`

चुनावमा हुने धाँधली मान्य नहुने ओलीकाे चेतावनी

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।

देशकाे सार्वभौम संसदलाई ध्वंशको माध्यमबाट बललफ्‌ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उनकाे भनाइ छ ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा’सँग विद्यार्थी’ कार्यक्रममा उनले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताए ।

उनले एमाले चुनावबाट नभाग्ने र देशैभरि पार्टी चुनावमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने र देशमा आइपरेका समस्याहरुको समाधान निकाल्ने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत चेतावनी दिए ।

चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको समेत उनकाे भनाइ छ।

कार्यक्रममा उनले युवाहरुलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यस्ता भ्रमहरु चिर्ने काममा लाग्न आग्रह गरे ।

कार्यक्रममा युवा विद्यार्थीहरुले अध्यक्ष ओलीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए ।

उनीहरुको जिज्ञासा सम्बाेधन गर्दै उनले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ र के गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने भन्दै एमालेका कार्यक्रम र सिद्धान्तहरु जनतासम्म पुर्‍याउने सुझाव पनि दिए ।

रुकुम पश्‍चिमलाई देशकै ‘माेडेल’ जिल्ला बनाउने जनार्दनकाे सङ्‍कल्प (भिडियाे)

काठमाडौं । प्रगतिशील लाेकतान्त्रिक पार्टी (प्रलाेपा)बाट रुकुम पश्‍चिममा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेता जनार्दन शर्माले जिल्लालाई विकासकाे दृष्टिले देशकै नमूना जिल्ला बनाउन आँखा चिह्नमा मतदान गर्न आग्रह गरेका छन् ।

आफूलाई साझा उम्मेदवार भएकाे दाबी गर्दै उनले आफ्नाे जितले रुकुम पश्‍चिमकाे भविष्य उज्वल हुने दाबीसमेत गरे । मतदाताहरुले एक भाेट जनार्दनलाई दिने भनेकाे भन्दै उनले त्याे आफूले विगतमा गरेकाे कामकाे परिणाम भएकाे बताए ।

‘आँखा चिह्नमा मतदान गरेर प्रत्यक्षतर्फ विकासकाे लागि, समृद्धिकाे लागि, सुशासनकाे लागि,  सामाजिक न्यायकाे लागि, रुकुमलाई एउटा देशकै माेडल बनाउने विकासकाे दृष्टिले पनि, गरिबीरहित समाज निर्माणकाे दृष्टीले पनि, बेराेजगाररहित समाज बनाउनका लागि र रुकुमकाे भविष्यका लागि रुकुमकाे विकासलाई जिताउनुहाेस् भन्ने आह्वान गर्दछु,’ उनले शुक्रबार भने ।

विगतमा आफूले सबै दललाई मिलाएर जिल्लाकाे विकासमा नेतृत्त्व गरेकाे पनि उनकाे दाबी छ ।

 

आज रातिदेखि काठमाडौंमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध

काठमाडौं । आज रातिदेखि काठमाडौंमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै प्रतिनिधिसभा निर्वाचनकाे अन्तिम परिणाम नआउञ्‍जेलसम्म मदिराकाे बिक्री वितरणमा प्रतिबन्ध लगाएकाे हाे ।

काठमाडौँका सहयाक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौँ जिल्लाभित्र मिति २०८२/११/१५ गते राति १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।’

जिल्ला प्रशासन कार्यालयले यो अवधिमा मदिराको बिक्री वितरण, ओसारपसार र सेवन नगर्न आग्रह गरेको छ।

प्रतिनिधिसभा निर्वाचन यही २१ फागुनमा हुँदै छ ।

निर्वाचन आयाेगले मतदानकाे तीन दिनसम्ममा नतिजा सार्वजनिक गरिसक्ने जनाएकाे छ ।

अमेरिका-इरान वार्तामा राम्राे प्रगति, मध्यस्थता गर्दै ओमानी विदेशमन्त्री

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले जेनेभामा भएको अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको बताएका छन् ।

उनका अनुसार आगामी सोमबार भियनामा प्राविधिक वार्ता हुनेछ । विदेशमन्त्री अराघचीले राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा तेहरान र वाशिंगटनबीच जेनेभामा भएको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको र चाँडै चौथो चरणको वार्ता हुने बताए ।

अराघचीकाअनुसार वार्तालाई मुख्य रूपमा ओमानका विदेशमन्त्री सय्यिद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले मध्यस्थता गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले पनि केही क्षेत्रमा प्राविधिक योगदान दिए । जसलाई फाइदाजनक ठानिएको छ ।

यो पछिल्लो वार्ता इरान र अमेरिकाबीच बढ्दो तनाव र पश्चिम एसियामा अमेरिकी सैन्य निर्माणको बीचमा भएको हो ।

यसअघिका पहिलो र दोस्रो चरणको वार्ता यसै महिनाको सुरुमा ओमानको राजधानी मस्कट र जेनेभामा भएका थिए ।

यो वार्ताले आणविक सम्झौताको सम्भावना बढाएको देखिन्छ, तर अझै धेरै चुनौती बाँकी छन् ।

सिन्ह्वाकाे सहयाेगमा

उम्मेदवारकाे एकै परिवारकाे बैङ्‍क खाता निगरानीमा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ ।

निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवार सहितको खातामा निगरानी बढाएको हो ।

चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले आचारसंहितामा नै बैक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो ।

बैंक खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवारका सदस्यहरुको बैंक खाताको कारोबारमा निगरानी बढाएको हो ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त सगुनशमशेर जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानुनअनुसार आयोगले कारबाहीको निर्णय गर्ने बताए ।

उम्मेदवारको चुनावी खर्चको अुनगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भइरहेको उनले बताए ।

‘हामीले उम्मेदवारले गर्ने खर्चका सम्बन्धमा जिल्लादेखि नै अनुगमन गरिरहेका छौ । त्यसका लागि सहायक प्रमु्ख जिल्ला अधिकारीले निर्वाचन सामग्रीमा भएको खर्च अनुगमन गर्नुहुन्छ भने कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतले सम्बन्धित जिल्लाका निर्वाचन उम्मेदवारको वित्तीय अवस्थाको अनुगमन गर्नुहुन्छ । हामीले राष्ट्रबैंकलाई पत्राचार पनि गरेका छौँ,’ उनले भने, ‘यदि उम्मेदवारले पुरानै खाता प्रयोग गरेर खर्च गर्नुभएको छ भने, हामीले उम्मेदवार र उम्मेदवारको परिवारको बैंक खाताको कारोबारको निगरानी गरिरहेका छौँ । आयोगले निर्वाचन प्रयोजनको छुट्टै खाता खोल्न निर्देशन जारी गरेका थियौ । निर्देशन मान्नुभएन भने भविष्यमा आचारसंहिता उल्लघंन अन्तर्गत निर्वाचन कसुरको ऐन आकर्षित गरी ब्ल्याकलिस्टमा राखेर आयोगले कारवाहीको निर्णय गर्नसक्छ । हामी त्यो गर्नसक्छौँ ।’

आयुक्त जबराले आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण मिलाउन पनि सबैलाई आग्रह गरे ।

अमेरिका, बेलायतसहित ७४ देशका नागरिक श्रम गर्छन् नेपालमा

काठमाडौं । नेपालमा आएर काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढेर गएको छ ।

श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडासहित ७४ देशका नागरिकले श्रम इजाजत लिएर निर्माण, स्वास्थ्य, हवाई उडानसहितका क्षेत्रमा काम गरिरहेका छन् ।

विभागकाअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८ सय ९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६ सय ६७ जनाले श्रम नविकरण गराएका थिए ।

यसरी कुल २ हजार ५ सय ५९ जना विदेशी श्रम इजाजत लिएर नेपालमा कार्यरत छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७ सय ९३ जनाले नविकरण गराएका छन् । यस अवधिमा १ हजार १ सय ६६ जना विदेशीले श्रम इजाजत प्राप्त गरेका छन् ।

भारतबाट नेपालमा आएर विभिन्न क्षेत्रमा ठूलो संख्यामा काम गरिरहेका छन् तर भारतीय नागरिकले नेपालमा आएर काम गर्दा श्रम स्वीकृति लिनुनपर्ने भएकाले उनीहरुको अभिलेख सरकारी रेकर्डमा खासै देखिँदैन ।

विभागका महानिर्देशक चक्रपाणी पाण्डेले अहिले संख्यात्मक रूपमा श्रम स्वीकृति लिएर सबैभन्दा धेरै चिनियाँ नागरिकले नेपालमा श्रम इजाजत लिएर काम गरिरहेको बताए । उनका अनुसार वर्षेनी करिव १ हजार ६ सय चिनियाँ नागरिक नेपालमा आएर काम गरिरहेका छन् ।

त्यस्तै बेलायत (युके) बाट एक सयभन्दा बढी नागरिक नेपालमा कार्यरत छन् भने जापानबाट पनि १ सय भन्दा बढी नागरिक विभिन्न परियोजनामा संलग्न छन् ।

ठूलो संख्यामा भारतीय नागरिकहरू नेपालमा काम गरिरहेका भएपनि उनीहरूले श्रम इजाजत लिन नपर्ने प्रावधानका कारण वास्तविक संख्या अभिलेखमा नरहेको पाण्डेले बताए ।

उनका अनुसार नेपाल–भारतबीच सन् १९५० को सन्धिअनुसार दुवै देशका नागरिकले एकअर्का देशमा काम गर्दा श्रम इजाजत लिनु नपर्ने व्यवस्था छ । तथापि, केही प्रतिष्ठामा उच्चस्तरमा कार्यरत ३० जना भारतीय नागरिकले भने श्रम स्वीकृति लिएर काम गरिरहेका छन् ।

नेपालको श्रम ऐनअनुसार बढी दक्ष कामदारलाई बढीमा ५ वर्ष र अन्य प्राविधिकलाई ३ वर्षसम्म काम गर्न दिने व्यवस्था छ । बढी दक्ष कामदारले पुनस्र्थापना योजना पेश गर्नुपर्छ । उच्च प्राविधिक काम गर्ने विदेशी नागरिकले १२ वर्षसम्म श्रम नविकरण गराएर बस्न पाउने व्यवस्था छ ।

विभागकाअनुसार विशेषगरी निर्माण क्षेत्रमा विदेशी नागरिकको उपस्थिति उल्लेख्य छ । सुरुङ, टनेल, जलविद्युत आयोजना जस्ता प्रविधि आधारित ठूला परियोजनामा विदेशी प्राविधिक कार्यरत छन् ।

चिनियाँ सहयोगमा स्थापित सिमेन्ट तथा जलविद्युत उद्योगहरूमा चिनियाँ नागरिकहरूको संलग्नता देखिन्छ । यस्तै, नेपालमा सञ्चालित ब्रिटिस स्कुलहरूमा युकेका नागरिकहरू कार्यरत छन् भने जापानी परियोजनाहरूमा १०० भन्दा बढी जापानी नागरिक कार्यरत छन् ।

केही अस्पतालमा विदेशी डाक्टर कार्यरत छन् । केही एयरलाइन्स कम्पनीहरूमा विदेशी स्टेशन म्यानेजर छन् भने कतिपय विश्वविद्यालयमा विदेशी शिक्षकले अध्यापन गरिरहेका छन् ।

