`

भारतमा मेटाको भयङ्कर लगानी : अम्बानीको रिलायन्ससँग एआई डेटा सेन्टर सम्झौता

एजेन्सी । मेटा प्लेटफर्म्सले भारतमा ठूलो प्रविधि पूर्वाधार विस्तार गर्दै अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजसँग १६८ मेगावाट क्षमताको एआई–सक्षम डेटा सेन्टर भाडामा लिने सम्झौता गरेको छ।

रिलायन्स इन्डस्ट्रिजले मेटाका लागि उक्त डेटा सेन्टर निर्माण गर्नेछ र करिब दुई वर्षभित्र सञ्चालनमा ल्याउने योजना छ। आवश्यक परे भविष्यमा यसको क्षमता विस्तार गर्न सकिने विकल्प पनि सम्झौतामा समावेश गरिएको छ।

मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले जामनगरमा निर्माण हुने यो केन्द्रले भारतको डिजिटल अर्थतन्त्रमा दीर्घकालीन लगानीलाई अझ सुदृढ बनाउने बताएका छन्। उनका अनुसार यसले विश्वव्यापी एआई पूर्वाधार विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

मेटा र रिलायन्सबीचको सहकार्य सन् २०२० देखि सुरु भएको हो, जब मेटाले रिलायन्सको डिजिटल तथा टेलिकम कम्पनी जियो प्लेटफर्म्समा ५.७ अर्ब अमेरिकी डलर लगानी गरेको थियो। त्यसपछि दुवै कम्पनीले एआई प्रविधि र डिजिटल सेवामा सहकार्य विस्तार गर्दै आएका छन्।

पछिल्लो सम्झौताअन्तर्गत रिलायन्सले मेटाका लागि भारतमा अत्याधुनिक पूर्वाधार विकास गर्नेछ भने मेटाले आफ्ना एआई सेवा विस्तारलाई तीव्रता दिनेछ। भारतका उद्योग र विकासकर्ताका लागि मेटाका ओपन–सोर्स एआई मोडलहरू उपलब्ध गराउने पहल पनि यसै सहकार्यअन्तर्गत अघि बढाइएको छ।

रिलायन्सका अध्यक्ष मुकेश अम्बानीले यो लगानीलाई भारतको डिजिटल पूर्वाधार विकासमा ‘परिवर्तनकारी क्षण’ भएको बताएका छन्।

विश्वका ठूला प्रविधि कम्पनीहरू हाल भारतमा डेटा सेन्टर निर्माणतर्फ आकर्षित भइरहेका छन्। लागत कम हुनु र बजार विस्तारको सम्भावनाका कारण भारतलाई एआई र क्लाउड कम्प्युटिङको नयाँ केन्द्रका रूपमा हेरिएको छ।

यसैबीच, भारत सरकारले डेटा सेन्टरमा लगानी गर्ने कम्पनीहरूका लागि २० वर्षे कर छुट घोषणा गरेको छ, जसले विदेशी प्रविधि कम्पनीहरूको लगानीलाई थप आकर्षित गरेको छ।

मेटाले आफ्नो डेटा सेन्टर सञ्चालनलाई स्वच्छ ऊर्जामा आधारित बनाउने नीति अन्तर्गत क्लिन म्याक्स र फोर्थ पार्टनर इनर्जीसँग करिब १ गिगावाट नवीकरणीय ऊर्जा आपूर्तिका लागि पनि साझेदारी गरिरहेको छ।

कम्पनीले यी सबै लगानीहरूलाई आफ्नो विश्वव्यापी लक्ष्यअनुसार शतप्रतिशत नवीकरणीय ऊर्जा प्रयोग गर्ने रणनीतिसँग जोडिएको बताएको छ।

पूर्वसांसद छिरिङ ल्हमुले यस्तो भन्दै…त्यागिन् नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा पूर्वसांसद छिरिङ ल्हमुले पार्टीका सबै जिम्मेवारी परित्याग गर्दै स्वतन्त्र रहने घोषणा गरेकी छन्।

अघिल्लो प्रतिनिधिसभामा माओवादीबाट समानुपातिक सांसद रहेकी ल्हमुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीभित्रकै केही नेताको व्यवहारका कारण आफू यस्तो निर्णय लिन बाध्य भएको बताएकी छन्।

वक्तव्यमा उनले संकीर्णता, असहिष्णुता र निषेधको राजनीतिले आफूलाई स्वतन्त्रताको मूल्य अझ गहिरोसँग बुझ्न मद्दत गरेको उल्लेख गरेकी छन्।

‘मलाई यो निर्णय लिन बाध्य बनाउने संकीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ,’ उनले वक्तव्यमा भनेकी छन्।

ल्हमुले आफूविरुद्ध पार्टीभित्रैबाट विभिन्न षड्यन्त्र र दबाब सिर्जना गरिएको आरोप पनि लगाएकी छन्। राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयास भएको तथा आफ्नो आत्मबल कमजोर बनाउन निरन्तर गतिविधि गरिएको उनको दाबी छ।

उनको वक्तव्य जस्ताको त्यस्तै:

आफू बाहेक अरू कसैको अस्तित्व, क्षमता र योगदानलाई स्वीकार गर्न नसक्ने मानसिकताका कारण मैले आफ्नो कार्यकालभरि असंख्य पीडा, अपमान, निषेध र षड्यन्त्रहरू सहनुपर्‍यो। हरेक पाइलामा रोक्ने, हरेक प्रयासमा अवरोध खडा गर्ने र अरूलाई अगाडि बढेको देख्न नसक्ने अपराधी मानसिकतासँग अब सँगै यात्रा गर्न सम्भव छैन।

जहाँ युवाको विचारलाई निषेध गरिन्छ, नयाँ पुस्ताको आवाजलाई दबाइन्छ, सामान्य मानवीय व्यवहारसमेत गरिँदैन, त्यस्तो वातावरणबाट म आज मुक्त हुन चाहन्छु। मैले कुन हदसम्मको पीडा भोगेको छु भन्ने कुरा मलाई मात्र थाहा छ। ती पीडाहरू यति गहिरा छन् कि आज पनि शब्दहरूले पूर्ण रूपमा बयान गर्न सकिरहेका छैनन्।

मेरो विरुद्ध चौतर्फी षड्यन्त्रका जालो बुन्ने, मेरो आत्मबल कमजोर पार्ने, मलाई राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भए। तर भाग्यवश मेरो आत्मविश्वास र संघर्षशीलताले ती सबै षड्यन्त्रहरूको सामना गर्‍यो। अन्यथा मलाई समाप्त गर्न कुनै कसर बाँकी राखिएको थिएन।

मलाई थाहा छ, यो निर्णयपछि कतिपयले अवसरवादी भन्नेछन्, आलोचना गर्नेछन् र अनेक आरोप लगाउनेछन्। तर अवसरवादीको आरोप लगाउनुभन्दा पहिले कृपया मेरो पार्टीभित्रको पृष्ठभूमि, संघर्ष र यात्रालाई एकपटक अध्ययन गर्नुहोला। मैले आजसम्म पाएको कुनै पनि जिम्मेवारी मागेर, दाबी गरेर वा दबाब दिएर पाएको होइन। समयले मेरो काँधमा जिम्मेवारी राखिदिएको थियो, र मैले त्यसलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास मात्र गरेको हुँ। त्यसैले सबैलाई एउटै तराजुमा जोख्ने प्रयास कसैले नगरोस् भन्ने विनम्र आग्रह गर्दछु।

म सही छु कि गलत, त्यसको अन्तिम फैसला समयले गर्नेछ। समयभन्दा ठूलो न्यायाधीश कोही हुँदैन। मैले गरेको संघर्ष, योगदान र समर्पणको मूल्याङ्कन पनि समयले अवश्य गर्नेछ भन्ने विश्वास राखेको छु।

पार्टीका इमानदार नेता, कार्यकर्ता, शुभेच्छुक तथा मेरो यात्रामा निरन्तर साथ, विश्वास र हौसला दिने सम्पूर्ण साथीहरूप्रति म हृदयदेखि नै आभारी छु। तपाईंहरूले दिएको साथ, विश्वास, अवसर र मायालाई म जीवनभर बिर्सने छैन। त्यसका लागि म सधैँ ऋणी रहनेछु।

तर एउटा पीडित र पीडा दिने मानसिकता एउटै छानामुनि बसेर लामो समयसम्म सहयात्रा गर्न सक्दैन। केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि आजको यो निर्णय मेरो रहर होइन, बाध्यता बनेको हो। इमानदारीको जगमा उभिएको मेरो अस्तित्व अपराधी मानसिकतासँग सम्झौता गरेर बाँच्न सक्दैन।

समाज बदल्ने र देश बदल्ने सङ्कल्प बोकेर धेरै कुरा त्याग गरेर हिँडेको म, जब त्यही सपना र उद्देश्य पूरा गर्ने बाटोमा निषेध, अवरोध र अपमान खडा गरिन्छ, तब त्यस्ता मानसिकतासँग सम्झौता गरेर बस्नुभन्दा तिनीहरूलाई छोडेर अगाडि बढ्नु नै उचित हुन्छ।

म काम गर्ने मान्छे हुँ। मलाई सधैँ अपमान र अमानवीय व्यवहार होइन, आत्मसम्मान र मेरो अस्तित्वको सम्मान चाहिन्छ। जहाँ विचार, योगदान र संघर्षको कदर हुँदैन, त्यहाँ बसिरहनुभन्दा आफ्नो बाटो रोज्नु नै सही निर्णय हो।

अझै धेरै लामो यात्रा गर्न बाँकी छ। अझै धेरै संघर्षहरू गर्न बाँकी छन्। तर ती संघर्षहरू म स्वतन्त्र भएर, आत्मसम्मानका साथ र सहज रूपमा गर्न चाहन्छु; हरेक दिन षड्यन्त्रको सिकार भएर होइन।

त्यसैले आजकै मितिदेखि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भई स्वतन्त्र रहने निर्णय गरेको घोषणा गर्दछु। मलाई यो निर्णय लिन बाध्य बनाउने सङ्कीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ।

कर्णाली प्रदेश पार्टी, केन्द्रीय पार्टी तथा सम्पूर्ण साथीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँसम्म आइपुग्न मैले पाएको अवसर, विश्वास र जिम्मेवारीलाई म सधैँ सम्मानका साथ स्मरण गर्नेछु।

अन्त्यमा, मेरो व्यवहार, बोली वा कार्यशैलीबाट कसैको मन दुखेको भए क्षमाप्रार्थी छु। मेरा कुनै कमजोरी वा त्रुटि भएका भए त्यसका लागि माफी चाहन्छु। माफ गर्नुहोला, अब म आफ्नो आत्मसम्मान, विवेक र स्वतन्त्र चेतनामाथि निरन्तर प्रहार गर्ने मानसिकतासँग सहयात्रा गर्न सक्दिनँ। आजदेखि म स्वतन्त्र छु। आफ्नो विचार, आफ्नो आत्मसम्मान र स्वतन्त्रताको साससँग।

बालेनले माफी माग्नुपर्छ, सभामुखको भूमिका विवादित : परशुराम तामाङ(भिडियो)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य परशुराम तामाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिप्रति संसद्मा आएर माफी माग्नुपर्ने बताएका छन्।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको कूटनीतिक अडान कमजोर बनाएको तथा नेपाल–भारत सीमा विवादलाई थप जटिल बनाउने जोखिम सिर्जना गरेको दाबी गरेका छन्।

नेपालवान एचडीसँगको अन्तर्वार्तामा तामाङले प्रधानमन्त्रीको भनाइलाई आधार बनाएर भारतले समेत नेपालसँग भूमि फिर्ता माग्न सक्ने तर्क गरे।

‘यदि प्रधानमन्त्रीको भनाइलाई आधार मानेर भारतले तिमीहरूले हाम्रो भूमि मिचेका छौ, हामीलाई फिर्ता गर भन्यो भने त्यसको अर्थ के हुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘यदि त्यसो होइन भने संसद्को रेकर्ड हेर्नू भन्यो भने त्यो अझ ठूलो प्रमाण बन्न सक्छ।’

उनले प्रधानमन्त्रीले बोलेको कुरा व्यक्तिगत नभई राज्यको आधिकारिक धारणा सरह हुने भएकाले गल्ती भएको भए स्वीकार गर्नुपर्ने बताए।

संसद्को अभिलेखबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने र देशवासीसँग माफी माग्नुपर्ने उनको भनाइ छ। ‘गल्ती स्वीकार गर्दा मानिस सानो हुँदैन, बरु महान् हुन्छ,’ उनले भने।

तामाङले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएका छन्। सभामुखले प्रतिनिधिसभा नियमावली निर्माणदेखि सदन सञ्चालनसम्म निष्पक्ष र अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको उनको आरोप छ।

नियमावली सर्वसम्मत रूपमा पारित गराउन पहल नगरेको, नियमावलीका प्रावधानबारे गलत व्याख्या गरेको तथा केही विधेयक पारित गराउँदा प्रक्रियागत कमजोरी देखाएको उनले बताए।

उनले सम्पत्ति शुद्धीकरण र फौजदारी कसुरमा मुद्दा लागेका बहालवाला सांसदलाई निलम्बन नगर्ने व्यवस्था संविधानको मर्मविपरीत रहेको दाबी गरे।

प्रतिनिधिसभा नियमावलीमा ‘काइते भाषा’ प्रयोग गरेर सांसदलाई विशेष सुविधा दिने प्रयास भएको भन्दै उनले त्यसलाई संशोधन गर्नुपर्ने बताए। सांसदलाई कानुनभन्दा माथि राख्ने कुनै पनि व्यवस्था स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।

सम्पत्ति छानबिन आयोगको कार्यादेशमाथि पनि तामाङले असन्तुष्टि जनाए।

पूर्व तथा वर्तमान राष्ट्रपति-उपराष्ट्रपति, नेपाली सेना, प्रधानमन्त्री बालेन र उनका मन्त्रिपरिषद्का सदस्य तथा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारलाई छानबिनको दायराबाहिर राखिएको भन्दै उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाए।

‘राजनीतिमा लाभ लिएका सबै व्यक्ति छानबिनको दायरामा आउनुपर्छ,’ उनले भने, ‘दोषी भए कारबाही हुनुपर्छ, निर्दोष भए सफाइ पाउनुपर्छ।’

पुराना दलका नेताहरूलाई देख्नासाथ भ्रष्टाचारीको आरोप लगाउने प्रवृत्ति बढेको भन्दै उनले प्रमाणका आधारमा मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए।

अन्तर्वार्ताका क्रममा तामाङले नेकपाको जनमत खस्किनुका कारणबारे पनि आत्मसमीक्षा गरे।

जनयुद्धका बेला जनता र देशलाई रूपान्तरण गर्ने आशा जगाउन सफल भए पनि शान्ति प्रक्रियापछि सत्ता सञ्चालनमा अपेक्षाअनुसार परिणाम दिन नसक्दा जनताको विश्वास कमजोर बनेको उनले बताए।

 

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको राप्रपा नेता शाहीको आरोप [भिडियो]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा झुटो बयान दिएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भन्सार तथा कर छलीसम्बन्धी विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गलत जानकारी दिएको दाबी गरे।

शाहीका अनुसार करका दर हेरफेर र भन्सार प्रक्रियासम्बन्धी विषयमा उठेका प्रश्नहरूको जवाफमा अर्थमन्त्रीको भनाइ तथ्यसँग मेल नखाने खालको छ।

