`

ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर

बीबीसी । अमेरिकाले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पले अफगानिस्तान, म्यानमार, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर गरेका छन् ।

ह्वाइट हाउसका डेपुटी प्रेस सचिव एबिगेल ज्याक्सनले ट्रम्पले अमेरिकी नागरिकहरूलाई ‘खतरनाक विदेशी तत्वहरूबाट जोगाउने प्रतिवद्धता अनुसार’ यो निर्णय लिएको बताइन् ।

ट्रम्पले बुधबार राति सार्वजनिक भिडियो सन्देशमा भने, ‘कोलोराडोको बोल्डरमा हालै भएको आतंकवादी आक्रमणले हामीलाई विदेशी नागरिकहरूबाट आउने खतरा पुनः स्मरण गराएको छ, विशेषगरी ती जो बिना उचित जाँच अमेरिकामा प्रवेश गर्छन् वा भिसा अवधि समाप्त भए पनि फर्कदैनन्।’

ट्रम्पका अनुसार, पहिलो कार्यकालमा लागू गरिएको यात्रा प्रतिबन्ध नीति ‘सबैभन्दा सफल’मध्ये एक थियो, जसले अमेरिकामा सम्भावित ठूलो आतंकवादी आक्रमणहरू रोक्न सघायो ।

उनले अफगानिस्तानको उदाहरण दिँदै भने, ‘अफगान विद्यार्थीहरूको भिसा उल्लंघन दर २९.३% पुगेको छ र देश तालिबानको नियन्त्रणमा छ, जुन आतंकवादी समूहको रूपमा मान्यता प्राप्त छ।’

यसका अतिरिक्त, इरान, लिबिया, सोमालिया र यमन जस्ता देशहरू पनि सूचीमा छन्, जहाँ सरकारहरूको कागजात प्रमाणीकरण प्रणाली विश्वासिलो छैन ।

उनले भने, ‘त्यसैले आज म नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु, जसअन्तर्गत यमन, सोमालिया, हाइटी, लिबिया र अन्य केही देशमाथि यात्रा प्रतिबन्ध लागु हुनेछ। हामी हाम्रो देशमा हानि पुर्याउने नियत राख्ने कसैलाई पनि प्रवेश गर्न दिनेछैनौं। अमेरिका सुरक्षित राख्ने हाम्रो संकल्प रोक्न कुनै कुरा सक्षम हुने छैन।’

काभ्रेको बेथानचोकमा बस दुर्घटना, एकजनाको मृत्यु, तीन घाइते

काभ्रे । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो बेथान्चोक गाउँपालिका भुग्देउस्थित दर्केखोलामा बा ४ ख ४४३५ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पनौतीबाट यात्रु बोकेर भुग्देउका लागि छुटेको बस बेथानचोक–६ च्याँनडाडा ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । दुर्घटनामा ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ३ जना घाइते भएको उनले बताए । दुर्घटनामा बस चालकसमेत घाइते भएका छन् । घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।

प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेको सालिकमा माल्यापर्ण गरी श्रद्धासुमन अर्पण गरेका छन् ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित समाधिस्थलमा आज आयोजित २६८औँ स्मृति दिवसमा स्थानीय जनप्रतिनिधिलगायतले सालिकमा श्रद्धासुमनसहित पुष्पअर्पण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पूर्व रथी पवनबहादुर पाँडे, इतिहासविद् राजाराम सुवेदीले स्वर्गीय पाँडेको योगदानका विविध पाटोबारे प्रकाश पारेका थिए। काजी कालु पाँडेले नेपाल एकीकरण अभियानका क्रममा कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका थिए।

सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउनुपर्छः मन्त्री भण्डारी

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

बुधबार धनगढीमा आयोजित प्रदेश लगानी तथा विकास सम्मेलन पूर्वतयारी बैठकको सम्बोधन गर्दै मन्त्री भण्डारी तीनै तहका सरकार र निजीक्षेत्रको साझा प्रयासमा सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपालले सन् २०३० सम्ममा न्यून आय भएको मुलुकबाट मध्यम आय भएको देशको स्तरमा पुग्ने एक महत्वपूर्ण लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्तिका लागि आर्थिक, सामाजिक, रोजगारी र नागरिक जीवनस्तरका क्षेत्रमा आमूल सुधार गर्न आवश्यक छ । यसै सिलसिलामा हालसम्म न्यून आय भएको देश भएकाले विश्व समुदायबाट प्राप्त सुविधाहरूमा मध्यम आय भएको देशको स्तरमा स्तरोन्नती हुँदा कटौती हुन सक्ने भएकाले अब प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र आर्थिक विकास र वृद्धिलाई टेवा दिने उपायहरू खोज्नु हाम्रो प्राथमिकता हुनुपर्छ ।’

मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताए । ‘प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो । यहाँको कुल घरेलु उत्पादनमा कृषि क्षेत्रले ३३ प्रतिशत योगदान पुर्याएको छ । स्रोत साधनको उपयोग र जनसांख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो । यस प्रदेशमा प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसरहरू विद्यमान छन् । यहाँ प्रशस्त वनस्रोत, वन उत्पादन, जडीबुटी तथा औषधीजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् ।’

उनले भने, ‘प्रदेश सरकारले लगानीयोग्य ५६ वटा परियोजना पहिचान गरिसकेको छ, जसमा रिसोर्ट, वाटर पार्क, र्याफ्टिङ, पाँच तारे होटल, हेलिकप्टर सफारी, कृषि औजार उत्पादन, भेडा च्याङ्ग्रा फार्मिङ, फलफूल उद्योग, यातायात सेवा, केवलकार जस्ता विविध क्षेत्र समेटिएका छन् । यी परियोजनाहरूले सुदूरपश्चिम प्रदेशको आर्थिक विकासलाई थप गति दिने र यहाँको स्रोतसाधनलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्धि ल्याउने अपेक्षा गरिएको छ ।’

यातायात हड्तालविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरकालीन अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले यातायात हड्तालविरुद्धको रिटमा अन्तरकालीन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले यातायात व्यवसायीहरूले गरेको यातायात हडतालविरुद्ध अन्तरकालीन अन्तरिम आदेश दिएको हो ।

इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । यातायात व्यवसायीले मंगलबार आन्दोलन फिर्ता लिएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमावली जारी गरेको विरोधमा देशभरका यातायात व्यवसायी यातायात ठप्प पारी आन्दोलनमा उत्रिएका थिए । तर मंगलबार गण्डकी प्रदेश सरकारले नियमावली एक महिनाका लागि स्थगित गरेपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।

राजावादीको आन्दोलनको स्वरुप परिमार्जन, अब जिल्लातिर प्रदर्शन गर्ने

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुपमा केही परिमार्जन गरेको छ ।

बुधबार बसेको संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको वैठकले देशका विभिन्न जिल्लाहरुमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने र त्यसपछि आन्दोलनलाई पुनः काठमाडौँ केन्द्रित गर्ने निर्णय गरेको हो । बैठकले काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरु निरन्तर जारी राख्ने निर्णय गरेको छ ।

बैठकले आन्दोलनमा उत्साहजनक जनसहभागिताको निमित्त सबैमा आभार प्रकट गरेको छ । आगामी आन्दोलनका कार्यक्रमहरुमा समेत विभिन्न वर्ग, पेशा लगायत निजामति, सेना र प्रहरी सेवामा रहेर राष्ट्रको हितमा कार्य गरेका पुर्व राष्ट्रसेवकहरु तथा आम जनताको व्यापक सहभागिताको निम्ति वैठकले अपील गरेको छ ।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नआएपछि होहल्ला भएको थियो । तर पछि समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको उर्जामन्त्रीको दाबी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् ।

साथसाथै फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्ने अभियानसम्बन्धी आज ज्ञापनपत्र बुझ्दै उनले कार्बन उत्सर्जन शून्यमा झार्नका लागि सरकारले विभिन्न योजनाबद्ध कार्यक्रमलाई अगाडि सारेको बताए ।

मन्त्री खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानुनी र नीतिगत व्यवस्थाको थालनी गरिरहेको जानकारीसमेत दिए । सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यले नेपालको स्वच्छ ऊर्जा रुपान्तरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

नवीकरणीय ऊर्जाको प्रयोगसँगै भारतबाट आयत हुने कोइलाको आयत घट्दै जाने मन्त्री खड्काले विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनले नेपालको हिमालमा समेत समस्या उत्पन्न हुँदै गएको उल्लेख गर्दै यसलाई जोगाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनका कारण हुने प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै प्रदूषण रोक्नका लागि कोइलाको आयतलाई प्रतिस्थापन गर्नुपर्ने धारणा राखेकी थिइन् ।

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा उत्प्रेषण आदेश जारी

काठमाडौँ । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटहरू सर्वोच्च अदालतले उत्प्रेषण आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासले बुधबार उत्प्रेषण जारी गरेको हो । द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गरेको रिटमा यस्तो आदेश जारी भएको हो ।

प्रहरीले अनुसन्धान गर्न लागेकोमा मन्त्रिपरिषद्ले तामेलीमा राख्न निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वोच्चले सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो । यस्तै अधिवक्ता सुशील प्याकुरेलसहित ८ जनाले सापकोटालाई मन्त्री बन्न रोक्न मागदाबी गर्दै २०७२ चैत २६ गते दायर गरेको रिट सर्वोच्चले खारेज गरेको छ ।

होहल्लापछि कुनै निर्णय नगरी सकियो राजावादीको बैठक

काठमाडौं । आगामी रणनीति तय गर्न बसेको राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठकमा तनाव भएको छ ।

बुधबार दिउँसो दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बोलाइएको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक तनावपूर्ण बनेको हो । लिङ्देन  अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए । विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो ।

बैठकमा होहल्ला हुन थालेपछि थापाले हल्ला गर्ने भए नबोल्ने बताए । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरेका थिए । बैठक सुरु भएलगत्तै लिङ्देन कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो ।

कार्यकर्ताहरुले लिङ्देनलाई संसद चाहिने भए किन आन्दोलन भन्दै होहल्ला गरेका थिए । त्यसपछि समितिका संयोजक नवराज सुवेदीले सबै नेता कार्यकर्तालाई धन्यवाद दिए र बैठक कुनै निर्णय नगरी सकिएको थियो ।

ललितपुरमा विद्युतको पोलले लागेर एक जनाको मृत्यु

ललितपुर । ललितपुरको ठैवमा विद्युतको पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । बुधबार गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए ।

उक्त घटनापछि आक्रोशित स्थानीयले जेसिबीको दायाँपट्टीको सिसा फुटाइदिएका छन् । “घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएका थिए, प्रहरी टोलीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ । मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएका छौँ”, उनले भने ।

