`

सप्तरी-सिरहा सडकको नयाँ ट्रयाक खुल्दै

सिरहा । सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हुँदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्रयाक तीव्र गतिमा खोल्न थालेको छ । करिब १७ किलोमिटर लामो सडक पूर्व–पश्चिम राजमार्गदेखि चुरे पहाड हुँदै गाईघाट पुग्ने छ ।

सडक सुरु हुने बित्तिकै दुवैतर्फ व्यापार व्यवसायमा ठूलो फरक पर्ने व्यवसायीको भनाइ छ । स्थानीय व्यापारी राजेश यादवले बाटो खुलेसँगै ढुवानीको समस्या नहुने बताए । पहाडको उत्पादन तराईतर्फ र तराईको उत्पादन पहाड पठाउन सजिलो हुने उनको भनाइ छ ।

युवा तथा खेलकुद विकासमन्त्री एवं सप्तरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद तेजुलाल चौधरीले सडक निर्माण कार्यको शिलान्यास शुक्रबार गरेका थिए । उनले सहरीकरणका कारण जनघनत्व बढ्दै गएको हुँदा सवारी साधन आवागमनमा सहजताका लागि नयाँ ट्रयाक खोल्न थालिएको बताए ।

मन्त्री चौधरीले पहाडबाट सिधैँ तराई आउनेका लागि कल्याणपुर बजार राम्रो गन्तव्य बन्ने बताए । यहाँका स्थानीयका लागि आफ्नै व्यापार र कृषि उत्पादनका सामग्री सजिलै ओसारपसार गरी आयआर्जन बढाउन सक्ने उनको भनाइ छ ।

चालु आवमा सङ्घीय सरकारले विनियोजन गरेको रु आठ करोड ४५ लाख २० हजार ८५० बजेटबाट मिसन कन्ट्रक्सन एण्ड स्पलार्यस प्रालि काठमाडौँले रु चार कारोड ४० लाख नौ हजार ४३९ भ्याटसहित ठेक्का सम्झौता गरेको छ । विसं २०८२ वैशाख २५ गते सम्झौता भई असार ३० गतेसम्म कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर चन्द्रकान्त चौधरीले जानकारी दिए ।

उहाँले सडकमा पर्ने रूख काट्न वन कार्यालयले स्वीकृति समयमा नदिँदा सडक निर्माण कार्य बढाउन ढिलाइ भएको बताए । वन कार्यालयले सडकमा पर्ने रुख काट्न स्वीकृति दिएसँगै सडक निर्माण कार्य तीव्रता पाएको छ । मिसन कन्ट्रक्सन एण्ड स्पलार्यस प्रालि काठमाडौँका प्रतिनिधि इञ्जिनियर सुरेन्द्र जैसवालका अनुसार १० मिटर चौडाइको सडकको ट्रयाक खुल्न लागेको हो ।

उनका अनुसार अहिले नयाँ ट्रयाक खोल्ने र सडकलाई बाढीपहिरोबाट बचाउन पलम कन्ट्रिक वाल, गाविन र कच्ची नाला निर्माणको काम हुने छ । उनले भने, ‘हामी तीव्र गतिमा सडकको ट्रयाक खाल्ने काम गरी रहेका छौँ, मौसमले साथ दिए समयमै काम सकाउने छौं ।’

नयाँ सडकको ट्रयाक खुल्ने भएपछि स्थानीय खुसी भएका छन् । कल्याणपुर बजारका सञ्जु चौधरीले भने, ‘ट्रयाक खोल्ने काम सकिए लगतै समयमा नै सरकारले कालोपत्रेका लागि बजेट विनियोजन गरिदियो भने हामी फिलिली घरबाट छोटो समयमा गाईघाट पुग्ने छौं ।

सशस्त्र प्रहरीद्वारा वीरगंजमा कुखुराका चल्ला बरामद

वीरगञ्ज। सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रुपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको ७५ कार्टनु अर्थात् सात हजार ५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बरामद भएको प्रतिबन्धित कुखुराको चल्लालाई क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको जानकारी दिए ।

सो चल्ला पैठारी कार्यमा प्रयोग भएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

विश्वमा खाद्य मूल्यमा सामान्य गिरावट

रोम । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जानकारी दिएको अनुसार मे महिनामा विश्वव्यापी खाद्य मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको छ । यो कमी विशेष गरी तरकारी तेल तथा चिनीको मूल्यमा आएको उल्लेखनीय गिरावटका कारण भएको हो ।

एफएओका अनुसार अन्न तथा अन्नजन्य वस्तु, जुन सूचकाङ्कको सबैभन्दा ठूलो हिस्सा हो, त्यसमा १.८ प्रतिशतको गिरावट आएको छ । अर्जेन्टिना र ब्राजिलमा राम्रो मकै उत्पादन हुनुका साथै गहुँको माग घटेकाले मूल्य घटेको हो । यद्यपि, इन्डिका चामलको माग वृद्धि तथा अमेरिकी डलर कमजोर भएकाले चामलको मूल्य भने केही वृद्धि भएको देखिएको छ ।

मासु तथा दूधजन्य वस्तुको मूल्यमा वृद्धि

मासुको मूल्य १.३ प्रतिशतले बढेको एफएओले जनाएको छ । गाई, सुँगुर र भेडाको मासुमा माग बढे पनि कुखुराको मासुको मूल्य केही घटेको हो, जुन केही बजारहरूमा पन्छी रुघाखोकीका कारण चिन्ता बढेकाले भएको हो । जर्मनीका उत्पादनकर्ताहरूमा लागेको रोग नहटेसँगै उनीहरू फेरि निर्यात बजारमा फर्किएका छन्, जसका कारण सुँगुर मासुको मूल्यमा वृद्धिको देखिएको हो ।

दूधजन्य वस्तुहरूको मूल्यमा पनि ०.८ प्रतिशतले वृद्धि भएको छ । एसियाबाट भएको उच्च मागले घ्यू, चिज तथा सम्पूर्ण दूध पाउडरको मूल्यमा उचालो आएको छ ।

तरकारी तेल र चिनीमा सबैभन्दा धेरै गिरावट

तरकारी तेलको मूल्य ३.७ प्रतिशतले घटेको छ, यद्यपि यो अघिल्लो वर्षको तुलनामा अझै पनि १९.१ प्रतिशतले माथि छ । पाम, तोरी, सोया र सूर्यमुखी तेलहरूको उत्पादन वृद्धि तथा केही देशहरूमा माग घटेका कारण मूल्यमा कमी आएको हो ।

यसैगरी, चिनीको मूल्य २.६ प्रतिशतले घटेको छ । विश्वव्यापी व्यापारको अनिश्चित अवस्थाका कारण खाद्य तथा पेय पदार्थ उद्योगमा माग घट्दा चिनीको मूल्यमा कमी आएको एफएओले जनाएको छ ।

म्यान्माको सैनिक शासनद्वारा श्रमिक अधिकारसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव खारेज

बैंकक । म्यान्माको सत्तारूढ सैनिक सरकार (जुन्टा) ले राष्ट्रसङ्घ अन्तर्गतको श्रम संस्था (अन्तर्राष्ट्रिय श्रम स्गठन) ले पारित गरेको श्रम अधिकारसम्बन्धी प्रस्तावलाई शनिबार खारेज गरेको छ । उसले उक्त प्रस्तावलाई ‘राजनीतिक उद्देश्यले प्रेरित’ भएको आरोप लगाएको छ ।

श्रम सङ्गठनले बिहीबार आफ्नै नियमावलीको ३३ औं धारामा आधारित उपाय अपनाउँदै म्यान्माको सैनिक प्रशासनमाथि प्रतिबन्धसमेत लगाउन सकिने सङ्केत दिएको थियो । सो धारामा उल्लिखित व्यवस्थाहरू अत्यन्त गम्भीर मानव तथा श्रमिक अधिकार उल्लङ्घन भएको अवस्थामा लागू गरिन्छ ।

सङ्गठनले सबै सदस्य राष्ट्रहरूलाई म्यान्मासँगको सम्बन्धले ‘कुनै पनि रूपमा श्रमिकहरूको स्वतन्त्र सङ्गठन गर्ने अधिकार र जबर्जस्ती श्रमको उल्लङ्घनलाई प्रोत्साहन र निरन्तरता दिनु हुँदैन’ भनी आह्वान गरेको छ ।

साथै, अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि ‘सैनिक शासन अन्तर्गत श्रमिक अधिकारको उल्लङ्घनमा प्रत्यक्ष वा परोक्षरूपमा सहयोग पु¥याउने कुनै पनि कार्य’ रिपोर्ट गर्न अनुरोध गरिएको छ ।

यसका जवाफस्वरूप म्यान्माको श्रम मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै सो प्रस्ताव ‘न्यायपूर्ण र निष्पक्ष नभएको’ बताउँदै त्यसलाई ‘राजनीतिक धारणाबाट प्रेरित’ भनिएको छ ।

सन् २०२३ मा गरिएको राष्ट्रसङ्घीय अनुसन्धानमा म्यान्माको सेनालाई श्रममा जबर्जस्ती प्रयोग नगर्न र श्रमिक सङ्गठनकर्मीहरूमाथिको हिंसा तुरुन्त रोक्न आग्रह गरिएको थियो ।

उक्त प्रतिवेदनमा श्रमिकको स्वतन्त्रता र जबर्जस्ती श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूको व्यापक उल्लङ्घन भएको ठहर गरिएको थियो ।

बिहीबार पारित भएको प्रस्तावमा म्यानमाका सैन्य शासकहरूले ती सिफारिसहरूलाई गम्भीर रूपमा ग्रहण नगरेको र कार्यान्वयनका कुनै स्पष्ट सङ्केत नदिएको भनिएको छ ।

तर म्यान्माले भने आफूले ती सिफारिसहरूलाई कार्यान्वयन गर्दै आएको, निरन्तर प्रगति भइरहेको, तर श्रम संस्थाले ती प्रयासहरूलाई बेवास्ता गरेको आरोप लगाएको छ ।

आशिया प्रशान्त क्षेत्रका श्रमिक सङ्गठनहरूको महासङ्घका अनुसार, श्रम संस्थाले आफ्नो सय वर्षे इतिहासमा केवल तेस्रो पटक यस्तो कठोर धारामा आधारित उपाय अपनाएको हो ।

सन् २०२१ मा प्रजातान्त्रिक सरकार प्रमुख आङ सान सु चीलाई हटाएर सैनिकले सत्तामा कब्जा जमाएपछि म्यान्मामा निरन्तर द्वन्द्व, दमन र श्रमिक अधिकार उल्लङ्घनको अवस्था जारी रहेको छ ।

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल

न्युयोर्क । संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । साथै, राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताहरूको आत्मविश्वास बढाएको देखिएको छ ।

डाउ जोन्स औद्योगिक सूचकाङ्क ४४३.१३ अङ्कले (अथवा १.०५ प्रतिशतले) बढेर ४२ हजार ७६२.८७ मा पुग्यो । एस एन्ड पी ५०० सूचकाङ्क ६१.०६ अङ्कले (१.०३ प्रतिशतले) उकालो लाग्दै पहिलो पटक ६ हजार माथि पुगेको हो । यस्तै, नासडाक सूचकाङ्क पनि २३१.५० अङ्कले (१.२० प्रतिशतले) वृद्धि भएर १९ हजार ५२९.९५ मा पुग्यो ।

रोजगारी प्रतिवेदनले आशा देखायो

अमेरिकी श्रम विभागले मे महिनामा एक हजार ३९ हजार रोजगारी सिर्जना भएको जनाएको छ, जुन विश्लेषकहरूले अनुमान गरेको एक लाख २५ हजार भन्दा धेरै हो । बेरोजगारी दर भने ४.२ प्रतिशतमै स्थिर रहेको छ । यसले श्रम बजार अझै सशक्त रहेको सङ्केत दिएको छ, यद्यपि विश्व व्यापारमा अनिश्चितता कायमै छ । बैङ्क अफ अमेरिकाका अर्थशास्त्रीहरूका अनुसार, रोजगारीका तथ्याङ्कहरू ‘मजबुत मात्र होइन, अत्यन्तै सकारात्मक’ छन् । त्यसैले सङ्घीय रिजर्भ बैङ्क तत्काल ब्याजदर कटौती नगरी मूल्याङ्कन गर्ने अवस्थामा रहन सक्ने देखिन्छ ।

आप्रवासनमा गिरावट अर्थतन्त्रका लागि चिन्ताजनक

डोयच बैङ्कका अनुसार, आप्रवासनको तीव्र गिरावटले दीर्घकालीन रूपमा अमेरिकी अर्थतन्त्रमा व्यापार नीतिहरूभन्दा ठूलो प्रभाव पार्न सक्छ । गत वर्षहरूको तुलनामा आप्रवासन ९० प्रतिशतभन्दा बढी घटेको र यसले श्रम बजारमा करिब २० लाख जनशक्ति अभाव गराएको उल्लेख गरिएको छ ।

पूर्वयुवराज्ञी हिमानी जुम्लामा

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र जुम्ला पुगेका छन् । जुम्लाको गुठीचौर गाउँ विकास समितिको मणिसाँघुमा नयाँ प्रसूति केन्द्रको शिलान्यास गर्न शनिबार दिउँसो जुम्ला पुगेका हुन् । जुम्ला विमानस्थल पुग्दा उनीहरुलाई भव्य स्वागत गरिएको थियो ।

बाजुरामा आगलागीबाट ३५ पसलमा आठ करोड भन्दाबढीको क्षति

बाजुरा । शुक्रबार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन् । आगलागीबाट ३५ पसलको क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

उनकाअनुसार प्रहरीले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण सङ्कलन गरेको उक्त पसलको आठ करोड ७७ लाख ६५ हजार क्षति भएको बताए । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको एक करोड ८० लाख क्षति भएको पाइएको छ ।

यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको एक करोड ५० लाख, छत्र थापाको एक करोड ५० लाख र धनबहादुर साउदको एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले सङ्कलन गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।

आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन । आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुुस्तक पसल र होटल जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ । आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।

शुक्रबार अपराह्न ३ः३० बजे ग्यास सिलिण्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नी नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरुले गुनासो गरेका छन् ।

“स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने थियो”, पीडित छत्र थापाले भने । आगलागीबाट पीडितहरुको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई राहत र पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रदेश र सङ्घ सरकारसँग पीडितलाई राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

