`

दानीखेतमा जीप दुर्घटना, एकको मृत्यु

खलङ्गा । मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जीीप दानीखेतमा आज बिहान दुर्घटना जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको हो । जीप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा नभएको प्रहरीले जनाएको छ । प्रहरीले जीप चालकको खोजी एवम् अनुसन्धान गरिरहेको छ ।

 

 

मधेश सरकारको मन्त्रालय भागबण्डा टुंग्याउन पाँच दलको बैठक बस्दै

जनकपुर । मधेश प्रदेश सरकार विस्तारबारे आज (शुक्रबार) सत्ता पक्षीय दलहरूको बैठक बस्दैछ । रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ११ बजेदेखि सत्ताघटक जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको हो ।

बैठकमा सरकार विस्तार, मन्त्रालय भागबण्डा, सरकारको टिओआर, सरकारले विश्वासको मत लिने लगायतको विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् । बैठकमा जनमतबाट फुटेको नयाँ दल जनस्वराज र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने प्रयासबारे पनि छलफल हुने ती नेताले बताए ।

गत असोज २९ गते पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । सत्तापक्षीय दलहरूभित्र मन्त्रालयको भागबण्डा नटुंगिदा एक सातासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । बिना विभागीय मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छैन ।

 

पुटिनसँगको भेट रद्द गरेर ट्रम्पसँग छलफल गर्दै सी जिनपिङ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपतिसँग वार्ता हुने जनाएको हो । शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म चल्नेछ । सम्मेलन सुरु हुनु एक दिनअघि चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपतिमा ट्रम्प दोस्रो पटक निर्वाचित भएपछि पहिलो पटक उनीहरुबीच भेटवार्ता हुन लागेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, दुवै नेताबीचको वार्तामा व्यापार, ऊर्जा सहकार्य र युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।यता अमेरिकी राष्ट्रपति ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच हंगेरीको बुडापेस्टमा हुने भनिएको भेटवार्ता रद्द भएको छ ।

मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘म व्यर्थको बैठक गर्न चाहन्नँ । म समय बर्बाद गर्न चाहन्नँ, त्यसैले के हुन्छ, हेरौँला ।’ राष्ट्रपति पुटिनसँगको बैठक रद्द भएपछि अमेरिकाले रुसमाथि अर्को ठूलो आर्थिक प्रहार गरेको छ । ट्रम्प र पुटिनबीचको वार्ता रद्ध भएसँगै रुसले युक्रेनमा धेरै स्थानहरूमा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको छ ।

वसन्तपुरमा अञ्जली दिदीको सामूहिक भाइटीका (तस्बिरहरू)

 काठमाडौँ । हरेक वर्षको भाइटीकाझैं यो वर्षपनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाइ दिएकी छिन्।

२०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी अञ्जली दिदीले यसवर्ष पनि भाईटीका आयोजन गरेकी हुन् ।

भाइटीका परम्पराको नियमितता मात्र नभएर श्रद्धा, माया र भावना समेत साटासाट गरी मनाइने उत्सव भएको कारण पनि कोहीको निधार खाली नहोस् भने हरेक वर्ष सामूहिक भाइटीका लगाउँदै आएको उनले जानकारी दिइन् ।

काठमाडौँको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (आइतबार) उनले सयौँको संख्यामा सामूहिक भाइटीका लगाइ दिएकी  हुन्। अञ्जली दिदिले तिहारको अवसरमा भाइटीका लगाइदिएको यस वर्षसँगै २६ वर्ष पूरा भएको छ।

सोलुखुम्बु गाडी दुर्घटना : तीन मृतकमध्ये दुई किशोरीको मात्रै सनाखत

सोलुखुम्बु । सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने तीन जनामध्ये दुई जनाको मात्रै सनाखत भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

साँझ साढे ६ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको ११ जना सवार बोलेरो गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए । माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सीमानामा रहेको भिरकुना भन्ने ठाउँबाट गाडी सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये महाकुलुङ गाउँपालिका–३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको मात्रै सनाखत भएको कुँवरले जानकारी दिए । ‘मृतक एक किशोरीको पहिचान खुलेको छैन, हामी पहिचानको प्रयास गरिरहेका छौँ,’ डीएसपी कुँवरले भने ।

दुर्घटनामा घाइते भएका गाडी चालक महाकुलुङ–३ घर भएका ३२ वर्षीय श्रीध्वज राईको अवस्था गम्भीर छ । त्यस्तै महाकुलुङ ४ की १६ वर्षीया गंगा राई, सोही ठाउँकी १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया समया राई, वर्ष १६ कै सजना राई र १० वर्षीय उमेश राई दुर्घटनामा घाइते छन् ।

घाइतेहरुको जिल्ल अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना भने सकुशल छन् । खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

भाइटीका लगाएर फर्कदै गर्दा बसको ठक्करबाट मृत्यु

दाङ । दाङमा बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । दिदीको हातबाट तिहारको टीका लगाएर फर्किंदै गर्दा बसको ठक्करबाट राप्ती गाउँपालिका–५ सिंगै निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका –५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो । गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउँछ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताएका छन् ।

आज बिहीबार दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिँदै उनले भने, ‘युवा पुस्ताको विद्रोहपछि मुलुकमा शान्ति र स्थायित्वमा अन्योलता देखिएको अवस्थामा सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीचको साझा सहकार्यबाटमात्रै देशले निकास पाउनेमा विश्वस्त छु ।’

उनले युवाहरूले उठाएका भ्रष्टाचारको अन्त्य र सुशासनका मागलाई पूरा गर्न सबैको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको पनि उल्लेख गरेका छन् । साथै उनले परम्परादेखि हर्षोल्लासका साथ घर–घरमा दीप प्रज्वलन गरी मनाइँदै आएको तिहारले सबै नेपालीको जीवनमा उज्यालो, खुसी र आनन्द ल्याओस् भनी कामना पनि गरेका छन् ।

‘दीपावलीले नेपालीहरू बीचको आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक सद्भाव अझ बलियो बनाउने प्रेरणा प्रदान गर्ने विश्वास समेत लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ, ‘यो उज्यालो पर्वले हामी सबैलाई लोकतन्त्र, संविधान तथा राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै समुन्नत र सुशासित नेपाल निर्माणतर्फ अघि बढ्ने प्रेरणा प्रदान गरोस् ।’

विश्व हिउँचितुवा दिवस: बासस्थान ह्रास र आहारा प्रजाति कमीको चुनौती

काठमाडौं । विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ ।

‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवा नेपाल, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ रहेको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएको छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार ५०० वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ । विश्वमा हाल चार हजारदेखि सात हजारको सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ ।

पछिल्लो समय नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान तथा तथ्याङ्क विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् । तथ्याङ्कअनुसार चीनमा दुई हजार ५००, मङ्गोलियामा ९५३, भारतमा ७१८, नेपालमा ३९७ र भुटानमा १३४ हिउँचितुवा रहेका छन् ।

हिउँचितुवा संरक्षणमा देखिएका आन्तरिक चुनौतीमा बासस्थानको ह्रास र आहारका लागि शिकार प्रजातिको कमी होभने बाह्य चुनौतीमा चोरीशिकारी र गैरकानुनी व्यापार हो । यसका साथै हिउँ चितुवासँग हुने द्वन्द्व घटाउन स्थानीयलाई सचेत गराउने र समयमा उचित क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने यस क्षेत्रका विज्ञहरु बताउँछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलले पछिल्लो समय बासस्थानको गुणस्तर र आहारा प्रजातिमा कमी आउनु नै हिउँचितुवाको संरक्षणको मुख्य चुनौती रहेको बताए। जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको र यसको प्रभावले हिउँचितुवाको बासस्थानमा ह्रास आएको उनले बताए । बासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको देखिन्छ ।

“यसबाहेक द्वन्द्वका कारण बद्लावको भावनाले कहिलेकाहीँ स्थानीयले पासो थाप्ने, आहारामा विष मिसाउने गरेको तथा भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती पनि छन्”, महानिर्देशक डा पौडेलले भने ।

हिउँचितुवा सामान्यतया समुद्री सतहबाट ५४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । हिउँचितुवालाई आइयुसिएनले रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । हिउँचितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा हो । यसलाई हिमालकी रानी पनि भनिन्छ । हिउँचितुवा लजालु प्रकृतिको हुन्छ । त्यसैले यसलाई भेट्न गाह्रो हुन्छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले मन्त्रालयसँगको समन्वयमा हिउँचितुवासँग स्थानीयको द्वन्द्व घटाउन विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । हिउँचितुवाबाट स्थानीयका भेडा, बाख्रा र च्याङ्ग्रा जोगाउन सुरक्षित खोर बनाउने कार्यक्रममा सहयोग गर्दै आएको कोषका सदस्य सचिव डा नरेश सुवेदीले जानकारी दिए । “यस बाहेक मनाङमा हिउँचितुवाको संरक्षणका लागि समुदायमा आधारित संरक्षण कार्यक्रम गर्दै आएका छौँ, मनास्लु, गौरीशङ्कर र अन्नपूर्ण संरक्षण क्षेत्रमा क्यामेरा ट्रयापमार्फत अनुगमन गर्दै आएका छौँ”, उनले भने ।

वन मन्त्रालयले हिउँचितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँचितुवा संरक्षण र कार्ययोजना ९२०२४–२०३००’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । हिउँचितुवा सामान्यतया समुद्री सतहबाट ५४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । तथ्याङ्कअनुसार नेपालको पूर्वको तुलनामा पश्चिममा बढी सङ्ख्यामा हिउँचितुवा छन् । यस लोपोन्मुख प्रजातिको चोरी सिकार तथा बेचबिखनलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवाला विज्ञको भनाइ छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले डब्लुडब्लुएफले मन्त्रालयसँगको समन्वयमा हिउँचितुवाको संरक्षणका लागि बासस्थानमा क्यामेरामार्फत अनुगमन, समुदायको संलग्नतामार्फत द्वन्द्व कम गर्नेलगायत विभिन्न काम गर्दै आएको बताए। “यसबाहेक हिउँचितुवा संरक्षणका लागि सीमापार, क्षेत्रीय, अन्तरराष्ट्रिय समन्वय र सहयोगमा आवश्यक कार्यक्रम, बैठक, अन्तरक्रिया गर्दै आएका छौँ”, उनले भने ।

हिउँचितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको क्षेत्रमध्ये पर्दछ । विश्व वन्यजन्तु कोषको सन् २०२१ को एक प्रकाशनअनुसार उक्त समयसम्म हिउँचितुवाको विश्वव्यापी क्षेत्रको लगभग २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ । तीन प्रतिशतभन्दा कममा मात्र सङ्ख्यासम्बन्धी अनुभवजन्य तथ्याङ्क उपलब्ध छन् । नेपालको कञ्चनजङघामा देखिएको हिउँचितुवा आहारको खोजीमा भारत हुँदै भुटानसम्म पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

तसर्थ यसको संरक्षणका लागि कुनै एक देशको प्रयास मात्र सम्भव नहुने भएकाले द्विपक्षीय तथा अन्तरराष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ ।

