`

रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या

काठमाडौं। रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। घटनापछि आक्रोशित स्थानीयवासीले आरोपितमाथि कुटपिट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती रेनुदेवी जयसवाल (अन्दाजी ४०-४५ वर्ष) माथि धारिलो हतियार (खुकुरी) प्रहार गरिएको थियो। घाँटीमा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल स्थायी घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनुदेवीमाथि खुकुरी प्रहार गरेका हुन्।

घटनापछि स्थानीयवासीले उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। हाल घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको कारणबारे हालसम्म केही खुलाएको छैन। हत्या किन र के कारणले भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

कराची। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतारचढाव र पर्सियन खाडी क्षेत्रमा बढेको सैन्य तनावको प्रभाव देखाउँदै पाकिस्तान सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

पछिल्लो निर्णयअनुसार पेट्रोल र हाई-स्पिड डिजेल दुवैको मूल्य प्रतिलिटरमा वृद्धि गरिएको छ।

पाकिस्तानी सरकारले पेट्रोलको मूल्य प्रतिलिटर ६.३९ पाकिस्तानी रुपैयाँ र हाई–स्पिड डिजेलको मूल्य ७.८३ रुपैयाँले बढाएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ३२७ रुपैयाँ १२ पैसा र हाई–स्पिड डिजेल ३७५ रुपैयाँ ४ पैसा पुगेको छ। पेट्रोलियम डिभिजनले जारी गरेको सूचनाअनुसार संशोधित मूल्य बिहीबारदेखि लागू भएको छ।

सरकारले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर परिवर्तन भइरहनु र मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनावका कारण आयात लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको जनाएको छ।

यसअघि अल पाकिस्तान पेट्रोलियम पम्प ओनर्स एसोसिएसनले सरकारले लागू गर्न लागेको दैनिक इन्धन मूल्य निर्धारण प्रणालीको विरोध गर्दै देशव्यापी हडतालको घोषणा गरेको थियो। तर पेट्रोलियम मन्त्रीसँगको वार्तापछि संगठनले आन्दोलन तत्कालका लागि दुई सातासम्म स्थगित गरेको छ।

पाकिस्तानमा पछिल्ला महिनादेखि इन्धनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। हाई–स्पिड डिजेलको मूल्य अप्रिल ३ मा प्रतिलिटर ५२० रुपैयाँ ३५ पैसासम्म पुगेको थियो। फेब्रुअरी २८ पछि अन्तर्राष्ट्रिय परिस्थितिका कारण यसको मूल्य लगातार बढ्दै गएको थियो।

त्यसैगरी पेट्रोलको मूल्य पनि मार्चको पहिलो सातामा प्रतिलिटर २६६ रुपैयाँबाट बढ्न सुरु भई अप्रिल ३ मा ४५८ रुपैयाँ ४१ पैसासम्म पुगेको थियो। त्यसयता मूल्यमा केही समायोजन भए पनि पछिल्लो निर्णयले फेरि इन्धन महँगिएको छ।

पेट्रोलियम मन्त्री अली परवेज मलिकका अनुसार अब पाकिस्तानमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार दैनिक रूपमा निर्धारण गरिनेछ। मन्त्रिपरिषद् र प्रधानमन्त्रीको निर्णयअनुसार तेल तथा ग्यास नियामक प्राधिकरणलाई हरेक दिन मूल्य समायोजन गर्ने अधिकार दिइएको उनले बताएका छन्।

तर सरकारको यो निर्णयलाई अल पाकिस्तान डिलर्स एसोसिएसनले स्वीकार गरेको छैन। संगठनले दैनिक मूल्य निर्धारण प्रणाली व्यवसायी र उपभोक्ता दुवैका लागि असहज हुने भन्दै विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।

पाकिस्तानमा पेट्रोल मुख्य रूपमा निजी सवारीसाधन, मोटरसाइकल, रिक्सा तथा साना गाडीमा प्रयोग हुने भएकाले यसको मूल्यवृद्धिले मध्यम र निम्न–मध्यम वर्गका नागरिकको दैनिक खर्च बढ्ने अनुमान गरिएको छ।

यस्तै हाई–स्पिड डिजेल ट्रक, बस, मालवाहक सवारी, विद्युत् उत्पादन केन्द्र तथा ठूला जेनेरेटरमा प्रयोग हुने भएकाले यसको मूल्य बढ्दा ढुवानी लागत महँगिने र त्यसको प्रत्यक्ष असर खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत पर्ने विश्लेषण गरिएको छ।

इन्धनको मूल्यवृद्धिले बढ्दो महँगीको सामना गरिरहेका पाकिस्तानी नागरिकमाथि थप आर्थिक दबाब पर्ने देखिएको छ भने दैनिक मूल्य समायोजन प्रणालीले आगामी दिनमा बजारमा अझ बढी मूल्य अस्थिरता ल्याउन सक्ने चिन्ता पनि व्यक्त हुन थालेको छ।

रास्वपा सांसद बब्लु गुप्ताले तिरे जरिबाना

काठमाडौं। गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।

सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ। उनीमाथि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाही गरिएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडिको सिटमा उभिएर मोबाइलबाट भिडियो खिचिरहेको देखिएका थिए। उक्त भिडियो सार्वजनिक भएपछि जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षाका आधारभूत नियम उल्लंघन गरेको भन्दै व्यापक आलोचना भएको थियो।

सांसदजस्ता जनप्रतिनिधिमाथि पनि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठिरहेका बेला ट्राफिक प्रहरीले उनीमाथि सवारी तथा यातायात व्यवस्था ऐनअनुसार ५ सय रुपैयाँ जरिबाना गरेको हो।

कारबाहीपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले कानुन सबैका लागि समान भएको सन्देश दिएको भन्दै ट्राफिक प्रहरीको कदमको स्वागत गरेका छन्। अर्कोतर्फ, जोखिमपूर्ण गतिविधिका लागि ५ सय रुपैयाँको जरिबाना पर्याप्त नभएको टिप्पणी पनि गरिएको छ।

आलोचना चुलिएपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। उनले बाल्यकाल बिताएको स्थानमा पुगेपछि पुराना सम्झनाले भावुक बनेर रमाइलोका क्रममा भिडियो बनाउँदा आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्।

उनले अब आफ्नो ऊर्जा देश र जनताको हितमा लगाउने प्रतिबद्धता जनाउँदै आफूबाट जानी वा नजानी भएको गल्तीका लागि सबैसँग क्षमा मागेका छन्।

यसअघि पनि ट्राफिक नियम उल्लंघन गरेका सार्वजनिक पदाधिकारीमाथि कारबाही भएका उदाहरण छन्। हेल्मेट नलगाई मोटरसाइकल चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ५ सय रुपैयाँ जरिबाना गरेको थियो। यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए।

रास्वपा सांसदमाथि कालो मसी प्रहार

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा कालो मसी दलेर दुर्व्यवहार गरिएको छ।

उक्त घटनापछि रौतहटको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ भने निर्वाचित जनप्रतिनिधिमाथिको यस्तो व्यवहारलाई लोकतान्त्रिक मर्यादाविपरीत भएको भन्दै विभिन्न तहबाट टिप्पणी हुन थालेको छ।

घटना बिहीबार राति गढीमाई नगरपालिका-७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सम्पन्न भएपछि भएको हो। स्थानीय नागरिकसँग मलखादको अभाव, विकास निर्माण र अन्य जनजीविकासँग सम्बन्धित विषयमा छलफल सकेर फर्किने तयारीमा रहेका सांसद पौडेलमाथि अज्ञात समूहले कालो मसी प्रहार गरेको हो।

सांसद पौडेलका अनुसार कार्यक्रम राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा सकिएको थियो। त्यसपछि उनी उपस्थित स्थानीयसँग भेटघाट गर्दै फर्किने क्रममा मास्क लगाएका २ देखि ३ जनाको समूह पछाडिबाट आएको थियो। उनीहरूले चिनजानकै व्यक्तिले अँगालो हालेजस्तो गर्दै अचानक उनको ढाडमा कालो मसी दलिदिएर घटनास्थलबाट भागेका थिए।

घटना लगत्तै कार्यक्रममा सहभागी स्थानीय बासिन्दा र समर्थकहरूले उनीहरूलाई पछ्याउने प्रयास गरेका थिए। तर अँध्यारोको फाइदा उठाउँदै उक्त समूह फरार भएको बताइएको छ।

सांसद पौडेलले आक्रमणकारीहरूको हातमा रातो झण्डा र केही पर्चासमेत रहेको दाबी गरेका छन्। उनीहरू आफूलाई ‘मधेश मुक्ति अभियान’सँग आबद्ध समूहका रूपमा प्रस्तुत गरिरहेको संकेत आफूले पाएको उनको भनाइ छ। यद्यपि उक्त दाबीबारे प्रहरीबाट आधिकारिक पुष्टि भइसकेको छैन।

घटनापछि तत्काल प्रहरीलाई जानकारी गराइएको र अनुसन्धान सुरु गरिएको सांसद पौडेलले बताएका छन्। उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आशंकामा ‘फगु’ (वा ‘फुगु’) भनेर चिनिने एक व्यक्तिको नाम खुलेको प्रहरी स्रोतले जनाएको छ। यद्यपि प्रहरीले हालसम्म कसैलाई पक्राउ गरिसकेको छैन भने संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।

यस घटनाले राजनीतिक असहमति व्यक्त गर्ने शैलीबारे पनि नयाँ बहस सुरु गराएको छ। लोकतान्त्रिक व्यवस्थामा असहमति, विरोध वा आलोचना स्वाभाविक मानिए पनि निर्वाचित जनप्रतिनिधिमाथि सार्वजनिक रूपमा दुर्व्यवहार गर्नु स्वीकार्य हुन नसक्ने मत व्यक्त भइरहेको छ।

स्थानीय राजनीतिक वृत्तमा पनि घटनाको आलोचना हुँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग उठ्न थालेको छ। राजनीतिक मतभेदलाई हिंसात्मक वा अपमानजनक गतिविधिमार्फत व्यक्त गर्ने प्रवृत्तिले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने भन्दै यस्ता घटनामाथि राज्यले निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ।

पक्राउ परेकी वेदिका हाजिर जमानीमा रिहा

काठमाडौं। विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ परेकी वेदिका केसी हाजिर जमानीमा रिहा भएकी छन्।

सरकारी वकिलको कार्यालयको लिखित सहमतिमा उनलाई शुक्रबार उपस्थित हुने सर्तमा रिहा गरिएको साइबर ब्युरोले जनाएको छ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार केसीविरुद्धको अनुसन्धान भने जारी रहेको छ। ब्युरोले जिल्ला अदालत काठमाडौंबाट एक दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

आफूलाई सामाजिक अभियन्ताका रूपमा चिनाउँदै आएकी केसीलाई बिहीबार काठमाडौंको जोरपाटी क्षेत्रबाट पक्राउ गरिएको थियो। सोही दिन आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई हाजिर जमानीमा छाडिएको हो।

पछिल्लो समय केसीले सामाजिक सञ्जाल र विभिन्न टेलिभिजन कार्यक्रममार्फत धर्मभित्र देखिएका विकृति, अन्धविश्वास तथा तन्त्र–मन्त्रका नाममा हुने ठगी र शोषणविरुद्ध आफ्ना धारणा सार्वजनिक गर्दै आएकी थिइन्।

उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ । उनका केही अभिव्यक्तिले आफ्नो चरित्रमा आघात पुगेको दाबी गर्दै चर्चित कथावाचिका दासीले उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने सार्वजनिक रूपमा बताएकी थिइन्।

व्यवसायिक पृष्ठभूमिसमेत रहेकी केसी जीबीएस एजुकेसनल कन्सल्टेन्सीकी सञ्चालक हुन्। उनी धर्म, संस्कार तथा तन्त्रविद्याका नाममा हुने दुरुपयोगविरुद्ध आवाज उठाउँदै आएको दाबी गर्दै आएकी छन्।

हाल केसीमाथि लागेको विद्युतीय अपराधसम्बन्धी आरोपको अनुसन्धान जारी रहेको साइबर ब्युरोले जनाएको छ।

सांसदलाई स्वकीय,सर्वोच्चमा रिट

काठमाडौं। संघीय सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता प्रेमराज सिलवालले उक्त निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका हुन्।

सर्वोच्च अदालतले रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि साउन ११ गतेको पेसी तोकेको छ।

रिटमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ। सरकारको निर्णय कानुनी र संवैधानिक दृष्टिले परीक्षण हुनुपर्ने माग रिटमा गरिएको छ।

सरकारले हालै संघीय संसद्का सदस्यलाई एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार संशोधित व्यवस्था नेपाल राजपत्रमा साउन ४ गते प्रकाशित भइसकेको छ। नयाँ व्यवस्थाले प्रत्येक सांसदलाई राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न सक्ने सुविधा प्रदान गरेको छ।

यसअघि जेन–जी विद्रोहपछि गठन भएको सरकारले सांसदका स्वकीय सचिवको सुविधा हटाउने निर्णय गरेको थियो। तर वर्तमान सरकारले सो निर्णय उल्टाउँदै पुनः स्वकीय सचिव राख्ने व्यवस्था लागू गरेको हो।

धान रोपिएको सडकदेखि चार लेनसम्म : फेरिएको पोखराको हरिचोक-याम्दी सडक

पोखरा। केही समयअघि यही सडक धुलो, हिलो र निर्माणको ढिलासुस्तीका कारण स्थानीयको असन्तुष्टिको प्रतीक बनेको थियो। निर्माण कार्य वर्षौँसम्म लम्बिँदा आक्रोशित स्थानीयले २०८१ साल असार १५ गते राष्ट्रिय धान दिवसकै दिन सडकमै धान रोपेर विरोध जनाएका थिए। त्यो दृश्य देशभर चर्चाको विषय बनेको थियो।

आज भने त्यही भूपी शेरचन राजमार्गअन्तर्गतको हरिचोक-याम्दी सडकखण्ड पूर्णतः फरक स्वरूपमा देखिएको छ। चार लेनमा विस्तार, कालोपत्रे र स्पष्ट लाइन मार्किङपछि सडक आधुनिक र व्यवस्थित बनेको छ। दैनिक हजारौँ सवारीसाधन गुड्ने यो सडक अहिले पोखराको प्रमुख प्रवेशमार्गमध्ये एक आकर्षक सडकका रूपमा स्थापित भएको छ।

करिब २.२ किलोमिटर लामो यो सडक भूपी शेरचन राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैको महत्त्वपूर्ण खण्ड हो। पोखरालाई पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँग जोड्ने मुख्य मार्ग भएकाले यसको निर्माण ढिलाइले स्थानीय मात्रै होइन, हजारौँ यात्रु र व्यवसायीले वर्षौँसम्म सास्ती खेप्नुपरेको थियो। वर्षायाममा हिलो, सुख्खा मौसममा धुलो र साँघुरो सडकका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बन्दै आएको थियो।

यो सडक स्तरोन्नतिको जिम्मा मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि. ले २०७९ साउन १४ गते ४८ करोड रुपैयाँमा पाएको थियो। प्रारम्भिक सम्झौताअनुसार दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण विभिन्न कारणले पटक-पटक प्रभावित भयो। म्याद तीनपटक थपिएपछि मात्रै यस वर्ष निर्माण सम्पन्न भएको हो। २०८१ साउनसम्म सक्नुपर्ने काम नसकिएपछि चैत मसान्तसम्म म्याद थपिएको थियो भने अन्तिमपटक २०८३ वैशाख मसान्तसम्म समय दिइएको थियो। तर निर्धारित अन्तिम समयभन्दा अगावै निर्माण सम्पन्न भएको हो।

हरिचोक-याम्दी सडकको परिवर्तनले पूर्वाधार विकासमा भएको ढिलाइ र त्यसविरुद्ध स्थानीयले गरेको संघर्ष दुवैलाई सम्झाइदिएको छ। एक समय विरोधको प्रतीक बनेको यही सडक अहिले पोखराको विकास र आधुनिक सडक पूर्वाधारको नयाँ उदाहरण बनेको छ। स्थानीयवासीको अपेक्षा भने अब सडकको नियमित मर्मत, प्रभावकारी ट्राफिक व्यवस्थापन र गुणस्तरको दीर्घकालीन संरक्षणमा केन्द्रित रहेको छ।

वाङचुकले अनसन तोडेपछि सिजेपीको आन्दोलन के हुँदैछ?

काठमाडाैं। गएको राती अभियन्ता सोनाम वाङचुकले २६ दिन लामो अनसन तोडे।  उनले अनसन तोडेपछि भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर जारी आन्दोलन नयाँ चरणमा प्रवेश गरेको छ। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी) ले सरकारले आफ्ना प्रतिनिधिसँग तटस्थ स्थानमा वार्ता गर्न सहमति जनाएको जनाएको छ। पार्टीका अनुसार दुवै पक्षबीच शुक्रबार भारतको संविधान क्लबमा औपचारिक छलफल हुने तय भएको छ।

सीजेपीका नेता सौरभ दासले सरकारले आन्दोलनकारीको प्रस्ताव स्वीकार गरी वार्ताका लागि तटस्थ स्थान रोजेकोमा स्वागत गरेका छन्। उनका अनुसार संविधान क्लब अफ इन्डियामा हुने बैठकमा आन्दोलनका प्रमुख मागहरूमाथि विस्तृत छलफल हुनेछ। उनले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, नीट प्रश्नपत्र चुहावट प्रकरणमा निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही तथा शिक्षा प्रणालीमा व्यापक सुधारको माग यथावत रहेको स्पष्ट पारे।

यसअघि कक्रोज जनता पार्टीका संस्थापक अभिजित दिपकेले सामाजिक सञ्जाल एक्समार्फत शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नआएसम्म आन्दोलन नरोकिने जानकारी दिएका थिए। अर्कोतिर 

सीजेपीले लामो समयदेखि नयाँदिल्लीस्थित जन्तर-मन्तरमा धर्ना दिँदै आएको छ। आन्दोलनकारीहरूले प्रश्नपत्र चुहावटजस्ता घटनाले लाखौँ विद्यार्थीको भविष्य संकटमा परेको भन्दै शिक्षा प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा प्रश्नपत्र चुहावटका घटनाविरुद्ध कडा कानुनी व्यवस्था गर्ने विधेयक ल्याउने घोषणा गरेपछि पनि सीजेपीले त्यसलाई मात्र पर्याप्त नभएको प्रतिक्रिया दिएको छ। पार्टीले परीक्षा अनियमितताप्रति सरकारको सबैभन्दा कडा कदम भनेको केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट हटाउनु हुने दाबी गरेको छ।

यता, चर्चित वातावरण अभियन्ता तथा शिक्षा सुधारका पक्षधर सोनम वाङ्चुकले सरकारबाट माग सम्बोधन गर्ने आश्वासन पाएपछि आफ्नो आमरण अनशन अन्त्य गरेका छन्। उनी शिक्षा सुधार र आन्दोलनकारी विद्यार्थीहरूको समर्थनमा लामो समयदेखि भोक हडतालमा थिए।

वाङ्चुकका अनुसार बिहीबार मध्यराततिर गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले भेट गरी सरकार आन्दोलनकारीका मागबारे सकारात्मक रहेको र समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि उनले अनशन तोड्ने निर्णय गरेका हुन्। यद्यपि आन्दोलनकारीहरूले आफ्ना मुख्य माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन्।

सोनाम वाङचुकले किन तोडे अनसन?

काठमाडाैं। भारतका चर्चित वातावरण अभियन्ता तथा शिक्षा सुधारका पक्षधर सोनम वाङ्चुकले २६ दिनदेखि जारी राखेको आमरण अनशन अन्ततः तोडेका छन्। शिक्षामा व्यापक सुधार, पारदर्शिता र उत्तरदायित्वको माग गर्दै देशभर युवाहरूले चलाइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनी गत २६ दिनदेखि भोक हडतालमा बसेका थिए।

सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सन्देशमा वाङ्चुकले विभिन्न पक्षबीच लामो समयसम्म भएको वार्ता, आन्दोलनको भावी दिशा तथा देशमा सम्भावित हिंसात्मक अवस्था सिर्जना हुन सक्ने चिन्तालाई ध्यानमा राख्दै आफूले अनशन अन्त्य गर्ने निर्णय गरेको बताएका छन्। उनले आन्दोलनका मूल उद्देश्यहरू अझै पूरा नभएकाले संघर्ष भने जारी रहने स्पष्ट पारेका छन्।

५९ वर्षीय वाङ्चुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी) र त्यसमा सहभागी विद्यार्थी तथा युवाहरूलाई समर्थन जनाउँदै अनशन सुरु गरेका थिए। आन्दोलनकारीहरूले शिक्षामा देखिएको अनियमितता, परीक्षा प्रणालीमा भएको अव्यवस्था, उत्तरदायित्वको अभाव तथा सुधारका मागलाई लिएर लामो समयदेखि प्रदर्शन गर्दै आएका छन्।

वाङ्चुकले आफ्नो सन्देशमा आन्दोलन पूर्ण रूपमा अहिंसात्मक हुनुपर्नेमा जोड दिएका छन्। उनले कुनै पनि प्रकारको हिंसाले आन्दोलनको नैतिक शक्ति कमजोर बनाउने उल्लेख गर्दै युवाहरूलाई संयमित, जिम्मेवार र शान्तिपूर्ण ढंगले आफ्ना माग अघि बढाउन आग्रह गरेका छन्।

उनको अनशन भारतभर व्यापक चर्चाको विषय बनेको थियो। सामाजिक अभियन्ता, शिक्षाविद्, विद्यार्थी संगठन तथा विभिन्न नागरिक समूहहरूले उनको अभियानप्रति समर्थन जनाएका थिए भने सरकारसँग आन्दोलनकारीहरूको माग सम्बोधन गर्न दबाब पनि बढ्दै गएको थियो।

अनशन समाप्त गरे पनि शिक्षा सुधारका लागि आफ्नो प्रतिबद्धता यथावत रहने वाङ्चुकले बताएका छन्। उनले आन्दोलनको उद्देश्य व्यक्तिविशेषको विरोध नभई देशको शिक्षा प्रणालीलाई पारदर्शी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउनु रहेको उल्लेख गरेका छन्। उनले सरकार र आन्दोलनकारीबीच संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै युवाहरूको आवाजलाई गम्भीरतापूर्वक सुन्न आग्रह गरेका छन्।

राजेन्द्र लिङ्देनको बेइमानीले राप्रपामा समायोजन भएका नेताको बिचल्ली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समायोजन हुने दल र नेताहरुले वैधानिकता नपाउने र बिचल्लीमा पर्ने क्रम जारी छ ।