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्न सकेन । सदन संचालनका लागि दलहरुबीच भएको छलफल निष्कर्षविहीन भएपछि बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आज दिउँसो १ बजे बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि आजै दिउँसो ३ः१५ बजे बस्ने तय गरिएको थियो । तर, यस अवधिमा पनि सहमति नजुटेपछि बैठक भोलिसम्मलाई स्थगित गरिएको हो । मंगलबार पनि बैठक बस्न सकेको थिएन । विपक्षी दलले भिजिट भिसा प्रकरणलाई लिएर सदन अवरुद्ध गर्दै आएका छन् ।

उनीहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने माग राख्दै आएका छन् । तर, सत्तापक्ष समिति गठन गर्न तयार भएको छैन । जसका कारण सदनमा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको चौथो दिन बुधबार शेयर बजार नेप्सेमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १३ कम्पनीको एक करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार पाँच सय २२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड र व्यापार समूह मात्रै बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको रु ३६ करोड २५ लाख ५९ हजार बराबरको १३ लाख ४५ हजार चार सय २६ कित्ता शेयर किनबेच भएको छ ।

बङ्गलादेशको अन्तरिम सरकारद्वारा शेख मुजिबको स्वतन्त्रता सेनानीको मान्यता रद्द

ढाका । बङ्गलादेशले मुलुकका स्वतन्त्रता नेता शेख मुजिबुर रहमानसहित सन् १९७० को चुनाव जित्ने चार सयभन्दा बढी राजनीतिज्ञको स्वतन्त्रता सेनानीको मान्यता रद्द गरेको छ ।

राष्ट्रिय स्वतन्त्रता सेनानी परिषद् (जामुका) अध्यादेशले यी नेताहरूको पहिचानलाई ‘मुक्ति युद्धका सहयोगीहरू’ भनेर परिभाषित गरेको छ ।

मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बङ्गबन्धु शेख मुजिबुर रहमानका अतिरिक्त सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको समयमा अस्थायी सरकारका राष्ट्रपति तथा प्रधानमन्त्री सैयद नजरुल इस्लाम र ताजुद्दीन अहमदको स्वतन्त्रता सेनानीको मान्यता पनि खारेज गरेको छ ।

सरकारले मङ्गलबार राति जामुका ऐन संशोधन गर्ने अध्यादेश जारी गरी वीर स्वतन्त्रता सेनानीको नयाँ परिभाषा तोकेको छ ।

संशोधित अध्यादेशअनुसार निर्वासनमा रहेका मुजिबनगर सरकारका सदस्यहरू ‘मुक्ति युद्धका सहयोगी’ हुनेछन् । राष्ट्रपतिको आदेशमा कानून मन्त्रालयको विधायी तथा संसदीय विभागले अध्यादेश जारी गरेको हो ।

अध्यादेशअनुसार मुक्ति युद्धका बेलाको निर्वासित सरकार मात्र नभएर मान्यता प्राप्त स्वतन्त्रता सेनानीहरूका अन्य चार वर्गलाई पनि ‘मुक्ति युद्धका सहयोगी’ भनेर पहिचान गरिएको छ ।

स्वतन्त्रता सेनानीहरूका चार वर्ग छन् । पहिलो, विदेशमा मुक्ति युद्धमा विशेष योगदान दिएका र विश्व जनमतलाई आकार दिन सक्रिय भूमिका खेलेका बङ्गलादेशी पेशेवरहरू छन् ।

दोस्रो, मुक्ति युद्धका बेला गठित बङ्गलादेश सरकार (मुजिबनगर) अन्तर्गत अधिकारी, कर्मचारी, दूत र अन्य सहयोगीका रूपमा सेवा गर्नेहरू रहेका छन् ।

तेस्रो, स्वाधीन बङ्गला रेडियो स्टेशनका सबै कलाकार र प्राविधिकहरू र स्वदेश र विदेशमा मुक्ति युद्धको समर्थनमा सेवा गर्ने सबै बंगलादेशी पत्रकारहरू रहेका छन् । चौथो, स्वाधीन बङ्गला फुटबल टोली रहेको छ ।

राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको नेतृत्वमा सन् १९७१ मा पाकिस्तानविरुद्ध नौ महिनाको रक्तपातपूर्ण युद्धबाट बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो । भारतले बङ्गलादेशलाई स्वतन्त्रता प्राप्त गर्न सहयोग गरेको थियो ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगलाई सहयोग नगर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील

काठमाडौँ । संक्रमणकालीन न्याय क्षेत्रमा कृयाशील २४ वटा मानव अधिकारवादी संघसंस्थाले संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगलाई सहयोग उपलब्ध नगराउन अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघलाई आह्वान गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले विवादित नियुक्तिका कारण आयोगको वैधता संकटमा रहेको भन्दै सहयोग उपलब्ध नगराउन आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विवादित नियुक्तिका कारण वैधताको संकटमा फसेको संक्रमणकालीन न्याय प्रक्रियामा जुन विन्दुबाट अविश्वासको वातावरण पैदा भई वैधतालगायतका सवालमा चुनौती उत्पन्न भयो सोही विन्दुबाट नै सुधार गरेर सरकारले प्रक्रियालाई सही ट्रयाकमा नफर्काएसम्म र यस प्रक्रियाको केन्द्रमा पीडित समुदाय र उनीहरूको आत्मसम्मान, सहभागिता, अपनत्व र सन्तुष्टिलाई सुनिश्चित गर्ने अवस्था नभएसम्म विगतमा जस्तै सरकार र वैधता गुमाएका आयोगहरूलाई कुनै पनि आर्थिक वा प्राविधिक सहयोग उपलब्ध नगर्न नगराउन हामी अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघलाई आह्वान गर्दछौं।’

उनीहरुले नियुक्ति प्रक्रियाप्रति पीडितहरूले नियुक्ति हुनु अघि देखिनै जनाउँदै आएका वैध सरोकारप्रति निरन्तर असहिष्णु हुनु, बेसरोकार रहनु, त्यसलाई तिरस्कार गर्नु र उनीहरूबीच विभाजन ल्याएर त्यसमा खेल्न खोज्नु भनेको संक्रमणकालीन न्याय प्रक्रियालाई फेरि पनि गिजोल्नु नै भएको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पीडित समुदायको विश्वास आर्जन गरेर मात्र यो प्रक्रिया अघि बढ्न सक्छ। अन्यथा राज्यप्रतिको भरोसा टुट्नेछ र संक्रमणकालीन न्यायसम्बन्धी बहस अन्य विकल्प जस्तै नागरिक सत्य आयोग वा हाइब्रिड मोडेलतर्फ केन्द्रित हुने अवस्था सिर्जना हुनेछ भन्ने कुरामा हेक्का राख्न जिम्मेवार सबै पक्षलाई आग्रह गर्दछौं।’

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’

बागलुङ । पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो। फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन। तर, पछिल्लो समय जलजला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजलामा दैनिकजसो पर्यटक पुग्न थालेका हुन्।

ढोरपाटन उपत्यकाबाट घना जंगल र ठूला जंघार पार गर्दै जलजाल पुग्न सकिन्छ। शान्त वातावरण र आँखै अगाडि देखिने हिमश्रृङ्खला हेर्नका लागि पर्यटक जलजला जाने गर्छन्। ढोरपाटन उपत्यकादेखि २२ किलोमिटर पूर्वमा रहेको जलजलामा बाह्रै महिना पर्यटक पुग्ने गरेका हुन्।

ढोरबराह मन्दिर दर्शन गर्न पुग्ने दर्शनार्थीसमेत यहाँ पुग्न गरेका छन्। बर्खामा हरियाली र हिउँदमा हिउँसँग रमाउने पर्यटकका लागि जलजला उत्कृष्ट गन्तव्य बनेको छ। पहिले असोजदेखि आन्तरिकसहित बाह्य पर्यटक जलजला पुग्ने गरे पनि पछिल्लो समय बाह्रै महिना यहाँ आउने गरेको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुन बताउँछन्।

ढोरपाटन उपत्यकादेखि १८ किलोमिटर सवारी साधन र चार किलोमिटर पैदल यात्रामा जलजला पुग्न सकिने उनको भनाइ छ। केही वर्ष अगाडिसम्म ओझेलमा रहेको जलजला प्रचारप्रसार र सडक सञ्जालले जोडिन थालेपछि पर्यटकको आकर्षण बढेको पुनले बताए। यो याममा दैनिक जलजला जाने पर्यटकको सङ्ख्या बढिरहेको उनको भनाइ छ। मासिक रुपमा तीन हजारको हाराहारीमा पर्यटक जलजला पुग्ने अध्यक्ष पुन बताउँछन्।

‘जलजलाको प्रचारप्रसार बढी भएर होला, अहिले टाढा-टाढाबाट पर्यटक आउन थालेका छन्, ढोरपाटन उपत्यकाबाट बाटो सहज बनेको छ, शान्त वातावरण, अनगिन्ती हिमशृङ्खला र प्रकृतिसँग रमाउन चाहनेहरु जलजला आउँछन्’ अध्यक्ष पुनले भने, ‘पहिले फाट्टफुट्ट मात्रै पर्यटक जलजला पुग्थे, तर हिजोआज धेरै जान थालेका छन्। ढोरपाटनबाट बिहान गएर साँझ फर्किन सकिन्छ, यहाँबाट देखिने हिमशृङ्खलाले धेरैलाई आकर्षित गर्छ।’

यति बेला गर्मी बढेको हुँदा तराईबाट पनि घुम्न आउने बढी छन्। समुद्री सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा रहेको जलजलाबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरीलगायत दुई दर्जन बढी हिमाल एकै ठाउँमा उभिएर नजिकै देख्न सकिन्छ। पर्यटकको सङ्ख्या बढेपछि होलट व्यवसायसमेत फस्टाउन थालेको छ। ढोरपाटन आउने पर्यटकलाई अघिल्लो दिन नै होटलका लागि सम्पर्क गर्नु उपयुक्त हुन्छ।

भैरहवाबाट ढोरपाटन आएका सुदीप सुवेदीले जलजला निकै सुन्दर रहेको बताए। तराईमा अत्याधिक गर्मी हुँदा एक साताका लागि ढोरपाटन घुम्न आएको सुनाउँदै जलजला पुग्दा शीतलता प्राप्त भएको उनको भनाइ छ। जलजलालाई प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको भन्दै जलजलासम्म पुग्ने सडकलाई सहज बनाउन सके पर्यटक बढ्ने सुवेदी बताउँछन्।

‘तराईमा निकै गर्मी छ, केही दिन भए पनि शीतलता लिन ढोरपाटन जाउँ भनेर आएका थियौँ, यहाँ आएपछि होटल व्यवसायी दाइहरुले जलजलासम्म पुग्नु भन्नुभयो, सुरुमा त खास्सै जान मन थिएन’ सुवेदी भन्छन्, ‘पछि साथीहरुसँग त्यहाँ पुग्दा निकै मन फुरुंग भयो, अहिलेसम्म मेरो जीवनकालमा यति धेरै हिमाल एकै ठाउँबाट देखेको थिएन। यो ठाउँ साँच्चिकै स्वर्गभन्दा कम छैन।’

पोखराबाट घुम्न आएका नितेश तामाङ पनि जलजला क्षेत्र निकै मनमोहक रहेको बताउँछन्। बुर्तिबाङ बजारदेखि ढोरपाटनसम्मको सडकमा जोखिमपूर्ण यात्रा गर्दा डर लागे पनि जलजला पुग्दा छुट्टै आनन्द आउने उनको भनाइ छ। राज्यले सडक र पदमार्गलाई व्यवस्थित गर्न सके बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सकिने तामाङकाे बुझाइ छ।

ढोरपाटनसम्म पुग्ने सडक मात्रै व्यवस्थित हुन सके जलजलामा पर्यटकको भिडभाड बढ्ने देखिन्छ। पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटक जलजलासँगै वर्खामा बुकीपाटन पनि पुग्ने गरेका छन्। उपत्यकादेखि करिब साढे चार घण्टाको पैदल यात्रमा पुग्न सकिने बुकीपाटन निकै मनमोहक छ। साँघुरो र अप्ठ्यारो पदमार्ग हुँदै पर्यटक बुकीपाटन पुग्छन्।

यस वर्ष उद्योग तथा पर्यटन कार्यालय बागलुङले पाखाथरदेखि गर्पाछेडासम्म तीन किलोमिटर पदमार्ग निर्माण गरिरहेको छ। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रुपैयाँमा पदमार्ग निर्माण भइरहेको उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पारसिंह थापाले जानकारी दिए। पर्यटकलाई बुकीपाटन पुग्न सहज होस् भन्ने उद्देश्यले पदमार्ग निर्माण गर्न थालिएको उनको भनाइ छ।

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

मन्थली । सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रूत गतिमा हुन थालेको छ ।

यही जेठ १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयोजना को स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सक्न सम्बन्धित कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिएपछि यो आयोजनाको काम द्रुत गतिमा हुन लागेको हो ।

अनुगमनका क्रममा मन्त्री खड्काले निर्माण व्यवसायीलाई लक्ष्य प्राप्तिका लागि काम नगरे सरकारले अर्को बाटो पनि रोज्न सक्ने भन्दै जानकारी गराउनुका साथै काम छिटो भए भुक्तानी पनि छिटो हुने भनेपछि काम द्रूत गतिमा अगाडि बढिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त आयोजनाका लागि १३.२ किलोमिटर सुरुङको काम सम्पन्न भइसकेको छ भने हेडबक्सको काम २० प्रतिशत मात्र भएपछि त्यसलाई बढाएर छिटो सम्पन्न गर्ने गरी निर्माण व्यवसायी लागेका हुन् । गत असोजमा सुनकोशी नदीमा आएको बाढीले निर्माणाधिन हेडबक्सको काममा धेरै क्षति पुर्याएपछि त्यसभन्दा यता सुस्त गतिमा काम अगाडि बढिरहेको थियो ।

पट्टेल रमण ज्वाइन्ट भेन्चरद्वारा निर्माणाधिन उक्त आयोजनाको हेडबक्स निर्माणका लागि काम भइरहेको भए पनि बिलअनुसारको भुक्तानी नभएको, निर्माणाधीन काममा बाढी पसेर निक्कै नोक्सानी पुर्याएकाले म्यादभित्र कार्य सम्पन्न गर्न नसकिने निर्माण व्यवसायी रमण पट्टेलले बताउनुभएको थियो । तर, अब सबै माग पूरा हुने मन्त्रीको आश्वासनपछि कामलाई तीव्रता दिएको पनि उनले बताए ।

यो आयोजना सम्पन्न भएपछि तराइका आठभन्दा बढी जिल्लाको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ हुने, ३२ मेघावाट विद्युत् उत्पादन हुने र कूल पानीको १० प्रतिशत पानी खानेपानीका रुपमा प्रयोग हुने बताइएको छ ।

कूल रु १४ अर्बको यो आयोजनामा रु एक अर्ब २० करोड खर्च भइसकेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले बताए । अहिले रामेछापको मन्थली नगरपालिका स्थित वडा नं ६ सेलेघाटमा ड्याम (हेडबक्स)को निर्माण काम भइरहेको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।

बैठकले नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दस जना महासेनानीहरुको सरुवा गर्ने निर्णय गरेको छ । त्यस्तै एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको समेत उनले बताए ।

सभामुख-सचेतक छलफलः गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने विपक्षीको अडान यथावत

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरुसँगको छलफल निष्कर्षविहीन भएको छ ।

छलफलमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन भएको हो । बैठकमा प्रतिपक्षले गृहमन्त्रीको राजीनामा नदिइ संसद चल्न नदिने अडान लिएको थियो । त्यस्तै सत्तापक्षले गृहमन्त्रीलाई संसदमा बोल्नदिनुपर्ने अडान राखेको थियो ।

तर सत्तापक्षको मागमा प्रतिपक्षी सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो । छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया पनि सहभागी थिए । मंगलबार पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन । दुई पटक सूचना टाँसेर बस्दै नबसी बुधबारसम्मका स्थगित भएको थियो ।

आज दिउँसो १ बजेका लागि बैठक बोलाइएपनि बैठक बस्न सकेको छैन । सचेतकहरुसँगको बैठकअघि सभामुखले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा लगायतका दलका प्रमुख सचेतसँग पनि छलफल गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलको माग छ भने सत्तापक्ष त्यसमा तयार छैन ।

गृहमन्त्रीले राजीनामा दिन आवश्यक छैनः संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन् ।

उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताए । उनले दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनले बताए ।

प्रधानमन्त्रीलाई निर्यात व्यवसायी महासङ्घको सात बुँदे सुुझाव प्रस्तुत, आयात प्रतिस्थापनमा जोड दिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरु बुझाएको छ ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुुवाटारमा बुधबार प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझावपत्र बुझाएको हो ।

महासङ्घले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिहरु कार्यान्वयनका लागि आग्रह गर्दै सम्बोधन हुन छुट भएका विषयमा ध्यानाकर्षण गराएको छ ।

महासङ्घका अध्यक्ष घिमिरेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणलाई छिटो सम्पन्न गरी विदेशी क्रेताहरुलाई नेपाल ल्याउन माग गरिएको छ । यस्तै लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको छ ।

सुुझावहरु ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले महासङ्घको नयाँ नेतृत्वलाई बधाई दिँदै आर्थिक वृद्धि, रोजगारी र पर्यटक वृद्धिजस्ता विषयलाई सरकारले उच्च महत्व दिएकाले निर्यात व्यवसायीहरुका उचित सुुझावलाई सम्बोधनको पहल गरिने विश्वास दिए । उनले विद्यमान स्थितिमा निर्यात व्यवसायीलाई धेरै प्रोत्साहन दिन नसके पनि सम्भव र व्यवहारिक विकल्पमा साझा प्रयास गर्न गरिने आग्रह गरे ।

कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

टेकराज केसी, सुर्खेत ।  सुर्खेत गुर्भाकोट नगरपालिका–३ टिमुरेका अर्जुनकुमार ओली अहिले ३८ वर्ष पुगे। अर्जुनलाई आफ्नो घरखर्च जुटाउनै मुस्किल थियो । रोजगारीका लागि भौँतारिएका अर्जुनले कुनै रोजगारी नपाएपछि घरमा खेतीपाती गर्थे, त्यो पनि निर्वाहमुखी । घरखर्च चलाउन समस्या भएपछि उनले गाउँमै जडीबुटीको सामान्य व्यापार गर्न सुरु गरे। व्यापार गर्ने सिलसिलामा अर्जुनलाई एकजना वनविज्ञले अर्जुनको गाउँलाई टिमुरखेतीको सम्भावना देखाएपछि उनले टिमुरखेती व्यावसायिक रूपमै गर्ने योजना बनाए।

‘हाम्रो यो टिमुरे गाउँमा पहिलेदेखि नै टिमुर हुन्थ्यो’, अर्जुन भन्छन्, ‘यसलाई व्यावसायिक ढङ्गले गर्नुपर्छ भन्ने थाहा पाएपछि मैले टिमुरखेती सुरु गरेँ । त्यसबाट आम्दानी लिनको लागि केही वर्ष कुर्नुपर्ने भए पनि मैले धैर्यता राखेँ, जब फल दिन थाल्यो, मलाई अझै यो खेती गर्न हौसला मिल्यो ।’

जब उनले टिमुरखेतीबाट आम्दानी लिन थाले, त्यसपछि उनको जीवन नै परिवर्तन हुँदै गयो । ‘व्यावसायिक रुपमा टिमुरखेती थालेको तीन वर्षदेखि मेरो आम्दानी सुरु भयो । उनी भन्छन् , त्यसपछि मेरो घर चलाउन सहज हुँदै गयो, समग्रमा भन्नुपर्दा मेरो जीवनमा नै परिवर्तन आउन थाल्यो ।’

अहिले ४३ रोपनी जमिनमा टिमुरखेती गर्दै आएको अर्जुन बताउँछन्। ‘मैले अहिले ४३ रोपनी जमिनमा दुई हजार बुटा टिमुर लगाएको छु, त्यसमध्ये १२ सय बोटले फल दिइरहेको छ भने अन्य बोटमा पनि फल लाग्न सुरु भएको छ ।’

उनले अहिले वार्षिक तीन हजार किलो टिमुर बिक्री गर्दै आएका छन् । सबै खर्च कटाएर वार्षिक २० लाख रकम बचत हुने गरेको उनको भनाइ छ । उनको टिमुर उत्पादन बढ्दै गएपछि सुरुमा त बजार पाउन केही कठिनाइ भयो । पछि अर्जुनले विभिन्न ठाउँमा समन्वय गरेर न्यु हिमाल हर्बल एण्ड फुड सप्लायर्स सञ्चालनमा ल्याए। अहिले आफ्नो मात्रै नभई अन्य किसानले उत्पादन गर्ने टिमुरलगायतका जडीबुटी खरिद गरेर काठमाडौँलगायतका ठाउँमा पठाउने काम समेत गर्छन्।