भाइटीकाको दिन सडकमा जेनजी युनाइटेड : रगतले लेखिएको इतिहासमा खेलबाड नहोस्

काठमाडौं । आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरुको सम्झनामा श्रद्धासुमनसहित जेनजी युनाइटेडले सडकमा भाइटीका कार्यक्रम गरेका छन् ।

उनीहरुले जेनजी एक हुनुपर्ने माग समेत राखेका छन् । जेनजी एक नभएसम्म शहीदको आत्माले शान्ति नपाउने र शहीदको आत्मा सधैँ भौंतारिरहने बताएका छन् ।

काठमाडौँको माईतीघर मण्डलामा भेला भइ जेनजी युनाइटेडले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले रगतले लेखिएको इतिहास अब खेर नजाओस्, शहीदको नाममा स्वार्थको खेल नहोस्, शहीदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो जस्त प्लकोर्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघर मण्डलामा नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

 

बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूले लगाए भाइटिका

काठमाडौँ । तिहारको प्रमुख भाइटिकाका दिन आज काठमाडौँको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाउँदै आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका छन् ।

भाइटिकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो । मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाइसकेको बताए ।

परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटिकाको अवसरमा मात्र खोलिने गरिन्छ । बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो ।

दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर भगवान् बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन निकै पुरानो र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यो परम्परा आफ्ना नजिकका दाजुभाइ वा दिदीबहिनी नभएकाले पनि तिहारको मुख्य पर्वको मर्म अनुभव गर्न सकुन् भन्ने मान्यताका साथ प्रारम्भ भएको हो ।

मन्दिरमा पुगेका भक्तजनहरूले फूल, माला, अक्षता, रङ् र मिठाई चढाई भगवान् बालगोपालेश्वरको आराधना गरेका थिए ।

परम्परागत विधिअनुसार पञ्चरङ्गी र सप्तरङ्गी टीका लगाएका थिए । टीका लगाइसकेपछि श्रद्धालुहरूले एकअर्कालाई शुभकामना साटासाट गर्दै दीर्घायु, आरोग्य र समृद्धिको कामना गरे ।

भाइटिकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु र कल्याणको कामना गर्दै टीका लगाउने चलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र आशीर्वाद दिने परम्परा रहिआएको छ ।

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अस्ट्रेलियाका सभामुखबीच जेनेभामा भेट

जेनेभा । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको संसद् हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५१ औं महासभाको सन्दर्भमा जेनेभामा रहेका अध्यक्ष दाहालले अस्ट्रेलियन सभामुखसँग भेट गरेका हुन् ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल भएको थियो । अस्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा जलवायु परिवर्तनको सामना, नवीकरणीय ऊर्जा, स्थानीय सुशासन लगायतका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरे ।

एक लाख ८० हजार बढी नेपालीहरू अस्ट्रेलियामा रहेको भन्दै अध्यक्ष दाहालले ६० हजार बढी विद्यार्थीहरू अस्ट्रेलियामा अध्ययन गरिरहेको बताए । अस्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीहरूको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदान प्रदान जस्ता कार्य विस्तारमा जोड दिन आग्रह गरे ।

आईपीयू महासचिव र भारतीय प्रतिनिधि मण्डलसँग भेट
यस्तै अध्यक्ष दाहालले जेनेभामा भारतको संसदीय प्रतिनिधि मण्डल तथा अन्तर व्यवस्थापिका संघ (आईपीयू) का महासचिवसँग भेटवार्ता गरेका छन् ।

भेटमा अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेन–जी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए । त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गरे ।

दिदी–बहिनी नभएपछि दाजु–भाइले एकापसमा लगाए भाइटीका

तनहुँ । तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन् । तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटीका लगाएका छन् । आज उनीहरुले शुभसाइतमा एकापसमा टीका लगाएका हुन् ।

सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे । भाइटीकाको प्रक्रियाअनुसार निधारमा सप्तरङ्गी टीका लगाएर उनले फूलको माला गलामा पहिराइ दिए । भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिए ।

विगत आठ वर्षदेखि मदन र सुमनले यसरी नै एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आएका छन् । दिदीबहिनी नभएपछि आठ वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको दाजु मदनले बताए । उनले भने, ‘विगतमा आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नु भयो । हामी टीका थाप्न कुरिरहेका थियौं । नआएपछि मन खल्लो भो । त्यसपछि हामी दाजुभाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु गर्‍यौं । त्यसपछि निरन्तर एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आइरहेका छौं ।’

मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन । तिहारको मुख्य दिन भाइटीका, दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाउँछन् । रासस

 

हम्पाल लेकमा बढ्यो पर्यटकको आगमन

कास्की । पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

वर्षायाम सकिए लगत्तै दैनिकजसो दर्जनौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न र अवलोकन गर्न पुग्ने गरेका हुन् । जलजलालाई विभिन्न क्षेत्रसँग जोड्ने व्यवस्थित पदमार्ग, सडक मार्ग र होटल तथा विश्रामस्थललगायत संरचना र आवश्यक पूर्वाधार बनेपछि पर्यटकीय याम सुरु हुने बित्तिकै पर्यटकको आगमन बढ्ने गरेको हो ।

गण्डकी प्रदेश सरकारको २० लाख बजेटमा पर्वतको मोदी गाउँपालिका–१, माटेबाट जलजलासम्म दुई किलोमिटर लामो ढुंगाको सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयमार्फत सञ्चालित उक्त आयोजनाअन्तर्गत तीन ठाउँमा विश्रामस्थल पनि बनाइएको उपभोक्ता समितिका सचिव टीका पुनले जानकारी दिए । उनका अनुसार यस पदमार्गले दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल थप गरिएको छ ।

समुद्री सतहबाट ३ हजार ३०० मिटर उचाइमा रहेको माटेबाट २ हजार मिटर उचाइमा रहेको जलजलासम्मको यात्रामा अन्नपूर्ण र धवलागिरि हिमशृंखलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । मृगलगायत जंगली जनावर पनि देख्न सकिन्छ ।

यसअघि व्यवस्थित बाटो नहुँदा पर्यटकले बाटो बिराउने र जोखिम मोल्नुपर्ने समस्या भएर पर्यटकको संख्या कम भए पनि अहिले सबैतिरबाट पूर्वाधार सम्पन्न भएपछि पर्यटकको संख्या बढ्दै जान थालेको समितिका सचिव पुनले जानकारी दिए । अहिले यहाँ पर्वत, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, काठमाडौँ, चितवनका जो पदयात्रा गर्न रुचाउँछन् । त्यस्ता पर्यटक बढी मात्रामा आउने गरेकोे जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।

पछिल्लो समय विभिन्न म्युजिक भिडियो र फिल्म छायाङ्कनका लागि कलाकार तथा सर्जकहरूको उल्लेख्य मात्रामा उपस्थित हुने गरेका छन् । केही दिनअघि पदयात्रा गर्दै हम्पाल लेक पुगेका वरिष्ठ मुटुरोग विशेषज्ञले यो क्षेत्र नेपालकै सुन्दर र रमणीय रहेको बताउँदै यसलाई पर्याप्त प्रचारप्रसार गर्नसके भविष्यमा लाखौँ पर्यटक भित्र्याउन सकिने प्रतिक्रिया दिए ।

यो पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गका रूपमा समेत बाह्य पर्यटकले प्रयोग गर्दै आएका छन् । अन्नपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँ पुलदेखि घान्द्रुक र तिखेढुङ्गासम्म सडक विस्तार भएपछि बाह्य पर्यटकहरू यो पदमार्गमा हिँड्न थालेको पर्यटन व्यवसायी मनबहादुर भण्डारीले बताए । चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप २० लाख बजेटबाट जलजलाबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने भण्डारीको भनाइ छ । यसअघि वाइफाइडाँडामा आश्रयस्थल भवन र जलजलामा विद्युत् सुविधा पुर्‍याइएको थियो ।

हिन्दु धार्मिकग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको जलजला विभिन्न जडीबुटीले भरिपूर्ण जैविक विविधतायुक्तस्थल हो । यहाँको हम्पालमा धार्मिक पूर्वाधार र प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएका छन् भने पहाडको बीचमा रहेको सीमक्षेत्रमा बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना पनि अघि सारिएको छ । पर्वतको मल्लाज, शालिजा हुँदै जलजलासम्म कच्ची सडक पनि पुगेको छ ।

जलजलामा होटल व्यवसाय गर्दै आएका टीका पुनले दैनिकजसो बुकिङ गर्ने क्रम पर्यटकको संख्या बढेको बताए । चाडबाड सकिएपछि अझै पर्यटकको संख्या बढ्ने उनको अनुमान छ । पर्वतको भूकदेउरालीबाट कास्कीको घान्द्रुकसम्म नयाँ पुलबाट ‘ट्रेकिङ’ सुरु हुन्छ । सोही नयाँ पुल, पर्वतको डिमुवा, बनौँ, तारे, कास्कीका अन्य स्थान तथा म्याग्दीबाट पनि जान सकिने लामो दूरीको आकर्षक ‘ट्रेकिङ रुट’ हो पर्वतको हम्पाल क्षेत्र । समुद्र सतहबाट करिब तीन हजार मिटरको उचाइमा रहेको हम्पाल र माटे लेकको क्षेत्र पदयात्रामा जाने तथा उच्च भागसम्म सवारीमै पुगेर पनि प्राकृतिक सुन्दरताको अनुभूति लिन सकिने प्रख्यात क्षेत्र हो हम्पाल ।

लेकाली क्षेत्रमा मगर बस्ती हुँदै जान सकिने यो क्षेत्रमा पुग्नका लागि आकर्षक मानिएको एउटा ‘रुट’ कुश्मा नगरपालिका–१ पाङबाट जलजला गाउँपालिकाको बनौँ हुँदै मोदी गाउँपालिकाको क्याङमा जोडिएर जाने पदमार्ग हो । बनौँबाट केही मिनेटको दूरीमा रहेको क्याङको ठूली देउरालीमा पुगेर सवारी राखेपछि करिब तीन घण्टाको पैदलयात्राबाट हम्पाल क्षेत्रमा पुग्न सकिन्छ । केही विदेशी पर्यटक समेत पदयात्रा गरिरहेको देखिने सिर्फु र आसपासका क्षेत्रबाट पनि ढुंगाले बनाइएको सहज पदमार्ग हुँदै उक्त गन्तव्यमा पुग्न सकिन्छ ।

दुई दिनदेखि बेपत्ता व्यवसायी जंगलमा मृत भेटिए

धनगढी । दुई दिनदेखि बेपत्ता धनगढीका कम्प्युटर व्यवसायी नरेश धामी जंगलमा मृत भेटिएका छन् ।सोमबारदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–२ बस्ने कम्प्युटर व्यवसायी धामी बुधबार धनगढीकै शिवपुरी जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले धामी धनगढी–४ मा रहेको शिवपुरी जंगलमा घोप्टो पल्टिएको अवस्थामा मृत भेटिएको जानकारी दिए ।

उनकाअनुसार घटनास्थल कार्य सकेर धामीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
सोमबार साँझदेखि बेपत्ता भएका धामीको खोजीका लागि मंगलबार परिवारले प्रहरीमा निवेदन दिएको थियो । प्रहरीले खोजीका क्रममा धामीको शव जंगलमा भेटाएको थियोे । उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