राप्रपामा प्रवेश गराएर राजनीतिकर्मीहरुको सम्मान र व्यवस्थापन गर्न चुकेको कारण राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै नियत र क्षमतामा प्रश्नहरु उठेको छ । लिङ्देनको राजनीतिक इमानदारीमाथि पनि आलोचना हुन थालेको छ । यही घटनाक्रम र प्रवृत्तिले गर्दा समाजमा स्थापित व्यक्ति र नेताहरु राप्रपामा आवद्ध हुनबाट झस्किन थालेका छन् ।

राप्रपा र राप्रपा नेपालबीच समायोजन भएको सात महिना बितिसक्यो तर उक्त एकीकरण प्रक्रियाले निर्वाचन आयोगबाट वैधानिकता पाएन । जबकि, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरु राप्रपाको टिकटबाट चुनाव लडे र धेरै नीतिगत निर्णयहरुमा सहभागी भइसकेका छन् ।

विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेका रवीन्द्र मिश्र समूहले पनि निर्वाचन आयोगबाट वैधानिकता पाएन । राप्रपाका वरिष्ठ उपाध्यक्षको रुपमा समायोजन भएका मिश्रले राप्रपा परित्याग गरिसके।उनीसँग राप्रपामा लागेका बहुसंख्यक नेताहरु राप्रपाबाट अलग भइसकेका छन् ।

गत संसदीय चुनावमा राप्रपाबाट चुनाव लडेका डा. सुरेन्द्र भण्डारी र स्वागत नेपालहरु राप्रपाभित्र कुनै वैधानिक हैसियतमा छैनन् । उनीहरुलाई निर्वाचन आयोगले चिन्दैन । भण्डारीसँगै राप्रपामा आवद्ध भएका सुन्दरसिंह बोहरालाई एकता गर्ने बेला पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको थियो । अर्का प्रवक्ता मोहन श्रेष्ठले यही निर्णयबारे सार्वजनिक नोटिस जारी गरेका थिए । तर, पनि बोहराको हैसियत राप्रपाभित्र गुमनाम छ ।

राप्रपाले देशव्यापी जाँच लिएर ४० वर्ष मुनिका युवाहरुलाई केन्द्रीय सदस्य मनोनित गरेको थियो । ती युवा केन्द्रीय सदस्यहरुलाई हालसम्म निर्वाचन आयोगले चिन्दैन । तीमध्ये इन्जिनियर गोपीकृष्ण चौलागाई, रविकिरण हमाल, मिस नेपाल आस्माकुमारी केसीलगायत धेरै जना युवा नेताहरु राप्रपाबाट अलग भइसकेका छन् ।

लिङ्देनको नेतृत्वमा रहेको राप्रपाले राजनीतिक दल र दलका नेताहरुलाई पार्टीमा स्वागत गरेर अलपत्र पार्ने, एकताको संझौता पालना नगर्ने घटनाक्रमहरु बढिरहेको अवस्थामा राप्रपा नेतृत्वको विश्वसनीयतामाथि गम्भीर शंका उब्जिएको छ । स्मरण रहोस्, गत चुनावमा राप्रपाका ९७ प्रतिशत उम्मेदवारको जमानत जफत भयो ।

यस्तै घटनाक्रम र अविश्वासका कारण आगामी मंसिरमा घोषणा भएको महाधिवेशन समयमै सम्पन्न हुन्छ भन्नेमा राप्रपाभित्र ठूलो शंका कायम छ ।

भिडियो:

 

गुडिरहेको मोटरसाइकलमा स्टन्ट गर्न उभिएका रास्वपा सांसद बब्लु गुप्ता आलोचित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी आलोचनामा परेका छन्।

भिडियोमा उनी हेल्मेट नलगाई मोटरसाइकलको पछाडिको भागमा उभिएर मोबाइल चलाइरहेको देखिन्छ।

सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गुप्ताको उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ।

सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षासम्बन्धी आधारभूत नियम उल्लंघन गरेको भन्दै धेरैले आपत्ति जनाएका छन्। आलोचकहरूले सांसदजस्ता जिम्मेवार व्यक्तिले ट्राफिक नियम पालना गर्दै नागरिकलाई सकारात्मक सन्देश दिनुपर्ने बताएका छन्।

घटनाबारे प्रतिक्रिया दिँदै सांसद गुप्ताले आफूबाट ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्। उनले कानुनी कारबाही भोग्न तयार रहेको बताउँदै सम्बन्धित मोटरसाइकललाई जरिवानाका लागि ट्राफिक प्रहरी कार्यालय पठाइसकेको जानकारी दिएका छन्।

उनका अनुसार उक्त घटना एक कार्यक्रममा सहभागी हुन भसुवातर्फ जाने क्रममा भएको थियो। उनले यसबाहेक घटनामा अन्य कुनै विशेष विषय नरहेको बताएका छन्।

सांसद गुप्ताले गल्ती स्वीकार गरे पनि उनको भिडियो सामाजिक सञ्जालमा निरन्तर शेयर भइरहेको छ।

स्वकीय सचिवमा परिवार र आफन्त नियुक्त नगर्न रास्वपाको सांसदलाई निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्दा परिवारका सदस्य वा नजिकका आफन्तलाई नियुक्त नगर्न आन्तरिक निर्देशन जारी गरेको छ।

पार्टीले राज्यकोषबाट उपलब्ध हुने सुविधाको पारदर्शी र जनउत्तरदायी प्रयोग सुनिश्चित गर्ने उद्देश्यले यस्तो मापदण्ड लागू गरेको जनाएको हो।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यद्वारा शुक्रबार जारी गरिएको ‘स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड’ मा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ।

निर्देशनमा स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुसार एकाघरका सदस्य तथा नजिकका नातेदारलाई नियुक्त गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ। नियुक्ति पारिवारिक सम्बन्धभन्दा बाहिरबाट मात्रै गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ।

सरकारले हालै संघीय संसद्का सदस्यलाई एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गर्दै त्यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशित गरिसकेको छ। संशोधित व्यवस्थाअनुसार प्रत्येक सांसदले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। यो सुविधा संघीय संसद्का सदस्यहरूको कानून निर्माण, नीतिगत बहस तथा जनगुनासो सम्बोधनजस्ता जिम्मेवारी प्रभावकारी बनाउन दिइएको हो।

रास्वपाले भने राज्यकोषबाट उपलब्ध हुने उक्त सुविधाको दुरुपयोग नहोस् भन्ने उद्देश्यले आफ्ना सांसदका लागि छुट्टै आन्तरिक मापदण्ड जारी गरेको जनाएको छ। पार्टीका अनुसार स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी, मितव्ययी र सुशासनको सिद्धान्तअनुकूल हुनुपर्नेमा जोड दिइएको छ।

‘बालेनले देश र रविले पार्टी भड्खालाेमा हाले’

काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेनले देश भड्खालोमा हालेको भन्दै चिन्ता प्रकट गरेक छन् ।

बालेन प्रधानमन्त्री भएको चार महिना हुनै लाग्दा सचिव बस्नेतले यस्तो टिप्पणी गरेका हुन् । उता रास्वपा सभापति रवि लामिछानेले पनि पार्टीलाई भड्खालोमा हालेको बस्नेत बताउँछन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नगरपालिका चलाउने बालेन टिमले देश र ग्यालेक्सी टेलिभिजन चलाउने रबि टिमले पार्टी चलाएपछि देश पनि भड्खालोमा, पार्टी पनि भड्खालोमा ।’

एक रुपैयाँकाे सिक्काबाट चुच्चे नक्सा हटाएकाे, नेपालले पनि भारतकाे जग्गा मिचेकाे भनेकाे, भारतीय मिडियाहरुमा नेपाल झुकेकाे जस्ता दाबी प्रकाशन/प्रकारण भएकाे र देशमा सुकुम्बासी, भूमिहीन,  किसान, मजदुरविराेधी नीति र व्यवहार बालेन सरकारबाट भइरहँदा बस्नेतले यस्ताे बताएका हुन् ।

गगन थापाको सन्देश : चुनावले होइन, सिद्धान्तले कांग्रेसलाई परिभाषित गर्छ

काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई चुनावले नभएर  , सिद्धान्तले परिभाषित गर्ने बताएका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसलाई केवल स्मरणको कार्यक्रममा उनले कांग्रेसको भावी राजनीतिक दिशा, संगठनको चरित्र र चुनावी रणनीतिले कांग्रेस परिभाषित हुने बताएका हुन्। उनका अनुसार कांग्रेसको राजनीति सत्ता जित्नका लागि मात्र होइन, समाजको विश्वास जित्नका लागि हुनुपर्छ।

पछिल्ला केही वर्षयता नेपाली राजनीतिमा चुनाव, गठबन्धन र सत्ताको अंकगणित नै मुख्य बहस बनेको छ। यही परिवेशमा थापाले कांग्रेसको राजनीतिक पहिचानलाई बीपी कोइरालाको सिद्धान्तसँग जोड्ने प्रयास गरे। उनले भने, ‘शक्तिको प्रतिस्पर्धा मात्रै राजनीति होइन, सत्ताको प्रतिस्पर्धा मात्रै राजनीति होइन। किनभने हामीलाई यही कुरा बीपी कोइरालाले सिकाउनुभएको हो।’

थापाले आगामी स्थानीय र प्रदेश निर्वाचनलाई लिएर पार्टीभित्रैबाट आउने दबाब र चेतावनीप्रति कांग्रेस सजग रहेको बताए। उनले आफूलाई कतिपय नेताले चुनावको परिणाम देखाएर तर्साउने गरेको उल्लेख गर्दै त्यसलाई अस्वीकार गरे।

‘मलाई कतिपय साथीहरूले तर्साउन खोज्नुहुन्छ, कहिलेकाहीँ नेताहरूले पनि तर्साउन खोज्नुहुन्छ। हेरौंला स्थानीय चुनाव भन्नुहुन्छ, हेरौंला प्रदेशको चुनाव भन्नुहुन्छ। हामी बीपी कोइरालाका कार्यकर्ता हौं। हामी एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिहाल्ने होइनौं,’ उनले भने।

गठबन्धनको राजनीतिप्रति पनि अप्रत्यक्ष रूपमा प्रश्न उठाएका थापाले अब गठबन्धनको राजनीति नहुने दाबी गरे। ‘हामी चुनाव हारिएला, नजितिएला भनेर आस्थासँग सम्झौता गर्दै सोसाइटी र सिद्धान्तले नमान्ने गठबन्धनको राजनीति बोक्ने कांग्रेस होइन,’ उनको दाबी छ।  

थापाको अर्को महत्त्वपूर्ण सन्देश सत्ता र समाजबीचको सम्बन्धमा केन्द्रित थियो। उनका अनुसार कांग्रेसको सफलता सरकारमा पुग्नुमा होइन, नागरिकको विश्वास जित्नुमा निर्भर छ। ‘हाम्रा लागि प्राइमरी कुरा भनेको नागरिकको विश्वास र भरोसा हो। त्यसका लागि हामीले सत्तासँग होइन, समाजसँग जोडिएको कांग्रेस बनाउनुपर्ने छ,’ उनले जोड दिए।

यद्यपि, अहिले नेपाली राजनीतिको यथार्थ भने थापाले त्यति सरल छैन। थापा नेतृत्वको कांग्रेस आफै दुई खेमातिर विभाजित अवस्थामा छ।  अर्को खेमाको नेतृत्व पूर्णबहादुर खड्काले गरिरहेका छन्, भनिन्छ जसमा शेरबहादुर देउवाको सहयोग छ।  उक्त खेमातिर कांग्रेसका समकालीन तथा पुराना नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महत्हरु छन्।  यसले थापाको भनाइलाई झन् धेरै चुनौती दिन्छ। 

यस्तो अवस्थामा नेपालको वर्तमान राजनीतिमा गठबन्धन, शक्ति सन्तुलन र चुनावी गणितलाई बेवास्ता गरेर कुनै पनि दल अघि बढ्न सक्ने अवस्था छैन। त्यसैले थापाले अघि सारेको ‘समाजसँग जोडिएको कांग्रेस’ को अवधारणा व्यवहारमा कसरी रूपान्तरण हुन्छ भन्ने प्रश्न आगामी स्थानीय तथा प्रदेश निर्वाचनले नै उत्तर दिनेछ।

बीपीको स्मृति दिवसमा थापाले दिएको सन्देशले एउटा कुरा भने स्पष्ट पारेको छ- कांग्रेसभित्र अब चुनाव जित्ने रणनीतिभन्दा पनि पार्टीको वैचारिक पहिचान, संगठनात्मक पुनर्निर्माण र नागरिकसँगको सम्बन्धलाई केन्द्रमा राख्ने बहस अझ तीव्र हुने संकेत देखिएको छ। यही बहसले आगामी दिनमा कांग्रेसको राजनीतिक मार्ग तय गर्ने सम्भावना बलियो छ।

पुष्पलाल स्मृति दिवसमा ओलीले के भने?

