`

काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट रु चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको तुलनामा रु पाँच करोड ९० लाख ३३ हजारअर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व तीन दशमलव २० प्रतिशत अर्थात् रु छ करोड ८९ लाख पाँच हजार ले बढेको सूचना अधिकारी हुमागाईले बताए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु दुई अर्ब २० करोड ६८ लाख ६२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु दुई अर्ब ३२ करोड ७८ लाख मूल्य पर्ने २६ हजार ३२० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु एक अर्ब २६ करोड १५ लाख मूल्य पर्ने १३ हजार ३५६ किलोलिटर डिजेल आयात भएको छ ।

त्यस्तै तीन महिनाको अवधिमा रु ६२ करोड ८१ लाख मूल्य पर्ने छ हजार ३६१ मेट्रिक टन एलपी ग्यास, रु २० करोड २६ लाख मूल्य पर्ने दुई हजार २५६ किलोलिटर एटीएफ र रु तीन करोड ७९ लाख मूल्य पर्ने ४२० किलोलिटर मट्टितेल आयात भएको छ ।

चिसो सुरु भएसँगै नेपालमा बसाइँ सर्ने चराहरूको आगमन, तस्बिरहरु

काठमाडौँ । मनसुनी वर्षाले देश छोडेसँगै चिसो हावाको सिरेटो सुरु भएको छ। यो चिसो मौसमसँगै नेपालमा बसाइँ सर्ने चराहरूको आगमन भएको छ।

हरेक वर्ष १०० भन्दा बढी प्रजातिका चराहरू बसाइँ सरेर नेपाल आउने गर्छन्। तीमध्ये धेरैजसो पानी चरा र हाँसहरू हुन्छन्। यसबाहेक चिल, बाज, फिस्टे, गिद्धजस्ता अन्य चराहरू पनि उपयुक्त मौसमको खोजीमा नेपाल आइपुग्ने गर्छन्।

हालसम्म ९०० भन्दा बढी प्रजातिका चराहरू नेपालमा अभिलेख भइसकेका छन्। कयौँ प्रजातिका चराहरू नेपालमा विश्राम मात्र गरेर अन्य देशहरूमा जान्छन् भने कर्याङकुरुङजस्ता केही प्रजातिका चराहरू नेपालमा विश्राम नगरी आकाशबाटै भारततर्फ जाने गर्छन्।

जाडो याममा नेपाल आउने चराहरू कोशी, कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, बर्जु तालजस्ता ठुला नदी र पोखरीहरूमा बस्न रुचाउँछन्।

हरेक वर्ष जनवरी महिनामा देश वरपरका प्रमुख वासस्थानहरूमा बसाइँ सरेर आएका पानी चराहरूको गणना हुन्छ र लाखौँको सङ्ख्यामा अभिलेख गरिन्छ।

चखेवा, खोया हाँस, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्छ्रे आदि चराहरू ठूलो सङ्ख्यामा नेपाल आउँछन् भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँस जस्ता चरा निकै कम सङ्ख्यामा आउने गरेका छन्।

हायात होटल बन्द भएकोमा प्रधानमन्त्रीको चासो

काठमाडौं । हायात होटलले अनिश्चितकालीन सेवा बन्द गरेर कर्मचारी प्रवेश निषेध गरेको भन्ने खबर बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात रिजेन्सीको व्यवस्थापनसँग कुरा गरेका छन् । अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा सुचारु गर्न आग्रह गरेका छन् ।

सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेको छ । खनालले भने, ‘तपाईंहरू आत्तिनु भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौं । सुरक्षाको व्यवस्था हामी मिलाउँछौं । ककि पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता देनुहोस् ।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार यसबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गर्ने र आवश्यक पहल गर्ने बताइएको छ । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का नाममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि व्यवस्थापनले होटलको सेवा बन्द गरेको हो । शुक्रबार जारी गरिएको सूचनामा आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्पूर्ण श्रमिकहरूलाई अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ । होटलका मानव संशाधन निर्देशक मोहम्मद यूसुफ चौधरीद्वारा जारी सूचनामा भनिएको छ, ‘होटल मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशीलता समेतलाई मध्यनजर गर्दै होटलबाट प्रवाह हुँदै आएको व्यावसायिक सेवा लगायत सम्पूर्ण होटल नै पूर्ण रुपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरूलाई अर्को सूचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नहुँदासम्म होटल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ ।’

पोखरामा साथीले गरे साथीको हत्या

पोखरा । कास्कीको पोखरामा आज (शनिबार) बिहानै एक जनाको हत्या भएको छ । पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार स्थानीय ईश्वर तिमिल्सिनाले विवाद भएपछि घर फर्कने क्रममा पराजुलीमाथि आक्रमण गरेका थिए । प्रहरीले आक्रमणकारी भनिएका ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिइसकेको बस्नेतले बताए ।

हत्या गरिएका अनिल पराजुली र पक्राउ परेका ईश्वर तिमिल्सिना साथी भएको खुलेको छ । पराजुलीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

भेनेजुएलाका राष्ट्रपति मादुरो भन्छन्–अमेरिका युद्धको माहौल बनाइरहेको छ

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकामाथि युद्धको रचना गरिरहेको आरोप लगाएका छन् । यो आरोप अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउने क्रममा विश्वको सबैभन्दा ठूलो युद्धपोतलाई क्यारिबियनतर्फ पठाएपछि आएको हो ।

रक्षा सचिव पिट हेगसेथले शुक्रबार यूएसएस गेराल्ड आर फोर्ड विमानवाहक पोतलाई भूमध्यसागरबाट हिँड्न आदेश दिएका छन् । यो पोतले ९० वटासम्म विमान बोक्न सक्छ । मादुरोले सरकार सञ्चालित सञ्चारमाध्यमलाई भने, ‘उनीहरू नयाँ अनन्त युद्धको रचना गर्दैछन् । उनीहरूले फेरि कहिल्यै युद्धमा नफस्ने वाचा गरेका थिए । तर, उनीहरू युद्धको माहौल बनाइरहेका छन् ।’

अमेरिकाले क्यारिबियनमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ, युद्धपोतहरू, एक आणविक पनडुब्बी र एफ–३५ विमानहरू पठाएको छ, जसलाई उसले लागूपदार्थ तस्करहरूलाई लक्षित गर्ने अभियान भनेको छ । उसले लागूपदार्थ तस्करहरूको भएको बताउने डुंगाहरूमाथि दसपटक हवाई हमलाहरू गरिसकेको छ । शुक्रबार पनि हमला गरेको छ । त्यसमा हेगसेथले ६ पुरुष लागुऔषध–आतंकवादीहरू मारिएको बताए ।

उक्त कारबाही क्यारिबियन सागरमा भएको थियो । हेगसेथले त्यो जहाज ट्रेन दे अरागुआ आपराधिक संगठनको भएको बताए । यी हमलाहरूले यस क्षेत्रमा निन्दा निम्त्याएको छ र विशेषज्ञहरूले तिनीहरूको वैधतामाथि प्रश्न उठाएका छन् ।

ट्रम्प प्रशासनले लागूपदार्थ तस्करीविरुद्ध युद्ध सञ्चालन गरिरहेको बताएको छ । तर, विज्ञहरू र कंग्रेसका सदस्यहरू दुवैले मादुरोको सरकारलाई अस्थिर बनाउने प्रयासमा धम्की अभियान चलाएको आरोप पनि लगाएका छन् । मादुरो ट्रम्पका लामो समयदेखिका विरोधी हुन् । अमेरिकी राष्ट्रपतिले उनलाई लागूपदार्थ तस्करी गर्ने संगठनको नेता भएको आरोप लगाएका छन्, जसलाई मादुरोले अस्वीकार गर्छन् ।

च्याथम हाउस थिंक ट्यांकमा ल्याटिन अमेरिकाका लागि वरिष्ठ फेलो डा. क्रिस्टोफर साबातनीले बीबीसीलाई भने, ‘यो सत्ता परिवर्तनको बारेमा हो । उनीहरू सायद आक्रमण गर्ने छैनन्, आशा गरौँ यो केवल एउटा संकेत हो ।’ उनले यो सैन्य उपस्थिति भेनेजुएलाको सेना र मादुरोको भित्री घेरामा डर उत्पन्न गर्ने उद्देश्यले गरिएको तर्क गरे ।

आफ्नो घोषणामा शुक्रबार पेन्टागनले यूएसएस गेराल्ड आर फोर्ड वाहकलाई मध्य अमेरिका र दक्षिण अमेरिकासँगै क्यारिबियनसहितको अमेरिकी दक्षिणी कमान्डको क्षेत्रमा तैनाथ गरिने बताएको छ । बीबीसी

प्रहरीबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटपाट भएको तीन थान गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले एम्बुस (आकस्मिक) अपरेसनका क्रममा नरेफाँटबाट गोलीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया, बढैयाताल–३ घर भई काठमाडौंको कपनमा डेरा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालीगाउँस्थित आनन्द भैरव मार्गमा बस्ने १६ वर्षीय सोनम थापा मगर छन् । उनीहरूले जेनजी आन्दोलनका क्रममा दरबारमार्गमा उक्त गोली भेटेको र साथमा लिएर हिंडेको बताएका छन् ।

त्यहाँबाट लुटिएका हतियारको विषयमा भने उनीहरूले अनविज्ञता प्रकट गरेको प्रहरी स्रोतले जनाएको छ । गिरीको बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ । उनीहरु दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

रुकुम जीप दुर्घटना अपडेट : मृत्तकको संख्या आठ पुग्यो

रुकुमपूर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारे नजिकै लिस्नेमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

मृतकमा आठबिसकोट नगरपालिका–३ की ३० वर्षीया कमला वली, वडानम्बर १ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, वडानम्बर २ की १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला बिक र २२ वर्षीय गोपाल वली छन्।

घाइते हुनेमा मुसीकोट नगरपालिका–२ का ३४ वर्षीय जीप चालक टोपजंग बुढासहित १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा र १५ वर्षीया सबिता बिक छन् ।

घाइतेमध्ये जुना बुढालाई गम्भीर अवस्थामा नेपालगञ्ज पठाइएको र अन्यको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रा १ ज ४२२ नम्बरको जीप जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिका स्यालाखदीतर्फ जाँदै गर्दा बाँफिकोट र आठबिसकोटको सिमाना पर्ने झारमारे लिस्नेको लेकमा दुर्घटनाग्रस्त भएको थियो । प्रहरीका अनुसार जीप सडकबाट करिब ७ सय मिटर तल खसेको छ । क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

देवत्व र दानविकीकरण गर्न नछोडेसम्म हाम्रो समाज अघि बढ्न सक्दैन : रन्जु दर्शना

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शनाले देवत्व र दानविकीकरण गर्न नछोडेसम्म नेपाली समाज अघि बढ्न नसक्ने टिप्पणी गरेकी छिन् । सामाजिक सञ्जलामा पोष्ट लेख्दै उनले यस्तो बताएकी हुन् ।

उनले चेतना कहिले आउँंछ त थाहा छैन, तर यो चेतनाको कमीले समाजको घाटा भने भयङ्कर भएको जिकिर गरिन् । ‘देवत्व र दानविकीकरण गर्न नछोडेसम्म हाम्रो समाज अघि बढ्न सक्दैन,’ उनले लेखेकी छिन्, ‘चेतना कहिले आउँंछ त थाहा छैन, तर यो चेतनाको कमीले समाजको घाटा भने भयङ्कर भएको छ ।’

तिहारमा पनि वार्षिक परीक्षा

सुर्खेत । मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको छ । चिसोका कारण विद्यालय बन्द गर्नुपर्ने भएकाले कात्तिक १५ सम्ममा सबै परीक्षा सम्पन्न गरी बिदा दिने गरिएकाले तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका शिक्षा समितिका संयोजक पेमा वाङछेन गुरुङले जानकारी दिए ।

उनका अनुसार पालिकाभित्रका सबै विद्यालयले कात्तिकको पहिलो हप्तादेखि परीक्षा सञ्चालन गरेर १५ गतेसम्ममा पूरा गर्न दिइएको निर्देशनअनुसार परीक्षा भएको हो । कात्तिकदेखि चिसो बढ्ने र हिमपात हुने भएकाले १५ गतेभित्र परीक्षा सकाएर विद्यालय बन्द गरिन्छ। सोही कारणले चाडपर्वमा पनि परीक्षा गराएको शे–फोक्सुण्डो–७ स्थित टसी सम्भो आधारभूत विद्यालयका शिक्षक नवीन शाहीले बताए ।

‘यस पटक हामीले पर्व विद्यार्थीसँग मनाएका छौँ,’ उनले भने, ‘शे–फोक्सुण्डो गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षकले पालिकाको निर्देशनअनुसार काम गर्नुभएको छ ।’ शिक्षा समितिका संयोजक गुरुङका अनुसार यहाँ माध्यमिक विद्यालय एक, आधारभूत नौ र तीन बालविकास कक्षा (इसिडी) सञ्चालनमा छन् । सबै विद्यालयमा वार्षिक परीक्षा एकैसाथ सञ्चालन भइरहेको जनाउँदै उनले डोल्पामा दुईवटा शैक्षिकसत्र सञ्चालन हुने बताए ।

