`

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा बीपीसहित अग्रणी नेताहरूकाे शालिकमा माल्यार्पण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुन्दरीजल पुगेर कांग्रेसका संस्थापक नेता बी‍.पी. काेइरालासहित प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेताहरूकाे शालिकमा माल्यार्पण गरेका छन् । नेताहरूकाे याेगदानकाे स्मरण गर्दै उनले शीर निहुर्‍याए ।

मंगलबार दिउँसाे सङ्ग्रहालय पुगेका आङ्देम्बेले प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका नेता बीपीसँगै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, आफ्ना माइला ठूलाे बुबा प्रेमराज आङ्देम्बे, योगेन्द्रमान शेरचन, रामनारायण मिश्र र देवानसिंह राईलगायतप्रति पनि श्रद्धाञ्जली व्यक्त गरे ।

सङ्ग्रहालय परिसरमा रहेको स्मारक तथा शालिकहरूमा पुष्पगुच्छा अर्पण गर्दै उनले ती नेताहरूले देखाएको त्याग, बलिदान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनलाई आजको पुस्ताले आत्मसात गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार, नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको इतिहास ती नेताहरूको संघर्षबिना अधुरो हुने थियो।

त्यस अवसरमा आङ्देम्बेले सुन्दरीजल कारागारको ऐतिहासिक महत्वबारे समेत जानकारी लिए ।

उनले तत्कालीन निरङ्‍कुश शासनका बेला नेताहरूलाई बन्दी बनाइ राखिएको कोठाहरू, उनीहरूले प्रयोग गरेका सामग्री तथा सङ्ग्रहालयमा सुरक्षित ऐतिहासिक दस्तावेजहरूको अवलोकन गरे ।

ती कोठा र सामग्रीहरू अवलोकन गर्दा उनी गम्भीर र भावुक मुद्रामा देखिए।

नेताहरूले जेल जीवनका क्रममा भोगेका कठिनाइ, उनीहरूको अदम्य साहस र लोकतन्त्रप्रतिको प्रतिबद्धताले आजको राजनीतिक यात्रालाई प्रेरणा दिने आङ्देम्बेको भनाइ थियो। त्यस अवसरमा नेता आङ्देम्बेले वृक्षाराेपणसमेत गरेका थिए ।

संसदबाटै अध्यादेश ल्याउन सरकारलाई ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौँ ।  बालेन सरकारले दुई वटा अध्यादेश ल्याएपछि राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले चर्को विरोध गरेका छन् । उनले प्रधानमन्त्री बालेनलाई नै यस्तो कदमले अप्ठ्यारो पार्ने चेतावनी दिएका छन् । 

अध्यादेशमार्फत् शासन गर्ने प्रवृत्ति बन्द गर्न प्रधानमन्त्री बालेनलाई सचेत गराउँदै सांसद शाहीले आग्रह गरेका छन्, ‘संसद्बाटै विधेयक ल्याउन हार्दिक अपिल गर्दछु ।’

उनले बोलाइएको संसद् रोकेर अध्यादेशमार्फत् विधेयक ल्याएर सरकार सञ्चालन गर्नु प्रजातान्त्रिक र संसदीय अभ्यासविपरीत हुने बताएका छन् । 

रास्वपाको दुई तिहाइ नजिकको बहुमत हुनाले हरेक विधेयक सहजै पारित हुने सम्भावना औँल्याउँदै शाहीले प्रधानमन्त्री बालेनले दुई अध्यादेश ल्याउनु पटक्कै राम्रो नभएको बताएका छन् । सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यायदेश ल्याएको छ । यसप्रति चर्को विारधे भइरहेको छ ।

अध्यादेश ल्याउने सरकारको तयारीमा खुस्बु ओलीले जनाइन् विरोध

काठमाडौँ। दुई तिहाईको शक्तिशाली बालेन सरकारले संसद् छलेर अध्यादेश ल्याएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले कडा शब्दमा विरोध गरेकी छन् ।

संसद् हुँदाहुँदै बालेन सरकारले अध्यादेश ल्याउँदा निकै आक्रोशित बनेकी उनले भनेकी छन्, ‘संसद हुँदाहुँदै अध्ययादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो।’

उनले बालेन सरकारलाई संसद् छलेर अध्ययादेशको बाटो रोज्नुपर्ने कारण के हो भन्दै सोधेकी छन ।

संसद् निष्क्रिय पारेर अध्यादेश ल्याउन सक्रिय बालेन सरकारको विरोध गर्दै उनले बालेन सरकार ठीक बाटोमा नहिँडेको बताएकी छन् ।

यसअघि राष्ट्रपतिबाट आह्वान भइसकेको संसद् बैठक बालेन सरकारले स्थगित गरेको थियो । संसद् स्थगन गरेर अध्यादेशबाट शासन चलाउन खोज्ने बालेन सरकारको नियत सफा नभएको भन्दै चौतर्फी विरोध भएको छ । बालेन सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश ल्याउने निर्णय सोमबार नै गरिसकेको छ ।

रविको ४ वर्ष अगाडिको स्टाटस चर्चामा, के लेखेका थिए?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सन् २०२२ मा लेखेको एउटा फेसबुक स्टाटस अहिले व्यापक रूपमा भाइरल भइरहेको छ । सरकारले संसदको अधिवेशन स्थगित गर्दै दुईवटा अध्यादेश ल्याउन सिफारिस गरेपछि सामाजिक सञ्जालमा पुरानो राजनीतिक टिप्पणी पुनः चर्चामा आएको हो । 

चार वर्षअघि लामिछानेले तत्कालीन सरकारले अध्यादेश ल्याएको कदमप्रति कडा प्रतिक्रिया दिएका  थिए। त्यतिबेला उनले संसद बैठक अविलम्ब बोलाउनुपर्ने मागसहित अध्यादेशको कदमले जनादेश र संसदको अधिकार मिच्ने प्रयास भएको टिप्पणी गरेका थिए । तत्कालीन परिस्थितिलाई ‘राजनीतिक निर्लज्जताको पराकाष्ठा’ सम्म भनेका लामिछानेले अध्यादेश तत्काल फिर्ता गर्न आग्रह गरेका थिए।

तर अहिले सरकार स्वयं संघीय संसदको चालु अधिवेशन स्थगित गरेर संवैधानिक परिषद् तथा सहकारीसम्बन्धी दुई अध्यादेश ल्याउने तयारीमा रहेको छ। राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को सोमबारको बैठकले दुवै अध्यादेश पारित गरी सिफारिस पठाइसकेको छ। 

यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गतेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। तर निर्णय भएको भोलिपल्ट सरकारले स्वयं उक्त सिफारिस फिर्ता लियो। सरकारले अध्यादेश ल्याउनैकै लागि बोलाइसकेको अधिवेशन स्थगित गरेको यसबाट प्रष्ट हुन्छ ।

यस्तो परिस्थितिमा लामिछानेले चार वर्षअघि लेखेको स्टाटस पुनः चर्चाको केन्द्रमा छ। सो स्टाटसमा उनले संसद बैठक बोलाउन १-२ हप्ता कुर्न नसक्ने निर्णय किन गरियो भन्ने प्रश्न उठाएका थिए।

४ वर्षअघि उनले लेखेका छन् , ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम  राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।’ 

सामाजिक सञ्जालमा धेरैले यो पुरानो टिप्पणीलाई अहिलेको राजनीतिक घटनाक्रमसँग तुलना गरिरहेका छन्। 

तपाईंको व्हाट्सएप ह्याक भएको छ ? यसरी रिकभर गर्नुहोस्

काठमाडौं । व्हाट्सएप आज विश्वभर सबैभन्दा प्रयोग हुने म्यासेजिङ प्लेटफर्म हो । यही कारणले यसलाई ह्याकर र स्क्यामरहरूले बारम्बार निशाना बनाउने गरेका छन् । अकाउन्ट ह्याक भएमा अनधिकृत म्यासेज जान सक्छ, व्यक्तिगत गोपनीयता भंग हुन सक्छ, पहिचानको दुरुपयोग हुन सक्छ र कहिले काहीँ आर्थिक ठगी समेत हुन सक्छ ।

व्हाट्सएप खाता ह्याक भएको अवस्थामा प्रयोगकर्ताले तुरुन्तै एप पुनः इन्स्टल गरी आफ्नो फोन नम्बर प्रयोग गरेर लगइन गर्नुपर्छ। यसले अनधिकृत प्रयोगकर्तालाई स्वतः प्रणालीबाट बाहिर निकाल्नेछ। लगइन गर्दा आउने ६ अङ्कको भेरिफिकेशन कोड कुनै पनि व्यक्तिसँग साझा गर्नु हुँदैन।

यदि टु स्टेप भेरिफिकेसन सक्रिय छ भने पिन मागिनेछ। यस्तो अवस्थामा रिकभरी इमेल प्रयोग गरी फर्गट पिन विकल्पबाट पासवर्ड रिसेट गर्न सकिन्छ। कतिपय अवस्थामा सुरक्षा प्रक्रिया अनुसार सात दिनसम्म कुर्नुपर्ने पनि हुन सक्छ।

सिम स्वापको शंका भएमा तुरुन्तै सम्बन्धित मोबाइल सेवा प्रदायकसँग सम्पर्क गर्न आवश्यक हुन्छ।

खाता पुनः प्राप्त भएपछि लिंक डिभाइस सेक्शन जाँच गरी अज्ञात वा अनधिकृत डिभाइसहरू हटाउनुपर्छ। साथै शंकास्पद प्रयोगकर्तालाई ब्लक गर्न र आफ्ना सम्पर्कहरूलाई जानकारी दिन सिफारिस गरिन्छ।

सुरक्षाका लागि टू स्टेप भेरिफिकेसन अनिवार्य रूपमा सक्रिय गर्नुपर्ने तथा फोनमा मालवेयर स्क्यान गर्नुपर्ने सुझाव दिइन्छ। व्हाट्सएपले खाताको विस्तृत पहुँच विवरण नदिए पनि प्रयोगकर्ताका च्याटहरू सुरक्षित रहने जनाएको छ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित छन् कि छैनन् ?

