`

यातायात व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन आजैदेखि सञ्चालनमा आउने भएका छन् । सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि मंगलबार सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिए । आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै आजैदेखि सार्वजनिक यातायात सहज रूपमा चल्ने छ ।

सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक–पटक वार्ता पश्चात् सहमति भएको थियो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।

सङ्घीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दासम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले मंगलबार दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आमनागरिक परेका थिए ।

धानको समर्थन मूल्य अनिवार्य गर्न माग गर्दै किसान महासंघद्वारा मन्त्री भण्डारीसमक्ष ज्ञापन पत्र पेस

काठमाडौं । धानको न्यूनतम समर्थन मूल्य कायम गर्न माग गर्दै अखिल नेपाल किसान महासङ्घले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । महासङ्घका अध्यक्ष प्रेम दंगाल सहितको टोलीले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष ज्ञापन पत्र पेस गरेको हो ।

ज्ञापन पत्रमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ भए पनि हालको बजार मूल्य सरदर रु. १६२५ (प्रति मन रु ६५०) मात्र भएको र उक्त मूल्यमा समेत धान बिकि नभई कुहिने अवस्थाले किसानहरू हतोत्साहित भइरहेको महासङ्घको भनाई छ । सरकारले औपचारिकताका लागि न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिने तर खरिद गर्ने व्यवस्था नगरी किसानलाई झुक्याउने गरेको महासङ्घको भनाई छ ।

महासङ्घका उपाध्यक्ष प्रेम नारायण अधिकारीले भने, ‘आर्थिक वर्ष ०८१/०८२ का लागि नेपाल सरकार मन्त्रीपरिषद्को (२०८१ फागुन २१) गते बसेको बैठकले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु २८६९ निर्धारण गरेको थियो, समयमै धानको समर्थन मूल्य निर्धारण भएकाले किसानले उत्साहित भई चैते धान लगाएका थिए । तर धान बिक्री गर्ने समयमा बजार मूल्य प्रतिक्विन्टल सरदर रु १६२५ (प्रति मन रु ६५०) रहेको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्य र बजार मूल्यबिचमा ठुलो अन्तर रहेको छ । सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेपछि धान उत्पादन हुनसाथ उक्त मूल्यमा धान खरिद गर्ने सुनिश्चित गर्नु पर्दछ ।’

महासङ्घले नेपालमा उत्पादित धान किसानबाट खरिद गरी भण्डारण गर्ने र आवश्यकता अनुसार वितरण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आग्रह गरेको छ । सरकार किसानप्रति जिम्मेवार र जबाफदेही हुनुपर्ने महासङ्घको आग्रह रहेको छ ।

महासङ्घको ज्ञापन पत्र बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले किसानका मागका विषयमा आवश्यक सुनुवाई गरेर निकास दिने बताए । धानको मूल्यका विषयमा किसानले उठाएका उपयुक्त मागहरु सम्बोधन गरी उपयुक्त कदम चाल्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिए ।

नेपालमा चैते धान ५ लाख मेट्रिक टन उत्पादन हुने गरेको किसान महासङ्घको भनाई छ । नेपाली किसानले उत्पादन गरेको धान खरिद गर्न र गोदामको अभावका कारण धान कुहिने अवस्था रहेकाले गोदामको व्यवस्थापन गरिदिन महासङ्घको माग रहेको छ ।

कमलादी घटनाबारे राप्रपाले लगायो प्रचण्डलाई गम्भीर आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले माओवादी अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साहट गरेको आरोप लगाएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सोमबार साँझ कमलादीमा दिवंगत राजपरिवारको सम्मान आयोजित दीप प्रज्वलन कार्यक्रममा वाइसिएलबाट भएको अवरोधको प्रयासको राप्रपाले विरोध गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, स्वर्गबासी राजा वीरेन्द्र र दिवंगत राजपरिवारको सम्मान र सम्झनामा जेठ १९ गते साँझ कमलादी मन्दिरमा राजपरिवारको समेत उपस्थितिमा आम जनताले श्रद्धाञ्जली अर्पण र दीप प्रज्वलन गर्ने कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट वाइसिएलबाट भएको अवरोधको प्रयासको राप्रपा सशक्त विरोध गर्दछ। पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन गर्नुभएको उक्साहटप्रति राप्रपा खेद व्यक्त गर्दछ।’

दीप प्रज्वलनका क्रममा वाइसिएल कार्यकर्ताले ढुंगा प्रहार गरेको खबर सार्वजनिक भएको थियो ।

गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिना रोक्ने

पोखरा । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबीचको छलफलपछि एक महिनाका लागि नियमावली कार्यान्वयन नगर्ने निर्णय भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव एवं वार्ता समिति संयोजक कमलकुमार अधिकारीले जानकारी दिए ।

उनकाअनुसार यातायात व्यवसायीहरूलाई वार्ताका लागि पुनः आह्वान गर्ने र सो अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने प्रक्रिया स्थगन हुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार नै सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता लिई जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि प्रदेश सरकारलाई पत्र प्राप्त भएको पनि सचिव अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले यही जेठ १ मा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली–२०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो । त्यसको विरोधमा व्यवसायीले जेठ ८ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । आफ्ना माग पूरा नभएका भन्दै यातायात व्यवसायीले जेठ १६ गतेदेखि गण्डकी प्रदेश र जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात बन्द गर्दै आएका छन् ।

सोमबार राति सङ्घ सरकार र व्यवसायीबीच सहमति भए पनि प्रदेश सरकारले निर्णय नगरेसम्म बन्द जारी रहने भन्दै आज पनि व्यवसायीले देशभर यातायात बन्द गरेका छन् ।

उद्योगमन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार भएको भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ मा कुटनीतिक सम्बन्ध स्थापना भए देखिनै नेपाल र जोर्डनबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र राजदूत घानीको कार्यकालमा थप प्रगाढ हुने अपेक्षा व्यक्त गरे ।

उनले नेपाल र जोर्डनबीच भइरहेको सिमित व्यापार र नेपालको व्यापार घाटाका विषय उल्लेख गर्दै भविष्यमा व्यापार तथा लगानी बढाउन नेपालबाट कृषिजन्य वस्तुहरू निर्यात गर्ने र जोर्डनबाट मल आयात गर्न सकिने विषयमा सहकार्य हुन सक्ने विचार व्यक्त गरे ।

साथै, सन् २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने तयारी भइरहेकाले नेपालमा विदेशी लगानीको प्रचुर सम्भावना रहेको र नेपाल सरकारले लगानी प्रवद्र्धनका लागि विभिन्न नीतिगत, कानूनी तथा प्रकृयागत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गर्दै जोर्डनबाट नेपालमा थप लगानी भित्र्याउन आह्वान गरे ।

नेपालले हालै मात्र सफलतापूर्वक सगरमाथा सम्वाद सम्पन्न गरेको विषय उल्लेख गर्दै मन्त्री भण्डारीले सम्वादको मुख्य सन्देश विश्वव्यापि साझा वस्तुको संरक्षणका लागि सबैको सामुहिक कार्य जरूरी रहेको र जोर्डनको समेत यो एक प्राथमिकताको क्षेत्र भएकाले दुई देशबीच यो विषयमा पनि सहकार्य र सहयोग हुनेसक्ने बताए ।

छलफलका क्रममा नेपालका लागि जोर्डनका गैरआवसीय राजदुत अब्देलघानीले नेपाल र जोर्डनबीच धेरै आयाममा समानता रहेको र आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्धमा बलियो बनाउन प्रयास गर्ने बताए ।

दुई देशबीच कुटनीतिक, व्यापारिक तथा लगानी सम्बन्धलाई थप प्रगाढ बनाउन सरकारी र व्यापारिक प्रतिनिधिबीच आदानप्रदान भ्रमणहरू, सांस्कृतिक भ्रमण आदान प्रदान, व्यापार तथा लगानी प्रवद्र्धनका लागि संयुक्त समितिको स्थापना गर्नु पर्नेमा जोड दिए ।

नेपालको लागि जोर्डन श्रम बजारको एक प्रमुख गन्तब्य हुनसक्ने आँकलन गरी निर्माण उद्योग, तयारी पोशाक लगायत क्षेत्रमा प्रचुर सम्भावना रहेको समेत औंल्याए । दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाईराख्न मन्त्रालयले पूर्णरूपमा सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

मन्त्री भण्डारीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन र व्यापार तथा लगानीको दायरा बढाउन राजदुत घानीको महत्वपूर्ण भूमिका रहने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

 

आन्दोलन चर्काउने यातायात व्यवसायीको चेतावनी

काठमाडौं । यातायात व्यवसायीहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलन सशक्त रुपमा अघि बढाउन देशभरका यातायात व्यवसायी, स्वरोजगार, मजदुर, कर्मचारीहरूमा आग्रह गरेका छन् ।

उनले संघीय सरकारसँग भएको सहमति गण्डकी प्रदेश सरकारले कार्यान्वयन नभए भोलि देखि आन्दोलन अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन् ।

राइड सेयरिङ नियमावली रोक्न गण्डकी सरकारलाई प्रधानमन्त्रीको पत्र

पोखरा । राइड सेयरिङ नियमावलीमा उल्लेखित प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई मंगलबार पत्र पठाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयलाई पत्र पठाएको हो । सोमबार राति सार्वजनिक यातायात बचाउ संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार संघीय सरकारले प्रदेश सरकारलाई पत्र पठाएको हो ।

पत्रमा भनिएको छ, ‘यातायातसम्बन्धी महासंघ र संघसंगठनले आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रमले जनजीवन असहज भइरहेको सन्दर्भमा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता गरी जनजीवनलाई सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि गण्डकी प्रदेश सरकारलगायत प्रदेश सरकारहरुलाई नियमावलीमा उल्लेखित राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध भइ आएकोले उक्त निर्णय कार्यान्वयनको लागि पठाइएको छ ।’