भाइटीकामा पनि सुनसान छ गुन्यालफाँटाको बादी बस्ती

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको रौनकता छैन । देशभर दीपावलीको रौनकता छाएको बेलामा पनि बादी बस्ती भने सुनसान छ । बस्तीमा महिला, बालबालिका र वृद्धबृद्धा मात्रै रहेका छन् ।

बस्तीका अधिकांश युवा मजदुरीका लागि भारततर्फ गइसकेका छन् । महिनौँअघि भारत गएका युवामध्ये कोही बिदा नपाएर फर्कन सकेका छैनन् भने कोहीले काम नपाउँदा खर्चको अभावमा घर आउन सकेका छैनन् । बस्तीकी रत्ना कुमाल (बादी) ले बिहान–साँझको खाना जुटाउनै मुस्किल पर्ने भएकाले चाडपर्व आए पनि कुनै फरक नपर्ने बताइन् । ‘मिठो–मसिनो खाने, नयाँ लुगा लगाउने रहर त सबैलाई हुन्छ, तर पेट पाल्न गाह्रो हुँदा तिहार लगायतका चाडपर्व आएको महसुस नै भएको छैन,’ उनले भनिन् ।

त्यस्तै, बस्तीकी वृद्धा शान्ति कुमाल अहिले आफ्ना नाती–नतिनाको हेरचाह गर्दै आइरहेकी छन् । उनका छोरा र बुहारी भारतमा मजदुरीका लागि गएका छन् महिनाभन्दा बढी भइसकेको छ । ‘तिहारमा फर्कन्छु भनेका थिए, तर तलव नपाउँदा आउनै सकेनन्, ’ उनले भनिन् ।

पदमबहादुर राना (बादी) का अनुसार बस्तीमा ६२ घरधुरीमध्ये करिब २५ परिवार मात्रै रहेका छन् । बाँकी सबै मजदुरीका लागि भारततर्फ गएका छन् । ‘बादी समुदायका परिवारसँग आधा कठ्ठा वा एक कठ्ठा मात्र जग्गा छ, त्यहीँ घर बनाएका छौं’, उनले भने, ‘कमाउने ठाउँ नहुँदा घरमा ताला लगाएर हिँड्नुपर्ने बाध्यता छ । ’

पहिले माटाका भाँडा बनाउने, मादल बनाउने र विवाहजस्ता चाडपर्वमा नाचगान गरेर जीविका चलाउने परम्परागत पेशा अहिले हराइसकेको छ । उनका अनुसार समयकावे परिवर्तनसँगै त्यो व्यवसाय टिक्न नसकेपछि बादी समुदायको आयस्रोत समाप्त भएको छ ।

‘बादी समुदायका लागि सरकारले आयमूलक रोजगारीका अवसर सिर्जना गर्नुपर्ने हो,’ उनले भने, ‘तर केन्द्रदेखि स्थानीय तहसम्म कसैले पनि हाम्रो जीवनस्तर सुधार्न चासो देखाएको छैन ।’ शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता संविधानमै व्यवस्था भएका मौलिक हकसम्बन्धी अधिकारबाट बादी समुदाय अझै बञ्चित रहेको उनको भनाइ छ । बस्ती नजिकैको वनहरा नदीले वर्षेनी कटान गर्ने भएकाले बादी घरपरिवार बिस्तारै विस्थापनको जोखिममा परेका छन् ।

‘वर्षामा नदीको डर, सुख्खा मौसममा पेट पाल्ने चिन्ता, हाम्रो जीवन यस्तै रहेछ,’ रत्ना कुमालले भनिन् । दलित अधिकारकर्मी शिवी लुहारका अनुसार बादी समुदायलाई स्वरोजगार, सीपमूलक तालिम र आयमूलक कार्यक्रममार्फत आत्मनिर्भर बनाउने प्रयास हुनसके उनीहरूको जीवनमा सुधार आउने थियो, त्यसतर्फ तीनै तहका सरकारको ध्यान जान आवश्यक छ । रासस

राष्ट्रपति पौडेलले शीतल निवासमा लगाए भाइटीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ बजेको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो ।

भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । रासस

 

मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक जना गम्भीर

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्रेङमा टाँडीबाट भरतपुरतर्फ आइरहेको ग १० प ६१२२ नम्बरको मोटरसाइकल आज बिहान सवा चार बजेको समयमा अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार गैंडाकोट नगरपालिका–१ का ४४ वर्षीय टंकप्रसाद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका थापाको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा ४ः४४ बजेको समयमा मृत्यु भएको हो । यस्तै मोटरसाइकल चालक सोही ठाउँ बस्दै आएका २६ वर्षीय केशव घर्तीमगर घाइते भएका छन् । उनको उपचार अहिले नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ ।

भाइटीका कुन दिशा फर्केर लगाउने ?

काठमाडौं । यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने बताए । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् ।

शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । नेपाली समाजमा कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा छ ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।

तीन युवकको डुबेर मृत्यु

रुपन्देही । रुपन्देहीमा लक्ष्मी मूर्ति विसर्जन गर्दा खोलामा डुबेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार रूपन्देहीको गैंडहवा गाउँपालिका–६ सूर्यपुरास्थित सन्तेश्वर घाटमा लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार दिउँसो ३ बजेतिर तीन जना युवा खोलामा डुबेका थिए ।

खोलामा डुबेर मृत्यु हुनेहरुमा मायादेवी गाउँपालिका वडा नम्बर १ का १५ वर्षीय अजय हरिजन, १८ वर्षीय दीपु हरिजन र २५ वर्षीय रोहित हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

दिउँसो दानव र कञ्चन नदीको संगमस्थल सन्तेश्वर घाटमा मूर्ति विसर्जन गर्ने क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरू गरेका थिए । खोजी गर्दै जाँदा घटनास्थल भन्दा करिब २ सय मिटर तल तीनै जनाको शव फेला परेको कार्कीले बताए ।

 

झिनियाँको माग बढ्दो, उत्पादन गर्न भ्याइनभ्याई

रामपुर । यस पटक तिहारमा मागअनुसार झिनियाँ पुर्‍याउन नसकिएको व्यवसायीले बताएका छन् । तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

चाडपर्वका बेला ग्राहक तथा व्यापारीबाट माग बढी आए पनि पुर्‍याउन नसकिएको उद्यमी रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने रुद्रनारायण श्रेष्ठले बताए । तिहारमा पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढ्दो रहेकाले माग बढी आउने गरेको उनको अनुभव छ ।

‘व्यवसायीलाई उत्पादन गर्न हम्मेहम्मे परेको छ, उत्पादन गरेमात्र हुन्छ, व्यापारको पिरलो छैन, उद्योगबाटै धमाधम बिक्री भइरहन्छ, अहिलेको मागअनुसार पुर्‍याउनै मुस्किल पर्छ’, उनले भने । उद्यमी श्रेष्ठले रामपुरमा विगत एक दशकदेखि झिनियाँको व्यापार गर्दै आएका छन् । उनी यो क्षेत्रका पहिलो व्यवसायी हुन् । श्रेष्ठलाई श्रीमती लक्ष्मीले निरन्तर रूपमा व्यवसायमा साथ दिँदै आएका छन् ।

चाडपर्व छिटो, वर्षा पनि लामो परेकाले विगतका वर्षको तुलनामा पहिले नै तयार गरेर राख्न नसकिएको हुँदा चाडपर्वमा उत्पादन गर्न भ्याइनभ्याई भएको लक्ष्मीले बताए । श्रेष्ठले सञ्चालन गरेको यो व्यवसायमा छ जनाले रोजगारसमेत पाएका छन् । यसपटकको चाडपर्वमा करिब छ लाख बराबरको कारोबार हुने उद्यमी रुद्रनारायणले बताए । उनका अनुसार त्यहाँ उत्पादन भएको झिनियाँ पाल्पा, स्याङजा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा, चितवनलगायतका विभिन्न स्थानमा खपत भइरहेको छ ।

रामपुर–४ सिर्जनाचोकका विष्णु सारुले यस पटक बजारको मागअनुसार थेग्न मुस्किल परेको सुनाए । उनले तीन वर्षदेखि निरन्तर झिनियाँ उत्पादन गर्दै आएका छन् । यसबाट मनग्य आम्दानी हुने भएपछि व्यावसायिक उत्पादनमा जोड दिएको सारुले उल्लेख गरे । घरमै झिनियाँ खरिद गर्न आउने भएपछि उद्यमीलाई बिक्रीका लागि बजार धाउनु परेको छैन । प्रतिकिलो खुद्रा मूल्य एक सय र थोक मूल्य ९० मा बिक्री भइरहेको छ । छोटो समयमा कम लगानीमा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा हिजोआज झिनियाँ व्यवसायमा आकर्षण बढ्दो छ ।

बजारमा यसको माग बढ्दो रहेकाले व्यवसायीलाई सहज भएको छ । उत्पादन गर्न झन्झट गर्न नपर्ने, घरमै बसेर आयस्रोत लिने भएकाले झिनियाँलाई व्यवसायका रूपमा गाउँघरमा लिने गरिएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइ दिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । हिजोआज खाजाका रूपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे संक्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

‘पहिला बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घरघरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन्’, सारुले भने ।

झिनियाँबाट मनग्य आम्दानी हुन थालेपछि हिजोआज महिलाहरूको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यावसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने भएकाले उत्पादित झिनियाँ सुरक्षित भण्डारण गरेर जुनसुकै समयमा पनि बिक्री गर्न सकिने सारुको अनुभव छ ।

गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ । चामलको पीठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले–पहिले तिहारका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रूपमा पनि झिनियाँलाई लिने गरिन्छ ।

 

हराउँदै तिहारको मौलिकता, अंग्रेजी र हिन्दी गीतमा देउसी–भैलो

बागलुङ । तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ । यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ । यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसी भैलोमा झुमिरहेका छन् ।

गाउँ, टोल र छिमेक भैलीमय बनेको छ । तर देउसीभैलोको मौलिकता भने हरेक वर्ष हराउँदै गएको छ । एक सातादेखि बागलुङ बजारका चोकचोकमा देउसीभैलो खेल्नेहरूको भीड लागेको छ भने गाउँमा पनि उस्तै छ । भैलो खेल्दा गाउने गीत र नाचिने नाचमा अचेल कुनै मौलिकता भने देख्न पाइँदैन ।

तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । तर भैलो खेल्नेहरूले ती वाद्यवादनका सामग्री बजाउन जोडेका स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । पुराना सोरठी, मारुनी र कौरा नाच पनि देखाउने गरेको पाइँदैन । यानीमाया, सुनियामा र झ्याउरे गीत पनि सुनिदैन ।

पछिल्लो समय गाउँघरमा ‘रेकर्डेड’ पप, आधुनिक र र्‍याप गीतमा देउसीभैलो खेल्ने र नाच्ने प्रचलन बढेको निसीखोला गाउँपालिका–४ का थमबहादुर पुन मगरले बताए । तिहार पर्व र देउसीभौलोमा गाइँने मौलिक गीत लोप हुँदै जानुका साथै आधुनिकताले प्रभावित गरेको उनको भनाइ छ ।