दिल्लीमा पहिलो पटक ‘क्लाउड सिडिङ’ परीक्षण, कृत्रिम वर्षाको तयारी

काठमाडौं । भारतले बिहीबार राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने रहेको बताइएको छ । क्लाउड सिडिङ भन्नाले वर्षा उत्प्रेरित गर्न विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा फायर गर्ने प्रक्रिया हो । यसरी कृत्रिम रूपमा वर्षा गराई वायुमण्डलीय प्रदूषणलाई कम गर्ने उद्देश्यले यो प्रविधि विश्वका केही मुलुकले पहिले नै प्रयोग गर्दै आएका छन् ।

नयाँदिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा सहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी बिहीबार दिउँसो परीक्षण सुरु गरेका हुन् । दिल्लीका मन्त्री मञ्जिन्दर सिंह सिरसाले विज्ञप्ति जारी गर्दै भने, “आज क्लाउड सिडिङको परीक्षण उडान सम्पन्न गरिएको छ, जसमा फ्लेयर्स प्रयोग गरी बादलमा रासायनिक कण फायर गरियो ।” उनका अनुसार, यो उडानले विमानको क्षमताको मूल्याङ्कन, उपकरणहरूको सहनशीलता, समन्वय संयन्त्र र क्लाउड सिडिङका लागि आवश्यक तयारीको प्रमाणीकरण गरेको हो ।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भने, ‘यदि मौसम अनुकूल रह्यो भने, दिल्लीले अक्टोबर २९ मा पहिलो कृत्रिम वर्षा अनुभव गर्नेछ ।’ उनले यो परियोजना दिल्लीवासीका लागि ‘स्वच्छ हावा फिर्ता ल्याउने महत्वपूर्ण कदम’ भएको बताए । तर, परीक्षणमा कुन रसायन प्रयोग गरिएको थियो भन्ने जानकारी तत्काल सार्वजनिक गरिएको छैन । तीन करोडभन्दा बढी जनसंख्या भएको नयाँदिल्लीलाई संसारकै सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक मानिन्छ । प्रत्येक जाडोमा सहर बाक्लो धुवाँले ढाकिन्छ । चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिनको नजिक थुनेर बाली जलाउने, उद्योग धुवाँ र ट्राफिकको उत्सर्जन मिसिएर घातक प्रदूषणको मिश्रण बनाउँछ ।

रगतमा प्रवेश गर्न सक्ने सानो आकारको हुने र क्यान्सरसमेत उत्पन्न गर्न सक्ने ए स् २।५ नामक सूक्ष्म कण कहिलेकाहीँ संयुक्त राष्ट्रसंघको दैनिक स्वास्थ्य सीमा भन्दा ६० गुणासम्म बढी पाइन्छ । दीपावली पर्वको आतशबाजीपछि यस हप्ताको प्रदूषण स्तर झनै बढेको छ । एः २.५ को मात्रा सीमाभन्दा ५६ गुणा बढी पुगेको निगरानी संस्था ‘आइक्युएयर’ ले जनाएको छ । यो वृद्धि सर्वोच्च अदालतले यसअघि नै पूर्ण प्रतिबन्ध हटाएर ‘हरियो पटाका’ अर्थात् कम प्रदूषण गर्ने आतशबाजीलाई अनुमति दिएको निर्णयपछि आएको हो ।

बिहीबार बिहान मात्र नयाँदिल्लीका केही क्षेत्रमा ए स् २.५ को स्तर १५४ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो । यो विश्व स्वास्थ्य सङ्गठनको सिफारिस भन्दा १० गुणा बढी हो । सेप्टेम्बरमा गरिएको एक अध्ययनले दिल्लीको ऐतिहासिक लालकिल्ला समेत प्रदूषणका कारण कालो हुँदै गएको निष्कर्ष निकालेको थियो । भारतीय र इटालियन वैज्ञानिकहरूको संयुक्त टोलीले हेरिटेज जर्नलमा प्रकाशित अध्ययनमा युनेस्को विश्व सम्पदा स्थल लालकिल्ला निरन्तर कालो क्रस्टले ढाकिँदै क्षय हुँदै गएको चेतावनी दिएको छ ।

कहिले खडेरी कम गर्न, कहिले वन आगलागी नियन्त्रणमा त कहिले हवाई यातायातमा कुहिरो हटाउन सन् १९४० को दशकमा विकसित गरिएको क्लाउड सिडिङ प्रविधि दशकौँदेखि विभिन्न देशले प्रयोग गर्दै आएका छन् । चीनले सन् २००८ को ओलम्पिकका बेला बेइजिङमा वर्षा रोक्न यही प्रविधिको प्रयोग गरेको थियो । तर वैज्ञानिकहरूबीच यस प्रविधिको प्रभावकारितामा मतभेद छ । केही अनुसन्धानहरूले क्लाउड सिडिङले अपेक्षित परिणाम नदिने र लक्षित क्षेत्रबाहेक अन्य क्षेत्रमा अप्रत्याशित असर पर्ने देखाएका छन् । त्यसैले दिल्लीको यो प्रयास सफल हुनेछ वा छैन भन्ने विषयमा वैज्ञानिक मूल्याङ्कन अझै बाँकी छ । रासस

 

नितु र बाबुल लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खुलासा

काठमाडौँ ।  गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर) झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । अनामनगरस्थित स्टुडियोमा केही दिनअघि आत्मदाह प्रयास गरेकी नितुको शुक्रबार बिहान उपचारको क्रममा कृर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको छ ।

बाबुलको स्टुडियोको तलपट्टी नितुको डुर्बिना क्याफे छ । चिया पसल चलाउनेदेखि उनले संगीत करिअरलाई पनि अघि बढाउँदै आएकी थिइन् । उनीहरूको प्रेम सम्बन्धबारे पछिल्लो समय संगीत क्षेत्रका अधिकांश मानिसहरु जानकार जस्तै थिए ।

सुरु-सुरुमा नितुको प्रेममा बाबुल मोहितजस्तै थिए । नितुसँगको एकोहोरो प्रेममा बाबुल परेको र उनलाई पछ्याउने गरेको निकट स्रोत बताएको छ । केही समयपछि यी दुईजनाको दुईतर्फी प्रेम मौलायो र नितुले पनि बाबुललाई प्रेम गर्न थालिन् ।

अनामनगर सामुदायिक प्रहरीको पछाडि पट्टी डेरा लिएर बस्दै आएकी नितु र बाबुलको सम्बन्ध निकै घनिष्ट थियो । स्रोतका अनुसार, उनी नितुको कोठामा बस्ने, आउनेजाने पनि गर्थे । भने सांगीतिक सहकार्य पनि गरिहेका थिए । धेरै चर्चित नभएपनि लो-प्रोफाइलमा रहेर नितुले एक दशकभन्दा लामो समयदेखि सांगीतिक करिअरलाई अघि बढाईरहेकी थिईन् ।

तर केही वर्षयता विवाहलाई लिएर दुईजनाबीच खटपट चल्न थालेको थियो । बाबुलसँगको गहिरो प्रेममा परेकी नितुलाई परिवारले अमेरिका–अस्ट्रेलिया बस्ने केटासँग विवाहको प्रस्ताव पनि ल्याएका थिए । तर, नितुले बाबुलसँग बाहेक अरुसँग विवाह नगर्ने अडान लिएकी थिईन् ।

उमेरले ३० वर्ष पुग्न लागेकी नितुलाई परिवारले विवाहको लागि दबाब दिन थालेपछि उनले बाबुललाई चाँडो विवाह गर्न दबाब दिइरहेकी थिइन् । स्रोतका अनुसार ७–८ महिनायता बाबुलले विवाह टार्दै आएका थिए । ६ महिनायता त उनीहरूबीच विवाहलाई लिएर झगडा हुँदै आएको थियो ।

विवाहलाई लिएर दिनहुँ झगडा हुन थालेपछि बाबुलले नितुसँग विवाह नगर्ने सम्म बताउन थालेको स्रोतले बताएको छ । ‘त्यसपछिका महिनामा नितुमा डिप्रेसनको समस्या देखिन थालेको थियो । निकट स्रोतका अनुसार टोलाउने, एकोहोरिने समस्या नितुमा देखा पर्न थालेको थियो । मुख्यतः विवाहको लागि नितुले दबाब दिएर र त्यसलाई बाबुलले टार्ने प्रयास हुँदा झगडा निम्तिएको देखिन्छ । बाबुल पछिल्लो समयका चर्चित संगीतकार तथा पाश्र्वगायक हुन् । गायिका पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरेका छन् । १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेकि थिईन्। यता, गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेलले बाबुल विरुद्ध आत्महत्या दुरूत्साहनको जाहेरी प्रहरी वृत्त सिंहदरबारमा दिएका छन् । मृतकका आफन्तले जाहेरी दिएसँगै गायक गिरीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

 

सुशीला कार्की नेतृत्वको सरकारले देशलाई निकास दिन सक्दैन : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सत्तामा उदय नै अदृश्य तवरले भएको आरोप लगाउँदै उनले यो सरकारले देशलाई सही दिशा दिन नसक्ने बताएका हुन् । पूरानै संविधान र पूरानै व्यवस्था राखेर अघि बढ्दा गन्तव्य पनि पूरानै नेपाल हुने उल्लेख गर्दै साहले अबको निकास भनेको नै ‘सरकार बदलावसँगै व्यवस्थाको पनि बदलाव हो । अन्तरिम सरकार र अन्तरिम संविधान’ भएको बताए ।

आज (शुक्रबार) सिराहाको सुखीपुर नगरपालिका–१० दहिपौरी बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले सुशीला कार्की र ओमप्रकाश अर्यालले ‘देश नबुझेको र जनता नै नचिनेको’ आरोप लगाए । उनीहरूको नेतृत्वमा देशले निकास नपाउने उनको टिप्पणी छ ।
‘सुशीला कार्कीहरू जेनजी आन्दोलनका अपहरणकारीहरू हुन् । जेनजी विद्रोहमा जसरी केपी ओली र रमेश लेखकहरुले दमन गरे, त्यो भन्दा बढि युवाहरुको सपना अनि भावनामाथि यी सुशीला र ओमप्रकाश अर्यालहरुले फोहोरी खेल खेलेका छन्,’ उनले भने, ‘षड्यन्त्र गरेका छन् । छलछाम गरेका छन् । यो कुरा अहिले न्यायप्रेमी जनताले थाहा पाइसके ।’

 

दर्ता भएका १२४ दलको सूची सार्वजनिक : माधवसँग एकता भएको बामदेवको पार्टी पनि कायमै

काठमाडौं । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिन्हसमेत समावेश गरिएको छ ।सूचीको पहिलो स्थानमा नेपाल मजदुर किसान पार्टी छ । जसको अध्यक्ष नारायणमान बिजुक्छे र चिन्ह मादल हो । दोस्रो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) परेको छ, जसका महासचिव चन्द्रप्रकाश (सीपी) मैनाली हुन् र चिन्ह हँसिया र तारा हो ।

तेस्रोमा गान्धीवादी पार्टी नेपाल (अध्यक्ष लालबहादुर राना, चिन्ह भेडा) र चौथोमा नागरिक शक्ति, नेपाल (अध्यक्ष देवप्रकाश त्रिपाठी, चिन्ह त्रिशुल) रहेका छन् । पाँचौँ नम्बरमा युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी दर्ता भएको छ, जसको अध्यक्ष मुस्कान पौडेल र चिन्ह पुरुष हो ।राष्ट्रिय राजनीति निर्धारण गर्ने ठूला दल पनि आयोगको अद्यावधिक सूचीमा क्रमशः समावेश छन् । नेकपा (एमाले) २३औं नम्बरमा छ, जसको अध्यक्ष केपी शर्मा ओली र चिन्ह सूर्य हो । २५औं नम्बरमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिन्ह गोलाकारभित्र हँसिया–हथौडा रहेको छ । नेपाली काँग्रेस २६औं नम्बरमा दर्ता छ, सभापति शेरबहादुर देउवा र चिन्ह रुख हो । यस्तै राष्ट्रिय जनमोर्चा २७औँ नम्बरमा छ, अध्यक्ष चित्रबहादुर केसी र चिन्ह गिलास हो ।

समकालीन राजनीतिक धारका नयाँ दल पनि आयोगको सूचीमा छन् । विवेकशील साझा पार्टी (अध्यक्ष समिक्षा बास्कोटा, चिन्ह तराजु) ६८औँ नम्बरमा, जनमत पार्टी (अध्यक्ष डा.चन्द्रकान्त राउत, चिन्ह लाउडस्पिकर) ७५औं नम्बरमा, नेकपा (एकीकृत समाजवादी) (अध्यक्ष माधवकुमार नेपाल, चिन्ह कलम) ८८औँमा र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (अध्यक्ष महन्थ ठाकुर, चिन्ह साइकल) ८९औं मा छन् ।

