`

प्रधानमन्त्री कार्कीमाथि राष्ट्रघात र बलिदानको अपमान गरेको रविकिरणको आरोप

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पक्राउ समेत एक अगुवा रवि किरण हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी निष्पक्ष छानविन गर्न माग गर्दै प्रहरी महानिरीक्षकलाई निवेदन दिएका छन् । ‘जेन्जी आन्दोलन, नेपाल’ नामक संगठनको तर्फबाट हमालले प्रधानमन्त्री कार्कीविरुद्ध गम्भीर आरोप लगाउँदै प्रहरी महानिरीक्षक समक्ष औपचारिक निवेदन दिएका हुन् । निवेदनमा उल्लेख गरिएअनुसार कार्कीले ‘जेन्जी विद्रोह’ का क्रममा देशका युवाहरूको बलिदानमाथि सत्ता कब्जा गरी प्रधानमन्त्री पदमा नियुक्त भएको आरोप लगाइएको छ ।

निवेदक रवि किरण हमालद्वारा हस्ताक्षरित सो निवेदनमा कार्कीमाथि सत्ता हत्याउने, जनताको म्यान्डेटको उल्लङ्घन गर्ने, न्यायालयको स्वतन्त्रता समाप्त गर्ने र जनआन्दोलनको बलिदानप्रति अपमान जनाउने कार्य गरेको दाबी गरिएको छ । उनले आफ्ना निकटका कार्यकर्ताहरूलाई न्यायिक पदमा नियुक्त गरेको र न्यायिक स्वतन्त्रतालाई कमजोर बनाएको आरोप पनि लगाइएको छ ।

निवेदनमा उल्लेख गरिएको थप आरोप अनुसार, जेन्जी विद्रोहको समयमा निर्दोष युवामाथि गोली चलाउने र तिनै घटनामा संलग्न व्यक्तिहरूलाई संरक्षण दिई फेरि सक्रिय राजनीतिक भूमिकामा ल्याइएको छ । कार्की नेतृत्वको मन्त्रिपरिषदमा रहेका केही सदस्यहरूमाथि भ्रष्टाचार र राष्ट्रघातको आशंका समेत उठाइएको छ । ‘देश र जनताको हितका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल गिरफ्तार गरी निष्पक्ष र पारदर्शी कानुनी छानबिन होस्’, निवेदनमा भनिएको छ । यस विषयमा प्रधानमन्त्री कार्यालय तथा नेपाल प्रहरी मुख्यालयबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

संकटमा चौंरी खर्क

मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले याक, चौँरी र भेडाच्याङ्ग्रा घाँसेमैदानमा चरिरहेका देखिन्छन् । हिउँदमा घर वरपर राखेर पालिएका याक, चौँरी र भेडाच्याङ्ग्राको बथान यतिबेला लेकका खर्कमा पुर्‍याइएका छन् । हिउँद सकिएपछि लेकमा पुर्‍याइने याक, चौँरी र भेडाच्याङ्ग्राका बथान खर्कमा चरिरहेका भेटिन्छन् । हिमाली खर्कहरूका घाँसे मैदानमा याक, चौँरी र भेडाच्याङ्ग्रा चरिरहेका हुन्छन् भने खर्ककै नजिक रहेका पानीका स्रोतहरूमा पानी खान झर्दै गरेका र पानी खाइरहेका दृश्य देखिन्छन् । यतिबेला पशुपालन गरिरहेका किसान याक चौँरीका बाच्छाबाच्छी जन्मने समय भएकाले खर्कमा रहेका गोठमा यिनीहरूको स्याहारसुसारमा व्यस्त हुन्छन् ।

यहाँका अधिकांश पशुपालक किसान अर्थात् चौँरी पालक किसानमध्ये एक हुन् ६२ वर्षीया याञ्छु खाण्डा लामा । उनी आइसलेक खर्कमा नै बसोबास गरी याकचौँरी र भेडाच्याङ्ग्रा पालन गर्दै आएका छन् । उनलाई खर्कमा नै चिसो मौसममा सबेरैदेखि दुध दुहुन, कुडोपानी गर्न र छुर्पीका लागि दही बनाउँदै गरेको देख्न सकिन्छ । याञ्छु भन्छिन्, ‘बाजेबजै र आमाबाको पालादेखि नै याकचौँरी र भेडाच्याङ्ग्रा पालनमा जोडिएको हो। आम्दानी भने पनि यही हो । नोक्सान भए पनि व्यवसाय नै यही हो। कहिले बेसी त कहिले लेकका खर्क गर्दै जीविकोपार्जन भइरहेको छ ।’

याक, चौँरी तथा भेडाच्याङ्ग्रा पालनसँगै आफूले चार छोराछोरी हुर्काएको सुनाउँछिन् । उनी भन्छिन्, ‘आफू पनि गोठमै हुर्किएको र आफ्नो विवाहदेखि बालबालिका जन्माएर हुर्काउनुसम्मको काम गोठ सार्दै र याक, चौँरीको स्याहारसँगै छोराछोरी हुर्काएको हुँ ।’ खर्ककै गोठमा याकचौँरी र भेडाच्याङ्ग्रालाई स्याहार्दै आफ्ना छोराछोरी हुर्काएको उनी बताउँछिन् । हालसम्म पनि पशुपालन गरिरहेको उनी बताउँछिन् । याञ्छु भन्छिन्, ‘बच्चा पिठियुमा बोेकेर नै याक, चौँरी र भेडाच्याङ्ग्रा स्याहार गथ्र्यौ । दुःख गरी छोराछोरी पनि गोठमै हुर्काएँ । कहिलेकाँही त बच्चा च्यापेर नै दूध दुहुनुपथ्र्यो । हामीलाई सुख कहाँ भयो र ?’

मुख्य आम्दानीको स्रोत भनेकै याक पालन रहेको उनी बताउँछिन् । बच्चासँगै छुर्पी बोकेर बेसी पुर्‍याएर खर्कको गोठमा फर्किनुपर्ने हुन्थ्यो। खर्कमा घामपानीको समस्या हुन्छ । स्याहार्न सजिलो हुन्छ भनेर तल (बेसी) मा नै पु¥याउनुपर्ने उनी बताउँछिन् । अहिले जीवनशैली फेरिदै गएको उनको अनुभव छ । ‘गोठमा हुर्काएका छोराछोरी अहिले विदेश पठाएँ। उनीहरूको इच्छाको अगाडि हामीले भनेको कहाँ हुने रहेछ र ?’, उनी भन्छिन्, ‘याक, चौँरीको बजार छैन। याक, चौँरी, भेडाच्याङ्ग्रा पालन गर्न मान्दैनन्। पहिले याक, चौँरी र भेडाच्याङ्ग्रा कति छ गन्नै सकिदैन थियो । आफ्नो र अरुको याक, चौँरी नै चिन्न सकिदैन थियो । तर, अहिले घटेको छ । गन्न सकिने भएको छ ।’

याक, चौँरीका लागि नुन बाहेक अन्य खानेकुरा किन्नु नपर्ने उनी बताउँछिन् । कम खर्च भए पनि फेरिएको प्रविधिले यो पेसाबाट पलायन हुने क्रम बढेको उनको बुझाई छ । अब बाँकी हामीसँग यहीँ कान्छो छोरा मात्रै रहेको उनी बताउँछिन् । ‘कान्छो पनि विदेश जाने तयारीमा छ। यहीँ याक, चौँरीपालन गर्ने भन्दा मान्दैन । सबै दाजु र दिदी विदेश छन् म पनि जान्छु भन्छ’, याञ्छु भन्छिन् ‘त्यसैमाथि याक, चौँरी बिक्री पनि कम हुन्छ। आम्दानीको स्रोत यही हो । यो भन्दा काम गरेर आम्दानी हुन्छ भन्छ छोरा कान्छा पनि विदेश गएपछि झन याक, चौँरी घटाउनुपर्ने अवस्थामा पुग्नेछौं।’

बेसीमा झारेको बेला याक, चौँरी तथा भेडाच्याङ्ग्रा गनिदै आएको उनी बताउँछिन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गणना गर्नुका साथै याक, चौँरीलाई खोप समेत लगाउने र पशुको स्वास्थ्य परीक्षण हुन थालेको याञ्छुको भनाइ छ । लेकका खर्कमा याक, चौँरी लगिएको समयमा बच्चा जन्माउने समय भएकाले भेटेरिनरी सेवा लिन समस्या रहेको उनले बताइन् । खर्क टाढा हुने हुँदा समयमा सम्बन्धित निकायमा सम्पर्क गर्न र प्राविधिक पुग्न नसक्दा कुनै समयमा बाच्छाबाच्छी जन्मिदै मर्ने पनि हुने गरेको उनको भनाइ छ ।
‘सामान्य प्राविधिकको काम सिक्ने भएकाले सहज भएको छ । प्राविधिकको अभावमा आफैले काम गर्दै आएका हुन्छौं’, याञ्छु भन्छिन्, ’समयमा हिउँ पथ्र्यो। पानी भएपछि घाँस समयमा नै पलाउँछ । अहिले ५–७ वर्ष भयो हिउँ पर्न छोड्यो । धेरै पशुपालन गर्न सजिलो थियो । अहिले हिउँ नपरेपछि घाँस पलाएका छैनन् । जसले गर्दा टाढा (खर्क) का घाँसेमैदानमा वस्तु चराउनकै लागि पु¥याउनुपर्ने बाध्यता छ । टाढा पु¥याउँदा वन्यजन्तुको आक्रमण बढेको छ ।’

पहिले बाच्छाबाच्छी जोगाउन मुस्किल हुने भएपनि अहिले खर्कमै बाच्छाबाच्छीको सुरक्षा गर्न तारबार लगाउने गरिएको उनी बताउँछिन् । ‘पहिले एउटा याक, चौँरी रु २० देखि २५ हजारसम्ममा बेचबिखन हुन्थ्यो । अहिले प्रति याक, चौँरी रु।एक लाखदेखि एक लाख ५० हजारसम्मको मूल्यमा बेच्न सकिन्छ’, याञ्छु भन्छिन् ’समय फेरिएको छ आधुनिक प्रविधिले याक खर्कमा बस्ने गोठाला पाउन सकस हुन्छ। खर्कमा सुविधा हुँदैन । आजकाल सबैले पेसा फेर्न मात्रै खोज्छन् ।’

त्यस्तै नार गाउँका (याक, चौँरी) पशुपालक किसान मिङ्मार छिरिङ लामा भन्छन्, ‘गोठाला नपाउने, आफैँले मात्रै स्याहारसुसार गर्न सकिदैन। त्यसैले पशुपालन गर्न छाड्ने बढ्दै गएका छन् ।’ नार्पाभूमिका वार्षिक रुपमा चार–पाँच पशुपालक किसानले वस्तुभाउ बिक्री गरी वैदेशिक रोजगारी तथा अन्यत्र पलायन हुने क्रम बढेको उनी बताउँछिन् । लामा भन्छिन्, ‘मासु अहिले प्रयोगमा बढी आएको हो । पहिले याक, चौँरी र भेडाच्याङ्ग्राका ऊन, छाला, दुध, छुर्पी, गोबर, भारी बोक्न वा ढुवानीका लागि प्रयोग हुन्थ्यो । तर, अहिले छाला, ऊन, गोबर, ढुवानीका साधनको रुपमा प्रयोग हुन छाडेको छ ।’

पुस्तौंदेखि गरिदै आएको पशुपालनबाट किसान पलायन हुन थालेको उनको भनाइ छ । उनी भन्छिन्, ‘दाउरा पाउन मुस्किल हुने यस ठाउँमा पशुपालन छाडिदै जाँदा गोबर पाउने अवस्था छैन । बाह्रैमास जाडो हुने यस क्षेत्रमा दाउराको काम गोबरले गर्दै आएकामा किसान पेसाबाट पलायन हुँदा गोबर पाउन सकस हुने अवस्था छ ।’ सोलारको भरमा जनजीविका चल्ने यस ठाउँमा हिउँ पथ्र्यो पहिले, अहिले पानी पर्न थालेको उनी बताउँछन् । पानी पर्न थालेपछि याक, चौँरीसँगै यहाँका पुराना माटाका घर मासिदै गएका लामा बताउँछिन् । यसले पनि यहाँको वातावरणमा असर पारेको हुनसक्ने उनको भनाइ छ। याक, चौँरीको बजार क्षेत्र नै जिल्ला बाहेक अन्यत्र नहुँदा याकचौँरी पालन घट्दै गएको लामा बताउँछिन् ।

चौँरी पालनको सामाजिक–सांस्कृतिक पक्ष

चौँरी केवल आर्थिक स्रोत मात्र नभएर सांस्कृतिक पहिचान पनि हो । गुरुङ, शेर्पा, लामा, भोटे, तामाङ लगायतका समुदायमा चौँरीलाई देवीको रूपमा पूजा गरिन्छ । बौद्ध र बोन धर्मअनुसार चौँरीको रौँबाट बनाइने झण्डा र लुगाहरू पवित्र मानिन्छ । बिहे, चाडपर्व, तिथिमिति, मेलापात जस्ता कार्यहरूमा चौँरीको घ्यू, दही, छुर्पी र पनिर प्रयोग गरिन्छ । चौँरीको टाउको, सिङ र हड्डीहरूबाट धार्मिक सामग्री निर्माण गरिन्छ । यसैगरी, खर्कहरूमा प्रत्येक वर्ष मनाइने ‘याक डे’, ‘घ्यू पूजा’ आदि पर्वहरूले खर्क संस्कृतिको विशेषता उजागर गर्ने गर्दछन् ।
नारका ८४ वर्षीय साङ्मा टासी लामा र ८० वर्षीया रिक्तर पर्चु लामा भन्छन्, ‘चौँरीको घ्यु, दही, छुर्पीले पाहुनालाई स्वागत गर्छौं । शद्ध बनाउन पनि प्रयोग हुन्छ । यी बिना हाम्रा चाडपर्व, बिहे, तिथिमिति र मेलापात नै चल्दैन। हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको छ ।’ हरेक दिनको सुरुवात नै घ्यू चियाबाट हुने गरेको उनीहरू बताउँछन् ।

साङ्मा भन्छन्, ‘गोठाला पाइँदैन । अन्य पेशामा जाने क्रम बढ्दो छ । बिक्री वितरण कम हुन्छ । किनबेच कम हुने भएकाले पनि यस पेसाबाट पलायन हुने क्रम बढेको हो ।’ याक, चौँरीपालन घट्दै गएपछि घ्यू कम पाउँदा समस्या भएको उनी बताउँछन् । उनी भन्छन्, ‘पहिला जस्तो याक, चौँरी पालन हुँदैन। भएका पनि बेचेर विदेश तथा अन्य ठाउँतर्फ जान्छन् । बूढापाकाले मात्रै याक, चौँरी पाल्न समस्या हुन्छ ।’

चौँरीको आर्थिक पक्ष
नेपालमा हाल करिब ८० हजार चौँरी रहेको अनुमान छ । जसमा लगभग ६० प्रतिशत चौँरी खर्क क्षेत्रमा पालिन्छन् । एक खर्कमा सामान्यतः १५ देखि ५० चौँरीसम्म पालिएको पाइन्छ । विगतमा सयौं याक, चौँरीपालन हुने गरेका याक, चौँरीपालक किसान याञ्छु खण्टा लामा भन्छन्, ‘पहिला एउटै गोठ (खर्क) मा एक सय बढी पालन गरिएको हुन्थ्यो । अहिले घट्दै गएको छ ।’ खर्कमा नै दूध, घ्यु, छुर्पी, पनिर उत्पादन गरिन्छ । यी क्षेत्रमा प्रति चौँरी वार्षिक औसत तीन सय लिटर दूध उत्पादन गर्ने गरेको किसान याञ्छुको भनाइ छ । करिब चार हजार मेट्रिक टन घ्यू वार्षिक उत्पादन हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