शुक्रबार आगलागी भएपछि सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेको उनको निजी सचिवालयले जनाएको छ । मन्त्री पाण्डेले आगलागीको क्षतिको अनुगमन गर्ने र उनीहरुका गुनासा सुन्ने गरी प्रभावित क्षेत्रमा पुगेको सचिवालयले जानकारी दिएको छ ।

संविधान संशोधन गर्नुअघि राजनीतिक नेतृत्व सुध्रिनुपर्छः पूर्वमन्त्री किराती(अन्तरवार्ता)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री सुदन किरातीले तीव्र आर्थिक विकासका माध्यमबाट जनताको अवस्था परिवर्तन गर्न शासकीय भूमिकामा रहेका राजनीतक दल र तिनका नेताले आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् । उनी राजनीतिक नेतृत्वको कार्यशैली सुधार नहुने हो भने जुनसुकै व्यवस्था भए पनि जनआस्थामा तात्विक परिवर्तन नआउने बताउँछन् ।

सांसद किरातीले भन्छन्,’यही व्यवस्थामा पनि धेरै सुधार गर्न सकिन्छ । मैले बारम्बार भन्ने गरेको छु– संविधान संशोधन होइन, पहिला हाम्रो ‘दिमाग’ संशोधन गरौँ । त्यसपछि मात्रै संविधान संशोधनतर्फ लागौँ । जुनसुकै शासनव्यवस्था भए पनि अन्ततः हाम्रो कार्यशैली नसुध्रिने हो भने त्यसले तात्विक भिन्नता दिँदैन । पहिला हामी सुध्रिनुपर्छ ।’

किराती प्रतिनिधिसभा निर्वाचन, २०७९ मा भोजपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् । यसअघि २०७४ सालमा पनि सांसद उनी पहिलो संविधानसभा निर्वाचन २०६४ मा भोजपुर निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका थिए । विसं २०४५ देखि विद्यार्थी राजनीतिमा होमिएका उनी तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सहभागी हुँदा २३ महिना जेल परेका थिए । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीसँग राष्ट्रिय समाचार समिति (रासस)का उपसम्पादक कुम्भराज राई र समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः

तपाईंलाई भोजपुरका जनताले पटकपटक निर्वाचनका माध्यमबाट अनुमोदित गरिरहनुभएको छ । पछिल्लो डेढ दशकको अवधिमा जनताको अपेक्षा पक्कै पनि परिवर्तन भइरहेका होलान्, जनताको अपेक्षा केकस्ता पाउनुभएको छ ?

समयसँगै अपेक्षाहरु पनि परिवर्तन हुँदोरहेछ । प्रविधिले खुला संसार बनाइसकेपछि अपेक्षाहरु धेरै नै छ । साँच्चै भन्नुपर्छ, जनताको अपेक्षाअनुसार काम गर्न सकिएको छैन । समयअनुसार काम त गरिराखिएको छ, तर यो दुनियाँलाई हेरेर र भोगेर अनुभवसहित नागरिक आफ्नो देश फर्केका छन् । त्यो अपेक्षालाई चाहिँ पूरा गर्न सकिएको छैन । आवश्यकता र बाध्यताभन्दा पनि धेरै अपेक्षा छ ।

डेढ दशकअघि र अहिलेको अपेक्षामा के अन्तर छ ?

एउटा गाउँपालिकामा चार-पाँच हजारसम्म सडक खनिएका अवस्था छ । ती सबै कालोपत्र होस् भन्ने जनताको अपेक्षा हुने नै भयो । गाउँमा दुई-तीन घण्टा हिँडेपछि मात्रै घर भेटिन्छन् । त्यहाँ सय-डेढ सय खम्बा गाडेर बिजुली लैजानुपर्नेछ । सडक, विद्युत्लगायत अपेक्षा पूरा गर्न हरसम्भव कोसिस भइरहेकै छ । तर अपेक्षा उच्च छ, त्यो देशको अहिलेको सामथ्र्यले पूरा गर्न सक्दैन । देशमा योजनाबद्ध विकासको लय छैन । नेपाली सापेक्षतामा पनि छैन । धेरै कुराहरु विकासको यो अन्तरविरोधभित्र जेलिएको छ ।

पछिल्लो समय विकास गाउँतर्फ लम्कँदै छ । तर मान्छे गाउँ बस्न छाडे । तपाईंले समाजको अन्तरविरोधका बारेमा गहिरोसँग अध्ययन गर्नुभएको छ । किन यसो भइरहेको छ ?

यो खुला विश्व हो । संसारभर पुगेर नेपालीले काम गर्नसक्ने वातावरण बनेको छ । वैदेशिक यात्रा रोकेर रोकिँदैन । सुविधाको खोजीमा बसाइँ सर्दै जाने मनोविज्ञानले पनि काम गरेको छ । अहिले भइरहेको पूर्वाधार चार दशकअघि गाउँमा पुगेको भए गाउँबाट यति धेरै मान्छे बसाइँ जाँदैनथे । किन भने त्यो बेला विदेश जाने चलन नै थिएन । स्वाभाविक रुपमा मान्छे उत्पादन र व्यवसायमा लाग्थ्यो । त्यो जरा उखालेर हिँड्न समय लाग्थ्यो । कतिपय मान्छे आफ्नो खुट्टामा उभिइसकेका हुन्थे । अहिले गाउँमा सडक पूर्वाधारलगायत सेवा सुविधा लैजाँदा बसाइँ सर्नु र विदेश जानुका निम्ति सजिलो जस्तो मात्रै भइरहेको छ । अनियन्त्रित बसाइँसराइ रोक्नुको निम्ति गुणस्तरीय शिक्षा र स्वास्थ्य, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरणका लागि बजार निर्माण गर्ने बाटोमा अघि बढ्यौँ भने बसाइँसराइँ रोक्न सक्छौँ । अन्यथा यो रोकिने स्थिति देखिँदैन ।

सुशासन, आर्थिक समृद्धि, सामाजिक न्याय, सन्तुलित विकासमार्फत जनअपेक्षा पूरा गर्ने जिम्मेवारी त आखिर राजनीतिज्ञ र दलहरुको नै होइन र ? जनतामा केही हदसम्मको असन्तुष्टि देखिएको छ । त्यही असन्तुष्टिलाई देखाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि नै प्रश्न उठाउन थालिएको छ नी ? जनप्रतिनिधिका रुपमा तपार्ईंले कस्तो महसुस गरिरहनुभएको छ ?

गणतान्त्रिक व्यवस्थाको डेढ दशकको दौरानमा केही व्यक्तिमा व्यवस्थाप्रति भन्दा पनि व्यवस्था सञ्चालन गर्ने व्यक्तिको प्रवृत्तिका कारण सिर्जना भएको वितृष्णा जस्तो लाग्छ । धमिलो पानीमा माछा मार्नेले व्यवस्थामाथि प्रहार गरेर सडकमा विषवमन गरिरहेका छन् । त्यो चाहिँ व्यवस्थाविरुद्ध भन्दा पनि हाम्रो चरित्र माथि नै प्रश्न उठाएको जस्तो लाग्छ । एउटा हाम्रो चरित्रका कारण त्यो प्रश्न उठ्यो, अर्को खुला विश्वमा विश्वको विकसित देशसँग तुलना गरेर आफ्नो चित्त नबुझेर केही वितृष्णा देखिएको जस्तो लाग्छ ।

नागरिकलाई कसरी विश्वस्त बनाउने त ?

अहिलेको एक मात्र अचुक औषधि भनेको दलहरु र दललाई सञ्चालन गर्ने नेताहरु, हामी कार्यकर्ताहरु सुध्रिनुको अर्को विकल्पै छैन । राजनीतिक नेतृत्वमा इमान्दारिताको खडेरी देखिँदा पनि कहीँनकहीँ प्रश्न उठिरहेको छ ।

करिब एक वर्षअघि संविधान संशोधन गर्ने मुख्य एजेण्डासहित नेपाली कांग्रेस र नेकपा (एमाले)ले सत्ता गठबन्धन निर्माण गरेको थिए । भलै अहिले संविधान संशोधन विषय ओझेलमा परेको छ । संविधान संशोधनमार्फत जनतामा देखिएको असन्तुष्टि सम्बोधन गर्न सकिन्छ ? 

एकैचोटी सबै कुरा सम्बोधन गर्न खोजियो भने त्यो ‘पाण्डुरा बक्स’ खोलेजस्तो हुनसक्छ । तर संविधान संशोधन गर्दा अग्रगमनको निम्ति राजनीतिक सहमतिद्वारा जनताको गुनासालाई सम्बोधन गर्न सकिन्छ । हामीले हाम्रो चरित्र सुधारेनौँ भने संविधान संशोधन गरेर मात्रै हुँदैन । अहिलेकै व्यवस्था पनि त्यति खराब जस्तो मलाई लाग्दैन । यही व्यवस्थामा पनि धेरै सुधार गर्न सकिन्छ । मैले बारम्बार भन्दै आएको छु– संविधान संशोधन होइन, पहिला हाम्रो ‘दिमाग’ संशोधन गरौँ । त्यसपछि मात्रै संविधान संशोधनतर्फ लागौँ । जुनै व्यवस्था लिए पनि अन्ततः हाम्रो चरित्र नसुध्रिने हो भने त्यसले तात्विक भिन्नता दिँदैन । पहिला हामी सुध्रिनुपर्छ । अग्रगमन र नागरिकलाई अधिकार सम्पन्न बनाउनका निम्ति संविधान संशोधन गर्न सकिन्छ ।

पछिल्लो आमनिर्वाचनबाट गठन भएको संसद् अहिले कताकता रुमलिइरहेको छ । अहिले तपाईँ सांसदका रुपमा क्रियाशील रहँदा आफ्नो भूमिकाप्रति कति सन्तुष्ट हुनुहुन्छ ? 

संविधानसभाबाट जारी भएको नेपालको संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई ‘ओदान’को तीन खुट्टा झैँ मानेको छ । व्यवस्थापिका भनेको बाटो बनाउने, कार्यपालिका भनेको त्यो बाटोमा गाडी कुदाउने र न्यायपालिका भनेको ट्राफिकको काम गर्ने हो । तर बिडम्बना हाम्रोमा तीनै अङ्गले प्रभावकारी काम गर्न सकेका छैनन् । वास्तवमा भन्नुपर्दा म  सन्तुष्ट छैन । संसद् ताली बजाउने थलो जस्तो मात्रै भएको छ । जनताले पनि सांसद नीति निर्माण गर्न गएको होइन, उसले विकास गर्नुपर्छ भनेर अपेक्षा राखिदिने, कसरी कानुन बन्छ भन्ने कुरा नबुझिदिने, कानुन निर्माण गर्दा हाम्रो पक्षमा, हाम्रा प्रतिनिधिले वकालत गरोस् भन्नेतर्फ जनताले नबुझिदिने परिबन्धभित्र हामी सांसद छौँ । सबैभन्दा बढी पीडा छ भने त्यो सांसदहरुलाई नै छ ।

तपाईं निर्वाचित भएर आउनुभएको पनि साढे दुई वर्ष पुग्यो । २०७२ सालमा संविधान जारी भयो, तर संविधान कार्यान्वयनसँग जोडिएका विद्यालय शिक्षा, सङ्घीय निजामती र प्रहरीसम्बन्धी विधेयक अझै बन्न सकेका छैनन् । यी महत्वपूर्ण कानुन नबन्नुमा कहाँनेर कमजोरी भइरहेको छ ?

यसमा दलीय स्वार्थ र चिन्तन नै हाबी छ । जस्तो विद्यालय शिक्षासँग सम्बन्धित ऐन किन फेर्न सक्दैनौँ त ? भन्दा हिजो निःशुल्क शिक्षाको कुरा उठाएको हो । तर हामी यसरी बिग्रेर गयौँ कि अधिकांश नेता र प्रभावशाली कार्यकर्ताले निजी शिक्षामा लगानी गरेका छन् । त्यसको प्रभाव दलमा परेको छ । देश र जनतालाई केन्द्रमा राखेर त्यसको हितका निम्ति बल गर्ने भन्दा पनि हामीले आज ल्याउने ऐनले हाम्रा नेता र कार्यकर्ताले गरेको लगानी के हुन्छ ? हाम्रो पार्टी र भोट कतातर्फ जान्छ भन्ने चिन्तनले नै आज शिक्षाजस्तो महत्वपूर्ण विधेयक बनाउन सकिरहेका छैनौँ । शिक्षा, स्वास्थ्य, निजामती, प्रहरी, प्रदेश समन्वयसम्बन्धी ऐन अझै बनाउन सकिरहेका छैनौँ । हामीलाई अधिकार दिन गाह्रो लाग्छ, किनभने हामी दिनेभन्दा पनि लिने संस्कृतिबाट ग्रसित छौँ ।

यो संस्कृति कहिले बदलिन्छ ? कसले बदल्ने ?

आज हामीले मानेको ‘आइकन’ले चालेको कदम नै भोलि संस्कृति बन्दोरहेछ । आज हामीले गरेको काम नै भोलिको संस्कृति हो । तर आज हामीले त्यो संस्कृति कसरी निर्माण गर्ने भन्नेतिर त्यति धेरै चिन्ता छैन । आजको दिन कसरी राम्रो हुने, अहिलेको अवस्थामा म कसरी सुरक्षित हुने भन्ने मात्रै होडबाजी छ । मैले आज चालेको कदमले अबको २० वर्ष पछि त्यसले के प्रभाव दिन्छ भन्ने हेक्का नराखेजस्तो छ । के हामीले नबुझेरै होला त ? बुझेर पनि हामीले गर्न सकेको छैनौँ । त्यो संस्कृति तोड्नका लागि ठूलो आँट र जोखिम मोल्नुपर्नेछ । त्यसो गर्न सकेनौँ भने यस्तै रहिरहनेछ ।

मुलुकमा राजनीतिक परिवर्तन ल्याउनका लागि एकभएर लडेका दलहरुबीच पछिल्लो समय स–साना विषयले दूरी बढाउँदै छन् । मुलुकलाई पछाडि फर्काउने चाहने शक्तिहरुले त्यही ‘स्पेस’मा खेल्न खोजिरहेको देखिन्छ ? दलहरुको गतिविधिले नै त्यसलाई प्रेरित गरेको जस्तो लाग्दैन ? 

संविधान निर्माणसँगै दलहरुका बीचमा समीक्षा हुनुपथ्र्यो । अथवा संविधान निर्माणअघि नै हामीले त्यो ‘बटमलाइन’ बनाउनुपथ्र्यो । हामी त्यहीँदेखि नै चुक्दै आयौैँ । नेपाली राजनीतिमा पछिल्लो १८ वर्षमा तीन वटा घुम्तीमा हामी चुक्यौँ । पहिलो, दलहरु मिलेर मात्रै निरङ्कुश राजतन्त्रलाई परास्त गरेका हामीले संविधान निर्माणपश्चात् गणतन्त्रलाई जवानी बनाइन्जेलसम्मका लागि सहकार्यमै आर्थिक विकास गरौँ । आर्थिक विकासको एजेण्डा तथा शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचार नियन्त्रणमा हाम्रो बटमलाइन यो हो भनेर १० देखि १५ वर्ष सहकार्य गर्छौ भनेर प्रतिबद्धता जनाउनुपथ्र्यो । हामी त्यतातर्फ नगएर सरकार ढाल्ने र बनाउनेतिर मात्रै गयौँ ।

दोस्रो, शान्ति प्रक्रियामा हस्तक्षर गर्ने दुई पक्ष माओवादी र कांग्रेस थियो । अरु नमिले पनि यी दुई पार्टीले देशको आर्थिक विकासको जग १० वर्षमा बनाउने गरी वाचा गर्नुपर्नेथ्यो । त्यहाँ पनि चुकियो ।

तेस्रो, देशका ठूला कम्युनिष्ट पार्टी माओवादी र एमाले एक भयौँ । एउटा गतिमा नपुग्दै फुट्यौँ । फुट्नु हाम्रो गल्ती भयो । यसबाट राजनीतिक अस्थिरता भयो । अस्थिरताकै कारण असन्तुष्टि बढ्दै गयो । उक्त असन्तुष्टिलाई राजावादीले पकड्न खोज्दैछन् । यतिमै राजवादीले स्थान लिन सक्ने अवस्था देखिँदैन । तर, यस्तो बेलामा अर्को कुनै शक्ति उदाउन सक्छ ।

सरकार र राजनीतिक दलको प्राथमिकता के हुनुपर्छ ?

राजनीतिक दल र नेताले जनताको विश्वास धेरै नै गुमाएका छौँ । नेतृत्व क्षमता मात्रै होइन, जनविश्वास पनि हो । जनविश्वास नेतृत्वको आधार हो । त्यो निकै नै क्षय भएर गएको छ । मलाई के लाग्छ भने, अहिलेसम्म हामीले गरेको कमजोरीमाथि सार्वजनिक रुपमा आत्मालोचना गर्ने, अब हामी बाटो बिराउँदैनौँ, बिराउन पनि दिन्नौँ । आवश्यकता पर्छ भने गणतन्त्रका निम्ति नेतृत्व गरेको पुस्ता अभिभावका रुपमा बस्छौँ, आउने नयाँ पुस्तालाई देश हाँक्ने जिम्मा दिन्छौँ, उनीहरुलाई बाटो बिराउन पनि दिन्नौँ, हामी अभिभावकका रुपमा बस्छौँ भने मात्रै जनताले एक ‘स्टेप’ विश्वास गर्छन् जस्तो लाग्छ । अन्यथा, यही तरिकाले हो भने त अन्योल र असन्तुष्टि चलिरहन्छ ।

ढिलै भए पनि सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण भई सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोगले काम थालेका छन् । द्वन्द्वकालीन घटना निरुपणको प्रक्रिया अघि बढेका बेला न्यायालयबाट भएका केही निर्णयले कहीँकतै यी विषय प्रभावित त हुँदैनन् ?

शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्न यति लामो समय लगाउनु हुँदैनथ्यो । हाम्रो शान्तिप्रक्रियाप्रति विश्वका विभिन्न मुलुकका शक्तिहरुको ध्यानाकर्षण भएको छ । शान्तिप्रक्रियाले एउटा बाटो लिइरहेका बेलामा यसलाई शीघ्र निष्कर्षमा पुर्‍याउँदा मुलुकको हित हुन्छ ।

कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

इलाम । बुद्धिचाल खेलको विकाससँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले शनिबारदेखि कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता सुरु भएको छ ।

जिल्ला बुद्धिचाल सङ्घको आयोजना र कोशी प्रदेश बुद्धिचाल सङ्घको प्राविधिक सहयोगमा फूलमती सोङ्मीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।

सदरमुकाममा आयोजित प्रतियोगिताको इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गरे । सङ्घका जिल्ला अध्यक्ष तारानिधि घिमिरेले प्रतियोगितामा २९ विधामा पुरस्कार प्रदान गरिने बताए ।

“पुरस्कारमा मात्र एक लाख १९ हजार खर्च हुनेछ”, उनले भने । आठ विधामा हुने प्रतियोगितामा खुला प्रदेश च्याम्पियनले २० हजार पाउँदा दोस्रो, तेस्रो, चौथो र पाँचौँले क्रमशः १० हजार, रु सात हजार, रु छ हजार र रु पाँच हजार पाउनेछन् । छैटौँदेखि १० स्थानसम्मलाई जनही रु चार हजारले पुरस्कृत गरिनेछ । भेट्रान्स च्याम्पियन, फरक क्षमता र अनरेटेड च्याम्पियनले जनही रु चार हजार पाउनेछन् ।

विद्यालयस्तरीयमा प्रथमले रु तीन हजार र दोस्रोले रु दुई हजार, हिल च्याम्पियन प्रथमले रु चार हजार दोस्रोले रु तीन हजार, प्रदेशस्तरीय १६ वर्षमुनिको पुरुष र महिला च्याम्पियन रु दुई हजार पाँच सयका दरले पुरस्कृत हुनेछन् ।

इलाम प्रथमले रु चार हजार तथा दोस्रोदेखि पाँचौँ स्थानसम्मकाले रु दुई हजारका दरले पुरस्कार पाउनेछन् । स्वीस लिगअनुसार सात राउन्डमा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् । यो प्रतियोगिताका लागि पत्रकार बुद्धमाया सोङ्मीले दिवङ्गत आमा फूलमतीको सम्झनामा एक लाख नगद सहयोग गरेकी छन् ।

शेखरको प्रश्नः हामी तीन बर्षदेखि कहाँ छौं ?

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले कार्यकर्ताहरुले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताए ।

नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी भएर पनि अगाडि बढ्न नसकेको पनि उनको भनाइ छ । उनले भने, ‘अहिले हामी सबैभन्दा ठूलो पार्टी छौ । तर हामी तीन बर्षदेखि कहाँ छौं सोध्नु भयो वा सोच्नु भयो ? किन यस्तो भइरहेको छ भनेर कहिले सोच्नु भएको छ ? सबैभन्दा ठूलो पार्टी हुदाँहुँदै पनि करिब तीन वर्षदेखि केही भएको छैन भनेर कसैले कसैलाई प्रश्न गर्दैन । नेपाली काङ्ग्रेस र माओवादी मिलेर चुनाव लड्यो, माओवादी र एमालेको सरकार बन्यो । तर किन बन्यो भनेर प्रश्न गर्दैनौ । नेताहरुलाई कार्यकर्ताहरुले प्रश्न गर्न सकिदैँन भने दास हुन्छन् र तपाई हामी कसैको दास होइन् ।’

उनले आफैं बीचमा लड्ने प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाउने भन्दै काङ्ग्रेस आफैंमा चाहिँ कमजोर नभएको बताए ।

कर्मचारीलाई जनताको खाँचोका सेवामा संवेदनशील हुन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरु संवेदनशील बन्नुपर्ने बताएकी छन् ।

राहादानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई शनिबार धनगढीमा सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् ।

उनले भनिन्, “राहादानी अब नागरिकको कुनै विलासिताको वस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको छ । त्यसैले यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्ने यहाँहरु सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ । सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइ दिनुहोला ।”

उनले यस्तो संवेदनशील सेवा दिने ठाउँमा बसेका कर्मचारीहरुले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र के कसरी उनीहरुलाई छिटोछरितो र सहज सेवा दिन सकिन्छ भनेर सोच्नुपर्ने सुझाव दिइन् ।

अझ सुदूरपश्चिम तथा यस्तै दुर्गम जिल्लामा दिइने सेवालाई त झन कसरी सहज र नागरिकको पहुँचयोग्य बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको मन्त्री राणाले बताइन् ।

उनले भनिन्, “राहादानी लिनका लागि पहिलेजस्तो जटिल अवस्था अहिले छैन । तर पनि सेवा प्रदान गर्ने समय र वितरणका क्रममा केही समस्या आउने गरेका मैले सुनेकी छु । सरकारी सेवा जतिसक्दो चाँडै पाइयोस् भन्ने अपेक्षा जनताले राख्नु स्वभाविकै हो । यसै बमोजिम सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउनु सरकारको कर्तव्य हो र यसका लागि यहाँहरुकै भूमिका बढी रहन्छ ।”

मन्त्री डा राणाले राहादानीसम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरुका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गरिन् ।

उनले भनिन्, “पासपोर्टमा जनतालाई परेका समस्या र त्यसमा गर्न सकिने सुधारका लागि यहाँहरुले सरकारलाई सुझाव दिन सक्नुहुनेछ । त्यसमा सरकारले समयानुकूल सुधार गर्दै लैजानेछ ।”

काठमाडौं महानगरमा भवन खाली गराउन भन्दै सबैभन्दा बढी उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको छ ।

कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइपाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

जसमा समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर नतिरेको कारण सो तिराइ घरकोठा खाली गराइ पाउँ, सहकारीको कारण घरमा भएको क्षतिको पूर्ति गराई खाली गराइपाउँ, आफ्नो बचत समेत सहकारीमा रहेकोले सो रकम र भाडा समेत उपलब्ध गराई सहकारी हटाइ पाउँ, सहकारी कार्यालयमा घरधनीले ताला लगाइदिएको कारण कार्यालय सञ्चालन गर्न सहजीकरण गरीपाउँ, दुई प्रकारको सम्झौता खारेज गरी बहाल कर तिराइ पाउँजस्ता विवाद बढी आएका छन् ।

कामपा कार्य क्षेत्र भएर लामो समयदेखि बन्द अवस्थामा रहेका सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्रको आवश्यकता देखाउँदै उपप्रमुख डङ्गोलले विगतका समस्या दोहोरिन नदिने कार्यक्रम तत्काल थाल्नुपर्ने बताइन् ।

क्षेत्राधिकार बाँडिएको र प्राप्त अधिकारको प्रयोगका लागि निकायगत संयन्त्रका विषयमा कुरा गर्दै उनले वित्तीय व्यवस्थापनसँग सम्बन्धित सम्भावित जोखिमलाई पूर्वानुमान गरेर थप विग्रिन नदिन ‘निदानात्मक’ कार्यक्रम र आम मानिसलाई सहकारीसँग सम्बन्धित वित्तीय आचरणका विषयमा ‘सचेतनात्मक’ कार्यक्रम अहिले नै थालनी गर्न सकिने पनि बताइन् ।

सहकारीहरू सङ्कटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, ऋण लिनका लागि मात्र सदस्य बन्ने, धितो नलिई वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्ने प्रवृत्ति रहेको बताइएको छ ।

कामपाको कानुन तथा मानवअधिकार विभागका प्रमुख वसन्त आचार्यले कोठा खाली गराउनेबारे गुनासो बढ्नुको मुख्य कारणमा घर बहालमा लिँदादिँदा लिखित सम्झौता नगर्नु, लिखित सम्झौता गरे पनि सर्त स्पष्ट नहुनु, बहाल कर कम तिर्न बहाल अङ्क न्यून राख्नु वा दुइवटा सम्झौता गर्नुजस्ता समस्या देखिएको बताए ।

उनले समयमा बहाल नबुझाउनु, बहाल कर कसले बुझाउने भन्ने सम्झौतामा नखुलाउनु र खुलाएको अवस्थामा पनि सहकारी संस्थाले बहाल कर नतिर्नु, घरधनीलाई सहकारी समस्यामा छ वा बन्द हुँदैछ भन्ने जानकारी नहुनु, कार्यालय बन्द भएको सहकारीका पदाधिकारी तथा कर्मचारीसँग सम्पर्क हुन नसक्नुजस्ता समस्यासँग सम्बन्धित विवाद आउने गरेको जानकारी दिए ।

मुस्लिम धर्मावलम्बीको बकर ईद(फोटोफिचर)

काठमाडौं । मुस्लिम धर्मावलम्बीले दोस्रो महान् पर्व बकर ईद (ईद उल जोहा’ मनाउँदैछन् । रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि रहिआएको छ ।

शनिबार बिहान घण्टाघरको काश्मिरी मस्जिदमा इस्लाम धर्मावलम्बी भेला भएर सामूहिक नमाज पढेका छन् । इस्लामिक पात्रो अनुसार १२औँ महिना अर्थात् दिल हिज्जाको १०औँ दिन यो पर्व मनाउने गरिन्छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्छन् । हिजरी संवतअनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।

झापामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर शनिबार बिहान दुई बालकको मृत्यु भएको छ ।

मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए ।

शनिबार बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटल पुर्याएका थिए ।

हस्पिटलका चिकित्सकहरूले बिहान ८ः३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताए । हाल दुवै बालकको शव हस्पिटलमै रहेको छ ।

भर्जिनियामा एकै परिवारका चार नेपाली मृत फेला

भर्जिनिया । अमेरिकाको भर्जिनियामा चार नेपाली मृत फेला परेका छन् । मनासस पार्कमा बिहीबार राति एकै परिवारका चार जना मृत फेला परेका हुन् ।

म्यानासस पार्क प्रहरी विभागका अनुसार, राति करिब १०ः४० बजे लाने लेनको ९४०० ब्लकमा रहेको एउटा घरमा अचेत अवस्थामा मानिसहरू भेटिएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी घरभित्र पसेर तल्लो तलामा रहेको अपार्टमेन्टमा पुगेको र त्यहाँ दुई वयस्क र दुई बालबालिकाको शव भेटिएको जानकारी दिएको छ। चारै जनाको मृत्यु गोली लागेर भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलबाट एउटा बन्दुक पनि बरामद गरिएको छ । मृतकहरुमा ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठको पहिचान गरेको छ। दुई बालबालिकामध्ये एउटाको उमेर २ वर्ष र अर्कीको ८ वर्ष भएको जनाइएको छ, तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