नेतृत्व परिवर्तन र फुटपछिका दल पनि दर्ता कायम छन् । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी विप्लव समूहसँग आवद्ध भए पनि पार्टी आयोगमा कायम छ । त्यस्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एस)मा समाहित भइसके पनि उनको पार्टी दर्ता सूचीमै रहेको छ । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा समाहित भएको तीन महिना नाघ्यो ।

गत साउन २ गते काठमाडौंमा आयोजित एक कार्यक्तमका बीच माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा एकता अभियानबीच एकता भएको थियो । एकतापछि एकीकृत समाजवादीमा गौतम तेस्रो वरियताको नेताको रूपमा रहेका छन् । तर, अझैसम्म गौतम नेतृत्वको पार्टीको अभिलेख भने निर्वाचन आयोगमा यथावत छ । निर्वाचन आयोगका अनुसार हाल दल दर्ताको संख्या १२४ छ । उक्त सूचीको १११ नम्बरमा गौतम नेतृत्वको पार्टी छ।

त्यसबाहेक आम जनता पार्टी (अध्यक्ष प्रभु शाह, चिन्ह मोबाइल), जनता प्रगतिशील पार्टी नेपाल (अध्यक्ष हृदयेश त्रिपाठी, चिन्ह कोदालो बोकेको किसान), नागरिक उन्मुक्ति पार्टी (अध्यक्ष रन्जिता श्रेष्ठ, चिन्ह ढकिया), नेपाल समाजवादी पार्टी (अध्यक्ष डा.बाबुराम भट्टराई, चिन्ह खुलेको आँखा) र राष्ट्रिय स्वतन्त्र पार्टी (अध्यक्ष रवि लामिछाने, चिन्ह घण्टी) पनि अद्यावधिक सूचीमा छन् ।

नयाँ दल मध्ये जनता समाजवादी पार्टी (अध्यक्ष अशोककुमार राई) र राष्ट्रिय मुक्ति पार्टी नेपाल (अध्यक्ष राजेन्द्र महतो, चिन्ह ग्यास सिलिन्डर) पनि हालै दर्ता भएका हुन् । अन्तिम अर्थात् १२४औँ नम्बरमा जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टी २०८२ असोज २८ मा दर्ता भएको छ, जसको अध्यक्ष दीपककुमार साह छन् । यी सबै दल निर्वाचन आयोगमा दर्ता भइसकेकाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउने योग्यता राख्छन् । तर आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता र नवीकरण प्रक्रियामा सहभागी हुनुपर्ने कानूनी प्रावधान भने यथावत् रहन्छ।

 

नहरमा डुबेर जुम्ल्याहा दिदी–बहिनीसहित तीन जनाको मृत्यु

कैलाली । कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवाको सातविघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीन जनाको ज्यान गएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए ।

उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । निशा र मानुषी टीकापुरको जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका–१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए । डीएसपी डाँगीका अनुसार निशा र मानुषीको आफन्त कहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो । तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

कोप–३० मा नेपालले नौं एजेण्डा प्रस्तुत गर्ने, राष्ट्रिय स्थितिपत्रको मस्यौदा तयार

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मंसिर ५ गतेसम्म) सम्म ब्राजिलको बेलेममा आयोजना हुँदैछ ।

यो सम्मेलन जिवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रुपान्तरण, मानव पक्षपोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धिललगायत विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । त्यसका लागि ब्राजिल सरकारले प्रस्ताव अघि बढाएको छ । त्यसैगरी नेपालले पनि गत जेठमा सम्पन्न गरेको सगरमाथा संवादका निष्कर्ष ‘सगरमाथा आह्वान’ को हिमाल संरक्षणलगायत विषयलाई सम्मेलनमा उठाउने गरी तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयले सम्मेलनको तयारीका लागि सरोकारवाला सरकारी, गैरसरकारी, विकास साझेदारलगायतका प्रतिनिधिसहितको चरणबद्ध बैठक गरी सम्मेलनको तयारी अघि बढाएको छ ।

कोप–३० का लागि मन्त्रालयले सगरमाथा संवादका निष्कर्षका साथ सम्मेलनका उपलब्धिको विश्वव्यापी समीक्षा, जलवायुजन्य हानिनोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौताको धारा ६ विषयमा आधारित रहेको आफ्ना एजेण्डा प्रस्तुत गर्ने जनाएको छ । त्यस्तै जलवायु वित्त, जलवायुका विषयमा पारदर्शिता ढाँचा, पर्वत, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरण तथा जलवायु न्यायका विषयमा आधारित रहेको एजेण्डा प्रस्तुत गर्ने मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. महेश्वर ढकालले जानकारी दिए ।

साथै सम्मेलनमा नेपालले पछिल्लो पटक व्यहोर्नु परेका ठूला जलवायुजन्य हानि नोक्सानीका उदाहरण प्रस्तुत गर्दै जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका विषयलाई उजागर गर्ने बताइएको छ । यस अघिका सम्मेलनमा उद्घाटनको पहिलो र दोस्रो दिन उच्चस्तरीय राजनीतिक नेतृत्वलाई आमन्त्रण गरी उच्चस्तरीय सत्र गरिन्थ्यो । कोप–३० भने सम्मेलनको तीन दिनअगाडि नै उच्चतस्तरीय सत्र आयोजना गरी राजनीतिक र प्राविधिक सत्रलाई अलग–अलग गरिएको उनले बताए ।

राष्ट्रिय स्थितिपत्रको मस्यौदा तयार

’मन्त्रालयका तर्फबाट गर्नुपर्ने पूर्वतयारीहरू लगभग धेरै कार्य गरिसकेका छौँ, मुलुकको पछिल्लो परिस्थितिका कारण यस सम्मेलनमा जाने प्रतिनिधिमण्डल पनि सकेसम्म थोरै संख्या रहनेछ,’ महाशाखाका प्रमुख एवं सहसचिव डा ढकालले भने, ‘राष्ट्रिय स्थितिपत्रको मस्यौदा तयार गरी सरोकारवालासँग आवश्यक छलफल र सुझाव लिने कार्य अन्तिम चरणमा छ ।’

वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा ०.३ डिग्री सेल्सियसदेखि ०.७ डिग्री सेल्सियसभन्दा बढी हुने गरिएको छ । परिवर्तित जलवायुका कारण नेपालमा पछिल्लो समय मनसुनी वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक हेरफेर देखिन थालेको छ । यसप्रकारको हेरफेरका कारण उत्पन्न हुने जलवायुजन्य प्रकोप र विपद्ले गर्दा नेपालले ठूला जलवायुजन्य हानिनोक्सानीको सामना गर्नुपरिरहेको छ ।

यस्तो अवस्थामा नेपालले कोप–३० मा जलवायुजन्य हानिनोक्सानीको विषयलाई बढी जोड दिनुपर्ने संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम नेपालको जलवायु परिवर्तन तथा उत्थानशील परियोजनाका विश्लेषक दिपक केसीको सुझाव छ । उनले भने, ‘हानिनोक्सानीको क्षतिपूर्तिका लागि आठ विलियन अमेरिकी डलर आवश्यक छ, तर हानिनोक्सानी कोषमा आठ सय मिलियन डलर मात्रै प्रतिबद्धता भएको र त्यसमध्ये पनि खर्च गर्ने रकम चार सय मिलियन डलर रहेको छ ।’

त्यसैले नेपालजस्ता मौसमी तथा जलवायुजन्य हानिनोक्सानी बढी व्यहोर्ने मुलुकहरू मिलेर हानिनोक्सानी क्षतिपूर्तिको विश्वव्यापी दबाब बढाउनुपर्ने उनको भनाइ छ । ‘यसका साथै नेपाल जस्ता मुलुकले नीतिगत सुधार, प्रविधि क्षमता अभिवृद्धिलगायत तयारी पनि सँगसँगै गर्नुपर्छ’ विश्लेषक केसीले भने ।

मन्त्रिस्तरीय सहभागिता हुने
कोप–३० मा सम्भवतः नेपालले मन्त्रिस्तरीय सहभागिता जनाउने गरी तयारी भएको बुझिएको छ । हालसम्मको तयारी अनुसार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारको नेतृत्वमा सहभागिता जनाइने बताइएको छ । नेपालबाट हालसम्म यसअघिका पाँच सम्मेलनमा राष्ट्र-सरकार प्रमुखस्तरबाट सहभागिता भएको थियो । सन् २००९ डेनमार्कको कोपनहेगनमा भएको १५औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औँ सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वको नेपालले उच्चस्तरीय सहभागिता जनाएको थियो ।

त्यसैगरी सन् २०२१ मा संयुक्त अधिराज्यको स्कटल्याण्डमा भएको २७औँ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, सन् २०२३ मा युएईको दुबईमा भएको कोप–२८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गत वर्ष अजरबैजानको बाकुमा भएको कोप–२९ सम्मेलनमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको सहभागिता जनाइएको थियो । – भीष्मराज ओझा / रासस

 

सामाजिक सुरक्षा कोषमा ९३ अर्ब, २५ लाख बढी श्रमिक आबद्ध

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ । कोषमा आबद्ध हुने योगदानकर्ता र रोजगारदाताको संख्यामा उल्लेख्य वृद्धि भएको कोषले जनाएको छ । हालसम्म २२ हजार ७६ रोजगारदाता संस्थाहरू कोषमा आबद्ध भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९ सय ४६ नयाँ श्रमिक सूचिकृत भएका थिए ।

कोषमा औपचारिक क्षेत्रका ६ लाख ४० हजार श्रमिक आबद्ध छन् भने अनौपचारिक क्षेत्रका ७९४ श्रमिक मात्र सहभागी छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकहरू १९ लाख ३४ हजारभन्दा बढी आबद्ध भएका छन् । सरकारको बाध्यात्मक व्यवस्थाका कारण उनीहरू प्रक्रिया पु¥याउन कोषमा जोडिए पनि नियमित योगदान भने कम हुने गरेको छ । कोषले अहिलेसम्म योगदानकर्ताबाट ९३ अर्ब रुपैयाँ सङ्कलन गरिसकेको छ ।

यो रकम धेरैजसो बैंकमा राखेर ब्याज लिइएको छ । सामाजिक सुरक्षा ऐनअनुसार यो रकम उत्पादनशील क्षेत्रमा लगाउनु पथ्र्यो । कोषका प्रवक्ता कृष्ण अधिकारीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन १०७ स्वास्थ्य संस्थासँग समन्वय गरिएको र स्वचालित सेवा प्रणाली जडान गरिएको बताए । उनले अब योगदानकर्ताको परिवारमा समेत स्वास्थ्य सेवा विस्तार भएको र अस्पतालमा भर्ना भएर गरिने उपचारमा १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा लागू गरिएको जानकारी दिए । कोषमा जम्मा भएको रकमलाई सही ठाउँमा परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

 

गृहमन्त्रीको आलोचनापछि कोषले भन्यो–उहाँ जुत्ता लगाएर पशुपतिनाथ मन्दिरभित्र जानु भएको होइन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश नगरेको पशुपति क्षेत्र विकास कोषले स्पष्ट पारेको छ । कात्तिक ५ गते बुधबार गृहन्त्री अर्यालले परिवारसहित पशुपति क्षेत्रको निजी भ्रमण र यहाँका मुख्य मुख्य मन्दिरमा दर्शन गरेको र निषेधित क्षेत्रमा जुत्ता लगाएर प्रवेश नगरेको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

पशुपतिनाथको मूल मन्दिरभन्दा बाहिरको नैऋत्य कोणमा बनाइएको ढोकाअघि खिचेको तस्बिर सेयर गरी सामाजिक सञ्जालमा गलत प्रचार गरिएको उनको भनाइ छ । विसं २०५९ मा वसन्त चौधरी कोषको सदस्य सचिव हुँदा खोलिएको ढोकाअघि गृहमन्त्रीले तस्बिर खिचाएका थिए ।

आर्यघाट हुँदै गुह्येश्वरी मन्दिरतिर जाने बाटोसँगै त्यस पेटीमा गृहमन्त्री अर्याल परिवारसहित निमित्त सदस्य सचिव र एक जना पण्डित पनि भएको तस्बिरलाई गलत रूपमा सामाजिक सञ्जालमा प्रचार गरिएको कोषले जनाएको छ । बुधबार गृहमन्त्री अर्यालले पशुपतिनाथ, मृगस्थलीस्थित गोरखनाथ गुह्येश्वरी मन्दिरमा दर्शन गरेको कोषले जनाएको छ । रासस

कति सकियो द्रूतमार्ग निर्माणको काम ? के भन्छ सेना ?

