`

काठमाडौंको गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरू)

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ । छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाई र सजावटको कार्य सुरु भएको छ ।

विशेषगरी तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ ।

यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ । केराका थम्बा, झिलिमिली बत्ती तथा सूर्याेदय र सूर्यास्तमा सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ ।

छठको तयारी तीव्र रूपमा भइरहेको छ र यस पटक गौरीघाटमा ६१० स्टलहरू तयार गरिएको गौरीघाट छठ विकास समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

सो स्टल प्रयोग गर्न प्रति व्यक्तिले १५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ । छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । छठको मूख्य दिन भोलि अस्ताउँदो सूर्यालाई अर्घ दिइन्छ ।

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (आइतबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठकमा पाँच महत्त्वपूर्ण कार्यसूचीमाथि छलफल हुनेछ ।

प्रमुख एजेण्डाहरू
– समसामयिक राजनीति र आगामी कदमः देशको वर्तमान राजनीतिक अवस्था र पार्टीले अब चाल्नुपर्ने कदमबारे गहन छलफल हुनेछ ।
– विस्तारित बैठक र महाधिवेशनको तयारीः आगामी कात्तिक २१ र २२ गते आयोजना हुने विस्तारित बैठकको तयारीबारे छलफल हुनेछ। यसैगरी, फागुन ७, ८ र ९ गतेका लागि तय भएको पहिलो महाधिवेशनको मिति सार्नेबारे पनि बैठकमा विचारविमर्श हुनेछ ।
–मतदाता नामावली दर्ता अभियानः आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएकाले कात्तिक मसान्तभित्र मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने समयसीमालाई मध्यनजर गर्दै पार्टीले यसलाई अभियानका रूपमा अघि बढाउने तयारी गरेको छ ।
–पार्टी गतिविधि समीक्षा र योजनाः हालसम्मका पार्टी गतिविधिहरूको समीक्षा गर्दै आगामी योजनाहरू निर्माण गरिनेछ ।
–विविध प्रस्तावहरूः माथि उल्लेखित एजेन्डाहरूबाहेक अन्य विविध प्रस्तावहरूमाथि पनि छलफल गरिनेछ ।
–पार्टीको यो बैठकले आगामी दिनका लागि महत्वपूर्ण रणनीतिहरू तय गर्ने अपेक्षा गरिएको छ । विशेषगरी, महाधिवेशनको मिति र मतदाता नामावली अभियानबारे गरिने निर्णयहरूलाई निकै चासोका साथ हेरिएको छ ।

सरकारलाई दुर्गा प्रसाईको सन्देश : वार्ताको स्वागत गर्ने, परिणाम चाहिने तर्क

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सरकारले आधिकारिक वार्तामा बोलाए स्वागत गर्ने जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ ।’ उनले अगाडि भनेका छन्, ‘जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ ।’

प्रसाईले वार्ता गर्न बोलाउँदैमा मात्रै देशले निकास नपाउने पनि स्पष्ट पारेका छन् । राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको उनले उल्लेख गरेका छन् । प्रसाईंले १५ कात्तिकपछि घोषणा गरेको आन्दोलन र त्यससँग सम्बन्धित सुरक्षा चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले हिजो (शनिबार) सरकारलाई ब्रिफिङ गरेका छन् ।

शनिबार बिहान चार वटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखहरूसँग प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालले छलफल गरेका थिए । करिब दुई घण्टासम्म चलेको उक्त छलफलमा सुरक्षा निकायका प्रमुखहरूले अहिलेसम्म संकलन गरेका विवरण र वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण सुनाएका थिए । सोही क्रममा प्रसाईं समूहले घोषणा गरेको आन्दोलन र सम्भावित चुनौतीबारे लामै छलफल भएको उच्च स्रोतले बताएको छ ।
स्रोतका अनुसार यसअघि पनि गत १५ चैतमा तीनकुनेमा भएको घटनाको उदाहरण दिँदै प्रसाईं समूहबाट फेरि पनि यस्ता गतिविधि हुन सक्नेतर्फ सचेत हुनुपर्ने सुरक्षा प्रमुखहरूको भनाइ थियो । ‘प्रसाईं समूहले विशेषगरी भाडामा मान्छे जम्मा पारेर ठूलो भिड जम्मा पार्नसक्ने देखिन्छ । गम्भीर समस्या पनि सिर्जना नहोला भन्न सकिँदैन,’ बालुवाटार बैठकमा एक सुरक्षा प्रमुखले भनेका छन्, ‘यो समूहको विशेष निगरानी आवश्यक छ ।’

प्रसाईं समूहको आन्दोलन व्यवस्थाकै विरुद्धमा भएकाले पनि घुसपैठ हुनसक्ने र अवस्था तनावपूर्ण बन्नसक्ने विश्लेषण बैठकमा सुरक्षा प्रमुखहरूले गरेका छन् । देश अहिले विषम परिस्थितिमा रहेको र यस्ता बेलामा अराजक आन्दोलनले थप क्षति हुँदा झनै संकट बढ्न सक्नेतर्फ प्रसाईंलाई सुरुमा सचेत गराउने तयारी सरकारको रहेको स्रोतको भनाइ छ । सोही विश्लेषण सुनेका गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक लगत्तै हिंसात्मक आन्दोलन नगर्न र संवादबाटै अघि बढ्न अपिल समेत गरेका थिए ।

सिंचाइका अलपत्र १२ आयोजनाको ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोडिंदै

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरी वर्षाैदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतबार सार्वजनिक सूचनामार्फत १६ जेठ २०८१ र १ साउन २०८१मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइए पनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ ।

कार्यालयबाट पटक–पटकको अनुरोध तथा सर्वाजनिक सूचना जारी गर्दासमेत काम गर्न कुनै ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लेखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको जनाएको छ ।

सार्वजनिक खरिद कानुनको व्यवस्था बमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच एवम् बाँकी कामको मूल्याङ्कन गर्न १५ दिनभित्र सम्पन्न गर्न जानकारी गराइएको छ । रद्द गरिएका ठेक्का आर्थिक वर्ष २०६८र६९, २०६९र७०, २०७३ र ७४ र २०७४ र ७५मा गरिएका थिए ।

सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगञ्जले आइतबार आफू मातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।

तुम्लिङ्टारले १७, इलामले १२, हेटौंडाले ७ र नेपालगञ्जले ४ ठेक्का गरी ४० ठेक्का ठेक्का किन नतोड्ने ?भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् । विभिन्न सडक डिभिजन कार्यालयले यस अघि रुग्ण रहेका ६८ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइसकेका छन् ।

मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।

विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।

सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।

उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा…

काठमाडौं । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरो मात्र थियो। हामीले हेर्ने आकाश पनि हरायो ।’ ओखलढुङ्गाका डेनिस मगरले यसरीे यर्थाथ सुनाए ।

सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा मगरसहितको टोली करिब १० घण्टा बेपत्ता भएका थिए । गत सोमबार सल्लेरीबाट हिँडेको मगरसहितको एक टोली सोलुदुधकुण्ड नगरपालिका–१ कै कामोडाँडा क्षेत्र पार गर्दै दुधकुण्डतर्फ लाग्दै थियो । बिहानै उकालो लागेका उनीहरू पदमार्गको दोबाटोमा पुगेपछि गलत दिशातर्फ हिँडे । केही समयपछि बाटो भिरको टुप्पोमै हरायो । मोबाइल सिग्नलसमेत हराएसँगै टोली नै कामोडाँडाभन्दा माथिल्लो क्षेत्रमा बेपत्ता भयो ।

स्थानीय होटल व्यवसायी मिलन कार्की भन्छन्, ‘साङ्केतिक बोर्ड र दिशानिर्देश नभएपछि पर्यटकले गलत बाटो समात्ने समस्या बढ्दै गएको छ ।’ भौगोलिक कठिनाइ र कमजोर सञ्जालका कारण खोज तथा उद्धारमा स्थानीयलाई निकै कठिनाइ भएको थियो । स्थानीय पर्यटन व्यवसायी र युवाहरूको सहयोगमा मगर र उनका साथीहरूको करिब १० घण्टापछि उद्धार गर्न सफल भइयो। दुधकुण्ड क्षेत्रमा पर्यटकहरू हराउने गरेको घटना सामान्य बन्दै गएको छ । पछिल्ला वर्षहरूमा दुधकुण्ड क्षेत्रमा बाटो भुल्ने, हराउने र उद्धारमा ढिलाइ हुने घटना बारम्बार भइरहेको स्थानीय बताउँछन् ।

दुधकुण्ड पुग्ने मुख्य पदमार्गमा पर्ने तीन हजार ८६० मिटर उचाइमा अवस्थित कामोडाँडा यस्ता घटनाको केन्द्रबिन्दु बनेको छ । यहीँबाट बायाँतर्फ मोडिनुपर्ने बाटो नै दुधकुण्ड पुग्ने मुख्य मार्ग हो । तर कतिपय स्वदेशी तथा विदेशी पर्यटक सो मोड थाहा नपाएर लुक्ला जाने बाटोतर्फ उकालो लाग्ने गर्छन् । त्यसपछि उनीहरू घण्टौँसम्म जङ्गल र भिरालो भूभागमा भौतारिन्छन् । ‘पदमार्गमा स्पष्ट देखिने कुनै सङ्केत छैन। कुन बाटो कुन ठाउँ जान्छ भन्ने थाहा नहुने भएकाले धेरैजसो भ्रमणकर्ता बाटो भुल्छन्’, स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पाले भने ।

कमजोर नेटवर्क दुधकुण्ड क्षेत्र हिमालको फेदमा पर्ने भिरालो भूगोलमा पर्छ । यहाँ टेलिफोन सञ्जाल अत्यन्त कमजोर छ । भिरालो बाटो, हिउँले ढाकिएको पदमार्ग, कुहिरो र हावाका कारण दृश्य कम हुने भएकाले पर्यटकहरूलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ । स्थानीय मिङ्मार शेर्पा भन्छन्, ‘कसैले हरायो भने तुरुन्त खोजी सुरु गर्न सकिँदैन । नेटवर्क नै नचल्ने ठाउँ छ । उद्धारका लागि मानिस पैदलै जानुपर्छ ।’

भौगोलिक कारणले सञ्चार सम्पर्क कम्जोर हुँदा उद्धारमा कठिनाइ हुने गरेको स्थानीय जानकारहरू बताउँछन् । ‘दुधकुण्ड पुग्ने बाटो अत्यन्त कठिन छ । हिँड्दा लाग्छ हिमाल बोल्दैछ, तर बाटो देखिँदैन। बाटोमा कुनै जानकारीमूलक बोर्ड छैन’, सुनसरीको धरानबाट दुधकुण्ड पुगेका भक्तजन भविस्वर साम्पाङले भने । नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले भने, ‘दुधकुण्ड धार्मिक मात्र होइन, अन्तर्राष्ट्रियस्तरको ट्रेकिङ र अध्यात्मिक केन्द्र बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो । तर सम्बन्धित निकायले अझै प्राथमिकता दिएको छैन ।’