नेपाल सरकारसँग परियोजना सम्झौता गर्दा कतिपय विदेशीलाई श्रम स्वीकृति लिन नपर्ने व्यवस्था गरिने भएपनि अधिकांशले श्रम स्वीकृति लिनैपर्छ ।

कुनै प्रतिष्ठानमा विदेशी नागरिकले विना इजाजत काम गरेको पाइए कारबाही गरिने विभागले जनाएको छ ।

रविलक्षित गगनकाे टिप्पणी- हिजाे नक्कली शरणार्थीकाे कागज बनाएर विदेशिनेकाे चटक

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘नक्कली शरणार्थी’ बनेर विदेश गएकाे बताएका छन् । देशमा माओवादी सशस्त्र द्वन्द्व छँदा नक्कली शरणार्थी बनेर विदेश गएकाे र अहिले आएर हल्लाखल्ला गरिरहेकाे भन्दै आलाेचना गरे ।

उनले भने,‘हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहँदै गर्दा नक्कली शरणार्थीको कागज बनाएर हिजो बाहिर गएर मस्ती मारिरहेकाहरू आज हाम्रो बीचमा आएर घुमेर पाँचवर्षमा चटक गर्छु भन्दैगर्दा कम्तीमा कणालीले नपत्याओस् ।’

उनले लामिछानेलाई ठूलाे कोलाहल र हल्लाखल्ला सामाजिक सञ्जालमा मच्चाएकाे पनि आराेप लगाए । ‘गाउँगाउँ पुगेको छ, सहरमा मात्रै छैन । घरमा बसेर युट्युब हेर्दैगर्दा, फेसबुक हेर्दैगर्दा, बाहिर वैदेशिक रोजगारीमा गएका साथीहरूलाई आग्रह गर्न चाहन्छु, त्यहाँ बसेर नेपालका समाचारमा पीडा व्यक्त गर्नुभएको छ, मान्छु । तर यस्ता हल्लाको धरातल हेरिदिनुहोस्’, उनले भने ।

थापाले लामिछानेलाई अतिवादीकाे रुपमा चित्रणसमेत गरे ।

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्ताेलालाई रिहा गर्न सर्वाेच्चकाे आदेश

काठमाडौं । नेकपा बहुमतका महासचिव धमेन्द्र बास्तोलालाई रिहा गर्न आदेश भएकाे छ ।

बिहीबार सर्वाेच्च अदालतका न्यायाधीशहरु कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाई गर्दै रिहा गर्न आदेश दिएकाे हाे ।

उनलाई प्रहरीले यही २१ फागुनकाे निर्वाचन बिथाेल्न सक्ने भन्दै पक्राउ गरेकाे थियाे । बास्ताेलाकाे दल नेकपा बहुमतले निर्वाचन बहिष्कार गरेकाे छ ।

हालै लुम्बिनी पुगेर प्रधानमन्त्री सुशीला कार्कीले नेकपा बहुमतसहितलाई लक्षित गर्दै साना दलहरु जनमत प्राप्त गरी प्रतिनिधिसभामा प्रतिनिधित्त्व गर्न नसक्ने हैसियतमा रहेकाे र दललाई जीवित राख्न निर्वाचन बहिष्कारकाे नाममा चन्दा असुलीजस्ता गतिविधि गर्ने गरेकाे आराेप लगाएकी थिइन् ।

उनले त्यसरी चन्दा असुल गर्नेहरुप्रति निर्मम बन्न प्रहरीलाई निर्देशन दिएकी छन् ।

ओलीकाे नजरमा रास्वपा घण्टाकर्णजस्तै, राम्राे कुरा सुन्नै नसक्ने (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ का उम्मेदवार केपी शर्मा ओलीले रास्वपालाई लक्षित गर्दै अनेक प्रकारका झुटा प्रचार गरेर एमालेलाई अलाेकप्रिय बनाउन खाेजेकाे आराेप लगाएका छन् । एमालेकाे लाेकप्रियतासँग डराएर चरित्र हत्या गर्ने, अपशब्द बाेल्ने, अश्‍लील बाेल्ने, असामाजिक र असभ्य भएर प्रस्तुत हुने गरेकाे बताए ।

फेसबुकमा राम्राे केही लेखे गल्लीका भुस्याहा कुकुर जसरी उनीहरु एकैचाेटी खनिने गरेकाे भन्दै ओलीले कडा शब्दमा टिप्पणी गरे ।

घण्टाकर्णले राम्राे कुरा सुन्नुपर्छ भनेर कानमै ठूल्ठूला घण्टा झुण्ड्याएर हिँडेकाे प्रसङ्‌‍ग जाेड्दै उनले रास्वपा त्यस्तै भएकाे बताए ।

उनले एमालेले आफ्नाे गाउँठाउँ र देश बनाउने कुरा कहिल्यै नछाेड्ने भन्दै ढुक्क हुन मतदाताहरुलाई आग्रह गरे ।

 

पूरा भयाे चुनावकाे तयारी, खटिए २ लाख १५ हजार कर्मचारी

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनकाे पूर्ण तयार भएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग तयार भइसकेकाे बताएका छन् ।

कूटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा उनले निर्वाचनका सम्पूर्ण व्यवस्थापकीय कार्यहरू अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सचिव राउतकाअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी हुँदैछन्ज, जसमा ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष छन् ।

मतदानका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रहरू तोकिएका छन् ।

साथै अस्थायी मतदाताहरूका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न १ सय ४३ वटा अस्थायी मतदान केन्द्रहरूको समेत व्यवस्था गरिएको छ ।

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको सचिव राउतले जानकारी दिए ।

निर्वाचन आचारसंहिता पालना गराउन जिल्ला स्तरमा अनुगमन समिति र मुख्य निर्वाचन अधिकृतहरूको नेतृत्वमा टोलीहरू सक्रिय रहेका छन् ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत संख्या घटाउन ६ हजार ७ सय ४३ वडास्तरीय स्वयंसेवकहरू १५ दिनका लागि परिचालन गरिएका छन् ।

निर्वाचन खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै निर्वाचन प्रचार खाता खोल्न अनिवार्य गरिएको छ ।

कूटनीतिक नियोगका प्रतिनिधिहरूको जिज्ञासा सम्बोधन गर्दै सचिव राउतले मतदान सकिए लगत्तै गणना सुरु हुने र दुर्गम क्षेत्रबाहेक अन्य स्थानमा १ देखि ३ दिनभित्र नतिजा आउने अपेक्षा गरिएको बताए ।

विदेशी पत्रकारहरूका लागि सूचना तथा प्रशारण विभागमार्फत पास उपलब्ध गराइने र पर्यवेक्षकहरूका लागि विशेष सुरक्षा र समन्वयको व्यवस्था मिलाइएको उनले बताए ।

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सचिव राउतले छिमेकी र मित्र राष्ट्रहरूबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गरे ।

‘त्रिशंकु संसद’ बन्ने नेकपा संयोजक प्रचण्‍डकाे प्रक्षेपण

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनपछि देशमा ‘त्रिशंकु संसद’ बन्ने प्रक्षेपण गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निार्वचनपछि कुनै एक दलको स्पष्ट बहुमत नआउने र पुनः त्रिशंकु संसद बन्ने दाबी गरे ।

सातै प्रदेशको चुनावी अभियानबाट फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण एकल बहुमतको सम्भावना नरहेको बताए ।

दाहालले आफ्नो पार्टीको आन्तरिक अध्ययन र अनुसन्धानका आधारमा यस पटकको निर्वाचनमा चारवटा मुख्य राजनीतिक धाराहरूबीच प्रतिष्पर्धा हुने उल्लेख गरे ।

उनकाअनुसार नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

पार्टीलाई अवमूल्यन गर्ने प्रवृत्ति समाजमा रहेको गुनासो गर्दै उनले राम्रो गर्न सक्दा नेकपा अगाडि आउने सम्भावना रहेको बताए ।

संयोजक दाहालले यस पटक आफ्नो पार्टीभित्र असाध्यै राम्रो एकता पैदा भएको दाबी गरेका छन् ।

सातै प्रदेशमा नेता, कार्यकर्ता र शुभेच्छुकहरू सक्रियतापूर्वक निर्वाचनमा होमिएको बताउँदै उनले नेपाली कम्युनिष्ट पार्टी नै कुनैपनि समस्या नभएको पार्टी रहेको जिकिर गरे ।

उनले भने, ‘अहिलेसम्मको परिस्थिति हेर्दा हाम्रो मोटामोटी आँकलन के छ भने हाम्रो निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण कुनै एक पार्टीको बहुमत आउने सम्भावना अहिलेपनि हामीले देखेका छैनौं । हुने भनेको फेरि पनि त्रिशंकु संसद नै हो, हङ पार्लियामेन्ट नै हुने स्थिति हो र सबै–सबैले पनि यही नै आकलन गरेको स्थिति छ । त्यस्तो परिस्थितिमा पनि हामीले जनमतलाई कदर गर्दै फेरि समझदारीको साथ हाम्रो लोकतान्त्रिक विधि विधान र मूल्य मान्यताअनुसार अगाडि बढ्ने कमिटमेन्ट हामी सबै राजनीतिक दल र निर्वाचनमा सहभागी सबै–सबैको तर्फबाट हुनुपर्दछ भन्ने हाम्रो धारणा पनि म राख्न चाहन्छु ।’

आफ्नो पार्टीको प्राथमिकताका बारेमा प्रष्ट पार्दै दाहालले कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रमा गुणात्मक विकास गरी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै, भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेदको अन्त्य आफ्नो मुख्य एजेण्डा भएको उनकाे भनाइ छ ।

निर्वाचनको परिणाम जे जस्तो आए पनि त्यसलाई स्वीकार्ने मानसिकताका साथ आफूहरू अगाडि बढेको उनले बताए ।

जनमतको कदर गर्दै लोकतान्त्रिक विधि र मूल्य मान्यताअनुसार समझदारीका साथ अगाडि बढ्न सबै राजनीतिक दलहरू प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।

‘हामीले जे भन्याैँ-पुरा गर्‍याैँ’ भन्दै एमाले उम्मेदवार शंकर पोखरेलले मागे भाेट

काठमाडौं ।नेकपा एमाले महासचिव तथा दाङ-२ का उम्मेदवार शङ्‍कर पाेखरेलले  मतदातासँग भोट माग्दै आफूले विगतमा गरेका कामको विस्तृत फेहरिस्त सार्वजनिक गरेका छन्। ‘हामीले जे भन्यौं- पूरा गर्यौं’ भन्दै उनले बिहीबार विगतमा गरेका विकास निर्माणका उपलब्धिहरु सार्वजनिक गरे ।

पोखरेलले दाङलाई प्रदेशको राजधानी बनाउने संकल्प पूरा गरेको दाबी गर्दै लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको उल्लेख गरेका छन्।

दाङको पूर्वाधार विकासको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले विभिन्न सडक तथा पूर्वाधार आयोजनाको डीपीआर तयार गरी कार्यान्वयन अगाडि बढाएको दाबी गरे ।

उनका अनुसार लमही-घोराही-अर्जुनखोला-मसोट सडक तथा वैकल्पिक मार्गको डीपीआर तयार भई काम अघि बढेको छ।

५० बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना प्रक्रिया अघि बढाइएको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी पठनपाठन सञ्चालनको आधार तयार गरिएको तथा लमहीमा ट्रमा सेन्टर स्थापना पहल गरिएको उनले बताएका छन्।