देशभरमा आठ हजार मेट्रिक टन छुर्पी उत्पादन हुने अनुमान छ । पनिर तीन हजार मेट्रिक टन चौँरीको दूधबाट उत्पादन हुँदै आएको तथ्याङ्क कृषि तथा पशुपंक्षी विभागले जनाएको छ । कृषि तथा पशुपंक्षी विभाग, गणनात्मक तथ्याङ्क विभाग वा स्थानीय पालिकाहरूको तथ्याङ्कमा आधारित रहेका छन् । एक मध्यम खालको खर्कले प्रतिवर्ष औसत रु।पाँचदेखि १० लाखसम्म आम्दानी गर्नसक्ने अनुमान गरिएको छ । छुर्पी, घ्यू, चौँरीको रौँ र मल बिक्रीबाट हुने आम्दानीले हिमाली गाउँहरूमा आर्थिकस्तर वृद्धि सम्भव बनाएको छ । विशेषगरी मनाङका पशुपालक किसान प्रत्यक्ष लाभान्वित हुने गरी बजारको व्यवस्थापन नहुँदा पलायन हुने अवस्था सिर्जना भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख पुष्पराज बास्तोलाले जानकारी दिए ।

उनले भने, ‘पहिले पहिले घर खर्चले पुग्थ्यो। अहिले घर खर्चले मात्रै हुँदैन । अहिले प्रविधिको विकाससँगै मान्छेका आवश्यकता भन्दा बढी फाइदा लिन चाहन्छन् । जसले गर्दा पेसाबाट पलायन हुने क्रम बढ्दो छ । यसका साथै तत्कालीन फाइदाका कारण पनि पेसा परिवर्तन गर्ने जमात बढ्ने क्रममा छ ।’ गणनाको तथ्याङ्कअनुसार वार्षिक रुपमा २०० का दरले याकचौँरी तथा भेडाच्याङ्ग्रा घट्दै गएको प्रमुख बास्तोलाले बताए ।

वार्षिक रुपमा ९६ वटा याक, चौँरी मुस्ताङमार्फत् बिक्रीका लागि पठाउने गरिएको उनको भनाइ छ । त्यस्तै दुई सय भेडाच्याङ्ग्रा मुस्ताङ पठाउने गरिएको तथ्याङ्कमा उल्लेख छ । उनले भने, ‘याक, चौँरीपालनलाई घट्न नदिन तथा याक, चौँरीपालनतर्फ प्रोत्साहन गर्नुपर्ने देखिन्छ।’ त्यसैमाथि जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रुपमा याकचौँरी पालनमा परेको पाइएको उनले बताए । ‘पानी नपर्ने जिल्लाका रुपमा परिचित स्थानमा नै जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रुपमा परेको छ । समयमा परेको हिउँले घाँसे मैदान (खर्क) पलाउने र सहज थियो। अहिले फेरिएको छ’, बास्तोलाले भने, ‘जसले समयमा घाँस पलाउदैन र खर्कका घाँसेमैदान मासिने क्रममा छन् । यसले पनि याक, चौँरी पालनबाट पलायन हुने संख्या बढ्दो क्रममा छ ।’ सिँचाइको अभावले अधिकांश खर्क सङ्कटमा पर्दै गएको उनको बुझाइ छ । खर्कका नजिकै तालतलैयालगायत पानीका स्रोत हराउने क्रममा छन् ।

खर्कको व्यवस्थापन र संरचना

मुख्यतः याकचौँरी पालन हुने क्षेत्रमा दुई किसिमका खर्क हुने गरेको पाइन्छ । स्थायी र मौसमी खर्क हुन्छन् । स्थायी खर्कमा वर्षैभर बस्न मिल्ने पक्की र कच्ची संरचना हुन्छ भने वर्षा र हिउँदमा खर्क जाने र जाडोमा तल्लो भेगमा फर्कने प्रचलन रहेका छन् । हालसम्म स्थायी खर्क कम रहेको तथ्याङ्क पाइएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख पुष्पराज बास्तोलाले जानकारी दिए । उनका अनुसार अधिकांश मौसमी खर्कमा नै आधारित रहेका छन् । स्थायी खर्कमा घाँस, कुँडोलगायतका आहारको व्यवस्थापनमा समस्या हुने भएकाले कम पाइने गरेको किसान सुरेश थकाली बताउँछन् ।

एकै गोठमा धेरै संख्यामा याक, चौँरी र भेडापालन गरिन्छन्। यसले उनीहरूको आहारमा कमी भएर रोगी निस्कन्छन् । यसले आयभन्दा नोक्सान व्यहोनुपर्ने अवस्था हुनसक्छ । उनी भन्छन्, ‘अहिले भेटेरिनरी अस्पतालमार्फत औषधि तथा खोप दिने काम हुने गरेका छन् । तर, खर्क धेरै टाढा रहने भएकाले खर्कमा पुगेर सेवा प्रवाह गर्न सकस भएको पाइन्छ । बेसीमा झरेका बेला भने खोप तथा जाँचपडताल गर्ने गरिएको पाइन्छ ।’

सचेतता अपनाउँदै मौसमी खर्कलाई पशुपालक किसानले प्राथमिकता दिएको पाइन्छ। गर्मी बढ्दै जाँदा घाँस तथा पानीको अभावले मौसमी खर्क प्राथमिकतामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख बाँस्तोलाले बताए । उनले भने, ‘खर्कमा खुला आकाशमुनि याक, चौँरी पालिन्छ। गोठ बनाउन सकिने अवस्था हुँदैन। धेरै वस्तुभाउ हुँदा त्यसरी पालिन्छन् । घाँस काटेर पुर्‍याउन सकिने अवस्था हुँदैन । जसले एकदेखि अर्को स्थानमा सार्न पनि सहज हुन्छ ।’ पालुवा घाँस खाँदा भेडाच्याङ्ग्रा मर्ने तथा बिरामी हुने गरेका उनको भनाइ छ ।

बाँस्तोला भन्छन्, ‘पशु मृत्युदर घट्दै गएको छ । समयसमयमा परीक्षण गर्ने व्यवस्था रहेको छ। पखला लाग्ने रोग बढी देखिने हो । यी भनेका आहार नमिल्नु हो ।’ आहारको अभावले मानिसमा देखिए जस्तै पशुमा पनि दुर्बलता देखिने गरेको उनी बताउँछन् । निःशुल्क खोपको व्यवस्थापन तथा गणना गरिदै आएको उनले जानकारी दिए । आहारको उपलब्धता दिन नसके पनि स्थानीय सरकारबाट निःशुल्क सेवा प्रवाह गरिरहेको बास्तोलाले बताए ।

एक खर्कमा साधारणतयाः दुईदेखि पाँच जना गोठाला अर्थात खर्के रहने गर्दछन् । १० देखि ५० वटा चौँरी पाल्ने र गोठको हेरचाह गर्ने, दूध दुहुने, घ्यू पकाउने चुलो र सुत्ने ठाउँ छुट्टाछुट्टै हुने व्यवस्था हुन्छ । याक, चौँरीको संख्या विगतको वर्षमा भन्दा घट्ने क्रममा रहेका छन् । आर्थिक वर्ष २०८०–८१ मा नेपालमा ७१ हजार नौ सय १३ याक, चौँरी रहेको पशुसेवा विभागले जनाएको छ । करिब १० हजार याक, चौँरीपालनमा संलग्न रहेका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माले जानकारी दिए । उनका अनुसार हाल ३१ जिल्लामा याक, चौँरीपालन हुन्छ ।

नेपालको उच्च हिमाली भूभागमा पशुपालनका चरन क्षेत्र चौँरी खर्क हुन् । ती नेपालको मौलिक परम्परा, संस्कार, आर्थिक संरचना र पर्यावरणीय सन्तुलनको आधारशिला मानिन्छन् । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा रहेका यी खर्क आज पनि हजारौं परिवारको जीविकोपार्जनको स्रोत बनिरहेका छन् । जलवायु परिवर्तन, जनशक्ति पलायन, आधुनिक प्रविधिको अभाव जस्ता समस्याका कारण चौँरी खर्कको अस्तित्व सङ्कटमा परेको छ । चौँरी खर्कको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक अवस्था, आर्थिक योगदान, पर्यावरणीय महत्व, वर्तमान चुनौती र सम्भावनाका बारेमा विश्लेषण गर्न आवश्यक छ ।

‘चौँरी खर्क’ उच्च हिमाली क्षेत्रको खुला चरन भूमि हो । जहाँ विशेष किसिमको गाई प्रजाति ‘चौँरी’ पालिन्छ। चौँरी उच्च हिमाली क्षेत्रमा पालिने पशु हो । याक, चौँरीमा जाडो सहनुका साथै कम अक्सिजनमा बाँच्न सक्ने क्षमता हुन्छ । दुग्ध तथा रौँ उत्पादनका लागि उपयोग गरिन्छ । खर्कमा परम्परागत गोठ, सुत्ने ठाउँ, दूध दुहुने ठाउँ, घ्यू बनाउने चुलो र चरनभूमि रहेको हुन्छ ।

जलवायु परिवर्तन र पर्यावरणीय महत्व

चौँरी खर्क जैविक विविधताको रक्षकको रुपमा लिन सकिन्छ । याकचौँरी, भेडाच्याङ्ग्रा पालनले यहाँका प्राकृतिक क्षेत्रको संरक्षण गरेका छन् । खर्कमा याकचौँरी चरणले बोटबिरुवालाई आवश्यक मलजल प्रदान गर्न सकिन्छ भने मलको माध्यमबाट बोटबिरुवा संरक्षण र नयाँ बिरुवा उत्पादनमा सहयोग पुगेको हुन्छ । जसले पारिस्थितिकीय प्रणालीमा सन्तुलन कायम गर्छ । पशुपालक किसान साङ्दो लामा आफ्ना पशुपंक्षीसँगै प्राकृतिक चरन भूमि संरक्षण, जलस्रोतको संरक्षण, वन्यजन्तुको बासस्थान सुरक्षा जस्ता काममा महत्वपूर्ण भूमिका रहेको छ । उनी भन्छन् ’यहाँ पशुपालन मात्रै नभई पर्यटन व्यवसाय र जडीबुटी उत्पादनको भूमि समेत भएकाले मानवीय जीवनलाई ऊर्जाशील बनाउन उपयोग हुने औषधीय जडीबुटीको संरक्षण पनि गरेका छन् ।’

याक, चौँरी र भेडाच्याङ्ग्रापालनको क्रममा खर्कमा पाइने घाँस, जडीबुटी र झार जैविक उपचारका लागि समेत उपयोग भएको पाइन्छ । यसले गर्दा संरक्षणमा पनि टेवा पुगेको छ । चौँरी खर्क प्रणाली हाल विभिन्न समस्याको चपेटामा परेको छ । खर्क सारिरहने प्रचलनले मलमुत्रको उपयोग हुने र जडिबुटी तथा झारपात र घाँसजस्ता जैविक वस्तुको संरक्षणमा सहयोग पुगेको उनको भनाइ छ । वस्तुभाउ तथा मानवलाई नै यहाँका जडिबुटी पनि महत्वपूर्ण रहेका उनी बताउँछन् । उच्च हिमाली क्षेत्रमा हिमपात घट्दै गएको छ । कतिपय वर्षमा हिमपात नै हुन छोडेको छ । हिमपात नहुँदा चरन भूमि सुक्दै गएका छन्। पानीको स्रोत सुक्न थालेको छ ।

मौसमी प्रणालीमा परिवर्तन आएको यहाँका स्थानीयले आभास गर्न थालेका पाइन्छ । पहिले मनाङमा हिउँ समयमै पथ्र्यो । मंसिरको पहिलो साताबाट पर्न सुरु भएको हिउँ पुस, माघसम्म पर्ने गर्दथ्यो । अहिले पूर्ण रुपमा परिवर्तन भएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन् । ‘हिउँदमा परेको हिउँ चैत, बैशाखमा पग्लिएपछि चरन भूमि र यहाँका खेतीपाती खुल्थ्यो । तर, अहिले परिस्थिति परिवर्तन भएको पाइएको छ । असारदेखि असोजसम्म लेकका खर्कमा चौँरी चराउने समय हुन्थ्यो’, उनी भन्छन् ।

उनी भन्छन्, ‘पहिले समयमा हिउँ पथ्र्यो । पानी नै नपर्ने माथिल्लो मनाङमा पानी पर्छ । तर, अहिले पानी पर्छ । यही नै त हो नि जलवायु परिवर्तन ।’ यस वर्ष नै असारमा अलिअलि हिउँ पर्‍यो तर पर्याप्त परेन । मनाङको तापक्रम नै बढ्दै गएको आभास हुने गरेको उनी बताउँछन्। अहिलेको मौसमी तालिका अस्तव्यस्त बनेको छ । उच्च हिमाली क्षेत्रमा तापक्रम १.५–२ डिग्रीसेल्सियसले बढेको अध्ययनले देखाएको हिमजलाधार विज्ञ रिजनभक्त कायस्थ बताउँछन् । ‘यसको प्रत्यक्ष प्रभाव खर्क र जलस्रोतमा परेको देखिन्छ’, उनी भन्छन्, ’तापक्रम वृद्धिकै कारण हिउँ पग्लिदै गएका छन्। पानीका स्रोत सुक्ने क्रम बढ्दो छ । जसले खर्कका साथै पशुपंक्षी तथा मानवलाई समेत प्रभाव परिरहेको उनको भनाइ छ ।

कायस्थ भन्छन्, ’सिँचाइको अभावले चरन भूमि सुक्खा बन्दै गएका छन् । पहिले हराभरा देखिने चौँरी खर्क अधिक स्थानमा चिरा परेका छन् भने धुलो उड्ने भएका छन् । कतिपय स्थानमा पानीको अभाव, पहिरोका कारण माटो कटानजस्ता कारणले चरनयोग्य भूमि घटेका छन्।’ चरण भूमिको अभावले यहाँका किसानले याकचौँरी पालन कम गर्दै गएको उनको भनाइ छ ।

चौँरीपालन घट्दै

आधुनिक रोजगारी र वैदेशिक रोजगारको आकर्षणका कारण युवा पुस्ता गाउँ छोडेर वैदेशिक रोजगारी (जस्तैः खाडी, कोरिया, जापान) वा शहरतिर लाग्दै छन् । जसले युवा पुस्ताको यसतर्फ आकर्षण घट्दै गएको पाइन्छ । चौँरी वा भेडा चराउन दिनरात पहाड चढ्नुपर्ने, अप्ठ्यारो जीवनशैलीको सट्टा, वैकल्पिक आयको खोजीले परम्परागत पशुपालन अभ्यास त्यागिन थालेको छ । जलवायु परिवर्तनका कारण चरन क्षेत्रको उत्पादनशीलता घटेको हिमजलाधार विज्ञ रिजनभक्त कायस्थ बताउँछन् । जस्तैः घाँसको उत्पादन कम हुनु, अनियमित मौसम परिवर्तनलगायतले हिमाली क्षेत्रको जीवनशैली फेरिने अवस्थामा पुगेको उनले बताए ।