‘पहिले देउसीमा नाचिने सोरठी, मारुनी नाच अहिले देख्न पनि छाडिसके । पप, र्‍याप र विदेशी भाषाका गीतमा नाच्ने उनीहरूको पहिरनमा मौलिक संस्कृति झल्कने त कुरै भएन । उनीहरूले आधा शरीर पनि नढाक्ने कपडा लगाएका हुन्छन् । केही त अझ परिवारसँगै भएर हेर्नसमेत नसकिने हुन्छन्’, मगरले भने ।

पश्चिमा संस्कृतिको प्रभावले देउसीभैलोको मौलिकता हराउँदै गएको उनको भनाइ छ । घर्तीमगरले मादल, बाँसुरी, खैँजडीलगायतका बाजाको माध्यमबाट कथाव्यथा प्रस्तुत हुने देउसीभैलोमा हिजोआज विकृति मिसिएको बताए ।

उनले भने, ‘हामीहरू मारुनी, सोरठी नाच्ने गथ्र्यौँ, अचेल हरेक वर्ष देउसीभैलोमा मौलिकता हराउँदै गएको छ, बजारमा गीत बजाएर नाचेर भैलो खेले पनि गाउँमा त्यो चलन आइसकेको थिएन, तर अहिले गाउँमा पनि भित्रिसक्यो’, उनले भने, ‘हाम्रा पालमा देउसीभैलोमा मादल, बाँसुरी, खैजडी बजाएर नाच्ने, मौलिक गीतहरू गाउने गरिन्थ्यो, अहिले ती गीत सुन्नै छाडियो, सायद अब सुनिदैनन् ।’

एक दशक अगाडिसम्म मौलिक गीत, बाजा र कपडा पहिरिएर देउसीभैलो खेले पनि अहिले दुर्गम गाउँबाहेक अरु ठाउँमा देख्न नपाइने बडिगाड गाउँपालिका–८ का प्रेमबहादुर काउचाले बताए । आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उनको भनाइ छ ।

तिहार पर्व र देउसीभैलोले नेपालीहरूको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान गुम्ने खतरा बढेको उनले बताए । मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो नहुँदा पश्चिमा संस्कृति हाबी भएको काउचाको बुझाइ छ । स्थानीय तहले कला, संस्कृति संरक्षण अभियान सञ्चालन गरी युवा पुस्तामा हस्तान्तरण गरेमा मौलिक परम्परा जगर्ने हुने उनको भनाइ छ ।

उनले भने, ‘अहिले तिहारमा गीत गाउन पनि नपर्ने बजाउन पनि नपर्ने, साउण्ड सिस्टममा गीत बजायो नाच्यो, गीत पनि केके हुन् केके केही बुझिदैन । हामीहरू पुरानो संस्कृतिअनुसार देउसीभैलो खेल्थ्यौँ, बाउबाजेले हामीहरूलाई सिकाउनुभयो, उहाँहरूले सिकाएको संस्कार अहिलेसम्म रह्यो, अहिले हाम्रा कयौँ संस्कृतिहरू लोप भएका छन्, कयौँ लोप हुने अवस्थामा पुगेका छन् ।’ यस्ता कला, संस्कृति र मौलिकता संरक्षण सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।

बझाङ केन्द्रविन्दु भएर फेरि भूकम्प

बझाङ । बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा केन्द्रका अनुसार गए राति (बुधबार) १० बजेर ४७ मिनेट जाँदा बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गएको असोज २९ गते राति पनि बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको थियो । सो भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र थियो । नेपाल भौगोलिक रुपमा भूकम्पीय जोखियुक्त क्षेत्रमा रहेको भूकम्पविद्हरुले बताउने गरेका छन् ।

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला (हेर्नुहोस् तस्बिरहरू)

काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै छ। दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।

खञ्जनेश्वर महादेवमा भक्तजन
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ।

वि.सं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो। त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो। पछिल्लो समय पहिले जति नआए पनि यहाँ भाइटीकाका दिन भक्तजनको लाम लाग्ने गर्छ।

फूलको उत्पादन घट्यो, माग बढ्यो

भोजपुर । यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ ।

सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन् । सोही कारण मखमली, सयपत्री, गोदावरीलगायत तिहारमा बढी प्रयोग हुने फूलको अभाव देखिएको हो । यो वर्ष गाउँघरमा फूल नफुल्दा समस्या रहेको भोजपुरको टेम्केमैयुङकी स्थानीय किसान दुर्गा विष्टले बताए ।

‘अहिले तिहारका लागि लगाइएको फूल मौसम अनुकूल नहुँदा समयमा फुलेन’, उनले भने, ‘अहिले पनि धेरै बोटमा कोपिला मात्रै छन् ।’ स्थानीय व्यापारीहरूका अनुसार उत्पादन कम हुँदा माग बढ्दो रहेकाले माग पु¥याउन समस्या भइरहेको छ । उत्पादन घटेकाले यस वर्ष फूलको मूल्य समेत बढेको स्थानीयको भनाइ छ । रासस

तिहारमा मिठाईको स्वाद मात्र होइन, स्वास्थ्यकाे पनि गर्नुहोस् ख्याल

काठमाडौं । दीपावली अर्थात् तिहार हाम्रो संस्कृतिमा रमाइलो, प्रेम र मेलमिलापको पर्व हो । झिलिमिली बत्ती, पूजा–आराधना र दिदीबहिनी–दाजुभाइको स्नेह साटासाटसँगै मिठाई र पकवानको विशेष महत्व हुन्छ । तर, यिनै स्वादिलो परिकारहरू अत्यधिक वा असावधानीपूर्वक सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

पर्वमा प्रचलित परिकारहरू

तिहारमा प्रायः घरघरमा बनाइने सेलरोटी, लड्डु, बर्फी, फिनी, अनरसा, खजुरी, अर्सा जस्ता मिठाई प्रचलित छन् । यी परिकारले सांस्कृतिक मिठास त थप्छन् तर धेरै चिल्लो र चिनी मिसिएका यस्ता खानाले शरीरमा बोसो, सुगर र रगतमा ट्राइग्लिसराइड्सको मात्रा बढाउने जोखिम हुन्छ ।

एकै पटकको चिल्लो भोजनले पनि पार्न सक्छ असर

घिउमा तारेको खाना लगातार वा धेरै खाँदा शरीरमा ‘ट्रान्स फ्याट’ बढ्छ । यसले कलेजो, मुटु र रक्त नलीहरूमा गम्भीर असर पार्न सक्छ । पुरानो तेल प्रयोग गर्दा एक्रोलिन, एल्डिहाइड जस्ता रासायनिक विष उत्पन्न हुन्छन्, जसले दीर्घकालीन रूपमा क्यान्सरजस्ता रोग निम्त्याउन सक्छन् ।

पाचन र इन्सुलिनमा असर

धेरै तेलयुक्त परिकारले पाचन ढिलो हुन्छ, ग्यास र अपच हुने सम्भावना बढ्छ । चिनी र बोसो मिसिएका मिठाईले इन्सुलिन प्रतिरोध बढाउँछ, जुन मधुमेह र नन–अल्कोहोलिक फ्याटी लिभर डिजिजको कारण बन्न सक्छ ।

‘सुगर फ्रि’ मिठाई कतिको स्वास्थ्यकर ?

सुगर फ्रि भनिए पनि बजारमा पाइने मिठाईमा प्रायः घिउ, ट्रान्स फ्याट र कृत्रिम मिठास प्रयोग गरिएको हुन्छ । यस्ता मिठास ९जस्तैः सोरबिटोल, एरिथ्रिटोल० धेरै खाँदा पेट फुल्ने, ग्यास र डायरिया हुने सम्भावना हुन्छ । त्यसैले ‘सुगर फ्रि’ पनि सीमित मात्रामा मात्र सेवन गर्नु उपयुक्त हुन्छ ।

कति खाने मिठाई ?

विशेषज्ञहरूका अनुसार स्वस्थ व्यक्तिले दिनमा १०–२० ग्राम मिठाई (जस्तैः १,२ साना लड्डु, पेडा वा बर्फी) खान सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक क्यालोरीको ५–१० प्रतिशत मात्र चिनीबाट आउनु उपयुक्त हुन्छ । महिलाले २५ ग्राम र पुरुषले ३६ ग्रामभन्दा बढी चिनी नखानु सुझाव दिइएको छ ।

रंगीन मिठाईबाट सावधान

घर वा बजारमा पाइने चम्किला रंगीन मिठाईहरू आकर्षक देखिए पनि त्यहाँ प्रयोग हुने कृत्रिम रङले एलर्जी, छालामा समस्या र बच्चाहरूमा ध्यान केन्द्रित गर्न गाह्रो हुने समस्या निम्त्याउन सक्छ । सकेसम्म प्राकृतिक रङ वा बिना रङको मिठाई रोज्न सल्लाह दिइन्छ ।

स्वास्थ्यका लागि के गर्ने ?

–मिठाई सीमित मात्रामा खाने
–पुरानो तेल प्रयोग नगर्ने
–घरमै ओट्स, नट्स, खजुर वा स्टेभिया प्रयोग गरेर मिठाई बनाउने
–चिल्लो परिकारपछि तातोपानी वा जिरा पानी पिउने
–ट्रान्सफ्याट फ्री, स्टेभिया युक्त परिकार छनोट गर्ने
– डाइटिसियन विपिन कार्कीका अनुसार, तिहारको मिठास जीवनमा सन्तुलनसहित आउनु पर्छ । पर्वको स्वादसँगै शरीरको सन्तुलन कायम राख्न सचेत भइयो भने तिहार अझै सुखद, स्वस्थ र स्मरणीय बन्न सक्छ ।

एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष खड्काको मृत्यु

रुकुमपश्चिम । नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका जिल्ला उपाध्यक्ष दिपकराज खड्काको निधन भएको छ । मुटु रोगबाट पीडित ४७ वर्षीय खड्काको बुधबार बेलुका उपचारको क्रममा काठमाडौंस्थित गंगालाल हृदयरोग निवारण केन्द्रमा मृत्यु भएको हो ।

पार्टीको मुसीकोट नगर कमिटीको अध्यक्षको समेत जिम्मेवारीमा रहेका उपाध्यक्षको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको पार्टीका प्रचार विभाग प्रमुख अमरराज पुनले बताए । उनले राजनैतिक सहकार्य र आत्मियताका हस्तीको निधनले पार्टीको भावी योजनामा ठेस लागेको उल्लेख गरे ।

मुसीकोट नगरपालिका ४ सोलाबाङ निवासी खड्का जिल्ला अस्पताल विकास समिति रुकुमपश्चिमको सदस्य समेत थिए । अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारीले उपचारको क्रममा खड्काको अल्पायुमै निधन भएको खबर प्राप्त भएको जनाइन् । उनले खड्का अत्यन्त सरल स्वभावको, सामाजिक सेवा भावबाट प्रेरित, समाज रुपान्तणको लागि सकारात्मक सोंचका सामाजिक अगुवा भएको बताइन् ।

उनको निधले एक असल सामाजिक योद्धा गुमाउन पुगेको कुसारीले उल्लेख गरिन् । मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले असल व्यक्तित्व गुमाउन पुगेको बताए । खड्काले समाजका लागि दिएको योगदान उच्च सहरानीय रहेको नगर प्रमुख केसीले जनाए । मृतक खड्का रुकुमका एक असल पर्यटनकर्मी, व्यवसायी समेत थिए । उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध थिए ।

आज भाइटीका : सप्तरङ्गी टीका लगाई दिएर दिदी–बहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै

काठमाडौं । नेपाली हिन्दु समुदायले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह र प्रेमको प्रतीकस्वरूप मनाउने भाइटीका पर्व आज (बिहीबार) देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

हिन्दु धर्मअनुसार यमपञ्चकको पाँचौं दिन, अर्थात् कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीहरूले दाजुभाइलाई पञ्चरङ्गी टीका, मखमली फूलको माला र मीठा परिकारहरू अर्पण गरी दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्छन् ।

शास्त्रीय मान्यताअनुसार, आजकै दिन यमुनाले आफ्ना दाजु यमराजलाई टीका गरी दीर्घायुको कामना गरेकी थिइन् । त्यसैबेलादेखि भाइटीकाको प्रचलन सुरू भएको विश्वास गरिन्छ । पर्वमा दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, उपहार वा आशीर्वाद प्रदान गर्ने प्रचलन छ । यस अवसरमा परिवारभित्रको प्रेम, आत्मीयता र एकताको भावना झनै प्रगाढ हुने विश्वास गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । आज (बिहीबार) बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।

आज बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन’, उनले भने ।

नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका लगाइँदैछ । विश्वका अन्य देशमा पनि भाटीकाको उत्तम साइत निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा भाइटीका लगाउने साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार २२ र २३ अक्टोबरमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये भारतको दिल्लीमा ११ बजेर ५५ मिनेटमा साइत जुराइएको छ भने अमेरिकामा २२ अक्टोबरमा शुभ साइत जुरेको छ ।

समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ११ बजेर ५५ मिनेटमा, फ्र्याङ्कफर्ट र केन्टुकीमा ११ बजेर ३१ मिनेटमा, वोवेन्स्वोरो र केन्टुकीमा ११ बजेर ४५ मिनेटमा, टेक्सासमा ११ बजेर ५७ मिनेटमा, वासिङ्टन डीसीमा ११ बजेर ४१ मिनेटमा, क्यालिफोर्नियामा ११ बजेर ४९, कोरोराडोमा ११ बजेर २७ मिनेटमा, सिकागोमा ११ः ३३ मिनेटमा शुभ साइत जुराएको छ । क्यानडाको टोरन्टोमा ११ बजेर २३ मिनेटमा, भ्यानकुभरमा ११ बजेर ३५ मिनेटमा साइत जुजाइएको छ ।

यस्तै अष्ट्रेलियाको सिड्नीमा ११ बजेर २५ मिनेटमा, ब्रिसवेनमा ११ बजेर ४३ मिनेटमा, एडिलेडमा ११ बजेर ५३ मिनेटमा, क्यानबेरामा ११ बजेर २७ मिनेटमा, तास्मानियामा ११ बजेर २५ मिनेटमा, पर्थमा १० बजेर ३४ मिनेटमा र डार्विनमा ११ बजेर ५७ मिनेटमा शुभ साइत जुराइएको छ ।

यस्तै न्यूजिल्याण्डको वेलिङटनमा ११ बजेर ३१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११ बजेर २९ मिनेटमा, बेलायतको लण्डनमा ११ बजेर ३७ मिनेटमा, फ्रान्सको पेरिसमा ११ बजेर २१ मिनेटमा, नर्वेको ओस्लोमा ११ बजेर ४३ मिनेटमा , डेनमार्कमा ११ बजेर २५ मिनेटमा, जर्मनमा ११ बजेर ४३ मिनेटमा साइत जुरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस्तै समितिले फिनल्याण्डमा ११ बजेर ४७ मिनेटमा, स्वीटजरल्याण्डमा ११ बजेर ५४ मिनेटमा, माल्टामा ११ बजेर २३ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११ बजेर ५७ मिनेटमा, युएईको अबुधाबीमा ११ बजेर ४५ मिनेटमा, कतारको दोहामा ११ बजेर ५५ मिनेटमा, कुवेतमा ११ बजेर ४५ मिनेटमा, इजरायलको तेल अभिभमा ११ बजेर १ मिनेटमा, साउदी अरेबियामा ११ बजेर ५५ मिनेटमा, थाइल्याण्डको बैंककमा ११ बजेर ४१ मिनेटमा सुभ साइत जुराएको छ ।

यस्तै जापानको टोकियोमा ११ बजेर ४२ मिनेटमा, दक्षिण कोरियामा ११ बजेर २१ मिनेटमा, सिंगापुरमा ११ बजेर ५८ मिनेटमा, हङकङमा ११ बजेर ४५ मिनेटमा र म्यानमारको याङ्गुनमा ११ बजेर ५५ मिनेटमा टीकाको शुभ साइत जुरेको समितिले जनाएको छ । पर्वमा दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा, उपहार वा आशीर्वाद प्रदान गर्ने प्रचलन छ । यस अवसरमा परिवारभित्रको प्रेम, आत्मीयता र एकताको भावना झनै प्रगाढ हुने विश्वास गरिन्छ ।

यस अवसरमा विशेष गरी घरआँगन सफा गरिन्छ, रंगोली बनाइन्छ, दियो बत्ती बालिन्छ र परम्परागत परिकारहरूको व्यवस्था गरिन्छ । मखमली, सयपत्री फूल र सेलरोटी भाइटीकाको प्रमुख पहिचान हो । सरकारले भाइटीकाको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । सुरक्षाका दृष्टिले देशभरका प्रमुख नाका र स्थानहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी गृह मन्त्रालयले दिएको छ ।

(‘नेपाल वान एचडी’ को तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तिहार तथा भाइटीकाको पावन अवसरमा हार्दिक शुभकामना । पञ्चरङ्गी टीकासँगै सम्बन्धमा प्रेमको गहिराइ थपिँदै जाओस्, मखमली मालासँगै स्नेह अझ बलियो बनोस् । दिदी–भाइको यो सम्बन्ध सधैं अमिट, आत्मीय र अटुट रहोस् । भाइटीकाले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिको उज्यालो लिएर आओस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।)

अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन, राष्ट्र बचाउनु नै मुख्य हो : संयोजक प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका संयोजक एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताउँदै राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् ।

महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी भई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताए ।

“अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन। राष्ट्र बचाउनु नै मुख्य हो। आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु।”उनले भने ।“तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन। अहिलेको अवस्थामा म जिम्मेवारी लिनबाट पछि हट्नेवाला छैन।”

कार्यक्रमको मुख्य आकर्षण बनेका संयोजक प्रचण्डले सम्बोधनमार्फत पार्टीको वर्तमान धारणा, आगामी रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पारे। देशमा परिर्वतित समयमा मधेशमा जेन्सी युवाहरू सहितको सहभागीतमा आयोजित कार्यक्रम भव्य भएको र कार्यक्रममा ठूलो जनसहभागिता र पार्टी प्रवेशले पार्टी पंक्तिलाई उत्साहित गरेको बताउँदै उनले नयाँ युगको सुरुवात भएको घोषणा समेत गरे।

संयोजक प्रचण्डले आफू जेन्सी आन्दोलनपछिको नयाँ अवस्था र पहिलोपटक मधेशमा आयोजित ठुलो कार्यक्रममा सहभागी भएको बताउँदै भने,“हिजो जनयुद्ध र जनआन्दोलनका बेलामा हामी जेन्सी थियौँ। आजको दिनमा मधेशमा पहिलो पटक ६०५ जना जेन्सी युवाहरूसहति माओवादी केन्द्रमा प्रवेश गर्नु इतिहासकै महत्त्वपूर्ण घटना हो।”

“अब जेन्सी र माओवादी मिलेर चुनाव लड्नुपर्छ। अरुले जेन्सीका मागहरू पूरा गर्दैनन्। माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ।”

संयोजक प्रचण्डले देश संकटमा रहेको भन्दै राष्ट्रिय सहमतिको खाँचोमा जोड दिए।“यदि हामीले संविधान निर्माणका बेला राष्ट्रिय सहमति कायम नगरेको भए, यो देश भयानक दुर्घटनामा जान्थ्यो। हाम्रो भूमिकाले संविधान बचाएको छ।”

उनले माओवादी केन्द्रलाई नै राष्ट्रिय एकताको पर्याय भएको बताउँदै भने,“मधेश केन्द्रित पार्टीलाई उपराष्ट्रपति बनाएर राष्ट्रिय एकता कायम गर्ने दल माओवादी केन्द्र नै हो। समावेशी लोकतन्त्र सुनिश्चित गर्ने शक्ति हामी हौँ।”

संयोजक प्रचण्डले सरकारको नेतृत्व गर्दा माओवादी केन्द्रले सामाजिक न्यायका मुद्दा, नागरिकता समस्या, मिटरब्याज पीडित, मधेशी जनताको विकासका विषयमा ठोस काम गरेको दाबी गर्दै भने,“भ्रष्टाचारविरुद्धको अभियान हामीले सुरु गरेका थियौँ। तर केही मिडिया, विदेशी दलाल र अपराधीहरूले हाम्रो बदनाम गर्न खोजेका छन्।”

उनले आत्मालोचना गर्दै भने ,“हामीबाट पनि त्रुटि भयो, कहिलेकाहीँ जनतासँग सम्बन्ध कमजोर भयो। तर अब हामी जनताको बीचमा फर्किएका छौँ।”

संयोजक प्रचण्डले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई लिएर कुनै अन्योल नराख्न आग्रह गर्दै भने,“चुनाव हुन्छ, हुनैपर्छ। यही अहिलेको एक मात्र विकल्प हो।”उनले निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गर्दै भने,“मतदाता नामावली अद्यावधिक गर्नुहोस्। नयाँ मतदाताहरूको नाम लेख्नुहोस्। हामीले राष्ट्रिय एजेन्डा सेट गरिसकेका छौँ— संविधान संशोधन, भ्रष्टाचार अन्त्य, जेन्सी युवाका माग सम्बोधन र समानुपातिक प्रणाली।”

संयोजक प्रचण्डले वामपन्थी एकताको नयाँ अभियान सुरु भएको जानकारी गराउँदै भने,“यो देशमा वामपन्थी जनमत सबभन्दा धेरै छ। समाजवादी मोर्चा बनाइसकेका छौँ। अब एमालेभित्रका इमानदार देशभक्तहरूसँग पनि एकता गर्ने तयारी भइरहेको छ।”

उनले २०७४ सालको दुई तिहाइको जनमत वामपन्थी एकताको उदाहरण दिँदै भने,“त्यतिबेला नेतृत्व केपी ओली जस्ता प्रवृत्तिको हातमा परेकोले त्यो असफल भयो। अब माओवादी केन्द्रका नेतृत्वमा नयाँ एकता गरिन्छ।”

उनले २४ गते र त्यसपछिको समयमा देशभर जनताको सुरक्षमा खटिएका प्रहरीमाथि भएका ज्यादती, हत्या र पीडामा आफू गहिरो रूपमा भावुक बनाएको बताए ।