काठमाडौँ । इरानले नयाँ सर्वोच्च नेताका रूपमा मोज्तबा खामेनीको नाम घोषणा गरेको लामो समय भइसकेको छ। तर उनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। अमेरिकासँगको युद्धपछि एक–दुई पटक मात्र उनका लिखित वक्तव्य सार्वजनिक भएका थिए। त्यसयता उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबरहरू पनि आएका छन्।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थालाई लिएर विश्वभर चासो बढिरहेको छ।

यस सन्दर्भमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको नेतृत्वबारे टिप्पणी गर्दै शक्ति ‘कट्टरपन्थी सोच’ भएका व्यक्तिहरूको हातमा रहेको बताएका छन्। फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘धार्मिक विचारधारामा आधारित कट्टरपन्थीहरू केवल इस्लामिक रिभोल्युसनरी गार्ड कोरका अधिकारीहरू मात्र होइनन्, उनीहरू इरानको राजनीति र वरपरका सल्लाहकार निकायहरूमा पनि सक्रिय छन्।’

सोही अन्तर्वार्तामा उनलाई इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थाबारे सोधिएको थियो। जवाफमा रुबियोले भने, ‘हामीसँग उनी जीवित रहेको संकेतहरू छन्, तर ठोस प्रमाण छैन। इरानले पनि उनी जीवित रहेको दाबी गर्दै आएको छ।’

पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीपछि नेतृत्व सम्हालेका मोज्तबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्। उनका कुनै भिडियो वा अडियो सार्वजनिक नभई हालसम्म केवल लिखित सन्देशहरू मात्र मिडियामा आएका छन्।

के भारत भ्रमणमा जाँदैछन् बालेन्द्र ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी तीव्र बनेको छ। नेपाल र भारत दुवै पक्षले भ्रमणलाई लक्षित गर्दै कूटनीतिक तयारी अघि बढाएका छन्।

यसै क्रममा भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउने भएका छन्। दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट निमन्त्रणापत्र हस्तान्तरण गर्ने तयारी गरिएको छ।

यसअघि नै प्रधानमन्त्री मोदीले बालेनलाई पदभार ग्रहण गरेबापत बधाई दिँदै भारत भ्रमणको निमन्त्रणा दिएका थिए। उक्त निमन्त्रणालाई प्रधानमन्त्री बालेनले स्वीकार गरेको परराष्ट्रमन्त्री शिशिर खनालले सार्वजनिक गरिसकेका छन्। मन्त्री खनालले भारतका विदेशमन्त्री एस. जयशंकरसँगको भेटपछि प्रधानमन्त्री बालेनको भारत भ्रमण हुने संकेत गरेका थिए।

त्यसैगरी भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पनि प्रधानमन्त्री बालेनको भारत भ्रमण हुने पुष्टि गरेका थिए। अब औपचारिक प्रक्रियाका लागि भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमण तय भएको हो।

मिस्रीले प्रधानमन्त्री बालेनसँग प्रत्यक्ष भेट गरी निमन्त्रणा दिने वा परराष्ट्र मन्त्रालयमार्फत हस्तान्तरण गर्ने भन्ने विषय अझै टुंगिन बाँकी छ। भ्रमणका क्रममा उनले परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत केही उच्च पदस्थ अधिकारीसँग पनि भेट गर्ने कार्यक्रम छ।

दुई दिनको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य र विभिन्न सम्झौताहरूको कार्यान्वयन प्रगति समीक्षा हुने बताइएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाले तयारी अघि बढाइरहेको छ।

मिस्रीको भ्रमणपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने तयारी रहेको छ। उनको भ्रमणको मिति मिस्रीको नेपाल भ्रमणपछि टुंगो लाग्ने स्रोतले जनाएको छ।

नेपालको लगातार तेस्रो जीत

काठमाडौं । आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफी २०२६ मा नेपालले आफ्नो तेस्रो जित दर्ता गरेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली रवाण्डालाई ३८ रनले पराजित गरेको हो।

किगालीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १०३ रन बनायो। जवाफमा रवाण्डा १७.४ ओभरमै ६५ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान इन्दू बर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४५ बलमा ४ चौकासहित नटआउट ३३ रन बनाइन्। कविता कुँवरले २४ रन, रूबिना क्षेत्रीले ११ रन जोडिन् भने अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।

बलिङतर्फ रवाण्डाकी हेनरिटेले ३ विकेट लिइन् भने बिमेन्यिमानाले २ विकेट हात पारिन्। रवाण्डाका लागि कप्तान बिमेन्यमनाले सर्वाधिक १९ रन बनाए पनि अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि बलिङमा मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् र १ मेडन ओभर पनि फ्याँकिन्। कविता कुँवर, रचना चौधरी र रिया शर्माले २-२ विकेट लिए।

यो प्रतियोगितामा नेपालले हालसम्म ६ खेलमा ३ जित दर्ता गरेको छ। नेपालले इटाली र रवाण्डाविरुद्धका खेलहरू जितेको हो भने अमेरिकासँग दुवै खेलमा पराजित भएको छ। भानुआटुसँग पनि नेपाल पराजित भएको थियो।

अब नेपालले इटाली र भानुआटुसँग थप खेल खेल्न बाँकी छ। हालको अंक तालिकामा नेपाल ६ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ।

शीर्ष स्थानमा अमेरिका ६ खेलबाट १० अंकसहित रहेको छ। रवाण्डा ७ खेलबाट ८ अंकसहित दोस्रो स्थानमा छ। इटाली ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ भने भानुआटु ६ खेलबाट २ अंकसहित पाँचौँ स्थानमा रहेको छ।

२६ अंकले घट्यो नेप्से

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६.१६ अंकले घट्दै २,७७०.२६ बिन्दुमा पुगेको छ।

आज कुल ३४९ कम्पनीका १ करोड ४० लाख १३ हजार १६७ कित्ता सेयर १ लाख ५१ हजार २८६ पटक खरिदबिक्री भएका छन्। यस दिनको कुल कारोबार रकम रु ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ रहेको नेप्सेले जनाएको छ।

समूहगत सूचकमा अन्य समूह मात्रै ०.७३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहमा गिरावट आएको छ। बैंकिङ ०.८४, विकास बैंक १.२२, वित्त ०.६१, होटल तथा पर्यटन २.५६, जलविद्युत् १.७४, लगानी ०.४७ र जीवन बीमा समूह ०.१६ प्रतिशतले घटेका छन्।

त्यस्तै उत्पादन तथा प्रशोधन समूह २.४६, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.३१, निर्जीवन बीमा ०.३९ र व्यापार समूह ०.३९ प्रतिशतले ओरालो लागेको छ।

आजको कारोबारमा हिमालयन बैंक लिमिटेड बण्ड २०८६ को मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले घटेको छ।

चलचित्र ‘लाली बजार’को प्रदर्शन रोकिने

काठमाडौँ । उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लाली बजार’को प्रदर्शन रोक्न आदेश दिएको छ। न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चलचित्र प्रदर्शन नगर्न निर्देशन दिएको हो।

चलचित्र ‘लाली बजार’ वैशाख १८ गते (शुक्रबार)देखि प्रदर्शनमा आउने तयारीमा थियो।

रोशनी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत कारण देखाऊ आदेश जारी गरेको छ। साथै, वैशाख २२ गतेका लागि अर्को पेशी तोकिएकाले सो अवधिसम्म चलचित्र प्रदर्शनमा रोक लगाइएको छ।

यम थापाको निर्देशनमा बनेको उक्त चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे र आशा पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ।

सरकारले पठायो दुई अध्यादेश : अध्ययन गर्दै राष्ट्रपति

काठमाडौँ । सरकारले संसद्को चालु अधिवेशन स्थगित गरी दुई वटा अध्यादेश जारी गर्ने तयारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

राष्ट्रपतिका प्रेस सचिवालयका अनुसार सिफारिस गरिएका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेका छन्।

यसअघि गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो, जसअनुसार राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन बोलाएका थिए। तर पछि सरकारले विशेष कारण देखाउँदै उक्त प्रक्रिया रोकेको थियो।

संसद् सञ्चालनमै रहेको अवस्थामा अध्यादेश ल्याउन कानुनी तथा संवैधानिक जटिलता हुने भएकाले सरकारले संसद् छल्ने विकल्पस्वरूप अध्यादेशको बाटो रोजेको देखिएको छ।

 

संयुक्त विद्यार्थी आन्दोलनले त्रिभुवन विश्वविद्यालय परिसरमा गर्यो मार्चपास(तस्बिरहरु)

काठमाडौं ।  सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णय अघि बढाएपछि संयुक्त विद्यार्थी संगठनले त्रिवि परिसरमा विरोधस्वरूप मार्चपास गरेको छन् । 

कीर्तिपुरस्थित त्रिवि गेटबाट सुरु भएको जुलुस विश्वविद्यालय क्षेत्रका विभिन्न भाग घुमाउँदै सम्पन्न गरिएको थियो। 

विरोधमा सहभागी विद्यार्थीहरूले ‘स्वर्णिम सरकार – महंगी भो उपहार’, ‘लागू औषध मुक्त समाज निर्माण गरौँ’, ‘We are students, not customers’, ‘मेरिटोक्रेसी लागू गर’ र ‘स्ववियु खारेज गर्ने निर्णय खारेज गर’ जस्ता नारा लगाउँदै विश्वविद्यालय प्रशासन र सरकारप्रति कडा असन्तोष प्रकट गरे। विद्यार्थी नेताहरूले संगठन खारेजीको निर्णयलाई गैर-लोकतान्त्रिक र विद्यार्थी अधिकारमाथिको प्रत्यक्ष प्रहार भन्दै तत्काल फिर्ता लिन आग्रह गरे। 

उनीहरूले विद्यार्थी संघसंस्थालाई निषेध गर्न खोज्नु शिक्षामा नियन्त्रण र एकाधिकार स्थापित गर्ने प्रयास भएको आरोप लगाउँदै माग पूरा नभए थप कडा आन्दोलनमा जाने चेतावनी पनि दिएका छन्।

रास्वपा सांसद खरेलद्वारा एनसेल-कोरिया विवादमा दिए स्पष्टीकरण(भिडियो)

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्व सञ्चार मन्त्री जगदिश खरेलले आफू मन्त्री रहेको बेला एनसेलसँग साठगाँठ गरेको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति समेत आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। हालै यिनै विवादका कारण प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी नदिएको पनि दाबी गरिएको थियो।

खरेलले मंगलबार फेसबुकमा लेखिएको एक स्टाटसमार्फत आफूविरुद्ध प्रकाशित समाचार ‘अविश्वसनीय र अपरिपक्व रिपोर्टिङ’ भएको दाबी गरेका छन्। जनआस्था दैनिकमा आफ्नो बारेमा आएको समाचारको खण्डन गर्दै उनले तथ्यहीन दाबीहरूको पछि नलाग्न आग्रह गरेका छन्।

खरेलले पहिलो स्पष्टिकरण रातो पासपोर्टसम्बन्धी दिए। उनले भने, “म साधारण पासपोर्टमार्फत नै भिसा आवेदन दिएर सभामुखसँग बिदा माग्न गएको थिएँ। रातो पासपोर्ट मागेको भन्ने कुरा गलत हो।’

त्यसपछि उनले कोरिया भ्रमण र एनसेलसँग भेटघाट सम्बन्धी दाबीलाई पूर्णरूपमा अस्वीकार गरे। उनका अनुसार, ‘मन्त्री हुँदा ११औं ग्लोबल आईसीटी लिडरसिप फोरममा सहभागी हुन कोरिया गएको थिएँ, तर त्यहाँ एनसेलका सतिशलाल आचार्यसँग भेट भएको छैन। कोरियामै यस्तो भेट भएको भनेर फैलाइएको समाचार १०० प्रतिशत कपोलकल्पित हो।’

सत्यको खोजी गर्न मिडियालाई आग्रह गर्दै उनले लेखेका छन्, ‘तथ्य र प्रमाणसहितको पत्रकारिता हुनुपर्छ। कोही पनि भ्रममा नपरौं, सत्य ढिलोचाँडो बाहिरिन्छ।’

अन्त्यमा उनले सम्बद्ध सबैलाई चेतावनीजस्तै सन्देश दिँदै भनेका छन्, ‘चुप रहनु, सुन्नु र सहनु भनेको स्वीकार्नु होइन।’