पत्र प्राप्त भएपछि धारणा बनाउन प्रदेश सरकार छलफलमा जुटेको छ । प्रदेश सरकारको बैठकपश्चात् धारणा सार्वजनिक गर्ने तयारी छ । यातायात व्यवसायी नियमावली खारेज नहुँदासम्म हडताल कायम राख्ने अडानमा छन् ।

यातायात बन्दविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हड्ताल हटाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मङ्गलबार अधिवक्ता विवेक पोखरेलले गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासङ्घसमेतलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन् ।

रिटमाथि बुधबार पेसी तोकिएको छ । सार्वजनिक यातायात अत्यावश्यक सेवा क्षेत्र भएकाले त्यसमा हड्ताल गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गर्नु संविधान विपरीत रहेको दाबीसहित रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ ।

देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको रिटमा उल्लेख गरिएको छ । नेपाल सरकारद्वारा २०८० मंसिर २८ गते प्रकाशित नेपाल राजपत्रले सार्वजनिक यातायात सेवासहित २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ ।

गृहमन्त्रीले अहिलेनै पद छाड्नु पर्दैनः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले गृहमन्त्रीमाथि कुनै उजुरी नै नपरेकाले राजीनामा दिनुनपर्ने बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री शर्माले अहिले कर्मचारीमाथि अनुसन्धान भइरहेको तर अनुसन्धान गृहमन्त्रीसम्म पुग्यो भने मात्र पद छाड्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो अत्यन्तै गम्भीर घटना बाहिर आएको छ । यो लामो समयदेखि भइरहेको कुरा आएको छ । अहिले यो अनुसन्धान अख्तियारले गरिरहेको छ । कर्मचारीमाथि अनुसन्धान भइरहेको छ । यसमा अनुसन्धान गर्दा कर्मचारी, मन्त्री, नेता, कोही पनि हुनुहुन्छ भने गहन अनुसन्धान गरेर जानुपर्छ । अनुसन्धान गर्दैगर्दा अख्तियारले यदि मन्त्रीउपर पनि अनुसन्धान भइरहेको छ भने मन्त्रीले राजीनामा दिनुपर्छ । अख्तियारले मन्त्रालयसँग आवद्ध कर्मचारीमाथि अनुसन्धान भइरहेकाले अनुसन्धान त्यहीँ केन्द्रित गर्नुपर्छ । तर अनुसन्धानको लहरो गृहमन्त्रीसम्म पुगेमा मात्र राजीनामा गर्नुपर्छ ।’

महामन्त्री शर्माले अहिले अघिल्लो गृहमन्त्रीको प्रकरणलाई जोडेर यो प्रकरणलाई हेर्न नहुने बताए ।

मरिचखेतीले फेरियो बास्तोलाको दैनिकी

-हरिप्रसाद बास्तोला

गण्डकी । उत्पादनको सम्भाव्यता र बजारको मागलाई बुझेर कृषि कर्ममा लाग्ने हो भने जीविकोपार्जनका लागि विदेसिनु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिएका छन्। पोखरा महानगनपालिका–२८ स्याङखुदी टारीका कृषक सूर्यमोहन बास्तोलाले बाँझिएको भिरालो पाखोमा सुरु गरेको मरिच खेतीबाट राम्रो आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् ।

घरको वरिपरि हुर्केका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सयभन्दा बढी हरिया रूखका फेदमा लगाएको मरिचका बोटले निरन्तर फल दिन थालेपछि उनी हर्षित छन् । उनका अनुसार उत्पादित फल बिक्रीबाट वार्षिक एकदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ ।

मसलामध्येको अब्बल मानिने मरिच कालो सुनका रुपमा पनि परिचित छ । बिक्री हुँदैन कि भन्नु पर्दैन घरबाटै उत्पादित सम्पूर्ण फल बिक्री हुने गरेको उनी बताउँछन् । उनले सुकाएको मरिच प्रतिकिलो दुई हजारमा बिक्री गर्दै आएका छन् ।

उनले २०४६ सालमा लेखनाथको भण्डारढिकस्थित आत्रय गुरुङसँग २० मा किनेर ल्याएको दुईवटा बिरुवामध्ये एउटा म¥यो भने अर्को फस्टाएर अहिले व्यवसायका रुपमा विस्तार भएको छ । बिरुवा लगाएको पाँच वर्षमा फल दिन थालेको थियो ।

सुरुका दिनमा फल उत्पादन भए पनि ज्ञानको अभावमा कहिले टिप्ने र प्रशोधन गर्ने तरिका थाहा नहुँदा त्यतिकै खेर गएको बताउँदै उनले भने, “पछिल्ला दिनमा कामले काम सिकाउँदो रहेछ, अहिले राम्रै आम्दानी लिन सकेको छु ।” रूखमा पाकेको मरिच टिप्दै कृषक बास्तोलाले भने, “मरिचखेती मेरो दुहुनो गाई बनेको छ ।”

अमृत कुञ्ज अग्र्यानिक पर्माकल्चर फर्म दर्ता गरेको बताउँदै ६० वर्षीय बास्तोला भन्छन्, “रोग किराको प्रकोप नहुने, खासै स्याहारसुसार पनि गर्न नपर्ने, असिना, बाँदरले समेत खासै क्षति नगर्ने नगदे बाली मरिच पछिल्लो समय जीविकोपार्जनको मुख्य आधार बनेको छ ।”

झन्डै २० देखि ३० मिटरसम्मको लटरम्म फलेको हरिया काला झुप्पा देख्न सकिन्छ र यतिखेर कृषक बास्तोलालाई पाकेको मरिच टिप्न व्यस्त छन् । मरिचखेतीले उनलाई आम्दानी मात्र दिएन, विभिन्न जडीबुटी लगाएर व्यावसायिक कृषिमा लाग्न प्रेरित पनि गरेको छ । लगभग ३० रोपनी क्षेत्रफलमा फैलिएको उनको पर्माकल्चर फर्ममा विभिन्न प्रजातिका महत्वपूर्ण जडीबुटी, अगरउड, रक्तचन्दन, रातोकेरा, सितलचिनी, फलफूललगायतका विभिन्न ५५० भन्दा बढी प्रजातिका बोटबिरुवा हुर्केका छन् ।

घरबाट बाहिर निस्केपछि कुनै न कुनै प्रजातिका बिरुवा ल्याएर रोप्दै गर्दा जेठोबुढो धान उत्पादन गर्ने जग्गामा समेत हरियाली बनेको उनको फर्ममा अहिलेसम्म कुनै पनि विषादी प्रयोग भएको छैन, कम्पोष्ट मल प्रयोग गर्दै आएका छन् । सरकारीस्तरबाट हालसम्म कुनै पनि सुविधा प्राप्त नभएको बताउँदै उनले थपे, विषादी र रासायनिक मल प्रयोग नगर्ने फर्मलाई राज्यले चिन्न सकेको छैन ।

कृषक बास्तोलाले उत्पादित मरिचको फल बिक्रीबाट मात्र नभई पछिल्लो समय बिरुवा उत्पादन गर्दै आएका छन् । यस वर्ष ब्याडमा दुई हजार बिरुवा उत्पादन भएका छन् । बिरुवा बिक्रीबाट ५० हजारभन्दा बढी आयआर्जन गर्ने लक्ष्य रहेको छ । बिरुवाको माग बढेको छ प्रतिबिरुवा ३०० का दरले बिक्री गर्दै आएको बताउँदै उनले भने, “यस वर्ष पोखरा महानगरपालिका–१९ पुरन्चौरस्थित ठूलढुङ्गा सामुदायिक वन उपभोक्ता समूहले ३०० वटा मरिच र पिपला र पूर्वबाट पनि ५० मरिचको बिरुवाको माग रहेको उनको भनाइ छ । पछिल्लो समय घरबाटै बिरुवा बिक्री हुने गरेका छन् ।

उत्पादन गरेको बिरुवा बिक्री हुँदैन कि भन्ने छैन, बिस्तारै माग बढ्दै गएको छ । आगामी वर्ष १० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले केही समयअघि उनको फर्मको अवलोकन गरी उनले उत्पादन गरेको बिरुवा महानगरले खरिद गरेर कृषकलाई वितरण गर्ने योजना सुनाउनु भएपछि बास्तोला झनै हौसिएका छन् ।

उनका अनुसार पाकेको मरिचको गेडालाई एक दिन पानीमा भिजाउने गाईको गोबरसँग मिसाएर राम्ररी रगडेर पखालेर तयार भएको बीउलाई नर्सरी ब्याडमा रोपिन्छ । यो एक महिनाभित्र उम्रिन्छ र डेढ महिनामा रोप्नको लागि तयार हुन्छ । मरिचलाई कलमी, बडिङ, ग्राफ्टिङ, कटिङ (जरा र काण्ड) द्वारा प्रसारण गरिन्छ । माघ फागुनतिर माउबोटबाट दुईदेखि तीनवटा आँख्ला भएको हाँगा काटेर रोपिन्छ । कलमीलाई चाहिँदो छायाँ र पानी दिनुपर्दछ । फल दिन सुरु गरेको २० वर्षसम्म राम्रो आम्दानी दिए पनि बिस्तारै उत्पादनमा कमी आउने गरेको उनको भनाइ छ ।

पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीमा कृषक सूर्यमोहन बास्तोलाको पर्माकल्चर फर्म आयआर्जन र वातावरणीय हिसावले जिल्लाकै महत्वपूर्ण फर्म मात्र नभएर विदेशीहरुक लागि अनुसन्धानको केन्द्र पनि बनेको छ । चार दशक अघिदेखि स्वदेशमै सम्भावना देखेर कृषि कर्ममा लाग्नु भएको उनको अमृत कुञ्ज अर्गानिक पर्माकल्चर कृषि फर्ममा अहिलेसम्म विभिन्न देशका एक सयभन्दा बढीले काम गरेर फर्केका छन् ।