काठमाडौं । देशको प्रमुख सुरक्षा संगठन नेपाली सेनाले रणनीतिक महत्वका ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ । त्यसक्रममा १ हजार ४०० किलोमिटरभन्दा बढी सडकको ‘पाइलट ट्रयाक’ खोली सरकारलाई हस्तान्तरण गरिसकेको नेपाली सेनाको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोरको खार्पुनाथस्थित चुवा खेलामा बेलिबृज जडानपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यसमा पनि नेपाली सेनाको योगदान रहेको छ । नेपाली सेनाले हाल खाँदवारी–किमाथाङका, कर्णाली करिडो, बनीघाट–आरुघा–लर्कभञ्ज्याङ र दार्चुला–टिंकरणसहितका ५ वटा सडक आयोजनाअन्तर्गत करिब २७४ किलोमिटरभन्दा बढी सडक निर्माण गरिरहेको छ । राष्ट्रिय गौरवका ती आयोजनालाई तोकिएकै मितिमा सम्पन्न गर्न सेनाले प्राथमिकताका साथ कार्य गरिरहेको निर्देशक थापाले जानकारी दिए । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको काठमाडौँ–तराई मधेश द्रूतमार्ग सडक निर्माणको काम तदारुकताका साथ अघि बढिरहेको उनले बताए ।

विसं २०७४ वैशाखमा उक्त सडक निर्माणको जिम्मेवारी सेनाले लिएको थियो। जिम्मेवारी प्राप्त भए पनि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम सुरु गर्न केही ढिलाइ भएको थियो । कूल ७० दशमलव ९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल ४३ दशमलव छ र वित्तीय प्रगति ४४ दशमलव ७२ रहेको आयोजना निर्देशक धर्मेन्द्रकुमार झाले जानकारी दिए। द्रूतमार्गअन्र्तगत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्ने छ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल रहने छन् ।त्यस्ता पुल समेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति विस २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत २ खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न हुने झाले स्पष्ट पारे ।

यो काठमाडौँ उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ । निर्माणपछि तराईबाट काठमाडौँमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गतका ७ वटा सुरुङमध्ये २ वटा छिचोलिएको, २ वटा निर्माणाधीन रहेका र ३ वटाको ‘पोर्टल’ कार्य भइरहेको सेनाले जनाएको छ । सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको निर्देशक झाले बताए । रासस

 

 

जेन–जेड युनाइटेडको चेतावनी : सरकार र मिडियाले हामीलाई छुट्याउने काम नगरोस्

काठमाडौं । जेनजी पुस्ताका युवाहरुलाई एकतावद्ध हुन र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । जेन–जी समूहरुलाई एकतावद्ध भई शहीदका सपनाहरु पूरा गर्न खबरदारी गर्न जेन–जेड युनाइटेडको नामबाट शुक्रवार माईतीघर मण्डलामामा प्रदर्शन गरिएको हो । प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।

प्रदर्शनकारीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’, ‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । प्रदर्शनमा सहभागी जेन–जी युवा आनन्दमान साम्पाङले मुलुकको विकास र समृद्धिको लागि सबै जेन–जीहरु एक हुनुपर्ने बताए । उनले सरकार र सञ्चार माध्यमहरुलाई समेत नकारात्मक सन्देश फैल्याएर जेन–जीहरुलाई छुट्याउने काम नगर्न चेतावनी दिए।

उनले भने, ‘अहिले हाम्रो मुख्य मुद्दा भनेको युनाइटेड हुनु हो । म इलामको एउटा जेनजी आज यहाँ छु । किनभने हामी युनाइटेड हुन चाहन्छौं । कसैले पनि हामी जेन–जीहरुलाई छुट्याउने प्रयास नगरोस् । हामी एक हुन चाहन्छौं । सरकार र मिडियाले गलत म्यासेज पठाएर हामीलाई छुट्याउने काम नगरोस् । अहिले हामी छिन्नभिन्न हुने होइन । हामी सबै जेनजी पुस्ता एक भएर अगाडि बढ्ने दिन आएको छ ।’ नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरुले जेन–जी समूहलाई एकतावद्ध गर्न सरकारले समेत सहयोग गर्नुपर्ने माग राखेका छन् । —न्युज एजेन्सी नेपाल

बिगही नदीमा नेपाल–भारतको साझा छठघाट

महोत्तरी । महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल–भारतको साझा घाट निर्माण गरिएको छ । बिगही नदीछेउमा करिब दुई किलोमिटर लामो आकर्षक घाट निर्माण गरिएको हो । नेपालतर्फ मटिहानी नगरपालिकाका वडा नम्बर ६, ७ र ८ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ को तुलसियाही तथा भारततर्फ मधवापुर र रामपुर बजारका बर्तालुका लागि छटघाट निर्माण गरिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

दुई देश र दुई राष्ट्रियता भए पनि समान धर्म, संस्कृति, चाडपर्व, बिहेवारी र सुखदुःख आदानप्रदानको उन्नत प्रचलनले दुवै देशका नागरिकले साझा छठ घाट निर्माण गर्दै आएका उनले बताए । ‘माझमा दशगजाले दुई देश छुट्याएको छ । हाम्रा वेषभूषा, भाषा, संस्कृति र चाडवाड समान छन् । हामीबीच सांस्कृतिक चाडपर्व एकआपसमा मिलेर मनाउने संस्कृति स्थापित छ, यो घाट यसैको उदाहरण हो’, नगरप्रमुख मण्डलले भने ।

शनिबार यसपालिको महापर्व छठ ‘नहाय–खाय’ विधिबाट सुरु हुँदैछ। लोक आस्थाको यस पर्वमा आइतबार ‘खरना’, सोमबार ‘सझुकाघाट’ र मङ्गलबार बिहान ‘पारन’ (भोरका घाट) विधि गरेर सम्पन्न गरिने छ । यसैका लागि नेपाल भारतको यो साझा घाट सजाउन नेपाल तर्फका मटिहानी र तुलसियाही एवं भारत तर्फका मधवापुर र रामपुरका नागरिक जुटेका छन् ।

सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी) को उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर व्रतालुले अघ्र्य (अर्घ) दिनेछन् । यस घाटमा दुवै देशका गरी दुई हजारभन्दा बढी व्रतालुले अघ्र्य दिने र छठ घाट हेर्न १० हजारभन्दा बढी श्रद्धालु उपस्थित हुने अनुमान रहेको मटिहानी–७ का वडाध्यक्ष जितनारायण माझीले बताए । सझुकाघाटमा अघ्र्यको समयदेखि भोलिपल्ट बिहान भोरकाघाटको अघ्र्य दिँदासम्म व्रतालु र परिवारजन घाटमै छठी गीत गाउँदै जाग्राम बस्ने गर्छन् । रासस

गायक बाबुल गिरीविरुद्ध जाहरी लिएर प्रहरी कार्यालयमा नितुको परिवार

काठमाडौं । गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । नितुका दाइ गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर अहिले प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् । गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका छन् । विगत ८–९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुई जना मात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको दाबी उनको छ ।

यस्तै गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भए लगत्तै गायक गिरी प्रहरीको सम्पर्कमा पुगेका छन् । गायिका पौडेलको मृत्यु लगत्तै गायक तथा संगीतकार गिरी जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका हुन् । गत शनिबार अनामनगरस्थित गायक बाबुल गिरीको स्टुडियोमा आफैले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका पौडेलको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटल’ मा निधन भएपछि उनी प्रहरी सम्पर्कमा पुगेका हुन् । कात्तिक १ गते स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेको बताइन्छ ।

यो स्टुडियो गायक बाबुल गिरीको हो । उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । यो विषय अनुसन्धानकै क्रममा रहेको बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताएका छन् ।

माओवादी र नेकपा एसबीच एकीकरणको टुंगो, झलनाथ खनालको पनि ‘ग्रीन सिग्नेल’

काठमाडौं । लामो समयदेखि वाम एकताको प्रयासमा रहेका दुई प्रमुख कम्युनिष्ट दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकीकरणको टुंगो लागेको छ । नेतृत्व, नीति तथा सिद्धान्तमा मौलिक सहमति बनेपछि अब निर्वाचन आयोगले तोकेको दल दर्ताको समयभन्दा अघि नै एकीकरण घोषणा हुने निश्चित जस्तै भएको छ । वार्ता टोलीका सदस्यहरूका अनुसार अब दुवै दलबीच कुनै ठूला विमति बाँकी छैन । एकीकरणपछिको नेतृत्व मिलाउने जिम्मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ ।

नीति र सिद्धान्तमा सहमति
स्रोतका अनुसार नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहनेछ भने कार्यनीति नेपाली विशेषतासहितको समाजवादमा आधारित हुनेछ । माओवादीले माओवादलाई संगठनात्मक सिद्धान्तबाट हटाउने सहमति जनाएको छ भने समाजवादी पक्षले ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई अघिबाटै परित्याग गरेको थियो । यसरी अब बन्ने नयाँ पार्टीले जबजका आधारभूत मूल्य र नेपाली विशेषता सहितको समाजवादी मार्गलाई मूल नीति बनाउने छ ।

नाम र चुनाव चिन्हबारे छलफल
पार्टीको नामका लागि ‘नेपाल कम्युनिष्ट पार्टी समाजवादी’ वा ‘नेपाली कम्युनिष्ट पार्टी समाजवादी’ जस्ता प्रस्ताव आएका छन् । ‘समाजवादी’ शब्द भने अनिवार्य रूपमा राख्ने सहमति भएको बताइन्छ । नेकपा (एस) को दर्ता नाम र सम्भावित दोहोरोपन टार्न ‘नेकपा समाजवादी केन्द्र’ भन्ने प्रस्ताव पनि आएको थियो, तर छोटकरी नाम ‘सके’ हुने भएकाले त्यो प्रस्ताव त्यागिएको छ । चुनाव चिन्हबारे अझै अन्तिम टुंगो लागेको छैन । समाजवादी पक्षले ‘कलम’ निरन्तरता दिनुपर्ने बताइरहेको छ भने माओवादी पक्ष नयाँ चिन्ह खोज्ने पक्षमा छ ।

नेतृत्व मोडालिटी
नेतृत्वबारे विभिन्न मोडालिटीमा छलफल भइरहेको छ । हालसम्म प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक हुने प्रस्ताव बढी बलियो देखिएको छ । दुई अध्यक्षको मोडालिटी असफल भइसकेकाले त्यो विकल्प दोहोर्‍याउने सम्भावना छैन । यदि विप्लव नेतृत्वको नेकपा पनि एकीकृत भएमा अध्यक्ष मण्डलको प्रस्तावमाथि पनि पुनः विचार हुनसक्ने बताइन्छ ।

झलनाथ खनालको पनि ‘ग्रीन सिग्नल’

पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल, जो सुरुमा एकीकरणप्रति असन्तुष्ट थिए, अहिले सकारात्मक बनेका छन् । भारतको दिल्लीमा उपचाररत खनालले सुरूमा ‘एकताको मौसम छैन’ भन्दै अपिल गरेका थिए । तर अध्यक्ष माधव नेपालसँग लामो संवादपछि उनी पनि एकताको पक्षमा उभिएका छन् । एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसालका अनुसार, खनालले पार्टीको राजनीतिक दस्तावेज अध्ययन गरेपछि ‘विचार र सिद्धान्तमा आधारित वाम एकता’ को पक्षमा समर्थन जनाएका हुन् ।भुसालले महासचिव घनश्याम भुसाललगायत असन्तुष्ट नेताहरूसँग पनि छलफल भइरहेको र अन्ततः सबैको सहमतिमा एकता घोषणा हुने विश्वास व्यक्त गरेका छन् ।

विप्लव र अन्य दलहरूसँग पनि संवाद

नयाँ पार्टीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई समेत समेट्ने प्रयास जारी छ । साथै महेन्द्र राय यादव नेतृत्वको नेसपा, अशोक राई नेतृत्वको जसपा, र प्रेमबहादुर सिंह नेतृत्वको दलहरूसँग पनि वाम एकता सम्भावनाबारे प्रारम्भिक वार्ता चलिरहेको जानकारी प्राप्त भएको छ ।

आयोगमा १५ नयाँ दल दर्ताका लागि निवेदन

काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँचवटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ । सामान्यतः आयोगमा दल दर्ताका लागि जहिले पनि निवेदन दिन सकिने भए पनि जेन–जी आन्दोलनपश्चात् नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको परिवेशमा युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ ।

आयोगले प्रक्रिया पुग्नेहरूलाई आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन घोषणापछि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गत ७ असोजमा दल दर्ताका लागि निवेदन दिएको थियो । साथै, गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टीले ‘सिक्का’ चिह्नसहित यही २ कात्तिकमा दर्ताको निवेदन दिएको थियो ।

अधिवक्ता डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टीले गत ९ असोजमा आयोगमा दर्ताका लागि निवेदन दिएको थियो । गत ३० असोजमा दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीले ‘ज्योति’ चुनाव चिह्नको मागसहित दर्ताका लागि निवेदन दिएको छ । दल दर्ताका लागि हीराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेन–जी पार्टी नेपालले यही २ कात्तिकमा आयोगमा निवेदन दिएको छ । यो दलले ‘क्रस खुकुरी’ निर्वाचन चिह्न मागेको छ ।

