`

१० हजार कर्मचारी कटौतीको निर्णयप्रति कांग्रेस–एमाले निकट संगठनको आपत्ति

काठमाडौं । सरकारले गरेको १० हजार कर्मचारी कटौतीको निर्णयमा दल निकट कर्मचारी संगठनले विरोध जनाएका छन् । संघीय सरकारले १० हजार सरकारी कर्मचारी कटौती गर्ने तयारी थालेको समाचार सार्वजनिक भएपछि नेपाली कांग्रेस, नेकपा एमालेलगायत दल निकट कर्मचारी संगठन र पेसागत महासंघहरूले कडा आपत्ति जनाएका हुन् ।

गत भदौ ३१ गते मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले संघमा कार्यरत १० हजार पद खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको भन्दै विभिन्न कर्मचारी संघसंगठनले ‘अविवेकी र राष्ट्रहितविरुद्ध’ को कदम भनेका छन् ।

निर्वाचनको मिति तोकिसकेको अवस्थामा कर्मचारी संख्यामा कटौती गर्दा राज्यको प्रशासनिक क्षमता कमजोर हुने संगठनको भनाइ छ । महासंघले विज्ञप्ति जारी गर्दै ‘रोजगार सिर्जना गर्नु सरकारको दायित्व हो, बेरोजगारी बढाउने निर्णय अस्वीकार्य छ’, भनेको छ । नेकपा एमाले निकट पेसागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले कर्मचारी कटौतीको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

‘चुनाव गराउन प्रशासनिक संयन्त्र अझै आवश्यक हुन्छ, चुनावको लागि कर्मचारी थप गर्नुपर्ने बेला सरकार घटाउन लागेको छ’, ढकालले भने । उनीहरूले विगतका संकटमा कर्मचारीहरूले चौबीसै घण्टा सेवा प्रवाह गर्दै संयमता देखाएको उल्लेख गर्दै, ‘कर्मचारीलाई निरुत्साहित पार्ने निर्णय बन्द गर्नुपर्छ’ भनेका छन् ।

रोजगारको अवसर स्वदेशमै प्रदान गरी वैदेशिक रोजगारमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गुर्नपर्नेमा बेरोजगारको कारखाना खोल्ने र स्थापना गर्ने निर्णय गरेको महासंघको भनाइ छ । ‘निर्णय फिर्ता लिन मुख्य सचिव एवं सचिवहरूमा माग गर्ने निर्णय गरेको छ’, विज्ञप्ति जारी गर्दै भनेको छ ।

इन्डोनेसिया र युरोपेली सङ्घबीच ऐतिहासिक व्यापार सम्झौता

झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबीचको व्यापार सम्झौता मङ्गलबार बाली द्वीपमा हस्ताक्षर हुने भएको छ । यो सम्झौताले दुबै पक्षलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिको प्रभावबाट जोगाउने उद्देश्य राखेको छ । प्राकृतिक स्रोतले भरिपूर्ण इन्डोनेसिया र २७ सदस्यीय युरोपेली समूहबीच यो सम्झौताले आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

अमेरिकाको नीतिपछि वार्ता तिव

सन् २०१६ देखि वार्ता सुरु भए पनि प्रारम्भमा खासै प्रगति हुन सकेको थिएन । इन्डोनेसियाको खानेतेल र वन विनाशसम्बन्धी विवादले सम्झौतामा अवरोध पु¥याएको थियो । तर, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा लागु गरिएको भन्सार नीतिले सम्झौताको प्रक्रिया तिव्र बनाएको विज्ञहरूको भनाइ छ । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियाँतो र युरोपेली आयोग प्रमुख उर्सुला भोन डर लायनबीच ब्रसेल्समा सन् २०२५ को जुलाईमा ‘राजनीतिक सहमति’ भएको घोषणा गरिएको थियो ।

इन्डोनेसियाली वस्तुमा भन्सार हटाइन

सम्झौता लागू भएपछि करिब ८० प्रतिशत इन्डोनेसियाली वस्तुहरू युरोपेली बजारमा भन्सारमुक्त हुने छन् । इन्डोनेसियाको मुख्य निर्यात वस्तुजस्तै खानेतेल, जुत्ता, कपडा र माछा–जन्य उत्पादनलाई प्रत्यक्ष फाइदा पुग्ने सरकारको विश्वास छ । युरोपेली सङ्घका प्रमुखले सम्झौताले स्वच्छ ऊर्जा र डिजिटल प्रविधिमा प्रयोग हुने कच्चा पदार्थहरूको आपूर्ति सुदृढ गर्न सहयोग पुग्ने बताएको छ ।

दुबै पक्षलाई आर्थिक लाभ

युरोपेली सङ्घ इन्डोनेसियाको पाँचौँ ठूलो व्यापार साझेदार हो, जससँग सन् २०२४ मा दुई पक्षबीचको व्यापार ३० अर्ब अमेरिकी डलर पुगेको थियो । यो सम्झौताले झण्डै २८ करोड जनसङ्ख्या भएको इन्डोनेसियाली बजारमा युरोपेली व्यवसायीहरूको पहुँच अझ सजिलो बनाउनेछ । साथै, सम्झौताले दुबै देशका उद्योगहरूलाई कानुनी सुरक्षा पनि दिनेछ ।

हरियाली नीतिमा विवाद

सम्झौताको पृष्ठभूमिमा इन्डोनेसिया र युरोपेली सङ्घबीच वन विनाशसम्बन्धी नीतिले सम्बन्ध केही तनावग्रस्त बनाएको थियो । युरोपेली सङ्घले वन विनाशसँग जोडिएका उत्पादनहरूमा प्रतिबन्ध लगाउने तयारी गरेपछि इन्डोनेसियाले आपत्ति जनाएको हो । वातावरण संरक्षणमा काम गर्ने समूहहरूले भने सम्झौता भएपछि वन विनाश अझ बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

सम्झौता कार्यान्वयनको प्रक्रिया

सम्झौता हस्ताक्षर भएपछिको चरणमा, दुबै पक्षले कानुनी परीक्षण तथा कागजातहरूको अनुवाद गर्नेछन् । त्यसपछि युरोपेली सङ्घका सदस्य राष्ट्र, युरोपेली संसद तथा इन्डोनेसियाको संसदले अनुमोदन गर्नुपर्नेछ । सरकारले अनुमान गरेका सम्झौता सन् २०२७ भित्र कार्यान्वयनमा ल्याइने जनाएको छ ।

जेनजी आन्दोलनले भग्नावशेष बनेको गणेशमान सिंह निवास (तस्बिरहरु)

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट गणेशमान सिंहको भवन भग्नावेश भएको छ।

काठमाडौंको क्षेत्रपाटी स्थित चाक्सीबारीमा रहेको उनको घर पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। १९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद सदस्यका रूपमा सक्रिय रहेका सिंहले २०४६ सालमा जनआन्दोलनपछि प्रधानमन्त्री बन्ने अवसर पनि अस्वीकार गरेका थिए।

नेपाली कांग्रेसका संस्थापक मध्येका एक गणेशमान सिंहको बिहीबार असोज २ गते २८औं स्मृति दिवस मनाइएको छ।

   

भीमफेदी कारागारबाट भागेका कैदीबन्दीहरू आफै फर्किए

बागमती । जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी आफै मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म २५९ जना कैदीबन्दी कारागार फर्केका छन् ।

भीमफेदी कारागारबाट भागेकामध्ये आज बिहानसम्म १९८ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । प्रमुख पौडेलका अनुसार भागेकामध्ये ६८ जना कैदीबन्दी आफै कारागारको सम्पर्कमा आएका छन् भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका हुन् ।

