`

भारतको केन्द्रीय बैंकद्वारा अपेक्षाभन्दा बढी ब्याजदर कटौती

मुम्बई । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताका बीच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ ।

भारतीय रिजर्व बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने मुख्य रेपो दरलाई ५० आधार अङ्कले घटाएर पाँच दशमलव पाँच प्रतिशतमा ल्याएको छ । अधिकांश विश्लेषकले २५ आधार अङ्कको कमीको अपेक्षा गरेका थिए ।

यो कटौती यसको लगातार तेस्रो थियो र मार्चमा समाप्त भएको आर्थिक वर्षमा भारतको अर्थतन्त्र चार वर्षको सबैभन्दा सुस्त गतिमा विस्तार भएको सरकारी तथ्याङ्कले देखाएको एक हप्तापछि आएको हो ।

जनवरी–मार्च त्रैमासिकले पुनरुत्थानका सङ्केतहरू देखाएको भए पनि पूर्वानुमानभन्दा राम्रो सात दशमलव चार प्रतिशत वार्षिक वृद्धिसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक व्यापक भन्सार शुल्कले दृष्टिकोणमा जोखिम सिर्जना गरेको विश्लेषकहले बताएका छन् ।

मूल्यको चिन्तालाई कम गर्न आरबिआईलाई वृद्धिमा ध्यान केन्द्रित गर्न अनुमति दिएको छ । अप्रिलमा खुद्रा मुद्रास्फीति छ वर्षको न्यून तीन दशमलव १६ प्रतिशतमा झरेको छ ।

आरबिआईका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले वृद्धि गतिलाई बढावा दिन नीतिगत साधनहरूमार्फत ‘घरेलु उपभोग र लगानी’ लाई उत्प्रेरणा दिन जारी राख्नु ‘अत्यावश्यक’ रहेको महसुस गरेको बताए।

आरबीआईले लगभग पाँच वर्षमा पहिलोपटक फेब्रुअरीमा दर कटौती गरेको थियो र त्यसपछि अप्रिलमा अर्को कटौती गरेको थियो ।

भारत सरकारले औसतभन्दा बढी मनसुनी वर्षाको पूर्वानुमान गरेको छ । यसले पर्यवेक्षकहरूका अनुसार विकासलाई मद्दत गर्नुपर्छ किनकि उच्च कृषि उत्पादनले ग्रामीण अर्थतन्त्रलाई सहयोग गर्नेछ र तरकारीको मूल्य स्थिर राख्नेछ । तर ट्रम्पको संरक्षणवादी नीतिहरूले वृद्धिको दबाब बढाउन सक्छ ।

नयाँदिल्ली उत्पादन गर्ने शक्तिशाली केन्द्र नभए पनि अमेरिकी भन्सार शुल्कले इलेक्ट्रोनिक्स, रत्न र गहना तथा समुद्री खानासहित विभिन्न क्षेत्रमा अर्बौं डलरको भारतीय निर्यातलाई हानि पुर्‍याउने विशेषज्ञहरूले बताएका छन् ।

भारतले वासिङ्टनसँग व्यापार सम्झौताको पहिलो चरणमा काम गरिरहेको छ र वार्ताकारहरूले विगत तीन महिनामा धेरै पटक भ्रमण गरेका छन् ।

ह्वाइट हाउसले भारतलाई कृषि उत्पादन र अटोमोबाइल लगायत विभिन्न उत्पादनमा कर घटाउन दबाब दिइरहेको बेला नयाँदिल्लीले कपडा र जुत्ता जस्ता श्रम–गहन निर्यातका लागि बढी पहुँचको माग गरिरहेको स्थानीय मिडिया रिपोर्टहरूले बताएका छन् ।

अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले यस हप्ता दुई देशबीचको व्यापार सम्झौता ‘निकट भविष्यमा’ हुने अपेक्षा गरिएको बताए ।

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

शुक्रबार पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए ।

‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ’, उनले भने । त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।

संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री गुरुङ

विराटनगर । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने जानकारी दिए । कर्मचारीको गल्तीमा विभागीयमन्त्रीले राजीनामा दिनुपर्ने विषय तर्कसङ्गत नभएको भन्दै उनले प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसदमा अवरोध गरिरहेका टिप्पणी गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको विषयमा टिप्पणी गर्नु अनुचित हुने भन्दै मन्त्री गुरुङले अख्तियारको दुरुपयोग गर्नेलाई आयोगले छानबिन गर्नु स्वभाविक भएको बताए ।

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी तोलामा ७५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १५० निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

ट्रम्पलाई महाभियोग लगाउन मस्कको आह्वान

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्बपति इलन मस्कबीचको सम्बन्धमा दरार आएको छ । अहिले उनीहरू एकअर्का विरुद्ध खनिएका छन् । सम्बन्धमा दरार आएसँगै सङ्घीय अमेरिकी सरकारका कामहरूबाट मस्कको कम्पनीलाई हटाइदिने ट्रम्पले धम्की दिएका छन् । ती काम मस्कको स्पेसएक्स कार्यक्रमका निम्ति आधारस्तम्भ हुन् ।

‘हाम्रो बजेटमा अर्बौँ पैसा जोगाउने सबभन्दा सरल उपाय भनेको इलोनले पाइरहेको सरकारी ठेक्का तथा अनुदान रद्द गरिदिनु हुने छ,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा धम्कीपूर्ण भाषामा लेखेका छन्।

यदि ट्रम्पले सरकारी संयन्त्रलाई मस्कका विरुद्ध परिचालन गरे भने यी अर्बपति प्रविधि कम्पनीका मालिकलाई अवश्य पीडा हुनेछ। बिहीवार उनको कम्पनी टेस्लाको शेयर मूल्य १४ प्रतिशतले घट्यो । तर पीडा एकतर्फीमात्र चाहिँ हुने छैन ।

ट्रम्पको धम्कीपश्चात् मस्कले उनलाई महाभियोग लगाउन आह्वान गरे अनि हिम्मत भए आफ्नो कम्पनीलाई प्राप्त सरकारी अनुदान हटाइदिन भनेका छन् । साथै उनको कम्पनीको ड्रयागन स्पेसक्राफ्टलाई फिर्ता गर्ने कार्य तेज बनाउने पनि चेतावनी दिए ।

अमेरिकी अन्तरिक्षयात्रुहरूलाई ओसारपसार गर्न र इन्टरनेशनल स्पेस स्टेशनमा आपूर्ति गर्न अमेरिका सो स्पेसक्राफ्टमा निर्भर छ । मस्कसँग ट्रम्पलाई जवाफ दिन असीमित स्रोत छन्। उनले आगामी वर्ष हुने संसदीय तथा प्राइमरी चुनावहरूमा ट्रम्पविरोधी उम्मेदवारहरूलाई आर्थिक सहयोग दिन सक्छन् ।

उनले ट्रम्पका विरुद्ध ‘ठूलो बम’ खसाल्न लागेको भन्दै विना प्रमाण दिवंगत यौन अपराधी जेफ्रे एप्स्टिनका हालसम्म सार्वजनिक नभएका फाइलहरूमा ट्रम्पको नाम पनि रहेको आरोप लगाएका छन् । ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले मस्कले लगाएको आरोपको हलुका प्रतिवाद गरिन् ।

ट्रम्पले अघि सारेको अनि ‘विशाल र सुन्दर’ संज्ञा दिएको विधेयकले सरकारी बजेट घाटा चर्कने भन्दै मस्कले त्यसलाई घिनलाग्दो भनेर केही दिन अगाडि टिप्पणी गरेपछि दुईबीचको विमति उजागर भएको थियो ।

करिब चार महिना डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिअन्सी (डोज) हाँकेका मस्कले अर्बौ डलर खर्च कटौती गरिदिएको दाबी गरेका थिए र गत सातामात्रै उक्त अभियानबाट उनको बहिर्गमन हुँदा ट्रम्पले उक्त कार्यलाई प्रशंसा गरेका थिए ।

ट्रम्पको सम्पूर्ण प्रशासनका विरुद्ध मस्कले जित्न त नसक्लान् तर उनको कदमका कारण ट्रम्प र रिपब्लिकन पार्टीले चर्को राजनीतिक – अनि व्यक्तिगत-मूल्य चुकाउनु पर्ने हुन सक्छ।

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज । पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ ।

हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालय छ । सङ्घीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज भन्सारमा गाभिने जानकारी दिए । “चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै खालको बजेट रहेकाले पनि असार मसान्तपछि मात्रै गाभिनेछ”, उनले भने, “सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पददर्ता समेत भइसकेकाले साउन १ गतेदेखि गाभिनेमा हामी आशावादी छौँ ।”

सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । विश्व बैंकसँग ८२ करोड ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो । भारतले २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरेको छ । यहाँ रेलबाट सोझै आयातित सामान ल्याइन्छ ।

सुक्खा बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गरेको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि तीन अर्ब ३३ करोडमा व्यवस्थापन ठेक्का सम्झौता भएको छ । यो सम्झौता आगामी असार मसान्तमा समाप्त हुँदैछ ।

यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालय मातहतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । यो जाँचचौकी ११५ बिघामा फैलिएको छ । पाँच वर्षका लागि टिआरएस हिमालयन लोजी पार्क प्रालिले सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको एक अर्ब ८० करोड ९० लाख एक हजार २०० पट्टाबहाल बुझाउने सम्झौता छ ।

ट्रम्प र सीबीच फोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार फोन संवाद भएको छ । दुई देशबीच चलेको व्यापार तनावपछि उच्च तहमा भएको यो पहिलो वार्ता हो ।

राष्ट्रपति ट्रम्पले सीसँग ‘धेरै राम्रो कुरा’ भएको बताएका छन् र आगामी दिनमा चीन भ्रमण गर्ने योजना बनाएको जनाएका छन्। उनले सीलाई पनि ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् ।