त्यसैगरी, ‘बबई डाइभर्सन’ आयोजनाको बजेट सुनिश्चित गराई डीपीआर प्रक्रिया अघि बढाइएको, जिल्लाको पहिचान आधुनिक पूर्वाधार विकासमार्फत रूपान्तरण गर्ने अभियान सञ्चालन गरिएको तथा प्रमुख अस्पतालहरूमा रिफर सेन्टरबाट विशेषज्ञ सेवामा स्तरोन्नति गरिएको दाबी उनले गरेका छन्।

पोखरेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान चौरजहारी क्याम्पस निर्माण प्रक्रिया अगाडि बढाइएको, प्रदेश राजधानीको गुरुयोजना निर्माण गरिएको तथा प्रदेशसभा भवन र स्थायी संरचना निर्माण अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन्।

कृषि क्षेत्रमा स्मार्ट कृषि कार्यक्रममार्फत उत्पादन वृद्धि र किसानको आयआर्जनमा सुधार ल्याउने काम गरिएको, २०७० सालमा खोलिएको घोराही क्याम्पसलाई व्यवस्थित र सुविधासम्पन्न बनाइएको तथा चौधरी उपमहानगरपालिका वडा नं. १८ मा किरियापुत्री भवन निर्माण गरिएको पनि उनले जानकारी दिएका छन्।

त्यस्तै, घोराही बजार क्षेत्रमा सडक तथा फुटपाथ निर्माण, विभिन्न पुल तथा पूर्वाधार आयोजनाको सुरुवात र कार्यान्वयनले दाङको समग्र विकासमा टेवा पुगेको उनको दाबी छ।

पोखरेलले विगतका कामलाई निरन्तरता दिँदै आगामी दिनमा अझ तीव्र विकास गर्ने प्रतिबद्धता जनाउँदै सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्।

शङ्‍कर पाेखरेलकाे घाेषणा – दाङ-२ मा ‘५ वर्षमा ५ क्रान्ति’

काठमाडौं । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर-२ का उम्मेदवार शंकर पोखरेलले चुनावी घोषणापत्र सार्वजनिक गर्दै ‘५ वर्षमा ५ क्रान्ति’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पोखरेलले आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासन क्षेत्रमा रूपान्तरण ल्याउने लक्ष्यसहित विस्तृत एजेन्डा अघि सारेका हुन्। उनको चुनाव चिह्न ‘सूर्य’ हाे ।

घोषणापत्रमा पहिलो प्राथमिकताका रूपमा आर्थिक तथा पूर्वाधार क्रान्ति अघि सारिएको छ। यसअन्तर्गत रोजगारी सिर्जना, सडक-सिँचाइ-उद्योग विस्तार तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता गरिएको छ।

स्थानीय स्रोत-साधनको अधिकतम उपयोग, निजी क्षेत्रसँग सहकार्य र पूर्वाधार विकासमार्फत दाङलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ।

दोस्रो एजेन्डा शैक्षिक क्रान्ति हो। गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै प्राविधिक तथा सीपमूलक कार्यक्रम विस्तार गर्ने, विद्यालय र कलेजमा आधुनिक शिक्षण पद्धति लागू गर्ने तथा डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ। शिक्षालाई रोजगारीसँग जोड्ने नीति अवलम्बन गरिने घोषणापत्रमा उल्लेख छ।

तेस्रो प्राथमिकता स्वास्थ्य सेवामा क्रान्ति रहेको छ। सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, आधुनिक उपकरणसहितका अस्पतालको विकास गर्ने तथा गाउँ-गाउँमा विशेषज्ञ सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

आधारभूत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै आपतकालीन सेवाको सुदृढीकरण गर्ने योजना पनि समेटिएको छ।

चौथो एजेन्डा प्रविधिमा क्रान्ति हो। डिजिटल पूर्वाधार विकास, स्मार्ट सेवा प्रणालीको स्थापना तथा युवालाई प्रविधिमैत्री अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।

सरकारी सेवा प्रवाहलाई प्रविधिमार्फत सरल, छरितो र पारदर्शी बनाइने उल्लेख गरिएको छ।

पाँचौं प्रतिबद्धता सुशासनमा क्रान्ति हो। पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्दै छिटो तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने, भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्ने तथा जनगुनासो सम्बोधनलाई प्राथमिकता दिने एजेन्डा अघि सारिएको छ।

पोखरेलले पाँच वर्षभित्र यी पाँच क्षेत्रमा देखिने परिवर्तन ल्याउने दाबी गर्दै दाङ-२ का मतदातासँग मत मागेका ५न् ।

निर्वाचनको ७ दिन अघिदेखि अन्तिम परिणाम नआएसम्म मदिरा विक्री र सेवनमा रोक

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदानको ७ दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ (मदिरा) विक्री–वितरण तथा सेवनमा पूर्ण रूपमा प्रतिवन्ध लगाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसमा आयोगले उक्त निर्णय गरेको हो ।

आयोगले निर्वाचनको ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाकाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय समेत गरेको छ ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा वस्तुस्थितिको सुक्ष्म आँकलन गर्दै यस्तो सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

मदिरा सेवनका कारण हुनसक्ने सम्भावित झडप र अशान्तिलाई रोक्न यो कदम चालिएको उनकाे भनाइ छ ।

प्रवक्ता भट्टराईकाअनुसार आयोगले फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) लागू गर्ने जनाएको छ ।

साथै, फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, खानेपानी, विद्युत आदि) र पास प्राप्त बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको बताए ।

यसैबीच, केही प्राध्यापक, शिक्षक तथा कर्मचारीहरू राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको उजुरी परेपछि आयोगले त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ ।

शिक्षा ऐन र निर्वाचन आचारसंहिताविपरीत दलको प्रचारमा हिँड्ने कर्मचारीलाई पदबाटै हटाउनेसम्मको कारबाही हुने प्रवक्ता भट्टराईले बताए ।

सवारी साधनमा रोक, तर हवाई उडान सुचारु

निर्वाचनको दिनको आवागमनलाई व्यवस्थित गर्न आयोगले सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ ।

फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधनहरू चलाउन पाइने छैन ।

यद्यपि अत्यावश्यक सेवाका साधनहरू जस्तैः एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका साधन, विद्युत, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका साधन र कुटनीतिक नियोगका सवारी साधनहरू भने निर्वाध रूपमा चल्न पाउनेछन् ।

अन्यको हकमा आयोगबाट पास प्राप्त गरेका सवारी साधन मात्र सञ्चालन हुन पाउनेछन् ।

सडक यातायातमा रोक लगाइए पनि मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथाव् सञ्चालन हुने प्रवक्ता भट्टराई बताए ।

हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर वा होटलसम्म आउजाउ गर्न निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न दिइनेछ ।

त्यस्तै अत्यावश्यक सवारी पास वितरणलाई सहज बनाउन आयोगको सचिवालय परिसरमा छुट्टै ‘पास वितरण एकाइ’ खडा गरिनेछ । जसमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका दुई–दुई जना कर्मचारी खटिनेछन् ।

आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) का लागि पनि नियमहरू लागू गरेको छ । आगामी फागुन १८ गते राति १२ बजेदेखि नै मौन अवधि शुरु हुनेछ ।

यस अवधिमा कुनैपनि प्रकारका चुनावी प्रचारप्रसार गर्न पाइनेछैन । जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी यसको सुक्ष्म अनुगमन गर्नेछ ।

परिचय खुलाउने ६ वटा कागजातबाट मतदान गर्न पाइने

मतदाताको सहजतालाई ध्यानमा राख्दै आयोगले मतदानका लागि वैकल्पिक परिचयपत्रको व्यवस्था पनि गरेको छ ।

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एउटा आधिकारिक कागजात देखाएर पनि सहजै मतदान गर्न पाउनेछन् ।

यस विषयमा मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक सूचना संप्रेषण गरिसकिएको आयोगले जनाएको छ ।

ओलीसँग समाधीस्थलका लागि जग्गा मागे ख्रिस्टियन समुदायले (भिडियाे)

काठमाडौं । चुनावी अभियानमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ख्रिस्टियन समुदायले तीन बुँदे माग बुझाएको छ ।

कमल गाउँपालिकाका ख्रिस्टियन समुदायले समाधीस्थल र भवनका लागि जग्गा व्यवस्थापनसँगै ख्रिस्टियन समुदायकाे हक अधिकार सुनिश्‍चिन गर्न माग गरेकाे हाे ।

तीन बुँदे मागपत्र ओलीले बिहीबार बुझेका छन् । ओलीले ती मागहरु सम्बाेधन गर्ने बाचा गरे ।

चुनावी अभियानकाे क्रममा रहेका ओलीलाई विभिन्न धार्मिक तथा सामाजिक सस्थाहरुले मागपत्रहरु बुझाउने गरेका छन् । ओली झापा–५ का एमाले उम्मेदवार हुन् ।

 

निर्वाचन बिथाेल्न सक्ने आशङ्‌कामा आठ जना पक्राउ

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन बिथाेल्न खाेजेकाे आराेपमा प्रहरीले सुर्खेतमा आठ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज ६६ वर्षीय नारायण न्यौपाने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव २० वर्षीय धीर दर्जी र क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्यूरो सदस्य ४१ वर्षीय कर्णबहादुर बीसी छन्।

उनीहरुले निर्वाचन विरोधि गतिविधि गर्न सक्ने भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले बताए।

उनका अनुसार पक्राउ पर्ने अन्य पाँच जनामा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव ३८ वर्षीय श्याम कुँवर, नेकपा बहुमतका जिल्ला सचिव ४५ वर्षीय राजु भनिने राजकुमार पौडेल, नेकपा क्रान्तिकारी सुर्खेत जिल्ला समिति सचिव ५४ वर्षीय रन्तबहादुर वली, नेकपा बहुमतका वडा समिति सदस्य ६६ वर्षीय पूर्ण तिरुवा र रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ का ३८ वर्षीय मानबहादुर मल्ल छन्।

 

यसरी मागिरहेका छन् ओली भाेट (फाेटाे फिचर)

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओली आक्रमक चुनावी अभियानमा छन् ।

बुधबार चुनाव क्षेत्रमा पर्ने सिङ्‌गै बारसुदी गाउँकाे समर्थन प्राप्त ओली कमल गाउँपालिकाकाे विभिन्न वडामा पुगेछन् । उनलाई गाउँगाउँमा जनसमर्थन जुटिरहेकाे देखिएकाे छ ।

मतदाताहरुले उनलाई फूल र खादा लगाएर स्वागत गरेकाे देखिन्छ ।

हेर्नुहाेस् ओलीलाई स्वागत गर्दाका तस्बिरहरु   

 

जनार्दश शर्माकाे सङ्‌कल्प : म ‘कामदार’, जनता ‘मालिक’

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताएका छन् ।

चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिको हुने बताए ।

उनले विगतमा ५० रुपैयाँ तिरेर फोन चार्ज गर्नुपर्ने अवस्थाबाट रुकुम अहिलेको सहज अवस्थामा आइपुगेको स्मरण गराए ।

शर्माले रुकुममै ३ सय शैय्याको सुविधा सम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने आफ्नो मुख्य योजना रहेको बताए ।

