Author: nepalone
‘मिस नेपाल’ २०२६ का लागि ७८ सुन्दरीको अडिसन
एकैदिन ११८ जना कारबाहीमा
३ सय ३८ किलो झ्याउसहित चार जना पक्राउ
धनगढी ।दार्चुलामा अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको झ्याउ प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुहुँ गाउँपालिका–३ कालीगाडस्थित महाकाली नदी किनार क्षेत्रबाट ३९ बोरा झ्याउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। भारततर्फ तस्करीको तयारी भइरहेको अवस्थामा उक्त झ्याउ फेला परेको हो।
घटनास्थलबाट अवैध झ्याउ ओसारपसारमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दुहुँ गाउँपालिका–४ का ४१ वर्षीय पवनसिंह कार्की, ४२ वर्षीय रमेशसिंह कार्की, ४१ वर्षीय गोर्खसिंह कार्की र ३२ वर्षीय शैलेन्द्रसिंह कार्की रहेका छन्।
बरामद गरिएको झ्याउको कुल तौल करिब १,३६८ किलोग्राम रहेको र यसको बजार मूल्य करिब ३ लाख ४२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको वन पैदावार आवश्यक कानुनी प्रक्रिया पूरा गरी अपि–नम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाको जिम्मा लगाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अर्थमन्त्रीको अभिव्यक्तिमा एमालेद्वारा संसदीय छानबिनको माग(भिडियाे)
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै प्रतिपक्ष कुनै पनि विषयलाई तथ्यसहित छानबिन गर्न तयार रहेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विपक्षी सांसदहरूको विगतका गतिविधिबारे आफू जानकार रहेको र आवश्यक परे सार्वजनिक गर्ने चेतावनी दिएपछि संसदमा थप बहस चर्किएको हो।
सोही विषयमा प्रतिक्रिया दिँदै सांसद बरालले विगतका सबै घटनालाई ‘दूधको दूध र पानीको पानी’ छुट्याएर छानबिन गर्न प्रतिपक्ष तयार रहेको बताए। उनले सत्यतथ्य उजागर गर्न आफूहरू खुला रहेको उल्लेख गर्दै कमजोरी भए सच्याउन पनि तयार रहेको धारणा राखे।
तर, उनले अर्थमन्त्रीले विगतका सन्दर्भ उठाउँदै वर्तमान बजेट प्रक्रिया प्रभावित पार्ने प्रयास गरेको आरोप लगाए। बजेटको दररेट र राजस्वसम्बन्धी निर्णयमा छेडखानी भएको भन्दै उनले गम्भीर प्रश्न उठाए।
बरालले यस्तो विषयबाट अर्थमन्त्री उम्किन नपाउने दाबी गर्दै तत्काल ध्यानाकर्षण गराउन सभामुखसमक्ष आग्रह गरे। उनले संसदीय छानबिन समिति गठन गरेर मात्रै यस्ता विषयको निष्पक्ष निरूपण सम्भव हुने बताए।
उनका अनुसार, छानबिन नगरी यस्ता विवाद निरन्तर दोहोरिने र गलत अभ्यास बस्ने खतरा रहने भएकाले स्थायी समाधानका लागि संसदीय छानबिन आवश्यक छ।
सीमाका विषयमा सरकार गम्भीर नभएको राप्रपाको आरोप(भिडियाे)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले सरकारले नेपाल–भारत सीमा विवादको विषयलाई पर्याप्त प्राथमिकता नदिएको आरोप लगाएकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सीमा विवादको विषय प्रभावकारी रूपमा उठान हुन नसकेको बताइन्। उनले भ्रमणपछि जारी गरिएको संयुक्त प्रेस नोटमा सीमा विवादबारे कुनै उल्लेख नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
ओलीका अनुसार प्रधानमन्त्रीको भ्रमणअघि र भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनहरूमा पनि सीमा विवादको विषयले उचित स्थान पाएन। पत्रकारहरूले प्रश्न उठाएपछि मात्रै सीमासम्बन्धी केही प्रतिक्रिया आएको उनको भनाइ थियो।
उनले सीमा व्यवस्थापन र सीमा विवाद फरक विषय भएको उल्लेख गर्दै सरकारले यी विषयलाई एकै रूपमा प्रस्तुत गर्न खोजेको आरोप लगाइन्। जंगे पिलरको मर्मत, सीमा व्यवस्थापन तथा नियमित प्राविधिक कामलाई सीमा विवाद समाधानसँग जोड्न नमिल्ने उनको तर्क थियो।
राप्रपाले कालापानी, लिम्पियाधुरा र लिपुलेकजस्ता नेपाली भूभागका विषयमा सरकार स्पष्ट र दृढ रूपमा प्रस्तुत हुनुपर्ने माग गरेको छ। ओलीले नेपालले जारी गरेको नयाँ नक्सामा समेटिएका भूभागका विषयमा सरकारले कूटनीतिक तहमा थप सक्रियता देखाउनुपर्ने बताइन्।
उनले भारत भ्रमणका क्रममा सीमा विवादको विषय औपचारिक दस्तावेज र संयुक्त वक्तव्यमा समावेश हुन नसक्नु दुःखद भएको टिप्पणी गरिन्। यद्यपि, पछिल्ला केही सार्वजनिक अभिव्यक्तिमा नेपाली भूभागबारे कुरा उठाइएको विषयलाई सकारात्मक रूपमा लिएको उनले बताइन्।
ओलीले राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकार थप जिम्मेवार र स्पष्ट हुनुपर्नेमा जोड दिँदै सीमा विवाद समाधानका लागि ठोस पहल आवश्यक रहेको बताइन्।
हर्कले खोजे रक्षामन्त्री(भिडियो)
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्थानीय नेपाली नागरिकलाई धाकधम्की दिएको आरोप लगाउँदै संसदमा रक्षामन्त्रीको उपस्थितिको माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले सभामुखमार्फत रक्षामन्त्रीलाई संसदमा उपस्थित गराई उक्त विषयमा स्पष्ट जवाफ दिन आग्रह गरे। प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा आफूहरूले लगातार ११ दिनसम्म संसदमा प्लेकार्ड प्रदर्शन गरे पनि सरकारबाट कुनै प्रतिक्रिया नआएको उनले बताए।
संसदमा बोल्दै साम्पाङले सुस्तामा एसएसबीका जवानहरूले स्थानीयवासीमाथि दबाब सिर्जना गरेको र त्यसविरुद्ध स्थानीयहरू प्रतिरोधमा उत्रिएको देखिने भिडियो सार्वजनिक भएको उल्लेख गरे। उनले सीमावर्ती क्षेत्रमा नेपाली सेनाको उपस्थितिबारे पनि प्रश्न उठाउँदै सरकारको धारणा माग गरे।
‘प्रधानमन्त्री आउनुहुन्न भने नेपाल सरकारका रक्षामन्त्रीलाई नै संसदमा ल्याइयोस्,’ उनले भने, ‘सुस्तामा भारतीय सुरक्षा बलले नेपाली दाजुभाइलाई हप्कीदप्की गरेको र स्थानीयहरू आफ्नो भूमिको रक्षा गर्न संघर्ष गरिरहेको भिडियो सार्वजनिक भएको छ। नेपाली सेना सीमामा अवलोकनका लागि समेत जान नपाउने कुनै सम्झौता भएको हो भने त्यसबारे जानकारी गराइयोस्। सार्वभौम सांसदका रूपमा हामी सत्यतथ्य जान्न चाहन्छौँ।’
साम्पाङले सभामुखसँग रुलिङमार्फत रक्षामन्त्रीलाई संसदमा उपस्थित गराउन आग्रह गरेका थिए। हाल रक्षामन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिरहेका छन्।
विनयी त्रिवेणीमा हावाहुरी असिनाले धानबाली नष्ट, ७३ परिवार प्रभावित(तस्विरहरु)
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा आएको हावाहुरीसहितको वर्षा र असिनापानीले किसानले भित्र्याउने तयारीमा राखेको धानबालीमा ठूलो क्षति पुर्याएको छ। मंगलबार साँझ आएको प्रतिकूल मौसमका कारण धानबालीसँगै घरगोठ र दैनिक उपभोगका सामग्रीमा समेत क्षति पुगेको छ।
विनयी त्रिवेणी गाउँपालिका–१ अन्तर्गत बगुवन र सिसेनी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेका छन्। स्थानीय तहका अनुसार बगुवन, सिसेनी, ज्योगीकुटी, तल्लो ज्यामिरे र पुरानो बस्ती गरी विभिन्न स्थानका ७३ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
धान काटेर भित्र्याउने तयारीमा रहेका किसानहरू सबैभन्दा बढी मारमा परेका छन्। खेतमा काटेर मुठा पारेर राखिएको चैते धान एक्कासि आएको हावाहुरी र वर्षाले भिजाएको छ भने असिनापानीले नकाटिएको धानबालीमा समेत क्षति पुर्याएको छ।
बगुवन क्षेत्रमा विगत पाँच दशकदेखि बसोबास गर्दै आएकी स्थानीय मिना विकले आफ्नो खेतमा काटेर राखेको धान भिज्नुका साथै घरमा समेत ठूलो क्षति पुगेको बताइन्। उनका अनुसार पाँच कठ्ठा क्षेत्रफलमा लगाएको धान काटेर मुठा पार्दै गर्दा अचानक हावाहुरीसहित पानी परेपछि धान जोगाउन हम्मेहम्मे परेको थियो।
‘पाँच कठ्ठामा लगाएको धान काटेर मुठा पार्दै थिएँ। अचानक हावाहुरीसहित पानी पर्यो,’ उनले भनिन्, ‘खेतमा रहेको धान जसोतसो कुन्यु लगाएर घर फर्किएँ। घर पुगेपछि त हावाले टिनको छाना नै उडाइदिएछ। घरभित्र राखेको धान, चामल, लत्ताकपडा सबै भिज्यो। धन्न ज्यान जोगियो।’
स्थानीय किसानहरूका अनुसार धान भित्र्याउने अन्तिम चरणमा पुगेका बेला आएको वर्षा र हावाहुरीले वर्षदिनको मेहनतमाथि चोट पुर्याएको छ। कतिपय किसानको खेतमा राखिएको धान लामो समय भिज्दा उत्पादनमा समेत कमी आउने चिन्ता बढेको छ।
जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ संजय ढकालका अनुसार बगुवन क्षेत्रमा मात्रै करिब सात बिघा क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको छ। अधिकांश किसानले धान भित्र्याइसके पनि करिब ३० प्रतिशत धान अझै खेतमै रहेका कारण त्यसमा प्रत्यक्ष असर परेको उनले बताए।
उनका अनुसार सिसेनी क्षेत्रमा करिब पाँच बिघा क्षेत्रफलमा काटिएको धानमध्ये झण्डै ५० प्रतिशतमा क्षति पुगेको छ। त्यस्तै, करिब ३५ बिघा क्षेत्रफलमा रहेको नकाटिएको धानबाली असिनापानीका कारण प्रभावित भएको छ। कृषि प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरिरहेको ढकालले जानकारी दिए।
हावाहुरीले कृषि क्षेत्रमात्र नभई स्थानीय बासिन्दाका घरमा पनि क्षति पुर्याएको छ। विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार प्रारम्भिक मूल्यांकनका आधारमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
गाउँपालिका अध्यक्ष गिरीका अनुसार सिसेनीमा २३, बगुवनमा ४०, ज्योगीकुटीमा १, तल्लो ज्यामिरेमा ७ र पुरानो बस्तीमा २ गरी जम्मा ७३ घरपरिवार प्रभावित भएका छन्। प्रभावित परिवारका घरका छाना उड्नुका साथै अन्नपात, लत्ताकपडा, खाद्यान्न तथा अन्य घरेलु सामग्रीमा समेत क्षति पुगेको छ।
स्थानीय सरकारले प्रभावित क्षेत्रको तथ्यांक संकलन गर्ने कार्य तीव्र बनाएको छ। गाउँपालिकाले वडास्तरबाट क्षतिको विवरण संकलन गरिरहेको र वास्तविक अवस्था मूल्यांकनपछि राहत तथा सहयोगका कार्यक्रम अघि बढाइने जनाएको छ।
‘हामीले प्रभावित परिवारको विवरण संकलन गरिरहेका छौं,’ अध्यक्ष गिरीले भने, ‘क्षतिको यकिन विवरण प्राप्त भएपछि गाउँपालिकाको तर्फबाट आवश्यक राहत र सहयोग उपलब्ध गराउने तयारी गरेका छौं।’
असामयिक हावाहुरी र असिनापानीका कारण किसान तथा स्थानीय बासिन्दाले ठूलो क्षति व्यहोर्नुपरेपछि प्रभावित क्षेत्रका बासिन्दाले राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग तत्काल सहयोगको माग गरेका छन्।
बाढीले बगाउँदा दुई महिलाको मृत्यु
काठमाडौं । कैलालीको गोदावरी क्षेत्रमा आएको बाढीमा परी दुई महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउद रहेका छन्।
शुक्रबार बिहान च्याउ खोज्न नजिकैको जङ्गल गएका उनीहरू गोदावरी नदीमा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ। खोजीका क्रममा दुवै जनाको शव वनदेवी मन्दिर पछाडिको क्षेत्रमा फेला परेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
अर्थमन्त्रीले धम्की दिए : वर्षमान पुन(भिडियाे)
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। शुक्रबार संसद बैठकमा बोल्दै प्रतिपक्षी सांसदहरूले अर्थमन्त्रीको भनाइलाई धम्कीपूर्ण र संसदीय मर्यादाविपरीत भएको बताएका हुन्।
नेकपाका सांसद वर्षामान पुनले अर्थमन्त्रीले संसद र संसदीय समितिको अवमूल्यन गरेको आरोप लगाउँदै उनीमाथि संसदीय छानबिन गर्न माग गरे। उनले आर्थिक विधेयकसँग सम्बन्धित विषयमा अर्थमन्त्रीले सातवटा करका दर परिवर्तन गरेको स्वीकार गर्नु गम्भीर विषय भएको दाबी गरे।
पुनले भने, ‘अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ । सातवटा करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो । यो आर्थिक अपराध हो । उल्टो धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ । यसले मानहानी भएको छ । सभामुखबाट रुलिङ हुनुपर्छ । संसदीय छानबिन गरिनुपर्छ ।’
संसदमा बोल्दै पुनले अर्थमन्त्रीबाट समिति र संसदलाई धम्क्याउने प्रयास भएको भन्दै त्यसप्रति आफ्नो दलको गम्भीर आपत्ति रहेको बताए। उनले करका दर हेरफेर गरिएको स्वीकारोक्तिलाई आर्थिक अपराधको संज्ञा दिँदै सभामुखबाट रुलिङ हुनुपर्ने र संसदीय छानबिन अगाडि बढाउनुपर्ने माग गरे।
यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई लक्ष्य गर्दै ‘तपाईंहरूको काण्डबारे पनि म अनभिज्ञ छैन, ती पनि खुल्नेछन्’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि संसदमा प्रतिपक्षी दलहरूले विरोध जनाएका छन्।
५ हजार ३ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यद्यपि, पछिल्लो एक साताको अवधिलाई हेर्दा सुनको मूल्यमा अझै पनि गिरावट देखिएको छ। गत शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको थियो, जसको तुलनामा हाल १७ हजार रुपैयाँले कम हो।
यस्तै, चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
तर, सुनझैं चाँदीको मूल्य पनि एक साताअघि रहेको स्तरभन्दा तलै छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।
यस्तो रह्यो विश्वकप-२०२६ को उद्घाटन(तस्बिरहरु)
