`

धनुषा-२ बाट रास्वपाका रामविनोद यादव निर्वाचित

नुषा । धनुषा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव विजयी भएका छन् । ४१ हजार ६३७ मत ल्याएर उनी विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशप्रसाद यादवलाई उनले ३१ हजार बढी मतान्तरले पराजित गरेका हुन् ।

यादवले १० हजार १९८ मत ल्याए । त्यस्तै नेकपा एमालेका उमाशंकर अरगरियाले १० हजार १५३ तथा नेकपाका रामचन्द्र झाले ८ हजार ४०३ मत ल्याए । योसँगै धनुषाका जिल्लाका तीन निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ । क्षेत्र नम्बर १ बाहेक सबैको मतपरिणाम आइसकेको छ ।

जेन-जी विद्राेहकाे जाँचबुझ प्रतिवेदन आयाेगले बुझायाे सरकारलाई

काठमाडौं । भदाै २३ र २४ मा भएकाे जेन-जी विद्राेहकाे जाँचबुझ गर्न गठित गाैरीबहादुर कार्की आयाेगले सरकारलाई छानबिन प्रतिवेदन बुझाएकाे छ ।

आयाेगकाे प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीले बुझेकी छन् ।  आयाेगले २३ गतेकाे सरकारी दमन र २४ गते विद्राेहीहरुले मच्चाएकाे विध्वङ्सबारे सत्यतथ्य जाँचबुझ गर्ने कार्यादेश पाएकाे थियाे ।

आयाेगले घटनाकाे जाँचबुझ गरेर प्रतिवेदन तयार गरेकाे प्रतिनिधिसभा निर्वाचनअघि हाे । तर, निर्वाचनकाे माहाेल बिथाेलिन सक्ने भएकाले सरकारले राेकेकाे प्रतिवेदन आज बुझेकाे हाे ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन् ।

जेन-जी विद्राेहपछि कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार बनेसँगै असोज ५ मा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीनसदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगका सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी सदस्य छन् ।

 

बाजुराबाट कांग्रेसका जनकराज गिरी निर्वाचित

बाजुरा। बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालले १६ हजार ६३३ मत ल्याए ।

मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५, नेपाली कम्युनिष्ट पार्टीका प्रकाशबहादुर शाहले तीन ४२८, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी माओवादीका भूपेन्द्र विकले ३३३ मत प्राप्त गरे ।

कार्की आयोगले बुझायो जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं। गत भदौ महिनामा नेपालमा भएको जेन-जी आन्दोलनका क्रममा भएका घटना तथा सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदनको अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाइने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।

गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएका घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित आयोगले तेस्रो पटक थप गरिएको म्याद सकिनुभन्दा एक दिनअघि नै प्रतिवेदन बुझाएको हो।

भावी प्रधानमन्त्रीका प्रस्तावित दुई उम्मेदवार जनअनुमोदित हुन असफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापा दुवै आ-आफ्ना पार्टीबाट भावी प्रधानमन्त्रीमा प्रस्तावित उम्मेदवार थिए ।

भावी प्रधानमन्त्रीका उम्मेदवार प्रस्तावित भएर प्रतिनिधिसभा निर्वाचन दुवैले लडे । दुवै पराजित भए ।

ओली यसअघि चारपटक प्रधानमन्त्री भइसकेका नेता हुन् । गगन एकपटक स्वास्थ्य तथा जनसंख्यामन्त्री भए । प्रधानमन्त्री भएका छैनन् ।

संसदीय राजनीतिक प्रणालीमा दलहरूले बहुमत ल्याए प्रधानमन्त्री बन्ने सम्भावित उम्मेदवार देखाएर निर्वाचनमा जाने प्रचलनअनुसार यसपटक एमालेबाट ओली र कांग्रेसबाट गगन थिए ।

तर, ओली झापा-५ र गगन सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूसँग पराजित भए । दुवै जना पराजित हुँदा उनीहरुकाे प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएको छ ।

ओली रास्वपा वरिष्ठ नेता तथा उम्मेदवार बालेन्द्र शाहसँग र गगन रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका हुन् । ओलीसँगको चुनावी प्रतिस्पर्धामा विजयी भएका बालेन भने प्रधानमन्त्री बन्ने भएका छन् ।

