`

पैसा बाँडेर चुनाव जिते सांसद पद खारेज, ६ वर्ष चुनाव लड्न नपाउने गरी सजाय !

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता पालनामा शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शून्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पारे ।

हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिब १ हजार १ सय उजुरी परेको उनकाे भनाइ छ ।

तीमध्ये धेरैको स्थानीयस्तरमै फर्छ्याैट भइसकेको उनले बताए । आयोगले २५-३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रीयस्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको उनले बताए ।

उनले भने, ‘यदि कसैले रकम लेनदेन गरेको वा निर्वाचन सामग्री र रकमको झोला एकै ठाउँमा बोकेर हिँडेको प्रमाण भेटिएमा र त्यो बरामद भएमा उम्मेदवारी खारेज मात्र होइन, अर्को ६ वर्षसम्म निर्वाचनमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइनेछ । एउटा राजनीतिक प्राणीलाई राजनीतिबाट ६ वर्ष वञ्चित गरिनु सबैभन्दा ठूलो सजाय हो ।’

निर्वाचन आयोग कुनै पनि दबाबमा नपरी कानुन बमोजिम कार्य सम्पादन गर्न दृढ रहेको उनकाे दाबी छ ।

बालेनलाई याेगेश भट्टराईकाे कडा टिप्पणी- ठेगाना बिनाका झिल्केबाट सचेत बनौँ

दमक । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले झापा- ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन् ।

आइतबार यसै क्षेत्र अन्तर्गतको दमक-१ मा आयोजित चुनावी कार्यक्रममा उनले विकस, राष्ट्रियता र राष्ट्रवादी अडानका कारण ओलीको विकल्पमा अरु नेता नभएको र आसन्न चुनावमा यस क्षेत्रमा समेत उनी नै निर्विकल्प रहेको बताए ।

आफू ताप्लेजुङकाे बासिन्दा भएको उल्लेख गर्दै त्यहाँको तुलनामा झापा-५ मा भएको विकासले पनि यहाँका मतदाताले ओलीलाई नै रोज्नेमा आफू ढुक्क रहेको बताए ।

चुनावको मुखमा कतिपय ठेगाना बिनाका झिल्केहरु उम्मेदवार भएको उल्लेख गर्दै त्यस्ताको इतिहास र भविष्य केही नहुने उल्लेख गरे ।

‘उनीहरु आफैँको त इतिहास छ न भविष्य छ, त्यस्ताबाट देश र जनताले के अपेक्षा गर्न सक्छन् र’, उनले भने ।

भट्टराईले अहिले देश र संविधानलाई संकटमा पार्न खोजिएको भन्दै एमाले देशको अभिभावक पार्टी भएकाले चुनाव पछि सबै सम्हाल्ने दाबीसमेत गरे ।

आफ्‌ना नेतासँग जिज्ञासा, गुनासा र प्रश्न राख्ने अधिकार जनतालाई रहेको उल्लेख गर्दै उनले साेही कारण पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रत्येक नागरिकको गुनासाको सम्बाेधन गरिरहेको बताए । जनताका प्रश्नहरुबाट भाग्नेले देश बनाउँछन् भनेर आशा राख्नु नै बेकार रहेको समेत उनकाे भनाइ छ ।

६८ हजार धनिपुर्जा सुकुम्बासीलाई बाँड्न थालेका थियाैँ, सरकार नै ढालिदियो (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनिपुर्जा वितरणको काम नेकपा एमाले नेतृत्वको सरकारले मात्रै प्रभावकारी रूपमा अघि बढाएको दाबी गरेका छन्।

उनले सरकार ढालिने क्रमले भूमि व्यवस्थापनसम्बन्धी काम पटक-पटक अवरुद्ध भएको बताए।

चुनाव क्षेत्र झापा-५ मा रहेका ओलीले भने, ‘हामीले ०५१ सालदेखि सुकुम्बासी आयोग बनाएर धनिपुर्जा वितरण गर्न थाल्यौँ। ६८ हजार धनिपुर्जा बाँड्न सुरु गरिसकेका थियौँ। देशभरी बाँड्ने अभियान चलाउँदै थियौं । त्यस्तोबेला सुकुम्बासी आयोग नै खारेज गरिदियो, सरकार नै ढालिदियो। त्यसपछि हामीले लामो समय केही गर्न सक्ने भएनौं ।’

ओलीले एमाले सरकारमा जाँदा हरेक पटक आयोग पुनःगठन गरेर काम अघि बढाइएको उल्लेख गरे। ‘जहिले सरकारमा गयौँ, फेरि आयोग बनायौँ र धनिपुर्जा बाँड्न थाल्यौं,’ उनले भने, ‘अस्ति पनि हामीले भूमि व्यवस्थापनसम्बन्धी आयोग बनाएर सबै प्रकारको भूमि समस्या समाधान गर्नेगरी काम थालेका थियौँ। धनिपुर्जा र व्यवस्थापन सुरु भएपछि सरकार ढालियो, उपद्रव मच्चाइयो देशमा।’

उनले आयोग विघटनविरुद्ध अदालत पुगेको र अहिले पुनःस्थापित भएको जानकारी दिए। ‘अहिले हामीले अदालत गएर आयोग फिर्ता ल्याएका छौँ। अब हामीसँग आयोग छ, आयोगले काम गर्छ,’ उनले भने, ‘चुनावपछि धनिपुर्जा वितरण आदि काम सुरु हुन्छ।’

आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको दाबी गर्दै उनले भने, ‘यो चुनावमा हामीले जित्छौँ भन्ने विश्वास लिएको छु। एमालेले जित्यो भने नै काम गर्न सक्ने हो, नत्र अरुले त जलाउने, भत्काउने हो। केही पनि हुनेवाला छैन।’

ओलीले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कानुनी स्वामित्व दिलाउने प्रतिबद्धता दोहोर्याउँदै भने, ‘एमालेले बनाउँछ, एमालेले जोगाउँछ, एमालेले अगाडि बढाउँछ कामहरू। सुकुम्बासीलाई र अव्यवस्थित बसोबासीलाई धनिपुर्जा दिन्छ।’

ओलीले चुनाव जितेर प्रधानमन्त्री भएपछि सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरुलाई धनिपुर्जा वितरण गरिने बताए ।

 

पत्रकारलाई छुट्टै पास नचाहिने, प्रेस काउन्सिलकै परिचयपत्रले काम चल्ने

काठमाडौं । निर्वाचनको दिन सञ्चारकर्मीहरूको आवागमनलाई सहज बनाउन निर्वाचन आयोगले छुट्टै पास वितरण नगर्ने निर्णय गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रेस काउन्सिल नेपालले जारी गरेको परिचयपत्रकै आधारमा पत्रकारहरूले देशभर आवागमन गर्न पाउने जानकारी दिए ।

उनले ०७९ सालको निर्वाचनमा प्रेस काउन्सिल र आयोगबीच केही तिक्तता भए पनि अहिले ०८२ सालमा राम्राे समन्वय रहेको बताए ।

साथै, मतदानस्थलको ३ सय मिटर वरिपरि कुनै पनि दलको प्रचार सामग्री भएमा त्यसलाई हटाउन र आचारसंहिता पालनामा सघाउन उनले पत्रकारहरूलाई आग्रह गरे ।

उनले भने ‘सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरूले निर्वाचनमा आवागमन गर्दा आयोगबाट छुट्टै पास लिनुपर्दैन । प्रेस काउन्सिलले जारी गरेको पास नै मान्य हुनेछ । ‘आवागमनमा कतै समस्या पर्‍याे भने आयोगमा तुरुन्त खबर गर्नुहोस्, हामी सहजीकरण गर्छौं ।’

पत्रकारहरु आफैँ आचारसंहिताको नमूना बनेर देखिनुपर्ने र त्यसले अरूलाई पनि अनुशासनको दायरामा ल्याउने उनकाे विश्वास छ ।

ओली जिताउन याेगेश भट्टराई झापा–५ मा, भने- ओली हार्दा देशले हार्छ (भिडियो)

दमक । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा एमाले र अध्यक्ष केपी शर्मा ओलीले हारे देशले नै हार भोग्नुपर्ने बताएका छन् ।

ओलीकाे चुनाव क्षेत्र झापा–५ काे कमल गाउँपालिकामा आइतबार आयोजित मोटरसाईकल र्‍यालीको उद्घाटनमा उनले आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई विजयी गराउन आग्रह गरे ।

अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको र एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेकाले एमाले र ओलीको जित जरुरी रहेको भट्टराईले बताए ।

झापाले नेपाली कम्युनिष्ट आन्दोनलाई पुनर्जीवन दिएको उल्लेख गर्दै उपमहासचिव भट्टराईले झापाले राष्ट्रवादी शक्तिलाई निर्वाचित गराई देशव्यापी सन्देश दिनेमा आफू ढुक्क रहेको बताए ।

झापा क्षेत्र- ५ अन्तर्गतको कमल गाउँपालिका वडा नं. ७ को गेउरीयामा आयोजित सभामा उनले यस क्षेत्रमा भएको विकासको मोडल देशकै लागि नमूना रहेको समेत दाबी गरे ।

उपमहासचिव भट्टराई पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई जिताउने चुनावी अभियानका क्रममा यस क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

 

मतदानको दिन अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने, पत्रकारलाई पनि सहज

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानका दिन अत्यावश्यक सेवा र विशेष परिस्थितिमा रहेका मतदाताहरूका लागि सवारी पास आवश्यक नपर्ने गरी विशेष व्यवस्था गरेको छ ।

आयोगको शनिबार बसेकाे बैठकले मतदानको दिन सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइए पनि निश्चित क्षेत्र र व्यक्तिहरूका लागि सवारी आवागमनमा सहजता प्रदान गर्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार मतदानको दिन अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सुचारु रहने सन्दर्भमा विमानस्थलसम्म पुग्नुपर्ने यात्रुहरूको सुविधा र निर्वाचन परिचालनमा खटिने सवारी साधनको संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो ।

आयोगले गरेको सिफारिसअनुसार दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीका ट्याङ्कर, दुध, फलफूल, तरकारी, माछा-मासु र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरूलाई सवारी पास बिना नै सञ्चालन हुन दिइनेछ ।

त्यसैगरी दूरसञ्चार, खानेपानी, विद्युत, ढल मर्मत र अस्पताल सेवाका सवारी साधनहरूका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पताल आउजाउ गर्न प्रयोग गर्ने सवारी साधनलाई पनि पासको अनिवार्यता गरिएको छैन ।

मतदान प्रक्रियालाई समावेशी र पहुँचयोग्य बनाउन आयोगले हिँड्डुल गर्न नसक्ने, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र साथमा बच्चा बोकेका महिलाहरूका लागि विशेष सहुलियत दिएको छ ।

यस्ता मतदाता र उनीहरूको सहयोगका लागि खटिने एक जना सहयोगी बोकेको सवारी साधनलाई मतदान केन्द्रसम्म पुग्न र फर्कन सवारी पास नचाहिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

यसका साथै क्रियापुत्री बोकेका सवारी साधन र नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधनहरूलाई पनि बिना पास सञ्चालनको अनुमति दिइएको छ ।

सञ्चार क्षेत्र र अनुगमनका लागि खटिने निकायहरूका हकमा पनि आयोगले खुकुलो नीति लिएको छ ।

आयोगबाट जारी भएको पर्यवेक्षक परिचयपत्र वाहकहरूले तोकिएको स्थानमा प्रयोग गर्ने सवारी साधन, राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोली र वैधानिक प्रेस पास भएका सञ्चारकर्मीहरूका सवारी साधनलाई पनि पास आवश्यक नपर्ने गरी सरकारलाई सिफारिस गरिएको छ ।

सञ्चारकर्मीहरूको हकमा समाचार सङ्कलनको प्रयोजनका लागि वैधानिक परिचयपत्रका आधारमा यात्रा गर्न सहजीकरण गरिने आयोगको भनाइ छ ।

आयोगले सवारी साधन सञ्चालनमा लगाइएको यो रोक फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि मात्र लागू हुने स्पष्ट पारेको छ ।

प्रवक्ता भट्टराईले अत्यावश्यक आवश्यकताका लागि उपलब्ध गराइएको यो प्रावधानको दुरुपयोग नगर्न विशेष अनुरोध गर्दै सम्बन्धित व्यक्तिले मात्रै यस्तो सुविधा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै अत्यावश्यक बाहेकका अन्य प्रयोजनका लागि सवारी पास चाहिने व्यक्ति वा संस्थाहरूले नियमानुसारको प्रक्रिया पूरा गरी पास लिनुपर्ने बताए ।

यस्तै, काठमाडौं उपत्यकाको हकमा सवारी पास वितरणका लागि आयोग परिसरमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र आयोगका प्रतिनिधिहरू सम्मिलित एउटा छुट्टै डेस्क खडा गरी सेवा प्रवाह भइरहेको छ ।

उपत्यका बाहिरका जिल्लाहरूको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट कानुन बमोजिमका कागजात पेश गरी पास लिन सकिने व्यवस्था मिलाइएको उनले बताए ।

आयोगले मतदानको दिन सहजताका लागि गरिएको यो व्यवस्थाबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अत्यावश्यक सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरेको छ ।

 

खामेनीको मृत्युपछि इरानको नेतृत्व सम्हाल्न अन्तरिम नेतृत्व परिषद गठन हुँदै

तेहरान। इरानमा अयातुल्ला अली खामेनीको हत्या भएपछि देशले नयाँ सर्वोच्च नेता चयन नहुँदासम्म नेतृत्व सम्हाल्न अस्थायी परिषद् गठन गर्ने भएको छ। राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले आजै अन्तरिम नेतृत्व परिषद् गठन गरिने घोषणा गरेका छन्। यो निर्णय इरानी संविधानको धारा १११ अनुसार गरिएको हो, जसले सर्वोच्च नेताको मृत्यु वा अयोग्यतापछि अस्थायी संयन्त्रमार्फत राज्य सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ।

इरानी सञ्चारमाध्यमका अनुसार अस्थायी परिषद्मा राष्ट्रपति मसूद पेज़ेशकियान, सर्वोच्च अदालतका प्रधानन्यायाधीश गुलाम–होसेन मोहसेनी–एजी र गार्जियन काउन्सिलबाट एक जना धर्मगुरु सदस्य रहनेछन्। यो परिषद्ले नयाँ सर्वोच्च नेता चयन नभएसम्म कार्यकारी जिम्मेवारी सम्हाल्नेछ। नयाँ सर्वोच्च नेता चयन गर्ने अन्तिम अधिकार भने ‘एसेम्बली अफ एक्सपर्ट्स’ अर्थात् विज्ञहरूको सभासँग हुनेछ।

खामेनीको हत्या अमेरिकी–इजरायली हवाई आक्रमणका क्रममा भएको इरानले पुष्टि गरिसकेको छ। सरकारी समाचार एजेन्सी आईआरएनएले रक्षा मन्त्री अजिज नासिरजादेह र सेना प्रमुख अब्दुल रहिम मौसावी पनि मारिएको जनाएको छ। साथै, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी) का प्रमुख मोहम्मद पाकपुर, सुरक्षा सल्लाहकार अली शामखानी लगायत अन्य उच्च सैन्य अधिकारीहरूको पनि मृत्यु भएको बताइएको छ।

यो घटनाले इरानको राजनीतिक तथा सैन्य संरचनामा ठूलो रिक्तता सिर्जना गरेको छ। राजधानी तेहरानसहित देशका संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ। सैन्य र सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ भने सीमावर्ती क्षेत्र र रणनीतिक प्रतिष्ठानहरू कडा निगरानीमा राखिएका छन्।

विश्लेषकहरूका अनुसार इरानको आगामी राजनीतिक भविष्य नयाँ सर्वोच्च नेता चयन प्रक्रियामा निर्भर हुनेछ। सन् १९७९ को इस्लामिक क्रान्तिपछि यति ठूलो स्तरको आकस्मिक सत्ता संक्रमण पहिलो पटक भएको मानिएको छ। खामेनीको दीर्घ कार्यकालले राज्य संरचनामा स्थिरता दिएको थियो, तर अब शक्ति सन्तुलन कसरी कायम राखिन्छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।

अहिले सबैको ध्यान विज्ञहरूको सभाको बैठक र नयाँ सर्वोच्च नेताको चयन प्रक्रियामा केन्द्रित छ। अन्तरिम नेतृत्व परिषद्ले प्रशासनिक र सुरक्षा जिम्मेवारी सम्हाल्दै देशलाई संवैधानिक निरन्तरता दिने प्रयास गर्नेछ। इरान अहिले शोक र राजनीतिक संक्रमणको संवेदनशील चरणमा प्रवेश गरेको छ।

११० अर्ब निक्षेप खिच्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ११० अर्ब निक्षेप खिच्दैछ ।

अधिक तरलता कायमै रहेपछि ८७ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।

अहिले कुल निक्षेप ७७ खर्बभन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८३ जेठ १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।

यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।

देशवासीलाई ओलीकाे प्रश्‍न- देश बनाउने कि भत्काउने, कित्ताकाट गर्नुहाेस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको प्रश्नमा अब स्पष्ट निर्णय गर्ने बेला आएको बताएका छन्। उनले नागरिकहरूलाई भावनामा होइन, ‘ठण्डा दिमागल देशको भविष्यबारे निर्णय गर्न आह्वान गरेका छन्।

ओलीले देश बचाउने कि नबचाउने भन्ने प्रश्न अब टार्न नसकिने अवस्थामा पुगेको उल्लेख गरे।

‘आज तपाईंले ठण्डा दिमाकले एउटा प्रश्नको जवाफ दिनुपर्नेछ-यो देश हामीले बचाउने कि नबचाउने ? यो सोध्न मिल्ने प्रश्न होइन, तर सोध्नैपर्ने भएको छ,’ उनले भने।

उनले अब निर्माण र ध्वंसबीचको बाटो रोज्नुपर्ने समय आएको बताए। ‘आज तपाईंले एउटा बाटो रोज्नुपर्नेछ- बनाउने कि भत्काउने? निर्माण कि ध्वंसको?’ ओलीले प्रश्न गरे।

आफ्नो विरुद्ध भ्रम फैलाइएको दाबी गर्दै उनले आफूमा कमजोरी हुनसक्ने स्वीकार गरे पनि राष्ट्रियताको सवालमा कहिल्यै सम्झौता नगरेको स्पष्ट पारे। ‘तपाईंका मप्रति गुनासा छन्, प्रश्न पनि छन्, मेरा कमी–कमजोरी पनि होलान्। तर यस देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताको सवालमा मैले कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि,’ उनले भने।

ओलीले अब स्पष्ट कित्ताकाट गर्ने समय आएको उल्लेख गर्दै नागरिकलाई आफ्नो धार प्रष्ट पार्न आग्रह गरे। ‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा? यतिबेला तपाईं कुन कित्तामा हो प्रष्ट पार्नुभएन र त्यसका लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैंले आफैंलाई कहिल्यै माफ गर्नु हुने छैन,’ उनले चेतावनी दिए।

पाकिस्तानी हमलामा तीन अफगानीकाे मृत्यु, पाइलटविहीन पाकिस्तानी ड्राेन दुर्घटना

काठमाडौं । दक्षिणी अफगानिस्तानको कन्धार प्रान्तमा शनिबार पाकिस्तानी सेनाले हमला गर्दा तीन अफगानीको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

अफगानिस्तान सरकारका उपप्रवक्ता हम्दुल्लाह फित्रतले यो जानकारी दिएका हुन् । फित्रतले सामाजिक सञ्जाल एक्समा प्रकाशित वक्तव्यमा भनेका छन् कि पाकिस्तानी सेनाले शनिबार बिहान स्थानीय समयअनुसार ८ः३० बजे कन्धारमा फर्किएका व्यक्तिहरूको अस्थायी शिविरमा हवाई हमला तथा बमबारी गरेको थियो ।

यसैबीच सम्बन्धित घटनामा एक अफगान अधिकारीले पाकिस्तानबाट पठाइएको ड्रोन (पाइलटविहीन विमान) ले अफगानिस्तानको पूर्वी खोस्त प्रान्तमा आक्रमण गर्न खोज्दा शनिबार दुर्घटना भएको दाबी गरेका छन् ।

दुई छिमेकी देशहरूबीच सीमा क्षेत्रमा मिलिटेन्ट हिंसाको वृद्धिसँगै पछिल्ला दिनहरूमा तनाव बढेको छ । पाकिस्तानले अफगानिस्तानमा टीटीपी (तेहरीक–ए–तालिबान पाकिस्तान) जस्ता मिलिटेन्ट समूहहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ ।

अफगानिस्तानले पाकिस्तानी हमलाहरूले नागरिकहरूलाई लक्षित गरेको बताउँदै आएको छ । यो घटनाले दुवै देशबीच जारी सीमा तनावलाई थप जटिल बनाएको छ ।

 

धिमाल संग्रहालयको बजेट सरकारले कटौती गरेपछि ओली भने- म फेरि छुट्याउँछु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर-५ मा चुनावी घरदैलोका क्रममा धिमाल सांस्कृतिक संग्रहालयको अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग कुरा गर्दै ओलीले संग्रहालयको विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

ओलीले आफू सरकारमा हुँदा संग्रहालयका लागि विनियोजन गरेको बजेट वर्तमान सरकारले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘म फेरि सरकार बनाएर आएपछि म यसलाई जुटाउनेछु । यस क्षेत्रको विकास गरिनेछ र यो संग्रहालयको विकास गरिनेछ । यो पार्टी भनेको विनाश गर्ने पार्टी होइन देश बनाउने पार्टी हो । त्यसकारण सबैको सल्लाह र सुझाव आवश्यक छ ।’

अध्यक्ष ओलीले एमाले विकासप्रेमी पार्टी भएको दाबी गर्दै देश निर्माणका लागि सबै पक्षको रचनात्मक सल्लाह र सुझावको खाँचो रहेको औंल्याए ।

उनले धिमाल जातिको मौलिक संस्कृति संरक्षणमा संग्रहालयले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउँदै यसको स्तरोन्नतिका लागि आफू सधैं तत्पर रहने बताए ।

 

५ रनले विजयी पाकिस्तान सपुर–८ बाटै बाहिरिँदा न्यूजिल्यान्ड सेमिफाइनलमा

काठमाडौं । पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको जित हासिल नभएपछि पाकिस्तान सुपर आठबाटै घर फर्किएको हो ।

पाकिस्तान बाहिरिएसँगै सुपर ८ को समूह २ बाट न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो समूहबाट इंग्ल्यान्ड ३ जितसहित यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । न्युजिल्याण्डले पाकिस्तानलाई रनरेटमा पछि पार्दै सेमिफाइनलमा पुगेको हो ।

पाकिस्तान सेमिफाइनलमा पुग्नका लागि श्रीलंकालाई १४७ रनभन्दा कम योगफलमा रोक्नु पर्ने थियो । तर श्रीलंकाले उत्कृष्ट ब्याटिङ गरेपछि पाकिस्तान बाहिरिएको हो । यदपी श्रीलंकामाथि पाकिस्तानले ५ रनको जित निकालेको छ ।

पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याएको श्रीलंका २०७ रनमा समेटियो । निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै श्रीलंकाले उक्त स्कोर बनाएको हो ।

श्रीलंका लागि कप्तान दासुन शनाकाले शानदार ब्याटिङ गर्दै ३१ बलमा ७६ रन बनाए । यस्तै पवन रथनायकेले ५८, कामिल मिश्राले २६ र चारिथ असलंकाले २५ रनको योगदान दिए ।

पाकिस्तानका अबरार अहमदले शानदार बलिङ गर्दै तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्रै २३ रन खर्चिए । यस्तै नसीम शाह, शाहीन अफ्रिदी, मोहम्मद नवाजले एक एक विकेट लिए ।

त्यसअघि पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। पाकिस्तानका लागि ओपनर साहिबजादा फरहान र फखर जमानले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई विशाल स्कोर तर्फ अघि बढाएका थिए ।

फरहानले ६० बलमा शतक प्रहार गरे । जसक्रममा उनले ९ चौका र ५ छक्का प्रहार गरे । ४२ बलको सामना गरेका जमानले ९ चौका र ४ छक्कासहित ८५ रन बनाए । पाकिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि दिलशान मदुशंकाले तीन, दासुन शनाकाले दुई र दुष्मन्थ चमेराले एक विकेट लिए ।

इरानी रक्षामन्त्री र रिभल्युसनरी गार्डका कमान्डर मारिएको इजरायलको दाबी

अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलामा परी इरानका रक्षामन्त्री आमिर नशिरजादे मारिएको इजरायली अधिकारीले दाबी गरेका छन् ।

इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै जेरुसलेम पोस्टले जनाएअनुसार आक्रमणमा परी र सैन्य संगठन इस्लामिक रिभल्युसनरी गार्ड कोर आईआरजीसीका कमाण्डर मोहम्मद पाकपोर पनि मारिएका छन् ।

आक्रमणपछि सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अवस्था भने अज्ञात रहेको जनाइएको छ । इरानी सुरक्षाकर्मीले खामेनी, राष्ट्रपति मसुद पेजेस्कियानको कार्यालय र संसद् भवन जाने बाटो बन्द गरेका छन् ।

इजरायल र अमेरिकाले गरेको संयुक्त आक्रमणमा राजधानी तेहरानसहित कोम, इस्फहान, केर्मान्शा कराजजस्ता शहरलाई निशाना बनाइएको थियो ।

रक्षामन्त्री र गार्डका कमान्डर मारिएको विषयमा इरानले थप प्रष्ट पारेको छैन । तर, केही कमान्डरहरु गुमाएको जनाएको छ । ती कमान्डरहरु को–को हुन् ? खुलाएको छैन ।

इजरायलको सैन्य आक्रमणको निशानामा इरानको एक गर्ल्स होस्टेल, ५३ को मृत्यु

काठमाडौं । अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणको निशाना इरानको एक गल्र्स होस्टेल हुँदा त्यहाँ मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

इरानको सरकारी इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) ले कन्या विद्यालय (गर्ल्स स्कुल) मा शनिबार गरिएको हवाई हमलामा मृत्यु भएकाको संख्या ५३ पुगेको जनाएको छ।

एजेन्सीले देशको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।

यसअघि एजेन्सीले इरानको दक्षिणी होर्मोज्गान प्रान्तको मिनाब काउन्टीमा रहेको गर्ल्स प्राथमिक विद्यालयमा आक्रमण भएको रिपोर्ट गरेको थियो।

शिक्षा मन्त्रालयका प्रवक्ताले एजेन्सीलाई शनिबार विद्यालयमा ‘तीनवटा क्षेप्यास्त्र प्रहार’ भएको बताए। उनले आक्रमणमा ६३ जना घाइते पनि भएको बताएका छन्।

उनका अनुसार सम्भावित पीडितहरूको खोजी गर्न विद्यालयबाट भग्नावशेष हटाइँदै छ।

इजरायलले अमेरिकासँग मिलेर शनिबार बिहान राजधानी तेहरानसहित इरानका १० सहरमा भीषण हवाई आक्रमण गरेको हो।

यसैबिच इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी सुरक्षित रहेको बताएका छन्।

एनबीसी न्युजसँग उनले भनेका छन्, ‘मलाई थाहा भएसम्म इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी जीवित छन्।’

उनले इजरायल-अमेरिकाको आक्रमणमा इरानले ‘सायद एक वा दुई कमान्डर भने गुमाएको’ बताएका छन्।

इरानको सरकारी सञ्चारमाध्यमले भने अहिलेसम्म इरानका वरिष्ठ राजनीतिक अधिकारी र सेना प्रमुख मारिएको खबरलाई खारेज गरेको छ।

तर रोयटर्सले यसैबिच स्रोतलाई उद्धृत गर्दै आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादेह र रिभोलुसनरी गार्ड्स (आईआरजीसी) का कमान्डर मोहम्मद पाकपुर मारिएको दाबी गरेको छ।

 

मध्यपूर्वमा तनाव चुलिँदा नेपालीहरुकाे सुरक्षालाई लिएर एमाले अध्यक्ष ओली चिन्तित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्व क्षेत्रमा चुलिँदै गएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले युएई, इजरायल, इरान लगायतका मध्यपूर्वी देशहरूमा कार्यरत तथा बसोबास गरिरहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र उच्च सतर्कता अपनाउन समेत आह्वान गरे ।

उनले भने, ‘मध्यपूर्वमा पछिल्लोपटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ। युएई, इजरायल, इरानलगायतका देशहरूमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरू सुरक्षित र सजग रहनुहोस्।’

ओलीले मध्यपूर्वका विभिन्न देशहरुमा रहेका नेपाली दूतावासहरू तथा नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गरेका छन्।

विदेशमा रहेका नेपालीहरूको अवस्था, सम्भावित जोखिम तथा आपतकालीन व्यवस्थापनका विषयमा चासो राख्दै उनले कूटनीतिक संयन्त्र सक्रिय बनाउन आग्रह गरेका हुन्।

इरानमा आज बिहान अमेरका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले इजरायलसहित अमेरिकाका सहयाेगी खाडी देशहरु कतार, युएई, बहराइनसँगै साउदी अरबका विभिन्न ठाउँमा आक्रमण थालेकाे छ ।

ती देशहरुमा नेपाली नागरिकहरु वैदेशिक राेजगारीमा धेरै गएका छन् । उनीहरुकाे रक्षार्थ सरकार र ती देशहरुमा रहेका नेपाली दूतावासहरुलाई नेपालीहरुकाे सुरक्षामा सक्रिय रहन आग्रह गरेका हुन् ।

इजरायली आक्रमणमा मारिने इरानी विद्यार्थीकाे सङ्‍ख्या ४० पुग्याे, निशानामा सर्वाेच्च नेता खामनेई

काठमाडौं । इजरायलले इरानको होर्मोजगान प्रान्तको विद्यालयमा आक्रमण गर्दा मारिने विद्यार्थीको संख्या ४० पुगेको छ । आज बिहान इजरायलले दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा आक्रमण गरेकाे थियाे ।

इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको हाे । थुप्रै विद्यार्थी घाइते भएकाे र मारिनेकाे सङ्ख्या बढ्न सक्ने जनाइएकाे छ ।

इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् ।

तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ ।

ओलीले इन्द्र तामाङलाई बालेनबारे मन्तव्य दिन जब लगाए…(भिडियाे)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले विगतमा काठमाडौंकाे सुकुम्बासी बस्तिमा डाेजर चलाउन प्रयास गरेकाे विषयमा पटकपटक स्पष्टीकरण दिनुपरिरहेकाे छ ।

खासगरी चुनाव क्षेत्र झापा-५ काे सुकुम्बासी बस्तिमा उनले स्पष्टीकरण दिने गरेका छन् । उनले सुकुम्बासीहरुलाई उठिबास हाेइन, व्यवस्थापन गर्ने बताउने गरेका छन् ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका सुकुम्बासीलाई उठिबास लगाउन खाेज्ने नेता बालेन भएकाे र उनलाई मत नदिई आफूलाई दिन मतदातासँग आग्रह गर्दै आएका छन् ।

सुकुम्वासीप्रति बालेन विगतमा असहिष्णु बनेकाे भन्दै ओलीले उनलाई पराजय गर्नुपर्नेमा जाेड दिँदै आएका छन् ।

यहीबीच शनिबार भने ओलीले सुकुम्बासी नेता इन्द्र तामाङलाई विगतमा बालेनले काठमाडौंका सुकुम्बासीहरुमाथि कस्ताे व्यवहार गरे ? त्यसबारे बाेल्न लगाए ।

‘उहाँ काठमाडौंमा सुकुम्बासी टाेलकाे मान्छे, सुकुम्बासीकाे नेता इन्द्र तामाङ । उहाँहरुले के भाेग्नुभयाे ? कस्ताे भाेग्नभयाे ? मैले भन्नु भन्दा पनि सुकुम्बासीका समस्या कसले समाधान गर्छ ? कसले चाहिँ सुकुम्बासीलाई डाेजर लगाएर लखेट्छ ? उहाँहरुले भाेग्नभएकाे छ,’ उनले तामाङलाई भने, ‘एउटा सानाे मन्तव्य राख्दिनुहाेस् न ।’

ओलीकाे आग्रहपछि तामाङले बालेनले काठमाडौंका प्रमुख हुँदा उपत्यकाकाे ६२ वटा सुकुम्बासी बस्तिमा डाेजर चलाएकाे भन्दै कडा शब्दमा आलाेचना मात्रै गरेनन्, उनले झापा-५ काे सुकुम्बासीहरुसमक्ष बालेनलाई मत नदिन आग्रह गरे । गरिबकाे चमेली गीत गाउँदै सुकुम्बासी र गरिबकाे मत लिएर विजयी भएपछि उनीहरुलाई निशाना बनाएकाे आराेप लगाए ।

उनले भने, ‘गरिबकाे चमेली काेही छैन बाेल्दिने भनेर एउटा साथी लाैराे बाेकेर गरिबकाे बस्तिमा जानुभयाे, भाेट माग्नुभयाे । गरिबहरुले हाे त क्यारे भनेर भाेट दिनुभयाे । तर, उहाँकाे पहिलाे निशाना थापाथलीकाे बस्ती, व‌शीघाटकाे बस्ती, बल्खुकाे बस्ती, शान्तिनगरकाे बस्ती, काठमाडौं उपत्यकाकाे ६२ वटा बस्ती छ । ती बस्तीहरुमा उहाँले डाेजर लगाउने काम गरेकाे छ । हाे त्यही राेग आज झापाकाे यही क्षेत्रमा आएकाे छ । तपाईहरुले चिन्नुहाेला, सचेत हुनुहाेला ।’

उनले ओलीले चुनाव जिते सुकुम्बासीहरुकाे पक्षमा कानुन बनाउने पनि दाबी गरे ।

 

 

टी-२० विश्वकप: सेमिफाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्दै पाकिस्तान

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्‍वकप २०२६ को सुपर-८ अन्तर्गत समूह-२ मा आज पाकिस्तान र श्रीलंकाबीच ५०औं खेल हुँदैछ।

खेल श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, क्यान्डीमा स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ।

पाकिस्तानका लागि यो खेल सेमिफाइनल पुग्ने अन्तिम अवसर हो। सुपर-८ चरणमा एउटा खेल वर्षाले प्रभावित भएकाे र अर्काे खेलमा इङ्गल्यान्डसँग हारपछि पाकिस्तानको नेट रन रेट नकारात्मक भएको छ।

न्यूजिल्यान्डको नेट रन रेटको तुलनामा पाकिस्तानले सेमिफाइनल पुग्न श्रीलंकालाई ठूलो अन्तरले हराउनु अनिवार्य छ।

पाकिस्तानको ब्याटिङमा साहिबजादा फरहानले यस टुर्नामेन्टमा राम्रो प्रदर्शन गरेका छन् तर बाँकी ब्याट्सम्यानहरूको प्रदर्शन निरन्तर कमजोर रहेको छ। आज बाबर आजम, सैम अयुब र कप्तान सल्मान अघाले असाधारण खेल देखाउन आवश्यक छ।

श्रीलंकाका लागि भने यो खेल सम्मानको लागि मात्र हो। उनीहरू प्रतिस्पर्धाबाट पहिले नै बाहिरिसकेका छन् र आफ्नो घरेलु दर्शकहरूको अगाडि राम्रो प्रदर्शन गर्न चाहन्छन्।

पल्लेकेलेको पिच सामान्यतया ब्याटिङमैत्री मानिन्छ, जहाँ उच्च स्कोर सम्भव हुन्छ। यो पाकिस्तानका लागि सकारात्मक संकेत हो किनकि उनीहरूलाई ठूलो रन बनाउनु छ।

इङ्गल्यान्डले समूहमा शीर्ष स्थान पहिले नै सुनिश्चित गरिसकेको छ। पाकिस्तानले आज जित्न र नेट रन रेट सुधार्न सकेमात्र सेमिफाइनलको ढोका खुल्ने सम्भावना छ।

खेल नेपाली समय अनुसार साँझ ७:१५मा सुरू हुने छ ।

नेपाल सरकारले भन्याे- इजरायल र इरानकाे यात्रा नगर्नुहाेस्

काठमाडौं । नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न  नेपाल सरकारले आह्वान गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिएको हो ।

एडभाइजरीमा छ, ‘इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ ।’

सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको भन्दै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोध गरेको छ ।

‘इजरायल र इरानद्वारा जारी गरिएका सुरक्षा परामर्श तथा निर्देशनहरू कडाइका साथ पालना गर्नुहोस्,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस्, र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् ।’

मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमतिबिना यात्रा नगर्न पनि भनेको छ ।

हतियार हाेइन, मतपत्रकाे तागत बाेकेर सिंहदरबार प्रवेश गर्ने प्रचण्डकाे घाेषणा (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथि गम्भीर चुनौती थपिएको बताएका छन् ।

रोल्पामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूका विरुद्ध नयाँ एकता र शक्तिका साथ प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए । प्रचण्डले रोल्पालाई नेपाली जनवादी क्रान्तिको किल्ला र ‘क्रान्तिको राजधानी’ को रूपमा चित्रण गरे।

उनले भने, ‘रोल्पामा उभिएर सम्बोधन गर्दा मैले देशभरिका ७७ वटै जिल्लाका जनतालाई सम्बोधन गरेको महशुस गरेको छु । यहाँका सहिद, बेपत्ता योद्धा र क्रान्तिकारी जनताको त्यागले नै १० वर्षे जनयुद्ध सफल भएको हो ।’

आफू पहिलो पटक रोल्पाबाटै निर्वाचित भएर प्रधानमन्त्री बनेको स्मरण गर्दै उनले रोल्पाका जनताप्रति आफू सधैं ऋणी रहेको बताए ।

‘रोल्पाका जनताले इतिहास बनाउनुभयो र तपाईहरुकै काखमा बसेर नै हामीले नेपालको जनवादी क्रान्तिलाई आधारभुत रूपले सफल पार्न सम्भव भयो ’, उनले भने ।

वर्तमान राजनीतिक परिस्थितिलाई ‘असहज’ र ‘जटिल’ भन्दै प्रचण्डले राष्ट्र निकै ठूलो अप्ठ्यारोमा परेको उल्लेख  गरे । जेन-जी युवाहरूको आन्दोलन र त्यसपछि भएका घटनाक्रमले निर्वाचनको वातावरण असहज बनाएको उनकाे तर्क छ ।
‘नेपाली जनताले आफ्नो बारेमा निर्णय गर्ने अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरेका छन्’, उनले भने, ‘आज संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको छ । महान सहिदहरुले अकल्पनीय त्याग र बलिदानबाट स्थापित गरेका मूल्य मान्यतामाथि प्रहार हुने दुःशाहस भएको छ ।’

यसपटक रुकुम पूर्वबाट प्रत्यक्ष निर्वाचन लड्नुको पछाडि राष्ट्र बचाउने नयाँ अभियानको उद्देश्य रहेको उनले प्रष्ट पारे ।

उनले भने, ‘म रुकुममा मात्र उम्मेदवार भएको होइन, यो रोल्पा, सल्यान र जाजरकोटसहितको केन्द्रिय आधार इलाकाको प्रतिनिधित्व हो । यहाँबाट शुरु हुने अभियानले देशभरि सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको नयाँ सन्देश दिनेछ ।’

उनले विगतमा निरंकुश राजतन्त्रका विरुद्ध युद्धको उद्घोष गर्दा पनि रोल्पा–रुकुमबाटै सुरु गरिएको स्मरण गर्दै आजको संकट समाधान गर्न पनि यही आधार इलाकाको साथ आवश्यक रहेको बताए ।

 

काठमाडौंबाट अबुधाबी उडेकाे बिमान इरानकाे मिसाइल हमलापछि फर्कियाे ओमान

काठमाडौं । काठमाडौंबाट यूएईको राजधानी अबुधाबी उडेको एयर अरेबियाकाे विमान यूएईको आकाशमाथि पुगेर ओमन फर्किएको छ ।

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा मिसाइल हमाल थालेसँगै खाडी देशहरुको उडान अस्तव्यस्त भएको छ ।

अबुधाबीका लागि काठमाडौंबाट उडान भरेको एयर अरेबियाको एडीवाई०४४र३एल४४ कलसाइन भएको एअरबस ए३२० विमान ओमन फर्केको हो ।

अमेरिका र इजरायल मिलेर इरानमाथि हमला गरेसँगै मध्यपूर्वमा तनाव चुलिरहेको अवस्थामा इरानले पनि जवाफी हमला गरिरहेको छ ।

यससँगै खाडी देशले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।

अमेरिकाकाे साझेदार बहराइन, कुवेत, यूएई र कतारमा इरानले गर्‍याे मिसाइल प्रहार

काठमाडौं । इरानले खाडी देशहरु बहराइन, कुवेत, यूएई र कतारमा मिसाइल प्रहार गरेको छ । बहराइनमा विस्फोट भइरहेको रिपोर्टहरू प्राप्त भएका छन् ।

रोयटर्स समाचार एजेन्सीका अनुसार बहराइनको जुफैर क्षेत्रबाट धुवाँ निस्किएको देखिएको छ । यहाँ अमेरिकी नौसेनाको आधार शिविर रहेको छ।

यसअघि, बहराइनको गृह मन्त्रालयले आपत्कालीन चेतावनी जारी गर्दै नागरिकहरूलाई नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

बहराइनले त्यहाँस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लिटको मुख्यालयलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको पुष्टि गरेको छ ।

अल जजीराले कुवेतमा पनि विष्फोटको आवाज सुनिएको जनाएको छ ।

कतारले मोबाइल उपकरणहरूमार्फत् चेतावनी जारी गर्दै सबै नागरिकहरूलाई घरमा वा अन्यत्र जहाँ भए पनि सुरक्षित रहन र सैन्य आधार शिविरहरू बाट टाढा रहन र घरभित्रै बस्न आग्रह गरेको छ।

कतारमा अमेरिकाको अल उदेद एयर बेस रहेको छ । कतारको हवाइ क्षेत्रमा प्रवेश गरेको इरानी मिसाइललाई रोकिएको छ । कतारको रक्षा मन्त्रालयका अनुसार प्याट्रियट रक्षा प्रणालीले एक इरानी मिसाइललाई इन्टरसेप्ट गरेको छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा ठूलो विष्फोट भएको खबर प्राप्त भएको छ ।

क्षेत्रीय तनाव चुलिएका बेला कतार, कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।

ओलीसँग तस्बिर खिचाउँदा बालबालिका प्रफुल्ल, बालबालिकाप्रति ओली पनि आत्मीए (फाेटाे फिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति बालबालिकाको अगाध श्रद्धा र आत्मीयता देखिएको छ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा-५ मा चुनावी अभियानमा व्यस्त रहेका ओली जहाँ-जहाँ पुग्छन्, बालबालिकाहरू हातमा फूल बोकेर ओलीलाई स्वागत गर्न लाइनमा बसेका देखिन्छन्।

कतिपय बालबालिका उनीसँग नजिकै बसेर फोटो खिचाउन आतुर देखिन्छन् भने केहीले काखमा बस्ने अवसरसमेत पाएका छन्।

तस्बिर खिचाउँदा उनीहरूको अनुहारमा देखिएको मुस्कान र उत्साह देखिन्छ ।

ओलीले पनि बालबालिकासँग आत्मीय व्यवहार गर्दै उनीहरूको नाम सोध्ने, पढाइबारे जिज्ञासा राख्ने र भविष्यमा राम्रो नागरिक बन्न प्रेरणा दिने गरेका छन् ।

हेर्नुहाेस् १६ तस्बिर

अरुले त जलाउने भत्काउने हो, एमाले त बनाउँछ, जाेगाउँछ : ओली (भिडियाे)

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

झापा–५ का उम्मेदवारसमेत रहेका उनले एमालेले जिते मात्रै विकास र स्थायित्व सम्भव हुने बताए ।

निर्वाचन प्रचारका क्रममा बोल्दै उनले आफ्नो पार्टीप्रति जनताको विश्वास बढेको उल्लेख गरे। ‘यो चुनावमा हामीले जित्छौँ नै भन्ने मैले विश्वास लिएको छु। एमालेले जित्छ, एमालेले जित्यो भने काम गर्न सक्ने हो,’ उनले भने।

अन्य दलप्रति लक्षित गर्दै उनले एमालेबाहेकका शक्तिले विकासभन्दा अव्यवस्था निम्त्याउने आरोप लगाए। ‘अरुले त जलाउने भत्काउने हो, काम केही पनि हुनेवाला छैन,’ उनले दाबी गरे।

ओलीले एमाले सरकारमा आए निर्माण, संरक्षण र विकासका काम तीव्र रूपमा अघि बढाइने स्पष्ट पारे। ‘एमालेले बनाउँछ, जोगाउँछ। एमालेले अगाडि बढाउँछ कामहरू,’ उनले भने।

उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै धनीपुर्जा वितरण तथा व्यवस्थित बसोबासको कार्यक्रम अघि बढाइने बताए।

अध्यक्ष ओलीले मतदातालाई विकास, स्थायित्व र सुशासनका लागि एमालेका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन्।

एमाले उम्मेदवार सूर्यबहादुर थापालाई कैलाली-२ मा सघाउँदै प्रगतिशील पार्टी

काठमाडौं । नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापालाई कैलाली क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार रहेका डम्बरबहादुर रावलले समर्थन गरेका छन् ।

उनी एमाले उम्मेदवार थापालाई जिताउन अभियानमा खटिने भएका छन् । शनिबार दुई पार्टीबीच समर्थनका लागि सहमति गरेपछि प्रलोपा उम्मेदवार रावलले आफू निष्क्रिय भएको घोषणा गरे ।

जेन-जी विद्रोहपछि सल्बलाएका शक्तिहरूले देशको अस्मितामाथि नै खतरा उत्पन्न गर्ने भएकाले संविधान र देशको रक्षा गर्न प्रत्यक्षमा एमालेलाई साथ दिने र समानुपातिकतर्फ आ-आफ्नो चुनाव चिन्हलाई मत माग्ने सहमति पत्रमा उल्लेख छ।

इरानमा अमेरिका-इजरायलकाे संयुक्त सैन्य आक्रमण, इरानी सर्वाेच्च नेता खामेइनी सुरक्षित स्थानमा

तेहरान- इजरायल र अमेरिकाले इरानमाथि संयुक्त रूपमा हमला गरेका छन् । आक्रमण इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको कार्यालयनजिक पनि भएकाे छ ।

इजरायलले इरानको राजधानी तेहरानसहित धेरै शहरमा आक्रमण गरेको छ। यो हमला अमेरिका–इजरायलको संयुक्त सैन्य कारबाहीअन्तर्गत गरिएको हो।

यस क्रममा इरानी सर्वोच्च नेता खामेनेईको कार्यालय नजिक हमला गरिएको छ। हमलापछि उनलाई सुरक्षित स्थानमा सारिएको छ।

नेपाली समयअनुसार शनिबार दिउँसो भएको यस आक्रमणपछि शहरहरूमा धुवाँको मुस्लो देखिएको छ। इजरायली डिफेन्स फोर्सले इरानमाथि आक्रमणको पुष्टि गर्दै यसलाई पूर्व–रोकथाम हमला भनेको छ। तेहरानसहित विभिन्न शहरमा विस्फोट सुनिएका छन् र हवाई हमलाका साइरन बजिरहेका छन्।

हमलापछि इरानले सबै उडान रोक्दै आफ्नो एयरस्पेस पूर्ण रूपमा खाली गराएको छ। उता इजरायलमा पनि एयर अट्याक साइरन बजिरहेका छन्। संवेदनशील क्षेत्र खाली गरिँदै छ, सर्वसाधारणलाई घरमै बस्न अपिल गरिएको छ।

अमेरिकाले पहिले नै हमलाको चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि आक्रमणको चेतावनी दिएका थिए।

अमेरिकी सेना पहिले नै इरानलाई चारैतिरबाट घेरेको बताइएको छ। यसअघि शुक्रबार अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इजरायल छोड्न पनि आग्रह गरेको थियो।

इजरायलले आफ्नो एयरस्पेस बन्द गर्यो

इजरायलकी यातायात मन्त्री मिरी रेगेभले सुरक्षा परिस्थितिका कारण देशको हवाई क्षेत्र नागरिक उडानका लागि बन्द गर्ने आदेश दिएको घोषणा गरेकी छन्।

उनले भनिन्, ‘यात्रुहरूको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो। अर्को सूचना नआएसम्म विमानस्थलतर्फ यात्रा नगर्न जनतालाई अनुरोध छ। विदेशमा रहेका यात्रुहरूले हवाई क्षेत्र खुल्नेबारे जानकारीका लागि सञ्चारमाध्यम र एयरलाइन्ससँग सम्पर्क राखुन् ।’

देश सिक्किमीकरणको जोखिममा पुग्ने चेतावनीसहित ठगेन्द्रद्वारा रास्वपा परित्याग

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भ्रष्टाचार निवारण विभाग प्रमुख तथा प्रदेश सदस्य रहेका मोरङ क्षेत्र- २ का नेता ठगेन्द्रप्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन् ।

शुक्रबार साँझ औपचारिक रूपमा पार्टी छाडेका उनले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै रास्वपा ‘सिक्किमीकरण’को दिशातर्फ उन्मुख भएको गम्भीर आरोप लगाए ।

लामो समयदेखि कृषक सशक्तीकरण र ‘माटो फुलाउने’ अभियानमा सक्रिय न्यौपानेले देशको राष्ट्रिय राजनीतिमा बढ्दो संकट देखिएकाले अब माटो जोगाउने आन्दोलनको आवश्यकता महसुस भएको बताए । सोही उद्देश्यले आफू राष्ट्रवादी धारमा उभिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) रोजेको उनले घोषणा गरे ।

पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले रवि लामिछाने र बालेन्द्र शाहतर्फ संकेत गर्दै पार्टीका नेतृत्व तह ‘फ्री फायर र पब्जीका सिपाहीजस्ता’ भएको टिप्पणी गरे । उनका अनुसार वर्तमान नेतृत्व राष्ट्र र जनताप्रति जिम्मेवार नभई भावनात्मक र अपरिपक्व ढंगले अघि बढिरहेको छ ।

न्यौपानेले इटहरीमा सम्पन्न एक बैठकमा आफूले नै आगामी परिस्थितिबारे चेतावनी दिएको स्मरण गर्दै अहिलेका उम्मेदवारहरू अन्य कुनै शक्तिबाट निर्देशित भएको अनुभूति भएको बताए । टिकट वितरण प्रक्रियामा देखिएको अपारदर्शिता र आन्तरिक असन्तुलनप्रति पनि उनले तीव्र असन्तोष व्यक्त गरे ।

‘सिक्किमीकरण’को प्रसंग जोड्दै उनले सिक्किमका मतदाताले मतदानमार्फत नै भारतमा विलय भएको ऐतिहासिक उदाहरण स्मरण गराए ।

अहिले रास्वपाका उम्मेदवारहरूको व्यवहार र राजनीतिक शैलीले त्यस्तै जोखिमको संकेत गरेको उनको दाबी छ । मतदातालाई सचेत रहन आग्रह गर्दै उनले प्रतिनिधि वा दलको पृष्ठभूमि, विचार र जिम्मेवारीबोध बुझेर मात्र मतदान गर्न अनुरोध गरे ।

एमाले रोज्नुको कारण स्पष्ट पार्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालको नाकाबन्दीका बेला लिएको राष्ट्रवादी अडान र ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानले आफूलाई आकर्षित गरेको बताए ।

दक्षिण कोरियाको सहज जीवन छोडेर देश निर्माणका लागि फर्किएको सिपाही भएको उल्लेख गर्दै उनले ओलीविरुद्ध भइरहेका आलोचना र आरोपहरूलाई अतिरञ्जित र योजनाबद्ध भएको जिकिर गरे ।

उनले राजनीति आफ्नो लागि पद वा प्रतिष्ठाको विषय नभई किसान र माटोको समस्या राज्यको नीतिमा स्थापित गर्ने माध्यम भएको स्पष्ट पारे ।

तपाईं मदिरा पिउँदै हुनुहुन्छ ? पर्नुहाेला नि निर्वाचन आयोगको कारबाहीमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर मदिरा विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले शुक्रबारदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

आयोगले प्रतिबन्धको कार्यान्वयन भए-नभएको बारेमा सूक्ष्म अनुगमन गर्ने पनि जनाएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले फागुन १५ गतेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मको लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको जानकारी दिए ।

निर्वाचनको अवधिमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम राख्न उक्त निर्णय गरिएको हो । तोकिएको अवधिमा मदिरा बिक्री वितरण वा सेवन गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताउ ।

‘फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शान्ति सुव्यवस्था कायम गर्नको लागि निर्वाचन आयोगले नेपाल सरकारलाई केही व्यवस्थाहरुको सिफारिस गरेको छ ,जसअन्तर्गत निर्वाचनको मितिभन्दा ७ दिन अगाडि अर्थात् २०८२ साल फागुन १५ गतेदेखि मतदानको कार्य सम्पन्न नहुन्जेलसम्मको लागि कुनै पनि प्रकारका मदिराहरु बिक्री वितरण गर्न र सेवन गर्न नपाउनेगरि निषेधको व्यवस्था गरेको छ । यो व्यवस्थाबमोजिम आम रुपमा यस्ता क्रियाकलाप भएका छन् कि छैनन् भनेर निर्वाचन आयोगले पनि सूक्ष्म रुपमा अनुगमन गर्ने गरेको हुँदा सम्पूर्ण सरोकारवालाहरुले यस्ता किसिमका गतिविधिहरु नगर्न र नगराउनको लागि पनि निर्वाचन आयोगले सम्पूर्ण मतदातालगायत सरोकारवालाहरु सबैमा हार्दिक अनुरोध गरेको छ । यस किसिमको शान्ति सुव्यवस्था कायम गर्नको लागी निर्वाचन आयोग सम्पूर्ण निर्वाचनसँग सम्बद्ध राजनीतिक दल, उम्मेदवार र सुरक्षा निकायहरुलाई पनि अनुरोध गर्दछ ।’

आयोगले सम्पूर्ण मतदाता, व्यवसायी, राजनीतिक दल, उम्मेदवार तथा सुरक्षा निकायलाई निर्वाचन अवधिभर आचारसंहिताको पालन गरि सहयोग गर्न आग्रह गरेको छ ।

निर्वाचनसँग सम्बद्ध सबै पक्षले आ-आफ्नो जिम्मेवारी निर्वाह गरी मर्यादित र अनुशासित वातावरणमा मतदान सम्पन्न गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।

८ लाख मानिसले छाड्दै काठमाडौं उपत्यका

काठमाडौं। निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ ।

निर्वाचन आसपासमा करिब एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरुले काठमाडौं छोड्ने तयारी गरेका छन् ।

सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ । यस्तै फागुन १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ ।

फागुन २३ गते शनिबार र २४ गते अर्थात ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको बिदा परेको छ । यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुने भएपछि दसैँ तिहारमा जस्तै आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन् ।

यातायात व्यवसायीहरुका अनुसार उपत्यका छाड्नेहरु बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले ६-७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताए ।

१९ गतेसम्मका लागि लामो दूरीका गाडीहरुमा भिडभाड रहेको उनकाे भनाइ छ । सिटौलाकाअनुसार १७, १८,१९ गते थेगिनसक्नु भीड छ । धेरैले गाडी रिजर्बसमेत गर्न थालिसकेका छन् ।

सिटौलाले भने, ‘६/७ दिनको बिदाका कारण काठमाडौं उपत्यकाबाट निकै धेरै यात्रुहरु उपत्यकाबाट घरतर्फ जाने हामीले देखिरहेका छौँं । जाने क्रम शुरु भइसकेको छ । आमनिर्वाचनको क्रमलाई लिएर सुरक्षा निकायहरुसमेत आफ्नो कार्यक्षेत्रमा गइसकेको अवस्था पनि छ । १९ गतेसम्म लामो दूरीका गाडीहरुमा अत्यान्तै भिडभाड छ । १७, १८,१९ गते थेगिनसक्नु भिड छ। धेरै सवारीसाधन रिजर्ब गर्न थालिसक्नु भएको छ ।’

यातायात व्यवसायी सिटौलाकाअनुसार लामो दूरी कञ्चनपुर, डडेलधुरादेखि अर्घाखाँची, गुल्मी, पाल्पाजस्ता जिल्लामा १९ गतेपछि गाडी जान सक्ने अवस्था रहने छैन । मध्यम दूरी काभ्रे, धादिङ सिन्धुपाल्चोकसम्मका दूरीमा गाडीहरु चल्नेछन् ।

यातायात व्यवस्था विभागले पनि आम निर्वाचनको असापासमा धेरै बिदा परेकाले यात्रु बाहिर जाने भएकाले सार्वजनिक यातायातलाई चुस्त राखिने बताएको छ ।

विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात प्रणालीलाई चुनावका बेला चुस्तदुरुस्त राख्न योजनावद्ध तवरले विभाग लागिरहेको बताए ।

उनले निर्वाध रुपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने बताउँदै अपुग भए नेपाली सेनादेखि स्कुल, कलेजका सबारी साधनसमेत सरकारले प्रयोग गरेर चलाउने बताए ।

आक्रामक महत्वकांक्षालाई कुचल्ने पूर्णक्षमता छः पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले देशको सशस्त्र सेनासँग कुनै पनि आक्रामक महत्वाकांक्षालाई कुचल्ने पूर्ण क्षमता रहेको बताएका छन् ।

कुनै पनि युद्धकारी कार्यको निर्णायक जवाफ दिइने उनले बताए ।  यो कुरा प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शरिफले पाकिस्तानको सशस्त्र सेना व्यावसायिक विशेषज्ञता, उन्नत तालिम र प्रभावकारी रक्षा रणनीतिले सुसज्जित रहेको र यो कुनै पनि आन्तरिक वा बाह्य चुनौतीसँग सामना गर्न पूर्ण रूपमा सक्षम रहेको बताए ।

यसअघि बिहान सुरक्षा स्रोतहरूका अनुसार पाकिस्तानले अफगान तालिबानमाथि हवाई हमला गरेको छ, जसमा प्रमुख लक्ष्यहरू जस्तै ठूलो गोला बारुद गोदाम, तीन अफगान बटालियन र विभिन्न क्षेत्रका सेक्टर मुख्यालयहरू नष्ट भएका छन् ।

स्रोतकाअनुसार पाकिस्तानले अफगान तालिबानले पाकिस्तानी चौकीहरूमाथि आक्रमण शुरु गरेपछि अपरेशन न्यायको क्रोध अन्तर्गत यी हवाई हमलाहरू गरेको हो ।

‘निर्णायक मधेश’ले नै देशको भविश्य तय गर्ने उपेन्द्र यादवकाे दाबी

सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशले नै देशको भविष्य तय गर्ने दाबी गरेका छन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलो अभियानको क्रममा मतदाताहरुलाई सम्बोधन गर्दै राज्यले विगतझैँ मधेशलाई उपेक्षा गरेर समृद्ध देश बन्न नसक्ने बताए।

‘मधेश केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,’ अध्यक्ष यादवले भने, ‘अबको निर्णायक शक्ति मधेश हो र देशको भविष्य पनि मधेशले नै तय गर्नेछ।’

मधेश आन्दोलन, बलिदान र त्यागको स्मरण गर्दै उनले मधेश बलियो भयो भने मात्रै संघीयता बलियो हुने र देश पनि सुरक्षितसँगै समृद्ध हुने बताए।

जसपा नेपालले नै विभेद, उत्पीडन र पहिचानका सवाललाई गाउँगाउँदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याएको जिकिर गरेका उनले बालेनलाई लक्षित गर्दै भने, ‘मधेशमाथिको ऐतिहासिक अन्याय र संरचनागत विभेद नस्वीकार्ने र नबुझ्नेहरू मधेशको हितैषी हुनै सक्दैनन्।’

विगतको संघर्षलाई केवल इतिहास नभई भविष्यको आधार भएको भन्दै उनले मधेशलाई उपेक्षा गरेर विकास र समृद्धिको सपना केवल खोक्रो नारा मात्र हुने बताए।

‘जसको एजेन्डामा मधेशको समस्या र उत्पीडनको सवाल स्पष्ट छैन, उसले मधेशको नेतृत्व कसरी गर्छ ? नयाँ दलहरूप्रति संकेत गर्दै उनले भने, ‘केही शक्तिहरूको ध्यान केवल मधेशको भोटमा मात्रै केन्द्रित छ तर मधेशले सदियौँदेखि भोग्दै आएको गरिबी, अशिक्षा, बेरोजगारी र राज्यको विभेदप्रति उनीहरूमा कुनै संवेदनशीलता छैन।’

अध्यक्ष यादवले यो चुनाव प्रतिनिधि छान्ने प्रक्रिया मात्रै नभई मधेशको सम्मान, अधिकार र भविष्य जोगाउने महत्वपूर्ण निर्णायक अवसर भएको बताउँदै मतदातालाई सचेत, एकताबद्ध र दृढ भएर मधेशको अस्तित्व र स्वाभिमानको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

यो निर्वाचनबाट जसपा नेपाल एउटा निर्णायक शक्तिको रुपमा उदाउने अध्यक्ष यादवको दाबी छ।

मियाँ टाेलमा ओली, शीरमा फूल पर्सेर जितकाे शुभकामना (फाेटाे फिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव क्षेत्रका मतदातासँग निरन्तर भेटघाटमा छन् ।

उनीहरूका घरघर पुगेर ओली समस्या सुन्दै समाधानका लागि बचन दिँदै आएका छन् ।

कहिले धार्मिक त कहिले जातीय समुदायसँग उनको भेटघाट हुने गरको छ । चुनाव क्षेत्रका किसान, मजदुर, व्यापारी, उद्योगी, शिक्षक, कर्मचारी, विद्यार्थीदेखि जेन–जी युवाहरूसँग ओली भेटघाट गरेका छन् ।

शुक्रबार उनले विद्यार्थी र मिया समुदायसँग भेटघाट गर्दै मत मागे । उनलाई मियाँ समुदायका मतदाताहरूले मत दिने भन्दै जितका लागि शुमकामना दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचन आउन केही दिन मात्रै बाँकी छँदा ओलीको सक्रियता थप बढेको छ ।

‘मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भएछ’ (भिडियाे)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सहकारी बचत रकम अपचलन प्रकरणमा आफूविरुद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै नेपाली काँग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो कटाक्ष गरे ।

उनले आफूलाई अन्तिम इच्छा सोधिएको पनि निकै भइसकेको भन्दै आफ्नो अन्तिम इच्छा फागुन २१ मा मतपत्रमार्फत देखाइदिन मतदातालाई आग्रह गरेका छन् ।

उनले नेपाललाई मागिखाने नभई गरी खाने देश बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।

उनले भने, ‘ममाथि प्रमाण छ भनिएको ६५८ दिन भएछ, चाहिएन प्रमाण भइगयो । मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भएछ । म चितवनबाट भन्छु मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनु होला ।’

उनले पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतका साथ विजयी गराउन अपिल समेत गरे ।

 

 

निष्पक्ष निर्वाचन हुनेमा एमालेको आशंका, हरेक बुथमा खटाउँदै ३० युवा (भिडियाे)

काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर-२ का उम्मेदवार महेश बस्नेतले सरकार र निर्वाचन आयोगको भूमिकालाई शङ्‍कास्पद रुपमा हेरिरहेकाे बताएका छन् ।

निष्पक्ष, भयरहित र स्वतन्त्रपूर्वक निर्वाचन गर्नेमा शङ्‍का रहेकाेतर्फ सङ्‍केत गर्दै उनले हरेक मतदान केन्द्रमा ३० जना  नेशनल भाेलेन्टियर्स फाेर्सका युवाहरु खटाइने जानकारी दिए ।

उनले भने, ‘सरकार र निर्वाचन आयोगको भूमिकालाई एमालेले शंकास्पद रुपमा हेरिरहेको छ। त्यही भएर प्रत्येक मतदान केन्द्रमा निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित होस् भन्ने अन्य दलहरुलाई दबाब दिन होइन कि आफ्नो मत सुरक्षा गर्ने हिसाबले र त्यहाँको व्यवस्थापकीय काम गर्न र एउटा बुथमा न्यूनतमक ३० जना नेशनल भोलेन्टियर्स फोर्सका युवाहरु खटाउने भनेका छौँ र त्यो तयारी हामीले गरेका छौँ ।’

एमालेले राष्ट्रिय युवा सङ्‍घ नेपालकाे विकल्पमा अर्काे युवा दस्ता अघिल्लाे महिना गठन गरेकाे हाे ।

 

काङ्‍ग्रेसकाे ‘वाईवाई’ फ्याक्ट्रीजस्तै हेटाैँडा सिमेन्ट उद्याेग चल्नुपर्छ – बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले देश हेटौँडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता शाहले यस्तो टिप्पणी गरे ।

उनले दक्ष जनशक्ति, खानी र आवश्यक औजार हुँदाहुँदै पनि हेटौँडा सिमेन्ट उद्योग बन्द गरिएको भन्दै उनले नेपाली काँग्रेसको ‘वाईवाई’ फ्याक्ट्री जस्तै चल्नुपर्ने कटाक्ष गरे । उनले बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टि चिन्हमा मतदान गर्न आग्रह गरे।

उनले भने, ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ । मेन पावर पनि छ, खानि पनि छ । तर बन्द । अब चल्नुपर्‍याे । नेपाली काँग्रेसको वाईवाई फ्याक्ट्रीजस्तै चल्न्पर्‍याे अब त्यो पनि । पूरै देशभरी चल्नुपर्‍याे । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौँ हामी ।’

उनले पार्टी सभापति नै यहीबाट उम्मेदवार रहेको भन्दै चिन्ता नलिन समेत चितवनबासीलाई आग्रह गरे ।

भिजिट भिसामा विदेश जानेलाई सहज व्यवस्था, स्व-घोषणा फाराम अनलाइनबाटै

काठमाडौं – सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि प्रक्रिया थप सहज बनाएको छ।

अध्यागमन विभागले जारी गरेको सूचनाअनुसार अब भ्रमण वा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीले आवश्यक स्व-घोषणा फाराम आफैं अनलाइनबाट भरेर डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ।

अध्यागमन कार्यविधि, २०६८ को दफा ३.१ (घ) अनुसार विदेश प्रस्थानका लागि कम्तीमा ६ महिना वैध राहदानी, यात्रा उद्देश्य खुल्ने सम्बन्धित देशको भिसा र आवश्यक कागजात अनिवार्य हुने प्रावधान यथावत् राख्दै विभागले सेवा प्रवाहलाई छरितो बनाउन डिजिटल प्रणालीलाई प्राथमिकता दिएको हो।

विभागका अनुसार यसअघि फाराम भर्ने प्रक्रियामा अन्योल हुँदा अध्यागमन कक्षमा भीडभाड र ढिलासुस्ती हुने गरेको थियो।

अब भने सेवाग्राहीले घरमै बसेर स्व-घोषणा फाराम भरी आवश्यक कागजात तयारी गरी मात्र अध्यागमन कार्यालय पुग्न सक्नेछन्।

यसले समय बचत हुनुका साथै प्रस्थान प्रक्रिया व्यवस्थित र पारदर्शी बन्ने विश्वास विभागले गरेको छ।

स्व-घोषणा फाराम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट https://tia.immigration.gov.np/ बाट वा उपलब्ध क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।

अध्यागमन विभागले यात्रुहरूलाई यात्रा अघि आवश्यक कागजात सुनिश्चित गर्न र तोकिएको प्रक्रिया पालना गर्न आग्रह गरेको छ।

कुनै समस्या परेमा सम्बन्धित अध्यागमन कार्यालयका सूचना अधिकृतसँग सम्पर्क गर्न सकिने जनाइएको छ।

निर्वाचनमा सुरक्षा मजबुत छ, ढुक्क भएर मतदान गर्नुस्: गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने बताएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा अवस्था र समग्र शान्ति व्यवस्थाको निरीक्षण तथा अनुगमनका लागि शुक्रबार ओखलढुंगा पुगेका मन्त्री अर्यालले शान्ति–सुरक्षाको व्यवस्था सुदृढ रहेकाले सबैलाई ढुक्क भएर मतदान गर्न आग्रह गरे । उनले भने, ‘अन्य जिल्लाको तुलनामा ओखलढुंगा शान्त छ । कानूनविपरीत गतिविधिमा उन्मुक्ति दिइनेछैन । सबैलाई सुरक्षाको पूर्ण अनुभूति दिलाइनेछ ।’

मन्त्री अर्यालले गैरकानूनी गतिविधि गर्नेलाई कानूनको दायरामा ल्याई कडा कारबाही गरिने प्रतिबद्धता जनाए । साथै उनले निष्पक्ष र मर्यादित रूपमा निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

उनले दैनिक घटनाको विश्लेषण गरी धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए ।

गृहमन्त्रीसहितको उच्चस्तरीय टोलीले जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख निर्वाचन अधिकृतलगायत सरोकारवालासँग अन्तरक्रिया गरेको थियो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद घण्डारीले ओखलढुंगामा कुनै खास समस्या नरहेको उल्लेख गर्दै निर्वाचन स्वच्छ र निष्पक्ष हुने विश्वास व्यक्त गरे । उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तिले निर्वाचनको तयारी तथा जिल्लाको समग्र शान्ति–सुरक्षाबारे जानकारी गराए । उनले जिल्लामा स्रोत–साधन र सुरक्षा टोलीको परिचालनबारे पनि अवगत गराए ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले कर्मचारी व्यवस्थापन चुस्त र दुरुस्त रहेको तथा राजनीतिक दलहरूसँग प्रभावकारी समन्वय भइरहेको बताए । उनले सुरक्षा निकायबाट दैनिक ब्रिफिङ लिई सोही अनुरूप परिचालन गरिएको जानकारी दिए ।

अनुगमनमा गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त घण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी, एआईजी गणेश ठाडा मगर, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, डिआइजी विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलगायत सहभागी थिए ।

मन्त्री अर्याल नेतृत्वको टोलीले दोलखाको बैदेश्वर गाउँपालिकास्थित मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेपछि ओखलढुंगा पुगेर छलफल गरेको थियो । हाल मोरङका विभिन्न क्षेत्रमा पनि अनुगमन र अन्तरक्रिया भइरहेको गृहमन्त्रालयका सह–प्रवक्ता आचार्यले जानकारी दिए ।

प्रचण्डकाे ठाेकुवा- चुनावबाट एक नम्बर पार्टी बनेर नेकपाले देशकाे नेतृत्व गर्छ

काठमाडौं । नेपाली कम्यनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबैतिर नेपाली कम्युनिस्ट पार्टी मात्रै
देशैभरी उभार आएकाे बताएका छन् ।

उनले  काङ्‌‍ग्रेस, एमालेलगायत दलप्रति सङ्‍केत गर्दै पुराना दलहरु रक्षात्मक अवस्थामा रहेकाे र नेकपा मात्रै आक्रमक ढङ्‍गले अगाडि बढेकाे जिकिर गरे। नेकपाले अघि सारेका नीति, याेजना, कार्यक्रम र प्रतिबद्धताले जनतामा भराेरा र विश्‍वास बढ्दै गरकाे बताए ।

‘पुराना भनिएका केही पार्टी कहीँ न कहीँ निकै अप्ठेरोमा छ । उनीहरु रक्षात्मक छन् । हामी मात्रै आक्रमक ढंगले अगाडि बढेका छौँ,’ उनले शुक्रबार काठमाडाैमा आयाेजित एक कार्यक्रममा भने, ‘नेपाली कम्युनिस्ट पार्टीले अगाडि सारेका नीति, योजना र कार्यक्रमप्रति र हामीले प्रस्तुत गरेको प्रतिबद्धताप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको छ ।’

नेकपा याे निर्वाचनबाट एक नम्बर पार्टी बन्ने पनि प्रचण्डले दाबी गरे । तर, त्यसका लागि युद्धस्तरमा जनताकाे घरघरमा गएर मत माग्न पार्टीका उम्मेदवारदेखि पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।

‘अब आउने पाँच दिन हामीले युद्धस्तरमा खटेर जनतालाई घरघरमा टोलटोलमा गएर सम्झाउन सक्यौँ भने मैले भन्दै आएको छु, यो पार्टी मात्रै त्यस्तो पार्टी हो राष्ट्रको हित, जनताको हित त्यसको पहरेदारी गर्न सक्नेछ,’ उनले भने, ‘यो पार्टी मात्रै त्यस्तो पार्टी हो देशको एक नम्बर पार्टी बनेर नेतृत्व गर्नेछ ।’

 

 

एमालेकाे तालमेल दलहरुसँग हाेइन जनतासँग हुन्छ- ओली (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले विभिन्न दलहरुसँग तालमेल हुन लागेकाे चर्चालाई खारेज गरेका छन् ।

नेपाली काङ्‍ग्रेस, नेपाली कम्यनिुस्ट पार्टी (नेकपा), राप्रपालगायतसँग चुनावी तालमेल गर्न लागेकाे प्रसङ्‍गलाई खारेज गर्दै उनले जनतासँग मात्रै एमालेकाे तालमेल हुने बताए ।

केपी शर्मा ओलीसहित शीर्षस्थ नेताहरुलाई निर्वाचनमा सुरक्षित गर्न अन्य दलहरुसँग तालमेल गर्न लागेकाे भन्दै पत्रकारले साेधेकाे प्रश्‍नमा उनले जनतातिर देखाउँदै भने, ‘पार्टीहरुकाे बिचमा हाेइन, जनताहरुकाे बिचमा तालमेल हुन्छ । एमालेलाई जिताउने, सूर्य चिह्नमा भाेट हाल्ने सबैकाे तालमेल हुन्छ ।’

काङ्‌ग्रेस, नेकपा र राप्रपाका मतदाताहरुले समेत आफूलाई मतदान गर्ने उनकाे दाबी छ । तर, ती दलका नेताहटरुसँग भने छलफल नभएकाे बताए ।

एमालेका कुनै नेता असुरक्षित नभएकाे उनकाे भनाइ छ । उनले देश ध्वस्त पार्नेलाई जनताले चिनेकाे र भाेट नदिने जिकिर गरेका छन् ।

 

 

चुनावमा हुने धाँधली मान्य नहुने ओलीकाे चेतावनी

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।

देशकाे सार्वभौम संसदलाई ध्वंशको माध्यमबाट बललफ्‌ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उनकाे भनाइ छ ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा’सँग विद्यार्थी’ कार्यक्रममा उनले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताए ।

उनले एमाले चुनावबाट नभाग्ने र देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आइपरेका समस्याहरुको समाधान निकाल्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत चेतावनी दिए ।

चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको समेत उनकाे भनाइ छ।

कार्यक्रममा उनले युवाहरुलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरु चिर्ने काममा लाग्न आग्रह गरे ।

कार्यक्रममा युवा विद्यार्थीहरुले अध्यक्ष ओलीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए ।

उनीहरुको जिज्ञासा सम्बाेधन गर्दै उनले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरु जनतासम्म पुर्‍याउने सुझाव पनि दिए ।