`

सानेपामा सुरु भयो श्रावण मेला : मेहेन्दी, भजन कन्सर्ट र ‘श्रावण बजार’मा दर्शकको आकर्षण

काठमाडौं । श्रावण महिनाको धार्मिक आस्था, सांस्कृतिक परम्परा र आधुनिक जीवनशैलीलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दोस्रो संस्करणको ‘श्रावण मेला’ सुरु भएको छ। श्रावण ९ र १० गतेसम्म सञ्चालन हुने मेलाले पहिलो दिनदेखि नै उल्लेखनीय दर्शकको उपस्थिति आकर्षित गरेको छ।

क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा ‘पवित्र महिनाको उत्सव’ भन्ने नारासहित सञ्चालन भइरहेको मेलामा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ। आयोजकका अनुसार धार्मिक आस्था, सांस्कृतिक पहिचान, पारिवारिक जमघट र स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो।

मेलाको प्रमुख आकर्षणका रूपमा रहेको ‘बिगेस्ट मेहेन्दी भेला’ मा युवतीदेखि विवाहित महिलासम्मको उल्लेखनीय सहभागिता देखिएको छ। श्रावण महिनामा हरियो पहिरन र मेहेन्दी लगाउने परम्परालाई केन्द्रमा राखेर विभिन्न डिजाइनका मेहेन्दी कलाकारहरूले सेवासमेत उपलब्ध गराइरहेका छन्। मेहेन्दी स्टलहरूमा बिहानैदेखि दर्शकको भीड देखिएको थियो।

त्यसैगरी, मेलामा आयोजना गरिएको भजन कन्सर्ट ले धार्मिक वातावरणलाई थप जीवन्त बनाएको छ। विभिन्न कलाकार र भजन समूहले भगवान शिवलगायत धार्मिक भजन प्रस्तुत गर्दै श्रावण महिनाको आध्यात्मिक महत्वलाई संगीतमार्फत प्रस्तुत गरेका छन्। परिवारसहित मेलामा पुगेका दर्शकहरूले भजन, सांस्कृतिक प्रस्तुति र धार्मिक वातावरणको भरपुर आनन्द लिइरहेका छन्।

मेलाको अर्को मुख्य आकर्षण ‘श्रावण बजार’ हो, जहाँ बिहान ९ बजेदेखि विभिन्न धार्मिक सामग्री, श्रृङ्गारका सामग्री, हरिया चुरा, पोते, कपडा, हस्तकला, सौन्दर्य सामग्री, खाद्यान्न तथा अन्य व्यावसायिक स्टलहरू सञ्चालनमा छन्। विशेषगरी महिलाहरूको सिंगारसँग सम्बन्धित सामग्रीका स्टलहरूमा दर्शकको उल्लेखनीय चहलपहल देखिएको छ।

स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मेलाअन्तर्गत बिहान ६ बजेदेखि ‘श्रावण रन’ (दौड) समेत आयोजना गरिएको छ। धार्मिक उत्सवसँगै स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने प्रयासस्वरूप आयोजित दौडमा विभिन्न उमेर समूहका सहभागीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

मेलालाई सफल बनाउन माछापुच्छ्रे बैंक, बिग मार्ट लगायत विभिन्न प्रतिष्ठित संस्थाहरूले प्रायोजन तथा व्यावसायिक सहकार्य गरेका छन्। आयोजकका अनुसार धार्मिक, सांस्कृतिक र व्यावसायिक गतिविधिलाई एउटै मञ्चमा जोड्दै श्रावण महिनाको विशेषतालाई उत्सवका रूपमा मनाउने प्रयास गरिएको हो।

आयोजकले आगामी वर्षहरूमा मेलालाई अझ बृहत् र अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। धार्मिक आस्था, मनोरञ्जन, स्वास्थ्य, व्यापार र सामाजिक भेटघाटलाई एकै स्थानमा अनुभव गर्न सकिने भएकाले ‘श्रावण मेला’ राजधानीवासीका लागि आकर्षक गन्तव्य बन्दै गएको आयोजकको विश्वास छ।

 

प्रेस स्वतन्त्रताको रक्षा गरौं भन्दै माइतिघरमा पत्रकार महासंघको प्रदर्शन

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा तथा नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेको छ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, नागरिक अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित आयोजित प्रदर्शनमा देशभरका पत्रकार, सञ्चारकर्मी तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रदर्शनमा सहभागीहरूले प्रेसमाथि बढ्दै गएको दबाब, अभिव्यक्ति स्वतन्त्रतामाथिका हस्तक्षेप र पत्रकारहरूको पेशागत सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारको पूर्ण कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

महासंघले स्वतन्त्र र जिम्मेवार पत्रकारिता लोकतन्त्रको आधार भएकाले प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने जनाएको छ। प्रदर्शनका क्रममा पत्रकारहरूले सञ्चारमाध्यममाथि हुने हस्तक्षेप अन्त्य गर्न, समाचार संकलनका क्रममा पत्रकारको सुरक्षा सुनिश्चित गर्न तथा नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेका थिए।

माइतीघर मण्डलामा भएको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। सहभागीहरूले विभिन्न प्लेकार्डसहित नाराबाजी गर्दै प्रेस स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणका पक्षमा ऐक्यबद्धता जनाएका थिए।

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता र नागरिक अधिकारसँग सम्बन्धित विषयमा सरकार संवेदनशील बन्नुपर्ने तथा लोकतान्त्रिक व्यवस्थाको मूल आधारका रूपमा रहेको स्वतन्त्र सञ्चार क्षेत्रको संरक्षण गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएको छ।

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपाको सहमती

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारहरूमा सहकार्य गर्दै सत्ता साझेदारी गर्ने सहमति भएको छ। शनिबार दुई दलका शीर्ष नेताबीच भएको छलफलपछि पाँच प्रदेशमा सरकार गठन र नेतृत्व बाँडफाँटसम्बन्धी लिखित सहमति भएको हो।

सहमतिपत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्। सहमतिअनुसार दुवै दलले प्रदेश सरकारहरूलाई स्थायित्व दिने, विकास निर्माणका कामलाई प्रभावकारी बनाउने तथा साझा न्यूनतम कार्यक्रमका आधारमा सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

सत्ता साझेदारीको समझदारीअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्नेछ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ।

दुवै दलले सरकारको नेतृत्व गर्ने प्रदेशमा मन्त्रिपरिषद् गठन, मन्त्रालय बाँडफाँट तथा साझा नीति–कार्यक्रमका विषयमा आपसी समझदारीका आधारमा निर्णय गर्ने जनाइएको छ। प्रदेश सरकारहरूलाई थप प्रभावकारी, जनउत्तरदायी र स्थिर बनाउने उद्देश्यले सहकार्य गरिएको नेताहरूले बताएका छन्।

शीर्ष नेताहरूबीच भएको छलफलमा प्रदेश सरकारहरूको कार्यसम्पादन, विकास आयोजना कार्यान्वयन, सेवा प्रवाहमा सुधार तथा केन्द्र र प्रदेशबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ।

यस सहमतिसँगै प्रदेश सरकारहरूको नयाँ राजनीतिक समीकरण स्पष्ट भएको छ। दुवै दलले प्रदेश तहमा सहकार्यलाई दीर्घकालीन बनाउँदै साझा राजनीतिक एजेन्डालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

राजनीतिक वृत्तमा यो सहमतिलाई आगामी प्रदेश सरकारहरूको स्थायित्व र सत्ता समीकरणमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। अब सम्बन्धित प्रदेशहरूमा मुख्यमन्त्री चयन, मन्त्रिपरिषद् विस्तार तथा सत्ता साझेदारीको विस्तृत खाका कार्यान्वयनतर्फ प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णयका विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं। राष्ट्रिय जेन–जी नागरिक अभियानले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने सरकारको निर्णयको विरोधमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

अभियानले उक्त निर्णय जेन–जी आन्दोलनको मर्म, भावना र सुशासनको सिद्धान्तविपरीत रहेको दाबी गर्दै त्यसको विरोधमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले जनप्रतिनिधिको सुविधा विस्तार गर्नुको सट्टा राज्यको खर्च कटौती, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने माग गरेका थिए। उनीहरूले स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।

माइतीघर मण्डलामा भएको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै विभिन्न नाराबाजीसमेत गरेका थिए।

प्रदेश सरकार गठनको टुंगो लगाउन ओली-प्रचण्ड-माधवबीच तीन घण्टा वार्ता

काठमाडौँ।  प्रदेश सरकार गठनको भागबण्डा टुंग्याउन एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालबीच शनिबार लगातार तीन घण्टादेखि छलफल जारी छ। सुरुमा छलफलमा ओली र प्रचण्ड मात्रै सहभागी भएपनि पछि माधवकुमार पनि सहभागी भएको एमाले स्रोतले जनाएको छ।

दुवै पार्टीले प्रदेश सरकार गठन गर्ने सहमति गरिसकेका छन्, तर मोडालिटी र मन्त्रालय बाँडफाँडको विषय टुंगो लाग्न बाँकी रहेकोले आजै लिखित सम्झौता गर्ने लक्ष्य राखिएको नेताहरूले बताएका छन्। छलफलको स्थान भने सार्वजनिक गरिएको छैन। शुक्रबार हुने भनिएको वार्ता पुष्पलाल श्रेष्ठ स्मृति दिवसको कार्यक्रमका कारण स्थगित गरिएको थियो।

यसअघि कांग्रेस र एमालेले सहकार्य गर्दै प्रदेश सरकारहरु बनाएका थिए।  उक्त सहकार्य टुंगिने भएपछी अहिले नेकपा एमाले र नेकपा सहकार्यको प्रयत्नमा जुटिरहेका छन्।  

 

कुटनीतिक दायरा तोडेर बेनको भारत भ्रमण

काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख सल्लाहकार कुमार बेन दिल्ली पुगेको समाचार निकै चर्चामा छ। बेन हवाईमार्गबाट नभई स्थलमार्ग हुँदै दिल्ली पुगेको दाबी इ-कान्तिपुर, नेपालखबर लगायतका समाचार संस्थाहरूले गरेका छन्। उनी काठमाडौँबाट सिमरा र सिमराबाट रक्सौल नाका हुँदै भारत प्रवेश गरेको जनाइएको छ। रक्सौलपारिको स्थलमार्ग यात्राको प्रबन्ध भने भारतीय पक्षले नै गरेको थियो। तर उनले भने आफू भारत पुगेको भन्ने सम्पूर्ण दाबीहरूलाई अस्वीकार गर्दै आएका छन्।

प्रधानमन्त्री बनेयता नै शाहको दिल्लीसँगको सम्बन्धमा उतारचढाव देखिँदै आएको छ। सरकार गठन भएलगत्तै दिल्लीले उनको भारत भ्रमण चाहेको थियो। त्यसैका लागि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल पनि आएका थिए।

तर, सचिवालयकै सल्लाहमा शाहले त्यतिबेला उनलाई भेट्न मानेनन्। त्यतिबेला प्रधानमन्त्री कार्यालयको अडान थियो, ‘राजदूतभन्दा तल्लो तहका कुनै पनि विदेशी उच्च पदस्थ व्यक्तिलाई नभेट्ने। अझ एक्लाएक्लै कसैलाई नभेट्ने।’

बेनले दिल्लीमा भारतीय भूतपूर्व गुप्तचर एजेन्सीका प्रमुख तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै भेटवार्ता गरेको चर्चा छ। प्रधानमन्त्री शाहको भारत भ्रमण र चिसिएको शाह-भारत सम्बन्ध सुधारका निम्ति बेन दिल्ली पुगेका हुन्।

तर प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको दिल्ली भ्रमण किन लुकाइयो? सार्वजनिक वृत्तबाट प्रश्न उठिरहेका छन्।

कुनै पनि देशको प्रधानमन्त्री छिमेकी देशको भ्रमणका लागि जाने कुरा नौलो भने होइन। नेपालका अधिकांश प्रधानमन्त्रीहरूले आफ्नो पहिलो द्विपक्षीय भ्रमण भारतबाट सुरु गर्ने गरेका छन्।

तर सरकार गठन भएको चार महिना बित्न लाग्दा औपचारिक विदेश भ्रमण कहाँबाट सुरु गर्ने भन्ने अन्योलताका बीच बेनको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ। उनले त्यहाँ भारतीय राजदूतसँग प्रधानमन्त्री शाहको एकल भेटवार्ताको मिति पनि तय गरेका छन्। यसअघि शाहले एकल भेटवार्ता नगर्ने अडान लिएका थिए।

बेनको यो भ्रमणको रोचक पक्ष चाहिँ के छ भने, बेन भारत भ्रमणबाट फर्किएपछि एक र दुई रुपैयाँका सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन निर्देशन दिएका थिए। भारतीय सुरक्षा संयन्त्रका उच्चस्तरीय व्यक्तिहरूसँगको भेटवार्तापछि शाहको सचिवालयले दिएको यो निर्देशनले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताका सन्दर्भमा गम्भीर प्रश्न खडा गरेको छ। चौतर्फी आलोचनापछि केही दिनमै सरकारले उक्त निर्णय फिर्ता लियो। र, एक र दुई रुपैयाँका सिक्कामा चुच्चे नक्सा नै छाप्ने निर्णयमा यथावत् रह्यो।

तर, यो घटनाले नेपालको सार्वभौमसत्तामाथि भने अनेकन प्रश्न जन्माएको छ। तीमध्येका कैयौँ प्रश्नहरूमा शाहको टिमले कालापानी, लिपुलेक र लिम्पियाधुराको बदलामा के साट्न खोजेको थियो?

अर्कोतिर, परराष्ट्र मन्त्रालयले बेनको भारत भ्रमणका बारेमा कुनै जानकारी नभएको बतायो। पार्टीलाई पनि यो विषयमा कुनै जानकारी नदिइएको बताइएको छ। यसरी प्रमुख सल्लाहकारका हैसियतमा विदेश मामिला हेर्ने परराष्ट्र मन्त्रालय र आफ्नै पार्टीलाई जानकारी नदिई उनी लुकेर किन भारत पुगे? यसले अर्को प्रश्न जन्माएको छ।

गत जेठ १७ मा प्रधानमन्त्री शाहले संसद्को रोष्ट्रमबाट दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँमा सिमा मिचेको छ’ भन्ने अभिव्यक्तिले नेपाल गम्भीर भूराजनीतिक जोखिममा धकेलिएको विश्लेषकहरू बताउँछन्। भनिन्छ- रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण प्रभावित पार्न जानाजानी उनले उक्त अभिव्यक्ति दिएका थिए।

तर त्यसका बाबजुद पनि लामिछानेको भारत भ्रमण रोकिएन। उल्टै भारतले उनलाई नसोचेको अभूतपूर्व स्वागत गर्‍यो। र, पुष्पवृष्टिसहित सम्मान गर्‍यो। भारतले दिएको त्यो सम्मानले उनको राजनीतिक कद त बढाएकै थियो, त्यससँगै भारतले बालेनभन्दा रविलाई बढी महत्व दिएको सन्देश पनि दिएको थियो। यसले बालेन टिम झन् झस्किएको बताइन्छ। त्यसपछि शाह-भारत सम्बन्ध झन् चिसिएको जानकारहरू बताउँछन्।

शाह प्रधानमन्त्री बनेपछि नेपाल-भारत सम्बन्ध बिग्रिँदै गएको विश्लेषण हुने गरेका छन्। सिमा क्षेत्रमा १०० रुपैयाँको सामानमा कर लगाउने सरकारी निर्णयले भारत चिढिएको थियो। त्यस्तै, विदेश सचिव मिश्रीलाई शाहले भेट नदिनु नेपाल-भारत सम्बन्ध बिग्रिनुको अर्को कारण बन्यो।

त्यसपछि प्रतिक्रियास्वरूप भारतले नेपालको चिया नकिन्ने निर्णय गर्‍यो। जसका कारण पूर्वी नेपालका ८० भन्दा बढी चिया उद्योग बन्द भए भने ५० हजारभन्दा बढीले रोजगारी गुमाए। बंगलादेशलाई विद्युत् बेच्ने पूर्ववर्ती सम्झौतामा पनि भारतले अवरोध खडा गर्‍यो।

अर्कोतिर, जेठ १७ को प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा हवाई गस्ती बढायो भने सुस्ता क्षेत्रमा भारतीय एसएसबीको टोलीले हस्तक्षेप गरेका समाचारहरू तपाईं/हाम्रो मोबाइल स्क्रिनमा आइरहेकै थिए। यसले शाह प्रधानमन्त्री बनेपछि नेपाल-भारत सम्बन्ध बिग्रिएको विश्लेषणलाई थप बल पुर्‍याउँछ।

सुरुमा भारत भ्रमणको निम्तो आफैँ बाइपास गरेका बालेनका लागि चार महिना नबित्दै भारत भ्रमण किन यति महत्वपूर्ण बन्यो? परराष्ट्र मन्त्रालयको दायरा तोडेर शाहका प्रमुख सल्लाहकार बेन खुसुक्क एक्लै किन भारत पुगे? भारत भ्रमणमा भारतीय सुरक्षा दस्ताका उच्च पदस्थ व्यक्तिहरूसँग उनको के कुराकानी भयो? सरकार एक र दुई रुपैयाँका सिक्काबाट चुच्चे नक्सा हटाउन किन तयार भयो र किन पछि हट्यो? बेनको भारत भ्रमणले यस्तै तमाम प्रश्नहरू खडा गरेको छ।

बालेन सरकारको सुशासन बाढीले बगायो- हुरीले उडायो

काठमाडाैं। सुशासनको भजन गाउने बालेन सरकारको सुशासन २१ फागुनको बाढीले बगाइदिएको छ। भ्रष्टाचारविरुद्ध कडा नीति लिने प्रतिबद्धता व्यक्त गरेको सरकारले नै विभिन्न उजुरी र छानबिनमा परेका व्यक्तिलाई नियुक्ति दिने गरेको छ। 

