`

सुनकाे भाउकाे बढ्याे, चाँदीकाे घट्याे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । चाँदीको भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मूल्य ५ हजार ८१५ रुपैयाँ निर्धारण भएको छ ।

सोमबार एक तोला सुन ३ लाख २६ हजार १०० र त्यति नै परिमाणको चाँदी ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २७८ र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फाेहाेर बाेक्ने टिपरले बानेश्‍वरमा ठक्कर दिँदा नायब सुब्बाकाे मृत्यु

काठमाडौं । टिपरले ठक्कर दिँदा काठमाडौंकाे नयाँ बानेश्वर नायब सुब्बाकाे मृत्यु भएकाे छ ।

मृतक बद्री काेइराला रहेकाे काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए । सुनसरीको इनरुवा नगरपालिका- ५ स्थायी घर भएका उनी भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए ।

उनी सवार प्रदेश ३-००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरलाई आज बिहान ८:४५ बजे बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो ।

एसपी भट्टराईका अनुसार उक्त टिपरले फाेहाेर बाेकेकाे थियाे । टिपरकाे ठक्करबाट काेइराला गम्भीर घाइते भएका थिए ।

उपचारका लागि उनलाई लगत्तै सिभिल अस्पताल लगिएकाेमा चिकित्सकले मृत घोषणा गरे । टिपर चालक विकास थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

२६ वर्षीय उनकाे घर गोरखाकाे भूमिचोक हाे । उनी काठमाडौंको पेप्सीकोला बस्दै आएका थिए ।

करेन्ट लागेर मृत्यु, मृतक ५० वर्षीया घुरनीदेवी साह

काठमाडौं । सिरहा नगरपालिका-२ डोम्बा खाता बस्ने ५० वर्षीया घुरनी देवी साहको करेन्ट लागेर
सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरको कलमा जडान भएको विद्युतीय मोटर चलाउने
क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको
क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगिन् आवश्यकता- राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा साेमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगिन आवश्यकता भएको उल्लेख गरे ।

राष्ट्रिपति पौडेलले भने, ‘निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हो ।’

उनले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गरे ।

‘देशले विगतका केही वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । लामो सङ्घर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । सबैलाई थाहा छ, आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ’, राष्ट्रपति पौडेलले भने, ‘यस निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ ।’

सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएको बताए ।

सबैभन्दा ठूलो दल काँग्रेस हुने उपसभापति विश्‍वप्रकाश शर्माकाे ठाेकुवा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताएका छन् ।

सोमबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् ।

पार्टी निर्वाचन परिचालन समिति संयोजक समेत रहेका उपसभापति शर्माले दोस्रो ठूलो दलभन्दा फराकिलो अन्तरले आफ्नो पार्टी पहिलो राजनीतिक शक्ति बन्ने ठोकुवा गरे ।

उनले प्रत्यक्ष र समानुपातिक दुवैमा नेपाली काँग्रेस पहिलो शक्ति बन्ने आँकलन पनि आफूहरुले गरेको बताए ।

उपसभापति शर्माले भने,‘नेपाली काँग्रेस पार्टी फागुन २१ को निर्वाचनबाट सबैभन्दा ठूलो दलको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको आकारबाट सबै भन्दा ठूलो दलको रुपमा आउँदैछ । हामी कुनै पनि दोस्रो दल भन्दा राम्रै आकारका साथ अगाडि हुन्छौँ । बहुमत  आउन पनि सक्छ । तर अहिले यति ढुक्कले भन्न सकिन्छ–नेपाली काँग्रेस पार्टी सबैभन्दा ठूलो दलको रुपमा आउँछ । प्रत्यक्षबाट पनि आउँदैछ, समानुपातिकबाट पनि आउँदैछ ।’

उपसभापति शर्माले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि योगदान पुर्‍याउन  पनि सबै राजनीतिक दल र संवद्ध सबै पक्षको योगदान आवश्यक रहेको पनि बताए ।

मान्छेले नदेख्न खोज्यो भने देख्दैन, कतिपयले नदेख्न खोजेको देख्छु : ओली (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो नेतृत्वमा देशभर ठूला पूर्वाधार र स्वास्थ्य परियोजनाहरू अघि बढाइएको दाबी गरेका छन्। तर, आफ्नाे नेतृत्त्वमा भएका विकासका कामरहरु नदेखेकाे भन्दै गुनासाे गरे ।

चुनाव क्षेत्र झापा-५ मा रहेका उनले साेमबार भने, ‘हुन त मान्छेले नदेख्न खोज्यो भने केही पनि देख्दैन । कतिपय मान्छेहरुले नदेख्न खोजेको देख्छु । यत्रो हस्पिटल बनाएको छ, नदेख्न खोजेको देख्छु म । यस्तो हस्पिटल यहाँ मात्रै होइन, देशभरी बनाएको छु ।’

उनले आफ्नो कार्यकालमा एकैपटक देशभरकाे ३९६ पालिकामा आधारभूत अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको उल्लेख गरे। ‘एकैचोटी मैले ३९६ पालिकामा आधारभूत अस्पताल भनेर यी अस्पतालहरु बनाइएको हो,’ उनले भने।

ओलीले ठूला राजमार्ग र पूर्वाधार योजनाहरू पनि आफ्नै पहलमा सुरु गरिएको दाबी गरे। ‘मेची-महाकाली राजमार्ग यति चौडा बनाइँदैछ, मैले सुरु गरेको हो । मैले नै योजना बनाएको हो । हुलाकी राजमार्गको विकासका लागि मैले नै सुरु गरेको हो । मदन भण्डारी राजमार्ग मैले नै सुरु गरेको हो । हजारौँ पुलको निर्माण मैले गरेको हो,’ उनले भने।

दमकको विगत स्मरण गर्दै उनले ३० वर्षअघिको अवस्थासँग तुलना गरे। ‘यहाँ दमकमा चापाकलबाहेक केही थिएन । विजुली थिएन । टुकी कि लाल्टिन बाहेक केही थिएन । यो ३० वर्ष अगाडिको कुरा हो । यो दमकजस्तो ठाउँमा पक्की घरहरु थिएन, छाप्राहरु थिए । अहिले राजमार्ग भएको ठाउँमा केही पनि थिएन,’ ओलीले भने।

उनले एमालेले मात्रै देश बनाउने र विकासलाई तीव्रता दिने दाबी गर्दै मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आह्वान गरे।

कुवेतमा कयाैँ अमेरिकी लडाकु विमानहरु दुर्घटनाग्रस्त, दुर्घटनाकाे कारण खाेजिँदै

काठमाडौं । अमेरिका-इजरायलले इरानमा आक्रमण गरेकाे तेस्राे दिन कुवेतमा कयाैँ अमेरिकी लडाकु विमानहरु दुर्घटनाग्रस्त बनेका छन् ।

दुर्घटना प्राविधिक हाे या आक्रमणकाे नतिजा भन्ने खुलेकाे छैन । कुबेती रक्षा मन्त्रालयका अनुसार दुर्घटनाग्रस्त विमानहरूका सबै पायलट सुरक्षित रहेका र उनीहरूलाई अस्पताल पठाइएको पनि जनाएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ताले सम्बन्धित अधिकारीहरूले तुरुन्त खोज र उद्दार अभियान सुरू गरेका कारण चालक दलका सदस्यहरूलाई सुरक्षित अस्पताल पुर्‍याइएको र सबैको अवस्था स्थिर रहेको बताएका छन् ।

कुवेतको रक्षा मन्त्रालयले घटनाको कारणबारे जाँच चलिरहेको छ । इरानविरूद्ध जारी अमेरिका–इजरायलको संयुक्त हवाई हमलाको तेस्रो दिन यस्तो घटना भएको हो ।

यसैबीच, इरानले छिमेकी अरब देशहरूमा अवस्थित अमेरिकी सैन्य स्थलमा जवाफी हमला जारी राखेको छ ।

सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कुवेतमा एक लड़ाकु विमानका क्रू सदस्य विमान दुर्घटना हुनुभन्दा केही समय अगाडि बाहिर निस्किएका र प्यारासुटबाट सुरक्षित अवतरण भएको दृष्य देखिएको बीबीसीले जनाएको छ ।

रामेछापमा निर्वाचन सामग्री बाेकेकाे जीप दुर्घटना, एक जनाकाे मृत्यु

काठमाडौं । निर्वाचन कर्मचारीहरु सवार जीप दुर्घटना हुँदा रामेछापमा एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुने सुरक्षाकर्मी रहेकाे रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए । उनकाे पहिचान सार्वजनिक गरिएकाे छैन । अहिले घाइतेहरुकाे उद्धार गरिरहेकाे उनले बताए ।

उनका अनुसार रामेछाप  नगरपालिका-२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो ।

सो जीप भिरबाट खसेकाे थियाे । त्यस क्रममा एक जना सुरक्षाकर्मीको मृत्यु भएको हो । उक्त जी‍पमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मीसमेत थिए ।

जीपमा निर्वाचन सामग्रीसहित १०/११ जना निर्वाचनमा खटिएका कर्मचारी थिए । अहिले उद्धारका काम भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

बालेनलाई झापा-५ मा कसैले चिन्दैनन्, मैले नै चुनाव जित्छु- ओली (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी बालेन्द्र शाह (बालेन)लाई चुनाव क्षेत्रमा कसैले नचिन्ने बताएका छन् ।

नचिन्ने मान्छेले चुनाव  जित्ने कुरा नआउने भन्दै उनले आफ्नाे पक्षमा चुनावी परिणाम आउने दाबी गरे ।

बालेन बलिया प्रतिस्पर्धी हाेइनन् तपाईका भन्ने एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकी संवाददाताले सोधेको प्रश्नमा उनले चुनाव आफूले जित्नेमा  शङ्‍का नरहेकाे बताउँदै भने, ‘उनलाई यहाँ कसैले चिन्दैनन् । पक्कै पनि मैले यस निर्वाचन क्षेत्रका जनताका निम्ती केही न केही गरेकाे छु । यस क्षेत्रमा विकास गरेकाे छु । देशकाे विकास गरेकाे छु । याे जनतालाई थाहा छ। अरु उम्मेदवारहरु नयाँ छन् । उनीहरुसँग अनुभव छैन । उनीहरु परिक्षित हाेइनन् ।केही परिक्षित भए तर नकारात्मक रुपमा ।’

उनले जेन-जी विद्राेहमा दमन गरेकाे भनेर षड्यन्त्रकारीहरुले आलाेचना गरेकाे बताए ।

 

अमेरिका र इजरायलसँगको लडिरहेको इरानसँग कस्ता हतियार छन्?