सरकारी नीति र समर्थनको अभावले आधुनिक कृषि तथा पशुपालनमा सरकारले सहुलियत, अनुदान वा प्रवद्र्धन गरे पनि याक–चौँरी र भेडा–च्याङ्ग्रा जस्ता परम्परागत प्रणालीलाई प्रोत्साहन गर्ने नीति कमजोर हुँदा विकर्षण बढेको छ । पूर्वाधार (जस्तै पशु औषधि सेवा, चरन व्यवस्थापन, बजार पहुँच) को अभाव रहेको नेपाल याक, चौँरी कृषक महासङ्घका केन्द्रीय अध्यक्ष पविहाङ राई बताउँछन् ।

अहिले बेसीमा याक, चौँरी, भेडाच्याङ्ग्रा झरेका समयमा औषधि सेवा, खोप दिइने व्यवस्था छ । तर, खर्कमै पुगेर भने सेवा प्रवाह गर्न सकेको छैन । याक, चौँरीको संरक्षण तथा परम्परागत संस्कृतिसँग जोडिएकाले यसको संरक्षण अति आवश्यक रहेको उनी बताउँछन् । ‘बजार अभाव र मूल्य अस्थिरताले चौँरीको दूध, घ्यु, रेसा, मासुको राम्रो बजार छैन । किसानले मध्यस्थ व्यापारीले मनपरी मूल्य निर्धारण गर्ने प्रवृत्तिले कृषक निरुत्साहित भएका छन् । सस्तो आयातित घ्यू÷दूध वा मासुको उपलब्धताले नेपाली चौँरी–भेडा उत्पादन प्रतिस्पर्धी हुन सकेको छैन’, अध्यक्ष राई भन्छन् ।

याक, चौँरी र भेडाच्याङ्ग्रापालनमा अहिले जनशक्ति अभाव र कठिन जीवनशैली बनेको छ । चौँरी वा भेडा पाल्न दैनिक मेहनत, जोखिम र लामो समयसम्म पहाडमा बस्नुपर्ने हुन्छ । आधुनिक जीवनशैलीको प्रभावले परम्परागत सीप र अभ्यासमा युवाको चासो घटेको पाइएको अध्यक्ष राई बताउँछन् । उनी भन्छन्, ‘यता जलवायु परिवर्तनले तापक्रम बढ्दो अवस्थामा छ भने अर्कोतिर नयाँ पेसातर्फको आकर्षणले नै बढी याक, चौँरी पालन घटेको हो ।’ किसान याञ्छु खाण्टा लामा भन्छन्, ‘पहिला कम मूल्यमा बिक्री गरे पनि अहिले बढेको छ । तर आधुनिकीकरणले याकचौँरी गोठसम्म विद्युत, इन्टरनेट उपलब्ध हुँदैन । युवाहरू आधुनिक दुनियाँमा रमाउँदै काम गर्न रुचाउँछन्। अहिलेको युगमा पनि आधुनिकताबाट टाढा रहन नचाहेका हुन् जस्तो लाग्छ ।’ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत शर्मा भन्छन्, ‘च्याङ्ग्रा चाडपर्वमा बिक्रीका लागि अन्यत्र जिल्लासम्म पुर्‍याउने गरिए पनि अन्य समयमा बिक्री वितरणको काम हुन नसक्दा युवामा चासोको विषय बन्न सकेको पाइँदैन ।’

चौँरी खर्कहरू समुद्री सतहबाट करिब तीन हजार मिटरदेखि पाँच हजार पाँच सय मिटर उचाइसम्म पाइन्छन् । मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, गोर्खा, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, मुगु, डोल्पा, जुम्ला, हुम्ला, रुकुम पूर्व, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायतका ३१ जिल्लामा व्यावसायिक चौँरीपालक किसान रहेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माका अनुसार नेपालभर हाल करिब ३५ हजार खर्क रहेका छन् । तीमध्ये झण्डै १० हजार खर्क सक्रिय रूपले चौँरीपालनमा प्रयोग भइरहेका छन् ।

सन् १९९९ मा पहिलो पटक अनुसन्धान गरिएको अभिलेख पाइन्छ । सन् २०१७ सम्म याक, नाक चौँरी पालन वृद्धि भएको छ भने बिस्तारै घट्दै गएको तथ्याङ्कमा उल्लेख छ । नेपालको प्रदेश १ मा १३ हजार सात, प्रदेश ३ मा एघार हजार ३५४, प्रदेश ४ मा १० हजार ६६४, प्रदेश ५ मा ११, प्रदेश ६ मा १३ हजार ८३ र प्रदेश ७ मा ७४६ गरी कूल ४८ हजार ८६५ याक रहेका मलेसियन एनिमल हस्बन्डरी जोर्नल (एमएएचजे)ले गरेको अनुसन्धानमा जनाइएको छ ।

मनाङमा मात्र करिब एक हजार १५० खर्क सक्रिय छन् । यस्तै मुस्ताङमा ८५०, डोल्पामा एक हजार ३०० र सोलुखुम्बुमा करिब ७५० खर्क सक्रिय छन् । डोल्पा, मुस्ताङ, मनाङ लगायतका ठाउँमा व्यापक चरन क्षेत्र र चौँरी पालन परम्परागत जीवनशैलीसँग गासिएको हुँदा खर्कको संख्या बढी छन् । दोलखा, ताप्लेजुङलगायतका जिल्लामा खेतीयोग्य जमिन बढी भएकाले चौँरी पाल्ने खर्कको घनत्व कम रहेको छ । वैदेशिक रोजगारी, शहरीकरण, जलवायु परिवर्तन र नयाँ पुस्ताको विकर्षणले याकचौँरी पालन घट्दै गएको छ ।

नेपालमा याक–चौँरी र भेडाच्याङ्ग्रा पालन परम्परागत रुपमा उच्च हिमाली कृषि प्रणालीको अभिन्न अंग हो । तर पछिल्लो केही दशकयता यी पशुपालन अभ्यास उल्लेखनीय रूपमा घट्दै गएका नार गाउँका (याकचौँरी) पशुपालक किसान मिङ्मार छिरिङ लामा बताउँछन् ।
यसको पछाडि धेरै सामाजिक, आर्थिक, वातावरणीय र नीतिगत कारण छन् । उनी भन्छन्, ’शैक्षिक र सामाजिक परिवर्तनले शिक्षा र प्रविधिको विस्तारसँगै गाउँका युवा वैकल्पिक पेशा रोज्न थालेका छन् ।’ चौँरी, याक, भेडा र च्याङ्ग्रा पालन घट्नु नेपालका हिमाली संस्कृतिको संकटापन्न अवस्थामा पुग्नसक्ने खतरा भएको लामाको भनाइ छ। यदि यो अभ्यास जोगाउनुपर्छ भनेर नीतिगत स्तरमा समर्थन, प्राविधिक सहयोग, बजार सुनिश्चितता, युवालाई आकर्षित गर्ने कार्यक्रम अत्यावश्यक भएको औँल्याए ।

नश्ल सुधार कार्यक्रम

विसं २०७९ मा लोपोन्मुख याक, चौँरीको नश्ल सुधारका लागि मनाङका किसानलाई ब्याड याक वितरण गरेको थियो । गण्डकी प्रदेशले लोपोन्मुख याकचौँरी याक आनुवंशिक स्रोत केन्द्र स्याङबोचे सोलुखुम्बुबाट याक वितरण गरिएको हो । वंशाणुगत रुपमा हाडनाताबाट उत्पादित याकचौँरीमा हुने समस्याको समाधान गर्नका लागि प्रदेश सरकारले ब्याड प्रयोजन गर्ने उद्देश्यले याक वितरण गरिएको थियो। शुद्ध नश्लका याक प्रदेश सरकारले खरिद गरी किसानलाई वितरण गरिएको जनाइएको थियो ।

याक, चौँरीपालक व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीले भने ‘हाडनाताबाट जन्मने याकचौँरीमा धेरै समस्या उत्पन्न हुनसक्ने र याकचौँरीको नश्ल सुधारमा मद्दत पु¥याउने लक्ष्यका साथ केन्द्रबाट शुद्ध याक ल्याएर वितरण गरिएको थियो । हाडनाताबाट याकचौँरीको नश्ल खस्किदै जाने पशु विज्ञका सुझावअनुसार नश्ल कायम राख्न ब्याड याक वितरण गरिएको हो ।’

जिल्लाका किसानलाई वितरण गर्नका लागि नौ वटा याक ल्याइएको थियो । सामूहिक याक, चौँरीपालक किसानलाई प्राथमिकता दिएर याक वितरण गरिएको थियो । ब्याड याक घुम्ती रुपमा प्रयोग गर्ने गरी वितरण गरिएको थियो। त्यति प्रभावकारी हुन सकेन। प्रदेशले स्याङबोचे केन्द्रबाट १९ वटा ल्याएकामध्ये मनाङमा नौ र मुस्ताङ १० वटा याक किसानलाई वितरण गरेको हो । यसको उपयोगपछि यहाँ नाकबाट जन्मने बाच्छाबाच्छीमार्फत् मापन याक नाकको उत्पादन र उत्पादकत्व वृद्धिबाट हुने प्रदेशले लक्ष्य लिएकामा प्रभावकारी हुन भने सकेन ।

यसका साथै घाँसको अभावमा याक, चौँरी तथा भेडाच्याङ्ग्रा दुब्लाउन थालेपछि घाँसको व्यवस्थापनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले आधुनिक प्रजातिको घाँस समेत वितरण गरेको थियो । घाँस पनि यहाँको मौसम तथा हावापानीमा मौलाउन नसकेपछि खर्क वा यहाँका प्राकृतिक घाँसमै निर्भर हुन बाध्य भएको किसान बताउँछन् । –नवीन लामिछाने÷रासस

 

 

सरकारले अर्को आन्दोलनको बीजारोपण गरिरहेको छ : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोप लगाएका छन् । बुधवार जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्नहरुलाई कारबाही नगरेर मुलुकमा अर्को आन्दोलनको बीजारोपण गरिरहेको उनको आरोप छ । उनले सरकारले आन्दोलनका पीडितहरुलाई न्याय दिलाउनुको सट्टा दुश्मनी साँधिरहेको आरोप लगाए । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ ।

उनले भने, ‘आन्दोलनको क्रममा लुटपाट गर्नेहरु वरपरकै थिए । सरकारले पक्राउ गर्ने कुरै छैन । यस्तो अपराधिक क्रियाकलपमा सलंग्नहरु विदेशका नभई यँही वरपरका थिए । अहिले पक्राउ गर्न सरकार तयार छैन । झन पक्राउ परेकाहरुलाई पनि छोडिरहेको छ । उनीहरु कालान्तरसम्म पक्राउ होलान् । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन । सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रलीले हिजो टेलिभिजनमा दिएको अन्तरवार्तामा बोलेको कुरामा देखिन्छ । दुःख परेकामाथि उहाँको दुश्मनी देखिन्छ । त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुश्मनी छ । सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ । जेन–जी आन्दोलनकारीबाट आफैंमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत छ ।’ जेन–जी पुस्ताका अगुवाहरुमार्फत आफैंमाथि दबाब बढाएर आफूसहितका नेताहरुलाई पक्राउ गर्ने मनशाय सरकारमा रहेको उनको आशंका छ ।

‘यो आन्दोलन होइन, षड्यन्त्र हो’
अध्यक्ष ओलीले जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकन गरेका छन् । बुधवार बिहान पत्नी राधिका शाक्यसहित अध्यक्ष ओलीले आवासको निरीक्षण गरेका हुन् । निजी निवास निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जेन–जी आन्दोलनको क्रममा भएको आगजनी तथा लुटापाटको घटना नेपालविरुद्धको योजनावद्ध षड्यन्त्र भएको टिप्पणी गरे । उनले यो घटना असोज २३ गतेको मात्र नभई पहिलेदेखिको एमालेमाथिको योजनाबद्ध तार्गेटिङको परिणाम भएको दाबी पनि गरे ।

उनले आन्दोलनको क्रममा भएको आगजनी, लुटपाट र चोरीको घटनाप्रति गम्भीर शंका व्यक्त गर्दै पीडितमाथि सरकारले सहानुभूति व्यक्त गर्नुको सट्टा दुस्मनी साँधिरहेको आरोप पनि लगाए । उनले निवासबाट चोरिएका सामानहरूको विवरण दिँदै आश्चर्य व्यक्त गरे । उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि विद्यार्थीहरूले सुरु गरेको सकारात्मक अभियानको फाइदा उठाउँदै अपराधिक समूहहरुले फाइदा उठाएको जिकिर गरे । उनले जेन–जी आन्दोलनपछि गठन गरिएको अन्तरिम सरकारको भूमिका समेत शंकास्पद रहेको आरोप लगाए । उनले तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्ने नभई पीडितहरुलाई नै दुःख दिने काम सरकारले गरिरहेको उनको आरोप छ ।

उनले भने, ‘मैले धेरै कुरा बोल्नु पर्दैन । तस्बिर आफैं बोल्छ । केही टनका फलामका मुर्ति समेत थिए । कसरी लगे भनेर आश्चर्य लागेको छ । शिव, सरस्वतीको मुर्ति चोरिएको छ । एक जनाले सक्दैन गाडीमै चोरी भएको छ । उनीहरुले काम लाग्ने कुरा चोरेर लगे काम नलाग्ने कुरामा आगजनी गरेर गए । नभए त मेटलको सामान पग्लिएर बस्नुपर्ने हो । केही अघिदेखि नै यहाँ तार्गेट गर्ने गरेका थिए । केही अपराधिक समूहहरु समय समयमा आउने गरेका थिए । यहाँ मात्र होइन सबैतिर एमाले पार्टी कार्यालय र नेताका घरहरु जलाइएको छ ।’

उनले थपे, ‘यो २३ गतेको घटना मात्र होइन पहिलेदेखि नै एमालेमाथि तार्गेट गरिएको थियो । यसअघि चैत १५ मा पनि प्रयास गरिएको थियो । त्यो बेला सफल भएन । यस पटक उनीहरु सफल हुने स्थिति बन्यो । यो नेपालका विरुद्ध गम्भीर षड्यन्त्र हो । शान्ती क्षेत्र भनिएका विद्यालय जलाइए । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम होस् भनेर विद्यार्थीहरु मैदानमा उत्रिए । उनीहरुलाई प्रयोग गरेर योजनावद्ध ढंगले विध्वंस पारियो । लुटपात गर्नेहरु विदेशका नभई यतै कतैका थिए । उनीहरु कालान्तरसम्म पक्राउ होलान् । अहिले पक्राउ गर्न सरकार तयार छैन । सरकार भ्रष्टाचार नियन्त्रणमा छैन ।’

 

गुण्डुमा ‘ओली कुटी’ बन्ने, बालकोटको घर मर्मत नगरिने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ बन्ने भएको छ । भदौ २४ गते बालकोटमा जलेको घर मर्मत नगर्ने निष्कर्षमा पुगिएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिएका छन् ।ओलीले आफ्नो शेखपछि सरकारका नाममा दिने घोषणा गरेको घर सरकारको सम्पत्ति रहेकाले ओलीले व्यक्तिगत खर्चमा मर्मत नगर्ने बस्नेतले जानकारी दिए ।

बुधबार ओली निवास बालकोटमा पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले बालकोटको घर मर्मत नगरिने बताएका हुन् । ‘अध्यक्ष ओलीका लागि गुण्डुमै घर बनाउने र त्यसको नाम ओली कुटी राख्ने सहमति भएको छ, उहाँका लागि यहाँ (बालकोट) मा खर्च गर्दैनौं,’ बस्नेतले भने ।
बस्नेतले बालकोटको घर राष्ट्रिय सम्पत्तिको रूपमा प्रयोग गर्न सरकारसँग आग्रह गरे ।

‘यो घर मर्मत गर्ने हो कि के गर्ने हो, सरकारले गर्ने हो, राष्ट्रिय सम्पत्तिको रूपमा प्रयोग गर्नुस्,’ बस्नेतले भने । भदौ २४ गते जलेको घर हेर्न ओली बुधबार बालकोट पुगेका थिए । घर अवलोकनपछि ओलीले बालकोटमा रहेका आफ्ना सामान लुटिएको र लैजान नमिल्ने सामानमा आगो लगाइएको बताए ।

तिहार सुरुयता कतिले छाडे काठमाडौं उपत्यका ?