ओली नेपालको संविधान २०७२ जारी हुँदाको बखत प्रधानमन्त्री भएका थिए । त्यसपछि २०७४ मा एमालेले नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्दै अन्ततः पार्टी एकता गरेपछि शक्तिशाली प्रधानमन्त्री भएका थिए ।

त्यसपछि ८ जेठ २०७८ र ३० असार २०८१ मा चौथोपटक कांग्रेससँग सत्ता गठबन्धन गरेर प्रधानमन्त्री भएका थिए । पाँचौँपटक प्रधानमन्त्री बन्ने उद्देश्यले निर्वाचनमा होमिएका उनी यसपटक भने निर्वाचित हुन सकेनन् ।

उता गगन थापा भने मधेशको जनमत लिएर प्रधानमन्त्री हुन खोजेका थिए । आफ्ना परम्परागत चुनावी क्षेत्र छाडेर गएका उनी सर्लाही–४ बाट जनअनुमोदित हुन सकेनन् ।

प्रधानमन्त्रीका उम्मेदवार आफ्ना दलबाट घोषित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने रुकुम पूर्वबाट निर्वाचित भएर संसद् आएका छन् ।

तर, उनको दल निकै कम सिटका साथ चौँथो स्थानमा हुनाले सरकार गठनमा जादुमयी शक्ति बन्ने देखिएको छैन । त्यसो हुँदा निर्वाचित भए पनि उनी प्रधानमन्त्री हुने सम्भावना निकै कम देखिएको छ ।

मधेसका कुनै दल राष्ट्रिय दल नबन्ने, यी पाँच पार्टी बन्दैछन् राष्ट्रिय दल

काठमाडौं । यसपटक निकै कम पार्टीहरू राष्ट्रिय दल बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशव्यापी अभूतपूर्व चुनावी लहर ल्याउँदा अघिल्लो प्रतिनिधिसभामा राष्ट्रिय दलको रूपमा प्रतिनिधित्व गर्ने दलहरूमध्ये निकै कम राष्ट्रिय दल बन्ने भएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायत दलहरू राष्ट्रिय दल बन्ने अवस्थामा देखिँदैनन् ।

राष्ट्रिय दल बन्न प्रत्यक्षमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत कटाउनुपर्छ । यीमध्ये कुनै पनि दलले प्रत्यक्षमा एक सिट जित्ने छनक देखाएनन् । त्यसो हुँदा मधेसकेन्द्रित कुनै पनि दल यसपटक राष्ट्रिय दल बन्ने सम्भावना टरेको छ ।

तर, नयाँ दलको रूपमा श्रम संस्कृति पार्टी भने राष्ट्रिय दल बन्ने देखिएको छ । यो दलले प्रत्यक्षमा खोटाङमा जितिसकेको छ । सुनसरी–१ मा हर्क साम्पाङ र भोजपुर ध्रुवराज राईले लगातार अग्रता लिइरहेका छन् । समानुपातिकमा ३ प्रतिशत मतको सीमा पुर्‍याउने भएको छ ।

यसले गर्दा यो चुनावबाट नयाँ दल राष्ट्रिय पार्टी बन्ने श्रम संस्कृति देखिएको हो ।

पुराना दलहरूमा नेपाली कांग्रेस र नेकपा एमाले राष्ट्रिय दल बनिसकेका छन् । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि राष्ट्रिय दल बन्न लागेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी त दुई तिहाई बहुमततर्फ उन्मुख छ ।

समानुपातिक मतगणना अपडेट : रास्वपाको तीन लाख काट्दा कांग्रेसले एक लाख पुर्यायो, एमाले र नेकपाको कति ?