अमेरिका र इजरायलले गत शनिबार इरानमा संयुक्त आक्रमण गर्दै सर्वोच्च नेता अयातुल्लाह खामेनी र थुप्रै वरिष्ठ अधिकारीहरूलाई मारेपछि तेहरानले तुरुन्तै जवाफी कारबाहीको घोषणा गर्यो। इरानी राष्ट्रपति मसुद पेजेश्कियानले आइतबार यो जवाफ देश र जनताको ‘कर्तव्य र वैध अधिकार’ भएको बताए। यो युद्ध कति लामो समयसम्म जान सक्छ? यसको जवाफ इरानको हतियार भण्डारमा लुकेको छ।

रक्षा विश्लेषकहरूका अनुसार इरानसँग मध्यपूर्वमा सबैभन्दा ठूलो र विविधतायुक्त मिसाइल भण्डार छ। २०२२ मा अमेरिकी केन्द्रीय कमान्डका जनरल केनेथ म्याकेन्जीले इरानसँग ३,००० भन्दा बढी ब्यालिस्टिक मिसाइल रहेको अनुमान गरेका थिए। तर जून २०२५ मा इजरायलसँग भएको १२ दिने युद्धमा इरानले ठूलो क्षति व्यहोर्नु पर्यो। त्यस युद्धमा इरानले करिब ५५० मिसाइल प्रहार गरेको थियो । इजरायलले इरानको भण्डारको एक-तिहाइदेखि आधासम्म नष्ट गरेको थियो । जसले गर्दा उपलब्ध मिसाइलको संख्या एक हजारदेखि एक हजार दुई सयको बीचमा झर्यो र मोबाइल लञ्चरहरू ४८० बाट घटेर करिब १०० मात्र रह्यो। त्यसपछि इरानले आफ्नो भण्डार पुनः निर्माण गर्दै हाल करिब २,००० मिसाइलको स्तरमा पुर्याएको अनुमान छ।

कम समयमा हान्न मिल्ने छोटो दूरीका मिसाइल

१५० देखि ८०० किलोमिटर दायराका छोटो दूरीका मिसाइलहरू, फातेह, जुल्फिकार र कियाम-१, मुख्यतः खाडी देशहरूमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गर्न बनाइएका हुन्। यी छोटो दूरीका मिसाइल र ड्रोन जून २०२५ को युद्धमा धेरै हदसम्म सुरक्षित रहे । इरानसँग अझै हजारौंको संख्यामा यस्ता हतियार रहेको अनुमान गरिन्छ। यिनका लागि उड्ने समय धेरै कम हुने भएकाले शत्रुले प्रतिक्रिया जनाउन भ्याउँदैन।

मध्यम दूरीका मिसाइल

शहाब-३, सेज्जिल, गादर-१, खेइबर शेकान, र खोर्रमशहर जस्ता मिसाइलहरूको दायरा १,५०० देखि २,००० किलोमिटर छ। इजरायलसम्म पुग्न सक्ने अर्थात् कम्तीमा १,३०० देखि २,००० किलोमिटर दायराका मिसाइलहरूको संख्या १,०००देखि २,००० को बीचमा रहेको अनुमान छ। यी मिसाइलहरूले इजरायलका साथसाथै कतार, बहराइन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई पनि आफ्नो दायरामा राख्छन्। सेज्जिल विशेष रूपमा महत्त्वपूर्ण मानिन्छ किनभने यो ठोस इन्धनमा चल्छ र छिटो प्रक्षेपण गर्न सकिन्छ।

हाइपरसोनिक मिसाइल- सबैभन्दा नयाँ र खतरनाक

जून २०२३ मा इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल फत्ताह-१ को औपचारिक अनावरण गर्यो। आईआरजीसीका एयरोस्पेस कमान्डर ब्रिगेडियर जनरल अमिर अली हाजिजादेहले भनेका थिए, ‘यो मिसाइल वायुमण्डलभित्र र बाहिर दुवैतर्फ परिवर्तन गर्दै उड्न सक्छ र संसारका सबै एन्टि-मिसाइल प्रणाली भेदन गर्न सक्षम छ। इरानका अनुसार फत्ताह-१ को दायरा १,४०० किमी र फत्ताह-२ को दायरा १,५०० किमी छ । यी मिसाइल म्याक १३देखि १५ को गतिमा उड्न सक्छन्।

फत्ताह श्रृंखलाका मिसाइलको संख्या सार्वजनिक रूपमा पुष्टि भएको छैन। जून २०२५ को युद्धमा यी मिसाइल प्रयोग भएका थिए । त्यसपछि इरानले तीव्र गतिमा उत्पादन जारी राखेको जनाइएको छ। फत्ताह-१ ठोस इन्धनमा चल्ने भएकाले यसको लागि प्लानेटरी मिक्सर नामक विशेष यन्त्र अनिवार्य छ । यो यन्त्रको आपूर्ति रोक्न अमेरिकी विशेष सैन्य बलले डिसेम्बर २०२५ मा हिन्द महासागरमा चीनबाट आउँदै गरेको एउटा कार्गो जहाज नै रोकेको थियो। यसले फत्ताह उत्पादनको संख्या सीमित छ र आपूर्ति श्रृंखलामा व्यवधान आए उत्पादन रोकिन सक्छ भन्ने संकेत गर्छ ।

कतिपय विज्ञले भने यी मिसाइलहरू हाइपरसोनिक नभएको दाबी गर्ने गरेका छन् । इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका अनुसन्धानकर्ता फाबियान हिन्जले फत्ताह मिसाइललाई ‘साँचो हाइपरसोनिक’ वर्गमा राख्न नमिल्ने दाबी गरेका छन् । ‘यो न हाइपरसोनिक ग्लाइडर हो, न हाइपरसोनिक क्रुज मिसाइल,’ उनको दाबी छ, ‘बरु यो एउटा ब्यालिस्टिक मिसाइल होऽ जसमा अन्तिम चरणमा थप रकेट मोटर जडान गरिएको छ।’ फत्ताह-२ हाइपरसोनिक ग्लाइड भेहिकल युक्त भएको दाबी गरिए पनि पश्चिमी विश्लेषकहरूले यसमाथि ठूलो शंका गरेका छन् ।

फत्ताह-१ पूर्णतः आईआरजीसी एयरोस्पेस फोर्सद्वारा घरेलु रूपमा निर्मित हो। तर, यसको उत्पादनका लागि चाहिने ठोस इन्धन बनाउने सामग्री र उपकरण भने चीनबाट आउँछ, जुन निर्भरता नै अहिले यो कार्यक्रमको सबैभन्दा ठूलो कमजोरी बनेको छ।

अमेरिकी गुप्तचर निर्देशालय (ओडीएनआइ) को मार्च २०२५ को वार्षिक खतरा मूल्यांकनले उल्लेख गरेको छ, ‘इरानले आफ्नो घरेलु मिसाइल र ड्रोन प्रणालीको सटीकता र विनाशकारी क्षमता बढाउन निरन्तर लगानी गरिरहेको छ, र यस क्षेत्रमा यसको भण्डार सबैभन्दा ठूलो छ।’

इरानले उत्तर कोरियाको सहयोगमा शहाब र गादर मिसाइल विकास भयो, रसियाली डिजाइनबाट सौमार क्रुज मिसाइल बनाइयो । र, चीनले पनि इरानको मिसाइल क्षमता पुनर्निर्माणमा ठूलो भूमिका खेलेको छ, जून २०२५ को युद्धपछि चीनले इरानलाई झण्डै २,००० टन सोडियम पर्क्लोरेट पठाएको थियो । जो ठोस इन्धन मिसाइल बनाउनका लागि अत्यावश्यक रासायनिक पदार्थ हो।

इरानले आफ्नै कारखानामा मिसाइल बनाउँछ तर त्यसका लागि चाहिने प्रविधि, डिजाइन र कच्चा पदार्थ चीन, उत्तर कोरिया र रसियाबाट आउँछ। यो निर्भरता नै अन्तर्राष्ट्रिय प्रतिबन्धको केन्द्रीय विषय बनेको छ।

क्रुज मिसाइल र ड्रोन

सौमार, हुवेइजेह, पावेह र या-अली जस्ता क्रुज मिसाइलहरू होचो उडेर रडारको आँखाबाट बच्न सक्छन्। सौमारको दायरा २,५०० किलोमिटरसम्म पुग्छ। यीसँगै, इरानले ड्रोनहरूलाई एकैपटक ठूलो संख्यामा प्रयोग गरी शत्रुको वायु सुरक्षा प्रणालीलाई थकाउने रणनीति अपनाउँछ। जब ब्यालिस्टिक मिसाइलको क्षमता घट्दै जान्छ, इरान क्रमशः ड्रोन र क्रुज मिसाइलको प्रयोग बढाउने गर्छ।

भूमिगत मिसाइल सहर: अन्तिम सुरक्षा कवच

इरानसँग देशभरका सबै प्रान्त र सहरहरूमा मिसाइल अड्डाहरू छन्, जसमध्ये धेरै ५०० मिटर गहिरो भूमिगत सुरंगमा छन्। यी भूमिगत भण्डारहरूले शत्रुको प्रथम आक्रमणपछि पनि इरानलाई जवाफी क्षमता कायम राख्न मद्दत गर्छ। फेब्रुअरी २०२६ को एक विश्लेषण रिपोर्टले १,००० देखि ३,००० किलोमिटर दायराका मिसाइलका लागि इरानमा २५ वटा प्रमुख ब्यालिस्टिक मिसाइल प्रक्षेपण अड्डा रहेको पहिचान गरेको छ।

होर्मुज गल्छीको नियन्त्रण: आर्थिक हतियार

इरानको रणनीति भूमि लक्ष्यमा मात्र सीमित छैन। होर्मुज गल्छीबाट विश्वको तेल व्यापारको ठूलो हिस्सा गुज्रिन्छ। इरानी क्रान्तिकारी गार्ड कोर्पस (आईआरजीसी) ले एन्टि-शिप मिसाइल, नौसैनिक माइन, ड्रोन र छिटो आक्रमण गर्ने जहाजहरूबाट समुद्री व्यापारमा खलल पार्न सक्छ। पहिले नै तीनवटा ट्यांकरमा आक्रमण भइसकेका छन् । विभिन्न कम्पनीले आफ्ना जहाजहरू यो क्षेत्रमा पठाउन बन्द गरिसकेका छन् ।

छद्म समूहहरू

इरानसँग आफ्नै सैन्य शक्तिका अतिरिक्त लेबनानको हेजबोल्लाह र यमनका हुथी विद्रोहीहरू पनि छन्, जसले खामेनीको हत्यापछि तेहरानप्रति समर्थन जनाउँदै युद्धमा सहभागी भएका छन्। इरानी अधिकारीहरूले स्पष्ट रूपमा भनेका छन्, ‘यो एकल जवाफी प्रहार नभई निरन्तर अभियान हो र यो युद्ध कुनै पनि हालतमा सीमित रहने छैन।’

 

साउदीस्थित विश्वकै ठूलाे तेल रिफाइनरीमा इरानकाे आक्रमण, रिफाइनगरी बन्द

तेहरान। इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी ‘रास तनुरा’ मा आक्रमण गरेको छ । आक्रमणपछि रिफाइनरी बन्द भएको छ ।

बेलायती समाचार सस्था रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको हाे ।

यसको क्षमता दैनिक करिब ५.५ देखि ६ लाख ब्यारेल कच्चा तेल उत्पादन छ। विश्वकै ठूला तेल लोड गर्ने टर्मिनलमध्ये एक रहेकाे यसबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशहरूमा भारी मात्रामा तेल ट्याङ्करमार्फत कच्चा तेल निर्यात गरिन्छ ।

यसैबीच, इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले सोमबार अमेरिका अमेरिकासँग कुनै वार्ता नगर्ने बताएका छन् । उनले इरानले अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने खबरको खण्डन गरेका हुन् ।

इरानले आज इजराइलबाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि हमलाहरू पुनः सुरु गरेको छ ।

अर्कोतर्फ, यस युद्धमा लेबनानको उग्रवादी सङ्गठन हिजबुल्लाह पनि सहभागी भएको छ । इरानको समर्थनप्राप्त हिजबुल्लाहले इजराइलका धेरै ठाउँमा बमबारी गरेको छ । उसले इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको मृत्युको बदला लिने घोषणा गरेको छ ।

अल जजिराको रिपोर्टअनुसार अमेरिका र इजराइलले मिलेर अहिलेसम्म इरानका १ हजारभन्दा बढी स्थानमा हमला गरेका छन् । यस दौरान प्रारम्भिक ३० घण्टामा २ हजारभन्दा बढी बम खसालिएका छन् ।
यी हमलामा अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन् ।

एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु भएको र ४५ जना घाइते भएको खबर छ ।

फेब्रुअरी २८ मा सुरु भएको यस लडाइँको पहिलो दिन नै इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई मारिएका थिए । यसबाहेक, आइतबार ३ जना अमेरिकी सैनिकको पनि मृत्यु भएको थियो ।

चालु आर्थिक वर्षकाे ८ महिना बित्याे, विकास बजेट खर्च निराशाजनक

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि विनियाेजित पुँजीगत बजेटमध्येबाट २० प्रतिशत पनि खर्च हुन सकेको छैन ।

जेठ १५ मा सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब बराबर विकासका लागि बजेट छुट्टाएको थियो ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुँजीगत शीर्षकमा छुट्टाइएको बजेटमध्येबाट फागुन १७ सम्ममा ७५ अर्ब ८३ करोड ४३ लाख मात्रै खर्च भएको छ ।

यो खर्च उक्त शीर्षकमा १८.५९ प्रतिशत मात्रै हो । सरकारले चालु  आर्थिक वर्षकाे आठ महिना बित्न लाग्दासमेत १ खर्ब पनि विकास बजेट खर्च गर्न नसकेको यो तथ्यांकले देखाएको छ ।

निर्माणको गति अघि नबढेका कारण अहिले पुँजीगत खर्च हुन नसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

