`

भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्य हाे : काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा राजनीतिक स्थिरता र सुशासनका लागि ५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन पद्धति आवश्यक रहेको बताएका छन् ।

मोरङको निर्वाचन क्षेत्र नं. ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले काँग्रेसले अब देशलाई नयाँ भिजन र स्पष्ट मार्गचित्रका साथ अगाडि बढाउने उद्घोष गरे ।

उनले पछिल्लो समय नेपाली काँग्रेसप्रति जनलहर सिर्जना भएको दाबी गरेका छन् । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश सभापति ममता शर्मा र रास्वपाकै जिल्ला सभापति भरत पराजुलीलगायतका प्रभावशाली नेताहरू काँग्रेसमा प्रवेश गरेको जानकारी दिए ।

‘अहिले काँग्रेस मात्र जुटेको छैन, अन्य दलबाट शुभेच्छा राख्ने हजारौँ नेपालीहरू काँग्रेसमा समाहित भइरहनुभएको छ ।’ शर्माले भने, ‘एमालेमा ३५ वर्ष बिताएका र मन्त्री भइसकेका रामवीर मानन्धरदेखि रास्वपाको सिङ्गै प्रदेश कमाण्ड गर्ने ममता शर्मासम्मले काँग्रेसको रुख चिन्ह रोज्नुले कांग्रेसको बढ्दो आकर्षण पुष्टि गर्छ ।’

५ वर्ष टिक्ने प्रधानमन्त्री र सुशासनको बहस

शर्माले देशमा पटक-पटक सरकार परिवर्तन हुने खेलले विकास रोकिएको बताउँदै अब ५ वर्ष टिक्ने प्रधानमन्त्रीको पद्धतिका बारेमा गम्भीर बहस हुनुपर्ने प्रस्ताव राखे ।
उनले भने, ‘हामी स्थिर सरकार र सुशासन चाहन्छौँ भने के-के सुधार गर्ने हो, त्यसमा छलफल गरौँ,’ भ्रष्टाचार नियन्त्रणका लागि कांग्रेसले कठोर नीति लिएको स्पष्ट पार्दै उनले भने, ‘काँग्रेसको तर्फबाट मन्त्री, प्रधानमन्त्री वा वडाध्यक्ष जोसुकै भए पनि भ्रष्टाचारको मुद्दा दर्ता हुनासाथ तत्काल साधारण सदस्यबाट निष्कासित गरिनेछ । निर्दोष प्रमाणित भए फिर्ता आउने बाटो खुला रहनेछ, तर दोषीलाई कुनै छुट हुने छैन ।’
उनले विदेशमा रहेका नेपालीहरूलाई देशको विकासमा जोड्न काँग्रेसले ‘जीडीपीपी’ को अवधारणा ल्याएको शर्माले बताए । उनले १२०० मेगावाटको बूढीगण्डकी परियोजनालाई राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउने र त्यसमा डायस्पोराको लगानी सुनिश्चित गर्ने योजना सुनाए ।

‘काठमाडौँको एयरपोर्टमा अङ्गालो मारेर बुद्ध जन्मेको देश नछोड भन्दैमा युवाहरू रोकिँदैनन्, उनीहरूलाई भिजनले बाँध्नुपर्छ’, शर्माले थपे, ‘बूढीगण्डकी परियोजनाबाट बिजुली मात्र होइन, माछा पालन र पर्यटनको ठूलो सम्भावना छ, जसले मधेशको सिंचाई र खानेपानी समस्या समेत हल गर्नेछ ।’

उपसभापति शर्माले मोरङ क्षेत्र नं. ३ का उम्मेदवार डा. सुनिल शर्मालाई भारी मतले विजयी गराउन अपिलसमेत गरे ।

विकास र एमाले पर्यायवाची हो: एमाले महासचिव पोखरेल

दाङ। नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले विकास र एमाले एक–अर्काका पर्यायवाची भएको बताएका छन्।

घोराही–१३, भ्यूडरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रको नेतृत्व गर्न सक्ने सक्षम र अनुभवी पार्टी एमाले मात्र भएको बताए।

उनीले केन्द्रमा एमालेलाई जिताउन नसक्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि परेको उल्लेख गर्दै अबको निर्वाचनमा एमालेलाई सशक्त रूपमा जिताउनुपर्ने आवश्यकता औँल्याए। ‘केन्द्रमा एमालेको मजबुत उपस्थिति नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता पाउन सक्दैन,’ उनले भने, ‘जिताएमा एमालेले दाङको समृद्धिको नेतृत्व गर्छ।’

पोखरेलले दाङको आर्थिक रूपान्तरणका लागि ३५० विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अगाडि बढाइने बताए। उद्योग, रोजगारी र उत्पादन वृद्धिमार्फत् दाङलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो।

पर्यटन प्रवद्र्धनतर्फ ध्यान दिँदै उनले बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाए। प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्भावनालाई उपयोग गर्दै दाङलाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र बनाउने उनले बताए।

आफू मुख्यमन्त्री हुँदा आर्थिक पारदर्शिता, सुशासन र नतिजामुखी विकासलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गर्दै उनले पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा थालिएका योजनाले त्यसको प्रमाण दिने उल्लेख गरे। ‘सुशासन र पारदर्शितासहित काम गर्दा परिणाम देखिन्छ,’ उनले भने, ‘त्यसैले दाङको समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक छ।’

कार्यक्रममा उनले कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर विकासको एजेन्डा घर–घरमा पु¥याउन आह्वान गरेका थिए। स्थानीयस्तरमा उल्लेख्य जनसहभागिता रहेको उक्त कार्यक्रममा विकास र स्थायित्वलाई मुख्य चुनावी मुद्दाका रूपमा प्रस्तुत गरिएको थियो।

तुलसीपुर–१७, मजगाउँमा आयोजित चुनावी सभामा बोल्दै पोखरेलले विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पु¥याउन सक्षम र प्रभावकारी नेतृत्व आवश्यक रहेको बताएका छन्। उनले अधुरा योजना पूरा गर्न र सुरु भइसकेका आयोजना सम्पन्न गर्न आफूलाई पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरे।

सभामा बोल्दै उनले भने, ‘दाङको विकास र समृद्धिका लागि शंकर पोखरेल अपरिहार्य छ भन्ने अभियान घर–घरमा पु¥याइदिनुहोस्। अधुरा काम पूरा गर्न र सुरु भएका योजनालाई निष्कर्षमा पु¥याउन सक्षम नेतृत्व आवश्यक छ।’

आफू मुख्यमन्त्री हुँदा दाङमा पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा महत्वपूर्ण काम सुरु भएको उल्लेख गर्दै उनले सरकार परिवर्तनसँगै केही आयोजना प्रभावित भएको दाबी गरे। ‘मैले नेतृत्व गर्दा दाङको विकासको आधार तयार भएको थियो। सरकारबाट बाहिरिएपछि केही काम रोकिए, अब ती योजनालाई पुनः गति दिन आवश्यक छ,’ उनले भने।

पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक आफ्नै पहलमा सुरु भएको उल्लेख गर्दै विजौरी–दहवन हुँदै शहीद मार्ग विस्तार तथा मानपुर–जलकुण्डी सडक स्तरोन्नति जस्ता आयोजना मध्य दाङको विकासका लागि अनिवार्य रहेको बताए।

‘मध्य दाङको समग्र विकासका लागि सडक सञ्जाल मजबुत बनाउनु अपरिहार्य छ,’ उनले जोड दिए।

स्वास्थ्य क्षेत्रतर्फ उल्लेखनीय प्रगति भएको दाबी गर्दै उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको बताए।

दाङका अस्पताललाई विशेषज्ञ सेवा दिने स्तरमा विकास गरिएको उल्लेख गर्दै उनले अब प्राविधिक शिक्षा र स्वास्थ्य सेवा जिल्लामै सुदृढ बनाउनुपर्ने धारणा राखे। पोखरेलले काठमाडौँबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्न सक्ने प्रतिनिधि दाङले रोज्नुपर्ने आवश्यकता औँल्याए।

‘काठमाडौँबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्न सक्ने नेतृत्व दाङले रोज्नुपर्छ। समृद्ध दाङ बनाउने लक्ष्यसहित हामी अघि बढेका छौँ,’ उनले भने।

सभामा उनले पार्टी कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर विकास, स्थिरता र समृद्धिको सन्देश घर–घरमा पु¥याउन आह्वान गरे। कार्यक्रममा स्थानीय नेता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। एमाले क्षेत्र नं. २ ले मंगलबारदेखि वडास्तरिय जनसभा गर्न सुरु गरेको छ।

गुठी पीडित किसानहरूको समस्या समाधानका लागि आफू तत्पर

यसअघि घोराहीमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले गुठी पीडित किसानहरूको समस्या समाधानका लागि आफू सधैं सकारात्मक रहेको बताएका छन्।

मंगलबार सम्पन्न ‘प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूसँग स्वर्गद्वारी गुठीको जमिनमा मोही अधिकारका लागि संवाद तथा प्रतिबद्धता लेखन’ कार्यक्रममा बोल्दै उनले गुठी समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे।

महासचिव पोखरेलले गुठी समस्या समाधानका लागि विधेयकसमेत तयार गरिएको जानकारी दिँदै सम्बन्धित मन्त्रालयको सक्रियता अभावका कारण समस्या समाधानमा ढिलाइ भएको बताए। उनले भने, ‘प्रधानन्यायाधीशको फैसलालाई कार्यान्वयन गर्न नसक्दा काम अघि बढ्न सकेन।’

उनले नेकपा एमाले गुठी पीडित किसानको पक्षमा स्पष्ट रूपमा उभिएको दाबी गर्दै राज्यस्तरबाट समाधान खोज्नुपर्ने विषय भएकाले यसलाई राजनीतिक इच्छाशक्तिसँग जोडेर हेर्नुपर्ने बताए। कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा सरकार प्रभावकारी ढंगले अघि बढ्न नसकेको उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेका पक्षमा मतदान गर्न आग्रह गरे।

‘गुठीको समस्या राज्यको समस्या हो। सही प्रतिनिधि चयन भयो भने काम गर्न सकिन्छ,’ उनले भने, ‘समस्या बुझेको प्रतिनिधि जिम्मेवार स्थानमा पुग्यो भने समाधान सम्भव छ।’

कार्यक्रममा बोल्दै उनले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीलाई विशेष महत्व दिएको स्मरण गरे। प्रदेश सरकारले माघी पर्वमा सार्वजनिक बिदा दिने कार्यको सुरुवात आफ्नै पहलमा भएको उनको भनाइ थियो।

पोखरेलले गुठी पीडित किसानको हक अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै व्यवहारिक समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

नहुँदाे गफ र फेसबुक चलाएर सेलिब्रेटी हुन राजनीतिमा आएका हाेइनाैँ : कुलमान घिसिङ

पाँचथर । देशकाे पूर्वी पहाडी जिल्ला पाँचथर पुगेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरू नहुँदाे गफ गरेर र फेसबुक चलाएर सेलिब्रटी हुन राजनीतिमा नआएकाे बताएका छन् । आफूहरु राजनीितमा काम गर्न आएकाे उनकाे भनाइ छ ।

पाँचथरकाे फिदिममा मङ्‍गलबार पार्टीकाे चुनावी सभालाई सम्बाेधन गर्दै उनले जेन-जी विद्राेहपछि नयाँ दलको रुपमा देश विकासकाे स्पष्ट योजनासहित चुनावमा होमिएको बताए ।

‘जेन-जी आन्दोलनको उद्देश्य र जनताको मागअनुसार हामी स्थापित भएका छौँ,’ उनले भने, ‘हामी भाषणमा होइन काम र परिणाममा विश्वास गर्छौँ । हामी देशको सेवक बन्नलाई आएका हौँ । जेन-जी आन्दोलनको बलिदानलाई सम्मान गर्नका लागि भोट मागिरहेका छौँ ।’

यो देशको समृद्धि, सुशासन कायम गर्न र भष्ट्रचारविरुद्ध लडेर देशमा समतामुलक समाज बनाउनका उज्यालो पार्टीलाई समर्थन गर्न पनि उनले आह्वान गरे ।

लोडसेडिङ अत्यको विशषलाई प्रमुखताका साथ उठाएका उनले समृद्धशाली देश बनाउने रोडम्याप तयार पारिसकेको पनि सुनाए ।

रास्वपामा असन्तुष्टी चर्किँदै, दाङमा पनि पार्टी छोड्ने लहर

दाङ । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि बढ्दै जाँदा दिनहुँजसो नेता-कार्यकर्ताले पार्टी छाड्ने क्रम बढेको छ। मंगलबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमार्फत् रास्वपाका युएई प्रवास नेपाली कमिटीका सचिव बलभद्र ओली, दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीलगायत दर्जनभन्दा बढी नेताहरूले पार्टी छाडेको घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले पछिल्लो समय पार्टीभित्र व्यापक विचलन देखिएको आरोप लगाउँदै, टिकट वितरणदेखि विभिन्न निर्णय प्रक्रियासम्म आर्थिक अपारदर्शिता र मनपरी ढंगले काम भएको भन्दै आफूहरू असन्तुष्ट बनेको बताए।

युएई प्रवासमा स्थापना कालदेखि नै संगठन विस्तारमा सक्रिय रहेको उल्लेख गर्दै बलभद्र ओलीले देश परिवर्तन गर्ने विश्वाससहित नेपाल फर्किए पनि पार्टीभित्र देखिएको अवस्थाले निराश बनाएको बताए। उनले रास्वपाबाट अपेक्षित परिवर्तन सम्भव नदेखिएको दाबी गर्दै आगामी निर्वाचनमा ‘राम्रो र सक्षम उम्मेदवार’ लाई मतदान गर्न मतदातासँग आग्रह गरे। दाङमा निर्वाचन जनचेतना अभियान सञ्चालन गरी रास्वपाका गलत क्रियाकलापबारे जानकारी गराउने र योग्य उम्मेदवारको पक्षमा वातावरण बनाउन अभियान अघि बढाइने उनको भनाइ थियो।

त्यस्तै, विजय केसीले स्थापनाकालदेखि दाङ क्षेत्र नम्बर २ मा पार्टी सुदृढीकरणका लागि नेतृत्वदायी भूमिका खेलेको दाबी गर्दै पछिल्लो समय पार्टीमा ‘खराब प्रवृत्तिका व्यक्तिहरू हावी’ भएको आरोप लगाए। उनले देशभर नै पार्टी छाड्ने क्रम बढिरहेको दाबी गर्दै अझै धेरैले पार्टी परित्याग गर्ने संकेत गरे। दाङमा रास्वपाभित्र देखिएको यो पछिल्लो घटनाक्रमले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ र आगामी निर्वाचनको सन्दर्भमा यसले कस्तो प्रभाव पार्छ भन्ने चासो बढाएको छ।

सर्वाेच्चकाे आदेशसँगै थुनामुक्त हुँदै दुर्गा प्रसाईं

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा  प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएकाे छ ।

न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको हो ।

उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गत साता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

अदालतकाे आदेशसँगै प्रसाईं थुनामुक्त हुने भएका छन् । तर कतिबेला थुनामुक्त हुन्छन् भन्ने टुङ्‍गाे छैन ।

उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक हुन् ।

उनलाई सार्वजनिक शान्तिमा खलल पुग्ने गतिविधि गरेकाे भन्दै प्रहरीले केही दिनअघि पक्राउ गरेकाे थियाे ।

 

युवाहरुले ‘टाइमपास’ भन्छन्, म छक्क पर्छु : ‌ओ‌ली (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा झापा- ५ का उम्मेदवार केपी शर्मा ‌ओलीले  युवायुवतीहरुलाई समय त्यसै खेर नफाल्न सुझाएका छन् ।

युवायुवतीहरुले ‘टाइमपास’ भन्ने गरेकाे भन्दै उनले त्यसलाई प्रगति गर्ने सन्दर्भमा ‘खतरनाक’ भएकाे बताए ।

‘टाइमपास भन्छन् म छक्क पर्छु । टाइमपास खतरनाक कुरा हाे । टाइमपास भनेकाे जिन्दगी पास हाे । जिन्दगी त बित्दै जान्छ नि,’ उनले युवाहरुलाई भने, ‘समय खेर नफाल्नुहाेस् । जिन्दगी मजाक हाेइन ।’

समयकाे सदुपयाेग काम गरेर मात्रै उन्नति-प्रगति हुने उनकाे भनाइ छ । समय खेर फालिए जिन्दगी खेर जाने भन्दै उनले काममा ध्यान दिनुपर्नेमा जाेड दिए ।

तर खाना काम र निद्राकाे सन्तुलन नबिगार्न आग्रह गरे ।

‘मान्छेले काम गर्ने भनेकै समयकाे सदुपयाेग हाे । उन्नति-प्रगति समयकाे सदुपयाेगबाट मात्रै हुन्छ । ज्ञान प्राप्त गर्न समयकाे सदुपयाेगबाट मात्रै सम्भव छ । सफलता प्राप्त गर्न समयकाे सदुपयाेगबाट मात्रै सम्भव छ,’ उनले भने, ‘समय खेल फाल्याे, जिन्दगी खेर गयाे । तर काम मात्रै हाेइन कि खाना, काम र आरामकाे सन्तुलन मिलाउनुपर्छ ।’

 

गैरसरकारी संस्थाले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशील कार्कीले गैरसरकारी संघ, संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकता र जनताको आवश्यकताअनुसार स्रोत साधन परिचालन गर्नुपर्ने बताएका छन् ।

मंगलबार समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ गर्दै उनले सो कुरा बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरु सक्रिय हुनु लोकतन्त्रको सवल पक्ष भएको पनि उल्लेख गरिन् । उनले नेपालमा सामाजिक संघ, संस्थाहरुले विपद्‍मा खेलेको भूमिका प्रशंसनीय रहेको पनि बताइन् ।

जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखि कार्यक्रम र स्वयमसेवी भावनालाई आत्मासात गर्दै अघि बढे गैरसरकारी संस्थाहरुको सान्दर्भिकता अझै बढेर जाने प्रधानमन्त्री कार्कीको विश्वास छ ।

नले भनिन् ,‘राज्यको नीति अंगिकार गरी सामाजिक तथा नागरिक संस्थाहरु सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष हो । सरकारी संघ संस्थाहरुले स्वास्थ्य, शिक्षा, सशक्तिकरण, समावेशीकरण, गरिबी निवारण, सामुदायिक विकास र वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । विशेषगरी विपदमा समयमा राहत, उद्धार र पुनर्स्थापनामा खेलेको भूमिका प्रशंसनीय छ । जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखि कार्यक्रम र स्वयंसेवी भावनालाई आत्मासात गर्दै अघि बढेमा गैरसरकारी संस्थाहरुको सान्दर्भिकता अझै बढ्नेछ भन्ने मुरो विश्वास छ । अन्तर्राष्टिय विकास साझेदारहरुले पनि नेपालको राष्ट्रिय प्राथमिकता र नेपाली जनताको वास्तविक आवश्यक्ता अनुसार स्रोत, सोधन परिचालन गर्नेछन भन्नेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री कार्कीले परिषद्ले सामाजिक क्षेत्रको कामलाई अघि बढाउनका लागि अतुलनीय योगदान पुर्‍याउने अपेक्षा समेत गरिन् ।

दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी- बालेन्द्र शाह (भिडियाे)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन्द्र शाह (बालेन)ले पूर्वी नेपालको कृषि, उत्पादन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।

मङ्‌गलबार सुनसरीकाे इटहरीमा आयाेजित कार्यक्रमलाई  सम्बाेधन गर्दै उनले स्थानीय उत्पादनले स्थानीय बजार नपाइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे।

उनले भने, ‘पाँचथर, इलामलगायत पूर्वी पहाडमा उत्पादन भएका तरकारीहरू यहीँ मुनि तराईकाे झापा, सुनसरी, विराटनगरमा खान पाइएको छैन, यो दुःखको कुरा हो। यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’

धान उत्पादनको सम्भावनाबारे बोल्दै शाहले पूर्वी तराईका तीन-चार जिल्लाले पूर्ण क्षमतामा उत्पादन गरे देशभरलाई पुग्ने दाबी गरे। ‘पूर्वी तराईका तीनवटा, चारवटा जिल्लाको फुल पोटेन्सियलमा धान उत्पादन गर्ने हो भने देश भरिलाई खान पुग्छ,’ उनले भने, ‘तर विडम्बना, यही खान पुगेको छैन।’

उनले पूर्व क्षेत्रको आर्थिक सम्भावना औंल्याउँदै पर्यटन, कृषि र उत्पादनलाई आयआर्जनको आधार बनाउन सकिने बताए। ‘हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, उब्जाउ गरेर पनि पैसा कमाउन सकिन्छ, उत्पादन गरेर पनि पैसा कमाउन सकिन्छ,’ उनले भने, ‘यो तीनवटै काम गरेर देखाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले।’

धार्मिक तथा सांस्कृतिक आस्थाका केन्द्रहरूको संरक्षण र प्रवर्द्धनमा पनि जोड दिँदै उनले सबै नेपालीले साझा रूपमा आस्था राख्न सक्ने वातावरण बनाउनुपर्ने बताए।

साम्बाका लागि जुट्यो १ करोड ४५ लाख, दिइन् धन्यवाद

काठमाडौं। फुटबलर सावित्र भण्डारी सम्बाको उपचारका लागि १ करोड ४५ लाख रूपैंया भन्दा धेरै सहयोग संकलन भएको छ । नेपाल भित्र एक करोड भन्दा धेरै र विदेशबाट लगभग ४५ लाख रूपैंया संकलन भएको उनले फेसबुकबाट जानकारी दिएकी छिन् ।

एन्फाले वेवास्ता गर्दा घुँडामा लागेको चोटको उपचारमा समस्या भएपछि सोमबार साँझ उनले समर्थकहरूसँग सहयोग आह्वान गरेकी थिइन् ।

२४ घण्टा नबित्दै झन्डै डेढ करोड रकम संकलन भएपछि उनले सहयोगी सबैलाई धन्यवाद दिएकी छिन् ।

सरकारले जेन-जी परिषद् गठन गर्ने

काठमाडौं । सरकारले जेन-जी परिषद् गठन गर्ने निर्णय गरेकाे छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

जेन-जी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि उनीहरुको माग सम्बोधनका लागि ठोस निर्णय लिन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

त्यसैगरी सरकारले बीमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धि मुद्दाको कारबाही र किनारा लगाउने जिम्मेवारी जिल्ला अदालतलाई दिने निर्णय पनि गरेको सरकार प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।

यही फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने सरकारकाे निर्णय (भिडियो)

काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

त्यसैगरी निर्वाचनका लागि चीन सरकारले अनुदान सहायताको रुपमा दिन लागेको ४ मिलियन अमेरिकी डलर करिब ५४ करोड नेपाली रुपँयाँ स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्नेगरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने, बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धि मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने निर्णय पनि सरकारले गरेको छ ।

बुढीगण्डकी जलासाययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत पनि गरिएको छ ।

मन्त्रीपरिषद् बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम सो आयोजनाको वित्तीय लगानीको ढाँचा स्वीकृत गरेको पनि मन्त्री अर्यालले स्पष्ट पारे ।

उनले भने,‘चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदान गर्ने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने । चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलासाययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने । काठमाडौं जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको काम समेत हेर्नेगरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने । बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धि मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने । विक्रम सम्वत् २०८३ साल बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने । मिति २०८२-११-२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मिति २०८२ फागुन २० गतेदेखि २२ गतेसम्म ३ दिन मुलुकभर सार्वजनिक विदा दिने । र अन्त्यमा जेन–जी परिषद् गठन गर्ने ।’

सरकारले आगामी वर्षभरी हुने सार्वजनिक विदा निर्धारण गर्ने निर्णय पनि गरेको छ ।

टी-२० विश्वकप: ईंग्ल्याण्डसँग भिड्दै पाकिस्तान

काठमाडौं । टी-२० पुरूष विश्वपक अन्तर्गत सुपर ८ को समूह–२ को ४५औँ खेलमा आज इंग्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ ।  श्रीलङ्काको पालेकेले क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरू हुने छ । सेमिफाइनल यात्राका लागि दुवै टोलीका लागि यो खेल निर्णायक मानिएको छ।

इङ्ल्याण्ड समूह चरण पार गर्दै सुपर एट्समा पुगेपछि लय खोज्ने प्रयासमा छ। प्रतियोगिताभर उनीहरूले आक्रमक ब्याटिङको झलक देखाए पनि निरन्तरता कायम गर्न सकेका छैनन्। शीर्षक्रमले राम्रो सुरुआत दिलाए पनि मध्यक्रममा कहिलेकाहीँ दबाब देखिएको छ। बलिङतर्फ तेज आक्रमण प्रभावकारी रहेकाले इङ्ल्याण्ड व्यवस्थापन सन्तुलित प्रदर्शनको अपेक्षामा छ।

यता पाकिस्तान उतारचढावपूर्ण यात्रापछि यो खेलसम्म आइपुगेको हो। केही खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि बलियो प्रतिद्वन्द्वीविरुद्ध स्थिरता कायम राख्न नसक्दा अंक तालिकामा दबाबमा परेको छ। विशेषगरी स्पिन विभाग पाकिस्तानको मुख्य हतियार मानिएको छ, जसले मध्य ओभरमा खेल मोड्न सक्ने क्षमता राख्छ। ब्याटिङमा शीर्षक्रमले जिम्मेवारी बहन गर्न सकेमा पाकिस्तान बलियो चुनौती प्रस्तुत गर्न सक्छ।

पल्लेकेलेको पिच सामान्यतया ब्याटिङमैत्री मानिए पनि खेल अघि बढ्दै जाँदा स्पिनरलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यसैले टस जित्ने टोलीले पहिले ब्याटिङ रोज्ने सम्भावना बढी देखिन्छ। मौसम खेलका लागि अनुकूल रहने अनुमान छ।

समूह–२ को समीकरण हेर्दा यो खेलको नतिजाले सेमिफाइनलको मार्ग प्रष्ट पार्नेछ। इङ्ल्याण्ड जित निकाल्न सकेमा अघिल्लो चरण नजिक पुग्नेछ भने पाकिस्तानका लागि जित लगभग अनिवार्य जस्तै बनेको छ। त्यसैले क्यान्डीमा हुने यो प्रतिस्पर्धा रोमाञ्चक र उच्च दबाबपूर्ण हुने अपेक्षा गरिएको छ।

जहाँ उभिएकाे छ देशकाे, वरिपरी हेर्दा एमालेले गरेकाे विकास देखिन्छ : ओली (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलील एमालेले गरेकाे विकास जताजतै देखिने गरेकाे दाबी गरेका छन् ।

चुनाव क्षेत्र झापामा रहेका उनले जहाँ उभिए पनि त्यहाँबाट वरिपरी हेर्दा एमालेले गरेकाे विकास  देखिने बताएका हुन् ।

उनले भने, ‘जहाँ उभिएकाे छ देशकाे वरिपरी हेर्दा एमालेले गरेकाे विकास देखिन्छ एमाले त्यस्ताे विकासप्रेमी पार्टी हाे भन्ने सबैलाई थाहा छ । यसले जन्मिनुभन्दा पहिले गर्भमा रहँदादेखि अन्तिम संस्कारसम्मका कुन चाहिँ अवधिमा मानव जातिका लागि काम गरेकाे छैन ।’

किसान, मजदुर, सुरक्षाकर्मी, उद्याेग, व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थी सबैका लागि एमालेले काम गरेकाे दाबी गरे । तर, एमालेकाे बारे अनावश्‍यक प्रश्न गर्ने गरेकाे बताए ।

१० अर्बको कम्पनी खडा गरेका छौँः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी-व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताएका छन् ।

ढकालले उद्योगी, व्यवसायी, गैरआवसीय नेपाली संघ (एनआरएन) सहितको सहभागितमा १० अर्ब एनडीपी कम्पनी सञ्‍चालनमा ल्याइएको बताउँदै उक्त कम्पनीबाट ७७ जिल्लाका रहेको उद्यमी, नवप्रवर्तकहरुले पुँजी लिन सक्ने जानकारी दिए ।

उनका अनुसार नवप्रवर्तनलाई प्रवर्द्धन गर्नकै लागि कम्पनी सञ्चालनमा ल्याइएको बताउँदै यसबाट देशमा उद्योग व्यवसाय फस्टाउन सघाउ पुग्नेछ ।