उनका अनुसार फर्ममा इटली, चीन, अमेरिका, जर्मनी, स्वीजरल्याण्ड, जापान, पाकिस्तान, भारत, बंगलादेश, क्यानडालगायत विभिन्न १५ देशका अनुसन्धानकर्ता, विद्यार्थीहरु आई काम गरेका छन् । उनीहरु १५ दिनदेखि दुई महिनासम्म आफ्नो परिवारको सदस्य जस्तै गरेर बस्ने र वारी खन्ने, घाँस काटने, मल बोक्ने, मरिच टिप्ने लगायतका सम्पूर्ण काम गर्ने गरेको उनको भनाइ छ ।

वेगनास तालको जलाधार क्षेत्रमा पर्ने उक्त स्थान मरिचको लागि उपयुक्त वातावरण भएको प्रमाणीत गरेको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । लहरेवाली मरिच नेपालमा एक महत्वपूर्ण मसला बाली हो । जुन विशेषगरी पहाडी क्षेत्रमा खेती गरिन्छ । किसानहरुलाई आर्थिक रुपमा सहयोग पु¥याउने यस बालीको विस्तारका लागि महानगरले पहल शुरु गरेको कडरिया बताउँछन् ।

उनको अनुसार मसलाको राजा भनेर चिनिने मरिच बहुवर्षे सदावार, लहर झाङ हुने बाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्दछ । यसको वानस्पतिक नाम पाइपर निग्रम हो जुन पिपरेसी परिवारअन्तर्गत वनस्पति जगतमा पर्दछ । यो बालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँछ । सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरिच पाकेर सुकाइएको हुन्छ जसलाई पाइपेरिकन भनिन्छ ।

मरिच विशेषगरी दक्षिणी भारतरित उत्पत्ति भएको मानिन्छ, उष्ण प्रदेशीय मुलुकहरुमा जताततै खेती गरिएको देख्न सकिन्छ । विश्वमा भियतनाम, भारत, ब्राजिल, मलेसिया, इन्डोनेसिया, चीन र श्रीलङ्कामा यसको व्यावसायिक रुपमा उत्पादन गरिन्छ । हालको तथ्याङ्कअनुसार भियतनाम विश्वकै सबैभन्दा धेरै मरिच उत्पादन र निर्यात गर्ने देशका रुपमा परिचित छ, जसले विश्वको ३४ प्रतिशत मरिच उत्पादन गर्दछ । नेपालमा मोरङ, सुनसरी, झापा, रामेछाप र लमजुङलगायतका जिल्लाहरुमा मरिचको खेती गरेको पाइन्छ ।

कालो मरिचको प्रयोग विभिन्न परिकारमा मसलाको रुपमा प्रयोग गरिन्छ भने विभिन्न आयुर्वेदिक औषधि बनाउन पनि प्रयोग हुने गर्दछ । खाना पचाउने, भोक लाग्ने, खोकीको उपचार, श्वासप्रश्वास र मुटु रोगका लागि प्रयोग गरिनाका साथै दन्तमञ्जन तथा टुथपाउडरमा समेत प्रयोग हुने गरेको छ । विश्वमा अत्यधिक प्रयोग गरिएका जातहरुमा वेलानकोट्ठा, कोट्ठनदान गुणस्तरीय मानिन्छन् भने पन्नियुर हाइब्रिड जातमा पर्दछन् । यसलाई सामुदायिक वन क्षेत्रमा समेत लगाउन सकिन्छ ।

मरिच विशेषगरी न्यानो, आद्र, हावापानी र बढी वर्षामा हुने, उष्ण प्रदेशीय बाली हो । पहाडी क्षेत्रको न्यानो तथा बढी आद्रता भएको ठाउँमा पनि यसको व्यावसायिकखेती गर्न सकिन्छ । समुद्री सतहदेखि एक हजार ५०० मिटरसम्म खेती गर्न सकिने यो बालीलाई दुई हजारदेखि तीन हजार मिमी पानी चाहिन्छ भने सापेक्षित आद्रता ६० देखि ९० प्रतिशत उपयुक्त हुने तथ्याङ्क रहेको छ ।

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ ।

अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा मंगलबार अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुुजाले अनावरण गरे । अन्नपूर्ण गाउँपालिकाले प्रथम आरोहण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना गरेको हो ।

उक्त स्थानमा हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुल्ला सङ्ग्रहालय पनि स्थापना भएको छ ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण हीरक महोत्सव मनाइएको हो ।

महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यस्तै पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ ।

गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो । यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगरप्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन् ।

रवि लामिछाने भैरहवाबाट डिल्लीबजार कारागारमा स्थानान्तरण हुँदै

बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले कारागार स्थानान्तरणका लागि आग्रह गरेका छन् ।

उनको आग्रहपछि कारागार प्रशासन र अदालतले प्रक्रिया अघि बढाएको छ । सरुवाका लागि लामिछानेले जिल्ला अदालत, रुपन्देहीबाट अनुमति लिएपछि कारागार प्रशासनले जिल्ला प्रशासनको स्वीकृति पनि लिइसकेका छन् । कारागार प्रशासनले सबै प्रक्रिया पूरा गरेर निर्णयका लागि कारागार व्यवस्थापन विभागमा पठाएको छ ।

विभागको निर्णयपछि मात्र उनको सरुवा हुनेछ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई २०८१ चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि उनी भैरहवा कारागारमा छन् ।

सामुदायिक विद्यालयलाई सशक्त बनाउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समुन्नत राष्ट्र निर्माणका लागि महत्वपूर्ण आधार भएकाले सामुदायिक विद्यालयलाई थप सशक्त बनाउन सबै तहका सरकार, नीति निर्माता, स्थानीय समुदाय र सरोकारवाला बिच समन्वय एवम् सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

काठमाडौँको टङ्गाल माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव (हीरक जयन्ती) तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कुनै पनि राष्ट्रको प्रगति र समृद्धि त्यस राष्ट्रको शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएकाले राज्यका सबै निकायले त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।

“हाम्रो शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने शिक्षित व्यक्तिको उत्पादनमा सीमित रहनु हुँदैन । बरु परिवार, समाज र राष्ट्रप्रतिको गहिरो उत्तरदायित्व बोध भएका सक्षम, इमानदार, अनुशासित र जिम्मेवार नागरिक तयार पार्ने हुनुपर्दछ । प्राप्त अवसरको प्रभावकारी उपयोग गर्न र चुनौतीको सामना गर्न बालबालिकालाई गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तरराष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम बनाउनु आवश्यक छ,” पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।

सूचना तथा सञ्चार प्रविधि र यातायातको तीव्र विकासका कारण आजको विश्व एउटा साझा गाउँ जस्तै बन्न पुगेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्,“ विश्वव्यापीकरणको यस प्रक्रियाले हाम्रा लागि एकातर्फ विभिन्न अवसरका ढोका खोलेको छ भने अर्कातर्फ केही चुनौती पनि थपिएका छन् । यसका लागि, हामीले हाम्रो शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युगानुकूल सुधार गर्नु अपरिहार्य भइसकेको छ ।”

लगानी बढाएर शिक्षाको पवित्र मन्दिर विद्यालय तथा शैक्षिक केन्द्रको पठन पाठनलाई कतैबाट कुनै पनि बहानामा अवरुद्ध पार्न नहुने पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो । श्रमशक्तिको आन्तरिक माग र अन्तरराष्ट्रिय श्रमबजारको आवश्यकताअनुसार दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न, जीवनोपयोगी सीप, सिर्जनशील सोच र राष्ट्रप्रति उत्तरदायी नागरिक तयार गर्न सामुदायिक विद्यालयको योगदान रहेको उनले बताइन् ।

“आज हाम्रो सामु देखापरेका अनेकौँ चुनौतीमध्ये युवाशक्तिको तीव्र विदेश पलायन पनि एक हो । गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा उनीहरू देशबाहिर जान बाध्य भइरहेका छन् । यससँगै नेपालको श्रम, सीप, मस्तिष्क र पूँजीसमेत पलायन भइरहेको छ । मुलुकको यस्तो अवस्था बदल्न हामीले स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीका अवसर सिर्जना गर्नु आवश्यक छ । यसका लागि हाम्रो शिक्षा प्रणालीलाई प्रत्यक्षरूपमा उत्पादनसँग जोड्न अत्यावश्यक छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्।

३५ अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । मंगलबरा नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।

आज तीन सय १५ कम्पनीको एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर ७५ हजार ५०८ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ३४ र होटल तथा पर्यटन समूह दुई दशमलव १२ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैङ्क एक दशमलव १४, वित्त शून्य दशमलव ८३, जलविद्युत् शून्य दशमलव ९६, लगानी एक दशमलव २९ र जीवन बिमा समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।

यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०१, लघुवित्त एक दशमलव २७, म्युचल फन्ड शून्य दशमलव ०१, निर्जीवन बिमा शून्य दशमलव ६८, व्यापार एक दशमलव ३७ र अन्य समूह शून्य दशमलव ९८ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडका शेयर मूल्य चार दशमलव ३८ प्रतिशतले घटेको छ ।

 

‘राजावादीविरुद्ध गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले जनताको त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्धमा भइरहेको व्यवस्था विरोधी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनीहरुले केही व्यक्ति र समूहले विस्थापित भइसकेको व्यवस्थालाई फर्काउने दुस्प्रयास गरिरहेको भन्दै त्यसका विरुद्धमा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद तुलसाकुमारी दाहालले व्यवस्था विरोधी प्रश्न उठाउर मित्थ्या आरोपप्रति प्रश्न उठाइनु सामान्य कुरा नभएको बताइन् । उनले समाजमा समय समयमा प्रकट हुने नकारात्मक सोच, संविधान व्यवस्थाप्रति फैलाइएको अफवाह सङ्घीय लोकतान्तिक गणतन्त्रको विरुद्धमा मित्थ्या आरोप लगाउने काम भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराइन् ।