धनकुटाका अमृत पौडेलले भन्छन्, ‘हामी दुधकुण्ड पुगेका थियौँ, तर बाटोमा बोर्ड नभएका कारण करिब छ घण्टा जङ्गलतिर भुल्यौं । अहिले पनि यस्तो अवस्थामा पर्यटक हिँड्नु पर्ने ?’ दुधकुण्डः दूध जस्तो सेतो ताल र आस्थाको केन्द्र समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा अवस्थित दुधकुण्ड सोलुदुधकुण्ड नगरपालिका–१ मा पर्दछ । यो ताल नुम्बुर हिमाल (६,९५८ मिटर) को फेदमा छ । जसलाई स्थानीय ‘नुम्बुर हिमाल माताको काख’ भन्छन् ।

यहाँको कुण्डमा दूध जस्तो सेतो पानी भएकाले यसलाई ‘दुधकुण्ड’ नाम दिइएको हो । प्रत्येक वर्ष जनैपूर्णिमा पर्वका समयमा हजारौँ भक्तजन यहाँ पुग्छन्। धार्मिक विश्वासअनुसार यो तालमा स्नान गर्दा पाप नाश हुने, मनोकामना पूरा हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बी सबैका लागि यो स्थान पवित्र मानिन्छ । दुधकुण्ड केवल प्राकृतिक दृश्य होइन, यो आस्थाको प्रतीक, श्रद्धा र प्रकृतिको मिलनस्थल हो । नुम्बुर हिमाल हाल खुला आरोहणका लागि अनुमति दिइएका हिमालहरूमध्ये एक प्रसिद्ध हिमाल हो ।

यस हिमालमा गत कात्तिक ५ गते तीन विदेशी आरोहीले पहिलोपटक सफलतापूर्वक आरोहण गरेका छन् । सेभेन समिट ट्रेकका इटालियन नागरिक हर्भ, जर्मन फेलिक्स र पोल्याण्डका आडमले १५ घण्टाको आरोहणपछि सफलतापूर्वक शिखर चुमेका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार यो आरोहणले दुधकुण्ड क्षेत्रलाई अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने नयाँ ढोका खोलिदिएको छ ।

स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पा भन्छन्, ‘नुम्बुर हिमाल, दुधकुण्ड र वरिपरिको ग्रामीण जीवनशैली एकसाथ अनुभव गर्न सकिने गन्तव्य विश्वमै दुर्लभ छ । यसलाई व्यवस्थित गर्नसके सोलुखुम्बु अर्को ‘पवित्र ट्रेकिङ सर्किट’ बन्न सक्छ ।’ सोलुदुधकुण्ड नगरपालिकाले केही वर्षअघि दुधकुण्ड पुग्ने पदमार्गमा लगानी गरेको थियो । तर त्यसपछि सूचना–साङ्केतिक प्रणाली, उचाइ जानकारी, सुरक्षा चेकपोस्ट जस्ता आवश्यक पूर्वाधार निर्माण हुनसकेको छैन ।

नगर उपप्रमुख गान्धिमाया तामाङ भन्छिन्, ‘नगरपालिकाले पदमार्ग स्तरोन्नति र प्रचारमा ध्यान दिइरहेको छ । तर विस्तृत पर्यटन नक्सा र सङ्केत प्रणाली बनाउनतर्फ भने ध्यान जान सकेको छैन ।’ उनका अनुसार यसै आर्थिक वर्षभित्र ‘दुधकुण्ड पर्यटन प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत सङ्केत बोर्ड र पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । तर स्थानीय पर्यटन उद्यमीहरूका अनुसार योजनााई कार्यान्वयनमा ढिलाइ हुँदा परिणाम देखिँदैन ।

दुधकुण्ड क्षेत्रले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने क्षमता बोकेको छ । यहाँको पर्यटनले स्थानीय होटल, ढाबा, यातायात र हस्तकला उद्योगलाई प्रत्यक्ष फाइदा पुर्‍याउन सक्छ । तर असुरक्षित पदमार्ग र सूचना अभावका कारण कतिपय पर्यटक बीचैबाट फर्किन्छन् । यदि स्थानीय सरकार र निजी क्षेत्रले संयुक्त रूपमा लगानी गरे यस क्षेत्रले धार्मिक–पदयात्रा पर्यटन र हिमाली ट्रेकिङ दुवैलाई जोड्ने राष्ट्रिय गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायी बल दर्नालको भनाइ छ ।

तीन तहको सरकार, एउटै दृष्टिकोण आवश्यक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा भन्छन्, ‘दुधकुण्ड सर्किट ट्रेक हिमाल, ताल र संस्कृति। यी तीनै तत्त्वलाई एकसाथ देखाउने दुर्लभ गन्तव्य हो । यसको प्रवद्र्धनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै दृष्टिकोणमा उभिनु पर्छ ।’

यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्थायी सङ्केत बोर्ड, आपत्कालीन उद्धार केन्द्र र नियमित गाइड तालिम अपरिहार्य छन् । दुधकुण्ड केवल एउटा ताल होइन । यो नेपाली पहिचान र आस्थाको हिमाली प्रतीक हो । यसको संरक्षण र व्यवस्थापन हाम्रो सामूहिक जिम्मेवारी हो । यदि समयमै सङ्केत बोर्ड, सुरक्षा पूर्वाधार र सञ्चार सञ्जालमा सुधार गरिए यो हिमाली भूभाग केवल पर्यटकको चुनौती होइन आस्थाको यात्राको गौरवशाली गन्तव्य बन्न सक्छ ।

यसको विकासमा सबै तहको सरकार र निजी क्षेत्रको समेत चासो हुने हो भने जिल्लाको मात्र नभई देशकै अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने निश्चित रहेको पर्यटन व्यवसायी आङ फुर्वा शेर्पा बताउँछन् । दुधकुण्डको विकासका लागि विशेष खाका तयार गरेर अघि बढ्न सक्ने हो भने स्वदेशी तथा विदेशी धार्मिक तथा दृश्यावलोकन गर्ने पर्यटकलाई एकै स्थानमा उतार्न सकिने स्थानीय जानकारहरूको तर्क छ ।

–सुवास दर्नाल /रासस

 

गृहले भन्यो–प्रदर्शनमा घुसपैठ हुनसक्छ, आन्दोलनका कार्यक्रम नगर्नू

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत विभिन्न समूहले आह्वान गरेका धर्ना, जुलुस तथा विरोध प्रदर्शनका कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यक्रममा देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले घुसपैठ गरी अशान्ति र अराजकता फैलाउन सक्ने भन्दै आयोजकहरूलाई सचेत गराएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘जेन–जी’ पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको वातावरण बनाउन केन्द्रित रहेको उल्लेख छ ।

सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत र साधनको व्यवस्थापन तथा राजनीतिक दलहरूसँग संवाद गरिरहेको अवस्थामा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरिएको छ ।

मन्त्रालयले आफ्ना माग राख्दा आम जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकार कुण्ठित हुन नदिन सबैलाई आग्रह गरेको छ । साथै, मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवद्र्धनमा योगदान गर्न पनि अपिल गरिएको छ ।

‘सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनैपनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो : ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएका छन् ।प्योङयाङका नेता किम जोङ उनसँगको सम्भावित भेटसमेत समावेश हुनसक्ने एसियाली भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि उनले त्यस्तो टिप्पणी गरेका छन् ।

एयर फोर्स वानमा पत्रकारहरूले वासिङ्टनसँगको वार्ताका पूर्वशर्तका रूपमा उत्तर कोरियालाई आणविक राष्ट्रको रूपमा मान्यता दिनेबारे सोध्दा ट्रम्पले उत्तर दिए ‘ठिक छ, मलाई लाग्छ उनीहरू एक प्रकारका आणविक शक्ति हुन् । जब तपाईं भन्नुहुन्छ कि तिनीहरूलाई मान्यता दिनुपर्छ, ठिक छ, उनीहरूसँग धेरै आणविक हतियार छन्, म त्यसो भन्छु ।’

राष्ट्रपति ट्रम्प आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले यसअघि ट्रम्प प्रशासनका केही अधिकारीहरूले उनी र उत्तर कोरियाली नेता किमबीच पुनःवार्ताको सम्भावना खोज्दै अनौपचारिक छलफल चलाएको बताएका थिए ।

ट्रम्पले पनि किमलाई फेरि भेट्ने आशा व्यक्त गरेका छन्—सम्भवतः यही वर्षभित्र । उता, किम जोङ उनले हालै आफूलाई राष्ट्रपति ट्रम्पसँगका ‘सुखद सम्झनाहरू’ रहेको बताउँदै अमेरिकाले प्योङयाङलाई आफ्नो आणविक हतियार त्याग्न बाध्य पार्ने ‘भ्रमपूर्ण माग’ त्यागेमा वार्ताका लागि तयार रहेको उल्लेख गरेका थिए ।

दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ–युङले पनि राष्ट्रपति ट्रम्पको आगामी भ्रमणका क्रममा किमसँग भेट हुने ‘पर्याप्त सम्भावना’ रहेको विश्वास व्यक्त गरे । तर एक वरिष्ठ अमेरिकी अधिकारीले भने नाम नखुलाउने सर्तमा सञ्चारकर्मीहरूलाई जानकारी दिँदै सो भेट ‘यस भ्रमणको आधिकारिक तालिकामा नरहेको’ बताए ।

हालसम्म दुवै नेताबीच भेटवार्ताको औपचारिक घोषणा गरिएको छैन । यद्यपि, दक्षिण कोरिया र संयुक्त राष्ट्रसङ्घीय कमान्डले अक्टोबरको अन्त्यदेखि नोभेम्बरको सुरुसम्मका लागि संयुक्त सुरक्षा क्षेत्र (जेएसए) भ्रमण रोकिएको जानकारी दिएका छन् ।

किम र ट्रम्पबीच अन्तिम भेट सन् २०१९ मा दुई कोरियालाई छुट्याउने असैन्य क्षेत्र (डिमिलिट्राइज्ड जोन) भित्र पर्ने पान्मुन्जोमको जेएसएमा भएको थियो । यही स्थानमा दुवै देशका सैनिकहरू नियमित रूपमा आमनेसामने हुने गर्छन् । मन्त्री चुङका अनुसार यस वर्ष उत्तर कोरियालीहरू जेएसए नजिकको क्षेत्र सफा गर्ने, फुल रोप्ने, फोटो खिच्ने जस्ता गतिविधिमा व्यस्त देखिएका छन् ।

राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा किम जोङ उनसँग तीनपटक उच्चस्तरीय शिखर वार्ता भएको थियो । तीमध्ये एक भेट सन् २०१९ मा ट्रम्पले ट्विटरमार्फत अचानक निमन्त्रणापछि पान्मुन्जोममा भएको थियो । त्यहाँ दुवै नेताले सीमामा हात मिलाएका थिए । त्यसबेला ट्रम्प उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।

तर, उत्तर कोरियाले आफ्नो आणविक हतियार कति त्याग्ने र त्यसको सट्टामा पाउने लाभबारे सहमति नजुट्दा वार्ता अन्ततः असफल भएको थियो । त्यसयता प्योङयाङले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति’ का रूपमा घोषणा गर्दै आएको छ ।

 

मन्त्री घिसिङद्वारा निर्माणाधिन संसद भवनको निरीक्षण

काठमाडौँ । शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधिन संसद भवन निरीक्षण गरेका छन।

शनिवार सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन् । आगामी निर्वाचन फागुन २१ मा हुँदैछ । फागुन २१ मा निर्वाचन भइ प्रतिनिधि सभा सदस्यहरुले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तिब्र बनाउन निर्देशन दिइएको छ ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद भवन जेन-जी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनिसञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । नयाँ संसद भवन छिटो भन्दा छिटो सञ्चालन गर्न नसके असर धेरै पर्ने स्थिति रहेको उनको भनाई छ ।

पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भनेपनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको उनले बताए । मन्त्री घिसिङले हरेक दिनको सेड्युल बनाएर काम गर्न तथा दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । जस्का लागी मन्त्ती घिसिङले दुई दिनभित्र सेड्युल पेश गर्न र त्यही अनुसार काम गर्न निर्देशन दिए ।

साथै निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने उनको जिकिर छ। आवश्यक श्रोत, साधन र जनशक्ति खटाएर तिब्रताका साथ काम गर्न सकिने बताउँदै उनले समयमै काम सम्पन्न नभए कारबाही स्वरुप जरिबाना तिराउने चेतावनी समेत दिएका छन् ।

अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ । तर राजनीतिक दलहरु भने सरकार निर्वाचन गराउन भन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा एमाले संसद पुनःस्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ ।

 

समयमै संसद भवन निर्माण नसकिए जरिवाना तिराउने मन्त्री घिसिङको चेतावनी

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद भवन निरीक्षण गरेका छन् । शनिवार सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन् ।

आगामी निर्वाचन फागुन २१ मा हुँदैछ । फागुन २१ मा निर्वाचन भइ प्रतिनिधि सभा सदस्यहरुले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीब्र बनाउन निर्देशन दिइएको छ ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनिसञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । नयाँ संसद भवन छिटो भन्दा छिटो सञ्चालन गर्न नसके असर धेरै पर्ने स्थिति रहेको बताए ।

पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भनेपनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको बताए । हरेक दिनको सेड्युल बनाएर काम गर्न निर्देशन दिए । दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए । दुई दिनभित्र सेड्युल पेश गर्न र त्यही अनुसार काम गर्न निर्देशन दिए । निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने जिकिर गरे । आवश्यक श्रोत, साधन र जनशक्ति खटाएर तीब्रताका साथ काम गर्न निर्देशन दिए । समयमै काम सम्पन्न नभए कारबाही स्वरुप जरिबाना तिराउने चेतावनी दिए ।

अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ । तर राजनीतिक दलहरु भने सरकार निर्वाचन गराउन भन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा एमाले संसद पुनःस्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ ।

बिगही नदीमा छठका लागि नेपाल-भारतको साझा घाट निर्माण

धनुषा । धनुषा र महोत्तरी हुँदै भारतको सीमामा प्रवेश गर्ने बिगही नदीमा छठका लागि दुई देशको साझा घाट निर्माण गरिएको छ ।

नेपाल–भारत सीमामा बिगही नदीको किनारमा करिव दुई किलोमिटर लम्बाइमा निर्मित मनोरम छठघाटमा नेपालतर्फका मटिहानी नगरपालिकाका वडा नम्बर ६, ७ र ८, धनुषाको मुखियापट्टी मुसर्नियाँ गाउँपालिका–३ को तुलसियाही र भारततर्फबाट मधवापुर र रामपुरका व्रतालुका लागि छठ घाट निर्माण गरिएको हो ।

दुई देश र दुई राष्ट्रियता भएपनि समान धर्म, संस्कृति, चाडपर्व, बिहेबारी र सुखदुःख आदानप्रदानको उन्नत प्रचलनले अहिले दुवैतर्फका नागरिकले साझा छठघाट निर्माण गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।

अहिले नेपाल–भारतको यो साझा घाट सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । नेपालतर्फका मटिहानी र तुलसियाही एवं भारततर्फका मधवापुर र रामपुरका सर्वसाधारण सरसफाई तथा सजावटमा जुटेका हुन् ।

सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी)को उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर बर्तालुले अघ्र्य (अर्घ) दिनेछन् । यस घाटमा दुवैतर्फ (नेपाल–भारत)का गरी दुई हजार बढी व्रतालुले अघ्र्य दिने बताइएको छ । यहाँको छठघाट हेर्न १० हजार बढी श्रद्धालु उपस्थित हुने अनुमान गरिएको छ ।

 

कमलपोखरीमा यसरी हुँदैछ छठको तयारी, तस्बिरहरू

काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा आशन्न छठ पर्वको तयारी भइरहेको छ ।

कमलपोखरीमा समेत छठ घाट बनाउने काम धमाधम चलिरहेको छ । खासगरी तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ । यो पर्वमा नदी, तालतलैया र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ ।

केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।

  

सरकारले दमन गर्‍यो, अब हामी त्यसै छोड्दैनौं : जेनजी प्रतिनिधि

काठमाडौँ । जेनजी प्रतिनिधिहरूले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । आज (शनिबार) माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका जेनजी प्रतिनिधिहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारविरुद्ध खनिएका हुन् । शनिवार अपराह्न उनीहरूले पत्रकार सम्मेलन गरी जेनजीहरुलाई एकताबद्ध गराउने अभियानमा जुटेकाहरूलाई सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

सरकारले शान्तिपूर्ण रूपमा भेला भएका जेनजीहरुलाई पक्राउ गरेकाले उनीहरूको रिहाई तत्काल नभए कडा कदम चाल्न आफूहरू बाध्य हुने जेनजी प्रतिनिधि मञ्जना राईले बताइन् । उनले जेनजीले बनाएको सरकारले उनीहरूको मागअनुसार काम गर्न नसकेको गुनासो पनि गरिन्।

राईले भनिन्, ‘अब हामी नयाँ कदम चाल्न बाध्य हुनेछौँ । हामी पछि हट्ने छैनौँ यही चेतावनी दिन चाहन्छौँ । थुनिएका साथीहरू रिहाई नभएसम्म हामी अर्को कदम चाल्न बाध्य छौँ ।’ जेनजी प्रतिनिधिहरूले सरकारले आफूहरूमाथि दमन गरेको भन्दै सैह्य नहुने चेतावनी समेत दिएका छन् । भोजपुरका जेनजी प्रतिनिधि सागर तामाङले सरकारका दमनकारी नीतिविरुद्ध लाग्न पनि सबैलाई आह्वान गरे ।

उनले भने ‘हामीलाई युनिफाईड पनि हुन नदिने । यो कस्तो सरकार हो ? युनिफिकेशनको क्याम्पियन पनि रोक्नुपर्ने ? अब अहँ हुँदैन । जे जे गर्नुपर्छ, हाम्रो मागहरू छिटो पूरा हुनुपर्छ । सरकारले केही गर्दैन, हाम्रो साथीहरूलाई यसरी दमन गरिन्छ भने हामी सहँदैनौँ । अझ कहाँ कहाँ जाने हो, गर्ने हो । त्यही भएर आज हामी यही गर्दैछौं हाम्रो युनिफिकेशन क्याम्पियन जबसम्म पूरा हुँदैन, जे जे गर्नुपर्छ लाग्ने हो । सबैले आफ्नो सबै कुरा छोडेर युनिफाईड हुनुपर्छ देशका लागि ।’

जेनजी आन्दोलनले बनाएको सरकारले उनीहरूमाथि नै दमन गरेकाले त्यसको प्रतिरोधमा उत्रनुपर्ने बेला आएको तामाङको भनाई थियो । उनले आफूहरूको माग सम्बोधन गराउन आन्दोलनलाई निरन्तर अघि बढाउने योजनामा रहेको समेत बताए ।

 

 

गृहमन्त्रीको आग्रह : सडकमा होइन, संवादमा आउनुस्

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सरकार संवादका लागि तयार रहेको स्पष्ट पारे ।

‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन’, गृहमन्त्री अर्यालले भने । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ।

‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो’, गृहमन्त्रीले भने । बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई सामान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।

 

गायिका नितु पौडेलको अन्त्येष्टि

काठमाडौँ । गायिका नितु पौडेलको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आज शनिबार दिउँसो पोस्टमार्टमपछि शवको अन्त्येष्टि गरिएको हो ।

गत शनिवार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । आज बिहान साढे ८ बजे कीर्तिपुरस्थित वर्न अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भयो ।

मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको थियो । गणेश पौडेलले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका हुन् । गिरी र पौडेल लामो समयदेखि प्रेम सम्बन्धमा थिए । दुई जना मात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको दाबी उनको छ ।

यो स्टुडियो गायक बाबुल गिरीको हो । उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । यो विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताएका छन् ।

ले शेर्पा शनिबार मार्केटमा नेपाली देखि विदेशी पर्यटकहरुको भीड (तस्बिरहरु)

काठमाडौं । पानीपोखरीस्थित रमायलाको रमणीय कम्प्लेक्समा हरेक शनिबार बिहानदेखि ताजा उत्पादनको रौनक छाउने गर्छ।

ले शेर्पाले आयोजना गर्ने शनिबार मार्केटमा नेपालका विभिन्न स्थानबाट ल्याइएका ताजा फलफूल, हरियो तरकारी, अर्गानिक मह, घरमै बनाइएका अचार र जाम, युरोपेली शैलीका स्थानीय चीज, आर्टिसनल ब्रेड र पेस्ट्री, ताजा माछा र मासुजस्ता उत्पादनहरू प्रदर्शन र बिक्रीका लागि राखिन्छन्।

इट फ्रेश, इट स्लो, इट लोकल भन्ने नारासँगै सञ्चालनमा आएको यो मार्केटले स्थानीय किसान, उत्पादक र उपभोक्ताबीचको दूरी घटाउने उद्देश्य लिएको छ। यहाँ किसान र आर्टिसनहरूले आफ्ना उत्पादनहरू सिधै ग्राहकलाई प्रस्तुत गर्छन्, जसले बजारलाई भेटघाट, संवाद र स्वादको साझा स्थान बनाएको छ।

रेस्टुरेन्ट ले शेर्पाले बजारको दिनमा विशेष ब्रन्च मेनु र ह्याप्पी आवरको व्यवस्था पनि गरेको छ, जसले ग्राहकहरूलाई विश्राम र रमाइलो वातावरण प्रदान गर्छ। प्रोसेक्को, वाइन, बियर र ककटेलका साथमा ग्राहकहरूलाई आरामदायी समय बिताउन प्रेरित गरिएको छ।

बजारमा विदेशी पर्यटकदेखि स्थानीय बासिन्दासम्मको भीड देखिन्छ। पर्यटकहरू उत्पादनको विविधता हेर्दै फोटो खिचिरहेका हुन्छन् भने स्थानीय ग्राहकहरू ताजा सामग्रीको खोजीमा व्यस्त देखिन्छन्। सबै उमेरका मानिसहरू बजारको खुला वातावरण, स्वादिलो सुगन्ध र रमाइलो संगीतले आकर्षित भएका देखिन्छन्।

ले शेर्पाको शनिबार मार्केटले काठमाडौंमा ‘स्लो फूड’ र स्थानीय उत्पादनप्रतिको रुचि बढाएको छ। यहाँ आउने ग्राहकहरूका अनुसार बजार केवल किनमेल गर्ने ठाउँ होइन, स्थानीय स्वाद र मानिसहरू भेट्ने अवसर पनि बनेको छ।

एफएटीएफ समीक्षा : सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटीएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ ।

शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका प्रयास जारी राखेपनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाएको हो । नेपालले सन् २०२५ फेब्रुअरीमा एफएटिएफ र एसिया प्यासिफिक ग्रुप (एपीजी) सँग आफ्नो सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको प्रभावकारिता बलियो बनाउन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो ।

यसमा सुधारका लागि केही कदम चालेको भएपनि नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने तथा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता एफएटिएफले औंल्याएको छ ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा हुने लगानीको जोखिमबारे स्पष्ट बुझाइ आवश्यक रहेको पनि एफएटिएफले उल्लेख गरेको छ । वाणिज्य बैंक, सहकारी, क्यासिनो, गहना पसल, घरजग्गा कारोबारलगायतका क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अबलम्बन गर्नुपर्ने, हुण्डीलगायत गैरकानूनी कारोबारको पहिचान र रोकथाम गर्नुपर्ने, सम्पत्ति शुद्धीकरण मामिला हेर्ने निकायको क्षमता अभिवृद्धि गर्ने तथा यसको अनुसन्धान र अभियोजन प्रक्रियालाई चुस्त बनाउनुपर्ने सुझाव दिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानूनको परिपालनामा चुक्दा नेपाल गत फागुनमा एफएटिएफको ‘ग्रे लिस्ट’मा परेको थियो । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन निर्माणमा उल्लेख्य प्रगति भएपनि संरचनागत र व्यवहारिक सुधारमा कमजोर देखिएको भन्दै एफएटिएफले यस्तो निर्णय लिएको थियो । त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा नेपालको अनुसन्धान एवम् अभियोजन निकै फितलो रहेको औंल्याइएको थियो ।

नेपाल एफएटिएफको ग्रे लिस्टमा परेको यो दोस्रोपटक हो । यसअघि नेपाल सन् २०१४ मा यो सूचीबाट निस्किएको थियो । त्यसबेला नियामकीय सुधार गर्ने भनेर मार्गचित्र तयार पारी कार्यान्वयनमा आएपछि एफएटिएफको प्रत्यक्ष निगरानी हटाइएको थियो ।

‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपीजी) ले करिब तीन वर्षअघि नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्परिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन) गरेर एफएटिएफलाई प्रतिवेदन बुझाएको थियो ।

सन् २०२३ जुलाई ९ देखि जुलाई १४ सम्ममा क्यानडाको भ्यानकुभरमा आयोजना भएको एपिजीको वार्षिक प्लेनरी बैठकले नेपालको पारस्पारिक मूल्याङ्कन पारित गरी सोही आधारमा सन् २०२३ अक्टोबरमा एफएटीएफले नेपाललाई एक वर्षको निगरानी अवधि (अब्जरभेसन पिरियड) दिएको थियो । जसमा ४० वटा सुधारका क्षेत्रहरू औंल्याइएका थिए ।

निगरानी अवधिमा एफएटिएफले सुझाएका काम नेपालले कार्यान्वयन गर्ने र सम्भावित ग्रे लिस्टमा जानबाट रोकिने विश्वास लिइएको थियो । तर नेपालले एक वर्षको निगरानी अवधिमा पनि उल्लेख्य सुधार गर्न नसकेपछि अन्ततः उक्त सूचीमा परेको थियो ।

एफएटिएफले नेपाललाई सुधार गर्नुपर्ने भनि औंल्याएका विषयहरुमा गैर–वित्तीय क्षेत्र नियमनको दायरामा आउन नसक्दा यो क्षेत्रमा सम्पत्ति शुद्धीकरणको बढी जोखिम देखिएको, आतङ्ककारी क्रियाकलापमा भइरहेको वित्तीय लगानीलाई नेपालले ‘ट्र्याकिङ’ गर्न नसकेको, उच्च जोखिमका बाबजुद सम्पत्ति शुद्धीकरणसँग जोडिएका मामिला अनुसन्धान र जाँचबुझमा नेपाल कमजोर देखिएको, कानूनी सुधारको गुञ्जायस देखिए पनि कार्यान्वयनमा चुकेकोलगायत उल्लेख थिए ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणका लागि कानूनी सुधार र संस्थागत क्षमता विकास गर्न नेपालले उच्च तहको प्रतिबद्धता, पर्याप्त स्रोत साधन परिचालन, अन्तरनिकाय समन्वयलगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव नेपाललाई दिइएको थियो । ती सुझावहरु कार्यान्वयनमा आंशिक प्रगति देखिएपनि नेपाल उक्त सूचीमा पर्नबाट जोगिन सकेन ।

त्यसअघि, नेपालले सन् २०२० मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन गरेको थियो । उक्त मूल्याङ्कनबाट नेपालका नियामकलगायत सम्बन्धित निकाय र निजी क्षेत्र सम्पत्ति शुद्धीकरणका चुनौतीबारे केही हदसम्म जानकार देखिएपनि आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी पहिचान र निवारण चुनौतीपूर्ण रहेको औंल्याइएको थियो ।

राजनीतिक क्रियाकलापसँग जोडिएका गतिविधिमार्फत आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी भइरहेको विषयलाई नेपालले पहिचान गर्न नसकेको एपिजी प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, गैर–वित्तीय पेसा व्यवसाय (नन् फाइनान्सियल बिजनेस एन्ड प्रोफेसन्स) लाई नियामकीय दायरामा ल्याउन नसकेको पनि निष्कर्ष पनि उक्त मूल्याङ्कनले निकालेको थियो ।

सम्पत्ति शुद्धीकरण मामलामा नेपाल उच्च जोखिममा रहेपनि त्यसको अनुसन्धान, जाँचबुझ तथा मुद्दा अभियोजन निकै फितलो छ । त्यस्तै सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित कानुन तल्लो तहसम्म कार्यान्वयनमा जान नसक्नु नेपालको कमजोरी रह्यो ।

नेपालमा वित्तीय संस्थाको नियामकका रुपमा नेपाल राष्ट्र बैंकले काम गरिरहेको छ । तर  गैर–वित्तीय पेशा तथा व्यवसायका लागि छुट्टै नियामकीय निकाय अझै बनिसकेको छैन । बैंक तथा वित्तीय संस्थामा पनि लाभसहितको स्वामित्व (बेनिफिसियल अनरसिप) र राजनीतिक संलग्नता भएका व्यक्ति (पोलिटिकल्ली एक्सपोज्ड पर्सन) को लगानी लाई एपिजीले चुनौतीका रुपमा देखाएको थियो । अर्कोतर्फ साना वित्तीय संस्थामा ‘एएमएल सिएफटी’सँग सम्बन्धित औजारहरु निकै कम मात्रामा प्रयोग भएको र ती प्रणाली आधुनिक प्रविधिमा आधारित हुन नसकेको जनाइएको थियो ।

नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पर्दा देशको वित्तीय प्रणालीमा गम्भीर असर पर्ने जानकारहरु बताउँछन् । खैरो सूचीमा पर्नुको अर्थ देशभित्र वित्तीय अपराधहरू बढिरहेका छन् भन्ने सन्देश जान्छ र जसले नेपालप्रति अन्तर्राष्ट्रिय विश्वास घटाउँछ । यसका कारण अन्तरराष्ट्रिय बैंकिङ प्रणालीसँगको सम्बन्ध बिग्रन गई वैदेशिक व्यापारमा अवरोध उत्पन्न हुने र कारोबार प्रक्रिया जटिल हुन जान्छ ।

अर्कोतर्फ हुन्डी कारोबार बढ्न गई विप्रेषण प्रणाली प्रभावित हुनपुग्छ । वैदेशिक सहायता तथा प्रत्यक्ष विदेशी लगानीमा गिरावट आउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । जसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ । वित्तीय साख कमजोर हुँदै जाँदा नेपाली नागरिक र सरकारको सम्पत्ति जोखिममा पर्न सक्छ । जसले पुँजी पलायनलाई तीव्र बनाउँछ ।

अन्ततः अनौपचारिक अर्थतन्त्रको आकार विस्तार भई देशको वित्तीय तथा मौद्रिक नीतिहरूको प्रभावकारिता घट्छ । परिणामस्वरूप, आर्थिक स्थायित्व कमजोर हुँदै जान्छ र दीर्घकालीन रूपमा देशको विकासक्रममा अवरोध उत्पन्न हुन्छ ।

एफएटीएफको चौथो पूर्ण बैठकले नेपालसँगै अल्जेरिया, अङ्गोला, बुल्गेरिया, बुर्किना फासो, क्यामरुन, कोट दिभ्वार, लोकतान्त्रिक गणतन्त्र कङ्गो, केन्या, लाओस (पीडीआर), मोनाको, मोजाम्बिक, नामिबिया, नाइजेरिया, दक्षिण अफ्रिका, दक्षिण सुडान, सिरिया, भेनेजुएला र भियतनामको समीक्षा गरेको थियो ।

यसैबिच, बोलिभिया, हाइटी, लेबनान, भर्जिन आईसल्याण्डस र येमनले आफ्नो प्रगतिबारे प्रतिवेदन पेस गर्न ढिलाइ गरेको एफएटिएफले जनाएको छ । समीक्षापछि बुर्किना फासो, मोजाम्बिक, नाइजेरिया र दक्षिण अफ्रिकालाई यो सूचीबाट निकालिएको छ ।

प्रकृति संरक्षणमा ९ हजार सेना परिचालन

काठमाडौँ । नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु अरक्षण र एक शिकार आरक्षमा जनशक्ति परिचालन गरेको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिँदै आएको युद्धकार्य निर्देशक मनोज थापाले जानकारी दिए ।

नेपाली सेनाका आठ वटा गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ । चालु आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल विभिन्न हतियार, एक हजार ९७६ जाल पासो, एक हजार ९६५ घरेलु औजार ३३५ वटा सवारीसाधन र १६ वटा ओखोटोपहार बरामद गरेको उनले जानकारी दिए ।

नेपाली सेनाबाट भएको सुदृढ सुरक्षा तथा संरक्षण कार्यबाट पछिल्लो १५ बर्षयताक बाघ तथा गैडाको सङ्ख्यामा उल्लेखनीय बृद्धि भएको छ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ रहेको तथा गैँडाको संख्या ७५२ रहेको छ । यसअघि २००९ मा भएको जनगणनामा बाघको सङ्ख्या १२१ र २००५ को गणनामा गैँडाको सङ्ख्या ४०० रहेको थियो ।

ती उपलब्धि हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ जना सैनिक व्यक्तिले आफनो जीवन गुमाएको सेनाले जनाएको छ । चालु आवमा मात्रै त्यस्ता जङ्गली जनावरको आक्रमणमा परी पाँच जना सकलदर्जा घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले नेपालका सुन्दर हिमालको सौन्दर्य कायम राख्न पछिल्लो दशकमा वार्षिकरुपमा हिमाल सफाइ अभियान समेत सञ्चालन गर्दै आएको छ ।

भीमफेदी कारागारबाट भागेका कैदीको गैंडाकोटमा हत्या

चितवन । गत भदौं २५ गते जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको छ ।

गैंडाकोट नगरपालिका १ इँटाभट्टा नजिकै कात्तिक ६ गते राति कालिका नगरपालिका– ४ पदमपुर स्थायी घर भएका २८ वर्षीय नारायण कुमालको स्थानीय युवाहरूले धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालका अनुसार, प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका एक प्रत्यक्षदर्शीका अनुसार, करिब १४-१५ जनाको संख्यामा आएका युवाहरूको समूहले कुमाललाई घाँटी र हातमा धारिलो हतियार प्रहार गरेका थिए।

कुमाल जेनजी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएको जेलर सुवास पौडेलले जानकारी दिए । जर्बजस्ती करणीको कसुरमा उनलाई अदालतले १० वर्ष कैद र ३५ हजार जरिवाना हुने फैसला गरेको थियो । २०७४ साउन ३ मा पक्राउ परेका उनी २०८४ मा छुट्ने क्रममा रहेको जेलर पौडेलले बताए ।

नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिष्पर्धा हुने

काठमाडौँ । विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आइइइइ नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिष्पर्धा गर्ने भएको छ ।

आयोजक संस्था आइइइइ नेपाल सेक्सनले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिष्पर्धा आइइइइ एक्सट्रिम १९।० को आयोजना गर्न लागेको जानकारी दिएको हो । आगामी अक्टोबर २५ मा हुने यो प्रतियोगितामा ७५ भन्दा बढी देशका २० हजार भन्दा बढी विद्यार्थीबीच प्रतिष्पर्धा हुनेछ ।

आइइइइ नेपाल सेक्सनका अध्यक्ष डा। अरुणकुमार तिमल्सिनाले २४ घण्टासम्म निरन्तर सञ्चालन हुने प्रतियोगितामा विद्यार्थीले जटिल कोडिङ समस्या समाधान गर्ने बताए । उनकाअनुसार कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स पढ्ने विद्यार्थीले कम्प्युटर प्रोग्राम गरेर आईटी सम्बन्धी समस्या निराकरण गर्नेछन् । यसले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान क्षमता र टिमवर्क कौशल वृद्धि गराउनले उनले बताए ।

उनले भने, ‘कम्प्युटर, ईन्जिनियरिङ, कम्प्युटर सोसाईटी, कम्प्युटर सिष्टम, आईटीको २४ घण्टे यस्तो प्रतिस्पर्धा हो, जहाँ के हुन्छ भन्दा केही समयको अन्तरालमा नयाँ एउटा समस्या आउँछ, यो समस्या यस्तो कि कम्प्युटर ईन्जिनियरिङ, कम्प्युटर साईन्स पढ्ने विद्यार्थीले कम्प्युटर प्रोग्राम गरेर निराकरण गर्नुपर्ने । तर त्यो निराकरण गर्दाखेरी उसले कत्तिको, हामी भन्छौँ नि कुनै सफ्टवेयर अलि स्लो छ, अथवा मेरो मोवाईल अलि स्लो भो भन्छौँ नी । हो, त्यो चिजहरुमा के हुन्छ भन्दा एउटा कम्प्युटरको उसको मेमोरी हुन्छ, अर्को चाँही प्रोसेसिङ हुन्छ, प्रोसेसिङ र मेमोरी दुई वटै चीजमा कसरी अप्टिमल, राम्रो खालको कोड लेख्ने भन्ने कुराको अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हो ।’

यस कार्यक्रमले युवा प्रविधि प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा आफ्नो सीप प्रदर्शन गर्ने अवसर दिने उद्देश्य राखेको छ । प्रतियोगिता सिद्धार्थ फुडल्याण्ड, पुरानो बानेश्वरमा आयोजना हुनेछ ।

हिउँदे बालीका लागि मल अभाव नहुने, कति छ मौज्दात ?

काठमाडौं । बाली लगाउने समयमा सधैंजसो रासायनिक मल अभाव झेल्दै आएका किसानले यसपालि हिउँदे बाली लगाउँदा भने सहजै पाउने स्थिति देखिएको छ ।

सरकारी कम्पनीसँग १ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको र ७५ हजार मेट्रिक टनभन्दा बढी आयातका क्रममा रहेका कारण किसानले यसपालि अभाव झेल्नु नपर्ने देखिएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग १ लाख ८ हजार ९०८ मेट्रिक टन रासायनिक मल मौज्दात छ ।

कृषि सामग्री कम्पनीसँग युरिया ११ हजार २२२ मेट्रिक टन, डीएपी ४९ हजार २६९ मेट्रिक टन र पोटास ३ हजार ८ मेट्रिक टन तथा साल्ट ट्रेडिङसँग ७ हजार ३७७ मेट्रिक टन युरिया, ३३ हजार ७९१ मेट्रिक टन डीएपी र ३९४० मेट्रिक टन पोटास मौज्दात रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हिउँदे बालीका लागि ६० हजार मेट्रिक टनभन्दा बढी डीएपी मल आवश्यक पर्छ ।

आलु र तोरीका लागि डीएपी मल चाहिन्छ । कृषि सामग्री र साल्ट ट्रेडिङसँग ८० हजार टनभन्दा बढी डीएपी मल स्टक रहेका कारण किसानले अभाव झेल्नु नपर्ने देखिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा करिब ६ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य रहेकामा हालसम्म करिब ४ लाख ७१ हजार ३०० मेट्रिक टन खरिदका लागि टेण्डर भएको छ । जसमध्ये १ लाख ९४ हजार ८५ मेट्रिक टन आयात भइसकेको छ ।

कृषि सामग्री कम्पनीले १ लाख १५ हजार ४०५ मेट्रिक टन र साल्ट ट्रेडिङले ७८ हजार ६६० टन मल आयात गरेका हुन् । कृषि सामग्री कम्पनीको ७५ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । किसानले गत असार साउनमा रोपाइँका लागि आवश्यक मात्रामा मल पाएका थिएनन्।

तत्कालीन कृषिमन्त्री रामनाथ अधिकारीले मागको तुलनामा सरकारले अनुदान रकम कम छुट्याएका कारण मल आपूर्तिमा समस्या भएको बताएका थिए । चालु आर्थिक वर्ष रासायनिक मलमा अनुदानका लागि सरकारले २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ । अधिकारीले साउन २९ गते प्रतिनिधि सभाको बैठकमा अनुदान रकम नबढाए मल अभावको समस्या समाधान हुँदैन भनेका थिए । –रासस

च्यासलमा पाल टाँगेर एमाले केन्द्रीय कार्यालय सञ्चालन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले च्यासलमा रहेको केन्द्रीय कार्यालय आगजनी गरेपछि पाल टाँगेर कार्यालय सुचारु गरेको एमाले नेता विष्णु रिजालले बताएका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनले उग्ररूप लिँदा एमालेसहित अधिकांश पार्टीका केन्द्रीय कार्यालय, शीर्ष नेताहरूको घर आगजनी र तोडफोड भएको थियो ।

आन्दोलनको झण्डै डेढ महिनापछि एमालेले पाल टाँगेर कार्यालय सञ्चालनमा ल्याएको हो । पाल टाँगेर केन्द्रीय कार्यालय सुचारु गर्न आज उपमहासचिव विष्णु रिमाल, नेताहरू भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू पुगेका थिए ।

जेनजीका माग सम्बोधन गर्न संसद पुनर्स्थापना हुनुपर्छ : प्रदीप ज्ञवाली

परासी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले चुनावको तयारीसँगै एमाले संसद पुनर्स्थापनाको एजेण्डालाई प्राथमिकतामा राखेर अघि बढेको बताएका छन् । पश्चिम नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै उनले नवयुवा पुस्तासहित असन्तुष्ट पक्षका माग सम्बोधन गर्न संसद पुनर्स्थापना नै उत्तम विकल्प रहेको बताए ।

नेता ज्ञवालीले फागुन २१ मा तोकिएको चुनाव गराउने पक्षमा सरकार नदेखिएको दाबी गरे । ‘चुनाव हुने सम्भावना नेकपा एमालेले आजको मितिसम्म देखेको छैन, पहिलो कुरा चुनाव गराउने सरकारको मनसाय नै देखिँदैन्, चुनाव गराउँदा उनीहरुका उद्देश्य पूरा हुँदैनन्’, उनले भने, ‘सुरक्षाकर्मीबाट लुटिएको एक हजार बढी हतियार बाहिर छन्, भगाइएका १४ हजार कैदी मध्ये साढे ५ हजार अझै पनि बाहिरै छन्, गम्भीर अपराधमा संलग्न उनीहरुलाई कतिबेला कसले प्रयोग गर्छ, टुंगो छैन्, प्रहरीको मनोबल घटेको छ, यस्तो अवस्थामा चुनाव हुन्छ भनेर कसरी कल्पना गर्ने ?’

भदौ २३ गतेको घटनालाई आधार बनाएर राजनीतिक दलहरुलाई जसरी पनि फसाउने र २४ गतेको घटनालाई विद्रोहको संज्ञा दिएर उन्मुक्ति दिने सरकारको नियत देखिएकाले चुनाव हुने वातावरण नदेखिएको उनले स्पष्ट पारे। उनले संसद पुनःस्थापनाका लागि एमालेले दबाबमूलक कार्यक्रमहरु अघि बढाउने बताउँदै विचलित नभइ उच्च मनोबलका साथ अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘पुनःस्थापित हुने संसदले सर्वदलीय सहमतिको सरकार बनाउने, त्यसले जेनजी लगायतका असन्तुष्ट पक्षसँग वार्ता गर्ने, त्यसको आधारमा संविधान संशोधन गर्ने, आवधिक चुनाव गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने, यो कोर्सबाट अघि बढ्दा मुलुकले निकास पाउँछ भन्ने हाम्रो पार्टीको धारणा हो’ उनले भने ।

भदौ २३ र २४ गतेको जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी योजनाबद्ध रुपमा मुलुकलाई कमजोर बनाउने गरी विध्वंसात्मक गतिविधि गरिएको बताउँदै एमाले उपमहासचिव ज्ञवालीले केही पात्रहरु संविधान र लोकतन्त्र समाप्त पार्ने खेलमा अझै पनि लागिरहेको जिकिर गरे । एमालेले महाधिवेसन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुंगो लगाउने उनले स्पष्ट पारे ।

सरकारलाई कांग्रेस नेता महरको प्रश्न : तपाईहरू चुनाव गर्न नसके के गर्न सक्नु हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस नगर समिति ,परशुराम डडेल्धुराको आयोजनामा सम्पन्न पार्टीका अगुवाहरूसँगको भेटघाट कार्यक्रममा नेता महरले आपत्कालीन अवस्थामा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको विषय भएकाले त्यसको कार्यान्वयनमा सरकार सक्रिय र इमानदार हुनुपर्ने बताएका हुन्

‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारीहरू, राजनीतिक दलका नेताहरू, नेपाललाई माया गर्ने देशी विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो । जनादेश प्राप्त सरकार नभएकाले यसको काम निर्वाचन सम्पन्न गर्नु हो । आन्दोलनको आदेश पनि त्यही हो । यसबाट सरकार विचलित नहोस्’, उनले भने ।

सरकार निर्माण गर्ने बेलाका शक्तिहरूको आदेश पनि चुनावका गर्नु भन्ने नै रहेकाले सरकारलाई कत्ति पनि विचलित नभएर त्यसमा थप सक्रियता बढाउन महरले सुझाएका छन् । ‘चुनाव समयमा गर्न नसके यो सरकारले के सक्छ ? यो प्रश्न आम जनताको हो । त्यसैले जसरी पनि सरकार चुनावमा केन्द्रित हुनुपर्छ,’ उनले भने ।

राजनीतिक दलहरूसँग संवाद गरेर, देशी विदेशी मित्रहरूसँग संवाद गर्दै विश्वासमा लिएर, सुरक्षाकर्मीहरूको गुमेको विश्वासलाई बढाएर, जनतामा गुमेको आत्मविश्वास जगाएर सरकार निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सरकार ध्यान पुग्न नसकेको महरले टिप्पणी गरेका छन् ।

‘मतदानमा दलहरूले भाग लिनका लागि वातावरण बनाउने र जनतालाई मतदान केन्द्र पुगेर शान्तिपूर्ण रूपमा मतदान गर्न सक्ने वातावरण मिलाउने काम सरकारले गर्नुपर्छ । त्यो हुँदा निर्वाचन भइहाल्छ । दलहरूले हामी चुनाव बहिष्कार गर्छौं भनेका छैनौँ । हाम्रो माग नै शान्तिपूर्ण र समयमा निर्वाचन होस् भन्ने हो’, उनले भने ।

अहिलेको अवस्थामा सरकार चुनाव सम्पन्न गर्ने भन्दा पनि खलबल्याउने पक्षमा देखिएको उनले आरोप लगाएका छन् ’दलहरूमाथि पूर्वाग्रहीरुपमा प्रस्तुत हुने, आफूलाई दिएको टीओआर चुनावको भए पनि त्यो भन्दा बाहिर गएर काम गर्ने गरिरहेको छ । त्यसैले सरकारले आफ्नो काम सम्पन्न गर्नुपर्छ । आफ्नो काम गर्न नसके सरकारको औचित्य पनि सकिन्छ,’ उनले भने ।

उनले जननिर्वाचित सरकार जस्तो एक महिनाको ’हनीमुन प्रियड’ हेरिरहेझैँ गरिरहेको आरोप लगाएका छन् । आफ्नो अधिकारभन्दा बाहिरका क्षेत्रमा गएर कर्मचारीको सरुवालगायतका क्रियाकलाप गरिरहेकाले उनले उद्देश्य भुलेर सरकारलाई यस्ता गतिविधिमा समय खेर नफाल्न आग्रह गरेका छन् ।

कांग्रेसको धारणा पनि सरकार फागुन २१ गते नर्वाचन सम्पन्न गर्ने बाटोमा अर्जुन दृष्टि लगाएर अघि बढोस् भन्ने रहेको उनले प्रस्ट पारेका छन् । कार्तिक १३ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा चुनावी वातावरणका पक्षमा कांग्रेसले निर्णय नै गरेर अघि बढ्ने उनले बताए । संसद पुनस्र्थापनाको विषय कुनै विकल्प नबचेको अवस्थामा मात्र सम्भव हुने उनले बताए ।

प्रदर्शनकारीलाई जिम्मेवार ढंगले प्रस्तुत हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरेर आवश्यक कदम चालन बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू छलफल गरेकी हुन् ।

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेको जानकारी दिएका छन् ।

उनले भने, ‘विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौ ।’ उनले सबैसँग संवादबाटै समस्याको समाधान गर्न सरकारले चाहेको बताए । अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि आन्दोलनरत पक्षलाई आग्रह गरे ।

एकै दिन मुस्ताङमा सात हजार पर्यटक

मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन ६ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त संख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पुरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यहाँ एकै दिन ६ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिए । शुक्रबार एकै दिन २ हजार १६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको लामाले उल्लेख गरे ।

यसैगरी कात्तिकको एक सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५०९ जना आन्तरिक तथा बाहय पर्यटक मुुस्ताङ भित्रिएका छन् । यहाँ कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १२९ आन्तरिक र तीन हजार ३८० विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाले बताए । कात्तिकको पहिलो सातासम्म बेनी–जोमसोम सडकमार्ग हुँदै ६ हजार ७३६ सवारीसाधन मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ भित्रिएका थिए । यहाँ आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।

तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको संख्या अत्यधिक रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । मुक्तिनाथमा आज बिहानैदेखि दर्शनार्थीको संख्याले परिसर पूरै खचाखच भरिएको कोषाध्यक्ष गुरुङको भनाइ छ । मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वंयसेवक खटाइएको कोषाध्यक्ष गुरुङले जनाए ।

हिउँद याम सुरु भइसकेकाले चिसो समेत बढेकाले हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखेर दर्शनकार्यमा सहजीकरण गरिएको उनले बताए । यहाँ वडा कार्यालय र मुक्तिनाथ विकास समितिको पहलमा मन्दिरको चारैतर्फ सीसी क्यामेरा जडान गरिएकाले दर्शनार्थी सुरक्षाका लागि कुनै समस्या नहुने कोषाध्यक्ष गुरुङले सुनाए।

तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जनाएको छ । सयौँ सवारीसाधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा फ्लो हुँदा ट्राफिक जामसमेत भएको थियो । मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो ।

उद्योग वाणिज्य संघका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रबार बेनी–जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिभराउ भएको बताए । चाडपर्वका बेला मुस्ताङ घुमफिर गर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास भएकै कारण पर्यटकको संख्यामा अकल्पनीय रुपमा वृद्धि हुँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ ।

विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपाली मुस्ताङ भ्रमण गर्नेको संंख्या बढेको अध्यक्ष लालचनले बताए। सामान्य अवस्थामा पर्यटक व्यवस्थापन नहुने भए पनि दसैँ तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बन्न थालेको छ ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज हुँदै जान थालेपछि यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आउन थालेको हो । पर्यटकीय याममा यहाँ सञ्चालनमा रहेका होटलले पर्यटक थेग्न नसक्ने अवस्था रहेको छ । प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटक होटल बुकिङ गरेर मात्रै आउन अनुरोध गरेको छ । रासस

गौरिघाटमा छठ पर्वको तयारी शुरु

काठमाडौँ । काठमाडौंको गौरीघाटमा मैथिली समुदायले मनाउनले छठ पर्वको तयारी शुरु भएको छ ।

छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाई तथा सजावटको कार्य शुरु भएको छ । वागमती नदीमा रहेका पोलहरुमा प्रकाशको लागि लाइट जडान, सजावट लगायतका कार्य थालिएको हो ।

विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय देशका धेरै क्षेत्रमा मनाउने गरिएको छ । सूर्यदेवको उपासना गरी यो पर्व मनाइने गरिन्छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि छठपर्वको तयारी भइरहेको छ । मैथिल समुदायले पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक छठ पर्व मनाउने गरेका छन् । यस वर्ष कात्तिक १० गते छठ पर्व मनाइँदै छ ।

 

माइतीघर बालेन, सुदन र गृहमन्त्री समर्थकको मात्र होइन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघरमण्डला एक पक्षको मात्रै बनाइएको बताएका छन् । राज्यप्रतिका असन्तुष्टि, फरक मत, जनआवाज उठाउन आम मानिसले प्रयोग गर्ने माइतीघर मण्डलालाई एक पक्षीय बनाइएको पोखरेलको आरोप छ ।

उनले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकले मात्र माइतीघर मण्डलालाई प्रदर्शनस्थल बनाएको आरोप लगाएका छन् ।

माइतीघर मण्डला सबैको आवाज उठाउने थलो भएको बताउँदै पोखरेलले अन्य पक्षलाई निषेध गर्नु कानुनी सिद्धान्तको उपहास भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै एमाले महासचिव पोखरेलले भनेका छन्, ‘माईतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन– सबैका लागि हो । बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो ।’

थाइल्याण्डकी पूर्वरानी सिरिकिटको निधन

काठमाडौं । थाइल्याण्डका राजा वजिरालोङकोर्नकी आमा तथा पूर्वरानी सिरिकिटको ९३ वर्षको उमेरमा निधन भएको छ । थाई रोयल हाउसहोल्ड ब्युरोका अनुसार, उनको शुक्रबार बैंककको एक अस्पतालमा स्थानीय समय अनुसार २१ः२१ (१४ः२१ जीएमटी) मा ‘शान्तिपूर्वक’ निधन भएको हो ।

सिरिकिट २०१९ देखि अस्पतालमा रहँदा ‘धेरै रोगबाट पीडित’ थिइन्, जसमा यस महिना रगतको संक्रमण पनि थपिएको थियो । छ दशकभन्दा बढी समयसम्म रानी सिरिकिटले थाइल्याण्डमा सबैभन्दा लामो समय शासन गर्ने राजा भुमिबोल अदुल्यादेजसँग विवाह गरेकी थिइन् । उनको भने सन् २०१६ मा मृत्यु भइसकेको छ । विश्व–भ्रमणका बेला उनलाई एक शैली आइकनका रूपमा हेरिएको थियो ।

माइतिघरमा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका जेन-जीहरु पक्राउ, तस्बिरहरू

काठमाडौँ । अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार जिल्ला प्रशासनको अनुमतिविना माइतीघरमा पुगेकाहरूलाई प्रहरीले प्रदर्शन गर्नबाट रोक्दै नियन्त्रणमा लिएको हो ।

यसअघि, माइतीघर विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका थिए । सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले प्रदर्शन जारी राखेको बताउँदै आएका छन् । अनुमति नलिई नै प्रदर्शनमा आउनेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

छठ मनाउन कामपाले तोक्यो आठ स्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ । काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका छन् ।

पाण्डेका अनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लव अगाडी, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट छठ मनाउनको लागि तोकिएको छ । यी ठाउँहरूमा महानगरले सरसफाईको कार्य थालनी गरेको पाण्डले जानकारी दिए ।
उनकाअनुसार ३ सय भन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन् ।

काठमाडौँ महानगरले छठ पर्व मनाउनको लागि कुनै कमी नहुने गरी व्यवस्थित रूपमा तयारी गरिएको उनले जानकारी दिए । उनले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाउने बताए । उनले कसैले कुनै प्रकारका शुल्क लिन खोजेमा जानकारी गराउन पनि आग्रह गरे। पाण्डेले छठ पर्व मनाउन तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि आग्रह गरे । यस वर्ष कात्तिक १० गते छठ पर्व मनाइँदैछ । छठ पर्व नदी किनारामा गएर सूर्यको पूजाआराधाना गरेर मनाइन्छ ।

पार्टी पुनर्गठनको मुद्दा उठाउँदा रविविरूद्ध षड्यन्त्र गरेको भाष्य बनाइयो : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनको मुद्दा उठाउँदा सभापति रवि लामिछानेविरूद्ध षड्यन्त्र गरेको भाष्य बनाउन खोजिएको गुनासो गरेकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै डा. कार्कीले रास्वपाले गर्नुपर्ने तीन कामको सूची पनि राखेकी छन् ।

‘कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनु होला । यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु । गर्नेछु । तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनु होला,’ उनले भनेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय सापेक्ष रूपमा मध्यममार्गी मुलधारको मुख्य शक्तिको रूपमा विकास गर्नु आफ्नो लक्ष्य रहेको उनले बताएकी छन् । रास्वपालाई वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागी पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ ।

‘पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला,’ उनले भनेकी छन् ।

सँगै उनले तीनवटा अनुरोध पनि गरेकी छन् । पहिलो विस्तारित बैठकमा महत्त्वपूर्ण र सक्रिय सहभागिताको लागि पार्टीका नेताकार्यकर्ताहरूलाई उनले अनुरोध गरेकी छन् । रास्वपाको विस्तातिर बैठक आगामी कात्तिक २१ र २१ गते हुँदैछ ।

दोस्रो, उक्त बैठकमा प्रस्तुत हुने राजनैतिक र सांगठनिक प्रतिवेदनमाथि सहभागीहरूले राय राख्ने मात्र होइन, प्रतिवेदनहरूलाई स्वीकार्ने-अस्वीकार गर्ने-तोकिएका संशोधनसहित स्वीकार्न पाउने गरी मताधिकार दिइनुपर्ने उनको भनाइ छ ।

तेस्रो, जेनजी आन्दोलनपछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरुलाई नसमेटी आसन्न चुनावमा एक्लै जाने छुट नभएको पनि उनले बताएकी छन् । ‘हामी उदार हुनुपर्छ । साझा प्लेटफर्म बन्नुपर्छ । अब यही कुरामा पटक–पटक स्पष्टीकरण दिन बाध्य नपार्नु होला । बरू आउनुस् एक कदम अघि बढेर रिफर्मेसनको मोडालिटीमा बसह गरौं,’ उनले भनेकी छन् ।

जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुन्छन् : प्रहरी महानिरीक्षक खापुङ

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आन्दोलनको बहानामा अपराधिक कार्यहरू पनि भएको उल्लेख गर्दै उनीहरूमाथि कारबाही हुने बताएका हुन् ।

प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरूलाई प्रहरीले कुनै पनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्त्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताए । जेनजी आन्दोलनपछि प्रहरीहरूको मनोबल खस्केको भन्ने भनाईमा सत्यता नरहेको उनले बताए । प्रहरी महानिरीक्षक खापुङले जेनजी आन्दोलनपछि प्रहरीहरू स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरूमा पुनः स्थापना हुन सकेको बताएका छन् ।

खापुङले भने, ‘जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरु पनि चलखेल भएको देखिएको छ । त्यो वास्तवमा गलत हो । त्यो अपराधिक कार्य नै हो । त्यस्ता अपराधिक कार्यहरू दण्डित हुनुपर्छ । उनीहरू क्रमशः दण्डित हुन्छन् भन्ने कुरा यहाँहरू सबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु । यो आन्दोलन पश्चात् आम रूपमा प्रहरीको मनोबल खस्केको जस्तो पनि देखिएको थियो । तर प्रहरीको मनोबल खस्कनुपर्ने कुनै कारण छैन । प्रहरीप्रति आम वर्गको अपेक्षा ठुलो छ । तर ती सबैको अपेक्षा पूर्ति गर्न सक्ने अवस्था रहँदैन । प्रहरीले त रोक्नुपर्ने हुन्छ । नो भन्नुपर्ने हुन्छ । कुनै पनि अपराधिक गतिविधिलाई रोक्नुपर्ने हुन्छ ।’ खापुङले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने दाबी समेत गरे ।

बालुवाटारमा प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरूबीच के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित र गृहसचिवसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल गरेकी छन् ।

आज (शनिबार) बिहान करिब दुई घण्टा चलेको बैठकमा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको जनाइएको छ । वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चालन बालुवाटारमा उच्चस्तरीय बैठक बसेको हो । बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘सुरक्षा अवस्थाबारे हामीले सुक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन् । राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौं । संवादबाटै समस्याको समाधान चाहन्छौँ ।’ अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि उनले आग्रह गरे ।

संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गरिदिँदा चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या आएको बताएका छन् ।

नेकपा एमाले अर्घाखाँची जिल्लाले शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले जनतासँग प्रत्यक्ष जोडिएका सडक, शहरी विकास र खानेपानीलगायतका आयोजनाको बजेट संघीय सरकारले रोकेकाले काम अघि बढ्न नसकेको खुलाए । उनले भने, ‘संघीय सरकारले बजेट रोक्का गर्दा शहरी विकास, खानेपानी, सडकका कामहरू रोकिएका छन् ।’

उनले अर्घाखाँचीमा प्रदेश सरकारको तर्फबाट धेरै काम भइरहेको उल्लेख गर्दै भावी दिनमा उपलब्ध साधन स्रोतको सदुपयोग गरी जनताको आकांक्षा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

यसैगरी, मुख्यमन्त्री आचार्यले केही व्यक्तिहरूले सरकारी कार्यालयमा गएर धम्कीपूर्ण व्यवहार देखाउने जस्ता अराजक गतिविधि गरिरहेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा भएको कार्यक्रममा अन्य राजनीतिक दलका नेताहरू र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

म्याग्दीको ‘रणवाङ–दरवाङ सडक’ कालोपत्रे योजना ६ वर्षसम्म अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले छ वर्षसम्म पनि पूर्णता पाएको छैन ।

रणनीतिक महत्त्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सात किलोमिटर लामो सडकअन्तर्गत रणवाङ–तोलावाङ खण्डमा तीन किलोमिटर ३०० मिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र सकिएको कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । ढाडखर्क, दरबाङ बजारमा स्ट्रक्चर तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको यातायात व्यवसायी अर्जुन आचार्यले बताए । ‘रणवाङ–तोलावाङ खण्डमा ठेक्का सम्झौता भएको पाँच वर्षपछि गत वर्ष कालोपत्र भएपनि तोलावाङ–दरवाङ खण्डमा अधुरै छ’, उनले भने, ‘कालोपत्र नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोका कारण स्थानीयलाई सास्ती भएको छ ।’

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यो सडक आयोजनामा ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ । निर्माण कम्पनी बिरुवा–क्याराभानका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन नहुनु, सम्झौतालगत्तै कोरोना महामारी, विपद्लगायतका कारणले ढिलाई भएको बताए ।

पहिरो प्रभावितबाहेक ठाउँमा सडक फराकिलो बनाएर नाली र पर्खाल निर्माण सकिएकाले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने थकालीले बताए । गत आर्थिक वर्षमा एक करोड ५० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले थप एक करोड ५० लाख रकमान्तर गरेर भुक्तानी गरेको थियो । चालु आवमा चार करोड विनियोजन भएको छ ।

मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्वका रूपमा मानिएको हो ।

बेनीबाट सिमसम्म १२ दशमलव पाँच किमी चार वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किमी २०८१ जेठमा काम सकिएको छ । गण्डकी प्रदेशसभाका सांसद रेशम जुग्जालीले सहजीरण र समन्वय गरेपनि निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताए ।

‘आव २०८०/०८१ मा काम सम्पन्न गर्न पुग्ने गरी रु पाँच करोड विनियोजन गर्दा ठेकेदारले काम गरेन’, उनले भने, ‘गत वर्ष बिनियोजन भएको बजेट नपुगेपछि रकमान्तर गरेर भुक्तानीको व्यवस्था मिलाएका थियौँ ।’ यस वर्ष विनियोजन भएको बजेट अपुग भएमा थप बजेट व्यवस्थाका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले निर्माण व्यवसायीले अधुरा कामलाई छिटो पूर्णता दिनुपर्ने बताए ।

धान भित्र्याउने किसानको मेहनत र हाँसो (फोटो फिचर)

काठमाडौँ । यतिबेला धानबाली भित्र्याउने चटारो छ । सुनौलो धानका बाला लहलहाउँदा खेतहरूमा किसान बिहानको उज्यालोदेखि साँझको झिसमिसेसम्म मेहनतमा जुटेको देख्न सकिन्छ ।

यो उनीहरूको वर्षभरको पसिना र आशाको फल हो । जसले ग्रामीण जीवनको जीवन्त कथा बोकेको छ । बिहानको पहिलो किरणमा हँसिया हातमा लिएर धान काट्दै गरेका किसान देख्न सकिन्छ ।

सुनौलो धान र हरियालीको पृष्ठभूमिमा उनीहरूको मेहनत अविष्मरणिय छ । गाउँलेहरू एकसाथ जम्मा भएर हाँस्दै–गफ गर्दै धान काटिरहेका छन् । महिलाहरू रंगीचंगी कुर्ता सुरुवाल र पुरुषहरू पसिनाले भिजेको गम्छासहित धान काट्दै देखिन्छन् ।


बालबालिकाको हाँसोले खेतमा उमंग थपिएको छ । परम्परा र आधुनिकताको मेलः कतै हँसिया र हातले धान काट्दै गरेका दृश्य, कतै थ्रेसर मेसिनको गर्जन सुनिन्छि । भित्र्याएको धानको थुप्रोमाथि बसेर मुस्कुराउँदै गरेको किसान परिवार अझ हेर्न लायक हुन्छन् ।

उनीहरूको अनुहारमा मेहनतको थकान र फलको सन्तुष्टि मिश्रित भाव पाइन्छ । खेतको कुनामा धान बोक्ने काममा सघाउँदै रमाइरहेका बालबालिका, कसैले धानको बाला खेलौनाजस्तै बोकेर दौडिरहेका देखिन्छन् । कसैले खेतमा लुकेर लुकामारी खेल्दैछन् ।

सूर्यास्तको रातो रंगमा रंगिएको आकाशमुनि खेतबाट धान बोकेर घर फर्किंदै गरेका किसान र उनीहरूको पाइलामा थकानसँगै गर्वको चमक हुन्छ । धान भित्र्याउने यो चटारोमा किसानले बजार मूल्यको अनिश्चितता, भण्डारणको समस्या र जलवायु परिवर्तनको चुनौती झेलिरहेका छन् । तर पनि, उनीहरूको मेहनत र सामूहिक भावनाले हरेक खेतलाई उत्सवमय बनाएको छ ।

धानबाली भित्र्याउने यो मौसम केवल अन्न उब्जनीको मात्रै कथा होइन । यो नेपाली किसानको मेहनत, एकता र आशाको जीवन्त चित्र हो । खेतका यी दृश्यहरूले हामीलाई हाम्रो माटो र संस्कृतिसँग जोड्छन् ।

विद्युत महसुल नतिर्ने यी डेढ दर्जन उद्योगको काटियो लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसबापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो ।

यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति कटौति गरिएको थियो । कूल आठ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका उद्योगहरुमध्ये केहिले किस्तामा तिर्न थालेको र केही कानुनी प्रक्रियामा गएका प्रवक्ता ढकालले बताए । ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन प्रयोग गरेर महसुल तिर्न बाँकी १४ उद्योगले किस्तामा भुक्ताती गर्न थालेको छन् भने छ वटा उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् । हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टको पनि बक्यौता छ’, उनले भने।

डेडिकेटेड र ट्रङ्कलाइनको महसुल उठाउने विषय २०७५ साल यता सुल्झिन सकेको छैन । प्राधिकरणका तत्कालीन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलोपटक डेडिकेटेड र ट्रङ्कलाइनको महसुल बक्यौताबारे अध्ययन भएको थियो । त्यसपछि प्राधिकरणले बक्यौता उठाउने प्रयास गर्दै आएको छ । उद्योगी–व्यवसायीहरुले भने आफूहरुले डेडिकेटेड र ट्रङ्कलाईन प्रयोग नै नगरेकाले त्यसको महसुल नतिर्ने अडान लिँदै आएका छन् ।

यो विषय अदालत, सङ्घीय संसद्को सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । प्राधिकरणले गत असोज १२ गते उद्योगहरुलाई २१ दिनभित्र बक्यौता बुझाउन सार्वजनिक सूचना जारी गरेको हो । किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिएको प्राधिकरणले सो अवधिसम्ममा बक्यौता तिर्न नआएपछि विद्युत् महसुल सङ्कलन नियमावली, २०७८ अनुसार लाइन काटिएको जनाएको छ ।

भारतले भन्यो–टाउकोमा बन्दुक राखेर अमेरिकासँगको व्यापार सम्झौता गरिँदैन

काठमाडौं । भारतले टाउकोमा बन्दुक राखेर अमेरिकासँगको व्यापार सम्झौता नगर्ने बताएको छ । भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले टाउकोमा बन्दुक राखेर अमेरिकासँगको व्यापार सम्झौता नगर्ने बताएका हुन् ।

जर्मनीमा एक कार्यक्रमका क्रममा पियुष गोयलले यस्तो बताएका हुन् । ‘हामी अमेरिकासँग कुरा गरिरहेका छौं र हामी हतारमा सम्झौता गर्दैनौं। हामी समयसीमा वा टाउकोमा बन्दुक राखेर सम्झौता गर्दैनौं,’ उनले भने ।

केन्द्रीय मन्त्रीले भने, ‘भारतले दीर्घकालीन रूपमा सोच्दछ । भारतले कहिल्यै हतारमा वा परिस्थितिको दबाबमा निर्णय लिँदैन। हामीले स्वीकार गरेका छौं कि यदि हामीमाथि कुनै शुल्क लगाइएको छ भने, हामी यसलाई वरिपरि प्राप्त गर्ने तरिकाहरू खोजिरहेका छौं ।’

‘हामी नयाँ बजारहरू हेरिरहेका छौं । हामी भारतीय अर्थतन्त्रमा मागलाई अझ बलियो बनाउने कुरा हेरिरहेका छौं । हामीसँग धेरै बलियो पूर्वाधार छ, १.४ अर्ब मानिसहरू छन्,’ उनले भने । पियुष गोयलले भने, ‘हामीलाई थाहा छ कि अबको २०–२५ वर्षमा हामी ३० ट्रिलियन डलरको अर्थतन्त्र हुनेछौं र हामी यसैको आधारमा वार्ता गर्नेछौं । भविष्यलाई ध्यानमा राखेर हामीले हाम्रो देशको लागि उत्तम सम्झौता गर्नुपर्छ ।’

ट्रम्प प्रशासनले भारतबाट अमेरिका प्रवेश गर्ने सामानहरूमा थप २५ प्रतिशत भन्सार कर लगाएको छ । पहिले यो भन्सार २५ प्रतिशत थियो । यसको अर्थ भारतमा हाल कुल भन्सार कर ५० प्रतिशत छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बढेको करलाई भारतले रूसबाट तेल र हतियार खरिद गरेकोमा ‘सजाय’ को रूपमा वर्णन गरेका छन् । भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै भन्यो, ‘यो कार्य अनुचित, अनुचित र तर्कहीन छ ।’

अन्धाधुन्ध एन्टिबायोटिक प्रयोगले मौन महामारी बन्दै ‘एएमआर’

विराटनगर । चिकित्सकको सल्लाहबिना अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोग बढ्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। आफूखुसी र अपूरो डोजमा एन्टिबायोटिक सेवन गर्नाले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)’ नामक मौन महामारीले देशभर जरो गाड्दै गएको उनीहरूको भनाइ छ।

विराटनगरकी सरिता कार्कीले छोरालाई सामान्य खोकी र ज्वरो आउँदा फार्मेसीबाट किनेर दिएको एन्टिबायोटिकले पहिलोपटक निको पारे पनि दोस्रोपटक काम नगरेपछि उनी झसङ्ग भइन्। मोरङका ५५ वर्षीय रामबहादुर राईले पनि दाँत दुख्दा जथाभाबी एन्टिबायोटिक किन्ने बानीले गर्दा पछिल्लो समय औषधिले काम गर्न छाडेको बताए।

यी उदाहरणहरूले मानिसहरू ‘छिटो निको हुने’ सोचले आफैँ चिकित्सक बन्ने प्रवृत्ति बढेको देखाउँछ।

कमजोर बन्दै साधारण औषधि

कोशी अस्पतालका बालरोग विभाग प्रमुख डा रामनारायण चौधरी पछिल्ला वर्षमा सामान्य सङ्क्रमणका लागि प्रयोग हुने औषधिले काम गर्न छोडेका बिरामी बढेको बताउँछन्। उनी भन्छन्, “एन्टिबायोटिकको दुरूपयोगले ब्याक्टेरिया झन् बलियो बन्छ। यो अत्यन्तै खतरनाक सङ्केत हो।”

नोबेल मेडिकल कलेजका प्रिन्सिपल तथा वरिष्ठ फोक्सो रोग विशेषज्ञ प्रा डा रामहरि घिमिरेले एन्टिबायोटिकको जथाभाबी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताए। उनका अनुसार, चिकित्सकले सिफारिस गरेको पूरा डोज नखाने, औषधि पसलेले सही मात्रा मिलाउन नसक्ने र कतिपय चिकित्सकले कीटाणु जाँच नगरी औषधि दिने गर्दा एएमआरको समस्या बढेको हो।

डा घिमिरेले सूक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र रोग निको नहुने हुँदा बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने सुझाव दिए।

औषधि पसले र उपभोक्ता दुवै सचेत हुनुपर्ने

विराटनगरका औषधि व्यवसायीहरू पनि यो प्रवृत्तिबारे चिन्तित छन्। नेपाल औषधि व्यवसायी सङ्घ मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकालले उपभोक्ता स्वयं सचेत नभएसम्म यो समस्या समाधान गर्न नसकिने बताए। उनका अनुसार, उपभोक्ताले चिकित्सकको सल्लाह बिना नै औषधि माग गर्ने र कहिलेकाहीँ दबाबका कारण बिना ‘प्रेस्क्रिप्सन’ एन्टिबायोटिक बिक्री हुने समस्या छ। सङ्घले यस्तो अभ्यास रोक्न अभिमुखीकरण तालिम र अनुगमन गरिरहेको उनले जानकारी दिए।

पशुपालन क्षेत्रमा पनि एन्टिबायोटिकको दुरुपयोग

एन्टिबायोटिकको गलत प्रयोग केवल मानिसमा मात्र सीमित छैन। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार शाह प्रदेशका धेरैजसो पोल्ट्री फार्ममा चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग हुने गरेको बताउँछन्। पशुमा प्रयोग भएका औषधिको अवशेष दूध, मासु र अण्डामार्फत मानिसको शरीरमा पुग्दा पनि दीर्घकालीन रूपमा प्रतिरोध विकास हुने डा शाहको भनाइ छ। उनले एएमआर नियन्त्रणका लागि ‘वन हेल्थ’ दृष्टिकोण आवश्यक रहेकोमा जोड दिएका छन्।

विश्वभरि बढ्दै एएमआरको खतरा

भाइरोलोजी विशेषज्ञ डा सन्तोष दुलालका अनुसार, विश्व स्वास्थ्य सङ्गठनले एन्टिमाइक्रोबियल रेजिस्टेन्सलाई १० प्रमुख विश्वव्यापी जनस्वास्थ्य खतरामध्ये एक मानेको छ। एन्टिबायोटिकले काम नगर्ने हुँदा सन् २०३० सम्ममा थप २ करोड ४० लाख मानिस चरम गरिबीमा धकेलिने र सन् २०५० सम्ममा एएमआरका कारण वार्षिक १ करोड मानिसको मृत्यु हुने अनुमान छ। यो महामारीको चपेटामा नेपालजस्ता विकासशील देश बढी पर्ने देखिन्छ।

विज्ञहरूले एन्टिबायोटिकको गलत प्रयोग रोक्न जनचेतना नै सबैभन्दा शक्तिशाली उपाय भएको बताएका छन्। चिकित्सक, औषधि व्यवसायी, उपभोक्ता र नियामक निकाय सबैले इमान्दारीपूर्वक आफ्नो भूमिका निभाए मात्र यो समस्या समाधान गर्न सकिनेमा उनीहरूको जोड छ। विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा सचेतना फैलाउन आवश्यक कार्यक्रम ल्याउनेबारे सोचिरहेको जानकारी दिएको छ।

बाघको आक्रमणबाट एकको मृत्यु

नेपालगञ्ज । पछिल्लो समयमा बाँके र बर्दियामा बाघ र चितुवाको आक्रमणबाट मृत्यु र घाइते हुनेको संख्या बढ्दै गएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गरिरहेका छन् ।

सोही क्रममा पछिल्लो पटक बाघको आक्रमणमा परी बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा एक पुरुषको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु बाघको आक्रमणबाट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार राप्ती सोनारीको रिम्ना सामुदायिक वनमा शुक्रबार दिउँसोबाट बेपत्ता भएका खत्री साँझसम्म पनि घर नफर्कंदा स्थानीयवासीहरूले खोजतलास गर्दा शनिबार बिहान करिब ७ः३० बजे बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो ।

तीन टुक्रा भएको अवस्थामा शव भेटिएकाले उनको मृत्यु बाघकै आक्रमणबाट भएको देखिएको जनाउँदै उनले सो बारेमा अनुसन्धान भइरहेको बताए । बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायजसो बाघ र चितुवाको आक्रमणका घटनाहरु भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रुपमा वनजङ्गल नजिक नजान पनि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निकुञ्ज वरिपरिका क्षेत्रमा पटक पटक बाघ र चितुवाको आक्रमण हुने गरेकाले सो क्षेत्रका स्थानीय निकै त्रसित र आतङ्कित बनेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए ।