`

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उनी व्यवसायमा संलग्न भएका हुन् ।

अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेको उनले बताए । पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाको भुरा छाडेको उनले जानकारी दिए । आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय गर्दा छुट्टै आनन्द भएको किसान तामाङले बताए ।

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा पाँच वर्ष बिताएर आफ्नो ठाउँमा त्यहाँको भोगाइ र अनुभवलाई सदुयोग गर्दै माछापालनमा लागेको उनले बताए । आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषिकर्म गर्न सकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उनले सुनाए ।

“धेरै युवामा विदेशप्रति मोह बढेको देखिन्छ, तर विदेशको दुःख त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ । विदेशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्ने सोचका साथ यो व्यवसायमा लागेको छु । त्यहाँको मेहनत यहाँ गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ”, उनले भने ।

माछापालनसँगै यहाँ व्यावसायिक कुखुरा र बङ्गुर गर्ने योजनाका साथ काम गरिरहेको उनले बताए । व्यवसायबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी लिने लक्ष्य रहेको तामाङले बताए । पहाडी क्षेत्रका पोखरीबाट उत्पादन भएको माछा बजारमा प्रतिकेजी रु छ सय ५०देखि रु सात सयमा बिक्री हुने उनले बताए ।

भोजपुर–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार व्यवसायमा लाग्ने युवाहरूलाई लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि गाउँघरमा व्यवसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको छ ।

किसानलाई उनीहरूको व्यावसायिक योजनाका आधारमा वडा तथा नगरपालिकाबाट सहयोगका कार्यक्रम सञ्चालन भइरहको छ । किसानलाई प्रोत्साहन गर्न वडाले विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ । उनीहरूका व्यावसायिक योजनाका आधार आवश्यक सहयोग गर्दै आएको उनले बताए ।

भोजपुर सदरमुकामसँग जोडिएको वडा भएकाले किसानले व्यावसायिक माछापालन, तरकारीखेती तथा नगदेबालीको खेतीबाट मनग्य आम्दानी गर्दै आएको वडाध्यक्ष कार्कीले बताए । किसानलाई आयआर्जनमा जोड्न कृषिको क्षेत्रमा वडाले योजनाबद्ध रूपमा काम अघि बढाएको वडाध्यक्ष कार्कीले बताए ।

बागलुङको संसारकोट दरबार पुनःनिर्माण गरिँदै

बागलुङ । बागलुङको संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् ।

संसारकोटमा दुई महिनायता मन्दिरसहितका पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ नगरपालिका–७ मा पर्ने संसारकोट पछिल्लो समय धार्मिक पर्यटकलाई पदमार्गमार्फत त्यहाँ पुर्याउन थालिएको छ । संसारकोट दरबारको पर्खाल पुनर्निर्माण तथा भगवती मन्दिर निर्माणमा खटिएका कामदार दुई महिनायता जङ्गलमै बास बसेर पूर्वाधार निर्माणमा खटिएका छन् ।

नगरपालिकाले संसारकोटलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनाउन २०७७ सालबाट विभिन्न काम सुरु गरेको थियो । समुद्री सतहबाट दुई हजार ४९० मिटरको उचाइमा रहेको संसारकोटमा अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको ३६ लाख बजेटबाट पुनर्निर्माण भइरहेको छ ।

निर्माण आयोजना उपभोक्ता समितिका अध्यक्ष केशवबहादुर कार्कीका अनुसार अहिलेसम्म भग्नावशेष दरबारको पर्खाल पुनःनिर्माण, संसारकोट पुग्ने पदमार्ग, सत्तललगायत संरचनामा रु एक करोड बराबरको पूर्वाधार निर्माण भइसकेको छ ।

विसं २०७७ सालमा पुरातात्व विभागले रु ३० लाख बजेटमा दरबारको पर्खाललाई पुनःनिर्माण थालिएकामा २०७९ सालमा रु २० लाख बजेट थप विनियोजन गरिएको थियो ।

विभागले ढुङ्गा कुँदेर कलात्मक ढङ्गले रु ५० लाख बजेटबाट ५० मिटर ढुङ्गाको मात्र पर्खाल लगाइएको थियो । अहिले पर्यटन मन्त्रालयको रकमबाट २० मिटर पर्खाल थप निर्माण र भगवतीको मन्दिर बनिरहेको छ, मन्दिर ढुङ्गा र काठको मात्र प्रयोग गरी निर्माण गरिएको छ ।

संसारकोटमा प्यागोडा शैलीको मोक्षदेवी भगवती मन्दिर, कलात्मक पर्खालको पुनःनिर्माण, सत्तल, खानेपानीका लागि आवश्यक पूर्वाधार तथा त्यहाँ पुग्ने पदमार्ग निर्माणले पछिल्लो समय धार्मिक पर्यटक आकर्षित गरेको छ । संसारकोटमा अहिले विद्युत्समेत पुर्याइएको छ ।

तीन वर्षअघि खसगाउँबाट थाप्लोसम्म चार सय मिटर पदमार्ग, अर्को वर्ष संसारकोटबाट सम्मेनीसम्मको पदमार्ग, खसगाउँ चौपारीबाट सम्मेनी सम्म र रामाइलो डाँडा गरी झण्डै चार किलोमिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ । अहिले खसगाउँबाट र संसारकोटको बीच भागमा पदमार्ग बनाउन बाँकी रहेको कार्कीले बताए ।

पदमार्गको बीच–बीचमा चारवटा चौतारीसमेत निर्माण भइसकेका छन् । पर्यटन प्रवद्र्धन कार्यक्रम तथा पुरातात्विक स्थलको संरक्षण, मर्मत र जीर्णोद्वार कार्यक्रमले संसरकारकोटको मुहार फेरिँदै गएको छ । जिल्लाको ऐतिहासिक पर्यटकीयस्थलका रूपमा परिचित संसारकोट बागलुङको पाला, मूलपानी, मालिका, भीमपोखरा, धम्जा र म्याग्दीको ज्यामरुककोट, गौश्वरा तथा अर्कोतर्फ भकिम्ली समेतको जङ्गलको धुरीमा पर्छ ।

संसारकोट, ऐतिहासिक पर्यटकीय र सांस्कृतिक महत्व बोकेको क्षेत्रमा तत्कालीन बाइसे/चौबिसे राज्यअन्तर्गत पर्वते राजाले शासन गर्ने गरेको बुढापाकाले बताउने गरेको स्थानीय तेजप्रसाद न्यूरेले जानकारी दिए ।

उनले बागलुङ ६ र ७ नम्बर वडामा तारजालकोट, कारिकोट, माझकोट, राँयकोट र शिरमा संसराकोट रहेकाले अहिले सबैको सङ्गमस्थलका रुपमा पञ्चकोटको नामकरण गरेर धार्मिक पर्यटकसमेत भित्राइरहेको छ । संसारकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे र धवलागिरिलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने भएको छ ।

सोमबार बसेको पार्टी संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको हो । कार्यवाहक प्रवक्ता मनीष झाले मंगलबारको बैठकमा पनि जेठ १३ र १४ गतेकै भूमिकामा प्रस्तुत हुने बैठकले निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘भोलिको संसद् बैठकमा पनि हामी जेठ १३ र १४ गतेको बैठककै भूमिकामा प्रस्तुत हुन्छौँ । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नको लागि गृहमन्त्रीज्यूले पद छोडिदिनुपर्छ । अरुलाई छानबिन गर्नको लागि आफू पछि हटेर स्पेस दिनुपर्छ ।’