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु बाहिरिने क्रम बढेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भनेका छन्, ‘तिहार सुरु भएसँगै काठमाडौंका विभिन्न नाकाबाट ४४ हजार ५०९ जनाले उपत्यका छाडेका छन् र ३१ हजार १२ जना भित्रिएका छन् ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार नागढुङ्गा नाका सबैभन्दा व्यस्त नाका देखिएको छ । सो नाकाबाट मात्रै १८ हजार ९२० यात्रु उपत्यका बाहिरिएका छन् । यसैगरी थानकोट नाकाबाट २८५, तिनपिप्लेबाट ८४५ र साँखु नाकाबाट ६९२ जना उपत्यका बाहिरिएका छन् ।

चाडपर्वमा हुनसक्ने ट्राफिक जाम, सवारी दुर्घटना र यात्रु ठगीजस्ता घटनालाई न्यूनीकरण गर्न विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरिएको प्रवक्ता सुवेदीले बताए । उनले भनेका छन्, ‘नाकाहरूमा ट्राफिक चेकपोइन्ट सक्रिय बनाइएको छ भने लामो दूरीको सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने गरी निगरानी गरिँदैछ ।’ सार्वजनिक यातायातमा यात्राको सहजतालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले यात्रुलाई सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा थाल्न सुझाव दिनुका साथै कुनै समस्या वा ठगी भएमा तत्काल ट्राफिक प्रहरीको हेल्पलाइन १०३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ । रासस

अलौकिक ‘पञ्चकुण्ड हिमताल’, कसरी पुगिन्छ ?

म्याग्दी । उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्याेदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैं टलक्क टल्कने । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पञ्चकुण्ड तालको सौन्दर्य लोभलाग्दो छ । अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पर्ने पञ्चकुण्ड ताल पर्यटकको रोजाइमा पर्न थालेको छ । हिमाल, आधार शिविर र ताल एकैठाउँमा अवलोकन गर्न पाउनु पञ्चकुण्डको मुख्य विशेषता भएको इटालीकी पर्यटक निमाले अनुभव सुनाइन् । ‘वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो’, उनले भनि, ‘यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै, दुःख कष्ट र तनाव मुलेर मनमा उमङ्ग छाएको महसुस गरेकी छु ।’

एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । पञ्चकुण्ड ताल प्रकृति र संस्कृतिको सङ्गम हो । पर्यटकले तालको किनारमा टहलिएर शान्त वातावरणमा रमाउने र ध्यान गर्छन् । कोही ताल र हिमाललाई पृष्ठभूमिमा पारेर तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालका सामग्री बनाउँछन् । दुई वर्षअघिसम्म यो ठाउँ सुनसान थियो । प्राकृतिक सौन्दर्य र धार्मिक महत्व स्थानीयस्तरमा सीमित थियो । मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार निर्माण भएर सञ्चालनमा आएसँगै पञ्चकुण्ड तालमा चहलपहल बढेको हो ।

पञ्चकुण्डमा होटल सञ्चालन गरेकी नारच्याङकी नरिमाया गर्बुजा गुरुङले ताल अवलोकन गर्न हाल दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक आउन थालेका जानकारी दिइन् । ‘सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण चर्चामा आएपछि यसपालीको दसैँ र तिहारको बीचमा आन्तरिक पर्यटकको थामिनसक्नु भीड लाग्यो’, उनले भनिन्, ‘यहाँ रहेका होटलको क्षमताभन्दा बढी पाहुना आउँदा हामीलाई व्यवस्थापन गर्न पनि समस्या भयो ।’

पञ्चकुण्डको धार्मिक महत्व पनि छ । पाँच वटा कुण्ड भएकाले पञ्चकुण्ड नामकरण गरिएको नारच्याङका चन्द्रजित पुनले बताए । ‘यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल भएको हिन्दू धार्मिक ग्रन्थ पञ्च रामायणमा उल्लेख छ’, उनले भने, ‘अहिले हिउँ पग्लिएर सबै ताल एउटै बनेको छ ।’ परापूर्वकालमा कागभुसुन्दी नाम गरेका एक जना ऋषिले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालका बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक आस्थासँग जोड्न परिसरमा शिव मन्दिर निर्माण गरिएको छ । स्थानीयवासीले पञ्चकुण्ड नजिकै रहेको डाडाँलाई कागभुसुण्डी नामकरण गरेका छन् ।

कसरी पुगिन्छ पञ्चकुण्ड हिमताल ?
गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सङ्घीय सरकारको लगानीमा पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, सार्वजनिक शौचालय, आधार शिविरमा खुला सङ्ग्रहालय स्थापना गरिएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गाको बेलिब्रिज तरेर नारच्याङ बेँसी हुँदै हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा गाडीको यात्रा र त्यसपछि छ घण्टा पैदलयात्रा गरेपछि पञ्चकुण्ड ताल पुगिन्छ ।

हुमखोलादेखि गुराँसेडाँडा, फुतफुते झरना, साधीखर्क, गुफाफाँट, आकाशे गुफा, रातो झरना, भुसकेट मेला, सुनखोला, पञ्चकुण्ड हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग छ । छिटो हिँड्नसक्ने हुमखोलदेखि एकैदिनमा पञ्चकुण्ड पुग्न सक्छन् । विस्तारै हिँड्नेहरु हुमखोलादेखि भुसखेत गएर बास बस्ने र एक बिहान हाइकिङ गरेर पञ्चकुण्ड पुग्छन् । पञ्चकुण्डदेखि एक घण्टा पैदलयात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । यहाँबाट पर्वतारोहीले अन्नपूर्ण हिमालको आरोहण गर्छन् । समथर फाँटमा रहेको आधार शिविरबाट पञ्चकुण्ड ताल र अन्नपूर्ण हिमालको दृष्यावलोकन गर्न सकिन्छ ।

पदमार्गमा रहेका अस्थायी संरचनामा सञ्चालित होटलमा खाना र बस्नको सुविधा छ । पञ्चकुण्ड ताल नजिकै रहेको आश्रयस्थल भवन र टेण्टमा पाहुनालाई राख्ने गरिएको छ । पाहुनाको चाप धेरै भएकाले पहिले नै बुकिङ गरेर आउन भुसकेटका होटल व्यवसायी माइकल पुनले अनुरोध गरे ।

सरसफाइको चुनौती
पाहुनाको चापसँगै तालको सरसफाइमा चुनौती बढेको छ । पञ्चकुण्ड तालदेखि आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर वारपार गर्नुपर्छ । तालमा पौडी नखेल्न र फोहर नगर्न पाहुनालाई अनुरोध गरिएको छ । हिउँदयाममा तालमा बरफ जम्ने गर्छ । जमेको तालमाथि हिँडडुल गर्दा फुतेर दुर्घटनाको जोखिम भएकाले त्यसो नगर्न स्थानीयले अनुरोध गरेका छन् ।

विद्युत् र सञ्चार सुविधाको अभाव छ । अन्नपूर्ण हिमालको प्रथम आरोही टोलीका अगुवा फ्रान्सका मौरिस हर्जोगको सम्मानमा यस पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामकरण भएको छ । विसं २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यस पदमार्गमा आधारभूतस्तरको पूर्वाधार तयार पारेपछि विसं २०८० देखि सञ्चालन गरिएको थियो । आधार शिविर, पञ्चकुण्ड ताललगायत गन्तव्य र पदमार्गको प्रचारप्रसारका लागि अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा महोत्सव आयोजना गर्नुका साथै गत जेठमा अन्नपूर्ण आरोहणको ७५ वर्ष पुगेका अवसरमा विशेष कार्यक्रम गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले स्थायी र भौतिक संरचना निर्माण गर्न नपाएपछि अस्थायी संरचनामा पाहुनालाई खानेबस्ने व्यवस्था मिलाएर पदमार्ग सञ्चालन गरिएको जानकारी दिए । अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित गराएर सङ्घीय सरकारले हिमाल आरोहणबापत दिने राजस्व ‘रोयल्टी’मा दाबी गरिएको उनले बताए । गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सङ्घीय सरकारको लगानीमा पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, सार्वजनिक शौचालय, आधार शिविरमा खुला सङ्ग्रहालय स्थापना गरिएको छ ।

गत हप्ता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका म्याग्दी १(क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले मौरिस हर्जोग पदमार्ग, पञ्चकुण्ड ताललगायतका गन्तव्यको विकासका साथै प्रवद्र्धनमा स्थानीय तह, एक्याप, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने जानकारी दिए । ‘छोटो दूरीमा र छिटो पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड तालको पर्यटनका दृष्टिकोणले प्रशस्त सम्भावना छ’, उनले भने, ‘मौरिस हर्जोग पदमार्गमा सञ्चार र विद्युत् सुविधाको विस्तार, पदमार्गको स्तरोन्नति, फोहर व्यवस्थापन, झोलुङ्गे पुललगायत पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण र बजेट भित्र्याउन पहल गर्नेछु ।’

 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यहार गर्ने तीन जना पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यहार गरेको आरोपमा तीन जना पक्राउ परेका छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिलबहादुर शाही छन् । उनीहरूलाई गए राति र बुधबार बिहान पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिए ।

उनीहरूमाथि अनुसन्धान भइरहेको र किन दुर्व्यहार गरे भन्ने बुझ्ने काम भएको प्रहरीले बताएको छ । सोमबार साँझ अधिकारी आफ्नो घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यहार गरेका थिए । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले दुर्व्यहार गर्नेको पहिचान गर्न सफल भएको थियो ।

 

नारायणघाट–बुटवल सडक : सहज बन्दै यात्रा

नवलपरासी । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड यात्राका लागि सहज बन्दै गएको छ । सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्ने बाहेकका अन्य स्थानमा राजमार्ग सहज बनेको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ। योजनाको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार हाल सडकको विभिन्न ११ स्थानमा सडक विस्तारको काम भइरहेको छ । दाउन्नेको पूर्वी खण्डमा करिब दुई किलोमिटर र पश्चिम खण्डमा करिब पाँच किलोमिटर बाहेक सबै क्षेत्रमा यातायात सहज भइसकेको उनको भनाइ छ । दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको भन्दै उनले अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्र, राजमार्ग कालोपत्र गर्नेलगायतको काम भइरहेको बताए ।

‘दाउन्ने खण्डलाई पनि सहज बनाउनेगरी काम तीव्र रूपमा अगाडि बढेको छ’, उनले भने, ‘यो हिउँदसम्ममा राजमार्ग पूरै सहज बन्छ, त्यसपछि हामी राजमार्ग विस्तारको अन्य काममा जुट्नेछौँ ।’ यस खण्डमा निर्माण हुने साना २२ तथा ठूला १२ मध्ये अरुणखोला र चोरमाराका दुई वटा ठूला पुलबाहेकका सबै पुल निर्माण पूरा भइसकेका खनालको भनाइ छ । एकतर्फी कालोपत्र सकिएको ठाउँमा अर्कोतर्फी कालोपत्र तथा दुवैतर्फ कालोपत्र भएको स्थानमा सर्भिस लेन बनाउन, सडकको बीचमा डिभाइडर निर्माण गर्ने, सडक बिग्रिएको स्थानमा सहज बनाउने काम भइरहेको उनको भनाइ छ ।

सडक विस्तारको ठेक्का पाएका चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक इञ्जिनियर राकेश झाले अहिले नारायणघाटबाट बुटवल साढे दुई घण्टामा पुग्न सकिने बताए। ‘विगतको तुलनामा सडक एकदमै सहज बनेको छ, हामी सार्वजनिक बसमा साढे दुई घण्टामा बुटवलबाट नारायणघाट पुग्न सक्छौँ’, उनले भने, ‘थपिएको म्यादभित्र सडक निर्माण सम्पन्न गर्ने तयारीसाथ हामी फिल्डमा खटिएका छौं ।’

अहिले तिहारको बेला काम केही ढिला गतिमा बढेको भए पनि छठपछि भने सडकको विस्तारको काममा तीव्रता आउने उनले बताए । गैँडाकोट, देवचुली, चोरमारा, दाउन्नेलगायतका ठाउँमा अहिले काम भइरहेको उनको भनाइ छ । गैँडाकोट क्षेत्रमा सडकको दुईतर्फी कालोपत्र गर्ने काम भइरहेको उल्लेख गर्दै झाले दुईतर्फी कालोपत्र भइसकेको ठाउँमा भने सडकको बीचको डिभाइडर बनाउने काम भइरहेको जानकारी दिए । ‘केही ठाउँमा पुलको रेलिङ बनाउने काम अगाडि बढेको छ, केही ठाउँमा सडकको फिनिसिङ तथा सर्भिस लेन बनाउने कामसमेत सुरु भइसकेको छ’, उनले भने, ‘दाउन्नेको पहाडमा भने सडकलाई सहज बनाउन ढलानको काम तथा धुलो हटाउने काम र सडकको किनारमा पर्खाल लगाउने काम भइरहेको छ ।’

अघिल्लो वर्ष यो समयमा यस सडक पार गर्न सात घण्टासम्म लाग्ने गरेको भन्दै चालक अहिले भने यातायात धेरै सहज भएको बताउँछन् । नारायणघाट बुटवल सडकमा गाडी चलाउँदै आएका गैँडाकोटका सङ्गम लम्सालले सडक सहज हुँदा यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन सकिएको बताए । ‘पोहोर यो सडक पार गर्न सात घण्टाभन्दा बढी समय लाग्थ्यो, एकतर्फी यात्रा गर्दा गाडी सर्भिसिङ गर्नुपर्ने अवस्थामा पुग्थ्यो’, उनले भने, ‘अहिले त्यो समस्या हटेको छ, बाटो सहज हुँदा गाडीको मर्मत खर्चमा समेत कमी आएको छ ।’

एसियाली हाइवेको मापदण्डमा विस्तार भइरहेको यस सडक विस्तारपश्चात् नारायणघाटबाट बुटवलको ११३ किलोमिटर दूरी ९० मिनेटमा छोटिने बताइएको छ । चार लेनमा विस्तार भइरहेको सडकको बजेट रु १७ अर्बमध्ये ८५ प्रतिशत रकम एशियाली विकास बैंक (एडिबी) ले १ दशमलव ५ प्रतिशत व्याजमा ऋण सहयोग उपलब्ध गराएको छ । विसं २०७९ साउनमा निर्माण सक्नेगरी विसं २०७५ माघदेखि सडक विस्तारको काम सुरु भएकामा चौथो पटक थप गरिएको म्याद आगामी साउन ८ गते सकिँदैछ ।

 

जलेको आफ्नो घर हेर्न बलकोट पुगे अध्यक्ष ओली (तस्बिरहरु)

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेन—जी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाटले ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् ।

जेन—जी आन्दोलनपछि पहिलो पटक उहाँ श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा पुगेका हुन्। यस अघि ओली पत्नी शाक्य भने यसअघि नै सो निवासमा पुगी अनुगमन गरेकि थिईन् ।

सुरक्षा चुनौतिका कारण ओली भने यसअघि आफ्नो निवास पुगेका थिएनन् । ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरुले बताएका थिए ।

ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्वका धेरै सामग्रीहरु जलेर नष्ट भएको बताएका थिए । ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गरेका थिए ।

 

मैले गृहमन्त्रीको सीमाना मिचिदिएको छैन, तर व्यक्तिगत दुष्मनी देखियो : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग व्यक्तिगत दुष्मनी राखे जस्तो व्यवहार गरेको बताएका छन् । भदौ २४ गते बालकोटस्थित जलाइएको निवास अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मममाथि व्यक्तिगत दुष्मनी देखिन्छ । गृहमन्त्रीको सीमाना मिचिदिएको छैन । घर कहाँ हो थाहा छैन । सरकारले मलाई केही गर्दैछ भन्ने गम्भीर आशंका मसँग छ ।’

ओलीले जेनजीलाई सरकारले नै बोलाएर दबाब दिन लगाएको पनि आरोप लगाएका छन् । ‘जेनजी भनिएकालाई बोलाएर दबाब देऊ भनेर भनेका छन् । सिकाएर पठाउनु हुन्छ । उहाँहरु निवेदन देऊ, जाहेरी देऊ भनेर सिकाएर पठाउनु भएको छ’, उनले भने, ‘आगामी दिनमा हेर्दै जाऊँ । यो देशमा एमाले छ । एमाले ज्युँदो पार्टी छ । भ्रष्टाचार नियन्त्रण गर्छ । अचानक पलाएका आफ्नो काम छाडेर अर्कोतिर रमाएकासँग एमालेले सम्झौता गर्दैन ।’

‘लक्षित गरेर आगजनी गरिएको छ, काम नलाग्ने चिज मात्रै छोडिएको छ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानी छानी आफ्नो घरमा प्रहार गरिएको र लुटपाट गरिएको बताएका छन् । बुधबार भक्तपुरको बालकोटस्थित जेनजी आन्दोलनका बेला जलाइएको आफ्नो घर हेर्न पुगेका उनले ठूला–ठूला मुर्ति उठाएर लगेको भन्दै आफू आश्चर्यमा परेको समेत उल्लेख गरे । ओलीले धेरै पहिलेदेखि नै लक्षित गरेर आफ्नो घरमा आगजनी गरिएको समेत दाबी गरे ।

यस्तो छ ओलीको भनाइ :

मैले यहाँ धेरै भन्नुपर्ने केही छैन । तस्बिर आफैं बोलिराख्या छ । जसरी छानी छानी व्यक्तिका घरहरू जलाइएको छ । लुटिएको छ । यतिसम्म कि कसरी उठाएर लगे भन्ने आश्चर्य लाग्छ । केही टनका ढुंगाका मुर्तिहरु थियो त्यहाँ । त्यहाँ शिवको मुर्ति थियो, बुद्धको मुर्ति थियो, स्वरसती मुर्ति थियो ।

त्यस्तो खालको सामान समेत चोरी भएको छ भने अरु त मामुली भयो । उनीहरुलाई काम नलाग्ने चिज आगो लगाइएको छ । सबै चिज उठाइएको छ । उनीहरुलाई काम नलाग्ने चिज मात्रै छोडिएको छ । कुनै किमती चिज पनि छोडिएको छैन । त्यही भएर यो बहुतै लक्षित गरेर भएको हो । यसअघि पनि पटक–पटक त्यो प्रयास गरिएको थियो । मेरो मात्रै होइन, देशभरी जलाइएको छ । देशभरी कार्यालय जलाइएको छ । एमालेका नेताका खोजी खोजी घर चलाइएको छ ।

 

भ्रष्टाचार र सुशासनको मुद्दामा सरकार मौन छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासनको पक्षमा सरकार सक्रिय रहेको बताएकी छिन् । सरकारको पहिलो प्राथमिकता २१ फागुनको चुनाव भए पनि भ्रष्टाचार र सुशासनको मुद्दामा मौन नभएको बताएकी हुन् । बुधबार नेपाल संवत्को अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्कीले नेपालको संविधानमा अधीनमा रहेर जेन–जी आन्दोलनले उठाएको सुशासनको आवाजलाई सम्बोधन गर्ने बताइन् ।

उनले सम्बोधनमा भनिन्, ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेका छौँ भन्ने होइन, नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको छ ।’

साथै, प्रधानमन्त्री कार्कीले लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न अपिलसमेत गरेकी छिन् । त्यसैगरी, वसन्तुपरको सम्बोधनमा कार्कीले सरकार चुनावका लागि प्रतिबद्ध रहेको दोहो¥याएकी छन् । यसअघि पाटन र मध्यपुर थिमिमा आयोजित कार्यक्रममा पनि सोही कुरा दोहोर्‍याएकी थिइन् । कार्कीले जेन–जी समुदाय र राजनीतिक दलहरूसँग प्रत्येक दिन कुनै न कुनै माध्यमबाट सरकारले संवाद गरिरहेको उल्लेख गरेकी छन्।

प्रधानमन्त्री कार्कीले हिजो मात्रै राजनीतिक दलसँग चुनावी संवाद गरेकी थिइन् । २१ फागुनको चुनावकेन्द्रित संवाद मंगलबार सरकार र दलबीच पहिलो पटक भएको हो । प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रत्येक दिन राजनीतिक दलहरूसँग कुनै न कुनै रूपमा संवाद भइरहेको छ। परिवर्तनका वाहक जेन–जी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ ।’

 

नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउँछुः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने व्यवस्था मिलाउने बताएकी छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले नेपाली नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा नेपाल राष्ट्र बैकसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाईन् । नेपाल संवत विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत भएको उनको भनाई छ ।

नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः एक कुशल व्यापारीभएपनि उी नाफा कमाउने व्यापारी नभएको उनले बताईन् । साख्वाः एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व भएको उनको भनाई छ ।

उनकाअनुसार ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिए । यो दिन नै नेपाल संवतको सुभारम्भको आधार भएको प्रधानमन्त्री कार्कीले बताईन् ।

विं.सं ९३६ मा नेपाल संवतको थालनी गरिएको उनले जानकारी दिईन् । नेपाल संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त नभई एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व निकै उच्च रहेको प्रधानमन्त्री कार्कीको भनाई छ । नेपाल संवत लोकस्तरबाट उत्पत्ति भएको र यसले लोक विरासत बोकेको उनले बताईन् ।

उनले भनन्, ‘नेपाल राष्ट्र बैकद्धारा निष्कासित गरिने नोटमा नेपाल संवत उल्लेख गर्ने विषयमा संवन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु । यो विशेष गरी कान्तिपुर र भादगाउँमा उत्पत्ति भएपनि राष्ट्रकै मौलिक संवत हो । शंखधर साख्वा काठमाडौको मधुसत्तन ईलाकाका एक कुशल व्यापारी हुनुहुन्थ्यो । तर उहाँको परिचय नाफा कमाउने व्यापारीमा मात्रै सिमित थिएन । एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो । आज भन्दा ११४६ वर्ष अगाडी राजा रागवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋण विमोचन गरि ऋणको भारबाट पिडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो । यो दिन नै नेपाल संवतको शुभारम्भ भएको आधार हो । उहाँको यही अतुलनीय योगदान र सामाजिक न्यायको महान कार्यको कदर स्वरुप विं.सं ९३६ मा नेपाल संवतको थालनी गरियो । यो संवत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त होईन बरु एक व्यापारीको त्याग र परोपकारको आधारमा शुरु भएकोले यसको महत्व निकै उच्च छ । अर्थात यो लोकस्तरबाट उत्पति भएको र लोक विरासत बोकेको संवत हो ।’

प्रधानमन्त्री कार्कीले नेपाल संवतलाई सरकारी कागजातमा समेत उल्लेख गरेर सरकारले यसलाई प्रवद्र्धन र व्यवहारिक रुपमा लागू गर्न तत्पराता देखाएको बताईन् । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः लाई वि.सं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । नेपाल संवतलाई भने २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत घोषणा गरिएको थियो ।

ओलीले गरे जेनजी आन्दोलनमा ध्वस्त आफ्नो बालकोट निवासको अवलोकन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाट गरी ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक उनी श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा पुगेका हुन् । यसअघि ओली पत्नी शाक्य भने यसअघि नै सो निवासमा पुगी अनुगमन गरेकी थिइन् ।

सुरक्षा चुनौतिका कारण ओली भने यसअघि आफ्नो निवास पुगेका थिएनन् । ओली निवासमा आगजनीको क्रममा धेरैजसो पुस्तकलगायतका अध्ययन सामग्री जलेको प्रत्यक्षदर्शीहरुले बताएका थिए । ओली पत्नी शाक्यले भने राज्यका लागि दिने भनेर राखिएको पुरातात्विक महत्वका धेरै सामग्रीहरु जलेर नष्ट भएको बताएकी थिइन् । ओलीले मरणोप्रान्त सो निवास ट्रष्टको नाममा राज्यलाई दिने घोषणा गरेका थिए ।

भ्रष्टाचार नियन्त्रण कुशासनको अन्त्य तथा ओली सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्धमा उत्रिएको जेनजी आन्दोलनमा २३ गते गोली चलेपछि सडकमै १९ जना बालबालिका तथा युवाले ज्यान गुमाएका थिए । सोही दिनको सरकार र सुरक्षा निकायको दमनपछि आक्रोशित बनेको आन्दोलनले २४ गते उग्ररुप लिदा सरकारी कार्यालय नेताहरुका निजी निवास, उद्योग तथा सर्वेच्च अदालत सिंहदरबार लगायतका राष्ट्रिय सम्पत्तिमा तोडफोड तथा आगजनी गरिएको थियो ।

त्यस बखतका तत्कालिन प्रधानमन्त्ती ओली लगायत अन्य नेताहरुर्ला सेनाले सुरक्षा दिदै सुरक्षित स्थानमा राखेको थियो । भने अन्तरिम सरकार गठन भेसकेपछि नेताहरु सार्वजनिक भएका थिए । उक्त आन्दोलनमा केपी ओलीको घरमा आन्दोलनकारीहरुले लुटपाट तथा आगजनी गरेका थिए । सोही घरको अवलोकनमा ओली आज पहिलो पटक त्यहा पुगेका हुन् । उनी हाल भक्तपुरस्थित गुण्डुमा भाडाको घरमा बसिरहेका छन् ।

 

तीन महिनामै ३५ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । पछिल्ला वर्षहरुमा वैदेशिक लगानी बढेर गएको छ । उद्योग विभागकाअनुसार पछिल्लो तीन महिनामा मात्रै ३५ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । गत साउनदेखि असोज मसान्तसम्ममा ३ सय ११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । चालु आर्थिक वर्षमा सात वटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ भने गत असोजमा मात्र ७५ वटा साना उद्योगमा २ अर्ब चार करोड ५७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

हालसम्म विभागमा सात हजार ५५० वटा उद्योगमा खर्ब ८६ अर्ब ५५ करोड ९९ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत गरिसकेको छ । गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

रकमका आधारमा भने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एक अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

पछिल्ला वर्षमा आएको वैदेशिक लगानीको प्राप्ति हेर्ने हो भने गत आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक लगानी आप्रवाह ४१.८ प्रतिशतले वृद्धि भएको छ । सो वर्ष १५ अर्ब २ करोड पुगेको थियो । त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी मुलुकमा भित्रिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा उद्योग विभागबाट स्वीकृत कुल विदेशी लगानी ७४ अर्ब ९७ करोड रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड बराबरको विदेशी लगानी स्वीकृत भएको थियो । २०८२ असारसम्ममा ६ खर्ब ५१ अर्ब ४५ करोड बराबरको कुल विदेशी लगानी उद्योग विभागबाट स्वीकृत भएको थियो । –न्युज एजेन्सी नेपाल

 

भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षको सहयोगको आवश्यकता छः प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा सबै पक्षलाई सहयोग गर्न आग्रह गरेकी छन् ।

नेपाल संवतको अवसर पारेर बुधवार काठमाडौंको वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेन=जी आन्दोलनले भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा उठाएको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व सरकारमाथि रहेको उल्लेख गर्दै सो अभिभारा पूरा गर्नका लागि सबैलाई साथ दिन आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनको मुद्दामा मौन बसेको छ भन्ने सत्य नभएको स्पष्ट पार्दै त्यसमा परिणाम आउने गरी राज्यको संयन्त्रहरुबाट काम भईरहेको दाबी समेत गरिन् । उनले नेपालको संविधानको अधिनमा रही सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको समेत बताईन्।

उनले भ्रष्टाचार नियन्त्रण, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै लोकतन्त्रलाई जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न सबै राजनीतिक दल, वर्ग र समुदायले सरकारलाई सहयोग गर्ने विश्वास समेत व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्,‘जेन—जी आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ । विद्रोहपछिको अवस्थालाई सामान्यकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले त्यो चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ । प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा सम्वाद भईरहेको छ । परिवर्तनका बाहक जेन—जी समुदायसँग पनि निरन्तर सम्वाद र सम्पर्कमा छौं । निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनको मुद्धामा मौन बसेका छौ भन्ने होइन ।

नेपालको संविधानको अधिनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्ने मूल दायित्व पनि हामी माथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम गरी अघि बढाईरहेको छ । यसका लागि समाजका सबै पक्षको उचित भुमिका हुन्छ । आउनुहोस, यसमा सहकार्य गरौं । र सचेत नागरिकको भुमिका निर्वाह गरौं । समाजमा सदभाव र एकता कायम गर्दै लोकतन्त्र जिवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गरौं । यस कार्यमा सबै राजनीतिक दल, वर्ग, समुदायको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।’

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले नेपाल सम्वत नेपालीहरुको मौलिक सम्वत रुपमा रहेकाले त्यसका संरक्षण संवद्र्धन गर्न सरकारले विशेष ध्यान दिएको बताइन् ।

आगामी निर्वाचनलाई भयरहित बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिवद्ध रहेको बताएकी छन् । बुधवार बिहान ललितपुर महानगरपालिकाले आयोजना गरेको नेपाल संवत ११४६ न्हुँद समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्नुपर्ने दायित्व पनि अहिलेको सरकारसँग रहेको जिकिर गरिन् ।

निर्वाचन सम्पन्न गराउन सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको बताइन् । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट बनेको सरकारलाई फागुन २१ गते निर्वाचन गराउने जिम्मेवारी रहेको बताइन् । सरकारसँग नेपालको संविधानको अधीनमा रही जेन—जी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको बताइन् ।

उनले भने, ‘२०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौंको संख्यामा घाइते भएको घटनाले म अत्यन्त दुःखी छु । आज यस समारोहमार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ । यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ ।’

उनले भनिन्, ‘यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ । लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिवद्ध छ । यस कार्यमा सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।’

नेपाल संवत नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको जिकिर गरिन् । प्रवर्तक शंखधर साख्वा एक व्यापारी मात्र नभइ समाजसेवी र लोककल्याणकारी व्यक्तित्व भएको बताइन् । नेपाल संवतको संवद्र्धन, प्रवद्र्धन र व्यावहारिक कार्यान्वयनका लागि नागरिकको सुझावअनुसार थप कदम चाल्न पनि सरकार तयार रहेको बताइन् । नेपाल संवत नेपाली धर्तीमा उत्पत्ति भएको, नेपाली जनताले यसको प्रादुर्भाव गरेको बताइन् । तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्वपूर्ण धरोहर भएको जिकिर गरिन् । —न्युज एजेन्सी नेपाल

महाराजगञ्जका दुई प्रहरीको हत्या आरोपमा थप एक युवक पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौं महाराजगञ्जका दुई प्रहरी हत्या घटनामा संलग्न रहेको आरोपमा थप एक युवा पक्राउ छन् । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको ज्यान जाने गरी कुटपिट गरेको आरोपमा सोमबहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

गोरखाका २१ वर्षीय सोमबहादुर हाल काठमाडौं, धुम्बाराहीमा बसोबास गर्दै आएका थिए । सोही घटनामा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

काभ्रेको रोशी गाउँपालिका– ९ राजबास घर भई काठमाडौंको बालुवाटारमा डेरा गरी बस्ने वर्ष २८ का युवराज क्याप्छाकी र मकवानपुरस्थ्ति थाहा नगरपालिका– ७ बतासे घर भई काठमाडौंको चन्द्रागिरीमा डेरा गरी बस्ने २१ वर्षीय सोनाम भन्ने बुद्धिमान थिङ कारागार चलान भएका छन् । सोमबार पक्राउ परेका गुरुङ जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । तिहार बिदाका कारण उनको म्याद थप भएको छैन । बिदा सकिनासाथ म्याद प्रक्रिया अघि बढ्ने भट्टराईले जानकारी दिएका छन् ।

 

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेकी छन्।

बुधबार बिहान मध्यपुर ठिमीमा पुगेर प्रधानमन्त्री कार्कीले प्रतिमामा माल्यार्पण गरेकी हुन्। यसअघि उनले मंगलबजारमा आयोजित नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रमलाई सम्बोधन गरिसकेकी छन्।

माल्यार्पणपछि प्रधानमन्त्री कार्की औपचारिक कार्यक्रममा सहभागी भएकी छन् ।

राष्ट्रपति पौडेले गरे शीतल निवासमा गौ पूजा (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसँगै मा विधिपूर्वक गौ पूजा गरेका छन् ।

कात्तिक कृष्ण औँसी अर्थात गाई तिहारको अवसरमा शीतल निवासमा विधिपूर्वक गौ पूजा गरेका हुन् । वैदिक मन्त्रद्वारा सम्पन्न यो पूजामा गाईलाई लक्ष्मीको प्रतीक मान्दै खानेकुरा खान दिइएको थियो ।

तिहारको तेस्रो दिन मनाइने गाई तिहारले नेपाली संस्कृतिमा मानव र प्रकृतिबीचको पवित्र सम्बन्धलाई जोड दिन्छ । पाँच दिनसम्म मनाइने तिहार, जसलाई दीपावली पनि भनिन्छ, प्रकाश, समृद्धि र पारिवारिक एकताको उत्सव हो।

यस पर्वमा काग, कुकुर, गाई, गोवद्र्धन र भाईटीकाको पूजा गरिन्छ, जसले जीवनका विभिन्न पक्षहरूलाई सम्मान गर्ने परम्परालाई जीवन्त राख्छ । राष्ट्रपति पौडेलको यो सहभागिताले तिहारको सांस्कृतिक र धार्मिक मूल्यहरूलाई प्रोत्साहन गर्दै राष्ट्रिय एकता र प्रकृतिप्रतिको श्रद्धालाई उजागर गरेको छ ।

गुडिरहेको बसमा एक्कासी आगलागी, यात्रुले भागेर जोगाए ज्यान

काठमाडौं । रौतहटमा आज (बुधवार) गुडिरहेको बसमा एक्कासी भीषण आगो लागेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गको जंगलमा गुडिरहेको बसमा आज विहान अचानक आगलागी भएको हो । काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बुधबार बिहान करिब ७ः२० बजे अचानक आगो लोगेको हो । बसको ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको प्रहरीको भनाइ छ ।

घटनाबारे जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेशकुमार झाको नेतृत्वमा घटनास्थलतर्फ प्रहरीको टोली परिचालित भएको थियो । स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो करिब ८ः१५ बजे नियन्त्रणमा आएको थियो ।
घटनामा कुनै मानवीय क्षति भएको छैन । बसमा आगो लाग्न थालेपछि यात्रुले भागेर ज्यान जोगाएका थिए । आगो लागेर बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

बसमा आगो लागेर करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब तीन किलोमिटर पश्चिममा रहेको छ । बसमा आगो लागेर बल्न थालेपछि दुवैतिरबाट सवारी साधनको आवागमन अवरुद्ध भएको थियो । आगो नियन्त्रणमा आएपछि बाटो खुलाइएको छ । अहिले स्थिति सामान्य भइसकेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

 

काठमाडौँमा न्हु दँया भिन्तुना: स्वागत गरियो नेपाल सम्वत ११४४

काठमाडौँ । बसन्तपुर काठमाडौँ मा आज धिमे लगायत परम्परागत बाजा साथै नेवारी पहिरनमा सजिएर नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्‍याली सहित कार्यक्रम गरिएको छ ।

नेपाल सम्वत ११४४ को भिन्तुना र्‍याली निकालिएको हो ।न्हुदँया भिन्तुना । अर्थात् नयाँ वर्षको शुभकामना । र, यो शुभकामना हो,  नेपाल संवत् ११४६ को अवसरमा  काठमाडौँ मा कार्यक्रम आयोजना गरिएको  हो  ।

कात्तिक शुक्लपक्षदेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ।  नेपाल संवत् चन्द्रमासमा आधारित छ । लिच्छविकालमा कुन संवत् चलनचल्तीमा थियो, त्यसबारे समान धारणा पाइन्न । लिच्छविकालपछि भने हाम्रोमा नयाँ संवत् चलनचल्तीमा आएको देखिन्छ ।

लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् सुरु हुन्छ । सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरु भएको दिन नेवार समुदायमा ‘म्ह:पूजा’ गर्ने विशिष्ट सांस्कृतिक परम्परा रहेको पाइन्छ । म्ह:पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा । म्ह अर्थात् शरीर । नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैंमा विशिष्ट र मौलिक रहेको छ । यसलाई विशेषत: काठमाडौं उपत्यका भक्तपुर ललितपुरमा  ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ ।

छठपछि वामपन्थी एकता हुन्छ, चुनाव तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

जनकपुर । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वपछि वामपन्थी एकता हुने दाबी गरेका छन् । जनकपुुरधाममा बुधवार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरु एकता प्रक्रियामा अग्रसर रहेको बताए । वामपन्थी एकताको नयाँ परिस्थिति छठपछि देखिने उनको दाबी छ ।

उनले प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको समयमै हुनुपर्ने र सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । मंगलवार मात्रै संसदीय दलहरुसँग सरकारले वार्ता गरेको र सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभाष भएको बताए ।

उनले भने, ‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनु पर्छ । हिजो मात्रै संसदीय दलहरुसँग जुन वार्ता भएको छ, सरकारको त्यसबाट सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभाष त मिल्छ तर यतिबेला अझै पनि निर्णय गर्ने पार्टी माओवादी केन्द्रै बन्यो । जेन जी आन्दोलनपछि सार्वजनिक रुपमा अपिल गर्ने पनि हामी नै भयौँ । काठमाडौं उपत्यका बाहिर आएर मधेस प्रदेशमा कार्यक्रम गर्ने पनि हामी नै सायद पहिलो पार्टी हौँ । निर्वाचनको वातावरण बन्नुपर्छ । वामपन्थी एकता र ध्रुविकरणको कुरा समाजवादी मोर्चामा भएका पार्टी एकता प्रक्रियातिर हामी अघि बढेका छौँ । छठपछि नयाँ परिस्थिति देख्नु हुनेछ, वामपन्थी एकताको ।’ उनले जेन—जी आन्दोलनपछि मधेस प्रदेशमा सार्वजनिक कार्यक्रम गर्ने पार्टी माओवादी केन्द्र रहेको समेत दाबी गरे ।

केही मन्त्रीहरूको व्यवहारमा तत्काल नियन्त्रण आवश्यक : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहारमा तत्काल नियन्त्रण आवश्यक रहेको बताएका छन् ।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका महासचिव पोखरेलले त्यसपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत विभिन्न बुँदामा पार्टीको धारणा राख्दै उनले सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित हुनुपर्ने माग राखेका छन् ।

‘मुख्य दलहरूलाई निषेध गरेर गरिने निर्वाचनले राजनीतिक वैधता पाउन सक्दैन । राजनीतिक दलका नेताहरूको क्रियाशीलतामा अवरोध गर्न खोज्ने प्रवृत्तिको प्रतिवाद सरकारतर्फबाट भएको देखिँदैन,’ उनले भनेका छन् । कतिपय समूहहरू समानान्तर सत्ता सञ्चालन गर्नेजस्ता गतिविधिमा सक्रिय भएको उनले बताएका छन् ।

‘यस्ता अवस्थाको नियन्त्रण अनिवार्य छ । सरकारले राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्नुपर्छ । तर, अहिलेका केही मन्त्रीहरू त्यसको विपरीत व्यवहार गरिरहेका छन्, जसमा तत्काल नियन्त्रण आवश्यक छ,’ पोखरेलले बताएका छन् ।

कम कर, बढी कमाई–समृद्ध नेपालको सूत्र : मिलन पाण्डे

काठमाडौं । राजनीतिक तथा सामाजिक अभियन्ता मिलन पाण्डेले नेपालको आर्थिक भविष्यका लागि नयाँ एजेण्डा सार्वजनिक गरेका छन् । ‘उद्यमशील समाजमार्फत आर्थिक समृद्धि’ भन्ने मूल नारासहित ल्याइएको यो योजनाले तीन वटा आधारभूत मोर्चामा क्रान्तिकारी परिवर्तनको खाका प्रस्तुत गरेको छ–व्यक्तिगत आम्दानी वृद्धि, कर संरचनाको सुधार र उद्यममैत्री वातावरण निर्माण । एक टेलिभिजनमा गरेको वार्तालापको अंश सार्वजनिक गर्दै पाण्डेले यस्तो खाका प्रस्तुत गरेका हुन् ।

१,५०० डलरबाट १५ हजार डलरसम्म–के हामी सक्दैनौं ?
हाल नेपालको प्रतिव्यक्ति आय करिब १,५०० अमेरिकी डलरमा सीमित छ, जुन विश्व औसत १५,००० डलरभन्दा करिब १० गुणा कम हो ।
प्रश्न उठाइएको छ :
‘के हामी प्रत्येक नेपालीलाई मासिक १.५ लाख रुपैयाँ कमाउने अवस्थामा पुर्‍याउन सक्दैनौं ?’ अर्थशास्त्रीहरू यो लक्ष्य हासिल गर्न ३० वर्ष लाग्न सक्ने बताएका छन्, तर यो योजनाले द्रुत र व्यवहारिक उपाय खोज्ने बहस अघि सारेको छ ।
मुख्य उपायहरूमा छन् :
उद्यमशीलताको प्रवर्द्धन
लगानीमैत्री वातावरण
प्रविधि तथा नवप्रवर्तनमा जोड
युवालाई स्टार्टअप संस्कृतिमा प्रोत्साहन

कम्पनी कर घटे, कर छलि घट्ने–राजस्व झन् बढ्ने
वर्तमानमा कम्पनीहरूले २५–३० प्रतिशतसम्म कर तिर्नुपर्दा ठूलो संख्यामा कर छलि भइरहेको छ ।
प्रस्ताव अनुसार, ‘कर्पोरेट कर दरलाई घटाएर ५–१० प्रतिशत बीचमा ल्याए, कर आधार (tax base) फराकिलो भई कुल राजस्व बढ्न सक्छ ।’
यसले विदेशी तथा स्वदेशी लगानीकर्तालाई आकर्षित गर्ने र नेपाललाई ‘कर स्वर्ग’ (tax haven ) बनाउने सम्भावना पनि उजागर गरेको छ।

नागरिक करमा न्याय र स्वाभिमान–शून्यदेखि १० प्रतिशत दरको प्रस्ताव
हाल नेपाली नागरिकले १ देखि ३९ प्रतिशतसम्म आयकर तिर्नुपर्ने व्यवस्था छ ।
नयाँ सोच भन्छ, ‘यदि कर प्रणाली सरल, न्यून, र न्यायपूर्ण बनाइयो भने, धेरै नागरिक गर्वका साथ स्वेच्छाले कर तिर्न तयार हुन्छन् ।’ ०–१० प्रतिशतको दरले कर नतिर्ने प्रवृत्तिमा परिवर्तन आउन सक्ने र कर प्रशासन पनि पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

नयाँ सोच, नयाँ बहस : आर्थिक परिवर्तनका लागि राष्ट्रिय संवाद आवश्यक
यी तीनै मुद्दामा गम्भीर राष्ट्रिय बहस आवश्यक भएको बताउँदै, योजनाकारहरूले चाँडै विस्तृत योजना र रणनीतिक दस्तावेज सार्वजनिक गरिने बताएका छन् । ‘अरूले सकेका छन् भने हामीले पनि सक्छौं, तर त्यसका लागि सोच, प्रणाली र नेतृत्वमा आमूल परिवर्तन आवश्यक छ’, उनले भनेका छन् ।

बस र कार ठोक्किँदा एक महिलाको मृत्यु, नौं जना घाइते

चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा बस र कार ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने नौं जना घाइते भएका छन् ।

नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार मंगबार साँझ आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी डीएसपी रबिन्द्र खनालका अनुसार बसमा सवार रत्ननगर–१० की ३३ वर्षीया पूजा सुबेदीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा बसका चालकसहित नौ जना घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये बस चालक रत्ननगर–२ का ३६ वर्षका सुरज कँडेलको अवस्था मध्यम छ । त्यसैगरी सामान्य घाइते हुनेमा गोरखा गण्डकी गाउँपालिका–५ का ३२ वर्षीय भोजराज काप्री, रत्ननगर–७ का २७ वर्षीय प्रभु नारायण महतो र उनका ८ वर्षीय छोरा रियान्स महतो, नुवाकोट थोप्रे गाउँपालिका–४ की ३५ वर्षीया सिता तामाङ, भरतपुर महानगरपालिका–१२ की ३७ वर्षीया शोभा आचार्य र उनकी ३ वर्षीया छोरी सदिक्षा आचार्य, राप्ती नगरपालिका–३ की २८ वर्षीया सबिता राई र गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ की ५५ वर्षीया माईता गुरुङ रहेका छन्।

दुर्घटनामा संलग्न कार चालक काठमाडौं तारकेश्वर नगरपालिका–१० का ४४ वर्षीय सुवास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै सवारीसाधनलाई अनुसन्धानका नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

 

सरकार र दलहरूबीच वालुवाटारमा बैठक, को–को छन् सहभागी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सुरु भएको छलफलमा विभिन्न १० राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाइएको छ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाका चुनावको मिति तोकिएको छ। चुनावी सुरक्षाको विषयलाई लिएर राजनीतिक दलहरूले संशय व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले दलहरूसँग संवादको सुरुवात गरेकी हुन् ।

कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक राजनीतिक दलहरूसँग सामुहिक छलफल गरेकी हुन् । कार्की जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी हुन् । यसअघि प्रधानमन्त्री कार्की राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा भने सहभागी भएकी थिइन्। खासगरी नेकपा एमालेले आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेको छ । उसले निर्वाचन हुन नसक्ने निष्कर्ष निकाल्दै संसद् पुर्नस्थापनाको माग राखेको छ । यो अवस्थामा प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई पनि बोलाइएको छ ।

दुवै जना पर्यवेक्षकको रुपमा सहभागी हुन भनिएको हो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी हुने भएका छन् । जनमतका नेता चन्दन सिंह समेत सहभागी छन् । कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका छन् । रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला गएका छन् ।

 

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जंगल सफारी रुट कायम गरेको छ । वर्षाको मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जंगल सफारी गर्न निकुञ्ज खुला गरिएको हो । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीका अनुसार पर्यटक प्रवेशका लागि रुट कायम गरिएको हो । निकुञ्जको मुख्य आकर्षण मानिने शुक्लाफाँटा घाँसेमैदानका भित्री फाँटमा वर्षाको पानी अझै जमिरहेकाले सो क्षेत्रमा हालका लागि सवारी साधन आवतजावतमा गर्न कठिनाइ हुने भएकाले जंगल सफारी रुट रुट कायम गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको सहज प्रवेशका लागि रुट सञ्चालनमा ल्याएको उनले जानकारी दिए । चौधरीका अनुसार मझगाउँ–बर्कौला–शुक्लाफाँटा–सिंहपुर–रानीताल–बाबाताल हुँदै पुनः मझगाउँसम्मको रुट पर्यटकका लागि कायम गरिएको छ । बाबातालबाट पनि प्रवेश गरी मझगाउँ पुग्नसक्ने व्यवस्था गरिएको छ ।

‘यी दुवै रुट पुरानै हुन्’, निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले भने, ‘मुख्य रुटमा सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्थामा छन्, घाँसेमैदानभित्रका फाँटहरूमा अहिले पनि पानी जमेको भएकाले हालका लागि गाडी प्रवेश गराउन सकिने अवस्था छैन ।’ निर्धारित रुटमार्फत पर्यटकले घना जंगल, वन्यजन्तु र प्राकृतिक दृश्यको अवलोकन गर्न सक्ने उनले बताए ।

निकुञ्जमा अहिले चितुवा, हात्ती, बाघ, गैँडा, हरिण, मृग, नीलगाई र विभिन्न प्रजातिका चरा अवलोकन गर्न सकिन्छ । साथै, शुक्लाफाँटाको विशेषता मानिने घाँसेमैदान, बाबाताल, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, रानी ताल र बर्कौला क्षेत्र निकुञ्जभित्रका मुख्य पर्यटकीय आकर्षणका बिन्दु हुन् । सूचना अधिकारी बाग्लेका अनुसार वर्षाको पानी सुकेपछि शुक्लाफाँटाका घाँसेमैदानभित्रका सडक पुनः पर्यटकका लागि सफारी सञ्चालन गरिनेछ ।

‘हाल पर्यटकको सहज आवागमनलाई प्राथमिकता दिँदै रुट सीमित गरिएको हो’, उनले भने, ‘पानी सुकेपछि पूर्ववर्ती रुपमै सफारी सञ्चालन हुनेछ ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालको पश्चिमी भूभागमा अवस्थित एक मात्र घाँसे मैदानयुक्त निकुञ्जका रूपमा रहेको छ । जहाँ विश्वकै दुर्लभ स्वाम्प डियर (बाह्रसिङ्गा) को महत्वपूर्ण बासस्थान मानिने उनले जानकारी दिए । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ । रासस

 

 

सर्वदलीय वैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुँदै

काठमाडौं । राजनीतिक दलहरुसँगको संवादमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पर्यवेक्षक राख्ने भएकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केदारभक्क माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रुपमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री कार्कीले ७ राजनीतिक दलहरुसँग आज निर्वाचनका विषयमा छलफल आयोजना गरेकी छिन् । निर्वाचन गराउने उद्देश्यसहित गठन भएको कार्की नेतृत्वको अन्तरिम सरकारले पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गर्न लागेको हो ।

‘आज बालुवाटारमा राजनीतिक दलहरूसँग चुनावबारे हुने संवादमा २ जना पर्यवेक्षक पनि सहभागी हुने छन्’, प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले ह्वाट्सएप ग्रुपमा पत्रकारहरुलाई पठाएको सन्देशमा भनिएको छ, ‘केदारभक्त माथेमा र विद्याधर मल्लिक बैठकमा सहभागी हुनु हुनेछ ।’

प्रधानमन्त्रीले डाकेको बैठकमा राजनीतिक दलको नेतृत्वमा रहेका प्रत्येक दलबाट दुई जनालाई प्रतिनिधित्व गराइदिन प्रधानमन्त्रीको तर्फबाट ७ वटा राजनीतिक दललाई पत्राचार गरिएको थियो । बैठकमा नेकपा (एमाले)का तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । यसअघि राष्ट्रपतिले डाकेको बैठकमा एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए । त्यस्तै नेपाली कांग्रेसबाट उपसभापति गगन थापा, प्रकाशशरण महत बैठकमा सहभागी भएका छन् ।

राष्ट्रपतिले डाकेको बैठकमा पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका थिए । त्यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी हुने भएका छन् । राष्ट्रपतिले आव्हान गरेको बैठकमा भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी भएका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी हुने भएका छन् । राष्ट्रपतिले डाकेको बैठकमा कार्यवाहक सभापति डिपी अर्याल गएका थिए । mागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि यसअघि राष्ट्रपति र निर्वाचन आयोगले दलहरुसँग छुट्टाछुट्टै छलफल गरेको थियो । तर सरकार आफैले भने दलहरुसँग संवाद गरेको थिएन ।

 

 

 

तिहारमा फर्कियो भुल्केका १०७ घरमा उज्यालो

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा वडाको सक्रिय पहलमा १०७ घरमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । बेहेश्वर जलविद्युत् आयोजनामा चट्याङका कारण क्षति पुगेर बस्ती अन्धकारमा डुबेपछि वडाले पहल गरी पुनः उज्यालो फर्काएको हो । यही असोज १९ देखि २१ गतेसम्मको लगातारको वर्षासँगै परेको चट्याङले स्थानीय जलविद्युत् आयोजनाको मेसिन बिग्रिएपछि सम्पूर्ण बस्तीमा विद्युत् सेवा ठप्प भएको थियो ।

स्थानीयस्तरमा वितरण गरिएको विद्युत्मा समस्या आएपछि वडाको पहलमा केन्द्रीय विद्युत् विस्तार गरिएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिए । ८८ परिवारलाई मिटर समेत वितरण गरिएको छ । विगतको विद्युत् सेवा अवरोध भएपछि अन्धकार बनेको बस्तीमा पाँच दिनभित्रै केन्द्रीय लाइन विस्तार कार्य सम्पन्न हो । रासस

सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने स्पष्ट पारेकी छन् । मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी काम गर्ने बताइन् । त्यस्तै जनेजी आन्दोलनले दिएको म्यान्डेटअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उनले बताइन् । त्यस्तै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिइन् ।

छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेहरुले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिदै भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी दिएका थिए । छलफलमा सहभागी सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि यसअघिको सरकार र प्रतिनिधिसभा विस्थापीत गरेपनि पुरानै संरचना कायमै रहेकाले काम गर्नका लागि असहज भइरहेको बताए ।

त्यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको कार्यप्रगतिबारे घाइतेहरुलाई अवगत गराएका थिए । घाइतेहरुले जेनजीले उठाएका मुद्दाहरुमा भन्दा निर्वाचनमा मात्रै सरकारको ध्यान गएको भन्दै आपत्ति जनाएका थिए । जेनजी आन्दोलनका क्रममा घाइते रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूहले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

संविधानलाई सही बाटोमा ल्याउन निर्वाचनको विकल्प छैन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले आउँदो २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन् । आज (मंगलबार) ललितपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा पुनले माओवादी केन्द्रले निर्वाचन सफल बनाउन सरकारलाई पूर्ण सहयोग गर्ने बताए । उनले नेपाली काँग्रेस र एमालेसहित सबै राजनीतिक दललाई पनि चुनावका तयारीमा जुट्न आग्रह गरे ।

‘संविधानलाई सही बाटोमा ल्याउन तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन । हामी चुनावका लागि प्रतिबद्ध छौं र सबै दललाई पनि त्यसको पक्षमा उभिन आग्रह गर्छौं,’ उनले भने । उनले केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी माओवादी केन्द्र निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेको जानकारी दिए ।

‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। हामीले भन्यौं— माओवादी चुनावको पक्षमा छ । हामी चुनावी वातावरण बनाउँछौं, तर अरु दलले पनि त्यसका लागि योगदान दिनुपर्छ,’ पुनले भने । पुनले भदौ २३ गतेको जेनजी आन्दोलनलाई जनआवाजको सही अभिव्यक्ति भनेका छन्, तर २४ गते भएको तोडफोड र विध्वंस बाह्य घुसपैठियाले गराएको बताए ।

दुवै दिनका घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न उनले सरकारसँग माग गरे । कांग्रेस–एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएकाले जनतामा निराशा र आक्रोश फैलिएको उनको दाबी छ ।जनतामा आम असन्तुष्टि नयाँ पुस्ताको अगुवाइमा ‘जेनजी आन्दोलन’का रूपमा विस्फोट भएको उनको भनाइ छ । ‘ओलीको निरंकुशता, स्वेच्छाचारिता र भ्रष्ट चरित्रविरुद्ध जनता सडकमा आएका हुन्,’ उनले भने, ‘हामीले पटक–पटक जनताको भावना बुझ्न र कार्यशैली सुधार्न आग्रह गर्यौं, तर सरकारले सुनेन ।’

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि जनताको असन्तुष्टि पहिल्यै बुझेर ‘लाखौं जनता सिंहदरबार र बालुवाटार घेर्न आउँछन्’ भनेको स्मरण गरे । तर सो भनाइलाई तोडमोड गरी माओवादीलाई सिंहदरबार जलाउन चाहने शक्तिको रूपमा चित्रण गर्न खोजिएको उनले आरोप लगाए । ‘प्रचण्डले सिंहदरबार जलाउन भनेका होइनन्, जनतामा बढ्दो असन्तुष्टि सरकारले बुझोस् भन्ने सन्देश दिएका हुन्,’ उनले भने । उनले माओवादी र अन्य दल एउटै हुन् भन्ने धारणा स्थापित गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सुशासनका मामिलामा माओवादी फरक रहेको दाबी गरे ।

‘प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा सुशासनका पक्षमा गरेका कदम नै त्यसको प्रमाण हुन्,’ उनले भने । पुनले विगतका सबै चर्चित भ्रष्टाचार र अनियमितता प्रकरण छानबिन हुनुपर्ने माग गर्दै आफ्नो दल त्यसमा सहयोग गर्न तयार रहेको बताए । ‘हामी सरकारमा रहेर नेता, कार्यकर्ता वा समर्थकको शिर निहुराउने काम गरेका छैनौं,’ नेता पुनले भनेका छन् ।

 

प्रधानमन्त्री र मन्त्रीलाई जेनजी घाइतेको चेतावनी : भ्रष्टाचारीमाथि कारबाही नभए फेरि आन्दोलन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा चार घण्टा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको छ । घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताएको छ ।

घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ ।’ गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराएका छन् । ‘तपाईं चुनाव चुनाव मात्र भनिरहनु भएको छ । के २०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो ?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो । छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी जेन–जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी हामी काम गर्छौं । हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ । चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ । राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन् । आआफ्नो ठाउँबाट काम भइरहेको छ । तपाईंहरू बोल्न नछाड्नु होस् । हामीलाई दबाब दिन पनि नछाड्नुहोस् । हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नु भएकै होला।’

घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए । गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए । आजै प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग निर्वाचनको तयारीबारे छलफल गर्दै छिन् ।

महाधिवेशनले नै पार्टी नेतृत्वको फैसला गर्छ : प्रदीप ज्ञवाली

भक्तपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मंसिरमा हुने पार्टी महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही महाधिवेशनले नेतृत्वको फैसला गर्ने बताएका हुन् ।

हालै भएको तीन दिन लामो केन्द्रीय कमिटी बैठकमा पार्टीका बारेमा सविस्तार छलफल गरिएको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले नेतृत्वमाथि प्रश्न उठाइएपछि ती प्रश्नको निरुपण गर्न महाधिवशनको मिति निर्धारण गरिएको सुनाए । ‘बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि अनुत्तरित हुन सकिँदैन, पार्टीको सार्वभौमसत्ता पार्टीका कार्यकर्ताहमा निहित हुने भएकाले त्यही जाऔँ भन्ने कुरा भयो । अब महाधिवेशनले कसलाई नेता र नेतृत्वमा ल्याउन भन्छ, कस्तो नीति बनाउ भन्छ त्यही फैसलाअनुसार अगाडि बढ्छौँ’, उनले भने ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य महेश बस्नेत, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, एमाले जिल्ला उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालगायतले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए ।

 

नेताहरुको सन्देश : नेपालीहरुबीच एकता र भाइचाराको प्रेरणा

काठमाडौं । मुलुकका शीर्ष नेताहरुले तिहार पर्वको अवसरमा नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको भावना थप प्रगाढ बनोस् भन्ने कामना गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरी तिहार लगायतका पर्वले विविधता भित्र एकता कायम गर्न प्रेरणा दिने उल्लेख गरेका छन् ।

उनीहरुले समाजमा उज्यालो, सुशासन र समृद्धिको मार्ग प्रशस्त हुने आशा व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने पर्व भएको बताएका छन् । यसले सबै जातजाति, भाषाभाषी र संस्कृतिलाई समेटेर साझा राष्ट्रिय भावना सुदृढ गर्ने उनीको भनाई छ । राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको उल्लेख गरेका छन् ।

‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयत्न गरेको छ’, राष्ट्रपतिद्धारा जारी सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत ११४६ र छठ पर्वका अवसरमा शुभकामना दिँदै सबै नेपालीलाई शान्ति, समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न राष्ट्रिय एकता र दृढ संकल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् । उनले कठिन परिस्थितिमा एकतावद्ध रहने नेपालीको मौलिक संस्कृति भएको उल्लेख गर्दै सबै मिलेर अन्धकारको अन्त्य गर्दै उज्यालो नेपालको निर्माण गर्न लाग्नुपर्नेमा जोड दिएकी छन् । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता पनि जनाएकी छन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले तिहार पर्वले नेपाली समाजमा सांस्कृतिक तथा भावनात्मक एकता सुदृढ गर्ने विश्वास व्यक्त गरे । उनले गणतन्त्रले विविध जाति, धर्म र समुदायका सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिएको उल्लेख गरेका छन् । यस्ता पर्वहरूले साङ्गठानिक र सामाजिक रूपमा अझ नजिक ल्याएको उनको भनाई छ । अध्यक्ष दाहालले तिहार पर्वमा पशुपंक्षी र प्रकृति पूजनमार्फत मानव समाज र प्रकृतिबीचको सहअस्तित्व झल्किने उल्लेख गर्दै देउसी भैलो जस्ता सांस्कृतिक गतिविधिहरुले नेपाली संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन् । तिहार पर्वले नेपाली मौलिकता, सांस्कृतिक समृद्धि र सामाजिक एकताको महत्व उजागर गर्दै नेपाली समाजमा आशा, उज्यालो र सहिष्णुताको सन्देश फैलाउने विश्वास लिइएको छ । – न्युज एजेन्सी नेपाल

 

 

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्ला । खेतमा लटरम्मै पाकेको मार्सीधान काट्न जुम्लाका किसानलाई अहिले यहाँ भ्याइनभ्याइ भएको छ । देशभर तिहार पर्वको रौनकका बीच जुम्लाका किसान भने एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्याउन व्यस्त हुन परेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाईले बताए ।

यहाँका अधिकांश किसान दसैँ सकिएलगत्तै तिहार पर्व पनि नभनी धान काट्न व्यस्त देखिन्छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लाको पहिचानका रुपमा रहेको मार्सीधानखेती गर्ने आफ्नै क्यालेन्डर छ, त्यही क्यालेन्डरका आधारमा जिल्लाका किसानहरु धान भित्र्याउन फाँटहरूमा व्यस्त छन् । किसानलाई मौसमले साथ दिएको छ ।

धान चैतमा बीउ राख्ने, जेठदेखि असारसम्म रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान काटेर घरमा भित्र्याउने गरेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । किसानहरू बर्खेबाली धानसहित कोदो, सिमी र फापरलगायतका बालीनाली भित्र्याउने चटारोमा छन् ।

कृषि कार्यालयका अनुसार आव २०८०÷८१ मा जुम्लामा तीन हजार मेट्रिक टन मार्सी धान उत्पादन भएकामा २५० मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको थियो । जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सीधान लगाउने क्षेत्रफल घट्दै गएको कार्यालयले जनाएको छ ।

गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने एक हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ । अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–एक र चन्दननाथ–तीन का साथै लेकाली–एक र लेकाली– तीन जातको धान रोप्ने गरेका छन् ।

जुम्ली मार्सीधान पहिचानसँग जोडिएको छ । अहिले मार्सी चामल सदरमुकाम खलङ्गामा प्रतिकेजी १८० रुपैयाँमा किनबेच भइरहेको छ । विशेष गरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सी चामल लिन गरेको सदरमुकामस्थित रारालिही अग्र्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए ।

६ उद्योगको मात्रै चार अर्ब विद्युत बक्यौता, उद्योगीद्वारा तिर्न अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगले ४ अर्ब विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेको छ । प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो । जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवमको ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ ।

यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको थप महसुल बापतको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले पटक–पटक बक्यौता तिर्न आह्वान गर्दा समेत उद्योगीले अटेर गरेपछि बाध्यभएर लाइन काट्नु परेको बताए । उनका अनुसार ६ ओटा उद्योग जसले ४ अर्ब भन्दा बढि बक्यौता तिरेका छैनन् । बक्यौता तिर्न सुरु नगर्दासम्म लाइन नजोडिने उनले बताए ।

कार्यकारी निर्देशक सिलवालले भने, ‘हामीले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट,घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको छौं । ती उद्योगको मात्रै ४ अर्ब बक्यौता छ । पटक पटक तिर्न पत्राचार गर्दा पनि सुनुबाइ भएन्, जसकारण लाइन काट्न बाध्य भयौँ । उहाँहरु तिर्न नआएसम्म लाइन जडान हुँदैन ।’ सिलवालका अनुसार तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्नसक्ने गरी काउन्टरको व्यवस्था गरिएको छ । अहिले नै उद्योगीले सबै रकम तिर्नुपर्छ भनेर प्राधिकरणले भन्दैन । २८ किस्ताको सुविधा दिइएको छ । पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने सिलवालले बताए ।

यसअघि प्राधिकरणले २१ दिने सूचना निकालेर विजुलीको बक्यौता नतिर्ने उद्योगीको लाइन काट्ने चेतावनी दिएको थियो । प्राधिकरणले १२ असोजमा सूचना जारी गरेपछिदुई नयाँ उद्योगले किस्तामा बक्यौता तिर्न थालेका छन् । त्यसबाहेक अन्य उद्योगहरुले भने विवाद निरुपण नभएसम्म बक्यौता नतिर्ने अडान राख्दै आएका छन् । यसअघि बक्यौता नतिरेकाअशोक स्टिस्ल र हामा स्टिल्सले किस्तामा बक्यौता तिर्न थालेका हुन् । यसअघि नै किस्ताबन्दीमा बक्यौता तिर्न शुरु गरिसकेका हुलास स्टिल, लक्ष्मी स्टिल्स, सर्वोत्तम सिमन्टलगायतले पनि नयाँ किस्ता तिरेको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि विद्युत् बक्यौतामा उद्यागी र व्यवसायीहरुबिच टकराव चल्दै आएको छ । अहिले पनि त्यस्तो बक्यौता नतिर्ने बताएका छन् । पीडित तथा प्रताडित उद्योग समूह (नेपाल) द्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हामी प्रत्येक नेपाली नागरिक र सुशासनका लागि हालै आन्दोलनमा उत्रेको युवा पुस्ता (जेन–जी) लाई अपील गर्दछौं । यो संस्थागत स्वेच्छाचारिता र प्रमाणहीन शक्तिको विरुद्धको लडाई हो, जसले हरेक नेपालीको आर्थिक भविष्यमाथि खतरा सिर्जना गरेको छ ।’

उद्योगीले प्रमाणमा गम्भीर कमजोरी रहेको स्पष्ट पारेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘यो विवाद एक–दुई कम्पनीको मात्र होइन, ३० भन्दा बढी ठूला उद्योगहरूको साझा समस्या हो । बितेका सात वर्षभन्दा बढी समयदेखि कुनै पनि उद्योगले डेडिकेटेड लाइनको प्रिमियम सेवा प्रयोग गरेको कुरा स्वीकार नगर्नुले प्राधिकरणको बिलिङ प्रणाली र प्रमाणमा गम्भीर कमजोरी रहेको स्पष्ट पार्छ ।’

उनीहरुले प्रमाणको माग समेत गरेका छन् । ‘हाम्रो माग पारदर्शी र न्यायपूर्ण छ । हामीले प्राधिकरणद्वारा गठित लाल आयोगको प्रतिवेदन र टी.ओ.डी. मिटर डाटा अर्थात लोडसेडिङको बखत उद्योग सञ्चालन गरेको प्रमाणका आधारमा मात्रै दायित्व निर्धारण गर्नुपर्ने माग गर्दै आएका छौँ । कसरी भुक्तानी गर्ने, जब प्राधिकरणसँग हामीले सेवा उपयोग गरेको प्रमाण नै छैन ?’’

उद्योगीले प्राधिकरणको कदमलाई स्वेच्छाचारी भनेका छन् । उनीहरुका अनुसार प्राधिकरणले कानुनी प्रक्रियालाई लत्याएको छ । उद्योगहरूलाई प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिन लगाई, सो प्रक्रियाको लागि कुल विवादित रकमको ५ प्रतिशत बैंक ग्यारेन्टी समेत जम्मा गर्न लगाएपछि, प्राधिकरणको सञ्चालक समितिले सो सम्पूर्ण प्रक्रिया र काम कारबाही स्वेच्छाचारी ढंगले रद्द गरिदिएको र यो संस्थागत अन्याय र कानुनी शासनप्रतिको घोर उपेक्षा रहेको बताएका छन्। पीडित उद्योगीहरुले प्राधिकरणको कदमले राष्ट्रिय क्षति पुग्ने बताएका छन् ।

‘बिजुली काट्ने धम्की ऋण उठाउने वैध रणनीति होइन; यो राष्ट्रिय अर्थतन्त्रलाई आत्मघाती नोक्सान पु–याउने कदम हो’, विज्ञप्तीमा भनिएको छ । उद्योगीका अनुसार यो विवादमा संलग्न उद्योगहरूले सामूहिक रूपमा १५ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी दिएका छन् । बिजुली काटिएमा यी उद्योग बन्द हुनेछन् र हजारौं नेपाली परिवारको रोजीरोटी खोसिने छ,जुन अहिलेको आर्थिक मन्दीको समयमा सबैभन्दा ठूलो सामाजिक संकट हुनेछ । –न्युज एजेन्सी नेपाल

 

विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपदमा मिलेको सफलता

काठमाडौं । पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरुपता कायम गर्न सकेको अवस्थामा प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने पुष्टयाइँ यस वर्षको मनुसन पूर्व योजना र प्रतिकार्यको तयारीबाट स्पष्ट भएको छ ।विपद्को अवस्थामा सरोकारवालाबीच समन्वय, सहयोग र सहकार्य प्रभावकारी हुँदा विगतका तुलनामा यसवर्ष विपद्बाट हुने क्षति न्यूनीकरणमा सफलता मिलेको नेपाली सेनाले जनाएको छ ।

विपद्को स्वरुप र अघिल्लो वर्षको विपद् व्यवस्थापनको अनुभवका आधारमा तयार गरिएको मनसुन पूर्व तयारी र प्रतिकार्य योजनाको कार्यान्वयनबाट क्षति न्यूनीकरण गर्न सकिएको सेनाको विपद् व्यवस्थापन निर्देशन विष्णुकुमार खड्का बताउँछन् । ‘नेपाल हरेक प्रकारका प्राकृतिक प्रकोपका हिसाबले जोखिममा छ, मनसुन पूर्व तयारी र प्रतिकार्य योजना, विगतको सिकाइ र भोगाइसँगै तीन तहका सरकारबीच भएको समन्वयले यसवर्ष जनधनको क्षति न्यून गर्न सकिएको हो’, उनले भने ।

यस वर्षको मनसुनमा बाढी, पहिरोलगायत विभिन्न किसिमका मनसुनजन्य विपद् प्रतिकार्यको लागि १६३ स्थानमा जम्मा चार हजार ७२३ जना फौज खट्टिइ विपद् व्यवस्थापनमा सहयोग पु¥याइएको सेनाले जनाएको छ । सेनासँगै अग्रमोर्चामा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका साथै तीनै तहका सरकारको सहयोग तथा समन्वयमा यसपटक विपद् व्यवस्थापन गरिएको थियो ।

राजमार्गमा यातायात रोकिएको तथा सार्वजनिक बिदाका कारण पनि क्षति न्यूनीकरणमा सहयोग पुगेको सेनाको ठम्याइँ छ । सेनाले गत असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानका घटनामा १८ जिल्लाबाट एक हजार ८२ जनालाई सकुशल उद्धार गरेको थियो । इलाम र झापामा बाढी तथा पहिरोमा फसेका २३ जनाको सैनिक हवाई साधनमार्फत उद्धार गरिएको थियो । कोशी प्रदेश सरकारको अनुरोधमा इलामको माङ्सेवुङ गाउँपालिकाको गजुरमुखी क्षेत्रमा ७९४ किलो राहत सामग्री ढुवानी गरिएको छ। इलाममा हाल पनि विपद् व्यवस्थापनको कार्य भइरहेको सेनाले जनाएको छ ।

गत वैशाख १ देखि असोज १९ गतेसम्म बाढी, पहिरो, भारी वर्षा, डुबान, चट्याङलगायत चार हजार ६५ विपद्का घटनामा २८५ जनाको मृत्यु, २७ बेपत्ता र एक हजार ७२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसवर्षको मनसुन रसुवा र इलाम बढी प्रभावित भएका थिए । सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरी पुनःस्थापना र पुनःनिर्माणको काम अघि बढाएको छ । इलाममा मात्रै पहिरोमा परी ३८ जनाको मृत्यु भएको थियो । नेपालबाट यस वर्षको मनसुन गत असोज २४ गतेदेखि बाहिरिसकेको छ ।

गतवर्ष २५१ स्थानमा भएको डढेलो तथा २०२ स्थानमा भएको आगलागी नियन्त्रणका लागि १० हजार ६६३ फौज खटिएका थिए। यस्तै महाकाली नदीमा नदीजन्य पदार्थ व्यवस्थापन गरी सम्भावित क्षति न्यूनीकरण गर्न महाकालीको पूर्वतर्फ २५२ मिटर लामो तटबन्ध, पश्चिमतर्फ दुई हजार ६०० मिटर र मध्य भागमा ५२५ मिटर लम्बाइको च्यानल बनाइएको सेनाले जनाएको छ । सेनाले स्वदेशमा मात्र नभई म्यानमारमा पुगी गत चैत्रको भूकम्पपछि प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । सेनाको टोलीले एक हजार ३५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

 

एक महिनामै ७५ हजार पर्यटकले गरे मुस्ताङ भ्रमण

मुस्ताङ । मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या बढेको हो । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन । यहाँको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरि र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न यहाँ पर्यटक आउने गरेका छन् ।

असोजमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । असोज २१ गतेदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ४९ हजार ३७१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए ।

प्रहरी नायव उपरीक्षक लामाका अनुसार आन्तरिक तथा बाह्य गरी १४ हजार ३८९ पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । यसमा १३ हजार ९२९ आन्तरिक र ४५० विदेशी पर्यटक रहेका थिए । गत वर्ष असोजमा कूल ५९ हजार ८३१ आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सो अवधिमा ४७ हजार २९३ आन्तरिक र १२ हजार ५३८ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।

मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी २०।८५ प्रतिशतले पर्यटक सख्या घटेको देखिएको छ । मुस्ताङमा चालु आवको साउनदेखि असोजसम्ममा एक लाख १८ हजार ६८९ पर्यटक भित्रिएका थिए । साउनदेखि असोजसम्ममा ९१ हजार १२५ आन्तरिक र २७ हजार ४६४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । आर्थिक वर्ष २०८१ /८२ मा आन्तरिक तथा बाह्य गरी सात लाख पाँच हजार ७७९ पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सो अवधिमा पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको तथ्याङ्क छ । रासस

एक वर्षअघि विवाद, यसपालि गाउँकै तीन जना मिलेर गरे युवकको हत्या

बझाङ । बझाङमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट जयपृथ्वी नगरपालिका–५ डिलबगर गाउँका २० वर्षीय अभिशेष थापा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा कैलालीको धनगढीस्थित निःर्सग अस्पतालमा सोमबार उनको मृत्यु भएको हो ।
काठमाडौंमा अध्ययनरत अभिशेष तिहार मनाउन कात्तिक २ गते घर आएका थिए । घर आउने क्रममा २ गते बेलुकी ८ बजेतिर गाउँकै २२ वर्षीय प्रचण्ड थापा, २६ वर्षीय अनिल थापा र २१ वर्षीय खगेन्द्र जोशीले मिलेर उनीमाथि कुटपिट गरेका थिए ।

उनीहरूले अभिशेषको टाउकोमा लाठी प्रहार गरेका थिए । बझाङका प्रहरी प्रमुख डिएसपी खगेन्द्र धमलाका अनुसार अभिशेषमाथि कुटपिट गर्नमध्ये प्रचण्ड थापा नेपाली सेनाका सिन्धुपाल्चोकस्थित ईन्द्रध्वज गणमा कार्यरत सिपाही रहेको रहेको खुलेको छ ।
तिहार मनाउन घर बिदामा आएका सेनाका जवान प्रचण्ड लगायत गाउँ घरकै चिनजानका तीन युवाले अभिशेष माथि पुरानो रिसिइबीका कारण कुटपिट गरेको कुरा खुल्न आएको डिएसपी धमलाले बताए ।

‘गत वर्ष गाउँमा भएको भलिबल प्रतियोगिताका क्रममा उनीहरुबीच विवाद भएको रहेछ,’ डिएसपी धमलाले भने, ‘सोही विषयमा उनीहरूबीच फेरि भनाभन हुँदा तीन जना मिलेर लाठी अभिशेषमाथि निर्घात कुटपिट गरेका रहेछन् ।’ टाउकोमा लाठी प्रहारबाट भित्री चोट खेपेका अभिशेषको बझाङमा प्रारम्भिक उपचारपछि सिटी स्क्यान गर्न भनेर धनगढीस्थित निःर्सग अस्पताल लगिएको थियो । उपचारका क्रममा सोमबार त्यही उनको मृत्यु भएको थियो ।

आरोपित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र थप सोधपुछ हुन बाँकी रहेको डिएसपी धमलाले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा पोष्टमर्टमपछि आफन्तले अभिशेषको शव बुझिसकेको भए पनि अन्त्येष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अभिशेखका घर परिवारले तीन जनाबिरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।