`

नेकपामा राजनीतिक यात्रा थाल्दै मुस्कान खातुनले भनिन्, ‘अनुहार जले पनि, सपना जलेको छैन’

काठमाडौं । तेजाब आक्रमणविरुद्धको अभियान चलाएर चिनिएकी र मानवअधिकारकर्मीका रूपमा सक्रिय मुस्कान खातुन अब औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् । राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एकता घोषणा कार्यक्रममा सहभागी हुँदै उनले आफ्नो व्यक्तिगत पीडा, पाँच वर्ष लामो संघर्ष र नयाँ राजनीतिक यात्राबारे खुलेर धारणा सार्वजनिक गरिन् ।

सम्बोधनको सुरुमै उनले आफ्नै जीवनको अत्यन्त पीडादायी अध्याय स्मरण गरिन्—तेजाब आक्रमण । तर त्यो घटनाले आफूलाई रोक्न नसकेको उनको दृढ आवाज सबैको ध्यान खिच्ने खालको थियो । ‘जसले मलाई तेजाब आक्रमण गरेको थियो, उसले मेरो अनुहार जलाएको छ’, मुस्कानले भनिन्, ‘तर मेरो सपना कहिल्यै जलेको छैन ।’

उनका अनुसार देशमा उनीजस्तै धेरै दिदीबहिनीहरू विभिन्न रूपका हिंसाबाट पीडित छन् । तेजाब आक्रमण अन्त्य गर्न पाँच वर्ष निरन्तर लडिरहँदा आफू सफल भएको बताउँदै उनले भनिन्, ‘तेजाब आक्रमण मात्रै हिंसा होइन, देशभरि नदेखिएका धेरै हिंसाहरू छन् । सबै खाले हिंसा अन्त्य गर्न अब हामी सबै एकजुट हुनुपर्छ ।’ युवा पुस्ता-विशेषगरी जेनजीतर्फ इंगित गर्दै मुस्कानले नयाँ पुस्ताको सोच, आकांक्षा र भोलिको नेपालको दिशाबारे बोलेकी थिइन् । ‘जेनजीले चाहेको देश प्रगति होस्, भ्रष्टाचार अन्त्य होस्’, उनले भनिन्, ‘त्यही चाहनाका साथ म आज नेकपामा जोडिएकी छु । हामी सबै एकताबद्ध हुन सके देश बदलिन्छ ।’

उनले भ्रष्टाचार, सामाजिक वैमनस्य र हिंसाको अन्त्य सम्भव छ भन्दै युवाहरूलाई पछाडि नफर्कन आग्रह गरिन् । राष्ट्रप्रतिको गर्वलाई जोड दिँदै उनले भनिन्, ‘हामी जहाँ गए पनि, सबैभन्दा पहिला हाम्रो पहिचान—हामी नेपाली। त्यसमा गर्व गर्न सक्नुपर्छ ।’ सम्बोधनको अन्त्यतिर उनले प्रचण्ड र माधवकुमार नेपाललाई धन्यवाद दिंदै भनिन्, ‘मलाई आक्रमण गर्नेले मेरो अनुहार जलायो । तर मेरो विश्वास, मेरो आवाज र मेरा सपना जलाउन सकेन । जेनजी, तपाईंहरूले चलाइरहनु भएको यो कदम कहिल्यै नरोक्नुस् । देश परिवर्तन हुन्छ ।’ मुस्कान खातुनको राजनीतिक प्रवेश केवल पार्टी परिवर्तन होइन, हिंसाबाट बाँचेर उठेको एउटी युवतीको दृढता, संघर्ष र आशाको निरन्तर यात्राको अर्को अध्याय बनेको छ ।

मुस्कानको सम्बोधन :

मेरो नाम मुस्कान खातनु हो । म तेजाब आक्रमणको अभियन्ता तथा मानव अधिकारकर्मी । आजभन्दा पाँच वर्षअघि मसँग तेजाब आक्रमण भएको थियो । यो हिंसालाई अन्त्य गर्नुपर्छ भनेर म पाँच वर्षसम्म लगातार लागिरहेँ । तेजाब आक्रमणलाई अन्त्य गर्न सफल पनि भएँ । तर मलाई के लाग्छ भने तेजाब आक्रमण मात्रै हिंसा होइन । यस्ता धेरैवटा हिंसा छ, जुन दिदीबहिनीले खेप्नुपरेको अवस्था छ । सम्पूर्ण प्रकारका हिंसालाई अन्त्य गर्न जरुरी छ । आज म जेनजी भएकाले सम्पूर्ण जेनजीको विचार बुझेको कुरा भन्न चाहन्छु ।

जेनजीले चाहेको हाम्रो देश प्रगति होस् । हाम्रो देशमा भएको भ्रयष्टाचारको अन्त्य होस् भन्ने चाहना छ । म नेपाली कम्युनिस्ट पार्टीमा म जोडिएको छु । सम्पूर्ण जेनजीलाई अनुरोध गर्छु कि हामी एकता हुन जरुरी छ । हामी एकता भयौं भने हाम्रो देश प्रगति हुनेछ । भ्रष्टाचारको अन्त्य हुनेछ । अवश्य पनि भ्वाइलेन्सको पनि अन्त्य हुनेछ । हामी एकजुट भएर काम गरौं । देशका लागि बाचौं, देशका लागि मरौं । म नेपाली भएर कारणले गर्दा सबैभन्दा पहिला चिनिने हाम्रो देश हो । हामी नेपाली हुँ भनेर गर्व गर्न जरुरी छ । माटोलाई पहिचान गर्न जरुरी छ । जुनसुकै देशमा भए पनि म नेपाली हुँ भनेर प्राउड फि गर्न जरुरी छ । त्यसैगरी यहाँ हाम्रो उपस्थित हुनुभएका प्रचण्ड, माधव कुमार नेपालज्यूलाई धेरै धेरै धन्यवाद । जाँदाजाँदै के भन्न चाहन्छु भने, जसले मलाइ तेजाब आक्रमण गरेको थियो । उसले मेरो अनुहार जलाएको छ, मेरो सपना जलाएको छैन । सम्पूर्ण जेनजीलाई के भन्न चाहन्छु भने जसरी अघि आउनुभएको छ, यो पाइला पछि नपार्नुहोला । अवश्य पनि देश परिवर्तन हुनेछ ।

काठमाडौं महानगरले भत्कायो बल्खुस्थित अव्यवस्थित अस्थायी टहरा (तस्बिरहरु)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा नं. १४ बल्खुस्थित अव्यवस्थित टहरा भत्काएको छ ।

बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढीपीडित सुकुम्वासीहरूले बनाएका अस्थायी टहराहरू भत्काएको हो ।

प्रभावित परिवारहरूले भने बस्ती फर्कने व्यवस्था नभएकाले यो कदम अन्यायपूर्ण भएको बताएका छन् । महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए । विद्यालय सञ्चालनमा बाधा पु¥याइरहेका थिए । यो घटना महानगरपालिकाको अनधिकृत संरचना हटाउने निरन्तर अभियानको हिस्सा हो ।

अनुप प्रधान: न्युज एजेन्सी नेपाल

चुनावमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौं । निर्वाचन सुरक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले एक विज्ञप्ति जारी गर्दै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सेना परिचालनको स्वीकृति दिइएको हो । मंसिर ८ गते मन्त्रिपरिषद् बैठकले निर्वाचनलक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

पोखराले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दैछ । एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । जनकपुरले बलिङको निम्तो पाएको छ । पोखरा एभेन्जर्सले आज एक परिवर्तन गरेको छ । अभिषेक तिवारीको स्थानमा तृतराज दास पहिलो रोजाइमा परेका छन् ।

जनकपुरले भने आज तीन परिवर्तन गरेको छ । लाहिरु मिलान्था, संगिथ कुरे र आदित्य महताको स्थानमा आज वाने माज सादाकत, वायने पार्नेल र शुभ कंसाकार पहिलो रोजाइमा खेल्दै छन् । यी दुवै टोलीले यसअघि दुई-दुई खेल खेलेका छन् । दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।

पोखरा एभेन्जर्सको टोली– कुशल भुर्तेल, दिनेश खरेल, किरण ठगुन्ना, सागर ढकाल, आकाश चन्द, विपिन खत्री, तृतराज दास, सुमित वर्मा, एडम रोसिङटन, डेनियल डाउथवेट र जिम्मी निसम ।

जनकपुर बोल्ट्सको टोली – अनिलकुमार शाह, आशिफ शेख, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, मयन यादव, आदित्य महतो, रुपेशकुमार सिंह, वायने प्रनिल, माज सदाकत, जान निकोल लफ्टी–इटोन र संजय कृष्णमूर्ति ।

मुस्कान खातुन नेकपामा प्रवेश, केन्द्रीय सदस्यको जिम्मेवारी

काठमाडौं । मुस्कान खातुन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छिन् । राष्ट्रिय सभागृहमा आज (बिहीबार) आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेकी हुन् । त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोककुमार यादव पनि पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले स्वागत गरेका छन् । उनलाई पार्टीले केन्द्रीय समिति सदस्य पनि बनाउने निर्णय गरेको छ । सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराएका छन् ।

वीरगञ्जकी मुस्कान ०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि निको भएर सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आई.डब्ल्यू.ओ.सी.) सम्मान प्रदान गरेको थियो । राष्ट्रिय सभागृहको कार्यक्रमबाट अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, वीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम पनि समाहित भएका छन् ।

पूर्व सभामुख महरालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश भएको छ । उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यसअघि जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ मा पक्राउ गरेको थियो ।

त्यस्तै असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उच्चले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा पठाउने गरी भएको जिल्लाको आदेश नमिलेको भन्दै बदर गरिदिएको हो ।
गत वर्षको ९ चैतमा उनलाइ जिल्ला सरकारी वकिलको कार्यलयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर आरोपित महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्व सभामुख महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उच्चले महरामाथि लागेको अभियोग दाबी तथा संकलित सबूत प्रमाण, उमेर र स्वास्थ्य अवस्था समेतलाई मध्यनजर गर्दै पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै २० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत वा बैंक जमानत लिएर धरौटीमा छाड्न आदेश दिएको हो ।

 

एकीकृत समाजवादी र माओवादीको एकता अराजनीतिक, चार टुक्रा हुन्छन् : घनश्याम भूसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानमा लागेका नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच भएको एकतालाई अराजनीतिक र असैद्धान्तिक भएको आरोप लगाएका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भूसालले एमालेबाट अलग भएको औचित्य पुष्टि नहुँदै माओवादीसँगको एकता केवल अवसरवादमा आधारित भएको स्पष्ट पारे ।

भूसालले भने, ‘यो एकता कतातिर गयो भन्दाखेरि एमालेभन्दा बाहिर अर्को शक्ति छ, ध्रुव छ भनेर देखाउने र त्यसपछि त्यही एमाले वा कांग्रेससँग बार्गेनिङ गर्ने, सत्ताका लागि सौदेबाजी गर्ने र केही नेताहरूको उम्मेदवारी सुनिश्चित गर्ने बाहेक यसको कुनै राजनीतिक आधार छैन।’ उनले सत्ताको मोह र केही नेताका कुर्सी सुरक्षित गर्ने उद्देश्यले मात्रै एकता गरिएको आरोप लगाए ।

नेता भूसालले पार्टीभित्र सैद्धान्तिक र वैचारिक बहस सुरु भए तत्काल नेकपा चार टुक्रा हुने चेतावनी दिए । उनले भने, ‘अब हाम्रो क्रान्तिको बाटो के हो, बहुदलीय जनवाद, महाकाली सन्धि, एमसीसी जस्ता विषयमा छलफल सुरु भए दल विभाजन हुनसक्छ । हिजो एमालेभित्र उठेका सैद्धान्तिक प्रश्न आज एकीकृत समाजवादीमा पनि उस्तै बल्झिएका छन्, र त्यहाँ पनि बहसमा कुरा मिल्दैन ।’ भूसालले प्रचण्ड र माधव नेपालबीचको एकता केवल गिरोह पालेर सत्ता दोहन गर्ने मोहका कारण सम्भव भएको बताए । उनले दलको नेतृत्वलाई वास्तविक क्रान्तिकारी दिशा दिने अवसर गुमेको र आफूहरू अल्पमतमा परेर बहसमा सहभागी हुन नसकेको बताए ।

उनले पार्टीमा रहेको बहुमत संरचनालाई पनि प्रश्न गर्दै, नेताले जतिसुकै ठूलो अपराध गरे पनि बहुमतमा रहने प्रवृत्ति पार्टीको कमजोरी भएको औंल्याए । भूसालको निष्कर्ष अनुसार, नेकपा एकीकृत समाजवादी–माओवादी केन्द्रबीचको एकता टिकाउन नेतृत्वले वैचारिक वा सैद्धान्तिक बहस नगर्ने सहमति बनाएको हुनसक्छ, जसले गर्दा चुनाव र उम्मेदवारी जस्ता सीमित मुद्दा बाहेक अन्य कुनै चर्चा सम्भव छैन । यसबाट स्पष्ट हुन्छ कि भूसालको दृष्टिमा, वर्तमान एकता दीर्घकालीन स्थायित्व वा वैचारिक मजबुतीका लागि नभई केवल सत्तासम्बन्धी रणनीति र व्यक्तिगत हितमा आधारित छ ।

नेकपासँग चार दल समाहित, यस्ता छन् १० बुँदे सहमति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी, एकीकरण पक्षधर समूहबीच पार्टी एकताको भएको छ । त्यसअघि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र जसपाको एकीकरण पक्षधरका नेता राजेन्द्र प्रसाद श्रेष्ठबीच पार्टी एकताको १० बुँदे सहमति भएको थियो ।

नेपाली कम्युनिष्ट पार्टीमा आज जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबीच एकता घोषणा भएको हो । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । जसपासहित ४ घटकबीचको एकता सभा अहिले जारी छ ।
हेर्नुस् सहमति

 

 

जेन–जी आन्दोलन : अपराधिक कार्यमा संलग्न ५९५ जना पक्राउ, २८३ विरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा लुटिएका हातहतियार फिर्ता ल्याउन देशभर ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताएका छन् । बिहीवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री अयर्नलले यस्तो बताएका हुन् । उनकाअनुसार हालसम्म आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ थान हतियार बरामद गरिएको छ । उनले जेन–जी आन्दोलनका क्रममा जेल ब्रेक गरी भागेका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइएको पनि बताए ।

बाँकी ४ हजार ८सय ५७ फरार कैदीको खोजीका लागि विशेष अपरेशन प्रक्रिया जारी रहेको पनि बताए । उनले जेन–जी आन्दोलनको क्रममा अपराधिक घटनामा संलग्न ५ सय ९५ जनालाई पक्राउ गरिएकोमा २ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको पनि बताए । उनले आगामी आम निर्वाचनमा सुरक्षाका लागि सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भइसकेको जानकारी समेत गराए । उनले सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन हुँदै आएको पनि बताए । सुरक्षा निकायहरुको सुदृढीकरणका लागि आवश्यक उपकरण र सवारी साधन किन्न स्रोत सुनिश्चित गरिएको बताउँदै उनले नेपाल प्रहरीका लागि २ सय ६२ सवारी, सशस्त्र प्रहरीका लागि १ सय ९९ र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ सवारी खरिद प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे ।

उनले भने, ‘हराएका हातहतियार तथा खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायहरुले सूचना आदानप्रदान गरी कार्ययोजना बनाइ संयुक्त रुपमा प्रभावकारी ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिई कार्यान्वयन गरिएको छ । हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइएको छ । जेन–जी आन्दोलनको क्रममा कारागार तथा बन्दीगृहबाट भागेका तथा फरार भएका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइसकिएको छ । बाँकी ४ हजार ८ सय ५७ जनालाई फिर्ता ल्याउन विषेश अपरेशन सञ्चालन गरिएको छ । भाद्र २३ र २४ गतेको घट्नासँग सम्बन्धीत अपराधमा संलग्नमध्ये कुल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको अवस्था छ ।’

उनले भने, ‘अगामी निर्वाचन प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेना परिचालनको लागि सेना परिचालन गर्न लेखि पठाइ राष्ट्रि सुरक्षा परिषद्बाट निर्णय समेत भइसकेको अवस्था छ । जिल्लागत र प्रदेशगत सुरक्षा चुनौती तथा अवस्थाको जानकारीका साथै सुरक्षा तयारीका लागि सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने, केन्द्रीय सुरक्षा समितिको निर्णयबमोजिम लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न समेत भइसकेको छ ।’

गृहमन्त्री अर्यालले थपे, ‘बाँकी प्रदेशहरुमा पनि पुसभित्र सम्पन्न गर्नेगरी तयारी भइरहेको अवस्था छ । निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढिकरणको लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट १ सय ५६ वटा र थप बजेटबाट १ सय ६ वटा गरी कुल २ सय ६२ थान सवारी तथा सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट ५९ र थप बजेटबाट ५० वटा गरी कुल १ सय ९ सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप ६ वटा सवारी खरिदको लाग स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अगाडि बढाइएको छ ।’ उनले प्रतिनिधि सभा सदस्य निर्वाचन घोषित मितिमा सम्पन्न गर्न सरकार कटिवद्ध रहेको पनि बताएका छन् ।

 

 

 

‘मंगेतर’ को बचाउ गर्दै साम्राज्ञीले भनिन्–छोरा भए पनि विशालको विवाह भएको छैन

काठमाडौं । कलाकार तथा मोडेल विशाल खरेलसँगको ‘इन्गेजमेन्ट’ का कारण विवाद र आलोचनामा परेकी चर्चित अभिनेत्री साम्राज्ञी शाहले आफ्नो सम्बन्धको बचाउ गर्दै मुख खोलेकी छन् । दुई वर्षको बच्चाको बुवासँग इन्गेजमेन्ट गरेको भन्दै आलोचना खेपिरहेकी उनले सामाजिक सञ्जालमा एउटा पोष्ट गर्दै खरेलसँग इन्गेजमेन्ट गरेकोमा कुनै पछुतो नरहेको स्पष्ट पारेकी छिन् ।

‘मंगेतर’ पछि आफूहरू कानुनी रूपमा बलियो बनेको जनाउँदै उनले इन्गेजमेन्ट गरेकोमा कुनै पछुतो नभएको बताएकी छन् । विशालको विवाह नभएको दाबी गर्दै उनले प्रेमिकासँगको सम्बन्धबाट बच्चा जन्मिएको बताएकी छन् । उनले भनेकी छन्, ‘अर्को कुरा, उनले मलाई स्पष्टै भनेका थिए कि उनको एक्स–गर्लफ्रेण्डसँगको एउटा छोरा छ । उनीहरूको कहिल्यै विवाह भएको थिएन ।’ प्रेमिकासँगको सम्बन्धबाट बच्चा जन्मिएकाले उनीहरूको सम्बन्ध विच्छेद हुन आवश्यक नरहेको साम्राज्ञीले तर्क गरेकी छन् ।

उनले भनेकी छन्, ‘तपाईंहरू सधैं प्रमाण बिना नै सबैभन्दा नराम्रो कुरा मात्रै विश्वास गर्नु हुन्छ । भावनात्मक रूपमा कुरालाई अन्तै मोड्नु हुन्छ, जुन म बुझ्छु । तर तपाईंहरूले सार्वजनिक रूपमा पुर्‍याएको क्षति के ? झुटमाथि झुट ?’ आफू र आफ्नो ‘मंगेतर’ माथिको प्रहार बन्द गर्न आग्रह गर्दै साम्राज्ञीले अहिले पनि विशालले पूर्व प्रेमिकाबाट मानसिक रूपमा तनाव खेपिरहेको दाबी गरेकी छन् । अहिले पनि विशाललाई उनले ब्ल्याकमेल गर्ने गरेको साम्राज्ञीको भनाइ छ । विशालले भने साम्राज्ञी र उनको पूर्व प्रेमिकाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

 

 

बिनोदको अर्धशतकमा सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनीको तेस्रो हार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स विरुद्ध जित निकालेको छ ।

जारी सिजनमा सुदूरपश्चिको अपराजित यात्रा कायमै रहेको छ । यस टिमले अघिल्ला तीन खेलमा कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई हराएको थियो । अहिलेको अवस्थामा शत प्रतिशत जित निकाल्ने सुदूरपश्चिचम यस सिजनको एकल टिम हो ।

लुम्बिनीको यो तेस्रो हार हो । अघिल्ला तीन खेलमा लुम्बिनीले काठमाडौं र काठमाडौंलाई हराएको थियो भने चितवन राइनोजसँग जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट भएको बिहीबारको पहिलो खेलमा लुम्बिनी ७ विकेटले पराजित भएको हो । टस जितेर १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १४५ रन बनायो ।

सुदूरपश्चिमको जितका लागि ओपनर बिनोद भण्डारीको ब्याटिङ निर्णायक बन्यो । उनले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजीत ६९ रन जोडे । उनी नै यस इनिङमा सुदूरपश्चिमबाट सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । उनको नाममा सिजनको १२ औं अर्धशतक दर्ज भएको छ ।

सुदूरपश्चिका ओपनर जोश ब्राउन ब्याटिङका चलेन । उनी ९ रन बनाएर दोस्रो ओभरको दोस्रो बलमा आउट भए ।

चौथो ओभरको पाँचौँ बलमा लुम्बिनीले सुदूरपश्चिमको दोस्रो विकेटका रुपमा क्रिस लिनलाई आउट गर्‍यो । क्रिसले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा १६ रन जोडे । उनी चौथो ओभरको पाँचौँ बलमा आउट भए ।

लुम्बिनीले तेस्रो विकेट लिन निकै संघर्ष गर्‍यो । दोस्रो विकेट झरेपछि १३ ओभरको संघर्षपछि सुदूरपश्चिमले तेस्रो विकेटका रुपमा आरिफ शेखलाई आउट गर्‍यो । आरिफले ३७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन जोडे ।

तेस्रो विकेटको साझेदारी लुम्बिनीका लागि महँगो साबित भयो । यस विकेटका लागि सुदूरपश्चिमका विनोद र आरिफले ९९ रनको साझेदारी गरे ।

परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सुरक्षा र सामाजिक न्यायबीचको अपरिहार्य सम्बन्धमा जोड दिँदै परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छन् । आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल जस्तो विकासशील मुलुकमा सामाजिक सुरक्षा प्रणालीलाई अन्तरपुस्ता लागत सन्तुलन र समानतामूलक बनाउन योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले यस विषयमा थप स्पष्ट गर्दै भनिन्, ‘मेरो न्याय क्षेत्रमा लामो समय काम गरेको अनुभवले सामाजिक न्यायको महत्त्व झन् प्रष्ट पार्दछ, तर मेरो नयाँ भूमिकाको जिम्मेवारी हेर्दा बुझ्नुपर्‍यो कि परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय हासिल गर्न सकिँदैन।’
उनले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को सफल कार्यान्वयनबाट हरेक नागरिकलाई स्वदेशमै श्रम गरेर जीविकोपार्जन गर्ने वातावरण निर्माण हुने र यसले समग्र उत्पादनमूलक क्षमता अभिवृद्धि गर्ने आधार तयार पार्ने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षालाई समाजिक ऐक्यबद्धताको आधारमा हेर्नुपर्नेमा जोड दिँदै कार्कीले यस प्रणालीले धनीले गरीबलाई, निरोगीले रोगीलाई संरचित र न्यायोचित तरिकाले सहयोग गर्न सक्ने वातावरण बनाउने बताइन् । उनले कि ऐनको त्रिपक्षीय संयोजनबाट हरेक वर्गको सहभागिता सुनिश्चित गरी सामाजिक सुरक्षा प्रणालीलाई दीगो र सक्षम बनाउने सम्भावना रहेको बताइन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले संघीय सरकारका मन्त्रीहरुसँग छलफल भइरहेको जानकारी दिइन् ।

उनले औपचारिक क्षेत्रका अनिवार्य आवद्धता, अनौपचारिक क्षेत्रमा कानूनी योगदान, सरकारी करार कर्मचारीको कोषमा आवद्धता र कोषको रकमको न्यायोचित प्रयोगलगायत विषयमा स्पष्ट दिशा दिने आवश्यकतामा जोड दिइन् । निजी क्षेत्रका रोजगारदातालाई पनि सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन आग्रह गर्दै उनले प्रत्येक श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम राष्ट्र निर्माण र सार्थक लगानीमा प्रयोग गर्नुपर्ने बताइन् । यसरी मात्र कोषको दैनिकी बढ्दै जाँदा त्यसलाई प्रभावकारी ढङ्गले राष्ट्र निर्माणमा उपयोग गर्न सकिने उनको भनाइ थियो । प्रधानमन्त्री कार्कीको सम्बोधनले नेपालको सामाजिक सुरक्षा प्रणालीलाई थप दिगो, समावेशी र उत्पादनमुखी बनाउने दिशामा नयाँ ऊर्जा प्रदान गरेको छ । यसले नागरिकको राज्यप्रति अपनत्व र सामाजिक न्यायको अनुभूति बढाउने अपेक्षा गरिएको छ ।

 

सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको रकम सही ठाउँमा लगानी गरौं : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरुमा परिचालन गर्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रुपमा सदुपयोग नभएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

उनकाअनुसार लगानी गर्नका लागि कार्यविधि बाधक भए त्यसलाई सच्चाउनु पर्छ । कोषले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेसम्म त्यसको अर्थ नरहने ढकालको भनाइ रहेको छ । ढकालले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरु अझै पनि धेरै सामाजिक सुरक्षाको दायरामा रहेको भन्दै तिनलाई तत्काल समेट्न आग्रह गरे । उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । ढकालकाअनुसार साना तथा मझौला उद्योगहरुलाई सरकारको तर्फबाट सहुलियत दिएर त्यहाँ काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु पर्छ ।

महासंघ अध्यक्ष ढकालले भने, ‘अहिले वास्तवमा सबै पैसा चाहे फिक्समा भनौं चाहे विभिन्न बन्डमा राख्ने गरिएको छ । यसलाई रोजगारी सिर्जना गर्ने र अवसर भएको उत्पादनमुलक क्षेत्रमा लगानी गरेर आम्दानी बढाउनु पर्छ । अहिलेको पोलिसि जुन छ, त्यो बाधक पनि रहेको छ। यसलाई परिवर्तन गर्नुपर्छ ।’ औद्योगिक क्षेत्र, ट्रेड युनियन मजदुरबीचमा असल श्रम सम्बन्ध कायम गर्दै औद्योगिक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालकाअनुसार श्रमिकको कल्याणका लागि कोषसँग निजी क्षेत्र सहकार्यका लागि तयार रहेको छ । असल सुमधुर सम्बन्ध कायम गर्न उद्योग वाणिज्य महासंघ तयार रहेको उनको भनाइ छ ।

 

विशेष महाधिवेशन पक्षधरको चेतावनी : अविश्वसनीय कार्यतालिकाले रोकिन्न, चुनावमा जान सकिँदैन

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पार्टीको वर्तमान नेतृत्वलाई चुनाव अघि विशेष महाधिवेशन नगरी अघि बढ्न नहुने चेतावनी दिएका छन् । उनीहरूले पार्टी विधान र जनअपेक्षाको पालना नगरी निर्णय लिन नसक्ने नेतृत्व लिएर चुनावमा जाने अवस्था अस्वीकार्य भएको बताएका छन् ।

विशेष महाधिवेशन पक्षधरको भनाइ अनुसार, पार्टीमा आउने नियमित महाधिवेशनको कार्यतालिका विशेष महाधिवेशनको मागलाई कमजोर बनाउन प्रयोग गरिएमा त्यो स्वीकार्य हुने छैन । उनीहरूले स्पष्ट पारेका छन् कि वर्तमान कार्यसमितिको समयावधि बढाइएर नियमित महाधिवेशन सम्पन्न भए मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ । नत्र, पार्टी विधानले दिएको वैधानिक अधिकार—विशेष महाधिवेशन—कसैले रोक्न वा अतिक्रमण गर्न सक्दैन ।

पक्षधरहरूले महाधिवेशनको कार्यतालिका मात्र नभई यसको सुनिश्चितता खोजेको बताएका छन् । उनीहरूका अनुसार, ‘हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं ।’ पार्टी विधान अनुसार विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र अनिवार्य रूपमा आह्वान गर्नुपर्ने अवस्था रहेको छ।

नेता देवराज चालिसेले पत्रकार सम्मेलनमा भने, ‘विधानभन्दा माथि कोही छैन । पार्टीका नेता–कार्यकर्ताको मनोबल उकास्ने नेतृत्व लिएर मात्रै चुनावमा जान सकिन्छ । हामीले पार्टीको संरचनागत सुधार गर्ने गरी विशेष महाधिवेशन माग गरेका हौं ।’ उनले अहिलेको नेतृत्व डेढ महिनादेखि निर्णय गर्न नसकेको उल्लेख गर्दै यस्तो नेतृत्वसँग चुनावमा जान नसकिने बताए । चालिसेले थपे, ‘महाधिवेशन समयमै सम्पन्न नभएमा पार्टी कमजोर हुन्छ । समयमै विशेष महाधिवेशन गरेर जनअपेक्षाको नीति अख्तियार गर्दै बलियो र सच्चिएको कांग्रेस लिएर चुनावमा जानुपर्नेछ ।’ उनले पार्टीको केन्द्रीय नेतृत्वले विधान पालना नगरेको आरोप पनि लगाए ।

विशेष महाधिवेशन पक्षधरले वर्तमान नेतृत्वलाई यस विषयमा गम्भीर हुन आग्रह गर्दै, ‘दुई दिनमा गर्न सकिने निर्णय डेढ महिनासम्म गर्न नसक्ने नेतृत्व सक्षम नेतृत्व होइन। यही कारणले विशेष महाधिवेशनको महसुस भइरहेको छ । हस्ताक्षरकर्ताको विषयमा छलफल गरी विशेष महाधिवेशन बोलाउनु पर्छ’, भनि वक्तव्यमा उल्लेख गरेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि विशेष वा नियमित महाधिवेशनको निर्णयमा अलमल गरिरहेको छ । करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग अघि सारेको भए पनि नेतृत्वले बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरिएको छ । पक्षधरहरूले चेतावनी दिएका छन् कि निर्णय गर्न नसक्ने वर्तमान नेतृत्व लिएर चुनावमा जानु पार्टीको हित र लोकतन्त्रको हित विपरीत हुनेछ । यसैबीच पार्टीमा लामो समयदेखि देखिएको अन्योल र निर्णयहिनताले कांग्रेसलाई गम्भीर संकटको मोडमा पुर्‍याएको आरोप पनि उनीहरूले लगाएका छन् ।

हेर्नुस् विज्ञप्ती

 

 

घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकताको सहमति, चुनाव चिन्ह हँसिया

काठमाडौं । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) औपचारिक रूपमा एकीकृत भएका छन् । दुवै पक्षका शीर्ष नेताहरूले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी गठन तथा आगामी राजनीतिक अभियानबारे संयुक्त धारणा सार्वजनिक गरेका हुन् ।

सहमतिअनुसार एकीकरणपछि गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी संयुक्त’ रहनेछ । चुनाव चिन्हका रूपमा हाल नेकपा (संयुक्त) प्रयोग गर्दै आएको हँसियालाई निरन्तरता दिने निर्णय गरिएको छ । त्यस्तै झण्डामा परम्परागत कम्युनिष्ट प्रतीकसहित बौद्धिक श्रमको प्रतिनिधित्व गर्ने संकेत थपिने बताइएको छ ।

नेताहरूका अनुसार केही दिनमै औपचारिक एकता घोषणा कार्यक्रम सम्पन्न गरिने छ भने दुई महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्ने सहमति जुटेको छ । अबदेखि पुनर्गठन अभियान पनि नयाँ पार्टीकै ब्यानरबाट सञ्चालन हुनेछ । सहमति पत्रमा दुवै पक्षले माक्र्सवाद–लेनिनवादका सिद्धान्त, मानव जातिले हासिल गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरू तथा वैज्ञानिक समाजवादको लक्ष्यलाई मार्गदर्शक बनाउँदै कम्युनिष्ट आन्दोलनलाई आधुनिक रूपले विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्व साम्राज्यवाद, वित्तीय पुँजीवाद र त्यसले सिर्जना गरेका असमानता, शोषण, विभेद र युद्धविरुद्ध अन्तर्राष्ट्रिय एकता र प्रगतिशील मूल्यहरूको पक्षमा उभिने उल्लेख छ । साथै, दलाल पुँजीवादको स्थानमा राष्ट्रिय पुँजी विस्तार, १०–१२ वर्षभित्र सबै नेपालीका लागि रोजगारी सुनिश्चित गर्ने, भ्रष्टाचार तथा अपारदर्शिताको अन्त्य गर्दै सुशासन स्थापना गर्ने र समाजवादको आधार निर्माणलाई आगामी सम्मेलनले ठोस कार्यभारका रूपमा अघि सार्ने प्रतिबद्धता पनि सहमति–पत्रमा समावेश गरिएको छ ।

 

 

देउवाले कांग्रेसका ‘सात भाइ’ सँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समयलाई लिएर चर्को बहस चलिरहेकै बेला सभापति शेरबहादुर देउवाले आफू निकट सात पूर्व पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । ‘कांग्रेसका सात भाइ’ भनिने विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र प्रकाशशरण महतसँग देउवाले प्रत्यक्ष संवाद गर्न लागेका हुन् ।

१५ औं महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने विषयमा पार्टीभित्रै मतभेद रहँदै आएको छ । निधि, सिटौला र सिंहलगायतका नेता निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । डेढ महिनादेखि यही विवाद अल्झिँदै आएपछि सभापति देउवाले फेरि व्यापक समन्वयका लागि शीर्ष नेताहरूलाई बोलाएका हुन् । नेता निधिले सभापतिको निम्तो आएको पुष्टि गर्दै आफू फागुनमा निर्वाचन र वैशाखमा महाधिवेशन गर्ने पक्षमा रहेको बताए । देउवा फर्किएपछि पनि विभिन्न समूहसँग छुट्टाछुट्टै भेटघाट भइरहेका छन् । विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता लिन–नलिनेतर्फ समेत नेताहरू दोधारमा छन् । हस्ताक्षर फिर्ता भए पुसमै महाधिवेशन गर्ने माग छ भने नियमित महाधिवेशन भए हस्ताक्षर स्वतः निष्क्रिय हुने धारणा अर्को समूहको छ ।

यसैबीच ऋषि लेखक, गगन थापा, विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का लगायत नेताहरूबीच पनि सहमतिमूलक विकल्प खोज्ने प्रयास जारी छ । लेखकका अनुसार विशेष महाधिवेशनले पार्टीमा विभाजन निम्त्याउन सक्ने भएकाले सबैलाई स्वीकार्य समाधान निकाल्नेतर्फ छलफल केन्द्रित छ । विभिन्न विकल्पमाथि कुराकानी हुँदै आएको र भोलिसम्म केही टुंगो लाग्न सक्ने उनको भनाइ छ ।

संस्थापन पक्षका उदयशमशेर राणा र पुष्पा भुसालले पनि विशेष महाधिवेशन समर्थक नेताहरूसँग छुट्टै भेट गरी नियमित महाधिवेशनलाई नै अघि बढाउन आग्रह गरेका थिए । विशेष महाधिवेशनका पक्षधरले भने आफूहरू महाधिवेशन प्रक्रियाप्रति प्रतिबद्ध रहेको पुनः दोहो¥याइरहेका छन् । आजै कार्यवाहक सभापति तथा महामन्त्रीद्वयसहितको अर्को बैठक पनि निर्धारित छ । पटक–पटक सारिँदै आएको कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्ने गरी तयारी गरिएको छ ।

 

 

नेकपामा समाहित नहुने विघटित नेकपा एस कैलालीको निर्णय

कैलाली । कैलालीमा विघटित नेकपा समाजवादी (एस) को जिल्ला कमिटीले माओवादी केन्द्रलगायत १२ घटक मिलेर निर्माण भएको नयाँ नेपाली कम्युनिष्ट पार्टी ‘नेकपा’ मा समाहित नहुने निर्णय गरेको छ । जिल्लाका अध्यक्ष, सचिव र उपसचिवले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रक्रियामा सहभागी नहुने स्पष्ट घोषणा गरेका हुन् ।

धनगढीमा भोलि आयोजित ‘एकता सन्देश सभा’ को पूर्व सन्ध्यामा आएको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा थप चर्चा पैदा गरेको छ । प्रचण्ड र माधवकुमार नेपाल उपस्थित रहने उक्त सभालाई केन्द्रय राजनीतिक महत्वको रूपमा हेरिएको छ ।
१२१ सदस्यीय जिल्ला कमिटीमध्ये ९१ जना उपस्थित बैठकले एकमतले नयाँ नेकपामा नजाने निष्कर्ष निकालेको अध्यक्ष विमलकुमार जोशीले बताएका छन् । उनका अनुसार प्रचण्ड र केपी शर्मा ओलीले विगतमा जस्तै एकता–विघटनको खेल दोहो¥याउँदै कम्युनिष्ट आन्दोलन नै क्षय भएको महसुस भएकाले आफूहरू सहभागी नहुने निर्णयमा पुगेका हुन् ।

जोशीले वास्तविक कम्युनिष्ट आन्दोलन जोगाउन इच्छुक पक्षसँग सहकार्य खुला रहने संकेत दिए । उनीहरूद्वारा जारी विज्ञप्तिमा १३ दल सहभागी भएको अहिलेको एकतालाई अर्थहीन बताउँदै, सहभागी पक्षहरूलाई न आधारभूत संगठन रहेको न त एकीकृत वैचारिक दिशानिर्देश रहेको टिप्पणी गरिएको छ ।

विज्ञप्तामा नयाँ नेकपा ‘शाहीकालका मन्त्रीदेखि विविध जातीय–क्षेत्रीय मुद्दा उठाउने तथा गैर–कम्युनिष्ट धारणा बोकेका समूहहरूको मिश्रण’ भएको आरोप लगाइएको छ । प्रचण्ड–नेपाल नेतृत्वले कम्युनिस्ट आन्दोलनलाई नै कमजोर बनाइरहेको निष्कर्षसमेत उल्लेख छ । जिल्ला कमिटीको बैठकले एमाले समेत केपी ओलीको नेतृत्वमा ‘विसर्जनतर्फ धकेलिएको’ ठहर गर्दै कम्युनिष्ट सिद्धान्तमा आधारित नयाँ पुनर्गठन प्रक्रियामा लाग्न आह्वान गरेको छ ।

सुदूरलाई चौथो जित निकाल्न लुम्बिनीले दियो १४४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनी २ बल अगावै १ सय ४३ रनमा अलआउट भयो।

१७ औँ ओभरमा लगातार ३ विकेट गुमाएपछि लुम्बिनीले विशाल योगफल तयार पार्न सकेन। १७ औँ ओभरको दोस्रो बलमा गुल्बदिन नइव ११ रन बनाउँदा विकेट किपर विनोद भण्डारीको हातबाट आउट हुन पुगे। सोही ओभरको पाचौँ बलमा रुवेन ट्रम्पलम्यान कप्तान दीपेन्द्र सिंह ऐरीको हातबाट रनआउट भए। लगत्तै ओभरको अन्तिम बलमा दिलीप नाथ विकेट किपर भण्डारीकै हातबाट आउट हुन पुगे।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो उनले ३६ बलमा ३ चौका प्रहार गरेका थिए।

दिलिप नाथ ३१ रन बनाउँदै क्याच आउट भए। ओपर्न डार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाउँदै पेभेलियन फर्के। शेर मल्ल ४ रनमा बोल्ड आउट भए।

सुदूरपश्चिमका लागि अविनास बोहोराले ३ विकेट लिए। अविनासले आफ्नो स्पेलमा २६ रन दिए। हरमित सिंहले ३ विकेट झारे। अरमितले ३.३ ओभरमा २२ रन खर्चे। हेमन्त धामीले २ विकेट लिए। स्कट कुगेलाइनल एक विकेट झारे।  सुदूरपश्चिमले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

पक्राउ परेका विद्यार्थी नेता ढुङ्गेललाई तत्काल छाड्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विद्यार्थीहरूलाई फोटो–भिडियोका आधारमा सरकारले छानछानी पक्राउ गरेको भन्दै अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले कडा आपत्ति जनाएको छ । समितिका इञ्चार्ज निरोज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सरकारले शान्तिपूर्ण प्रदर्शनमा सहभागी विद्यार्थीमाथि गरेको दमन, गिरफ्तारी तथा राजनीतिक प्रतिशोधपूर्ण गतिविधि तत्काल रोक्न माग गरिएको छ ।

विज्ञप्तिमा नेपाल ल’ क्याम्पसका पूर्व अध्यक्ष तथा स्ववियुका पूर्व सभापति, अधिवक्ता विष्णु ढुङ्गेललाई सर्वोच्च अदालतमा लागेको आगलागी घटनाका ‘मुख्य आरोपी’ का रूपमा प्रस्तुत गर्दै गरिएको गिरफ्तारी अन्यायपूर्ण भएको उल्लेख छ । समितिले उक्त कदमलाई ‘राजनीतिक प्रेरित’ र ‘पूर्व नियोजित दमन’ को रूपमा व्याख्या गरेको छ ।

अखिल (क्रान्तिकारी) ले आन्दोलनका क्रममा विगतमा भएका दमनका घटनाहरू स्मरण गर्दै ७२ जनाको हत्या गर्न आदेश दिएको आरोप लागेका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी नेतृत्व तथा आन्दोलनकै नाममा हत्या गराउनेहरूविरुद्ध कारबाही नहुँदा उल्टै विद्यार्थीहरू लक्ष्य बनिनु अत्यन्तै आपत्तिजनक रहेको टिप्पणी गरेको छ । जेनजी आन्दोलनका घटनाहरूको अनुसन्धानका लागि जाँचबुझ आयोग गठन भइसकेको भन्दै समितिले आयोगमार्फत नै निष्पक्ष छानबिन हुनुपर्ने माग पुनः दोहोराएको छ ।

समितिको भनाइअनुसार, भदौ २३–२४ का केही दृश्य र क्लिपलाई मात्र आधार बनाएर विद्यार्थीहरूलाई योजनाबद्ध रूपमा गिरफ्तार गर्नु स्वीकार्य हुँदैन । समितिले भदौ २४ मा देखिएका तोडफोड तथा हिंसात्मक गतिविधि वास्तविक घुसपैठ समूहले नै गराएको दाबी गर्दै त्यसबारे छानबिन र कारबाही ती व्यक्तिहरूमाथि मात्र गर्नुपर्ने बताएको छ । विज्ञप्तिमा अन्त्यमा विष्णु ढुङ्गेलसहित अन्य युवा विद्यार्थीलाई बिना शर्त तुरुन्त रिहाइ गर्न सरकारसँग माग गरिएको छ ।

एसिसी यू–१९ प्रिमियर कपः नेपाल दोस्रो जितको खोजीमा

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ । अजमान खेल मैदानमा नेपालले टस जितेर पहला ब्याटिङ गर्दैछ । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि आठ विकेटको जित निकालेको थियो ।

आज खेलमा पनि नेपाल लगातार दोस्रो जितेको खोजीमा छ । चौध टोलीबीच चार समूहमा विभाजन गरी भइरहेकोको प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् । जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।

रवि र छविको मुद्दाको सुनुवाई फेरि किन भयो स्थगित ?

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको ठगीसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । आज (बिहीबार) निर्धारण गरिएको छैटौं पेशीमा लामिछाने पक्षका कानुन व्यवसायीले स्थगनको माग गरेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुनुवाइ सारिएको हो ।

साप्ताहिक पेशीअनुसार दुवैको मुद्दा तीन नम्बर इजलासमा न्यायाधीश मिलन राई र सानुमैया डंगोलको संयुक्त इजलासमा परेको थियो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार जोशीको फाइल समेत एकैसाथ परेको र लामिछाने पक्षको निवेदनपछि इजलास स्थगित गरिएको हो ।

यसअघि पनि मुद्दा निरन्तर रोकिने क्रम जारी छ । पहिलो पेशीमा लगाउको आदेश जारी भएको थियो भने दोस्रोमा जिल्ला अदालतको मिसिल झिकाउने आदेश भयो । तेस्रो पेशीमा जोशीका कानुन व्यवसायीले रोक्का मागे, चौथोमा सर्वोच्च अदालतको मिसिल मागियो । पाँचौँ पेशी पनि लामिछाने पक्षकै निवेदनमा सारिएको थियो । छठौँ पेशीमा आएर पुनः लामिछानेका कानुन व्यवसायीले स्थगन मागेपछि सुनुवाइ अघि बढ्न सकेन ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा थुनामा रहेका लामिछाने र जोशी दुवैको मुद्दा ‘लगाउ’ प्रक्रियामा परेकाले फाइल संयुक्त रूपमा हेरिँदै आएको छ । कात्तिक २० गतेको इजलासले सुरु मिसिल माग्न आदेश दिएपछि पछिल्लो साता पेशी तोकिए पनि पुनः स्थगन भएको हो । सहकारी ठगीकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूले आरोपअनुसारको बिगो रकम बराबरको जमानत बुझाइसकेकाले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने दाबी गर्दै भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए । तर जिल्ला अदालत रुपन्देहीले साउन २६ गतेकै सुनुवाइमा रिहा गर्न अस्वीकार गरिसकेको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ । लामिछानेले सो रकमको चौथाइ हिसाबले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएको कागजात पेस गरेका थिए । जोशीले पनि यस्तै जमानत बुझाएका थिए। तर, दुवैको व्यक्तिगत भागमा कति बिगो पर्न जाने भन्ने स्पष्ट नहुँदा अदालतले रिहा नगर्ने निर्णय लिएको थियो । हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमै छन् ।

‘जेनजी’ प्रदर्शनका क्रममा उच्च अदालतमा आगजनी र तोडफोड हुँदा पनि दुवैको मुद्दाको फाइल भने सुरक्षित रहेको अदालतले जनाएको छ। तर कानुन व्यवसायीहरूका पटक–पटकको निवेदनले सुनुवाइ ढिलो भइरहेकाले मुद्दा समयमै टुंगो नलाग्ने चिन्ता व्यक्त भएको छ ।अदालतका कर्मचारीहरूका अनुसार दुई पटकसम्म मात्र पक्षहरूले सुनुवाइ रोक्न सक्ने प्रावधान छ । हालसम्म छविलाल जोशी पक्षले एक पटक र रवि लामिछाने पक्षले दुई पटक सुनुवाइ स्थगित गराइसकेका छन् । उनको तर्फबाट निरन्तर पेशी सारिँदा बाहिरी आरोप लगाउने प्रवृत्ति उचित नभएको पनि कर्मचारीहरू बताउँछन् ।

पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मध्यपश्चिम विश्वविद्यालय

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयले उक्त योजना निर्माणसम्बन्धी अन्तरक्रिया तथा सुझाव सङ्कलन आज नारायण बहुमुखी क्याम्पसमा दैलेखबाट सुरु गरेको हो । कार्यक्रममा पूर्वसांसद रविन्द्रराज शर्माले समाजको आवश्यकता र श्रमबजारको माग अनुरूप खपत हुने जनशक्ति उत्पादन गर्ने गरी योजना निर्माण गर्न सुझाएका छन् ।

मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा विष्णुकुमार खड्काले विद्यार्थीलाई आकर्षण गराउने, गरिखान सीप सिकाउने, टिकाउने र बिकाउने गरी योजना निर्माण गरिने बताएका छन् ।

अन्तरक्रियामा नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापा, विश्वविद्यालय योजना परिषद्का सदस्य एवं ग्राजुयट स्कूल अफ इन्जिनियरका डीन सह–प्राडा राजन सुवाल, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष टेकबहादुर खाँड, खड्कबहादुर सिङ्जापती, तेजबहादुर चन्द, नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष अमरबहादुर सुनार, उक्त क्याम्पसका स्ववियु कोषाध्यक्ष सुष्मा शाहीलगायतले नियमित तथा प्रविधिमैत्री कक्षा सञ्चालन, व्यवहारिक एवं जीवनोपयोगी शिक्षाको आवश्यकता, क्याम्पसको विकास तथा विस्तारका लागि अवलम्बन गर्नुपर्ने उपायलाई ध्यानमा राखी योजना ल्याउन सुझाएका थिए ।

माइतीघरमा नारा : जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी (तस्वीरहरु)

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध जेनजी समूह फेरि सडकमा प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमा उनीहरूले आज पम्प्लेट र नारासहित विरोध प्रदर्शन गरेका हुन् । केही दिनदेखि जेनजीहरूलाई सिंहदरबार जान रोक लगाइएपछि उनीहरू माइतीघरमै भेला भएर विरोधमा उभिएका हुन् ।

टाउकोमा कालोपट्टी बाँधेका प्रदर्शनकारीहरूले ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेन–जी सबै जेलमा’, ‘सुशीलाको पाराले, दुःख पाए साराले’, ‘जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी’, ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेको छन् । प्रदर्शनमा रहेको समूहले माइतीघरबाट सबै जेनजीलाई एकताबद्ध हुनसमेत आह्वान गरेको छ ।

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन

काठमाडौँ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको १४औँ साधारणसभाले व्यवसायी सुनिलभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार सम्पन्न सो नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षद्वयमा दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ तथा उपाध्यक्षमा गोपालदास मानन्धर निर्वाचित भएका छन् । यसैगरी महासचिव पदमा नवीन सारु (डोलबहादुर थापा), कोषाध्यक्षमा स्वाती घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाशराम श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा मनिशलाल प्रधान, सुशील स्थापित, दीपक मर्हजन, सञ्जीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मि पन्त, कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयुसबहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युतबहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तमलाल श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै नवनिर्वाचित कार्यसमितिले किरणकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र डा सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले आज यहाँ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सुनिल भक्त श्रेष्ठले भियतनामसँगको व्यापारिकसम्बन्ध विस्तारमा चेम्बरले थप सक्रिय भूमिका खेल्ने बताएका छन् । उनले भने, “दुवै देशबीचको व्यापार क्षमता ठूलो छ । अबको कार्यकालमा हामी व्यापार प्रवद्र्धन, लगानी आकर्षण तथा व्यवसायीलाई जोड्ने ‘प्लेटफर्र्म’लाई अझ सशक्त बनाउँदै लैजानेछौँ।”

उपाध्यक्ष उर्मिला श्रेष्ठले नेपाल–भियतनाम बीचमा संयुक्त लगानीका सम्भावित क्षेत्र पहिचान ,व्यापार प्रवद्र्धन, लगानी आकर्षण तथा व्यवसायीका अनुभव एकआपसमा सटासाट गर्न संस्थाले योगदान गर्ने जानकारी दिएकी छिन् ।

यसअघि साधारणसभाको शुभारम्भका अवसरमा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ नेपाल–भियतनाम व्यापारिक सम्बन्धलाई अझ उचाइमा पु¥याउन चेम्बरको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले भने, “भियतनामी बजारमा नेपाली उत्पादनको सम्भावना बढिरहेको छ । चेम्बरको सक्रियताले नेपाली निर्यात क्षमता अझ विस्तार गर्न सक्छ ।” साथै, महावाणिज्यदूत श्रेष्ठले दुई मुलुकबीच सहकार्य बढाउन आवश्यक रहेको बताउँदै कृषि, पर्यटन, व्यापार तथा सूचना प्रविधि क्षेत्रमा लगानी विस्तारका प्रशस्त सम्भावना रहेको उल्लेख गरेका छन्।

उनले नेपाल–भियतनामबीच प्रत्यक्ष हवाई उडान सञ्चालन हुनु आवश्यक रहेकामा पनि जोड दिएका छन् । सभामा अध्यक्ष दीपककुमार मल्होत्राले नेपाल–भियतनाम व्यापार विस्तारका लागि चेम्बरले विगतमा गरेको पहल तथा गतिविधिबारे प्रकाश पारेका छन् ।

उनले हाल देशमा व्यवसायी तथा उद्योगीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको भन्दै दुःख व्यक्त गरेका छन् । साथै उनले भने,“नेपाल–भियतनाम व्यापार सम्बन्धमा अझ ठूलो सम्भावना छ । निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ ।” सभामा महासचिव गोपालदास मानन्धरले २०८०र८१ र २०८१र८२ को वार्षिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । त्यस्तै, कोषाध्यक्ष कविकुमार टिबरेवालाले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्था वित्तीय रूपमा सुदृढ बन्दै गएको जानकारी दिएका छन्।

कार्यक्रममा भियतनामसम्बन्धी व्यापार–व्यवसायमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई व्यापारतर्फको ‘अवार्ड’ प्रदान गरिएको थियो । सम्मानित हुनेमा आयातकर्ता श्याम मारवाडी, नेपाल–भियतनाम संयुक्त लगानी कम्पनी ‘फो ९९’ का प्रबन्ध निर्देशक थी किम क्वोङ वो (बाओ) तथा प्रकाशन, समर्थन र संस्थाको सुदृढीकरणमा योगदान पु¥याएका आधारमा उर्मिला श्रेष्ठ रहेकी हुन् । साथै, चेम्बरका आजीवन सदस्यता प्राप्त व्यक्तिलाई अध्यक्ष मल्होत्राले प्रमाणपत्र प्रदान गरेका छन् ।

सरकारविरुद्ध जेनजीको प्रदर्शन, तस्बिरहरु

काठमाडौं । काठमाडौंको माइतिघरमा जेन-जीको समुहले सरकार विरूद्ध प्रदर्शन गरेका छन् । पम्प्लेट सहित जेन-जीको समुहले प्रदर्शन गरेको हो ।

उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर “ओलीको खेलमा, सुशीलाको झेलमा, जेन-जी सबै जेलमा”, “सुशीलाको पाराले दुख पाए साराले”, “जेन जीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी” जस्ता पम्प्लेट प्रदर्शन गरेका छन् ।

एमालेको संसद पुनःस्थापनासम्बन्धी रिटको तोकियो पेसी

काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको मागसहित सर्वोच्चमा दायर गरेको रिटमाथि पहिलो सुनुवाइ मिति तोकिएको छ । रिटउपर मंसिर १७ गते पेशी निर्धारण भएको नेता महेश बर्तौलाले बताए । एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्दै सांसदबाटै प्रधानमन्त्री नियुक्ति गर्न परमादेश मागेको छ ।

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण (तस्बिरहरु)

काठमाडौँ । जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढदै गएको छ । यो याममा वर्षाको मात्र र हावाको गति कम हुने भएकाले पनि काठमाडौं उपत्यकामा धूलो र धुवाँको मात्र बढदै जाने गर्दछ ।

यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढदै गएको छ ।

काठमाडौं उपत्यका सवारीसाधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट निस्कने हानिकारक ग्यासले गर्दा पनि यस याममा काठमाडौं विश्वकै प्रदूषित सहर बन्ने गरेको छ ।

यस याममा काठमाडौं उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुवाँको तह प्रष्ट देख्न सकिन्छ ।

तस्बिर: क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी ।

सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैङ्कमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी, नुवाकोट घर भई तारकेश्वर बस्ने २० वर्षीय बिशाल राई, नुवाकोटको १८ वर्षीय साजन तामाङ र नुवाकोटकै १९ वर्षीय समिर तामाङ रहेका छन् । उनीहरुले गत मङ्सिर ८ गते महिलालाई लुटपाट गरी फरार रहेको आरोप छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले साँझको समयमा हिँडेर घर फर्किने क्रममा महिलाको साथमा रहेको नगद, सुन, बैङ्कका चाबी, मोबाइल सेट र महत्त्वपूर्ण कागजातसहितको झोला लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनीहरुले मोटरसाइकलबाट आएर लुटपाट गरी भागेका थिए । पक्राउ परेकासँग प्रहरीले मोबाइल, चाँबीको झुप्पो लगायतका सामानसहित १२ दशमलव ६३० ग्राम सुनको झुम्का, ७ दशमलव ८ लालको सुनको टप, रु दुई हजार ५०० नगद बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुख्यमन्त्रीविरुद्धको रिट संयुक्त इजलासमा

काठमाडौं । मधेश प्रदेशमा उत्पन्न भएको राजनीतिक तथा संवैधानिक विवाद आज (बिहीबार) देखि निर्णायक चरणमा प्रवेश गर्ने भएको छ । प्रदेश सरकार गठनविरुद्ध ७४ सांसदले दर्ता गराएको रिटमा सर्वोच्च अदालतले बिहीबारदेखि अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा यो मुद्दा पहिलो नम्बरमै सूचीकृत छ ।

यसअघि संयुक्त इजलासले नै अन्तिम सुनुवाइको मिति टुंगो लगाइसकेको थियो । हेर्न नमिल्ने कारण वा अन्य कुनै बाधा नआएको खण्डमा निरन्तर सुनुवाइमार्फत छिटो निर्णय दिने तयारी सर्वोच्चले गरेको छ । संवैधानिक प्रकृतिको विषय भएकाले यो मुद्दालाई अदालतले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सरकार गठनसम्बन्धी विवाद तब चर्किएको थियो जब प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई बर्दिवासस्थित होटलमै गएर शपथ गराएकी थिइन् ।

एमाले बाहेक अन्य दलका ७४ सांसदले यो प्रक्रिया राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा असंगत रहेको आरोप लगाउँदै सर्वोच्च अदालत पुगेका थिए । यसैबीच अदालतले गत मंगलबार अन्तरिम आदेश जारी गर्दै नव–नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न निर्देशन दिएको थियो । प्रदेशसभामा जम्मा १०७ मध्ये तीन जना सांसद निलम्बित भएपछि हाल कायम संख्या १०४ रहेको छ । जसअनुसार सरकार बनाउन आवश्यक बहुमत ५४ हो।

प्रतिनिनिधित्व हेर्दा एमाले २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७ तथा संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट १–१ जना सांसद रहेका छन् । यस्तो संरचनाबीच प्रदेश प्रमुखद्वारा एमाले नेता यादवको नियुक्ति सही कि नसही भन्ने प्रश्न अहिले सर्वोच्चमा टुंगो लाग्ने प्रतीक्षामा छ । कांग्रेसका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका नेता जयलुन राईलगायतका नेताले रिट दर्ता गराएका छन् । उनीहरूले प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गरेका छन् । मधेश प्रदेशको राजनीतिक नेतृत्वको भविष्य अब सर्वोच्च अदालतको अन्तिम निर्णयमा निर्भर रहने छ, जसले प्रदेशको आगामी सत्ता समीकरणमा ठूलो प्रभाव पार्नेछ ।

 

परीक्षण सफल भएपछि चिस्यान केन्द्र निरन्तर सञ्चालनमा

तनहुँ । जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्रको परीक्षण सफल भएपछि नियमित रूपमा सञ्चालनमा आएको छ ।

किसानबाट उत्पादित एक सय ६१ बोरा बीउ आलु र खायन आलु परीक्षणका रूपमा भण्डारण गरिएकामा उक्त परीक्षण सफल भएपछि नियमित सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । एक सय तीस मेट्रिकटन क्षमताको चिस्यान केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको हो ।

किसानद्वारा उत्पादित आलु नगरपालिकाले निःशुल्क रूपमा परीक्षण गरेको कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिएकी छिन् । उनले भनिन्, “आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्योहोर्ने जनाएपछि भण्डारण गरिएको हो ।”

नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले प्रारम्भिक ठेक्का रकम रु एक करोड ६२ लाख ३२ हजार २४६ रहेकामा थप रु १९ लाख ९८ हजार ६२७ वृद्वि भई करसहित निर्माण सम्पन्न हुँदा रु करोड ९१ लाख ३२ हजार ७२२ पुगेको जानकारी दिएका छन् ।

विद्युत् ट्रान्समिटर जडान कार्यमा ढिलाइ हुँदा सञ्चालनमा ल्याउन एक वर्ष ढिला भएको थियो । वर्षौँदेखि व्यक्तिले कब्जा गरेर भोगचलान गर्दै आएको सार्वजनिक जग्गा नगरपालिकाले संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरेको हो ।

योसँगै नगरपालिकामा उत्पादन भएका आलु, सुन्तलालगायत फलफूल र तरकारी पूर्ण रूपमा भण्डारण गरी राख्न सकिने प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताएका छन् । नगरमा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक करिब रु पाँच करोड बाहिरिनबाट रोकिने उनले जानकारी दिएका छन् ।

व्यासमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि आलु, फलफूल, तरकारीलगायत कृषिउपज भण्डारण गरी सुरक्षित राख्न सकिने छ । यसका साथै कृषिउपज भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्या अन्त्य हुने व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताएका छन् ।

केन्द्र सञ्चालनमा आएसँगै कृषिउपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । विशेषगरी आलु, सागसब्बी तथा अन्य कृषिउपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न चिस्यान केन्द्र महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

रवि र छविको मुद्दाको पेशी मिलन र सानुमैयाको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर–बुटवलको ३ नम्बर इजलासमा पुगेको छ । यो मुद्दाको यो चौंथो पेसी हो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश मिलन राई र सानुमैया डंगोल रहेको बेञ्चमा फाइल परेको छ । ‘तीन नम्बर इजलासमा परेको छ, सुनुवाइ सुरु भएको छैन,’ कुँवरले भने ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको मुद्दा गत साता पेशी तोकिए पनि लामिछाने पक्षका कानुन व्यवसायीले स्थगन मागेपछि रोकिएको थियो । कात्तिक २० गतेको इजलासले सुरु मिसिल माग्ने आदेश दिएपछि अघिल्लो साता फेरि पेशी तोकिएको थियो, तर पुनः स्थगित भयो ।

यसअघि कात्तिक २० गते न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरू मिसिल मगाउने आदेश दिएको थियो । कात्तिक १३ गते तोकिएको पेशी भने जोशीका कानुन व्यवसायीको निवेदनमा स्थगित भएको थियो । त्यसभन्दा अघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीका मुद्दा एकै प्रकृतिका भएकाले एकसाथ हेर्न आदेश गरेको थियो ।

बिगोअनुसारको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न रवि लामिछानेले माग गरेपछि उच्च अदालतले छविलाल जोशीको फाइल समेत पेस गर्न आदेश दिएको थियो । यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि दिएको थियो । बिगो बमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

 

जेनजी आन्दोलनका शहीद : कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता

काठमाडौं । कीर्तिपुर पाँगा दोबाटोस्थित माइक्रोपार्कसँगै जोडिएको घरबाटभित्र छिर्ने साँघुरो गल्ली छ । थोरै मात्र अघि बढ्ने हो भने एउटा सानो होटल देखिन्छ । शनिबार बिहान १० बजेतिर पुग्दा केही ग्राहक यहीँ बसेर चियाको चुस्की लिइरहेका थिए । गोर्खाली होटल भनेर चिनिने यो होटलमा दुई वटा टेबल र चार वटा बेन्च छन् । एकातिर दिउरेमा चिया उम्लिरहेको छ, अर्कोतिर प्रेसरकुकरमा खानाको सिटी लाग्दैछ । होटलमा व्यस्त छिन्, जानुका भट्ट ।
भित्तामा मुसुक्क हाँसिरहेको युवकको तस्बिर टाँगिएको छ, दुई वटा फ्रेममा । उनी हुन् २८ वर्षीय अर्जुन भट्ट । जेनजी आन्दोलनका शहिद । वैदेशिक रोजगारीका लागि उनले देश छाडेको १६ महिना मात्रै हुँदै थियो । दुबईको अत्यधिक गर्मी र कामको चापका कारण त्यहाँ टिक्न सकेनन् र फर्किए गत असारमा । दुबईबाट फर्किएको केही समयपछि उनको जन्मदिन थियो, असार १७ गते । साथीभाइलाई बोलाएर भव्य जन्मदिन मनाए । हँसिलो स्वभावका उनी परिवारका साथै साथीभाइका लागि निकै प्यारो थिए । ‘सबै उमेर समूहसँग उ चाँडै घुलमिल हुन्थ्यो । साथीहरु पनि धेरै थिए उसका’, आमा जानुका भन्छिन् ।
करिब सात वर्षअघि जन्मदिनमा साथीहरु मिलेर उपहारस्वरुप खैरो कुकुर अर्जुनलाई दिएका  थिए ।  उसको नाम अर्जुनले नै राखेका थिए, लिची । अर्जुनसँगै बढी झ्याम्मिन्थ्यो । खेल्थ्यो, रमाउँथ्यो अनि काखमा लुटुपुटु गथ्र्यो । अहिले लिची पनि उदासझैं देखिन्छ । उसलाई धेरै माया गर्ने अर्जुन यो संसारमा छैनन् । बेलाबेला बाहिरतिर कसैलाई हेरिरहेको हुन्छ । लाग्छ, यो निर्दोष प्राणी अर्जुनकै प्रतीक्षामा छ । स्नातकसम्म अध्ययन गरेका अर्जुनले फर्केर पढाइलाई निरन्तरता दिन सकेनन् । न त यहाँ भनेजस्तो रोजगारी नै पाए । उनका एक जना दाइ अभिलाख यहीँ छन् भने एक दिदी विवाहपछि श्रीमानसँग जापानमै बस्छिन् । दिदीले भनेकी थिइन्, ‘दुबईभन्दा जापान राम्रो छ भाइ, पहिले राम्ररी भाषा सिक्नु र आउनु ।’ दिदीको प्रस्ताव र परिवारको साथले उनी उत्साहित भए । जापानी भाषा अध्ययनतिर लागे र भाषा परीक्षामा उत्तीर्ण पनि भए । परिवारका अनुसार आउँदो फागुनमा उनी बिहे गर्ने सोचमा पनि थिए ।
२५ वर्षअघि राजधानी छिरेको थियो भट्ट परिवार
अर्जुनको मूल घर गोरखाको गण्डकी गाउँपालिका–४ फुजेल हो । गाउँमा भट्ट परिवारको आफ्नै खेतीपाती थियो । बस्तुभाउ थिए । छरछिमेक, आफन्त र गाउँको वातावरणमा रमिरहेका उनीहरुलाई नपुग्दो केही थिएन । तर छोराछोरीको भविष्य सम्झेर राजधानी आएको बताउँछन्, बुबा चित्रबहादुर । ‘आफू हुर्केको गाउँ छाडेर बिरानो शहर छिर्न मन थिएन तर छोराछोरीको शिक्षादीक्षा र भविष्य राम्रो हुन्छ कि भनेर यता आइपुग्यौँ’, उनी भन्छन् ।  विसं २०५७ सालमा परिवारसहित काठमाडौँ छिरेका चित्रबहादुरले केसम्म गरेनन् ।  तरकारी बेचे, कीर्तिपुरस्थित एक विद्यालयमा कार्यालय सहायकका रूपमा काम गरे, पछि होटल व्यवसाय सुरु गरे । आजभन्दा २५ वर्षअगाडि सपनाको शहर छिरेको भट्ट परिवारका सुरुआती दिन निकै कहरिला थिए, जतिबेला अर्जुन मात्र तीन वर्षको थिए ।
कालिमाटीबाट आएको त्यो खबर
जेनजीहरुले गर्ने भनेको आन्दोलनमा सहभागी हुनेबारे अर्जुनले परिवारसँग पनि कुरा गरेका थिए । ‘२८ वर्ष उमेरसम्मका युवाहरुको आन्दोलन हो, देश परिवर्तनका लागि हामी पनि जानुपर्छ’ भनेर पटक पटक उनी कुरा गर्थे । गत भदौ २३ गते बिहानै उनी घरमा बुबा–आमालाई भनेर नै साथीहरुसँग आन्दोलनमा सरिक भए । राजनीतिक बेथिति र भ्रष्टाचारविरुद्ध माइतीघरबाट सुरु भएको आन्दोलन बानेश्वर पुगेपछि त्यसले अर्कै रूप लियो । प्रहरीले पानीको फोहोरा र अश्रुग्यास मात्रै होइन, गोली नै बर्साउन थाल्यो । बेलुकासम्म काठमाडौँमा मात्रै २१ जनाले ज्यान गुमाएका थिए, जसमा अर्जुनसँगै कीर्तिपुरबाट गएका उनकै साथी पनि थिए ।
ठूलो संख्यामा हताहती भएपछि सर्वत्र आक्रोश थियो । आफ्नै साथी मारिएपछि अर्जुन पनि बेचैन थिए । भोलिपल्ट कीर्तिपुरका साथीहरु भेला भएर जाने निर्णय गरिसकेका रहेछन् । आमा जानुकाले पटक पटक ‘नजा बाबु’ भनेर रोक्न खोजिन् । तर किशोर वयको उर्लिँदो जोशलाई कसले रोक्न सक्ने ? उनी साथीसँगै कीर्तिपुरबाट हिँडे । ‘एक घण्टामा आइपुगिहाल्छु भनेर पकाएको खाना पनि नखाई निस्किएको थियो’, जानुका सुनाउँछिन् । अघिल्लो बेलुकादेखि नै काठमाडौँमा कफ्र्यु जारी भएकाले सर्वत्र सन्त्रास थियो । अर्जुन निस्किने बेला पनि छतमा उभिएर आमा हेरिरहेकी थिइन् । काँधमा नेपालको झण्डा ओढेर अर्जुन साथीहरुसँग अघि बढिरहेका थिए । टोलीमा उनका दाइ अभिलाख पनि थिए । अर्जुन २४ भदौ गते दिउँसो घरबाट निस्कँदा करिब १ बजेको थियो । त्यसको एक घण्टापछि नै घरमा फोन आयो, नमीठो र अपत्यारिलो खबर लिएर । ‘कालीमाटीमा भएको प्रदर्शनमा अर्जुनको टाउकामा गोली लाग्यो’ भन्ने सुन्नासाथ जानुकालाई भने । शरीर चिसो भएर आयो । अर्धबेहोस अवस्थामै अस्पताल जान खोजिन् तर कफ्र्युका कारण गाडी चलेको थिएन ।
उनलाई छोरालाई भेट्ने तीब्र इच्छा भएपछि छोराको साथीले स्कुटीमा राखेर बल्खुस्थित बयोधा अस्पताल पु¥याए । अस्पतालमा भीड थियो । उनलाई आफ्नै छोरालाई पनि हेर्न दिइएन । ‘म पनि भाइसँगै कालिमाटी गएको थिएँ, गोली लाग्दा ५०० मिटर टाढा भएकाले भाइलाई नै गोली लागेको देख्न पाइनँ’, रसिलो आँखा बनाउँदै अभिलाखले भने, ‘एकैचोटि अस्पताल दौडाउँदा भाइ पनि परेको रहेछ भन्ने पछि थाहा पाएँ । सँगै गएको भाइलाई गुमाउनुपर्‍यो ।’ अभिलाख र अर्जुनबीच दुई वर्षको मात्रै अन्तर छ । ‘दाजुभाइभन्दा पनि धेरै साथी जस्तो थियौँ’, उनी सम्झिन्छन्, ‘सँगै गेम खेल्ने, सँगै सुत्ने गथ्र्यौँ ।’ भिडियो गेममा बढी रुचि राख्ने अर्जुन बढीजसो पब्जी खेल्थे । अभिलाखलाई त्यही सम्झना बढी आउँछ । ‘यही घरको भर्‍याङमा हामी दुबै जना बसेर पब्जी खेल्थ्यौँ’, भर्‍याङतिर देखाउँदै उनी भन्छन् ।
आमा जानुकालाई भने खाना खाने बेलामा अर्जुनको धेरै याद आउँछ । ‘गेममा झुन्डिराख्ने बानी भएकाले उसलाई खाना खाने समय पनि पत्तो हुँदैनथ्यो’, उनी भन्छिन्, ‘कहिलेकाहीँ मै खाना खुवाइदिन्थेँ ।’ दिनभर साथीभाइसँग रमाएर साँझ घर फर्कँदा अर्जुन ‘मम्मी’ भन्दै आइपुग्थे। अहिले पनि जानुकालाई यही याद आइरहन्छ । ‘मम्मी भन्दै आई पो हाल्छ कि भन्ने लाग्छ । राति घरको ढोका बज्दा, कसैको आवाज आउँदा छोरो नै आएजस्तो लाग्छ’, अश्रुपूरित आँखामा उनी भन्छिन्, ‘जे भए पनि मेरो कान्छो छोरो हो नि, मायाले हुर्काएको । कहिले पो बिर्सन सक्छु र ।’ जानुका अर्को समस्याबाट पनि गुज्रिरहेकी छन् । गालामा ट्युमर पलाएकाले चिकित्सकले बेलैमा शल्यक्रिया गर्नुपर्छ भनेका छन् । निजी स्वास्थ्य संस्थामा धेरै खर्च हुने भएकाले सरकारी अस्पताल नै जाने उनको विचार छ । ‘तर पालो आउनै समय लाग्ने रहेछ । समयमा उपचार नगराए कान हुँदै टाउकोसम्म ट्युमर पुग्छ भनेको छ’, उनी सुनाउँछिन् ।
परिवारमा रिक्तता
अर्जुनका दाइ अभिलाख पनि वैदेशिक रोजगारीमा जाने सोचमा थिए । जेनजी आन्दोलपछिको अवस्था र भाइ नै गुमाएपछि उनको मनस्थिति बिथोलिएको छ । सरकारले जेनजी शहिदका परिवारलाई रोजगारी दिने आश्वासन दिएकाले केही आशावादी भने देखिएका छन् ।
सरकारले क्षतिपूर्ति र राहतस्वरुप परिवारलाई रु १५ लाख दिएको छ । अर्जुनको नाम शहिदको सूचीमा नामाङ्कित पनि भएको छ । बुबाको सहारा अनि रित्तिएको आमाको काख कसैले भर्न सक्ने छैन । ‘मेरो छोरो १५ लाखको थियो त ?’ जानुका मलिन आवाजमा बोल्छिन्, ‘१५ करोड नै दिए पनि छोरा त फर्किएर आउँदैन नि ।’ बुबा चित्रबहादुरको चाहना छ, छोरा जस्ता नौजवानले बगाएको रगतले अर्थ राखोस् । उनीहरुको बलिदान खेर नजाओस् । देश बस्नलायक बनोस् । सबैले रोजगारी पाऊन् । कलिलैमा कसैले विदेश जानु नपरोस् । भट्ट परिवारमा यतिबेला यस्तो रिक्तता छाएको छ, जुन कहिले भरिने छैन । बुबा चित्रबहादुरले भनेजस्तै त्यतिबेला मात्रै परिवारले राहतको महसुस गर्नेछ, जतिबेला राज्यबाट भ्रष्टाचार अन्त्य हुनेछ । राजनीतिक बेथिति अन्त्य भई सुशासन स्थापना र रोजगारी सिर्जना हुनेछ । रासस

आज तोलाको कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । आज (बिहीबार) सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २८० कायम भएको छ।

हिजो सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार २२० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

एनपीएल २: सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी

काठमाडौँ । काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) को खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।

बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।

अघिल्लो खेलबाट लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ। जोनाथन स्मिथको स्थानमा थोमस ड्राका सुरुवाती ११ मा आएका छन्।

सुदुरपश्चिमले भने अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै, कञ्चन बिच्छालाई गर्ला पदमुक्त ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिकाे वैठक आज (बिहीबार) दिउँसो १ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, आगामी केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने कार्य, अधिवेशन तयारी र संगठन सुदृढीकरण आजको बैठकको मुख्य एजेण्डा रहने बताइएको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सक्ने लक्ष्यका साथ संगठनात्मक एकता सुदृढ गर्ने विषयमा गम्भीर छलफल गर्नेछ । साथै प्रतिनिधि सभा चुनाव (फागुन २१) का लागि दल दर्ता भइसकेको अवस्थामा पार्टीको चुनावी रणनीति, भूमिका र सम्भावित निर्वाचन परिदृश्यबारे पनि चर्चा हुनेछ ।

यससँगै राप्रपाको चार वर्षीय कार्यकाल यही मंसिर १८ मा सकिँदैछ । २०७८ मंसिरमा भएको महाधिवेशनपछि विधानअनुसार अब नियमित महाधिवेशनको समय नजिकिँदै गर्दा, खास कारण देखाएर कार्यकाल थप गर्न सकिने सम्भावनासम्बन्धी धारणा पनि बैठकमा उठ्ने सम्भावना छ । महामन्त्री धवल शम्शेर राणा लगायत नेताहरूले नियमित महाधिवेशनको माग गर्दै आन्तरिक जीवन्तता आवश्यक रहेको तर्क गरेका छन् ।

यसैबीच आजको बैठकमा मधेश प्रदेशमा मन्त्री बनेकी कञ्चन बिच्छाबारे करिब ‘अन्तिम निर्णय’ हुने संकेत देखिएको छ । पार्टीको निर्णयविना नै कात्तिक २३ गते महोत्तरीस्थित एउटा होटलमा एमालेका मुख्यमन्त्री सरोजकुमार यादवसँगै विनाविभागीय मन्त्रीको शपथ लिएपछि उनी विवादमा परेकी थिइन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल फिर्ता हुन निर्देशन दिए पनि बिच्छा अडानमा रहिन् । त्यसपछि अनुशासन समितिले उनलाई स्पष्टिकरण सोधेको र अन्ततः कारबाही सिफारिससहित फाइल कार्यसम्पादन समितिमा पठाएको प्रवक्ता श्रेष्ठले पुष्टि गरेका छन् । हाल मुख्यमन्त्री यादवले मंसिर ८ गतेदेखि उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । मंसिर २२ भित्र प्रदेश सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक अवस्थाका बीच बिच्छाको राजनीतिक भविष्य र पार्टीसँगको सम्बन्ध आजको बैठकले टुंगो लगाउने देखिन्छ ।

 

बाबुराम भट्टराईको टिप्पणी : पुराना दल र नेताहरु ‘सुतुरमूर्ग’ जस्ता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अभिभावक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी विद्रोहपछि देखिन थालेको राजनीतिक र प्रशासनिक गतिरोधलाई अत्यन्त गम्भीर चिन्हका रूपमा व्याख्या गर्दै सबै दल र नेताहरू समस्याको मूल स्रोतप्रति उदासीन बन्दै गएको आरोप लगाएका छन् ।

उनले देशका राजनीतिक, आर्थिक, प्रशासनिक, सुरक्षा तथा परराष्ट्र क्षेत्रका संरचनात्मक कमजोरीहरू सुधार गर्ने अत्यन्त अनुकूल अवसर विद्रोहले खोले पनि सिंगो राजनीतिक वृत्त पुरानै ढर्रामा फर्किदै ‘सुतुरमूर्गले बालुवामा टाउको लुकाएझैं’ व्यवहार गर्न थालेको देखिएको टिप्पणी गरेका छन् । भदौ २४ को घटनाले पुराना राजनीतिक दल र नेताहरूलाई गहिरो आत्मसमीक्षामा उत्रन बाध्य पारेको भए पनि उनीहरू पुनः आत्ममुग्धतामा फर्किएको डा. भट्टराईको आरोप छ । उनले नयाँ र वैकल्पिक दाबी गर्ने दलहरू पनि स्पष्ट नीति, मार्गचित्र र दीर्घकालीन समाधानभन्दा ‘पपुलिज्म र आत्मकेन्द्रितता’ तर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।

उनले विशेष ऐतिहासिक परिस्थितिमा गठन गरिएको अन्तरिम सरकारले समेत जेन–जी आन्दोलनका आधारभूत माग पूरा गर्नेतर्फ स्पष्ट प्रतिबद्धता नदेखाएको भन्दै ‘कुइरोमा हराएको काग जस्तै’ दिशाहीनता झल्काएको बताए । देश जटिल आन्तरिक तथा बाह्य परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै डा. भट्टराईले अब सबै राजनीतिक शक्ति साँघुरो दलगत स्वार्थभन्दा माथि उठेर दिगो समाधानका लागि सहकार्यमा उत्रनुपर्ने आवश्यकता दोहोर्‍याए । उनको चेतावनी दिंदै भनेका छन्, ‘यदि अब पनि जिम्मेवारीपूर्वक कदम चालिएन भने भोलि धेरै ढिलो हुनसक्छ, इतिहासले कसैलाई माफी दिने छैन ।’

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता ठेक्का अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।

पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी) सँग ३१ जेठ २०६८मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ । ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो । ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत हुनेछ । योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए ।

निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ ।

ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्ष्वयासी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत २६ असोजमा स्थलगत निरीक्षण गरी उत्त पुल निर्माण बारे छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताएका थिए । स्थानीयबाट पुल नहुँदा सास्ती बेहोर्नुपरेको, व्यापार–व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न गर्न माग गरिएको थियो । साथै मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

निर्माण व्यवसायीका तर्फबाट कन्काई पुल २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटी सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधन बमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । तर, निर्माण व्यवसायीबाट काम सम्पन्न हुने आधार नदिएपछि म्याद थप गरिएको थिएन । पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ ।

रवि र छविको मुद्दाको आज पेसी

बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ । गत हप्ता रवि पक्षका कानुनी व्यवसायीले निवेदन दिँदै सुनुवाइ स्थगित गराएपछि आजको पेसीलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतले गत साउन २६ गते उनको रिहाइ निवेदन अस्वीकार गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध उनीहरूले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थि ए। अभियोगपत्रअनुसार सुप्रिम सहकारी प्रकरणमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरिएको छ ।

यसको चार हिस्सामध्ये लामिछानेले आफ्नो अंश बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतमार्फत दाखिला गरेका थिए । जोशीले पनि त्यत्तिकै रकमको जमानत निवेदनसहित पेस गरेका थिए । जिल्ला अदालतले दुवै प्रतिवादीको रिहाइ अस्वीकार गरेको थियो । त्यसपछि लामिछाने काठमाडौं कारागारमा छन् भने जोशी भैरहवा कारागारमा बसिरहेका छन् ।

विद्या भण्डारीको सन्देश : मेरो सदस्यता रोकिए पनि पार्टी अग्रगतिमा जानुपर्छ

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका संगठित सदस्यहरूलाई आसन्न महाधिवेशन प्रतिनिधि छनोटका क्रममा सन्तुलित, जिम्मेवार र विवेकपूर्ण रूपमा अघि बढ्न आग्रह गरेकी छन् ।

आज (बिहीबार) बिहान पार्टी सदस्यहरूलाई सम्बोधन गर्दै उनले महाधिवेशनलाई संगठनात्मक मजबुती र राजनीतिक दिशानिर्णयका लागि ‘ऐतिहासिक अवसर’ का रूपमा चित्रण गरेकी हुन् । उनले विधानअनुसार सदस्यता नवीकरण गरिरहे पनि पार्टी नेतृत्वले अनुचित तरिकाले रोकिदिएको बताइन् । यसका कारण महाधिवेशनमा भौतिक उपस्थिति जनाउन नसक्ने परिस्थिति बनेको उनको भनाई छ ।

तर पनि उनले आफ्नो पार्टीप्रतिको प्रतिबद्धता यथावत रहने स्पष्ट गरेकी छन् । उनले महाधिवेशनले पार्टी मात्र नभई आम नागरिकका भविष्यसँग पनि प्रत्यक्ष सम्बन्ध राख्ने बताइन् । महाधिवेशन निर्धारित समयभन्दा एक वर्षअघि हुन लागेको सन्दर्भ उल्लेख गर्दै भण्डारीले पार्टीभित्रको समग्र संरचनालाई सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘महाधिवेशन सफल बनाउन वैचारिक रूपमा परिपक्व नेतृत्व, उर्जाशील युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व अपरिहार्य छ ।’ पूर्व राष्ट्रपतिले संगठनभित्र बढ्दो राजनीतिक ध्रुवीकरण र आन्तरिक तनावप्रति संकेत गर्दै, प्रतिनिधि छनोटदेखि महाधिवेशन सञ्चालनसम्म अनुशासन, निष्पक्षता र आन्तरिक ऐक्यबद्धता कायम राख्न सबैलाई अपिल गरिन् ।

जसपाको राजेन्द्र श्रेष्ठ समूह आज नेकपामा समाहित हुँदै

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट अलगिएका राजेन्द्र श्रेष्ठ समूह आज (बिहीबार) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछन् ।

दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा कार्यक्रम राखिएको जनाइएको छ । देशभरका विभिन्न भागमा रहेका नेता एवम् अगुवा कार्यकर्ताले घोषणा सभामा सहभागी हुन आग्रह गरेपछि कार्यक्रम एक दिनका लागि सारिएको जसपा नेता दुर्गा सुवेदीले जानकारी गराएका छन् ।