अध्यक्ष ढकालले भने, ‘व्यवसायी, एनआरएनसहितको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी १० अर्ब पुँजीको नेपाल उद्योग महासंघकै पहलमा सञ्चालनमा ल्याइएको छ । त्यो कम्पनीले ७७ वटै जिल्लाकै शेयर होल्डिङको वनरसिप लिने र ७७ जिल्लामा भएका उद्यमी, नवप्रर्वतन गर्न चाहनेलाई लगानीको जरुरी भए त्यो कम्पनीले अन्टरप्रेनरलाई  लगानी गरेर त्यस्ता व्यावसायिक गतिविधिलाई बढाउन मद्दत गर्नेछ । १० अर्बको पेड अप क्यापिटललाई इक्विटी मान्ने हो भने ४०-५० अर्ब बराबरको ठूला परियोजनामा जान सक्ने अवस्था बनिसकेको छ । त्यो खालको संरचना पनि तयार भइसकेको छ ।’

अध्यक्ष ढकालले आफ्नो कार्यकालमा वषैँदेखिको डेडिकेटेड लाइनको भुक्तानीका बारेमा चरम समस्या आएको र यसको दीर्घकालिन समस्या समाधानका लागि महासंघले अर्धन्यायिक आयोग गठन गर्न पहल गरेको बताए ।

उनले लाल आयोग गठन भएर त्यसको प्रतिवेदन कार्यान्वयनमा आउन नसकेको भन्दै त्यो कार्यान्वयनमा ल्याउन आग्रह समेत गरे ।

निर्वाचन सुरक्षामा कुनै चुनाैति नभएकाे उच्चस्तरीय निर्वाचन सुरक्षा समितिकाे निष्कर्ष

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा कुनै सुरक्षा चुनाैती नभएकाे उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले स्पष्ट पारेकाे छ ।

समितिले सुरक्षा व्यवस्था मजबुत रहेकाे र कुनै चुनाैती नभएकाे दाबी गरेकाे हाे ।

मङ्‍गलबार निर्वाचन आयाेगकाे कार्यालयमा बसेकाे बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षाकाे स्थितिबारे ब्रिफिङ गरेकाे आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार सुरक्षा निकायका प्रमुखहरुले मतदाताले निर्भयपूर्वक मतदान गर्नका लागि अनुकूल वातावरण रहेको बताएका थिए ।

देशकाे केही स्थानमा स्थानीय प्रशासनको क्रियाशीलताले कुनै अप्रिय घटना हुन नपाएको र सबैतिरको माहोल निर्वाचनमय हुँदै गएको  भट्टराईले बताए ।

उनले मतदानका लागि सहज रुपमा घर जान र फर्कनका लागि आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको र यसबाट मतदानमा सक्रियतापूर्वक सहभागिता हुने विश्वास गरे ।

एमालेकाे लाेकप्रियता बढिरहेकाे बेला निर्वाचन सार्ने हल्ला फैलाइयाे (भिडियाे)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन सार्ने हल्ला फैलिएकाे भन्दै आपत्ति जनाएकाे छ ।

पार्टीकाे निर्वाचन विभाग प्रमुख मीनबहादुर शाहीले एमालेकाे लाेकप्रियता बढिरहेकाे बेला निर्वाचन  सार्ने हल्ला फैलाइएकाे भन्दै असहमति रहेकाे बताए । उनले यही २१ फागुनमै निर्वाचन हुनुपर्ने अडान राखे । निर्वाचन सार्ने हल्लालाई पनि उनले श‌ँकाकाे दृष्टिले हेरेका छन् ।

‘समाजमा निर्वाचन सार्ने अनेक हल्ला चलेकाेप्रति एमालेकाे ध्यान केन्द्रित भएकाे छ, एमाले कुनै पनि बहानामा चुनाव सार्ने हाेइन, घाेषित समय फागुन २१ गतेमै हुनुपर्छ भन्नेमा दृढ अडान राख्दछ । तपाईहरुले सुनिरहनुभएकाे छ, केही समयदेखि निर्वाचन सार्ने, कुन काेणबाट कुन राजनीतिक उद्देश्यका साथ के हिसाबले निर्वाचन सार्ने हल्ला फैलाइँदै छ, यसप्रति एमालेले गम्भीर चासाे राखेकाे छ,’ उनले मङ्‍गलबार पत्रकार सम्मेलन गर्दै भने, ‘हामी भन्न चाहन्छाैँ कि मुलुक निर्वाचनमा हाेमिएकाे बेला,  नेकपा एमालेकाे लाेकप्रियता बढिरहेकाे बेला, विगतकाे भन्दा हाम्राे अवस्था राम्राे भएकाे बेला निर्वाचन सार्ने हल्लाप्रति हाम्राे आपत्ति छ ।’

उनले अब ‘भाेट फर चेन्ज’ नभई ‘भाेट फर नेशन’ हुनुपर्ने बताए ।

 

सरकारले कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले (भिडियाे)

काठमाडौं । नेकपा एमालेले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ ।

जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गर्नु सुरक्षा कमजोरी भएको बताएको हो ।

पत्रकार सम्मेलन आयाेजना गर्दै पार्टीकाे निर्वाचन प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले यसले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको बताए ।

मधेस-तराईका विभिन्न जिल्लामा लगाइएको कर्फ्यूले आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्‍याउने काम गरिएको भन्दै चिन्ता व्यक्त गरे ।

सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ ।

अनेक बहानामा निर्वाचन सार्ने भ्रामक हल्ला चलेकोप्रति ध्यानाकर्षण भएकाे भन्दै एमालेले घोषित समयमै चुनाव हुनुपर्ने अडान दाेहाेर्‍याएकाे छ ।

एमालेले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित गरिसकेको दाबी गर्दै शाहीले ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारा अघि सारेको बताए ।

प्रतिनिधि सभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान राख्दै एमालेले सर्वोच्च अदालतको आलटालप्रति असन्तुष्टि जनाएको छ । अर्कोतर्फ, महान्यायाधिवक्ताको कार्यालयले ‘जेन–जी’ उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले दण्डहीनता मौलाउने वातावरण बनेको एमालेको आरोप छ ।

निर्वाचनको यो संवेदनशील घडीमा केही सञ्चारमाध्यम (सेताेपाटी) बाट एकपक्षीय मत सर्वेक्षण सार्वजनिक गरी जनमत प्रभावित पार्न खोजिएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

यस्ता प्रायोजित तथ्याङ्कले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको र पत्रकारिताको विश्वसनीयता गुमाएको शाहीले बताए ।

सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युट्युब आदि) मार्फत गलत सूचना र कृत्रिम सामग्री प्रसार गरी राजनीतिक ध्रुवीकरण गराउन खोजिएको भन्दै एमालेले सरोकारवाला सबैलाई जिम्मेवार हुन आह्वान गरेको छ ।

२४ घण्टा नबित्दै साम्बाका लागि ५० हजार डलर जुट्यो, एन्फा भन्छ: प्रयास गर्दै थियौं

काठमाडौं। न्युजिल्याण्डमा रहेकी फुटबलर साबित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि देशविदेशमा रहेका नेपालीहरूले सहयोग गरिरहेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेपछि उनलाई देशभित्र र देशबाहिर रहेका नेपालीहरूले सहयोग गरिरहेका छन् ।

उनले विदेशबाट सहयोग गर्न चाहनेका लागि गिभ अ लिटलको लिंक शेयर गरेकी थिइन् । जसमा यो सामाचार तयार पार्दासम्म त्यहाँ ५० न्युजिल्याण्ड डलरभन्दा धेरै जम्मा भइसकेको छ । अहिलेको विनिमय दर अनुसार करिब ४३ लाख नेपाली रूपैंया हुन्छ ।

यस्तै नेपाल भित्रबाट उनलाई सहयोग उठिरहेको छ । नेकपा एमालेको भातृसंगठनले देशभरीबाट सहयोग उठाएर दिनका लागि अभियान सुरू गरेको छ । संगठनका अध्यक्ष दिपक धामीले पाँच हजार रूपैंया सहयोग गरी अभियान सुरू गरेका हुन् ।

यस्तै नेपाली कांग्रेसले पाँच लाख रूपैंया सहयवोग गर्ने निर्णय गरेको छ । एक्सट्रिम इनर्जी ड्रिंक्सले पनि पाँच लाख सहयोग गरेको छ ।

यस्तै कुलब्याइका नामले चर्चित पारस बमले अहिलेसम्म तीन लाख रूपैंया सहयोग गरेका छन् भने एन्फाका पूर्वअध्यक्ष कमल थापाले ५० हजार दिएका छन् । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता तथा पूर्व पर्यटन मन्त्री सुदन किराँतीले १० हजार सहयोग गरेका छन् ।

नेपाली कांग्रेसका नेता सञ्चालक रहेको काठमाडौंको केएमसी मेडिकल कलेजले निशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएको छ । तर, साम्बाले कतारमा उपचार गराउने स्पष्ट पारिसकेकी छिन् । उनको उपचारका लागि ८० हजार डलर आवश्यक छ ।

सरकारसँग पटकपटक आग्रह गर्दा पनि सफल नभएको भन्दै साम्बाले सोमबार फेसबुक मार्फत सहयोग गर्न समर्थकहरूलाई आग्रह गरेकी थिइन् ।

साम्बाको आग्रहपछि अखिल नेपाल फुटबल संघ एन्फाले भने उनको उपचारका लागि पहल गरिरहेको दाबी गरेको छ । एन्फा प्रवक्ता सुरेश शाहले सोमबार नै प्रेस विज्ञप्ति निकालेर साम्बा आबद्ध क्लब वेलिङ्टन फिनिक्स र परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको जनाएका छन् । साथै, साम्बाले कतारमा उपचार गराउने चाहना राखेकाले कतार फूटबल एसोसिएसनसँग पनि कुरा भइरहेको उनले बताएका छन् ।

एन्फाले खेलाडीको उपचार क्लबले नै गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको दाबी गर्दै क्लबले व्यहोर्ने बाहेकको खर्च एन्फाले गर्ने दाबी गरेको छ ।