उनकाअनुसार काम गर्ने समयमा सरकारले ठेक्का तोडेका कारण कामहरु प्रभावित भए भने अहिले मुख्यगरी काम नहुनुको कारण आर्थिकदेखि मजदुर अभाव रहेको बताए ।

अध्यक्ष सिंहले भने, ‘विकास बजेट खर्च नहुनुको कारण एउटा कारण श्रमिक अभाव हो । अहिले काम गर्ने माहोल पनि छैन । जेन-जी आन्दोलनपछि अस्थिरताका कारण पनि काम भएको छैन । अहिले अर्थ मन्त्रालयले पनि विकास बजेटलाई खुम्चाउने प्रयास गरिरहेको छ । विकास बजेट खर्च गर्ने रकम नभएको अभास हुन्छ । विनियोजित बजेटलाई कसरी संकुचनमा ल्याउने भन्नेमै अर्थका अधिकारीहरु लागेको देखिन्छ । बजेट अभाव भएकै कारण काम भएको छैन र काम नभएकै कारण नेपालीहरु विदेशिनु परिरहेको छ ।’

अध्यक्ष सिंहले अहिले नेपालमा मजदुर अभाव पनि चर्किँदै गएको बताएका छन् ।

अर्थतन्त्र चलायमान नहुँदा निर्माणसँगै धेरै क्षेत्रहरु प्रभावित भइरहेको उनकाे भनाइ छ । उनका अनुसार निर्माण क्षेत्र मात्रै पनि चलायमान हुने हो भने अरु धेरै क्षेत्रहरुमा गतिविधिहरु बढ्नसक्ने भएकाले सरकारले यसलाई ध्यानमा राख्न जरुरी छ ।

डिजिटल प्रचार सामग्री निगरानी गर्दै निर्वाचन आयोग, राति १२ बजेदेखि प्रचार ठप्प

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात् मौन अवधि सुरु हुँदैछ ।

मतदानअघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको हाे । निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्व रहन्छ ।

यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदातालगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।

कुनै पनि निर्वाचनमा उम्मेदवारी मनोनयनपछि औपचारिक रूपमा प्रचारप्रसार अवधि तोक्ने गरिन्छ । आयोगले ४ गतेदेखि १८ गते सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो ।

न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोकिने र यसले स्वच्छ प्रतिष्पर्धालाई प्रवद्र्धन गर्ने बताए ।

निर्वाचन प्रचार अभियानलाई केवल विजयी हुने साधनका रूपमा मात्र नलिई आम मतदाताको मन जित्ने संस्कारयुक्त प्रक्रियामा परिणत गर्नुपर्ने मान्यताअनुसार मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उम्मेदवार चयन गरुन् भन्ने मनशायमा विश्वव्यापी रुपमा नै मतदान अघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको उनले बताए ।

मौन अवधिका लागि तोकिएका आचरण अक्षरशः पालना गर्दा त्यसबाट राजनीतिक दल, उम्मेदवार एवं सरोकारवाला सबैबाट निर्वाचनको स्वच्छता र निष्ठा प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास आयोगले लिएको उनले स्पष्ट पारे ।

प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।

मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन पनि सम्बन्धित दललाई निर्देश गरेको छ ।

यो अवधिमा राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।

कार्यवहाक प्रमुख आयुक्त भण्डारीले प्रचारप्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनैपनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट गरेको पाइए कारवाही हुने चेतावनी दिए ।

इरानमा इजरायली-अमेरिकी आक्रमणका पाँच सम्भावित परिदृश्य

अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा हमला गरेपछि पश्चिम एसियामा तनाव बढेको छ । इजरायली-अमेरिकी आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीसहित ४० उच्च अधिकारीको मृत्यु भइसकेको छ ।

इरानले पनि इजरायलमा लगातार रकेट, मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ । साथै, अमेरिकी सेनाका बेस रहेका अन्य पश्चिम एसियाली मुलुकहरूमा पनि लगातार मिसाइल र ड्रोन पठाइरहेको छ। खाडी मुलुकहरूमा लगातार विष्फोटको आवाज आइरहेको समाचार प्रकाशित भइरहेका छन् । कतार, युएइ, इराक, कुवेत, बहराइन लगायतका देशमा रहेका अमेरिकी सेनाका बेस आसपास इरानका मिसाइल तथा ड्रोनले लगातार हमला गरिरहेका छन् ।

खाडी मुलुकहरूको संगठन जीसीसीले इरानलाई छिमेकीहरूसँग युद्ध लड्नु इरानको हितमा नहुने चेतावनी दिएका छन् । साउदी अरेबियाले त प्रतिआक्रमणको चेतावनी नै दिइसकेको छ ।

इजरायलमाथि हिजबुल्लाह लगायतका संगठनले पनि आक्रमण गरिरहेका छन् भने इजरायलले जवाफी कारबाही थालेको छ । उसले दक्षिणी लेबनानमा लगातार मिसाइल खसालिरहेको छ।

अब प्रश्न पश्चिम एसियाको आकाशमा मडारिएको यो संकट गहिरिन्छ कि गहिरिँदैन भन्ने होइन । प्रश्न त संकट कति र कसरी गहिरिन्छ भन्ने हो । के अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आह्वान गरेजस्तै इरानी जनताले इस्लामिक शासन ढाल्नेछन्?  वा, सन् १९७९ देखि कठोर चुनौतिका बावजुद शासन गर्दै आएको इस्लामिक गणतन्त्र यस पटक पनि नविकरण हुने छ ?

अमेरिकी-इजरायली आक्रमणपछिका सम्भावित पाँच सम्भावित परिदृश्य यस्ता छन्, जसले इरान र पश्चिम एसियामा व्यापक प्रभाव पार्ने छन् ।

१. इरानी प्रतिक्रिया

ट्रम्प-नेतान्याहुको जोडीलाई इरानले तेल अविवमा लगातार आक्रमण गरेर जवाफ दिइरहेको छ । तेहरानले संयुक्त अरब इमिरेट्स, कुवेत, कतार, बहराइन र साउदी अरेबियामाथि पनि आक्रमण गरेको छ।

इरानसँग ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोनको ठूलो भण्डार छ। त्यसमाथि, इराक र सिरियामा तैनाथ अमेरिकी सैनिकहरूलाई र इजरायली सहरहरूलाई निशाना बनाउन सक्षम क्षेत्रीय शक्तिहरू पनि उसको पहुँचमा छन्।

अमेरिकी सैन्य अड्डाहरू, खाडीमा रहेका सैन्य सम्पत्ति वा इजरायली जनघनत्व भएका क्षेत्रहरूमाथि आक्रमण भए संघर्षले अझ व्यापक रूप लिनेछ । यसले निम्त्याउने दीर्घकालीन युद्धका लागि वाशिङ्टनको दृढता परीक्षणमा पर्नेछ।

इरानले होर्मुजको गल्छीसहित खाडीका समुद्री मार्गहरू अवरुद्ध हुनसक्नेछ र यसको सुरुवात भइसकेको छ । पेट्रोलियम पदार्थको मूल्य आकाशिने छ । विश्व बजारमा सबैकुरामा महंगी बढ्न थाल्ने छ । त्यसैले, इरानी प्रतिक्रियाबाट सिंगो विश्व प्रभावित हुनेछ । इरानको प्रतिक्रिया जति सशक्त हुन्छ, त्यति नै विश्व प्रभावित हुँदै जानेछ ।

जवाफी कारबाहीमा इरान कति दृढ र व्यापक हुन्छ भन्ने कुराले यो युद्ध कतिसम्म लम्बिन्छ र कति व्यापक हुन्छ भन्ने भर पर्ने छ ।

२. क्षेत्रीय युद्धको सम्भावना

इरान एक्लै लड्दैन। लेबननमा हिजबुल्लाह, इराकमा सशस्त्र मिलिशिया, यमनमा हुथी र अन्य सहयोगी समूहहरू मिलेर एउटा यस्तो सञ्जाल बनाउँछन्, जो एकसाथ धेरै मोर्चाहरू खोल्न सक्षम छ। अहिले नै इजरायल र हेज्बुल्लाहबीचको संघर्ष चर्किइसकेको छ ।

यी शक्तिहरू सक्रिय हुँदा इजरायलले उत्तर र दक्षिण दुवैतिरबाट एकैसाथ आक्रमण भोग्नु पर्ने हुन्छ । यसले खाडी राज्यहरूमा रहेका अमेरिकी फौजलाई पनि विभिन्न दिशाबाट हमलाको जोखिममा पार्नेछ।

बहुमोर्चाको युद्धले अमेरिकी रणनीतिलाई अत्यन्तै जटिल बनाउनेछ । थप क्षेत्रीय शक्तिहरूलाई संघर्षमा तान्न सक्छ । यसले इरान र इजरायल-अमेरिकाबीचको परम्परागत शत्रुतालाई पश्चिम एसियाको क्षेत्रिय युद्धमा बदल्न सक्छ । इजरायलले विगतमा यस्ता युद्धको सामना गरे पनि उसले इरानजस्तो शक्तिशाली शत्रुसँग सिधै युद्ध लडेको थिएन ।

३. विद्रोहको ज्वाला

ट्रम्पले खुलेआम सत्तापलकटको आह्वान गर्दै इरानी जनतालाई युद्ध सकिएपछि आफ्नो सरकार आफैं हाँक्न आग्रह गरेका छन् ।

इरानमा वर्षको सुरुदेखि नै विरोध प्रदर्शनहरू भइरहेका थिए । सरकारले त्यसमाथि निर्मम दमन गर्दै आएको थियो । ‘स्टेट अफ युनियन’ सम्बोधनमा ट्रम्पले ३२,००० इरानी नागरिक मारिएको दाबी गरेका छन् तर यसको स्वतन्त्र पुष्टी भने भएको छैन । अन्य समूहहरूले दिएको तथ्याङ्क त्यो भन्दा निकै कम छ । तर विरोध प्रदर्शनहरूको व्यापकता र दमनको क्रूरता निर्विवाद छ।

अमेरिकी हमलाले विशेषगरी इरानी युवा पुस्तालाई फेरि सडकमा ओर्लन उत्साहित बनाउन सक्छ। यदि सुरक्षाबलहरू युद्धमा व्यस्त भए वा तनावमा पर्यो भने आन्दोलन एकदमै चाँडै फैलिन सक्छ।

तर, इरानीसत्तासँग विद्रोहमाथि प्रभावकारी दमन गर्ने लामो इतिहास र अनुभव छ । यहाँ जुनसुकै नयाँ आन्दोलनले तत्काल र कठोर प्रतिक्रियाको सामना गर्नुपर्नेछ। यो जोखिमबाट माथि उठेर कठोर इस्लामिक सत्तालाई घुँडा टेकाउन सहज छैन ।

साथै, अमेरिकी सैन्य हस्तक्षेपले राष्ट्रवादी आक्रोश भड्काउने जोखिम पनि छ । त्यो केवल कट्टरपन्थी इस्लामवादीमा मात्र सीमित हुँदैन। सरकारको विरोध गर्ने धेरै इरानीहरू पनि बाहिरी हस्तक्षेपको घोर विरोध गर्न सक्छन्। अन्तत: यसले वर्तमान सत्तालाई नै साथ दिने छ ।

४. राजतन्त्रको पुनरागमन

इरानमा सत्तापलट हुनेभए अपदस्त राजाका छोरा रेजा पहल्वीसहित निर्वासित विपक्षी नेताहरूको भूमिका केन्द्रमा आउँछ। राजतन्त्रवादी सञ्जालहरू प्रवासी इरानी समुदायमा र देशभित्र पनि केही हदसम्म सक्रिय छन्।

सत्ता पलट हुने स्थिति आएमा विदेशमा रहेका विपक्षी नेताहरू आफूलाई संक्रमणकालीन व्यक्तित्वका रूपमा प्रस्तुत गर्ने प्रयास गर्न सक्छन्। त्यसपछि पश्चिमी र पश्चिम एसियाली सरकारहरूमाथि उनीहरूलाई मान्यता दिने कि नदिने भन्ने दबाब पर्नेछ।