उनले भनिन्,’व्यवस्थाप्रति प्रश्न उठाइनु सामान्य कुरा हैन । विगतमा परिवर्तनका लागि आन्दोलन गर्ने दल, सत्ताको विभिन्न समयमा रही काम गर्ने राजनीतिक दल गम्भीर हुन, चिन्तन मनन गर्न आवश्यक छ, एक आपसमा हिलो छ्याप्न थाल्यौँ भने प्राप्त उपलब्धिको रक्षा गर्न सकिँदैन ।’

सांसद दाहालले सरकारले सदनमा बजेट प्रस्तुत गरिसकेको र अति आवश्यक विधेयक पनि यसै सदनमा ल्याउने प्रतिवद्धता जनाएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखिन् ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सङघीय लोकतान्त्रिक गणतन्त्रान्त्रिक व्यवस्थाका विरुद्धमा सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको भन्दै व्यवस्था विरोधीका विरुद्ध एकजुट हुनुपर्ने बताए ।

उनले भने, ‘व्यवस्था ल्याउन कुनै योगदान र भूमिका नभएका व्यक्ति र समूहबाट बदनाम गराउने तथा वर्तमान संविधानलाई नै असफल बनाउने प्रयास भइरहेको छ । यसका विरुद्धमा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छ ।’

सदनमा जिम्मेवार प्रतिपक्षीलगायत अन्य दलले सदन अवरोध गरिरहेको भन्दै उनले जनताको आवश्यकता र जिविकासँग जोडिएका विषयलाई सम्बोधन गर्न सहमति तथा सहकार्यबाट अगाडि बढनुपर्नेमा जोड दिए ।

सांसद रोकायाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक कर्मचारीको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामाको विषय ल्याइनु दुःखद् पक्ष हो भन्दै आरोपित व्यक्ति विरुद्ध उजुरी नै नपरेको विषयमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाए । कर्मचारीले गल्ती गरेको आरोपमा मन्त्रीले राजीनामा दिँदै जाने हो भने कस्तो संस्कार बस्ला भनी उनले प्रश्न गरे ।

पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

म्याग्दी ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताएका छन्।अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा मंगलबार अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले म्याग्दी हुदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको उल्लेख गरे। कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागिपरेको बताए ।

पचहत्तर वर्षअघि फान्सका मौरिस हर्जोगको टोलीले अन्नपूूर्ण आरोहण गरेर नेपालको पर्वतारोहणको सम्भावनाको ढोका खोलिदिएको स्मरण गर्दै उनले पर्वतीय पर्यटनको विकासमा शेर्पा समुदायले गरेको योगदानको प्रशंसा गरे । प्रधानमन्त्रीले

सन् १९५० जुन ३ मा आरोही हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण आरोहण गरेका थिए । हीरक महोत्सव समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजा उपस्थित थिए ।

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रतपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछि नहटेपछि संसद बैठक भोलिसम्मलाई स्थगित भएको संसद सचिवालयले जनाएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो ।

तर, सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो १ बजेका लागि सारिएको थियो । गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।

ट्रम्प र सीबीच यस हप्ता ‘सम्भवतः’ कुरा हुनेछः ह्वाइट हाउस

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ताको अन्त्यमा लामो समयदेखि प्रतीक्षित फोन वार्ता गर्ने सम्भावना रहेको ह्वाइट हाउसले बताएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापारिक तनाव फेरि बढ्दै गएको छ ।

गत हप्ता विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै ट्रम्पले चीनसँगको तनावलाई पुनः सुरु गरेका हुन् । उक्त सम्झौताबाट दुवै देशलाई अस्थायी रूपमा ठूला पारस्परिक शुल्कहरू घटाउन नेतृत्व गरेको थियो ।
“दुई नेताले यस हप्ता कुरा गर्ने सम्भावना छ”, ट्रम्प र सी बोल्नुहुन्छ कि भनेर सोधिएको प्रश्नमा प्रेस सचिव क्यारोलिन लेभिटले वेस्ट विङ बाहिर पत्रकारहरूलाई भने ।

मङ्गलबार उक्त बयानबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङसँग ‘उपलब्ध गराउनका लागि कुनै जानकारी नभएको’ बताए ।

ट्रम्प सत्तामा फर्किएको पाँच महिनाभन्दा बढी समयपछि उनी र सीबीच अहिलेसम्म कुनै पुष्टि भएको सम्पर्क भएको छैन । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले फोन आसन्न रहेको बारम्बार दाबी गरे ।

ट्रम्पले अप्रिलमा टाइम म्यागजिनको अन्तर्वार्तामा सीले उनलाई फोन गरेको बताएका थिए तर बेइजिङले हालै कुनै फोनवार्ता नभएको जोड दिएको थियो ।

अन्य देशहरूले संयुक्त राज्य अमेरिकालाई ‘लुट्दै’ र व्यापारिक असन्तुलन चलाएको आरोप लगाउँदै ट्रम्पले अप्रिलमा विश्वव्यापी व्यापक भन्सार शुल्कहरू लागू गरे । भन्सार शुल्कले चीनलाई सबैभन्दा बढी लक्षित गर्यो ।

बेइजिङ र वासिङ्टनले गत महिना जेनेभामा शीर्ष अधिकारीहरू बीचको वार्तापछि ९० दिनका लागि एकअर्कामा आश्चर्यजनक रूपमा उच्च भन्सार शुल्क कटौती गर्न सहमति गरेका थिए ।

तर ट्रम्प र वासिङ्टनका अन्य शीर्ष अधिकारीहरूले गत हप्ता चीनलाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाए । वाणिज्यमन्त्री हावर्ड लुटनिकले फक्स न्युज सन्डेमा टिप्पणीमा बेइजिङले सम्झौतालाई ‘ढिलो–रोलिङ’ गरिरहेको बताए ।

बेइजिङले सोमबार ती ‘झुटा’ अमेरिकी दावीहरूलाई अस्वीकार गर्यो र वासिङ्टनलाई ‘धेरै भेदभावपूर्ण प्रतिबन्धात्मक उपायहरू’ लागू गरेको आरोप लगायो ।

ट्रम्पले बुधबारदेखि स्टिल र एल्युमिनियममा विश्वव्यापी भन्सार शुल्क दोब्बर गरेर ५० प्रतिशत बनाउने प्रतिबद्धता व्यक्त गर्दै युरोपेली सङ्घ (इयु) सहित अन्य व्यापार साझेदारहरूसँग तनाव बढाएका छन् ।

गाजाको सहायता केन्द्र नजिकै भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु

गाजा । इजरायली सेनाले मंगलबार गाजाको दक्षिणको सहायता केन्द्र नजिकै गरेको आक्रमणमा कम्तिमा १५ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन् । आक्रमणमा एकै ठाउँमा दर्जनौं मानिस मारिनुका साथै अन्य घाइते भएको उद्धारकर्ताहरूले बताएका छन् ।

घटनाको पुष्टि गर्दै नागरिक सुरक्षाका एजेन्सिका प्रवक्ता महमुद बासलले इजरायली सेनाले राफाहको उत्तरपश्चिममा अल मवासीको अल आलमको रोटोन्डा नजिकै हजारौँ नागरिक विरुद्ध ट्याङ्क र ड्रोन मार्फत आक्रमण गरेको बताए ।

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले आक्रमणको स्वतन्त्र अनुसन्धानका लागि आह्वान गर्दै प्यालेस्टिनीहरूले खानाको व्यवस्था गर्नका लागि आफ्नो ज्यान जोखिममा पार्न नहुने बताए ।

इजरायलले गाजाको स्थिति सुधार गर्न बढ्दो दबाबको सामना गरिरहेको छ । गाजामा इजरायलले दुई महिना सम्म आपूर्ति अवरुद्ध गरेपछि मानिसहरूले खाना लगायत अन्य अत्यावश्यक वस्तुहरूको अभावको सामना गरिरहेका छन् ।

पछिल्लो समयमा सहायता प्रवाह अनुमति दिएको छ भने अन्तर्राष्ट्रिय समुदायले इजरायललाई थप सहायताको प्रवेशलाई अनुमति दिन आग्रह गरेको छ । हमासलाई पराजित गर्ने उदेश्यले इजरायलले हाल गाजामा आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

इजरायली सेनाले मङ्गलबार क्षेत्रको उत्तरमा आफ्ना तीन जना सैनिक मारिएको र द्वन्द्व सुरु भए देखि प्यालेस्टिनी क्षेत्रमा मारिएका इजरायली सेनाको सङ्ख्या ४२४ जना पुगेको बताएको छ ।

विपदका बेला पूर्वाधारमा हुनसक्ने क्षति न्यूनिकरण गर्न पूर्वतयारीमा छौंः उपप्रधानमन्त्री सिंह

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्न सक्ने कानुन भएपनि अख्तियारले पत्र काटेर दुःख दिंदा समस्या भएको बताएका छन् । मंगलबार संसदको पूर्वधार विकास समितिको बैठकमा मन्त्री दाहालले खराव नियत भएका मान्छेहरुका कारण काम गर्दा प्रश्न उठ्ने गरेको बताएका हुन् ।

उनले सात दिनमा सूचना दिएर काम गर्न सकिने भएपनि यस्ता कामहरु गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको गुनासो गरे ।

उनले जुन सरकार आएपनि योजना बनाई बजेट माग गरी अर्काे सालमा छाड्ने प्रवृति भएको बताए । उनले नयाँलाई प्रस्ताव नगरी अघिल्लो योजनालाई सम्पन्न गर्नुपर्ने बताए ।