५ जना पक्राउ

काठमाडौं । सुनको सिक्री लुटपाटमा संलग्न एक गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटको ककनी नगरपालिका–३ का २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, विदुर नगरपालिका निवासी ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका छन्।

प्रहरीका अनुसार उक्त समूहले विभिन्न स्थानमा सिक्री थुत्ने घटनामा संलग्नता देखाएको छ। गत चैत १२ गते मातातीर्थस्थित फन पार्क नजिक हिँडिरहेकी एक महिलाको गलाबाट मोटरसाइकलमा आएका दुई जनाले सिक्री लुटेका थिए। त्यसैगरी चैत १९ गते नैकापमा ७० वर्षीया महिलाको सिक्री लुटिएको थियो भने वैशाख ६ गते चन्द्रागिरी क्षेत्रमा पनि यस्तै प्रकृतिको घटना भएको थियो।

यी सबै घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरूलाई काठमाडौंको पैयुँटारबाट पक्राउ गरेको हो। पक्राउ गर्ने कार्य प्रहरी वृत्त थानकोटको टोलीले गरेको हो।

प्रहरीले उनीहरूको साथबाट १२.९० ग्राम सुनसहित ठूलो र सानो रेन्ची, खुकुरी र पेचकस समेत बरामद गरेको जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

‘क्लियोपेट्रा’ : पर्यायवाचीमा सुन्दरता, कामुकता र चातुर्यता

एक समय संसारका विभिन्न देशहरूको सत्ता त्यहाँका राजा-महाराजाहरूको हातमा हुन्थ्यो। शाही परिवारमा राजगद्दी सम्हाल्ने अवसर प्रायः ठूलो छोरा वा कहिलेकाहीँ ठूलो छोरीलाई प्राप्त हुन्थ्यो। तर केही राजाहरूको अकस्मात मृत्यु भएपछि उनका पत्नीहरूले पनि महारानीका रूपमा राज्य सम्हालेका थिए। एक समय एक यस्ती रानी पनि थिइन्, जसलाई आफ्नो प्रजा र राज्यभन्दा बढी आफ्नै चिन्ता थियो। 

भनिन्छ, ती रानी असाध्यै सुन्दरी थिइन्। उनी मोहिनी थिइन्। अत्यन्तै चलाख राजनीतिज्ञ थिइन्। उनीभित्रको कामुकताको आज पनि संसारभर चर्चा गरिन्छ। 

यो पनि मानिन्छ,उनले लैङ्गिकता र शक्ति दुवैलाई प्रयोग गरेर आफ्नो लक्ष्य पूरा गरेकी थिइन्। 

यस्ती सुन्दरी,चलाख राजनीतिज्ञ थिइन्,’क्लियोपेट्रा।’

क्लियोपेट्रा मिस्रको टालमी वंशकी यवन रानीहरूको सामान्य प्रचलित नाम हो। मूलतः यो नाम सिल्युक वंशी अन्तियोखस महानकी छोरी तथा टालमी पाँचौँकी पत्नीका लागि प्रयोग भएको थियो। तर यस नामको ख्याति टालमी एघारौँकी छोरी क्लियोपेट्रा सातौँका कारण बढी प्रसिद्ध भयो। उनको जन्म करिब ६९ ई.पू.मा भएको थियो। यसअघि यस वंशमा यस नामकी छ जना रानीहरू भइसकेका थिए। त्यसैले उनलाई क्लियोपेट्रा सातौँ भनिन्छ।

क्लियोपेट्रा रोमकी सबैभन्दा सुन्दर रानी मानिन्छिन्। उनि आफ्नो सुन्दरता र आकर्षक व्यक्तित्वका कारण उनी जो-कोहीलाई पनि आकर्षित गर्न सक्थिन्।

जब उनका पिता ५१ ई.पू.मा बिते, त्यतिबेला क्लियोपेट्रा १८ वर्षकी थिइन्। तर उनले परिवारभित्रको आन्तरिक कलहको सामना पनि त्यतिबेलै गर्नुपर्‍यो, किनकि शासन कसले गर्ने भन्ने विवादमा टालमी वंशका सन्तानहरू विभाजित भएका थिए।

त्यसैबीच उनले आफ्ना भाइ टालमी तेह्रौँसँग मिलेर संयुक्त रूपमा शासन गर्ने अवसर पाइन्। उनले मिश्रको परम्परा अनुसार विवाह पनि गरिन्। तर उनका भाइले एकल शासनको इच्छा राख्दै गए, जसले अन्ततः गृहयुद्धको रूप लियो।

त्यसपछि केही समयका लागि क्लियोपेट्रा रोमन नियन्त्रणमा रहेको सिरियातर्फ भागिन्। उनका पिताले आफ्नो शासनकालमा रोमसँग घनिष्ठ सम्बन्ध राखेका थिए, जुन सम्बन्ध उनका सन्तानसम्म पनि कायम थियो।

सिरिया पुगेपछि क्लियोपेट्राले तत्कालीन रोमन सेनापति तथा राजनीतिज्ञ जुलियस सिजरसँग सम्पर्क बढाइन्। त्यस समयमा सिजर पनि सम्पूर्ण रोममा एकछत्र शासन स्थापित गर्ने प्रयासमा थिए।

उनीहरूबीच उमेरमा करिब तीस वर्षको अन्तर थियो। दुवै पहिले नै विवाहित थिए। तर त्यसका बाबजुद पनि उनीहरूबीचको सम्बन्ध रोमान्टिक बन्यो। सिजरले क्लियोपेट्रालाई जुनसुकै परिस्थितिमा साथ दिने वाचा गरे।

४७ ई.पू.मा सिजरका सेनाबाट भाग्ने क्रममा क्लियोपेट्राका भाइ टालमी तेह्रौँ नाइल नदीमा डुबेर मरे। त्यसपछि सिजरको सहयोगमा क्लियोपेट्राले पुनः मिश्रको सत्ता प्राप्त गरिन् र आफ्ना १२ वर्षीय भाइ टालमी चौधौँसँग विवाह गरिन्। त्यसपछि उनले एक पुत्रलाई जन्म दिइन्, जसलाई सिजरको पुत्र मानिन्छ।  उनको नाम सिजेरियन राखिएको थियो।

तर उनीहरूको सम्बन्ध ४४ ई.पू. मार्च १५ मा सिजरको हत्या हुँदासम्म कायम रह्यो। त्यसबेला क्लियोपेट्रा रोममै थिइन्। उनले सिजेरियनलाई उत्तराधिकारीको मान्यता दिलाउन चाहन्थिन्। तर परिस्थिति बिग्रँदै गएपछि उनी फेरि अलेक्जान्द्रियातर्फ फर्किन्।

त्यसपछि रोमन सैन्य नेता मार्क एन्टोनीले उनलाई भेट्न बोलाए। एन्टोनी रोमका तीन प्रमुख शासकमध्ये एक थिए। उनी ४१ ई.पू.मा क्लियोपेट्रालाई भेट्न टार्सस (आधुनिक टर्की) पुगे। त्यहाँ क्लियोपेट्राले अत्यन्तै भव्य र प्रभावशाली रूपमा प्रस्तुत भइन्, जसले एन्टोनीलाई गहिरो रूपमा प्रभावित गर्‍यो। त्यसपछि उनीहरूबीच रोमान्टिक सम्बन्ध सुरु भयो।

पछि एन्टोनी क्लियोपेट्रा रहेको अलेक्जान्द्रियामा सरे। क्लियोपेट्राप्रति एन्टोनी यति मोहित भए कि उनले आफ्नो राजनीतिक विवेक नै गुमाए। तर यो कुरा रोममा असन्तोषको कारण बन्यो। रोमन जनताले यसलाई मिश्रको हस्तक्षेपका रूपमा लिए र एन्टोनीविरुद्ध युद्ध सुरु गरे।

ई.पू. ३१ मा भएको ‘एक्टियमको युद्ध’ पछि एन्टोनीको हार निश्चित जस्तै भयो। त्यसपछि उनले आत्महत्या गरे।

एन्टोनीको मृत्युपछि क्लियोपेट्राले रोमन नेता अक्टाभियनसँग वार्ता गर्ने प्रयास गरिन्। तर अक्टाभियनले उनलाई रोममा विजयी जुलुसमा प्रदर्शन गर्ने योजना बनाइरहेका थिए। यो कुरा थाहा पाएपछि क्लियोपेट्राले आफूलाई बचाउन आत्महत्या गरिन्।

यससँगै टालमी वंशको शासन समाप्त भयो।  मिश्र रोमन साम्राज्यको अधीनमा गयो।

क्लियोपेट्राले विषालु सर्प ‘एस्प’ को सहायताले आत्महत्या गरिन् भन्ने लोककथा प्रचलित छ, तर यसको ठोस ऐतिहासिक प्रमाण छैन। उनको समाधिस्थल पनि अहिलेसम्म फेला परेको छैन।

क्लियोपेट्राको जीवनका धेरै ऐतिहासिक प्रमाणहरू नष्ट भएका छन्, किनकि अलेक्जान्द्रियाको प्रसिद्ध पुस्तकालय पटक-पटक ध्वस्त भएको थियो। उनका बारेको मुख्य स्रोत रोमन लेखक प्लुटार्कको लेख हो, जुन उनको मृत्युपछि धेरै वर्षपछि लेखिएको थियो।

क्लियोपेट्रा अत्यन्त बुद्धिमान्, बहुभाषी र कूटनीतिक क्षमताले सम्पन्न महिला थिइन् भन्ने मानिन्छ। भनिन्छ, उनी धेरै भाषाहरू बोल्न सक्थिन् र विभिन्न देशका राजदूतहरूसँग उनीहरूको भाषामै कुरा गर्थिन्।

सबै ऐतिहासिक दस्तावेजहरूका आधारमा उनी एक चतुर राजनीतिज्ञ थिइन् भन्ने कुरा सम्भवतः यथार्थ हो। तर किन त्यस समयका शक्तिशाली पुरुषहरू उनीप्रति मोहित भए भन्ने कुरा आज पनि रहस्यकै गर्भमा छ। तर एउटा कुरा निश्चित छ। उनले जे जस्तो काम गरिन्, त्यसले आज पनि संसारलाई मोहित पारिरहेको छ। 

उनको जीवन प्रेम, शक्ति र राजनीतिसँग जोडिएको भएकाले उनी इतिहासमा अत्यन्त चर्चित व्यक्तित्व बनेकी छन्। विलियम शेक्सपियर, जोन ड्राइडेन र जर्ज बर्नार्ड शा जस्ता लेखकहरूले आफ्ना साहित्यिक कृतिहरूमा उनको व्यक्तित्वलाई प्रेरणाका रूपमा प्रस्तुत गरेका छन्।

ज्वाला संग्रौला र हर्कको फेसबुकमा जुहारी(भिडियो)

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङप्रति कडा प्रतिक्रिया व्यक्त गरेकी छन्। सुकुम्बासी बस्तीकी अलपत्र परेकी बालिका र प्रधानमन्त्री बालेन्द्र शाहकी छोरीको तस्बिर एकैसँग राखेर साम्पाङले फेसबुकमा ‘चुपचाप सरकारको पारा मिलेन है’ भन्दै व्यंग्य गरेका थिए। उक्त पोस्टलाई शेयर गर्दै संग्रौलाले, ‘माननीय हर्क साम्पाङ, तपाईं सुध्रिने मान्छे होइन’ भनेर प्रतिवाद गरेकी छन्।