उनले परिवारको सदस्यले गरेको बदमासीको जिम्मेवारी अभिभावकले लिने उल्लेख गर्दै उक्त प्रकरणबारे गृहमन्त्री स्वयंले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने समेत उल्लेख गरे ।

सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । सोमबार गृह मन्त्रालयमा भएको वार्ता विना निष्कर्ष टुंगिएको हो ।

अर्को वार्ता मंगलबार बिहान साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए । गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्न माग गरेका थिए ।

यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले आजको छलफल सकारात्मक भएको बताए । तर, निर्णयमा पुग्न नसकिएकोले भोलि बस्ने गरी छलफल स्थगित भएको तिवारीले जानकारी दिए ।

शीर्ष नेताको बैठकमा माओवादीः गृहमन्त्रीको राजीनामा नआई सदन चल्दैन

काठमाडौँ । नेकपा माओवादी केन्द्र सदन संचालनका लागि गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेपछि प्रमुख तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।

सोमबार अपरान्ह प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका थिए ।

छलफलमा माओवादीले गृहमन्त्रीको राजीनामा अडान नछाडेपछि बैठक निष्कर्षविहीन भएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा ओली र देउवाले सदन संचालनका लागि प्रचण्डलाई आग्रह गरेका थिए ।

ओली र देउवाले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएका थिए । तर माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान राखेको थियो ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संसद संचालनकाबारेमा राखेको प्रस्तावमा प्रतिपक्षले थप छलफल गर्दै अघि बढ्ने जवाफ दिएको जानकारी दिए ।

मङ्गलबारबाट संसद्मा बजेटमाथि छलफल गर्ने कार्यसूची छ । तर प्रतिपक्षीको अडानले छलफल अघि बढ्ने नबढ्ने अनिश्चित भएको छ । विपक्षीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएकोमा बजेट ल्याउन भने दिएका थिए ।

बजेटमा निजी क्षेत्रका धेरैजसो सुझाव समेटिएकाले उत्साहित छौंः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रका धेरैजसो सुझावहरुलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले समेटेको बताए ।

उनले बजेट निजी क्षेत्रको ‘कि ड्राईभर’को रुपमा आएकाले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए ।
‘हामी आफ्ना फाईदाका लागि मात्रै नभई समग्र अर्थतन्त्रको सुधारका लागि माग राख्दै आएका छौं,’उनले भने, ‘सोही सुझावहरुलाई सरकारले यसपाली कानुन र बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी व्यवस्था गरिदिएको छ ।’

निजी क्षेत्रले दिएका धेरै सुझावहरु बजेटमा समेटिँदै गर्दा यसमा समेटिएका सुझावहरुलाई कार्यान्वयनमा भने सरकार चुक्न नहुने उनले बताए ।

यसअघि पनि निजी क्षेत्रले समग्र अर्थतन्त्र उन्नयनका लागि माग गरेका बिषयहरु बजेटमा समेटिएपनि सोही अनुसार कार्यान्वयन नहुने भएपछि भने निजी क्षेत्र जहिले निरुत्साहित हुँदै आएको बताए ।

आगामी आवको बजेटले नयाँ आँट गरेको पनि उनले बताए । ‘हामीले पहिलेदेखि नै भन्दै आएको नेपालको खनिज पदार्थ निर्यात गर्न दिनुपर्छ भन्ने माग बजेटले समेटेकोमा हामी उत्साहित छौँ, उनले भने, ‘उद्योगले गर्नुपर्ने सबै प्रक्रिया पुरा गरेर खनिजजन्य वस्तुहरु निर्यात गर्न सकिने व्यवस्था माग गर्दै आएका थियौं यसपल्ट बजेटमा समेटिएकाले यो व्यवस्था कार्यान्वयनमा पछि पर्नुहुँदैन ।’

मध्यपूर्वमा खनिजजन्य पदार्थका रुपमा मानिएको पेट्रोलियम पदार्थ बाहिर ननिकालेको भए या प्रशोधन नगरी जमिनभित्रै राख्नुपर्छ भन्ने आवाज उठेको भए मध्यपूर्वका राष्ट्रहरु यो अवस्थामा पुग्न नसक्ने बताउँदै उनले नेपालको खनिज पदार्थलाई पनि आर्थिक उन्नयनका लागि निर्यात गर्न पछि हट्न नहुने बताए । यस्तै निजी क्षेत्रले भनेबमोजिम सेजको भाडामा सहजीकरण, अन्तर्राष्ट्रिय सभा हल निर्माणलगायतका मागहरु बजेटमार्फत सम्बोधन भएको उनले बताए ।

अध्यक्ष ढकालले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटिएपनि केही सुझावहरु भने नसमेटिएको बताए । जलविद्युतको पीपीए, टेक एन्ड पेलगायतका बिषयहरु बजेटमा राखिँदा यसले निजी क्षेत्रलाई केही असहजीकरण गर्ने निश्चित भएको उनले बताए । यसले विदेशी लगानीकर्ता भित्राउन र बैंकहरुलाई फाइनान्स गर्न समस्या निम्त्याउने उनले बताए ।

बजेटमा पर्यटन क्षेत्रलाई अघि बढाउनेगरी सीमा क्षेत्रका होटलहरुका लागि गरिएको विदेशी मुद्राको थ्रेसहोल्ड हटाएपछि केही सहजीकरण पक्कै हुने पक्कै भएको उनले बताए । यो बजेटमार्फत केहि सहजीकरण भएपछि पर्यटन क्षेत्र पनि उत्साहित बनेको उनले बताए ।

बजेटमा धेरैजसो बुँदाहरु राम्रै आएपनि कार्यान्वयनमा चुक्दा समस्या आउने गरेको उनले बताए । धौवादी फलाम खानीको उदाहरण दिँदै उनले यसको कुरा हरेक बजेटमा समेटिने भएपनि कार्यान्वयनमा जान नसक्दा लगानीकर्तासँगै नागरिकहरु पनि निराश हुनुपर्ने अवस्था आएको उनले बताए ।

‘टेक एन्ड पे’ को कुराले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न नदिनेजस्तो संकेत गरेपनि जलविद्युत क्षेत्रमा समस्या निम्त्याउने उनले बताए । बजेटमा आएका कुरालाई कार्यान्वयन गरी सुशासन कायम गर्न सकिएको खण्डमा मात्रै बजेटले दिएको मार्गनिर्देश पूरा गरेको भन्दै उनले बजेटमार्फत लिइएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न सम्भव हुने बताए ।

रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार

इस्तानबुल । युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार रहेको बताएको छ । वार्तामा दुवै पक्षले दोस्रो विश्वयुद्धपछि युरोपमा जारी तीन वर्षे युद्धलाई कसरी अन्त्य गर्ने भन्नेबारे योजना आदानप्रदान गर्नेछन्।

रुसको आक्रमणको प्रारम्भिक हप्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आग्रहमा पहिलो पटक मस्को र किएभले प्रत्यक्ष वार्ता सुरु गरेका छन्, तर अझैसम्म एक मायावी सम्झौताको दिशामा उल्लेखनीय प्रगति भएको छैन।

युक्रेनले रुसी भूमिमा अहिलेसम्मकै सबैभन्दा कठिन तर सफल आक्रमण गरेको एक दिनपछि सोमबारको वार्ता भएको हो । आइतबारको आक्रमणमा अग्रपङ्क्तिभन्दा हजारौं किलोमिटर पछाडि रूसी एयरबेसमा राखिएका दर्जनौँ रणनीतिक बमवर्षक विमानलाई निशाना बनाइएको थियो ।

गत महिना इस्तानबुलमा भएको पहिलो चरणको वार्तामा ठूलो सङ्ख्यामा कैदीआदानप्रदान भएपनि सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेपछि जारी द्वन्द्वमा कुनै विराम लाग्न सकेको छैन ।

दोस्रो चरणको वार्ता इस्तानबुलको सिरागन प्यालेसमा स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे सुरु हुनेछ । वार्तास्थल बोस्फोरसको किनारमा रहेको ‘ओटोमन इम्पेरियल हाउस’ टर्कीएमा रहेको आधुनिक सेवा सुविधा सम्पन्न पाँच तारे होटल हो।

टर्कीएका विदेशमन्त्री हकान फिदानले वार्तामा मध्यस्थता गर्नेछन् ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताअघि भिल्नियसमा नेटो सदस्य राष्ट्रको शिखर सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘हामी शान्तिका लागि आवश्यक कदम चाल्न तयार छौँ ।’

वार्ता टोलीसँग मध्यस्थ एक स्रोतले रुसलाई आफ्ना विगतका कडा मागहरू नदोहोर्याउन र ‘लचिलोपन’ देखाउन आग्रह गरेको बताएको छ ।

स्रोतले एएफपीलाई भन्यो, ‘यदि उनीहरू अघि बढ्न तयार भएमा पहिलेका अडानहरू दोहोरिने छैनन् र वार्ताले आज राम्रो र ठूलो समाचार बाहिर ल्याउने छ ।’

मस्कोले युक्रेनले आफ्ना मागहरू पहिल्यै पठाउन दबाब दिएपछि उसले आफ्नो शान्ति सम्झौताको ‘ज्ञापनपत्र’ पेश गर्ने बताएको छ। कुटनीतिक पहलपछि पनि दुवै पक्ष सम्झौताबाट धेरै टाढा छन् ।

जेलेन्स्कीले आइतबार युद्ध तत्काल रोक्न आह्वान गरेका थिए । किएभले दीर्घकालीन शान्तिको छलफलको लागि युद्धविराम आवश्यक पहिलो कदम भएको बताएको छ ।

मस्कोले युक्रेनको सेनालाई सीमित गर्ने, देशलाई नेटोमा सामेल हुन प्रतिबन्ध लगाउने र व्यापक मागहरूको मिश्रणलाई सम्बोधन गर्न प्रयोग गरिने भाषा द्वन्द्वको ‘मूल कारण’ लाई सम्बोधन गर्न चाहेको बताएको छ ।

किएभ र पश्चिमले ती आह्वानलाई अस्वीकार गरेका छन् र रुसको आक्रमणलाई साम्राज्यवादी भूमि कब्जाबाहेक अरू केही होइन भनेका छन्।

दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो शरणार्थी सङ्कटमा रुसले आक्रमण गरेयता दशौं हजार मानिसको ज्यान गइसकेको छ भने पूर्वी र दक्षिणी युक्रेनको ठूलो भूभाग ध्वस्त भएको छ । यसका कारण लाखौँ मानिस आफ्नो घरछोड्न बाध्य भएका छन् ।

सन् २०२२ मा असफल वार्ताको नेतृत्व गरेका पुटिनका वैचारिक सहयोगी भ्लादिमिर मेदिन्स्की इस्तानबुलमा रुसको तर्फबाट शीर्ष वार्ताकार हुनेछन् ।

युक्रेनको टोलीको नेतृत्व रक्षामन्त्री रुस्तम उमरोभले गर्नेछन् । युक्रेनी प्रतिनिधिमण्डलका सदस्यहरूले इस्तानबुलमा बेलायत, जर्मनी र इटालीका अधिकारीहरूसँग भेटवार्ता गरेको किएभको विदेश मन्त्रालयले जनाएको छ।

भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु, ६ जना बेपत्ता

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना बेपत्ता भएको भारतीय सेनाले सोमबार जनाएको छ ।

मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोका कारण भारतको उत्तरपूर्वी राज्यमा पछिल्लो एक सातामा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य सिक्किममा आइतबार साँझ गएको पहिरोमा परी सैनिकको मृत्यु भएको हो ।

सेनाले विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण आएको ठूलो पहिरो आइतबार साँझपख सेनाको क्याम्पमा खसेको जनाएको छ ।

सेनाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गरेको छ जसमा एक भवन अर्ध–जलमग्न भएको देखिन्छ ।
भारतमा मनसुनको मौसममा आकस्मिक बाढी आउनु सामान्य हो । योसामान्यतया जुनमा सुरु हुन्छ र सेप्टेम्बरको अन्त्यसम्ममा कम हुन्छ ।

दक्षिण एसियामा गर्मी बढ्दै गएको छ र हालैका वर्षहरूमा मौसमी अवस्थामा परिवर्तन आएको छ ।

गृहमन्त्रीको निर्देशनः विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहनु

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिएका छन् ।

सोमबार सशस्त्र प्रहरीसँग विपद् पूर्वतयारीबारे ब्रिफिङ लिँदै गृहमन्त्री लेखकले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्नुपर्ने बताएका हुन् ।

उनले विपद व्यवस्थापन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकेको भन्दै विपद व्यवस्थापनको पूर्व तयारीमा लाग्न निर्देशन दिए । उनले भने, ‘मनसुनजन्य विपद्को तयारीमा आजैदेखि लाग्नुहोस् । पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनु होला । पूर्वसूचना अनुसार जोखिम कुन कुन ठाउँमा छ भन्ने अनुमान गर्न सकिन्छ । त्यो बस्तीमा हामीले पूर्वसूचना दिनुपर्यो । मान्छेलाई उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याउने गर्नुपर्यो ।’

विपद् जोखिम देखिएको ठाउँमा परिचालित भएर सम्भावित घटना हुन चनाखो हुनुपर्ने उनको भनाइ छ । यस्तै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाव दिए ।

गृहमन्त्री लेखकले राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्र (एनइओसी)को एउटा शाखा राख्नुपर्ने बताए । ‘त्यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुपर्यो । कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ । यसले विपद् व्यवस्थापनमा चाडो काम गर्न सकिन्छ,’ उनले भने ।

मनसुनजन्य विपद्का खतरा देखिएको ठाउँमा राति गाडी चलाउन रोक्ने कुरालाई गम्भीरतापूर्वक लागु गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । यो वर्ष विगतको भन्दा बढी मनसुन हुने अनुमान गरिएको भन्दै बाढी–पहिरोले निम्त्याउने खतराको पूर्वतयारी थाल्नुपर्ने उनले बताए ।

‘कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, कुनै पनि ठाउँमा हाम्रो यो कमजोरी भयो भन्ने अवस्था आउनु भएन । चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्यो,’ उनले भने ।

छलफलमा सशस्त्र प्रहरीले विपद्को पूर्वतयारीबारे विस्तृतमा ब्रिफिङ गरेको थियो । साथै भर्चुल माध्यमबाट सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिहरुले समेत आ–आफ्नो क्षेत्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

सार्वजनिक सवारी अवरोधप्रति नाट्टाको ध्यानाकर्षण

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सार्वजनिक सवारीसाधन बन्दले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै नाट्टाले देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हडताल र यातायात सेवा अवरुद्ध भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपालको पर्यटकीय राजधानी पोखरालगायत अन्य केही स्थानमा हालै पर्यटकीय सवारीसाधन सञ्चालनमा देखिएको अवरोध चिन्ताको विषय हो, पर्यटकीय सवारीसाधनलाई रोक लगाउनु, अवरोध गर्नु वा नियन्त्रण गर्नु समग्र पर्यटन व्यवसायप्रति पूर्ण नकारात्मक प्रभाव पर्ने कार्य हो,’ नाट्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘यस्ता कार्यले नेपालप्रति अन्तरराष्ट्रिय पर्यटन बजारमा गलत सन्देश प्रवाह गरिरहेको र यसले पर्यटन प्रवद्र्धनमा दीर्घकालीन असर पर्न सक्ने खतरा रहेको छ, पर्यटन नै नेपालको समृद्धिको मेरुदण्ड हो भन्ने यथार्थलाई मनन गरी यसको संवद्र्धन गर्ने सबै सरोकारवाला निकायको साझा दायित्व रहन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

उपत्यकामा सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा संचालन

काठमाडौं । काठमाडौ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरीले जेठ १९ गते २ वटा बस संचालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वायम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो , कोटेश्वर , महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।

सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्यसम्म पुर्याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड छलफलमा जुटेका हुन् । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा उनीहरु छलफलमा जुटेका हुन् ।

छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णबहादुर सिटौला, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेताहरू देव गुरूङ, हितराज पाण्डे र महिन्द्र राय यादव पनि सहभागी छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर माओवादीसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आएका छन्।

संसद अवरोधलाई यथावत राख्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद अवरोध यथावत् रहने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी संसदीय दलको बैठकले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राख्ने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

उनले गृहमन्त्रीले मार्ग प्रशस्त नगरेसम्म अवरोध कायमै राख्ने बैठकले निर्णय गरेको बताए । मंगलबार संसद बैठक बस्नुअघि प्रतिपक्षी दलहरू बसेर रणनीति बनाउने माओवादीले तयारी गरेको छ ।

संसदको गतिरोध अन्त्यका लागि ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुन लागेको हो ।

सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसदको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुन लागेको हो ।

त्यसअघि प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा संसदको गतिरोध हटाउनेबारे छलफल भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सोडारीविरुद्ध एक करोड आठ लाख बिगो कायम गरी मुद्दा दायर भएको हो । सोडारी कैलाली ४(१) बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् ।

सोडारी २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ माघदेखि २०७५ कात्तिक सम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए । त्यस्तै उनी २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।

नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न एमाले सांसद थापाको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नेपालको नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न सुझाव दिएका छन् ।

सोमबारको संसदको अर्थ समितिको बैठकमा सांसद थापाले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई सुझाव दिएका हुन् ।

उनले नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा राख्दा राष्ट्र बैंक र देशको इज्जत बढ्ने बताए । उनले भने, ‘म राजावादी हैन, राजतन्त्र फाल्न लडेको मान्छे हुँ । तर, पृथ्वीनारायणशाहलाई राजावादीले मात्र मान्ने हैन । सबै नेपालीले मान्नुपर्छ । नोटमा पृथ्वीनारायण शाह तस्बिर अंकित नोटको थालनी गर्नुपर्छ । नेपालको एकीकरणकर्ताको तस्बिर नोटमा छाप्ने कुराले राष्ट्र बैंक र देशको इज्जत बढ्छ ।’

झिनो अंकले बढ्यो नेप्से

 

काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार नेप्से परिसूचक एक दशमलव ६० अङ्कले बढेर दुई हजार ६९४ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।

आज ३१४ कम्पनीको दुई करोड २० लाख ३१ हजार ८८१ कित्ता शेयर ८३ हजार १६ पटक खरिदबिक्री हुँदा  नौ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

विकास बैङ्क शून्य दशमलव २९, वित्त शून्य दशमलव १८, होटल तथा पर्यटन दुई दशमलव ३९, लगानी दुई दशमलव २८, जीवन बीमा शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले बढेको छ ।

अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ५९, जलविद्युत् शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३८, लघुवित्त शून्य दशमलव १२, निर्जीवन बीमा शून्य दशमलव १६ र व्यापार शून्य दशमलव ३५ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र पिअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको  ८७ करोड ४७ लाख ३८ हजार बराबरको २२ लाख दुई हजार ६७७ कित्ता शेयर किनबेच भएको छ ।

बजेट अभावले रोकिए बहुवर्षीय सडक योजना

म्याग्दी ।  म्याग्दीमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित सातवटा बहुवर्षीय सडक आयोजना निर्माण ठप्प भएको छ। बजेट अभावका कारण गत चैत महिनादेखि सडक निर्माण ठप्प भएको हो। गत वर्ष म्याग्दीमा सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो।

अर्थ मन्त्रालयले एक अर्ब २० करोड बजेटको स्रोत सुनश्चितता गरेको थियो। तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित गत वर्ष ठेक्का सम्झौता भएका तीन आयोजनामा यस वर्ष एक करोड ५० लाख देखि दुई करोड मात्र बजेट बिनियोजन भएको थियो।

सरकारले स्रोत सहमति र सुनश्चितता गरेर बहुवर्षीय ठेक्का सम्झौता भइसकेका योजनाका लागि पर्याप्त बजेट व्यवस्थापन नगरेका कारण निर्माण प्रभावित भएका गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताए।

‘बिनियोजन भएको बजेट हिउँद सकिएपनि सबैजसो निर्माण कम्पनीले चैतसम्म काम गरिरहेका थिए’, उनले भने, ‘सरकारले रकमान्तर अथवा अन्य स्रोत व्यवस्थापनमा ढिलाइ गर्दा रोकिएको निर्माण नयाँ आर्थिक वर्ष नलाएसम्म सञ्चालन हुने देखिएन्।’

विषयगत मन्त्रालयका सचिव, मन्त्रि र मुख्यमन्त्रीलाई काम भइरहेका तथा सम्पन्न हुने चरणका योजनामा बजेट अभाव हुन नदिन आग्रह गरेपनि बेवास्ता गरेका जुग्जालीले गुनासो गरे। बेनी-पाखापानी, बेनी-दरवाङ, धारापानी-ताकम-शिवाङ, अदिभारा-डाडागाउँ, पखेर-बङ्जा, बगरफाँट-भकिम्ली सडक आयोजना पूर्ण रुपमा ठप्प छन्।

खारा-बिम सडक र शिवरात्रिखोला मोटरेबल पुलका ठेकेदारले कामको गति घटाएका छन्। चित्रे-घोडेपानी सडक र दरखोला मोटरेबल पुल योजनाका ठेकेदारले निर्माण सुरु नै गरेका छैनन्।

पूर्वाधार विकास कार्यालय म्याग्दीले चैतमा बहुवर्षीय योजनाहरुका लागि मन्त्रालयमा १३ करोड ९० लाख थप बजेट प्रस्ताव गरेको थियो। बेनी-दरवाङ सडकको तेस्रो खण्डका ठेकेदार बिरुवा-क्याराभानलाई मात्र आन्तरिक रकमान्तर मार्फत एक करोड भुक्तानी भएको छ।

पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले बिनियोजित बजेट भुक्तानी भइसकेको र रकमान्तर अथवा थप बजेट व्यवस्थापन नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको बताए।

अर्जेखोलाको मोटरेबल पुलका ठेकेदारले गत असारमै लक्ष्यभन्दा एक वर्ष अघिनै काम सकेपनि अझै भुक्तानी पाएका छैनन्। अदिभारा मोटरेबल पुलका ठेकेदारले भने बजेट सकिएपनि निर्माणलाई पूर्णता दिने उद्देश्यले काम गरिरहेका छन्।

पखेर–बरङ्जा सडक योजनाका निर्माण व्यवसायी जीवन रोकायाले सरकारले बजेट व्यवस्थापन गर्न नसकेपछि निर्माण स्थगित गरेको बताए।

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एकको मृत्यु, पाँच घाइते

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँचजना घाइते भएका प्रहरीले जनाएको छ ।

नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा जाँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान देवचुली–२ स्थित दुम्कोली चोकमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा परी दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीका भ्यान चालक देवचुली–१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।

टाउको र दुवै खुट्टामा चोट लागेका सुवेदीको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९ः२० बजे मृत्यु भएको नेपालले बताए ।

त्यस्तै दुवै सवारीसाधन ठक्कर खाँदा भएका घाइते र एम्बुलेन्सका बिरामीलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको नेपालको भनाइ छ ।

नचाहिने कुरामा सधैं संसद बन्द हुँदैन, भोलिदेखि चल्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु अलोकतान्त्रिक चरित्र भएको बताएका छन् ।

सोमबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताएका हुन् । उनले संसद यस्ता नचाहिने कुरामा सधैं बन्द नहुने भन्दै तयार भएर बस्न आफ्ना सांसदहरुलाई निर्देशन दिए ।

उनले आफूले प्रचण्डजी कुरा गर्न खोजेपनि उहाँ जानीजानी सम्पर्कमा आउन नचाहेको बताए । प्रधानमन्त्रीले भने, ‘नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी दलकाप्रचण्ड’जी कुरा गर्न खोजें तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला । यस्तो व्यवहार सधैं चल्दैन । केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ । गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । माननीयज्यूहरु तयार भएर बस्नुस्। भोलिदेखि सदन चल्छ ।’

सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई संसदीय गतिविधिलाई महत्व दिन निर्देशन दिए ।

अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उनले राजतन्त्र आजको बहसको विषय नै नभएको बताए ।

प्रधानमन्त्रीले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्तिहरु देखिएको बताए ।

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायांकन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त चलचित्रको आइतबारदेखि बन्दीपुरमा छायांकन सुरु भएको हो ।

बन्दीपुरमा उक्त चलचित्रको छायांकनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिँगारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायांकन गर्न लागिएको हो । करिब एक साताको तयारीपश्चात् चलचित्रको छायांकन सुरु गरिएको हो ।

बन्दीपुर आसपासका विभिन्न उमेर समूहका करिब तीन सय स्थानीयलाई दैनिक रु. एक हजारदेखि रु. एक हजार पाँच सयसम्म पारिश्रमिक दिएर कलाकारको रूपमा प्रयोग गरिएको छ । बन्दीपुरमा तीन दिनसम्म चलचित्रको छायांकन हुने जनाइएको छ।

बन्दीपुरमा विदेशी चलचित्रको छायांकन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । होटेल तथा पर्यटन व्यवसायी किसान प्रधानले विदेशी चलचित्रको छायांकनले यस क्षेत्रको प्रचारप्रसार हुने बताए । चलचित्र टोली एक सातादेखि बन्दीपुरमा बसिरहेको र यसले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनको भनाइ छ ।

चलचित्र छायांकनले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैंसबहादुर गुरुङले जानकारी दिए । उनले भने, ‘विदेशी चलचित्रको छायांकनका लागि बन्दीपुर रोजाइमा पर्नु हाम्रा लागि खुसीको कुरा हो, यसले यहाँको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्नेछ ।’

सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागिएको जनाइएको छ । अमेरिकी कम्पनी एप्पलले यो चलचित्रको निर्माण गर्न लागेको हो ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलद्वारा एकदिवसीय क्रिकेटबाट सन्न्यास

सिड्नी । विस्फोटक अस्ट्रेलियाली ब्याट्सम्यान ग्लेन म्याक्सवेलले सोमबार आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करियरको अन्त्य गरेका छन् । यद्यपि उनले आगामी वर्षको विश्वकपलाई लक्षित गर्दै टि–२० क्रिकेटमा निरन्तरता दिने घोषणा गरेका छन् ।

एक सय ४९ एकदिवसीय खेल खेलेका ३६ वर्षीया म्याक्सवेलले तीन हजार नौ सय ९० रन बनाएका छन् । उनले ५० ओभरको खेलको शारीरिक दबाब महसुस गर्न थालेको बताए ।

‘परिस्थितिमा मेरो शरीरले कस्तो प्रतिक्रिया गरिरहेको छ भनेर मैले टोलीलाई अलिकति निराश पारेको जस्तो महसुस गरेँ’, उनले भने, ‘मैले (छनोट समितिका अध्यक्ष) जर्ज बेलीसँग राम्रो कुराकानी गरेँ र मैले उहाँलाई अगाडि गएर उहाँको के विचार छ भनेर सोधेँ ।’

‘हामीले सन् २०२७ (५० ओभर) विश्वकपको बारेमा कुरा गर्यौँ र मैले उहाँलाई भनेँः ‘मलाई लाग्दैन कि म त्यहाँ पुग्नेछु, अब मेरो स्थानमा मानिसहरूलाई यसमा मौका दिन र यो स्थानलाई आफ्नो बनाउन योजना बनाउन सुरु गर्ने समय आएको छ’, उनले भने ।

म्याक्सवेलको १२६ को स्ट्राइक रेट एकदिवसीय क्रिकेटमा दोस्रो उच्चतम छ, वेस्ट इन्डियन हेभी हिटर आन्द्रे रसेलपछि, जहाँ उनले चार शतक र २३ अर्धशतक ठोकेका छन्। उनले आफ्नो अफ–स्पिनबाट ७७ विकेट पनि लिएका छन्।

‘एकदिवसीय अन्तर्राष्ट्रिय ढाँचाको इतिहासमा सबैभन्दा रोमाञ्चक र प्रभावशाली करियरहरू मध्ये एकमा ग्लेनलाई बधाई छ,’ क्रिकेट अस्ट्रेलियाका प्रमुख टोड ग्रीनबर्गले भने ।

‘अस्ट्रेलियाली क्रिकेट ग्लेनको एकदिवसीय उपलब्धिहरूका लागि ऋणी छ र उत्साहित छ कि उनले अब आगामी वर्ष आईसीसी ट्वान्टी–२० विश्वकप जित्ने हाम्रो लक्ष्यमा ध्यान दिनेछन्।’

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार भन्दा बढी बासिन्दाहरू विस्तापित भएको जनाएका छन्। उनीहरुका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

शनिबार सम्म म्यानिटोबामा लगभग १७ हजार अल्बर्टामा एक हजार ३०० र सास्काचेवानमा करिब आठ हजार मानिसहरूलाई त्यहाँ बाट सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको जनाइएको छ। अधिकारीहरूले विस्थापितको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।

आगलागीका कारण उत्यन्न धुवाँले क्यानाडा र अमेरिकाका केही सीमावर्ती राज्यहरूमा वायु प्रदूषण बढाएको जनाइएको छ।

अमेरिकाका केही भागहरू उत्तरी डकोटा, मोन्टाना, मिनेसोटा र दक्षिण डकोटाका क्षेत्रहरूमा हावाको गुणस्तर खतराको स्तरमा पुगेको जनाएइको छ।

विमानमा विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

मुम्बई । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा उडान भरेर आएपछि रोकिएको भारतीय भन्सार अधिकारीहरूले बताएका छन् ।

चवालिस वटा इन्डोनेसियाली पिट भाइपरहरू समावेश भएका सर्पहरू ‘चेक–इन ब्यागेजमा लुकाएर राखिएको’ मुम्बई भन्सारले आइतबार राति एक विज्ञप्तिमा बताएको छ ।

“थाइल्यान्डबाट आएका एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ”, भन्सारले भन्यो ।

कुनै विवरण सार्वजनिक नगरिएका ती यात्रुसँग तीन स्पाइडर–टेल्ड हर्न्ड भाइपर पाँच एसियाली कछुवा पनि थिए । यी भाइपर विषालु हुन्छन् तर सामान्यतया चराहरू जस्ता साना शिकारलाई मात्र लक्षित गर्दछन् ।

मुम्बई भन्सारले जफत गरिएका सर्पहरूका तस्बिरहरू जारी गरेको छ । तस्बिरमा बाल्टिनमा घुमिरहेका नीलो र पहेँलो सरीसृपहरू समावेश छन् ।

सर्पहरू मुम्बईमा अपेक्षाकृत असामान्य कब्जा हो । भन्सार अधिकारीहरूले नियमित रूपमा तस्करी गरिएको सुन, नगद, गाँजा वा यात्रुहरूले निलिएका कोकेनको संदिग्ध गोलीको तस्वीरहरू पोस्ट गर्छन् ।

तर, फेब्रुअरीमा मुम्बई विमानस्थलमा भन्सार अधिकारीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डको जङ्गलमा पाइने सानो बाँदर, पाँचवटा सियामाङ गिब्बनसहित एकजना तस्करलाई पनि रोकेका थिए ।

इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरद्वारा खतरामा परेका रूपमा सूचीबद्ध ती साना जीवहरूलाई यात्रुको ट्रली ब्यागभित्र राखिएको प्लास्टिकको टोकरीमा ‘चलाखीपूर्वक लुकाएर’ राखिएको भन्सार अधिकारीहरूले बताए ।

नोभेम्बरमा भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आइपुगेका विमानहरूमा १२ वटा कछुवा र एक महिनाअघि चारवटा हर्नबिल चराहरू बोकेका यात्रुलाई समातेका थिए ।

सेप्टेम्बरमा, अलिगेटर परिवारमा पर्ने एउटा सरीसृप, पाँच किशोर कैमन्ससहित दुई यात्रुहरूलाई पक्राउ गरिएको थियो ।

‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ

सियोल। उत्तर कोरियाले सोमबार रूससँगको आफ्नो सैन्य सहयोगको पक्षमा बोल्दै यो सम्बन्ध युरोप र एसियामा ‘शान्ति र स्थिरता सुनिश्चित गर्ने’ उद्देश्यले गरिएको बताएको छ ।

दुई देशले हालका वर्षहरूमा सैन्य सहयोग बलियो बनाएका छन् । प्योङयाङले युक्रेनविरुद्धको युद्धमा मस्कोलाई समर्थन गर्न हतियार र सेनाहरू उपलब्ध गराएको छ ।

दक्षिण कोरियाली सांसद ली सेओङ–क्वेनले देशको गुप्तचर सेवालाई उद्धृत गर्दै रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएका र हजारौँ घाइते भएको बताए ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, जापान र अन्य आठ देशसहितको बहुपक्षीय प्रतिबन्ध अनुगमन समूहले शुक्रबार ती सम्बन्धलाई ‘गैरकानूनी’ भन्दै निन्दा गरेको छ ।

जवाफमा प्योङयाङले मस्कोसँगको आफ्नो सहयोगको उद्देश्य ‘राज्यको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र सुरक्षा चासोको रक्षा गर्ने’ साथै “युरेसियाली क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्ने’ रहेको बताएको छ ।

विदेश मन्त्रालयका एक अधिकारीले जारी गरेको विज्ञप्तिमा रुससँगको सम्बन्धलाई ‘अन्तर–राज्य सम्बन्धको क्रिम’ भनेर वर्णन गरिएको छ ।

“प्योङयाङ र मस्कोले सार्वभौमिकता, समानता र न्यायका लागि वास्तविक सम्मानमा आधारित बहु–ध्रुवीय विश्व व्यवस्था स्थापना गर्न सक्छन्”, उनीहरूले भने ।

गत अक्टोबरमा सुरु गरिएको बहुपक्षीय प्रतिबन्ध अनुगमन टोलीले उत्तर कोरियामाथि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिबन्धको उल्लङ्घनको निगरानी र रिपोर्ट गर्दछ । यद्यपि यो संयुक्त राष्ट्रसङ्घबाट स्वतन्त्र रूपमा सञ्चालित हुन्छ ।

यसको स्थापना रूसले सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेपछि भएको थियो । उक्त भिटोले सन् २००६ मा पहिलो पटक लागू गरिएका र पछि धेरै पटक बलियो बनाइएका संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरूप्रति प्योङयाङको पालनाको निरीक्षण गर्ने प्रणालीलाई प्रभावकारी रूपमा समाप्त गर्‍यो ।

समूहका अनुसार रुसी झण्डा बोकेका कार्गो जहाजहरूले सन् २०२४ मा उत्तर कोरियाबाट रुसमा ‘मिश्रित तोपखाना र बहु रकेट लन्चर गोला बारुदको ९० लाख राउन्ड’ ढुवानी गरेका थिए ।

“बदलामा रूसले उत्तर कोरियालाई वायु रक्षा उपकरण र विमान भेदी मिसाइलहरू प्रदान गरेको मानिन्छ”, टोलीले भन्यो ।

अप्रिलमा उत्तर कोरियाले पहिलो पटक युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न रुसमा सेना तैनाथ गरेको पुष्टि गरेको थियो ।

कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियोः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरुको कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताएका छन् ।

संसदको अर्थ समितिको सोमबारको  बैठकमा ‘बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा गभर्नर पौडेलले यस्तो बताएका हुन् ।

‘अहिले करिब १९ लाख ४० हजार ऋणी रहेका छन्, जसमध्ये शून्य दशमलव शून्य दशमलव एक प्रतिशत ऋणीले मात्र ३.९ प्रतिशत कर्जा प्रयोग गरेको देखिन्छ, यसबाट केही व्यक्तिलाई मात्रै धेरै ऋण गएको छ कि भन्ने देखिन्छ’, उनले भने, ‘त्यसरी सीमित व्यक्तिलाई मात्र धेरै ऋण जानु राम्रो हो वा होइन र त्यसरी प्रवाहित कर्जाले उत्पादनमा राम्रो गरेको छ वा छैन भन्ने चासोको विषय हो ।’

संशोधनका क्रममा रहेको बाफियाले बैङ्क तथा वित्तीय संस्थाहरुको सञ्चालक र व्यवसायी छुट्याउने तथा उल्लेख्य स्वामित्व भएका व्यक्ति र बैङ्कसँग सम्बद्ध व्यक्ति को हो भनेर छुट्याउन खोजेको गभर्नर पौडेलले बताए । सञ्चालकले के–कति कर्जा लिन पाउने–नपाउने भन्ने विधेयकमार्फत स्पष्ट भएर आउने विश्वास उनले व्यक्त गरे ।

डिजिटल बैङ्किङलाई विद्यमान बाफियाले नसमेट्ने भएका कारण अहिलेको संशोधन आवश्यक रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले धारणा राखे । अहिले करिब साढे ५५ खर्ब रुपैयाँ हाराहारी कर्जा प्रवाह भएको उनको भनाइ थियो ।

समितिमा विचाराधिन विधेयकमा डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैङ्किङलाई कानुनी मान्यता दिने, बैङ्क सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयर धनी रहेका बैङ्कबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायतका विषय राखिएका छन् ।

त्यस्तै, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिमसमेतका आधारमा बैङ्क तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमनका लागि कानुनी प्रबन्ध गर्न पनि यो विधेयकले महत्वपूर्ण भूमिका खेल्ने ठानिएको छ ।

नेकपा एमालेले चलायो ‘म झोले’ अभियान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै जनता र राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताएका थिए ।

उनले आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अप्ठ्यारो नलाग्ने बताएका थिए । आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको भन्दै नेकपा एमालेको झोले भएको बताएका थिए ।

प्रधानमन्त्रीको भनाई थियो, ‘इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउँदा म नेकपा एमालेको झोले हो । म यस देशका जनताको झोले हो । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई । म कबुल गर्छु, झोले हो । झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नुमा गर्व छ ।’

प्रधानमन्त्रीको यो भनाईपछि एमालेले सोमबारदेखि सामाजिक सञ्जालमा ‘झोले’ अभियान चलाएको छ । अभियानअन्तर्गत प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर फेसबुकमा राखेका छन् । प्रधानमन्त्रीसहित महासचिव शंकर पोखरेल, विष्णु रिमाल, विष्णु पौडेललगायत एमाले नेताहरुले आफ्नो तस्बिरमा म झोले अभियान चलाएका छन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’

कांग्रेस एमालेको सरकारसँग चीन खुसी छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले अहिलेको सरकारप्रति चिनियाँ पक्ष खुसी रहेको  बताएका छन्।पूर्वराष्ट्रपति भण्डारीसँग चीन भ्रमणबाट फर्किएका भण्डारीले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई ठूला पार्टी मिलेर सरकार बनेपछि नेपालमा राजनीतिक स्थायित्व दिने विश्वास चिनियाँ पक्षले राखेको बताए।

मन्त्री भण्डारीले भण्डारीको चीन भ्रमणबाट दुई देशबीचका साझा मान्यता, सम्झौता र सम्झदारीलाई पुनःताजकी गर्ने एउटा सद्भाव भ्रमणको रहेको भन्दै यसमा चिनियाँ सरकारको सकारात्मक प्रतिबद्धता आएको बताएका हुन् ।

उनले यसअघि भएका सहमतिहरुलाई पुनःताजकी र कार्यान्वयन गर्ने कुरामा चिनियाँ सरकारको तर्फबाट उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताए ।

यस्तै, उनले दुई देशबीचको सम्बन्धलाई अझ उन्नत रुपबाट अगाडि बढाउने, आपसी सम्बन्धहरुलाई मजवुद बनाउने विषयमा पनि छलफल भएको बताए ।

राजधानी बेइजिङ र गान्सुमा उच्चस्तरीय भेटवार्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँगको संवाद र सभ्यतासँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गरेर भण्डारी नेतृत्वको टोली सिचुआन प्रान्तको छेन्दु हुँदै सोमबार स्वदेश फर्किएको हो ।

चीन भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख व्यक्तित्वहरुसँग भेटवार्ता गरेकी थिइन् ।

एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत जेठ १० गते चीन भ्रमणमा गएकी भण्डारी आफ्नो १० दिने भ्रमण पूरा गरी सोमबार बिहान नेपाल फर्किएकी हुन्।

भ्रमण टोलीमा नेकपा (एमाले) विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, एमाले नेता कर्ण थापा लगायत थिए।

विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ ।

विश्व बैंकले सोमबार  विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैंक निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जनाएको हो ।

नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिँचाई सेवामा सुधार गरी कृषि उत्पादन बढाउने उद्देश्यका लागि उक्त ऋण सुविधा उपलब्ध गराइएको हो ।

जसमध्ये, विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर ऋण सुविधा लिइएको छ । उक्त रकमबाट कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाइने जनाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चाचन हुने आपूर्ति प्रणाली सुधार परियोजनाले सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति तथा त्यसको निगरानी गर्ने स्वचालित प्रणाली विकास गर्ने उद्देश्य राखिएको जनाइएको छ ।

त्यस्तै, रानी जमरा कुलरिया सिँचाई आयोजनाको तेस्रो चरण (फेज–३) का लागि १३ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत भएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराई कृषि उपजको उत्पादन वृद्धि गर्ने लक्ष्य यो परियोजनाले राखेको छ । यो परियोजनाबाट थप १७ हजार ५०० हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पुर्‍याइने र यसबाट करिब एक लाख ६० हजार मानिस लाभान्वित हुने ठानिएको छ ।

प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब बजेट(सूचीसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट पठाएको छ । यस्तो बजेटमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान (पुँजीगत)सहितको वित्तीय हस्तान्तरण शीर्षकमा उक्त बजेट विनियोजन गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको यस्तो बजेटमा प्रदेशलाई ९७ अर्ब ५६ करोड स्थानीय तहको लागि ३ खर्ब २० अर्ब २६ करोड रुपैयाँ पठाएको छ ।

यस्तो रकममा महागनरपालिकालाई ११ अर्ब ७४ करोड, उपमहानरपालिकालाई ११ अर्ब ३८ करोड, नगरपालिकालाई १ अर्ब ४३ अर्ब १० करोड र गाउँपालिकालाई १ अर्ब ५४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले वित्तीय हस्तान्तरण शीर्षकमा प्रदेश र स्थानीय तहलाई विनियोजन गरेको यस्तो रकम समानीकरणमा न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदानमा खर्च गर्न पाइन्छ ।

राजावादी समूहले आज कुनै प्रदर्शन नगर्ने

काठमाडौँ । राजावादी समूहले आज कुनै प्रदर्शन नगर्ने भएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार जारी गरेको विज्ञप्तिमा आज राजपरिवारका सदस्यहरूको हृदय विदारक देहावसान भएको सबै नेपालीहरूको लागि शोकको दिन भएकाले जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु केही नगरिएको उल्लेख छ ।

विज्ञप्तिमा आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवङ्गत आत्माहरूको चिर शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम गरिने उल्लेख छ ।

यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

काठमाडौँ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो ।

यातायात व्यवसायी तथा मजदुरका आठ सङ्गठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदुरसँग छलफल गरेका हुन् ।

गृह मन्त्रालयमा सोमबार बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी वार्ता समिति गठन गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने छन् ।

अर्थमन्त्री पौडेलसँग आइएमएफ मिसन प्रमुखको भेट

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी– ईसीएफ) को छैटौं समीक्षा, संरचनागत सुधारलगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसिएफ सुविधा लिएको थियो । जुन नेपालले पाउने स्पेशल ड्रइङ राइट (एडिआर) कोटाको १८० प्रतिशत बराबर हो । बजेट वित्तपोषण (बजेट फाइनान्सिङ) का लागि चार वर्षमा विभिन्न किस्तामा भुक्तानी गर्नेगरी आइएमएफले यो सुविधा उपलब्ध गराएको थियो ।

उक्त कर्जा सुविधाको छैटौं समीक्षाका लागि आईएमएफ मिसन टोली नेपाल आएको हो ।

उपत्यकामा प्रहरीको निःशुल्क बस सञ्चालन

काठमाडौँ । व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ ।

नक्सालबाट बालुवाटार, महाराजगन्ज, नयाँ बसपार्क, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ । यस्तै नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, काटेश्वर, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, महाराजगन्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ ।

बढी भाडा नलिन निर्देशन

प्रहरीले यात्रुसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ । बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो । यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीले अनुरोध गरेको छ ।

गृह मन्त्रालयमा सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु

काठमाडौं । सरकार आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा गृह मन्त्रालयमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता सुरु भएको हो ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरेसँगै आज देशभर यातायात ठप्प छ ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग व्यवसायीले गरेका छन् ।

यसबारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आजदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले जनाएको छ ।

रूसमा युक्रेनको सबैभन्दा ठूलो ड्रोन आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘स्पाइडर वेब’ नाम दिइएको विशेष अपरेसनमार्फत ११७ ड्रोन प्रयोग गरिएको जानकारी दिएका छन् ।

तीमध्ये ३४ प्रतिशतले रूसका रणनीतिक क्रूज मिसाइल बोक्ने बमवर्षक विमानहरूमा सिधा प्रहार गरेको बताइएको छ । एसबीयू स्रोतका अनुसार सो अपरेसन तयार पार्न १८ महिना लागेको थियो ।

उनीहरूका अनुसार ड्रोनहरूलाई काठका केबिनभित्र लुकाइएकै ट्रकमार्फत रूसी सैन्य अखडाहरू नजिक पुर्याइएको थियो । छानाहरू टाढाबाट खोलिने प्रणाली रहेको ती ट्रकहरूबाट ड्रोनहरू ‘सही समयमा’ प्रक्षेपण गरिएको थियो ।

रूसी अधिकारीहरूले युक्रेनी आक्रमणको पुष्टि गर्दै यसलाई ‘आतङ्कवादी कार्य’ भनेका छन् । रूसी सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा कमाज ट्रकबाट ड्रोन उडिरहेको देखिएको बताइएको छ।

युक्रेनी पक्षले ट्रकहरू पेट्रोल पम्प नजिकै राखेर आक्रमण सुरु गरेको आशंका गरिएको छ । राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै अपरेसनमा संलग्न सबै व्यक्तिहरूलाई रूसबाट सुरक्षित रूपमा निकालिएको जानकारी दिएका छन् ।

युक्रेन र रूसबीचको तनावपूर्ण स्थिति कायमै रहँदा दुवै देशका प्रतिनिधिहरू सोमबार टर्कीको इस्तानबुलमा दोस्रो चरणको शान्ति वार्तामा सहभागी हुने तय भएको छ।

तर, विश्लेषकहरूले वार्ताबाट ठूलो प्रगति हुने सम्भावना न्यून रहेको बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण–स्तरीय आक्रमण सुरु गरेका थिए ।

राजावादीको उपत्यका बन्द फिर्ता

काठमाडौं । राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

आन्दोलनका क्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’ भनिएको छ ।

आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए । तर ती सबै नेताहरुलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको थियो ।

नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा गरिएका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भमा कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आइतबार आयोजित संवाद कार्यक्रममा  सभापति शेरबहादुर देउवाले यस्तो घोषणा गरेका हुन्। दिवसका दिन यही जुन ५ तारिखदेखि लागू हुने गरी पार्टी र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरिएको हो ।

‘विश्व वातावरण दिवसका दिनदेखि लागू हुने गरी पार्टी मातहतका सबै तहका कार्यालयका साथै भ्रातृ एवम् शुभेच्छुक संस्थाका कार्यालय र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरेको छु,’ सभापति देउवाले घोषणासभामा भने ।

उनले वातावरणमा पारेको नकारात्मक असरप्रति गरिएको घोषणा कार्यान्वयनमा पार्टीका सबै तहको सकारात्मक सहयोग हुने विश्वास व्यक्त गरे।

‘सन् २०२४ सबैभन्दा तातो वर्षका रूपमा पुष्टि हुन आएको छ, ढिलो नगरी जलवायु परिवर्तनका असरलाई कम गर्नुपर्ने छ। नेपालले जलवायु न्यायको लागि अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउँदै आइरहेको छ, स्रोतसाधनको सीमितताका बीच हामीले जलवायु परिवर्तनको असर कम गर्न काम गर्दै आइरहेका छौँ । संयुक्त राष्ट्रसङ्घमा नेपालले जलवायु परिवर्तनबारे आवाज उठाउँदै आएको छ’, सभापति देउवाले भने।

उनले विकास निर्माणका क्रममा वातावरणीय पक्षको क्षति हुँदै गइरहेको भन्दै यसमा सचेत रहन ध्यानाकर्षण गराए। हामीलाई विकास मात्रै होइन दिगो विकास चाहिएको छ भन्दै सभापति देउवाले जलवायु परिवर्तनले अर्थतन्त्रको आधार स्तम्भमा नकारात्मक असर पारेकामा चिन्ता व्यक्त गरे।

वातावरणमा परेका नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पदार्थको सट्टा विद्युतीय सवारी प्रयोगलाई ध्यान दिनुपर्ने र विद्यालय र विश्वविद्यालयमा जलवायुमैत्री शिक्षा दिइनुपर्नेमा सभापति देउवाले जोड दिए।

जलवायु सङ्कट र विश्वको सन्दर्भ विषयमा प्रस्तुतिकरण गर्दै जलवायु परिवर्तनविज्ञ मञ्जित ढकालले मानिसले खाने हरेक कुरामा प्लास्टिक समावेश भएको भन्दै प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।

जलवायु तथा प्लास्टिक प्रदूषण र राजनीतिक दलको भूमिका विषयमा प्रस्तुतिकरण गर्नुहुँदै वातावरण विज्ञ डा विजय थापाले दीर्घकालीन समस्या समाधानका लागि पार्टीको स्पष्ट नीति र धारणा तयार गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय डुङ्गा दौड प्रतियोगितामा फेवा हर्पन र ताल पारी समूह विजयी

कास्की । पर्यटकीय राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आइतबार सम्पन्न राष्ट्रियस्तरको खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समूह विजयी भएका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना तथा फेवा डुङ्गा व्यवसायी सङ्गठनको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी समूहको ‘बी’ टोली प्रथम भएका हुन् ।

पुरुषतर्फ बाराही डुङ्गा घाटले द्धितीय र स्विमिङपुल घाटले तृतीय स्थान हासिल गर्न सफल भए भने फिष्टेल घाटले सान्त्वना स्थान हासिल गरे । महिलातर्फ गौरीघाटले द्वितीय, पहारी घाटले तृतीय र जलारी दिदीबहिनी समूहले सान्त्वना स्थान हासिल गरे ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने समूहले समान नगद ४० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वना स्थान हासिल गर्नेले १० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनका लागि फेवातालको संरक्षणमा जोड दिनुपर्ने बताए ।

उनले ताल सरंक्षणका लागि पोखरा महानगरसँगको सहकार्यमा फेवातालको सीमाना (तालघर)मा पिल्लर गाड्न सुरु गरिएको जानकारी दिए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेवाताल पर्यटकीय राजधानी पोखराको प्रमुख गहना र मुख्य पहिचान भएको बताए । डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले फेवातालको महत्व बुझाउन यो प्रतियोगिता आयोजना गरिएको बताए ।

बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालबारे यस कार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा थप प्रचारप्रसार तथा प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कमल थापा रिहा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना रिहा भएका छन् । थापासहित ७ जना आइतबार दिउँसो काठमाडौँको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका थिए ।

त्यस्तै राप्रपाका सांसद दीपक सिंह थापालाई भेट्न जाँदा प्रहरी परिसरबाटै पक्राउ परेका थिए । परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले एक जनाबाहेक ७ जनालाई रिहा गरिएको जानकारी दिए ।

प्रहरीले कमल थापा, दीपक सिंह, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिनालाई प्रहरीले जिम्मा जमानीमा छाडेको उनले बताए ।

मदिरा खाएर प्रहरीमाथि नै दुव्र्यवहार गर्ने डा राजीव झा भने थुनामै छन् । प्रदर्शनका क्रममा निषेधिक्ष क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि थापासहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।