आयोगका प्रवक्ता भट्टराईले उमेर समूह खुल्ने प्रकृतिको दलको नाम र ‘क्रस खुकुरी’ निर्वाचन चिह्न हालसम्म कसैले नपाएको अवस्थामा यसबारे आयोगले प्रचलित व्यवस्था र अभ्यास हेरेर निर्णय गर्ने बताए । यसैगरी, आयोगमा निर्वाचन घोषणापूर्व दर्ताको निवेदन प्राप्त भएका १० दलको कागजात नपुगेकाले स्वीकृति नदिइएको उनको भनाइ छ । त्यसमा उज्यालो नेपाल, राष्ट्रिय परिवर्तन पार्टीलगायत छन् । आयोगले कागजात पुगेकाको हकमा दर्ताको निवेदन दिएको ४५ दिनभित्र निर्णय दिने गरेको छ । आयोगमा यसअघि १२२ दल दर्ता भएकामा यसबीचमा दुई दल विभाजन भई १२४ दल पुगेका छन् ।

दल दर्ताका लागि चाहिने कागजात

नेपालको संविधान, २०७२ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दल दर्ताको निवेदनका लागि दलको विधान, नियमावली र घोषणापत्र २÷२ प्रति, झण्डा, लोगो, छाप, रोजिएको चुनाव चिह्न, दलको नाम र सो दलको प्रधान कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको केन्द्रीयस्तरको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण आदि खुलाउनु पर्छ ।

यस्तै, विधान वा नियमावलीमा भएको लोकतान्त्रिक व्यवस्था वा विधान वा नियमावलीमा गर्ने लोकतान्त्रिक व्यवस्था, विधान वा नियमावलीमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका प्रत्येक तहका पदाधिकारीको निर्वाचन हुने व्यवस्था, विभिन्न स्तरका कार्यकारिणी समितिमा महिला, दलितलगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरू समेत रहने समावेशी व्यवस्था, दलको विधानमा दलका सदस्यहरूलाई अनुशासित तुल्याउने प्रभावकारी व्यवस्था, केन्द्रीय भेलाबाट केन्द्रीय कार्यसमितिको चयन, विधान, झण्डा, लोगो कुन राख्ने चुनाव चिह्न कुन रोज्नेसम्बन्धी निर्णय भएको हुनुपर्ने हुन्छ । यसैगरी, केन्द्रीय पदाधिकारीको नागरिकताको प्रमाणित प्रतिलिपि, निवेदन दर्ताका लागि सो निवेदन, विधान, नियमावली र घोषणापत्रमा सबै केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षरलगायतका सामग्री सम्लग्न भएको हुनुपर्छ ।

निर्वाचन प्रयोजनका लागि दलको सूचना आउँदै

निर्वाचन प्रयोजनका लागि आयोगले सूचना प्रकाशन गरेपछि पुराना र यी नयाँ दलले पुनः दल दर्ताको निवेदन दिनुपर्ने हुन्छ । त्यसअघि नयाँ दलले दर्ताको निवेदन स्वीकृत गराई दर्ता प्रमाणपत्र लिइसकेको हुनुपर्छ । आयोगले गत २० असोजमा स्वीकृत गरेको निर्वाचन कार्यतालिकाअनुसार यही २८ कात्तिकमा निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन हुनेछ । सोका लागि आयोगले आगामी १ देखि १० मंसिरसम्म १० दिनको समय दिनेछ । यसरी दर्ता गर्ने दलले मात्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका दल दर्ताका लागि निवेदन दिन पाउनेछन् ।

वातावरण बनाउन सरकार र दलहरू संवादमा

निर्वाचनको वातावरण बनाउने सन्दर्भमा यही ४ कात्तिकमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक वातावरण बनाउन विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गरेकी थिइन् । प्रमुख दलहरूले संसद विघटनको न्यायिक परीक्षण, निर्वाचन सुरक्षाको वातावरणको सुनिश्चितता र सरकार–दलबीचको सौहार्द संवादको अवस्थामा निर्वाचनमा जान आफूहरू तत्पर रहेको जनाउँदै आएका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा राष्ट्रपति निवासमा गत २४ असोजमा प्रधानमन्त्री कार्कीको उपस्थितिमा राजनीतिक दलसँग निर्वाचनको तयारीका विषयमा छलफल भएको थियो ।

निर्वाचन आयोगले गत ३० असोजमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गरेकासहित २९ दलसँग गरेको छलफलमा नेताहरूले सरकारले आफूहरूसँग सघन छलफल गर्नुपर्ने आग्रह गरेका थिए । गत २३ र २४ भदौको जेन–जी आन्दोलनपछि २७ भदौमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन र निर्वाचनको घोषणा भएको थियो । नेकपा (माओवादी केन्द्र) ले निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने नेकपा (एमाले) ले प्रतिनिधिसभा पुनःस्थापनामा प्राथमिकता दिएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अर्काे साता पुनः बस्दैछ ।

 

‘शहीदहरूको रगत नबिर्स’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । ‘जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।

उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

‘शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले जेनजी आन्दोलनका शहीदहरुका रगत खेर जान नदिन पनि खबरदारी गरेका छन्।

कांग्रेसका दुई महामन्त्रीको परिपत्र : मतदाता सूचीमा नाम दर्ता अभियान चलाउनू

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकृत गर्न मतदाता दर्ता समूह गठन गरेर अभियान चलाउन परिपत्र गरेका छन् । पार्टी संगठनलाई परिपत्र जारी गर्दै थापा र शर्माले पार्टी संरचनालाई युवा उमेर समूहसँग छलफल गर्न र ती युवा समूहबाट खटाउने गरी मतदाता दर्ता समूह गठन गर्न भनेका हुन् ।

आउँदो २१ फागुनमा हुने चुनावका लागि निर्वाचन आयोगले ३० कात्तिकसम्म मतदाताका लागि नाम दर्ता गर्ने समय तोकेको छ । सोही कारण महामन्त्रीद्वयले पार्टी संगठनहरूलाई परिपत्र गरी छठलगत्तै नयाँ मतदाता दर्ता अभियान चलाउन वडा कमिटीसम्मलाई परिपत्र गरेको बताइएको छ । परिपत्रमा महामन्त्रीद्वय थापा र शर्माले मतदाता सूचीमा नाम दर्ता गराउने अभियानमा परिचालन हुनका लागि माथिल्लो तहका कमिटीले तल्लो तहका कमिटीसँग समन्वय गरी वातावरण बनाउन पनि भनिएको छ ।

जेन–जी आन्दोलनपछि मतदाता सूचीमा आफ्नो नाम दर्ता गराउने नयाँ पुस्ताका मतदाताहरूमा आकर्षण बढ्न थालेको छ । सोही मतदातालाई ध्यान दिएर कांग्रेसले अभियान चलाउनुपर्ने महामन्त्रीद्वय थापा र शर्माको संकेत छ । हुन त थापाले पहिलादेखि नै नवपुस्ताका मतदातालाई आकर्षित गर्नुपर्ने बताउँदै आएका थिए । जेन–जी आन्दोलनपछि भने आन्दोलनमा सहभागी युवाहरूलाई आफ्नो पंक्तिमा आकर्षित गर्न थापा लागिपरेका छन् ।

 

दार्चुलाका ३३ वडामा अनलाइनबाटै नागरिकता सिफारिस

दार्चुला । दार्चुलाका ९ स्थानीय तहका ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस सेवा सुरु गरेका छन् । कूल ६१ वडामध्ये ३३ वडाबाट अनलाइन सिफारिस सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार यो प्रणाली सुरु भएपछि सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिस बोकेर प्रशासन कार्यालय धाउनुपर्ने झन्झट हटेको छ । ‘गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा वडा कार्यालयले सेवाग्राहीको विवरण भरेर कोड नम्बरका साथ प्रशासनमा पठाउँछ’, पौडेलले भने, ‘प्रशासनले त्यही कोड नम्बरका आधारमा विवरण रुजु गरी नागरिकता प्रदान गर्छ ।’

उनका अनुसार अनलाइन सिफारिस प्रणालीले सेवाग्राहीलाई सहज, छिटोछरितो र पारदर्शी सेवा प्रदान गर्नुका साथै गलत क्रियाकलाप नियन्त्रणमा सहयोग पु¥याएको छ । यो सेवा प्रणाली सञ्चालन गर्न ६१ वडाका अध्यक्ष र सचिवलाई अनलाइन सिफारिस प्रणाली सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया गराइएको थियो। प्रशासनले सेवा सरलीकरणका लागि नागरिक बडापत्र, क्यूआर कोड, सफ्टवेयर उपकरण लगायतका प्रणाली लागू गरेको छ ।

सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयभित्रै हुलाक डेस्क स्थापनासमेत भएको छ । हुलाक टिकट लिन टाढा जानुपर्ने बाध्यता हटाउन यो डेस्क स्थापना गरिएको प्रशासनले जनाएको छ । अनलाइन प्रणालीमार्फत सिफारिस सुरु गरेका स्थानीय तहमध्ये नौगाड गाउँपालिकाका ६ वटै वडाबाट अनलाइन नागरिकता प्रणाली सुरु भएको छ। नौगाडका अध्यक्ष दलजीतसिंह धामीले दुर्गम भए पनि गाउँपालिकाका सबै वडाबाट नागरिकता सिफारिस अनलाइनबाटै सुरु गरिएको जानकारी दिए ।

सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाका ९ वडामध्ये हाल ५ वडाबाट नागरिकता सिफारिस प्रणाली सञ्चालन भएको छ । नगरपालिकाका वडा नम्बर १, २, ४, ७ र ८ बाट यो सेवा सञ्चालन गरिएको छ । शैल्यशिखर नगरपालिकाको वडा नम्बर १, ५, ६, ८ र ९ बाट अनलाइन सिफारिस सुरु भएको छ। ९ वडा रहेका नगरपालिकाका ४ वडामा यो सेवा सञ्चालन हुन सकेको छैन । सबै वडामा इन्टरनेटको प्रभावकारिता नहुँदा सिफारिस प्रणाली सञ्चालन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिए । अहिले अनलाइन सिफारिस प्रक्रिया सुरु गर्न नसकिएको वडामा राम्रो इन्टरनेट पुर्‍याउन सकिएको छैन् ।

८ वडा रहेको मालिकार्जुन गाउँपालिकाको सात वडामा अनलाइन नागरिकता सिफारिस सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा अनलाइन सिफारिस सेवा सञ्चालन भएको छैन । दुहुँ गाउँपालिकाका ५ वडामध्ये वडा नम्बर ४ र ५ ले मात्रै अनलाइन सिफारिस सुरु गरेको छ । अपि हिमाल गाउँपालिकाको छ वडामध्ये वडा नम्बर २ र ४, व्यास गाउँपालिकाका छ वडामध्ये वडा नम्बर ४, मार्मा गाउँपालिकाका छ वडामध्ये वडा नम्बर ३ र ५ तथा लेकम गाउँपालिकाका छ वडामध्ये १, ५ र ६ ले मात्रै अनलाइन नागरिकता सिफारिस प्रणाली सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी गराए । प्रजिअ पौडेलका अनुसार अनलाइन सिफारिस प्रणालीले सरकारी कार्यालयलाई कागजरहित र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ । ‘पहिले कागजात नमिले प्रशासनमा पुगेपछि सेवाग्राहीलाई खाली हात फर्किनुपर्ने समस्या अब अन्त्य भएको छ’, उनले भने ।

घुम्ती शिविरबाट गाउँमै सेवा
नागरिकलाई गाउँमै सहज सेवा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले व्याँस, लेकम र अपि हिमाल गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरेको छ । पहिलो चौमासिक अवधिमा सञ्चालन गरिएका यी शिविरमार्फत अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई नागरिकता, प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्र बनाउने सुविधा प्रदान गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको नेतृत्वमा गएको टोलीले गाउँमै सेवा उपलब्ध गराएको र यसले नागरिकलाई ठूलो सहजता दिएको प्रजिअ पौडेलले बताए ।

 

उपत्यकामा ट्राफिक प्रहरी सक्रिय, करिब २०० जना कारबाहीमा

काठमाडौं । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ । ‘तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ’, ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भने, ‘ट्राफिक प्रहरी प्रमुख सहितको टोली तिहारको दिन सडकमा खटिएको थियो, प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन पाएन ।’

उपत्यकामा मात्रै १९९ जना मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् । साथै १५ जना मानिस सामान्य घाइते भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार तिहारमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गरिएको थियो । उनले भने, ‘तिहारमा लापरबाही तरिकाले सवारी चलाउनेविरुद्ध सिसी क्यामराबाट निगरानी बढाइएको थियो, सडकमा ट्राफिक प्रहरीको उल्लेख्य उपस्थिति थियो ।’

भक्तपुर, ललितपुर हुँदै नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलङ्की, चाबहिल जस्ता व्यस्त क्षेत्रमा प्रहरीहरू निरन्तर सवारी साधनको आवागमन व्यवस्थापनमा जुटेका थिए । ‘भाइटीका भन्दा ठूलो हाम्रो कर्तव्य हो, नागरिक र देशका लागि सडकमा खटिनु नै हाम्रो तिहार हो,’ प्रहरी प्रमुख अधिकारीले भने, ‘चाडपर्वका बेला सवारी दुर्घटना र मादक पदार्थ सेवन गरेर सवारी चलाउने घटनाहरू बढी हुने भएकाले ट्राफिक प्रहरी सर्तक रहनु अत्यावश्यक छ ।’ रासस

 

 

स्टुडियोमा आफैलाई आगो लगाएकी गायिका नितुको मृत्यु

काठमाडौं । शरीरमा आफै पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ । उनको आज बिहान उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ‘कीर्तिपुर वर्न हस्पिटलमा आज बिहान ८ः२० बजे मृत्यु भएको छ’, जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन भट्टराईले जानकारी दिए ।

शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । उनले १२ दिनअगाडि आफ्नो फेसबुक पेजमा निराशाजनक स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, ‘हाँसी रहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?’

गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । यस घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा छन् । उनीविरुद्ध भने कुनै जाहेरी नआएको परिसरका एसपी भट्टराईले बताएका छन् । उनीहरु लामो समयदेखि प्रेममा रहेको बताइएको छ ।

 

एमाले नेता रिजालको चेतावनी : भदौ २३–२४ को उपद्रवमा सम्झौता गर्ने प्रपञ्च स्वीकार्य छैन

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले भदौ २३ र २४ गतेको उपद्रवका नाममा राष्ट्रपतिसँग सम्झौता गरी अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च सह्य नहुने चेतावनी दिएका छन् । उनले फेसबुकमार्फत यस्तो सम्झौता गर्ने ‘अनौठो बाध्यता’ माथि प्रश्न उठाएका छन् ।

रिजालका अनुसार उपद्रवको जिम्मेवारी कुनै आन्दोलनकारीले नलिएको र आफ्नै अनुकूलको सरकार बनेको पनि ४० दिन बितिसकेको अवस्थामा ‘कथित जेन–जी आन्दोलनकारी’ र राष्ट्रपतिबिच सम्झौता हुनुपर्ने कारण स्पष्ट छैन । उनले आन्दोलनको नाममा राष्ट्रिय र निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा चोरी गर्नेहरूको मुकुण्डो उत्रिन थालेपछि अपराधबाट बच्न यस्तो प्रपञ्च गरिएको आरोप लगाएका छन् । रिजालले ‘अपराधीहरूले पानीमुनि गए पनि छुट नपाउने’ बताएका छन् ।

रिजालले लेखेका छन् : न कुनै निश्चित आन्देलनकारी छन् न भदौ २३–२४ को उपद्रवको कुनै आन्दोलनकारीले जिम्मा लिएको छ । आफ्नै अनुकूलको सरकार बनेको पनि ४० दिन बितिसकेको छ । यति पछि आएर कथित जेनजी आन्दोलनकारी र राष्ट्रपतिबिच सम्झौता हुनुपर्ने के अनौठो बाध्यता आइपरेछ ? आन्दोलनका नाममा राष्ट्रिय र निजी सम्पत्ति आगजनी, तोडफोड र चोरी गर्नेहरूको मुकुण्डो एकपछि अर्को गरी उत्रिन थालेपछि अपराधबाट बच्नका लागि राष्ट्रपतिसँग सम्झौता गरी अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च कुनै हालतमा सह्य हुन्न । आज नभए भोलि, ती अपराधीहरूले पानीमुनि गए पनि छुट पाउने छैनन् ।

 

 

कस्तो बन्छ महेश बस्नेतले घोषणा गरेको ‘ओली कुटी’ ?

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ घर ‘ओली कुटी’ निर्माण गर्न तयारी भएको छ । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत ओली कुटी बनाउने घोषणा गर्दै स्थानीय बासिन्दाको पहलमा आफू संयोजकका रूपमा रहने बताएका छन् ।

भदौ २३ र २४ गतेको देशव्यापी ‘जेनजी आन्दोलन’का क्रममा भक्तपुर–बालकोटस्थित ओलीको घर जलाएपछि उनी हाल भाडाको घरमा बस्दै आएका छन् । सोही घटनापछि स्थानीयले नयाँ घर बनाउने प्रस्ताव अघि सारेका हुन् । बस्नेतका अनुसार ‘ओली कुटी’ कस्तो देखिने भन्ने विषयमा देशभरबाट नमुना चित्र संकलन भइरहेको छ । उनले लेखेका छन्, ‘स्थानीयले आफ्नै पहलबाट घर बनाउन थालिसकेका छन्, म संयोजकको भूमिकामा रहनेछु ।’

यसअघि बुधबार बालकोटस्थित जलेको घरको अवलोकनमा पुगेका ओलीसँगै बस्नेतले उक्त घर अब मर्मत नहुने बताएका थिए । ओलीले आफूले सरकारको नाममा दिएको घर सरकारी सम्पत्ति भएकाले व्यक्तिगत खर्चमा मर्मत नगरिने बताएका थिए । बस्नेतले ओलीका जलेका सम्पूर्ण घरहरू राज्यले संरक्षण गर्नुपर्ने भन्दै सरकारलाई आवश्यक पहल गर्न आग्रह गरेका छन् । ओली कुटी कस्तो बनाउने भन्ने विषयमा देशभर बाट नमुना चित्र संकलन भईरहेको बस्नेतले उल्लेख गरेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन म आफु संयोजकको भूमिकामा रहनेछु ।’

‘ओली कुटी कस्तो देखिन सक्छ ?’ भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको छ । देशभरबाट सुझाव र समर्थन आउँदैछ ।’ भदौ २४ गते जलेको ओलीको बालकोटको घर भने मर्मत नहुने बस्नेतले बुधबार नै जानकारी गराएका थिए । बुधबार जेनजी आन्दोलनका क्रममा जलेको घरको अवलोकनमा पहिलो पटक ओली बालकोट आएका थिए । त्यसै क्रममा बस्नेतले जलेको घर मर्मत नहुने जानकारी दिएका थिए । ओलीले आफ्नो शेषपछि सरकारको नाममा दिने घोषणा गरेको घर सरकारको सम्पत्ति रहेकाले व्यक्तिगत खर्च लगाएर मर्मत नगरिने बस्नेतको भनाई थियो ।

बुधबार ओली निवास बालकोटमा पत्रकारहरुसँग कुराकनी गर्ने क्रममा ओलीको जलेको घर मर्मत नगरिने बताएका थिए । साथै बस्नेतले ओलीका जलाईएका सबै घर उनको रहको पनि जानकारी दिएका थिए । जसलाई सरकारले प्रोग गर्न समेत आग्रह गरेका छन् । ओलीले बालकोटका दुवै घर श्रीमती राधिका शाक्यले ३३ वर्ष राष्ट्र बैंकमा जागिर खाएर बनाएको बताएका थिए । ‘हामीले यी घर आफ्नो नामबाट राजीनामा पास गरिदिसकेका थियौँ । हाम्रो निजी सम्पत्तिका रूपमा यी थिएनन् । हामी बाँचुञ्जेलसम्म निकाल्न नपाउने गरी बसेका थियौँ । हाम्रो निधनपछि यो सम्पत्ति सार्वजनिक हुन्थ्यो,’ उनले भनेका थिए, ‘हामीले यहाँको केही पनि चलाउने गरेका थिएनौँ । जसले क्षति ग¥यो उसले दण्डित हुनुपर्छ । यो त राज्यको क्षति हो ।’

अध्यक्ष ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूमाथि व्यक्तिगत दुष्मनी पालेको भन्दै आफूविरुद्ध थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताएका थिए । ओलीले जेनजीको आन्दोलनको नाममा गलत तत्वहरूले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे ।
ओलीकी धर्मपत्नी राधिका शाक्यले पनि खण्डहर बनेको घर अवलोकन गर्दै नयाँ पुस्तालाई यो घर संग्रहालयको रूपमा छोड्ने सपना राखेको बताएकी थिइन् । तर, अब त्यो सपना खरानीमा परिणत भएको उनको गुनासो थियो ।

ट्रम्पले अन्त्य गरे क्यानाडासँगको सबै वार्ता

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको सबै वार्ता तत्काल अन्त्य गर्ने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्म ‘ट्रुथ’ मा लेखेअनुसार क्यानाडाले एउटा विज्ञापन प्रचार गरेको थियो जसमा अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रिगनलाई ट्यारिफविरुद्ध बोलेको देखाइएको थियो ।

ट्रम्पले लेखेका छन्, ‘उसको अत्यन्त अनुचित व्यवहारका आधारमा क्यानाडासँगको सबै वार्ता तत्काल अन्त्य गरिन्छ ।’ अघिल्लो साता क्यानाडाले जारी गरेको एक मिनेट लामो विज्ञापनमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रिगनको आवाज सुन्न सकिन्छ, जसमा उनी अमेरिकी र क्यानाडेली झण्डाले सजिएका क्रेन तथा न्यूयोर्क स्टक एक्सचेन्जको झलकका बिच बोलेका देखिन्छन् । भिडियोमा सन् १९८७ मा रिगनले गरेको राष्ट्रिय रेडियो सम्बोधनको एक अंश सामेल छ, जसमा विदेशी व्यापार र आर्थिक साझेदारीका कुरा थियो । ट्रम्प प्रशासनले हालै क्यानाडाबाट आयात हुने वस्तुमा ३५ प्रतिशत ट्यारिफ लगाएको छ ।

चीनद्वारा जाम्बियामा खाद्य राहत कार्यक्रमका लागि ३५ लाख अमेरिकी डलर अनुदान

काठमाडौं । चीनले जाम्बियामा खाद्य राहत कार्यक्रमका लागि ३५ लाख अमेरिकी डलर अनुदान सहायता प्रदान गरेको छ । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा विश्वव्यापी विकास र दक्षिण सहयोग कोषमार्फत चीनद्वारा वित्त पोषित जाम्बिया खाद्य सहायता परियोजनाको उद्घाटन समारोह जाम्बियाको राजधानी लुसाकामा आयोजना गरिएको थियो ।

परियोजना अन्तर्गत चीनले जाम्बियालाई स्थानीय रूपमा लगभग ५ हजार ६ सय ४१ मेट्रिक टन मकै खरिद गर्न मद्दत गर्न ३५ लाख अमेरिकी डलर प्रदान गरेको थियो। दक्षिणी र पश्चिमी प्रान्तका सबैभन्दा खडेरी प्रभावित जिल्लाहरूमा १ लाख ८८ हजार ५७ लाभार्थी थिए । लगभग ३७ हजार घरपरिवारलाई तीन महिनामा अन्न वितरण गरिनेछ । जाम्बियाका १ सय १६ जिल्लाहरूमध्ये ८४ जिल्लाहरूमा लगभग ९९ लाख मानिसहरू खडेरीबाट प्रभावित भएका छन् ।

आज नेपाल र इरानका महिला फुटबल टोली भिड्दै

काठमाडौं । भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आज इरानसँग खेल्दैछ । भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा हुने खेल नेपाली समयअनुसार शुक्रबार साँझ ६ः१५ बजे सुरु हुनेछ।सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपालले इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

इरान पनि आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ । पहिलो खेलमा इरानले घरेलु टोली भारतविरुद्ध २–० को जित निकालेको थियो । पछिल्लो पटक इरान नेपालको भेट सन् २०१९ मा भएको थियो । भारतकै कालिङ्गा रङ्गशालामा भएको हिरो महिला कप फुटबल प्रतियोगितामा नेपाल विजयी भएको थियो । फिफा बरियतामा इरान ७०औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ ।

नेपाली टोलिमा कप्तान भण्डारी साम्बासहित अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, बिमला बिक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा र निशा थोकर छन् । त्यस्तै नेपाली टिममा प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ छन् । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाले इरानविरुद्ध मैदानमा उत्रिन आफूहरू सबै हिसावले तयार भएको बताएकी छन् । खेलका लागि नेपाली टोली भारत पुगिसकेको छ ।

म एजेन्ट होइन, बदनाम गर्न खोजिंदैछ : सुदन गुरुङ

काठमाडौं । ‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले आफू कुनै पनि ‘एजेन्ट’ नभएको बताएका छन् । बिहीबार माइतीघर मण्डलामा आयोजित एक कार्यक्रममा गुरुङले आफ्नोबारे फैलाइएका अफवाहहरूको खण्डन गरेका हुन् । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै गुरुङले आफूमाथि भइरहेका निराधार आरोपहरूको प्रतिवाद गरे । गुरुङले आफूलाई कहिले भारतीय त कहिले भुटानी एजेन्टका रूपमा चित्रण गर्ने प्रयास भइरहेकोमा आक्रोश व्यक्त गरे । उनले भने, ‘सुदन एजेन्ट हो रे ! कहिले भारती बनाइरहेको छ, कहिले भुटानी बनाइरहेको छ । म एउटा नागरिक हुँ, तपाईँ जस्तै ।’