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसलाई केवल श्रद्धाञ्जली कार्यक्रमका रूपमा सीमित राखेनन्। उनले त्यसलाई वर्तमान सरकारमाथि तीव्र राजनीतिक आक्रमण गर्ने मञ्चका रूपमा प्रयोग गरे। उनको करिब एक घण्टाको सम्बोधनमा सरकारको कार्यशैली, संविधान, लोकतन्त्र, राजनीतिक दलको भूमिका, सामाजिक सञ्जालको प्रभावदेखि वामपन्थी एकतासम्मका विषय समेटिए। 

तर भाषणको एउटा स्पष्ट सन्देशका रुपमा उनले वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यताबाट विचलित भइरहेको छ र त्यसको प्रतिवाद गर्ने जिम्मेवारी कांग्रेस र एमालेको काँधमा भएको बताए।

ओलीले सुरुमै सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप लगाए। आफूलाई ‘निराधार रूपमा पक्राउ गरिएको’ उल्लेख गर्दै उनले एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि पनि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरिएको दाबी गरे। 

उनले भने, ‘दुनियाँमा कहीँ पनि यस्तो सरकार हुँदैन। मलाई सरकारले निराधार रूपमा पक्राउ गर्‍यो, विष्णु पौडेलमाथि प्रतिशोध साँध्यो।’ यो अभिव्यक्तिले वर्तमान सरकारलाई लोकतान्त्रिक अभ्यासभन्दा राजनीतिक बदला लिन केन्द्रित रहेको सन्देश दिन खोजेको देखिन्छ।

ओलीको अर्को निशाना सरकारले गरिरहेको संविधान संशोधनको बहस र सरकार सञ्चालनको प्रक्रिया थियो। सरकारले राजनीतिक दलसँग पर्याप्त परामर्श नगरी निर्णय गरेको आरोप लगाउँदै उनले भने, ‘राजनीतिक दलहरूसँग परामर्श गरिएन, दलहरूमाथि झुटा आरोप लगाइयो, अपमान गरियो।’ संविधान संशोधनको बहस चलिरहेका बेला उनले दलहरूको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे।

ओलीले पछिल्लो समय देखिएको ‘पुराना र नयाँ दल’ को बहसलाई पनि खारेज गरे। उनका अनुसार यो विभाजन राजनीतिक प्रतिस्पर्धाभन्दा समाजलाई टुक्र्याउने रणनीति हो। ‘धर्मका नाममा, जातका नाममा, भूगोलका नाममा नेपालीलाई विभाजन गर्न खोज्दा पनि सफल भएनन्, अहिले नयाँ र पुरानाका नाममा विभाजन गर्न खोजिएको छ,” उनले भने। यस्ता प्रयासले परिवार र समाजमै वैचारिक दूरी बढाउने उनको तर्क थियो।

मन्तव्यमा कांग्रेस-एमाले सहकार्यलाई विशेष प्राथमिकता दिएका ओलीले फेरी कांग्रेस-एमालेले सहकार्य अग्र्नुपरने बेला आएको दाबी गरे । उनले ले लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र आवश्यक संशोधनको नेतृत्व यी दुई दलले नै गर्नुपर्ने दाबी गरे। उनका अनुसार वर्तमान सरकार आफू, देउवा र प्रचण्डको बदनाम गर्न केन्द्रित रहेको छ। तीन नेताले खाएको नभइ वर्तमान समयसम्म आइपुग्न आफूहरुले अभूतपूर्व संघर्ष गरेको ओलीको भनाइ थियो।  

‘२००७, २०३६, २०४६, २०६२/०६३ को आन्दोलनमा को थियो? संविधान बनाउने बेला को थियो? संघर्ष र बलिदान पुराना दलले दिएका हुन्। अब लोकतन्त्र फिर्ता ल्याउने काम पनि एमाले र कांग्रेसले नै गर्छ,’ उनले भने।

अधिकांश समय वर्तमान सरकारको आलोचनामा केन्द्रित रहेका ओलीले सरकारले सामाजिक सञ्जाललाई असामाजिक बनाएको आरोप लगाए। उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, नेतामाथि निरन्तर प्रहार गर्ने र समाजलाई असामाजिक बनाउने प्रयास भइरहेको दाबी गरे। ‘एकछिन सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रम छर्ने, छाडा बोल्ने र नेतामाथि प्रहार गर्ने प्रवृत्तिमा ध्यान दिनु हुँदैन,’ उनले कार्यकर्तालाई आग्रह गरे।

ओलीले वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको आवश्यकता दोहोर्‍याए। वर्तमान राजनीतिक अवस्थालाई उनले लोकतन्त्र र संविधानमाथिको चुनौतीका रूपमा चित्रण गर्दै ‘हामी सबै वामपन्थी-लोकतान्त्रिक शक्तिहरू मिलेर लोकतन्त्र फर्काउन, संविधान जोगाउन र सुशासन पुनःस्थापित गर्न एकजुट हुनुपर्छ,’ भन्ने आह्वान गरे।

लिङ्देनकै कारण राप्रपाको एकता अवैध

काठमाडौँ । गत पुसमा एकतामा जोडिएका राप्रपा र राप्रपा नेपालबिच भएको एकता अवैध ठहर भएको पाइएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले गत पुसमा एकता गरेका थिए। 

निर्वाचन आयोगमा दुवै पार्टीले आवश्यक कागजात नै दिन नसकेपछि उनीहरुबीचको एकता टुक्रिने भएको हो । यसअघि राप्रपाले असार ३ गते मात्रै दल एकीकरणसम्बन्धी निवेदन दिएपनि आयोगले उक्त निवेदनका संदर्भा कुनै सुनवाई नै गरेन । 

अहिले निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि आवश्यक कागजात अपुग रहेको भन्दै राप्रपा नेपाल र राप्रपालाई थप विवरण पेश गर्न निर्देशन दिएको हो।

आयोगले साउन १ गते दुवै दललाई पठाएको पत्रमार्फत दर्ता निवेदनसँग संलग्न गरिएका कागजात अध्ययन तथा जाँचबुझ गर्दा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १० तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ८ बमोजिम आवश्यक कागजात र विवरण अपुग रहेको जनाएको छ।

पत्रमा तोकिएको कानुनी व्यवस्था अनुसार अपुग कागजात, विवरण तथा आवश्यक प्रमाणहरू यथाशीघ्र उपलब्ध गराउन दुवै दललाई आग्रह गरिएको छ। आयोगले आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै दल दर्तासम्बन्धी थप निर्णय अघि बढाइने संकेत गरेको छ।

निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल दर्ता गर्दा कानुनले तोकेका मापदण्ड र आवश्यक कागजातको पूर्णता अनिवार्य हुने भन्दै अपुग विवरण भएमा थप कागजात माग्ने अभ्यास नियमित प्रक्रिया भएको जनाएको छ।

राप्रपा नेपाल र राप्रपाले आयोगको निर्देशनअनुसार आवश्यक कागजात बुझाएपछि दर्ता प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ। आयोगले भने कानुनी प्रक्रिया पूरा भएपछि मात्रै दर्तासम्बन्धी अन्तिम निर्णय हुने स्पष्ट पारेको छ।

 

बाँदर, बँदेलको बढ्दो आतंक: खेती जोगाउनै किसानलाई महासङ्ग्राम 

काठमाडौं। नेपाललाई कृषिप्रधान देश भनिए पनि पछिल्ला वर्षहरूमा किसानले सबैभन्दा ठूलो संघर्ष मौसमसँग मात्र होइन, जङ्गली वन्यजन्तुसँग पनि गर्नुपरेको छ।

बाली लगाउने, स्याहार गर्ने र उत्पादनको प्रतीक्षा गर्ने किसानका लागि अहिले सबैभन्दा कठिन काम भनेको हुर्काएको बाली जोगाउनु बनेको छ। वन्यजन्तुको बढ्दो आक्रमणका कारण धेरै किसानले महिनौँको मेहनत, लगानी र आशा एकै रातमा गुमाइरहेका छन्।

देशका पहाडी, हिमाली र तराईका अधिकांश जिल्लाबाट बाँदर, बँदेल, दुम्सी, नीलगाई र अन्य जङ्गली जनावरले खेतीमा ठूलो क्षति पुर्‍याएको गुनासो बढ्दो छ।

मकै, धान, गहुँ, कोदो, तरकारी, फलफूलदेखि उखुसम्मका बाली निरन्तर नष्ट भइरहेका छन्। कतिपय स्थानमा बाली पाक्नै लाग्दा एकै रातमा सखाप हुने गरेको छ भने कतै दिनदहाडै बाँदरको समूहले खेतबारी उजाड्ने गरेको किसानहरूको अनुभव छ।

यसको प्रत्यक्ष असर कृषि उत्पादनमा मात्र सीमित छैन। उत्पादन घट्दा किसानको आम्दानी घट्ने, ऋण तिर्न समस्या हुने, परिवारको जीविकोपार्जन प्रभावित हुने र कृषि पेशाप्रतिको आकर्षण नै घट्दै जाने अवस्था सिर्जना भएको छ। कृषिमा निर्भर परिवारका लागि यो समस्या आर्थिक मात्र नभई सामाजिक संकटका रूपमा पनि देखिन थालेको छ।

वन्यजन्तुको त्रासका कारण धेरै किसान रातभर खेतबारीमा पहरा दिन बाध्य छन्। टिन ठटाउने, आगो बाल्ने, टर्च बालेर जनावर धपाउने, कुकुरको सहारा लिने तथा पालैपालो खेत कुर्ने जस्ता परम्परागत उपाय अपनाउँदा पनि क्षति रोक्न सकिएको छैन।

कतिपय स्थानमा स्थानीयले आफ्नै खर्चमा वन्यजन्तु धपाउन मानिस नै खटाउने व्यवस्था गरेका छन्, जसले सरकारी संयन्त्रको कमजोरीलाई छताछुल्ल पारेको छ।

समस्या यतिमै सीमित छैन। धेरै किसानले वन्यजन्तुबाट बारम्बार क्षति बेहोरेपछि खेतीयोग्य जमिन बाँझै छोड्न थालेका छन्। विशेषगरी वन क्षेत्रसँग जोडिएका गाउँहरूमा खेती गर्नुभन्दा जग्गा खाली राख्नु सुरक्षित हुने मानसिकता बढ्दै गएको स्थानीय तहहरूको भनाइ छ। यसले कृषि उत्पादनमा दीर्घकालीन असर पार्ने चिन्ता बढाएको छ।

सरकारले केही समयअघि रातो बाँदर र जङ्गली बँदेललाई ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गर्दै बाली जोगाउने क्रममा ती जनावर मरे किसानमाथि कारबाही नहुने व्यवस्था गरेको छ। तर किसान र कृषि क्षेत्रका जानकारहरूका अनुसार कानुनी व्यवस्था मात्र पर्याप्त छैन। वन्यजन्तुको संख्या व्यवस्थापन, वैज्ञानिक नियन्त्रण, क्षतिपूर्ति र दीर्घकालीन रणनीति प्रभावकारी रूपमा लागू नभएसम्म समस्या समाधान हुने अवस्था देखिँदैन।

कृषि विभागले पनि वन्यजन्तुबाट हुने क्षतिको समस्या जटिल बन्दै गएको स्वीकार गरेको छ। विभागका अनुसार हाल वन्यजन्तुबाट हुने क्षतिका लागि स्पष्ट राहत वा क्षतिपूर्ति दिने प्रभावकारी संयन्त्र छैन। यद्यपि बाँदरको बन्ध्याकरण (स्टेरिलाइजेसन), स्थानान्तरण, जैविक बार निर्माण, मौरीपालनको विस्तार तथा वन क्षेत्रमै वन्यजन्तुको प्राकृतिक आहारा बढाउने उपायबारे अध्ययन र परीक्षण भइरहेको जनाएको छ।

प्राविधिकहरूका अनुसार मानव-वन्यजन्तु द्वन्द्व बढ्नुका पछाडि वन क्षेत्रमा प्राकृतिक आहाराको कमी, बस्ती विस्तार, खेती प्रणालीमा आएको परिवर्तन तथा वातावरणीय असन्तुलनजस्ता कारण पनि जिम्मेवार छन्। त्यसैले समाधान पनि बहुआयामिक हुनुपर्ने उनीहरूको सुझाव छ। वन व्यवस्थापन, कृषि नीति, स्थानीय तहको सक्रियता र समुदायको सहभागितालाई एकसाथ जोडेर मात्र दीर्घकालीन समाधान सम्भव हुने उनीहरूको भनाइ छ।

यसैबीच कृषि, वन तथा वातावरण मन्त्रालयले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि गठन गरेको कार्यदलमार्फत अध्ययन अघि बढाइरहेको छ।

कार्यदलले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणाली सुधार, जनचेतना अभिवृद्धि, कानुनी सुधार तथा दीर्घकालीन व्यवस्थापनका उपायसहित अन्तरिम प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

मन्त्रालयले त्यसका आधारमा आवश्यक नीतिगत निर्णय र कार्यान्वयन प्रक्रिया अघि बढाउने जनाएको छ।

बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ – भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बी.पी. कोइरालाको तस्बिर भित्तामा झुण्ड्याएर श्रद्धाञ्जली व्यक्त गर्ने परम्पराभन्दा माथि उठेर उनको विचारलाई चिन्तन र व्यवहारमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।

उनले नवीन परिस्थितिमा नेपाली कांग्रेससँग जनताले औपचारिक भाषणभन्दा पनि वैचारिक रूपान्तरण र नयाँ संकल्प र अभियानको पनि अपेक्षा गरेको बताए ।

‘बी.पी.को तस्बिरलाई सदैव भित्तामा झुण्ड्याएर हेरेको हिजोको राजनीति थियो । त्यो बी.पी.लाई भित्तामा झुण्ड्याएर देख्दै आएको हिजोको राजनीतिलाई चिन्तनमा र व्यवहारमा रुपान्तरित गर्ने कहिले ? यो प्रश्न निरन्तर उठेको पनि हो,’ उनले बी.पी. स्मृति दिवसमा भने, ‘त्यसकारण यो नवीन परिस्थिति, संकल्प र अभियानमा हामीले बी.पी.लाई भित्तामा होइन, उहाँको चिन्तनलाई व्यवहारमा उतारेर सार्वजनिक गर्नुछ ।’

विगतमा बी.पी. स्मृति दिवस र जयन्ती औपचारिकतामा सीमित भएको भन्दै अब त्यसलाई विचारको अभियानमा बदल्नुपर्ने उनको भनाइ थियो ।

‘हिजो बी.पी.को हरेक स्मृति दिवस र जयन्ती औपचारिकतामा सीमित हुन्थ्यो । एक दिन एक शब्द बोलेर वर्षभरी आनन्दले निदाउने त्यो खालको निरन्तरता थियो,’ उनले भने, ‘अब औपचारिकतामा होइन, चिन्तनको नयाँ धारा बनेर सार्वजनिक हुनुपर्दछ र त्यसलाई नेपाली कांग्रेसको नेतृत्वले, केन्द्रीय कार्य समितिले बोकेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमाल, पहाड, तराई मधेश भित्रसम्म पुर्‍याउनुपर्छ ।’

आङ्देम्बेले अहिलेको समयले कांग्रेससँग सामान्य भाषणभन्दा पनि ऐतिहासिक निर्णयको अपेक्षा गरेको बताए ।

‘अहिलेको समयले नेपाली कांग्रेसलाई एक थान भाषण होइन, गम्भीरतापूर्वक एउटा ऐतिहासिक निर्णय गर भनिरहेको यो कुरालाई हामीहरूले बुझ्नुपर्दछ,’ उनले भने ।

उनले पार्टीभित्र मतभेद स्वाभाविक भए पनि विवाद र आक्रोशले संगठनलाई कमजोर बनाउने बताए ।

‘एउटा जीवन्त पार्टीमा मतभेदहरू हुन सक्छन् । पार्टीमा छलफल र बहसहरू हुन्छ । वाद प्रतिवाद हुन्छ । तर, जब विवाद आक्रोशमा झाँगिदै जान्छ । झाँगिदै गएका विवादहरूले पार्टीलाई समाप्त गर्दै लान्छ, पार्टीको गतिशीलतालाई समाप्त पार्छ,’ उनले भने ।
सत्ताको अंकगणितले कांग्रेसको वैचारिक धरातल कमजोर बनेको उनको भनाइ थियो ।

‘बी.पी.ले ५० वर्षअघि भन्नुभएको थियो कि राष्ट्रियताको रक्षा र प्रजातन्त्रको प्राप्ति एक आपसको पूरक हो । यो नेपाली कांग्रेसले अपनाएको मेलमिलापको नीतिसँग सम्बन्धित थियो,’ उनले भने, ‘तर, आज नेपाली कांग्रेसको त्यो समाजवादी दर्शन र विचार सत्ता प्राप्तिको अंक गणितले किचिएर, थिचिएर, समाप्त भएको देख्ने साँक्षी पनि हौँ । तपाईं हामी साँक्षी हौँ ।’

आङ्देम्बेले पार्टीभित्र र बाहिरको राजनीतिमा विवेक र तर्क कमजोर हुँदै गएको टिप्पणी पनि गरे ।

‘जब विवेक हराउँछ, त्यो विस्तारै अहंकारमा परिणत हुँदोरहेछ । जब तर्क हराउँछ, त्यो तर्क विस्तारै गालीमा परिणत हुँदोरहेछ, त्यो पार्टीभित्र र बाहिर दुवैतिर छ,’ उनले भने ।

उनले राजनीति सेवा र त्यागको माध्यम बन्नुपर्नेमा जोड दिए । नाफा–घाटाको हिसाबले राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

‘इमानदार कार्यकर्ता कुन कुनामा छन् ? थाहा छैन । वरिपरि घुम्नेहरूलाई खोजिन्थ्यो । हेरिन्थ्यो । आफ्नो वरिपरिकालाई खोज्ने प्रवृत्ति त्यो हिजो नाफा र घाटाको दृष्टिबाट हेरिएको राजनीतिमा थियो,’ उनले भने, ‘तर, आजको राजनीति लगानीकर्ताको लेखाजोखामा होइन, हामीहरूले आजको राजनीतिको यथार्थ धरातल यिनै कार्यकर्ताहरू, यिनै निमुखा श्रमजीवी, किसान, मजदुरहरू हुन् । त्यहीँ ठाउँबाट हामीले आजको राजनीति हेर्नुपर्छ ।’

उनले कांग्रेसलाई नवीन परिस्थितिमा, नवीन संकल्पसाथ नवीन अभियानमार्फत अघि बढाउनुपर्ने पनि बताए ।

वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एकजुट हुन ओलीको आह्वान

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र सुशासनको रक्षा गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले समान उद्देश्य भएका राजनीतिक शक्तिहरू जनताको हितका लागि एकजुट हुनुपर्ने बताए।

ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल चाँडै अन्त्य हुने दाबी गर्दै प्रदेश र स्थानीय सरकार नियमित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे।

उनले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै पञ्चायतकालमा समेत अहिलेजस्तो बर्बरता नदेखिएको दाबी गरे। साथै, पार्टीका नेता–कार्यकर्तामाथि दमन गरिएको र सरकारले संविधानविरोधी गतिविधि गरिरहेको आरोप लगाए।

कार्यक्रममा उनले नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको योगदानको चर्चा गर्दै सामाजिक रूपान्तरणका लागि पुष्पलालले आफ्नो समयमै सबैभन्दा व्यवस्थित र विकसित वैचारिक आधार प्रस्तुत गरेको उल्लेख गरे।

लोकतन्त्र जोगाउने जिम्मेवारी कांग्रेस र एमालेकै हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेस र एमालेकै काँधमा रहेको बताएका छन्।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले पुराना राजनीतिक दलको योगदानलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसको प्रतिवाद गरे।

‘२००७, २०३६, २०४६ र २०६२/०६३ का आन्दोलनदेखि संविधान निर्माणसम्म पुराना राजनीतिक दलले नै नेतृत्व गरेका छन्,’ उनले भने, ‘अब लोकतन्त्रको रक्षा, संविधानको संरक्षण र आवश्यक संशोधन पनि कांग्रेस र एमालेले नै गर्नुपर्छ।’

ओलीले नयाँ र पुराना दलका नाममा समाजलाई विभाजित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै राजनीतिक दलबिनाको लोकतन्त्र सम्भव नहुने बताए।

उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने र नेतामाथि अनावश्यक प्रहार गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गरे।

सरकारले सुशासनमाथि कुठाराघात गर्यो : नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेकपा नेता नारायणकाजी श्रेष्ठले सुशासनको नाममा वर्तमान रास्वपा नेतृत्वको सरकारले उल्टै सुशासनमाथि कुठाराघात गरेको आरोप लगाएका छन्।

उनले संविधान निर्माणमा प्रमुख भूमिका खेलेका राजनीतिक दलहरूलाई योजनाबद्ध रूपमा किनारा लगाउने प्रयास भइरहेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे। लोकतान्त्रिक व्यवस्था र संविधानमाथि हुने कुनै पनि प्रहार स्वीकार्य नहुने उनको भनाइ थियो।

श्रेष्ठले विगतका कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले कठोर संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा गर्नु अहिले सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताए।