गत भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको पर्खाल भत्काएर ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजी गर्ने क्रममा भीमफेदी कारागारबाट फरार १९८ र अन्य कारागारबाट फरार ६२ जना गरी २५९ जना कैदीबन्दी कारागार फर्किएको कारागार प्रमुख पौडेलले बताए ।

कारागारको तीन वटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (क) ब्लकबाट १८० गरी ४४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीहरूको खोजीका क्रममा सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट कैदीबन्दीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका २४२ जना कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

नेतान्याहुको तीन राष्ट्रलाई चेतावनी : “प्यालेस्टिनी राज्य हुनेछैन”

इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई मान्यता दिएको कदमको कडा विरोध गर्दै जोर्डन नदीको पश्चिममा कुनै पनि हालतमा प्यालेस्टिनी राज्य नहुने स्पष्ट चेतावनी दिएका छन् ।

अमेरिका भ्रमणपछि औपचारिक जवाफ दिने घोषणा गर्दै नेतान्याहुले भने, “त्यहाँ प्यालेस्टिनी राज्य हुनेछैन । हाम्रो भूमिको मुटुमा आतङ्कवादी राज्य निर्माण गर्ने प्रयास अस्वीकार्य छ ।”

प्यालेस्टाइनलाई मान्यता दिँदै यी मुलुकहरूले आतङ्कवादलाई ‘ठूलो पुरस्कार’ दिएको उनले आरोप लगाएका छन् । “अक्टोबर ७ को नरसंहारपछि प्यालेस्टिनी राज्यलाई मान्यता दिने नेताहरूलाई मेरो सन्देश छ – तपाईंहरूले आतङ्कवादलाई पुरस्कार दिइरहनुभएको छ । तर यो कहिल्यै सफल हुने छैन”, उनले भने ।

नेतान्याहुले भने, “वर्षौंदेखि मैले आन्तरिक र बाह्य दबाबका बाबजुद आतङ्कवादी राज्य बन्न दिइनँ । हामीले यहुदिया र सामरियामा यहुदी बस्तीहरू दोब्बर बनाएका छौँ र यो मार्गमा निरन्तर अघि बढ्नेछौँ ।”

अस्ट्रेलिया, क्यानाडा र बेलायतले संयुक्त रूपमा आइतबार प्यालेस्टिनी राज्यलाई मान्यता दिँदै दुई–राज्य समाधानको आह्वान गरेका थिए ।

यद्यपि, तिनीहरूले हमासको तत्काल अन्त्य हुनुपर्ने पनि जोड दिएका छन् । अस्ट्रेलियाको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अस्ट्रेलियाले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइनलाई मान्यता दिन्छ । यसो गर्दा, हामी प्यालेस्टिनी जनताको आफ्नै राज्यप्रतिको वैध र लामो आकांक्षालाई स्वीकार्छौं ।”

यसबीच, इजरायली विदेश मन्त्रालयले यस्ता घोषणाले शान्तिलाई कमजोर पार्ने र क्षेत्रलाई अझ अस्थिर बनाउने चेतावनी दिएको छ ।

मन्त्रालयको वक्तव्यमा भनिएको छ, “इजरायलले संयुक्त अधिराज्य र अन्य केही देशहरूले गरेको मान्यताको एकतर्फी घोषणा स्पष्ट रूपमा अस्वीकार गर्छ । यसले शान्तिलाई प्रोत्साहन गर्दैन, बरु भविष्यमा शान्तिपूर्ण समाधानको सम्भावनालाई कमजोर बनाउँछ ।”

पाँच दिनमा एक लाख ८९ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिए

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दशैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् ।

कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।
यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बर्सातका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताए ।

‘मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौंसम्म बस बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ’, महासचिव गौतमले भने । अवरुद्ध राजमार्ग समयमै सञ्चालन गर्न उनले सरकारलाई आग्रह गरे ।

पछिल्ला दिनमा काठमाडौँ गोङ्गबुस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कमा समेत दशैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अन्य समयको तुलनामा नयाँ बसपार्कबाट घर जाने यात्रुको संख्या बढेको छ । उनका अनुसार अन्य समय चार पाँच हजार हाराहारीमा यात्रु नयाँबसपार्कबाट बाहिरिने गरेकोमा अहिले उक्त संख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ ।

 

डेङ्गुका कारण एकै दिन १२ जनाको मृत्यु

बङ्गलादेश । बङ्गलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, देशमा डेङ्गु सङ्क्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ, जुन यस वर्षका लागि सबैभन्दा उच्च मृत्यु सङ्ख्या हो ।

हालसम्म डेङ्गुबाट मृत्यु हुनेहरूको कुल सङ्ख्या १७९ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७४० नयाँ सङ्क्रमित फेला परेपछि यस वर्ष डेङ्गुका कुल सङ्क्रमितहरूको सङ्ख्या ४१ हजार ८३१ पुगेको छ ।

डेङ्गु रोग मुख्यतः वर्षायाम अर्थात् जुनदेखि सेप्टेम्बरसम्म बंगलादेशमा व्यापक रूपमा फैलिने गर्दछ । मच्छरजन्य रोगहरूका लागि संवेदनशील मानिने यस देशमा यस रोगको नियन्त्रणका लागि सतर्कता र प्रभावकारी कदम चालिनु आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

सरकारले डेङ्गु नियन्त्रण र रोकथाममा जनचेतना अभिवृद्धि गर्न विशेष पहल गर्ने जनाएको छ ।

किमको प्रस्ताव : ट्रम्पसँगका ‘मनपर्ने सम्झना’, आणविक हातियारसहित अमेरिकी वार्तामा खुला

उत्तर कोरियाली नेता किम जोङ उनले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ‘मनपर्ने सम्झना’ अझै ताजा रहेको बताएको छ । उनले यदि आफ्नो आणविक शस्त्रागार कायम राख्न पाउने हो भने अमेरिकासँग भविष्यका वार्ताका लागि खुला रहने सङ्केत दिएको छ ।

किम र ट्रम्पबीच ट्रम्पको पहिलो कार्यकालमा तीन पटक उच्च–स्तरीय शिखर बैठक भएको थियो । तर, प्योङयाङले आफ्नो आणविक कार्यक्रमबारे के छुट दिन सक्ने भन्नेमा सहमति नजुटेपछि सन् २०१९ मा हनोईमा भएको अन्तिम वार्ता असफल भयो ।

वर्षौंदेखि अमेरिकाले आणविक निशस्त्रीकरणको माग गर्दै आएको छ । यो नै दुवै देशबीचको मुख्य अड्चन हो । उत्तर कोरियाले भने संयुक्त राष्ट्रसङ्घका कठोर प्रतिबन्धका बीच आफ्नो आणविक र मिसाइल कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको छ ।

“यदि अमेरिकाले आणविक निशस्त्रीकरणको भ्रम त्यागेर वास्तविकतालाई स्वीकार्छ र शान्तिपूर्ण सहअस्तित्व चाहन्छ भने हामी तयार छौँ”, किमले संसद्मा दिएको विस्तृत भाषणमा भने, “म अझै पनि राष्ट्रपति ट्रम्पसँगका मनपर्ने सम्झनाहरू राख्छु ।”

तर उनले उत्तर कोरियाले आफ्नो आणविक हातियार कहिल्यै नछाड्ने स्पष्ट पारेका छन् । “अमेरिकाले अरूलाई आणविक हतियार त्याग्न बाध्य पारेपछि के हुन्छ भन्ने कुरा विश्वलाई थाहा छ । हामीले आफ्नो हतियार कहिल्यै छाड्ने छैनौँ ।”

किमले प्रतिबन्धहरूले उल्टै उत्तर कोरियालाई बलियो र आत्मनिर्भर बन्न मद्दत गरेको दाबी गरे ।

दक्षिण कोरियासँगको सम्बन्धबारे भने उनले कडा शब्दमा ‘हामीसँग उनीहरूसँग बस्नुपर्ने कुनै कारण छैन’ भन्दै कुनै पनि प्रकारको सहकार्य अस्वीकार गरेका छन् । उत्तर कोरियाले हालसालै दक्षिण कोरियालाई प्रमुख शत्रु घोषणा गर्दै दुवैलाई जोड्ने रेल र सडक अवरोध गरेको छ ।

रूससँगको नजिक सम्बन्ध

विश्लेषकहरूका अनुसार किम युक्रेन युद्धपछि अझ उत्साहित भएको छ । मस्कोसँग मिलेर हजारौँ सैनिक पठाएको र ठूलो मात्रामा हतियार उपलब्ध गराएको उत्तर कोरियाले रुसबाट ठूला सुरक्षा सहयोग पाएको छ ।

गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङ भ्रमणका क्रममा दुवै मुलुकले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सियोलले भने रुसले उत्तर कोरियालाई संवेदनशील सैन्य प्रविधि हस्तान्तरण गर्ने जोखिम बढेको पटक–पटक चेतावनी दिएको छ ।

एपिइसी शिखर सम्मेलन र सम्भावित आश्चर्य

आगामी महिना दक्षिण कोरियाको ग्योङ्जु सहरमा हुने एशिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी)शिखर सम्मेलनमा ट्रम्पको दक्षिण कोरिया भ्रमण अपेक्षित छ । विशेषज्ञहरूका अनुसार किमको यो टिप्पणी त्यही भ्रमणलाई लक्षित छ ।

“यो टिप्पणीले अनपेक्षित शिखर बैठकको सम्भावना सङ्केत गरेको छ, साथै ट्रम्पको नोबेल पुरस्कारप्रतिको चाहनालाई पनि छेडेको छ”, दक्षिण कोरियाको क्युङ्नाम विश्वविद्यालयका लिम युल–चुलले भने ।

पूर्व अधिकारी याङ मू–जिनका अनुसार किमको लामो भाषणले विश्वास र निराशा दुवै झल्काएको छ । विदेशी शक्तिलाई लक्षित भए पनि यसको मूल सन्देश आन्तरिक रूपमा स्थिरता कायम गर्ने थियो ।

किन पछि धकेलियो मन्त्रीहरूको शपथ ?

काठमाडौं । नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे मात्र हुने भएको छ । यसअघि २ बजेलाई तोकिएको शपथ एक घण्टा पछि सारेर ३ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्तिका लागि थप पाँच जनाको नाम सिफारिस भएको छ ।

नयाँ मन्त्रीका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन र राज्य पुनर्संरचना आयोगका पूर्व संयोजक मदन परियार छन् । त्यस्तै स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्रका नाम सिफारिस भएको भए पनि उनीहरूको नाम अहिलेलाई होल्डमा राखिएको बताइएको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।

 

रागासा सुपर टाइफुन : निकासी, विद्यालय–कार्यालय बन्द

यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी फिलिपिन्स र छिमेकी ताइवानमा ठूलो जोखिम निम्त्याएपछि हजारौँ मानिसलाई निकासी गरिएको छ भने विद्यालय र कार्यालयहरू बन्द गरिएको छ ।

आँधीबेहरीले दक्षिणपूर्वी चीनमा बाढी र भूस्खलनको उच्च सम्भावना बढाएको अधिकारीहरूले चेतावनी दिएका छन् ।

रागासाले दुई सय १५ किलोमिटर प्रतिघण्टा (एक सय ३४ माइल प्रतिघण्टा) को स्थायी हावासहित दुई सय ६५ किलोमिटर प्रतिघण्टा (एक सय ६५ माइल प्रतिघण्टा) को झटका ल्याएको छ ।

फिलिपिन्सका पूर्वानुमानकर्ताहरूका अनुसार यो कागायन प्रान्तको कालायन टापु सहरको पूर्वमा केन्द्रित छ र २० किलोमिटर प्रतिघण्टा (१२ माइल प्रतिघण्टा) को गतिमा पश्चिमतर्फ सरिरहेको छ । सोमबार दिउँसो वा साँझ कागायनको बाबुयान टापुहरू नजिकै अवतरण गर्नसक्ने अनुमान छ ।

फिलिपिन्स मौसम एजेन्सीले कागायन, बाटानेस, इलोकोस नोर्टे र इलोकोस सुरका तटीय क्षेत्रमा आगामी २४ घण्टाभित्र तीन मिटर (लगभग १० फिट) भन्दा अग्लो जीवनघातक समुद्री छाल आउन सक्ने चेतावनी दिएको छ ।

कालायन टापु र अपायाओ प्रान्तमा विद्युत् आपूर्ति बन्द भएको छ । अहिलेसम्म स्थानीय रूपमा ‘नन्दो’ भनिने रागसाबाट हताहत वा ठूलो क्षतिको रिपोर्ट आएको छैन ।

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राजधानी मनिला र उत्तरी लुजोन क्षेत्रका २९ प्रान्तमा सरकारी कामकाज र कक्षाहरू स्थगित गराएका छन् ।

कागायनमा आठ हजार दुई सयभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन् भने आकस्मिक बाढी र भूस्खलनको जोखिममा रहेका एक हजार दुई सय २० जना आपत्कालीन आश्रयमा पुगेका छन् ।

आँधीबेहरीका कारण उत्तरी प्रान्तका घरेलु उडानहरू स्थगित भएका छन् । माछा मार्ने डुङ्गा तथा अन्तर–टापु यातायातलाई बन्दरगाह नछोड्न निर्देशन दिइएको छ ।

यो वर्ष फिलिपिन्समा प्रहार गर्ने १४औँ मौसमी गडबडी बनेको रागासाको बेला संसद् र काङ्ग्रेस दुवैमा भ्रष्टाचार घोटालाको छानबिन भइरहेको छ, जसले घटिया वा अस्तित्वहीन बाढी नियन्त्रण परियोजनाहरू निम्त्याएको आरोप लागेको छ ।

पूर्वानुमानअनुसार रागासा चीनको मुख्यभूमि प्रवेश गर्नुअघि ताइवान र हङकङको दक्षिण हुँदै बुधबारसम्म दक्षिण चीन सागरमै रहनेछ । ताइवानका ताइतुङ र पिङटुङ काउन्टीका केही तटीय र पहाडी क्षेत्र, अर्किड र ग्रीन टापुमा बन्द गर्ने आदेश दिइएको छ ।

हङकङ र मकाउतर्फ आँधीको असर पर्ने भएकाले हङकङमा बाढी जोखिम भएका क्षेत्रमा सामान्यभन्दा दोब्बर बालुवाका बोरा उपलब्ध गराइएको छ । मकाउ प्रहरीले तल्लो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित निकासीका लागि तयारी गर्न आग्रह गरेको छ ।

मङ्गलबारदेखि चीनको गुआङ्गडोङ प्रान्तमा भारी वर्षा र प्रचण्ड हावाहुरी ल्याउने अनुमान छ । जियाङमेन, याङजियाङ, झोङ्सान र झुहाई सहरमा विद्यालय, कार्यालय, कारखाना र यातायात सेवा निलम्बन गर्ने आदेश जारी गरिएको छ ।

चीनको मौसम एजेन्सीका अनुसार रागासाले गुआङ्गडोङमा एकभन्दा बढी पटक अवतरण गर्न सक्नेछ । अधिकारीहरूले स्थानीय बासिन्दालाई आपत्कालीन आपूर्ति भण्डारण, ढोका–झ्याल मजबुत बनाउने र भूमिगत क्षेत्र खाली गर्न आग्रह गरेका छन् ।

विद्युतको ‘एमडी’ बाट हटाएर उर्जा आयोगमा थन्क्याइएका हितेन्द्रदेव अब के गर्छन् ?

काठमाडौं । मन्त्रिपरिषदको हिजोको बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) बाट हटाइएका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशेषज्ञ पदमा पुर्‍याइएको छ । सरकारले शाक्यको ठाउँमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई ल्याएको छ । सरकारले नेपाल विद्युत् प्राधिकरणबाट अचानक हटाएपछि अब कसरी अघि बढ्ने भन्ने परामर्श गरिरहेको निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटार जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ । उनले सरकारले कसरी ‘ट्रिट’ गर्छ सोही आधारमा अघि बढ्ने बताएका छन् । ‘मेरो विशेषज्ञता सरकारले चाहेको हो भने छुट्टै कुरा हो । तर, प्रतिशोध साँधेको हो भने त्यही अनुसार अघि बढ्छु’, उनले भने । कसरी अगाडि बड्ने तयारी हो त्यो भने उनले प्रष्ट पारेका छैनन् ।

आफू सहयोग गर्ने पक्षमा रहे पनि सरकारले बिना कारण सरुवा गरेको उनको गुनासो छ । ‘म सरकारलाई सहयोग गर्ने पक्षमा नै थिएँ । तर, काम गर्ने अवसर समेत नदिई हटाइयो’, उनले भने, ‘अब दशैँ मनाएपछि कसरी अघि बढ्ने सोचौँला।’ शाक्यको फेरि पुरानै नियति दोहोरिएको छ । उनी छोटो समयमै प्राधिकरणबाट लखेटिएका छन् । आफ्ना चीरप्रतिस्पर्धी कुलमान घिसिङ अचानक ऊर्जामन्त्री बनेपछि हितेन्द्रको पद संकटमा परिसकेको थियो । कुलमानले कुनै धैर्यता नराखिकन तत्कालै हितेन्द्रलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरिदिएका हुन् ।

हितेन्द्र कुलमानसँग मिलेर काम गर्ने मुडमा थिए । तर, कुलमानले आफू अनुकूलको कार्यकारी निर्देशक ल्याउन चाहे । फलतः हितेन्द्रलाई जल तथा ऊर्जा आयोगको विशेषज्ञ पदमा थान्को लगाइएको छ । हितेन्द्र यति धेरै निराशा सुनिएका छन् । उनी अहिले निरास सुनिनुमा प्राधिकरणको कार्यकारी निर्देशक पद गुमाउनु मात्र होइन । अर्को कारण हो उनको घर जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर ध्वस्त भएको छ । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा हितेन्द्रको ज्वागलस्थित घरमा पनि आगो लगाइयो । त्यसबेला उनी देश बाहिर थिए । परिवारका सदस्यहरु घरमै भएको बेला आक्रमण भएको थियो ।

उक्त घटनापछि हितेन्द्रकी पत्नी ट्रमामा छिन् । हितेन्द्र शनिबार मात्र नेपाल आएका हुन् । घरको अवस्था देखेर स्तब्ध बनेका उनले आफ्नो फेसबुक प्रोफाइलमै जलेको घरको फोटो राखेका छन् । उनी तत्काल बासस्थानको व्यवस्थापन गर्नुपर्ने तनावमा छन् । शाक्यले भने, ‘घरमा सबै कुरा सखाप गरिएको छ । बस्नलायक नै छैन । म अहिले त थातथलोको खोजीमा छु ।’

कहाँ गए गण्डकीका फरार ४६१ कैदीबन्दी ?

गण्डकी । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ११ सय ९५ कैदीबन्दीमध्ये आइतबारसम्ममा सात सय ३४ कैदीबन्दी कारागार फर्किएका छन् । चार सय ६१ कैदीबन्दी अझै फरार अवस्थामा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये तीन सय ८१, तनहुँ कारागारबाट भागेका तीन सय २७ मध्ये दुई सय ७६, म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ६७ जना र पर्वत कारागारबाट भागेका १९ मध्ये १० जना कैदीबन्दी कारागार फर्किएका हुन् । कास्की कारागारबाट भागेका तीन सय ९२, तनहुँ कारागारका ५१, म्याग्दी र पवर्त कारागारका नौ÷नौ जना अझै पक्राउ पर्न नसकेको सूचना अधिकारी कार्कीले बताए ।

कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको उनको भनाइ छ । भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । ‘जेनजी’ आन्दोलनका क्रममा चारवटै कारागारमा रहेका कुल १२ सय ८१ कैदीबन्दीमध्ये ११ सय ९५ जना भागेका थिए । प्रदेशका अन्य केही कारागार कार्यालयबाट पनि कैदीबन्दी भाग्न खोजेपनि कडा सुरक्षा व्यवस्थाका कारण उनीहरु भाग्न सकेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए । उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए । यस्तै कास्कीको सराङकोटमा रहेको बाल सुधारगृहबाट भागेका एक सय छ जना बाल बन्दीमध्ये ४६ जना सुधार गृहमा फर्किएको जनाइएको छ । कारागार र प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई आफै कारागार फर्कन सुरुदेखि नै आग्रह गरेका छन् ।

टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी वा थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोध गरिएको सूचना अधिकारी बस्नेतले बताए । कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर उनीहरुलाई फर्काउने योजना बनाएको छ ।

दशैंमा पनि सर्वोच्चमा बन्दीको रिटमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतमा दशैँ बिदामा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ । दशैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

अदालतको सूचनामा भनिएको छ, ‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्दै, पछिल्लो २४ घण्टामा कति बाहिरिए ?

काठमाडौं । दशैँको घटस्थापना सुरु भएसँगै पछिल्लो २४ घण्टामा ४३ हजार बढी यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुले आइतबार बिहान ६ बजेदेखि आज (सोमबार) बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छोडेको जानकारी दिए । ‘दशैँ सुरु भएसँगै काठमाडौं छोड्नेहरूको संख्या बढेको छ ।

नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रमा सवारी साधन र यात्रुको चाप बढेको छ । दशैँ भएकाले यो क्रम बढ्छ’, उनले भने । दशैँ सुरु भएसँगै कर्मथलो छोडेर घर फर्किने क्रम सुरु भएको हो । काठमाडौंका नाकामा सवारीको चाप बढेको छ । काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटी क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको हो ।

स्वास्थ्यमन्त्री बन्न लागेकी संगीताविरुद्ध बिचौलियाले निराधार आरोप लगाए : अमरेश सिंह

काठमाडौं । निवर्तमान सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री सिफारिस भएर पनि सूचीबाट हटाइएकी डा. संगीता मिश्रलाई स्वास्थ्य सेवा विभागका ‘बिचौलियाहरूले निराधार आरोप लगाएको’ टिप्प्णी गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस सूची पठाउँदा मिश्रको नाम पनि थियो । तर मिश्रविरुद्ध नागरिकता विवाद र अनियमितताको विषय गम्भीरतापूर्वक उठेपछि आज बिहानै उनको नाम काटेर पुनः चार जनाको मात्र सूची राष्ट्रपति कार्यालय पठाइएको छ ।

स्वास्थ्यमन्त्री पदको शपथ खाने दिन मिश्रको नाम काटिएको छ । जसले गर्दा आज दिउँसो २ बजे शीतल निवासमा मिश्रबाहेक अनिलकुमार सिन्हा (उद्योगमन्त्री), महावीर पुन (शिक्षामन्त्री), मदन परियार (कृषिमन्त्री) र जगदीश खरेल (सञ्चारमन्त्री) ले मात्र शपथ खाने भएका छन्र ।

‘स्वास्थ्यमन्त्री बन्न लागेकी डा. संगीता मिश्रमाथि स्वास्थ्य सेवा विभागमा वर्षौँदेखि रजगज चलाएका केही थान बिचौलियाहरूले निराधार आरोप लगाएका छन्’, निर्वतमान सांसद सिंहले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘विभागमा वर्षौँदेखि खरिद प्रक्रियामा आफ्नो रजगज चलाउने बिचौलियाहरूको निदहराम गरेबापत नै संगीता मिश्रलाइ सचिव बन्नबाट रोकेको थियो ।’

‘आज फेरि त्यही सलबलाएका छन् र डाक्टर संगीतालाइ बदनाम गर्न तथाकथित आरोपहरू लगाएका छन् । डा. संगीता एक कुशल नेतृत्वकर्ता हुन् । उनी भ्रष्ट भएको भए पहिले नै सचिव बन्न सक्थिन् । उनको नियुक्तिबाट कांग्रेसका केही नेताहरू पनि आफ्नो कुकृत्य उजागर हुने डरले अतालिएका छन्,’ सिंहले थप लेखेका छन् ।

मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन् । उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन् । उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन् । गत वर्षको फागुनमा डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन् । मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् ।

 

 

गोरखा दरबारको दशैंघरमा जमरा राखियो

गोरखा । गोरखा दरबारको दशैंघरमा आज विधिपूर्वक जमरा राखिएको छ । बडादशैं अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दशैंघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

परम्परा अनुसार आज बिहान कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह (पूजा कोठा)मा राखेपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उनले बताए । ‘‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो’,’ उनले भने, ‘‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन माझ्ने तथा शैलपुत्रीको पूजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’

गोरखा दरबारको दशैंघर र कालिका मन्दिरमा एक–एक पाथीका दरले जौँको जमरा राखिएको उनले बताए । त्यस्तै, गोरखनाथ मन्दिरमा चार माना तथा उपल्लो कोट र तल्लो कोटमा एक–एक मानाका दरले जमरा राखिएको मूलपूजारी भट्टराईले बताए ।

घटस्थापनाका दिन गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीले घर–घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै आजदेखि कालिका मन्दिरमा नियमित रुपमा बलि दिने प्रचलन समेत रहेको छ ।

त्यस्तै, गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिए । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

 

 

नारायणगढ–मुग्लिन सडक आज दिउँसो बन्द हुने

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड आज (सोमबार) दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

तुइन खोला पुल छेउमा खसेको पहिरोका कारण गत शुक्रबारदेखि करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए । आइतबार अपराह्न करिब साढे चार बजेतिर सडक एकतर्फी खुलाइएको थियो । राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुनः सडक बन्द गरिएको थियो ।

आज बिहानसम्म पनि तुइन खोला पुल नजिकै मात्र सडक एकतर्फी सञ्चालनमा छ भने अन्य स्थानमा दुईतर्फी गाडी चलिरहेका छन् । दशैं मनाउन घर फर्किने क्रम अब बढ्ने भएकाले बाँकी पहिरो पनि हटाएर दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी गरिएको हो । लामो समयसम्म सडक बन्द हुँदा सवारीसाधनको चाप छ । लेन अनुशासन समेत पालना नहुँदा ठाउँठाउँमा जाम हुने गरेको छ । ट्राफिक प्रहरीले र सडक डिभिजन कार्यालय भरतपुरले लेन अनुशासनमा रहेर सवारी चलाउनु सबैलाई अनुरोध गरेका छन् ।

 

 

पदयात्राका लागि अन्नपूर्ण आधार शिविर पुग्न थाले पर्यटक

म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ। शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाले बताए ।

दसैँ तिहारको विदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनले बताए । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । सहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउदै छोटो समयको पदयात्राका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर उपभोगी भएको गोरखाबाट आएका सन्दिप भट्टले बताए ।

७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा मौरिस हर्गोज नामाकरण गरी खुलाएको थियो ।
अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को नीगिगत व्यवस्था अनुसारको प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरुले फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङ सञ्चालन गरेका छन् । पर्यटकलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती क्यापिङ क्षेत्रहरुमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्ने क्षमता रहेको छ । रासस

 

सुनचाँदीको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज (सोमबार) सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

हनुमानढोकाको दशैं घरमा राखियो जमरा (तस्वीरहरु)

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरुको महान् पर्व बडादशैं आजबाट सुरू भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूपर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ । आजैदेखि दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । आजकै दिन हनुमानढोका दरवार स्क्वायरको दशैं घरमा पनि विधिवत् रुपमा जमरा राखिएको छ ।
परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा घटस्थापनापछि नवरात्रभर दैनिक बलि दिई शक्तिस्वरुपा दुर्गा देवीको विधिपूर्वक पूजा आराधना सुरु हुने र मंगल धुन पनि बजाइने हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीहरु बताउँछन् ।

बडादशैंको मुख्य दिन देवी दुर्गाको प्रसादको रुपमा दशमीको दिन त्यही जमरा र टीका लगाइन्छ । यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ । टीकाको शुभसाइत ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले मंगलबार बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहान ८ बजेका लागि बैठक तय भएको रास्वपाले जानकारी दिएको छ ।

बैठकमा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गर्ने एजेन्डा छन् । पार्टी संगठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति र पार्टीको महाधिवेशन सम्बन्धमा पनि छलफल हुने रास्वपाले जनाएको छ।

रवीन्द्र मिश्रको प्रश्न : जलेका नोटका डंगुर ‘ब्यानर र हेडलाइन’ हो कि होइन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जेन–जी आन्दोलनका क्रममा नेताहरूका घरमा नोट जलेका विषयमा प्रमुख सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार नदिएको भन्दै असन्तुष्टि पोखेका छन्।पूर्व पत्रकार समेत रहेका मिश्रले नेताका घरमा नोटका खात जलेका भिडिओ हेर्न युट्युबरहरूमा भर पर्नु परेको बताएका छन् ।

‘जुन दिन नेताको घरमा कोठाभरिभरि नोटका खात जलेको भनिएको भिडिओ सार्वजनिक भयो, प्रमुख मिडियाले त्यसको समाचार सम्प्रेषण गर्नुपर्थ्याे कि पर्थेन ? त्यसको ‘फलोअप’ गर्नु पर्थ्याे कि पर्थेन ? जुन मिडियाले गरे, ती स्तुत्य छन् । आम सर्वसाधारण मूलतः युट्युबरहरूमा भर पर्नुपर्‍यो’, मिश्रले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘ती जलेका नोटका डङ्गुरहरू पत्रकारिताको दृष्टिकोणबाट ‘ब्यानर हेडलाइन’ को सामग्री हो कि होइन ? कति वटा प्रमुख अनलाइन, नअनलाइन मिडियाले त्यसलाई महत्वका साथ छापे, कसैले याद गरेको छ ?’

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी हुँदा ठूलो मात्रामा भण्डारण गरेर राखिएको रकम जलेको भन्दै भिडिओ सार्वजनिक भएका थिए । तर देउवाको सचिवालयले निवासमा जलेको नोट भेटिएको भन्ने कुरा झुटो भएको दाबी गरेको छ ।

त्यसो त यस विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ । घटना भएको १३ दिनपछि आइतबार (असोज ५ गते) विभागको टोलीले देउवा र खड्काको घरमा पुगेर जलेका नोटका केही टुक्रा र खरानी संकलन गर्दै अनुसन्धान अघि बढाएको हो ।

हेर्नुस मिश्रको स्टाटसः

आज बिहानै मनमा मिडियाबारे आएका कुरा :

१– जुन दिन नेताको घरमा कोठाभरिभरि नोटका खात जलेको भनिएको भिडिओ सार्वजनिक भयो, प्रमुख मिडियाले त्यसको समाचार सम्प्रेषण गर्नु पर्थ्याे कि पर्थेन ? त्यसको ‘फलोअप’ गर्नु पर्थ्याे कि पर्थेन ? जुन मिडियाले गरे, ती स्तुत्य छन् । आम सर्वसाधारण मूलतः युट्युबरहरूमा भर पर्नुपर्‍यो ।

२– ती जलेका नोटका डङ्गुरहरू पत्रकारिताको दृष्टिकोणबाट ’ब्यानर हेडलाइन’ को सामग्री हो कि होइन ? कतिवटा प्रमुख अनलाइन, नअनलाइन मिडियाले त्यसलाई महत्त्वका साथ छापे, कसैले याद गरेको छ ?

३– एक–दुई जनाले प्रमाणबिना भनेको भरमा ’राजाले गैँडा बेचेर खाए’ भन्ने मिडियाहरू स्पष्टै रूपमा देखिएको त्यति ठूलो समाचारबारे किन मौन बसे होलान् ?

४– मेरो निष्कर्षः गत २० वर्षमा यो देश राज्य र समाजलाई जेजति क्षति पुगेको भए पनि उनीहरूलाई ‘महान् गणतन्त्र’ जोगाउनु छ । त्यत्ति हाे । देश बरु पतन भए होस्, गणतन्त्र चाहिँ चाहियो ।
गणतन्त्र जोगाउन खोज्दा देश बर्बाद भएर लोकतन्त्र(प्रजातन्त्र समेत जाने स्थिति नआओस्–त्यति चाहिँ ख्याल गरिदिनुहोला । त्यो बेलामा पनि मलाई नै गाली गरेर नबसिदिनु होला । तपाईहरू सबैको जय होस्– नेपालको जय होस् । धन्यवाद !

दशैंमा घर फर्किदै हुनुहुन्छ ? आज यी सडकहरू छन् अवरुद्ध (सूचीसहित)

काठमाडौं । दशैंका लागि घर फर्किदै हुनुहुन्छ ? त्यसो हो भनेर आफूले यात्रा गर्ने सडकको अवस्थाबारे जानकारी लिनु भयो भने तपाईलाई सहज हुनेछ । दशैँ पर्व सुरु भइसक्दा पनि वर्षा नरोकिंदा सडक यात्रा प्रभावित भएको छ । पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अप्ठेरोमा परेका छन् ।

आज बिहान ९ बजेसम्मको जानकारी अनुसार देशका ५ सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध छ ।

बाढीका कारण रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित नेपाल चीन नाका जोड्ने पुल पूर्णरुपमा बन्द भएको छ । पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड–२ कै बालुवाखानीस्थित सडक पूर्णरुपमा अवरुद् भएको छ ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित सडक पूर्णरुपमा बन्द भएको छ । अवरुद्ध भएका सडकहरू सुरक्षाकर्मीसहितको टोलीले खुलाउने प्रयास गरिरहेको छ । मुग्लिन–नारायणगढ सडक पनि लामो समयको प्रयासपछि एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ । रातिको समयमा भने जोखिम हुने भन्दै बन्द गरिएको थियो ।

मन्त्री बन्ने सूचीबाट हटाइयो संगीता मिश्राको नाम

काठमाडौं । मन्त्री बन्नेको सूचीबाट डा. संगीता कौशल मिश्राको नाम हटाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रालाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच जनाको नाम राष्ट्रपतिको कार्यालयमा पठाएकी थिइन् । तर मिश्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेकाले आज उनको नाम काटेर चार जनाको नाम मात्र पठाइएको हो । ‘आज सूची सच्याएर पुन चार मन्त्रीको नाम मात्र पठाइएको छ’, मन्त्रिपरिषद् स्रोतले भन्यो ‘मिश्राको नाम हटाइएको छ ।’

नयाँ मन्त्रीहरुको शपथ २ बजे

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् । तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने आज शपथ हुने नहुने निश्चित भइनसकेको शीतल निवास स्रोतले बतायो ।

दशैँ सुरु भएसँगै काठमाडौं छाड्नेको भीड (तस्बिरहरू)

काठमाडौं। हिन्दूहरूको महान पर्व बडादशैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।

बडा दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

दशैँ सुरु भएसँगै कर्मथलो छोडेर घर फर्किने क्रम सुरु भएको छ । काठमाडौंका नाकामा सवारीको चाप बढेको छ । काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटी क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको हो ।

पुनको आग्रह: मलाई मन्त्री नभन्नुहोला, भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत  बधाई छ भनेर फोन नगर्न र खादामाला लिएर नआउन अनुरोध गरेका हुन्। साथै उनले आफूलाई मन्त्री नभन्न पनि आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्,  कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा-माला लिएर नआउनुहोला’, , ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला।’

प्रधानमन्त्री कार्कीसँग अख्तियार प्रमुख राईको भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भेटवार्ता गरेका छन् । आयोगका प्रमुख आयुक्त राईले सबै किसिमका भ्रष्टाटाचारको छानबिन गर्न आफू तयार रहेको जानकारी प्रधानमन्त्री सुशीला कार्कीलाई दिएका छन् ।

जेनजी आन्दोलनपछि परिवर्तित अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीलाई हटाउनु पर्ने आवाज उठिरहेका बेला शनिबार राईले कार्कीलाई भेटेर भ्रष्टाचार छानबिनमा आयोगलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।

जेनजीको मागअनुसार नेताहरुले गरेको भ्रष्टाचारको छानबिनका लागि न्यायिक आयोग बनाउँदा संवैधानिक आयोगको क्षेत्राधिकारमा प्रवेश गर्ने भएकाले राईसहितका विवादित पदाधिकारीलाई बिदाइ गर्ने मनस्थितिमा सरकार छ ।

यस्तो अवस्थामा राईले प्रधानमन्त्री कार्कीलाई भेटेर स्वतन्त्रपूर्वक भ्रष्टाचारमाथि छानबिन अघि बढाउन आफू तयार रहेको बताएको स्रोतले जानकारी दिएको छ । वाइडबढी खरिदमा भएको भ्रष्टाचारमा आफै मुछिएका राईले अरुलाई मुद्दा चलाएर आफूलाई जोगाएका थिए । त्यसमा विशेष अदालतले टिप्पणी गर्दै आयोगको छानबिनको निष्पक्षतामाथि प्रश्न उठाएको थियो । राईले राजनीतिक प्रतिशोधका आधारमा छानबिन र मुद्दा चलाएको आरोप छ।

जेनजी आन्दोलनमा दमन : जाँचबुझ आयोगको अध्यक्षमा गौरीबहादुर कार्की

काठमाडौं । सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

आज (आइतबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रिपरिषद्का निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका जानकारी दिए । आयोगको कार्यावधि तीन महिना रहेको उनले जानकारी दिएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । पदभार सम्हालेकै दिन प्रधानमन्त्री सुशीला कार्कीले सरकारी-सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन् ।

यसअघि बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । तर, कसको नेतृत्वमा कसरी आयोग गठन गर्ने भन्नेबारे यकिन भएको थिएन । पदभार सम्हालेकै दिन कार्कीले सरकारी÷सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन् । सो प्रदर्शनका क्रममा ७४ जनाको मृत्यु भएको छ ।

 

टेकेन्द्र कार्की राष्ट्रिय अनुसन्धान विभागको प्रमुख नियुक्त

काठमाडौं । देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।

हुतराज थापा बिदा भएसँगै रिक्त उक्त पदमा कार्कीलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । नयाँ नेतृत्वका लागि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशी र कार्की प्रतिस्पर्धामा थिए ।

कार्की र जोशी यसअघि बिदा भएका थापासँगै ०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका हुन् । जुम्लाका कार्की डेढ महिनाअघि मात्रै अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए ।

यसअघि जोशीका लागि भानु देउवा (कांग्रेस सभापति शेरबहादुर देउवाका सहयोगी) र कार्कीका लागि कांग्रेसकै उपसभापति पूर्णबहादुर खड्का गुप्तचर प्रमुख बनाउने जोड लगाएका थिए । अन्तमा कार्कीले बाजी मारेका छन् । अनुसन्धान विभाग हाल प्रधानमन्त्रीको प्रत्यक्ष मातहत राखिएको छ ।

प्रधानमन्त्री कार्कीले शीतलनिवास पठाइन् पाँच नयाँ मन्त्रीको नाम

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी छन् । जसमा उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएका छन् ।

यस्तै कृषिमन्त्रीमा मदन परियार, पत्रकार जगदीश खरेललाई सञ्चारमन्त्री नियुक्तिका लागि सिफारिस भएका छन् । महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका एआइजी केसी बने सीआईबी प्रमुख

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ ।

हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यसअघिका सीआईबी प्रमुख समेत रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि रिक्त भएको पदमा यसअघिको सरकारले कुनै निर्णय नगरी राखेको थियो ।

तर भूमिकाविहीन जस्तै मानिने प्रदेश समन्वय विभागमा रहेका केसीलाई महत्वपूर्ण जिम्मेवारी दिने निर्णय भएको हो । यसअघिको कांग्रेस एमाले सत्ता गठबन्धनले केसीलाई महत्वपूर्ण जिम्मेवारीबाट अलग राखेको थियो । केसीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका कारण उनलाई निवर्तमान सत्ताले रिसिइवी साँधेको चर्चा भएको थियो ।

यसअघि एआईजी बढुवामा पनि उनलाई पछि पार्दै राजन अधिकारीलाई बढुवामा अगाडि ल्याइएको थियो । प्रहरीमा चार एआईजी रहेकामा केहीदिन अघि मात्रै मानव स्रोत विकास विभागका प्रमुख समेत रहेका एआईजी दानबहादुर कार्कीलाई काठमाडौँ उपत्यका प्रमुखमा सरुवा गरिएको थियो । आधाभन्दा बढी एआईजी रिक्त हुँदा प्रहरीका महत्वपूर्ण विभागहरु रिक्त छन् । हाल एआईजीहरू केसी, अधिकारी र कार्कीसँगै सिद्धिविक्रम शाह कार्यरत छन् ।

उनी नेतृत्वको टोलीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो । केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारीहरु नै यो प्रकरणमा संलग्न रहेको खुलेको थियो ।

विद्युत प्राधिकरणमा सिलवाल नियुक्त, हितेन्द्र ऊर्जा आयोगमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज (आइतबार) को बैठकले यस्तो निर्णय गरेको हो । सिलवाल प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हुन् । सिलवालको कार्यावधि ४ वर्षको रहने छ ।

हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ । शाक्यलाई यसअघि पनि ऊर्जा आयोगमै पठाइएको थियो ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत ११ गते शाक्यलाई नियुक्त गरेको थियो । विद्युत महसुल तिर्न बाँकी रहेका कम्पनीबाट बक्यौता पठाउनुपर्ने घिसिङको माग थियो भने तत्कालीन सरकारले आनाकानी गरिरहेको थियो ।

विवाद बढ्दै जाँदा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधेका थिए । अन्तिममा सरकारले उनलाई हटाउने निर्णय गरेको थियो । तर, जेनजी आन्दोलनले ओली सरकार ढल्यो भने अन्तरिम सरकारमा घिसिङ ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालन आइपुगेका हुन् । उनकै प्रस्तावमा शाक्यलाई हटाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

भोलिको घटस्थापनाका लागि जमरा राख्ने सर्दाम बिक्री सुरु (तस्बिरहरू)

काठमाडौं ।  हिन्दुहरूको महान् चाड दशैँ भोलिबाट सुरु हुँदै छ ।  दशैंको पहिलो दिन घटस्थापना जमरा राख्नका लागि काठमाडौंको मारु गणेश क्षेत्रमा माटो, मकै, जौ लगायतका सर्दाम बिक्री सुरु भएको छ ।

दशैँमा दुर्गा भवानीको प्रसाद स्वरूप ठूलाको हातबाट टीका जमरा ग्रहण गर्ने प्रचलन रहेको छ ।

पहिरो पन्छाउन समय लाग्दा यात्रीलाई सास्ती

चितवन । नेपाल प्रहरीले तत्काल हाजिर हुन भनेपछि कृष्ण महता बैतडीबाट काठमाडौँ फर्कंदै थिए। आमाको काजकिरिया सकेर काममा फर्कंदा उनी गत शुक्रबार साँझदेखि झरेको पहिरोमा परेर बाटोमै थन्किएका छन् । महता हाल डिल्लीबजार कारागारमा कार्यरत छन् ।

“छिटो आउन भनिएको छ, यहाँ जाममा परियो”, श्रीमतीसमेत काठमाडौँ फर्कंदै गरेका महताले भने, “सडक कहिले खुल्ला र कहिले गन्तव्यमा पुगिन्छ थाहै छैन ।”

यस्तै गुनासो सुनाउँदै थिए जितपुरबाट आएका मुन्ना अन्सारी । बजार नजिक नहुँदा खानेपानीसमेत किनेर खान पाउने अवस्था भएको उनले बताए । शुक्रबार साँझदेखि सडकमा बसेको कहिले खुल्छ भन्ने नै टुङ्गो नहुँदा समस्या भएको अन्सारीले बताए । व्यवसायका लागि काठमाडौँ जान आउँदै गर्दा नारायणगढ मुग्लिन सडक खण्डमा पहिरोमा परेपछि बास नै सडकमा भएको छ ।

बझाङबाट काठमाडौँ जाँदै गरेकी लिसाकुमारी सिंह पहिरोले जाममा परिन् । सादा खानाकोसमेत रु ४०० तिरेर खान बाध्य भएको उनले गुनासो गरिन् । उनी बझाङदेखि यही असोज २ गते काठामाडौँका लागि हिँड्ेकी हुन्। सिंह दाउन्नेमा ११ घण्टाको जाम छिचोलेर आउँदा यहाँ फेरि पहिरोमा परेकी हुन्। आफूसँग भएको पैसा सकिएकाले के खाने भन्ने समस्या भएको उनले बताएकी
हुन् ।