यस परियोजनाले रुकुम मात्र नभई छिमेकी जिल्लाहरू जाजरकोट, सल्यान, रोल्पा र पूर्वी सुर्खेतका जनतालाई समेत लाभ पुर्‍याउने उनकाे दाबी छ ।

यसका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भइरहेको समेत जनकारी दिए ।

युवाहरूको रुचिलाई ध्यानमा राख्दै क्रिकेट लगायतका खेल मैदान निर्माण गर्ने र खेलकुदलाई व्यवसायका रूपमा अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले एक घर एक धाराको अभियानलाई पूर्णता दिने र सुशासनयुक्त समाज निर्माण गर्ने कुरामा जोड दिए ।

मतदाताहरूसँग मत माग्दै शर्माले आफूलाई जनताको ‘कामदार’ र जनतालाई ‘मालिक’ को संज्ञा दिएका छन् ।

जेन-जीलाई लिङ्देनकाे आग्रह- फेसबुक, टिकटक र रिल हेरेर मत नदिनु हाेला

काठमाडौं ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फेसबुक, टिकटक र रिल हेरेर मत नदिन मतदातासँग आग्रह गरेका छन् । उनले यस्ताे आग्रह नवपुस्ता अर्थात् जेन-जीलाई गरेका हुन् ।

उनले हलाे चिह्नमा मतदान गरेर आफ्नाे भविष्य उज्जवल बनाउनुपर्नेमा जाेड दिए ।

बिहीबार काठमाडौँ-२ मा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘लहैलहैमा फेसबुक हेरेर, टिकटक हेरेर, रिल हेरेर भोट दिएर आफ्नो भविष्य बिगार्ने काममा आफ्नै हातलाई प्रयोग नगर्नुस् । युवा पुस्ता जो फेसबुक, रिल्स र टिकटकको पछि कुदिँराख्नुभएको छ, त्यो युवा पुस्तालाई म आग्रह गर्न चाहन्छु- तपाई आफ्नो भविष्य उज्जल भएको देख्न चाहनुहुन्छ भने तपाईंको पूर्खाले नासोको रुपमा तपाईलाई सुम्पिएको यो स्वाधिन नेपाललाई आउने पुस्तालाई पनि त्यत्तिकै स्वतन्त्र र स्वाधिन रुपमा, अखण्ड रुपमा बुझाउ चाहनुहुन्छ भने टिकटक रिल्स र फेसबुकको पछि लागेर होइन, यर्थाथको धरातल टेकेर हलो चिह्न मतदान गर्न म आग्रह गर्न चाहन्छु।’

निर्वाचन एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको उनको भनाइ थियो। उउनले नेपाल प्रथम भन्ने सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले हजार पटक सोचेर मात्र मतदान गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘यो पटकको निर्वाचन एक थान सांसद चुन्ने मात्रै होइन, एउटा सरकार निर्माण गर्ने चुनाव मात्रै होइन। अहिले हामी विशिष्ट परिस्थितिबीच यो निर्वाचनमा प्रवेश गरेका छौँ । हामी अहिले देशै रहन्छ कि रहँदैन भन्ने अवस्थामा छौँ। त्यसकारण देशलाई केन्द्रमा राखेर नेपाल प्रथम, नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर तपाई हरेक मतदाताले आफ्नो अमूल्य मतदान गर्नुभन्दा अगाडी हजार पटक सोचेर मात्रै मतदान गर्नुस्।’

देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प भएको उनको दाबी थियो। राप्रपाले नयाँ र पुराना सबै राजनीतिक शक्तिलाई समन्वय गरेर अघि बढाउन सक्ने दाबी गरे।

झापा-५ मा कुनै दलसँग नेकपाकाे गठबन्धन नहुने

काठमाडौं । झापा-५  मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कसैसँग तालमेल नगर्ने प्रष्ट पारेकाे छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डले  बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई नपत्याई सक्रिय भएर लाग्न समेत आग्रह गरे ।

नेता तामाङले अध्यक्ष प्रचण्डसँग टेलिफाेन कुराकानी गरेकाे र बजारमा हल्ला आएजस्ताे कहीँ पनि तालमेल नहुने बताएकाे जानकारी दिए ।

प्रचण्डले सक्रिय भएर खटिन पनि पार्टी पंक्तिलाई आग्रह गरेको उनकाे भनाइ छ । उनले बुधबार काठमाडौंमा बुद्धिजिवीहरूसँगको छलफलमा विदेशी शक्तिहरूलाई परास्त गर्नका लागि कांग्रेस, एमाले, नेकपा जस्ता शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए ।

यही अभिव्यक्तिपछि झापा–५, दाङ–२ लगायतका क्षेत्रमा कांग्रेस–एमालेसँग मिल्न लागेको टिप्पणी भएपछि प्रचण्डले तामाङलाई फोन गरेका हुन् ।

प्रत्यक्षमा ६० सिट जित्ने नेकपाकाे दाबी, बागमती लुम्बिनी कर्णाली र सुदूरपश्‍चिममा जित्ने

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा १६५ मध्ये ६० सिट जित्ने दाबी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गरेकाे छ ।

वाम बुद्धिजीवीसहितकाे बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले यस्ताे दाबी गरेका हुन् ।

दाहालनिकट एक नेताले भने, ‘वा बुद्धिजिवीहरूले पनि यो पटक हाम्रो पार्टीले राम्रा गरेको बताएका छन् । संयोजकले पनि प्रत्यक्षतर्फ ६० सिट जित्ने बिफ्रिङ गर्नुभयो । वास्तविक धरातल त्यस्तो छ कि छैन, त्यसबारे सूक्ष्म समीक्षा गर्न भोलि सचिवालय बैठक बोलाइएको छ ।’

नेकपाले १२ वर्षपछि १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाले जित्ने सम्भावना भएको प्रदेशमा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई राखेको छ ।

 

 

निर्वाचनकाे समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च सतर्कता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च सतर्कता अपनाएको छ ।

निर्वाचनअघि देशकाे केही ठाउँमा अराजनीतिक गतिविधि तीब्र बन्दै जाँदा हुने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक पूर्वतयारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले चुनावी आमसभा, भेला, घरदैलो कार्यक्रमका क्रममा पार्टीका कार्यकर्ताबीच झडप हुन सक्ने र निर्वाचन बिथाेल्न लागेका केही समूहबाट सडक अवरुद्ध गर्न सक्ने आकलन गरिएको बताए ।

उनले निर्वाचन बिथोल्ने नाममा रुख ढालेर सडक बन्द गर्ने वा अन्य अवरोध सिर्जना गर्ने गतिविधि हुन सक्ने भएकाले स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर तयारी गरिएको जानकारी दिए ।

यसका लागि मन्त्रालयले गृह मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरिरहेको बताए । उनले निर्वाचन आयोगलाई पनि स्वास्थ्यकर्मी परिचालन गर्दा सेवा प्रवाहमा असर नपर्ने गरी व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिए ।

उनकाअनुसार मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई नियमित सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्यकर्मीलाई अनावश्यक बिदा नदिन, लामो बिदा स्थगित गर्न र सेवामा खटिरहन आग्रह गरिएको प्रवक्ता बुढाथोकी बताउँछन् ।

झडपका कारण घाइते अस्पताल पुग्दा स्वास्थ्यकर्मी उपलब्ध नभए गम्भीर समस्या पर्नसक्ने उनकाे भनाई छ ।

सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण, भर्चुअल तालिम तथा आवश्यक औषधि र उपकरणको मौज्दात व्यवस्थापन गरिसकेको उनले बताए ।

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

काठमाडौं । राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर, त्यसलाई योजनाबद्ध दृष्टि, कार्यान्वयनको अनुभव र संस्थागत सोचसँग जोड्ने नेतृत्व कमै देखिन्छ ।

यही सन्दर्भमा दाङ-२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका शंकर पोखरेलले सार्वजनिक गरेका चुनावी प्रतिबद्धता केवल चुनावी भाषणको औपचारिक दस्तावेज मात्र होइन, विकासको निरन्तरता, संरचनागत सुधार र दीर्घकालीन सोचको समन्वित खाकाजस्ता देखिन्छन् । उनको दृष्टिकोणमा तत्काल लोकप्रियताभन्दा दीर्घकालीन संरचना निर्माणलाई प्राथमिकता दिइएको संकेत स्पष्ट रूपमा भेटिन्छ, जुन समकालीन नेपाली राजनीतिमा अपेक्षाकृत दुर्लभ प्रवृत्ति मानिन्छ ।

राजनीतिक प्रतिबद्धताको मूल्यांकन गर्दा एउटा महत्वपूर्ण प्रश्न उठ्छ- नेतृत्वले विकासलाई परियोजनाको सूचीको रूपमा बुझ्छ कि प्रणालीगत परिवर्तनको प्रक्रियाका रूपमा ? प्रस्तुत एजेन्डाहरू हेर्दा उनको दृष्टि दोस्रो प्रकारतर्फ झुकेको देखिन्छ । विकासलाई केवल सडक, भवन वा बजेट खर्चको तथ्याङ्कमा सीमित नगरी प्रशासनिक क्षमता, आर्थिक गतिशीलता, सहरी व्यवस्थापन र सामाजिक सेवा विस्तारसँग जोडिएको समग्र प्रक्रियाका रूपमा परिकल्पना गरिएको छ । यसले विकासलाई केवल देखिने भौतिक संरचनामा सीमित नगरी शासन प्रणालीको गुणस्तरमा रूपान्तरण गर्ने प्रयास झल्काउँछ ।

विशेषगरी दाङ जिल्लालाई प्रदेशीय शक्ति र प्रशासनिक केन्द्रका रूपमा व्यवस्थित गर्ने प्रतिबद्धता केवल भौगोलिक महत्वको विषय होइन, राज्य पुनसंरचनाको व्यावहारिक अभ्याससँग सम्बन्धित छ । राजधानी वा प्रशासनिक केन्द्र निर्माण गर्नु भनेको भवन निर्माण मात्र होइन, सेवा प्रवाहको क्षमता, संस्थागत समन्वय, आर्थिक गतिविधिको विस्तार र सहरी जीवनको व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउनु हो । यस दृष्टिले राजधानी सुदृढीकरणको एजेन्डा स्थानीय विकासको सीमित घेराभन्दा बाहिर गएर क्षेत्रीय शक्ति संरचना निर्माणसँग जोडिएको देखिन्छ ।

पूर्वाधार विकासको सवालमा पनि प्रस्तुत प्रतिबद्धता परम्परागत राजनीतिक भाषाभन्दा केही फरक देखिन्छ । सडक बनाउने, पुल निर्माण गर्ने वा सुविधा विस्तार गर्ने सामान्य वाचा त सबैले गर्छन् । तर दीर्घकालीन शहरी योजना, भूमि उपयोग व्यवस्थापन र संरचनागत समन्वयलाई प्राथमिकता दिने शंकरको दृष्टि विकासको गुणस्तर सुधारतर्फ केन्द्रित रहेको संकेत हो । विकासलाई अस्थायी विस्तार होइन, योजनाबद्ध स्थायित्वमा रूपान्तरण गर्ने सोच यसमा प्रतिविम्बित हुन्छ ।

कृषि र आर्थिक गतिविधिलाई समानान्तर रूपमा अघि बढाउने प्रतिबद्धता पनि उल्लेखनीय पक्ष हो । कृषि आधुनिकीकरण र स्थानीय उद्योग प्रवर्द्धनलाई एकअर्काको पूरक प्रणालीका रूपमा प्रस्तुत गरिएको छ । यसले उत्पादन, प्रशोधन, बजार र रोजगारीलाई एउटै आर्थिक चक्रमा जोड्ने प्रयासलाई संकेत गर्छ । ग्रामिण अर्थतन्त्रलाई केवल परम्परागत उत्पादनमा सीमित नराखी मूल्य अभिवृद्धि र उद्यमशीलतासँग जोड्ने दृष्टिकोणले आर्थिक संरचनामा गुणात्मक परिवर्तनको सम्भावना देखाउँछ ।

स्वास्थ्य र शिक्षालाई पूर्वाधार विस्तारसँगै जोडेर हेर्ने दृष्टि पनि नीतिगत परिपक्वताको संकेत हो । अस्पताल निर्माण वा विद्यालय विस्तार मात्र पर्याप्त हुँदैन, सेवा गुणस्तर, पहुँच र विशेषज्ञताको सन्तुलन आवश्यक हुन्छ भन्ने बुझाइ प्रतिबद्धतामा देखिन्छ । ग्रामीण पहुँच विस्तार र प्राविधिक शिक्षामा जोड दिने प्रस्तावले मानव संसाधन विकासलाई आर्थिक परिवर्तनसँग जोड्ने रणनीतिक सोचलाई प्रतिबिम्बित गर्छ ।

संघीय शासन प्रणाली सुदृढ गर्ने प्रतिबद्धता अझ महत्वपूर्ण राजनीतिक आयाम हो । प्रशासनिक संरचना निर्माण गर्नु एउटा चरण हो भने त्यसलाई प्रभावकारी बनाउनु अर्को चुनौतीपूर्ण चरण हो । संस्थागत क्षमता विस्तार, स्थानीय तहसँग समन्वय र नीति कार्यान्वयनको दक्षता बढाउने लक्ष्यले संघीयता केवल संवैधानिक संरचना होइन, कार्यकारी वास्तविकता बन्नुपर्छ भन्ने दृष्टि देखाउँछ । यसले शासनलाई स्थायित्व र विश्वसनीयता प्रदान गर्ने आधार निर्माण गर्ने सम्भावना बोकेको छ ।

पर्यावरणीय सन्तुलन र दिगोपनालाई विकाससँग जोड्नु आधुनिक नीतिगत चेतनाको संकेत हो । विकास र संरक्षणलाई परस्पर विरोधी होइन, परस्पर पूरक प्रक्रियाका रूपमा बुझ्ने सोचले दीर्घकालीन जोखिम व्यवस्थापनको दृष्टिकोणलाई उजागर गर्छ । हरित संरचना, प्राकृतिक स्रोत संरक्षण र योजनाबद्ध विस्तारले विकासको गुणस्तर मात्र होइन, यसको स्थायित्व पनि सुनिश्चित गर्न सक्छ ।

पर्यटन, ऊर्जा र डिजिटल सेवाको विस्तारलाई समग्र विकास ढाँचामा समेट्नु आधुनिक क्षेत्रीय अर्थतन्त्र निर्माणको संकेत हो । आर्थिक विविधीकरण बिना दीर्घकालीन समृद्धि सम्भव हुँदैन भन्ने तथ्यलाई नीतिगत रूपमा स्वीकार गरिएको देखिन्छ । यसले परम्परागत उत्पादन संरचनाबाट सेवा र नवप्रवर्तन आधारित अर्थतन्त्रतर्फको क्रमिक रूपान्तरणको आधार तयार गर्न सक्छ ।

सबैभन्दा उल्लेखनीय पक्ष भनेको सुरु भएका योजनाको निरन्तरता सुनिश्चित गर्ने प्रतिबद्धता हो । नेपाली विकास राजनीतिमा परियोजना सुरु हुने तर पूरा नहुने समस्या पुरानो हो । अधुरा योजना पूरा गर्ने प्राथमिकता विकासको मनोविज्ञानसँग सम्बन्धित विषय पनि हो । निरन्तरता सुनिश्चित हुनु भनेको राज्यप्रति नागरिकको भरोसा निर्माण हुनु हो, जुन कुनै पनि लोकतान्त्रिक शासन प्रणालीको आधारभूत पूँजी मानिन्छ ।

नीतिगत रूपमा हेर्दा प्रस्तुत प्रतिबद्धताहरू तात्कालिक लोकप्रियताभन्दा संरचनागत परिवर्तनतर्फ उन्मुख देखिन्छन् । विकासलाई कार्यक्रमको सूची होइन, प्रणालीगत रूपान्तरणको प्रक्रियाका रूपमा परिभाषित गर्ने प्रयास यसमा स्पष्ट देखिन्छ । यो दृष्टिकोण सफल भएमा प्रशासनिक दक्षता, आर्थिक उत्पादनशीलता र सामाजिक सेवा गुणस्तरमा दीर्घकालीन प्रभाव पर्न सक्छ ।

राजनीतिक नेतृत्वको मूल्यांकन केवल घोषणाबाट होइन, दृष्टिकोणको गहिराइबाट पनि गरिन्छ । प्रस्तुत एजेन्डामा देखिएको योजनाबद्धता, संस्थागत सोच र दीर्घकालीन स्थायित्वप्रतिको जोडले विकासलाई रणनीतिक दिशामा अघि बढाउने सम्भावना देखाउँछ ।

यसलाई समग्र रूपमा हेर्दा, विकासलाई बहुआयामिक प्रक्रियाका रूपमा बुझ्ने, शासन प्रणालीलाई कार्यक्षम बनाउने र आर्थिक आधारलाई विस्तार गर्ने समन्वित दृष्टि प्रतिबिम्बित हुन्छ ।

अन्ततः राजनीतिक प्रतिबद्धताको मूल्य त्यसले सिर्जना गर्ने सम्भावनामा निहित हुन्छ । शकंर पोखरेलबाट प्रस्तुत दृष्टिकोणले यदि व्यवहारिक कार्यान्वयनको रूप लिन सफल भयो भने यसले क्षेत्रीय विकासको ढाँचा मात्र होइन, शासन र विकासबीचको सम्बन्धलाई नै पुनःपरिभाषित गर्ने क्षमता राख्छ । यही सम्भावना नै यस प्रतिबद्धतालाई सामान्य चुनावी दस्तावेजभन्दा फरक बनाउने सबैभन्दा महत्वपूर्ण कारण हो ।

झापा–५ काे सिङ्‍गाे गाउँकाे समर्थन ओलीलाई ! मतदाताले भने- बालाई याे गाउँ नै दिएकाे छु (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे समर्थनमा झापा-५ काे एउटा सिङ्‌गै गाउँ खडा भएकाे छ ।

बारसुदी गाउँवासीहरुले ओलीलाई निर्वाचनमा जिताउने भन्दै बुधबार एमालेमा प्रवेश गरे । उनीहरुलाई ओलीले माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।

निर्वाचन नजिकिँदा सिङ्‌गाे गाउँलेकाे समर्थन हुँदा ओली खुसी भएका छन् । उनलाई एक जना मतदाताले भने, ‘बालाई उहाँकाे मातहतमा याे गाउँ नै दिएकाे छु । ‘

ओली केही दिनदेखि चुनाव क्षेत्रमा छन् । मतदाताहरुकाे घरघरमा पुगेर उनले मत मागिरहेका छन् ।

उनले मतदातासमक्ष समृद्धि र विकासकाे एजेण्डा प्रस्तुत गर्दै आएका छन् ।

टी-२० विश्वकप: आयोजक श्रीलंकासँग भिड्दै न्युजिल्याण्ड

काठमाडौं। टी-२० विश्वकपको सुपर ८ अन्तर्गत समूह २ मा आज श्रीलंका र न्यूजिल्याण्डबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।  कोलम्बोस्थित प्रेमदसा रंगशालामा आयोजना हुने खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरू हुनेछ। प्रतियोगिताको सेमिफाइनल यात्रा तय गर्न दुवै टोलीका लागि यो खेल निर्णायक मानिएको छ।

सुपर एट्समा श्रीलंकाको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन। बलिङ पक्ष सन्तुलित देखिए पनि ब्याटिङ क्रम निरन्तर दबाबमा छ। विशेषगरी सुरुआती ओभरमा शीर्ष क्रमले मजबुत शुरुआत दिन नसक्दा मध्यमक्रममा अतिरिक्त भार परेको छ। घरेलु मैदानको साथ भए पनि यस खेलमा पराजित भए सेमिफाइनल पुग्ने सम्भावना अत्यन्त कमजोर बन्नेछ। त्यसैले श्रीलंकामाथि जितको दबाब स्पष्ट देखिन्छ।

यता न्यूजिल्याण्ड भने आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा छ। समूह चरणदेखि नै संयमित र योजनाबद्ध खेल प्रस्तुत गर्दै आएको टोलीले ब्याटिङ र बलिङ दुवै विभागमा स्थिरता देखाएको छ। श्रीलंकाविरुद्धको विगतको भेटमा पनि न्यूजिल्याण्डको जित दर माथि रहेकाले मानसिक रूपमा उनीहरू बलिया मानिएका छन्।

कोलम्बोको पिच सुरुआती समयमा ब्याट्सम्यानका लागि सहज भए पनि खेल अघि बढ्दै जाँदा स्पिनरलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैले टसको निर्णय महत्वपूर्ण बन्न सक्छ। दोस्रो इनिङ्समा ओसको प्रभाव पर्न सक्ने अनुमान पनि गरिएको छ।

समूह २ बाट सेमिफाइनल प्रवेशका लागि दुवै टोलीलाई यो खेल जित्नैपर्ने अवस्थामा उभिएको छ। श्रीलंका घरेलु समर्थकमाझ पुनरागमनको लक्ष्यसहित मैदान उत्रनेछ भने न्यूजिल्याण्ड जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्ने योजनामा हुनेछ। प्रतिस्पर्धा रोमाञ्चक र उच्च दबाबपूर्ण हुने अपेक्षा गरिएको छ।

रविकाे स्वीकाराेक्ति- संसदमा सुशासनकाे कुरा गर्‍याैँ तर विभेदको गर्न चुक्याैँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्ने घोषणा गरेका छन् ।

बुधबार जनकपुरधाम मन्दिर परिक्रमा गर्ने क्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले  यस्ताे घोषणा  गरेका हुन् ।

अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो रूपमा उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन नसकेको स्वीकार गर्दै उनले विभेदको अन्त्य र सुशासनको स्थापना रास्वपाको प्रमुख एजेण्डा भएको बताए ।

उनले भने,‘देश र मधेसलाई विभाजित गर्ने राजनीतिको अन्त्य गर्न खोजेका हौँ । हामीले यसअघिको निर्वाचनमा सुशासनको कुरा गर्यौं । हामीले विभदेको कुरा गर्न अलि चुक्यौँ । हामीले जति चर्को रुपमा सुशासनको कुरा गर्यौँ त्यतिकै चर्को आवाजमा विभेदको कुरा गर्न सकेनौँ । तर यसपटक हामीले विभेदको अन्त्यसँगै सुशासनको स्थापना गर्न प्रतिवद्धताका साथ आएका छौँ ।’

उनले जनकपुरधामलाई पर्यटकीय केन्द्र बनाउने गरी पार्टीले कार्यक्रम अघि सार्ने बाचा पनि गरे ।