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेका स्थानमा समानुपातिकतर्फ मतगणना जारी राखेको छ। शनिबार साँझसम्म देशभर करिब ६ लाख भन्दा बढी मत गणना भइसकेको आयोगले जनाएको छ।

आयोगले अद्यावधिक गरेको पछिल्लो तथ्यांकअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत अनुपात केही घटेको देखिएको छ। हालसम्मको गणनामा रास्वपाले कुल सदर मतको करिब ५५  प्रतिशत हिस्सा अर्थात् ३  लाख २४ हजार ३९४ मत  प्राप्त गरेको छ।

यस्तै, नेपाली कांग्रेसले करिब १६ प्रतिशत अर्थात् १ लाख ४४० मत पाएको छ भने नेकपा (एमाले) ले १३ प्रतिशत अर्थात् ८१ हजार ६११ मत प्राप्त गरेको छ। एमालेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत हिस्सा करिब ५-५ प्रतिशतको हाराहारीमा रहेको छ। नेकपाले ३६ हजार ५८ मत प्राप्त गर्दा राप्रपाले २५ हजार ६२७ मत प्राप्त गरेको छ। 

त्यस्तै, श्रम संस्कृति पार्टीले २ प्रतिशतभन्दा बढी अर्थात् १२ हजार ३४३ मत प्राप्त गरेको छ भने अन्य साना दलहरूले संयुक्त रूपमा करिब ५ प्रतिशत मत प्राप्त गरेका छन्।

 

रुपन्देही-१ बाट रास्वपाका सुनिल लम्साल निर्वाचित

बुटवल। रूपन्देही क्षेत्र नं १ मा रास्वपा उम्मेदवार सुनिल लम्साल विजयी भएका छन् ।  लम्साल ५७ हजार ३९ मतसहित फराकिलो मतान्तरले विजयी भएका हुन् ।

दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका हिरा केसीले १२ हजार ४४७, राप्रपाका प्रज्वल बोहोराले ८ हजार ६४१ र नेकपा एमालेका दधिराम न्यौपानेले ८ हजार १७३ मत पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवार लम्साललाई प्रमाणपत्र प्रदान गरिसकेको छ ।

रास्वपाका रमेश सापकोटा सुर्खेत-२ बाट फराकिलो मतान्तरसहित निर्वाचित

सुर्खेत। सुर्खेत-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा मतान्तरण सहित विजयी भएका छन् । उनले ३० हजार ३७८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण कोइराला १६ हजार १९६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले ४ हजार ४३६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कविराम पुरीले १ हजार २९३ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका राजेन्द्र रामजालीले १ हजार ५९२ मत प्राप्त गरेका छन् ।

कञ्चनपुर-२ बाट रास्वपाका विजयी

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिपकराज बोहरा निर्वाचित भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता एनपी साउदलाई २३ हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् । बोहरा ३३ हजार ९५२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचित भएपछि बालेनले बुझे प्रमाणपत्र

दमक। झापा निर्वाचन क्षेत्र नम्बर-५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र ग्रहण गरेका छन्।

उनीलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

बालेन ६८ हजार ३४८ मतसहित विजयी भएका हुन्। उनले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका छन्। ओलीले १८ हजार ७२४ मत प्राप्त गरेका थिए। दुई उम्मेदवारबीच मतान्तर ४९ हजार ६१४ रहेको छ।

झापा-५ को प्रतिनिधिसभा निर्वाचन २०८२ मा सबैभन्दा बढी चर्चा बटुलेको क्षेत्र रह्यो। काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै ओलीसँग हुने प्रतिस्पर्धा विशेष ध्यानाकर्षणको केन्द्र बनेको थियो।

इपिसेन्टर : झापा-५ बाट बालेन ओलीभन्दा तेब्बर बढी मत ल्याएर विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा-५ मा रास्वपा वरिष्ठ नेता तथा काठमाडौँ महानगरका पूर्व मेयर बालेन्द्र शाह ‘बालेन’ सँग निकै ठुलो मतान्तरले पराजित भएका छन्।

बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए। बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्।

यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङ ९ हजार २३३ मतसहित तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८२१ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरिन्।

झापा-५ बाट ओली यसअघि पटकपटक निर्वाचित हुँदै आएका थिए भने बालेन पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी प्रचारप्रसार गरेको थियो।