तर, एन्फासँग पटकपटक पहल गर्दा पनि पाँच लाख रूपैंया मात्रै सहयोग गर्ने र प्रशासनिक सहयोग नगर्ने भनेपछि आफूले सार्वजनिक आव्हान गर्नुपरेको उल्लेख गरेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘ चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।’

अष्ट्रेलियाको निन्जा-ए लिग खेल्ने न्युजिल्याण्डको क्लब वेलिङ्टन फिनिक्समा आबद्ध भएकी साम्बालाई खेलका क्रममा घुँडामा चोट लागेको थियो ।

रास्वपा उम्मेदवार हेमराज थापाले सार्वजनिक गरे बाजुरा परिवर्तनका ८ एजेण्डा

काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बाजुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हेमराज थापाले चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।

उनले जिल्लाकाे स्वास्थ्य, पर्यटन, कृषि, शिक्षा, महिला सशक्तिकरण, सञ्‍चार, सडकलगायत क्षेत्रमा पाँच वर्षभित्र गर्न सकिने कार्यहरुलाई एजेण्डामा समावेश गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा  प्रत्येक वडामा हेल्थ पोष्ट स्थापना तथा स्तरोन्नति, २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन, आधारभूत औषधि निःशुल्क उपलब्धता र गर्भवती महिला तथा बालबालिकाका लागि पोषणयुक्त खाघ वितरण गर्ने उनकाे एजेण्डा छ ।

बडिमालिका मन्दिर, बुडीगन्दा ताल र राणिशेगजस्ता धार्मिक तथा प्राकृतिक स्थलहरूको प्रचार प्रसार गर्दै ट्रेकिङ, बन्जी, घोडा-खच्चर यात्रा, स्थानीय होटल-लज र युवा गाइडर तयार गरेर रोजगारी सिर्जना गरी पर्यटन प्रवर्द्धन गर्ने बताए ।
कृषि क्षेत्रमा स्थानीय हावापानीअनुसार उन्नत र जैविक खेती प्रवर्द्धन गर्दै कृषक सहकारी मार्फत कलस्टर फार्मिङ विस्तार गर्ने, सिचाई सुविधा र कृषि पूर्वाधार विकार गर्ने, हिमाली क्षेत्रमा स्याउ, ओखर, आलु, फापर र कोदोजस्ता उच्च मूल्यका फलफूल तथा अन्नबालीको उत्पादन, प्रशोधन र बजारीकरणलाई प्राथमिकता दिने. जडीबुटी प्रशोधन तथा निर्यात प्रोत्साहन गर्ने, पशुपालनमार्फत मासु तथा दुग्धजन्य उत्पादन गर्ने पनि एजेण्डामा उल्लेख गरेका छन् ।

प्रत्येक वडामा भौगोलिक अवस्थाअनुसार विद्यालय स्थापना तथा स्तरोन्नति, आवासीय र डिजिटल शिक्षाको व्यवस्था, समावेशी कोटा प्रणालीमार्फत सबै विद्यार्थीलाई समान अक्सर छात्रवृत्ति विस्तार र दक्ष शिक्षकसहित गुणस्तरीय शिक्षण सुनिश्चित गरी समग्र शैक्षिक सफलता हासिल गर्ने भनिएकाे छ ।

महिला सशक्तिकरणका लागि स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, सहकारी र क्लस्टर खेतीमा महिला नेतृत्व, सीप तथा स्वास्थ्य, सचेतना विस्तार, कुरीति अन्त्य अभियान र कृषि पशुपालन आधुनिकीकरणमार्फत बजार पहुँच सुनिश्चित गर्दै महिला उद्यमशीलताबाट सामाजिक-आर्थिक रुपान्तरण गर्ने उनकाे एजेण्डापत्रमा उल्लेख छ ।

सञ्चार क्षेत्र सुदृ‌ढीकरणका लागि मोबाइल टावरहरुमा सोलार प्रणाली सुधार गरी राष्ट्रिय प्रसारणा लाइनसँग जोडेर स्थायीत्त्व दिने, सबै वडामा बलियो फाेर्जी नेटवर्क विस्तार गर्ने,
मुख्य राजमार्ग तथा दुर्गम बस्ती जोड़‌ने पक्की सडक विस्तार, नदी र  खोलामा फलामे पुल निर्माण, पहिरो रोकथामका लागि आधुनिक प्रविधि रिटेनिङ वाल, ड्रेनेज प्रणाली प्रयोग गरी दिगो सुरक्षित र सर्वसुलभ पूर्वाधार विकास गर्ने बताए ।

 

प्रधानमन्त्रीले भनिन्- संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकता (भिडियाे)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको प्रतिवद्धता अटल रहेको बताएकी छन् ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचितलाई बधाई दिँदै उनले विश्‍वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद्जस्ता जटिल संकटहरूका बीच मानव अधिकारको विश्‍वव्यापीकरणलाई कायम राख्नुपर्नेमा जोड दिइन् ।

सरकारको प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र यसलाई एक संस्कृतिको रूपमा विकास गर्नु भएको उनकाे भनाइ छ ।

प्रधानमन्त्री कार्कीले नेपालले संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय ढंगले टुङ्ग्याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

उनले आगामी ५ मार्च २०२६ (चैत २२) मा हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्‍न गर्न सरकारले सबै शक्ति परिचालन गरेको जानकारी समेत दिइन् । गत भदौमा ‘जेन–जी’ युवा आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मागहरूलाई सम्बोधन गर्नु आफ्नो सरकारको मुख्य म्याण्डेट रहेको बताएकी छन् ।

उनले भनिन्, ‘हामी संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पु¥याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई पुनर्गठन गरिसकेका छौँ ।’

नेपाल हाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने देश रहेको स्मरण गराउँदै उनले नेपाली शान्ति सैनिकहरूले विश्वभर मानव अधिकार र नागरिकको सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् ।

जंगली बँदेल थप एक वर्ष कृषि हानिकारक, खेदाउन र पक्रिन पाइने

काठमाडौं । सरकारले जंगली बँदेललाई  थप एक वर्ष कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । याे घाेषणाले जंगली बँदेल लखेट्न तथा पक्रन सहज  गरेको हो ।

वन मन्त्रालयका अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आएर बालीनाली वा धनजनको हानी नोक्सानी पुर्‍याएमा किसान एक्लै वा सामुहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिने भएको छ ।

यदि बँदेल पक्रिएमा सम्बन्धित राष्ट्रिय निकुन्ज, शिकार आरक्ष, वन्यजन्तु आरक्ष वा वन कार्यालयमा बुझाउनुपर्ने भएको छ ।

सो क्रममा बँदेलको ज्यान गएमा भने वडाका एक प्रतिनिधि र ५ स्थानीयको रोहवरमा मुचुल्का उठाई गाड्न तथा तौलको आधारमा मूल्य तोकी सो रकम राजस्व खातामा दाखिला गरी वडाभित्र (व्यापारिक प्रयोजन बाहेक) प्रयोग गर्न सकिने गरी तोकिएको छ ।

यसको सबै जानकारी सम्बन्धित निकायलाई दिनुपर्ने छ । यसको विवरण तोकिएको निकायले राख्नु पर्ने छ ।

यद्यपि निकुन्ज वा आरक्षण र वन क्षेत्रमा पसेर यस्ता जनावर मार्न, पक्रन वा लखेट्न निषेध गरिएको छ । यसअघि सरकारले रातो बाँदरलाई समेत कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो ।

गाैर र वीरगञ्‍ज घटनापछि सरकार सजक, निर्वाचन सुरक्षा थप मजबुत बनाइँदै

काठमाडौं । आगामी निर्वाचनको सुरक्षा तयारी र देशका विभिन्न भागमा देखिएका अशान्तिका घटनाहरूबारे सुक्ष्म विश्लेषण गर्न निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसिरहेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकमा गृह सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।

बैठकले देशभरिको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै संवेदनशील मानिएका क्षेत्रमा थप सुरक्षा बन्दोबस्ती मिलाउने लगायतका महत्वपूर्ण निर्णयहरू गर्ने जनाइएकाे छ ।

विशेषगरी मधेस प्रदेशका रौतहट र वीरगञ्जलगायतका स्थानमा पछिल्ला दिनमा भएका झगडा तथा झडपका घटनाहरूलाई आयोगले गम्भीरतापूर्वक लिएको छ ।

रौतहटमा दुई समूहबीच उत्पन्न विवादले हिंसात्मक रूप लिएको र वीरगञ्जमा समेत ढुङ्गामुढा र प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि निर्वाचन सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ ।

यी स्थानहरूमा उत्पन्न तनावले निर्वाचनको वातावरण बिथोल्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिमा फेरबदल गर्ने विषयमा छलफल केन्द्रित भएको छ ।

बैठकले साम्प्रदायिक र राजनीतिक झडप भएका क्षेत्रहरूलाई अति संवेदनशील सूचिमा राखी अतिरिक्त सुरक्षा बल परिचालन गर्ने तयारी गरेको छ ।

 

मतपेटिका सङ्‍कलन भएको २४ घण्टामै परिणाम सार्वजनिक ! (भिडियाे)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताए ।

मतपरिणामको समयसीमाबारे स्पष्ट पार्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको एक-दुई दिन लागे भए पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टा भित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको बताए ।

उनले उपत्यकाबाहिर मतपत्र पठाउने काम सकिएको तथा काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार सांझसम्म पुर्‍याइसक्ने गरी काम भएको जानकारी दिए ।

मतदान अधिकृतहरुको तालिम मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामान बुझेर सम्बन्धित मतदान केन्द्रहरुमा खटिने पनि उनले बताए ।

निर्वाचन  तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न गरी आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए

मतपत्र छपाइदेखि ढुवानीसम्मको जटिल व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम शुरु भएको पनि उल्लेख गरे ।

हिमााली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा आयोग निर्णयमा पुगिनसकेको उनले स्पष्ट पारे ।

भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै आयोग मौसमको प्रतिकूलताको अध्ययन गरी मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट बञ्चित हुन नपर्ने गरी तत्काल निर्णय गर्नेगरी तयारी अवस्थामा रहेको बताए ।

उनले भने,‘यदि त्यस्तो अवस्था आयो भने हामी जहाँ मतदाताहरू हुनुहुन्छ त्यहीँ गएर  मत सङ्कलन गर्ने गरी आयोगले निर्णय गर्छ ।’

भण्डारीले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आाग्रह गरे ।

अमेरिकासँग आणविक सम्झौतामा हुने अनुमान इरानले गर्‍याे खारेज

काठमाडौं । इरानले अमेरिकासँग अप्रत्यक्ष आणविक वार्तामा अन्तरिम (अस्थायी) सम्झौता गर्ने सम्भावनाबारे फैलिएका हल्ला र अड्कललाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।

इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्ता अड्कलहरूको कुनै आधार नभएको बताए । उनले भने, ‘अन्तरिम सम्झौताबारेका अड्कलहरू निराधार छन् । कुनै पनि वार्ताको विवरण वार्ताको टेबलमा नै छलफल हुन्छ ।’

उनले दुवै पक्षले सद्‍भावना देखाएमा आगामी दुई–तीन दिनभित्र अर्को चरणको वार्ता गर्न सकिने आशा रहेको बताए । इरान कुटनीतिक वार्ताबाट अघि बढ्न प्रतिवद्ध रहेको तर आफ्ना वैधानिक अधिकारहरूबाट कहिल्यै पछि नहट्ने उनको जोड थियो ।

अमेरिका र इरानबीच अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरण बिहीबार जेनेभामा हुने अपेक्षा गरिएको छ ।

यसैबीच पश्‍चिम एसिया क्षेत्रमा अमेरिकी सैन्य शक्ति बढाइएको छ । इरानले कुटनीतिमार्फत समाधान खोज्ने तर दबाबमा नआउने अडान दोहोर्‍याएको छ ।
सिन्ह्वा

आज दिउँसाे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । दिउँसो १२:४५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने भएकाे हाे ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाए पनि थप केही महत्त्वपूर्ण नियुक्ति हुन सक्ने संकेत गरिएको छ।

आजको बैठकले नेपाल नागरिक उड्‍डयन प्राधिकरण (क्यान) मा महानिर्देशक नियुक्त गर्न सक्ने सम्भावना रहेको स्राेतले जनाएकाे छ ।

श्रीमती र छाेरीकाे हत्या गरेका एक नेपालीलाई अमेरिकी प्रहरीले मारिदिए

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली मूलको परिवारमा हृदयविदारक घटना भएकाे छ ।

प्रहरीका अनुसार करिब ५० वर्षभन्दा माथिका एक पुरुषले आफ्नै श्रीमती र छोरीमाथि करिब १० इन्च लामो धारिलो हतियार प्रहार गरेका थिए।

आक्रमणबाट दुवैको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक विवरण छ। त्यसक्रममा आफ्ना ज्वाइँमाथि पनि उनले  आक्रमण गरेका थिए ।

ज्वाइँ घरबाहिर हिउँ पन्छाइरहेका बेला घरभित्र चर्को झगडाको आवाज सुनेर भित्र पसेका थिए। भित्र पुग्दा उनले आफ्नी श्रीमतीलाई रगताम्मे अवस्थामा ढलेको र ससुराले सासूमाथि आक्रमण गरिरहेको दृश्य देखेको प्रहरीको भनाइ छ।

आक्रमणकारीले ज्वाइँमाथि समेत अन्धाधुन्ध चक्कु प्रहार गरेपछि उनले तत्काल ९११ मा फोन गरी प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको कारबाही प्रहरी टोली घटनास्थलमा पुग्दा आक्रमणकारी अझै पनि ज्वाइँमाथि हमला गरिरहेका थिए।

प्रहरीले पटक–पटक हतियार फाल्न चेतावनी दिए पनि नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए। गोली लागेर ती आक्रमणकारीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनामा गम्भीर घाइते भएका ज्वाइँलाई तत्काल अस्पताल लगिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

याे घटनाले नेपाली-अमेरिकी समुदायमा त्रास र शोक छाएकाे छ । तर आधिकारिक पुष्टि नभएसम्म पीडितको पहिचान सार्वजनिक नगरिएको प्रहरीले स्पष्ट पारेको छ।

 टी-२० विश्वकप: जिम्बावेविरूद्ध वेष्ट इन्डिजको विशाल जित

काठमाडौं । टी-२० विश्वकपको रोमाञ्चक खेलमा वेस्ट इन्डिजले झिम्बावेलाई १०७ रनले हराउँदै विशाल जित हात पारेको छ। वेस्ट इन्डिजले निर्धारित २० ओभरमा २५४/६ रन बनायो। ब्याटिङको स्टार शिम्रोन हेट्मायर रहे, जसले ३४ बलमा ८५ रन बनाए। उनका सात चौका र सात छक्काले जिम्बावे बलिङलाई धरासायी बनायो। रोभमन पॉवेलले ३५ बलमा ५९ रन जोडे भने शेरफेन रदरफोर्ड १३ बलमा ३१ रन नट आउट रहे। रोमारियो शेफर्ड र जेसन होल्डरले क्रमशः २१ र १३ रन जोडे, जसले टिमलाई ठूलो स्कोर बनाउन मद्दत गर्‍यो।

२५५ रनको लक्ष्य पछ्याएको जिम्बावे विशाल चुनौतिको दबावमा आयो । टडीवानाशे मरुमानी ८ बलमा १४ रन बनाएर आउट भए, ब्रायन बेननेट पाँच बलमा पाँच रनमै आउट भए भने रायन बर्ल तीन बलमै शून्यमा आउट भए। डियोन मायर्सले १५ बलमा २८ रन जोडे, तर टिमको सम्पूर्ण प्रदर्शन कमजोर रह्यो। सिकन्दर रजा २० बलमा २७ रनमा आउट भए। ब्राड इभान्सले २१ बलमा ४३ रन बनाए, जसमा दुई चौका र पाँच छक्का समावेश थिए, तर उनी एक्लै प्रयास गर्न सकेनन्।

वेस्ट इन्डिजको बलिङ विशेष थियो। एकील होसेनले चार ओभरमा तीन विकेट लिए भने म्याथ्यु फोर्डेले तीन दशौं ओभरमा दुई विकेट लिए। गुदाकेश मोतिले चार ओभरमा चार विकेट लिए, जसले जिम्बावेलाई लगातार दबाबमा राख्यो। जेसन होल्डरले तीन ओभरमा एक विकेट लिए। यो आक्रामक बलिङ र हेट्मायरको विस्फोटक ब्याटिङको संयोजनले वेस्ट इन्डिजलाई एक सय सात रनले जित दिलायो।

यस जितसँगै वेस्ट इन्डिजले टि-२० विश्वकपमा आफ्नो आत्मविश्वास थप मजबुत बनाएको छ।

टी–२० विश्वकप: टस हारेर वेष्ट इन्डिज ब्याटिङमा

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर एट्स चरणको समूह १ मा जिम्बाब्वेले वेस्ट इन्डिजविरुद्ध टस जितेको छ।

मुम्बईको वाङ्खडे रंगशालामा जारी खेलमा जिम्बाब्वेका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्। खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु भएको हो।

सेमिफाइनल पुग्ने दौडमा रहेको दुवै टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ। जिम्बाब्वेले सुरुआती ओभरमै बलिङमार्फत दबाब सिर्जना गर्ने रणनीति लिएको छ भने वेस्ट इन्डिज ठूलो योगफल खडा गर्ने लक्ष्यसहित ब्याटिङमा उत्रिएको छ।

समूह १ मा प्रतिस्पर्धा कडा रहेकाले आजको खेलको नतिजाले अंक तालिकामा महत्वपूर्ण प्रभाव पार्नेछ।

निर्वाचनमा बालबालिकाकाे प्रयाेग नगर्न निर्वाचन आयाेगकाे आग्रह

काठमाडौं । राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई चुनावी गतिविधिमा बालबालिकालाई प्रयाेग नगर्न निर्वाचन आयाेगले आग्रह गरेको छ।

आयाेगले कुनै पनि गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न साेमबार आग्रह गरेकाे हाे ।

निर्वाचनमा बालबालिकाकाे प्रयाेगलाई आयाेगले निर्वाचन आचारसंहिता विपरीत हुने जनाएकाे छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ उपदफा (१) को खण्ड (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था छ।

आचारसंहिता उल्लंघन भएमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने जनाएको छ।

निर्वाचन गतिविधिमा केही उम्मेदवारले बालबालिकाकाे प्रयाेग गरेकाे भिडियाेहरु सार्वजनिक भइरहेका छन् ।

आयाेगमा यसविरुद्ध उजुरी परेपछि आयाेगले प्रयाेग गरिए  निर्वाचन आचारसंहिता विपरीत हुने जनाएकाे हाे ।

धादिङ बस दुर्घटना: तस्बिर घटनास्थलदेखि राष्ट्रिय ट्रमा सेन्टरसम्म (फोटो कथा)

काठमाडौं । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १९ जनाको मृत्यु भएकाे छ । २३ जना घाइते भएका छन् ।

आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

मृतक केहीकाे सनाखत हुन बाँकी छ । घाइतेहरुको धादिङकाे मलेखु, काठमाडाैँकाे विभिन्‍न अस्पतालमा उपचार भइरहेकाे छ ।

हेर्नुहाेस्- १० तस्बिर

 

 

 

 

 

वीरगञ्‍जमा निषेधाज्ञा आदेश जारी, उल्लङ्‍घन गर्नेलाई कारबाही चेतावनी

काठमाडौं । पर्साकाे वीरगञ्‍जमा कर्फ्यू आदेश हटेकाे छ । निषेधाज्ञा आदेश भने जारी गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालयले अर्काे आदेश नहुञ्‍जेलसम्म निषेधाज्ञा जारी गरेकाे हाे ।

यससँगै महानगरपालिकाकाे पूर्वमा बसपार्क, पश्‍चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस पुल र दक्षिणमा शकराचार्य गेट क्षेत्रमा निषेधाज्ञा जारी भएकाे हाे ।

निषेधाज्ञा अवधिमा भेला गर्न, सभा गर्न, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएकाे छ ।

प्रमुख जिल्ला अधिकारी भाेला दाहालले आदेशकाे उल्लङ्‍घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

टी–२० विश्वकप : सुपर ८मा जिम्बाब्वे र वेस्ट इन्डिज भिड्दै

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप २०२५–२६ अन्तर्गत सुपर एट्स चरणको समूह १ मा जिम्बाब्वे र वेस्ट इन्डिजबीच आज प्रतिस्पर्धा हुँदैछ। खेल भारतको मुम्बईस्थित वाङ्खडे रंगशालामा नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

सेमिफाइनल यात्रा तय गर्ने समीकरणका लागि दुवै टोलीका लागि यो खेल महत्वपूर्ण मानिएको छ। सुपर एट्स चरणमा दुवै टोलीले मिश्रित प्रदर्शन गरेका छन् र अंक तालिकामा मजबुत स्थिति बनाउन जित आवश्यक छ।

वेस्ट इन्डिज आफ्नो आक्रामक ब्याटिङ शैलीका लागि परिचित टोली हो। शीर्षक्रमका ब्याट्सम्यानले लय समातेमा ठूलो स्कोर खडा गर्ने क्षमता टोलीसँग छ। अर्कोतर्फ, जिम्बाब्वेले अनुशासित बलिङ र सामूहिक प्रदर्शनका आधारमा प्रतिस्पर्धा गर्दै आएको छ। मध्यक्रमको स्थिरता र डेथ ओभरको बलिङ जिम्बाब्वेका लागि निर्णायक बन्न सक्छ।

समूह १ मा प्रतिस्पर्धा कडा बन्दै गएकाले आजको खेलको नतिजाले सेमिफाइनलको समीकरणमा प्रत्यक्ष प्रभाव पार्नेछ। दबाबपूर्ण अवस्थामा हुने यस खेलमा टस, पावरप्ले र अन्तिम ओभरहरूको प्रदर्शन निर्णायक हुने अपेक्षा गरिएको छ।

क्रिकेट समर्थकहरूका लागि वाङ्खडे रंगशालामा हुने यो भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ।

कञ्‍चनवनमा ‘मिथिला मध्यमा परिक्रमा’को डोला, होली सुरु

काठमाडौं । महोत्तरीको कञ्‍चनवनमा मिथिला मध्यमा परिक्रमाको डोला आइपुगेको छ ।

फागुन शुक्ल प्रतिपदाबाट शुरु भएको यो ऐतिहासिक १५ दिने धार्मिक पदयात्रा सप्तमी तिथिमा कञ्‍चनवन पुगेपछि परम्परागत रूपमा होली महोत्सव सुरु भएको हो ।

भगवान राम (मिथिला विहारी) र माता सीता (किशोरीजी)का प्रतिमा राखिएका डोलाहरू हजारौँ श्रद्धालु, साधुसन्त तथा महात्माहरूको लावालस्करसहित कञ्‍चनवन आइपुगेका हुन् ।

जनविश्‍वासअनुसार त्रेता युगमा भगवान राम र सीताले यो कञ्‍चनवनमै रङ अबिर दलेर होली खेलेका थिए ।

सोही सम्झनामा डोला यहाँ पुगेपछि परिक्रमा सहभागीहरूले एकअर्कालाई रङ अबिर लगाएर होली खेल्ने परम्परा छ ।

यो वर्ष पनि कञ्‍चनवनमा डोला बिसाइएपछि भक्तजनहरूले दर्शन, पूजाआराधना तथा अबिर चढाएका छन् ।

संस्कृतिविदहरूका अनुसार कञ्‍चनवनको यो होली मिथिलाञ्‍चलको सबैभन्दा पुरानो र विशेष होली उत्सव मानिन्छ ।

यहाँ मठमन्दिरका महन्थहरू, सामाजिक अगुवा, सांस्कृतिक तथा राजनीतिक व्यक्तित्वहरूको पनि उल्लेख्य सहभागिता हुने गरेको छ ।

परिक्रमा यात्रा धनुषाको हनुमानगढीबाट शुरु भएर भारतको कल्याणेश्‍वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्‍वर, मडै, ध्रुवकुण्ड पुगेपछि कञ्चनवन आइपुगेको हो ।

कञ्‍चनवनमा होली खेलेपछि यात्रा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः जनकपुरधाम फर्केर फागुन पूर्णिमामा समापन हुन्छ ।

घुँडामा गम्भीर चाेट लागेपछि साम्बालाई उपचारमा आर्थिक समस्या, गरिन् सहयाेगकाे अपिल

काठमाडाै । घुँडामा गम्भीर चाेट लागेपछि नेपाली फुटबलकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।

चिकित्सकका अनुसार यसअघि एकपटक शल्यक्रिया गरिएकाेमा अब फेरि उनलाई जटिल शल्यक्रिया आवश्यक छ। अब उनलाई शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च चाहिन्छ ।

उनले नेपालभित्र रहेका समर्थकलाई क्यूआर वा बैंकमार्फत र विदेशमा रहेका समर्थकलाई अनलाइन लिंकमार्फत सहयोग गर्न आग्रह गरेकी छन्।

आफ्नो करियरकै सबैभन्दा कठिन लडाइँ सामना गरिरहेको उल्लेख गर्दै उनले निकाे भएपछि नेपालकाे जर्सी लगाएर मैदानमा फर्किने बताइन् ।

‘यो चोटले मलाई शारीरिक र मानसिक रूपमा थकाएको छ, तर म फर्कनेछु। थाकेको हो, हारेको छैन। पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु। जय नेपाल!’

यसअघि उनको उपचारमा अखिल नेपाल फुटबल संघ(एन्फा) काे नेतृत्त्वमा सहयोग प्राप्त भएको थियो। तर यसपटक एन्फाबाट वाचा गरिएको सहयोग पाइनन् ।

यसले आफूलाई निराश बनाएकाे उनकाे गुनासाे छ । चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाबाट प्रक्रिया अघि नबढेको र अन्ततः प्रशासनिक सहयोग गर्न नसकिने जानकारी पाएकाे पनि उनले बताएकी छन्।

‘पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें,’ उनले फेसबुकमा लामाे स्टाटस लेख्दै गुनासाे गरिन्, ‘तर, यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भए पनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो ।’
उनले क्लबले आफूलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको उल्लेख गरेकी छन् ।
तर चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्चस्तरको रहेकाले पुन: सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको बताइन् ।
क्लबले बीमाबाट प्राप्त रकम निकासा गरिदिने भएको छ । यद्यपि, उक्त रकम शल्यक्रिया र ७-८ महिना पुन:स्थापनाका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्नु परेकाे बताइन् ।

बालेनले सार्वजनिक माफी माग्नुपर्ने निर्माण व्यवसायी संघको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले दिएको ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

महासङ्घले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र निर्माण व्यवसायीहरूको मनोबल गिराउने खालको रहेको टिप्पणी गर्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ।

फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै शाहले निर्धारित समयमै सडक निर्माण हुन नसकेको उल्लेख गर्दै ‘दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

महासङ्घले उक्त धारणा निर्वाचन आचारसंहिताविपरीत र सस्तो लोकप्रियताका लागि व्यक्त गरिएको आरोप लगाएको छ। महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा देशभरका करिब ३० हजारभन्दा बढी निर्माण व्यवसायीको प्रतिनिधित्व गर्ने सङ्गठनमाथि यस प्रकारको सार्वजनिक टिप्पणी आउनु दुःखद भएको उल्लेख गरिएको छ।

महासङ्घका अनुसार भौतिक पूर्वाधार विकासमा निर्माण व्यवसायीहरूको महत्वपूर्ण योगदान रहँदै आएको भए पनि समय–समयमा विभिन्न व्यक्तिबाट गरिने आपत्तिजनक अभिव्यक्तिले व्यवसायीहरूको तेजोवध हुने गरेको छ।

निर्माण कार्यमा ढिलाइ हुनुका पछाडि ऐन–कानुनको जटिलता, स्रोत सुनिश्चितताको अभाव, न्यून बजेट विनियोजन, त्रुटिपूर्ण डिजाइन तथा नीतिगत समस्याहरू मुख्य कारण रहेको महासङ्घको दाबी छ।

वि.सं. २०७३-७४ पछि करिब १९ खर्ब रुपैयाँ बराबरका झण्डै एक लाख आयोजना स्वीकृत भए पनि सरकारको अव्यवहारिक नीति र स्रोत अभावका कारण ३० हजारभन्दा बढी आयोजना अलपत्र अवस्थामा रहेको महासङ्घले जनाएको छ।

दुर्गा प्रसाईंबारे निर्वाचन आयोगको निर्णय मगाउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउन निर्वाचन आयोगले गरेको निर्णयसम्बन्धी फाइल पेश गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले ४ फागुन २०८२ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रसम्बन्धी सम्पूर्ण फाइल झिकाउन निर्देशन दिएको हो।

सोही पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले दाबी गरेको थियो।

यसअघि सर्वोच्च अदालतले प्रसाईंले दायर गरेको मुद्दासम्बन्धी फाइलसमेत झिकाउन आदेश दिँदै मंगलबारका लागि सुनुवाइको मिति तोकेको छ।

मलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्छ : ओली (भिडियाे)

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सरकारबाट हटाउने बित्तिकै देश ड्राइभरबिनाको बसजस्तै हुने गरेको बताएका छन् । दमकमा नेशनल भोलेन्टियर्स फोर्स कोशी युनिफाइड कमान्ड घोषणा कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

‘मलाई सरकारबाट हटाउने बित्तिकै देश ड्राइभरबिनाको गाडीजस्तै हुन्छ’ उनले भने ।

कार्यक्रममा ओलीले एमालेले राम्रो काम गर्ने भएकाले सरकार ढाल्ने गरेको आरोप लगाए । ‘एमालेले रंगशाला बनाउँछ, फलामखानी पत्ता लगाउन खोज्छ, सडक बनाउँछ, मिथेन ग्याँस पत्ता लगाउँछ,’ उनले भने,’ त्यही काम गरेको कारण एमालेको सरकार ढालिन्छ।’

अधिकांश समय एमालेको प्रशंसामा खर्चेका ओलीले दमकको विकासको जिम्मा आफूले लिने बताए । ‘ यहाँको हरेक किसिमको विकासको जिम्मा मैले लिन्छु, यहाँ मात्रै देशैभरी एमालेले विकास गरेको छ,’ ओलीले सम्बोधनका क्रममा भने, ‘ फेरि पनि देशको विकास, शान्ति र सुव्यवस्थाको लागि एमालेको जित अनिवार्य छ।’

‌ओलीले भने- झापा, कोशी र देश विकासकाे जिम्मा मेराे, तपाईंहरू ढुक्क हुनुहोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ का उम्मेदवार केपी शर्मा ‌ओलीले जिल्लादेखि देशसम्मको विकासको जिम्मा आफूले लिने बताएका छन्।

काेशीमा ‘नेशनल भोलेन्टियर्स फोर्स’ गठनपछि बाेल्दै उनले झापा, कोशी प्रदेश र समग्र देशको विकासप्रति आफू प्रतिबद्ध रहेको बताएका हुन्।

‘यस जिल्ला (झापा)को विकासको जिम्मा मेरो हो, तपाईंहरू ढुक्क हुनुहोस्। यो प्रदेश (कोशी)को विकासको जिम्मा मेरो हो, तपाईंहरू ढुक्क हुनुहोस्। यो देशको विकासको जिम्मा मेरो हो, तपाईंहरू ढुक्क हुनुहोस्,’ साेमबार उनले भने।

ओलीले देशका सबै सदरमुकाम सडक सञ्जालसँग जोडिएको दाबी गर्दै हुम्ला जिल्ला पनि आफ्नै पालामा जोडिएको बताए। ‘देशको सबै सदरमुकाममा मोटरबाटो जोडिएको छ। हुम्ला जिल्लाको सदरमुकाम जोड्न बाँकी थियो, अहिले हुम्लाको सदरमुकाम पनि जोडिएको छ,’ उनले उल्लेख गरे।

कोशी प्रदेशकाे पहाडी जिल्ला ताप्लेजुङकाे ओलाङचुङगोलासम्मै (चीन सीमा) जोड्ने सडक कालोपत्रे भइरहेको जानकारी दिँदै उनले भने, ‘यस प्रदेशको ताप्लेजुङ हुँदै ओलाङचुङगोलासम्म सीमा जोड्ने सडक कालोपत्रे हुँदै छ। हामीले नै ट्र्याक खोलेका हौँ। हाम्रो काम विकास गर्ने हो, हरेक क्षेत्रमा।’

उनले कृषिमा आधुनिकीकरणको प्रक्रिया अघि बढाइएको, २०८५ सालसम्म धौवादी फलाम खानी सञ्चालनमा ल्याइने तथा मिथेन ग्यास उत्खननबाट ठूलो आम्दानी हुने दाबी पनि गरे। ‘२०८५ सम्म धौवादी फलाम खानी सुरु गर्दैछौँ। मिथेन ग्यास एक खर्ब १२ अर्ब उत्खनन गर्दैछौँ। ठूलो आम्दानी हुनेछ देशलाई,’ उनले भने।

ओलीले अराजक गतिविधिबाट देशमा शान्ति स्थापना नहुने टिप्पणी गरे। ‘आतंक मच्चाउनेहरूले देशमा शान्ति स्थापना गर्न सक्दैनन्। आगो लगाउने, जलाउनु फरक कुरा हो,’ उनले भने।

उनले मतदातालाई भ्रममा नपर्न आग्रह गर्दै नेकपा एमाले विकास र स्थायित्वको पक्षमा रहेको दाबी गरे। ‘कोही पनि भ्रममा नपरौँ, नेकपा एमाले देश बनाउने पार्टी हो। एमाले बनेका भत्काउने होइन, एमालेले बनाउँछ,’ उनले भने, ‘जनताको कमजोर भएको मनोबल सुदृढ बनाउँछ।’

देशव्यापी रूपमा एमालेको विजय आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल राष्ट्रका लागि, नेपाली जनताका लागि, शान्ति सुव्यवस्थाका लागि नेकपा एमालेलाई विजयी बनाउनु आवश्यक छ। नेकपा एमालेको सूर्य चिह्न कसैले बिर्सिनै नसक्ने छ।’

काेशीमा ‘नेशनल भोलेन्टियर्स फोर्स’ गठनपछि ‌ओलीले भने- अब देश जल्दैन (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी विद्राेहका क्रममा भएका आगजनी र अराजकतापूर्ण गतिविधिलाई स्मरण गर्दै अब त्यस्ता घटना दोहोरिन नदिने चेतावनी दिएका छन्।

उनले पार्टीले ‘नेशनल भोलेन्टियर्स फोर्स’ गठन गरिसकेको उल्लेख गर्दै यसले शान्ति र सुव्यवस्था कायम गर्न प्रहरीलाई सहयोग गर्ने बताएका छन्।

ओलीले विद्राेहका बेला पार्टी कार्यालय, जनप्रतिनिधिमूलक संस्था, गाउँपालिका र नगरपालिका कार्यालय, उद्योग तथा डिपार्टमेन्टल स्टोरसम्म जलेको प्रसंग उठाउँदै भने, ‘जेन–जी आन्दोलनका बेला पार्टी कार्यालयहरू जले, जनप्रतिनिधिमूलक संस्थाहरू जले, गाउँपालिका, नगरपालिका जले, उद्योगहरू जले, डिपार्टमेन्टल स्टोरहरू जले, देश जल्यो, जल्ने रहेछ,’ उनले थपे, ‘हामीले नेशनल भोलेन्टियर्स फोर्स बनाएका थिएनौँ। अब बनायौँ। अब जल्दैन।’

उनले राज्यका प्रमुख संरचनामाथि आक्रमण हुन नदिने स्पष्ट सन्देश पनि दिए। ‘अब कसैलाई हामी सिंहदरबार जलाउन दिने छैनौँ। सर्वोच्च अदालत जलाउन दिदैनौँ। प्रहरीलाई कुटपिट गर्न दिँदैनौँ,’ उनले भने, ‘त्यस्ता आतंककारी गतिविधिलाई नेशनल भोलेन्टियर्स फोर्सले नियन्त्रण गर्नेछ। त्यसका लागि नै गठन भएको हो।’

उनका अनुसार कोशी अञ्चलबाट सुरु गरिएको यो फोर्सले शान्ति र सुव्यवस्था कायम गर्न प्रहरी तथा सरकारलाई सहयोग गर्नेछ। ‘प्रहरी अब एक्लै छैन। प्रहरीका साथमा नेशनल भोलेन्टियर्स फोर्स छ। यो जनताको संगठित शक्ति हो,’ उनले दाबी गरे।

उनले फोर्स चेन अफ कमान्डअन्तर्गत अत्यन्त अनुशासनमा रहेर सञ्चालन हुने र जनतासँग सुमधुर सम्बन्ध कायम राख्ने बताए।

ओलीले साम्प्रदायिक विद्वेष भड्काउने, उत्तेजना फैलाउने, अन्य पार्टीका झण्डा जलाउने तथा अराजक गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिन फोर्स सक्रिय रहने बताए।

‘यसका तर्कहरू सत्य, न्याय र शान्तिको पक्षमा हुन्छन्। तर ती चिजहरू हरण गर्न खोजियो भने जुनसुकै मूल्य तिरेर फोर्सले बताउनेछ,’ उनले चेतावनी दिए।

आगामी निर्वाचनलाई लक्षित गर्दै उनले प्रत्येक मतदान केन्द्रमा कम्तीमा ३० जना स्वयंसेवक परिचालन गरिने जानकारी पनि दिए। उनका अनुसार फोर्सको उद्देश्य देशमा आतंक र अराजकता फैलिन नदिनु तथा निर्वाचनलाई शान्तिपूर्ण बनाउनु हो।

दुर्घटनाग्रस्त बसमा चेपिएर चिच्याइरहेका यात्रुकाे पाँच घण्टापछि जीवितै उद्धार

काठमाडौं । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ ।

गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो ।

भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
पर्याप्त उद्धार सामग्रीको अभाव र अपठ्यारो स्थान भएकाले समयमा उद्धार गर्न कठिन भएको उनको भनाइ छ ।

‘मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए । हामीसँग तुरुन्तै बस उठाउन सक्ने वा काट्न सक्ने कुनै उपकरण थिएन । धेरै समय सान्त्वना दिएर राख्यौँ, जनेरेटरसहितको मेसिन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘उपचारका लागि काठमाडौँ रिफर गरिएको छ, उहाँको अवस्था सामान्य नै देखिएको छ ।’

पोखराबाट काठमाडौँ आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख १४२१ नम्बरको बस धादिङमा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा परीक्षणका लागि राखिएको छ ।