कुनै बेला आर्थिक रुपमा कमजोर अर्जुनले अहिले २२ जनालाई त्यही हर्वलमा रोजगारी दिएका छन् । मिहेनत गरे स्वदेशमै मनग्य आम्दानी लिन सकिन्छ भन्ने उदाहरण बनेका अर्जुन नयाँ तरिकाबाट काम गर्नसके स्वदेशमै पनि मनग्य आम्दानी लिन सकिने उदाहरण बनेका छन्।

उनी भन्छन् , ‘मिहेनत गर्नेलाई नेपालमै प्रसस्त आम्दानी छ, आफ्नो परिवारसँगै बसेर आम्दानी गर्न सकिने भएकाले योजना बनाएर उत्पादनमा जोडिन युवाहरुलाई सुझाव दिन्छु ।’

अर्जुनजस्तै दैलेख गुराँस गाउँपालिका–८ पाल्तेका उदयबहादुर खड्काले पनि १२ रोपनी जमिनमा टिमुरखेती गरेका छन् । उनले टिमुरखेतीबाट वार्षिक आठ लाख आम्दानी गर्छन्। उनीसँग टिमुरका चार सय बोट छन् ।

‘पहिले त्यही जग्गामा अन्य खेती गथ्र्यौं, वार्षिक रु दुई-तीन लाख पनि कमाइ हुन्थेन’ उदय भन्छन्, ‘अहिले त्यही जग्गामा वार्षिक आठ लाख टिमुरबाट कमाइ भइरहेको छ, अन्य खेतीजस्तो यसमा जोखिम पनि छैन ।’

टिमुरको मूल्य तलमाथि भइरहे पनि औसतमा रु ८५० किलो बिक्री हुँदै आएको छ । टिमुरको बजारीकरणको लागि सरकारले पनि सहयोग गरिदिनुपर्ने उनको माग छ । ‘सरकारले टिमुरखेतीको लागि अझै प्रोत्साहन दिन सके हामीजस्ता किसानहरुको आम्दानी वृद्धि हुन्थ्यो’, खड्का भन्छन् ।

टिमुरखेती गर्ने तरिकाको बारेमा विभिन्न तालिम तथा बिरुवाहरु उपलब्ध बनाउन सके अझै आम्दानी वृद्धि गर्न सहज हुने उनको भनाइ छ ।

टिमुरखेतीले अपाङ्गता भएका व्यक्तिहरुलाई समेत स्वरोजगार बनाएको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१२ भदानेका दुर्गासिङ रोका शाररिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । उहाँको शरीरको दाहिने भागले काम गर्दैन । त्रिचालीस वर्षिया दुर्गा कसरी जीवन चलाउने भन्ने ठूलो चिन्तामा थिए । न त रोजगारी, न त कुनै पेसा व्यवसाय नै थियो । वन डिभिजन सल्यानले दिएको टिमुरखेतीसम्बन्धी तालिममा सहभागी भएपछि दुर्गाले व्यावसायिक रुपमा टिमुरखेती गर्ने निधो गरे। उनले आठ रोपनीमा जमिनमा तीन सय बिरुवा टिमुर लगाए। अहिले वार्षिक तीनदेखि चार लाखसम्म कमाई हुने गरेको उनी बताउँछन्।

उनलाई अहिले घरखर्च चलाउन र छोराछोरीको शिक्षादीक्षा कसरी बनाउने भन्ने चिन्ता छैन । वार्षिक आम्दानी बढाउनको लागि टिमुरखेतीमा जोड दिइरहेको बताउँदै मिहेनत गरे स्वदेशमै मनग्य आम्दानी लिन सकिने दुर्गा बताउँछन्।

‘घरमा बाजेको पालादेखि नै टिमुरखेती हुन्थ्यो । तर व्यावसायिक रुपमा थिएन । मानापाथिका रुपमा धानसँग साट्ने चलन थियो । अहिले व्यावसायिक रुपमा मैले सुरु गरेको छु । जीवन कसरी चलाउने रु घरपरिवार कसरी चलाउने ? भन्ने चिन्ता थियो, दुर्गा भन्छन्’, ‘आफैँ पनि अपाङ्गता भएको व्यक्ति हुँ, कुनै रोजगारी पनि थिएन, जीवन कसरी चलाउने भन्ने चिन्तामा भए पनि टिमुरखेतीले मेरो जीवन नै बदेलेको छ । अब सबै बारीमा टिमुरखेती गर्ने योजना छ ।’

भदाने गाउँमा दुर्गाजस्तै १५ जना किसानले व्यावसायिक टिमुरखेती गरेका छन् । उनीहरुको प्रतिव्यक्ति आम्दानी वार्षिक पाँचदेखि सात लाख हुने गरेको छ । १२ सय मिटरदेखि २५ सय मिटरसम्मको उचाइमा टिमुरको लागि उपयुक्त वातावरण मानिन्छ ।

कर्णाली प्रदेश सरकारका अनुसार प्रदेशका दश जिल्लामध्ये सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिमसँगै कालिकोट र मुगुको तल्लो भागमा टिमुर उत्पादन हुने गरेको छ । टिमुरको लागि ओसिलो र चिस्यानयुक्त हावापानी उपयुक्त मानिन्छ ।

आयुर्वेदिक प्रणालीअनुसार यो वायुशमन गर्न, दाँत दुखेको निको गर्ने, तागत दिने, ज्वरो निको गर्ने, अजीर्ण र हैजा इत्यादि रोगहरूमा प्रयोग गर्ने गरिएको चिकित्सकहरु बताउँछन् । खासगरी यो माछाको विषमा पनि प्रयोग गर्ने गरिन्छ ।

कर्णालीको टिमुर युरोपसम्म निर्यात

कर्णालीमा उत्पादित टिमुरको माग युरोपबाट आउन थालेको छ । कृषिसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले कृषकलाई प्राविधिक तथा आर्थिक सहयोग गरेपछि कर्णालीको टिमुरले अन्तर्राष्ट्रिय बजार पाएको हो । कर्णालीको टिमुर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनको लागि ‘द अर्गानिक भ्याली’ नामक संस्थाले सहयोग गर्दै आएको छ ।

संस्थाका सञ्चालक समिर नेवाका अनुसार टिमुरको माग भारतलगायत युरोपेली मुलुकका साथै जापान, फ्रान्सलगायतका देशहरूबाट आउने गरेको छ । ती देशका विशेषगरी नेपाली रेस्टुराँ र डिपार्टमेन्ट स्टोरबाट टिमुरको बढी माग आउने गरेको छ । पछिल्लो समय विदेशी नागरिकहरूले समेत टिमुरको माग गर्ने गरेको नेवा बताउँछन्।

‘सेरेस नामक संस्थाले कर्णालीको टिमुर अर्गानिक प्रमाणित गरेको छ । अर्गानिक त्यसमा पनि औषधियुक्त वस्तु भनेपछि विदेशमा माग बढेको छ’, नेवा भन्छन्, द अर्गानिक भ्यालीले कर्णालीका विभिन्न जिल्लामा उत्पादन भएको टिमुर खरिद गरेर युरोपका देशहरूमा पठाइरहेको छ । युरोपलगायतका देशमा निर्यात भएको टिमुरबाट प्रतिकेजी १२ देखि १८ रुपैयाँ युरोमा बिक्री भइरहेको नेवाको भनाइ छ ।

वातावरण संरक्षणसँगै आन्तरिक आम्दानी बढाउन सुझाव

कर्णालीका हिमाली तथा पहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका जडीबुटीको भरपुर उपयोग अझै हुन सकेको छैन । वनबाट आम्दानी आउने गरी वातावरण संरक्षणमा पनि सहयोग पुगेको वातावरणविद्हरू बताउँछन् । विशेष गरेर कर्णालीका वन क्षेत्रमा सजिलै उत्पादन गर्न सकिने जडिबुटीहरू स्थानीय हावापानी सुहाउँदो भएका कारण पनि वातावरण संरक्षणमा सघाउ पुगेकाले यसतर्फ सरकारले विशेष योजना बनाएर प्रदेशको आन्तरिक आम्दानी समेत बढाउन सुझाव उनीहरूको छ ।

टिमुर कर्णालीका वन क्षेत्रमा पाइने रैथाने बिरुवा भएको र यसले वातावरण संरक्षणमा सघाउ पुर्यायको मध्यपश्चिम विश्वविद्यालयका विज्ञान सङ्कायका डिन एवं जलवायु तथा वातावरण अनुसन्धानकर्ता सुदीप ठकुरी बताउँछन्।

उनले भने, ‘कर्णालीका पहाडी जिल्लाहरूमा टिमुर त रैथाने बिरुवा हो, त्यो बिरुवासँगै अन्य जडिबुटीहरू पनि पाइन्छन्, यी जडीबुटीयुक्त बिरुवाहरूको संरक्षण र वृक्षारोपणमा जोड दिनुपर्छ । यसले प्रदेशको आन्तरिक आम्दानी त बढाउँछ नै, अर्कोतर्फ जैविक विविधता तथा वातावरण संरक्षण पनि हुन्छ ।’

सरकारले यही विषयलाई मध्यनजर गरेर जडीबुटी उत्पादनमा वृद्धि गर्न सके वातावरण हराभरा हुने र आम्दानी पनि बढ्ने उनको भनाइ छ ।

अर्का वातावरणविद् भूपेन्द्र शाहीको पनि उस्तै सुझाव छ । शाहीले भने, ‘नेपालमा धेरै जमिनहरू खाली छन् । त्यहाँ वृक्षरोपण गरेर हराभरा बनाउन सकिन्छ । सरकारको आम्दानी पनि हुने वातावरण संरक्षण पनि हुने टिमुर जस्ता खेतीलाई प्राथमिकता दिन जरुरी छ ।’ जडीबुटी खेतीलाई व्यापकता दिन सके कर्णालीका धेरै युवाहरुले स्वदेशमै रोजगारको अवसर पाउने छन् । अर्का वातावरणविद् टोपेन्द्र केसीले भने, ‘कर्णाली आफैँमा जडीबुटीको भण्डार भएको क्षेत्र हो, यससँगै प्रदेशमा वन क्षेत्र प्रसस्त छन्, सरकारले यसको संरक्षण र सम्बद्र्धनलाई जोड दिए एकातिर वातावरण संरक्षण हुन्छ भने अर्कोतर्फ रोजगारी सिर्जनासँगै आन्तरिक आम्दानीमा समेत वृद्धि हुन्छ ।’

सरकारले बनाउने वन तथा वातावरणसँग सम्बन्धित कार्यक्रमहरु दिगो र परिणाममुखी हुनुपर्ने उनको सुझाव छ ।

