`

प्रजातन्त्र स्थापनामा योगदान गर्ने व्यक्तिको देशव्यापी प्रचार गर्नुपर्छ: सभापति देउवा

भक्तपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नुपर्ने बताएका छन् ।

आइतबार भक्तपुरमा सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३औँ स्मृतिसभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोन्छेको शालिक अनावरण गर्दै उनले जोन्छेले प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएको चर्चा गरे ।

सभापति देउवाले प्रजातन्त्र स्थापनामा योगदान दिने जोन्छेलगायतका व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरी प्रचारप्रचार गर्नुपर्नेमा जोड दिए । उनले भने, “जोन्छे लोकप्रिय नेता हुनुहुन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु पनि हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।”

कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधिले अहिले संसद् चल्न दिने कि नदिने भन्ने निर्णय माओवादी केन्द्रको हातमा रहेको बताएका छन् । संसद् अवरुद्ध गर्ने समय अहिले नभएको उल्लेख गर्दै उनले भने, “अहिले संसद् अवरुद्ध छ, भिजिट भिसा प्रकरणमा छानबिन हुँदैछ ।”

त्यस अवसरमा जोन्छेको स्मृतिमा प्रतिष्ठान भवन निर्माण गर्न सहयोग गर्ने सूर्यविनायक नगरपालिका र नगरप्रमुख वासुदेव थापासहित विभिन्न व्यक्तिलाई सम्मान तथा विभिन्न विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाले जोन्छेको योगदानलाई पार्टीले भुल्न नहुने चर्चा गरे ।

प्रतिष्ठानका अध्यक्ष एवं जोन्छेकी श्रीमती रजनी जोन्छे, प्रतिष्ठानका उपाध्यक्ष बाबुराजा जोशीलगायतले भवन निर्माणमा रु एक करोड १० लाख खर्च भएको, सूर्यविनायक नगरपालिकाले पटक–पटक गरी रु ४० लाख सहयोग गरेको, विभिन्न मन्त्रालयबाट रकम प्राप्त भएको र दाताहरुले समेत सहयोग गरेको बताए ।

सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्तासाझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको आइतबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने दोहोर्याए।

‘हाम्रा विरोधीहरुले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन् । हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौँ । प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ ‘, अध्यक्ष ओलीले भने, ‘हामी अहिलेसँगै सरकारमा रहेर भोलि प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौँ, त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ । यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन ।’

प्रविधिको वर्तमान युगमा सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीले ‘एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभिभारा पूरा गराउने अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा गर्न बाध्य बनाउने यही सङ्गठन भएको र आफूहरुले नै देशमा साँच्चैको लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको प्रधानमन्त्रीले स्मरण गरे ।

‘बाटोमा हिँड्दा तपाईंहरुको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरुले चिनुन् । म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनुहुँदैन’, उनले भने, ‘एमालेप्रति भ्रम फैलाउने प्रवृत्ति छ । पार्टीभित्र एकता हुनुहुँदैन । चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन् । मेरो आग्रह के हो भने हामी फेरि एकताबद्ध भएर जानसकेमा लक्ष्यमा पुग्न सक्छौँ । मिल्नै नसक्ने भएमा निर्वाचनमा जाने अधिकार छँदैछ ।’

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ११.०६ अंकले घटेको हो ।

आज १ करोड ९९ लाख ९२ हजार कित्ता शेयर ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँमा कारोबार भएको छ । आज दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिभर फल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

चिलिमे हाइड्रोपावर र छ्यांदी हाइड्रोपावरको शेयर ८ः०१ ÷८ः०१ अंकले बढ्दा हिमालयन पावरको ७.९५ प्रतिशतले बढ्यो। यसदिन ओम मेघाश्री फरमाक्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको शेयर १० प्रतिशतले ओरालो लाग्यो ।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७२ करोड ९५ लाख मूल्य बराबरको शेयर कारोबार भयो। युनिभर्सल पावरले ६२ करोडको शेयर कारोबार गर्दा नगदी ग्रुपको ६१ करोड, बुटवल पावरको ४४ करोड र सानिमा माइ हाइड्रोपावरको ४४ करोडको शेयर कारोबार भयो ।

दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ३४ घाइते

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रु बस दुर्घटना हुदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर–अमलिया खण्डअन्तर्गत गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरियातर्फ गइरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा१क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रानाले बताए । घाइते सबैको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जनाउँदै उनले बसमा सवार अधिकांश एउटै गाउँका रहेका बताए ।

दुर्घटनाको खबर प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय दमारगाउँबाट प्रहरी नायब निरीक्षक पारेश्वर डाँगीको कमान्डमा तीन र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक रानाको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको थियो ।

घाइतेहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । दुवै बसका चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको प्रनि रानाले उल्लेख गरे । ठक्करपछि यात्रुवाहक बस सडकबाट करिब पाँच मिटर तल पल्टिएको थियो ।

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने बताएका छन् ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने भनाइ राखे ।

मादकपदार्थ सेवनको जाँच हुन थालेपछि सवारी चालकले लागुपदार्थ प्रयोग गर्न थालेको दृष्टान्त प्रस्तुत गर्दै उनले भने, ‘बर्सेनि ठूलो धनजनसहित मुलुकलाई अपूरणीय क्षति पुर्‍याउने प्रमुख भूमिकामा रहेको लागुपदार्थको ओसारपसार, भण्डारण र सेवनको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध सरकारी तथा गैरसरकारी संस्था र नागरिक समाजका बीच सहयोग र सहकार्य हुन जरुरी छ ।’

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनीकरण तथा नियन्त्रणमा सबैभन्दा नजिक जोडिने अभिभावकसहित परिवारका सदस्य, विद्यालय परिवार र स्थानीय तहको विशेष ध्यान जान आवश्यक रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यसअघि जस्तै यस वर्ष आगामी असार ६ देखि १२ गतेसम्म देशव्यापी रुपमा मनाउन लागेको सो दिवसलाई परिणाममुखी बनाउन सबैसँग अनुरोध गरे ।

लागुपदार्थ सेवनका कारण नेपालमा हरेक वर्ष एक लाख ३४ हजार मानिसको ज्यान जाने गरेको औपचारिक तथ्यांक रहे पनि पाँच लाखभन्दा बढीको निधन हुने गरेको सो अवसरमा जानकारी दिइएको छ ।

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशन आइतबारदेखि सुरु भएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । महाधिवेशन आगामी तीनदिनसम्म जारी रहनेछ । त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै सङ्गठनका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गर्दै विकासको पथमा अग्रसर हुन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरे ।

नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनका बारेमा उठेका नकारात्मक टिप्पणीको सामूहिक रुपमा प्रतिवाद गर्नुपर्ने बताए ।

राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी सङ्घसङ्गठनले युवाका विषयामा एकजुट हुनुपर्नेमा जोड दिए ।
अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामाले गणतन्त्र विरोधीहरुको सङ्गठनले प्रतिवाद गर्नुपर्ने बताइन् ।

त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ ।

जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक(ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको हो ।

अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो ।

अस्पतालका प्रवक्ता तथा सह प्राडा गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए ।

उनले भने, ‘लिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैङ्गिक समुदायलाई धेरै राहत मिल्नेछ । यसले पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्न एक महत्वपूर्ण उपाय हुनेछ ।’

शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता रहेको थियो ।

डा. जयनमान श्रेष्ठकाअनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ यिक्लनिक’स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।

 

नेपाल टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पहाडीसहित तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल, तत्कालिन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य, तत्कालिन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालिन प्रमुख संचालन अधिकृत झविन्द्रलाल उपाध्याय, तत्कालिन निर्देशक विनिता श्रेष्ठ, तत्कालिन निमित्त निर्देशक अमूल प्रधान, तत्कालिन प्रवन्धक देवेन्द्र खतिवडा, तत्कालिन उपप्रवन्धक राजीवकुमार केसी, तत्कालिन उपप्रवन्धक सन्तोषकुमार श्रेष्ठ, तत्कालिन उपप्रवन्धक नवल चौधरी, तत्कालिन उपप्रवन्धक मुक्तिप्रसाद अर्याल, तत्कालिन उपप्रवन्धक हेमप्रभा रामप्रताप कर्ण, तत्कालिन उपप्रवन्धक परमात्मा भट्टराईलगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको हो । उनीहरुविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

२०७८ माघ ६ मा नेपाल टेलिकम र चिनियाँ कम्पनी एसियाइन्फो लिङ्केज टेक्नोलोजिज् इन्कबीच भएको सम्झौताअनुसार कन्भर्जेन रियल टाइम बिलिङ तथा ग्राहक सेवा प्रणाली खरिद गरिएको थियो। यो प्रणालीमार्फत जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, तथा ब्रोडब्यान्ड सेवा लगायतका बिलिङ प्रणालीलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै रियल–टाइम शुल्क गणना तथा अपडेट गर्ने उद्देश्य राखिएको थियो ।

तर, सम्झौतामा स्पष्टरूपमा वार्षिक मर्मतसम्भार सेवा (एएमसी) को शुल्क ५ प्रतिशत घट्दो दरमा निर्धारण गर्नुपर्ने उल्लेख हुँदाहुँदै पनि पूर्वनिर्धारित मूल्यभन्दा अस्वाभाविक बढीमा वार्षिक मर्मतसम्भार सेवा खरिद गरिएको आरोप अख्तियारले लगाएको छ ।

भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले आयोगबाट हालसम्म भएका कामको प्रगतिबारे जानकारी दिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्साङ्कन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाई तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको हो ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले १० वर्षदेखि बसोबास र सरकारी जग्गा नपाएका अन्य नागरिकलाई भूमिहीन, सुकुमबासी पहिचान गर्ने तथा अव्यवस्थित बसोबासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ती जमिनामा आवाद गरेर बसोबास गरिरहेको हुनुुपर्ने मापदण्ड तयार गरिएको जानकारी गराए।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएमा काम गर्न सहज हुने आयोगका पदाधिकारीले बताए। प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन उक्त विधेयक चाँडै पारित हुने विश्वास व्यक्त गर्दै आयोगले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पहिचानलाई योजनाबद्ध र तीव्रगतिमा अघि बढाउन निर्देशन दिए।

सरकारले गत कात्तिक १४ गते सो आयोगको गठन गरेको हो ।

भरतपुर मेयरकप फुटबलको दोस्रो संस्करण सोमबारदेखि

चितवन । भरतपुर मेयरकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सोमबार (जेठ २७ गते) देखि सुरु हुने भएको छ। भरतपुर महानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत ७५ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिता चारवटा खेलमैदानमा आयोजना गरिनेछ।

प्रतियोगिता चितवन जिल्ला फुटबल संघको आयोजना र भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सञ्चालन हुँदैछ। संघका महासचिव रामहरि ढकालका अनुसार प्रतियोगिता दुई चरणमा गरिनेछ। आगामी असार ४ गतेसम्म छनोट चरणका खेल सम्पन्न हुनेछन्।

पहिलो चरणबाट २४ वटा विद्यालय छनोट भई दोस्रो चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिता १७ वर्षमुनिका छात्र खेलाडीहरूबीच हुनेछ र हरेक खेल ८० मिनेट लामो हुनेछ।

खेलहरू भरतपुर–७ को कृष्णपुर खेलमैदान, वडा नं १२ को रामबेल खेलमैदान, वडा नं १४ को सुन्दरबस्ती खेलमैदान र वडा नं ५ स्थित स्मल हेभेन बोर्डिङ स्कुलको मैदानमा हुनेछन्।

प्रतियोगितामा भरतपुर महानगर क्षेत्रका करिब १,४०० युवा खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ। संघले प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।

मेयरकप फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन समारोह आगामी असार ४ गते हुने जनाइएको छ।

अस्ट्रेलिया बलियो वैश्विक व्यापारिक सम्बन्ध विस्तार गर्न इच्छुक, अमेरिकी नयाँ कर नीतिको विरोध

सिड्नी । अस्ट्रेलियाका व्यापारमन्त्री डन फारेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्यायपूर्ण’ करको निन्दा गर्दै संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न अस्ट्रेलियाले अन्य देशसँग स्वतन्त्र व्यापार सम्झौता विस्तार गर्न दबाब दिने बताएका छन् ।

अस्ट्रेलिया अमेरिकाको नजिकको सहयोगी देश हो तर ट्रम्पको विश्वव्यापी करको हिस्साको रूपमा संयुक्त राज्य अमेरिकामा निर्यात हुने सामानहरूमा १० प्रतिशत, स्टिल र आल्मुनियममा ५० प्रतिशत सम्म कर लगाइएको छ।

“म आशावादी छु, विश्वका ती देशहरू जसले स्वतन्त्र र निष्पक्ष व्यापारमा विश्वास गर्छन्, उनीहरू विश्वभरि स्वतन्त्र व्यापार सम्झौताहरू विस्तार गर्न सम्झौतामा पुग्न सक्दछन्, ताकि अमेरिकीहरूले जे सुकै गर्न चाहे पनि हामीसँग व्यापारिक साझेदारहरूको अधिक विविधता छ,” फारेलले स्काई न्यूजसँग भने ।

गत हप्ता पेरिसमा विश्व व्यापार सङ्गठन, आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) र अन्य देशहरूसँगको वार्तापछि उनले अस्ट्रेलिया ‘संरक्षणवाद’ रोक्न र स्वतन्त्र र निष्पक्ष व्यापारलाई प्रोत्साहित गर्न केन्द्रित रहेको बताएका थिए ।

फेरेलले भने, “अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबीचको व्यापार वार्षिक अनुमानित १०० अर्ब अष्ट्रेलियाली डलर (झण्डै ६५ अर्ब अमेरिकी डलर) बराबरको छ । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकालाई बेचेको सामानभन्दा बढी किनेको छ ।”

उनले गत साता आफ्ना अमेरिकी समकक्षी जेमिसन ग्रीरसँग अस्ट्रेलियाबाट हुने निर्यातका सामानमा लगाइएको शुल्कको विरोध गरेको बताएका थिए ।

“मैले जेमिसन ग्रीरलाई राखेको अडान के हो भने अमेरिकाले अस्ट्रेलियामाथि लगाएको कर अनुचित छ,” फेरेलले भने । “हामी ती मध्ये केही मात्र होइन सबै करहरू हटाउन चाहन्छौं,” उनले भने ।

युरोपेली सङ्घ (ईयू) ले गत महिना युक्रेन युद्ध र अन्य विश्वव्यापी सङ्कटका लागि संयुक्त अन्तर्राष्ट्रिय प्रतिक्रिया सिर्जना गर्न अस्ट्रेलियासँग रक्षा साझेदारीको प्रयास गरिरहेको बताएको थियो ।

भारतीय राज्य मणिपुरमा हिंसापछि कर्फ्यू आदेश जारी

भारत । जातीय तनावले ग्रसित भारतीय राज्य मणिपुरले कट्टरपन्थी समूहका केही सदस्यको गिरफ्तारीको विषयमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएपछि इन्टरनेट बन्द र कर्फ्यू लगाएको प्रहरीले आइतबार बताएको छ ।

भारतको उत्तरपूर्वमा रहेको मणिपुरमा दुई वर्षभन्दा बढी समयदेखि मुख्यतः हिन्दू मैतेई बहुसङ्ख्यक र मुख्यतः इसाई कुकी समुदायबीच आवधिक झडपहरू भइरहेका छन् । यी झडपमा दुई सय ५० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

पछिल्लो हिंसा शनिबार कट्टरपन्थी मैतेई समूह अरम्बाई तेङ्गोलका एक कमाण्डरसहित पाँच सदस्यको गिरफ्तारीको खबरपछि सुरु भएको थियो ।

तिनीहरूको रिहाइको माग गर्दै आक्रोशित भिडले प्रहरी चौकीमा आक्रमण गरी राज्यको राजधानी इम्फालका केही भागमा बसमा आगो लगाइदियो र सडक अवरुद्ध गर्यो ।

मणिपुर प्रहरीले ‘विकसित कानून र शृङ्खला अवस्था’ का कारण इम्फाल पश्चिम र विष्णुपुरसहित पाँच जिल्लामा कफ्र्यूको घोषणा गरेको छ ।

“जिल्ला मजिस्ट्रेटहरूले निषेधाज्ञा जारी गरेका छन् । नागरिकहरूलाई आदेशको पालना गर्न अनुरोध गरिएको छ”, प्रहरीले विज्ञप्तिमा भनेको छ ।

कुकी समुदायविरुद्धको हिंसाको योजना बनाएको आरोप लागेको अरम्बाई तेङ्गोलले पनि उपत्यकाका जिल्लाहरूमा १० दिनको बन्दको घोषणा गरेको छ ।

राज्यको गृह मन्त्रालयले पछिल्लो अशान्तिलाई नियन्त्रणमा ल्याउन अस्थिर जिल्लाहरूमा सबै इन्टरनेट र मोबाइल डाटा सेवाहरू पाँच दिनका लागि बन्द गर्न आदेश दिएको छ ।

सन् २०२३ मा हिंसाको प्रारम्भिक प्रकोपको समयमा मणिपुरमा महिनाौँसम्म इन्टरनेट सेवाहरू बन्द गरिएको थियो । हिंसाले सरकारी तथ्याङ्कअनुसार करिब ६० हजार मानिसलाई आफ्नो घरबाट विस्थापित गरेको थियो ।

राज्यका हजारौँ बासिन्दा अझै पनि चलिरहेको तनावका कारण घर फर्कन सकेका छैनन् । मैतेई र कुकी समुदायहरूबीच लामो समयदेखिको तनाव भूमि र सार्वजनिक जागिरहरूको प्रतिस्पर्धाको वरिपरि घुमेको छ । अधिकारकर्मीहरूले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।

कोलम्बियाका राष्ट्रपतिका उम्मेद्वार गोली प्रहारबाट घाइते

बोगोटा । कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा गोली लागेपछि गहन उपचार कक्षमा रहेको अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ३९ वर्षीय मिगुएल उराइबले अचानक गोली चल्दा धेरै मानिसको अगाडि भाषण दिँदै गरेको देखिन्छ ।

अन्य तस्बिरहरूमा उनी रगतले लतपतिएको अवस्थामा सेतो कारको बोनटमा ढलेको र पुरुषहरूको समूहले उनलाई सम्हालेको देखिन्छ । मिडियाका अनुसार संदिग्ध बन्दुकधारी एक किशोरलाई पक्राउ गरिएको छ ।

महान्यायाधिवक्ता लुज एड्रियाना कामार्गोले काराकोल रेडियोलाई उराइब ‘गहन उपचार कक्षमा’ रहेको बताए । स्थानीय मिडियाका अनुसार कम्तीमा एउटा गोली सिनेटरको घाँटी वा टाउकोमा लागेको छ ।

वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले राजधानीको पश्चिममा चुनावी अभियानका क्रममा उराइबमाथि भएको आक्रमणको ‘स्पष्ट र कडा’ निन्दा गरेको छ ।

“हिंसाको यो कार्य उनको व्यक्तित्वमाथि मात्र नभएर लोकतन्त्र, विचारको स्वतन्त्रता र कोलम्बियामा राजनीतिको वैधानिक अभ्यासमाथिको आक्रमण हो”, राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ ।

पेट्रोका कडा आलोचक उराइब डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन् । उनले गत अक्टोबरमा सन् २०२६ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