देउवाको अनुपस्थितिमा ढल्यो कांग्रेसको गढ: डडेल्धुरामा रास्वपाका जोशी विजयी

धनगढी। डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएका छन्।

यससँगै २०४८ देखि निरन्तर रुपमा डडेल्धुराबाट जित्दै आएको कांग्रेसको गढ भत्किएको छ।  यसक्षेत्रबाट नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति शेरबहादुर देउवा जित्दै आएका थिए।  तर देउवा यसपटक प्रतिनिधिसभा निर्वाचनमा मैदानमा नउत्रिँदा डडेलधुरामा कांग्रेसको पुरानो राजनीतिक विरासत ढलेको छ।

डडेल्धुराबाट विजयी हासिल गरेका जोशीले १९ हजार १३१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महर ले १२ हजार १२१ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवार मानसिंह माल ले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका चक्र स्नेही ले ३ हजार २६ मत पाएका छन्।

राप्रपा अध्यक्ष लिङ्देनलाई भारी मतान्तरले हराउँदै झापा-३ बाट रास्वपाका प्रकाश पाठक निर्वाचित

झापा । झापा निर्वाचन क्षेत्र नम्बर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

शनिबार बेलुका सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार पाठकले ३८ हजार ६७४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन्। पाठकले लिङ्देनलाई २१ हजार ३८० मतान्तरले पराजित गर्दै पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

पाठक रास्वपाका झापा जिल्ला सभापतिसमेत हुन्।

माेरङ-२ बाट रास्वपा उम्मेदवार कार्की निर्वाचित

विराटनगर। मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार दिलीपकुमार बगडियाले १५ हजार ६२४ मत प्राप्त गरेका छन्। कार्कीले बगडियालाई २५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल भने १२ हजार ६६४ मतसहित तेस्रो स्थानमा सीमित भएका छन्।

कांग्रेसका विष्णुबहादुर खड्का सुर्खेत-१ बाट निर्वाचित

काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

खड्काले नेकपा (एमाले) का उम्मेदवार ध्रुवबहादुर शाहीलाई पराजित गर्दै विजय हासिल गरेका हुन्। खड्काले २६ हजार ८९७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी शाहीले १८ हजार ८९० मत पाएका छन्।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार ७२९ मतसहित तेस्रो स्थानमा रहेका छन्।

समानुपातिक मतगणना अपडेट : तेब्बर भन्दा बढी मतले पछि छन् काङ्ग्रेस-एमाले

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेका स्थानमा समानुपातिकतर्फ मतगणना जारी राखेको छ। शनिबार दिउँसोसम्म देशभर करिब साढे तीन लाख मत गणना भइसकेको आयोगले जनाएको छ।

आयोगले अद्यावधिक गरेको पछिल्लो तथ्यांकअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत अनुपात केही घटेको देखिएको छ। हालसम्मको गणनामा रास्वपाले कुल सदर मतको करिब ५४ प्रतिशत हिस्सा अर्थात् १ लाख ९० हजार ६३२ मत  प्राप्त गरेको छ।

यस्तै, नेपाली कांग्रेसले करिब १६ प्रतिशत अर्थात् ५७ हजार ५६६ मत पाएको छ भने नेकपा (एमाले) ले १३ प्रतिशत अर्थात् ४४ हजार १२२ मत प्राप्त गरेको छ। एमालेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत हिस्सा करिब ५-५ प्रतिशतको हाराहारीमा रहेको छ।

त्यस्तै, श्रम संस्कृति पार्टीले २ प्रतिशतभन्दा केही बढी मत प्राप्त गरेको छ भने अन्य साना दलहरूले संयुक्त रूपमा करिब ५ प्रतिशत मत प्राप्त गरेका छन्।

सिन्धुली-१ बाट रास्वपाका धनेन्द्र कार्की विजयी

काठमाडौं। सिन्धुली क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

कार्कीले १६ हजार ६५९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदीपकुमार कटुवालले १५ हजार ८७५ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवारले १५ हजार ५७० मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डेकेन्द्रप्रसाद सुवेदीले ४ हजार ७०८ मत प्राप्त गरेका छन्।

सर्लाही-१ मा रास्वपाकी नीतिमा कार्की विजयी

सर्लाही। सर्लाही निर्वाचन क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ नीतिमा भण्डारी कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

भण्डारीले ४४ हजार १८१ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतान्तरले पराजित गरेकी हुन्। श्रेष्ठले ७ हजार ८७१ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार देवकोटाले ६ हजार १०१ मत प्राप्त गरेका छन्।

कपिलवस्तु-३ बाट कांग्रेसका अभिषेक प्रताप शाह विजयी

रूपन्देही। लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पहिलो जित दर्ता गरेको छ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह निर्वाचित भएका हुन्। शाहले २३ हजार ५३५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार विरेन्द्र कनोडियाले १४ हजार ७६३ मत ल्याएका छन्।

शाहले रजौरियालाई ४ हजार ६४५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

कैलाली-५ बाट रास्वपाका आनन्दबहादुर चन्द विजयी

कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आनन्दबहादुर चन्द प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

चन्दले ३१ हजार ९५३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत प्राप्त गरेका छन्।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेम आलेले ७ हजार ८७६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुंगानाले ५ हजार ८३९ मत प्राप्त गरेका छन्।

इलाम-१ मा एमालेका कागतेको अग्रता, निष्कल राई पछ्याउदै

इलाम। इलाम-१ मा काजीमान कागते दुई हजार ८०३ मतसहित अग्रस्थानमा रहँदा नेपाली काङ्ग्रेसका निस्कल राई दुई हजार ५८९ मतसहित पछ्याइरहेका छन् ।

सुरुवातमा अग्रता लिइरहेका श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बू भने दुई हजार ५४६ मतसहित तेस्रो स्थानमा छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विमल गदाल एक हजार २४४ मतसहित चौैथो स्थानमा छन्  भने नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ९६९ मतसहित पाँचौँ स्थानमा छन् ।

सर्लाही-४ मा ८ हजार मतले गगन भन्दा अमरेश अघि

काठमाडौं । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ८ हजार मतले पछि परेका छन्। रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहभन्दा करिब ८ हजार मतले पछि परेका हुन्।

पछिल्लो मत परिणाम अनुसार सिंहले १९ हजार २१९ मत ल्याउँदा सभापति थापा ११ हजार ११३ मतसहित पछ्याईरहेका छन् ।

इलाम-२ मा सुहाङको अग्रता कायमै, माटोका सुदिप पछ्याउदै

इलाम। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा इलाम-२ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ अग्रस्थानमा रहेका छन्।

हालसम्मको मतपरिणामअनुसार नेम्वाङले १३ हजार ८२ मत प्राप्त गरेका छन्। उनलाई श्रम संस्कृतिका उम्मेदवार सुदीप राईले १० हजार ९४० मतसहित पछ्याइरहेका छन्। दुवैबीच हाल २ हजार १४२ मतको अन्तर रहेको छ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ७ हजार २२५ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोकुल राईले ३ हजार ७४६ मत पाएका छन् भने नेकपाका ओम गुरुङले ८७७ मत प्राप्त गरेका छन्।

अछाम-१ मा २६ वर्षपछि कांग्रेसको पुनरागमन, भीम रावल ५२८ मतान्तरले पराजित

धनगढी। अछाम-१ बाट नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

स्वारले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावललाई ५२८ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्। स्वारले १० हजार ७५८ मत प्राप्त गर्दा रावलले १० हजार २३० मत ल्याएका छन्।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार दीपक साउदले ७ हजार ३८६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओमप्रकाश रावलले १ हजार ७४५ मत प्राप्त गरेका छन्।

अछाम-१ मा नेपाली कांग्रेसले करिब तीन दशक अर्थात् २६ वर्षपछि प्रतिनिधिसभा निर्वाचन जितेको हो। यसअघि २०५६ सालको आमनिर्वाचनमा कांग्रेसका गोविन्दबहादुर शाह विजयी भएका थिए।

लालकिल्ला सिन्धुली–२ मा हार्‍यो नेकपाका राजन दाहाल, रास्वपाका गजुरेल विजयी

काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ मा रास्वपाले जित निकालेको छ । माओवादी नेता हरिबोल गजुरेल, चन्द्रप्रसाद गजुरेल लगायतले चुवान जितेको उक्त क्षेत्रमा यस पटकको भने माओवादी (हालको नेकपा) पराजित भएको छ ।

२०६४ मा माओवादी केन्द्रका चन्द्रप्रसाद गजुरेलले उक्त क्षेत्रमा चुनाव जितेका थिए भने २०७४ मा हरिबोल गजुरेलले चुनाव जितेका थिए । हाल सोही क्षेत्रमा नेकपाका उम्मेदवार बनेका लेखनाथ दाहाल ‘राजन’ले २०७९ मा सोही क्षेत्रबाट चुनाव जितेका थिए ।

सिन्धुली २ संसदीय क्षेत्रमा हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, घ्याङलेख गाउँपालिका, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाको १–८ र १०–१२ वडाहरू रहेका छन् । हरिहरपुर, मरिण, ध्याङलेख, सुनकोशी क्षेत्रमा तत्कालीन माओवादी ९हाल नेकपा० को राम्रो उपस्थिति रहेको बताइन्छ । तर, हालै सम्पन्न निर्वाचनमा सो क्षेत्रमा उम्मेदवार रहेका नेकपाका दाहालले ३ हजार १६० मतान्तरले चुनाव हारेका छन् ।

उनलाई रास्वपाका आषिश गजुरेलले १७ हजार ९४० मतसहित पराजित गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका दाहालले १४ हजार ७८० मत पाएका छन् ।

दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसद हुन् । २०७४ मा बागमती प्रदेशसभामा सोही क्षेत्रबाट विजयी बनेका दाहाल राजनीतिक सङ्घर्षका हरेक मोर्चामा सक्रिय रहेका थिए । विद्यार्थी जीवनदेखि नै राजनीति सुरु गरेका दाहाल १२ वर्षकै उमेरमा कक्षा ८ मा जनयुद्धमा होमिएका थिए ।

जनयुद्धकै क्रममा तत्कालीन राज्यसत्ताले दाहाललाई २०५३ सालमा गिरफ्तार भएका उनी ३ वर्षसम्म जेल जीवन बिताएर २०५६ चैतमा रिहा भए । सो पश्चात् उनी पार्टी सङ्गठनमा सक्रिय रहे । रामेछाप, सिन्धुलीमा पार्टीको जिम्मेवारी पाएका उनी विरुद्ध पार्टीका सहयात्री नै बाधक बनेका थिए ।

माओवादी नेता महेश्वर दाहाललाई सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । महेश्वरलाई माओवादी नेता गजुरेल, सिन्धुली इन्चार्ज वसन्त माझी लगायतले समर्थन गरेका थिए ।

संखुवासभामा सुरु भयो मतगणना

संखुवासभा। मतपेटिका संकलनमा ढिलाइ भएका कारण सुरु हुन नसकेको संखुवासभामा मतगणनाका सुरु भएको छ ।

शनिबार दिउँसो १ बजेदेखि गणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।

जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मत गणनाका सुरु गरिएको छ ।

जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेकोमा ६३ हजार ६३४ मत खसेको छ ।

३८ हजार मतान्तर सहित रेनुलाई पछि पार्दै चितवनबाट सोबिता गौतम निर्वाचित

 चितवन। चितवन-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम भारी मतान्तरसहित विजयी भएकी छन्।

एक लाख ३ मत खसेको उक्त क्षेत्रमा गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै जीत हासिल गरेकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन्। गौतमले दाहाललाई ३८ हजार ६६२ मतान्तरले पराजित गरेकी हुन्।

चितवन-३ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले भने जमानत जोगाउन सकेनन्। नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे भने नेकपा एमालेका शंकरराज थपलियाले ५ हजार ४ मत प्राप्त गरेका छन्।

पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङको अग्रता

काठमाडौं । पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङले लगातार अग्रता काम गरेका छन् ।

सुरुवाती अग्रता लिएका श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज सेर्मा (ब्रबिम)लाई पछि पारेका छन् ।

जिल्लाको मिक्लाजुङ, तुम्बेवा, फालेलुङ र याङ्वरक गाउँपालिकाको १–५ नम्बर वडाको मत गणना सकिँदा उनले ७८६४ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृतिका सेर्माले ६३६५ मतसहित पछ्याइरहेका छन् ।

नेकपा एमालेका उम्मेदवार अइन्द्रसुन्दर नेम्बाङले ५७४९ मत र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हर्क नेम्बाङ मिक्सोले ४९७५ मत पाए

उज्यालो नेपाल पार्टीका टेकबहादुर लिम्बुले १४७८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का उम्मेदवार महेन्द्रविक्रम थाम्सुहाङले ९७१ मत, राप्रपाका तेजकुमार कुरुम्बाङले २७५ मत, जनता समाजवादी पार्टी नेपालले १२७ मत र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९१ मत पाएका छन् ।

अझै याङ्वरकको ६ नम्बर वडा, हिलिहाङको सातवटा वडा, फिदिम नगरपालिकाको १४ वडा, फाल्गुनन्दको ७ वडा र कुम्मायकको ५ वटा वडाको मत गणना बाँकी छ ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा नेकपाको जमानत जफत, कसरी हुन्छ जमानत जफत ?

काठमाडौं । प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीको काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा जमानत जफत भएको छ। 

निर्वाचन अघि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधवकुमार नेतृत्वको एकीकृत समाजवादी पार्टीसहित २० भन्दा धेरै साना वाम घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो। 

यसरी बलियो वामपन्थी शक्तिका रूपमा निर्वाचनमा होमिएको नेपाली कम्युनिष्ट पार्टी राजधानी काठमाडौंमा जमानत जोगाउन असफल भएको हो।

कसरी हुन्छ जमानत जफत?

निर्वाचनका बेला जमानत जफत बारे चर्चा हुन्छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ। तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन।’

पराजयपछि रेनु दाहालको प्रतिक्रिया : ‘कामले मन जितें, तर मत जित्न सकिनँ’

भरतपुर । चितवन-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहालले काम गर्दा गर्दै पनि निर्वाचनमा पराजय बेहोर्नुपरेको बताएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमसँग पराजित भएपछि दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै आफूले जनताको मन जिते पनि मत जित्न नसकेको उल्लेख गरेकी हुन्।

दाहालले झण्डै ३० वर्षको राजनीतिक यात्रामध्ये नौ वर्ष भरतपुरको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको बताएकी छन्। विकासका लागि आवश्यक नीति तथा नियम नहुँदा काम गर्न असहज भइरहेको अनुभवका कारण प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको उनको भनाइ छ।

उनले महानगर प्रमुखको कार्यकाल अझै १५ महिना बाँकी रहँदै पदबाट बाहिरिएर चितवन-३ बाट प्रतिनिधिसभा निर्वाचनमा होमिएको पनि उल्लेख गरेकी छन्।

निर्वाचनको मतपरिणामलाई सम्मान गर्दै दाहालले विजयी उम्मेदवार सोबिता गौतमलाई बधाई दिएकी छन्। साथै चितवनवासीको मत खेर नजाने विश्वास व्यक्त गर्दै आगामी दिनमा विकास र समृद्धिका लागि काम गर्न शुभकामना पनि दिएकी छन्।

दाहालले निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाता, चुनावी अभियानमा सक्रिय रहेका पार्टीका नेता-कार्यकर्ता, समर्थक तथा सहयोगीप्रति आभार व्यक्त गरेकी छन्। उनले चितवनवासीको हकहित, विकास र समृद्धिका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता पनि जनाएकी छन्।

एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै रास्वपाका विपिन आचार्य निर्वाचित

दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् ।

कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत ल्याए ।

त्यस्तै अर्का प्रतिष्पर्धी कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।

एमालेका महासचिव पोखरेलले अन्तिम परिणाम आउनु अगावै  पराजय स्विकार्दै आचार्यलाई शुभकामना दिइसकेका छन् ।

महेश बस्नेतलाई हराउदै भक्तपुर-२ बाट रास्वपाका राजीब खत्री निर्वाचित

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कबीर रानाले ८ हजार ३०५ मत प्राप्त गरेका छन्। भक्तपुर–१ मा पनि रास्वपाका उम्मेदवार नै विजयी भएका छन्।

रास्वपाको समानुपातिक मत एक लाख पार, अरु दलको कति ?

काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ। रास्वपाले हालसम्म १ लाख ३ हजार ७१५ मत प्राप्त गरेको छ।

यसैगरी नेपाली कांग्रेस ३१ हजार १७१ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) २२ हजार २१६ मतका साथ तेस्रो स्थानमा रहेको छ।

प्राप्त मतपरिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई पछि पार्दै ९ हजार ४७७ मत प्राप्त गरेको छ। नेकपाले भने हालसम्म समानुपातिकतर्फ ७ हजार ६२७ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, श्रम संस्कृति पार्टीले ५ हजार ७४७ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ३ हजार ४७८ समानुपातिक मत पाएको आयोगले जनाएको छ।

धनकुटामा मतान्तर बढाउँदै एमालेका राजेन्द्र राई

धनकुटामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता फराकिलो बनाउँदै गएका छन् ।

हालसम्मका मतपरिणाम अनुसार राईले ११ हजार ६ सय ३६ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले ७ हजार  ७ सय १६ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई ७ हजार १सय २२ मत प्राप्त  गर्दै तेस्रो स्थानमा छन् ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार दिनेश भण्डारीले ६ हजार ६ सय १६ मत प्राप्त गरेका छन् । पाँचौ स्थानमा भने नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार धर्मराज पौडेलले १ हजार  ३ सय ०६ मत पाएका छन् ।

नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी

काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अच्युमत लामिछाने निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनमा लामिछानेले ३२ हजार ५४ मत ल्याएर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत ल्याएर दोस्रो भए । नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएर तेस्रो हुँदा नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत ल्याएर चौथो भएका छन् ।

अछाम-१ मा नेकपाका भीम रावल लागे अघि, पछि परे कांग्रेसका स्वाँर

धनगढी– अछाम निर्वाचन क्षेत्र नम्बर-१ मा तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको छ।

नेकपाका उम्मेदवार भीम रावल, कांग्रेसका भरत कुमार स्वाँर र एमालेका दीपक साउदबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। मत गणनाको सुरुमा रावल अगाडि रहेकामा उनलाई उछिन्दै कांग्रेसका स्वाँर अगाडि लागेका थिए।

तर फेरि अहिले स्वाँरलाई उछिन्दै रावलले अग्रता लिइरहेका छन्। हालसम्म प्राप्त मत परिणामअनुसार रावलले ८ हजार ६६६ मत प्राप्त गर्दा स्वाँरले ८ हजार ४३५ मत प्राप्त गरेका छन्।

प्रतिस्पर्धामा एमालेका साउद पनि पछिपछि रहेका छन्। उनले ७ हजार ७ मत प्राप्त गरेका छन्। देशभर रास्वपाको लहर चल्दा यहाँ भने रास्वपा निकै कमजोर देखिएको छ।

यहाँ रास्वपाका उम्मेदवार ओमप्रकाश रावलले १ हजार ५६९ मत प्राप्त गरेका छन्।

५० हजार मतान्तरसहित रुपन्देही-३ मा रास्वपाका लेखजंग थापा विजयी

रुपन्देही । रुपन्देही-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजंग थापा ५० हजार फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।

निर्वाचन आयोगले घोषणा गरेअनुसार रुपन्देही-३ मा रास्वपाका उम्मेदवार डा. थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङलाई भारी मतान्तरले पराजित गर्दै विजय हासिल गरे ।

डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गरेका छन् भने कांग्रेसका गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका वासुदेव घिमिरेले ८ हजार २७५ मत पाएका छन्। यस्तै, राप्रपाका गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरेका छन् ।

डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी

काठमाडौं । सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले हराउँदै विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित निर्वाचित भएका छन् । एमाले उम्मेदवार धामीले १४ हजार ११० मत पाएका छन् ।

डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २६० मत ल्याएका छन् ।

 

गोकर्ण विष्टलाई पछि पार्दै गुल्मी-२ बाट रास्वपाका पन्थी विजयी

काठमाडौँ। गुल्मी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। 

उनले निकटतम प्रतिद्वन्दी नेकपा एमाले उपाध्यक्ष समेत रहेका गोकर्ण विष्टलाई ४९६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन्। 

पन्थीले १६ हजार ८ सय ७८ मत प्राप्त गर्दा विष्टले १६ हजार ३ सय ८२ मत प्राप्त गरे। त्यस्तै, कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४ हजार ४ सय ५ मत प्राप्त गरे।