संग्रौलाले यतिमै नरोकी साम्पाङका तीन वटा पोस्टहरू क्रमशः शेयर गर्दै थप आलोचना गरेकी छिन्। दोस्रो पोस्ट शेयर गर्दै उनले, “हाम्रो राजनेतालाई ग्रीन टी उपहार आइलाग्यो कि क्या हो?” भनेर टिप्पणी गरेकी छन्। यो पोस्टमा साम्पाङले सुकुम्बासी बस्ती भत्काइएको विरोध गर्दै ‘रवि लामिछाने जी, डोजर रोक्न अब तपाईंले नै प्रधानमन्त्री बन्नुपर्‍यो’ भनेर लेखेका थिए।

तेस्तै, तेस्रो पोस्टमा साम्पाङले “जसले भस्मे खोरिया फोडेर बस्ती बसायो, उसैलाई सुकुम्बासी बनाएर लखेट्ने तिमी को हो?” भन्दै सरकारलाई प्रश्न गरेका थिए। उक्त पोस्ट शेयर गर्दै संग्रौलाले प्रत्युत्तर दिँदै लेखेकी छन्, ‘सुकुम्बासी र हुकुमबासीको पहिचान त दिनुस्, न हर्क साम्पाङज्यू। त्यसपछि ‘तिमी को हौ’ को जवाफ आफैँ कामले दिन्छ।’

पालिकाको विवादास्पद निर्णयको विरुद्दमा जेनजी युवा अनसन बस्दै

दाङ। दाङ गढवा गाउँपालिकाका जेनजी अभियन्ता सन्देश भण्डारी क्षेत्रीले आमरण अनशन बस्ने घोषणा गरेका छन्। 

गाउँपालिकाले विभिन्न विवादास्पद विषयमा पटकपटक पत्राचार हुँदा पनि छलफल नगरी एकल निर्णय गरेको र आवश्यक सूचना समेत उपलब्ध नगराएको आरोप लगाउँदै उनले तीन दिनको अल्टिमेटम दिएका थिए। सो अवधिमा माग सम्बोधन नभएपछि उनले अबको आन्दोलन जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा केन्द्रित हुने बताएका छन्।

भण्डारीले देउखरी क्षेत्रका जनतालाई सम्बोधन गर्दै गाउँपालिकाप्रति विश्वास गुमेको र अन्यायले युवापुस्तालाई गहिरो चोट पुर्‍याएको उल्लेख गरेका छन्। उनले सर्वहारा वर्गले भोगेको पीडामा आफूहरू एकजुट रहेको र न्यायको पक्षमा उभिने स्पष्ट पारे। उनका अनुसार देशमै अन्यायको अवस्था देखिएको र जनप्रतिनिधिहरूले विवादास्पद विषयमा आफ्ना कार्यकर्तालाई जोगाउन खोजेको आरोप समेत लगाइएको छ।

उनले जेठ १८ गते बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय दाङको प्राङ्गणमा आमरण अनशन सुरु गर्ने घोषणा गर्दै युवा, बुद्धिजीवी, पत्रकार तथा सरोकारवालाहरूलाई साथ दिन आह्वान गरेका छन्। अन्याय, विभेद र भ्रष्टाचारविरुद्ध आवाज उठाउन आफू दृढ रहेको उनले बताएका छन्।

बालेन सरकारको कदमको विरोधमा बज्यो शंख (तस्बिरहरू)

काठमाडौं । सयुक्त विद्यार्थी सङ्गठनले साेमबार पाटन संयुक्त क्याम्पसमा शङ्खघोष र शान्ति स्वस्तिवाचन गरी विद्यार्थी संगठन खारेजीको विरुद्धमा प्रदर्शन गरेका छन्।

बालेन सरकारले खारेजीकाे निर्णय फिर्ता नलिए आन्दोलनका विभिन्न कार्यक्रम गरी सरकारको विरोध गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

उनीहरुले सिमानाका क्षेत्रमा १०० रुपैयाँ सामग्रीमा समेत भन्सार लगाए सरकारको निर्णय फिर्ता लिन माग गरेका छन् ।

 

बी.पी. राजमार्गको मर्मत सकियो, गाडी चल्यो (तस्बिरहरू)

काठमाडौं ।  शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानका डाइभर्सन बगाएपछि अवरुद्ध बनेको राजमार्ग मर्मत गर्न तीन दिन लागेको थियो। सोमबार दिउँसो साढे ३ बजेदेखि सवारी आवागमन पुनः सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।
बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा र माम्तीसहित सिन्धुलीतर्फका आँपघारी र नेपालथोक क्षेत्रमा रहेका डाइभर्सन बगाएका थिए।
सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको समन्वयमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो। हालका लागि अस्थायी रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ।

आज पनि भत्काइयो मनोहराको सुकुम्बासी बस्ती(तस्बिरहरु)

काठमाडौं । मनोहरा नदी किनारको सुकुम्बासी बस्ती आज पनि भत्काइने काम जारी रह्यो। स्थानीय प्रशासन र सुरक्षा निकायको संयुक्त टोलीले लगातार दोस्रो दिन बस्ती हटाउने अभियान चलाएको हो।

बिहानैदेखि डोजर, एक्साभेटर र ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीको उपस्थितिमा टहरा, फूसका घर र अस्थायी संरचनाहरू हटाइएका छन्। बस्तीका धेरै परिवारले आफ्नो सामान सुरक्षित स्थानमा सार्न नपाउँदै घर भत्काइएका कारण तनावपूर्ण अवस्था देखिएको थियो।

समन्वयकारी नेता भीष्मराज आङदेम्बे बने कांग्रेस संसदीय दलको नेता

काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित भएका छन् । ६१ वर्षे आङ्देम्बे अब प्रतिनिधिसभाको प्रमुख विपक्षी नेता पनि भएका छन् ।

झण्डै पाँच दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय आङ्देम्बे पञ्चायतविरोधी आन्दोलन, पहिलो र दोस्रो जनआन्दोलनका फ्रन्टलाइनर हुन् । उनै आङ्देम्बेले निकै लामो रस्साकस्सीपछि कांग्रेस संसदीय दलको नेता बन्ने अवसर पाएका हुन् ।

टाउकोमा कालो रुमाल बाँधेर विद्रोह

टाउकोमा कालो रुमाल । त्यो पनि स्कुलको प्रार्थना लाइनमा । सरहरू त छक्कै परे । कालो रुमाल टाउकोमा बेर्ने विद्यार्थीहरू थिए– भीष्मराज आङ्देम्बे, गजेन्द्र आङ्देम्बेलगायत । त्यसको स्पष्ट सन्देश थियो– भद्र र शान्तिपूर्ण विद्रोह । २०३६ सालको त्यो दृश्य पाँचथरको फिदिम मा.वि.को थियो ।

जतिबेला देशमा पञ्चायती शासनको जरो हल्लिँदै थियो । पाँचथरको दक्षिण–पश्चिमी सीमा जोडिने धनकुटाका सूर्यबहादुर थापा सुधारिएको पञ्चायतलाई जिताउनेगरी जनमत सङ्ग्रह गर्न प्रधानमन्त्री भएका थिए ।

पञ्चायतपक्षधरहरूको जगजगी यतिसम्म थियो कि पाँचथरको यासोकमा कर्ण लावतीको हत्या गरे । तर, ज्यान मुद्दा खेप्ने कांग्रेसका २१ जना सिनियर नेताहरू भए । उनीहरू थिए– भूविक्रम नेम्बाङ, प्रेमराज आङ्देम्बे, घनेन्द्रराज आङदेम्बे, नरेन्द्र प्रधान, तेजप्रकाश रिजाल, चन्द्रशेर आङ्देम्बेलगायत । कर्णको हत्या घटनाका प्रत्यक्षदशी हुन्– भीष्म । त्यसबेला उनी ‘जेन–जी’ उमेरका थिए । उक्त घटना उनलाई अन्यायविरुद्ध उभिन थप प्रेरित गर्‍यो।

जनआन्दोलनका कमाण्डर र जेल

राष्ट्रिय पञ्चायतको चुनाव २०३९ मा भयो । विद्रोही शक्ति कांग्रेसले देशव्यापी चुनाव बहिष्कार गरेको थियो । पञ्चायतका नेताहरूले निर्विरोध हुन चाहन्थे । त्यसलाई रोक्न कांग्रेसले चाह्यो । पाँचथरको साविक उम्लाबुङ घर भएका आङ्देम्बे  आफ्ना बाजे देउमान आङ्देम्बे (पूर्वमन्त्री)बाट पैसा लिएर जोरसाल गए । खुंगाका मानबहादुर जबेगूलाई भेटेर पैसा दिए, जो कांग्रेस समर्थित उम्मेदवार थिए । तर, पद्मसुन्दर लावती निर्वाचित भए ।

२०४२ सालमा कांग्रेस नेताहरू सत्याग्रह बसे । भीष्म ९ महिना जेल बस्नुपर्‍यो । त्यसपछि पटकपटक गरी उनी डेढ वर्ष जेल बसे । भीष्म २०४२ तिरै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य थिए ।

२०४६ सालको जनआन्दोलनमा उनले नेविसंघको केन्द्रीय सदस्यको रूपमा पूर्वाञ्चलको कमाण्ड सम्हाले । यता काठमाडौंमा गणेशमान सिंह आन्दोलनको सर्वोच्च कमाण्डर थिए । अन्ततः २०४६ को चैत २४ गते देशमा बहुलीय प्रजातन्त्र पुनःस्थापित भयो ।

जिविस सदस्यदेखि संविधान निर्माताको त्यो जिम्मेवारी

२०४९ को स्थानीय निकायको निर्वाचन हुँदा भीष्मको नाम जिल्ला विकास समिति पाँचथरको सभापतिमा चल्यो । भूविक्रम नेम्बाङ सिनियर लिडर हुनाले उनलाई छाडे । भीष्म जिल्ला विकास समितिको सदस्य भए । जनप्रतिनिधिको रूपमा रहेर भीष्मको यो पहिलो यात्रा थियो । त्यसछि उनी पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को कांग्रेस सभापति भए ।

२०५१ सालतिर भीष्म नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष भए । माओवादीले सशस्त्र विद्रोह गर्न लाग्दा कांग्रेसको मेरुदण्ड भनिने तरुण दलको उपाध्यक्षको जिम्मेवारीमा उनी थिए । अध्यक्ष बालकृष्ण खाण थिए ।

२०५६ सालदेखि उनले संसदीय निर्वाचन लडे– प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ बाट । तर, जित २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा भयो । भनिन्छ, आङ्देम्बेलाई जहिल्यै हराउन राप्रपा (पद्मसुन्दर लावती) र एमाले (डम्बरसिंह सम्बाहाम्फे)बीच अघोषित गठबन्धन हुन्थ्यो, जसकारण उक्त क्षेत्रबाट चुनाव जित्नु कांग्रेसका लागि फलाम चपाउनुसरह मानिन्थ्यो ।

यद्यपि, तेस्रोपटकको प्रतिस्पर्धामा चुनाव जितेर आङ्देम्बे संविधानसभा आए । उनी संविधानसभा सदस्यका रूपमा छँदा संसदीय सुनुवाई समिति सदस्य भए । संविधान निर्माणमा क्रममा देखिएका विवाद समाधान गर्न गठित समितिमा रहेर काम गरे ।

अन्ततः देशले ३ असोज २०७२ मा संविधान पायो । संविधानसभा व्यवस्थापिका संसद्मा रुपान्तरित भइसकेपछि उनी संसद्को उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समिति सभापति भए । अर्थात् ‘मिनी संसद्’ भनिने संसदीय समितिको नेतृत्व लिए ।

कांग्रेसलाई पहिचानको मुद्दामा हिँडाउने नेता

पहिलो संविधानसभादेखि दोस्रो संविधानसभासम्म आइपुग्दा देशमा पहिचानको मुद्दा तीव्र रूपमा उठ्यो। राज्य पुनर्संरचना एकल पहिचान वा बहुपहिचानको आधारमा गर्ने भन्ने मूल बहसबीच भीष्मराज आङ्देम्बेले नेपाली समाजको बहुजातीय र बहुधार्मिक संरचनालाई स्वीकार गर्दै बहुपहिचानकै आधारमा समाधान खोज्नुपर्ने धारणा राखे। त्यतिबेला कांग्रेसभित्र यस विषयमा खुलेर बोल्ने नेता अत्यन्त कम थिए।

भीष्म स्वयं भन्छन्, त्यस समय पहिचानसम्बन्धी कार्यक्रममा कांग्रेसका नेताहरू जानै हिच्किचाउँथे। मोरङमा आयोजित एक कार्यक्रममा अमृत अर्यालको निमन्त्रणामा सहभागी हुँदा कांग्रेसबाट आफू र एमालेबाट लालबाबु पण्डितलगायत केही नेताले मात्र बहुपहिचानको पक्षमा स्पष्ट धारणा राखेको उनको सम्झना छ।

बहुपहिचानको पक्षमा खुलेर बोलेपछि भीष्मले देशभित्र मात्र होइन, विदेशमा पनि विरोध सामना गर्नुपर्‍यो। दक्षिण कोरिया, हङकङ र मलेसियालगायत देशमा भ्रमणका क्रममा उनीविरुद्ध कालो झण्डा देखाइयो, कार्यक्रम बहिष्कार गरियो र पहिचान विरोधीको आरोपसमेत लगाइयो।

तर, यी सबै विरोधका बीच पनि उनले आफ्नो अडान परिवर्तन गरेनन्। बरु, उनले एकल पहिचानका पक्षधरहरूसँग संवाद गर्दै बहुपहिचान नै नेपाली समाजको यथार्थअनुकूल हुने तर्क अघि सारे। उनले लिम्बुवान आन्दोलनसँग सम्बन्धित नेताहरू वीर नेम्बाङ, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वालगायतको नाम उल्लेख गर्दै बहुपहिचानमा आधारित राज्य पुनर्संरचना नै उपयुक्त हुने धारणा राखे।

भीष्मले पार्टीभित्र पनि पहिचानको मुद्दामा कठोर धारणा राख्ने समूहबाट असहयोग भोग्नुपर्‍यो। पार्टी महाधिवेशनहरूमा उनलाई खुला रूपमा समर्थन नदिइएको अनुभव उनले सुनाएका छन्।

उनका अनुसार, त्यो समय पार्टीभित्रैबाट उत्पन्न भएको असहयोग उनको राजनीतिक जीवनको तीतो अध्याय बने पनि उनले आफ्नो विचार त्यागेनन्। उनी भन्छन्, अन्ततः देश त्यही दिशातर्फ अघि बढ्न बाध्य भएको छ।

राज्य पुनर्संरचनामा पहिचानलाई कसरी समेट्ने भन्ने विषयमा भीमबहादुर तामाङ, महेश आचार्य, मिनेन्द्र रिजाल र भीष्मराज आङ्देम्बेलगायत नेताहरू सम्मिलित एउटा समिति गठन गरिएको थियो। उक्त समितिले व्यापक बहस र छलफलपछि ‘जातीय द्वन्द्व मेटिने, पहिचान भेटिने’ भन्ने मार्गचित्र प्रस्तुत गरेको थियो।

भीष्मका अनुसार, यो निष्कर्ष केवल सैद्धान्तिक धारणा नभई जनस्तरको वास्तविक भावना र अनुभवमा आधारित थियो।

समितिको निष्कर्षअनुसार प्रदेशहरूको सीमाङ्कन र नामकरणमा कांग्रेस कत्तिको इमानदार रह्यो भन्ने विषय समीक्षा गर्नुपर्ने उनी बताउँछन्। पहिचानको आधारमा प्रदेशको नामकरण नभएकोप्रति उनी विगतदेखि असन्तुष्ट छन्।

विशेषगरी, कोशी प्रदेशको नाम ‘किरात’ राखिनुपर्ने उनको धारणा छ। साथै, अन्य प्रदेशहरूको नामसमेत पहिचानकै आधारमा तय हुनुपर्ने पक्षमा उनी दृढ रूपमा उभिएका छन्।

समन्वयकारी नेता

पार्टीभित्र विचार समूहका नाममा सक्षम र योग्य नेताहरू पाखा पर्ने तथा कमजोर नेताहरू हाबी हुने प्रवृत्तिप्रति भीष्मराज आङ्देम्बेले सधैं खबरदारी गर्दै आएका छन्।

उनी स्वयं विचार समूहमा रहे पनि यस्तो प्रवृत्तिविरुद्ध निरन्तर आवाज उठाउँदै आएका थिए। तर, यसरी समन्वय र सन्तुलनको पक्षमा उभिँदा राजनीतिक लाभको दृष्टिले भने उनलाई घाटा भएको उनले स्वीकार गरेका छन्।

उनका अनुसार, नेविसंघको राजनीतिमा सक्रिय रहँदा संगठनबारे सामान्य जानकारीसमेत नभएका केही व्यक्तिहरू पछि राज्य सञ्चालनको उच्च तहमा पुगे। यस सन्दर्भमा उनी भन्छन्, आफूले अघि सारेको समन्वयात्मक सोच त स्थापित भयो, तर व्यक्तिगत रूपमा आफू भने पछि परे।

समन्वयको कुरा उठाउँदा आफ्नै विचार समूहभित्रका नेताहरू पनि अनुदार देखिएको उनको अनुभव छ। उनले पार्टी नेतृत्वप्रति संकेत गर्दै, यदि त्यसबेला नेतृत्वले दूरदर्शिता देखाएको भए नेपाली कांग्रेसभित्र देखिएको वितृष्णा कम हुन सक्ने बताएका छन्।

यस अवधिमा भीष्मले कांग्रेसको आदिवासी जनजाति विभागको संयोजकका रूपमा काम गर्दै पार्टीभित्र समावेशी मुद्दालाई उठाए र त्यसलाई सम्बोधन गर्न दबाब सिर्जना गरे। साथै, केन्द्रीय अनुशासन समितिको संयोजक भएर उनले संगठनभित्र अनुशासन कायम गर्ने जिम्मेवारी पनि सम्हाले।

उनी भन्छन्, अनुशासन समितिको काम स्वभावतः अलोकप्रिय हुन्छ, किनकि कारबाहीपछि असन्तुष्टि उत्पन्न हुन्छ। तथापि, उनले पार्टीको हितका लागि कठिन निर्णय लिन पछि नहटेको र पछाडि फर्केर हेर्दा पश्चाताप गर्नुपर्ने कुनै काम नगरेको बताएका छन्।

आङ्देम्बे तीनपटक केन्द्रीय सदस्य र एकपटक केन्द्रीय सहमहामन्त्री भइसकेका नेता हुन् ।

 

महेश बस्नेतको आरोप: ‘माइतीघरमा मेरो श्रीमतीमाथि गालीगलौज गरियो’(भिडियो)

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो श्रीमतीमाथि गालीगलौज र हातपात भएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत साइबर ब्युरोमा उजुरी दिन जाँदै गर्दा माइतीघर मण्डलामा भएको घटनाबारे गम्भीर टिप्पणी गरेका हुन्।

‘मेरो र हाम्रो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले समेत मेरो श्रीमती सहित केही महिलालाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेका छन्,’ उनले लेखेका छन्  

बस्नेतका अनुसार साइबर अपराधविरुद्ध उजुरी दिन जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दा केही व्यक्तिहरूले उनकी श्रीमतीसहित अन्य महिलालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेको देखिएको थियो। उनले उल्टै आफ्नी श्रीमतीसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन्।

उनले केही सञ्चार माध्यमहरूले घटनालाई गलत रूपमा प्रस्तुत गर्दै भ्रामक समाचार फैलाएको आरोप लगाएका छन्। साथै, माइतीघर मण्डलाजस्तो सार्वजनिक स्थललाई व्यक्तिको चरित्र हत्या गर्ने थलो बनाइएको भन्दै आपत्ति जनाएका छन्।

बस्नेतले सरकार मौन दर्शक बनेको आरोप लगाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनले न्याय नपाइए सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन्।

‘यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन। पीडित आफैंले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो संकेत होइन।’ बस्नेत अगाडि थप्छन्। 

यसैबीच, आज दिउँसो माइतीघरमा अम्बिका बस्नेत र शोभा पाठकबीच भएको झगडाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

 

सेयर बजार ७ दशमलव ७३ अङ्कले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक ७.७३ अंकले बढेर २,७९६ बिन्दुमा पुगेको छ। यसअघि शुक्रबार पनि नेप्से १.५ अंकले बढेको थियो।

यद्यपि आज कारोबार रकम घटेको छ। अघिल्लो दिन ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ४ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको र १० कम्पनीको स्थिर रहेको छ।

उपसमूहतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले बढेको छ। त्यस्तै विकास बैंक १.१४ प्रतिशत, बैंकिङ ०.६८ प्रतिशत, फाइनान्स ०.४२ प्रतिशत, होटल तथा पर्यटन ०.९७ प्रतिशत, जीवन बीमा ०.१३ प्रतिशत, माइक्रोफाइनान्स ०.२९ प्रतिशत र निर्जीवन बीमा ०.१५ प्रतिशतले बढेका छन्।

तर हाइड्रोपावर ०.१९ प्रतिशत, लगानी ०.२८ प्रतिशत, अन्य ०.४४ प्रतिशत र व्यापार समूह १.३९ प्रतिशतले घटेका छन्।

आज चार कम्पनीको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। यसमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटल रहेका छन्। झापा इनर्जीको मूल्य ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ६.८६ प्रतिशतले बढेको छ।

माइखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। आज सबैभन्दा बढी कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत् कम्पनी, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन्।

मक्सको कम्पनी एक्सले ल्यायो ‘एक्सच्याट’

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्सले मेसेज आदानप्रदानका लागि आफ्नो छुट्टै एप ‘एक्सच्याट’ सार्वजनिक गरेको छ। शुक्रबारदेखि सर्वसाधारणका लागि उपलब्ध गराइएको यो एप हाल आईओएस प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ।

नयाँ एपमार्फत प्रयोगकर्ताले आफ्ना एक्स कन्ट्याक्टसँग कुराकानी गर्न, फाइलहरू आदानप्रदान गर्न, अडियो तथा भिडियो कल गर्न र समूह च्याट सञ्चालन गर्न सक्नेछन्। कम्पनीले यसअघि सानो प्रयोगकर्ता समूहमा यसको बेटा परीक्षण गरेको थियो।

एक्सच्याटको सुरुवात कम्पनीको दीर्घकालीन रणनीतिक योजनाको हिस्सा मानिएको छ। एक्सले आफ्नो प्लेटफर्मलाई मेसेजिङ र भुक्तानीजस्ता सेवाका लागि आधार बनाउने योजना अघि सारेको छ। भुक्तानी सेवाका लागि पनि छुट्टै एप परीक्षण भइरहेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।

यो कदम एलन मस्कको पहिलेको ‘एभ्रिथिङ एप’ योजनाभन्दा फरक देखिन्छ, जहाँ मेसेज, भुक्तानी, क्रियटर कन्टेन्ट, शपिङ र एआई सेवा एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य राखिएको थियो। अहिले भने एक्सएआईमार्फत छुट्टाछुट्टै एप संरचना अघि बढाइएको छ।

एक्सच्याटमा मेसेज सम्पादन र मेटाउने सुविधा, डिसअपियरिङ मेसेज, र स्क्रिनसट ब्लक गर्ने जस्ता सुरक्षा सुविधा छन्। कम्पनीले यसमा विज्ञापन वा प्रयोगकर्ता ट्र्याकिङ नरहेको दाबी गरेको छ। सबै मेसेज ‘इन्ड–टु–इन्ड इन्क्रिप्टेड’ र पिनद्वारा सुरक्षित हुने बताइएको छ।

तर सुरक्षा विज्ञहरूले यसको इन्क्रिप्सन दाबीमाथि प्रश्न उठाउँदै यसलाई सिग्नलजस्ता एपभन्दा कम सुरक्षित हुन सक्ने चेतावनी दिएका छन्। अब एप व्यापक रूपमा प्रयोगमा आएपछि यसको सुरक्षा पक्ष पुनः मूल्यांकन गरिने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार एक्सच्याट भविष्यमा एक्सको कम्युनिटिज फिचरको मुख्य प्लेटफर्म पनि बन्नेछ। मुख्य एपमा कम्युनिटिज बन्द भएपछि प्रयोगकर्तालाई यहाँ सारिएको हो।

एक्सका प्रमुख डिजाइनर बेन्जी टेलरका अनुसार यो केवल सुरुवात हो र आगामी दिनमा मेसेजिङ सेवामा थप नयाँ सुविधाहरू जोडिनेछन्। एन्ड्रोइड संस्करण कहिले आउने भन्ने विषयमा भने कम्पनीले स्पष्ट जानकारी दिएको छैन।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी, अध्यादेश ल्याउने तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरदेखि बैठक जारी रहेको हो।

आजको बैठकले संवैधानिक परिषद् लगायतका विषयमा अध्यादेश ल्याउने तयारी गरेको बताइएको छ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेका थिए। तर त्यसको भोलिपल्टै सरकारकै अर्को सिफारिसमा उक्त अधिवेशन स्थगित गरिएको थियो।

प्रधानाध्यापक कुटिएपछि २ शिक्षक पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका-५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्याङरीङका प्रधानाध्यापक डम्मरुप्रसाद दाहालमाथि कार्यकक्षमै हातपात भएको छ।

५४ वर्षीय दाहालमाथि भएको उक्त घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका शिक्षक सोमनाथ दाहाल (५५) र शिक्षिका लेखकुमारी भट्टराई (५४) लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए।

प्रहरीका अनुसार वैशाख ९ गते विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिने क्रममा शिक्षक प्रतिनिधि छनोटलाई लिएर प्रधानाध्यापक र शिक्षकबीच विवाद भएको थियो। सोही विवाद पछि बढ्दै जाँदा कार्यकक्षमै हातपातको घटना भएको हो।

घटनाका क्रममा निर्णयसम्बन्धी कागजातसमेत च्यातिएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच माइतीघरमा भिडन्त

काठमाडौं । माइतीघर मण्डलामा नेकपा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिँदै अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको छ। घटना दिउँसो करिब १२ बजेतिर भएको हो।

प्राप्त विवरणअनुसार शोभा पाठक, रस्मिला धामीलगायत युवतीहरू पूर्वगृहमन्त्री सुधन गुरुङको पुनर्वहालीको माग गर्दै माइतीघरमा धर्नामा बसिरहेका थिए। सोही क्रममा अम्बिका समूहसहित त्यहाँ पुगेपछि उनीहरूबीच विवाद चर्किएको र झडपको अवस्था सिर्जना भएको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षबीच भनाभनपछि हात हालाहाल भएको थियो। त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै भिड छुट्याएको र अम्बिका लगायत केही महिलालाई नियन्त्रणमा लिएर गएको हो।

घटनाबारे थप विवरण आउन बाँकी छ।

यसअघि शोभा पाठकले महेश बस्नेतविरुद्ध कारबाहीको माग गर्दै अनशन बसेकी थिइन्। त्यसक्रममा तत्कालीन गृहमन्त्री सुधन गुरुङले उनलाई भेट गरेका थिए। गुरुङले राजीनामा दिएपछि उनले अनशन तोडेकी थिइन् र हाल पुनः गुरुङको पुनर्वहालीको माग गर्दै आन्दोलनमा सक्रिय छिन्।

पल-पूजाको ‘रावायण’ युट्युबमा

काठमाडौं ।  पल शाह र पूजा शर्माको मुख्य अभिनय रहेको फिल्म ‘रावायण’ युट्युबमा सार्वजनिक भएको छ। सुदर्शन थापाको निर्देशनमा बनेको उक्त फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

पूजा शर्मा निर्माता रहेको यो फिल्म करिब डेढ वर्षअघि देशभरका सिनेमा हलमा प्रदर्शन गरिएको थियो। त्यस समयमा अभिनेता पल शाहले फिल्ममा प्रयोग गरिएको नक्कली दाह्रीलाई लिएर आलोचनासमेत सामना गर्नुपरेको थियो।

फिल्ममा पल शाह र पूजा शर्मासँगै प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुन जंग शाही, शर्मिला मल्ल, कैलाश रावल, अनिल कुर्मी र प्रदीप ढकाललगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

माछा मार्दा बेपत्ता भएका पुरुष ५ दिनपछि मृत फेला

उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका-४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँच दिनपछि मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरूसँग माछा मार्न गएका राई दिउँसो करिब ३ बजे सुनकोशी नदीमा बेपत्ता भएका थिए। त्यसपछि स्थानीयवासी र प्रहरीको संयुक्त खोजी अभियान जारी थियो।

खोजीका क्रममा शनिबार साँझ राईको शव रौतामाई गाउँपालिका-भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले जानकारी दिए।

घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि करिब १८ कोष उत्तर–पूर्वी पहाडी क्षेत्रमा पर्छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

संसद स्थगन गरेर अध्यादेश ल्याउने तयारीमा सरकार(भिडियो)

काठमाडौं । सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ। आह्वान भइसकेको संघीय संसद् अधिवेशन स्थगित गरेपछि सरकारले अध्यादेशमार्फत केही कानुनी व्यवस्था अघि बढाउने तयारी गरेको हो।

स्रोतका अनुसार सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् सम्बन्धी लगायतका अध्यादेश ल्याउने प्रस्ताव अघि बढाइनेछ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गरेका थिए। तर त्यसको भोलिपल्टै सरकारकै अर्को सिफारिसमा उक्त अधिवेशन स्थगित गरिएको थियो।

अधिवेशन स्थगित भएपछि सरकारले आवश्यक कानुन निर्माणका लागि अध्यादेशको बाटो रोज्ने तयारी गरेको छ। अध्यादेशमार्फत तत्काल आवश्यक नीतिगत तथा संवैधानिक व्यवस्थामा परिवर्तन गर्न खोजिएको बताइएको छ। 

१८ वर्षीया युवक मृत फेला

बाजुरा। बाजुरा र कालिकोटको सिमानामा पर्ने लौखूडाँडामा स्काभेटर दुर्घटना हुँदा बेपत्ता भएका १८ वर्षीय महेश रावल मृत फेला परेका छन्। बाजुराको जगन्नाथ गाउँपालिका-६ रावलवाडाका उनी दुर्घटनापछि हराइरहेका थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कालिकोटको नरहरिनाथ गाउँपालिका-२ का २५ वर्षीय केशव विष्टले चलाएको प्रदेश ३-०१-००३ क ६३११ नम्बरको स्काभेटर सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनाका बेला स्काभेटरमा चालकसहित तीन जना सवार थिए। चालक र अर्का एक जना सकुशल रहे पनि रावल बेपत्ता भएका थिए।

खोजीका क्रममा स्काभेटर खसेको स्थानभन्दा करिब ३०० मिटर तल रावलको शव फेला परेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।

लौखु जिरो प्वाइन्ट-कोल्टी सडक खण्डमा नयाँ सडक निर्माणका क्रममा खसालिएको माटोले कर्णाली करिडोर अवरुद्ध भएपछि सोही माटो पन्छाउन जाँदा स्काभेटर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घटनापछि स्काभेटर चालक विष्टलाई कालिकोटको अस्थायी प्रहरी पोस्ट साजघाँटबाट नियन्त्रणमा लिइएको छ। मृतक रावलको शव पोस्टमार्टमका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ भने अवरुद्ध सडक पनि खुलाइएको प्रहरीले जनाएको छ।

युद्द अन्त्य गर्न अमेरिकालाई इरानको नयाँ प्रस्ताव

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव घटाउने प्रयासस्वरूप पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ प्रस्ताव अघि सारेको छ। एक्सियोसको रिपोर्टअनुसार इरानले हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने र जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले दुई चरणीय योजना प्रस्तुत गरेको हो, जसलाई दीर्घकालीन समाधानतर्फको सम्भावित कदमका रूपमा हेरिएको छ।

उक्त योजनाको पहिलो चरणमा समुद्री सुरक्षा संकट र अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्ने विषय समेटिएको छ। त्यसपछि मात्र आणविक वार्ता अघि बढाउने प्रस्ताव गरिएको छ। इरानले दीर्घकालीन युद्धविराम र स्थायी शान्तिको रूपरेखा प्रस्तुत गरे पनि अमेरिकाले भने इरानलाई कम्तीमा १० वर्षसम्म युरेनियम संवर्धन रोक्न र आफ्नो आणविक सामग्री विदेश सार्न दबाब दिइरहेको छ। यस विषयमा इरानभित्रै पूर्ण सहमति बन्न सकेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि प्रत्यक्ष भेटभन्दा फोनमार्फत संवाद गर्न सकिने संकेत दिएका छन्। यता, इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तान र ओमानसँग कूटनीतिक पहल तीव्र बनाएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने तयारीमा छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलबीचको सैन्य तनावपछि ठूलो युद्ध टरे पनि औपचारिक शान्ति सम्झौता भने हुन सकेको छैन। यसले विश्व अर्थतन्त्रमा अनिश्चितता कायम राखेको छ।

विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने रणनीतिक हर्मुज जलमार्गलाई इरानले आफ्नो कूटनीतिक दबाबका रूपमा प्रयोग गरिरहेको छ। इरानले वार्ताअघि अमेरिकी नाकाबन्दी हटाउने, क्षतिपूर्ति दिने र भविष्यमा सैन्य हस्तक्षेप नगर्ने ग्यारेन्टी माग गरेको छ। अर्कोतर्फ, अमेरिका इरानको आणविक कार्यक्रम, मिसाइल विकास र क्षेत्रीय प्रभाव सीमित गर्न केन्द्रित रहेको छ।

लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । लेबनानमा लागू भएको युद्धविरामकै बीच इजरायलले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये दुई बालबालिका र दुई महिला समेत छन्, भने ३७ जना घाइते भएका छन्।

गत बिहीबार मात्र दुवै देशबीच युद्धविराम तीन साताका लागि थप गरिएको थियो। तर समझौता कायम रहे पनि क्षेत्रको वातावरण तनावपूर्ण नै रहेको छ।

सम्झौताअनुसार इजरायललाई आफ्नो सुरक्षासम्बन्धी आवश्यक कदम चाल्न अनुमति दिइएको छ। आक्रमणअघि इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी लेबनानका केही बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न चेतावनी दिएको थियो, त्यहाँ बसिरहनु ज्यानका लागि जोखिमपूर्ण हुने बताएर।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुँले सेना सक्रिय रूपमा अभियानमा रहेको र हिज्बुल्लाहका गतिविधिले युद्धविराम उल्लङ्घन गरिरहेको आरोप लगाएका छन्।

बलात्कारको आरोपमा युवक पक्राउ

धनगढी।युवतीलाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

२० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिका-२ का ३१ वर्षीय सुरेश अवस्थीलाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका-४ मा रहेको सन्जोग होटलमा जबरजस्तीकरणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उहाँलाई पक्राउ गरेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

उहाँका अनुसार आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धानको कार्य भइरहेको  छ । 

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत(तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन हुने भएका छन्।

दलको नेतृत्व सहमतिमै टुंग्याउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो।

गत शुक्रबार (वैशाख ११) गठन भएको उक्त कार्यदलले आङ्देम्बेलाई नै संसदीय दलको नेता बनाउँदा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको हो।

कार्यदलमा रहेका एक पदाधिकारीका अनुसार आङ्देम्बेको नाममा सहमति जुटिसकेको छ र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको छ।

 

राजीनामा दिए पनि सुधनको सचिवालयले चलाइरहेको छ गृहमन्त्रालय(भिडियो)

काठमाडौं । गृहमन्त्रीबाट सुधन गुरुङले राजीनामा दिएको छैटौँ दिन पूरा भएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी र सेयर कारोबार गरेको आरोपलगत्तै बढेको आलोचनापछि उनले वैशाख ९ मा गृहमन्त्री पद छोडेका थिए।

गत चैत १३ मा गृहमन्त्री बनेका गुरुङ २७ दिनमै पदत्याग गरी मन्त्रालयबाट बाहिरिएका हुन्। हाल गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले सम्हालिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा गुरुङको राजीनामा स्वीकृत गर्दै कार्यभार प्रधानमन्त्री नै सम्हाल्ने व्यवस्था गरेका हुन्।

तर, गृहमन्त्री पद रिक्त रहे पनि मन्त्रालय भने निवर्तमान मन्त्री गुरुङकै टिमले चलाइरहेको देखिन्छ। उनका स्वकीय सचिव जेम्स कार्की गृह मन्त्रालयमै सक्रिय छन्। गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति–सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्लेको कार्यकक्ष नजिकै कार्कीको कक्ष छ, र शुक्रबार दिनभर उनी त्यहीँ काममा व्यस्त थिए।

कार्की गत चैत १९ मा गुरुङका स्वकीय सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनी यसअघि प्रधानमन्त्री शाहकै सचिवालयमा अनौपचारिक रूपमा काम गर्थे र शाहका निकट व्यक्ति मानिन्छन्। गुरुङले राजीनामा दिए पनि कार्की मन्त्रालयमै बसेर मन्त्रालय मातहत रहेका निकायसँग ‘ब्रिफिङ’ लिने, निर्देशन दिने लगायतका काम गरिरहेको कर्मचारीहरू बताउँछन्।

गृह मन्त्रालयका एक सहसचिवका अनुसार कार्कीले आफ्नो कक्षमा कर्मचारी तथा सुरक्षा अधिकारीलाई बोलाएर नियमित रूपमा ‘टिपोर्टिङ’ लिँदै आएका छन्। मन्त्री पदको कार्यभार प्रधानमन्त्रीले सम्हाले पनि व्यावहारिक रूपमा मन्त्रालय संचालन गुरुङकै टिमले गरिरहेको उनीहरूको आरोप छ।

गुरुङ पदबाट बाहिरिएपछि गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले एक मात्र निर्णय गरेको छ। वैशाख १० मा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जस्थित ११४ रोपनी ३ आना जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानकै स्वामित्वमा रहने निर्णय गरेको हो। २०७५ सालमा उक्त जग्गा राष्ट्रपतिको कार्यालयलाई दिने निर्णय भएको थियो।

यसबीच, गुरुङमाथि छानबिन गर्ने र निर्दोष देखिए पुनर्वहाली सम्भावना खुला राख्ने संकेत प्रधानमन्त्री शाहले दिइरहेका छन्। गुरुङले राजीनामापछि सामाजिक सञ्जालमार्फत छानबिन गर्न माग गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार पार्टीले नयाँ नाम सिफारिस नगरेसम्म गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले नै सम्हालिरहने छन्।

बस्नेतको प्रश्न : सिंहदरबार जल्दा नदेखिएको सेना सुकुमवासी हटाउन कसरी आयो ?(भिडियो)

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सुकुमवासी बस्ती हटाउने प्रक्रियामा नेपाली सेनाको सहभागितामाथि गम्भीर प्रश्न उठाएका छन्। सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुमवासी बस्ती हटाउँदा सेनासमेत सुरक्षा व्यवस्थामा खटिएको घटनाले सार्वजनिक वृत्तमा व्यापक चर्चा पैदा भएको छ।

बस्नेतले सेनाको तैनाथी कानुनी आधारबारे शंका व्यक्त गर्दै भने, ‘राष्ट्रिय सुरक्षा परिषद् बैठक, मन्त्रिपरिषद् निर्णय वा राष्ट्रपतिको आदेश केका आधारमा सेना सुकुमवासी बस्तीमा पुग्यो? सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र सयौँ सरकारी कार्यालयहरू जलिरहेको बेला रोकेर नपुगेको सेना प्रहरी, बालेनको आदेशमा गरिबका घर भत्काउन किन तत्पर देखिन्छ?’

उनले सेनाको वास्तविक ‘मालिक’ को हो, सेनामाथि कुन प्रभाव काम गरिरहेको छ र कसका स्वार्थमा यस्तो गतिविधि भइरहेको हो भन्ने विषय जनताले गम्भीर रूपमा बुझ्नुपर्ने समय आएको टिप्पणी गरे।

गत भदौ २४ मा संसद भवन, सर्वोच्च अदालत र सिंहदरबारसहितका संरचनामा आगजनी हुँदा सेना तत्काल परिचालन हुन मन्त्रिपरिषद्को निर्णय आवश्यक रहेको बताइएको थियो। तर अहिले भने सुरक्षा परिषद् वा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नभएको अवस्थामा सेना फील्डमा कसरी खटाइयो भन्ने अर्को ठूलो प्रश्न उठिरहेको बस्नेतले जनाएका छन्।

उनका अनुसार यस्तो दोहोरो मापदण्डले सुरक्षा निकायको कार्यप्रति जनविश्वासमा गम्भीर असर परेको छ।

अमेरिकालाई मोहित बनाउने विवेकानन्दको त्यो ‘शिकागो भाषण’

काठमाडौं। सन् १८६३ जनवरी १२  मा जन्मेका नरेन्द्रनाथ दत्त अर्थात स्वामी विवेकानन्द हिन्दू दर्शनका प्रसिद्ध विद्वान थिए।

उनी सन् १८९३ मा अमेरिकाको शिकागोमा भएको विश्व धर्म संसदमा सनातन हिन्दू धर्मका प्रतिनिधिका रूपमा सहभागी भई वेदान्त दर्शन र भारतीय आध्यात्मिकतालाई पश्चिमी देशहरूमा परिचित गराए।

कलकत्ताको धनाढ्य बङ्गाली परिवारमा जन्मिएका विवेकानन्दको झुकाव बाल्यकालदेखि नै आध्यात्मिकताप्रति थियो। उनी रामकृष्ण परमहंसका प्रिय शिष्य थिए र गुरुद्वाराबाट सबै जीव परमात्माका रूप हुन् र मानवसेवा नै ईश्वरसेवा हो भन्ने शिक्षा प्राप्त गरे।

उनले रामकृष्ण मिशन स्थापना गरी गरिब अनाथ र असहायहरूको सेवा तथा शिक्षा स्वास्थ्यको कार्यलाई अघि बढाए।

शिकागोमा उनले अमेरिकाका दाजुभाइ तथा दिदीबहिनीहरू भन्ने शब्दबाट भाषण सुरु गर्दै सबै धर्मप्रति सहिष्णुता विश्व एकता र मानवतावादको सन्देश दिए।

उनले सबै धर्महरूलाई एउटै सत्यतर्फ जाने मार्गका रूपमा स्वीकार गर्नुपर्ने विचार व्यक्त गर्दै कट्टरता साम्प्रदायिकता र हिंसाको विरोध गरे।

१९०२  जुलाई ४ मा अस्ताएका विवेकानन्दको विचारले सम्पूर्ण विश्वलाई प्रभावित पार्‍यो। उनी आज पनि भारतीय संस्कृति अध्यात्म र मानवताका महान प्रेरणास्रोतका रूपमा सम्मानित छन्।

विवेकानन्दको शिकागो धर्म संसदमा दिएको भाषण विश्वभर अत्यन्त प्रसिद्ध छ।  जसले उनलाई सम्पूर्ण भारत र भारतीय संस्कृतिलाई पश्चिमी देशहरूमा परिचित गरायो। उनको भाषण सुनेपछि सम्पूर्ण संसार भारतको प्रशंसक बनेको थियो। तालीको गडगडाहटले उनको स्वागत गरिएको थियो।

स्वामी विवेकानन्दको शिकागो भाषण

११ सेप्टेम्बर १८९३ मा अमेरिकाको शिकागो शहरको धर्म संसदमा उहाँको भाषणले भारतको छवि परिवर्तन गरिदिएको थियो। उहाँले केही मिनेटमै त्यहाँ उपस्थित मानिसहरूको मन जित्नुभयो। सम्पूर्ण संसार भारतको प्रशंसक बन्यो।

जब सन् १८९३ मा भारत गुलामीको जंजीरमा बाँधिएको थियो तब स्वामी विवेकानन्दले भारतको प्राचीन सभ्यता संस्कृति विरासत अध्यात्म र गौरवशाली इतिहासलाई विदेशी भूमिमा गर्वका साथ प्रस्तुत गरे। उनको सम्बोधनमा चारैतिर तालीको गडगडाहट थियो।

स्वामी विवेकानन्दले शिकागो भाषणको सुरुवात यसरी गरे,

‘अमेरिकाका प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू तपाईंहरूको यस हार्दिक र जोशपूर्ण स्वागतले मेरो हृदय अपार आनन्दले भरिएको छ। म तपाईंहरूलाई संसारको सबैभन्दा प्राचीन सन्यासी परम्पराको तर्फबाट धन्यवाद दिन्छु। म तपाईंहरूलाई सबै धर्महरूको जननीको तर्फबाट धन्यवाद दिन्छु। करोडौँ हिन्दूहरूको तर्फबाट पनि आभार व्यक्त गर्दछु। म ती वक्ताहरूलाई पनि धन्यवाद दिन्छु जसले यहाँबाट सहिष्णुताको विचार पूर्वी देशहरूबाट फैलिएको हो भने।

म गर्व गर्छु कि म यस्तो धर्मसँग सम्बन्धित छु। जसले संसारलाई सहिष्णुता र सार्वभौमिक स्वीकार्यताको पाठ सिकाएको छ। हामी केवल सहिष्णुतामा मात्र होइन सम्पूर्ण धर्महरूलाई सत्यको रूपमा स्वीकार गर्छौं।

म गर्व गर्छु कि म यस्तो देशबाट आएको हुँ जसले सताइएका र पीडित सबै देशका मानिसहरूलाई शरण दिएको छ। हामीले यहूदीहरूको पवित्र स्मृतिलाई आफ्नो हृदयमा राखेका छौँ। जसका धर्मस्थलहरू रोमन आक्रमणकारीहरूले ध्वस्त पारेका थिए। उनीहरू दक्षिण भारतमा आएर शरण लिएका थिए। हामीले पारसी धर्मका मानिसहरूलाई पनि शरण दिएका छौँ।

अमेरिकन दाजु भाइहरू म तपाईंहरूलाई एउटा श्लोक सुनाउन चाहन्छु। जसलाई मैले बाल्यकालदेखि सम्झेर दोहोर्याउँदै आएको छु। ‘रुचिनां वैचित्र्यादृजुकुटिलनानापथजुषाम… नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव..….. यसको अर्थ  जसरी विभिन्न स्रोतबाट निस्केका नदीहरू अन्ततः समुद्रमा पुग्छन् त्यसैगरी मानवले विभिन्न मार्गहरू रोजे पनि सबै अन्ततः परमात्मातर्फ नै जान्छन्। यस सम्मेलनले देखाउँछ कि सबै मार्गहरू अन्ततः एउटै सत्यतर्फ जान्छन्।

कट्टरता साम्प्रदायिकता र हठधर्मिताले लामो समयदेखि पृथ्वीलाई हिंसाले भरिदिएको छ। यी कारणहरूले धेरै सभ्यताहरू नष्ट भएका छन्। यदि यी नहुन्थे भने मानव समाज अझ धेरै विकसित हुन्थ्यो। तर अब यी समय सकिन लागेको उनले विश्वास व्यक्त गरे। उनले आशा गरे कि यो सम्मेलनले सबै प्रकारका कट्टरता द्वेष र विभाजनलाई समाप्त गर्ने दिशामा कदम चाल्नेछ।’

यो सभा, जुन अहिलेसम्मका सबैभन्दा पवित्र सम्मेलनहरूमध्ये एक हो, आफैं गीता शिक्षाको यो महान सन्देशलाई प्रस्तुत गर्छ

‘ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम्। मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः।’

अर्थात् जो जसरी पनि मेरो शरणमा आउँछ, म उसैलाई प्राप्त हुन्छु। मानिसहरू विभिन्न मार्गबाट प्रयास गर्दै अन्ततः मलाई नै प्राप्त गर्छन्।

सम्प्रदायवाद, कट्टरता र त्यसका भयानक उत्तराधिकारी धार्मिक उन्मादले धेरै समयदेखि यस सुन्दर पृथ्वीमा शासन गर्दै आएका छन्। उनीहरूले पृथ्वीलाई हिंसाले भरिदिएका छन् र मानवताको रगतले बारम्बार नुहाएका छन्, सभ्यताहरूलाई नष्ट गर्दै सम्पूर्ण देशहरूलाई निराशाको खाडलमा पुर्‍याएका छन्।

यदि यी भयानक दानवी शक्तिहरू नभएको भए मानव समाज आजभन्दा धेरै उन्नत भइसकेको हुन्थ्यो। तर अब उनीहरूको समय सकिन लागेको छ। म हृदयदेखि आशा गर्छु। आज बिहान यस सभाको सम्मानमा भएको घण्टाध्वनि सम्पूर्ण धर्मान्धता, तरवार वा लेखनीद्वारा गरिने सबै उत्पीडन, र एउटै लक्ष्यतर्फ अघि बढ्ने मानिसहरूबीचको सबै कटुता समाप्त गर्ने मृत्यु-घोष बन्नेछ।

(११ सेप्टेम्बर १८९३)

१३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सोमबार (वैशाख १४) सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि वृद्धि भएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर पाँच हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

त्रिविको कडा कदम : ३५ दिनभित्र अतिक्रमित जग्गा खाली गर्न १८ संस्थालाई अल्टिमेटम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अतिक्रमित जग्गा फिर्ता ल्याउने भएको छ । लामो समयदेखि विभिन्न संघ–संस्था, सरकारी निकाय र निजी प्रयोगमा गएका आफ्नो स्वामित्वको जग्गा फिर्ता ल्याउने निर्णय गर्दै त्रिविले खाली गर्न ३५ दिने अल्टिमेटम जारी गरेको छ ।

त्रिविको सामान्य प्रशासन महाशाखाले १८ वटा संघसंस्था र संगठनलाई औपचारिक पत्राचार गरी जग्गा खाली गर्न भनेको हो । त्रिविको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समिति’को प्रतिवेदनअनुसार कीर्तिपुर परिसरभित्र मात्रै करिब १ हजार ५ सय रोपनी जग्गा विभिन्न संघ–संस्थाको प्रयोगमा पुगेको छ ।

त्रिविले अतिक्रमणमा रहेका जग्गा फिर्ता ल्याउन विभिन्न निकायलाई छुट्टाछुट्टै पत्र पठाउन थालेको छ । यसै क्रममा नेपाल क्रिकेट संघ (क्यान)लाई पनि त्रिवि क्रिकेट रंगशाला खाली गर्न पत्राचार गरिएको छ ।

रंगशाला त्रिवि र क्यानबीच सहमति भएपछि भाडामा दिइएको थियो । सम्झौता अवधि यही वैशाख मसान्तमा सकिँदैछ । त्रिविका एक पदाधिकारीका अनुसार यसपटक सम्झौता नवीकरण गर्ने पक्षमा विश्वविद्यालय छैन ।

उनका अनुसार सम्झौता सकिएपछि नवीकरण नगर्ने र त्रिविले शैक्षिक प्रयोजनका लागि रंगशाला प्रयोग गर्छ । तर, नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले त्रिविबाट पत्र प्राप्त नगरेको बताएका छन् ।

उनले सार्वजनिक बिदाका कारण पत्र क्यानमा आइपुग्न ढिला भएको हुन सक्ने बताए । उनका अनुसार त्रिविसँग सम्झौता नवीकरणको प्रयास भइरहेको छ ।

यस्तोमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने गुरुयोजना सुशीला कार्की सरकारले स्वीकृत गरिसकेको छ । बजेट करिब १० अर्ब छ ।

उसो त पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहालको पालामा पनि रंगशाला निर्माणका लागि विभिन्न पहल भएका थिए । अब भने अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन बजेट स्वीकृत भइसकेको अवस्थामा त्रिविले मैदान खाली गराउन अल्टिमेटम दिएपछि परियोजनाको भविष्य अन्योलमा परेको छ । यता त्रिवि भने सम्झौता नगरेर जग्गा फिर्ता लिने कदममा छ ।

त्रिविको जग्गा क्यान मात्रै होइन, विभिन्न सरकारी तथा गैरसरकारी निकायले पनि प्रयोग गर्दै आएका छन् । केही संस्थाले त्रिविको स्वीकृतिमा जग्गा पाएका छन् भने कतिपयले बिनास्वीकृति कब्जा गरी प्रयोग गरिरहेका छन् ।

विभिन्न अनुसन्धान केन्द्र, बैंक, संघसंस्था तथा सुरक्षा निकायलाई समेत त्रिविले विभिन्न समयमा जग्गा उपलब्ध गराएको देखिन्छ । यद्यपि, केही संस्थाले सम्झौताविपरीत थप क्षेत्र ओगटेको वा प्रयोजनभन्दा फरक उपयोग गरेको छानबिन प्रतिवेदनबाट खुलिसकेको छ

त्रिविको जग्गा खोजबिन प्रतिवेदनमा ५०५०–३–१–१ रोपनी क्षेत्रफल जग्गा त्रिविको रहेको उल्लेख छ । कालान्तरमा कब्जा हुँदै गयो । केहीले स्वीकृति लिएर भोगचलन गरे भने केहीले बिना स्वीकृति कब्जा गरेको प्रतिवेदनमा भनिएको छ ।

जस्तो, बीपी प्लानेटोरियम तथा अब्जरभेटरीलाई १६० रोपनी, कृषि बागबानी केन्द्रलाई २८१ रोपनी, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई २५ रोपनी, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई ८२ र २५ रोपनी जग्गा सरकारको आग्रहअनुसार उपलब्ध गराएको भनिएको छ ।

यसबाहेक महानगरीय प्रहरी वृत्त (कीर्तिपुर)लाई ५ रोपनी, महानगरीय प्रहरी वृत्त (कालिमाटी)लाई ४ रोपनी, नेपाल प्राध्यापक संघलाई ६ रोपनी १२ आना, ग्लोबल आइएमई बैङ्क, लायन्स क्लब इन्टरनेसनलको रक्तसञ्चार केन्द्र, नेपाल क्रिकेट संघ ७६ रोपनी ४ आना ३ दाम, नेपाल बैङ्क लिमिटेडलगायतले त्रिविको जग्गा भोगचलन गर्दै आएका छन् ।

सम्झौताबनिा करिब १५ रोपनी जग्गा राधास्वामी सत्सङ्ग व्यास नेपाल नामक संस्थाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको छ । १०८ रोपनी १४ आना २ पैसा ३ दाम जग्गा ब्याबरेटोरी माध्यमिक विद्यालयले अनधिकृत रुपमा कब्जा गरेको छ । नेत्रज्योति संघले १० रोपनी जग्गा भोगचलन गर्दै आएको छ ।

त्रिविका सामान्य प्रशासन महाशाखा प्रमुख राजबहादुर राईले भने, ‘जग्गा खोजबिन समितिको प्रतिवेदन हामीले अध्ययन गरिसकेका छौँ र त्यसको आधारमा विभिन्न व्यक्ति र संघसंस्थाले भोगचलन वा हडपेको सबै जग्गा फिर्ता लिन्छौँ ।’

त्रिविको प्रतिवेदनले अतिक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।

सरकारले देशभर सार्वजनिक जग्गा अतिक्रमण हटाउने नीति अघि बढाइरहेका बेला त्रिविको यो कदमलाई त्यसैको निरन्तरताको रूपमा हेरिएको छ ।

खासगरी प्रधानमन्त्री बालेनको निर्देशनपछि काठमाडौंको नदी किनारका सुकुम्बासी बस्ती हटाउन थालेपछि सार्वजनिक जग्गा संरक्षणको सवाल राष्ट्रिय बहसमा आएको छ ।