बढाइँदै टिमुरको उत्पादन

कर्णालीका निजी वन र राष्ट्रिय वनबाट गरी वार्षिक दुई हजार क्विन्टलभन्दा धेरै टिमुर बाहिर निर्यात हुने गरेको कर्णाली प्रदेश सरकारको तथ्यांक छ । गत आर्थिक वर्ष २०७९-८० मा दुई लाख आठ हजार छ सय ८० केजी उत्पादन भई निर्यात भएको कर्णाली प्रदेश सरकार वन निर्देशनालयले जनाएको छ । त्यसैगरी आव २०८०-८१ मा पनि तीन लाख ८५ हजार क्विन्टल उत्पादन भएको निर्देशनालयका सूचना अधिकारी सूर्यप्रसाद शर्माले बताए।

उनका अनुसार आव २०७९-८० मा निजी वन क्षेत्रमा ७३ हजार छ सय ८० केजी र सामुदायिक वनमा एक लाख ३५ हजार केजी टिमुर उत्पादन हुने गरेको छ । यस्तै आव २०८०-८१ मा निजी र राष्ट्रिय वनबाट तीन लाख ८५ हजार केजी टिमुर निर्यात भएको छ । टिमुरबाट कर्णालीमा वार्षिक ३० करोड रकम भित्रिने गरेको छ । विभिन्न डिभिजन वन कार्यालयहरू, कृषि उद्यम विकास कार्यक्रम, डावर नेपाललगायतसँगको समन्वय र सहकार्यमा टिमुरलगायतका जडीबुटी उत्पादनमा जोड दिइएको शर्माले बताए । हामी टिमुरलगायतका जडीबुटीको उत्पादन बढाउनको विभिन्न कार्यक्रम गर्दै आएका छौँ ।

शर्माले भने, ‘पछिल्लो समय हामीले गर्ने वृक्षरोपणमा समेत लेकाली क्षेत्रमा टिमुरलगायतका बिरुवा र तल्लो क्षेत्रमा अन्य आम्दानी दिने बिरुवाहरू रोप्न थालेका छौँ, यसले एकातिर वन वातावरण हराभरा पनि हुन्छ, अर्कोतर्फ आम्दानी पनि बढ्छ ।’

चोरी निकासी बढ्दो

कर्णालीबाट निर्यात हुने जडीबुटीमा स्थानीय तहदेखि ढुवानी गर्दासम्म तेब्बर करका कारण चोरी बाटोबाट भारत निर्यात भइरहेको छ । ढुवानीका क्रममा बिचौलियाहरूले छुट्टै रकम असुल्दा सम्बन्धित ठाउँमा पुग्दा जडीबुटी धेरै महँगो हुने गरेको छ । तर कसरी बाहिर निर्यात भइरहेको छ भन्ने पत्तो हुँदैन ।

नेपाली नागरिकले जडीबुटी ढुवानीमा बन्देज गर्दा कर्णालीको बहुमूल्य जडीबुटी भारतीय बजारमा खुलमखुल्ला पाइन्छ । जडीबुटी प्रशोधन गर्न प्रथम चरणको व्यवस्था, संकलन केन्द्रको भरपर्दो सुविधा, बजार व्यवस्थापन, आवश्यक पूर्वाधार निर्माण, ढुवानीमा सहजता, नेपालीका लागि प्रतिबन्ध फुकुवा गरे मात्रै कर्णालीले जडीबुटीबाट राम्रो आम्दानी गर्ने विज्ञहरू बताउँछन् ।

कर्णाली प्रदेशबाट बर्सेनि ८२ प्रकारका जडीबुटी निकासी हुने गरेको प्रदेश सरकारको तथ्यांक छ । वन निर्देशनालयका अनुसार कर्णालीबाट वार्षिक ८२ प्रकारका जडीबुटी निकासी हुने गरेको हो । प्रदेशबाट यार्सागुम्बा, जटामसी, पाँचऔँले चिराइतो, टिम्मुर, अमला, चिउरी यार्सागुम्बा, लौर सल्ला, सिलाजित, रिठ्ठालगायतका ८२ प्रकारका जडीबुटी निकासी हुने गरेको छ ।

आव २०८०-८१ मा जडीबुटी निकासीबाट प्रदेश सरकारले पाँच करोड २५ लाख रकम राजस्व संकलन गरेको जनाएको छ । वन निर्देशनालयका सूचना अधिकारी शर्माले कर्णालीबाट बर्सेनि चार हजार क्विन्टलसम्म जडीबुटी निकासी हुने गरेको तथ्यांक रहेको बताउँछन्। सबैभन्दा धेरै राजस्व यार्सागुम्बा र जटामसीबाट आउने गरेको भन्दै प्रदेश सरकारले जडीबुटीबाट पाँच करोडभन्दा धेरै आम्दानी गर्ने गरेको उनको भनाइ छ ।

कर्णाली प्रदेशबाट आव २०७९-८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको थियो भने जडीबुटी निर्यातबाट तिन करोड ९४ लाख राजस्व संकलन भएको थियो । गत आव २०८०-८१ राजस्वमा वृद्धि भएको उनको भनाइ छ । सबैभन्दा धेरै जटीबुटी पाइने कर्णाली प्रदेशले पर्याप्त आम्दानी भने लिन नसकेको शर्माले बताए।

‘जडीबुटीबाट भनेअनुसारको आम्दानी अझै लिन सकेको छैन । प्रदेशमा पाइने जडीबुटीको प्रशोधन उद्योग सञ्चालन गर्न सकेको खण्डमा पर्याप्त आम्दानी प्रदेशले लिन सक्थ्यो’, उनले थपे, ‘कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका ८२ प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छ । यसको उचित उपयोग हुन आवश्यक छ ।’

प्रदेश सरकारअन्तर्गत वन निर्देशानालयबाट जडीबुटी खेती विस्तार कार्यक्रमअन्तर्गत पकेट क्षेत्र जडीबुटी बिरुवा र प्राकृतिक जडीबुटी संरक्षण कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रमको लागि प्रदेश सरकारले चालु आव २०८१÷८२ का लागि छ करोड ६० लाख रकम विनियोजन गरेको छ ।

यही कार्यक्रमअन्तर्गत विशेषगरी हिमाली जिल्लाहरूमा अहिले काम भइरहेको प्रदेश सरकारले जनाएको छ । जलवायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्दै गएको तथा वातारण प्रदूषण कम गर्न वृक्षरोपणलाई जोड दिइएको र त्यसमा पनि आर्थिक आम्दानी दिने वृक्षहरु रोप्ने गरिएको छ ।

जलवायु परिवर्तनको असरबाट नेपाल सबैभन्दा बढी प्रभावित: सभापति देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावितमध्येको मुलुक भएको बताएका छन् ।

बुधबार साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै सभापति देउवाले नेपालले नगन्य मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायुका कारण प्राकृतिक विपद्का घटना व्यहोर्नुपरेको बताएका हुन् । यसको क्षतिपूर्तिका लागि विश्वव्यापी पहल आवश्यक रहेको उनले बताए ।

सभापति देउवाले विश्वव्यापी तापमान वृद्धिका कारण नेपालका हिमाल पग्लिने क्रम बढेको, अस्वाभाविक मौसमले जनजीवनमा ठूलो प्रभाव परेको बताउँदै यसबारे विश्वको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सभापति देउवाले आफूले संयुक्त अधिराज्यको ग्लास्गोमा सन् २०२१ मा भएको कोप–२६ सम्मेलनमा नेपालका तर्फबाट सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै अब नेपालले विद्युतीय ऊर्जाको प्रयोग बढाउँदै जानुपर्ने बताए ।

संखुवासभामा पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ। मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो।

शेर्पाको ढुङ्गा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए। उनका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन।

माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ। पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन्। केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा दुई सय ५० घरमा विद्युत आपूर्ति बन्द भएको छ। बाढीले भोटखोला–३ का दुईवटा हाइड्रोपावर बगाएको थियो।

अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा

कर्णाली । उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी भइन्। सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम छैनन् उनी। हिमाली जिल्ला जुम्ला तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली गाउँ निवासी उनी अहिले सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन्।

अलि चञ्चले र खुला स्वभावकी सुष्माको पारिवारिक, आर्थिक एवं शैक्षिक हिसाबले अवस्था निकै कमजोर छ। प्रौढ शिक्षा पढेर सामान्य आफ्नो नाम लेख्न बाहेक अरु खासै आउँदैन सुष्माको आमा कमला शाहीलाई। मेलापात र नानीहरूलाई दैनिक खानाको जोहो गर्ने दिनचर्याले माथि उठ्न नदिँदा उनलाई सरकारी विद्यालयमा पढ्ने उनीहरूको प्रगति र दुर्गती दुवैका बारेमा बुझ्ने समय हुँदैन।

मजदुरीका लागि बर्सेनि कालापहाड जाने सुष्माका बुबा खड्गबहादुर हमालको पनि सामान्य लेखपढभन्दा बढी छैन। घरमा तीन महिना पुग्ने अन्न उब्जिँदैन। गिट्टी कुटेर वा बालुवा बोकेर कमाएको पैसाले हातमुख जोड्नुपर्ने बाध्यता छ, उनको परिवारलाई। बुबा मजदुरीका लागि कालापहाड (भारत) र आमा सुष्मालगायत उहाँका भाइबहिनीको स्याहार गर्दै आउनुभएको छ। खड्गबहादुर कालापहाड गएको करिब वर्ष दिन पुग्न थाल्यो, अहिलेसम्म घर फर्कनुभएको छैन।

निम्नवर्गीय परिवारकी सन्तानका रुपमा जन्मेकी सुष्माको सोच र सपना भने उच्च कोटीको छ तथापि कहिले कापी, किताब र कलम किन्न पैसाको निकै अभाव खट्किन्छ। विद्यालयमा आफ्नै साथीहरूबीच उनी फरक धारणा र प्रस्ताव प्रस्तुत गर्छिन्। अलि खरो स्वभाव भएकी सुष्मा यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बन्दै आएकी छन्। यसमा श्री ज्योति फाउण्डेसनद्वारा यही वैशाख २७ देखि २९ गतेसम्म सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली छोरी सम्मेलन’ महत्वपूर्ण अवसर बन्यो।

सम्मेलनमा उनले खस भाषामा आफ्नो एकल नाटक प्रस्तुत गरिन्। कुनै तयारी बिना नै पहिलोपटक मञ्चमा उक्लेकी उनले एकल नाटकबाट दर्शकलाई क्षणभरमै प्रभावित बनाइन्। दर्शकदीर्घामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरूसहित विशेष व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो।

मञ्चमा पुगेर खस भाषामै उनले भनिन्, ‘आइगइ कर्णालीकी छोरी खस भाषा लिएर, गरिबहरूका कुडा सुन्दिने आखिर को थिए र ? हाम्रा कुडा सुन्दिने कोइनाइ, नापा नापा (थोरै) सुन्दिया पुनि भुन्दिन्या कोही नाई। यसबाट उदेक मात्र होइन, कर्णाली अनि आफ्नै अवस्था हेरेर रुने मन लाग्यो।’