यो वार्ता अमेरिका र चीनबीचको तीव्र व्यापार विवादका बीच भएको हो । फेब्रुअरीमा ट्रम्प प्रशासनले चीनमाथि शुल्क लगाउने निर्णयसँगै दुई देशबीचको व्यापार सम्बन्ध चिसिएको थियो । फोन वार्ताअघि दुबै पक्षले केही हप्ता अघि जेनेभामा भएको व्यापार सम्झौता उल्लंघन गरेको आरोप एकअर्कामाथि लगाएका थिए ।

यसबारे थप विवरण आउन बाँकी छ, तर विश्लेषकहरूका अनुसार यो वार्ता दुई देशबीचको सम्बन्ध सुधार गर्ने दिशामा एउटा सकारात्मक संकेतका रूपमा हेरिएको छ।

लुटेरा समूहद्वारा सप्तरीको सुरुंगामा गोली हानी एकजनाको हत्या

राजविराज । सप्तरीको सुरुंगामा गएराति लुटेरा समूहले गोली हानी एकजनाको हत्या गरेको छ । मध्यरातमा टोलमा पसेका लुटेरा समूहले लुटपाट सुरु गरेपछि प्रतिकारका क्रममा गोली लागेर एकजनको मृत्यु भएको हो ।

प्रतिकार गर्दा लुटेराले हानेको गोली लागेर स्थानीय ५० वर्षीय कान्तलाल चौधरीको मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । ‘घटनास्थलमा एउटा गोलीको खोका र तीन वटा गोली पनि बरामद भएको उनले बताए ।

लुटेराले मृतक कन्तलालका भाइ ४० वर्षीय रामाकान्त चौधरीमाथि पनि धारिलो हतियार प्रहार गरेका छन् । रामाकान्त दाजुसँगै लुटेराको प्रतिकार गरिरहँदा उनीमाथि धारिलो हतियार प्रहार बताइएको छ ।

घाइतेलाई उपचारका लागि लहान पठाइएको छ । लुटेरा समूहले ५०/६० हजार नगद, ५ तोला सुन, २ किलो चाँदीसहितका गहन लुटेर लगेको प्रहरीले जनाएको छ ।

सप्तकोशीमा उद्धार अभ्यासका क्रममा बेपत्ता सशस्त्रका एक गोताखोरको शव भेटियो, अर्काको खोजी जारी

इटहरी । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।

टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।

राजनीतिक बदलाको भावनाबाट प्रेरित भई मुद्दा चलाइयो, प्रतिवाद गर्छौंः एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेपछि एकीकृत समाजवादीले सरकारले षड्यन्त्र गरेको र यस्ता षड्यन्त्रको प्रतिवाद गर्ने बताएको हो ।

पार्टी महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गरी वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित भई मुद्दा लगाएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षडयन्त्रहरू गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौँ । यो हाम्रा विरुद्ध षडयन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कुनै पनि षडयन्त्रको प्रतिवाद गरिने छ ।’

अध्यक्ष नेपालले ‘नबिराउनु नडराउनु’ भनेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै विज्ञप्तिमा कानुनी प्रक्रियाको सामना गर्ने दृढता पनि अध्यक्ष नेपालबाट व्यक्त भएको जानकारी गराइएको छ ।

महासचिव भुसालले अख्तियारले दर्ता गरेको मुद्दाका बारेमा गरिने कुनै पनि कुप्रचार र भ्रममा नपर्न पार्टी पङ्ति र जनसमुदायलाई आह्वान पनि गरेका छन् ।

 

नेपाल प्रहरीको प्रवक्तामा डीआईजी घिमिरे

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिइएको छ । प्रहरी प्रधान कार्यालय बिहीबार सूचना जारी गरी घिमिरेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको बताएको हो ।

यसअघि केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी रमेश थापा भनेले सहप्रवक्ताको जिम्मेवारी पाएका छन् ।

पेरु, इरान र मालदिभ्सका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र पेरु, गणतन्त्र इरान र गणतन्त्र मालदिभ्सका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

गणतन्त्र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पेरुका लागि, कतार राज्यका लागि नेपालका आवासीय राजदूत रमेशचन्द्र पौडेललाई गणतन्त्र इरानका लागि र श्रीलङ्काका लागि नेपालका आवासीय राजदूत पूर्णबहादुर नेपालीलाई गणतन्त्र मालदिभ्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्ति गरिएको हो।

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार बैठक सुरु हुनासाथ विपक्ष दलहरूले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आज सबै कार्यक्रम स्थगित गरिएको घोषणा गरेका थिए ।

बिहीबार निर्धारित समयभन्दा ढिला सुरू भएको बैठकमा विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै पुरानै अडान दोहोर्याएर सदन अरुद्ध पारेका थिए।

सभामुख देवराज घिमिरेले सदन सञ्चालनका लागि आग्रह गरे पनि विपक्षी दलहरूले अस्वीकार गरेका थिए । सभामुख घिमिरेले नियमित सदन अवरुद्ध हुँदा काम कारबाही प्रभावित भएको र बजेटका विषयमा पनि छलफल हुन नसकेको भन्दै सांसदहरूको ध्यानाकर्षण गराए ।

तर, सांसदहरूले होहल्ला कायमै राखेपछि सभामुख घिमिरेले कार्यसूची हटाएको सूचना सुनाउँदै संसद बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखको राजीनामा माग्दै सदन अवरुद्धछ गर्दै आएका छन् ।

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्द्धन गरिने

बेनी (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसँग जोड्ने पहल थालिएको छ ।

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा पहिलोपटक म्याराथन दौड प्रतियोगितामार्फत आधार शिविर क्षेत्रमा खेलकुद पर्यटन प्रवर्द्धनको सम्भावना उजागर गरिएको हो ।

समुद्री सतहबाट चार हजार १९० मिटर उचाइमा रहेको आधार शिविरबाट नारच्याङ गाउँसम्म सञ्चालन भएको म्याराथन दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउँदै यसले आधार शिविरमा खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने आधार तयार गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

आधार शिविरबाट नारच्याङ गाउँसम्मको ३८ किलोमिटर दूरीको मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा ४० जनाको सहभागिता थियो । हिमपात भइरहने आधार शिविरमा खेलकुद प्रतियोगिता आयोजना भएपछि स्थानीय खेलाडी उत्साहित बनेका छन् ।

उच्च स्थानअन्तर्गत आधार शिविरमा पहिलोपटक आयोजना गरिएको म्याराथन दौड प्रतियोगिताले यस क्षेत्रमा खेलकुदका गतिविधिमार्फत पर्यटन प्रवर्द्धनमा लाग्न प्रेरित गरेको नारच्याङका पर्यटन अभियन्ता तेज गुरुङले बताए ।

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यहाँ यसअघि प्रकृतिमा रमाउन पर्यटक आउने गरेकामा अब साहसिक खेलकुद गतिविधिमा सहभागी हुने पनि आउने उनले विश्वास व्यक्त गरे । खेलकुदमार्फत पर्यटकलाई यहाँ भित्र्याउन सकिने सम्भावना बढेको उनको भनाइ छ ।

उच्च हिमाली क्षेत्रमा अल्ट्राम्याराथन दौड प्रतियोगिता प्रचलित मानिन्छ । हिमाली क्षेत्रमा आयोजना हुने खेलकुदका गतिविधि साहसिक मानिने भएकाले यसको चर्चा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा हुने गर्दछ ।

पहिलोपटक जिल्लास्तरीय म्याराथन दौड आयोजना भएको बताउँदै आगामी दिनमा आधार शिविरबाट राष्ट्रियस्तरको अल्ट्राम्याराथन दौड प्रतियोगिता आयोजना गर्न सकिने गण्डकी प्रदेश यथलेटिक्स सङ्घका कोषाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार हीरक महोत्सवको अवसरमा आयोजित म्याराथन दौडको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन् ।

सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले हीरक महोत्सव मनाइएको हो ।

अन्नपूर्ण गाउँपालिकाले दुई वर्षअघि अन्नपूर्ण आरोहण दिवसको अवसरमा आधार शिविरमा छोटो दूरीको दौड तथा विविध खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । हिमाली भूगोलमा खेलकुदका गतिविधिबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चर्चित खेलाडीमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको गाउँपालिका कार्यालयले जनाएको छ ।

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डे नियुक्त

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन् । नवनियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

प्याट्रिक डे विल्डेले यसअघि पनि नेपालमा आफ्नो प्रशिक्षण कौशल प्रदर्शन गरिसकेका छन् । गत फागुनमा सम्पन्न तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा उनी काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकको रूपमा कार्यरत थिए ।

यूईएफए प्रो लाइसेन्स प्राप्त डे विल्डेले अन्तर्राष्ट्रिय फुटबलमा समेत समृद्ध अनुभव संगालेका छन् । उनले सोमालिया र रुवान्डाको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए भने चीनको यू–२३ टोली र अल्जेरियाको राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

लगानी बोर्डको बैठकद्वारा मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो ।

५७ अर्ब ६४ करोड ३७ लाख लागत रहने उक्त परियोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ‘बूट’ (बिल्ड, ओन, अपरेट, ट्रान्सफर) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो ।

बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त केवरकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठुलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।

बैठकले ७५० मेगावाट क्षमताको १६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल नामक संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय पनि गरेको छ ।

त्यसैगरी ४३.२ मेगावाटको छिलुुङ खोला जलविद्युुत आयोजना, २१६ मोगावाटको बझाङ माथिल्लो सेती जलविद्युुत आयोजना र ४४ मोगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी स्वीकृतिको निर्णय बोर्डबाट भएको छ ।

बैठकले जनकपुरमा रिफाइन इडिबल आयल (खानेतेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरु अघि बढाउने निर्णय गरेको छ ।