त्यस्तै, नेपालका कम्युनिष्ट शक्तिहरूलाई एउटै केन्द्रमा एकीकृत गर्नुपर्ने धारणा राख्दै उनले एकपटकको असफलतालाई आधार बनाएर एकताको प्रयास नै त्याग्न नहुने बताए। कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकताको विकल्प नभएको उनको भनाइ थियो।

एआईबाट गीत दुरुपयोग भए उजुरी दिन संगीत रोयल्टी संकलन समाजको आग्रह

काठमाडौं। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरेर स्रष्टाको अनुमति वा लाइसेन्सबिना गीत–संगीत प्रयोग भइरहेका घटनाप्रति संगीत रोयल्टी संकलन समाजले गम्भीर चासो व्यक्त गरेको छ।

समाजले यस्ता अनधिकृत प्रयोगविरुद्ध सम्बन्धित स्रष्टा तथा अधिकारवालालाई उजुरी दर्ता गर्न आग्रह गरेको हो।

समाजले जारी गरेको सूचनाअनुसार एआईमार्फत सिर्जना वा प्रयोग गरिएका गीत–संगीतमा अधिकार उल्लङ्घन भएको भए सम्बन्धित व्यक्तिले समाजमा औपचारिक उजुरी दिन सक्नेछन्।

समाजका अनुसार उजुरी कार्यालयमा स्वयं उपस्थित भएर वा लिखित निवेदनमार्फत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। उजुरीका आधारमा अनधिकृत सामग्री हटाउन माग गर्न र सम्बन्धित रोयल्टी दाबी गर्न सकिने उल्लेख गरिएको छ।

यस्तै, हालसम्म समाजमा दर्ता नभएका गीत–संगीतका विवरण तथा आवश्यक प्रक्रिया पनि यथाशीघ्र पूरा गर्न स्रष्टा तथा अधिकारवालालाई अनुरोध गरिएको छ।

संगीत रोयल्टी संकलन समाजका प्रमुख कार्यकारी अधिकृत सागर पाण्डेद्वारा जारी सूचनामा एआई प्रविधिको बढ्दो प्रयोगसँगै बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई प्रभावकारी बनाउन यस्तो पहल गरिएको जनाइएको छ।

May be an image of text

कांग्रेसको जरा अभियान समापन तथा नयाँ अभियान घोषणा समारोह

काठमाडौं। नेपाली कांग्रेसले पार्टीलाई नागरिककेन्द्रित र जनतासँग थप जोड्ने उद्देश्यसहित नयाँ अभियान सार्वजनिक गरेको छ।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमार्फत कांग्रेसले नयाँ अभियान घोषणा गरेको हो। अभियान घोषणा कार्यक्रम अहिले जारी छ।

कांग्रेसका नेताहरूले नयाँ अभियानमार्फत पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनतासँग प्रत्यक्ष संवाद बढाउने तथा नागरिकका समस्या र सरोकारलाई केन्द्रमा राखेर पार्टी गतिविधि सञ्चालन गर्ने उद्देश्य रहेको बताएका छन्।

यसअघि कांग्रेसले देशव्यापी रूपमा ‘जरा अभियान’ सञ्चालन गरेको थियो। नयाँ अभियानलाई त्यसको निरन्तरतासँगै पार्टीलाई थप नागरिकमुखी बनाउने पहलका रूपमा हेरिएको छ। 

गगनले पनि पार्टी सुधार्न सकेनन् : प्राध्यापक कृष्ण खनाल

काठमाडौं । प्राध्यापक कृष्ण खनालले गगन थापाको नेतृत्वमा पनि कांग्रेस नसुध्रिएको बताएका छन् । निर्वाचनअघि आफूले कांग्रेसलाई नसुधारिए स्थिति खराब हुने भनेको तर देखिनेगरी सुधार नभएको बताए ।

‘म त गाउँगाउँ झोला बोकेर हिँड्दा कांग्रेसले जनमत गुमाउने पाएँ र त्यो कुरा चुनावअघि गगनजीलाई भनेको थिएँ, उहाँले पनि स्वीकार्नुभयो,’ उनले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘तर, पार्टी सुधार्न देख्नेगरी प्रयत्न उहाँबाट पनि भएन ।’

उनले कांग्रेसको मत भण्डार क्रमशः घट्दै गएको बताए । जनतासँग पार्टीलाई नजोडिए चुनावमा नेताहरू भित्र्याएर मात्रै पार्टीको मत भण्डार नबढ्ने दाबी गरे ।

‘२०१५ यताको हरेक निर्वाचनको परिणाम हेर्दा कांग्रेसको मत भण्डार घट्दै गएको छ । जनतासँग जति कांग्रेसलाई जोडिन्छ, त्यति मत भण्डार बढ्छ । चुनावमा टाउको जोडेर नतिजा हुँदैन,’ उनले भने ।

उनले कांग्रेसमा प्रतिस्पर्धाको वातावरण बनाउन सभापति गगन थापालाई आग्रह गरे ।

संविधान संशोधन कार्यदल गैरकानुनी : वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं। वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले वर्तमान सरकारले प्रतिपक्षी दल विशेषगरी नेकपा (एमाले) विरुद्ध प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाएका छन्।

पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले सरकारले संविधान संशोधनको नाममा गठन गरेको कार्यदलसमेत गैरकानुनी रहेको दाबी गरे।

उनले संविधान संशोधन आवश्यक रहेको स्वीकार गर्दै त्यसका लागि बनाइएको कार्यदलको नेतृत्व प्रतिनिधिसभा सदस्यले गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताए। अहिलेको कार्यदल गठन प्रक्रिया त्यसअनुकूल नभएको उनको भनाइ थियो।

भट्टराईले संविधान संशोधनको प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसक्नुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि जिम्मेवार रहेको आरोप लगाउँदै उसले संशोधनको काम बिथोलेको टिप्पणी गरे।

उनले संविधान संशोधनजस्तो संवेदनशील विषय कानुन र संवैधानिक व्यवस्थाअनुसार अघि बढाउन सरकारलाई आग्रहसमेत गरे।

नेदरल्यान्डविरुद्द पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा केहीबेरमै सुरु हुने खेलमा घरेलु टोली नेदरल्यान्ड्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङका लागि मैदान उत्रिएको हो।

नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल खेलिरहेको हो। पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो।

विश्वकप छनोटको दौडमा रहिरहन नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ। पहिलो खेलको हारपछि नेपाल आज जित निकाल्दै सिरिजमा पुनरागमन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

अमेरिकी सैन्य सहायता रोकिएपछि युक्रेन थप कमजोर?

एजेन्सी। अमेरिकाले युक्रेनका लागि छुट्याएको करिब ४० करोड अमेरिकी डलर बराबरको सैन्य सहायता रोकिएको खुलासा भएपछि राष्ट्रपति प्रशासनमाथि नयाँ प्रश्न उठेको छ।

अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा वरिष्ठ सिनेटर डिक डर्बिनले कंग्रेसबाट स्वीकृत सहायता ह्वाइट हाउसले रोकिदिएको दाबी गरेका हुन्।

डर्बिनका अनुसार जनवरीमा स्वीकृत उक्त सहायता प्याकेज तत्काल कार्यान्वयन हुने अपेक्षा गरिए पनि प्रशासनले कम्तीमा सन् २०२९ सम्म उपलब्ध नहुने जानकारी दिएको छ। यो निर्णयले युद्धग्रस्त युक्रेनलाई आवश्यक सैन्य सहयोग थप अनिश्चित बनेको विश्लेषण गरिएको छ।

रोकिएको सहायता ‘युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ’ अन्तर्गतको हो, जसबाट युक्रेनी सेनाका लागि प्रशिक्षण, सैन्य उपकरण खरिद, रणनीतिक सहयोग तथा परामर्श प्रदान गर्ने योजना थियो। तर स्वीकृत भइसकेको रकम अझै युक्रेन नपुगेको डर्बिनले बताएका छन्।

सिनेट सुनुवाइका क्रममा उनले अमेरिकी संयुक्त सैन्य प्रमुख जनरल ड्यान केनसँग यसबारे स्पष्टीकरण मागेका थिए। तर जनरल केनले सहायता रोकिएको विषयमा आफूलाई जानकारी नभएको बताउँदै यसबारे नागरिक नेतृत्व अर्थात् ह्वाइट हाउससँग नै प्रश्न गर्नुपर्ने जवाफ दिएका थिए।

ह्वाइट हाउसले भने सहायता रोकिएको विषयमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। यसले प्रशासनको रणनीतिमाथि थप जिज्ञासा उत्पन्न गरेको छ।

यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले इरानसँगको युद्धपछि अमेरिकी सैन्य भण्डार पुनः भर्न युक्रेनका लागि छुट्याइएको केही स्रोतसाधन पुनः विनियोजन गर्न सकिने सम्भावनाबारे समाचार सार्वजनिक गरेका थिए। यद्यपि सरकारले त्यसबारे आधिकारिक पुष्टि गरेको छैन।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय युक्रेनलाई दिइने सैन्य सहयोगको आर्थिक भार अब युरोपेली सहयोगी राष्ट्रहरूले बढी वहन गर्नुपर्ने धारणा दोहोर्याउँदै आएका छन्। अमेरिका एक्लैले दीर्घकालसम्म यस्तो खर्च उठाउन नसक्ने उनको तर्क रहँदै आएको छ।

उता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हतियार र सैन्य सामग्रीको आपूर्तिमा भइरहेको ढिलाइले युद्धक्षेत्रमा आफ्ना सेनामाथि दबाब बढ्दै गएको बताउँदै पश्चिमी सहयोगी राष्ट्रहरूको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्।

रूसले भने विदेशी सैन्य सहयोगले युद्धको अवधि मात्र लम्ब्याउने दाबी गर्दै आएको छ। मस्कोका अनुसार पश्चिमी मुलुकबाट आउने हतियारले रूसको रणनीतिक उद्देश्य परिवर्तन गर्न नसक्ने भएकाले यस्ता सहयोगले समाधानभन्दा द्वन्द्वलाई अझ लम्ब्याउने काम मात्र गरिरहेको छ।

अमेरिकी सहायता रोकिएको समाचार सार्वजनिक भएसँगै युक्रेनलाई पश्चिमी सैन्य सहयोगको भविष्य र त्यसको प्रभावबारे अन्तर्राष्ट्रिय स्तरमा नयाँ बहस सुरु भएको छ।

चार वर्षभित्र विश्वविद्यालयबाट राजनीति हटाउने शिक्षामन्त्री पोखरेलको घोषणा

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको उच्च शिक्षा प्रणालीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने सरकारको स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आगामी चार वर्षभित्र विश्वविद्यालयहरूमा लामो समयदेखि जरा गाडेर बसेको राजनीतिकरण अन्त्य गर्ने घोषणा गरेका हुन्।

मन्त्री पोखरेलले विश्वविद्यालय ज्ञान, अनुसन्धान र नवप्रवर्तनको केन्द्र बन्नुपर्नेमा जोड दिँदै राजनीतिक प्रभावका कारण शैक्षिक गुणस्तर, प्रशासनिक क्षमता र संस्थागत विश्वसनीयतामा नकारात्मक असर परेको बताए। त्यसैले अब विश्वविद्यालय सञ्चालनको आधार राजनीतिक भागबण्डा होइन, योग्यता, क्षमता र कार्यसम्पादन हुने उनको भनाइ थियो।

उनका अनुसार विश्वविद्यालयका उपकुलपति, पदाधिकारी, प्राध्यापक तथा प्रशासनिक तहका नियुक्ति, सरुवा, बढुवा र जिम्मेवारी बाँडफाँटमा कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार गरिने छैन। यस्ता निर्णय पूर्ण रूपमा मेरिट प्रणालीका आधारमा गरिने भन्दै उनले योग्य व्यक्तिलाई अवसर दिने वातावरण निर्माण गरिने स्पष्ट पारे।

मन्त्री पोखरेलले विश्वविद्यालयभित्र शैक्षिक स्वतन्त्रता र संस्थागत स्वायत्ततालाई बलियो बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गरे। विश्वविद्यालय प्रशासनले कुनै पनि राजनीतिक दल, नेता वा प्रभावशाली व्यक्तिबाट अनुचित दबाब महसुस गरे तत्काल मन्त्रालयलाई जानकारी गराउन उनले आग्रह गरे।

उनले सरकार विश्वविद्यालयको स्वायत्तता जोगाउन प्रतिबद्ध रहेको दोहोर्याउँदै आफ्नै दल वा सरकार निकटकै व्यक्तिबाट समेत हस्तक्षेपको प्रयास भए त्यसलाई स्वीकार नगर्ने बताए। विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्न मन्त्रालय आवश्यक सुरक्षा र सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

त्रिभुवन विश्वविद्यालयको वार्षिकोत्सव समारोहमा व्यक्त गरिएको यो धारणा उच्च शिक्षामा सुधार, सुशासन र प्रतिस्पर्धी शैक्षिक वातावरण निर्माण गर्ने सरकारको दीर्घकालीन योजनासँग जोडिएको रूपमा हेरिएको छ।

नेपालका सार्वजनिक विश्वविद्यालयहरूमा वर्षौंदेखि राजनीतिक नियुक्ति, विद्यार्थी संगठनको प्रभाव र प्रशासनिक हस्तक्षेपबारे बहस हुँदै आएको छ। यस्तो अवस्थामा शिक्षामन्त्री पोखरेलको चार वर्षभित्र राजनीतिकरण अन्त्य गर्ने घोषणा कार्यान्वयनमा कसरी अघि बढ्छ भन्ने विषयलाई शैक्षिक क्षेत्रले चासोका साथ हेरेको छ।

५ लाख घुससहित कर अधिकृत पक्राउ

काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालय परिसरमै रकम बुझिरहेका बेला रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले कर निर्धारण तथा अडिट प्रक्रिया सहज बनाइदिने भन्दै घुस मागेका थिए। आरोपअनुसार उनले आफूभन्दा माथिल्लो तहका अधिकारीलाई समेत मिलाउनुपर्ने भन्दै सुरुमै ५ लाख रुपैयाँ मागेका थिए।

अडिटका क्रममा कम्पनीलाई कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व पर्ने जानकारी दिइएको थियो। त्यसपछि थप कागजात परीक्षण हुँदा कर दायित्व अझ ३० देखि ३५ लाख रुपैयाँसम्म बढ्न सक्ने अवस्था रहेको बताइएको थियो।

यही क्रममा कर अधिकृत पालले सुरुमा १२ लाख रुपैयाँ दिए सबै विषय मिलाइदिने प्रस्ताव राखेको र कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति गर्न खोजिएको आरोप छ।

घुस लेनदेनको योजनाअनुसार कम्पनीका प्रतिनिधिलाई सुरुमा विभिन्न समयमा प्रतिक्षा गराइएको थियो। पछि कर अधिकृत पालले फोनमार्फत सम्पर्क गरी भेट्ने स्थान र समय परिवर्तन गरेका थिए। अन्ततः रकम कार्यालयमै ल्याउन भनिएपछि अख्तियारले पूर्वतयारीसहित निगरानी बढाएको थियो।

बुधबार कार्यालयमै ५ लाख रुपैयाँ बुझाइरहेका बेला अख्तियारको टोलीले कर अधिकृत पाललाई रंगेहात पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङले पक्राउको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

अख्तियारले घटनासँग सम्बन्धित कागजात, प्रमाण र सम्भावित संलग्न व्यक्तिबारे अनुसन्धान जारी राखेको जनाएको छ।

आफ्नालाई काखी च्याप्दै बालेन सरकार

काठमाडौं। सरकारले नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तमा सन्तोषकुमार थापालाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा थापालाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।

थापा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को चुनावी अभियानमा सक्रिय रहेका व्यक्ति हुन्। उनी स्थानीय तह निर्वाचनका बेला बालेनको टिमसँग आबद्ध थिए।

थापाको नियुक्तिपछि पछिल्लो समय स्वतन्त्र राजनीतिक पृष्ठभूमि वा वालेन्द्र शाह(बालेन)सँग निकटता राख्ने केही व्यक्तिहरू विभिन्न सार्वजनिक निकाय तथा सरकारी जिम्मेवारीमा नियुक्त भइरहेको चर्चा पनि सुरु भएको छ।

झापामा १८ परिवारले पाए लालपुर्जा

काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार आयोजित कार्यक्रममा उनीहरूलाई लालपुर्जा हस्तान्तरण गरेको हो।

लामो समयदेखि आफूले बसोबास गर्दै आएको जग्गाको कानुनी स्वामित्व नपाएका परिवारले लालपुर्जा पाएसँगै अब उनीहरू सम्बन्धित जग्गाका कानुनी धनी बनेका छन्।

भूमि व्यवस्था तथा सम्बन्धित निकायका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेर विभिन्न जिल्लामा लालपुर्जा वितरण अभियान अघि बढाइरहेको छ।

यसअघि बर्दियाको बढैयाताल र झापाकै बुद्धशान्ती गाउँपालिकामा पनि भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने दीर्घकालीन लक्ष्यअनुसार लालपुर्जा वितरण कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

नेदरल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।

पहिलो खेलमा नामिबियासँग ८ विकेटको फराकिलो हार बेहोरेको नेपाल आज जित निकाल्दै विश्वकप छनोटको सम्भावनालाई जीवित राख्ने लक्ष्यमा हुनेछ। लिग–२ को अंकतालिकामा शीर्ष चारभित्र स्थान बनाउन नेपालका लागि बाँकी खेलहरू निर्णायक बनेका छन्।

नेपालले हालसम्म २९ खेल खेल्दा ११ जित, १६ हार र २ खेलबाट अंक बाँड्दै २४ अंक जोडेको छ। समान अंक भए पनि रनरेटका आधारमा नेपाल पाँचौँ स्थानमा छ भने नामिबिया छैटौँ स्थानमा रहेको छ।

उता नेदरल्यान्ड्स २८ खेलबाट १४ जित, १० हार र ४ खेलमा अंक बाँड्दै ३२ अंकसहित तेस्रो स्थानमा छ। अमेरिका ३२ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड ३८ अंकका साथ दोस्रो स्थानमा छ।

नेपालले लिग–२ का अब बाँकी सात खेलमध्ये कम्तीमा ६ खेल जित्न सके शीर्ष चारमा पुगेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सोझै स्थान बनाउन सक्नेछ। त्यसपछि नेपालले अक्टोबरमा क्यानडा र अमेरिकाविरुद्धका खेल मात्र खेल्न बाँकी रहनेछन्।

यद्यपि, शीर्ष चारमा पुग्ने लक्ष्य कठिन बन्दै गए पनि नेपालका लागि एकदिवसीय (ओडीआई) मान्यता जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। लिग–२ को शीर्ष ६ मा रहन सके नेपालले आगामी चार वर्षका लागि ओडीआई मान्यता कायम राख्नेछ। त्यसका लागि नेपालले अबका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आवश्यक जित निकाल्नुपर्ने दबाबमा छ।

आम द्वन्द्वपीडित समुदायको माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं। संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै आम द्वन्द्वपीडित समुदायले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले पीडितको सहभागिताविना गरिने कुनै पनि न्यायिक निर्णय पीडितमैत्री हुन नसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले सत्य निरूपण तथा बेपत्ता व्यक्तिको छानबिन आयोग विश्वसनीय, स्वतन्त्र र पारदर्शी प्रक्रियामार्फत गठन गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले संक्रमणकालीन न्यायलाई राजनीतिक सहमतिमा सीमित नगरी पीडितको अधिकार, सत्य, न्याय र परिपूरण सुनिश्चित हुने गरी आयोग गठन गर्नुपर्ने बताएका थिए।

द्वन्द्वपीडित समुदायले पीडितको विश्वास जित्ने गरी आयोग गठन नभए संक्रमणकालीन न्याय प्रक्रिया प्रभावकारी नहुने चेतावनीसमेत दिएका छन्।

संविधानमा के-के संशोधन गर्न खोजिँदै छ?

काठमाडौं। सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलले आफ्नो प्रतिवेदन बुझाएसँगै संविधानका विभिन्न व्यवस्थामा व्यापक पुनरावलोकन गर्ने प्रस्ताव सार्वजनिक बहसको विषय बनेको छ।

सरकारले प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरे पनि कार्यदलले शासकीय प्रणाली, संघीय संरचना, संसद्, न्यायपालिका, संवैधानिक आयोग, स्थानीय तह र संवैधानिक परिषद्सहित संविधानका धेरै विषयमा संशोधन गर्नुपर्ने सुझाव समेटेको स्रोतहरूले बताएका छन्।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले देशभरबाट प्राप्त सुझाव, राजनीतिक दल, पूर्वप्रधानमन्त्री, संविधानविद्, पूर्वराष्ट्रपति, कानुनविद् तथा सरोकारवालासँगको छलफलका आधारमा प्रतिवेदन तयार पारेको हो।

कार्यदलका अनुसार प्रतिवेदन तयार गर्ने क्रममा प्रत्यक्ष संवाद, टेलिफोन र अनलाइन माध्यमबाट ४४ हजार ६१३ वटा सुझाव प्राप्त भएका थिए।

बहसपत्रमा सबैभन्दा बढी चर्चा पाएको विषय संघीय तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हो। प्रतिवेदनमा अहिलेको संसदीय प्रणालीले अपेक्षित राजनीतिक स्थायित्व दिन नसकेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई कार्यकारी प्रमुख बनाउने विकल्पमाथि बहस गर्नुपर्ने सुझाव समेटिएको छ।

प्रस्तावअनुसार राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने, संघीय संसद् कायम रहने तर सरकार गठनमा संसद्को प्रत्यक्ष भूमिका नहुने व्यवस्था गर्न सकिने उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले विगतदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा धारणा राख्दै आएको छ।

कार्यदलले संघीय र प्रदेश तहमा सांसदको संख्या घटाउने विषय पनि उठाएको छ। प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणाली कायम राख्दै राष्ट्रिय सभालाई पूर्ण समानुपातिक स्वरूपमा लैजाने र प्रदेशसभालाई पुनर्संरचना गरेर परिषद्को रूपमा विकास गर्ने प्रस्ताव आएको छ।

प्रस्तावित परिषद्मा स्थानीय तहका प्रमुख र उपप्रमुख सदस्य रहने तथा प्रदेशसभाको भूमिका उनीहरूले नै निर्वाह गर्ने अवधारणा पनि प्रतिवेदनमा समेटिएको छ। राष्ट्रिय सभाका अध्यक्षको भूमिकालाई अहिलेको उपराष्ट्रपतिसरह बनाउनुपर्ने सुझाव पनि आएको छ।