– पछाडिबाट गोली प्रहार –

उनको पार्टीले शनिबार एक विज्ञप्तिमा एक ‘सशस्त्र व्यक्ति’ ले सिनेटरलाई पछाडिबाट गोली हानेको बताएको छ । “उक्त आक्रमणले एक राजनीतिक नेताको जीवनलाई मात्र खतरामा पार्ने नभएर कोलम्बियाको लोकतन्त्र र स्वतन्त्रतालाई पनि खतरामा पार्छ”, पार्टीले भनेको छ ।

यसैबीच पार्टी नेता एवं कोलम्बियाका प्रभावशाली पूर्वराष्ट्रपति अल्भारो उराइबले गोलीकाण्डलाई ‘देशको आशामाथिको आक्रमण’ भनेका छन्।

बोगोटाका मेयर कार्लोस गालानले एक्समा ‘बन्दुकधारीलाई पक्राउ गरिएको’ बताएका छन् । स्थानीय मिडियाका अनुसार १५ वर्षीय केटालाई पक्राउ गरिएको छ र उसैले गोली चलाएको आशङ्का गरिएको छ ।

महान्यायाधिवक्ता कामार्गोले आफूले ती रिपोर्टहरू देखेको तर जानकारी अझै प्रमाणित हुन बाँकी रहेको बताए । मिगुएल उराइब कोलम्बियामा लामो राजनीतिक परम्परा भएको परिवारका सदस्य हुन् ।

उनका एक हजुरबुबा कोलम्बियाका पूर्व राष्ट्रपति जुलियो सेजर टर्बे थिए । उनले सन् १९७८ देखि १९८२ सम्म देशको नेतृत्व गरेका थिए ।

उनकी आमा डायना टर्बे प्रसिद्ध पत्रकार थिइन् । उनलाई कुख्यात ड्रग लर्ड पाब्लो एस्कोबारको नेतृत्वमा रहेको मेडेलिन कार्टेलले अपहरण गरेको थियो । उनी सन् १९९१ मा असफल सैन्य उद्धार अभियानमा मारिएका थिए ।

उराइब स्वयं सन् २०२२ देखि सिनेटर रहेका छन् । उनले पहिले बोगोटाको सरकारी सचिव र नगर पार्षदका रूपमा सेवा गरेका छन् ।

उनले सन् २०१९ मा सिटी मेयरका लागि पनि उम्मेदवारी दिएका थिए तर त्यो चुनावमा पराजित भएका थिए ।

अधिकारीहरूले शनिबारको आक्रमणका पछाडि रहेकाहरूलाई पक्राउ गर्न जानकारी दिनेलाई करिब सात लाख डलर इनाम दिने घोषणा गरेको रक्षामन्त्री पेड्रो सान्चेजले एक्समा भने ।

राष्ट्रपति पौडेलसँग एम्सका पदाधिकारीहरूको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद र पर्यटनको उर्वर भूमि भएको र नेपालमा सबैखाले दौडको सम्भावना रहेको बताएका छन् ।

विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीहरूसँग आइतबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौडहरू सफलतापूर्वक भइरहेका छन्, ‘हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तर्राष्ट्रिय छाता संगठनहरूले प्रोत्साहन गरुन् भन्ने हाम्रो अपेक्षा छ’, उनले भने ।

उनले विश्व शान्ति, भाइचारा र सद्भावका लागि खेलको ठूलो महत्व रहेको बताए । ‘त्यसमा पनि दौड संस्कृतिले स्वस्थ, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्दछ भन्ने मेरो विश्वास छ’, राष्ट्रपति पौडेलले भने ।

नेपालले पनि खेलकुदको विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुदमा वर्षेनी लगानी बढाइरहेको भन्दै उनले निजी क्षेत्रबाट पनि खेलकुदमा आकर्षण बढ्दै गएको बताए ।

उनले एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनौट गरेकोमा धन्यवाद दिए । साथै, खेलकुद र पर्यटनलाई जोड्नेगरी नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस शुभारम्भ भएको थाहा पाउँदा आफूलाई खुसी लागेको राष्ट्रपति पौडेलको भनाई थियो ।

बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेकोमा सभामुख असन्तुष्ट

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतक र मुख्य सचेतकसँग छलफल गरेका छन् ।

सभामुख घिमिरेले सिंहदरबारमा आइतबार बिहान नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक–पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाए । संसद अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे ।

प्रमुख विपक्षी माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाउनुभएकाले त्यसपछि आफूहरूको धारणा दिने बताएका थिए ।

सत्तारुढ एमालेका प्रमुख सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोर्होयाए ।

बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुवातीदेखि हालसम्म ४३ वटा योजनाका लागि सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा ६ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ ।

आयोजना सुरुवातदेखि चालु आर्थिक वर्षको हालसम्म ४३ वटा योजना कार्यान्वयनमा ल्याइसकेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिए । उनका अनुसार आयोजनाले पर्वतको मालढुङ्गा–कोरलानाकासम्म २० वटा सडक र २३ वटा पुलपुलेसा निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

कोरला खण्डअन्तर्गत सडक र पुलपुलेसा दुवैमा करिब ८५ प्रतिशत र ८१ प्रतिशत वित्तीय प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

सडकतर्फ जोमसोम–कोरला एक सय १० किलोमिटर ग्राभेलमध्ये छ वटा खण्ड निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण भइसकेको प्रमुख झाले उल्लेख गरे ।

उनका अनुसार चराङ–छोसेर २५ किमी निर्माणको अन्तिम चरणमा पुगेको छ । यसैगरी म्याग्दीको बेनी–गलेश्वरअन्तर्गत तीन किमी कालोपत्र र बेनी–जोमसोम तेस्रो खण्डअन्तर्गत कैकु–खन्ती खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरी करिडोर सडक आयोजनालाई हस्तान्तरण भइसकेको आयोजना प्रमुख झाले जानकारी दिए ।

बेनी–जोमसोम खण्डअन्तर्गत गलेश्वर–तातोपानी, तातोपानी–घाँसा र खन्ती–जोमसोम गरी तीन वटा सडक कालोपत्रसहित स्तरोन्नतिको अन्तिम चरणमा पुगेका आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाले बेनी–जोमसोमको ७४ किमीअन्तर्गत तेस्रो खण्डको मुस्ताङको कैकुबाट खन्तीसम्म सडक निर्माण सम्पन्न आयोजनालाई हस्तान्तरण गरिएकामा आयोजनाले सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसकेको आयोजना प्रमुख झाले जानकारी दिए । “बेनी–जोमसोम सडकको ७४ किमीमध्ये २० किमी निर्माण सम्पन्न भएको छ । बाँकी निर्माणाधीन अवस्थामा छ”, उनले भने ।

कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका सबै पुल सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए ।

चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको ९० करोड बजेटमध्ये ३१ करोड अन्य योजनामा रकमान्तर भएको थियो । आयोजनासँग रहेको ५९ करोड सतप्रतिशत खर्च भइसकेको जनाउँदै उनले करिब ३० करोड निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको बताए ।

अर्थ मन्त्रालयले चालु आवका लागि १४ करोड बजेट थपेको उल्लेख गर्दै सूचना अधिकारी चापागाईंले आयोजनालाई चालु वर्षको खर्चमा बजेट थप भएर आए पनि अपुग भएकाले अर्थ मन्त्रालयसँग पुनः बजेट थपको माग गरिएको बताए ।

“यो वर्षको बजेट भौतिक प्रगति सकिएका योजनालाई भुक्तानी दिन सकिएको छैन, अर्थ मन्त्रालयले यथाशीघ्र बजेट थप गरी आवश्यक सम्बोधन गर्नमा विश्वस्त छौँ । बजेट आएन भने आगामी आवका लागि दायित्वमा रहने भएकाले अपेक्षाकृत काम हुन नसक्ने हुनसक्छ”, उनले भने ।

कोरला सडक आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी १३ किमीमा कालोपत्रसहित भौतिक प्रगति ६० प्रतिशत, गलेश्वर–तातोपानी खण्डमा ९९ प्रतिशत र खन्ती–जोमसोम सडकमा भौतिक प्रगति ९० प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजना प्रमुख झाका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा मालढुङ्गा–कागबेनीको एक सय पाँच किमीमध्ये ८५ किमी सडक सम्पन्न हुन लागेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा मानिएको बेनी–जोमसोम–कोरला खण्डअन्तर्गत आगामी आर्थिक वर्षभित्र ८० किमी निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसक्ने योजना रहेको उनले जानकारी दिए ।

सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव फेला

काठमाडौं । सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ । आइतबार बिहान कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकैबाट गोताखोर साउदको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोर डिएसपी पुरूषोत्तम भण्डारी नेतृत्वको टोलीले शव निकालेको हो। उनी बेपत्ता भएको चौथो दिनमा शव फेला परेको हो ।

उनीसँगै बेपत्ता भएका हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो । बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।

पौडी खेल्ने क्रममा सुनकोसीमा डुबेर एकजनाको मृत्यु

काभ्रे । सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आइतबार बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

राजावादी आन्दोलनमा विवादः स्वार्थी बुढाहरुले आन्दोलन तुहाउन खोजेको स्वागत नेपालको आरोप

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले स्वार्थी बुढाहरुले आन्दोलन तुहाउने प्रयास गरेको आरोप लगाएका छन् ।

आइतबार सामाजिक संजालमार्फत नेपालले बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर तुहाउने प्रयास गरेको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘सकेसम्म बुढाहरुलाई मिलाउन सम्झाउन प्रयास गर्यो, तर बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको वीचमा गरेर भताभुङ्ग पारे, जनभावनालाई तुहाउन प्रयास गरे । तर युवाले तुहिन दिने छैन आन्दोलन सफल भएरै छोड्ने छ। केही समयको मात्र धैर्य जरुरी छ। हार नस्वीकार्नेलाई कसैले हराउन सक्दैन साथीहरु ढुक्क हुनुहोला।’

केही दिनअघि समिति स्थानीय तहदेखि आन्दोलन सुरु गर्ने र पछि केन्द्रमा ठूलो जनआन्दोलन गर्ने निर्णय गरेको थियो ।

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ : प्रवक्ता महत(अन्तरवार्ता)

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महत महतले संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

विसं २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा जन्मिएका पूर्वपरराष्ट्रमन्त्री डा महत २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत सङ्ग्रहमा सक्रिय भूमिकामा थिए । उनी २०५९ सालदेखि निरन्तर पार्टी केन्द्रीय सदस्य हुन् ।

विसं २०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य, २०७० सालदेखि २०७४ सम्म संविधानसभा सदस्य रहेका पूर्वऊर्जामन्त्री डा महतसँग राससका समाचारदाता सुशील दर्नालले मुलुकको बजेट निर्माण प्रक्रिया, अर्थतन्त्र, राजनीतिक, संसदीय अभ्यास, निर्वाचन प्रणाली, संविधान संशोधनलगायत विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंशः

प्रतिनिधिसभाको अनुभव कस्तो भइरहेको छ ?