आफ्नै सरकारका गृहमन्त्रीमाथि छानबिन गर्न बनेको छानबिन समितिको प्रतिवेदन बालेनले एकैपटकमा निलिदिए। गृहमन्त्री सुधन गुरुङ विवादित व्यावसायी दिपक भट्टसँग शेयर कारोबार गर्दा अनियमितता भएको आरोप लागेको थियो।  तर गुरुङमाथि छानबिन गर्न समिति गठन त गरियो तर समितिको प्रतिवेदन खोलाले बगायो भन्ने जस्तो अवस्था सिर्जना भएको छ।  बरु बालेनले गुरुङलाई छानबिन टुङ्गो नलाग्दै पान पसलको पान जसरी गृहमन्त्रालय नै जिम्मा लगाइदिए। 

अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरेफेर गरेको विषय र उत्तरी सिमाबाट बिवाइडी गाडी भित्राउन दिएको विषय अझैं पनि ओझेल परिसकेको छैन। यसअघिका संसदमा सुशासनका गफ फलाक्ने वाग्ले आफूमाथि प्रश्न उठ्दा भने अहिले अरुलाई ठाडो भाषामा धम्क्याउदै हिनिरहेका छन्। 

नेपाल निजामती अस्पतालका कार्यकारी निर्देशक नियुक्तिमा उजुरीको टुंगो नलाग्दै नियुक्ति गरिएको विषय पनि चर्चामा छ। त्यस्तै, अन्य केही सार्वजनिक संस्थामा पनि विगतमा विवादमा परेका व्यक्तिलाई पुनः जिम्मेवारी दिन खोजिएको भन्दै आलोचना भइरहेको छ।

सरकारले सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने, योग्यताका आधारमा नेतृत्व चयन गर्ने र सार्वजनिक संस्थामा दलीय हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो। तर हालसम्म भएका नियुक्तिले भने बालेन सरकारले पनि पुरानै राजनीतिक भागबन्डाको शैली दोहोर्याइरहेको छ। 

अध्यादेशमार्फत पुराना पदाधिकारी हटाएर नयाँ नियुक्ति गर्ने अधिकार प्रयोग गरिएको भए पनि त्यसपछिका निर्णयमा पारदर्शिता, कानुनी मापदण्ड र मेरिट प्रणालीभन्दा राजनीतिक पहुँच प्रभावशाली बनेको भन्दै प्रश्न उठिरहेका छन्।

सरकारले हालसम्म ११० सार्वजनिक निकायमध्ये करिब २६ निकायमा नेतृत्व नियुक्त गरिसकेको छ। नेपाल वायुसेवा निगम, गोरखापत्र संस्थान, शिक्षक सेवा आयोग, प्रेस काउन्सिल, नेपाल दूरसञ्चार प्राधिकरण, धितोपत्र बोर्ड, रेल्वे बोर्ड, नेपाल स्काउट, विद्युत् नियमन आयोगलगायतका निकायमा नयाँ नेतृत्व चयन भइसकेको छ।

सरकारले नियुक्ति प्रक्रिया कानुनी र प्रतिस्पर्धामूलक भएको दाबी गरेपनि पछिल्ला घटनाक्रमले सार्वजनिक नियुक्तिको विश्वसनीयता, पारदर्शिता र सुशासनको अभ्यासमाथि गम्भीर प्रश्नहरु खडा हुन थालेका छन्।

बालेनले राज्यको खर्च बढाए : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले २७ जना स्वकीय सचिव राज्यको खर्च बढाएको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ११ जना सल्लाहकार रहेकामा अहिले बालेन नेतृत्वमा २७ जना स्वकीय सचिव नियुक्त गरेर राज्यको खर्च बढाइरहेको उनको दाबी छ। 

मन्त्रीमण्डल सानो बनाएर खर्च घटाएको दाबी गरिए पनि हटाइएका मन्त्री र सांसदका पीए तथा सल्लाहकारलाई पुनः नियुक्ति दिई राज्यकोषमा थप आर्थिक भार पारिएको उनको आरोप छ।

‘मन्त्रीमण्डल सानो बनाएर राज्यको ढुकुटी बचाए भनेर हल्ला गर्ने बालेनहरू हिजो हटाइएका मन्त्री र सांसदका पीए तथा सल्लाहकारहरूलाई पुन नियुक्ति दिएर राज्यकोषबाट तलब सुविधा दिएर राखेका छन्,’ उनले फेसबुकमा लेखेका छन्। 

बस्नेतले हिजो अरूको आलोचना गर्नेहरू नै आज पद, नियुक्ति र सुविधाको जालो विस्तार गरिरहेको टिप्पणी गरेका छन्।

मुकेश कार्कीका काला चिट्ठा

काठमाडौं। विराटनगरमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लागेका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आशंकामा मोरङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्राउ गरेको छ।

गिरीमाथि विभिन्न आपराधिक मुद्दामा अनुसन्धान भइरहेका बेला उनीसँग जोडिएका व्यक्तिहरूमाथि पनि प्रहरीले अनुसन्धान तीव्र बनाएको हो।

विराटनगर महानगरपालिका-७ निवासी ४६ वर्षीय मुकेश कार्कीलाई शनिबार बिहान करिब ७ः३० बजे वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले उनकै घरबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

मोरङ प्रहरीका अनुसार कार्की लामो समयदेखि अभिषेक गिरीसँग प्रत्यक्ष सम्पर्कमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि नियन्त्रणमा लिइएको हो। प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले कार्कीको गिरीसँगको सम्बन्ध, आर्थिक कारोबार, पृष्ठभूमि तथा सम्भावित आपराधिक संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कार्कीले गिरीको आर्थिक हिसाब-किताब मिलाउने, आवश्यक व्यवस्थापन गर्ने तथा विभिन्न गतिविधिमा सहयोग गर्ने भूमिका निर्वाह गर्दै आएको देखिएको छ। उनी गिरीको समूहसँग आबद्ध भएर विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको हुन सक्ने आशंकामा सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार्की लामो समयदेखि निगरानीमा थिए। यसअघि पनि उनलाई पक्राउ गर्न प्रहरी टोली घर पुगेको भए पनि उनी पक्राउ परेका थिएनन्। शनिबार बिहान विशेष निगरानीपछि उनलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो। कार्कीले विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै आएको जानकारी पनि प्रहरीले दिएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार अभिषेक गिरीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिमाथि पनि निगरानी बढाइएको छ। गिरीको प्रभावमा रहेर असुली, मिटरब्याज, ठेक्कापट्टामा दबाब सिर्जना गर्ने, धाकधम्की दिने तथा समाजमा आतंक फैलाउने गतिविधिमा संलग्न रहेको आशंका गरिएका केही व्यक्ति फरार छन् भने केहीमाथि अनुसन्धान जारी छ। फरार नभएका केही व्यक्तिलाई निगरानीमा राखिएको र प्रमाणका आधारमा आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार गिरीसँग विभिन्न राजनीतिक दलका केही नेता तथा कार्यकर्ताको पनि सम्पर्क देखिएको छ। आर्थिक कारोबारदेखि अन्य गतिविधिसम्मको सम्बन्धबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विशेषगरी केही राजनीतिक व्यक्तिहरूले गिरीसँग मिलेर आर्थिक गतिविधि सञ्चालन गरेको हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ।

अभिषेक गिरीलाई गत असार १३ गते मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता तथा श्रम पारिश्रमिक संकलन गरेर आर्थिक शोषण गरेको आरोपमा विराटनगर–८ स्थित निवासबाट पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँ पुनः संकलन गरेर आफ्नो नियन्त्रणमा लिएको खुलेपछि उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको थियो।

पछि उच्च अदालत विराटनगरले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अनुसन्धान टुंग्याउन वा हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। त्यसपछि मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा म्याद थपका लागि जिल्ला अदालत पुगे पनि अदालतले हाजिरी जमानीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको थियो।

यद्यपि, गिरी रिहा हुन पाएनन्। उनीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी र आपराधिक विश्वासघात मुद्दामा यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेकाले अदालतबाट छुटेलगत्तै मोरङ प्रहरीले उनलाई पुनः पक्राउ गरी काठमाडौं पठाएको थियो। हाल उनीमाथि सीआईबीले ठगी र आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान गरिरहेको छ।

अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष कैद सजाय भोगेर २०७९ चैत ५ गते रिहा भएका गिरीमाथि कारागारभित्र चौकीदारको भूमिकामा रहँदा कैदीबन्दीमाथि आर्थिक शोषण गर्ने, रासन तथा लत्ताकपडाको भत्ता हडप्ने, जेल बाहिर आफ्नो समूहमार्फत मिटरब्याजको कारोबार सञ्चालन गर्ने लगायतका आरोप लाग्दै आएका छन्।

प्रहरी अनुसन्धानले जेलबाट छुटेपछि पनि उनले कारागारभित्रका आर्थिक गतिविधि, मेस आपूर्ति तथा कैदीबन्दीको श्रम आम्दानीमा प्रभाव कायम राखेको देखाएको छ। उनको घरमा गरिएको खानतलासीका क्रममा पैसा गन्ने मेसिनसमेत बरामद भएको प्रहरीले जनाएको छ।

मुकेश कार्कीको पक्राउसँगै अभिषेक गिरीको सञ्जालमा जोडिएका अन्य व्यक्तिहरूमाथिको अनुसन्धान पनि थप तीव्र बनाइएको मोरङ प्रहरीले जनाएको छ।

फिल्ड्स मेडल पहिलो पटक दुई चिनियाँ गणितज्ञलाई

एजेन्सी। विश्व गणितको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने फिल्ड्स मेडल यसपटक पहिलो पटक दुई चिनियाँ नागरिकले जितेका छन्। होङ वाङ र यु देङले अमेरिकाका जोन पार्डन तथा क्यानडाका ज्याकब सिमरम्यानसँगै यो सम्मान प्राप्त गरेका हुन्।

उनीहरूलाई जनही १५ हजार क्यानडेली डलर (लगभग ११ लाख ६० हजार नेपाली रुपैयाँ) नगद पुरस्कार दिइएको छ। एक शताब्दीभन्दा लामो समयदेखि गणितज्ञहरूलाई चुनौती दिइरहेका जटिल समस्याहरू समाधान गरेबापत उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो। ३५ वर्षीया होङ वाङ फिल्ड्स मेडल पाउने इतिहासकी तेस्री महिला बनेकी छिन्।

यो पुरस्कार बिहीबार अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय गणितज्ञ सम्मेलनमा प्रदान गरिएको थियो। कृत्रिम बुद्धिमत्ताले मानवीय गणना क्षमतामाथि चुनौती दिइरहेका बेला यो सम्मान विशेष अर्थपूर्ण मानिएको छ।

यो उपलब्धिपछि चिनियाँ सामाजिक सञ्जालमा ठूलो उत्साह देखिएको छ। ‘फिल्ड्स मेडल’ र ‘पहिलो चिनियाँ गणितज्ञ फिल्ड्स मेडल विजेता’ जस्ता ह्यासट्यागहरू वेइबो र रेडनोटमा लाखौँ पटक हेरिएका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो सम्पूर्ण चिनियाँ जनताको गौरव हो।’ अर्कोले भनेका छन्, ‘हामी इतिहास रचिरहेको क्षणका साक्षी बनिरहेका छौँ।’

चिनियाँ सञ्चारमाध्यमहरूले दुवै गणितज्ञको शैक्षिक यात्रा र उनीहरूको योगदानबारे विस्तृत समाचार प्रकाशित गरेका छन्। पहिलो चिनियाँ मूलका फिल्ड्स मेडल विजेता शिङ–तुङ याउले भनेका छन्, ‘चीनको गणित समुदायका लागि यो दशकौँदेखिको सपना पूरा भएको क्षण हो।’

होङ वाङले सहकर्मी जोशुवा जाहलसँग मिलेर जापानी गणितज्ञ सोइची काकेयाले सन् १९१७ मा उठाएको प्रश्नको समाधान दिएकी हुन्। प्रश्न थियो—यदि एउटा पेन्सिललाई पूर्ण रूपमा एक फन्को घुमाइयो भने त्यसले न्यूनतम कति क्षेत्रफल ओगट्छ?

उनीहरूले पेन्सिललाई समतल सतहमा नभई त्रिआयामिक अन्तरिक्षमा राखेर विश्लेषण गरेका थिए। यो अनुसन्धान गत वर्ष प्रकाशित भएको थियो। वाङले भनिन्, ‘यो समस्या यति आकर्षक किन छ भने यस्तै घटना गणितमा मात्र होइन, अन्य धेरै वैज्ञानिक क्षेत्रमा पनि स्वाभाविक रूपमा देखिन्छ।’

३७ वर्षीय यु देङ (युनिभर्सिटी अफ शिकागोका प्राध्यापक) लाई अर्को ऐतिहासिक समस्या समाधान गरेबापत सम्मानित गरिएको हो। सन् १९०० मा जर्मन गणितज्ञ डेभिड हिल्बर्टले उठाएको प्रश्न (हिल्बर्टको छैटौँ समस्या) मा समग्र प्रणालीको व्यवहारलाई त्यसका सूक्ष्म कणहरूको गतिका आधारमा कसरी व्याख्या गर्न सकिन्छ भन्ने थियो।

देङले ग्यासको व्यवहार अध्ययन गर्दै यसको समाधान प्रस्तुत गरेका हुन्। उनले भने, ‘जुन महान् गणितज्ञहरूको म सधैँ प्रशंसक थिएँ, उनीहरूको सूचीमा आफ्नो नाम जोडिनु मेरा लागि ठूलो सम्मान हो।’

होङ वाङले हार्मोनिक विश्लेषण (तरङ्गहरूको गति र व्यवहारसम्बन्धी अध्ययन) मा महत्वपूर्ण योगदान दिएकी छन्।

फिल्ड्स मेडल हरेक चार वर्षमा ४० वर्षमुनिका उत्कृष्ट गणितज्ञहरूलाई प्रदान गरिन्छ। यसलाई गणित क्षेत्रको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान मानिन्छ।

सन् १९९१ मा चीनको गुइलिनमा जन्मिएकी होङ वाङले प्राथमिक विद्यालयमा दुई कक्षा छोडेकी थिइन्। १६ वर्षको उमेरमा सन् २००७ मा पेकिङ विश्वविद्यालयमा भर्ना भएकी थिइन्। सुरुमा भू-विज्ञान पढे पनि एक वर्षपछि गणित विभागमा सरिन्। त्यसपछि फ्रान्सको पेरिस–सुद विश्वविद्यालय र एकोल पोलिटेक्निकमा अध्ययन गरेर अमेरिकाको एमआईटीबाट विद्यावारिधि पूरा गरिन्। हाल उनी न्युयोर्क विश्वविद्यालय र फ्रान्सको आईएचईएसमा प्राध्यापक छिन्।

पदक पाएपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले उनलाई फोन गरेर बधाई दिएका थिए र सामाजिक सञ्जालमा लेखेका थिए, ‘उहाँ हाम्रो अनुसन्धान र उच्च शिक्षाको उत्कृष्टताको प्रतीक हुनुहुन्छ।’

यु देङ पनि सन् २००७ मा पेकिङ विश्वविद्यालयमा भर्ना भएका थिए। पछि एमआईटीमा सरिए र प्रिन्स्टन विश्वविद्यालयबाट विद्यावारिधि गरे। सन् २०२४ देखि उनी युनिभर्सिटी अफ शिकागोमा अध्यापन गरिरहेका छन्।

[अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार गरिएको]

 

भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडाैं। भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । 

उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर-मन्तर लगायत भारतका पटना, पन्जाब, मुम्बई लगायतका कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन गरिरहेको थियो। निट पेपर लिक मामिलामा भारतका विभिन्न राज्यहरूमा शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग अघि सारेर प्रदर्शन भइरहेको थियो । 

राजीनामा दिँदै प्रधानले सामाजिक सञ्जाल एक्समालेखेका छन्, ‘जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु,’ । 

यसअघि कांग्रेससहितका विपक्षी दलहरूले पनि शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आएका थिए । 

बालकको मृत्युपछि स्वास्थ्य केन्द्र घेराउमा,सिरहाको भगवानपुर तनावग्रस्त

काठमाडौं। सर्पदंशका कारण एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ।

उपचारमा लापरबाही भएको, समयमै थप उपचारका लागि रिफर नगरिएको तथा एम्बुलेन्स उपलब्ध गराउन ढिलाइ गरिएको आरोप लगाउँदै स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन्।

घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

घटनाका अनुसार, सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई सर्पले टोकेपछि उपचारका लागि सिरहाको भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पठाउनुपर्ने अवस्था भए पनि त्यसमा ढिलाइ भएको स्थानीयको आरोप छ।

मृतकका आफन्त र स्थानीयका अनुसार, बिरामीलाई तत्काल अर्को अस्पताल लैजान एम्बुलेन्स आवश्यक थियो। तर एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने जानकारी दिएको उनीहरूको दाबी छ। 

यही कारण आवश्यक समयमा बिरामीलाई अस्पताल पुर्‍याउन नसकिएको र उपचारमा भएको ढिलाइकै कारण रोशनको बाटोमै मृत्यु भएको आफन्तहरूले बताएका छन्।

बालकको मृत्युको खबर फैलिएसँगै स्थानीय आक्रोशित बनेका थिए। उनीहरूले प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर तोडफोड गरेका छन्। स्वास्थ्य केन्द्रका केही भौतिक संरचना र सामग्रीमा क्षति पुगेको बताइएको छ। त्यसपछि प्रदर्शनकारीहरूले हुलाकी सडकमा टायर र दाउरा बालेर सडक अवरुद्ध गरेका छन्। 