कार्यदलभित्र प्रदेश संरचना हटाउने विषयमा सहमति नभए पनि प्रदेशलाई थप प्रभावकारी बनाउने सुझावहरू समेटिएका छन्। प्रदेश सरकारका अधिकार बढाउने, साझा अधिकारसूची संशोधन गर्ने तथा मुख्यमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रदेशको संख्या, सीमा र धर्मनिरपेक्षताजस्ता संवेदनशील विषयमा भने कार्यदलले कुनै नयाँ सिफारिस नगरी हालको व्यवस्थालाई कायम राख्ने धारणा राखेको स्रोतको भनाइ छ।

कार्यदलले हालको जिल्ला समन्वय समितिको औचित्यमाथि प्रश्न उठाउँदै यसको संरचना हटाउन सुझाव दिएको छ। पर्याप्त जिम्मेवारी र प्रभावकारी भूमिका नभएकाले जिससको आवश्यकता पुनरावलोकन गर्नुपर्ने निष्कर्ष कार्यदलको छ।

स्थानीय तहलाई अझ प्रभावकारी बनाउने, विशेष तथा संरक्षित क्षेत्रको स्पष्ट संवैधानिक परिभाषा गर्ने तथा स्थानीय सरकारलाई गैरदलीय बनाउने विषयमा पनि उल्लेख्य सुझाव प्राप्त भएको प्रतिवेदनमा समेटिएको छ।

प्रतिवेदनले संवैधानिक परिषद्को संरचनामा पनि परिवर्तन आवश्यक रहेको औंल्याएको छ। नियुक्ति सिफारिस गर्ने परिषद् कायम राख्ने हो भने संसदीय सुनुवाइ हटाउनुपर्ने, वा संसदीय सुनुवाइ राख्ने हो भने परिषद्को वर्तमान स्वरूप परिवर्तन गर्नुपर्ने सुझाव आएको छ।

त्यस्तै, न्यायपरिषद्को संरचना फेरबदल गरी प्रधानमन्त्री र नेपाल बार एसोसिएसनको सिफारिसबाट सदस्य रहने व्यवस्था हटाउनुपर्ने तथा उच्च अदालतलाई थप अधिकार दिएर केही मुद्दामा अन्तिम फैसला गर्ने अधिकार प्रदान गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ।

कार्यदलले राष्ट्रिय प्रजातन्त्र पार्टीको हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रसम्बन्धी प्रस्तावदेखि राष्ट्रिय जनमोर्चाको संघीयता खारेजीसम्मका सबै राजनीतिक धारका सुझाव प्रतिवेदनमा समावेश गरेको जनाएको छ। यद्यपि, प्राप्त सुझावको संख्यात्मक विश्लेषण गर्दा ती विषयमा अपेक्षाकृत कम समर्थन देखिएको कार्यदलका सदस्यहरूको भनाइ छ।

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलका प्रतिनिधि सहभागी भए पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधि पठाएन। कांग्रेसले कार्यदलको क्षेत्राधिकार र भूमिकामाथि प्रश्न उठाउँदै छुट्टै विज्ञ समिति गठन गरेर संविधान संशोधनका विषयमा अध्ययन अघि बढाएको छ।

यसैबीच कार्यदलले बुझाएको प्रतिवेदनलाई सरकारले औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। प्रतिवेदन सार्वजनिक भएपछि संविधान संशोधनको बहस अझ व्यापक हुने अपेक्षा गरिएको छ।

को हुन् पुष्पलाल?

काठमाडौं। नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा पिता भक्तलाल र माता तुलसीमायाको माइला सुपुत्रका रूपमा भएको थियो। उनका पिता रामेछापमा मालअड्डाका सुब्बा थिए।

राणा शासनविरुद्धको आन्दोलनमा शहीद भएका गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका पुष्पलालले दाजुको मृत्युपछि निरङ्कुश शासन अन्त्य गर्ने संकल्प गरेका थिए। किशोर अवस्थादेखि नै राजनीतिक अभियानमा सक्रिय उनी जीवनभर संगठन विस्तार र जनअधिकारको आन्दोलनमा समर्पित रहे।

विसं २००५ सालमा उनले ‘विश्व कम्युनिस्ट घोषणापत्र’ नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरेका थिए। त्यसको एक वर्षपछि, विसं २००६ वैशाख १० गते, भारतको कोलकातास्थित श्यामबजारमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरे।

पार्टीको घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य, राष्ट्रिय स्वाधीनताको रक्षा, वैदेशिक शोषणको अन्त्य, बालिग मताधिकार, संविधानमा आधारित लोकतान्त्रिक व्यवस्था, श्रमिक-किसानको हित संरक्षण, सामन्तवाद र साम्राज्यवादविरोधी सरकार गठन तथा क्रान्तिकारी भूमिसुधार लागू गर्ने लक्ष्य समेटिएको थियो।

विसं २०२५ सालमा उनले पञ्चायती व्यवस्थाविरुद्ध ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अघि सार्दै लोकतन्त्र पुनःस्थापनाका लागि कम्युनिस्ट र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक रहेको धारणा सार्वजनिक गरेका थिए। त्यसबेला प्रस्तुत गरेको यही विचारलाई पछि नेपालमा प्रजातन्त्र पुनर्बहालीको आधार बनेको राजनीतिक दृष्टिकोणका रूपमा हेरिन्छ।

पुष्पलाल राजनीतिज्ञ मात्र नभई इतिहास, समाजशास्त्र र मानवशास्त्रका गहिरा अध्येता पनि थिए। २०१७ सालपछि लामो समय भूमिगत र निर्वासनमा रहेर उनले कम्युनिस्ट आन्दोलनलाई पुनःसंगठित गर्ने तथा लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउने काममा निरन्तर योगदान दिए।

उनले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी समयक्रममा विभाजित हुँदै विभिन्न कम्युनिस्ट दलमा रूपान्तरण भए पनि नेपाली वाम आन्दोलनका मूल वैचारिक आधार निर्माण गर्ने श्रेय पुष्पलाललाई नै दिइन्छ।

जनताको अधिकार, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन समर्पित गरेका पुष्पलाल श्रेष्ठको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो। आज पनि उनलाई नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक तथा दूरदर्शी राजनीतिक चिन्तकका रूपमा स्मरण गरिन्छ।

अर्ग्यानिक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले बिहिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा जैविक कृषि व्यवसायीसँग छलफल गर्दै भएका छन्।

छलफलमा अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा केन्द्रित भएर सरकार र निजी क्षेत्रबीच विचार–विमर्श हुने जनाइएको छ।

प्रधानमन्त्रीसँगको छलफलमा नेपाल अर्ग्यानिक सङ्घका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रिजका अध्यक्ष परशुराम आचार्य सहभागी छन् ।

नेपाल अर्ग्यानिक सङ्घ जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगको प्रवर्द्धनमा सक्रिय संस्था हो।

प्रधानमन्त्री शाहले पछिल्ला दिनमा उद्योग, व्यवसाय र उत्पादनमूलक क्षेत्रका प्रतिनिधिसँग नियमित संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, सुझाव र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने तथा त्यसका आधारमा नीतिगत सुधार र सहजीकरणका पहललाई निरन्तरता दिँदै आएका छन्।

 

गोविन्द केसी अनसन बस्दै 

काठमाडौं। अनसन मास्टर भनेर चिनिने गोविन्द केसीले फेरी अनसन सुरु गरेका छन्। यसअघि २३ पटकसम्म अनसन बसिसकेका उनको यो २४ औँ अनसन हो। मेडिकल क्षेत्रको सुधारको माग गर्दै अनसन बस्ने उनीमाथि नेपालका विभिन्न ठाउँमा संचालन हुन लागेका चिकित्सा शिक्षा विधालय बन्द गर्न भूमिका खेलेको आरोप पनि लाग्दै आएको छ।  कतिपयले उनको अनसनलाई परिचालित अनसन पनि भन्ने गरेका छन्। 

सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै केसीले बिहीबार (साउन ६) देखि धनगढीमा आमरण अनसन सुरु गर्ने भएका छन्।

बुधबार साँझ दार्चुलाबाट धनगढी पुगेका केसी एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेका छन्। उनका तर्फबाट विजयबाबु शिवाकोटीले ५ बुँदे माग सार्वजनिक गर्दै सरकारले साउन ५ सम्म दिएको समयसीमासमेत बेवास्ता गरेको आरोप लगाएका छन्।

सरकारले माग सम्बोधन नगरेपछि केसीले यसपटकको अनसन सुदूरपश्चिमको धनगढीबाट सुरु गर्ने निर्णय गरेका हुन्।

किन पक्राउ परे व्यवसायी अग्रवाल ?

काठमाडौं। बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो।

सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार उनी बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए।

प्रहरीका अनुसार सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोगसम्बन्धी मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन छ। पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि उच्च अदालत पाटनमा उपस्थित गराइने तयारी गरिएको छ।

यसअघि पनि अग्रवाल २०८२ चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका थिए। उक्त प्रकरणमा कानुनी प्रक्रिया पूरा गरेपछि उनी रिहा भएका थिए।

कांग्रेसमा बढ्दो विवादबीच गगन–शेखर भेट, के भयो कुरा ?

काठमाडौं। नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको बेला सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।

बिहिवार बिहान सभापति थापा टोखास्थित कोइराला निवास पुगेर दुई नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो।

स्रोतका अनुसार भेटमा कांग्रेसभित्र देखिएको ध्रुवीकरण, सम्भावित विभाजनको जोखिम तथा सहमतिका आधारमा पार्टीलाई अघि बढाउने विषयमा कुराकानी भएको छ। दुई नेताबीचको छलफल केही समयसम्म जारी रहेको बताइएको छ।

यसअघि बुधबार कांग्रेसको इतर समूहले बीपी स्मृति दिवसको अवसर पारेर साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको थियो। इतर समूहका नेताहरूले उक्त भेलालाई पार्टीको आगामी राजनीतिक दिशासँग जोडेर हेरेका छन्।

इतर समूहले १५औँ महाधिवेशनलाई एकतामूलक बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए पनि पार्टी नेतृत्व व्यक्तिकेन्द्रित ढंगले अघि बढेको आरोप लगाउँदै आएको छ। बीपी स्मृति दिवसका कार्यक्रममा डा. शेखर कोइरालासहितका नेताहरूले पार्टी एकताको आवश्यकता दोहोर्याउँदै विभाजनको अवस्था आए त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने धारणा व्यक्त गरेका थिए।

यही पृष्ठभूमिमा भएको गगन–शेखर भेटलाई कांग्रेसभित्र बढ्दो मतभेद समाधान गर्ने प्रयासका रूपमा हेरिएको छ। यद्यपि, भेटबारे दुवै नेताको सचिवालयले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।

‘नेपो बेबी मुर्दावाद’ भन्दै शिक्षामन्त्री पोखरेलविरुद्द प्रदर्शन गर्ने ५ जना पक्राउ

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस कार्यक्रममा शिक्षामन्त्री पोखरेल सहभागी हुन लागेका बेला कार्यक्रमस्थल बाहिर केही युवाले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले ‘नेपो बेबी मुर्दावाद’ लगायतका नाराबाजी गर्दै शिक्षामन्त्रीको विरोध गरेका थिए।

प्रदर्शनका क्रममा सुरक्षामा खटिएको प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूको परिचय भने सार्वजनिक गरिएको छैन।

प्रदर्शनका कारण केहीबेर कार्यक्रमस्थल बाहिर तनावको अवस्था सिर्जना भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि कार्यक्रम पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन भएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रदर्शनको कारण र प्रदर्शनकारीको मागबारे विस्तृत विवरण आउन बाँकी छ।