योजनाको ढिलासुस्तीप्रति उद्योगमन्त्री भण्डारीद्वारा चिन्ता व्यक्त

सीपी लोहिया, बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी जिल्ला स्थित कार्यालय प्रमुखहरूसँगको बैठकमा सहभागी भएका छन् ।

पाटनस्थित भएको बैठकमा मन्त्री भण्डारीले कार्यालय प्रमुखहरूलाई योजनाहरू समयमै कार्यान्वयन गर्न र समग्र प्रशासनिक कामकाजमा चुस्तता ल्याउन निर्देशन दिएका छन् । योजनाको ढिलासुस्तीप्रति गम्भीर चिन्ता व्यक्त गदै उनले चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाका कार्यालयहरूको कुल खर्च ५० प्रतिशतमा सीमित रहनु विकास योजनाको कमजोर कार्यान्वयन भएको बताए ।

उनले साउन महिनामै बजेट उपलब्ध हुँदा पनि योजना कार्यान्वयनमा आठ–नौ महिना ढिलाइ हुनु अत्यन्तै दुःखद भएको बताए । “आर्थिक वर्षको सुरुवातमै बजेट आउँछ भने योजना कार्यान्वयनमा ढिलाइ किन हुन्छ ? यो प्रवृत्तिको अन्त्य गर्नु जरुरी छ ।”

उनले भने, “सालभरि पर्खिएर अन्त्यमा हतारमा काम गर्ने प्रवृत्तिले बजेटको प्रभावकारिता घटाउनुका साथै कामको गुणस्तरमा पनि असर पारिरहेको छ ।” मन्त्री भण्डारीले यस्ता प्रवृत्तिबाट सुधार नगरे जिल्लाको विकास अपेक्षाअनुसार अगाडि बढ्न नसक्ने बताए ।

उनले जिल्लाका कार्यालयहरूमा सुशासनको प्रत्याभूति हुनु आवश्यक रहेको बताए । दायित्व सार्ने प्रवृत्तिका कारण कार्यालयहरूले आफैँले लिने जिम्मेवारीबाट पन्छिन खोज्नु दीर्घकालीन रूपमा हानिकारक हुने उनको भनाई छ ।

मन्त्री भण्डारीले विकासे योजनाहरूको सन्दर्भमा विगतका अधुरा जिम्मेवारी परिपूर्ति गर्न भन्दै नयाँ काममा ढिलाइ गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । योजनाको समयमै गर्नुपर्ने बताउँदै उनले योजनाहरूको गुणस्तर र मापदण्डबिना कुनै भुक्तानी नगर्न निर्देशन दिए।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई सम्बन्धित भुक्तानी विवरणको सूची तयार पार्न र आवश्यक छानबिन गरेर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

विपद् व्यवस्थापनको सन्दर्भमा मन्त्री भण्डारीले मनसुनजन्य घटनाहरूको सम्भावित जोखिमप्रति सजग रहनुपर्नेमा जोड दिए । यस वर्ष विगतका वर्षहरूको तुलनामा बढी वर्षा हुने मौसम पूर्वानुमान रहेको भन्दै उनले प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई पूर्व तयारीमा लाग्न निर्देशन दिए ।

उनले सम्भावित बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूबीच समन्वयकारी भूमिका खेल्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी उपाध्यायले विपद् जोखिम नियन्त्रणको लागि आवश्यक पूर्व तयारी भइरहेको जानकारी दिए ।

बाजुराको बाम्का बजारमा भीषण आगलागी

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको छ ।

बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा एक दर्जन भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए ।

आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उनले आगो लाग्नुको कारण भने खुल्न नसकेको उल्लेख गरे । हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय लागिरहेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिलाई सुशासन र पारदर्शितामा ध्यान दिन पूर्वराष्ट्रपतिको सुझाव

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्त्वपूर्ण आयाम स्थानीय तह भएको बताएकी छन् ।

विराटनगर महानगरपालिकाद्वारा आयोजित स्थानीय तहका उपप्रमुखहरूको दुईदिने राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले नेपालको संविधानले सङ्घीय शासन प्रणालीमार्फत स्थानीय तह अर्थात् स्थानीय सरकारलाई अधिकारसम्पन्न र जनताप्रति उत्तरदायी बनाएको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘स्थानीय तहमा महिला नेतृत्वले प्राप्त गरेको भूमिकाले समावेशिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ एवं सशक्त बनाइरहेको छ ।’

संविधानले स्थानीय पूर्वाधार निर्माण, विद्यालयको व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, वातावरण तथा जैविक विविधताको संरक्षण, कृषि प्रवद्र्धन, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, सरसफाइलगायत विषयमा स्थानीय सरकारलाई अग्रणी भूमिका प्रदान गरेको उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीमात्र नभई अब एउटा जीवन पद्दतिका रूपमा विकसित भएको छ । गणतन्त्रको जगमा हामीले विकास निर्माणलाई तीव्रता दिएर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनु लाग्नुपर्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा सुशासन र पारदर्शिता आमचासोको विषय बनिरहेको सन्दर्भमा स्थानीय तहका जनप्रतिनिधिसहित सम्बद्ध सबैले यसमा ध्यान पुर्याउनु आजको आवश्यकता भएको चर्चा गरिन् ।

उनले संवैधानिक व्यवस्थाले महिलाको प्रतिनिधित्वमात्र सुनिश्चित गरेको नभइ नेतृत्वदायी भूमिकामा सहभागिता बढाएर विकास निर्माणका सारथी महिला पुरुष दुवै हुन् भन्ने मान्यतालाई पनि स्थापित गरेको उल्लेख गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी विकास निर्माणको प्रक्रियालाई तीव्रता दिनु आजको आवश्यकता भएकोमा जोड दिइन् । सम्मेलनमा २९१ स्थानीय तहका उपप्रमुखहरुको सहभागिता छ ।

हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक

न्युयोर्क । एक अदालतले हार्वर्डमा विदेशी विद्यार्थीहरूको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासमा अस्थायी रोक लगाएको छ । ट्रम्पको संसारको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये एक हार्वर्डसँगको लडाइँ तीव्र भएको छ ।

बुधबार राति ह्वाइट हाउसले जारी गरेको घोषणाले हार्वर्डमा धेरैजसो नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई देशमा प्रवेश गर्नबाट रोक्न खोजेको थियो र विद्यमान विदेशी भर्ना भएका विद्यार्थीहरूको भिसा रद्द हुने जोखिम रहेको बताएको थियो ।

“हार्वर्डको आचरणले यसलाई विदेशी विद्यार्थी र शोधकर्ताहरूका लागि अनुपयुक्त गन्तव्य बनाएको छ”, आदेशमा भनिएको थियो ।

“यो प्रशासनको हार्वर्डलाई यसका अन्तर्राष्ट्रिय विद्यार्थीहरूबाट अलग गर्ने पहिलो प्रयास होइन”, हार्वर्डले तुरुन्तै सङ्घीय अदालतमा दायर गरेको विद्यमान उजुरीमा संशोधन गर्दै भन्यो, “यो हार्वर्डको प्रशासन, पाठ्यक्रम र यसका शिक्षकहरू र विद्यार्थीहरूको ‘विचारधारा’ नियन्त्रण गर्न सरकारको मागहरूलाई अस्वीकार गर्ने पहिलो संशोधनको अधिकार प्रयोग गरेकोमा सरकारद्वारा स्पष्ट बदलाका रूपमा समन्वित र बढ्दो प्रतिशोधको अभियानको हिस्सा हो ।”

अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोजले बिहीबार सरकारले ट्रम्पको घोषणालाई लागु गर्न नसक्ने फैसला गरेका हुन् ।
“अस्थायी नियन्त्रण आदेश बिना यसले ‘सबै पक्षहरूबाट सुन्ने अवसर पाउनुअघि तत्काल र अपूरणीय क्षति’ कायम राख्ने जोखिम रहेको हार्वर्डले देखाएको थियो”, उनले भने ।

बरोजले पहिले नै ऐतिहासिक विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नालाई रोक्ने ट्रम्पको पहिलेको प्रयासलाई रोेकेका थिए ।

जापानको आइस्पेसको चन्द्र अभियान असफल

टोकियो । शुक्रबार अन्तरिक्ष यानको अवतरण प्रयास विफल भएसँगै चन्द्रमामा पहिलो पटक ‘सकुशल अवतरण’ गर्ने जापानी निजी कम्पनी आइस्पेशको आशामा धक्का लागेको छ ।

टोकियोस्थित आइस्पेसले चन्द्रमाको सतहमा नियन्त्रित आगमन हासिल गर्ने तेस्रो निजी कम्पनी र संयुक्त राज्य अमेरिका बाहिरको पहिलो कम्पनीको रूपमा इतिहास रच्ने आशा गरेको थियो।

तर ‘हाल उपलब्ध तथ्याङ्कको आधारमा आइस्पेशको ल्याण्डरले सम्भवतः ‘हार्ड ल्यान्डिङ’ गरेको छ,” जापानी अन्तरिक्ष कार्यक्रम (स्टार्टअप) जनाएको छ ।

“ल्यान्डरसँगको सम्पर्क पुनःस्थापित हुने सम्भावना कम छ”, आइस्पेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैले मिसनलाई रद्द गर्ने निर्णय गरिएको छ ।”

जापानका लागि अघिल्लो चन्द्र अभियानमा मिलेको असफलताको ठीक दुई वर्षपछि यो असफलता हात लागेको हो ।

कम्पनीको मानवरहित लचिलो अन्तरिक्ष यानले आफ्नो कठिन अन्तिम अवतरण सुरु गरेको थियो । “यसको मुख्य इन्जिनलाई सफलतापूर्वक प्रक्षेपण गरेको थियो,” आईस्पेसले शुक्रबार भनेको छ।

मिसन कन्ट्रोलले ल्यान्डरको अवस्था ‘लगभग ठाडो’ भएको पुष्टि गरेको थियो तर त्यसपछि लयाण्डरको मिसन कन्ट्रोलसँगको सम्पर्क टुटेको थियो ।

“प्राविधिक समस्याका कारण ल्यान्डरले चन्द्रमामा अवतरणका लागि आवश्यक गति हासिल गर्न पर्याप्त गति लिन सकेन,” आइस्पेसले भनेको छ।

सोभियत सङ्घ, संयुक्त राज्य अमेरिका, चीन, भारत र हालै जापान गरी पाँच राष्ट्रले मात्र चन्द्रमामा सफ्ट ल्यान्डिङ गरेका छन् ।

अन्तरिक्षमा सस्तो र अधिक बारम्बार पहुँचको प्रतिज्ञा गर्दै आजभोलि निजी कम्पनीहरू यस दौडमा सामेल भइरहेका छन् ।

यात्रामा ‘रेजिलिएन्स ल्याण्डर’मा लक्जमबर्गमा निर्मित माइक्रो रोवर, टेनासियस, हाइड्रोजन र अक्सिजनमा अणुहरू विभाजन गर्ने हाइड्रो इलेक्ट्रोलाइजर र खाद्य उत्पादन प्रयोग गर्ने यन्त्रका साथै अन्तरिक्षको जटिल विकिरण परीक्षण यन्त्रसहितका उपकरणहरू थिए ।

रोभरले स्वीडेनका कलाकार मिकेल गेनबर्गले डिजाइन गरेको सानो मोडलको घर ‘मुनहाउस’ पनि बोकेको थियो ।

“दोस्रो प्रयास असफल भएको तथ्यलाई म गम्भीरताका साथ लिन्छु”, प्रमुख कार्यकारी अधिकृत ताकेशी हाकामादाले भने, “तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो परिणामलाई भविष्यको अभियानहरूका लागि पाठका रूपमा लिइनेछ ।”

उहाँले अगाडि बढ्ने दृढ इच्छाशक्तिको वर्णन गर्दै थपे, “हामीले के भयो सावधानीपूर्वक विश्लेषण गर्नुपर्दछ ।”

गत वर्ष ह्युस्टनस्थित ‘इन्ट्युटिभ मेशिन’ चन्द्रमामा पुग्ने पहिलो निजी कम्पनी बनेको थियो ।

यद्यपि यसको मानवरहित ल्यान्डरले अनौठो कोणमा अवतरण गरेको थियो तर यसका बाबजुत परीक्षणहरू पूरा गर्न र फोटोहरू प्रसारण गर्न सफल भएको थियो।

वासिङ्टनस्थित आइस्पेसको अमेरिकी शाखाले आयोजना गरेको वाच पार्टीसँगै शुक्रबारको प्रयासअघिको माहोल हर्षोल्लासपूर्ण थियो ।

सम्पर्क हराएपछि आईस्पेस प्रत्यक्ष प्रशारणका उद्घोषकहरूले एक सन्देशसहित हस्ताक्षर गरे जसमा भनिएको थियो, “कहिल्यै चन्द्र खोज नछोड्नुहोस्।”

यस अभियानले चन्द्रमामा माटोका दुई वटा नमूना सङ्कलन गरेर नासालाई पाँच हजार अमेरिकी डलरमा बेच्ने लक्ष्य राखेको थियो ।

नमूनाहरू चन्द्रमामा रहने भएपनि प्रतीकात्मक लेनदेनको उद्देश्य खगोलीय पिण्डहरूमा व्यापारिक गतिविधिलाई अनुमति दिनु पर्दछ भन्ने अमेरिकी अडानलाई बलियो बनाउनको लागि हो ।

चन्द्रमामा अवतरण गर्नु अत्यन्त चुनौतीपूर्ण छ किनकि अन्तरिक्ष यानले चन्द्रमाको भू–भागमा आफ्नो अवतरणलाई ढिलो गर्न ठीक नियन्त्रित ‘थ्रस्टर बर्निङ’मा भर पर्नुपर्छ ।

चन्द्रमाको दक्षिणी ध्रुवको नजिक रहेको मोन्स माउटन पठार भनिने स्थानमा अवतरण गर्न डिजाइन गरिएको अन्तरिक्षयान एथेनाले सौर्य ऊर्जाबाट चल्ने ब्याट्रीलाई रिचार्ज गर्न नसकेपछि चन्द्रमामा अवतरण गर्ने ‘इन्ट्युटिभ मेशिन’को दोस्रो प्रयास मार्चको अन्त्यमा निराशामा समाप्त भएको थियो।

ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुनधारामा प्राकृतिक रूपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन्।

काठमाडौँको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयवासीको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ऐतिहासिक सुन्धारा तथा धरहरा क्षेत्रमा खुला बगैँचा, मुद्रा तथा भूकम्प सङ्ग्रहालय र देशकै सबै भन्दा ठुलो भूमिगत सुविधायुक्त पार्किङसहित नयाँ धरहरा निर्माण गर्न विशेष पहल गरेकोमा स्थानीय बासिन्दाको तर्फबाट धन्यवाद पनि दिइएको छ।

सुन्धाराको सिरानमा रहेको जग्गामा कर्मचारी सञ्चय कोषले वि.सं २०४४ मा दुई तल्ले भूमिगत पार्किङसहित कार्यालय भवन बनाउन जग खन्दा त्यहाँ प्राकृतिक रूपले २४ सै घण्टा अनवरत पानी प्रवाह हुने भूमिगत संरचनामा ठुलो क्षति भएपछि स्थानीयवासीको विरोधका कारण तत्कालीन नगर पञ्चायतले निर्माण स्वीकृति रद्द गरेको थियो।

पछि २०५७ सालमा महानगरपालिकाको तत्कालीन नेतृत्वले नक्सा पासको प्रक्रिया नै पूरा नगरी सञ्चय कोषले हालको भवन निर्माण भएकामा पानीको भूमिगत संरचनाको मर्मत गर्ने र त्यसलाई थप क्षति नपुग्ने गरी भवनको डिजाइन परिवर्तन गर्ने गरी सम्झौता भएको थियो।

अहिले सुन्धाराको पानी निकासको भूमिगत ढलमा जथाभाबी सामान बगाइएकाले भित्र पानी बग्नै नसक्ने गरी अवरोध भएकाले त्यसलाई खुलाउन स्रोत साधनको अभाव भएको प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ।

विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनः निर्माण पूर्व राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय बासिन्दासँगको छलफलमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले महत्त्वपूर्ण सुनधारामा प्राकृतिक रूपले नै पानी आउने र निकास हुने तथा भूकम्पमा भत्केर बाँकी रहेको धरहराको भागलाई संरक्षण गरेर राख्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएकामा त्यसको पालना नभएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष राखेका छन्।

प्रधानमन्त्री ओलीले उक्त सम्पदा संरक्षणका लागि केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरण हुने विश्वास दिलाउँदै काठमाडौँ महानगरपालिकाभित्र सम्पदा र संस्कृतिको संरक्षणका विषयमा संस्थागत पहल हुनुपर्नेमा जोड दिए।

नीतिगत निर्णयकै बारेमा अख्तियारले फरक-फरक निर्णय गर्दा अचम्म लागेको छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिपक्षी दलको बैठकले भरपर्दो छानबिनका विषयमा सहमति भए प्रतिनिधिसभाको बैठकको अवरोध खुल्ने निर्णय गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक पनि चल्न नसकेपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यस विषयमा सत्तापक्ष सकारात्मक हो वा होइन भनी बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्ने निर्णय पनि प्रतिपक्षी दलको बैठकले गरेको जानकारी दिए ।

संसदीय छानबिन समिति या पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन समिति बनाउने भन्नेमा सत्तापक्षसँग सहमति जुट्न बाँकी रहेको प्रचण्डले बताए । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दा चलाउन लागिएकामा अचम्मित लागेको उनको भनाइ छ ।

‘अदालतले माधव नेपाललाई न्याय नै गर्छ भन्ने ठान्छु, ललिता निवास र पतञ्जली प्रकरणका नीतिगत निर्णयमा अख्तियारले फरक निर्णय गरेको छ, नीतिगत निर्णयकै बारेमा अख्तियारले फरकफरक निर्णय गर्दा अचम्म लागेको छ’, उनले भने ।

कर्मचारीको तलब दोब्बर बनाउन माग

काठमाडौं ।  राष्ट्रियसभाका सदस्यहरूले कर्मचारीको तलब दोब्बर बनाउन माग गरेका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले कर्मचारीको तलब दोब्बर बनाउन माग गरेका हुन् ।

कांग्रेस सांसद जितजंग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि निजामती कर्मचारीलाई प्रोत्साहन गर्न आवश्यक भएको बताए । आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै उनले बढ्दो महङ्गीलाई ध्यानमा राख्दै सरकारी कर्मचारीको तलब सुविधा दोब्बर बनाइनुपर्ने बताए ।

‘कर्मचारीले काम गरेनन्, कर्मचारी भ्रष्ट भए भन्ने धेरै सुनियो, साँच्चिकै कर्मचारी भ्रष्ट भएका हुन त ? बढ्दो महँगी र कालोबजारी छ, पिउनदेखि हाकिमसम्मको तलव स्केल हेरौँ, प्रहरी, सेनाको तलब र निजी क्षेत्रको तलब तुलना गरौँ, त्यो तलबले खर्च धान्न पुग्छ त ? त्यसैले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि कर्मचारीको तलब दोब्बर वा तीन गुणाले बढाउनुपर्छ,’ उनले भने ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट राम्रो र सन्तुलित रहेको उल्लेख गर्दै उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र जरुरी भएको बताए । ‘

बजेट सत्तारुढ दलको दस्तावेज मात्रै होइन, यो साझा राष्ट्रिय आकांक्षाको प्रतीक पनि हो,’ सांसद बस्नेतले भने, ‘बजेट केबल तथ्य र रकम मात्रै नभई देशको भविष्य देखाउने दिशामा अग्रसर देखिन्छ, बजेटप्रतिको जनअपेक्षा अनुरुप कार्य पूरा गर्ने प्रतिबद्धता हुनुपर्छ,’ उनले भने ।

उनले नारायणगढ-मुग्लिङ सडकखण्ड देशको ‘लाइफलाइन’ भएको र अर्बौं रकम खर्चिए पनि कहिले निर्माण पूरा हुने टुंगो नभएको बताए । साथै बाढीपहिरोका कारण अवरुद्ध भइरहने अवस्था अन्त्य गर्न वैकल्पिक मार्ग जरुरी भएको समेत उनले बताए ।

नेपालीको विकासको चाहना पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति पौडेल

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम संस्कृतिको सम्मानसहित सीपवान् र शीलवान् नागरिक तयार गर्नेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका छन् ।

नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औँ जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहना  पूरा गर्ने शिक्षा दिन आवश्यक रहेको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले भने, ‘राजनीतिक परिवर्तनपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गर्दै तीव्र विकासको बाटोतर्फ उन्मुख छ । सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई अघि बढाउन तदनुरुपको शिक्षा दिन आवश्यक छ भन्ने मलाई लाग्छ ।’

उनले विद्यालय तहदेखि नै आधुनिक समयको मागअनुसार पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए । राष्ट्रपति पौडेलले गुणस्तरीय, प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान् व्यक्तिका रूपमा उभिन सक्नेगरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत सबै पक्षले उत्तिकै ध्यान दिन जरुरी रहेको बताए ।

उनले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन र बजारको मागअनुसारको जनशक्ति विकास गर्न जोड दिनु आजको आवश्यकता भएको बताए ।

राष्ट्रपति पौडेलले ज्ञान, चेतना, जागरण र रूपान्तरणमा शिक्षाको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै सभ्य र सुसंस्कृत आधुनिक समाज निर्माणमा मात्र नभएर राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा भएको स्पष्ट पारे ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले विद्यालयका पूर्वविद्यार्थी सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान, नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रलगायत पूर्वविद्यार्थी एवम् विद्यालयमा  योगदान पुर्याउनेहरूलाई सम्मान गरेका थिए ।

खोटाङका तत्कालीन जिशिअ नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

शुक्रबार आयोगले श्री कृष्ण उच्च माध्यमिक विद्यालय टेम्माको ४ कोठे भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा जिशिअ नेपालसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन जिशिअ नेपाल, जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सबइन्जिनियर शिवराज राई, श्री कृष्ण उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम राईलगायतविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।

उनीहरूले विद्यालय भवन निर्माण गर्दा झुट्टा बिल भरपाइका आधारमा रकम निकासाको लागि सदर गरी २५ लाख ५० हजार रुपैयाँ बराबरको रकम आफूहरुलाई लाभ र नेपाल सरकार÷सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्याउने बदनियत राखेको अख्तियारको आरोप छ।

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुबीच सहमति नजुट्दा आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् । बैठक चल्न नसकेपछि सभामुख देवराज घिमिरेले निरन्तर विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समितिको माग यथावत् राख्दै गृहमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक बस्न नसक्ने निष्कर्ष निकालेका थिए ।

श्रम ऐन, २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन आयोग बनाउन प्रतिपक्षी दलले माग गरेका छन् । बैठकले माग पूरा नभएसम्म बैठक चल्न नदिने निर्णय गरेको थियो ।

माग पूरा नभएसम्म विपक्षी दलले प्रतिनिधिसभा बैठक चल्न नदिने

काठमाडौँ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका तीन वटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन् ।

संसद् भवन नयाँबानेश्वरमा शुक्रबार बसेको विपक्षी तीन दलको बैठकले ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समितिको माग यथावत् राख्दै गृहमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक बस्न नसक्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जानकारी दिए ।

श्रम ऐन, २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन आयोग बनाउन प्रतिपक्षी दलले माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), रास्वपा र नेकपा (एकीकृत समाजवादी) को बैठकले यस्तो निष्कर्ष निकालेको उनले बताए । बैठकमा उक्त प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको झाले बताए ।

तरुण दलको वर्तमान नेतृत्वबाट महाधिवेशन हुन नसक्ने भन्दै कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन

काठमाडौं । तरुण दलका अध्यक्ष विद्वान गुरुङले सङ्गठनलाई मागीखाने भाँडो बनाएको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेको छ ।

शुक्रबार केन्द्रीय सदस्य सरोज न्यौपाने, रोजन राईलगायत असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् । उनीहरुले तरुण दलको केन्द्रीय समिति भंग गर्न माग गरेका छन् ।

उनीहरुले पार्टी सभापतिसहित पदाधिकारीसँग यसबारेमा आफूहरूले छलफल गरिसकेको पनि बताएका । उनीहरूले वर्तमान नेतृत्वबाट तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर भन्दै तदर्थ समितिको म्याद नथप्न आग्रह गरेका छन् ।

साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले हाने ‘शैतानलाई ढुङ्गा’

साउदी अरब । विश्वभरका मुस्लिमहरूले ईद अल–अधा बिदाको सुरुआत मनाउँदै गर्दा तीर्थयात्रीहरूले शुक्रबार हजको अन्तिम प्रमुख अनुष्ठान– ‘शैतानको ढुङ्गा प्रहार’ –गरिरहेका थिए ।

बिहान सुरु हुनुअघि देखिनै तीर्थयात्रामा भाग लिने १६ लाखभन्दा बढी मुस्लिमले पवित्र सहर मक्काको बाहिरी भागमा रहेको मिना उपत्यकामा शैतानको प्रतीक तीनवटा कङ्क्रिटको पर्खालमा प्रत्येकमा सातवटा ढुङ्गा हाने ।

छाया र चिसो तापक्रमको फाइदा उठाउँदै तीर्थयात्रीहरू बिहानै अघिनै मिनाको फराकिलो तम्बू सहरमा आफ्नो शिविर र आवासबाट बाहिर निस्केका थिए ।

यस अनुष्ठानले अब्राहामले तीनवटा स्थानमा शैतानलाई ढुङ्गा हानेर मारेको सम्झना गराउँछ जहाँ शैतानले उसलाई आफ्नो छोरालाई बलिदान गर्ने परमेश्वरको आदेश पालन गर्नबाट रोक्न खोजेको भनिएको छ ।

“मिनामा हाम्रो अनुभव सजिलो र सरल थियो । हामी भित्र प्रवेश गर्‍यौँ र पाँच मिनेटभित्रै हामीले ‘जमारत’ मा शैतानलाई ढुङ्गा हान्ने काम पूरा गर्‍यौँ”, इजिप्टका ३४ वर्षीय वाएल अहमद अब्देल कादरले बिहानै अनुष्ठान गरेपछि भने ।

गिनीकी तीर्थयात्री होवाकिताले मक्कामा ईद मनाउने सम्भावनाले उनलाई खुशीले भरिदिएको बताए । “जब मैले ढुङ्गा हानेँ मैले सहज महसुस गरेँ । मलाई साँच्चै गर्व लाग्यो”, उनले भने ।

एक दिनअघि तीर्थयात्रीहरू मक्का नजिकैको ७० मिटर (२३० फिट) अग्लो चट्टानी उचाइमा प्रार्थना गर्दै र कुरानका पदहरू पढ्दै अराफात पर्वतमा भेला भएका थिए । अराफात पर्वतमा पैगम्बर मोहम्मदले आफ्नो अन्तिम उपदेश दिएका थिए भन्ने विश्वास गरिन्छ ।

धेरैले तीव्र गर्मी भए पनि पर्वतमा आरोहण गरे । यद्यपि तीर्थयात्रीहरूलाई स्थानीय समयानुसार बिहान १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म भित्र बस्न भनिएको आधिकारिक चेतावनीपछि दिउँसोमा सङ्ख्या घटेको थियो ।

यस वर्षको हजमा अधिकारीहरूले अवैध तीर्थयात्रीहरूमाथि व्यापक कारबाहीका साथसाथै गर्मी कम गर्ने प्रयासहरू कार्यान्वयन गरेको देखियो । जसको परिणामस्वरूप मक्का र वरपरका पवित्र स्थलहरूमा उल्लेखनीय रूपमा पातलो भीड र भारी सुरक्षा उपस्थिति थियो ।

गत वर्षको हजको घातक पुनरावृत्ति रोक्ने उद्देश्यले यी उपायहरू अपनाइएको थियो । गत वर्ष ५१ दशमलव आठ डिग्री सेल्सियस (एक सय २५ डिग्री फरेनहाइट) तापक्रममा एक हजार तीन सय एक जनाको मृत्यु भएको थियो ।

साउदी अधिकारीहरूका अनुसार ती मृत्युमध्ये अधिकांश ती तीर्थयात्रीहरूका थिए जो अवैध रूपमा मक्कामा छिरेका थिए र तीर्थयात्रीहरूलाई सुरक्षित राख्न र मरुभूमिको तीव्र गर्मीबाट जोगाउने उद्देश्यले गरिएको आवास र अन्य सेवाहरूको पहुँच नभएका थिए ।

यो हज सिजनले २०२०–२०२२ को कोभिड प्रतिबन्धका वर्षहरू बाहेक तीन दशकभन्दा बढीमा सबैभन्दा कम तीर्थयात्रीहरूको सङ्ख्या रेकर्ड गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष १८ लाख मुस्लिमले हजमा भाग लिएका थिए ।

हज अनुमतिहरू देशहरूलाई कोटाको आधारमा बाँडफाँट गरिन्छ र लटरी प्रणालीद्वारा व्यक्तिहरूलाई वितरण गरिन्छ ।

तर जसले अनुमति प्राप्त गरेको हुन्छ, तीमध्ये केही मानिस उच्च लागतका कारण बिना अनुमति हज यात्राका लागि प्रेरित हुन्छन् । यद्यपि समातिएमा गिरफ्तारी र निर्वासनको जोखिम उठाउँछन् ।

मिना उपत्यकामा ढुङ्गा हान्ने अनुष्ठान सन् २०१५ मा घातक भागदौडको दृश्य थियो । सबैभन्दा घातक हज प्रकोपमध्ये त्यसबेला भएको घटनामा दुई हजार तीन सय जनाको मृत्यु भएको थियो ।

साउदी अरबले हज र वर्षका अन्य समयमा गरिने सानो तीर्थयात्रा उमराहबाट बर्सेनि अर्बौं डलर कमाउँछ ।

मक्का र मदिनाका दुई पवित्र मस्जिदका संरक्षकका रूपमा चिनिने साउदी राजाका लागि पनि तीर्थयात्रा प्रतिष्ठाको स्रोत हो ।

हजको अन्त्य ईद अल–अधाको सुरुआतसँग मिल्छ । ईद अल–अधा सामान्यतया बाख्रा, भेडा, गाई, गोरु वा ऊँट जस्ता जनावरको वधद्वारा मनाइने वार्षिक भोजको बिदा हो ।

रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा

श्रीनगर (भारत) । गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर आइपुगेका छन् । उनले काश्मीरमा एउटा रणनीतिक रेलवेको उद्घाटन गरे ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजनाहरू सुरु गरिरहेका छन् ।

आणविक–सशस्त्र भारत र पाकिस्तानले गत महिना तीव्र चार दिने द्वन्द्व लडेका थिए । यो द्वन्द्व मे १० मा युद्धविराममा सहमति हुनुअघि सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो ।

प्रधानमन्त्रीको कार्यालयले एक हजार तीन सय १५ मिटर लामो (चार हजार तीन सय १४ फिट लामो) स्टिल र कङ्क्रिटको चेनाब पुलको अवलोकन विन्दुमा मोदीको तस्बिर प्रसारण गरेको थियो । उक्त पुलले तल नदीभन्दा तीन सय ५९ मिटर माथि आर्क भएको दुई पहाडलाई जोड्दछ ।

“वास्तुकलाको असाधारण उपलब्धि हुनुका साथै चेनाब रेल पुलले कनेक्टिभिटीमा सुधार गर्नेछ”, मोदीले आफ्नो भ्रमणअघि सामाजिक सञ्जाल पोस्टमा भने ।

मोदी आफ्नो आगमनको लगत्तै रेल यातायातका लागि औपचारिक रूपमा खुला भएको घोषणा गर्न विशाल भारतीय झण्डा फहराउँदै पुल पार गरे ।

नयाँदिल्लीले चेनाब पुललाई ‘संसारको सबैभन्दा अग्लो रेलवे आर्क पुल’ भन्छ । धेरै सडक र पाइपलाइन पुलहरू अग्लो भए पनि गिनिज वल्र्ड रेकर्डले गिनिज वल्र्ड रेकर्डले चेनाबले चीनको अघिल्लो सबैभन्दा अग्लो रेलवे पुल, नजीहेलाई उछिन्ने पुष्टि गरेको छ ।

नयाँ दुई सय ७२ किलोमिटर (एक सय ६९ माइल) उधमपुर–श्रीनगर–बारामुल्ला रेलवे, ३६ सुरुङ र नौ सय ४३ पुलसहित ‘क्षेत्रीय गतिशीलतालाई रूपान्तरण गर्ने र सामाजिक–आर्थिक एकीकरणलाई बढावा दिने उद्देश्यले’ निर्माण गरिएको मोदीको कार्यालयले जनाएको छ ।

यस पुलले मानिस र सामानका साथै सेनाको आवागमनलाई सहज बनाउनेछ । यो पहिले दुर्गम पहाडी सडक र हवाई मार्गबाट मात्र सम्भव थियो ।

“रेलवेले सबै मौसममा सम्पर्क सुनिश्चित गर्दछ, आध्यात्मिक पर्यटनलाई बढावा दिनेछ र जीविकाका अवसरहरू सिर्जना गर्नेछ”, मोदीले भने ।

रेलवे लाइनले हिन्दू बहुल जम्मू क्षेत्रको कटरा सहर र मुस्लिम बहुल काश्मीरको मुख्य सहर श्रीनगरबीचको यात्रा समयलाई आधाले घटाएर करिब तीन घन्टासम्म पुर्‍याउने अपेक्षा गरिएको छ ।

गत महिनाको द्वन्द्वमा मिसाइल, ड्रोन र तोपखानाको गोलीबारीमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

अप्रिल २२ मा भारत प्रशासित कश्मीरमा सर्वसाधारणमाथि भएको आक्रमणबाट लडाइँ सुरु भएको थियो । उक्त आक्रमणलाई नयाँदिल्लीले पाकिस्तानले समर्थन गरेको आरोप लगाएको थियो । उक्त अरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ ।

भारतीय प्रशासित काश्मीरमा विद्रोही समूहहरूले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै ३५ वर्ष लामो विद्रोह चलाएका छन् ।

नागढुंगाबाट ४५ लाख ६३ हजार रुपैयाँ बराबरको सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट ४५ लाख भन्दाबढी मूल्यको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौँतर्फ आइरहेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रु बसमा सवार भारतीय नागरिक ३१ वर्षका महादेव सामन्तलाई जाँचका क्रममा बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बसमा जाँच गरेको थियो । उनको साथबाट २७४.८३ ग्राम सुन बरामद भएको छ।

उक्त सुनको मूल्य ४५ लाख ६३ हजार ८ सय २६ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको उनले बताए ।

हीरक महोत्सवले गरायो ‘अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी

कमल खत्री, म्याग्दी । विश्वमा आठ हजार मिटर अग्ला हिमालमध्ये सबैभन्दा पहिलोपटक मानव पाइला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए ।

हिमालमा मानव पाइला परेको हिसाबले जेठो हिमालको नामले परिचित अन्नपूर्ण प्रथम हिमालको वास्तविक पहिचान र चिनारी अन्नपूर्ण हीरक महोत्सवले दिएको हो ।

पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । यसअघि कास्की र राजधानी काठमाडौँ केन्द्रित कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएकामा पहिलोपटक वास्तविक भूगोलमै सरकारी तवरबाट अन्नपूर्ण आरोहण दिवस मनाइएको हो ।

गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यही जेठ १६ देखि २२ गतेसम्म अन्नपूर्ण हीरक महोत्सव मनाइएको छ ।

हीरक महोत्सवको मूल समारोहलाई उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली नारच्याङ आएका थिए । धेरै कोसिस र प्रयास गरेर अन्नपूर्ण आरोहण दिवसलाई वास्तविक भूगोलमा मनाउन सम्भव भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

‘अन्नपूर्णको गुमेको पहिचान फिर्ता ल्याउन अन्नपूर्ण हीरक महोत्सवले सम्भव भएको छ, हिजोको दिनमा आरोहण आधार शिविर र पदमार्ग गुमनाम थिए, अब राज्य र सरोकारवाला सबैलाई वास्तविकताबारे जानकारी भएको छ, अब यस क्षेत्रको पर्यटन विकासमा रचनात्मक सहयोग पुग्ने अपेक्षा गरेका छौँ’, गाउँपालिका अध्यक्ष पुनले भने ।

प्रधानमन्त्री र फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलदेखि प्रथम आरोही मौरिस हर्जोगका छोरा माथिएसलगायतका परिवारका सदस्य र फ्रान्सेली नागरिकहरुको समेत सहभागितामा अन्नपूर्ण हीरक महोत्सव मनाइएकाले आगामी दिनमा अन्नपूर्ण आधार शिविर र पदमार्गको प्रचारप्रसारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

हीरक महोत्सवका अवसरमा करिब २०० जनाको सहभागितामा नारच्याङदेखि आधार शिविरसम्मको पदयात्रा, आधार शिविरदेखि नारच्याङ गाउँसम्मको ३८ किलोमिटर लामो म्याराथन दौड प्रतियोगिताका साथै नारच्याङमा मूल समारोह र पुख्र्यौली नृत्य प्रस्तुतिलगायत कार्यक्रम समावेश गरिएको थियो ।

हिमाल आरोहणको इतिहासमा नेपालकै जेठो हिमालका रुपमा परिचित भए पनि आरोहण भएको वास्तविक भूगोल ओझेलमा परेकाले हीरक वार्षिकोत्सवलाई आरोहण आधार शिविरमै आएर मनाइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

‘जेठो हिमालका रुपमा अन्नपूर्ण हिमालको संसारभर नाम फैलिए पनि वास्तविक आरोहण आधार शिविर उपेक्षामा परेको रहेछ, हामीले यस पटक सबै सरोकारवालासँग समन्वय गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमै आएर आरोहण दिवस मनाएका छौँ, यसले अन्नपूर्णको लुकेको पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुग्ने विश्वास गरेका छौँ’, लामिछानेले भने ।

सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । आरोहण मार्गको हिसाबले ऐतिहासिक महत्व बोकेको भए पनि प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावले अन्नपूर्ण प्रथम आधार शिविर ओझेलमा परेको थियो ।

अन्नपूर्ण हिमाल आरोहण दिवस यसअघि पोखरा आसपासका क्षेत्रमा मनाउने गरिएकामा यस पटक हिमाल आरोहणमा इतिहास बोकेको अन्नपूर्ण प्रथम आधार शिविरमै आएर मनाउँदा यसले न्याय भएको महसुस भएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

भौगोलिक विकटता रहेको र राज्यको माथिल्लो निकायमा पहुँच राख्न नसकेको कारण अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा पूर्वाधार निर्माण हुन सकेको थिएन भने यहाँको पहिचानसमेत गुमनाम बनेको थियो ।

सन् २०१० मा हेलिकप्टरमार्फत नारच्याङ गाउँ आएका प्रथम आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आधार शिविरको ऐतिहासिक महत्वबारे स्थानीयवासीलाई अवगत गराएपछि विसं २०६८ मा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको नेतृत्वमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग पहिचान गरिएको थियो ।

‘हामीले वर्षौं लगाएर पदमार्गलगायत पूर्वाधार बनाएका हौँ, हर्जोगकै सम्मानमा हामीले उहाँकै नामबाट मौरिस हर्जोग पदमार्गका रुपमा नामकरणसमेत गरेका छौँ, वर्षौंदेखि  ओझेलमा परेको यो क्षेत्रले पहिलोपटक हीरक महोत्सवमा न्याय पाएको अनुभूति गरेका छौँ,’ पदमार्गका अभियानकर्मी गुरुङले भने ।

उनका अनुसार हीरक महोत्सवका अवसरमा आधार शिविरमा प्रथम आरोहीहरुको सालिक अनावरण गर्नाका साथै अहिलेसम्मका सबै आरोहीहरुको अभिलेख समेत खुला सङ्ग्रहालय बनाएर राखिएको छ । प्रथम आरोही हर्जोगले हिमाल आरोहणमा प्रयोग गरेका उपकरण नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गरिएको छ ।

कोदालो प्रहार गरी नवलपरासी पश्चिममा एक व्यक्तिले गरे बाबु र छिमेकीको हत्या

परासी । नवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ । शुक्रबार बिहान साढे १० बजेतिर सुनवल नगरपालिका–२ औरहियामा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिएका छन् ।

उनका अनुसार ५० वर्षीय जयराम थारू र ७० वर्षीय नाथु धरिकारको हत्या भएको हो। हत्या आरोपमा जयरामका २७ वर्षीय छोरा हेमराजलाई प्रहरीले पक्राउ गरेको छ । हेमराजले दुबै जनामाथि कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई कोदालोसहित पक्राउ गरिसकेको डीएसपी पन्तले बताए । सुरूमा जयरामको हत्यापछि नाथुरामलाई बाहिर भेटेर उनीमाथि पनि प्रहार गरेको प्रहरीको भनाइ छ। के विषयमा हत्या भएको भन्ने खुलिसकेको छैन।

सगरमाथा आरोहण–कीर्तिमानका साथै जेनन ग्यासको पहिलो प्रयोग

-राजु सिलवाल 
यस पटकको वसन्त ऋतुमा हिमाल आरोहण गर्ने याम सम्पन्न भई आरोहण टोलीहरु आधार शिविरबाट फर्के पनि आरोहणको चर्चा अझै सेलाएको छैन । हिमाल चढ्ने क्रममा विभिन्न सहासी पर्वतारोहीले स्थापित गरेका नौला कीर्तिमानले विश्वलाई नै चकित बनाएको थियो । त्यससँगै सहज तथा छिटो हिमाल आरोहणका लागि पहिलोपटक प्रयोग गरिएको भेटिएको जेनन ग्यासको सन्दर्भ पनि कम महत्वपूर्ण रहेन । अब नेपाल सरकारले नै यसबारे टुङ्गो लगाउने भएको छ ।

के हो जेनन ग्यासको सन्दर्भ ? 

विभिन्न अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीले कुनै शक्तिवद्र्धक प्रतिबन्धित औषधिको प्रयोग गरेको छ कि छैन भनी गरिने जाँच ‘डोपिङ परीक्षण’ कुनै नौलो होइन । पिसाब, रगत, पसिना आदिको नमूना परीक्षण गरी यस्तो जाँच गर्ने गरिएको छ । कैयौँ खेलाडीले जितिसकेको पदक पनि डोपिङ परीक्षणपछि खोसिएको उदाहरण छन् । सन् २००६ मा श्रीलङ्कामा आयोजित दक्षिण एसियाली खेलकुदमा नेपालले जितिसकेको दुईवटा स्वर्ण पदक डोपिङ परीक्षणमा खेलाडी असफल भएपछि खोसिएको थियो । यसैकारण नेपाली खेलाडीहरु लामो समय प्रतिबन्धमा समेत परेका थिए । नेपालको हिमालमा पनि पहिलोपटक यस्तै प्रयोग भएपछि विवादित भएको छ । बेलायतका चारजना पूर्वसैनिकको टोलीले हिमाल आरोहणका बेलामा त्यहाँको वातावरणसँग अभ्यस्त हुन उचाइमा गएर तल झर्दै गरिने अभ्यासै नगरी पाँच दिनमै सगरमाथाको सफल आरोहण गरेर फर्केपछि विवाद चुलिएको हो । आरोहीहरुलाई हिमालमा सहज हुन सहयोग गर्ने जेनन ग्यास उक्त आरोहण टोलीका सदस्यहरुले प्रयोग गरेका थिए । जेनन ग्यासले हिमाल आरोहणका क्रममा पर्वतारोहीहरुलाई बढी उचाइमा अभ्यस्त हुन र कम अक्सिजनको प्रभावलाई घटाउन सहयोग गर्दछ । यसको प्रयोगले बढी उचाइमा हुने गरेको दुखाइलाई कम गर्न पनि सहयोग गर्ने गर्दछ ।

जेनन ग्यासको प्रयोग भएको समाचार सार्वजनिक भएपछि यसबारे छानबिन हुनुपर्ने सम्बन्धित व्यवसायीहरुले माग गरेका छन् । लामो समयदेखि आरोहणमा संलग्न हँुदै आएका आरोहीहरुले समेत यसबारे अनभिज्ञता प्रकट गरेका छन् । यसपालि ३१औँ पटक सगरमाथाको शिखरमा पुगेका विश्व विख्यात आरोही कामिरिता शेर्पाले जेनन ग्यासको प्रयोगबारे आफूले पहिलोपटक सुनेको कुरा बताउनुभएको छ । यसैपटक १७औँ पटक सगरमाथाको शिखरमा पुग्न सफल आरोही फुर्वा तेन्जिङ शेर्पाले पनि जेनन ग्यास कस्तो हुन्छ आफूले अहिलेसम्म नदेखेको तथा यसको प्रयोग कसरी गरिन्छ थाहा नभएको जानकारी दिनुभयो ।

सगरमाथामा आरोहीले जेनन ग्यासको प्रयोग गरेको सम्बन्धमा नेपाल सरकारले पनि चासो देखाएको छ । सगरमाथामा सन् १९५३ देखि आरोहीहरुले लगातार सफलता पाउँदै आएको भए तापनि पहिलोपटक जेनन ग्यासको प्रयोग गरिएको जानकारी पाएपछि पर्यटन मन्त्रालयले यसबारे छानबिन गर्ने भएको हो । मन्त्रालयका अधिकारीले पर्वतारोहणसँग सम्बन्धित नेपाल पर्वतारोहण सङ्घ, नेपाल माउण्टेन एकेडेमी, सगरमाथा आरोही सङ्घजस्ता सङ्घसंस्थाका पदाधिकारीहरुसँग छलफल गरी जेनन ग्यासको प्रयोग मान्य हो कि होइन भनी नीतिगत निर्णय गर्ने पर्यटन विभागले जनाएको छ ।

यसपालि कतिले सगरमाथा चढे ?

वसन्त ऋतुमा विभिन्न मुलुकका ७२२ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यसरी सफल आरोहण गर्नेहरुमा विभिन्न आरोहण टोलीका २८१ जना सदस्यहरु, ४३४ जना पथप्रदर्शकहरुका साथै सातजना सहयोगी शेर्पा रहेका छन् ।

दुःखद् निधन : यसपटक विभिन्न हिमालमा आरोहण गर्दा सात जनाको दुःखद निधन भएको थियो । यसैगरी, दुईजना हराइरहेका छन् । हिमालमा निधन भएकाहरुको शव सम्बन्धित मुलुकका अधिकारीहरुलाई हस्तान्तरण गर्ने कार्य भएको छ ।

नेपाल आएका आरोहीहरु : वसन्त ऋतुमा नेपालका विभिन्न २७ वटा हिमाल आरोहणका लागि ७३ वटा मुलुकका आरोहीहरु नेपाल आएका थिए । ती मुलुकका १२७ वटा आरोहण टोलीका एक हजार १६८ जनाले नेपाल सरकारबाट आरोहण अनुमति पाएका थिए । त्यसमध्ये ६७८ जना पुरुष तथा १९१ जना महिलाहरु थिए । आरोहण अनुमति पाएकाहरुमा सबैभन्दा बढी अमेरिकीहरु थिए । त्यसपछि चीन र भारतका आरोहीहरुको सङ्ख्या धेरै थियो ।

सगरमाथा चढ्न अनुमति पाएकाहरुः प्रत्येक वर्षको वसन्त ऋतुमा सगरमाथामा आरोहणका लागि चाप हुँदै आइरहेको छ । यसपटक विभिन्न ५७ देशका आरोहीहरु सगरमाथा आरोहणका लागि नेपालमा भेला भएका थिए । ४७ वटा आरोहण टोलीमा ४६८ ले सगरमाथा आरोहणको अनुमति पाएका थिए । यसमध्ये सबैभन्दा बढी अनुमति पाउनेहरुमा अमेरिकी थिए । त्यसपछि चीन र भारतका आरोहीहरुको सङ्ख्या बढी थियो ।

कति राजस्व सङ्कलन भयो ?

नेपालमा रहेका विभिन्न २७ वटा हिमालमा आरोहणका लागि विभिन्न मुलुकका पर्वतारोहण टोलीलाई आरोहण अनुमतिपत्र दिएबापत नेपाल सरकारले रु ७९ करोड ४७ लाख राजस्व सङ्कलन गरेको थियो । त्यसमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु ६९ करोड १२ लाख सङ्कलन गरिएको थियो । आरोहण अनुमति दिइएका हिमालहरुमा सबैभन्दा कम एकजना पुरुष आरोहीले मात्र सार्फू चौथो हिमाल आरोहणका लागि अनुमति पाएका थिए ।

नयाँ हिमाल आरोहणका लागि खुल्लाः नेपाल सरकारले विभिन्न ५७ वटा थप हिमाल आरोहणका लागि खुल्ला गरेको थियो । ती हिमालहरु पाँचदेखि छ हजार मिटर उचाइका रहेका छन् । खुल्ला गरिएका हिमालहरु हुम्ला, डोल्पा, मुस्ताङ, दोलखा, रसुवा, सोलुखुम्बु, मुगु, गोरखा र  ताप्लेजुङ जिल्लामा रहेका छन् ।

सबैभन्दा धेरैपटक सगरमाथामाः विश्व विख्यात आरोही कामिरिता शेर्पा केवल राष्ट्रिय आरोही मात्र नभएर सगरमाथाको विश्वव्यापी प्रतीकका रुपमा समेत स्थापित भइसक्नु भएको छ । इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथामा सफल आरोहण गर्न सफल आरोही कामिरिता यसपालि  जेठ १३ गते बिहान ४ बजे  सगरमाथाको शिखरमा ३१औँ पटक पुग्नुभएको थियो । उहाँले विगत केही वर्षदेखि प्रत्येक वर्ष जसो सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गर्ने आरोहीको विश्व कीर्तिमान कायम गर्दै आइरहनुभएको छ । उहाँले यसअघि आठ हजार मिटरभन्दा अग्लो हिमालहरु ४५ पटक आरोहण गरिसक्नुभएको छ । भारतीय आर्मी एडभेन्चर विङ एभरेष्ट एक्सपिडिसनको सरदारका रुपमा यसपटक सगरमाथा जानुभएको शेर्पाले आफू मात्र शिखरमा नपुगेर टोलीका विभिन्न सदस्यहरुलाई आरोहण गर्ने कार्यको नेतृत्व गर्नुभएको थियो ।

कीर्तिमानी आरोही कामिरिता शेर्पाका अनुसार यसपालिको वसन्त ऋतुमा हिमाल चढ्न सजिलो मौसम थिएन । अप्रत्याशित मौसमका कारण तेज हावा चल्नाका साथै भारी हिउँ पर्नाका साथै कडा चिसो थियो । उहाँले धैर्य, तयारी र आफ्नो शेर्पा टोलीको बलले ठूलो समूहलाई शिखरमा सुरक्षित रुपमा जान र फिर्ता हुन मार्ग निर्देशन गरेको जानकारी दिनुभयो । धैर्य, विश्वास र सामूहिक कार्यले असम्भवलाई पनि सम्भव बनाउने कीर्तिमानधारी शेर्पाको विश्वास रहेको छ ।

पासाङदावा पनि पछिपछि : यस वर्ष दुईपटक सगरमाथा चढ्न सफल पासाङदावा शेर्पाले सगरमाथामा २९औँ सफलता प्राप्त गरेर कीर्तिमानी कामिरिता शेर्पालाई पछ्याइरहनु भएको छ । उहाँले पहिलोपटक सन् १९९८ मा सगरमाथा चढ्नु भएको थियो । यस क्रममा शेर्पाले विभिन्न समयमा एकै वर्ष दुईपटक समेत सगरमाथाको शिखर चुम्न सफल हुनुभएको थियो । विभिन्न हिमालमा आरोहण अनुभव बटुलिसक्नुभएका उहाँले आमादब्लम हिमाल ४० पटक चढिसक्नुभएको छ ।

मिर्गाैला प्रत्यारोपण गरेका पहिलो आरोहीः सगरमाथाको इतिहासमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण गर्नु भएका पेम्बा शेर्पालाई पनि सगरमाथामा सफलता मिलेको छ । सोलुखुम्बुको दूधकोशी गाउँपालिकाका शेर्पा वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहनुभएको थियो । बिदामा नेपाल आउने क्रममा उहाँको मिर्गाैलामा समस्या देखिएको थियो । दुईवटै मिर्गौलाले काम नगरेपछि उहाँलाई प्रत्यारोपणका लागि आफ्नै बाबुले मिर्गाैला दान दिनुभएको थियो । मिर्गाैला प्रत्यारोपण गरेको २४ महिनापछि शेर्पाले छ हजार १९९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गर्नुभएको थियो । वैदेशिक रोजगारीका सिलसिलामा आर्जन गरेको रकम मिर्गौलाको उपचारमा खर्च गर्नुभएका शेर्पाले सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न व्यक्तिगत खर्चसमेत गर्नु परेको थियो । अङ्ग प्रत्यारोपण गरेका व्यक्तिले अरू सरह सामान्य जीवन बिताउन सक्छन् भन्ने प्रवाह गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको उहाँको धारणा रहेको छ ।

पन्ध्र दिनमा चारपटक सफलताः सगरमाथा एकै पटक चढ्न पनि ज्यान जोखिममा राख्नुपर्दछ । आरोही तासी ग्याल्जेन शेर्पाले एउटै सिजनमा १५ दिनमा चारपटक सगरमाथा चढेर कीर्तिमान कायम गर्नुभएको छ । उहाँ यसपालि रोप फिक्सिङ टोलीको सदस्य भई सगरमाथामा जानुभएको थियो भने त्यसपछि केही दिनको फरकमा उहाँ चारचोटि शिखर पुग्न सफल हुनुभएको छ ।

पूर्णिमालाई पाँचौँ सफलता : सगरमाथामा पाँचपटक आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अब हाम्रो पालो हो, केवल शिखरमा पुग्ने होइन, त्यो शिखरलाई जोगाउने पनि ।” सन् २०१८ मा पहिलोपटक सगरमाथामा सफलता प्राप्त गर्नुभएकी आरोही श्रेष्ठले गत वर्ष दुई हप्ताको समय अवधिमा तीनपटक सगरमाथा चढेर कीर्तिमान कायम गर्नुभएको थियो । उहाँले यो वर्ष सगरमाथामा सफलतालगत्तै अन्नपूर्ण प्रथम हिमाल पहिलोपटक आरोहण गर्नुभएका स्वर्गीय मौरिस हर्जोगको परिवारसँग अन्नपूर्ण प्रथम आधार शिविरसम्म पदयात्रा गर्न समेत भ्याउनुभयो । अन्नपूर्ण हिमालमा पहिलोपटक मानव पाइला पुगेको ७५ वर्ष पुगेको छ । पूर्णिमाले पनि सन् २०२१ मा अन्नपूर्ण प्रथम हिमालसहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसक्नु भएको छ ।

एकै परिवारको सफलताः  एउटै परिवारसँगै हिमालमा जानु त्यति सजिलो हुँदैन । विश्वको पाँचौँ अग्लो हिमाल मकालुमा एकै परिवारका चार दाजुभाइ र एक बहिनीले साथसाथै सफलता पाएका छन् । सङ्खुवासभाको एकै परिवारका आङदावा शेर्पा, मुक्तु लाक्पा शेर्पा, न्गिमा दोर्जी शेर्पा, पेचुम्बे शेर्पा र बहिनी पासाङ याङ्जी शेर्पाले एकै साथ चढेर पारिवारिक आरोहण अभियान सफलता प्राप्त गरेका छन् ।

सरकारले विगत वर्षहरु जस्तै सगरमाथाको आधार शिविरमा पर्वतारोहण अनुगमन तथा सहजीकरण कार्यालय खोलेर विभिन्न पर्वतारोहण दललाई कार्य सञ्चालनका लागि सहज बनाइदिएको थियो । मौसममा केही खराबी हुनुका साथै तीव्र हावा चले तापनि यसपालि सुरक्षित रुपमा आरोहण अभियानहरु सञ्चालन भएको तथा दुर्घटनाहरु कम भई मर्यादित तथा विवादरहित ढङ्गले आरोहण गतिविधि सञ्चालन भएको पर्यटन विभागले जनाएको छ । आगामी दिनमा आधार शिविरको अस्थायी फिल्ड अफिसलाई अझ सुविधासम्पन्न र व्यवस्थित बनाउन सके हजारौँ डलर तिरेर आरोहण अनुमति लिएका पर्वतारोहण टोलीहरुलाई अझ सुविधा प्रदान गर्न सकिन्थ्यो । हिमालबाट विश्वभर प्रवाह हुने सकारात्मक समाचारले नेपालको पर्यटन प्रवद्र्र्धनमा सहयोग पुग्न जाने अपेक्षा गर्न सकिन्छ ।

(लेखक पर्यटकीय पर्यटनका जानकार हुनुहुन्छ)

बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

तनहुँ । हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ । यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो । बाँदर कुद्ने उक्त पहरा अहिले पर्यटकको रोजाइ बन्ने गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको प्राकृतिक पहरा क्षेत्रमा पार्क बनाएर पर्यटकलाई भुलाउने र मनोरञ्जन प्रदान गर्ने जमर्को गाउँपालिकाले गरेको छ । साथै पर्यटकलाई आकर्षण गर्दै आन्तरिक स्रोतको बलियो माध्यम गाउँपालिकाले बनाउँदै आएको छ ।

यही राजमार्ग भएर पोखरा, चितवन र काठमाडौँलगायत सहर जान दैनिक सयौँ सवारी साधन गुड्ने गर्दछन् । यहाँको मनमोहक पानीको छहराले मनै शीतल बनाउनुका साथै रमणीय प्राकृतिक दृश्य र आकर्षक किसिमले कुँदिएका मूर्तिले जोकोहीलाई सजिलै आकर्षण गर्ने गर्दछ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा डेढ करोड बढी लगानी गरी भौतिक संरचना निर्माण गरेर पर्यटन प्रवद्र्धनको काम सुरुआत गरेपछि अहिले आम्दानीको स्रोत बन्ने गरेको छ ।

पहराको ढुङ्गामा कुँदेर सुन्दर परीको मूर्ति, हात्तीको सूँड, आमा र बच्चाको मूर्ति निर्माण गरिएको छ भने पहरामाथिबाट खस्ने पानीको छहराले पर्यटकलाई छुट्टै आनन्द दिलाउँछ ।

गाउँपालिकाले आर्थिक वर्षको २०८१/८२ साउनदेखि वैशाखसम्म ४२ लाख आम्दानी गरिसकेको छ । गाउँपालिकाले वातावरण शुल्कबापत प्रवेश शुल्कमा स्थानीयलाई ५० र बाह्य पर्यटकलाई १०० शुल्क कायम गरेको छ ।

अन्य दिनको तुलनामा बिदाका दिनमा पर्यटकको बाक्लो भीड लाग्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । सोही पार्कभित्र ऐनापहरा रेष्टुरेराँ होटल सञ्चालनमा रहेको छ । गाउँपालिकाले बोलपत्रमार्फत मासिक ४६ हजार ५०० मा भाडामा लगाएको छ ।

गत शनिबार एक हजारको हाराहारीमा आन्तरिक पर्यटक भित्रिँदा एकै दिनमा ४६ हजार ३०० रकम सङ्कलन भएको थियो । उनले भने, “उक्त रकम अहिलेसम्मकै धेरै रकम सङ्कलन भएको हो, अन्य दिनमा कम्तीमा ८/१० हजार टिकट बिक्रीबाट आम्दानी हुने गरेको छ ।”

आगामी वर्ष वार्षिक रु एक करोडसम्म आम्दानी गर्ने अपेक्षा गाउँपालिकाले लिएको छ । उनले भने, “पर्यटकलाई अझै आकर्षण गर्न सिसाको पुल र जिपलाइन, स्काइवाकलगायत साहसी खेलका लागि संरचना निर्माण गर्न थालेको छ, अबको १० दिनभित्र सञ्चालनमा ल्याई पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ ।”

गाउँपालिकाले पर्यटकीयस्थल परिचाहन गरी मस्र्याङ्दी नदीमा मोटरबोट सञ्चालन गरिसकेको छ । आँदिमूल मन्दिर र समुन्द्री सहतदेखि छिम्केश्वरी माई तथा बुढीमाई मन्दिरको पूर्वाधार र मन्दिर संरक्षण गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्दै आएको छ ।

पृथ्वीराजमार्ग भएर दैनिक सयौँ सवारी साधन गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकिने प्रचुर सम्भावना देखिएकाले यो क्षेत्र पर्यटकीयस्थलका रुपमा विकास गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

एन्टिबायोटिकको प्रयोग बढ्दै, सचेतना बढाउन विज्ञको सुझाव

सुर्खेत । एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनसक्ने चिन्ता व्यक्त गरिएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरुले एन्टिबायोटिक औषधीको प्रयोग बढ्दै जाँदा भविश्यमा यसको गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको हो ।
एन्टिबायोटिकको अत्यधिक प्रयोगले प्रतिरोध क्षमतामा गिरावट आउने र त्यसले गर्दा औषधीले काम नगर्ने अवस्था सिर्जना हुनसक्ने उनीहरुको भनाइ छ ।

चिकित्सकहरुका अनुसार अहिले कर्णालीमा एन्टिबायोटिक लिने बढ्दै गएका छन् । यसले स्वास्थ्यमा नकारात्मक असर पार्नसक्ने तथ्यले देखाएको छ । विश्वस्वास्थ्य सङ्गठनका कर्णाली प्रतिनिधि प्रदीप अधिकारीले आफ्नो प्रस्तुति राख्दै नेपाल एन्टिमाइक्रोबियल प्रतिरोधको उच्च रुपले प्रभावित रहेको बताए ।

उनले सन् २०१९ मा गरिएको अध्ययन प्रस्तुत गर्दै एन्टिमाइक्रोबियल औषधीको प्रयोगका कारण प्रत्यक्ष रूपमा छ हजार ४०० र अप्रत्यक्ष रुपमा २३ हजार २०० मृत्यु भएको बताए ।

मानिस, जनावर र बोटबिरुवामा एन्टिबायोटिक्सको अत्यधिक प्रयोगप्रति जैविक प्रतिरोधी रोगको वृद्धि हुनुका मुख्य कारण रहेको उनको भनाइ छ । उनले भने, “बहुऔषधी प्रतिरोध भएका विश्वका ३० मुलुकमध्ये नेपाल पनि एक हो, राष्ट्रिय रोगभार प्रतिवेदन २०१९ अनुसार सबैभन्दा बढी मृत्यु गराउने सङ्क्रामक रोगमा श्वासप्रश्वास क्षयरोग, टाइफाइडजन्य सङ्क्रमण रहेका छन् ।”

नेपालको कूल गार्हस्थ उत्पादनमा पशुपक्षीपालन क्षेत्रको करिब १३ प्रतिशत र समग्र कृषि क्षेत्रको करिब २७ प्रतिशत योगदान छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा प्रतिजैविक प्रतिरोधको व्यापकता बढिरहेको छ । उनले गरिबी र असमानताले गर्दा कम र मध्यम आय भएका देश सबैभन्दा बढी प्रभावित हुन थालेको बताए ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत फिजिसिएन डा केएन पौडेलले अहिले एन्टिबायोटिक रेसिस्टेन्स लिनेहरु बढ्दै गएका छन् । सामान्य रोगका लागि एन्टिबायोटिक औषधीको प्रयोग हुने गरेको उनको भनाइ छ ।

“बिहानदेखि बेलुकीसम्म एन्टिबायोटिक्सको प्रयोग बढ्दो छ”, उनले भने,“यो विषय अब स्वास्थ्य क्षेत्रको मात्रै रहेन, यो व्यापक छलफल र बहसको विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ, हामीमात्रै होइन, सबै नागरिक सचेत हुन जरुरी छ ।”

औषधी पसलमा डाक्टरको सिफारिसबिना रोगको पहिचान नै नगरी एन्टिबायोटिक बेच्ने र प्रयोग गर्ने गरिएको उनको भनाइ छ । रोगको पहिचानबिना त्यस्ता औषधी प्रयोग गर्न नहुने उनको सुझाव छ । चिकित्सकले भनेर नहुने भन्दै यो स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले सबैको सरोकार हुनुपर्ने सुझाव उनको छ ।

कर्णाली प्रदेश अस्पतालमै कार्यरत डा सुजन सापकोटाले पनि एन्टिबायोटिक जथाभावी प्रयोग गर्नुहुन्न भने पनि यसको प्रयोग बढ्दो भएको भन्दै नियमन आवश्यक रहेको औँल्याए ।

गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव

यसैबीच सरोकारवालाले गाउँगाउँसम्म एन्टिबायोटिक औषधीको प्रयोगले पुर्याउने हानिका विषयमा गाउँगाउँसम्म सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन्टिबायोटिकको प्रयोग जथाभावी गर्दा भविश्यमा निम्तिने स्वास्थ्य समस्याका बारेमा आमनागरिकलाई जानकारी दिन आवश्यक रहेको औँल्याएका हुन् ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले खाद्य वस्तुमा एन्टिबायोटिकको प्रयोग भएकाले त्यसको असर मानव स्वास्थ्यमा परिरहेको भन्दै यससम्बन्धी जनचेतना आमनागरिकमा दिनुपर्ने सुझाव दिए ।

“कुखुराको मासुमा अत्यधिकमात्रामा एन्टिबायोटिक्स हुने गरेको छ”, थापा भन्छन्, “दुग्धजन्य पदार्थमा पनि अब अछुतो रहेन, त्यसैले हामीमात्रै जानकार भएर हुँदै आमनागरिक यस विषयमा जानकारी हुन जरुरी छ ।” कुन खाद्य वस्तुको अवस्था के छ भनेर जाँच गर्ने माइक्रो ल्याब नभएको भन्दै यसका लागि सरकारले विशेष कार्यक्रम बनाउनुपर्ने उनको सुझाव छ ।

वीरेन्द्रनगर नगरपालिकाका पशु शाखा प्रमुख यज्ञ पाण्डेले पनि पशुहरुमा प्रयोग हुने औषधीकै कारण मानिसमा गम्भीर असर परिरहेकोतर्फ सचेत हुनुपर्नेबेला आएको बताए ।

उनले भने, “गाइभैंसी  बिरामी भएको खण्डमा किसानले छिट्टै निको हुने औषधीको प्रयोग गर्ने भनेपछि हामी एन्टिबायोटिक दिन बाध्य हुन्छौँ, त्यसबाट उत्पादित मासु, दूधलगायत वस्तु मानिसले प्रयोग गर्छन्, त्यसबाट स्वास्थ्यमा गम्भीर असर सिर्जना हुँदैछ ।” उनले यससम्बन्धी नियमन गर्ने निकायले अलि कडाइ गर्न सक्नुपर्ने सुझाव दिए ।

नेपाल औषधी व्यवसायी सङ्घ सुर्खेतका महासचिव मङ्गलप्रसाद शर्माले पनि जथाभावी एन्टिबायोटिकको प्रयोग गर्न नहुने भनेर आमव्यवसायीलाई सचेत गराइएको बताए । केही व्यवसायी र बिरामी आफैँ पनि जथाभावी औषधीको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

सरोकारवालाहरुले मानव, पशुपक्षी र बोटबिरुवामा प्रतिजैविक औषधीको उचित प्रयोग गर्ने, आवश्यक निक्र्यौल गरेरमात्रै प्रयोग गर्ने, यस विषयमा जनजनमा सचेतना जगाउनुपर्ने सुझाव दिएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले प्रतिजैविक औषधीहरुको जथाभावी प्रयोग बढ्न नदिनेगरी काम भइरहेको जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले यससम्बन्धी बनेका कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक कानुन निर्माणमा सरकार केन्द्रित हुने प्रतिबद्धता जनाए ।

गोताखोर बेपत्ता घटनाबारे जानकारी लिन गृहमन्त्री सशस्त्र प्रहरी मुख्यालयमा

काठमाडौं । गृहमन्त्री रमेश लेखक हिजो सप्तरीमा दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे बुझ्न शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हलचोक पुगेका छन् ।

गृहमन्त्रीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले घटनाबारे जानकारी गराएका छन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले हिजोको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य विपद् उद्दारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाहीबारे बिस्तृत रुपमा जानकारी गराएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटनाबारे जानकारी गराएका थिए ।

गृहमन्त्रीसँगै राज्यव्यवस्था समितिका सभापति रामहरी खतिवडा, निमित्त गृहसचिव जयनारायण आचार्य, सहसचिव रामचन्द्र तिवारीलगायत गृह मन्त्रालयका अधिकारिहरु समेत सहभागी थिए । गृहमन्त्री लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रालय बाट के गर्न सकिन्छ त्यसमा लाग्ने बताए ।

खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बीमा बारे मन्त्रालयले थप कार्य गर्ने भन्दै उनले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाइ शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए ।

ओखलढुङ्गाबाट दश महिनामा २१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

ओखलढुङ्गा। ओखलढुङ्गाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत २१ जना गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले बताए । उद्धार गरिएका सबै गर्भवती–सुत्केरीलाई काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको उनले जानकारी दिए ।

उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बनेको पौडेलको भनाइ छ ।

‘सुविधा सम्पन्न अस्पतालमा उपचार नगरिए ज्यानै जानसक्ने सम्भावना भएका गर्भवती तथा सुत्केरीलाई स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविकालगायत स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस र खबरका आधारमा मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा तत्काल हवाई उद्धार भइरहेको छ’, उनले भने।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्लास्तरीय आमासमूह सञ्जालका अध्यक्ष कान्ती राजभण्डारीले बताए।

‘पहिले दुर्गम क्षेत्रका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । हाल हवाई उद्धार सेवा पाएपछि आमा र शिशुको ज्यान बचेको छ’, उनले भने, ‘यो कार्यक्रम निकै प्रभावकारी छ । आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा योजना बनाउँदा सरकारले दुर्गमका नागरिकलाई केन्द्रमा राख्यो भने राम्रो हुन्छ भन्ने सन्देश पनि यसले दिएको छ ।’

विगतमा महँगोमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजान सक्नेहरूले उपचार पाउने र नसक्नेहरूले उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको थियो ।

नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न

काठमाडौँ ।राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ । उक्त विधेयकमाथि ४६ जना सांसदबाट विभिन्न ८५ वटा संशोधन परेका थिए ।

आजको बैठकमा समिति सभापति रामहरि खतिवडाले संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न भएको र अर्को बैठकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष र पूर्वअध्यक्ष तथा भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित सङ्गठनका पदाधिकारीसँग छलफल गरिने बताए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले समितिमा छलफलमा रहेको उक्त विधेयकलाई चाँडो टुङ्ग्याएर सदनमा पठाउन आग्रह गरे । ‘यो अत्यन्त संवेदनशील विषय हो, विधेयकलाई चाँडो पारित गरेर जाऔँ, नागरिकताविहीन नागरिकले भोगिरहेको पीडाको अवस्था अन्त्य गर्ने लागौँ,’ उनले भने ।

अदालत पुगिसकेको माधव नेपालमाथिको मुद्दाको विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनः महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रान सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने बताए ।

कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उनले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको बताए । महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्ने बताए ।