बैठकमा उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशामन सिंहले वर्षातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बाग्मती नदीमा गेग्रान हटाउने काम भइरहेको बताए । उनले सम्भावित जोखिम रहेका ठाउँहरुमा अहिले काम भइरहेको बताए ।

समितिमा वर्षातको पूर्वसन्ध्यामा शहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक,पुल र बेली ब्रिज लगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनिकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारेमा छलफल बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताए ।

‘विगतका घटनाबाट पाठ सिक्नपर्छ । नदी समयमा सफा गर्नुपर्छ । उपत्यकामा नदिको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरुले जोड दिनुभएको छ । अधिकारसम्पन्न बागमती बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदिमा काम शुरु गरिसकेको छ,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकोमा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक शतर्कता अपनाइने पनि बताए ।

बागमती सभ्यताका आयोजना निर्देशक नारायण प्रसाद भण्डारीकाअनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्रान हटाउने काम भइसकेको छ । अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरस् क्षेत्रमा नदीबाट गेग्रान हटाउने काम भइरहेको छ ।

समितिमा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरी आउने विपद्को लागि आवश्ह्यक शतर्कता अपनाइएको बताए । उनले विपद् हेर्नेगरि प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयहरुमा फोकल पर्सन तोकेर काम भइरहेको जानकारी दिए । सचिव सिग्देलले अघिल्लो वर्षको बाढीइले क्षति पुगेका १० वटा झोलुंगे पुलको निर्माण कार्य सकिएको बताए ।

नेपालमा डेनिस लगानी बढाउन सकिने सम्भावना छः राजदूत क्रिस्टेन

काठमाडौं । नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रासमस अविल्डगार्ड क्रिस्टेनले नेपालसँगको पुरानो मैत्री सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा तीनदिने नेपाल भ्रमणमा आएका राजदूत क्रिस्टेनले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनमा लगानी बढाउन डेनमार्क सरकार सकारात्मक रहेको उल्लेख गरे ।

नेपालमा पर्यटकीय पर्यटनको विशिष्ट सम्भावना रहेको बताउँदै नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र यहाँको जीवनशैली निकै आकर्षक रहेकाले पर्यटनबाटै नेपालले आर्थिक विकासमा फड्को मार्न सक्ने बताए ।

उनले पर्वतारोहण र पदयात्रामा ठूलो सङ्ख्यामा डेनमार्क नागरिक नेपाल भ्रमणमा आउने गरेको र आगामी दिनमा बढीभन्दा बढी डेनिस नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गराउन आफ्नो प्रयास रहने बताए ।

जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग सहकार्य गर्न सकिने बताए ।

दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ फराकिलो बनाउँदै लैजान सकिने अवसर रहेको उल्लेख गर्दै राजदूत क्रिस्टेनले खासगरी सूचना प्रविधि, विधि हस्तान्तरण र नवीकरणीय ऊर्जामा नेपालमा लगानीको उच्च सम्भावना रहेकाले निजी क्षेत्रसँगको सहकार्यमा डेनिस लगानीकर्ताहरुलाई आकर्षित गराउन सकिने बताए ।

नेपाल भ्रमणका क्रममा राजदूत क्रिस्टेनले परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्च अधिकारीसँग पनि भेटवार्ता गरी दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउन कूटनीतिक पहलका बारेमा छलफल गरेका थिए ।

साथै, उनले हिमालयन उद्धार सङ्घका पदाधिकारीहरुसँग भेट गरी हिमाल आरोहरणमा जाने पर्यटक तथा पथप्रदर्शकको सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गरे ।

काठमाडौँस्थित डेनिस वाणिज्यदूतको कार्यालयको पनि निरीक्षण गरी आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन गर्नुपर्ने कार्यहरुका बारेमा धारणा राखेका थिए ।

नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेलले दुई देशबीचको मित्रता, समझदारी र सहयोगमा आधारित सम्बन्धलाई पर्यटनको माध्यमबाट अझ प्रगाढ बनाउनु र दुई देशका नागरिकस्तरको सम्बन्धलाई फराकिलो गराउनु आफ्नो प्राथमिकता रहेको बताए ।

नेपालले सन् २००७ मा कोपनहेगनमा आफ्नो आवासीय दूतावास खोलेको थियो भने नेपालमा रहँदै आएको डेनमार्कको राजदूतावास सन् २०१७ देखि बन्द भई नयाँदिल्लीबाट हेरिँदै आएको छ ।

एरिकालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं । कराँतेमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छिन् । उनी मंगलबार बिहान स्वदेश फर्किएकी हुन् ।

एरिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । उनको स्वागतमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, प्रशिक्षक कुशल श्रेष्ठलगायत अन्य खेलाडीहरु विमानस्थल पुगेका थिए ।

आइतबार राति मोरक्कोको रवातमा सम्पन्न महिला ६८ केजी माथिको तौल समूह अन्तर्गत काँस्य पदकका लागि भएको खेलमा एरिकाले फ्रान्सकी पिए क्लेमेन्सलाई ६९२ ले पराजित गरेकी थिइन् ।

गणतन्त्रवादीलाई जनहितमा दत्तचित्त भएर लाग्न पूर्वराष्ट्रपतिको सुझाव

भक्तपुर । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने बताएका छन् ।

भक्तपरको एतिहासिक दरबारस्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा” उनले गणतन्त्रवादी आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने बताए ।
पूर्वराष्ट्रपति डा. यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको उल्लेख गर्दैै यसलाई समयमै रोक्न सकिएन भने चुरे क्षेत्र थप कमजोर बन्न गई तराई मधेसको जनजीवन अझै सङ्कटग्रस्त हुने बताए । युवाहरुको विचार र सिर्जनशीलतालाई सम्मान गर्न आयोजित यस्ता कार्यक्रमले देशका युवालाई आफ्नै देशमा केही गर्छु भन्ने सन्देश दिने उनले विश्वास व्यक्त गरे।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल विदेशीले होइन हमी नेपाली आफैले बनाउनुपर्ने बताए । देश बनाउन सबै युवा जुट्नुपर्ने उनको भनाइ थियो । आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिक रूपमा पनि स्वतन्त्र नहुने उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले युवासँग भएका ज्ञान, सीप तथा विशेषज्ञता देश र समाजका लागि प्रयोग गर्न प्रेरित गर्नुभर्ने औँल्याए ।

हरेक नागरिकले आफ्नो ठाउँ आफैँ बनाउने प्रण गरे देशको छिट्टै विकास हुन्छ भन्दै प्रमुख प्रजापतिले उपत्यकाका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा संरक्षण सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासले मात्र सम्भव हुने बताए ।

कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । ‘म नागरिक म बनाउँछु नेपाल’ अन्तर्गत सन्देशमूलक श्रव्यदृश्य सामग्री निर्माण गर्ने मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पूर्वराष्ट्रपति यादवले पुरस्कार प्रदान गरे ।

स्याङ्जाको चराङमा लटरम्म फल्यो स्याउ

स्याङ्जा।  स्याङ्जाको भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ। यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो।

भीरकोट–९ का वडा सदस्यसमेत रहेका चराङ गहतेका ललित गुरुङ र ईमानप्रसाद गुरुङले परीक्षणका लागि लगाएको स्याउ यसवर्ष लटरम्म फलेको छ।

‘दुई वर्ष अघि स्याउका बेर्ना किनेर परीक्षणका लागि लगायौँ’, ललितले भने, ‘फल्छ की फल्दैन भन्ने अन्योल थियो। अहिले लटरम्म फलेको छ।’

गत वर्ष ५–७ दाना मात्र फलेको उनले बताए। स्याउका लागि यहाँको हावापानी अनुकुल रहेको पाइएको छ। समुद्री सतहदेखि झण्डै एक हजार ५०० मिटर उचाइमा रहेको चराङ गहतेमा परीक्षणका लागि लगाइएको स्याउले राम्रो उत्पादन दिन थालेपछि अब व्यावसायिक रुपमा स्याउ उत्पादन गर्न थालेको उनले बताए।

‘अब स्याउका बेर्ना ल्याएर व्यावसायिकरुपमा अगाडि बढ्ने तयारीमा छौँ’, ललितले भने। स्याउको यावसायिक उत्पादनबारे कृषि प्राविधिकसँग समन्वय छलफल गरिरहेको उनले बताए।

चराङ गहतेमा स्याउ उत्पादन सफल भएसँगै अहिले त्यहाँका स्थानीय खाली रहेका जमिनमा व्यावसायिक रुपमा स्याउ खेती गर्नेतर्फ आकर्षित हुन थालेका छन्।

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले यसबारे जानकारी प्राप्त नभएको बताउँछन्। ‘त्पादन भएको स्याउको गुणस्तर पत्ता लगाउँदै छौँ’, उनले भने।

दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान

सियोल । पूर्वराष्ट्रपति युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिना पछि मङ्गलबार दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा सुरु भएको छ ।

महिनौँको आन्दोलन पछि दक्षिण कोरियाली जनता नयाँ राष्टपति चयनका लागि मतदान गर्न उत्सुक रहेको जनाइएको छ । राष्ट्रपति चुनावमा दुई मुख्य उम्मेदवारहरू लिबरल उम्मेद्वार ली जे म्युङ र कन्जरभेटिभका उम्मेद्वार किम मुन सु रहेका छन् ।

बिहान ६ः०० बजे देखि सुरु भएको मतदान प्रक्रिया बेलुका ८ः०० बजे सम्म चल्ने र मतदाताको सहभागिता उच्च हुने अपेक्षा गरिएको छ ।

कुल चार करोड ४३ लाख ९१ हजार ८७१ मतदाताले १४ हजार २९५ मतदान केन्द्रबाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।