नेप्से सूचक १० अंकले बढ्यो, कारोबार ४ अर्ब ४५ करोड

काठमाडौं । शेयरबजार परिसूचक नेप्सेमा आज १० अंकमाथिको वृद्धि आएको छ । अघिल्लो दिन २१.६२ अंकले बढ्दै २ हजार ६३८.६० अंकमा उक्लिएको नेप्से सूचक आज थप १०.३० अंकले बढ्दै २ हजार ६४८.९० विन्दुमा पुगेको हो ।

तथापि, कारोबार भने आज पनि ४ अर्ब ४५ करोड ११ लाख रूपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेञ्च (नेप्से)ले जनाएको छ । अघिल्लो दिन २१ अंकमाथिले सूचक बढ्दा ४ अर्ब २३ करोड २४ लाख रूपैयाँ बराबरको कारोबार भएको थियो ।

आज फाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् । जीवन बीमा समूहको उपसूचक आज १.७९ प्रतिशतले बढेको छ भने बाँकी अरु समूहको उपसूचक १ प्रतिशत कमले बढेका छन् ।

आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घट्न पुगेको छ । सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य आज १० प्रतिशतले बढेको छ ।

छुट्टै बैंक खातामार्फत निर्वाचन खर्च नगर्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उम्मेद्वारहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेले आयोगले बैंक खातामार्फत मात्र खर्च गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको जानकारी दिए ।

आयोगले तोकेको व्यवस्था उल्लंघन गरे निर्वाचन आचारसंहिताअनुसार कारबाही हुने उनकाे भनाई छ । उनकाअनुसार हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याएका छन् ।

खाता सञ्चालन गर्ने राजनीतिक दलहरुमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका ठूला राजनितिक दलहरुले समेत हालसम्म बैंक खाता सञ्चालनमा ल्याएका छैनन् ।

आयोगले बैंक खाता खोलेर बैंकिङ कारोबारमार्फत मात्र निर्वाचन खर्च गर्न आग्रह गरेको छ । २५ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था रहेको आयोगका सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

घिमिरेकाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिताको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।

सो प्रावधानअनुसार उम्मेदवारहरूले उम्मेदवारी दर्ताकै क्रममा आफ्नो अनुमानित निर्वाचन खर्च र त्यसको स्रोत खुलाउनुपर्ने व्यवस्था छ ।

आचारसंहिताअनुसार उम्मेदवारहरूले निर्वाचन खर्च सञ्चालन गर्न बैंकमा छुट्टै खाता खोल्नुपर्ने, खाता सञ्चालनका लागि छुट्टै पदाधिकारी तोक्नुपर्ने तथा खातामा आएको सबै रकम र गरिएको खर्चको बिल–भरपाई सुरक्षित राख्नुपर्नेछ । निर्वाचनलाई पारदर्शी र प्रभावकारी बनाउन आयोगले यस्तो व्यवस्था गरेको उनले बताए ।

निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओेमप्रकश अर्यालले सो जानकारी दिएका हुन् ।

उनले सो क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्तिवापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको पनि बताए ।

त्यसैगरी सरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरु कार्यान्वयनबारे जाँचबुझ आयोगको कार्य अवधि एक महिना थप गरेको छ ।

१६ औँ योजना कार्यांन्वयन कार्ययोजना पनि स्वीकृत गरिएको छ । सरकारले हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने बीइएम उपाधि ग्रहण गर्न स्विकृति प्रदान पनि गरेको छ ।

दुर्गा प्रसाईंले साेधे-राजा बाटाेमा निस्किने सुनेकाे छु, थुन्ने दम छ सुशीला कार्की ?(भिडियाे)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई थुनेर देखाउन चुनाैती दिएका छन् ।

निर्वाचन हुनु हुँदैन भन्दा आफू पक्राउ भन्दै उनले पूर्वराजा ज्ञानेन्द्रले पनि चुनाव हुन नहुने भनेकाले पक्राउ गरेर  थुनामा हाल्न प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडाैका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पाैडेललाई चुनाैती दिएका हुन् ।

पृथ्वीनारायणा शाहकाे प्रसङ्‌ग जाेड्दै उनले देश सङ्‍कटमा परेकाे भन्दै पूर्वराजा शाह सडकमा आउनैपर्ने भएकाे बताए ।

‘मलाई चुनाव गर्नु हुँदैन भन्दा ल्याएर थुन्नुभयाे ।राजालाई पनि ल्याएर थुनाैँ । दम छ ओमप्रकाश अर्याल, दम छ सुशीला कार्की, दम छ काठमाडाैका सीडीओ ?,’ उनले भने, ‘अब राजाले पनि हिम्मत गर्नुपर्छ । मैले सुनेकाे छु राजा बाटाेमा आउने कुरा । राजा बाटामा आउँदा नि विदेशी सेना आएर राेके मात्रै हाे, नभए नेपाली सेना, पुलिस र नेपाली जनताले दरबारभित्र लगेर सलामी ठाेक्नुपर्छ ।’

उनले पूर्वराजा ज्ञानेन्द्रसँग सल्लाह भइरहेकाे पनि बताए । त्यसपछि उनी सडकमा आउनेबारे थाहा हुने उनकाे दाबी छ ।

चुनावअघि कि पछि ज्ञानेन्द्र सडकमा आउँछन् भन्ने नेपालवान एचडीकाे प्रश्नमा उनले भने, ‘हाम्राे सल्लाह भइरहेकाे छ, त्यस पछाडि ।’

चुनाव विराेधी कित्तामा उभिएका उनलाई यही ४ फागुनमा पक्राउ परेका थिए । सर्वाेच्चकाे आदेशपछि आज रिहा भएका उनी वर्तमान सरकारप्रति निकै आक्रमक सुनिए ।

९ दिनपछि दुर्गा प्रसाईं थुनामुक्त, १६ महिनामा ६ पटक पक्राउ र रिहा (टाइमलाइनसहित)

काठमाडौं । दुर्गा प्रसाईं ९ दिनपछि थुनामुक्त भएका छन् । सर्वाेच्च अदालतकाे आदेशपछि उनी बुधबार बिहान थुनामुक्त  भएका हुन् ।

निर्वाचनसम्बन्धी अफवाह फैलाएकाे आराेपमा उनी यही ४ फागुनमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

पक्राउपछि उनलाई थुनामुक्तकाे माग गर्दै बन्दीप्रत्यक्षीकरण निवेदन सर्वाेच्चमा परेकाे थियाे । निदवेनमाथि मङ्‍गलबार सुनुवाइ हुँदा थुनामुक्त गर्न सर्वाेच्चले आदेश दिएकाे हाे ।

राजतन्त्र र हिन्दुराष्ट्र पक्षधर उनका समर्थकहरुले दिनहुँ काठमाडाैकाे माइतीघरमा प्रदर्शन गर्दै नि:सर्त रिहाकाे माग गरेका थिए ।

उनी मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन् ।

उसो त प्रसाईंको पक्राउ र रिहाइ पछिल्लो समय नियमितजस्तै भएको छ । पछिल्ला १६ महिनामा उनी छैटौँपटक पक्राउ परेर रिहा भइसकेका छन् ।

सार्वजनिक शान्तिविरुद्धका गतिविधि, भड्काउ अभिव्यक्ति, साइबर अपराध र आपराधिक उपद्रवजस्ता आरोपमा पक्राउ पर्ने गरेका छन् । तर, उनी अदालतबाट धरौटी, साधारण तारेख वा हाजिरी जमानीमा छुट्दै आएका छन् ।

प्रसाईंलाई यसअघि २८ माघमा काठमाडौंको चाल्नाखेलबाट वीरगञ्ज जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाइएका प्रसाईंमाथि निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप थियो ।

उनलाई पक्राउ गर्न निर्वाचन आयोगले साइबर अपराधसम्बन्धी कसुरमा कारबाहीका लागि पत्र पठाएको र सोही आधारमा पक्राउ परेका प्रसाईंमाथि ब्युरोले अनुसन्धान गरेको थियो ।

प्रहरीको दाबीमा उनले वीरगञ्जमा निर्वाचनविरोधी गर्न लागेका थिए । सरकार, निर्वाचन आयोग र दलहरू निर्वाचनमा जाँदा प्रसाईंले भने बिथोल्नेगरी कार्यक्रम गर्न लागेपछि उनलाई पक्राउ गर्नुपर्ने निष्कर्षमा सरकार पुगेको थियो ।

प्रसाईं पछिल्ला वर्षहरूमा राजावादी आन्दोलन, सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति र विभिन्न प्रदर्शनसँग जोडिँदै आएका छन् ।

उनका समर्थकहरूले उनलाई राजनीतिक रूपमा लक्षित गरिएको दाबी गर्दै आएका छन् ।

तर सुरक्षा निकाय र सरकारी पक्ष भने उनका गतिविधिले सार्वजनिक शान्ति, सामाजिक सद्भाव र कानुनी व्यवस्थामा असर पार्ने भएकाले हस्तक्षेप गर्नुपरेको बताउँदै आएका छन् ।

खासगरी सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना, कागजात र आरोप सार्वजनिक गर्ने शैलीले साइबर अपराधसम्बन्धी कानुनको प्रयोग बढाएको छ ।

हेर्नुहाेस् प्रसाईं पक्राउको टाइमलाइन

फागुन ४

सार्वजनिक शान्तिविरुद्धको कसुरमा निवासबाट पक्राउ । चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

माघ २८, २०८२

वीरगञ्जमा अनुमति नपाएको कार्यक्रम गर्न अडान । निर्वाचन बिथोल्नेगरी कार्यक्रम गर्न खोजेको आरोप

माघ १९, २०८२

चितवनमा तोकिएको स्थानबाहेक अन्यत्र कार्यक्रम गर्न खोजेपछि प्रशानको हस्तक्षेप । सार्वजनिक शान्ति भंग गर्न खोजेको आरोप ।

चैत १५, २०८१ (तीनकुने हिंसा)

तीनकुने क्षेत्रमा भएको हिंसात्मक राजावादी आन्दोलनपछि फरार । आन्दोलनमा मृत्यु, घाइते र आगजनी भएपछि उनीमाथि हिंसा गर्न भिडलाई उक्साहट गरेको आरोप । भारतको आसाम राज्यमा पक्राउ ।

मंसिर ४, २०८१

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिएको टेलिकममा लगानी रहेको गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा अपुष्ट सामग्री सार्वजनिक गरेको अभियोगमा पुनः पक्राउ ।

असोज ६, २०८१

भक्तपुरस्थित निवासबाट पहिलो पटक पक्राउ । विभिन्न व्यक्तिमाथि आपत्तिजनक र आधारहीन आरोप लगाएको उजुरीपछि साइबर ब्युरोले नियन्त्रणमा लिएको ।

गौरीगञ्जबासीले ओलीलाई भने, ‘सूर्य बाहेक अन्त हातै जाँदैन’

गौरीगञ्ज । गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफ्नो हात सूर्य बाहेक अन्त नजाने बताएका छन्। बुधबार गौरीगञ्ज–५ को श्यामाटोली पुगेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरूले विगतदेखि नै नेकपा एमालेलाई जिताउँदै आएको र यसपटक पनि जिताएरै छोड्ने अडान दोहोर्‍याए।