काठमाडौं । फिफा विश्वकप २०२६ औपचारिक रूपमा सुरु भएको छ। गएराति मेक्सिको सिटीस्थित ऐतिहासिक स्टेडियममा आयोजित भव्य समारोहसँगै विश्व फुटबलको महाकुम्भको पर्दा खुलेको हो।
उद्घाटन समारोहमा हजारौं दर्शकको उपस्थितिबीच रंगीन सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन तथा टायला लगायतले आफ्नो प्रस्तुति दिँदा स्टेडियम उत्सवमय बनेको थियो।
समारोहपछि भएको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
रोचक र प्रतिस्पर्धात्मक बनेको खेलमा तीन खेलाडीले रातो कार्ड सामना गरे। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वाने मैदानबाट बाहिरिए भने खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्ड पाएका थिए।
यसैबीच, संयुक्त राज्य अमेरिकामा जुन १२ देखि विश्वकपका खेलहरू सुरु हुनेछन्। लस एन्जलसमा आयोजना हुने उद्घाटन समारोहमा अमेरिकी सांस्कृतिक विविधता, संगीत र मनोरञ्जन उद्योगलाई झल्काउने विशेष कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ।
उद्घाटन समारोहपछि आयोजक अमेरिका र पाराग्वेबीचको खेलमार्फत अमेरिकी भूमिमा विश्वकपको प्रतिस्पर्धा सुरु हुनेछ।
त्यस्तै, क्यानडाको टोरन्टोमा पनि जुन १२ मै विश्वकपको उद्घाटन कार्यक्रम आयोजना हुँदैछ। पहिलोपटक विश्वकप आयोजना गरिरहेको क्यानडाले आफ्नो राष्ट्रिय पहिचान, संस्कृति र विविधतालाई विश्वसामु प्रस्तुत गर्ने तयारी गरेको छ। मेक्सिको र अमेरिकाले भने यसअघि पनि विश्वकप आयोजना गरिसकेका कारण प्रतियोगिता सञ्चालनको अनुभव हासिल गरिसकेका छन्।
तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गरेको विश्वकप २०२६ फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा हेरिएको छ।
तस्बिरहरु : एपी/रासस
एआईको लडाइँ अब चुनावी मैदानमा
काठमाडौं। कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी बहस अहिले अमेरिकी राजनीतिमा नयाँ मोडमा पुगेको छ। यस बहसको केन्द्रमा छन् न्युयोर्कका डेमोक्र्याटिक राजनीतिज्ञ एलेक्स बोरस, जो केही वर्षअघिसम्म प्रविधि कम्पनी पालान्टिरका इन्जिनियरका रूपमा कार्यरत थिए।
हाल न्युयोर्कको १२औँ कंग्रेसनल जिल्लाबाट अमेरिकी प्रतिनिधिसभाको निर्वाचन लडिरहेका बोरस आफूलाई शक्तिशाली प्रविधि कम्पनीहरूको निशानामा परेको दाबी गर्छन्। सामाजिक सञ्जालमा रहेको आफ्नो परिचयमा उनले आफूलाई ‘शक्तिशालीहरूसँग जुध्दै न्युयोर्कका लागि लडिरहेको’ व्यक्तिका रूपमा प्रस्तुत गरेका छन्।
आउँदो नोभेम्बरमा हुने निर्वाचनअघि बोरसविरुद्ध ठूला प्रविधि कम्पनीसँग सम्बन्धित राजनीतिक समितिहरू सक्रिय रूपमा लागिपरेका छन्। अमेरिकामा ‘पोलिटिकल एक्सन कमिटी’ (पीएसी) भनिने यस्ता समूहहरूले चुनावी अभियानमा ठूलो रकम खर्च गर्दै राजनीतिक प्रभाव विस्तार गर्ने गर्छन्।
सीएनएनसँगको अन्तर्वार्तामा बोरसले एआई उद्योगसँग सम्बन्धित लबिस्टहरूले आफूलाई पराजित गरेर एउटा राजनीतिक सन्देश दिन खोजिरहेको आरोप लगाएका छन्। उनका अनुसार एआई नियमनसम्बन्धी आफ्नो अडानका कारण उनी ठूला प्रविधि कम्पनीहरूको लक्ष्य बनेका हुन्।
बोरसले सन् २०२५ मा न्युयोर्कमा एआई नियमनसम्बन्धी ‘रेस्पोन्सिबल एआई सेफ्टी एन्ड एजुकेसन एक्ट’ पारित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उक्त कानुनलाई एआई प्रणालीहरूको पारदर्शिता, उत्तरदायित्व र प्रयोगकर्ताको सुरक्षासँग जोडिएको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
यही कानुनपछि एआई उद्योगभित्र मत विभाजन झन् स्पष्ट भएको देखिन्छ। बोरसविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक सामग्री फैलाउने अभियानहरू सञ्चालन भएका छन्। विशेषगरी पालान्टिर र ओपनएआईसँग सम्बन्धित राजनीतिक समिति ‘लिडिङ द फ्युचर’ ले उनीविरुद्ध विज्ञापन अभियान सञ्चालन गरिरहेको बताइएको छ।
रोचक पक्ष के छ भने ती विज्ञापनहरूमा बोरसकै विगतलाई प्रयोग गरिएको छ। पालान्टिरमा काम गरेको अनुभवलाई आधार बनाएर उनी आप्रवासीविरोधी गतिविधिसँग जोडिएको आरोप लगाइएको छ। केही विज्ञापनमा अमेरिकी अध्यागमन निकाय आईसीईसँग पालान्टिरको सहकार्यलाई उल्लेख गर्दै बोरसको भूमिका विवादित बनाउन खोजिएको छ।
तर बोरसले भने आफ्नो विगत लुकाएका छैनन्। उनले पालान्टिरमा काम गरेको स्वीकार गर्दै कम्पनीले अमेरिकी अध्यागमन निकाय तथा इजरायली रक्षा मन्त्रालयसँग सहकार्य गरेको जानकारी पाएपछि आफूले त्यहाँको जागिर छाडेको बताएका छन्। उनका अनुसार सार्वजनिक हितका लागि काम गर्न र राजनीतिक क्षेत्रमा प्रवेश गर्न उनले उच्च आम्दानी दिने प्रविधि क्षेत्र छोडेका हुन्।
विश्लेषकहरूका अनुसार न्युयोर्कको यो निर्वाचन अहिले एआईसम्बन्धी राजनीतिक बहसको प्रमुख मैदान बनेको छ। पछिल्लो समय गरिएको एक मत सर्वेक्षणले अधिकांश अमेरिकी नागरिक एआईको प्रभाव र सम्भावित जोखिमबारे चासो राख्न थालेको देखाएको छ।
बोरसको भनाइमा एआई प्रविधिको सम्भावना र जोखिम दुवैबारे आफू जानकार भएकाले यसको जिम्मेवार नियमन आवश्यक छ। उनी एआईको पूर्ण विरोधी भने होइनन्। बरु राजनीतिक बहसको तयारी, कानुनी दस्तावेजहरूको अध्ययन तथा पुराना कानुनमा रहेका समस्याहरू पहिचान गर्न उनी आफैँ एआई उपकरणहरूको प्रयोग गर्ने गर्छन्।
सीएनएनसँग उनले भनेका छन्, ‘एआई अत्यन्त शक्तिशाली प्रविधि हो। त्यसैले यसको भविष्यबारे निर्णय केही अर्बपतिहरूको हातमा मात्र छोड्न मिल्दैन।’
बोरसविरुद्ध र पक्षमा दुवैतर्फबाट करोडौँ डलर खर्च भइरहेका छन्। जहाँ ओपनएआई र पालान्टिरसँग सम्बन्धित ‘लिडिङ द फ्युचर’ समूहले उनको पराजयका लागि अभियान चलाइरहेको छ, त्यहीँ अर्कोतर्फ एआई कम्पनी एन्थ्रोपिकसँग सम्बन्धित ‘पब्लिक फर्स्ट’ नामक राजनीतिक समितिले उनलाई समर्थन गरिरहेको छ।
‘क्लाउड’ एआई प्रणाली विकास गर्ने एन्थ्रोपिकसँग जोडिएको उक्त समितिले बोरसको पक्षमा लाखौँ डलर खर्च गरिसकेको सार्वजनिक विवरणमा उल्लेख छ।
न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार ‘लिडिङ द फ्युचर’ ले बोरसविरुद्ध करिब ४० लाख अमेरिकी डलर खर्च गरिसकेको छ भने ‘पब्लिक फर्स्ट’ ले उनको पक्षमा ३७ लाख डलरभन्दा बढी रकम परिचालन गरिसकेको छ।
यो सम्पूर्ण घटनाक्रमलाई विश्लेषण गर्दै न्युयोर्क टाइम्सका पत्रकार थियोडोर स्लेफरले एउटा रोचक तथ्य औँल्याएका छन्। उनका अनुसार चुनावी राजनीतिमा बगिरहेको यो ठूलो धनराशिको सबैभन्दा विडम्बनापूर्ण पक्ष के हो भने संघर्षरत दुवै पक्ष अन्ततः एआई प्रविधिकै विकास र विस्तार चाहन्छन्।
फरक केवल यति हो एआईको भविष्य कसले निर्धारण गर्ने, त्यसको नियमन कति कडा हुने र त्यसबाट सिर्जना हुने शक्ति कसको हातमा केन्द्रित हुने भन्ने प्रश्नमा उनीहरू एकअर्काविरुद्ध उभिएका छन्।
यसरी न्युयोर्कको एउटा निर्वाचन क्षेत्रको प्रतिस्पर्धा अब केवल सांसद छनोटको विषयमा सीमित नरही, एआई उद्योगको भविष्य, नियमन र राजनीतिक प्रभावको परीक्षणस्थलका रूपमा विकसित हुँदै गएको छ।
[अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार गरिएको]
सभामुखले सरकारको प्रतिरक्षा गर्नु उपयुक्त हुँदैन : एमाले महासचिव
काठमाडौं । नेकपा एमालेका महासचिवले सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा गर्न सभामुख स्वयं अघि सर्नु संसदीय अभ्यास र मर्यादाअनुसार उपयुक्त नहुने बताएका छन्।
उनले संसद् सरकार र प्रतिपक्षबीचको बहस तथा जवाफदेहिताको थलो भएकाले सरकारको पक्षमा तर्क प्रस्तुत गर्ने जिम्मेवारी सम्बन्धित मन्त्री तथा सत्तापक्षका सांसदहरूको हुने उल्लेख गरे।
‘सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन। संसदीय खेलका खेलाडी सांसदहरू नै हुन्,’ उनले लेखेका छन्।
महासचिवले सभामुखको भूमिका संसद्को कार्य सञ्चालनलाई निष्पक्ष र मर्यादित ढंगले अघि बढाउने भएको उल्लेख गर्दै कुनै पनि पक्षको पक्षधर देखिने गतिविधिबाट बच्नुपर्ने धारणा राखे।
उनले संसदीय लोकतन्त्रको सफलताका लागि सभामुखको निष्पक्षता सबै दलले अनुभूति गर्न सक्ने वातावरण आवश्यक रहेको पनि बताए।
दक्षिण कोरियाको शानदार पुनरागमन, चेक रिपब्लिक २–१ ले पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको रोमाञ्चक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २–१ को संघर्षपूर्ण जित हात पारेको छ।
मेक्सिकोको ग्वाडालजरा रंगशालामा भएको खेलमा चेक रिपब्लिकले सुरुआती अग्रता लिए पनि दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
खेलको ५९औँ मिनेटमा लादिस्लाभ क्रेज्कीले गोल गर्दै चेक रिपब्लिकलाई १–० को अग्रता दिलाएका थिए। तर दक्षिण कोरियाले त्यसको आठ मिनेटपछि नै जवाफ फर्कायो। ६७औँ मिनेटमा ह्वाङ इन–बियोमले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
बराबरीपछि थप आक्रामक बनेको दक्षिण कोरियाले ८०औँ मिनेटमा निर्णायक गोल गर्यो। ओह ह्योन–ग्युले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए।
बाँकी समयमा दुवै टोलीले थप अवसर सिर्जना गरे पनि गोल निस्कन सकेन। अन्ततः दक्षिण कोरियाले पुनरागमन जित दर्ता गर्दै समूह चरणमा महत्वपूर्ण सफलता हासिल गर्यो।
गरिबलाई शुल्क, धनीलाई छुट : किसानले दुई करोड लगानी कसरी गर्ने ? (अन्तर्वार्ता)
प्रधानमन्त्री बालेनको सरकारले १५ जेठमा २१ खर्ब २४ अर्ब बराबरको बजेट ल्याएको छ । बजेटलाई अर्थशास्त्रीहरूलाई भनेका छन्- यो मध्यमवर्गलक्षित छ ।
यसले श्रमजीवी, मजदुर र किसानवर्गको उत्थान गर्दैन । बजेट शाह नेतृत्वको दुई तिहाइ सरकारको राजनीतिक दस्तावेज मात्रै होइन, आर्थिक दस्तावेज पनि हो । यो बजेटले रोजगारीको क्षेत्रको दायरा बढाउँछ ?
शिथिल अर्थतन्त्रलाई चलायनमान बनाउन सक्छ ? बजेट नेपालको आर्थिक क्षमताअनुसार यथार्थपरक छ ? यिनै मूल सवालहरूमा केन्द्रित रहेर नेपाल राष्ट्र बैंकमा पूर्वगर्भनरसमेत रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीसँग गरिएकाे सम्वादकाे सम्पादित रुप :-
000
बालेन सरकारले ल्याएको २१ खर्ब २४ अर्ब बराबरको बजेटप्रति तपाईंको समीक्षा के हो ?
निर्वाचन हुनु भन्दा अगाडि नै रास्वपा सभापतिले डा. स्वर्णिम वाग्लेलाई तपाईं बजेट लेख्न थाल्नुहोस् भन्नुभएको थियो । नभन्दै चुनावबाट दुई तिहाईको मत ल्याएपछि अर्थमन्त्री हुनुभयो । त्यसपछि जब बजेट तयारी गर्ने सिलसिला भयो, त्यसबेला नै बजेटले हाँगा हालेको थियो, त्यो के भने स्वाभाविक रुपमा बजेट अर्थ मन्त्रालयमा बजेटको तयारी हुँदै थियो, त्यहीबीचमा प्रधानमन्त्री कार्यालयबाट बजेटका लागि सुझाव संकलन पोर्टल खोलिएको थियो । त्यहाँ १४ हजार ४२४ जति सुझाव प्राप्त भयो भनेर सार्वजनिक भयो ।
यो हिसाबले हेर्दा राष्ट्रिय योजना आयोगले दिएको बजेटको सीमा १८ खर्ब ९० अर्ब थियो, त्यो भन्दा धेरै माथि हुनुपर्दथ्यो । माथि त भयो तर २१ खर्ब २४ अर्बमा मात्रै सीमित रह्यो । किनभने दुई ठाउँबाट आएको सुझावलाई समेट्दा त निकै ठूलो आकारको बजेट हुनुपर्ने हो । अर्थमन्त्रीले कहाँ मलाई २५ खर्बको बजेट बनाउनलाई दबाब थियो, मैलै त धेरै कुरालाई मिलाएर २१ खर्बको २४ अर्बमा झारेको भन्नुभयो । त्यस्तै, बजेट पुस्तिका नीति कार्यक्रम १०० बुँदामा छ, शासकीय सुधार पनि १०० बुँदामा थियो तर बजेट ८० बुँदामा ल्याउनुभयो । उहाँहरू पहिलेदेखि नै हामी फरक भन्नुहुन्थ्यो, फरक त बजेटको कलरबाटै पनि देखियो । रास्वपाले संसद्को भित्ता पनि नीलो रंगको बनाउने भयो ।
संसदका कर्मचारीलाई पनि नीलो रंगको टोपी लगाउन लगाइँदैछ भन्ने छ ?
त्यो त मैले पहिलोचोटी सुन्दैछु । सातै प्रदेशमा महिलाहरुको निम्ति नीलो रंगको बस चलाउने भनिएको छ । नीलो रंगसँग उहाँहरुको आशक्ति देखिन्छ । विगत लामो समयदेखि बजेटको कलर नीलो हुन्थ्यो तर यसपटक अर्थमन्त्रीले ग्रे कलर हाल्नुभयो ।
किन होला ?
ग्रे कलर उदासीनताको एउटा प्रतीक हो । नेपालको अर्थतन्त्र ग्रे जोनमै छ । त्यसो हुनाले देशको अर्थतन्त्र र बजेटको कलरसँग कागताली मिलेको हुन सक्छ । जे होस् नयाँपनका लागि आएका कुराहरु हुन् । अब २१ खर्ब २४ अर्बको बजेटले नेपालको अर्थतन्त्रमा रहेका कमिकमजोरीहरुलाई पाखा लगाउँछ त ? भनेर हेर्ने हो भने बजेटका सिद्धान्तहरु र उहाँले अभ्यासमा ल्याउन खोज्नुभएको कुराहरुले त्यसको संकेत भने गर्दैन ।
बजेट देशको आर्थिक क्षमताअनुसार यथार्थपरक देखिन्छ ?
राष्ट्रिय योजना आयोगले लामो अध्ययन गरेर (उठ्न सक्ने राजश्वको स्रोत र खर्च गर्न सक्ने क्षमता) अर्ध वार्षिक समीक्षामा आएपछि २५ प्रतिशत बजेट खर्च गर्न नसकिने रहेछ भनेर संशोधन गरिन्थ्यो, जुन गैरकानुनी हुन्थ्यो किनभने संसदले थपडी बजाएर बजेट पारित गर्छ । अनि, यहाँभन्दा बढी खर्च गर्न सकिँदैन भनेर सरकार अगाडि बढ्ने भने त्यो कानुनविपरीत हो ।
यसपटक पनि बजेट संशोधन गरेर हटाउने छाँट देख्नुहुन्छ तपाईं ?