शेयर बजारमा करिव ८ अर्बको कारोबार

काठमाडौं । बिहीबार शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से ५ दशमलव ९९ अङ्कले घटेर दुई हजार छ सय ४० दशमलव ९६ विन्दुमा झरेको छ । जलविद्युत् र लगानी बाहेक सबै उपसमूह घट्दा सबैभन्दा धेरै उत्पादन र प्रशोधन उपसमूह एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

आज ओम मेगाश्रीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रबजार बजार घटेको दिन आज रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो । अरू चार वटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरै बढेको छ । आज सात अर्ब ९७ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भएको छ ।

माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधियोः एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोधको आधारमा पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि मुद्दा चलाएको आरोप लगाएको छ ।

बिहीबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले पार्टी अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा जग्गा खरिद बिक्री प्रकरणमा भ्रष्टाचारसँग जोडिने कुनै अपराध नगरेको दाबी गरे ।

उनले जेठ २८ गतेभित्र अख्तियारलगायत सबै संवैधानिक निकायहरूको म्याद सकिने फैसला हुनुअघि प्रतिशोध साँधिएको बताए ।

उनले भने, ‘यतिबेला यो घटना जन्मनु, जेठ २८ गतेभित्र अख्तियारलगायत सबै संवैधानिक निकायहरूको म्याद सकिने फैसला पनि हुनु अनि यही छोटो अवधिमा के–के गर्नुपर्ने गरिभ्याउनुपर्ने बाध्यता भएकाले नै यो सबै भएको हो कि जस्तो लाग्छ । यो राजनीतिक प्रतिशोध नै हो ।’

उनले गिरिबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएको भन्दै नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुने बताए ।

अख्तियारले पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पार्टीमाथीको चौतर्फी आक्रमणलाई सत्य तथ्य प्रवाह गरी जवाफ दिनुपर्छः महासचिव पोखरेल

भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले राम्रा काम गरेपनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताएका छन् ।

नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबार भक्तपुरको डोलेश्वरमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रचार कार्यशालामा उनले पार्टी र सरकारप्रति गलत सूचना सम्प्रेषण भइरहेको बताएका हुन् ।

महासचिव पोखरेलले भने, ‘अहिले सामाजिक सञ्जालको दुरुपयोग गरी एमाले माथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ । सरकारको नेतृत्व माथि आक्रमण भइरहेको छ । नेतामाथि प्रहार भइरहेको छ । यसलाई एमाले प्रचार विभागले चिरेर जानुपर्छ ।’

मूलकको समृद्धि र विकासको नेतृत्व गर्न, मुलुकमा सुशासन कायम गर्न सरकारले काम गरिरहेको उनले उल्लेख गरे । उनले एक वर्षभित्र विकासशील राष्ट्रमा प्रवेश गर्ने १० मूलक मध्ये नेपाल पहिलो नम्बरमा रहेको बताए ।

उनले मिसन ८४ सफल पार्न एमालेका प्रभावकारी कामलाई आमनागरिकमा लैजाने गरी प्रचार गर्नुपर्नेमा जोड दिए ।

गाजामा युद्धविरामका लागि प्रस्तावित राष्ट्रसङ्घीय सुरक्षा परिषद्को मस्यौदामा अमेरिकाद्वारा भिटो जारी

संयुक्त राष्ट्रसंघ । संयुक्त राज्य अमेरिकाले सुरक्षा परिषद्को मस्यौदा प्रस्तावलाई भिटो गरेको छ । उक्त प्रस्तावले गाजामा तत्काल युद्धविराम र मानवीय सहायतामा सबै प्रतिबन्धहरू तुरुन्तै हटाउन माग गरेको थियो ।

सुरक्षा परिषद्का १० जना निर्वाचित सदस्यले पेस गरेको प्रस्तावलाई १५ मध्ये १४ जनाको समर्थन प्राप्त भएको छ । भिटो शक्ति राख्ने संयुक्त राज्य अमेरिकाले उक्त कदम विरुद्धमा मतदान गरेको थियो ।

मस्यौदा प्रस्तावले हमास र अन्य समूहहरूद्वारा राखिएका सबै बन्धकको तत्काल र बिना शर्त रिहाइ तथा गाजामा मानवीय सहायताको प्रवेश र यसको सुरक्षित र निर्बाध वितरणमा सबै प्रतिबन्धहरू तत्काल र बिना शर्त हटाउन माग गरेको थियो ।
अमेरिकाले प्रयोग गरेको भिटो शक्तिको सुरक्षा परिषद्का सदस्यहरूले आलोचना गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि फु कङ्गले बुधबारको मतदानको नतिजाबाट चीन निकै निराश भएको बताए ।
उनका अनुसार मस्यौदा प्रस्तावमा गाजाका जनताको सबैभन्दा दबाबपूर्ण मागहरू छन् र यसले अन्तर्राष्ट्रिय समुदायको भारी आवाजलाई प्रतिबिम्बित गर्दछ ।

‘संयुक्त राज्य अमेरिकाले एक पटक फेरि आफ्नो भिटो शक्तिको दुरुपयोग गरेको छ, गाजाका मानिसहरूका लागि आशाको किरण निभाउँदै र निर्दयतापूर्वक २० लाखभन्दा बढी मानिसहरूलाई अन्धकारमा छोडेको छ । यसले अन्तर्राष्ट्रिय समुदायको प्रश्नको सामना गर्नुपर्छ’, उनले भने ।

‘बुधबारको मतदानको नतिजाले गाजामा द्वन्द्व रोक्न सुरक्षा परिषद्को असक्षमताको मूल कारण संयुक्त राज्य अमेरिकाले बारम्बार गरेको अवरोध हो भन्ने कुरा फेरि एकपटक उजागर गरेको छ, जसले परिषद्को युद्धविरामको अनुरोधलाई धेरै पटक भिटो गरेको छ । र इजरायललाई यसको संरक्षणको कारण, परिषद्ले अपनाएका धेरै प्रस्ताव प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छैन’, मतदानको स्पष्टीकरणमा फुले भने ।

श्रीलङ्काका पूर्व स्पिनरमाथि म्याच फिक्सिङको आरोप

कोलम्बो । श्रीलङ्काका पूर्व स्पिन बलर सचित्र सेनानायकले बिहीबार मुलुकमा खेलकुदमा भ्रष्टाचार मेटाउने उद्देश्यले ल्याइएको नयाँ कानूनअन्तर्गत मुद्दा चलाइने पहिलो व्यक्ति बनेका छन् ।

४० वर्षीय सेनानायकेमाथि दक्षिणी सहर हम्बनटोटाको उच्च अदालतमा सन् २०२० को स्थानीय प्रतियोगितासँग सम्बन्धित म्याच फिक्सिङको आरोप लगाइएको छ ।

उनी सन् २०२३ सेप्टेम्बरमा पक्राउ परेपछि हाल जमानतमा छन् । उनले आरोपहरू अस्वीकार गरेका छन् । चौरहत्तर अन्तर्राष्ट्रिय खेल खेलेका सेनानायकले अन्तिम पटक सन् २०१६ मा श्रीलङ्काका लागि खेलेका थिए ।

उनीमाथि २०२० मा लङ्का प्रिमियर लिगका दुई खेलाडीलाई म्याच फिक्सिङका लागि प्रभाव पारेको आरोप छ । म्याच फिक्सिङलाई फौजदारी अपराध बनाउने सन् २०१९ को कानूनको उल्लङ्घन गर्ने सेनानायके पहिलो खेलाडी भएको प्रहरीले जनाएको छ ।

दोषी ठहरिएमा अधिकतम १० वर्षको जेल, १० करोड रुपैयाँ (तीन लाख ३३ हजार डलर) सम्मको जरिवाना वा दुवै हुन सक्छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले श्रीलङ्कालाई सबैभन्दा भ्रष्ट क्रिकेट खेल्ने राष्ट्रहरू मध्ये एक मानेको भनेपछि पूर्व खेलकुदमन्त्री हरिन फर्नान्डोले यो कडा नयाँ कानून ल्याएका थिए ।

अर्का पूर्व खेलकुदमन्त्री महिन्दानन्द अलुथगामागेले सन् २०२१ मा संसद्मा देशमा म्याच फिक्सिङ व्याप्त रहेको बताएका थिए ।
अलुथगामगेलाई असम्बन्धित भ्रष्टाचारको मुद्दामा २० वर्षको जेल सजाय भएको थियो ।

श्रीलङ्काका सन् १९९६ को विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गाले सन् २०१२ मा राष्ट्रिय टोलीमा ‘कुव्यवस्थापन, भ्रष्टाचार र अनुशासनहीनता’ भन्दै विरोध गर्दै प्रशंसकहरूलाई खेल बहिष्कार गर्न आग्रह गरेका थिए ।

राजावादीको आन्दोलन अर्थहीन रहेको सभापति देउवाको भनाइ

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहीन रहेको बताएका छन्।

कांग्रेसका स्व. नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा, सालिक अनावरण र उनका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि बिहीबार जनकपुर आएका सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहीन रहेको टिप्पनी गरे ।

पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उनले उल्लेख गरे । सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गरे ।

सुशासनको पक्षमा अडिग छु, कुनै गल्ती गरेको छैनः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको बताएका छन् ।

पतन्जलि प्रकरणमा मुद्दा दर्ता भएपछि रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका हुन् ।

पतन्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने आफूले कल्पना पनि नगरेको भन्दै अध्यक्ष नेपालले कसले लुपहोल राखेको भए आफूलाई जानकारी नभएको बताए ।

उनले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

‘टेक एण्ड पे’ को प्रावधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गर्ने उर्जा उत्पादकको चेतावनी