“मैले प्रत्यक्ष देखेँ, प्रहरी दाजुभाइ–दिदीबहिनीहरूमाथि गलत तत्वहरूले कस्तो व्यवहार गरे। त्यसैले म देश र जनताको सुरक्षमा अहोरात्र खट्नुहुने सुरक्षाकर्मीप्रति सहानुभूति प्रकट गर्न चाहन्छु।”

सो अवसरमा उनले विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका जेन्सी युवासहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ६०० भन्दा बढी नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

फलफूल बजारमा छैन चहलपहल

 काठमाडौँ । तिहारको चौथो दिन फलफूल किन्ने ग्राहकहरुको फूलफूल पसलमा भिडभाड हुनुपर्ने हो । तर यसपटक भने फलफूल पसल सुनसान देखिन्छन् ।

जेन जी आन्दोलनका कारण व्यापरमा प्रभाव परेको व्यवसायीहरु बताउँछन् । बागबजारका फलफूल व्यापारी सुनिलकुमार पासवानले गतवर्षहरुमा जस्तो व्यापार यसवर्ष नभएको बताए ।

आन्दोलनका कारण काठमाडौमा मान्छै नै नभएको उनको भनाई छ । पहिलेजस्तो चहलपहल नहुँदा व्यापारमा असर परेको उनको गुनासो छ ।
उनले भने, ‘पहिले काठमाडौमा धेरै मान्छेहरु थियो । व्यापार पनि राम्रो थियो । अहिले आन्दोलनको कारण हाम्रो स्थिति गम्भिर भएको कारण मान्छेहरुको चहलपहल छैन, पहिलेको जस्तो । पहिले त तिहारमा धेरै मान्छेहरुको चहलपहल हुने गथ्र्यो । तर आजभोली हाम्रो बाघबजारको स्थिति धेरै नराम्रो छ ।’

सुनिलको जस्तै गुनासो अर्का व्यवसायी सोनु कुमारको पनि छ । उनले पनि जेनजी आन्दोलनका कारण तिहारमा व्यापार कम भएको गुनासो गरे । मान्छेसँग पैसा नभएका कारण पनि व्यापार सुस्ताएको उनको भनाई । उनले बजारभाउ पनि पहिले भन्दा केही बढेको बताए। उनले भने, ‘आन्दोलनले गर्दा अहिले विजनेश कम भएको छ । मान्छेसंग पैसा छैन ।’

व्यापारीहरुले व्यापार नभएको गुनासो गरिरहँदा उपभोक्ताहरुको भने मंहगी बढेको गुनासो छ । फलफूल किन्न आएकी उर्मिला बस्नेतले अहिलेको धेरै महंगो बढेको बताईन् । पोहोरको भन्दा अहिलेको बजारमूल्य धेरै फरक रहेको उनको भनाई छ । उनले तिहारको लागी आवश्यक समानहरु पनि बजारमा नपाईएको गुनासो गरे । तिहारमा फूलहरुको धेरै महत्व हुने उल्लेख गर्दै उनले सयपत्री फूल नै नपाएको बताए । उनले मंहगी र अभाव दुबै रहेको बताए ।

उनले भने, ‘सामान्य दिनमा भन्दा अहिले चाडपर्वमा धेरै महंगो छ, सामान । अहिले फूलहरुको धेरै महत्व हुन्छ, सयपत्री फूलै पाईरहेको छैन । हामीहरु फूल नपाएर थोर थोरै किनिरहेका छौँ । त्यही नी धेरै मंहगो छ, सागसब्जी पनि धेरै महंगो छ । पोहोरको भन्दा अहिले धेरै अभाव छ, समानहरु ।’

तिहारमा फलफूल, माला, भाईमसला, टोपी लगायत सामाग्रीहरुको किनबेचको लागी बजारमा मानिसहरुको भीडभीड हुने गरेको थियो । तर यसवर्ष भने बजार सुनसान देखिएको छ ।

सुशीला कार्कीको सरकारलाई संविधानले चिन्दैन : एमाले नेता दाहाल

झापा । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिन्ने बताएका छन् । असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड तथा जनसांस्कृतिक महासंघ नेपाल बिर्तामोडको आयोजनामा बुधबार आयोजित देउसी तथा शुभकामना आदानप्रदानमा उनले यस्तो बताएका हुन् ।

‘लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो ?,’ दाहालले प्रश्न गरे, ‘सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा सरकार बनाउन संविधानको कुन धाराले अनुमति दिन्छ ? अनि, त्यसरी बनेको सरकारले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन ?’

वर्तमान सरकारका मन्त्रीहरूका अभिव्यक्ति निर्वाचन नगराउने तर्फ उद्यत रहेको भन्दै उनले सरकारका गतिविधिलाई नेकपा एमालेले नजिकबाट नियालिरहेको जिकिर गरे । २३ र २४ भदौमा जेनजीका नाममा विध्वंस गराइएको भन्दै उनले यस घटनाले राज्यलाई कमजोर बनाएको बताए । उनले नेपालको राजनीतिक इतिहासमा कलंकका रूपमा यो घटना चित्रण भएको पनि जिकिर गरे । उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्तासहित शुभेच्छुक शुभचिन्तकहरूले शुभकामना आदान–प्रदान गरेका थिए ।

 

नेवार समुदायमा गरियो म्हः पूजा

काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदाका दिन बुधवार नेवार समुदायमा म्हः (आत्म) पूजा मनाइएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले म्हः पूजा पर्व मनाउने गर्दछन् । यसदिन कसैले दिउँसो र कसैले बेलुकी म्हः पूजा गर्ने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहि आएको नेवा समूदायका अगुवा राकेश अवालेले बताए ।

आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहेको कारण नेवा समूदायले म्हः पूजा गर्ने गरेको उनको भनाइ छ । आत्मजीवनको सुख र शान्तीको कामना गर्दै यो पर्व मनाउँदै आइएको उनको भनाइ छ ।

उनले भने, ‘म्हः पुजा हाम्रो गौरव हो । हामी नेपाली समूदायमा पनि कसैले पूजा गर्छ कसैले गर्दैन । नयाँ वर्षको सिलसिलामा आफ्नो जीवनमा सुख, शान्ती र समृद्धि एवं सफलताको कामना गरी जीवनमा कुनैपनि दुःखद् घटना नहोस् भन्ने हेतुले आफूले आफैंलाई पूजा गर्ने चलन छ । यो एकदमै राम्रो चलन छ ।’

नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा म्हः पूजा मनाउने गरिएको छ ।

चिनियाँ इभी भित्रिने मुख्य नाकाले उठायो ३ अर्बभन्दा बढी राजस्व

चीन । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १ करोड ४४ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यो चिनियाँ विद्युतीय कार आयात हुने मुख्य नाका हो।

गत भदौ ३१ गते पूर्ण रूपले व्यापारिक मार्गका रुपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले मंगलबारसम्म उक्त राजस्व संकलन गरेको जनाएको छ। हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए।

चीनबाट पैठारी गरिएका मालसामानमा दसैं–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेको मुस्ताङ भन्सारले जनाएको छ। नेपालतर्फबाट भने हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको भन्सार प्रमुख खड्काको भनाइ छ।

हालसम्म कोरला नाका हुँदै चीनबाट पैठारी गरिएका १४९८ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले जानकारी दिए। यहाँको नेपाल–चीन उत्तरी कोरला नाकालाई भन्सार विभागले तातोपानी नाका र रसुवागढी नाका अवरूद्ध भएपछि वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याएको थियो त्यसैबीच, भन्सार विभागले यहाँको कोरला नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मुस्ताङ भन्सार कार्यालयलाई अनलाइन प्रणाली भन्सार आशिकुडा प्रणालीमा जोडेको छ।

विभागले यो नाकालाई व्यापारिक आयात-निर्यात सहज तुल्याउन भन्सार प्रतितपत्र (एलसी) खोल्न अनुमति दिएको थियो। नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि बाह्रै महिना यहाँको नाकाबाट आयातनि-र्यात गर्न चिसो र उच्च भूगोलका कारण चुनौती हुने भन्सार प्रमुख खड्काले बताए।

कोरला नाका ४६१० मिटरको अग्लो उचाइमा रहेकाले चिसोले इन्धन जमेर ढुवानीका साधन स्टार्ट नहुने र धकेलेर तल झार्नुपर्ने बाध्यता रहेको भन्सार प्रमुख खड्काको भनाइ छ।

कोरला नाकालाई बाह्रै महिना एकैनासले सञ्चालन गर्न सडकको अवस्थामा सुधार र कोरला नाकामा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्सार प्रमुख खड्काले औंल्याए। यसअघि कोरला नाका २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै घरायसी मालसामान किनमेल गर्न चीन पक्षले बाह्रै महिना खुला गरेको थियो।

त्यस बेला चीनले तामझामका साथ उपल्लो मुस्ताङका नागरिकका लागि नाका बाह्रै महिना खुला भएको सन्देश दिएको थियो। कोरलाबाट नेचुङ–लिजीसम्म जान जिल्ला प्रशासन कार्यालयले दिएको सीमापार पास देखाएर मुस्ताङका नागरिक चीन प्रवेश गर्न पाउने व्यवस्था गरिएको हो।

लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले नै लखेट्छन् : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन् । बुधबार भक्तपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गरिब, मजदुर, किसानलगायत सबै जनताको रगतबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरे । यसविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने उनले बताएका हुन् ।

हाल ‘जेनजी’ आन्दोलनका क्रममा भएको वितण्डालाई भविष्यमा दोहोरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सबै सुध्रनुपर्नेमा उनले जोड दिए । उनले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न सके कोही पनि डराउनु नपर्ने बताए । मुख्यमन्त्री बानियाँले संकटमा लोकतन्त्रवादी एकै ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरे ।

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रलाई बलियो बनाउन फरक विचार भएका दल एकै ठाउँ आउनुपरेको बताए । उनले कांग्रेसलाई एकताबद्ध बनाउँदै अघि बढनुपर्ने वर्तमान आवश्यकता रहेको टिप्पणी गरे । थापाले आफू भक्तपुर जिल्लाको सभापति दुईपटक भएको उल्लेख गरे । विधान संशोधन गरेर भए पनि तेस्रोपटक सभापति बन्नुपर्ने अवस्था देखिएको उनको भनाइ थियो । अधिवेशनको एक दिन मात्र जिल्लामा आउने व्यक्तिलाई सभापतिको जिम्मेवारी दिन नसकिने उनले बताए ।

तिहारको रौनकमा किसानलाई धान भित्र्याउने चटारो

भक्तपुर । नेपाली हिन्दुहरूको दोस्रो महान् चाड तिहारको रौनक देशभर छाएको छ । भक्तपुरका किसानलाई भने यतिखेर पाकेको धान भित्र्याउन भ्याइ नभ्याइ भएको छ । असिना, पानी पर्ला र पाकेको धान झार्ला भन्ने चिन्तामा परेका यहाँका किसान तिहारको रौनकमा पनि वर्ष दिनको कमाइ धान भित्र्याउन व्यस्त छन् ।

हरेक दिन खेत खेतमा धान काट्ने र भित्र्याउने किसानको उल्लेख्य उपस्थिति देखिन्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान सानुभाइ गिरीले पाकेको धान काटेर हतारमा भित्र्याउन थालेको बताए ।