आफूविरुद्धका यस्ता अफवाहहरूलाई गुरुङले गलत राजनीतिक प्रवृत्तिको उपज भएको बताए । उनले थपे, ‘पहिले राजनीति बुझ्थिनँ, तर अब बुझ्दैछु । संविधान पनि पढ्दैछु ।’ उनले अब संविधानको आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै गलत गर्नेहरूलाई संविधान र कानुनको दायरामा ल्याउन आफू सक्रिय रहने बताए । जेनजी आन्दोलनलाई विभाजित गर्ने प्रयास भइरहेको संकेत गर्दै गुरुङले भने, ‘उनीहरूले बनाएको संविधान पढ्दैछु । त्यसलाई टेकेर हामी अघि बढ्छौं । उनीहरूले सिकाएको पाठ हामी सिक्छौँ । नियम र कानुन अनुसार अघि बढाउने हो ।’

विधि र कानुनअनुसार काम गर्न केही समय लाग्ने स्वीकार्दै उनले धैर्य धारण गर्न सबैलाई आग्रह गरे । ‘समय लाग्छ । अलिकति धैर्य राख्नुपर्छ । हामी सबै मिलेर अघि बढौँ,’ गुरुङले भने । काममा ढिलाइ हुनुको कारणबारे स्पष्ट पार्दै गुरुङले भने, ‘८० वर्षसम्म बिगारेको छ । धेरै भद्रगोल बनाइएको छ । भित्र खोक्रो छ । यो कुरा तपाईंहरूले सिंहदरबार बाहिरबाट बुझ्न जरुरी छ ।’

 

‘आतंककारी’ भनेर होच्याइएका जेनजीसँग राष्ट्रपतिकै उपस्थितिमा सम्झौताको तयारी

काठमाडौं । नेपाली राजनीति फेरि एक ऐतिहासिक मोडमा उभिएको छ । स्थापित दल र पुरानो सत्ता संरचनाविरुद्ध उठेको जेनजी आन्दोलन अब औपचारिक वैधता प्राप्त गर्ने दिशातर्फ अघि बढेको छ । लामो दबाब, आन्दोलन र संवादपछि अब सरकारले जेनजीहरूका मागहरूलाई स्वीकार गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा लिखित सम्झौता गर्ने तयारी गरेको छ । यो सम्झौतालाई राजनीतिक विश्लेषकहरूले २०६३ सालको विस्तृत शान्ति सम्झौतासँग तुलना गर्न थालेका छन् । सरकार र जेनजीबीचको यो सहमति नेपालको नयाँ पुस्ताको राजनीतिक यात्रामा ऐतिहासिक मोडको रूपमा देखिएको छ ।

‘आतंककारी’ को आरोप र राष्ट्रपतिको हस्तक्षेप
गत वार्ताका क्रममा आन्दोलनकारीहरूले आफूहरूलाई ‘आतंककारी’ भन्न थालिएको भन्दै सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका थिए । उक्त गुनासो सुनेपछि राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिहरूलाई आश्वस्त पार्दै भनेका थिए, ‘जननिर्वाचित सरकार र संसद् ढाल्न सफल यो आन्दोलनले अब वैधता पाइसकेको छ । लोकतान्त्रिक राजनीतिको नयाँ कोर्स यिनै युवाबाट सुरु भएको हो ।’ राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई आन्दोलनको उपलब्धिका रूपमा व्याख्या गर्दै उनको इमानदार र निष्ठावान् नेतृत्वले लोकतान्त्रिक मूल्य पुनःस्थापना गरेको उल्लेख गरे ।

औपचारिक सम्झौतामाथि अन्तिम तयारी
प्रधानमन्त्री कार्की नेतृत्वको सरकार अहिले जेनजीका माग र एजेण्डालाई लिखित रूपमा दस्तावेजीकरण गर्ने अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयका अनुसार सरकार ८ वटा फरक–फरक जेनजी समूहसँग औपचारिक वार्ताको तयारीमा छ । वार्ता संयोजनको जिम्मा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललाई दिइएको छ । उनी हाल विभिन्न समूहसँग छलफल गर्दै सम्झौताको मस्यौदा तयार गर्ने गृहकार्य गरिरहेका छन् ।

राष्ट्रपति भवनमा दुई चरणको वार्ता
२५ असोज र ३० असोजमा शीतल निवासमा भएका दुई महत्वपूर्ण वार्तामा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, कानुनमन्त्री अनिल सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेल सहभागी थिए । आन्दोलनकारी पक्षबाट जेनजी, घाइते तथा सहिद परिवार गरी १६ जनाको प्रतिनिधिमण्डल सहभागी थियो । लामो छलफलपछि दुबै पक्ष लिखित सम्झौताको पक्षमा उभिएका थिए ।

सुरक्षा निकायको चेतावनी र समूहगत जटिलता

सुरक्षा निकायले सरकारलाई जेनजी नाममा करिब २५ वटा समूह सक्रिय रहेको जानकारी दिएको छ । केही समूहले गैरराजनीतिक गतिविधि पनि थालेका कारण सरकार औपचारिकता र प्रतिनिधित्व स्पष्ट पार्न चाहन्छ ।

 

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपाली कम्पनीको कारोबार सुरु

अमेरिका । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ । नेपाली उद्यमी डा समीर मास्केले स्थापना गर्नुभएको बौद्धिक कृत्रिमता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी काम गर्ने उक्त कम्पनीले दुई वर्षअगाडि गरेको ‘मर्जर’ पश्चात् बिहीबारदेखि फ्युज नामबाट धितोपत्र कारोबार गर्न सफल भएको हो ।

कम्पनीका संस्थापकसमेत रहेका डा. मास्केले भने, ‘नवीनतम सोच र अवधारणाले कम्पनीको सानो समूहबाट यो उपलब्धि हासिल गर्न सफल भएकामा आगामी दिनमा अझै व्यापक बनाउन हामीहरुलाई प्रेरित गर्नेछ ।’ विश्वको प्रमुख वित्तीय साधन परिचालन गर्ने कम्पनीमा सूचीकृत भएर कारोबार गर्न पाउनु महत्वपूर्ण उपलब्धि भएको डा मास्केले बताए । उक्त कम्पनीको स्टक कारोबारमा फयुज नामले सूचीकृत छ ।

कम्पनीमा हाल तीन सय ५० कर्मचारीले काम गरिरहेका डा मास्केले जानकारी दिए। त्यसमध्ये दुई सय ६० जना नेपालमा कार्यरत छन् । यसैबीच नास्डाकले विज्ञप्ति प्रकाशित गर्दै सिएसएलएम एक्विजेसन कम्पनी र फ्युजमेसिन इन्क बीच साझेदारीसम्बन्धी प्रक्रिया पूरा भएको र बिहीबारदेखि नास्डाक पुँजीबजारमा कारोबार हुने उल्लेख गरेको थियो । योसँगै नेपालीले स्थापना गरेको कम्पनीले विश्वबजारमा प्रवेश पाएको छ भने लगानीकर्ताका लागि अवसर समेत सिर्जना गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा डा. समीर मास्के र प्रमुख वित्त अधिकृतमा क्रिष्टिन च्याम्बर्स रहेका छन् । मर्जरपश्चात् कम्पनीको सञ्चालक समितिमा समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन् ।

 

राज्यको उपेक्षाकाबीच विश्व कराँते च्याम्पियनसिपको तयारीमा सानुमाया

काठमाडौं । गत महिना नेपाल तेस्रोपल्ट आइसिसी टी ट्वान्टी विश्वकपमा छनौट हुँदा सम्पूर्ण देशवासीले ठूलो उत्सव मनायो । नेपाली क्रिकेट टोलीले दिलाएको यो सफतामा राज्यले पनि खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै अर्को उत्साह थपिदियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाली खेलकुदको कार्यकारी निकाय हो । यही राखेपले नै विश्वकपमा पुर्‍याउन सफल हरेक खेलाडीलाई १९ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा नै गर्‍यो । खेलाडीको सफलतामा राज्यले प्रोत्साहन गर्नु सुखद् पक्ष हो । राज्यको यस किसिमका प्रोत्साहनले खेल विकासमा महत्वपूर्ण भुमिका खेल्छ ।

खेलाडीको मनोबल बढ्नुले उनीहरूको प्रदर्शन पनि स्तरोन्नति हुन्छ । तर खेल र खेलाडीप्रति हेर्ने राज्यको नजर फरक छ । जुन खेल र नतिजामा आम मानिसको चासो हुन्छ । त्यसमा मात्र राज्यले लगानी गर्छ । हरेक जसो राजनीति दल, व्यावसायिक घरना र राज्यले नै चासो दिएको पाइन्छ । खेलाडीलाई पनि प्रोत्साहन गर्नु राम्रै हो । यद्यपि चर्चा मात्र हैन उनीहरूको सफलताका लागि आधार बन्नु पनि उतिकै महत्वपूर्ण हुन्छ । तर आम मानिसमा लोकप्रियता नभएको खेलमा भने राज्यले खासै चासो राख्दैन । किनकी ती खेलाडीलाई खेलप्रेमीले पछ्याएका हुँदैन । नेपाली खेलकुदमा मार्सल आटर््स खेल ऐतिहासिक सफलता दिलाउनेमा अग्रभागमा पर्छ ।

त्यसमाथि पछिल्ला समय सबैभन्दा सफल खेलको रूपमा कराँते उभिएको छ । त्यसमा पनि करातेकी एरिका गुरुङले एकपछि अर्को सफलता दिलाउँदै छिन् । उनी जस्तै कराँतेकै खेलाडी सानुमाया थिङको पनि देशका लागि ठूलो सफलताका दिलाउने लक्ष्य छ । आगामी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा तय कराते विश्व च्याम्पियनसिप हुँदैछ, जहाँ सानुमायाले खेल्ने छिन् ।

विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन् । छनोट चरण पार गरेर नेपाली कराँतेले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्दैछ । केही वर्ष अगाडि सिधै विश्व च्याम्पियनसिप खेल्न पाउँथ्यो । त्यतिबेला नेपालका कुनै पनि खेलाडीले विश्व च्याम्पियनसिप खेलेनन् । अहिले विश्व वरियता र छनोट भएर मात्र विश्व च्याम्पियनसिप खेल्न पाउने प्रावधान छ । जहाँ सानुमाया केही महिना अगाडि विश्वको उत्कृष्ट २४ खेलाडीका रूपमा सिधै छनोट भइन् । उनको विधामा कुल ३२ खेलाडी खेल्ने छन् । पेरिसमा भएको छनोटबाट बाँकी खेलाडीले स्थान बनाउने प्रावधान थियो । एरिकासहित नेपाली खेलाडीले पेरिसमा छनोट खेले । तर कुनै खेलाडी पनि सफल भएनन् ।

अब आगामी विश्व च्याम्पियनसिपमा नेपालको एक मात्र प्रतिष्पर्धी हुनेछ । क्रिकेटको जस्तै उनले पनि विश्व च्याम्पियनसिप खेल्दैछिन् । तर राज्य र खेल निकाय बेखबर जस्तै छ । विश्व च्याम्पियनसिपको तयारी गर्न उनीमाथि गर्ने लगानी शुन्य छ । क्रिकेटका खेलाडीले उस्तै सफलतामा ठूलो रकम पाए । तर सानुमायाले पुरस्कार त परकै कुरा म्याच एक्सपोजरका लागि सहयोग पनि पाएकी छैनन् । उनीमा म्याच एक्सपोजरको कमी छ । त्यसैले प्रशिक्षक मण्डेकाजी श्रेष्ठले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने प्रयास गरेका थिए । तर उनको योजना सफल भएको छैन । पहिलो अफिसियल प्रतियोगिताबाट नै प्रमाणित गर्दै सानुमायाले विश्व च्याम्पियनसिप खेल्दै छिन् । तर सम्बन्धित निकायले चासो दिएन ।

देशमै गरेको प्रशिक्षणका भरमा ऐतिहासिक पदक जित्ने उनको अठोट छ । लोकप्रियताकै आधारमा राज्यको खेलाडीप्रति हेर्ने दृष्टिकोण फरक हुनुले उनीहरूमा निरुत्साहित बनाएको छ । तर सानुमाया भने छुट्टै जोश र जाँगर छ । अनि राज्यको शुन्य लगानीमै पदक जित्ने आत्मविश्वास उनीमा स्पष्ट देखिन्छ । त्यसैले त उनी अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कडा प्रशिक्षणमा छिन् । प्रतियोगिता आउन धेरै समय बाँकी छैन । त्यहीअनुरूप आफ्नो कमजोर पक्ष सुधार गर्न प्रशिक्षकले प्रेरित गरेको उनले उल्लेख गरेकी छन् । विश्व च्याम्पियनसिपका लागि उनी धेरै उत्साहित पनि छिन् । एशियन कराँते फेडेरेसनद्वारा हुने पहिलो खेलमा राम्रो प्रदर्शन गरेपछि उनले वरियतामा धेरै सुधार गरिन् । त्यसैको आधारमा छनोट हुँदा उनी उत्साहित छन् ।

