्वजनिक रूपमा आफ्नो अडान दोहोर्‍याउँदै आएका थिए। करको दायरा विस्तार, सामाजिक उत्तरदायित्व र स्रोत व्यवस्थापनका लागि यो नीति आवश्यक रहेको तर्क प्रस्तुत गरिँदै आएको थियो। तर कार्यान्वयन सुरु भएको छोटो समयमै सरकार पछि हटेपछि बजेट निर्माणका क्रममा पर्याप्त अध्ययन, सरोकारवालासँगको परामर्श र सम्भावित प्रभावको मूल्याङ्कन पर्याप्त थियो कि थिएन भन्ने प्रश्न उठेको छ।

पछिल्ला केही सातायता प्रधानमन्त्री शाहले उद्योग, व्यापार, बैंकिङ, पूँजीबजार तथा विभिन्न निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर छलफल गर्दै आएका छन्। आर्थिक नीतिसँग सम्बन्धित धेरैजसो बैठकमा प्रधानमन्त्री आफैं सक्रिय देखिए पनि अर्थमन्त्रीको उपस्थिति नदेखिनुले पनि सरकारभित्रको कार्यशैलीबारे थप चर्चा हुन थालेको छ।

सरकारभित्र प्रधानमन्त्री र अर्थमन्त्रीबीच मतभेद रहेको भन्ने चर्चा सार्वजनिक भइरहे पनि त्यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन। सरकारका तर्फबाट भने नागरिकको सुझावलाई सम्मान गर्दै आवश्यक परे नीतिमा सुधार गर्न सकिने अडान दोहोर्याइएको छ।

समता शुल्क दुई दिनमै स्थगित हुनु एउटा कर नीति फिर्ता हुनु मात्र होइन, बजेट निर्माणको तयारी, नीतिगत निर्णयको परिपक्वता, कार्यान्वयन क्षमता र सरकारभित्रको समन्वयबारे समेत प्रश्न उठाउने घटनाका रूपमा हेरिएको छ। यस घटनाले आगामी दिनमा संवेदनशील आर्थिक नीति लागू गर्नुअघि व्यापक अध्ययन, पर्याप्त संवाद र सम्भावित प्रभावको गहिरो मूल्याङ्कन आवश्यक हुने सन्देश दिएको छ।

सन् २०५० पछि मानिसहरू अमर हुनेछन् ?

काठमाडौं। अमरताको अवधारणा मानव सभ्यतासँगै विकसित हुँदै आएको विषय हो। वैदिक साहित्यदेखि विभिन्न पौराणिक ग्रन्थसम्म ऋषिमुनिले तपस्या गरेर अमरत्व प्राप्त गर्ने प्रयास गरेको उल्लेख पाइन्छ।

त्यतिबेला अमरतालाई दैवी वरदानका रूपमा हेरिन्थ्यो। तर आधुनिक विज्ञान र प्रविधिको तीव्र विकाससँगै यही अवधारणा अब वैज्ञानिक अनुसन्धानको विषय बन्दै गएको छ।

भविष्यविद्हरूका अनुसार आगामी केही दशकभित्र मानिसको चेतना, स्मरणशक्ति र व्यक्तित्वलाई डिजिटल माध्यममा सुरक्षित राख्न सक्ने प्रविधिको विकास सम्भव हुन सक्छ। यस्तो प्रविधिले मानिसको जैविक शरीर समाप्त भए पनि उसको सोच, अनुभव र पहिचानलाई डिजिटल स्वरूपमा निरन्तर राख्न सक्ने परिकल्पना गरिएको छ।

यस अवधारणालाई ‘माइन्ड अपलोडिङ’ भनिन्छ। यसमा मानव मस्तिष्कको सम्पूर्ण स्नायविक संरचना, स्मृति र सोच्ने प्रक्रियालाई कम्प्युटर वा कृत्रिम प्रणालीमा स्थानान्तरण गर्ने लक्ष्य राखिएको छ। यदि यस्तो प्रविधि सफल भयो भने मानिसको चेतनालाई रोबोटिक शरीर वा डिजिटल प्लेटफर्ममार्फत निरन्तर सक्रिय राख्न सकिने दाबी गरिएको छ।

यस क्षेत्रमा काम गरिरहेका केही भविष्यविद्हरूले सन् २०५० सम्ममा यस्तो प्रविधि व्यावसायिक रूपमा उपलब्ध हुन सक्ने अनुमान गरेका छन्। प्रारम्भिक चरणमा यसको पहुँच उच्च आय भएका व्यक्तिहरूमा सीमित रहने र त्यसपछि विस्तारै सर्वसाधारणसम्म पुग्ने अपेक्षा गरिएको छ।

यससँगै जैविक उमेर बढ्ने प्रक्रियालाई नियन्त्रण गर्ने अनुसन्धान पनि तीव्र गतिमा अघि बढिरहेको छ। बायोटेक्नोलोजी, जेनेटिक इन्जिनियरिङ तथा पुनर्जनन चिकित्सा (रेजेनेरेटिभ मेडिसिन) मार्फत बुढ्यौलीको गति कम गर्ने तथा आयु लम्ब्याउने प्रयास भइरहेका छन्।

अर्कोतर्फ, मस्तिष्क–कम्प्युटर इन्टरफेस प्रविधिमा पनि उल्लेखनीय प्रगति भइरहेको छ। यस्तो प्रणालीले मानव मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सूचना आदानप्रदान गर्न सक्ने सम्भावनाको अध्ययन गरिरहेको छ। भविष्यमा यसै प्रविधिको विकासले मानव स्मृति र संज्ञानात्मक क्षमतालाई डिजिटल प्रणालीसँग जोड्न सक्ने अपेक्षा गरिएको छ।

कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले पनि यो बहसलाई थप बल दिएको छ। केही प्रविधि विशेषज्ञहरूले आगामी दशकमा एआईको क्षमता मानव मस्तिष्कसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुग्ने अनुमान गरेका छन्। त्यसपछि मानव र मेसिनबीचको सहकार्य अझ गहिरो हुँदै जाने र मानिसले आफ्ना जैविक क्षमताभन्दा बाहिरका प्रणालीसँग प्रत्यक्ष रूपमा काम गर्न सक्ने अवस्था सिर्जना हुन सक्ने उनीहरूको विश्वास छ।

यद्यपि, ‘डिजिटल अमरता’ को अवधारणा अझै पूर्ण रूपमा वैज्ञानिक रूपमा प्रमाणित वा व्यवहारमा कार्यान्वयन भएको अवस्था भने छैन। यससँगै चेतनाको वास्तविक स्वरूप, व्यक्तिगत पहिचान, नैतिकता, गोपनीयता, साइबर सुरक्षा तथा कानुनी अधिकारजस्ता जटिल प्रश्नहरू पनि जोडिएका छन्। त्यसैले यो विषय प्रविधिसँगै दर्शन, मनोविज्ञान र जैविक विज्ञानबीचको बहसको केन्द्रमा रहेको छ।

यसरी, हजारौँ वर्षअघि धार्मिक र दार्शनिक कल्पनामा सीमित रहेको अमरताको अवधारणा अहिले आधुनिक विज्ञान र कृत्रिम बुद्धिमत्ताको विकाससँगै नयाँ रूपले चर्चा हुन थालेको छ।

आगामी दशकहरूमा हुने वैज्ञानिक उपलब्धिले यो कल्पना व्यवहारमा रूपान्तरण हुन्छ वा हुँदैन भन्ने प्रश्नको उत्तर दिनेछ।

बीपी स्मृति कि कांग्रेस विभाजन दिवस ?

काठमाडौं। नेपाली कांग्रेसले साउन ६ गते ४४औँ बीपी स्मृति दिवस मनाउने तयारी गरिरहँदा पार्टीभित्रको राजनीतिक संकट भने निर्णायक मोडमा पुगेको छ।

संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस यसपटक कांग्रेसका दुई धारले अलग–अलग रूपमा मनाउने तयारी गरेका छन्। यसले पार्टीभित्रको विभाजन औपचारिक बन्ने संकेतसमेत दिएको छ।

विशेष महाधिवेशनपछि उत्पन्न विवाद समाधान हुन नसकेपछि नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशनबाट बनेको नेतृत्वबीचको दूरी झन् बढेको छ। दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् भने त्यसै दिनबाट नयाँ राजनीतिक यात्रा सुरु गर्ने संकेत पनि देखिएको छ।

विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएका शेरबहादुर देउवा निकट समूहले प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सो कार्यक्रमलाई पार्टी एकताको अन्तिम प्रयासका रूपमा प्रस्तुत गरिए पनि त्यसपछि नयाँ दल गठनको तयारीलाई तीव्र बनाइएको स्रोतहरूको दाबी छ।

देउवा उपचारका क्रममा विदेशमा रहे पनि उनको अनुपस्थितिमा पूर्णबहादुर खड्काले समूहको नेतृत्व गर्दै आएका छन्। निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएपछि पनि असन्तुष्ट समूहले समानान्तर गतिविधि जारी राखेको छ। पछिल्ला दिनमा छुट्टै सम्पर्क कार्यालय स्थापना, निरन्तर बैठक र पाँचबुँदे प्रस्ताव सार्वजनिक गर्नु त्यही रणनीतिको हिस्सा मानिएको छ।

असन्तुष्ट समूहले पार्टी एकताका लागि पाँच प्रमुख प्रस्ताव अघि सारेको छ। त्यसमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई हालको केन्द्रीय समितिमा समायोजन गर्ने, सभापतिको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने, १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, महाधिवेशन सम्बन्धी समिति पुनर्गठन गर्ने तथा पुराना क्रियाशील सदस्यलाई स्वतः मान्यता दिने विषय समेटिएका छन्।

तर वर्तमान नेतृत्वले यी प्रस्ताव स्वीकार्ने संकेत दिएको छैन। विशेषगरी दुईवटा विषय—केन्द्रीय समिति समायोजन र क्रियाशील सदस्यताको व्यवस्थापन—मै सहमतिको सबैभन्दा ठूलो गाँठो परेको देखिन्छ। संस्थापन पक्षले हालको संरचना परिवर्तन गर्न नसकिने अडान लिएको छ भने डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक भइसकेको अवस्थामा पुरानो व्यवस्थामा फर्किन नसकिने स्पष्ट पारेको छ।

यता असन्तुष्ट समूह भने आफ्ना माग सम्बोधन नभए छुट्टै राजनीतिक दल गठन गर्ने निष्कर्ष नजिक पुगेको बताइएको छ। नयाँ दलको नाम, संगठनात्मक संरचना र विधानको प्रारम्भिक तयारी पूरा भइसकेको दाबीसमेत गरिएको छ। नेतृत्व र चुनाव चिह्नबारे भने अन्तिम निर्णय हुन बाँकी रहेको बताइन्छ।

असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजना गरी नयाँ दलको औपचारिक घोषणा गर्ने तयारी गरिरहेको छ। उक्त भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापति तथा क्षेत्रीय नेतृत्वलाई सहभागी गराउने योजना बनाइएको छ। देउवा स्वदेश फर्किएपछि उनीकै उपस्थितिमा नयाँ राजनीतिक यात्रा घोषणा गर्ने रणनीति रहेको चर्चा पनि भइरहेको छ।

यद्यपि असन्तुष्ट समूहभित्र पनि सबै नेता विभाजनको पक्षमा छैनन्। शेखर कोइरालासहित केही नेताहरूले अन्तिम समयसम्म पार्टी एकता जोगाउने प्रयास गरिरहेका छन्। उनीहरू संवादमार्फत सहमति खोज्नुपर्ने र आगामी महाधिवेशनलाई नै एकताको आधार बनाउनुपर्ने पक्षमा छन्।

संस्थापन पक्षले पनि संवादका ढोका बन्द नभएको बताउँदै आएको छ। उपसभापति विश्वप्रकाश शर्माले दुवै पक्षबीच निरन्तर छलफल भइरहेको र सहमतिको सम्भावना अझै जीवित रहेको बताएका छन्। तर दुवै पक्ष आफ्नो मूल अडानबाट पछि हट्ने संकेत नदेखिएकाले सहमति सहज देखिएको छैन।

यदि बीपी स्मृति दिवसअघि कुनै सहमति हुन सकेन भने कांग्रेसको आन्तरिक विवाद औपचारिक विभाजनतर्फ जाने सम्भावना बलियो बनेको छ। संस्थापक नेताको स्मृति दिवस मनाइरहेका बेला नै पार्टी नयाँ राजनीतिक ध्रुवीकरणको चरणमा प्रवेश गर्न सक्ने अवस्था सिर्जना भएको छ।

एकान्तकुनामा दीर्घकालीन ढल निकास सुधार सुरु, सडक भासिने समस्या समाधानको तयारी

ललितपुर। चक्रपथअन्तर्गत ललितपुरको एकान्तकुना क्षेत्रमा दीर्घकालीन ढल निकास सुधारको काम सुरु गरिएको छ। वर्षेनि वर्षाका कारण सडक भासिने र पर्खालमा क्षति पुग्ने समस्या दोहोरिन थालेपछि सडक डिभिजन कार्यालय, ललितपुरले सुधार अभियान अघि बढाएको हो।

हाल सडकको एक भाग भत्काएर प्रभावकारी ढल निकास प्रणाली निर्माणको काम भइरहेको छ। सडक डिभिजनका कर्मचारीहरूले पुरानो संरचना हटाएर पानीको निकास सहज हुने गरी नयाँ ढल प्रणाली निर्माण गरिरहेका छन्।

यस क्षेत्रमा पर्याप्त ढल निकासको व्यवस्था नहुँदा हरेक वर्ष वर्षायाममा सडक भासिने, पानी जम्ने तथा सडक किनारको पर्खाल भत्किने जोखिम बढ्दै आएको थियो। सोही समस्याको दीर्घकालीन समाधानका लागि अहिले संरचनागत सुधारको काम भइरहेको सडक डिभिजनले जनाएको छ।

निर्माण कार्य सम्पन्न भएपछि वर्षाको पानी सहज रूपमा निकास हुने, सडक भासिने जोखिम कम हुने तथा चक्रपथको यस खण्डमा सवारी आवागमन थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री र मन्त्री दल तथा नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू दल तथा पार्टी नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्। मंगलबार दिएको उनको यो अभिव्यक्तिलाई पछिल्ला दिनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र अर्थमन्त्रीबीच सम्बन्ध चिसिएको चर्चासँग जोडेर हेरिएको छ।

राजनीतिक वृत्तमा प्रधानमन्त्री बालेन पार्टीका गतिविधिमा कम सक्रिय रहने, पार्टी कार्यालय तथा संसदमा पनि कम उपस्थित हुने चर्चा भइरहेका बेला अर्थमन्त्री वाग्लेको टिप्पणी सार्वजनिक भएको हो।

यता सरकारभित्र प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेबीच मतभेद बढेको चर्चा पनि चलिरहेको छ। बजेटअघि करका दरसम्बन्धी सूचना चुहिएको आरोप, त्यसपछि चीनबाट ठूलो संख्यामा विद्युतीय सवारीसाधन आयात भएको विषय तथा अर्थ मन्त्रालयअन्तर्गतका निकायमा भएका नियुक्तिलगायत विषयलाई लिएर प्रधानमन्त्री असन्तुष्ट रहेको दाबी हुँदै आएको छ। यद्यपि यी दाबीबारे सरकारले औपचारिक पुष्टि गरेको छैन।

यसैबीच आइतबार पार्टी सभापति रवि लामिछाने र अर्थमन्त्री वाग्लेबीच काभ्रेको एक रिसोर्टमा लामो छलफल भएको पनि स्रोतहरूले बताएका छन्। त्यसअघि गत असार २८ गते प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उक्त भेटमा बालेनले अर्थमन्त्री वाग्लेसहित केही मन्त्रीलाई हटाउने प्रस्ताव राखेका थिए। तर, त्यसमा सभापति लामिछाने सहमत नभएको दाबी गरिएको छ। यसबारे सम्बन्धित पक्षले भने औपचारिक प्रतिक्रिया दिएका छैनन्।

यसै परिप्रेक्ष्यमा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू दल तथा नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने अभिव्यक्ति दिएका हुन्, जसले सरकारभित्रको आन्तरिक समीकरणबारे थप चर्चा उत्पन्न गरेको छ।