उनले भने, ‘दश तिहारको रौनकले छोपेको छ, तर हामी किसानलाई असिना पानीको डर भयो, त्यसैले पाकेको धान भित्र्याउन थालेका हौँ, यहाँका धेरै किसानले तिहारको रौनकलाई छाडेर धान भित्र्याउन थालेका छन् ।’

बिहीबार भाइटिकाको दिन मात्रै खाली बस्ने भन्दै गिरीले अन्य दिन धान काट्ने, चुट्ने र भित्र्याउने काममा व्यस्तता बढेको बताए । सबै काम सक्ने अझै दुई साता लाग्ने उनको भनाइ छ ।

चिउरा मिल सञ्चालकहरूले चिउराका लागि खेत खेतमा पुगेर धान किन्ने भएकाले कतिपय कृषकले राम्रोसँग बोटमा नपाकेको हरियो धानसमेत काटेर सस्तोमा बिक्री गर्न थालेका छन् ।

चाँगुनारायण–७ बागेश्वरीकी प्रमिला कार्कीले चिउरा मिल सञ्चालकले ताइचिन धान प्रतिकिलो रु ८० का दरले खेतमै उठाउन आएपछि धान काट्ने बित्तिकै खेतबाटै बिक्री गर्न थालेको बताइन् ।

सूर्यविनायक नगरपालिका–९ चित्तपोलकी सुभद्रा बस्नेतले तिहारको व्यस्ततासँगै धान भित्र्याउने काम थपिएको बताउँदै यहे वर्ष दिनभरिको किसानको कमाइ भएको बताइन् ।

जिल्लाको धानखेती हुने ताथली, सुडाल, चित्तपोल, नङ्खेल, कटुन्जे, गुण्डु, सिपाडोल, छालिङ्ग, वागेश्वरी, नगरकोट, दुवाकोट, झौखेललगायत क्षेत्रका किसानको यतिखेर धान काट्ने र भित्र्याउने काममा व्यस्तता बढेको हो ।

सूर्यविनायक–७ गुण्डुका किसान रविन्द्र बस्नेतले भने, ‘असिना पानीको डरले कतिपय किसानले हरियो धान काट्न थालेका छन्, तिहार भनेर कुर्ने समय छैन, आकाशमा बादल मडारिए पनि किसान आत्तिन्छन् त्यसैले तिहार नभनी भक्तपुरका सबै किसान धान काट्न व्यस्त छन् । सबै आफ्नै धान काट्न थालेकाले ज्यामी पाइँदैन, पर्म पनि छैन, ज्यामी नहुँदा धेरै किसानलाई समस्या परेको छ ।’

अध्यक्ष दाहालद्वारा विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । जेनेभामा जारी अन्तरव्यवस्थापिका सङ्घ (आपियू) को १५१ औँ महासभामा सहभागी हुनका लागि जेनेभामा रहेका उनले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधिमण्डलसँग आज छुट्टाछुट्टै भेटवार्ता गरेका अध्यक्ष दाहालका प्रेस विज्ञ दिल्ली मल्लले जानकारी दिए ।

आइपियूको एसिया प्यासिफिक ग्रुपको अध्यक्षसमेत रहेका चिनियाँ नेता छुइजीङ टिएन नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधिमण्डल, फाबिन हमिलटोन नेतृत्वको बेलायती संसदीय प्रतिनिधिमण्डल र सुनिल वाटगला नेतृत्वको श्रीलङ्काको संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको थियो ।

सबै भेटमा राष्ट्रबीचको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत् संसदीय अनुभव आदानप्रदान, अन्तरराष्ट्रिय मञ्चमा सहकार्य र सहयोगलगायत विषयमा छलफल भएको दाहालका प्रेस विज्ञ मल्लले बताए ।

अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी प्रदर्शन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए ।

प्रदर्शनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माण र नयाँ निर्वाचनका लागि मित्रराष्ट्रको साथ र सहयोगका लागि अध्यक्ष दाहालले आग्रह गरे । भेटमा उनले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको असरहरू उल्लेख गर्दै विकासोन्मुख देशहरूलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिए ।

शान्ति सैनिकको संख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति सैनिकको संख्या २५ प्रतिशसम्म कटौती गर्दैछ । त्यसबाट शान्ति सैनिक पठाउने देशहरूलाई आर्थिक र सैन्य कूटनीतिमा केही न केही असर पर्नेछ ।यूएनको त्यस निर्णयबाट नेपालले पठाउँदै आएको शान्ति सैन्यको संख्या पनि कम हुनेछ । यद्यपी युएनमार्फत शान्ति सैनिक परिचान गर्ने सबैभन्दा ठूलो देशको सूचीमा भने नेपाल कायम रहने छ । विश्वका १२० भन्दा बढी देशका एक लाख २० हजार बढी शान्ति सैनिक युएनमार्फत १४ वटा मिसनमा रही विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि अहोरात्र खटिरहेका छन् ।

शान्ति स्थापनार्थ सैन्य परिचानका लागि युएनको मुख्य आर्थिक स्रोत भनेको सदस्य मुलुकबाट प्राप्त तोकिएको निश्चित सहयोग हो । केही सदस्य मुलुकबाट प्राप्त हुने आर्थिक सहयोग समयमै नआएको र केहीबाट उपलब्ध हुने भएपछि बजेट अभावमा शान्ति सैनिकको संख्या कटौती गर्न लागिएको हो । नेपाली सेनाको युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाले हाल परिचालित शान्ति सैनिकको संख्यामा २५ प्रतिशत कटौतीको सम्भावनाको योजनाको जानकारी प्राप्त रहेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको कूटनीतिक सम्बन्ध हासिल गर्ने एक महत्वपूर्ण उपाय र यन्त्रका रूपमा नेपाली शान्ति सैनिक छ । राष्ट्रसंघबाट शान्ति सैनिकको संख्या कटौती भए पनि नेपाल भने धेरै शान्ति सेना पठाउने र योगदान गर्ने सूचीमा अग्रणी भूमिकामै रहन्छ ।’

राष्ट्रसंघका मिसनमा अवश्यकता अनुरूप फौजको संख्या थपघट हुने गरेको भए पनि पछिल्लो समय भने बजेट अभावकै कारण शान्ति सेनाको संख्या कटौती गर्न लागेको हो । राष्ट्रसंघले फौजको संख्या घटाउँदा समानुपातिक सन्तुलन कायम गर्ने योजना बनाएको सेनाले जानकारी दिएको छ । नेपाली शान्ति सैनिक हाल विश्वका विभिन्न द्वन्द्वरत मुलुकमा स्थापना गरिएका १० वटा मिसनमा तैनाथ छन् । हाल ५३८ म्हिला सैनिकसहित पाँच हजार ८१९ नेपाली शान्ति सेनामा परिचालित छन् । नेपाली शान्ति सैनिकले विश्वमै सहासिक, अनुशासित र व्यावसायिक ‘च्याम्पियन’ सैनिकका रूपमा आफ्नो परिचय बनाइसकेको छ ।

यसअघि निलो हेलमेट धारी एक लाख ५९ हजार ६६४ नेपाली शान्ति सैनिकले राष्ट्रसंघको विश्वशान्ति अभियानमा योगदान पुर्‍याइ नेपाललाई सोही संख्यामा शान्ति पदक दिलाउन सफल भएको इतिहास छ । त्यस क्रममा विश्वमा द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका ४४ वटा मिसनमा काम गर्ने सिलसिलामा ७४ जना सैनिकको बलिदानी भएको छ भने ७५ जना गम्भीर घाइते छन् ।

युद्धकार्य निर्देशक मनोज थापा भन्छन्, ‘मिसन आवश्यकता अनुरूप नयाँ स्थापना हुने र सञ्चालनमा रहेका मिसन बन्द हुने नियमित प्रक्रिया हो । आवश्यकताकै आधारमा मिसनमा फौज थपिने र कटौती हुन्छन् । यस पटक भने बजेट अभावकाकारण शान्ति सैनिकको संख्या घटाउनुपर्ने बाध्यता छ ।’ नेपाल राष्ट्रसंघको सदस्य राष्ट्र हुनुका नाताले महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएको छ । बजेट कटौती हुँदा नेपाली शान्ति सैनिकलाई मात्र होइन, समग्रमा सबै शान्ति फौज पठाएर योगदान गर्ने राष्ट्रलाई असर पर्नेछ । राष्ट्रसंघले १५ प्रतिशतसम्मको बजेट अभावलाई सम्बोधन गर्न फौजको संख्या घटाउन लागेको जानकारी प्राप्त भएको छ । कटौती गरिने फौज समानुपातिक आधारमा हुनेछ ।

विश्व शान्ति स्थापनाकार्यमा नेपालको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ । संयुक्त राष्ट्रसंघको छातामुनि रही नेपाली सेनाले विश्वमै जोखिम युक्तकार्यका लागि प्राप्त जिम्मेवारीलाई सहजै स्वीकार गरी इमान्दार, सहासिक, बहादुरी र व्यावसायिक सेनाको परिचय दिलाउन सफल भएको छ । नेपालले यसअघि नै राष्ट्रसंघबाट माग भई आएमा एकै पटक १० हजारको संख्यामा शान्ति सैनिक उपलब्ध गराउन सक्ने प्रतिबद्धता समेत जनाएको छ ।

शान्तिकार्य निर्देशक श्रवणकुमार विष्ट भन्छन्, ‘विश्व शान्तिका लागि आफ्नो जनशक्ति खटाएर राष्ट्रिय हितमा सेनाले गरेको योगदानबारे सबैलाई थाहा भएकै विषय हो । राष्ट्रसंघमा फौज उपलब्ध गराएवापत प्राप्त हुने रकम विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण श्रोत हो । फौज कटौती भएमा त्यसमा केही सङ्कुचन आउने सम्भावना रहन्छ ।’ परराष्ट्र सम्बन्ध विस्तारका हिसाबले दूतावास नभएका ठाउँमा खटिएका शान्ति सैनिकबाट प्रत्यक्ष नभए पनि परोक्षरूपमा सहयोग पुग्दै आएको छ ।

नेपाली शान्ति सैनिकको संख्या कटौती भएको खण्डमा कूटनीतिक र आर्थिक हिसाबले केही हदसम्म नेपालाई पनि असर पर्नेछ । खासगरी विदेशी मुद्रा आर्जन गर्ने शान्ति सेना महत्वपूर्ण श्रोत रहीआएको छ । अहिले शान्ति सैनिक ठूलो संख्यामा पठाउने राष्ट्रको सूचीमा नेपाल अग्रस्थान (पहिलो) नम्बरमा छ । संयुक्त राष्ट्रसंघका अनुसार समानुपातिक हिसाबले फौजको संख्या कटौती हुँदा पनि नेपालको हालको स्थान कायम नै रहने छ । शान्ति सेनामा फौजको संख्या कटौतीलाई सेनाले योजनाबद्ध रूपमा कार्यान्वयन गर्नेछ ।

 

 

 

देउसी भैलो खेली मनाइँदै तिहार, तस्बिरहरु

काठमाडौँ । हिन्दुहरूको दोश्रो महानचाड तिहार सुरु भाई सकेको छ । तिहारको विशेष पक्ष भनेको देउसी भैलो र यम पञ्चक पनि भनिने तिहारको पाँच दिन विभिन्न जनावरलाई पुज्ने समेत गरिन्छ। अहिले काठमाण्डौ उपत्यका लगायत देशदेखि विदेशसम्म देउसी भैलो गुन्जिन थाली सकेको छ ।

यही अवसरमा हरेक वर्ष मगर भेजा समाज नेपालले पनि विभिन्न कार्यक्रम गरी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ । परम्परागत देउसी भैलोसँगै झौरे नाच, मारूनी लगायतको नाच गान प्रस्तुत गरी देउसी भैलो खेल्दै आएको समाजका अध्यक्ष खिम बहादुर थापा मगरले जानकारी दिए ।

गाउँघरमा जस्तो नभए पनि तिहारमा विभिन्न आफन्त र व्यक्तिहरूको घरघरमा गएर देउसी खेल्दै आएको र पछिल्लो समय आफ्नो परम्परा, संस्कृति लोप हुँदै गएकोमा नयाँ पुस्तालाई पनि देउसी भैलो लगायतका हाम्रो संस्कृति बारेमा जानकारी दिने उद्देश्यले पनि हरेक वर्ष मगर भेजा समाजले यस्तो कार्यक्रम आयोजना गरेको मगरले बताए।

तिहारमा देउसी भैलो खेलिनुको कारण

देउसी भैलो किन खेलिने गरिन्छ भन्ने प्रसंगमा विभिन्न पौराणिक कथनहरु रहेको छ । विशेष गरी यसमा बलिराजाको कथन जोडिएर आउने गर्दछ । पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नै शिर दिएका थिए ।

त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको हो । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी भैलो खेल्ने परम्परा चलाए भने गरिन्छ ।

 

जेनजी आन्दोलनका घाइते भन्छन्–घाउ भन्दा बढी चाडबाडको सम्झनाले चहर्‍याउँछ

काठमाडौं । गत २३ भदौमा जेन–जी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमा थिइन् । माइतीघरबाट सुरु भएको प्रदर्शन कोटेश्वरसम्म आउँला, प्रदर्शन भड्किएला र त्यसको घानमा आफू परिएला भन्ने उनको मनमा थोरै पनि आशंका थिएन । तर, भइदियो त्यस्तै। सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर प्रहरी चौकी छेउमै छ । एउटा ठूलो भिड कोटेश्वरतिर आइसकेपछि उनी हेर्न बाहिर निस्किइन् । हेर्दाहेर्दै प्रदर्शन चर्किंदै गयो । कताकताबाट आएको पेट्रोलसहितको आगो उनको शरीरमा सल्कियो ।

उनलाई उद्धार गरेर कान्तिपुर अस्पताल पुर्‍याइयो । त्यहाँ पनि आन्दोलनकारीको भिड भएकाले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) लगियो । त्यसयता उनी त्यही अस्पतालमा उपचाररत छिन् । केएमसीको प्लाष्टिक सर्जरी पोष्ट अपरेटिभ वार्डको बेड नं २४४ मा उपचाररत गीताको शरीरको १८ प्रतिशत भाग जलेको छ । कम्मरमुनि र दायाँ हातमा बढी असर छ । अस्पतालको शैंयामा सुतिरहनु पर्दा उनमा पीडा थपिएको छ । घाउ चह¥याउँदा उनी घरीघरी चिच्याउँछिन् । सबैभन्दा नरमाइलो त उनलाई दशैंमा भएको थियो । अस्पतालको बेडमै रहँदा दशैंको रौनक आयो, गयो । तिहारअघि त डिस्चार्ज हुन्छु कि भन्ने थियो । तर उनलाई चिकित्सकले निगरानीमै राखेको छ ।

‘बाहिर तिहारको झिलिमिली, रङ्गीचङ्गी छ । सबैमा उत्साह र रौनक छ, तर म दशैं–तिहार नै अस्पतालको शैंयामा बिताउन बाध्य भएँ’, उनी भन्छिन् । यस्तो बेला उनलाई विगतका दशैं र तिहारको झझल्को नआउने होइन । हरेक वर्ष उनी तिहारमा घर–पसल सजाउँथिन् । तिहारले बेग्लै खुशीयाली दिन्थ्यो । यसपालि भने उनको घर सजिएन । ‘मनमा उत्साह नै नभएपछि घर सजाउनुको के अर्थ भयो र,’ निराश हुँदै उनले भनिन्, ‘डेढ महिना पुग्न लागिसक्यो । अस्तपालको बेडमै बस्दाबस्दा म थाकिसकेकी छु ।’ उनी अस्पतालमा भएपछि छोरा राहुलले पसल रेखदेख गरिरहेका छन् । ‘छोरा विदेश जाने तयारीमा थियो । म नै अस्पताल भर्ना भएपछि अब उसको के हुने हो टुङ्गो छैन,’ उनले सुनाइन् ।

केएमसीकै हाई केयर युनिटमा छन्, काभ्रेका २७ वर्षीय कमल घिमिरे । उनका आमाबुबा भक्तपुरको राधेराधेमा गाई फार्म चलाउँछन् । आमाबुबालाई सघाउँदै आएका कमल सदाझैं २३ भदौमा दूध पुर्‍याउन बानेश्वर गएका थिए । घर फर्किने बेलासम्म काठमाडौंको अवस्था असामान्य बनिसकेको थियो । बानेश्वर क्षेत्र तनावग्रस्त थियो । पानीको फोहरा, अश्रुग्यास मात्र होइन गोली समेत चल्न थालिसकेको थियो । उनी यो माहोल हेर्न बानेश्वरमा एकछिन के रोकिएका थिए, छातीमा गोली लाग्यो ।

काका प्राणनाथ घिमिरेका अनुसार गोलीले फोक्सोमा ठूलो असर पुर्‍याएको छ । केही समय त कमलको बोली नै ननिस्किने भएको थियो अहिले भने बोल्न थालेका छन् । ‘सरकारले स्वास्थ्य उपचार निःशुल्क गरे पनि औषधी र खानाको पैसा तिर्नु परिरहेको छ । जसका कारण परिवारलाई खर्च धान्न गाह्रो भइसकेको छ,’ कुरुवा बस्दै आएका काका प्राणनाथले भने, ‘छातीको दायाँ भागमा ठूलो घाउ छ । डाक्टरले पुरिन निकै समय लाग्छ भनेका छन् ।’ गोली लागेपछि शारीरिक पीडा त छँदैछ, तर यहीबीच आइपरेका महत्वपूर्ण चाडपर्व कमलले खुब ‘मिस’ गरेका छन् । ‘दशैंमा त मैले नै जसोतसो टीका लगाइदिएँ,’ काका प्राणनाथ भन्छन्, ‘यो तिहार भने उसको खल्लो हुने भो । अस्पतालमा भाइटीका गर्न सजिलो छैन ।’ कमलकी एक बहिनी छिन् ।

पटक–पटक शल्यक्रिया गर्नुपर्ने भएकाले घाउ कहिले निको हुने टुङ्गो नहुँदा दिक्दार कमलका काकाले भने, ‘यत्रा चाडबाड आए, म पनि अस्पतालमै बस्नुपर्ने बाध्यता आइलाग्यो । तिहारमै पनि अस्पतालकै बास भयो । डाक्टरले छोरो निको भयो, अब घर जानु भनेका दिन कति खुशी लाग्ने थियो ।’ चाडबाडका बीच अस्पतालको बेडमै रहनुपर्दा घाइतेलाई घरपरिवार आफन्तको यादले बढी सताएको छ । जेनजी आन्दोलनका घाइतेहरू काठमाडौंका अरु अस्पतालमा पनि छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जना, त्रिवि शिक्षण अस्पतालमा तीन जना, बी एन्ड बी अस्पतालमा १ जना र नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना गरी देशभर ११ जना घाइते उपचाररत छन् । आन्दोनलमा घाइते भई उपचारका लागि दुई हजार पाँच सय ७१ जना अस्पताल पुगेका थिए । रासस

 

कागतीबाट ‘काइदा’ को कमाइ

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागती खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । घिमिरेले कागती बिक्रीबाट वार्षिक तीन लाखसम्म आम्दानी हुने बताए । अहिले उनले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोपेका छन् । ‘व्यावसायिक रूपमा कागती खेतीमा लागेका छ’, उनले भने, ‘अहिले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी लिँदै आएको छु साना बिरुवा पनि विस्तार गरेको छु । ती हुर्किएपछि आम्दानी अझ बढ्नेछ ।’

छ वर्षअघिबाट फलफूल खेती सुरु गरेका घिमिरेले कागतीसँगै सुन्तला र एभोकार्डोको पनि खेती पनि विस्तार गरेका छन् । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले बहुवर्षीय बाली खेतीमा जोड दिएको उनको भनाइ छ । ‘एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने बहुवर्षीय बाली खेती विस्तारमा जोड दिएको छु’, उनले भने, ‘कागतीसँगै सुन्तला, एभोकार्डोको पनि खेती गरिरहेको छु ।’

फलफूल खेतीका लागि माटो र हावापानी उपयुक्त भएकाले पौवादुङमामा बहुवर्षीय खेती प्रणालीमा किसान आकर्षित भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उनका अनुसार गाउँपालिकाले ‘एक घर, एक फलफूल’ कार्यक्रम सञ्चालन गरेर फलफूल खेतीमा लगानी गर्दै आएको छ ।

‘पौवादुङमामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएका छौँ’, अध्यक्ष राईले भने, ‘यहाँ धेरै किसान बहुवर्षीय खेती प्रणालीमा जुटेका छन् । गाउँपालिकाले पनि आवश्यक प्रोत्साहन र सहयोग गर्दै आएको छ ।’ गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बहुवर्षीय खेती प्रणालीबाट किसानले दीगो रूपमा आम्दानी लिनसक्ने भएकाले आवश्यक सहयोग गर्दै आएको बताएकी छन् । किसानलाई भूगोलअनुसारको खेती प्रविधिमा जोड दिइएको उनको भनाइ छ । ‘वडागत रूपमा उत्पादन सम्भावना पहिचान गरेर विभिन्न जातका फलफूल खेतीमा प्रोत्साहन दिइरहेका छौँ’, उनले भनिन् । रासस

 

 

 

अमेरिकाबाट दशैं–तिहार मनाउन आएका छोरा बुहारीमाथि खुकुरी प्रहार

काठमाडौं । अमेरिकाबाट दशैं–तिहार ममनाउन आएका छोरा बुहारीमाथि बाबुले खुकुरी प्रहार गरेका छन् । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५, थलीस्थित भीमबारी टोलमा बुधबार विहान यस्तो बाबुले छोरा–बुहारीमाथि खुकुरी प्रहार गरेका हुन् । ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा छोरा–बुहारीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले जनाएका छन् ।

खुकुरी प्रहारबाट ३२ वर्षीय छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारी घाइते छन् । रुविसको बायाँ हातका चार औंला काटिनुका साथै दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । बुहारी मनिताको दाहिने हातको कुममा चोट लागेको छ । आक्रमण गर्ने बुबा उप्रेती प्रहरी वृत्त, बौद्धअन्तर्गत गोकर्ण प्रभागको हिरासतमा छन् ।