स्थानीय होवोदेवी राजवंशीले भनिन्, “हामी त जुगदेखि एमाले हौँ। सूर्य बाहेक अन्त भोट हालेकै छैनौँ। यसपटक पनि सुर्यमै हाल्ने हो।” उनले यस क्षेत्रमा बाटो विस्तार गरी बिजुलीको सेवा सहज बनाउन ओलीसँग आग्रह गरिन्।

त्यस्तै सोही ठाउँका किरण गनगाईले बाटो र बिजुली केही नभएको ठाउँमा ओलीले नै विकास गरेको भन्दै बाँकी विकासको जिम्मा पनि उनैलाई दिन सुर्यमै भोट हाल्ने बताए। “अरू कसले गर्छ र जिताउनु?” उनले भने, “जसले गर्छ, उसैलाई त हो भोट दिने।”

रतुवा खोलाको तटबन्ध थप बलियो बनाउन आवश्यक रहेको भन्दै अर्का स्थानीय सुकदेव सिंहले अब ओलीको जितपछि यी काम पूरा हुने विश्वास व्यक्त गरे।

सिमावर्ती गौरीगञ्जको उक्त गाउँमा पुग्दा एमाले अध्यक्ष ओलीलाई राजवंशी, सन्थाललगायत आदिवासी समुदायका स्थानीयले हर्षोल्लासका साथ स्वागत गरे। काखमा नानी च्यापेर आएका महिलाहरूले समेत ओलीसँग मातृभाषामा संवाद गरेका थिए।

गलामा माला र खादा लगाएका ओली भाेट माग्दै (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहानैदेखि चुनावी अभियानमा छन् ।

गलाभरी माला र खादा लगाएका उनी चुनाव क्षेत्रका विभिन्न ठाउँमा पुगिरहेका छन् । चुनाव आउन साता दिन बाँकी छँदा ओली केही दिनदेखि मत माग्न व्यस्त छन् ।

पार्टीका नेता कार्यकर्तादेखि समर्थकहरुका साथ मत मागिरहेका उनले यसपटक पनि चुनाव जित्ने दाबी गर्दै आएका छन् ।

देश जलाउने र बनाउनेबीचकाे जनमत सङ्‌ग्रहकाे रुपमा आगामी चुनावलाई अर्थ्याउने गरेका उनले झापा मात्रै नभएर काेशी र देशकै विकासकाे नेतृत्व लिन तयार रहेकाे बताउँदै आएका छन् ।

उनी एमालेबाट भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवारसमेत हुन् ।

आठाैँपटक चुनावी मैदानमा ओर्लिएका उनले आफ्ना एक जना चुनावी प्रतिस्पर्धी रास्वपा उम्मेदवार बालेन्द्र शाहलाई महानगर चलाउन नसक्नेले देश चलाउने भनेकाे भन्दै कटाक्ष गर्ने गरेका छन् ।

फेक रेस्क्यू प्रकरणमा थप पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा ‘फेक रेस्क्यु’ गरी बीमा रकम ठगी गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरेकाे छ ।

सीआईबीले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नं ३१ का सिंह आज पक्राउ परेका हुन् भने धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का तिवारी मङ्गलबार पक्राउ परेका हुन् ।

ब्यूरोले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उच्च हिमाली क्षेत्रमा ट्रेकिङका क्रममा सामान्य स्वास्थ्य समस्या वा दुर्घटना भएको देखाई विदेशी पर्यटकको उद्धार (रेस्क्यु) गरेको नाटक गरी बीमा कम्पनीबाट अवैध रूपमा रकम असुल्ने गिरोह सक्रिय रहेको पाइएको हो।

अनुसन्धानका क्रममा ट्रेकिङ कम्पनी, रेस्क्यु सेवा प्रदायक, अस्पताल, हेलिकप्टर कम्पनी तथा विदेशी बीमा कम्पनीका नेपालस्थित एजेन्टबीच मिलेमतो देखिएको सीआईबीले जनाएको छ।

फेक रेस्क्यु प्रकरणमा संलग्न कम्पनीहरूमा माउन्टेन रेस्क्यू सर्भिस प्रा.लि. , एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स प्रा.लि. र नेपाल चार्टर सर्भिस प्रा. लि. रहेका छन्।

विदेशी पर्यटकलाई अस्पताल भर्ना तथा डिस्चार्ज रिपोर्ट, मेडिकल रिपोर्ट लगायतका कागजात तयार गरी अनावश्यक रूपमा उद्धार गरिएको देखाई बीमा रकम असुलिएको सीआईबीको दाबी छ।

यस्तो गतिविधिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपाललाई ‘पर्यटकका लागि असुरक्षित गन्तव्य’ भनेर नकारात्मक प्रचार भएको प्रहरीको भनाइ छ।

हालसम्म यस प्रकरणमा ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल तथा अन्य सम्बद्ध निकायका गरी जम्मा ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई संगठित अपराध र ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

निर्वाचनका लागि मतदाताहरु उत्साही, मधेसमा सर्वाधिक

काठमाडौं । निर्धारित मितिमा नै प्रतिनिधिसभा निर्वाचन हुनेमा सरोकारवाला निकायहरु विश्वस्त रहेको एक अध्ययनले देखाएको छ ।

‘निर्वाचनको वातावरण सम्बन्धमा गरिएको अध्ययनले’ यही फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनेमा आम मतदाता, राजनीतिक दल, सुरक्षा निकाय र स्थानीय तहका राजनीतिक नेता तथा कार्यकर्ताहरू विश्वस्त रहेको देखाएको हो ।

नेपाल कानुन समाजले ३५ जिल्लाका ३३ स्थानीय तहमा गरेको विस्तृत अध्ययनमा अधिकांश  मतदाताले फागुन २१ मै निर्वाचन हुनेमा दृढ विश्वास व्यक्त गरेका हुन् ।

अध्ययन प्रतिवेदनकाअनुसार ७१ प्रतिशत आममतदाता समयमै निर्वाचन हुनेमा ढुक्क देखिएका छन् । विशेषगरी १६ देखि २९ वर्ष उमेर समूहका ७२ प्रतिशत युवा मतदाता बढी विश्वस्त भएको पाइएको छ ।

यो विश्वास मधेस प्रदेशमा अझ उच्च अर्थात ७९ प्रतिशत देखिएको छ । देशको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका ९१.७ प्रतिशत सुरक्षाकर्मीहरू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको पाइएको छ । सरकार र निर्वाचन आयोगको तिब्र तयारी, अनुकूल राजनीतिक वातावरण र राजनीतिक दलहरूको सक्रियतालाई निर्वाचन हुने बलियो आधारका रूपमा औँल्याइएको छ ।

समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानकाअनुसार अध्ययनका क्रममा प्रादेशिक रूपमा मधेस प्रदेशका मतदाताहरूमा निर्वाचनप्रति सबैभन्दा बढी विश्वास र उत्साह देखिएको छ भने कर्णाली प्रदेशका मतदाताहरुमा केही संशय रहेको पाइएको छ ।

समग्रमा अझै पनि १६ प्रतिशत मतदाताले समयमै निर्वाचन हुनेमा संशय राखेका छन् ।

शान्ति सुरक्षाको प्रबन्ध

अध्ययनमा सहभागी सबैले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीहरु, परम्परागत आपराधिक समूह र राजनीतिक दल र उम्मेदवारबीचको अस्वस्थ प्रतिष्पर्धा सुरक्षाको प्रमुख चुनौति मानिएको भए पनि सुरक्षा निकायको तीब्र र चुस्त तयारीले मतदातामा भरोसा जगाएको छ ।

प्राय: सबै जिल्लामा एकीकृत सुरक्षा योजना लागू भइसकेकाले सुरक्षाकर्मीहरुमा शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको मनस्थिति देखिएको छ ।

सरकारको सुरक्षा योजनाले राजनीतिक दलका नेता, उम्मेदवार, कार्यकर्ता र आम मतदाताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ ।

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन जोखिममा आधारित सुरक्षा रणनीति अवलम्वन गरिएको छ । लुम्बिनी प्रदेशमा ६५ प्रतिशत र सुदूरपश्चिममा ५१ प्रतिशत क्षेत्रमा विशेष सुरक्षा प्रणाली अबलम्बन गरिएको छ ।

संवेदनशील मतदान केन्द्रको वस्तुस्थिति विश्लेषण गरी ती जिल्लाको समग्र योजनाका साथै पहिचान गरिएका संवेदनशील मतदान केन्द्रहरूका लागि छुट्टै सुरक्षा योजना बनाइएको छ ।

निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा पोस्टहरूको स्थापना र सञ्चालन गर्ने रणनीतिअनुसार अहिले कतिपय स्थानहरुमा सोही नीति अनुसार काम भइहेको छ ।

जेन–जी आन्दोलनको क्रममा सुरक्षाकर्मीहरु उपर भएको आक्रमणको कारण सुरक्षाकर्मीको मनोबल प्रभावित भएको विषय पनि सुरक्षाका प्रमुख जोखिम रहेको सर्वेक्षणले देखाएको छ ।

सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग पनि प्रमुख सुरक्षा चुनौतिको रुपमा देखिएको छ । खासगरी सुरक्षाकर्मीहरूले साइबर बुलिङ, सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग ठूलो जोखिम मानेका छन् ।

युवा उमेर समूहमा सामाजिक सञ्जालको प्रभाव

सामाजिक सञ्जालले मतदातालाई अझ खासगरी युवा मतदातालाई आफ्नो मतबारे निर्णय गर्ने कुरामा प्रभावित गर्ने देखिएको छ ।

युवाहरूले निर्वाचनसम्बन्धी सूचना प्राप्त गर्न आम सञ्चारका माध्यमहरूका साथै सामाजिक सञ्जाललाई नै मुख्य स्रोत मान्ने गरेको पाइएको छ ।

जेन–जी समूहका ३२ प्रतिशत मतदाताले आफ्नो मतदानको निर्णयमा सामाजिक सञ्जालमा आएका सामग्रीको उच्च प्रभाव पर्ने बताएका छन् । यो अन्य उमेर समुहको तुलनामा बढी हो ।

यसले भौतिक माध्यमभन्दा सामाजिक सञ्जालमार्फत गरिने निर्वाचन प्रचार–प्रसारको पहुँच बढी प्रभावकारी र विस्तारित भएको देखिन्छ ।

सामाजिक सञ्जालले युवा मतलाई निर्णायक प्रभाव पार्ने देखिए पनि पैसा र पहुँचको दुरुपयोग हुनसक्नेतर्फ भने मतदाताले चिन्ता व्यक्त गरेका छन् ।

३४ प्रतिशत मतदाताले निर्वाचनको स्वच्छतामा पैसा र पहुँचको दुरुपयोग हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रभावकारी अनुगमन हुन सक्नेमा धेरैले आशंका व्यक्त गरेका छन् ।

विशिष्ट निर्वाचन-संवैधानिक र संरचनागत सुधारको अपेक्षा

मतदाताले यो निर्वाचनलाई विगतका भन्दा भिन्न र विशिष्ट मानेका छन् । धेरैले अहिलेको निर्वाचन प्रणालीको कारण कुनै एक दलले बहुमत ल्याउन सक्ने कुरामा आशंका व्यक्त गरेको देखिए पनि अध्ययनमा संलग्न व्यक्तिहरु प्रायः सबैले निर्वाचनबाट स्थिर सरकार बन्ने आशा व्यक्त गरेका छन् ।

निर्वाचन पछिको संसदबाट केवल नयाँ प्रतिनिधि मात्र नभई संवैधानिक र संरचनागत सुधारको अपेक्षा उनीहरुले गरेका छन् ।

२४ प्रतिशत मतदाता संविधान संशोधन मार्फत राजनीतिक प्रणालीमा संरचनात्मक परिवर्तन हुने कुरामा दृण रुपमा विश्वस्त देखिएका छन् भने ३४ प्रतिशत मतदाताले राजनीतिक दलहरु बीचमा सहमति भएमा संभव हुने बताएका छन् ।

मात्र १३ प्रतिशत मतदाताले आशंका व्यक्त गरेका छन् । १८ प्रतिशत उत्तरदाताले संविधानमा ठूलो परिवर्तन भई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था कार्यान्वयनमा आउने अपेक्षा राखेका छन् ।

त्यसैगरी विशेष गरि जेन–जी समुहका मतदाताले निर्वाचन पछिको संसदले २०८२ भदौको विद्रोहका क्रममा उठेका शासकीय सुधार र परिवर्तनका एजेन्डाहरूलाई संवैधानिक रूपमै सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् ।

कानुन निर्माण अड्कलबाजीको विषय हाेइन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुन निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन् । ‍

कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा प्रष्टयाए ।

कानुन निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कानुन कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेको तर्फ पनि सचेत गराए ।

उनले अन्धविश्वासको भरमा कानुन निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको तथ्य औँल्याए । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सम्बन्धित पक्षसँग अन्तरंग कुराकानी गरेर मात्रै कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘कानुन निर्माणको विषयलाई अडकलको विषय बनाइनुहुन्न । किनभने कानुन निर्माणमा सहभागिता राख्ने अवसर नै थिएन । कुष्टरोगलाई महारोग भनिन्थ्यो । त्यसलाई छुनै नहुने रोगको रुपमा हेरियो । कुष्ठरोगको विषयमा किञ्चित विचार नै नगरीकन यसका विभिन्न चरणहरु छन् । यो निको हुनसक्छ । यसका कार्यक्रमहरु हुन सक्छन । यसको सामान्यीकरण गर्न सकिन्छ । जीवनमा यसलाई पुनर्वास गर्न सकिन्छ ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठराेग निवारण हुने र उनीहरुले पनि समाज र राष्ट्रका योगदान गर्न सक्छन भन्ने कुरालाई भुल्न नहुने पनि बताए ।

इरानमा अमेरिकी हमला भए जनरल डान काइन सुप्रिम कमाण्डर !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त प्रमुख कर्मचारीका अध्यक्ष जनरल डान काइनले इरानमाथि सम्भावित सैन्य हमलाको नेतृत्व गर्ने बताएका छन् ।

यदि उनलाई त्यसको आदेश दिइयो भने उनले नै तेतृत्व सम्हाल्ने बताएका हुन् । ट्रम्पले इरानसँग सम्झौता गर्नु नै राम्रो हुने उनकाे भनाइ छ ।

यसअघि सोमबार वाशिंगटन पोस्टले रिपोर्ट गरेको थियो कि गत हप्ता ह्वाइट हाउस बैठकमा जनरल काइनले इरानमाथि हमला गर्दा महत्वपूर्ण हतियार तथा गोला बारुदको कमी र सहयोगी देशहरूबाट समर्थन नहुन सक्ने कुराले अमेरिकी सेनालाई ठूलो जोखिममा पार्नसक्ने चेतावनी दिएका थिए ।

स्रोतहरूकाअनुसार उनले लामो समयसम्म चल्ने द्वन्द्व र क्षेत्रीय प्रभावहरूको जोखिम पनि औंल्याएका थिए। जनरल काइनको कार्यालयले शुक्रबार जारी गरेको वक्तव्यमा भनेको छ कि राष्ट्रपतिको प्रमुख सैन्य सल्लाहकारको रूपमा अध्यक्षले काइन नेतृत्वलाई विभिन्न सैन्य विकल्पहरू, तिनका प्रभावहरू, जोखिमहरू र अन्य विचारहरू उपलब्ध गराउँछन् ।

अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा तय भएको छ । यो वार्ताले इरानको आणविक कार्यक्रम, युरेनियम सम्बर्द्धन स्तर र प्रतिबन्धहरू हटाउने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । तर अघिल्ला दुई चरणका वार्ताहरूमा खासै प्रगति देखिएको छैन ।

ट्रम्प प्रशासनले इरानसँग आणविक सम्झौता गर्न चाहेको तर आवश्यक परे सैन्य विकल्प पनि तयार राखेको संकेत गरेको छ ।

जनरल काइन ट्रम्पका प्रमुख सैन्य सल्लाहकार हुन् र उनी इरानसँग सम्बन्धित मुद्दामा प्रभावशाली भूमिकामा छन् ।

ब्रुकको शतकसँगै पाकिस्तानविरूद्ध इंग्ल्याण्ड विजयी

काठमाडौं । कप्तान ह्यारी ब्रूकको विस्फोटक शतकको बलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गर्ने पहिलो टिम बन्न सफल भएको छ ।

मंगलबार श्रीलंकाको पालेकेले मैदानमा खेलिएको सुपर ८ को रोमाञ्चक मुकाबलामा इंग्ल्यान्डले पाकिस्तानले दिएको १६५ रनको लक्ष्य ५ बल बाँकी हुँदै ८ विकेट गुमाएर हासिल गर्‍यो, र एक खेल अगावै सेमिफाइनल टिकट काटेको छ ।

ब्रूकले ५१ बलको आफ्नो धमाकेदार पारीमा १० चौका र ४ छक्काको सहायताले ठ्याक्कै १०० रन खेपे । यद्यपि उनको विदाइपछि इंग्ल्यान्डले एकपछि अर्को विकेट गुमाउँदा खेल रोमाञ्चकताको उत्कर्षमा पुग्यो । अन्ततः अन्तिम ओभरको पहिलो बलमा जोफ्रा आर्चरले चौका हान्दै टिमलाई जित दिलाए । विल ज्याक्सले २८ र साम करानले १६ रनको उपयोगी योगदान दिए ।

पाकिस्तानका लागि शाहीन अफ्रिदीले ४ विकेट र उस्मान तारिकले २ विकेट लिए, तर त्यो पर्याप्त सिद्ध भएन ।

यसअघि टस जितेर ब्याटिङ रोज्दै पाकिस्तानले २० ओभरमा ९ विकेटको क्षतिमा १६४ रन खडा गरेको थियो । ओपनर शाहिबजादा फरहानले ४५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६३ रन बनाए भने बाबर आजम र फखार जमान दुवैले २५–२५ रन जोडे ।

इंग्ल्यान्डका तर्फबाट लियाम डसन सर्वाधिक प्रभावकारी गेंदबाज रहे, उनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट झारे । आर्चर र जेमी ओभरटनले २–२ तथा आदिल राशिदले १ विकेट लिए ।

सुपर ८ को समूह २ मा २ खेलबाट ४ अंक जोडेको इंग्ल्यान्डले यसअघि श्रीलंकालाई पनि हराइसकेको छ । अब पाकिस्तानको सेमिफाइनल यात्रा झनै कठिन बनेको छ — श्रीलंकालाई हराउनुका साथै अन्य नतिजाहरू पनि आफ्नो पक्षमा पर्नुपर्ने परिस्थिति उसका लागि चुनौतीपूर्ण बन्न पुगेको छ ।

टी-२० विश्वकप: इंग्ल्याण्डविरूद्ध टस जितेर पाकिस्तानले ब्याटिङ रोज्यो

काठमाडौं । टी२० विश्वकप २०२५-२६ सुपर ८ अन्तर्गत समूह २ को खेलमा पाकिस्तान र ईंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

श्रीलंकाको पाल्लेकेलेमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको छ। सेमिफाइनल प्रवेशका लागि आजको खेल दुवै टिमका लागि महत्वपूर्ण छ ।

भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्य हाे : काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा राजनीतिक स्थिरता र सुशासनका लागि ५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन पद्धति आवश्यक रहेको बताएका छन् ।

मोरङको निर्वाचन क्षेत्र नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले काँग्रेसले अब देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने उद्घोष गरे ।

उनले पछिल्लो समय नेपाली काँग्रेसप्रति जनलहर सिर्जना भएको दाबी गरेका छन् । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश सभापति ममता शर्मा र रास्वपाकै जिल्ला सभापति भरत पराजुलीलगायतका प्रभावशाली नेताहरू काँग्रेसमा प्रवेश गरेको जानकारी दिए ।

‘अहिले काँग्रेस मात्र जुटेको छैन, अन्य दलबाट शुभेच्छा राख्ने हजारौँ नेपालीहरू काँग्रेसमा समाहित भइरहनुभएको छ ।’ शर्माले भने, ‘एमालेमा ३५ वर्ष बिताएका र मन्त्री भइसकेका रामवीर मानन्धरदेखि रास्वपाको सिङ्गै प्रदेश कमाण्ड गर्ने ममता शर्मासम्मले काँग्रेसको रुख चिन्ह रोज्नुले कांग्रेसको बढ्दो आकर्षण पुष्टि गर्छ ।’

५ वर्ष टिक्ने प्रधानमन्त्री र सुशासनको बहस

शर्माले देशमा पटक-पटक सरकार परिवर्तन हुने खेलले विकास रोकिएको बताउँदै अब ५ वर्ष टिक्ने प्रधानमन्त्रीको पद्धतिका बारेमा गम्भीर बहस हुनुपर्ने प्रस्ताव राखे ।
उनले भने, ‘हामी स्थिर सरकार र सुशासन चाहन्छौँ भने के-के सुधार गर्ने हो, त्यसमा छलफल गरौँ,’ भ्रष्टाचार नियन्त्रणका लागि कांग्रेसले कठोर नीति लिएको स्पष्ट पार्दै उनले भने, ‘काँग्रेसको तर्फबाट मन्त्री, प्रधानमन्त्री वा वडाध्यक्ष जोसुकै भए पनि भ्रष्टाचारको मुद्दा दर्ता हुनासाथ तत्काल साधारण सदस्यबाट निष्कासित गरिनेछ । निर्दोष प्रमाणित भए फिर्ता आउने बाटो खुला रहनेछ, तर दोषीलाई कुनै छुट हुने छैन ।’
उनले विदेशमा रहेका नेपालीहरूलाई देशको विकासमा जोड्न काँग्रेसले ‘जीडीपीपी’ को अवधारणा ल्याएको शर्माले बताए । उनले १२०० मेगावाटको बूढीगण्डकी परियोजनालाई राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउने र त्यसमा डायस्पोराको लगानी सुनिश्चित गर्ने योजना सुनाए ।

‘काठमाडौँको एयरपोर्टमा अङ्गालो मारेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन्, उनीहरूलाई भिजनले बाँध्नुपर्छ’, शर्माले थपे, ‘बूढीगण्डकी परियोजनाबाट बिजुली मात्र होइन, माछा पालन र पर्यटनको ठूलो सम्भावना छ, जसले मधेशको सिंचाई र खानेपानी समस्या समेत हल गर्नेछ ।’

उपसभापति शर्माले मोरङ क्षेत्र नं. ३ का उम्मेदवार डा. सुनिल शर्मालाई भारी मतले विजयी गराउन अपिलसमेत गरे ।