चिउरा, बिस्कुट खाएर सडक पेटीमा दिन बिताउन बाध्य भएको सिंहले बताएकी हुन् । बझाङबाट काठमाडौँका लागि ३८ देखि ३० घण्टा लाग्ने भए पनि नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा नै ३६ घण्टाभन्दा बढी बिताउनु परेको उनले बताएकी छिन् ।

सवारीसाधनको लामो लाइन भएपछि कतिपय यात्रुहरु बजार र बस्ती नभएको ठाउँमा परेका छन् । उनीहरुलाई किनेर खान समेत समस्या छ । पहिरोका कारण सवारीसाधन रोकिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अलपत्र परेका यात्रुलाई चाउचाउ, पानी, भुजालगायत खाद्यान्न सहयोग गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको हो ।

यस्तै सडकमा बस्दा यात्रुहरु बिरामी पर्छन् भनेर स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । शिविरमा प्राथमिक उपचारका सामानहरु, आवश्यकताअनुसारका औषधि सर्वसाधारणलाई दिइएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा खसेको पहिरोमा परी हजारौँ यात्रु अलपत्र परेका छन् । सडक खुलाउनका लागि डिभिजन सडक कार्यालय र ट्राफिक प्रहरी लागिरहेको भए पनि पहिरो झर्नेक्रम नरोकिएकाले पन्छाउन समय लागेको हो । करिब ७० मिटर माथिबाट खसेको पहिरोका कारण १६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो । अहिले पनि पहिरो पन्छाउनेक्रम जारी छ ।

कांग्रेसको केन्द्रीयसहित ४८ जिल्ला कार्यालयमा क्षति

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसको केन्द्रीयसहित ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ । प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत भदौ २४ गते कांग्रेसका देशभरका पार्टी कार्यालय तथा नेताहरुको निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनाका बारेमा प्रारम्भिक विवरण कांग्रेसले सार्वजनिक गरेको हो । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदर्शनकारीले केन्द्रीय कार्यालय जलाएर ध्वस्त पारेको र कुनै पनि सामान नबचेको तथा करिब रु १० करोड बराबरको क्षति भएको छ ।

यस्तै कांग्रेसले आन्दोलनका क्रममा ज्यान गुमाएका सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै पार्टीले उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ । कांग्रेसले यस्तो जटिल मोडमा आवेग र उत्तेजना होइन विवेक, संयम र धैर्यताले काम गर्न सबै नेता तथा कार्यकर्तामा अनुरोध गरेको छ ।

 

मन्त्री घिसिङसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नव नियुक्त मन्त्री घिसिङलाई भारतीय राजदूत श्रीवास्तवले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगतिका विषयमा छलफल भएको थियो ।

ऊर्जा तथा जलस्रोत क्षेत्रका द्धिपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण)को नहरबाट नेपालतर्फ पानी पठाउने, भारतीय सहायतामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनाको प्रगति, इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको निर्माण, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृतिलगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री घिसिङलेले दशैं तिहारमा उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक रुपमा विद्युत् खपत घट्ने भएकाले थप विद्युत् निर्यातका लागि स्वीकृति दिन आग्रह गरिएको बताए । अहिले नेपालले बंगलादेशसहित भारततर्फ ११६५ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । थप ४ आयोजनाको १३८ मेगावाट निर्यातका स्वीकृतिका लागि भारत समक्ष प्रस्ताव पेश गरिएको छ ।

इनरुवा–पूर्णिय र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको अध्ययन सम्पन्न भएको भेटमा जानकारी गराइएको थियो । जेनजीको आन्दोलनका कारण क्षति पुगेका संरचना पुनर्निर्माणमा आवश्यक परेमा सहयोग गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवबाट जानकारी थियो । भेटमा मन्त्रालयका सचिव सरिता दवाडी, मन्त्रालयका सहसचिवहरु चिरञ्जीवी चटौत, सन्दीप कुमार देव, परराष्ट्र मन्त्रालय दक्षिण एशिया महाशाखाका शाखा अधिकृत प्रतिक कार्कीको उपस्थिति थियो ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौँ । मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बैठक बसेको हो । मन्त्रिपरिषद्का काम कारबाही, जेनजी आन्दोलनमा भएको दमन र आगजनीका घटनाबारे जाँचबुझ आयोग गठनलगायत छलफलका विषय छन् । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग फिर्ता हुने भएका छन् ।

बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दियो । हाल चार सदस्यीय मन्त्रिमण्डलमा अर्थमा रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमा कुलमान घिसिङ र गृह तथा कानुनमा ओमप्रकाश अर्याल छन् ।

कार्की मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने तयारी छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप तीन जनाको नाम राष्ट्रपति कार्यालय पठाइएको बताइएको छ । मन्त्री नियुक्तिका लागि मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको स्रोतले जनाएको छ । मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन । पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन् । उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ ।

कानुन मन्त्री बन्दै सर्वोच्चका पूर्वन्यायाधीश सिन्हा

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने पक्का भएको छ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन् । यसअघि कानुन मन्त्रालय गृहमन्त्री ओमप्रकाश अर्यालले नै हेरिरहेका थिए ।

सिन्हा २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएर ६५ वर्षे उमेर हदले २०८० १४ कात्तिकमा अवकाशमा गएका थिए ।

२०३९ सालमा नेपाल ल क्याम्पसबाट स्नातक उत्तीर्ण गरेपछि उनले वकालत पेशा थालेका थिए । सिन्हा सर्वोच्च अदालतमा न्यायाधीश हुनुअघि वरिष्ठ अधिवक्ता थिए । उनी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ कानुन व्यवसायीका रुपमा परिचित छन् ।

प्रधानमन्त्री कार्कीलाई भेटेपछि विपिनकी बहिनी र आमा : आमाको पीडा बुझ्नु होला नि !

काठमाडौं । प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटका छन् । आइतबार सिंहदरबार पुगेर बिपिनका आमा र बहिनीले रिहाईका लागि निरन्तर पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि बिपिनका आमा पद्मा जोशीले यसअघिको सरकारले पहल गर्ने आश्वासन दिदा पनि केहि नजिता नआएकाले अबको सरकारप्रति आशा राखेको बताइन् ।

त्यस्तै विपिनका बहिनी पुष्पा जोशीले अहिले प्रधानमन्त्री पदमा आमा नै रहेकाले आमाको पीडा बुझ्ने बताइन् । भेटमा प्रधानमन्त्रीले विपिन जोशीको रिहाइका लागि पहल गर्ने बताएको पुष्पाले जानकारी दिइन् । विपिन जोशी नेपालको नागरिक भएकाले नेपालमा सकुशल फिर्ता ल्याउन कुनै एकले मात्रै नभइ सवै मिलेर पहल गर्नुपर्ने उनले बताइन् । जवाफमा प्रधानमनत्री कार्कीले विपिनको रिहाइको लागि कुनै कसर बाँकी नछोड्ने प्रतिबद्धता दिएको उनले जानकारी दिइन्।

उनले हमाससँग नजिक रहेका राष्ट्रहरुसँग कुरा गरेर विपिनको रिहाईको लागि हरसम्भव प्रयास गर्ने वचन दिएको उनको भनाइ छ । प्रधानमन्त्री कार्कीको पहलमा दाइ घर फर्किनेमा आफू विश्वस्त रहेको बहिनी पुष्पाले बताएकी छन् । जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजराइल पुगेका थिए । यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिन जोशीसहित ४८ इजरायली बन्धकहरुको तस्वीर सार्वजनिक गरेको थियो ।