म सङ्घीय संसद्को सदस्य छु । अहिलेसम्मका अनुभव राम्रै छन् । संसद् विविध कारणले बेलाबेलामा अवरोध पनि हुने गरेको छ । यो अवरोध हुने कुरा संसदीय अभ्यासमा रोक्न नसकिने वास्तविकता पनि हो । तथापि, ससद अवरुद्ध हुँदा समय खेर गएको भान हुन्छ । हामी सङ्घीय संसद्का सदस्य पनि लोकप्रियतावादबाट ग्रसित छौँ । यो कुरा मैले संसद्मा आफ्नो विषयवस्तु राख्ने क्रममा पनि भन्ने गरेको छु ।

तपाईँ अर्थ समितिको सदस्य पनि हुनुहुन्छ, समितिले अहिले के गर्दै छ ?

हो, म अर्थ समितिको सदस्य छु । अहिले समितिमा अर्थसँग सम्बिन्धत विभिन्न विधेयकमा काम भइरहेको छ । तत्काल बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)मा काम भइरहेको छ । त्यसभन्दा अगाडि भन्सार विधेयकलाई तयार गरेर संसद्बाट पारित गरियो । अर्थ समितिका सदस्यहरू सबै क्रियाशील छौँ । यो समितिले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छ । आगामी दिनमा पनि आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने मैले विश्वास लिएको छु ।

सरकारले प्रस्तुत गरेका आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कसरी विश्लेषण गर्नुभएको छ ?

म पूर्वअर्थमन्त्री पनि हो । अर्थशास्त्रको विद्यार्थी पनि भएको कारणले सरकारको नीति तथा कार्यक्रम, बजेटको सिद्धान्त र प्राथमिकता र बजेटमा चासो रहनु स्वाभाविक हो । यद्यपि बजेटको बारेमा संसद्मा छलफल सुरु हुन पाएको छैन । तर, बजेटमाथि टीका–टिप्पणी गर्दा हामीले विगतलाई पनि फर्केर हेर्नुपर्छ । हाम्रो चालु आर्थिक वर्षको बजेट कुन अवस्थामा छ, त्यो पनि हेर्नुपर्छ । हामीले कुन अवस्थामा काम गरिरहेका छौँ भन्ने कुरा पनि विचार गर्नुपर्छ ।

पछिल्लो समय राजनीतिक दलप्रति आमजनताको वितृष्णा बढ्दै गएको हो, तपाईँलाई के लाग्छ ?

देश विगतमा कुन अवस्थाबाट गुज्रिएको थियो । त्यसका बाबजुद पनि हामीले यति गर्न सकेका छौँ भनेर जनतासँग स्टा«े«ङ कम्युनिकेसन राख्न सकिएको छैन । अर्को कुरा, हामीले के काम गर्न सकेनौँ भन्ने कुरा पनि बिनाहिच्किचाहट जनतालाई भन्नुपर्छ । तर जे गर्छौँ त्यो शतप्रतिशत पूरा गर्छौँ भन्नुपर्छ । त्यो गर्दा कुनै पनि लोभलालच एकरत्ति पनि राख्दैनौँ भन्ने कुरालाई हामीले समग्र रूपमा स्ट्रोङ सम्प्रेषण गर्न सक्नुपर्छ । हामीले हाम्रा प्राथमिकता जनतासमक्ष प्रष्ट राख्नुपर्छ । त्यो प्राथमिकता स्रोतसाधनले भ्याएसम्म पूरा गर्छौँ भन्न सक्नुपर्छ । तर सबै ठाउँमा सबै कुरा बिनाप्राथमिकता हामी बोल्दैनौँ र खर्च पनि गर्दैनौँ भन्ने विषय जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । त्यसो गरियो भने हामी राजनीतिज्ञप्रति जनताको विश्वास पनि बढ्छ । त्यस किसिमका छलफल संसद्मा पनि हुनुपर्छ ।

नेताले आश्वसन मात्र दिए हाम्रो पक्षमा काम गरेनन् भन्ने आमजनताको गुनासो छ, यसलाई कसरी खण्डन गर्नुहुन्छ ?

हामी पक्षविपक्ष नभनी सत्तामा भएको वा बाहिर रहेको दल जसले जे सुन्न चाहन्छ त्यो हुन्छ भन्दिन्छौँ । जनअपेक्षा त्यहीअनुसार बढ्छ । तर, हामीसँग पर्याप्त स्रोतसाधन छैन वा स्रोतसाधनको लिमिटेसन छ । जनताको अपेक्षा पूरा नभएपछि स्वाभाविक रूपमा असन्तुष्टि बढ्छ । त्यसमाथि पनि अहिलेको सामाजिक सञ्जालको जमानामा झुटै कुरा किन नहोस् सानो समूहले प्रचार गर्दा पनि व्यापक हुन्छ । त्यही नै सत्य हो कि भन्ने भ्रम पार्न पनि सकिन्छ । त्यसकारण जनतामा एउटा बलियो सञ्चारको आवश्यकता छ ।

संविधान कार्यान्वयनको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?

अवश्य पनि कार्यान्वयनमा धेरैखाले चुनौती छन् । पहिलो कुरा, संविधानमा कतिपय विरोधाभास कुरा छ । अर्को, सङ्घीयताकै सवालमा अधिकारको विषयमा कतिपय कार्यान्वयन हुनसकेको छैन । त्यसलाई हामीले चाँडोभन्दा चाँडो टुङ्ग्याउनुपर्ने छ । हामीले संविधानमा धेरै अधिकारका कुरा गरेका छौँ । कतिपय अधिकार बिनालागत पूरा गर्न सकिन्छ । जस्तोः बोल्ने अधिकार । त्यसका लागि लागत लाग्दैन । कतिपय अधिकार स्रोतसँग जोडिएर आएको छ । हामीले हरेक नागरिकको आवासको अधिकार हुनेछ भनेका छौँ । आवास हामीले दिनु पनि पर्छ । यी सबै देशको साधनस्रोतसँग जोडिएका कुराहरू हुन् । त्यसकारण लागत लाग्ने अधिकारलाई कार्यान्वयन गर्न धेरै चुनौती छ ।

संविधान कार्यान्वयनको चुनौतीलाई चिर्न के गर्नुपर्छ ?

सरकारले ठिक ढङ्गले प्राथमिकीकरण गरेर काम गर्नुपर्छ । यो पनि गर्छु, त्यो पनि गर्छु भनेर हुँदैन । त्यसो भए लक्षित लगानी हुन सक्दैन । लक्षित लगानी नभएमा परिणाम आउँदैन । सरकारले प्राथमिकताका आधारमा संविधान र जनतासँग जोडिएका विषयलाई सम्बोधन गर्दै जानुपर्छ ।

संविधान संशोधनबारे तपाईँको धारणा के छ ?

संविधानमा भएका विवादित विषयमा संशोधन गर्नुपर्छ । सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारका विषयमा हामी संविधानमार्फत प्रस्ट हुनुपर्छ । देशलाइ धर्म निरपेक्षता पनि भनियो, राज्यको जिम्मेवारी सनातन धर्म, संस्कृति सुरक्षा गर्ने जिम्मेवारी पनि भन्यौँ । त्यो आफैँमा बाँझिएको छ ।

वर्तमान सरकार गठनको क्रममा संविधान संशोधन गर्ने सहमति भएको थियो, तर संशोधनको विषयले प्राथमिकता पाउन सकेको छैन, किन ?

संविधान संशोधनको विषय सरकार निर्माणका क्रममा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र अन्य साना दलले गरेको सहमतिलाई हल्का रूपमा लिन हुँदैन । आवश्कताका आधारमा कुनकुन विषयमा संशोधन गर्ने पहिचान गर्नुपर्छ । तत्काल कमिटी बनाएर विपक्षी दलसँग पनि अन्तरक्रिया गर्नुपर्छ । कमिटीले ल्याएको विषयमा कम्तीमा सबै राजनीतिक दलको सहमति जुटाउन कोसिस गर्नुपर्छ । यसमा ढिलाइ गर्नुहुन्न भन्ने मेरो भनाइ हो ।

अहिलेको निर्वाचन प्रणाली अलि महँगो भयो भनिन्छ नि, यसबारे तपाईँको भनाइ के छ ?

हामीले अहिले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेका छौँ । यो निर्वाचन प्रणालीबाट कुनै पनि दलको बुहमत आउने सम्भावना छैन । यद्यपि, सैद्धान्तिक रूपमा सम्भव होला, वास्तविकतामा गाह्रो छ । फेरि एउटै दलको बहुमत आउँदैमा सबै ठिकठाक हुन्छ भन्ने छैन । तैपनि कुनै एउटा दलले बहुमत ल्याउँदा राजनीतिक स्थिरता हुने सम्भावना हुन्छ । समावेशिताको विषयमा सम्झैता नगरीकन निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्छ भन्ने विषय पनि उठिरहेको छ । जस्तोः हामीले महिला, दलित वा अन्य सीमान्तकृत समुदायको हकमा निर्वाचन क्षेत्र छुट्याउने कुरा गरेका छौँ । जुन निर्वाचन क्षेत्रमा महिला–महिला र दलित–दलितबीच मात्र प्रतिस्पर्धा हुन्छ । जसले जिते पनि महिला र दलित नै आउँछ । तर साना दलहरू त्यसको पक्षमा नहुन सक्छन् । यो चुनौती छ ।

सङ्घीयता कार्यान्वयनलाई तपाईँले कसरी हेर्नुभएको छ ?

स्थानीय र प्रदेश सरकारमा कर्मचारीको सवाल अत्यन्त समस्या छ । प्रहरीसम्बन्धी अधिकारको पनि कार्यान्वयन भएको छैन । त्यसकारण प्रहरी र निजामतीसम्बन्धी विधेयकलाई चाँडो टुङ्ग्याउनुपर्ने छ । खासगरी प्रदेशलाई दिएको अधिकार सही ढङ्गबाट सदुपयोग भएको छैन । दिइएका अधिकार सुरक्षित र सदुपयोग भएको छैन । जस्तोः संरचना बनाउने अधिकार प्रदेशलाई दिएको छ, तर संरचना बनाए पनि स्रोत सुनिश्चित गर्नुपर्ने हुन्छ । कर्मचारी फेरिन्छ, जनप्रतिनिधि फेरिन्छ र उनीहरूले हाम्रो अधिकार हो भन्दै आफूखुसी काम गर्न थाल्छन् । तर त्यसको दायित्व केन्द्रले लिनुपर्ने अवस्था छ । स्रोत सुनिश्चित नभइकन प्रदेशले अनावश्यक संरचना बनाउन पाइँदैन भनेर जानुपर्ने हुन्छ ।

प्रदेश सरकारमा बजेटको दुरुपयोग भएको भनी टीकाटिप्पणी पनि हुने गरेको छ, यो के हो ?

अहिले सङ्घ र प्रदेशको बजेट बनाउने विषयमा उपभोक्ता समितिको नाममा दुरुपयोग भएको सूचना आइरहेको छ । अब यसलाई केन्द्रीय सरकारले बिनाठेक्का र निश्चित रकमभन्दा तलको काम गर्न पाइँदैन भन्नुपर्छ । तीनै तहको सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ । अनावश्यक खर्च गर्नु हुँदैन । प्राथमिकताका आधारमा मात्र खर्च गर्ने र नीतिगत रूपमा दुरुपयोग हुने ठाउँहरू पूर्ण रूपमा बन्द गर्नुपर्छ । यस विषयमा सङ्घीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा पनि स्वस्थ बहस र छलफल हुनुपर्छ ।

सुनको मूल्य तोलामा तीन हजारले घट्यो

काठमाडौँ । शुक्रबारको तुलनामा नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

झापा । मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए ।

“लम्पी स्किन र स्वाइन फ्लूको सङ्क्रमण पुष्टि भयो”, उनले भने, “नगरको पशु सेवा शाखाबाट सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिरहेका छौँ । कोशी प्रदेश र सङ्घीय सरकारका निकायमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरिसकेका छौँ ।”

पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीहरूमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ । गाईवस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेको जनाउँदै उनले किसानलाई गोठको सरसफाइका लागि फिनेललगायतका सामग्री वितरण गरिएको बताए । सङ्क्रमित गाई र बाच्छीहरूलाई अलग्गै राखेर मल्हम लगाउने र पेनकिनर औषधि खुवाउने गरिएको उनले बताए ।

‘लम्पी स्किन’ले थप जोखिम नहोस् भन्नाका लागि सङ्क्रमण फेलापरेको गोठको पाँच सय मिटर आसपासका किसानले पालेका डेढ सयभन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखापरेको राईले बताउनुभयो । यो रोग सङ्क्राकम भाइरसबाट फैलिने गर्दछ ।

यसैगरी मेचीनगर वडा नं ६ स्थित बबिता बङ्गुुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीषणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए ।

“फार्ममा अचानक बङ्गुर मरेको खबर आएपछि त्यसको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो”, उनले भने, “प्रयोगशालाबाट आएको रिपोर्टमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भयो ।” फार्मकी सञ्चालक बबिता गहतराजले जेठभरिमा ८० वटा बङ्गुर भकाभक मर्दा ठूलो क्षति भएको बताइन् । नगरपालिकाको पशु सेवा शाखा प्रमुख गुरुङसहितको प्राविधिक टोलीले प्रभावित बङ्गुर फार्म र आसपासका क्षेत्रका रोग फैलिन नदिन औषधोपचार र सचेतनाका कार्यहरू गरिरहेको छ ।

मस्कसँगको सम्बन्ध अब समाप्त भएको ट्रम्पको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्कसँगको सम्बन्ध अब समाप्त भएको घोषणा गरेका छन् । एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले आफू र मस्कबीचको घनिष्ठ सम्बन्ध अब टुंगिएको पुष्टि गरे ।

जब पत्रकारले सोधे कि के अब त्यो सम्बन्ध सकिएको हो, ट्रम्पले भने, ‘मेरो अनुमानमा त हो।’ उनले सम्बन्ध सुधार्ने चाहना छ कि भनेर सोधिएको प्रश्नमा छोटो जवाफ दिए —’होइन।’

ट्रम्प र मस्कबीचको यो विवाद पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक रुपमा देखिएको छ। यो विवादको सुरुवात मस्कले ट्रम्पको मुख्य घरेलु नीति— कर तथा खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि भएको हो ।

उक्त विधेयकलाई ट्रम्पले ‘बिग ब्यूटिफुल बिल’ भनेर उल्लेख गरेका थिए। मस्कले भने उक्त विधेयकले अर्बौं डलर बराबरको घाटा थप्ने दाबी गरेका थिए। मस्क डजको प्रमुखका रूपमा सरकारको खर्च कटौती गर्ने अभियानमा संलग्न थिए।

उनले उक्त पद छोडेको केही समयपछि सामाजिक सञ्जालमा विधेयकलाई ‘घिनलाग्दो विकृति’ भनेका थिए, यद्यपि उनले ट्रम्पको नाम स्पष्ट रूपमा उल्लेख गरेका थिएनन् ।

तर पछिल्लो दिनहरूमा मस्कले ट्रम्पप्रति आक्रोशपूर्ण टिप्पणी गर्दै ट्रम्प चुनाव हार्ने थिए भन्ने दाबी गरेका छन्। साथै, उनले ट्रम्पको नाम बदनाम वित्तीय कारोबारी जेफ्री एपस्टीनका फाइलहरूमा संलग्न रहेको आरोपसमेत लगाएका थिए, जुन पछि हटाइएको थियो । एपस्टीनका वकिलले ती आरोपहरू अस्वीकार गरिसकेका छन्।

अमेरिकाले ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेर आज काठमाडौं पठाउँदै

काठमाडौं । अवैधरुपमा अमेरिका बसेका नेपालीको एक टोली लिएर अमेरिकी जहाज आज काठमाडौं आउँदैछ । आज अपरान्ह चार बजे डिपोर्ट गरिएका नेपाली लिएर अमेरिकी जहाज त्रिभुवन विमानस्थल अवतरण गर्न लागेको हो । कम्तीमा ५० नेपालीलाई डिपोर्ट गरिएको बताइएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले यसअघिनै डिपोर्ट गरिएका नेपाली आउनेबारे जानकारी गराइसकेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि अमेरिकाले १४० जना नेपाली डिपोर्ट गरिसकेको छ ।

‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ । टिजर नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपालीको हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजिएको छ ।

आगामी असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ ।

पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यस सिनेमामा ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् ।

अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ।सौरभ लामाको छायाँकन, देव महर्जन द्वन्द्व, समिर मियाँको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।

परिवर्तन अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्यः पूर्वराष्ट्रपति भण्डारी

झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा परिवर्तन अनुभूत गराउन दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य हुनुपर्ने बताएकी छन् ।

झापाको विर्तामोडमा शनिबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै उनले जनस्तरमा परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्नुपर्ने बताएकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘अबको हाम्रो प्रमुख गन्तव्य भनेको जनताको जीवनस्तरमा प्रत्यक्ष एवम् सकारात्मक परिवर्तन अनुभूत गराउने दिगो आर्थिक समृद्धि हासिल गर्नु हो । संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्नु हो ।’

राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर मात्र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै उनले यसका लागि विज्ञान तथा प्रविधिको उपयोग अपरिहार्य रहेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले राज्यका तर्फबाट विज्ञान, प्रविधि र गणित शिक्षालाई विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताइन् ।

‘विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरूमा पर्याप्त साधनस्रोतसहित प्रयोगशाला, दक्ष शिक्षक तथा प्राविधिक जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व हो । नेपालमा मुलुकका लागि चाहिने अत्यन्तै उपयोगी प्राकृतिक स्रोत र सम्पदाहरू प्रचुर रूपमा उपलब्ध छन्’, उनले भनिन्,’प्राकृतिक स्रोतसाधनको दिगो र अधिकतम उपयोग गर्दै स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धिका साथै व्यापक रोजगारीको सिर्जना गरी स्वाधीन, आत्मनिर्भर र सुदृढ अर्थतन्त्रको निर्माण गर्न सकिन्छ । त्यसैले अबको शिक्षा प्रणालीको मूल लक्ष्य अनुसन्धान, प्रयोग, आविष्कार, प्रविधि र सिर्जनामार्फत राष्ट्रिय विकासमा योगदान पुर्याउने जनशक्ति निर्माणमा केन्द्रित हुने हुनुपर्छ ।’

जेठ २४, २५ र २६ गते तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी विर्तामोडस्थित देवी माध्यमिक विद्यालयको परिसरमा भइरहेको छ । कार्यक्रममा कोशी प्रदेशका १२ जिल्लाका ७० भन्दा बढी विद्यालयले आफ्ना विद्यार्थीद्वारा निर्मित वैज्ञानिक प्रयोगका सामग्री प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः चार लाख, तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने आयोजक विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिए ।

बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने धारणा अर्थतन्त्रका जानकारहरूले व्यक्त गरेका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठन काठमाडौँ जिल्ला समितिले आयोजना गरेको ‘बजेट २०८२-८३ समीक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा वक्ताहरूले असहज अवस्थामा प्रस्तुत बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न कठिन हुने टिप्पणी गरेका हुन् ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडेलले दुई ठूला दल मिलेर बनेको दुई तिहाइको सरकारले ल्याएको बजेटबाट अर्थतन्त्र सुधारको ठूलो गुञ्जायश नदेखिएको बताए।

‘प्राविधिक रुपबाट हेर्दा आगामी आवको बजेट धेरै विवादित देखिँदैन, तर यो सरकारले बजेटमार्फत नीतिगत फड्को (पोलिसी डिपार्चर) गर्ने मौका गुमाएको छ’, उनले भने, ‘अहिले सरकार र बजेटप्रति मान्छेको विश्वास घटेको बेला त्यो विश्वास बढाउने गरी बजेट आउन पर्ने थियो । गर्न सकिने काम मात्र बजेटमा राख्ने हो भने नागरिकको विश्वास आफै बढ्थ्यो ।’

राजस्वतर्फ पनि सरकारले प्रगतिशील कर नीति अवलम्बन गर्न नसकेको डा पौडेलको भनाइ छ। आगामी आर्थिक वर्षको बजेटमार्फत गैरकरको हिस्सा बढाउन सक्नुपर्नेमा त्यसो हुन नसकेको, आयकर लाग्ने आम्दानीको रकम नबढेको, पुँजीगत लाभकरको दर बढ्न नसकेको जस्ता विषय उनले उठाए ।

सरकारले लिएको कर नीतिले धनाढ्य वर्गलाई फाइदा पुग्ने तर मध्यम वर्गीय सहरिया वर्गलाई बढी कर तिर्नुपर्ने स्थिति रहने डा पौडेलको भनाइ छ । अहिले अनौपचारिक अर्थतन्त्रको हिस्सा निकै ठूलो रहेकामा त्यसलाई औपचारिक प्रणालीमा ल्याउन तथा राजस्व चुहावट नियन्त्रण गर्नका लागि सरकारले कुनै स्पष्ट योजना ल्याउन नसकेको आरोप पनि पौडेलको छ ।

अर्थविद् प्रा.डा सूर्य थापाले रोजगारी सिर्जना र गरिबी निवारण गर्ने भनेर बजेटका प्राथमिकतामा राखिएको भएपनि त्यसलाई समर्थन गर्नेगरी योजना आउन नसकेको बताए। यद्यपि आगामी आर्थिक वर्षको बजेटको आकार, आर्थिक वृद्धिदर र मुद्रास्फितिको लक्ष्य धेरै महत्वाकाङ्क्षी नभई वास्तविकतामा आधारित जस्तो देखिएको उनको भनाइ छ ।

‘सरकारले राम्रोसँग काम गर्न सक्ने हो भने १९ खर्ब ६४ अर्बको बजेट कार्यान्वयन गर्न सकिन्छ र ६ प्रतिशतको आर्थिक वृद्धिदर तथा साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीति कायम गर्न सकिन्छ’, उनले भने । बजेटमा जलविद्युत् आयोजनामा ‘टेक एन्ड पे’ ल्याइनु राम्रो नभएको थापाको भनाइ छ ।

योजना आयोगका पूर्वसदस्य डा चन्द्रकान्त पौडेलले यथास्थितिवादी बजेट आएको र विद्यमान समस्या समाधानका लागि कुनै स्पष्ट कार्ययोजना आउन नसकेको बताए।

‘सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ठूलो पनि छैन र वास्तविक पनि छैन । तोकिएको राजस्व लक्ष्य उठाउन सक्ने गरी कुनै आधार बजेटमा देखिँदैन र पुँजीगत खर्च बढाउने कुनै स्पष्ट कार्ययोजना पनि आएका छैनन’, उनले भने।

दोस्रो चरणको आर्थिक सुधार तत्काल थालिनुपर्ने आवश्यकता पनि उनले औंल्याए । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि वित्त नीति र मौद्रिक नीतिबीचको सामन्जस्यता कायम गर्न आवश्यक रहेको धारणा पनि पौडेलले राखे। मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न नसक्ने हो भने मुलुकको अर्थतन्त्रमा ठूलो समस्या आउने उनको भनाइ छ ।

डा नरविक्रम थापाले आगामी आवको बजेट यथास्थितिवादी रहेको उल्लेख गर्दै यसले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न नसक्ने बताए।

बजेटको स्रोतमा देखिएको चाप र कार्यान्वयनमा देखिएको न्यून प्रभावकारिता प्रमुख समस्या रहेको उनको भनाइ छ । त्यस्तै, आयातमुखी राजस्व र वितरणमुखी अर्थप्रणालीलाई बदल्नका लागि बजेटमार्फत कुनै ठोस पहल नचालिएको थापाले बताए।

हाल कार्यान्वयनमा रहेको १६औँ आवधिक योजनाको मर्मअनुसार बजेट आउन नसकेको, छरिएका योजना र कार्यक्रममा बजेट हालिएको, चालू खर्च घटाउन नसकिएकोलगायत विषय उनले उठाए ।

त्यस्तै, घुमाउरो तरिकाले सांसद विकास कोष बजेटमा राखिएको आरोप उनले लगाए । सरकारले आगामी आर्थिक वर्षका लागि राखेको आय र व्यय दुवैको अनुमान यथार्थपरक नरहेको थापाको बुझाइ छ ।

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन्।

प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरुको सहकार्य र समन्वय समूहले यहाँ आज आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रम’मा उनले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गरे।

‘शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ,’ उनले विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिए।

सरकार र शिक्षकबीचमा विगतमा भएका सहमतिलाई पनि सम्भव भएसम्म विधेयकमा समावेश गर्ने उनको भनाइ छ।

‘समय सापेक्ष कानुन संशोधन गर्दै जाने हो, युगको आवश्यकताअनुसार सम्बोधन गर्दै जानुपर्छ,’ उनले भने। संविधानको मर्म र अर्थतन्त्रले धान्न सक्ने माग सम्बोधन हुने उनको भनाइ छ।

‘जुन दिन शिक्षकहरुसँग सम्झौता भएको थियो, मैले त्यही दिन सार्वजनिक रुपमा नौ बुँदे सहमति नगद हो भनेको थिए, उक्त सहमति आगामी साउनदेखि लागू हुन्छ,’ शिक्षामन्त्री पन्तले भने, ‘उहाँहरुका जायज माग सम्बोधन हुन्छ।’

मुलुकको शिक्षा प्रणालीलाई सुधार गर्ने विषयमा उपयुक्त, वैज्ञानिक र आर्थिक रुपमा धान्न सक्ने सुझावलाई सरकारले ग्रहण गर्ने उनले उल्लेख गरे।

‘प्रारम्भिक बाल विकासलाई शिक्षा प्रणालीभित्र कसरी समावेश गर्ने र सम्रग बालबालिकाको विकासलाई कसरी नीतिगत रुपमा समावेश गर्नेभन्ने कुरामा हामी पहिला प्रष्ट हुनुपर्छ,’ उनले भने।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति अम्मरबहादुर थापाले प्राथमिकताको आधारमा शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले सरकारले बालबालिकाको प्रारम्भिक विकाससँगै अन्य विषयमा पनि ध्यान दिनुपर्ने धारणा राखे।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य जीवन परियारले बालबालिकाको विकासको निम्ति प्रारम्भिक बालविकाससँगसम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने विषयमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराए।

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गरेका छन्। शनिबार यहाँ आयोजित विशेष कार्यक्रममा उनले उक्त अस्पताल उद्घाटन गरेका हुन्।

मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो। प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए।

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, ‘जातीय पूर्वाग्रही सोच’ को आरोप

तेहरान । इरानले संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११ मध्यपूर्व तथा अफ्रिकी मुलुकहरूका नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्धको कडा आलोचना गर्दै उक्त निर्णयलाई ‘जातीय पूर्वाग्रही मानसिकताको प्रतिविम्ब’ भएको बताएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी पहिलेको कार्यकालमा लागू गरिएको जस्तै व्यापक प्रतिबन्धहरू पुनः लागू गर्ने घोषणा गरेका थिए । उक्त निर्णय कोलोराडोमा आयोजित एक इजरायल समर्थक भेलामा भएको आगजनी आक्रमणपछि राष्ट्रिय सुरक्षाको आधारमा गरिएको हो ।

इरानी विदेश मन्त्रालयअन्तर्गत विदेशस्थित इरानी नागरिक मामिलाका महानिर्देशक अलिरेज़ा हाशेमी–रजा का अनुसार, जुन ९ देखि लागू हुने यो प्रतिबन्ध ‘अमेरिकी नीतिनिर्माताहरूमा जातीय श्रेष्ठताको सोच हाबी भएको स्पष्ट सङ्केत’ हो ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो निर्णयले इरानी तथा मुस्लिम समुदायप्रति अमेरिकी नीतिनिर्माताहरूको गहिरो वैरभाव दर्शाउँछ ।”

इरानबाहेक, प्रतिबन्ध लाग्ने अन्य देशहरूमा अफगानिस्तान, म्यानमा, चाड, कङ्गो (ब्राजाभिल), इक्वेटोरियल गिनी, एरिट्रिया, हेइटी, लिबिया, सोमालिया, सुडान र यमन परेका छन् । साथै, थप सात देशका नागरिकहरूलाई पनि आंशिक रूपमा यात्रा प्रतिबन्ध लगाइएको छ ।

हाशेमी रजाले भने,“यस नीतिले अन्तर्राष्ट्रिय कानुनका मौलिक सिद्धान्तहरू उल्लंघन गर्दछ र नागरिकता वा धर्मको आधारमा करोडौँ मानिसलाई यात्रा गर्न पाउने अधिकारबाट वञ्चित गराउँछ ।”

उनले यस प्रतिबन्धलाई विभेदकारी भन्दै अमेरिकालाई यसको अन्तर्राष्ट्रिय कानुनी जवाफदेहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्, यद्यपि सोको विस्तृत विवरण उल्लेख गरिएको छैन ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान र अमेरिकाबीच कूटनीतिक सम्बन्ध पूर्ण रूपमा विच्छेद भएको हो । त्यसयता, दुबै मुलुकबीचको सम्बन्ध लगातार तनावग्रस्त रहँदै आएको छ ।

इरानबाहिर सबैभन्दा ठूलो इरानी समुदाय संयुक्त राज्य अमेरिकामै बसोबास गर्छ । इरानी विदेश मन्त्रालयका अनुसार, सन् २०२० मा अमेरिका भित्र करिब १५ लाख इरानी नागरिक रहेका थिए ।

युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृत्यु, दर्जनौं घाइते

कीभ । युक्रेनका विभिन्न शहरहरूमा शनिबार बिहान भएको रुसी हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी नागरिक घाइते भएका छन् ।

खार्किभ सहरका मेयर इहोर टेरेखोभका अनुसार, यो सहरले हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणको सामना गरेको छ । बिहान करिब चार बजे सुरु भएको आक्रमणमा ४८ वटा ड्रोन, दुई वटा मिसाइल र चार वटा बम प्रयोग गरिएको उनले जानकारी दिए । खार्किभमा मात्र तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको जनाइएको छ ।

त्यसैगरी, खेरसोनमा तोपखानाको प्रहारबाट एक दम्पतीको मृत्यु भएको र दुई भवनमा क्षति पुगेको छ । ड्निप्रो सहरमा दुई जना महिला घाइते भएका छन् भने लुत्स्कमा शुक्रबारको आक्रमणमा घाइते एक युवतीको मृत्यु भएको पुष्टि गरिएको छ ।

आक्रमणपछि उद्धारकर्मीहरू सक्रिय रुपमा प्रभावित क्षेत्रहरूमा काम गरिरहेका छन् । अधिकारीहरूले घाइतेहरूको उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको जनाएका छन् ।

रुसले पछिल्ला दिनहरूमा युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । उता युक्रेनले युद्धविरामको प्रस्ताव राखे पनि रुसले अझै त्यसमा सकारात्मक प्रतिक्रिया दिएको छैन । अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण समाधानको बाटो रोज्न आग्रह गरिरहेको छ ।

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

विराटनगर ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताएका छन् । हुलाक सेवा विभागले शनिबार विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनर्संरचना विषयक अन्तरक्रियामा उनले राणाशासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा प्रवाह राम्रो बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री गुरुङले भने, ‘बदलिँदो परिवेशअनुसार संस्था चल्नुपर्छ, हुलाकलाई जनताको सेवामा प्रयोग गर्नुपर्छ, सेवासँगै व्यापार गर्न जरुरी छ ।’ उनले हुलाक सेवालाई व्यवस्थित गर्न वार्षिक क्यालेन्डरअनुसार काम गर्न सुझाव समेत दिए । उनले हुलाक सेवालाई प्रविधिमैत्री बनाउन सरकारले सहयोग गर्ने उल्लेख गरे ।

मन्त्री गुरुङले हुलाकलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै द्रूत गति कुरियर सेवा विश्वका १९३ वटै देशमा पुर्‍याउन आवश्यक रहेको बताए । मन्त्री गुरुङले इकमर्शका माध्यमबाट जनतासेवा दिनमा ध्यान केन्द्रित राख्नुपर्ने सुझाव दिँदै हुलाकले व्यवसायका विस्तार गरी आत्मनिर्भर हुनुपर्ने टिप्पणी गरे ।

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

गण्डकी । लमजुङको क्होलासोँथर गाउँपालिका वडा नम्बर ५ सिङ्दीमा सञ्चालित सिङ्दी सामुदायिक होमस्टे पदयात्रा पर्यटनसँग जोडिने भएको छ ।

गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको सक्रियतामा अध्ययन एवं अन्वेषण गरी घोषणा गरिएको गुरुङ सम्पदा पदमार्गमा सिङ्दी समावेश गरिएको छ ।

कास्की, लमजुुङ र मनाङका विभिन्न भागहरू समेटिएको यस पदमार्गले पहाडी तथा हिमाली भेगका कोरी, क्होलासोँथर, ठूलो लेक, थुर्जु, दुधपोखरी, गुुरुङ देउरालीदेखि मनाङको तिमाङसम्मका भूभागलाई समेटेको जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले जानकारी दिए ।

पदमार्गअन्तर्गत लमजुुङका प्राचीन गाउँहरूलाई समेट्दै यिनीहरूको प्रवद्र्धन गर्न खोजिएकोे उनले जानकारी दिए । सङ्घले चरणबद्ध रुपमा खोज अन्वेषण र प्रवद्र्धन गर्दै सन् २०२६ देखि यो पदमार्ग पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष किसम कुमारी गुुरुङले जानकारी दिइन् ।

सङ्घले तेस्रो चरणको कायक्रमअन्तर्गत शुक्रबारदेखि नेपाल पर्यटन बोर्ड, क्व्होलासोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दी हुँदै दुधपोखरी, लमजुङ एवं मनाङको सिमाना गुरुङ देउराली, हर्सिङडाँडा लगायतका स्थानलाई पदमार्गका रुपमा समेट्ने गरी खोज तथा अन्वेषण सुुरु गरेको उनले बताइन् ।

उनका अनुुसार गुरुङ सम्पदा पदमार्गका रुपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ आयोजित यस चरणको कार्यक्रममा पोखराबाट लम्जुङको सिड्दी हुँदै पसगाउँ–भुजुङ– घनपोखरा–राप्रुजु–क्युपारा–थुर्जु–दुधपोखरी/गुरुङ देउराली–को ब्रोखर्का–सिउरुङ– हर्सिङडाँडा हुँदै पुनः पोखरासम्मको खोज अनुसन्धानात्मक पदयात्रा गरिने छ ।

पदमार्ग प्रवद्र्धन टोलीलाई सिङ्दीमा स्वागत गर्दै सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुुरुङले आफूहरूले होमस्टेलाई पदयात्रा पर्यटनसँग जोड्ने बताए । यहाँका कूल दुई सय ३५ घरमध्ये २० वटा घरमा घरवास सञ्चालन भएको जानकारी दिँदै उनले २०७६ सालदेखि सुरु गरिए पनि औपचारिक दर्ता भने २०८१ मा मात्र भएको जानकारी दिए ।

सिङ्दीमा दैनिक तीन सय जनासम्म पर्यटकलाई घरवासमा राख्न सकिने भन्दै उनले स्थानीय उत्पादनको स्वादसँगै यहाँको प्रकृति र संस्कृतिको भरपुर उपयोग गर्न पाउने बताए ।

अन्य गाउँमा जस्तो बसाइँसराइको अवस्था सिङ्दीमा नरहेको बताउँदै उहाँले पदयात्रा पर्यटनलाई घरवाससँग जोड्दै धेरैभन्दा धेरै पर्यटकलाई गाउँमा भित्राउने योजना रहेको बताए ।

सिङ्दीमा खानेपानी लगायतका सुविधा सहज रुपमा उपलब्ध भइरहेको क्होलासोँथर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गीतबहादुर गुरुङले बताए । घरवासमा आएका पर्यटकलाई उनीहरूको इच्छाअनुसार कागुनोको भात, कोदो तथा मकैका परिकार आदि उपलब्ध गराउने गरिएको उनको भनाइ छ ।

प्राचीन कालदेखि मिलेर बसेको सुन्दर बस्तीलाई पदयात्रा पर्यटनसँग जोड्दै यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उनले जानकारी दिए ।

गाउँस्थित गुम्बा, देवीस्थान मन्दिर आदि यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् । सोरठी, घाँटुु, कृष्णचरित्र जस्ता संस्कृतिहरू विद्यमान रहेको उनले जानकारी दिए । सिङ्दीबाट पर्यटकीयस्थल कर्पुडाँडालाई पदमार्गमार्फत जोड्ने गरी यहाँको करिब एक हजार तीन सय मिटर सिँढी निर्माण गरिएको र बाँकी बोटोलाई जोड्ने योजना रहेको उनले बताए ।

पर्यटकीय नगरी पोखराबाट दैनिक सार्वजनिक यातायात सञ्चालन भैरहेको सिङदीमा आउन करिब चार घण्टा लाग्दछ । सिङ्दीबाट पोखरा जोडिने सडकलाई व्यवस्थित गर्न भने जरुरी रहेको उनको भनाइ छ ।

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ ।

अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । बाढीले नेपाल–चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो ।

भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा यही जेठ १८ गते आएको बाढीले सीमास्तम्भ बगाएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए । उनका अनुसार बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथाङ्काबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ ।

शिक्षामा क्षेत्रमा रौतहटको मौलापुर नगरपालिका उत्कृष्ट घोषित

काठमाडौँ । रौतहटको मौलापुर नगरपालिका मधेस प्रदेशभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट भएको छ । पोखरामा आयोजित प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त पुरस्कार प्रदान गरे ।

त्यस अवसरमा मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरियो । पानले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पालिका पुरस्कार यसपटक मौलापुर नगरपालिकाले प्राप्त गरेको हो ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्ड पूरा गरेको मौलापुर नगरपालिका मधेस प्रदेशकै उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ ।

मौलापुरको नगरले विकास बजेटको ४३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए । गत वर्षको माध्यामिक शिक्षा परीक्षामा मौलापुर नगरपालिकाका ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
आम जनता पार्टीकी नेत्री साह दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएकी छन् । समग्रमा मधेस प्रदशेमा एसइई उतीर्ण प्रतिशत ३० मात्रै रहकेो छ ।

मौलापुरले लिएको शून्य कर नीतिको देशव्यापीरुपमा चर्चा हुँदै आएको छ । नगरपालिकाले कृषि तथा घरायसी प्रयोजनका लागि विद्युत् र पानीको महसुस निःशुल्क बनाएको छ ।

कालिकोटमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन

कालिकोट ।  कालिकोटको शुभकालिका गाउँपालिका–५ को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन हुने भएको छ । चंखेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, गाउँपालिकाको संयुक्त लगानीमा र नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रको सहयोगमा १०० किलोवाटको सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको काम अन्तिम चरणमा पुगेको हो ।

सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेको त्यसैअनुसार निजी क्षेत्रको साझेदारीमा शुभकालिका नीति तथा सरकारी क्षेत्रको लगानीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सोलार मिनी ग्रिड परियोजनाअन्तर्गत प्रालिको रु एक करोड ३० लाख र ऊर्जा प्रवर्द्धन केन्द्रको  दुई करोड ९२ लाख रकम र गाउँपालिकाले सडक, फिल्ड, पर्खाल, तारबारलगायत अन्य क्षेत्रमा खर्च गरेको चंखेली इनर्जी प्रालिका अध्यक्ष जजराज शाहीले बताए। ‘परियोजनामा जम्मा रु छ करोड २५ लाख खर्च भएको छ’, उनले भने, ‘खम्बा गाड्नेलगायत अन्य परियोजनामा काममा नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले सहयोग गरेको छ ।’

गाउँपालिकालाई विद्युतीकरण गर्नका लागि सौर्य ऊर्जाले केही सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले बताए। ‘गाउँपालिका पूर्णरुपमा विद्युतीकरण हुन सकेको छैन’, उनले भने, ‘यहाँ उत्पादन हुने विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणको सहयोगमा गाउँपालिकाभित्र नै वितरण गर्ने लक्ष्य राखिएको छ ।’

सौर्य ऊर्जाबाट यही जेठको अन्तिममा वा असारको पहिलो साताबाट विद्युत् उत्पादन हुने प्रालिका अध्यक्ष शाहीले जानकारी दिए। ‘यहाँ उत्पादन भएको विद्युत् प्राधिकरण कालिकोट वितरण शाखाको सहजीकरणका वितरण गरिनेछ’, उनले भने, ‘यस उत्पादनले प्राधिकरणलाई नै सहयोग पुग्नेछ ।”

न्यायपालिकाले मलाई न्याय दिनेछः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइएको बताएका छन् ।

शनिबार मधेस प्रदेश सम्पर्क कमिटिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचार मुद्दा लगाइएको बताएका हुन् ।

उनले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएर आफूमाथि खनिएको बताए । प्रधानमन्त्री केपी ओलीतर्फ संकेत गर्दै अध्यक्ष नेपालले बदलाको भावनाले उनीहरूलाई पोलिराखेको बताए ।

उनले भने, ‘हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतंकित पनि भएका छन् । पूर्वाग्रह राखेर बसेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिराखेको पनि छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ । अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु ।’

अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको बताए । उनले भने, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु । मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ । हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ ।’

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ। पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो।

रूरुक्षेत्रदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक यही आउँदो फागुन २५ सम्म कालोपत्र गर्ने काम सकिने मदनभण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इञ्जिनियर हुमनाथ पौडेलले जानकारी दिए।

‘रिडीदेखि २५ किलोमिटरसम्म ढलान र अस्फाल्ट गर्ने कार्यक्रम छ, अहिलेसम्म आठ किलोमिटर सम्पन्न भइसकेको छ, अब १७ किलोमिटर बाँकी छ, मौसमले साथ दियो भने यस आर्थिक वर्षमा १८ देखि १९ किलोमिटर गर्ने कार्यक्रम छ,’ उनले भने।

निर्माण कम्पनीले रुरुक्षेत्र गाउँपालिका, छत्रकोट र गुल्मीदरबार क्षेत्रमा ‘ग्रेड कटिङ’ र मोड सुधारको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

सम्झौताअनुसार कटिङ, नाली, संरचना निर्माण र ग्राभेलको काम दु्रतगतिमा भइरहेको छ । पच्चीस किमी सडकअन्तर्गत दुई किमी ढलान र छ किमी कालोपत्र भइसकेको आयोजना कार्यालयका सूचना अधिकारी हुमनाथ पौडेलले बताए।

उक्त सडकखण्डमा हालसम्म ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। सडक निर्माणका क्रममा गत दुई वर्ष यस क्षेत्रका नागरिकले धुलो र हिलोको समस्या भोग्नुपरेको थियो।

सडक निर्माणका लागि २०७९ फागुन २६ मा समानान्तर–एलाइट जेभीले रु एक अर्ब ५० करोडको लागतमा रिडी–रुन्खादह सडकको ग्रेड कटिङ, मोड सुधारसँगै कालोपत्र गर्ने सम्झौता भएको थियो।

बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम

 

बागलुङ । झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैं कखरा सिक्दैछन् ।

विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेर न्यून भएपछि आमालाई विद्यालयमा भर्ना गरिएको हो । सरकारले २०७० सालमा ‘साक्षर हाम्रो अधिकार’ भन्ने नाराका साथ सञ्चालित ‘साक्षरता नेपाल अभियान’अन्तर्गत प्रौढशिक्षा कार्यक्रम सञ्चालन गरेर बागलुङ जिल्लालाई निरक्षरमुक्त जिल्ला घोषणा गरेको छ ।

बागलुङ सदरमुकामबाट १० मिनेटको दूरीमा पुगिने बागलुङ नगरपालिका–३ खहरेका १० जना आमा भर्खर कखरा सिक्दैछन् । उनीहरु  आफ्नो नाम लेख्न सक्षम भएका छन् ।

खहरेको वसन्धरा प्राथमिक विद्यालयले व्यवस्थापन समिति र प्रधानाध्यापकसमेतको संयोजनमा ‘आमा शिक्षा कार्यक्रम’ सञ्चालन गरेको छ । सोही कार्यक्रमअनुसार पहिले अक्षर चिनेका तीन जना आमा कक्षा २ र अक्षर नै नचिनेका सात जना आमा कक्षा १ मा भर्ना भएका छन् ।

कक्षा ३ सम्म अध्यापन हुने विद्यालमा अहिले जम्मा १६ जनामात्रै विद्यार्थी छन् । १० जना आमा थपिएपछि २६ जना पुगेका छन् । विद्यालय जाने उमेरका यो गाउँका बालबालिका सदरमुकामका निजी विद्यालयमा जान थालेपछि विद्यालय जोगाउन आमा साक्षरता कार्यक्रम चलाइएको विद्यालयको प्रधानाध्यापक सरिता उप्रेती पाण्डेले जानकारी दिइन् ।

विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून नभएपछि विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेर अभिभावक पढाउन सुरु गरेको हो । घरधन्दा सकेर किताब र कापी बोकी विद्यालय पुग्ने उनीहरु साँझ बिहान नातीनातिनासँगै गृहकार्य गर्ने गरेको बताउँछन् ।

छपन्न वर्षमा कक्षा १ मा भर्ना भएकी खिमकुमारी कार्की गाउँमा प्रौढकक्षामा आफूले पढ्न नपाएको भएपनि ‘आमा शिक्षा कार्यक्रम’ले पढ्ने चाहना पूरा गरिदिएको बताउँछिन् ।
अहिले फोटो हेरेर फोन गर्छु उनले भनिन्, ‘अक्षर चिनेपछि विदेशमा भएका छोरालाई आफैँले अक्षर चिनेर फोन गर्ने इच्छा छ ।’ किताब र कापी च्यापेर विद्यालय जाँदा फुरुङ्ग उहाँ  धुलोमैलो र माटाको स्कुल अहिले सिमेन्ट र कार्पेट बिछ्याउँदा विद्यार्थी घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेकामा चिन्तित छन्।

लालबहादुर खत्री लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालय विद्यार्थी घटेर सङ्कटमा परेपछि विद्यालय जोगाउन आफैँले पढ्न सुरु गरेको ६० वर्षीया मीनाकुमारी खत्रीले बताइन् ।

अक्षर नचिनेका आमाहरुलाई पढ्नेलेख्ने बनाउनु राम्रो काम भए पनि पढ्ने उमेरका बालबालिका विद्यालयमा थोरै हुनु दुःखद् भएको विद्यालयका प्रधानाध्यापक सरिता उप्रेती पाण्डे बताउँछिन् । बालशिक्षामा बर्सेनि १२ जनाभन्दा बढी बालबालिका भर्ना भए पनि १ कक्षा पुग्नेबेलामा विद्यार्थी सङ्ख्या शून्य हुने गरेको उनले जानकारी दिइन् ।

सुदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन् । सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् ।

त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए ।

उनले भने, ‘शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ ।’ यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।