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमा ‘टेक एण्ड पे’ को प्रावधान नसच्याए पावर हाउस बन्द गर्ने चेतावनी दिएका छन् ।

बजेटमा सार्वजनिक ‘टेक एण्ड पे’ पीपीएको प्रावधानबिरुद्ध बिहीबार काठमाडौंमा भएको भेलामा अध्यक्ष कार्कीले सडकमा आन्दोलन नगरि पावर हाउस बन्द गर्ने र बिजुली बन्द गर्नेसम्मको चेतावनी दिएका हुन् ।

उनले मुलुकमा ८० प्रतिशत विजुली उत्पादन गरेको निजी क्षेत्रलाई सरकारले सिध्याउन खोजेको आरोप लगाए । उनकाअनुसार सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एन्ड पे’विधिमार्फत विद्युत खरिद सम्झौता(पीपीए)गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्नेछ ।

भक्तपुरको सूर्यविनायकमा शैक्षिक गुणस्तरमा सुधार गर्न खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त

 

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न जनप्रतिनिधिलाई विद्यालय व्यस्थापन समितिका अध्यक्ष नियुक्त र खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त गरेको दुई वर्षमा गरेको छ ।

नगरपालिकाले आयोजना गरेको दुई दिने सामुदायिक विद्यालयको अध्यक्ष र प्रधानाध्यापकको समिक्षात्मक गोष्ठीमा नगरपालिकाभित्र रहेका २७ सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर र विद्यार्थी सङ्ख्या वृद्धिमा व्यापक वृद्धि गरेको निष्कर्ष बिहीबार सम्पन्न गोष्ठीले निकालेको हो ।

समीक्षामा २७  विद्यालयका प्रधानाध्यापकहरुले प्रस्तुत गरेको विद्यालयको प्रगति र शिक्षा मन्त्रालय अन्तरगतका विज्ञहरुले गरेको मूल्याङ्कनको आधारमा नगरपालिकाले सुरु गरेको जनप्रतिनिधिलाई अध्यक्ष र खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तले विद्यालय शिक्षा सिकाइमासमेत सुधार भएको निष्कर्ष निकालेको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले शैक्षिक गुणस्तर वृद्धि गर्दै शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय र योग्य व्यक्तिलाई प्रधानाध्यापक बनाउनुपर्छ भन्ने मान्यतालाई निर्णय गरेको दुई वर्षमै व्यापक शैक्षिक गुणस्तमा वृद्धि भएको बताए ।

उनले भने, “सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्दै स्थानीय सबै बालबालिका सामुदायिक विद्यालयमा आउँन सक्ने वातावरण बनाउनुपर्छ, त्यसका लागि के कति बजट चाहिन्छ भन्नुस् हामी दिन्छौँ, बजेट हाम्रो शैक्षिक गुणस्तर तपाईहरुको ।”

 

कार्यक्रममा उपप्रमुख सरिता तिमल्सिना भट्टराईले विद्यालयलाई सुधार भएको नतिजा परीक्षाफलमा पनि देखिनुपर्ने बताउँदै शैक्षिक सुधारमा सबैभन्दा ठूलो भूमिका प्रधानाध्यापको नै भएकाले आमनागरिकमा नतिजा देखिने गरी काम गर्नुपर्ने बताइन् ।

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछिको पछिल्लो दुई वर्षमा आएको सुधारले नगरपालिकाले गरेको नौलो अभ्यास सफल भए पनि विज्ञले दिएको सुझावलाई ग्रहण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा अझै लाग्नुपर्नेमा जोड दिइन् ।

सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रवीन्द्र सापकोटाले सूर्यविनायकको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थी सङ्ख्यासमेत बढेको बताए ।

नगरभित्र सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएपछि गुणस्तरमा सुधार भई विद्यार्थीको सङ्ख्या बढ्दो क्रम रहेको कतिपय विद्यालयमा भर्ना अभियान सुरु नहँुदै विद्यार्थी थेग्नै नसक्ने गरी भर्नाको सिट सङ्ख्यानै भरिने अवस्था आउनु खुसीको विषय भएको बताए ।

कार्यक्रममा शिक्षाविदद्वय डा तुलसीप्रसाद थपलिया र डा बलराम तिमल्सिनाले २७ वटै विद्यालयको प्रस्तुति र अन्तरक्रियाबाट गरिएको मूल्याङ्कन सुनाउँदै आगामी दिनमा थप परिणाम तथा नतिजामुखी बनाउन गर्नुपर्ने कार्यका बारेमा सुझाव दिएका थिए ।

विपद् प्रतिकार्यको पूर्वतयारीलाई दुरुस्त राख्न ७७ वटै जिल्लाका सिडीओलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनयता विपद् प्रतिकार्यको पूर्वतयारीलाई दुरुस्त राख्न र मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

बिहीबार बिहान उनले सात वटै प्रदेश र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिसँग विपद् पूर्वतयारीका विषयमा भर्चुअल बैठक गर्दै विगतको जस्तो लापरबाही नगरी सावधानीपूर्वक तयारीमा जुट्न सबैलाई निर्देशन दिए ।

गृहमन्त्री लेखकले जानाजान लापरबाही गर्नेलाई कारबाहीको चेतावानीसमेत दिए । गुनासो नआउने गरी काम गर्ने निर्देशन गर्दै उनले भने, “यस वर्ष मनसुन बढी हुने पूर्वानुमान भएकाले विपद्बाट क्षति बढी हुनसक्ने आँकलन गरिएअनुसार गम्भीर भएर क्षति कम हुन सचेत भएर लागौँ ।”

विपद् पूर्वसूचना प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्रीलेखकले त्यसका लागि प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गर्नुपर्ने बताए । उनले केन्द्रसँगै विपद्लाई मध्यनजर गर्दै प्रदेश र जिल्लामा ‘अप्रेसन डेस्क’ स्थापना गर्न जोड दिए ।

बैठकमा निमित्त गृहसचिव जयनारायण आचार्यले विपद्वद् व्यवस्थापनमा सूचना सङ्कलन र आपसी समन्वय महत्त्वपूर्ण हुने चर्चा गर्दै सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नो जोड दिए ।

उनले आमनागरिकले सङ्कटको समयमा सुरक्षा निकायलाई आशाको केन्द्रका रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न आग्रह गरे ।

यसैगरी, गृहमन्त्री लेखकले पूर्वतयारीलाई दुरुस्त राख्न र मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै मुलुकभर मनसुन भित्रिने क्रम रहेकाले जनसुनजन्य विपद्बाट जनजीवन प्रभावित हुनसक्ने आँकलन भइरहेकाले पूर्वतयारीलाई तीव्रता दिएका हुन् ।

मनसुन भित्रने क्रमसँगै विपद् प्रतिकार्यका लागि मन्त्री लेखकले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै काठमाडौँस्थित नेपाल प्रहरी तथा विपद् व्यवस्थापन कार्यालय पुगेर निरीक्षण गरी आवश्यक पूर्वतयारीको बन्दोबस्तीका बारेमा जानकारी लिए ।

गत वर्षको बाढीबाट जनधनको क्षति ब्यहोरोको मुलुकले यस वर्ष पनि मनसुनजन्य विपद् आउने पूर्वानुमान गरिएसँगै गृह प्रशासन त्यसको प्रतिकार्यमा सशक्त रूपमा अघि बढेको हो । विगत तीन दिनयता गृहमन्त्री लेखकले पूर्वतयारीका विषयमा सरोकार भएका निकायसँग समन्वय बढाउनुका साथै गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सुरक्षा संयन्त्रसँग ‘भर्चुअल’ बैठकबाट विपद् प्रतिकार्यको पूर्वतयारीमा सक्रिय हुन निर्देश गरेको छ ।

गृहमन्त्रालयले विगतको विपद्का घटनालाई सिकाइका रूपमा लिँदै आफूसँग भएका प्राविधिक जनशक्ति तथा उपकरणलाई तयारी अवस्थामा राख्न, स्थानीय र प्रदेश सरकारसँग समन्वय बढाउन आग्रह गरेको छ ।

बुधबार विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन निर्देशन दिए । उनले सीमित स्रोत र साधनका बीच प्रहरी संयन्त्र विपद् प्रतिकार्यमा खटिनुपर्ने बाध्यता रहेको भन्दै मन्त्रालयआवश्यक समन्वय र सहजीकरण गर्न अग्रसर रहेको बताए ।

“जुन सुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नुपर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भुकम्प र आगलागीको पूर्वानुमान हुँदैन”, उनले भने, “हामी मनसुनको पूर्वसन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ ।” विपद्को व्यवस्थापन र नागरिकको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी भएको भन्दै चौबिसैँ घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए ।

“विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमा उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपद्मा मानिसले सबैभन्दा पहिले प्रहरी खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ”, उनले भने ।

बर्खायाममा बाढी, पहिलो र डुवानको बढी जोखिम हुने भएकाले सोको न्यूनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए । “मनसुनजन्य विपद्का लागि आजैदेखि तयार हुनुपर्‍यो । समयमा पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ । जेठ २८ गतेदेखि मनसुन सक्रिय हुने अनुमान छ”, मन्त्री लेखकले भने ।

तीन दिनयता पूर्वतयारी अवस्थाबारे जानकारी लिन सशस्त्र प्रहरी बलको मुख्यालय पुगेका गृहमन्त्री लेखकले विपद्को व्यवस्थापन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकेको भन्दै प्रभावकारी तयारीमा लाग्न निर्देशन दिएका थिए । विपद् जोखिम देखिएका ठाउँमा परिचालित भएर सम्भावित घटना हुन नदिन चनाखो हुनुपर्ने उनको भनाइ छ ।

मन्त्रीलेखकले सशस्त्र प्रहरी बल नेपाललाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न आग्रहल गरे । उनले राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनइओसी)को एउटा शाखा राख्नुपर्ने बताए । “त्यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुपर्‍यो । कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ । यसले विपद् व्यवस्थापनमा शीघ्र काम गर्न सकिन्छ”, उनले भने ।

मनसुनजन्य विपद्का खतरा देखिएका ठाउँमा रातिको समयमा सवारीसधान सञ्चालन रोक लगाउनुपर्ने मन्त्री लेखकले बताए । “कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, विगतमा भएका हाम्रा कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने जरुरी छ”, उनले भने ।

भर्चुअल बैठकमा सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिले आ–आफ्नो क्षेत्रमा भएका तयारीका बारेमा जानकारी दिएका थिए । त्यसैगरी मङ्गलबार नेपाल प्रहरी प्रधान कार्यालय पुगेर विपद् पूर्वतयारीबारे जानकारी लिएका मन्त्रीलेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमीकमजोरीको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढङ्गबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारी सक्रिय हुनुपर्नेमा जोड दिए ।

विपद् व्यवस्थापनमा स्थानीय तह तथा सरोकार भएका निकाय, नेपाली सेना, सशस्त्र प्रहरी बल र प्रदेश सरकारलगायत निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्नेगरी कार्य गर्न उनले निर्देशन दिए । सो अवसरमा विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास प्रदर्शन गर्नुका साथै विपद् उद्धार सामग्रीको अवलोकन गरिएको थियो ।

यसैबीच, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको यही जेठ १४ गते बसेको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८२’ पारित गरेको थियो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठक कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको बैठकले यसअघि यस वर्षको मनसुनको पूर्वानुमान, विपद्बाट प्रभावित हुने अनुमानित केसलोड, मनुसनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकार भएका मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक सम्पर्क विवरण, सामग्रीको मौज्दात तथा दक्ष जनशक्तिको विवरण समेटिएको उक्त कार्ययोजना पारित गरेको हो ।

विपद् प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकार भएका मन्त्रालय र विभागका प्रतिनिधिको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्बाट मुलुकभर चाल लाख ५७ हजार परिवारका १९ लाखभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ ।

गृहमन्त्री लेखकले सातै वटै प्रदेशमा रहेका आपतकालीन गोदामघरलाई विपद् प्रतिकार्यमा सहज बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् । उनले हालसम्म चार वटा प्रदेशमा उद्धार तथा सहायता सामग्रीसहितको गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेका छन् । मनसुन, भूकम्पलगायत विपद्का जोखिमबाट नागरिकलाई बचाउन गोदामघर प्रदेशलाई हस्तान्तरण गरिएको हो ।

यसअघि गोदामघर सञ्चालनमा झन्झटिलो प्रक्रियालाई सहज बनाउँदै मन्त्री लेखकले प्रदेश सरकारलाई हस्तान्तरण गरेका हुन्। त्यसैगरी स्थानीय तहलाई पनि पालिका तहसम्म आपतकालीन गोदामघर सञ्चालनका लागि उनले आग्रह गर्दै आएका छन् । “गोदामघरका लागि छुट्टै बजेट र घर चाहिन्छ भन्ने छैन्”, लेखकले भने, “पालिकाको एउटा कोठामा गोदामघर सञ्चालन गर्न सकिन्छ ।”

जन्मदर घट्दै जाँदा भियतनाममा दुई सन्तानको सीमा खारेज

हनोई । मुलुकले घट्दो जन्मदरलाई उल्ट्याउन सङ्घर्ष गरिरहेको बेला भियतनामको कम्युनिष्ट सरकारले परिवारलाई दुई बच्चामा सीमित गर्ने आफ्नो लामो समयदेखिको नीति हटाएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

देशले सन् १९८८ मा दम्पतीलाई दुईभन्दा बढी बच्चा जन्माउन प्रतिबन्ध लगाएको थियो । तर परिवारको आकार अब प्रत्येक व्यक्तिगत जोडीको निर्णय भएको भियतनाम समाचार एजेन्सीले बताएको छ ।

देशले विगत तीन वर्षमा ऐतिहासिक रूपमा कम जन्म दरको अनुभव गरेको छ । कुल प्रजनन दर सन् २०२४ मा प्रतिमहिला प्रतिस्थापन स्तरभन्दा तल एक दशमलव ९१ बच्चामा झरेको स्वास्थ्य मन्त्रालयले यस वर्ष बतायो ।

जन्मदर सन् २०२१ मा प्रतिमहिला दुई दशमलव ११ बच्चाबाट घटेर सन् २०२२ मा दुई दशमलव ०१ र सन् २०२३ मा एक दशमलव ९६ पुगेको छ ।

यो प्रवृत्ति सहरीकृत, आर्थिक रूपमा विकसित क्षेत्रहरूमा, विशेष गरी हनोई र हो ची मिन्ह सिटी जस्ता ठूला सहरहरूमा जीवनयापनको लागत बढ्दै जाँदा स्पष्ट देखिन्छ ।

– लिङ्ग असन्तुलन –

यस वर्षको सुरुमा उपस्वास्थ्य मन्त्री न्गुयेन थि लिन हुओङले नीति समायोजन र सार्वजनिक अभियानहरूका बाबजुद परिवारहरूलाई बढी बच्चा जन्माउन प्रोत्साहित गर्न गाह्रो भइरहेको चेतावनी दिए ।

उनले घट्दो जन्मदरले बुढेसकालको जनसङ्ख्या र कार्यबलको अभावसहित दीर्घकालीन सामाजिक–आर्थिक विकासका लागि चुनौतीहरू खडा गरेको कुरामा जोड दिए ।

उनले समाजलाई परिवार नियोजनमा मात्र ध्यान केन्द्रित गर्ने आफ्नो मानसिकतालाई जनसङ्ख्या र विकासको व्यापक परिप्रेक्ष्यमा परिवर्तन गर्न आग्रह गरे ।

भियतनामले केटाहरूको ऐतिहासिक प्राथमिकताका कारण लिङ्ग असन्तुलनसँग पनि जुध्दै छ । सरकारी सञ्चारमाध्यमका अनुसार मङ्गलबार स्वास्थ्य मन्त्रालयले ‘भ्रुणको लैङ्गिक चयनलाई नियन्त्रण गर्न’ हालको जरिवानालाई तीन गुणा बढाएर तीन हजार आठ सय डलर बनाउन प्रस्ताव गरेको छ ।

भियतनाममा जन्मअघि आमाबुवालाई उनीहरूको बच्चाको लिङ्गको बारेमा जानकारी दिन निषेध छ । साथै लिङ्ग–चयनका कारणले गर्भपतन गराउन निषेध छ र कानून उल्लङ्घन गर्ने क्लिनिकहरूमाथि दण्डको व्यवस्था छ ।

जन्मको लिङ्ग अनुपातमा सुधार भए पनि प्रत्येक एक सय केटीको तुलनामा एक सय १२ केटाको दरमा विकृत रहेको छ ।
भियतनामको छिमेकी चीनले सन् १९८० को दशकमा अत्यधिक जनसङ्ख्याको डरले लगाएको आफ्नै कडा ‘एक सन्तान नीति’ लाई सन् २०१६ मा अन्त्य ग¥यो र सन् २०२१ मा दम्पतीहरूलाई तीन सन्तान जन्माउने अनुमति दियो ।

तर धेरै देशमा जस्तै बढ्दो जीवनयापनको लागतले जन्मदरमा बाधा पुर्याएको छ र यी कदमले चीनको जनसाङ्ख्यिकीय गिरावटलाई उल्ट्याउन असफल भएको छ । चीनको जनसङ्ख्या २०२४ मा लगातार तेस्रो वर्ष घटेको छ ।

यस्तो छ माधव नेपालविरुद्ध अख्तियारले दायर गरेको रिट(पूर्णपाठ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

काभ्रेपलाञ्चोकमा पतञ्जलीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

माधव नेपालको सांसद पद निलम्बन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद निलम्बनमा परेको हो । बिहीबार अख्तियारले पूर्वप्रधानन्त्री नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । भारतीय बाबा रामदेव र आचार्य बालकृष्ण सञ्चालक रहेको पतञ्जलिलाई दिएको जग्गा सट्टापट्टा प्रकरणमा नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।

पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिन तत्कालीन प्रधानमन्त्री नेपालले निर्देशन दिएका थिए।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो ।

नाटोलाई रक्षा खर्च बढाउने सम्झौता गर्न अमेरिकाको दबाब

ब्रसेल्स । अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार नाटोलाई यस महिनाको अन्त्यमा हुने शिखर सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्तुष्ट पार्न सक्ने रक्षा खर्च बढाउने सम्झौतामा सहमत हुन दबाब दिएका छन् ।

ट्रम्पले गठबन्धनका सदस्यहरूलाई नेदरल्यान्ड्समा जुन २४–२५ मा हुने बैठकमा रक्षा बजेट आफ्नो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म बढाउन सहमत हुन माग गरेका छन् ।

नाटो प्रमुख मार्क रुटले सन् २०३२ सम्ममा सैन्य खर्चमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तीन दशमलव पाँच प्रतिशत र पूर्वाधार जस्ता सुरक्षा क्षेत्रमा एक दशमलव पाँच प्रतिशत खर्च गर्ने सम्झौताको प्रस्ताव राखेका छन् ।

“हामी यहाँ राष्ट्रपति ट्रम्पले सुरु गरेको कामलाई जारी राख्न आएका छौँ, जुन यो गठबन्धनमा पाँच प्रतिशत रक्षा खर्च गर्ने प्रतिबद्धता हो, यो हेगमा हुने शिखर सम्मेलनबाट नै हुनुपर्दछ भन्ने हामी सोच्दछौँ”, हेग्सेथले ब्रसेल्समा नाटोका समकक्षीहरूसँगको बैठकको सुरुमा भने, “हाम्रो फोकस यही हो । पाँच प्रतिशत, विश्वसनीय र सक्षम सेनाहरूसँग लड्नुहोस् र त्यसपछि नाटो आफ्नो मुख्य मिसन, महाद्वीपीय रक्षामा केन्द्रित छ भनेर सुनिश्चित गर्नुहोस्, जहाँ यसको तुलनात्मक फाइदा अवस्थित छ ।”

रुट हेगमा हुने शिखर सम्मेलनका लागि सम्झौता सुरक्षित गर्ने बाटोमा देखिन्छन् भन्ने धेरै कूटनीतिज्ञले बताएका छन् तर केही सहयोगीहरू अझै पनि यस्तो स्तरको खर्चमा प्रतिबद्ध हुन हिचकिचाइरहेका छन् ।

“म साँच्चै, पूर्णतया, सकारात्मक रूपमा विश्वस्त छु कि ३२ जनासँगको शिखर सम्मेलनमा जब रक्षा खर्चमा साँच्चै ठूलो वृद्धिको कुरा आउँछ हामी एउटा सम्झौतामा पुग्नेछौँ”, नाटो प्रमुखले बुधबार भने ।

सबैभन्दा बढी अनिच्छा देखाउने स्पेन हो । स्पेन यस वर्षको अन्त्यसम्ममा मात्र नाटोको हालको लक्ष्य जिडिपीको दुई प्रतिशत पुग्न तयार छ ।

अन्य देशहरूले पनि समयसीमा लामो बनाउने र मुख्य रक्षा खर्च प्रत्येक वर्ष शून्य दशमलव दुई प्रतिशत अङ्कले बढाउने मागलाई हटाउने विषयमा बार्गेनिङ गरिरहेको कूटनीतिज्ञहरूले बताएका छन् ।

तर यो सम्झौता धेरैजसोका लागि स्वीकार्य सम्झौता जस्तो देखिन्छ, जसले ट्रम्पलाई आफ्नो मुख्य माग हासिल गरेको दाबी गर्न अनुमति दिनेछ भने वास्तवमा सङ्घर्षरत युरोपेली सहयोगीहरूका लागि बार कम सेट गर्नेछ ।

संयुक्त राज्य अमेरिकाले रुटको योजनालाई समर्थन गरेको छ । तर नाटोका लागि अमेरिकी राजदूतले बुधबार वासिङ्टन लक्ष्य पूरा गर्न ‘योजना, बजेट, समयसीमा, वितरण योग्य’ हेर्न चाहन्छ भनी जोड दिए ।

एक सम्बन्धित कदममा नाटो मन्त्रीहरूले ब्रसेल्समा आफ्नो बैठकमा रूसबाट हुने खतरालाई सामना गर्न आवश्यक हतियारहरूका लागि नयाँ क्षमता लक्ष्यहरूमा हस्ताक्षर गर्नेछन् ।

नाटो अधिकारीहरूले औसतमा नयाँ लक्ष्यहरू पूरा गर्न देशहरूलाई जिडिपीको तीन दशमलव पाँच प्रतिशत र तीन दशमलव सात प्रतिशतको बीचमा खर्च लाग्ने अनुमान गरेका छन् ।

पूर्व टिभी प्रस्तुतकर्ता हेग्सेथले फेब्रुअरीमा आफ्नो अन्तिम भ्रमणमा नाटोलाई हल्लाउँदै वासिङ्टनले चीनमाथि ध्यान केन्द्रित गर्न युरोपमा आफ्नो सेना घटाउन सक्छ भनी चेतावनी दिएका थिए ।

त्यसबेलादेखि संयुक्त राज्य अमेरिकाबाट सेना फिर्ता गर्ने बारेमा कुनै ठोस घोषणा गरिएको छैन, तर नाटोका सहयोगीहरू तनावमा छन् ।

– युक्रेनको प्रश्न –

नाटो रक्षा खर्च सम्झौताको दिशामा अघि बढ्दै जाँदा अर्को गम्भीर मुद्दाले अब तीन हप्ताको अवधिमा शिखर सम्मेलनलाई ओझेलमा पार्ने खतरा छ: युक्रेनको बारेमा के गर्ने ?

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनले युक्रेनका लागि वासिङ्टनको समर्थन ध्वस्त भयो र रुसको तीन वर्ष लामो युद्धमा पश्चिमको दृष्टिकोणलाई उल्टो पार्‍यो ।

हेग्सेथले बुधबार ब्रसेल्समा युक्रेनका समर्थकहरूको बैठक छोडेर किएभसँगको अमेरिकी असंलग्नतालाई जोड दिए ।

किएभका युरोपेली सहयोगीहरूले अमेरिकी अनिच्छालाई जित्न र समर्थनको सङ्केतका रूपमा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई हेगमा निमन्त्रणा दिन कडा दबाब दिइरहेका छन् ।

अहिलेसम्म नाटोले युक्रेनलाई सभामा प्रतिनिधित्व गरिने मात्र भनेको छ –– तर जेलेन्स्की सहभागी हुने कुराको पुष्टि गरेको छैन ।

गृहमन्त्रीको राजीनामाबाट किन पछि हट्यो माओवादी ? यस्तो छ ज्ञानेन्द्र शाहीको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टी उपाध्यक्ष अग्नि सापकोटाले पक्राउ पर्ने डरले माओवादी सदन खोल्न लचिलो बनेको आरोप लगाएका छन् ।

बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले सदन संचालनका लागि अधिकतम पहल गर्ने निर्णय गरेपछि शाहीको यस्तो भनाई आएको हो ।

उनले सरकारले माओवादी नेताहरु अग्नि सापकोटा र सांसद सुर्यमान दोङलाई पक्राउ नगर्ने र गृहमन्त्रीको राजीनामाबाट माओवादी पछाडी हट्ने सहमित भएको दाबी गरे ।

शाहीले सामाजिक संजालमा लेखेका छन्, ‘माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद खोल्न माओवादी लचिलो भएर तयार भएको देखिन्छ । गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबीच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने । सरकारले माओवादी नेताहरु अग्नि सापकोटा र सांसद सुर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी । शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण हो । अनि कसरी विधिको शासन हुन्छ अनि देशमा विधिको शासन छ भन्दै केही साथीहरू कराउँदै उफ्रिरहेका छन्। त्यही भएर भन्छु। अवस्था सुधार्न व्यवस्था सुधार गर्नैपर्छ।’

देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ

नारायणगढ ।  धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो ।

देवघाटस्थित महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरी र डा गुरुप्रसाद सुवेदीलगायतले गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरेका हुन् ।

जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचारप्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण तथा संवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताको अगुवाइमा पदयात्रा सुरु गरिएको पदयात्राका संयोजक फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार पदयात्राका क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम–ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाम–कागबेनीधाम–मुक्तिनाथधाम– दामोदरकुण्डधाममा विशेष पूजा एवं जागरणसभा हुने छ ।

उनले भने, ‘ऐतिहासिक पदयात्रामा सहभागी हुन चाहने सबै भक्तजन मुख्य तीर्थहरूमा हुने विशेष गण्डकी पूजन र जागरण सभामा सहभागी बन्न सक्नुहुनेछ ।’

यात्रामा दैनिक आठ घण्टा २० किलोमिटरसम्म यात्रा गरिने जनाइएको छ । नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. गुरुप्रसाद सुवेदीले कालीगण्डकीको महिमा जनमानसमा पुर्‍याउने यात्राको उद्देश्य भएको बताए।

गण्डकीको किनारमा भएका विभिन्न धार्मिक स्थलहरूका संरक्षण एवं प्रवर्द्धनमा यात्राले सहयोग पुग्ने उनको भनाई छ । जीवन जिउने आधार प्राकृतिक स्रोत सम्पदा भएको उल्लेख गर्दै नदीलगायतको संरक्षणमा सबै जुट्नुपर्ने उनले बताए।

देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा आजदेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा सुरु भएको हो । समुद्री सतहबाट २२० मिटर देखि चार हजार ९९० मिटर उचाइ सम्म २२ देखि २५ दिन यात्रा गरिनेछ ।

नेपाली सेनाको प्रवक्तामा बस्नेत

काठमाडौं ।  नेपाली सेनाले सहायकरथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालमा आज आयोजित कार्यक्रममा सहायकरथी बस्नेतले प्रवक्ताको औपचारिक जिम्मेवारीको बहन गरेका हुन् ।

यसअघिका प्रवक्ता गौरवकुमार केसीले भने आगामी आइतबारबाट नेपाली सेनाको पूर्वीपृतनाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । उनको नाम सिफारिश भइसकेकाले उनको केही समयमै उपरथीमा बढुवा हुने सम्भावना छ । त्यहाँका पृतनापति पवनराज घिमिरेको जंगी अड्डामा सरुवा भइरहेको छ ।

नयाँ प्रवक्ता यसअघि सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए । सूचना र जनसम्पर्कका माध्यमद्वारा नागरिक र सैनिक सम्बन्ध सुदृढ तुल्याउन महत्वपूर्ण भूमिकामा रहने जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीमा रहने अभ्यास छ । राष्ट्रको प्रमुख सुरक्षा संगठन नेपाली सेनाको प्रमुखको निकटतामा रही प्रवक्ताले कार्यजिम्मेवारी सम्हाल्नेछन् ।

च्याङग्राका भुवाको बजार सुनिश्चित

मुस्ताङ । च्याङ्ग्राको भूवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन् । खेतबारीको लागि आवश्यक पर्ने प्राङगारिक मल आपूर्ति र मासुका लागि बिक्री गर्न पालिने च्याङ्ग्राको शरीरमा भएको भूवाले बजार पाउन थालेपछि किसानले अतिरिक्त आम्दानीको अवसर पाएका हुुन् ।

फल्याकका किसान राजुु गुरुङकाका अनुसार बजारको सुनिश्चितता, किसानलाई फुर्सद नहुने र दक्ष जनशक्तिको अभावमा यसअघि ऊन निकाल्ने गरिएको थिएन् । “शरीरबाटै झरेर खेर जाने गरेको थियो,” उनले भने, “बजार सुनिश्चित गरेका पश्मिना व्यवसायीले च्याङ्ग्राको भूवा निकाल्न दक्षजनशक्ति समेत व्यवस्था गरेकाले आजदेखि भूवा निकाल्न थालेका छौँ ।”

नेपाल पश्मिना उद्योग सङ्घले काठमाडौंमा सञ्चालन गरेको फाइवर प्रोसेसिङ प्रालिले फस्याकलगायत मुुस्ताङ र डोल्पाको छार्काका किसानले उत्पादन गर्ने भूवाको बजार सुुनिश्चित गरेको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भूवा निकाल्ने याम हो । च्याङुग्राको भूवा पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो ।

भेडा र चौरीको तुलनामा च्याङ्ग्राको भूवालाई गुणस्तरीय मानिएको छ । डेढ वर्षअघि मुुस्ताङबाट नमूना सङ्कलन गरेर मङ्गोलियाको प्रयोगशालामा लगेर च्याङ्ग्राको भूवाको गुुणस्तर परीक्षण गरिएको थियो । प्रयोगशालाको प्रतिवेदन अनुुसार मुस्ताङी च्याङ्ग्राको भूवा पश्मिनाका लागि उपयुक्त मानिएको नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले बताए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार फल्याक गाउँमा बसोबास गर्ने करिब ६० घरपरिवारमध्य १९ घरपरिवारको व्यावसायिक च्याङ्ग्रा फार्म छ । घरघरमा थोरै सङ्ख्यामा च्याङ्ग्रा पाल्नेहरु पनि छन् । फल्याकमा करिब पाँच हजार च्याङ्ग्रा रहेका वारागुङ मुक्तिक्षेत्र–५ मा कार्यरत पशु स्वास्थ्य प्राविधिक समीक्षा कडायतले बताइन् ।

यसवर्ष करिब दश किलोग्राम भूवा सङ्कलन हुुने अनुमान गरिएको छ । किसानबाट पश्मिना उद्योगीले प्रतिकिलो  चार हजार पाँच सयका दरले भूवा खरिद गर्छन् । मुस्ताङ र डोल्पाको छार्काका किसानले विसं २०७९ मा तीन हजार किलोग्राम, २०८० मा दुई हजार किलोग्राम र २०८१ मा दुई हजार दुई सय किलोग्राम भूवा बिक्री गरेका छन् । पश्मिना व्यावसायी आवद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख बस्तु पश्मिना बनाउन च्याङग्राको भूवा प्रशोधन गराएर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक छ अर्बको पश्मिना निर्यात हुन्छ । वार्षिक पाँच अर्ब मूल्य बराबरको चार सय टन पश्मिना बनाउन आवश्यक पर्ने भूवाको धागो आयात हुन्छ ।

ठमेल, भक्तपुर, पाटन, सौराह, पोखरा, नगरकोटलगायत पर्यटकीयस्थलमा घुम्ने आउने पर्यटकले एक अर्ब ५० करोड मूल्य बराबरको पश्मिना किनेर लैजाने गरेका छन् । मुस्ताङी च्याङ्ग्राको भुुवाको गुुणस्तरको दिगोपनाका लागि पश्मिना उद्योग सङ्घमार्फत किसानस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताएका छन् ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को सहयोगमा नेपाल पश्मिना सङ्घले भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङ र स्थानीय तहका पशु सेवा शाखासँगको समन्वयमा गुणस्तरीय भूवा उत्पादन र सङ्कलनका विषयमा प्राविधिक सीप सिकाउन थालिएको छ । बाह्य परजीविको आक्रमणबाट जोगाउन, शरीरमा भएको भूवालाई कीटाणुरहित, स्वच्छ र गुणस्तरीय बनाउन भुवा निकाल्नु अघि डिपिङ ट्याङ्कीमा च्याङग्राको शरीर डुबाउने सीप सिकाउन स्थलगत तालिम सुरु गरिएको छ ।

अन्तरराष्ट्रियस्तरको प्रयोगशालामा गरिएको परीक्षणबाट पश्मिनाका लागि उपयुुक्त र गुणस्तरीय पुष्टि भएको मुस्ताङी च्याङ्ग्राको भूवाको दिगोपना र गुणस्तरमा हस आउन नदिन किसानलाई सप र प्रविधिमा सघाउने कार्यक्रमलाई निरन्तरता दिएको परामर्शदाता श्रेष्ठ बताउँछन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालका अनुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएकोमा ३० प्रतिशतको हाराहारीमा मात्र भूवा निकाल्ने गरिएको छ ।

बाइडेनको स्वास्थ्यमा आएको गिरावट लुकाउने ‘षड्यन्त्र’ को अनुसन्धान गर्न ट्रम्पको आदेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार जो बाइडेनको ह्वाइट हाउसमा रहेको समयमा उनको संज्ञानात्मक स्वास्थ्यमा आएको गिरावट लुकाउने ‘षड्यन्त्र’ भएको रिपब्लिकनहरूको दाबीको अनुसन्धान गर्न आदेश दिएका छन् ।

यो कदम ट्रम्पले आफ्ना पूर्ववर्ती राष्ट्रपतिलाई बदनाम गर्ने लामो अभियानको पछिल्लो चरण हो । यसमा रिपब्लिकन पार्टीका राजनीतिज्ञहरू र रूढिवादी मिडियामा उनीहरूका समर्थकहरू सामेल भएका छन् । तर यो डेमोक्रेटहरूको बढ्दो समूहले पूर्वराष्ट्रपति हालैका वर्षहरूमा खस्किएको देखिएको स्वीकार गर्न थालेको बेला आएको छ ।

ती चिन्ताहरू गत वर्षको राष्ट्रपतीय अभियानमा ट्रम्पसँगको बहसको प्रदर्शनले स्पष्ट रूपमा देखाएको थियो । बहसमा तत्कालीन ८१ वर्षीय बाइडेनले आफ्ना शब्दहरूमा ठेस खाएका थिए र बारम्बार आफ्नो विचारको प्रवृत्ति गुमाएका थिए ।

‘हालैका महिनाहरूमा पूर्वराष्ट्रपति बाइडेनका सहयोगीहरूले बाइडेनको संज्ञानात्मक गिरावट लुकाउन अटोपेनको प्रयोग गरेर राष्ट्रपतिको हस्ताक्षरको शक्तिको दुरुपयोग गरेको कुरा स्पष्ट हुँदै गएको छ’, बुधबार जारी गरिएको राष्ट्रपतिको ज्ञापनपत्रमा भनिएको छ, ‘यो षड्यन्त्र अमेरिकी इतिहासमा सबैभन्दा खतरनाक र चिन्ताजनक घोटालाहरूमध्ये एक हो । अमेरिकी जनतालाई उद्देश्यपूर्ण रूपमा कार्यकारी शक्ति कसले प्रयोग गर्‍यो भनेर पत्ता लगाउनबाट जोगाएको थियो, जबकि बाइडेनको हस्ताक्षर हजारौँ कागजातहरूमा कट्टरपन्थी नीति परिवर्तनहरू प्रभाव पार्न तैनाथ गरिएको थियो ।’

ह्वाइट हाउसले प्रमुख कानुन र राष्ट्रपतिको आदेशहरू अगाडि बढाउँदै गर्दा पनि बाइडेन बौद्धिक गिरावटबाट पीडित रहेको रिपब्लिकनहरूले लामो समयदेखि दावी गर्दै आएका छन् । उनीहरूले उनका कम सार्वजनिक उपस्थितिहरू, साथै अन्तर्वार्ता दिन उनको स्पष्ट अनिच्छालाई संयुक्त राज्य अमेरिकाको कमान्डर–इन–चीफको माग गर्ने काम गर्न असक्षम व्यक्तिको प्रमाणका रूपमा उल्लेख गर्छन् ।

‘राष्ट्रपतिका वकिलले महान्यायाधिवक्ता र कुनै पनि अन्य सान्दर्भिक कार्यकारी विभाग वा एजेन्सीका प्रमुखसँग परामर्श गरेर… केही व्यक्तिहरूले बाइडेनको मानसिक अवस्थाबारे जनतालाई धोका दिन षड्यन्त्र रचेका छन् र राष्ट्रपतिको अधिकार र जिम्मेवारीहरू असंवैधानिक रूपमा प्रयोग गरेका छन् कि छैनन् भनेर अनुसन्धान गर्नेछन्’, दस्तावेजमा भनिएको छ ।

अनुसन्धानले ‘बाइडेनको कार्यकालका अन्तिम वर्षहरूमा उनले गरेको भनिएका असङ्ख्य कार्यकारी कार्यहरूको वरपरका परिस्थितिहरू (सहित) अटोपेन प्रयोग गरिएका नीतिगत कागजातहरू (र) राष्ट्रपतिको हस्ताक्षर टाँस्न कसले निर्देशन दियो’ भन्ने कुराहरू पनि हेर्नेछ ।

बाइडेनको बहस प्रदर्शनले अन्ततः उनको पुनः निर्वाचनको प्रयासलाई डुबाएको थियो र मुख्य डेमोक्रेटिक पार्टीका व्यक्तित्वहरूले चाँडै उनलाई दौडबाट बाहिरिन आह्वान गरेका थिए । तर केही हप्तापछि मात्र आफ्ना आलोचकहरूलाई मौन पार्ने असफल प्रयासहरूपछि उनले प्रतिस्पर्धाबाट आफ्नो उम्मेदवारी फिर्ता लिए र आफ्ना उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बनाए । ह्यारिस अन्ततः ट्रम्पसँग पराजित भइन् ।

पूर्णपाठ आएपछि मात्रै माओवादीले अग्नि सापकोटाको मुद्दामा सर्वोच्चको आदेशबारे धारणा बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख एवं पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले दिएको आदेशकाबारेमा पूर्णपाठ आएपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ ।

बिहीबार बिहान प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकले पूर्णपाठ आएपछि मात्र धारणा सार्वजनिक गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो । बैठकपछि उपाध्यक्ष सापकोटाले बुधबार सर्वोच्च अदालतलको आदेशबारे तत्काल टिप्पणी गर्नु अपरिपक्वता हुने बताए ।

उनले त्यसबारेमा पूर्णपाठ आएपछि पार्टीले धारणा बनाउने बताए । उनले संक्रमणकालीन न्याय सम्बन्धी ऐन बनिसकेको अवस्था र दुई आयोगहरु पनि गठन भइसकेको विषयबारे सर्वोच्च जानकार रहेको बताए ।

उनले भने, ‘अहिले आ–आफ्नै ढंगले प्रचार गरिएको छ। त्यसमा सत्यता पनि छैन। पूर्णपाठ आएपछि त्यसलाई राम्ररी अध्ययन गरिसकेपछि धारणा व्यक्त गर्न ठीक हुन्छ ।’

बुधबार सर्वोच्च अदालतले सापकोटाविरुद्ध परेको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेमी, डा मनोजकुमार शर्मा र डा कुमार चुँडालको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गर्दै रोकिएको प्रक्रियामा अनुसन्धान अघि बढाउन आदेश गरेको दिएको हो ।

पूर्वसभामुख सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोपमा लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

सशस्त्र द्वन्द्वकालको मुद्दासँग जोडिएको यस मुद्दामा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पूर्णिमायाले सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । सर्वोच्च अदालतबाट २०६४ फागुन २७ मा पूर्णिमायाको रिट निवेदनमा जाहेरी दर्खास्त दर्ता गरी कानुनबमोजिम अरू कारबाही गर्नु भन्ने आदेश भएको थियो ।

बागलुङको बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

बागलुङ । बागलुङका दुई बजारको फोहर व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहर व्यवस्थापन हुन नसकेको हो । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङमा तीव्र गतिमा बजारीकरण भइरहेको छ, तर सही रुपमा फोहर व्यवस्थापन नहुँदा वातावरणनै प्रदूषित हुने गरेको छ ।

दक्षिण बागलुङको बजारका रुपम विकास हुँदै गएको कुश्मिसेराको फोहर अहिले जैमिनीधाम जाने सडक छेवैमा डम्पिङ हुँदै आएको छ । यसका कारण त्यस क्षेत्रमा दुर्गन्धित फैलिएको छ । नगरपालिकाले यसको व्यवस्थापन गर्न सकेको छैन । फोहरको दुर्गन्धका कारण यात्रु समस्यामा परेका छन् ।

बुर्तिबाङ बजारको फोहर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ । झण्डै ८ वर्षदेखि बाघखोरमा नगरपालिकाले फोहर फाल्दै आएको छ ।

नगरपालिकाले बाघखोरमा व्यवस्थापन गरेको फोहर ठूलो वर्षा हुँदा बगेर तमानखोलामा पुग्ने गरेको छ । फोहरले तमानखोला र भूजीखोलासमेत दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ । अहिले फोहर व्यवस्थापन गर्दै गरेको स्थान बुर्तिबाङ–तमानखोला सडक छेउमै पर्छ ।

सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ । सडकमा दैनिक सयौँ यात्रु आवतजावत गर्छन् ।
नगरपालिकाले खोला छेउमा फोहर थुपारेर दैनिक आगो लगाउँदा धुँवाले सडकमा यात्रा गर्न गाह्रो हुने स्थानीय तेजबहादुर विकले बताए । गर्मीको समय फोहर कुहिएर टाढासम्म गन्ध आउने गरेको उनको भनाइ छ । यस ठाउँमा फोहर सही रुपमा व्यवस्थापन हुन नसक्दा हैजा फैलिने जोखिम बढेको विक बताउँछन् ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले फोहर व्यवस्थापनका लागि जग्गा खोज्न सुरु गरेको बताए । वर्षौँदेखि नै यहाँ फोहर फालिँदै आएको भन्दै नयाँ सहर आयोजनासँग सहकार्य गरेर ‘डम्पिङसाइड’ निर्माण गर्ने उनको भनाइ छ । सङ्घीय सरकारले फोहर व्यवस्थापनका लागि ८७ लाख विनियोजन गरेको भन्दै जग्गा व्यवस्थापन हुनासाथ अहिलेको ठाउँबाट फोहर हटाउने उनी बताउँछन् ।

कुश्मिसेराको फोहर व्यवस्थापनका लागि जग्गाकै समस्या छ । नगरपालिकाले जग्गा खोजीरहेको भन्दै गरे पनि अहिलेसम्म पार्यप्त पाउन नसक्दा फोहर व्यवस्थापनमा ढिलाइ भएको उपप्रमुख हरिहर शर्माले बताए ।

औद्योगिकग्रामका लागि करिब एक सय रोपनी र फोहरका लागि १५ रोपनी जग्गा आवश्यक परेको उनको भनाइ छ । दुईवटै संरचनाका लागि जग्गा प्राप्त गर्नासाथ फोहर व्यवस्थापन हुने उपप्रमुख शर्मा बताउँछन् ।

उपप्रमुख शर्माले भने,“फोहर व्यवस्थापन गर्नतर्फ हामीहरु गम्भीरनै छौँ, साँघुरो ठाउँमा पर्याप्त जग्गा नपाउँदा समस्या भएको छ, केही ठाउँमा जग्गा पाइए पनि आवश्यक अनुसारको पुगेन, यद्दपि हामीहरुले विभिन्न ठाउँमा जग्गा हेर्ने र प्राप्त गर्नका लागि पहल गरिरहेका छौँ, अहिले व्यवस्थापन गर्दै आएको ठाउँमा उचित नहुँदा नहुँदै पनि बजारको फोहरलाई व्यवस्थापन गरि रहेका छौँ ।”

संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने भएको छ । बिहीबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको हैसियतले संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न अधिकतम जोड हुने उनले बताए । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने अडानमा भने आफूहरु कायमै रहेको बताए ।

यसका लागि सरकारले सत्तापक्ष र प्रतिपक्षी अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत मुछिएको भन्दै उनको राजीनामा माग्दै माओवादीसहित प्रतिपक्ष दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । जसका कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।

युक्रेनी ड्रोन आक्रमणको बदला लिने पुटिनको चेतावनी

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट रूसी एयरबेसहरूमा भएको ड्रोन आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको बताएका छन् ।

ट्रम्पले पुटिनसँग एक घण्टाभन्दा लामो फोन संवादपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, ‘राष्ट्रपति पुटिनले एयरफिल्डहरूमा भएको हालको आक्रमणको जवाफ दिनैपर्ने बताएका छन्।’

यद्यपि, रूसी अधिकारीहरूले यस कुराको औपचारिक पुष्टि गरेका छैनन्। तर मस्कोले यसअघि सम्भावित सैन्य प्रतिक्रियालाई अस्वीकार नगरेको स्पष्ट पारिसकेको छ ।

रूसी समाचार एजेन्सी रिया नोभोस्तीका अनुसार, पुटिनले ट्रम्पलाई युक्रेनले शान्तिवार्ता विफल बनाउन खोजेको र किभको सरकार ‘आतङ्कवादी संगठन’मा परिणत भएको आरोप लगाएका छन् ।

त्यस्तै, दुवै नेताबीचको संवादले अमेरिका र रूसबीच पुनः सहकार्य सुरु गर्ने विषयमा ‘सकारात्मक सम्भावना’ रहेको उल्लेख गरिएको छ ।

यो संवाद युक्रेनले जुन १ मा रूसी एयरबेसहरूमा ड्रोनमार्फत हमला गरेको केही दिनपछि भएको हो । युक्रेनले ती आक्रमणहरू रूसी परमाणु क्षमतायुक्त बमवर्षकहरूलाई लक्षित गरेर गरिएको बताएको छ ।

फोनवार्तामा ट्रम्पले उक्त आक्रमणको पूर्वजानकारी अमेरिकालाई नदिइएको भन्ने पुटिनलाई स्पष्ट पारेको रूसी राष्ट्रपतिको कार्यालयका सल्लाहकार युरी उशाकोभले बताएका छन् ।

युक्रेनका रणनीतिक उद्योग मन्त्री युरी साकले अमेरिका थप प्रतिबन्ध र दबाबमार्फत रूसी आक्रमणको जवाफ देओस् भन्ने अपेक्षा गरिएको बताएका छन्।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भनेका छन्, ‘धेरै वार्ताहरू भए, तर तीमध्ये कुनैले शान्ति ल्याउन सकेन। यदि विश्वले पुटिनका धम्कीलाई कमजोर प्रतिक्रिया दिन्छ भने, उनले त्यसलाई आँखा चिम्लिएको रूपमा बुझ्छन्।’

यही साता, इस्तानबुलमा युक्रेन र रूसबीच भएको दोस्रो चरणको वार्ता कुनै ठोस सहमतिबिना टुंगिएको थियो । यद्यपि, युद्धबन्दीहरूको आदानप्रदानमा सहमति जुटेको थियो ।

यता, ट्रम्पले अघिल्लो साता पुटिनलाई दुई साताभित्र शान्तिवार्तामा ठोस प्रगति नभए अमेरिकाले आफ्नो नीति परिवर्तन गर्ने संकेत गरेका थिए। तर उनले आफ्नो पछिल्लो पोस्टमा भने उक्त समयसीमा वा आलोचनाको उल्लेख गरेका छैनन् ।