तथापि सम्मेलनका सहभागीहरूलाई उनले सके उड, उड्न सक्दैनौँ दौड, दौडन सक्दैनौँ हिँड, हिँड्न सक्दैनौँ घिस्र, जीवनमा कहिले नहार तर प्रयास गर एकदिन अवश्यक लक्ष्यबिन्दुमा पुग्नेछौँ भन्ने ऊर्जा पनि दिइन् ।

मञ्चमा सुष्माले नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकलगायतका विभिन्न अधिकार, सङ्घीय संरचनाअनुरुप गठित तीनै तहका सरकारमा रहेर काम गर्ने जनप्रतिनिधिको कार्यक्षमता र शैली, शिक्षक शिक्षिकहरूको भूमिका र सिङ्गो नेपालको राजनीतिक प्रणालीमाथि व्यङ्ग्य गरिन्। न्यायिक समितिको संयोजकमा रहेर काम गर्दै आएका पालिकाका उपाध्यक्षहरूको न्याय सम्पादन कमजोर रहेको र कति त आफैँ अन्यायमा परेको सवाल समेत उनले उठान गरिन्।

सुष्माको अभिव्यक्तिको आशय थियो, सरकार प्रमुखहरूको जिम्मेवारी र उत्तरदायित्व, विभिन्न निकायमा काम गर्नेहरूको कार्यशैलीकै कारण आज समाजका बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिङ्गो नागरिकले दुःख पाउँदै आएका छन्। गाउँबाट राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलोपटक पुगेकी बालिकाको उक्त प्रस्तुतिले सबैलाई आश्चर्यचकित पारेको थियो।

मञ्चमा उभिएकी सुष्माले निर्धक्कका साथ भन्दै थिइन्, ‘भाषणले देश बन्दैन, असल नियत राखेर काम गर्नुपर्दछ। जातीय विभेद आजसम्म पनि अन्त्य भएको छैन। कुर्सीमा बस्नेहरूले नै नागरिकलाई अपमान गर्दै आएका छन्। कृषि क्षेत्रलाई नीति, कार्यक्रम र बजेटमा राखे पनि कार्यान्वयन प्रभावकारी छैन।’

उनको अभिव्यक्ति र अभिनय राष्ट्रियस्तरमा आफ्नो क्षमता देखाई पर्याप्त अनुभव लिइसकेका कलाकारहरूभन्दा कम थिएन। सुष्माको कलात्मक प्रस्तुतिले कुनै पनि क्षमता र प्रतिभावान व्यक्तिहरूको गतिशीलतालाई गरिबी र विकटताले छेक्न सक्दैन भन्ने उक्तिलाई चरितार्थ पार्दै सूचना, सञ्चार र प्रविधिको युगमा हरेकले आफूलाई सिर्जनशील र सकारात्मक बनाउँदै लैजानुमा नै ठूलो हित हुन्छ भन्ने सन्देश प्रवाह गरेको थियो।

दलहरूका घोषणा, सङ्कल्प, प्रतिबद्धता जप्ने मन्त्रजस्तै भएकाले अब प्रतिफल र कार्यान्वयनमुखी विकासमा जोड दिनुपर्ने उहाँको सुझाव थियो। सुष्माका अनुसार अधिकार खोज्नेले पनि कर्तव्य पालना गर्नुपर्दछ। स्वर नभए पनि भविष्यमा गीत रेकर्ड गर्ने र देउडा गायिका बन्ने धोको राखेकी उनले गरिब, निमुखाहरूको हितमा काम गर्ने र समाजमा व्याप्त भ्रष्टाचार, बेथिति, विकृति एवं कुरीतिविरुद्ध बोलिरहने बताएकी छन्।

सरस्वती प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर सिंह हमाल अन्य विद्यार्थीभन्दा फरक भएको बताइन्। उनले भनिन्, ‘सुष्मा अत्यन्तै उत्सुक र जिज्ञासु छन्। समाजका विभिन्न खाले विषयमा विशेष सरोकार राख्छिन् । समाज बुझ्ने र बोल्ने कला उनीमा राम्रो छ। गीत, कविता रचना गर्ने र देउडा गाउनेतर्फ उनको बढी रुचि देखिन्छ। यसलाई निरन्तरता दिँदै अगाडि बढे उनी राष्ट्रको एउटा राम्रो कलाकार बन्ने सम्भावना छ।’

सुष्माले आर्थिकरुपले पारिवारिक अवस्था कमजोर भएकाले आफूले चाहेजस्तो गर्न नसकेको बताइन्। उनले भनिन्, ‘बाबा धेरैजसो समय घरमा नहुँदा आमालाई बढी दुःख छ। हामीलाई खाना, लत्ताकपडा, कपी, किताब, कलमलगायतका आधारभूत आवश्यकता पूरा गर्न आर्थिक अभाव धेरै छ । त्यही दुःख एवं सङ्घर्ष गरेर अभावभित्रै मेरो सुन्दर भविष्य निर्माण गर्ने यात्रामा लाग्नेछु।’

उत्तर कोरियासँगको ‘घाउ निको पार्ने’ दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिको प्रतिबद्धता

सियोल । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे–म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर ‘घाउ निको पार्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

दक्षिण कोरियाका नयाँ मध्यमार्गी वामपन्थी नेताले ‘बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचना’ ले एशियाको निर्यातमा निर्भर चौथो ठूलो अर्थतन्त्रका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी पनि दिएका छन् ।

मध्यावधि निर्वाचनमा लीले पूर्व राष्ट्रपति युन सुक योलको पूर्व पार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गर्दै विजयी भएका छन् ।

निर्वाचनमा लीले ४९.४ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी किमले ४१.२ प्रतिशत मत प्राप्त गरेका छन् । किमले पार्टीमा आन्तरिक कलह र तेस्रो पक्षका उम्मेदवारले दक्षिणपन्थी मत विभाजन गरेका कारण आफ्नो पराजय भएको बताएका छन् ।

निर्वाचित भएलगत्तै लीले दक्षिण कोरियाका शीर्ष सैन्य कमाण्डरसँग कुरा गरी बुधबार औपचारिक रूपमा देशको सशस्त्र बलको सञ्चालन नेतृत्व ग्रहण गरेका छन् । उनले प्योङयाङको उक्साहटविरूद्ध ‘तत्परता’ कायम राख्न पनि शीर्ष सैन्य कमाण्डरलाई आग्रह गरेका छन् ।

उनले भने, “हामी विभाजन र युद्धको घाउ निको पार्नेछौं र शान्ति र समृद्धिको भविष्य स्थापित गर्नेछौं । जतिसुकै मूल्यमा पनि युद्धभन्दा शान्ति राम्रो हो।”

उनले उत्तर कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि सञ्चार माध्यम खोल्ने र वार्ता र सहकार्यलाई अगाडि बढाउने क्रममा उत्तर कोरियाको आणविक र सैन्य उक्साहटलाई रोक्ने बताएका छन् ।

अमेरिकाले दक्षिण कोरियाको महत्वपूर्ण स्टील र आल्मुनियम निर्यातमा ५० प्रतिशत कर लगाउने तयारी गरिरहेका समय करको घोषणा गर्नुभन्दा केही घण्टाअघि लीले पदभार ग्रहण गरेका छन् ।

“बढ्दो संरक्षणवाद र आपूर्ति शृङ्खलाको पुनर्संरचनाजस्ता विश्व व्यवस्थामा भएका तीव्र परिवर्तनले हाम्रो अस्तित्वमाथि नै खतरा उत्पन्न गरेको छ,” लीले भने।

दक्षिण कोरियाको स्टक बजार र मुद्राले चुनावको नतिजाप्रति सकारात्मक प्रतिक्रिया देखाएको छ । बुधबार मुख्य स्टक बजार कोस्पी र कोरियाली मुद्राको मूल्यमा उच्च वृद्धि देखिएको छ ।

सज्जु मानन्धरको स्वर रहेको ‘सबैलाई छोडेर’

काठमाडौँ । गायक सज्जु मानन्धरको स्वर रहेको ‘सबैलाई छोडेर’ बोलको गीतको रिमेक भिडियो सार्वजनिक गरिएको छ । जसमा नायिका प्रियंका कार्की र बिन्दे मर्हजनको अभिनय रहेको छ ।

भिडियोमा बिन्देसँग नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय देख्न सकिन्छ । गीतमा दुई दशकअघिका कलाकार र निर्देशकलाई नै दोहोर्याइएको छ ।

भिडियोलाई पहिलो गीतको निर्देशन गरेका निर्देशक कृष्णदेव रुपाखेतीले नै रिमेक गीतको पनि निर्देशक गरेका हुन् । सो गीतमा डा राजु मानन्धरको शब्द र जुगल डङ्गोलको सङ्गीत रहेको छ ।

एमाले नेता कार्यकर्ताका ‘झोला’मा छन् ७ कुरा

काठमाडौं । सत्तारुढ नेकपा एमालेले ‘म झोले हो’ अभियान चलाएपछि यतिबेला यसको पक्ष र विपक्षमा सामाजिक संजालमा बहस चलिरहेको छ । कसैले अभियानको पक्षमा र कसैले विपक्षमा बहस गरिरहेका छन् । आखिर के छ त ‘म झोले हो’ अभियानमा ? यसबारे नेकपा एमालेका महासचिवले बुधबार सामाजिक संजालमार्फत जवाफ दिएका छन् । उनले एमाले नेता कार्यकताको झोलामा सात बुँदा यसरी उल्लेख गरेका छन् ।

यस्ता छन् महासचिव पोखरेलका नजरमा सात बुँदा

नेकपा(एमाले)को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरुका लागिः

१ मार्क्सवादी  दर्शनः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त

३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नविन मान्यता

४ असंलग्नता र पंचशिलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रीत सन्तुलित परराष्ट्र नीति

५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता

६ जनतासंगको घनिष्ठ सम्वन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा

७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र

आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरागर्नका लागि नेकपा(एमाले)को गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौं । नेकपा(एमाले)का विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिष्ट विरोधीहरुले सिर्जना गरेका सबै प्रकारका भ्रमहरुवाट नेपाली समाजलाई मुक्तगर्ने अभियानमा जुटौं ।

सहायता सङ्कटले बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा

ढाका । विश्वव्यापी सहायता कटौतीले संयुक्त राष्ट्रसङ्घको बाल एजेन्सी (युनिसेफ) लाई बङ्गलादेशका रोहिङ्ग्या शरणार्थी शिविरहरूमा एक हजारभन्दा बढी शिक्षकलाई बर्खास्त गर्न बाध्य पारेको बताएको छ । एजेन्सीले कोष नआएमा थप रोजगारी जोखिममा रहेको बताएको छ ।

उत्पीडित र प्रायः मुस्लिम रोहिङ्ग्याहरूका करिब १० लाख सदस्य बङ्गलादेशको अस्वच्छ राहत शिविरहरूमा बस्छन् । तीमध्ये अधिकांश छिमेकी म्यान्मामा सन् २०१७ को सैन्य दमनबाट भागेर आएका हुन् । अमेरिकामा नाटकीय रूपमा कोष कटौती भएपछि शिक्षकहरूलाई बर्खास्त गरिएको हो ।

“विश्वव्यापी सहायता कोष सङ्कटका कारण युनिसेफले रोहिङ्ग्या शरणार्थी बालबालिकाका लागि प्रारम्भिक शिक्षा सेवाहरूलाई प्रभाव पार्ने कठिन निर्णयहरू लिनुपरेको छ”, एजेन्सीले मङ्गलबार राति एक वक्तव्यमा भनेको छ ।

युनिसेफले बालबाटिका र प्राथमिक विद्यालयमा काम गर्ने एक हजार एक सय ७९ जनाको सम्झौता समाप्त भएको बताएको छ ।
बङ्गलादेशी वरिष्ठ सरकारी सहायता अधिकारी मोहम्मद शम्सुद दौजाका अनुसार कटौती हुनुअघि शिविरहरूमा अनुमानित चार हजार शिक्षक थिए ।

मुस्लिम पर्व इदका लागि विद्यालयहरू बन्द छन् तर जुनको अन्त्यमा सत्र सुरु हुने बेलासम्म नयाँ कोष प्राप्त भएन भने थप शिक्षकहरूले आफ्नो जागिर गुमाउन सक्छन् ।

“बाँकी कामदारहरूको फिर्ती… नयाँ कोष सुरक्षित हुनुमा निर्भर गर्दछ”, युनिसेफले भनेको छ, “भविष्यमा बढेको सहयोगले हरेक बच्चाले पाउनुपर्ने कुरा पुनःस्थापना गर्नेछ भन्नेमा हामी प्रतिबद्ध र आशावादी छौँ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरीमा पदमा फर्किंदै अधिकांश विदेशी सहायता कोष स्थगित गर्नुभएपछि विश्वभरका मानवीय संस्थाहरू हलचलमा परेका छन् ।

संयुक्त राज्य अमेरिका परम्परागत रूपमा धेरै एजेन्सीहरूका लागि सबैभन्दा ठूलो दाता भएको छ, जसले अचानक बजेट अन्तरहरू भर्न हतारमा काम गरिरहेका छन् ।

“हामी रोहिङ्ग्या शरणार्थी बालबालिकाहरूले सामना गर्ने तत्काल आवश्यकताहरूबारे गहिरो रूपमा सचेत छौँ, जसमध्ये धेरैले उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षामा महत्त्वपूर्ण आघात र अवरोधहरू झेलिसकेका छन्”, युनिसेफले भनेको छ, “हाम्रो लक्ष्य भनेको उनीहरूसँग आवश्यक सीपहरू छन् भनेर सुनिश्चित गर्नु हो, उनीहरूसँग आधारभूत योग्यता छ जसले उनीहरूलाई फर्कने समय सुरक्षित हुँदा उनीहरूको समुदायमा योगदान गर्ने विश्वास दिन्छ ।”

जापानमा जन्मदरमा निरन्तर कमी, गतवर्ष सात लाखभन्दा कम शिशुको जन्म

टोकियो । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

जापानले सन् २०२४ मा छ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ । योसन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो । यो सङ्ख्या सन् १८९९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा कम जन्मदर हो ।

विश्व बैङ्कका अनुसार कुल जनसङ्ख्याको आधारमा औसतमा हेर्दा विश्वको सबैभन्दा धेरैे वृद्ध व्यक्तिहरूको जनसङ्ख्या भएको देश मोनाको हो भने दोस्रो स्थानमा जापान रहेको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाले स्थितिलाई ‘शान्त आपतकालीन अवस्था’ को संज्ञा दिँदै यस प्रवृत्तिलाई उल्टाउन प्रयास गर्न थप लचिलो कार्य घण्टाजस्ता परिवार–अनुकूल उपायहरूको प्रतिज्ञा गरेका छन्।

जापानको स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्याङ्कअनुसार जापानको कुल प्रजनन दर (एक महिलाले बच्चा जन्माउने औसत सङ्ख्या) पनि १.१५ मा झरेको छ ।

जापानमा सन् २०२४ मा १६ लाख मानिसको मृत्यु भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १।९ प्रतिशतले बढी हो ।

जनसङ्ख्याका शिसाबले खुम्चिँदै गएका गाउँहरूमा वृद्धहरू झन्–झन् एक्लो हुँदै गएपछि प्रधानमन्त्री इशिबाले ग्रामीण क्षेत्रहरूको पुनरुत्थानको लागि आह्वान गरेका छन् ।

जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार जापानमा २० हजारभन्दा बढी समुदायका अधिकांश बासिन्दा ६५ वर्ष वा सोभन्दा माथिका छन् ।

भण्डै १२ करोड ३० लाख जनसङ्ख्या भएको यो देशले वृद्ध उमेर भएका व्यक्तिको जनसङ्ख्या बढ्दै जाँदा कामदारको चरम अभावको सामना गरिरहेको छ । सरकारले यस समस्यालाई समाधान गर्न अपनाएको अपेक्षाकृत कडा अध्यागमन नियमले वृद्ध जनसङ्ख्यालाई सहयोगका लागि आवश्यक राहत दिन सकेको छैन।

छिमेकी मुलुक दक्षिण कोरियामा सन् २०२४ मा प्रजनन दर जापानको तुलनामा अझै कम अर्थात् ०.७५ प्रतिशत रहेको छ । यो विश्वकै सबैभन्दा कम मध्येको एक हो तर विवाहमा भएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा जन्मदरमा सामान्य वृद्धि भएको छ ।

स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छः उपप्रधानमन्त्री पौडेल

पाटन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी आर्थिक वर्ष २०८२/ ८३ को बजेट आएको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार ललितपुरमा आयोजना गरेको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयम पूर्वाधार छलफलमा उनले पूर्वाधार निर्माणमा देशको आवश्यकता र उपलब्ध स्रोतको बीचमा रहेर स्रोतको दुरुपयोग हुन नदिने गरी बजेट निर्माण भएको जानकारी दिए ।

‘पूर्वाधार निर्माणमा सबैले भोग्दै आएको समस्या समाधानका लागि केही सुधारका प्रयास गरेका छौँ, यी सुधार आगामी दिनमा परिणाममुखी बन्न सकोस्, बजेट एउटा अङ्कको दस्ताबेज मात्रै हो, यसको विश्वसनीयतामाथि प्रश्न नउठ्ने गरी यथार्थमा आधारित रहेर बजेट आएको छ, आलोचना सुन्नुपरेको छैन’, उनले भने ।

उपप्रधानमन्त्री पौडेलले बजेट अनुशासनका दृष्टिकोणले स्रोतको सही व्यवस्था गर्नेगरी पुँजीगत खर्चको लागि बजेट व्यवस्थापन गरिएको बताए ।

‘हामीले विगतमा साधारण खर्चलाई वृद्धि गर्दै आएका थियौँ, त्यसलाई निश्चित सीमामा बाँध्न कठिन प्रयास गरिएको छ, सार्वजनिक खरिद ऐनको विषयमा लामो समयदेखि चर्चा चल्ने गरेको छ, केही समय अगाडि भएको १४औँ संशोधनले केही कुराहरु समाधान गरेको छ, सबैका सुझाव सङ्कलन गरेर नेपालको निर्माण क्षेत्र सार्थक रुपमा अगाडि बढ्न सकोस् भन्ने गरी संशोधन गर्न तत्पर छौँ’, उनले भने ।

उनले निर्माण सामग्रीको अभावमा निर्माणका कामहरु प्रभावित बन्नुहुँदैन भन्दै वातावरणीय अध्ययन गरेर उपयुक्त स्थानबाट मात्रै खानीजन्य र नदीजन्य सामग्रीहरु उत्खनन् गर्ने बताए । उनले विकासका ठूला आयोजनाका लागि बजेटले वैकल्पिक विकास वित्तको प्रयोग गर्नेगरी व्यवस्थापन गरेकाले सोहीअनुसारका कानुन संसद्बाट पारित हुने विश्वास व्यक्त गरे ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले विगतको तुलनामा यस आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च वृद्धि भए पनि आशातीत रुपमा वृद्धि हुन् नसकेको बताए ।

‘सरकारले यस वर्षको बजेटमा चालु खर्च नियन्त्रण गर्न नसकेको देखिन्छ, पुँजीगत खर्च वृद्धि नगरी राजस्वको लक्ष्य र आर्थिक वृद्धिदरको प्रक्षेपणअनुसारको उपलब्धि प्राप्त हुन सक्दैन, अत्यन्तै न्युनतम मूल्यमा ठेक्का हत्याउने र कार्टेलिङ गरेर ठेक्कामा कब्जा गर्ने पद्धति मुलुककै लागि दुर्भाग्य भएको छ, यस्ता प्रवृत्तिलाई अन्त्य गरिनुपर्छ, ऐन, नियम र कानुनका भएका कमीकमजोरी सुधार गर्नुपर्ने, जिम्मेवारीमा रहेर पनि पदीय दायित्व पूरा नगर्ने कर्मचारीमाथि कारबाही गरिनुपर्ने, आयोजना सम्पन्न भएपछि सहजै बैक ग्यारेन्टी प्राप्त गर्नसक्ने व्यवस्था गरिनु आवश्यक छ ।’ उनले भने ।

नेपाल सरकारका पूर्वसचिव अर्जुनजङ्ग थापाले पूर्वाधार निर्माण गर्दा आयोजनाको तयारी गरेर मात्रै लगानी गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।

‘देशको कूल गार्हस्थ उत्पादन वृद्धि हुँदै गएपनि यथार्थता पुँजीगत खर्च कम हुँदै गएको छ, स्रोतको यकिन नहुँदा बजेटमा समस्या छ, गत वर्ष ५ दशमलव २९ प्रतिशत बजेट पूर्वाधार क्षेत्रमा लगानी भएको थियोे, यस वर्ष पनि पूर्वाधार क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन सकेन, सरकारको कार्यसम्पादन क्षमता, राजस्व सङ्कलन क्षमता र निकासा गर्ने पद्धति कमजोर रहेको छ, भत्किएका राजमार्ग पुनर्निर्माणमा यथेष्ट बजेट विनियोजन नभएको अवस्था छ ।’ उनले भने ।

उनले सङ्घीयताको मर्मविपरीत केन्द्रीय तहबाट वडास्तरीय सडकको निर्माणमा ध्यान दिने हैन भन्दै खरिद प्रक्रियालाई नियन्त्रणमुखीभन्दा पनि परिणाममुखी बनाइनुपर्छ भन्नेमा जोड दिए ।

नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष सुनिता कार्कीले भौतिक पूर्वाधार क्षेत्रसँग जोडिएका समस्या, सम्बन्धित मन्त्रालय, योजना आयोग र राष्ट्र बैंकको भूमिकाको विषयमा छलफल गरेर समाधान निकाल्नका लागि यो छलफल आयोजना गरिएको बताइन् ।

नयाँ रणनीति तय गर्न राजावादीहरुको बैठक बस्दै

काठमाडौं । राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’ नयाँ रणनीति बनाउने तयारीमा जुटेको छ ।

पहिलो चरणको आन्दोलन उत्साहजनक रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै समितिले थप रणनीति तय गर्न आज दिउँसो २ बजे बैठक बोलाएको छ । समितिका संयोजक नवराज सुवेदीले नवदूर्गा पार्टी प्यालेस सुकेधारामा दिउँसो २ बजे बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा एक हप्ता लामो पहिलो चरणको आन्दोलनको समीक्षा र नयाँ कार्यक्रमको तयारीबारे छलफल हुने उनले बताए । बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधि सहभागी हुनेछन् ।

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन् ।

आदिवासी जनजाति समूहकी संयोजक अरुणा छहारीले पञ्चैबाजाको संरक्षण, परम्पराको जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने भएकाले गाउँपालिका र वडाको सहयोगबाट आफूहरूले बाजा बजाउन सिकेको बताइन् ।

पञ्चैबाजा भनिए पनि यो समूहमा नौ जनाको टोली आवश्यक पर्छ । दुई जनाले सनाई, दुई जनाले कर्नाल, दुई जनाले दमाहा बजाउँछन् । समूहमा एकएक जनाले ढोलकी, ट्याम्को र झ्याली बजाउँछन् । यो समूहमा ४० देखि ५५ वर्षसम्मका १६ महिला आबद्ध छन् । गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो, छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कार कार्य नै प्रभावित हुने अवस्था आएपछि महिलाहरूले बाजा बजाउने सीप सिकेर व्यवसाय थालेका छौँ, उनले भनिन् ।

पञ्जैबाजा संरक्षणका लागि महिलाहरू अघि सरेपछि त्यसमा पुरुषहरूले पनि साथ दिएको हुन् । बाजा बजाउनेदेखि त्यसका तालका विषयमा पुरुषले सहयोग गरेको संयोजक छहारीले बताइन् ।

संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि गाउँपालिका र वडा कार्यालयले महिलाहरूका लागि तालिम दिएर बाजा किनिदिएपछि समूहमा आबद्ध महिला बाजा बजाउन थालेका हुन् । युवा र पुरुषहरू विदेशिएका कारण जनशक्ति नहुँदा विवाह, व्रतबन्धजस्ता शुभकार्यमा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि यहाँका महिलाले व्यावसायिक रूपमा बाजा बजाउने पेसा अपनाएका वडाध्यक्ष नारायणबहादुर केसीले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालका अनुसार गत वर्ष गाउँपालिकाबाट वडामा विनियोजन गरेको ५० हजार बजेटबाट बाजा खरिद गरिएकामा यस वर्ष ५० हजार बजेटमार्फत महिलालाई बाजा बजाउन सिकाइएको हो । सीप र सामग्री पाएपछि महिलाले व्यावसायिक रुपमा बाजा बजाउन थालेका हुन् ।

पञ्जैबाजा संरक्षण, परम्परा जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने समूहकी अस्मिता रुचालले बताइन् । ‘‘अहिले म ढोलकी सिक्दैछु, पहिला मादलसम्म बजाउन जानेको थिइनँ, सिक्दै जाँदा सबै बजाउन सकिने रहेछ । हामी महिलाले बाजा बजाउन लागेका छौँ, यसले समाजमा ठूलो प्रभाव पार्नेछ”, उनले भनिन् । समूहका १६ जनाले पञ्चैबाजा बजाउन तालिम लिएका थिए ।

क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक

चितवन । चितवनका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन् । उनले हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका हुन् ।

पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा प्रदान गर्दै आएका छन् । पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।

विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आएका उनले धेरै क्यान्सर बिरामीका कथा सुने । कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनीसँग पोख्थे ।

उनले भने, ‘मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने ? भनेर निःशुल्क सेवा सुरु गरेँ ।’ यही सोचले उनले गएको मातातीर्थ औँसीदेखि निःशुल्क सेवा सुरु गरेका हुन् । उनले हरेक बिहान ७ बजेदेखि १० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क सेवा दिँदै आएका छन् ।

उनले भने, ‘बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ ।’ पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उनको अनुभव छ । त्यसैले उनले पुल्चोकलाई आधार बनाएर सेवा दिइरहेका छन् ।

बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उनको अटो खोज्दै आउँछन्, त कतिपयलाई उनी आफैंले बस–बसमा गएर खबर गर्छन् । दश बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् एकजना बिरामीको भाडा उनले लिँदैनन् ।

बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उनले उनीहरूलाई निःशुल्क गन्तव्यसम्म पुर्‍याउँछन् । त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउँछन् र त्यही आम्दानीले परिवार चलाएका छन् ।

विदेश जाने तयारीमा रहेका युवक अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिए । उनले भने, ‘आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहन्छु ।’ सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उनले प्रस्तुत गरेका छन् ।

सभामुख र जोर्डनका गैरआवासीय राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानी र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सिंहदरवारमा बुधबार बिहान भएको भेटमा नेपाल र जोर्डन प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक भएकाले दुवै तर्फबाट पर्यटन विकासको क्षेत्रमा सहकार्य गर्ने सम्भावनाका विषयमा कुराकानी भएको सभामुखले जानकारी दिएका छन् ।

भेटमा सभामुख घिमिरेले नेपाल सगरमाथाको देश भएकाले जोर्डनी नागरिकहरुलाई हिमाल आरोहणको लागि प्रोत्साहन गर्न आग्रह गरेका थिए ।

सुनको मूल्य तोलामा ५ सयले वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मङ्गबारको तुलनामा बुधबार सुन तोलामा पाँच सय र चाँदी ३० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मोल एक लाख ९३ हजार २०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

भिजिट भिसा प्रकरणबारे सदनमा जवाफ दिने वातावरण बनाउन गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले समितिमा सबै सांसदहरूले जवाफ नपाउने भएकाले संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यसँग आग्रह गरे ।

उनले भने, ‘अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी राजनीतिक दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति बनाउन माग गरेको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।

उनले गृहमन्त्रीले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शङ्का पैदा भएकाले छानबिन समिति बनाउनुपर्ने बताए ।

मस्कद्वारा ट्रम्पको कर विधेयकको आलोचना

बीबीसी । एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख कर र खर्च योजनालाई कडा आलोचना गरेका छन् । मस्कले यसलाई ‘घृणित विकृति’ भन्दै आलोचना गरे, जुन ट्रम्पसँगको उनीहरूको सम्बन्धमा ठूलो मतभेदको संकेत हो ।

दक्षिण अफ्रिकामा जन्मिएका प्रविधि अर्बपतिको ट्रम्प प्रशासनसँगको सम्बन्ध ३१ मेमा टुंगिएको थियो, यद्यपि ट्रम्पले भनेका थिए, ‘उहाँ सधैँ हाम्रो साथमा हुनुहुनेछ, सधैँ मद्दत गर्नेछौँ।’ हालको स्वरूपमा, ट्रम्पले ‘ठूलो, सुन्दर विधेयक’ भनेको यो विधेयकले अर्को आर्थिक वर्षमा बजेट घाटा लगभग ६०० अर्ब डलरले बढाउने अनुमान गरिएको छ ।

मंगलबार एक्समा श्रृंखलाबद्ध पोस्टहरूमा मस्कले भने, ‘यो अराजक, अनावश्यक खर्चले भरिएको विधेयकले पहिले नै विशाल बजेट घाटालाई २.५ ट्रिलियन डलरमा पुर्याउनेछ र अमेरिकी नागरिकहरूलाई असह्य ऋणको बोझमा पार्नेछ।’

अमेरिकी राजनीतिमा ‘पर्क’ भन्नाले सांसदहरूको निर्वाचन क्षेत्रमा हुने विशेष खर्चलाई जनाउँछ । मस्क, जसले पहिले ट्रम्पको एजेन्डाको विरोध गर्ने कुनै पनि रिपब्लिकन उम्मेदवारको विरुद्धमा अभियान चलाउने कसम खाएका थिए, उनले अर्को पोस्टमा राजनीतिक चेतावनी पनि दिए ।

अर्बपति मस्कले गत हप्ता १२९ दिनपछि ट्रम्प प्रशासन छोडेका थिए। उनी आफ्नो टोली ’डोज’ सँग मिलेर खर्च कटौतीको काममा संलग्न थिए ।

कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताएका छन् ।

‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ । आँसु सबैको उस्तै वेदनाले बग्छ । हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्युङ निर्वाचित

बीबीसी । दक्षिण कोरियाको राष्ट्रपतिमा लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ निर्वाचित भएका छन् । सत्तारूढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

प्रारम्भिक मतगणनाका अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२.९ प्रतिशतमा मात्र सीमित भए । यसपटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च हो ।

सन् २०२२ को राष्ट्रपति चुनावमा यो दर ७७.१ प्रतिशत थियो । यसपटक चुनावमा ६ उम्मेदवार मैदानमा थिए, तर मुख्य प्रतिस्पर्धा डीपीके र पीपीपीबीच थियो ।

दक्षिण कोरियामा अर्को चुनाव सन् २०२७ मा हुने तय थियो। तर पीपीपीका नेता तथा तत्कालीन राष्ट्रपति युन सुक–योललाई सैनिक शासन घोषणा गरेको आरोपमा पदबाट हटाइएको थियो । त्यसपछि छिटो निर्वाचन भएको हो ।

यातायात व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन आजैदेखि सञ्चालनमा आउने भएका छन् । सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि मंगलबार सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिए । आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै आजैदेखि सार्वजनिक यातायात सहज रूपमा चल्ने छ ।

सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक–पटक वार्ता पश्चात् सहमति भएको थियो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।

सङ्घीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दासम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले मंगलबार दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आमनागरिक परेका थिए ।