सियोलको राष्ट्रिय निर्वाचन आयोगले दिउँसो सम्म ६२.१ प्रतिशत योग्य मतदाताहरूले मतदान गरि सक्ने जनाएको छ । जुन अघिल्लो चुनावको भन्दा बढी हो ।

महिनौँको आन्दोलन पछि सञ्चालन हुन लागेको चुनावको दिन कुनै अभियानलाई अनुमति दिइएको छैन । नेता युन र उनकी पत्नी किम केओन हीले निवास नजिकैको मतदान केन्द्रबाट मतदान गरेको जनाइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपतिको पाँच वर्षको कार्यकाल हुन्छ भने नियमित राष्ट्रपति चुनावको साथ, संक्रमणकालीन अवधि हुन्छ ।प्रारम्भिक चुनावमा राष्ट्रिय निर्वाचन आयोगले मत गणनाको अनुमोदन गरेपछि विजेता राष्ट्रपति बन्छ ।

उपत्यकामा सर्वसाधारणका लागि प्रहरीले चलायो निःशुल्क बस सेवा

काठमाडौं । यातायात व्यवसायीले आह्वान गरेको सार्वजनिक यातायात बन्दका कारण आज पनि सर्वसाधारण मर्कामा परेका छन् । सार्वजनिक यातायातका साधनहरु सञ्चालन नभएकाले नेपाल प्रहरीले सर्वसाधारणको सेवा सुविधालाई ध्यान दिँदै निःशुल्क बस सेवा संचालन गरेको छ ।

प्रहरीले नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुनः नक्साल घुम्नेछ ।

त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ ।

नेपाली सेनाद्वारा अछामको बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण

अछाम । विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न यहाँस्थित बान्निगढि बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरिएको छ ।

नेपाली सेना, गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गणपति सङ्गम अधिकारीले बान्निगढी जयगढ गाउँपालिकाको आर्थिक सहयोगमा हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिए ।

उनले भने, ‘यसबाट नागरिक र सैनिकबीचको सम्बन्धलाई कसिलो बनाउन सहयोग मिल्छ ।’ नवनिर्मित हेलिप्याड बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण समेत गरिएको छ ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले हेलिप्याड निर्माणबाट जिल्लाको पर्यटकीय एवं धार्मिक क्षेत्र बर्दादेवी मन्दिरको प्रचारप्रसारका लागि टेवा समेत पुग्ने बताए । उनका अनुसार गाउँपालिकाको रु एक लाख ५० हजार सहयोग र सैनिकले श्रमदान गरी हेलिप्याड निर्माण गरिएको हो ।

प्रधानमन्त्री ओली नारच्याङमा

म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ आएका छन् । अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् ।

सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरुको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीका साथमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत रहेका छन् । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए ।

आरोहण भएको ७५ वर्षपछि अन्नपूर्ण हिमाल भएकै ठाउँमा मनाउन लागिएको हीरक जयन्तीको सबै तयारी पूरा भएको उनले जानकारी दिए । यसअघि काठमाडौँ, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । यही जेठ १७ गतेदेखि मनाउन सुरु गरिएको अन्नपूर्ण आरोहण महोत्सव जेठ २२ गते पोखरामा समापन गर्ने कार्यक्रम छ ।

छानबिनको परिणाम नआएसम्म गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुपर्ने विपक्षी दलको निष्कर्ष

काठमाडौं । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई यथावत राखेका छन् ।

संसद भवनमा बसेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त बैठकले गृहमन्त्रीको राजीनामाको माग यथावत राख्ने निर्णय गरेको हो । छानबिनको परिणाम नआएसम्म गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।

उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले वैदेशिक रोजगार ऐन, २०६४ आएपश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैँको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने, आवश्यक छानबिन गर्नको लागि मार्गप्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने र यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा विपक्षी एकमत भएका छन् ।

संसद बैठक बिहान ११ बजे बोलाइएपनि सुरु हुन सकेको छैन ।

युक्रेनी आक्रमण पछि रूसद्वारा जापोरिजियामा विद्युत कटौती

मस्को । जापोरिजीया क्षेत्रको उत्तरपश्चिमी भागका बिद्युत स्टेसनहरूमा लक्षित गरी युक्रेनले आक्रमण गरे पछि रूसी अधिकारीहरूले मङ्गलबार यस क्षेत्रमा बिजुली कटौतीको घोषणा गरेका छन् ।

जापोरिझिया क्षेत्रका गभर्नर येवगेनी बालिट्स्कीले टेलिग्राम मार्फत युक्रेनले गरेको आक्रमणले यस क्षेत्रको उच्च भोल्टेज स्टेसन क्षतिग्रस्त भएकाले बिद्युत कटौती गरिएको जनाएका छन् । उनले ऊर्जा मन्त्रालयलाई छिटै मर्मत गरी बिद्युत प्रवाह सुरु गर्न निर्देशन दिएका छन् ।

दुई दिन अघि युक्रेनले रूसी हवाई अड्डाहरूमा ड्रोन आक्रमण गरेको घोषणा गरेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आधार शिविरमा गरिएको आक्रमणमा ११७ वटा ड्रोन प्रयोग गरिएको बताए ।

रूसी रक्षा मन्त्रालयले रूसी आर्कटिक र पूर्वी साइबेरियामा अवस्थित मरमेन्स्क र इर्कुत्स्क क्षेत्रमा ड्रोन प्रक्षेपण गरेपछि धेरै विमानहरूमा आगलागी भएको पुष्टि गरेको छ ।

मन्त्रालयले रूसको पूर्वमा चिनियाँ सीमा नजिकैको इभानोभो, रियाजान र अमुर क्षेत्रका अन्य विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेको छ ।

सुजित घिमिरेको ‘सिसा झ्यालैमा’

काठमाडौं । सुजित घिमिरेको स्वरमा लोकदोहोरी गीत ‘सिसा झ्यालैमा’ सार्वजनिक भएको छ । गायिका देवी घर्ती, सर्जक दिनेश क्षेत्री र घिमिरेको स्वर रहेको गीत झ्याउरे लयमा छ ।

गीतमा शब्दरचना र संगीत दिनेश क्षेत्रीको छ । गीतको भिडियो निर्देशन राजकुमार मगरले गरेका छन् । भिडियोमा एलिना रायमाझी र रायन बस्यालको नृत्य छ ।

२९ सयले बढ्यो तोलामा सुन

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा दुई हजार ९०० र चाँदी ५५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला सुनको मोल एक लाख ९२ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ४५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

कान्तिलोकपथ चार दिन बन्द हुने

बागमती । कान्तिलोकपथ सडक चार दिन बन्द हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले यही जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने जनाइएको छ ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भोलिदेखि चार दिनसम्म उक्त सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

कालीमाटीको तरकारीको नमूनाको प्रारम्भिक परीक्षणमा विषादीको अवषेश मापदण्डभित्रै

काठमाडौ । काठमाडौँको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको छ ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित सोमबार राति १० बजेदेखि विहान ३ बजेसम्म भित्रिँदा भित्रिँदै गरेका १७४ वटा नमूना लिएर स्थलगत परीक्षण गर्दा यो नतिजा प्राप्त भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदी भन्छन्, ‘नेपालका करिब २० जिल्लाबाट भित्रिएका तरकारीको नमूना संकलन गरेर परीक्षण गर्दा विषादीको अवशेष मापदण्डभित्र रहेको भेटिएको हो ।’

उनका अनुसार फलफूलमा लिचीको नमूना लिइएको थियो । यस्तै सुकेको माछाको पनि नमूना लिएर परीक्षण गरिएको थियो ।
परीक्षणमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. सुवेदी, खाद्य अनुसन्धान अधिकृत सुशान्त निरौला, अनुसन्धान अधिकृत पदम भुषाल, महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अशोक पराजुली सहभागी थिए ।

परीक्षणका लागि काँक्रो, घिरौला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँलगायत तरकारीको नमूना लिइएको थियो । तरकारी बजारमा फलफुल नआउने भएकोले फलफुलमा लिचीको नमूना लिइएको थियो । संकलित नमूनाहरुको आर. बी. पी. आर. (र्यापिड वायोसे अफ पेष्टिसाइड्स रिसिड्युज) विधिबाट अर्गानोफोस्पेट र कार्वामेट समूहका विषादीहरु परीक्षण गरिएको हो ।

संकलित तरकारीका नमूनाहरु चितवन, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, सर्लांही, धादिङ्, नुवाकोटलगायत जिल्लाका विभिन्न स्थानबाट ल्याइएका थिए ।

विवाह गर्नुपूर्व सिकलसेलबारे जाँच गराउन सुझाव

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएपछि बिरामीलाई उपचारमा सहजता भएको छ ।छ महिनाअघि गत पुसदेखि भेरी अस्पतालमा सिकलसेलका बिरामीको लागि १६ शय्याको छुट्टै वार्ड सञ्चालमा आएको छ । सिकलसेल वार्ड सञ्चालन भएपछि बिरामीले शय्याका नपाउने समस्या अन्त्य भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए ।

“सिकलसेल वार्ड सञ्चालन भएपछि बिरामीलाई शय्याका नपाउने र उपचारका लागि पालो पर्खिनुपर्ने समस्या हटेको छ”, मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले भने, “अहिले सिकलसेलका बिरामीले सहज रूपमा उपचार पाइरहनुभएको छ ।”

भेरी अस्पतालमा सिकलसेल एनिमियाको जाँच निःशुल्क हुनुका साथै सिकलसेल एनिमिया भएको प्रमाणित भएका बिरामीले विभिन्न समयमा गरी एक लाख बराबरको औषधि र जाँच सेवा पाउने व्यवस्था रहेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले सिकलसेलका बिरामीको उपचारका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरेका कारण उपचार सेवामा सहजता भएको मेडिकल सुपरिटेन्डेन्ट सुवेदीले बताए ।

सिकलसेल एनिमिया रोग थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । सिकलसेल रोगबाट पीडित बारबर्दिया नगरपालिका, बर्दियाका दीपक थारूले भेरी अस्पतालमा छुट्टै वार्ड सञ्चालन हुँदा धेरै राहत मिलेको बताए ।

भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न जिल्लाका एक हजार ११२ सिकलसेलका बिरामीले उपचार सेवा लिइरहेको सिकलसिल परामर्शदाता उषाकुमारी वलीले बताइन् । उनकाअनुसार, यो सङ्ख्या २०७२ सालदेखि हालसम्म विभिन्न अस्पतालका प्रयोगशालामा परीक्षण गर्दा सिकलसेल एनिमिया पुष्टि भई उपचारका लागि भेरी अस्पतालमा दर्ता भएका बिरामी हुन् ।

अस्पतालमा उपचारका लागि आउने सिकलसेल एनिमियाका बिरामीलाई तालिमप्राप्त स्वास्थ्यकर्मीबाट रोगका बारेमा मनोसामाजिक परामर्श दिनुका साथै उनीहरूले अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता वलीले जानकारी दिइन् ।

बाँकेको कोहलपुरमा पनि २०७७ साल चैतदेखि सिकलसेल एनिमिया जाँच हुँदै आएको छ । हालसम्म १३ हजार ५०० जनाको जाँच गर्दा ७० जनामा सिकलसेल एनिमिया पुष्टि भएको कोहलपुर नगर अस्पताल ल्याबका सिकलसेल स्रोत व्यक्ति शिव गौतमले जानकारी दिए ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि सिकलसेल एनिमिया प्रभावितहरू रहेका छन् । स्वास्थ्य केन्द्रहरूमा स्क्रिनिङ शिविर सञ्चालन गर्दा सात जना सिकलसेल बिरामीको पुष्टि भएको राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।
उनले यो वर्ष पनि स्क्रिनिङ शिविर सञ्चालन गर्ने योजना रहे पनि बजेट व्यवस्थापन नहुँदा सञ्चालन हुन नसकेको बताए । राप्ती सोनारीको वडा नं २, ८ र ९ सिकलसेल एनिमिया प्रभावित क्षेत्र रहेको केसीको भनाइ छ ।

सिकलसेल एनिमिया एक प्रकारको रक्तअल्पता भएको सिकलसेल एनिमिया विशेषज्ञ भेरी अस्पतालका डा राजन पाण्डेले बताए । उनले यो वंशाणुगत रूपमा मात्र सर्ने हुँदा थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा देखापरेको उल्लेख गरे ।

उनले सिकलसेल एनिमिया तराईमा औलोको जोखिम हुँदा औलोबाट जोगिएका रैथानेहरूमा मात्र देखापरेको जानकारी दिँदै यो रोगमा जण्डिस हुने, हातखुट्टाको जोर्नी दुख्ने बाथजस्तो हुने भए पनि यो रोग वंशाणुगतबाहेक एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताए ।

“यो रोग वंशाणुगत रूपमा मात्र सर्छ बैलैमा जाँच गर्न सके वा वैवाहिक जीवन सुरु गर्दा नै केही सावधानी अपनाउँदा यो रोगबाट बच्न सकिन्छ”, उनले भने,“सिकलसेलका बिरामी–बिरामीबीच विवाह हुँदा जन्मने बच्चा पनि सिकलसेलकै बिरामी जन्मने हुँदा भरसक विवाह गर्दा सिकलसेल छ वा छैन भन्ने जाँच गराउन आवश्यक हुन्छ ।”

उनले सिकलसेल एनिमिया नेपालमा थारू समुदायमा मात्र जनस्वास्थ्य समस्याका रूपमा रहेको र अन्य जातका मानिसमा पनि फाटफुट देखापरेकाले सबैले भरसक आफूलाई सिकलसेल भए/नभएको जाँच गर्न आवश्यक रहेको बताए ।

सामान्य व्यक्तिमा रक्तकोषको आकार गोलो पैसाजस्तो हुनुका साथै रक्तकोषको आयु एक सय २० दिन हुने भए पनि सिकलसेल एनिमिया हुनेको रक्तकोषको आकार हसियाजस्तो हुनुका साथै आयु पनि २० दिनमात्र हुने भएकाले बिरामीमा रगतको कमी हुने डा पाण्डेको भनाइ छ ।

जुनार शीतभण्डार र जुनार उद्योग एक दशदेखि बन्द हुँदा किसान समस्यामा

सिन्धुली । सिन्धुलीमा अहिले जसरी जिल्लालाई सडक सञ्जालले जोडिसकेकै थिएन । किसानले १० हजार टन जुनार उत्पादन गर्न थालिसकेका थिए । त्यतिबेला जुनार बगैँचालाई बजारसँग जोडिदिन नसक्दा रसिला फल बोटमै कुहिन्थे ।

न त बगैँचाको जुनार बजारमा पुग्थ्यो, न त किसानले मेहनतको मूल्य पाउँथे । सडक नहुँदा जुनार ढुवानी नै सम्भव हुन्थेन । महाभारत क्षेत्रमा फैलिएको जुनार बगैँचामा किसानको पसिना बगेको हुन्थ्यो । हरेक वर्ष हजारौँ टन फल टिपिए पनि ती फलले बजार पाउन सकेका थिएनन् ।

किसानलाई जुनारको फल उत्पादनले उत्साह दिन्थ्यो, तर बजारले निराशा । बजार खोज्दै किसान डोकोमा जुनार बोकेर माडीबजारसम्म धाउँथे । दिनै खर्चेर माडीबजार झार्दा पनि थोरै बिक्थ्यो, बाँकी सबै कुहिएर सकिन्थ्यो । शीतभण्डार (कोल्डस्टोर)को अभाव थियो ।

विसं २०६३ मा सिन्धुलीको कमलामाई –४ दोभानटारमा जुनार शीतभण्डार भवन निर्माण थालियो । आवश्यक प्रक्रिया पूरा गरेर २०६७ सालमा शीतभण्डार सञ्चालनमा ल्याइएको जुनार केन्द्रीय सहकारी सङ्घका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

जुनार उद्योग सञ्चालन कार्यसमितिका सदस्यसमेत रहेका कोइरालाले भने, “दुई वर्ष कोल्डस्टोर सञ्चालन गर्दा २५ लाख रुपैयाँ नोक्सान व्यहोर्नुपर्यो ।” पहिलोपटक सञ्चालनमा ल्याइएका शीतभण्डारमा जिल्लामा उत्पादित जुनार र अन्यन्त्रबाट आलु ल्याएर राखिएको थियो । तर, उचित तवरले प्राविधिक व्यवस्थापन गर्न नसक्दा कुहिएर घाटा व्यहोर्नुपरेको उनले स्मरण गरे ।

विसं २०६९ मा नेपाल सरकार र चिनियाँ सरकारबीच नेपालका सुन्तला जातका फलफूल चिनियाँ सरकारले खरिद गर्ने सम्झौता भयो । चीन सरकारको गुणस्तर सुपरीवेक्षण निरीक्षण र क्वारेन्टाइनसम्बन्धी सामान्य प्रशासन तथा नेपाल सरकारको कृषि विभागबीच सन् २०१२ मा नेपालबाट चीनतर्फ सुन्तला जातका फलफूल निर्यातका लागि सम्झौता भएपश्चात जिल्लामा उत्पादित जुनारलाई शीतभण्डारमा राख्ने र प्याकिङ गरेर पठाउने तयारी गर्न थालियो ।

यसका लागि नेपालका उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्यमी तथा व्यापारीहरूको पेसागत हकहित संरक्षण एवं उद्योग वाणिज्य क्षेत्रको विकासमा सहयोग गर्ने उद्देश्यले स्थापित सिन्धुली उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँग सहकार्य भयो । ‘पार्टनरसीप’मा जुनार उद्योग भवन निर्माण भयो ।

उद्योग सञ्चालनका लागि आवश्यक मेसिन तथा औजार सामग्री जडान गर्नुका साथै आवश्यक व्यवस्थापन मिलाउन तीन वर्ष लाग्यो । उद्योग सञ्चालनमा ल्याउन सकिने अवस्था भएपछि जुनार किसानसँग प्रतिकेजी २५ रुपैयाँका दरले उद्योगले जुनार किन्ने सम्झौता गर्यो । उनले भने, “किसानसँग २ हजार टन जुनार लिने सम्झौता गरिएको थियो । उद्योगले २ सय टनमात्र प्राप्त गर्यो ।”

जुनारमा रोग कीराको समस्या देखियो । जुनारको फल उत्पादन घट्यो । त्यसबेलासम्म बिपी राजमार्ग सञ्चालनमा आइसकेको थियो । राजमार्ग सञ्चालनमा आएसँगै उत्पादित जुनारले बजार पाउन थालिसकेको थियो । उद्योगमा जुनार झनै आउन छाड्यो ।

यता, जुनारमा देखिएको रोग कीरा सङ्क्रमणका कारण जुनार निर्यात गर्न सकिएन । विशेषगरी सिन्धुलीको जुनार चीन पठाउन सरकारले त्यस्तो सम्झौता गरे पनि हालसम्म पठाउन सकिएको अवस्था छैन । सम्झौतामा जुनार सुन्तलाको बगैँचा नै रोग कीरामुक्त हुनुपर्छ भन्ने उल्लेख छ । किसानका अनुसार बगैँचा नै रोग कीरामुक्त हुनसक्ने हुँदैन । उत्पादित फलफूल कीरा तथा शत्रुमुक्त उत्पादन गर्न सकिन्छ । तर बगैँचाका रुखबिरुवा नै शत्रुमुक्त हुन सक्दैन ।

“सम्झौता नै हचुवामा भएको देखिन्छ”, जुनार किसानसमेत रहेएका कोइरालाले भने, “सानो त्रुटिले सिन्धुलीको जुनार चीन निर्यात हुन सकेन । सम्झौता गर्दा रोग कीरामुक्त फल हुनुपर्ने भनिएको भए सहजै निर्यात हुन्थ्यो । बगैँचा रोग कीरामुक्त गराउन कठिन हुन्छ ।”

जुनार केन्द्रीय सहकारी सङ्घका अध्यक्ष कोइरालाका अनुसार जुनारमा देखापरेका रोग कीराका कारण २ हजार बढी किसान जुनारखेतीबाट विस्थापित भएका छन् । त्यसअघि ३ हजार १०० किसान जुनारखेतीमा आबद्ध थिए । १० हजार टन जुनार उत्पादन हुने गरेकामा घटेर ३ हजार टनमा झरिसकेको उनको भनाइ छ । अहिलेको अवस्थामा बासेश्वर, नाकाजोली, तीनकन्याको माझकुभिण्डे, डुढेमालिङ्गे क्षेत्रबाहेकका स्थानमा जुनारखेती देखिन छाडेको उनले बताए ।

यो सँगै जिल्लामा उत्पादित जुनार चीनले नलिनु, जुनार उत्पादन कम हुनु, भएकामा मूल्य उच्च हुनु र आवश्यक कच्चा पदार्थ अभाव भएका कारण जुनार उद्योग सञ्चालनमा ल्याउन कठिन भइरहेको उनले बताए । सम्बन्धित निकायको बेवास्ताका कारण जापानिज दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शीतभण्डार र नेपाल सरकारको थ्रिपिपी मोडेलअन्तर्गत निर्माण गरिएको जुनार उद्योग १ दशकअघिदेखि बन्द अवस्थामा छ ।

जुनार भण्डारणलाई लक्षित गरी सञ्चालनमा ल्याइएको भवनमा १ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । उक्त लागतमध्ये जापानी राजदूतावासको अनुदान ६० लाख रुपैयाँ र बाँकी रकम तत्कालीन समयमा जिविस, गाविस र जुनार उत्पादक किसानबाट जुटाइएको हो ।

उता, नेपाल सरकारको थ्रिपिपी मोडेलअन्तर्गत सरकार, उद्योगी र किसानको समेत लगानी जुटाउने गरी कुल ६ करोड रुपैयाँको लागतमा सिन्धुलीगढी जुनार तथा फलफूल प्रशोधन कम्पनीले निर्माण सुरु गरेको जुनार उद्योगको अवस्था दयनीय छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘एक गाउँ, एक उत्पादन’ परियोजनाअन्तर्गत ५ कट्ठा क्षेत्रफलमा निर्माणाधीन उद्योग अगाडी बढाउन महासङ्घले नै हात झिकेपछि सरकारले दिने अरु २ करोड रुपैयाँ रोकिँदा निर्माण रोकिएको थियो ।

महासङ्घमा सुरुज वैद्यको नेतृत्व हुँदा उक्त परियोजना आई उद्योग निर्माण सुरु भएको थियो । जिल्लामा जुनार उद्योग ठूलो आशा र सम्भावनाका साथ सञ्चालनमा ल्याइएको भए पनि महासङ्घमा नेतृत्व परिवर्तन भएपछि अर्काले त्यसलाई वास्ता नगरेको बताइएको छ । हाल जुनार उद्योग नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी सुरज वैद्यकै नेतृत्वमा छ । उद्योग पुनः सञ्चालनमा ल्याउन खोजिएको छ । यस सम्बन्धमा उद्योगका नेतृत्वकर्ता वैद्यसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

जिल्लामा सञ्चालनमा आएको एकमात्र उद्योग लामो समयसम्म बन्द अवस्थामा रहँदा पनि सञ्चालनमा नल्याइएकामा स्थानीय नागरिक चिन्तित छन् । सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुनकुमार क्षेष्ठले जिल्लालाई औद्योगिक केन्द्रका रूपमा विकास गर्न जुनार उद्योग सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए ।

उनले भने, “सिन्धुलीको पहिलो उद्योगका रूपमा जुनार उद्योग स्थापना भयो, तर लामो समयदेखि बन्द अवस्थामा छ । यसका कारण अरु केही नभएर नेतृत्व गर्नेहरूबीचको हिसाब–किताब नमिल्नु हो भन्ने हामीले बुझेका छौँ ।” उनले लामो समयदेखि बन्द रहेको उद्योग सञ्चालनमा ल्याउन स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई सहयोग गर्न अनुरोध गरे। आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न सिन्धुली उद्योग वाणिज्य सङ्घ तयार रहेको उनले बताए ।

बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङले जुनार उद्योगलाई पुनः सञ्चालनमा ल्याउन प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताइन । “उद्योग बन्द हुनुको कारण के हो रु अब स्थानीय सरकार वा निजी क्षेत्र, कसले उद्योग सञ्चालन गर्ने हो, त्यो परिपक्व प्रस्तावसहित आवश्यक कागजात पेस गर्नुहोस्, आवश्यक बजेटको व्यवस्थापन प्रदेश सरकारले गर्नेछ”, उनले भनिन्।

उद्योग सञ्चालन नहुनुमा नेतृत्व तहमा देखिएको समन्वयको कमी, प्राविधिक र प्रशासनिक व्यवस्थापनको कमजोरी र दीर्घकालीन योजनाको अभाव प्रमुख कारण देखिन्छ । तथापि, अहिलेको परिस्थितिमा सबै सरोकारवाला निकायको साझा सहकार्य, स्पष्ट जिम्मेवारी निर्धारण र पारदर्शी प्रणालीमार्फत उद्योगलाई पुनः सञ्चालनमा ल्याउने दिशा तय गर्न आवश्यक छ । यस उद्योगले पुनः गति लिनसकेमा स्थानीय किसानको उत्पादनलाई राम्रो बजार प्राप्त हुनुका साथै जिल्लाको समग्र आर्थिक तथा औद्योगिक समृद्धिमा टेवा पुग्ने छ ।

अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई

म्याग्दी । अन्नपूूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार म्याग्दीमा भएको अन्नपूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन् ।

चार हजार ९१ मिटर उचाइको अन्नपूर्ण आधार शिविरदेखि अन्नपूूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा दुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा ३६ किलोमिटर दूरी पार गरेर पुर्जा विजयी भएका हुन् ।

अन्नपूर्ण–६ घारका लोकबहादुर बरुवालले दुुई घण्टा ५२ मिनेट ५१ सेकेण्ड र सञ्जयबहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो र तेस्रो भएको प्रतियोगिताको व्यस्थापन गरेको भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविरबाट आज बिहान ६.३० बजे सुरु भएको प्रतियोगितामा म्याग्दीका ४० जना धावकहरूको सहभागिता थियो । विजयी २४ वर्षीय पुर्जा भारतीय गोर्खा सैनिक र उपविजेता २४ वर्षीय बरुवाल नेपाली सेनाका जवान हुन् ।

विजेता, उपविजेता र तेस्रो हुनेलाई आज दिउँसो नारच्याङ बेँसीमा आयोजना हुने समारोहमा प्रमाणपत्रको साथमा क्रमश नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए । सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज महोत्सव मनाइँदैछ ।

राइड सेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्छः सांसद ज्वाला

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले यातायात व्यवसायीसँग भएको सहमतिले यातायातको क्षेत्रमा फेरि सिन्डिकेट भएको बताएका छन् ।

मंगलबार संसदको पूर्वाधार विकास समितिमा सांसद ज्वालालले सरकारले यातायात व्यवसायीसँग सम्झौता गरेर फेरि सिन्डिकेट कायम गरेको बताएका हुन् । उनले राइड सेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने बताए ।

उनले भने, ‘हामी कतातिर जाँदै छौँ । पहिला तोडेको सिन्डिकेट फेरि कायम गरियो । सहमति आपत्तिजनक छ । यसले पब्लिकलाई ठूलो समस्या पार्छ । सार्वजनिक यातायातको सवालमा गण्डकी प्रदेश सरकारले ठिकै गरेको छ ।’

राइड सेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने उनको भनाइ थियो । गएराति सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको छ ।

गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए ।

सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गर्नेगरी सहमति भएको जानकारी दिएका छन् ।

संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्ने बताएका छन् । प्रतिपक्षी दलहरुले सदन अवरोधको तयारी गरेको भन्दै सचिव भट्टराईले सदनलाई संवाद गर्ने थलो बनाउनुपर्ने बताएका हुन् ।

उनले विगतमा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसले बोल्न नदिँदा आफूहरु त्यसको विपक्षमा रहेको भन्दै अहिले पनि आफूहरुको त्यही अडान रहेको बताए ।

उनले भने, ‘हामी त हिजो पनि उही, आज पनि उही ! तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप सहित तत्कालिन प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा कुरा उठायो । रविजीले संसदमा बोल्ने समय माग्नु भयो । कांग्रेसले बोल्न नदिने अडान लियो । हामीले कांग्रेसको अड़ान गलत छ, गृह मन्त्रीलाई बोल्न दिनु पर्छ भन्यौं । अन्ततः कांग्रेस अडानबाट पछि हट्यो । रविजीले संसदको सोस्टमबाट आफनो बचाउ गर्नु भयो । आज साइकलको पांग्रा त्यही ठाउँमा आइपुग्यो । हिजो गृहमन्त्रीलाई बोल्न नदिने आज सत्ता पक्ष, गृह मन्त्रीलाई बोल्न दिनुपर्छ भन्नेहरू प्रतिपक्ष । हाम्रो अडान हिजो पनि त्यही थियो, आज पनि त्यही छ । संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ । संसद सुचारू गर्नु पर्छ । संवाद गर्ने थलो संसद हो ।’