सडक अवरुद्ध भएपछि पूर्व-पश्चिम आवतजावत गर्ने सवारी साधन लामो समयसम्म रोकिएका छन् र यात्रुहरू समस्यामा परेका छन्।

स्थानीयका अनुसार, घटनापछि गाउँपालिका अध्यक्षसँग छलफल गरी समस्या समाधान गर्ने प्रयासस्वरूप बिहान ११ बजे वार्ता गर्ने सहमति भएको थियो। तर अध्यक्ष वार्तास्थलमा उपस्थित नभएपछि स्थानीयको आक्रोश थप बढेको हो। आन्दोलनको नेतृत्व गरिरहेका प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्ष वार्तामा नआएर गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाएका छन्। उनीहरूले दोषीमाथि कारबाही, घटनाको निष्पक्ष छानबिन तथा पीडित परिवारलाई न्यायको सुनिश्चितता गर्न माग गरेका छन्।

स्थिति थप तनावपूर्ण बन्दै गएपछि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। सुरक्षा निकायले प्रदर्शनकारीलाई सम्झाइबुझाइ गर्दै सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

घटनाले ग्रामीण क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा, एम्बुलेन्स व्यवस्थापन र बिरामीको समयमै रिफर प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। यद्यपि एम्बुलेन्स सञ्चालनमा ढिलाइ भएको भन्ने आरोप र त्यसको वास्तविक कारणबारे सम्बन्धित निकायले औपचारिक निष्कर्ष सार्वजनिक गरिसकेको छैन। प्रहरीले घटनाको तथ्यगत अनुसन्धानपछि मात्रै जिम्मेवारी र लापरबाहीबारे स्पष्ट हुने जनाएको छ।

 

ई–वालेट खोल्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८२ संशोधन गर्दै विद्युतीय वालेट (ई–वालेट) सञ्चालनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नयाँ व्यवस्था लागू गरेको छ।

नयाँ निर्देशनअनुसार अब नेपाली नागरिकले ई–वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमार्फत आफ्नो विवरण प्रमाणीकरण गर्नुपर्नेछ। यससँगै हाल सञ्चालनमा रहेका सबै ई–वालेट प्रयोगकर्ताले पनि २०८३ असोज मसान्तभित्र आफ्नो राष्ट्रिय परिचयपत्रको नम्बर वा विवरण मोबाइल एप वा सम्बन्धित माध्यमबाट अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्तालाई भने प्रत्येक महिना परिचयपत्र बनाउन र केवाईसी (नो योर कस्टमर) विवरण अद्यावधिक गर्न सूचना दिन भुक्तानी सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ।

विदेशमा रहेका नेपाली नागरिकले भने राष्ट्रिय परिचयपत्रबाहेक अन्य आवश्यक कागजातका आधारमा अनलाइनबाट ई–वालेट खोल्न सक्नेछन्। तर नेपाल फर्किएपछि ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ।

त्यस्तै, अशक्त, असहाय वा आफ्नै हेरचाह गर्न नसक्ने नागरिकका लागि पनि विशेष व्यवस्था गरिएको छ। उनीहरूले अन्य आवश्यक कागजातका आधारमा ई–वालेट खोल्न र डिजिटल भुक्तानी सेवा प्रयोग गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्थाको उद्देश्य विद्युतीय भुक्तानी प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र अद्यावधिक परिचय प्रणालीसँग आबद्ध बनाउनु हो।

चीन-रुसलाई ट्रम्पको चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन वा रुस हाल इरानसँगको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नभएको आफूलाई विश्वास रहेको बताएका छन्। तर, ती दुई शक्तिराष्ट्रले युद्धमा हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङले हालैको भेटमा कुनै पनि परिस्थितिमा इरानलाई हतियार उपलब्ध नगराउने प्रतिबद्धता व्यक्त गरेको बताएका छन्। उनले उक्त प्रतिबद्धता चिनियाँ कम्पनीहरूमा समेत लागू हुने उल्लेख गर्दै सी जिनपिङमाथि आफूलाई विश्वास रहेको बताएका छन्।

ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि इरानलाई हतियार बिक्री नगर्ने आश्वासन दिएका छन्। यद्यपि, चीन र रुसमध्ये कसैले पनि युद्धमा प्रत्यक्ष हस्तक्षेप गरे त्यसले क्षेत्रीय मात्र होइन, अन्तर्राष्ट्रिय सुरक्षा अवस्थालाई समेत जटिल बनाउने उनको भनाइ छ।

यता चीनले भने इरानको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको पक्षमा आफ्नो समर्थन दोहोर्‍याएको छ। चीनका विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको भेटमा बेइजिङले इरानको सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्ने प्रयासलाई समर्थन गर्ने बताएका छन्। उनले पश्चिम एसियामा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

इरानी विदेशमन्त्री अराघचीले पनि इरान वार्ताका लागि तयार रहेको तर द्वन्द्वलाई थप चर्काउने पक्षमा नरहेको बताएका छन्।

ट्रम्पले अमेरिका र इरानबीच संवादको ढोका अझै खुला रहेको उल्लेख गर्दै इरान वार्तामा आउन चाहे आफू सुन्न तयार रहेको बताए। तर, इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने अमेरिकी नीति यथावत् रहने उनले स्पष्ट पारे। अमेरिकी सैन्य कारबाहीले इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबीसमेत उनले गरेका छन्।

युक्रेन युद्धबारे बोल्दै ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो संवाद जारी रहेको जानकारी दिए। अमेरिकाले युक्रेनलाई प्रत्यक्ष रूपमा हतियार बिक्री नगरे पनि नेटो सदस्य राष्ट्रहरूलाई बिक्री गर्ने गरेको र त्यसपछि ती हतियार कहाँ प्रयोग हुन्छन् भन्ने उनीहरूको जिम्मेवारी हुने उनको भनाइ छ।

यसैबीच, अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्स का अनुसार टर्कीमा सम्पन्न नेटो सम्मेलनका क्रममा ट्रम्पमाथि इरान समर्थित समूहबाट सम्भावित आक्रमण हुन सक्ने सुरक्षा सूचना प्राप्त भएको थियो। त्यसपछि अमेरिकी सिक्रेट सर्भिसले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै स्वदेश फर्कने क्रममा ट्रम्पलाई विमान परिवर्तन गर्न सुझाव दिएको जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सोमबार अमेरिका जाने भएका छन्। इरानसँग युद्ध सुरु भएपछि ट्रम्प र नेतन्याहुबीच हुने यो पहिलो प्रत्यक्ष भेट हुनेछ। दुवै नेताबीच मध्यपूर्वको सुरक्षा अवस्था, इरानसँगको तनाव र आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।

इरान-अमेरिका तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढ्न थालेको छ। मे महिनापछि पहिलो पटक ब्रेन्ट क्रुडको मूल्य १०० अमेरिकी डलर प्रतिब्यारेल नाघेको छ। विश्लेषकहरूले युद्ध लम्बिँदै गए ऊर्जा बजारमा थप अस्थिरता आउन सक्ने बताएका छन्।

यसैबीच, इरानले शुक्रबार कुवेतमा रहेका अमेरिकाका तीन सैन्य अखडा क्याम्प अरिफजान, क्याम्प दोहा र क्याम्प अदैरीलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको जनाएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले किर्गिस्तानमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) का विदेशमन्त्रीहरूको बैठकमा बोल्दै इरान कुनै पनि अमेरिकी दबाब वा धम्कीअगाडि नझुक्ने बताएका छन्।

उता अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले पश्चिम एसियामा आफ्नो सैन्य तयारीलाई निरन्तरता दिएको संकेत दिएको छ।

सेन्टकमले सामाजिक सञ्जालमार्फत अमेरिकी नौसैनिकहरूले एम१४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमलाई केसी–१३०जे सुपर हरक्युलिस विमानमा लोड गरिरहेको तस्बिर सार्वजनिक गर्दै क्षेत्रीय सैन्य तयारी जारी रहेको जनाएको छ।

साढे ७ लाख घुससहित रंगेहात पक्राउ परे अधिकृत

काठमाडौं। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले डिभिजन प्रमुखको सरकारी क्वार्टरबाटै ढकाल र चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ नगदसमेत बरामद भएको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा दुवै जनाबाट तीनवटा मोबाइल फोन पनि बरामद गरिएको छ। अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

‘गौँथली’को शो र दर्शक दुवै बढे

काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ सफलतापूर्वक दोस्रो सातामा प्रवेश गरेको छ।

पहिलो सातादेखि नै दर्शकको सकारात्मक प्रतिक्रिया र उत्साहजनक व्यापार गरेको चलचित्रले दोस्रो सातामा आउँदा अझ धेरै शो पाउन सफल भएको छ।

निर्देशक कपिल रिजालका अनुसार चलचित्रको पहिलो साताको आधिकारिक व्यापार विवरण सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गर्नेछ। उनले अहिलेसम्म बक्स अफिसको तथ्यांक सार्वजनिक नगर्नुको कारण बोर्डको आधिकारिक विवरणलाई पर्खिएको बताए।

उनले पहिलो साताको व्यापार अपेक्षाभन्दा राम्रो रहेको संकेत गर्दै दर्शकले सोचेकाभन्दा पनि उत्साहजनक बक्स अफिस रिपोर्ट आउने दाबी गरेका छन्।

प्रदर्शनको सुरुवातमा करिब २०० शो पाएको ‘गौँथली’ले अहिले २५० भन्दा बढी शो पाइसकेको छ। अधिकांश हलमा दर्शकको उपस्थिति बढ्दै गएपछि चलचित्रको व्यापार पनि सन्तोषजनक रहेको वितरक पक्षको भनाइ छ। पहिलो दिन औसत रहेको अकुपेन्सी त्यसपछिका दिनमा निरन्तर बढ्दै कतिपय शो हाउसफुलसमेत हुन थालेका छन्।

चलचित्रको प्रचारप्रसारलाई निरन्तरता दिँदै कलाकारसहितको टोली काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लाका हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। दर्शकले चलचित्रलाई मौलिक कथावस्तु बोकेको पारिवारिक चलचित्रका रूपमा प्रशंसा गरिरहेका छन्। एउटै परिवारका १०–१५ जनासम्म समूहमा चलचित्र हेर्न आउने क्रम बढेको जनाइएको छ। हलमा विशेषगरी महिला दर्शकको उपस्थिति पुरुषको तुलनामा उल्लेखनीय देखिएको निर्माण पक्षले जनाएको छ।

‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

घर, परिवार, सम्बन्ध र आत्मीयताको भावनात्मक कथालाई केन्द्रमा राखिएको ‘गौँथली’को वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरिरहेका छन्।

न्यायिक स्वतन्त्रता खै ?

काठमाडौं। नेपालको न्यायपालिका फेरि अन्तर्राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ। विश्वका तीन प्रभावशाली मानवअधिकार तथा कानुनी संस्थाले सर्वोच्च अदालतका बहालवाला तीन वरिष्ठ न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्दै न्यायिक स्वतन्त्रतामाथि गम्भीर चिन्ता व्यक्त गरेका छन्।

एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच (एचआरडब्लू) र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई राजीनामा दिन दबाब दिइएको तथा नमाने महाभियोगको धम्की दिइएको विश्वसनीय जानकारी प्राप्त भएको दाबी गरेका छन्।

संयुक्त विज्ञप्तिमा बहालवाला न्यायाधीशलाई जबर्जस्ती पदबाट हटाउने वा महाभियोगको त्रास देखाएर सर्वोच्च अदालतको संरचनामै परिवर्तन गर्न खोजिएको भन्ने विश्वसनीय विवरण प्राप्त भएको उल्लेख गरिएको छ। संस्थाहरूका अनुसार न्यायाधीशहरूलाई स्वतन्त्र रूपमा जिम्मेवारी निर्वाह गर्न नदिने कुनै पनि प्रयास न्यायिक स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप हो।

आईसीजेका वरिष्ठ कानुनी तथा नीति निर्देशक इयान साइडरम्यानले न्यायपालिकाको स्वतन्त्रता विधिको शासनको आधारशिला मात्र नभई मानवअधिकार संरक्षणको सबैभन्दा महत्वपूर्ण रक्षाकवच भएको उल्लेख गरेका छन्। उनले नेपालको न्याय प्रणालीमा गरिने सुधारले अदालतको स्वतन्त्रता, निष्पक्षता र संस्थागत अखण्डतालाई अझ बलियो बनाउनुपर्ने बताएका छन्।

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले विगतमा पनि न्यायाधीशहरू धम्कीको वातावरणमा काम गर्न बाध्य भएको सार्वजनिक रूपमा संकेत गरेकी थिइन्। २०८२ भदौ ३० गते काठमाडौं जिल्ला अदालतको भवन अवलोकनका क्रममा उनले अदालत जलाउनेसम्मका घटना भएको र न्यायाधीशहरूलाई धम्की आउने क्रम जारी रहेको बताएकी थिइन्।

त्यसअघि २०८२ फागुन २६ गते अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि उनले डर र धम्कीको वातावरणमा स्वतन्त्र न्याय सम्पादन सम्भव नहुने धारणा व्यक्त गरेकी थिइन्। यद्यपि धम्की दिने व्यक्ति वा समूहको नाम भने उनले सार्वजनिक गरेकी थिइनन्।

अन्य दुई वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयालले यस विषयमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन्।

पूर्वन्यायाधीश फोरमका अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहका अनुसार तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको कार्यकालमै बहालवाला न्यायाधीशहरूले आफूहरूमाथि विभिन्न प्रकारका दबाब र धम्की आएको गुनासो गरेका थिए। त्यसबेला पूर्वन्यायाधीश फोरमले संस्थागत रूपमा विज्ञप्ति जारी गरी न्यायिक स्वतन्त्रताको पक्षमा आवाज उठाएको पनि उनले स्मरण गराएका छन्।

सिंहका अनुसार सरकारले तीन वरिष्ठ न्यायाधीशलाई बाइपास गर्दै चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको घटनाले पनि न्यायपालिकाभित्र असन्तुष्टि बढाएको छ। उनले भारतमा यस्तै परिस्थितिमा वरिष्ठ न्यायाधीशहरूले स्वेच्छिक रूपमा राजीनामा दिएका उदाहरण रहे पनि नेपालमा त्यस्तो अवस्था नरहेको बताएका छन्।

एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र आईसीजेले नेपालका विषयमा यसअघि पनि संक्रमणकालीन न्याय, मानवअधिकार र न्यायपालिकाभित्र देखिएका समस्याबारे संयुक्त धारणा सार्वजनिक गर्दै आएका थिए। तर यसपटक उनीहरूको मुख्य चिन्ता प्रत्यक्ष रूपमा न्यायपालिकाको स्वतन्त्रतामाथि केन्द्रित भएको छ।

तीन संस्थाले नेपालको पछिल्लो राजनीतिक तथा संवैधानिक निर्णयले न्यायपालिकामा कार्यपालिकाको प्रभाव बढ्ने जोखिम सिर्जना गरेको निष्कर्ष निकालेका छन्।

अन्तर्राष्ट्रिय संस्थाहरूले मुख्य रूपमा तीन निर्णयप्रति गम्भीर प्रश्न उठाएका छन्।

पहिलो, सरकारले संवैधानिक परिषद् ऐनलाई संसद्बाट संशोधन गर्नुको सट्टा अध्यादेशमार्फत परिवर्तन गरेको विषय। उनीहरूका अनुसार यसले न्यायिक नियुक्तिसम्बन्धी निर्णय प्रक्रियामा राजनीतिक प्रभाव बढाउने सम्भावना सिर्जना गरेको छ।

दोस्रो, प्रधानन्यायाधीश नियुक्तिमा दशकौँदेखि कायम रहेको वरिष्ठताको अभ्यास तोडिएको विषय। संविधानमा वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने स्पष्ट व्यवस्था नभए पनि नेपालमा लामो समयदेखि सोही अभ्यास कायम थियो। तीन वरिष्ठ न्यायाधीश कार्यरत रहँदा चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरिनुलाई संस्थाहरूले संस्थागत परम्पराबाट विचलनका रूपमा व्याख्या गरेका छन्।

तेस्रो, सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको तथा अस्वीकार गरे महाभियोगको धम्की दिइएको दाबीलाई उनीहरूले अत्यन्त गम्भीर रूपमा लिएका छन्।

नेपालको संविधानअनुसार प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएपछि सम्बन्धित न्यायाधीश स्वतः निलम्बनमा पर्छन्। संसद्ले अन्तिम निर्णय नगरेसम्म उनीहरूले न्यायिक जिम्मेवारी निर्वाह गर्न पाउँदैनन्।

यही कारणले महाभियोगको प्रयोग वा त्यसको धम्कीलाई न्यायपालिकामाथिको राजनीतिक दबाबको प्रभावकारी माध्यमका रूपमा हेर्ने गरिएको छ। अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार स्पष्ट संवैधानिक आधारबिना महाभियोगको धम्की दिनु वा त्यसको प्रयोग गर्नु अदालतको संरचना परिवर्तन गर्ने माध्यम बन्न सक्छ।

यदि विचाराधीन महत्वपूर्ण संवैधानिक मुद्दाको सुनुवाइ गरिरहेका वरिष्ठ न्यायाधीश निलम्बित भए सर्वोच्च अदालतको इजलास संरचनामा प्रत्यक्ष प्रभाव पर्ने र त्यसले न्यायिक प्रक्रियालाई समेत प्रभावित गर्न सक्ने उनीहरूको भनाइ छ।

सरकारले भने अन्तर्राष्ट्रिय संस्थाहरूको दाबीलाई आधारहीन बताएको छ। सरकारका अनुसार कुनै पनि संस्थाले तथ्य र प्रमाणबिनाका आरोप सार्वजनिक गर्नु उपयुक्त होइन।

सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका संविधानले व्यवस्था गरेको शक्ति पृथकीरणको सिद्धान्तअनुसार सञ्चालन भइरहेको बताएको छ। यदि कसैले न्यायाधीशलाई दबाब दिएको प्रमाण प्रस्तुत गरे सरकारले आवश्यक अनुसन्धान र कानुनी कारबाही अघि बढाउने जनाएको छ।

सरकारको भनाइमा नेपालको न्यायपालिका स्वतन्त्र रूपमा काम गरिरहेको छ र न्यायिक सुधारका कार्यक्रमसमेत अघि बढिरहेका छन्।

तीन संस्थाले नेपाल सरकारलाई न्यायाधीशमाथि कुनै पनि प्रकारको राजनीतिक दबाब नदिन, स्पष्ट संवैधानिक आधारबिना महाभियोग प्रक्रिया अघि नबढाउन तथा न्यायिक नियुक्तिलाई पारदर्शी, योग्यतामा आधारित र राजनीतिक प्रभावबाट मुक्त बनाउन आग्रह गरेका छन्।

त्यसैगरी संवैधानिक परिषद्सम्बन्धी कानुनी संशोधनलाई खुला संसदीय बहसबाट पुनरावलोकन गर्न, न्यायिक नियुक्तिको कानुनी संरचनाले अदालतलाई राजनीतिक प्रभावबाट सुरक्षित राख्ने सुनिश्चित गर्न तथा शक्ति पृथकीरण, विधिको शासन, पारदर्शिता र न्यायिक स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि उनीहरूले सुझाव दिएका छन्।

तीन अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको संयुक्त वक्तव्यले नेपालको न्यायपालिका, प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया, संवैधानिक परिषद्को भूमिका र महाभियोग व्यवस्थाबारे नयाँ बहस सुरु गराएको छ।

सरकारले आरोप अस्वीकार गरे पनि न्यायिक स्वतन्त्रता, न्यायाधीशमाथिको राजनीतिक दबाब र न्यायपालिकाप्रतिको जनविश्वासका विषय आगामी दिनमा थप चर्चाको केन्द्र बन्ने संकेत देखिएको छ।

तेक्वान्दो च्याम्पियनसिपपछि आयव्यय सार्वजनिक, ३ लाख ६४ हजार बचत

पाँचथर। नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति पाँचथरले आयोजना गरेको ‘प्रथम पाँचथर जिल्ला तेक्वान्दो च्याम्पियनसिप–२०८३’ को आय–व्यय सार्वजनिक गरेको छ ।

अध्यक्ष सन्तोष श्रेष्ठले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताबाट कुल ८ लाख १० हजार ३३७ रुपैयाँ आम्दानी भएको थियो । त्यसमध्ये ४ लाख ४६ हजार १८२ खर्च भएको छ । ३ लाख ६४ हजार १५५ रुपैयाँ भने बचत भएको अध्यक्ष श्रेष्ठले बताए ।

गत असार ६ र ७ गते फिदिम बजारस्थित ब्याडमिन्टन कभर्ड हलमा आयोजना गरिएको प्रतियोगितामा पुरुष तथा महिला गरी विभिन्न तौल समूह र पुम्से विधामा ११० खेलाडी सहभागी भएका थिए । प्रतियोगिताको मुख्य प्रवर्द्धक फिदिम नगरपालिका रहेको थियो ।

नगरपालिकाले २ लाख रुपैयाँ सहयोग गरेको थियो । फालेलुङ गाउँपालिकाले ३२ हजार रुपैयाँ र याङ्वरक गाउँपालिकाले १५ हजार रुपैयाँ सहयोग गरेका थिए। यसबाहेक विभिन्न व्यक्ति तथा संस्थाबाट ५ लाख ६३ हजार हजार ३३७ रुपैयाँ सहयोग संकलन भएको संघले जनाएको छ ।

खर्चतर्फ होटल व्यवस्थापनमा सबैभन्दा बढी १ लाख २ हजार ७२७ रुपैयाँ खर्च भएको छ । पुरस्कार, ट्रफी र मेडलमा ९७ हजार २५० रुपैयाँ, छपाई र स्टेशनरीमा ८८ हजार २५५ रुपैयाँ, खेल सामग्री खरिदमा ५६ हजार ५००, निर्णायकलाई पारिश्रमिक ५० हजार ८००, साउण्ड सिस्टममा २५ हजार, यातायात खर्चमा १७ हजार ६५० रुपैयाँ, प्रचारप्रसार ५ हजार तथा पानीमा ३ हजार रुपैयाँ खर्च भएको सार्वजनिक आयव्ययमा उल्लेख छ ।

संघले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने स्थानीय तह, विभिन्न सरकारी तथा निजी संस्था, देश–विदेशमा रहेका सहयोगी, खेलप्रेमी र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको संघ अध्यक्ष श्रेष्ठले बताएका छन् । उनकाअनुसार बचत रकमबाट तालिम केन्द्रमा खेलाडीहरूका लागि म्याट खरिद गर्ने निर्णय गरिएको छ।

बुद्ध एयरको बेडामा थपियो अत्याधुनिक एटीआर-७२-६००

काठमाडौं। बुद्ध एयरले आफ्नो हवाई बेडामा नयाँ एटीआर–७२–६०० सिरिजको अत्याधुनिक विमान थपेको छ। फ्रान्सको तुलुसबाट ल्याइएको ‘एन–एओएस’ कल साइन भएको उक्त विमान आवश्यक प्राविधिक प्रक्रिया पूरा गरेपछि अर्को महिनादेखि नियमित व्यावसायिक उडानमा सञ्चालन गरिने कम्पनीले जनाएको छ।

बुद्ध एयरका अनुसार नयाँ विमानमा अत्याधुनिक एभियोनिक्स, पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट प्रणाली र उन्नत सुरक्षा प्रविधि जडान गरिएको छ। कम इन्धन खपत गर्ने भएकाले यो विमान वातावरणमैत्रीसमेत मानिन्छ।

यस विमानमा आरएनपी–एआर एप्रोच प्रणाली जडान गरिएको छ। यो प्रविधिको प्रयोगबाट काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी हुँदा पनि सुरक्षित अवतरण गर्न सकिने कम्पनीको दाबी छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया लागू गर्ने तयारी गरिरहेको छ। उक्त प्रणाली कार्यान्वयन भएपछि करिब दुई हजार मिटर भिजिबिलिटीमै बुद्ध एयरको यो विमानले पोखरामा सुरक्षित उडान तथा अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ।

बुद्ध एयरका अनुसार नयाँ प्रविधिले कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ तथा अवरोध उल्लेखनीय रूपमा घटाउनेछ। यसबाट उडान सुरक्षाका साथै हवाई सेवाको गुणस्तर र विश्वसनीयता थप सुदृढ हुने कम्पनीको विश्वास छ।

हाल प्रयोगमा रहेको इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आईएलएस) अनुसार पोखरा विमानस्थलमा अवतरणका लागि करिब ३,१०० मिटर तथा काठमाडौँ र भैरहवाका लागि १,६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ।

बुद्ध एयरले आगामी अगस्टको अन्त्यतिर एटीआर–७२–६०० सिरिजकै अर्को विमान पनि भित्र्याउने तयारी गरेको छ। त्यसपछि केही महिनाभित्र सोही सिरिजका थप दुई विमान ल्याउने योजना कम्पनीको छ।

हाल बुद्ध एयरसँग एउटा एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० गरी १७ वटा विमान सञ्चालनमा छन्। नयाँ विमान थपिएसँगै कम्पनीले उडान क्षमता विस्तार गर्नुका साथै यात्रुलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

अनशनरत डा.केसीको स्वास्थ्यमा जटिलता, के भन्छन् चिकित्सक?

काठमाडौं। धनगढीमा आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

बिहीबारदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य परीक्षणपछि चिकित्सकले उनलाई आईसीयूमा भर्ना गर्न सुझाव दिएका छन्।

सेती प्रादेशिक अस्पतालका चिकित्सकले गरेको परीक्षणमा डा. केसीको रक्तचाप ११०/९० मापन गरिएको छ भने रगतमा सुगरको मात्रा ५० पुगेको पाइएको छ। लामो समयदेखि निराहार बसेका कारण स्वास्थ्यमा थप जटिलता आउन सक्ने भन्दै चिकित्सकले निगरानी बढाउन र आवश्यक परे सघन उपचार कक्ष (आईसीयू) मा राख्न सिफारिस गरेका हुन्।

डा. केसी दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित नियुक्ति खारेज गर्नुपर्ने माग राख्दै अनशनमा बसेका छन्। यद्यपि, उनको आन्दोलनलाई लिएर धनगढीमा विरोधसमेत देखिएको छ।

अनशनस्थल बाहिर संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गर्दै केही प्रदर्शनकारीले ‘गोविन्द केसी गो ब्याक’ भन्दै नाराबाजी गरेका छन्। विरोध प्रदर्शनलाई मध्यनजर गर्दै कृष्ण मन्दिरको धर्मशाला परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

आहा ! भाङ्गे झरना

काठमाडौं। रसुवा जाने सडकमा यात्रा गर्ने अधिकांश यात्रु केहीबेरका लागि गाडी रोक्न बाध्य हुन्छन्। एकातिर त्रिशूली नदीको अविरल बहाव र अर्कोतिर अग्लो भीरबाट झर्ने भाङ्गे झरनाको मनमोहक दृश्यले यात्रुलाई सहजै आकर्षित गर्छ। वर्षायामसँगै झरनामा पानीको बहाव बढेपछि यतिबेला यसको सौन्दर्य झन् मनमोहक बनेको छ।

रसुवाको उत्तरगया गाउँपालिका–२ मा रहेको भाङ्गे झरना चीनसँग जोडिने बेत्रावती-मैलुङ-स्याफ्रुवेशी सडकखण्डमै पर्छ। करिब १८१ मिटर अग्लो भीरबाट खस्ने यो झरना पछिल्ला केही वर्षयता आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ।

पहिले सीमित यात्रुले मात्रै अवलोकन गर्ने यस झरनामा अहिले दैनिक दर्जनौँदेखि सयौँ पर्यटक पुग्ने गरेका छन्। स्थानीयका अनुसार २०७९ सालपछि सामाजिक सञ्जालमा झरनाका तस्बिर र भिडियो व्यापक रूपमा फैलिन थालेसँगै यहाँ आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको हो।

उत्तरगया गाउँपालिका–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदीका अनुसार सामान्य दिनमा दैनिक ३० देखि १०० जनासम्म पर्यटक झरना अवलोकन गर्न आउने गर्छन्। सार्वजनिक बिदा तथा शुक्रबार–शनिबार भने यो सङ्ख्या ५०० सम्म पुग्ने गरेको छ। झरना आसपास होटल र होमस्टे सञ्चालनमा रहेकाले पर्यटकलाई खानपिन तथा बसोबासमा समेत सहज भएको उनले बताए।

बढ्दो पर्यटक चापलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षमा झरना क्षेत्रको पूर्वाधार विकासका लागि प्रदेश सरकार र स्थानीय तहबाट ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेटबाट पर्यटकमैत्री संरचना निर्माण र क्षेत्रको व्यवस्थापनलाई थप व्यवस्थित बनाइने जनाइएको छ।

भाङ्गे झरनाबाट खसेको पानी तल रहेको प्राकृतिक तलाउमा जम्मा हुन्छ। यही तलाउमा धेरै पर्यटक पौडी खेल्दै रमाउने गर्छन्। त्यसपछि झरनाको पानी त्रिशूली नदीमा मिसिन्छ, जसले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ।

भाङ्गे झरनाको मुख्य आकर्षण वर्षायाममै देखिन्छ। विशेषगरी असार, साउन र भदौमा पानीको बहाव अत्यधिक हुने भएकाले झरना पूर्ण आकारमा देखिन्छ। वर्षा सकिएसँगै पानीको मात्रा क्रमशः घट्दै जान्छ र हिउँदमा कतिपय समय झरना लगभग सुक्ने अवस्थासम्म पुग्ने भएकाले यसको आकर्षण मौसमी रूपमा सीमित हुने गरेको छ।

काठमाडौँको टोखाबाट करिब ७० किलोमिटर र नुवाकोट सदरमुकाम विदुरबाट करिब १८ किलोमिटर दूरीमा रहेको यो झरनामा पुग्न सहज सडक पहुँच छ। पर्यटकका लागि झरना नजिकै भ्यू–पोइन्टसमेत निर्माण गरिएको छ, जहाँबाट झरनाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

सामाजिक सञ्जालबाट चर्चामा आएको भाङ्गे झरना अहिले रसुवा प्रवेश गर्ने यात्रुका लागि मात्र होइन, छुट्टै गन्तव्यका रूपमा समेत स्थापित हुँदै गएको छ।

तस्वीरहरू:

फ्रान्स–स्पेनमा डढेलोको विपत्ति : १ लाख ६० हजारभन्दा बढी विस्थापित

एजेन्सी। युरोपका दुई देश फ्रान्स र स्पेन अहिले भीषण डढेलोको चपेटामा परेका छन्।

लामो समयदेखि परेको खडेरी र तीव्र गतिमा चलेको हावाले आगो नियन्त्रणभन्दा बाहिर पुगेपछि दुवै देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको छ।

डढेलोका कारण हालसम्म एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने आगो नियन्त्रणका लागि युरोपेली सङ्घ (इयू) को सहयोगसमेत मागिएको छ।

सबैभन्दा बढी प्रभावित फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र बनेको छ। त्यहाँबाट मात्रै करिब एक लाख ४१ हजार मानिसलाई विस्थापित गरिएको छ। स्पेनको राजधानी म्याड्रिड आसपासको क्षेत्रमा पनि आगो तीव्र रूपमा फैलिएपछि करिब २५ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्।

विस्थापितमध्ये एक हजार २०० भन्दा बढी वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्ति रहेका छन्। उनीहरूलाई विशेष सुरक्षा व्यवस्थासहित सुरक्षित आश्रयस्थलमा राखिएको छ।

फ्रान्सको प्रमुख पर्यटकीय गन्तव्य क्याप फेरेट प्रायद्वीप डढेलोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बनेको छ। उक्त क्षेत्रबाट मात्रै करिब ४४ हजार स्थानीय बासिन्दा र पर्यटकको उद्धार गरिएको छ। उद्धारका लागि डुङ्गा र सवारी साधन प्रयोग गरिएको थियो। आगलागीका कारण त्यहाँ ५० भन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन्।

डढेलोको गम्भीर अवस्थालाई ध्यानमा राख्दै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सेनालाई परिचालन गर्न निर्देशन दिएका छन्। उनले आगो नियन्त्रणका लागि युरोपेली सङ्घसँग थप सहयोगको आग्रहसमेत गरेका छन्। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले देशले अहिलेसम्मकै सबैभन्दा भीषण डढेलोको सामना गरिरहेको बताएका छन्।

फ्रान्सले आगो नियन्त्रणका लागि करिब एक हजार सैनिक परिचालन गरेको छ। साथै, धुवाँका कारण स्वास्थ्यमा असर नपरोस् भनेर प्रभावित क्षेत्रका बासिन्दा र उद्धारकर्मीलाई १५ लाखवटा एफएफपी–२ मास्क वितरण गर्ने तयारी गरिएको छ।

यता स्पेनमा पनि अवस्था चुनौतीपूर्ण बनेको छ। म्याड्रिड क्षेत्रीय आपतकालीन व्यवस्थापन प्रमुख कार्लोस नोभिलोका अनुसार राजधानी आसपास फैलिएको डढेलो अग्निनियन्त्रकहरूको नियन्त्रण क्षमताभन्दा बाहिर पुगेको छ। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय गरेका छन्।

डढेलो नियन्त्रणका क्रममा उद्धार टोलीसमेत प्रभावित भएको छ। क्याप फेरेट क्षेत्रमा आगो निभाउने अभियानमा खटिएका करिब एक हजार अग्निनियन्त्रकमध्ये ४० जना घाइते भएका छन्। यसै साता फ्रान्स र इटालीमा डढेलो नियन्त्रणका क्रममा तीन अग्निनियन्त्रकको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।

फ्रान्स र स्पेनको आग्रहपछि युरोपेली आयोगले पनि सहयोग बढाएको छ। आयोगले फ्रान्सका लागि तीन र स्पेनका लागि चारवटा पानी बोक्ने विशेष अग्नि नियन्त्रण विमान परिचालन गरेको जनाएको छ।

डढेलोले वन क्षेत्रलाई पनि ठूलो क्षति पुर्‍याएको छ। फ्रान्समा हालसम्म १३ हजार ५०० हेक्टरभन्दा बढी वन तथा जमिन जलेको छ भने म्याड्रिड क्षेत्रमा करिब छ हजार हेक्टर भूभाग नष्ट भएको छ। स्पेनकै ग्वाडालाजारा क्षेत्रमा फैलिएको अर्को डढेलोले थप ३२ हजार हेक्टरभन्दा बढी क्षेत्र खरानी बनाएको छ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण युरोपमा अत्यधिक गर्मी, खडेरी र तीव्र हावाको घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता डढेलोको जोखिम आगामी वर्षहरूमा अझ बढ्न सक्ने चेतावनी दिएका छन्।

उनीहरूका अनुसार मानव गतिविधिबाट सिर्जित जलवायु परिवर्तनले युरोपमा प्राकृतिक विपद्को स्वरूपलाई थप जटिल बनाइरहेको छ।

मुगुमा पहिरो : घरमाथि ढुंगा खस्दा ३ वर्षीय बालकको मृत्यु

काठमाडौं। मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ढुंगासहितको पहिरो घरमाथि खस्दा तीन वर्षीय बालकको ज्यान गएको छ भने उनका बाबुआमा घाइते भएका छन्।

साउन ९ गते बिहान करिब ४ बजे पेमा लामाको घरमा भाडामा बस्दै होटल सञ्चालन गरिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका जगनाथ बडुवालको परिवार सुतिरहेका बेला माथिबाट आएको पहिरो घरमा खसेको थियो।

पहिरोमा च्यापिएका तीन वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुको टोलीले उद्धार गरी बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्‍याएको थियो। उपचारका क्रममा बिहान ५:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा रमेशका बुबा ३२ वर्षीय जगनाथ बडुवाल र आमा २७ वर्षीया सृजना बडुवाल सामान्य घाइते भएका छन्। उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। थप पहिरोको जोखिम कायम रहेकाले आसपासका आठ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

विस्थापित सुकुम्बासीको व्यवस्थापन यस्तो ?

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई नागरिकतामा उल्लेख भएको स्थायी ठेगानामा फर्किन भूमि समस्या समाधान समितिले दिएको निर्देशनले कानुनी, संवैधानिक र मानवीय बहस चर्किएको छ।

समितिले पछिल्ला केही दिनयता क्रमिक रूपमा सूचना जारी गर्दै होल्डिङ सेन्टरमा बसिरहेका परिवारलाई आफ्नै जिल्ला फर्किन भनेपछि अधिकारकर्मी, कानुनविद् र भूमिअधिकार अभियन्ताले त्यसप्रति गम्भीर असहमति जनाएका छन्।

भूमि समस्या समाधान समितिले साउन ८ गते जारी गरेको सूचनामार्फत गोङ्गबुस्थित नेपाल टेलिकम होल्डिङ सेन्टरमा बसिरहेका सात परिवारलाई नागरिकतामा उल्लेखित स्थायी ठेगानामा सम्पर्क गर्न निर्देशन दिएको छ। ती परिवारका लागि सम्बन्धित जिल्ला समितिमा आवश्यक कागजात र डिजिटल विवरण पठाइसकिएको भन्दै अब सम्बन्धित जिल्ला र स्थानीय तहमा सम्पर्क गर्न भनिएको छ।

यसअघि पनि समितिले साउन ६ र ७ गते गरी दुई चरणमा २८ परिवारलाई यस्तै निर्देशन दिएको थियो। ती परिवार कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन्। समितिले लगभग दैनिकजसो यस्ता सूचना जारी गर्दै विस्थापित परिवारलाई काठमाडौं बाहिर पठाउने प्रक्रिया अघि बढाइरहेको छ।

समितिका अनुसार काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका परिवारको डिजिटल विवरण अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको थियो। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयको निर्देशनअनुसार ती विवरण सम्बन्धित जिल्लामा पठाएर कानुनी प्रक्रिया अगाडि बढाइएको समितिको भनाइ छ।

समितिले सम्बन्धित जिल्लामा स्वीकृत कार्यविधिअनुसार जग्गा उपलब्ध गराउने उद्देश्यले निवेदन तथा आवश्यक कागजात पठाइएको जनाएको छ।

तर संविधानविद् तथा वरिष्ठ अधिवक्ताहरूले राज्यले कुनै पनि नागरिकलाई नागरिकतामा उल्लेख भएको ठेगानामै फर्किएर बस्न बाध्य बनाउन नसक्ने बताएका छन्।

उनीहरूका अनुसार नागरिक किन आफ्नो जन्मस्थान वा स्थायी ठेगाना छाडेर काठमाडौं आए भन्ने कारण राज्यले बुझ्नुपर्ने हुन्छ। आर्थिक अवस्था, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक अवसर र अन्य कारणले मानिस बसाइँसराइ गर्ने भएकाले नागरिकतालाई मात्रै आधार बनाएर बसोबास निर्धारण गर्न नमिल्ने उनीहरूको तर्क छ।

कानुनविद्हरूको भनाइमा यस्तो निर्णयले नागरिकको स्वतन्त्र बसोबासको अधिकारमाथि प्रत्यक्ष असर पार्न सक्छ।

अधिकारकर्मीहरूले सरकारमाथि अर्को गम्भीर आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार नदी किनारका बस्ती हटाउँदा, विस्थापितलाई होल्डिङ सेन्टरमा राख्दा र अहिले त्यहाँबाट बाहिर पठाउँदा समेत प्रभावित परिवारसँग पर्याप्त संवाद गरिएको देखिँदैन।

उनीहरूको भनाइमा पुनर्स्थापनासम्बन्धी यति संवेदनशील विषयमा सरोकारवालासँग छलफल नगरी एकतर्फी निर्णय लिँदा समस्या थप जटिल बन्न सक्छ।

संविधानले के भन्छ ?

नेपालको संविधानले प्रत्येक नागरिकलाई देशको जुनसुकै स्थानमा बसोबास गर्ने, आवतजावत गर्ने तथा रोजगारी र व्यवसाय गर्ने स्वतन्त्रता सुनिश्चित गरेको छ।

त्यसैगरी संविधानले प्रत्येक नागरिकको आवासको हकलाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ। भूमिहीन दलितका हकमा राज्यले कानुनबमोजिम एकपटक जमिन उपलब्ध गराउनुपर्ने र आवासविहीनलाई बसोबासको व्यवस्था गर्नुपर्ने दायित्व पनि संविधानमै उल्लेख छ।

यही संवैधानिक व्यवस्थालाई आधार बनाउँदै अधिकारकर्मीहरूले विस्थापित परिवारलाई उनीहरूको रोजगारी, शिक्षा, सामाजिक सम्बन्ध र जीविकोपार्जनबाट टाढा पार्ने निर्णय उचित नहुने बताएका छन्।

भूमि व्यवस्थापनसम्बन्धी कानुनले भूमिहीन सुकुमबासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्दा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने व्यवस्था गरेको छ।

भूमि समस्या समाधान आयोगका पूर्वपदाधिकारीहरूले पनि कानुनी प्रक्रिया पूरा नगरी गरिएको पुनर्स्थापनाले भविष्यमा थप विवाद निम्त्याउन सक्ने बताएका छन्। उनीहरूका अनुसार सबै तहका सरकारबीच समन्वय र प्रभावित समुदायको सहभागिताबिना गरिएको व्यवस्थापन दिगो समाधान बन्न सक्दैन।

भूमि अधिकार क्षेत्रमा काम गर्ने विज्ञहरूले नदी किनार जोखिमयुक्त क्षेत्र भएकाले त्यहाँ स्थायी बसोबास गर्न नदिने निर्णयलाई स्वाभाविक माने पनि त्यसको विकल्पका रूपमा प्रभावित परिवारलाई नागरिकताकै जिल्लामा पठाउनु समाधान नभएको तर्क गरेका छन्।

उनीहरूका अनुसार वर्षौंदेखि काठमाडौंमा बसोबास गर्दै आएका परिवारको रोजगारी, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सम्बन्ध सबै उपत्यकासँग जोडिएको हुन्छ। त्यसैले सम्भव भएसम्म उनीहरू बसेकै स्थान नजिक वा पहुँचयुक्त क्षेत्रमा जग्गा वा एकीकृत आवासको व्यवस्था गर्नु बढी व्यवहारिक हुने सुझाव दिइएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका अधिकारीहरू भने नदी किनार कानुनले निषेध गरेको अर्थात् ‘नकारात्मक सूची’मा पर्ने क्षेत्र भएकाले त्यहाँ गरिएको बसोबासलाई वैधानिक रूपमा मान्यता दिन नसकिने बताउँछन्।

मन्त्रालयको भनाइमा नदी, खोल्सा, निकुञ्ज, वन, प्राकृतिक प्रकोपको उच्च जोखिमयुक्त क्षेत्र तथा अन्य निषेधित स्थानमा भएको बसोबासलाई नियमितीकरण गर्न कानुनले अनुमति दिँदैन। त्यसैले त्यहाँबाट विस्थापित परिवारको पुनर्स्थापना वैकल्पिक व्यवस्थाअनुसार गर्नुपर्ने अवस्था आएको हो।

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चालगायत विभिन्न संगठनहरूले भने नागरिकताको ठेगानाका आधारमा मानिसलाई आफ्नो वर्तमान बसोबास छाड्न बाध्य बनाउने निर्णय मानवअधिकारको भावना विपरीत भएको बताएका छन्।

उनीहरूले निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकेका छन्। उनीहरूको भनाइमा भूमिहीन नागरिकलाई केवल जग्गा दिने विषय मात्र नभई आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सम्मानजनक जीवनसँग जोडेर समाधान खोज्नुपर्छ।

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित परिवारको व्यवस्थापन अहिले सरकारका लागि सबैभन्दा चुनौतीपूर्ण सामाजिक मुद्दामध्ये एक बनेको छ।

एकातिर सार्वजनिक जग्गा संरक्षण र जोखिमयुक्त क्षेत्र खाली गराउने दायित्व छ भने अर्कोतिर संविधानले सुनिश्चित गरेका आवास, बसोबास र सम्मानपूर्वक बाँच्ने अधिकारको संरक्षण पनि उत्तिकै महत्वपूर्ण विषय हो।

यस कारण कानुनी प्रक्रिया, तीनै तहका सरकारबीच समन्वय, प्रभावित समुदायसँग संवाद र जीविकोपार्जनलाई केन्द्रमा राखेर पुनर्स्थापना योजना अघि बढाइए मात्र दीर्घकालीन र विवादरहित समाधान सम्भव हुने सरोकारवालाहरूको निष्कर्ष छ।

कांग्रेस : दुई धार, दुई रणनीति

काठमाडौं। नेपाली कांग्रेसभित्र नेतृत्व, कार्यशैली र पार्टीको भावी दिशालाई लिएर देखिएको मतभेद झन् गहिरिँदै गएको छ।

विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद अहिले संस्थापन र असन्तुष्ट पक्षबीच खुला शक्ति प्रदर्शनको चरणमा पुगेको देखिन्छ। बीपी कोइराला स्मृति दिवसका अवसरमा दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेपछि पार्टीभित्रको ध्रुवीकरण थप स्पष्ट बनेको हो।

पछिल्ला गतिविधिले कांग्रेस एउटै राजनीतिक दल भए पनि दुई फरक रणनीति र दुई फरक राजनीतिक दृष्टिकोणसहित अघि बढिरहेको सन्देश दिएको छ। एकातिर पार्टी सभापति गगन थापाले संगठनलाई जनतामाझ लैजाने उद्देश्यसहित नयाँ अभियान घोषणा गरेका छन् भने अर्कोतर्फ निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला निकट समूहले राष्ट्रिय भेला आयोजना गरेर नेतृत्वमाथि दबाब बढाउने तयारी थालेको छ।

सभापति गगन थापाले भदौ २४ गतेदेखि ‘एनसी फर एनसी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ भन्ने नारासहित सुरु हुने यस अभियानमार्फत कांग्रेसलाई केवल राजनीतिक बहसमा सीमित नराखी जनजीवनसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखिएको छ।

पार्टीका अनुसार अभियानअन्तर्गत कार्यकर्तालाई सामाजिक सेवा, नागरिकसँग प्रत्यक्ष संवाद, नेतृत्व विकास, सुशासन प्रवर्द्धन तथा स्थानीय समस्याको समाधानमा परिचालन गरिनेछ। रक्तदान, वृक्षारोपण, स्वास्थ्य शिविर, नागरिकलाई सरकारी सेवा लिन सहजीकरण तथा स्थानीय तहको कामको निगरानीजस्ता कार्यक्रमलाई अभियानको मुख्य प्राथमिकतामा राखिएको छ।

सभापति थापाले पार्टीका कार्यकर्तालाई समाजप्रति उत्तरदायी बनाउँदै कांग्रेसलाई पुनः जनविश्वासको केन्द्रमा स्थापित गर्ने उद्देश्य अभियानको रहेको बताएका छन्।

यता देउवा-कोइराला समूहले साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। असन्तुष्ट पक्षले वर्तमान नेतृत्वको कार्यशैलीका कारण पार्टी कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै नयाँ राजनीतिक तथा सांगठनिक कार्यदिशा तय गर्न भेला आवश्यक भएको जनाएको छ।

भेलाको तयारीका लागि प्रतिनिधि छनोट, जिम्मेवारी बाँडफाँट र छलफलका एजेन्डा तय गर्ने काम सुरु भइसकेको जनाइएको छ। भेलामा पार्टीको वैचारिक दिशा, संगठन विस्तार, आर्थिक नीति, सामाजिक एजेन्डा र आन्तरिक संरचनाबारे विस्तृत छलफल हुने तयारी छ।

असन्तुष्ट नेताहरूको भनाइमा यो भेला केवल विरोधका लागि नभई कांग्रेसलाई पुनः सशक्त र प्रभावकारी बनाउने वैकल्पिक मार्ग खोज्ने प्रयास हो।

कांग्रेसभित्र अहिले देखिएको अवस्था दुई फरक रणनीतिमा आधारित देखिन्छ। संस्थापन पक्ष जनतामाझ पुगेर पार्टीको छवि सुधार गर्न केन्द्रित देखिएको छ भने असन्तुष्ट पक्ष नेतृत्व सुधार र आन्तरिक संरचनामा परिवर्तनको मागलाई प्रमुख एजेन्डा बनाइरहेको छ।

राजनीतिक रूपमा यी गतिविधिले पार्टीभित्रको शक्ति सन्तुलन मात्र होइन, आगामी महाधिवेशन र नेतृत्वको भविष्यलाई समेत प्रभाव पार्ने आकलन गरिएको छ। असन्तुष्ट पक्षले नेतृत्वसँग सहमति हुन नसके थप कडा राजनीतिक निर्णय लिन सकिने संकेतसमेत दिएको छ।

कांग्रेसभित्रको पछिल्लो अवस्थाले पार्टी विभाजनको चर्चा पनि सुरु गराएको छ। यद्यपि धेरै राजनीतिक विश्लेषकहरूले तत्काल पार्टी फुट्ने सम्भावना भने कम रहेको बताएका छन्।

राजनीतिक विश्लेषक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. भेषराज घिमिरेका अनुसार राष्ट्रिय भेला पार्टी विभाजनको तयारीभन्दा पनि नेतृत्वलाई सहमतिमा आउन दबाब दिने रणनीति हुन सक्छ। उनका अनुसार असन्तुष्ट पक्षले आफ्नो शक्ति देखाएर नेतृत्वलाई वार्तामा ल्याउने प्रयास गरिरहेको देखिन्छ।

उनको विश्लेषणमा विशेष महाधिवेशनपछि उत्पन्न विवाद समाधानका लागि दुवै पक्ष अन्ततः संवादमा फर्किनुपर्ने अवस्था आउने सम्भावना बलियो छ। पछिल्ला कार्यक्रममा असन्तुष्ट पक्षको उल्लेख्य सहभागिताले नेतृत्वमाथि थप दबाब सिर्जना गरेको उनको बुझाइ छ।

नेपाली कांग्रेस अहिले एकै समयमा दुईवटा चुनौतीसँग जुधिरहेको छ। पहिलो, पार्टीभित्रको आन्तरिक एकता कायम राख्ने चुनौती र दोस्रो, जनतामाझ कमजोर बन्दै गएको राजनीतिक प्रभाव पुनः स्थापित गर्ने चुनौती।

संस्थापन पक्षले जनसम्पर्क विस्तारलाई प्राथमिकता दिएको छ भने असन्तुष्ट पक्षले संगठनभित्र सुधारबिना पार्टी बलियो बन्न नसक्ने तर्क अघि सारेको छ। दुवै पक्षका गतिविधिले कांग्रेसको आगामी राजनीतिक यात्रा कुन दिशातर्फ मोडिने भन्ने विषयलाई थप रोचक बनाएको छ।

आफ्नै अभिव्यक्ति भारी,वेदिकामाथि अनुसन्धान जारी

काठमाडौं। सामाजिक अभियन्ताका रूपमा परिचित वेदिका केसीमाथि विद्युतीय माध्यमबाट मानहानि हुने प्रकृतिको सामग्री सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान अघि बढाएको छ।

बुधबार दिउँसो पक्राउ परेकी केसीलाई सोही दिन साँझ हाजिर जमानीमा रिहा गरिएको हो। उनीसँग अनुसन्धान अधिकृतहरूले बयान लिने कार्य जारी राखेका छन् भने अनुसन्धान अझै निष्कर्षमा पुगिसकेको छैन।

साइबर ब्युरोका अनुसार कथावाचिका राधिका दासीले दिएको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो। उजुरीमा सार्वजनिक रूपमा प्रसारित अन्तर्वार्तामा आफूमाथि आधारहीन र प्रतिष्ठामा असर पुग्ने आरोप लगाइएको दाबी गरिएको छ।

सो अन्तर्वार्ता सञ्चारकर्मी प्रकाश सुवेदीसँग गरिएको टेलिभिजन कार्यक्रममा प्रसारण भएको थियो भने त्यसको भिडियो युट्युबमार्फत पनि सार्वजनिक भएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सार्वजनिक भिडियो,सामाजिक सञ्जालमा भएका गतिविधि तथा उजुरीमा उल्लेख गरिएका विषयवस्तुलाई आधार बनाएर आवश्यक प्रमाण संकलन गरिरहेको जनाएको छ।

अनुसन्धान पूरा नभएसम्म घटनाका सबै पक्षसँग बयान लिने, डिजिटल सामग्रीको अध्ययन गर्ने तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने साइबर ब्युरोको भनाइ छ।

साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार वेदिका केसीलाई हिरासतमा राखिएको छैन। अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई हाजिर जमानीमा छाडिएको हो। उनका अनुसार अहिले अनुसन्धान जारी रहेकाले थप निर्णय प्रमाण र अनुसन्धानको निष्कर्षका आधारमा गरिनेछ।

वेदिका केसी पछिल्ला केही वर्षदेखि सामाजिक सञ्जालमार्फत धार्मिक अन्धविश्वास, धामी-झाँक्री, झारफुक तथा आफूले गलत ठानेका धार्मिक अभ्यासविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी अभियन्ताका रूपमा परिचित छिन्।

विराटनगरकी २२ वर्षीया केसीले विभिन्न भिडियो, लाइभ कार्यक्रम र सामाजिक सञ्जाल पोस्टमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएकी छन्। उनले आफूलाई समाजमा फैलिएका अन्धविश्वासविरुद्ध सचेतना फैलाउने अभियानमा सक्रिय रहेको बताउँदै आएकी छन्।

यद्यपि, यसपटक भने कथावाचिका राधिका दासीबारे सार्वजनिक रूपमा गरिएको टिप्पणी कानुनी विवादको विषय बनेको छ। उजुरीमा सार्वजनिक अभिव्यक्तिले व्यक्तिगत प्रतिष्ठामा गम्भीर असर पुर्‍याएको दाबी गरिएको छ। यही आधारमा प्रहरीले विद्युतीय माध्यमबाट गरिएको सामग्री कानुनविपरीत भए–नभएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

नेपालको विद्युतीय कारोबार ऐन, २०६३ अनुसार विद्युतीय माध्यम प्रयोग गरी कसैको मानहानि हुने, झुटा आरोप लगाउने वा अपमानजनक सामग्री प्रकाशन तथा प्रसारण गर्ने कार्य कानुनी दायराभित्र पर्न सक्छ।

त्यस्ता घटनामा अनुसन्धानपछि कसुर पुष्टि भए कानुनअनुसार कारबाही हुन सक्ने व्यवस्था रहेको छ। तर अनुसन्धान सम्पन्न नभएसम्म कसैलाई दोषी ठहर गर्न नमिल्ने कानुनी सिद्धान्त पनि लागू हुन्छ।

यस घटनाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने अभिव्यक्तिको जिम्मेवारी, अभिव्यक्ति स्वतन्त्रताको सीमा तथा व्यक्तिगत प्रतिष्ठाको संरक्षणजस्ता विषयलाई फेरि एकपटक चर्चामा ल्याएको छ।

पछिल्ला वर्षहरूमा डिजिटल प्लेटफर्ममार्फत हुने मानहानि, चरित्रहत्या र विवादास्पद अभिव्यक्तिसम्बन्धी उजुरी बढ्दै गएकाले साइबर ब्युरोले यस्ता घटनामा अनुसन्धानलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

हाल वेदिका केसीसँग बयान लिने प्रक्रिया जारी रहेकाले अनुसन्धानको अन्तिम निष्कर्ष आएपछि मात्र यस प्रकरणमा थप कानुनी प्रक्रिया अगाडि बढ्ने वा नबढ्ने विषय टुंगो लाग्ने प्रहरीले जनाएको छ।

आफ्नालाई छान्ने ‘बालेन सरकार’

काठमाडौं। सरकारले सार्वजनिक निकायमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने, योग्य र सक्षम व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट नेतृत्वमा पुर्‍याउने प्रतिबद्धता जनाएको भए पनि हालसम्म भएका नियुक्तिहरूले त्यसको ठीक विपरीत चित्र देखाएको भन्दै आलोचना बढ्न थालेको छ।

अध्यादेशमार्फत एकैपटक सयभन्दा बढी सार्वजनिक निकायका पदाधिकारी हटाइएपछि सुरु भएको नयाँ नियुक्ति प्रक्रियामा मेरिटभन्दा राजनीतिक निकटता हाबी भएको आरोप विभिन्न क्षेत्रबाट उठिरहेको छ।

गत वैशाख १९ गते जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ लागू भएपछि ११० सार्वजनिक निकायका अध्यक्ष, सदस्य र पदाधिकारी गरी एक हजार ५९४ जना एकैपटक पदमुक्त भएका थिए। त्यसपछि सरकारले खुला प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयन गर्ने घोषणा गरे पनि व्यवहारमा प्रक्रिया पारदर्शी नभएको टिप्पणी भइरहेको छ।

सरकारले अधिकांश निकायमा आवेदन आह्वान, छनोट समिति र अन्तर्वार्ताको प्रक्रिया अपनाए पनि अन्तिम निर्णय भने पहिल्यै तय गरिएका व्यक्तिको पक्षमा गएको आरोप छ। बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्ष नियुक्ति यसको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

उक्त पदका लागि कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामा उत्कृष्ट मूल्यांकन प्राप्त गरेका उम्मेदवारलाई अन्तिममा पछि पार्दै दोस्रो नम्बरका उम्मेदवारलाई नियुक्त गरिएको भन्दै प्रक्रिया नै विवादमा परेको छ। यसले खुला प्रतिस्पर्धा केवल औपचारिकता बनेको प्रश्न उठाएको छ।

यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा पनि अन्तर्वार्ता प्रक्रिया पूरा हुनुअघि नै मन्त्रिपरिषद्ले निर्णय गरेको आरोप लागेको छ। अन्य उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै नियुक्ति निर्णय भएको घटनाले प्रक्रिया निष्पक्ष नभएको चर्चा बढाएको छ।

सार्वजनिक निकायका कार्यकारी पदाधिकारीका लागि ६५ वर्ष उमेर सीमा तोकिएको कानुनी व्यवस्था रहे पनि केही नियुक्तिमा त्यसको पालना नभएको भन्दै प्रश्न उठाइएको छ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा उमेर सीमा नाघेका व्यक्तिलाई नियुक्त गरिएको विषय विवादमा परेको छ। नेपाल वायुसेवा निगममा लामो समयअघि अवकाश प्राप्त व्यक्तिलाई नेतृत्वको जिम्मेवारी दिइएको विषयले पनि सरकारको ‘नयाँ सोच र नयाँ नेतृत्व’को प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।

विशेषगरी दशकौँअघि अवकाश लिएका व्यक्तिलाई पुनः सार्वजनिक संस्थाको नेतृत्वमा ल्याउनु योग्य नयाँ पुस्ताप्रति अन्याय भएको टिप्पणी हुँदै आएको छ।

नेपाल स्काउटको प्रमुख आयुक्त नियुक्तिलाई लिएर पनि विवाद चुलिएको छ। स्काउट ऐनअनुसार पदाधिकारी कुनै राजनीतिक दलसँग आबद्ध हुन नहुने व्यवस्था भए पनि नियुक्त व्यक्तिको राजनीतिक सक्रियता र विगतका गतिविधिलाई लिएर प्रश्न उठाइएको छ।

यससँगै उनीमाथि अघिल्ला अन्तर्राष्ट्रिय स्काउट कार्यक्रममा सहभागी केही नेपाली नफर्किएको घटनासँग सम्बन्धित आरोपसमेत सार्वजनिक रूपमा चर्चामा आएका छन्। यस्ता विवादबीच गरिएको नियुक्तिले सरकारको नैतिक मापदण्डमाथि प्रश्न उठाएको आलोचकहरूको भनाइ छ।

सुशासन र भ्रष्टाचारविरुद्ध कडा नीति लिने प्रतिबद्धता व्यक्त गरेको सरकारले नै विभिन्न उजुरी र छानबिनमा परेका व्यक्तिलाई पनि नेतृत्वमा ल्याउन खोजेको आरोप लागेको छ।

नेपाल निजामती अस्पतालका कार्यकारी निर्देशक नियुक्तिमा उजुरीको टुंगो नलाग्दै नियुक्ति गरिएको विषय चर्चामा छ। त्यस्तै, अन्य केही सार्वजनिक संस्थामा पनि विगतमा विवादमा परेका व्यक्तिलाई पुनः जिम्मेवारी दिन खोजिएको भन्दै आलोचना भइरहेको छ।

सरकारले सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने, योग्यताका आधारमा नेतृत्व चयन गर्ने र सार्वजनिक संस्थामा दलीय हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो। तर हालसम्म भएका नियुक्तिले भने त्यही पुरानै राजनीतिक भागबन्डाको शैली दोहोरिएको आरोप लागिरहेको छ।

अध्यादेशमार्फत पुराना पदाधिकारी हटाएर नयाँ नियुक्ति गर्ने अधिकार प्रयोग गरिएको भए पनि त्यसपछिका निर्णयमा पारदर्शिता, कानुनी मापदण्ड र मेरिट प्रणालीभन्दा राजनीतिक पहुँच प्रभावशाली बनेको भन्दै प्रश्न उठिरहेका छन्।

सरकारले हालसम्म ११० सार्वजनिक निकायमध्ये करिब २६ निकायमा नेतृत्व नियुक्त गरिसकेको छ। नेपाल वायुसेवा निगम, गोरखापत्र संस्थान, शिक्षक सेवा आयोग, प्रेस काउन्सिल, नेपाल दूरसञ्चार प्राधिकरण, धितोपत्र बोर्ड, रेल्वे बोर्ड, नेपाल स्काउट, विद्युत् नियमन आयोगलगायतका निकायमा नयाँ नेतृत्व चयन भइसकेको छ।

त्यसैगरी विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएका छन् भने नेपाल पर्यटन बोर्ड, लगानी बोर्ड, बीमा प्राधिकरण, राष्ट्रिय सहकारी नियमन प्राधिकरणसहित दर्जनौँ निकायमा नियुक्ति प्रक्रिया अझै जारी छ।

सरकारले नियुक्ति प्रक्रिया कानुनी र प्रतिस्पर्धामूलक भएको दाबी गर्दै आएको भए पनि पछिल्ला घटनाक्रमले सार्वजनिक नियुक्तिको विश्वसनीयता, पारदर्शिता र सुशासनको अभ्यासबारे गम्भीर बहस सुरु गराएको छ।

‘कम्युनिस्ट’ देखि सहँदैनन् ‘ट्रम्प’

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२६ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै डेमोक्र्याट उम्मेदवारहरूलाई ‘समाजवादी’ र ‘कम्युनिस्ट’को संज्ञा दिँदै राजनीतिक आक्रमण तीव्र बनाएका छन्।

तर पछिल्ला जनमत सर्वेक्षणहरूले अमेरिकी मतदाताको मुख्य चिन्ता विचारधाराभन्दा पनि आर्थिक असमानता, धनी-गरिबबीच बढ्दो दूरी र वर्तमान आर्थिक प्रणालीप्रतिको निराशा रहेको संकेत गरेका छन्।

लामो समयदेखि अमेरिकी राजनीतिमा समाजवादलाई चुनावी हतियारका रूपमा प्रयोग गरिँदै आएको छ। रिपब्लिकन नेताहरूले डेमोक्र्याटहरूलाई समाजवादसँग जोडेर आलोचना गर्ने रणनीति अपनाउने गरेका छन्। तर पछिल्ला वर्षहरूमा मतदाताको प्राथमिकता विचारधाराको बहसभन्दा दैनिक जीवनमा देखिएको आर्थिक दबाब, बढ्दो जीवनयापन खर्च, कर प्रणाली र ठूला कम्पनीहरूको प्रभावतर्फ केन्द्रित हुन थालेको देखिन्छ।

हालै सार्वजनिक भएको फक्स न्युजको सर्वेक्षणले पुँजीवादप्रतिको अमेरिकी विश्वास उल्लेखनीय रूपमा कमजोर बन्दै गएको देखाएको छ। सन् २०१९ मा ५७ प्रतिशत मतदाताले पुँजीवादलाई सकारात्मक रूपमा हेर्थे भने अहिले त्यो अनुपात घटेर ५० प्रतिशतमा झरेको छ। उता पुँजीवादप्रति नकारात्मक धारणा राख्नेहरूको संख्या २७ प्रतिशतबाट बढेर ४६ प्रतिशत पुगेको छ। यसले केही वर्षअघिसम्म बलियो रहेको पुँजीवादप्रतिको समर्थन अहिले लगभग बराबरीको अवस्थामा पुगेको संकेत गर्छ।

सर्वेक्षणले अमेरिकी नागरिकको अर्को महत्वपूर्ण चिन्ता पनि उजागर गरेको छ। ६५ प्रतिशत मतदाताले वर्तमान आर्थिक प्रणाली धनीहरूको पक्षमा झुकेको विश्वास व्यक्त गरेका छन्। ट्रम्पको पहिलो कार्यकालताका यस्तो धारणा राख्नेको संख्या ५६ प्रतिशत थियो। केही वर्षमै यो अनुपात उल्लेखनीय रूपमा बढेको छ।

विशेष चासोको विषय भने रिपब्लिकन समर्थकभित्र पनि यही असन्तुष्टि बढ्दै जानु हो। सन् २०१९ मा ७२ प्रतिशत रिपब्लिकन समर्थकले पुँजीवादप्रति सकारात्मक धारणा राखेका थिए। अहिले त्यो संख्या ६१ प्रतिशतमा झरेको छ। अझ पुँजीवादप्रति अत्यन्तै सकारात्मक धारणा राख्ने रिपब्लिकन समर्थक ५४ प्रतिशतबाट घटेर ४१ प्रतिशतमा सीमित भएका छन्।

त्यसैगरी आर्थिक प्रणाली धनीहरूको हितमा मात्र केन्द्रित भएको विश्वास गर्ने रिपब्लिकन समर्थकको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। सन् २०१८ मा ३० प्रतिशत रहेको यस्तो धारणा अहिले ४२ प्रतिशत पुगेको छ। स्वतन्त्र बजार र निजी क्षेत्रको पक्षमा उभिने दलभित्रै यस्तो असन्तुष्टि बढ्नु अमेरिकी राजनीतिका लागि महत्वपूर्ण संकेत मानिएको छ।

अन्य सर्वेक्षणहरूले पनि यही प्रवृत्तिलाई पुष्टि गरेका छन्। वाल स्ट्रिट जर्नल–एनओआरसीको अध्ययनअनुसार अहिले आधाभन्दा कम अमेरिकीले मात्र पुँजीवादी आर्थिक प्रणालीले राम्रोसँग काम गरिरहेको विश्वास गर्छन्। करिब एक दशकअघि यो संख्या ६० प्रतिशतभन्दा माथि थियो।

प्यू रिसर्च सेन्टरको अर्को अध्ययनले धनी व्यक्ति तथा ठूला कम्पनीहरूले पर्याप्त कर नतिरेको विषयप्रति अमेरिकी नागरिक गम्भीर रूपमा चिन्तित रहेको देखाएको छ। ६१ प्रतिशत अमेरिकीले धनीहरूले उचित कर नतिरेको बताएका छन् भने ६० प्रतिशतले ठूला कम्पनीहरूले पनि कर छल्ने गरेको धारणा व्यक्त गरेका छन्। रिपब्लिकन समर्थकहरूको उल्लेखनीय हिस्साले समेत यही चिन्ता व्यक्त गरेको सर्वेक्षणले देखाएको छ।

यही कारण पछिल्ला वर्षहरूमा आर्थिक समानता, कर सुधार, न्यून आय भएका नागरिकको संरक्षण तथा ठूला कम्पनीमाथि कडा नियमनको पक्षमा बोल्ने नेताहरूको लोकप्रियता बढ्न थालेको विश्लेषण गरिएको छ।

स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्स लामो समयदेखि आर्थिक असमानता, धनीमाथि बढी कर र सामाजिक सुरक्षाको पक्षमा बोल्दै आएका छन्। विचारधारागत रूपमा उनी लोकतान्त्रिक समाजवादसँग जोडिए पनि उनको लोकप्रियताको मुख्य आधार आर्थिक न्यायको एजेन्डा रहेको विश्लेषकहरूको भनाइ छ।

त्यस्तै न्यूयोर्ककी प्रतिनिधि अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज (एओसी) ले पनि आर्थिक असमानता, श्रमिक अधिकार र सामाजिक सुरक्षाका मुद्दालाई निरन्तर उठाउँदै आएकी छन्। रिपब्लिकनहरूको तीव्र आलोचनाका बाबजुद उनी राष्ट्रिय राजनीतिमा प्रभावशाली नेतामध्ये एक मानिन्छिन्।

पछिल्लो समय डेमोक्र्याटिक राजनीतिमा आर्थिक मुद्दालाई केन्द्रमा राख्ने नयाँ पुस्ताका नेताहरूको उदय भइरहेको विश्लेषणसमेत हुन थालेको छ। केही रिपब्लिकन विश्लेषकहरूले पनि अर्थतन्त्रका विषयमा प्रभावकारी सन्देश दिने डेमोक्र्याट उम्मेदवारहरू भविष्यमा चुनौतीपूर्ण प्रतिस्पर्धी बन्न सक्ने स्वीकार गर्न थालेका छन्।

यसले आगामी अमेरिकी मध्यावधि निर्वाचनमा वैचारिक आरोप–प्रत्यारोपभन्दा पनि आर्थिक अवस्था, जीवनयापनको लागत, कर प्रणाली, रोजगार र आय असमानताजस्ता विषय निर्णायक बन्न सक्ने संकेत दिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार अमेरिकी मतदाताले अहिले समाजवादको सैद्धान्तिक बहसभन्दा पनि आफ्नो आर्थिक अवस्था कसरी सुधारिन्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका छन्। त्यसैले विपक्षीलाई ‘समाजवादी’ वा ‘कम्युनिस्ट’ भनेर मात्रै आलोचना गर्नु चुनावी रूपमा पर्याप्त नहुन सक्छ। यदि आर्थिक असन्तुष्टि अझ गहिरिँदै गयो भने मतदाताले विचारधाराभन्दा पनि आफ्ना दैनिक समस्याको समाधान गर्ने एजेन्डालाई प्राथमिकता दिन सक्ने देखिएको छ।

बालेनको सचिवालयमा २८ जना कर्मचारी, कुमार र असीमले खान्छन् मन्त्रीसरहको तलब

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा मन्त्री, सांसद तथा नेताहरूले स्वकीय सचिव र ठूलो सचिवालय बनाएर राज्यकोषको दुरुपयोग गरेको भन्दै कडा आलोचना गर्ने गरेका थिए। तर प्रधानमन्त्री बनेपछि भने उनले आफ्नै सचिवालयमा २७ जना कर्मचारी तथा सल्लाहकार नियुक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री शाहको सचिवालयमा विभिन्न जिम्मेवारीमा २७ जना कार्यरत छन्। तीमध्ये प्रमुख सल्लाहकार कुमार बेन र प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले मन्त्रीसरहको सुविधा तथा पारिश्रमिक पाउँदै आएका छन्। त्यस्तै, सचिवालयमा रहेका अन्य दुई जनाले राज्यमन्त्रीसरहको सुविधा उपभोग गरिरहेका छन्।

सरकार गठनपछि प्रधानमन्त्री शाहले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गरेका थिए। त्यसबेला उनले प्रशासनिक खर्च कटौती, सरकारलाई चुस्त बनाउने तथा अनावश्यक संरचना घटाउने प्रतिबद्धता व्यक्त गरेका थिए। तर सचिवालयमा मन्त्री र राज्यमन्त्रीसरहको सुविधा पाउने गरी चार जनालाई नियुक्त गरेपछि उनको अघिल्लो अभिव्यक्ति र वर्तमान अभ्यासबीच तुलना हुन थालेको छ।

विद्यमान कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्रीले आफ्नो सचिवालयमा अधिकतम ४८ जना कर्मचारी तथा सहयोगी राख्न सक्ने प्रावधान छ। त्यसअनुसार हाल नियुक्त गरिएका २७ जना कानुनी सीमाभित्रै रहे पनि प्रधानमन्त्रीले विगतमा उठाउँदै आएको मितव्ययिता र सरकारी खर्च कटौतीको एजेन्डासँग यो निर्णय मेल खान्छ वा खाँदैन भन्ने प्रश्न उठ्न थालेको छ।

प्रधानमन्त्रीको सचिवालयमा एक जना अवैतनिक स्वास्थ्य सल्लाहकारसमेत नियुक्त भएका छन्। सचिवालयमा रहेका कर्मचारी र सल्लाहकारहरूले प्रशासन, राजनीतिक समन्वय, सञ्चार, कानुन, नीति, आर्थिक तथा प्राविधिक विषयमा प्रधानमन्त्रीलाई सहयोग गर्ने जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री शाहले विगतमा स्वकीय सचिवको व्यवस्था र ठूलो सचिवालयको आवश्यकता नभएको धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका थिए। तर सरकार सञ्चालनको जिम्मेवारी सम्हालेपछि सचिवालय विस्तार गरेको तथ्य सार्वजनिक भएपछि उनको अघिल्लो राजनीतिक अडान र अहिलेको अभ्यासबीचको अन्तरबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

मानवअधिकार संस्थाको दाबी : सरकारले तीन न्यायाधिशलाई राजीनामा दिन दबाब दियो

काठमाडाैं। तीन मानवअधिकारवादी संस्थाले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामा दिन नत्र महाअभियोगको धम्की दिएको रिपोर्ट सार्वजनिक गरेका छन्।  एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे)ले नेपालमा न्यायपालिकाको स्वतन्त्रता कमजोर हुन सक्ने भन्दै संयुक्त रूपमा चिन्ता व्यक्त गरेका छन्।

संस्थाहरूका अनुसार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन राजनीतिक दबाब दिइएको तथा नमाने महाभियोग लगाइने धम्की दिइएको भन्ने विश्वसनीय जानकारी उनीहरूले प्राप्त गरेका छन्। यस्ता गतिविधिले न्यायिक स्वतन्त्रता र विधिको शासनमा गम्भीर असर पार्न सक्ने उनीहरूको भनाइ छ।

उनीहरूले सरकारले संवैधानिक परिषद् ऐन अध्यादेशमार्फत संशोधन गरेर न्यायिक नियुक्तिमा राजनीतिक प्रभाव बढ्न सक्ने अवस्था सिर्जना गरेको आरोप पनि लगाएका छन्। साथै, प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको परम्परा तोडिएको र संसदीय सुनुवाइ प्रक्रिया पर्याप्त पारदर्शी नभएको भन्दै प्रश्न उठाएका छन्।

तीन संस्थाले न्यायिक सुधार आवश्यक भए पनि त्यो सुधार अदालतको स्वतन्त्रता, पारदर्शिता र योग्यतामा आधारित नियुक्तिलाई सुदृढ गर्ने दिशामा हुनुपर्ने बताएका छन्। साथै, न्यायाधीशमाथि राजनीतिक दबाब नदिन, स्पष्ट संवैधानिक आधारबिना महाभियोग प्रक्रिया अघि नबढाउन र संवैधानिक परिषद् ऐनमा गरिएको संशोधनलाई खुला संसदीय प्रक्रियामार्फत पुनरावलोकन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन्।

तीन दिन हिरासतपछि छुटे ‘निहारिका र बिनु’

काठमाडौं। न्यायको माग गर्दै सिंहदरबार पुगेका निहारिका राजपुत र बिनु यादव तीन दिनपछि प्रहरी हिरासतबाट हाजिरी जमानीमा रिहा भएका छन्।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेका बेला प्रहरीले उनीहरूलाई हाजिरी जमानीमा छाडे पनि उनीहरूले उठाएका न्यायका मुद्दा भने अझै समाधानको चरणमा पुगेका छैनन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान गरिएका दुवैलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरिएको हो। उनीहरूविरुद्ध सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो।

गत बुधबार झरीकै बीच न्यायको माग गर्दै निहारिका र बिनु सिंहदरबार पुगेका थिए। उनीहरूको उद्देश्य गृहमन्त्रीलाई भेटेर आफ्ना गुनासा राख्ने थियो। तर सुरक्षाकर्मीले सिंहदरबारभित्र प्रवेश गर्न नदिएपछि उनीहरू मुख्य गेटअगाडि सडकमै धर्नामा बसे।

प्रहरीले सडक आवागमन अवरुद्ध भएको र सार्वजनिक शान्तिमा असर परेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको थियो।

निहारिका राजपुतको नाम नेपालमा ‘कुमारी आमा’को रूपमा व्यापक चर्चामा आएको थियो। उनले आफूलाई विवाहको आश्वासन दिएर पटक–पटक यौन शोषण गरिएको र पछि अलपत्र पारिएको आरोप लगाउँदै लामो समयदेखि न्यायको खोजी गरिरहेकी छन्।

उनले शिवराज श्रेष्ठविरुद्ध बलात्कारको आरोप लगाएपछि लामो समय कानुनी लडाइँ चल्यो। घटनाको अनुसन्धान निष्पक्ष नभएको, प्रमाण कमजोर बनाउने प्रयास भएको तथा आफ्नो बच्चाको डीएनए परीक्षण हुनुपर्ने माग गर्दै उनले पटक–पटक आन्दोलन, अनशन र प्रदर्शनसमेत गरिन्।

२०७९ साल कात्तिकमा गरिएको डीएनए परीक्षणले बच्चा शिवराज श्रेष्ठकै भएको पुष्टि गरेपछि दुवैबीच विवाह भएको थियो। तर विवाहपछि पनि आफूलाई श्रीमतीको रूपमा स्वीकार नगरेको, घरपरिवारबाट अस्वीकार गरिएको र घरेलु हिंसा सहनुपरेको भन्दै निहारिका फेरि न्याय माग्दै सार्वजनिक रूपमा आन्दोलनमा उत्रिएकी हुन्।

उनको भनाइमा विवाहले समस्या समाधान गरेन, बरु अर्को चरणको अन्याय सुरु भयो। अहिले उनी आफू र आफ्नो छोराको सम्मानजनक जीवन सुनिश्चित गर्न राज्यको हस्तक्षेप आवश्यक रहेको बताउँदै आएकी छन्।

निहारिकासँगै पक्राउ परेकी बिनु यादवको संघर्ष पनि वर्षौंदेखिको हो।

बिनुले आफ्ना प्रेमी प्रदीप कडायतविरुद्ध बलात्कारको उजुरी दिएपछि कानुनी प्रक्रिया सुरु भएको थियो। त्यसपछि दुवैबीच विवाह भए पनि वैवाहिक जीवन टिक्न सकेन। बिनुको आरोपअनुसार विवाहपछि उनीमाथि लगातार घरेलु हिंसा भयो, परिवारबाट अस्वीकार गरियो र जबर्जस्ती गर्भपतन गराउनसमेत दबाब दिइयो।

पछि श्रीमानले सम्बन्धविच्छेदको मुद्दा दायर गरे र जिल्ला अदालतले सम्बन्धविच्छेदको फैसला सुनायो। तर आफूलाई पर्याप्त जानकारी नै नदिई एकपक्षीय निर्णय गरिएको भन्दै बिनु उच्च अदालत पुगिन्। उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याइदियो।

हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। अन्तिम फैसला नआउँदासम्म उनको कानुनी संघर्ष जारी रहने देखिन्छ।

हाजिरी जमानीमा रिहा भएपछि निहारिका र बिनुले तत्काल स्वतन्त्रता त पाए, तर उनीहरूले उठाएका मूल प्रश्नहरू अझै समाधान भएका छैनन्।

उनीहरूका मुद्दा केवल व्यक्तिगत विवादका रूपमा सीमित छैनन्, बरु महिला हिंसा, न्यायमा पहुँच, पीडित संरक्षण र राज्य संयन्त्रको संवेदनशीलतासँग जोडिएका विषय बनेका छन्।

सार्वजनिक रूपमा न्याय माग्न सडकमा उत्रिएका पीडित महिलालाई पक्राउ गरिनु उचित हो कि होइन भन्ने विषयमा पनि सामाजिक सञ्जालदेखि नागरिक तहसम्म बहस भइरहेको छ। एकातिर सार्वजनिक व्यवस्था कायम राख्ने दायित्व राज्यको छ भने अर्कोतर्फ न्याय नपाएका नागरिकले आफ्नो आवाज कहाँ र कसरी उठाउने भन्ने प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ।

निहारिका राजपुत र बिनु यादव दुवैका कानुनी विवाद अहिले पनि अन्तिम निष्कर्षमा पुगेका छैनन्। एकले वैवाहिक अधिकार र सम्मानको माग गरिरहेकी छन् भने अर्की सर्वोच्च अदालतमा आफ्नो मुद्दाको अन्तिम फैसला पर्खिरहेकी छन्।

तीन दिनको हिरासतपछि उनीहरू रिहा भए पनि उनीहरूले थालेको न्यायको यात्रा भने अझै टुंगिएको छैन।

घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराईलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

अख्तियारका अनुसार उनलाई शुक्रबार २१ हजार रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न आवश्यक पर्ने वडा कार्यालयको सिफारिस उपलब्ध गराइदिने भन्दै भट्टराईले सेवाग्राहीसँग घुस रकम मागेका थिए।

सेवाग्राहीबाट मागिएको रकम बुझिसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

हाल भट्टराईलाई अख्तियारको हिरासतमा राखी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

अख्तियारले सार्वजनिक सेवा प्रवाहमा हुने भ्रष्टाचार र घुस लेनदेनविरुद्ध कारबाहीलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

‘सीजेपी’ र मोदीबीच वार्ता हुँदै

काठमाडौं। भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता, प्रश्नपत्र चुहावट र मूल्याङ्कन प्रक्रियामाथि उठेका गम्भीर प्रश्नपछि चर्किएको ‘कक्रोच’ आन्दोलन अब सरकारसँग औपचारिक संवादको चरणमा पुगेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनकारी र सरकारबीच शुक्रबार वार्ता हुने भएको हो।

मेडिकल प्रवेश परीक्षा तथा उच्च माध्यमिक तहको अनलाइन मूल्याङ्कन प्रणालीमा देखिएका त्रुटिले देशभर विद्यार्थी र अभिभावकमाझ असन्तुष्टि बढाएको छ। यही विषयलाई लिएर सामाजिक सञ्जालमार्फत संगठित ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले शिक्षा सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलनको नेतृत्व गरिरहेको छ।

सिजेपीका प्रवक्ता सौरभ दासले सरकारसँगको वार्तामा आन्दोलनका सबै माग औपचारिक रूपमा प्रस्तुत गरिने बताए। उनका अनुसार लामो समयदेखि सडकमा उत्रिएका विद्यार्थी र नागरिकको आवाज सरकारले अब गम्भीर रूपमा सुन्नुपर्ने अवस्था आएको छ।

बिहीबार राति प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत मन्त्रिपरिषद्ले परीक्षा प्रश्नपत्र चुहावटमा संलग्न व्यक्तिविरुद्ध कडा कानुनी कारबाही सुनिश्चित गर्ने विषयमा छलफल गरेको जानकारी दिएका थिए। उनले सम्बन्धित मन्त्रीहरूको सुझाव समेटेर आवश्यक विधेयकलाई अन्तिम रूप दिई छिट्टै संसद्मा प्रस्तुत गरिने बताएका छन्।

सरकारको यो सक्रियता शिक्षा क्षेत्रमा पारदर्शिता र जवाफदेहिता माग गर्दै देशभर चर्किएको दबाबका बीच आएको हो। पछिल्ला दिनमा विद्यार्थी, नागरिक समाज र विभिन्न पेशागत समूहले परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

यसैबीच आन्दोलनको समर्थनमा २६ दिनदेखि आमरण अनशनमा रहेका सामाजिक अभियन्ता सोनम वाङचुकले बिहीबार राति भोक हडताल अन्त्य गरेका छन्। सरकारले शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन नगर्ने, शिक्षा र परीक्षा प्रणाली सुधारका विषयमा संसद्मा विस्तृत छलफल गर्ने आश्वासन दिएपछि उनले अनशन तोडेका हुन्।

गत सोमबार नयाँदिल्लीमा भएको विशाल प्रदर्शनमा दशौँ हजार विद्यार्थी र नागरिक सहभागी भएका थिए। राजधानीमा पछिल्लो पाँच वर्षकै सबैभन्दा ठूलो प्रदर्शन मानिएको उक्त र्‍याली नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको थियो, जसले आन्दोलनलाई अझ तीव्र बनाएको थियो।

सिजेपीका संस्थापक अभिजीत डिप्केले सोनम वाङचुकको निर्णयको सम्मान गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनका अनुसार वाङचुकको त्यागले शिक्षा सुधारको मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

विश्लेषकहरूले प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल सुरु भएयता यो आन्दोलनलाई सरकारले सामना गरिरहेको सबैभन्दा ठूलो राजनीतिक र सामाजिक चुनौतीका रूपमा हेरिरहेका छन्।

नेपालमा अनैतिक गतिविधि गर्ने ५७ विदेशी महिला पक्राउ

काठमाडौं। नेपालमा अनैतिक गतिविधिमा संलग्न हुन विदेशी महिलाको आगमन बढ्दै गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यसम्पादन सार्वजनिक गर्दै अनैतिक गतिविधिमा संलग्न ५७ जना विदेशी महिला पक्राउ परेको जानकारी दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामध्ये ४७ जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि अध्यागमन विभागमार्फत सम्बन्धित देश फर्काइएको (डिपोर्ट) छ। बाँकी १० जनाको डिपोर्ट प्रक्रिया जारी रहेको उनले बताए।

प्रहरीका अनुसार पछिल्लो समय विशेषगरी बैंककसहित केही अफ्रिकी मुलुकबाट आएका महिलाहरू अनैतिक गतिविधिमा संलग्न हुने क्रम बढ्दो देखिएको छ। यसलाई नियन्त्रण गर्न प्रहरीले होटल, गेस्टहाउस र अन्य शंकास्पद स्थानमा निगरानी तथा विशेष अपरेशनलाई तीव्र बनाएको जनाएको छ।

प्रहरीले मानव बेचबिखन तथा यौन शोषणसँग सम्बन्धित सम्भावित सञ्जालमाथि पनि अनुसन्धान जारी रहेको बताउँदै यस्ता गतिविधि नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ।

पुष्पलाल स्मृति दिवसमा वाम नेताहरू एउटै मञ्चमा

काठमाडौं। ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित विचार गोष्ठीमा नेपालका प्रमुख वामपन्थी नेताहरू एउटै मञ्चमा सहभागी भएका छन्।

‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक गोष्ठी पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको हो। कार्यक्रममा विभिन्न कम्युनिस्ट दलका शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्था, वाम आन्दोलनको दिशा, लोकतन्त्रको सुदृढीकरण तथा वाम शक्तिबीच सहकार्य र एकताका सम्भावनाबारे आफ्नो धारणा राखेका छन्।

गोष्ठीमा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता मोहनविक्रम सिंह, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,  सहसंयोजक माधवकुमार नेपाल तथा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली सहित विभिन्न वामपन्थी दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

पुष्पलाल श्रेष्ठको राजनीतिक योगदानको स्मरण गर्दै आयोजित कार्यक्रममा सहभागी नेताहरूले वर्तमान राजनीतिक चुनौती, संविधानको कार्यान्वयन, सुशासन, सामाजिक न्याय तथा वाम आन्दोलनको भविष्यबारे विचार व्यक्त गरेका थिए।

पुष्पलाल मित्रता केन्द्रले प्रत्येक वर्ष पुष्पलाल स्मृति दिवसको अवसरमा यस्ता वैचारिक कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको कार्यक्रममा विभिन्न वाम धारका शीर्ष नेताहरू एउटै मञ्चमा देखिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

 

आमिर खानका सौतेनी भाइमाथि ईभा ग्रोभरको आरोप : ‘अरुसँग शारीरिक सम्बन्ध राख्न दबाब दिन्थे’

काठमाडौं। बलिउड अभिनेता आमिर खानका सौतेनी भाइ हैदर अली खानमाथि उनकी पूर्वपत्नी तथा अभिनेत्री ईभा ग्रोभरले गम्भीर आरोप लगाएकी छन्।

हालै एक पोडकास्टमा बोल्दै ईभाले हैदरले आफ्नो मानसिक स्वास्थ्यसम्बन्धी अवस्था विवाहअघि लुकाएको, त्यसपछि आफूले घरेलु हिंसा, मानसिक यातना र अस्वीकार्य दबाब झेल्नुपरेको दाबी गरेकी हुन्।

ईभाका अनुसार विवाहपछि केही समयमै हैदरको व्यवहार असामान्य बन्दै गयो। त्यसपछि मात्रै उनी स्किजोफ्रेनिया (मानसिक स्वास्थ्यसम्बन्धी गम्भीर अवस्था) बाट पीडित रहेको थाहा पाएको उनले बताइन्। त्यसपछि हैदर हिंसात्मक बन्दै गएको र आफूले शारीरिक दुर्व्यवहारसमेत सहनुपरेको उनको आरोप छ।

उनले परिवार जोगाउने उद्देश्यले सम्बन्ध टिकाउने प्रयास गरेको बताउँदै दोस्रो अवसर पनि दिएको उल्लेख गरिन्। तर त्यसपछि हैदरले आफूलाई फिल्म उद्योगमा कामका लागि अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राख्न दबाब दिन थालेको दाबी उनले गरेकी छन्।

ईभाका अनुसार फिल्म क्षेत्रमा यस्ता प्रस्ताव नयाँ नभए पनि आफ्नै श्रीमानबाट यस्तो कुरा सुन्नु आफ्नो जीवनकै सबैभन्दा पीडादायी अनुभव थियो। उनले हैदरले घरखर्च, बिजुलीको बिल र बच्चाको आवश्यकताको बहाना बनाएर आफूलाई सम्झौता गर्न दबाब दिने गरेको आरोप लगाइन्। यही घटनापछि सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको उनले बताएकी छन्।

ईभाले धेरै वर्षअघि नै हैदरसँग सम्बन्धविच्छेद गरिसकेको जानकारी दिँदै अहिले पनि हैदरको अवस्था दयनीय रहेको दाबी गरेकी छन्। उनका अनुसार हैदरसँग स्थायी बसोबासको घरसमेत छैन र दैनिक जीवनयापन गर्नसमेत कठिनाइ भइरहेको छ।

यसअघि पनि ईभाले हैदरमाथि फिल्म उद्योगमा अवसर दिलाउने नाममा निर्देशक तथा निर्मातासँग सम्झौता गर्न दबाब दिएको आरोप सार्वजनिक गरेकी थिइन्। पछिल्लो अन्तर्वार्तामा उनले वैवाहिक जीवनभर मानसिक, आर्थिक र शारीरिक पीडा भोग्नुपरेको दाबी दोहोर्याएकी छन्।

काभा पुरुष भलिबल : आज पाकिस्तानसँग भिड्दै नेपाल 

काठमाडौं। पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज प्रतियोगिताको तेस्रो खेलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ।

नेपाली टोली लगातार दुई हारपछि पहिलो जितको खोजीमा मैदान उत्रिँदै गर्दा पाकिस्तान भने अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।

नेपाल र पाकिस्तानबीचको खेल इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। यसअघि खेल अपराह्न ४:१५ बजेका लागि तय गरिएको भए पनि शुक्रबारको प्रार्थनाको समयलाई ध्यानमा राख्दै आयोजकले खेल तालिका परिवर्तन गरेको हो।

आजकै दिन प्रतियोगिताअन्तर्गत उज्वेकिस्तान र श्रीलंकाबीच पहिलो तथा बंगलादेश र काजकिस्तानबीच दोस्रो खेल पनि हुनेछ।

घरेलु समर्थकको साथ पाएको पाकिस्तान प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ। सुरुवाती दुवै खेल जित्दै उसले ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा आफूलाई बलियो बनाएको छ।

नेपालले भने हालसम्म खेलेका दुवै खेलमा हार बेहोरे पनि प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो। दुवै खेल पाँच सेटसम्म पुगेका थिए, तर निर्णायक क्षणमा चुकेपछि नेपाल जितबाट वञ्चित बनेको थियो।

आजको खेल नेपालका लागि प्रतियोगितामा पुनरागमन गर्ने अवसरका रूपमा हेरिएको छ।

बलियो पाकिस्तानविरुद्ध सकारात्मक नतिजा निकाल्न सके नेपालले आत्मविश्वासका साथै अंक तालिकामा पनि महत्वपूर्ण सुधार गर्नेछ।

…जब दिल्ली एयरपोर्टमा नाम कै कारण रोकिए अभिनेता नाजिर हुसेन

काठमाडौं। अभिनेता नाजिर हुसेनले भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई पटक-पटक छुट्टै सुरक्षा जाँचका लागि रोकिएको भन्दै त्यसको कारण सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

भारत भ्रमण सकेर नेपाल फर्किने क्रममा आफूलाई दोस्रो पटक पनि अलग कक्षमा लगेर सोधपुछ गरिएको अनुभव उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

नाजिर भारतस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नयाँदिल्ली पुगेका थिए। उक्त कार्यक्रममा उनको अभिनय रहेको नेपाली चलचित्र ‘गुन्यो चोलो’ को विशेष प्रदर्शन गरिएको थियो। कार्यक्रम सम्पन्न भएपछि नेपाल एयरलाइन्समार्फत काठमाडौं फर्किने क्रममा विमानस्थलमा आफूलाई अन्य यात्रुभन्दा अलग राखेर विस्तृत सोधपुछ गरिएको उनले बताएका छन्।

उनका अनुसार सोही यात्रामा निर्देशक समुद्र भट्ट र जनकदीप पराजुली पनि सँगै थिए। तर उनीहरूलाई कुनै अतिरिक्त जाँच नगरी सहज रूपमा अघि बढ्न दिइयो भने आफूलाई भने छुट्टै कक्षमा लगेर विभिन्न प्रश्न सोधिएको थियो।

नाजिरले सामाजिक सञ्जालमा लेखेअनुसार सुरक्षा अधिकारीहरूले ‘नेपाल किन जाँदै हुनुहुन्छ ?’, ‘तपाईंसँग कति पैसा छ ?’ लगायतका प्रश्न गरेका थिए। उनले आफू नेपाल फर्किरहेको, भारत भ्रमणको उद्देश्य चलचित्र प्रदर्शनमा सहभागी हुनु रहेको तथा आफूसँग भारतीय मुद्रा नरहेको स्पष्ट रूपमा जानकारी गराएको बताएका छन्।

यद्यपि त्यसपछि पनि किन आफूलाई अलग राखेर जाँच गरिएको भन्ने प्रश्न गर्दा सुरक्षा अधिकारीबाट स्पष्ट जवाफ नपाएको उनको गुनासो छ। उनका अनुसार अधिकारीहरूले ‘कोई बात नहीं’ भन्ने छोटो प्रतिक्रिया मात्रै दिएका थिए, जुन आफ्नो प्रश्नको उत्तर हुन नसक्ने उनको भनाइ छ।

नाजिरले यदि आफ्नो पूरा नाम  ‘मोहम्मद नाजिर हुसेन’ भएकै कारण प्रत्येक पटक अतिरिक्त सुरक्षा जाँचको सामना गर्नुपरेको हो भने त्यो स्वीकार्य नहुने बताएका छन्। यदि त्यसो होइन भने वास्तविक कारण सार्वजनिक गरिनुपर्ने उनको माग छ।

उनले राहदानी स्क्यान गरेपछि यात्रुको विवरण प्रणालीमा देखिने भएकाले कुनै विशेष कारण नभई एउटै व्यक्तिलाई पटक-पटक अलग राखेर सोधपुछ गर्नु उचित नहुने धारणा व्यक्त गरेका छन्।

उनका अनुसार यसअघि पनि यस्तै अनुभव भएको थियो। पहिलो पटक सामान्य प्रक्रिया ठानेर बेवास्ता गरे पनि दोस्रो पटक उस्तै व्यवहार दोहोरिएपछि आफूले सार्वजनिक रूपमा प्रश्न उठाउन आवश्यक ठानेको बताएका छन्।

नाजिरको यो अनुभव सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केहीले अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच सम्बन्धित देशको आन्तरिक प्रक्रिया हुने टिप्पणी गरेका छन् भने कतिपयले कुनै पनि यात्रुलाई स्पष्ट कारण नदिई पटक–पटक छुट्टै जाँच गर्नु पारदर्शिताको दृष्टिले उचित नहुने बताएका छन्।

यस विषयमा भारतीय विमानस्थल प्रशासन वा सम्बन्धित सुरक्षा निकायले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।

उनको पोस्ट :

सुर्खेतमा ग्यास छैन ?

काठमाडौं। नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगर क्षेत्रमा एलपी ग्यासको अभाव नभएको स्पष्ट पारेको छ। निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रूपमा आयात भइरहेकाले बजारमा ग्यास सकिएको भन्ने हल्लामा सत्यता छैन।

निगमले पछिल्लो समय ग्यास अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय गर्न थालेपछि वितरण प्रणालीमा केही दबाब देखिएको जनाएको छ। यही कारण केही स्थानमा असहज अवस्था देखिए पनि वास्तविक रूपमा आपूर्ति प्रणाली नियमित रहेको निगमको भनाइ छ।

नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपककुमार घिमिरेका अनुसार उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन ‘एक व्यक्ति, एक सिलिन्डर’ व्यवस्था लागू गरिएको छ। अधिकृत बिक्रेतामार्फत विभिन्न कम्पनीका १४.२ केजी क्षमताका दुई हजार ९२२ वटा एलपी ग्यास सिलिन्डर प्रतिगोटा दुई हजार ६० रुपैयाँमा बिक्री–वितरण गरिने उनले जानकारी दिए।

त्यसैगरी नेपाल ग्यासका थप ३२० वटा सिलिन्डर वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको न्यू जानकी ट्रेड एण्ड सप्लायर्समार्फत वितरण गरिने निगमले जनाएको छ।

निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गर्दै अधिकृत बिक्रेताबाट मात्रै ग्यास खरिद गर्न अनुरोध गरेको छ। साथै तोकिएको मूल्यभन्दा बढी रकम असुलेको, मौज्दात हुँदाहुँदै ग्यास बिक्री नगरेको वा अनधिकृत रूपमा ग्यास सञ्चय गरेको पाइएमा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन पनि आग्रह गरिएको छ।

निगमका अनुसार आपूर्ति प्रणाली नियमित रहेकाले उपभोक्ताले हल्लाको पछि नलागी आवश्यकताअनुसार मात्रै ग्यास खरिद गरे बजारमा सहज वितरण कायम रहनेछ।

‘आइ एम विथ डा. केसी’ भन्नेहरू सरकारमा छन् 

काठमाडौं। नेपालको चिकित्सा शिक्षा सुधार आन्दोलनको चर्चा हुँदा अग्रपंक्तिमा आउने नाम हो- डा. गोविन्द केसी। 

एक जना अस्थिरोग विशेषज्ञका रूपमा चिकित्सा सेवा दिँदै आएका उनले करिब डेढ दशकदेखि चिकित्सा शिक्षा, सार्वजनिक स्वास्थ्य सेवा र सुशासनका लागि गरेको संघर्ष नेपाली राजनीतिक इतिहासकै सबैभन्दा लामो र प्रभावशाली नागरिक आन्दोलनमध्ये एक बनेको छ।

अहिले डा. केसी २४औँ सत्याग्रहमा छन्। कैलालीको धनगढीबाट सुरु गरेको उनको पछिल्लो अनशनले फेरि एकपटक सरकारमाथि दबाब सिर्जना गरेको छ। तर यसपटकको आन्दोलन विगतका अनशनभन्दा फरक छ। किनभने अघिल्ला सरकारलाई डा. केसीका माग पूरा गर्न दबाब दिने, सामाजिक सञ्जालमा ‘आइ एम विथ डा. केसी’ लेख्ने र सडक आन्दोलनमा सहभागी हुने धेरै व्यक्ति अहिले स्वयं सरकारको नेतृत्व गरिरहेका छन्।

त्यसैले अहिले बहस केवल डा. केसीका पाँच बुँदे मागमा सीमित छैन। विपक्षमा हुँदा बोलेका कुरा सत्तामा पुगेपछि पनि व्यवहारमा लागू हुन्छन् कि हुँदैनन् ? बहसको केन्द्रमा एउटा गम्भीर प्रश्न खडा भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ अस्थिरोग विशेषज्ञ डा. गोविन्द केसीले वि.सं. २०६९ मा पहिलोपटक आमरण अनशन सुरु गरेका थिए। त्यसबेला उनको मुख्य उद्देश्य चिकित्सा शिक्षामा बढ्दो राजनीतिक हस्तक्षेप रोक्ने, निजी मेडिकल कलेजको अनियन्त्रित विस्तार नियन्त्रण गर्ने र चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउने थियो।

पछि उनका मागहरू थप व्यापक बन्दै गए। सरकारी अस्पताल सुदृढीकरण, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, चिकित्सा शिक्षा आयोगको प्रभावकारी कार्यान्वयन, मेडिकल कलेजको नियमन, स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रण, योग्यताका आधारमा नियुक्ति र जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने विषय उनले निरन्तर उठाउँदै आए।

पटक-पटक अनशन, सरकारसँग वार्ता, सहमति र त्यसपछि कार्यान्वयन नहुँदा फेरि आन्दोलन विगत एक दशकभन्दा बढी समयदेखि यही क्रम दोहोरिँदै आएको छ।

डा. केसीको आन्दोलन सुरु भएयता नेपालमा धेरै सरकार बने र परिवर्तन भए। प्रधानमन्त्री फेरिए, मन्त्री फेरिए, गठबन्धन फेरिए। तर उनले उठाएका धेरै मुद्दा अझै समाधान हुन सकेका छैनन्।

हरेक सरकारले आन्दोलन चर्किएपछि वार्ता टोली गठन गर्‍यो। सहमति गर्‍यो र अनशन अन्त्य गरायो। तर अधिकांश सहमति कार्यान्वयनमा ढिलाइ भयो। यही कारण डा. केसी बारम्बार सत्याग्रहमा फर्किएका हुन्।

यसपटकको आन्दोलनको सबैभन्दा ठूलो विशेषता भनेको सरकारको नेतृत्वमा रहेका धेरै व्यक्तिहरू विगतमा डा. केसीका समर्थक हुनु हो भन्दा फरक नपर्ला ।

प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले सन् २०२० मा सामाजिक सञ्जालमा ‘आइ एम विथ डा. केसी’ लेख्दै तत्कालीन सरकारको आलोचना गरेका थिए। उनले डा. केसीप्रति राज्यले देखाएको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए।

अहिले त्यही पोस्ट फेरि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरैले प्रधानमन्त्रीलाई आफ्नै पुरानो अभिव्यक्ति सम्झाउँदै अहिले सरकारले के गर्छ भनेर प्रश्न गरिरहेका छन्।

वर्तमान शिक्षामन्त्री सस्मित पोखरेल पनि डा. केसीको आन्दोलनमा खुलेर सहभागी हुने नेतामध्ये एक थिए।

उनले त्यतिबेला सरकार मन्त्री थप्न व्यस्त रहेको तर जनताको स्वास्थ्यप्रति बेवास्ता गरेको आरोप लगाउँदै ‘डा. केसीको माग पूरा गर’ अभियान चलाएका थिए।

आज उनी आफैं मन्त्रिपरिषद्का सदस्य छन्। त्यसैले विगतमा उठाएका माग कार्यान्वयन गर्ने जिम्मेवारी अहिले उनैसँग पनि जोडिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बम डा. केसीको अभियानमा प्रत्यक्ष सहभागी भएका थिए। उनले डा. केसीको मागपत्र स्वास्थ्य मन्त्रालयसम्म पुर्‍याएका थिए।

सांसद दीपक बोहराले पनि सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब दिन आग्रह गर्दै डा. केसीको माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए।

सांसद राजीव खत्रीले सार्वजनिक खर्च कटौती र सुशासनको पक्षमा आवाज उठाउँदै सांसद र राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा हटाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

डा. गोविन्द केसीले उठाउने मुद्दा कुनै दल वा व्यक्तिविरुद्ध होइन। उनका अधिकांश माग स्वास्थ्य सेवा सुधार, चिकित्सा शिक्षामा पारदर्शिता, सरकारी अस्पतालको सुदृढीकरण र जनताको स्वास्थ्य अधिकारसँग सम्बन्धित छन्।

आज पनि दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव, सरकारी अस्पतालको कमजोर अवस्था, निजी स्वास्थ्य सेवाको बढ्दो व्यापारिकरण र चिकित्सा शिक्षाको महँगो लागत जस्ता समस्या उस्तै छन्। त्यसैले उनका धेरै माग अझै सान्दर्भिक मानिन्छन्।

२४औँ सत्याग्रहले वर्तमान सरकारलाई  पाँच बुँदे मागको सामना गराएको छैन, आफ्नै विगतसँग पनि आमनेसामने बनाएको छ।

विपक्षमा हुँदा ‘आइ एम विथ डा. केसी’ लेख्ने, सडकमा उत्रिने र सरकारको आलोचना गर्ने नेताहरू अहिले निर्णय गर्ने ठाउँमा छन्। अब बालेन नेतृत्वको सरकारले के गर्छ त्यो भने हेर्न बाँकी नै छ।