अब परम्परालाई मान्दा त्यो अवश्यम्भावी देखिन्छ । मुख्य कुरा बजेट कार्यान्वयन गर्ने कर्मचारी हो । नीति निर्माण गर्ने राजनीतिक पात्र हुन् । कर्मचारीलाई १० प्रतिशत तलब वृद्धि गरिएको र तिमीले जाँगर चलायो भने बाँकी ११ प्रतिशत दिने भनिए पनि कर्मचारीले जाँगर चलाउँदैनन् कि ? किनभने निजामती ऐनमा के गरिँदैछ छ रे भने ३३ वर्ष सेवा वा कोही ५५ वर्ष पुग्नुभयो भने बाईबाई गरेर जानुपर्ने छ । अहिलेसम्म औपचारिक क्षेत्रमा रोजगारी दिने भनेको त सरकार हो ।
ती कर्मचारीहरुले बिदा लिनुपर्ने अवस्था कस्तो छ ? पदको हिसाबले सचिव अब दुई वर्षभन्दा बढी बस्न पाउँदैन । मुख्यसचिव पनि दुई वर्षभन्दा बढी बस्न नपाउने भन्ने छ । त्यसो हुँदा त मैले यत्ति नै हो काम गर्न पाउने भनेर विकल्प खोज्नुपर्ने अवस्था आउला नि त । अधैर्यता त्यहाँ होला । भनेपछि सरकारको नीति कार्यक्रमअनुसार आएको बजेट कार्यान्वयनमा कर्मचारीहरु कति दत्तचित्त भएर लाग्लान् ? यो एउटा कुरा हो ।
दोस्रो, पुराना कार्यान्वयनमा ल्याइएका अधुरा परियोजनालाई प्राथमिकता दिएका छौँ भनिएको छ । अहिले परियोजना पूरा नहुञ्जेल सरुवा नगर्ने भनिएको छ । भन्नु र गर्नुको बीचमा निकै ठूलो अन्तर रहन्छ । तर, कार्यान्वयन भयो भने ठिकै हुन्छ ।
बजेट कार्यान्वयन गर्ने संयन्त्र भनेको कर्मचारी नै हो । अर्को निर्माण व्यवसायी । दुवै पक्ष सरकारको बजेट कार्यान्वयन गर्न सबल छन् ?
निर्माण व्यवसायीको कुरा पहिले गरौँ कि उहाँहरूले बैंकको ऋण लिएकाले उहाँहरु धेरै कालोसूचीमा हुनुहुन्छ । अर्को कुरा, परियोजना समयमा पूरा नहुनाले अन्तरिम सरकारले २०–२५ योजना खारेज गरिदिए । यसले निर्माण व्यवसायी निराश छन् । अर्कोतिर, निर्माण व्यवसायी थुन्ने कार्य गरिएको छ । कसैले केही सुनायो भने पक्राउ गर्ने र बुझ्ने गरेका थिए । यसले निर्माण व्यवसायी पनि खुसी छैनन्, जसरी कर्मचारी पनि त्यस्तै छन् ।
कर्मचारी र निर्माण व्यवसायी एकदमै त्रस्त छन् ?
मनमनै त्रस्त छन् । बाहिर भने खरानीबाट उठेर भए पनि हामी देश निर्माणको निम्ति तयार छौँ भनेका छन् ।
बजेट १४ खर्ब ५ अर्बको राजश्वको लक्ष्य छ, उठ्न सक्छ ?
तपाईंलाई पनि भ्रम रहेछ । मैले पनि बजेट सरसर्ती पढ्दा बजेट १४ खर्ब ५ अर्ब नै पढेँ । तर, अर्थमन्त्रीले १५ खर्ब ८० अर्ब हो राजस्वको लक्ष्य हो भनेँ । अर्थ विधेयकमा के के कुरा राखिँदोरहेछ, मैले पनि बुझिनँ भन्दा तपाईंले मलाई उल्लु भन्नुहुन्छ । तर, अर्थमन्त्रीले त १५ खर्ब ८० अर्ब भन्नुभयो । त्यसमा स्पष्टीकरण दिने बेला उहाँले के भन्नुभयो भने स्थानीय र प्रदेश सरकारलाई उठेको राजस्वबाट दिनुपर्ने हुनाले एक खर्ब ७५ जति थपिन सक्छ भन्नुभयो । यो कुरा यहीँ थाती राखौँ ।
अब तपाईंले भनेजस्तो राजश्व संकलन हुन्छ कि हुँदैन भन्ने सन्दर्भमा हिजोको करका दरहरु यथावत रहने अवस्थामा लक्ष्य राखिएको १२/१३ खर्ब उठ्न हम्मेहम्मे भयो । यसपटक त आयकर १० लाखसम्म लाग्दैन भनियो । अर्थमन्त्रीले मध्यमवर्गीय तप्कालाई खुसी पार्नुभयो । यो बजेटले किसान, मजदुर, श्रमिकजस्ता निम्न आय भएका व्यक्तिहरुलाई राहत दिँदैन । अर्थमन्त्रीले हरेक अनुच्छेदमा निम्न आय भएका व्यक्तिहरूको राहत छ भन्नुभएको छ । तर, उनीहरूले प्रयोग गर्ने विद्युत्, शिक्षा र स्वास्थ्यमा शुल्क ठोकिदिनुभयो ।
यद्यपि, केही शिक्षा र स्वास्थ्यको प्रबद्र्धन गर्ने भनिएको छ । अब चलाखी एउटा के हुन सक्छ भने प्रत्यक्ष कर (आयकर) र अप्रत्यक्ष कर (बस्तु त सेवाबाट लिने कर) असुल्ने देखिन्छ । एकापट्टी भन्सारका दरहरु घटाइदिने, खारेज गरिदिने र अर्कातिर विद्युत्, शिक्षा र स्वास्थ्यमा शुल्क लिने गरिएको छ ।
तर, राजस्वबाट उठेन भने चिन्ता छैन भन्नुभएको छ, अर्थमन्त्रीले । आन्तरिक ऋण ६ खर्ब जति लिन्छौँ भन्नुभएको छ, त्यसमध्ये ४ खर्ब जति साँवा र ब्याज तिर्नै जान्छ । एक खर्ब ४२ अर्ब मात्रै खर्च गर्नेगरी ऋण लिने हुन्छ । त्यस अतिरिक्त वैकल्पिप वित्त व्यवस्थापन काेष भनेर निजी क्षेत्रबाट उठाउने याेजना ल्याउनुभएकाे छ । यद्यपि, यसकाे थालनी अर्थमन्त्री हुँदा विष्णु पाैडेलजीले नै गर्नुभएकाे हाे ।
वैदेशिक ऋण प्राप्त गर्न सक्छ जति अपेक्षा गरेकाे छ सरकारले ?
मलाई शङ्का लागेकाे छ । किनभने सम्पूर्ण विश्व अहिले आक्रान्त छ । पहिले रुस-युक्रेन युद्धकाे कारणले इन्धनमा आपूर्ति शृङ्खलामा समस्या आयाे । विश्व दुई ध्रुवमा बाँडियाे । पुँजीवादी मुलुकहरुले अमेरिकाकाे पछि लागेर युक्रेनकाे समर्थन गरे । कतिपय समाजवादी देशहरुले रुसलाई मन्द समर्थन गरे । पछिल्लाे चरणमा आएर इरानकाे हर्मुज घाँटी जुन छ, त्यहाँबाट इन्धन ओसारपसार गर्न प्रतिवन्ध लागेपछि धेरैजसाे मुलुकहरु आर्थिक समस्यााम परिरहेका छन् । यसले गर्दा इन्डस्ट्रियल देशबाट ऋण लिने कुरा विचारणीय हाेला । किनभने उनीहरुले आफ्नाे प्रतिरक्षा बजेट नै उकासेका छैनन् । यता नेपालमा दुई तिहाइकाे सरकार छ तर इतिहास हेर्दा दुई तिहाइकाे सरकारले पूरापूर काम गरेकाे छैन ।
तपाईले अघि जाेड्नुभयाे कि याे बजेट मध्यमवर्गलाई उत्थान गर्ने आयाे भनेर । गरिबलाई चाहिँ किन उठ्नै नदिनेगरी आयाे बजेट ?
उहाँहरुले नीति कार्यक्रमदेख हरेक सार्वजनिक मञ्चमा रास्वपाका नेताहरु भन्थे कि हामी मध्यमवर्गीय जनताकाे प्रतिनिधित्व गर्ने दल हाैँ भन्नुहुन्थ्याे । हरेक १० लाखसम्मकाे आयकर माफी गरेकाे भनियाे । २ कराेडसम्म कृषिमा लगानी गर्नेलाई ४० प्रतिशत अनुदान दिने भनिएकाे छ । त्याे भनेकाे ८१ प्रतिशत मानिसहरु जाेसँग १ हेक्टरभन्दा कम जमिनकाे स्वामित्व छ भने ती किसानहरुले २ कराेडसम्म लगानी गर्न सक्ने हुन्छ ?
धेरै किसान मजदुरकाे त बिहान र दिउँसाे काम गर्याे, बेलुकी खायाे सकियाे काे स्थिति पनि छ नि ?
हाे । त्याे त मध्यमवर्गले मात्रै सक्ने भए । उहाँहरुलाई नै सरकारकाे याे नीतिले फाइदा हुने भयाे । निम्न आय भएका वर्ग अर्थात् साना उद्यमी व्यवसायीलाई कर्जाकाे व्यवस्था मिलाइने छ भनिएकाे छ । याे कर्जाकाे व्यवस्था गर्ने भनेकाे त राष्ट्र बैङ्कले सहुलियत कर्जा लिने झण्डै २० प्रतिशतले घट्याे भनेकाे छ । जुन वर्गलाई लक्षित गरेर सहुलियत कर्जा दिने भनियाे, त्या वर्ग त कर्जा लिने अवस्थामै पुगेकाे छ भनेपछि बजेटमा राख्दैमा उहाँहरुले पाउनु हाेला त ? ब्याज अनुदान सरकारले नदिँदा पनि बैङ्कहरु यस्ता खालका कर्जा याेजनाहरुमा अगाडि बढ्न उत्सुक छैनन् ।
बालेन सरकार कसरी गरिबविराेधी हुँदै गयाे ?
उनले घाेषणा गरेकाे सुनकाे थुप्राे र बैङ्ककाे ब्यालेन्सकाे कुरा गर्ने हाे भने उच्च (पुँजीपति) वर्गमा प्रवेश गर्न लागेकाे देखिन्छ ।आठ-दश बिगाहा भन्दा बढी नै जमिन छ क्यारे । त्यसाे हुनाले उनी माथिल्लै वर्गकाे देखिन्छ । आफ्नाे वर्गकाे एउटा हाेला । अर्काे, उनी काठमाडौं महानगरपालिकाको प्रमुख हुने बेलामा सुकुम्बासीहरुलाई उठिबास लाउनको निम्ति जुन प्रयत्न भयाे, त्यतिबेलाको लक्ष्य पूरा नभएको कारणले पूर्वाग्रही भएरै पहिलो काम नै म हटाउने गर्छु भनेर औपचारिक रुपले निर्णय गरे जस्ताे लाग्छ । तर, उनको प्रवक्ताको कुरालाई विश्वास गर्ने हो भने ‘हामी उनीहरुलाई बल प्रयोग गर्दैनौं। यो सुरक्षा बलको प्रयोग गर्दैनौं र डोजर पनि प्रयोग गर्ने नीति छैन।’
तर बालेनले त सबै सुरक्षा बलहरुलाई डाकेर तीन दिनभित्रमा खाली गर्न उर्दी जारी गरे । इन्टेलिजेन्सहरु त पहिला नै घर परिवारमा बसेर, कसका परिवारहरु कति छन्, के छन्, के के छ, भाँडो सामानहरु सबै बुझ्ने काम गरेर, मनोवैज्ञानिक किसिमको दबाब सिर्जना गरेर मात्रै अन्तिममा सुरक्षा बलहरु पनि प्रयोग गरेर हटाइएकाे सुकुम्बासीहरुको भनाइ छ ।
खासमा राज्यको चरित्र भनेको लोककल्याणकारी हुनुपर्छ। उसले श्रमजीवी, किसान, मजदुरहरूलाई उत्थान गर्नुपर्छ। तर, त्यही वर्गलाई शत्रू ठान्नु हुन्छ?
आक्रोश पनि होला उनकाे । महानगरपालिकामा हुँदा खेरि तत्कालीन सरकारसँग रहेका मतभेदहरूको आग्रह हाेला।
तर गरिबलाई त्यसरी शत्रू ठान्न मिल्छ प्रधानमन्त्री बालिनले ?
होइन, त्यतिबेलाको सरकारले उनीहरूलाई प्रोटेक्सन गर्यो भन्ने भएपछि उनीहरू माथिको आक्रोश हुनुपर्छ । तर यसले संविधानिक हकलाई पनि नजरअन्दाज गर्याेअनि स्थापित नीति-नियमलाई पनि । सुकुम्बासीहरूको विषयमा त पहिला सुरुमा अध्ययन गरेर खुट्ट्याउनु पर्याे नि त काे साँच्चिकै सुकुम्बासी र काेही हुकुमबासी ? त्यसरी पर्गेलेको आधारमा त्यस्ता हुकुम्बासीहरूलाई लखेट्ने र सुकुम्बासीहरूकाे हकमा व्यवस्थित ढंगले वैकल्पिक व्यवस्था भएपछि हटाउने हाे । याे सरकारकाे नीति हाे । तर बालेनले टेरेनन् । बलपूर्वक हटाउँदा ६ जना सुकुम्बासीले मृत्युवरण गरे । तीन जनाले आत्महत्या गरे भने बाँकी तीन जना उपचारको व्यवस्था नभएको कारणले होल्डिङ सेन्टरमा बसेकाहरूले मृत्यवरण गरे ।
मनोवैज्ञानिक असर झेलेकाहरु कति सुकुम्बासी हाेलान् ?
त्यो त तपाईं हामीले कल्पना गरौं न। तपाईं होटलमा बस्नुभएको छ, डेरा पाएपछि तुरुन्तै सार्छु भनेर जानु भएकाे र डेरा नपाउँदा कति फ्रस्ट्रेटेड भएर होटलमा फर्किनुहुन्छ। तपाईंको मनाेदशा कस्तो हुन्छ? सुकुम्बासीहरु त खाेला किनारमा तिसाैँ वर्षदेखि बसेका हुन् । यहाँ अन्तर्वार्तामा आउनुअघि मात्रै एकजना सुकुम्बासी भवन गुरुङ भेटिए । उनकाे अनुहार पुरै फुङ्ग उडेकाे देखियाे । उनी सुकुम्बासीहरूको नेता रहेछन् । उनले भने- हामीले नै मत दिएर दुई तिहाईमा आएको सरकार हाम्रो परिवारको सबै भविष्य लुट्नेगरी आयाे । विस्थापित गरिरहेकाे छ। भोलि के हुन्छ भन्ने निश्चित छैन।
जनतालाई आवास बिहीन बनाउन मिल्छ सरकारले?
सरकार त वास्तवमा सबैको अभिभावक हो ।अभिभावक भएको नाताले मिल्दैन भन्ने कुरा मेरो पनि हो।
अब फेरि बजेटतिरै फर्कौं। नेपालको अहिलेको अर्थतन्त्रको जुन शिथिलता छ, यो बजेटले अर्थतन्त्रको पुनरुत्थान गर्न सक्छ?
तपाईंले शिथिल भन्दिनुभयो। बाह्य क्षेत्रको अर्थतन्त्रको कुरा गर्ने हो भने शाेधानान्तर नाफामा छ, चालू खाता नाफामा छ। विदेशी मुद्राको सञ्चिति अठार महिनालाई पुग्नेछ भनिरहेकाे छ । अनि इन्फ्लेसन पनि पाँचको हाराहारीमा पुग्यो भनिएकाे छ । अहिले सरकारले छ प्रतिशतमा सीमित गर्छौँ भनिरहेकाे छ । त्यो चाहिँ असम्भव भन्छु म चाहिँ ।
कसरी ?
चारैतिर कर लगाएर वस्तुहरूको भाउ बढाइदिएकाे छ । इरानसँगको युद्धका कारण ढुवानीको सामान बढेकाे छ । आन्तरिक उत्पादन हाम्रो छैन। बाहिरबाट आयात गरेको खानु पर्ने हुन्छ। भनेपछि मूल्यवृद्धि नभएर के हुन्छ त? त्यसकारणले हो नि त छ प्रतिशतमा सीमित रहँदैन भनेकाे । तर मुर्खले मात्रै अर्थतन्त्र खतम गर्याे भनिन्छ । तपाईं हामीलाई चाहिँ मुर्खा बनाउने पनि काम भइरहेकाे छ । तर, रोजगारीको हिसाबले हेर्ने हो भने ठूला-ठूला कन्स्ट्रक्सनमा जानुहाेस्, बिटुमिन उमालिराखेको भारतीय श्रमिकहरू देख्नुहुन्छ। अनि साना-तिना भेन्डरहरू भन्छौँ , तरकारी, फलफूल बेच्न हिँड्ने हुन्छन् नि ती सबै म सप्तरीको हुँ भन्छन् । तर सीमा पारीका सप्तरीवालारु हुन्। नेपालकै सप्तरीका त हाेइनन् । अब एकातिर रोजगारीको अवसरहरू छैन भनेर हामी विदेशतिर गइराखेका छौँ। हामी सेलेक्टिभ भयो। अनि राम्रो किसिमको काममा मात्रै तल्लिन हुने भयाैँ ।
तपाईंलाई म एउटै मात्र कुरा गर्छु। कपाल काट्ने काम प्रत्येक महिना हुन्छ । एकपटक काट्दा दुई सय रुपैयाँ त न्युनतम तिर्नुपर्छ । अब त दाह्री फाल्नलाई पनि गएर सैलुन जाने चलन बढेकाे छ । हामी त रोजगारी छैन भनेर बाहिरतिर कुद्याैँ तर देशमा त सार्वभौमसत्तामै दलख पुर्याउनेगरी विदेशी नागरिकहरूको भरिभराउ हुन थालेकाे छ । नेपालीहरु एक महिना काम गरियाे भने त ६० हजार- ८० हजार आइहाल्छ नि भन्दै गइरहेका छन् । त्यसले गर्दा यता देशमा हामीले दर्दनाक स्थिति देख्न पाइरहेका छाैँ । त्यसकारणले कामप्रतिकाे सम्मानबारे सिकाउनुपर्ने भएकाे छ । हाे त्याे नहुँदा आशिकरुपले राेजगारी खाेसिएकाे छ ।
भनेपछि श्रमप्रतिकाे सम्मानभाव नेपालीहरुमा जगाउनुपर्ने आवश्यकता पनि देखियाे ?
एकदम।
त्यसले रोजगारीको क्षेत्रमा नेपालीलाई यहाँ रोक्न सक्छ?
अलि-अलि योगदान दिन्छ।
तपाईंले ल्याइहाल्नुभयो रोजगारीको प्रसङ्ग। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको बाचा पत्रमा पाँच वर्ष भित्रमा १२ लाख जनालाई नेपालमा रोजगारी दिने भनेकाे छ । त्याे अनुसार राेजगारी सिर्जना गर्नेगरिकाे बजेट आयाे कि आएन ?
पुराना परियोजनाहरूलाई पूरा हुने गरेर अगाडि लैजान्छौँ भनिएकाे छ । पुँजीगत खर्च यस्तो किसिमको चालढालबाट हुँदैन, पूरापूर संशोधन गर्न नपर्ने गरेर गर्छौँ र एडिसनल बाहिरबाट स्रोत र साधन लिएर आएर लगानी गर्छौँ, निजी क्षेत्रलाई पूरा कन्फिडेन्समा लिएर जान्छौँ भनिएकाे छ र रोजगारी सिर्जना गर्ने यो बजेटको र नीति तथा कार्यक्रमकाे चालढाल हेर्दा आईटी अर्थात् डिजिटल क्षेत्रलाई फोकस गरेकाे देखिएकाे छ । अब त्यो डिजिटल क्षेत्र मात्रै भनिएकाे छ । अब दिनमा दुईचोटिदेखि तीनचोटि विद्युत जान्छ । अब त्यो सबै विद्युतीय क्षमताबाट चल्ने भएको हुनाले त्यसको असर के होला ? रेगुलर किसिमको विद्युत आपूर्ति गर्नको निम्ति ठूला-ठूला ब्याकअपहरू पनि राख्नुपर्ने होला कि ? अब डिजिटलबाट जति रोजगारी सिर्जना गरिन्छ, सेल्फ-इम्प्लोयमेन्ट गरिन्छ भनिएकाे छ, त्यो क्षेत्रको ज्ञाता नभएको हुनाले म बोल्दिनँ। तर सरकारले अत्यधिक आशा गरेको त्यही डिजिटल क्षेत्र नै हो।
बजेट : स्वास्थ्य र शिक्षामा शुल्क बढाएकाेमा कांग्रेस सांसद सुशीलाको विरोध
को बन्ला लुम्बीनीको रास्वपा सभापति?
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि नेताहरूको दौडधुप तीव्र बनेको छ। प्रदेश नेतृत्व आफ्नो पक्षमा पार्न विभिन्न आकांक्षीहरूले संगठनभित्र समर्थन जुटाउने प्रयास बढाएका छन्।
गत निर्वाचनमा लुम्बिनी प्रदेशका २६ संघीय निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा जित हासिल गरेको रास्वपाले प्रदेशमा आफ्नो प्रभाव कायम राख्न सक्ने सक्षम नेतृत्व चयन गर्ने तयारी गरेको छ। त्यसका लागि प्रदेश अध्यक्षदेखि पदाधिकारीसम्मका पदमा आकांक्षीहरू सक्रिय देखिएका छन्।
लुम्बिनी प्रदेशबाट पार्टीको केन्द्रीय पदाधिकारीमा प्रतिनिधित्व गर्ने सहमहामन्त्री विपिन आचार्यलाई प्रदेश राजनीतिमा प्रभावशाली व्यक्तिका रूपमा हेरिएको छ। सभापति रवि लामिछाने निकट मानिने आचार्यको प्रभाव प्रदेश अधिवेशनमा पनि रहने अनुमान नेताहरूको छ। यद्यपि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने भएकाले प्रतिनिधिहरूको अन्तिम मत कसतर्फ जानेछ भन्ने स्पष्ट छैन।
प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने अब प्रदेश अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ। अधिकांश जिल्लामा नेतृत्व चयन निर्वाचनमार्फत भएकाले प्रदेश अधिवेशनमा पनि सर्वसम्मतको सम्भावना कमजोर देखिएको छ।
जिल्ला अधिवेशनका क्रममा पाल्पा, पश्चिम नवलपरासी र रोल्पाबाहेक अन्य जिल्लामा निर्वाचन भएको थियो। केही जिल्लामा रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) निकट समूहबीच अनौपचारिक प्यानलसमेत बनेका थिए। त्यसको प्रभाव प्रदेश अधिवेशनमा पनि देखिन सक्ने नेताहरूको आकलन छ।
जेठ ३० गते दाङको घोराहीमा हुने प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ। अधिवेशनमा केन्द्रीय निर्वाचन समिति तथा दुई जना केन्द्रीय प्रतिनिधि सहभागी हुनेछन्।
नयाँ नेतृत्वका लागि वर्तमान सभापति तथा दाङ–१ का प्रतिनिधिसभा सदस्य देवराज पाठक, उपसभापति शालिकराम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्य मधु अर्याल, गणेश पौडेल, सांसद मञ्जु ज्ञवाली, बाँकेका डा. राजकुमार सुवेदी तथा प्रदेश महामन्त्री निलराज अधिकारी प्रमुख दाबेदारका रूपमा चर्चामा छन्।
यीमध्ये पाठक दाङका हुन् भने सुवेदी र अधिकारी बाँकेका हुन्। अन्य अधिकांश आकांक्षी रुपन्देही केन्द्रित राजनीतिमा सक्रिय छन्। पार्टीभित्र नेतृत्वको दाबीसँगै आगामी निर्वाचन तथा संगठन विस्तारलाई लक्षित गर्दै उनीहरू आफ्नो प्रभाव विस्तारमा जुटेका छन्।
रास्वपाले हालसम्म पूर्वी रुकुमबाहेक ११ जिल्लामा प्रथम जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। पूर्वी रुकुममा केही संगठनात्मक प्रक्रिया बाँकी रहेकाले त्यहाँको अधिवेशन पछि हुने जनाइएको छ।
जिल्ला अधिवेशनहरू सम्पन्न भएसँगै अब रास्वपाको ध्यान लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनतर्फ केन्द्रित भएको छ। अधिवेशनले प्रदेश संगठनको भावी दिशा तय गर्ने भएकाले नेतृत्वको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
प्रदर्शनीमार्गमा नारा नलगाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रदर्शनीमार्ग क्षेत्रमा सार्वजनिक आवागमन तथा शैक्षिक गतिविधिमा अवरोध पुग्ने गरी सभा, भेला, आन्दोलन, नाराजुलुस, प्रदर्शन लगायतका कार्यक्रम नगर्न सम्बन्धित निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।
नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले नियमित रूपमा हुने आन्दोलन, प्रदर्शन र नाराजुलुसका कारण पठनपाठन प्रभावित भएको भन्दै दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २०८२ पुस २३ गते उक्त आदेश दिएको थियो। सो फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो।
अदालतले शैक्षिक संस्था, अस्पताल तथा संवेदनशील क्षेत्रहरूमा ध्वनि र वायु प्रदूषण कम गर्न आवश्यक सुरक्षात्मक उपाय अपनाउन पनि सरकार तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रदर्शनीमार्ग क्षेत्रमा नेपाल विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, वाल्मीकि क्याम्पस तथा पद्मोदय माध्यमिक विद्यालय रहेका छन्। यस क्षेत्रमै काठमाडौं मोडेल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रसमेत सञ्चालनमा रहेकाले सार्वजनिक प्रदर्शन र ठूलो भीडभाडका गतिविधिले पठनपाठन तथा स्वास्थ्य सेवामा असर पुर्याउने अदालतको निष्कर्ष छ।
सर्वोच्च अदालतले समाजकल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलको प्रयोगसम्बन्धी पनि विशेष व्यवस्था गर्न आदेश दिएको छ। अदालतले उक्त स्थलमा सामाजिक, शैक्षिक, सांस्कृतिक, बौद्धिक, व्यवसायिक तथा पुरातात्विक प्रकृतिका प्रदर्शनी र सीमित कार्यक्रम मात्र सञ्चालन गर्न अनुमति दिनुपर्ने उल्लेख गरेको छ।
त्यसैगरी, राजनीतिक सभा, सम्मेलन तथा प्रदर्शनजन्य गतिविधिका लागि प्रदर्शनीस्थल भाडामा नदिन अदालतले स्पष्ट निर्देशन दिएको छ। यसअघि विभिन्न राजनीतिक दल तथा समूहहरूले भृकुटीमण्डपमा सभा तथा राजनीतिक कार्यक्रम आयोजना गर्दै आएका थिए।
प्रचण्ड, नेपाल र खनालसँग संविधान संशोधन कार्यदलले गर्यो छलफल
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग सुझाव तथा परामर्श लिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले बिहीबार तीनै जना पूर्वप्रधानमन्त्रीसँग छलफल गरेको हो।
सुझाव संकलन अभियानअन्तर्गत कार्यदलको टोली ललितपुरको मानभवनस्थित प्रचण्ड निवास पुगेको थियो। सो अवसरमा पूर्वप्रधानमन्त्री नेपाल र खनाल पनि उपस्थित रहेका थिए।
कार्यदलले संविधान संशोधनका विभिन्न विषयमा तीनै नेतासँग सामूहिक रूपमा विचार–विमर्श गरेको जनाएको छ। प्राप्त सुझावलाई बहसपत्रको प्रारम्भिक मस्यौदा तयार पार्ने क्रममा समेटिने कार्यदलले जनाएको छ।
अर्थमन्त्री वाग्लेको विपक्षीलाई कटाक्ष – ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्दै जानेछन्’
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा करका दर हेरफेर गरेको आरोपको प्रतिनिधिसभाबाटै खण्डन गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको दाबी गरे।
संसद्मा बोल्दै वाग्लेले आफूले व्यापारीलाई फाइदा पुग्ने गरी गोप्य रूपमा करका दर परिवर्तन गरेको भन्ने आरोपको प्रतिवाद गरे। यस्ता अभिव्यक्तिले संसद्को गरिमा र विश्वसनीयतालाई नै कमजोर बनाउने उनको भनाइ थियो।
‘स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर व्यापारी पोस्यो भन्ने खालका कुरा पनि सुनिए। सांसदहरूले आफ्नै गरिमा आफैँ जोगाउनुपर्छ। यो सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन,’ उनले भने।
सरकार सुशासनको स्पष्ट एजेन्डा लिएर अघि बढेको र जनताले त्यसलाई अनुमोदन गरेको उल्लेख गर्दै उनले छोटो समयमै आफ्ना प्रतिबद्धताबाट विचलित हुने प्रश्नै नउठ्ने बताए।
अर्थमन्त्री वाग्लेले आफूविरुद्ध उठाइएका आरोप प्रमाणित भए पदमात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार रहेको घोषणा गरे।
‘दुई अर्ब होइन, दुई रुपैयाँ बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु,’ उनले भने।
उनले आफूविरुद्ध आरोप लगाउनेहरूलाई लक्षित गर्दै नैतिकताको प्रश्न उठाएका थिए। ‘यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउनेहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्दै जानेछन्,’ उनले भने।
पछिल्ला केही दिनयता आर्थिक विधेयकमा करका दर परिवर्तन, सूचना चुहावट तथा भन्सारसम्बन्धी विषयलाई लिएर अर्थमन्त्री वाग्ले आलोचनामा पर्दै आएका छन्। विपक्षी दलहरूले यस विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् भने अर्थमन्त्रीले लगातार रूपमा ती आरोपहरूको खण्डन गर्दै आएका छन्।
बजेटको मुख्य लक्ष्य समन्यायिक समुन्नति र समृद्धि हासिल गर्नु हो : अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजेटले आर्थिक वृद्धि र समानताबीच सन्तुलन कायम गर्ने प्रयास गरेको बताए।
विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट ल्याइएको आरोप लगाइरहेका बेला अर्थमन्त्री वाग्लेले उक्त आरोपको खण्डन गर्दै बजेट समावेशी विकास र सामाजिक न्यायको उद्देश्यअनुसार तयार गरिएको बताए।
उनका अनुसार बजेटको मुख्य लक्ष्य समन्यायिक समुन्नति र समृद्धि हासिल गर्नु हो। बजेटमा ‘समाजवाद’ शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समानताको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्ने गरी कार्यक्रमहरू समेटिएको उनले बताए।
अर्थमन्त्री वाग्लेले सरकार जनतासँग गरेका प्रतिबद्धता र निर्वाचनमार्फत अनुमोदित एजेन्डाप्रति प्रतिबद्ध रहेको पनि उल्लेख गरे। नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिकता तथा प्रस्तुत बजेटबीच उच्च स्तरको संगति रहेको उनको दाबी थियो।
‘मैले बुझेको भाषा अथवा मेरो पार्टीले बोकेको एजेन्डाजस्तो बजेट आएन भनेर गुनासो गर्नु त एक ठाउँमा रह्यो, तर पाँच वर्षसम्मका लागि हाम्रो अर्जुनदृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डा हो। त्यसप्रति अत्यन्तै बफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौं,’ अर्थमन्त्री वाग्लेले भने।
उनले विपक्षी दलहरूलाई आफ्नो राजनीतिक दृष्टिकोणअनुसार बजेटप्रति असहमति जनाउने अधिकार रहेको उल्लेख गर्दै सरकारले भने आफ्ना घोषित लक्ष्य र प्राथमिकताअनुसार बजेट निर्माण गरेको जिकिर गरे।
विश्वकप : ३५ वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । फिफा विश्वकप २०२६ सुरु भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले प्रतियोगिताका खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट र मोबाइल एपमाथि रोक लगाउन देशभरका इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले बिहीबार सेवा प्रदायकहरूलाई पत्राचार गर्दै ती वेबसाइट तथा एपमार्फत विश्वकपका खेलहरू अवैध रूपमा प्रसारण हुन नदिने व्यवस्था मिलाउन आग्रह गरेको हो। यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत आवश्यक कारबाहीका लागि प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ।
मन्त्रालयका अनुसार नेपालभित्र फिफा विश्वकप २०२६ को विशेष तथा आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटल प्रालिअन्तर्गतको डिगो–जेभीएचटिभीसँग रहेको छ।
तर प्रतियोगिता सुरु हुनुअघि नै केही पाइरेटेड वेबसाइट र मोबाइल एपहरूले खेलहरू निःशुल्क तथा अनधिकृत रूपमा स्ट्रिमिङ गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएपछि नियामक निकाय सक्रिय बनेको हो।
प्राधिकरणले यस्ता प्लेटफर्महरूबाट प्रत्यक्ष प्रसारण हुँदा प्रसारण अधिकार खरिद गरेका कम्पनीहरूको लगानीमा प्रत्यक्ष असर पर्ने र बौद्धिक सम्पत्ति अधिकारसमेत उल्लङ्घन हुने जनाएको छ।
यसअघि सम्पन्न फिफा विश्वकपका क्रममा पनि नेपालमा विभिन्न अनधिकृत वेबसाइट र एपमार्फत खेलहरू प्रसारण गरिएको थियो। त्यसबेला यस्ता प्लेटफर्ममा दर्शकको अत्यधिक चाप बढ्दा इन्टरनेट ब्यान्डविथको खपत अस्वाभाविक रूपमा बढेको थियो।
फलस्वरूप सेवा प्रदायकहरूले अतिरिक्त अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गर्नुपरेको र त्यसको आर्थिक भारसमेत व्यहोर्नुपरेको बताइन्छ।
यसबाहेक करोडौं रुपैयाँ खर्च गरेर प्रसारण अधिकार खरिद गरेका आधिकारिक प्रसारकहरूले पनि पाइरेसी नियन्त्रण गर्न सरकारसँग पटक–पटक आग्रह गर्दै आएका थिए।

विश्वकप सुरु हुनुअघि मन्त्रालय, इन्टरनेट सेवा प्रदायक, मोबाइल सेवा प्रदायक तथा आधिकारिक प्रसारण अधिकार प्राप्त कम्पनीहरूबीच छलफल भएको थियो। सोही छलफलपछि अनधिकृत स्ट्रिमिङ प्लेटफर्ममाथि निगरानी र नियन्त्रणको प्रक्रिया अघि बढाइएको हो।
निर्देशन जारी भएसँगै केही वेबसाइट तथा एपहरूमा पहुँच रोक्ने काम सुरु भइसकेको जनाइएको छ। प्राधिकरणले सेवा प्रदायकहरूलाई सूचीमा रहेका सबै प्लेटफर्महरूमा तत्काल पहुँच अवरुद्ध गर्न भनेको छ।
विश्वव्यापी रूपमा खेलकुद प्रसारण क्षेत्रमा पाइरेसी ठूलो चुनौती बन्दै गएको छ। विशेषगरी विश्वकप, च्याम्पियन्स लिग, प्रिमियर लिग र अन्य लोकप्रिय प्रतियोगिताका बेला अनधिकृत स्ट्रिमिङ प्लेटफर्महरूको प्रयोग बढ्ने गरेको छ।
नेपालमा पनि विश्वकपप्रति उच्च आकर्षण रहने भएकाले पाइरेसी नियन्त्रणलाई यसपटक प्राथमिकतामा राखिएको सरकारी अधिकारीहरूको भनाइ छ।
प्राधिकरणले प्रतिबन्ध लगाउन निर्देशन दिएका ३५ वटा वेबसाइट तथा मोबाइल एपहरूको सूची समेत सार्वजनिक गरेको छ भने भविष्यमा यस्ता गतिविधिमा संलग्न थप प्लेटफर्ममाथि पनि निगरानी जारी रहने जनाएको छ।
नक्कली सिँचाइ कार्यालय खोलेर ठग्ने दम्पति पक्राउ
बर्दिया। गृहमन्त्रालयमा सुधन गुरुङले पद भार सम्हालेपछि बर्दियामा नक्कली सिँचाइ कार्यालय खोलेर सर्वसाधारणलाई ठगी गर्ने दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ।
ठाकुरबाबा नगरपालिका-०३ बगनाहा बजारमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक झुटो कार्यालय स्थापना गरी उनीहरूले कर्मचारी नियुक्त गर्ने र मजदुरीमा काम लगाइदिने प्रलोभन देखाएर ठगी गर्दै आएको आरोप छ।
प्रहरीका अनुसार उनीहरूले कामदारलाई ज्याला नदिने, घरधनीलाई भाडा नतिर्ने तथा सरकारी कागजात र छाप नक्कली रूपमा प्रयोग गर्ने गरेका थिए।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–०३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–०५ की २३ वर्षीया कृपा चौधरी रहेका छन्।
दुवै जनामाथि लिखतसम्बन्धी कसुर तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्वर्णिमसामु अमरेशले भने– ‘बजेट फुलेको बेलुन हो, कार्यान्वयन हुँदैन’ [पूर्णपाठ]
यो बजेटको यसपटकको सैद्धान्तिक पक्षमा म केही कुरा राख्न चाहन्छु। मेरा साथी, मेरा विद्वान् मित्रले बजेट ल्याउनुभएको छ। यसमा केही राम्रा पक्षहरू पनि छन्; जस्तै व्यक्तिगत आयकरको सीमा बढेको छ, नयाँ स्टार्टअपको कुरा गरिएको छ र आईटी क्षेत्र समेटिएको छ। तर मित्रलाई एउटा पुरानो सांसदको नाताले केही कुरामा आग्रह गर्न चाहन्छु।
यो बजेटबाट नेपालको कति प्रतिशत जनशक्ति खुसी भयो ? बैंकर खुसी भए भनिन्छ, तर बैंकमा त्यत्रो निक्षेप किन जम्मा भइरहेको छ ? किनकि कसैले ऋण लिने अवस्था छैन र आजको दिनमा यहाँ व्यापार गर्ने वातावरण नै छैन। यहाँ डरको माहोल छ। डरले शासन चल्ला, तर डरले विकास हुँदैन।
शिक्षा र स्वास्थ्यमा कर लगाउनु संविधानको विपरीत हो। म संविधानको कुरा गर्न आएको हुँ, किनकि म संविधानको हस्ताक्षरकर्ता हुँ। यहाँ केही माननीयहरू मात्र हुनुहोला संविधानका हस्ताक्षरकर्ता, तीमध्ये म पनि एक हुँ।
संविधानमा शिक्षा मौलिक अधिकार हो, त्यसैले मौलिक अधिकारमा कर लगाउन पाइँदैन। त्यो कर विद्यालयमाथि मात्र लागेको छैन, निजी विद्यालय वा निजी अस्पतालका माध्यमबाट त्यहाँ पढ्ने विद्यार्थीमाथि लगाइएको छ। पहिले सार्वजनिक विद्यालय मजबुत पारौँ न, तर त्यसतर्फ कतै पनि पाइला चालिएको देखिएन।
मैले पहिला पनि बजेटको प्राथमिकताका बारेमा कुरा गर्दा भनेको थिएँ,हाम्रा मित्र अर्थमन्त्रीजीहरूको ठुलो नेटवर्क छ। बूढानीलकण्ठ स्कुल पढेका कम्तीमा १० जना त मैले नै देखेको होइन र ? त्यसैले मैले आशा लिएको थिएँ कि कम्तीमा सातवटै प्रदेशमा सातवटा बूढानीलकण्ठजस्तै स्कुल बन्नेछन्, जसले गर्दा उहाँहरूजस्तै नेतृत्वमा आउने आगामी पुस्ताका विद्यार्थी पैदा हुन सकून्। तर त्यो मैले बजेटमा कतै पनि भेटिनँ। मेरो पीडा त्यो छ।
पीडा यो पनि छ कि मेरो क्षेत्र किसान र गरिबहरूको मात्र क्षेत्र हो। त्यहाँ कुनै बजार छैन, कुनै सहर छैन। त्यहाँ खेतमा किसानले ५ रुपैयाँमा तरकारी फलाएर बेच्छ, तर त्यही तरकारी काठमाडौंका उपभोक्ताले प्रतिकिलो ५० रुपैयाँमा पाउँछन्। त्यो किसानले कसरी कम्तीमा २० देखि ३० रुपैयाँसम्म पाउने भन्ने व्यवस्था यो बजेटमा कतै देखिएन।
अहिलेको आधुनिक विश्वका सामु जम्मा दुईवटा चुनौती छन्। पहिलो चुनौती बेरोजगारी हो। एआई र आईटीको विकास मानव सभ्यताका लागि एक प्रकारले चुनौती पनि बन्दै छ, किनकि यसले मानिसलाई बेरोजगार बनाउँदै लैजान्छ।
ती युवालाई हामीले रोजगारी दिने कि नदिने ? किनकि ‘जेनजी’ आन्दोलन युवाहरूको विद्रोह हो। यदि हामीले युवालाई रोजगारी दिन सकेनौँ भने समस्या आउँछ। तर यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो र ?
अर्को कुरा, नेपालको सबैभन्दा ठूलो रोग र समस्या भनेको उत्पादन नहुनु हो, जसले गर्दा व्यापार घाटा धेरै छ। मैले उहाँहरूलाई बुझाउने क्षमता नराखूँला, तर म व्यावहारिक क्षमता राख्दछु। किनकि म जनताको घरदैलोमा गइरहन्छु र गरिबको भान्सा देख्छु।
गरिबका लागि महँगी यति धेरै भइरहेको छ। यसमा गरिबले के पायो ? कर्मचारीले त २०-२१ प्रतिशत पायो होला। पहिला १० प्रतिशत थियो र त्यसमा थपिएर २१ प्रतिशत पायो। तर ३ करोड जनसङ्ख्यामा कर्मचारी कति लाख छन् र ? मेरो चिन्ता मुसहर बस्ती, दलित बस्ती र चेपाङ बस्तीमा छ। जुम्लाको स्याउलाई कसरी प्रवर्द्धन गर्ने भन्नेमा छ। आजको दिनमा जमिन बाँझो छ र देश वैदेशिक रोजगार तथा रेमिट्यान्सको भरमा मात्र चलिरहेको छ।
दक्षिण एसियामा यस्तो कुनै देशै छैन, जहाँ जीडीपीको ३२ देखि ३३ प्रतिशतको बजेट बनाइन्छ। यो आफैँमा एउटा ठूलो फुकिएको बेलुन हो। फुकिएको बेलुन लामो समयसम्म टिक्दैन। यो बजेट कार्यान्वयन हुन्छ भन्ने मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झन्डै ७ खर्ब रुपैयाँ त बजेटको घाटा (डेफिसिट) नै हो।
हामी बच्चा हुँदा मेरो गाउँमा एउटा साहुजी थिए। ती साहुजी ऋण काढ्दाकाढ्दै आफ्नो सबै सम्पत्ति लिलाम भएपछि गाउँ छोडेर भागे। किनकि उनी एउटाको ऋण तिर्न अर्कोसँग ऋण लिन्थे, फेरि अर्कोको ऋण तिर्न अरूसँगै ताकेता गर्थे।
पहिलेका अर्थमन्त्रीहरूले यो कुरा लुकाएर भन्नुहुन्थ्यो, यथार्थ पहिला पनि यस्तै थियो। तर यी अर्थमन्त्रीजीले खुला रूपमा बजेट भाषणमा भन्नुभएको छ कि साढे २ खर्ब म आन्तरिक ऋण लिन्छु, जसमा साढे १ खर्ब रुपैयाँ त साँवा–ब्याज भुक्तानी (रिपेमेन्ट) मा जान्छ। यसको अर्थ पुरानो ऋण तिर्नका लागि मात्र ऋण लिइँदै छ, विकासका लागि होइन।
जुन देशमा पुँजीगत खर्च २० प्रतिशत मात्र हुन्छ, जहाँ विकास खर्च नै हुँदैन, त्यो देशलाई भगवान्ले मात्र बचाउन सक्छन्। पुँजीगत खर्च भए मात्र त्यहाँ रोजगारी सिर्जना हुन्छ, लगानी भित्रिन्छ र देश समृद्धिको बाटोमा अगाडि बढ्छ। यो एउटा सामान्य नागरिकले पनि बुझ्छ, तर म जस्तो एउटा अनुभवी सांसदले यो बुझ्न सकेको छैन।
यस्ता कुरा मैले विगत २० वर्षदेखि सुन्दै आएको छु। हरेक अर्थमन्त्रीलाई लाग्छ कि बजेट आएको भोलिपल्टै नेपालको कायापलट हुन्छ; भोलिपल्टै नेपाल सिङ्गापुर, अमेरिका, दक्षिण कोरिया, दुबई, जापान बन्छ। तर परिणाम ‘ढाकको तीन पात’ जस्तै छ र हरेक साल ऋण मात्र थपिँदै गइरहेको छ।
भिडियो पनि हेर्नुहोस् :
बुटवलमा जटिल रोगका बिरामीको संख्या बढ्दै
बुटवल। बुटवलमा जटिल तथा नसर्ने रोगका बिरामीहरूको संख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ।
उपचारका लागि अस्पताल धाउने तथा सरकारी सहायताका लागि बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखामा निवेदन दिने बिरामीहरूको चाप पनि बढ्दो छ।
संघ, प्रदेश र स्थानीय सरकारले यस्ता रोगहरूको नियन्त्रण तथा उपचारका लागि बर्सेनि ठूलो बजेट विनियोजन गर्दै आए पनि बिरामी संख्या घट्नुको साटो निरन्तर वृद्धि भइरहेको तथ्याङ्कले देखाउँछ।
नेपाल सरकारले मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमियालाई जटिल रोगको सूचीमा राखेको छ।
यस्ता रोगका बिरामीलाई उपचारका लागि एक पटकको लागि एक लाख रुपैयाँ र औषधोपचारका लागि मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ। मिर्गौलाका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा पनि दिइँदै आएको छ।
प्रदेश सरकारले पनि मुटुको भल्भ फेर्नुपर्ने, मिर्गौला प्रत्यारोपण र क्यान्सर उपचारका बिरामीलाई एक पटकका लागि दुई लाख रुपैयाँसम्म सहयोग गर्दै आएको छ। त्यस्तै, स्थानीय तहले पनि स्थायी बासिन्दा बिरामीलाई आर्थिक सहायता उपलब्ध गराइरहेका छन्।
बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार पछिल्ला चार वर्षमा मात्र ५७८ जना जटिल रोगका बिरामीले उपचार सहायताका लागि रकम प्राप्त गरेका छन्।
आर्थिक वर्ष २०७९/८० मा १४२ जना, २०८०/८१ मा १६१ जना, २०८१/८२ मा १५८ जना र चालु आर्थिक वर्षको जेठ २० गतेसम्म ११७ जना बिरामी थपिएका छन्।
तर यी तथ्याङ्क केवल सहायताका लागि दर्ता भएका बिरामीहरूको मात्र हो। आर्थिक वा चेतनाको कमीका कारण सेवा लिन नपुगेका बिरामीको संख्या अझै धेरै हुनसक्ने स्वास्थ्यकर्मीहरूको अनुमान छ।
स्वास्थ्य विज्ञहरूका अनुसार जटिल रोगहरू अचानक नभई जीवनशैली, खानपान, मानसिक तनाव र वातावरणीय असरका कारण विस्तारै विकसित हुन्छन्।
विशेषज्ञहरूको भनाइअनुसार अस्वस्थ खानपान, जङ्क फुडको अत्यधिक प्रयोग, शारीरिक निष्क्रियता, धूम्रपान-मदिरा सेवन, मानसिक तनाव तथा वायु-ध्वनि प्रदूषण यस्ता रोगका प्रमुख कारण हुन्।
उनीहरूले नियमित शारीरिक व्यायाम, योग, सन्तुलित आहार र समयमै स्वास्थ्य परीक्षणलाई रोग नियन्त्रणको मुख्य उपायका रूपमा लिएका छन्।
सरकारले विभिन्न कार्यक्रममार्फत रोकथाम प्रयास गरे पनि व्यवहारिक रूपमा जीवनशैली परिवर्तन नहुँदा जटिल रोगहरूको वृद्धि रोक्न कठिन भइरहेको देखिन्छ।
विशेषज्ञहरूका अनुसार नीति र कार्यक्रम भए पनि नागरिकको दैनिक जीवनशैलीमा सुधार नआएसम्म यस्ता रोगहरूको जोखिम घटाउन कठिन हुने देखिन्छ।
एमाले अध्यक्ष ओली किन पुगे अस्पताल ?
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
कान र दाँतमा समस्या देखिएपछि उनी अस्पताल गएको उनका सचिवालयले जनाएको छ।
सचिवालय प्रमुख निरुदेवी पालका अनुसार ओली अहिले चिकित्सकसँग जाँच गराइरहेका छन्। उनले भनिन्, ‘अध्यक्षज्यूको कान र दाँतमा समस्या भएपछि अस्पताल आउनुभएको हो। अहिले डाक्टरसँग देखाइरहनु भएको छ।’
यसअघि पनि ओलीले पित्तथैलीमा पत्थरी भएपछि त्रिवि शिक्षण अस्पतालमै शल्यक्रिया गराएका थिए।
जेनजी आन्दोलनमा भागेका खड्का र कापर पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा थुनाबाट भागेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका घर भएका ३६ वर्षीय टंकबहादुर खड्का र धनुषाको सवैला नगरपालिका घर भएका ४७ वर्षीय शशिशंकर कापर रहेका छन्।
प्रहरीका अनुसार लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा रहेका खड्का भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भदौ २४ गते फरार भएका थिए।
त्यस्तै, कापर महोत्तरी कारागारबाट फरार भएका थिए। लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीका अनुसार दुवै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ।
तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढ्यो
काठमाडौं। यता नेपालमा गृहमन्त्री सुधन गुरुङको पुनर्बहालीले राजनीतिक माहौल तातेको छ भने विश्व बजार अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण तातिएको छ।
अमेरिका–इरानबीचको तनावको प्रत्यक्ष असर विश्वव्यापी तेल बजारमा देखिन थालेको छ। इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेपछि बिहीबार कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य २.५ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.४० अमेरिकी डलर पुगेको छ भने अमेरिकी डब्लुटिआई क्रुड २.९ प्रतिशतले बढेर प्रति ब्यारेल ९२.६३ डलरमा कारोबार भएको छ।
इरानको संयुक्त सैन्य कमान्डले पछिल्लो अमेरिकी आक्रमणपछि हर्मुज जलमार्ग तेल ट्याङ्कर तथा व्यावसायिक जहाजहरूका लागि बन्द गरिएको दाबी गरेको छ। साथै सो क्षेत्रबाट गुड्ने जहाजहरूलाई लक्षित गरी कारबाही गर्न सकिने चेतावनी पनि दिएको छ।
हर्मुज जलमार्ग विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक हो। यहाँबाट ठूलो मात्रामा कच्चा तेल विश्व बजारमा आपूर्ति हुने भएकाले कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय बजारमा तुरुन्तै मूल्यमा असर पार्ने विश्लेषकहरूको भनाइ छ।
विश्लेषकहरूका अनुसार यदि तनाव अझै बढ्दै गएमा तेल आपूर्ति संकट गहिरिन सक्ने र मूल्य अझै बढ्ने सम्भावना रहेको छ।
विश्वकपले बढेको बजार [तस्वीरहरू]
काठमाडौं । फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज (जुन ११) देखि औपचारिक रूपमा सुरु भएको छ। अबका ३९ दिन विश्व फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक र प्रतिस्पर्धात्मक अवधि हुने अपेक्षा गरिएको छ।
यसपटकको विश्वकप संयुक्त रूपमा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ। प्रतियोगितामा ४८ राष्ट्र सहभागी छन् भने कुल १०४ खेलहरू खेलाइनेछन्। जुलाई १९ को रात न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलसँगै नयाँ विश्व च्याम्पियनको टुंगो लाग्नेछ।
फुटबलप्रेमीहरू अहिले नै फाइनललाई लिएर उत्साहित छन्। जुलाई १९ को रात कसले ट्रफी उचाल्ला भन्ने प्रश्नले विश्व फुटबल बजार तताएको छ। टिमहरूको प्रदर्शन, स्टार खेलाडीहरूको फर्म र समूह चरणको नतिजाले यसपटकको विश्वकपलाई थप अनिश्चित र रोमाञ्चक बनाएको छ।
विश्वकप सात समुद्रपारि भए पनि नेपालमा यसको क्रेज अत्यन्तै उच्च देखिएको छ। राजधानीदेखि जिल्लासम्म फुटबलप्रेमीहरू प्रतियोगिताप्रति आकर्षित भएका छन्।
बजारमा विभिन्न देशका जर्सी किन्नेहरूको भीड बढेको छ। समर्थकहरूले आफूले मन पराएको टोली र खेलाडीको जर्सी लगाएर सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने क्रम पनि बढेको छ।
विश्वकप सुरु भएसँगै नेपाली बजारमा जर्सीको बिक्री उल्लेख्य रूपमा बढेको छ। तीन–चार सय रुपैयाँदेखि तीन–चार हजार रुपैयाँसम्मका जर्सीहरू बजारमा उपलब्ध छन्।
विभिन्न गुणस्तर र डिजाइनका जर्सी उपलब्ध भएकाले ग्राहकहरू आफ्नो रोजाइ र बजेटअनुसार किनमेल गरिरहेका छन्।

विश्वभरका फुटबल समर्थकहरू आफ्ना मनपर्ने टोलीको समर्थनमा तयारीमा छन्। रंगीन वातावरण, समर्थन अभियान र सामाजिक सञ्जालमा बढ्दो सहभागिताले विश्वकपको माहोललाई अझ उत्सवमय बनाएको छ।
फुटबल विश्लेषकहरूका अनुसार यसपटकको विश्वकप केवल खेल मात्र नभई विश्वव्यापी सांस्कृतिक उत्सवका रूपमा समेत स्थापित हुने अपेक्षा गरिएको छ।
विश्वकप : अमेरिकाले भिसा नदिँदा को-को प्रभावित?
काठमाडौं। फिफा विश्वकप २०२६ सुरु हुनै लाग्दा आयोजक देश अमेरिकाको भिसा नीति र प्रवेश प्रक्रियालाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ।
खेलाडी, रेफ्री, टोली अधिकारीदेखि लिएर हजारौं समर्थकसमेत भिसा ढिलाइ, लामो सोधपुछ तथा प्रवेश अस्वीकृतजस्ता समस्याबाट प्रभावित भएका हुन्।
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यस विश्वकपलाई ऐतिहासिक मानिँदै गर्दा पछिल्ला घटनाले प्रतियोगिताको व्यवस्थापन र मानवीय पहुँचबारे प्रश्न उठाएको छ।
रेफ्रीदेखि खेलाडीसमेत प्रभावित
विवादको प्रमुख घटना सोमाली रेफ्री ओमर आर्टानसँग सम्बन्धित रहेको छ। उनी विश्वकप इतिहासमै खेल सञ्चालन गर्ने पहिलो सोमाली रेफ्री बन्ने तयारीमा थिए। तर वैध भिसा र आवश्यक कागजात हुँदाहुँदै पनि उनलाई मियामी विमानस्थलमा प्रवेश अनुमति नदिइएपछि उनी इस्तानबुल हुँदै स्वदेश फर्किन बाध्य भए।
अमेरिकी गृह सुरक्षा विभागले ‘सुरक्षा जाँचसम्बन्धी चिन्ता’ का कारण उनलाई प्रवेश अयोग्य ठहर गरेको जनाएको छ। उनी फिफाले चयन गरेका ५२ रेफ्रीमध्ये एक थिए।
त्यसैगरी, इरानको राष्ट्रिय टोली पनि भिसा प्रक्रियामा ढिलाइका कारण प्रभावित भएको छ। टोलीका खेलाडीहरूले प्रतियोगिता सुरु हुनुभन्दा करिब १० दिनअघि मात्र भिसा पाएका थिए भने केही प्रशासनिक सदस्यलाई भने प्रवेश अनुमति दिइएको छैन। यस कारण इरानले आफ्नो प्रारम्भिक प्रशिक्षण शिविर एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सार्नुपरेको छ।
अमेरिकी अधिकारीहरूले भने इरानी टोलीलाई खेलको दिन मात्र सीमित समयका लागि प्रवेश अनुमति दिने व्यवस्था गरिएको जनाएका छन्।
इराकका स्टार स्ट्राइकर अयमेन हुसेनलाई शिकागोस्थित ओ’हेयर विमानस्थलमा करिब सात घण्टा लामो सोधपुछमा राखिएको घटना पनि सार्वजनिक भएको छ। उनको मोबाइल फोनसमेत जाँच गरिएको बताइएको छ। पछि उनलाई प्रवेश दिइए पनि टोलीका एक फोटोग्राफरलाई भने लामो सोधपुछपछि अमेरिका प्रवेश गर्न रोकिएको थियो।
इराक ४० वर्षपछि पहिलोपटक विश्वकपमा फर्किएको सन्दर्भमा यो घटना विशेष रूपमा चर्चामा आएको छ।
यस्तै, हाइटीका मिडफिल्डर वुडेन्स्की पियरेले भिसा ढिलाइका कारण अभ्यास खेल नै गुमाउनुपरेको छ। उनी अन्तिम समयमा मात्र भिसा पाएर अमेरिका प्रवेश गर्न सफल भएका थिए।
स्विस फरवार्ड ब्रेल एम्बोलोलाई पनि पुरानो कानुनी मुद्दाका कारण भिसा प्रक्रियामा समस्या आएको थियो। पछि दूतावाससँगको छलफलपछि मात्र उनलाई यात्रा अनुमति दिइएको हो।
समस्या केवल खेलाडीमा सीमित छैन। मोरक्को, स्कटल्यान्ड लगायत विभिन्न देशका हजारौं समर्थकले टिकट, होटल र हवाई टिकट बुक गरिसकेपछि पनि भिसा अस्वीकृत वा ढिलाइका कारण यात्रा गर्न नसक्ने अवस्था आएको गुनासो गरेका छन्।
यसले विश्वकपलाई लिएर तयार गरिएको पर्यटन र आर्थिक अपेक्षामा समेत असर पर्ने आशंका गरिएको छ।
घटनाक्रमबारे मानवअधिकारकर्मी तथा अध्यागमन विज्ञहरूले अमेरिकी भिसा नीतिको आलोचना गरेका छन्। संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले समेत अमेरिकी अध्यागमन प्रणालीबारे ‘गम्भीर पुनर्विचार’ आवश्यक रहेको टिप्पणी गरेका छन्।
विशेषज्ञहरूले खेलकुदजस्तो विश्वव्यापी आयोजनामा प्रवेश प्रक्रियाले बाधा पुर्याउनु उचित नहुने तर्क गरेका छन्।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने फिफा सरकारको अध्यागमन नीतिमा हस्तक्षेप गर्न नसक्ने स्पष्ट पारेका छन्। उनका अनुसार फिफाले समस्या समाधानका लागि सहजीकरण गर्न सक्छ तर राष्ट्रिय सुरक्षा र भिसा निर्णय सरकारको अधिकार क्षेत्रभित्र पर्छ।
उनले भनेका छन्, ‘हामी समाधान खोज्ने प्रयास गर्छौं, तर सरकार वा सुरक्षा निकायलाई निर्देशन दिने अवस्था हाम्रो होइन।’
फिफाको २०१७ को बोली दस्तावेजमा आयोजक राष्ट्रहरूले गैरभेदभावपूर्ण भिसा प्रक्रिया सुनिश्चित गर्नुपर्ने उल्लेख भए पनि सुरक्षा नीतिलाई प्राथमिकता दिने प्रावधान पनि समावेश छ।
विश्लेषकहरूका अनुसार अमेरिका–इरान तनाव, कडा अध्यागमन नीति र सुरक्षा जाँचका कारण विश्वकप केवल खेलकुद प्रतियोगिता नभई भूराजनीतिक तनावको प्रतिबिम्बजस्तो देखिन थालेको छ।
विश्वकप सुरु हुनुअघि नै देखिएका यी घटनाले खेलाडी, समर्थक र आयोजक सबैलाई चुनौतीपूर्ण वातावरणतर्फ धकेलेको टिप्पणी गरिएको छ।
विश्लेषक गेजा शर्मा वाग्ले अमेरिकामा सम्मानित
न्युयोर्क। राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले न्युयोर्कको हेम्पस्टेड नगरबाट सम्मानित भएका छन्।
एशियन सम्पदा उत्सवको अवसरमा हेम्पस्टेड नगरका सुपरभाइजर (मेयर) जोन फेरेटी र कार्यकारी निर्देशक जहिद स्याएदको तर्फबाट उनलाई यो सम्मान प्रदान गरिएको हो।
नेपालमा लोकतन्त्र सुदृढीकरणका लागि वाग्लेले पुर्याएको योगदानको कदर गर्दै कार्यकारी निर्देशक स्याएदले उनलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।
आफ्नो क्षेत्रमा क्रियाशील रही राष्ट्रका लागि योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने क्रममा नगरले नेपालका वाग्लेलाई सम्मान गरेकाे हाे ।
वाग्ले करिब दुई दशकदेखि लाेकतन्त्र सुदृढीकरण, मानवअधिकार र नेपालकाे परराष्ट्र र सैन्य मामलामा कलम चलाउँदै आएका स्थापीत लेखक हुन् ।
उत्सवमा नेपालका वाग्लेसहित चीन, भारत, पाकिस्तान, बंगलादेश, कोरिया, टर्की र फिलिपिन्स गरी आठ देशका व्यक्तित्वहरू सम्मानित भएका छन्।
सम्मानबाट गौरवान्वित महसुस भएको बताउँदै वाग्लेले यसले नेपालमा लोकतन्त्रको संस्थागत विकास, मुलुकको समृद्धि र नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धका बारेमा थप उत्साहित भएर काम गर्ने प्रेरणा मिलेको उल्लेख गरेका छन्।
सर्वोत्कृष्ट मोडल को बन्नेछ ? (सूचीसहित)
काठमाडौं। ‘१३औँ म्युजिक खबर म्युजिक अवार्ड’ का लागि ३३ विभिन्न विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।
लोकदोहोरी, पप, आधुनिक, चलचित्र गीतदेखि डायस्पोरासम्मका विधामा स्रष्टा तथा कलाकारहरूबीच प्रतिस्पर्धा हुने भएको हो ।
महिला लोकदोहोरी म्युजिक भिडियो मोडलतर्फ करिष्मा ढकाल, जुना विश्वकर्मा, नारायणी खत्री, रविना भण्डारी र सुस्मिता गुरुङ मनोनयनमा परेका छन् ।
पुरुषतर्फ भने विजय पुन, पल शाह, पुष्प खड्का, सुधिर श्रेष्ठ र सुनिल न्यौपाने शीर्ष पाँचमा परेका छन् ।
आयोजकका अनुसार २०८१ वैशाखदेखि २०८२ असारसम्म सार्वजनिक भएका गीत तथा सिर्जनालाई आधार बनाएर निर्णायक मण्डलले मनोनयन तयार पारेको हो ।
मूल्याङ्कनमा ६० प्रतिशत निर्णायक र ४० प्रतिशत सार्वजनिक भोटिङको आधार रहनेछ ।
विभिन्न विधामा राष्ट्रिय भावका गीत, पप गीत, लोकदोहोरी, आधुनिक गीत, चलचित्र गीत, संगीत, शब्द, निर्देशन, छायांकन, सम्पादन लगायतका श्रेणी समेटिएका छन् ।
लोकगीत, पप गीत, आधुनिक गीत, चलचित्र पाश्र्व गायन तथा नवप्रतिभा लगायतका विधामा पनि प्रतिस्पर्धा तीव्र बनेको आयोजकले जनाएको छ ।
अवार्ड आयोजकका अनुसार हरेक विधाबाट एक जना सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिनेछ ।
उत्कृष्ट ५ मनोनयन सूची
१. उत्कृष्ट राष्ट्रिय भावको गीत
- गोर्खाली हौ – डोन कार्की
- राजनीति भनेको त – पारसमणि बराल
- प्यारो नेपाल – प्रेम गुरुङ
- हाम्रो देश – सुरेन्द्र खड्का
- वीरताको देश – जेनिशा गौतम
२. उत्कृष्ट पप गीतकार
- कौशिला अधिकारी – मायामा घात
- डिपी तिवारी – छुट्यो पिरिम
- महेन्द्र जो जो – पहाडी बाटो
- धनबीर थापा – बादलपारी
- रमेश कोइराला – तिमीलाई सम्बोधन
३. उत्कृष्ट पप संगीतकार
- विनय कार्की क्षेत्री – मायामा घात
- सिएल शर्मा – नाइँनभन
- अर्जुन पोखरेल – ओइ नक्कले
- विपी वाग्ले – पिरतीको बाह्रखरी
- हरि गिरी विमर्शी – महङ्गो महङ्गो ड्रेस
४. उत्कृष्ट पप गायक
- छिरिङ भुटिया – पहाडी बाटो
- दुर्गेश थापा – दुश्मन हेरेको हेरै
- प्रताप दास – तिमीलाई सम्बोधन
- रविन श्रेष्ठ – प्रिय जिन्दगी
- विनय कार्की क्षेत्री – नयाँनयाँ
५. उत्कृष्ट पप गायिका
- आश्रा कुँवर – इतिहास
- दुर्गा खरेल – ओइ नक्कले
- समिक्षा अधिकारी – आगो
- बबिना किराँती – महङ्गो महङ्गो ड्रेस
- एलिना चौहान – छुट्यो पिरिम
६. उत्कृष्ट लोकदोहोरी पुरुष मोडल
- विजय पुन – बोली हजुरको
- पल शाह – करिमैले
- पुष्प खड्का – सेतै दुध सेतै चौलानी
- सुधिर श्रेष्ठ – तिम्रै माया लाउँछ नि
- सुनिल न्यौपाने – युके लान्छु
७. उत्कृष्ट लोकदोहोरी महिला मोडल
- करिष्मा ढकाल – सेतै दुध सेतै चौलानी
- जुना विश्वकर्मा – मेरो परान
- नारायणी खत्री – करिमैले
- रविना भण्डारी – हिमाली फूल
- सुस्मिता गुरुङ – माया मोह
८. उत्कृष्ट निर्देशक (लोकदोहोरी)
- कुमार केसी – सधैं मीठो बोली होस्
- अशोक विश्वकर्मा – नमस्ते ढोगदियाँ
- दिप गुरुङ – तिम्रै माया लाउँछ नि
- जेरी भण्डारी – खोली सलल
- सञ्जिव ठकुरी – लाम लाम माया लाम
९. उत्कृष्ट शब्द (लोकदोहोरी)
- प्रसाद लामिछाने – सरर
- सिताराम परियार – भागौला त्रिशुली तरेर
- नविन राना – खोली सलल
- रमेश परियार – नमस्ते ढोगदियाँ
- बालकुमार श्रेष्ठ – रातो रिवनमा
१०. उत्कृष्ट भाका (लोकदोहोरी)
- नविन परियार – जाम भो हिंड रेलैमा सलल
- बालकुमार श्रेष्ठ – रातो रिवनमा
- शितल गुरुङ – निरमसी
- सागर विरही – बोली हजुरको
- कृष्ण केसी – जवानीको उद्घाटन
११. उत्कृष्ट लोकगीत
- खोर्सानी डल्ले – भिषण मुकारुङ
- निरुता खत्री – रामारोशन ताल
- मेरो दिन आउला – दिपकराज विश्वकर्मा
- मेरो जस्तो रगत छैन र – राजन भुजेल
- बनको चरी – सिता लामा
१२. उत्कृष्ट चलचित्र गीतकार
- आनन्द अधिकारी – हेर्दाहेर्दैमा
- प्रभा बर्तौला – रातकिन हुन्छ हजुर
- मुक्त उदास – यो मनले
- श्रवण मुकारुङ – राइमाहिलाले गाउँभुल्यो
- युवराज काफ्ले – फकाउँछ काफ्ले
१३. उत्कृष्ट चलचित्र संगीतकार
- कालीप्रसाद बास्कोटा – राई माइलाले गाउँ छोड्यो
- कृष्ण भारद्वाज – हेर्दाहेर्दैमा
- टंक बुढाथोकी – यो धनले
- थानेश्वर गौतम – रातकिन हुन्छ हजुर
- दिपक शर्मा – रिमै
१४. उत्कृष्ट चलचित्र पाश्र्व गायक
- आँशु लामा – रिमै
- थानेश्वर गौतम – रात किन हुन्छ हजुर
- सविन सुवेदी – त्यो मिठो जोवन
- सुजन चापागाई – मखमली
- सुरज पण्डित – च्यातिएको चोली
१५. उत्कृष्ट चलचित्र पाश्र्व गायिका
- झुमा लिम्बू – फकाउँछ काफ्ले
- रचना रिमाल – त्यो मिठो जोवन
- रिता केसी – रिमै
- सुनिता थेगिम – राई माइलाले गाउँ छोड्यो
- समिक्षा अधिकारी – हेर्दै आँखामा
१६. उत्कृष्ट संगीत संयोजक
- आदेश गुर्मछान – स्वर्ग झैं सैलुङ्ग
- खेमराज गौतम – सोल्टिनीज्यू
- झलक संगीतम – नशा लागेको
- नरेन्द्र वियोगी – रात किन हुन्छ हजुर
- याम थापा मगर – नखाउ परान
१७. उत्कृष्ट ध्वनि सम्पादन
- एचबिएन किस्मत – दुःख साटम्ला
- खडग बाजुराली – तिम्रै माया लाउँछ नि
- विनोद परियार – कुन साइनोले
- नरेश पाण्डे – मनको मान्छे
- नरेश बिबिसी – ओइ नक्कले
१८. उत्कृष्ट छायाकार
- अजय रेग्मी – नमस्ते ढोगदियाँ
- करण चैंसिर – जूनकिरी
- बुद्ध थापा – मेरो जिन्दगीको
- मदन कश्यप घिमिरे – अजम्बरी माया
- विजय लामा – भागौंला त्रिशुली तरेर
१९. उत्कृष्ट सम्पादन
- दिनसन शाह – युके लान्छु
- पदम सुवेदी – भागौला त्रिशुली तरेर
- विनोद बम – माछि भुल्यो
- सिलन लम्साल – ओइ नक्कले
- सुजन कोइराला – आँसु उपहार
२०. अन्य विधा (संक्षेपमा)
अवार्डमा थप लोकदोहोरी, आधुनिक, पप, चलचित्र, युगल गायन, डायस्पोरा लगायतका ३३ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ।
करका दर हेरफेर : अर्थमन्त्री वाग्लेको साबिती बयान
काठमाडौं। बजेटमा करका दर हेरफेर तथा भन्सार प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै सांसदहरूले उच्चस्तरीय संसदीय छानबिनको माग गरेका छन्।
संसद्मा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको संस्करणबीच पृष्ठ संख्यामा नै फरक कसरी किन र के स्वार्थमा देखियो ? भनेर अहिले व्यापक प्रश्न उठिरहेको छ।
प्रारम्भिक विधेयक ४६४ पृष्ठको रहेकोमा पछिल्लो संस्करण ४४८ पृष्ठमा झरेको देखिएपछि १६ पृष्ठ हटाइएको विषयले प्रश्न उठाएको हो।
यस विषयले सार्वजानिक वृत्त अहिले तातिएको छ। ‘१४ गते कर पास भएर २१ गते नाकाबाट गाडी भित्रनुलाई करका दर हेरफेर नभनेर के भन्ने ?’ संसदमा समेत प्रश्न उठेको छ। अर्थमन्त्री डा. वाग्ले कै नाक मुनिबाट यो कसरी सम्भव भयो ? प्रश्नको निरुत्तरित नै छ।
यिनै प्रश्नहरू बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले अघि सारेका हुन्। उनीहरुले यस विषयमा विशेष उपसमिति गठन गरी विस्तृत र सूक्ष्म छानबिन गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुसीबु ओली, श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्र शाहीले छुट्टै संसदीय उपसमिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखे।
बैठकमा सांसद ओलीले वि.सं. २०८० यता भन्सार कार्यालयहरूमा सवारी साधनको सिट क्षमता हेरफेर गरी ठूलो मात्रामा राजस्व चुहावट भएको दाबी गरिन्।
उनका अनुसार ७–८ सिट भएका सवारी साधनलाई ११ सिट कायम गरी उच्च दरको सट्टा कम भन्सार दर लगाएर राज्यलाई अर्बौँको क्षति पुर्याइएको छ।
‘७–८ सिट भएका गाडीलाई ११ सिट कायम गरी ३० प्रतिशत लाग्ने भन्सारको सट्टा १० प्रतिशत मात्रै तिरेर राज्यलाई ठगी गरिएको छ। ७७४ भन्दा बढी यस्ता गाडीहरू आयात भइसकेका छन्,’ उनले भनिन्।
ओलीले अर्थ मन्त्रालयको आन्तरिक छानबिनमाथि विश्वास नभएको भन्दै लेखा समितिले नै ६ महिनाभित्र निष्कर्ष निकाल्ने गरी उपसमिति गठन गर्नुपर्ने माग गरिन्।
त्यसैगरी, सांसद आर्यन राईले पनि उच्चस्तरीय छानबिन समिति गठन आवश्यक रहेको बताए। उनले राज्यलाई कर तिर्न खोज्दा पनि बिचौलिया र कर्मचारीको दबाबमा घुस दिनुपर्ने अवस्था रहेको टिप्पणी गरे।
सांसद महेन्द्र शाहीले पनि छुट्टै उपसमिति बनाएर छानबिन गर्नुपर्ने धारणा राखे। उनले यस्ता विवाद बारम्बार उठ्ने गरेकाले अब ठोस अनुसन्धान आवश्यक भएको बताए।
त्यस्तै, नेकपा एमालेका सांसद यज्ञबहादुर बोगटीले पनि लेखा समितिले नै उपसमिति बनाएर छानबिन गर्नुपर्ने धारणा राखे। अर्थ मन्त्रालयले गठन गरेको आन्तरिक समिति पर्याप्त नभएको उनको भनाइ थियो।
सांसद गणेश ठङ्गुना पनि उपसमिति गठनको पक्षमा उभिए।
अर्थमन्त्री वाग्लेको प्रतिवाद
सांसदहरूको प्रश्नपछि जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा देखिएका त्रुटिहरू विधिसम्मत रूपमा सच्याइएको स्पष्ट पारे।
उनले कर्मचारी तहबाट भएका मानवीय त्रुटिको जिम्मेवारी आफूले लिएको उल्लेख गर्दै संसदमा पुगेपछि विधेयकमा कुनै परिवर्तन नगरिएको दाबी गरे।
‘तपाईंहरूको हातमा परेपछि एउटा थोप्लो र पूर्णविराम पनि परिवर्तन गरिएको छैन,’ उनले भने।
उनका अनुसार बजेट भाषणपछि केवल एक भन्सार दर परिवर्तन गरिएको र केही अस्पष्टता हटाइएको मात्र हो।
अर्थमन्त्री वाग्लेले आफ्नो छवि बदनाम गर्न नियोजित रूपमा अतिरञ्जित प्रचार गरिएको आरोप लगाए।
उनले आफू नैतिकताको उच्च मापदण्डमा उभिएर काम गरिरहेको दाबी गर्दै प्रमाण भए प्रस्तुत गर्न चुनौती पनि दिए।
‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ उनले भने।
उनले आफूविरुद्ध लगाइएका आरोप राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै यस्तो गलत प्रचारको पछि नलाग्न सांसद र सञ्चारमाध्यमलाई आग्रह गरे।
उनको साबिती बयान जस्ताको त्यस्तै :
जेठ १५ गते बजेट वक्तव्यमार्फत आय-व्ययको अनुमान पेस गरेलगत्तै मैले अर्थ विधेयक टेबल गरेँ । १५ गते कर्मचारी साथीहरू धेरै सुत्नु पनि भएको थिएन । बिहान ५ बजेसम्म यो पुस्तिकाको तयारीका लागि जुट्नुभएको थियो । १६ गते शनिबार भयो । १७ गते हतारमा काम गर्दा सामान्य त्रुटि भएको पत्ता लागेपछि कर्मचारी साथीहरू मकहाँ आउनुभयो । केही त्रुटि भएका रहेछन्, सच्याउँ भन्ने आग्रह गर्नुभयो ।
‘यस्तो प्रचलन छ त ?’ भन्दा पोहोर साल मात्रै ७३ वटा भन्सार दर नै फेरिएको उहाँहरूले सम्झाउनुभयो । यसपालि त एउटा मात्रै हो भन्सार दर फेरिएको । एउटा शुल्क छ र ३–४ वटा विषय अलि अस्पष्ट भयो भनेर सच्याइएको छ । शिक्षामा गरिएको खर्चलाई कर कट्टी गर्ने कुरा बहसमा आएको थियो, तर आर्थिक विधेयकमा छुटेको रहेछ । त्यो मिलाइयो ।
भन्सार दरको हकमा चाहिँ एउटा मात्रै परिवर्तन गरिएको के हो भने, प्लास्टिक वा कपडाले बेरिएको सुटकेसलाई ३० प्रतिशत भन्सार लगाइरहेका रहेछौँ । स्वास्थ्यकर्मी साथीहरूबाट ज्यान जोगाउने भ्याक्सिन र रगत बोक्ने क्यारियर पनि त्यही वर्गीकरणमा पर्दा अन्याय भयो भन्ने कुरा आयो । लाइफ सेभिङ मटेरियललाई छुट्याएर कम भन्सार लगाउँ भनेर साथीहरूले इमानदारपूर्वक त्यसलाई निकाल्नुभयो । रगत र भ्याक्सिन बोक्ने क्यारियरलाई १५ प्रतिशतमा झारियो । ‘राजद्रोह’ त होइन त्यो । ‘देशद्रोह’ त पक्कै होइन ।
निकाल्न त यता निकालियो, तर गल्तीले प्लास्टिकको क्याटेगोरी सिङ्गैलाई १५ प्रतिशतमा झारिएछ । त्यो गर्न खोजिएको त थिएन । त्यसैले १५ मा झारिएकालाई ३० नै बनाऔँ भनेर सच्याइएको हो ।
अर्को शुल्कको कुरा छ । यत्रो इभीको कुरा गरियो । ५० लाखसम्मको गाडीलाई विलासी नमानौँ भन्ने कुरा भएको थियो । हुन त नेपालमा ५० लाखको गाडी चढ्ने पनि उच्च वर्गकै मानिएला । तर ‘एस्पिरेसनल सोसाइटी’को चित्रण गरिरहेको छ रास्वपाले, ५० लाखमुनिलाई सकेसम्म यथावत मूल्य गरौँ भन्ने थियो ।
त्यसअनुसार सडक विकास शुल्क ५ को साटो २.५ गरौँ भनेर फुटनोटमा लेखिसकिएको थियो । अर्थका साथीहरूले ‘द्रष्टव्य’ भनेर ५० लाखसम्मको गाडीका लागि २.५ लाख मात्रै शुल्क लाग्छ भनेर लेखेका थिए । तर त्यो कुरा कानूनमा जाने क्रममा बिहान ४–५ बजेसम्म काम गर्दा छुट्यो । पत्ता लागेपछि तुरुन्तै सच्याइयो । इभी सस्तो बनाउनका लागि गरिएको हो ।
भएको यत्ति हो । अर्थमन्त्रीले टाइप गरेर बिगारेको होइन । तर म नेता हुँ । कर्मचारीले गरेको गल्तीलाई मैले स्वामित्व लिनुपर्छ भनेर सच्याउन पहल गरेँ । विधिसम्मत हिसाबले जेठ १७ गते संसद् सचिवालयका महासचिवलाई पत्र पठाएर जानकारी गराएँ ।
तपाईंहरूले प्राप्त गरेको किताबमा यसरी सच्याएको पाना आएको हुनुपर्छ । बाँकी दुनियाँले मैले लेखेर दिएपछि थाहा पायो । अर्थमन्त्रीले कुटुकुटु कर फेरिरहेको छ भनेर अतिरञ्जना र अफवाह सुरु गरियो । तिललाई पहाड बनाएर दशकौँदेखिको छविलाई धमिल्याउने दुष्प्रयास भएको छ । यसप्रति खेद व्यक्त गर्छु।
बजेटले धनी-गरिबबीचको खाडल झन् फराकिलो बनाउँछ : सांसद तामाङ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य परशुराम तामाङले सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटले उत्पादन, रोजगारी र सामाजिक न्यायभन्दा पुँजी तथा मध्यमवर्गको हितलाई प्राथमिकता दिएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै तामाङले बजेटलाई पाँच कोणबाट समीक्षा गर्दै यसले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रको मार्ग समात्न नसकेको पनि दाबी गरे।
उनले बजेटले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा र कम्प्युटेसन शक्ति निर्यातजस्ता क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै ती क्षेत्र पुँजी सघन भएकाले व्यापक रोजगारी सिर्जना गर्न नसक्ने बताए। ‘अहिले नेपालको मुख्य आवश्यकता रोजगारी वृद्धि हो। यो बजेटले वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्काउन सक्ने विश्वासयोग्य विकल्प दिएको देखिँदैन,’ तामाङले भने।
कृषि क्षेत्रमा दुई करोड रुपैयाँभन्दा बढी लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिने व्यवस्थालाई उनले ठूला लगानीकर्तामुखी नीति भएको टिप्पणी गरे। ‘साना किसान, भूमिहीन र कृषि श्रमिकप्रति बजेट उदासीन छ। यसले कृषि क्षेत्रमा श्रम आकर्षण र आत्मनिर्भरता बढाउने आधार तयार गर्दैन,’ उनले बताए।
कर नीतिप्रति पनि असन्तुष्टि जनाउँदै तामाङले बजेटले उच्च आय हुने वर्गलाई प्रत्यक्ष लाभ पुग्ने व्यवस्था गरेको आरोप लगाए।
‘न्यूनतम कर छुटको सीमा बढाइएको छ, अधिकतम आयकर दर घटाइएको छ। यसबाट धनी र मध्यम वर्ग लाभान्वित हुन्छन्, तर गरिब र निम्न मध्यम वर्गको जीवनस्तर सुधार गर्ने स्पष्ट नीति छैन,’ उनले भने।
नेपालमा ठूलो जनसंख्या गरिब तथा निम्न मध्यम वर्गमा रहेको उल्लेख गर्दै उनले अप्रत्यक्ष करको दायरा विस्तार गरिनुले आर्थिक असमानता झनै बढ्ने चेतावनी दिए। ‘यो बजेटले धनी र गरिबबीचको खाडल अझ फराकिलो बनाउने खतरा देखिन्छ,’ उनले बताए।
तामाङले पहाडी तथा ग्रामीण क्षेत्रको उपेक्षा गरिएको आरोप पनि लगाए। ‘पहाड उजाड बन्दै गएको छ, आर्थिक गतिविधि शून्यप्रायः छ। कृषिको व्यवसायीकरण, औद्योगिक ग्राम स्थापना र स्थानीय रोजगारी सिर्जनाका कार्यक्रम आवश्यक थिए तर बजेटले त्यो संकटलाई सम्बोधन गरेको छैन,’ उनले भने।
सार्वजनिक ऋणको बढ्दो आकारप्रति चिन्ता व्यक्त गर्दै तामाङले उत्पादनमूलक क्षेत्रमा पर्याप्त लगानी नभए नेपाल ऋणको पासोमा फस्न सक्ने चेतावनी दिए। ‘ऋण लिएर खर्च धान्ने प्रवृत्ति निरन्तर रह्यो भने भविष्यमा अझ ठूलो आर्थिक दबाब सिर्जना हुन्छ। अर्थतन्त्रको आधार बलियो बनाउन पुँजी निर्माणमा राज्य केन्द्रित हुनुपर्छ,’ उनले बताए।
विश्व अर्थतन्त्रमा देखिएको भू-राजनीतिक तनाव, नवउदारवादी आर्थिक नीतिको संकट र असमान अन्तर्राष्ट्रिय व्यापार सम्बन्धको चर्चा गर्दै तामाङले नेपालले आत्मनिर्भर अर्थतन्त्रको बाटो समात्नुपर्ने धारणा राखे।
‘स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र नेपालको नयाँ विकास मोडेल हुनुपर्छ। यो केवल श्रमजीवी वर्गको मुद्दा होइन, आर्थिक राष्ट्रवादको प्रश्न पनि हो,’ उनले भने।
तामाङले अन्त्यमा बजेट २०४८ सालदेखि लागू हुँदै आएको नवउदारवादी आर्थिक नीतिकै निरन्तरता भएको दाबी गर्दै पुनरावलोकनको माग गरे।
‘माथिबाट चुहिएर आउने विकासबाट बहुसंख्यक गरिब जनताको उत्थान हुँदैन। गरिब र निम्न वर्गको उत्थानमै देशको दीगो समृद्धि निहित हुन्छ,’ उनले बताए।
बालेनलाई झकझक्याउँदै संसदमा गुञ्जियो उर्मिलाको कविता
काठमाडौं। नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला) ले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले जेठ १७ गते प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले दिएको प्रष्टीकरण चित्तबुझ्दो नभएको बताएकी छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै आपत्ति प्रकट गरिन्।
सांसद थपलियाले सरकारले दिएको प्रष्टीकरण पर्याप्त नभएको भन्दै संसदमा ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता पनि सुनाएकी थिइन्।
उनको कवितामार्फत उनले राष्ट्रिय सीमा र सार्वभौमिकतासम्बन्धी विषयमा सरकार गम्भीर हुनुपर्ने सन्देश दिएको बताइएको छ।
उनको कविता जस्ताको त्यस्तै:
देश बिर्सिएको दिन
तिमीले देश बनाउँछु भन्यौ
म ढुक्क थिएँ
तर एकाएक
तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै
आफ्नै आमाको
अस्मितामाथि औँला उठायौ !
माटो छोएर कसम खायौ
तर
त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ
अनि आमाको महिमा गाइरह्यौ
तर सन्तान हुनुको कर्तव्य भुल्यौ
काख र कोखको माया बिर्सियौ !
त्यसैले आज म ढुक्क होइन
मेरो मन देशको चिन्ताले
ढुकढुक भइरहेको छ ।
स्वार्थले प्रेरित भएपछि
सायद धेरै कुरा बिर्सन सकौला
तर नबिर्स
तिमीमाथि असीम भरोसा बोकेर
मतको भारी बिसाउने जनतालाई नबिर्स
जनता उभिएको माटोलाई नबिर्स
तिमीलाई आशीर्वाद दिने
ती बा–आमालाई नबिर्स !
यसरी बिर्सने सिलसिला बढ्दै गयो भने
एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ
र जुन दिन देश बिर्सिन्छौ
त्यो दिन
तिमी कसको शासक बन्नेछौ ?
भन
त्यो दिन तिमी
कसको शासक बन्नेछौ ?
भारतमा मेटाको भयङ्कर लगानी : अम्बानीको रिलायन्ससँग एआई डेटा सेन्टर सम्झौता
एजेन्सी । मेटा प्लेटफर्म्सले भारतमा ठूलो प्रविधि पूर्वाधार विस्तार गर्दै अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजसँग १६८ मेगावाट क्षमताको एआई–सक्षम डेटा सेन्टर भाडामा लिने सम्झौता गरेको छ।
रिलायन्स इन्डस्ट्रिजले मेटाका लागि उक्त डेटा सेन्टर निर्माण गर्नेछ र करिब दुई वर्षभित्र सञ्चालनमा ल्याउने योजना छ। आवश्यक परे भविष्यमा यसको क्षमता विस्तार गर्न सकिने विकल्प पनि सम्झौतामा समावेश गरिएको छ।
मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले जामनगरमा निर्माण हुने यो केन्द्रले भारतको डिजिटल अर्थतन्त्रमा दीर्घकालीन लगानीलाई अझ सुदृढ बनाउने बताएका छन्। उनका अनुसार यसले विश्वव्यापी एआई पूर्वाधार विस्तारमा पनि महत्वपूर्ण योगदान पुर्याउनेछ।
मेटा र रिलायन्सबीचको सहकार्य सन् २०२० देखि सुरु भएको हो, जब मेटाले रिलायन्सको डिजिटल तथा टेलिकम कम्पनी जियो प्लेटफर्म्समा ५.७ अर्ब अमेरिकी डलर लगानी गरेको थियो। त्यसपछि दुवै कम्पनीले एआई प्रविधि र डिजिटल सेवामा सहकार्य विस्तार गर्दै आएका छन्।
पछिल्लो सम्झौताअन्तर्गत रिलायन्सले मेटाका लागि भारतमा अत्याधुनिक पूर्वाधार विकास गर्नेछ भने मेटाले आफ्ना एआई सेवा विस्तारलाई तीव्रता दिनेछ। भारतका उद्योग र विकासकर्ताका लागि मेटाका ओपन–सोर्स एआई मोडलहरू उपलब्ध गराउने पहल पनि यसै सहकार्यअन्तर्गत अघि बढाइएको छ।
रिलायन्सका अध्यक्ष मुकेश अम्बानीले यो लगानीलाई भारतको डिजिटल पूर्वाधार विकासमा ‘परिवर्तनकारी क्षण’ भएको बताएका छन्।
विश्वका ठूला प्रविधि कम्पनीहरू हाल भारतमा डेटा सेन्टर निर्माणतर्फ आकर्षित भइरहेका छन्। लागत कम हुनु र बजार विस्तारको सम्भावनाका कारण भारतलाई एआई र क्लाउड कम्प्युटिङको नयाँ केन्द्रका रूपमा हेरिएको छ।
यसैबीच, भारत सरकारले डेटा सेन्टरमा लगानी गर्ने कम्पनीहरूका लागि २० वर्षे कर छुट घोषणा गरेको छ, जसले विदेशी प्रविधि कम्पनीहरूको लगानीलाई थप आकर्षित गरेको छ।
मेटाले आफ्नो डेटा सेन्टर सञ्चालनलाई स्वच्छ ऊर्जामा आधारित बनाउने नीति अन्तर्गत क्लिन म्याक्स र फोर्थ पार्टनर इनर्जीसँग करिब १ गिगावाट नवीकरणीय ऊर्जा आपूर्तिका लागि पनि साझेदारी गरिरहेको छ।
कम्पनीले यी सबै लगानीहरूलाई आफ्नो विश्वव्यापी लक्ष्यअनुसार शतप्रतिशत नवीकरणीय ऊर्जा प्रयोग गर्ने रणनीतिसँग जोडिएको बताएको छ।
पूर्वसांसद छिरिङ ल्हमुले यस्तो भन्दै…त्यागिन् नेकपा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा पूर्वसांसद छिरिङ ल्हमुले पार्टीका सबै जिम्मेवारी परित्याग गर्दै स्वतन्त्र रहने घोषणा गरेकी छन्।
अघिल्लो प्रतिनिधिसभामा माओवादीबाट समानुपातिक सांसद रहेकी ल्हमुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीभित्रकै केही नेताको व्यवहारका कारण आफू यस्तो निर्णय लिन बाध्य भएको बताएकी छन्।
वक्तव्यमा उनले संकीर्णता, असहिष्णुता र निषेधको राजनीतिले आफूलाई स्वतन्त्रताको मूल्य अझ गहिरोसँग बुझ्न मद्दत गरेको उल्लेख गरेकी छन्।
‘मलाई यो निर्णय लिन बाध्य बनाउने संकीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ,’ उनले वक्तव्यमा भनेकी छन्।
ल्हमुले आफूविरुद्ध पार्टीभित्रैबाट विभिन्न षड्यन्त्र र दबाब सिर्जना गरिएको आरोप पनि लगाएकी छन्। राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयास भएको तथा आफ्नो आत्मबल कमजोर बनाउन निरन्तर गतिविधि गरिएको उनको दाबी छ।
उनको वक्तव्य जस्ताको त्यस्तै:
आफू बाहेक अरू कसैको अस्तित्व, क्षमता र योगदानलाई स्वीकार गर्न नसक्ने मानसिकताका कारण मैले आफ्नो कार्यकालभरि असंख्य पीडा, अपमान, निषेध र षड्यन्त्रहरू सहनुपर्यो। हरेक पाइलामा रोक्ने, हरेक प्रयासमा अवरोध खडा गर्ने र अरूलाई अगाडि बढेको देख्न नसक्ने अपराधी मानसिकतासँग अब सँगै यात्रा गर्न सम्भव छैन।
जहाँ युवाको विचारलाई निषेध गरिन्छ, नयाँ पुस्ताको आवाजलाई दबाइन्छ, सामान्य मानवीय व्यवहारसमेत गरिँदैन, त्यस्तो वातावरणबाट म आज मुक्त हुन चाहन्छु। मैले कुन हदसम्मको पीडा भोगेको छु भन्ने कुरा मलाई मात्र थाहा छ। ती पीडाहरू यति गहिरा छन् कि आज पनि शब्दहरूले पूर्ण रूपमा बयान गर्न सकिरहेका छैनन्।
मेरो विरुद्ध चौतर्फी षड्यन्त्रका जालो बुन्ने, मेरो आत्मबल कमजोर पार्ने, मलाई राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भए। तर भाग्यवश मेरो आत्मविश्वास र संघर्षशीलताले ती सबै षड्यन्त्रहरूको सामना गर्यो। अन्यथा मलाई समाप्त गर्न कुनै कसर बाँकी राखिएको थिएन।
मलाई थाहा छ, यो निर्णयपछि कतिपयले अवसरवादी भन्नेछन्, आलोचना गर्नेछन् र अनेक आरोप लगाउनेछन्। तर अवसरवादीको आरोप लगाउनुभन्दा पहिले कृपया मेरो पार्टीभित्रको पृष्ठभूमि, संघर्ष र यात्रालाई एकपटक अध्ययन गर्नुहोला। मैले आजसम्म पाएको कुनै पनि जिम्मेवारी मागेर, दाबी गरेर वा दबाब दिएर पाएको होइन। समयले मेरो काँधमा जिम्मेवारी राखिदिएको थियो, र मैले त्यसलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास मात्र गरेको हुँ। त्यसैले सबैलाई एउटै तराजुमा जोख्ने प्रयास कसैले नगरोस् भन्ने विनम्र आग्रह गर्दछु।
म सही छु कि गलत, त्यसको अन्तिम फैसला समयले गर्नेछ। समयभन्दा ठूलो न्यायाधीश कोही हुँदैन। मैले गरेको संघर्ष, योगदान र समर्पणको मूल्याङ्कन पनि समयले अवश्य गर्नेछ भन्ने विश्वास राखेको छु।
पार्टीका इमानदार नेता, कार्यकर्ता, शुभेच्छुक तथा मेरो यात्रामा निरन्तर साथ, विश्वास र हौसला दिने सम्पूर्ण साथीहरूप्रति म हृदयदेखि नै आभारी छु। तपाईंहरूले दिएको साथ, विश्वास, अवसर र मायालाई म जीवनभर बिर्सने छैन। त्यसका लागि म सधैँ ऋणी रहनेछु।
तर एउटा पीडित र पीडा दिने मानसिकता एउटै छानामुनि बसेर लामो समयसम्म सहयात्रा गर्न सक्दैन। केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि आजको यो निर्णय मेरो रहर होइन, बाध्यता बनेको हो। इमानदारीको जगमा उभिएको मेरो अस्तित्व अपराधी मानसिकतासँग सम्झौता गरेर बाँच्न सक्दैन।
समाज बदल्ने र देश बदल्ने सङ्कल्प बोकेर धेरै कुरा त्याग गरेर हिँडेको म, जब त्यही सपना र उद्देश्य पूरा गर्ने बाटोमा निषेध, अवरोध र अपमान खडा गरिन्छ, तब त्यस्ता मानसिकतासँग सम्झौता गरेर बस्नुभन्दा तिनीहरूलाई छोडेर अगाडि बढ्नु नै उचित हुन्छ।
म काम गर्ने मान्छे हुँ। मलाई सधैँ अपमान र अमानवीय व्यवहार होइन, आत्मसम्मान र मेरो अस्तित्वको सम्मान चाहिन्छ। जहाँ विचार, योगदान र संघर्षको कदर हुँदैन, त्यहाँ बसिरहनुभन्दा आफ्नो बाटो रोज्नु नै सही निर्णय हो।
अझै धेरै लामो यात्रा गर्न बाँकी छ। अझै धेरै संघर्षहरू गर्न बाँकी छन्। तर ती संघर्षहरू म स्वतन्त्र भएर, आत्मसम्मानका साथ र सहज रूपमा गर्न चाहन्छु; हरेक दिन षड्यन्त्रको सिकार भएर होइन।
त्यसैले आजकै मितिदेखि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भई स्वतन्त्र रहने निर्णय गरेको घोषणा गर्दछु। मलाई यो निर्णय लिन बाध्य बनाउने सङ्कीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ।
कर्णाली प्रदेश पार्टी, केन्द्रीय पार्टी तथा सम्पूर्ण साथीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँसम्म आइपुग्न मैले पाएको अवसर, विश्वास र जिम्मेवारीलाई म सधैँ सम्मानका साथ स्मरण गर्नेछु।
अन्त्यमा, मेरो व्यवहार, बोली वा कार्यशैलीबाट कसैको मन दुखेको भए क्षमाप्रार्थी छु। मेरा कुनै कमजोरी वा त्रुटि भएका भए त्यसका लागि माफी चाहन्छु। माफ गर्नुहोला, अब म आफ्नो आत्मसम्मान, विवेक र स्वतन्त्र चेतनामाथि निरन्तर प्रहार गर्ने मानसिकतासँग सहयात्रा गर्न सक्दिनँ। आजदेखि म स्वतन्त्र छु। आफ्नो विचार, आफ्नो आत्मसम्मान र स्वतन्त्रताको साससँग।
बालेनले माफी माग्नुपर्छ, सभामुखको भूमिका विवादित : परशुराम तामाङ(भिडियो)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य परशुराम तामाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सीमासम्बन्धी दिएको विवादित अभिव्यक्तिप्रति संसद्मा आएर माफी माग्नुपर्ने बताएका छन्।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको कूटनीतिक अडान कमजोर बनाएको तथा नेपाल–भारत सीमा विवादलाई थप जटिल बनाउने जोखिम सिर्जना गरेको दाबी गरेका छन्।
नेपालवान एचडीसँगको अन्तर्वार्तामा तामाङले प्रधानमन्त्रीको भनाइलाई आधार बनाएर भारतले समेत नेपालसँग भूमि फिर्ता माग्न सक्ने तर्क गरे।
‘यदि प्रधानमन्त्रीको भनाइलाई आधार मानेर भारतले तिमीहरूले हाम्रो भूमि मिचेका छौ, हामीलाई फिर्ता गर भन्यो भने त्यसको अर्थ के हुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘यदि त्यसो होइन भने संसद्को रेकर्ड हेर्नू भन्यो भने त्यो अझ ठूलो प्रमाण बन्न सक्छ।’
उनले प्रधानमन्त्रीले बोलेको कुरा व्यक्तिगत नभई राज्यको आधिकारिक धारणा सरह हुने भएकाले गल्ती भएको भए स्वीकार गर्नुपर्ने बताए।
संसद्को अभिलेखबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने र देशवासीसँग माफी माग्नुपर्ने उनको भनाइ छ। ‘गल्ती स्वीकार गर्दा मानिस सानो हुँदैन, बरु महान् हुन्छ,’ उनले भने।
तामाङले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएका छन्। सभामुखले प्रतिनिधिसभा नियमावली निर्माणदेखि सदन सञ्चालनसम्म निष्पक्ष र अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको उनको आरोप छ।
नियमावली सर्वसम्मत रूपमा पारित गराउन पहल नगरेको, नियमावलीका प्रावधानबारे गलत व्याख्या गरेको तथा केही विधेयक पारित गराउँदा प्रक्रियागत कमजोरी देखाएको उनले बताए।
उनले सम्पत्ति शुद्धीकरण र फौजदारी कसुरमा मुद्दा लागेका बहालवाला सांसदलाई निलम्बन नगर्ने व्यवस्था संविधानको मर्मविपरीत रहेको दाबी गरे।
प्रतिनिधिसभा नियमावलीमा ‘काइते भाषा’ प्रयोग गरेर सांसदलाई विशेष सुविधा दिने प्रयास भएको भन्दै उनले त्यसलाई संशोधन गर्नुपर्ने बताए। सांसदलाई कानुनभन्दा माथि राख्ने कुनै पनि व्यवस्था स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।
सम्पत्ति छानबिन आयोगको कार्यादेशमाथि पनि तामाङले असन्तुष्टि जनाए।
पूर्व तथा वर्तमान राष्ट्रपति-उपराष्ट्रपति, नेपाली सेना, प्रधानमन्त्री बालेन र उनका मन्त्रिपरिषद्का सदस्य तथा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारलाई छानबिनको दायराबाहिर राखिएको भन्दै उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाए।
‘राजनीतिमा लाभ लिएका सबै व्यक्ति छानबिनको दायरामा आउनुपर्छ,’ उनले भने, ‘दोषी भए कारबाही हुनुपर्छ, निर्दोष भए सफाइ पाउनुपर्छ।’
पुराना दलका नेताहरूलाई देख्नासाथ भ्रष्टाचारीको आरोप लगाउने प्रवृत्ति बढेको भन्दै उनले प्रमाणका आधारमा मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए।
अन्तर्वार्ताका क्रममा तामाङले नेकपाको जनमत खस्किनुका कारणबारे पनि आत्मसमीक्षा गरे।
जनयुद्धका बेला जनता र देशलाई रूपान्तरण गर्ने आशा जगाउन सफल भए पनि शान्ति प्रक्रियापछि सत्ता सञ्चालनमा अपेक्षाअनुसार परिणाम दिन नसक्दा जनताको विश्वास कमजोर बनेको उनले बताए।
अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको राप्रपा नेता शाहीको आरोप [भिडियो]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा झुटो बयान दिएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भन्सार तथा कर छलीसम्बन्धी विषयमा अर्थमन्त्रीले संसदीय समितिमा गलत जानकारी दिएको दाबी गरे।
शाहीका अनुसार करका दर हेरफेर र भन्सार प्रक्रियासम्बन्धी विषयमा उठेका प्रश्नहरूको जवाफमा अर्थमन्त्रीको भनाइ तथ्यसँग मेल नखाने खालको छ।
‘भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीलेसम्म संसदीय समितिमा गएर झुट बोल्नुभएको छ। हामीले संसदीय छानबिन माग गरेको रहरका लागि होइन,’ उनले संसद्मा भने।
उनले कर दर हेरफेर प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन अनिवार्य रहेको मागसमेत दोहोर्याए।
भिडियो:











