एशियन गेम्स खेल्ने लक्ष्य राखे पनि विश्व च्याम्पियनसिपमा छनोट हुँदा आत्मविश्वास बढेको उनले महशुस गरेकी छन् । त्यहाँ पदक जित्ने लक्ष्यसहित तयारी पनि गरिरहेकी उनी बताउँछन् । अब विदेशी भूमिमा तयारी गर्ने आफू सोचमा नरहेको र यही प्रशिक्षण गर्दै पदक जित्ने उनको लक्ष्य छ । यसका लागि प्रशिक्षक मण्डेकाजीले आफूलाई धेरै उत्प्रेरणा दिएको सानुमाया बताउँछिन् । वर्षभर गरेको मिहनेत दुई मिनेटमा देखाउने भएकाले त्यसका लागि तयार हुन आफ्ना गुरु मण्डेकाजीले भन्ने गरेको उनी सुनाउँछिन् । विश्वका एकसे एक खेलाडी आउनेमा उनी तयार छिन् । आफू पनि त्यसका लागि तयार रहेको उनको भनाइ छ ।

विश्वका चर्चित खेलाडीसँग खेल्न गुरुले नै प्रोत्साहन गरिरहेको र आफूमा डर हराएको सानुमायाको विश्वास छ । आफ्ना गुरुले ३२ वर्षमा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको र आफू अहिले युवास्थामा रहेकाले सफलता दिलाउने आशामा सानुमाया छिन् । मिसन–२६ का लागि छनोट हुनु र विश्व च्याम्पियनसिपमा पदक जित्नु नै जीवनमा उनको लक्ष्य बनेको छ । हप्ताको एक दिन फिटनेस ट्रेनिङ गरिरहेको उनले उल्लेख गरिन् । चाडपर्व पनि नभनी प्रशिक्षण गरिरहेकाले सफलता मिल्ने आशामा उनी छिन् ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा कातातर्फ दोहोरो स्वर्ण विजेता मण्डेकाजी केही वर्षयता राष्ट्रिय टोलीको जिम्मेवारीमा छन् । उनको प्रशिक्षणमा नेपाली कराते र सानुमायाले ऐतिहासिक सफलता प्राप्त गरेको छ । त्यसमा अर्को इट्टा थप्न प्रशिक्षक र खेलाडी दुवै मिहिनत गरिरहेका छन् । विश्व च्याम्पियनसिपमा जित निकाल्दै पदक जितोस् र वरियतामा पनि सुधार गर्ने हिसावले तयारी गरिरहेको मण्डेकाजीले बताए । हरेक दिन उनले धेरै पक्षमा सुधार गरेको र अहिले फिटनेसमा ध्यान दिइएको प्रशिक्षक मन्डेकाजी बताउँछन् । कातामा इन्डुरेन्स, ब्यालेन्स, समय, स्ट्यान्ड र फिटनेस सबै पक्षमा राम्रो हुनु पर्ने उनको भनाइ छ ।

पछिल्लो एक वर्षमा सानुमायाले धेरै सुधार गरेको उनको विश्वास छ । पहिलोपल्ट छनोट भएको क्षणलाई ऐतिहासिक पदकसम्म पुर्‍याउने प्रशिक्षक मण्डेकाजी लक्ष्य छ । त्यसका लागि सहज नरहेको उनी बताउँछन् । एशियन च्याम्पियनसिपमा तीन बाउट जित्दै सानुमायाले आफ्नो क्षमता देखाएको प्रशिक्षक मण्डेकाजीले उल्लेख गरे । तर, मेडल बाउटमा उनी चुके पनि विश्व च्याम्पियनविरुद्ध सानुमायाको प्रदर्शनले उनमा धेरै आशा पलाएको प्रशिक्षक मण्डेकाजीको बुझाइ छ । उनले उब्जेकिस्तानमा भएको एसियन च्याम्पियनसिपपछि सानुमायामा धेरै सम्भावना देखेका छन् । तर उनमा अन्तर्राष्ट्रिय एक्सपोजरको कमी रहेको उनी पनि स्विकार गर्छन् ।

प्रशिक्षक मण्डेकाजी र खेलाडी सानुमाया दुवै पदक जित्ने आशासहित पछिल्लो एक महिनादेखि प्रशिक्षणमा छन् । सफल खेलाडी भएर पदक जितेका मण्डेकाजीमा अब प्रशिक्षकको भुमिका पनि ऐतिहासिक पदक जित्ने महत्वाकांक्षा छ । विश्व च्याम्पियनसिपसँगै सन् २०२६ को एशियन गेम्सका लागि पनि पदक जित्ने खेलाडी तयार पार्ने योजनामा नेपाली टोलीका काता प्रशिक्षक मन्डेकाजी छन् । —न्युज एजेन्सी नेपाल

बसमा आगलागी, कम्तिमा १० जनाको मृत्यु

काठमाडौं । भारतको हैदरावादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य केही यात्रु घाइते भएका छन् । कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै शुक्रबार बिहान बसमा आगलागी हुँदा दुर्घटना भएको थियो । बसमा ४२ जना यात्रु सवार थिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । बीबीसी तेलुगुको रिपोर्टका अनुसार एउटा बाइक बससँग ठोक्किएर बसको मुनि गएर तेल ट्यांकीमा ठोक्किएपछि आगलागी भएको आशंका गरिएको छ । तर, स्थानीय प्रशासनले भने यसको कारण भने पुष्टि गर्न सकेको छैन ।

मुख्यमन्त्री चन्द्रबाबु नायडूले कुर्नुल दुर्घटनामा दुः ख व्यक्त गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भयानक बस आगलागी दुर्घटनाको बारेमा थाहा पाउँदा मलाई गहिरो दुःख लागेको छ । यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाएका परिवारहरूप्रति मेरो गहिरो समवेदना छ । सरकारले घाइते र प्रभावित परिवारहरूलाई हरसम्भव सहयोग गर्नेछ ।’ कुर्नुल रेन्जका डीआईजी कोया प्रवीणले पीटीआईलाई भने, ‘दुर्घटनामा दुई बालबालिकसहित १९ जना यात्रु सकुशल छन् । प्रहरीका अनुसार बसको ढोका सर्ट सर्किटका कारण बन्द भएको थियो र केही मिनेटमै गाडी पूर्ण रुपमा जलेको थियो ।

 

जिरो टिलेज प्रविधिबाट लसुन रोपेर मनग्ये आम्दानी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उनी लागेका छन् । दशकअघिदेखि गाउँमा आएका कृषि प्राविधिकको सल्लाहमा शून्य खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउँदै डगौराले बर्सेनि लसुनखेती गरेर आम्दानी गर्दै आएका छन् । ‘खेत जोतेर क्यारी बनाएर लसुन रोप्थ्यौं, उत्पादन थोरै हुन्थ्यो, उनले भने, ‘खनजोत नगरी सिधै रोप्दा गानो ठूलो हुन्छ, उत्पादन पनि राम्रो हुन्छ ।’

त्यसैले यस प्रविधिमा लसुन रोप्ने कार्यलाई निरन्तरता दिँदै आएको उनले भने । डगौराले पाँच कट्ठा जग्गामा लसुन रोप्ने गर्नु हुन्छ । यसबाट रु ९० हजार आम्दानी हुने गरेको छ । उनका अनुसार धान काटिसकेपछि चिस्यान रहेको खेतमा सिधै गाँजको बीचमा कुटोको सहायताले लसुनका पोटी (केस्रा) रोप्ने गरिन्छ । चिस्यान नभएमा सिँचाइ गरी लसुन रोप्ने कार्य हुन्छ । लसुन रोपेपछि त्यसपछि गोठेमल छर्की परालले छोप्ने गरिएको अर्का किसान विनोद डगौराले जानकारी दिए ।

पिपलाडीका किसानले लसुनखेतीलाई नगदे बालीका रुपमा आत्मसात् गर्दै आएका छन् । प्रत्येक परिवारले एकदेखि पाँच कट्ठासम्म जग्गामा जिरो टिलेज प्रविधिबाट लसुनखेती गर्दै आएका छन् । एक कट्ठामा करिब दुई क्विन्टलसम्म उत्पादन हुने र याममा प्रतिकिलो रु तीन सय देखि पाँच सय सम्ममा बिक्री हुने गर्दछ । यसबाट किसानले प्रतिकट्ठामा रु ३० हजारका दरले आम्दानी गर्दै आएका छन् ।

‘पहिले खानकै लागि पनि लसुन किन्नुपथ्र्यो, अहिले घरको खपतपछि बाँकी बिक्री हुन्छ,’ चामबहादुर डगौराले भने, ‘व्यापारी आफै घरमै आइपुग्छन् ।’ स्थानीय बजार झलारी र महेन्द्रनगरमा जिरो टिलेजमा उत्पादन भएको लसुनको माग उच्च रहेको चुन्नुलाल डगौराले बताए । ‘धानको गाँजमा बढेको लसुनको गानो ठूलो र खानमा स्वादिलो हुने भएकाले बजारमा चाँडै बिक्री हुन्छ,’ उनले भने ।

‘धान काटेको एकदेखि दुई दिनपछि गाँजको ठुटो करिब दुई इन्चमा काटेर त्यसैमा कुटो वा अन्य फलामका औजारको सहायताले लसुन रोपिन्छ,’ उनले भने, ‘त्यसपछि खेतमा १० सेन्टिमिटर बाक्लो पराल, भुस वा खरको छापो दिनुपर्दछ, यसले खेतमा चिस्यान कायम रहनाका साथै झारपात रोक्ने र माटोमा जैविक पदार्थ थप्ने काम गर्छ ।’ जिरो टिलेज प्रविधिमा लसुन रोप्दा गोडमेलको आवश्यकता नपर्ने र झारपात देखिएमा मात्रै हटाउनुपर्ने हुन्छ । यस प्रविधिबाट गरिएको लसुनखेतीले समय, श्रम र लागत घटाउनाका साथै जमिनको उर्वरा शक्ति कायम राख्छ । जलवायु अनुकूलनका दृष्टिबाट पनि यो प्रविधि प्रभावकारी छ । रोग कीरा व्यवस्थापनका लागि किसानले गाईको गोबर, गहुँत र निमको रसबाट बनेको घरेलु जैविक विषादी प्रयोग गर्दै आएका छन् । रासस

 

तस्बिरमा हेर्नूहोस्, काठमाडौंदेखि धनगढीको यात्रामा देखिने मनमोहक हिमालै हिमालको दृश्य

काठमाडौँ । सफा मौसममा काठमाडौंदेखि धनगढीको यात्रा गर्नु भनेको केवल बाटो काट्नु मात्र होइन, हिमालको एक भव्य ग्यालरी अवलोकन गर्नु पनि हो।

काठमाडौं उपत्यका वरिपरिबाट उत्तरतिर हेर्दा, गणेश हिमाल र लाङटाङ श्रृङ्खलाका चुचुराहरूले हामीलाई बिदाइ गर्छन्। यी हिमाल यति नजिक र स्पष्ट देखिन्छन् कि मानौं कसैले सेतो हिउँको ठूलो चित्रकला हाम्रो सामुन्ने टाँगिदिएको छ।

पश्चिमतिर अघि बढ्दै जाँदा, मध्य नेपालको विशाल दृश्य खुल्छ। आठ हजार मिटरको विशाल मनास्लु हिमाल आफ्नो वरपरका हिमालचुली र ङादी चुली सँगै, आकाशलाई नै छोला जस्तो गरी उभिएको छ।

यसपछि यात्राको सबैभन्दा मोहक खण्ड आउँछस् अन्नपूर्ण श्रृङ्खला। माछापुच्छ्रेको धारिलो चुचुरो, अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका विशाल कायाहरूले हाम्रो आँखालाई चकित पार्छन्। सफा मौसममा, सूर्यको किरण पर्दा यी चुचुराहरू चादिजस्तै टल्किन्छन् र त्यो सौन्दर्यले मुटुलाई नै छोएर जान्छ।

अझ पश्चिम लागेपछि देखिने धौलागिरिको विशाल भव्यता र यसको सेतो चम्किलो रूपले यात्रालाई अझ रोमाञ्चक बनाइदिन्छ। कहिलेकाहीँ त, धौलागिरिभन्दा परको अपि र सैपाल जस्ता सुदूरपश्चिमका हिमालहरूको छायाँ मात्र देखिनु पनि निकै रोमाञ्चक हुन्छ।

धनगढी पुग्दा नपुग्दै यी हिमाली दृश्यले शान्ति र मनमा खुशीको तरङ्ग उत्पन्न गराइसक्छन्।