तर, इरानको राजनीतिक परिदृश्य पूर्णरूपमा विखण्डित छ। रेजा पहल्वी र अपदस्थ राजघराना देशभित्र खासै लोकप्रीय छैन । त्यसैले, पश्चिमा शक्तिहरूले चाहेको यो पुनरागमन जटिल र विवादित हुनेछ वा तत्काल असम्भव हुनेछ । यदी राजतन्त्रको पुनारागमन भए यसले इरानभित्र नयाँ द्वन्दव सिर्जना गर्ने छ । र, राजतन्त्रको प्रतिवाद विभिन्न विचारधाराका समूहले गर्ने छन् । यसमा इस्लामिक कट्टरपन्थी, बामपन्थी र मध्यमार्गी राष्ट्रवादीसमेत पर्ने छन् ।

५. इस्लामिक सत्ताको निरन्तरता

सम्भवत: सबैभन्दा बलियो परिणाम यही हुनसक्छ । सन् १९७९ देखि यति प्रभावकारी ढङ्गले आफूलाई जोगाउँदै आएको इस्लामिक गणतन्त्रले आयातुल्लाह अली खामेनीको अनुपस्थितिमा आफूलाई पुन नविकरण गर्ने छ । यसको सुरक्षा संयन्त्र, विशेषगरी रिभोलुसनरी गार्ड, अझै शक्तिशाली छ र राज्यमा गहिरो रूपमा जरा गाडेको छ।

यो शासन संरचना टिकिरहनका लागि नै बनेएको छ। खामेनी मारिए पनि इस्लामिक गणतन्त्रको संरचना निरन्तरताका लागि तयार छ। धार्मिक संस्थाहरू, आईआरजीसी र सुरक्षा निकायहरूमा सत्ता विकेन्द्रित छ, जसले उत्तराधिकार र व्यवधानको लागि आफूलाई पहिल्यै तयार पारेको छ। आदेश शृङ्खलाहरू तहगत छन्, उपनायकहरू पूर्वनिर्धारित छन्। सम्पूर्ण व्यवस्था बमबारी वा हत्याको प्रयत्नको बीच पनि सञ्चालन हुनसक्ने गरी संकुचित वृत्तहरूमा अधिकार केन्द्रित छ। एउटा मात्र हमलाले यो राज्यलाई भत्काउन सम्भव छैन।

बरू यो हमलाले कट्टरपन्थीहरूलाई थप बलियो बनाउन सक्छ, शासन विरोध प्रदर्शनहरूमाथि झन् कठोर दमन गर्दै नियन्त्रण बढ्न सक्छ। सबैभन्दा सम्भावित परिणाम भए पनि यो खतरनाक पनि छ। हमलाले अल्पकालका लागि इरानको क्षमता कमजोर पार्ला तर कठोर र चरमपन्थी शासनको आत्मविश्वास बढाएर जाने छ ।

अबुधाबीमा इरानी आक्रमणमा मारिने नेपाली युवा दिवस श्रेष्ठ

काठमाडौं । युएईकाे अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा सेक्युरिटी गार्डमा कार्यरत दिवस श्रेष्ठको मृत्यु भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएकाे छ।

उनी मिडिल इस्ट कम्पनीमा कार्यरत थिए। सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी घटनामा २९ वर्षीय श्रेष्ठको निधन भएको यूएईको परराष्ट्र मन्त्रालय जानकारी दिएको नेपाली राजदूतावासले जनाएको छ।

उनको पार्थिश शरीरलाई नेपाल ल्याउन सहजीकरण भइरहेको जनाएको छ।

यससँगै यूएईमा रहेका सबै नेपालीलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

यूएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ।

 

रुपन्देहीलाई देशकै नमुना बनाउने विष्णु पाैडेलकाे सङ्‍कल्प

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु पौडेलले रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउने संकल्प लिएको बताएका छन्उ ।

फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा बोल्दै नेता पौडेलले संविधान र लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्धि र सुशासनको बाटोमा अघि बढाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पारे ।

देशमा समृद्धि र सामाजिक न्याय त्यसै प्राप्त नहुने बताउँदै उनले त्यसका लागि सही सोच, दृष्टिकोण र दृढ इच्छा शक्तिको आवश्यकता पर्ने र आफ्नो उम्मेदवारी तिनै राष्ट्रिय उद्देश्य पूरा गर्न केन्द्रित रहेको बताए ।

रुपन्देही जिल्लालाई पूर्वाधार र मानवीय विकासका दृष्टिकोणले देशकै अग्रणी जिल्ला बनाउन आफूहरु सफल भएको दाबी गर्दै पौडेलले अबको योजना निर्माण सम्पन्न भएका आयोजनाको प्रभावकारी व्यवस्थापन र निर्माणाधीन आयोजनाको सफल कार्यान्वयन रहेको उनकाे भनाइ छ ।

यसका साथै जिल्लामा थप नयाँ र ठूला आयोजनाहरु सुरु गर्ने बताए ।

उननले भने, ‘फागुन २१ सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा म रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेको छु । मेरो उम्मेदवारी समग्रतामा संविधानको रक्षा, लोकतन्त्रको रक्षा, समृद्धि र सामाजिक न्यायको यात्रामा मुलुकलाई अगाडि बढाउनका लागि हो । राजनीतिक स्थायित्व र सुशासनका लागि हो । समृद्धि यसै प्राप्त हुँदैन, सामाजिक न्याय यसै प्राप्त हुँदैन त्यसका निम्ति सही सोच, सही दृष्टिकोण र दृढ इच्छाशक्तिको आवश्यकता पर्दछ ।’

नेता पौडेलले रुपन्देहीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको मुख्य केन्द्र बनाउने आफ्नो मुख्य लक्ष्य रहेको सुनाए ।

उनले जिल्लामै रोजगारी र स्वरोजगारीका नयाँ-नयाँ सम्भावनाहरु सिर्जना गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

भौतिक विकाससँगै मानवीय विकासलाई सँगसँगै अगाडि बढाएर रुपन्देहीलाई देशकै सर्वोत्कृष्ट र नमुना जिल्ला बनाउने संकल्पका साथ आफू चुनावी मैदानमा होमिएको उनले स्पष्ट पारे ।

खामेनी: विद्रोही युवा, कट्टरपन्थी नेता

इरानका सर्वोच्च नेता अली खामेनीको शनिबारको संयुक्त अमेरिकी-इजरायली हमलामा भएको मृत्युले इस्लामिक गणतन्त्रको लागि एक महत्वपूर्ण क्षण चिन्हित गरेको छ, जसले तीन दशकभन्दा बढी समयसम्म देशको अन्तिम राजनीतिक, सैन्य र वैचारिक अधिकारीको रूपमा रहेको व्यक्तिलाई हटाएको छ।

८६ वर्षीय धर्मगुरुले इरानको सशस्त्र सेना, न्यायपालिका र विदेश नीति संयन्त्रमा शक्ति प्रयोग गर्दै आएका थिए, उनका निर्णयहरू राष्ट्रपति र संसदको निर्णयहरूलाई समेत उल्लङ्घन गर्ने खालका हुन्थे।

इस्लामिक गणतन्त्रका संस्थापक रुहोल्लाह खोमेनीको मृत्युपछि १९८९ मा नेतृत्व सम्हालेदेखि, खामेनीले इरानलाई इरान-इराक युद्धको परिणाम, कष्टप्रद पश्चिमी प्रतिबन्धहरू, कूटनीतिक एकाकीपन, पटक-पटकको आन्तरिक अशान्ति र वासिङ्टन र तेल अभिभसँगको तीव्र टकरावबाट नेतृत्व गरेका थिए।

समर्थकहरूका लागि, उनी विदेशी दबावबाट इरानको सार्वभौमिकताका दृढ रक्षक थिए। आलोचकहरूका लागि, उनले सुधार र असहमतिप्रति प्रतिरोधी असहयोगी राजनीतिक प्रणालीको प्रतिनिधित्व गर्थे।

सर्वोच्च नेताको रूपमा, उनी राज्य प्रमुख र सेनाध्यक्षको रूपमा सेवा गरे, सशस्त्र बलहरू र इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आइआरजिसी) मा अन्तिम अधिकार कायम राखे।

बाल्यकाल, विश्वास र प्रारम्भिक राजनीति

खामेनीको जन्म अप्रिल १९, १९३९ मा पूर्वी इरानको मशहदमा एक साधारण धार्मिक परिवारमा भएको थियो। प्राथमिक शिक्षा पूरा गरेपछि, उनले मशहदमा सेमिनरीमा इस्लामिक अध्ययन गरे र त्यसपछि कोममा उच्च स्तरीय धार्मिक प्रशिक्षण लिए। उनी कविता र साहित्यमा गहिरो रुचि राख्ने व्यक्तिको रूपमा पनि परिचित थिए।

१९६० को दशकको सुरुमा, उनी शाह मोहम्मद रेजा पहलवीविरुद्धको खोमेनी आन्दोलनमा सामेल भए। १९६३ मा शुरू भएर, उनलाई प्रदर्शन आयोजना गर्ने र शासन विरोधी साहित्य वितरण गरेकोमा शाहको खुफिया सेवा SAVAK द्वारा पटक-पटक गिरफ्तार गरिएको थियो, र थुप्रै अवधि निर्वासनमा बिताए।

जब १९७८-१९७९ मा आमप्रदर्शनले इरानलाई घेर्‍यो, र राजतन्त्रलाई कमजोर बनायो, राजनीतिक कैदी र निर्वासितहरू सार्वजनिक जीवनमा फर्किए। खामेनी मशहद र अन्य शहरहरूमा पुनः प्रकट भए, जहाँ उनले प्रदर्शन आयोजना गर्न र खोमेनीको क्रान्तिकारी एजेन्डाका लागि समर्थन जुटाउन मद्दत गरे।

उदय र सर्वोच्च नेताको भूमिका

१९७९ को इस्लामिक क्रान्तिपछि, खामेनी क्रान्तिकारी परिषदमा सामेल भए र नयाँ राजनीतिक व्यवस्थामा तुरुन्तै उठे। उनले उप रक्षा मन्त्री, तेहरानको शुक्रबार प्रार्थना नेता, र संसदको सदस्यको रूपमा सेवा गरे।

१९८१ मा, राष्ट्रपति मोहम्मद अली रजाईको हत्यापछि, खामेनीलाई राष्ट्रपति पदमा निर्वाचित गरियो, र १९८९ सम्म दुई लगातार कार्यकाल सेवा गरे। त्यसै वर्ष, एक मस्जिदको भाषणको दौरान टेप रेकर्डरमा लुकाइएको बम विस्फोट भएपछि उनी एक हत्या प्रयासबाट बचे, जसले उनको दाहिने हात स्थायी रूपमा अशक्त बनायो।

जुन १९८९ मा खोमेनीको मृत्युपछि, इरानको विशेषज्ञ सभाले खामेनीलाई सर्वोच्च नेताको रूपमा नियुक्त गर्‍यो, र पछि संविधान संशोधनले राजनीतिक प्रणालीको शिखरमा पदलाई औपचारिक रूप दियो।

यद्यपि प्रारम्भमा उनलाई सम्झौताको विकल्पको रूपमा हेरिएको थियो, उनले क्रमशः कार्यकारी र विधायी शाखाहरू दुवैमा सर्वोच्च नेताको कार्यालयको शक्ति सुदृढ गर्दै अधिकार समेकित गरे। उनको नेतृत्वमा, इरानले अमेरिकी प्रभावलाई प्रतिरोध गर्ने, क्षेत्रीय गठबन्धनहरू विस्तार गर्ने र रणनीतिक निवारण कायम राख्ने केन्द्रित विदेश नीति अपनायो।

आन्तरिक रूपमा, इरानको राजनीति सुधारवादी र रूढिवादी धाराहरूबीच चल्यो। सुधारवादी राष्ट्रपति मोहम्मद खतामीको १९९७ को विजयले सार्वजनिक आशावाद उत्पन्न गर्‍यो, तर खामेनीले इरानलाई पश्चिमसँग खुला गर्ने प्रयासहरूको विरोध गरे ।  महमूद अहमदिनेजादको राष्ट्रपति पद रूढिवादी प्राथमिकताहरूसँग बढी मेल खाने खालको थियो । यद्यपि २००९ को विवादास्पद चुनावले ठूलो विरोध प्रदर्शन निम्त्यायो।

पछिल्ला प्रशासनहरूले व्यावहारिकता र वैचारिक कठोरताबीच जटिल सन्तुलन व्यवस्थापन गरे। राष्ट्रपति हसन रूहानीले परमाणु वार्ताहरू सहित कूटनीतिक संलग्नतालाई अघि बढाए, जबकि रूढिवादी राष्ट्रपति इब्राहिम रइसी खामेनीको नीतिहरूसँग निकट मेल खाने खालको थिए।