‘भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीलेसम्म संसदीय समितिमा गएर झुट बोल्नुभएको छ। हामीले संसदीय छानबिन माग गरेको रहरका लागि होइन,’ उनले संसद्मा भने।

उनले कर दर हेरफेर प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन अनिवार्य रहेको मागसमेत दोहोर्‍याए।

भिडियो:

 

परमा एकादशीमा बुढानीलकण्ठ मन्दिरमा भक्तजनको घुइँचो [फोटो-फिचर]

काठमाडौं। परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। भगवान् विष्णुको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहान सबेरैदेखि मन्दिर पुगिरहेका छन्।
मन्दिर परिसरमा भक्तजनहरूको उल्लेखनीय भीड देखिएको छ। दर्शनका लागि लामो लाइन लागेकाले श्रद्धालुहरूले आफ्नो पालो कुरिरहेका छन्। मन्दिरमा विशेष आरती, भजन तथा कीर्तन कार्यक्रम सञ्चालन भइरहेको छ, जसले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको छ।
परमा एकादशी हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्वको दिन मानिन्छ। यस अवसरमा भक्तजनहरू व्रत बस्ने, पूजा गर्ने तथा भगवान् विष्णुको आराधना गर्ने परम्पराअनुसार मन्दिरमा पुगिरहेका छन्। यही कारणले बुढानीलकण्ठ मन्दिरमा आज हजारौं भक्तजनहरूको उपस्थिति देखिएको छ।
यो एकादशी पुरुषोत्तम महिना (अधिक मास) को अन्तिम एकादशी हो। हिन्दु पञ्चाङ्गअनुसार हरेक तीन वर्षमा एक पटक आउने पुरुषोत्तम महिनालाई भगवान् विष्णुको सर्वोत्तम स्वरूप ‘पुरुषोत्तम’को नामबाट चिनिन्छ। यो महिना व्रत, दान, स्नान, पाठपूजा तथा भगवान् विष्णुको आराधनाका लागि अत्यन्त शुभ र फलदायी मानिने धार्मिक विश्वास छ। यस अवधिमा गरिने पुण्य कार्य साधारण महिनाको तुलनामा धेरै गुणा फलदायी हुने विश्वास गरिन्छ।
पुरुषोत्तम महिनाको अन्तिम एकादशीका अवसरमा बुढानीलकण्ठसहित देशभरका विष्णु मन्दिरहरूमा भक्तजनहरूको विशेष भीड लागेको छ। यस वर्षको अन्तिम एकादशी भएकाले श्रद्धालुहरूमा थप उत्साह, श्रद्धा र भक्तिभाव देखिएको छ। धार्मिक आस्था र विश्वासका साथ भक्तजनहरू भगवान् विष्णुको दर्शन, पूजाआजा तथा व्रतमा सहभागी भइरहेका छन्।
तस्वीरहरू:

बीवाईडी आयात : संसदीय छानबिन समिति गठन गर्न सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विद्युतीय सवारीसाधन (इभी) आयातसँग सम्बन्धित विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले इभी आयात प्रक्रियामा विभिन्न शङ्का उत्पन्न भएकाले संसदीय छानबिन आवश्यक रहेको बताएका हुन्।

उनले छानबिन समिति गठनको माग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई वास्तविकता स्पष्ट पार्नका लागि गरिएको जिकिर गरे।

शाहीका अनुसार जेठ १ गतेदेखि १४ गतेसम्म करिब ३ हजार सवारीसाधन आयात भएको तथ्यांक सार्वजनिक भएको छ। साथै जेठ १४ गते करसम्बन्धी निर्णय पारित भएपछि जेठ २१ गते नै सवारीसाधन भन्सार नाकाबाट भित्रिनुले थप शङ्का उत्पन्न गरेको उनको भनाइ छ।

‘१४ गते कर पास भएर २१ गते नाकाबाट गाडी भित्रनुलाई करका दर हेरफेर नभनेर के भन्ने ?’ शाहीले संसदमा प्रश्न गरे।

‘प्रधानमन्त्री बालेनले आफ्नो बोली सच्याउनुपर्छ’ : हर्क साम्पाङ

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सदनमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय मागेर बोल्दै उनले सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ। प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो बोली सच्याउनुपर्छ,’ उनले भने।

प्रतिनिधिसभा नियमावलीको बेवास्ता गरिएको भन्दै उनले नियमहरूको परिपालना गर्न पनि आग्रह गरेका छन्।

२० पटक मन्त्रिपरिषद् हेरफेर, ५० मन्त्री बने

काठमाडौं । प्रदेश सरकारहरूमा मन्त्री बन्ने होड र केन्द्रको सत्ता समीकरणअनुसार हुने राजनीतिक फेरबदलका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकार अस्थिर बन्दै गएको देखिएको छ।

लुम्बिनी प्रदेशमा पछिल्लो साढे तीन वर्षको अवधिमा चार मुख्यमन्त्रीसहित ५० जना मन्त्री बनिसकेका छन्। ८७ सदस्यीय प्रदेश सभामध्ये ३६ सांसदले मन्त्री बन्ने अवसर पाएका छन् भने केही सांसद चार–चार पटकसम्म मन्त्री पदमा दोहोरिएका छन्।

प्रदेशमा २०७९ यता चार पटक सरकार परिवर्तन भएको छ। यस अवधिमा एमालेका लीला गिरी, कांग्रेसका डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रका जोखबहादुर महरा र हाल एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन्।

हालै एमाले र जनता समाजवादी पार्टी (जसपा) का पाँच मन्त्री फेरबदल गरिएका छन्। बजेट पारित भएपछि कांग्रेसका मन्त्रीहरू समेत परिवर्तन गर्ने तयारी भइरहेको स्रोतहरू बताउँछन्।

यता सुदूरपश्चिम प्रदेशमा पनि राजनीतिक अस्थिरताको अवस्था उस्तै देखिएको छ। साढे तीन वर्षको अवधिमा चारवटा सरकार गठन भएका छन् भने २० पटक मन्त्रिपरिषद् गठन तथा पुनर्गठन गरिएको छ।

५३ सदस्यीय प्रदेश सभामध्ये ३६ सांसद मन्त्री बनिसकेका छन्। सरकार परिवर्तन र मन्त्री हेरफेरको श्रृंखला निरन्तर चलिरहँदा प्रदेश सरकारको कार्यसम्पादन र स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ।

विश्वकप २०२६ : कुन-कुन कलाकारले दिँदैछन् प्रस्तुति ?

काठमाडौं। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ बिहिवारबाट औपचारिक रूपमा सुरु हुँदैछ। 

इतिहासमै पहिलो पटक यो प्रतियोगिता तीन देश संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् भने उद्घाटन समारोह पनि तीनै देशमा छुट्टाछुट्टै भव्य सांगीतिक कार्यक्रमसहित हुने भएको हो ।

फिफाका अनुसार यसपटकको विश्वकपलाई केवल खेलकुद प्रतियोगिता मात्र नभई विश्वव्यापी सांस्कृतिक महोत्सवका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। त्यसअनुसार उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय पप स्टारदेखि क्षेत्रीय तथा स्थानीय संगीत क्षेत्रका चर्चित कलाकारहरूको विशाल सहभागिता रहनेछ।

प्रतियोगिताको पहिलो उद्घाटन खेल जुन २८ गते मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालामा हुनेछ। यही अवसरमा मेक्सिकोमा विशेष उद्घाटन समारोह आयोजना गरिँदैछ, जसलाई ल्याटिन अमेरिकी संस्कृति, संगीत र पहिचानको उत्सवका रूपमा प्रस्तुत गरिनेछ।

मेक्सिकोको कार्यक्रममा देशकै सुपरस्टार अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, जे बाल्भिन, ड्यानी ओसियन, प्रख्यात ब्यान्ड मना, लस एन्जलस अजुलसका साथै लिला डाउन्स र टाएला लगायत कलाकारले प्रस्तुति दिनेछन्। उनीहरूको प्रस्तुति परम्परागत र आधुनिक संगीतको मिश्रणमा आधारित हुने बताइएको छ।

संयुक्त राज्य अमेरिकामा हुने पहिलो खेलअघि हुने विशेष उद्घाटन शोलाई विश्वस्तरीय मनोरञ्जन कार्यक्रमका रूपमा प्रस्तुत गरिनेछ। यहाँ ग्लोबल पप संगीतका चर्चित अनुहारहरूको सहभागिता रहनेछ।

यस कार्यक्रममा केटी पेरी, ब्राजिलकी सुपरस्टार अनिता, कोलम्बियाली फुएर्जा रेजिडा, के-पप समूह ब्ल्याकपिङ्ककी लिसा, नाइजेरियाली अफ्रोबिट्स स्टार रिमा तथा गायिका टायला लगायत कलाकारहरूले प्रस्तुति दिनेछन्। कार्यक्रमलाई आधुनिक पप संस्कृति र विश्व संगीतको संगमका रूपमा हेरिएको छ।

त्यस्तै क्यानडामा हुने खेलअघि हुने उद्घाटन समारोह पनि अत्यन्त भव्य हुने अपेक्षा गरिएको छ। यहाँ क्यानडाका प्रतिष्ठित कलाकारहरूका साथै अन्तर्राष्ट्रिय संगीत क्षेत्रका विभिन्न शैलीका कलाकारहरूको प्रस्तुति रहनेछ।

क्यानडाको कार्यक्रममा रक लिजेन्ड अलानिस मोरिसेट, ज्याज तथा पप गायक माइकल बबल, पप गायिका एलिसिया कारा, आर एन्ड बी स्टार जेसी रेयेज तथा बलिउडकी चर्चित कलाकार नोरा फतेहीसहित सन्जोए, भेगेड्रिम, एलिएना र विलियम प्रिन्स लगायत कलाकारहरू सहभागी हुनेछन्।

फिफाले यसपटकको विश्वकपलाई इतिहासकै सबैभन्दा ठूलो र बहुआयामिक संस्करण बनाउने लक्ष्य राखेको छ। तीन देशमा हुने उद्घाटन समारोह, विविध सांगीतिक शैली र विश्व चर्चित कलाकारहरूको सहभागिताले प्रतियोगितालाई केवल खेलकुदको सीमाभन्दा बाहिर लैजाने अपेक्षा गरिएको छ।

विश्व फुटबलको यो महाकुम्भले खेल, संस्कृति र मनोरञ्जनलाई एउटै मञ्चमा ल्याएर दर्शकलाई नयाँ अनुभव दिने फिफाको दाबी छ।

रातारात आर्थिक विधेयकका १६ पृष्ठ गायब : अर्थमन्त्रीको नियत वा प्राविधिक त्रुटि ?

काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक भएयता करका दर हेरफेर, आर्थिक विधेयकमा संशोधन तथा सूचना चुहावटसम्बन्धी विषयले राजनीतिक वृत्तमा व्यापक बहस सिर्जना गरेको छ।

संसद्‍मा दर्ता भइसकेको आर्थिक विधेयकका रातारात  १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक सार्वजनिक गर्यो ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए । उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ रहेकोमा अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८  राखेको छ ।

अर्थमन्त्रालयले १६ पेज हटाएर विधेयक सार्वजनिक गर्यो ।

संसद्मा पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन  रहेको छ ।

अर्थमन्त्री वाग्लेलाई सुनपानीले चोख्याउँदै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले आर्थिक विधेयकमा कुनै चलखेल नभएको दाबी गरे ।

यता विपक्षी दलहरूले बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै संसदीय छानबिनको माग गरिरहेका बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा उपस्थित भएर बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने यी आरोपलाई राजनीतिक रूपमा प्रेरित विवादको संज्ञा दिए ।

उनले आर्थिक विधेयकको वेबसाइटमा राखिएको संस्करणमा पानाको संख्या फरक देखिएको विषयलाई प्राविधिक त्रुटि मात्र भएको दाबी गरे।

उनका अनुसार बजेटका मूल नीतिगत व्यवस्था वा कर संरचनामा कुनै अनधिकृत हस्तक्षेप भएको छैन।

तर विवाद प्राविधिक त्रुटिमा सीमित छैन। करका दर परिवर्तन र आर्थिक विधेयकमा गरिएको संशोधनको समय तथा प्रक्रियालाई लिएर विपक्षी दलहरूले सरकारमाथि गम्भीर प्रश्न उठाइरहेका छन्। यही कारणले संसद्भित्र र बाहिर बहस चर्किएको हो।

यद्यपि अर्थमन्त्री वाग्लेले भने यसलाई नयाँ राजनीतिक शक्तिलाई कमजोर बनाउने योजनाबद्ध प्रयासका रूपमा व्याख्या गरेका छन्।

उनले विवादको केन्द्रमा आफू मात्र नभई प्रधानमन्त्री वालेन्द्र शाहलाई समेत तानिएको दाबी गरे। नयाँ राजनीतिक शक्तिको उदय र त्यसले प्राप्त गरेको जनसमर्थनलाई केही स्थापित राजनीतिक तथा सामाजिक समूहहरूले सहज रूपमा स्वीकार गर्न नसकेको उनको भनाइ छ।

त्यसैले सामान्य प्रशासनिक वा प्राविधिक विषयलाई समेत अतिरञ्जित बनाउँदै राजनीतिक आक्रमणको माध्यम बनाइएको उनको आरोप छ।

अर्थमन्त्रीको अभिव्यक्तिको अर्को महत्वपूर्ण पक्ष सञ्चारमाध्यमप्रतिको असन्तुष्टि थियो। उनले आर्थिक र कानुनी विषयजस्ता जटिल मुद्दामा पर्याप्त अध्ययन तथा तथ्य पुष्टि नगरी समाचार सम्प्रेषण गरिएको आरोप लगाए। यसले जनमानसमा भ्रम सिर्जना गर्नुका साथै बजारमा अनावश्यक अस्थिरता ल्याउन सक्ने उनको तर्क छ।

सञ्चारमाध्यमको भूमिका लोकतान्त्रिक शासन प्रणालीमा अत्यन्त महत्वपूर्ण मानिन्छ। सरकारका निर्णयमाथि निगरानी राख्ने र सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउने जिम्मेवारी सञ्चारमाध्यमकै हो। तर, सरकारकै तर्फाबाट सञ्चारमाध्यमकोको हुर्मत लिने काम भने लोकतान्त्रिक मूल्य मान्यता विपरित मानिन्छ।

अर्कोतर्फ सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा तथ्य पुष्टि, विषयको गहिरो अध्ययन र सन्तुलित प्रस्तुति पनि उत्तिकै आवश्यक हुन्छ।

तर अर्थ मन्त्रालयको वेबसाइटबाट ४ पटकसम्म विधेयक हटाउँदै राखिएको भने घामझैँ  छर्लंग छ। नत्र कुनै स्वार्थ पक्षलाई फाइदा पुग्नेगरी करका डर कसरी फेरबदल भयो ? अर्थमन्त्री वाग्लेले मिडियाको अतिरञ्‍जित खेल भनेर जवाफदेहिताबाट पन्छिन नमिल्ने विज्ञहरूको तर्क छ।

हाल देखिएको विवादले बजेट निर्माण प्रक्रिया, पारदर्शिता र उत्तरदायित्वका विषयमा गम्भीर बहसको आवश्यकता औँल्याएको छ।

सरकारको दाबी र विपक्षीको आरोपबीच सत्य तथ्य के हो भन्ने विषय संसदीय प्रक्रिया र तथ्यगत परीक्षणबाट स्पष्ट हुनुपर्ने देखिन्छ।

यद्यपि हेरफेर भएको हो वा हैन सञ्चारमाध्यममा आएका कुरा सत्य हुन् वा होइनन् भन्ने कुरा त संसदीय छानबिन समिति बनेपछि त्यसले नै बताउँने छ। तर पारदर्शिता र उत्तरदायित्वका विषयमा सरकार अपरिपक्व देखिएको र झुटको खेति गर्न माहिर हुँदै गएको आलोचना व्यापक हुन थालेको छ।

हामी मुर्दा लास वा मुर्दा शान्ति बन्न आएको होइन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रयोग गरेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद समीक्षा बास्कोटाले आङ्देम्बेको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेकी हुन्।

उनले भनिन्, ‘नागरिकको आवाज उठाउने यो सदन सत्ता पक्षको मात्र होइन, प्रतिपक्षको पनि होइन। लोकतन्त्रमा सबैले बोल्न पाउँछन्, तर जिम्मेवार भएर बोल्नुपर्छ।’

बास्कोटाले आफ्नो पार्टी सदनमा जिम्मेवार ढंगले प्रस्तुत भइरहेको दाबी गर्दै रास्वपाले बेथिति अन्त्य गर्न संसद्मा प्रवेश गरेको बताइन्।

‘हामी मुर्दा लास बन्न आएका होइनौँ, मुर्दा शान्ति पनि बन्न आएका होइनौँ,’ उनले भनिन्, ‘३५ वर्षदेखिको बेथितिको बोझ बोकेर नागरिकको आवाज उठाउन आएका हौँ।’

उनले ‘सदनको चीरहरण’ र ‘मुर्दा शान्ति’ जस्ता शब्द प्रयोग आपत्तिजनक रहेको भन्दै ती शब्दहरू रेकर्डबाट हटाइनुपर्ने माग राखिन्।

उनको आपत्तिपछि सभामुखले ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन्।

ज्यान मार्ने र बलात्कारको धम्की आएको खुश्बु ओलीको गुनासोपछि गृहमन्त्रीको कारबाही आश्वासन

काठमाडौं। प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने तथा बलात्कारसम्मको धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुधन गुरुङले आवश्यक अनुसन्धान र कानुनी कारबाही गर्ने आश्वासन दिएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा ओलीले आफ्नो अभिव्यक्तिपछि सामाजिक सञ्जालमार्फत लगातार धम्की आइरहेको भन्दै सभाको ध्यानाकर्षण गराएकी थिइन्। त्यसलगत्तै गृहमन्त्री गुरुङले संसद् भवनमै ओलीलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाइने बताएका हुन्।

संसद्मा बोल्दै ओलीले केही दिनअघि आफूले नेपाललाई सनातन राज्य बनाइनुपर्ने पक्षमा धारणा राखेको स्मरण गराइन्। उक्त अभिव्यक्तिपछि आफूविरुद्ध सुनियोजित रूपमा सामाजिक सञ्जालमा आक्रमण र धम्कीको श्रृंखला सुरु भएको उनको भनाइ थियो।

‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ। धर्मान्तरणको विरुद्ध बोलेकी थिएँ। म कुनै धर्मको विरोधमा छैन,’ उनले भनिन्, ‘मेरो अभिव्यक्तिले कुनै धर्म मान्ने व्यक्तिलाई समस्या पर्नु नपर्ने हो। के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्ने र बलात्कारको धम्कीसमेत सहनुपर्ने हो ?’

ओलीले आफू व्यक्तिगत रूपमा यस्ता धम्कीसँग जुध्न तयार रहे पनि यसलाई केवल व्यक्तिगत आक्रमणका रूपमा नलिन आग्रह गरिन्। ‘यो ममाथिको मात्र प्रहार होइन, सनातन धर्ममाथिको प्रहार हो,’ उनले भनिन्।

सांसद ओलीको गुनासोपछि गृहमन्त्री गुरुङले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै कानुनी प्रक्रियामा जान आग्रह गरेका छन्। प्राप्त उजुरी र प्रमाणका आधारमा आवश्यक अनुसन्धान गरी दोषी पहिचान भएपछि कारबाही गरिने उनको भनाइ रहेको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक व्यक्तिमाथि हुने धम्की, दुर्व्यवहार र घृणात्मक अभिव्यक्तिका घटनाप्रति पछिल्लो समय चासो बढिरहेका बेला संसद्मै यो विषय उठेको हो।

तस्वीरहरू:

 

आङ्देम्बेको लामिछानेमाथि कटाक्ष – ‘दिल्ली पुगेर के गर्नुभयो ?’

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सीमा मुद्दामा मौन बसेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले भारत भ्रमणका क्रममा लामिछानेले नेपाल-भारत सीमा विवाद, कालापानी, लिपुलेकलगायतका संवेदनशील विषय उठाउन नसकेको भन्दै प्रश्न गरे।

‘दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?’ उनले कटाक्ष गर्दै भने।

आङ्देम्बेले लामिछानेले यसअघि ‘सीमाको विषय ढोल बजाएर छलफल गर्ने कुरा होइन’ भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै त्यसप्रति पनि असहमति जनाए।

सीमा समस्याजस्तो राष्ट्रिय सरोकारको विषयलाई गम्भीर कूटनीतिक ढंगले उठाउनुपर्ने भए पनि त्यसलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो।

‘हामीलाई पनि थाहा छ, ढोल बजाएर हुँदैन। यसका आफ्नै मापदण्ड, प्रक्रिया र कूटनीतिक माध्यम हुन्छन्,’ उनले भने, ‘तर राष्ट्रिय हितका विषयमा बोल्नै नहुने भन्ने होइन।’

सीमा विवादको विषयमा सरकार र सत्तापक्षको भूमिकामाथि प्रश्न उठाइरहेका आङ्देम्बेले भारत भ्रमणका क्रममा नेपाली भूमि र सीमा समस्याको विषय प्राथमिकताका साथ उठाइनुपर्ने धारणा राखे।

उनले राष्ट्रिय हितसँग जोडिएका मुद्दामा सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने पनि बताए।

मागेको धोतीले मेरो लाज छोपिन्न : आङ्गदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाभिमान र राष्ट्रियताप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गर्न वरिष्ठ गायक तथा गीतकार गोपाल योञ्जनको चर्चित राष्ट्रवादी गीत उद्धृत गरेका थिए।

आङ्देम्बेले संसदमा भने, ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न। घोटिएर हातपाउ झरि जाऊन् औँला, तर कोही अगाडि यी हात जोडिन्न।’ उनले उक्त गीतमार्फत नेपाली जनताको स्वाभिमान र राष्ट्रिय अस्मिताको भावना झल्किने बताए।

उनले नेपालले भारतको भूमि कहिल्यै नमिचेको दाबी गर्दै विभिन्न ऐतिहासिक तथ्य र प्रमाणहरूले उल्टै भारतले नेपाली भूमि अतिक्रमण गरेको देखाएको बताए। यद्यपि प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आफूहरूले गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो।

आङ्देम्बेले प्रधानमन्त्रीले आफ्नै अभिव्यक्तिमाथि संसदमा प्रश्न उठेपछि उपस्थित भएर जवाफ दिनुपर्नेमा त्यसो नगरेको आरोप लगाए। प्रधानमन्त्रीको अनुपस्थितिका कारण संसद लामो समयसम्म अवरुद्ध हुन पुगेको उल्लेख गर्दै उनले संसदलाई निकास दिन विपक्षी दलहरू नै जिम्मेवार ढंगले अघि बढेको बताए।

यसअघि जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले “भारतले नेपालको मात्र होइन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि विपक्षी दलहरूले संसदमा निरन्तर विरोध जनाउँदै आएका थिए।

प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा सरकारको धारणा प्रस्तुत गरेका थिए। उनले नेपाल–भारत सीमा सम्बन्धी विषयमा सरकारले आफ्नो आधिकारिक अडान स्पष्ट गरिसकेको बताए। विशेषगरी नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवर यात्रा सञ्चालन गरेको विषयमा नेपालले कूटनीतिक नोट पठाइसकेको र भारतबाट त्यसको जवाफ प्राप्त भएको जानकारी दिए।

परराष्ट्रमन्त्री खनालले सीमांकन हुन बाँकी क्षेत्रबाहेक दशगजा क्षेत्रमा अतिक्रमणका समस्या रहेको स्वीकार गर्दै सीमा विवादलाई कूटनीतिक वार्तामार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्रीको अभिव्यक्ति सीमापार अतिक्रमणसँग सम्बन्धित सन्दर्भमा आएको भन्दै उनले त्यसको बचाउसमेत गरे।

उनले नेपाल–भारत सीमा समस्याको समाधानका लागि तेस्रो मुलुकको संलग्नता खोजिएको नभई आवश्यक प्रमाण संकलनका क्रममा अन्य देशहरूसँग संवाद गरिएको सन्दर्भ प्रधानमन्त्रीले उल्लेख गरेको स्पष्ट पारे।

तर परराष्ट्रमन्त्रीको स्पष्टीकरणपछि पनि कांग्रेस नेता आङ्देम्बे सन्तुष्ट देखिएनन्। उनले सरकारले जस्तोसुकै तर्क प्रस्तुत गरे पनि प्रधानमन्त्रीको मूल अभिव्यक्ति राष्ट्रहित अनुकूल नरहेको र त्यसलाई स्वीकार गर्न नसकिने दोहोर्‍याए। आफ्नो भनाइलाई थप स्पष्ट पार्न उनले संसदमा गोपाल योञ्जनको राष्ट्रवादी गीत स्मरण गर्दै राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिने सन्देश दिएका थिए।

‘प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, तर अब सदन त्यसैमा अल्झिनु हुँदैन’ : कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा दिएको ‘नेपालले भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

यद्यपि, उक्त विषयलाई लिएर संसद लामो समयसम्म रुमल्लिन नहुने स्पष्ट धारणा कांग्रेसले राखेको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका एक नेताले प्रधानमन्त्रीलाई सदनको आवश्यकता नपरे पनि प्रतिपक्षका लागि संसद अत्यन्त महत्वपूर्ण रहेको बताए।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति विवादास्पद र आपत्तिजनक रहेको दोहोर्‍याउँदै भविष्यमा यस्ता अभिव्यक्ति नआउन् भन्ने अपेक्षा व्यक्त गरे।

‘प्रधानमन्त्रीलाई सदन नचाहिएला, तर हामीलाई चाहिन्छ। कुनै दिन छापामार शैलीमा आउनुहोला, फेरि केही बोल्नुहोला भन्ने चिन्ता छ,’ उनले भने, ‘तर अब प्रधानमन्त्रीले बोलेको विषयमै सदनलाई अल्झाइराख्नु हुँदैन भन्ने जिम्मेवारी पनि हामीले महसुस गरेका छौँ।’

कांग्रेसले प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइप्रति असहमति जनाए पनि संसदलाई जनसरोकारका अन्य महत्वपूर्ण विषयतर्फ केन्द्रित गर्नुपर्ने धारणा अघि सारेको छ।

बालेनको बचाउ गर्दै खनालले भने – ‘उहाँले ‘क्रसबोर्डर अकुपेन्सी’को प्रसङ्गमा भन्नु भएको हो’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्टिकरण दिएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल-भारत सीमाको विषय दुई देशबीचको विषय भएकाले त्यसको समाधान पनि द्विपक्षीय संवादबाटै खोजिने बताएका हुन्।

परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीले उल्लेख गरेको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति सीमावर्ती क्षेत्रमा देखिएको ‘क्रसबोर्डर अकुपेन्सी’ अर्थात् सीमा क्षेत्रमा बसोबास र उपयोगसँग सम्बन्धित प्रसङ्गमा आएको दाबी गरे।

उनले प्रधानमन्त्रीले सीमाबारे बोल्ने क्रममा बेलायतको नाम लिएको विषय ऐतिहासिक दस्तावेज र अभिलेखसँग जोडिएको सन्दर्भमा आएको उल्लेख गरे।

त्यसलाई कुनै तेस्रो मुलुकको हस्तक्षेप वा मध्यस्थताको प्रस्तावका रूपमा बुझ्न नहुने उनको भनाइ थियो।

मन्त्री खनालले नेपालले भारतसँगको सीमा विवाद समाधानका लागि कुनै तेस्रो देशको मध्यस्थता नखोजेको स्पष्ट पार्दै सीमाका विषयहरू आपसी वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्ने नेपालको स्थापित नीति रहेको बताए।

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे सदनलाई जानकारी गराए

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भ्रमणका उपलब्धि, द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा सदनलाई अवगत गराएका हुन्।

तर मन्त्री खनालले सम्बोधन गरिरहँदा विपक्षी दल श्रम संस्कृति पार्टीले भने बैठकमा विरोध जारी राखेको छ। पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्ति प्रधानमन्त्री स्वयंले सच्याउनुपर्ने अडान दोहोर्‍याएको छ।

श्रम संस्कृति पार्टीका सांसदहरूको भनाइमा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएको विषय गम्भीर भएकाले त्यसबारे स्पष्टिकरण र सच्याउने जिम्मेवारी प्रधानमन्त्रीकै हुनुपर्छ। सोही माग पूरा नभएसम्म सदनमा विरोध जारी रहने संकेत उनीहरूले दिएका छन्।

यसबीच परराष्ट्रमन्त्री खनालले भने भारत भ्रमणका क्रममा भएका भेटवार्ता, सहकार्यका क्षेत्र र नेपाल–भारत सम्बन्धका विविध पक्षबारे संसदलाई जानकारी गराएका थिए।

परराष्ट्रमन्त्रीको सम्बोधनप्रति विरोध, हर्कले खोजे बालेन कै जवाफ

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभा बैठकमा आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएका छन्। तर उनको सम्बोधनका क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) सहित केही सांसदले विरोध जनाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री खनालले सम्बोधन गरिरहँदा साम्पाङसहितका सांसदहरू आफ्नो आसनबाट उठेर विरोधमा उत्रिएका थिए। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने अडान दोहोर्‍याएका छन्।

बैठक सुरु हुनासाथ साम्पाङले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो भनाइबारे स्पष्टीकरण दिनुपर्ने माग गरेका थिए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ वा व्याख्या अन्य मन्त्रीमार्फत गरिनु स्वीकार्य नहुने बताएका छन्।

विरोधका बीच परराष्ट्रमन्त्री खनालले भने आफ्नो भारत भ्रमणका उपलब्धि र द्विपक्षीय सम्बन्धका विषयमा सदनलाई जानकारी गराएका थिए।

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदनमा प्रश्न उठाइरहेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले संसदमा स्पष्टिकरण दिने

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा स्पष्टिकरण दिने भएका छन्। उक्त विषयमा सरकारको धारणा सुन्न विपक्षी दलहरू सहमत भएपछि सदनको गतिरोध अन्त्य हुने सम्भावना बढेको छ।

प्रधानमन्त्री शाहले केही दिनअघि प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको केही भूमि मिचेको आशयको अभिव्यक्ति दिएका थिए। उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले लगातार संसद अवरोध गर्दै आएका थिए।

सुरुआतमा विपक्षी दलहरूले प्रधानमन्त्रीको लिखित वक्तव्य मात्र परराष्ट्रमन्त्रीमार्फत सदनमा प्रस्तुत गरिनुपर्ने अडान लिएका थिए। तर पछिल्लो राजनीतिक छलफलपछि प्रधानमन्त्रीको भनाइबारे परराष्ट्रमन्त्री स्वयंले संसदमा स्पष्टीकरण दिन सक्ने विकल्पमा दलहरू सकारात्मक बनेका छन्।

यस प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महत्वपूर्ण भूमिका खेलेका छन्। उनले प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्रीले सदनमा जवाफ दिने प्रस्ताव अघि सारेका थिए। सोही प्रस्तावका आधारमा विपक्षी दलहरू सरकारको धारणा सुन्न तयार भएको बताइएको छ।

यद्यपि सबै दलहरू भने एउटै मतमा पुगेका छैनन्। श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले उठाएको विषयमा प्रधानमन्त्री स्वयंले नै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान कायम राखेको छ। पार्टीले संवेदनशील राष्ट्रिय विषयमा मन्त्रीमार्फत होइन, प्रधानमन्त्रीबाटै प्रत्यक्ष स्पष्टीकरण आउनुपर्ने धारणा राखेको छ।

विपक्षी दलहरू सरकारको तर्फबाट आउने स्पष्टिकरणको पर्खाइमा रहेका छन्। परराष्ट्रमन्त्रीको जवाफपछि संसदको अवरोध हट्ने वा नहट्ने विषय भने विपक्षी दलहरूको थप निर्णयमा निर्भर रहनेछ।

‘बालेनको अभिव्यक्ति बालेन आफैंले सच्याउनुपर्छ’ – हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले दिएको अभिव्यक्ति आफैंले सच्याउनुपर्ने बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको तर्फबाट धारणा प्रस्तुत गर्ने विषयमा आफूहरूको सहमति नरहेको स्पष्ट पारे।

‘त्यसमा सहमति छैन। हामीले जुन निर्णयप्रति विरोध जनाएका छौं, त्यसलाई यथावत् स्वीकार गर्न सकिँदैन,’ उनले भने। उनका अनुसार प्रधानमन्त्रीको पदलाई अझ जिम्मेवार र संवेदनशील बनाउनुपर्ने आवश्यकता छ।

हर्क साम्पाङले प्रधानमन्त्री अनुपस्थित रहेको अवस्थामा लिखित रूपमा पठाइएको धारणा परराष्ट्रमन्त्रीले पढ्न सक्ने भए पनि विवादास्पद अभिव्यक्ति अरूबाट सच्याउने अभ्यास स्वीकार्य नहुने बताए।

उनले संविधानअनुसार राज्यका सबै निकायले काम गर्नुपर्नेमा जोड दिँदै संसदीय मर्यादा कायम राख्नुपर्ने धारणा राखे।

प्रतिनिधिसभा बैठक सुरू, विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन्।

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरेलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै सदन अवरुद्ध गरेका छन्।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त भनाइ कूटनीतिक दृष्टिले संवेदनशील भएको भन्दै स्पष्टिकरणको माग गरेका छन्।

ब्रेक फेल भएर ट्याक्टर खोलामा: चालकको घटनास्थलमै मृत्यु

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ को सिमानास्थित सेतीढुंगा खहरे खोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बुधबार कात्तिकेबाट ढुंगा लोड गरी वडा नं. १ को कार्यालयतर्फ जाँदै गरेको म.प्र.०१–००१ त २८४० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार उकालो र भिरालो कच्ची सडकमा ट्याक्टर फस्ने क्रममा निकाल्ने प्रयास गर्दा ब्रेक फेल भई सवारी अनियन्त्रित बनेको थियो। त्यसपछि ट्याक्टर करिब ५० मिटर तल खोलामा खसेको हो।

दुर्घटनामा चालक ३२ वर्षीय हिमाल राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सहचालक प्रदीप राई सकुशल रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पत्रकार महासंघ किन उत्रियो सडकमा ? [तस्वीरहरू]

काठमाडौं। सूचना र विज्ञापनसम्बन्धी विभेदकारी तथा स्वेच्छाचारी सरकारी निर्णय खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले बुधबार प्रदर्शन गरेको छ।

महासंघले प्रेस स्वतन्त्रता तथा संवैधानिक हकको संरक्षण सुनिश्चित गर्नुपर्ने, साथै सूचना प्रवाहमा देखिएको अवरोध अन्त्य गर्नुपर्ने मागसहित सडक विभाग अगाडि धर्ना कार्यक्रम आयोजना गरेको हो।

धर्नामा सहभागी पत्रकारहरूले वर्तमान नीतिहरूले सञ्चार क्षेत्रलाई विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै यस्ता निर्णय तत्काल सच्याउन सरकारसँग आग्रह गरेका छन्।

त्यस्तै, संसदमार्फत सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल गर्नुपर्ने र नागरिकको निर्वाध सूचना उपभोगको अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि उनीहरूले उठाएका छन्।

महासंघका प्रतिनिधिहरूका अनुसार सरकारले सूचना र विज्ञापन नीतिमा गरेको पछिल्लो व्यवस्था प्रेस स्वतन्त्रतामाथि असर पार्ने भएकाले यसविरुद्ध आन्दोलनलाई निरन्तरता दिइनेछ।

तस्वीरहरू:

सदन खुलाउन विपक्षी दलका चार प्रस्ताव

काठमाडौं । संसद अवरोध अन्त्य गरी प्रतिनिधिसभाको बैठक सुचारु गर्ने उद्देश्यले विपक्षी दलहरू साझा रणनीति निर्माणमा जुटेका छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा जारी छलफलमा संसद सञ्चालनका लागि आवश्यक राजनीतिक सहमति खोज्ने प्रयास भइरहेको छ। विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर उत्पन्न गतिरोध अन्त्य गर्ने उपायबारे विपक्षी दलहरूबीच निरन्तर संवाद भइरहेको छ।

प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा ‘नेपालले पनि भारतको केही भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई विपक्षी दलहरूले राष्ट्रिय हित र नेपालको आधिकारिक परराष्ट्र नीति विपरीत भएको दाबी गर्दै आपत्ति जनाएका छन्। त्यसयता संसदको बैठक सञ्चालन हुन सकेको छैन। विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने तथा माफी माग्नुपर्ने अडान लिएका छन्।

विपक्षी दलहरूका अनुसार सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वार्थमा असर पार्न सक्ने भएकाले त्यसलाई सामान्य रूपमा लिन नसकिने अवस्था रहेको छ। उनीहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा आफ्नो भनाइ सच्याउन वा त्यसबारे स्पष्टिकरण दिनुपर्ने माग दोहोर्‍याएका छन्। प्रधानमन्त्रीबाट उचित सम्बोधन नभएसम्म संसद बैठक सहज रूपमा सञ्चालन हुन नसक्ने उनीहरूको चेतावनी छ।

यसैबीच, संसद सुचारु गर्ने सम्भावित उपायहरूबारे विपक्षी दलहरूले चारवटा विकल्पमाथि छलफल थालेका छन्। पहिलो विकल्पका रूपमा संसदमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिलाई अघि सारिएको छ। विपक्षी दलहरूको धारणा अनुसार प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर आफ्नो भनाइबारे स्पष्ट धारणा राख्नुपर्नेछ।

दोस्रो विकल्पअन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याइएको आशयको औपचारिक वक्तव्य जारी गर्नुपर्ने प्रस्ताव गरिएको छ। यसले सरकारको आधिकारिक धारणा स्पष्ट हुने र विवाद समाधानतर्फ सकारात्मक वातावरण बन्न सक्ने विश्वास विपक्षी दलहरूको छ।

त्यस्तै, तेस्रो विकल्पमा परराष्ट्रमन्त्रीमार्फत संसदमा प्रधानमन्त्रीको क्षमायाचनासहितको वक्तव्य प्रस्तुत गर्न सकिने विषय समावेश गरिएको छ। तर त्यस्तो वक्तव्य संसदमा प्रस्तुत गर्नुअघि विपक्षी दलहरूको अनिवार्य सहमति हुनुपर्ने शर्त राखिएको छ। विपक्षीहरूको भनाइमा एकपक्षीय रूपमा ल्याइने वक्तव्यले समस्या समाधान गर्न नसक्ने भएकाले सबै पक्षको सहमति आवश्यक रहनेछ।

चौथो विकल्पका रूपमा संसदको आधिकारिक रेकर्डबाट प्रधानमन्त्रीको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति हटाउनुपर्ने माग अघि सारिएको छ। विपक्षी दलहरूका अनुसार उक्त अभिव्यक्ति संसदको अभिलेखमा रहिरहँदा विवाद थप लम्बिन सक्ने भएकाले त्यसलाई हटाउनु उपयुक्त हुने उनीहरूको निष्कर्ष छ।

संसद लामो समयदेखि अवरुद्ध रहँदा विधेयकहरू, बजेटसम्बन्धी छलफल तथा अन्य महत्वपूर्ण संसदीय कार्य प्रभावित भएका छन्। त्यसैले सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमतिको प्रयास तीव्र बनेको छ। आगामी दिनमा हुने राजनीतिक संवादले संसद सुचारु हुने वा गतिरोध अझ लम्बिने भन्ने विषय निर्धारण गर्ने देखिएको छ।

 

हावाहुरीले २० भन्दा बढी घरमा क्षति

पूर्वी नवलपरासी । मंगलबार साँझ आएको हावाहुरीसहितको वर्षाले पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ मा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार २० भन्दा बढी घरमा क्षति पुगेको स्थानीयले बताएका छन्।

विनय त्रिवेणी–१ बगुवनमा मात्र करिब १५ वटा घरका छाना उडेको स्थानीय बुद्धराज विश्वकर्माले जानकारी दिएका छन्। उनका अनुसार छाना उड्दा घरभित्र राखिएको अन्नपात र लत्ताकपडा भिजेर सर्वसाधारणलाई ठूलो समस्या भएको छ।

हावाहुरीका कारण बगुवनस्थित एक आधारभूत विद्यालयको खानेपानी ट्यांकी समेत ढलेको छ। साथै विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्थानीयवासी थप समस्यामा परेका छन्।

त्यसैगरी सिसेनी गाउँमा पाँच वटा घरमा क्षति पुगेको र अन्य स्थानमा समेत घरका छाना उड्ने तथा संरचना क्षतिग्रस्त भएको वडा अध्यक्ष दीपक पौडेलले जानकारी दिएका छन्।

स्थानीय तहले क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ।

साइबर सुरक्षा : के हामी सुरक्षित छौं ?

काठमाडौं। आजको युग पूर्ण रूपमा डिजिटल सभ्यतातर्फ लम्किरहेको छ। मानिसको दैनिक जीवन इन्टरनेट, मोबाइल, क्लाउड सेवा र कृत्रिम बौद्धिकता एआई मा निर्भर हुँदै जाँदा यसको सुरक्षा पक्ष झन् जटिल र संवेदनशील बन्दै गएको हो।

बैंकिङ प्रणाली, सरकारी सेवा, शिक्षा, सञ्चार र व्यापार सबै डिजिटल प्लेटफर्ममा रूपान्तरण भइरहेका छन् । तर यही डिजिटल विस्तारसँगै साइबर आक्रमण, डेटा चोरी, पहिचान दुरुपयोग र प्रणाली अवरुद्ध गर्ने घटनाहरू पनि तीव्र रूपमा बढिरहेका छन् ।

यही परिस्थितिलाई मध्यनजर गर्दै तयार गरिएको साइबर सेक्युरिटी शब्दावली प्राविधिक शब्दहरूको संग्रह मात्र नभई डिजिटल जोखिम बुझ्ने, विश्लेषण गर्ने र रोकथाम गर्ने आधारभूत ज्ञानको संरचना हो ।

साइबर सेक्युरिटीको सम्पूर्ण संरचना तीन प्रमुख सिद्धान्तमा आधारित छ। कन्फिडेन्सियलिटी, इन्टिग्रिटी र अभेलेबिलिटी । यी तीन तत्वलाई संयुक्त रूपमा सीआईए त्रय भनिन्छ, जसलाई आधुनिक सूचना सुरक्षा प्रणालीको मेरुदण्ड मानिन्छ । कन्फिडेन्सियलिटी ले संवेदनशील डेटा अनधिकृत व्यक्तिबाट जोगाउने काम गर्छ ।

उदाहरणका लागि बैंकिङ पासवर्ड, व्यक्तिगत सन्देश वा सरकारी गोप्य दस्तावेज सुरक्षित रहोस् भन्ने सुनिश्चितता । इन्टिग्रिटी ले डेटा परिवर्तन, हेरफेर वा क्षति नभई यथार्थ रूपमा सुरक्षित रहोस् भन्ने सुनिश्चित गर्छ । यदि कुनै सन्देश बीचमा बदलियो भने त्यसको इन्टिग्रिटी भङ्ग भएको मानिन्छ ।

अभेलेबिलिटी ले प्रणाली जुनसुकै समयमा प्रयोगकर्ताका लागि उपलब्ध रहोस् भन्ने ग्यारेन्टी दिन्छ । सेवा अवरुद्ध हुनु साइबर सेक्युरिटीको दृष्टिले ठूलो असफलता मानिन्छ । यी तीनै सिद्धान्तलाई व्यवहारमा लागू गर्न विभिन्न सुरक्षा तह, उपकरण र नीतिहरू प्रयोग गरिन्छ, जसले डिजिटल प्रणालीलाई मजबुत बनाउँछ ।

साइबर आक्रमणहरू आज केवल कोड वा सफ्टवेयरको कमजोरीमा सीमित छैनन् । ती अब मानव मनोविज्ञानलाई लक्षित गर्ने स्तरसम्म पुगेका छन् । फिसिङ, स्पुफिङ र सामाजिक इन्जिनियरिङ जस्ता आक्रमणहरूले प्रयोगकर्ताको विश्वास, डर र हतारोपनको फाइदा उठाउँछन् ।

फिसिङ आक्रमणमा आक्रमणकारीले बैंक, सरकारी संस्था वा प्राविधिक सेवा प्रदायकको नक्कली रूप बनाएर सन्देश पठाउँछ । प्रयोगकर्तालाई तत्काल कारबाही गर्न बाध्य बनाउँदै पासवर्ड, ओटीपी वा व्यक्तिगत विवरण मागिन्छ ।

सामाजिक इन्जिनियरिङ भने प्रविधिभन्दा बढी मानव व्यवहारमा आधारित आक्रमण हो, जसमा प्रयोगकर्तालाई नै गलत निर्णय गर्न प्रेरित गरिन्छ । त्यस्तै, र्यानसमवेयर ले प्रणालीभित्र प्रवेश गरेर फाइलहरू इन्क्रिप्ट गर्छ र त्यसलाई फिर्ता दिन पैसा माग्छ ।

यस्तो आक्रमण अस्पताल, बैंक र सरकारी संस्थामा समेत देखिएको छ, जसले सेवा नै ठप्प पार्न सक्छ । मालवेयर सबै प्रकारका हानिकारक सफ्टवेयरहरूको समष्टिगत नाम हो, जसमा भाइरस, वर्म, ट्रोजन र स्पाइवेयर जस्ता खतरनाक तत्वहरू समावेश हुन्छन् ।

कुनै पनि सूचना प्रणालीमा प्रमाणीकरण र अधिकार दुई मुख्य आधार हुन्छन् । प्रमाणीकरणले प्रयोगकर्ता वास्तविक हो वा होइन भन्ने पुष्टि गर्छ भने अधिकारले उसलाई कुन स्रोत प्रयोग गर्न दिने भन्ने निर्धारण गर्छ ।

आजकल मल्टी-फ्याक्टर प्रमाणीकरण र टु-फ्याक्टर प्रमाणीकरण व्यापक रूपमा प्रयोग भइरहेका छन्, जसले पासवर्ड मात्र होइन, मोबाइल कोड, बायोमेट्रिक वा हार्डवेयर टोकन पनि आवश्यक बनाउँछ । यसले पासवर्ड चोरी भए पनि प्रणाली सुरक्षित रहने सम्भावना बढाउँछ ।

एक्सेस कन्ट्रोल लिस्ट ले प्रणालीका स्रोतहरूमा को पहुँच पाउँछ भन्ने स्पष्ट नियम निर्धारण गर्छ । त्यस्तै अलाउ लिस्ट र ब्लकलिस्ट ले सुरक्षित र असुरक्षित सूची छुट्याउँछन् ।

साइबर सेक्युरिटीमा ह्याकर शब्द तटस्थ हो, तर यसको प्रयोग उद्देश्यअनुसार फरक हुन्छ । सेतो टोपी ह्याकरहरूले कानुनी रूपमा प्रणालीको कमजोरी पहिचान गरेर सुरक्षा सुधार गर्छन् । कालो टोपी ह्याकरहरूले अवैध रूपमा प्रणालीमा प्रवेश गरेर डेटा चोरी वा क्षति पुर्‍याउँछन् ।

ह्याक्टिभिस्ट भने राजनीतिक वा सामाजिक उद्देश्यका लागि साइबर आक्रमण गर्छन् । यसै सन्दर्भमा नैतिक ह्याकिङ र प्रवेश परीक्षण संस्थागत सुरक्षा परीक्षणका महत्वपूर्ण विधि हुन्, जसले कमजोरी पहिचान गरेर सुधार गर्न मद्दत गर्छन् ।

रुटकिट जस्ता उन्नत मालवेयरले प्रणालीमा लुकेर प्रशासनिक नियन्त्रण लिन्छ, जसलाई पत्ता लगाउन अत्यन्त कठिन हुन्छ ।

डिजिटल सुरक्षाको सबैभन्दा महत्वपूर्ण पक्ष डेटा सुरक्षा हो । इन्क्रिप्सन ले सूचनालाई यस्तो कोडमा रूपान्तरण गर्छ, जुन बिना कुञ्जी पढ्न सकिँदैन । एन्ड-टु-एन्ड इन्क्रिप्सनले सन्देश पठाउने र प्राप्त गर्ने व्यक्ति बाहेक अरू कसैले पनि डेटा पढ्न नसक्ने सुनिश्चितता दिन्छ ।

ह्यास फङ्सन ले डाटाको परिवर्तन भएको छ वा छैन भन्ने जाँच गर्छ भने डिजिटल सिग्नेचर ले सूचना वास्तवमै सही स्रोतबाट आएको हो भन्ने प्रमाणित गर्छ । यी प्रविधिहरूले बैंकिङ प्रणाली, अनलाइन कारोबार, सरकारी सेवा र निजी सञ्चारलाई सुरक्षित बनाउँछन् ।

आजको इन्टरनेट संरचना क्लाउड कम्प्युटिङ र इन्टरनेट अफ थिङ्स मा आधारित छ । मोबाइल, स्मार्ट उपकरण, सर्भर, क्यामेरा र सेन्सर सबै एकअर्कासँग जोडिएका छन् । यसले सुविधा बढाए पनि सुरक्षा जोखिम पनि विस्तार गरेको छ । आक्रमण सतह बढ्नु भनेको ह्याकरका लागि सम्भावित प्रवेश बिन्दुहरू बढ्नु हो । बोटनेट हजारौँ संक्रमित कम्प्युटरहरूको सञ्जाल हो, जसलाई ठूला साइबर आक्रमणका लागि प्रयोग गरिन्छ । यसैबाट डीडस आक्रमण गरिन्छ, जसले वेबसाइट वा सेवा पूर्ण रूपमा अवरुद्ध गर्न सक्छ ।

धेरै साइबर खतरा प्रयोगकर्ताले प्रत्यक्ष रूपमा देख्दैनन् । स्पाइवेयर ले प्रयोगकर्ताको गतिविधि गोप्य रूपमा ट्र्याक गर्छ । की-लगर ले किबोर्डमा टाइप गरिएको सबै जानकारी रेकर्ड गर्छ ।

ब्याकडोर ले प्रणालीमा लुकेको प्रवेश मार्ग बनाउँछ, जसबाट आक्रमणकारीले लामो समयसम्म नियन्त्रण कायम राख्न सक्छ । जिरो-डे कमजोरी सबैभन्दा खतरनाक मानिन्छ, किनभने यसको बारेमा निर्माता कम्पनीलाई पनि थाहा हुँदैन र तत्काल समाधान उपलब्ध हुँदैन । ट्रोजन हर्स भने उपयोगी सफ्टवेयर जस्तो देखिए पनि भित्र लुकेको खराब कोड हुन्छ ।

साइबर सुरक्षा मजबुत बनाउन विभिन्न उपकरणहरू प्रयोग गरिन्छ । फायरवाल ले नेटवर्क ट्राफिक नियन्त्रण गर्छ । घुसपैठ पत्ता लगाउने प्रणाली ले शंकास्पद गतिविधि पत्ता लगाउँछ । एन्डपोइन्ट डिटेक्सन एण्ड रेस्पोन्सले उपकरण स्तरमा सुरक्षा निगरानी गर्छ ।

हनीपोटले आक्रमणकारीलाई झुक्याउन बनाइएको नक्कली प्रणाली हो । यी सबै प्रणालीले मिलेर बहु-स्तरीय सुरक्षा निर्माण गर्छन् ।

डिजिटल संसार विस्तार हुँदै जाँदा साइबर खतरा पनि समानान्तर रूपमा जटिल बन्दै गएको छ । कुनै पनि प्रणाली पूर्ण रूपमा सुरक्षित हुँदैन, तर सही प्रविधि, नीति र सचेतनाले जोखिम न्यून गर्न सकिन्छ। 

गृहमा सुधन गुरुङ : के छ ‘टार्गेटमा’?

काठमाडौं।  प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को सिफारिसका पुन: नियुक्त भएका गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै गृह प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक सुधारको संकेत गर्दै सात वटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्।

मंगलबार राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालय पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले सरकारको कामप्रति नागरिक तहबाट हुने आलोचना तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताए। उनले नागरिकको अपमान र चरित्रहत्या हुने गतिविधिप्रति गृह मन्त्रालय कठोर रूपमा प्रस्तुत हुने चेतावनीसमेत दिए।

पदभार ग्रहणकै अवसरमा मन्त्री गुरुङले गरेका निर्णयलाई गृह प्रशासनभित्र ठूलो नीतिगत संकेतका रूपमा हेरिएको छ। उनले गृह मन्त्रालय, सुरक्षा निकाय तथा अनुसन्धान प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले एकैसाथ सात निर्णयमा हस्ताक्षर गरेका हुन्।

उनका निर्णयअनुसार जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा दायर फौजदारी अभियोजन फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन तथा सिफारिस गर्न विशेष कार्यदल गठन गरिनेछ। यसले पछिल्लो राजनीतिक आन्दोलनसँग जोडिएका मुद्दा पुनःमूल्यांकन हुने संकेत दिएको छ।

त्यस्तै, गृह मन्त्रालय तथा सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट रोक्न र निगरानीलाई मजबुत बनाउन ‘सेन्सेटिभ इन्फर्मेसन भिजिलेन्स टिम’ गठन गर्ने निर्णय पनि गरिएको छ। मन्त्रालयले सूचना व्यवस्थापन र सुरक्षा संयन्त्रलाई कडाइका साथ पुनःव्यवस्थित गर्ने संकेत दिएको छ।

मन्त्री गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउने निर्णयसमेत गरेका छन्। हाल अनुसन्धानमा रहेका पुराना फाइलहरूलाई छिटो निष्कर्षमा पुर्‍याउने निर्देशनसहित काम अघि बढाइने बताइएको छ।

त्यसैगरी, जघन्य, आर्थिक तथा संगठित अपराधका घटनाको अनुसन्धानलाई व्यवस्थित बनाउन सीआईबीभित्र विशेष ‘स्पेसलाइज्ड टिम’ गठन गर्ने निर्णय पनि गरिएको छ। यो कदमलाई संगठित अपराध नियन्त्रणतर्फ लक्षित रणनीतिक सुधारका रूपमा व्याख्या गरिएको छ।

मन्त्री गुरुङले गृह प्रशासनलाई अब ‘फाइल थन्क्याउने नभई निष्कर्षमा पुर्‍याउने प्रणाली’मा लैजाने संकेतसमेत गरेका छन्।

पदभार ग्रहणकै क्रममा गरिएको सबैभन्दा चर्चित निर्णयमध्ये एक २०५८ जेठ १९ गतेको नारायणहिटी दरबार हत्याकाण्डसम्बन्धी पुराना अनुसन्धान प्रतिवेदनको अध्ययन हो। मन्त्री गुरुङले उक्त घटनाबारे विगतका प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

यो निर्णयलाई राजनीतिक तथा ऐतिहासिक संवेदनशील विषय पुनः सतहमा ल्याउने संकेतका रूपमा हेरिएको छ। लामो समयदेखि बन्द मानिएको घटनाको फाइल पुनः खोलिने संकेतले सार्वजनिक चासोसमेत बढाएको छ।

मन्त्री गुरुङले ‘अब कुनै पनि गम्भीर फाइल बेवास्ता नगरिने’ भन्दै गृह प्रशासनमा जवाफदेहिताको नयाँ अभ्यास सुरु हुने बताएका छन्। उनका अनुसार अपराध अनुसन्धान, सुरक्षा संयन्त्र र सूचना व्यवस्थापन सबै क्षेत्रमा सुधार आवश्यक छ।

तर राजनीतिक वृत्तमा भने उनका निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई सुधारमुखी कदम भनेका छन् भने केहीले संवेदनशील मुद्दाहरूमा तत्काल छानबिन घोषणा गर्नु पूर्वसावधानी नअपनाएको भन्दै प्रश्न उठाएका छन्।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङको पदभार ग्रहणसँगै गृह मन्त्रालयमा नीतिगत सक्रियता देखिएको छ।

जेनजी आन्दोलनदेखि दरबार हत्याकाण्डसम्मका विषयलाई समेट्ने गरी गरिएको निर्णयले आगामी दिनमा राजनीतिक र प्रशासनिक दुवै तहमा बहस चर्किने संकेत गरेको छ।

यसअघि गुरुङ गृहमन्त्री पदमा जम्मा २७ दिन मात्र टिकेका थिए। ९ वैशाखमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेपछि उनले पदबाट राजीनामा दिएका थिए।

३० जनाको मृत्यु : चुनावअघि पाकिस्तान प्रशासित कश्मीरमा किन चर्कियो हिंसा?

काठमाडौं। पाकिस्तान प्रशासित कश्मीरमा आगामी जुलाई २७ मा हुने क्षेत्रीय निर्वाचनअघि राजनीतिक तनाव चुलिँदै जाँदा विरोध प्रदर्शन हिंसात्मक बनेको छ।

पछिल्ला केही दिनयता भएका झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यम र अधिकारकर्मीहरूका अनुसार प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाएको आरोप लागेको छ। विशेषगरी आइतबार राति रावलाकोट क्षेत्रमा भएको हिंसात्मक झडपपछि अवस्था थप तनावग्रस्त बनेको हो। उक्त घटनामा मात्रै कम्तीमा ११ जनाको ज्यान गएको बताइएको छ।

झडपपछि क्षेत्रीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै व्यापक दमन अभियान सुरु गरेको छ। विभिन्न स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने आन्दोलनका अगुवामाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। मंगलबारसम्म आइपुग्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको स्थानीय स्रोतहरूले जनाएका छन्।

विवादको केन्द्रमा क्षेत्रीय विधानसभाको निर्वाचन छ। आगामी निर्वाचनमा ४५ सदस्यीय विधानसभामध्ये १२ सिट शरणार्थी समुदायका लागि आरक्षित गर्ने निर्णय भएपछि त्यसको विरोध चर्किएको हो। आन्दोलनकारीहरूले उक्त निर्णयलाई स्थानीय जनताको राजनीतिक अधिकारमाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।

यही विषयलाई लिएर अधिकारवादी समूह ‘जोइन्ट अवामी एक्सन कमिटी’ (जेएएसी) ले क्षेत्रव्यापी बन्दको आह्वान गरेको थियो। बन्दका कारण धेरै बजार, शैक्षिक संस्था र सार्वजनिक सेवा प्रभावित भएका छन्। सडकमा सर्वसाधारणको चहलपहल न्यून देखिएको छ भने अधिकांश स्थानमा प्रहरी र सुरक्षाकर्मीका सवारीसाधन मात्रै परिचालन गरिएको बताइएको छ।

क्षेत्रीय सरकारले आन्दोलनलाई नियन्त्रणमा लिन कडा कदम चालेको छ। सरकारले प्रतिबन्धित घोषित जेएएसीका चार जना प्रमुख नेताविरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न आदेश दिएको छ। साथै उनीहरूलाई पक्राउ गराउन एक करोड पाकिस्तानी रुपैयाँ पुरस्कारसमेत घोषणा गरिएको छ।

जेएएसीले भने आफूहरूको आन्दोलन लोकतान्त्रिक अधिकार र जनप्रतिनिधित्वको पक्षमा रहेको दाबी गरेको छ। संगठनका नेताहरूले आरक्षित सिटको व्यवस्थामार्फत स्थानीय जनमतलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनीहरूले निर्वाचन प्रक्रिया निष्पक्ष र जनभावनाअनुसार हुनुपर्ने माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

पाकिस्तान प्रशासित कश्मीरमा पछिल्ला वर्षहरूमा आर्थिक समस्या, राजनीतिक असन्तुष्टि र प्रशासनिक निर्णयप्रति असहमति बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार निर्वाचन नजिकिँदै जाँदा देखिएको यो हिंसा केवल सिट बाँडफाँटको विवाद मात्र नभई लामो समयदेखि थुप्रिएका राजनीतिक असन्तुष्टि र प्रतिनिधित्वको प्रश्नसँग पनि जोडिएको छ।

स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि मानवअधिकार संगठनहरूले संयमता अपनाउन र प्रदर्शनकारी तथा सुरक्षाकर्मी दुवै पक्षलाई हिंसा रोक्न आग्रह गरेका छन्।

यद्यपि हालसम्म तनाव कम हुने संकेत देखिएको छैन र आगामी निर्वाचन नजिकिँदै जाँदा क्षेत्रको राजनीतिक अवस्था अझ जटिल बन्न सक्ने अनुमान गरिएको छ।

एपोलो हाइड्रोपावरको सेयर : कतिमा भयो कारोबार ?

काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडको सेयर कारोबार बुधवार देखि नेपाल स्टक एक्सचेन्जमा सुरु भएको छ।

विशेष प्रारम्भिक कारोबार सत्रमा कम्पनीको पहिलो सेयर कारोबार प्रतिकित्ता २९९ रुपैयाँ ७० पैसामा भएको हो। यही मूल्यलाई आधार मानेर नियमित कारोबार खुला गरिएको छ।

कम्पनीको सेयर ‘एपिएचएल’ सङ्केतमार्फत कारोबारमा आएको हो। यसअघि कम्पनीको सेयर सोमबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो।

कम्पनीले सर्वसाधारणलाई जारी गरेको १४ लाख १० हजार कित्ता तथा संस्थापक लगानीकर्ताको स्वामित्वमा रहेको ३२ लाख ९० हजार कित्ता गरी कुल ४७ लाख कित्ता सेयर सूचीकृत गराएको छ।

पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य सीमा निर्धारण गरेको थियो। नेपाल स्टक एक्सचेन्जले कम्पनीको प्रतिशेयर खुद सम्पत्तिको आधारमा पहिलो कारोबारका लागि तीन गुणासम्म मूल्य सीमा तोक्ने व्यवस्था छ।

कारोबार सुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य २.९७ प्रतिशतले वृद्धि भई प्रतिकित्ता ३०८ रुपैयाँ ६० पैसासम्म पुगेको छ।

रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, फुटबल महासंघको आपत्ति

एजेन्सी। सोमालिया फुटबल महासंघले आफ्ना अन्तर्राष्ट्रिय रेफ्री ओमार अब्दुलकादिर अर्तानलाई अमेरिका प्रवेशमा रोक लगाइएको घटनाप्रति कडा आपत्ति जनाएको छ।

महासंघले यस निर्णयले सोमालियाको फुटबल इतिहासमा महत्वपूर्ण अवसर गुमेको जनाएको छ।

महासंघका अनुसार अर्तानसँग वैध अमेरिकी भिसा भए पनि अमेरिकी अध्यागमन अधिकारीहरूले थप जाँचबुझ आवश्यक रहेको भन्दै उनलाई देश प्रवेश गर्न दिएनन्। त्यसपछि उनलाई ट्रान्जिट मुलुक टर्कीमै फिर्ता पठाइएको थियो।

सोमालिया फुटबल महासंघले विश्व फुटबलको ठूलो मञ्चमा देशको प्रतिनिधित्व गर्ने अवसर नजिकिँदा यस्तो निर्णय आउनु दुर्भाग्यपूर्ण भएको जनाएको छ। महासंघका अनुसार यस घटनाले सोमालियाली फुटबल समुदायलाई निराश बनाएको छ।

अमेरिकी निर्णय सार्वजनिक भएपछि खेलकुद क्षेत्रमा समेत यसको चर्चा सुरु भएको छ।

आफ्नै आरोपको आफैंले छानबिन गर्न मिल्दैन – झाक्री

काठमाडौं। राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ‘अर्थ प्रणाली भित्रको चलायमान र जान्ने खेलाडी’ को संज्ञा दिएकी छिन्।

उनले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीमाथि उठेका आरोपबारे स्वतन्त्र छानबिन हुनुपर्ने भन्दै संसद वा संसदीय समितिमार्फत अनुसन्धान गरिनुपर्ने धारणा सार्वजनिक गरेकी हुन्।

झाक्रीले आफ्नो स्टाटसमा स्वर्णिम वाग्ले विगतमा योजना आयोगको सदस्य तथा उपाध्यक्षजस्ता जिम्मेवारीमा रहँदा राज्य प्रणालीभित्रकै सक्रिय र जानकार पात्र रहेको उल्लेख गरेकी छन्। अहिले देखिएको विवादलाई ‘नयाँ’ भन्दै सामान्यीकरण गर्न नमिल्ने उनको तर्क छ।

उनले विपक्षी बेन्चमा रहँदा वाग्लेले बजेट र आर्थिक अनुशासनबारे दिएका अभिव्यक्तिहरू स्मरण गराउँदै अहिले उनीमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने अवस्था आएको बताएकी छन्। अन्य व्यक्तिले गरेका आर्थिक अनियमिततालाई अपराध मान्ने तर अर्थमन्त्रीको भूमिकामाथि प्रश्न उठ्दा त्यसलाई सामान्य रूपमा लिन नसकिने उनको भनाइ छ।

झाक्रीले ‘दूधको साक्षी बिरालो’ भन्ने उखान प्रयोग गर्दै आरोपित व्यक्तिले आफूमाथिको छानबिन आफैं गर्न वा गराउन नमिल्ने जिकिर गरेकी छन्। उनले अर्थमन्त्रीमाथि आरोप लागेको अवस्थामा निष्पक्ष र विश्वसनीय अनुसन्धान आवश्यक रहेको उल्लेख गरेकी छन्।

‘तपाईलाई आरोप लाग्यो, तपाईमाथि प्रश्न उठ्यो भने तपाईमाथि नै छानबिन हुनुपर्छ। तर तपाईले छानबिन गराउने होइन,’ भन्दै झाक्रीले लेखेकी छन्, ‘तपाईमाथिको छानबिन संसदले वा संसदले बनाएको समितिले गर्न सक्छ र गर्नुपर्छ।’

यस्तो छ उनको स्टाटस:

अर्थमन्त्री स्वर्णिम वाग्लेज्यू हिजो जे जे बेथिति थिए भन्नु हुन्छ नि, तपाई Power Politics को नजिक र राज्यको संयन्त्रमै हुदा जस्तोः योजना आयोगको सदस्य र उपाध्यक्ष हुदै गर्दा त्यो प्रणाली भित्रको चलायमान र जान्ने खेलाडी हो।
तपाई बिपक्ष बेन्चमा हुदा बजेट र बजेटबारे बोलेको भिडियोहरू छ्यापछ्याप्पी भेटिन्छन। अरू कसैले गरेको आर्थिक अपराध, संगठित अपराध, प्रणाली खरिद गरेको मानिने तर तपाई अर्थ मन्त्रीको हैसियतले गरेको यो आर्थिक अपराध “नयाँ” को नाममा केही होईन, यस्तै हुन्थ्यो भनेर चुप बसिदिनु पर्ने हो? अनि छानविन?दुधको साक्षि बिरालो? तपाईले नै तपाईले गरेको अपराध र देशद्रोही कदमको कर्मचारी माथि छानविन गराउने? तपाईले के बोल्नु भएको थियो बिगतमा यसो विचार गर्नु त?
हुदैन।
तपाईलाई आरोप लाग्यो। तपाई माथि प्रश्न उठ्यो, तपाई माथि नै छानविन हुनुपर्छ। तर तपाईले छानविन गराउने होईन। तपाई माथिको छानविन संसदले वा संसदले बनाएको समितिले गर्नसक्छ र गर्नुपर्छ।

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा भ्रष्टाचार र पक्षपातको आवरण बन्यो : एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसले नेतृत्व गरेको सरकारमाथि तीव्र आलोचना गरेका छन्।

उनले रास्वपाको चर्चित नारा ‘जान्नेलाई छान्ने’ व्यवहारमा असफल भएको मात्र नभई भ्रष्टाचार, पक्षपात र स्वेच्छाचारिताको आवरण बनेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले ‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एकपछि अर्को गर्दै उजागर भइरहेको बताएका छन्।

देशविरुद्धका घातलाई सामान्य ठान्ने, राज्यविरुद्धका विध्वंसात्मक गतिविधिलाई बहादुरीका रूपमा प्रस्तुत गर्ने तथा स्वार्थमा आधारित सेटिङलाई विधि र प्रक्रियाका रूपमा स्थापित गर्न खोजिएको उनको आरोप छ।

पोखरेलले अर्थ विधेयकजस्तो संवेदनशील दस्तावेजमा गैरकानुनी छेडखानी गर्ने, अवैध धनका स्रोतलाई प्रणालीको कमजोरी भन्दै ढाकछोप गर्ने, आफ्ना मानिसलाई विभिन्न उपाय अपनाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने प्रवृत्ति सरकारमा देखिएको टिप्पणी गरेका छन्।

‘यदि यही कुरालाई ‘जान्नेलाई छान्ने’ भनिएको हो भने त्यो योग्यता होइन, पाखण्ड हो,’ पोखरेलले लेखेका छन्। उनका अनुसार यस्ता गतिविधिले स्वेच्छाचारिता, पक्षपात र भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरिरहेका छन्।

उनले सुशासन र तीव्र विकासका लागि विगतका कमीकमजोरी सच्याउनु आवश्यक भए पनि त्यसका नाममा नयाँ कुकर्मलाई वैधता दिन नहुने बताएका छन्।

नयाँ शक्तिका रूपमा उदाएको दलबाट जनताले अपेक्षा गरेको परिवर्तन व्यवहारमा नदेखिएको उनको संकेत छ।

पोखरेलको यो टिप्पणीलाई रास्वपा नेतृत्वको सरकारमाथि एमालेले पछिल्लो समय गरिरहेको राजनीतिक आक्रमणको निरन्तरताका रूपमा हेरिएको छ।

एमालेले सरकारमाथि सुशासनको नारा दिएर राजनीतिक प्रतिशोध, पक्षपातपूर्ण निर्णय र कानुनी प्रक्रियाको दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ।

दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्न शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले नवनियुक्त गृहमन्त्री सुधन गुरुङ लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको स्वागत गरेका छन्। ‘माननीय गृहमन्त्री  सुधन गुरुङज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,’ शाहीले लेखेका छन्।   

शाहीले मंगलबार  सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दरबार हत्याकाण्ड सम्बन्धी सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका सबै सरोकारवालालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको हार्दिक स्वागत गर्दछु। सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका सबै सरोकारवालाहरू, विशेषगरी तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति महामहिम रामचन्द्र पौडेलज्यू लगायतलाई अनुसन्धानको दायरामा ल्याई निष्पक्ष छानबिन गर्न हार्दिक अपिल गर्दछु।’ 

उनले तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल लगायत सम्बन्धित सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी घटनाको वास्तविकता सार्वजनिक गर्न आग्रह गरेका छन्।

शाहीले दरबार हत्याकाण्ड नेपाली इतिहासको अत्यन्त संवेदनशील र रहस्यमय घटनामध्ये एक भएकाले यसबारे उठेका प्रश्नहरूको जवाफ दिन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन आवश्यक रहेको बताएका छन्।

उनले सरकारले कुनै पूर्वाग्रह वा राजनीतिक प्रभावबिना अनुसन्धान प्रक्रिया अघि बढाई जनतासामु सत्य तथ्य ल्याउने विश्वाससमेत व्यक्त गरेका छन्।

‘बालेन’को हातमा परेको ‘सुधन’लाई चोख्याउने त्यो प्रतिवेदन

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ तथा पदभार ग्रहण गरेका छन् ।

मंगलवार गृहमन्त्री गुरुङको सम्पत्ति विवरणबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले ग्रहण गरेलगत्तै मन्त्रीद्वयले साँझ शपथ तथा पदभार ग्रहण गरेका हुन्।

गृहमन्त्री गुरुङले  विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनी संलग्न कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

उनको सेयर साझेदारी रहेको लघुवित्त/विमा कम्पनीमा उनी संस्थापक सेयर होल्डरका रूपमा देखिएका थिए । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सका सेयर ऋण लिएर खरिद गरिएको उल्लेख भए पनि अन्य सेयर लगानीबारे स्पष्टता नदिएकोले कुल लगानी ऋणमार्फत हो वा आंशिक मात्र हो भन्ने विषय अनिश्चिततामा धकेलियो ।

त्यसैगरी सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत ‘व्यवसाय, पैतृक सम्पत्ति वा लगानी’ भनेर उल्लेख गरिएको भए पनि ऋणसम्बन्धी विवरण समावेश थिएन । ऋण उल्लेख गर्ने खण्ड खाली राखिएपछि गुरुङले वकालत गरिरहेको पारदर्शिताको सवाल झन् पेचिलो बन्यो ।

गुरुङको स्वामित्वमा रहेका केही कम्पनीहरूमा संस्थापक सेयर रहेको तथ्यले पनि सम्पत्ति विवरणसँग मेल खान सकेन । साथै दीपक भट्टसँगको सम्भावित व्यावसायिक सम्बन्धबारे स्पष्टता नआएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा उनको राजीनामाको माग बढ्दै गयो ।

विवादित व्यापारी तथा बिचौलिया दीपक भट्ट समूहसँग सेयर लगानी रहेको तथ्य बाहिरिएपछि गुरुङ नैतिक संकटमा फसेका थिए । जसले गर्दा उनले मन्त्री पद जोगाउन सकेनन् ।

सरकारले  गुरुङमाथि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो ।

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्यो।

समितिलाई गुरुङसम्बन्धी सार्वजनिक रूपमा उठेका विषयमा सत्य-तथ्य अध्ययन गरी सरकारलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो ।

उक्त समितिले नै गुरुङले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको नदेखिएको निष्कर्ष निकालेको हो।

के छ प्रतिवेदनमा ?

प्रधानमन्त्री शाहले क्याविनेट राखेर ग्रहण गरेको प्रतिवेदनमा गुरुङले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको नदेखिएको उल्लेख गरिएको छ । यतिमात्र हैन समितिले मन्त्रीहरुको सम्पत्ति विवरणसम्बन्धी नीतिगत सुधारका लागि ९ वटा सुझावसमेत दिएको छ ।

प्रतिवेदनको निष्कर्षमा, ‘पूर्व गृहमन्त्री तथा हाल प्रतिनिधि सभाका सदस्य माननीय सुधन गुरुडले आर्जन गरेको आयबाट हालसम्मको अवधिमा विभिन्न कम्पनीहरूमा लगानी तथा शेयर खरिद समेतको कार्यमा खर्च गरेको देखिएकोमा निजको आय र खर्च समेतलाई समिति समक्ष प्राप्त सूचना, कागजात प्रमाण एवं विवरणका आधारमा छानविन, अध्ययन र विश्लेषण गर्दा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि गर्ने यथेष्ट आधार प्रमाण देखिएन ।’  भनिएको छ।

समितिले प्राप्त कार्यादेशको सीमा भित्र रही अध्ययन तथा छानविन गर्दा संकलन गरिएका सूचना, तथ्याड्क एवं कागजात विवरणसँग गुरुडले पेश गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको सम्पत्ति भिडान गर्ने क्रममा सम्बन्धित सरोकारवाला पक्षहरूसँगको प्रत्यक्ष छलफल, गुरुडले समिति समक्ष उपस्थित भई गरिदिएको लिखित बयान, विभिन्न सरकारी निकाय बैंक तथा वित्तीय संस्था र स्थानीय निकायहरूबाट प्राप्त कागज प्रमाण समेत संकलन गरी सम्पत्तिको विश्लेषण गरिएको उल्लेख गरेको छ ।

अध्ययन तथा छानविन समिति समक्ष पेश हुन आएको सूचना तथ्याड्क एवं कागजात विवरणहरूसँग गुरुडले पेश गरेको सम्पत्ति विवरण छानविन एवं भिडान गर्दा निजबाट पेश भएको सम्पत्ति विवरणको स्रोत खुल्न आएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

‘तसर्थ, पूर्व गृहमन्त्री तथा हाल प्रतिनिधि सभा सदस्य सुधन गुरुडका सम्बन्धमा निज गृहमन्त्री पदमा बहाल रहँदा र गृहमन्त्रीबाट राजिनामा दिए पश्चात्को अवधिमा निजले गृहमन्त्रीमा नियुक्ति हुँदाको अवस्थामा सार्वजनिक गरेको सम्पत्ति विवरणसँग जोडी निजको सम्बन्धमा सार्वजनिक वृत्तमा उठेका विषयहरू सत्य र तथ्यमा आधारित रहेको भन्न मिल्ने अवस्था देखिएन,’  प्रतिवेदनमा उल्लेख गरिएको छ।

समितिले मन्त्रीहरुको सम्पत्ति विवरण बुझाउने प्रक्रियामा अनुमानमा आधारित रहेको तथ्यमा आधारित बनाउनेसहित विभिन्न सुझाव समेत दिएको छ ।

सुझाव यस्ता छन् :

क) राजनीतिक तथा सार्वजनिक पदमा निर्वाचन, मनोनयन र नियुक्त हुने सार्वजनिक पदाधिकारीहरूबाट सार्वजनिक गरिने सम्पत्ति विवरण अनुमानका आधारमा नभई सत्य र तथ्यको आधारमा आधारित भई पेश गर्न लगाउने तर्फ सम्बन्धित निकायको ध्यान आकृष्ट गरिएको छ।

ख) अनौपचारिक माध्यमबाट प्राप्त हुन आउने तथा प्राप्त हुने आम्दानीलाई नकार्न नसकिने तथ्यलाई विचार गरी नेपाल सरकारले यसरी प्राप्त हुन आउने आयलाई सालबसाली सार्वजनिक गरिने आर्थिक ऐनको माध्यमबाट स्किम प्रदान गरी कानुनी मान्यता प्राप्त गर्ने गराउने व्यवस्था मिलाउनु पर्ने ।

ग) सूचिकृत नभएका कम्पनीहरूको शेयर कारोबारको खरिद/बिक्रीको कारोबारलाई नियमन गर्न छुट्टै संयन्त्र स्थापना गरी नियमित रूपमा नियमनको व्यवस्था मिलाउनु पर्ने । 

घ) विदेशबाट प्राप्त हुन आउने विप्रेषण आयलाई अझ बढी पारदर्शी बनाउनको लागि नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायबाट आवश्यक निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याउने।

ङ) घरायसी रूपमा गरिने लेनदेन कागजात तथा तमसुकहरू स्थानीय निकायबाट प्रमाणित भए पछि त्यसको कागजात तयार गरिने प्रयोजनसँग सम्बन्धित निकायमा तत्काल जानकारी गर्ने गराउने व्यवस्था मिलाउने ।

च) सर्वसाधरणसँग पैत्रिक सम्पत्ति समेतबाट प्राप्त हुन आएको बहुमूल्य पुस्तागत सम्पत्ति लगायतका सुन, चाँदी, हिरा, जवाहरात जस्ता बहुमूल्य धातुको मौज्दातको विवरण सम्बन्धित निकाय समक्ष घोषणा गर्नुपर्ने कानुनी व्यवस्था गरी त्यस्ता बहुमूल्य धातुलाई गैरव्यवसायीक सम्पत्ति सरह अभिलेख गरी दोस्रो बजारमा खरिद/बिक्री गर्न पाउने सरकारी संयन्त्रको स्थापना गर्ने गराउने व्यवस्था मिलाउने तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार यस्ता बहुमूल्य धातुको अभिलेखाङ्कनको लागि प्रविधिमैत्री खाता प्रणाली जस्ता आधुनिक सूचना प्रविधि मैत्री प्रणालीमार्फत नियन्त्रण, निगरानीको उचित व्यवस्था मिलाउने ।

छ) व्यक्तिगत खाताबाट रकम ट्रान्फर भई जाने बैंक खाता र रकम ट्रान्सफर भई आउने व्यक्तिगत खाताको नियमन गर्न बलियो संयन्त्र खडा गर्ने ।

ज) प्रयोजन नखुलाई कसैले पनि आफ्नो व्यक्तिगत खाताबाट रकम ट्रान्सफर गर्न नपाउने व्यवस्था मिलाउने ।

झ) नेपालको बैंकिड प्रणालीलाई अझ बढी सुरक्षित, विश्वसनीय, भरपर्दो बनाउन हाल बैंकहरूले उपयोग गरिरहेका सूचना प्रविधि मैत्री प्रणाली मार्फत व्यक्तिको नितान्त गोपनीय एवम् संवेदनशील सूचना, जिउ, ज्यान, सम्पत्ति आदिको दुरुपयोग हुन सकने तथ्यलाई मनन गर्दा यस्ता विषयहरूमा संवेदनशील भई संरक्षण गर्न हाल उपयोगमा ल्याइएका सूचना प्रणाली सम्बन्धी सफ्टवेयरहरू मार्फत गोपनीय सूचनाको संरक्षणको पर्याप्त व्यवस्था गर्नुपर्ने देखिएको ।

चर्चामा दरबार हत्याकाण्ड : गुरुङको छानबिन शाहतिर लक्षित हो ?

काठमाडौं । २५ वर्षपछि गृहमन्त्री सुधन गुरुङले २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको थप अनुसन्धान गर्ने घोषणा गरेका छन्। गृहमन्त्रीको सपथ लिएकै दिन बसेको गृहमन्त्रालयको बैठकको निर्णय सुनाउने क्रममा उनले यो आधिकारिक घोषणा गरेका हुन्।

जेठ १९ गते राति नारायणहिटी दरबारमा भएको सामूहिक हत्याकाण्डले देश नै हल्लाएको थियो। हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमारी श्रुति, राजकुमार निराजन लगायत परिवारका १० जना सदस्यको निधन भयो।

त्यसपछि हत्याकाण्डको छानबिन गर्न बनेको समितिको प्रतिवेदनले २९ वर्षीय युवराज दीपेन्द्रले मात्र यो हत्याकाण्ड गरेको दाबी गरेको थियो। प्रतिवेदनमा भनिएअनुसार दीपेन्द्रले ह्विस्की र अफिम मिसाइएको सिगरेट सेवन गरेर हत्याकाण्ड मच्चाएका थिए। तर घटनाको वास्तविकता र रहस्य भने आजका मितिसम्म पनि इतिहासको गर्भमै सीमित छ।

घटनापछि तत्कालीन राजा ज्ञानेन्द्रले उच्चस्तरीय छानबिन समिति गठन गरे। सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटको दुई सदस्यीय समितिले एक साताभित्रै प्रतिवेदन बुझायो। समितिले १०० भन्दा बढी मानिसको बयान र प्रमाणका आधारमा दीपेन्द्रलाई नै दोषी ठहरायो।

तर जनस्तरमा भने यो निष्कर्ष सधैं विवादित बनिरह्यो। धेरै नेपालीले यत्रो ठूलो हत्याकाण्ड एकै व्यक्तिले गर्न सम्भव छैन भन्ने जिकिर गर्छन्। कतिपयको मनमा अहिले पनि आशंका छ- राजा ज्ञानेन्द्रले सत्ता प्राप्तिका लागि यो नरसंहार गराएका हुन्। कतिपयले भने यो हत्याकाण्ड कुनै आन्तरिक शक्तिले नभई बाह्य शक्तिले गराएको हो भन्ने धारणा राख्छन्।

गृहमन्त्री गुरुङले घोषणा गरेको दोस्रो निर्णयले अहिले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ। उनले भनेका छन्, ‘२०५८ साल जेठ १९ मा भएको नारायणहिटी दरबार हत्याकाण्डको छानबिनका सम्बन्धमा हालसम्म भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी थप छानबिन गरिनेछ।’ गृह मन्त्रालयको यो निर्णयपछि यतिबेला एउटा गम्भीर प्रश्न खडा भएको छ, ‘के सुधन गुरुङले गर्छु भनेको छानबिन ज्ञानेन्द्र शाह लक्षित त होइन?’

आज बसेको गृहमन्त्रालयको बैठकले चार महत्त्वपूर्ण निर्णय गरेको थियो, जसमध्ये दोस्रो निर्णय यही दरबार हत्याकाण्डको थप छानबिन रहेको छ।

यो घोषणाको राजनीतिक समय पनि उत्तिकै चासोको विषय बनेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले संसद्मा सरकारविरुद्ध निकै खरो रूपमा प्रस्तुत भइरहेको छ। राप्रपाले प्रधानमन्त्री बालेन शाहले जेठ १७ मा संसद्को रोष्ट्रमबाट दिएको अभिव्यक्ति– ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ को जवाफ माग गरिरहेको छ।

साथै, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सोमबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि विवादित ईभी गाडी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्। यसले बालेन सरकार चिढिएको बताइन्छ। यही कुरालाई मध्यनजर गर्दै के गुरुङले राप्रपालाई साइजमा राख्नकै लागि पनि उक्त निर्णय गरेका र सुनाएका हुन्? अर्को प्रश्न पनि सिर्जना हुन्छ।

अर्कोतिर, राप्रपाले सधैं राजतन्त्र पुनर्स्थापनाको वकालत गर्दै आएको छ। यस्तो अवस्थामा गृहमन्त्री गुरुङले तत्कालीन राजा ज्ञानेन्द्रलाई पनि छानबिनको दायरामा ल्याउन सक्ने गरी यो निर्णय गर्नुले पनि यो कथनलाई पुष्टि गर्ने आधार निर्माण भने पक्कै पनि गर्छ।

सुधन गुरुङ आज मात्रै गृहमन्त्रालय फर्केका हुन्। गत वैशाख ९ गते उनले विवादास्पद व्यवसायी दीपक भट्टसँगको शेयर लगानी, सम्पत्ति र अन्य व्यावसायिक कारोबारमा अनियमितता देखिएको आरोप लागेपछि छानबिनका लागि भन्दै गृहमन्त्रीबाट राजीनामा दिएका थिए।

राजीनामाको केही समयपछि सरकारले गुरुङमाथि छानबिन गर्ने भन्दै समिति पनि गठन गरेको थियो। उक्त समितिले जाँचबुझ गरेर प्रतिवेदन सरकारलाई समेत बुझायो। तर उक्त प्रतिवेदन सार्वजनिक नै नगरी सरकारले गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरेको छ।

कस्तो छ अहिलेको बजेट?

काठमाडौं । नेपालको आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा यसको औचित्य, कार्यान्वयन क्षमता र दीर्घकालीन प्रभावलाई लिएर व्यापक बहस सुरु भएको छ।

यो बजेट सरकारले ‘राज्यको चरित्र र अर्थतन्त्रको स्वरूप नै बदल्ने’ गरी ल्याएको दाबी गरे पनि विज्ञहरूले भने यसलाई यथार्थभन्दा टाढाको ‘भ्रम’ करार गरेका छन्। बजेटको आकार २१ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ भने सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। तर, तथ्यांक, स्रोतको अभाव र कार्यान्वयनको चुनौतीले यी लक्ष्यहरू कति व्यावहारिक छन् भन्ने प्रश्न उब्जाएको छ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले यस बजेटलाई अत्यन्तै यथार्थपरक रूपमा मूल्यांकन गर्दै पूँजीगत खर्च कत्ति पनि नहुने तर्क राखेका छन्। उनका अनुसार देश विकासको जिम्मा सरकारले मात्रै लिने हो कि निजी क्षेत्रले भन्ने प्रश्न बजेटमा अनुत्तरित छ। उनले सरकारले १५ खर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा त्यो असम्भव रहेको बताए। ‘राजस्व १२ खर्ब उठ्न मुस्किल छ। सरकारले कसरी उठाउँछ १५ खर्ब?’, मंगलबार बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजित एक कार्यक्रममा उनले भने।

सरकारले पूँजीगत खर्च बढाउनेतर्फ ध्यान दिनुपर्ने उनले सुझाए। उनका अनुसार पेन्सनमा १ खर्ब, तलबमा २ खर्ब र सामाजिक सुरक्षामा थप ३ देखि ४ खर्ब खर्च हुने अवस्थामा सरकारसँग विकासका लागि पैसा नै बाँकी रहँदैन। पाण्डेले २४ वटा राष्ट्रिय गौरवका योजनाको अवस्था बताउँदै भने, ‘१ खर्बको बजेट भएको योजनामा मुश्किलले ३ अर्ब मात्रै खर्च हुन्छ। अनि सरकारको लक्ष्य छ ४ खर्बभन्दा माथि।’

पाण्डेले १० वर्षभन्दा बढी समय लाग्ने योजना नबनाउन र निजी क्षेत्रले गर्न सक्ने काम सरकारले आफैँ नगर्न सुझाव दिए। उनले यस बजेटले राज्यको चरित्र र अर्थतन्त्रको स्वरूप बदल्छु भन्नुलाई ‘भ्रम’ करार गरे। उनका अनुसार राज्य एक्लै लागेर अर्थतन्त्रको स्वरूप बदल्दैन, त्यसका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ। उनले प्रश्न उठाए, ‘बजेटको नयाँ स्रोत के हो ? ६२ अर्ब अनुदान कहाँबाट आउँछ ?’

पाण्डेका अनुसार यसले चालु खर्च मात्रै बढाउँछ र २१०० अर्बको बजेटमा ४०० अर्ब पूँजीगत खर्चको लक्ष्य राखिएकोमा खर्च १५० अर्ब मात्रै हुन्छ। त्यसपछि ७ प्रतिशतको वृद्धिदर कसरी हासिल हुन्छ भन्ने ठोस जवाफ सरकारसँग छैन।

‘बजेटको राम्रो पक्षका रूपमा सुशासन, कानुन कार्यान्वयन, अनावश्यक संरचना हटाएर खर्च घटाउने कुरा छ। तर भन्सारका दरहरू हटाउने र अन्तःशुल्क कर हटाउने निर्णय सकारात्मक भए पनि भन्सारलाई विविधीकरण गर्नु राम्रो होइन,’ अर्थविद् चन्द्रमणि अधिकारीले भने।

अधिकारीले सरकारले प्रस्तुत गरेको बजेटका सन्दर्भमा अझै कठोर विश्लेषण गरे। उनका अनुसार बजेट निष्पक्ष हुनुपर्नेमा सधैँ पक्षपाती आउँछ, र यसपालि पनि त्यस्तै छ। यो बजेटमा राजनीतिक दिशा, नीतिगत स्पष्टता, कार्यदिशा र उद्देश्य नै नरहेको उनको भनाइ छ।

बजेटमा प्राथमिकताका क्षेत्रहरू निर्धारण नगरिएको, ७ प्रतिशत वृद्धिदर र ६ प्रतिशतभन्दा कम मूल्यवृद्धिको लक्ष्य राखिए पनि त्यो कसरी हासिल गर्ने भन्ने उल्लेख नभएको अधिकारीले बताए। बजेटको राम्रो पक्षका रूपमा उनले सुशासन, कानुन कार्यान्वयन, अनावश्यक संरचना हटाएर खर्च घटाउने कुरा उठाए। ‘बजेटको राम्रो पक्षका रूपमा सुशासन, कानुन कार्यान्वयन, अनावश्यक संरचना हटाएर खर्च घटाउने कुरा छ। तर भन्सारका दरहरू हटाउने र अन्तःशुल्क कर हटाउने निर्णय सकारात्मक भए पनि भन्सारलाई विविधीकरण गर्नु राम्रो होइन,’ उनले भने।

अधिकारीका अनुसार कच्चा पदार्थमा कम शुल्क लगाउने कुरा राम्रो हो। तर विद्युत्मा कर बढाउने कुरा, कृषि क्षेत्रलाई साँघुरो पारिएको, उद्योग कलकारखानामा स्पष्ट कार्यदिशा नभएको, र विदेशिने युवालाई रोक्ने कार्यक्रम नआएको भन्दै अधिकारीले चर्को असन्तुष्टि पनि व्यक्त गरे। ‘सरकारले स्थानीय तह र निजी क्षेत्रसँग सल्लाह लिन सक्थ्यो, जसले पशुपालन, कृषि जस्ता क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न मद्दत गर्थ्यो। तर सरकार त्यतातिर लागेन,’ उनले भने।

अहिलेको अवस्थामा करका दर बढाउनु उचित नभएको र पूँजीगत लाभकर घटाउनुपर्ने उनको सुझाव छ।

त्यस्तै, पूर्व अर्थमन्त्री प्रकाशशरण महतले बजेट कार्यान्वयनको सन्दर्भमा सकारात्मक र नकारात्मक दुवै पक्ष उठाए। उनका अनुसार अहिलेको सरकारलाई बजेट कार्यान्वयन गर्न पहिलेको भन्दा सजिलो अवसर छ। प्रशासनको सहयोग भए राम्रो कार्यान्वयन पनि हुन सक्छ।

तर, उनी यो बजेटमा आम्दानीको ठोस स्रोत नदेखिएको बताउँछन्। उनले योजना आयोगले सिफारिस गरेको भन्दा १५० अर्ब बढीको बजेट आएको बताउँदै राजस्व सरकारले भनेजति नआउने, वैदेशिक ऋण र अनुदान पनि नआउने भविष्यवाणी गरे। उनका अनुसार भरपर्दो स्रोत आन्तरिक ऋण मात्रै हो। महतले सरकारले निजी क्षेत्रको सहयोग लिए मुश्किलले ४ प्रतिशतसम्मको आर्थिक वृद्धि हुन सक्ने बताए तर ७ प्रतिशतलाई उनले ‘असम्भव’ भने।

महतले सरकारले प्रस्तुत गरेको बजेटको आलोचना गर्दै भने, ‘बजेटले निरन्तरता त दिएको छ तर सन्तुलनमा ध्यान गुमाएको छ। यो बजेटको आधार पुरानै हो, नयाँ भनेको मध्यम र उच्च वर्गलाई बढी ध्यान दिनु हो। कुनै वर्गलाई छुटाएर बजेट सन्तुलित हुँदैन, र यस बजेटले तल्लो वर्गका नागरिकलाई पूरै उपेक्षा गरेको छ।’ शिक्षा, स्वास्थ्य र विद्युत्मा कर बढाएर आर्थिक रूपान्तरण नहुने तर्क गर्दै उनले सरकारले रोजगारी सिर्जनाको लक्ष्य राखे पनि त्यसका लागि पूँजीगत खर्च बढाउनुपर्ने या निजी क्षेत्रलाई लगानीको वातावरण बनाउनुपर्ने बताए।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलले नचाहिनेलाई सामाजिक सुरक्षा भत्ता नदिने कुरा बजेटको राम्रो पक्ष भएको बताए। उनका अनुसार करका दरमा स्थायित्व हुनुपर्छ।

उनले निजी क्षेत्रलाई कारबाहीको त्रास देखाइएको आरोप लगाए। ‘सरकारले पहिले सुन्ने अनि मात्रै थुन्ने नीति लिनुपर्छ,’ उनले भने। सार्वजनिक र निजी दुवै क्षेत्रलाई ध्वस्त बनाउने मानसिकतामा नलाग्न सरकारलाई उनको आग्रह छ। उनले सरकारको व्यवहार अनुमानित हुनुपर्ने र भौतिक पूर्वाधारमा पनि ध्यान दिनुपर्ने बताए। बजेटमा नयाँ योजना नआएको उनको गुनासो छ।

त्यस्तै, अर्का पूर्वअर्थमन्त्री तथा नेकपा नेता वर्षमान पुन यस बजेटले सबैले विश्वास गर्न सक्ने वातावरण बनाउन नसकेको बताउँछन्। उनका अनुसार बजेटमा निजी क्षेत्र, अनुदानकर्ता, विदेशी संस्था र विदेशी लगानीको समर्थन हुने देखिन्छ। तर बजेटले धेरै अपेक्षा समेट्न नसकेको र सबै क्षेत्र तथा समुदायलाई समेट्न नसकेको उनी बताउँछन्। ‘बजेटमा धेरै अपेक्षा थिए तर ती अपेक्षा समेट्न सकेन,’ उनले भने।

उनले आईटी क्षेत्रले बजेटमा विशेष स्थान पाउनुलाई सकारात्मक मूल्यांकन गरे। तर सरकारले नयाँ भन्थ्यो तर बजेटले पुरानै निरन्तरता पाएको भन्दै आलोचना गरे। अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक श्वेतपत्रमा २०७२-०८२ लाई सबैभन्दा धेरै विकास भएको अवधि देखाउँदा पनि सरकारले ‘केही भएन’ भन्ने भाष्य बनाएकोमा पुनको आपत्ति छ। बजेटमा अधिकांश पुराना कार्यक्रम दोहोरिएको भन्दै उनले प्रश्न उठाए, ‘अहिलेको सरकारसँग विकासको दृष्टिकोण कहाँ छ ?’

मध्यम वर्गलाई केन्द्रमा राख्दा तल्लो वर्गका लागि बजेटमा कुनै कार्यक्रम नदेखिएको, यो बजेट लोकप्रियतावादी मात्रै भएको, र राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोण नभएर विपक्षी पाँच दलका कार्यक्रमहरू बजेटमा देखिएको पुनको दाबी छ। उनले जनधारणाको हिसाबले बजेट राम्रो देखिए पनि तथ्यमा आधारित नभएको, सरकारले निजी क्षेत्रलाई नतर्साइकन काम गर्न दिनुपर्ने र सुशासनको पक्षमा राम्रो काम गर्नुपर्ने सुझाव दिए।

‘जबसम्म सरकारले निजी क्षेत्रसँगको साझेदारी, पूर्वानुमानित नीति, पूँजीगत खर्चमा वृद्धि, र गरिब तथा मध्यम वर्गलाई राहत दिने सन्तुलित दृष्टिकोण अँगाल्दैन, तबसम्म ‘राज्यको चरित्र र अर्थतन्त्रको स्वरूप बदल्ने’ नारा केवल कागजी योजनामै सीमित रहनेछ,’ बजेटका सन्दर्भमा विज्ञहरूको एकमत छ।

विज्ञहरूका अनुसार चालु आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट अत्यधिक महत्वाकांक्षी तर स्रोत, पूँजीगत खर्च र कार्यान्वयनको ठोस आधारविना नै प्रस्तुत गरिएको देखिन्छ। सुशासन र अनावश्यक संरचना हटाउने प्रयास सकारात्मक भए पनि तल्लो वर्गको उपेक्षा, कृषि र शिक्षामा करको बोझ, निजी क्षेत्रलाई प्रोत्साहन नदिने मनस्थिति, ७ प्रतिशतको असम्भवप्रायः आर्थिक वृद्धिदरको लक्ष्य, र राजस्व उठ्ने अनिश्चितताले यस बजेटलाई व्यावहारिक रूपमा ‘चालु खर्च मात्रै बढाउने साधन’ बनाएको छ।

 

राप्रपामा रोकिएन पहिरो, पार्टी छाड्नेको लर्को

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोल्पा जिल्ला समितिका अध्यक्षसहित दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन विदेशी शक्तिको प्रभावमा परेको र त्यसले पार्टीको साख तथा इज्जतमा गम्भीर क्षति पुगेको आरोप लगाउँदै उनीहरूले सामूहिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन्।

पार्टी परित्याग गर्नेमा जिल्ला अध्यक्ष अर्जुनबहादुर शाही, उपाध्यक्षहरू गणेश रोकाय, गोपाल रोकाय, लोकबहादुर शाही, कमलकुमारी शाही तथा सहसचिव मानदेव रोकाय रहेका छन्। त्यसैगरी सदस्यहरू रूपकली रोकाय, विष्णुमाया शाही, पर्मलाल विक, सुरेन्द्रबहादुर शाही, खम्बबहादुर शाही, विन्द्रा रोका, लालिमान रोका, जंगे कुल्लम, प्रकाश विक, मनवीर नेपाल र सरूने कामीले पनि राप्रपासँगको आफ्नो सम्बन्ध अन्त्य गरेको जनाएका छन्।

पार्टी त्याग्दै उनीहरूले वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको आरोप छ कि अध्यक्ष लिङ्देनको नेतृत्वमा पार्टीले आफ्नो वैचारिक धरातल गुमाउँदै गएको छ र संगठन कमजोर बन्दै गएको छ।

यसअघि राप्रपाका महामन्त्री डा. धवलशम्शेर जबराले पार्टी छाडेपछि पार्टीभित्र असन्तुष्टि थप चुलिएको बताइन्छ। जबराको बहिर्गमनपछि केन्द्रदेखि जिल्ला तहसम्मका विभिन्न नेता तथा कार्यकर्ताले पार्टी छाड्ने क्रम बढ्दै गएको छ।

डोल्पा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूको सामूहिक बहिर्गमनलाई राप्रपाभित्रको पछिल्लो ठूलो राजनीतिक घटनाका रूपमा हेरिएको छ। यसले पार्टी संगठन र नेतृत्वमाथि थप दबाब सिर्जना गरेको राजनीतिक वृत्तमा चर्चा छ ।

विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बाेलाएकाे विपक्षी दलहरूकाे बैठक जारी छ ।

कांग्रेस संसदीय दलकाे कार्यालयमा  सुरू भएको बैठकमा छानबिन प्रतिवेदन सार्वजनिक नगरी सुधन गुरूङलाई गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री बालेनकाे निर्णय, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जाेडिएकाे बीवाईडी कारकाे कमिसन प्रकरण, १७ जेठमा प्रधानमन्त्री बालेनले दिएकाे सीमासम्बन्धी विवादित अभिव्यक्तिप्रति माफी माग्नुपर्ने लगायत एजेन्डामा छलफल हुँदैछ ।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा, सचेतक निश्कल राई, एमालेबाट दलका नेता रामबहादुर थापा `बादल´, उपनेता पदमा अर्याल, प्रमुख सचेतक ऐन महर, सचेतक निता घतानी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राप्रपा सचेतक खुश्बु ओली सहभागी छन् । श्रम संस्कृति पार्टीबाट भने काेही सहभागी छैनन्

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए शपथ(तस्बिरहरु)

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष दुवै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत उनीहरूलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो।

शपथ ग्रहणपछि दुवै मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। सरकारले सुशासन, सेवा प्रवाहमा सुधार तथा नवप्रवर्तन र प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नयाँ जिम्मेवारी दिएको जनाएको छ।

नवनियुक्त मन्त्रीहरूको कार्यसम्पादन र मन्त्रालयगत प्राथमिकताप्रति राजनीतिक तथा प्रशासनिक वृत्तको चासो बढेको छ।

 

सुधन गुरुङको पुनरागमन र  ‘शुद्धीकरण प्रक्रिया’

काठमाडौं। मंगलवार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ लिँदैछन् ।

दिउँसो ३ बजेका लागि शपथको तयारी भए पनि झन्डै डेढघण्टा ढिला गरी शपथ सुरु हुन लागेको छ ।

शपथका लागि उनीहरू राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।

यस्ता थिए राजीनामाका कारण:

विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी तथा उनी संलग्न कम्पनीमा गुरुङकै सेयर रहेको तथ्य सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भयो । कतिसम्म भने उनलाई बालेन र रास्वपाले नै जोगाउन सकेनन् । उनको सेयर साझेदारी रहेको लघुवित्त/विमा कम्पनीमा उनी संस्थापक सेयर होल्डरका रूपमा देखिएका थिए ।

स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सका सेयर ऋण लिएर खरिद गरिएको उल्लेख भए पनि अन्य सेयर लगानीबारे स्पष्टता नदिएकोले कुल लगानी ऋणमार्फत हो वा आंशिक मात्र हो भन्ने विषय अनिश्चिततामा धकेलियो ।

त्यसैगरी सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत ‘व्यवसाय, पैतृक सम्पत्ति वा लगानी’ भनेर उल्लेख गरिएको भए पनि ऋणसम्बन्धी विवरण समावेश थिएन । ऋण उल्लेख गर्ने खण्ड खाली राखिएपछि गुरुङले वकालत गरिरहेको पारदर्शिताको सवाल झन् पेचिलो बन्यो ।

गुरुङको स्वामित्वमा रहेका केही कम्पनीहरूमा संस्थापक सेयर रहेको तथ्यले पनि सम्पत्ति विवरणसँग मेल खान सकेन । साथै दीपक भट्टसँगको सम्भावित व्यावसायिक सम्बन्धबारे स्पष्टता नआएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा उनको राजीनामाको माग बढ्दै गयो ।

विवादित व्यापारी तथा बिचौलिया दीपक भट्ट समूहसँग सेयर लगानी रहेको तथ्य बाहिरिएपछि गुरुङ नैतिक संकटमा फसेका थिए । जसले गर्दा उनले मन्त्री पद जोगाउन सकेनन् ।

त्यसअघि गुरुङलाई फेवातालको जग्गा प्रकरणले पनि विवादित बनाएको थियो । फेवाताल वरपरका अवैधानिक संरचना भत्काउने क्रममा तालको मूलघरमै गृहमन्त्रीको जग्गा रहेको विषय बाहिर आएपछि उनी थप विवादमा परे । उनले त्यसलाई भाडाको जग्गा भएको दाबी गरे पनि उनी पूर्ण रूपमा चोखिन सकेनन् ।

त्यसको केही दिनपछि गृहमन्त्री गुरुङको सम्पत्ति विवरणमा हदबन्दीभन्दा बढी जग्गा देखियो । उनले त्यसलाई पैतृक सम्पत्तिको रूपमा व्याख्या गरे ।

एक व्यक्तिले अधिकतम ७० रोपनी जग्गा राख्न पाउने कानुनी व्यवस्था छ । तर उनको सम्पत्ति विवरणमा २४१ रोपनी जग्गा उल्लेख छ, जुन भागबण्डा गर्दा पनि ३ जनाभन्दा बढी व्यक्तिको नाममा ७० रोपनी हुन आउँछ ।

यो प्रकरणले पनि उनमाथि नैतिक दबाब बढ्दै गएको थियो ।

गृहमन्त्री गुरुङले सरकार गठन भएकै राति भदौ २३ को जेनजी विद्रोहमा १९ जनाको ज्यान जाने गरी भएको घटनाका मतियार भन्दै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेका थिए । उनको यो निर्णय पनि विवादित बन्यो ।

सार्वजनिक वृत्तमै ओली र लेखकलाई हतारमा पक्राउ गर्ने गुरुङको निर्णय ‘आलोकाँचो’ भन्दै प्रश्न उठेका थिए ।

गुरुङले अन्य थुप्रै नेता तथा व्यवसायीलाई पनि हिरासतमा पुर्‍याएका थिए । तर अनुसन्धानका आधार नपुगेपछि तीमध्ये धेरैजसो रिहा भए, जसले उनको निर्णयमाथि थप प्रश्न उठायो ।

गुरुङको ‘शुद्धीकरण प्रक्रिया’

सरकारले  गुरुङमाथि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो ।

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिलाई गुरुङसम्बन्धी सार्वजनिक रूपमा उठेका विषयमा सत्य–तथ्य अध्ययन गरी सरकारलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो ।

तर उक्त समितिले गुरुङले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको नदेखिएको निष्कर्ष निकालेको छ । साथै, मन्त्रीहरूको सम्पत्ति विवरणसम्बन्धी नीतिगत सुधारका लागि ९ बुँदे सुझाव पनि दिएको छ ।

प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘पूर्व गृहमन्त्री तथा हाल प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङले आर्जन गरेको आयबाट हालसम्म विभिन्न कम्पनीहरूमा लगानी तथा सेयर खरिद गरेको देखिएकोमा निजको आय र खर्च तथा प्राप्त सूचना, कागजात, प्रमाण र विवरणका आधारमा गरिएको अध्ययनमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुने पर्याप्त आधार देखिएन ।’

समितिले विभिन्न सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, स्थानीय तहबाट प्राप्त कागजात तथा गुरुङको लिखित बयानका आधारमा सम्पत्ति विश्लेषण गरिएको जनाएको छ ।