खामेनीको कार्यकालमा पटक-पटक अशान्तिको लहर पनि देखिएको थियो। २०२२ मा, नैतिकता प्रहरीको हिरासतमा महसा अमिनीको मृत्युले देशव्यापी विरोध प्रदर्शनलाई उत्प्रेरित गर्‍यो जसले गहिरो सामाजिक असन्तुष्टि उजागर गर्‍यो।

२०२५ को अन्त्यमा फेरि विरोध प्रदर्शन भड्कियो, जुन सुरुमा आर्थिक कष्टको विरुद्ध थियो तर पछि ठूलो शासन-विरोधी प्रदर्शनमा परिणत भयो। विरोध प्रदर्शनमा हिंसात्मक झडप र सरकारी दमन देखियो, इरानी अधिकारीहरूले नागरिक र सुरक्षाकर्मी दुवै गरी ३,१०० भन्दा बढीको मृत्यु भएको पुष्टि गरे।

परमाणु कार्यक्रम र वार्ताहरू
इरानको परमाणु कार्यक्रम खामेनीको शासनको एक प्रमुख मुद्दा बन्यो। पश्चिमी शक्तिहरूसँग तनाव बढ्दै जाँदा, व्यापक प्रतिबन्धहरूले इरानको अर्थव्यवस्थालाई गम्भीर रूपमा तनावग्रस्त बनायो।

२०१५ मा तेहरान संयुक्त व्यापक कार्य योजनामा पुग्यो, जसले प्रतिबन्ध हटाउनको बदलामा परमाणु गतिविधिहरू कम गर्‍यो। खामेनीले वार्ताहरूलाई स्वीकृति दिए तर वासिङ्टनप्रति गहिरो शंका कायमै राखे। राष्ट्रपति डोनाल्ड ट्रम्प अन्तर्गतको अमेरिका २०१८ मा सम्झौताबाट बाहिरिएपछि र प्रतिबन्धहरू पुनः लागू गरेपछि सम्झौता भंग भयो, जसले इरानलाई अनुपालन कम गर्न प्रोत्साहित गर्‍यो।

खामेनीको मृत्यु त्यस बेला भयो जब वासिङ्टन र तेहरान अप्रत्यक्ष परमाणु वार्तामा संलग्न थिए। अमेरिकी मागहरूमा इरानको परमाणु क्षमतामा स्थायी प्रतिबन्ध र समृद्ध यूरेनियम भण्डारमा सीमितता समावेश थियो, जबकि इरानी अधिकारीहरूले समृद्धिकरण अधिकार त्याग्न वा भण्डार विदेश पठाउन अस्वीकार गर्दै प्रतिबन्ध हटाउने माग गरे।

खामेनीले लगातार इरानको परमाणु महत्वाकांक्षालाई शान्तिपूर्ण रूपमा प्रस्तुत गरे, जबकि प्रतिबन्धहरूलाई आर्थिक जबरजस्तीको रूपमा चित्रण गरे। फेब्रुअरी १७ मा उनको सामाजिक सञ्जालको अन्तिम पोस्टहरू मध्ये एकमा, उनले भने कि परमाणु ऊर्जा अन्तर्राष्ट्रिय निर्देशिकाहरू अन्तर्गत मान्यता प्राप्त एक “अखण्डनीय अधिकार” हो र अमेरिकी हस्तक्षेपको आलोचना गरे।

प्यालेस्टाइन, क्षेत्रीय गठबन्धन र ‘प्रतिरोधको धुरी’

प्यालेस्टाइनी राज्यको लागि समर्थन खामेनीको विश्वदृष्टिकोणमा केन्द्रीय रह्यो। अक्टोबर २०२३ मा गाजामा इजरायलको युद्धपछि, उनले इजरायल र अमेरिकाविरुद्ध आफ्नो भाषण तीव्र पारे, देशहरूलाई इजरायलसँगको सम्बन्ध तोड्न आग्रह गरे र कूटनीतिक एकाकीपनको आह्वान गरे।

खामेनीको अधीनमा इरानको रणनीतिको एक प्रमुख स्तम्भ थियो क्षेत्रीय सहयोगीहरूलाई समर्थन गर्ने, जसमा लेबनानमा हिजबुल्लाह र इराक र यमन भरिका सशस्त्र समूहहरू समावेश थिए, जुन इरानी अधिकारीहरूले “प्रतिरोधको धुरी” भनेर वर्णन गर्दछन् – इजरायली र अमेरिकी प्रभावको विरुद्ध संरेखित एक नेटवर्क।

अमेरिका र इजरायलसँगको टकराव

खामेनी अमेरिका र इजरायलको नीतिहरूको दीर्घकालीन आलोचक रहे, जसलाई प्रायः इरानका प्रमुख प्रतिद्वन्द्वीहरूको रूपमा चित्रण गरे। गत वर्ष इरानी स्थलहरूमा इजरायली हवाई आक्रमणपछि क्षेत्रीय तनाव बढ्यो जसले तेहरानको जवाफी आक्रमणलाई प्रेरित गर्‍यो।

उनले इजरायली कार्यवाहीको प्रतिकार गर्ने प्रतिज्ञा दोहोर्‍याए र तेल अभिभसँग वार्ताको सम्भावनालाई अस्वीकार गरे, र तेहरानले यसको आक्रामकतालाई प्रतिरोध गर्न जारी राख्ने चेतावनी दिए।

त्यसै समयमा, अमेरिकी र इजरायली अधिकारीहरूले हालका हप्ताहरूमा इरानमा राजनीतिक परिवर्तनको लागि आह्वान नवीकरण गरेका थिए, जसले खामेनीको शासनको अन्तिम अवधिको रूपमा फ्रेम गरिएको टकरावको तीव्रता रेखांकित गर्‍यो।

खामेनीको मृत्युको घोषणा गर्ने विज्ञप्तिमा, ट्रम्पले भने कि उनी “हाम्रो खुफिया र अत्यधिक परिष्कृत ट्र्याकिङ प्रणालीबाट बच्न असक्षम थिए र, इजरायलसँग मिलेर काम गर्दै, उनी वा उनका साथमा मारिएका अन्य नेताहरूले केही गर्न सकेनन्।”

अमेरिकी राष्ट्रपतिले इरानी जनताले “आफ्नो देश फिर्ता लिनुपर्छ” भन्ने आफ्नो आह्वान पनि दोहोर्‍याए।

खामेनीको मृत्युले आधुनिक मध्य-पूर्वी राजनीतिको सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू मध्ये एकलाई हटाएको छ – एक नेता जसले इरानको वैचारिक पहिचान, क्षेत्रीय गठबन्धन र पश्चिमसँगको दशकौं लामो टकराव आकार दिए।

अहिले तेहरानले सामना गर्नुपर्ने अनिश्चितता उनको शासन जत्तिकै महत्वपूर्ण हुन सक्छ, किनकि इरानले बढ्दो क्षेत्रीय तनाव र नाजुक कूटनीतिक प्रयासहरूका बीच नेतृत्व उत्तराधिकार मार्गमा अघि बढ्छ।

(टीआरटी वर्ल्डबाट)

निर्वाचनबारे प्रधानमन्त्री कार्कीकाे चार सन्देश (भिडियाे)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गरेकी छन् ।

देशवासीकाे नाममा साेमबार सम्बाेधन गर्दै उनले विभिन्न चार वटा विषयमा नागरिकहरूलाई अपिल पनि गरेकी छन् ।

पहिलो, निर्वाचनमा सरिक भइदिनुहोस्  

प्रधानमन्त्री कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिन आग्रह गरेकी छन् । उनले भनिन्, ‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन । यो त तपाईले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो । तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु ।’

दोस्रो : मौन अवधिमा अनुशासनको पूर्ण पालना होस्

प्रधानमन्त्री कार्कीले निर्वाचनको सँघारमा सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गरेकी छन् । ‘शान्ति नै नेपालको असली पहिचान हो । चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन,’ उनकाे भनाइ छ ।

सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले दलहरुकै सक्रियताले लोकतन्त्र जीवित रहने बताइन्।

मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक/अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार(प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई उनको आग्रह छ ।

निर्वाचन कार्यमा खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय र सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै उनले आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको र निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेकाे बताइन् ।

तेस्रो : निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्

प्रधानमन्त्री कार्कीले निर्वाचनकै मुखमा होली अर्थात् फागुपूर्णिमा मनाउँदै गरेको उल्लेख गर्दै उनले शुभकामना दिएकी छन् ।

‘यो रङहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ । हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ,’ उनले भनेकी छन्, ‘निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस् ।’

चौथो : विदेशमा रहेका नेपाली कामदारको रक्षा गर्न सरकार कटिबद्ध

प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको र इरान र त्यसवरपरको तनावले चिन्तित बनाएको बताएकी छन् ।

‘विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ । त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो’ उनले भनेकी छन्, ‘त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षासहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ।’

 

जननिर्वाचित प्रतिनिधिलाई छिट्टै सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्रीकाे चाहना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको संघारमा परेको होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गरेकी छन् ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै उनले होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गरिन् ।

फागु पूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले रङ्गहरूको यस पर्वले समाजमा एकता, सद्भाव र उत्साहको सन्देश दिने तथा नेपालको विविधतालाई मजबुत बनाउने बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाल र जिम्मेवारीको समीक्षासमेत गरिन् ।

इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुलाई आफूले मातृभूमिप्रतिको दायित्वका रूपमा लिएको उनले बताइन् ।

आफ्नो कार्यकालभर न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको स्मरण गर्दै उनले अबको केही दिनमै देशको बागडोर जनताले चुनेका नयाँ प्रतिनिधिहरूको हातमा सुम्पिने उद्घोष गरिन् ।

उनले भनिन्, ‘निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ । यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु । यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ । निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस् । तर म आग्रह गर्छु- होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ । अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ । आउनुहोस्, होलीको खुसी साटौँ। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ ।’

अन्तरिम सरकार आफ्नो मुख्य दायित्व (निर्वाचन गराउने) पूरा गरेर सत्ता हस्तान्तरण गर्न पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारेकी छन् ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले सुइँसुइँ गएर मतदान गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गतामैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ ।

आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरीलगायतले सहज मतदान गर्नेगरि व्यवस्थापन गरिएको जनाएको हो ।

न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दे आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदान गर्नबाट कसैलाई पनि बञ्‍चित हुन नपर्नेगरि आयोगले सम्पूर्ण व्यवस्थापन गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘हामीले केन्द्रदेखि जिल्लासम्म अनुगमनकर्ता अनुगमन अधिकृतको व्यवस्थापन गरेका छौँ । हामीले सूक्ष्म अनुगमनको पनि व्यवस्था गरेका छौँ । हामीले कुनै पनि मतदान केन्द्रमा सबैको सहज पहुँच पुग्नुपर्छ भन्ने कुरामा आयोग दृढ छ । सो अनुसार नै मतदान केन्द्र तथा मतदानस्थलको व्यवस्थापन गरेका छौँ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला, सुत्केरी, यौनिक अल्पसंख्यकहरु लाइनमा बस्नु पर्दैन । उहाँहरुलाई तुरुन्तै मतदान गर्न पाउने गरी व्यवस्थापन गरिएको छ । आयोगले आम मतदातालाई सहज ढंगले मतदान गर्न पाउने गरि व्यवस्थापन गरिसकेको अवस्था छ ।’

आयुक्त तुलाधरले आममतदातालाई सहज ढंगले मतदान गर्ने व्यवस्था मिलाउने सवालमा आयोगले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारेकी छन् ।

‘बुर्ज खलिफा’ले दुबई चिन्दा झापा ‘दमक भ्यू टावर’ले तर बिग्रेकाहरुले आगो झोसे-ओली (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला दमकमा व्यावसायिक प्रयोजनार्थ निर्मित ‘भ्यू टावर’मा जेन–जी विद्रोहको क्रममा आगजनी गरेकोप्रति चित्त दुखाएका छन् ।

दुबई बुर्ज खलिफा टावर र काठमाडौं धरहराको नामबाट चिनिने गरेको र अमेरिका विगतमा ट्वीन टावरको नामबाट चिनिन्थ्यो भन्दै उनले झापा पनि ‘दमक भ्यू टावर’को नामले चिनिने बताए ।

यद्यपि, जेन–जी विद्रोहको क्रममा विद्रोहीहरूले आफ्ना ठाउँमा निर्मित गर्वलायक संरचना दमक भ्यू टावरमा आगो झोसेर देशको सम्पत्तिमा क्षति पुर्‍याएको बताए ।

उनले आगो लगाउनेहरुलाई ‘बिग्रेका मान्छे’ भनेका छन् । हालै सम्पन्न बङ्गलादेशको निर्वाचनमा आगो जलाउने विद्रोही शक्तिले ६ सिट ल्याएको भन्दै यहाँ पनि त्यस्तै हुने टिप्पणी गरे ।

देशबासीका नाममा प्रधानमन्त्री कार्कीले गरेको सम्बोधनमा के छ ? (पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मध्यान्हमा देशबासीका नाममा सम्बोधन गर्दै आसन्न निर्वाचनसँग सम्बन्धित विभिन्न निकायप्रति कृतज्ञता व्यक्त गरेकी छन्।

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको निर्वाचन आयोग तथा चारै वटा सुरक्षा निकायलाई विशेष धन्यवाद दिएकी छन्। साथै, निर्वाचन प्रक्रियामा सहयोग पुर्‍याएका मित्र राष्ट्रहरूप्रति पनि आभार प्रकट गरेकी छन्।

प्रधानमन्त्री कार्कीले मतदाताहरूलाई निर्वाचनको दिन आफ्ना सम्पूर्ण काम छाडेर मतदान केन्द्रमा पुगी मताधिकार प्रयोग गर्न हार्दिक अनुरोध समेत गरेकी छन्।

पूर्णपाठ:

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नमस्कार !

आज म एउटा विशेष घडीमा तपाईँहरूसँग मनका केही कुरा राख्न चाहन्छु।

हाम्रो देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको छ।

आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ।

तर, त्योभन्दा अगाडि हाम्रो सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिमा परेको छ। रङ्गहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण छन्।

मैले यो जिम्मेवारी सम्हाल्दाको समय तपाईंहरू सबैलाई सम्झना नै छ।

जेन-जी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो। सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो।

त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो।

आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ। यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो।

अब मेरो पहिलो आग्रह तपाईँ मतदाताहरूसँग छ:

देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्।

भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।

तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।

दोस्रो कुरा- निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो।

चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन।

म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो।

साथै मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक-अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार-प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गर्दछु।

यस महान् कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु। तपाईँहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ।

निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको छ। निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध छन्।

प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्‍याएका छन्।

नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत-साधन परिचालन गरेका छन्।

सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ।

छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेका छौँ।

निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई म धन्यवाद दिन चाहन्छु। साथै, संयुक्त राष्ट्र संघीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी छौँ।

सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईँहरुलाई जानकारी गराउँदछु।

साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु।

आज सम्पूर्ण देशवासीलाई अर्को के कुरामा आश्वस्त पार्न चाहन्छु भने, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन।कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन।

तेस्रो, हाम्रो उत्सवको कुरा ।

निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ। यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु।

यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ।

निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस्।

तर, म आग्रह गर्छु- होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ।

चौथो- एक गम्भीर विषय।

आज संसारको अर्को कुनामा, मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ। इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ।

विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो।

त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ।

हामी हरदम तपाईँहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ।

अन्त्यमा, इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु।

मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ।

आउनुहोस्, होलीको खुसी साटौँ। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ।

धन्यवाद।

मनाइँदै हाेली उत्सव, वसन्तपुर-टुँडिखेलमा ठूलाे भीड (भिडियाे)

काठमाडौं । हर्षोल्लासपूर्वक होली पर्व मनाउन सुरु गरिएको छ ।

आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन सुरु गरिएको हो । फागु पूर्णिमाका दिन हरेक वर्ष हर्षोल्लासका साथ हाेली मनाउने गरिन्छ ।

काठमाडौंकाे वसन्तपुरमा मानिसहरुले विशेषारुपमा होली मनाइरहेका छन् । टुँडिखेलमा पनि धुमधामका साथ मानिसहरु भेला भएर हाेली मनाइरहेकाे पाइएकाे छ ।

वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहरुको पनि यतिबेला ठूलाे भीड छ ।

आज विशेषगरि देशकाे पहाडी भूभागमा होली खेल्न गरिन्छ । भोलि भने तराई-मधेसका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

एक अर्काबीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ । यतिबेला काठमाडौंका विभिन्न होली हर्षोल्लासमय समय छ ।

ओली भन्छन्- जनता बाटा भइसके, छक्याउँदा छक्किनेवाला छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता अब सचेत भइसकेको र कसैको भ्रममा नपर्ने दाबी गरेका छन् ।

झापा क्षेत्र नम्बर-५ को चुनावी घरदैलोका क्रममा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेको बताए ।

उनले विकास गर्ने र विनाश गर्ने शक्तिबीचको फरक जनताले बुझिसकेको उल्लेख गरे । देश बचाउने र विकास गर्ने शक्तिलाई अत्याधिक मतले जिताउन आग्रह गरे ।

ओलीले दमक र आसपासका क्षेत्रमा भएको विकासको स्मरण गराउँदै विकासको यो गतिलाई निरन्तरता दिन सूर्य चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले कस्तो चलेको छ भने एउटा आकाशे हल्ला छ । एक दुई जना जनता अलिकति अल्मलिन्छ, अलिकति भ्रममा पर्छ । कोही कोही भ्रममा पर्छ तर आम जनता भ्रममा पर्दैन । जनता अब बाठो भइसक्या छ । देखिसक्या छ । बुझिसक्या छ । जनतालाई कसैले छक्काउन खोज्यो भने जनता छक्किने वाला छैन । त्यत्तिको बुझ्ने भइसक्या छ ।’

अध्यक्ष ओलीले जनताले अब कसले विकास गर्छ र कसले आगो लगाउँछ भन्नेकुराको फैसला गर्ने बेला आएको बताए ।

निर्वाचन देश जलाउने र बनाउने शक्तिहरूबीचको जनमत सङ्ग्रह : ओली (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचन देश जलाउने र बनाउने शक्तिहरूबीचको जनमत सङ्ग्रह भएको बताएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर-५ का मतदाताहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले निर्वाचनले देशलाई समृद्धिको दिशामा लैजाने उम्मेदवार छान्नुपर्नेमा जोड दिए ।

एमालेलाई बच्चादेखि ज्येष्ठ नागरिकसम्मको ख्याल गर्ने पार्टीको रूपमा चित्रण गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा एमालेको विकल्प नभएको ओलीले दाबी गरे ।

निर्वाचनले देशको रक्षा गर्ने र विकासको पाटो साट्ने अवसर प्रदान गरेको उनकाे भनाइ छ ।

ओलीले भने, ‘आज देश जलाउने र देश बनाउनेका बीचमा यो जनमत सङ्ग्रह हो । हामीले देश बनाउनुपर्ने छ, सुशासन ल्याउनुपर्ने छ, शान्ति सुव्यवस्था कायम गर्नुपर्ने छ र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने छ । विभिन्न प्रकारका ठगिका काण्डहरू, विभिन्न प्रकारका भ्रष्टाचारका काण्डहरू गर्ने गराउनेहरूमाथि कारबाही गर्नुपर्ने छ, जनतालाई सुविधा दिनुपर्ने छ र देशमा छिटोछिटो विकास गर्नुपर्ने छ ।’

निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई राष्ट्रको भविष्य तय गर्ने निर्णायक मोड भएको ओलीकाे भनाइ छ ।

सुशासन र समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको समेत बताए ।

काबुलमा पाकिस्तानी र इस्लामाबाद र पेशावरमा अफगानी हमला

अफगानिस्तानको राजधानी काबुलमा आइतबार साँझ ७ बजे पाकिस्तानी हवाई हमला भएको छ ।

अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता एनायतुल्लाह खोराज्मीले पाकिस्तानी लडाकु विमानहरूको ठूलो संख्याले काबुलको हवाई क्षेत्रमा प्रवेश गरेको बताए, जसलाई रोक्न अफगान वायु रक्षा बलहरूले प्रभावकारी रूपमा हस्तक्षेप गरेका थिए ।

यसैबीच, अफगान स्थानीय मिडियाले रिपोर्ट गरेका छन् कि अफगान सेनाले पाकिस्तानको राजधानी इस्लामाबाद र पेशावर शहरमा ड्रोन आक्रमण गरेको छ ।

पछिल्ला दिनहरूमा अफगानिस्तान र पाकिस्तानबीच सैन्य तनाव तीब्र बनेको छ, जसमा पटक–पटक गोली हानाहान र आक्रमणहरू भएका छन् ।

यो घटनाले दुई छिमेकी देशहरूबीचको द्वन्द्वलाई थप उग्र बनाएको छ, जसमा पाकिस्तानले अफगानिस्तानमा रहेका आतंकवादी शिविरहरू लक्षित गरेको दाबी गरेको छ भने अफगानिस्तानले यो आक्रमणलाई उक्साहटबिनाको भनेको छ ।

दुवै पक्षबाट जारी यो द्वन्द्वले क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्नसक्ने आशंका बढेको छ । अन्तर्राष्ट्रिय समुदायले युद्धविरामको आह्वान गरेको छ तर हालसम्म कुनै ठोस प्रगति भएको छैन ।

वेस्ट इन्डिजलाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

सञ्जु सामसनको विष्फोटक ब्याटिङसँगै वेस्ट इन्डिजलाई हराएर भारत जारी टी–२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । १९६ रनको चुनौतीपूर्ण लक्ष्य भारतले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९५ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। कप्तान साई होपले ३२ रन बनाउँदा रोस्टन चेजले २५ बलमा ४० रन जोडे। सिमरोन हेटमायरले १२ बलमा २७ रनको आक्रामक इनिङ्स खेले भने अन्त्यतिर रोभम्यान पावेल (अविजित ३४) र जेसन होल्डर (अविजित ३७) ले तीव्र गतिमा रन थप्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

भारतका लागि जसप्रित बुमराहले चार ओभरमा दुई विकेट लिए। हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले समान एक–एक विकेट हात पारे।

१९६ रनको लक्ष्य पछ्याएको भारतको सुरुआत सामान्य रह्यो। अभिषेक शर्माले १० रन बनाएर आउट भए भने ईशान किशन १० रनमै फर्किए। कप्तान सूर्यकुमार यादवले १८ रन जोडे।

तर विकेटकिपर ब्याटर सञ्जु सामसनले उत्कृष्ट र आक्रामक ब्याटिङ गर्दै खेलको दिशा नै परिवर्तन गरिदिए। उनले ५० बलमा १२ चौका र चार छक्कासहित अविजित ९७ रनको शानदार इनिङ्स खेले। तिलक वर्माले २७ रनको महत्वपूर्ण योगदान दिए भने अन्तिमतिर हार्दिक पाण्ड्या १७ रनमा आउट भए। शिवम दुबे आठ रनमा अविजित रहँदा भारतले लक्ष्य पूरा गर्‍यो।

वेस्ट इन्डिजका लागि जेसन होल्डर र शमार जोसेफले समान दुई–दुई विकेट लिए पनि सामसनको विस्फोटक प्रदर्शनका कारण टोलीले खेल जोगाउन सकेन।

यससँगै भारतले सुपर एट्स चरणको आफ्नो प्रदर्शनलाई मजबुत बनाएको छ। भारत सुपर एट्समा दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यो समूहबाट सबै खेल जितेर अपराजित रहेको दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ।

दाङका बिरामी बाहिर जाने हाेइन, बाहिरबाट आउने बनाउँछाैँ – शङ्‍कर पाेखरेल (भिडियाे)

काठमाडौं ।  नेकपा एमालेका महासचिव तथा दाङ-२ का उम्मेदवार शंकर पोखरेलले दाङको स्वास्थ्य र खानेपानी क्षेत्रकाे विकासलाई तीव्र गतिमा अगाडि बढाइने बताएका छन्।

दाङमा आइतबार आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले ४०० शय्याको आधुनिक अस्पताल निर्माणको योजना अघि बढाइएको जानकारी दिए।

‘अब दाङमा हामी ४०० बेडको नयाँ हस्पिटलबनाउने योजनाका साथ अगाडि बढेका छौँ । अब दाङका बिरामीहरु बाहिर जाने होइन, बाहिरका बिरामीहरु दाङ आउने परिवेश निर्माण गर्न गइरहेको कुरा म तपाईंहरुको बीचमा राख्न चाहन्छु,’ उनले भने ।

जिल्लाकाे घोराही-तुलसीपुर सडक अलपत्र परेको र सयौँको ज्यान गएकाे भन्दै उनले  हाल एमालेकै पहलमा उक्त सडक धमाधम निर्माण भइरहेकाे बताए ।

उनले भने, ‘दाङबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बनाउँछौँ भन्ने सपना त देखाए तर केही गर्न सकेनन्ज, जब नेकपा एमालेको नेतृत्वमा सरकार बन्यो, हामीले पहल गर्‍याैँ । एक्जिम बैंकको ऋण सहायतामा बन्न थालेको सडकलाई ठेक्का खारेज गरिकन नेपाल सरकारकै बजेटमा हामीले नयाँ ठेक्का गर्न लगायौँ र आज सडक धमाधम बन्दैछ । चार लेनको दङ्‍गाली जनताको सपना पूरा हुँदैछ ।’

पोखरेलले दाङमा एक घर एक धारा निर्माणकाे याेजना एमालेले अघि बढाएकाे पनि उनले बताए ।

दक्षिण अफ्रिकाको अपराजित यात्रा कायमै, सुपर ८मा जितविहिन रह्यो जिम्बावे

काठमाडौं । जारी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। सुपर ८ मा समूह–१ को खेलमा जिम्बावेले दिएको १५४ रनको लक्ष्य दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा १७ दशमलव पाँच ओभरमै पूरा गर्दै लगातार जित दर्ता गर्‍यो। सुपर ८मा जितविहीन रहेको जिम्बावे भने प्रतिस्पर्धात्मक प्रदर्शनका बाबजुद अर्को हार बेहोर्न बाध्य बन्यो।

दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रन बनाएको थियो। कप्तान सिकन्दर रजाले ४३ बलमा आठ चौका र चार छक्कासहित ७३ रनको उत्कृष्ट इनिङ्स खेले। क्लाइभ मदान्डे २० बलमा २६ रन जोड्दै अविजित रहे। ब्रायन बेनेटले १५, डियोन मायर्सले ११ र टाडिवानाशे मारुमानीले सात रन बनाए।

दक्षिण अफ्रिकाका बलरमध्ये क्वेना माफाकाले चार ओभरमा २१ रन खर्चेर दुई विकेट लिए। कोर्बिन बोस्चले दुई विकेट लिए पनि ४० रन खर्चिए। एनरिक नोर्खिया, लुंगी एनगिडी र जर्ज लिन्डेले समान एक–एक विकेट हात पारे।

१५४ रनको लक्ष्य पछ्याउन उत्रिएको दक्षिण अफ्रिकाको सुरुवात कमजोर रह्यो। क्विन्टन डी कक शून्यमै आउट भए भने कप्तान एडेन मार्कराम चार रनमै पवेलियन फर्किए। तर रियान रिकेल्टनले ३१ रन बनाएर इनिङ्स सम्हाले। त्यसपछि डेवाल्ड ब्रेभिसले १८ बलमा दुई चौका र चार छक्कासहित ४२ रनको आक्रामक इनिङ्स खेल्दै खेललाई दक्षिण अफ्रिकातर्फ मोडे।

डेभिड मिलरले २२ रन जोडेपछि ट्रिस्टन स्टब्स र जर्ज लिन्डेले संयमित साझेदारी गर्दै टोलीलाई लक्ष्यसम्म पुर्‍याए। स्टब्स २१ रनमा अविजित रहे भने लिन्डेले ३० रन जोड्दै जित सुनिश्चित गरे।

जिम्बावेका लागि सिकन्दर रजाले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिएर उत्कृष्ट बलिङ गरे। ब्राड इभान्स र ब्लेसिङ मुजाराबानीले समान एक–एक विकेट लिए पनि लक्ष्य जोगाउन पर्याप्त भएन।

यस जितसँगै दक्षिण अफ्रिकाले सुपर एट्स चरणमा आफ्नो मजबुत स्थिति कायम राखेको छ। जिम्बावे भने सुपर एट्समा जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

समूह चरणका चारै खेल जितेको दक्षिण अफ्रिका सुपर ८मा पनि अपराजित रहँदै सेमिफाइनल पुग्यो । सुपर ८मा यसअघि दक्षिण अफ्रिकाले भारत र वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

टी-२० विश्वकप: भर्चुअल सेमिफाइनलमा भारत र वेस्ट इन्डिज भिड्दै

काठमाडौं। टी–२० विश्वकपको सुपर ८को ‘भर्चुअल क्वाटरफाइनल’मा भारत र वेस्ट इन्डिज भिड्दै छन् । सुपर ८को समूह ‘ए’मा दुवै टोलिले समान एक जित र एक हार व्यहोर्दै २-२ अंक बटुलेका छन् । आजको खेलमा विजयी हुने टोलिले समिफाइनल यात्रा तय गर्ने छ भने पराजित टोलि प्रतिस्पर्धाबाट बाहिरिने छ । त्यसैले, यो खेललाई ‘वर्चुअल क्वार्टरफाइनल’का रूपमा पनि लिइएको छ ।

कोलकात्ताको इडेन गार्डेन रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरू हुने छ ।

भारतले यस प्रतियोगितामा सन्तुलित प्रदर्शन गर्दै आएको छ। ब्याटिङतर्फ शीर्षक्रमले राम्रो सुरुआत दिलाउँदै आएको छ भने मध्यक्रमले आवश्यक गतिमा रन जोड्ने क्षमता देखाएको छ। बलिङतर्फ तीव्र गतिका बलर र स्पिन आक्रमण दुवै प्रभावकारी देखिएका छन्, जसले दबाबका क्षणमा खेल पल्टाउन सक्ने सामर्थ्य राख्छ।

वेस्ट इन्डिज भने आफ्नो विस्फोटक ब्याटिङ शैलीका कारण सधैं खतरनाक मानिन्छ। छोटो ढाँचामा छक्का प्रहार गर्ने क्षमता उनीहरूको मुख्य बल हो। यदि शीर्षक्रमले राम्रो सुरुआत दिलायो भने वेस्ट इन्डिजले जुनसुकै लक्ष्य चुनौतीपूर्ण बनाउन सक्छ। बलिङतर्फ पनि उनीहरूले विविधता प्रयोग गर्दै आएका छन्, विशेषगरी मध्यम गतिका बलर र स्पिनरले मध्य ओभरमा विकेट निकाल्ने प्रयास गर्नेछन्।

यो समूहबाट दक्षिण अफ्रिका सबै खेलमा जित हात पार्दै सेमिफाइनल पुगिसकेको छ भने तीन हार व्यहोर्दै जिम्बावे घर फर्किएको छ ।

चुनाव नसकुञ्‍जेल दुर्गा प्रसाईं प्रहरी हिरासतमा

काठमाडौं । दुर्गा प्रसाईं पाँच दिन हिरासतमा बस्ने भएका छन् । उनलाई हिरासतमा राख्न आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको हाे ।

उनी आइतबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ परेका हुन् । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान थालेकाे छ ।

उनले निर्वाचनविराेधी अभियान चलाउँदै आएका छन् । निर्वाचन बहिष्कार गरेका उनी र उनकाे समूहले देश सङ्‍कटमा रहेकाे भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबार प्रवेश गराउने बताउने गरेका छन् ।

उनी ९ दिन हिरासत बसेर यही १३ फागुनमा मात्रै रिहा भएका थिए ।

गगनकाे ठाेकुवा-सरकारकाे नेतृत्त्‍व पाए आगामी ५ वर्ष देशमा सुशासन र विकास

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूले सरकारको नेतृत्त्व पाए आगामी ५ वर्ष देशकाे सुशासन र विकासका लागि सदुपयोग गर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले आगामी ५ वर्ष देशलाई विकास र सुशासनमा परिणाम दिनेगरि हरेक क्षणको सदुपयोग गर्ने प्रतिज्ञासहित अघि बढेको बताए ।

सभापति थापाले विगत केही समययता सबै दल सरकार बनाउने र टिकाउने धन्दामा लागेकाले अब परिणाम आउनेगरि काम गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

उनले भने, ‘अबको पाँच वर्षको अवधि सरकार बनाउने र टिकाउनेमा जाने होइन । अबको अवधि परिणाम दिने ठाउँमा जानु पर्दछ । त्यसैले नेपाली काँग्रेस पार्टीको तर्फबाट हामी एउटा प्रतिज्ञा लिएर उभिएका छौँ- हामी यो ५ वर्षको प्रत्येक दिनको प्रत्येक क्षण नेपालको सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौँ । एक क्षण पनि खेर नफाली । त्यसका निम्ति एउटा सोचका साथमा, संकल्पका साथमा र योजनाका साथमा हामी आएका छौँ ।’

सभापति थापाले मुलुकलाई अघि बढाउन सबै दलहरुबीच सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे ।

जेन-जी विद्राेहमा गाेली चलाउन आदेश दिएकाे बीबीसीकाे दाबीविरुद्ध खापुङ अदालत जालान् ?

काठमाडौं । जेन-जी विद्राेहकाे बेला नेपाल प्रहरीकाे महानिरीक्षक रहेका चन्द्रकुबेर खापुङले बीबीसी विश्व सेवा र नेपाली सेवाबाट हालै सार्वजनिक ‘डकुमेन्ट्री’ एकपक्षीय, नियाेजित र चुनावलाई प्रभावित पार्ने निहीत उद्देश्यबाट तयार पारेकाे टिप्पणी गर्दै आफूलाई घटनामा जिम्मेवार ठहर्‍याउन खाेजेकाेमा आक्राेशित देखिएका छन् ।

उनले बीबीसीविरुद्ध कानुनी उपचार खाेज्ने साेचमा रहेकाे बताए । ‘जसरी मलाई आराेपित गरियाे, त्यसविरुद्ध कानुनी उपचार खाेज्ने तयारीमा छु,’ उनले नेपालवान एचडीसँग भने ।

खापुङले उक्त डकुमेन्ट्रीलाई ‘गम्भीर चालबाजी’को संज्ञा दिँदै यसलाई आगामी निर्वाचनमा जनमत प्रभावित पार्ने नियोजित प्रयास भएको बताएका छन्।

उनका अनुसार बाह्य सञ्चारमाध्यमहरू चुनावी माहोलमा अस्वाभाविक रूपमा सक्रिय देखिएका छन्, जसले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको संकेत गर्छ।

बीबीसीले प्रसारण गरेको डकुमेन्ट्रीमा जेन–जी प्रदर्शनका क्रममा विद्यालय पोशाकमा रहेका किशोरकिशोरीमाथि तत्कालीन प्रहरी प्रमुख खापुङलाई कल साइन ‘पिटर वान’का रूपमा उल्लेख गर्दै उनकै आदेशमा प्रहरीबाट गोली चलाइएको दाबी गरिएको छ।

डकुमेन्ट्रीमा समावेश गरिएको भनिएको प्रहरीको आन्तरिक दस्तावेजअनुसार कर्फ्यू लागेको १० मिनेटपछि आवश्यक बल प्रयोग गर्न निर्देशन दिइएको र १२:३० बजे कर्फ्यू लागू गरिएको उल्लेख छ।

साथै, प्रदर्शनका क्रममा सिर्जित परिस्थितिलाई सम्हाल्न प्रहरी नेतृत्व असफल भएको तथा बल प्रयोगको आदेश र जिम्मेवारीबारे स्पष्टता नदेखिएको आशय प्रस्तुत गरिएको छ।

यी आरोपहरूलाई खापुङले अस्वीकार गरेका छन्। उनले डकुमेन्ट्री एकपक्षीय रहेको दाबी गर्दै भदौ २२ अघिका घटनाक्रम, सम्भावित योजनाकार तथा भदौ २४ गतेको पूर्ण सन्दर्भलाई बेवास्ता गरिएको बताएका छन्।

सीमित समय र स्थानका फोटो तथा भिडियो जोडजाड गरेर चुनावको मुखमा सामग्री सार्वजनिक गरिएको उनको भनाइ छ।

उनका अनुसार कर्फ्यू घोषणा भएपछि परिस्थितिअनुसार निर्णय गर्ने अधिकार जिल्ला सुरक्षा समितिमा निहित हुन्छ र सोही स्थापित प्रक्रियाअनुसार कानुन कार्यान्वयन गरिएको हो।

बीबीसीको डकुमेन्ट्री सार्वजनिक हुनुअघि बेलायतकै अर्को समाचार संस्था रोयटर्सले जेन–जी प्रदर्शनका अघोषित कमान्डर भनिएका बालेन्द्र शाह प्रधानमन्त्रीको दौडमा अगाडि रहेको समाचार प्रकाशित गरेको थियो। त्यसको भोलिपल्ट बीबीसीको डकुमेन्ट्री सार्वजनिक हुनुलाई लिएर राजनीतिक वृत्तमा आशंका व्यक्त गरिएको छ।

आलोचकहरूले जेन–जी आन्दोलन र त्यससँग सहानुभूति राख्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चुनावी लाभ पुग्ने उद्देश्यले सामग्री ल्याइएको हुन सक्ने टिप्पणी गरेका छन्।

यस विषयमा निर्वाचन आयोगले गम्भीर चासो व्यक्त गर्दै उक्त सामग्री हटाउन प्रेस काउन्सिल नेपाललाई बिहीबार नै पत्राचार गरेको छ। उक्त सामग्री नहटाए कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।

राजनीतिक विश्लेषक भीम भुर्तेल ले सामाजिक सञ्जालमार्फत उक्त डकुमेन्ट्रीलाई ‘निर्वाचन प्रभावित गर्ने पेड कन्टेन्ट’ भन्दै खारेज गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

यसैबीच २३ र २४ भदौका घटनाको सत्यतथ्य छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले सरकारी पक्ष र विद्रोही पक्ष दुवैको गतिविधिबारे अनुसन्धान गरेको छ। तर निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले प्रतिवेदन सार्वजनिक गर्ने समय निर्वाचनपछि सारिएको छ।

टी-२० विश्वकप: जिम्बावेले दियो दक्षिण अफ्रिकालाई १५४ रनको चुनौति

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२५/२६ अन्तर्गत सुपर एट्स चरणको समूह-१ को खेलमा जिम्बावेले दक्षिण अफ्रिकालाई १५४ रनको लक्ष्य दिएको छ। दिल्लीस्थित अरुण जेटली स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनायो।

जिम्बावेका लागि कप्तान सिकन्दर रजाले शानदार ब्याटिङ गर्दै ४३ बलमा ८ चौका र ४ छक्कासहित ७३ रन बनाए। क्लाइभ मदान्डेले अविजित २० बलमा ३ चौका प्रहार गर्दै २६ रन जोडे। ब्रायन बेनेटले १३ बलमा १५ रन, डियोन मायर्सले १६ बलमा ११ रन र टाडिवानाशे मारुमानीले ७ रनको योगदान दिए। अन्य ब्याट्सम्यानहरू सस्तोमा आउट हुँदा जिम्बावेले ठूलो स्कोर बनाउन सकेन।

दक्षिण अफ्रिकाका बलरहरूमध्ये क्वेना माफाकाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। एनरिक नोर्खियाले ४ ओभरमा २९ रन दिएर १ विकेट हात पारे। लुंगी एनगिडी र जर्ज लिन्डेले पनि १–१ विकेट लिए। कोर्बिन बोस्चले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए तर महँगो साबित भए।

अब दक्षिण अफ्रिकाले १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ। प्रतियोगितामा बलियो लयमा रहेको दक्षिण अफ्रिका यो लक्ष्य सहज रूपमा पछ्याउने प्रयासमा छ। जिम्बावे यस विश्वकपमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आए पनि सुपर एट्स चरणबाट अघि बढ्ने सम्भावना समाप्त भइसकेको छ भने दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ।

आज राति १२ बजेदेखि नेपालकाे अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । नेपालकाे अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लामा आज राति १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ ।

बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागिएको हो ।

निर्वाचन सुरक्षा निर्देशिकामा  निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमा नाका बन्द गर्नुपर्ने प्रावधान छ ।

सोही प्रावधानअनुसार सीमा नाका बन्द गर्न आयोगले सिफारिस गरेको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । सोहीअनुसार नै आज राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मक लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न लागिएको हो ।

उनले भने, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने उद्देश्यले निर्वाचन आयोगले तयार गरेको निर्वाचन सुरक्षा निर्देशिका बमोजिम आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लाहरुमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नक लागि निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरे बमोजिम सीमा नाकाहरु बन्द रहनेछन् । सोही बमोजिमको व्यवस्था गर्न/गराउनक लागि सम्बन्धित निकायलाई निर्वाचन आयोगले अनुरोध गर्दछ ।’

आयोगले सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।

निर्वाचन अवधिभर सुरक्षालाई कडा बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपायहरू अवलम्वन गरिरहेको जनाएको छ ।

खामेनीको हत्याबारे पुटीनको टिप्पणी: निन्दनीय हत्या

(फाइल फोटो)

 

मस्को।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र इजरायले गरेको इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीको हत्या निन्दनीय भएको टिप्पणी गरेका छन् ।

रुसी समाचार एजेन्सी तासका अनुसार पुटिनले इरानका राष्ट्रपति पेजेश्कियनप्रति खामेनीको हत्याप्रति समवेदना व्यक्त गरेको जनाएको छ।

पुटिनलाई उद्धृत गर्दै खामेनीको हत्या मानवीय नैतिकता र अन्तर्राष्ट्रिय कानुनका सबै मापदण्डको उल्लङ्घन गर्ने ‘निन्दनीय हत्या’ भएको टिप्पणी गरेको तासले जनाएको छ ।

स्वच्छ निर्वाचन गराई राजनीतिक सुशासन कायम गर्न सबैको योगदान आवश्यक : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ निर्वाचन गराएर राजनीतिक सुशासन कायम गर्न सबैले जिम्मेवार भई योगदान गर्न आवश्यक रहेको बताएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन्।

गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए। साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न गराउन र कानून उल्लङ्घन गर्नेलाई कानूनी दायरामा ल्याउन निर्देशन दिए।

गृहमन्त्री अर्यालको नेतृत्वमा गृह सचिव राजकुमार श्रेष्ठ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षकहरू सहितको टोलीले बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो।

अनुगमनका क्रममा बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको लुम्बिनी प्रदेश प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, अनुगमन अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लामा हालसम्म भएका निर्वाचन सम्बन्धी गतिविधिहरू, एकीकृत निर्वाचन सुरक्षा योजना, सुरक्षाकर्मी परिचालन रणनीति, मतपेटिका ढुवानी योजना लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए। सो क्रममा गृह सचिव राजकुमार श्रेष्ठले सबै सुरक्षा निकायहरू आपसमा समन्वयात्मक ढंगले समूह भावनाका साथ परिचालित भई निर्वाचन सफल बनाउन निर्देशन दिए।

उक्त कार्यक्रम पश्चात गृहमन्त्री अर्यालले बाँकेस्थित केही पत्रकारहरूसँगको संक्षिप्त भेटघाटका क्रममा पत्रकारका प्रश्नहरूको जवाफ दिँदै निर्वाचनको माहोल राष्ट्रिय रूपमा उत्साहजनक रूपमा बढिरहेको र बाँकेको हालसम्मको तयारीले समेत त्यसैलाई पुष्टि गर्ने बताए।

मध्यपूर्वमा सैन्य तनाव : नेपालीहरुलाई सुरक्षा मापदण्ड अपनाउन सरकारकाे आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावप्रति गहिरो चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार त्यहाँ रहेका सबै नेपालीलाई घरभित्र सुरक्षित रहन र परिवारसँग नियमित सम्पर्कमा रहन सुझाव दिइएको छ।

उनले आइतबार आयाेजित पत्रकार सम्मेलन भने, ‘सबै नेपालीलाई घरभित्र रहन, सुरक्षित रहन भनेका छौँ। घरपरिवारसँग एकापसमा सम्पर्क रहन, दूतावाससँग पनि सम्पर्कमा रहन भनेका छौँ।’

प्रवक्ता क्षेत्रीले नेपाली नागरिकलाई स्थानीय सुरक्षा मापदण्डको जानकारी लिन र त्यसलाई पूर्णरूपमा अवलम्बन गर्न पनि निर्देशन दिएको बताए। ‘पश्चिमा देशहरूका जति पनि सुरक्षा मापदण्डहरू छन्, त्यसको बारेमा जानकारी लिने र त्यसलाई पूर्णरूपमा अवलम्बन गर्न भनेका छौँ,’ उनले भने।

कुनै समस्या वा आपतकालीन परिस्थिति उत्पन्न भएमा सम्बन्धित निकाय, नेपाली राजदूतावास वा मन्त्रालयले उपलब्ध गराएका सम्पर्क नम्बरमा तुरुन्त सम्पर्क गर्न समेत आग्रह गरिएको छ।

मन्त्रालयले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाउँदै सबै पक्षलाई संयमता अपनाउन, तनाव बढ्न नदिन र सर्वसाधारणको सुरक्षाको सुनिश्चित गर्न आग्रह गरेको छ।

साथै, नेपाल सरकारले विवाद समाधानका लागि कूटनीति र वार्ताको माध्यम अपनाउन आह्वान गर्दै, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुसार सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएको उनले बताए ।

शनिबार बिहानैदेखि अमेरिका-इजरायलले इरानमा आक्रमण गरी इरानी सर्वाेच्च नेता आयताेल्लाह अलि खामेनी, त्यहाँका सेनापति, रक्षामन्त्रीलगायत थुप्रै उच्च राजनीतिक र सैन्य अधिकारीहरुकाे हत्या गरेपछि मध्यपूर्वमा सैन्य तनाव चुलिएकाे छ ।

इरानले मध्यपूर्वका अमेरिकी साझेदार देशहरु कतार, दुबई, बहराइन, जाेर्डनलगायतमा रहेकाे अमेरिकी सैन्य शिविरहरुमा आक्रमण गरेकाे छ ।

इजरायलकाे विभिन्न सैन्य अखडाहरुमा पनि आक्रमण गरेकाे छ । यससँगै मध्यपूर्वमा देशहरुमा भएका नेपालीहरुकाे सुरक्षा चिन्ता नेपालमा बढेकाे छ ।

उनीहरुलाई सम्बन्धित देशहरुले जारी गरेकाे सुरक्षा मापदण्ड पालना गर्न, घरभित्र रहन र थप सतर्कता अपनाउन त्यहाँस्थित नेपाली राजदूतावासहरुले आह्वान गरिसकेकाे छ ।

२३ हजार केन्द्रबाट मतदान गर्दै १ करोड ८९ लाख मतदाता

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रबन्ध मिलाइएको जानकारी दिए ।

उनकाअनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ ।

उनले भने, ‘एक मतदातालाई मतदान गर्न १ देखि २ मिनेट मात्र लाग्नेछ । कुनै पनि मतदान केन्द्रमा १ हजार भन्दा बढी मतदाता छैनन्, त्यसैले लाइनमा धेरै कुर्नु पर्दैन ।’

प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाताहरूलाई आफ्नो परिचय पत्र सुरक्षित राख्न र बिहान ७ बजेदेखि नै मतदानमा सहभागी हुन आह्वान गरे ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आयोगले कुनै कसर बाँकी नराखेको उनकाे दाबी छ ।

पश्चिम एसियामा जारी तनाव संयम र कुटनीतिद्वारा हल गर्न नेपालको आह्वान

नेपालले पश्चिम एसियामा जारी तनाव संयम र कुटनीतिद्वारा हल गर्न आह्वान गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमार्फत नेपालले बढ्दो तनावलाई कूटनीति र संवादबाट समाधान गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको हो।

मन्त्रालयले सबै पक्षलाई अधिकतम संयम अपनाउन, तनाव थप नबढाउन र सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न जोड दिएको छ। साथै संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनअनुसार राज्यको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान हुनुपर्ने नेपालको अडान रहेको छ।

शनिबार संयुक्त राज्य अमेरिका र इसराइलले इरानमाथि हमला गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको छ। प्रतिक्रियास्वरूप इरानले साउदी अरब, कतार र युएईसहित खाडी तथा मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूमा मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ।

यी देशहरूमा ठूलो संख्यामा नेपाली श्रमिकहरू कार्यरत रहेकाले नेपाल सरकारले उनीहरूलाई सतर्क रहन र आफ्नो नजिकको नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ। सरकारले मध्यपूर्वको परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ।